निष्कर्ष

निष्कर्ष

यस पुस्तिकाको अध्ययनद्वारा किन स्त्रीहरूले बढो ध्यानपूर्वक भद्र पोशाक लगाउनु आवश्‍यक पर्दो रहेछ भन्ने सन्दर्भमा बाइबलीय कारणहरू थाहा गर्नुभयो। परमेश्‍वरको वचनबाटको शिक्षाहरू स्वीकार गर्न परमेश्‍वरले नै तपाईंलाई भक्तिपूर्ण, नम्र मन दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना छ। तपाईंले संसारलाई, अरु कुनै व्यक्तिलाई वा आफैलाई भन्दा बढी प्रेम परमेश्‍वरलाई नै गर्नु हुनेछ भन्ने हाम्रो आशा छ। यस पुस्तिकाको शिक्षाहरूद्वारा तपाईंको भित्री आत्मिक चरित्रको महत्त्व साथै बाहिरी पहिरनको महत्त्व देख्‍न तपाईंका आँखाहरू खोलिएका होऊन्। हामी कुनै पनि स्त्रीले लगाएको पोशाकहरूद्वारा येशूको बदनाम भएको साथै पुरुषहरू परीक्षामा परेको चाहदैनौं। हाम्रा सबै कृयाकलापहरूद्वारा प्रभुको महिमा भएको होस् (१ कोरिन्थी १०:३१)। आजबाट नै हामी नेपाली ख्रीष्टियन महिलाहरू पश्‍चिमी वा पुर्वेली वा कुनै पनि फेसनको पछि नदगुरौं! बरु, भद्र पोशाकद्वारा परमेश्‍वरको महिमा गरौं। आमेन्!

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

बाइबलबाट एउटा चेताउनी

“यो पनि जानिराख – अन्तिम दिनहरूमा
सङ्कटपूर्ण समयहरू आउनेछन्।
किनकि मनिसहरू आफूलाई मात्र प्रेम गर्ने,
पैसाको लोभी,
सेखीबाज,
घमन्डी,
निन्दा गर्ने,
बाबुआमाको आज्ञापालन नगर्ने,
बैगुणी,
अपवित्र,
स्वाभाविक माया नभएका,
मेल गर्न नचाहने,
झूटा दोष लाउने,
आत्‍मासंयम नभएका,
कठोर,
असललाई घृणा गर्ने,
विश्‍वासघाती,
जिद्दीवाल,
घमन्डले फुलिएका,
परमेश्‍वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने;
भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्ने हुन्छन्;
यस्ताहरूबाट पर बस!
किनकि ती यस्ताहरूमध्येका हुन्,
जो घरहरूभित्र चाल मारेर पस्छन्,
अनि पापहरूले दबिएका
र नाना प्रकारका अभिलाषाहरूद्वारा चलाइएका
मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्;
जुन स्त्रीहरू सिक्न ता सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैनन्।”
(२ तिमोथी ३:१-७)

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

फेसन डिजाइनरको विचार

फेसन डिजाइनरको विचार

कुपन्डोलस्थित बुटिकहरूका ग्राहकहरू काठमाडौंका धनी महिलाहरू हुन्। आधुनिक विचारहरूमा समर्पित ती शिक्षित र अनुभवी नारीहरू गाडी हाँक्दै जान्छन् कुपन्डोलतिर आफ्ना कपडा सिलाउन। ती बुटिकहरू दुवै बिदेशी र नेपालीहरूको लागि लुगाको डिजाइन निकाल्ने र सिलाइदिने थलो हुन्। बुटिकमा कार्यरत व्यक्तिहरूको ईश्‍वर नै फेसन हो। फेसनले निर्देशन दिन्छ र तिनीहरू त्यस अनुसार चल्छन्। उनीहरूका ग्राहकहरू पनि फेसेनमा लीन छन्। ती बुटिकहरूमध्ये एउटा बुटिकको फेसेन डिजाइनरसँग हामीले कुरा गर्यौं जसको पसल दुई बर्ष पुरानो छ। उनी डिजाइनमा लागेको ५ बर्ष भइसक्यो। हामीले उनलाई निम्न प्रश्‍नहरू सोध्दाखेरि उनलाई हाम्रो उद्देश्‍य थाहा थिएन। ख्रीष्टियनले यी प्रश्‍नहरू सोधेका हुन् भनेर उनलाई थाहा थिएन। त्यसैले, यी प्रश्‍नहरूको जवाफ संसारको ढाँचामा लिप्त एक स्त्रीको हृदयबाट आएका हुन्।

हाम्रो प्रश्‍न: “बिगत केही बर्षमा नेपालीहरूले लाउने लुगामा ठूलो परिवर्तन आएको छ। ६ बर्ष अगाडि स्त्रीहरूले पाइन्ट लाउँदैन थिए। तर अहिले व्यापक रुपमा लगाउँछन्। साडी लगाउने विवाहित महिलाहरू अब कुर्ता सुरुवाल लगाउँछन्, उनीहरूका छोरीहरूले पाइन्ट लगाउँछन्, र उनीहरूका नातिनीहरूले हाफ पाइन्ट लगाउँछन्। तपाईंको विचारमा, नेपालमा यस्तो ठूलो परिवर्तन हुनुको प्रमुख कारण के हो?”

डिजाइनरको जवाफ: “पहिलो कारण टेलिभिजन हो, विशेष गरी च्यानलहरू। MTV, F Channel, र Zoom मा सबैले यस्तै लुगा देख्छन् अनि लाउन मन लाग्छ। दोस्रो कारण पढाइ हो। अहिले युवाहरू पढ्न बाहिर जान्छन्। बाहिर गएपछि त्यहीँको लुगा लगाउने बानी हुन्छ। घर फर्केपछि पनि बाहिरकै लुगा लगाउन मन लाग्छ। तेस्रो कारण बलिउड् हो। भारतका सिरियलहरूले ठूलो प्रभाव पार्छन्।”

हाम्रो प्रश्‍न: “लुगा त परिवर्तन भयो। त्यसमा कुनै शङ्का छैन। आजभोलि समाजमा अरु परिवर्तनहरू पनि देखिन्छन्। लुगाको परिवर्तनले समाजमा का‍स्तो परिवर्तन ल्यायो? अथवा समाजमा लुगाको परिवर्तनको प्रभाव कसरी देखिन्छ?”

डिजाइनरको जवाफ: “पहिला-पहिला महिलाहरू साडी लगाउँथे। साडी लगाउँदा स्वतन्त्र हुन सकिँदैन। जस्तै, साडी लगाएर बस चढ्न अप्ठ्यारो छ। कुर्था सुरुवाल अनि त्यसपछि पाइन्ट लगाउन थालेपछि महिलाहरूले स्वतन्त्र अनुभव गर्न थाले। त्यसपछि उनीहरूले घरबाट निस्कन पनि कम्फोर्टेबल भयो। नयाँ ढाँचाको लुगा लगाउनेहरू अफिसमा कन्फिडेन्ट हुन्छन्। अफिसमा काम गर्दा अप्वाइन्टमेनटहरू हुन्छन्, यता-उता जानु पर्ने हुन्छ। हतार भयो भने पाइन्टले बाधा दिँदैन। साडी लगाएको जस्तो होइन।”

हाम्रो प्रश्‍न: “अझ हाम्रो लागि स्पष्ट पार्नुहोस् – लुगाको परिवर्तनद्वारा महिलाहरूको चरित्र वा स्वभाव अथवा व्यवहार कसरी प्रभावित भयो?”

डिजाइनरको जवाफ: “महिलाहरू घरबाट निस्के। घरबाट निस्केपछि हाउस्वाइफ् हुन मन लागेन। अब महिलाहरूलाई किचेनमा रहन मन लाग्दैन। घरबाट निस्कन मन लाग्छ, जब [बाहिरी पेशा] गर्न मन लाग्छ।”

हाम्रो प्रश्‍न: “अमेरिकामा सन् १९६० र १९७० मा यस्तै ठूलो परिवर्तन आएको थियो। लुगाको परिवर्तन भयो – सबै महिलाहरूले छाडा लुगा लाउन थाले। अहिले “परिवार” भन्ने कुराको अस्तित्व नै मेटिन थाल्यो। ५० प्रतिशतभन्दा बढी परिवारहरू डिभोर्स [पारपाचुके] मा समाप्त हुन्छन्। एउटा महिलाले जीवनमा ३-४ चोटी विवाह गर्छे। अझ, अहिलेको पुस्ताले त विवाहको करार नै बाँध्न छाडिसक्यो र पशुजस्तै भएका छन् – कहिले कोसँ‍ग सुत्‍ने, कहिले कोसँग। कलेज पढ्न जाँदा अपरिचित केटाकेटीहरू एउटै फ्ल्याट लिएर बस्नु सामान्य कुरा भइसक्यो। महिलाले महिलासँग विवाहको करार बाँध्ने र पुरुषले पुरुषसँग विवाहको करार बाँध्ने घीनलाग्दो प्रचलन सुरु भएको छ। तपाईंलाई कस्तो लाग्छ? नेपालमा पनि छाडा लुगाको प्रभाव यस्तै ठूलो हुन सक्छ?”

डिजाइनरको जवाफ: “तपाईंको विचार १००% ठीक हो। यस्तै परिवर्तन नेपालमा पनि सुरु भइसक्यो। महिलाहरू घरबाट निस्केपछि अफिस गर्न थालेपछि अफेयर [व्यभिचार] गर्न पनि सामान्य कुरा भइसक्यो। स्वतन्त्र भएपछि आफ्नो श्रीमान्‌सँग रहन मन लाग्दैन।। पहिला जुन व्यवहार हामीलाई अनौठो लाग्थ्यो, त्यो पनि सिरियल हेर्दा हेर्दै अब केही जस्तो लाग्दैन। हामी जुन कुराहरू टिलिभिजनमा देख्छौं, हामीलाई त्यस्तै गर्न मन लाग्छ। पहिले जे-जे गर्न अप्ठ्यारो लाग्थ्यो, त्यो टिभीमा हेरेपछि गर्न सजिलो भयो। त्यो गर्न थालेपछि नयाँ-नयाँ कुराहरू (व्यवहार) चाहिन्छ हामीलाई। पहिला-पहिला नेपालमा डिभोर्स भन्दाखेरी नराम्रो लाग्थ्यो। अहिले केही जस्तो लाग्दैन।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

विचारमा अचार

विचारमा अचार

(पढेमा पोल्ला, है!)

यस पुस्तिका लेखिने क्रममा स्त्रीको लुगाको प्रभावको बारेमा अनुसन्धान गरियो। सयौं व्यक्तिहरूको विचार बुझियो। निम्न पत्रहरू मार्फत धेरै जनाले हामीलाई आफ्ना अनुभवहरू बताए।

  • “लोग्ने मानिसहरूको दृष्टिकोण धेरैजसो आइमाईमान्छेहरूले बुझ्दैनन् जस्तो लाग्छ। धेरै विश्‍वासी दिदीबहिनीहरूले पुरुषहरूको मनको कुरा (सोचाइ वा हेराइ) बुझेको भए उनीहरूले आफ्नो लुगा लगाउने ढाँचा बदल्नेथिए होलान्। वास्तवमा उनीहरू परमेश्‍वरलाई प्रसन्न तुल्याउन चाहन्छन् तर पोशाकको प्रभावको बारेमा अन्जान छन् धेरै आइमाईहरू।”
  • “म २४ बर्षको युवा हुँ। तपाईले हामी पुरुषहरूलाई स्त्रीको पोशाकको प्रभावको बारेमा सोध्नुभएकोमा म तपाईलाई धन्यबाद दिन चाहन्छु। मेर‍ो विचारमा महिलाहरूले नबुझेको कुरा यो हो – छाडा लुगा लगाएकी स्त्रीलाई देख्दा पुरुषहरू तुरुन्‍तै पापपूर्ण अभिलाषाहरूमा डुब्न सक्छन्।”
  • “स्त्रीले लगाएको लुगाले पुरुषमा व्यभिचार र कुइच्छा उत्पन्न गर्न सक्छ।”
  • “मण्डलीको सङ्गतिमा हामी विश्‍वासीहरू परमेश्‍वरको आराधना गर्न चाहन्छौं। सङ्गतिमा कुनै स्त्रीले सांसारिक ढङ्गले लुगा लगाउनु कति दुःखको कुरा हो! म मन-मनमा प्रश्‍न गर्छु – यदि यस स्त्रीले (जसले अनुचित लुगा ढङ्गले लुगा लगाएकीछिन्) साँचै परमेश्‍वरलाई प्रेम गर्छिन भने किन उनी सांसारिक ढङ्गले लुगा लगाएर पुरुषहरूको ध्यान आफूतिर आकर्षित गर्न चाहन्छिन्? फेरि अर्कोतिर जब कुनै स्त्रीले संसारको फेसनलाई इन्कार गर्छिन् र भद्र पोशाक लगाएर संसारबाट अलग रहन्छिन् तब उनको असल ख्रीष्टियन स्वभाव झल्किन्छ।”
  • “म ५५ बर्षको उमेरको हुँ। मण्डलीका स्त्रीहरूले लगाउने लुगा देखेर मेरो हृदय बोझिलो भएको छ। शरीरका अङ्गहरूलाई देखाउने, छाला प्रदर्शन गर्ने, वा शरीरको आकार देखाउने लुगा उनीहरूले लगाउँछन् भने म ठूलो परीक्षामा पर्छु। म हृदयदेखि विश्‍वासी दिदीबहिनीहरूसँग विन्ती गर्दछु – टाइट लुगा नलगाउनुहोस्। आफ्नो शरीरलाई राम्रोसँग छोप्नुहोस्। टी-शर्ट नलगाउनुहोस्। धेरै पटक टाइट वा अपवित्र लुगा लगाएकी स्त्रीलाई देखेर मैले अर्कोतिर हेरेको छु ताकि म परिक्षामा नपरूँ। आराधाना सभामा यस्तो कुराको सामना गर्नु चाहिँ ठूलो बाधा हो। युवती वा अरु महिलाहरूले उनलाई जेसुकै भने तापनि – पाको भने तापनि – उनले वास्ता नगरिकन परमेश्‍वरलाई खुसी पार्ने मनसायले लुगा लगाउनुपर्छ। मानिसले बाहिरी रुप हेर्छ भनेर बिर्सनुहुन्न। हामी संसारबाट अलग र एक किसिमले “अनौठो” जाति हुन बोलाइएका हौं। पुरुषहरू उनीहरूले देखेका कुराहरूद्वारा परीक्षामा पर्छन्। दाऊद राजा परीक्षामा परे जब उनले बथशेवालाई नुहाइरहेकी देखे। हेरोद राजा परीक्षामा परे जब जनले सलोमे नाचिरहेकी देखे। सिम्सोनले ‘टिम्नाथमा एउटी स्त्री’ को चाहा गरे किनकि त्यस स्त्रीको सुन्दर रूपद्वारा उनी आकर्षित भए।”
  • “कुनै-कुनै लुगाहरूले स्त्रीको शरीरमा नै हाम्रो ध्यान केन्द्रित गराउँछन्। जब पुरुषको ध्यान स्त्रीको शरीरतिर जान्छ तब पुरुष सजिलै कामुकताले जल्न सक्छ।”
  • “टेलिभिजनमा प्रसारण हुने बिज्ञापन र कार्यक्रमहरूमा भुमिका खेल्ने स्त्रीहरूले उचित (भद्र) पोशाक लगाएका हुँदैनन्। यसैले मेरी श्रीमतीले र मैले घरमा टेलिभिजन नराख्‍ने निर्णय गरेकाछौं। टेलिभिजन राखेको भए त्यस्ता कार्यक्रमहरू हेर्ने र परीक्षामा पर्ने जोखिममा हुन्थें। ९९% पत्रिकाका लेख र बिज्ञापनहरू पनि अभिलाषापूर्ण छन्।”
  • एकजना पाष्टरकी श्रीमतीको विचार – “श्रृङ्गार प्रायः दिदीबहिनीहरूलाई मनपर्ने कुरा हो। हाम्रो परमेश्‍वरलाई पनि मन पर्छ त्यसैले उहाँले विभिन्न सुन्दर थोकले पृथ्वीलाई सिँगार्नुभएको छ। श्रृङ्गारले सुन्दरता बढाउँछ। हो, बाइबलका पहिलेका स्त्रीहरूले पनि आफूलाई सिँगार्थे। १ पत्रुस ३:३-४ पदमा दुई खालका श्रृङ्गारको विषयमा बताइएको पाउँछौं। प्रिय दिदीबहिनीहरूहो, हामीले प्रभुलाई मन पर्ने श्रृङ्गार वास्तवमा कुन चाहिँ हो थाहा पाउनुपर्छ। हामी विभिन्न कुराले आफूलाई बाहिरी रुपमा सिँगार्न सक्छौँ। नङहरूमा नेल पलिस, ओठमा लिप-स्टीक, आँखामा गाजल। यी कुराहरूले आफूलाई सिँगार्नु भनेर बाइबलभरि कुनै पनि ठाउँमा भनेको छैन। यो श्रृङ्गार पूरा रूपमा सांसारिक श्रृङ्गार हो, नाश हुने श्रृङ्गार हो। हामी प्रभुका छोरीहरू हौं भने बाहिरी श्रृङ्गार होइन तर १ पत्रुस ३:४ अनुसार भित्री हृदयको कहिल्यै नाश नहुने श्रृङ्गारले आफूलाई सिँगारौं जुन कुरा प्रभुलाई अति नै मन पर्छ।
  • परमेश्‍वरको सेवकको विचार – “स्त्रीहरूको अनुचित पहिरनले पुरुषहरूलाई सजिलै असर पार्न सक्दछ भन्ने कुरालाई इन्कार गर्ने पुरुष कमै होलान्। आँखाले देखेको कुराले हृदयलाई राम्रो वा नराम्रो असर पार्न सक्दैन भनेर कसले भन्न सक्छ र? पराई स्त्रीको बारेमा चेताउनी दिँदै “तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर” (हितोपदेश ४:२३) भनिएकोले त्यसो गर्नु उसकै जिम्मेवारी त हो, तर उसका शत्रुहरू – शैतान, संसार र उसको पाप स्वभावका कारण उसलाई त्यसो नगर्न त्यति सजिलो छैन। त्यसैले स्त्रीहरूको पहिरनको सन्दर्भमा, परमेश्‍वरलाई आदर गर्न चाहने स्त्रीले पुरुषहरूको यो कमजोर पक्षलाई मध्यनजर राख्दै आफ्नो पहिरनले पुरुषहरूलाई अनैतिक सोचाइतर्फ डोर्‍याउन प्रोत्साहन दिन अवश्‍य चाहनेछैन। अङ्ग-प्रत्यङ्गको आकृति देखिने गरी चिरिएको, काटिएको, छोटो, कस्सिएको आदि पोशाकको प्रयोगले स्त्रीहरू आंशिक रुपमा नग्न रुपमा प्रकट हुन जान्छन् अनि यो पुरुषहरूलाई परिक्षामा पार्ने कुरा होइन र? “वेश्‍याको वस्त्र” (हितोपदेश ७:१०) ले अशुद्ध भाषा बोलिरहेको हुन्छ भन्ने जानेर हाम्रा विश्‍वासी दिदीबहिनीहरूले आफ्नो पहिरनमा कतै पनि त्यस्तो वस्त्रको छनक समेत नदेखियोस् भन्ने चाहनुपर्दछ। एउटी विश्‍वासी स्त्रीले खासै विचार नपुर्‍याई चलनचल्तीको वस्त्र पहिरेको हुन सक्छे, तर त्यस्तै वस्त्र हो भने यसले पुरुषलाई त असर पार्न सक्छ नै। एक दइटा उदाहरण दिन सकिन्छ। यदि वस्त्र छातितिर खुल्ला वा कस्सिएको छ भने पुरुषको आँखा त्यतैतिर जान सक्छ र अशुद्ध विचारलाई प्रोत्साहन पुग्न सक्छ। भित्री पोशाक देखिन गरी बाहिरपट्टि पातलो कपडाको प्रयोगले पुरुषलाई जिस्काउने काम गर्दछ। पाखुराको माथिसम्मै देखिने गरी छोटो बाहुलाको वस्त्रको पनि त्यस्तै नकरात्मक शक्ति छ, माथि-माथि कम्मरसम्मै चिरेको कुर्ता-सुरुवालको पनि। यस्तै अरु उदाहरणहरू पनि दिन नसकिने होइन। जे होस्, परमेश्‍वरको भय मान्ने स्त्रीले अवश्‍य पनि आफ्नो भेष-भूषाद्वारा गलत सन्देश प्रसारण गरेको चाहनेछैनन्।”
  • एकजना विश्‍वासीको सुझाव – “आइमाई मान्छेले कस्सिएको लुगा लगाउँदा लोग्ने मान्छेमा पर्न जाने नकारात्मक सोचाइहरू:
    1. लोग्ने मानिसको ध्यानलाई कस्सिएको लुगाले खिँच्दछ। जसको कारण लोग्ने मानिसको मन त्यही केटीतिर जान्छ।
    2. कस्सिएको लुगाले लोग्ने मानिसलाई त्यस स्त्रीप्रति कामुकताले जल्न मद्दत पुर्‍याउँछ।
    3. कति लोग्ने मानिसहरू यस्तै कस्सिएको लुगा लगाइएको स्त्रीलाई देखेर आफूलाई वशमा राख्‍न नसकी बलत्कार जस्तो घृणित काम पनि गर्न पुग्छन्।
    4. अधिकांश लोग्ने मानिसहरू जब स्त्रीले लगाएको कस्सिएको लुगा (पाइन्ट, टी-शर्ट, टाउजर्स, छोटो टाइट पातलो कुर्ता-सुरुवाल) देख्छन् त्यो टाइट लुगाले स्त्रीसँग व्यभिचार गर्ने मन पनि उब्जाइदिन्छ।”
  • हामीले पत्रपत्रिकामा भएका विभिन्न स्त्रीहरूको फोटोहरू एकजना विवाहित पुरुषलाई देखायौं। र यस्ता पहिरनमा सजिएर हिँड्ने स्त्रीहरूलाई केटाहरूले बाटोमा देख्दा के सोच्लान् लेख्‍नुहोस् भन्यौं।
    1. पहिलो फोटो चाहिँ छोटो टी-शर्ट र पाइन्ट लगाइकी एकजना स्त्रीको थियो। “यो केटीको लुगा छोटो छ, निश्‍चय नै फर्केर हेरिन्छ, तर उनको शरीर हेर्न।”
    2. अर्को फोटो चाहिँ हामीले हाम्रा साथीलाई बाहुला विनाको टी-शर्ट लगाएकी एक जना केटीको देखाएका थियौं। उनी त्यति सुन्दरी देखिँदैन थिइन् तर उनले लगाएको पोशाकले धेरै पुरुषहरूलाई परीक्षामा पार्दछ भन्ने सोचाई हाम्रो साथीको थियो। यसको बारेमा हाम्रो साथीले लेखेको कुरा निम्न लिखित छ। “यो केटीको अनुहार त्यति राम्रो नभए तापनि उनको बाहुला नभएको टी-शर्टले गर्दा र अलि टाइट लुगाले फेरि फर्केर अवश्य हेर्ने थिएँ। यस्तो लुगा नलगाउँदा नै बेस हुन्छ।” बाहुला विनाको चोलोहरू लगाउनु उचित हुँदैन भन्ने सोचाइ धेरै पुरुषहरूको रहँदै आएको छ। स्त्रीले जति पनि आफ्नो शरीरका अङ्गहरूको प्रदर्शन गर्छिन् (चाहे ती खुट्टहरू होऊन्, चाहे खुला पाखुराहरू, चाहे ती उनका छाती, चाहे नाङ्गो ढाड) त्यसले पुरुषहरूलाई उनीप्रति तिब्र लालसी बनाउँदछ।
    3. त्यसपछि अर्को चित्र चाहिँ हामीले साडी र चोलो (ब्लाउज) मा सजिएकी अर्की स्त्रीको फोटो देखायौँ। उनको चोलो छोटो भएकोले छाती त पेटका भागहरू सजिलै देखिन्थे। यस फोटोको बारेमा हाम्रो साथीले यसरी बयान गरे, “वाफ रे! यो त फेसन शो मा नै ठीक छ। यस्तो लुगा लगाउँदा त जसलाई पनि परीक्षा हुन्छ। उनलाई भन्दा शरीरलाई धेरै हेरिन्छ। धेरै नै खुलेको छ।” (फोटोमा केटीले साडी लगाएकी थिएन्। साडीको ब्लाउज छातीलाई अलिकति मात्रै ढाक्ने थियो।)
    4. जब हामीले हाम्रो साथीलाई लामो कुर्तामा सजिएकी एक स्त्रीको फोटो देखायौं, उनको प्रतिक्रिया कस्तो थियो त? उनले भने, “यो त अहिलेको इण्डियन सिरियलहरूको हिरोइन हो। पुरानो फिल्म फेसेनलाई टिभीले पुन: जन्माएको छ। सबै जिऊ ढाके तापनि टाइट अथवा शरीरमा नै जोडिएको कुर्ता फेरी हेर्न मन लाग्छ।” (चुरिदार कुर्ता सुरुवाल)।
    5. कसिलो टी-शर्ट र पाइन्ट लगाएकी एक स्त्रीको बारेमा हाम्रो साथीले लेखेको कुरा माथि हामीले पढ्यौं। तर त्यसको बारेमा अधिकांश स्त्रीहरूलाई थाहा छैन। पुरुषहरू स्त्रीको पुट्ठाबाट आकर्षित बन्न पुग्छन्। त्यसकारण पाइन्ट लगाएकी स्त्रीहरूका पछाडी पुरुषहरू हिँड्दा पुरुषहरूको ध्यान सजिलै खिचिन पुग्छ र उनीहरू कामुकताले जल्न पुग्छन्। हाम्रो साथीको प्रतिक्रिया यस्तो थियो – “अहिलेको आधुनिक केटीहरूको पहिरन टाइट र टि-शर्टले गर्दा शरीरको अङ्गहरू प्रष्ट देखिन्छ। पाइन्ट लगाउन उचित छैन। सिम्पल जिन्स मात्र त हो नि भन्ला तर यो लुगामा बाइबलले प्रतिबन्ध लगाएको छ। केटी अगाडी हिँड्दैछिन् भने निश्‍चय नै सबैलाई थाहा छ, केटाहरूले के हेर्छन् (पुट्ठा)।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

बहानाहरू!

बहानाहरू!

 

लुगाको बारेमा बाइबलीय शिक्षा सुनेपछि विश्‍वासी दिदीबहिनीहरूको सामु दुई विकल्पहरू छन्। १) यस शिक्षालाई ग्रहण गर्नु र आफ्नो पोशाक र सिँगारलाई परिवर्तन गर्नु। २) बहानाहरू बनाएर यस शिक्षालाई इन्कार गर्नु।

केही सामान्य बहानाहरू यी हुन् –

१) एक ख्रीष्टियन बहिनीले भन्नुभयो, “मलाई लामो कुर्ता र पन्जाबी सुरुवाल लाउन मन त लाग्छ तर मैले त्यस्तो लुगा लगाएँ भने मेरो साथीहरूले मलाई “ए यो त बुढी भइछ” भनेर जिस्काउँछन्। उनीहरूले जस्तै मैले पनि पाइन्ट लगाएर मडर्न बन्नुपर्छ भनेर भन्छन्।”

यस बहिनीलाई बाइबलीय सल्लाहको खाँचो छ। हिब्रू ११:२४-२६ मा मोशाको बारेमा यस्तो लेखिएको पाइन्छ –

“विश्‍वासैद्वारा मोशाले, उमेरदार भएपछि फाराओकी छोरीको छोरो कहलाइन इन्कार गरे; थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश‍वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; तिनले ख्रीष्टको निन्दालाई चाहिँ मिश्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनामतिर लागेको थियो।”

मोशालाई मिश्र देशको राजा फाराओकी छोरीले पालेकी थिइन्। राज दरबारमा हुर्केका मोशा अधिकार-प्राप्त व्यक्ति थिए। मोशा भविष्यमा मिश्र देशका धन सम्पत्तिहरूका अधिकारी हुनसक्थे। उनी शिक्षित, धनाढ्य, सु-सम्पन्न व्यक्ति थिए। तर मिश्र देशका बासिन्दाहरू मूर्तिपूजक र भक्तिहीन मानिसहरू भएका हुनाले धर्मी मोशाले मिश्र देशका सम्पूर्ण अभिलाषाहरूबाट पूर्ण रुपमा अलग हुने हुर्णय गरे। यस निर्णयले उनको सुखविलाषी जीवनलाई कष्टमा परिंणत गर्ने थियो भन्ने कुरा उनलाई थाहा थियो। ख्रीष्टको निम्ति दुःख भोग्नु नै मोशाले रोजे। “अहिले दुःख, पछि सुख। अहिले सुख पछि दुःख” भन्नु अत्युक्ति नहोला!

यदि तपाईं अभिलाषी जीवन रोज्नुहुन्छ भने अवश्‍य तपाईंले रमाइलोको महसुस गर्नुहुनेछ। तर त्यो केही समयको लागि मात्रै एउटा क्षणिक आनन्द हो। संसारको रमाइलोमा आफूलाई समर्पण गर्नेहरूले परमेश्‍वरको इच्छाभन्दा आफ्ना साथीहरूको इच्छा जान्न चाहन्छन्। तपाईंको प्रेम, ध्यान, र आशाहरू संसारमा भएको हुनाले तपाईंलाई परमेश्‍वरको विचारको मतलब हुँदैन। परमेश्‍वरबाट प्रशंसा पाउनुभन्दा साथीहरूको प्रशंसा पाउन तपाईंलाई रमाइलो लाग्न सक्छ।

“हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु – प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस; अनि अन्यजातिहरूका बीचमा तिमीहरूले असल चालचलन देखाओ; र जुन कुरामा कुकर्म गर्नेहरू भनी तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा परमेश्‍वरको महिमा गरून्” (१ पत्रुस २:११,१२)।

“र अब उसो उसले आफ्नो बाँकी समय शरीरमा मनिसहरूका अभिलाषाहरू अनुसार होइन, तर परमेश्‍वरको इच्छाअनुसार जिओस्” (१ पत्रुस ४:२)।

२) “मसँग लुगा किन्नलाई पैसा छैन। कुर्ता सुरुवालभन्दा पाइन्ट र शर्ट सस्तो पर्छ। के गर्ने?” एक जना बहिनीले यस्तै प्रश्‍न गरिन्।

परमेश्‍वरका आज्ञाहरूचाहिँ बजारमा पइने गोलभेँडा जस्ता होइनन् जुनलाई सस्तो लागेमा घर लैजान्छौं नभए छाडेर हिँड्छौं। उहाँका आज्ञाहरू अपरिवर्तनीय र सबै परिस्थितिमा लागु हुने नियम हुन्। विश्‍वासमा बढ्दै जाऔं! स्वर्गमा विराजमान हाम्रा पिताले आफ्नो वचनमा हामीलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। ती प्रतिज्ञाहरू अँगाल्दै हामीले उहाँसँग प्रार्थना गर्नुपर्छ। अवश्य उहाँले हाम्रा खाँचोहरू पूरा गर्नुहुनेछ! (फिलिप्पी ४:१९ र मत्ती ६:२५-३३)।

३) “मैले टाइट, मडर्न लुगा लगाएको मेरो आमाबाबु चाहनुहुन्छ।”

प्रेरित ५:२९ “तब पत्रुस र अरु प्ररितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरकै आज्ञा पालन गर्नुपर्छ।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

जाँचेर हेर!

जाँचेर हेर!

 

ख्रीष्टियनलाई जे गर्न मन लाग्छ उसले त्यो गर्न सक्छ भनेर पावलले बाइबलमा कहिले पनि सिकाएनन्। कुनै पनि कार्य वा व्यक्तिलाई आफ्नो जीवनमा निम्त्याउनुभन्दा पहिले विश्‍वासीले त्यो कार्य वा कुरा वा व्यक्तिको जाँच गर्नु पर्ने हुन्छ। चारओटा प्रश्‍नहरू यस प्रकारका छन् –

१) के यस कार्य वा कुरा वा व्यक्तिले मलाई त्यसको वशमा पार्छ? (म ख्रीष्टियन हुँ, त्यसैले मेरो शरीर ख्रीष्टको वशमा रहनुपर्छ।)
२) के यसो गर्नु/ लाउनु/ खानु/ हेर्नु/ सुन्नु उचित छ?
३) के यसद्वारा मेरो र अरु विश्‍वासीहरूको उन्नति हुन्छ?
४) के यसले गर्दा अरुहरूले ठेस खान्छ? यसद्वारा अरुहरूको आत्मिक जीवन कसरी प्रभावित हुन्छ?

जुन कार्यहरू परमेश्‍वरले उहाँको वचनमा मनाही गर्नुभएको छ, ती कार्यहरू गर्नु विश्‍वासीको लागि पाप हो। परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ। तर मानिसचाहिँ परिवर्तनशील प्राणी हो र नयाँ-नायाँ पापपूर्ण कार्यहरू रच्नु मानिसको विशेषता हो। २००० बर्ष अगाडि जब बाइबलको नयाँ करार लेखियो, त्यसबेला टेलिभिजन वा च्यानल वा इन्टरनेटको सुरुआत भइसकेको थिएन। तर पनि यी नयाँ कुराहरूलाई (नयाँ-नयाँ फेसनहरूलाई पनि) बाइबलद्वारा आधुनिक विश्‍वासीहरूको जीवनको जाँच गर्‍यौं भने धेरै मण्डलीका सदस्यहरूको जीवनशैली बाइबलसँग मेल नखाने किसिमको भेटिन्छ।

बाइबलद्वारा आजकालका फेसनहरूको जाँच गर्छौं भने ती फेसनहरू विश्‍वासीको लागि अनुचित छन् भनेर सजिलै थाहा पाउन सक्छौं। पहिलो कुरा, ती फेसनहरूले दिदीबहिनीहरूलाई वशमा पार्छन्। सांसारिक फेसनको लत लागेर युवतीहरू ज्यादा समय र पैसा त्यसैमा खर्च गरिरहेका छन्। परमेश्‍वरको वचनलाई भन्दा धेरै उनीहरूले ती सांसारिक कुराहरूलाई प्रेम गर्छन्। परमेश्‍वरको इच्छा बमोजिम हिँड्नुपर्ने दिदीबहिनीहरू आज संसारको इच्छा अनुसार हिँडिरहेका छन्। यो त अचम्मको कुरा भयो!

दोश्रो कुरा, छाडा लुगा लगाउनु विश्‍वासीको लागि उचित छैन किनभने त्यस्तो पहिरनद्वारा अरु विश्‍वासीहरूको भलाइ हुन सक्दैन। त्यस्तो लुगा पवित्रतालाई सुहाउने लुगा होइन, किनभने छाडा लुगाले कुइच्छा, प्रवल वासना, र व्यभिचारको लागि बाटो खोल्छ। स्त्रीको छाडा लुगाको कारण पुरुषहरू ठेस खान सक्छन् र आत्मिक रूपमा बढ्न उनीहरूलाई बाधा हुन्छ। छाडा लुगा लगाउँदा स्त्रीले उन्नति होइन तर समाजमा, मण्डलीमा, र परिवारमा विकृति निम्त्याउँछिन्।

१ यूहन्ना २:१५-१७ र याकूब ४:४

“संसारलाई प्रेम नगर, न ता संसारमा भएका कुराहरूलाई नै। कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै कुराहरू – शरीरको अभिलाषा, आखाँहरूको अभिलाषा र जीवनको सेखी पिताबाटको होइन, तर संसारबाटको हो्।”

“हे व्यभिचारी र व्यभिचारिणीहरूहो, संसारसँगको मित्रता चाहिँ परमेश्‍वरसँगको शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ, उसले आफुलाई परमेश्‍वरको शत्रु बनाउँछ।”

यस वर्तमान संसारका मानिसहरू दुष्ट छन् र उनीहरू परमेश्‍वरको विद्रोही हुन्। यस संसारका शासकहरू (देखिने र नदेखिने) पनि परमेश्‍वरका विरुद्धमा छन्। संसार परमेश्‍वको शत्रु सैतानको अधीनमा रहेको हुनाले संसारलाई प्रेम गर्ने व्यक्तिले वास्तवमा परमेश्‍वरलाई प्रेम गर्दैन। यो कडा वचन हो, कठोर शब्द हुन् यी, र धेरै मानिसहरूले यस्तो शिक्षा पचाउन सक्दैनन्। तर यो मानिसको वचन वा शिक्षा होइन। बाइबलले नै हामीलाई यी कुराहरू सिकाएको छ। संसारको साथी परमेश्‍वर साथी होइन! यस कुरामा हामी ठेस नखाऔँ, धोकामा नपरौं! आज धेरैजसो चर्चहरूमा विश्‍वासीजनहरू संसारका साथी भई हिँडिरहेका छन्। सङ्गतीमा भजन गाउँछन्, जोशसाथ वचन सुनाउँछन्, आँसु बहाउँछन्, इत्यादी, तर हप्ताको ६ दिन चाहिँ उनीहरूले आफ्ना आँखा र कान नअघाउन्जेल संसारकै विचारहरूले आफ्नो मन भर्छन्। जब सिपाही लडाईंमा खटाइन्छ, तब के त्यो सिपाही आफ्नो शत्रुको सिद्घान्त र शिक्षा सुनेर बस्छ? तर कोही-कोही विश्‍वासीहरू परमेश्‍वरलाई हप्ताको चार-पाँच घण्टा दिएर बाँकी समय आफ्नो प्राणको शत्रुलाई दिइरहेका छन्। यसो गर्नुचाहिँ परमेश्‍वरको वचनको ठाडो उल्लङ्घन गर्नु हो। यसरी विश्‍वासीहरूको जीवनद्वारा येशूको प्रशंसा होइन तर बेइज्जत भइरहेको छ।

यस पुस्तिका पढ्ने दिदीबहिनीहरूको मनमा एउटा प्रश्‍न उठ्न सक्छ। “वास्तवमा, ‘संसार’ भनरको के हो, त?” “‘संसारबाट अलग होओ’ त भनिएको छ, तर कसरी? हावा-पानी, जमीनबाट अलग होओ भनेको हो कि? परिवारबाट अलग होओ भनेको हो कि?” होइन। परमेश्‍वरको वचनमा “संसार” ले संसारमा भएका दुष्ट कुराहरूलाई सङ्केत गर्छ। “दुष्ट कुरा” भन्नाले अनैतिक सङ्गीत, टेलिभिजन (किनभने त्यसमा प्रसारण हुने अधिकांश कार्यक्रमहरू अनैतिक र अभिलाषापूर्ण छन्), विभिन्न पत्रिकाहरू, भित्तामा टाँसिने अनैतिक तस्वीरहरू इत्यादी। त्यस्ता कुराहरू विश्‍वासीको कोठामा नहोऊन्! ती कुराहरूबाट अलग रहनुपर्छ। तर परमेश्‍वरको सृष्टिबाट अलग होओ भनेको होइन।

रोमी १२:१-२

“यसकारण भइहरूहो, परमेश्‍वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु: आफ्ना शरीरहरूलाई तिमीले पवित्र, परमेश्‍वरलाई मन पर्ने, जिउँदो बलिदानको रूपमा चढाइदेओ; यही तिमीहरूको उचित सेवा हो। अनि यस संसारसित एकनासे नहोओ, तर परमेश्‍वरको असल, ग्रहणयोग्य त‍र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ हुवाइद्वारा तिमीहरू बदली हुँदै जाओ।”

यस खण्डअनुसार, यदि हामी हाम्रो जीवनमा परमेश्‍वरको इच्छा थाहा गर्न चाहन्छौं भने हामीलाई संसारबाट अलग हुनु आवश्यक छ। मुक्तिचाहिँ परमेश्‍वरबाटको उपहार हो र त्यो हामी सितैंमा पाउँछौं। जसरी कुनै परिवारमा एउटा बालकको जन्म हुन्छ – त्यस बालकले त्यस परिवारमा छोराको स्थान सित्तैमा पाउँछ। उसले त्यो स्थान आफै कमाएको होइन। तर जब ऊ बढ्दै जान्छ, उसको आमाबाबुलाई प्रसन्न तुल्याउनलाई उसले केही मेहनत गर्नुपर्छ, आज्ञाकारी हुनुपर्छ।

संसारबाट अलग हुनु भनेको संसारको देखासिकी नगर्नु हो – संसारको वशमा आफूलाई नसुम्पिनु – त्यसको सिद्धान्त र विचार अनुसार नहिँड्नु। जुन विश्‍वासीहरू वास्तवमा संसारबाट अलग छन् उनीहरू संसारको फेसन, मनोरञ्जन र मित्रतामा रमाउन सक्दैनन्।

कसरी बद्ली हुने? कसरी नयाँ हुने? कसरी परमेश्‍वरको इच्छा जान्ने? परमेश्‍वरको वचनद्वारा नै, किनकि यो “कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ” (हिब्रू ४:१२)। पवित्र शास्त्र बाइबललाई पढेर, अध्ययन गरेर, र कण्ठ पारेर ख्रीष्टियनहरू परमेश्‍वरको मन बुझ्न सक्छन् र जीवनको हरेक क्षेत्रमा उहाँको निर्देशन पाउन सक्छन्। तर सांसारिक ख्रीष्टियन नबढेको बालकझैं कमजोर भइरहन्छ र उसको जीवनमा बुद्धिको कमी हुन्छ। ( तपाईंलाई सल्लाहको खाँचो परेमा, सांसारिक ख्रीष्टियनकहाँ नजानुहोस्!) जो परमेश्‍वरको वचनको ज्ञानले भरिएका छन्, उनीहरूको ज्ञानेन्द्रियहरू “काममा परी-परीकन दुवै असल र खराब छुट्टयाउनका निम्ति अभ्यस्त भएका हुन्छन्” (हिब्रू ५:११)। लुगाको सन्दर्भमा पनि परिपक्क्व वा बलियो विश्‍वासी असल र खराब छुट्याउन सक्ने हुन्छ।

तर सल्लाह लिँदा पनि होशियार हुनुपर्छ। किनभने आजभोलि यस्ता धेरै मण्डलीका अगुवाहरू हुनुहुन्छ जो विश्‍वासीहरूलाई खाँटी शिक्षा वा बाइबलको कडा शिक्षा दिन चहानुहुन्न। ती व्यक्तिहरूको शिक्षामा ध्यान दिनेहरूको बयान २ तिमोथी ४:३-४ मा दिइइको छ, “किनकि यस्तो समय आउनेछ, जब तिनीहरूले खाँटी शिक्षा सहनेछैनन्, तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन्।” विश्‍वासीहरू संसारबाट अलग रहनु पर्दैन भन्ने धेरै अगुवाहरूको विचार बाइबलमा आधारित नभएको हुनाले त्यो केवल एउटा दन्त्यकथा मात्र हो! परमेश्‍वरलाई खुसी पार्ने प्रचारकले खाँटी शिक्षा दिन हिच्किचाउनेछैन। “वचन प्रचार गर; समयमा र असमयमा तयार बस; सारा सहनशिलता र शिक्षाले दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ” (२ तिमोथी ४:२)।

संसारबाट अलग रहने विश्‍वासीले संसारका खराब कुराहरूलाई आफ्नो घरमा निम्त्याउँदैन! ख्रीष्टियन अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई संसारबाट अलग राख्‍न सकभर प्रयास गर्नुपर्छ। संसारले हाम्रा छोराछोरीलाई सिकार बनाउन खोजिरहेको छ! घरभित्र पस्ने हरेक चीजलाई ख्रीष्टियन अभिभावकले जाँच्नु पर्छ, चाहे त्यो पत्रिका, सीडी, सङ्गीत, फिल्म, पुस्तक, भिडियो गेम् वा छिमेकीका छोराछोरीहरू किन नहोस्। जुन कुराहरूद्वारा परमेश्‍वरको पवित्रता झल्किँदैन, ती कुराहरूलाई इन्कार गर्नुपर्छ।

धार्मिकतामा आफ्ना छोराछोरीहरूलाई तालिम दिने जिम्मेवारी परमेश्‍वरले अभिभावकहरूलाई दिनुभएको छ। त्यसैले उचित काम, बानी र व्यवहार के हो भनेर आमाबाबुले आफ्ना बालबालिकाहरूलाई सिकाउनुपर्छ। विश्‍वासी अभिभावकहरूले आफ्ना छोराछोरीलाई सांसारिक मनोरञ्जन, सांसारिक पोशाक, सांसारिक साथीहरू र विचारहरूबाट अलग पार्नुपर्छ। शैतानको बन्धनबाट यदि हामी साँचै हाम्रा छोराछोरीहरूलाई जोगाउन चाहन्छौं भने गम्भीरतापूर्वक हामीले यस जिम्मेवारीलाई बहन गर्नैपर्छ।

स्कूलको प्रभाव

“तिमी ठूलो मान्छे बन्नुपर्छ, धेरै पढ्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ” भनेर सबैले बालबालिकालाई सम्झाउने गर्छन्। प्रायजसो विश्‍वासीहरूको पनि यस्तै विचार होला। दुःख कसले भोग्न चाहन्छ र? सुखी जीवनको कल्पना कसले पो गर्दैन? तर, प्रिय विश्‍वासी दिदीबहिनीहरूहो, आज संसारको अवस्था सदोम र गमोराको अवस्था जस्तै छ (उत्पत्ति १९ अध्याय)। स्कूल र कलेजले तपाईंका छोराछोरीहरूलाई कस्तो प्रशिक्षण दिन्छ भन्ने बारेमा सयौं पानाको पुस्तक लेख्‍न मन लाग्दा-लाग्दै हामी आफूलाई नियन्त्रण गर्दै यति मात्र भन्नेछौं: १) स्कूलको ड्रेसले तपाईंको छोरीलाई निर्लज्ज लुगा लगाउन सिकाइरहेको छ (प्रायजसो पाइन्ट वा हाफ स्कर्ट लगाउनुपर्छ)। २) स्कूलका साथीहरूले तपाईंकी छोरीलाई फिल्म, रक सङ्गीत, र केटाहरूलाई मन पराउन सिकाइरहेका छन्। ३) स्कूलका सर मिसहरूले (जसले परमेश्‍वरलाई चिन्नुभएको छैन) बाइबलका सत्यताहरूलाई शङ्का गर्न सिकाइरहेका छन्। ४) स्कूलका पुस्तकहरूले तपाईंकी छोरीलाई दन्त्यकथाहरू सिकइरहेका छन्। (ईश्‍वर छैन, पृथ्वी आफै हुन आएको हो, समलिङ्गीहरूको व्यवहार उचित छ, इत्यादी)।

सायद माथि उल्लेखित कुराहरूले तपाईंलाई निराश पारेका छन्। “यो त अति नै भयो, नि। बच्चालाई स्कूलै पठाउनु नहुने रे! के लेखेको होला यस्तो?” तर तपाईंलाई तर्साउने हेतुले हामीले यस्ता कुराहरू लेखेका होइनौं। केवल यो विचार टक्राउन चाहन्छौं। – परमेश्‍वर सामर्थी र विश्‍वासयोग्य हुनुहुन्छ। तपाईंले विश्‍वासको कदम चालनुहुन्छ भने (मनमा मात्रै होइन तर व्यवहारमा पनि) तब परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरले तपाईंलाई विकल्पहरू देखाउनुहुन्छ। सयौं अभिभावकहरूले यही साक्षी दिन सक्छन्। तर कुनै पनि विकल्प देखापरेन भने, नि? वास्तवमा, गरिब तर परमेश्‍वरको प्रेमले भरिपूर्ण हुनुचाहिँ धनी तर परमेश्‍वरबाट टाढा हुनुभन्दा उत्तम हो।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।