र्‍याप्चर

Study Series

र्‍याप्चर

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ थेस्सलोनिकी ४:१३-१८

“र्‍याप्चर” भन्ने शब्द बाइबलमा पाइँदैन तरैपनि यो १ थेस्सलोनिकी ४:१३-१८ मा बयान गरिए अनुसार विश्वासी जनहरू उठाइलगिने कुरालाई जनाउने शब्दावली हो। १ थेस्सलोनिकी ४:१७ को “उठाइनेछौं” भन्ने शब्द अन्य ठाउँमा “खोसेर लैजान्छ” (यूहन्ना १०:२८) भनेर अनुवाद गरिएको छ। यो शब्द इथियोपियाइ नपुंसकले प्रभुलाई पाएपछि पवित्र आत्माले फिलिपलाई उठाएर लैजानुभएको कुरालाई बयान गर्न प्रयोग भएको छ (प्रेरित ८:३९)। दनियलको ७० औं हप्ता (Daniel’s 70th week) को प्रारम्भ हुनुभन्दा अगाडि ख्रीष्टले नयाँ नियमका विश्वासीहरूलाई ठीक यस्तै गर्नुहुनेछ।

१ थेस्सलोनिकी ४:१३-१८ मा आधारित पाठहरू

  1. र्‍याप्चरको घडीमा दुईटा घटना पूरा हुनेछन्: ख्रीष्टमा मरेकाहरू बौराइनेछन् (१ थेस्सलोनिकी ५:१४-१६) र जीवित रहेका पवित्र जनहरू बदली गराइनेछन् र उठाइलगिनेछन् (१ थेस्सलोनिकी ५:१७)। जीवित रहेका पवित्र जनहरूको बदली हुवाइलाई १ कोरिन्थी १५ अध्यायमा विनाशी, मरणशील शरीर तुरुन्तै अविनाशी र अमर शरीरमा बदली गराइनेछ भनेर बयान गरिएको छ (पद ५२-५३)। १ थेस्सलोनिकी ४ अनुसार ख्रीष्टमा मरेकाहरू उहाँसँगै स्वर्गमा छन्; कुनै कुनै झूटा शिक्षाले दाबी गरेझैं उनीहरू चिहानमा सुतिरहेका छैनन्।
  2. र्‍याप्चर विश्वासीको आशा हो (१ थेस्सलोनिकी ५:१३)। हामीले प्रतीक्षा गरेर बाटो हेरिरहेको घटना यही हो। हामी ख्रीष्टविरोधी वा महासङ्कष्टको बाटो हेरिरहेका छैनौं!
  3. र्‍याप्चर निश्चित छ। ख्रीष्टको बौरिउठाइ जत्तिकै यो निश्चित छ (१ थेस्सलोनिकी ५:१४)। यो प्रभुको वचन हो (१ थेस्सलोनिकी ५:१५)।
  4. र्‍याप्चर सान्त्वना हो (१ थेस्सलोनिकी ४:१८)। यदि महासङ्कष्ट पश्चात् मात्र र्‍याप्चर हुने भएको भए यसले सान्त्वना प्रदान गर्न सक्दैनथ्यो।

सङ्कष्टकाल अगाडि नै र्‍याप्चर हुनेछ भन्ने बाइबलीय प्रमाण

मण्डली युगका विश्वासीहरूको र्‍याप्चर अक्षरशः हुनेछ भनेर विश्वास गर्नेहरूका बीचमा तीनओटा फरक फरक अवधारणाहरू छन्। यी अवधारणाहरू र्‍याप्चर र महासङ्कष्टको समय तालिकासित सम्बन्धित छन्। यी तीन अवधारणाहरू यस प्रकार छन्: पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू महासङ्कष्टकाल अगाडि नै र्‍याप्चर गराइनेछन्; मध्य-सङ्कष्टकालीय र्‍याप्चर (Mid-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू दनियलको ७० अौं हप्‍ताको पहिलो आधा भागको अनुभव गर्नेछन्; सङ्कष्ट-पश्चातीय र्‍याप्चर (Post-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू सङ्कष्टकालको पूरै कालखण्डको अनुभव गर्नेछन्।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर नै सही बाइबलीय शिक्षा हो भन्ने कुरामा हामी विश्वस्त हुनुका कारणहरू निम्नअनुसार छन्। यस अध्ययनमा हामी “मण्डली” भन्ने शब्दलाई सामान्य, संस्थागत अर्थमा प्रयोग गर्दैछौं:

१) मण्डली युगका विश्वासीहरूलाई उनीहरू क्रोधबाट बचाइनेछन् भन्ने प्रतिज्ञा दिइएको छ (१ थेस्सलोनिकी १:९-१०; ५:१-९; रोमी ५:९; प्रकाश ३:१०)।

महासङ्कष्टलाई परमेश्वरको क्रोधको दिन भन्ने संज्ञा स्पष्टै दिइएको छ। आज परमेश्वरले आफ्‍नो क्रोधलाई थामिराख्‍नुभएको छ; उहाँ अनुग्रहको सिंहासनमाथि विराजमान हुनुहुन्छ तर त्यो दिन नजिक आउँदैछ जब उहाँ न्यायको सिंहासनमाथि बस्नुहुनेछ। तब “उहाँको क्रोधको दिन” सारा संसारमाथि आउनेछ (भजनसङ्ग्रह ११०:५; यशैया १३:६-१३; प्रकाश ६:१६-१७)। प्रत्येक शताब्दीमा बाइबल-विश्वासी मण्डलीहरूले उत्पीडनका अनुभव गरेका छन्, तर त्यो भनेको महासङ्कष्ट भन्दा फरक कुरा हो। पवित्र जनहरूका उत्पीडनहरू दुष्ट मानिस र शैतानको क्रोधका कारण हुन्छन् जब कि सात वर्ष लामो सङ्कष्टकाल विशेष गरी परमेश्वरको क्रोधको समय हो ( प्रकाश ६:१६-१७; १४:१०)। मण्डली क्रोधको समयबाट बचाइने नभएर क्रोधको समयमा बचाइनेछन् भनेर कोही‍-कोही ठान्छन्। तर यो साँचो हुन सक्दैन किनभने महासङ्कष्टको समयमा यस पृथ्वीमा रहनेहरू क्रोधबाट बचाइँदैनन् तर उनीहरू मारिन्छन् भन्ने कुरा बाइबलले सिकाउँछ (प्रकाश १३:७)। मण्डली युगका विश्वासीहरू क्रोधबाट बचाइनेछन् भनेर सिकाउने पदहरूको माने उनीहरू क्रोधको उपस्थितिबाटै मुक्त हुनेछन् भन्ने हुनुपर्दछ। महासङ्कष्टको बारेमा हामीलाई बताइएको छ – “सम्पूर्ण पृथ्वीमाथि बस्नेहरू सबैमाथि पासोझैं त्यो आइपर्नेछ” (लूका २१:३५)। तसर्थ, मण्डली युगका विश्वासीहरू या त पृथ्वीबाट स-शरीर अलग पारिनुपर्ने हुन्छ या त क्रोधको दिनमा मुछिनुपर्ने हुन्छ। परमेश्वरको प्रतिज्ञा छ, “म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुनचाहिँ पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नाका निम्ति सारा संसारमाथि आउनेछ” (प्रकाश ३:१०)। यस पदबाट परमेश्वरले मण्डली युगका विश्वासीहरूलाई परीक्षामा जोगाउनुहुने नभएर परीक्षाबाट नै जोगाउनुहुनेछ भन्ने कुरा प्रस्ट बुझिन्छ।

२) पवित्र आत्मा सङ्कष्टकाल अगाडि अलग्गिनुहुनेछ (२ थेस्सलोनिकी २:१-८)।

बाइबलका अन्य खण्डहरूमा पवित्र आत्मा पापलाई रोकिराख्ने व्यक्तिको रूपमा बयान गरिनुभएको छ (उत्पत्ति ६:३; यशैया ५९:१९)। पवित्र आत्मा, मण्डलीलाई महान आज्ञा (प्रेरित १:८) पूरा गर्ने सामर्थ्य प्रदान गर्न वर्तमान प्रबन्धको शुरुमा यस संसारमा पेन्टेकोस्टको दिनमा आउनुभयो। परमेश्वरको ठूलो क्रोधको दिन अगावै उहाँले मण्डली युगका विश्वासीहरूलाई स्थानान्तरण अर्थात् र्‍याप्चर गर्नुहुनेछ। यसको मतलब पवित्र आत्मा त्यसपछि संसारमा पटक्कै हुनुहुनेछैन भन्ने होइन। यसको मतलब उहाँ जुन प्रकारले यस वर्तमान युगमा उपस्थित हुनुहुन्छ दुरुस्त त्यसरी नै चाहिँ त्यसबेला हुनुहुनेछैन भन्ने हो।

३) र्‍याप्चर अचानक (imminent) अर्थात् कुनै पनि बेला हुन सक्ने घटना हो।

यो कुरा ख्रीष्टले सिकाउनुभयो (मत्ती २४:४२,४४; २५:१३; मर्कूस १३:३३)। यो कुरा पावलले सिकाए (फिलिप्पी ४:५; तीतस २:१२-१३)। यो कुरा याकूबले सिकाए (याकूब ५:८-९)। यो कुरा पत्रुसले सिकाए (१ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षामा जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)। नयाँ नियमको विश्वासी जनले सारा संसारभरिका मानिसहरूलाई छोप्न आउने “अन्धकारको दिन” बाट छुटकारा पाउनेछ भनी प्रतिज्ञा गरिएको हुनाले प्रेरित पावलले थेस्सलोनिकाका विश्वासीहरूलाई उनीहरू चिन्ह तथा समयहरूको पछि लाग्नु आवश्यक छैन भन्ने कुरा सिकाए (१ थेस्सलोनिकी ५:१-९)। मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षामा होइन तर परमेश्वरको पुत्रबाटको छुटकाराको प्रतीक्षामा जिउँदछ।

४) मण्डली पुरानो नियममा प्रकट नभएको एक रहस्य हो (एफेसी ३:१-११)।

पुरानो नियमका अगमवक्ताहरूले भविष्यवाणी गरेका घटनाहरूको कालक्रमसित नयाँ नियम मण्डलीको कुनै सरोकार छैन। उनीहरूले ख्रीष्टको पहिलो आगमनको, उहाँको अलौकिक जन्मको, उहाँको जीवनको, मृत्युको, बौरिउठाइको र स्वर्गारोहणको स्पष्टै भविष्यवाणी गरे। तिनै अगमवक्ताहरूले ख्रीष्टको दोस्रो र महिमित आगमनको र त्यस अगाडि हुने अपूर्व विश्वव्यापी सङ्कष्टको र त्यसपछि स्थापना हुने महिमित मसीही राज्यको भविष्यवाणी गरे। तर ती अगमवक्ताहरूले वर्तमान मण्डली युगलाई देख्‍न सकेनन् — “जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:५)।

पहिलो र दोस्रो आगमनको बीचमा एउटा कालखण्ड रहेको छ जसलाई पुरानो नियमका अगमवक्ताहरूले देखेनन्। यो कालखण्ड मण्डली युग हो। इस्राएल केही समयको लागि (अस्थायी रूपमा) हटाइनेछ र त्यस बेला परमेश्वरले सबै जातिहरूबाट मानिसहरूको एउटा विशेष आत्मिक शरीर निर्माण गर्नुहुनेछ भन्ने कुरा अगमवक्ताहरूले देखेनन्। उहाँले यस उद्देश्यलाई पूरा गर्नुभएपछि र अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आएपछि परमेश्वरले इस्राएलको हाल स्थगित रहेको अगमवाणीरूपी घडीलाई पुनः सञ्चालनमा ल्याउनुहुन्छ र आफ्‍नो प्राचीन चुनिएको जातिको सम्बन्धमा रहेका पुरानो नियमका बाँकी सबै भविष्यवाणीहरूलाई पूरा गर्नुहुनेछ। “…जबसम्म अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ” (रोमी ११:२५)।

दनियलको पुस्तकको नवौं अध्यायमा उल्लेखित सत्तरीयौं हप्‍ता (Daniel’s 70th week) र महासङ्कष्टको कालखण्ड इस्राएलसित सम्बन्धित कुरा हुन्, मण्डली‍ युगका विश्वासीहरूसित होइन। वर्तमान रहस्यको कालखण्डको अन्त त्यसबेला हुनेछ जुन बेला मण्डली युगका विश्वासीहरू पृथ्वीदेखि उठाइलगिनेछन्। अनि प्रभुले इस्राएल जातिको सम्बन्धमा रहेको उहाँको योजनालाई अगाडि बढाउनुहुनेछ जब उहाँले याकूबको कष्ट (Jacob’s trouble) को कालखण्ड (यर्मिया ३०:६), मसीहको महिमित आगमन, बचेकाहरूलाई फेरि जम्मा पार्ने काम र मसीही राज्यको स्थापना सम्बन्धीका पुरानो नियमका भविष्यवाणीहरू पूरा गर्नुहुनेछ।

५) सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा मण्डली रहिरहेको हुँदैन भन्ने कुरा प्रकाशको पुस्तकले देखाउँदछ।

प्रकाश अध्याय ३ पछि मण्डली पृथ्वीमा रहिरहेको पाइँदैन।

सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा परमेश्वरको साक्षी हुने जिम्मेवारी इस्राएलको हुनेछ, मण्डलीको होइन (प्रकाश ७)।

प्रकाश ११ मा उल्लेखित दुई साक्षीहरूको सेवकाइले उनीहरूलाई इस्राएल जाति र “परमप्रभुको दिन” सित सम्बन्धित पुरानो नियमका अगमवाणीहरूसित सम्बन्धित रहेको देखाउँछन्। यी दुई साक्षीहरू आफ्‍नो काम यरूशलेमबाट सञ्चालन गर्छन्, अर्थात् इस्राएलको राजधानीबाट। मण्डलीहरूको त्यस्तो कुनै राजधानी भन्ने कुरा नै हुँदैन किनकि मण्डलीको आशा स्वर्गीय आशा हो, पार्थिव होइन (कलस्सी ३:१-४; फिलिप्पी ३:१७-२१)। यी दुई साक्षीहरू भाङ्ग्राको लुगा लगाउँछन् जुनचाहिँ पुरानो नियमको इस्राएलमा त्यस्तै समयमा लगाइने गरिन्थ्यो, तर नयाँ नियम विश्वासीहरूसित सरोकार राख्‍ने कुरा यो होइन। कहिल्यै मण्डलीहरूले भाङ्ग्रा लगाएको पाइँदैन। बरु तिनीहरूलाई “प्रभुमा सधैं आनन्द गर; म फेरि भन्दछु, आनन्द गर” (फिलिप्पी ४:४) भनिएको पाइन्छ। मण्डली युगको विश्वासीको न्याय सदाको लागि बितेर गइसकेको छ अनि उसले आफ्‍नो मन स्वर्गीय स्थानहरूमा लगाउनुपर्छ जहाँ उसको ओहदामा ऊ ख्रीष्टसँगै अनन्तका लागि विजयी तुल्याइएर बसालिएको छ (एफेसी २:५-१०)। प्रकाश ११:४ ले यी दुई साक्षीहरूलाई पुरानो नियमको अगमवाणीसित जोडिएको देखाउँछ। जकरिया ४:३,११,१४ इस्राएलको भविष्यवाणी हो, मण्डलीको होइन। अझ, यी दुई साक्षीहरूले प्रकाश १०:५-६ मा आफ्‍ना शत्रुहरूमाथि इन्साफ बर्साउँछन्। ठीक यस्तै इन्साफ बर्साउन चाहिरहेका आफ्‍ना चेलाहरूलाई भने येशूले हप्‍काउनुभयो र बरु मण्डली युगका विश्वासीलाई आफ्‍ना शत्रुहरूको विनाशका निम्ति होइन भलाइका निम्ति प्रार्थना गर्नलाई आज्ञा दिनुभयो (लूका ९:५४-५६; रोमी १२:१४,१७-२१)।

सङ्कष्टकालको कालखण्डमा शैतानले इस्राएललाई सताउनेछ, मण्डलीलाई होइन (प्रकाश १२)। यस अध्यायको स्त्रीले इस्राएललाई जनाउँछ भन्ने कुरामा कुनै शङ्का छैन। पद ५ मा उक्त स्त्रीले ख्रीष्टलाई जन्माएको देखाइएको छ; यो कुरा स्पष्ट छ कि येशू इस्राएलद्वारा जन्मनुभयो, मण्डलीद्वारा होइन (यशैया ९:६-७; रोमी ९:५)। साथै, प्रकाश १२:१-२ का साङ्केतिक चिन्हहरूको भाषाले पुरानो नियमको इस्राएललाई जनाइरहेको छ। इस्राएललाई स्त्रीको संज्ञा दिइएको छ (यशैया ५४:५-७)। प्रकाश १२:२ का घाम, जून र १२ ताराहरूको उल्लेखले हाम्रो ध्यान यूसुफले देखेको इस्राएलसित सम्बन्धित सपनातिर लैजान्छ (उत्पत्ति ३७:९)। प्रकाश १२:२ का शब्दहरू मीका ५:३ को झण्डै हुबहु उद्धरण हो जहाँ फेरि मसीहद्वारा हुने इस्राएलको छुटकाराको उल्लेख छ। यी साङ्केतिक चिन्हहरू नयाँ नियमका मण्डलीहरूलाई बयान गर्न प्रयोग गरिएका छैनन्।

यिनै लगायत अन्य कारणहरूले पनि नयाँ नियमका पवित्र जनहरूको र्‍याप्चर दनियलको ७० औं हप्‍ता शुरु हुनु भन्दा अगाडि हुनेछ भनेर हामी विश्वस्त भएका छौं। परमेश्वरको अगमवाणीको पात्रोमा अब कुनै पनि बेला पूरा हुनलाई पर्खिरहेको घटना भनेको र्‍याप्चर नै हो।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) को महत्त्व

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा थोरै महत्त्वको, ज्यादा ध्यान दिनु नपर्ने शिक्षा होइन। जसरी हामीले हेरिसकेका छौं, ख्रीष्टले, पावलले, याकूबले र पत्रुसले ख्रीष्टको पुनरागमन कुनै पनि घडी हुन सक्ने, र त्यसैले प्रतीक्षा गरिनुपर्ने घटना हो भनेर सिकाए (मत्ती २४:४४; फिलिप्पी ४:५; याकूब ५:८-९; १ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षा गर्दै जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा विश्वासीलाई आफ्‍नो ख्रीष्टिय जीवनलाई शुद्ध राख्नलाई एकदमै प्रेरणा दिने शिक्षा हो।

  1. यसले परीक्षा र उत्पीडनहरूको बीचमा विश्वासीलाई उत्साह प्रदान गर्छ (१ थेस्सलोनिकी ४:१७-१८)।
  2. यसले मण्डलीलाई महान् आज्ञामा ध्यान-केन्द्रित रहन मदत गर्छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; प्रेरित १:८)। यसले हामीलाई यो सिकाउँछ कि सुसमाचार प्रचार गर्ने काम, मानिसहरूलाई ख्रीष्टमा ल्याउने काम र सत्यको खाँबो र जगको रूपमा मण्डलीहरूलाई स्थापना गर्ने काम सर्वोपरि महत्त्वको सबभन्दा जरूरी काम हो। डी. एल. मूडीले एकदम ठीक कुरा गरेका हुन् जब उनले भने, “म यस संसारलाई भताभुङ्ग भएको जहाजको रूपमा देख्दछु। परमेश्वरले मलाई ज्यान बचाउने डुङ्गा दिनुभएको छ र मलाई भन्नुभएको छ, ‘मूडी, तिमीले सकभर धेरैजनालाई बचाऊ।'”
  3. यसले हामीलाई प्रभुका काममा व्यस्त रहन प्रेरणा दिन्छ (१ कोिरन्थी १५:५८)।
  4. यसले हामीलाई आज्ञापालनको जीवन व्यतित गर्न प्रेरणा दिन्छ (१ यूहन्ना ३:१-३; १ थेस्सलोनिकी ५:४-७)।
  5. यसले हामीलाई दुष्टताबाट अलग रहन प्रेरणा दिन्छ (तीतस २:१३-१४)।
  6. यसले विश्वासीहरूलाई झूटा शिक्षा (heresy) र सत्यत्याग (apostasy) देखि सचेत रहने बनाउँछ (२ तिमोथी ४:३-४; १ यूहन्ना २:२४-२८)।

र्‍याप्चर सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. “र्‍याप्चर” शब्दले कुन कुरालाई जनाउँछ?
  2. र्‍याप्चर हुँदा पूरा हुने दुईटा घटनाहरू कुन कुन हुन्?
  3. मरिसकेका विश्वासीहरू कहाँ छन्?
  4. र्‍याप्चर कत्तिको निश्चित कुरा हो?
  5. र्‍याप्चर विश्वासीहरूका लागि किन सान्त्वनाको कुरा हो?
  6. र्‍याप्चर सम्बन्धी तीन अवधारणाहरू के-के हुन्?
  7. र्‍याप्चर सङ्कष्टकालको कालखण्ड अगाडि नै हुनेछ भनेर हामीले किन विश्वास गर्छौ? पाँचओटा कारणहरू दिनुहोस्।
  8. महासङ्कष्टलाई परमेश्वरको ______________ को दिन भन्ने संज्ञा दिइएको छ।
  9. र्‍याप्चरको सवालमा “अचानक” (imminent) को माने के हो?
  10. नयाँ निमयका कुन‍ चारजना प्रचारकहरूले प्रभुको पुनरागमन अचानक (imminent) हुनेछ भनेर सिकाए?
  11. शुरुका ख्रीष्टियनहरूले प्रभु कहिले आउनुहुनेछ भनेर प्रतीक्षा गर्थे?
  12. के मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षा गर्दैछ?
  13. नयाँ नियममा “रहस्य” भन्ने शब्दावलीको माने के हो?
  14. के पुरानो नियमका अगमवक्ताहरूले मण्डली युगको वर्णन गरे?
  15. प्रकाशको पुस्तकले मण्डलीको नभएर इस्राएलको वर्णन गर्दछ भनेर हामी कसरी जान्दछौं?
  16. प्रकाशको पुस्तकका दुई साक्षीहरू यहूदी हुनुपर्छ भनेर हामी कसरी जान्दछौं?
  17. प्रकाश १२ को स्त्री इस्राएल हो भनेर हामी कसरी जान्दछौं?
  18. कुनै पनि बेला हुन सक्ने र्‍याप्चरको शिक्षाले ख्रीष्टिय जीवनलाई कसरी शुद्ध पार्दछ? ६ ओटा बुँदाहरू बताउनुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

अन्य भाषा २

Study Series

अन्य भाषा २

डेविड क्लाउड

अघिल्लो पाठमा हामीले अन्य भाषाको वरदान सम्बन्धी चारओटा आधारभूत सत्यताहरूको चर्चा गर्‍यौं। (१) बाइबलीय अन्य भाषाहरू संसारमै बोलिने वास्तविक भाषाहरू थिए। (२) बाइबलीय अन्य भाषाहरू अलौकिक तवरले प्रदान गरिएका थिए। (३) बाइबलीय अन्य भाषाहरूका सवालमा तिनका साथसाथै अनुवाद गर्ने अलौकिक वरदान पनि दिइन्थ्यो। (४) बाइबलीय अन्य भाषाहरू अविश्वासी इस्राएलको निम्ति चिन्ह थियो।

यस पाठमा हामी अन्य भाषाहरू सम्बन्धी अरू तीन आधारभूत सत्यताहरूको चर्चा गर्नेछौं:

५) बाइबलीय अन्य भाषाहरू प्रेरितीय निर्देशनहरूको घेराभित्र अभ्यास गरिनुपर्थ्यो (१ कोरिन्थी १४)

पावलले भने, “भाषाहरूमा बोल्नालाई मनाही नगर”, तर साथसाथै उनले भाषाहरू कसरी प्रयोग गरिनुपर्छ भन्ने बारेमा धेरैओटा प्रतिबन्धहरू पनि लगाए। मैले आधुनिक युगमा “अन्य भाषाहरू” प्रेरितीय नियमहरूको घेराभित्र रहेर अभ्यास गरिएको कहिल्यै देखेको छैन।

  1. अन्य भाषाहरू पालैसित बोलिनुपर्छ, एक-एक गरी (“यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र पालैसँग बोलून्…” १ कोरिन्थी १४:२७)। मैले देखेका धेरजसो पेन्टेकोस्टल-क्यारिज्म्याटिक सभाहरूमा उनीहरूका “अन्य भाषाहरू’ धेरैजनाद्वारा एकैचोटी बोलिएको पाएको छु।
  2. अन्य भाषाहरू अनुवाद गरिनुपर्छ (“अनि एउटाले अनुवाद गरोस्” १ कोरिन्थी १४:२७)। आधुनिक पेन्टेकोस्टलवादमा अन्य भाषाका सन्देशहरू विरलै अनुवाद गरिन्छन्, अनि गरियो भने पनि “अनुवाद” र “अन्य भाषा” को बीच कुनै सरोकार नभएको कुरा प्रष्टै थाह हुन्छ।
  3. त्यहाँ कुनै गडबड हुनुहुँदैन (“किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ” १ कोरिन्थी १४:३३)। आफू गएको जुनै पनि पेन्टेकोस्टलक-क्यारिज्म्याटिक सभा जहाँ “आत्माले काम गरिरहेको” मानिन्थ्यो, मलाई यस्तो विचार आउने गरेको छ, “यहाँ गडबड छ”। त्यहाँ अस्तव्यस्तताको हैकम रहन्छ। ती “अन्य भाषाहरू” बुझ्न सकिँदैनन्। त्यहाँ अर्थ न व्यर्थका कुराहरू भइरहेका हुन्छन् र बाइबलमै नभएका कुराहरू भइरहेका हुन्छन्। तर परमेश्वर गडबडको परमेश्वर हुनुहुन्न भनेर हामीलाई भनिएको छ; यो त निकै फराकिलो अभिव्यक्ति हो।
  4. त्रीहरूलाई अन्य भाषाहरूमा बोल्न मनाही छ (“तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ” १ कोरिन्थी १४:३४)। पावलले मोशाको व्यवस्थाको उल्लेख गर्छन् जसले पनि स्त्री पुरुषको अधीनमा राखिएको कुरा बताउँछ (उत्पत्ति ३:१६; गन्ती ३०:३-१३)। पेन्टेकोस्टलवादको जन्म भएदेखि नै स्त्रीहरू अन्य भाषाहरूको सवालमा अग्रपन्थी भूमिका निर्वाह गर्दै आएका छन्। टोपिका, क्यान्जासमा रहेको पारहामको बाइबल स्कूलमा अन्य भाषा प्रथम पटक बोल्ने व्यक्ति एक स्त्री थिई। सेमूरको अजूसा स्ट्रीट मिशनमा अन्य भाषा बोल्ने प्रथम व्यक्ति एक स्त्री थिई। सन् १९०६ को एप्रिल १७ मा उक्त मिशनमा पुग्ने लस एन्जेलेस टाइम्सका एक पत्रकारले अवलोकन गरे, “बूढो प्रचारक [सेमूर] ले ‘दिदीबहिनीहरू’ लाई ‘अन्य भाषाहरू निस्केर आओस्’ भन्दै जोड गरे अनि स्त्रीहरूले आफूहरूलाई धार्मिक उत्तेजनाको उत्पातका निम्ति सुम्पिहाले।”
  5. सबै कुरा शिष्टतापूर्वक गरिनुपर्छ (“सबै कुराहरू शिष्टतापूर्वक… गरिऊन्” १ कोरिन्थी १४:४०)। “शिष्टतापूर्वक” भनेर अनुवाद गरिएको ग्रीक शब्द हो “यूस्खेमेनोस्”, जसलाई “इमान्दार भएर” (रोमी १३:१३; १ थेस्सलोनिकी ४:१२) भनेर पनि अनुवाद गरिएको छ। यस शब्दले नैतिक शिष्टता, इमान्दारीपन र निष्ठावान् चरित्रको भावना बोकेको छ, अर्थात् येशू ख्रीष्टको सुसमाचार र येशू ख्रीष्टको मण्डलीलाई यसरी सिँगारियोस् कि हाम्रा क्रियाकलापहरूले सुसमाचार वा मण्डलीमाथि कुनै पनि निन्दा निम्त्याउने काम नगरोस्। पेन्टेकोस्टल‍-क्यारिज्म्याटिक लहरमा हुने भ्रम र झूटहरूको बिगबिगीको बारेमा जब हामी विचार गर्दछौं र धेरैपटक स्त्रीहरू आत्माद्वारा प्रभावित भएको भनी दाबी गरिएको कुरालाई र उनीहरू अशिष्ट तवरले ढलेका र फलस्वरूप उनीहरूलाई ढाकिनुपरेका कुरालाई जब हामी विचार गर्दछौं यो स्पष्ट जानिन्छ कि त्यहाँ सबै कुराहरू शिष्टतापूर्वक गरिने काम भएको छैन।
  6. सबै कुरा क्रमअनुसार गरिनुपर्छ (“सबै कुराहरू… क्रमअनुसार गरिऊन्” १ कोरिन्थी १४:४०)। सृष्टिका परमेश्वर व्यवस्थित परमेश्वर हुनुहुन्छ। जर्ज गार्डिनर (George Gardiner) धेरै वर्षसम्म एक पेन्टेकोस्टल थिए र उहाँ भन्नुहुन्छ पेन्टेकोस्टलवादबाट उहाँको बाहिर निस्कने यात्राक्रम “एकातिर क्यारिज्म्याटिक अभ्यासहरू र अर्कोतिर बाइबलका अभिव्यक्तिहरूका बीच रहेको अत्यन्तै विशाल खाडलको बारेमा उठेका पिरल्ने प्रश्नहरूबाट शुरुआत भएको थियो!” (गार्डिनर, दि कोरिन्थियन क्याटास्ट्रोफी, पृष्ठ ८)। उनले प्रेरितको पुस्तकलाई अध्ययन गर्ने अठोट गरे। “मैले प्रेरितको पुस्तकलाई दोहोर्‍याएर पढें, विस्तारै र ध्यान दिएर पढें, यसरी प्रार्थना गर्दै पढें, ‘प्रभु, यहाँ के भनिँदैछ म देख्न सकूँ, केवल वचनले जे भन्छ त्यही मात्र देख्न सकूँ। यदि मैले आफू गलत भएको भेट्टाएँ भने त्यो स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस् र मैले अनावश्यक आलोचना गरेको भेटियो भने भूल स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस्।’ प्रेरितको पुस्तकभित्रको मेरो यात्राले मेरो आँखा खोलिदियो! शुरुका मण्डलीहरूको क्रियाकलाप तथा अनुभवहरू आधुनिक लहरका क्रियाकलाप तथा ‘अनुभवहरू’ भन्दा ज्यादै परका कुरा थिए। कति हिसाबले त ती ठीक उल्टा थिए!” (The Corinthian Catastrophe)। हो, यही कुरा मैले पनि आफू एक नयाँ ख्रीष्टियान हुँदा पत्ता लगाएको थिएँ। उनीहरूको “अन्य भाषाहरू” बाइबलीय ढङ्गले अभ्यास नगरिएको कुराले पेन्टेकोस्टलवाद शास्त्रसम्मत छैन भनी म विश्वस्त भएको हुँ। म दर्जनौं पटक संसारका विभिन्न स्थानहरूका पेन्टेकोस्टलक र क्यारिज्म्याटिक सभाहरूमा गएको छु र मैले कहिल्यै पनि अन्य भाषाहरू बाइबलीय ढङ्गमा परिचालन भएको देखेको छैन।

६) पेन्टेकोस्टल-क्यारिज्म्याटिक तरिकाको “अन्य भाषामा बोल्ने” काम अबाइबलीय र खतरनाक छ।

मानौं, आज “अन्य भाषाहरूको बोली” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” जस्तो कुरा छ भन्ने कुरालाई हामीले स्वीकार्‍यौं र त्यसले हामीलाई अझ असल ख्रीष्टिय जीवन यापन गर्न मदत गर्छ भन्ने कुरालाई मान्यौं र त्यसलाई “आफै गरी हेर्नोस् न” भन्ने पेन्टेकोस्टल-क्यारिज्म्याटिक चुनौतीलाई स्वीकार्‍यौं, तब त्यसपछि उठ्ने प्रश्न हो, “म यस ‘भाषा’ वा ‘प्रार्थना गर्ने भाषा’ मा कसरी बोल्न थाल्न सक्छु त’?” प्रायः जवाफ यस्तो आउने गर्छ:

पहिलो कदम: हामीलाई भनिन्छ कि पहिलो कदम भनेको यी कुरालाई विश्लेषण गर्ने पट्टी लाग्न छाड्नुपर्छ र नयाँ अनुभवहरूका लागि आफूलाई खुल्ला बनाउनुपर्छ। माइकल हार्पर (Michael Harper) ले लेखेको दीज वन्डर्फूल गीफ्ट्स (These Wonderful Gifts) किताबमा एउटा अध्यायको शीर्षक “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” राखिएको छ जसमा विश्वासीलाई अनुभवहरूलाई धेरै होशियार र कट्टर भएर विश्लेषण गर्न छाड्न शिक्षा दिइएको छ र “आपत्ति जनाउने सूचक प्रणालीहरू” खडा गर्न छोड्न र “सुरक्षाका पर्खालहरूभित्र डराएर टुक्रुक्क बस्न” छाड्न अर्ती दिइएको छ। उनी भन्छन्, विश्वासीहरू आफ्‍ना “पर्खाल र अचूक प्रणालीहरू” को भित्रबाट बाहिर निस्केर आउनुपर्छ र परमेश्वरको सामु आफूलाई केवल खुल्ला मात्र बनाउनुपर्छ। क्यारिज्म्याटिक अनुभवहरू प्राप्‍त गर्नलाई आवश्यक तर अबाइबलीय र अत्यन्तै खतरनाक कदम यही हो। बाइबलले विश्वासीलाई सबै समयहरूमा सचेत र जागो रहनलाई चेताउनी दिन्छ (१ पत्रुस ५:८)। यसको अर्थ हो हाम्रा मनहरूमाथि हाम्रो नियन्त्रण रहिरहनु आवश्यक छ र त्यसमा कुनै पनि हानिकारक पराइ तत्त्वहरूको प्रभाव पर्न दिनुहुँदैन। यो त “लेटिङ् गो” अर्थात् “आफूलाई अनियन्त्रित छोड्नु” र सबै कुराहरूको जाँच गर्न छोड्नुको ठीक विपरित कुरा हो।

दोस्रो कदम: पवित्र शास्त्रद्वारा जाँच गर्ने कामलाई परित्याग गरिसकेपछि “अन्य भाषाहरूको वरदान” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” लाई अनुभव गर्नलाई चलिआएको तरिका हो आफ्‍नो मुख खोल्नु र शब्दहरू बोल्न थाल्नु तर बुझिने शब्दहरू ता होइन, अनि दाबीअनुसार “परमेश्वरले नियन्त्रणमा लिनुहुन्छ।”

यो त यति साह्रो अबाइबलीय र मूर्खतापूर्ण कुरा छ कि यसलाई झूटो साबित गरिनु अनावश्यक देखिन्थ्यो। नयाँ नियममा यस्तो कुरा बिलकुलै पाइँदैन। बाइबललाई बेवास्ता गर्नु र बाइबलले कहिल्यै खोजी गर नभनेको कुराको खोजी गर्नु र बाइबलले समर्थन नगरेको तरिकामा त्यसो गर्नु, र जाँचबुझै नगरीकन यस किसिमका धार्मिक अनुभवहरूका निम्ति आफूलाई खुल्ला बनाउनु भनेको आफूलाई “अर्कै आत्मा” (२ कोरिन्थी ११:४) ग्रहण गर्ने खतरामा पार्नु हो। ख्रीष्टियानहरूलाई प्रभाव पार्न खोज्ने बहकाउने आत्माहरू त्यहाँ छन् भनेर बाइबलले ख्रीष्टियानहरूलाई चेताउनी दिएको छ जुन आत्माहरू ज्योतिका स्वर्गदूतहरू र परमेश्वरका सेवकहरूको भेषमा देखा पर्न सक्छन् (२ कोरिन्थी ११:१३-१५; मत्ती २४:२४)। उनीहरूको शारीरिक अवस्थाले, खराबप्रतिको सहिष्णुताले र खुट्ट्याउन नसक्ने अवस्थाले गर्दा कोरिन्थीहरू झूटा आत्माहरूलाई ग्रहण गर्ने खतरामा रहेको कुराको चेताउनी पावलले दिन्छन् (२ कोरिन्थी ११:३-४)। साँचो ख्रीष्टियान दुष्ट आत्माले पक्रिन त सक्दैन तर ऊ तिनीहरूद्वारा निश्चय पनि प्रभावित हुन भने सक्दछन्।

अन्य भाषाहरूको बोली एक ईश्वरीय आश्चर्यकर्म थियो र त्यो परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिने कुरा थियो भनेर बाइबलले स्पष्टै सिकाएको छ। “तर यी सबै कुराहरू एउटै र उहीं आत्माले नै गर्नुहुन्छ, जसले आफ्‍नै इच्छाअनुसार हरेकलाई अलग-अलग बाँडिदिनुहुन्छ” (१ कोरिन्थी १२:११)। पेन्टेकोस्टको दिनमा चेलाहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन् न ता “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” को कुनै तालिम लिएका थिए। भन्नुपर्दा, उनीहरूले अन्य भाषाहरूमा बोल्ने आशा समेत गरेका थिएनन्। प्रेरितको पुस्तकमा ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोलेको प्रत्येक घटनामा ती अन्य भाषाहरू परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिएका थिए। एउटै पनि घटनामा प्रापकहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन्।

७) पहिलो शताब्दिमा समेत बाइबलीय अन्य भाषाहरू सबै ख्रीष्टियानहरूद्वारा बोलिने कुरा थिएन (१ कोरिन्थी १२:७-१०,२८-३०)

पावल प्रश्न गर्छन्, “के सबैले विभिन्न भाषाहरू बोल्छन्?” प्रश्न यसरी प्रस्तुत गरिएको छ कि त्यसको जवाफ एउटै मात्र हुन सक्छ, “बोल्दैनन्”।

प्रेरितको पुस्तकको एक सरल सर्वेक्षण गरियो भने त्यसले निर्णायक रूपमै यस कुरालाई प्रमाणित गर्नेछ कि शुरुका मण्डलीहरूमा सबै विश्वासीहरूले अन्य भाषाहरूमा बोल्दैनथे। पेन्टेकोस्टको दिनमा समेत माथिल्लो कोठामा रहेका चेलाहरूले अन्य भाषाहरूमा बोले तापनि (प्रेरित २:४) त्यस दिन पत्रुसको प्रचारद्वारा मुक्ति पाएकाहरूले अन्य भाषाहरूमा बोलेनन् (प्रेरित २:४०-४२)। प्रेरित ४:४ र ६:७ मा विश्वास गरेका यहूदीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ८:३५-३९ मा मुक्ति पाएका इथियोपियाईले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ११:२०-२१ मा एन्टिओकमा मुक्ति पाउने प्रथम व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १६:१३-१५ मा मुक्ति पाएका लिडिया र तिनका घरनाकाहरू र प्रेरित १६:३०-३३ मा मुक्ति पाएका फिलिप्पी कैदखानाका हाकिम र तिनका परिवारले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १७:४, १२, ३४ मा मुक्ति पाएका थेस्सलोनिकीहरू र बेरियालीहरू र एथेन्सबासीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १८:८ मा मुक्ति पाएका क्रिस्पस र अरूहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १९:१७-१९ मा एफेसेसमा विश्वास गर्नेहरूले अन्य भाषाहरूमा बोलेनन्।

नयाँ नियममा कुनै पनि हिसाबमा अन्य भाषाहरूको बोलीलाई जोड दिइएको छैन। प्रेरितको पुस्तकभरिमा त्यो केवल तीनपटक अभ्यास गरिएको थियो अनि बाँकी बहुसङ्ख्यक विश्वासीहरूले त्यसको प्रयोग गरेनन्। पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरमा अन्य भाषाहरूको बोलीलाई जुन किसिमको जोड दिइन्छ त्यसलाई सृजना गर्नलाई बाइबलमै नभएका थुप्रै कुराहरू त्यहाँ भएजस्तै गरी पढ्नुपर्छ अनि यो त इमानदार ख्रीष्टियान भाइहरूले पवित्र शास्त्रहरूको प्रयोग गर्ने तरिका पटक्कै होइन।

(अन्य भाषाहरूको बोली सम्बन्धी थप अत्यन्तै विस्तृत अध्ययनका लागि अङ्ग्रेजी पाठकले वे अफ लाइफ लिटरेचरबाट प्रकाशित The Pentecostal-Charismatic Movements पढ्नुहोला। यस पुस्तकमा हामीले कथित “व्यक्तिगत प्रार्थना गर्ने भाषा”, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको भरपूरी, आगोको बप्तिस्मा, विश्वासीहरूका निम्ति भाषाहरूको चिन्ह, भाषाहरूको अनुवाद, रोमन क्याथोलिक चर्च तथा झूटा शिक्षा( कल्ट) हरूमा अन्य भाषाहरूको बोली, आदि अरू थुप्रै कुराहरूको चर्चा गरेका छौं।)

अन्य भाषाहरूको बोली सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. अन्य भाषाहरू सम्बन्धी सातओटा आधारभूत बाइबलीय सत्यताहरू के-के हुन्?
  2. बाइबलीय अन्य भाषाहरू वास्तविक ______________________ थिए।
  3. “ग्लोस्सा” भन्ने ग्रीक शब्दको माने के हो?
  4. नयाँ नियमको कुन खण्डमा हामी कसरी अन्य भाषाहरूमा बोल्न सिक्न सक्छौं भनेर बयान गरिएको छ?
  5. क्यारिज्म्याटिकहरूले अन्य भाषाहरू अनुवाद गर्न सक्छन् कि सक्दैनन् भनेर प्रमाणित गर्नलाई भूतपूर्व पेन्टेकोस्टलवादी फर्नान्ड लेग्रान्डले कुन चुनौतीको युक्ति निकाले?
  6. बाइबलीय अन्य भाषाहरू ______________________________________ का निम्ति चिन्ह थिए।
  7. १ कोरिन्थी १४:२०-२२ मा पावलले पुरानो नियमको कुनचाहिँ भविष्यवाणीलाई उद्धृत गर्दछन्?
  8. रेरितको पुस्तकमा अन्य भाषाहरू अभ्यास भएको हरेक घटनामा ___________________________ उपस्थित थिए।
  9. अन्य भाषाहरू यहूदीहरूका निम्ति चिन्ह थिए भन्ने तथ्यले सबै आधुनिक अन्य भाषाहरूको बोलीलाई झूटा साबित गर्दछ। कसरी?
  10. १ कोरिन्थी १४ मा अन्य भाषाहरूको बोली सम्बन्धी छओटा नियमहरू के-के हुन्?
  11. पेन्टेकोस्टलवादी अन्य भाषाहरूमा बोल्नका निम्ति आवश्यक दुईटा खुड्किलाहरू के-के हुन्?
  12. पावलले कुनचाहिँ पुस्तकको कुन अध्यायमा उनको समयमा सबै ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोल्थे भनेर बताए?
  13. के पेन्टेकोस्टको दिनमा मुक्ति पाएका ३,००० ले अन्य भाषाहरूमा बोले?
  14. के इथियोपियाई नपुंसकले वा फिलिप्पीका कैदखानाका हाकिमले अन्य भाषाहरूमा बोले?
  15. रेरितको पुस्तकमा अन्य भाषाहरूको बोली कति पटक उल्लेख भएको छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

अन्य भाषा के हो, के होइन? १ यस पृष्ठलाई छाप्नुहोस्

Study Series

अन्य भाषा के हो, के होइन? १

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: प्रेरित २:४-६; १ कोरिन्थी १२:३०; १३:८; १४:२०-२२, २७, ३३, ३४, ३७, ४०

पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहर (Pentecostal-Charismatic Movement) मा बाइबलमा उल्लेखित अन्यभाषाको वरदानलाई ठूलो जोड दिइन्छ तर बाइबलको शिक्षाअनुसार यो एउटा अस्थायी अभ्यास थियो जुनचाहिँ पहिलो शताब्दिका मण्डलीहरूमै सीमित थियो। अन्य भाषाको शिक्षा सम्बन्धी सातओटा महत्त्वपूर्ण पाठहरू निम्नानुसार छन्:

१. बाइबलीय अन्य भाषाहरू संसारमा बोलिने वास्तविक भाषाहरू थिए (प्रेरित २:४-११)

बाइबलीय अन्य भाषाहरूको बारेमा एउटा आधारभूत तथ्य यो हो कि ती साँच्चीकै भाषाहरू थिए न कि बुझ्न नसकिने कुनै किसिमको बकबक। “प्रथम उल्लेख” को नियम (law of first occurrence) बाइबल व्याख्याको महत्त्वपूर्ण नियम हो; नयाँ नियममा अन्यभाषाको प्रथम अभ्यास प्रेरित २:६-११ मा देखिन्छ। त्यहाँ हामी देख्छौं अन्यभाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषामा बोल्न सक्ने अलौकिक क्षमता थियो। यहाँ कम्तिमा चौध‍-पन्ध्रओटा फरक-फरक भाषाहरूको उल्लेख भएको छ। यी चाहिँ सामान्य गरी संसारमै बोलिने भाषाहरू थिए जो त्यसबेला प्रचलित थिए। यहूदी चेलाहरूहरूले यी भाषाहरूमा बोल्न सके यद्यपि उनीहरूले तिनलाई सिकेकै थिएनन्। १ कोरिन्थी १२-१४ मा उल्लेखित अन्यभाषाको वरदान प्रेरितको पुस्तकको भन्दा फरक थियो भनेर विश्वास गर्नुपर्ने त्यहाँ कुनै कारणै छैन। दुवै ठाउँमा अन्यभाषाको अभ्यास आफूले कहिल्यै नसिकेको संसारकै भाषा बोल्ने काम थियो। दुवैमा उही ग्रीक शब्द “ग्लोस्सा” प्रयोग भएको छ। यस शब्दले कि त जिब्रोलाई नै जनाउँदछ (मर्कूस ७:३३) कि त जिब्रोले बोलिने भाषालाई।

२) बाइबलमा उल्लेखित अन्यभाषा परमेश्वरको इच्छामा प्रदान गरिएको अलौकिक वरदान थियो (प्रेरित २:४; १ कोरिन्थी १२:७-११)

योचाहिँ अन्यभाषाहरू सम्बन्धी आधारभूत सत्यता हो र यसले हामीलाई यो सिकाउँछ कि अन्यभाषाहरू न बलजफ्ती गरेर न सिकेर आउने कुरा हो; यस तथ्यले वर्तमान पेन्टेकोस्टल र क्यारिज्म्याटिकहरूको सामान्य अभ्यासलाई काट्छ। उदाहरणको लागि, डेनिस बेनेट (Dennis Bennet) भन्छन्, “आफ्‍नो मुख खोल्नुहोस् र बोल्न थाल्नुहोस्। अङ्ग्रेजीमा नबोल्नुहोस् न ता आफूले जान्ने अरू कुनै भाषामा, किनकि तपाईं आफूले जानेकै भाषामा बोल्नुहुन्छ भने परमेश्वरले तपाईंलाई अन्यभाषाहरूमा बोल्न अगुवाइ गर्न सक्नुहुन्न। …प्रथम पटक बोल्न सिक्दै गरेको एउटा बालकले जस्तै गरी आफ्‍नो मुख खोल्नुहोस् र आफ्‍ना ओठहरूमा आउने पहिलो उच्चारण तथा अभिव्यक्तिहरूमा बोल्न थाल्नुहोस्” (The Holy Spirit and You, pp.76,77)।

नयाँ नियममा यस्तो कुनै कुरा बिलकुल पाइँदैन। पेन्टेकोस्टको दिनमा चेलाहरू अन्यभाषाहरूमा बोल्न खोजिरहेका थिएनन्। उनीहरूले अन्यभाषामा बोल्न सिकाउने तालिममा भाग लिएका थिएनन्। नयाँ नियमको कहीँ पनि हामीलाई अन्यभाषाहरूमा बोल्न सिकाउने निर्देशनहरू दिइएका छैनन्। यदि तपाईंले कुनै कुरा सिकेर गर्न सक्नुहुन्छ भने त्यो आश्चर्यकर्म हुन सक्दैन!

३) अन्यभाषाको वरदानको साथसाथै अन्यभाषाको अनुवाद गर्ने उत्तिकै अलौकिक वरदान पनि हुन्थ्यो (१ कोरिन्थी १४:२७-२८)

तर जब हामी पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरलाई विचार गर्छौं, “अन्यभाषाको अनुवाद” त एउटा साँच्चीकै विचित्र कुराको रूपमा देखा परेको पाउँछौं किनकि “अन्यभाषाहरू” र “अनुवाद” का बीच कुनै समानता नै पाइँदैन। मैले धेरैपटक तीन वा चार शब्दहरूले बनेको अन्यभाषाको सन्देशलाई सुनेको छु (जस्तै, शालालामा, शालाबामा, शालानूना, शालालामा, शालाबामा, शालानूना) जसलाई एउटा विस्तृत आत्मिक सन्देशको रूपमा अनुवाद गरिएको पाएँ। फ्रान्सका भूतपूर्व पेन्टेकोस्टल फर्नान्ड लेग्रान्डले यो पेन्टकोस्टल “अनुवादको दुविधा” लाई यसरी बयान गर्छन्, “मैले व्यक्तिगत रूपमा सक्दो ध्यान पुर्‍याई र खुला मनस्थिति लिएर जाँच गर्दा अनुवादका सबै उदाहरणहरूमा मैले मानवीय जालसाजी र जानाजानी चालबाजी बाहेक अरू केही भेटिनँ।”

लेग्रान्डले एउटा जाँच गर्ने युक्ति निकाले। उनले एक स्कटिश मान्छेले “प्रभुको प्रार्थना” गरेको रिकर्ड गरे र केही क्यारिज्म्याटिकहरूलाई त्यसको अनुवाद गर्न लगाए, तर अङ्ग्रेजीको “प्रभुको प्रार्थना” त फ्रान्सेलीमा एउटा अर्तीको सन्देशमा परिवर्तित हुन गयो!” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ४७-५१)।

लेग्रान्डले अर्को एउटा चुनौती दिने युक्ति पनि निकाले, तर कुनै पनि पेन्टेकोस्टल वा क्यारिज्म्याटिकले उक्त चुनौतीलाई स्वीकारेको छैन। “एउटा सभाको आयोजना गर्नुहोस् जहाँ तपाईंहरूमध्ये एकजनाले अन्यभाषामा बोल्नुहोला र तीनजना अरूहरूले चाहिँ छुट्टाछुट्टै बसेर त्यसको अनुवादलाई रिकर्ड गर्नुहुनेछ। मोटामोटी एउटै कुरा बताउनुपर्ने ती अनुवादहरूलाई आपसमा तुलना गरिनेछ। … आजसम्म स्वीकार नगरिएको मेरो यस प्रस्तावलाई अन्यभाषा बोल्ने कुनै पनि क्यारिज्म्याटिक समुदायलाई चुनौतीको रूपमा लिखित रूपमा लिएर म यहाँ खडा रहेको छु” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ५२)।

४) बाइबलका अन्यभाषाहरू अविश्वासी इस्राएललाई मण्डलीको शुरुआत भएको छ भन्ने कुराको एउटा चिन्ह थियो अनि उक्त उद्देश्य पूरा भएपछि अन्यभाषाहरू बन्द भए (१ कोरिन्थी १४:२०-२२)

बाइबलीय अन्यभाषाहरूको सम्बन्धमा अर्को आधारभूत सत्यता के हो भने ती चाहिँ मूलतः इस्राएललाई परमेश्वरले सुसमाचार सबै जातिहरूमा फैलाउँदै हुनुहुन्छ भन्ने कुराको चिन्ह थियो। कोरिन्थीहरूले आत्मिक वरदानहरूको दुरुपयोग गर्दैथिए र विशेष गरी अन्यभाषासित उनीहरू मोहित भएका थिए। आत्मिकरूपमा बालकै भएकाले (१ कोरिन्थी ३:१) उनीहरू आफ्‍ना वरदानहरूको प्रदर्शनी गर्दैथिए। पावलले उनीहरूलाई अन्यभाषाहरूको साँचो उद्देश्य जान्न र फलस्वरूप बालक हुन छाड्न र पूरा बढेको मानिस बन्न आग्रह गर्दछन्। अन्यभाषाहरू यशैया २८:११-१२ को अगमवाणीको पूरा हुवाइ थियो जुन अगमवाणी यहूदीहरूलाई लक्षित थियो।

ती अलौकिक भाषाहरू चाहिँ परमेश्वर सबै मानव जातिहरूसित बोल्दैहुनुहुन्छ र उनीहरूलाई यहूदी लगायत अन्यजाति दुवै मिलेर बनेको एउटा नयाँ आत्मिक संरचनाभित्र आउनलाई बोलाउँदै हुनुहुन्छ भन्ने कुराको अविश्वासी इस्राएललाई चिन्ह थियो। यशैया २८:११ मा “यस जाति” भन्नाले यहूदी जातिलाई जनाँदछ जोसित यशैया अगमवक्ता बोल्दैथिए।

प्रेरितको पुस्तकमा, अन्यभाषाको वरदानमा बोलिएको हरेक अवसरमा यहूदीहरू उपस्थित भएको हामी पाउँछौं (प्रेरित २:६-११; १०:४६; १९:६)। पेन्टेकोस्टको दिनमा र प्रेरित १९ मा अन्यभाषा बोल्नेहरू स्वयं यहूदीहरू थिए। फर्नान्ड लेग्रान्डले निम्न महत्त्वपूर्ण अवलोकन गर्दछन्:

“उल्लेखनीय कुरा यो छ कि जहाँ-जहाँ यो चिन्ह देखा परेको पाइन्छ त्यो सधैँ यहूदीहरूको उपस्थितिमा देखा परेको पाइन्छ। अनि यहूदीहरूको अनुपस्थितिमा, जस्तै एथेन्समा वा माल्टामा, चिन्ह पनि अनुपस्थित भएको पाइन्छ।… उक्त चिन्हको चरित्रमै हामी यहूदीहरूको अविश्वासको चरित्र देख्दछौं। … उक्त चिन्हले पराइ भाषा बोल्नेहरूको अर्थात् अन्यजातिहरूको मुक्तिको सम्बन्धमा रहेको यहूदीहरूको अविश्वासलाई दोषी ठहराउने वा सुधार्ने काम गर्दैथियो। …तर ठीक यही कुरा नै थियो जुनचाहिँ यहूदीहरू विश्वास गर्न चाहँदैनथे। भन्नुपर्दा उनीहरू “सबै मानिसहरूका विरोधमा छन्…तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्” भनेर पावलले लेख्नुपरेको थियो (१ थेस्सलोनिकी २:१५-१६)। … पराइ जातिहरूसित यहूदीहरू अब एक बनिएको भन्ने धारणा पहिलो शताब्दिका यहूदीहरूलाई पचाउनै नसकिने कुरा थियो। त्यस्तो विचार मात्र पनि यहूदीहरूको पूर्वज प्रवृत्तिलाई उत्तेजित पार्न पर्याप्त थियो। तरैपनि उनीहरूले बुझ्नैपर्ने र अन्तमा स्वीकार गर्नैपर्ने प्रथम कुरा पनि त्यही थियो। त्यसैले तिनीहरूले जुन कुरा विश्वास गर्न सक्दैनथे वा चाहँदैनथे त्यही कुरा उनीहरूले बुझ्न सकून् भनेर परमेश्वरले उनीहरूलाई सबभन्दा सुहाउँदो चिन्ह दिनुभयो; उहाँले यहूदीहरूलाई अलौकिक तवरले पराइ जातिहरूको भाषाहरू बोल्ने बनाउनुभयो। त्यसो गर्नाले परमेश्वरले यहूदी प्रशंसा यी अन्यजातिका जिब्रोहरूमा हालिदिनुभयो।

“बाइबललाई सरलै ढङ्गले तर ध्यानपूर्वक पढियो भने सुस्पष्ट तरिकाले ‘यहूदी’ को गन्ध नभएको जुनसुकै कुराप्रति पनि यहूदीहरूको कडा विरोध रहेको दृश्यलेख प्रकट भएको पाइन्छ। त्यहाँ योनालाई भेट्छौं जसले निनवेका मानिसहरूलाई यतिसम्म घृणा गरे कि उनी परमेश्वरलाई नै अवज्ञा गर्न पुगे। … आफ्‍नो खिन्नतामा उनी आफ्‍नै मृत्युको माग गर्न सम्म पुग्छन्। निनवे नाश नहुने हो भने योना मरोस्! … शताब्दि-शताब्दिमा यस्तो विरोध र अविश्वासको आत्मा झन्-झन् कठोर बन्दै गयो। यहूदीहरू यावेका हुन् र यावे यहूदीका हुन् भन्ने धर्मान्धताको घेराबाहिर बाँकी सबैजना श्रापित थिए। …

“उनीहरूको भन्दा बेग्लै भाषा बोल्नेहरूले परमेश्वरको भलोपनको आशिष पाउन सक्छन् भन्ने विचारलाई प्रस्तुत गर्नु भनेको आफ्‍नो ज्यानलाई जोखिममा पार्नु थियो। तिनीहरूले येशूलाई फ्याँक्न डाँडाको डिलमा लगिहाले किनभने उहाँले यति मात्र भन्नुभएको थियो: “एलियाको समयमा साँढे तीन सालका निम्ति आकाश बन्द हुँदा सारा देशभरि ठूलो अनिकाल लागेको बेलामा इस्राएलमा अनेकौं विधवाहरू थिए, तर सिडोन सारेफातमा एउटी विधवा स्त्रीकहाँ बाहेक तीमध्ये अरू कसैकहाँ एलिया पठाइएनन्। अनि भविष्यवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोरीहरू थिए, तर सिरियावासी नामानबाहेक तीमध्ये अरू कोही शुद्ध भएन (लूका ४:२५-२७)।” यो त, उनीहरूको दृष्टिमा, मृत्युदण्डको पर्याप्त आधार थियो। …

“प्रेरितको २२ अध्यायको विवरण कस्तो छ! कैदी पावल गढीको सिँढीमाथि उभिएका छन्। भीडलाई एक हातले इशारा गर्छन् र बोल्ने अनुमति माग्छन्। हिब्रूमा बोल्न थाल्दा भीड चुपचाप भई सुन्छ। … तर उनले जब भन्न थाल्छन्, ‘अनि उहाँले मलाई भन्नुभयो, जाऊ, म तिमीहरूलाई टाढाटाढा अन्यजातिहरूकहाँ पठाउनेछु’, तब उक्त वाक्यमाथि हावामै मानो ब्रेक लाग्छ। तिनीहरूले ‘अन्यजातिहरू’ भन्ने त्यस शब्दसम्म चाहिँ उनको कुरा सुने; अनि कराउँदै हावामा धूलो फ्याँक्नथाले, ‘पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!’ कुन कुराले तिनीहरूलाई त्यस्तो गरी विस्फोट गरायो? केवल यही कुरा कि परमेश्वर चाहिँ सबै मानिस र सबै भाषीका परमेश्वर हुन सक्नुहुन्छ भन्ने धारणा।

“अन्यभाषाहरूको बोली यही महान् सत्यताको चिन्ह थियो जुन सत्यताभित्र प्रवेश गर्नलाई ‘यस जाति’ का निम्ति चाहिँ त्यो माध्यम नै थियो। …

“यस किसिमको अविश्वासलाई त्याग्न र परमेश्वरले शुद्ध ठान्नुभएका जातिहरू र भाषाहरूलाई अबदेखि उसो अशुद्ध नठान्नलाई विश्वस्त पारिनुपर्ने जाति केवल यहूदीहरू थिए, ती भाषाहरू जो पवित्र आत्माद्वारा बोलिनलाई समेत अशुद्ध थिएनन्। … पत्रुसलाई दिइएको तीनदोब्बर दर्शनले जस्तै, पराइ भाषाहरूमा दिइएको यो चिन्हले उनीहरूलाई मुक्ति चाहिँ “जोसुकै”, “सबै प्राणी”, “सबै भाषी” को लागि हो भन्ने कुराको शिक्षा दिने काम गर्‍यो।’ …

“तर सबै जातिहरू, कुलहरू, राष्ट्रहरू र भाषाहरू मिलेर बनेको आजको मण्डलीमा पवित्र आत्मा सबै जातिहरू, राष्ट्रहरू, कुलहरू र भाषाहरूमाथि खन्याइएको छ भनेर फेरि दोहोर्‍याईकन कसलाई अझ पनि विश्वस्त पारिनु आवश्यक परेको छ र?” (लेग्रान्ड, All About Speaking in Tongues, pp. 24-27, 33)।

परमेश्वरले एउटा नयाँ काम गर्दैहुनुहुन्छ अर्थात् सबै मानिसहरूका बीचमा सुसमाचार पुर्‍याउँदै हुनुहुन्छ अनि दुवै यहूदी र अन्यजातिहरूलाई एउटा नयाँ आत्मिक संरचनाभित्र ल्याउँदैहुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई, अन्यभाषाहरू, इस्राएल जातिको निम्ति दिइएको एउटा चिन्ह थियो भन्ने कुरा बुझिएन भने अन्यभाषाहरू सम्बन्धी सही बाइबलीय शिक्षा जान्नु असम्भव छ।

अन्यभाषाहरू सम्बन्धी यस सुस्पष्ट बाइबलीय शिक्षा एकलैले सबै आधुनिक अन्यभाषाहरूको अभ्यासलाई झूटो साबित गर्दछ। के त्यहाँ यहूदीहरू उपस्थित थिए त जब सन् १९०१ मा क्यान्सासमा चार्ल््स पारहाम (Charles Parham) को बाइबल स्कूलका विद्यार्थीहरूले “अन्यभाषाहरूमा” बोल्न थाले वा जब सन् १९०६ मा लस एन्जेलेसमा अजुसा स्ट्रिट मिशन (Azusa Street Mission) मा “अन्यभाषाहरू” को प्रस्फुटन भयो? यदी यहूदीहरू त्यहाँ उपस्थित भएका भए, परमेश्वरले सुसमाचार सबै जातिहरूमा पुर्‍याउँदैहुनुहुन्छ र सुसमाचारद्वारा एउटा नयाँ संरचनाको सृजना गर्दै हुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई उक्त अन्यभाषाहरू बोल्ने कामले कसरी चिन्हको रूपमा काम गर्नेथ्यो? उक्त चिन्ह त १९०० वर्ष अघि दिइसकेको थियो। कुन हिसाबा उक्त चिन्ह पहिलो शताब्दिमा पूर्णरूपमा पूरा भएको थिएन त? यी त प्रत्येक पेन्टेकोस्टल र क्यारिज्म्याटिकले जवाफ दिनैपर्ने कठीन प्रश्नहरू हुन्। यहूदीहरूलाई अन्यभाषाहरूको चिन्हको अझै आवश्यकता छ भनेर यदि कसैले जवाफ दिन्छ भने, हामी प्रश्न गर्छौं, “त्यसो भए किन त पेन्टेकोस्टल-क्यारिज्म्याटिक अभियानहरूले अन्यभाषाको यस पक्षलाई पूरै बेवास्ता गरेका?” टोपिकाका पारहामले र लस एन्जेलेसका सेमूरले इस्राएलको निम्ति चिन्ह बनोस् भनेर अन्यभाषाहरूको खोजी गरेनन् तर “पवित्र आत्माको बप्‍तिस्माको” चिन्हको रूपमा त्यसको खोजी गरे। एजी चर्चहरू (Assemblies of God) र चर्च अफ गड अफ प्रोफेसी (Church of God of Prophecy) र फोरस्क्वायर पेन्टेकोस्टलक चर्चहरू (Foursquare Pentecostal Churches) अनि बाँकी सबैको सवालमा यही कुरा भन्न सकिन्छ।

“मेरो किताब पढेपछि एकजनाले मलाई भने, ‘तपाईंको लागि यस सम्बन्धी सम्पूर्ण कुराको सार भनेको यो एउटा चिन्ह हो।’ अवश्य हो नि! जस्तै, एउटा चिन्हपाटीलाई लिनुहोस्; कसैले निकै लम्बेचौडा कुरा गर्दै त्यसको उचाइ, त्यसको आकार, त्यसको रङ्ग, त्यसका अक्षरहरूको चमक र आकारको वर्णन गर्ला मानो, तर ती भनाइहरू जतिसुकै ठीक भए तापनि उक्त वस्तुको एउटै र अन्तिम उद्देश्य भनेको एउटा चिन्हपाटीको काम दिनु हो। अन्यभाषाहरूको बोली सम्बन्धमा पनि कुरा त्यस्तै हो। त्यसलाई जसरी हेरे पनि, पवित्र आत्माले भन्नुभएकै छ, त्यो अविश्वसी इस्राएलको निम्ति चिन्ह हो। अरू कुरामा जस्तै यस विषयमा पनि यो स्पष्टै देखिने कुरा हो कि नियमावलीलाई पछ्याउने काम भएको छैन” (फर्नान्ड लेग्रान्ड, All About Speaking in Tongues, pp. 67)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

गर्भपतन

Study Series

गर्भपतन

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

सबै कुरा जाँच्ने मनस्थिति

Study Series

सबै कुरा जाँच्ने मनस्थिति

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: भजनसङ्ग्रह ११९:१२८; हितोपदेश १४:१५; प्रेरित १७:११; २ कोरिन्थी १०:५; कलस्सी २:८; १ थेस्सलोनिकी ५:२१; १ पत्रुस ५:८

आत्मिक विजय पाउनलाई एक ख्रीष्टियनले अनिवार्य रूपमा विकास गर्नुपर्ने एउटा कुरा हो जाँच गर्ने मनस्थिति। यसको मतलब उसले कुनै पनि कुरालाई त्यो ठीक छ कि छैन, त्यो साँचो हो कि होइन भनेर बाइबलले जाँच्न सिक्नुर्छ।

म प्रभुलाई धन्यवाद चढाउँदछु कि मलाई ख्रीष्टमा डोर्‍याउने व्यक्तिले यो कुरा मलाई सिकाउनुभयो जसको फलस्वरूप मैले आफ्‍नो विश्वासी जीवन सबै कुरा जाँच्ने दृष्टिकोणका साथ प्रारम्भ गर्न सकेँ। यसले मलाई अनेकौं आत्मिक जोखिमहरूदेखि जोगाएको छ। हामी दक्षिण फ्लोरिडादेखि मेक्सिकोसम्म यात्रा गर्ने क्रममा खाडीको किनारनेर कुनै एक ठाउँमा एउटा इसाई पुस्तक पसलमा छिरेका थियौं। त्यो ठाउँ मोबाइल, आलबामा थियो जस्तो लाग्छ। उनले मलाई एउटा किङ्ग जेम्स बाइबल किनिदिनुभयो अनि त्यसपछि उहाँले त्यहाँ बिक्रीमा राखिएका सबै पुस्तकहरूलाई देखाउँदै भन्नुभयो, “तिमी एकदम होशियार हुनुपर्छ र सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ। मान्छेमाथि भरोसा राख्‍न सकिन्न; “ठूला-ठूला नामहरू” माथि भरोसा राख्‍न सकिन्न। धेरै झूटा शिक्षकहरू हुनेछन् भनेर बाइबलले चेतावनी दिएको छ।” यही बुद्धिमानी सल्लाहका साथ मैले आफ्‍नो ख्रीष्टिय जीवन प्रारम्भ गरेँ।

यस प्रकारले जाँच्ने मनस्थितिलाई आज इसाई भन्नेहरूको बीच तिरस्कार गरिन्छ, “इभान्जेलिकलहरू” का बीच समेत। म पहिलो पटक पत्रकारको अधिकार सहित एउटा एक्यूमेनिकल (एकतावादी) सम्मेलनमा उपस्थित हुँदाको कुरा म सम्झना गर्दछु। त्योचाहिँ सन् १९८७ मा न्यू ओर्लियन्समा थियो अनि त्यहाँ ४० ओटा बेग्ला-बेग्लै सम्प्रदायहरूबाट दसौं हजार मानिसहरू उपस्थित थिए। त्यसमा रोमन क्याथोलिकहरूको ठूलै सहभागिता रहेको थियो। हरेक विहान रोमन क्याथोलिकहरूको मास (mass) हुन्थ्यो। एक दिन म एकजना एपिस्कोपेली (Episcopalian) साधारण अगुवासित कुरा गर्दै थिएँ र उसले आफ्‍नो मुक्तिको गवाही बाँडे जुनचाहिँ शास्त्र-सम्मत नै सुनिन्थ्यो। तब मैले यस्तै एउटा प्रश्न गरेँ, “यदि तपाईं बाइबल विश्वास गर्नुहुन्छ र प्रभुलाई चिन्नुहुन्छ भने तपाईं कसरी यो धर्मभ्रष्ट खिचडीको बीचमा आरामसँग बस्न सक्नुहुन्छ?” उनले जवाफ दिए, “तपाईं अलिक खुकुलो हुनुपर्छ; भ्रममा परिएला कि भनेर तपाईं बढ्तै डर मान्नुहुन्छ।”

यो त खतरा र ज्यादै मूर्ख सल्लाह हो जब हामी निम्न चेताउनीहरूलाई विचार गर्दछौं।

मत्ती ७:१५-१७

  1. झूटा अगमवक्ताहरूले मानिसहरूलाई धोका दिनेछन् भनेर येशूले चेताउनी दिनुभयो। आज यति धेरै झूटा मण्डलीहरू देखेर हामी अचम्म मान्नुपर्दैन। त्यहाँ झूटा अगमवक्ताहरू हुनेछन् भनेर हामीले अघिबाटै जान्नुपर्छ र उनीहरूको बहकाउमा नपर्नलाई हामी होशियार हुनुपर्छ।
  2. झूटा अगमवक्ताहरू बाह्यरूपमा साँचा अगमवक्ताहरू जस्तै देखा पर्नेछन् र यसरी बेहोशियारीहरूलाई धोका दिनेछन् भनेर येशूले चेताउनी दिनुभयो। उनीहरूसित बाइबल हुन्छ; उनीहरू येशूकै कुरा गर्छन्, मुक्तिकै कुरा गर्छन्, असल जीवन जिउने कुरा गर्छन्। उनीहरूको मण्डलीहरू हुन्छन् र शिक्षा सिकाउँछन्।
  3. झूटा शिक्षकहरू उनीहरूको फलबाट चिनिन्छन् (पद १६-२०)।
    1. झूटा शिक्षकहरूको फल उनीहरूका कामहरू होइनन्; पद २२-२३ मा येशूले बताउनुभयो झूटा शिक्षकहरूले “धेरै अचम्मका कामहरू” गर्नेछन्।
    2. झूटा शिक्षकलाई पक्का गरी चिनाउने फल उसको झूटा शिक्षा हो (प्रेरित २०:३०; रोमी १६:१७; गलाती १:६-७; १ तिमोथी १:३; २ पत्रुस २:१; १ यूहन्ना ४:१-२)। मदर टेरेसालाई विचार गर्नुहोस्। तिनले संसारको सबभन्दा गरीब ठाउँहरूमा गरीब र रोगीका लागि सेवाको थुप्रै असल कामहरू गरिन्, तर तिनले ख्रीष्टलाई चिन्दिनथिन् र तिनले एक झूटा सुसमाचारमाथि भरोस गर्थिन् र तिनले झूटा शिक्षाहरू सिकाइन्। सन् २००७ मा प्रकाशित मदर टेरेसा: कम बी माइ लाइट (Mother Teresa: Come Be My Light) नामक पुस्तकमा यी क्याथोलिक भिक्षुणीले आफ्‍ना क्याथोलिक कन्फेसरहरू (cofessors) र अगुवाहरूलाई ६६ वर्षभन्दा पहिलादेखि व्यक्त गरेका स्वीकारोक्तिहरू अभिलेख गरिएका छन्। उनले आफ्‍नो आत्मिक अवस्थालाई “मेरो अन्धकार” र येशूलाई “अनुपस्थित जन” (“Absent One”) भनेर तारन्तार उल्लेख गर्छिन्। सन् १९५३ को मार्चमा उनले लेखिन्, “…मभित्र यस्तो भयङ्कर अन्धकारले बास गरेको छ, मानौं सर्वस्व नै मरेको छ। मैले यो ‘काम’ लगभग शुरु गरेदेखि नै यस्तो अवस्था रहँदै आएको छ।” एकजना कन्फेसरको सल्लाहबमोजिम उनले येशूलाई यसरी लेखिन्: “म बोलाउँछु, म पक्रन्छु, म चाह गर्छु — अनि जवाफ दिने त्यहाँ कोही छैन — साहारा कोही छैन — अहँ, कोही छैन। एकलो…मेरो विश्वास कहाँ छ — भित्री गहिराइमा समेत त्यहाँ केही छैन, तर रित्तोपना र अन्धकार। …जब म आफ्‍ना विचारहरूलाई स्वर्गतर्फ उचाल्न खोज्छु — तब कायल पार्ने यस्तो रित्तोपना हुन्छ कि तिनै विचारहरू धारिला चक्कूझैं फर्कन्छन् र मेरो प्राणलाई छियाछिया पार्छन्। — परमेश्वर मलाई प्रेम गर्नुहुन्छ भनी मलाई बताइएको छ — तरैपनि अन्धकार र चिसोपना र रित्तोपनाको वास्तविकता यति भयङ्कर छ कि मेरो प्राणलाई कुनै कुराले छुँदैन।” सन् १९६२ मा उनले लेखिन्, “यदि म कुनै हालतले सन्त बनेँ भने — निश्चय नै म ‘अन्धकार’ को सन्त हुनेछु।” सन् १९८४ मा हामीले मदर टेरेसाको संस्था मिसनरीज् अफ च्यारीटीका सिस्टर आनसित अन्तर्वार्ता लिएका थियौं। आनचाहिँ नेपालमा वृद्धाहरूका बीच काम गर्दैथिइन्; मर्न लागेका हिन्दूहरूलाई ख्रीष्टमा ल्याउन खोज्ने उनीहरूको उद्देश्य नरहेको बरु उनीहरूकै देव‍देवीहरूलाई पुकार्नलाई आफूहरूले निर्देशन दिने गरेको कुरा उनले हामीलाई बताइन्।

मत्ती २४:४-५,११,२४

  1. झूटा अगमवक्ताहरू उठ्नेछन् र मण्डली युगको अन्ततिर तिनीहरू वृद्धि हुनेछन् भनेर येशूले चेताउनी दिनुभयो। जति हामी उहाँको आगमनको नजिक आइपुग्छौं उति नै बढी आत्मिक भ्रमको हामीले सामना गर्नुपर्नेछ अनि त्यो कुरा आज हाम्रो दिनमा देख्दैछौं। धेरैजसो मण्डलीहरू बाइबलसँग मेल खाँदैनन्। झूटा शिक्षकहरूको बिगबिगी छ।
  2. अन्तिम दिनहरूको भ्रम यति प्रभावकारी हुनेछ, “यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकाहरूलाई पनि बहकाउनेछन्।” यो त भयङ्कर खाले भ्रम हो। त्यसैले हामीले एकदम यत्न गर्नुपर्छ र हामी एकदम होशियार हुनुपर्छ!
  3. होशियार भएर र जाँच गर्ने मनस्थिति अपनाएर आफूलाई र आफ्‍ना प्रियजनहरूलाई सुरक्षित राख्नु विश्वासी जनको जिम्मेवारी हो।
  4. झूटा शिक्षकहरूले “चिन्ह र चमत्कारहरू” द्वारा धोका दिन्छन् भनेर येशूले चेताउनी दिनुभयो। यस सन्दर्भमा हामीलाई पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरको सम्झना आउँछ जसमा आश्चर्यकर्महरूलाई ठूलो जोड दिइन्छ। येशूको चेताउनीलाई विचार गरेपछि हामी जान्दछौं कि कुनै प्रचारकको सेवकाइको साथसाथमा कथित आश्चर्यकर्महरू हुन्छन् भन्दैमा त्यो परमेश्वरबाटको हो भन्ने हुँदैन। हरेक सेवकाइलाई बाइबलले नै जाँच्नुपर्छ, केवल बाइबलले मात्र।
  5. येशूले झूटा ख्रीष्टहरूको बारेमा चेताउनी दिनुभयो र आज संसारमा त्यस्ताहरूको बिगबिगी छ। रोमन क्याथोलिक चर्चले रोटीको एउटा चोख्याइएको टुक्रालाई र सामर्थी मरियमको काखमा बस्ने एक दुर्बल मान्छेलाई ‘ख्रीष्ट’ मानेको छ। यहोवाका साक्षीहरू र यूनिटेरियनहरूले ईश्वरत्वबिहीन ख्रीष्टलाई ‘ख्रीष्ट’ भन्छन्। मोर्मनहरूले मानेका ‘ख्रीष्ट’ शैतानका दाजु हुन्। नयाँ युगी (New Ager) हरूले मानेका ‘ख्रीष्ट’ ले भारतमा आएर रहस्यवादी ज्ञान हासिल गरे। डा भिन्ची कोड (Da Vinci Code) का ‘ख्रीष्ट’ एक विवाहित व्यक्ति थिए। लिबरेशन थिअलोजी (Liberation Theology) का ‘ख्रीष्ट’ क्रान्तिकारी लडाकु हुन्। जीजस सेमिनार (‍Jesus Seminar) थरीका ‘ख्रीष्ट’ आफू के गर्दैछु सो नजानेका एक सम्भ्रमित मानिस थिए। ख्रीष्टियन रक सङ्गीत (Christian Rock Music) का पक्षधरका ‘ख्रीष्ट’ चाहिँ रमझम गर्ने ठाँटिला व्यक्ति हुन्। इमर्जिङ्ग चर्चका ‘ख्रीष्ट’ एक पर्यावरणवादी (environmentalist) हुन्। इस्लामका ‘ख्रीष्ट’ क्रूसमा मरेनन्।

यूहन्ना ८:३१-३२

  1. सत्य जान्ने र पाप तथा भ्रमबाट बच्ने एउटै मात्र उपाय भनेको येशूको वचनमा लागिरहनु हो। स्मरण होस्, उहाँले “वचनहरू” (बहुवचन) भन्नुभएन तर “वचन” (एकवचन) भन्नुभयो। यसले पवित्र शास्त्र अर्थात् बाइबललाई जनाउँछ। परमेश्वरको वचन ईश्वरीय प्रेरणाद्वारा लेखियो, क्याननीकरण (अध्याय १९ – बाइबल, भाग २ हेर्नुहोस्), गरियो अनि बाइबलमा हाम्रो लागि संरक्षण गरियो। तसर्थ, यदि हामी सत्य जान्न चाहन्छौं भने हामीले यसैलाई पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ, कण्ठ गर्नुपर्छ, मनन गर्नुपर्छ, पालन गर्नुपर्छ र सबै कुरालाई यसैद्वारा जाँच्नुपर्छ।
  2. यो नै एक मात्र उपाय हो र साथै यो उपाय पक्का पनि छ। हामीलाई येशूको प्रतिज्ञा छ: यदि हामी उहाँको वचनमा लागिरह्यौं भने हामीले सत्य जान्नेछौं। एक नयाँ ख्रीष्टियन हुँदा परिश्रमसाथ बाइबल अध्ययन गर्न र गत ३७ वर्षसम्म यसलाई निरन्तरता दिइरहन मलाई ‍अभिप्रेरित गरेको एउटा प्रतिज्ञा यही हो। म सत्य जान्न चाहन्छु र ख्रीष्टले मलाई उहाँको प्रतिज्ञा दिनुभएको छ। कुनचाहिँ शिक्षा ठीक हो भनेर हामी निश्चित हुन सक्दैनौं त्यसैले हामी सबैजना हातेमालो गरौं भनेर इसाई जगतभित्र आवाज उठाउने धेरैजना छन्, तर हामीले जान्न सक्छौं भनेर येशूले आफ्‍नो प्रतिज्ञा दिनुभएको। दाँज्नुहोस्, यूहन्ना ७:१७।

प्रेरित १७:११

  1. सबै कुराहरूलाई पवित्र शास्त्रहरूद्वारा जाँच्नेहरू भएकाले बेरियाका यहूदीहरूको प्रशंसा गरिएको छ। आधुनिक इसाई जगतमा यो लोकप्रिय ठानिदैन तर परमेश्वरको वचनमा भने यसलाई “उत्तम” मानिएको छ।
  2. उनीहरूले दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे भन्ने कुराको ख्याल राख्नुहोस्। परमेश्वरको वचनले कुनै पनि कुरा जाँच्ने हो भने तपाईंले पहिले वचनलाई अध्ययन गर्नुपर्छ।

१ थेस्सलोनिकी ५:२१

  1. हामीलाई सबै कुरा जाँच्न जोडदार अर्ती दिइएको छ। यो त ज्यादै फराकिलो जिम्मेवारी हो। हामीले आफ्‍नो जीवनमा सबै कुराहरूलाई परमेश्वरको पवित्र वचनले जाँच्नुपर्छ, केवल इसाई शिक्षा र “माण्डलिक” कुराहरूलाई मात्र होइन, तर पेशा, सङ्गत, फेशन, मनोरञ्जन, विवाह, छोराछोरी हुर्काउने तरिका, सङ्गीत र अन्य सबै कुराहरू।
  2. जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख्‍न पनि हामीलाई जोडदार अर्ती दिइएको छ जुनचाहिँ ती कुराहरू हुन् जो परमेश्वरको वचन अनुरूप छन् र वचनले समर्थन गरिएका छन्।

२ कोरिन्थी १०:५

  1. विश्वासीले हरेक विचारलाई सत्यको कैदी बनाएको परमेश्वर चाहनुहुन्छ। यो त ज्यादै फराकिलो आज्ञा हो।
  2. यसो गर्नु भनेको हामीले आफ्‍ना मनहरूलाई परमेश्वरको वचनले भर्नु हो र हाम्रो हृदयमा छिर्ने हरेक विचारलाई उक्त वचनले नापजोख गर्नु हो।
  3. मान्छेको कल्पना अर्थात् मन एउटा भयङ्कर युद्धभूमि हो र होशियारसाथ यसको सुरक्षा गरिनुपर्छ। आधुनिक मनोरञ्जन उद्योगले आफ्‍ना शक्तिशाली बन्दुकहरूलाई तेर्साएर मान्छेको कल्पनालाई तारो बनाएको छ। शैतानको अगुवाइमा मनोरञ्जनका रचनाकारहरू विलासीपनद्वारा कल्पनाशक्तिलाई भ्रष्ट पार्न चाहन्छन् र व्यर्थका संसारहरूको सृजना गरेर मान्छेको विचारलाई जीवित परमेश्वरदेखि अन्यत्र मोड्न चाहन्छन्। विशेष गरी डरलाग्दो कथा र कल्पित भविष्यमा आधारित कथा भएका चलचित्रहरू विश्वासीलाई हानिकारक हुन्छन्।

२ कोरिन्थी ११:३-४

  1. ख्रीष्टियनहरूलाई ठूलो आत्मिक खतरा छ (२ कोरिन्थी ११:३-४)। कोरिन्थीहरू शिक्षाको सम्बन्धमा होशियार नभएकाले पावल उनीहरूको लागि डराउँछन्।
  2. शैतानले शिक्षालाई जटिल बनाउने काम गर्छ (“सीधापनबाट तिमीहरूका मनहरू भ्रष्ट हुन्छन् कि”, २ कोरिन्थी ११:३)। यसका उदाहरणहरू हुन् ईश्वरशास्त्रीय आधुनिकवाद (theological modernism), क्याल्भिनवादी रिफर्म्ड ईश्वरशास्त्र (Calvinistic Reformed theology), र इमर्जिङ्ग चर्चका शिक्षा। परमेश्वरको वचनको सत्यता अत्यन्तै गहिरो छ, तर यसमा यस्तो सरलता पनि छ कि सर्वसाधारण व्यक्तिहरूले यो बुझ्न सक्छन् (लूका १०:२१)।
  3. पावलले झूटा ख्रीष्टहरू, झूटा सुसमाचारहरू र झूटा आत्माहरूको चेताउनी दिए। विश्वासी होशियार हुनुपर्छ र कसैले ख्रीष्टको बारेमा वा सुसमाचारको बारेमा वा आत्माको बारेमा कुरा गर्दैमा उसलाई विश्वास गर्नुहुन्न। सबै कुरालाई परमेश्वरको वचनद्वारा होशियारपूर्वक जाँच्नुपर्छ।
  4. प्रेरितहरूको शिक्षा नै सत्यताको मानदण्ड हो भनेर हामीले पद ४ मा देख्छौं (“हामीले प्रचार नगरेको”)। हामीसित प्रेरितहरूको शिक्षा नयाँ नियमका शास्त्रहरूमा छ। यो नै “पवित्र जनहरूलाई एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वास” हो (यहूदा ३) जसद्वारा हामीले शिक्षा र अभ्यासलाई नापजोख गर्नपर्छ।
  5. शैतान धूर्त छ त्यसैले धेरै बुद्धिमानीसाथ र जोशका साथ त्यसको सामना गरिनुपर्छ (२ कोरिन्थी ११:३)।
  6. शिक्षागत विषयमा फराकिलो दृष्टिकोण (broad-mindedness)अपनाउनु शारीरिकपनको प्रमाण हो, आत्मिकपनको होइन। कोरिन्थीहरू शारीरिक भएकाले (१ कोरिन्थी ३:१-२), तिमीहरूले झूटा शिक्षकहरूलाई “राम्ररी सहन सक्नेथ्यौ” (पद ४) भनेर पावलले उनीहरूलाई भने। यसको मतलब उनीहरू झूटा शिक्षालाई पछ्याउने थिए नै भन्ने त होइन तर उनीहरू त्यसलाई ठाउँ दिनेथिए; उनीहरू त्यसलाई ठीकसँग सामना नगर्नेवाला थिए। “दुवै पाटालाई देख्‍न सक्नु” आत्मिकताको लक्षण होइन। सत्यतको एउटै मात्र पाटा हुन्छ! सत्यको बाटो साँघुरो हुन्छ (मत्ती ७:१४)।
  7. झूटा शिक्षकहरू सच्चा शिक्षकहरूको नक्कल गर्छन् (२ कोरिन्थी ११:१३-१५)। उनीहरू नयाँ कुराहरू आविष्कार गर्दैनन्; उनीहरू पुराना कुरालाई बङ्ग्याउँछन्। उनीहरूका चर्च हुन्छन्, बाइबल हुन्छन् र येशू प्रचार गर्छन्। कुनै कुरा जति सत्यसित मिल्दोजुल्दो हुन्छ त्यति नै त्यसको भ्रमलाई छुट्ट्याउन गाह्रो पर्छ।

कलस्सी २:८

  1. फेरि हामीलाई झूटा शिक्षकहरूदेखि होशियार रहन अर्ती दिइएको छ। हामीसँग जाँच्ने मनस्थिति हुनुपर्छ।
  2. झूटा शिक्षकहरू अरूलाई “शिकार बनाउन” अर्थात् लुट्न चाहन्छन्। झूटा शिक्षकहरू विश्वासीहरूलाई परमेश्वरको वचनमाथिको उनीहरूको पूर्ण निश्चयता र ख्रीष्टको अनुग्रमाथिको पूर्ण निश्चयतालाई लुट्न चाहन्छन् र त्यसको सट्टामा मानवीय परम्परा र तत्त्वज्ञान प्रतिस्थापन गर्न चाहन्छन्।
  3. यी झूटा शिक्षकहरूलाई पराजित गर्ने उपाय भनेको बाइबललाई ईश्वरीय प्रेरणाद्वारा दिइएको वचनको रूपमा र विश्वास र अभ्यासको निम्ति एक मात्र अधिकारको रूपमा बलियो गरी पक्रनु हो (२ तिमोथी ३:१६-१७)।

प्रकाश २:२,६

  1. झूटा शिक्षकहरूलाई जाँच गरेकोमा र तिनीहरूलाई अस्वीकार गरेकोमा एफेसीको मण्डलीलाई तारिफ गरिएको छ। येशू यस कुरामा खुशी हुनुभयो। प्रत्येक विश्वासी जन र प्रत्येक मण्डलीले यस नमुनालाई पछ्याउनुपर्छ।
  2. उक्त मण्डलीले यस कुरामा बलियो अडान लिएको कुरालाई ख्याल राख्‍नुहोस्। तिनीहरूले झूटा शिक्षकहरूलाई “झूट” भन्ने संज्ञा दिए र उनीहरूका कामहरूलाई घृणा गरे।

हितोपदेश १४:१५

हितोपदेशको पुस्तकले बुद्धिमान र मूर्खको तुलना गर्दछ। यस पदमा मूर्ख व्यक्ति त्यसलाई भनिएको छ जो सजिलै विश्वास गर्छ र जसलाई सजिलै बहकाइन्छ र जसले सबै कुरालाई परमेश्वरको वचनद्वारा होशियारपूर्वक जाँच गर्दैन। “बोधा” को माने सजिलोसँग ठग्न सकिने भनेको हो। “बोधा” ले ख्रीष्टिय किताबहरू पढ्छ, प्रवचनहरू सुन्छ र समारोहहरूमा भाग लिन्छ र जाँचै नगरीकन सबै कुरा निल्छ।

भजनसङ्ग्रह ११९:१२८

  1. भजनका लेखकले परमेश्वरको वचनलाई प्रेम गर्ने र हरेक झूटा कुरालाई घृणा गर्ने बारेमा नमुना प्रस्तुत गर्छन्। यसलाई भनिन्छ जाँच्ने मनस्थिति। बाइबल नै सत्यको अविवाद्य मानदण्ड हो र जीवनका हरेक कुरालाई यस मानदण्डले नापजोख गरेर हामी भ्रमदेखि बच्न सक्छौं।
  2. विश्वासी जन सत्यका निम्ति जोशिलो हुनुपर्छ भन्ने कुरा हामी यहाँ देख्छौं। भजनका लेखक यस बारेमा मनताता थिएनन्। उनले परमेश्वरको वचनलाई अत्यन्तै आदरभावसाथ लिएका थिए र तिनले हरेक झूटा मार्गलाई घृणा गरे।

सबै कुरा जाँच्ने मनस्थिति सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. झूटा भविष्यवक्ताहरूदेखि होशियार हुनलाई येशूले मानिसहरूलाई कुन पुस्तकको कुन अध्यायमा चेताउनी दिनुभयो?
  2. झूटा शिक्षकहरूले किन धेरैजनालाई बहकाउन सक्छन्?
  3. के झूटा शिक्षकहरूले असल कामहरू गर्न सक्छन्?
  4. एक झुटा शिक्षकको फल के हो?
  5. झूटा शिक्षकहरूले _______________________ द्वारा बहकाउँछन् भनेर मत्ती २४ मा येशूले चेताउनी दिनुभयो।
  6. आजका केही झूटा ख्रीष्टहरू के-के हुन्?
  7. हामी आज येशूको वचन कहाँ पाउन सक्छौं?
  8. जोहरू उहाँको वचनमा लागिरहन्छन् उनीहरूले सत्य जान्नेछन् भनेर येशूले कुन खण्डमा प्रतिज्ञा गर्नुभयो?
  9. बेरियाका यहूदीहरूलाई किन तारिफ गरियो?
  10. सबै कुरा जाँच भनेर कुन पदले भन्छ?
  11. ख्रीष्टको आज्ञाकारी बनाइनलाई हाम्रा कतिओटा विचारहरूलाई कैद गरिनुपर्छ?
  12. यो हामी कसरी गर्न सक्छौं?
  13. कोरिन्थका विश्वासीहरूका लागि पावल किन डराएका थिए?
  14. ख्रीष्टमा भएको सीधापनालाई कसले भ्रष्ट पार्दछ?
  15. पावलले कोरिन्थीहरूलाई झूटा _______________, झूटा _______________ र झूटा _________________ को बारेमा चेताउनी दिए।
  16. शिक्षागत सवालहरूमा चौडा विचारधारा राख्‍नु किन असल गुण होइन?
  17. झूटा शिक्षकहरू ______________ कुरा आविष्कार गर्दैनन्; उनीहरू _____________ कुराहरूलाई बङ्ग्याउँछन्।
  18. तत्त्वज्ञान र परम्पराको शिक्षा दिने झूटा शिक्षकहरूलाई हामी कसरी पराजित गर्न सक्छौं?
  19. के झूटा शिक्षकहरूलाई भण्डाफोर गरेकाले एफेसीको मण्डलीलाई येशूले हप्‍काउनुभयो?
  20. के झूटा शिक्षालाई घृणा गर्नु ठीक हो?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

अलगपनता – सैद्धान्तिक (भाग २)

Study Series

अलगपनता – सैद्धान्तिक (भाग २)

डेविड क्लाउड

‍कण्ठ गर्नुपर्ने पदहरू: रोमी १६:१७; १ कोरिन्थी १५:३३; २ तिमोथी ३:५

यसभन्दा अघिल्लो पाठमा हामीले अलगपनताको जग, अलगपनताको तरिका र अलगपनताको कारणलाई अध्ययन गर्‍यौं। यस पाठमा हामी अलगपनताको आधार, अलगपनताको कदम, अलगपनताको मनोभाव र अलगपनताको फलदायितालाई अध्ययन गर्नेछौं।

अलगपनताको आधार (२ तिमोथी २:१८)

प्रथमतः अलगपनताको रेखा ठ्याक्कै कहाँ कोर्नुपर्छ वा कुनै मण्डली वा फेलोसिपले बाटो बिराउन थाल्दा त्यसलाई ठ्याक्कै कुन बेला छोड्नुपर्छ आदि भन्ने सम्बन्धमा मैले प्रत्येक प्रश्नको जवाफ दिन सक्दिनँ। पवित्र शास्त्रमा केही स्पष्ट मार्गदर्शन र सिद्धान्तहरू दिइएका छन् र बाँकी कुराका लागि प्रत्येक विश्वासी र प्रत्येक प्रचारकले पवित्र आत्माको अगुवाइलाई पछ्‍याउनुपर्छ (२ तिमोथी २:७; १ यूहन्ना २:२०,२७)।

दोस्रो कुरा, अलगपनताको बाइबलीय आधार धेरैजसोले विश्वास गरेको र सिकाएको भन्दा धेरै नै साँघुरो छ।

प्रचलित इभान्जेलिकल अवधारणाको सारांश यो भनाइले व्यक्त गर्दछ: “सारभूत कुराहरूमा एकता; गैर-सारभूत कुराहरूमा स्वतन्त्रता; सबै कुराहरूमा दया” (“In essentials unity; in non-essentials liberty; in all things charity”). प्रमीस किपरहरू (Promise Keepers) को यही अवधारणा छ। उनीहरूको कार्यक्रमहरूका वक्ताहरूले थुप्रै “विभाजनमूलक” विषयवस्तुहरूलाई छुनै हुँदैन, जस्तै “अनन्त सुरक्षा, आत्माका वरदानहरू, बप्तिस्मा, पूर्व-सङ्कष्टकालीय अगमवाणी वा सङ्कष्ट-पश्चात् अगमवाणी, चर्चका संस्कार वा विधिहरू” (Promise Keepers Ambassador Booklet)।

चर्चित इभान्जेलिकल अगुवा चक स्वीन्डोल (Chuck Swindoll) को यही अवधारणा छ। उनले लेखे, “एक ताका मेरो जीवनमा मेरो यस्तो कट्टर अडान थियो कि म एक-एक बिन्दु र मात्राको लागि सङ्घर्ष गर्न तत्पर थिएँ। कतिओटा कुराहरूको लागि म मर्न तयार थिएँ भन्ने कुराको सूचीकरण गरी साध्य थिएन। म जति छिप्पिँदै गएको छु त्यति नै त्यो सूची छोटिँदै गएको छ” (Grace Awakening, p. 189)।

अलगपनताको मुद्दालाई अलमल्याउनलाई चक स्वीन्डोलले लोभ्याउने-र-बदल्ने (bait and switch) काइदा अपनाएको कुरालाई ख्याल गर्नुहोस्। शुरुमा चाहिँ उनले “एक‍-एक बिन्दु र मात्राको लागि सङ्घर्ष” गर्ने बारेमा कुरा गर्छन् तर त्यसपछि उनले विषयलाई आफू “मर्न तयार” भएका कुरामा बदल्छन्। १ कोरिन्थी ११ अध्यायमा भएको पुरुष र स्त्रीका केशको लम्बाइको सत्यताबारेमा र यस वर्तमान संसारमा पुरुष-स्त्रीको अधिकारको तुलनात्मक स्थानको निम्ति नै म ज्यान दिने त होइन, तर यो कुरा परमेश्वरको अचूक वचनको अंश भएको हुनाले म त्यसलाई प्रचार गर्न र त्यसलाई आक्रमण गरिएको खण्डमा त्यसको निम्ति सङ्घर्ष गर्न समेत आफू बाध्य भएको ठान्दछु।

धेरै स्वतन्त्र ब्याप्टिष्टहरू यस अवधारणालाई अपनाउँदैछन्। Thinking Outside the Box नामक पुस्तकमा चर्चित स्वतन्त्र ब्याप्टिष्ट पास्टर चार्ल्स कीन (Charles Keen) ले लेखे, “म बिस्तारै सिक्ने खालको हुँ तर मैले अन्तमा यो महसुस गरेँ कि सबै सत्यताहरू उत्तिकै महत्त्वका हुँदैनन्…क्रूसका शत्रु को हुन् निर्णय गरौं र तीदेखि अलग होऔं। अनि अनुग्रहका मित्र को हुन् निर्णय गरौं र तिनीहरूप्रति सहिष्णुता अपनाऔं” (पृष्ठ ८१)।

यस प्रचलित अवधारणालाई निम्न पवित्र शास्त्रका अधिकारमा रद्द गर्दछौं:

आज “गैर-सारभूत” वर्गमा पर्ने शिक्षाहरू पवित्र शास्त्रमा उल्लेखित अलगपनताका उदाहरणहरूमा पर्दछन्। २ तिमोथी २:१८ लाई विचार गर्नुहोस्। हुमेनियस र फिलेटसले सिकाएको असत्य “बौरिउठाइ भइसक्यो” भन्ने कुरा थियो । तिनीहरूले बौरिउठाइलाई इन्कार गरेनन् तर त्यसलाई लाक्षणिक अर्थ लगाए (spiritualized it)। यो भनेको आज लाक्षणिक व्याख्या विधिलाई अगमवाणी र रिप्लेस्मेन्ट थिअलजी (replacement theology) मा लागु गर्नु जस्तै हो जसमा मण्डली इस्राएलका प्रतिज्ञा र करारहरूको अधिकारी बनेको छ भनेर दाबी गरिन्छ। अगमवाणीको व्याख्या स्वन्त्रताको विषयवस्तु हो र त्यसकै कारण हामी अलग्गिनु हुन्न भन्ने कुरा व्यापक रूपमा ठानिन्छ तर पावलले प्रस्तुत गरेको अलगपनताको अवधारणा बेग्लै छ।

विश्वासीहरूलाई हामीले सबै कुराहरू सिकाउनुपर्छ भनेर ख्रीष्टले हामीलाई आज्ञा गर्नुभयो (मत्ती २८:२०)। यसको मतलब मण्डलीहरूले नयाँ नियममा भएका सबै कुरालाई आदर गर्नुपर्छ केवल “सारभूत” वा “आधारभूत” कुरालाई मात्र होइन।

पावलले परमेश्वरका सारा मनसाय प्रचार गरे (प्रेरित २०:२६-२७)। पावलले एफेससका एल्डरहरूलाई दिएको आफ्‍नो अन्तिम सन्देशमा यो कुरा बताएका थिए। उनले तिनीहरूलाई एउटा नमुना प्रस्तुत गर्दैथिए जसलाई उनीहरूले पछ्‍याउनुपर्थ्यो।

साँचो ख्रीष्टिय एकताको निम्ति वैचारिक एकता आवश्यक छ (१ कोरिन्थी १:१०)। यसअनुसार एकताको आधार ज्यादै साँघुरो हुन्छ भन्ने बुझिन्छ। साँचो ख्रीष्टिय एकता “अनेकतामा एकता” होइन। यो खण्डले शिक्षागत एकता (doctrinal unity) अनिवार्य ठानिएको एउटा स्थानीय मण्डलीमा अनुभव गर्न सकिने एकताको बयान गर्दछ। कुनै पनि एक्यूमेनिकल (एकतावादी) कार्यक्रममा भाग लिँदाहुँदी यो आज्ञा पालन गर्नु असम्भव हुन्छ, त्यो चाहे फ्रान्क्लीन ग्राहाम वा लुइस पलाउ जस्ताको एक्यूमेनिकल प्रचार कार्य (ecumenical evangelism) होस् या प्रमीस कीपर सम्मेलन जस्ता इभान्जेलिकल एकता (evangelical ecumenism) होस् वा वर्ल्ड काउन्सील अफ चर्चेज (World Council of Churches) जस्ताको उदारवादी एकता (liberal ecumenism) होस् वा इन्डिपेन्डेन्ट ब्याप्टिष्ट फ्रेन्ड्स इन्टरनेशनल जस्ता आधारभूतवादी एकता (fundamentalist ecumenism) होस्।

तिमोथीलाई प्रेरितहरूको शिक्षा “निष्कलङ्क” (दागरहित) राख्नुपर्छ भन्ने आज्ञा दिइएको थियो (१ तिमोथी ६:१३-१४)। कलङ्क (spot) भनेको त सानो दाग मात्र हो! यस पत्रमा पावलले सिकाएका शिक्षालाई आज “दोस्रो महत्त्व” को वर्गमा राख्ने गरिन्छ। यस पत्रमा सिकाइएका विषय अन्तर्गत मण्डली शासन र मण्डलीमा स्त्रीहरूको भूमिका पर्दछन्।

एकताको खातिर पवित्र शास्त्रको कुनै-कुनै भागलाई “दोस्रो महत्त्वको” (secondary) ठान्न मिल्छ भन्ने कुराको बाइबलमा कतै पनि सङ्केत छैन यस प्रचलित सिद्धान्तको कुनै पनि बाइबलीय आधार छैन; “काम-बन्छ-भने-ठीक-छ” भन्ने अवधारणा (pragmatism) हो यो।

यसर्थ हामीले प्रचलित विश्वासअनुसार भन्दा धेरै साँघुरो हिसाबमा अलगपनताको रेखा कोर्नुपर्छ भन्ने कुरामा म निश्चित छु। जस्तै, केही वर्ष अघि एउटा आधारभूतवादी प्रेस्बिटेरियन कलेजमा प्रचार गर्न मलाई निमन्त्रणा गरिएको थियो। ग्रीक रिसिभ्ड टेक्स्टको प्रतिरक्षा र किङ्ग जेम्स बाइबल र आधारभूतवादी अडान जस्त धेरै कुरामा म ती भाइहरूसित सहमत छु तरैपनि मैले निमन्त्रणालाई अस्वीकार गर्नुपर्‍यो किनभने हाम्रो असहमतिका दुईटा कुरा — शिशु बप्‍तिस्मा र सभरन ग्रेस क्याल्भिनवादी थिअलजी — महत्त्वपूर्ण छन्।

सन् १९७० को दशकमा एक म नयाँ ख्रीष्टयन हुँदाखेरि डेविड नेटलटन (David Nettleton) को “सीमित सन्देश कि सीमित सङ्गती” (Limited Message or a Limited Fellowship) शीर्षक गरेको पुस्तिकाले मलाई ठूलो सहायता मिलेको थियो। त्यो जेनरल असोसिएशन अफ रेगुलर ब्याप्टिष्ट्स् (General Associaltion of Regular Baptists) द्वारा छापिएको थियो जुन बेला उक्त सङ्गतीले अलगपनता सम्बन्धी असल अडान लिने गर्दथ्यो र नव-इभान्जेलिकलवादमा ढालिएको थिएन। उनी जवान प्रचारक छँदा डेविड नेटलटनलाई अन्तर-सामुदायी युवा सम्मेलनमा प्रचार गर्न बोलाइएको थियो। जब उनलाई त्यहाँ तीनओटा कुराहरूमा प्रचार गर्न नमिल्ने नत्र ता त्यसले अन्तर-सामुदायी परिपेक्ष्यमा विभाजन ल्याउनेछ भन्ने कुराको अवगत गराइयो, तब आफूले अब एउटा निर्णय गर्नुपर्ने कुराको उनलाई महसुस भयो। कि त आफूले आफ्‍नो सन्देशलाई सीमित पार्नुपर्‍यो कि त सङ्गतीलाई सीमित पार्नुपर्‍यो। यदि पावलले जस्तै परमेश्वरका सारा मनसाय प्रचार गर्न रोजेको खण्डमा (प्रेरित २०:२६-२७) अन्तिम दिनहरूका सत्यत्याग र सम्झौताको वर्तमान घडीमा सङ्गती र सेवकाइ गर्ने आफ्‍ना अवसरहरू एकदमै सीमित हुने कुरा छर्लङ्ग देखियो।

जहाँसम्म अलगपनताको रेखा कहाँ कोर्ने भन्ने सवालमा, चौडा पक्षतिर कोरेर गलती गर्नुभन्दा साँघुरो पक्षतिर कोरेर गलती गर्नु नै उत्तम छ। अलगपनताको सम्बन्धमा खुकुलो हुनु भनेको सम्झौताको चिप्लो भीरमा बस्नु हो जहाँबाट धेरै विश्वासीहरूको आत्मिक पतन भएको छ।

साथै हामीले भावी पुस्ताको बारेमा पनि सोच्नुपर्छ। यदि एक वरिष्ठ प्रचारक अलगपनतामा खुकुलो भए भने त्यस कुराले उसकै जीवनकालमा उसको सेवकाइलाई नाटकीय ढङ्गले नै असर त नगर्ला, तर अर्को पुस्ताको हालत कस्तो होला? तिनका छोराछोरी र नातीनातिनीहरू कुन स्थानमा रहेनछन् र तिनीहरू कुन दिशातिर लाग्नेछन् होला? बुबाआमाले जे अलिअलि गर्छन् छोराछोरीले त्यही काम अत्यधिक मात्रामा गर्छन् भन्ने कुरा धेरैले अवलोकन गरेको कुरा हो।

अलगपनताको कदम (२ तिमोथी २:२०,२१)

अलगपनताको कदम चाल्‍नुपर्ने चाहिँ विश्वासीले हो। जस्तै, यदि कुनै मण्डली वा सङ्गती वा संस्था गलत मार्गमा समर्पित भएको मैले पत्ता लगाएँ भने मलाई निष्कासन गरिनु अगाडि नै म आफै अलग हुन मैले कदम चाल्नुपर्छ।

अलगपनताको मनोभाव (२ तिमोथी २:२४)

विश्वासको निम्ति सङ्घर्ष गर्ने क्रममा मैले सधैं ठीक आत्मा कायम राख्‍नुपर्छ। “अर्काबाट शैतान निकाल्न खोज्दा आफैभित्र शैतानलाई ठाउँ दिनु भएन!” घमन्ड वा घृणाले भरिनु सधैं गलत हो। वर्षौं अघि सुसमाचार प्रचारक मेल रटर (Mel Rutter) ले मलाई यो असल सुझाव दिएका थिए, “छोरा, आफ्‍नो अडानमा चट्टानजस्तै हुनु र आफ्‍नो मनोभावमा चट्टानबाटको महजस्तै।”

अलगपनताको फलदायिता (२ तिमोथी २:२५-२६)

सहायताको खाँचो परेकाहरूलाई हामीले सहायता गर्न खोज्नुपर्छ तर त्यो काम हामी अलगपन्थी स्थानबाट गर्नुपर्छ। मैले धेरैजना मानिसहरूलाई रोमन क्याथोलिक, नव‍-‍इभान्जेलिकल, क्यारिज्मेटिक, सेभेन्थ-डे-एडभेन्टिस्ट लगायत अन्य किसिमका झूटा र सम्झौतावादी मण्डलीहरूबाट निस्केर आएको देखेको छु, तर मैले यस्ता मण्डलीहरूसित आवद्ध भएर र तिनीहरूमा प्रचार गरेर त्यसो हुन गएको होइन। मैले सो काम लेखहरू छापेर, व्यक्तिगत कुराकानी गरेर र खाँटी मण्डलीहरूमा र अन्य अवसरहरूमा प्रचार गरेर र बाहिरकाहरूलाई निमन्त्रणा गरेर गर्दै आएको छु।

निष्कर्ष

१) अलगपनता आत्मिक सुरक्षाको मामिला हो। अलगपनतालाई रद्द गर्नु चिप्लो भिर हो (१ कोरिन्थी १५:३३)। सन् १९७० को दशकमा म पढेको बाइबल कलेज टेनेसी टेम्पल (Tennessee Temple) अलगपनतामा कमजोर थियो र ८० र ९० का दशकहरूमा बिस्तारै झन् झन् कमजोर बन्दै गयो। एक्काइसौं शताब्दी आइपुग्दा सम्म तिनीहरूले ख्रीष्टिय रक कन्सर्टहरू प्रदर्शनी गर्न थाल्दा र सदर्न ब्याप्टिष्ट कन्भेनसनमा गाभिँदा कुनै अचम्मको कुरा भएन।

२) अलगपनतालाई रद्द गर्ने काम मन्द र चुपचाप तवरले शुरु हुन्छ। यसलाई औंल्याएर तोक्न वा चिन्न त्यति सजिलो छैन। अनि जो-जो अलगपनतालाई रद्द गर्ने प्रकृयाको प्रारम्भिक चरणमा छन् कसैले तिनीहरूलाई त्यसो हुन लागिरहेको हुन सक्छ है भनेर चुनौती दिँदा तिनीहरू ठेस खाने गर्छन्। अलगपनतालाई रद्द गर्ने काम सकारात्मकतालाई बढ्दो रूपमा जोड दिने, गलत प्रति पहिला भन्दा बढी लचिलो हुन थाल्ने केवल मनोभावको परिवर्तनबाट शुरु हुन्छ। अलगपनतालाई रद्द गर्ने कामको पहिलो कदम कुनै प्रचारक वा मण्डली वा बाइबल कलेजले के गर्छ वा भन्छ भन्ने कुराबाट भन्दा त्यसले के गर्दैन वा भन्न चुक्छ भन्ने कुराबाट चिन्न सकिन्छ।

निम्न प्रश्नहरूद्वारा कुनै संस्थाले अलगपनतालाई परित्याग गर्दैछ कि छैन भनेर चिन्नलाई मदत पुर्‍याउन सक्छ: के त्यसले अलगपनताको विषयमा कहिल्यै सम्मेलन बोलाएको छ? के त्यसले अलगपनतामा प्रबल रहेका प्रचारकहरूलाई सम्झौताको विरुद्धमा प्रस्टै तुरही फुक्नलाई निम्त्याउने गर्छ? के त्यसले आफू अलगपनतावादीहरूको मित्रको रूपमा आफूलाई सार्वजनिक र स्पष्ट रूपमा चिनाउने गर्छ? के त्यसले आफ्‍ना सदस्यहरूलाई अलगपनता सम्बन्धी पाठ्य सामग्रीहरू सिफारिश गर्दछ? कि अलगपनता एक ताका प्रचार गरिने कुरो थियो, चर्चा गरिन्थ्यो र अभ्यास गरिन्थ्यो तर अब प्रायः अजेन्डामा समावेश नगरिने कुरा भएको छ? के उक्त संस्था आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music) प्रयोग गर्नेहरूसित साँठगाँठ गर्दैछन् वा सम्भवतः आफै पनि यस्तो सङ्गीत अपनाउने दिशामा लम्कँदैछ? यदि त्यसो हो भने, यो ज्यादै ठूलो आवाज दिने सूचक हो किनकि आधुनिक ख्रीष्टिय सङ्गीत केवल सङ्गीत मात्र होइन; यो इसाईमतको एक अवधारणा हो जुनचाहिँ अलगपनताको विरुद्धमा छ अनि आधुनिक ख्रीष्टिय सङ्गीत र अलगपनताको अडान धेरै बेरसम्म मिलेर बस्न सक्दैन र बस्दैन पनि।

३) यदि असत्यलाई चाँडै रोक लगाइएन भने त्यसलाई कदापि रोक्न सकिन्न। यही कारणले गर्दा म अलगपनतामा नरम हुन थालेका स्वतन्त्र ब्याप्टिष्टहरूलाई चेतावनी दिने गर्दछु।

४) हामीले आफैलाई, हाम्रा मण्डलीहरूलाई र हाम्रा परिवारहरूलाई सधैं सिकाइरहनुपर्छ। नयाँ नियमका पत्रहरूले बारम्बार असत्यको सामना गरिरहेको देखिन्छ अनि यो नै हाम्रो सेवकाइको नमुना हो। तर धेरै बाइबल विश्वास गर्ने मण्डलीहरूले, यदि गरिहाले तापनि, विरलै झूटा शिक्षा र सम्झौताको बारेमा स्पष्ट चेतावनी दिने गर्दछन् र यस्ता कुराहरूको चेतावनी दिने सेवकाइहरूप्रति उनीहरू कृतज्ञ हुँदैनन् अथवा तिनीहरूको प्रयोग गर्दैनन्।

५) अल्पसङ्ख्यकमा परिएला कि भनेर हामी डराउनुहुन्न। सत्य सधैं अल्पसङ्ख्यकमा हुने गरेको छ। प्रभु येशूले चेतावनी दिनुभयो, “जब मानिसका पुत्र आउँछन्, तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?” उहाँले मण्डली युगलाई “त्यो पूरै खमीरी नहोउन्जेल” भित्रपट्टि खमीर लुकाइराखेको पीठोसित तुलना गर्नुभयो (मत्ती १३:३३)। यसले सत्यत्यागको विस्तारलाई जनाउँदछ। मण्डली युगको अन्ततिर साँचो मण्डलीहरू थोरै हुनेछन् र झूटा मण्डलीहरू धेरै हुनेछन्।

६) अलगपनता महत्त्वपूर्ण कुरा हो तर अलगपनता अलगपनताकै निम्ति होइन। मैले मृतअवस्थामा रहेका कुनैकुनै अलगपन्थी मण्डलीहरूमा प्रचार गरेको छु। ख्रीष्टिय जीवनको मूल विषय अलगपनता होइन तर जीवित ख्रीष्टसँगको एक जिउँदो सम्बन्ध हो। अनि महान् आज्ञा अलगपनता होइन; अलगपनता केवल त्यो सुरक्षाको पर्खाल हो जसले हामीलाई महान् आज्ञा प्रभावकारी ढङ्गले पूरा गर्न सम्भव तुल्याउँछ। धेरै अलगपन्थी मण्डलीहरूमा आत्मिक जागृतिको नितान्त खाँचो छ।

अलगपनता भाग २ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. विश्वासीले उसलाई सिकाउने परमेश्वरबाटको अभिषेक पाएको छ भनेर कुन पदले बताउँछ?
  2. “सारभूत कुरामा एकता; गैर-सारभूत कुरामा स्वतन्त्रता; सबै कुरामा दया” भन्ने प्रचलित अवधारणालाई हामी रद्द गर्दछौं। छओटा कारणहरू दिनुहोस्।
  3. हुमेनियस र फिलेटसले सिकाएको झूटो कुरा के थियो?
  4. मत्ती २८:२० मा हामीलाई कतिओटा कुराहरूको पालना गर्नुपर्छ भनेर भन्नुभयो?
  5. कुन पुस्तकको कुन अध्यायमा आफूले परमेश्वरको सारा मनसायलाई प्रचार गरेको कुरा पावलले बताए?
  6. कुन खण्डमा पावलले तिमोथीलाई सत्यतालाई निष्कलङ्ग राख्‍न आज्ञा दिए?
  7. कुनै पनि प्रचारकले किन सीमित सन्देश र सीमित सङ्गतीको बीचमा रोज्नुपर्ने हुन्छ?
  8. के बाइबलले प्रचारकलाई आफ्‍नो सन्देशलाई सीमित गर्न स्वतन्त्रता दिन्छ?
  9. अलगपनताको कदम चाल्नुपर्ने कसले हो?
  10. अलगपनता अभ्यास गर्दा हाम्रो मनोभाव कस्तो हुनुपर्छ?
  11. के हामीले अलगपनता अपनाएर पनि अरू मानिसहरूलाई सहायता गर्न र फलदायी हुन सक्छौं?
  12. खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छ भनेर कुन पदले सिकाउँछ?
  13. अलगपनतालाई रद्द गर्ने काम कसरी शुरु हुन्छ?
  14. असत्यलाई _________________ रोक लगाइएन भने त्यसलाई ___________________ रोक्न सकिन्न।
  15. के अन्तिम दिनहरूमा सत्यता बहुसङ्ख्यकले मान्नेछन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।