प्रभुलाई ग्रहणयोग्य पहिरन भाग २

प्रभुलाई ग्रहणयोग्य पहिरन भाग २
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: रोमी १४:२१; १ थेस्सलोनिकी ५:२२; तीतस २:२-५; १४
अघिल्लो पाठमा हामीले पहिरन सम्बन्धी दुईटा सिद्धान्तहरू अध्ययन गर्यौं। ख्रीष्टियनको पहिरन भद्र हुनु आवश्यक छ र ख्रीष्टियनको पहिरन लैङ्गिक रूपमा भिन्न हुनुपर्छ। यहाँ हामी अरू पाँचओटा सिद्धान्तहरू अध्ययन गर्नेछौं:
३) ख्रीष्टियनको पहिरन पवित्रता र भक्तिको जीवनसित आवद्ध भएको हुनुपर्दछ, दुष्टताको कुनै पनि रूपसित होइन (१ थेस्सलोनिकी ५:२२; एफेसी ५:११)।
यदि कुनै पहिरन शैली परमेश्वरका नियमविरुद्धको विद्रोहसित, अराजकतासित, यौिनक स्वतन्त्रतासित, ईश्वर-निन्दासित, मूर्तिपूजासित, नैतिक भ्रष्टतासित, वा अन्य कुनै दुष्टतासित आवद्ध छ भने एक ख्रीष्टियनले त्यसलाई पहिरनुहुँदैन। जस्तै, पुरुषले लामो कपाल पाल्ने, स्त्रीले कस्सिएको जीन पायन्ट लगाउने, च्यात्तिएको जीन पायन्ट लगाउने, ह्वार्लाङ्ग तल झारेर लाउने पायन्ट जस्ता पन्क र र्याप जगतका फेशनलाई यसले निषेधित गर्दछ। यसले ट्याट्टूलाई पनि निषेधित गर्दछ किनकि त्यो विद्रोह र स्व-अभिव्यक्तिसित र अख्रीष्टिय धर्मसित सम्बन्ध राख्ने कुरा हो।
४) ख्रीष्टियनको पहिरन संसारको भन्दा भिन्न चरित्रको हुनुपर्दछ (रोमी १२:२; २ कोरिन्थी ६:१४-१७; तीतस २:१२-१३; याकूब ४:४; १ यूहन्ना २:१५-१६)।
ख्रीष्टियनको पहिरन शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखीसित आवद्ध भएको संसारको कुनै कुरासित एकनासे हुनुहुँदैन। स्त्रीको यौनिकतालाई प्रदर्शनी गर्ने अशिष्ट पहिरन र “मलाई हेर त” भन्ने सन्देश बोकेका भड्किला फेशनहरू सांसारिक फेशनका उदाहरणहरू हुन्।
५) ख्रीष्टियनको पहिरनले ऊ प्रभुको निम्ति विशेष जाति हो भन्ने कुरालाई अर्थात् ऊ सबै अधर्मबाट छुटाइएको छ र ऊ असल कामका निम्ति जोशिलो छ भन्ने कुरालाई दर्शाउनुपर्दछ (तीतस २:१४)।
परमेश्वरका जनहरू अलग, विशिष्ट, फरक र समर्पित हुनुपर्दछ। हामी उहाँको छाप बोकेर हिँड्ने व्यक्तिहरू हुनुपर्छ। स्वर्गीय ज्योतिद्वारा हिँडडुल गर्ने भएका हुनाले हामी मानिसको जमातको बीच अलग्गै छुट्टिनुपर्छ। जब परमेश्वरका जनहरू संसारको सामु बेग्लै हुन छाड्छन् यसको मतलब यो हो कि उनीहरूले परमेश्वरको वचनलाई संसारसित सम्झौता गरिदिएका छन्। हामीले मानिसको भन्दा परमेश्वरको भय मान्नुपर्छ। समाजलाई भन्दा परमेश्वरलाई खुशी पार्न हाम्रो चिन्ता हुनुपर्दछ। यस दुष्ट संसारमा ख्रीष्टको निन्दा बोक्नदेखि हामी पछि हट्नु हुँदैन। “यसकारण यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनहरूसँग लजाउनेछ, मानिसका पुत्र पनि पवित्र दूतहरूका साथमा आफ्ना पिताको महिमामा आउँदा त्योसँग लजाउनेछन्” (मर्कूस ८:३८)। यदि हामीले ख्रीष्टलाई इन्कार गर्छौं भने ख्रीष्टले पनि हामीलाई इन्कार गर्नुहुनेछ भनेर पावलले भने (२ तिमोथी २:१२)।
६) ख्रीष्टियनको पहिरनले अरूलाई ठेस खुवाउनु हुँदैन (रोमी १४:२१)।
बाइबलअनुसार म आफ्नो दाजुभाइको गोठाला हुँ। अरूमा अभिलाषा उत्पन्न गराउने वा अरूहरूका निम्ति गलत नमुना अघि सार्ने वा अरूलाई अन्य हिसाबमा ठेस खुवाउने कुनै पनि पहिरनदेखि हामी अलग बस्नुपर्छ। विशेष गरी हामी चिरिएका स्कर्ट र चिरिएका पहिरनहरू उल्लेख गर्न चाहन्छौं। पुरुषहरूलाई यौिनक तवरले जिस्काउनु उक्त फेशनको एउटा उद्देश्य रहेको छ। चिरिएको ठाउँ घुँडादेखि मुनि छ भने पनि त्यसको असर ज्यादै यौनिक हुन्छ। एकपटक हामीले बाइबल कलेज पढ्दै गरेका केही जवान पुरुषहरूलाई उनीहरू चिरिएका स्कर्टले यौनिक तवरले परीक्षित हुन्छन् या हुँदैनन् भनेर प्रश्न गर्यौं अनि तिनीहरूमध्ये हरेकले उनीहरू परीक्षित हुन्छन् भन्ने कुरालाई स्वीकार गरे। यस कुराबाट ख्रीष्टिय महिलाहरू र जवान स्त्रीहरूलाई यस अभद्र फेशनबाट अलग रहन भयङ्कर ठूलो सन्देश मिल्नुपर्ने हो।
धेरैजना स्त्रीहरू भद्रताको मामिला पुरुषकै समस्या हो भनी सोच्दछन् र पुरुषले आफ्नो आँखा नडुलाएको खण्डमा समस्याको अन्त हुनेथ्यो भनी ठान्छन्। वास्तविकता यो हो कि यस मामिलामा पुरुष र स्त्री दुवैको गम्भीर जिम्मेवारी छ।
ख्रीष्टिय पुरुषहरूले आफ्ना आँखालाई लगाम लाउनु त पर्छ नै र अय्यूबसितै भन्नुपर्छ, “मैले मेरा आँखाहरूसँग एउटा वाचा बाँधेको छु; तब किन म कुनै कन्यामाथि आँखा गाडूँ?” (अय्यूब ३१:१)।
तर यसको मतलब ख्रीष्टिय स्त्रीहरूले मनखुशी वस्त्र पहिरनुहुन्छ र यसमा उनीहरूको कुनै जिम्मेवारी नै छैन भन्ने होइन। यौिनक अभिलाषाको मामिलामा पुरुषहरू गम्भीर रूपमा परीक्षित हुन्छन् भनी तिनी जान्दछिन् भने र निश्चित किसिमका पहिरन अन्य किसिमका भन्दा बढी समस्याजनक हुन्छन् भनी तिनी जान्दछिन् भने, कुनै पनि भक्ति गर्ने युवती वा महिलाले ठेस खुवाउने सम्भावना ननिम्त्याउनलाई आफूले सकभर गर्न चाहँदिनन् होला र?
जसरी सत्रौं शताब्दीमा रिचार्ड ब्याक्स्टरले लेखे,
“यद्यपि यसको जरा [पुरुषमा भएको] पाप र व्यर्थता हो, तरैपनि तपाईंको पाप चाहिँ यसको अनावश्यक उत्प्रेरक हो; किनभने तपाईंले यो विचार गर्नुपर्छ कि तपाईं रोगी प्राणीहरूका बीच बस्नुहुन्छ! अनि तपाईंले उनीहरूको बाटोमा ठेस खुवाउने कुरा तेर्साउनुहुन्न, र उनीहरूको अभिलाषाको आगो सल्काउनुहुन्न, र आफ्नो श्रृङ्गारलाई उनीहरूको पासो बनाउनुहुन्न; तर तपाईं पापी मानिसहरूका बीच हिँड्नुपर्छ, मानौं पराल वा बारुदकाबीच एउटा टुकी बोकेजस्तै; नत्र ता तपाईंले पहिला नदेखेको ज्वाला पछि देख्नुहोला जतिबेला त्यसलाई निभाउन गाह्रो पर्ला” (Richard Baxter, 1615-91)।
दाऊद परमेश्वरकै हृदयअनुसारका मानिस थिए, इस्राएलका मधुर सङ्गीतकार थिए जसले आफ्ना आँखाका सामु कुनै पनि दुष्ट कुरा नराख्ने अठोट गरेका थिए। तरैपनि एकजना स्त्रीलाई तिनको घरको कौसीमाथि नुहाइरेहकी देखेपछि त्यहाँ के भयो भन्ने कुरालाई ख्याल राख्नुहोस्। तिनी किन देखिन सक्ने ठाउँमा नुहाइरहेकी थिइन्?
यौन र शारीरिक अभिलाषा जगाउने कुराको सवालमा पुरुषका आँखाले देखेको कुरा उसको निम्ति कति प्रभावशाली हुन्छ भन्ने कुरा धेरैजसो स्त्रीहरूले बुझेका छैनन्:
एकजनाले आफ्नो लेखमा यसरी भन्छन्:
“मेरो विश्वासमा धेरैजसो स्त्रीहरूले पुरुषहरूले कसरी विचार गर्दछन् भन्ने कुरा जानेकै छैनन्। मलाई यो विश्वास छ कि त्यहाँ त्यस्ता स्त्रीहरूको वर्ग वा समूह नै छ जसले उनीहरूले यदि पुरुषहरूलाई साँच्ची नै बुझेका भए आफ्नो पहिरनको चलनलाई बदल्नेथिए किनकि उनीहरू साँच्ची नै परमेश्वरलाई खुशी पार्न चाहन्छन्। …कुरा यो हो कि, उनीहरूलाई जबर्जस्ती अनाकर्षक रूपमा ढाल्न खोज्ने “यो गर र त्यो नगर” भन्ने कुराहरूको कुनै सूचीको मामिला यो होइन, बरु उनीहरूलाई अभिलाषा नगर्न सहायता गरोस्, र ठेस खुवाउने ढुङ्गा नबनोस् भनी उनीहरूको सहकार्य खोज्ने परमेश्वरको डर मान्ने पुरुषहरूको इच्छाको हो, िकनकि उनीहरू परमेश्वरलाई खुशी पार्न चाहन्छन्।”
अर्को पुरुषले लेखे,
“भद्रताको बाइबलीय मामिला अर्कालाई ठग्नु हुँदैन भन्ने सिद्धान्तलाई बुझेर सबभन्दा राम्ररी बुझिन्छ। कसैले पनि त्यस्तो काम गर्नुहुँदैन जसद्वारा उसले अर्कोमा त्यस्ता इच्छाहरू जगाउँदछ जसलाई नैतिकतापूर्वक पूरा गर्न सकिन्न। … हाम्रो समाजले सञ्चार माध्यमको हरेक पक्षलाई प्रत्यक्ष यौनिक विज्ञापनमा डुबाएको कुरा यस पुरुषका लागि धेरै परीक्षा, शोक र चिन्ताको श्रोत बनेको छ। यस्तै खालको मामिला एउटा मण्डलीमा ख्रीष्टिय दिदीबहिनीहरूसित सामना गर्नु पर्ने कुरा सबभन्दा गम्भीर छ। मेरो विश्वासमा ख्रीष्टिय महिलाको वस्त्रको आदर्श व्याख्या भनेको ‘लामो, खुकुलो र प्रशस्त’ (long, loose and lots of it) भन्ने हुनुपर्दछ।
७) वयस्क ख्रीष्टियनहरू जवानहरूका लागि नमुना हुनुपर्दछ (तीतस २:२-५)।
वयस्क महिलाहरूले त्यस्ता पहिरन शैली अपनाएर पनि पुरुषहरूलाई अभिलाषा गर्न प्रेरित नगर्ला, तर उनीहरू केटीहरू र युवतीहरूका लागि नमुना हुनुपर्दछ।
निष्कर्षमा हृदयको महत्त्वको सम्बन्धमा हामी ब्रूस ल्याकीको निम्न भनाइलाई उद्दरण गर्दछौं।
पहिरन हृदयको मामिला हो। कसैलाई उसले कस्तो किसिमको वस्त्र लाउनुपर्छ भनेर पहिरनको सम्बन्धमा सुधार्न सकिएला र पनि उसलाई भेट्नु भन्दा अघि ऊ जति हराएको अवस्थामा थियो उत्तिकै हराएकै अवस्थामा रहन सक्छ। कसैसित पहिरन वा अन्य कुनै कुराको बारेमा कुरा गर्नु अघि म सर्वप्रथम हृदयको बारेमा जान्न चाहन्छु। के तपाईंले मुक्ति पाउनुभएको छ? प्रेरित १५:९। के तपाईंको हृदय विश्वासद्वारा शुद्ध पारियो? रोमी १०:९। परमेश्वरले ख्रीष्टलाई मरेकाबाट बौराउनुभयो भनेर के तपाईंले आफ्नो हृदयमा विश्वास गर्नुभयो? मैले जान्न चाहेको पहिलो कुरा चाहिँ तपाईंको हृदय र मुक्तिको बारेमा हो। यदि तपाईंले मुक्ति पाउनुभएको छैन भने तपाईंले आफ्नो पहिरनलाई कुनै तरिकाले बदलनु होला तर त्यसले तपाईंको आत्मालाई मदत गर्नेछैन। तपाईं पहिले ख्रीष्टकहाँ आउनैपर्छ।
तपाईंले मुक्ति पाउनुभएको छ भने, अझै पनि मामिला हृदयकै हो। यदि म कुनै ख्रीष्टियनसित यसको बारेमा कुरा गर्नुपर्यो भने म सबभन्दा पहिला हृदयकै विषयमा कुरा गर्नेछु। के तपाईंको हृदय परमेश्वरसित ठीक छ? यदि तपाईंको हृदय परमेश्वरसित ठीक छैन भने प्रत्येक तर्क सुन्दा तपाईंलाई रिस उठ्नेछ र यस विषयलाई छलफलमा ल्याउने जोसुकैसित पनि चिढिनुहुनेछ।
बाइबलले हृदयको कुरा गर्दछ। हिब्रू १०:२२, “आओ, साँचो मनले, विश्वासको पूरा निश्चयतामा, दुष्ट विवेकबाट शुद्ध हुनालाई आफ्ना हृदयहरूमा छिट्काउ लिएर र आफ्ना शरीरहरूलाई शुद्ध जलले धोएर हामी नजिकमा जाऔं।”
परमेश्वरले यहाँ ख्रीष्टियनहरूसित कुरा गर्दै हुनुहुन्छ। अनि २४ र २५ पदहरूमा, “अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एकअर्काको चिन्ता गरौं; कसै-कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोडौं; तर एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं।”
उचित पहिरन हृदयको मामिला हो (Bruce Lackey, “Bible Guidelines for Clothing”)।
अङ्ग्रेजीमा Dressing for the Lord शीर्षक गरेको पुस्तकले यस विषयलाई धेरै विस्तृत रूपमा चर्चा गरेको छ। उक्त पुस्तक Way of Life Literature बाट उपलब्ध हुन सक्छ।
प्रभुमा ग्रहणयोग्य पहिरन भाग २ सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- विश्वासीहरूलाई ट्याट्टू हान्न निषेध गर्ने बाइबलको कुनचाहिँ एउटा सिद्धान्त छ?
- “मलाई हेर” भन्ने आवाज निकाल्ने भड्किला फेशनका केही उदाहरण के-के हुन्?
- “प्रभुको निम्ति विशेष जाति” हुनु भनेको के हो?
- विश्वासी किन मानिसहरूको जमातका बीच छुट्टै देखिनुपर्छ?
- “यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनहरूसँग लजाउनेछ, मानिसका पुत्र पनि… त्योसँग लजाउनेछन्” भनेर येशूले चेताउनी दिनुभएको पद कुनचाहिँ हो?
- हामीले ख्रीष्टलाई इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ भन्ने कुरा पावलले कुन पदमा भने?
- चिरिएको वस्त्रको उद्देश्य के हो?
- अय्यूबले भने, “मैले मेरा आँखाहरूसँग एउटा _______________ बाँधेको छु…”
- भद्र वस्त्र पहिरनु कसरी स्त्रीको कर्तव्य हो?
- के दाऊद पापमा फस्नुमा बाथशेबाको कुनै हात थियो?
- पुरुषका ___________ले _____________ ______________ उसको निम्ति कति प्रभावशाली हुन्छ भन्ने कुरा धेरैजसो स्त्रीहरूले बुझेका छैनन्।
- भद्रताको बाइबलीय मामिला, अर्कालाई _____________________ भन्ने सिद्धान्तलाई बुझेर नै सबभन्दा राम्ररी बुझिन्छ।
- वयस्क महिलाहरू यौिनक तवरले अभिलाषापूर्ण छैनन् भने तापनि किन उनीहरूले भद्र वस्त्र पहिरनु आवश्यक छ?
- पहिरन ___________________को मामिला हो।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।