अलगपनता – सैद्धान्तिक १

Study Series

अलगपनता – सैद्धान्तिक १

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: २ तिमोथी २:१६-१८

अलगपनताको शिक्षा आज तिरस्कृत र घृणित शिक्षा बनेको छ किनभने यो एकताको प्रचलित अवधारणा विपरित छ।

एक ताका सदर्न ब्याप्टिष्ट मण्डलीहरूबाट स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरू जस्ता बाइबलीय मण्डलीहरूलाई छुट्टयाउने कुरा अलगपनता थियो भने आजको अवस्था छिटोछिटो बदलिँदै छ किनभने आज थुप्रै स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूले अलगपनतालाई कि त सीधै इन्कार गर्दैछन् कि त त्यसलाई बेवास्ता गरी बगेर जान दिँदैछन्।

यद्यपि यो व्यापक रूपमा रद्द गरिएको र घृणा गरिएको कुरा हो, अलगपनता एक आवश्यक अभ्यास हो किनभने यो आत्मिक सुरक्षाको माध्यम हो।

मेरो आफ्‍नै ख्रीष्टिय जीवनमा मैले अलगपनता तीन चरणहरूमा सिकेँ: पहिलो, सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ र झूटा शिक्षाको बारेमा सतर्क हुनुपर्छ भन्ने कुरा मलाई एक नयाँ ख्रीष्टियन हुँदा सिकाइएको थियो। मलाई ख्रीष्टमा ल्याउने व्यक्तिले १ थेस्सलोनिकी ५:२१ जस्ता पदहरू सिकाए। उनले मलाई एउटा ख्रीष्टिय पुस्तक पसलमा लगेर ख्रीष्टिय पुस्तकहरू छान्दा धेरै होशियार हुनुपर्छ किनकि थुप्रै त्यस्ता पुस्तकहरूले मलाई गलत दिशामा लैजान सक्छन् भन्ने कुराको चेतावनी दिए। दोस्रो, मैले एक स्वतन्त्र ब्याप्टिष्ट बाइबल कलेजमा अलगपनता सिकेँ। त्यहाँ मैले रोमन क्याथोलिकवाद, उदारवादी ईश्वरशास्त्र, क्यारिज्मेटिकवाद, नव‍-इभान्जेलिकलवाद र ख्रीष्टिय रक जस्ता झूटा शिक्षा तथा आधुनिक लहरहरूको खतराको बारेमा केही कुरा सिकेँ। तेस्रो, व्यावहारिक तहमा म एक जवान मिसनरी हुँदा नेपाल ख्रीष्टियन फेलोशिप (Nepal Christian Fellowship) सितको मेरा अनुभवहरूमा मैले अलगपनता सिकेँ। योचाहिँ एउटा एकतावादी‍‍-क्यारिजमेटिक सङ्गती थियो र प्रचार गर्न र विभिन्न अवसरहरूमा सिकाउन उनीहरूबाट पाएको निमन्त्रणालाई स्वीकार गरेर मैले उनीहरूलाई मदत गर्न सक्छु र सायद उनीहरूलाई परिवर्तन गराउन पनि सक्छु भन्ने कुरामा म विश्वस्त थिएँ। तर त्यसको सट्टा शिक्षागत सङ्घर्ष (doctrinal conflict) ले गर्दा यसको नतीजा केवल समस्या र गडबडी थियो। मैले यो सिकेँ कि झूटा शिक्षकहरू र सम्झौतावादीहरूबाट अलग हुनु र भित्र रहेर होइन बरु बाहिरबाट उनीहरूलाई मदत गर्न खोज्नु नै बाइबलीय र बुद्धिमानी कुरा हो।

२ तिमोथी २:१५-१६

अलगपनताको जग (२ तिमोथी २:१५)

पहिलो, अलगपनताको जग भनेको बाइबलको ठोस ज्ञान हो। यो बिना कुनै पनि ख्रीष्टियनले सत्य र असत्यलाई छुट्ट्याउन सक्दैन। यसको मतलब प्रत्येक विश्वासी परिश्रमसाथ बाइबल अध्ययन गर्ने विद्यार्थी हुनुपर्छ। दैनिक बाइबल अध्ययनको बानी बसाल्नु अति महत्त्वपूर्ण छ। साथै यसको मतलब हरेक मण्डली परमेश्वरका जनहरूलाई पवित्र शास्त्रहरूमा तालिम दिइरहने बाइबल पाठशाला हुनुपर्छ र प्रभावकारी रूपमा झूटा शिक्षाको सामना गर्न तयार बनाउनुपर्छ।

दोस्रो, अलगपनताको जग भनेको एक जाँच गर्ने मनस्थिति हो। परमेश्वरको वचनलाई ठीक-ठीकसँग छुट्ट्याउनु भनेको सत्य र असत्यको बीचमा निरन्तर भिन्नता राख्‍नु हो। हेर्नुहोस् भजनसङ्ग्रह ११९:१२८; हितोपदेश १४:१५; प्रेरित १७:११; १ थेस्सलोनिकी ५:२१।

अलपनताको तरिका (२ तिमोथी २:१६,१७)

असत्य मार्ग अपनाउनेहरूलाई प्रस्टै चिनाउनुपर्छ (२ तिमोथी २:१७)

पावलले साधारण रूपमा अस्पष्ट चेतावनी दिएनन्। १ र २ तिमोथीमा मात्र उनले झूटा शिक्षकहरू र सम्झौतावादीका नामहरू १० पटक तोकेर उल्लेख गरे (१ तिमोथी १:२०; २ तिमोथी १:१५; २:१७; ३:८; ४:१०,१४)।

यो महत्त्वपूर्ण अभ्यास आज मण्डलीहरूमा प्रायः पाउन सकिन्न, “आधारभूतवादी” (fundamentalist) नाम लिन नछोडेकाहरूमा समेत। मानिसहरूलाई जानकार राख्न र पूर्वचेतावनी दिन मण्डलीहरूले “ओ तिमोथी” (O Timothy) पत्रिका र “फ्राइडे चर्च न्यूज नोट्स” (Friday Church News Notes) जस्ता प्रकाशनहरूमा पाइने जानकारी तथा चेतावनीहरूलाई वितरण गर्नुपर्छ। मण्डलीहरू “डिफेन्स अफ दि फेथ” (Defense of the Faith) जस्ता अध्ययन मालाहरूमा आधारित तालिमहरू दिनुपर्छ। आफ्‍ना जनहरूलाई खाँटी पठन सामग्रीहरू उपलब्ध गराउन मण्डलीहरूले आफ्‍नै किताब पसल सञ्चालन गर्नुपर्छ। पुरानो मार्गहरूमा स्थिर भएर उभिरहने मण्डलीहरूले प्रायः यी तीनओटै कामहरू गरिरहेका छन्।

असत्य मार्ग अपनाउनेहरूदेखि अलग हुनुपर्छ (“त्याग”, २ तिमोथी २:१६; “तिनीहरूबाट टाढा बस”, २ तिमोथी ३:५, “यस्ताहरूबाट पर बस”)।

उनीहरूका मण्डलीहरू र सभाहरूबाट अलग बस्नुपर्छ। कुनै मण्डलीले गलत कुरा सिकाउँदछ भन्ने कुरा तपाईंलाई थाहा छ भने, त्यसबाट टाढा बस्नुहोस्। कुनै प्रचारकले गलत कुरा सिकाउँछ भन्ने कुरा तपाईंलाई थाहा छ भने उसको सभामा नजानुहोस्। धेरैजना व्यक्तिहरू प्रमीस किपर सभा वा क्यारिज्मेटिक बाइबल अध्ययन वा ख्रीष्टिय रक कन्सर्टमा गएका छन् र यसरी परमेश्वरको अलगपनताको आज्ञालाई अवज्ञा गरेको हुनाले उनीहरू गलत मार्ग अपनाउनलाई परिवर्तित भएका छन्।

उनीहरूका पुस्तकहरू, वेबसाइटहरू, टिभी र रेडियो प्रसारणहरू, एमपीथ्री प्रवचनहरूबाट अलग बस्नुहोस्। यसो गर्न विफल हुनु नै स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूभित्र क्याल्भिनवाद र नवइभान्जेलिकलवाद बेजोडसित छिर्न पाउनुको मुख्य कारण हो। केही वर्ष अगाडि मिशिगनका एकजना पास्टरले मलाई भने कि उनीहरूका सबभन्दा कमजोर र अस्थिर मण्डली सदस्यहरू चाहिँ सबभन्दा बढी मात्रामा ख्रीष्टिय रेडियो सुन्नेहरू हुन्। यसको कारण यो हो कि “इभान्जेलिकल” स्टेशनका कार्यक्रमहरू समेत प्रायः झूटा शिक्षकहरू र सम्झौतावादीहरूले भरिएका हुन्छन्। वे अफ लाइफ लिटरेचरको वेबसाइटमा भएको “ख्रीष्टिय पुस्तक पसलका खतराहरू” (Dangers in Christian Bookstores) र “ख्रीष्टिय रेडियोका खतराहरू” (Dangers on Christian Radio) मा थुप्रै लेखकहरू र रेडियो व्यक्तित्वहरू सूचीत गरिएका छन् जसबाट पर बस्नुपर्छ। (यसमा समावेश छन्: बिल्ली र फ्रान्क्लीन ग्राहाम, रिक वारेन, चक कोल्सन, चक स्वीन्डोल, जीम सिम्बला, फिलिप यान्सी, जोन म्याक्स्वेल, म्याक्स लुकाडो, एलेजाबेथ एलिअट, जेरी ब्रीजेज, ज्याक हेफोर्ड, बील हाइबेल्स, जेम्स डब्सन, रबर्ट शूलर, केन ब्लान्चार्ड, रिचार्ड फस्टर, डालस वीलार्ड, रबर्ट वेबर, जोन माइकल ट्यालबट, सीएस लुइस, नर्मन भिन्सेन्ट पील, ब्रुस विल्किन्सन्, रब बेल, ब्रेनन म्यानिङ्ग, टोनी कम्पोलो, डोनाल्ड मिलर, अरवीन म्याकम्यानस र ब्रायन म्याकलारेन।)

उनीहरूका बाइबल स्कूलहरूबाट अलग बस्नुपर्छ। न्यू इभान्जेलिकलवाद र मडर्न टेक्स्चूवल क्रिटिसिज्म जस्ता कुराहरू आधारभूत बाइबलीय मण्डलीहरूमा डालस थिअलजिकल सेमिनरी जस्ता न्यू इभान्जेलिकल अध्यापन केन्द्रहरूबाट पनि छिरिरहेका छन्।

अलगपनताको कारण (२ तिमोथी २:१६ख, १७)

यो बुझ्नुपर्ने ज्यादै महत्त्वपूर्ण बुँदा हो।

क) असत्यद्वारा भ्रष्ट नबन्नका लागि हामीले अलगपनताको अभ्यास गर्नुपर्छ (“सड्ने घाउले झैं खाँदै लैजानेछ”)। सडेको स्याउहरूको बीचमा राख्दा राम्रो स्याउले तिनीहरूको स्वस्थ्यलाई वृद्धि गर्दैन! दाँज्नुहोस् १ कोरिन्थी १५:३३।

नव-इभान्जेलिकलवादको उदाहरणलाई विचार गर्नुहोस्। सन् १९५० को दशक ताका बिल्ली ग्राहाम जस्ता इभान्जेलिकल अगुवाहरूले अलगपनतालाई परित्याग गरे। नव-इभान्जेलिकलवादका शुरुका एक अगुवा हारोल्ड लिन्डसेल (Harold Lindsell) ले पछिबाट स्वीकार गरे, “एक दशक जति भित्रमा नव-इभान्जेलिकलवाद आफू भित्रबाटै बाइबल त्रुटीरहित छ वा अमोघ छ भन्ने मान्यताको सवालमा बढ्दो शङ्का-उपशङ्काद्वारा ग्रस्त हुन थालिसकेको थियो” (Lindsell, Bible in the Balance, 1979)।

ज्याक भ्यान इम्पी (Jack van Impe) को उदाहरणलाई विचार गर्नुहोस्। सन् १९७० को दशकमा तिनी एक आधारभूतवादी थिए तर १९८० को दशकमा तिनले आफ्‍नो अडान बदले। सन् १९८४ मा उनले Heart Disease in Christ’s Body भन्ने पुस्तक निकाले जसमा उनले अलगपनतावादको विरुद्धमा लेखे र एकतावादी अवधारणालाई अघि सारे। उनले भने, “परमेश्वर क्याथोलिकहरू, लूथरनहरू, ब्याप्टिष्टहरू र पेन्टेकोस्टलहरूका हृदयभित्र आउनुहुन्छ, र यसरी परमेश्वर हामीभित्र हुनुभएकोले हामी एकअर्कासित सङ्गती गर्न सक्छौं।” सन् १९९० को दशक आइपुग्दा सम्म भ्यान इम्पीले पोपको प्रशंसा गर्न थालिसकेका थिए। उनले Startling Revelations: Pope John Paul II नाकम भिडियो प्रकाशित गरे जसमा उनले पोपलाई ख्रीष्टिय विश्वासको हिरोको रूपमा उचाले! यति छोटो समयमा नै उनी यहाँसम्म आत्मिक अन्धा हुन पुगे।

जेम्स रबिन्सन (James Robinson) को उदाहरणलाई विचार गर्नुहोस्। उनी १९७० को दशकमा एक साहसी सदर्न ब्याप्टिष्ट प्रचारक थिए जसले उदारवाद (liberalism) र सांसारिकपन (worldliness) को विरुद्धमा प्रचार गर्दथे। तर १९८० मा उनी एक क्यारिज्मेटिक बने र आफू “नकारात्मकवाद” बाट उन्मुक्त भएको दाबी गरे! सन् १९८७ मा न्यू ओर्लियन्समा एक विशाल एक्यूमेनिकल क्यारिज्मेटिक सम्मेलनमा सम्बोधन गर्ने क्रममा उनले पोपकै प्रशंसा गर्दैथिए! म एक पत्रकारको हैसियतले त्यहीँ उपस्थित थिएँ र उनले यसो भनेको मैले सुनेँ, “म के भन्न चाहन्छु भने, अहिले यस पृथ्वीमा नैतिकताको सबैभन्दा उत्कृष्ट प्रतिनिधिहरूमध्येमा एकजना पोप हुनुहुन्छ। यो जान्ने व्यक्तिहरूले उनी एक नयाँ जन्म पाएका व्यक्ति हुन् भन्ने साँच्ची नै विश्वास गर्दछन्।”

ख) अरूहरूलाई ठेस नखुवाउन हामीले अलगपनताको अभ्यास गर्नुपर्छ (१ कोरिन्थी ८:९-१३)।

आफूलाई जहाँ‍‍-जहाँबाट निमन्त्रणा आउँछ त्यहाँ-त्यहाँ गएर प्रचार गर्ने बिल्ली ग्राहामको अवधारणा हो, तर उनले रोमन क्याथोलिक र उदारवादी प्रोटेस्टेन्ट मण्डलीहरूमा गई प्रचार गरेर गलत उदाहरण देखाएका छन्। पोल्याण्डमा उनले क्याथोलिक मण्डलीहरूमा प्रचार गरे, अझ ब्लाक मडोन्ना नाम गरेको मरियमको मुख्य थानको बाहिर उभिएर आगन्तुकहरूलाई अभिवादन गरे। यस घटनाको तस्वीर छापिएको “डीसीजन” (Decision) पत्रिकाको एक प्रति मसितै छ। क्याथोलिक मण्डलीहरूमा प्रचार गर्ने ग्राहामको अभ्यासले उनले रोमन क्याथोलिक मण्डलीलाई आफूले स्वीकार गर्दछु भन्ने र त्यसमा लागिरहनु राम्रै कुरा हो भन्ने सन्देश दिएका छन्। यो कति भयङ्कर गलत सन्देश हो! बिल्ली ग्राहाम, फ्रान्क्लिन ग्राहाम, लुइस पलाउ लगायत अनगिन्ती अन्य एक्यूमेनिकल प्रचारकहरूले बाइबलको आज्ञा पालन नगरीकन झूटा शिक्षकहरूदेखि अलग बस्न अस्वीकार गरेकाले कति करोडौं व्यक्तिहरू झूटा मण्डलीहरूमा लागिरहन प्रोत्साहन पाए भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ।

ग) परमेश्वरको आज्ञा पालन गर्नलाई हामीले अलगपनताको अभ्यास गर्नुपर्छ!

अलगपनताको अभ्यास नगर्नलाई ख्रीष्टियनहरूले थुप्रै बाहनाहरू बनाउँछन् तर ठीक गर्छु भन्ने उद्देश्यले बेठीक गर्नु कहिल्यै ठीक होइन! मण्डलीहरूमा र गाउँहरूमा प्रचार गर्नलाई मेरी श्रीमतीले निमन्त्रणा पाएकी छिन्, तर उनले जहिले पनि इन्कार गरेकी छिन् किनकि परमेश्वरले उनलाई त्यसो गर्न मनाही गर्नुभएको छ (१ तिमोथी २:१२)। उनेल सजिलै भन्न सक्थिन्, “तर यतिखेर प्रचार गर्ने पुरुषहरू छैनन् र कोही न कोहीले प्रचार त गर्नैपर्छ।” तर ठीक गर्छु भन्ने उद्देश्यले बेठीक गर्नु कहिल्यै ठीक होइन!

अलगपनता – सैद्धान्तिक भाग १ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. अलगपनताको जग के हो?
  2. विश्वासीलाई जाँच गर्ने मनस्थिति धारण गर्न सिकाउने चारओटा पदहरू कुन-कुन हुन्?
  3. अलगपनताको तरिकामा कुन दुई कुराहरू पर्दछन्?
  4. तिमोथीलाई आफ्‍ना पत्रहरूमा पावलले कति पटक झूटा शिक्षकहरूको नाम तोकेर लेखे?
  5. अलगपनताको तरिकालाई बाइबलले कुन तीन तरिकामा बयान गरेको छ?
  6. कुनै पनि झूटा शिक्षा सिकाइने मण्डली वा बाइबल अध्ययन वा सम्मेलनमा भाग लिन एक विश्वासी जनले किन इन्कार गर्नुपर्छ?
  7. कुनचाहिँ रेडियो कार्यक्रम सुन्ने वा कुन पुस्तक पढ्ने बारेमा विश्वासीहरू किन होशियार हुनुपर्छ?
  8. हामीले अलगपनताको अभ्यास गर्नुपर्ने तीनओटा कारणहरू के-के हुन्?
  9. ज्याक भ्यान इम्पीले १९८४ मा कुन कुराको विरोध गरे?
  10. झूटा मण्डलीहरूमा प्रचार गर्दा एक्यूमेनिकल प्रचारकहरूले कुन सन्देश दिइरहेका हुन्छन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

मनोरञ्जनको परीक्षण

Study Series

मनोरञ्जनको परीक्षण

डेविड क्लाउड

पद कण्ठ: भजनसङ्ग्रह १०१:३; रोमी ६:१६; १ कोरिन्थी १०:२१;३१; फिलिप्पी ४:८; १ यूहन्ना ५:२१

बाबुआमा तथा शिक्षकहरूले युवाहरूलाई मनोरञ्जनसित सरोकार राख्‍ने बाइबलीय सिद्धान्तहरूलाई सिकाउनुपर्छ। मानिस परमेश्वरको सृष्टिमा आनन्द गरोस् भनेर ऊ बनाइएको हो। परमेश्वरले “हाम्रा आनन्दका निम्ति हामीलाई सब थोक प्रशस्त गरी दिनुहुन्छ” (१ तिमोथी ६:१७)। तर सृष्टिको पतन हुन गयो र त्यसमा थुप्रै आत्मिक खतराहरू रहेका छन् (१ पत्रुस ५:८)। कतिपय क्रियाकलापहरू आफैमा बाइबल विपरित नहोलान् तर तिनमा समेत कति त फाइदा नदिने कुराहरू हुन्छन् (१ कोरिन्थी ६:१२)। त्यसैले हामीले परमेश्वरको वचनद्वारा ती कुराहरूलाई परीक्षण गर्न सिक्नुपर्छ ताकि हामी बुद्धिका साथ हिँड्न सकौं, मूर्खतामा होइन।

युवाहरूलाई केवल “यो गर्न हुन्छ, त्यो गर्न हुँदैन” मात्र भनेर गर्न हुने र नहुने कुराहरूको एउटा सूची दिएर मात्र हुन्न। उनीहरूलाई हामीले ध्यानपूर्वक र धैर्यपूर्वक परमेश्वरको वचन व्यावहारिक किसिमले सिकाउनुपर्छ ताकि उनीहरूले ती वचनका पाठहरू दैनिक जीवनमा प्रयोग गर्न जान्न सकून्।

ख्रीष्टियन जीवनमा र ख्रीष्टियन परिवारमा मनोरञ्जनलाई परीक्षण गर्न मिल्ने केही बाइबलीय सिद्धान्तहरू निम्न प्रकारका छन्। प्रत्येक बुँदा अन्तर्गत आफैलाई निम्न प्रश्न सोध्नुहोस्: यस परीक्षणमा विफल ठहरिने मनोरञ्जनका केही रूपहरू अथवा उदाहरणहरू के-कस्ता हुन सक्छन्?

  • के यसलाई तपाईं परमेश्वरको महिमाको लागि गर्न सक्नुहुन्छ? (१ कोरिन्थी १०:३१)
  • के यो कुरा संसारबाटको हो? (१ यूहन्ना २:१५-१६)
  • के यसमा खराब कुराहरू हेर्ने काम पनि हुन्छ? (भजनसङ्ग्रह १०१:३)
  • के यसले सुसमाचार र ख्रीष्टको कामलाई अगाडि बढाउँछ? (१ को १०:२८,३२-३३)
  • के यसले अरूहरूलाई ठेस खुवाउँछ? (रोमी १४:१३-१६,२१)
  • के यसले तपाईंलाई हितकर (स्वस्थकर) कुराहरूमा मन लगाउने बनाउँछ? (फिलिप्पी ४:८)
  • के यो कुरा मूर्तिपूजासँग आवद्ध छ? (१ यूहन्ना ५:२१)
  • के यो कुरा व्यभिचारसित सम्बन्धित छ? (१ कोरिन्थी ६:१८)
  • के यो कुरा शैतानबाटको हो? (१ कोरिन्थी १०:२१)
  • के यसले भक्तिहीनहरूको विचारधारालाई प्रोत्साहन दिन्छ वा त्यसको समर्थन गर्दछ? (कलस्सी २:८)
  • के यो कुरासित त्यस्तो कुनै पनि कुरा सम्बन्धित छ जुनचाहिँ परमेश्वरको साँचो ज्ञानको विरुद्धमा छ (२ कोरिन्थी १०:५)
  • के यो क्रियाकलाप तपाईं बिनाशङ्का विश्वासका साथ गर्न सक्नुहुन्छ? (रोमी १४:२३)
  • के यो क्रियाकलाप मेरो समयको सदुपयोग हुने काम हो? एफेसी ५:१५-१६)
  • के यस क्रियाकलापले मलाई दास बनाउन सक्ने सम्भावना छ? (रोमी ६:१६-१८)

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

विश्वासी जन र मद्यपान

Study Series

विश्वासी जन र मद्यपान

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पद: हितोपदेश २०:१; २३:१९-२१; १ कोरिन्थी १०:३२-३३; १ थेस्सलोनिकी ५:२२

परिचय

१) ख्रीष्टको नाम धारण गर्ने धेरैजसो व्यक्तिहरू संयमी भएर मद्यपान गर्दा हुन्छ भन्ने कुरामा विश्वास गर्छन्। यो कुरा रोमन क्याथोलिकहरू (Roman Catholics), ओर्थोडक्सहरू (Orthodox), लुथरनहरू (Lutherans) र इमर्जिङ्ग इभान्जेलिकल (Emerging Evangelical) चर्चकाहरूको सवालमा साँचो छ। उदाहरणको लागि, “Listening to the Beliefs of Emerging Churches: Five Perspectives” भन्ने किताबमा मद्यपानको आनन्दको बारेमा दर्जनौं पटक उल्लेख गरिएको छ। लेखकहरू हुन्, कारेन वार्ड (Karen Ward), मार्क ड्रिस्कोल (Mark Driscoll), जोन बर्क (John Burke), डान किम्बल (Dan Kimball) र डग प्याजिट (Doug Pagitt)। उनीहरू इश्वरशास्त्रीय छलफल गर्न भट्टीहरूमा भेटघाट गर्छन्, र उनीहरू बियर बनाउने तरिकाहरू एकअर्कासँग सट्टापट्टा गर्ने गर्छन्।

२) बाइबलमा “दाखमद्य” भन्ने शब्द एक प्रजातीय शब्द (generic term) हो। त्यसैले विशिष्ट शब्दको जस्तै यसको एउटै अर्थ हुँदैन। कतिपय ठाउँमा यसको अर्थ अङ्गुरको ताजा जुस (दाखरस) हन्छ; कतिपय ठाउँमा यसको अर्थ रक्सीयुक्त मद्य (alcoholic wine, मदिरा) हुन्छ।

निम्न पदहरूले “दाखमद्य” भन्ने शब्दको माने अङ्गुरको ताजा जुस हुन सक्छ भनेर प्रमाणित गर्छ: व्यवस्था ११:१४; २ इतिहास ३१:५; नहेम्याह १३:१५; हितोपदेश ३:१०; यशैया ६५:८। रक्सीबिहीन दाखमद्य (Non-alcoholic wine) लाई कतिपय ठाउँमा “दाखको फल” (मत्ती २६:२९) को संज्ञा दिइएको छ।

डाक्टर ब्रुस ल्याकिले भन्नुभयो, “बाइबलमा यदि ‘दाखमद्य’ भन्ने शब्द रक्सीयुक्त मद्यलाई जनाउन प्रयोग गरिएको छ भने सन्दर्भले त्यो सधैं छर्लङ्ग पार्छ। ती सन्दर्भहरूमा परमेश्वरले त्यसको खराब असरको चर्चा गर्नुहुन्छ र त्यसको विरुद्धमा चेताउनी दिनुहुन्छ। उदाहरणको लागि उत्पत्ति ९ लाई लिन सकिन्छ जहाँ जलप्रलय पश्चात् नूहको अनुभवलाई बयान गरिएको छ। २१ पदले भन्छ, ‘अनि तिनले दाखमद्यबाट पिए, र मत्त भए; अनि आफ्‍नो पालभित्र तिनले आफूलाई नाङ्गा तुल्याए।’ प्रष्टै, यहाँ दाखमद्यको माने मद्य वा मदिरा हो।”

मदिरा प्राकृतिक उत्पादनको वस्तु होइन; यो मान्छेबाटको उत्पादन हो। अङ्गुरको जुस प्राकृतिक तवरले किण्वीकरण भई रक्सीयुक्त बन्न त बन्छ तर त्यो छिट्टै सिर्का (vinegar, भिनिगर) मा परिणत हुन्छ। त्यो रक्सीयुक्त अवस्थामा रहिरहँदैन। Bible Wines and the Laws of Fermentation नामक पुस्तकले मद्य बनाउनलाई के कस्ता कुराहरू आवश्यक छन् भन्ने कुराको बयान गर्दछ।

तसर्थ, येशूले पानीलाई “दाखमद्य” मा परिणत गर्नुहुँदा (यूहन्ना २:१-११) र प्रेरित पावलले तिमोथीलाई उसको पेटको लागि अलि-अलि “दाखमद्य” प्रयोग गर्नलाई सल्लाह दिँदा (१ तिमोथी ५:२३), त्यहाँ रक्सीयुक्त दाखमद्यकै कुरा गरिएको हो भन्ने होइन। (यस बारेमा थप जानकारी पाउन “Did Jesus Make Alcoholic Wine?” (अङ्ग्रेजी) पढ्नुहोस्।

नयाँ नियमको विश्वासी जन रक्सीयुक्त पेय पदार्थहरूदेखि पूर्णरूपमा अलग रहनुपर्छ भनेर बाइबलले सिकाउँछ भन्ने कारणहरू निम्न प्रकारका छन्:

 

१) दाखमद्यले गिज्याउँछ र मानिसलाई ठग्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१)।

रक्सीयुक्त पेय पदार्थहरूलाई सीमित मात्रामा पिउँदा हुन्छ भन्ने भनाइ तर्कसङ्ग भए जस्तै सुनिन्छ, तर आफूहरू पियक्कड नै बन्नलाई अघि सरेकाहरू पियक्कडहरू धेरैजना हुँदैनन्। झूटो सावित गर्न नसकिने तथ्य यो हो कि जसले पिउँदै पिउँदैन ऊ कहिल्यै मात्नेछैन र ऊ निश्चय पनि पियक्कड बन्नेछैन।

ब्रुस ल्याकिको भनाइसित हामी सहमत छौं, “मद्यले कसरी ठग्छ? ठीक जसरी आज मानिसहरूले त्यसको वकालत गर्दैछन्, अर्थात् थोरै पिएर केही हानि हुँदैन अरे। धेरै पिउनु खराब हो भनेर सबैले स्वीकार गर्छन्। मदिरा कम्पनीहरू समेतले हामीलाई पिएर गाडी नचलाउनुहोस् भनिरहेका छन्, तर थोरै पिउनु ठीकै हो भन्ने उनीहरूको जिकीर छ। तर, त्यही कुरा नै भ्रमात्मक कुरा हो। कति थोरै पिउने भन्ने कुरा कसलाई थाह छ र? विज्ञहरूको अनुसार प्रत्येक व्यक्ति फरक हुन्छ। एकजनालाई एक घुट्कीले मात लाग्न सक्छ भने अर्कोलाई लाग्न त्योभन्दा धेरै चाहिन्छ। एउटै व्यक्तिको पनि फरक अवस्थाहरूमा मदिराप्रति उसको फरक प्रतिक्रिया हुन्छ, जस्तो कि उसले कति खानेकुरा खाएको छ आदि। त्यसैले ‘अलिकतिले केही हानि गर्दैन’ भन्ने कुरा भ्रम हो, र यसद्वारा ठगिएको व्यक्ति बुद्धिमान् होइन।!”

नूहले आफू मत्त हुने नै योजना बनाए होला जस्तो मलाई लाग्दैन न ता आफ्‍नो नातीमाथि त्यत्रो समस्या ल्याऊँला भनेर नै उनले सोचेका थिए — जुन समस्या आजको दिनसम्म पनि जारी छ — हो, मद्यले गिज्याउँछ।

मेरो आमापट्टिको हजुरबुबा पुस्तौंदेखि पियक्कडहरूको पूर्ख्यौलीमा जन्मनुभएको थियो र मेरो हजुरआमाले विवाह गर्नुभन्दा पहिला उहाँलाई एक थोपा रक्सी नछुनलाई प्रतिज्ञा गराउनुभएको थियो, अनि उहाँले त्यसरी प्रतिज्ञा गर्न मान्नु पनि भयो। तर एक दिनको कुरा थियो, उहाँ र अर्को सिकर्मी एउटा घरको छानामाथि काममा गर्दै हुनुहुन्थ्यो अनि त्यो अर्को व्यक्तिले उहाँलाई “जिब्रो शीतल पार्न” एक चुस्को मात्र पिउनलाई मनाएछन्। अनि दुवैजना बेसरी मातेछन् र थानामा पुर्‍याइएछन् जब कि मेरो हजुरबुबा एउटा ब्याप्टिस्ट मण्डलीमा डिकन हुनुहुन्थ्यो! उहाँले एकदमै पछुतो मान्नुभयो र उहाँ पुनस्थापित हुनु पनि भयो अनि त्यसपछि उहाँले अर्को थोपा फेरि पिउनुभएन तर मदिराले गिज्याउँछ भन्ने कुराको यो डरलाग्दो प्रमाण थियो।

मद्यमा ठग्ने र बिगार्ने क्षमता छ। त्यसलाई आफ्‍नो वशमा राख्‍ने सकिने हो कि त्यसले आफूलाई वशमा ल्याउने हो कसैले जान्न सक्दैन। हितोपदेश २०:१ को निर्देशनले मलाई यो बताउँछ कि बुद्धिमानी मानिसले त्यसलाई आफूबाट अलग्गै राख्‍नेछ।

तलको बुद्धिमानी भनाइ जोन पेटन (John Paton) को हो जो नयाँ हिब्रडिज (New Hebrides) मा मिसनरी थिए (१८९१):

“मद्यपान कसरी सीमित मात्रामा गर्न सकिन्छ भनेर सिकाउने संयम समाजहरू (Temperence Societies) वास्तवमा सफल भएका छैनन् बरु परमेश्वरको अनुग्रहले मद्यपान गर्नदेखि पूर्णरूपमा अलग बस्नु नै यसको एकमात्र औषधि हो र बच्ने उपाय हो भन्ने कुरामा म सानै छँदा अवलोकनबाट विश्वस्त भएको हुँ। मद्यको जति मात्रा एकजनाको लागि संयमपूर्ण ठानिन्थ्यो त्यो अर्कोलाई मताउन सक्ने मात्रा हुन सक्थ्यो; अनि जति पनि व्यक्तिहरू पियक्कड छन् तिनीहरू पूरै परहेजमा बस्नेहरूका बीचबाट आएका हुँदैनथे तर संयमी भई पिउनेहरू वा त्यसरी पिउन प्रयास गर्नेहरूको बीचबाट आएका हुन्थे। संयम समाजका मानिसहरूलाई मैले अरू नपिउनेहरूको सामु पिइरहेको देखेको थिएँ जोहरू पछि गएर पियक्कड बने अनि त्यस बारेमा आफूहरू दोषी छैनौं भनेर उनीहरू कसरी सोच्न सक्छन् होला भनेर मैले कहिल्यै बुझ्न सकिनँ; साथै एकताका संयम समाजहरूको जोडदार वकालत गर्ने मण्डलीका सेवकहरू र अरूहरूलाई उनीहरूको कथित संयमबाट पतन भएर पियक्कड बनेको पनि देखेको छु। तसर्थ जुनसुकै पनि लागु पदार्थको सम्बन्धमा मेरो जीवनभर मैले यो कुरा निर्विवाद रूपमा देखेको छु कि एकमात्र समझदारपूर्ण संयम भनेको तिनीहरूलाई पेय पदार्थको रूपमा प्रयोग गर्नेदेखि पूर्णरूपमा अलग बस्नु हो र तिनलाई केवल औषधिको रूपमा मात्र प्रयोग गर्नु हो, अनि त्यो पनि अधिकतम सतर्कतासाथ किनकि ती एकदम नीचता र अनैतिकताका भ्रमात्मक र अस्वस्थ्यकर विष हुन्।”

बाइबलले मात्न निषेध गरेको छ भनेर इमर्जिङ्ग चर्चकाहरू समेत सहमत छन्, तर उनीहरू र उनीहरूका पिउने मित्रहरू कहिल्यै “अलिकति” पनि मात्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? उनीहरूले पियक्कड बन्न कसैलाई पनि परीक्षामा पार्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? अहँ, सक्दैनन्, किनकि “दाखमद्यले गिज्याउँछ।”

२) रक्सीयुक्त पेय पदार्थबाट टाढा बस्नुपर्छ किनकि त्यो अन्य थुप्रै खराबीहरू र खतराहरूसित आवद्ध छ (हितोपदेश २३:१९-२३, २९-३५)।

आफ्‍ना बाबुआमाको कुरा सुन्नू र सत्यता किन्नू र त्यसलाई नबेच्नू भनेर बाबुले छोरालाई दिइरहेको जोडदार आग्रहका साथ यो खण्ड शुरु हुन्छ (हितोपदेश २३:२२-२३)। आफ्‍नो सारा हृदय र बल र जीवनलाई त्यसप्रति उन्मुख गराएर “सत्यता किन” र शैतानको कुनै पनि रित्तो र भ्रमात्मक प्रलोभनको सट्टामा “त्यसलाई नबेच” भन्दै बाबुले आफ्‍नो छोरालाई अर्ती दिँदैछ। यसले एक व्यक्तिलाई “सामाजिक मद्यपान” (social drinking) लाई प्रोत्साहन गर्ने नाचगान, भट्टिहरू, रात्री-क्लबहरू जस्ता सांसारिक क्रियाकलापहरू र स्थानहरूको प्रलोभनदेखि जोगाउनेछ।

पियक्कडलाई गरीबी हुन्छ (हितोपदेश २३:१९-२१)। हितोपदेशले युवकलाई पियक्कडहरू र घिचुवाहरूको सङ्गतदेखि टाढा बस्न सल्लाह दिन्छ किनकि ती कुराहरू गरीबीसित आवद्ध छन्। यो निश्चित छ ती कुराहरूले आत्मिक गरीबी ल्याउँछन् र प्रायः आर्थिक गरीबी पनि ल्याउँछन्।

पियक्कड श्राप, शोक र झगडाहरूले पीडित हुन्छ (हितोपदेश २३:२९)। समाजका धेरैओटा श्रापहरू रक्सीधोकाइका प्रतिफल हुन्। जस्तै, तोडिएका वैवाहिक सम्बन्धहरू, गुमेका मित्रताहरू, सामाजिक इज्जतबाटका पतनहरू, आर्थिक नोक्सानिहरू, गाडी तथा हवाई दुर्घटनाहरू, अपराधहरू, छुरी धसाइहरू, गोली हनाइहरू, बिग्रेका बाल्यावस्थाहरू, किशोरी गर्भाधारणहरू, टाट पल्टाइहरू, र आत्महत्याहरू। मेरो एकजना जिजुबाजे धनी मान्छे हुनुहुन्थ्यो जसका दुईटा रेष्टुरेन्ट एण्ड बार थिए र उहाँ बेसरी पिउनुहुन्थ्यो। एकदिन उहाँ आफ्‍नो दामी क्याडिल्याक गाडीमा चढेर एउटा शवगृहमा जानुभयो, आफ्‍नै कञ्चटमा पिस्तोल तेर्साउनुभयो र आफ्‍नै ज्यान लिनुभयो।

पियक्कडले मुख बजाउँछ (हितोपदेश २३:२९)। रक्सीले मातेको मान्छे अर्थहीन कुराहरू र मूर्ख कुराहरू बोल्छ।

पियक्कडलाई बिनाकारणै चोटहरू लागेका हुन्छन् (हितोपदेश २३:२९)। ऊ जान्दैन आफू कहाँ थिएँ वा आफूले के गरेँ र कसरी उसलाई चोटहरू लागे। त्यो झगडा वा दुर्घटना वा लोटाइको उसलाई सम्झना हुँदैन। मेरो ससुराले एलेस्कामा एक रात गाडी ठोक्काउनुभयो जब उहाँ एउटा पुल पार गर्नुभएपछि अगाडिको मोडमा नकाटीकन सीधै हाँक्नुभयो। ढलपल गरी धर्मराउँदै बाटोमा हिँडिरहेको उहाँलाई भेटियो र आफूलाई के भयो भन्ने कुराको समेत उहाँलाई अत्तोपत्तो थिएन।

पियक्कडका आँखाहरू राता हुन्छन् (हितोपदेश २३:२९)। उसको शरीरमै असर परेको हुन्छ। उसका आँखामा असर परेको हुन्छ; उसका मृगौलाहरूमा असर परेको हुन्छ; उसको कलेजोमा असर परेको हुन्छ; उसको मस्तिष्कमा असर परेको हुन्छ।

पियक्कडका आँखाले पराई स्त्रीहरूलाई हेर्छन् (हितोपदेश २३:३३)। यो चाहिँ रक्सीधोकाइसित कसरी अनैतिकतको निकट सम्बन्ध हुन्छ भन्ने कुराको बयान हो। पियक्कडका नैतिक संवेदनशीलता शिथिल बन्छन् र ऊ खुकुलो चरित्रका स्त्रीहरूप्रति आकर्षित हुन्छ। भनिन्छ, “मदिरा अभिलाषाको आगोको इन्धन हो”।

पियक्कडको हृदयले टेढा कुराहरू बक्छ (हितोपदेश २३:३३), जस्तै श्रापहरू, तीता बोलीहरू, निन्दाहरू र फोहोर ठट्टादिल्लगीहरू।

पियक्कड लापरवाही बन्छ र ऊ मूर्ख प्रकारले निडर हुन्छ (हितोपदेश २३:३४)। समुद्रको बीचमा तैरिरहँदा वा समुद्रमा हिँडिरहेको जहाजको मस्तुलको टुप्पामा बस्दा ऊ पल्टेर निदाउन चाहन्छ। ठूलो समुद्री जहाजको बीचको मस्तुल २०० सम्म फीट अल्गो हुन सक्छ। पियक्कड मातेको बेलामा गाडी चलाउँछ वा हवाइजहाज हाँक्छ; ऊ व्यस्त राजमार्गको बीचमा हल्लिँदै हिँड्छ; अरूबेला नजिक पनि नगइने होहल्ला मच्चिरहेको भट्टीभित्र ऊ पस्छ; जङ््गी मान्छेहरूलाई ऊ कुस्ती खेल्ने चुनौती दिन्छ। २०१० सालको जुलाइ महिनामा मातेको एकजना अष्ट्रेली नागरीक एउटा निकुञ्जभित्र छिरेर १५-फुटको गोहीमाथि चढ्न खोजेछ र खुट्टामा एउटै मात्र टोकाइ खाएर अचम्मसाथ बाँचेछ। पियक्कड पैसा खर्च गर्न लापरवाह गर्छ। ऊ नैतिकतामा लापरवाह गर्छ। गलत सङ्गतसित लापरवाहसाथ यताउता हिँड्छ। उसले अमूल्य सम्बन्धहरू र मित्रताहरूलाई लापरवाहसात मिल्काउँछ।

पियक्कडलाई दुख्नुपर्ने ठाउँमा दुख्दैन (“तिनीहरूले मलाई हिर्काए, तर म बिरामी भइनँ; तिनीहरूले मलाई कुटे, तर त्यो मैले थाहै पाइनँ”, हितोपदेश २३:३५)। उसको मात लागेको मुद्राबाट नउठेसम्म पियक्कडलाई आफ्‍नो रक्सीधोकाइको मूर्खताले निम्त्याएको पीडाप्रति उसको होसहवास हुँदैन।

पियक्कड अनौठो प्रकारले दास बनाइएको हुन्छ (“म कहिले बिउँझूँ? म फेरि त्यसको खोज गर्नेछु”, हितोपदेश २३:३५)। एउटा रक्सीधोकाइको घटना बित्न पाएको छैन ऊ फेरि त्यसैको खोजी गर्न चाहन्छ। रक्सीले उसको स्वास्थ्यलाई खत्तम पारिसके तापनि र उसको दाम्पत्य जीवनलाई भताभुङ्ग पारिसके तापनि र उसको पेशालाई चक्नाचूर पारिसके तापनि, ऊ सितिमिति पिउन छोड्दैन। “यो एउटा गहिरो र साँघुरो खाडल हो जसबाट निस्कन करीब असम्भव छ; त्यसैले त्यसको छेउबाट दूर रहनु बुद्धि हो। यस पापको दिशामा एक कदम मात्र पनि चाल्नदेखि होसियार! किनभने त्यसदेखि कदम फर्काउन यति गाह्रो छ कि “फर्क!” भनेर चिच््याउने विवेकलाई धरी त्यसले भ्रष्ट पारिसकेको हुन्छ र त्यस अवस्थामा परमेश्वरको अनुग्रहलाई परित्याग गरिसकिएको हुन्छ” (म्याथ्यू हेनरी)।

३) बाइबलले विश्वासी जनलाई कुनै पनि कुरामा अरूलाई ठेस नखुवाउन आज्ञा गर्दछ (१ कोरिन्थी १०:३२-३३)।

मुक्ति पाएको केही महिना पछि मैले चुरोट छोडेँ तर चुरोट आफैमा खराब कुरा हो भन्ने विचारले मैले त्यसलाई छोडेको थिइनँ न ता त्यो ‍स्वास्थ्यको लागि हानिकारक छ भन्ने विचारले नै; तर यो अरूहरूलाई ठेस खुवाउने कुरा हो भन्ने कुरा बुझेर नै मैले चुरोट छोडेको थिएँ। म आफ्‍नो साक्षी दोषरहित भएको चाहन्थे ताकि परमेश्वरले मलाई प्रयोग गर्न सक्नुभएको होस् र उहाँले मलाई अनन्त फल दिनुभएको होस्। मैले कसैलाई ख्रीष्टको बारेमा बताउन खोज्दा उसले मेरो पाकेटमा एक बट्टा चुरोट देखेर मेरो कुरा सुन्न नचाहने बनेको वा उसको ध्यान सुसमाचारदेखि अन्यत्र खिँचिएको म चाहदैनथेँ।

चुरोटको सवालमा त्यो साँचो हो भने, अनि हो पनि, त्यसोभए रक्सीयुक्त पेय पदार्थको बारेमा यो झनै साँचो हो। विश्वासी भएर पिउनु हुँदैन ‍भन्ने कुरा धेरैजना अविश्वासीहरूले नै सोच्दछन्। कतिपय ख्रीष्टियानहरूले आफ्‍नो निम्ति अपनाएको मानदण्डभन्दा अविश्वासीहरूले ख्रीष्टियानहरूका निम्ति राखेको मानदण्ड उच्च छ। अमेरकाको यूटालाई विचार गर्नुहोस्, जहाँ मर्मनहरूले समेत रक्सीयुक्त पेय पदार्थ पिउनु गलत हो भनेर विश्वास गर्छन्! ती मर्मनहरूले मद्यपान गर्ने गैर-मर्मन ख्रीष्टियानहरूलाई कसरी हेर्छन् होला त?

विश्वासीले आफ्‍नो जीवनदेखि मद्यपान हटाउनुपर्छ भन्ने कारणको रूपमा आफूले गरेको मद्यपानले कसैलाई ठेस खुवाउला कि भन्ने सम्भावना मात्र पनि पर्याप्‍त छ, अनि आजको समाजमा त्यो सम्भावना ज्यादै ठूलो छ। मासु खाँदा कसैलाई ठेस लाग्छ भने र उसको साक्षीको निम्ति हानिकारक छ भने पावल यस वर्तमान संसारमा कहिल्यै मासु नखान समेत तत्पर थिए (१ कोरिन्थी ८:१३) जब कि मासु खानु त कुनै अवैध काम होइन। झन् बढ्ता गरी एक विश्वासीले रक्सीयुक्त पेय पदार्थलाई परित्याग गर्न तयार हुनुपर्ने हो जब कि त्यो ज्यादै संदिग्ध कुरा हो र त्यसमा आफैलाई र अरूलाई हानि पुर्‍याउने शक्ति छ (जुनचाहिँ मासुमा छैन)!

४) बाइबलले विश्वासीलाई दुष्टताको हरेक रूपमा अलग बस्न आज्ञा गर्छ (१ थेस्सलोनिकी ५:२२)।

यो त धेरै कुरालाई समेट्ने ज्यादै फराकिलो अर्ती हो। रक्सीयुक्त पेय पदार्थ आजको समाजमा भयङ्कर दुष्टता र श्रापको रूपमा देखा परेको छ। ती गाडी दुर्घटनाहरूलाई विचार गर्नुहोस्, स्वास्थ्यको नाश र अकालका मृत्युहरूलाई विचार गर्नुहोस्, व्यभिचारहरू, अश्लीलताहरू, पारपाचुकेहरू, बेवास्ताको शिकार बनेका बाल‍बच्चाहरू, दुर्व्यवहारका शिकार बनेका पत्नीहरू, खेर गएका पैसाहरू, ती जुवाहरू, ती निन्दाहरू, ती सत-प्रतिशत मूर्खताहरूलाई विचार गर्नुहोस्। बियर र रक्सीका ती विज्ञापनहरूलाई हेर्नुहोस्, कसरी तिनले कामवासनालाई र गैरजिम्मेवारीपनलाई निर्लज्ज प्रकारले प्रदर्शन गर्छन्।

२०१० सालको अप्रिल महिनाको एउटा रिपोर्टअनुसार, रूसमा भोड्का पिउने काम एउटा महामारी नै बनेको छ। एकजना मामुली रूसीले वार्षेनी १५ देखि १८ लिटर कडा मद्य पिउने गर्छ जसले औसतमा प्रत्याशित आयुलाई एक दशकले घटाउँछ। रूसी पुरुषको प्रत्याशित आयु ६१.८ वर्ष मात्र छ। जनवरी २००५ मा बेलायतको रोयल कलेज अफ फिजिसियनहरूले राष्ट्र मदिरा-सम्बन्धित समस्याहरूको महामारीले ग्रस्त छ भनेर चेताउनी दियो जुन महामारीले देशभरि उपद्रव र रोगहरूको वृद्धि गराउँदैछ (The Telegraph, Jan 3, 2005)। यही महामारी विश्वभरि नै दनदनती सल्किरहेको छ।

आज यदि कुनै कुरालाई दुष्टताको रूप मान्न सकिन्छ भने त्यो रक्सीयुक्त पेय पदार्थ नै हो, र बाइबलले हामीलाई दुष्टताको हरेक रूपबाट अलग बस्नुपर्छ भन्ने सल्लाह मात्र दिएको छैन; यसले हामीलाई त आज्ञा नै गरेको छ!

५) आजको दाखमद्यमा भएको र बाइबलकालीन दाखमद्यमा भएको रक्सीको मात्राको बीचमा उल्लेखनीय भिन्नता छ।

बाइबलकालीन दाखमद्य सामान्यतया पन्यालो हुन्थ्यो। त्यो भनेको म सेनामा हुँदा त्यहाँ बूट क्याम्पमा पिउन पाइने दुई प्रतिशत बियर जस्तै हुन्थ्यो।

“आजका धेरैजना मद्यपान गर्ने ख्रीष्टियानहरूले नयाँ निमयमा उल्लेखित दाखमद्य हिजआजकै दाखमद्य जस्तै थियो भनेर मानिलिएका हुन्छन्। तर यो धारणा गलत हो। वास्तवमा आजको दाखमद्य बाइबलीय परिभाषाले कडा मद्य (strong drink, मदिरा) हो र त्यसैले त्यो बाइबलमा निषेधित छ। … प्राचीन समयका अविश्वासीहरूले समेत आजका कतिपय ख्रीष्टियानहरूको जस्तो मद्यपान पिउने गर्दैनथे” (Norman Geisler, Focus in Missions, Sept, 1986)।

“आजको दुईटा मार्टिनीमा रहेको मद्य बराबरको दाखमद्य पिउने हो भने बाइबलमा उल्लेखित दाखमद्य (तीन भाग पानी र एक भाग दाखमद्य) को त बाइस गिलास पिउनुपर्ने हुन्छ” (Robert Stein, Ibid.)।

निष्कर्ष

१) येशूले रक्सीयुक्त दाखमद्य पिउनुभयो वा बनाउनुभयो भनेर हामी विश्वास गर्दैनौं। सर्वप्रथम, पूजाहारीहरू र राजाहरूलाई रक्सीयुक्त पेय पदार्थ पिउन निषेधित थियो (लेवी १०:९; हितोपदेश ३१:४-५), अनि येशू दुवै पूजाहारी र राजा हुनुहुन्छ। दोस्रो कुरा, दाखमद्यले गिज्ज्याउँछ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१) अनि येशू मानिसहरूलाई गिज्ज्याउन आउनुभएको होइन। तेस्रो कुरा, दाखमद्य (अर्थात् दाखरस) को आश्चर्यकर्मको प्रतिफलले देखाउँछ कि येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको थिएन (यूहन्ना २:११)। यस आश्चर्यकर्मले ख्रीष्टले पवित्र मसीहको रूपमा आफ्‍नो महिमा प्रकट गर्नुभयो जसको फलस्वरूप चेलाहरूले उहाँमाथि विश्वास गरे। यदि उहाँले दाखरस नभएर रक्सीयुक्त दाखमद्य बनाउनुभएको हो भन्ने अर्थमा त्यसलाई लिने हो भने त्यसको मतलब त उहाँले मातेकाहरूलाई झनै रक्सीले मताउने काम गर्नुभएको ठहरिन्थ्यो!

२) इस्राएलीहरूलाई कुनै अवसरहरूमा कडा मद्य पिउन अनुमति थियो भन्ने कुरा साँचो हो (व्यवस्था १४:२६), तरैपनि आज उहाँका जनहरूका निम्ति यो परमेश्वरको इच्छा हो भन्ने चाहिँ होइन। विश्वासीलाई जिउने नियम नयाँ नियममा अझ उच्च मानदण्डको छ। जस्तो कि, मोशाको व्यवस्थामा बहुविवाह गर्न छुट थियो तर नयाँ नियममा कतै पनि त्यस्तो प्रबन्ध गरिएको छैन।

३) ख्रीष्टियानलाई रक्सीयुक्त पेय पदार्थ पिउनलाई कुनै आवश्यकता नै छैन। त्यसले उसको जीवनमा कुनै मूल्य थप्दैन।

४) हामी खतरापूर्ण धरापहरूले भरिएको संसारमा हिँडिरहेका छौं (१ पत्रुस ५:८)। हाम्रा भयङ्कर आत्मिक शत्रुहरू छन्: संसार, शरीर र शैतान। आत्मिक शिथिलता ल्याउने र हामीलाई हानि ल्याउन सक्ने कुनै पनि कुराबाट अलग बस्नु बुद्धिमानी हो।

५) हामी भयङ्कर सत्यत्याग (apostasy) को घडीमा बाँचिरहेका छौं (२ तिमोथी ४:३-४)। इमर्जिङ्ग चर्चले मद्यपान गर्न मन पराउनुको कारण यो हो कि तिनीहरू स्वतन्त्रताको धाक दिन्छन् र पावलको भविष्यवाणीले भनेजस्तै आफ्‍नै अभिलाषाहरू अनुसार जिउँछन्। उनीहरूको उदाहरणलाई पछ्याउनु मूर्खता हो।

विश्वासी जन र मद्यपान सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. बाइबलमा दाखमद्य भन्ने शब्द एक _______________________ शब्द हो।
  2. “दाखमद्य” भन्ने शब्दले ताजा अङ्गुरको जुसलाई जनाउन सक्छ भनेर प्रमाणित गर्ने दुईटा पदहरू बताउनुहोस्।
  3. बाइबलको कुनै पनि खण्डमा दाखमद्य भन्ने शब्दले अङ्गुरको रस (दाखरस) लाई जनाउँदैछ कि रक्सीयुक्त पेय पदार्थलाई जनाउँदैछ भनेर हामीले कसरी छुट्ट्याउन सक्छौं?
  4. नयाँ नियमको ख्रीष्टियानले मद्यपानलाई पूरै त्याग्नुपर्छ भनेर हामीले विश्वास गर्नुको पाँच कारणहरू के-के हुन्?
  5. कुन पदले दाखमद्यले गिज्ज्याउँछ र ठग्छ भनेर सिकाउँछ?
  6. कसैले कहिल्यै पिउँदैन भने के ऊ कहिल्यै पियक्कड बन्छ?
  7. रक्सीयुक्त पेय पदार्थहरू कसरी भ्रमात्मक छन्?
  8. हितोपदेशको कुन अध्यायले मद्यपानससित सम्बन्धित सबै दुष्टताहरूलाई बयान गर्दछ?
  9. हामीले अरूहरूलाई ठेस खुवाउनुहुँदैन भन्ने बाइबलको चेताउनीको माने के हो?
  10. दुष्टताको हरेक रूपबाट अलग बस्न विश्वासीलाई बाइबलको कुन पदेले सिकाउँछ?
  11. बाइबलकालीन दाखमद्य र आधुनिक समयको रक्सीयुक्त दाखमद्यमा के फरक छ?
  12. येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको होइन भनेर हामीले विश्वास गर्नुको तीनओटा कारणहरू के-के हुन्?
  13. सत्यलाई परित्याग गरेका ख्रीष्टियानहरू आफ्‍नै अभिलाषाहरू अनुसार जिउनेछन् भनेर चेताउनी दिने बाइबलको खण्ड कुन हो?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

Study Series

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

भाग २

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ६:९-११; ११:१५; २३:२०-२१; एफेसी ४:२८; हिब्रू १३:५-६

१) परमेश्वरलाई पहिलो स्थान दिनुहोस् र आफ्ना खाँचोहरू पूरा गरिन उहाँमाथि भरोसा राख्‍नुहोस् (मत्ती ६:३१-३३)

यदि विश्वासीले परमेश्वरलाई पहिलो स्थान दिन्छ भने सबै कुरा मिलेर आउँछ, तर यदि उसले आफैलाई पहिलो स्थानमा राख्‍छ भने सबै कुरा भताभुङ्ग भएर जान्छ!

  1. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको परमेश्वरको आज्ञा मान्नु हो। यसको माने मेरो आफ्नो कामकुरालाई भन्दा परमेश्वरको कामकुरालाई प्राथमिकता दिनु हो; आफूलाई खुशी पार्नुभन्दा परमेश्वरलाई खुशी पार्नु हो। विश्वासीले मण्डलीको सवालमा परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। म नयाँ विश्वासी हुँदा मैले माण्डलिक सभालाई छोड्न बाध्य गराउने कुनै पनि काममा हात नहाल्ने निर्णय गरेँ (हिब्रू १०:२५)। विश्वासीले पैसाको सवालमा आफ्नो आम्दानीको पहिलोफल परमेश्वरलाई दिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। विश्वासीले बाइबलको सवालमा दिनको पहिलो भागलाई बाइबल अध्ययन र आराधना गर्नलाई अलग गरेर र परमेश्वरको वचन झन्-झन् राम्ररी सिक्नलाई हरेक मौका लिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। साथै विश्वासीले पेशा र मित्रताहरू र विवाह आदि जस्ता आफ्ना निर्णयहरूमा पनि परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ।
  2. परमेश्वरलाई पहिलो स्थान दिनुको माने परमेश्वरमाथि भरोसा गर्नु हो। यसको माने उहाँका प्रतिज्ञाहरू विश्वास गर्नु र उहाँलाई शङ्का नगर्नु हो। मैले उहाँको आज्ञा मान्नुपर्छ अनि त्यसपछि मैले उहाँले मेरो वास्ता गर्नुहुन्छ र मेरा कामकुराहरू मिलाउनुहुनेछ भनेर उहाँमाथि भरोसा गर्नुपर्छ।
  3. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको धैर्य गर्नु र प्रभुको बाटो हेर्नु हो (भजनसङ्ग्रह २७:१४; हितोपदेश २०:२२)। हामीले धैर्य गर्नुपर्छ भनेर परमेश्वरले माग राख्‍नुभएको छ; यो एउटा ठूलो आत्मिक नियम हो। परमेश्वरको इच्छा र योजनामा कामकुराहरू रातारात हुँदैनन्। हाम्रो विश्वास साँचो छ कि छैन भनेर उहाँले हाम्रो जाँच गर्नुहुन्छ। परिस्थिति जस्तोसुकै कठिन भए पनि हामी आफ्ना कर्तव्यहरूमा विश्वासयोग्य हुनुपर्छ र अगाडि बढिनैरहनुपर्छ।

२) कडा परिश्रम गर्नुहोस् (हितोपदेश ६:६-११)

हितोपदेशको पुस्तक व्यावहारिक बुद्धिको पुस्तक हो, र यसले बारम्बार अल्छिपनाको विरुद्धमा चेताउनी दिन्छ। परमेश्वरले कडा परिश्रमलाई आशिष दिनुहुन्छ र अल्छिपनालाई उहाँ घृणा गर्नुहुन्छ। उहाँले हामीलाई कमिलाबाट सिक भन्नुहुन्छ। कमिलाबाट सिक्न सकिने केही पाठहरूलाई विचार गरौं:

  1. कमिला निगरानीबिना काम गर्छ र विश्वासीले पनि दिनको शुरुदेखि दिनको अन्तसम्म उसलाई हेरिरहने कोही नभए पनि वा उसलाई घरिघरि घच्घचाउने कोही नभए पनि विश्वासयोग्य भएर ख्रीष्टको सेवा गर्नुपर्छ।
  2. कमिलाले मौका हुँदैमा काम गर्छ र “राम्रो दिन” कहिले आउला भनेर पर्खी बस्दैन। त्यस्तै, विश्वासीले पनि “दिन छँदै” काम गर्नुपर्छ र पछि गरूँला भन्दै कामलाई पन्साउनुहुँदैन।
  3. कमिला अरू कमिलाहरूसित तालमेल मिलाई काम गर्छ। प्रत्येक कमिलाले आफ्नो भाग गर्छ, र त्यस्तै गरी प्रत्येक विश्वासीको पनि माण्डलिक शरीरभित्र आफ्नै विशिष्ट सेवाकार्य हुन्छ।
  4. कमिला त्यति सानो भएर पनि र तुलनामा महत्त्वहीन देखिए तापनि उसले काम गर्छ। हाम्रो जीवनमा र मण्डलीमा यो हाम्रो उदाहरण हुनुपर्छ। सबैभन्दा सानो व्यक्ति र सबैभन्दा सरल काम पनि यदि परमेश्वरको निम्ति भनेर गरिन्छ भने त्यो उहाँको दृष्टिमा मूल्यवान् हुन्छ।

अरू थुप्रै हितोपदेशहरूले अल्छि हुने कुराको विरुद्धमा चेताउनी दिन्छ किनकि पापी मानव स्वभाव अल्छिपनातिर नै झुक्न खोज्छ (हितोपदेश १०:४-५; १२:२४; १४:२३; १५:१९; १९:१५; २०:४,१३; २१:२५-२६; २४:३०-३४; २६:१४; २७:२३-२७)।

३) इमान्दार हुनुहोस् (एफेसी ४:२८)

परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ र उहाँ बेइमानीलाई घृणा गर्नुहुन्छ। तर हामी पापीहरू हौं र हामी पापपूर्ण संसारमा बाँचिरहेका छौं, र अनेकौं तरिकामा हामीलाई बेइमानी हुनलाई परीक्षा आउँछ — ठग्न, चोर्न, कुरा बङ्ग्याउन, काममा पूरा बल नलगाउन, घुस खान, र अन्य तरिकाले हाम्रा व्यवहारहरूमा अन्यायी हुन। हामीले यस्ता प्रलोभनहरूलाई इन्कार गर्नुपर्छ र यस अन्धकारपूर्ण संसारमा ख्रीष्टका राजदूहरूका रूपमा इमान्दार हुनुपर्छ। परमेश्वरले सत्यवादितालाई आशिष दिनुहुन्छ र बेइमानीलाई न्याय गर्नुहुन्छ।

४) अरूलाई दिन र सहायता गर्न सिक्नुहोस्

लूका ६:३८; गलाती ६:१०; एफेसी ४:२८; रोमी १२:१३; १ तिमोथी ६:१८; हिब्रू १४:१६

विश्वासीसँग दिनलाई तत्पर खालको हृदय हुनुपर्छ, कञ्जुसी र आफ्नो बारेमा मात्र विचार गर्ने खालको होइन। जो परमेश्वरलाई पहिलो स्थान दिन सिक्छन् र प्रभुको कामका निम्ति दसौं अंशहरू र भेटीहरू दिन्छन् र अरूलाई सहायता गर्न सिक्छन्, तिनीहरूको नै यस जीवनमा फलिफाप हुन्छ किनभने तिनीहरूसित परमेश्वरको आशिष हुन्छ।

५) सांसारिक मानिसहरूको पछि नलाग्नुहोस् (हितोपदेश १२:११; २३:२०-२१)।

मूर्ख मानिसहरू ती हुन् जो पैसाको सठीक प्रयोग गर्न जान्दैनन्, जसको गवाही राम्रो छैन, जसले आफूहरू आर्थिक व्यवहारहरूमा बुद्धिमानी नभएको प्रमाण दिइसकेका छन्, जो पापपूर्ण मार्गहरूमा हिँडिरहेका छन्। सांसारिक मित्रहरू सच्चा मित्र होइनन् भनेर उडाउ पुत्रले सिक्यो। तिनीहरू तपाईंलाई प्रेम गर्दैनन्; तिनीहरू तपाईंसित भएका चीजहरूलाई प्रेम गर्छन्। तिनीहरू तपाईंलाई केवल प्रयोग गर्न चाहन्छन्। अनि मूर्ख मानिसहरूको पछि लाग्नेहरू बुद्धिमानी बन्दैनन् बरु प्रायः आफ्नो आम्दानीलाई खेर फाल्न पुग्छन् र अवसरहरूलाई मिल्काउन पुग्छन् (१ कोरिन्थी १५:३३)। म जवान हुँदा मलाई यस्तै भएको हो। मैले पाउन सक्ने शिक्षा मैले हासिल गर्न सकिनँ र आफूलाई उचित ढङ्गले विकास गर्न सकिनँ किनभने म मूर्खहरूको भीडको पछि लागिरहेको थिएँ। खेर फालिएको समयलाई पश्चात्ताप गरे पनि फिर्ता पाउन सकिन्न।

६) छिटो सम्पत्ति‍-आर्जनको प्रतिज्ञाको पछि नलाग्नुहोस् (हितोपदेश १३:११; २१:५)

यदि कुनै पनि आर्थिक कारोवार सुन्दैमा यति आकर्षक सुनिन्छ कि त्यो “साँचो होला त” भन्ने मनमा लाग्छ भने, त्यो साँचो होइन पनि!

७) ऋण लिने र दिने बारेमा होशियार हुनुहोस् (हितोपदेश ६:१-५)

योचाहिँ विचार नपुर्‍याईकन ऋण लिने र करार बाँध्ने सम्बन्धमा दिइएको चेताउनी हो।

गलती भएको महसुस भएमा त्यसबाट निस्कने उपाय खोज्‍नुहोस् (जस्तै, मगनी, व्यापारिक साझेदारिता, जागिर, पढाइ)। यदि तपाईंको दायित्व पक्का गरिसकिएको छ भने, करार पूरा गर्नु तपाईंको जिम्मेवारी हो, तर सम्भव भएसम्म त्यसबाट आफू निस्कनलाई सकेसम्म केही न केही गर्नु बुद्धिमानी हुन्छ, जस्तै, विचार नपुर्‍याईकन लिइएको ऋण छिटो तिर्नलाई दुई-दुईटा काम गर्नुपर्ला।

जसले ऋण लिन्छ ऊ दास बन्छ (हितोपदेश २२:७)। एक आर्थिक दायित्व भनेको मानिस र परमेश्वरको सामु एउटा गम्भिर करार हो। आफूले तिर्न सक्ने कुरा पक्का नगरीकन ऋण नलिनुहोस्। २ राजा ४:१ मा एकजना अगमवक्ताको परिवार कति नराम्रो समस्यामा परेको कुरालाई विचार गर्नुहोस्। जब हामी आफ्नो वचन दिन्छौं तब त्यो पूरा गर्न परमेश्वरले हामीलाई जिम्मेवार भएको ठान्नुहुन्छ। हामीले सत्य बोल्नुपर्छ भन्ने उहाँको माग छ (जकरिया ८:१६; एफेसी ४:१५)। हामी आफूले दिएका प्रतिज्ञाहरूले बाँधिएका हुन्छौं, चाहे त्यो वैवाहिक करार होस् वा बेपारको करार होस्। अमेरिकामा कुनै-कुनै विश्वासीका बारेमा मलाई थाहा छ जसले ऋणबाट उम्कनलाई सरकारको शरण लिन पुगेका छन् (टाट उल्टेको भनेर) तर त्यो ख्रीष्टियन तरिका होइन। कुनै-कुनै परिस्थितिमा आपसी कुराकानीद्वारा करारको भुक्तानी अवधिलाई लम्ब्याउन आवश्यक पर्न सक्छ, तर ऋण भनेको चुक्ता गर्नैपर्छ।

विशेष गरी खराब शर्तमा ऋण लिनु बुद्धिमानी होइन। एकजना साथी हाल सालै बैङ्कमा कर्जा लिने विषयमा बुझ्न जानुभएको थियो। बैङ्कले २०% ब्याज लिने रे, साथै कर्जाको २०% रकम बैङ्कमै सञ्चय गरी त्यसको समेत ब्याज तिर्नुपर्ने रे! यहाँ मानिसहरूले ३०% ब्याज तिर्नुपर्ने व्यक्तिगत कर्जा लिने गर्छन् जसको साथसाथै विभिन्न जरीवाना र शुल्कहरू पनि तोकिएका हुन्छन्। यस्ता करारहरूमा सहमत हुनेहरू मूर्ख हुन्। परमेश्वरले हाम्रा खाँचोहरू पूरा गरिदिने र उहाँको आज्ञा पालन गरेको खण्डमा उहाँले हाम्रो लागि बाटो खोलिदिने प्रतिज्ञा गर्नुभएको छ, त्यसैले हामीले उहाँमाथि भरोसा गर्नुपर्छ र आवेगमा सोच विचारै नपुर्‍याई मूर्ख निर्णयहरू गर्नुहुँदैन। यस्तो गर्नु भनेको विश्वासले होइन अविश्वासले काम गर्नु हो, तर विनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ (हिब्रू ११:६)।

उधारो दिने विषयमा होशियार हुनुहोस्। कसैलाई उधारो दिने समय पनि हुन्छ (भजनसङ्ग्रह ३७:२६; लूका ६:३५), तर उधारो माग्ने जोसुकैलाई दिनु बुद्धिमानी होइन। उधारो दिने काम सुझबुझले गर्नुपर्छ (भजनसङ्ग्रह ११२:५)। अपरिचित व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश ११:१५)। अल्छि मान्छे वा कडा परिश्रममा नलागिरहेको मान्छेलाई उधारो नदिनुहोस् (२ थेस्सलोनिकी ३:१०)। राम्रो गवाही नभएको, भर पर्न नसकिने व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश २५:१९; लूका १६:१०)। पैसाको सवालमा बुद्धिमानी भएको प्रमाणित नभएको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। नराम्रो गरी ऋणमा डुबिरहेको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। खराब चरित्र (जस्तै, ढाँट्ने, चोर्ने, ऋणदातादेखि भाग्ने, आफ्नो ख्रीष्टियन जीवनमा अविश्वासयोग्य) हुनेलाई पैसा सापट नदिनुहोस्। अरूलाई खराब गर्न टेवा दिनु भनेको उनीहरूको खराब कामहरूमा सहभागी बन्नु हो (१ तिमोथी ५:२२; २ यूहन्ना १०-११; प्रकाश १८:४)।

८) असल सल्लाह लिनुहोस् (हितोपदेश १९:२०; २४:६)

ठूला-ठूला आर्थिक निर्णयहरू आफू एक्लैले नगर्नुहोस्; पास्टरहरू र बाबुआमाहरू र मण्डलीका उमेर खाएका पाको पवित्रजनहरू जस्ता बुद्धिमानी व्यक्तिहरूसित असल सल्लाह लिनुहोस्। आर्थिक मामिलाहरूमा बुद्धिमानी भएको प्रमाणित भएकाहरूसित सल्लाह लिनुहोस्। तपाईं युवा हुनुहुन्छ भने आफ्नै साथीभाइहरूसित सल्लाह नलिनुहोस्; उमेर खाएका, बढी बुद्धि भएकाहरूकहाँ जानुहोस्।

९) आर्थिक मामिलाहरूमा अविश्वासीहरूसित एउटै जुवामा ननारिनुहोस् (२ कोरिन्थी ६:१४)

यसले नातागोतालाई पनि समेट्छ। एउटा नयाँ विश्वासी यस्तो कुरामा जेलिएको छ भने उसले आफूलाई त्यस्ता जुवादेखि छिटो भन्दा छिटो निकाल्न जे गर्न सकिन्छ गर्नुपर्छ ताकि ऊ ख्रीष्टको सेवा गर्न स्वतन्त्र बनोस्।

१०) आफूसित जे छ त्यसमा धन्यवादी बन्नुहोस् र त्यसलाई प्रयोगमा ल्याउनुहोस् (हितोपदेश १२:२७); काम नगरी बस्नलाई बहाना नबनाउनुहोस् (हितोपदेश २०:४; २२:१३)

आफूसित नभएको कुराको फिक्री नगर्नुहोस्; जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस् र आफूसित जे छ त्यसलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयोग गर्नुहोस्, र परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ र अरू थप प्रबन्ध गर्नुहुनेछ। परमेश्वरसित बुद्धि माग्नुहोस्।

आत्मिक क्षेत्रमा उही सिद्धान्त काममा आउँछ। बाइबलको बारेमा सबै कुरा नजानेसम्म प्रभुको सेवा गर्नलाई र मानिसहरूलाई ख्रीष्टको बारेमा बताउनलाई पर्खेर बस्ने होइन; आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस्। बाइबल अध्ययन गर्नलाई दराजभरी किताब नभएसम्म पर्खेर बस्ने होइन; आफूसँग जे छ त्यहीँबाट शुरु गर्नुहोस्। आफूसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस् र परमेश्वरले त्यसको वृद्धि गरिदिनुहुन्छ। आज मैले के गर्नुपर्छ भनेर आफूलाई जति थाहा छ त्यसमा विश्वासयोग्य बन्नुहोस् र परमेश्वरले भोलि तपाईंलाई अझ अरू ढोकाहरू खोलिदिनुहुनेछ।

धेरैजना विश्वासीहरू प्रभुको सेवा गर्नुको सट्टा बहानाहरू बनाउँछन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डली सभाहरूमा विश्वासयोग्य भएर उपस्थित हुँदैनन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डलीमा आफूले गर्न सक्ने कुनै एउटा सेवाको भागमा लाग्दैनन्। के भन्ने भनेर जान्दिनँ भन्दै वा डरले वा आफ्नो जातले गर्दा वा आफू अनपढ भएकोले भन्दै उनीहरू सुसमाचार सुनाउँदैनन्। आफ्नो आँखा राम्ररी नदेख्‍ने भएकोले वा राम्ररी पढ्न आउँदैन भन्दै वा पढ्नै आउँदैन भन्दै उनीहरू बाइबल पढ्दैनन्। आखिरमा पढ्न सिक्नलाई त्यति गाह्रो कुरा पनि होइन, र प्रत्येक विश्वासीले जस्तोसुकै उपाय अपनाएर भए पनि बाइबल पढ्ने उपाय निकाल्नुपर्छ। सामान्य समझ भएको जोकोहीले पनि पढ्नलाई सिक्न चाहन्छ भने उसले पढ्न सिक्न सक्छ, तर बहाना बनाउनेहरूले जीवनमा कहिल्यै प्रगति गर्नेछैनन्।

११) परमेश्वरले जे दिनुहुन्छ त्यसमा सन्तोष गर्नुहोस् (हिब्रू १३:५-६)।

अझ कमाउनलाई कडा परिश्रम गर्नु गलत होइन, र वृद्धि गर्नलाई सञ्चय गर्नु र वृद्धि गरिदिनुहोस् भनेर परमेश्वरसित माग्नु गलत होइन, तर आफूसँग नभएसम्म खर्च गर्नु बुद्धिमानी होइन। आफूसित जे छ त्यसमा जब सन्तोष गर्नुहुन्छ, तपाईं परमेश्वरमाथि भरोसा राख्‍न सक्नुहुन्छ र तपाईंले मान्छेको डर मान्नुपर्नेछैन। लोभ-लालच गर्दै, जहिले पनि अझ धेरैको लालसा गर्दै जिउनु गलत हो। परमेश्वरले लोभ मूर्तिपूजाजस्तै हो भन्नुहुन्छ (कलस्सी ३:५)। जो धनी हुन चाहन्छ ऊ भयङ्कर आत्मिक खतरामा छ (१ तिमोथी ६:६-१०)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

Study Series

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

भाग १ – दसौं अंश

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ३:९-१०; मलाकी ३:१०; लूका ६:३८; २ कोरिन्थी ९:६-७

बाइबलले पैसाको बारेमा धेरै कुरा बताएको छ; येशूका धेरैओटा प्रवचनहरू यही विषयमा थिए; मान्छेको हृदय उसको सम्पत्तिसित बाँधिएको हुन्छ भनेर उहाँले सिकाउनुभयो।

दसौं अंशको अभ्यास गरेर (मलाकी ३:८-११)

दसौं अंश, जसको माने आफ्नो आम्दानीको कम्तीमा १०% परमेश्वरलाई दिने कुरालाई जनाउँछ, परमेश्वरलाई आदर गर्ने र यस खाँचोमा डुबेको संसारमा उहाँको महान् कामलाई टेवा पुर्‍याउने एउटा तरिका हो। परमेश्वरले यसमाथि आशिष दिने प्रतिज्ञा गर्नुभएको छ, अनि कयौं विश्वासीहरूले आफूहरू आफ्नो आम्दानीको १००% मा जिउन खोज्नु भन्दा ९०% (अथवा ८०% इत्यादि) मा जिउँदा बढी उत्तम हुन्छ भनेर पत्ता लगाएका छन्।

  1. दसौं अंशको अभ्यास मोशाको व्यवस्थाभन्दा पहिलादेखिको हो। दसौं अंश दिने पहिलो व्यक्ति अब्राहाम थिए (उत्पत्ति १४:१८-२०)। उनले व्यवस्था पालन गर्नलाई भनेर दसौं अंश दिएका थिएनन्; उनले परमेश्वरलाई उहाँको प्रतिनिधि राजा/पूजाहारी मेल्किसदेकद्वारा आदर गर्नलाई दसौं अंश दिए। याकूबले दसौं अंश दिने अभ्यासलाई निरन्तरता दिए (उत्पत्ति २८:२०-२२)। त्यसैले हामी देख्दछौं दसौं अंश दिने अभ्यास व्यवस्थाबाट शुरु भएको होइन। योचाहिँ परमेश्वरका जनहरूले शुरुदेखिनै बुझ्दै आएको सिद्धान्त हो।
  2. व्यवस्थाअन्तर्गत दसौं अंश दिने अभ्यास हुन्थ्यो। मोशाको व्यवस्थाअन्तर्गत त्यहाँ वास्तवमा दोहोरो दसौं अंश थियो। इस्राएलीहरूले आफ्नो सबै आम्दानीको १०% दिनुपर्थ्यो (गन्ती १८:२४-२८; नहेम्याह १०:३८), साथै तिनीहरूले वार्षिक चाडहरूमा भेटीहरू ल्याउनुपर्थ्यो (जसलाई दोस्रो वा चाडको दसौं अंशा भनिन्थ्यो) (व्यवस्था १४:२२-२५)। साथै तिनीहरूले गरिबहरूलाई पनि दिनुपर्थ्यो (प्रस्थान २३:११; लेवी १९:१०; २३:२२)।

मलाकी ३:८-१२

  1. परमेश्वरले भन्नुहुन्छ, दसौं अंश आफै राख्‍नेहरूले उहाँलाई लुटेका हुन्। यसको कारण यो थियो कि मोशाको व्यवस्थाअन्तर्गत परमेश्वरले दसौं अंश दिनुपर्छ भन्ने आज्ञा दिनुभएको थियो र त्यसमाथि उहाँकै स्वामित्व हुन्थ्यो। पुरानो नियमकै दसौं अंश नयाँ नियमको विश्वासीले दिनुपर्छ वा पर्दैन भन्ने मान्यता जुनसुकै भए तापनि, यो निश्चित कुरा हो कि मण्डलीमा विश्वासीको धेरै आर्थिक जिम्मेवारीहरू हुन्छन् र तिनलाई पूरा गर्न विफल हुनु भनेको परमेश्वरलाई लुट्नु हो।
  2. परमेश्वरले दसौं अंश दिनेहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ। विश्वासीले परमेश्वरलाई नदिईकन आफ्नो आम्दानीको १००% मा जिउन खोज्नुमा भन्दा दसौं अंशहरू र भेटीहरू दिएर र आफूसँग बाँकी भएकोमा जिउँदा नै उसले आफ्नो जीवन व्यवहार बढी उत्तम भएको पाउनेछ। यो बढी उत्तम किन छ भने किनकि मेरो जीवनमा परमेश्वरको आशिषबिना जिउनुभन्दा उहाँको आशिषसहित जिउनु बढी उत्तम हो। उहाँले “म तिमीहरूका निम्ति खाइदिनेलाई हप्‍काउनेछु” भन्नुको माने हाम्रो पैसा लुटिन सक्ने त्यस्ता कुराहरू हुनदेखि उहाँले रोक्नुहुन्छ भन्ने हो। यसको माने दसौं अंश दिनेहरूलाई कहिल्यै सङ्कष्ट आइपर्नेछैन भनेको होइन, उनीहरूको छाना कहिल्यै चुहिने हुँदैन भनेको होइन अथवा उनीहरूको मालसामान कहिल्यै टुटफुट हुँदैन वा उनीहरूको बालबच्चा कहिल्यै बिरामी हुँदैनन् भनेको होइन। यसको माने त्यहाँ अरू थुप्रै कुराहरू छन् जो नत्र ता हुन सक्थे तर जुनचाहिँ परमेश्वरको आशिषको कारणले हुन पाउनेछैनन्।
  3. दसौं अंशहरू परमेश्वरको भण्डार-घरभित्र ल्याइनुपर्छ। पुरानो नियममा भण्डार-घर भनेको यरूशलेममा भएको मन्दिर थियो। आज मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। सबभन्दा शुरुको प्रथम मण्डलीमा मानिसहरूले आफ्ना दानहरू ल्याए र तिनलाई अगुवाहरूको पाउमा राखिदिन्थे (प्रेरित ४:३४-३५)। यही नै आज हाम्रो लागि नमुना हो। मण्डलीको त पुरानो नियमको मन्दिरको भन्दा धेरै नै काम छ। मण्डलीलाई सुसमाचार पृथ्वीको छेउसम्म प्रचार गर्नलाई आज्ञा दिइएको छ (मत्ती २८:१८-२०)। यो त ज्यादै खर्चिलो अभियान हो, अनि यसको खर्च परमेश्वरका जनहरूले व्यहोर्नुपर्ने हुन्छ। सुसमाचारका प्रचारकहरूलाई मण्डलीहरूद्वारा टेवा दिइनुपर्छ (१ कोरिन्थी ९:१४; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)।

हितोपदेश ३:९-१०

  1. बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउनुपर्छ। पहिलो पदलाई विचार गर्नुहोस् जहाँ यस अध्यायमाचाहिँ एउटा बाबुले आफ्नो छोरालाई दिएका निर्दैशनहरू छन् भन्ने देखिन्छ। बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउन सक्दैनन् जबसम्म उनीहरू आफैले त्यो सिकेका छैनन्। बाबु वा आमाले जब आफ्नो नानीलाई दसौं अंश दिन सिकाउँछ उसले पहिला उसलाई अलिकति पैसा हरेक हप्‍ता भेटी उठाइँदा त्यहाँ राख्‍नलाई दिन्छ। जब बालक वा बालिकाले आफ्नै पैसा कमाउन थाल्छ, त्यो जतिसुकै थोरै किन नहोस्, बाबुआमाले उसलाई त्यसको १०% परमेश्वरलाई दिनलाई सिकाउँछ। बालककालदेखिनै दसौं अंश दिने बानी बसालियो भने ठूलो हुँदा त्यसलाई निरन्तरता दिन सजिलो हुन्छ।
  2. दसौं अंशचाहिँ “आफ्नो सबै उब्जनी (आम्दानी)” बाट दिइनुपर्छ। यसको मतलब जब-जब हामीले कुनै पैसा कमाउँछौं वा प्राप्‍त गर्दछौं त्यसबाट हामीले प्रभुलाई त्यसको दसौं अंश दिनुपर्छ।
  3. दसौं अंश दिनेहरूलाई आशिष दिने परमेश्वरको प्रतिज्ञा छ। यो प्रतिज्ञा पवित्रशास्त्रमा दोहोराइएको छ किनभने परमेश्वरले यो कुरा पक्का हो भनेर जोड दिन चाहनुहुन्छ। हामी परमेश्वरको वचनमा भरोसा गर्न सक्छौं!
  1. दिने सम्बन्धमा नयाँ नियमका केही खण्डहरू

लूका ६:३८

येशूले यहाँ दिने सम्बन्धीमा एउटा अचम्मको प्रतिज्ञा गर्नुभयो। उहाँले तोकेर दसौं अंशकै बारेमा नभएर सामान्यरूपमा दिने विषयमा कुरा गरिरहनुभएको छ। परमेश्वर हर्षसाथ दिनेलाई मन पराउनुहुन्छ। यो यस्तो कुरा हो जसको उहाँले ख्याल राख्‍नुहुन्छ र प्रशस्त गरी आशिष दिनुहुन्छ।

१ कोरिन्थी १६:१-२

यस खण्डमा हामी देख्‍छौं शरुका मण्डलीका विश्वासीहरूले हप्‍ताको पहिलो दिनमा भेला हुँदाखेरि सङ्कलन कार्य गर्ने गर्थे। यहाँ उल्लेखित सङ्कलनचाहिँ पावलले यरूशलेममा भएका ख्रीष्टियनहरूका लागि उठाइरहेका थिए किनकि त्यसबेला उनीहरूलाई अनिकालको कारणले दुःख भइरहेको थियो (रोमी १५:२६)। यस अवसरमा पनि पावलले उनीहरूलाई “परमेश्वरले फलिफाप गराउनुभएअनुसार” दिनलाई सिकाए। यसको माने दिने कामचाहिँ आनुपातिक ढङ्गले हुनुपर्थ्यो। यो दसौं अंशको जस्तै सिद्धान्त हो। जसले बढी कमाउन सक्छन्, उनीहरूले बढी दिन्छन्।

२ कोरिन्थी ९:६-७

यो पनि फेरि उही विशेष सङ्कलनको कुरा हो जुन पावलले यरूशलेमका विश्वासीहरूका लागि उठाउँदैथिए।

हामी देख्छौं कि यस्ता भेटीहरू स्वेच्छापूर्ण भेटी हुन्, यसको माने प्रत्येक विश्वासीले कति दिने भन्ने बारेमा आफ्नै निर्णय गर्दछ (२ कोरिन्थी ९:७)।

पावलले उनीहरूको दिने कामलाई आशिष दिनुहुनेछ भनेर प्रतिज्ञा गरे।

  1. दसौं अंश दिने काम विश्वासैद्वारा गरिनुपर्छ

प्रभावकारी ढङ्गले दसौं अंश दिने एउटै मात्र उपाय भनेको विश्वासैद्वारा यसको अभ्यास गर्नु हो। हामीले कठिनाइका घडीहरूमा समेत परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्छ। अनि हामीले सम्झना गर्नुपर्छ कि परमेश्वरले विश्वासको जाँच गर्नुहुन्छ, त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई अझ प्रबल बनाउन (याकूब १:२-४)। धेरै पटक जब एउटा विश्वासीले दसौं अंश दिन थाल्ने निर्णय गर्दछ तब उसको निर्णयको जाँच गर्नलाई उसलाई केही आर्थिक समस्या आउँछ।

जोन आर राइसले बीसौं शताब्दिको शुरुतिरको टेक्सासको एक काइकेनदाल नाम गरेका प्रचारकको चर्चा गर्छन्। उनी प्रचार कार्यमा त्यस इलाकाको ठाउँ-ठाउँमा पालैपालो फन्को मार्दै घुम्ने गर्थे र उसले पाउने सङ्कलित भेटीहरू ज्यादै थोरै थिए, यतिसम्म कि उसको ठूलो परिवारलाई समस्या थियो। एक सालको कुरा हो एकजना धनी व्यापारी उक्त इलाकामा आएछन् र विभिन्न मण्डलीहरूमा आफ्नो गवाही बाँडेछन् र काइकेनदालले उसलाई पाहुना सत्कार गरेछन् र आफ्नो बग्गीमा एउटा सभादेखि अर्को सभामा उनलाई डोर्‍याएछन्। विभिन्न कुरामध्येमा त्यस व्यापारीले विश्वासीहरूलाई दसौं अंश दिनलाई चुनौती दिएछन्। एक दिन बग्गीमा चढेर जाँदै गर्दा व्यापारीले प्रचारकलाई दसौं अंश दिनुपर्छ भन्ने बारेमा विश्वास गर्नुहुन्छ कि हुन्न भनेर सोधेछन्।

तिनले जवाफ दिए, “गर्छु, दसौं अंश दिन म चाहन्छु, तर म ज्यादै गरीब छु र मलाई मेरो ठूलो परिवार स्याहार्नुपरेको छ।”

व्यापारीले जवाफ दिए, “म तपाईंलाई एउटा प्रस्ताव राख्छु। तपाईंले यदि एक सालभरि दसौं अंश दिने गर्नुभयो भने, म तपाईंलाई ग्यारेन्टी दिन्छु। उक्त सालको कुनै पनि समयमा यदि तपाईंले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न नसक्नुभएको आफूलाई पाउनुभयो भने र के गर्ने कसो गर्ने भयो भने खालि मलाई सम्पर्क गर्नुहोस् र आवश्यक रकम म तपाईंलाई पठाइदिनेछु। म एउटा धनी मानिस हुँ र म आफूले बोलेको वचन पूरा गर्ने मानिस हुँ।”

काइकेनदालले उत्साही भई जवाफ दिए, “हुन्छ, म खुशीसाथ तपाईंको यो प्रस्तावलाई स्वीकार गर्छु।”

प्रचारकले आफूले स्वीकारेअनुसार विश्वासयोग्य रीतिले दसौं अंश दिन थाले तर उसले कहिल्यै पनि ती व्यापारीलाई सम्पर्क गर्नुपरेन। बाह्र महिनाको अन्तमा पुगेर प्रचारकले यस कुरालाई मनन गर्दैथिए। परमेश्वरले उनलाई त्यस साल प्रशस्त गरी आशिष दिनुभएको थियो र उनका सबै खाँचोहरू पूरा गरिदिनुभएको थियो। मानिसहरूले उसलाई भेटीहरूमा पहिलाभन्दा कयौं गुणा धेरै दिएका थिए, अनि उनको परिवारले थुप्रै विशेष आशिषहरू अनुभव गरेका थिए। यी कुराहरूलाई जब उनले विचार गरिरहेका थिए तब एक्कासी उनको हृदयलाई एउटा पीडाले पक्र्यो। किनकि उसलाई यो महसुस भयो कि उनले एउटा व्यापारी मान्छेको वचनमाथि भरोसा गरेका थिए तर त्यो भन्दा पनि ठूला-ठूला प्रतिज्ञाहरू गर्ने जीवित परमेश्वरको वचनमाथि भरोसा गर्न उनी चाहेका थिएनन्!

  1. हो, दसौं अंश दिनुपर्छ भन्ने आज्ञा मोशाको व्यवस्थामा जस्तै गरी नयाँ नियममा छैन तर…
    1. सम्झना गर्नुहोस्, दसौं अंश मोशाको व्यवस्थाभन्दा पहिलादेखिको अभ्यास हो। अब्राहामले आफू व्यवस्थाको अधीनमा भएकाले दसौं अंश दिएका थिएनन्; उनले दसौं अंश दिए किनकि उनले परमेश्वरलाई आदर गर्न चाहन्थे र परमेश्वरको काम (जसको प्रतिनिधित्व मल्किसदेकले गर्दैथिए) मा योगदान दिन चाहन्थे। यो नयाँ नियमका विश्वासीहरूलाई असल उदाहरण हो, किनकि हामी विश्वासद्वारा अब्राहामका सन्तान हौं (रोमी ४:१६-१७)।
    2. पुरानो नियमचाहिँ हाम्रो उदाहरणका लागि दिएको थियो (रोमी १५:४; १ कोरिन्थी १०:११)। पावलले नयाँ नियमका विश्वासीहरूले प्रचारकहरूलाई र प्रचार कार्यलाई टेवा दिनुपर्छ भनेर सिकाउनलाई पुरानो नियमको दिने प्रणालीलाई अधिकारस्वरूप प्रयोग गरे (१ कोरिन्थी ९:८-१४)।
    3. आफ्ना जनहरू दिने खालका मानिसहरू होऊन् भन्ने कुरा ख्रीष्टले प्रस्टै व्यक्त गर्नुभएको उहाँको इच्छा हो (लूका ६:३८)। “दसौं अंश दिनुपर्छ” भन्ने कुरामा विश्वास नगर्ने कतिपयहरूलाई मैले भेटेको छु जो कञ्जुस छन्। मण्डलीमा उनीहरूले आफ्नो उचित अभिभारा बोक्दैनन्। कञ्जुस्याइँ र कसिएको मुठ्ठी एउटा परमेश्वरको सन्तानको वास्तविक चरित्र होइन। दसौं अंश व्यवस्थाको कुरा हो भनेर तपाईंले यदि विश्वास गर्नुहुन्छ भने तापनि, यस वर्तमान संसारमा परमेश्वरको कामको खाँचोहरूको प्रसङ्गमा तपाईंले आफ्नो आम्दानीको ९०% भन्दा भाग आफ्नै निम्ति राख्‍नलाई त तपाईंलाई शर्म लाग्नुपर्ने हो। वर्तमान समयमा दसौं अंश दिने नियम छैन भनेर विश्वास गर्नेहरूमध्येमा सबै नै कञ्जुस हुँदैनन् भन्ने कुरा पनि म यहाँ थप्नलाई ढिलो गर्न चाहन्न। वास्तवमा म कतिलाई चिन्छु जसले आफ्नो आम्दानीको ३०%, ४०%, ५०% समेत प्रभुलाई दिन्छन्।
    4. विश्वासीका थुप्रै आर्थिक दायित्व अर्थात् कर्तव्यहरू छन्। महान् आज्ञा एउटा दायित्व हो। सुसमाचारलाई सबै जातिका सबैजनालाई पुर्‍याउन हामीलाई आज्ञा गरिएको छ (मर्कूस १६:१५; प्रेरित १:८)। यसलाई ख्रीष्टको “महान् आज्ञा” भनिन्छ किनकि नयाँ नियममा यसलाई पाँच-पाँच पटक दोहोराइएको छ, र यसरी यसको महत्त्वलाई जोड दिइएको छ। विश्वव्यापी रूपमा सुसमाचारको प्रचार कार्यचाहिँ ख्रीष्टको मृत्युसँग सम्बन्धित छ यसमा कि मानिसको पापको निम्ति भएको ख्रीष्टको वेदना वा दुःखभोगाइ प्रभावहीन हुन्छ यदि सुसमाचारको घोषणा गरिँदैन भने (लूका २४:४६-४७)। विश्वव्यापी सुसमाचार अभियान ज्यादै खर्चिलो कार्य हो। यस कामलाई अघि बढाउन प्रत्येक विश्वासीलाई आफूले जे गर्न सक्छ त्यो गर्नुपर्ने दायित्व छ, र यसअन्तर्गत आफै सुसमाचार सुनाउनु हो, प्रार्थना गर्नु हो, दिनु हो। प्रचारकहरूलाई र मिसनरीहरूलाई टेवा दिनु एउटा दायित्व नै हो (१ कोरिन्थी ९:१४; फिलिप्पी ४:१५-१७; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)। मण्डली पनि एउटा दायित्व नै हो। यस वर्तमान युगमा यो नै परमेश्वरको घर र सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। यो नै विश्वव्यापी सुसमाचार प्रचारको केन्द्र हो (प्रेरित १३:१-४)। यसैकारण मण्डलीको काममा आर्थिक रूपमा टेवा दिनु हरेक विश्वासीको दायित्व हो ताकि यसले यस खाँचोमा डुबिरहेको संसारमा परमेश्वरले दिनुभएको कार्यलाई पूरा गर्न सकोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२)

Study Series

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२)

डेविड क्लाउड

पद कण्ठ: २ कोरिन्थी १:८-९; २ कोरिन्थी १२:७-१०; २ तिमोथी ३:१२

अघिल्लो पाठमा हामीले ख्रीष्टियन जीवनमा आइपर्ने दुःखकष्टका चारओटा कारणहरू अध्ययन गर्‍यौं: (१) हामी एक श्रापित संसारमा बाँचिरहेका छौं, (२) परमेश्वरले पापको निम्ति ताडना दिनुहुन्छ, (३) विश्वासको जाँच, र (४) आत्मिक उन्नति। यस पाठमा हामी दुःखकष्टका अरू पाँचओटा कारणहरू अध्ययन गर्नेछौं।

उसले अरूलाई मद्दत गर्न सकोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:३-४)

कष्टदायी अनुभवहरूबाट सिकेका पाठहरूद्वारा हामीले अरूलाई मद्दत गर्न सक्नु हाम्रा दुःखकष्टको अर्को कारण हो। हामीले परमेश्वरको अनुग्रह र सान्त्वना अनुभव गरेका छौं भने हामीले अरूलाई सान्त्वना दिन सक्नेछौं। मेरो ३७ वर्षको ख्रीष्टियन जीवनमा सामना गर्नुपरेको हरेक परीक्षाले मलाई अरूलाई हौसला दिन मद्दत मिलेको छ।

उसले आफैमाथि भरोसा नराखोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:८-९)

दुःखकष्टद्वारा परमेश्वरले हाम्रो आत्मविश्वासलाई तोड्नुहुन्छ र हामीलाई उहाँमा भरोसा गर्न बाध्य तुल्याउनुहुन्छ। परमेश्वरले विशेषरूपमा चलाउनुहुने हरेक व्यक्ति यो प्रकृया भएर जानैपर्छ। मिस्रदेशमाथि उच्च अधिकारीको पदमा पदोन्नती गरिनुअघि, यूसुफले १३ वर्षसम्म दुःख भोग्नुपर्‍यो। इस्राएललाई नेतृत्व गर्न तयार बनाइनुअघि मोशाले उजाडस्थानको एउटा कुनामा बसोबास गर्दै ४० वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। शाऊलको खेदोबाट लुक्दै-भाग्दै दाऊदले ६ वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। ती दुःखकष्ट र पर्खाइ आत्मिक शुद्धिकरणको प्रकृया थिए।

उसलाई नम्र बनाउने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १२:७-१०)

घमन्ड पुरानो, पतित शरीरको अवगुण हो (मर्कूस ७:२१-२२)। सबभन्दा मूर्ख, अज्ञानी मान्छेसमेत घमन्डी बन्न सक्छ, अनि मान्छे जति सफल बन्छ त्यति नै उसले घमन्डसित लड्नुपर्ने हुन्छ। चार्ल्स स्पर्जनले आफ्नो सबभन्दा ठूलो लडाइँ घमन्डसितको हुने गरेको बताए। परमेश्वरले हामीलाई नम्र तुल्याउने उद्देश्यमा दुःखकष्टहरू पठाउने गर्नुहुन्छ। हामीलाई घमन्डदेखि जोगाउन कतिओटा परिस्थितिहरू उहाँले सृजना गर्नुहुन्छ, कतिओटा कुराहरू हाम्रा जीवनमा पठाउनुहुन्छ भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ।

दुःखकष्टलाई कसरी लिइनुपर्छ भन्ने कुरा हामीलाई पावलले सिकाउँछन्। पहिलो, उहाँको इच्छा भए त्यसलाई हटाइयोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। उनको शरीरको काँडा हटाइयोस् भनेर पवालले परमेश्वरले तीनपटक विन्ती गरे। दोस्रो, हामीले आफूलाई परमेश्वरको अधीनतामा सुम्पनुपर्छ र उहाँको इच्छालाई स्वीकार्नुपर्छ। पावलले परमेश्वरसँग प्रार्थना गर्दा, जबरदस्ती गर्न खोजेनन्; उनले केवल सहायता मागे। प्रार्थना गर्ने बाइबलीय तरिका यो हो। यसरी नै प्रभु येशू आफैले पनि प्रार्थना गर्नुभयो (लूका २२:४२)। परमेश्वरले पावललाई उसको कष्ट हटाउने उहाँको इच्छा नभएको कुरा जब प्रकट गर्नुभयो, पावल परमेश्वरसँग चिढिएनन् र उक्त समस्या हटाइयोस् भनेर अझै विन्ती गर्ने काम गरेनन्; उनले सिर्फ आफूलाई परमेश्वरको अधीनतामा सुम्पे। उनले यो आत्मिक सिद्धान्तलाई बुझे, “जब म कमजोर छु, तब म बलियो हुन्छु”।

प्रत्येक रोग चङ्गाइ हुनु परमेश्वरको इच्छा हो भनेर विश्वास गर्ने कतिपय पेन्टेकोस्टलहरूले पावलको दुर्बलताको तात्पर्य रोग होइन भन्ने तर्क राख्छन्, तर २ कोरिन्थी १२:९ मा “दुर्बलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द (आस्थेनेइया) लाई अन्य ठाउँमा “रोग” (मत्ती ८:१७, यूहन्ना ११:४) र “बिरामी” (प्रेरित २८:९) भन्ने शब्दले अनुवाद गरिएको छ।

सतावटको कारणले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ तिमोथी ३:१२)

उसले ख्रीष्टमाथि विश्वास राखेको कारणले विश्वासीले दुःखकष्ट भोग्दछ। हामी शत्रुको इलाकाभित्र हिँडिरहेका छौं जुन शत्रुले परमेश्वरलाई र परमेश्वरमाथि विश्वास गर्नेहरूलाई घृणा गर्दछ। कति हिसाबमा हामीले मुक्ति पाएपछि पहिलाभन्दा बढी दुःख भोग्दछौं! किनकि हाम्रा अब नयाँ शत्रुहरू छन् जो पहिला थिएनन्: संसार, शरीर र शैतान। मुक्ति पाउनुअघि यी हाम्रा मित्र थिए। अब ती हाम्रा शत्रु भएका छन्। पावल प्रेरित उनका यहूदी देशवासीहरूद्वारा र उनले ख्रीष्टको प्रचार गरेका मूर्तिपूजकहरूद्वारा बेसरी सताइए। २३ वर्षको उमेरमा म नयाँ जीवनमा परिवर्तित हुँदा म आफ्ना पुराना मित्रहरूद्वारा, मेरो अफिसका सहकर्मीहरूद्वारा र अविश्वासी आफन्तहरूद्वारा सताइन थालेँ। यसमा हामीले अचम्म मान्नु पर्दैन।

जुन बेला हामीले ख्रीष्टको आज्ञापालन गर्दछौं र मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दछौं त्यतिबेला हामीले विशेष गरी सतावट भोग्नुपर्ने हुन्छ। जब ज्योति चम्कन्छ, तब ज्योतिलाई घृणा गर्नेहरूले त्यसको विरोधमा आवाज उठाई छोड्छन्!

शैतानका आक्रमणहरूले गर्दा विश्वासीलाई दुःखकष्ट आइपर्छ (अय्यूब २:३-६)

उहिलेको अय्यूबले जस्तै विश्वासीले शैतानको हातबाट पनि दुःख भोग्दछ। त्यो हाम्रो शत्रु हो र उसको उद्देश्य भनेको हामीलाई निरुत्साहित पार्नु र हामीलाई नष्ट गर्नु हो (१ पत्रुस ५:८)।

शैतानले, अय्यूबको सवालमा जस्तै, उसलाई जति अनुमति दिइएको छ त्यतिसम्म मात्र गर्न सक्दछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन, तर परमेश्वरले कष्ट आउन दिनुभएकोमा हामी परमेश्वरसित रिसाउनु हुँदैन। उक्त कष्टद्वारा शैतान हाम्रो विनाश चाहन्छ तर परमेश्वरले त्यसद्वारा हाम्रो भलाइ र उहाँको महिमा होस् भनेर त्यसलाई आउन दिनुहुन्छ। अय्यूबले यो कुरा बुझेका थिएनन् र उनी रिसाए र अलमलमा परे, तर हामीलाई उनलाईभन्दा बढी प्रकाश दिइएको छ र हामी परमेश्वरको चरित्रलाई दोष्याउन खोज्ने शैतानका झूटहरूलाई विश्वास गर्नेसम्मको मूर्ख बन्नुहुँदैन।

साथै शैतानलाई कुनै ठाउँ दिने काम नगर्नु विश्वासीका लागि ज्यादै महत्त्वपूर्ण कुरा छ। पाप स्वीकार नगर्दा हामीले शैतानलाई ठाउँ दिन्छौं (एफेसी ४:२२-३०)। साथै मूर्तिपूजासँग सङ्गत गर्दा हामीले त्यसलाई ठाउँ दिएका हुन्छौं (१ कोरिन्थी १०:२०-२१; २ कोरिन्थी ६:१४-१७)। म नयाँ विश्वासी हुँदा मैले शैतानसँग सम्बन्धित मेरा किताबहरूलाई र सङ्गीतहरूलाई र अन्य कुराहरूलाई नष्ट गरेँ किनकि “यस संसारको ईश्वर” सँग मेरो कुनै सरोकार राख्‍न चाहिनँ।

परमेश्वरका उद्देश्यहरू पूरा होस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (यूहन्ना ९:१-३)

फेनी क्रस्बी सानैदेखि अन्धी थिइन्, र उनको जीवन र उनका गीतहरू अनगिन्ती मानिसका लागि आशिष र चुनौती बनेका छन्। युवावस्थामा तिनले लेखिन्:

ओहो, कति आनन्द छ मलाई
यद्यपि म देख्‍न सक्दिनँ
अठोट म गर्दछु यो
संसारमा सन्तुष्ट रहन!

कति धेरै छन् आशिष मेरा
जो छैनन् अरूसित
अन्धी भएकीले रून, सुस्केरा हाल्न
अहँ सक्दिनँ, त्यस्तो म गर्दिनँ।

निष्कर्ष

  1. दुःखकष्टहरू ख्रीष्टियन जीवनमा आवश्यक कुरा हुन्, तर हाम्रो दुःखकष्ट थोरै दिनका लागि मात्र हुन्। यो “केही समयका निम्ति” (१ पत्रुस १:६) हो। पछिको “सदा रहने भारी महिमा” को तुलनामा हाम्रो सङ्कष्ट “छिनभरको” मात्र हो (२ कोरिन्थी ४:१७)।
  2. कैयौंपटक हामीले आफ्ना सङ्कष्टहरूका कारण जान्नेछैनौं; हामीले केवल परमेश्वरमाथि भरोसा राख्‍नुपर्ने हुन्छ। अय्यूब यस कुराका प्रमुख उदाहरण हुन्। भजनसङ्ग्रहहरूमा “किन” भन्ने शब्द १५ पटक उल्लेख भएको छ (भजनसङ्ग्रह १०:१; २२:१; ४२:९; ४३:२; ४४:२३; ७४:१,११; ८८:१४)।
  3. परमेश्वरको योजनामा दुःखकष्टहरू प्रायः बहुउद्देशीय हुन्छन्। जस्तै, कुनै रोगबिमार वा कुनै कठीन परिस्थिति धैर्य र नम्रता सिकाउनलाई, सांसारिकपनबाट अलग गराउनलाई, हृदयलाई परमेश्वरको नजिक खिँच्नलाई, विश्वास बढाउनलाई र अरूलाई सिकाउन प्रयोग गर्ने सक्ने त्यस्ता पाठहरू उसलाई सिकाउनलाई आएको हुन सक्छ।
  4. हामी दुःखकष्टका समयहरू भएर जाने गर्छौं (१ पत्रुस ५:१०)। यो बोटबिरुवाको जीवनचक्रसित तुलना गर्न सकिन्छ। जस्तै, हामी बस्ने दक्षिण एशियाको पहाडी इलाकामा खेती गरिने चियाको बोटलाई लिऊँ। ती बोटका गजबका जीवनचक्रहरू हुन्छन्। ती बढ्छन् र पातहरू फैलाउँछन् र ती पात टिपिन्छन्; अनि समय-समयमा ती बोटहरूलाई बेसरी छिमलिन्छ, मानौं बोटहरू त मरे कि जस्तो लाग्न सक्छ, तर ती मरेका हुँदैनन्। बरु गुणस्तरीय चिया उत्पादन गर्न सकोस् भन्ने हेतुले ती बोटहरू एउटा आवश्यक चरण भएर जाँदैछन्। ख्रीष्टियन जीवन पनि यस्तै हुन्छ। हामी त्यस्ता अवधिहरू भएर जान्छौं जुन बेला हामीलाई हाम्रो आत्मिक जीवन मरेको जस्तो लाग्न सक्छ र “के भइरहेको होला” र “परमेश्वर कहाँ हुनहुन्छ होला” भन्ने कुराहरू हामीलाई बुझ्न गाह्रो लाग्न सक्छ। तर त्यस्ता समयहरू सधैं रहिरहन्नन्। परमेश्वर, महान् किसानले हामीले अझ फल फलाओस् भन्ने हेतुले हामीलाई छिमल्दैहुनुहुन्छ र तयार पार्दैहुनुहुन्छ (यूहन्ना १५)। हाम्रो कर्तव्य भनेको ती सबै चरणहरू भएर जाँदा विश्वासयोग्य रहनु हो, हाम्रो विश्वास उहाँमाथि राखिरहनु हो। यो प्रकृया रातारात हुने होइन। भन्नुपर्दा, हाम्रो जीवनभित्र विभिन्न कुराहरूको काम गर्नलाई परमेश्वरलाई वर्षौं लाग्न सक्छ, दशकौंसमेत।
  5. यदि तपाईं ख्रीष्टलाई चिन्नुहुन्न भने, तपाईंलाई यस संसारमा दुःखकष्टहरू हुनेछन् र झन् पछि सदाका लागि झन् ठूला दुःखकष्टहरू हुनेछन्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।