जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)

Study Series

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: हितोपदेश ३:५-६; २८:२६; हिब्रू ११:६; १ पत्रुस २:११

परमेश्वरको इच्छा नखोजीकन गलत निर्णयहरू गरेर धेरैजनाले आफ्नो इसाई जीवनलाई भताभुङ्ग पारेका छन् (जस्तै, गलत पेशा वा काम, गलत मित्रहरू, गलत जीवन साथी, शिक्षा हासिल गर्दाका गलतीहरू, बसाइ सर्दाका गलतीहरू)। बुद्धिहीन निर्णय गर्नेहरू केवल युवा मात्र हुँदैनन्; धेरैजना वयस्कहरू र अझ वृद्धहरूले पनि यस्ता गम्भीर भूल गरेका छन्।

परमेश्वरको इच्छाभित्र बुद्धिमानी निर्णयहरू गर्नलाई केही आधारभूत बाइबलीय सिद्धान्तहरू निम्‍न प्रकारका छन्:

१) आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्

हेर्नुहोस्: हितोपदेश ३:५; २८:२६; यर्मिया १७:९

आफ्नै समझमा भरोसा गर्ने व्यक्तिले आफ्नो पाप स्वभावको कारणले गलत निर्णयहरू गर्न पुग्‍छ। हाम्रा आँखा परमेश्वरमाथि लगाइरहनैपर्छ र हृदयदेखि उहाँमाथि नै भरोसा गर्नुपर्छ। यद्यपि विश्वासीभित्र एउटा “नयाँ मान्छे” अर्थात् नयाँ स्वभाव हुन्छ, उसभित्र “पुरानो मान्छे” पनि अझै हुन्छ जसले उसलाई बाटोदेखि भड्काउन सक्छ।

परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम प्रार्थनाद्वारा गरिन्छ। हरेक महत्त्वपूर्ण निर्णयमा हाम्रो आफ्नै समझमा भरोसा राख्‍नुको सट्टा हामी बुद्धि र अगुवाइको निम्ति प्रभुसित विन्ती गर्दछौं। उहाँले आफ्ना जनहरूलाई अगुवाइ गर्ने प्रतिज्ञा गर्नुभएको त छ तर हामीले उहाँको अगुवाइ खोज्नुपर्छ; अगुवाइ त्यत्तिकै पाइन्छ भनेर ठान्नुहुँदैन। हामीले आफ्ना सबै मार्गहरूमा “उहाँलाई मान्नुपर्छ”। यस्तो विचार आउन सजिलो छ, “मलाई उहाँको बुद्धि र सहायता चाहिन्छ भनेर प्रभुलाई त थाहै छ; अवश्य पनि उहाँले मलाई त्यो दिनुहुन्छ।” तर वास्तवमा, परमेश्वरले हामीलाई सबै कामकुरामा तोकेर, यत्‍नसित प्रार्थना गर्न भनी बाइबलमा सिकाउनुभएको छ। त्यसो गर्न विफल हुनु भनेको बुद्धिहीन निर्णय गर्न पुग्‍नु हो।

परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम बाइबलको सल्लाह खोजेर गरिन्छ। हामी बुद्धिमानी निर्णयहरू गर्न चाहन्छौं भने हामी बाइबल अध्ययनमा लगनशील हुनुपर्छ किनकि बाइबलबाट नै हामी परमेश्वरको मन जान्न सक्‍छौं (१ कोरिन्थी २:१६), परमेश्वरको इच्छा जान्न सक्‍छौं (भजनसङ्ग्रह ११९:१०५) र विश्वास प्राप्‍त गर्न सक्‍छौं (रोमी १०:१७)। प्रभावकारी दैनिक बाइबल अध्ययन गर्नलाई हामीले सिकेको हुनैपर्छ। हामी एउटा बलियो बाइबलीय मण्डलीमा सुन्न पाइने प्रचारहरू तथा शिक्षाहरूमा लगातार सहभागी हुनैपर्छ। वचनको ज्ञानमा बढ्न हामीलाई उपलब्ध भएको हरेक मौकाको फाइदा लिनैपर्छ। तब हामी उहाँको ‍इच्छा जान्न सक्‍नेछौं र बुद्धिमानी निर्णयहरू गर्न सक्‍नेछौं।

२) ज्योतिमा हिँड्नुहोस् (१ यूहन्ना १:५-१०)

पापमा हिँड्नु भनेको अन्धकारमा हिँड्नु हो। यो भनेको आत्मिक जीवन र आत्मिक विचारको विपरित जाने कुरा हो (१ पत्रुस २:११)। पछि हट्ने व्यक्ति प्रभुको मार्गले होइन आफ्नै मार्गले भरिएको हुन्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश १४:१४)।

बाबुआमाप्रति अनाज्ञाकारी हुनु, मुख लाग्नु, अधिकारीसित आफ्नै जिद्दी गर्नु वा हठी र तीतो बन्नु, आफ्नी पत्नीलाई प्रेम नगर्नु, पतिलाई आदर नगर्नु, कुरौटे हुनु, झूट बोल्नु, चोर्नु, संसारका खराब कुरालाई प्रेम गर्नु जस्ता कुराहरू प्रार्थनालाई बाधा दिने कुरा हुन्। फलस्वरूप एक व्यक्तिसँग असल निर्णय गर्ने बुद्धिको अभाव हुन जान्छ।

आत्मिकरूपमा पछि हटेको अवस्थामा ठूला-ठूला निर्णय गर्नु भनेको बरबादीको सुत्र मात्र हो। त्यस्ता थुप्रै विश्वासीहरू छन् जोहरू हृदयमा प्रभुदेखि टाढा रहेका अवस्थामा विवाह गर्ने निर्णय गर्दा, कुनै पेशा वा काममा हात हाल्ने निर्णय गर्दा, कुनै शिक्षा हासिल गर्नपट्टि लाग्दा, कुनै बाइबल कलेज जान रोज्दा, कुनै मित्रतालाई अघि बढाउँदा, पछि गएर नराम्रोसँग पछुताएका छन्। त्यसैले, होसियार!

३) प्रभुमा मग्न रहनुहोस् (भजनसङ्ग्रह ३७:४)

परमेश्वरलाई आफ्नो माया-ममताहरूको केन्द्रबिन्दुमा राख्‍नु नै उहाँको इच्छा जान्ने उपाय हो। यो गर्न मिल्छ वा त्यो गर्न मिल्दैन जस्ता कुराका सूची अपनाएर इसाई जीवन जिउन खोज्नेहरूले परमेश्वरको इच्छा जान्न सक्दैनन्। ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्ने र उहाँमा मग्‍न हुनेहरूले हो परमेश्वरको इच्छा जान्न सक्‍ने। त्यसो गर्दा उहाँले मेरो हृदयलाई ठीक-ठीक इच्छा-आकांक्षाहरूले भरिदिनुहुन्छ अनि तिनलाई पूरा पनि गरिदिनुहुन्छ। तर अर्कोतिर, सांसारिक वा नामधारी ख्रीष्टियनहरू भने परमेश्वरको इच्छा विपरितका इच्छा-आकांक्षाहरूले भरिएका हुन्छन् अनि उसले दिकदारीको जीवन व्यतित गरिरहेको हुन्छ किनकि उसका इच्छा-आकांक्षाहरू पूरा भइरहेका हुँदैनन्।

४) बाइबलको अवज्ञा गर्ने स्थितिमा पुर्‍याउने खालको कुनै पनि निर्णय नगर्नुहोस् (यूहन्ना ८:३१-३२)

हामीले यस कुरालाई प्रत्येक बुँदामा छुँदै आएका छौं तर जोड दिने हेतुले यसलाई अब आफ्नै बुदाअन्तर्गत ध्यान दिएर विचार गर्न चाहन्छौं।

सरल भाषामा भन्ने हो भने बुद्धिमानी निर्णयहरू गर्नु भनेको बाइबलअनुसार निर्णय गर्नु हो। येशूले यसलाई “मेरो वचनमा लागिरहने” कामको रूपमा बयान गर्नुभयो। बाइबलको अवज्ञा गर्न लाउने कुनै पनि निर्णय परमेश्वरको इच्छाविपरित हुन्छ। यसमा अपवाद छैन।

विश्वासद्वारा जिउनु भनेको यही हो। उहाँलाई विश्वास गर्नु र उहाँको वचन मान्नु नै विश्वासद्वारा जिउनु हो। हेर्नुहोस्, रोमी १०:१७। यो भनेको निर्णयहरू आफ्ना भावनाअनुसार र मानवीय विचारअनुसार र परिस्थितिअनुसार नभएर बाइबलअनुसार गर्न सिक्‍नु हो र ठीक-ठीक ढोकाहरू खोलिइनका लागि र खाँचोहरू पूरा गरिनका लागि प्रभुमै भरोसा गर्नु हो। यो यति नै सरल छ।

यहाँ केही उदाहरणहरू प्रस्तुत गरिएका छन्; परमेश्वरको इच्छाभित्र रहेर बुद्धिमानी निर्णय गर्ने सवालमा यी उदाहरणहरू कसरी सम्बन्धित छन् भन्ने कुराको विचार गर्नुहोस्:

बाइबलले भन्छ खराबको वा मूर्तिपूजाको सङ्गत नगर्नू (१ कोरिन्थी १५:३३; रोमी १२:२; २ कोरिन्थी ६:१४-१८; एफेसी ५:११), त्यसैले म विश्वासद्वारा जिउँछु भने म तीबाट अलग हुनेछु। तसर्थ सांसारिक रमझमको पार्टी जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि, परमेश्वरका जनका लागि परमेश्वरको इच्छाभन्दा बाहिरका कुरा हुन्। एकजना युवाको मलाई सम्झना छ जसले फिलिम हलमा काम पाएका थिए। त्यहाँ देखाइने हानिकारक फिलिमहरूको बारेमा तिनलाई चिन्ता लागिरहेको थियो र काम छोड्ने विचार गर्दैथिए, तर उनको सांसारिक झुकावका युवा-पास्टरले तिनलाई काम नछोड्ने सल्लाह दिए! परिणामस्वरूप उनी नराम्रोसँग पछि हटे। मलाई अर्को व्यक्तिको सम्झना छ जसको जिम्मेवारी भनेको सांसारिक पार्टीहरूको सुपरिवेक्षण गर्नु थियो जसअन्तर्गत पिउने र नाँच्ने कुरा पनि पर्दथ्यो। उसले त्यो काम नछोडेसम्म ऊ आत्मिक रूपमा धेरै बढेन न ता आफ्नो जीवनमा बुद्धिमानी निर्णयहरू गर्न नै सिक्यो।

बाइबलले भन्छ मण्डलीको बेवास्ता नगर्नू (हिब्रू १०:२५)। मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५। तसर्थ मण्डलीलाई छोड्न लाउने खालको निर्णय गर्नु गलत हो, जस्तै नयाँ ठाउँमा बसाइ सर्नु जहाँ असल मण्डली छैन वा त्यस्तो काम अपनाउनु जसले मण्डली सभाहरूदेखि अलग पार्छ। हाम्रो मण्डलीमा एकजना युवा थियो जो नशालु पदार्थको बानी लागेको जीवनशैलीको पृष्ठभूमिबाट बचाइएका थियो। उसको जीवनमा राम्रा सङ्केतहरू देखिन्थे र ऊ प्रभुमा बढ्दैथियो। एक दिन गाउँबाट उसको बाबुले उसलाई घर फर्कन बोलायो। हाम्रो सल्लाहको बाबजुद ऊ गयो र त्यसबेलादेखि ऊ आफ्नो ख्रीष्टियन जीवनमा पछि हट्न थाल्यो। यस्तो कुरा धेरैपटक दोहोरिएको हामीले देखेका छौं।

विश्वासीहरूले मण्डली छोड्ने एउटा प्रमुख कारण यो हो कि उनीहरू मण्डली सभाहरूदेखि अलग गराउने काम रोज्छन् र फलस्वरूप पछि हट्छन्। निम्‍न दुईटा चेताउनीहरूलाई विचार गर्नुहोस्:

“सात कक्षा पार गरेको केही समयपछि हो, हाम्रा करिब २०% युवाहरू हराउँछन्। सङ्गतिको दिनमा छुट्टि नपाइने किसिमको काम अँगालेकाले तिनीहरू हराउँछन्। ती काममा लागेपछि उनीहरूलाई सङ्गति नआउनलाई बाहाना गर्नु सजिलो हुन्छ र उनीहरू प्रायः आउँदैनन् पनि।”

“मण्डली छोडेर जानेहरूमध्येमा धेरैजनाको यस्तो धारणा भएको पाइएको छ कि यदि परमेश्वरले उनीहरूलाई सङ्गतिको दिनमा छुट्टि नपाइने काम दिलाउनुभएको छ भने सङ्गति छुटाउनु गलत होइन। परमेश्वरले उनीहरूलाई अभद्र पोशाक पहिरनुपर्ने काम दिलाउनुभएको छ भने अभद्र पोशाक पहिरनु गलत होइन। परमेश्वरले उनीहरूलाई रक सङ्गीत सुन्नुपर्ने वातावरण भएको काम दिनुभयो भने त्यो गलत होइन। त्यस्ता कुराको सामना गर्नलाई आफूहरू बलियै भएको उनीहरू ठान्दछन् र उनीहरू त्यसबाट अलिकति पनि प्रभावित नभईकन मण्डली आइरहन सक्नेछन् भन्ने उनीहरू सोच्छन्। तर प्रायः त्यस्तो काम पाएको छ महिना जति पछि उनीहरू वर्षभरिमा ५०% वा त्यसभन्दा बढी सभाहरूमा गयल भएको पाइन्छ। अविवाहितहरूको निर्देशकको हैसियतले मैले एउटा कुरा जोड दिँदै आएको छु कि हाम्रो लागि ठ्याक्कै मिल्ने काम परमेश्वरले हाम्रो लागि रोज्नुभएको छ र शैतालने पनि हाम्रो लागि उसले रोजेको ठ्याक्कै मिल्ने काम पनि त्यहाँ छ। तर धेरैजसो युवाहरू परमेश्वरबाटको त्यो सिद्ध काम पाउनको लागि पर्खने गर्दैनन्।”

यदि कोही विश्वासद्वारा जिउँछ भने उसले आफूलाई मण्डलीबाट अलग पारेर वचनको अवज्ञा गराउने काम लिँदैन।

बाइबलले भन्छ, अविश्वासीसँग बेमेल जोडी नबन्नू (२ कोरिन्थी ६:१४)। त्यसैले अविश्वासीसित विवाह गर्नु वा अविश्वासीसित मिलेर व्यापारमा साझेदार बन्नु, अथवा त्यस्तो अन्य कुनै कुरा गर्नु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा कहिल्यै पनि हुन सक्दैन। एकजना व्यक्तिको मलाई सम्झना छ जो एउटा नयाँ मण्डलीको संस्थापक विश्वासीहरूमध्येमा गनिन्थ्यो। ऊ राम्रै गर्दैथियो, बढ्दैथियो, तर आखिरमा ऊ एकजना अविश्वासिसित काममा साझेदार बन्यो र उसको साझेदारको बेइमानी कामकुराले ऊ जेलमा पुग्यो र यसरी उसले आफ्नो साक्षी बिगार्‍यो।

बाइबलले भन्छ, झूटा शिक्षासित आवद्ध नहुनू (रोमी १६:१७; २ यूहन्ना १०-११)। यसको मतलब झूटा शिक्षा सिकाउने बाइबल तालीम वा मण्डली जानु, झूटा शिक्षकहरूका पुस्तक पढ्नु वा उनीहरूको प्रचार सुन्नु, वा झूटा शिक्षालाई अपनाएको व्यक्तिसँग घनिष्ट सम्बन्ध बढाउँदै लैजानु एकजना विश्वासीको निम्ति परमेश्वरको इच्छा होइन। मलाई दुईजना जवान पुरुषहरूको सम्झना छ जो हाम्रो मण्डलीमा आउँदैथिए र उनीहरूको जीवनमा असल कुराहरूको सङ्केत देखिन्थ्यो र उनीहरू प्रभु बढ्दै गरेको जस्तो देखिन्थ्यो, तर उनीहरू एउटा झूटा शिक्षकको बाइबल अध्ययनमा जान थाले र परिणामस्वरूप उनीहरू हाम्रो मण्डली छोडेर गए।

बुद्धिमानी निर्णय गर्नु भनेको यति हो कि एकजना परमेश्वरको सन्तानले उहाँको वचनबिपरित कुनै पनि काम गर्दैन।

हामी बाइबलको अवज्ञा गर्दछौं भने हामीले परमेश्वरको आशिषको आशा गर्न सक्दनौं। कति ख्रीष्टियनहरूले के गर्छन् भने पहिला आफ्नै योजनाहरू बनाउँछन् अनि त्यसपछि परमेश्वरसित त्यसका लागि उहाँको आशिष माग्छन् तर यो त उल्टो काम गर्नु हो। पहिला त हाम्रा योजनाहरू परमेश्वरको इच्छाअनुसार छन् कि छैनन् भनेर पक्का गर्नुपर्छ तब उहाँको आशिष माग्नु र आशा गर्नु मुनासिब हुन्छ।

बुद्धिमानी निर्णयहरू कसरी गर्ने सम्बन्धमा पुनरावलोकन प्रश्नहरू भाग १

  1. यस पाठमा हामीले चर्चा गरेका चार कुराहरू के-के हुन्?
  2. आफ्नै हृदयमाथि भरोसा गर्ने व्यक्ति मूर्ख हो भनेर कुन पदले बताउँछ?
  3. आफ्नै हृदयमाथि भरोसा गर्नु किन मूर्ख काम हो?
  4. हृदय छली र दुष्ट छ भनेर कुन पदले बताउँछ?
  5. परमेश्वरलाई आफ्ना सबै मार्गहरूमा मान भन्ने बाइबलको भनाइको माने के हो?
  6. ज्योतिमा हिँड्ने बारेमा कुन पुस्तकको कुन अध्यायले बयान गर्दछ?
  7. बुद्धिमानी निर्णयहरू गर्नलाई ज्योतिमा हिँड्नु किन आवश्यक छ?
  8. शारीरिक अभिलाषाहरू प्राणको विरुद्धमा युद्ध गर्दछन् भनेर कुन पदले चेताउनी दिन्छ?
  9. म यदि प्रभुमा मग्न भएँ भने उहाँले मेरा हृदयका चाहनाहरू दिनुहुन्छ भनेर कुन पदले बताउँछ?
  10. विश्वास परमेश्वरको वचन सुनेर आउँछ भन्ने कुरा कुन पदले बताउँछ?
  11. परमेश्वरका जनका निम्ति सांसारिक रमझम हुने पार्टीमा जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि परमेश्वरको इच्छाभन्दा बाहिरका कुराहरू हुन् भन्ने कुरा हामी कसरी जान्न सक्दछौं?
  12. मण्डली सभालाई बेवास्ता नगर्न कुन पदले विश्वासीहरूलाई निर्देशन दिन्छ?
  13. मण्डली परमेश्वरको घर हो भनेर कुन पदले बताउँछ?
  14. बाइबलको आज्ञा नमान्ने र मण्डली सभालाई बेवास्ता गर्ने विश्वासीहरूलाई प्रायः के हुन्छ?
  15. एकजना विश्वासी अविश्वासीहरूसित बेमेल जोडी बन्न सक्ने केही उदाहरणहरू के-के हुन्?
  16. झूटा शिक्षा सिकाइने बाइबल अध्ययन वा मण्डली वा सम्मेलनमा जानु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा होइन भन्ने कुरा हामी कसरी जान्न सक्छौं?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?

Study Series

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?

रोमी १२

डेविड क्लाउड

‍कण्ठ गर्नुपर्ने पदहरू: रोमी १२:१-२

यस संसारमा परमेश्वरको एउटा ठूलो काम छ र यस काममा भाग लिन उहाँले आफ्‍ना जनहरूलाई बोलाउनुभएको छ भन्ने कुरा हामी रोमी १२ अध्यायमा देख्छौं। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा सिद्ध इच्छा छ। यदि तपाईंले मुक्ति पाउनुभएको छ भने तपाईं परमेश्वरको सेवामा बोलाइनुभएको छ।

परमेश्वरको इच्छा जाँचेर थाहा गरिनुपर्छ भन्ने कुरा हामी यहाँ देख्छौं। मुक्ति सित्तैंको दान हो तर परमेश्वरको इच्छा एउटा इनाम हो जसको निम्ति हामी लागिपर्नु आवश्यक छ।

मुक्ति पाइसकेपछि परमेश्वरको इच्छा जान्न चाहने व्यक्तिको लागि रोमी १२ मा पाँच खुड्किलाहरूलाई जोड दिइएको छ।

१) परमेश्वरको इच्छा जान्न हामीले आज नै परमेश्वरको इच्छा गर्नुपर्छ (रोमी १२:१‍-२)।

बाइबलअनुसार परमेश्वरको इच्छा भनेको आज नै गरिने कुरा हो, न कि भोलि म केही गरूँला भन्ने कुरा। विश्वासी वर्तमानको बारेमा गनगन गर्छ वा अल्छी बन्छ र भविष्यलाई मात्र हेरी बस्छ र बेग्लै खालको परिस्थितिको आशा गरी बस्छ र परिस्थिति बदलिए म परमेश्वरको इच्छा पूरा गरूँला भनेर सोची बस्छ भने उसले कहिल्यै परमेश्वरको इच्छा गर्नेछैन। भविष्यलाई हामीले परमेश्वरको हातमा छोडिदिनुपर्छ र आजका परिस्थितिहरू जतिसुकै कठिन भए तापनि हामीले आजकै अवसरहरूलाई काममा लगाउनुपर्छ‍।

हाम्रा जीवनका सबै परिस्थितिहरू परमेश्वरकै हातमा छन् (रोमी ८:२८, १ कोरिन्थी १७-२४)। परिस्थितिलाई हेरेर गनगन गर्नुचाहिँ परमेश्वरको इच्छाको विरुद्धमा गनगन गर्नु हो। यो एकदमै ठूलो पाप हो जुन पाप इस्राएलीहरूले ‍बारम्बार उजाडस्थानमा दोहोर्‍याएका थिए (१ कोरिन्थी १०:१०)।

यो कुरा नयाँ विश्वासीहरूलाई लागु हुन्छ। तपाईं जुन परिस्थितिमा हुनुहुन्छ त्यही परिस्थितिलाई स्वीकार गर्दै आत्मिक रूपमा बढ्नलाई र ख्रीष्टको सेवा गर्नलाई आफूले जे-जे जान्नुभएको छ तिनलाई गर्न थालेर नै परमेश्वरको इच्छा शुरू हुन्छ। मैले मुक्ति पाएको पहिलो सालमा मैले कस्तो सेवकाई गरेको परमेश्वर चाहनुहुन्थ्यो भन्ने कुरा मलाई थाह थिएन। मलाई यति मात्र थाह थियो कि मैले बाइबल सिक्न अनि मण्डलीमा विश्वासयोग्य हुन अनि बाइबलले जे-जे गर्न मलाई सिकाउँछ त्यही मैले गर्न थाल्नुपर्छ भन्ने कुरा मलाई थाह थियो र मैले त्यही गर्न थालेँ। मेरो जीविकोपार्जनको लागि त्यसबेला म एउटा छापाखानामा मेशिन चलाउने काम गर्थें तर त्यो पेशा नै मेरो जीवन त थिएन। मेरो जीवन परमेश्वरलाई खोज्नु र ख्रीष्टको सेवा गर्नु थियो र परमेश्वरको इच्छाको निम्ति आफैलाई तयारी पार्नु थियो। यसरी मैले उक्त अवसरद्वारा पूरा फाइदा लिन सकेँ र आउने दिनका लागि एउटा असल जग बसाल्न सकेँ।

यो कुरा अविवाहितहरूलाई लागु हुन्छ। बाइबल कलेजमा मेरो एकजना साथी थियो जो सधैं पत्‍नी पाउने बारेमा धेरै समय चिन्तामा बिताउँथ्यो, यतिसम्म कि पढाइमा ध्यान दिने उसको क्षमतामा ह्रास आयो। यदि मैले विवाह गरेको छैन भने यो कुरा वर्तमान समयको लागि फाइदाजनक छ भन्ने कुरा मैले महसुस गर्नुपर्छ किनकि म बढी समय प्रभुको निम्ति अलग गर्न सक्छु अनि मैले यो समयलाई काममा लगाउनुपर्छ र भविष्यको बारेमा प्रभुमा भरोसा गर्नुपर्छ (१ कोरिन्थी ७:३२-३४)। विवाहको शुरुआत परमेश्वरले गर्नुभएको हो र कसरी ठीक समयमा ठीक जोडीहरूलाई मिलाउनुपर्छ भन्ने कुरा उहाँ जान्नुहुन्छ।

यो कुरा विवाहितहरूलाई लागु हुन्छ। तपाईंको जीवनसाथीले मुक्ति पाएको होस् वा नहोस् सम्भव भएसम्म त्यही अवस्थामा नै आफ्नो जीवनसाथीलाई नछोडी परमेश्वरको सेवा गर्नु परमेश्वरको इच्छा हो (१ कोरिन्थी ७:१२-१७)। तपाईंसँग छोराछोरी भए पनि, नभए पनि परमेश्वरको सेवा गर्नुपर्छ। गर्भमाथि परमेश्वरको नियन्त्रण हुन्छ (उत्पत्ती २०:१८, २९:३१, ३०:२२)। यदि तपाईंसँग छोराछोरी छन् भने तिनीहरूलाई वाधकका रूपमा नहेर्नुहोस्। बरु तिनीहरूलाई परमेश्वरको महिमाको लागि हुर्काउन आफैलाई अर्पण गर्नुहोस्। यदि तपाईंसँग छोराछोरी छैनन् भने चिन्ता नगर्नुहोस्। तपाईंले परमेश्वरको सेवा गर्न पाउनुभएको अवसरलाई प्रयोग गर्नुहोस् र परमेश्वरले उहाँको आफ्नै समयमा र इच्छाअनुसार छोराछोरी प्रबन्ध गर्नुहुन्छ भनी जानेर उहाँको बाटो हेर्नुहोस्।

यो कुरा युवाहरूलाई लागु हुन्छ। युवा अवस्था फाइदाजनक छ र बेफाइदाजनक पनि छ। युवाले परमेश्वरलाई जान्न र उहाँको सेवा गर्न उसको युवा अवस्थामा नै आफूलाई समर्पण गर्नुपर्छ। पछि सेवा गर्छु अहिले गर्दिनँ भन्नु हुँदैन। धेरै युवाहरूले आफ्‍नो जीवनको बारेमा धेरै व्यर्थका कुरा, मूर्ख कुरा सोच्छन् तिनीहरू आफ्नो जीवनको बारेमा बूढो भएपछि मात्र गम्भीर हुन्छौं भन्ने विचार गर्छन्। तिनीहरूले यसरी युवा अवस्थाको सुन्दर अवसरलाई खेर फाल्दछन् र भविष्यको लागि युवा अवस्थामा नै तयार हुनुपर्ने कुरामा चुक्छन्।

२) परमेश्वरको इच्छा जान्न समर्पणता र लगनशीलता चाहिन्छ (रोमी १२:१)।

आफ्‍नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने आफ्‍नो शरीर र आफ्‍नो जीवनलाई ख्रीष्टको सेवामा लगाउनु हो।

यो एक स्वेच्छापूर्वक गरिने निर्णय हो। हामीले मुक्ति पाउनैपर्छ भनेर परमेश्वरले हामीसित जबरजस्ती गर्नुहुन्न र मुक्ति पाएपछि हाम्रो जीवन सम्पूर्ण रूपमा उहाँलाई समर्पण गर्नैपर्छ भनेर पनि उहाँले हामीसित जबरजस्ती गर्नुहुन्न। यो काम हामीले इच्छुक हृदयले गरेको उहाँ चाहनुहुन्छ। त्यसैले परमेश्वरको इच्छा जान्न चाहनेहरूले कठिन निर्णयहरू गर्नुपर्ने हुन्छ। मैले स्वार्थी इच्छाहरूको पछि लाग्नु भन्दा ख्रीष्टलाई आफनो जीवन समर्पण गर्न रोज्नुपर्छ। मैले शरीरलाई इन्कार गर्नुपर्छ र पवित्र आत्माको पछि लाग्नुपर्छ। धेरैजसो मानिसहरूले आफ्‍ना जीवनहरू पैसा, मोजमज्जा, ऐस-आराम, सुरक्षा, प्रतिष्ठा र अरू यस्ता कुराहरूका निम्ति समर्पित गर्दछन्। परमेश्वरको सन्तानलाई यीभन्दा उच्च बोलावटको पछि लाग्न सौभाग्य छ।

यो एक परमेश्वरको प्रेमको उत्प्रेरणाले गरिने निर्णय हो। हामी परमेश्वरलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो। हामी मुक्ति पाउन भनी परमेश्वरको इच्छालाई पछ्याउँदैनौं; तर मुक्ति पाएको हुनाले हामी परमेश्वरको इच्छालाई पछ्याउँछौं र हामी उहाँलाई खुसी पार्न चाहन्छौं जसले हामीलाई उहाँको अनुग्रहद्वारा कलवरीको क्रूसमा ठूलो मूल्य तिरीकन बचाउनुभयो।

यो एक उचित निर्णय हो। यो उचित हो किनभने परमेश्वरलाई चिन्नु र उहाँको सेवा गर्नु जीवनकै उद्देश्य हो (उपदेशक १२:१३)। यो उचित हो किनभने परमेश्वरको इच्छाबाट अलग भएर बिताइने जीवन व्यर्थ हो। उपदेशकको पुस्तकको मुख्य विषय यही हो। यदि म आफ्‍नो जीवन परमेश्वरको सेवाको निम्ति भन्दा अरू कुरा गर्न प्रयोग गर्छु भने मैले यो जीवन व्यर्थैमा फालिरहेको हुन्छु। साथै ख्रीष्टमा मेरो जीवन समर्पण गर्न एकदमै उचित छ किनभने यसले ठूलो इनाम ल्याउँदछ (हिब्रू ११:२४-२७)। पछिबाट शहीद बनेका एकजना मिसनरीले भने, “त्यो मूर्ख होइन जसले गुमाउन नसकिने कुरालाई प्राप्‍त गर्न जोगाउन नसकिने कुरालाई सुम्पिदिन्छ”।

यो एक व्यक्तिगत निर्णय हो। युवाहरू धेरै पटक आफ्‍ना साथीहरूले के सोचिरहेका छन् वा के गरिरहेका छन् भन्ने कुरामा एकदमै चासो राख्छन्। उनीहरू “समक्षकीहरूको दबाब” प्रति संवेदनशील बन्ने गर्छन्, तर म परमेश्वरको इच्छा जान्न चाहन्छु भने म त्यसभन्दा माथि उठ्नुपर्छ र ‍परमेश्वरलाई मात्र खुशी पार्नलाई ध्यानकेन्द्रित हुनुपर्छ।

यो एक दैनिक निर्णय पनि हो। प्रभुको इच्छामा आफैलाई सुम्पने कुरा केवल एकचोटि मात्र गरेर हुने कुरा होइन तर यो कुरा बारम्बार गरिनुपर्ने कुरा हो। कति पटक मानिसहरू मण्डलीमा वा बाइबल सम्मेलनमा सुनेको प्रवचनले जोशले भरिन्छन् र प्रभुको इच्छाको लागि आफूलाई सुम्पन्छन् तर जब जीवनका नानाथरीका कठिनाइ र आत्मिक लडाईंको सामना गर्नुपर्दा उनीहरूको त्यो समर्पणता सेलाएर जान सक्छ यदि दैनिक रूपमा त्यसलाई नवीकरण गरिएन भने।

३) परमेश्वरको इच्छा जान्न अलगपनता चाहिन्छ (रोमी १२:२)।

संसारका दुष्ट कुराहरूदेखि अलग हुनुपर्ने कुरा परमेश्वरको इच्छा जान्ने सम्बन्धमा मुख्य विषय हो। संसारको दुष्ट कुराबाट अलग हुने कुरा ऐच्छिक विषय होइन, यो हरेक विश्वासीलाई गर्नै पर्ने अनिवार्य कुरा हो किनभने परमेश्वर पवित्र हुनुहुन्छ र यो दुष्ट संसार परमेश्वरको विरोधमा छ।

“संसारसित एकनासे नहोओ” भन्ने आज्ञाले हामी स्वभावैले कमजोर छौं अनि संसारद्वारा हामी सजिलै ढालिन सक्छौं भन्ने कुरालाई इङ्गित गर्दैछ। संसार आफ्‍नो दृष्टिकोणको प्रचार-प्रसार गर्नमा जोशिलो छ। संसार चुप लागेर बस्दैन र त्यो आफ्‍नै सुरमा हिँड्न सन्तुष्ट छैन। संसारले विश्वासीलाई आफ्‍नो विचारधारा र जीवन शैलीमा ढाल्न खोज्छ। रक सङ्गीतकार कोर्टनी लवले भनेकी छन्,”म आफ्‍नो विचारधारालाई समाज-संस्कृतिमाथि लाद्‍न चाहन्छु” (स्पीन पत्रिका, Oct.1988, p.100)।

तसर्थ परमेश्वरको इच्छा जान्नलाई अलगपनताको नितान्त खाँचो छ। निम्नलिखित महत्त्वपूर्ण पदहरूलाई ध्यान दिनुहोस्: एफेसी ५:११, तीतस २:२, याकूब ४:४, १ यूहन्ना २:१५-१७।

संसार, ख्रीष्टिय परिवारहरू र मण्डलीहरूमा रक एण्ड रोल पप संस्कृति (rock & roll pop culture) को माध्यमद्वारा प्रचुर मात्रामा छिरेको छ तर परमेश्वरको सिद्ध इच्छा जान्न चाहने विश्वासीले त्यसलाई इन्कार गर्नुपर्छ र परमेश्वरको पवित्रता र धार्मीक्ताको पछि लाग्नुपर्छ।

४) परमेश्वरको इच्छा जान्नलाई बदली हुँदै जान खाँचो छ (रोमी १२:२)।

परमेश्वरको इच्छा जान्न समर्पणता र अलगपनताले मात्र पुग्दैन। परमेश्वरको इच्छा जान्न आत्मिक रूपमा बदली हुँदै जान खाँचो छ। यसले ख्रीष्टिय जीवनमा बढ्दै जाने प्रकृयालाई जनाउँछ र यो नै संसारमाथि विजयी हुने उपाय हो। बदली हुने प्रकृयाद्वारा विश्वासीमा ख्रीष्टको स्वरूप यति मजबुत गरी निर्माण हुँदै जान सक्छ कि संसारले उसलाई आफ्‍नो मूर्ख र भ्रष्ट स्वरूपमा ढाल्न सक्नेछैन।

आत्मिक बदली परमेश्वरको वचनद्वारा मनको नयाँ हुवाइद्वारा आउँछ। हामीले परमेश्वरका विचारहरू सोच्न सिक्नुपर्छ जसको फलस्वरूप जीवनको बदली हुन्छ। अनि परमेश्वरका विचारहरू सोच्न हामीले परमेश्वरको वचन पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ र मनन गर्नुपर्छ। परमेश्वरको वचन जानेर नै हामी परमेश्वरको इच्छा जान्नेछौं। परमेश्वरको वचनमा ख्रीष्टको मन अन्तर्निहित छ (१ कोरिन्थी २:१६) अनि उहाँले अगुवाइ गर्ने आफ्‍नो वचनद्वारा नै हो (भजनसङ्ग्रह १:१-३; ७३:२४; ११९:९; यूहन्ना ८:३१-३२)। धुलोले ढाकिएको बाइबल फोहोर हृदयको सङ्केत हो। कि त बाइबलले तपाईंलाई पापदेखि अलग राखेको हुन्छ, कि त पापले तपाईंलाई बाइबलदेखि अलग राखेको हुन्छ। परमेश्वरले बाइबलको विपरितमा कहिल्यै अगुवाइ गर्नुहुन्न। जस्तै, परमेश्वरले एक पत्नीलाई आफ्‍नो पतिलाई त्यागेर परपुरुषको पछि लाग्न वा एउटा पतिलाई आफ्‍‍नी पत्नीलाई त्यागेर परस्त्रीको पछि लाग्न अगुवाइ गर्नुहुन्न (मत्ती १९:९-१०; १ कोरिन्थी ७:१०-११)। परमेश्वरले एक स्त्रीलाई प्रचारक बन्न अगुवाइ गर्नुहुन्न (१ तिमोथी २:१२)। परमेश्वरले मानिसहरूलाई झूटा शिक्षा र अभ्यासभित्र अगुवाइ गर्नुहुन्न (रोमी १६:१७)। परमेश्वरले कुनै पुरुषलाई पास्टर बन्न अगुवाइ गर्नुहुन्न यदि ऊ त्यसको लागि दानप्रदत्त र योग्य छैन भने (१ तिमोथी ३:१-७)। उहाँले विश्वासीलाई अविश्वासीसँग विवाह गर्न वा व्यापारमा साझेदारी हुन अगुवाइ गर्नुहुन्न (२ कोरिन्थी ६:१४-१८)। उहाँले एक आमालाई आफ्‍नो घरको हेलचेक्र्याइँ हुने गरी पेशागत काममा हात हाल्न अगुवाइ गर्नुहुन्न (तीतस २)। उहाँले विश्वासीलाई मण्डलीदेखि टाढा रहनुपर्ने किसिमको पेशागत काम गर्नलाई अगुवाइ गर्नुहुन्न (हिब्रू १०:२५)।

आत्मिक बदली पवित्र आत्माको सामर्थ्यद्वारा आउँछ। हामीले आफूलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पनुपर्छ, उहाँलाई नै हाम्रो गाडीरूपी जीवनको चालक हुन दिनुपर्छ। “आत्माले भरिनु” भनेको यही हो। हेर्नोस् गलाती ५:१६-१७; एफेसी ४:३०,५:१८।

आत्मिक बदली एउटा प्रक्रिया हो। यो रातारात हुने कुरा होइन। बदली हुन समय लाग्छ, यसमा लागिरहनुपर्छ र समर्पणता चाहिन्छ। बदली हुँदै जाने हो भने बाइबल पढ्ने, गुप्तमा प्रार्थना गर्ने, मण्डली सभाहरूमा उपस्थित हुने जस्ता आत्मिक बानीहरू बसाल्नु आवश्यक छ।

५) परमेश्वरको इच्छा जान्न सेवारत हुनुपर्छ (रोमी १२:३-६)।

परमेश्वरको सिद्ध इच्छा जान्न ख्रीष्टमा समर्पित भएर, संसारबाट अलग भएर, र बाइबल पढेर मात्र पुग्दैन तर परमेश्वरको सेवामा व्यस्त हुनुपर्छ। यसले चेलापनलाई जनाउँछ।

परमेरश्वरको इच्छा थाहा पाउनु भनेको कुनै कुरा अकस्मात् नभएसम्म निष्क्रिय भई पर्खेर बस्नु होइन। बरु कुनै पनि घडीमा आफूले जे गर्नुपर्छ भनेर थाहा छ त्यो गर्नमा व्यस्त रहनु हो। अनि त्यसरी अगाडि बढ्ने क्रममा परमेश्वरले मलाई उहाँको सिद्ध इच्छामा पलपलमा, कदमकदममा, दिन प्रति दिन, हप्ता-हप्तामा, एक देखि अर्को वर्षमा डोर्‍‍याउँदै लानुहुन्छ। बाइबल पढ्दै जाँदा हामीले बाइबलको आज्ञापालन गर्दै जानुपर्छ अनि त्यसो गर्ने क्रममा हामी परमेश्वरको इच्छामा हिँडिरहेका हुन्छौं।

सेवकाइका दुई पक्षहरू छन् भन्ने कुरा रोमी १२ अध्यायले हामीलाई सम्झना गराउँछ। त्यहाँ साधारण सेवकाइ (रोमी १२:९-२१) छ र विशेष सेवकाइ (रोमी १२:६-८) पनि छ। हरेक विश्वासीको निम्ति परमेश्वरबाटको विशेष दान र सेवकाइ हुन्छ र उक्त विशेष दान र सेवकाइ थाहा पाउनलाई हामी परमेश्वरको साधारण बोलावटमा व्यस्त भइरहनुपर्छ जुनचाहिँ आज्ञाकारी र पवित्र जीवनमा हिँड्दै जानु हो। जब विश्वासीले बाबुआमाको आज्ञापलन गर्ने, आफ्‍नी पत्‍नीलाई प्रेम गर्ने, आफ्‍नो पतिलाई आदर गर्ने, मण्डलीप्रति विश्वासयोग्य हुने, सुसमाचार प्रचार गर्ने, दुष्ट कुराबाट अलग रहने, दशांसा दिने र प्रार्थना गर्ने जस्ता परमेश्वरले चाहनुभएका र उसले जानेकै कुराहरूमा अगाडि बढ्छ तब परमेश्वरले उसलाई अगुवाइ गर्दै जानुहुन्छ र उसको लागि उहाँबाटको विशेष सेवकाइ र दानलाई झन् झन् स्पष्टरूपले प्रकट गर्दै लानुहुन्छ।

रोमी १२ मा हामी देख्छौं कि परमेश्वरको इच्छा जान्नलाई सचेत भएर सोच्न खाँचो छ (रोमी १२:३)। यसको मतलब मैले मेरो खास बोलावटलाई जान्नुपर्छ र आफ्‍नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै बढी सोच्नुहुन्न। यहाँ नम्रताको आवश्यकता छ। परमेश्वरले मलाई जति दिनुभएको छ त्यो भन्दा पनि बढी मैले पाउनुपर्छ भनेर सोच्नु हुँदैन। उदाहरणको लागि, नेपालमा एकजना दुई फुट अग्लो मान्छे छ। ऊ संसारकै सबभन्दा पुड्को मान्छे हो। बाइबलअनुसार उसलाई परमेश्वरले नै बनाउनुभएको हो र उसले येशू ख्रीष्टमा विश्वास गरेको खण्डमा र उहाँको इच्छा खोजेको खण्डमा उसले आफ्‍नो विषेश दान र सेवकाइलाई थाह पाउन सक्नेछ तर उसले आफ्‍नो विशेष अवस्थाको पनि ख्याल राख्न आवश्यक पर्नेछ। यदि ऊ पेशागत बास्केटबल खेलाडी हुन चाहेमा ऊ अवश्य नै एकदम निराश बन्नेछ! कति मानिसहरू राम्ररी गीत गाउन सक्दैनन्, तर उनीहरू गायक हुन चाहन्छन्। कतिजना नानीहरूसँग काम गर्न सिपालु हुँदैनन्, तर तिनीहरू नानीहरूसित सम्बन्धित सेवकाइमा लाग्न चाहन्छन्। कति मानिसहरू प्रचार गर्नै सक्दैनन्, तर पनि प्रचारक हुन चाहन्छन्। कतिजनामा पास्टर हुन योग्य छैनन् तर पास्टर हुन चाहन्छन्। मैले कतिजना यस्ता मानिसहरू देखेको छु जोहरू परमेश्वरले उनीहरूलाई जुन व्यक्ति बन्नलाई बोलाउनुभएको थियो त्यसमा सन्तुष्ट नभएर उनीहरू अर्कै व्यक्ति बन्न चाहे र फलस्वरूप उनीहरू जीवनदेखि असन्तुष्ट र निराश बने र साथै मण्डलीमा गडबडी पनि ल्याए।

सचेत भएर सोच्नुको मतलब विश्वासीले आफ्‍नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै कम पनि सोच्नु हुँदैन। हरेक विश्वासीको विशेष बोलावट हुन्छ। वर्तमान संसारमा प्रभुले गरिरहनुभएको काममा उसको एउटा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । मानव शरीरमा धेरै अङ्गहरू हुन्छन् र सिङ्गो शरीरको कामकुरामा प्रत्येक अङ्गको महत्त्वपूर्ण भूमिका हुन्छ। मण्डलीमा पनि यस्तै हुन्छ।

रोमी १२ ले परमेश्वरको इच्छा जान्नलाई मण्डली अनिवार्य छ भन्ने कुरा हामीलाई सम्झना गराउँछ। पावलले ४ पदमा “शरीर” लाई उल्लेख गर्दछन्। यसले मण्डलीलाई जनाउँछ। मण्डली सत्यको खाँबो र जग हो र परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। चेला बनाउन र तालिम दिनलाई परमेश्वरले नियुक्त गर्नुभएको संस्था मण्डली हो। मण्डली आत्मिक सुरक्षाको ठाउँ हो। मण्डली विश्वव्यापी सुसमाचार प्रचारको केन्द्रिय कार्यालय हो। प्रथम मिसनरीहरू मण्डलीबाटै पठाइएका थिए (प्रेरित १३:१-४)।

परमेश्वरको इच्छा जान्ने काम जटिल काम होइन। केवल परमेश्वरमा आफूलाई समर्पण गर्नुपर्छ र तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गरेर प्रत्येक पाइला-पाइलामा उहाँको आज्ञापालन गर्नुपर्छ। हेर्नोस् भजनसङ्ग्रह ३७:२३।

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. परमेश्वरको इच्छा जान्नलाई आवश्यक पाँचओटा कुराहरू के-के हुन्?
  2. परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् भन्ने कुरा कुन पदले भन्दछ?
  3. इस्राएलीहरूले उजाडस्थानमा पटकपटक दोहोर्‍याएको पाप के थियो?
  4. यदि विश्वासीको अविश्वासी पति वा पत्नी छ भने के उसले आफ्‍ना पति वा पत्नीलाई छोड्न मिल्छ?
  5. धेरैजना युवाहरू आफ्‍नो युवावस्थालाई के गर्छन्?
  6. आफ्‍नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने के हो?
  7. ख्रीष्टको सेवा गर्नु किन उचित छ?
  8. मोशाले परमेश्वरको सेवा गर्न निर्णय गरेको कुरा कुन पुस्तकको कुन अध्यायमा बयान गरिएको छ?
  9. संसार कुन हिसाबले प्रचार‍-प्रसार गर्नमा तल्लीन छ?
  10. रोमी १२:२ को अतिरिक्त, संसारबाट अलग हुनुपर्छ भनेर सिकाउने अन्य चारओटा प्रमुख खण्डहरू कुन‍-कुन हुन्?
  11. आत्मिक बदली कसरी आउँछ?
  12. जवान मानिसले परमेश्वरको वचनलाई ध्यान दिएर नै आफ्‍नो चाल शुद्ध राख्‍न सक्छ भनेर बताउने पद कुन हो?
  13. सेवकाइका दुई पक्षहरू के‍-के हुन्?
  14. विश्वासीले आफ्‍नो बोलावटको बारेमा सचेत भएर सोच्ने कसरी हो?
  15. परदेशहरूमा प्रथमपटक मिसनरीहरू पठाउने संस्था कुन थियो?
  16. परमेश्वरको इच्छामा आफूलाई समर्पण गरेर पछुताएका कतिजनालाई तपाईंले भेट्नुभएको छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आधारात्मक बाइबल शब्दावली भाग ४

Study Series

आधारात्मक बाइबल शब्दावली भाग ४

डेविड क्लाउड

आशा (HOPE)

ख्रीष्टिय जीवनको कुरा गर्दा “आशा” भन्ने शब्दको माने हो ख्रीष्टमा भएको निश्चित, पक्का, निर्धक्कतापूर्ण मुक्ति। आशालाई सुरक्षित र दृढ लङ्गर (हिब्रू ६:१९), एउटा “बलियो सान्त्वना” (हिब्रू ६:१८), एउटा “अनन्त सान्त्वना” भनिएको छ (२ थेस्सलोनिकी २:१६)।

दैनिक जीवनमा प्रयोग गरिने “आशा” को अर्थभन्दा यो अर्थ ठीक विपरित छ। सामान्यतया हामी कुनै अनिश्चित कुरा व्यक्त गर्नुपर्दा यो शब्द प्रयोग गर्दछौं। कसैले यदि “म विदामा पहाड जाने आशा गर्दछु” भन्यो भने यसको मतलब ऊ निश्चित छैन भन्ने बुझिन्छ। येशू ख्रीष्टमा भएको मुक्ति ठीक विपरित छ; विश्वासी जन आफूले अनन्त जीवन पाएको छु भन्ने कुरामा निश्चित हुन सक्दछ।

यदि विश्वासीको मुक्ति अनिश्चित छैन भने यसलाई किन “आशा” भनिएको छ त? हामीले ख्रीष्टमा पाएको मुक्ति अनिश्चित भएकोले होइन तर त्यसलाई हामीले पूर्ण रूपमा उपभोग गर्न अझ बाँकी भएकोले हो (रोमी ८:२४-२५)।

महिमा (GLORY)

बाइबलमा “महिमा” ६ ओटा तरिकाले प्रयोग भएको छ:

  1. यसले गर्व गर्ने कामलाई जनाउँदछ (१ कोरिन्थी १:२९,३१; ३:२१; ४:७; ५:६; २ कोरिन्थी ५:१२; गलाती ६:१३)।
  2. यसले प्रशंसालाई जनाउँदछ (लूका २:१४; १७:१८; प्रेरित १२:२३; एफेसी १:६)।
  3. यसले परमेश्वरको चरित्रलाई जनाउँदछ: उहाँको पवित्रता, उच्च श्रेष्ठता, र ईश्वरीय सिद्धतालाई जनाउँदछ (यूहन्ना १:१४; रोमी १:२३)।
  4. यसले कुनै राजाको र तिनको राज्यको भव्यता र ऐश्वर्यलाई जनाउँदछ (मत्ती ६:२९; १९:२८; २५:३१; यूहन्ना १२:४१; १७:५,२२,२४; रोमी ९:२३; कलस्सी ३:४)।
  5. यसले परमेश्वरको उपस्थितिको वरिपरि हुने चम्किलो ज्योतिलाई जनाउँदछ। हेर्नुहोस् प्रस्थान १६:१०; ४०:३४,३५; लेवी ९:६,२३; गन्ती १४:१०; १ राजा ८:११; २ इतिहास ७:१-३; इजिकिएल १०:४; मर्कूस ९:२-३ (यस घटनालाई २ पत्रुस १:१७ मा “महिमा” भनिएको छ); १३:२६; लूका २:९; प्रकाश १:१६; २१:११,२३।
  6. यसले सुन्दरतालाई जनाउँदछ (यशैया २८:१; ६३:१)।

बाइबलले विश्वासीहरू ख्रीष्टसँग महिमामा हुनेछन् भन्नुको माने यसले माथिका सबै कुरालाई जनाउँदछ, अर्थात् ख्रीष्टको उपस्थिति र राज्यमा भएको प्रशंसा, श्रेष्ठता, ऐश्वर्य, पवित्रता, ज्यति र सुन्दरता भन्ने बुझिन्छ।

रहस्य (MYSTERY)

  1. सामान्य प्रयोगमा “रहस्य” भन्नाले कुनै गोप्य कुरा, बुझ्न गाह्रो कुरा, असाधारण र अर्कै आयामको कुरा भन्ने बुझिन्छ। बाइबलले यस शब्दलाई यस अर्थमा पनि कुनै कुनै ठाउँमा प्रयोग गर्दछ (एफेसी ५:३२; प्रकाश १७:५)।
  2. तर नयाँ नियमको धेरैजसो ठाउँमा प्रयोग भएको “रहस्य” भन्ने शब्दले ती सत्यताहरूलाई जनाउँदछ जो परमेश्वरले पुरानो नियमका समयहरूमा गोप्‍य राख्‍नुभएको थियो तर अब नयाँमा प्रकट गर्नुभएको छ। अर्थात् यस शब्दले यसले नयाँ नियमको प्रकाशलाई जनाउँदछ। विशेष गरी यसले मण्डली सम्बन्धित सत्यतालाई जनाउँदछ जसअनुसार अन्यजातितहरू र यहूदीहरू ख्रीष्टद्वारा एउटै नयाँ आत्मिक शरीरमा ल्याइएका छन् (मत्ती १३:११; १ कोरिन्थी २:७-१२; रोमी ११:२५; १६:२५-२६; एफेसी १:९; ३:१-१२; ६:१९; कलस्सी १:२५-२७; २:२; ४:३)। इस्राएलमा भएको परमेश्वरको मन्दिरले “रहस्य” शब्दको मानेलाई दर्शाउन मदत गर्दछ। पुरानो नियममा मन्दिरको बाक्लो पर्दाले परमेश्वरको उपस्थितिलाई छेकेको थियो, तर अब त्यो च्यात्तिएको छ र विगतमा छिपाइएका कुराहरू प्रकट भएका छन्।

चुनाउ (ELECTION)

बाइबलमा “चुनिएको” भन्ने शब्दले कम्तिमा चार कुराहरूलाई जनाउँदछ

  1. येशू ख्रीष्ट (१ पत्रुस २:६)
  2. शैतानसँगै पतन नभएका स्वर्गदूतहरू (१ तिमोथी ५:२१)
  3. परमेश्वरबाट चुनिएको इस्राएल जाति (रोमी ९:९-१३)। संसारको बीचबाट अब्राहामलाई बोलाउनुभयो, त्यसपछि इशमएलको सट्टा इसाहकलाई चुन्नुभयो, र एसावको सट्टा याकूबलाई चुन्नुभयो।
  4. येशू ख्रीष्टमा मुक्ति पाउनेहरू (मत्ती २४:२२,२४,३१; लूका १८:७; रोमी ८:३३; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; २ तिमोथी २:१०; तीतस १:१; १ पत्रुस ५:१३; २ पत्रुस १:१०)। चुनाउलाई “पहिल्यै ठहर्‍याउनु” र “पहिल्यै ठहराएको” भनेर पनि बयान गरिएको छ (एफेसी १:५,११)।

मुक्तिका निम्ति चुनिएको भन्ने सम्बन्धमा केही पाठहरू

  1. चुनाउ परमेश्वरको पूर्वज्ञानमा आधारित कुरा हो (१ पत्रुस १:२)। परमेश्वरले यस युगमा मुक्तिको सुसमाचार सबै मानिसहरूलाई प्रदान गर्नुभएको छ र कस-कसले विश्वास गर्नेछन् र कस-कसले इन्कार गर्नेछन् भनेर उहाँ अगाडिबाटै जान्नुहुन्न।
  2. चुनाउको तात्पर्य यो हो कि परमेश्वरले मानिसको मुक्ति सृष्टिको शुरुआत हुनुभन्दा अगाडि नै योजना गर्नुभएको थियो (एफसी १:५,११)। यसको मतलब परमेश्वरले आफ्‍नो पूर्वज्ञानमा विश्वासीलाई एक महिमापूर्ण भविष्यको लागि पूर्वनिर्धारित गर्नुभएको छ (१ पत्रुस १:२-४); रोमी ८:२९-३०)। अर्थात् सवाल को-को पूर्वनिर्धारित भएका छन् भन्ने नभएर हामी केका लागि पूर्वनिर्धारित भएका छौं भन्ने हो।
  3. चुनाउको मतलब परमेश्वरले “सार्वभौम रूपले” कस-कसले मुक्ति पाउनेछन् र कसले पाउनेछैनन् भन्ने होइन। सबैले मुक्ति पाएको उहाँ चाहनुहुन्छ भनेर उहाँले प्रकट गरिसक्नुभएको छ (१ तिमोथी २:३-४; २ पत्रुस ३:९)। परमेश्वरको “सार्वभौम” इच्छा नै यो हो कि सबै मानिसहरूले मुक्ति पाऊन्! चुनिएकाहरू अर्थात् मुक्ति पाएकाहरू ती हुन् जस-जसले सुसमाचारलाई विश्वास गर्दछन् (यूहन्ना ३:१६)।

आधारात्मक बाइबल शब्दावली भाग ४ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टिय जीवनमा “आशा” को माने के हो?
  2. कुन पदले विश्वासीको आशालाई लङ्गरसित तुलना गरेको छ?
  3. कुन पदले विश्वासीको आशा सुरक्षित र दृढ छ भन्ने कुरा बताउँछ?
  4. कुन पदले विश्वासीको आशा “अनन्त सान्त्वना” हो भन्ने कुरा बताउँछ?
  5. विश्वासीको मुक्ति अनिश्चित छैन भने किन यसलाई आशाको संज्ञा दिइएको छ?
  6. बाइबलमा “महिमा” शब्दलाई कुन छ तरिकामा प्रयोग गरिएको छ?
  7. नयाँ नियममा “रहस्य” भन्ने शब्द प्रायः कुन अर्थमा प्रयोग भएको छ?
  8. “चुनिएको” भन्ने शब्दले कुन चार कुरालाई जनाउँछ?
  9. मुक्तिको निम्ति चुनाउ सम्बन्धी तीनओटा पाठहरू के के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आधारात्मक बाइबल शब्दावली भाग ३

Study Series

आधारात्मक बाइबल शब्दावली भाग ३

डेविड क्लाउड

मिलाप (RECONCILIATION)

शत्रुताको सट्टा मित्रतामा परिवर्तित हुनु; सम्बन्ध पुनःस्थापित गर्नु (मत्ती ५:२४; १ कोरिन्थी ७:११)। मानिसले परमेश्वरको आज्ञा तोडेर उहाँलाई क्रोधित तुल्याएको थियो तर ख्रीष्टको बलिदानद्वारा पवित्र परमेश्वरसँग विश्वास गर्ने पापीहरू उहाँसित मिलाप गराइन्छन् (२ कोरिन्थी ५:१८-१९)। विश्वास गर्नु अघि हामी उहाँका शत्रु हुन्छौं; विश्वास गरेपछि उहाँसँग हाम्रो मिलाप हुन्छ।

गन्नु, ठहर्‍याउनु (IMPUTATION)

कसैको हिसाबमा राखिदिनु, ठान्नु, कसैलाई दोषारोपण गर्नु। योचाहिँ कसैको बैङ्क खातामा पैसा जम्मा गरिदिनु जस्तै हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका लागि परमेश्वरले यस्तै गरिदिनुहुन्छ। ख्रीष्टको धार्मिकता ख्रीष्टियनको हिसाबमा राखिन्छ (रोमी ४:६-९, २२-२५)।

धर्मपुत्र ग्रहण (ADOPTION)

यस नयाँ नियमको शब्दको माने पुत्रको रूपमा परिवारमा स्थापित गर्नु भन्ने हो। कुनै धनी मानिसले कुनै टुहुरालाई छनोट गरी उसलाई सम्पूर्ण अधिकारसहित आफ्‍नो वैधानिक पुत्र र हकवाला बनाउने कुरा हो यो। यो शब्द ख्रीष्टमा भएको मुक्तिको बयान गर्नलाई प्रयोग गरिएको छ (रोमी ८:१५; गलाती ४:५; एफेसी १:५)।

विश्वासीहरू परमेश्वरका धर्मपुत्र भइसकेका छन् तरैपनि हामीले आफ्‍नो पुत्रत्वका सबै आशिषहरू उपभोग गर्न अझै बाँकी छ (१ यूहन्ना ३:१-२)। बौरिउठाइपछि मात्र हामीले नयाँ शरीरहरू प्राप्‍त गर्नेछौं र पिताको अनन्त राज्यको धनको भरपूरिलाई उपभोग गर्नेछौं। हामी यस अर्थमा आशाको रूपमा हाम्रो धर्मपुत्र ग्रहणको बाटो हेर्दछौं (रोमी ८:२३)।

“नयाँ जन्म” / “नयाँ सृष्टि” (REGENERATION)

नयाँ जन्मको माने आत्मिक रूपमा नयाँ बनाइनु हो। नयाँ नियममा यो शब्दावली दुई पटक मात्र प्रयोग भएको छ।

  1. पापीहरूले जब येशू ख्रीष्टमा विश्वास गर्दछन् तब उनीहरू नयाँ बनाइन्छन् (तीतस ३:५)। यसले नयाँ जन्मलाई जनाउँदछ।
  2. ख्रीष्ट जब फेरि आउनुहुनेछ तब इस्राएल जाति नयाँ बनाइनेछन् (मत्ती १९:२८)।

पवित्र, पवित्र बनाउनु (HOLY, SANCTIFY)

“पवित्र” को माने के हो?

“पवित्र” को आधारभूत माने परमेश्वरको उद्देश्यका लागि अलग गरिएको भन्ने हो (लेवी २०:२६)।

मानिसहरू बाहेक अरू कुराहरूलाई पनि “पवित्र” भनेर उल्लेख छ: भूमि (प्रस्थान ३:५), विश्राम दिन (प्रस्थान १६:२३), हारूनका वस्त्रहरू (प्रस्थान २८:२), भेट हुने पालको वेदी (प्रस्थान २९:३७)। तसर्थ, पवित्र पार्नु भनेको शुद्ध पार्नु वा धर्मी बनाउनु नै भन्ने अर्थ सधैं नलाग्न सक्छ। हारूनका वस्त्रहरू आफैमा शुद्ध वा पापरहित थिएनन्। ती केवल परमेश्वरको सेवाका निम्ति अलग गरिएका थिए। पोथ्रामा परमेश्वरको उपस्थिति आउँदा र मोशाले आफ्‍ना जुत्ता फुकाल्दा, मोशा उभिएको पवित्र भूमि पाप हटाइएको अर्थमा शुद्ध पारिएको थियो भन्ने त होइन। उक्त भूमि परमेश्वरको उपस्थितिद्वारा उहाँको उद्देश्यका लागि अलग पारिएको थियो।

यसरी, पवित्र हुनुको मूल तात्पर्य परमेश्वरको निम्ति अलग गरिएको हुनु भन्ने हो। एक पवित्र व्यक्ति भनेको त्यो व्यक्ति हो जो परमेश्वरको निजी भएको छ।

साथै धार्मिकता र नैतिक शुद्धतासित पवित्रताको निकट सम्बन्ध छ (यर्मिया ३१:२३; लूका १:७५; रोमी ६:१९; एफेसी ४:२४)। पवित्रता अशुद्धताबाट भिन्न रहेको बताइएको छ (यशैया ३५:८; १ थेस्सलोनिकी ४:७) र पापबाट धोइएको भन्ने कुरासित सम्बन्धित छ (२ कोरिन्थी ७:१; १ थेस्सलोनिकी ४:३)।

ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?

ख्रीष्टिय जीवनमा पवित्रताका दुई पक्ष छन् — ओहोदाको (positional) र अवस्थाको अर्थात् व्यावहारिक(practical)। एकातिर त्यहाँ अनन्तताको पवित्रता छ, अर्कोतिर समयको; एकातिर सिद्ध, अर्कोतिर क्रमिक; एकातिर पूर्ण, अर्कोतिर प्रगतिशील। एक ख्रीष्टियन एकातिर ख्रीष्टमा भएको उसको अनन्त ओहोदाको कारण पवित्र छ, र अर्कोतिर व्यावहारिक अर्थमा दिन प्रति दिन ऊ पवित्र हुँदै जाँदैछ।

विश्वासी अनन्तसम्म परमेश्वरको परिवारभित्र अलग गरिएको कुराले उसको ओहोदीय पवित्रतालाई जनाउँदछ। यस अर्थमा ख्रीष्टमा हुनु भनेको पवित्र हुनु हो (एफेसी १:४; हिब्रू ३:१)। परमेश्वरको सामु ओहोदामा हरेक साँचो विश्वासी ऊ नयाँ गरी जन्मिएको दिनदेखि पवित्र हुन्छ। यसको कारण ऊ ख्रीष्टभित्र अवस्थित गराइएकोले हो जसको फलस्वरूप अबदेखि उसो परमेश्वरले उक्त व्यक्तिलाई एक दोषी पापीको रूपमा हेर्नुहुन्न। परमेश्वरले विश्वासीलाई आफ्‍नो पुत्रको रगतसितको सम्बन्धमा देख्‍नुहुन्छ। ख्रीष्टिय जन ऊ आफै असल भएको कारणले नभएर ख्रीष्टले प्रायश्चित गर्नुभएको आधारमा परमेश्वरले उसलाई धर्मी ठहराउनुभएको कारणले यस ओहोदीय अर्थमा ऊ पवित्र छ। परमेश्वरको हरेक सन्तान पवित्र छ; यस ओहोदीय अर्थमा परमेश्वरको हरेक सन्तान एक पवित्र जन हो।

व्यावहारिक पवित्रता भनेको दैनिक जीवनमा पवित्र हुनु हो। ख्रीष्टमा हरेक विश्वासी ओहोदीय अर्थमा पवित्र छ र साथै व्यवहारमा ऊ पवित्र हुनु परमेश्वरको इच्छा हो (१ पत्रुस १:१५-१६)।

पवित्रताका यी दुई पक्षलाई कलस्सी ३:१२ मा देख्‍न सकिन्छ। विश्वासीहरू ख्रीष्टमा भएको ओहोदामा पवित्र र प्रिय भएका हुनाले उनीहरू दैनिक जीवनमा पवित्र हुनुपर्छ। हामी पवित्र जनहरू भएकाले हामी पवित्र जनहरू जस्तै जिउनुपर्छ। हरेक साँचो ख्रीष्टियन ख्रीष्टको रगतमाथिको उसको भरोसाले परमेश्वरको सामु ऊ सिद्ध र पवित्र छ — येशू जत्तिकै पवित्र — तर हरेक ख्रीष्टियन दैनिक रूपमा पवित्र जीवन जिउने गर्दैन। ख्रीष्टियनले आफ्‍नो पवित्रतालाई सिद्ध बनाउँदै लैजानुपर्छ (२ कोरिन्थी ७:१)। यसले ख्रीष्टिय जीवनको आत्मिक वृद्धिको प्रक्रियालाई बयान गर्दछ।

येशू ख्रीष्टमा अोहोदामा पहिला पवित्र नबनाइएसम्म दैनिक जीवनमा पवित्र बन्नु असम्भव छ। नयाँ गरी जन्मिएपछि मात्र एक व्यक्तिले दैनिक पवित्रताको निम्ति गरेको प्रयासलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ। ख्रीष्टबाहिर कुनै साँचो पवित्रता छैन। केवल उहाँको रगतले मात्र एक व्यक्ति पापबाट शुद्ध पारिन सक्छ र परमेश्वरलाई धार्मिकता र सत्यतामा सेवा गर्न योग्य बनाइन सक्छ (गलाती २:२०; ६:१४-१६)।

पवित्रता र रगतको बीचको सम्बन्ध के हो?

बाइबलले पवित्रता र ख्रीष्टको रगतको बीच घनिष्ट सम्बन्ध भएको देखाउँछ (हिब्रू ९:१२,२०-२५)। भेट हुने पालका प्रतीकहरूले यस कुरालाई जोड दिन्थे। भेट हुने पालका सामग्रीहरू परमेश्वरको सामु रगतद्वारा पवित्र पारिन्थे (प्रस्थान ३०:१०)। पूजाहारीहरू रगतद्वारा समपर्ण गरिन्थे (लेवी १४:१४)। उपासकहरू रगतद्वारा शुद्ध पारिन्थे (लेवी ४:१५-१८,३०,३४)। महापूजाहारी पवित्र स्थानभित्र परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्नुको र मानिसहरूका निम्ति प्रायश्चित गर्न सक्नुको कारण रगत नै थियो (लेवी १६:१४-२०)। लेवीको पुस्तकमा “रगत” शब्द ६० पटक उल्लेख भएको छ जुन पुस्तक इस्राएलले गर्ने परमेश्वरको उपासनाको र बलिदानद्वारा हुने शुद्धिकरणको पुस्तक हो। हिब्रूको पुस्तकमा “रगत” शब्द २० पटक उल्लेख भएको छ जसले देखाउँछ कि पुरानो नियमका प्रतीकहरूले सङ्केत गरेको कुरा चाहिँ ख्रीष्टको रगत हो।

बाइबलका आधारात्मक शब्दहरू भाग ३ का पुनरावलोकन प्रश्नहरू

  1. “मिलाप” को माने के हो?
  2. पापीहरू परमेश्वरसित कसरी मिलाप गराइन्छन्?
  3. विश्वास गर्नु अगाडि हामी परमेश्वरका के थियौं?
  4. रोमी ४:६-९ मा “ठहराउनु” र ४:२२-२५ मा “गनियो” को माने के हो?
  5. येशूको खातिर परमेश्वरले ख्रीष्टियनलाई कुन कुरा उसको हिसाबमा गन्नुहुन्छ?
  6. “धर्मपुत्र ग्रहण” को माने के हो?
  7. विश्वासीले धर्मपुत्र ग्रहणको बाटो किन आशाको रूपमा हेर्दछ भनेर बाइबलले भन्दछ?
  8. “नयाँ जन्म” वा “नयाँ सृष्टि” के हो?
  9. ख्रीष्टिय जीवनको नयाँ जन्मले कुन कुरालाई जनाउँछ?
  10. “पवित्र” हुनुको आधारभूत माने के हो?
  11. पुरानो नियममा मानिसलाई बाहेक अन्य कस्ता कुरालाई पवित्र भनिएको छ? तीनओटा कुरा उल्लेख गर्नुहोस्।
  12. ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आधारात्मक बाइबल शब्दावली २

Study Series

आधारात्मक बाइबल शब्दावली २

डेविड क्लाउड

शरीर

“शरीर” (flesh) भन्ने शब्दलाई नयाँ नियममा चार फरक-फरक अर्थमा प्रयोग गरिएको छ
  1. मानिस लगायत पशुका शरीर (लूका २४:३९; १ कोरिन्थी १५:३९)
  2. सामान्यरूपमा मनुष्य जाति (मत्ती २४:२२; १ कोरिन्थी १:२९)
  3. मानव स्वभावको दुर्बलता (मत्ती २६:४१)
  4. पतित, पाप स्वभाव (रोमी ७:१८; ८:१२-१३; गलाती ५:१६-२४; कलस्सी २:११)। शरीरलाई पुरानो मानिस पनि भनिन्छ (एफेसी ४:२२; कलस्सी ३:९)।
ख्रीष्टियन जीवनमा शरीरको बारेमा पाठहरू (गलाती ५:१६-२४)
  1. हामीले मुक्ति पाइसकेपछि पनि शरीर हामीसँगै हुन्छ। ख्रीष्टियनसँग दुईटा “स्वभावहरू” हुन्छन्: शरीर र आत्मा (गलाती ५:१६)।
  2. शरीरचाहिँ भित्रपट्टि बास गरिरहेको शत्रु हो (गलाती ५:१७)। परमेश्वरले ख्रीष्टियनभित्र शरीर छोडिराख्‍नुभएको छ, हामीलाई रूप देखेर होइन तर विश्वासद्वारा हिँड्नुपर्छ भनी सिकाउनलाई।
  3. शरीर यही जीवनमा निर्मूल हुँदैन। पापरहित सिद्धता यस जीवनमा हुँदैन। दाँज्नुहोस्, १ यूहन्ना १:८,१०। नयाँ नियमका पत्रहरूमा पापको समस्याको समाधानस्वरूप “आत्माको बप्‍तिस्मा” को अनुभव वा “पूर्ण पवित्रता” जस्ता कुरालाई कहिल्यै प्रस्तुत गरिएको छैन। १ पत्रुस २:१-२ लाई विचार गर्नुहोस्। पत्रुसले पापको समस्याको चर्चा गर्दैछन्, तर उनले त्यहाँ कुनै पनि त्यस्तो पापरहित सिद्धताको सम्भावना भएको कुरा बताउँदैनन्। बरु, उनले विश्वासीलाई आत्मिक रूपमा बढ्ने प्रक्रियाको रूपमा पापलाई एकातिर पन्साउनुपर्छ र परमेश्वरको वचनलाई ग्रहण गर्नुपर्छ भनेर बताउँछन्।
  4. एक ख्रीष्टियनले कि त शरीरमा कि त आत्मामा हिँड्नलाई रोज्दछ (गलाती ५:१६)। अनि यो दैनिक रोजाइको कुरा हो।
  5. शरीरका दुईटा पक्षहरू छन्: ओहोदा (गलाती ५:२४) र अभ्यास (गलाती ५:२५)। यस कुरालाई हामीले ओहोदा र अभ्यास भन्ने पाठमा चर्चा गरेका छौं।
शरीरमाथि विजयी कसरी भइन्छ?
  1. हामीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्माको नियन्त्रणमा आफूलाई सुम्पेर शरीर वशमा ल्याइन्छ (गलाती ५:१६)।
  2. आत्माका कुरामा मन लगाएर शरीर वशमा ल्याइन्छ (रोमी ८:५)।
  3. शरीरका लागि प्रबन्ध नगरेर त्यसलाई वशमा ल्याइन्छ (रोमी १३:१४)। परीक्षा ल्याउने ठाउँहरू लगायत परीक्षा दिने कुराहरूदेखि पर बस्नुहोस्।
  4. शरीरका लागि छर्नुको सट्टा आत्माका निम्ति छरेर शरीर वशमा ल्याइन्छ (गलाती ६:८)।

धर्मीकरण

धर्मीकरण (justification) को माने “धर्मी ठहराउनु” वा “धर्मी भनी घोषणा गर्नु” हो (रोमी ३:२४)। धर्मीकरण परमेश्वरबाटको घोषणा हो र जस-जसले येशू ख्रीष्टमाथि भरोसा राख्छन् तिनीहरू उहाँका सामु सिद्ध रूपमा धर्मी गनिन्छन्।

धर्मीकरण एक कानूनी अवधारणा हो, जसरी जब एक न्यायधीशले आफ्नो फैसला सुनाउँछ। परमेश्वर नै सर्वोच्च न्यायधीश हुनुहुन्छ। उहाँकै नियमहरू हामीले तोडेका थियौं। मुक्ति पाउनुअघि परमेश्वरले मलाई एक दोषी पापी भनेर घोषणा गर्नुहुन्छ। म ख्रीष्टकहाँ आएपछि ख्रीष्टले मेरो निम्ति कलवरीमा सम्पन्न गर्नुभएको उद्धार-कार्यको कारणले परमेश्वरले मलाई धर्मी भनेर घोषणा गर्नुहुन्छ।

धर्मी ठहरिनु भनेको परमेश्वरको सामु एउटा नयाँ आत्मिक ओहोदामा ल्याइनु हो (रोमी ५:१-२)। विश्वासी अब उसो आदमको श्रापित घरानासँग आवद्ध रहन्न, बरु उसले ख्रीष्टिको आशिषमय घरानाभित्र प्रवेश पाएको हुन्छ।

रोमी ३:२४ अनुसार धर्मीकरण कलवरीमा ख्रीष्टले तिरिदिनुभएको ठूलो मूल्यले प्रबन्ध गरिएको परमेश्वरको अनुग्रहको सित्तैंको वरदान हो।

उद्धार

उद्धार (redemption) को माने किनिएर स्वतन्त्र पारिनु हो। यसले त्यो कार्यलाई बयान गर्दछ जहाँ एकजना दासलाई स्वतन्त्र पारिनका लागि उसलाई बजारबाट किन्ने काम गरिन्छ। “उद्धार” भनेर अनुवाद गरिएका त्यहाँ तीनओटा ग्रीक शब्दहरू छन् जसले ख्रीष्टमा भएको हाम्रो मुक्तिलाई अति सुन्दररूपमा दर्शाउने काम गर्दछन्।

आगोराजोको माने बजारमा किन्नु हो। यो शब्द मत्ती १३:४४,४६ लगायत अन्य ठाउँमा सामान्यरूपमा प्रयोग भएको छ। मुक्तिको सवालमा चाहिँ, आगोराजो विभिन्न ठाउँहरूमध्येमा १ कोरिन्थी ६:२०, ७:२३ र प्रकाश ५:९ मा प्रयोग भएको छ। आगोराजोले प्रभु येशू ख्रीष्टले हाम्रो घिनलाग्दो पापले गर्दा आवश्यक परेको त्यो भयङ्कर मूल्य चुक्ता गर्नुभएको कामलाई दर्शाउँदछ। येशू ख्रीष्ट यस पतित संसारको पापको दास-बजारमा आउनुभयो र आफ्नो रगत र मृत्युद्वारा मानिसहरूलाई छुटकारा दिनलाई पूरै मूल्य तिर्नुभयो।

एक्सागोराजोको माने बजारबाट किनेर निकाल्नु हो। माथिको शब्द “आगोराजो” को अगाडि “एक्स” (“बाट बाहिर”) भन्ने नामयोगी उपसर्ग जोडिएर यो शब्द बनेको छ। येशूले केवल छुटकाराको दाम तिर्नुभएको मात्र होइन, उहाँले विश्वास गर्ने पापीलाई दण्डको आज्ञाबाट र शैतानको प्रभुत्वबाट पूरै हटाएर निकाल्ने काम गर्नुभएको हो।

लुट्रोओको माने फुकाउनु छुटाउनु, फुक्का गराउनु हो। यस शब्दले यस कुरामा जोड दिन्छ कि परमेश्वरले विश्वासीलाई दिन प्रति दिन पाप, शैतान र संसारमाथि विजय बनाउनुहुन्छ। हामी किनिएका हौं, बाहिर निकालिएका हौं, र ख्रीष्टमा आत्मिक स्वतन्त्रता र विजयको नयाँ जीवन जिउनका लागि फुक्का गरिएकाहरू हौं। लुट्रोओ तीतस २:१४ लगायत अन्य ठाउँमा प्रयोग भएको छ।

प्रायश्चित

पुरानो नियममा “प्रायश्चित” भनी अनुवाद गरिएको हिब्रू शब्द “काफार” को माने हो “ढाक्नु”। यसलाई प्रथम पटक उत्पत्ति ६:१४ मा प्रयोग गरिएको छ जहाँ नूहलाई जहाजको भित्र र बाहिरपट्टि अलकत्राले “लिप्सनू” भन्ने निर्देशन दिइएको थियो। अन्य ठाउँमा यस हिब्रू शब्दलाई “प्रायश्चित” भनी अनुवाद गरिएको छ। यो धेरैपटक प्रस्थान र लेवीमा पशु बलिदानहरूलाई जनाउन प्रयोग भएको छ (जस्तै प्रस्थान ३०:१०)। ती बलिदानले पापलाई हरण गर्न सक्दैनथे, तर साङ्केतिक रूपमा तिनले येशूलाई दर्शाउँदैथिए जसले आफ्नो बहाइएको रगतले पापलाई हटाउनुभएको छ (हिब्रू १०:११-१४)। “काफार” लाई “कृपा आसन” भनेर पनि अनुवाद गरिएको छ (प्रस्थान ४०:२०)। कृपा आसनले दस आज्ञा भएको सन्दुकलाई सिद्ध रूपमा ढाक्ने काम गर्थ्यो जुन कुराले परमेश्वरको व्यवस्थाका मागहरूलाई परमेश्वरको अनुग्रहले ढाक्दछ वा पूरा चुक्ता गर्दछ भनेर सङ्केत दिँदैथियो।

नयाँ नियममा “प्रायश्चित” भनी अनुवाद गरिएको ग्रीक शब्द “हिलास्मोस्” को माने ऋण चुक्ता गर्नु (satisfaction of debt), दायित्व पूरा गर्नु हो। यसले त्यो मूल्यलाई जनाउँदैछ जनु ख्रीष्टले तिर्नुभयो, जसको ऋण पापीले परमेश्वरको पवित्र व्यवस्था भङ्ग गरेकोले तिर्नु आवश्यक थियो (रोमी ३:२४-२५; १ यूहन्ना २:२)। व्यवस्था भङ्ग गरेकोले पापीले परमेश्वरलाई तिर्नुपर्ने ऋण ठूलो छ, यहाँ सम्म कि उसले कुनै हालतले त्यो तिर्न सक्दैन। येशू ख्रीष्टले, क्रूसमा भएको उहाँको मृत्युद्वारा, विश्वासीका लागि उक्त ऋणलाई पूरै तिरिदिनुभयो। उहाँले ऋणलाई प्रायश्चित गरिदिनुभयो। यो ग्रीक शब्दलाई “कृपा आसन” भनेर पनि अनुवाद गरिएको छ। जसरी कृपा आसनले सन्दुकभित्र रहेको व्यवस्थालाई पूरै ढाकेको हुन्थ्यो (प्रस्थान २५:१७,२१), त्यसरी नै ख्रीष्टले परमेश्वरको व्यवस्थाका मागहरूलाई पूरै ढाकिदिनुभयो र सन्तुष्ट पार्नुभयो। महापूजाहारीले कृपा आसनमा छर्केको रगतले ख्रीष्टको रगतलाई दर्शाउँदैथियो, जुनचाहिँ प्रायश्चितको दाम थियो (लेवी १६:११-१७)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

आधारात्मक बाइबल शब्दावली १

Study Series

आधारात्मक बाइबल शब्दावली १

डेविड क्लाउड

यी पाठहरूमा हामीले आत्मिक वृद्धिका लागि बाइबल बुझ्नु आवश्यक छ भन्ने कुरा सिक्दै आएका छौं। तर बाइबल बुझ्नका लागि हामीले त्यसमा भएका शब्दहरूलाई बुझ्नुपर्ने हुन्छ। मुक्ति र ख्रीष्टियन जीवनसँग सम्बन्धित केही गहकिला शिक्षागत शब्दहरू निम्न अनुसार छन्।

अनुग्रह

नयाँ नियममा “अनुग्रह” भन्ने शब्द मुख्य गरी दुई तरिकामा प्रयोग गरिएको छ।

    1. बचाउने अनुग्रह – योचाहिँ त्यो बिनादामको, ख्रीष्टमा पाइने, परमेश्वरबाटको अनर्जित निगाह हो (एफेसी २:८-९)। साथै रोमी ३:२४-२५; ४:४-८; तीतस ३:४-७ मा पनि हेर्नुहोस्।

      पापीले मुक्ति सित्तैंमा पाउन सक्छ किनकि येशू ख्रीष्टले ठूलो दाम तिरिदिनुभएको छ।

      मुक्ति अनुग्रहले पाइन्छ भन्नुको मतलब त्यो कामहरूबाट पाइन्न। मुक्ति सिर्फ अनुग्रहले, कामहरूबिना, पाइने कुरा हो। झूटा सुसमाचार प्रचार गर्नेहरूको खास भूल यही हो कि उनीहरू अनुग्रहलाई पुनःपरिभाषित गर्छन् किनभने उनीहरूले त्यसलाई कामहरू र विधिहरूसित मिसाउन खोज्छन्। रोमी ११:६ ले भन्छ त्यसो गर्नु असम्मभ छ। गलातीहरूको पत्रमा चर्चा गरिएको भूल यही नै हो। विश्वास र कामहरूलाई मिसाउने काम गरेर र व्यवस्था र अनुग्रहलाई मिसाउने काम गरेर, गलातीयाका व्यवस्थावादीहरूले आफैलाई परमेश्वरको श्रापमनि राख्‍न गएका छन् भनेर पावल प्रेरितले चेताउनी दिए (गलाती १:६-९)।

    1. सेवा गर्ने अनुग्रह – यो चाहिँ हामीले मुक्ति पाइसकेपछि हामीलाई परमेश्वरको सेवा गर्नका लागि दिइने क्षमता हो (१ कोरिन्थी ३:१०; हिब्रू १२:२८)।

      परमेश्वरले ख्रीष्टियन जीवनको हरेक पक्षका निम्ति यो सेवा गर्ने अनुग्रह प्रदान गर्नुहुन्छ।

    • आत्मिक वरदान तथा सेवाकार्यहरू गर्ने अनुग्रह (रोमी १२:६)
    • मण्डलीहरू स्थापना गर्न सक्नलाई अनुग्रह (१ कोरिन्थी ३:१०)
    • पवित्र जीवन जिउन सक्नलाई अनुग्रह (१ कोरिन्थी १:१२)
    • दिन सक्नलाई अनुग्रह (२ कोरिन्थी ८:१-२)
    • परीक्षाहरू सहन सक्नलाई अनुग्रह (२ कोरिन्थी १२:९)
    • परमेश्वरको वचनको सेवा दिन सक्नलाई अनुग्रह (एफेसी ३:७-८)
    • खाँचोको घडीको निम्ति अनुग्रह (हिब्रू ४:१६)

    साँचो ख्रीष्टियन जीवन भनेको एक विश्वासीले आफ्नै सामर्थ्यमा जिउने त्यस्तो कुनै धर्म होइन; यो त जीवित परमेश्वरसितको घनिष्ट व्यक्तिगत सम्बन्ध हो जसमा परमेश्वरले नै ममा र मद्वारा उहाँको आफ्नो इच्छालाई क्रियाशील बनाउनुहुन्छ। अर्थात् यो भनेको ख्रीष्ट स्वयं ममा जिउनु हो (गलाती २:२०)।

पाप

    1. पाप के हो?
    1. पाप भनेको परमेश्वरको व्यवस्था भङ्ग गर्नु हो (१ यूहन्ना ३:४; याकूब २:९-१०)। परमेश्वरको व्यवस्थालाई कतै पनि उल्लङ्घन पाप हो।
    2. पाप भनेको परमेश्वरको महिमारहित हुनु हो (रोमी ३:२३)। यसको माने परमेश्वरको सिद्ध पवित्रताअनुरूपको जीवन जिउन विफल हुनु हो। परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र मानिस हर तरहले पवित्र र धर्मी हुनु उहाँको उद्देश्य थियो। यसभन्दा अलिकति पनि घटी हुनु पाप हो।
    3. पाप भनेको आफ्नै मार्ग अपनाउनु हो (यशैया ५३:६)। यसलाई नै पापको सारतत्त्व वा गुदी भन्न सकिन्छ। पाप भनेको परमेश्वरको इच्छाको सट्टा आफ्नो इच्छा गर्नु हो। पाप भनेको सबभन्दा पहिलो झूटको मार्ग अपनाउनु हो, अर्थात् हामी आफ्नै ईश्वर बन्न सक्छौं भन्ने झूट।
    1. पापको प्रारम्भ कहाँबाट भयो?
    1. पाप शैतानको घमन्डबाट प्रारम्भ भयो (यशैया १४:१२-१४)
    2. पाप मानव जातिमा आदमको अनाज्ञाकारिताद्वारा पस्यो (रोमी ५:१२)। पाप गर्नमा हव्वा पहिला भए तापनि आदम मानवजातिकै शिर भएकाले उनी नै परमेश्वरका सामु जिम्मेवार थिए। हरेक मानिसले आदमबाटै वंशानुगत रूपमा पाप स्वभाव पाएको हुन्छ।
    1. पापलाई जनाउने अरू बाइबलीय शब्दहरू के-के हुन्?

      खराब (उत्पत्ति २:९)
      दुष्टता (उत्पत्ति ६:५)
      अपराध (२ पत्रुस २:१६, ग्रीक: पारानोमिया)
      विद्रोह (हितोपदेश १७:११)
      अधर्म (१ कोरिन्थी ६:९)
      अपवित्र (लेवी १०:१०)
      भक्तिहीन (रोमी ५:६)
      अन्धकारका कामहरू (एफेसी ५:११)
      अपराध (रोमी ४:१५, ग्रीक: पाराबासिस्)
      पाप (मत्ती १८:१५)
      अपराध (रोमी ४:२५, ग्रीक: पाराप्‍टोमा)

    1. कतिजना मानिसले पाप गरेका छन्?

      सबैले (रोमी ३:२३)

    1. मानिसको पापी अवस्थालाई बाइबलले कसरी बयान गरेको छ?

      “निरन्तर खराबै मात्र” (उत्पत्ति ६:५)
      “अधर्ममा उत्पन्न” (भजनसङ्ग्रह ५१:५)
      “गर्भदेखि नै एकातिर लाग्छन्” (भजनसङ्ग्रह ५८:३)
      “हृदयमा मूर्खता बाँधिएको” (हितोपदेश २२:१५)
      “असाध्य दुष्ट” (हिब्रूमा “निको नहुने”) (यर्मिया १७:९)
      “धार्मिक कामहरू मैला थाङ्नाहरूसरह” (यशैया ६४:६)
      “धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:१०)

  1. पापको ज्याला के हो?

    मृत्यु (रोमी ६:२३)

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।