जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: हितोपदेश ३:५-६; २८:२६; हिब्रू ११:६; १ पत्रुस २:११
परमेश्वरको इच्छा नखोजीकन गलत निर्णयहरू गरेर धेरैजनाले आफ्नो इसाई जीवनलाई भताभुङ्ग पारेका छन् (जस्तै, गलत पेशा वा काम, गलत मित्रहरू, गलत जीवन साथी, शिक्षा हासिल गर्दाका गलतीहरू, बसाइ सर्दाका गलतीहरू)। बुद्धिहीन निर्णय गर्नेहरू केवल युवा मात्र हुँदैनन्; धेरैजना वयस्कहरू र अझ वृद्धहरूले पनि यस्ता गम्भीर भूल गरेका छन्।
परमेश्वरको इच्छाभित्र बुद्धिमानी निर्णयहरू गर्नलाई केही आधारभूत बाइबलीय सिद्धान्तहरू निम्न प्रकारका छन्:
१) आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्
हेर्नुहोस्: हितोपदेश ३:५; २८:२६; यर्मिया १७:९
आफ्नै समझमा भरोसा गर्ने व्यक्तिले आफ्नो पाप स्वभावको कारणले गलत निर्णयहरू गर्न पुग्छ। हाम्रा आँखा परमेश्वरमाथि लगाइरहनैपर्छ र हृदयदेखि उहाँमाथि नै भरोसा गर्नुपर्छ। यद्यपि विश्वासीभित्र एउटा “नयाँ मान्छे” अर्थात् नयाँ स्वभाव हुन्छ, उसभित्र “पुरानो मान्छे” पनि अझै हुन्छ जसले उसलाई बाटोदेखि भड्काउन सक्छ।
परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम प्रार्थनाद्वारा गरिन्छ। हरेक महत्त्वपूर्ण निर्णयमा हाम्रो आफ्नै समझमा भरोसा राख्नुको सट्टा हामी बुद्धि र अगुवाइको निम्ति प्रभुसित विन्ती गर्दछौं। उहाँले आफ्ना जनहरूलाई अगुवाइ गर्ने प्रतिज्ञा गर्नुभएको त छ तर हामीले उहाँको अगुवाइ खोज्नुपर्छ; अगुवाइ त्यत्तिकै पाइन्छ भनेर ठान्नुहुँदैन। हामीले आफ्ना सबै मार्गहरूमा “उहाँलाई मान्नुपर्छ”। यस्तो विचार आउन सजिलो छ, “मलाई उहाँको बुद्धि र सहायता चाहिन्छ भनेर प्रभुलाई त थाहै छ; अवश्य पनि उहाँले मलाई त्यो दिनुहुन्छ।” तर वास्तवमा, परमेश्वरले हामीलाई सबै कामकुरामा तोकेर, यत्नसित प्रार्थना गर्न भनी बाइबलमा सिकाउनुभएको छ। त्यसो गर्न विफल हुनु भनेको बुद्धिहीन निर्णय गर्न पुग्नु हो।
परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम बाइबलको सल्लाह खोजेर गरिन्छ। हामी बुद्धिमानी निर्णयहरू गर्न चाहन्छौं भने हामी बाइबल अध्ययनमा लगनशील हुनुपर्छ किनकि बाइबलबाट नै हामी परमेश्वरको मन जान्न सक्छौं (१ कोरिन्थी २:१६), परमेश्वरको इच्छा जान्न सक्छौं (भजनसङ्ग्रह ११९:१०५) र विश्वास प्राप्त गर्न सक्छौं (रोमी १०:१७)। प्रभावकारी दैनिक बाइबल अध्ययन गर्नलाई हामीले सिकेको हुनैपर्छ। हामी एउटा बलियो बाइबलीय मण्डलीमा सुन्न पाइने प्रचारहरू तथा शिक्षाहरूमा लगातार सहभागी हुनैपर्छ। वचनको ज्ञानमा बढ्न हामीलाई उपलब्ध भएको हरेक मौकाको फाइदा लिनैपर्छ। तब हामी उहाँको इच्छा जान्न सक्नेछौं र बुद्धिमानी निर्णयहरू गर्न सक्नेछौं।
२) ज्योतिमा हिँड्नुहोस् (१ यूहन्ना १:५-१०)
पापमा हिँड्नु भनेको अन्धकारमा हिँड्नु हो। यो भनेको आत्मिक जीवन र आत्मिक विचारको विपरित जाने कुरा हो (१ पत्रुस २:११)। पछि हट्ने व्यक्ति प्रभुको मार्गले होइन आफ्नै मार्गले भरिएको हुन्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश १४:१४)।
बाबुआमाप्रति अनाज्ञाकारी हुनु, मुख लाग्नु, अधिकारीसित आफ्नै जिद्दी गर्नु वा हठी र तीतो बन्नु, आफ्नी पत्नीलाई प्रेम नगर्नु, पतिलाई आदर नगर्नु, कुरौटे हुनु, झूट बोल्नु, चोर्नु, संसारका खराब कुरालाई प्रेम गर्नु जस्ता कुराहरू प्रार्थनालाई बाधा दिने कुरा हुन्। फलस्वरूप एक व्यक्तिसँग असल निर्णय गर्ने बुद्धिको अभाव हुन जान्छ।
आत्मिकरूपमा पछि हटेको अवस्थामा ठूला-ठूला निर्णय गर्नु भनेको बरबादीको सुत्र मात्र हो। त्यस्ता थुप्रै विश्वासीहरू छन् जोहरू हृदयमा प्रभुदेखि टाढा रहेका अवस्थामा विवाह गर्ने निर्णय गर्दा, कुनै पेशा वा काममा हात हाल्ने निर्णय गर्दा, कुनै शिक्षा हासिल गर्नपट्टि लाग्दा, कुनै बाइबल कलेज जान रोज्दा, कुनै मित्रतालाई अघि बढाउँदा, पछि गएर नराम्रोसँग पछुताएका छन्। त्यसैले, होसियार!
३) प्रभुमा मग्न रहनुहोस् (भजनसङ्ग्रह ३७:४)
परमेश्वरलाई आफ्नो माया-ममताहरूको केन्द्रबिन्दुमा राख्नु नै उहाँको इच्छा जान्ने उपाय हो। यो गर्न मिल्छ वा त्यो गर्न मिल्दैन जस्ता कुराका सूची अपनाएर इसाई जीवन जिउन खोज्नेहरूले परमेश्वरको इच्छा जान्न सक्दैनन्। ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्ने र उहाँमा मग्न हुनेहरूले हो परमेश्वरको इच्छा जान्न सक्ने। त्यसो गर्दा उहाँले मेरो हृदयलाई ठीक-ठीक इच्छा-आकांक्षाहरूले भरिदिनुहुन्छ अनि तिनलाई पूरा पनि गरिदिनुहुन्छ। तर अर्कोतिर, सांसारिक वा नामधारी ख्रीष्टियनहरू भने परमेश्वरको इच्छा विपरितका इच्छा-आकांक्षाहरूले भरिएका हुन्छन् अनि उसले दिकदारीको जीवन व्यतित गरिरहेको हुन्छ किनकि उसका इच्छा-आकांक्षाहरू पूरा भइरहेका हुँदैनन्।
४) बाइबलको अवज्ञा गर्ने स्थितिमा पुर्याउने खालको कुनै पनि निर्णय नगर्नुहोस् (यूहन्ना ८:३१-३२)
हामीले यस कुरालाई प्रत्येक बुँदामा छुँदै आएका छौं तर जोड दिने हेतुले यसलाई अब आफ्नै बुदाअन्तर्गत ध्यान दिएर विचार गर्न चाहन्छौं।
सरल भाषामा भन्ने हो भने बुद्धिमानी निर्णयहरू गर्नु भनेको बाइबलअनुसार निर्णय गर्नु हो। येशूले यसलाई “मेरो वचनमा लागिरहने” कामको रूपमा बयान गर्नुभयो। बाइबलको अवज्ञा गर्न लाउने कुनै पनि निर्णय परमेश्वरको इच्छाविपरित हुन्छ। यसमा अपवाद छैन।
विश्वासद्वारा जिउनु भनेको यही हो। उहाँलाई विश्वास गर्नु र उहाँको वचन मान्नु नै विश्वासद्वारा जिउनु हो। हेर्नुहोस्, रोमी १०:१७। यो भनेको निर्णयहरू आफ्ना भावनाअनुसार र मानवीय विचारअनुसार र परिस्थितिअनुसार नभएर बाइबलअनुसार गर्न सिक्नु हो र ठीक-ठीक ढोकाहरू खोलिइनका लागि र खाँचोहरू पूरा गरिनका लागि प्रभुमै भरोसा गर्नु हो। यो यति नै सरल छ।
यहाँ केही उदाहरणहरू प्रस्तुत गरिएका छन्; परमेश्वरको इच्छाभित्र रहेर बुद्धिमानी निर्णय गर्ने सवालमा यी उदाहरणहरू कसरी सम्बन्धित छन् भन्ने कुराको विचार गर्नुहोस्:
बाइबलले भन्छ खराबको वा मूर्तिपूजाको सङ्गत नगर्नू (१ कोरिन्थी १५:३३; रोमी १२:२; २ कोरिन्थी ६:१४-१८; एफेसी ५:११), त्यसैले म विश्वासद्वारा जिउँछु भने म तीबाट अलग हुनेछु। तसर्थ सांसारिक रमझमको पार्टी जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि, परमेश्वरका जनका लागि परमेश्वरको इच्छाभन्दा बाहिरका कुरा हुन्। एकजना युवाको मलाई सम्झना छ जसले फिलिम हलमा काम पाएका थिए। त्यहाँ देखाइने हानिकारक फिलिमहरूको बारेमा तिनलाई चिन्ता लागिरहेको थियो र काम छोड्ने विचार गर्दैथिए, तर उनको सांसारिक झुकावका युवा-पास्टरले तिनलाई काम नछोड्ने सल्लाह दिए! परिणामस्वरूप उनी नराम्रोसँग पछि हटे। मलाई अर्को व्यक्तिको सम्झना छ जसको जिम्मेवारी भनेको सांसारिक पार्टीहरूको सुपरिवेक्षण गर्नु थियो जसअन्तर्गत पिउने र नाँच्ने कुरा पनि पर्दथ्यो। उसले त्यो काम नछोडेसम्म ऊ आत्मिक रूपमा धेरै बढेन न ता आफ्नो जीवनमा बुद्धिमानी निर्णयहरू गर्न नै सिक्यो।
बाइबलले भन्छ मण्डलीको बेवास्ता नगर्नू (हिब्रू १०:२५)। मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५। तसर्थ मण्डलीलाई छोड्न लाउने खालको निर्णय गर्नु गलत हो, जस्तै नयाँ ठाउँमा बसाइ सर्नु जहाँ असल मण्डली छैन वा त्यस्तो काम अपनाउनु जसले मण्डली सभाहरूदेखि अलग पार्छ। हाम्रो मण्डलीमा एकजना युवा थियो जो नशालु पदार्थको बानी लागेको जीवनशैलीको पृष्ठभूमिबाट बचाइएका थियो। उसको जीवनमा राम्रा सङ्केतहरू देखिन्थे र ऊ प्रभुमा बढ्दैथियो। एक दिन गाउँबाट उसको बाबुले उसलाई घर फर्कन बोलायो। हाम्रो सल्लाहको बाबजुद ऊ गयो र त्यसबेलादेखि ऊ आफ्नो ख्रीष्टियन जीवनमा पछि हट्न थाल्यो। यस्तो कुरा धेरैपटक दोहोरिएको हामीले देखेका छौं।
विश्वासीहरूले मण्डली छोड्ने एउटा प्रमुख कारण यो हो कि उनीहरू मण्डली सभाहरूदेखि अलग गराउने काम रोज्छन् र फलस्वरूप पछि हट्छन्। निम्न दुईटा चेताउनीहरूलाई विचार गर्नुहोस्:
“सात कक्षा पार गरेको केही समयपछि हो, हाम्रा करिब २०% युवाहरू हराउँछन्। सङ्गतिको दिनमा छुट्टि नपाइने किसिमको काम अँगालेकाले तिनीहरू हराउँछन्। ती काममा लागेपछि उनीहरूलाई सङ्गति नआउनलाई बाहाना गर्नु सजिलो हुन्छ र उनीहरू प्रायः आउँदैनन् पनि।”
“मण्डली छोडेर जानेहरूमध्येमा धेरैजनाको यस्तो धारणा भएको पाइएको छ कि यदि परमेश्वरले उनीहरूलाई सङ्गतिको दिनमा छुट्टि नपाइने काम दिलाउनुभएको छ भने सङ्गति छुटाउनु गलत होइन। परमेश्वरले उनीहरूलाई अभद्र पोशाक पहिरनुपर्ने काम दिलाउनुभएको छ भने अभद्र पोशाक पहिरनु गलत होइन। परमेश्वरले उनीहरूलाई रक सङ्गीत सुन्नुपर्ने वातावरण भएको काम दिनुभयो भने त्यो गलत होइन। त्यस्ता कुराको सामना गर्नलाई आफूहरू बलियै भएको उनीहरू ठान्दछन् र उनीहरू त्यसबाट अलिकति पनि प्रभावित नभईकन मण्डली आइरहन सक्नेछन् भन्ने उनीहरू सोच्छन्। तर प्रायः त्यस्तो काम पाएको छ महिना जति पछि उनीहरू वर्षभरिमा ५०% वा त्यसभन्दा बढी सभाहरूमा गयल भएको पाइन्छ। अविवाहितहरूको निर्देशकको हैसियतले मैले एउटा कुरा जोड दिँदै आएको छु कि हाम्रो लागि ठ्याक्कै मिल्ने काम परमेश्वरले हाम्रो लागि रोज्नुभएको छ र शैतालने पनि हाम्रो लागि उसले रोजेको ठ्याक्कै मिल्ने काम पनि त्यहाँ छ। तर धेरैजसो युवाहरू परमेश्वरबाटको त्यो सिद्ध काम पाउनको लागि पर्खने गर्दैनन्।”
यदि कोही विश्वासद्वारा जिउँछ भने उसले आफूलाई मण्डलीबाट अलग पारेर वचनको अवज्ञा गराउने काम लिँदैन।
बाइबलले भन्छ, अविश्वासीसँग बेमेल जोडी नबन्नू (२ कोरिन्थी ६:१४)। त्यसैले अविश्वासीसित विवाह गर्नु वा अविश्वासीसित मिलेर व्यापारमा साझेदार बन्नु, अथवा त्यस्तो अन्य कुनै कुरा गर्नु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा कहिल्यै पनि हुन सक्दैन। एकजना व्यक्तिको मलाई सम्झना छ जो एउटा नयाँ मण्डलीको संस्थापक विश्वासीहरूमध्येमा गनिन्थ्यो। ऊ राम्रै गर्दैथियो, बढ्दैथियो, तर आखिरमा ऊ एकजना अविश्वासिसित काममा साझेदार बन्यो र उसको साझेदारको बेइमानी कामकुराले ऊ जेलमा पुग्यो र यसरी उसले आफ्नो साक्षी बिगार्यो।
बाइबलले भन्छ, झूटा शिक्षासित आवद्ध नहुनू (रोमी १६:१७; २ यूहन्ना १०-११)। यसको मतलब झूटा शिक्षा सिकाउने बाइबल तालीम वा मण्डली जानु, झूटा शिक्षकहरूका पुस्तक पढ्नु वा उनीहरूको प्रचार सुन्नु, वा झूटा शिक्षालाई अपनाएको व्यक्तिसँग घनिष्ट सम्बन्ध बढाउँदै लैजानु एकजना विश्वासीको निम्ति परमेश्वरको इच्छा होइन। मलाई दुईजना जवान पुरुषहरूको सम्झना छ जो हाम्रो मण्डलीमा आउँदैथिए र उनीहरूको जीवनमा असल कुराहरूको सङ्केत देखिन्थ्यो र उनीहरू प्रभु बढ्दै गरेको जस्तो देखिन्थ्यो, तर उनीहरू एउटा झूटा शिक्षकको बाइबल अध्ययनमा जान थाले र परिणामस्वरूप उनीहरू हाम्रो मण्डली छोडेर गए।
बुद्धिमानी निर्णय गर्नु भनेको यति हो कि एकजना परमेश्वरको सन्तानले उहाँको वचनबिपरित कुनै पनि काम गर्दैन।
हामी बाइबलको अवज्ञा गर्दछौं भने हामीले परमेश्वरको आशिषको आशा गर्न सक्दनौं। कति ख्रीष्टियनहरूले के गर्छन् भने पहिला आफ्नै योजनाहरू बनाउँछन् अनि त्यसपछि परमेश्वरसित त्यसका लागि उहाँको आशिष माग्छन् तर यो त उल्टो काम गर्नु हो। पहिला त हाम्रा योजनाहरू परमेश्वरको इच्छाअनुसार छन् कि छैनन् भनेर पक्का गर्नुपर्छ तब उहाँको आशिष माग्नु र आशा गर्नु मुनासिब हुन्छ।
बुद्धिमानी निर्णयहरू कसरी गर्ने सम्बन्धमा पुनरावलोकन प्रश्नहरू भाग १
- यस पाठमा हामीले चर्चा गरेका चार कुराहरू के-के हुन्?
- आफ्नै हृदयमाथि भरोसा गर्ने व्यक्ति मूर्ख हो भनेर कुन पदले बताउँछ?
- आफ्नै हृदयमाथि भरोसा गर्नु किन मूर्ख काम हो?
- हृदय छली र दुष्ट छ भनेर कुन पदले बताउँछ?
- परमेश्वरलाई आफ्ना सबै मार्गहरूमा मान भन्ने बाइबलको भनाइको माने के हो?
- ज्योतिमा हिँड्ने बारेमा कुन पुस्तकको कुन अध्यायले बयान गर्दछ?
- बुद्धिमानी निर्णयहरू गर्नलाई ज्योतिमा हिँड्नु किन आवश्यक छ?
- शारीरिक अभिलाषाहरू प्राणको विरुद्धमा युद्ध गर्दछन् भनेर कुन पदले चेताउनी दिन्छ?
- म यदि प्रभुमा मग्न भएँ भने उहाँले मेरा हृदयका चाहनाहरू दिनुहुन्छ भनेर कुन पदले बताउँछ?
- विश्वास परमेश्वरको वचन सुनेर आउँछ भन्ने कुरा कुन पदले बताउँछ?
- परमेश्वरका जनका निम्ति सांसारिक रमझम हुने पार्टीमा जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि परमेश्वरको इच्छाभन्दा बाहिरका कुराहरू हुन् भन्ने कुरा हामी कसरी जान्न सक्दछौं?
- मण्डली सभालाई बेवास्ता नगर्न कुन पदले विश्वासीहरूलाई निर्देशन दिन्छ?
- मण्डली परमेश्वरको घर हो भनेर कुन पदले बताउँछ?
- बाइबलको आज्ञा नमान्ने र मण्डली सभालाई बेवास्ता गर्ने विश्वासीहरूलाई प्रायः के हुन्छ?
- एकजना विश्वासी अविश्वासीहरूसित बेमेल जोडी बन्न सक्ने केही उदाहरणहरू के-के हुन्?
- झूटा शिक्षा सिकाइने बाइबल अध्ययन वा मण्डली वा सम्मेलनमा जानु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा होइन भन्ने कुरा हामी कसरी जान्न सक्छौं?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।