केटो कसरी बेइमानी बन्न सिक्यो

“धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्”

(१ कोरिन्थी १५:३३)

“सच्चाइसँग व्यवहार गर्नेहरू उहाँका आनन्द हुन्”

(हितोपदेश १२:२२)

“उत्तम, तिमीले बिलको हिसाब चेक गर्‍यौ?”

“हजुर, चेक गरें, सर।”

“हिसाबमा कुनै गल्ती छ?”

“मैले दुइटा गल्ती भेटें, सर।”

“ए हो? लेऊ त, म हेर्छु।”

केटोले आफ्‍नो मालिकको हातमा एउटा लामो हिसाब-किताबको कागत थमायो जुन चाहिँ जाँच्नको लागि उसको डेस्कमा छोडिएको थियो।

“यहाँ हिसाब चेक गर्दा उनीहरूले हामीसित लिनुपर्ने रकममा पाँच हजार रूपियाँ छुटेको छ। अनि तलतिर फेरि अर्को पाँच हजार रूपियाँको गल्ती छ।”

“त्यो पनि छुटेको?”

“हजुर, सर।”

त्यो व्यापारी मान्छे यसरी मुस्कुरायो कि त्यो देख्दा केटोलाई अनौठो लाग्यो।

“दस हजार रूपियाँ घाटा खाने भए तिनीहरू,” उसले आश्चर्य मान्दै र खुशी पनि हुँदै भन्यो। “खूब भरपर्दा अकाउन्टेटहरू रहेछन् तिनीहरूका!”

“म गल्तीलाई सच्च्याइदिऊँ, सर?” केटोले सोध्यो।

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन,” व्यापारीले जवाफ दियो। “जतिबेला पत्ता लाउँछन्, लाउँछन् उनीहरूले। अनि त्यतिबेलै सच्च्याऔंला। अहिलेलाई यो दस हजार हाम्रै आम्दानी गनिन्छ।”

सोच्दै नसोचेको यस्तो जवाफ सुन्दा, त्यो केटोको कमलो मन झसङ्ग झस्क्यो। ऊ एउटी गरीब विधवाको छोरो थियो जसले उसलाई यो सिकाउनुभएको थियो कि मान्छेको कर्तव्य भनेको सही काम गर्नु हो अनि सदा इमानदार रहनु नै सर्वोत्तम मार्ग हो।

उत्तम यहाँ काम गर्न आएको केही महिना मात्र भएको थियो। हरिकुमार साहु उत्तमको बुवाको पुरानो साथी थियो जसलाई बुवाले एकदम राम्रो मान्छे मान्नुहुन्थ्यो। त्यसैले उत्तमले साहुलाई एउटा आदर्श व्यक्तिको रूपमा हेर्ने गर्थ्यो। जब हरिकुमार साहुले उसलाई आफ्‍नो पसलमा काम गर्न राख्ने भयो, केटोलाई यस्तो लाग्यो कि अब उसको भविष्य बन्ने भयो।

“आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले।” उत्तमको मनमा यस कुराले बलियो छाप पार्‍यो। हरिकुमार साहुको यो भनाइ पहिलो पटक सुन्दा अनि त्यसको तात्पर्य बुझ्दा उत्तम यति झस्केको थियो कि उसलाई साहुको यस्तो विचार रहेछ भनेर विश्वासै गर्न गाह्रो परेको थियो। तर मनमनै त्यो भनाइलाई ओल्टाइपल्टाइ सोच्दै जाँदा अनि उसकी आमाले साहुलाई धेरै ठूलो मान गर्नुभएको हुनाले, उसले यो सोच्न थाल्यो कि सायद व्यापारमा त्यो सही नै होला। आफ्नो हेराइमा हरिकुमार साहु खराब काम गर्ने मान्छे जस्तो त लागेन उसलाई।

त्यो बिल चेक गरेको केही दिनपछि त्यो बिल पठाउने होलसेल पसलबाट पैसा उठाउनलाई एकजना कर्मचारी आयो। केटो त्यहीँ थियो र हरिकुमार साहुले हिसाबमा गल्ती भएको कुरालाई निकाल्छ कि भनेर ऊ एकदम चासो लिएर हेर्‍यो। तर साहुले त्यसको कुरै गरेन। बिल अनुसारको एउटा चेक लेखेर दिइयो र त्यसको भरपाई रसिद लिइयो।

“यो ठिक हो र?” उत्तमले आफैलाई प्रश्न गर्‍यो। उसको विवेकले भन्यो, “होइन।” उसको मालिकको त्यो व्यवहारले उसको मनलाई आश्चर्यचकित पार्‍यो।

“व्यापारको तरिका यस्तै हुन सक्छ” — उसले आफूलाई मनमनै भन्यो — “तर यो इमानदार  काम जस्तो त देखिँदैन। उहाँले यस्तो गर्नुहोला भनेर मैले सोचेकै थिइनँ।”

हरिकुमार साहुले ऊसित गर्ने व्यवहार यस्तो थियो कि केटोको मन साहुप्रति हुरुक्कै भएको थियो। त्यसैले साहुले गरेको जुनसुकै कामकुरालाई पनि स्वभावैले उसले सक्दो सकारात्मक ढङ्गमा लिने गर्थ्यो।

जतिखेर आफू हरिकुमार साहुको पसलमा जागिर खान पाएकोले आफूलाई भाग्यमानी सम्झन्थ्यो, त्यतिखेर उसको मनमा यो विचार पनि आउने गर्थ्यो — “साहुले त्यो गल्तीलाई सच्च्याएको भए हुन्थ्यो। त्यो ठिक त देखिँदैन, तर सायद व्यापारमा गर्नुपर्ने यस्तै होला।”

ऊ एक दिन बैंक गयो। एउटा चेक साटेर पैसा निकाल्नुपरेको थियो। पैसा गनेर हेर्दा त बैंकको मान्छेले उसलाई पन्ध्र हजार रूपियाँ बढी दिएको रहेछ। त्यसैले ऊ काउन्टरमा फेरि फर्केर गयो र बैंकको खजाञ्चीको गल्ती बताउँदै त्यो पैसा फिर्ता दियो। खजाञ्चीले उसलाई धन्यवाद दियो। ऊ आफ्‍नो मनमा ‘मैले ठिक गरें’ भन्ने असल विवेक लिएर आफू काम गर्ने पसलमा फर्क्यो

“बैंकको मान्छेले मलाई पन्ध्र हजार रूपियाँ बढी भुक्तानी गरेको थियो,” पैसा उहाँको हातमा थमाउँदै उसले हरिकुमार साहुलाई भन्यो।

“ए, हो?” साहुले भन्यो, अनुहार उज्यालो पार्दै अनि हतार‍-हतार बैंकका नोटहरू गन्यो।

औंलाले अन्तिम नोट गनिसक्दा साहुको अनुहारबाट त्यो क्षणिक उज्यालो हराइसकेको थियो। “छैन गल्ती यसमा।” साहुको स्वर अलिक निराश सुनिन्थ्यो।

“ए, त्यो पन्ध्र हजार त मैले फिर्ता दिएँ नि। त्यो ठिक थिएन र?”

“कस्तो मूर्ख!” हरिकुमार साहुँ जङ्गियो।

“तिमीलाई थाह छैन बैंकका गल्तीहरू कहिल्यै सच्च्याइँदैनन् भनेर? बैंकले तिमीलाई पन्ध्र हजार कम दिएको भए र तिमीले ख्याल नगरेको भए, उसले त्यो कहाँ सच्च्याउँथ्यो र?”

साहुको हप्कीले उत्तमको मुखै रातो भएर आयो। प्राय: अपराध गर्दा भन्दा भुलचुक गर्न पुग्दा बढी शर्म लाग्ने हुन्छ। उक्त घटनामा केटोलाई आफूले गरेको कामको निम्ति एक किसिमको पछुतो लाग्यो किनभने उक्त कामलाई हरिकुमार साहुले मूर्ख भन्यो अनि उसले यो अठोट गर्‍यो कि अबदेखि उसो बैंकले यदि उसलाई एक लाख रूपियाँ बढी भुक्तानी गरे पनि उसले त्यो पैसा थपक्क आफ्‍नो मालिकलाई बुझाउनुपर्छ अनि त्यो पैसा साहुले जे जस्तो गर्नुहुन्छ त्यो उहाँकै तजबिजमा छोडिदिनुपर्छ।

“आफ्‍ना गल्तीका लागि आफै होशियार होऊन्,” हरिकुमार साहुले भन्यो।

यी कुराहरूलाई उत्तमले आफ्‍नो हृदयमा निकै सोच्यो। यी कुराले उसलाई यति गहिरो छाप पार्‍यो कि त्यो नमेटिने गरी उसको हृदयमा बस्यो र उसले बिर्सनै नसिकने भयो। “यो ठिकै हुन सक्छ,” उसले भन्यो, तर उसलाई पूरै सन्तुष्ट त लागेन।

यो अन्तिम घटना घटेको एक-दुई महिनापछि, उत्तमले महिना मरेपछिको आफ्‍नो तलब थाप्यो र गन्यो जुनचाहिँ उसले हरिकुमार साहुको हातबाट भर्खेरै पाएको थियो। उसले यो देख्यो कि उसलाई पचास रूपियाँ बढी तिरिएको रहेछ।

उसको मनको पहिलो भावना त यो थियो कि उसले यो पचास रूपियाँ आफ्‍नो मालिकलाई फिर्ता दिनुपर्छ, अनि उसको मुखबाट, “तपाईंले मलाई पचास रूपियाँ बढी दिनुभयो, सर” भन्ने शब्दहरू निस्कनै लागेका थिए, जब उसले बिर्सन नसकेका ती शब्दहरू “आफ्‍ना गल्तीहरू आफैं सच्च्याऊन् मानिसहरूले,” भनेर उसलाई झल्याँस्स सम्झना आयो जसले गर्दा ऊ हिचकिचायो। खराब कुरासित सङ्गत गर्नु भनेको त्यसको वशमा पर्नु हो।

“यस बारेमा मैले सोच्नुपर्छ,” त्यो पैसालाई खल्तीमा हाल्दै उत्तमले मनमनै भन्यो। “यदि एउटा विषयमा त्यो ठिक हो भने अर्को विषयमा पनि त्यो ठिकै हुनुपर्छ। हरिकुमार साहुले अर्काको गल्तीले आफूलाई फाइदा हुँदा त्यसलाई सच्च्याउनुहुन्न भने यही नियमअनुसार अब उहाँको गल्तीले मलाई फाइदा हुँदा मैले नसच्च्याएकोमा उहाँले गुनासो गर्न त मिल्दैन।”

तर केटोलाई शान्ति त अलिकति पनि थिएन। उसलाई यो लाग्यो कि त्यो पचास रूपियाँ आफूले राख्नु भनेको बेइमानी काम हो। तर त्यो फिर्ता दिने निर्णय गर्न उसले सकिरहेकै थिएन। अहँ, त्यतिखेर निर्णय गर्नै सकेन।

आखिरमा उत्तमले त्यो पचास रूपियाँ फर्ता दिएन तर त्यसलाई आफ्‍नो इच्छाअनुसार खर्च गर्‍यो। उसले यो गरिसकेपछि एक्कासी उसलाई यस्तो लाग्यो कि सायद हरिकुमार साहुले उसलाई जाँच्नलाई भनेर त्यसो गरेको होला। तब उसलाई फिक्री लाग्न थाल्यो र ऊ अशान्ति र बेचैनीले भरियो।

यसको केही समय नबित्दै हरिकुमार साहुले त्यही गल्ती फेरि दोहोर्‍यायो। फेरि उत्तमले त्यो पचास रूपियाँ आफूसित राख्यो अनि यसपालि उसलाई अस्ति जस्तो गाह्रो लागेन। चरित्र बिग्रने बाटो ओरालो बाटो हो। एकचोटीको पापले फेरि पाप गर्न सजिलो बनाउँछ।

“आफ्‍नो गल्ती उहाँ आफैले सच्च्याउनुभएको होस्,” उसले दृढतापूर्वक भन्यो। “उहाँले अरूसित व्यवहार गर्ने सिद्धान्त यही हो, अनि उहाँले चलाउनुभएको नोट उहाँलाई नै फिर्ता आइपुग्दा उहाँले गुनासो गर्न त मिल्दैन। मैल मात्र पचास रूपियाँ चाहेको हुँ।”

त्यस समयदेखि उत्तमको असल नैतिक भावनाको धार बोधो भएर गयो अनि उसको विवेकले उसलाई अब पहिला जस्तो सताउन छोड्यो। उसले आफूभित्र एउटा लालची आत्मालाई पालनपोषण गर्न थाल्यो जुनचाहिँ सबैको हृदयमा हुन्छ जबसम्म त्यो ख्रीष्टको अनुग्रहले वशमा ल्याइँदैन। चाँडै नै उसले त्यस्ता कुराहरू आफूसित भइदिए हुन्थ्यो भनेर इच्छा गर्न थाल्यो जुन कुराहरू खरिद गर्न उसित क्षमता थिएन।

उत्तमसित व्यापार गर्ने खुबी थियो। यो देखेर हरिकुमार साहु खुशी थियो। उसले यो देख्यो कि यो जवानसित तीष्ण बुद्धि छ, ऊ मेहनती छ, र ग्राहकहरूसित व्यवहार गर्न सिपालु छ। त्यसैले साहुले छिटोछिटो उसको पद बढाइदियो अनि ऊ अठार वर्ष नपुग्दै त्यो पसलमा सबभन्दा जिम्मेवार पद उसकै भयो।

तर उत्तमले आफ्‍नो मालिकबाट व्यापार गर्ने सीप सिक्नु बाहेक अरू कुरा पनि सिकेको थियो। उसले बेइमानी गर्न सिकेको थियो। ऊ यो खराब मार्गमा हिँड्न थाल्दा उसले सुरुमा सिकेको पाठलाई कहिल्यै बिर्सेन। अनि यस खराब मार्गको दुष्ट तरिकालाई उसले आफैं अभ्यास गर्दै आएको थियो, केवल दुई पटक मात्र होइन तर सैयौं पटक अनि प्राय: जहिले पनि हरिकुमार साहुलाई निक्सान पर्ने गरीकन।

यो जवान व्यक्तिले आफूलाई फाइदा हुने खालको मालिकको गल्तीलाई पर्खेर बस्न छोडेको धेरै भइसकेको थियो। त्यस्ता गल्ती त उसले जानाजानी आफै बनाउने गर्थ्यो अब। कारोवार धेरै किसिमका हुन्थे र व्यापार ठूलो थियो अनि उसलाई बिनाशङ्का पूरै विश्वास गरिन्थ्यो।

अवश्य नै ऊ तीष्ण र धूर्त बन्न जान्यो, ऊ सधैं होशियार, सधैं चनाखो रहन्थ्यो। उसको मालिकले उसलाई उच्च सम्मानको दृष्टिले हेर्थ्यो अनि उसले गरेको बेइमान काम कतै पत्ता लाग्ला कि भनेर त्यसलाई निपुणतापूर्वक ढाकछोप गर्न ऊ सधैं चनाखो रहन्थ्यो।

कामकुरा यसरी नै अघि बढ्दै जाने क्रममा उत्तमको उमेर अब बीस वर्ष पूरा भयो। एक दिनको कुरा हो, व्यापारी हरिकुमार साहुकहाँ एउटा चिट्ठी आइपुग्यो जुन चिट्ठी पढेपछि साहुको मनमा भारी शङ्का उब्जियो। चिट्ठीले यो बतायो कि उत्तमको सङ्गत त्यति ठिक छैन अनि उसले एउटा क्लर्कको सामान्य तलबले धान्न सक्ने भन्दा ज्यादै निष्फिक्री रूपमा पैसा खर्च गर्दैछ।

हालसालै उत्तम र उसकी आमा एउटा सुन्दर घरमा सरेका थिए जहाँ महिनाको बाह्र हजार रूपियाँ भाडा तिर्नुपर्थ्यो जब की उसको मासिक तलब अठार हजार मात्र थियो तर उसले आफ्नी आमालाई आफ्‍नो तलब पैंतीस हजार छ भनेर झूट बोलेको थियो। उहाँलाई चाहिने सबै किसिमका सुविधाहरू पूरै जुटाइएका थिए अनि यसरी संसारमा लामो सङ्घर्षपछि बल्ल खुशीका दिनहरू आइपुगे भन्ने आमालाई लाग्दैथियो।

हरिकुमार साहुले त्यो चिट्ठी प्राप्त गर्दा उत्तम आफ्‍नै डेस्कमा बसेर काम गर्दैथ्यो। उसले आफ्‍नो मालिकलाई पुलुक्क हेर्‍यो। साहुको अनुहार एक्कासी बदलिएको उसले देख्यो। साहुले चिट्ठीलाई दोहोराएर दुई-दुई पटक पढ्यो अनि चिट्ठीका कुराले मालिकलाई विचलित पारेको कुरा उत्तमले स्पष्टै देख्न सक्थ्यो। हरिकुमार साहुले उत्तमको डेस्कतिर यस्सो नजर लगायो अनि त्यतिखेर उनीहरूका आँखाहरू ठ्याक्कै जुध्न पुगे। त्यो एकैछिनको लागि थियो, तर मालिकको हेराइ यस्तो थियो कि त्यसले उत्तमको मुटु नै छेड्यो।

दिनभरि व्यापारी साहुको हिँडाइचलाइ यस्तो थियो कि त्यो देख्दा त्यो जवानलाई डर र त्रास मात्र लागिरह्यो। उसलाई अब यो स्पष्टै थाहा भयो कि त्यो चिट्ठीले मालिकको हृदयमा शङ्का उब्जाइदिएको छ। अहो! उसलाई यति नमीठो पछुतो लाग्न थाल्यो अब! आफ्नो चोरी काम प्रकट होला र आफूले सजायँ भोग्नुपर्ला भन्ने कुराले ऊ यति भयभीत भयो! उसको पर्दाफास गरियो भने उसको बदनाम हुने र उसको जीवन बर्बाद हुने कुरा निश्चित थियो र उसकी विधवा आमा शोकले मर्नुहुने कुरा पनि निश्चित थियो।

त्यो साँझ उत्तमले खाना नखाएको कुरालाई र उसको मुख निकै अँध्यारो भएको कुरालाई उसकी आमाले ख्याल गर्नुभयो।

“तिमीलाई सञ्चो छैन जस्तो छ,” उहाँले भन्नुभयो। “आराम गर्‍यौ भने सुधार होला।”

“टाउको मात्र दुखेको हो। म एकछिन सोफामा पल्टिन्छु।”

आमा एकछिनपछि ऊ पल्टिरहेको सोफामा बस्न आउनुभयो अनि आफ्‍नो हात उसको निधारमाथि राख्नुभयो। तर के गर्नु, उसले त्यतिखेर अनुभव गरिरहेको पीडालाई आमाको हातको प्रेमिलो स्पर्षले हटाउन सक्नेवाला थिएन। त्यो पवित्र हातको स्पर्षले त उसको पीडालाई झनै असह्य बनाइदियो।

“अलिक आराम भयो कि?” आमाले सोध्नुभयो। उहाँ आफ्‍नो हात उसको निधारमाथि राखेर केही बेर त्यहीँ बसिरहनुभएको थियो।

“खासै छैन,” उसले जवाफ दियो। “एकछिन हावा खान निस्कन्छु। अनि सञ्चो हुन्छ,” भन्दै ऊ उठ्यो।

“बाहिर नजाऊ, उत्तम,” आमाले भन्नुभयो, उहाँको मनमा फिक्री लाग्न थालिसकेको थियो।।

“म नजीकै चक्कर मारेर आउँछु,” उसले भन्यो र हतारिँदै बाहिर निस्क्यो।

“टाउको मात्र दुखेको होइन उसलाई,” आमाले आफैलाई मनमनै भन्नुभयो।

ऊ केवल आमादेखि उम्कने उद्देश्यले मात्र आधा घण्टासम्म हिँडिरह्यो। यसरी हिँड्दै जाँदा अन्तमा ऊ हिरकुमार साहुको पसलनेर आइपुग्यो अनि त्यसलाई ऊ कटेर जानै लागेको थियो जब उसलाई आश्चर्य लाग्ने एउटा कुरा उसले देख्यो: पसलको भित्रपट्टी बत्ती बलिरहेको रहेछ।

“यसको माने के होला?” उसले आफैलाई सोध्यो र उसको ढुक-ढुक गरिरहेको मुटुभित्र अब एउटा नयाँ डर पस्यो।

ऊ ढोकानेर उभिएर सुन्न खोज्यो, त्यसपछि झ्यालबाहिर उभिएर भित्रपट्टिको आवाज सुन्न खोज्यो तर उसले भित्रबाट कुनै आवाज आएको सुनेन। 

“केही नराम्रो कुरा हुन लाग्दैछ,” उसले भन्यो। “त्यो के होला? यदि मेरो काम प्रकट भयो भने यसको अन्त के होला? खत्तम हुन्छु, खत्तम हुन्छु! बिचरी मेरी आमा!”

त्यो दयनीय जवान हतारिँदै हिँड्यो र सडकहरूमा ऊ दुई घण्टासम्म हिँडिरह्यो र अन्तमा घर फर्क्यो। ऊ घरभित्र पस्दै गर्दा उसलाई उसकी आमाले भेट्नुभयो र आफ्‍नो चिन्ता नलुकाईकन उसलाई सुधार भएको छ कि भनेर सोध्नुभयो। उसले “छ” भन्यो तर यस्तो तरिकाले कि त्यसले उहाँको चिन्तालाई झन् बढाइदियो। त्यसपछि ऊ हतारिँदै आफ्‍नो कोठाभित्र पस्यो।

बिहान नास्ता खान भान्सामा बस्दा आफ्नो छोराको अनुहार अनौठो प्रकारले बदलिएको देख्दा आमाको हृदय डरले भरियो। ऊ केही बोलेन, उहाँको एउटै प्रश्नको पनि सोझो उत्तर उसले दिएन। यसरी भान्सामा बस्दै गर्दा एक्कासी ढोकामा कसैले ढकढकायो। त्यो आवाज सुनेर उत्तम बेसरी अतालियो र ढोकातिर टाउको फनक्क फर्काएर डराउँदै अब के हुने हो भनेर हेर्‍यो।

“को हुनुहुन्छ बाहिर?” आमाले सोध्नुभयो।

“एकजना सर उत्तमजीलाई भेट्न चाहनुहुन्छ,” एउटी केटीको आवाज सुनियो।

उत्तम तुरुन्तै उठ्यो र भान्सा कोठाको ढोका आफ्‍नो पछाडि लगाउँदै घरको गल्लीमा निस्क्यो। आमाचाहिँ आफ्‍नो छोरा फर्केर आउला भनेर पर्खी बस्नुभयो। केही बेरपछि उसलाई फर्केर आएको सुन्नुभयो तर ऊ भान्सा कोठामा पसेन। बरु गल्लीबाट हिँड्दै हिँड्दै ऊ सडकतिर खुल्ने ढोकापट्टि गयो अनि त्यसपछि त्यो ढोका बन्द गरिएको आवाज सुनियो। घरभरि चकमन्न भयो। उहाँ जुरुक्क उठेर भान्साबाट गल्लीमा निस्कनुभयो तर उत्तम त्यहाँ थिएन। ऊ त उसलाई बोलाउन आएको मान्छेसित गइसकेको थियो।

उफ, कस्तो दु:खलाग्दो विदाइ थियो त्यो। हरिकुमार साहुले रातको बाह्र बजेसम्म उत्तमको हिसाब किताबका ठेलीहरू जाँचेर बिताएको थियो। उसले रू छ लाख भन्दा बढी रकम हिनामिना गरेको भेटियो। साहुजीले रिसले आँखा देख्न सकेन र बिहानै उसले उत्तमलाई पक्रन भनी प्रहरी चौकीमा रिपोर्ट गरेको थियो। अनि त्यहाँबाट खटाइएको एकजना प्रहरीसित उत्तम कहिल्यै नफर्कने गरी आफ्‍नी आमालाई छोडेर गएको थियो।

“यो बदमाश जवान, उसैले खनेको खाल्टामा ऊ बस्न जाओस् अब!” रिसले चुर हुँदै हरिकुमार साहु जङ्गियो। अनि उसले जवानको पूरा पर्दाफास गरिदियो। अदालतका सामु उत्तमलाई दोषी ठहराउन हरिकुमार साहु निकै उत्सुक देखिन्थ्यो र उसले यति धेरै प्रमाण जुटायो कि त्यहाँ सुनुवाइ गर्ने हरेकले उत्तमलाई दोषी देख्नु बाहेक उनीहरूसित अर्को विकल्प थिएन।

बिचरी आमा अदालतमा उपस्थित हुनुहन्थ्यो अनि आफ्‍नो छोराको दोषका प्रमाणहरू एक एक गरी सुनाइदा उहाँ आफूलाई थाम्नै नसक्ने गरी रूनुभयो। न्यायधीशले अपराधीलाई सम्बोधन गर्नुभयो। उसको विरुद्धमा फैसला सुनाउनु अघि उसलाई आफ्‍नो पक्षमा बोल्न मौका दिनुभयो। कैदी उठ्यो र भन्यो:

“श्रीमान्, हजुरले मेरो वादीलाई थोरै नजीक आउनलाई अनुरोध गरिदिनुहुन श्रीमानलाई विन्ती गर्न चाहन्छु किनभने म उहाँलाई र श्रीमानलाई मेरो आँखाले देख्ने गरी मेरो कुरा राख्न चाहन्छु।”

हरिकुमार साहुलाई अघिल्तिर अाउन निर्देशन दिइयो। उत्तमले साहुलाई एकछिन राम्ररी हेर्‍यो र त्यसपछि ऊ न्यायधीशतर्फ फर्क्यो।

“श्रीमानको सामु म एउटा कुरा राख्न चाहन्छु” (ऊ नहडबडाईकन, प्रस्टसित बोल्यो), “अनि यस कुराले मेरो अपराधलाई सही ठहराउन नसके तापनि सायद यसले मेरो निम्ति केही हदसम्म माफी दिलाउन सक्ला कि भनेर मैले सोचेको छु। म यो साहुको पसलमा एउटा निर्दोष केटोको रूपमा काम गर्न गएको थिएँ। यदि उहाँ एक इमानदार मान्छे हुनुभएको भए, म आज हजुरको सामु एउटा अपराधीको रूपमा उभिनुपर्ने थिएन!”

हरिकुमार साहुले उसको चरित्रमाथि यस्तो घोर आक्रमण हुनदेखि सुरक्षा प्रदान गरियोस् भन्दै अदालतसित विन्ती चढायो। तर उसलाई चूप रहन आदेश दिइयो। उत्तम अविचलित स्वरमा आफ्‍नो कुरा बताउन अगाडि बढ्यो: —

“उहाँको पसलमा मैले काम गर्न थालेको केही हप्ता मात्र भएको थियो। मैले एउटा हिसाबको बिल जाँचेको थिएँ, उहाँकै निर्देशनबमोजिम, अनि मैले त्यसमा दस हजार रूपियाँको गल्ती भेट्टाएको थिएँ।”

हरिकुमार साहुको मुख रातो भएर आयो।

“म यो देख्न सक्छु कि तपाईंलाई त्यो घटना याद रहेछ,” उत्तमले भन्यो, “अनि म बाचुञ्जेल मैले त्यो याद गर्नुपर्ने कुरा भएको छ। किनकि मैले तपाईंलाई ‘के म हिसाब सच्च्याऊँ’ भनेर सोधें तर तपाईंले जवाफ दिनुभयो —

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन।”

“मलाई बेइमानी बन्न सिकाउने पहिलो पाठ त्यही थियो, श्रीमान्। त्यो बिलको पैसा भुक्तानी गरिएको म आफैले देखें अनि हरिकुमार साहुले त्यो दस हजार रुपियाँ आफ्‍नो लागि लिनुभयो जुन उहाँको थिएन। यो देखेर सुरुमा म बेसरी झस्किएको थिएँ। त्यो एकदम गलत काम देखिन्थ्यो। तर यसको केही समयपछि उहाँले मलाई मूर्ख भन्नुभयो जब मैले बैंकको खजाञ्चीलाई पन्ध्र हजार रूपियाँ फिर्ता दिएँ जुनचाहिँ चेक साट्न जाँदा बैंकले मलाई बढी भुक्तानी गरेको थियो, अनि त्यसपछि” —

“के म यस अदालतबाट सुरक्षाको माग गर्न सक्छु?” हरिकुमार साहुले भन्यो।

“यो जवानले भनेको कुरा के साँचो हो?” न्यायधीशले प्रश्न गर्नुभयो।

हरिकुमार साहु अलमल्लमा परेको देखिन्थ्यो। त्यहाँ उपस्थित सबैजनालाई निश्चित रूपमा यो लाग्यो कि यो दु:खी जवानलाई कुबाटोमा डोर्‍याउने काम उसैले गरेको हुनुपर्छ।

“त्यसको केही समय नबित्दै,” जवानले कुरा अगाडि बढायो, “मेरो तलब थाप्दा, मैले यो थाह पाएँ कि हरिकुमार साहुले मलाई पचास रूपियाँ बढी दिनुभएको रहेछ। म त्यो उहाँलाई फिर्ता दिनै लागेको थिएँ, तर अर्काको गल्ती अर्काले नै सच्च्याऊन् भन्ने उहाँको भनाइलाई मैले सम्झें र आफूलाई भनें, ‘साहुको गल्ती साहुले नै पत्ता लगाऊन् र त्यसलाई साहुले नै सच्च्याऊन्।’ तब मैले बेइमानी काम गरें र त्यो पैसा आफूसित राखें।

“यो कुरा फेरि दोहोरियो अनि फेरि पनि मैले बढी आएको पैसा आफूसितै राखें जुन मेरो थिएन। खराबीको सुरु यही नै थियो र आज म यहाँसम्म आइपुगेको छु। उहाँले यदि मलाई थोरै दया देखाउनुभएको भए सायद म चूप बस्ने थिएँ र आफ्‍नो पक्षमा बोल्ने थिइनँ।”

दुइटै हातले आफ्‍नो मुख छोपेर, आफ्‍नो मन थाम्नै नसकेर जवान आफ्‍नो ठाउँमा थचक्क बस्यो। उसकै छेउमा बसिरहनुभएकी उसकी आमा ठूलो स्वरले रूनुभयो, छोरामाथि निहुरेर आफ्‍ना हातहरू उसको टाउकोमाथि राख्नुभयो। त्यसपछि “बाबु, मेरो बिचरा बाबु!” भन्दै उहाँ मन्द स्वरले रोइरहनुभयो।

अदालतमा उपस्थित करिब सबैजनाको आँखा रसाएको थियो। कोही नबोलेको त्यस बखतमा हरिकुमार साहु करायो:—

“के मेरो चरित्रलाई एउटा अपराधीको वचनको आधारमा यसरी दोष्याउन मिल्छ, श्रीमान्? के यो ठिक हो?”

न्यायधीशले भन्नुभयो, “तपाईंले यो झूटा आरोप हो भनेर गम्भीर शपथ खानुहुन्छ भने सबैका सामु तपाईंको इज्जत कलङ्कित हुनदेखि बच्नेछ।”

यो सुन्ने बित्तिकै उत्तम जुरुक्कै उठ्यो। त्यो दु:खी जवानको अन्तिम मौका यही थियो, अनि मानवताको आधारमा उसको कुरा सुन्न अदालतलाई करै लाग्यो।

आफ्‍नो आँखाले सोझै हरिकुमार साहुलाई हेर्दै उसले कराएर भन्यो:—

“यदि उहाँको हिम्मत छ भने उहाँले शपथ लिन सक्नुहुन्छ!”

हरिकुमार साहुले आफ्‍नो वकिलसित खासखुस सल्लाह गर्‍यो र शपथ खानदेखि पछि हट्यो।

त्यसपछि न्यायधीश उठ्नुभयो र उहाँले फैसला सुनाउनुभयो।

“तिम्री जवानीलाई अनि तिम्रो कलिलो उमेरमा तिमीमाथि आइपरेको परीक्षालाई मध्यनजर राखेर, अदालतले तिमीलाई सबैभन्दा हलुका सजायँको फैसला सुनाउने निर्णय गरेको छ अथवा एक वर्ष कैद। तर म तिमीलाई यो कडा चेतावनी दिन्छु कि तिमी यो खराब मार्गमा अरू अगाडि नबढ्नू। अपराधलाई कुनै पनि न्यायोचित बहाना छैन। परमेश्वर र मानिसको सामु त्यो खराब हो अनि त्यसले केवल दु:ख-कष्ट ल्याउँछ। जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!”

एक वर्ष बितेर उत्तम जेलबाट निस्कँदा उसको आमाको मृत्यु भइसकेको थियो। अदालतबाट जेल चलानी गरिएको दिनमा उसले उहाँको फिक्का अनुहारमाथि आँखा लगाएको त्यो दिनदेखि उसले आमालाई फेरि कहिल्यै देख्न पाएन।

यसको दस वर्षपछि एकजना मान्छेले सुदुर पश्चिमको कुनै शहरमा एउटा खबरपत्रिका पढेर बसिरहेको थियो। उसको अनुहार मलिन र शान्त देखिन्थ्यो तर उसले आफ्‍नो जीवनमा धेरै दु:ख-व्यथाहरू भोगेर आएको देखिन्थ्यो।

“बल्ल ऊ न्यायको हातमा परेछ!” भावनाले चुलिँदै उसले आफैलाई भन्यो। “ऋण चुक्ता गर्न नसकेको अभियोगमा सेन्ट्रल जेलमा चलानी गरिएछ। यही व्यक्तिले मलाई मेरो कलिलो उमेरमा मलाई खराबी गर्न पहिलो पाठहरू सिकाएको थियो। तर परमेश्वरलाई धन्यवाद होस्, यतिका वर्ष अगाडि बोलिएका न्यायधीशका वचनहरू आजसम्म मसित ताजै छन्। “जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!” अनि यो वचनलाई मैले पक्री राख्न सकें, फेरि अपराध गर्नु बाहेक अर्को विकल्प मैले नदेख्दा समेत। अनि परमेश्वरको सहायताले यो वचनलाई म सधैं पक्री राख्नेछु।”

 

Translated and adapted by Pradesh Shrestha from Tiger and Tom and Other Stories for Boys.

के मान्छे बाँदरबाट आएको हो?

के मान्छे बाँदरबाट आएको हो?

विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान

प्रदेश श्रेष्ठ

आज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवादले धेरैलाई भ्रममा पारेको छ। बाइबलको सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो”, आदि इत्यादि।

विज्ञानअनुसार? उनीहरूको भनाइ वास्तवमा “क्रमविकासवाद अनुसार” मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। वास्तवमा क्रमविकासवाद र विज्ञान आपसमा मिल्दैनन्।

जीवशास्त्र विज्ञानको एउटा नियमलाई जीवजनन्‌को नियम अथवा ‘ल अफ बायोजेनेसिस्’1भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको कुरा बताउँछ: (१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। (२) एक प्रकारको जीवको उत्पत्ति त्यही प्रकारको जीवबाट मात्र हुन सक्छ।

तर  क्रमविकासवादले बिनाप्रमाण यसको ठिक उल्टो कुराको दाबी गर्दछ (१) निर्जीव रासायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। (२) उक्त एक-कोषीय जीव (एक प्रकारको जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै प्रकारका जीवहरू) उत्पन्न भएको दाबी।

तर वास्तविकता के छ भने, नता रासायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको छ, नता एक प्रकारको जीवबाट अर्को प्रकारको जीवको उत्पत्ति भएको प्रमाण छ।

चार्ल्स डार्विन (सन् १८०९-१८८२) ले क्रमविकासवादको यो अवैज्ञानिक धारणालाई “अन दि ओरिजिन अफ स्पिसिज” शीर्षक गरेको आफ्नो पुस्तकमा प्रकाशित गरेको लगभग १६० वर्ष अगाडि हो। त्यसबेला यो विश्वास गरिन्थ्यो कि कुनै पनि एक-कोषीय जीव एउटा ज्यादै सरल रासायनिक संरचना हुनुपर्छ। डार्विनलाई जर्मनीमा लोकप्रिय बनाइदिने अर्न्स्ट हेकलले यो दाबी गरे कि एउटा कोष भनेको ‘कार्बनको अल्बुमीनयुक्त मिश्रणको सरल पिण्ड हो।’ तर उन्नाइसौं शताब्दीदेखि यता जीव कोष भन्ने कुरा वास्तवमा अत्यन्तै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा थाह हुन आयो।

“आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख बनेको कुराको उदाहरणस्वरूप सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिकाको “कोषभित्रका अचम्मका संसारहरू” भन्ने लेखलाई लिन सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको वर्णन गर्दछन्। वास्तवमा “सरल एक-कोषीय जीव” भन्ने त्यस्तो कुनै कुरा छैन! सबैभन्दा सरल कोष समेत एउटा “माइक्रो संसार” पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, “…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपना कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?” त्यसपछि पृष्ठ ३९० मा “विज्ञहरू” ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र क्रमविकासवाद भए भने सबै कुरा सम्भव हुन्छन् अरे!” (जर्ज जेलर, रोमीको टिप्पणी)।  सृष्टिकर्ताको अस्तित्वलाई इन्कार गर्नेलाई क्रमविकासवाद बाहेक अर्को विकल्प नभएर यस्तो अवैज्ञानिक अभिव्यक्ति आएको हो भनेर बुझ्न सकिन्छ। क्रमविकासवाद वास्तवमा विज्ञान नभएर केवल एउटा भौतिकवादी अवधारणा हो।

कोषको जटिलताको सानो झलक निम्न भिडियोमा प्रस्तुत छ। अमेरिकाको हार्वड विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई कोषभित्रको जीवन थ्रीडीमा देखाउन तयार गरेको भिडियो हो यो। यस भिडियोमा मानव शरीरको रक्तनलीभित्र एउटा श्वेत रक्तकोष इन्फ्लामेशनद्वारा क्रियाशिल बनाइँदा कैयौं आणविक क्रियाविधि सक्रिय बनेको देखाइएको छ (शरीरमा चोटपटक लागेर तन्तु सुन्निने कार्यलाई इन्फ्लामेशन (inflammation) भनिन्छ)। “यस भिडियोमा शरीरको प्रतिरक्षा प्रणालीको भूमिका निभाउँदै एउटा श्वेत रक्तकोष रक्तनलीको भित्री सतहमाथि गुड्दै गएको र त्यो चेप्टो बनेर रक्तकेशिकाका कोषहरूको बीचबाट छिरेर इन्फ्लामेशनको स्थानमा पुगेको देखाइएको छ।” (विकिपिडिया)।

सृष्टिले यो देखाइरहेको छ कि सृष्टिकर्ता हुनुहुन्छ। कम्प्यूटर बनाउन कम्प्यूटर इञ्जिनियर चाहिन्छ। तर  कम्प्यूटरको जटिलता एउटा कोषको जटिलताको तुलनामा नगन्य छ। १६० वर्ष अगाडि डार्विनले कोष रासायनिक मिलनद्वारा आफसेआफ बन्न सक्छ भनेर अड्कल काटे। तर अब त कसैलाई बहाना छैन। हुन त कसैलाई कहिल्यै बहाना छैन किनकि यस्तो लेखिएको छ, “किनकि संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् — सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक संसार सम्बन्धी प्रमाणित ज्ञान हो। तर क्रमविकासवाद संसारको उत्पत्ति सम्बन्धी एउटा काल्पनिक धारणा मात्र हो। यसलाई विज्ञानको परिभाषाअनुसारको “थियरी” वा वैज्ञानिक सिद्धान्त समेत मान्न सकिन्न किनकि यसलाई वैज्ञानिक तवरले प्रयोगशालामा जाँच्न सकिने कुनै उपाय छैन। उन्नाइसौं शताब्दीका चार्ल्स डार्विनद्वारा प्रतिपादित क्रमविकासवाद वैज्ञानिक प्रणाली2 द्वारा कहिल्यै प्रमाणित भएको छैन।

विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य ज्ञान विज्ञानको पहुँचभन्दा बाहिर छ।

सृष्टिको प्रारम्भमा केवल अनादिदेखिका त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य कुराहरू बताउन सक्नुहुन्छ। अर्थात् मानिसले सृष्टिको बारेमा जान्ने हो भने उसलाई सृष्टकर्ता स्वयंले विशेष प्रकाश प्रदान गर्नु आवश्यक छ। ठिक यही कुरा उहाँले आफ्‍नो एकमात्र लिखित प्रकाश बाइबलद्वारा संसारलाई दिनुभएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्। बाइबल वैज्ञानिक तवरले अचूक छ भन्ने कुराका केही प्रमाणहरूका लागि पढ्नुहोस्: बाइबलको प्रमाण

निष्कर्ष

चाहे इतिहासको बारेमा होस्, चाहे विज्ञानको बारेमा, हाम्रो निम्ति प्रभु येशू ख्रीष्टको वचन आधिकारिक हुन्छ। जो मृत्युबाट बौरेर उठ्नुभयो र जसले भन्नुभएका एक-एक वचन पूरा भए र साथै उहाँको सम्बन्धमा भविष्यवाणी गरिएका एक-एक कुरा उहाँको जीवनमा पूरा भए, उहाँलाई विश्वास नगरीकन अरू कसलाई विश्वास गर्ने? एउटा वैज्ञानिकलाई वा विद्वानलाई? एउटा साँचो ख्रीष्टियनले त्यसो गर्न सक्दैन, मिल्दैन। मानिस भनेको केवल मरिजाने नाकमा सास भएको प्राणी मात्र हो, चाहे ऊ वैज्ञानिक होस् वा जोसुकै होस्। प्रभु येशू ख्रीष्ट मृत्युबाट वास्तवमै बौरेर उठ्नुभयो र सदासर्वदा जीवित हुनुहुन्छ। उहाँले सृष्टिको सम्बन्धमा जे भन्नुहुन्छ त्यही कुरा नै हामी विश्वास गर्दछौं।

बाइबलको सृष्टिको वृत्तान्त पूरै सत्य भएको कुरा उहाँले प्रस्टै जनाउनुभयो, “के तिमीहरूले पढेका छैनौ? शुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)

“के तिमीहरूले पढेका छैनौ?” भन्ने प्रश्न सोध्नुहुँदै उहाँले उत्पत्तिको पुस्तक वास्तविक इतिहासको पुस्तक हो भनेर यहाँ समर्थन गर्नुभयो। “शुरुमा” भन्नुहुँदै उहाँले सृष्टिको शुरुको वास्तविक बयान उत्पत्तिको पुस्तकले बताउँछ कुराको समर्थन गर्नुभयो। अनि “नर र नारी बनाउनुभयो” भन्नुहुँदै उहाँले आदम र हव्वा वास्तविक ऐतिहासिक व्यक्तिहरू थिए र सम्पूर्ण मानवजाति कुनै बाँदरबाट नभएर आदम र हव्वाबाट आएका हुन् भनेर प्रस्टै सिकाउनुभयो।

यस वेबसाइटमा क्रम-विकासवाद र बाइबल सम्बन्धी अर्को पृष्ठ यहाँ छ: क्रम-विकासवाद

  1. http://en.wikipedia.org/wiki/Biogenesis
  2. Henry Morris, Ph.D., The Scientific Case Against Evolution: A Summary Part 1, http://www.icr.org/article/
Revised and expanded: June 21, 2020

भिडियो गेमबाट छुटकारा – एक गवाही

सौगात कुँवर

भिडियो गेमबाट छुटकारा – एक गवाही

 २ कोरिन्थी ५: १७ – “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्।” परमेश्वरलाई धन्यवाद भएको होस् यो पदको लागि, अनि विशेष उहाँले मेरो जीवनमा गरिदिनुभएको महान् कामको लागी। अनि साँच्चै ती सबै पुराना कुराहरू बितिगएका छन् जो मेरो जीवनमा थिए, अनि नयाँ भएका छन्। धन्यवाद दिन चाहन्छु परमेश्वरलाई त्यसको लागि। अनि यो गेममा चाहिँ मैले प्रभुलाई पाउनु भन्दा अगाडि म ज्यादै भिजेको थिएँ – एकदम ज्यादै। अनि गेम भनेपछि मलाई अरू केहि पनि चाहिदैनथ्यो – निन्द्रा, भोक, मेरो परिवार, आफन्त, साथीहरू – केहि पनि। बस, मलाई गेम भए पुग्थ्यो। अनि यो गेममा म यति डुबिसकेको थिएँ कि म यसबाट कहिले निस्कन सक्दिनथिएँ। वास्तवमा म निस्कन पनि चाहन्न थिएँ किनभने मलाई ज्यादै मन पर्थ्यो यो। अनि आफूलाई मन पर्ने कुरा छोड्न गाह्रो हुन्छ।

(पूरा गवाही सुन्नलाई तलको भिडियो लिङ्कमा क्लिक गर्नुहोस्।)

इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्। तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्। चौथो शताब्दिका सिबील (Sybil) अगमवक्तिनीहरूलाई विचार गर्नुहोस्। कन्स्टान्टीन (Constantine) लाई टाइबर नदीको किनारस्थित युद्धभूमिमा भेट्नु अघि जब म्याक्सेन्टियस  (Maxentius) ले तिनीहरूसित सोधखोज गरे, उनलाई यो बताइयो कि “त्यस दिनमा रोमको  शत्रु नष्ट हुनेछ।” यो भविष्यवाणी यति अस्पष्ट थियो कि जसले जिते पनि उसलाई यो लागु गर्न सकिन्थ्यो! नोस्ट्रादामस (Nostradamus) का भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन। ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)। जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ। एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्  १९६८ मा चीन ईसाई बन्नेछ र सन् १९९९ मा हारमागेडोनको युद्ध चल्नेछ। इस्लामको भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न कुराले इस्लामको मसीह “दज्जल” लाई जनाउँछ। “आफूसित पानी र आगो लिएर दज्जल निस्किआउनेछन् अनि जुन कुरा मानव जातिले पानी भनी देख्छन् त्यो जल्ने आगो हुनेछ र जुन कुरा आगो भनी देख्छन् त्यो चीसो र मीठो पानी हुनेछ” (Hadiths of Bukhari)। हिन्दू भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न बयान कलियुगको हो: “जब छल, झूट, अल्छेपना, निन्द्रा, उपद्रव, नैराश्य, शोक, भ्रम, डर र गरिबी व्यापक हुनेछ, त्यो नै कलियुग हो।” यो त यति अस्पष्ट छ यस बयानले मानिसको पतन भएदेखिको जुनसुकै समयलाई पनि बयान गर्न मिल्छ। तुलनामा बाइबलका भविष्यवाणीहरू प्राय: स्पष्ट र विस्तृत छन् र ती कहिल्यै चुकेका छैनन्। जस्तै, ख्रीष्टको पहिलो आगमन सम्बन्धीका भविष्यवाणीहरूले उहाँको आगमनको एकदम ठिक समय, उहाँको एकदम ठिक जन्मस्थान, उहाँका हातपाउहरू क्रूसमा छेडिने कुरा, क्रूसबाट उहाँले बोल्नुहुने शब्दहरू, सिपाहीहरूले उहाँका वस्त्रका निम्ति गोला हाल्ने कुरा, उहाँलाई धनी मानिसको चिहानमा गाडिने कुरा, र अन्य थुप्रै घटनाहरूलाई बयान गरेका थिए। इस्राएल सम्बन्धी भविष्यवाणीहरू पनि उत्तिकै विशुद्ध छन्। भनिन्छ, फ्रेड्रिक द ग्रेट (Frederick the Great) ले एक पटक बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण एउटै शब्दमा दिन लाए। उनको आत्मिक सल्लाहकारले जवाफ यसरी दिए, “यहूदी, मौसुफ” (Robert Newman, “Israel’s History Written in Advance,” Evidence for Faith, edited by John Montgomery, pp. 193-201). इस्राएलीहरू एउटा राष्ट्रको रूपमा भर्खरै सङ्गठित बनेको अवस्थामा, उनीहरू प्रतिज्ञाको देशभित्र पस्नु अगाडि नै मोशाले उनीहरूको सम्पूर्ण इतिहासको भविष्यवाणी गर्‍यो। परमेश्वरले यो चेतावनी दिनुभयो कि इस्राएल यदि उहाँको व्यवस्थादेखि मोडियो भने परमेश्वरले त्यसलाई न्याय गर्नुहुनेछ। हेर्नुहोस् व्यवस्था २८:२५-३२, ३६-३७, ६३-६७; ३०:१-६ यो भविष्यवाणी ईपू १४५० ताका लेखिएको थियो, अर्थात् लगभग ३,५०० वर्ष अगाडि। उक्त भविष्यवाणीले इस्राएल विदेशी शक्तिहरूद्वारा पराजित हुने कुरा, आफ्‍नो भूमिबाट निस्कासन गरिने कुरा, पृथ्वीको पल्लो छेउसम्म छरपुष्ट पारिने कुरा, र फेरि फर्काइने कुराको बयान गर्दछ। १. भूमिको मरुस्थलीकरण मोशाले यो बताए कि इस्राएल एउटा मरुभूमि बन्नेछ। वर्षाचाहिँ धूलो र बालुवा हुनेछ (व्यवस्था २८:२३-२४), अनि भूमिचाहिँ “गन्धक, नुन र जलिरहेको आगो” हुनेछ (व्यवस्था २९:२३)। इस्राएल ईपू १५ औं शताब्दीमा कनानभित्र प्रवेश गर्दा, त्यो एउटा बगैँचा जस्तै फलवन्त भूमि थियो, अनि परमेश्वरले उक्त भूमिमा अघिल्लो र पछिल्लो वर्षा पठाउनुभयो। त्यसको ४०० वर्ष अघि अब्राहामको समयमा, इस्राएलको दक्षिण भागमा रहेको यर्दनको बेंसी “जहाँतहीँ पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो … थियो (उत्पत्ति १३:१०)। परमेश्वरले त्यसलाई “दूध र मह बग्ने” भूमिको रूपमा बयान गर्नुभयो, जसको माने भूमि राम्ररी सिँचिएको थियो र प्रशस्त पाल्तुपशुले र फूल फुल्ने बोटविरूवाले लटरम्म थियो (व्यवस्था ३१:२०)। रूबेन र गादका कुलहरू यर्दनको पूर्वपट्टि बसोबासो गरे किनकि तिनीहरूका “अति धेरै गाईबस्तुहरू थिए” अनि तिनीहरूले यो देखे कि “त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो” (गन्ती ३२:१)। उनीहरूले वर्तमान जोर्डन राष्ट्रको दक्षिणी भागको बयान गर्दैथिए जो आज एक उराठिलो मरुभूमि रहेको छ। त्यतिखेर त्यो मरुभूमि थिएन, तर इस्राएलको पाप र मूर्तिपूजाको कारण परमेश्वरले वर्षा बन्द गरिदिनुभयो र भूमि एक बाँझो मरुभूमि बन्यो, अनि आज अधिकांश भूमि  नै त्यस्तै छ। इस्राएलको अधिकांश भागहरूमा जे उब्जनी गरिन्छ त्यो सिँचाइले मात्र गर्न सकिन्छ। आज केही भेडाहरू पालेर जसोतसो जीविका धान्न सकिन्छ (सिँचाइ गरिएका र्‍याञ्चहरूलाई छोडेर), तर बथान का बथान भने पाल्न सकिन्न। इस्राएलको भूमि स्वयं प्राचीन बाइबल भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो। २. छिन्न-भिन्नकरण र सतावट व्यवस्था २८:६३-६७ यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो। ७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्‍यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए। इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ। उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा  निस्कासन गरिए), जर्मनीहरू, सुरूका लुथरनहरू, अनि अरू धेरैद्वारा घृणित भएको छ। अनि आज फेरि एन्टिसेमिटिज्मको पुनर्जागरण भएको छ। दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू। तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
“उनीहरूको संरक्षण साँच्ची नै ईश्वरीय नियन्त्रणको एउटा सबैभन्दा उत्कृष्ट काम हो। उनीहरू सबै जातिहरूका बीच तितरबितर छन्, तरैपनि कसैसित मिसिएका छैनन्। … उनीहरूले आफ्‍नो वंशावली संसारकै सुरुदेखि उतार्न सक्छन्। …युद्धहरू, संहारहरू र सतावटहरूपछि उनीहरू अझै अस्तित्वमा छन्; उनीहरू अझै थुप्रै छन्। अलौकिक शक्तिले नभए कसले उनीहरूको यस्तो तवरले संरक्षण गरेको हो जसरी अन्य कुनै पनि विश्वको राष्ट्रलाई गरिएको छैन?” (Dissertation on the Prophecies, VIII, section 2).
Walter Scott ले लेखे:
“एक समय मिस्र, असिरिया, बेबिलोन, पर्सिया, ग्रीस र रोमका सामर्थी राजतन्त्रहरू उठे, फस्टाए र ढले, स्थायी रूपमा कुनै परिणामहरू नछोडीकन गए। तर ती प्राचीन राज्यहरूको भन्दा अगाडिदेखिको विश्वसनीय इतिहास भएका यहूदीहरू भने हामीसँग आजसम्म छँदै छन्। मुखाकृति र राष्ट्रिय चरित्रको दृष्टिमा यहूदी झण्डै ४,००० वर्षको इतिहासमा पनि बदलिएको छैन। … यहूदीहरू एउटा जतिको रूपमा नाश गरिनु सम्भव छैन। परमेश्वर नै उनीहरूका रक्षक र संरक्षक हुनुहुन्छ, उनीहरू उहाँको न्याय शासनको मुनि रहँदा पनि जस्तो आज उनीहरू छन्। यहूदीहरू घरबिहीन, देशबिहीन, सरकारबिहीन, नेतृत्वबिहीन भएर पनि जातीय विश्वासमा, भावनामा र आशामा अन्यजातिहरूदेखि छुट्टै जातिको रूपमा रहेका छन्, जसरी उनीहरू थिए दाऊद र सुलेमानका दिनहरूमा” (Walter Scott, At Hand, Or, Things That Must Shortly Come to Pass, 1910)।
3. आफ्‍नै भूमिमा उनीहरूको पुनस्थापना बाइबल भविष्यवाणीले इस्राएलको छिन्न-भिन्नकरण र कष्टको मात्र नभएर इस्राएल फेरि आफ्‍नो भूमिमा फर्काइनेछ भन्ने कुराको पनि बयान गरेको छ (व्यवस्था ३०:१-५)। अन्य थुप्रै भविष्यवाणीहरूले इस्राएलको फर्काइलाई बयान गर्दछ। बाइबल विश्वासीहरूले यो जान्दथे कि इस्राएल पुनस्थापित हुनेछ किनकि भविष्यवाणीहरूले यसको माग गरेको थियो। जस्तै, सन् १९१० मा ओटोमान साम्राज्यले इस्राएलको भूमिमाथि राज्य गर्दै गरेको समयमा, जुन बेला थोरै मात्र यहूदीहरू त्यहाँ बसोबासो गर्दथे, त्यसबेला Walter Scott ले लेखे:
“वचनमा योजनाबद्ध रूपमा रहेको भविष्यवाणीको व्यवस्थित प्रणालीको आवश्यकता बमोजिमको वस्तुस्थिति सृजना हुनलाई पहिलो र अपरिहार्य आवश्यकता नै हिब्रू राष्ट्रको पुनस्थापना हो। अगमवाणीको सम्पूर्ण भविष्य यही प्राथमिक तथ्यमा निर्भर छ। यस पृथ्वीमा परमेश्वरको शासन प्रणालीको केन्द्रमा अन्यजाति होइन तर यहूदी रहेको छ। त्यसैले आफ्‍नो भूमिमा यहूदा पुनस्थापित हुनु नै सबै कुरालाई प्रभावित पार्ने जड कुरो हो। यो नै शताब्दियौंको महान् राजनीतिक घटना हुनेछ जसले विश्वकै ध्यानाकर्षण गर्नेछ। … जुनसुकैबेला र जोसुकैद्वारा यहूदाको पुनस्थापना पूरा होस्, यसको फलस्वरूप विश्वको सम्पूर्ण राजनीतिक शासन प्रणालीलाई प्रभाव पार्नेछ। … इस्राएल पल्यालेस्टाइनमा पुनस्थापित हुनु नै भविष्यवाणीले माग गरेको पहिलो र आधारभूत आवश्यकता हो” (Walter Scott, At Hand, Or, Things Which Must Shortly Come to Pass, 1910)।
बाइबल अगमवाणीमाथिको उनीहरूको विश्वासले गर्दा जुन कुरा वाल्टर स्कट र अरू बाइबल विश्वासीहरूले लामो समयदेखि अगाडिबाटै देखेका थिए त्यो कुरा सन् १९४८ मा पूरा हुन गयो। इस्राएल पवित्र भूमिमा पुनस्थापित मात्र भएन, उसले आफू एउटा आधुनिक राष्ट्रको रूपमा स्थापित भएको पनि घोषणा गर्‍यो।

दुई चरणमा हुने पुनस्थापना

इस्राएल फर्केर आउने कुरा इजिकिएल ३७:१-१४ को अचम्मको भविष्यवाणीमा बयान गरिएको छ। यहाँ इस्राएललाई सुख्खा हड्डीहरूको बेंसीको रूपमा वर्णन गरिएको छ। पद ११ ले यसको अर्थ प्रकाशन गरेको छ: यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्।” विगतको २००० वर्षसम्मको इस्राएलको अवस्था नै सुख्खा हिड्डीहरूको अवस्था थियो। इस्राएल संसारकै पल्लो छेउ-छेउसम्म छरपुष्ट पारिएको थियो र हेर्दा ऊ मरिसकेको र खत्तम भइसकेको जस्तो देखिन्थ्यो। इजिकिएललाई यो बताइन्छ कि इस्राएल फेरि जीवित पारिनेछ र दुई चरणहरूमा पुनस्थापित गरिनेछ। पहिलो, ऊ भूमिमा फर्काइनेछ तर आत्मिक रूपमा मरेको अवस्थामा। पद ८ ले यो बताउँछ कि मरेका हड्डीहरू उठाइए तर “तिनमा सास थिएन।” त्यसपछि उसले आत्मिक पुनर्जागरणको अनुभव गर्नेछ। यो चाहिँ महासङ्कष्टकालमा हुनेछ, ठिक ख्रीष्टको पुनरागमन हुनुभन्दा अगाडि। आज इस्राएल ठिक यही अवस्थामा छ। सन् १९४८ मई १४ को मध्यरातमा नयाँ राष्ट्र इस्राएलको घोषणा गरियो। औपचारिक घोषणाले यो बतायो: “हामी यसद्वारा प्यालेस्टाइनमा यहूदी राष्ट्रको स्थापनाको घोषणा गर्दछौं जसलाई मेदिनाथ  इस्राएल (इस्राएलको राष्ट्र) भनिनेछ। … इस्राएल राष्ट्र सबै देशहरूमा तितरबितर भएका यहूदीहरूको अनुगमनको निम्ति खुल्ला हुनेछ। … सारा संसारभरि भएका यहूदीहरूलाई इस्राएललाई छुट्कारा दिलाउने पुस्तौंदेखिको सपना साकार बनाउने यस महान् संघर्षमा अनुगमनको काम र विकासको काममा हामीसित एकजुट हुन अनि हाम्रो साथमा खडा हुन हामी आह्वान गर्दछौं। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्दै, मातृभूमिको माटोमा रहेर, तेल अबिबको शहरमा, यस विश्रामदिनको साँझ, ल्यारको पाँचौं, ५७०८ मा, मईको चौधौं, १९४८ मा, यस अस्थायी राष्ट्रिय परिषदको बैठकमा हामी यस घोषणापत्रमा हामी हस्ताक्षर गर्दछौं।” एघार मिनेट पछाडि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान, एक ब्याप्टिस्ट, ले इस्राएललाई स्वीकार गरेको कुरा घोषणा गरे। संसारभरि यहूदीहरूले हर्षोल्लास मनाए। जताततै सभाघरहरूमा धन्यवादको सेवाहरू भए। रोममा यहूदीहरू आर्च अफ टाइटस (Arch of Titus) मुनि जुलुस निकाले, जुन आर्च ७० एडीमा भएको यरूशलेमको विध्वंशको स्मारक हो। उनीहरू भन्दैथिए, “हामी मरेकाहरूबाट फर्की आएका छौं!” यो त इजिकिएल ३७ को अति नाटकीय पूराहुवाइ थियो। प्राचीन रोमी साम्राज्य उसको सम्पूर्ण महिमासित टलेर गइसक्यो तर इस्राएल छँदैछ। तुरुन्तै यो नयाँ यहूदी राष्ट्र आफ्‍नो स्वतन्त्रताको निम्ति युद्धमा (War of Independence) होम्मिनुपर्‍यो जब यहूदीहरू अरबीहरूको विशाल र सुसज्जित सेनाहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्न बाध्य बने। अरब संघ (Arab League) मा मिस्र, जोर्डन, सिरिया, लेबनन र इराक एकजुट भएको थियो। ब्रिटेनले अरबीहरूलाई अस्त्रले सुसज्जित गर्न र यहूदीहरूलाई अस्त्ररहित पार्न भ्याएसम्म प्रयास गर्‍यो। इस्राएलका शत्रुहरूले देशबाहिरबाट मात्र हमला गरेका होइनन्; उनीहरूले युद्ध सुरु हुनुभन्दा अगाडिबाटै देशभित्र बलियो गरी मोर्चा बाँधिसकेका थिए।  इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्‍यो। इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ। यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ। तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो। यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्। इस्राएलको आत्मिक अन्धापना आफ्‍नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ। इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्। इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए। इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत  पहिलेका फरिसीहरूभन्दा केही फरक छैनन्। उनीहरू प्रार्थना गर्छन् तर उनीहरूका प्रार्थनाहरू व्यर्थको देखावटी रीति मात्र हुन्। उनीहरू महापवित्रस्थानको नजिक हुन वेलिङ वाल (Wailing Wall) नेर जान्छन् र आफ्‍ना फाइलेक्टरीहरू (phylacteries) लाई ठ्याक्कै मिलाएर लगाएको कुरालाई, कस्तो तरिकाले र निश्चित हल्लने तरिकाले प्रार्थना गरेको आदि कुरालाई निकै महत्त्व दिँदै देखाउँछन्। उनीहरू खानपीनका नियम (कोशर) पालन गर्छन् तर बाइबलले भनेको भन्दा धेरै पर जान्छन्। जस्तै बाख्राको पाठोलाई आमाको दूधमा नउमाल्नू भनिएको छ (व्यवस्था १४:२१)। यहूदी परम्पराले यसमा थपेर दूध वा दूधबाट बनेको चीजजस्तो कुनै कुरासित खाइनु हुँदैन भन्छ। (चीजबर्गर खान नपाइने!) परमेश्वरको व्यवस्थाले यो भनेको छैन। यो मान्छेको व्यर्थको परम्परा हो जो परमेश्वरको पवित्र व्यवस्थामा थपियो। येशूको समयमा जस्तै, आज पनि यहूदीहरू भुसुनालाई चाल्छन् तर ऊँटलाई निल्छन् (मत्ती २३:२४)। इस्राएलको आत्मिक अन्धापना पुरातत्त्वको अध्ययनमा प्रत्यक्ष देखिन्छ। बाइबलको सत्यताको पक्षमा प्रमाणहरू भेट्टाउने काममा अग्रपन्थीमा हुनुपर्ने यहूदी पुरात्त्वविदहरू सबैभन्दा  उग्र शत्रुका रूपमा खडा छन्। हामीलाई बताइएको छ कि तेल अबीबका पुरातत्त्वविदहरू बाइबलीय सन्देहवादको अग्रपन्थीमा छन्। एबाल डाँडा (Mt. Ebal) मा रहेको यहोशूको वेदीलाई उत्खनन गरेका आदम जर्टाल (Adam Zertal) ले स्टिभ रड (Steve Rudd) लाई यो बताए कि “इस्राएलका विभिन्न विश्वविद्यालयहरूमा रहेका प्राध्यापकहरू नै पुरातत्त्व क्षेत्रमा रहेका सबभन्दा बाइबल-विरोधी तत्त्वहरू हुन्” (“Joshua’s Altar”, https://www.bible.ca/archeology/bible-archeology-altar-of-joshua.htm) तर उसको अन्धापनाको बाबजुद नै इस्राएलले बाइबल भविष्यवाणी पूरा गर्दैछ। ऊ भूमिमा फर्केको छ अनि तेस्रो मन्दिर निर्माण गर्ने तयारीमा छ जुन कुरा बाइबलमा भविष्यवाणी गरिएको छ। बाइबलको ईश्वरीय प्रेरणाको मौन गवाहीको रूपमा, टेम्पल माउन्ट (Temple Mount) को पारिपट्टि ठिक अघिल्तिर एउटा २० लाख डलरको सुनको सामदान खडा छ, तेस्रो मन्दिरको पर्खाइमा। बाइबलले बताउँछ कि यो मन्दिरमा ख्रीष्टविरोधी बस्नेछ (मत्ती २४:१५; २ थेस्सलोनिकी २:४)।  इस्राएल पुनर्जीवित पारिने काम महासङ्कष्टको समयमा हुनेछ जोचाहिँ मण्डलीयुगका पवित्र जनहरूको र्‍याप्चरपछि हुनेछ। साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan, The Resurrection of Christ, 1961, p.14) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ। अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै ढलेको छैन” (Lord Lyndhurst or John Singleton Copley, Attorney General of Great Britain, Lord Chancellor of England, High Steward of the University of Cambridge, सम्भवत: निम्न मौलिक रचनाबाट: Theodore Martin, A Life of Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र उहाँको मृत्यु हुनुभन्दा ठीक अघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith, Therefore Stand, p. 360). “रित्तो चिहान कसरी रित्तो भयो भनेर बताउन खोज्ने आश्चर्यकर्मरहित व्याख्याहरूले एउटा निर्दयी छनोटको सामना गर्नुपर्ने हुन्छ: उनीहरूले कि त आफूलाई अनुकूल पर्ने किसिमको प्रमाणको पुनर्लेखन गर्नुपर्ने हुन्छ कि त उपलब्ध प्रमाणहरूको सवालमा आफूहरूले उचित व्यवहार नगरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ। प्रमाणसित मेल खाने एउटै अवधारणा यो हो कि येशू वास्तवमै बौराइनुभयो। जुन मानिसले आफ्‍नो मृत्यु र बौरिउठाइको भविष्यवाणी गर्नुभयो अनि भन्नुभए जस्तै ठ्याकै हुन गयो, उहाँ परमेश्वर नभए को हुनुहुन्छ त?” (Winfred Corduan, No Doubt about it: The Case for Christianity, p. 277).

परिचय

  1. बाइबलले यो बताउँछ कि ख्रीष्टको बौरिउठाइका त्यहाँ “अनेकौं अचूक प्रमाणहरू” छन् (प्रेरित १:३)। वास्तवमा यो घटना प्राचीन इतिहासकै सर्वोत्कृष्ट रूपमा अभिलेख गरिएको घटना मध्ये एक हो। बाइबलीय ख्रीष्टियन विश्वास अन्धो धार्मिक विश्वास होइन!
  2. येशू, बाइबल र इसाईमत, ख्रीष्टको बौरिउठाइकै कुराले कि त खडा रहन्छ कि त ढल्दछ! बाइबलको दाबी यो छ कि येशू सम्बन्धी बाइबलका विवरणहरू ऐतिहासिक विवरण हुन्, प्रत्यक्षदर्शीका विवरण हुन् (लूका १:१-४; २ पत्रुस १:१५-१६; १ यूहन्ना १:३)। ती विवरण यदि ऐतिहासिक रूपमा अचूक छैनन् भने तिनलाई अस्वीकार गरिनु उचित हो। ख्रीष्टले आफ्‍नो आधिकारिकतालाई बौरिउठाइले जाँच्न सकिने रूपमा प्रस्तुत गर्नुभयो (कम्तीमा पनि सात पटक उहाँले आफू मारिनुहुने र त्यसपछि मरेकाहरूबाट बौराइनुहुने कुरा गर्नुभयो — मत्ती १६:२१; १७:९,२२-२३; २०:१८-१९; २६:३२; लूका ९:२२-२७; यूहन्ना २:१८-२२)।पावलले यो लेखे कि ख्रीष्टियन विश्वास ख्रीष्टको बौरिउठाइमा निर्भर रहेको विश्वास हो (१ कोरिन्थी १५:१४-१७)।

ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

1. सुसमाचारका वृत्तान्तहरूका चरित्र

सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का वृत्तान्तहरूको चरित्रलाई हेर्दा ती आफैले यस्तो प्रमाण दिइरहेका छन् कि ती वृत्तान्तहरू आफूले लेखेको कुरा वास्तविक हुन् भन्ने कुरा विश्वास गर्ने प्रत्यक्षदर्शीहरूद्वारा लेखिएका हुन् जोहरूले बिना बढाइचढाइ र बनावटी कुरा नगरी सत्य बोल्दैथे। ती वृत्तान्तहरूका विवरणहरूलाई विचार गर्नुहोस्।
“यूहन्नाको सुसमाचारमा पूरापूर व्यक्तिगत स्पर्शको चरित्र भेटिन्छ; त्यसमा एउटा प्रत्यक्षदर्शीको मात्र नभएर एकजना सचेत अवलोकनकर्ताको प्रमाणका सबै लक्षणहरू भेटिन्छन् … चेलाहरू दगुरेर गएको, उनीहरू चिहानमा कोपछि को आइपुगेको र छिरेको, यूहन्ना पहिला आफूलाई रोकेर होचो प्रवेशद्वारभित्र हेर्दा सूती कपडा पडिरहेको देखेको तथ्य, जब कि पत्रुस, बढी साहसी, पहिला भित्र छिरेको … सुती कपडा र रूमालको अवस्था र स्थानको बयान … यी त आफूले वास्तवमै देखेको व्यक्तिको बयान बाहेक अरू केही हुन सक्दै-सक्दैन, जुन व्यक्तिको सम्झनामा उक्त दृश्यको छाप अझै पनि रहिरहेको छ, जसको निम्ति त्यो रित्तो चिहान र छोडिएको कात्रोको दृश्य, उसको विश्वास र जीवनमै एक निर्णायक विन्दु बनेको थियो।” (E. Day, On the Evidence of the Resurrection, pp. 16-17)
ती वृत्तान्तहरूको खरापनलाई (निष्कपटतालाई) विचार गर्नुहोस्। कसैले एउटा धर्म सुरू गर्नु छ त उसले त्यसका अग्रजहरूको बढाइचढाइ गर्छ तर सुसमाचारका लेखोटहरूले इसाईमतका संस्थापकहरूलाई ज्यादै कमजोर व्यक्तिहरू भएको तस्वीर प्रस्तुत गर्दछन् (जस्तै पत्रुसलाई ख्रीष्टले शैतानको संज्ञा दिँदै हप्काइनुपरेको, मत्ती १६:२३; पत्रुसले ख्रीष्टलाई तीन-तीनपटक इन्कार गरेको; चेलाहरू भागेको, लुकेको; ख्रीष्ट उनीहरूकहाँ देखा परिसक्नुभएपछि पनि थोमा र अरूहरूले शङ्का गरेको)।

अझ, यदि ख्रीष्टको बौरिउठाइको घटना पुरुषहरूद्वारा रचिएको बनावटी कुरा थियो भने, उनीहरूले विश्वास गर्नेहरूमा पहिलो चाहिँ स्त्रीहरू थिए भनेर पक्कै पनि भन्ने थिएनन्। त्योबेलाको समाजको नजरमा स्त्रीहरूको कुनै आधिकारिकता हुँदैनथ्यो। त्यसबेलाको समयमा स्त्रीहरूले कानूनी अड्डामा साक्षी समेत बन्न पाउँदैनथे, कुनै कुनै अवस्थामा बाहेक (J.P. Moreland, Scaling the Secular City, p. 168)। घटना वास्तवमै त्यस्तै नभएको भए र लेखकहरू सत्यको र सत्यको मात्र अभिलेख गर्नलाई पूरै समर्पित व्यक्तिहरू नभएका भए, स्त्रीहरूले पहिला विश्वास गरे भनेर खास लेखिने खालको कुरै थिएन। यो असाधारण खरापना यस कुराको बलियो प्रमाण हो कि सुसमाचारका लेखोटहरू सत्य, रङले नपोतिएका वृत्तान्तहरू हुन्।

2. रित्तो चिहान

येशूको चिहान रित्तो भएको कुरा दुईटा तथ्यले प्रमाणित गर्दछन्: पहिलो, यहूदी अगुवाहरू उहाँको शरीर चेलाहरूले चोरेका हुन् भन्ने झूट फैलाउन बाध्य भए (मत्ती २८:११-१५)। यदि येशूको शरीर कतै न कतै भएको भए त उनीहरूले खोजेर त्यसलाई अवश्य प्रस्तुत गरिहाल्थे। दोस्रो, क्रूसीकरणको केही थोरै हप्तापछि नै, पत्रुसले सार्वजनिक रूपमा, उक्त रित्तो चिहानबाट धेरै पर पनि होइन, बौरिउठाइको प्रचार गरे र ३,००० जतिले विश्वास गरे, जसको थोरै समयपछि “पुजाहारीहरूको एउटा ठूलो भीडले” अनि “धेरै जनाले” विश्वास गरे (प्रेरित २:३७-४२; ६:७; ११:२१)। यदि शरीरलाई प्रस्तुत गर्न सक्ने कोही थिए भने वा त्यो नभेटिनुको मुनासीव कारण बताउन सक्ने कोही थिए भने, तिनीहरूले अवश्य सो गरिहाल्थे! रित्तो चिहान किन रित्तो थियो भनेर बताउने प्रयास स्वरूप निम्न परिकल्पनाहरू प्रस्ताव गरिएका छन्:
“बाइबल आलोचनाको भूमि एउटा विशाल चिहानडाँडा जस्तो देखा पर्छ। निकै कल्पनाशक्ति भएका सन्देहवादीहरूले दिमाग घोटेर विभिन्न परिकल्पना रचेका छन् तर ती एक-एक नै रद्दी ठहरिएर मिल्काइँदा तिनका हड्डीहरूले उक्त चिहानडाँडा भरिन पुगेको छ … कसैलाई लाग्दो हो, यति धेरैपटक दोहोरिएको विफलताले गर्दा विरोधीहरूले अब प्रयास गर्न छाड्नेछन्। तर कहाँ हुनु। उनीहरू अविरल रूपमा लागिरहन्छन्, अनि मानिसहरू अझै आफ्‍ना दिमाग घोट्दैछन्, कल्पनाशक्तिलाई ओभरटाइम काममा लाउँदैछन्, उनीहरू भएभरको विद्वता र चतुरता प्रदर्शनी गर्दैछन्। उनीहरू ऐतिहासिक प्रमाणको एउटा अजेय चट्टानलाई नष्ट गर्नलाई, हामीले देख्दा, व्यर्थका प्रयास गर्दैछन् जुन चट्टानमाथि नै बौरिउठामाथिको ख्रीष्टियन विश्वास गर्वका साथ, नहक्लीकन, खडा रहिरहेको छ।” (John Lilly)

१. कतिले यो भन्छन् कि येशू बेहोश मात्र हुनुभएको थियो र चिहानभित्रको चीसोले उहाँको होश फर्केर आएको मात्र हो।

उहाँ वास्तवमा मरिसक्नुभएको कुरालाई पेशागत सिपाहीहरूले पक्का गरिसकेको तथ्यले यो परिकल्पना रद्द हुन्छ (यूहन्ना १९:३१-३४)। सोच्ने हो भने, झण्डै-झण्डै मरिसकेको एउटा मान्छेले चिहानको त्यत्रो गह्रौं ढुङ्गालाई हटाउन सक्न कहाँ सम्भव थियो र? अनि त्यसपछि गएर आफ्‍ना चेलाहरूलाई आफू मृत्युबाट बौरेको हुँ भनेर विश्वास दिलाउनु कसरी सम्भव हुन्थ्यो र? ख्रीष्टले भोग्नुभएका शारीरिक यातनाहरूलाई विचार गर्नुहोस्: भयङ्कर प्रहारहरू खेप्नु, काँटीले हात र पाउलाई छेडिनु; एकातिर भाला रोपिनु (यूहन्ना १९:३४); अधिक मात्रामा रगत र शरीरका द्रव्यहरू गुमाएको हुनु।

२. कतिले यो भन्छन् कि स्त्रीहरू अर्कै चिहानमा पुगे।

The Historical Evidence for the Resurrection of Jesus Christ मा Kirsopp Lake ले यो दाबी गर्छन् कि स्त्रीहरू अँध्यारोमा अलमलिएर अर्कै चिहानमा पुगेका हुन्। यो कुरा सुसमाचारका वृत्तान्तहरूको विपरित मात्र छैन, यो अर्थ न व्यर्थको कुरा हो। स्त्रीहरू अर्कै चिहानमा पुगेका भए अनि त्यही गल्तीको आधारमा ख्रीष्ट बौरनुभयो भनी खबर पुर्‍याएका भए, त्यो कुराको स्पष्टिकरण उहिल्यै भइसक्थ्यो। प्रथमत, चेलाहरू बुद्धु थिएनन्। उनीहरूले एक दुई दिग्भ्रमित स्त्रीहरूकै गवाहीका निम्ति आफ्‍नो ज्यान फाल्नेवाला थिएनन्। उनीहरूले ती स्त्रीका बयानलाई अवश्य होशियारपूर्वक जाँच्नेथिए र सत्यतथ्य के हो भनेर टुङ्गो लाउनेथिए। त्यति मात्र कहाँ हो र, अझ पहिला यहूदी अगुवाहरू आफै गएर ‘खास चिहान यो पो हो’ र ‘ई शरीर यहाँ छ’ भनेर देखाइदिएर यो मामिलाको उहिल्यै टुङगो लगाइसक्थे!

३. कतिले यो भन्छन् कि चेलाहरूलाई मतिभ्रम भएको थियो।

यदि मतिभ्रम भएको थिए भने त्यो व्यापक मतिभ्रम भएको हुनुपर्छ किनकि पावलले यो लेखे कि बौरिउठ्नुभएका ख्रीष्ट एउटा अवसरमा एकै पटक ५०० भन्दा बढी व्यक्तिकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५-५-८)! पावलले पहिलो कोरिन्थीको पत्र लेख्दाको बेला ती प्रत्यक्षदर्शीहरू अधिकांश अझै जीवितै थिए। पावलले उहिले-उहिले भएको घटनाको कुरा गरिरहेका थिएनन्। जोश म्याकडावेल (Josh McDowell) को अवलोकनलाई विचार गर्नुहोस्: “हामी ती ५०० जनालाई एउटा अड्डा अदालतमा खडा गराऔं जोहरूले येशूलाई उहाँको मृत्यु र दफनपछि जीवित देखे। अब  सोच्नुहोस्। यदि ती ५०० जनाले ६-६ मीनेट मात्र आ-आफ्नो गवाही बक्न पाए भने — उनीहरूलाई केरकार गर्दाको समयलाई जोडेर समेत — तपाईंलाई ५० घण्टा बराबरको प्रत्यक्ष (first hand) बयान उपलब्ध हुनेथ्यो। अब त्यसमा थप्नुहोस् अरू थुप्रै प्रत्यक्षदर्शीहरूको गवाही। यो भनेको त इतिहासकै सबैभन्दा ठूलो, एकतर्फी मुद्दाको सुनुवाइ हुन जान्थ्यो।” (Evidence for Resurrection) यस्तो अनुमानले “ख्रीष्टलाई एउटा धोखेबाज बनाउँछ र उहाँका चेलाहरूलाई उल्लू बनाउँछ” भन्ने फ्र्याङ्क मोरीसनको अभिव्यक्ति सही हो। ती चेलाहरूले पछिबाट आफ्‍नो गवाहीका निम्ति बिनाडर कति ठूला संत्रास र सतावटहरू भोगे। उनीहरूले सामना गरेका ती सतावटहरूलाई हेर्दा, उनीहरू भित्र-भित्र शङ्का बोक्दै आधा मनले यस मतमा लागिरहेका व्यक्तिहरू थिए भन्न सक्नै त्यहाँ कुनै ठाउँ नै छैन।

४. कतिले यो भन्छन् कि उनीहरूले अर्कैलाई देखेका हुन् जसले येशूको रूप धारण गरेका थिए। (Hugh Schonfield, The Passover Plot)

यो त यति हास्यास्पद छ कि यसको खण्डन गर्नलाई समय खेर नफाल्दा हुन्थ्यो। तीन-तीन वर्ष येशूसँगै हिँडेका चेलाहरूले उहाँलाई चिन्न सक्ने थिएनन् र? एकछिन अलमलमा पर्नु, केही छोटो अवधिको लागि समेत दिग्भ्रमित हुनु, एउटा कुरा हो, तर समय बित्दै जाँदा निज आखिरमा एक धोखेबाज हुन् भनेर महसुस भइहाल्ने कुरा हो नि।

५. कतिले भन्छन्, उहाँको शरीर चोरिएको थियो।

यो कथन यहूदी अगुवाहरूको रचना थियो। उनीहरूले गार्डहरूलाई घुस दिए यो झूट बोल्न लगाए कि चेलाहरूले येशूको शरीर चोरे (मत्ती २८:११-१५)। यो एउटा असम्भव कुरा हो। पहिलो, उनीहरू सुतिरहेका भए, शरीरलाई के भयो भनेर उनीहरूले कसरी जान्न सक्थे र? अनि यदि चोरिएकै भए पनि, कसले चोरे भनेर कसरी जान्न सक्थे र? दोस्रो, गार्ड ड्यूटीमा सुत्नु भनेको मृत्युदण्डको सजाय पाइन्थ्यो त्यसबेला। एकजना सम्म गार्ड सुतेको कुरा सायद सोच्न सकिन्छ, तर सब का सब नै निदाएको हुनु भनेको सोच्नै योग्य कुरा होइन। विशेष गरी यस्तो असाधरण अवसरमा कि शरीर नचोरियोस् भन्ने हेतुले उनीहरू गार्ड बस्दैछन् ताकि क्रूसमा टाँगिएका येशू मरेकाबाट बौरिउठ्नुभयो भनी नभनियोस्। सबै सुते? सम्भव छ, तर विश्वास गर्न योग्य छैन। विशेष गरी जब यो विचार गरिन्छ कि ती गार्डहरू संसारकै सबभन्दा कडा अनुशासनमुनि रहेका सिपाहीहरू थिए। ड्यूटीमा निदाउनु भनेको त रोमी सिपाहीको लागि मृत्युदण्ड थियो। तरैपनि ती सिपाहीहरूलाई मारिएन, न ता शासकवर्गले उनीहरूलाई दोषी नै ठहराए। अवश्य नै ती शासकहरू शरीरलाई थुनेर राख्ने आफ्‍नो योजना विफल भएको देख्दा बेसरी लज्जित भएका र चिढिएका थिए। तेस्रो, उनीहरूको कामकुराले यो देखाउँछ कि यहूदी अगुवाहरूले आफ्‍नै बयानलाई विश्वास गर्दैनथे। शरीर छैन भन्ने कुरा जब उनीहरूले थाह पाए, खै त, उनीहरूले चेलाहरूलाई बोलाएर कही सोधखोज गरेनन्, नता शरीर खोज्नपट्टि नै लागे। यसले त झन् बौरिउठाइ भएकै थियो भन्ने कुरालाई प्रमाणित गर्दछ। किनकि शरीर त्यहाँ छैन भन्ने कुरा स्वीकार गरेका मान्छेको भाषा हो यो। जब शरीर त्यहाँ छैन भनेर उनीहरूले स्वीकार गर्छन्, तर चोरिएको हो भन्ने कुरा जब झूटो र विश्वास गर्न नसकिने भनेर देखाइन्छ (किनभने पहरा दिएका उनीहरूले नै हुन्, छाप लगाएका उनीहरूले नै हुन् अनि चेलाहरूको भयभीत अवस्थालाई जब विचार गर्छौं) बौरिउठाइको प्रमाण त झनै खण्डन गर्नै नसकिने बन्दछ। अझ कुरा केलाऊँ, कसले चोरे होला त ख्रीष्टको शरीरलाई?
  1. यहूदीहरूले निश्चय पनि चोरेनन्, किनकि उनीहरू उहाँ बौरनुभएको होइन भन्ने कुरा प्रमाणित गर्न चाहन्थे।
  2. रोमी सरकारले निश्चय पनि चोरेन, किनकि चिहानलाई औपचारिक सील छाप लगाएर थुन्ने कुरा रोमी सरकारले नै गरेको थियो। अनि आफैले शरीर चोरेर ख्रीष्टियनहरूलाई ‘उहाँ बौरनुभएको छ’ भन्दै प्रचार गर्न दिनु भनेको त उनीहरूकै लक्ष्यको ठीक विपरित कुरा हुन्थ्यो।
  3. अरमिथियाका यूसुफले निश्चय पनि चोरेनन्। उनी येशूका चेला थिए र चोर्नका निम्ति उनलाई अभिप्रेरित गराउने कुनै कुरा छैन। अझ भन्नुपर्दा, एकलै त चोर्न सक्ने कुरा पनि भएन। त्यत्रो ढुङ्गा हटाउन कसैको सहायता चाहिन्थ्यो नै अनि ढिलो चाँडो उक्त कुरा ‘एक कान दुई कान मैदान’ भइसक्थ्यो।
  4. चेलाहरूले निश्चय पनि चोरेनन्। पहिलो, उनीहरू आफ्नै ज्यानको डरमा लुकिरहेका थिए। दोस्रो, उनीहरूलाई मौकै थिएन, किनकि चिहानमा सरकारी सीलछाप लगाइएको थियो र अझ गार्डहरूद्वारा त्यो सुरक्षित थियो। तेस्रो, त्यस्तो षड्यन्त्र रचेर र त्यसलाई पूरा गर्न सक्ने खुबी भएको उनीहरूको कुनै अगुवा थिएन। अघिका अगुवा पत्रुस अब एक टुटेका व्यक्ति थिए, ख्रीष्टको चेलापनमा अघि बढ्ने कुरा त परै जाओस्, उनले आफ्‍नै पेशामा फर्केने सोच बनाइसकेका थिए (यूहन्ना २१:३)। चौथो, उनीहरू जानाजानी झूटको लागि दु:ख भोग्न र मारिन रोजेका हुँदो हो त उनीहरू महामूर्ख हुन्! चेलाहरूले अरूले देखेका कुराको लागि ज्यान फालेका होइनन् (जस्तो मुस्लिमहरू कोरानका निम्ति मर्छन्), तर उनीहरू त आफैले देखेका कुराको दाबी गर्दै मरेका हुन् (प्रेरित ४:१८-२०)। पाँचौं, यति धेरैजना मानिस मिलोमतो गरी शरीर चोरेका भए, त्यो कुरालाई गुप्तमा लुकाएर राख्नु असम्भव कुरा हो। यदि चेलाहरूले चोर्न सम्भवै भएको भए पनि, पछिको इसाईमतको इतिहास नै फरक हुनेथ्यो। ढिलो चाँडो सत्य-तथ्य जानेको कोही न कोही व्यक्तिबाट गोप्य कुरा खुलिसक्थ्यो। छैटौं, नयाँ नियममा भेटिने जस्तो यति महान् नैतिकताको धर्म जसले सत्यता र इमानदारीतालाई उच्च मान्छ, यस्तो नीच कपटमा आधारित हुनु एउटा असम्भव कुरा हुनेथ्यो।
“कसैले पनि, चाहे सरकारी वा गैरसरकारी निकायले, उहाँको अवशेषहरूलाई प्रस्तुत गर्न वा कुनै चिहानलाई देखाउन पूर्ण रूपमा विफल भएको तथ्यले नै शरीरलाई चिहानबाट अन्यत्र लगिएको थियो भन्ने कुरामा आधारित हरेक परिकल्पनालाई आखिरमा ढालेर छोड्छ” (Morrison, Who Moved the Stone?)।
हामी यो नबिर्सौं, सुरुका ख्रीष्टियनहरूले ख्रीष्ट मरेकाहरूबाट बौरनुभएको छ भन्ने उनीहरूको गवाहीका निम्ति यथार्थमा के कस्ता कुरा भोगे। उनीहरू परिवार र साथीभाइबाट बाहेक भए, समाजकै शत्रुहरू गनिए र घृणित भए, यातनाहरू भोगे , वर्षौं सम्म अँध्यारो, मुसाग्रस्त कोठरीहरूमा कैद गरिए। जग्गा जम्मीन खोसिए; क्रूसमा टाँगिए, जिउँदै गाडिए, जङ्गली पशुहरूद्वारा च्यातचुत पारिए, जीउ टुक्रा-टुक्रा गरी काटिए, बाँधेर तन्काइने र्‍याकहरूमा राखेर पोलिए, उनीहरूका जिब्राहरू च्यातेर निकालिए, आँखाहरू फुटाइए। साथै उनीहरूले परिवारका प्रियहरूको सास्ती, यातना र मृत्युलाई आफ्‍नै आँखाले हेर्नुपर्ने पीडा भोगे।
“उनीहरूका प्रभु भर्खरै एउटा सार्वजनिक न्यायलयको फैसलाले एक कुकर्मी ठहराइएर नष्ट हुनुभएको छ। उहाँको धर्मले सारा संसारकै धर्महरूलाई हटाउने प्रयास गर्‍यो। हरेक राष्ट्रका नियमहरू उहाँका चेलाहरूका शिक्षा-सिद्धान्तहरूका विपरित थिए। संसारमा भएका सबै शासकवर्ग तथा ठूला बडा व्यक्तित्वहरूका इच्छा-आकांक्षा र अभिलाषाहरू तिनका विरुद्ध थिए। संसारको रीतिरिवाज उनीहरूको विरुद्धमा थियो। यो नयाँ विश्वासलाई, जतिसक्दो कसैलाई ठेस नखुवाउने र शान्तिपूर्ण ढङ्गले फैलाउन खोज्दा समेत उनीहरूले केवल तिरस्कार, विरोध, गिल्ला-गलौज, तीता सतावटहरू, कोर्राहरू, कैदहरू, यातनाहरू र निर्दयी मृत्युहरूको मात्र अपेक्षा गर्न सक्थे। तरै पनि यही विश्वासलाई उनीहरूले जोशका साथ फैलाए; अनि यी सबै दयनीय कष्टहरू उनीहरूले हतोत्साहित नभईकन भोेगे। अझ रमाउँदै-रमाउँदै भोगे। जब एक पछि अर्कोलाई दर्दनाक मृत्युदण्ड दिइयो, बचेकाहरूले आफ्‍नो काम झनै ठूलो जोश र अठोटका साथ सम्पन्न गरे। सैन्य युद्धको इतिहासका अभिलेखहरूमा समेत यस्तै वीरता, समर्पणता, धैर्यता कातरतारहित सहासको उदाहरण पाउन मुस्किल पर्छ। आफ्‍नो विश्वासको आधार के हो र आफूहरूले बेजोडसाथ समर्थन गरेका महान् तथ्यहरू र सत्यताहरूको प्रमाणहरू के के हुन् भनेर राम्रोसित उनीहरूलाई पुन: विचार गर्न अभिप्रेरित गर्ने प्रशस्तै कुराहरू थिए। अनि यी अभिप्रेरित गर्ने कुराहरू भयङ्कर ग्लानि ल्याउने गरीकन र एकदम दोहोरिने तवरले उनीहरूको ध्यानमाथि दबाब पर्ने गरीकन आउँथे। यसैकारण, यदि येशू मृत्युबाट वास्तवमै बौरिउठ्नुभएको होइन भने अनि यस तथ्यलाई उनीहरूले अन्य कुनै पनि तथ्यलाई जति पक्का गरी जान्न सक्थे त्यति पक्का गरी नजानेका भए उनीहरू ती सत्यताहरूलाई समर्थन गरिरहन उनीहरू लागेको लागै, लागेको लागै गरिरहन असम्भव कुरा थियो। … यदि उनीहरूको गवाही सत्य थिएन भने, एउटा झूटो जालसाजी गवाही बनाउन उनीहरूलाई अभिप्ररित गर्न सक्नै त्यहाँ कुनै कुरा थिएन।” (Simon Greenleaf, An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice, 1846)
(ख्रीष्टको बौरिउठाइको तेस्रो महान् प्रमाण: परिवर्तित जीवनहरू — यो खण्ड पछि थपिनेछ)। साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)

भूमिगत चिहानहरू र एकान्त वास

पाठ ४

भूमिगत चिहानहरू र एकान्त वास

के तपाईंले कहिल्यै भूमिगत चिहानको बारेमा सुन्नुभएको छ? भूमिगत चिहानहरू भनेको मानिसहरूलाई गाड्न जमिनमुनि खोपेर सुरुङ्ग जस्तो बनाइएको ठाउँहरू हुन्। यस्ता चिहानहरू संसारका विभिन्न ठाउँहरूमा पाइन्छ तर बढी प्रख्यात चिहानहरू रोममा पाइन्छन् र हामीले यस पाठमा त्यहीँका चिहानहरूको अध्ययन गर्नेछौं। झण्डै एक हजार वर्षसम्म रोममा रहेका भूमिगत चिहानहरूको बारेमा जान्ने मानिसहरू बिरलै थिए।

केही शताब्दी अगाडि मात्र केही मानिसहरूले उनीहरूका दाखबारीहरूमा रोपाइँ गर्दै गर्दा ती भेट्टाइएका थिए। कस्तो अचम्मको आविष्कार थियो त्यो!

रोमका ती भूमिगत चिहानहरू सारा विश्वमै सबै भन्दा रोचक चिहान थिए। ती सर्वोत्कृष्ट भूमिगत गल्लीहरू पहिलो तीन शताब्दीका ख्रीष्टियान मण्डलीहरूका ख्रीष्टियनहरूद्वारा निर्माण गरिएका थिए। रोमीहरूले ख्रीष्टियनहरूलाई उनीहरूका मृतकहरूलाई यी भूमिगत चिहानहरूमा दफन गर्ने अनुमति दिएको थियो।

सम्राट कन्स्टान्टिनको समयपछि, ख्रीष्टियन चिहानहरू भूमिको सतहमा नै राखिन थाले। तसर्थ कन्स्टान्टिनको समय पूर्व पहिलो तीन शताब्दीहरूमा दफन स्थानको रूपमा भूमिगत चिहानहरू प्रयोग गरिएका थिए। रोमको शहर अवस्थित भूमि तुलनात्मक हिसाबले नरम चट्टानहरूले बनेको छ। शहरी क्षेत्रभित्र मानिसहरूलाई दफन गर्ने अनुमति थिएन। त्यसैले शहर बाहिर थुप्रै स्थानहरूमा नरम चट्टानभित्र गल्लीहरू र सुरुङहरू खनिएका थिए। ती सुरुङहरूका भित्ताहरूलाई खोपेर खोपा-खोपा बनाइन्थ्यो र ती खोपाहरूमा मृत शरीरलाई राखिन्थ्यो। ती खोपाहरूलाई तखता-तखता मिलाएर एक माथि अर्को हुनेगरि खोपिन्थ्यो। शरीरलाई त्यसभित्र राखेपछि ती खोपाहरूलाई मार्बल वा टायलको पटरा प्रयोग गरेर बन्द गरिन्थ्यो।

उक्त मार्बल वा टायलमा मृतकको सम्झनामा केही कुराहरू खोपेर लेखिन्थ्यो जसलाई समाधि-लेख (स्मारक) भनिन्छ। समाधि-लेख भनेको मृतकको सम्झनामा लेखिने विस्तृत विवरण हो। मानिसहरूलाई दफनको गरिएको स्थानमा के तपाईंले त्यस्तो कुनै समाधि-लेख लेखिएको देख्नुभएको छ? समाधि-लेखहरूको बारेमा हामी अझै उल्लेख गर्नेछौं।

रोम भित्र र वरिपरि बस्ने ख्रीष्टियानहरूले आफ्ना मृतकहरूलाई भूमिगत चिहानहरूमा दफन गर्दथे। सुरुका ख्रीष्टियनहरूमध्ये शहिद भएर मृत्यु हुने धेरै जनालाई त्यहीँ दफन गरिएको थियो। ती विश्वासयोग्य पवित्र जनहरूका शरीरहरू ती भूमिगत चिहानहरूमा राखिएका थिए। हामी रोमको भ्रमण गर्न जान सकेको भए ती भूमिगत चिहानहरूको अवलोकन गर्न सकिने थियो र ती अचम्मका सुरुङहरू हाम्रा आफ्नै आँखाहरूले देख्न सक्ने थियौं। हामीले त्यहाँ लामो र साँघुरो गल्लीहरू देख्ने थियौं। उक्त गल्लीहरूको चौंडाइ औसतमा करिब साँढे दुई देखि चार फिट मात्र छन् जहाँ मुश्किलले दुईजना मात्र अटाउन सक्छन्। माथिबाट कहीँ-कहीँ मात्र थोरै प्रकाश छिर्न सक्ने ठाउँ भएका ती सुरुङहरू अँध्यारो र निरस छन्। ती सुरुङहरू एक-अर्कासँग जोडिएका र घुमर्किएका भएकोले त्यहाँ एक प्रकारको जटिल भुलभुलैया बनेको छ। ती भूमिगत गल्लीहरूमध्ये थुप्रै गल्लीहरू भूमिको सतहभन्दा करिब ३० वा त्यो भन्दा बेसी फीट मुनि छ। यदि ती सबै सुरुङहरूलाई एक छेऊदेखि अर्को छेऊ जोड्ने हो भने झण्डै ८०० किलोमिटर लामो हुन्छ! र भित्ताहरूमा त्यहाँ करिब ४० देखि ७० लाख चिहानहरू छन्! ती चिहानहरूमा कति ख्रीष्टियनहरू दफन गरिएका छन् भन्ने कुराको सानो अनुमान हामी लगाउन सक्छौं।

यदि आज तपाईं उक्त ठाउँमा पुग्ने हो भने र मार्बल वा टायलहरू हटाएर अहिले सम्म नखोलिएको कुनै एउटा चिहान खोल्ने हो भने तपाईंले त्यहाँ अति राम्रोसँग संरक्षण गरिएको मानव कंकाल भेट्नुहुनेछ। बेलाबखतमा उक्त कंकाल चम्किलो महिमाले घेरिएझैं गरी उज्यालो देखिनेछ, तर त्यसलाई छोइयो भने त्यो माटो झैं फुस्सै खस्नेछ। यसले कसरी उत्पत्ति ३:१९; उपदेशक ३:२०; १२:७ को सम्झना गराउँछ? ______________________________________________________________________

समाधि-लेखहरू र भित्ताहरूमा रङ्गाइएका चित्रहरूको बारेमा अध्ययन गर्नु निकै रोचक हुन्छ किनभने तीद्वारा हामी सुरुका ख्रीष्टियानहरूको बारेमा र उनीहरूको विश्वासको बारेमा सिक्न सक्छौं। भूमिगत चिहानहरूमा साधारणतया भेट्टाउन सकिने त्यहाँ तीन ओटा सङ्केत चित्रहरू थिए:

१ “असल गोठालो” को चित्र (हेर्नुहोस् यूहन्ना १०)।

२ “दाखको बोट” को चित्र (हेर्नुहोस् यूहन्ना १५)।

३ माछाको चित्र। योचाहिँ ख्रीष्ट जनाउने प्राचीन ख्रीष्टिय सङ्केत थियो। सुरुका ख्रीष्टियनहरूले एउटा सामान्य माछाको चित्र कोर्थे:माछाको चित्र एउटा अति अर्थपूर्ण कुराको प्रतीक थियो। माछाको सङ्केतको अर्थ यस्तो थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! सुरुका ख्रीष्टियनहरूले कसरी माछाबाट यस्तो अर्थ बुझ्न सक्थे? माछा शब्दको ग्रीक रूप यस्तो थियो:माछा शब्दको ग्रीक रूप (इख्थीस) वास्तवमा एउटा छोटो रूप हो जसमा हरेक अक्षर कुनै अर्को शब्दको सुरुको अक्षर थियो।तसर्थ, माछाको साङ्केतिक चित्र ख्रीष्ट जनाउने एउटा प्राचीन ख्रीष्टियन सङ्केत थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! यी शब्दहरूले स्पष्ट शिक्षा दिन्छ: येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ! उहाँ परमेश्वरको महिमित पुत्र हुनुहुन्छ! उहाँ परमेश्वरको एकमात्र मुक्तिदाता हुनुहुन्छ! आज पनि माछाको चित्र कहिलेकाहिँ ख्रीष्टियन सङ्केतको रुपमा देखिन्छ।

 भूमिगत चिहानहरूमा भेट्टाइएका ख्रीष्टियनहरूको समाधि-लेखहरू आशावादी र उल्लसित थिए। तिनमा सुरुका ख्रीष्टियनहरूमाझ चिहान भन्दा पनि पछाडिको जीवनको निम्ति महान् आशा भएको देखिन्थ्यो। ती भूमिगत चिहानहरूमा भेट्टाइएका समाधि-लेखहरूमा पाइएका विस्तृत विवरणहरूका केही उदाहरणहरू यस्ता छन्:

“शोक नगर, मेरो नानी; मृत्यु अनन्त छैन।”

“प्रिमा, तिमी परमेश्वरको महिमा र हाम्रा प्रभु येशू ख्रीष्टको शान्तिमा बाँचिरहेको छौ।”

“रेजीना, तिमी प्रभु येशूमा बाँचेकी हौ।”

“अगापी, तिमी सदाकालको निम्ति जिउनेछौ।”

एक विश्वासी जनको मृत्यु भएपछि वास्तवमा के हुन्छ (फिलिप्पी १:२१-२३; लूका २३:४३; २ कोरिन्थी ५:८)? ___________________________________________________________________________ ___________________________________________________________________________

के शारीरिक मृत्युसँग विश्वासी जन डराउनुपर्छ? किन पर्छ? अथवा किन पर्दैन? ___________________________________________________________________________

के मुक्ति नपाएकाहरू शारीरिक मृत्युसँग डराउनुपर्छ? किन पर्छ अथवा किन पर्दैन? ___________________________________________________________________________

१ थेस्सलोनिकी ४:१३ पढ्नुहोस्। के विश्वासीहरूले आफ्ना प्रिय जनहरूको मृत्युको घडीमा अविश्वासीहरूले उनीहरूको आफ्नाहरूको मृत्युको समयमा गरेको जस्तै गरेर शोक गर्छन् (१ थेस्सलोनिकी ४:१३ सित तुलना गर्नुहोस्)? मृत्युको मुखमा पनि कसरी विश्वासीहरूसँग महान् आशा हुन सक्छ? यदि यसै दिन वा हप्तामा तपाईंको मृत्यु भयो भने, तपाईँका प्रिय जनहरूले कस्तो अनुभूति गर्ने थिए होला? तपाईं स्वर्गमा प्रभुसँग हुनुहुन्छ भनेर उहाँहरू निश्चित हुनुहुने थियो होला कि उहाहरू दु:खित हुँदै यस्तो सोच्नुहुने थियो होला, “उसले सायद साँच्चै गरी मुक्ति पाएको छैन होला”?

भूमिगत चिहानहरूले पहिलो तीन शताब्दीका सुरुका ख्रीष्टियनहरूका निम्ति एउटा अर्को उद्देश्य पनि पूरा गर्थ्यो। ती ठाउँहरू दफन स्थानहरू मात्र थिएनन् तर तिनलाई लुक्ने स्थानहरूको रूपमा पनि प्रयोग गरिन्थ्यो। ती ठाउँहरू मृतकहरूलाई लेटाउने स्थानहरू मात्र होइन तर जिउँदाहरू लुक्ने स्थानहरू पनि थिए! सुरूका ख्रीष्टियनहरू रोमीहरूद्वारा प्राय: जसो सताइन्थे र लखेटिन्थे। भूमिगत चिहानहरू सर्वोत्तम शरणस्थानहरू थिए। विश्वासीहरू यस्ता भुलभुलैया जस्ता गल्ली नै गल्लीहरू भएका सुरुङहरूभित्र दगुर्थे र उनीहरूलाई भेट्टाउन रोमीहरूलाई निकै कठीन हुन्थ्यो। त्यस्ता ठाउँहरूमा रोमीहरूले उनीहरूलाई बिरलै मात्र खेद्‍ने गर्थे

ख्रीष्टियनहरू त्यस्ता भूमिगत चिहानहरू भएका सुरुङहरूमा आराधना गर्न भेला हुन्थे भन्ने कोही-कोहीको बिचार छ। हुन त, निश्चय पनि सुरुका ख्रीष्टियनहरू जहीँ गए तापनि परमेश्वरलाई प्रार्थना र प्रशंसा गर्ने गर्दथे, तर त्यस्ता सुरुङहरू उपासनाका निम्ति त्यस्तो सुहाउँदो थिएन। सबै भन्दा ठूलो स्थानमा पनि धेरैमा केवल मुनासिव दुरी राखेर २० वा ३० जना मात्र अटाउन सक्थे। ती लुक्नको निम्ति राम्रा स्थान थिए र मण्डली भवनहरू हुन त्यती राम्रा स्थान थिएनन्।

कहिलेकाहीँ परमेश्वरका जनहरू संसारद्वारा लखेटिन्छन् र उनीहरू भाग्नुपर्छ र हर प्रकारका ठाउँहरूमा लुक्नुपर्छ। भुमिगत चिहानहरू के-के भयो होला भनेर हिब्रू ११:३७-३८ ले कसरी सम्झना गराउँछ? कहिलेकाहीँ विश्वासीहरू संसारबाट टाढा जानै पर्छ किनभने त्यसो गर्न विफल हुँदा उनीहरू मारिन पनि सक्छन्। आज संसारमा सताउनेहरूबाट भागेर लुक्नुपर्ने र “भुमिगत” (भूमिगत भन्नाले अधिकारीहरूको ज्ञानबिना गुप्तमा भेला हुने कार्य) हुनुपर्ने केही विश्वासीहरू छन् होला? प्रभु येशूले उहाँका चेलाहरूलाई संसारबाट सतावटहरू सामना गर्न तयार हुनका निम्ति के-कस्ता चेताउनीहरू र अर्तीहरू दिनुभयो (यूहन्ना १५:१८-२१; १६:१-३, ३३; १७:१४ र मत्ती ५:१०-१२)? 

क्लोइस्टरहरू

त्यहाँ यस्ता समयहरू पनि थिए जब सुरुका ख्रीष्टियनहरू संसारबाट हटिगएर भूमिगत चिहानहरू र अन्य स्थानहरूमा लुक्नुपर्थ्यो।तरैपनि, पछिल्ला वर्षहरूमा, त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले अन्य कारणहरूले गर्दा संसारबाट हटिजान्थे।

रोमी सम्राट कन्स्टान्टिनको समयहरूमा, ख्रीष्टियनमत स्वीकार्य धर्म भयो र त्यस समयभन्दा अगाडिदेखि ख्रीष्टियनहरूको विरुद्धमा चलिआएको सतावट पनि अन्त्य भयो। कन्स्टान्टिनको बारेमा पाठ ६ मा थप कुराहरू अध्ययन गर्नेछौं। कन्स्टान्टिनको दिनहरू पछि संसारले मण्डलीलाई झन्-झन् स्वीकार गर्यो र त्यसैकारण मण्डली झन्-झन् सांसारिक बन्यो। आफूलाई ख्रीष्टियन हुँ भनी दाबी गर्नेहरू झन् झन् मुक्ति नपाएकाहरू जस्तो गरी जिउन थाले। मण्डलीका मानिसहरूले झन् झन् संसारका मानिसहरूको रूप देखाउन थाले। परमेश्वरका जनहरू झन् झन् संसारसँग एकनासे हुन थाले (संसारको रूपमा ढालिए—रोमी १२:२) र संसारद्वारा कलंकित भए (याकूब १:२७)। के मण्डलीले सांसारिकपनाको समस्या वर्तमान समयमा पनि सामना गरिरहनु परेको छ?

यो समस्यालाई देखेर यसको समाधानको निम्ति केही गर्न चाहने केही मानिसहरू त्यहाँ थिए। परमेश्वरले पवित्र, शुद्ध र धर्मी जीवन चाहनुहुन्छ भनी उनीहरू जान्दथे। ख्रीष्टियनहरू सांसारिक होइन तर ईश्वरीय हुनुपर्छ भनी उनीहरूलाई थाहा थियो। उनीहरूले समस्या देखे र त्यस समस्यालाई समाधान गर्न चाहे। तर उनीहरूको समाधान यस्तो थियो: “संसारबाट नै निस्केर जाऊँ! संसारबाट नै भागौं! संसारबाट नै लुकौं! संसार यति दुष्ट छ कि पवित्र जीवनहरू बिताउन हामी यसबाट सकेसम्म टाढा भाग्नुपर्छ। संसारबाट जति टाढा गयौं उनी नै हाम्रो हृदय सफा, शुद्ध र पवित्र हुनेछ।”

यस्तो प्रकारको समाधानको बारेमा तपाईं के सोच्नुहुन्छ? के यो ठिक समाधान हो? के गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्नु सम्भव छ? हामीले गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्यौं भने थुप्रै अरू समस्याहरू खडा हुनेछन्!

क्लोइस्टर भनेको यस्तो ठाउँ हो जहाँ धर्म-कर्म गर्ने मानिसहरू संसारबाट भाग्नको निम्ति जान्छन्। यो यस्तो ठाउँ हो जहाँ ती मानिसहरू यस संसारबाट एकान्त हुन जान्छन्। यो त्यस्तो ठाउँ हो जहाँ त्यस्ता मानिसहरू (जसलाई मोंक वा नन भनिन्छ) आफैंसँग एउटा शान्त र अलग जीवन जिउन सक्छन्।

मोनास्टरी भनेको पनि क्लोइस्टर जस्तै हो। मोनास्टरीचाहिँ यस्तो भवन हो जहाँ मोंकहरू (पुरुष) वा ननहरू (स्त्री) पृथक खालको वा एकान्त जीवन जिउँछन्। मोनास्टरी भनिने शब्द मोनाजीन शब्दबाट आउँछ जसको अर्थ हो “एक्लो हुनु”।

मोनास्टरीमा प्रवेश गर्ने पुरुषलाई मोंक भनिन्छ र स्त्रीलाई नन् भनिन्छ। यी मानिसहरूको बारेमा हामी थप कुराहरू पछि सिक्नेछौं। १ कोरिन्थी ५:९-१० मा प्रेरित पावलले कोरिन्थीहरूलाई लेखे र दुष्ट मानिसहरूबाट पूरै अलग हुन असम्भाव्य छ भनी बताए। सांसारिक मानिसहरू हाम्रो वरिपरि नै छन्—विद्यालयमा, काममा, छर-छिमेकमा र बजारहरूमा इत्यादि। मानिसहरू भेटिने जहाँसुकै त्यस्ता मानिसहरू हुन्छन्। पावलले बताए, यदि दुष्ट मानिसहरूबाट अलग हुने हो भने, “तिमीहरूले __________________ नै _________________ जानुपर्छ” (१ कोरिन्थी ५:१०)। वास्तवमै यस संसारबाट उम्कने हो भने तपाईं आफ्नो रकेटमा चढ्नुपर्छ र चन्द्रमा अथवा नजिकैको कुनै ग्रहमा उडेर जानुपर्छ! पावलले हामीलाई यसै गर्नु भनेर बताइरहेका थिएनन्। उनले त हामी दुष्ट मानिसहरूले भरिएको संसारमा भएको कारण यसो गर्नु असम्भव छ भनी बताइरहेका थिए। “तिमीहरूले संसारबाट नै निस्केर जानुपर्छ”—मोंकहरू ती हुन् जसले वास्तवमै यसो गर्ने कोसिस गरे! उनीहरूले असम्भव कुरा गर्न खोजेका छन्!

पहिलो प्रख्यात मोंक

तेस्रो सताब्दीको अन्त्यतिर मिश्रमा बस्ने एकजना मानिस थिए जसको नाम एन्थोनी थियो। ती मानिस कुनै मरुभूमिमा अवस्थित गुफामा बस्न एक्लै गए र हर्मीट भनी चिनिए। हर्मीट भनेको त्यस्तो मानिस हो जो संसारबाट अलग हुन्छ र एक्लै जीवन बिताउँछ। तिनले एउटा अति कठोर जीवन बिताए र पवित्र हुनुको रहस्यचाहिँ दुलो भित्र गएर बस्नु हो भनेर कसरी हो मानिलिए! 

अन्य मानिसहरूले पनि एन्थोनीको नमुनालाई पछ्याए। उनीहरूले संसारको दुष्टताहरूबाट पृथक जीवन बिताउने निर्णय गरे। समयको क्रममा धेरै मोंकहरू एकसाथ रहेर मोनास्टरी भनिने विशाल घरहरूमा बस्न थाले जहाँ हरेक मोंकको आफ्नै सानो कोठा हुन्थ्यो।

केही विषम उदाहरणहरू

मोंकहरू वा हर्मीटहरूले विचित्र जीवन व्यतित गरे। विचित्र जीवनशैलीको निम्ति शिमोन स्टाइलीट्स जस्तो प्रख्यात अरू कोही पनि छैन। शिमोनको मृत्यु सन् ११५९ मा ६९ वर्षको उमेरमा भएको थियो। तिनी सिरिया वासी थिए। तिनको जीवनको अन्तिम तीस वर्षको समयमा तिनको मृत्युको दिनसम्म नै तिनी एउटा खाँबो (जसको नाम स्टाइलस थियो, यसैकारण तिनको नाम शिमोन स्टाइलीट्स हुन पुग्यो) को टुप्पामा बसे। शिमोनले केही खाँबाहरू निर्माण गरे, हरेक खाँबा अघिल्लो भन्दा अल्गो हुन्थ्यो। उसको अन्तिम खाँबा साठी फीट अल्गो थियो र टुप्पोमा केवल ४ वर्ग फीट क्षेत्र थियो (बसोबासो गर्न खासै ठूलो क्षेत्र त होइन)। तिनी करिब ३० वर्षसम्म त्यहाँ बसे र प्राय: उभिन्थे पनि। तिनी हरेक दिन त्यहाँ हुन्थे—दिन र रात, गर्मी र जाडो, चिसो र तातो, वर्षा र घाम। साठी फीट उचाइबाट तर जमीनमा भेला भएका मानिसहरूलाई तिनी प्रचार गर्थे।

आफ्नो मृत्युको दिनसम्म नै यस्तो जीवन तिनले यापन गरे के यसो गरेर शिमोन तल जमिनमा भएकाहरूभन्दा बढी परमेश्वरको नजिक भएका थिए र? के स्वर्गको नजिक उचालिएकोले शिमोनले कलस्सी ३:१-२ मा भएको पावलको आज्ञाहरूलाई झन् राम्रोसँग पालन गर्न सके? के संसारबाट अलग भएर पवित्र जिवन जिउन तिनी सफल भए?

अन्य मानिसहरूले पनि शिमोनको नमुनालाई पछ्याए र तिनीहरू पनि खाँबा बासीहरू भए। दानियल नाम गरेका एक मानिसले खाँबाको टुप्पामा करिब ३३ वर्ष बिताएको थियो भनेर भन्ने गरिन्छ। उसको नाम आज पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ!

अरू मोंकहरूले अरू अनौठा कुराहरू गरे। बोस्की नामक धार्मिक समूहका हर्मीट मानिसहरू मैदानमा बसे र उनीहरूले पशुहरूले झैं घाँस खान्थे। अर्को हर्मीट सिनाई पर्वतको आसपास इलाकामा करिब ५० वर्षसम्म नाङ्गै डुलुवा भएर हिँड्यो। मोशाले  परमेश्वरसँग भेटेको र कुरा गरेको र दस आज्ञा प्राप्त गरेको ठाउँको नजिक हुँदा पवित्र हुन सक्छु भनेर उसले सोचेको थियो होला। अम्मून नाम गरेको अर्को हर्मीटको छुट्टै ख्याती थियो किनभने हर्मीट बनेपछी उसले कहिल्यै वस्त्र पहिरेन र कहिल्यै नुहाएन। सायद उसले आफू बहिर जति धेरै फोहोरी हुन सक्यो उती नै धेरै भित्र सफा हुन सकिन्छ भनेर सोचेको थियो होला!

मोंकहरूको सामान्य जीवनशैली

हामीले केही विषम उदाहरणरू हेर्यौं; अब केही सामान्य उदाहरणहरू पनि हेरौं। मोंक र ननहरूले एउटी अति कठोर जीवनशैली अभ्यास गर्दथे जसलाई साधुवाद (ascetism; आफैंलाई इन्कार गर्ने एक कठोर अभ्यास) भनिन्छ। उनीहरू सांसारिक वस्तुहरूको अधिकारी हुन इन्कार गर्थे। उनीहरू जति खानु पर्ने हो ठिक त्यतिभन्दा धेरे खाँदैनथे र पिउँदैनथे। केही मोंकहरूले रोटी खानु र केवल पानी पिउनु बाहेक अरू केही खाँदैनथिए। मोंकहरूले अकसर उपवास बस्दथे जसको मतलब हो कि केही निश्चित समयको लागि त उनीहरूले केही पनि खाँदैनथिए। हरेक मोंक र ननहरू विवाह नगरी बस्थे। उनीहरूले आफ्नो प्राय: जसो समय प्रार्थना गर्न, धार्मीक पुस्तकहरू पढ्न र पढेको कुराहरूमाथि मनन गर्नमा बिताउँथे।

केही मोंकहरूले कोर्राहरूद्वारा आफैंलाई हिर्काएर आफैंलाई सजाय दिन्थे। सायद कोही-कोहीले यसरी सोचे होला: “हामी सतावटमा पर्नुपर्छ (२ तिमोथी ३:१२), र हामी सताउने यहाँ कोही नभएकोले हामी आफैंलाई सताउनेछौं! हामी आफैंले हाम्रो सतावट सृजना गर्नेछौं र उहाँको निम्ति हामीले सतावट सहिरहेको देखेर परमेश्वर अति प्रसन्न हुनुहुनेछ।”

तपाईंको विचारमा यस्तो किसिमको सोचाइमा के समस्या छ होला?

के मोनास्टरीहरूबाट कुनै असल कुरा आयो?

यस्तो मोनास्टरी लहर पूर्ण रूपमा गलत थियो। परमेश्वरले आफ्ना जनहरू संसारबाट नै निस्किएर गएको र एकान्त र एकलो जीवन बिताएको कहिल्यै इच्छा गर्नुभएन। उहाँका विश्वासी जनहरू कहाँ जिएको र चम्केको चाहनुहुन्छ (फिलिप्पी २:१५)? ___________________________________________________________

हुन त कुनै कुरा गलत नै भए पनि, परमेश्वरले त्यसलाई भलाइको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। खराबीबाट पनि भलाइ ल्याउन परमेश्वर योग्य हुनुहुन्छ (उत्पत्ति ५०:२० सित तुलना गर्नुहोस्)। मोनास्टरी लहर गलत भए तापनि, परमेश्वरले उदेकको तरिकाले यसलाई प्रयोग गर्नुभयो। मोंकहरूले पवित्र शास्त्रहरूको प्रतिलिपि उतार्न आफैंलाई समर्पित गरे। उनीहरूको कामहरूमध्ये एउटा यो पनि थियो। पहिलो र दोस्रो सहस्राब्दीको मध्य वर्षहरूतिर मोनास्टरीहरू एक हिसाबले प्रकाशन गृहहरू भएका थिए। यो निकै ठूलो काम थियो, विशेषगरी ती दिनहरूमा जब छापाखानहरू थिएनन् र सबै प्रतिलिपिहरू हातले नै उतारिनुपर्थ्यो। मोंकहरूले यो काम गरे र उनीहरूले निकै राम्रोसँग यो काम गरे। आज हामीसँग हाम्रा हातहरूमा बाइबल छन् र पवित्रशास्त्रहरू विश्वासयोग्यतासाथ विगतका शताब्दीहरूमा संरक्षण गरिएका छन्। पवित्रशास्त्रहरूको प्रतिलिपी उतार्न मोंकहरूले गरेका कामहरू बहुमूल्य छन्, र ती मानिसहरू उक्त काम गर्न सक्षम भएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौं।

एउटा चाख लाग्दो कुरा के छ भने मार्टिन लुथर, जोन क्यालभिन र अन्य रिफर्मर्सहरूले मोंकहरूले नै उतारेका पवित्रशास्त्रका प्रतिलिपीहरू प्रयोग गरेर मोंकहरूकै अबाइबलीय अभ्यासहरूको दोष प्रकट गरिदिएका थिए! जुन पुस्तक उनीहरूले आफ्ना हातहरूद्वारा सारिरहेका थिए, त्यही पुस्तकले उनीहरूको एकान्त र एक्लो जीवनलाई दोष्याइरहेको थियो!

मोनास्टरीका गल्तीहरू के-के हुन्?

केही गल्तीहरू निम्न लिखित छन्:

१. प्रभुलाई हामी चिन्दछौं भनेर दाबी गर्ने मानिसहरूलाई समाजबाट अन्यत्रै लगिन्थ्यो जबकी उनीहरू त्यहीँ हुनुपर्थ्यो। संसारबाट नै भागेर जाने हो भने एउटा मानिसले कसरी हराइरहेको र नाश भइरहेको संसारलाई सहायता गर्न सक्छ र? यदि तपाईं मानिसहरूको बीचमा हुनुहुन्न भने कसरी तपाईं एउटा असल प्रभाव पार्ने साक्षी बन्न सक्नुहुन्छ? यदि तपाईं पापीहरूको बीचमा नै हुनुहुन्न भने कसरी तपाईंले पापीहरूलाई सुसमाचार प्रचार गर्न सक्नुहुन्छ? यदि तपाईं संसारबाट बाहिर निस्कन खोज्दै हुनुहुन्छ भने कसरी तपाईं “सारा संसारमा” (मर्कूस १६:१५) जान सक्नुहुन्छ? 

२. धार्मिक जीवन जिइरहेका छौं भन्ने यी पुरूष र स्त्रीहरूले एउटा ठूलो गल्ती गरिरहेका थिए। यस संसारबाट भागेर र समाजबाट एकलिएर मानिसको पापी हृदय शुद्ध र पवित्र हुन्छ भनी उनीहरूले गलत तरिकाले बुझे। के प्रभु येशूले विश्वासीहरू संसारबाट लगिउन् भनेर प्रार्थना गर्नुभयो (यूहन्ना १७:१५)? के प्रभु येशूले विश्वासीहरू संसारमा हुनुपर्छ भनेर ठान्नुभयो (यूहन्ना १७:११, १८)?

३. ती पुरूष र स्त्रीहरू गलत कारणहरू देखाएर संसारबाट पर हुने कोसिस गरे। संसारबाट आफैंलाई पृथक गराएर अझ पवित्र हुन्छौं भनेर तिनीहरूले सोचे। रोमको वरिपरि जिइरहेका सुरुका ख्रीष्टियनहरू संसारबाट भागेर भूमिगत चिहानहरूमा बस्न गए किनभने संसारले उनीहरूलाई लखेटिरहेको थियो। तर मोंकहरूलाई त कसैले पनि लखेटिरहेका थिएनन्। कसैले पनि उनीहरूलाई सताइरहेका थिएनन्। उनीहरू आफैंले मोनास्टरीहरूमा जान र उनीहरूको सानो कोठाहरूमा बस्न रोजे किनभने तिनले उनीहरूलाई परमेश्वरको नजिकमा ल्याउनेछ भनी उनीहरूले सोचे। उनीहरू त्यहाँ लखेटिएका थिएनन्। उनीहरूले आफैंलाई त्यहाँ लखेटेका थिए।

४. त्यस्तो जीवनशैलीले आत्मिक घमण्डलाई प्रोत्साहन दियो। उनीहरूले सजिलै साथ यसरी सोच्दथे, “हेर म कति पवित्र छु। हेर म कति असल छु। म एउटा कठोर र कठिन जीवन बिताइरहेको छु। यस्तो जीवन त निकै थोरै मानिसहरू मात्र जिउन सक्छन्।” शिमोन स्टाइलिट्सले सोचेको जस्तै उनीहरूले पनि आफू सामान्य “सांसारिक” ख्रीष्टियनहरूभन्दा धेरै उच्च र परमेश्वरको धेरै नजिक छौं भनि सोचेको हुनुपर्छ।

५. आफ्नै योग्यताहरूको आधारमा मुक्ति पाइन्छ भन्ने ठूलो शिक्षागत भूल उनीहरूमाझ थियो। “परमेश्वरलाई खुशी पार्न, उहाँको निगाह प्राप्त गर्न र स्वर्गको बाटो कमाउन म यो कठोर जीवन जिउँदै छु र यी सबै कठिन कुराहरू गर्दैछु। मैले उहाँको खातिर कति धेरै कुराहरू त्यागेको छु र म कसरी जिएको छु भन्ने जब परमेश्वरले देख्नुहुन्छ, उहाँले निश्चय पनि मलाई स्वर्ग पस्न दिनुहुनेछ।” यस्तो खालको बिचारमा के-कस्ता गल्तीहरू छन्, के बाइबलबाट देखाउन सक्नुहुन्छ? के आज पनि मानिसहरू यस्तै गरी सोच्ने गर्छन्?

६. मोनास्टरीहरूले थुप्रै मानिसहरूमा खराब असर पारेको थियो। त्यस्तो पृथक शैलीमा जिउनु लाभदायक कुरा होइन। सुरूदेखि नै परमेश्वरले भन्नुभएको थियो, “मानिस एकलो रहनु असल होइन” (उत्पत्ति २:१८)। मोनास्टरी जीवन शैलीको कारणले थुप्रै मोंकहरू र ननहरूमा नैतिक समस्याहरू र मानसिक समस्याहरू उत्पन्न भएका थिए। नवौं शताब्दि ताका थुप्रै मोनास्टरीहरू दुष्टता र भ्रष्टताको जन्मथलो बन्यो। संसारको भ्रष्टताबाट उम्कन सक्छु भनी मोंकहरूले सोचे तर संसारको भ्रष्टता त उनीहरूको आफ्नै हृदयहरूमा छ र यही दुष्टता मोनास्टरीहरूभित्र पनि ल्याइएको हो भनेर महसुस गर्न विफल भए। संसारबाट उम्कें भनी उनीहरूले सोचे तर संसारलाई उनीहरूले आफैंसाथ लिएर पनि आए।

मनन गर्नुपर्ने प्रश्नहरू

१. कसरी एउटा मानिसले साँच्चै पवित्र जीवन जिउन सक्छ?

२. सांसारिक मानिसहरूसँग भएर पनि के एउटा मानिस सांसारिक नहुन सक्छ? कसरी?

३. यस्तो अति अशुद्ध र अपवित्र संसारमा कसरी एउटा मानिस शुद्ध र पवित्र रहन सक्छ?

४. कसरी एउटा मानिस संसारमा भएपनि संसारको नहुन सक्छ (यूहन्ना १५:१९; यूहन्ना १७:११, १४, १६)?

५. अलगपनता र एकलपनामा के भिन्नता छ? के प्रभु येशू पापीहरूबाट अलग हुनुहुन्थ्यो? के उहाँ पापीहरूबाट एक्लिएर बस्नुभएको थियो (हेर्नुहोस् हिब्रू ७:२६)? के परमेश्वर हामी संसारबाट अलग भएको चाहनुहुन्छ? के उहाँ हामी संसारबाट एक्लिएको चाहनुहुन्छ? हामी कसरी संसारमा भएर पनि संसारद्वारा प्रदुषित नहुन सक्छौं?

६. विश्वासीजनले कसरी ठिक तरिकामा आफैंलाई शुद्ध राख्न सक्छ? के यसो गर्न ऊ संसारबाट नै निस्केर जानुपर्छ? उसले के गर्नुपर्छ?

७. के तपाईं संसारमाथि विजयी भइरहनु भएको छ कि संसार तपाईंमाथि विजयी भइरहेको छ?

८. संसारलाई ख्रीष्टमा जित्नको निम्ति के हामी संसार जस्तै बन्नुपर्छ? संसारले हामीलाई स्वीकार गरोस् र हाम्रो सन्देश सुनोस् भनेर के हामी “सांसारिक” बन्नुपर्छ?

९. हाम्रो वरिपरि भएका मुक्ति नपाएका हरेक मानिसहरूतर्फ हाम्रो जिम्मेवारीहरू के-कस्ता छन्

 

 

संसारमा ख्रीष्टलाई प्रस्तुत गर्न सारा मानिसहरूप्रति ख्रीष्टमा एउटा विश्वासी जनको केही जिम्मेवारीहरू छन्:

१. ऊ सारा मानिसहरूको सामु _______________ हुनुपर्छ (प्रेरित १:८)।

२. ऊ ख्रीष्टको निम्ति __________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।

३. उसले हरेक प्राणीलाई __________________ __________________ पर्छ (मर्कूस १६:१५)।

४. उसले सबै जातिहरूलाई ______________ बनाउनुपर्छ (मत्ती २८:१९)।

५. ऊ सारा मानिसहरूका सामु _____________ झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।

६. उसले सबै मानिसहरूका लागि ______________ ___________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।

७. ऊ सारा मानिसहरूका सामु _____________________ चल्नुपर्छ (कलस्सी ४:५; तुलना गर्नुहोस् १ कोरिन्थी ९:१९-२३; १०:३२)।

८. ऊ सारा मानिसहरूतर्फ _________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस् रोमी १२:१७)।

९. उसले सबै मानिसहरूका निम्ति ___________________ चढाउनुपर्छ (१ तिमोथी २:१)।

१०. ऊ सबै मानिसहरूसँग _________________________ बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।

११. उसले सबै मानिसहरूलाई _______________ गर्नुपर्छ (१ पत्रुस २:१७—उचित आदरभाव राख्नु। तीतस ३:२ सित तुलना गर्नुहोस् जहाँ कुनै मानिसको बदनाबी नगर्नु भनिको छ जसको अर्थ हो कसैको सम्मानमा चोट नपुर्याउनु, अनादर नदेखाउनु)।

१२. उसले सबै मानिसहरूको सामु _______________ ____________ (साक्षी, गवाही) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

 

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

मण्डली इतिहासबाट केही पाठहरू

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)