Entries by Pradesh Shrestha

रोम पुग्ने पुलका निर्माण

रोम पुग्ने पुलका निर्माण

एक पर्यवेक्षकले यसलाई “गत ५०० वर्षको मण्डली इतिहासकै सबैभन्दा उल्लेखनीय घटना”1 भन्ने संज्ञा दिए। एउटा घोषणा-पत्रमा हस्ताक्षर गर्ने काम भएको थियो जसको शीर्षक थियो “इभान्जेलिकल तथा क्याथोलिक एकता: तेस्रो सहस्राब्दीमा इसाई लक्ष्य” (Evangelicals and Catholics Together: The Christian Mission in the Third Millennium)। यसमा दुवै इभान्जेलिकल तथा रोमन क्याथोलिक अगुवाहरू संलग्न भएका हुनाले उक्त घोषणा-पत्र बास्तवमै स्मारकीय थियो। आ-आफ्ना “अस्त्र बिसाई” मेलमिलाप गर्न र शताब्दियौंदेखिको महत्त्वपूर्ण शिक्षागत भिन्नताहरूलाई पन्छाएर अबदेखि प्रतिद्वन्द्वीका रूपमा नभई एउटै “टीम” का मित्रका रूपमा सहकार्य गर्नका लागि मुख्य प्रवक्ताहरूको संयुक्त प्रयासबाटको अभिव्यक्ति भएको हुनाले सन् १९९४ मार्च २९ मा न्यु योर्कमा हस्ताक्षरित उक्त अभिलेख सर्वाधिक महत्त्वको एक्युमेनिकल दस्तावेज थियो।

हस्ताक्षर गर्ने को-को थिए?
उक्त दस्तावेजका प्रमुख रचयितामध्ये ख्यातिप्राप्‍त लेखक तथा भूतपूर्व लुथरन ईश्वर-शास्त्री रिचार्ड जन न्युहास् (Richard John Neuhaus) एक थिए। करिब चार वर्ष अघि उनले आफ्नो मत परिवर्तन गरी रोमन क्याथोलिक चर्चसँग आवद्ध बनेका घटनाले इभान्जेलिकल अखबारहरूको अघिल्लो पन्ना ओगटेको थियो। आफ्नो दल बदलको बारेमा बताउँदै न्युहास्‌ले भने, “सोह्रौं शताब्दीमा विश्वासद्वारा धर्मीकरण हुन्छ भन्ने कुराको घोषणा गर्ने उद्देश्यले बाध्य तुल्याएको विभाजनको अब औचित्य छैन।”

न्युहास्‌का साथै अन्य इभान्जेलिकल लब्धप्रतिष्ठितहरूले उक्त दस्तावेजमा हस्ताक्षर गरे जसमध्येका केही नाम यस प्रकार छन्:

  • क्याम्पस क्रुसेडका बिल ब्राइट (Bill Bright of Campus Crusade)
  • ह्विटन विश्वविद्यालयका मार्क नोल (Mark Noll of Wheaton University)
  • प्रिजन फेलोशिपका अध्यक्ष चार्ल्स कोल्सन (Charles Colson, President of Prison Fellowship)
  • जेनेभा कलेजका अध्यक्ष तथा नेशनल असोसिएसन अफ इभान्जेलिकल्स्‌का भूतपूर्व अध्यक्ष जोन ह्वाइट (John White, President of Geneva College and former president of the National Association of Evangelicals)
  • जे आइ प्याकर, प्रसिद्ध ब्रिटिश लेखक (J. I. Packer, noted British author)
  • जेस्सी मिरान्डा, एजी चर्चहरूका एक अगुवा (Jesse Miranda, leader in the Assemblies of God)
  • प्याट रबर्टसन्, टिभि प्रचारक तथा इभान्जेलिकल राजनैतिक अगुवा (Pat Robertson, television preacher and evangelical political leader)
  • रिचार्ड ल्यान्ड, सदर्न ब्याप्टिस्ट अधिकारी (Richard Land, Southern Baptist official)
  • ल्यारी लुइस्, सदर्न ब्याप्टिस्ट अधिकारी (Larry Lewis, Southern Baptist official)
  • बस्टनका आर्चबिशप विलियम मर्फि (Archbishop William Murphy of Boston)
  • डेन्भरका आर्चबिशप फ्रान्सिस्‌ स्टाफ्फोर्ड (Archbishop Francis Stafford of Denver)
  • न्युयोर्कका कार्डिनल जोन ओकनर (Cardinal John O’Connor of New York)

दस्तावेजमा के थियो?
उक्त दस्तावेजले सकभर धेरैलाई, विशेष गरी रोमन क्याथोलिकहरू, इस्टर्न अर्थडक्स (Eastern Orthodox) काहरू र इभान्जेलिकल घेराबाहिरका प्रोटेस्टेन्टहरूलाई समेट्नका निमित्त “ख्रीष्टियन” शब्दको परिभाषालाई फराकिलो पार्ने प्रयास गरेको छ। तरैपनि मूलरूपमा यो रोमन क्याथोलिकहरू र इभान्जेलिकलहरू बीचको सम्बन्धको विषयमा केन्द्रित छ। ती दुईबीचका फाटोमा यसले अफसोस मानेको छ र क्याथोलिक/इभान्जेलिकल द्वन्द्वलाई स्थगित गर्ने प्रस्ताव ल्याएको छ।

रोमन क्याथोलिकहरू इभान्जेलिकलहरू जस्तै साँचा विश्वासी हुन् भन्ने दृष्टिकोणको प्रतिवादमा दुवै समूहले अपसल्स्‌ क्रिड (Apostle’s Creed) लाई स्वीकार गर्छन् भन्ने तर्कलाई अघि सारिएको छ। अपसल्स्‌ क्रिडको स्वीकार गराइले एक व्यक्तिलाई कसरी ख्रीष्टियन बनाउँदछ भन्ने कुराको स्पष्टिकरण दिइएको छैन। जतिसुकै सही किन नहोस्, तर कुनै पनि मत (creed) को दिमागी स्वीकारले एउटै आत्मालाई बचाउन सक्दैन।

यस दस्तावेजले “भेडा चोर्ने” कामको विरुद्धमा चेताउनी दिएको छ। यसले भन्छ, “एउटा इसाई समुदायले अर्को इसाई समुदायका सक्रिय अनुयायीहरूका बीच आस्था बदल्न लगाउने काम गर्नु ईश्वर-शास्त्रीय दृष्टिकोणमा न्यायसङ्गत होइन न ता स्रोत-साधनको बुद्धिमानी प्रयोग नै हो।” अर्को शब्दमा भन्दा, अबदेखि उसो हामीले आफ्ना रोमन क्याथोलिक छिमेकीहरूलाई ख्रीष्टमा ल्याउन गरिने संयुक्त र यत्‍नपूर्वक प्रयासलाई त्याग्नुपर्छ। तिनीहरू इसाई भइसकेका हुनाले किन टाउको दुखाउने? सुसमाचारको प्रचार र विश्वव्यापी मिसनमाथि यस्तो धारणाले कहाँसम्म असर पार्ला भन्ने कुरा सजिलै देख्‍न सकिने कुरा हो।

दुवैले अनुग्रहले मुक्ति पाइन्छ भनेर विश्वास गर्छन् भन्ने आधारमा इभान्जेलिकलहरू र रोमन क्याथोलिकहरूले एक अर्कालाई स्वीकार गर्न र आपसमा सङ्गति गर्न सकिने भन्ने कुराको समर्थन गरिएको छ। परन्तु, एउटा क्याथोलिकले ‘अनुग्रह’ भन्नाले रोमद्वारा नियमपूर्वक नियुक्त भएको पुजाहारीद्वारा प्रदान गरिने रोमन क्याथोलिक संस्कारहरू (sacraments) को माध्यमद्वारा प्राप्‍त हुने ईश्वरीय अनुग्रह हो भनेर विश्वास गर्दछ। अनुग्रहको इभान्जेलिकल (अर्थात् बाइबलीय) धारणा भने अनर्जित निगाह (unmerited favor) हो जुनचाहिँ केवल विश्वासद्वारा मात्र प्राप्‍त गरिन्छ। यी दुई धारणाबीच अतिठूलो भिन्नता छ।

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

परिचय

परिचय

हालको इभान्जेलिकल एक्युमेनिकल उन्माद

डा. अर्नेस्ट पिकरिङ्ग

शताब्दियौंसम्म रोमन क्याथोलिक चर्चलाई ख्रीष्टको साँचो मण्डलीको अङ्गको रूपमा मान्यता दिन इन्कार गर्दा के बाइबल-विश्वासीहरू भूलमा परेका थिए त? “वेश्याहरूकी माता” का झूटा शिक्षाको विरोधमा उठ्दा मारिएका विगतका सहीदहरू के व्यर्थैमा मरे त? आफ्ना प्रयासका लागि उनीहरू खम्बामा बाँधिएर जिउँदै जलाइँदा के त्यो व्यर्थैमा थियो त? के ह्यु ल्याटिमर (Hugh Latimer), जन नक्स (John Knox) र मार्टिन लुथर (Martin Luther) एक्युमेनिज्मका [कथित] गहकिला उपलब्धिहरूलाई चिन्न नसक्ने, उल्टो नडराईकन रोमका अनेकन् दोषहरूको विरोध गर्ने, बुद्धूहरू थिए त?

आज इसाईजगत (Christendom) मा अनौठा कुराहरूको चलखेल छ। उनीहरूका समय-प्रमाणित सिद्धान्तहरू र परमेश्वरबाट प्रकटित सत्यताहरूदेखि परमेश्वरका जनहरूलाई भड्काउन खोज्ने थुप्रै “शिक्षारूपी बतास” चलिरहेका छन्।

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

येशू यहोवा हुनुहुन्छ

येशू यहोवा हुनुहुन्छ

जर्ज जेलर

“यहोवाका साक्षीहरू” (Jehovah’s Witnesses) नाम गरेको समूहका मानिसहरू भन्छन्, येशू ख्रीष्ट परमेश्वर होइनन्। तिनीहरूको शिक्षाअनुसार, येशू त यहोवा परमेश्वरद्वारा सृजित केवल एक सृष्टि मात्र हुन्। उक्त शिक्षामा बसालिएकाहरूको दृष्टिकोणमा यहोवा नाउँ परमेश्वरको सबैभन्दा पवित्र नाउँ हो। यो नाउँ एकमात्र साँचो परमेश्वरको सम्बन्धमा मात्र प्रयोग गरिन उचित छ भन्ने उनीहरूको मान्यता भए तापनि उनीहरू येशूको ईश्वरत्वलाई इन्कार गर्ने भएका हुनाले, यो ईश्वरीय नाउँ यहोवाकहिल्यै पनि येशूलाई जनाउन प्रयोग गरिएको छैन भन्ने उनीहरूको जोडदार दाबी रहेको छ। प्रभु येशूलाई यहोवा भन्नु त उनीहरूलाई असोचनीय हुन्छ किनकि उक्त नाउँ केवल परमेश्वरलाई मात्र प्रयोग गरिनुपर्छ (तर येशू परमेश्वर हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्)।

यस अध्ययनमा हामी एउटा महत्त्वपूर्ण प्रश्न सोध्न गइरहेका छौं—”के यहोवा नाउँ येशू ख्रीष्टलाई जनाउनलाई उचित हुन्छ?” के बाइबलले यो ईश्वरीय नाउँलाई कतै येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरेको छ? हामी पवित्र शास्त्रलाई ध्यानपूर्वक केलाऔं र यसको जवाफ पत्ता लगाऔं।

सर्वप्रथम त हामी यहोवाका साक्षीहरूसित एउटा कुरामा सहमत छौं: यो नाउँ यहोवा(जसलाई नेपाली पुरानो नियममा “परमप्रभु” भनी जनाइएको छ) यस्तो नाउँ हो जुन नाउँ केवल परमेश्वरलाई बाहेक अरू कसैलाई प्रयोग गरिएको छैन। “यहोवा भनिने उपनाम परमेश्वरकै महान्, विशिष्ट र कसैलाई दिन नमिल्ने उहाँकै निजी नाउँ हो। यो नाउँ पवित्र शास्त्रमा सृष्टि गरिएको कुनै पनि प्राणीलाई प्रयोग गरिएको छैन न ता कुनै पनि तर्कले त्यसो गर्न नै सकिन्छ किनकि उक्त नाउँले सर्वोच्च परमेश्वरकै अस्तित्वको अनिवार्यता, स्वतन्त्रता र वास्तविकतालाई औंल्याउँदछ” (सर्ले)।

परमप्रभु स्वयम् उक्त नाउँको सम्बन्धमा ज्यादै डाही हुनुहुन्छ भन्ने कुरा यी खण्डहरूबाट प्रस्टै देखिन्छ:

१) भजन सङ्ग्रह ८३:१८ –– “र तपाईं, जसको नाम मात्र ‘यहोवा’ हो, सम्पूर्ण पृथ्वीमाथि परमप्रधान हुनुहुन्छ भनी मानिसहरूले जानून्।”

२) यशैया ४२:८ — “म परमप्रभु [यहोवा] हुँ, मेरो नाउँ त्यही हो। मेरो महिमा अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।”

येशू ख्रीष्टलाई आधिकारिक रूपमा यहोवा भन्न मिल्छ भन्ने कुरा प्रमाणसहित प्रस्तुत गर्न सकियो भने, ख्रीष्टको ईश्वरत्वलाई प्रमाणित गर्नलाई योभन्दा ठूलो प्रमाण अर्को चाहिँदैन। अर्को शब्दमा भन्ने हो भने, यहोवा नाउँ कतिपय ठाउँमा ख्रीष्टलाई प्रयोग गरिएको छ भन्ने कुरा हामीले देखाउन सक्यौं भने, ख्रीष्ट स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भएको ठहरिन्छ (किनकि परमेश्वरलाई बाहेक अरू कसैलाई पनि परमेश्वरको नाउँले जनाइँदैन!)।

निम्न खण्डहरूलाई विचार गरौं:

१. जकरिया १२ मा यहोवा बोल्दैहुनुहुन्छ (पद १ र ४)। पद १० मा यहोवा भन्नुहुन्छ, “तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्।” यो त ख्रीष्टबाहेक अरू कसैको विषयमा लेखिएको हुनै सक्दैन (तुलना गर्नुहोस् १९:३७ र प्रकाश १:७ सित)।

२. पुरानो नियममा यहोवाले आफू आदि र अन्त हुँ भनी घोषणा गर्नुभएको छ, “इस्राएलका महाराजा र उद्धारक र सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन” (यशैया ४४:६; साथै, ४१:४; ४८:११-१२)। नयाँ नियमका पन्नाहरूमा शुरू र अन्त, प्रथम र अन्तिम भनेर कसलाई जनाइएको छ (प्रकाश १:८,११,१७,१८; २२:१३ मा पढ्नुहोस्)?

३. यशैया ६:५ मा अगमवक्ताले भने, “मेरा आँखाले सेनाहरूका परमप्रभु [यहोवा] राजालाई देखेको छु!” पछिबाट प्रेरित यूहन्नाले उक्त घटनाको उल्लेख गर्दै यशैयाले देखेका व्यक्ति वास्तवमा येशू ख्रीष्ट नै हुनुहुन्थ्यो भन्ने कुरा प्रस्टै बताएका छन्–“उहाँ [ख्रीष्ट] को महिमा देखेर उहाँको विषयमा बोल्दाहुँदि यशैयाले यी कुराहरू भने” (यूहन्ना १२:४१।

४. भजन सङ्ग्रह २३:१ मा दाऊदले भेडाहरूका महान् गोठाला यहोवा हुनुहुन्छ भनेर घोषणा गरे। नयाँ नियमअनुसार भेडाहरूका महान् गोठाला को हुनुहुन्छ (यूहन्ना १०:११,१४; हिब्रू १३:२०)? साथै पुरानो नियममा यहोवालाई पटक-पटक इस्राएलका चट्टान भनिएको छ (व्यवस्था ३२:३,४,१८; भजन सङ्ग्रह १८:२; भजन सङ्ग्रह ६२:१-२ आदि)। नयाँ नियमले यस चट्टान येशू नै हुनुहुन्छ भनेर प्रस्टै बताएको छ (१ कोरिन्थी १०:४)।

५. प्रस्थान ३:१४-१५ मा यहोवाले “म हुँ” भन्नुभएको पाइन्छ। यूहन्नाको सुसमाचारअनुसार “म हुँ” भन्ने को हुनुहुन्छ (यूहन्ना ६:३५; ८:१२; ८:२४; ८:५८; १०:९; १०:११; ११:२५; १४:६; १८:५-६)?

६. यशैया ४३:१०-११ र ४५:२१ मा यहोवाले आफू स्वयम् नै एकमात्र मुक्तिदाता हुनुभएको घोषणा गर्नुभएको छ। उहाँबाहेक अन्य कुनै मुक्तिदाता छैन! नयाँ नियमअनुसार एकमात्र मुक्तिदाता को हुनुहुन्छ (प्रेरित ४:१०-१२)?

७. यशैया ४५:२१-२३ मा यहोवा भन्नुहुन्छ, “हरेक घुँडा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।” फिलिप्पी २:९-११ मा यशैयाको उक्त खण्ड ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको छ जसकै सामु एक दिन सबैजना झुक्नेछन्!

८. यशैया २४:२३ र सपन्याह ३:१५-१७ मा हामी सिक्छौं, भावी राज्यमा यहोवाआफैंले यरूशलेममा राज्य गर्नुहुनेछ अनि उहाँ आफ्ना जनहरूका बीचमा हुनुहुनेछ। उक्त भावी हजार वर्षे राज्यको राजाको विषयमा नयाँ नियमले के बताएको छ (प्रकाश १९:११-१६; २०:४-६)?

९. यशैया ४०:३ मा बप्‍तिस्मा दिने यूहन्नाले आउनुहुने यहोवाको बाटो तयार पार्ने भविष्यवाणीको उल्लेख छ। मर्कूस १:१-३ मा यही खण्ड ख्रीष्टलाई प्रयोग गरिएको छ। बप्‍तिस्मा दिने यूहन्नाले ख्रीष्टका निम्ति बाटो तयार गरे।

१०. यशैया ८:१३-१४ को भविष्यवाणीअनुसार यहोवा “एउटा ढुङ्गा हुनुहुनेछ जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोष्टन लगाउँछ।” १ पत्रुस २:७-८ मा यी पदहरू येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएका छन्।

११. योएल २:३२ लाई प्रेरित २:२१,३६ सित र रोमी १०:९,१३ सित दाँज्नुहोस्। पापीहरूले पुकारा गर्नुपर्ने परमप्रभु [यहोवा] को हुनुहुन्छ?

अन्तमा डा. लुइस् स्पेरी चेफर (Dr. Lewis Sperry Chafer) लाई उद्दरण गरौं:

“ख्रीष्ट नै यहोवा हुनुहुन्छ भन्ने कुराको प्रस्ट र बृहत प्रमाणस्वरूप नयाँ नियमले येशू ख्रीष्टलाई प्रभु भन्ने उपनामले एक हजार भन्दा बढी पटक जनाएको कुराबाट देखिन्छ। यहोवा त हिब्रू शब्द हो जुनचाहिँ नयाँ नियममा आगन्तुक शब्दको रूपमा ल्याइएको पाइँदैन। यसको बराबरीमा आउने ग्रीक शब्द हो कुरिअस् (प्रभु) जुन उपनामचाहिँ पिता र [पवित्र] आत्मालाई जनाउन पनि प्रयोग गरिएको छ। पुरानो नियमको यहोवा नाउँलाई यसको विशेष अर्थमा नयाँ नियममा आएर प्रभु (कुरिअस्) भन्ने उपनामले निरन्तरता दिएको भनेर लिनु न्यायोचित प्रक्रिया नै हो। थुप्रै उच्च घोषणाहरूको सोझो अर्थ यही हुनुपर्छ भन्ने देखिन्छ: ‘सबैका प्रभु’ (प्रेरित १०:३६); ‘सबका प्रभु’ (रोमी १०:१२); ‘महिमाका प्रभु’ (१ कोरिन्थी २:८), र ‘राजाहरूका राजा, र प्रभुहरूका प्रभु’ (प्रकाश १७:१४; १९:१६)।”

निष्कर्षमा यो भन्न सकिन्छ, एक दिन येशूलाई सबैले प्रभु भनेर स्वीकार गर्नेछन् — फीलिप्पी २:११ मा पढ्नुहोस्। उहाँ यहोवा येशू हुनुहुन्छ भन्नु उचित नै हो!

पवित्र शास्त्रले छर्लङ्गसित ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर देखाएको हुनाले, हामीले अब उहाँमाथि विश्वास नगर्न, उहाँलाई प्रेम नगर्न, उहाँका आज्ञा नमान्न, उहाँको सेवा नगर्न र उहाँको आराधना नगर्न कसरी सक्छौं र? के थोमाले जस्तै तपाईंले पनि उहाँलाई यसरी सम्बोधन गर्न सक्नुहुन्छ, “मेरा प्रभु र मेरा परमेश्वर“? के यही एक मात्र जीवित परमेश्वर नै तपाईंको व्यक्तिगत परमेश्वर र मुक्तिदाता हुनुहुन्छ?

प्रभु येशू ख्रीष्टको उपासना

येशू ख्रीष्टको ईश्वरत्वको एउटा प्रमाण

जर्ज जेलर

यहोवाका साक्षीहरूका निमित्त समस्याजनक तथ्य

यहोवाका साक्षी नाउँ गरेको झूटा समूह (“कल्ट”) को शिक्षाअनुसार येशू केवल एक सृष्टि मात्र हुनुहुन्छ [एक उच्च स्वर्गदूत जसलाई परमेश्वरले शुरुमा सृष्टि गर्नुभयो र जसद्वारा परमेश्वरले अन्य सबै थोक सृष्टि गर्नुभयो]। यहाँ यहोवाका साक्षीहरूलाई एउटा ठूलो समस्या छ। यदि ख्रीष्ट उनीहरूले भनेजस्तै एक सृष्टि मात्र हुनुहुन्छ भने र यदि सृष्टि-पूजालाई परमेश्वरले दण्डनीय कार्य भनी ठहराउनुभएको छ (जसरी रोमी १:२५ जस्ता बाइबलका खण्डमा पाइन्छ) भने, ख्रीष्टलाई उपासना गर्ने कामलाई किन स्वीकार गरिन्छ र अझ यसो गर्न आज्ञा समेत किन दिइएको छ? निम्न कुराहरूलाई विचार गर्नुहोस्:

 

केवल परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ र सृष्टिको कुनै पनि कुरालाई (त्यो जतिसुकै उच्च भए पनि) उपासना गरिन हुन्न भनेर बाइबलले प्रस्टै सिकाउँछ। उदाहरणको लागि, प्रेरितहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १४:११-१५), पत्रुसले उनलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १०:२५-२६), स्वर्गदूतहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रकाश १९:१०; २२:८-९), मानिसले परमेश्वरलाई मात्र दण्डवत् गर्नुपर्छ भनेर ख्रीष्टले आज्ञा गर्नुभयो (मत्ती ४:८-१०) र जुन कुरा पाउन परमेश्वरले मात्र योग्य हुनुहुन्छ त्यसलाई मानिसले आफ्नो निम्ति स्वीकार गर्दा मानिस दण्डित भएको पाइन्छ (प्रेरित १२:२१-२३)।

तैपनि यही बाइबलले ख्रीष्टलाई परमेश्वरलाई जस्तै उपासना गरिनु पर्छ भनेर सिकाउँदछ।

  • ख्रीष्टले यस प्रकारको उपासनालाई स्वीकार मात्र गर्नुभएन, त्यसो गर्न उत्साह समेत दिनुभयो (मत्ती १४:३१-३३; १५:२५-२८; २८:९-१०; २८:१६-१८; यूहन्ना ९:३५-३९)।
  • ख्रीष्टले यस प्रकारको उपासनाको माग समेत गर्नुभयो (यूहन्ना ५:२३)।
  • ख्रीष्टलाई दण्डवत् गरियोस् भनी पिताले आज्ञा गर्नुहुन्छ (हिब्रू १:६)। साथै भजनसङ्ग्रह २:१२ सित तुलना गर्नुहोस् (“चुम्बन” = उपासना गर्नु, श्रद्धा-भक्ति चढाउनु।
  • स्वर्गीय प्राणीहरू अर्थात् स्वर्गदूतहरूद्वारा ख्रीष्ट दण्डवत् गरिनुहुनेछ (प्रकाश ५:८)।
  • ख्रीष्टको उपासना सर्वव्यापी हुनेछ (फिलिप्पी २:१०-११)। मुक्ति पाएका र नपाएका दुवैले ख्रीष्टलाई घुँडा टेक्नेछन् र उहाँलाई प्रभु भनी स्वीकार गर्नेछन्।

निष्कर्ष: यहोवाका साक्षीहरू येशू वास्तवमा को हुनुहुन्छ भन्ने सवालमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत् गरिन योग्य सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ। जसरी रोमी ९:५ मा बताइएको छ, ख्रीष्ट त सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ।

निस्तार-चाड होइन, प्रभु-भोज

प्रदेश श्रेष्ठ

“अनि अखमीरी रोटीका दिनहरूपछि हामीले फिलिप्पीबाट जहाज-यात्रा गर्यौं, र पाँच दिनमा उनीहरूकहाँ, ट्रोआसमा आइपुग्यौं, जहाँ हामी सात दिनसम्म बस्यौं। अनि हप्ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नाका निम्ति भेला भए, तब पावलले, जो भोलिपल्टै हिँड्नाका निम्ति तयार थिए, उनीहरूलाई वचन सुनाए, र मध्यरातसम्म वचन दिरहे” (प्रेरित २०:६-७)।

पवित्र शास्त्रको उपर्युक्त खण्डबाट हामी यो बुझ्दछौं कि पावल प्रेरित ट्रोआसमा आइपुग्दा अखमीरी रोटीका दिनहरू पूरा भएको कम्तीमा ५ दिन भइसकेको थियो। त्यसैले निस्तार-चाडको दिन पूरा भएको कम्तीमा १२ दिन भइसकेको थियो, किनकि वर्षको एक पटक मानिने निस्तार-चाडको लगत्तै पछि अखमिरी रोटीको एक हप्ताको चाड हुन्छ (प्रस्थान १२:६-१४ लाई प्रस्थान १२:१८ सित तुलना गर्नुहोस्; लेवी २३:५-६ पढ्नुहोस्)।

ट्रोआसमा आइपुगेर पावल ७ दिन बस्छन्। अब दिन गन्ती गर्दा निस्तार चाडको दिन पार गरिसकिएको कम्तीमा १९ दिन भइसकेको थियो। उक्त पर्खाइपछि हप्‍ताको पहिलो दिन (आइतबार) आइपुग्यो। त्यसै दिनमा “चेलाहरू रोटी भाँच्नाका निम्ति” भेला भएका थिए। यसको मतलब उनीहरू निस्तार-चाड मनाउनलाई भेला भएका थिए भन्न सकिन्न किनभने निस्तार-चाडको दिन पूरा भइसकेको अब कम्तीमा १९ दिन भइसकेको थियो। उनीहरू “रोटी भाँच्नाका निम्ति भेला भए” भन्नुको अर्थ उनीहरू निस्तार-चाड मान्नलाई नभएर “प्रभु-भोज” लिनका लागि भेला भए भन्ने हुनपुर्छ। यो प्रमाणित गर्न बाइबलका निम्न खण्डहरूलाई विचार गरौं।

  1. प्रेरित २:४२ – “अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी‍ -भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे” — प्रेरितहरू भएको यरुशलेमस्थित उक्त पहिलो मण्डलीमा उनीहरू “निस्तार-चाडमा लागिरहे” भनेर भनिएको पाइँदैन यद्यपि त्यतिखेर सबै ती विश्वासीहरू यहूदीहरू नै थिए। होइन, उनीहरू “रोटी-भँचाइ” मा लागिरहे। “लागिरहे” भन्ने बयानबाट रोटी-भँचाइ वर्षको एक पटक मानिने निस्तार-चाड जस्तो नभई प्रेरितहरूको शिक्षा, सङ्गति, प्रार्थनाहरू जस्ता बराबर गरिने विधि थियो भन्ने प्रस्ट हुन्छ।
  2. १ कोरिन्थी ११:२३-२४ – “किनकि यो कुरा मैले प्रभुबाट पाएँ, जो मैले तिमीहरूको हातमा सुम्पि पनि दिएँ, अर्थात् प्रभु येशूले, जुन रात पक्राउ पर्नुभयो, त्यही रात रोटी लिनुभयो; र धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो, र भन्नुभयो: ‘लेओ, खाओ; यो मेरो शरीर हो, जो तिमीहरूका निम्ति तोडिएको छ; मेरो सम्झनामा यो गर'” —
    1. यो विधि पावल प्रेरितले प्रभुबाट प्रकाशद्वारा पाए। यदि यो निस्तार-चाड भएको भए त्यसो भन्नु पर्ने थिएन किनकि निस्तार-चाड झण्डै १५०० वर्ष अघि देखि चलिआएकै थियो; त्यो मोशाद्वारा दिइएको थियो; त्यो पवित्र शास्त्रमा उल्लेख भइसकेको कुरो थियो; “प्रभुबाट पाएँ” भन्नुको तात्पर्य यो विधि निस्तार-चाड भन्दा बेग्लै र नयाँ विधि हुनुपर्छ।
    2. यो विधि प्रभुले बाह्र प्रेरितहरूलाई पनि दिनुभएको थियो भन्ने कुरा मत्ती २६:२६-२९, मर्कूस १४:२२-२५ र लूका २२:१९-२० मा उल्लेख छ। त्यहाँ प्रस्टै देख्‍न सक्छौं कि प्रभुले आफ्ना चेलाहरूसित त्यस रात पहिला निस्तार-भोज खानुभएको थियो (लूका २२:१३-१८) अनि त्यसपछि उहाँले एउटा बेग्लै र नयाँ विधिको आज्ञा दिनुभएको थियो (लूका २२:१९-२०); निस्तार-चाड मनाइँदा मिस्रदेशको दासत्वबाट परमप्रभुले उनीहरूलाई कसरी छुटकारा दिनुभएको थियो भन्ने कुराको स्मरण इस्राएलीहरूले (मण्डलीले होइन) गर्नुपर्थ्यो (प्रस्थान १२:२७); तर यस नयाँ विधिचाहिँ प्रभु येशू ख्रीष्टले क्रूसमा अर्पण गर्नुभएको उहाँको शरीर र बहाउनुभएको रगतको चित्रण गर्ने रोटीबाट र दाखरसबाट उहाँकै सम्झनामा हामी नयाँ नियमका विश्वासीहरूले लिनुपर्छ भन्ने उहाँकै आज्ञा हो।
  1. १ कोरिन्थी ११:२५ – “जहिले-जहिले तिमीहरू यो पिउँछौं, मेरो सम्झनामा यो गर” — हाम्रा प्रभु येशूको यस आज्ञाबाट हामी बुझ्छौं कि प्रभु-भोज बारम्बार लिइनुपर्छ। “जहिले-जहिले” को अर्थ वर्ष-वर्षमा भन्ने अर्थ लाग्दैन। “जहिले-जहिले तिमीहरू यो पिउँछौं” [मूल लेखोटमा οσακις αν πινητε (hosakis an pinete)] को व्याकरण सम्बन्धी टिप्पणी गर्दै ग्रीक भाषाविद ए. टी. रबर्टसन् यसरी लेख्छन्, “Usual construction for general temporal clause of repetition (an and the present subjunctive with hosakis)” (A.T. Robertson, Robertson’s Word Pictures). अर्थात्, कुनै कार्यकलाप बारम्बार दोहोर्याइनुपर्ने हो भने त्यसलाई बयान गर्नलाई प्रायः प्रयोग हुने व्याकरणात्मक रचना यहाँ प्रयोग भएको छ। यसैले प्रभु-भोज हप्ता-हप्तामा लिन सकिन्छ (जसरी ट्रोआसको मण्डलीमा गरिन्थ्यो भन्ने देखिन्छ, प्रेरित २०:७)। प्रभु-भोज बारम्बार लिइनुपर्ने भनेर प्रभुले हामीलाई आज्ञा गर्नुभए तापनि कति-कति अवधिमा लिइनुपर्छ भनेर चाहिँ तोक्नुभएन। त्यसैले हामीलाई केही मात्रामा स्वतन्त्रता छ र कतिपय मण्डलीहरूमा प्रभु-भोज महिना-महिनामा लिने गरिन्छ। यसमा कुनै आपत्ति छैन, यो शास्त्र-सम्मत छ। यस सम्बन्धी थप चर्चा गरिएको पढ्न चाहनुहुन्छ भने अर्को लेख पढ्न सक्नुहुन्छ: प्रभु-भोजको अर्थ – बाइबलले के भन्दछ?
  2. १ कोरिन्थी ११:२६ – “जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ, र यो कचौरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ” — फेरि पनि यहाँ “जहिले-जहिले” को प्रयोग भएको छ। साथै रोटी र कचौराबाट लिनुपर्ने काम प्रभु येशू खीष्ट नआउन्जेल गरिनुपर्छ भनिएको यहाँ पाउँछौं। प्रभु येशू ख्रीष्टको पुनरागमन भइसकेको छैन। त्यसैले येशू ख्रीष्टको मण्डलीले आज प्रभु-भोज लिरहनुनैपर्छ। (उहाँको दोस्रो आगमन सम्बन्धी बाइबलीय शिक्षा बुझ्नलाई निम्न लेखहरूबाट मद्दत लिन सक्नुहुन्छ:

निष्कर्ष: येशू ख्रीष्टको मण्डलीलाई निस्तार-चाड मान्नुपर्ने कतै आज्ञा छैन। उक्त आज्ञा इस्राएललाई दिइएको हो। (इस्राएल र मण्डलीबीचको भिन्नता बुझ्नलाई यहूदी, अन्यजाति र परमेश्वरको मण्डली अध्ययन गर्नुहोस्।) प्रभु येशूले मण्डलीलाई प्रभु-भोज लिनुपर्ने आज्ञा दिनुभयो। उहाँको पुनरागमन नभएसम्म यो आज्ञा स्थानीय मण्डलीहरूमा पालना गरिनुपर्छ। प्रभु-भोज बारम्बार लिइनुपर्छ। निस्तार-चाड जस्तो यो वार्षिक चाड होइन। शुरुका मण्डलीहरूमा यो बारम्बार लिइने गरिन्थ्यो भन्ने कुरा प्रेरित २:४२, प्रेरित २०:७ जस्ता खण्डहरूबाट पुष्टि हुन्छ।

झूटा शिक्षादेखि होशियार: वर्षमा पटक-पटक प्रभु-भोज लिने मण्डलीहरू झूटा हुन् बरु वर्षको एक पटक “निस्तार-चाड” मान्नुपर्छ भनेर सिकाउने दक्षिण कोरियाको वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडले नेपालमा जहाँतहीँ आफ्ना झूटा शिक्षाहरू फैलाउने क्रममा छन्। उनीहरूको शिक्षा परमेश्वरको वचनको बिलकुलै बिपरित छ भन्ने कुरा देखाउने थप लेखहरू प्रस्तुत गर्ने प्रयास गरिनेछ।