Entries by Pradesh Shrestha

गर्भपतन

abortion

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विविध

१) येशू ख्रीष्टको दोस्रो आगमनमा यस संसारमा नै १००० वर्ष राज्य गर्नुहुन्छ अनि स्वर्ग उठाइएका मण्डलीहरू पृथ्वीमा येशूसाथ आउँछन् कि स्वर्गमा बस्छन्?

उनीहरू येशू ख्रीष्टसँगै फेरि आउनेछन्। प्रकाश १९:१४; प्रकाश १:६ लाई २०:६ सित तुलना गर्नुहोस्।

२) मण्डलीमा ६ महिना, ३ महिना अनुशासनमा राख्छन्। त्यसैले बाइबलअनुसार अनुशासन भनेको के हो? किन बस्ने? कसरी बस्ने? बस्दा के हुन्छ? नबस्दा के हुन्छ? त्यसैले अनुशासनको बारेमा परमेश्वरको वचनबाट प्रस्ट पारिदिनुहोला।

मण्डलीले आफूमध्येबाट कसैलाई सार्वजनिक प्रकारको पापको कारण “न्याय” (१ कोरिन्थी ५:१२) अथवा अनुशासन गर्नुपर्ने हुन्छ र उसलाई मण्डलीदेखि अलग गर्नुपर्ने परिस्थिति पनि आउने गर्छ जसरी १ कोरिन्थी ५:१-१३ मा विभिन्न त्यस्ता पापको उल्लेख छ। त्यस्तो अवस्थामा “त्यस्तो मानिससँग खाँदै नखानू पनि” भनिएको छ, अर्थात् उसलाई प्रभु-भोजबाट बञ्चित गरिनुपर्छ। २ थेस्सलोनिकी ३:६,१४ पनि हेर्नुहोस्। समयावधि बाइबलमा नतोकिएको हुनाले मण्डलीले सम्बन्धित परिस्थिति हेरीकन, प्रार्थनापूर्वक व्यवहार गर्नुपर्ने हुन्छ।

३) प्रभुले मण्डलीलाई उठाउनुहुँदाखेरि ककसलाई उठाउनुहुन्छ? (जीवित मण्डली, मरेका मण्डली वा दुवैलाई उठाउनुहुन्छ?

प्रभु येशू विश्वासीहरूलाई लिन आउनुहुँदा (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१६-१७) सबै साँचा विश्वासीहरू उठाइन्छन्। कुनै पनि स्थानीय मण्डलीमा सबै नै सदस्यहरू साँचा विश्वासी हुन्छन् भनेर भन्न सकिन्न (दाँज्नुहोस् प्रेरित ८:२३; २०:३०; २ पत्रुस २:१; यहूदा ४)। नयाँ गरी जन्मेको (यूहन्ना ३:३,५; तीतस ३:५) प्रत्येक विश्वासी साँचो विश्वासी हो (हाम्रो वेबसाइटमा “के तपाईं साँचो विश्वासी हुनुहुन्छ” भन्ने लेख पढ्न सक्नुहुन्छ)। अङ्ग्रेजीमा “र्‍याप्चर” भनिने यस अद्भुत घटनाको बारेमा अझ जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्।

४) येशू ख्रीष्टको १००० वर्षीय राज्यमा ककसले उहाँसँग राज्य गर्नेछन् अथवा सहभागी हुन पाउनेछन्? उठाइसकेको मण्डलीले पाउने कि नपाउने किनभने यो त स्वर्ग गइसकेको हुन्छ? अनि पुरानो नियममा मरेका विश्वासीहरू जस्तै (आदम, नूह, मोशा आदि) ले पाउने कि नपाउने? अनि सङकष्टकालमा मरेका विश्वासीहरूले?

प्रभु येशूसँग स्वर्गमा उठाइसकेको मण्डली युगका विश्वासीहरू ७ वर्षपछि फेरि उहाँसँगै संसारमै फर्कीआउनेछन् (प्रकाश १९:१४)। पुरानो नियमका विश्वासीहरूको बौरिउठाइ पनि ७ वर्षको सङ्कष्टकालपछि हुनेछ (दानियल १२:१-२)। साथै सङ्कष्टकालमा मरेका विश्वासीहरूको बौरिउठाइ पनि त्यसैबेला हुनेछ (प्रकाश २०:४)। यसरी सबै बिगतका युगका विश्वासीहरू हजार वर्षीय राज्यमा भाग पाउनेछन्।

५) येशू ख्रीष्टको १००० वर्ष राज्य सिद्धिएपछि के हुन्छ?

हजार वर्षीय राज्यको अन्तमा शैतान थोरै समयको लागि उसको १००० वर्ष लामो कैदबाट छोडिनेछ (प्रकाश २०:२, ७)। उसले हजार वर्षको राज्यमा पार्थिव जन्म लिएका तर साँचो गरी विश्वास नगरेकाहरूलाई प्रभुको विरोधमा सुर्‍याउनेछ र शैतान र मानिसको अन्तिम विद्रोह हुनेछ तर अवश्य सफल हुनेछैन; विद्रोही मानिसहरू भस्म पारिन्छन् र शैतान आगो र गन्धकको झीलभित्र फ्याँकिनेछ (प्रकाश २०:८-१०)। त्यसपछि ठूलो सेतो सिंहासनको न्याय हुनेछ जसमा विश्वासी नगर्नेहरू मात्र पर्नेछन् र उनीहरूको अन्त पनि आगोको झील नै हुनेछ (प्रकाश २०:११-१५)। त्यसपछि पृथ्वी र आकाश बितेर जानेछ (प्रकाश २१:१; २ पत्रुस ३:१२) र परमेश्वरले नयाँ आकाश र नयाँ पृथ्वी सृजना गर्नुहुनेछ (प्रकाश २१:१; २ पत्रुस ३:१३) र अनन्तताको शुरुआत हुनेछ जसमा कहिल्यै श्राप हुनेछैन।

६) हजुरले कृपया येशू ख्रीष्टको जन्मदेखि लिएर दोस्रो आगमन, अनि मण्डली उठाइ, सङ्कष्टकाल, १००० वर्षको राज्य अथवा (येशू ख्रीष्टको जन्मदेखि लिएर १००० वर्षको राज्यपछि) सम्मका कुरालाई एउटा चार्ट वा चित्र बनाएर पठाइदिनुहोला जसले गर्दा बुझ्न अझ सजिलो पर्ने थियो। अनि यसमा पदहरू पनि लेखेर पठाइदिनुहोला दाई।

चार्ट वा चित्रको लागि यस पृष्ठमा हेर्नुहोस्। साथै निम्न चार्टलाई पनि अध्ययन गर्नुहोस्।

७) के हामी विश्वासीहरू आर्मीमा जानु हुन्छ कि हुँदैन?

आर्मीमा जान सकिन्छ तर मूर्तिपूजाबाट अलग रहनुपर्छ। सरकारलाई जनताका भलाइका निम्ति हतियार प्रयोग गर्ने अधिकार दिइएको छ (रोमी १३:१-७)।

८) येशू ख्रीष्टलाई साँचो विश्वास नगरीकन कोही पनि स्वर्ग जान सक्दैन तर हाम्रा जिज्यूबाजेहरूले येशू ख्रीष्टको नाउँ समेत सुनेका छैनन्, बाइबल पनि थाह छैन उनीहरू मरे अब स्वर्ग जान्छन् कि नरक जान्छन्?

हाम्रा पुर्वजहरूलाई, संसारका सबै मानिसहरूलाई जस्तै, सृष्टि (रोमी १:१८-३२) र विवेकको (रोमी २:१-१६) प्रकाश दिइएको थियो; त्यसकै आधारमा उहाँहरूको न्याय हुनेछ। अब्राम मूर्तिपूजाकै देशमा जन्मेका थिए तर उनले मूर्तिपूजा नगर्ने निर्णय गरे। हाम्रै देशको तीर बहादुर देवानको जीवनी पढ्नुभएको छ भने कसरी मूर्तिपूजकहरूको बीचमा समेत सत्य परमेश्वरको चाहना हुन सक्दछ भन्ने कुरा बुझ्न मदत मिल्नेछ।

९) एकजना मान्छे दुर्घटनामा पर्‍यो र उसको एउटा हात गयो। त्यसपछि केही समयपछि मर्‍यो अनि प्रभुको आगमनमा उसको बौरिउठाइ हुँदा हात भएको हुन्छ कि नभएको हुन्छ?

बौरिउठाइको शरीरसित वर्तमान शरीरको खासै सरोकार छैन भन्ने कुरा म बुझ्दछु — हेर्नुहोस् १ कोरिन्थी १५:३७। बरु विश्वासीको बौरिउठाइको शरीर ख्रीष्टको जस्तै महिमित हुनेछ भनिएको छ (फिलिप्पी ३:२१)।

१०) मर्कूस ९:१ मा येशू ख्रीष्टले भन्नुभएको भनाइ यहाँ उभिएका कतिजनाले परमेश्वरको राज्य नदेखुन्जेल मृत्युको स्वाद चाख्नेछैन। के यिनीहरू अझै जीवित छन् र? मलाई प्रस्ट पारिदिनुहोला।

मर्कूस ९:१ बुझ्नलाई ९:२ र त्यसपछिका पदहरू पढ्नुपर्छ। ९:१ को ६ दिनपछि उहाँका तीनजना चेलाले उहाँको परमेश्वरको राज्यको सामर्थ्यको झलक पाए जब प्रभु येशूको रूप उनीहरूको सामु परिवर्तन भयो। भविष्यमा प्रभु येशू बडो सामर्थ्यसाथ आउनुहुनेछ र संसारमा आफ्‍नो हजार वर्षको राज्य स्थापना गर्नुहुनेछ। त्यसको पूर्वदर्शन मर्कूस ९:२ मा पत्रुस, यूहन्ना र याकूबले देखे। धेरै वर्ष पछि २ पत्रुस १:१६-१७ मा पत्रुसले उक्त घटनालाई उल्लेख गर्दै लेखेको कुरा पढ्नुहोस्। यसको विस्तृत चर्चाको लागि यो पृष्ठमा हेर्नुहोस्:

११) १ कोरिन्थी ७:२९ ले के भन्न खोजेको हो?”

१ कोरिन्थी ७:२९ लाई बुझ्न यसको पूरै सन्दर्भ (पद २९-३५) लाई ध्यान दिनुपर्छ।

१ कोरिन्थी ७:२९-२५

“तर भाइहरूहो, म यो भन्दछु — समय छोटो छ;
अबदेखि पत्नी हुनेहरू पनि नहुनेहरूझैं होऊन्;
अनि रुनेहरू पनि नरुनेहरूझैं होऊन्;
अनि आनन्द मनाउनेहरू पनि आनन्द नमनाउनेहरूझैं;
र किन्नेहरू पनि केही थोक नभएकाहरूझैं होऊन्;
अनि यस संसारसँग व्यवहार राख्नेहरू पनि व्यवहार नराख्नेहरूझैं होऊन्,
किनकि यस संसारको रीति बितेर जान्छ।

तर तिमीहरूलाई फिक्री नहोस् भन्ने म चाहन्छु।
जसले विवाह गरेको छैन, उसले म प्रभुलाई कसरी खुशी पारूँ भन्दै
प्रभुकै कुराहरूको विषयमा फिक्री गर्दछ।
तर जसले विवाह गरेको छ, उसले, म मेरी पत्नीलाई कसरी खुशी पारूँ भन्दै
संसारका कुराहरूको विषयमा फिक्री गर्दछ।

एउटी पत्नी र एउटी कन्यामा पनि भिन्नता पाइन्छ।
विवाह नगरेको स्त्रीले दुवै शरीर र आत्मामा पवित्र हुनाका निम्ति
प्रभुकै कुराहरूको विषयमा फिक्री गर्छे। तर विवाह गरेकी स्त्रीले चाहिँ,
म मेरा पतिलाई कसरी खुशी पारूँ भन्दै संसारका कुराहरूको विषयमा
फिक्री गर्छे।

अनि तिमीहरूकै फाइदाका निम्ति म यो भन्दछु
— तिमीहरूलाई फन्दामा पार्नका निम्ति होइन,
तर जुन कुरा ठीक छ, त्यसका लागि, र तिमीहरूले
एक चित्त भएर प्रभुको सेवा गर्न सक भनेर।

यस खण्डमा संसारका कुराहरूलाई एकातिर राखिएको छ भने प्रभुको सेवालाई अर्कोतिर। संसारका कुराहरूमध्येमा वैवाहिक सम्बन्धलाई पहिले उल्लेख गरिएको छ। त्यसपछि संसारमा रहँदाको हर्ष र रोदनका घडीहरूलाई। अनि त्यसपछि संसारमा जोडिने सम्पत्तिको कुरा छ। र संसारमा भएका कुराहरूको उपभोग गर्ने कुरा।

संसारमा हाम्रो समय छोटो छ अर्थात् संसारमा प्रभुको सेवा गर्ने अवसर थोरै समयको लागि मात्र छ। प्रभुको आगमन कुनै पनि बेला हुन सक्छ। त्यसैले विवाहित भए पनि वैवाहिक सम्बन्धका कुराहरूलाई नै प्रमुख नबनाऔं। विवाहितले आफ्‍नो काम कर्तव्यहरूलाई परित्याग गर्ने भनेको त होइन (दाँज्नुस् १ कोरिन्थी ७:३-५) तर पावलको तात्पर्य यो हो कि उसले प्रभुको कुरालाई पहिलो स्थान देओस्।

त्यस्तै गरी संसारमा हामीलाई कहिले आनन्दको अनुभव हुन्छ कहिले शोकको। तर आनन्दको घडीमा पनि त्यसमा ज्यादा बढ्ता प्रफुल्लित नहोऔं अनि शोकको घडीमा ज्यादा बढ्ता त्यसमा नडुबौं। किन? किनकि त्यो छिनभरलाई हो, चाहे संसारको आनन्द वा शोक। अनि हाम्रो आर्थिक उन्नति हुँदा त्यसैमा हाम्रो भरोसा नराखौं किनकि त्यो पनि क्षणिक हो। तुलना गर्नुहोस् १ तिमोथी ६:१७, हितोपदेश २३:४-५। हामी संसारमा छौं, त्यसैले संसारका कुराहरूलाई प्रयोगमा त ल्याउँछौं नै, तरैपनि तिनको दुरुपयोग चाहिँ नगरौं, तिनलाई नै हाम्रो जीवन ठानेर। किनकि “यस संसारको रीति बितेर जान्छ”। अनि प्रभुको सेवा गर्ने अवसर सकिन्छ।

केही टिप्पणीकारहरूबाट म उद्दरण गर्छु:

“सबैजनाले आफ्‍नो काम व्यवहार यस्तो दृष्टि राखेर गर्नुपर्छ कि समय साँच्ची नै छिटोछिटो सकिँदैछ, प्रभुको आगमन झन् झन् नजिकिँदैछ र परमेश्वरको इच्छा पूरा गर्नुपर्छ भन्ने हाम्रो अठोटलाई कुनै पनि शारीरिक उपलब्धीको फिक्रीले एकातिर नपन्साओस्।” — ह्यारी ए. आइरनसाइड (H.A. Ironside)

“यसको माने निश्चय पनि यो होइन कि विवाहित पुरुषले एउटा पतिले गर्नुपर्ने व्यवहार गर्न छोडोस्, बरु यो हो कि आफ्‍‍नी पत्नीसितको उसको सम्बन्धले पूर्ण तवरले आफ्‍ना प्रभुसितको उसको अझ उच्च सम्बन्धभन्दा निम्नस्थान ओगटोस् जुन प्रभुलाई नै हृदयमा पहिलो स्थान दिइनुपर्छ; ख्रीष्टप्रतिको उसको आज्ञापालनलाई कुनै प्राकृतिक सम्बन्धले बाधा नदेओस्।” — डब्लु ई भाइन्स (W. E. Vines)

“जीवनका सुखदुख तथा सम्पत्तिहरूलाई हाम्रो जीवनमा आवश्यक भन्दा बढ्ता महत्त्व दिइनुहुँदैन। यी सबै कुराहरूलाई प्रभुको सेवा गर्ने उद्देश्यमा दिन छँदा नै हरेक समय र अवसरको सदुपयोग गर्ने हाम्रो प्रयत्नको अधीनतामा राखिनुपर्छ।” — विलियम म्याक्डोनाल्ड (William MacDonald)






शैतान

प्रदेश श्रेष्ठ

१) परमेश्वरले पहिले पृथ्वी बनाउनुभएको हो कि शैतानलाई स्वर्गबाट फाल्नुभएको हो?

परमेश्वरले पृथ्वी सृष्टि गर्नुभन्दा अगाडि नै स्वर्गदूतहरूलाई सृष्टि गरिसक्नुभएको थियो भन्ने कुरा अय्यूब ३८:७ बाट जान्न सकिन्छ। त्यसैले शैतानको पतन पृथ्वीको सृष्टिभन्दा अगाडि नै भएको हुनुपर्छ भन्ने कुरा म विश्वास गर्दछु।

२) के नरकमा जाने सबै मानिस र दुष्ट शैतानले पाउने दण्ड बराबर हुन्छ?

नरकमा समेत दण्ड बराबर हुँदैन भन्ने कुरा मत्ती ११:२२-२४ जस्ता पदहरूबाट जान्न सकिन्छ। जसलाई जति बढी प्रकाश दिइएको थियो उसको उति नै बढी न्याय हुन्छ। तुलना गर्नुहोस् लूका १२:४८। यसको आधारमा शैतानको दण्ड बढी हुन्छ भन्ने म बुझ्दछु।

३) शैतानलाई नरक हुन्छ भन्ने थाह छ कि छैन? छ भने किन पश्चात्ताप नगरेको होला?

शैतानलाई नरकको बारेमा थाह त हुनुपर्छ किनकि बाइबलका कुराहरूदेखि ऊ अनभिज्ञ छैन (दाँज्नुहोस् मत्ती ४:६ जहाँ शैतानले बाइबलको प्रयोग, अझ भन्नुपर्दा, दुरुपयोग गर्दछ) तर ऊ परमेश्वरलाई जित्न सक्छु भन्ने भ्रममा परेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। ऊ झूटको बाबु हो (यूहन्ना ८:४४)। झूट (अर्थात् आफू एक सृष्टि गरिएको व्यक्ति सृष्टिकर्ताको बराबरीमा अर्थात् सर्वोच्च परमेश्वर जस्तै हुन सक्छु भन्ने झूटो कुरा, यशैया १४:१२-१५) लाई विश्वास गरेको हुनाले ऊ स्वभ्रममा परेको म बुझ्दछु।

अर्को कुरा, पश्चात्ताप गर्न परमेश्वरलाई सकारात्मक दृष्टिमा हेरिनैपर्छ (हिब्रू ११:६), केवल नरकबाट बाँच्न चाहेर मात्र साँचो पश्चात्ताप हुने होइन (नत्र भने संसारका सबै मानिसलाई नरकको राम्रो झलक दिए पुग्थ्यो अनि सबैले विश्वास गर्नेथिए, तर वास्तविकता त्यसो होइन)।

अर्को कुरा, पश्चात्ताप भन्ने कुरा हृदयको रोजाइ हो। कुरा के भने, मानिस आफूले जन्मन नरोजीकनै पापमा जन्मेकोले उसलाई पश्चात्ताप गर्न मौका दिनु (रोज्न दिनु) परमेश्वरको निम्ति धर्मसङ्गत कुरा हो। तर शैतान र उसका दूतहरूले त पहिल्यै रोजीसके, परमेश्वरको शत्रु हुन। त्यसैले शैतान र दुष्टआत्माहरूलाई कहिल्यै पश्चात्ताप गर्नलाई मौका दिनु आवश्यक छैन किनकि उनीहरू जानाजानी उहाँलाई त्याग्नेहरू हुन् त्यसैले उनीहरूले पश्चात्ताप गर्नु असम्भव छ। पछि हट्ने नामधारी विश्वासीको सवालमा पनि यही कुरा भन्न सकिन्छ (हेर्नुहोस् हिब्रू ६:४-६)।






आत्मिक वरदानहरू

 

१) एफेसी ४:११ अनुसार ५ ओटा वरदानहरूको कुरा गरिएको छ। के यी सबै ५ ओटा वरदानहरू अहिले मण्डलीमा पाइन्छन्? ५ ओटा वरदानहरूको चिन्ह र लक्षण के हो? यी ५ ओटा वरदानहरूको चरित्र के हो? यी सबैको लामो बयान गरिदिनुहोला।

एफेसी ४:११ मा उल्लेखित प्रचारक, गोठाला र शिक्षकका वरदानहरू त वर्तमानमा पनि दिइन्छन् भन्ने कुरा निर्विवाद छ। तर प्रेरित र भविष्यवक्ताको वरदान वर्तमान समयमा दिइन्छन् कि दिइँदैनन् भन्ने कुरामा मतभिन्नताहरू छन्। प्रेरित र भविष्यवक्ताको वरदान अस्थायी वरदानहरू थिए र वर्तमान समयमा दिइँदैनन् भन्ने कुराको चर्चा गरिएको हाम्रो निम्न पृष्ठमा पढ्नुहोला:
https://www.wordoftruth.com.np/charismatic-error-01-04

प्रेरितका लक्षणहरू २ कोरिन्थी १२:१२ मा उल्लेख गरिएका छन् (साथै १ कोरिन्थी ९:१ पनि पढ्नुहोस्)। भविष्यवक्ताको वरदानको बारेमा माथिको लिङ्कमा लामो चर्चा गरिएको छ। प्रचारक, सुसमाचार प्रचार गर्ने वरदान भएको व्यक्ति हो। जस्तै, फिलिप (प्रेरित २१:८) – यिनीचाहिँ प्रेरित फिलिपभन्दा बेग्लै व्यक्ति हुन्। प्रचारकको जिम्मेवारी हराएकाहरूलाई सुसमाचार (१ कोरिन्थी १५:३-४) को प्रचार गरी उनीहरूलाई ख्रीष्टमा खिँच्नु हो। उनी मछुवाजस्तै हुन्छन्।

गोठाला (पास्टर) हरू, परमेश्वरको बगाललाई वचन खुवाउने र रक्षा गर्ने बगालको नमुना व्यक्तिहरू हुन्। जस्तै, तिमोथी (१ तिमोथी ४:१२-१६)। ऊसित शिक्षकको दान अनिवार्यरूपमा हुन्छ। किनकि एफेसी ४:११ मा “गोठाला र शिक्षक” एकै व्यक्तिलाई जनाउने बयान हो भनेर लिन सकिन्छ।

शिक्षकहरू: गोठाला प्रायः एउटै बगाल (स्थानीय मण्डली) मा बढी समय दिन्छ भने शिक्षकहरूको सिकाउने क्षेत्र अलि फराकिलो पनि हुन सक्छ। जस्तै, अपोल्लोस (प्रेरित १८:२२-२९) शिक्षकको वरदान भएर त्यसलाई आफ्‍नो जीवनमा विकास गरेको व्यक्तिले परमेश्वरको वचनको सत्यताहरू अरूहरूलाई स्पष्ट रूपमा सिकाउन सक्छ।

प्रेरित वरदान भएको व्यक्तिसँग प्रचारक, गोठाला र शिक्षकको पनि वरदानहरू हुन्थे भन्ने बुझ्दछु म (जस्तै, पावललाई विचार गर्नुहोस्)।

प्रेरितहरू पहिलो शताब्दीमा तबसम्म आवश्यक थिए जबसम्म मण्डलीसँग परमेश्वरको वचन पूर्णरूपमा थिएन। याद गर्नुहोस्, शुरुका विश्वासीहरूसित केवल पुरानो नियम मात्र थियो, नयाँ नियम त लेखिएकै थिएन। नयाँ नियम दिइनेवाला छ भन्ने कुराको भविष्यवाणी प्रभु येशूले गर्नुभएको थियो (हेर्नुहोस् यूहन्ना १६:१२-१५)। त्यस भविष्यवाणी अनुसार नयाँ नियमका २७ ओटा पुस्तकहरू क्रमिक रूपमा पवित्र आत्माले प्रेरितहरूद्वारा र नयाँ नियमकालीन भविष्यवक्ताहरूद्वारा दिनुभयो। त्यसैले मण्डलीलाई “प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बसालिएको” आत्मिक भवनको रूपमा चित्रण गरिएको पाइन्छ (एफेसी २:२० मा)। जग भनेको कुरा एक पटक मात्र बसालिन्छ, अर्थात् शुरुमा मात्र। यसैकारण प्रेरित र भविष्यवक्ताहरूको वरदान वर्तमान समयमा छैनन्। ती आवश्यक पनि छैनन्, किनकि हामीसँग “प्रेरितहरूका शिक्षा” (प्रेरित २:४२ सित दाँज्नुहोस्) र परमेश्वरले प्रकट गर्नुभएका सबै भविष्यवाणीहरू नयाँ नियमको २७ ओटा पुस्तकहरूमा छन्।

प्रेरितहरू १२ जना थिए जो प्रभु येशूको बप्‍तिस्मादेखि लिएर उहाँको स्वर्गारोहण भएको दिनसम्मका सबै कुराहरूको गवाही दिन सक्ने गरी उहाँकै साथसाथ हिँडेका व्यक्तिहरू। यहूदा इस्करयोतीको रिक्त स्थानमा अर्कोलाई नियुक्त गरिएको कुरा प्रेरित १:२०-२६ मा पढ्नुहोस्। यिनै बाह्रजनाको नाम नयाँ येरूशलेमको जगमा लेखिएको पाउनेछौं। त्यसबाहेक पावल एक छुट्टै विशेष प्रेरित थिए अर्थात् अन्यजातिहरूको लागि चुनिएका प्रेरित (रोमी ११:१३)।

२) परमेश्वरले मण्डलीलाई कुन कुन आत्मिक वरदानहरू अहिले दिनुहुन्छ?

वरदानका सूचीहरू उल्लेख भएका खण्डहरू रोमी १२, १ कोरिन्थी १२-१४ र एफेसी ४ अध्यायहरू हुन्। तिनमा उल्लेखित प्रेरितीय र चिन्हरूपी वरदानहरू र प्रकाशकीय वरदानहरूलाई छोडेर अन्य वरदानहरू चाहिँ अहिले पनि दिनुहुन्छ।

३) मर्कूस १६:१७-१८ पदलाई स्पष्ट पारिदिनुहोला।

यहाँ उल्लेखित वरदानहरू चिन्हरूपी वा प्रेरितीय छन् र तिनको उद्देश्य पूरा भइसकेका छन् जसरी प्रेरितको पुस्तकमा तिनको ऐतिहासिक अभिलेख गरिएको छ।

४) के परमेश्वरले अहिले पनि चङ्गाइको वरदान दिनुहुन्छ?

परमेश्वरले चङ्गाइ दिन सक्नुहुन्छ तर चङ्गाइको वरदान भने अहिले दिनुहुन्न। चङ्गाइको वरदान शुरुमा १२ जना प्रेरितहरूलाई दिइयो (मत्ती १०:१), पछि ७० जनालाई दिनुभयो (लूका १०:१,९)। पेन्टेकोस्टपछि प्रेरितहरूद्वारा उनीहरूका हातहरू राखेर प्रार्थना (प्रेरित ६:६) गरिएकाहरूलाई पनि दिइयो: १) स्तिफनसलाई (प्रेरित ६:८) र २) फिलिपलाई (प्रेरित ८:५-७)।

आज चङ्गाइ हुन्छ भने त्यो उहाँको इच्छामा, प्रार्थनाको जवाफस्वरूप औषधीको प्रयोगद्वारा वा औषधीबिना पनि हुन सक्छ। जसरी हरेक प्रार्थनाको जवाफमा परमेश्वरले “हुन्छ” नै त भन्नुहुन्न (जस्तै २ कोरिन्थी १२:८-९) तर “हुन्न” अथवा “पर्ख” पनि भन्न सक्नुहुन्छ। त्यसैले आज चङ्गाइ हुन सक्छ तर चङ्गाइ गर्ने वरदानचाहिँ आजको लागि होइन। यस बारेमा विस्तृत अध्ययनको लागि हेर्नुहोस् https://www.wordoftruth.com.np/charismatic-error-01-06

अर्को कुरा, दुष्टात्मा लागेको व्यक्तिको सवालमा भने उसले आफ्‍नो पापबाट मुक्ति पाउनलाई (चङ्गाइको लागि मात्र होइन) ख्रीष्टमाथि साँचो गरी विश्वास गरेको खण्डमा निजले अनिवार्य रूपमा नै र स्थायी रूपमा दुष्टात्माबाट छुटकारा पाउँदछ। किनकि विश्वास गरेको घडीबाट ऊ परमेश्वरको वासस्थान (१ कोरिन्थी ६:१९) बन्दछ र दुष्ट आत्मा परमेश्वरसँगै बास गर्न सक्दैन (लूका १२:२१-२३ लाई १ यूहन्ना ४:४ सित दाँज्नुहोस्)। साँचो गरी विश्वास नगरेको व्यक्तिको सवालमा भने कारणवश एक समय बिदा भएको दुष्टात्मा फेरि फर्केर आउन सक्दछ (लूका १२:२४-२६)।

५) कतिले भन्छन् नि दाई निको पार्ने वरदान पाएकोले प्रार्थना गर्यो भने मात्र निको हुन्छ।

कोही विरामी छ भने चङ्गाइको वरदान भएको व्यक्तिकहाँ जान हामीलाई सल्लाह नयाँ नियममा दिइएको छैन।

प्रेरितहरूको समयमा भने प्रेरितलाई बोलाउन सकिन्थ्यो र त्यसो गर्दा मरेका व्यक्ति पनि बौराइएको कुरा उल्लेख छ (प्रेरित ९:३६-४३)। तर अहिले प्रेरितहरू छैनन्। बरु बिरामी परेको अवस्थामा बिरामी आफैले मण्डलीका एल्डरहरूलाई आफूकहाँ प्रार्थना गर्न बोलाउनलाई अर्ती दिइएको चाहिँ छ (याकूब ५:१४)। अनि प्रार्थनाको सवालमा यसको जवाफ सधैं “हुन्छ” नै भन्ने हुँदैन (जस्तो पावलले तीनपटक प्रार्थना गरे तर उनी निको भएनन्)। प्रार्थनाको जवाफ परमेश्वरको सार्वभौम इच्छामा निर्भर रहन्छ (१ यूहन्ना ५:१४) र प्रार्थना गर्नेले आफ्‍नो माग जाहेर गर्दा सधैं “तरैपनि मेरो इच्छा होइन तपाईंकै इच्छा पूरा होस्” (लूका २२:४२) भन्नु आफूले परमेश्वरको सामु सही स्थान लिनु हो।

 






पवित्र आत्मा सम्बन्धी विविध प्रश्नोत्तर

प्रदेश श्रेष्ठ

१) पवित्र आत्माको बप्तिस्मा र पवित्र आत्माको भरपूरी भनेको के हो? के यी दुवै एउटै हुन्?

एउटै होइन। हेर्नुहोस्: बप्तिस्मा र भरपूरी

२) के एउटा व्यक्ति पहिले प्रभु येशूलाई विश्वास गर्यो र पछि विश्वासबाट पछि हट्‍यो भने के उसको लागि पवित्र आत्मा मागिदिनुपर्छ?

वर्तमान मण्डली युगमा साँचो विश्वासीलाई पवित्र आत्माले कहिल्यै छोड्नुहुन्न (एफेसी १:१३-१४; ४:३०) यद्यपि पुरानो नियमको विश्वासीलाई छोड्न सक्नुहुन्थ्यो (भजनसङ्ग्रह ५१:११)।

३) के हामीले प्रार्थनामा पवित्र आत्मालाई माग्नुपर्छ?

पेन्टेकोस्टको दिनदेखि यता (मण्डली युगमा) त्यसो गर्नुपर्दैन किनभने प्रभु येशू महिमित भइसक्नुभएको छ र अहिले विश्वास गरेकै घडी पवित्र आत्मा दिइन्छ (यूहन्ना ७:३९)। पेन्टेकोस्ट अघि चाहिँ माग्नलाई सिकाइएको थियो (लूका ११:१३)

४) एउटा व्यक्तिले प्रभु येशूलाई चिनेर पनि नराम्रो काम गर्छ भने के पवित्र आत्माले छोड्नुभएकोले नै नराम्रो काम गरेको हो?

होइन; त्यो त विश्वासीले पवित्र आत्माको नियन्त्रणमा नहिँडेकोले हो (गलाती ५:१६)। फलस्वरूप पवित्र आत्मा शोकित बन्नुहुन्छ तैपनि उसलाई छोडेर जानुहुन्न बरु उसलाई पवित्र आत्माले छुटकाराको दिनसम्म छाप लगाउनुभएको छ (एफेसी ४:३०)। छुटकाराको दिनको माने विश्वासीले महिमित शरीर पाउने दिन हो (रोमी ८:२३) अर्थात् र्‍याप्चरको दिन जब मरेका विश्वासीहरू बौरेर उठ्छन् र जीवित रहिरहेकाहरू बदली गराइनेछन् (१ कोरिन्थी १५:५२; १ थेस्सलोनिकी ४:१४-१६)

तर अर्को सम्भावना भनेको उक्त “विश्वासी” ले कहिल्यै नयाँ जन्म (यूहन्ना ३:३; तीतस ३:५) नपाएको हुन सक्छ। ऊ साँचो विश्वासी नहुन सक्छ। वर्तमान “इसाई जगत” मा धेरैजनाको अवस्था नामधारीको अवस्था हो भन्ने मलाई डर लाग्दछ। निम्न पृष्ठहरू अध्ययन गर्नुहोस्:

५) पवित्र आत्माको भरपूरीको लागि के गर्नुपर्छ?

आत्माले भरपूर हुनुको माने पहिला बुझौं। एफेसी ५:१८ अनुसार आत्माले भरपूर हुनु पवित्र आत्मा परमेश्वरको नियन्त्रणमा जिउनु भन्ने हो। रक्सीले मानिसलाई नकारात्मक रूपमा नियन्त्रण गर्छ तर पवित्र आत्माले सकारात्मक र ईश्वरीय रूपमा। आत्माले भरपूर हुन एउटा विश्वासीले सबै थाह भएका पाप स्वीकार गरेको हुनुपर्छ (१ यूहन्ना १:९) नत्र त उहाँलाई शोकित पारिन्छ (एफेसी ४:३०)। भरपूर हुन परमेश्वरमा पूरै भर पर्नुपर्छ, शरीरमा होइन (“आत्मामा हिँड” अर्थात् उहाँमाथि भरोसा गर्दै जीवन बिताऊ, गलाती ५:१६) र परमेश्वरलाई हाम्रो जीवनमा र जीवनद्वारा काम गर्नलाई रोकटोकबिना (“आत्मालाई ननिभाओ”, १ थेस्सलोनिकी ५:१९) आफूलाई पूरै उहाँमा सुम्पनुपर्छ।

६) किन कोही व्यक्तिहरू स्तुति-प्रशंसामा ढल्छन्? कोही व्यक्तिहरू सभामा किन ढल्छन्? के यो ढल्नु बाइबलीय हो?

कतिपय मानिसहरू शारीरिक तथा मानसिक (psycho-somatic) प्रतिकृयाको कारण ढलेका हुन सक्छन्; कोही देखावटी रूपमा हुन सक्छन्। त्यहाँ अरू कारण पनि हुन सक्छन् किनकि दुष्ट आत्माद्वारा ढलिने कुरा पनि छ, तर ढल्ने काम कदापि बाइबलीय होइन किनभने प्रेरितहरूले त्यस्तो कहिल्यै सिकाएनन् र प्रभु येशूले ढलाउने काम गर्नुभएन (गेत्समनीमा त उहाँका शत्रुहरू चाहिँ ढले — विश्वासीहरू ढलेनन् — यूहन्ना १८:६ तर त्यो घटना समेत कथित “स्तुति-प्रशंसा” को घडीमा भएको थिएन।)

७) कोहीकोही प्रचारकहरूले यो पनि भन्छन् पवित्र आत्माको शक्ति पाउनलाई विश्वासीले पवित्र आत्मालाई आफ्‍नो जीवनमा निम्तो दिनुपर्छ र बोलाउनुपर्छ। के यो सत्य हो?

होइन, किनभने विश्वासीले पवित्र आत्मा मुक्ति पाएकै घडी प्राप्‍त गरिसकेको हुन्छ। आफ्‍नो जीवनमा उहाँको सामर्थ्य सिद्ध हुन दिनलाई विश्वासीले आफूलाई पलपलमा उहाँको अधीनतामा सुम्पँदै हिँड्नुपर्छ (एफेसी ४:३०, गलाती ५:१६, एफेसी ५:१८, १ थेस्सलोनिकी ५:१९) — हेर्नुहोस्: के तपाईंले पवित्र आत्मा पाउनुभयो, आदि प्रश्नोत्तर






हितोपदेश २७:१४ को माने के हो?

“जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ” (हितोपदेश २७:१४)।

त्यसोभए के आफ्नो साथीलाई आशीर्वाद दिनु पाप हो? हाम्रा प्रभुले खुलेआम आफ्ना मित्रहरूको प्रेमलाई स्वीकार गर्नुभयो (लूका १२:२८)। तरैपनि चर्को स्वरले र अत्यधिक प्रशंसाले त्यसको आफ्नै इमानदारीतामाथि प्रश्‍न उब्जाउँछ। जब मान्छेले बोक्रे बोली र बढाइचढाइको भाषा प्रयोग गरी सत्यता र शिष्टताको सीमा नाघ्छ, त्यहाँ केही न केही खराब अभिप्राय लुकेको हुनुपर्छ भन्ने हामीलाई शङ्का लाग्छ (हितोपदेश २६:२३-२५)। साँचो मित्रतालाई त्यस्तो किसिमको आश्वासन आवश्यक पर्दैन। प्रेमले गरिएको एउटै कार्य अनेकौं चर्को आशीर्वादहरूभन्दा उत्तम हुन्छ। ‘कोही बुद्धिमान् छ भने उसले हजारौं मीठा बोलीभन्दा एउटा प्रतिज्ञा रोज्नेछ, र दस हजार प्रतिज्ञाभन्दा एउटा कार्य सम्पादन रोज्नेछ। किनकि अलिकति सास खर्च गर्नु कत्रो कुरा हो र, एकजनाले आफ्नो वचन दिनु कत्रो कुरा हो र, जसले त्यसबाहेक अरू केही दिने आशय राखेको छैन?’ उसलाई अर्कोले उछिन्ला भनेर वा यो ठूलो काम पूरा गर्न समय नपुग्ला भनेर, ऊ एकाबिहानै उठ्न सक्छ; र उच्चाट लाग्नेगरी उही कुरा बराबर दोहर्‍याइरे तापनि उसले मलाई मनमनै दिनभरि दोष्याइरहेको हुन सक्छ। परमेश्वरको सेवामा दाऊद एकाबिहानै उठेका कुरा (भजनसङ्ग्रह ५:३; ११९:१४७) लाई आफ्ना मित्रहरूलाई देखावटी आशीर्वाद दिन उसको छोरा एकाबिहानै उठेको कुरा (२ शमूएल १५:२-७) सित तुलना गर्नुहोस्। पावल प्रेरित यस्तो अत्यधिक प्रशंसालाई सहन सक्दैनथे (२ कोरिन्थी १२:६ लाई रोमी १२:३ सित दाँज्नुहोस्)। वास्तवमा हरेक विवेकी मानिसले बरु यसलाई आफ्नो निम्ति श्रापको रूपमा देख्‍नु जरूरी छ। नत्रभने यस्तो बढ्ता चाप्लुसीले उत्साहित हुनुले ऊसँग एउटा मूर्खको गुण छ भनेर देखाउनेछ। अनि त्यो भ्रमात्मक आशीर्वाद एउटा डरलाग्दो श्रापमाअन्त हुनेछ (२ शमूएल १६:१६-१९; १७:७-१३; प्रेरित १२:२२-२३)।

हाम्रो मित्रप्रतिको नियम यस्तो होस् — “वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौं” (१ यूहन्ना ३:१८)। हाम्रो आफ्नै निम्ति नियम यस्तो होस् — “परमेश्वरको सामु हिँड”, मान्छेको सामु होइन (उत्पत्ति १७:१)। साँसारिक कुराहरू, सांसारिक मानिसहरू तपाईंको नजरमा सानो ठानियोस्। चाँडै मानिसको दिन बितेर जानेछ (१ कोरिन्थी ४:३)। अनन्तता त्यसको सारा खँदिलोपन र महिमासहित नजिकै छ।

साभार: Charles Bridges (1794-1869) ले सन् १८६४ मा प्रकाशन गर्नुभएको Proverbs शीर्षक गरेको उहाँको उत्कृष्ट टिप्पणीबाट हामीले उपर्युक्त लेखलाई नेपालीमा अनुवाद गरी यहाँ समावेश गरेका हौं।