Entries by Pradesh Shrestha

विश्वासीको अनन्त सुरक्षा (३)

Study Series

विश्वासीको अनन्त सुरक्षा (३)

डेविड क्लाउड

पद कण्ठ: एफेसी ४:३०; हिब्रू १२:८; १ यूहन्ना १:६; २:१-२

अनन्त सुरक्षा सम्बन्धीको यस अध्ययनलाई टुङ्ग्याउनु अगाडि हामी अझै एउटा अन्तिम प्रश्नको जवाफ दिनेछौं।

यदि आज्ञा नमान्ने विश्वासीले आफ्नो मुक्ति गुमाउँदैन भने उसलाई के हुन्छ त?

१) पापमा हिँडिरहेको विश्वासी प्रभुसितको र उहाँका जनहरूसितको सङ्गतिबाट बञ्चित हुन्छ (१ यूहन्ना १:३-७)

ख्रिष्टसित कसरी सङ्गतिमा रहिरहन सकिन्छ भनेर विश्वासीहरूलाई सिकाउनलाई यूहन्नाले एउटा पत्र लेखे (१ यूहन्ना १:३)। जब हामी अन्धकारमा नभएर ज्योतिमा हिँडिरहन्छौं तब हामी ख्रीष्टसितको सङ्गतिमा रहिरहन्छौं। ज्योतिमा हिँडिरहनु भनेको परमेश्वरको वचन पालन गर्दै हिँड्नु हो। अन्धकारमा हिँड्नु भनेको अनाज्ञाकारी भई हिँड्नु हो। यसर्थ पापमा हिँडिरहेको विश्वासी ख्रीष्टसितको सङ्गतिमा हिँडिरहेको हुँदैन। ख्रीष्टसितको उसको सम्बन्ध टुटेको त हुँदैन तर सङ्गति टुटेको हुन्छ। यो ठूलो नोक्सानी हो। ख्रीष्टसितको सङ्गतिबाट बञ्चित भई जिउनु भनेको मसित उहाँको बुद्धि नहुनु हो, उहाँको सामार्थ्य नहुनु हो, उहाँको आशिष नहुनु हो। यस्तो अवस्थामा हुँदा यदि मैले कुनै ठूलो निर्णय गरेँ भने त्यो निर्णय निःसन्देह गलत हुनेछ र त्यसले मलाई परमेश्वरको इच्छादेखि झन् पर धकेल्नेछ।

२) पापमा हिँडिरहेको विश्वासीले आफूभित्र बास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्दछ (एफेसी ४:३०)

पवित्र आत्मा शोकित बन्नुको तात्पर्य मेरो जीवनमा उहाँको काम अवरुद्ध हुनु हो। उहाँ नै विश्वासीको शान्तिदाता र सामर्थ्य र अगुवा र शिक्षक हुनुहुन्छ। जब उहाँ शोकित बन्नुहुन्छ तब मैले उहाँको आशिष गुमाउँदछु; म आत्मिक रूपमा बढ्न छाड्छु; मसँग आत्मिक सामर्थ्य, ज्ञान र बुद्धि हुँदैन।

३) पापमा हिँडिरहेको विश्वासीलाई प्रभु येशू ख्रीष्टले सहायता गर्नुहुन्छ (१ यूहन्ना २:१-२)

हामीले पाप गर्दा परमेश्वरले हामीलाई परित्याग गर्नुहुन्न; हाम्रो एकजना वकिल हुनुहुन्छ, अर्थात् एकजना सहायक। “येशू” नाउँको अर्थ हो मुक्तिदाता, अनि जब म पाप गर्न पुग्छु उहाँ मेरो मुक्तिदाता हुन छाड्नुहुन्न। येशूले मलाई सहायता गरिरहनुभएको हुन्छ, मेरो निम्ति अन्तर्विन्ती गर्दै, मलाई पुनःस्थापित गर्न खोजिरहनुभएको हुन्छ जसरी उहाँले पत्रुसको लागि गर्नुभयो जुन रात पत्रुसले उहाँलाई तीनपटक सम्म इन्कार गरे।

४) पापमा हिँडिरहेको विश्वासीलाई पिताले ताडना दिनुहुन्छ (हिब्रू १२:५-११)

आफ्ना सन्तानले पाप गरे भने परमेश्वरले उनीहरूलाई त्यत्तिकै छाड्नुहुन्न। उहाँले हामीलाई छडी लगाउनुहुन्छ। विश्वासीले पश्चात्ताप गर्न नै मानेन भने त्यहाँ पापसम्म पुर्‍याउने पाप पनि हुन्छ (१ यूहन्ना ५:१६-१७)। कोरिन्थका कतिजना विश्वासीहरूले यस्तो पाप गरेका थिए (१ कोरिन्थी ११:२७-३०)।

५) पापमा हिँडिरहने विश्वासीले विनाशको कटनी गर्नेछ (गलाती ६:७-८)

पापको कारण हामीले यस वर्तमान संसारमा मूल्य तिर्नुपर्ने हुन्छ। मुक्ति पाएको हुँदैमा “जसले जे छर्छ उसले त्यसैको कटनी गर्नेछ” भन्ने नियमबाट हामी उम्कन सक्दैनौं। धेरैजना विश्वासीहरूले भयङ्कर मूल्य तिरेका छन् जस्तै व्यभिचार, रिस र सांसारिक जीवनले गर्दा कतिले आफ्नो दाम्पत्य जीवन गुमाएका छन्; छोराछोरीको हृदहयहरू गुमाएका छन्; आफ्ना सेवाकार्यहरू गुमाएका छन्। स्वीकार गरेर सबै पाप क्षमा हुन्छन्, तर पापका फल त रहिरहन्छन्। जस्तै, पारपाचुके गरेका धेरैजना विश्वासीहरूलाई म चिन्दछु जसले आफ्नो पाप स्वीकारेका छन् तर त्यो पारपाचुकेको वास्तविकता बिलाएर गएको त छैन, बरु जीवनपर्यन्त त्यसका सबै विरुप र चोटपूर्ण बहूरूपी परिणामहरू त्यहाँ विद्यमान नै छन्।

६) पापमा हिँडिरहने विश्वासीले सेवाकार्य गर्ने र फल फलाउने सुअवसरहरूलाई फिर्ता नपाउने गरी गुमाउँछन् (एफेसी ५:१४-१७)

पापमा हिँड्ने ख्रीष्टियनले क्षमा पाउन सक्छ तर गुमाइएका सुअवसरहरूलाई उसले फिर्ता पाउन सक्दैन। इस्राएलीहरूले परमेश्वरलाई शङ्का गरे त्यसैले उनीहरू ४० वर्षसम्म उजाडस्थानमा घुमिरहन बाध्य भए यद्यपि उनीहरूले पश्चात्ताप गरे (व्यवस्था १:३८-४५)। धेरैजना विश्वासीहरूले फिर्ता नपाउने गरी त्यस्ता सुअवसरहरू गुमाएका छन् किनकि उनीहरूले आफूहरू पछि हटेको र परमेश्वरको इच्छाबाट टाढा रहेको अवस्थामा हुँदा भारी निर्णयहरू गरे; जस्तै, गलत व्यक्तिसँग विवाह गरे वा गलत पेशा अँगाले। जीवनको घडीलाई उल्टो दिशामा घुमाउन सकिन्न, फेरि सुरुदेखि जिउन सकिन्न, त्यसैले हामी एकदम होशियार भएर जिउनुपर्छ र प्रत्येक पाइलामा हामी परमेश्वरको इच्छामा हिँडिरहेकै हुनुपर्छ।

७) पापमा हिँडिरहने विश्वासीले ख्रीष्टको न्यायआसनमा नोक्सानी भोग्नेछ (१ कोरिन्थी ३:११-१५)

योचाहिँ नयाँ नियममा अनन्त सुरक्षाको सबैभन्दा सुस्पष्ट प्रतिज्ञाहरूमध्ये एउटा हो। प्रभुलाई बेखुशी पार्ने, पापमा जिउने विश्वासीले यस संसारमा गरेका उसका कामहरू जलेर जानेछन् तरैपनि ऊ आफैचाहिँ बाँच्नेछ। उसका कामहरू जल्नेछन् तर ऊ जल्नेछैन। यो ज्यादै सुन्दर सत्यता हो, तरैपनि आफ्नो सिङ्गो पार्थिव जीवन परमेश्वरको इच्छाभन्दा अरू कुरामा स्वाहा पारिनु, मसँग येशू बेसरी नाराज हुनु, उहाँको महिमाको लागि मैले कुनै इनाम नपाउनु, “स्याबास! तिमी असल र विश्वासयोग्य दास” भन्ने बोली उहाँको मुखबाट सुन्न नपाउनु ‍– त्यसलाई त ज्यादै ठूलो नोक्सानी ठान्नुपर्छ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विश्वासीको अनन्त सुरक्षा (२)

Study Series

विश्वासीको अनन्त सुरक्षा (२)

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना १०:२७-२८; २ कोरिन्थी ५:१७; तीतस १:१६; १ यूहन्ना २:४

यस पाठमा हामी अनन्त सुरक्षासम्बन्धी अरू दुईटा प्रश्नहरूको जवाफ दिएर यस शिक्षाको अध्ययनलाई अझ अगाडि बढाउँछौं: पहिलो, के अनन्त सुरक्षाको शिक्षाको माने ख्रीष्टलाई मुखले स्वीकार गर्ने जोकोहीसँग पनि अनन्त जीवन हुन्छ भन्ने हो त? दोस्रो, के यसले मानिसहरूलाई लापरवाहीसँग जिउनलाई प्रोत्साहन दिन्छ?

के अनन्त सुरक्षाको शिक्षाको माने ख्रीष्टलाई मुखले स्वीकार गर्ने जोकोहीसँग पनि अनन्त जीवन हुन्छ भन्ने हो त?

होइन, अनन्त सुरक्षाको प्रतिज्ञा केवल मुक्ति पाएकाहरूका लागि मात्र हो, मुखले मात्र स्वीकार गर्ने नामधारीहरूका लागि होइन। मुक्तिले जहिले पनि व्यक्तिको जीवनलाई परिवर्तन गराउँछ।

१) मुक्तिका लागि पश्चात्ताप अनिवार्य छ (१ थेस्सलोनिकी १:९-१०)

मुक्ति पाउनलाई परमेश्वरले पश्चात्ताप अनिवार्य गरी माग गर्नुहुन्छ र पश्चात्ताप भनेको मनको यस्तो भयङ्कर परिवर्तन हो जसको फलस्वरूप जीवनको परिवर्तन हुन्छ। यसको माने परमेश्वरकहाँ आत्मसमर्पण गर्नु हो। जसले आत्मसमर्पण गरेको छैन उसले कहिल्यै मुक्ति पाएको छैन। थेस्सलोनिकाका विश्वासीहरूमा बाइबलीय पश्चात्तापको नमुना देख्‍न सक्छौं। उनीहरू “जीवित र सत्य परमेश्वरको सेवा गर्नका निम्ति मूर्तिहरूबाट परमेश्वरतर्फ फर्के” (१ थेस्सलोनिकी १:९)।

२) मुक्ति पाउन नयाँ जन्म अनिवार्य छ, र नयाँ जन्मले मान्छेको जीवनलाई परिवर्तन गराउँछ (२ कोरिन्थी ५:१७)।

येशूले भन्नुभयो, “तिमीहरूले नयाँ गरी जन्मनैपर्छ” (यूहन्ना ३:७) र नयाँ जन्म भनेको विश्वास गर्ने व्यक्तिका लागि परमेश्वरले गर्नुहुने एउटा ठूलो आश्चर्यकर्म हो। यो एउटा भयङ्कर ठूलो परिवर्तन हो, तर जोहरू आफूले ख्रीष्टलाई स्वीकार गर्नुभन्दा पहिला जस्तै गरी जिइरहेका छन् उनीहरू कहिल्यै नयाँ गरी जन्मेका पनि छैनन्।

३) मुक्ति पाएकाहरूले ख्रीष्टको स्वर सुन्छन् र उहाँलाई पछ्याउँछन् (यूहन्ना १०:२७-२९)

यस खण्डमा येशूले अनन्त जीवन प्राप्‍त गरेको एक साँचो विश्वासीको परिभाषा दिनुहुन्छ। येशूका भेडाले उहाँको स्वर सुन्छन्, माने उनीहरू उहाँको वचनलाई पालन गर्छन् अनि उनीहरू ख्रीष्टलाई पछ्याउँछन्, माने उनीहरू आफूलाई चेलाका रूपमा उहाँको अधीनमा सुम्पन्छन्। पद २८-२९ मा दिइएको प्रतिज्ञालाई पद २७ को प्रमाणदेखि अलग गर्न मिल्दैन।

४) जोसँग मुक्ति दिलाउने विश्वास छ ऊसँग विश्वासको साथसाथै पवित्र कामहरू पनि हुन्छन् (एफेसी २:८-१०)

एफेसी २:८-१० ले विश्वास र कामहरू बीचको ठीक सम्बन्धलाई बयान गर्दछ। मुक्ति दिलाउने चाहिँ विश्वासले हो र कामहरू मुक्तिका प्रतिफल हुन्। ख्रीष्टियन जीवनका कामहरू विश्वासीभित्र परमेश्वरले गर्नुभएका कामहरू हुन्, जसको कारण मान्छेलाई कुनै श्रेय जाँदैन। मुक्ति पाउनलाई विश्वासको साथमा कामहरूलाई समिश्रण गर्न खोज्नु चाहिँ झूटा सुसमाचार हो (रोमी ११:६)। तर अर्कोतिर यो पनि साँचो हो कि त्यहाँ मुक्ति दिलाउने विश्वास छ भने त्यसको साथमा पवित्र कामहरू पनि प्रतिफलस्वरूप हुनेछन्। याकूबले मानिसको दृष्टिकोणबाट देखिने ख्रीष्टियन जीवनलाई बयान गर्दछन् (याकूब २:१४-१७)। यदि कसैले आफूसँग विश्वास “छ” भन्छ भने तर उसको जीवनमा त्यसको कुनै प्रमाण देखाउँदैन भने ऊसँग मुक्ति दिलाउने किसिमको विश्वास पनि छैन।

५) बाइबलअनुसार साँचो विश्वासीहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन् र आफूलाई शुद्ध पार्दछन् (१ यूहन्ना २:४; ३:२-३)।

१ यूहन्ना ३:२-३ मा परमेश्वरको वचनले बताउँछ, अनन्त जीवन पाएकाहरू ती हुन् जसले आफूहरूलाई शुद्ध पार्दछन्। पद २ को प्रतिज्ञालाई पद ३ को प्रमाणबाट अलग गर्न सकिन्न।

६) बाइबलले ख्रीष्टलाई स्वीकार गर्ने तर उहाँको आज्ञा नमान्नेहरूको बारेमा चेतावनी दिन्छ; तिनीहरू झूटा नामधारीहरू हुन् (तीतस १:१६)।

यदि कसैले आफू ख्रीष्टमा विश्वास राख्ने व्यक्ति हुँ भनेर दावी गर्छ तर उसको जीवनले त्यसको प्रमाण दिँदैन भने ऊ भ्रममा परेको छ। विश्वासको फलहीन स्वीकारले परमेश्वरबाटको अनन्त सुरक्षाका प्रतिज्ञाहरूलाई दाबी गर्न सक्दैन। यदि कुनै व्यक्तिले ख्रीष्टलाई स्वीकार गर्छ र पछि आफ्नो स्वीकारलाई परित्याग गर्छ भने उसले आफूले कहिल्यै मुक्ति नपाएको कुराको प्रमाण दिन्छ।

के अनन्त सुरक्षाको शिक्षाले मानिसहरूलाई लापरवाहीसँग जिउनलाई प्रोत्साहन दिन्छ?

अनन्त सुरक्षाको शिक्षामा विश्वास नगर्नेहरू भन्छन् कि यसले मानिसहरूलाई लापरवाहीसँग जिउन प्रोत्साहन दिन्छ। तर वास्तविकता ठीक उल्टो छ। मैले मेरो प्रचार कार्यको थालनी अमेरिकाको टेनसी राज्यको एउटा इलाकाबाट सुरु गरेको हुँ जहाँ केही शताब्दीदेखि नै मेथडिस्टहरूले प्रभुत्व जमाउँदै आएका छन्। मुक्ति गुमाउन सकिन्छ भन्ने शिक्षाले उक्त इलाकालाई आत्मिक रूपमा तहसनहस पारेको थियो। त्यो इलाका त्यस्ता व्यक्तिहरूले भरिएको थियो जोहरूले “ख्रीष्टियन जीवन जिउने कोशिस गरे” तर विफल भएर अब शैतानजस्तै जिइरहेका थिए।

१) बाइबलले सिकाउँछ कि परमेश्वरको अनुग्रहले विश्वासीहरूलाई धन्यवादले भरिएको हृदय लिएर परमेश्वरको सेवा गर्नलाई परिचालित गर्छ (रोमी २:४; एफेसी ३:१४-१९)। एउटा विश्वासीले उसप्रति ख्रीष्टमा भएको परमेश्वरको अथाह प्रेमलाई जति बुझ्दछ त्यति नै उसले परमेश्वरलाई खुशी पार्न चाहन्छ। बाइबलले भन्दछ, “हामी उहाँलाई प्रेम गर्दछौं किनभने उहाँले पहिला हामीलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)।

२) परमेश्वरको साँचो अनुग्रहले मानिसहरूलाई पवित्र जीवन बिताउन सिकाउँदछ (तीतस २:११-१४)।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विश्वासीको अनन्त सुरक्षा (१)

Study Series

विश्वासीको अनन्त सुरक्षा (१)

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना १०:२७-२८; १ कोरिन्थी १:८; एफेसी १:३,७; फिलिप्पी १:६; १ यूहन्ना ५:११-१२; हिब्रू ६:१९; ९:१२; १०:१४

ख्रीष्टमा विश्वास राखेको व्यक्तिको ओहोदालाई बाइबलमा “अनन्त सुरक्षा” भन्ने शब्दावलीले बयान गरेको नपाइए तापनि यसका लागि “अनन्त जीवन” (यूहन्ना ३:१६) र “अनन्त सान्त्वना” (२ थेस्सलोनिकी २:१६) जस्ता शब्दावली भने प्रयोग भएका छन्। परमेश्वरको सन्तान ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनेर बाइबलले सिकाउँछ।

अनन्त सुरक्षाको शिक्षाले ख्रीष्टियन जीवनलाई स्थिरता प्रदान गर्ने ज्यादै महत्त्वपूर्ण भूमिका खेल्दछ।

हामी देख्‍नेछौं, अनन्त सुरक्षाको प्रतिज्ञा केवल नयाँ गरी जन्मेकाहरूलाई मात्र दिइएको छ। कपटीहरू, नामधारीहरू वा ख्रीष्टका कुराहरूमा केवल सतही दिलचस्पी राख्‍नेहरूलाई यो प्रतिज्ञा दिइएको छैन। आफूले एक समय स्वीकारेको विश्वासलाई सधैंका लागि परित्याग गर्नेहरूले कहिल्यै नयाँ जन्म पाएका थिएनन् भनेर हामीले बुझ्नु आवश्यक छ।

१) येशूले हाम्रो निम्ति सम्पन्न गर्नुभएको महान् कार्यले गर्दा विश्वासीहरू सुरक्षित छन्

येशू विश्वासीका पापका लागि मर्नुभयो – सबै पापका लागि। उहाँको रगत नै परमेश्वरको व्यवस्थाले माग गरेको दण्डको पूरा सट्टाभर्ना थियो; त्यो शतप्रतिशत पर्याप्‍त थियो। विश्वासीले आफ्नो मुक्ति गुमाउन सक्छ भनेर विश्वास गर्नेहरूले येशूले गरिदिनुभएको महान् कार्यलाई बुझ्दैनन्। उनीहरूले सुसमाचारलाई सही ढङ्गले बुझ्दैनन्।

हेर्नू: एफेसी १:७“छुटकारा” को माने दाम तिरी किनिएको भन्ने हुन्छ। येशूले हामीलाई पापको दास-बजारबाट किनेर पूर्णरूपमा छुटकारा दिनुभयो।

हेर्नू: रोमी ३:२४-२५“धर्मी ठहराइनु” को माने परमेश्वरद्वारा धर्मी भनेर घोषणा गरिनु हो। विश्वासी आफैमा त धर्मी छैन, तर ऊ स्वयम् प्रधानन्यायधीशद्वारा नै धर्मी घोषणा गरिएको छ। यस्तो घोषणाको आधारचाहिँ यो हो कि परमेश्वरका सामु रहेको विश्वासीको पापलाई हटाउन येशूले पूरै सट्टाभर्ना तिरिदिनुभयो।

“प्रायश्चित” भन्ने शब्दले यस सट्टाभर्नालाई जनाउँदछ। यसको माने हो कसैलाई तिर्नुपर्ने कुरा पूरै मात्रामा तिरिदिएर ऋण चुक्ता गर्नु। येशूले गर्नुभएको महान् कार्य यही थियो। पापीले परमेश्वरको व्यवस्था भङ्ग गरेको छ र त्यसको उचित सट्टाभर्ना तिर्न ऊ असमर्थ छ। पापीको सट्टामा येशूले उक्त ऋण तिरिदिनुभयो। तिर्नै नसक्ने ऋण हामीलाई परेको थियो; आफूलाई नलागेको ऋण येशू ख्रीष्टले तिरिदिनुभयो।

२) परमेश्वरका प्रतिज्ञाहरूको कारण विश्वासीहरू सुरक्षित छन्

नयाँ नियममा मुक्तिलाई विभिन्न किसिमले बयान गरिएको छ जसमध्ये केहीको चर्चा यहाँ गरिनेछ। यी प्रतिज्ञाहरू अपरिवर्तनीय छन् किनकि यी त झूट बोल्नै नसक्ने परमेश्वरका प्रतिज्ञा हुन् जसका घोषणाहरू अदलबदल हुन सक्दैनन्। यद्यपि नयाँ नियममा त्यस्ता एकादुई खण्डहरूले विश्वासीले मुक्ति गुमाउन सक्छ भनेर सिकाएको जस्तै सतहमा देखा परे तापनि, त्यहाँ सैयौं खण्डहरूले भने विश्वासीले मुक्ति गुमाउँदैन भनेर प्रस्टै सिकाउँछन्!

“नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) — यदि परमेश्वरले विश्वासीलाई अनन्त जीवन दिनुहुन्छ भने र ऊ कहिल्यै नष्ट हुँदैन भनेर प्रतिज्ञा गर्नुहुन्छ भने, उसले आफ्नो मुक्ति कसरी “गुमाउन” सक्छ र? ऊ नष्ट हुँदैन भनेर परमेश्वरले भन्नुभएको छ भने विश्वासी कसरी नष्ट हुन्छ? त्यसो हुन गयो भने त परमेश्वरको प्रतिज्ञा धूलोमा मिल्न जानेथ्यो।

परमेश्वरले “तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ” (१ कोरिन्थी १:८) — यस्ता‍-यस्ता प्रतिज्ञाहरूले विश्वासीको मुक्तिलाई सुनिश्चित गर्दछन्।

“सबै आत्मिक आशिषहरूले…आशिषित” (एफेसी १:३) — यदि एक विश्वासी ख्रीष्टमा सबै आत्मिक आशिषहरूले आशिषित पारिसकिएको छ भने, कसरी ऊ यसबाट बञ्चित हुन सक्छ र कसरी उसले आफ्नो मुक्ति गुमाउने सक्छ र? यी आशिषहरू “ख्रीष्टमा” छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। विश्वासीको मुक्ति ख्रीष्टभित्र सञ्चय गरिएका छन् अनि यो मुक्ति विश्वासीको जीवन वा कामहरूमा कुनै हिसाबले पनि आधारित छैन।

“पवित्र आत्माले छाप मारियौ” (एफेसी १:१२-१४) — पवित्र आत्माले छाप मारिनु चाहिँ उहाँले अनन्त छुटकारा दिनुभएको छ भन्ने परमेश्वरको प्रतिज्ञा पाउनु हो।

पवित्र आत्माले छाप मारिने कार्य स्वामित्वसित सम्बन्धित छ। जब कसैले येशूमा विश्वास गर्दछ ऊ परमेश्वरको निजी सम्पत्ति बन्न पुग्छ। यस स्वामित्वको छाप चाहिँ पवित्र आत्मा हुनुहुन्छ। योचाहिँ एउटा राजाले कुनै चीजमा आफ्नो छाप लगाएजस्तै हो।

पवित्र आत्माले छाप मारिनु एउटा प्रतिज्ञा प्राप्‍त गर्नु हो। योचाहिँ विश्वासीको अनन्त मुक्तिको बैना वा ग्यारेन्टी हो। योचाहिँ एकजना मान्छेले कुनै जग्गाको निम्ति बैना प्राप्‍त गरेजस्तै हो। बैना बाँकी रकमको प्रतिज्ञा हो। यो प्लेनको टिकेट जस्तै हो। कसैले तपाईंलाई कुनै ठाउँमा जान प्लेनको टिकट दिन्छ भने तपाईं त्यो टिकट लिएर त्यो ठाउँमा पुग्न सक्नुहुन्छ भनेर तपाईंलाई निश्चय हुन्छ। टिकट त्यसको ग्यारेन्टी हो। त्यसरी नै हाम्रो स्वर्ग-यात्राको लागि येशूले तिरिदिनुभयो र यस यात्राको लागि पवित्र आत्मा नै उहाँको प्रतिज्ञा हुनुहुन्छ।

“स्वर्गीय स्थानहरूमा बसाल्नुभयो” (एफेसी २:५-६) — स्वर्ग जानलाई एउटा विश्वासी मृत्युलाई पर्खनुपर्दैन; परमेश्वरको नजरमा ऊ ख्रीष्टसँग स्वर्गमा बसालिसकिएको छ; यो उसको नयाँ ओहोदा हो। विश्वासीको मुक्ति पूरै ख्रीष्टभित्र सञ्चय गरिएको छ। ऊ उहाँसँग मरिसकेको छ, उहाँसँग बौरेर उठिसकेको छ र उहाँसँग जिउँदछ।

“स्वर्गको लागि योग्य” (कलस्सी १:१२-१४) — विश्वासीलाई स्वर्ग लानको लागि ख्रीष्टले सबै आवश्यक काम गरिसक्नुभयो; यस सम्बन्धमा विश्वासीले गर्नुपर्ने कुनै काम बाँकी छैन; हाम्रा कामहरूले हामीलाई स्वर्गका लागि योग्य बनाउने होइन वा ख्रीष्ट जे गरिसक्नुभयो र प्रबन्ध गर्नुभएको छ त्यसमा एक विन्दु वा एक मात्रा पनि थप्न सक्दैन।

“बलियो सान्त्वना” (हिब्रू ६:१७-१९) — मुक्तिलाई बयान गर्न यस खण्डमा प्रयोग गरिएका शब्दावली उदेकलाग्दा छन्। “कहिल्यै बदलिन नसक्ने कुराहरू” को माने प्रस्ट छ: अपरिवर्तनीय; जब परमेश्वरले घोषणा गर्नुहुन्छ वा प्रतिज्ञा गर्नुहुन्छ त्यो पक्का हुन्छ। “सान्त्वना” को माने हौसला वा उत्साह भन्ने हुन्छ; विश्वासीको सान्त्वना कमजोर छैन, अनिश्चित छैन; त्यो “बलियो” छ। “आशा” भन्नाले कुनै संसारमा जस्तो कुनै अनिश्चित कुरा भन्ने बुझिँदैन। यसको मतलब “म मुक्ति पाउँछु कि भनी आशा गर्दैछु” होइन कि बरु “मैले मुक्ति पाउनेछु भनी म निश्चित छु” भन्ने हो। विश्वासीको आशालाई “प्राणको लङ्गर जो सुरक्षित र दृढ छ” भनेर बयान गरिएको छ। यी सब साँचो हुन सके किनभने ख्रीष्टले पापको पूरै ऋण तिरिदिनुभयो।

निष्कर्ष

ख्रीष्टमा आफू अनन्तसम्म सुरक्षित छु भन्ने ज्ञान विश्वासीको “टोप” हो जसले उसलाई शैतानबाटका शङ्काका अग्निमय वाणहरूदेखि सुरक्षा दिन्छ (१ थेस्सलोनिकी ५:८)।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






बप्तिस्मा के हो?

बप्तिस्मा के हो?

डेविड क्लाउड

पद कण्ठ: मत्ती २८:१८-१९; प्रेरित २:४१; ८:३६-३७; रोमी ६:३-४; १ कोरिन्थी १:१७

यस पाठमा हामी बप्तिस्मा बारेमा ६ ओटा महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिनेछौं।

बप्तिस्माको माने के हो?

  1. विश्वास गरेपछि आज्ञापालनको पहिलो कदम बप्तिस्मा हो (मत्ती २८:१९-२०)। येशूले बप्तिस्मा आज्ञास्वरूप दिनुभयो, त्यसैले विश्वासीले आज्ञापालनको एउटा कदमस्वरूप त्यसको अधीनतामा आफूलाई सुम्पन्छ।
  2. बप्तिस्मा सुसमाचारको अर्थात् ख्रीष्टको मृत्यु, गडाइ र बौरिउठाइको चित्र हो (१ कोरिन्थी १५:३-४)।
  3. बप्तिस्माले विश्वासी ख्रीष्टसित सम्मिलीकरण गरिएको कुरालाई चित्रण गर्दछ। बप्तिस्मा विश्वासी ख्रीष्टसित मरेको र ख्रीष्टमा नयाँ जीवनमा ऊ बौरिउठेको कुराको सङ्केत हो। हेर्नू: रोमी ६:३-४।
  4. बप्तिस्मा संसारको सामु दिइने सार्वजनिक गवाही हो जसअनुसार मैले ख्रीष्टमा विश्वास गरेको छु र म ख्रीष्टमा एउटा नयाँ जीवन जिउने अठोट गरेको छु भन्ने कुरा दर्शाइन्छ। म ख्रीष्टको चेला बनेको छु भन्ने कुराको घोषणा हो यो। नयाँ नियममा प्रत्येक बप्तिस्मा अरूले देख्‍न सकिने घटना थियो।

के बप्तिस्माले कसैलाई ख्रीष्टियन बनाउँछ?

बप्तिस्माले मान्छेलाई ख्रीष्टियन बनाउँछ भन्ने धारणा राख्‍ने मानिसहरू थुप्रै छन्। रोमन क्याथोलिकहरू यही विश्वास गर्छन्। ग्रीक अर्थडक्सहरूले यही विश्वास गर्छन्। चर्च अफ क्राइस्टले यही विश्वास गर्दछ। हिन्दुहरू, बुद्ध धर्मावलम्बीहरू र मुसलमानहरूले प्रायः बप्तिस्माले एकजनालाई ख्रीष्टियन बनाउँछ भनेर नै विश्वास गर्छन्। तर बप्तिस्माले ख्रीष्टियन बनाउँदैन। येशू ख्रीष्टमा राखिएको व्यक्तिगत विश्वासले एकजनालाई ख्रीष्टियन बनाउँदछ। सकली इसाईमत कुनै धर्म होइन; यो येशूसितको एउटा व्यक्तिगत सम्बन्ध हो। बप्तिस्मा भनेको उसको विश्वासको चित्र र गवाही मात्र हो। पानीले हामीलाई बचाउँदैन। असल कामहरूले हामीलाई बचाउँदैन। रीतिविधिहरूले हामीलाई बचाउँदैन। यी कुराहरू विश्वासपश्चात् आउँछन्, तर हामीलाई बचाउने कुरा भनेको ख्रीष्टमा राखिएको व्यक्तिगत विश्वास हो। मुक्ति परमेश्वरको अनुग्रहको सित्तैंको वरदान हो (एफेसी २:८-९), तर यदि मैले त्यसमा आफ्नो एउटै मात्र पनि काम थप्न सक्ने भएको भए मुक्ति सित्तैंको वरदान हुन छाड्नेथ्यो।

त्यसो भए मर्कूस १६:१५-१६ र प्रेरित २:३८ को माने के हो?

चर्च अफ क्राइस्ट र कुनै-कुनै अन्य झूटा मण्डलीहरू मुक्ति पाउन बप्‍तिस्मा अपरिहार्य भएको दाबी गर्छन्। तिनीहरूले प्रमाणस्वरूप अघि सार्ने गरेका मुख्य पदहरू मर्कूस १६:१५-१६ र प्रेरित २:३८ हुन्।

मर्कूस १६:१५-१६ लाई विचार गर्नुहोस्। यस खण्डअनुसार बप्तिस्मा, विश्वास गर्ने कार्यसित सम्बन्धित कुरा त हो तर त्यो मुक्तिसँग भने असम्बन्धित कुरा हो। कोही पनि पापी व्यक्ति बप्तिस्मा नलिएकोले दोषी ठहरिँदैन तर विश्वास नगरेकोले दोषी ठहरिन्छ। शब्दहरू यहाँ ज्यादै निश्चित रूपले रहेका छन् र ती महत्त्वपूर्ण छन्। बप्तिस्मा चाहिँ निजले साँच्चै विश्वास गरेको छ भन्ने कुराको सङ्केत हो। येशूमा विश्वास गरेको दाबी गर्ने तर बप्तिस्मा लिन इन्कार गर्नेहरू साँचो विश्वासीहरू होइनन्। उहाँलाई प्रेम गर्नेहरूले उहाँको आज्ञापालन गर्दछन् भनेर येशूले बताउनुभएको छ (यूहन्ना १४:२३)।

प्रेरित २:३८ लाई विचार गर्नुहोस्। एक विश्वासीले आफ्‍ना पापहरूको क्षमा पाउन भनी बप्तिस्मा लिँदैन तर आफ्ना पापहरूको क्षमा भइसकेकाले उसले बप्तिस्मा लिन्छ। “पापहरूका क्षमाका निम्ति” भन्ने वाक्यांशको माने कि त “पापहरू क्षमा पाउनका लागि” भन्ने हुन सक्छ, कि त “पापहरू क्षमा भएकाले” भन्ने हुन सक्छ। यस्तै वाक्यांश पछिल्लो अर्थमा लूका ५:१३-१४ मा प्रयोग भएको छ। “आफ्नो शुद्धिका निम्ति” आफूलाई पूजाहारीकहाँ देखाऊ भनेर कोरीलाई बताइयो किनकि ऊ ख्रीष्टद्वारा शुद्ध भइसकेको थियो।

पवित्र शास्त्रको एउटा खण्ड अर्कोसँग तुलना गरेर मर्कूस १६:१५-१६ र प्रेरित २:३८ को माने यही नै हो भनेर हामी जान्दछौं। हामीलाई बचाउनेचाहिँ ख्रीष्टको सुसमाचारले हो भनेर प्रेरित पावलले बताए (रोमी १:१६)। बप्तिस्मा नै सुसमाचार होइन भनेर उनले सिकाए (१ कोरिन्थी १:१७; १५:१-४)।

बप्तिस्मा दिने तरिका कुन हो?

हामीले यहाँ बप्तिस्मा दिने तरिकाको धरि चर्चा गर्न आवश्यक पर्नु दुःखकै कुरा हो किनकि यसबारेमा बाइबलले यति स्पष्ट गरी बताउँछ तरैपनि यसलाई चर्चा गरिनैपर्छ किनभने ख्रीष्टियनको नाउँ लिने धेरैजसोले आफ्नो अभ्यासमा छिट्का दिएर र खन्याएर बप्तिस्मा दिन्छन्। तर बाइबलीय बप्तिस्मा चोपलेर हो अथवा पानीमा “दफन” गरेर। यसका पाँचओटा प्रमाणहरू यस प्रकार छन्:

  1. शब्दको अर्थ नै यही हो। बप्तिस्मा भन्ने शब्दको माने डुबाउनु वा चोपल्नु भन्ने हुन्छ।
  2. येशूको बप्तिस्मा यसरी नै भएको थियो। उहाँ “पानीबाट माथि निस्कनासाथ” भनेर लेखिएको छ (मर्कूस १:१०)।
  3. सुरुका ख्रीष्टियनहरूले हामीलाई यही नमुना छोडेका छन्। प्रेरित ८:३८-३९ मा प्रचार गर्ने र बप्तिस्मा लिने “उनीहरू दुवै पानीभित्र पसे” र “उनीहरू पानीबाट बाहिर निस्के”। यसको एउटै कारण थियो चोपलेर बप्तिस्मा दिने चलन। नत्र भने प्रचारकले अञ्जुलीमा अलिकति पानी लिएर प्रयोग गरे पुग्नेथ्यो, पूरै भिज्नु आवश्यक पर्ने थिएन।
  4. बप्तिस्माको बाइबलीय अर्थसँग मेल खाने एउटै मात्र तरिका यही नै हो। बप्‍तिस्मा भनेको ख्रीष्टसित गाडिएको र बौरिउठेको चित्रण हो, र यो प्रतीकसँग मेल खाने तरिका चोपलेर दिएको बप्तिस्मा मात्र हो। छिट्काउ दिने वा खन्याउने कार्यले यसको चित्रण दिँदैन। हेर्नू: रोमी ६:४।
  5. शताब्दियौंसम्म मण्डलीहरूमा बप्तिस्मा दिइने एउटै मात्र तरिका चोपलेर दिइने बप्तिस्मा थियो। थुप्रै प्राचीन ब्याप्टिस्ट्री (बप्तिस्मा दिनलाई बनाइएको पोखरी) हरूले यसको गवाही दिन्छन्। जस्तै, रोमको सबैभन्दा प्राचीन ब्याप्टिस्ट्री एउटा ठूलो पोखरीको रूपमा बनाइएको छ जुनचाहिँ चोपल्नका लागि प्रयोग हुन्थ्यो भन्ने कुरा स्पष्ट छ। यस ब्याप्टिस्ट्रीमा म आफैं पनि उभिएको छु र त्यो मेरो कम्मरसम्मै आउँछ। मैले एफेससको एउटा चर्चघरमा देखेको प्राचीन ब्याप्टिस्ट्री पनि यस्तै बनोटको छ।

बप्तिस्मा दिने अधिकार कसलाई छ?

नयाँ नियम मण्डलीलाई बप्तिस्मा दिने अधिकार छ। यो नै यस युगका लागि प्रभुको चुनिएको संस्था हो, र यो परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। प्रेरितको पुस्तकमा हरेक बप्तिस्मा प्रचारकद्वारा गरिएको थियो।

बप्तिस्मापछि के आउँछ?

बप्तिस्मापछि आउने कुरा ख्रीष्टियन सेवा र पवित्र जीवन हो (प्रेरित २:४१-४२)। बप्तिस्मा लिने व्यक्तिले आफू पुरानो जीवनको लेखि मेरको छु र अब उसले ख्रीष्टलाई आफ्नो जीवनको प्रभुको रूपमा पछ््याउन थालेको छु भन्ने कुराको गवाही दिइरहेको हुन्छ। यो ज्यादै गम्भीर र गहन अभ्यास हो। यरुशलेमको पहिलो मण्डलीका ख्रीष्टियनहरू “प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे”।

बप्तिस्मा सम्बन्धी पुनरावलोकन प्रश्नहरू

    1. बप्तिस्मा, विश्वास गरेपछि __________को ________ कदम हो।
    2. बप्तिस्मा, एकजना व्यक्तिले साँच्चै विश्वास गरेको छ भन्ने कुराको ________ हो।
    3. बप्तिस्मा, सुसमाचारको _________ हो।
    4. बप्तिस्माले विश्वासी ख्रीष्टिसित _____________ भएको कुराको चित्रण दिन्छ।
    5. बप्तिस्मा, संसारको सामु एउटा ___________ हो।
    6. के बप्तिस्माले व्यक्तिलाई ख्रीष्टियन बनाउँछ?
    7. विश्वासीले आफ्ना पापहरूको ________________ बप्‍तिस्मा लिँदैन; उसले बप्तिस्मा लिन्छ किनभने उसले आफ्ना पापहरूको _______________।
    8. कुन पदमा पावलले उसलाई परमेश्वरले बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्नलाई बोलाउनुभयो भनेका छन्?

१ कोरिन्थी १५:१-४ मा पावलले सुसमाचारलाई सारांशमा बताउँदा उनले त्यहाँ बप्तिस्माको बारेमा ________ कुरा भनेनन्।

  1. “बप्तिस्मा” शब्दको अर्थ ___________ हो।
  2. येशूलाई डुबुल्की गरी बप्तिस्मा दिइएको थियो भनी हामी कसरी जान्दछौं?
  3. कुन पुस्तकको कुन अध्यायमा फिलिपले बप्तिस्मा दिँदा पानीभित्र पसेर र निस्के भनिएको छ?
  4. कुन पुस्तकको कुन अध्यायमा बप्तिस्मालाई दफनसित तुलना गरिएको छ?
  5. शुरुशुरुमा सबै मण्डलीहरूले बप्तिस्मा कुन तरिकाले दिन्थे?
  6. शुरुका ख्रीष्टियनहरूले बप्तिस्मा लिएपछि के गरे?

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






सुसमाचार के हो?

सुसमाचार के हो?

डेविड क्लाउड

पद कण्ठ: १ कोरिन्थी १५:१-८

परिचय

  1. सारांशमा सुसमाचार यो नै हो। पवित्र शास्त्रमा अरू कतै पनि यति छोटकरीमा सुसमाचारको सारांश दिइएको पाइँदैन। तसर्थ यो ज्यादै महत्त्वपूर्ण खण्ड हो।
    1. सही सुसमाचार जान्नु आवश्यक छ किनकि मुक्ति पाउने एउटै मात्र उपाय यही हो (१ कोरिन्थी १५:२)।
    2. सही सुसमाचारलाई पक्रनु आवश्यक छ किनकि हरेक झूटा सुसमाचार परमेश्वरको श्रापमुनि छ भनेर पावलले चेताउनी दिएका छन् (गलाती १:६-९)।
    3. हामीले सही सुसमाचारलाई जान्नु आवश्यक छ किनकि येशूले हामीलाई हरेक प्राणीलाई सुसमाचार प्रचार गर्नू भन्ने आज्ञा दिनुभएको छ (मर्कूस १६:१५)।
  1. सुसमाचारको यो प्रस्तुतिचाहिँ पावलले विश्वासीहरूलाई गरेका हुन् (१ कोरिन्थी १५:१)। यसले हामीलाई यो सिकाउँछ कि नयाँ विश्वासीहरूले सुसमाचार राम्ररी सिक्नुपर्छ ताकि उनीहरू यसका सत्यताहरूमा व्यक्तिगत रूपमा जग बसालिएको हुन सकून् र अरूहरूलाई प्रचार गर्न सकून्। साथै यसले यो पनि सिकाउँछ कि पुराना विश्वासीहरूले सुसमाचार झन् झन् राम्ररी सिक्नुपर्छ। हामी सुसमाचारको बारेमा सिकेर कहिल्यै भ्याउनेछैनौं।

सुसमाचारको बारेमा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ

१ कोरिन्थी १५ को यस महत्त्वपूर्ण खण्डले सुसमाचार सम्बन्धी एक-एक आधारभूत सत्यतालाई समेट्दछ।

सुसमाचार के हो?

ख्रीष्टको सुसमाचारका मुख्‍य तीन भाग छन्:

  1. पवित्र शास्त्रमुताविक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)।
    1. मर्नुहुने को हुनुहुन्थ्यो भन्ने कुरामा ध्यान दिनुहोस्: मर्नुहुने ख्रीष्ट हुनुहुन्थ्यो। येशू नै पुरानो नियममा प्रतिज्ञा गरिनुभएको ख्रीष्ट हुनुहुन्छ। “ख्रीष्ट” भन्ने नाउँ “अभिषिक्त जन” भनी जनाउने ग्रीक शब्द हो। हिब्रुको “मसीह” भन्ने शब्दको उही अर्थ हुन्छ (भजनसङ्ग्रह २:२; १३२:१७)। येशू अभिषिक्त अर्थात् चुनिएका जन हुनुहुन्छ। मसीह संसारमा पहिलो पटक आउनुहुँदा उहाँ हटाइनुहुनेछ अर्थात् मानिसका पापका लागि मर्नुहुनेछ भन्ने कुरा (दनिएल ९:२५-२६) अनि उहाँ पछि फेरि आउनुहुनेछ र दाऊदको सिंहासनबाट शासन गर्नुहुनेछ र पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नुहुनेछ (यशैया ९:६-७) भन्ने कुरा अगमवक्ताहरूले बताएका थिए।
    2. ख्रीष्ट किन मर्नुभयो भन्ने कुरालाई ध्यान दिनुहोस्: हाम्रा पापहरूका निम्ति। मान्छे पापी छ र उसले परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको छ। सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन् (रोमी ३:२३), र पापको ज्याला मृत्यु हो (रोमी ६:२३)। उक्त मूल्य हाम्रो निम्ति ख्रीष्टले तिरिदिनुभयो। मुक्ति सट्टापट्टाको एउटा कारोवार हो। ख्रीष्टले हाम्रो पाप लिदिनुभयो र हामीले चाहिँ उहाँको धार्मिकता लिन्छौं (२ कोरिन्थी ५:२१)। बाइबलले भने जस्तै गरी आफू पापी हुँ भनी स्वीकार नगरेसम्म कसैले पनि मुक्ति पाउन सक्दैन।
    3. उहाँ पवित्र शास्त्रहरूमुताविक मर्नुभयो भन्ने कुरालाई ध्यान दिनुहोस्: यसले चाहिँ उहाँको मृत्युलाई एकदम विस्तृतरूपमा बयान गर्ने ती अचम्मका भविष्यवाणीहरूलाई जनाउँदछ। ती भविष्यवाणीहरू येशू जन्मनुभन्दा सयौं वर्ष अगाडि लेखिएका थिए। तीमध्ये दुईचारओटालाई भजनसङ्ग्रह २२ बाट तल उल्लेख गर्दछौं:
    • येशू क्रूसीकरणद्वारा मारिनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१४-१६; यूहन्ना १९:१६-१८)। क्रूसीकरणको मृत्युको यो हु-बहु बयान हो जुनचाहिँ दाऊद अगमवक्ताले ख्रीष्टभन्दा १००० वर्षअघि नै लेखे जुनबेला क्रूसीकरणको चलन आएकै थिएन! यो त रोमी साम्राज्य कालमा अर्थात् येशू जन्मनुभन्दा केही वर्ष अगाडिदेखि मात्र चलनमा आएको थियो। हत्याराहरू र डाँकाहरूलाई दण्ड दिन रोमी सरकारले तिनीहरूका हात र पाउलाई काठको क्रूसमा काँटीले ठोकेर मर्नलाई छाडिदिन्थे।
    • सिपाहीहरू क्रूसको फेदमा येशूको वस्त्रका लागि चिठ्ठा खेल्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१८)। येशूले पीडा भोगिरहनुहुँदा निर्दयी सिपाहीहरूले त्यसै गरे (मत्ती २७:३५)।
    • येशूले क्रूसबाट उच्चारण गर्नुहुने शब्दहरूलाई पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१; मत्ती २७:४६)।
    • येशू तिर्खाउनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१५; यूहन्ना १९:२८)।
    • उहाँलाई मानिसहरूले गिल्ला गर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:६-८; मत्ती २७:३९,४१-४३)।
    • मानिसहरू बसेर उहाँलाई एकटक लाएर हेर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२:१७; मत्ती २७:३६)।
  1. ख्रीष्ट गाडिनुभयो (१ कोरिन्थी १५:४)।
    1. उहाँको गडाइले उहाँ साँच्चै मर्नुभयो भनेर प्रमाणित गर्छ। उहाँ कुनै-कुनै झूटा शिक्षकहरूले भनेजस्तै केवल मुर्छा खानुभएको वा मरेको जस्तै मात्र देखिनुभएको थिएन। सिपाहीहरूले येशूका खुट्टाहरूलाई नभाँच्नुको कारण यो थियो: उहाँ मरिसक्नुभएको थियो (यूहन्ना १९:३१-३४)।
    2. उहाँको गडाइ हुँदा भविष्यवाणी पूरा हुन गयो। यो “पवित्र शास्त्रहरूमुताविक” भएको थियो। येशू एकजना धनी मानिसको चिहानभित्र गाडिनुहुनेछ भनेर बाइबलले भविष्यवाणी गरेको थियो (यशैया ५३:९)। येशू जन्मनुभन्दा ७१० वर्ष अगाडि लेखिएको यो भविष्यवाणी त्यो बेला पूरा भयो जब एकजना धनी चेला आएर येशूलाई क्रूसबाट तल झारे र आफ्नै चिहानमा गाडे (मत्ती २७:५७-६०)।
  1. ख्रीष्ट पवित्र शास्त्रहरूमुताविक बौरिउठ्नुभयो (१ कोरिन्थी १५:४)।
    1. उहाँको बौरिउठाइको भविष्यवाणी भजनसङ्ग्रह १६:१० मा गरिएको थियो। येशू आउनुभन्दा यो १००० वर्ष अगाडि लेखिएको थियो।
    2. उहाँको बौरिउठाइले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर प्रमाणित गर्‍यो (रोमी १:४)। येशूले आफू तेस्रो दिनमा बौरेर उठ्ने भविष्यवाणी गर्नुभएको थियो (मत्ती १६:२१) अनि यदि उहाँ नबौरनुभएको भए उहाँ झूटा अगमवक्ता ठहरिनुहुनेथ्यो र आफू परमेश्वरको पुत्र भएको उहाँखो दाबी झूटा ठहरिने थियो।

सुसमाचार सत्य छ भन्ने त्यहाँ के प्रमाण छ?

सुसमाचार सत्य छ भनेर पावलले दुईटा ठूला प्रमाणहरू दिन्छन्:

  1. पुरानो नियमका भविष्यवाणीहरूले सुसमाचार सत्य छ भनेर प्रमाणित गर्दछन्। उहाँ “पवित्र शास्त्रहरूमुताविक” मर्नुभयो र बौरिउठ्नुभयो। यी बुँदाहरूलाई हामीले हेरिसक्यौं।
  2. प्रत्यक्ष साक्षीका गवाहीहरूले सुसमाचार सत्य छ भनेर प्रमाणित गर्दछन् (१ कोरिन्थी १५:५-८)। बाइबल एउटा “अन्धविश्वास” होइन। यो चाहिँ “अनेकौं अचूक प्रमाणहरू” मा आधारित विश्वास हो (प्रेरित १:३)। बाइबलीय विश्वासमा “निश्चयता” हुन्छ, “प्रमाण” हुन्छ (हिब्रू ११:१)।
    1. बौरिउठ्नुभएका प्रभुलाई एकैचोटि ५०० जना भन्दा बढीले देखे (१ कोरिन्थी १५:६)। पावलले उक्त पत्र लेख्दाहुँदी अधिकांश प्रत्यक्ष दर्शीहरू अझै जीवितै थिए। पावलले धेरै समय अगाडिको घटनाको बारेमा लेखिरहेका थिएनन्।
    2. उहाँको बौरिउठाइको घटनाले उहाँलाई देख्‍नेहरूका जीवनहरूमा ठूलो परिवर्तन ल्यायो। ख्रीष्टको बौरिउठाइ हुनुअघि चेलाहरू डरपोक थिए र अधिकारीहरूदेखि लुकिरहेका थिए (यूहन्ना २०:१९), तर उनीहरूले बौरिउठ्नुभएका प्रभुलाई देखेपछि उनीहरू साहसी भए र आफ्नो विश्वासको लागि प्राण दिन समेत तयार भए।
    3. येशूको बौरिउठाइले उहाँको भाई याकूबलाई विश्वास दिलायो (१ कोरिन्थी १५:७)। यूहन्ना ७:५ सित तुलना गर्नुहोस् जहाँ उहाँको क्रूसीकरण हुनु अगाडि येशूका भाइहरूले उहाँमाथि विश्वास गर्दैनथे भन्ने कुरा देख्छौं।
    4. बौरिउठाइले पावललाई विश्वास दिलायो र उसलाई ख्रीष्टप्रतिको उनको भयङ्कर शत्रुताबाट फर्कायो। सांसारिक दृष्टिकोणबाट हेर्ने हो भने ख्रीष्टको अनुयायी बनेर पावललाई कुनै फाइदा भएन। जीवनको अन्तिम घडीसम्म नै उनलाई खेदो गरियो र उनले परिवारबिहीन, सम्पत्तिबिहीन र घरबिहीन जीवन बिताए। येशू मृत्युबाट बौरनुभएको छ र त्यसैले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनी उनी निश्चित भएकाले नै पावल यी दुःखहरू सहन राजी थिए।

“व्यर्थमा विश्वास गर्नु” भनेको के हो (१ कोरिन्थी १५:२)?

सम्भवतः यहाँ पावलले बताएको कुरा यो हो कि त्यहाँ यस्तो तरिकाले विश्वास गर्नु सम्भव छ जसद्वारा मुक्ति पाइन्न। यहाँ केही तरिकाहरूलाई विचार गर्नुहोस् जसले मुक्ति दिलाउन सक्दैन:

  1. गलत कुरालाई विश्वास गर्नु व्यर्थमा विश्वास गर्नु हो (यूहन्ना २:२३-२५)। यी यहूदीहरूले येशूलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा नभई सांसारिक खाँचोहरू पूरा गरिदिने र उनीहरूलाई खुवाउने, रक्षा गरिदिने व्यक्तिको रूपमा “विश्वास गरे”। हेर्नू: यूहन्ना ६:१४,१५,२६,६६। त्यसरी नै आज धेरैजनाले येशूलाई गलत तरिकाहरूमा विश्वास गर्छन्। उनीहरू येशूकहाँ आउँछन् र उहाँलाई प्रार्थना गर्छन् तर उनीहरू के चाहन्छन् भने उहाँले उनीहरूको समस्याहरू समाधान गरिदिनुभएको, उनीहरूको स्वाभिमान वृद्धि गरिदिनुभएको, वा उनीहरूलाई धनी बनाइदिनुभएको वा निको पारिदिनुभएको वा अरू कुरा गरिदिनुभएको तर उनीहरू होच्चिएर पापीको रूपमा आएका हुँदैनन् र केवल उहाँलाई नै आफ्नो मुक्तिदाताको रूपमा भरोसा गर्दैनन्।
  2. पश्चात्ताप बिनाको “विश्वास” गर्नु व्यर्थमा विश्वास गर्नु हो (प्रेरित २०:२१; २६:२०)। धेरैजना आफ्ना जीवनहरू आत्मसमर्पण नगरीकन “येशूमा विश्वास” गर्न चाहन्छन्, तर पश्चात्तापबिना मुक्ति पाउनु असम्भव छ। हामी याकूब २:१९-२० मा देख्छौं, जीवन बदलिने गरीकन आत्मसमर्पणका साथ विश्वास गर्नुको सट्टा दिमागले मात्र विश्वास गर्नु सम्भव छ। जीवन बदलिने गरी आत्मसमर्पणका साथ विश्वास गर्नुचाहिँ पश्चात्ताप हो जुनचाहिँ मनको परिवर्तन हो जसले जीवनको परिवर्तन ल्याउँदछ। दुष्टात्माहरू “परमेश्वरमा विश्वास गर्छन्” तर मुक्ति पाउने किसिमले त होइन। उहाँ हुनुहुन्छ भनेर तिनीहरू जान्दछन् तर उनीहरू उहाँको अधीनमा बस्न चाहँदैनन्। धेरैजनाले “येशूमा विश्वास” त गर्छन् तर केवल उहाँ २,००० वर्ष अघि संसारमा हुनुहुन्थ्यो भन्ने अर्थमा मात्र।
  3. झूटा सुसमाचार वा झूटा ख्रीष्टमाथि विश्वास गर्नु व्यर्थमा विश्वास गर्नु हो (२ कोरिन्थी ११:३-४)। धेरैजनाले पवित्र शास्त्रमा प्रकट गरिएकोभन्दा बेग्लै सुसमाचार वा बेग्लै येशूमा विश्वास गर्छन्। जस्तै, उनीहरू विश्वास र कामले मुक्ति पाइन्छ भन्ने सुसमाचारमा वा येशू र धार्मिक संस्कारले मुक्ति पाइन्छ भन्ने सुसमाचारमा वा येशूको इश्वरत्वलाई इन्कार गर्ने शिक्षामा विश्वास गर्छन्।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विश्वास के हो?

विश्वास के हो?

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना ३:१६; ६:२८-२९; १४:६; प्रेरित १६:३०; एफेसी २:८-९

यी सुरुका दुई पाठहरूमा हामी मुक्तिको सवालमा मानिसको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा अध्ययन गर्दैछौं। हाम्रा सामु दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पहिलो पाठमा हामीले पश्चात्तापको बारेमा अध्ययन गर्‍यौं, अब हामी विश्वासको बारेमा अध्ययन गर्नेछौं।

प्रेरित २०:२१

पहिलो पाठमा हामीले जसरी अध्ययन गरेका थियौं, पावलले आफ्ना प्रचारहरूमा मानिसहरूलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ भनेर आज्ञा गर्दथे। पापीले परमेश्वरतर्फ पश्चात्ताप गर्नुपर्छ किनकि उसले आफ्नो स्वेच्छाचारी जीवन र अनाज्ञाकारीताद्वारा आघात पुर्‍याएको परमेश्वरलाई हो। पापीले आफ्नो विश्वास येशूमाथि राख्‍‍नुपर्छ किनकि उहाँ नै हाम्रा पापका लागि मर्नुभएको हो।

मुक्ति दिलाउने खालको विश्वासका बारेमा निम्न तीनओटा महत्त्वपूर्ण प्रश्‍नहरूलाई विचार गर्नुहोस्:

मुक्ति दिलाउने खालको विश्वास कस्तो हुन्छ?

मुक्ति दिलाउने विश्वास भनेको केही ऐतिहासिक तथ्यहरूलाई दिमागले विश्वास गर्नु मात्र होइन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ। जस्तै, पृथ्वीनारायण शाह एकिकृत नेपालका पहिलो राजा थिए वा महात्मा गान्धी भारतका नेता थिए वा दोस्रो विश्वयुद्धको समयमा जर्मनीका शासक हिटलर थिए भनेर हामी विश्वास त गर्छौं। तर यस्ता विश्वासहरूले जीवन परिवर्तन गराउँदैनन्। त्यही किसिमले येशू ख्रीष्ट पनि धेरै वर्ष अघि संसारमा हुनुहुन्थ्यो र उहाँले थुप्रै अचम्मका काम गर्नुभयो भनेर कतिले विश्वास त गर्छन् तर त्यस्तो विश्वासले उनीहरूको जीवनलाई परिवर्तन गराउँदैन। मुक्ति दिलाउने खालको विश्वास त्योभन्दा बेग्लै हुन्छ।

मुक्ति दिलाउने विश्वास एकचित्त विश्वास हो

येशू नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर बाइबलले बताउँछ: यूहन्ना १४:६, प्रेरित ४:१२ मा हेर्नुहोस्। मुक्ति पाउनलाई बाइबलले बताएजस्तै मैले येशू ख्रीष्ट नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नैपर्छ। कतिले आफूले मानेका देवताका साथसाथै येशूलाई पनि राख्‍न खोज्छन्। उनीहरू अन्य प्रभुहरूलाई पनि विश्वास गर्दै येशूमा समेत विश्वास गर्न चाहन्छन्। यस्तो प्रकारले कसैले मुक्ति पाउन सक्दैन।

मुक्ति दिलाउने विश्वास भरोसापूर्ण विश्वास हो

बाइबलमा “विश्वास” शब्दको माने भरोसा गर्नु, भर पर्नु, कसैमा आश्रित बन्नु भन्ने हुन्छ। मुक्ति पाउनलाई निजले पूर्ण रूपले आफ्नो प्राणका लागि र आफ्नो अनन्त भविष्यका लागि प्रभु येशूमा आश्रित बन्नैपर्छ। निजले पापहरूको क्षमा पाउनका लागि र परमेश्वरका सामु धर्मी ठहराइनका लागि र स्वर्गमा पुर्‍याइनका लागि केवल येशूमा भर पर्नुपर्छ।

येशूमा भरोसा गर्नु भनेको नदी तर्नलाई डुङ्गामा भरोसा गर्नु जस्तै हो। डुङ्गालाई राम्ररी अवलोकन गर्दैमा तरिँदैन, त्यसको तारिफ गर्दैमा तरिँदैन। तपाईं डुङ्गामा नचढी हुन्न अनि सुरक्षासाथ पारीपट्टी पुर्‍याइनलाई त्यसमाथि भरोसा नगरी हुन्न। तपाईंका पापहरू हरण गरिन तपाईंले येशूमा विश्वास गर्नुभएको छ कि छैन? कतिजनाले येशूमा विश्वास गरेको छु भन्छन् तर पनि उनीहरू पहिलेका धार्मिक रीतिहरू गर्न छाड्दैनन्। उनीहरूले येशूमा खास भरोसा गरिरहेका छैनन् भन्ने कुराको प्रमाण दिँदैछन्। मुक्ति पाउन कुनै पनि त्यस्ता व्यर्थका रीतिहरू चाहिँदैनन् भन्ने कुरा येशूमा भरोसा गरेपछि हामीले महसुस गरेका हुन्छौं।

मुक्ति दिलाउने विश्वास पक्का विश्वास हो

मुक्ति पाउनलाई येशू नै प्रभु र मुक्तिदाता हुनुहुन्छ र उहाँले आफ्ना प्रतिज्ञाहरू मेरा निम्ति पूरा गर्नुहुनेछ भनेर म पूर्ण रूपले विश्वस्त हुनैपर्छ। साँचो मुक्ति भनेको “म-निश्चित-छु” भन्ने खालको विश्वास हो। येशूका सुरुका चेलाहरूको विश्वास यस्तै किसिमको थियो। यूहन्ना ६:६६-६९ ना पत्रुसको गवाही कस्तो थियो हेर्नुहोस्। साँचो रूपमा मुक्ति पाएको व्यक्तिको गवाही यस्तो हुन्छ। हामी पक्का हुन सक्ने कारण परमेश्वरका प्रतिज्ञाहरूले गर्दा नै हो (१ यूहन्ना ५:११-१३)। तर अर्कातिर “मैले मुक्ति पाउँला कि भन्ने आशा गरेको छु” भन्ने “विश्वास” गरेकाहरूको कुरालाई तुलना गर्नुहोस्; उनीहरूको भनाइको तात्पर्य यो हो कि उनीहरू पक्का छैनन्। एकपटक मैले एकजना नेपालीलाई भेटेँ जसले मलाई आफूलाई येशूमा ९९% विश्वास लागेको कुरा बताए। तर कुरा के भने, त्यतिले पुग्दैन! डुङ्गाको उदाहरणलाई विचार गर्नुहोस्: तपाईंले आफ्नो शरीरको १०० प्रतिशत वजनलाई नै डुङ्गामा सुम्पनुपर्छ, ९९ प्रतिशत सुम्पन्छु भन्न मिल्दैन!।

मुक्ति दिलाउने विश्वास विशुद्ध विश्वास हो

मुक्ति दिलाउने विश्वासलाई मानवीय कर्मसँग मिसाउन सकिन्न। एफसी २:८-१० लाई हेर्नुहोस्। बाइबलको सबैभन्दा महत्त्वपूर्ण खण्डहरूमध्येमा पर्छ यो। यसले सिकाउँछ, ख्रीष्टबाटको मुक्तिलाई एक व्यक्तिले सित्तैंको उपहारको रूपमा लिनुपर्छ, असल काम बापत पाइने इनामको रूपमा होइन। अनि परमेश्वरबाटको सित्तैंको मुक्तिको उपहारलाई ग्रहण गरेपछि हामी उहाँलाई कृतज्ञ हृदयले सेवा गर्दछौं। मुक्ति पाउनलाई म उहाँको सेवा गर्दिनँ; होइन, बरु मैले मुक्ति पाइसकेको हुनाले म उहाँको सेवा गर्दछु। उपहार त्यस्तो चीज हो जुनचाहिँ कसैले किन्छ र मलाई सित्तैंमा दिन्छ। हाम्रो मुक्ति किनिदिनुहुने येशू हुनुहुन्छ जसले त्यसका लागि आफ्नै मृत्युद्वारा, रगत बहाईकन मूल्य तिरिदिनुभयो। तपाईं येशू ख्रीष्टमा पाइने परमेश्वरबाटको सित्तैंको मुक्तिमा आज रमाहट गर्दै जिउँदैहुनुहुन्छ कि तपाईं अझै पनि मुक्तिलाई कमाउन खोज्दै हुनुहुन्छ?

मुक्ति दिलाउने विश्वास ग्रहण गर्ने विश्वास हो

मुक्ति दिलाउने विश्वासले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्दछ। मुक्ति दिलाउने विश्वासले येशूलाई केवल ऐतिहासिक व्यक्तिको रूपमा विश्वास गर्ने काम मात्र गर्दैन; त्यसले उहाँलाई पुकार्दछ र मुक्तिका निम्ति उहाँलाई विन्ती गर्दछ। यूहन्ना १:११-१२ र रोमी १०:१३ लाई हेर्नुहोस्। मुक्ति ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो।

ख्रीष्टियन जीवनमा असल-असल कामहरूको के कस्तो स्थान छ त?

के ख्रीष्टमा विश्वास गर्नु भनेको मेरो ख्रीष्टियन जीवनमा मैले कुनै पनि असल-असल कामहरू गर्नु पर्दैन भन्ने हो? असल-असल कामहरूको के कस्तो स्थान छ?

फेरि हामी एफेसी २:८-१० लाई विचार गरौं।

हामीले आज्ञाकारी तथा पवित्र जीवनहरू व्यतित गरेको परमेश्वर चाहनुहुन्छ, तर यो चाहिँ मुक्ति पाइसकेपछि आउने कुरा हो। असल कामहरू मुक्तिका प्रतिफल हुन्, कारक होइनन्। असल कामहरू विश्वासीमा पवित्र आत्माद्वारा आउने कुरा हुन्।

एफेसीको पत्रमा विश्वासीले पालन गर्नुपर्ने झण्डै ९० ओटा आज्ञाहरू पाइन्छन्। यसमा पर्दछन् नम्र हुनु (एफेसी ४:१), सहनशील हुनु (एफसी ४:१), झूटलाई फाल्नु (एफेसी ४:२५), रिसलाई हटाउनु (एफेसी ४:२६), नचोर्नु (एफेसी ४:२८), कुनै कुवचन नबोल्नु (एफेसी ४:२९), दयालु हुनु (एफेसी ४:३२), क्षमाशील हुनु (एफेसी ४:३२), व्यभिचार र अशुद्धता हटाउनु (एफेसी ५:३), अन्धकारका कामहरूसँग कुनै सङ्गती नगर्नु (एफेसी ५:११), समयलाई खेर जान नदिनु (एफेसी ५:१६), परमेश्वरको इच्छा बुझ्नु (एफेसी ५:१७), दाखमद्यले नमातिनु (एफेसी ५:१८), पवित्र आत्माले भरपूर हुनु (एफेसी ५:१८), पत्‍नीहरू आफ्ना पतिहरूका अधीनमा सुम्पिइनु (एफेसी ५:२२), पतिहरू आफ्ना पत्‍नीहरूलाई प्रेम गर्नु (एफेसी ५:२५), नानीहरू आफ्ना बाबुआमाको आज्ञाकारी हुनु (एफेसी ६:१-३), बाबुआमाहरूले आफ्ना नानीहरूलाई तालिम दिनु र उनीहरूलाई रिस नउठाउनु (एफेसी ६:४), नोकरहरू आफ्ना मालिकप्रति आज्ञाकारी हुनु (एफेसी ६:५) र मालिकहरू आफ्ना नोकरहरूप्रति न्यायोचित व्यवहार गर्नु (एफेसी ६:९)।

विश्वासीहरूले परमेश्वरको इच्छाअनुसार आज्ञापालन गर्नुपर्ने केही असल कामहरू यी नै हुन् तर हामीले पहिले मुक्ति नपाएसम्म यी कुनै पनि कामहरू गर्न सक्दैनौं। हामी पहिला येशू ख्रीष्टद्वारा परमेश्वरसित मिलापमा आउनुपर्छ, हामीले हाम्रा पापहरूका क्षमा पाउनुपर्छ र पवित्र आत्मा हामीभित्र अन्तरवास गर्न आउनुपर्छ। त्यसपछि मात्र हामीले परमेश्वरलाई ग्रहणयोग्य तवरले सेवा गर्न सक्छौं।

के मुक्ति भनेको क्रमिक ढाँचाले प्राप्‍त हुने धार्मिक कुरो हो?

मुक्ति भनेको क्रमिक ढाँचामा प्राप्‍त हुने कुरा हो भन्ने सिद्धान्त एउटा व्यापक झूटा शिक्षा हो, तर बाइबलले बताउँछ यो त एउटा आश्चर्यकर्मरूपी परिवर्तनको अनुभव हो। येशूले सिकाउनुभएको कुरा यही थियो। हेर्नुहोस्, मत्ती १८:३ र यूहन्ना ३:३।

नयाँ जन्मको परिवर्तन एउटा लामो प्रक्रिया होइन; यो अलौकिक हुन्छ, यो जीवन-परिवर्तन गराउने घटना हो! अनि जुन घडी एउटा पापीले आफ्नो पापदेखि पश्चात्ताप गर्छ र येशूलाई आफ्नो एकमात्र मुक्तिदाताको रूपमा विश्वास गर्दछ त्यही नै घडी उसमा यो घटना घट्छ।

बाइबलमा हामीले यही कुरा पाउँछौं। प्रेरितको पुस्तकमा जति पनि व्यक्तिहरूले मुक्ति पाएका थिए उनीहरूले ख्रीष्टलाई ग्रहण गरेकै दिनमा मुक्ति पाएका थिए। यसमा पर्दछन्, पेन्टेकोस्टको दिनमा विश्वास गर्ने यहूदीहरू (प्रेरित २:४१), इथियोपियाइ नपुंसक (प्रेरित ८:३६-३९), कर्नेलियस र उनका घराना (प्रेरित १०:४४-४८), लिडिया (प्रेरित १६:१४-१५), र फिलिप्पीमा झ्यालखानाको हाकिम र उनका घराना (प्रेरित १६:३०-३४)।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।