Entries by Pradesh Shrestha

कयिनकी पत्नी को थिई?

यस प्रश्नको महत्त्व

आदम र हव्वाबाट जन्मेका पहिलो व्यक्ति कैन थिए। उनकी पत्‍नी इतिहासकै बहुचर्चित स्त्री बनेकी छन्।1

कैनकी पत्नी को वा कहाँकी थिई भनेर बाइबलले बताउँदैन। अन्य तथ्यहरूकै आधारमा यसको जवाफ पत्ता लगाउनुपर्ने हुन्छ। तर “कैनकी पत्नी को थिई?” भनेर कसैले प्रश्न गर्दा कतिपय इसाईहरू यसको जवाफ दिन हिच्किचाउँछन्। सम्भवतः यसको पछाडि निम्न दुई कारण छन्:

१) “कैनले आफ्ना बाबु-आमा (आदम-हव्वा) बाट जन्मेका एउटी बहिनीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? हाडनाता साइनु पर्नेलाई पनि विवाह गर्न हुन्छ र? बाइबलले समेत लेवी १८ मा नजिकको साइनु पर्नेलाई विवाह गर्न मनाही गरेको छ नि” भन्ने प्रत्युत्तर आउला2। अथवा,

२) “कैनले आदम-हव्वाबाट जन्मेका नभई छुट्टै मानव जातिमध्येबाट कुनै एउटी स्त्रीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? आदम-हव्वा बाहेक परमेश्वरले अन्य कुनै मानव जातिलाई सृष्टि गर्नुभएको कुरा बाइबलमै छैन नि” भन्ने प्रत्युत्तर आउला।

यी दुइटाबाहेक अन्य वैकल्पिक जवाफ देखिन्नन्। तर माथि उल्लेख गरिएझैं दुइटै जवाफ समस्याग्रस्त भएझैं देखिन्छन्। त्यसैले कतिले बाइबलको सृष्टिको बयान त्रुटीपूर्ण भएको दाबी गर्छन्। उनीहरू भन्छन्, “हेर्नुहोस्, बाइबलका कुरा आपसमा जुधेका छन्। आदम-हव्वाबाट जन्मेका बाहेक अरू मानव जाति त्यहाँ पहिलेदेखि नभएका भए, कैनले कहाँबाट पत्नी ल्याउन सक्थे र? आफ्नै बहिनीलाई विवाह गर्ने कुरा त बाइबल आफैले मनाही गर्छ। त्यसैले आदम र हव्वा सबै मानिसका पूर्खा हुन् भनेर बाइबलमा बताइएको मानिसको सृष्टिको विवरण सत्य हुन सक्दैन।”

यसरी बाइबल परमेश्वरको सत्य वचन हो भन्ने कुरालाई यसले एक प्रकारको चुनौती दिएकोले कैनकी पत्नी इतिहासमा प्रख्यात बनेकी हुन्।

येशू ख्रीष्टको गवाही

तर बाइबलका कुरा आपसमा कहिल्यै जुध्दैनन्। जुधे भने ती हाम्रै बुझाइमा मात्र जुध्छन्। बाइबलमा त्रुटी हुन सक्दैन। हाम्रो बुझाइमा भने त्रुटी हुन सक्छ। बाइबल सम्बन्धी प्रभु येशू ख्रीष्टको गवाही स्पष्ट छ,

“म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्था [बाइबल] बाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्नेछैन” (मत्ती ५:१८)।

“पवित्रशास्त्र [बाइबल] भङ्ग हुन सक्दैन” (यूहन्ना १०:३५)।

परमेश्वरका सन्तानका लागि प्रभु येशूको भनाइ यथेष्ट हुन्छ किनकि बाइबल पूर्ण रूपमा विश्वासयोग्य छ कि छैन भन्ने बारेमा प्रभु येशूलाई भन्दा अरू कसलाई बढी राम्ररी थाहा हुन सक्छ र? बाइबलमा उल्लेखित सृष्टिको विवरण अक्षरशः सत्य भएको उहाँले बताउनुभयो,

“के तिमीहरूले [बाइबकको उत्पत्तिको पुस्तकमा] पढेका छैनौ? [सृष्टिको]शुरुमा जसले तिनीहरूलाई नर र नारी [आदम र हव्वा] बनाउनुभयो…” (मत्ती १९:४)

त्यसो भए कुनचाहिँ जवाफ ठीक हो?

छोटकरीमा भन्ने हो भने, कैनले आफ्नी कुनै एउटी बहिनी (वा भतिजी) लाई विवाह गरे भन्ने जवाफ सही हो (उनका बहिनीहरूको उल्लेख उत्पत्ति ५:४ मा गरिएको छ)। माथि उल्लेखित दोस्रो विकल्प किन साँचो हुन सक्दैन भन्ने प्रश्नको जवाफ यस प्रकार छ।

सबै जातिहरू एउटै रगतबाट

१) परमेश्वरले आदमलाई सृष्टि गर्नुहुँदा त्यहाँ अरू मानिस थिएनन्। उनी एकलो थिए (उत्पत्ति २:१८)। परमेश्वरले पशु-पंक्षीलाई सृष्टि गरिसक्नुभएको थियो, तर आदमको लागि सुहाउँदो सहयोगी (अर्को मानिस) थिएन। त्यसैकारण परमेश्वरले उसलाई मस्त निद्रामा पार्नुभई उसको करङ्ग झिक्नुभई त्यसबाट हव्वालाई उसको पत्नी हुनलाई बनाउनुभएको थियो (उत्पत्ति २:२०-२३)। आदमबाहेक अन्य छुट्टै मानव जाति परमेश्वरले सृष्टि गर्नुभएको भए यसो गर्नु आवश्यक पर्दैनथ्यो।

२) हव्वालाई “सबै जीवितहरूको आमा” (उत्पत्ति ३:२०) भनेर जनाइएकोबाट आदम-हव्वाबाट जन्मेका बाहेक अन्य मानिस जाति छैनन् भन्ने पुष्टि हुन्छ।

३) प्रेरित १७:२६ — “अनि उहाँले सारा पृथ्वीमाथि वास गर्नालाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनुभयो।” आदमबाटै सबैजना (हव्वा समेत) नआएका भए सबै मानिस “एउटै रगतबाट” बनाइएको भन्न मिल्दैनथ्यो।

४) कैन कोसित डराएका: कैनले आफ्ना भाइ हाबिलको हत्या गरेकाले परमेश्वरले उनलाई उनी बसोबास गरिरहेको भूमिबाट निष्कासन गर्नुभयो। त्यसबेला उनले “म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ” (उत्पत्ति ४:१४) भनेका थिए। यस कुरालाई कसै-कसैले आदम वंश बाहेक त्यहाँ अन्य मानव जाति पनि थिए कुराको प्रमाणस्वरूप लिने गर्छन्। तर यसलाई त्यही अर्थ लगाउनु पर्दैन। उसलाई मार्ला भनेर कैन कोसित डराउनुपर्थ्यो त? उसलाई मार्न चाहने व्यक्तिहरू त्यहाँ थिए भने ती व्यक्तिहरू हाबिलको हत्याको बदला लिन चाहनेहरू नै हुनुपर्छ। सन्दर्भले योबाहेक अन्य विकल्पको सङ्केत दिँदैन। हाबिलको हत्याको बदला लिन चाहनेहरू को हुन सक्थे त? हाबिलकै नातेदारहरू नै अर्थात् आदम वंशकै सन्तान। यसकारण उत्पत्ति ४:१४ बेग्लै मानव जातिको अस्तित्वको खास प्रमाण होइन।

५) नोद भन्ने देश: परमेश्वरले उसलाई निष्कासन गर्नुभएपछि “कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे” (उत्पत्ति ४:१६) भनेर उल्लेख छ। यस कुरालाई पनि कसै-कसैले उक्त “नोद भन्ने देशमा” आदम वंश बाहेकका अन्य मानव जाति थिए र कैनकी पत्‍नी नोदकै हुनुपर्छ भन्ने ठान्ने गर्छन्। तर नोदचाहिँ मानिसहरू बसोबास गरिरहेको प्रान्त थियो भनेर अर्थ लगाउनु पर्दैन भन्ने निम्न आधारहरू छन्: (१) “नोद” को अर्थ “घुम्नु वा डुल्नु” हो र हिब्रूमा यो शब्दको रूप उत्पत्ति ४:१२,१४ को “डुलुवा” (हिब्रुमा “नाद”) भन्ने शब्दसँग झण्डै दुरुस्तै मिल्छ। (२) “देश” भनेर रुपान्तरण गरिएको हिब्रू शब्द (“आरेत्स्”) लाई मानिसहरू बसोबास गरेको भूमि भन्ने अर्थमा बाहेक “पृथ्वी” (उत्पत्ति १:१, व्यवस्था ३२:२२), “जग्गा” (उत्पत्ति २३:१५) “ठाउँ” (लेवी १६:२२) भनेर पनि रूपान्तरण गरिएको छ। (३) त्यसैले उत्पत्ति ४:१४ लाई यसरी अनुवाद गर्न सकिन्छ, “तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टिको ठाउँमा डुलेर (यताउता घुम्दै) बसे।” जेम्स एन योङ्ग (James N. Young) को अनुवाद (Young’s Literal Translation) र एडम क्लार्क (Adam Clarke) को टिप्पणीले यस रूपान्तरणलाई समर्थन गरेको छ। साथै यस वैकल्पिक रूपान्तरणले “तँ पृथ्वी (“आरेत्स्”) मा एक विनाचैनको डुलुवा (“नाद”) हुनेछस्” (उत्पत्ति ४:१२) भन्ने श्राप पूरा भएको पनि देखाउँछ।

६) आदम वंशका बाहेक त्यहाँ अन्य मानव जाति हुँदो हो त उनीहरूलाई ख्रीष्टको मृत्यु र बौरिउठाइमा विश्वास गरी पापहरूको क्षमा पाउन सुसमाचारको निम्तो दिन मिल्दैनथ्यो, किनकि नयाँ नियमको सुस्पष्ट गवाहीअनुसार प्रभु येशू ख्रीष्ट केवल आदम वंशका मानिसहरूको पापको लागि मर्नुभएको हो (१ कोरिन्थी १५:३,२२; रोमी ५:१२-२१)। अनि प्रभु येशूले “सारा संसारमा जाओ, र हरेक प्राणी [मानिस] लाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भनी आज्ञा गर्नुभएकोबाट संसारका सबै मानिसहरू आदमकै सन्तान हुन् भन्ने कुरा पुष्टि हुन्छ।

विवाह गर्न हुने कि नहुने?

कैनकी पत्नी उनकी एउटी बहिनी नै हुनुपर्छ भन्ने बाहेक अन्य विकल्प नरहेको कुरा माथिबाट पुष्टि भइसक्यो। बास्तवमा कैनले मात्र होइन, आदम-हव्वाका अरू छोराछोरीहरूले समेत आपसमा विवाह गरेको हुनुपर्छ। “फल्दै-फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ति १:२८) भन्ने परमेश्वरको आज्ञा आदम र हव्वामा मात्र सीमित रहेको भए, ती दुई लगायत तिनका छोराछोरीहरूको मृत्यु भएपछि मानव जातिकै अन्त हुनेथ्यो!

साथै, उत्पत्ति ६-९ मा उल्लेखित विश्वव्यापी जलप्रलयको अन्तमा पनि झण्डै-झण्डै शुरुको जस्तै परिस्थिति हुन आएको पाइन्छ। उक्त जलप्रलयमा नूह र उनकी पत्नी र तिनका तीन छोरा तथा तीन बुहारी गरी आठ जना बाहेक पृथ्वीमा अरू मानिस बाँचेनन् (२ पत्रुस ३:२०)। परमेश्वरले अब नूह र तिनका छोराहरूलाई आशिष दिएर “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ” (उत्पत्ति ९:१) भन्नुभयो। यदि नूहका नाती तथा नातीनीहरूले एक-अर्कालाई विवाह नगरेका भए मानव जातिको उहिले नै अन्त भइसक्थ्यो।

तसर्थ, उत्पत्ति १:२८ र उत्पत्ति ९:१ मा पाइने परमेश्वरकै वचनको आधारमा हामी एउटा निष्कर्षमा आइपुग्छौं: मानव इतिहासको प्रारम्भमा र साथै जलप्रलयको समयसम्ममा पनि हाडनाता वा नजिकको साइनु पर्नेलाई विवाह गर्न परमेश्वरले निषेध गर्नुभएको थिएन। बरु त्यसलाई पूर्णरूपमा मान्यता दिनुभएको थियो। शुरु-शुरुमा परिस्थितिवश नजिककै नाताहरूको बीच विवाह हुनु स्वभाविक थियो पनि, अन्य विकल्प पनि त थिएन। समय बित्दै जाँदा टाढा नातामा विवाह हुने परिस्थिति सृजना हुँदै गयो।

साथै, बाइबलीय इतिहासबाट यो पनि पुष्टि हुन्छ, अब्राहामको समय (लगभग ई.पू. २१००) सम्ममा पनि नजिकको साइनुसित विवाह गर्न मिल्दथ्यो। अब्राहामकी पत्नी सारा उनका पिताकी छुट्टै पत्नीबाट जन्मेकी छोरी थिई (उत्पत्ति २१:१२)। उक्त वैवाहिक सम्बन्ध गलत थियो भनेर कतै उल्लेख छैन बरु यस दम्पत्तिमाथि परमेश्वरको विशेष आशिष रहेको कुरा घरिघरि उल्लेख छ।

मोशाको समय (लगभग ई.पू. १५००) मा आएर मात्र परमेश्वरले वैवाहिक सम्बन्धहरूमा प्रतिबन्धहरू तोक्नुभयो। इस्राएललाई दिइएको व्यवस्थामा नजिकको साइनु पर्नेसित विवाह गर्न निषेध गरिएको छ (लेवी १८:६-१८):

“तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनु पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ” (लेवी १८:६)।

प्रश्न उठ्छ, जसलाई पहिला विवाह गर्न हुन्थ्यो, पछिबाट किन नहुने भएको? परमेश्वरले शुरूमा प्रतिबन्ध नलगाउनुभएको कुरालाई उहाँले पछिबाट किन प्रतिबन्ध लगाउनुभएको?

मोशाको व्यवस्था दिइनुअघि नातेदार बीचको विवाह किन स्वीकारयोग्य थियो भन्ने कुराको जवाफ वेन ज्याक्सनले यसरी दिएका छन्:

मानव जातिको इतिहासको प्रारम्भिक चरणहरूमा नातेदार बीचको “विवाह” लाई अनैतिक मानिदैनथ्यो। त्यो त परिस्थितिवश आवश्यक नै थियो। आदम र हव्वाका छोराछोरीले नातेदार बीच नै विवाह गरेको हुनुपर्छ किनकि त्यस प्रथम जोडीबाट जन्मेकाहरू बाहेक पृथ्वीमा अन्य कोही मानिस नै थिएनन्।

(१) … [मोशाभन्दा अघिको समयमा] कति पारिवारिक विवाहहरू सम्पन्न भएका छन् जसलाई परमप्रभुले दोष्याउनुभएको छैन जब की तिनलाई पछि व्यवस्थाको समयावधिमा आएर निषेध गर्नुभएको छ।

(२) यसै सिलसिलामा अर्को तथ्य पनि बुझ्न आवश्यक छ। मानव परिवारको शुरू-शुरूमा, अर्थात्  जुन बेला पाप, रोग-बिमार र आनुवंशिक विरुपाङ्गताको समस्या पछिजस्तै अत्यधिक रूपमा वृद्धि भएर घातक बनिसकेको थिएन, आदमका सन्तानहरू शारीरिक रूपमा आजका भन्दा ज्यादै नै तगडा थिए। फलस्वरूप परिवारभित्र गरिएका विवाहहरूले सन्ततिमा आधुनिक युगमा जस्तै गरी नकारात्मक नतीजा ल्याउने गर्दैनथ्यो। आदम आफै पनि ९३० वर्षको उमेरसम्म बाँचे, तर अब्राहामको समयमा आइपुग्दा १७५ वर्षको उमेरलाई “दीर्घायु” अर्थात् “पूरा बूढेसकाल” को उमेर मानिएको छ (उत्पत्ति २५:७-८); अन्तरालमा मानिसको औसत आयु करिब ८० वर्षको उमेरमा पुग्यो (भजनसङ्ग्रह ९०:१०)।”3

आनुवंशिक बिरुपाङ्गताको सामान्य ज्ञान

आज प्रायः सबै मानव समाजहरूमा नजिकको साइनु पर्नेसित विवाह गर्न बन्देज छ। विवाह जति नजिकको साइनु पर्नेसित हुन्छ त्यसबाट जन्मेका सन्तानमा शारीरिक बिरुपाङ्गता देखा पर्ने त्यति नै बढी सम्भावना हुन्छ भन्ने कुरा आज सर्वविदितै छ। उद्दरण गर्न सकिने थुप्रै स्रोतमध्ये इन्साइक्लोपिडिया ब्रिटानिकालाई लिऊँ,

“Highly inbred populations have diminished reproductive success and become gene pools for hereditary disorders.”4 (“अत्यधिक अन्तरविवाह हुने जनसमुदायमा प्रजनन क्षमताको ह्रास र आनुवंशिक अनियमितता प्रसारण गर्ने वंशानुको वृद्धि भएको पाइन्छ।”)

वास्तवमा शताब्दियौं देखि नै नजिकको विवाह र आनुवंशिक अनियमितताका बीच प्रत्यक्ष सम्बन्ध रहेको देखेर नै बाइबलको ज्ञान नभएका समाजहरूमा समेत वैवाहिक बन्देजका नियमहरू मानिसहरूले खडा गरेको हुनुपर्छ भन्ने निष्कर्ष सजिलै निकाल्न सकिन्छ।

बोट-विरुवा वा पशु प्राणीहरूमा सप्रेका वा नसप्रेका जातिको सवालमा आपसमा गरिने प्रजनन क्रियाबाट उत्पन्न हुने सन्ततिको अध्ययनबाट पनि वंशानु विज्ञानको यो सिद्धान्त बुझ्न सकिन्छ।

निष्कर्ष

आदमले पाप गरेपछि परमेश्वरले उसलाई “तँ माटै होस् र माटैमा फर्किजानेछस्” (उत्पत्ति ३:१९) भन्नुभयो। तसर्थ आदमको पापकै कारण मानव जातिमा शारीरिक मृत्यु आएको हो [यद्यपि यसभन्दा डरलाग्दो नतीजा दोस्रो मृत्यु हो जसबाट हामीलाई बचाउन परमेश्वरको पुत्र येशू ख्रीष्ट मर्नुभयो। यसबारे पढ्नुहोस्: ख्रीष्ट मर्नु किन खाँचो थियो?]। मानिसको भौतिक शरीर र उसको वातावरण समेत (उत्पत्ति ३:१७-१८, रोमी ८:२२) परमेश्वरको इन्साफमुनि परेकोले हामी भन्न सक्छौं यसकै कारण उसको वंशानुमा ह्रास आएको हो। साथै, शुरू-शुरूका मानव पुस्ताहरूमा पाइने थोरै-थोरै आनुवंशिक समस्याहरू पछिल्ला पुस्ताहरूमा वृद्धि हुँदै धेरै हुन थाले। जसको कारण शुरु-शुरुका पुस्ताहरूमा हाडनाता बीचको विवाहले नकारात्मक असर नल्याए तापनि पछिबाट त्यस्तो विवाहले सन्तानमा आनुवंशिक विरुपाङ्गता प्रसारण हुन सक्ने सम्भावना बढाइदियो। यसरी कैनको समयमा उसले आफ्नै बहिनीलाई वा नजिकको नातालाई विवाह गर्नु (परिस्थितिवश आवश्यक हुनु बाहेक) स्वीकारयोग्य थियो तर कालान्तरमा व्यवस्था दिइने समयमा, मानिसकै भलाइका लागि, निषेध गरियो।

कैनकी पत्नी को थिई भन्ने प्रश्नलाई बाइबल, सामान्य ज्ञान तथा वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गरिँदा उत्पत्तिको पुस्तकको कुनै पनि विवरणमा त्रुटी भेट्टाउन सकिन्न बरु यसले बाइबल परमेश्वरकै वचन हो र यो सत्य र विश्वासयोग्य छ भन्ने तथ्यलाई झनै प्रकाशमा ल्याउँदछ।

[यस लेख पूरा गर्नलाई Answers in Genesis का केन ह्याम (Ken Ham) द्वारा लिखित Cain’s Wife: Who Was She? बाट मिलेको ठूलो मद्दतको निम्ति म आभारी छु। ]

1. Ham, Ken. Cain’s Wife: Who Was She?

2. Custance, Arthur. Cain’s Wife and the Penalty of Incest.

3. Jackson, Wayne. Does the Bible Conflict with Itself in the Matter of “Incest”?

4. “Incest.” Encyclopædia Britannica. Ultimate Reference Suite.  Chicago: Encyclopædia Britannica, 2008.






आयुर्वेदिक औषधिदेखि सावधान्!

ayurvedic

आयुर्वेदिक औषधिदेखि सावधान्!

डेविड क्लाउड

अधिकांश ख्रीष्टियनहरू आयुर्वेदिक वैद्यहरूको सहायता खोज्छन्, विशेष गरी दक्षिण एसियामा। तर यो खतरापूर्ण चिकित्सा हो।

ब्लड क्यान्सर (leukemia) बाट पीडित एकजना जवानको घटनालाई विचार गर्नुहोस्। स्वास्थ्य चिकित्सकहरूले सकेसम्म उसको रोग निको पार्ने हेतुले आधुनिक औषधिहरू दिन चाहेका थिए, तर आयुर्वेदिक वैद्यहरूले उनीहरूको उपचारले रोग निको पार्न सक्ने कुरा उसको परिवारलाई बताए। त्यस परिवारले तिनीहरूको कुरामा विश्वास गरे र उसलाई आधुनिक औषधि नदिएर बरु आयुर्वेदिक औषधि दिने निर्णय गरे। केही महिनासम्म उसलाई आयुर्वेदिक औषधि नै दिइयो। केही समय उसको स्वास्थ्य सुधार हुँदै गएको जस्तै देखियो, तर पछि उसको स्वास्थ्य त झन्-झन् बिग्रँदै गयो। अन्तत: निराश भई, उसका बुबा-आमाले उसलाई फेरि अस्पताल लगे। बिरामीले आयुर्वेदिक औषधि सेवन गर्ने क्रममा रोग एकदम छिटो फैलिएको र अब उसलाई सहायता गर्न निकै ढिलो भइसकेको कुरा स्वास्थ्य चिकित्सकहरूले बताए।

स्वास्थ्य चिकित्सकहरूले सुरुमा परिवारलाई सल्लाह दिँदा, उनीहरूले आयुर्वेदिक औषधिको बिरुद्धमा कडा चेतावनी दिएका थिए। उनीहरूले ब्लड क्यान्सर रोगीहरूसित काम गरेको थुप्रै वर्ष भइसकेको र उनीहरूले आयुर्वेदिक औषधिले एउटै पनि बिरामी निको भएको नदेखेका कुरा बताएका थिए। आयुर्वेदिक औषधिले क्यान्सर रोग निको हुने भएको भए, उक्त कुरा सारा विश्वभरिका चिकित्सकीय पत्र-पत्रिकामा छापिने थियो भनी उनीहरूले भनेका थिए।

यस्तो घटना बारम्बार दोहोरिने गर्छ। उचित किसिमको आधुनिक स्वास्थ्य उपचार खोज्नुको सट्टा, बिरामीहरू आयुर्वेदिक चिकित्सकहरूबाट सहायता खोज्ने गर्छन्, र ठीक हुनुको सट्टा उनीहरूको स्वास्थ्य झन् खराब हुन जान्छ। धेरैजना मर्छन् पनि किनकि उनीहरूलाई सहायता गर्न सक्ने आधुनिक स्वास्थ्य उपचार खोज्न निकै ढिलो होउन्जेल सम्म उनीहरू पर्खने गर्छन्।

आयुर्वेद के हो?

1. आयुर्वेद हिन्दूवाद हो।

आयुर्वेद अभ्यास गर्नेहरूले यो कुरा गुरुहरूको योगसम्बन्धी ध्यानको माध्यमद्वारा हिन्दु देवताहरूबाट पाइएको दाबी गर्छन्। आयुर्वेद इन्साइक्लोपिडीया (Ayurveda Encyclopaedia) बाट उद्धरण गरिएको निम्न भनाइलाई विचार गर्नुहोस्:

“आयुर्वेदको ज्ञान ब्रम्हाबाट दक्ष प्रजापतिलाई, अनि आश्विन जुम्ल्याहाहरू (दैविक वैद्य) लाई सुम्पिइएको थियो, त्यसपछि इन्द्रलाई दिइएको थियो। साधु भारध्वजले इन्द्रबाट ज्ञान स्वीकार गर्नको निम्ति स्वर्ग जाने स्वयंसेवा गरे, र त्यसैले उनी आयुर्वेदको ज्ञान ग्रहण गर्ने पहिलो मानव बने” (The Ayurveda Encyclopaedia, published by Health Harmony, New Delhi, 2006, p. xxiii)।

“जडीबुटीहरू, आहाराहरू, सुगन्धहरू, रत्नहरू, रङहरू, योगा, मन्त्रहरूको ज्ञान पत्ता लगाउने विधिहरू … दैविक प्रकाशको माध्यमबाट आएका हुन्। … प्रारम्भदेखी चार प्रमुख वैदिक पुस्तकहरू आत्मिक रुपमा नै अस्तित्वमा थिए। यिनीहरूलाई वेदहरू भनिन्छ: ऋग, साम, यजूर र अथर्व। आयुर्वेदको प्रयोग वैदिक ज्योतिषवाद (अर्थात् कुनै व्यक्तिको भित्री ज्योती) सँग-सँगै गर्ने गरिन्थ्यो। बिस्तारै, आयुर्वेदलाई स्वास्थ्य सम्बन्धी एउटा छुट्टै प्रणालीको रुपमा सङ्गठित गरियो र अथर्व वेदको हाँगाको रुपमा कायम गरियो” (The Ayurveda Encyclopaedia, p.3)।

त्यसैले आयुर्वेद हिन्दुवाद हो भनी हामी देख्दछौं।

 

2. आयुर्वेदको उद्देश्य एउटा व्यक्तिलाई ऊ ईश्वर हो भनी सिकाउनु हो।

समस्त चराचर जगतमा ईश्वर रहेको छ (सर्वेश्वरवाद) र मानिस ईश्वर हो भन्ने झूटो सिद्धान्तमा आयुर्वेद आधारित छ। हामी फेरि आयुर्वेद इन्साइक्लोपिडीयाबाट उद्धरण गर्नेछौं:

“वैदिक दर्शनशास्त्र अनुसार, जीवन दैविक छ र जीवनको उद्देश्य भनेको नै हाम्रो भित्री दैविक स्वभावलाई महसुस गर्नु हो। आयुर्वेदको भाषामा भन्नुपर्दा, जति धेरै मानिसहरूले उनीहरूको दैविक स्वभावलाई जान्दछन्, उनीहरू त्यति नै धेरै स्वस्थ हुन्छन्। त्यसैले बिरामीहरूलाई उनीहरूको आफ्नै भित्री दैव‍िक स्वभावलाई जगाउन प्रोत्साहन गर्न र सहायता गर्न आयुर्वेद चिकित्सकको जिम्मेवारी हो। जब बिरामीहरूलाई उनीहरू आफैभित्र ईश्वरत्व छ भन्ने सिकाइन्छ, उनीहरूले जीवन र ईश्वरसित संयोजनको महसुस गर्छन् (यद्यपि हरेक बिरामीले ईश्वरलाई परिभाषित गर्दछ)” (The Ayurveda Encyclopaedia, p.9)।

यो शिक्षा अदनको वगैँचामा शैतानले हव्वालाई उनी परमेश्वर झैं हुनेछिन् भनी भनेको झूटसम्म पुग्दछ (उत्पत्ति ३:४-५)।

3. आत्मिक शक्ति ब्रम्हाण्ड र मानिसबाट भएर बहन्छ भनी आयुर्वेदले दावी गर्दछ।

यो शक्तिलाई प्राण भनिन्छ। राम्रो स्वास्थ्यको निम्ति उक्त शक्तिको सन्तुलित प्रवाह हुनु आवश्यक हुन्छ। बाइबलको अनुसार प्राण भन्ने त्यस्तो कुनै शक्ति छैन।

4. शरीरहरू तीन प्रकृतिका हुन्छन् भनी आयुर्वेदले दावी गर्दछ।

आयुर्वेदिक वैद्यहरूले हरेक शरीरका प्रकारहरूलाई ठीक स्वास्थ्य दिलाउन विभिन्न उपचारको पद्दतिहरू दिँदछन्।

“आयुर्वेदिक औषधिअनुसार, त्यहाँ तीन प्रकृतिका शरीरहरू हुन्छन्: काफ, पित्त र वात। काफ दोष भनेको ठूला कदका व्यक्तिहरू हुन् जोहरूका काँध र कम्मरको भाग बराबर मात्रामा चौडा हुन्छन्। पित्त दोष भनेको मध्यम शारीरिक बनौट भएका व्यक्तिहरू हुन् र वात दोष भनेको पातलो वा सानो शरीरिक बनौट हो। आयुर्वेदिक औषधिको अनुसार शरीरका प्रकृतिहरू, विशिष्ट किसिमका बिमारीहरूबाट पीडित हुन सक्छन् र शारीरिक जटिलताहरू विशिष्ट किसिमकै खानेकुराहरूद्वारा सामना गर्न सकिन्छ” (Ayurveda Medicine, Examhealth.com, Mar. 2, 2012)।

तीन शरीरिक प्रकृतिहरूको बारेमा वा आयुर्वेदिक उपचार पद्धतिको कुनै पनि वैज्ञानिक प्रमाणहरू छैनन्। यो हिन्दु दन्त्यकथा हो।

5. आफ्नो उद्देश्यहरू पूरा गर्नको निम्ति आयुर्वेदले मूर्तिपूजासँग सम्बन्ध राख्ने अभ्यासहरूको प्रयोग गर्दछ।

आयुर्वेदिक जडीबुटीहरू र औषधिजन्य समाधानहरू बाहेक पनि आयुर्वेदिक वैद्यहरूले मूर्तिपूजासँग सरोकार राख्ने अभ्यासहरूको पनि सल्लाह दिने गर्छन्, जस्तै: योगा, मन्त्रहरू, एकुपङ्गचर (acupuncture), एरोमाथेरापी (aromatherapy), कलर थेरापी (color therapy), जेम थेरापी (gem therapy), ज्योतीष शास्त्र (astrology), मनोविज्ञान (psychology), आर्किटेक्चरल हार्मोनी (architectural harmony) र यज्ञ (हिन्दु देवताहरूको सहायता माग्नको निम्ति गरिने विधिहरू)।
आयुर्वेदको एउटा अति महत्त्वपूर्ण भाग योगा हो। आयुर्वेद इन्साइक्लोपिडीयामा योगाको बारेमा ठूलै खण्ड पाइन्छ। योगाको अर्थ एकता हो र यसको उद्देश्य हिन्दु विचारधाराको देवतासँग एकतामा आइपुग्नु हो।

आयुर्वेदको त्रूटि के हो?

1. आयुर्वेद शैतानी मूलको हो।

बाइबलले विश्वासीलाई शैतानबाटका र मूर्तिपूजासँग सम्बन्ध राख्ने हरेक थोकबाट अलग रहन चेतावनी दिएको छ।

“तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कतिजना बने…” (१ कोरिन्थी १०:७)।

“यसकारण मेरा प्रियहरूहो, मूर्तिपूजादेखि भाग” (१ कोरिन्थी १०:१४)।

“तर म भन्दछु, जुन चीजहरू अन्यजातिहरूले बलि चढाउँछन्, ती तिनीहरूले परमेश्वरलाई होइन, तर दुष्ट आत्माहरूलाई चढाउँछन्; र तिमीहरू दुष्ट आत्माहरूसित सहभागी होओ भन्ने म चाहँदिनँ। तिमीहरूले प्रभुको कचौराबाट पिउन सक्दैनौ; तिमीहरूले प्रभुको टेबलबाट, साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैनौ। अथवा के हामी प्रभुलाई रिस उठाउँछौं? के हामी उहाँभन्दा बलिया छौं?” (१ कोरिन्थी १०:२०-२२)।

“अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतिओ; किनकि धार्मिकताको अधर्मसँग के सङ्गति? अनि उज्यालोको अँध्यारोसँग के सहभागिता? अनि ख्रीष्टको बेलियालसँग के एकता? अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा? अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध? किनभने तिमीहरू जीवित परमेश्वरको मन्दिर हौ; जसरी परमेश्वरले भन्नुभएको छ: ‘म उनीहरूको बीचमा बस्नेछु, र उनीहरूका बीचमा हिँड्नेछु; अनि म उनीहरूका परमेश्वर हुनेछु, र उनीहरू मेरा जनहरू हुनेछन्।’ यसकारण ‘तिमीहरूका बीचबाट निस्केर आओ, र अलग होओ, प्रभु भन्नुहुन्छ; अनि अशुद्ध कुरा नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ अनि ‘म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, सर्वशक्तिमान् प्रभु भन्नुहुन्छ।’ ” (२ कोरिन्थी ६:१४-१८)।

“हे साना नानीहरूहो, आफूलाई मूर्तिहरूबाट जोगाइराख। आमेन।” (१ यूहन्ना ५:२१)।

आयुर्वेद शैतानबाटको हो भन्ने कुरामा कुनै शंका नै छैन। हामीले यो विशुद्ध रुपमा हिन्दुवाद हो भनी देख्यौं, र हिन्दुवाद भनेको शैतानको धर्म हो।

बाइबलले सिकाउँछ कि मूर्तिपूजा नूहको दिनमा विश्वव्यापी जलप्रलय पश्चात बाबेलको धरहरामा शुरु भएको थियो। यो करिब ४,२०० वर्ष अगाडि अथवा ख्रीष्टको जन्म भन्दा करिब २,२०० वर्ष अगाडिको कुरा हो।

बाबेलको धरहराको निर्माणकार्यको बारेमा निम्न हरफमा वर्णन गरिएको छ:

“अनि कूशले निम्रोदलाई जन्माए; तिनी पृथ्वीमा पराक्रमी बन्न थाले। परमप्रभुको दृष्टिमा तिनीचाहिँ पराक्रमी शिकारी थिए; यसैकारण ‘परमप्रभुको दृष्टिमा निम्रोदजस्तो पराक्रमी शिकारी’ भन्ने आहान भनिन्थ्यो। तिनका राज्यको शुरुचाहिँ शिनार देशमा बाबेल, एरेख, अक्कद र कल्ने थियो।… अनि सारा संसारमा एउटै भाषा र एउटै बोली थियो। अनि यस्तो भयो — पूर्वबाट यात्रा गर्दै जाँदा तिनीहरूले शिनार देशमा एउटा मैदान भेट्टाए; अनि तिनीहरू त्यहीं बसे। अनि तिनीहरूले एक-अर्कालाई भने: “आओ, हामी इँटा बनाऔं र राम्ररी पोलौं!” अनि तिनीहरूसँग ढुङ्गाका निम्ति इँटा थियो, अनि मसलाका निम्ति अलकत्रा थियो। अनि तिनीहरूले भने: “आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऔं; र आफ्ना निम्त एउटा नाम कमाऔं, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितरबितर हुनेछौं।” अनि परमप्रभु मानिसका सन्तानले बनाइरहेको त्यो शहर र त्यो धरहरा हेर्न ओर्लनुभयो। अनि परमप्रभुले भन्नुभयो: “हेर, मानिसहरू एक भएका छन्, र तिनीहरू सबैको एक भाषा छ; अनि यो काम गर्न तिनीहरूले शुरु गरिरहेछन्; अनि अब तिनीहरूले गर्नलाई जे कल्पना गरेका छन्, सो तिनीहरूबाट नभई छोडिनेछैन। आओ, हामी तल जाऔं, र त्यहाँ तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्!” यसरी परमप्रभुले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो; र तिनीहरूले त्यो शहर बनाउन छोडे। यसैकारण त्यसको नाम ‘बाबेल’ राखियो; किनभने त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नुभयो; अनि त्यहाँबाट परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो” (उत्पत्ति १०:८-१०; ११:१-९)।

यो नै संसारका मूर्तिपूजक धर्महरूको सुरुआत थियो। यसको नाइके निम्रोद नाम भएको कुनै एकजना घमण्डी राज्य स्थापक थियो। स्वर्गसम्म पुग्ने धरहराको निर्माण गर्ने इच्छा ज्योतिषविज्ञान (घाम, जुन र ताराहरूको उपासना)सँग सरोकार राख्ने धार्मिक अर्थको थियो। प्राचिन बेबिलोनीहरूले भौतिक रुपमै ताराहरूसम्म पुग्ने धरहरा निर्माण गर्ने प्रयास गरिरहेका थिएनन्। तिनीहरूले आत्मिक रुपमा ताराहरूसम्म पुग्ने धरहरा निर्माण गरिरहेका थिए। तिनीहरू यस्तो धर्म चाहन्थे जसले तिनीहरूलाई मूर्तिपूजक रितिहरू र अन्य विचारशास्त्रहरूद्वारा “देवताहरू” सँग जोड्न सक्थ्यो।

प्रकाश १७:५ ले बेबिलोन सबै झूटा धर्महरूको आमा हो भनी बताउँदछ। त्यहिँ नै झूटा धर्महरू सुरुवात भएको थियो।

विश्वव्यापी जलप्रलय पश्चात ती दिनहरूमा के भएको थियो भनी रोमी १:२१-२३ मा वर्णन गरिएको छ।

“किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न ता धन्यवादी नै भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो बुद्धिमानी छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने, र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे।”

हिन्दुवाद सोझै बेबिलोनी धर्मको वंशज वा सन्तति हो। निम्न हिन्दु अभ्यासहरूलाई प्राचीन बेबिलोनसम्म जोड्न सकिन्छ: मूर्तिपूजा, बहु-ईश्वरवादहरू, देवीहरू, माता देवीहरू, सूर्य पूजा, चन्द्रमा पूजा, ज्योतिषविज्ञान, नाग पूजा, आफ्नो शत्रुहरूलाई श्राप दिने, राम्रो भविष्यको निम्ति धार्मीक पूजा-आजा, देवतासँग सम्पर्क राख्न लागूऔषधिको प्रायोग, मृतकहरूको भलोको निम्ति धार्मीक पूजा-आजा, र धार्मीक अभ्यासहरूद्वारा सिद्ध स्वास्थ्यको प्रतिज्ञा।

2. आयुर्वेदले झूटो प्रतिज्ञाहरू गर्दछ।

आयुर्वेदले राम्रो स्वास्थ्य र दिर्घायु जीवनको प्रतिज्ञा गर्दछ।

आयुर्वेद इन्साइक्लोपिडियालाई “चङ्गाइ, निरोधन र दिर्घायु जीवनको प्राकृतीक रहस्यहरू” भन्ने उपनाम दिइएको छ।

अमेरिकाका प्रख्यात आयुर्वेद चिकित्सक, दिपक चोप्राले वृद्धपना विपर्यस्त गर्न सकिन्छ भन्ने दाबी गर्दछन्। अमेरिकी अभिनेत्री डेमी मूर (Demi Moore) ले आयुर्वेदीय शिक्षालाई पछ्याउँछिन् र १३० वर्ष बाँच्नेछु भनी विश्वास गर्छिन्।

मानिसको पतन नै रोग र मृत्युको शरुवात हो भनी बाइबलले बताउँदछ। परमेश्वर विरुद्धको हाम्रो पापसम्म यो पुग्दछ। हामी यस्तो संसारमा बाँचिरहेका छौं जो श्रापको अधिनतामा ऐया-आत्था गर्दछ र नयाँ गरी जन्मेकाहरू धरी त्यस श्रापको अधिनतामा छन् (रोमी ८:२२-२३)। हामीहरू मृत्युको शरीरमा जीउँदछौं (रोमी ७:२४)। पापको कारणले हाम्रो शरीरको मृत्यु हुन्छ। “पापको ज्याला मृत्यु हो…” (रोमी ६:२३)।

शुरुका मण्डलीहरूमा पनि परमेश्वरले हरेक पटक विश्वासीहरूलाई निको पार्नुभएन। पावलमा परमेश्वरले नहटाउनुभएको रोग थियो (२ कोरिन्थी १२:७-१०)। यस सवालमा पावलको निश्कर्ष चाहिँ पूर्ण स्वस्थपना नै परमेश्वरको इच्छा हो भनी दाबी गर्नेहरूको भन्दा पनि विपरीत थियो। उनले भने: “यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु” (२ कोरिन्थी १२:१०)। यस वर्तमान संसारमा परमेश्वरले सिद्ध स्वास्थ्यको प्रतिज्ञा गर्नुभएको छैन भनी पावलले बुझे, र उनले परमेश्वरको इच्छालाई स्वीकार गरे।

तिमोथी शारीरिक रुपमा कमजोर थिए र अकसर बिरामी हुन्थे (१ तिमोथी ५:२३)। पावलले उनलाई चङ्गाइ पारेनन् र आयुर्वेदको अभ्यास गर्ने सल्लाह दिएनन्!

ट्रोफिमस, पावलका सहककर्मी, मिलेटसमै छाडिए किनभने उनी बिरामी थिए र परमेश्वरले उनलाई चङ्गाइ पार्नुभएन (२ तिमोथी ४:२०)।

नयाँ नियम ख्रीष्टय विश्वासले हामीलाई यस वर्तमान संसारमा पूर्ण रुपमा स्वस्थ हुने अपेक्षा गर्न सिकाउँदैन। यसले हामीलाई आशाद्वारा जीउन सिकाउँछ, र जुन आशा देखिन्छ त्यो आशा नै होइन। निम्न खण्डमा, प्रेरित पावलले यस वर्तमान संसारमा विश्वासीहरूले हरेक किसिमका समस्याहरू भोग्नुपर्ने कुरा सिकाउँछन्, तर अर्को जीवनमा हामीसँग बौरिउठेको शरीर हुनेछ र फेरि हामीमा रोगहरू र मृत्यु हुनेछैनन्।

“किनकि म ठान्दछु, यस वर्तमान समयका दु:खकष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन्, जो हामीमाथि प्रकट हुनेछ। किनकि सृष्टिको तीब्र आशाले पनि परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई पर्खिरहेको छ। किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ; आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभएको छ, यस आशामा; किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। किनकि हामी जान्दछौं, अहिलेसम्म पनि सारा सृष्टि एकसाथ ऐया-आत्था गरिरहेको र प्रसूति-वेदनामा तड्पिरहेको छ। अनि तिनीहरूमात्र होइनन्, तर हामीहरू पनि, जससँग आत्माको पहिलोफल छ, अँ हामी आफै पनि, धर्मपुत्र-ग्रहणको अर्थात् हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र-भित्रै ऐया-आत्था गर्दछौं। किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं, तर जुन आशा देखीन्छ, त्यो आशा नै होइन; किनक जुन कुरा मान्छेले देख्छ, त्यसका लागि उसले अझै किन आशा गर्दछ र? तर जुन कुरा हामी देख्दैनौं, त्यसको आशा गर्दछौं भने हामी धीरजसँग त्यसको बाटो हेर्दछौं” (रोमी ८:१८-२५)।

यस वर्तमान संसार मानिसको पापको कारणले परमेश्वरको श्रापको अधिनतामा छ, र यस जीवनमा रोगहरू र समस्याहरूबाट पूर्ण रुपमा छुटकारा हुनेछैन भनी बाइबलले बताउँछ।

त्यसैले हामीले बुझ्यौं कि आयुर्वेदले मानिसहरूलाई धोकामा पार्ने झूटा प्रतिज्ञाहरू गर्दछ।

शैतान झूट हो र झूटको बाबु हो भनी बाइबलले बताउँछ (यूहन्ना ८:४४)।

3. आयुर्वेदिक औषधि तपाईंको स्वास्थ्यको निम्ति जोखिमपूर्ण हुन सक्छ।

आयुर्वेदिक औषधिमाथी कुनै पनि नियन्त्रण छैन। त्यहाँ मिसाइएको थोकहरू सुरक्षित छन् कि छैनन् भनेर पनि जान्ने तरिका छैन।

रसायनिक परिक्षणहरूले आयुर्वेदिक औषधिमा अधिकांश अनुपातमा सिसा (lead), पारो (mercury), फलाम (iron), र आर्सनिक (arsenic) जस्ता हानिकारक धातुजन्य विषहरू हुन्छन् भनी देखाएको छ।

यस प्रकारका धातुहरू र अभ्रक वा माइका (mica) जस्ता खनिज पदार्थहरू मिसाउने कार्यलाई “रस शास्त्र” भनिन्छ। यसरी मिसाइएको मिश्रणहरूलाई भष्मा भनिन्छ। यो एउटा प्राचीन हिन्दु अभ्यास हो। यस शिक्षा अनुसार, धातुहरू र जडिबुटिहरूको सम्मिश्रणको परिणाम स्वरुप स्वास्थ्य सुधार हुन्छ। आयुर्वेदिक चिकित्सकहरूले तिनीहरूको मिश्रण गर्ने प्रविधिद्वारा उक्त सूत्रीकरण सुरक्षित हुन्छ भन्ने विश्वास गरे तापनि, वैज्ञानिक प्रमाणले यो सत्य छैन भनी देखाउँछ।

यो मनगढन्त कुरा हो, र यसको अभ्यास कसैको स्वास्थ्यको निम्ति खतरनाक हुनसक्छ, किनभने लामो समयसम्म र अत्याधिक मात्रामा औषधिको प्रयोगको कारणले प्रचुर धातुहरू विषालु बन्न जान्छन्।

“संयुक्त राष्ट्रमा आयुर्वेद रस शास्त्र औषधिको जाँचले बहुसंख्यामा प्रचुर धातुद्वारा विष लाग्ने नतिजा देखिएको छ। विशेषगरी नानीहरूलाई विषालु प्रचुर धातुको कारणले स्नायुतन्त्र सम्बन्धी समस्याहरू सिर्जना हुने डर हुन्छ।”

सन् २००४ र २००८ मा जर्नल अफ अमेरिकन मेडिकल एस्सोसिएशन (Journal of American Medical Association) मा केहि अध्ययनहरू छापिएका थिए। “अनुसन्धानकर्ताहरूले भारत-उत्पादित केहि सामानहरूमा शरीरले सहन सक्ने भन्दा १०० देखी १००,००० गुणा अत्याधिक सिसा अनि/अथवा पारो सेवन हुने नतिजा आउन सक्छ भनी निश्कर्ष निकालेका छन्” (U.S. Food and Drug Administration’s Caution Alert About Ayurvedic Medicine, Oct. 16, 2008)।

सन् २०११-२०१२ ताका न्यू योर्क सिटी डिपार्टमेन्ट अफ हेल्थ (New York City Department of Health) ले आयुर्वेदिक औषधि प्रयोग गरेका गर्भवती महिलाहरूमा विषाक्त सिसाको संक्रमण भएको ६ जना रोगीहरू फेला पारेको थियो। विषाक्त सिसाको संक्रमणले मस्तिष्क, मिर्गौलाहरू, स्नायु प्रणाली र प्रजनन प्रणालीलाई क्षती पुर्याउन सक्छ, र गर्भमा विकास हुँदै गरेको बच्चालाई हानि पुर्याउन सक्छ।

क्यानडामा आयुर्वेदिक औषधिद्वारा विष संक्रमण भएका रोगीहरू भेट्टाइएको थियो।

एकजना वयस्क पुरुष वान्ता र झाडापखालाको कारणले अस्पतालमा भर्ना गरिएको थियो। तिनी भारतमा तिनले खरिद गरेर दिनको एक चोटि सेवन गरिरहेका “शक्ति बढाउने” आयुर्वेदिक औषधि चक्कीदवारा संक्रमित भएका थिए। तिनको रगतमा सिसाको मात्राचाहिँ हुनुपर्ने सामान्य मात्रा भन्दा तीन गुणा अधिक थियो। त्यस औषधिको विश्लेषण गर्दा प्रत्येक चक्कीमा विषाक्तपूर्ण मात्रामा सिसा, पारो, र आर्सनिक भेटियो (“Heavy Metal Poisoning from Ayurvedic,” British Columbia Medical Journal, March 2008)।

अर्को मुद्दामा, एकजना जवान मानिस वमनेच्छा, वान्ता, र पेट दुखाइको कारणले अस्पतालमा भर्ना गरिएको थियो। तिनले आफ्नो मदुमेह ठीक गर्न आयुर्वेदिक चूर्ण सेवन गरिरहेका थिए। तिनले यो भारतको मन्दिरबाट खरिद गरेका थिए। त्यस औषधिको विश्लेषण गर्दा त्यसमा विषाक्तपूर्ण मात्रामा सिसा पाइयो।

सन् २००५ मा सिसा, पारो, र आर्सनिक जस्ता धातुहरू प्रचुर मात्रामा भएको कारणले क्यानडियन सरकारले आयुर्वेदिक औषधिक विक्रीमा रोक लगायो।

सन् २०१३ बाट यूरोपियन यूनियनले आयुर्वेदिक औषधि आयात गर्न र विक्री गर्न रोक लगायो।

आयुर्वेदिक चिकित्सकहरूले निर्दिष्ट गर्ने सम्पूरक भनेको रूखबाट निचोरेर निकालिएको एक प्रकारको तरल पदार्थ, गुग्गुल (Guggul), हो। यसलाई केहि मानिसहरूमा अङ्गहरूको उग्र क्षतिको जिम्मेवार गरिन्छ। “सन् २००१मा, क्यानडियन जर्नल अफ ग्यास्ट्रोएन्टेरोलोजी (Canadian Journal of Gastroenterology) नामक पत्रिकाको एउटा लेखले एउटी प्राय: स्वस्थ रहने जवान महिलामा अस्नीक एसीड (usnic acid), ग्रीन टि (green tea) र गुग्गुल (Guggul tree extract) भएको बोसो काट्ने सम्पूरकको सेवनले पूर्णतया कलेजो बिग्रेको स्थिति सिर्जना भएको थियो” (“Ayurveda Medicine and Supplement Hidden Dangers,” EmaxHealth.com, Mar. 2, 2012)।

यी त केवल थोरै उदाहरणहरूमात्र हुन्। निश्चय नै त्यहाँ मानिसहरू विषाक्ती संक्रमणमा परेका र आयुर्वेदिक औषधिको कारणले ज्यान समेत गुमाएका हजारौं हजार मुद्दाहरू छन् भन्ने कुरामा कुनै शंका छैन।

4. आयुर्वेद झूटा र ठग वैद्यहरूले भरिएको छ।

धेरै आयुर्वेदिक वैद्यहरूले सस्तो औषधिहरू किन्छन् र तिनलाई अरू कुराहरूसँग मिसाएर मनगढन्ते वस्तु बनाउँछन् र धेरै पैसामा विक्री गर्छन्।

अहमदाबाद, भारतको प्रकाश बार्भलिया एउटा उदाहरण हुन्। तिनले एन्टि-ब्याक्टेरियल जस्ता प्रजातीय लेप किनेर अरू थोकसँग मिसाए र त्यसमा आफ्नै नाम वा लेबल राखे (“Ayurvedic Quack’s Clinics Raided,” The Times of India, Aug. 14, 2012)।

एकजना औषधि विक्रेताले हामीलाई बताए कि आयुर्वेदिक वैद्यहरूले उनकहाँबाट सस्तो औषधि विशाल मात्रामा खरिद गरी लैजान्छन्, धूलो वा चूर्ण हुने गरी पेल्छन्, त्यसमा पिठो वा पाउडर मिसाउँछन्, र आयुर्वेदिक औषधि भन्दै महँगो दरमा विक्री गर्छन्। यो छक्काउने काम हो, र असंख्या मानिसहरूले आफ्नो पैसा यस प्रकारको कुरामा खर्च गर्छन्।

सन् १९९५ मा, जोनी फ्लिन्ट (Jonie Flint) ले दिपक चोप्रा र अन्य आयुर्वेदिक वैद्यहरूलाई मुद्दा हालीन् किनभने तिनको श्रीमानको श्वेतरक्तता वा ब्लड क्यान्सर (leukemia) रोग तिनीहरूले जाँच गरेका थिए। तिनको रक्तमासीमा “गर्मी”, पेटमा “वायू”, र नशाहरूमा चाप छ भनी तिनलाई बताइयो, र तिनलाई आयुर्वेदिक “शुद्धिकरण” चिकित्सा कार्यक्रममा हालियो जहाँ जडीबुटीजन्य उत्पादनहरू र मन्त्र हुनेगर्छ। तिनले आयुर्वेदिक सेवा र सामग्रीहरूमा $१०,००० खर्च गरे। डिसेम्बर १९९३ मा, आयुर्वेदिक वैद्यहरूले तिनको श्वेतरक्तता (leukemia) निको भयो भनि फ्लिन्टलाई भने, तर चार महिनापछि श्वेतरक्तता (leukemia) कै कारणले तिनको मृत्यु भयो। आयुर्वेदिक वैद्यहरूद्वारा तिनले धोका खाए र उचित औषधिमूलक उपचारको खोजी गरेनन्।

सन् २०१२ मा, महादेओ महादिकको मृत्यु आयुर्वेदिक वैद्यहरूलाई भा. रु. ५ लाख खर्च गरिसकेपछि मिर्गौला रोगको कारणले भयो। तिनीहरूले उनी निको हुनेछन् भनी प्रतिज्ञा गरेका थिए (“Two Ayurvedia Quacks Cheat 65-year-old of Rs. 5 Lakh,” DNA India, Aug. 16, 2012)।

निष्कर्ष

आयुर्वेदिक औषधिको सहायता खोज्ने ख्रीष्टियानहरू परमेश्वरप्रति अनाज्ञाकारी भइरहेकाछन् र आफैंलाई आत्मिक र शारीरिक खतरामा हालिरहेका छन्। उनीहरू अरूहरूको लागि पनि खराब नमूनाहरू हुन्।

आधुनिक औषधि परमेश्वरबाटको आशिष हो। बाइबलले बताउँदछ कि अन्तिम दिनहरूमा “ज्ञानको वृद्धि हुनेछ” (दानिएल १२:४)। समयहरू नियन्त्रण गर्नुहुने र मानिसहरूलाई बुद्धि दिनुहुने परमेश्वर नै हुनुहुन्छ।

“दानिएलले जवाफ दिएर भने: “परमेश्वरको नाम सदा-सर्वदा धन्यको होस्; किनकि बुद्धि र सामर्थ्य उहाँकै हुन्; अनि समयहरू र बेलाबखतहरू उहाँले नै बदली गर्नुहुन्छ; उहाँले राजाहरूलाई हटाउनुहुन्छ, र राजाहरूलाई बसाल्नुहुन्छ; उहाँले बुद्धिमानहरूलाई बुद्धि र समझदारहरूलाई समझ दिनुहुन्छ”(दानिएल २:२०-२१)।

बाइबलको भविष्यवाणी पूरा हुने क्रममा पछिल्लो १५० वर्षमा भएको ज्ञानको भारी प्रष्फोटनहरू मध्ये आधुनिक औषधि पनि एउटा हो। आधुनिक आविष्कारहरूमा विद्युत र बत्ती, टेलिफोन, रेडियो, रेलमार्गहरू, गाडीहरू, हवाईजहाजहरू, आणविक शक्ति, रकेटहरू, टेलिभिजन, कम्प्यूटरहरू, र मोबाइल फोनहरू पर्छन्।

यहि समयावधिमा, परमेश्वरले मानिसहरूलाई मानव शरीर र चङ्गाइ सम्बन्धि नयाँ ज्ञान दिनुभएको छ।

सुक्ष्म जीवहरूले रोगहरू उत्पन्न गर्छन् भन्ने कुरा चिकित्सकहरूले आविष्कार गरेका छन्। आधुनिक सुक्षमदर्शक यन्त्रहरू आविष्कार हुनुको कारण पनि चिकित्सकहरूले नाङ्गो आँखाले देख्न नसकिने सुक्ष्म जीवहरूको अध्ययन गरून् भनेर हो। चिकित्सकहरूले रेबिज, हैजा, र पोलियो जस्ता धेरै रोगहरूबाट बचाउने खोपहरू आविष्कार गरेका छन्। घाउलाई सफा राखियो भने ती राम्ररी निको हुन्छन् भन्ने कुरा आविष्कार गरे। उनीहरूले बिरामीलाई गहिरो निन्द्रामा राख्ने र चिरफारको पीडा नहोस् भन्ने हेतुले बेहोस पार्ने औषधिहरू आविष्कार गरे। चिकित्सकहरूले शरीरभित्रको हड्डीहरू र फोक्सोहरू र मुटु सजिलै देख्न सकियोस् भनेर एक्स-रे (x-ray) र सिटि स्क्यान (CT scans)हरूको आविष्कार गरे । चिकित्सकहरूले पेनिसिलिन जस्ता एन्टिबायोटिक्सको आविष्कार गरे, जसले अनगिन्ती मानिसहरूलाई संक्रमणबाट मर्नदेखि बचाएका छन्। उनीहरूले ओपन हर्ट सर्जरी (open heart surgery) र मुटु प्रतिरोपण (heart transplants) जस्ता अचम्मको शल्यक्रियाहरू आविष्कार गरेका छन्। उनीहरूले जोर्नी प्रतिस्थापन र घुँडा प्रतिस्थापनको आविष्कार गरेका छन्। यी आधुनिक चिकित्साशास्त्र सारा संसारका मानिसहरूका निम्ति आशिष भएको छ।

आधुनिक चिकित्साशास्त्र वर्षौंदेखि वैज्ञानिक ढङ्गले प्रमाणित गरिएको छ। औषधि कम्पनीहरूले औषधि बेच्न पाउनुभन्दा अगाडि वा चिकित्सकहरूले प्रयोग गर्न पाउनु भन्दा अगाडि, उक्त औषधिलाई बारम्बार र व्यापक रुपमा पशुहरूमा जाँच गरिन्छ। औषधिले केहि नकारात्मक असर गर्छ कि भनी उनीहरूले जाँच गरि जान्नुपर्ने हुन्छ। उक्त औषधि सेवन गरेपछि अन्य औषधिहरूसँग नकारात्मक तरिकाले अन्तरक्रिया गरी बिरामीलाई हानी पुर्याउँछ कि भनी जाँच गरी जान्नुपर्ने हुन्छ। उनीहरूले उचित सेवनको मात्रा जान्नुपर्ने हुन्छ। आधुनिक औषधिहरू सार्वजनिक रुपमा प्रयोग गर्ने अनुमती दिइनु अगाडि सैयौं जाँचहरू गर्नुपर्नेहुन्छ।

आयुर्वेदिक औषधिमा यस प्रकारका कुनै पनि जाँचहरू गरिँदैन। आयुर्वेदिक वैद्यहरू आफ्नो निम्ति आफैं नियम हुन्। वास्तवमा, हामीले देख्यौं, आयुर्वेदिक औषधिहरूमा प्राय: जसो निकै हानिकारक तत्त्वहरू मिलाइएको हुन्छ।

रोग-बिमारमा, बुद्धिमानी विश्वासीले पहिले परमेश्वरको सहायताको खोजी गर्छ र निको हुन प्रार्थना गर्छ, जसरी पावलले गरेका थिए:

“अनि प्रकाशहरूको भरपूरीको कारणले म नापभन्दा बढी नफुलूँ भनेर मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइयो — नापभन्दा बढी नफुलूँ भनेर मलाई मुक्काले हान्नाका निम्ति दिइयो। यो मबाट हटोस् भनी यस कुराका लागि मैले प्रभुलाई तीनपल्ट विन्ती गरें”(२ कोरिन्थी १२:७-८)।

बुद्धिमानी विश्वासीले परमेश्वरले यी अन्तिम दिनहरूमा हामीलाई दिनुभएको माध्यमहरू पनि प्रयोग गर्छ, र त्यसमा आधुनिक औषधि पनि पर्छ।

यसको अर्थ विश्वासीले आधुनिक औषधिलाई आँखा चिम्लेर पछ्याउँछ र आफैंलाई विनाप्रश्न चिकित्सकहरूको हातमा सुम्पिदिन्छ भन्ने चाहिँ होइन। हरेक अवस्थाहरूमा हामीले बुद्धिको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ।

“आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्नै समझमाथि भर नपर! आफ्ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ” (हितोपदेश ३:५-६)।

तर साँचो विश्वासी हरेक त्यस्तो कुरा देखि अलग रहन्छ जुन कुराले मूर्तिपूजा र दुष्टात्मा र धोकासँग सरोकार राख्दछ।

अनुवादक: प्रज्वल कार्की