दुई बौरिउठाइहरू

Doctrine

दुई बौरिउठाइहरू

 

मरेका मानिसहरू सबै बौराइनेछन् भनेर सत्यको वचनले अति पक्का र स्पष्टसित सिकाउँछ। यो जस्तो अक्षरश: र जोडदार आधिकारिक वचनको संगालो पवित्र शास्त्रमा अर्को पाइँदैन जसमाथि साँचो विश्वासको शिक्षा अडेको छ न ता इसाईमतको निम्ति यो जतिको सारभूत छ।

तर यदि मरेकाहरूको बौरिउठाइ हुँदैन भने ख्रीष्ट पनि बौराइनुभएन। अनि ख्रीष्ट बौराइनुभएन भने हाम्रो प्रचार व्यर्थै हो, र तिमीहरूको विश्वास पनि व्यर्थै हो (१ कोरिन्थी १५:१३,१४)।

तर यो बुझ्न आवश्यक छ कि पवित्र शास्त्रले मरेकाहरू सबै एउटै समयमा बौराइनेछन् भनेर सिकाउँदैन। पवित्र जनहरू आंशिकरूपमा त बौरिउठिसके:

अनि चिहानहरू खोलिए; र सुतेका पवित्र जनहरूका धेरै शरीरहरू बौरेर उठे; अनि उहाँको बौरिउठाइ भएपछि तिनीहरू चिहानहरूबाट निस्केर पवित्र शहरभित्र पसे र धेरैकहाँ देखा परे (मत्ती २७:५२,५३)।

दुइटा बौरिउठाइहरू भविष्यमा हुन अझ बाँकी नै छन् जुन बौरिउठाइहरू बेग्लाबेग्लै समयमा हुनेछन् र तिनमा संलग्न व्यक्तिहरू पनि बेग्लाबेग्लै हुनेछन्। यी बौरिउठाइहरूलाई विभिन्न नामले छुट्ट्याइएको पाइन्छ; जस्तै, जीवनको बौरिउठाइ तथा दण्डको बौरिउठाइ; धर्मीहरू र अधर्मीहरूको बौरिउठाइ इत्यादि। यस महत्त्वपूर्ण विषयलाई प्रकाश पार्ने पवित्र शास्त्रका खण्डहरू यस प्रकार छन्:

यस कुरामा अचम्म नमान; किनभने त्यो घडी आइरहेको छ, जसमा चिहानभित्र रहेका सबैले उनको स्वर सुन्नेछन्, र भलो गर्नेहरू जीवनको बौरिउठाइका निम्ति, र दुष्ट काम गर्नेहरू चाहिँ दण्डको बौरिउठाइका निम्ति निस्किआउनेछन् (यूहन्ना ५:२८,२९)

यहाँ “घडी” भन्ने शब्दले यी दुई भिन्न वर्गका व्यक्तिहरूको समकालिन बौरिउठाइ हुने सङ्केत दिन्छ भनेर कसैले दाबी गर्ला। यसको प्रत्त्युतर हो, पद २५ को “घडी” त २००० वर्ष लामो भइसक्यो। (त्यस्तै “दिन” शब्दलाई २ पत्रुस ३:८, २ कोरिन्थी ६:२ र यूहन्ना ८:५६ मा कुन अर्थमा प्रयोग गरिएको छ हेर्नुहोस्)।

तर जब तिमी भोज दिन्छौ, तब गरिब, कूँजा, लङ्गडा, अन्धाहरूलाई बोलाऊ, र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१३-१४)।

यस खण्डमा हाम्रा प्रभुले केवल पहिलो बौरिउठाइको कुरा गर्नुहुन्छ। पहिलो कोरिन्थीको पन्ध्रौं अध्यायबाट यस भिन्नतालाई अझै स्पष्ट बुझ्न सकिन्छ:

किनकि जसरी आदममा सबै मर्छन्, उसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन्। तर हरेक आफ्नो-आफ्नो पालोमा – पहिलोफल ख्रीष्ट, त्यसपछि उहाँको आगमनमा ख्रीष्टका जनहरू (१ कोरिन्थी १५:२२,२३)।

तर हे भाइहरूहो, अरू आशा नहुनेहरूले गरेजस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुतिजानेहरूका विषयमा म तिमीहरूलाई अनजान रहेको चाहदिनँ। किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने उसरी नै येशूमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई भन्दछौं – हामी जो जीवित छौं, र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्नेछैनौं। किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन् (१ थेस्सलोनिकी ४:१३-१६)।

फिलिप्पी ३:११ मा पावल त्यो बौरिउठाइको कुरा गर्दै छन् जसलाई जीवनको बौरिउठाइ, धर्मीहरूको बौरिउठाइ र ख्रीष्टमा मरेकाहरूको बौरिउठाइ भनिन्छ।

“र जसरी भए पनि म मरेकाहरूबाटको बौरिउठाइसम्म आइपुग्न सकूँ” (फिलिप्पी ३:११)।

यहाँ टिप्पणी गरिनुपर्ने कुरा के छ भने पावलले मरेकाहरूको बौरिउठाइ भन्दैनन् तर मरेकाहरूबाटको बौरिउठाइ भन्दछन्। मरेकाहरूको बौरिउठाइ भनिएको भए सबै मरेकाहरू एकै समयमा बौरिउठ्नेछन् भन्ने बुझिन्थ्यो तर बाटको बौरिउठाइ भनिएको हुनाले त्यहाँ छनोट गरिने कुरा बुझिन्छ जसको फलस्वरूप मरेकाहरू मध्ये कति बाँकीचाहिँ बौरनेछैनन्। यदि प्रेरित पावल सबै मरेकाहरूको बौरिउठाइको कुरा गरिरहेका भए त्यस्तो बौरिउठाइमा आफू “जसरी भए पनि … आइपुग्न सकूँ” भनेर उनले भन्न आवश्यक नै किन पर्थ्यो र (जब कि त्यसो हुँदो हो त उनी त्यसबाट उम्कन नै सक्ने थिएनन्)?

प्रकाश २०:४-६ मा यी दुई बौरिउठाइहरू फेरि पनि सँग-सँगै उल्लेख गरिएका छन्। तर महत्त्वपूर्ण थप जानकारी यो दिइएको छ, मुक्ति पाएकाहरू र नपाएकाहरूको बौरिउठाइहरूबीचको अन्तरालको समयको लम्बाइको।

अनि मैले सिंहासनहरू देखें: अनि उनीहरू तीमाथि बसे, र न्याय उनीहरूलाई दिइयो। अनि मैले तिनीहरूका प्राणहरूलाई देखें, जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए, अनि जसले न ता त्यस पशुलाई, न ता त्यसको मूर्तिलाई पूजा गरेका थिए, न ता आफ्ना निधारमा वा आफ्ना हातमा त्यसका निशान लिएका थिए; अनि तिनीहरू जीवित भए र ख्रीष्टसँग हजार वर्षसम्म राज्य गरे। तर बाँकी मरेकाहरू हजार वर्ष पूरा नहोउन्जेल फेरि जीवित भएनन्। योचाहिँ पहिलो बौरिउठाइ हो। यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन्, र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् (प्रकाश २०:४-६)।

पद १२ र १३ ले दोस्रो बौरिउठाइ अर्थात् दण्डको बौरिउठाइको बयान गरिरहेका छन्।

तसर्थ, पवित्र शास्त्रको गवाही स्पष्ट छ, विश्वासी जनहरूका शरीरहरू अविश्वासी जनका शरीरहरूकाबीचबाट उठाइनेछन् अनि प्रभुलाई भेट्न हावामा उठाइनेछन्; उक्त घटना अविश्वासीहरूको बौरिउठाइ हुनुभन्दा एक हजार वर्ष अगाडि हुनेछ। यो बलियो गरी पक्रिराख्‍नुपर्छ कि बौरिउठाइको शिक्षा मरेकाहरूको केवल शरीरसित सम्बन्धित छ। मृत्युपश्चात् उनीहरूका शरीररहित आत्माहरू भने तुरुन्तै आनन्द वा कष्टको चेतनामा हुन जान्छन् (फिलिप्पी १:२३; २ कोरिन्थी ५:८; लूका १६:२२,२३)।

अध्ययन प्रश्‍नहरू

  1.  
  2. कतिओटा बौरिउठाइहरू भविष्यमै छन्?
  3. पहिलो बौरिउठाइमा सम्मिलित हुनेहरू को हुन्?
  4. दोस्रोमा?
  5. ती दुई बीचको अन्तराल कति लामो हुनेछ?

 

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

ख्रीष्टका दुई आगमनहरू

Doctrine

ख्रीष्टका दुई आगमनहरू

 

“ख्रीष्टका आत्माले ख्रीष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिल्यै गवाही दिनुभयो” — १ पत्रुस १:११

पूरानो नियमका अगमवाणीहरूलाई ध्यानपूर्वक पढ्ने जो कोहीलाई पनि आउनुहुने मसीह सम्बन्धी उल्लेखित भविष्यवाणीहरू दुई बेग्लाबेग्लै धाराहरूमा बगिरहेका देखेर ताजूब लाग्नु स्वाभाविक हो यहाँसम्म कि उसलाई ती भविष्यवाणीहरू आपसमा जुधेजस्तै देखिन सक्छन्। एकातिरका भविष्यवाणीहरूले मसीहलाई दुर्बलता र नम्रतामा आउने व्यक्ति, दुःख र कष्टसित परिचित मानिस, सुख्खा जमीनबाट उम्रने जरा, न रूप, सुन्दरता वा आकर्षण भएको व्यक्तिको रूपमा प्रस्तुत गरेको छ। उहाँको मुहार कुरूप पारिने, उहाँका हात र पाउहरू छेडिने कुरा छ। उहाँ मानिस र परमेश्वरबाट त्यागिने र उहाँको चिहान दुष्टहरूसित बनिने कुरा छ। निम्न खण्डहरूमा हेर्नुहोस्:

यशैया ५३ (पूरै अध्याय); यशैया ७:१४; भजनसंग्रह २२:१-१८; दनियल ९:२६; जकरिया १३:६,७; मर्कूस १४:२७।

अर्कोतिरका भविष्यवाणीहरूमा एक भव्य र विरोधरहित सार्वभौम शासकको उल्लेख गरेको पाइन्छ जसले भयानक इन्साफद्वारा पृथ्वीलाई शुद्ध पार्नुहुनेछ, छरपष्ट रहेको इस्राएललाई फेरि एकत्रीकरण गर्नुहुनेछ, दाऊदको सिंहासनलाई सोलोमनको भन्दा भव्य रूपमा पुन:स्थापित गर्नुहुनेछ र यस्तो शासन ल्याउनुहुनेछ जसमा अगाध शान्ति र सिद्द धार्मिकताले वास गर्नेछ। उदाहरणस्वरूप हेर्नुहोस्:

यशैया ११:१,२,१०-१२; व्यवस्था ३०:१-७; यशैया ९:६,७; यशैया २४:२१- २३; यशैया ४०:९-११; दनियल ७:१३,१४; मीका ५:२; मत्ती १:१; मत्ती २:२; लूका १:३१-३३; यर्मिया २३:५-८।

समय पूरा भएपछि यशैयाले लेखेबमोजिम कन्याबाट पुत्रको जन्मसितै मसीही भविष्यवाणीहरू पूरा हुन थाले जुन जन्म मीका भविष्यवक्ताले लेखेबमोजिम बेथलहेममा भयो र त्यसपछि मसीहको दीनता सम्बन्धी लेखिएका एक-एक भविष्यवाणीहरू अक्षरश: अर्थात् दुरुस्तै पूरा भए; किनभने परमेश्वरको राज्य स्थापित हुन सक्नाका लागि पहिला पापलाई हटाइनु आवश्यक थियो। तर “नम्र र गधामाथि बसेर अर्थात् एउटा गाँडू, गधाको बच्चामाथि बसेर तिमीकहाँ आउँदै हुनुहुन्छ” भनी भविष्यवाणी गरिएबमोजिम जुन रूपमा उहाँ यहूदीहरूकहाँ प्रस्तुत हुनुभयो, त्यो रूपमा उनीहरूले आफ्ना राजालाई स्वीकार गर्न चाहेनन् बरु उनीहरूले उहाँलाई क्रूसमा टाँगिदिए। जकरिया ९:९ र मत्ती २१:१-५; यूहन्ना १९:१५,१६।

तर हामी यो नसोचौं कि मानिसको दुष्टताले परमेश्वरको संकल्पित उद्देश्यलाई रद्द गर्‍यो भनेर किनकि परमेश्वरको मनसायमा उहाँको पुत्रको दोस्रो आगमन पनि रहेको छ जब नै मसीहको पार्थिव महिमा सम्बन्धी उल्लेखित भविष्यवाणीहरू एक-एक गरी अक्षरश: पूरा हुनेछन् ठीक जसरी उहाँका पार्थिव कष्टहरू सम्बन्धी भविष्यवाणीहरू पूरा भइसके। होशे ३:४,५; लूका १:३१-३३ (३१ पद अक्षरश: पूरा भइसक्यो); प्रेरित १:६,७; प्रेरित १५:१४-१७; मत्ती २४:२७-३०।

मसीहका कष्टहरू सम्बन्धी अगमवक्ताहरूले बताएका सबै कुराहरू विश्वास गर्न यहूदीहरू सुस्त हृदयका थिए भने उहाँको महिमा सम्बन्धी बताइएका कुराहरू विश्वास गर्न हामीहरू सुस्त हृदयका छौं। निश्चय हाम्रै दोष ठूलो छ किनकि परमेश्वरका पुत्र बेथलहेमको बालकको रूपमा र नासरतको सीकर्मीको रूपमा आउनुहुनेछ भनी विश्वास गर्न भन्दा उहाँ “बडो सामर्थ्य र महिमासित आकाशका बादलहरूमा” आउनुहुनेछ भनी विश्वास गर्न नै बढी सजिलो कुरा हो। ख्रीष्टको पहिलो आगमनलाई हामीले सजिलै विश्वास त गर्छौं, अगमवक्ताहरूको वचनको कारणले होइन, घटना पूरा भइसकेकोले हो। त्यसैले हामीले यहूदीहरूलाई मात्र उनीहरूको अविश्वासको निम्ति दोष्याउन नहुने हो। त्यति धेरैओटा, सफा भविष्यवाणीहरूको छर्लङ्ग अर्थ प्रति यहूदीहरू कसरी अन्धा बन्न सके भनी कसैले प्रश्न गर्छ भने, जवाफ यो हो, उनीहरू त्यसरी नै अन्धा बने जसरी थुप्रै ख्रीष्टियनहरू मसीहको पार्थिव महिमा सम्बन्धी लेखिएका अझ धेरैओटा भविष्यवाणीहरू प्रति अन्धा बनेका छन्, अर्थात् पवित्र शास्त्रलाई “आत्मिक अर्थ” लगाउने प्रकृया मार्फत। जसरी उहिले शास्त्रीहरूले मसीहका कष्टहरू अक्षरश: अर्थमा लिइनुहुन्न भन्ने धारणा राखे त्यसरी नै आजका कतिपय शास्त्रीहरूले मसीहका पार्थिव महिमा अक्षरश: अर्थमा लिइनुहुँदैन भनेर सिकाउँदै छन्।

तर दोस्रो आगमन मण्डली लगायत यहूदी दुवैलाई दिइएको प्रतिज्ञा हो। क्रूसको बलिदान पूरा गर्न जानु अघि हाम्रा प्रभुले आफ्ना विचलित र शोकित चेलाहरूसित बोल्नुभएका सान्त्वना र अर्तीका अन्तिम वचनहरूमा यो पाइन्छ:

“तिमीहरूको हृदय विचलित नहोस्; तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विश्वास गर। मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता म तिमीहरूलाई भन्नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु, त्यहाँ तिमीहरू पनि होओ भनेर म तिमीहरूलाई आफूकहाँ लिनेछु” (यूहन्ना १४:१-३)।

यहाँ प्रभुले आफ्नो गमनको बारेमा बताउन जुन शब्दहरू प्रयोग गर्नुभयो उही शब्दहरूमै उहाँले आफ्नो पुनरागमनको बारेमा बताउनुभएको छ। उहाँको गमन व्यक्तिगत र शारीरिक रूपमै भएको हामीलाई थाहै छ। उहाँको पुनरागमन चाहिँ व्यक्तिगत रूपमा नभई “आत्मिक” रूपमा हुनेछ भन्दै सरल भाषालाई बाङ्गो अर्थ दिन सक्न त पवित्र शास्त्रको अन्य कुनै स्पष्ट र असन्दिग्ध खण्डको आधार चाहिन्छ। तर त्यस्तो खण्ड कुनै छैन।

तर यस महत्त्वपूर्ण बुँदाको सम्बन्धमा हामीलाई शंकामा छोडिएको छैन न ता तार्किक निष्कर्षमै छोडिएको छ। आफ्ना चेलाहरूको दृष्टिबाट उहाँ लोप हुनुभएको लगत्तै पछि “दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने:

“हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:१०,११)।

थप प्रमाण निम्न खण्डहरूले दिन्छन्:

किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्; त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नाका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं (१ थेस्सलोनिकी ४:१५-१७)

र त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३)।

 

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं; जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ (फिलिप्पी ३:२०,२१)

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँजस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं (१ यूहन्ना ३:२)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

यस “धन्यको आशा” का निम्ति “जागो” रहन (मर्कूस १३:३३,३५,३७; मत्ती २४:४२;२५:१३); “पर्खन” (१ थेस्सलोनिकी १:१०); “तयार” रहन (मत्ती २४:४४) हामीलाई सिकाइएको छ। बाइबलको अन्तिम प्रार्थना समेत ख्रीष्टको चाँडो पुनरागमनको निम्ति गरिएको बिन्तीको रूपमा छ (प्रकाश २२:२०)।

पवित्र शास्त्रका यी खण्डहरूबाट छर्लङ्ग हुन्छ कि ख्रीष्टको दोस्रो आगमन व्यक्तिगत र शारीरिक रूपमै हुनेछ। तसर्थ, दोस्रो आगमनको अर्थ विश्वासीको मृत्यु होइन, यरूशलेमको विनाश होइन, पेन्टेकोस्टमा भएको पवित्र आत्माको आगमन होइन, इसाईमतको क्रमिक विस्तार होइन। दोस्रो आगमन त मण्डलीको “धन्यको आशा” हो। त्यस घडी सुतिरहेका पवित्र जनहरू बौराइनेछन् र जीवित रहेका पवित्र जनहरू “बदली” गराइनेछन् (१ कोरिन्थी १५:५१,५२)। तब उनीहरू प्रभुलाई भेट्नलाई उठाइनेछन्। त्यस घडी हामी, जो अहिले परमेश्वरका सन्तान कहलिएका छौं, उहाँजस्तै हुनेछौं र पवित्र जनहरूले आफ्नो मुक्तिपश्चात् उहाँको नामका निम्ति गरेका विश्वासयोग्य कामहरूका वापत इनाम पाउनेछन्।

हाम्रा प्रभुको दुई आगमनहरूको भिन्नतामाथि थप प्रकाश पार्ने निम्न खण्डहरूलाई तुलना गर्नुहोस्:

पहिलो आगमन

दोस्रो आगमन

अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन्, र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुँडमा राखिन्; किनकि उनीहरूका निम्ति पौवामा ठाउँ थिएन (लूका २:७)।

अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ; तर पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्‍नेछन् (मत्ती २४:३०)।

नत्र ता उहाँले संसारको उत्पत्तिदेखि बारम्बार दुःख भोग्नुपर्ने थियो। तर अब, यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनालाई उहाँ एकपल्ट देखा पर्नुभएको थियो (हिब्रू ९:२६)।

उसरी नै ख्रीष्ट पनि धेरैका पापहरू बोक्नका निम्ति एकपल्ट बलि चढाइनुभयो; अनि उहाँको बाटो हेर्नेहरूकहाँ मुक्तिका निम्ति उहाँ दोस्रो पटक बिनापाप देखा पर्नुहुनेछ (हिब्रू ९:२८)।

किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन् (लूका १९:१०)

किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)।

र तिमी दुःख भोग्नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्वरका निम्ति धर्मसङ्गत कुरा हो; त्यस समयमा, जब प्रभु येशू स्वर्गबाट आफ्ना सामर्थी दूतहरूका साथमा दन्किरहेको आगोमा प्रकट हुनुहुनेछ, र परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ (२ थेस्सलोनिकी १:७,८)।

अनि कसैले मेरा वचनहरू सुन्छ र विश्वास गर्दैन भने म उसको न्याय गर्दिनँ; किनभने म संसारको न्याय गर्नालाई होइन तर संसारलाई बचाउन आएँ (यूहन्ना १२:४७)।

किनभने उहाँले एउटा दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ; उहाँलाई मरेकाहरूबाट बौराएर उठाईकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ (प्रेरित १७:३१)।

यस्ता अझ थुप्रै तुलनाहरू प्रस्तुत गर्न नसकिने होइन। तैपनि इस्राएल र मण्डली दुवैलाई दिइएका प्रतिज्ञाहरू पूरा हुन सक्नलाई पृथ्वीमा हाम्रा प्रभुको पुनरागमन हुनैपर्छ भनेर माथि उल्लेखित खण्डहरूबाट पर्याप्‍त रूपमा पुष्टि भइसकेको छ।

ख्रीष्टको दोस्रो आगमन सम्बन्धी गलत धारणाहरू

बाइबल अध्ययनको प्राथमिक चरणमा हुनुभएकाहरूलाई केही मदत पुग्ला कि भनेर ख्रीष्टको व्यक्तिगत र स-शरीर पुनरागमनको बाइबलीय शिक्षालाई खण्डन गर्ने विभिन्न उपकल्पनाहरू (theories) लाई यहाँ संक्षेपमा हेरिनेछ।

यस प्रबन्धको अन्तमा हुने उहाँको स-दृश्य र स-शरीर आगमन सम्बन्धी पवित्र शास्त्रका खण्डहरूलाई उहाँका ईश्वरीय गुणसित सम्बन्धित खण्डहरूसित अल्मल्याइनु हुँदैन भन्ने कुरा त प्रस्टै हुनुपर्छ। ईश्वरीय गुणले उहाँ सर्वज्ञानी र सर्वव्यापी हुनुभएकोले उहाँले सब कुरा जान्नुहुन्छ र उहाँ सधैं सबै ठाउँमा उपस्थित हुनुहुन्छ। मत्ती १८:२० र मत्ती २८:२० जस्ता खण्डहरू यसका नमूना हुन्।

यस अर्थमा उहाँ सधैं हामीसित हुनुहुन्छ, अँ यस युगको अन्तसम्म नै। यो त हृदयलाई हर्षित तुल्याउने सत्यता हो।

तर ख्रीष्ट येशू, जो एक मानव पनि हुनुहुन्छ, यस घडी स-शरीर व्यक्तिगत रूपमा परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ जसरी प्रेरित १:९-११ ले प्रस्टै बताएको छ:

अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो; र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथी जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने: “हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:१०,११)।

स्तिफनसले उहाँलाई त्यहीँ देखेका हुन्:

तर तिनले पवित्र आत्माले भरपूर भएर स्वर्गतिर डिठ लाएर हेर, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे, र भने: “हेर्नुहोस्, आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको म देख्दछु!” (प्रेरित ७:५५,५६)।

आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहुनुभएको छ (कलस्सी ३:१)।

यसलाई चित्रण गर्ने एउटा उदाहरण: फ्रान्स र प्रस्सियाको यद्ध चलिरहँदा, भोन मोल्टके, आफ्नो बुद्धि र सीपद्वारा साथै टेलिग्राफ तार-प्रणालीमार्फत, साँच्ची नै हरेक युद्धस्थलमा उपस्थित थिए यद्यपि स-दृश्य र व्यक्तिगत रूपमा उनी आफ्नो बरलिनस्थित अफिसमा उपस्थित थिए। युद्धको पछिल्लो चरणमा उनी पेरिससामुको सेनासँग सम्मिलित भए अनि तब त्यहाँ उनको वास्तविक र स-दृश्य उपस्थिति हुन गयो। त्यसरी नै हाम्रा प्रभु आफ्नो ईश्वरीय गुणहरूको हैसियतले साँच्ची नै आफ्नो मण्डलीसँग अहिले नै उपस्थित हुनुहुन्छ, तर आफ्नो दोस्रो आगमनमा उहाँ स-दृश्य र व्यक्तिगत रूपमा यस पृथ्वीमा उपस्थित हुनुहुनेछ।

१) पेन्टेकोस्टको दिनमा भएको पवित्र आत्माको आगमन प्रभुको आगमन सम्बन्धीका अगमवाणीहरूको पूरा हुवाइ होइन न ता जोशिला जागृतिहरूमा वा आशिषमय प्रार्थना सभाहरूमा उहाँको उपस्थितिको अनुभव गरिनु नै त्यसको पूरा हुवाइ हो, किनकि:

(१) यस्तो व्याख्याले पवित्र आत्मालाई ख्रीष्टको एक अभिव्यक्ति (manifestation) मात्र तुल्याएर व्यावहारिक रूपमा त्रिएकताको शिक्षालाई रद्द गर्दछ।

(२) किनकि आत्माको आगमन सम्बन्धी आफ्नो प्रतिज्ञामा ख्रीष्टले उहाँलाई “अर्को शान्तिदाता” (यूहन्ना १४:१६) को संज्ञा दिनुभएको छ; र यूहन्ना १६:७ मा ख्रीष्ट भन्नुहुन्छ: “म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।”

(३) किनकि प्ररितको पुस्तक, पत्रहरू र प्रकाशको पुस्तकका लेखकहरूले प्रभुको आगमनलाई पेन्टेकोस्टपछि र सधैं भविष्यमा हुने भनी एक सय पचास भन्दा बढी पटक उल्लेख गरेको पाइन्छ।

(४) किनकि ख्रीष्टको आगमनमा हुने भनी भविष्यवाणी गरिएका कुनै पनि घटनाहरू पेन्टेकोस्टमा पूरा भएनन्। ती हुन्: सुतेका पवित्र जनहरूको बौरिउठाइ (१ कोरिन्थी १५:२२,२३; १ थेस्सलोनिकी ४:१३-१६); जीवित रहेका विश्वासीहरूको “बदली” जसमार्फत उनीहरूले “अविनाशलाई पहिरनैपर्छ” — तिनीहरूका “दीनहीन शरीरउहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ” र तिनीहरू प्रभुलाई भेट्नका लागि हावामा उठाइनेछन् (१ कोरिन्थी १५:५१-५३; १ थेस्सलोनिकी ४:१७; फिलिप्पी ३:२०,२१); र बडो सामर्थ्य र महिमासहित मानिसका पुत्रको स-दृश्य आगमनको कारण पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन् (मत्ती २४:२९,३०; प्रकाश १:७)।

हाम्रा प्रभुको आगमनको सेरोफेरोका घटनाहरू यिनै हुन्। जब उहाँ आउनुहुनेछ, यी घटनाहरू प्रत्यक्ष हुनेछन्। पेन्टेकोस्टमा यी मध्ये कुनै पनि पूरा भएनन् न ता पवित्र आत्माको अन्य कुनै अभिव्यक्तिमा नै पूरा भएका छन्।

२) एक पापीको जीवन परिवर्तित हुनु प्रभुको दोस्रो आगमन होइन।

कैयौं संख्यामा रहेका परिस्थितिजन्य भविष्यवाणीहरू सन्तोषजनक रूपमा यसरी नै पुष्टि हुने भन्ने हास्यास्पद उपकल्पनालाई गम्भीर रूपमा त नअपनाइनु पर्ने जस्तो देखिन्छ। यहाँ यति मात्र बताउन आवश्यक छ कि,

(१) पवित्र शास्त्र अनुसार वास्तविकता यसको ठीक विपरित छ। जीवन परिवर्तन एक पापी ख्रीष्टमा आएर हुने हो, ख्रीष्ट पापीकहाँ आउनुभएर हुने होइन (मत्ती ११:२८; यूहन्ना ५:४०; यूहन्ना ७:३७; ६:३७)।

(२) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू पापीको जीवन परिवर्तनको घडीमा पूरा हुँदैनन्।

३) ख्रीष्टियनको मृत्यु ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) प्रभुको एउटा भनाइलाई नबुझेर जब चेलाहरूले उनीहरूमध्येका एकजना उहाँ नआउन्जेलसम्म रहिरनेछन् भन्ने अर्थमा लिए, तब ‘यो चेलाचाहिँ मर्दैन’ भन्ने कुरा भाइहरूको बीचमा फैलियो (यूहन्ना २१:२२- २४)।

(२) बाइबलका लेखकहरूले विश्वासी जनको मृत्युलाई सधैं उसको प्रास्थानको रूपमा उल्लेख गरेको पाइन्छ। प्रभुको आगमनलाई ख्रीष्टियनको मृत्युसँग गाँसेको एउटै खण्ड पाइँदैन। हेर्नुहोस्, फिलिप्पी १:२३; २ तिमोथी ४:६; २ कोरिन्थी ५:८। मर्नै लागेका स्तिफनसले स्वर्ग खोलिएका देखे र मानिसका पुत्र आइरहनुभएको होइन तर “परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको” देखे (प्रेरित ७:५५,५६)।

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू ख्रीष्टियनको मृत्युको घडीमा पूरा हुँदैनन्।

४) रोमीहरूद्वारा सम्पन्न गरिएको यरूशलेमको विध्वंश ख्रीष्टको दोस्रो आगमन थिएन; किनकि

(१) मत्ती २४ र लूका २१ मा तीनओटा घटनाहरू भविष्यवाणी गरिएका छन्: मन्दिरको विध्वंश, प्रभुको आगमन र संसार (युग) को अन्त। मत्ती २४:३ मा हेर्नुहोस्। यी प्रस्टै भिन्न-भिन्न कुराहरूलाई बिना आधार समीश्रण गर्नाले नै एउटाको पूरा हुवाइ तीनैओटाको पूरा हुवाइ हो भन्ने धारणा उब्जिन गएको हो।

(२) प्रेरित यूहन्नाले प्रकाशको पुस्तकलाई यरूशलेमको विध्वंशपश्चात् लेखेका हुन् तर उनले प्रभुको आगमन भविष्यमै हुने भनी बताउँछन् (प्रकाश १:४,७; २:२५; ३:११; २२:७,१२,२०)। बाइबलको अन्तिम प्रतिज्ञा यस्तो छ, “साँच्ची नै म चाँडै आउँछु”; र अन्तिम प्रार्थना यस्तो छ, “ज्यु, आउनुहोस्, हे प्रभु येशू।”

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू यरूशलेमको विध्वंशको घडीमा पूरा भएनन्। हेर्नुहोस्, १ थेस्सलोनिकी ४:१४-१७; मत्ती २४:२९-३१; मत्ती २५:३१,३२ इत्यादि।

५) इसाईमतको विस्तार ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) इसाईमतको विस्तार बिस्तारै हुने कुरा हो भने पवित्र शास्त्रले प्रभुको पुनरागमनचाहिँ झट्टैअचानक हुने बताएको छ (मत्ती २४:२७,३६-४२,४४,५०; २ पत्रुस ३:१०; प्रकाश ३:३)।

(२) इसाईमतको विस्तार एक प्रक्रिया हो भने प्रभुको पुनरागमनलाई पवित्र शास्त्रले सधैं एउटा घटनाको रूपमा उल्लेख गरेको पाइन्छ।

(३) इसाईमतको विस्तारले दुष्टहरूलाई मुक्ति ल्याउँछ भने ख्रीष्टको आगमनले उनीहरूलाई मुक्ति होइन तर “अचानक विनाश” ल्याउनेछ (१ थेस्सलोनिकी ५:२,३; २ थेस्सलोनिकी १:७-१०; मत्ती २५:३१-४६)।

६) यी कथित व्याख्या र उपकल्पनाहरू व्यापक भए तापनि तिनीहरू कुनै पनि शिक्षण संस्था वा सम्प्रदायका नाम चलेका ईश्वर-शास्त्रीका पुस्तकहरूमा भेटिँदैनन् न ता कुनै पनि सर्वमान्य बाइबल शिक्षकले यी धारणाहरूलाई समर्थन गरेको पाइन्छ। यी सबैले ख्रीष्टको स-शरीर स-दृश्य दोस्रो आगमनकै शिक्षालाई समर्थन गरेको पाइन्छ।

तरैपनि कहिलेकाहीँ यस्तो दाबी गरेको पाइन्छ कि सुसमाचार प्रचारद्वारा संसारै इसाई नबनेसम्म र उक्त संसारले एक हजार वर्षसम्म आफूलाई ख्रीष्टको आत्मिक राज्यको अधीनतामा नसुम्पेसम्म दोस्रो आगमन हुनै सक्दैन। यो धारणा पूरै गलत छ किनकि:

(१) पवित्र शास्त्रले ख्रीष्टको दोस्रो आगमनको घडीमा पृथ्वीको अवस्था सहस्राब्दीको आशिषले होइन बरु भयानक दुष्टताले भरिएको हुनेछ भनी बयान गरेको पाइन्छ (लूका १७:२६-३२ लाई उत्पत्ति ६:५-७ सित तुलना गर्नुहोस्; उत्पत्ति १३:१३; लूका १८:८; लूका २१:२५- २७)।

(२) पवित्र शास्त्रले वर्तमान प्रबन्धको सफरलाई शुरूदेखि अन्तसम्मै यस्तो प्रकारले बयान गरेको पाइन्छ कि उक्त बयानले यस प्रबन्धको कुनै पनि समयमा संसार इसाई बन्न सक्ने सम्भावनालाई कुनै ठाउँ दिँदैन (मत्ती १३:३६-४३,४७-५०; मत्ती २५:१-१०; १ तिमोथी ४:१; २ तिमोथी ३:१-९; ४:३,४; २ पत्रुस ३:३,४; यहूदा १७-१९)।

(३) वर्तमान प्रबन्ध अन्तर्गत परमेश्वरको उद्देश्य संसारको धर्म-परिवर्तन (conversion) होइन, बरु “अन्यजातिहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई” हो। यस कुरापछि उहाँ फर्कनुहुनेछ अनि तब मात्र, यसभन्दा अघि होइन, संसार परिवर्तित हुनेछ। हेर्नुहोस्, प्रेरित १५:१४-१७; मत्ती २४:१४ (“साक्षी हुनालाई”); रोमी १:५ (सबै जातिहरू “बाट” होइन सबै जातिहरूका “बीचमा”); रोमी ११:१४ (“सबैलाई” होइन “कतिलाई”); १ कोरिन्थी ९:२२; प्रकाश ५:९ (“हरेक जाति” होइन “हरेक जातिबाट”)।

(४) ख्रीष्टको दोस्रो आगमनको दिन आउन अझै हजार वर्षभन्दा बढी समय बाँकी नै छ भने त त्यसको निम्ति “जागो” रहनुपर्छ र उक्त आगमनको “बाटो हेर्दै” जिउनुपर्छ भन्नु अर्थहीन हुन्छ।

अध्ययन प्रश्नहरू

  1. मसीहको सम्बन्धमा पुरानो नियममा पाइने भविष्यवाणीका दुईओटा धाराहरू कुन-कुन हुन्?
  2. यिमध्ये कुनचाहिँ पूरा भइसक्यो?
  3. कहिले?
  4. अर्कोचाहिँ कहिले पूरा हुनेछ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

सात प्रबन्धहरू

Doctrine

सात प्रबन्धहरू

 

बाइबलमा समयलाई, अर्थात् आदमको सृष्टिदेखि प्रकाश २१ को “नयाँ आकाश र नयाँ पृथ्वी” सम्मको अवधिलाई, सातओटा “प्रबन्ध” (एफेसी ३:२) हरूमा विभाजन गरिएको पाइन्छ जुन प्रबन्धहरू बराबर अवधिका छैनन्। यी अवधिहरूलाई “युगहरू” (एफेसी २:७) र “दिनहरू” पनि भनिएको पाइन्छ, जस्तै, “परमप्रभुको दिन” इत्यादि।

पवित्र शास्त्रमा परमेश्वरले मानवजातिसित (वा कुनै मानव समूहसित) दुइटा प्रश्नहरूको, अर्थात् पापको र मानवीय जिम्मेवारीको, सवालमा प्रारम्भ गर्नुभएको कुनै विशेष वा भिन्न व्यवहारद्वारा नै यी समयावधिहरूलाई एकअर्काबाट छुट्ट्याउन सकिन्छ। प्रत्येक प्रबन्धलाई एउटा नयाँ परीक्षणकालको रूपमा हेर्न सकिन्छ जसअन्तर्गत प्राकृतिक मानिसको जाँच गरिन्छ र ऊ विफल हुँदा उसको इन्साफ गरिएर उक्त प्रबन्धको अन्त गरिन्छ र उसलाई नयाँ प्रबन्ध अन्तर्गत परीक्षण गरिन्छ। परमेश्वरको वचनले यो देखाउँछ कि प्रत्येक प्रबन्धमा मानिस पूर्ण रूपमा विफल भएको छ। जम्मा सातओटा मध्ये पाँचओटा प्रबन्धहरू बितिसके, हालमा हामी छैटौं प्रबन्धमा (सम्भवत: त्यसको अन्ततिर) जिइरहेका छौं, र सातौंचाहिँ आउन बाँकी नै छ—अर्थात् हजार वर्षको राज्य।

(१) निर्दोषता अन्तर्गतको मानिस

यो प्रबन्ध आदमको सृष्टि (उत्पत्ति २:७) देखि अदनबाटको निष्कासनसम्म रहेको पाइन्छ। सृष्टि गरिँदा आदम निर्दोष थिए साथै असल-खराबको सम्बन्धमा अनभिज्ञ थिए। आदमलाई उनकी पत्‍नीका साथमा अदनको बगैंचामा असल र खराबको ज्ञान दिने रूखको फल नखाईकन बस्नु पर्ने जिम्मेवारीमुनि राखिएको थियो। निर्दोषताको प्रबन्धमा प्रथम मानिस विफल भए जसको असर अन्यको भन्दा बढी भयानक र व्यापक हुन गयो। यो इन्साफमा अन्त भयो: “परमेश्वरले उनलाई अदनको बगैंचाबाट निकालिदिनुभयो।” निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति १:२६उत्पत्ति ३:६
उत्पत्ति २:१६,१७उत्पत्ति ३:२२-२३

(२) विवेक अन्तर्गतको मानिस

पतनमार्फत आदम र हव्वाले असल र खराबको ज्ञान प्राप्‍त गरे र त्यसलाई मानव जातिमा प्रसारण गरे। उक्त ज्ञानले विवेकलाई नैतिक छनोट गर्ने आधार दियो र फलस्वरूप मानवजाति आफूले असल गर्न र खराबबाट अलग रहन जिम्मेवार हुन गयो। अदनदेखि जलप्रलयसम्म (जुनबेला मानवीय शासनको र व्यवस्थाको संस्थागत शुरूआत भएको थिएन) विवेकको प्रबन्ध अन्तर्गत नतीजा यस्तो हुन गयो कि “पृथ्वीमा सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए”, र “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” पाइयो। तब परमेश्वरले प्राकृतिक मानिसको यो दोस्रो परीक्षणलाई इन्साफद्वारा अन्त गर्नुभयो। त्यो इन्साफ थियो जलप्रलयको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ३:७,२२उत्पत्ति ६:५,११-१२उत्पत्ति ७:११-१२,२३

 

(३) पृथ्वीमाथि शासक बनाइएको मानिस

जलप्रलयको भयावह इन्साफदेखि परमेश्वरले आठजना व्यक्तिहरूलाई बचाउनुभयो पानी घटिसकेपछि शुद्ध पारिएको पृथ्वीलाई उनीहरूको हातमा सम्पिदिनुभएर त्यसमाथि शासन गर्नलाई तिनीहरूलाई पर्याप्‍त अधिकार दिनुभयो। सोअनुसार कार्यान्वयन गर्न नूह र उनका सन्ततिहरू जिम्मेवार थिए। शिनार मैदानमा मानिसले आफू परमेश्वरबाट स्वतन्त्र हुने दुष्प्रयास गरेपछि मानवीय शासनको प्रबन्ध इन्साफमा अन्त भयो। उक्त इन्साफ थियो भाषाहरूको खलबलको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ९:१,२उत्पत्ति ११:१-४उत्पत्ति ११:५-८

 

(४) प्रतिज्ञा अन्तर्गतको मानिस

बाबेलका निर्माताहरू छरपुष्ट पारिएपछि उनीहरूको सन्ततिबाट परमेश्वरले अब्राम नामक एकजना व्यक्तिलाई बोलाउनुभई उससित एउटा करार बाँध्नुभयो। उहाँले अब्राम र उनका सन्ततिलाई दिनुभएका कतिपय प्रतिज्ञाहरू अनुग्रहपूर्ण र शर्तहीन थिए। ती प्रतिज्ञाहरू या त अक्षरश: पूरा भइसके या त पूरा हुनेवाला छन्। अन्य प्रतिज्ञाहरू भने इस्राएलीहरूको विश्वासयोग्यता र आज्ञाकारितामा निर्भर थिए। ती सबै शर्तहरू उल्लङ्घन हुन गए र फलस्वरूप प्रतिज्ञाको प्रबन्ध इस्राएलको विफलतामा अन्त भयो अनि इन्साफस्वरूप मिश्रको दासत्वमा उक्त प्रबन्धको अन्त भयो।

“आदिमा परमेश्वरले सृष्टि गर्नुभयो” भन्ने अत्युत्कृष्ट शब्दहरूमा प्रारम्भ गरिएको उत्पत्तिको पुस्तक “एक शवपेटिकाभित्र मिश्रमा” भन्ने वाक्यांशमा अन्त भएको पाइन्छ।

उत्पत्ति १२:१-३उत्पत्ति २६:३उत्पत्ति १३:१४-१७
उत्पत्ति १५:५उत्पत्ति २८:१२,१३प्रस्थान १:१३,१४

 

(५) व्यवस्था अन्तर्गतको मानिस

निस्सहाय मानिसको उद्धार गर्न फेरि पनि परमेश्वरको अनुग्रह आइपुग्यो र अत्याचारीको पञ्जाबाट चुनिएको जातिलाई छुटकारा दिलायो। सिनैको उजाडस्थानमा उहाँले उनीहरूलाई व्यवस्थाको करारको प्रस्ताव राख्‍नुभयो। अनुग्रह अन्तर्गत नै रहन विनम्र माग नगरीकन उनीहरूले आत्मविश्वासमा जवाफ दिए: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं” (प्रस्थान १९:८)। उजाडस्थानको यात्राभरीको र कनान भूमिमा रहँदा समेतको इस्राएलको इतिहास एक बृहत् अभिलेखको रूपमा प्रस्तुत गरिएको पाइन्छ जसमा इस्राएलले व्यवस्थालाई लगातार उल्लङ्घन गरिरहे अनि अन्तमा, थुप्रै चेताउनीहरू पश्चात्, परमेश्वरले व्यवस्था अन्तर्गतको मानिसको परीक्षणलाई इन्साफमार्फत् अन्त गर्नुभयो: पहिले इस्राएल र पछि यहूदा देशबाट निष्कासन गरिए जुन निर्वासन हालसम्मै जारी रहेको छ। एज्रा र नहेम्याहको नेतृत्वमा एक दुर्बल “रेम्नेन्ट” दल (remnant, बचेकाहरू) फर्केर आए जसबाट ठीक समयमा ख्रीष्ट आउनुभयो: “जो स्त्रीद्वारा जन्मनुभयो, व्यवस्थाको अधीनतामा जन्मनुभयो” (गलाती ४:४)। उहाँलाई नै दुवै यहूदी लगायत अन्यजातिहरूले क्रूसमा झुण्ड्याउनलाई षड्यन्त्र गरे। निम्न खण्डहरूमा हेर्नुहोस्,

प्रस्थान १९:१-८ रोमी ३:१९,२० प्रेरित २:२२-२३
रोमी १०:५ २ राजा १७:१-१८ प्रेरित ७:५१

 

गलाती ३:१०

 

२ राजा २५:१-११ 

(६) अनुग्रह अन्तर्गतको मानिस

प्रभु येशू ख्रीष्टको बलिरूपी मृत्युबाट विशुद्ध अनुग्रहको प्रबन्धको प्रारम्भ भयो। अनुग्रहको भन्नाले अयोग्यलाई निगाह भन्ने बुझिन्छ। व्यवस्था अन्तर्गत परमेश्वरले धार्मिकता माग्नुहुन्थ्यो भने अनुग्रह अन्तर्गत परमेश्वरले धार्मिकता दिनुहुन्छ

सिद्ध र अनन्त मुक्ति अब यहूदी लगायत अन्यजातिलाई सित्तैंमा प्रदान गरिएको छ, यो शर्तमा कि उसले पापको स्वीकार गरोस्, अथवा पश्चात्ताप गरोस् र ख्रीष्टमा विश्वास गरोस्।

येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “जसलाई उहाँले पठाउनुभएको छ, उनैमाथि तिमीहरू विश्वास गर; यही परमेश्वरको काम हो” (यूहन्ना ६:२९)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन छ (६:४७)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (५:२४)।

मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरा हातबाट खोसेर लैजान्छ (१०:२७-२८)।

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

अनुग्रह अन्तर्गतको मानिसको परीक्षण कसरी अन्त हुनेछ भनी नयाँ नियममा भविष्यवाणी गरिएको छ: विश्वास नगर्ने संसार र “अपस्टेट चर्च” (apostate church, सत्यलाई परित्याग गर्ने विश्व-मण्डली) को इन्साफ गरिनेछ।

प्रकाश ३:१५,१६२ थेस्सलोनिकी २:७-१२

यस प्रबन्धको अन्तिम घडीमा सर्वप्रथम स्वर्गबाट प्रभु ओर्लनुहुनेछ तब सुतेका पवित्र जनहरू बौराइनेछन् र उनीहरू जिउँदै रहेका विश्वासी जनहरूका साथ प्रभुलाई हावामा भेट्नका लागि उठाइनेछन्: “अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं” (१ थेस्सलोनिकी ४:१६,१७)।

त्यसपछि “महासंकष्ट” भनिने छोटो समयावधि आउनेछ, मत्ती २४:२१,२२; सपन्याह १:१५-१८; दनियल १२:१; यर्मिया ३०:५-७।

त्यसपछि ठूलो सामर्थ्य र महिमासित प्रभु पृथ्वीमा व्यक्तिगत रूपमा आउनुहुनेछ जुनबेला छैटौं प्रबन्धलाई अन्त गर्ने इन्साफहरू कार्यान्वयन हुनेछन् अनि तब सातौं वा अन्तिम प्रबन्धको प्रारम्भ हुनेछ। मत्ती २४:२९,३० र २५:३१-४६ मा हेर्नुहोस्।

(७) ख्रीष्टको व्यक्तिगत शासन अन्तर्गतको मानिस

पृथ्वीमा प्रभुको व्यक्तिगत आगमनका साथ सम्पन्न भएका शुद्धि गर्ने इन्साफहरू पश्चात् उहाँले पुनर्स्थापित इस्राएल र समस्त जगतमाथि एक हजार वर्षसम्म राज्य गर्नुहुनेछ। यस अवधिलाई सामान्यतया अङ्ग्रेजिमा “मलेनियम” अर्थात् “हजार वर्षको राज्य” भनिन्छ। यरूशलेम उहाँको प्रशासनिक केन्द्र बन्नेछ र पवित्र जनहरू, अनुग्रहको प्रबन्धमा उद्धार पाएकाहरू समेत, उहाँको महिमामा सहभागी हुनेछन्। निम्न खण्डहरूमा हेर्नुहोस्, प्रेरित १५:१४-१७; यशैया २:१-४; प्रकाश १९:११,२१; २०:१-६; यशैया ११ पूरै अध्याय।

तर जब शैतान “थोरै समयका लागि…छोडिनेछ” उसले मानिसको प्राकृतिक हृदय पाप गर्नलाई पहिलेजत्तिकै तत्पर भेट्टाउनेछ र उसले सजिलै जातिजातिहरूलाई विद्रोह गर्न सुर्‍याउनेछ — प्रभुको र उहाँका जनहरूको विरुद्ध युद्ध गर्नलाई। फलस्वरूप यो प्रबन्ध पनि अरूजस्तै इन्साफमा अन्त हुनेछ। इन्साफ कार्यान्वन गर्नलाई एउटा “ठूलो सेतो सिंहासन” खडा गरिनेछ जसका सामु बौराइएका मरेका दुष्ट जनहरू खडा गराइनेछन् र उनीहरूको अन्तिम न्याय गरिनेछ। तब “नयाँ आकाश र नयाँ पृथ्वी” – अनन्तता – को प्रारम्भ हुनेछ। प्रकाश २०:३,७-१५; २१ र २२ पूरै अध्यायहरू।

 

अध्ययन प्रश्नहरू

  1. प्रबन्ध के हो?

  2. समय कतिओटा प्रबन्धहरूमा विभाजित छ?

  3. कतिओटा प्रबन्धहरू बितिसके?

  4. प्रबन्धहरूलाई क्रमैसित उतार्नुहोस् र प्रत्येकमा मानिसको प्रारम्भिक अवस्था के थियो, ऊ के गर्नलाई जिम्मेवार थियो, ऊ कसरी विफल भयो र परिणामस्वरूप कुन इन्साफ आइपर्‍यो, छोटकरीमा व्यख्या गर्नुहोस्।

  5. पुरानो नियम कुन प्रबन्धअन्तर्गत लेखियो?

  6. नयाँ नियम?

  7. वर्तमान प्रबन्धको अन्त हुने क्रममा पहिलो घटना कुन हुनेछ?

  8. त्यसको पछि?

  9. त्यसको पछि?

  10. मलेनियम कति लामो हुनेछ?

  11. मलेनियमपछि के छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

Doctrine

यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

“तिमीहरूले ठेस नखुवाओ, न यहूदीहरूलाई, न ग्रीकहरूलाई, न ता परमेश्वरको मण्डलीलाई” — १ कोरिन्थी १०:३२

ध्यानपूर्वक बाइबल पढ्ने जोसुकैलाई पनि यो थाह भएको कुरा हो कि बाइबलको आधाभन्दा बढी भाग एउटा मानव समूहसित सम्बन्धित रहेको छ अर्थात् इस्राएलसित। परमेश्वरको योजनामा उनीहरूको छुट्टै स्थान रहेको देखिन्छ। मानव जातिबाट अलग गरिएर उनीहरू यहोवा परमेश्वरसित करारमा बाँधिए र उनीहरूलाई निश्चित प्रतिज्ञाहरू दिइए जो अन्य कुनै मानव समूहलाई दिइएनन्। पुरानो नियमको वृतान्त लगायत अगमवाणीहरूमा केवल उनीहरूकै इतिहास पाइन्छ र तिनमा यदि अन्य जातिहरूको उल्लेख भएको छ भने ती जातिहरू यहूदीको सम्पर्कमा आएका हुनाले मात्र उल्लेख गरिएका हुन्छन्। साथै, इस्राएल राष्ट्रसित यहोवा परमेश्वरको सम्पूर्ण सरोकार यस पृथ्वीको सवालसँग सम्बन्धित भएको पाइन्छ। विश्वासयोग्य र आज्ञाकारी भएको खण्डमा उक्त जातिलाई पार्थिव गौरव, ऐश्वर्य र सामर्थ्य प्रतिज्ञा गरिएको छ; अनाज्ञाकारी भएको खण्डमा उनीहरू “पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तितरबितर पार्नुहुनेछ” भनेर (व्यवस्था २८:६४) चेताउनी दिइएको छ। मसीहको प्रतिज्ञासमेत “पृथ्वीका सबै कुलले” (उत्पत्ति १२:३) पाउने आशिषको रूपमा व्यक्त गरिएको छ।

बाइबल अध्ययन गर्दै जाँदा धेरै पटक उल्लेख गरिएको त्यहाँ अर्को छुट्टै समूह भेटिन्छ जसलाई मण्डली भनिएको छ। यस समूहको पनि परमेश्वरसित विशेष सम्बन्ध रहेको पाइन्छ र इस्राएलले जस्तै परमेश्वरबाट निश्चित प्रतिज्ञाहरू प्राप्‍त गरेको पाइन्छ। तर यी दुईबीचको समानता यहीँ टुङ्गिन्छ र उल्लेखनीय भिन्नताहरू शुरू हुन्छन्। मण्डली केवल अब्राहामको शारीरिक सन्ततीबाट निर्मित संरचना होइन बरु यो एउटा यस्तो समूह हो जसमा यहूदी र अन्यजातिबीच भिन्नता नै छैन। यहाँ परमेश्वरसितको सम्बन्ध केवल एउटा करारको आधारमा नभएर एउटा नयाँ जन्ममा आधारित भएको पाइन्छ। आज्ञाकारी भएको खण्डमा पार्थिव महानता र ऐश्वर्यको इनाम दिइने प्रतिज्ञा मण्डलीलाई छैन बरु खानेकुरा र वस्त्र छन् भने तिनैमा सन्तुष्ट रहने शिक्षा छ (१ तिमोथी ६:८)। इस्राएललाई अस्थायी र पार्थिव कुराहरूको आशिष दिइएको पाइन्छ भने मण्डलीलाई आत्मिकस्वर्गीय आशिषहरू।

अझ, पवित्र शास्त्रले यो देखाउँछ, न इस्राएल शुरूदेखि थियो न ता मण्डली नै। दुवैको निश्चित शुरूआत भएको उल्लेख छ। इस्राएलको शुरूआत अब्रामको बोलावटबाट भयो। मण्डलीको जन्म कहिले भएको हो भन्ने कुराको खोजी गर्दा येशू ख्रीष्ट पृथ्वीमा आउनुभन्दा अघि मण्डलीको अस्तित्व रहेको पाइँदैन, न ता उहाँ पृथ्वीमा हुनुहुँदा नै। उहाँले आफ्नो मण्डली भविष्यमा बनाइने कुरा गर्नुभएको पाइन्छ: “यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)। उहाँले “बनाइसकेँ” भन्नुभएन, न ता “बनाउँदै छु” नै, तर “बनाउनेछु”।

साथै एफेसी ३:५-१० बाट यो पनि बुझिन्छ कि पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको कुनै उल्लेख गरिएको छैन। पुरानो नियमका समयहरूमा मण्डली “परमेश्वरमा लुकेर बसेको रहस्य” थियो अर्थात् परमेश्वरले यसलाई प्रकट गर्नुभएको थिएन तसर्थ मण्डली गोप्य राखिएको “रहस्य” थियो। पवित्र शास्त्र अध्ययन गर्नेले यो पत्ता लगाउँछ कि बाइबलअनुसार मण्डलीको जन्म प्रेरितको दोस्रो अध्यायमा भएको हो भने यसको पार्थिव अस्तित्वको अन्तचाहिँ १ थेस्सलोनिकी ४ मा उल्लेखित र्‍याप्चर (rapture, मण्डलीलाई स्वर्गमा उठाई लगिने कार्य) द्वारा हुनेछ।

बाइबल अध्ययन गर्ने व्यक्तिले यो पनि पत्ता लगाउँछ कि जातिहरूको बाइबलीय विभाजनमा त्यहाँ अर्को समूह पनि रहेको छ जसलाई कम मात्रामा उल्लेख गरिएको पाइन्छ। हरहिसाबमा इस्राएल र मण्डली दुवैबाट भिन्न रहेको उक्त समूहलाई अन्यजातिहरू भनी जनाइएको छ। यहूदी, अन्यजाति र मण्डलीका आ-आफ्ना तुलनात्मक स्थानहरूलाई पवित्र शास्त्रका निम्न खण्डहरूबाट संक्षेपमा देख्‍न सकिन्छ:

 

यहूदी

 

अन्यजाति

 

मण्डली

रोमी ९:४,५

एफेसी २:११,१२

एफेसी १:२२,२३

यूहन्ना ४:२२

एफेसी ४:१७,१८

एफेसी ५:२९-३३

रोमी ३:१,२

मर्कूस ७:२७,२८

१ पत्रुस २:९

तब, पवित्र शास्त्रमा इस्राएल र मण्डलीको बारेमा उल्लेखित तथ्यहरूको तुलना गर्दा यो पाइन्छ कि ती दुईको शुरूआत, बोलावट, प्रतिज्ञा, आराधना, व्यावहारिक सिद्धान्तहरू र भविष्य सबै नै बेग्लाबेग्लै छन्।

बोलावट

 

इस्राएल

 

मण्डली

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा” (उत्पत्ति १२:१)।

यसकारण हे पवित्र भाइहरूहो, स्वर्गीय बोलावटका भागीदारहरूहो, हामीले स्वीकार गरेका प्रेरित र महापूजाहारीलाई अर्थात् ख्रीष्ट येशूलाई ध्यान देओ (हिब्रू ३:१)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं (फिलिप्पी ३:२०)।

किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदै छ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड र बेँसी भएर बग्छन्। त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरेको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुंगाहरू फलामका छन्, र त्यहाँका पहाडबाट तिमीहरूले तामा निकाल्नेछौ (व्यवस्था ८:७-९)।

अनि येशूले तिनलाई भन्नुभयो: “स्यालहरूका ओडार र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्‍ने ठाउँधरि छैन” (मत्ती ८:२०)।

एउटा अविनाशी, निष्कलंक र ओइलिएर नजाने पैत्रिक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ (१ पत्रुस १:४)।

यही घडीसम्म पनि हामी भोकाउँछौं, तिर्खाउँछौं, नाङ्गा छौं, मुक्का खान्छौं, र घरबिहीन भएका छौं (१ कोरिन्थी ४:११)।

तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडाबाख्राहरू र बथानका बथान गाई-गोरूहरू, तथा सुन चाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ” (उत्पत्ति २४:३४,३५)।

अनि येशूले चारैतिर हेरेर आफ्नो चेलाहरूलाई भन्नुभयो: “धनसम्पत्ति हुनेहरू कति कठिनसँग परमेश्वरको राज्यभित्र पस्नेछन्” (मर्कूस १०:२३)।

मेरा प्रिय भाइहरूहो सुन; के परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी र राज्यका हकदारहरू हुनालाई चुन्नुभएको छैन र? जुन राज्यको प्रतिज्ञाचाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको छ (याकूब २:५)।

तिमीहरूका विरोधमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन् (व्यवस्था २८:७)।

तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्; अँ, यस्तो समय आउँछ – जसले तिमीहरूलाई मार्दछ, त्यसले परमेश्वरको सेवा गरें भनी ठान्नेछ (यूहन्ना १६:२)

मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैं टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ (व्यवस्था २८:१३)।

यसकारण जसले आफैलाई यो सानो नानीजस्तै नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हो (मत्ती १८:४)

यसको तात्पर्य एक यहूदी भक्तजन आफ्नो मृत्युपछि स्वर्ग जाँदैन भन्ने होइन। तर भिन्नता यसमा छ कि एक यहूदीलाई भक्तिपूर्वक जिउन पार्थिव (भौतिक) आशिषहरूको प्रेरणा दिइएको थियो, स्वर्गीय होइन। वर्तमान प्रबन्धअन्तर्गत यहूदी लगायत अन्यजातिले प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएर मात्रै मुक्ति पाउँछ (यूहन्ना ३:३,१६), अनि “एउटै शरीर” मा बप्‍तिस्मा गरिन्छ (१ कोरिन्थी १२:१३) जसलाई “मण्डली” भनिन्छ (एफेसी १:२२,२३)। मण्डलीमा यहूदी र अन्यजातिको भिन्नता बिलकुलै छैन (१ कोरिन्थी १२:१३; गलाती ३:२८; एफेसी २:१४)। त्यसैले प्रेरित पावलले एफेसीहरूलाई पत्रमा उनीहरूलाई “बितेको समयमा तिमीहरू अन्यजातिहरू थियौ” भनी लेख्छन्, एफेसी २:११; १ कोरिन्थी १२:२ मा पनि “जब तिमीहरू अन्यजातिहरू थियौ” भनिएको छ।

व्यावहारिक नियमहरू

इस्राएल र मण्डलीबीचको भिन्नता उनीहरूलाई दिइएका व्यावहारिक नियमहरूमा पनि देखिन्छ। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुनेछ, अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्झौता नगर्नू। उनीहरूलाई नटिठाउनू (व्यवस्था ७:१,२)।

तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर (मत्ती ५:४४)।

अनि आफ्नै हातले काम गर्दै परिश्रम गर्दछौं। गिल्ला गरिँदा हामी आशिष दिन्छौं; सताइँदा हामी सहन्छौं; निन्दित हुँदा हामी विन्ती गर्दछौं; अहिलेसम्म हामी यस संसारका कसिङ्गर र सबै कुराका फोहोर-मैलासरह भएका छौं (१ कोरिन्थी ४:१२,१३)।

आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस् (प्रस्थान २१:२४,२५)।

तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेओ (मत्ती ५:३९)।

आफ्ना आमा-बाबुको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताडना दिँदा पनि तिनीहरूको बात मान्दैन भने, त्यसका आमा-बाबुले त्यसलाई समातेर शहरका धर्म-गुरूहरूकहाँ शहरको मूल ढोकामा लैजाऊन्। तिनीहरूले शहरका धर्म-गुरूहरूलाई यसो भनून्, यो हाम्रो छोरो ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” तब त्यस शहरका सबै पुरुषहरूले त्यसलाई नमरुञ्जेल ढुंगाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन् (व्यवस्था २१:१८-२१)।

अनि उठेर त्यो आफ्नो बाबुकहाँ आयो। तर त्यो अझ धेरै टाढैमा हुँदा त्यसका बाबुले त्यसलाई देखे, र दयाले भरिए; अनि दगुरेर गई त्यसलाई अँगालो हाले, र त्यसलाई चुम्बन गरे। अनि त्यस छोराले उनलाई भन्यो, ‘पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरो भनिन लायकको म छैन।’ तर बाबुचाहिँले आफ्ना दासहरूलाई भने, ‘सबभन्दा बढिया पोसाक निकाल र उसलाई पहिराइदेओ; र उसको हातमा औंठी र पाउहरूमा जुत्ता लाइदेओ; अनि पोसिएको बाछा ल्याएर मार, अनि खाऔं, र आनन्द मनाऔं’ (लूका १५:२०-२३)।

उपासना

उपासना सम्बन्धी दिइएका निर्देशनहरू झनै भिन्न छन्। इस्राएलले केवल एउटै स्थानमा मात्र उपासना गर्न मिल्थ्यो, त्यो पनि परमेश्वरदेखि दूरीमा रहेर एउटा पूजाहारीको माध्यमद्वारा मात्र। मण्डलीचाहिँ दुई वा तीनजना जम्मा भई जुनसुकै ठाउँमा उपासना गर्न सक्ने, साहससित महापवित्रस्थानभित्र प्रवेश गर्न सक्ने संरचना हो जसमा सबै नै पूजाहारी हुन्छन्। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

लेवी १७:८,९

मत्ती १८:२०

लूका १:१०

हिब्रू १०:१९,२०

गन्ती ३:१०

१ पत्रुस २:५

भविष्य

इस्राएल र मण्डलीको भविष्य सम्बन्धी उल्लेखित अगमवाणीहरू बीचको भिन्नता झनै छक्कलाग्दा छन्। मण्डली पृथ्वीदेखि पूर्ण रूपमै उठाएर लगिन्छ भने पुन:स्थापित इस्राएलको पार्थिव महिमा र सामर्थ्यको चरमबिन्दु त आउन बाँकी नै छ। पवित्र शास्त्रले मण्डलीको बारेमा के बताउँदछ, हेरौं:

मण्डली

मेरा पिताको घरमा धेरै बासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता म तिमीहरूलाई भन्नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु; त्यहाँ तिमीहरू पनि होओ भनी म तिमीहरूलाई आफूकहाँ लिनेछु (यूहन्ना १४:२,३)।

किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं, र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्नेछैनौं। किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्; त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नाका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं (१ थेस्सलोनिकी ४:१५-१७)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं; जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ (फिलिप्पी ३:२०,२१)।

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँजस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं (१ यूहन्ना ३:२)।

हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकी पत्‍नीले आफैलाई तयार पारेकी छन्। अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरने अधिकार दिइयो; किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन्। अनि तिनले मलाई भने: “लेख, जो-जो थुमाको विवाहको भोजमा बोलाइएका छन्, ती धन्य हुन्” (प्रकाश १७:७-९)।

यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन्, र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् (प्रकाश २०:६)।

इस्राएल

अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकूबको घरनामाथि सदासर्वदै राज्य गर्नुहुनेछ; र उहाँको राज्यको अन्त हुनेछैन (लूका १:३१-३३)।

मरियमलाई दिइएका यी सातओटा प्रतिज्ञाहरूमध्ये पाँचओटा अक्षरश: पूरा भइसके। बाँकी दुइटा भने अक्षरश: पूरा हुनेछैन भनी दाबी गर्न हामीलाई कुनचाहिँ हर्मेन्युटिक्स् (hermeneutics, बाइबल व्याख्या गर्ने प्रणाली) को नियमले अधिकार दिन्छ र?

अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई कसरी परमेश्वरले अन्यजातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएका छन्; अनि योसँग भविष्यवक्ताहरूका वचन मिल्दछन्, जस्तो लेखिएको छ: ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको ढलेको तम्बू म फेरि बनाउनेछु; अनि यसका भग्नावशेषहरू म फेरि बनाउनेछु, र यसलाई म खडा गर्नेछु (प्रेरित १५:१४-१६)।

तब म भन्दछु, के परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! किनकि म पनि अब्राहामको वंशको, बेन्यामीनको कुलको इस्राएली हुँ। तब म भन्दछु, के लोटून् भनेर नै तिनीहरूले ठेस खाएका हुन् त? कदापि होइन! तर तिनीहरू लोटेका कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ, तिनीहरूमा डाहा पैदा गर्नालाई। किनकि तिमी पनि स्वभावअनुसार जङ्गली जैतुनको रूखबाट काटिएर स्वभावको विपरित त्यस असल जैतुनको रूखमा कलम गाँसियौ भने, झन् यी स्वाभाविक हाँगाहरू यिनीहरूको आफ्नै जैतुनको रूखमा कति बढ्ता गरी कलम भएर गाँसिएलान् त? किनकि भाइहरूहो, तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रहौ भन्ने इच्छा म गर्दिनँ – जबसम्म अन्यजातिहरूको पूरा संख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ। अनि यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ: ‘छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ, र याकूबबाट अभक्ति हटाउनुहुनेछ’ (रोमी ११:१,११,२४-२६)।

त्यस दिन परमप्रभुले. . .आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रोपल्ट पसार्नुहुनेछ। उहाँले जाति-जातिहरूका निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ (यशैया ११:११,१२)।

परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन् (यशैया १४:१)।

“तापनि,” परमप्रभु भन्नुहुन्छ, “दिन आउँदै छ, जब मानिसहरूले कहिल्यै यसो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ किनकि मैले तिनीहरूका पिता-पूर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु (यर्मिया १६:१४,१५)। परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदै छन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एउटा राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले पृथ्वीमा गर्नेछन्। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’ (यर्मिया २३:५,६)।

म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रिस र अत्यन्त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बस्न दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु (यर्मिया ३२:३७,३८)।

हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सोरले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन (सपन्याह १:१४,१५)।

परमेश्वरसितको विशेष सम्बन्ध

परमेश्वरसितको विशेष सम्बन्धको सवालमा पनि इस्राएल र मण्डलीका बीच भिन्नताहरू पाइन्छन्:

 

इस्राएल

 

मण्डली

विश्वव्यापी मूर्तिपूजाको बीच परमेश्वर एउटै मात्र हुनुहुन्छ भन्ने गवाही हुन चुनिएको: व्यवस्था ६:४; यशैया ४३:१०,१२

ख्रीष्टको शरीर र दुलही हुन चुनिएको: एफेसी १:२२-२३; १ कोरिन्थी १२:१२-१३; एफेसी ५:३०; २ कोरिन्थी ११:२; एफेसी ५:३१-३२; प्रकाश १९:७-८

एकमात्र सत्य परमेश्वरको सेवा गर्नु आशिषपूर्ण हुन्छ भनी सबै जातिहरूकहाँ प्रकट गर्नुपर्ने: व्यवस्था ३३:२६-२९; १ इतिहास १७:२०-२१; भजनसंग्रह १४४:१५

परमेश्वरका पुत्रसँगै साझा हकवाला भई सँगै राज्य गर्ने र महापूजाहारी ख्रीष्ट अन्तर्गतको एक नयाँ पूजाहारीगरी: रोमी ८:१६-१७; प्रकाश २०:६; १ पत्रुस २:५; प्रकाश १:६

परमेश्वरको वचनका लेखक र संरक्षक: रोमी ३:१,२; व्यवस्था ४:५-८

परमेश्वरको वासस्थान र मन्दिर: १ पत्रुस २:५; एफेसी २:१९-२२

मसीहको प्रतिज्ञाको भण्डारी: उत्पत्ति ३:१५; १२:३; २१:१२; २८:१०,१४; २ शमूएल ७:१६; यशैया ५५:३-४; मत्ती १:१

परमेश्वरको बुद्धि प्रकट गर्ने परमेश्वरको अनुग्रहको भण्डारी: एफेसी २:७; ३:१०

अन्य सबै कारक तत्वहरूको संयोगले भन्दा मण्डलीको यहूदीकरणले नै यसको उन्नतिमा बाधा पुर्‍याएको, यसको लक्ष्यलाई बङ्ग्याएको, यसको आत्मिकतामा ह्रास ल्याएको हो भन्नुमा अत्युक्ति हुँदैन। उसलाई दिइएको संसारको भन्दा अलग्गै मार्गमा हिंड्नुको सट्टा र आफ्नो प्रभुलाई स्वर्गीय बोलावट अनुसार पछ्याउनुको सट्टा, यहूदी शास्त्रहरूको दुरूपयोग गरी विश्वलाई सभ्य बनाउने उद्देश्य अपनाएर, सम्पत्ति थुपारेर, रीति-विधिमा डुबेर, भव्य मण्डली-भवनहरू निर्माण गरेर, युद्धरत सेनाहरूमाथि परमेश्वरबाट आशीर्वाद खन्याईमागेर र समान भातृत्वलाई “अगुवावर्ग” (clergy) र “साधारण विश्वासी” (laity) मा विभाजन गरेर मण्डलीले आफूलाई गिराएको छ।

अध्ययन प्रश्नहरू

  1. पवित्र शास्त्रले मानव जातिलाई कुन-कुन समूहहरूमा विभाजन गरेको छ?

  2. प्रथम हिब्रू (यहूदी) को थिए?

  3. यहूदी, अन्यजाति र मण्डलीबीचका भिन्नताहरू संक्षेपमा लेख्‍नुहोस्।

  4. मण्डली कहिले शुरू भयो?

  5. के पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको उल्लेख छ?

  6. ख्रीष्टसित मण्डलीको विशेष सम्बन्ध के छ?

  7. परमेश्वरसित इस्राएलको विशेष सम्बन्ध के थियो?

  8. परमेश्वरको सामु अन्यजातिहरू के-कस्तो स्थानमा रहेको पाइन्छ?

  9. इस्राएलको लागि के-कस्तो भविष्य साँचिएर राखिएको छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

परिचय

Doctrine

परिचय

 

दोस्रो तिमोथीको दोस्रो अध्यायमा विश्वासीलाई सात प्रकारका व्यक्तिहरूसित तुलना गरिएको छ। उसलाई छोरा (पद १), सिपाही (पद ३), खेलाडी (पद ५), खेतीवाल (पद ६), कामदार (पद १५), भाँडो (पद २१) र दास (पद २४) भनिएको छ।

अनि त्यहाँ प्रत्येक चरित्रलाई सुहाउने अर्ती दिइएको छ। छोराको हैसियतले तिमोथीलाई अनुग्रहमा बलियो हुन अर्ती दिइएको छ। अनुग्रहचाहिँ पुत्रत्वसँग सम्बन्धित कुरा हो भने व्यवस्थाचाहिँ दासत्वसँग, जुन कुरा गलातीको पत्रमा बताइएको छ। सिपाहीको हैसियतले तिमोथीलाई दुःख उठाउन र सांसारिक अङ्कुसहरूदेखि जोगिन अर्ती दिइएको छ। असल सिपाहीमा पाइने गुण यिनै हुन्। भाँडोको रूपमा ऊ शुद्ध र अलग पारिएको हुनुपर्छ। दासको रूपमा ऊ कोमल, धैर्यवान् र नम्र हुनुपर्छ। यसरी ख्रीष्टियन जीवनलाई सात पक्षहरूमा चर्चा गरिएको छ।

पद १५ मा कामदारको हैसियतले उसबाट माग गरिएको कुरा यसरी बताइएको छ:
आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्‍न गर — एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक-ठीकसँग छुट्ट्याउँछ”।

सत्यको वचनभित्र ठीक-ठीक विभाजनहरू छन्। ती विभाजनहरूलाई ध्यान नदिईकन “एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो” बन्न असम्भव भएको हुनाले ती विभाजनहरूलाई बेवास्ता गर्ने कुनै पनि बाइबल अध्ययन धेरै हिसाबमा फलहीन र अन्योलग्रस्त हुनेछ। धेरै ख्रीष्टियनहरू इमानदारीतामा यो स्वीकार गर्छन् कि बाइबल अध्ययन गर्ने काम उनीहरूलाई पटाइ लाग्दो छ। अझ थुप्रैको यस्तै अनुभव भएर पनि उनीहरूका लागि उक्त कुरा स्वीकार गर्नु शर्मको कुरा हुन्छ।

यो सानो पुस्तकले सत्यको वचनमा रहेका महत्त्वपूर्ण भिन्नताहरूलाई औंल्याउने प्रयास गरेको छ। यसको विस्तृत अध्ययन गर्न त पूरा बाइबलकै विश्लेषण गर्नुपर्ने हुन्छ। तरैपनि यो विश्वास गरिन्छ कि परिश्रमी पाठकलाई सत्यको मूलधाराहरू चिनाउन र परमेश्वरको वचनको रचनात्मक सुन्दरतालाई महसुस गराउन यहाँ यथेष्ट सामाग्री समावेश छ यद्यपि शारीरिक मानिसलाई बाइबल एउटा बेमेल र विपरित विचारहरूको सँगालो जस्तै लाग्न सक्दछ।

पाठकलाई यस पुस्तिकाकै अधिकारमा कुनै पनि शिक्षा ग्रहण नगर्न, बरु, उत्तम बेरियालीहरूले जस्तै “यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी” गर्न (प्रेरित १७:११) जोडदार आग्रह गरिन्छ। यहाँ कुनै पनि मानवीय अधिकारलाई आधार बनाइएको छैन। “तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन” (१ यूहन्ना २:२७)।

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)