ख्रीष्टमा हुर्काइ र विजयी जीवन (२)

Study Series

ख्रीष्टमा हुर्काइ र विजयी जीवन (२)

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना १५:४; एफेसी ४:२२-२४; फिलिप्पी ३:१३-१४; १ यूहन्ना १:९

ख्रीष्टियन हुर्काइका “चाबीहरू” नयाँ नियमभरि पाइन्छन् तर तल उल्लेखित बुँदाहरू तीमध्ये केही प्रमुख हुन्। यस पाठमा हामी पहिलो चारओटालाई हेर्नेछौं: ख्रीष्टमा रहनु, पुरानो मानिसलाई फाल्नु र नयाँलाई पहिरहनु, पाप स्वीकार गर्नु र निशानातिर दगुर्नु।

ख्रीष्टमा रहनु (यूहन्ना १५:१-१०)

साँचो ख्रीष्टियन जीवन एउटा धर्म होइन। यो केवल नियमहरू र रीतिहरूको सँगालो होइन; यो त बौरिउठ्नुभएको ख्रीष्टसितको व्यक्तिगत सम्बन्ध हो। उहाँलाई व्यक्तिगत रूपमा चिन्नेहरू र उहाँसित दिन-दिनै सङ्गति गर्दै हिँड्नेहरू, उहाँको सेवा गर्नेहरू र उहाँबाट सिकिरहनेहरूले नै आत्मिक विजयको अनुभव गरिरहेका हुन्छन्। यसैलाई “ख्रीष्टमा रहनु” भनिन्छ। यदि विश्वासीले ख्रीष्टलाई बिर्सन्छ र उसले आफ्नो जीवन ख्रीष्टसितको वास्तविक सङ्गतिबाट अलग भएर व्यतित गर्छ भने ऊ आत्मिक खतरामा हुन्छ।

फल फलाउनु (पद २), अझ फल फलाउनु (पद २) र धेरै फल फलाउनु (पद ८) नै विश्वासीको लागि परमेश्वरको इच्छा हो भन्ने कुरामा यूहन्ना १५:१-१० मा येशूले जोड दिनुभयो। हामी बढिरहेको हुनुपर्छ र यो बढ्ने कामचाहिँ ख्रीष्टमा रहने कामको प्रतिफल हो।

उहाँको वचन पालन गर्नु नै उहाँमा रहने मूल उपाय हो भन्ने कुरा येशूले सिकाउनुभयो (यूहन्ना १५:७,१०)। ख्रीष्टमा रहनु भनेको ‘मिस्टिकल’ (mystical, गोप्य आध्यात्मिक शक्तिसम्बन्धीको) कुरो होइन जसलाई हाल व्यापकरूपमा फैलिरहेको कन्टेम्प्लेटिभ धारणा (contemplative philosophy) ले अँगालेको छ। यो एउटा भावना होइन, ऐन्द्रिय (sensual) अनुभव होइन। यो “आत्माद्वारा पराजित” (overcome by the Spirit) हुनु होइन, अन्यभाषा बोल्नु होइन, भुइँमा लड्नु होइन, भावन्मत्ततापूर्वक हाँस्नु होइन, प्रभावशाली सङ्गीतले ढुमुनिनु होइन, ध्यानद्वारा विचारमग्न अवस्थामा प्रवेश गर्नु होइन, मैन बत्तीहरू र धूपले प्रभावित बन्नु होइन। यो त उहाँको वचनलाई आदर गर्दै र पालना गर्दै ख्रीष्टसित सङ्गति गर्दै उहाँसँग हिँड्नु हो।

पुरानो मानिसलाई फाल्नु र नयाँलाई पहिरनु (एफेसी ४:२२-२४)

यस खण्डमा ख्रीष्टियन जीवनलाई एउटा वृद्धि हुँदै जाने विषयको रूपमा प्रस्तुत गरिएको छ। योचाहिँ पुरानो मानिस अर्थात् हामीले आदमबाट वंशानुगत रूपमा प्राप्‍त गरेको पापी स्वभावलाई फाल्दै जाने र नयाँ मानिस अर्थात् ख्रीष्टलाई पहिरँदै जाने प्रक्रिया हो। यो काम कसरी गरिन्छ भन्ने कुरा पावलले पछिल्ला पदहरूमा खुलस्त पार्दछन्। पुरानो मानिसलाई फाल्नु भनेको झूट बोल्न छोड्नु र रिसको सामना गर्नु र चोर्न छोड्नु र कुवचन र अरू त्यस्तै थुप्रै कुरा हटाउनु हो (एफेसी ४:२५-२९)। नयाँ मानिसलाई पहिरनु भनेको सत्य बोल्नु र अर्काको खाँचोमा दिनु र उन्नती गराउने बोली बोल्नु र अरू त्यस्तै कुराहरू गर्नु हो (एफेसी ४:२५-२९)।

यी उच्च र पवित्र मानदण्ड हुन् जोचाहिँ मोशाको व्यवस्थाका भन्दा गहिरा र चौडा छन्। झूट बोल्न छोड्नु भनेको हर हिसाबमा र हर परिस्थितिमा इमान्दार हुन सिक्नु हो। भ्रष्ट मनुष्य हृदय, पुरानो मान्छे, यस्तो छ कि त्यसले झूट बोल्ने र देखावटी व्यवहार गर्ने हजारौं तरिका छन्। मुखबाट कुनै कुवचन निस्कन नदिनु, सबै तीतोपना, क्रोध, रिस, कलह, निन्दा हटाउनु भनेको उदकको उच्च मानदण्ड हो।

पाप स्वीकार गर्नु (१ यूहन्ना १:५-१०)

फेरि हामी देख्छौं, विश्वासीले पाप गर्न सक्छ र पाप गर्छ पनि। तर पाप गर्नु भनेको अन्धकारमा हिँड्नु हो, उज्यालोमा हिँड्नु होइन। जब हामी पाप गर्छौं, उहाँसित सङ्गतिमा फेरि पुनःस्थापित हुनलाई परमेश्वरले हामीलाई उपाय दिनुभएको छ र त्यो उपाय हो स्वीकार। पाप स्वीकारले मलाई उज्यालोमा राख्‍छ र परमेश्वरसँग सङ्गतिमा राख्छ। उहाँ ज्योति र पवित्रता हुनुहुन्छ र उहाँ पाप र अन्धकारसँग सङ्गति गर्नुहुन्न। उहाँ मसँग अन्धकारमा सङ्गति गर्दै हिँड्नुहुन्न। यदि म उहाँसँग सङ्गति गर्न चाहन्छु भने म उहाँसँग ज्योतिमा हिँड्नुपर्छ।

पाप स्वीकार गर्नु भनेको मैले गरेको कामको विरुद्धमा म परमेश्वरसित सहमत हुनु हो। योचाहिँ म आफ्नो पापको निम्ति कुनै बाहाना नबनाउनु हो। बाहाना बनाउनु र अरूलाई दोष्याउनुचाहिँ आदमको तरिका हो। हाम्रो पहिलो बुबा आदमले आफ्नो पापको निम्ति आफ्नी पत्‍नीलाई दोष्याए र तिनले सर्पलाई दोष्याई। यिनै गैर-बुद्धिमानी पाइलालाई पछ्याउने स्वाभाविक झुकाव हामीमा छ। हामी हाम्रो पापको लागि आफ्नो राष्ट्रियतालाई दोष्याउँछौं, हाम्रो उमेरलाई दोष्याउँछौं (“म जवानै छु” वा “म वृद्ध छु”), हाम्रो लिङ्गलाई दोष्याउँछौं, हाम्रो पृष्ठभूमिलाई दोष्याउँछौं, हाम्रो परिस्थितिलाई दोष्याउँछौं, अरू थुप्रै कुराहरूलाई। जस्तै, यदि म आफ्नी पत्‍नीसँग रिसाएँ र तीतो बने भने त्यो त पाप हो, तर परमेश्वरको नजरमा मैले गल्ती गरेको छु भनेर स्वीकार गर्नु भन्दा बाहाना बनाउनु नै सजिलो हुन्छ र बरु पत्नीलाई वा अन्य कुरालाई दोष्याउनु सजिलो हुन्छ; जस्तै, त्यो दिन मलाई धेरै समस्या परेको दिन थियो वा श्रीमतिले कुरै बुझ्दिएन आदि। अथवा यदि मैले झूट बोलेँ भने मैले बाहानाहरू बनाउँदै यसरी भन्न सक्छु, “कहिलेकाहिँ त सबैले झूट बोल्छ नि।” अथवा मैले मेरा बाबुआमाको आज्ञापालन गरिनँ र उहाँहरूलाई अनादर गरेँ भने, मैले बहाना बनाउँदै यस्तो भन्न सक्छु कि उनीहरू ज्यादै कडा छन् वा उनीहरू कपटी छन्। तर अर्कोतिर बरु मैले परमेश्वरको सामु “मैले पाप गरेँ” र “यो खराब हो” भनेर सहमत हुन सक्छु। यदि मैले आफ्नो पापको लागि बहाना बनाएँ भने म ज्योतिमा नभई अन्धकारमा हिँडिरहेको हुन्छु र परमेश्वरसँग मेरो सङ्गति हुँदैन।

हाम्रा पापहरू उहाँलाई स्वीकार गर्‍यौं भने उहाँले हामीलाई क्षमा गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। हामीलाई क्षमा गर्न उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ किनकि ख्रीष्ट हाम्रा पापहरूका लागि मर्नुभयो।

परमेश्वरले हामीलाई कतिपटकसम्म क्षमा दिनुहुन्छ? हामीले जतिपटक स्वीकार गर्‍यौं त्यति नै पटक उहाँले क्षमा दिनुहुन्छ। हामीले पाप गर्दै र स्वीकार गर्दै, पाप गर्दै र स्वीकार गर्दै गरेको देखेर के उहाँ झर्को मान्नु हुन्न र? अहँ, हामीसित उहाँको प्रतिज्ञा छ उहाँले हरेक पटक क्षमा दिनुहुन्छ र शुद्ध पार्नुहुन्छ। यदि कसैले हाम्रो विरुद्धमा पाप गर्‍यो भने हामीले उसलाई ४९० पटकसम्म क्षमा दिनुपर्छ भनेर येशूले सिकाउनुभयो (मत्ती १८:२१-२२)। यदि हामीले त्यतिपटकसम्म क्षमा दिनुपर्छ भन्ने अपेक्षा गरिन्छ भने, परमेश्वरले झन् कति बढ्ता गरी क्षमा दिनुहुन्छ! स्मरण होस्, परमेश्वरका कृपाहरू हरेक बिहान नयाँ हुन्छन् (विलाप ३:२३), त्यसैले तपाईं जुरुक्क उठ्नुहोस् र ताजा कृपाहरू प्राप्‍त गर्नुहोस् (हिब्रू ४:१६) र अगाडि बढ्नुहोस्!

स्वीकारले हाम्रो सम्बन्धलाई परमेश्वरसँग ठीक-ठाक पार्छ। यसले हामीलाई ज्योतिमा राख्‍छ। यो विजयको मार्ग हो। यसले पापको भूमरीलाई थाम्छ। हामीले जब पाप गर्छौं, हामी निरुत्साहित बन्नुहुन्न, हताश बन्नुहुन्न; हामीले त्यसलाई इमान्दारपूर्वक स्वीकार गर्नुपर्छ र क्षमा दिने परमेश्वरको प्रतिज्ञालाई दाबी गर्नुपर्छ र हाम्रो आत्मिक जन्म-अधिकारमा खडा हुनुपर्छ (एफेसी १:३)।

निशानातिर दगर्नु (फिलिप्पी ३:१३-१४)

हामीले आफ्नो पाप स्वीकार गरेपछि हामीले त्यसलाई पछाडि राख्‍नुपर्छ र त्यसैमा मन लगाइरहने परीक्षामा पर्नुहुँदैन र परमेश्वरले क्षमा दिनुभएको छैन कि भनेर डराउनु हुँदैन। त्यसो गर्नाले ख्रीष्टियन जीवनलाई कुँजो बनाउँछ। पापलाई पछिल्तिर राख्‍ने तरिका चाहिँ आफ्नो आँखालाई लक्ष्यमाथि अर्थात् परमेश्वरको सिद्ध इच्छा पूरा गर्ने काममाथि लगाइराख्‍नु हो। अगाडि हेरिराख्नुहोस्, पछाडि होइन। जब परमेश्वरले हामीलाई पापदेखि कायल पार्नुहुन्छ, उहाँले त्यसो गर्नुको उद्देश्य हामीलाई स्वीकार गराउनलाई र शुद्ध पार्नलाई र विजयमा डोर्‍याउनलाई हो तर जब शैतानले हामीलाई दोष लगाउँछ त्यसलेचाहिँ हामीलाई निरुत्साहित पार्नलाई र हामीलाई निल्नालाई त्यसो गर्छ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

ख्रीष्टमा हुर्काइ र विजयी जीवन (१)

Study Series

ख्रीष्टमा हुर्काइ र विजयी जीवन (१)

डेविड क्लाउड

पद कण्ठ: २ पत्रुस १:५-९

ख्रीष्टियन जीवनमा योभन्दा महत्त्वपूर्ण विषय अरू कमै छन्। यथार्थमा हरेक नयाँ विश्वासीलाई आफूभित्र पापको समस्या किन अझै विद्यमान छ र यसको सामना कसरी गर्ने होला भन्ने कुराले ताजुप लागेको हुन्छ। यी पाठहरूमा हामी यही प्रश्नको जवाफ दिनेछौं।

परिचय

  1. जब कुनै व्यक्ति मुक्तिका लागि ख्रीष्टकहाँ आउँछ, परमेश्वरले उसलाई नयाँ गरी जन्माउनुहुन्छ र उसलाई एउटा पवित्र स्वभाव दिनुहुन्छ, तरैपनि पुरानो पाप स्वभाव ऊसँगै रहिरहेको हुन्छ। यसलाई “पुरानो मानिस” भनिन्छ। यसैको कारण नयाँ नियमभरि नै विश्वासीहरूलाई पापलाई फाल्न शिक्षा दिइएको छ (जस्तै, १ पत्रुस २:१)। नयाँ नियमका पत्रहरूभरि ख्रीष्टियन जीवनमा पापको निरन्तर उपस्थितिलाई स्वयंसिद्ध तथ्यको रूपमा मानिलिइएको छ। यदि पाप कुनै रीतिले निर्मूल पारिएको भए त्यसको सामना गर्नुपर्ने आवश्यकताको बारेमा पत्रहरूमा जहातहीँ बताइँदैनथ्यो। यदि पाप निर्मूल पार्न सम्भव भएको भए त्यो कसरी सम्भव छ भनेर नयाँ नियममा बयान गरिनुपर्थ्यो अनि उक्त अनुभवलाई पाप समस्याको उपायको रूपमा जहाँतहीँ प्रस्तुत गरिनुपर्थ्यो। तर नयाँ नियममा त्यस्तो प्रस्तुति पाइँदैन। बरु त्यहाँ विश्वासीको जीवनमा एउटा आत्मिक लडाइँ चलिरहेको बयान भेट्टाउँछौं। शरीर आत्माको विरोधमा लडाइँ गरिरहेको छ; पुरानो मानिस नयाँ मानिसको विरोधमा लडाइँ गरिरहेको छ।
  2. ख्रीष्टियन जीवनमा आत्मिक विजयको त्यस्तो कुनै एउटै गोप्‍य उपाय वा चाबी छैन। थुप्रै “चाबीहरू” का प्रस्ताव नआएका होइनन्, जस्तै पवित्र आत्माको बप्‍तिस्मा, दोस्रो आशिष, क्रूसीकृत जीवन। यदि विश्वासीलाई विजयी बनाउने त्यस्तो कुनै एउटै कुरा भएको भए, नयाँ नियमको प्रत्येक पत्रमा त्यो उल्लेख गरिनुपर्थ्यो। जस्तै, पावलले कोरिन्थीहरूलाई उनीहरूको पापदेखि सुधार्नलाई लेख्‍दा उनले पूरै पत्रमा उक्त “चाबी” को व्याख्या गर्नुपर्थ्यो। तर पावलले त फरक-फरक कुराहरूलाई सम्बोधन गरे। एफेसीको पत्रमा पनि यस्तै पाउँछौं। अध्याय ४-६ ख्रीष्टियन जीवन सम्बन्धीको एउटा लेख हो, अनि एउटै “गोप्य उपाय” को सट्टामा पावलले अनेक किसिमका विषयहरूलाई सम्बोधन गरेका छन्, जस्तै पुरानो मानिसलाई फाल्ने र नयाँ मानिसलाई पहिरने (४:२२-२४), पवित्र आत्मालाई शोकित नपार्ने (४:३०), खराबसित कुनै सङ्गति नगर्ने (एफेसी ५:११), होशियारसित हिँड्ने (५:१५), समय खेर नफाल्ने (५:१६), सधैं प्रभुलाई धन्यवाद चढाउने (५:२०), पत्‍नीहरू आफ्ना पतिहरूको अधीनमा बस्ने र पतिहरूले आफ्ना पत्‍नीहरूलाई प्रेम गर्ने (५:२२-२३), र परमेश्वरको सारा हतियारहरू धारण गर्ने (६:१०-१८)।
  3. ख्रीष्टियन हुर्काइ र आत्मिक विजयको सम्बन्धमा सामान्यतयाः समावेश गरिने प्रार्थना र मण्डली जस्ता विषयहरूलाई तिनका छुट्टाछुट्टै खण्डहरू अन्तर्गत चर्चा गरिनेछ।
  4. २ पत्रुस १:३-११ मा ख्रीष्टियन हुर्काइको सम्बन्धमा विभिन्न महत्त्वपूर्ण सत्यताहरू देख्‍दछौं:
    1. ख्रीष्टियन हुर्काइ परमेश्वरको प्रशस्तमय मुक्तिको प्रतिफल हो (२ पत्रुस १:३)। मुक्ति पाएकै घडीमा ऊ बढ्न र फलदायी बन्न विश्वासीलाई आवश्यक पर्ने सबै कुराहरू दिसकिएका हुन्छन्। उसले केवल तिनलाई प्रयोगमा ल्याउनुपर्छ।
    2. ख्रीष्टियन हुर्काइ आफ्नो विश्वासमाथि केही कुरा थप्दै जाने प्रकृया हो (२ पत्रुस १:५-७)। मुक्ति पाउँदा हामीसँग केवल एउटा मात्र कुरा हुन्छ – त्यो हो विश्वास। ख्रीष्टियन जीवन उक्त विश्वासमा हरेक असल कुरा थप्दै जाने प्रकृया हो।
    3. ख्रीष्टियन हुर्काइ तत्कालै हुने करा होइन; यो रातारात हुनै कुरा होइन। विश्वासीसित एक्कासी सिद्ध गुण, सिद्ध धैर्यता, सिद्ध प्रेम हुँदैन। हुर्काइ क्रमिक रूपले हुने कुरा हो। बच्चा दैनिक रूपमा बढ्दै गएको देख्‍न सकिन्न। त्यसैले हामीलाई विश्वास र धैर्यताको खाँचो पर्छ। हामी लगातार लागिरहनु पर्छ। ख्रीष्टियन जीवनमा सबभन्दा महत्त्वपूर्ण गुणहरूमध्ये एउटा यही हो। यसलाई ख्रीष्टसितको हिँडाइको रूपमा बयान गरिएको छ (गलाती ५:१६; एफेसी ५:८; १ यूहन्ना १:७)। यो भनेको पाइला-पाइला, दिन-दिनको कुरो हो; ख्रीष्टियन जीवन एउटा उफ्रने काम वा उड्ने काम नभएर एउटा हिँड्ने काम हो।
    4. ख्रीष्टियन हुर्काइका लागि “सबै यत्‍न” चाहिन्छ (२ पत्रुस १:५)। मनतातो ख्रीष्टियन बढ्न सक्दैन। ऊ बच्चै रहन्छ र उसले मण्डलीमा समस्या ल्याइरहन्छ र परमेश्वरको कामलाई अघि बढाउनुभन्दा त्यसलाई वाधा दिन्छ। उहाँ मनतातोपनलाई घृणा गर्नुहुन्छ भनेर येशूले बताउनुभयो (प्रकाश ३:१५-१६)।
    5. ख्रीष्टियन हुर्काइको पथ र प्रकृया वैयक्तिक हुन्छ भन्ने कुराको सङ्केत “आफ्नो” भन्ने शब्दले दिन्छ (२ पत्रुस १:५-७)। हामीले आफूलाई एक-अर्कासित दाँजेर नापजोख गर्न सक्दैनौं; हाम्रा आफ्ना-आफ्नै बाधा-अड्चन हुन्छन्, हामीले आफ्नो-आफ्नो ख्रीष्टियन जीवनभित्र फरक-फरक आत्मिक तथा नैतिक पृष्ठभूमभि हुलेका हुन्छौं।
    6. ख्रीष्टियन हुर्काइ नयाँ व्यवस्था अर्थात् ख्रीष्टअनुसार जिउनु हो (२ पत्रुस १:५-७)। ५ देखि ७ पदहरूले ख्रीष्टको बयान गर्दछन्। उहाँ प्रत्यक्ष रूपमा यी सबै कुरा हुनुहुन्छ: सद्‍गुण, ज्ञान, संयम, धैर्य, भक्त, भाइ‍भाइको माया, र प्रेम। ख्रीष्टियन जीवनको लक्ष्य भनेको “ख्रीष्टको परिपूर्णतारूपी कदको नामसम्म” (एफेसी ४:१३) आइपुग्नु हो।
    7. ख्रीष्टियन हुर्काइको लागि धैर्य चाहिन्छ (२ पत्रुस १:६)। ख्रीष्टियन जीवनमा यो सबैभन्दा महत्त्वपूर्ण कुराहरूमध्ये एउटा हो। धैर्य नभई हुन्न किनकि हुर्काइ एक प्रकृया हो अनि त्यहाँ थुप्रै परीक्षाहरू, वाधाहरू र वैरीहरू छन्। तपाईं लागेको लागै गर्नुपर्छ, प्रभुसँग हिँडेको हिँडै गर्नुपर्छ, उहाँमाथि भरोसा गरिरहनुपर्छ, प्रार्थना गरिरहनैपर्छ, बाइबल पढिरहनैपर्छ, मण्डली सभा गइरहनैपर्छ र उहाँको आज्ञापालन गरिरहनैपर्छ।
    8. ख्रीष्टियन हुर्काइ फलदायी जीवनको ग्यारेन्टी हो (२ पत्रुस १:८)। ख्रीष्टमा बढ्दै जानलाई प्रयत्‍न गर्न इच्छुक बन्ने हरेक विश्वासीले यस वर्तमान जीवनमा नै असल फल र आशिष पाउन सक्छ।
    9. कुनै विश्वासी बढिरहेको छैन भने ऊ पछि हट्दैछ (२ पत्रुस १:९)। यो भनेको नदीको धारको विपरित दिशामा उँभो-उँभो नाउ खियाउनुजस्तै हो। बहना खियाउञ्जेल मेरो प्रगति हुन्छ, तर खियाउन छोड्नेबित्तिकै नदीले मलाई उँधो-उँधो बगाउन थालिहाल्छ। त्यसैगरी विश्वासी पनि आत्मिक रूपमा अचल रहन सक्दैन। उसले भन्न सक्दैन, “म जहाँ आइपुगेको छु म यसमा सन्तुष्ट छु, त्यसैले म आफ्नो ख्रीष्टियन जीवनको यही तहमा रहिरहन्छु”। हामी अगाडि बढिरहनैपर्छ, नत्र हामी पछि हट्नेछौं।
    10. पछिहटाइले विश्वासीलाई टाढा देख्‍न नसक्ने र बिर्सने बनाउँछ (२ पत्रुस १:९)। ऊ यस संसारका फिक्री र अभिलाषाले भरिन्छ र उसले अनन्तताको बारेमा विचार गर्दैन। उसका आँखा ख्रीष्टमा भन्दा मान्छेमा हुन्छ। उसले महत्त्वपूर्ण कुराहरू बिर्सन्छ र महत्त्वहीन कुराहरूमा आफ्नो ध्यान लगाउँछ। पछि हटेको अवस्था एउटा खेदपूर्ण र फलहीन अवस्था हो।
    11. ख्रीष्टियन हुर्काइले मुक्ति दिलाउँदैन, तर यसले निजको मुक्तिलाई प्रमाणित गर्दछ (२ पत्रुस १:१०)। पत्रुसले २ पत्रुस १:१० मा दिएको चुनौती र पावलले २ तिमोथी २:१९ मा र याकूबले २:१७-१८ मा दिएका चुनौती एउटै हुन्। ख्रीष्टलाई स्वीकार गर्ने तर उहाँको निम्ति नजिउनेहरूसित “मैले मुक्ति पाएको छु” भन्ने कुनै बाइबलीय अधिकार छैन।
    12. ख्रीष्टियन हुर्काइको प्रतिफल मुक्ति होइन; तर इनाम चाहिँ हो (२ पत्रुस १:११)। हुर्काइले हामी स्वर्गमा पुग्नेछौं भनेर पत्रुसले सिकाइहेको होइन; हुर्काइले र ख्रीष्टको सेवा गराइले हामीले स्वर्गमा सम्पत्तिहरू थुपार्दछौं भन्ने उनको तात्पर्य हो। तुलना गर्नुहोस्, १ तिमोथी ६:१९।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

झूटो बोली

Study Series

झूटो बोली

डेविड क्लाउड

‍ कण्ठ गर्नुपर्ने पदहरू: लेवी १९:११; भजनसङ्ग्रह ५८:३; १०१:७; हितोपदेश १२:२२; २६:२४; यूहन्ना ८:४४; एफेसी ४:२५; प्रकाश २१:८

  1. झूट बोल्नु भनेको असत्य कुरा बोल्नु हो। झूट बोल्नु सत्य बोल्नुको उल्टो हो (एफेसी ४:२५)। यसको माने छल्नु, झुक्याउनु, बेइमान गर्नु, ठग्नु, झूटो कसम खानु हो। हेर्नुहोस्: भजनसङ्ग्रह २४:४; १२०:२; हितोपदेश २४:२८; १ पत्रुस ३:१०। झूट बोल्ने काम ठग्ने र चोर्ने कामसित आवद्ध छ किनकि त्यो पनि अन्धकारको उस्तै काम हो (लेवी १९:११; भजनसङ्ग्रह १०:७)। झूट बोल्ने काम घृणासित आवद्ध छ किनभने मैले यदि कसैलाई प्रेम गर्दछु भने म उसित झूट बोल्नेछैन (हितोपदेश २६:२२-२६)। झूट बोल्ने मानिसमाथि भर पर्न सकिन्न।
  2. झूट बोल्ने काम शैतानबाट शुरु भएको हो (यूहन्ना ८:४४)। झूट बोल्नेहरूले शैतानको चरित्रलाई दर्शाउँदैछन् र उसकै पाइला पछ्याउँदैछन्।
  3. झूट बोल्ने स्वभाव मानव जातिमा त्यसबेला प्रवेश गर्‍यो जब मानिसले परमेश्वरको विरुद्धमा पाप गर्‍यो; उसको हृदय अँध्यारो भयो र छलले भरियो (रोमी १:२८-२९; भजनसङ्ग्रह ५८:३; यर्मिया १७:९)। दुष्ट मानिसहरूको एउटा मुख्य अवगुण उनीहरूको झूटो बोली हो (भजनसङग्रह १०:४-७; ३६:१-३)।
  4. मूर्तिपूजा झूट हो अनि मानिसहरूले साँचो परमेश्वरलाई इन्कार गरेकाले आफैलाई धोका दिएका छन् र त्यसैले उनीहरू मूर्तिपूजा गर्दछन् (यशैया ४४:१८-२०)।
  5. परमेश्वरको व्यवस्थाले झूट बोल्न प्रतिबन्ध लगाएको छ (लेवी १९:११)। झूट बोल्ने काम परमेश्वरको विरुद्धमा हो किनकि त्यो उहाँको गुणको विपरित काम हो किनकि उहाँ सत्यको परमेश्वर हुनुहुन्छ (व्यवस्था ३२:४)। चारपटक पवित्र आत्मालाई “सत्यको आत्मा” भनिएको छ (यूहन्ना १४:१७; १५:२६; १६:१३; १ यूहन्ना ४:६)। परमेश्वरले झूट बोल्न सक्नुहुन्न (तीतस १:२)।
  6. झूट बोल्नु सानो पाप होइन; झूट बोल्ने कामलाई परमेश्वर घृणा गर्नुहुन्छ र त्यसको निम्ति सजायँ दिनुहुन्छ (भजनसङ्ग्रह १०१:७; प्रकाश २१:८; २२:१५)।
  7. परमेश्वरको व्यवस्था उहाँको पवित्रतालाई र मानिसको पापी अवस्थालाई प्रकट गर्न र पापीलाई ख्रीष्टकहाँ डोर्‍याउनलाई दिइएको थियो (१ तिमोथी १:९-११; रोमी ३:१९-२४; गलाती ३:२४-२५)।
  8. शुभ-समाचार यो हो कि परमेश्वरले मानिसहरूलाई मुक्ति प्रदान गर्नुभएको छ। येशू मानिसहरूलाई दोषी ठहर्‍याउनलाई होइन तर उनीहरूको पापबाट बचाउनलाई आउनुभयो (यूहन्ना ३:१७-१८)। येशू ख्रीष्टको सुसमाचारमा विश्वासीले पापको पूरै क्षमा र अनन्त जीवन पाउँदछ (एफेसी १:६-७)।
  9. हामी ख्रीष्टमा आएपछि हामीले पवित्र आत्मालाई र ख्रीष्टको स्वभावलाई प्राप्‍त गर्दछौं अनि हामीलाई पुरानो पापपूर्ण मान्छेलाई फाल्न र नयाँ धर्मी मानिसलाई पहिरन आज्ञा दिइएको छ (एफेसी ४:२०-२४)। हामीलाई सिकाइएको पहिलो कुरा नै झूटलाई फाल्नु हो (एफेसी ४:२५)। पुरानोलाई फाल्ने र नयाँलाई पहिरने यो प्रक्रियाचाहिँ “मनको आत्मामा नयाँ हुँदै” गएर (एफेसी ४:२३) गरिन्छ भन्ने कुरालाई ध्यान दिनुहोस्। रोमी १२:१-२ सित तुलना गर्नुहोस्। यो परमेश्वरको वचनको सामर्थ्यले हुने कुरा हो (एफेसी ५:२६; हिब्रू ४:१२; प्रेरित २०:३२)। हामी जब बाइबल पढ्छौं, कण्ठ गर्छौं, प्रचारिएको र सिकाइएको सुन्छौं र त्यसका शब्दहरूलाई मनन गर्छौं तब परमेश्वरको आत्माले हामीलाई पवित्र हुन र त्यस दिशातर्फ उन्मुख हुन सामर्थ्यवान् तुल्याउनलाई त्यस ईश्वरीय बुद्धिलाई प्रयोग गर्नुहुन्छ।
  10. धार्मिकतामा हिँडिरहेको धर्मी जनले आफूमाथि समस्या आइपर्ने भए तापनि र आफूले व्यक्तिगत नोक्सानि भोग्नुपर्ने भए तापनि सत्य बोल्नेछ (भजनसङ्ग्रह १५:४)। आफूहरू आगोको भट्टीमा फालिने भन्ने कुरा जानेर पनि शद्रक, मेशक र अबेदनेगोले सत्य नै बोले (दनियल ३:१६-१८)। तर आफ्‍नो ज्यानको मायाले दाऊदले पूजाहारी अहिमेलेकसित झूट बोले (१ शमूएल २१:१-२, ८-९)। अहिलेमेकले दाऊदलाई सहायता गरे किनकि उनले दाऊदको झूटलाई विश्वास गरे र उनी साँच्ची नै शाऊलको काममा हिँडेका हुन् भनी ठाने। फलस्वरूप अहिमेलेक लगायत नोबका सबै पूजाहारीहरू मारिए (१ शमूएल २२:९-१९)।
  11. विश्वासी जनले जब पाप गर्दछ परमेश्वरसितको उसको सङ्गति टुट्न जान्छ र त्यो सङ्गति स्वीकारद्वारा पुनःस्थापित गरिन्छ (१ यूहन्ना १:६-९)। यसको मतलब मैले गरेको काम पाप थियो भनेर म परमेश्वरसित सहमत हुनु हो। स्वीकार गर्ने काम पापलाई लुकाउने काम र त्यसको निम्ति बहानाहरू बनाउने र परिस्थितिलाई दोष्याउने र अरूहरूलाई दोष्याउने कामको उल्टो हो। साँचो विश्वासी परमेश्वरको सन्तान हो र परमेश्वरसितको उसको यो सम्बन्धलाई उसले गुमाउन सक्दैन किनभने ख्रीष्टमा उसले अनन्त जीवन पाएको छ, तर परमेश्वरसितको उसको मीठो सङ्गति भने उसले यस वर्तमान संसारमा गुमाउन सक्दछ।
  12. ख्रीष्टिय जीवनमा मृत्युसम्म पुर्‍याउने पाप भन्ने पनि हुन्छ (१ यूहन्ना ५:१७), अनि यस्तो पापको एउटा उदाहरण झूट बोल्ने पाप हो। हनानिया र सफिराले मण्डली अगुवाहरूसित झूट बोलेकाले र कपटी व्यवहार गरेकाले मरे (प्रेरित ४:३४ – ५:५)। उनीहरूले प्रभुको कामको लागि भनेर आफ्‍नो जग्गा बिक्री गरेर मण्डलीलाई पैसा दिए। आम्दानीको केही अंश आफ्‍नो निम्ति राख्ने निर्णय गरे, तरैपनि विश्वासीहरूका सामु एकदम आत्मिक देखिनलाई आफूहरूले सबै रकम दिइरहेको भन्ने कुरा अगुवाहरूसित गर्ने भनेर उनीहरूले आपसमा सल्लाह गरे। उनीहरू बर्नबासले जस्तै सुनाम कमाउन चाहन्थेँ तर उनीहरूको सुनाम झूट थियो। पैसाको केही भाग आफूसित राखेर उनीहरूले पाप गरेका होइनन् किनकि त्यो पैसा उनीहरूकै थियो र त्यसलाई उनीहरूले चाहे जस्तै चलाउन सक्थे (प्रेरित ५:४)। उनीहरूको पाप चाहिँ परमेश्वरसित झूट बोल्नु थियो। उनीहरूले परमेश्वरसित कहिले झूट बोले? तिनीहरूले परमेश्वरसित झूट बोले जब तिनीहरूले मण्डलीसित झूट बोले किनकि मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५)।
  13. झूटो बोली झूटा शिक्षकहरूको एउटा कुचरित्र हो (२ तिमोथी ३:१३)। तर परमेश्वरका सेवकहरू इमानदार र सीधा चालको हुनुपर्छ (प्रेरित ६:३; २ कोरिन्थी ४:१-२; १ थेस्सलोनिकी २:३)। ख्रीष्टका राजदूतहरूको हैसियतले हामीले यस अन्धकारपूर्ण संसारमा उहाँको सत्यवादी चरित्रलाई दर्शाउनुपर्दछ।

झूटो बोली सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. झूट बोल्नु भनेको के हो?
  2. झूट बोल्ने काम ठग्ने र चोर्ने कामसित कसरी आवद्ध छ?
  3. झूटो बोली कहाँ शुरु भयो?
  4. झूटो बोली मानव जातिमा कहिले र कसरी प्रवेश गर्‍यो?
  5. मानिसहरू किन मूर्तिलाई पूज्छन्?
  6. परमेश्वरको व्यवस्थाको कुन पदले झूट बोल्ने काममाथि प्रतिबन्ध लगाएको छ?
  7. परमेश्वरले झूट बोल्न सक्नुहुन्न भन्ने कुरा कुन पदले बताउँछ?
  8. झूट बोल्ने सबैको भाग अग्निकुण्डमा हुनेछ भनेर कुन पदले बताउँछ?
  9. परमेश्वरको व्यवस्थाको उद्देश्य के हो?
  10. यदि सबै मानिसहरूले झूट बोलेका छन् र यदि परमेश्वरले झूट बोल्ने सबैलाई अग्निकुण्डमा सजायँ दिनुहुन्छ भने, मानिसको लागि त्यहाँ के आशा छ त?
  11. ख्रीष्टिय जीवनमा पापमाथि विजयी बन्ने उपाय के हो?
  12. उनीहरू सत्य बोलेको कारण मारिन सक्छन् भन्ने जानेर पनि पछि नहटेका तीनजना यहूदीहरूको उदाहरण कुनचाहिँ हो?
  13. विश्वासी जनले पाप गर्दा के हुन्छ?
  14. पाप गर्ने ख्रीष्टियनले परमेश्वरसितको आफ्‍नो सङ्गतिलाई कसरी पुनःस्थापित गर्न सक्छ?
  15. हनानिया र सफिरा किन मारिए?
  16. ख्रीष्टका सेवकहरू किन इमानदार हुनुपर्छ?

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

व्यवस्था र ख्रीष्टियनको सम्बन्ध

Study Series

व्यवस्था र ख्रीष्टियनको सम्बन्ध

डेविड क्लाउड

पद कण्ठ: रोमी ३:१९-२४; ७:४; गलाती ३:१०, १३, २४-२६

मोशाको व्यवस्थाको बारेमा र ख्रीष्टियन जीवनमा यसको स्थानको बारेमा व्यापक अलमल विद्यमान छ। ठोस बाइबलीय आधारमा उभिएर यस विषयमा आफू निश्चित हुनु हरेक विश्वासीको लागि नित्तान्त आवश्यक छ।

नयाँ नियमका निम्न उल्लेखित मुख्य-मुख्य खण्डहरूबाट यो विषयवस्तु छर्लङ्ग हुन्छ:

रोमी ३:१९-२४

१) मोशाको व्यवस्था अथवा पुरानो करार मानिसहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र उनीहरूचाहिँ पापी छन् भनेर देखाउनलाई दिइएको थियो (रोमी ३:१९)। मानिसहरू स्वभावैले आफूलाई धर्मी ठान्दछन्। उनीहरू आफूलाई परमेश्वरको सिद्ध व्यवस्थासित तुलना गर्नुको सट्टा मानवीय धार्मिकताको मानदण्डसित वा एक अर्कासित तुलना गर्दछन्। परमेश्वरको मानदण्ले नापिँदा हामी सबै पापी छौं र हामीले उहाँका व्यवस्थाहरू भङ्ग गरेका छौं भनेर मानिसहरूले देख्‍नुपरेको छ।

जस्तै, दस आज्ञालाई विचार गर्नुहोस् (प्रस्थान २०:१-१७)। मानिसहरूले यी सबै आज्ञालाई भङ्ग गरेका छन्। हामीले एकमात्र साँचो परमेश्वरको स्थानमा अरू ईश्वरहरूलाई स्थापना गरेका छौं (प्रस्थान २०:३)। हामीले मूर्तिहरू बनाएका छौं र तिनलाई दण्डवत् गरेका छौं (प्रस्थान २०:४-५)। हामी परमेश्वरलाई भन्दा आफूलाई बढी पूज्दछौं र सेवा गर्दछौं र फलस्वरूप आफैलाई मूर्ति बनाएका छौं। हामीले प्रभुको नाउँलाई व्यर्थमा लिएका छौं (प्रस्थान २०:७)। हामीले विश्रामदिनलाई भङ्ग गरेका छौं र सबै दिनलाई उस्तै ठानेका छौं र परमेश्वरको सेवाका लागि एक दिन छुट्ट्याउनलाई पनि बेवास्ता गरेका छौं (प्रस्थान २०:८)। हामीले आफ्ना बाबुआमालाई अनादर गरेका छौं, उनीहरूका आज्ञाहरूलाई तोडेका छौं (प्रस्थान २०:१२)। हामीले हत्या गरेका छौं (प्रस्थान २०:१३)। हामीले व्यभिचार गरेका छौं (प्रस्थान २०:१४)। हामीले चोरेका छौं (प्रस्थान २०:१५)। हामीले झूट बोलेका छौं (प्रस्थान २०:१६)। हामीले लोभ गरेका छौं (प्रस्थान २०:१७)।

मोशाको व्यवस्थाले सिद्ध आज्ञापालनको माग गर्छ (व्यवस्था २७:२६)। एउटा मात्र आज्ञा तोड्नु भनेको सबै तोड्नु हो (याकूब २:१०)।

परमेश्वरले व्यवस्थाको केवल बाह्यरूपको मात्र सिद्ध आज्ञापालन होइन त्यसको भित्रीरूपको समेत आज्ञापालन गरेको माग गर्नुहुन्छ भन्ने कुरा येशूले सिकाउनुभयो। आफ्नो भाइलाई घृणा गर्नु भनेको परमेश्वरको नजरमा हत्या बराबर हो (मत्ती ५:२१-२२)। कुनै स्त्रीको अभिलाषा गर्नु भनेको परमेश्वरको नजरमा व्यभिचार बराबर हो (मत्ती ५:२७-२८)।

यसबाट स्पष्ट हुन्छ कि हामी सबै व्यवस्थालाई भङ्ग गर्ने दोषी हौं र परमेश्वरको नजरमा पापीहरू हौं।

२) मोशाको व्यवस्थाले मुक्ति दिन सक्दैन (रोमी ३:२०)

पुरानो करारले मुक्ति दिन सक्दैन किनकि यसले सिद्ध पवित्रताको माग गर्छ जब कि मानिस एक पतित पापी हो र ऊ त्यसका मागहरूको मानदण्डअनुसारको जीवन व्यतित गर्न सक्दैन। यसर्थ, परमेश्वरको व्यवस्थाले हामीलाई श्राप मात्र दिन सक्छ। “धर्मी ठहराइनु” भन्ने शब्दावलीको अर्थ हो परमेश्वरद्वारा धर्मी भनेर घोषणा गरिनु। परमेश्वरले पापीलाई मोशाको व्यवस्थाको आधारमा धर्मी ठहराउन सक्नुहुन्न किनकि यसले सिद्ध आज्ञापालनको माग गर्छ।

३) मुक्ति येशू ख्रीष्टमाथिको विश्वासद्वारा पाइन्छ (रोमी ३:२१-२४)।

मुक्तिको उपाय मोशाको व्यवस्थाद्वारा होइन तर येशूद्वारा हो। पापी मर्नुपर्छ भनेर व्यवस्थाले माग गर्‍यो, र येशू हाम्रो सट्टामा मर्नुभयो (रोमी ६:२३)। रगत बहाइनुपर्छ भनेर व्यवस्थाले माग गर्‍यो, र येशूले आफ्नो धर्मी रगत हाम्रा पापको सट्टाभर्नास्वरूप बहाउनुभयो (हिब्रू ९:२२)। येशूले क्रूसमा सम्पन्न गर्नुभएको कार्यले गर्दा विश्वास गर्ने पापीले विश्वासद्वारा परमेश्वरको धार्मिकता नै प्राप्‍त गर्न सक्दछ (रोमी ३:२१-२२)। विश्वासी सित्तैंमा धर्मी ठहराइन्छ। यसको अर्थ हो, मुक्ति परमेश्वबाटको वरदान हो जसको लागि ख्रीष्टले खर्च तिरिदिनुभयो। हामी उहाँको रगतले छुटाइन्छौं वा किनिन्छौं। “प्रायश्चित” शब्दको माने हो ऋण चुक्ता गरिनु, र येशूले हाम्रो निम्ति गरिदिनुभएको कार्य यही थियो। हामीले तिर्न नसक्ने ऋण चुक्ता गर्न आफूले तिर्नै नपर्ने मूल्य उहाँले तिरिदिनुभयो।

रोमी ७:१-४

१) ख्रीष्टियनको जीवन जिउने नियम व्यवस्था होइन (रोमी ७:१-२)। ख्रीष्ट हाम्रा नयाँ पति हुनुहुन्छ, अनि हाम्रो जीवनमाथि नयाँ करार अनुसार राज्य गर्नुहुन्छ। हाम्रो जीवनको नियम मोशाको व्यवस्था होइन तर नयाँ नियम शास्त्रहरूमा प्रकट गरिनुभएको ख्रीष्ट स्वयम् नै हाम्रो जीवनको नियम हुनुहुन्छ। पुरानो व्यवस्था अन्तर्गत रहेर परमेश्वरको सेवा गर्न खोज्नुचाहिँ एउटी स्त्रीजस्तै बन्नु हो जसले आफ्ना पतिलाई डरकै कारणले मात्र सेवा गर्छिन्। तिनले पकाउँछिन्, घर सफा गर्छिन् किनकि तिनी पतिदेखि डराउँछिन्। नयाँ व्यवस्था अन्तर्गत रहेर परमेश्वरको सेवा गर्नुचाहिँ अर्कै स्त्री जस्तै बन्नु हो जसले आफ्ना पतिलाई प्रेमको कारणले सेवा गर्छिन्। तिनले आफ्ना स्वामीका लागि पकाउँछिन्, घर सफा गर्छिन्, पतिले के गर्लान् भन्ने डरले होइन, तर बरू यस कारणले कि पतिले तिनलाई प्रेम गर्छन् र तिनीसित यति असल व्यवहार गर्छन् कि तिनले पनि साटोमा उनलाई प्रेम गर्छिन्।

२) मोशाको व्यवस्थाले विश्वासीलाई दोषी ठहराउन सक्दैन (रोमी ७:३)। विश्वासी व्यवस्थाका निम्ति मरिसकेको छ जसरी एउटी स्त्री तिनका मृत पतिका निम्ति मरिसकेकी हुन्छिन्। प्रभु येशू ख्रीष्टले क्रूसमाथि हाम्रो दण्ड-आज्ञा आफैमाथि लिनुभयो र हामी अनन्त दण्डको सबै डरदेखि उम्केर उहाँमा सुरक्षित भएका छौं।

३) ख्रीष्टियनको एउटा नयाँ सामर्थ्य छ जोचाहिँ उसभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मा हुनुहुन्छ (रोमी ७:६; ८:१)। विश्वासीले ख्रीष्टको सेवा पवित्र आत्माद्वारा गर्दछ, आफ्नै शक्तिद्वारा होइन। तुलना गर्नुहोस्: गलाती २:२०।

२ कोरिन्थी ३:५-१८

उपर्युक्त खण्डमा पुरानो करारलाई नयाँसित तुलना गरिएको छ।

१) पुरानो करारचाहिँ मोशाको व्यवस्था थियो (२ कोरिन्थी ३:७; १३)। त्यो “ढुङ्गाहरूमा लेखिएको र खोपिएको थियो”। यसले विशेष गरी दस आज्ञालाई जनाउँछ (व्यवस्था ४:१३; ५:६-२२)।

२) पुरानो करार मृत्युको सेवा थियो (२ कोरिन्थी ३:७), र दोषी ठहराउने सेवा थियो (२ कोरिन्थी ३:९)। यसो हुनुको कारण यो थियो कि त्यसले हृदयबाटकै सिद्ध आज्ञापालनको माग गर्थ्यो अनि हामी पापी भएकाले त्यस मानदण्डअनुसार आज्ञा पालन गर्न असक्षम थियौं।

३) पुरानो करार ख्रीष्टमा मेटिएर गयो (२ कोरिन्थी ३:११)। विश्वासीको जीवनको नियम त्यो होइन।

४) विश्वासीको नयाँ व्यवस्था छ (२ कोरिन्थी ३:१७-१८)। विश्वासी मोशाको व्यवस्थामुनि छैन भन्दैमा हामी व्यवस्थाहीन भएका छौं भन्ने होइन। वास्तवमा, हामीसित अझ ठूलो व्यवस्था छ। त्यो हो ख्रीष्टको व्यवस्था। हामी उहाँको स्वरूपमा ढालिन्छौं (रोमी ८:२९)। पवित्र शास्त्रहरूमा उहाँलाई हेर्दै-हेर्दै जाने क्रममा हामी उहाँको स्वरूपमा बदलिँदै जान्छौं।

गलाती ३:१०-१४, २४-२६

१) मोशाको व्यवस्था, अथवा पुरानो करारले सबै कुरामा सिद्ध आज्ञापालनको माग गर्‍यो; त्यसैले मानिसहरू त्यसद्वारा मुक्ति पाउन सक्दैनन् (गलाती ३:१०-१२)। त्यसले सिद्ध पवित्रताको माग गरेकोले त्यसले पतित पापीमाथि श्राप मात्र ल्याउन सक्दछ। हामी त्यसका पवित्र मागहरूको नापअनुसार जिउन सक्दैनौं।

२) व्यवस्थाले माग गरेको सजायँ ख्रीष्टले लिदिनुभयो (गलाती ३:१३)। हामीलाई अनन्त मुक्ति प्रबन्ध गर्नलाई पापीको सट्टामा उहाँ मर्नुभयो।

३) ख्रीष्टकहाँ डोर्‍याउनलाई मोशाको व्यवस्था हाम्रो शिक्षक भएको छ (गलाती ३:२४)। व्यवस्थाको मुख्य उद्देश्य यही हो। पापीलाई उसको पतित र हराएको अवस्था देखाउनलाई र उसले आफ्नो विश्वास ख्रीष्टमाथि राखोस् भनेर नै परमेश्वरले व्यवस्था दिनुभएको हो।

४) विश्वासी मोशाको व्यवस्थाको अधीनमा राखिएको छैन (गलाती ३:२५)। विश्वासीको व्यवस्था मोशाको व्यवस्था होइन। विश्वासीको नयाँ व्यवस्था छ र त्यो हो ख्रीष्टको व्यवस्था। यसको माने हो ख्रीष्टको स्वरूपमा बदलिनु। विश्वासीको नयाँ व्यवस्थालाई आत्माको व्यवस्था पनि भनिएको छ (गलाती ५:१६-१८)। आत्मामा हिँडेर अर्थात् पवित्र आत्माको आज्ञापालन गरेर र दिन प्रति दिन उहाँमा सुम्पिएर हिँड्दा विश्वासी जन शरीरको व्यवस्था पूरा गर्नदेखि बचाइन्छ।

कलस्सी २:१३-१७

१) ख्रीष्टले पुरानो करार अर्थात् मोशाको व्यवस्थालाई हटाइदिनुभयो (कलस्सी २:१४)। त्यसका मागहरू पूरा गर्नुभई र हामीले त्यसलाई भङ्ग गरेको बापत त्यसको मूल्य तिर्नुभएर नै उहाँले व्यवस्थालाई हटाइदिनुभयो।

२) विश्वासीले पुरानो करार पछ्याउँदैन (कलस्सी २:१६-१७)। व्यवस्थाभित्र प्रतीक (types) र छायाँहरू (shadows) रहेका छन् जसले ख्रीष्टलाई औंल्याउँदछन्, तर नयाँ नियम अन्तर्गतको विश्वासीसित ख्रीष्ट स्वयम् हुनुहुन्छ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

ओहोदा र अवस्था

Study Series

ओहोदा र अवस्था

डेविड क्लाउड

पद कण्ठ: एफेसी १:३; ५:८; हिब्रू १२:६-८

ख्रीष्टियन जीवनमा अर्को नित्तान्त आवश्यक कुरा ओहोदा र अभ्यासको बीचको भिन्नता बुझ्नु अर्थात् सम्बन्ध र सङ्गतिको भिन्नता बुझ्नु हो। यहाँ भन्न खोजिएको कुरा के हो भने एकातिर परमेश्वरको सामु विश्वासी जनको एउटा नयाँ ओहोदा र सम्बन्ध छ जुनचाहिँ अनन्त र सिद्ध र अपरिवर्तनीय छ र यो पूर्णरूपमा ख्रीष्टमा अडेको छ, तर अर्कोतिर यस वर्तमान संसारमा विश्वासी जनको एउटा अभ्यास वा हिँडाइ पनि छ जुनचाहिँ सिद्धभन्दा कमै छ र योचाहिँ उसको आज्ञाकारितामा निर्भर हुन्छ।

यस सत्यतालाई नबुझ्दा कैयन् ख्रीष्टियनहरू निराश बनेका छन् वा दुर्घटनाको शिकार समेत बन्न पुगेका छन्। यस्तै अनुभव प्रख्यात बाइबल टिप्पणीकार ह्यारी आइरनसाइड (Harry Ironside) लाई झण्डै भएको थियो। उसको ख्रीष्टियन जीवन साल्भेसन आर्मी (Salvation Army) को सदस्यको रूपमा निकै जोशका साथ सुरु भएको थियो। पापरहित सिद्धताको दोस्रो आशिष (second blessing of sinless perfection) यही जीवनमा अनुभव गर्न सकिन्छ भन्ने उनीहरूको शिक्षालाई विश्वास गर्दै ह्यारी उक्त अनुभव प्राप्‍त गर्न अगाडि बढे। उनी उपवास बसे, प्रार्थना गरे र आफूले जसरी जानेका थिए त्यसरी यत्‍नसित परमेश्वरको खोजी गरे। अन्तमा उनी कुनै जङ्गलमा पसे र जति दिन आवश्यक परे पनि त्यहाँ बस्ने अठोट गरे र उनले भन्ठानेका दोस्रो आशिष अनुभव गरे। उनी साल्भेसन आर्मीको सभामा फर्के र उभिएर “मैले प्राप्‍त गरेँ” भन्दै गवाही दिए। तर आफ्नो जीवनमा “पुरानो मान्छे” त अझै उपस्थित रहेछ भनेर उनले चाँडै नै महसुस गरे। उनी यति निराश बने कि उनको भताभुङ्ग मनस्थितिले गर्दा उनी अस्पतालमा भर्ना गरिए। अब उनले निर्णय गरे, म यो ख्रीष्टियन जीवनलाई बिर्सिदिन्छु किनकि यसले काम गर्दैन रहेछ [यो साँचो रहेनछ], तर उसलाई बाइबलीय पवित्रीकरणको ठीक-ठीक शिक्षा सिकाउनलाई परमेश्वरले उसँकहाँ दुईजना विश्वासीहरू पठाउनुभयो। तब उनले आफ्नो ख्रीष्टियन जीवनलाई सही जगमाथि बसाल्न सके र ख्रीष्टको एक ज्यादै फलदायी सेवक बन्न पुगे।

सम्बन्ध र सङ्गति

एक विश्वासीलाई ख्रीष्टको रगतले गर्दा परमेश्वरको परिवारभित्र पुत्रको रूपमा ग्रहण गरी सकिएको छ (गलाती ३:२६) र यो सम्बन्ध कहिल्यै बदलिनेछैन। यो त ठूलो मूल्य तिरेर किनिएको वरदान हो। परमेश्वरले विश्वासीलाई आफ्नो परिवारबाट कहिल्यै निस्कासन गर्नुहुनेछैन। तर अर्कोतिर यस वर्तमान संसारमा परमेश्वरसितको मेरो सङ्गतिचाहिँ म ज्योतिमा हिँडिरहेको छु वा छैन भन्ने कुरामा निर्भर रहन्छ। पहिलो यूहन्नाको पत्रको विषय नै परमेश्वरसित सङ्गतिमा हिँड्ने बारेमा हो (१ यूहन्ना १:५-७)। म अन्धकारमा हिँड्छु भने म सङ्गतिबाट बञ्चित छु, तर यसले मेरो सम्बन्धलाई बदल्दैन। परमेश्वरले आफ्ना सन्तानलाई अफाल्नुहुन्न; उहाँले तिनीहरूलाई सङ्गतिमा फर्काएर ल्याउनलाई तिनीहरूलाई छडी लगाउनुहुन्छ (हिब्रू १२:६-१०)।

सम्बन्ध र सङ्गतिलाई मानवीय सम्बन्धहरूद्वारा छर्लङ्ग पार्न सकिन्छ। म आफ्ना बाबुआमाको परिवारमा जन्मे र म एउटा छोरा हुँ। त्यसलाई कुनै पनि कुराले बदल्न सकेको छैन। त्यस्ता समयहरू नआएका होइनन् जब म अनाज्ञाकारी र मूर्ख बने र मेरो बुबालाई नाराज बनाएँ र ती घडीहरूमा हाम्रो आपसी सङ्गति राम्रो थिएन। मेरो बुबाले मलाई प्रेम गरी नै रहनुभयो र मसित सङ्गति गर्नलाई तिर्सना गर्नुभयो तर त्यो सम्भव हुनलाई मैले पश्चात्ताप नगरी हुँदैनथ्यो, उहाँलाई आदर नगरी हुँदैनथ्यो। परमेश्वरको परिवार पनि त्यस्तै हुन्छ।

ओहोदा र अभ्यास, दर्जा र हिँडाइ

यसलाई बयान गर्ने अर्को तरिका हो ओहोदा र अभ्यास अथवा दर्जा र हिँडाइ। एफेसीको पत्रलाई विचार गर्नुहोस्।

सुरुका तीन अध्यायहरूले विश्वासीको नयाँ ओहोदा वा ख्रीष्टमा भएको उसको दर्जालाई बयान गर्दछन् जब कि आखिरी तीन अध्यायहरूले यस संसारमा उसको अभ्यास वा हिँडाइलाई बयान गर्दछन्।

एफेसी १-३ मा चाबी शब्दावली हो “ख्रीष्टमा” (एफेसी १:१, ३, १०, १२, २०; २:६, १०, १३; ३:६, ११)। परमेश्वरको नजरमा विश्वासी ख्रीष्टमा छ। उसलाई क्षमा गरिएको छ, धर्मी ठहराइएको छ, छुटाइएको छ, पुत्रको रूपमा ग्रहण गरिएको छ र अनन्त जीवन दिइएको छ। विश्वासीलाई “स्वर्गीय स्थानहरूमा ख्रीष्टमा सबै आत्मिक आशिषहरूले आशिषित पारिएको छ” (एफेसी १:३)। यो नयाँ ओहोदा विश्वासीका कामहरूमा आधारित छैन। यो त ख्रीष्टमा दिइएको परमेश्वरबाटको सित्तैंको वरदान हो (एफेसी २:८-९)। ख्रीष्टको आफ्नै रगत यसको मूल्य थियो (एफेसी १:७)। तसर्थ, यो नयाँ ओहोदा पक्का छ, अपरिवर्तनीय छ।

अध्याय ४-६ मा विषय बदलिन्छ र तिनमा यस संसारमा हुँदा विश्वासीको अभ्यासको चर्चा गरिन्छ। चाबी शब्द हो “हिँडाइ” (एफेसी ४:१, १७; ५:२, ८, १५)। यस शब्दले ख्रीष्टियन जीवन जिउने कुरालाई जनाउँछ। विश्वासी आज्ञाकारी भई “हिँड्ने” काम गर्दैन भने प्रभुसित उसको सठीक सङ्गति भइरहेको हुँदैन। ऊ पापमा हिँड्छ भने उसले प्रभुलाई बेखुशी पार्छ र उसभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्छ (एफेसी ४:३०)। तर उसले ख्रीष्टमा भएको उसको ओहोदालाई गुमाउँदैन। त्यो त सुनिश्चित छ, पक्का र अनन्त छ।

ख्रीष्टियन जीवनका यी दुई पक्षहरूलाई एफेसी ५:८ मा सँगसँगै प्रस्तुत गरिएको देख्‍न सकिन्छ। “अब” [अहिले नै] विश्वासी ज्योतिको सन्तान हो। यो वर्तमान सम्पत्ति र ओहोदा हो जुनचाहिँ ख्रीष्टको खर्चले किनियो र विश्वासैद्वारा सित्तैंमा वरदानस्वरूप प्राप्‍त गरियो। हामी ज्योतिका सन्तान भएका हुनाले हामी ज्योतिका सन्तानझैं हिँड्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने, हामीले मुक्ति पाएकाले र हामीसँग अनन्त जीवन भएकोले र हामी परमेश्वरका सन्तान भएकाले हामी त्यसअनुसार हिँड्नुपर्छ।

निष्कर्ष

१) विश्वासीले यी कुरा बुझ्दैनन् भने, उसले पाप गर्न पुग्दा ऊ एकदम निराश बन्न सक्छ र अलमलमा पर्न सक्छ। नयाँ गरी जन्मेको परमेश्वरको सन्तानले उसको मुक्ति गुमाउन सक्छ भनेर विश्वास गर्नेहरूले पवित्र शास्त्रको यस सुस्पष्ट शिक्षालाई बुझेका हुँदैनन्।

२) विश्वासीको दैनिक हिँडाइले उसको ओहोदालाई कुनै असर पार्दैन भन्दैमा उसलाई पाप गर्न कुनै बाहना छैन। हामीले यसभन्दा अघिको पाठमा देखिसक्यौं, आफ्नो प्रभुसित सङ्गतिमा नहिँड्ने विश्वासीले कति ठूलो नोक्सानी भोग्नुपर्छ। साथै हामीले यो पनि अध्ययन गरिसक्यौं, मुक्तिको स्वीकार गर्ने व्यक्ति मुक्तिको भागीदार नहुन सक्छ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

विश्वासीको अनन्त सुरक्षा (३)

Study Series

विश्वासीको अनन्त सुरक्षा (३)

डेविड क्लाउड

पद कण्ठ: एफेसी ४:३०; हिब्रू १२:८; १ यूहन्ना १:६; २:१-२

अनन्त सुरक्षा सम्बन्धीको यस अध्ययनलाई टुङ्ग्याउनु अगाडि हामी अझै एउटा अन्तिम प्रश्नको जवाफ दिनेछौं।

यदि आज्ञा नमान्ने विश्वासीले आफ्नो मुक्ति गुमाउँदैन भने उसलाई के हुन्छ त?

१) पापमा हिँडिरहेको विश्वासी प्रभुसितको र उहाँका जनहरूसितको सङ्गतिबाट बञ्चित हुन्छ (१ यूहन्ना १:३-७)

ख्रिष्टसित कसरी सङ्गतिमा रहिरहन सकिन्छ भनेर विश्वासीहरूलाई सिकाउनलाई यूहन्नाले एउटा पत्र लेखे (१ यूहन्ना १:३)। जब हामी अन्धकारमा नभएर ज्योतिमा हिँडिरहन्छौं तब हामी ख्रीष्टसितको सङ्गतिमा रहिरहन्छौं। ज्योतिमा हिँडिरहनु भनेको परमेश्वरको वचन पालन गर्दै हिँड्नु हो। अन्धकारमा हिँड्नु भनेको अनाज्ञाकारी भई हिँड्नु हो। यसर्थ पापमा हिँडिरहेको विश्वासी ख्रीष्टसितको सङ्गतिमा हिँडिरहेको हुँदैन। ख्रीष्टसितको उसको सम्बन्ध टुटेको त हुँदैन तर सङ्गति टुटेको हुन्छ। यो ठूलो नोक्सानी हो। ख्रीष्टसितको सङ्गतिबाट बञ्चित भई जिउनु भनेको मसित उहाँको बुद्धि नहुनु हो, उहाँको सामार्थ्य नहुनु हो, उहाँको आशिष नहुनु हो। यस्तो अवस्थामा हुँदा यदि मैले कुनै ठूलो निर्णय गरेँ भने त्यो निर्णय निःसन्देह गलत हुनेछ र त्यसले मलाई परमेश्वरको इच्छादेखि झन् पर धकेल्नेछ।

२) पापमा हिँडिरहेको विश्वासीले आफूभित्र बास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्दछ (एफेसी ४:३०)

पवित्र आत्मा शोकित बन्नुको तात्पर्य मेरो जीवनमा उहाँको काम अवरुद्ध हुनु हो। उहाँ नै विश्वासीको शान्तिदाता र सामर्थ्य र अगुवा र शिक्षक हुनुहुन्छ। जब उहाँ शोकित बन्नुहुन्छ तब मैले उहाँको आशिष गुमाउँदछु; म आत्मिक रूपमा बढ्न छाड्छु; मसँग आत्मिक सामर्थ्य, ज्ञान र बुद्धि हुँदैन।

३) पापमा हिँडिरहेको विश्वासीलाई प्रभु येशू ख्रीष्टले सहायता गर्नुहुन्छ (१ यूहन्ना २:१-२)

हामीले पाप गर्दा परमेश्वरले हामीलाई परित्याग गर्नुहुन्न; हाम्रो एकजना वकिल हुनुहुन्छ, अर्थात् एकजना सहायक। “येशू” नाउँको अर्थ हो मुक्तिदाता, अनि जब म पाप गर्न पुग्छु उहाँ मेरो मुक्तिदाता हुन छाड्नुहुन्न। येशूले मलाई सहायता गरिरहनुभएको हुन्छ, मेरो निम्ति अन्तर्विन्ती गर्दै, मलाई पुनःस्थापित गर्न खोजिरहनुभएको हुन्छ जसरी उहाँले पत्रुसको लागि गर्नुभयो जुन रात पत्रुसले उहाँलाई तीनपटक सम्म इन्कार गरे।

४) पापमा हिँडिरहेको विश्वासीलाई पिताले ताडना दिनुहुन्छ (हिब्रू १२:५-११)

आफ्ना सन्तानले पाप गरे भने परमेश्वरले उनीहरूलाई त्यत्तिकै छाड्नुहुन्न। उहाँले हामीलाई छडी लगाउनुहुन्छ। विश्वासीले पश्चात्ताप गर्न नै मानेन भने त्यहाँ पापसम्म पुर्‍याउने पाप पनि हुन्छ (१ यूहन्ना ५:१६-१७)। कोरिन्थका कतिजना विश्वासीहरूले यस्तो पाप गरेका थिए (१ कोरिन्थी ११:२७-३०)।

५) पापमा हिँडिरहने विश्वासीले विनाशको कटनी गर्नेछ (गलाती ६:७-८)

पापको कारण हामीले यस वर्तमान संसारमा मूल्य तिर्नुपर्ने हुन्छ। मुक्ति पाएको हुँदैमा “जसले जे छर्छ उसले त्यसैको कटनी गर्नेछ” भन्ने नियमबाट हामी उम्कन सक्दैनौं। धेरैजना विश्वासीहरूले भयङ्कर मूल्य तिरेका छन् जस्तै व्यभिचार, रिस र सांसारिक जीवनले गर्दा कतिले आफ्नो दाम्पत्य जीवन गुमाएका छन्; छोराछोरीको हृदहयहरू गुमाएका छन्; आफ्ना सेवाकार्यहरू गुमाएका छन्। स्वीकार गरेर सबै पाप क्षमा हुन्छन्, तर पापका फल त रहिरहन्छन्। जस्तै, पारपाचुके गरेका धेरैजना विश्वासीहरूलाई म चिन्दछु जसले आफ्नो पाप स्वीकारेका छन् तर त्यो पारपाचुकेको वास्तविकता बिलाएर गएको त छैन, बरु जीवनपर्यन्त त्यसका सबै विरुप र चोटपूर्ण बहूरूपी परिणामहरू त्यहाँ विद्यमान नै छन्।

६) पापमा हिँडिरहने विश्वासीले सेवाकार्य गर्ने र फल फलाउने सुअवसरहरूलाई फिर्ता नपाउने गरी गुमाउँछन् (एफेसी ५:१४-१७)

पापमा हिँड्ने ख्रीष्टियनले क्षमा पाउन सक्छ तर गुमाइएका सुअवसरहरूलाई उसले फिर्ता पाउन सक्दैन। इस्राएलीहरूले परमेश्वरलाई शङ्का गरे त्यसैले उनीहरू ४० वर्षसम्म उजाडस्थानमा घुमिरहन बाध्य भए यद्यपि उनीहरूले पश्चात्ताप गरे (व्यवस्था १:३८-४५)। धेरैजना विश्वासीहरूले फिर्ता नपाउने गरी त्यस्ता सुअवसरहरू गुमाएका छन् किनकि उनीहरूले आफूहरू पछि हटेको र परमेश्वरको इच्छाबाट टाढा रहेको अवस्थामा हुँदा भारी निर्णयहरू गरे; जस्तै, गलत व्यक्तिसँग विवाह गरे वा गलत पेशा अँगाले। जीवनको घडीलाई उल्टो दिशामा घुमाउन सकिन्न, फेरि सुरुदेखि जिउन सकिन्न, त्यसैले हामी एकदम होशियार भएर जिउनुपर्छ र प्रत्येक पाइलामा हामी परमेश्वरको इच्छामा हिँडिरहेकै हुनुपर्छ।

७) पापमा हिँडिरहने विश्वासीले ख्रीष्टको न्यायआसनमा नोक्सानी भोग्नेछ (१ कोरिन्थी ३:११-१५)

योचाहिँ नयाँ नियममा अनन्त सुरक्षाको सबैभन्दा सुस्पष्ट प्रतिज्ञाहरूमध्ये एउटा हो। प्रभुलाई बेखुशी पार्ने, पापमा जिउने विश्वासीले यस संसारमा गरेका उसका कामहरू जलेर जानेछन् तरैपनि ऊ आफैचाहिँ बाँच्नेछ। उसका कामहरू जल्नेछन् तर ऊ जल्नेछैन। यो ज्यादै सुन्दर सत्यता हो, तरैपनि आफ्नो सिङ्गो पार्थिव जीवन परमेश्वरको इच्छाभन्दा अरू कुरामा स्वाहा पारिनु, मसँग येशू बेसरी नाराज हुनु, उहाँको महिमाको लागि मैले कुनै इनाम नपाउनु, “स्याबास! तिमी असल र विश्वासयोग्य दास” भन्ने बोली उहाँको मुखबाट सुन्न नपाउनु ‍– त्यसलाई त ज्यादै ठूलो नोक्सानी ठान्नुपर्छ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।