बाइबल अर्थ प्रकाशनका चार चाबी सिद्धान्तहरू

Study Series

बाइबल अर्थ प्रकाशनका चार चाबी सिद्धान्तहरू

डेविड क्लाउड

पद कण्ठ: व्यवस्था २९:२९; १ कोरिन्थी २:१३; २ तिमोथी २:१५

परमेश्वरलाई दर्शाउने खालको ख्रीष्टियन जीवन जिउन सक्नलाई बाइबल राम्ररी बुझेको हुनुपर्छ, र यसका लागि बाइबल अर्थ प्रकाशनका कमसेकम आधारभूत सिद्धान्तहरूको ज्ञान हुनु जरूरी छ। यस पाठमा हामी त्यस्ता चारओटा सिद्धान्तहरूलाई हेर्नेछौं:

    1. शब्दका परिभाषा निर्धारण गर्ने र खण्डहरूलाई अर्थ लगाउने काममा सबभन्दा महत्त्वपूर्ण कुरा सन्दर्भ (context) हो।

      बाइबल अर्थ प्रकाशनको सर्वप्रथम र सर्वोपरि नियम भनेको सन्दर्भको आधारमा त्यसको अर्थलाई परिभाषित गर्नु हो। कुनै पनि अर्को नियम यो जत्तिको महत्त्वपूर्ण छैन। यसैकारण आफ्नो अगाडि रहेको बाइबलको त्यो खण्ड, अध्याय र पुस्तकको विषयवस्तु के हो आफूलाई थाहा हुनु जरूरी छ। हामी सन्दर्भद्वारा डोर्‍याइयौं भने, बाइबलले आफ्नो अर्थ आफैले खोल्दो रहेछ भनी हामीले जान्नेछौं। तर यसको ठीक विपरितमा, झूटा शिक्षकहरूले पदहरूलाई टेढामेढा पार्दै तिनको सन्दर्भलाई वास्तै नगरी तिनमाथि आफ्ना पूर्वनिर्धारित अर्थहरू लाद्‍ने काम गर्दछन्। जस्तै, नेपालमा अहिले त्यस्ता कोरियाली झूटा शिक्षकहरू पसेका छन् जोहरू मानिसहरूसँग घर-घरमा बाइबल अध्ययनहरू गराउन एकदमै अग्रसर छन्, तर तिनीहरूले स्रोताहरूलाई पदहरू टिपोट गर्न दिँदैनन्, र चर्चा गरिएको पदको मास्तिर वा मन्तिर हेर्न दिँदैनन्। यो त आत्मिक पतनको सुत्र बाहेक अरू केही होइन!

      बाइबललाई सन्दर्भको आधारमा कसरी अर्थ लगाउने भन्ने कुरा दर्शाउनलाई तल केही उदाहरणहरू दिइएका छन्:

    1. २ तिमोथी २:१६ मा “अशुद्ध र व्यर्थका बकबक” भन्ने वाक्यांशलाई विचार गर्नुहोस्। यसको माने के हो? हामीले सबभन्दा पहिला के गर्नुपर्छ भने सन्दर्भलाई हेर्नुपर्छ। त्यसबाट हामीले के सिक्छौं भने “अशुद्ध र व्यर्थका बकबक” भनेको ती कुरा हुन् (१) जो खाँटी शिक्षाको विपरित छन् (पद १६, १८), (२) जसले गडबड र खराब फल फलाउँछन् (पद १६), र (३) जो ख्रीष्टियन जीवनका लागि हानिकारक छन् (पद १७)।
    2. तीतस ३:९ मा “मूर्खतापूर्ण विवादहरू” (foolish questions) भन्ने वाक्यांशलाई विचार गर्नुहोस्। यसको माने के हो? फेरि, सन्दर्भले नै वाक्यांशलाई परिभाषित गर्दछ। मूर्खतापूर्ण विवादहरू (अथवा “मूर्ख प्रश्न”) ती हुन् (१) जसले झगडा उत्पन्न गराउँछन् (पद ९), (२) जो बेफाइदाका हुन्छन् (पद ९), र (३) जसलाई झूटा शिक्षकहरूले प्रयोग गर्दछन् (पद १०)।
    3. २ पत्रुस १:२० को “पवित्रशास्त्रको कुनै पनि भविष्यवाणी आफ्नो निजी व्याख्याबाट भएको होइन” भन्ने वाक्यलाई विचार गर्नुहोस्। व्याखाकारहरूले यसलाई विभिन्न तरिकाले अर्थ लगाउने गर्छन्, तर यसको माने त यसपछिको पदमा प्रस्टै दिइएको छ। यसको माने यो हो, बाइबलका मानवीय लेखकहरूले लेखेका शब्दहरू उनीहरूको आफ्नै रचना थिएनन्, तर उनीहरूले जे लेखे ती पवित्र आत्माद्वारा तिनीहरूलाई दिइएका थिए।
    4. २ तिमोथी ३:१७ को “सिद्ध” भन्ने शब्दलाई विचार गर्नुहोस्। के यसको माने पापरहित हुनु भनेको हो? होइन, यस शब्दलाई उक्त पदमै परिभाषित गरिएको छ। यसको माने हो, “हरेक असल कामका लागि पूर्णरूपले सुसज्जित हुनु”। परमेश्वरको इच्छा पूरा गर्नलाई पूर्णरूपले सुसज्जित हुनु भन्ने अर्थमा सिद्ध हुनु भन्ने कुरालाई जनाइँदैछ यहाँ।
    5. याकूब २:२४ र रोमी ३:२४ र ४:५ का बीच सतहमा देखिने अन्तर्विरोधलाई विचार गर्नुहोस्। यो सतही अन्तर्विरोध समाधान हुन्छ जब हामी सन्दर्भलाई विचार गर्दछौं। एकातिर पावल मुक्तिको विषयमा चर्चा गर्दैछन्, कसरी एक हराएको मानिस परमेश्वरसित ठीक सम्बन्धमा आउन सक्छ, अनि उनले बताउँदछन् कि पापीले मुक्तिका लागि येशू ख्रीष्टमा भएको अनुग्रहमाथि विशुद्धरूपमा भरोसा गर्नुपर्छ। यस अर्थमा मुक्तिचाहिँ केवल अनुग्रहले पाइन्छ, कुनै पनि कामबिना। अर्कोतिर याकूबले ख्रीष्टियन सेवाकार्यको विषयको चर्चा गर्दैछन्, कसरी एक मुक्ति पाइसकेको व्यक्तिले यस जीवनमा परमेश्वरलाई खुशी पार्न सक्दछ। उनले बताउँदछन् कि बचाउने खालको विश्वासचाहिँ कामहरूद्वारा प्रमाणित हुने कुरा हो। यहाँ कुनै अन्तर्विरोध नै छैन यदि हामीले दुवै भनाइलाई आ-आफ्नै सन्दर्भको परिवेशमा विचार गर्‍यौं भने। पावलले एक मुक्ति नपाएको पापीको दृष्टिकोणलाई मध्यनजर गर्दै कुरा गर्दैछन्। पापीले मुक्ति पाउन येशू ख्रीष्टलाई अखण्डित रूपमा भरोसा गर्नुपर्दछ; उसले आफ्नै फोहोर धार्मिक कामहरूलाई (यशैया ६४:६), स्वधर्मलाई (रोमी ९:३०-३३) भरोसा गर्न छाड्नुपर्छ र आफ्नो सर्वस्वले उहाँको सिद्ध र पूर्ण उद्धारकार्यमाथि पूरै भरोसा गर्दै प्रभु येशू ख्रीष्टमाथि भर पर्नुपर्छ। अर्कोतिर, याकूबले ख्रीष्टियनको दृष्टिकोणलाई मध्यनजर गर्दै कुरा गर्दैछन्। आफूले येशू ख्रीष्टमाथि विश्वास गरेको दाबी एक ख्रीष्टियनले गरेको हुन्छ। तसर्थ उसले यत्‍नसित परमेश्वरको सेवा गर्नुपर्छ र उहाँका आज्ञाहरूमा हिँड्नुपर्छ। विद्रोहमा जिउनेहरू र परमेश्वरको वचनलाई बेवास्ता गर्नेहरूले चाहिँ आफूसित बचाउने खालको विश्वास नभएको कुरा प्रकट गरिरहेका हुन्छन्; उनीहरूका कामहरूले यो देखाउँदैछन् कि उनीहरूले आफैलाई धोका दिँदैछन्।
    1. लेखोटलाई लेखोटसित तुलना गरिनुपर्छ।

      बाइबल अर्थ प्रकाशनको अर्को महत्त्वपूर्ण नियम यो हो कि हामीले लेखोटलाई लेखोटसित दाँज्नुपर्छ (१ कोरिन्थी २:१३)। यसैकारण हो, प्रति सन्दर्भ (cross reference) पदहरू समेत छापिएको बाइबल ज्यादै उपयोगी हुन्छ, साथै Treasury of Scripture Knowledge प्रयोग गर्नु राम्रो हुन्छ जसमा लाखौं सन्दर्भ पदहरू सूचीत गरिएका छन्।

      1. खाँटी शिक्षा निर्माण गर्नलाई लेखोटलाई लेखोटसित दाँज्नु अनिर्वार्य छ। यदि लेखोटलाई पृथकरूपमा अर्थ लगाइन्छ भने, यसको नतीजा भनेको प्रायः गलत व्याख्या नै हुन्छ। झूटा शिक्षकहरू पदहरूलाई पृथकीकरण गर्न खूब रूचाउँछन्। आर्थर टी पियर्सन (Arthur T. Pierson) ले यो बुद्धिमानी चेताउनी दिए: “पवित्रशास्त्रको अध्ययनमा गरिने कुनै पनि खोजीले, चाहे खण्ड-खण्डमा होस् चाहे पद-पदमा, जतिसुकै महत्त्वपूर्ण त्यो किन नहोस्, पवित्रशास्त्रको सिङ्गो गवाही (united witness) को सर्वोपरि महत्त्वको अर्थलाई ह्रास गह्राउने काम गर्न मिल्दैन। हरेक खराब शिक्षा वा अभ्यासले पृथक खण्डहरूबाट सतही रूपमा आफ्नो समर्थन जुटाउने काम गरिरहेको हुन्छ; तर जब पवित्रशास्त्रको सिङ्गो, एकै स्वरको गवाहीलाई त्यसको विरुद्धमा लेखाजोखा गर्ने काम गरिन्छ, तब परमेश्वरको वचनबाट कुनै पनि त्रुटीपूर्ण वा हानिकारक कुरा निस्की आउँदैन। सत्यताको आंशिक खोजीले आंशिक बुझाइ ल्याउँछ जो स्वभावैले असिद्ध हुन्छ; ध्यानपूर्वक गरिएको तुलनाले मात्र परमेश्वरको सिङ्गो मनलाई प्रकट गर्नेछ।”

        उदाहरणको लागि, १ कोरिन्थी ९:२२ मा पावल भन्छन्, “कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूलाई निम्ति सबै थोक भइदिएँ”। यसलाई यदि बाँकी पवित्रशास्त्रदेखि पृथक गरियो भने कसैले यस्तो मानिलिन सक्छ कि पावल हराएकाहरूका निम्ति जे-जस्तो गर्न पनि तयार थिए यहाँसम्म कि उनीहरूको जीवनशैली अपनाउन समेत। आजका “रक एण्ड रोल ख्रीष्टियनहरू” (rock ‘n’ roll Christians) को माझमा यो शिक्षा लोकप्रिय बेनको छ। तर जब लेखोटलाई लेखोटसित दाँजिन्छ, पावलको तात्पर्य यो थिएन भन्ने कुरा प्रस्ट हुन्छ। जस्तै, गलाती ५:१३ मा पावलले भने, “किनभने भाइहरूहो, स्वतन्त्रताका निम्ति तिमीहरू बोलाइएका छौ; तर यति होस् — यो स्वतन्त्रता शरीरका लागि मौका नबनोस्, तर प्रेमद्वारा एक‍-अर्काको सेवा गर”। यसर्थ, पावलको स्वतन्त्रता भनेको शरीरको सेवा कुनै पनि हिसाबले नगर्ने स्वतन्त्रता थियो। जस्तै, उनले आफूसँग सेवाकार्य गरिरहेका कुनै पनि ख्रीष्टियन स्त्रीहरूलाई कस्सिएको एकलिङ्गी (unisex) शैलीका अभद्र पोशाक पहिरन कहिल्यै दिनेवाला थिएनन्, जब कि आजको ख्रीष्टियन रक प्रेमीहरूले लगाउँछन्। साथै पावलले विश्वासीहरूलाई “दुष्टताको हरेक रूपबाट अलग बस” (१ थेस्सलोनिकी ५:२२) भन्दै सिकाए। यो भनेको त अलगपनताको सबैभन्दा साँघुरो खाले अभ्यास हो अनि पावलले आफ्नो जीवन र सेवाकार्यमा यसको विपरित कुनै पनि कुरा अवश्य गर्दैनथे। जस्तो कि, उनले लामो कपाल अवश्य पाल्दैनथे किनकि बाइबलले बताउँछ कि यो शर्मको कुरा हो र त्यसैले त्यसो गर्नु त खराबीको रूप अपनाउनु हुन्थ्यो (१ कोरिन्थी ११:१४)। यसरी पवित्र आत्माको अगुवाइमा लेखोटलाई लेखोटसित तुलना गरेर हामी बाइबललाई ठीक-ठीक अर्थ लगाउन सक्छौं र खाँटी शिक्षा जान्न सक्छौं।

     

    1. बाइबलको अन्य भागसित तुलना गरेर कुनै पद वा खण्डको अर्थ स्पष्ट हुने मात्र होइन, यसो गर्दा बाइबलीय कठीनाइहरू समेत बिलाएर जान्छन्।

      लूका १४:२६ लाई विचार गर्नुहोस्, “कोही मानिस मकहाँ आउँछ र आफ्ना बाबु, आमा, स्वास्नी, छोरा‍-छोरीहरू, दाजुभाइहरू र दिदीबहिनीहरूलाई, अँ र आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन।” आफ्नै प्रियजनहरूलाई “घृणा” गर्नुको माने के हो? यसलाई यसको समानन्तर खण्ड मत्ती १०:३७ मा खुलाइएको छ, “जसले बाबु वा आमालाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको छैन; अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको छैन।” यसको माने यो हो कि हामीले ख्रीष्टलाई अरू कसैलाई भन्दा धेरै बढी प्रेम गर्नुपर्छ र सबै कुरामा उहाँको आज्ञा मान्नुपर्छ।

  1. स्पष्ट खण्डहरूले अस्पष्ट खण्डहरूलाई अर्थ्याउनुपर्छ।

    बाइबल अर्थ प्रकाशनको तेस्रो महत्त्वपूर्ण सिद्धान्त यो हो कि स्पष्ट खण्डहरूले अस्पष्ट खण्डहरूलाई अर्थ्याउनुपर्छ। झूटा शिक्षकहरूले यस सिद्धान्तको अवहेलना गर्दछन् र उनीहरूका अनौठा शिक्षाहरू कठीन र अस्पष्ट खण्डहरूबाट निर्माण गर्दछन् र थुप्रै स्पष्ट पदहरूका शिक्षालाई रद्ध गर्नलाई त्यस्ता पदहरूको प्रयोग गर्दछन्।

    जस्तै, सेभेन्थ-डे एड्भेन्टिस्टहरूले उनीहरूको “प्राण-स्वाप” को शिक्षालाई पुरानो नियमका थोरै पदहरूको आधारमा निर्माण गर्दछन्। जस्तै, उनीहरू अय्यूब २७:३ लाई औंल्याउँछन् जहाँ सासलाई आत्मा भनिएको छ। उनीहरू तब भन्छन् कि सासचाहिँ आत्मा भएको हुनाले, मान्छे मरेपछि पनि रहिरने आत्मा ऊसँग हुन सक्दैन। यसैले जब मान्छे मर्छ ऊ मरेर जान्छ र बौरिउठाइ नभएसम्म उसको अस्तित्व नै हुँदैन। तर जब हामी अन्य पदहरूको स्पष्ट शिक्षालाई हेर्छौं, तब मान्छे एक त्रिपक्षीय प्राणी हो भन्ने देख्छौं (आत्मा, प्राण र शरीर) र मान्छेको आत्मा उसको मृत्यु भएपछि बाँचिरहन्छ। १ थेस्सलोनिकी ५:२३ लाई याकूब २:२६ सित तुलना गर्नुहोस्। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले साथै उपदेशक ९:५ लाई प्रयोग गर्दछन् जहाँ “मरेकाहरूले केही जान्दैनन्” भनिएको छ। उनीहरू दाबी गर्छन् कि यसले मरेकाहरू बौरिउठाइ नभएसम्म चिहानमा सुतिरहन्छन् भन्ने उनीहरूको शिक्षाको समर्थन गर्दछ, तर उनीहरू बाँकी बाइबललाई बेवास्ता गर्दछन् जहाँ मरेकाहरू चेतनामै हुन्छन् भन्ने कुरा सिकाइएको छ। जस्तै लूका ९:२८-३३; १ थेस्सलोनिकी ४:१४; र प्रकाश ६:९-११।

  1. पवित्रशास्त्रको अक्षरशः अर्थ सर्वोपरि हुन्छ।

    डाक्टर डेविड कूपर (Dr. David Cooper) ले भने, “जब पवित्रशास्त्रको सामान्य अर्थ नै अर्थपूर्ण छ, अन्य अर्थ नखोज्नुहोस्, र शब्दलाई अक्षरशः अर्थमा लिन नमिल्ने स्पष्ट सङ्केत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको अक्षरशः अर्थमै लिनुहोस्।”

    हामीले अक्षरशः अर्थ प्रकाशन विधि (literal method of interpretation) अपनाउनुपर्ने पाँचओटा कारणहरू निम्न अनुसार छन्:

    1. परमेश्वरले पवित्रशास्त्र मानिसलाई सत्य प्रकट गर्नलाई दिनुभयो, त्यसलाई छिपाउन वा धमिल्याउनलाई होइन (व्यवस्था २९:२९)। त्यसैले उहाँले मानव भाषाका सामान्य नियमहरूलाई प्रयोग गर्नुभयो।
    2. येशूले अक्षरशः विधिलाई समर्थन गर्नुभयो (लूका १०:२५-२६)। मानिसले परमेश्वरको वचनलाई अक्षरशः अर्थमै लेओस् भनेर येशूले अपेक्षा गर्नुभयो।
    3. मानिसहरू मानव भाषाका सामान्य निमयहरूद्वारा बाइबल पढ्न र बुझ्नलाई परमेश्वरका सामु जवाफदेही छन् (२ तिमोथी २:१५)।
    4. अक्षरशः विधि यदि अपनाइएन भने, बाइबलको अर्थ के हो भनेर कसैले निश्चय गरी जान्न सक्दैन। लाक्षणिक अर्थ प्रकाशन विधि (allegorical method) अपनाउँदा अर्थकारकै विचार आधिकारिक बन्न पुग्छ। प्रकाश २०:१-३ लाई विचार गर्नुहोस्। यदि यस खण्डले एक अक्षरशः स्वर्गदूतले अक्षरशः शैतानलाई एउटा अक्षरशः अथाह कुण्डमा अक्षरशः हजार वर्षका लागि बाँधे भनेर बताउँदैन भने, यसको माने भनेको अर्थकार ले जे-जे अर्थ लगाउन चाहन्छन् त्यही-त्यही हुन जान्छ। यसर्थ लाक्षणिक अर्थ प्रकाशन विधिद्वारा बाइबलको शिक्षा स्थायी रूपमा पूरै गडबडको शिकार बन्न पुग्छ।
    5. बाइबलका भविष्यवाणीहरू अक्षरशः पूरा भएका छन्। भजनसङ्ग्रहमा ख्रीष्टको पहिलो आगमनको भविष्यवाणीलाई विचार गर्नुहोस्।

      भज २२:१ — क्रूसमा येशूले उच्चारण गर्नुभएका शब्दहरू (मत्ती २७:४६)
      भज २२:६-८, १२-१३ — मानिसहरूले येशूलाई गिल्ला गरे (मत्ती २७:३९-४४)
      भज २२:११ — उहाँलाई गोहार गर्ने कोही थिएन (मर्कूस १४:५०; हिब्रू १:३)
      भज २२:१४-१६ — तिनीहरूले उहाँलाई क्रूसमा टाँगे (मत्ती २७:३५)
      भज २२:१७क — तिनीहरूले उहाँका हड्डीहरू भाँचेनन् (यूहन्ना १९:३३)
      भज २२:१७ख — तिनीहरूले उहाँलाई आँखा तरेर हेरे (मत्ती २७:३६)
      भज २२:१८ — तिनीहरूले उहाँका वस्त्रका लागि जुवा खेले (मत्ती २७:३५; यूहन्ना १९:२४)

      बाइबलको अक्षरशः अर्थ प्रकाशन विधिको विपक्षमा लाक्षणिक अर्थ प्रकाशन विधि (ALLEGORICAL METHOD) रहेको छ। यो विधि अपनाउनेहरूले भविष्यवाणीहरूलाई हुबहु रूपमा लिँदैनन्, तर त्यहाँ अर्थकारकै विचार आधिकारिक बन्दछ र बाइबलको माने के हो भनेर कसैले पनि निश्चय गरी जान्न सक्दैन। लाक्षणिक अर्थ प्रकाशन विधि पवित्रशास्त्रका विशेष गरी भविष्यवाणीका खण्डहरूमा लागु गरिएको पाइन्छ।

    6. जस्तै, जेनेभा बाइबल (Geneva Bible) को प्रकाश ९:११ को टिप्पणीले “अथाह कुण्डको दूत” को माने “ख्रीष्टविरोधी पोप, कपटीहरूको राजा र शैतानको दूत” हो भन्दछ। तर अथाह कुण्डको दूत भनेको अक्षरशः एक पतित स्वर्गदूत र एउटा अक्षरशः अथाह कुण्ड बाहेक अन्य कुनै कुरा हुनुपर्छ भनेर बुझिनुपर्ने त्यहाँ कुनै कारणै छैन।
    7. ह्यारोल्ड क्याम्पिङ्ग (Harold Camping), फेमली ख्रीष्टियन रेडियो (Family Christian Radio) का संस्थापकले प्रकाश ११:७ को यस्तो लाक्षणिक अर्थ निकाले। तिनी भन्छन् दुई साक्षीहरूको मतलब मण्डली हो। मण्डली महासङ्कष्ट हुँदै आएको थियो तर अब मारिएको छ। तसर्थ, मण्डली मरिसकेको छ; अब परमेश्वरलाई मण्डलीहरू र पास्टरहरूको काम छैन र तिनीहरूसँग अब उसो कुनै बाइबलीय अधिकार छैन।
    8. नयाँ युगीहरू (New Agers) ले पनि बाइबललाई लाक्षणिक वा “आत्मिक” तरिकाले अर्थ्याउँछन्। लेवी डाउलिङ्ग (Levi Dowling) ले द अक्वेरीयन गस्पल अफ जिजस द क्राइस्ट (The Acquarian Gospel of Jesus the Christ) मा भन्छन् कि लूका २२:१० मा पानीको गाग्रो बोक्ने मान्छेले अक्वेरीयसको युगको आगमनलाई सङ्केत गर्दछ।

      हुन त बाइबलमा प्रतीकहरू र भाषागत अलङ्कारहरू प्रयोग नभएका होइनन्, तर तिनलाई पनि भाषाको सामान्य नियमहरू अनुसार नै अर्थ लगाइनुपर्छ।

      यसको अभ्यास कसरी गर्ने भन्ने जस्ता अन्य थुप्रै कुराहरू समेत वे अफ लाफ लिटरेचरबाट उपलब्ध Advanced Bible Studies Series पाठ्यक्रमको How to Study the Bible भन्ने शीर्षक अन्तर्गत अध्ययन गर्न सक्नुहुन्छ। यो हालसम्म अङग्रेजीमा मात्र उपलब्ध छ।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

दैनिक बाइबल अध्ययन

Study Series

दैनिक बाइबल अध्ययन

डेविड क्लाउड

पद कण्ठ: यहोशू १:८; भजनसङ्ग्रह १:१-३; ११९:९, १०५; यूहन्ना ८:३१-३२; प्रेरित २०:३२; हिब्रू ४:१२

ख्रीष्टियन जीवनमा असल-असल ईश्वरीय बानीहरू बसाल्नु ज्यादै महत्त्वपूर्ण कुरा हो। येशूको सभाघरमा जाने “रीति” (लूका ४:१६) अथवा आदत नै थियो। यो उहाँको बानी थियो। त्यसरी नै विश्वासीको पनि मण्डली सभामा जाने र दिनहुँ बाइबल अध्ययन गर्ने बानी हुनु अनिवार्य छ।

परमेश्वरको वचनमा यस्तो सामर्थ्य छ जसले विश्वासीलाई पवित्र पार्न र उसलाई ख्रीष्टमा बढाउँदै लैजान सक्छ। यसले उसलाई निश्चयता, ज्ञान, आत्मिक बल, विश्वास, बुद्धि, पश्चात्तापमा डोर्‍याउँदछ।

निम्न पदहरूलाई विचार गर्नुहोस्: यहोशू १:८; भजनसङ्ग्रह १:१-३; ११९:९, १०५; यूहन्ना ८:३१-३२; प्रेरित २०:३२; २ तिमोथी ३:१५-१७; हिब्रू ४:१२; १ पत्रुस २:२; २ पत्रुस १:१९।

ख्रीष्टमा बढ्न र उहाँको सिद्ध इच्छा प्राप्‍त गर्न, विश्वासी उसको मनको नयाँ हुवाइद्वारा बदली हुँदै जानुपर्छ र यस्तो बदली हुने कामचाहिँ उसभित्र बास गर्नुहुने पवित्र आत्माको सामर्थ्यले परमेश्वरको वचनद्वारा प्रभावकारी हुन्छ।

दैनिक बाइबल पठनका लागि यहाँ दसओटा सल्लाहहरू दिइएका छन्:

१) एउटा समय कायम गर्नुहोस्

दिनको एउटा निश्चित समयमा, दैनिक रूपमा, बाइबल पढ्नलाई बानी बसाल्नुभएन भने तपाईंले शायद आकलझुकलमा मात्र बाइबल पढ्नुहुनेछ। आफ्नो परिस्थितिअनुसार तपाईंलाई सबभन्दा सुहाउने समय कुनचाहिँ हुन्छ त्यो निश्चित गर्नुहोस्। मेरो जीवनमा, विभिन्न चरणहरू पार गर्दै जाने क्रममा, परिस्थितिअनुसार मैले फरक-फरक समयमा यसरी समय बिताउने गरेको छु। साधारणतयाः बिहानको शुरुको समय सर्वोत्तम हुन्छ जुनबेला तपाईंको मन त्यस दिनको कामकुराले भरिभराउ हुन पाएको हुँदैन। तर तपाईंको लागि अन्य समय अझ राम्रो होला; यस विषयमा तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ। महत्त्वपूर्ण कुरा यो हो कि दैनिक रूपमा बाइबल पढ्ने बानी चाहिँ बसाल्नैपर्छ। यदि तपाईंले हरेक दिनबाट केही समय प्रभुसँग भेट्नलाई र उहाँको वचन अध्ययन गर्नलाई अलग गर्नुभयो भने तपाईं बाइबलको ज्ञानमा बढ्नुहुन्छ र आफ्नो ख्रीष्टियन जीवनमा प्रगति गर्नुहुन्छ, तर तपाईंले यो बानी बसाल्नैपर्छ। यो कति अनिवार्य कुरा हो भनेर मैले यसलाई जोड दिएर साध्य छैन।

२) एउटा ठाउँ कायम गर्नुहोस्

सम्भव भएसम्म एउटा शान्त र एकान्त ठाउँ हुनु आवश्यक छ। मैले विश्वासीहरूलाई मानिसहरू कुराकानी गरिरहेको र रेडियो बजिरहेको कोठामा बसेर बाइबल अध्ययन गर्न खोजिरहेको देखेको छु। परिस्थितिवश कहिलेकाहीँ त्यो आवश्यक होला तर आदतको रूपमा यो बुद्धिमानी होइन र साथै हाम्रो पूरा ध्यान दिइनुपर्ने प्रभुलाई यो आदर दिने कुरा होइन। बाइबल परमेश्वरकै वचन हो। के परमेश्वरलाई निम्तो दिनु र त्यसपछि उहाँ हामीसित कुरा गरिरहनुभएकै बखतमा त्यहाँ अनेकौं थोकहरू हुन दिइरहनु उचित हो र?

३) केही आधारभूत अध्ययन सामग्रीहरू हुनु आवश्यक छ

हामी निम्न पुस्तकहरू सुझावस्वरूप सूचित गर्छौं (हालमा अङ्ग्रेजी सामग्रीहरू मात्र यहाँ सूचित गरिएको छ):

  • एक अध्ययन बाइबल (Study Bible) – अरू केही नभए पनि सान्दर्भिक पदहरू भएको र साथै क्रमशब्द सूची भएको एउटा “अध्ययन बाइबल” धेरै उपयोगी हुन्छ। यस्ता उपयोगी अध्ययन बाइबलहरूमध्ये तीनओटा चाहिँ यस प्रकार छन्: पूरानो स्कोफिल्ड रेफरेन्स बाइबल (Scofield Reference Bible), थम्सन चेन रेफरेन्स बाइबल (Thomson Chain Reference Bible) र किङ्ग जेम्स स्टडी बाइबल (King James Study Bible)। (यस बारेमा थप जानकारीका लागि वे अफ लाइफ वेबसाइटको “रेफरेन्स् बाइबलहरू” अन्तर्गत हेर्नुहोस्।)
  • क्रमशब्द (Concordance) –

    अङ्ग्रेजी पाठकका लागि, मेरो मूल्याङ्कनमा स्ट्रङ्ग्स् एक्जस्टिभ कन्कोर्डान्स् (Strong’s Exhaustive Concordance) हालसम्म प्रकाशित सबै बाइबल अध्ययन सामग्रीमध्ये एउटा ज्यादै महत्त्वपूर्ण सामग्री हो। यसले अङ्ग्रेजी बाइबलका शब्दहरूलाई पूर्णरूपले उतार्ने काम मात्र नभएर तिनलाई तिनका मूल हिब्रू र ग्रीक शब्दहरूको एउटा उपयोगी शब्दकोषसित समेत लिङ्क गरेको छ।

  • ट्रेजरी अफ स्क्रिप्चर नलेज (Treasury of Scripture Knowledge)
  • वे अफ लाइफ इन्साइक्लोपिडिया अफ बाइबल एण्ड क्रिस्चियानिटी (Way of Life Encyclopedia of Bible and Christianity)

४) साथमा नोटकापी र कलम होस्

प्रभुले तपाईंलाई सिकाउनुभएका कुराहरू लेखेर राख्‍नु महत्त्वपूर्ण बानी हो। मैले मुक्ति पाएको पहिलो वर्षमा मैले विभिन्न नोटकापीहरू लेखेर भरेँ। जस्तै, मैले एउटा नोटकापीचाहिँ बाइबलका विषयहरू अध्ययन गर्नलाई विभिन्न शीर्षकमा बाँडेँ जस्तै, मुक्ति, पाप, सान्त्वना, ख्रीष्टको ईश्वरत्व, शैतान, नरक, स्वर्गदूतहरू र अन्य विषयहरू जसको अध्ययन गर्नलाई मलाई त्यसबेला रूचि भयो। ती शीर्षकसँग मिल्ने पदहरू मैले भेट्टाउँदै जाने क्रममा मैले तिनलाई तिनका शीर्षकअन्तर्गत सूचित गर्दैगएँ। मैले पूरै बाइबललाई वर्षको दुई-तीन पटक पढ्दै थिएँ, त्यसैले विभिन्न शीर्षकका बारेमा बाइबलले बताएका सबैजसो कुराहरू जम्मा पार्न र आफैंले शिक्षागत अध्ययनहरू गर्न मैले सक्ने भएँ।

५) बाइबलमा चिन्हहरू लगाउन साथमा शीशाकलम होस्

किन शीशाकलम प्रयोग गर्न म सल्लाह दिन्छु भने गल्ती भएमा त्यसलाई मेट्न सकिन्छ र साथै मसीले जस्तो पन्नाको अर्कोपट्टी भिजेर जाँदैन। मेकानिकल पेन्सील सर्वोत्तम हुन्छ किनकि त्यसलाई तिखारिरहनु पर्दैन।

सान्दर्भिक पदहरू, शब्दका परिभाषा, रूपरेखा र छोटो-छोटो टिप्पणीहरू लेख्‍नलाई बाइबलको किनाराहरू प्रयोग गर्नुहोस्। ती कुरालाई थप्दै जाँदा तपाईंले आफ्नै अध्ययन बाइबल निर्माण गर्नुहुन्छ। यसको लागि चौडा किनाराहरू भएको बाइबल उपयोगी हुन्छ।

बाइबलमा चिन्ह लगाउनलाई यहाँ केही सुझावहरू छन्:

क) विचार पुराएर मात्र चिन्ह लगाउनुहोस्। बाइबल त तपाईंकै हो र तपाईंले आफ्नो खुशी गर्न सक्नुहुन्छ, तर भिन्नता नै नराखी जहाँतहीँ चिन्ह नलगाउनलाई म सुझाव दिन चाहन्छु। नत्र भने केही समयपछि तपाईंको बाइबल अर्थ न व्यर्थको चिन्ह र धर्सोले केरकार हुनेछ। चिन्ह लगाउँदा अलिकति विचार पुर्‍याउनु बरु उत्तम हुन्छ। उत्पत्ति १ लाई लिएर म केही सुझाव दिऊँ:

खण्डका विभाजनहरू झ्वाट्ट देखिने गरी त्यस्ता कुरालाई चिन्ह लगाउनुहोस्। उत्पत्ति १ मा मैले “साँझ पर्‍यो, र बिहान भयो” को मुन्तिर अधोरेखा तानेको छु, किनभने यस वाक्यांशले सृष्टिका दिनहरूलाई छुट्ट्याउँदछ। (प्रकाश २-३ मा मैले सात मण्डलीका नामहरूलाई चिन्ह लगाएको छु र त्यस खण्डलाई झ्वाट्ट हेर्दा नै मैले त्यसका विभाजनहरू देख्‍न सक्छु।)

सबभन्दा महत्त्वपूर्ण कुराहरूको मुन्तिर अधोरेखा तान्नुहोस्। उत्तपत्ति १ मा मैले पद २७ को मुन्तिर अधोरेखा तानेको छु।

दोहोरिएका विचारको मुन्तिर अधोरेखा तान्नुहोस्। उत्पत्ति १ मा मैले “परमेश्वरले भन्नुभयो” र “आफ्नो-आफ्नो जातिअनुसार” जस्ता वाक्यांशलाई चिन्ह लगाएको छु। (उपदेशकमा मैले “सूर्यमुनि” लाई र इजिकिएलमा मैले “तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्” लाई भेटिएका जति प्रत्येक ठाउँमा चिन्ह लागाएको छु।)

ख) विचार पुराएर मात्र टिप्पणी लेख्‍नुहोस्। चिन्ह लगाएजस्तै, यदि तपाईंले आफ्नो बाइबलमा जेसुकै कुरा वा जस्तोसुकै कुरा टिपोट गर्न थाल्नुभयो भने, तपाईंले चाँडै नै ती टिप्पणीहरू करिब-करिब कामै नलाग्ने ठहरिनेछन्। प्रचारकले वा शिक्षकले भनेका कुनै कुरालाई टिपोट गर्नु अघि, त्यसको स्रोतलाई विचार गर्नुहोस्। के ती बोल्ने व्यक्ति मेहनत गर्ने अध्येता हुन् जसका भनाइहरू सम्भवतः अचूक हुन्छन्? होइन भने आफ्नो बाइबलमा टिपोट गर्नलाई एकदम होशियार हुनुहोस्। मैले थुप्रै प्रचारकहरू र शिक्षकहरूले त्यस्ता कुरा बोलेका सुनेको छु जो सही थिएनन्। बाइबलको किनाराहरू विशेष कुराहरू र कुनै शङ्का बिना सत्य र अचूक टिपोट गर्नलाई जोगाइराख्‍नुहोस्। अन्य कुराहरूलाई छुट्टै नोटकपिमा लेख्‍न सकिन्छ।

बाइबलको किनारामा के कस्ता कुरा लेख्‍ने?

शब्द र नामका परिभाषा कठीन शब्द र सैद्धान्तिक शब्दका परिभाषा लगायत व्यक्ति र स्थानका नामका परिभाषा सिक्दै जाने क्रममा तिनलाई आफ्नो बाइबलको किनारामा टिपोट गर्दै जानुहोस् र तिनलाई तपाईंले सम्झिराख्‍न सक्नुहुनेछ। मैले आफ्नो बाइबलमा सयौं परिभाषाहरू टिपोट गरेको छु। जस्तै:

रोमी ३:२४ — छुटकारा = दाम तिरेर किनिएको
रोमी ३:२५ — प्रायश्चित = ऋणचुक्ता

अन्योन्य सन्दर्भ (cross-reference, प्रतिसङ्केत) कुनै पनि सिङ्गो प्रतिसङ्केत प्रणाली पूर्ण छैन। ट्रेजरी अफ सक्रिप्चर नलेजमा समेत हरेक सम्भव अन्योन्य सन्दर्भ समेटिएको छैन। अध्ययन गर्नमा मेहनती हुनुभयो भने तपाईंले अरु थुप्रै नयाँ अन्योन्य सन्दर्भहरू भेट्टाउनुहुनेछ जसलाई तपाईंले आफ्नो बाइबलमा थप्‍न सक्नुहुन्छ। जस्तै, मत्ती ६:२३ लाई हितोपदेश २८:२२ सित प्रतिसङ्केतले जोडिनुपर्छ, तर मैले हेरेको कुनै पनि प्रतिसङ्केत प्रणालीमा यो भेटेको छैन। र एफेसी १:३ को “स्वर्गीस्थानहरूमा आत्मिक आशिषहरू” कलस्सी ३:१-३ र १ पत्रुस १:४ सित प्रतिसङ्केतद्वारा जोडिनुपर्छ तर यी कुनै पनिलाई ट्रेजरी अफ स्क्रिप्चर नलेजमा भेटिँदैनन्।

सैद्धान्तिक र शिक्षामूलक रूपरेखा मैले आफ्नो बाइबलकै किनाराबाट धेरैओटा प्रवचनहरू प्रचार गर्न सक्छु। साथै त्यहाँ टिपोट गरिएका टिप्पणी र रूपरेखाहरूद्वारा मैले झूटा शिक्षाहरूको खण्डन गर्न सक्छु। मलाई एउटा घटनाको याद आउँछ जब म नयाँ ख्रीष्टियन थिएँ र अनजानमा म एक कट्टर यहोवाका साक्षी महिलाको घरमा गएँ। त्यो घरमा निम्तो गरिएपछि मैले आफूलाई त्यहाँ उनीहरूको बाइबल अध्ययनका लागि जम्मा भएको एउटा समूहको बीचमा पाएँ। ती महिलाले सभाको नियन्त्रण आफ्नो हातमा लिए र मलाई प्रश्न गरे, “के ख्रीष्टियनहरू मरेपछि स्वर्ग जान्छन्?” मैले जवाफ दिएँ, “जान्छन्”। तब तिनले मलाई विश्वासी स्वर्ग जानेछ वा स्वर्ग उसको घर हो भनेर बाइबलमा कहाँ लेखिएको छ त्यसलाई देखाउनलाई चुनौती दिए। केही बेर मैले खोजी गरेँ तर त्यही कुरा बताउने मैले कुनै पनि खण्ड भेट्टाउन सकिनँ र यसरी म उक्त झूटा शिक्षिकाको सामु शर्ममा पारिएँ। त्यसपछि झूटा शिक्षकहरूलाई जवाफ दिन सक्न सधैं तयार हुनलाई मैले आफ्नो मेहनतलाई दोब्बर गतिमा अघि बढाएँ। मैले अपनाएको एउटा उपायचाहिँ आफ्नो बाइबलको किनारामा सान्दर्भिक टिप्पणीहरू लेख्‍नु हो जसलाई आवश्यक पर्दा मैले छिट्टै भेट्टाउन सक्दछु।

  • प्रस्थान २० मा मैले विश्रामदिन किन नयाँ नियमका विश्वासीहरूलाई किन बन्धनकारी छैन भन्ने कारणहरू टिपोट गरेको छु।
  • हितोपदेश २३ मा मैले मात लगाउने पेय पद्धार्थका खतराको बारेमा रूपरेखा लेखेर राखेको छु।
  • मत्ती १६:१८ मा मैले “चट्टान” ले पत्रुसलाई नभएर ख्रीष्टलाई जनाउँछ भन्ने कारण टिप्पणी गरेको छु।
  • मर्कूस १:२३ मा मैले बाइबलका आधुनिक अनुवादहरूमा पाइने केही मूलभूत त्रुटीहरूलाई टिपोट गरेको छु।
  • मर्कूस ९ मा मैले नरक सम्बन्धी विभिन्न बाइबलीय बयानहरू लगायत ख्रीष्टले नरकको प्रचार गर्नुभएको खण्डहरू उल्लेख गरेको छु।
  • यूहन्ना ३:५ मा मैले “पानीबाट जन्मनु” भनेको बप्‍तिस्मा होइन भन्ने कारणहरू टिपोट गरेको छु।
  • यूहन्ना १३ मा मैले पाउ-धुलाइ माण्डलिक विधि किन होइन भनेर टिपोट गरेको छु।
  • प्रेरित २:३८ मा मैले यसले बप्‍तिस्माले मुक्ति पाइने कुरा गरेको किन होइन भन्ने कारणहरू टिप्पणी गरेको छु।

यीचाहिँ केही उदाहरणहरू हुन्। मैले एउटा कारागारमा गई बाइबल सिकाउने गर्थें र झण्डै हरेक हप्‍ता नै यी टिप्पणीहरू मैले प्रयोग गर्थें जब कैदीहरूले प्रश्न गर्थे। मलाई जवाफ थाहा नभएको कुनै प्रश्न सोधिएको खण्डमा, अर्को पटक त्यसको जवाफ दिन म तयार हुन सकूँ भनेर मैले त्यसको जवाफ खोजेर मेरो बाइबलमा समावेश गरिहाल्थें।

नापतौलका टिप्पणी जस्तै, प्रस्थान २५-२७ मा मैले भेट हुने पालका विभिन्न सामग्रीका आधुनिक नापतौलहरू लेखेर राखेको छु।

पदको छोटो टिप्पणी कुनै खण्डको बारेमा जब तपाईंले कुनै उपयोगी कुरा सिक्नुहुन्छ तब त्यसलाई किनारामा छोटकरीमा टिपोट गर्नुहोस्। पछि त्यस खण्डलाई पढ्नुहुँदा प्रत्येक पटक नै उक्त टिपोट सम्झनास्वरूप त्यहीँ हुनेछ। जस्तै, लूका १६:८ मा यस संसारका सन्तान आफ्नो पुस्तामा ज्योतिका सन्तानभन्दा बढ्ता चतुर कसरी हुन्छन्। “कसरी बढ्ता चतुर? १) भविष्यको लागि तयारी गरेर २) पैसाको प्रयोगमा। ख्रीष्टले अनन्तको बारेमा दर्शाउन सांसारिक उदाहरणबाट सिकाउँदै हुनुहुन्छ।” रोमी ३:३१ मा मैले “पावलले व्यवस्थालाई त्यो जुन उद्देश्यको लागि दिइएको थियो त्यसकै लागि स्थिर पारे। हेर्नू: पद १९-२२।”

खण्डका विभाजनहरू कुनै-कुनै बाइबल खण्डहरू छुट्ट्याएर छापिएका हुन्छन्, तर यो काम आफैंले गर्न मलाई मन परेको छ। जस्तै, प्रस्थान ७-११ मा मैले मिश्रमाथिका १० विपत्तिहरूलाई चिन्ह लगाएको छु। प्रस्थान २० मा मैले दस आज्ञाका प्रत्येक आज्ञालाई चिन्ह लगाएको छु। लेवी १-७ मा मैले ती विभिन्न बलिदानहरूलाई चिन्ह लगाएको छु।

चाबी विचार र दोहोरिएका महत्त्वपूर्ण उल्लेखहरू जस्तै, पावलका पत्रहरूमा, रोमी १:८-१० बाट शुरु गरेर, मैले उनका सबै प्रार्थनाहरूलाई परकाष्ठ-चिन्हद्वारा छुट्ट्याएको छु, र त्यसको अगाडि भएको र त्यसको पछाडि आउने प्रार्थनाको टिपोट गरेको छु। रोमी १:८-१० को छेउमा मैले “रोमी १५:५-६” लेखेको छु, किनभने पावलको त्यसपछिको प्रार्थना त्यही नै हो। रोमी १५:५-६ को छेउमा मैले “रोमी १:८-१०” लेखेको छु किनकि त्यो पावलको अघिल्लो प्रार्थना हो, र “रोमी १५:३” लेखेको छु किनकि त्योचाहिँ उसको पछिल्लो प्रार्थना हो। उत्पत्ती १ मा, उत्पत्ति १२ बाट शुरु गरेर, मैले परमेश्वरले अब्राहामलाई आफ्नो करार दोहोर्‍याउनुभएको प्रत्येक उल्लेखलाई परकाष्ठ-चिन्हले छुट्ट्याएको छु। अनि प्रत्येक पद भेट्टाउन सजिलो पार्न मैले पदको छेउमा तारा-चिन्ह पनि लगाएको छु।

ग) रङ्गीन चिन्हका प्रयोग रङ्गीन शीशाकलम अथवा हाइलाइटरहरू बाइबललाई चिन्ह लगाउने उत्तम उपाय हुन्। कतिले बाइबलभरि एउटै रङ् प्रणाली प्रयोग गर्न खोज्छन्; तर मैले बाइबलका फरक-फरक भागहरूलाई फरक-फरक रङ्ग प्रणाली प्रयोग गर्नु अझ सजिलो र प्रभावकारी भएको पाएको छु। मेरो आफ्नै बाइबलमा मैले प्रयोग गरेको केही प्रणालीहरू यस प्रकार छन्:

  • भजनसङ्ग्रहमा मैले अनन्तताको उल्लेखलाई रातो प्रयोग गरेको छु, दोस्रो आगमनको निम्ति गाढा नीलो, परमेश्वरमाथिको भरोसालाई सुन्तला, आशिषका लागि हरियो, सङ्कष्टको लागि बैजनी, प्रशंसाको लागि पहेँलो, प्रार्थनाको लागि गुलाफी, परमेश्वरको वचनको लागि खैरो। मसीही भविष्यवाणीका पदका अङ्कहरूलाई नीलो रङ्ले गोलो चिन्ह लगाएको छु। साथै पूरा हुन बाँकि रहेका भविष्यवाणी वा भविष्यका घटनालाई मैले रातो रङ्गको परकाष्ठ चिन्ह( )ले छुट्ट्याएको छु।
  • पुरानो नियम अगमवाणीका खण्डहरूमा मैले परमप्रभुको दिन सम्बन्धीका पदहरूका लागि खैरो, मसीही खण्डहरूका लागि हल्का नीलो, बचेकाहरू (remnant) सम्बन्धीका खण्डहरूका लागि हरियो, नयाँ करारका लागि सुन्तला, इस्राएलको पुनस्थापनाको लागि गाढा नीलो, हजार वर्षे राज्यको बयान गर्ने खण्डहरूका लागि पहेँलो, दोस्रो आगमनका लागि रातो रङ्ग प्रयोग गरेको छु। साथै पूरा हुन बाँकि रहेका भविष्यवाणी वा भविष्यका घटनालाई मैले रातो रङ्गको परकाष्ठ चिन्ह( )ले छुट्ट्याएको छु।
  • हितोपदेशमा मैले सल्लाह र (व्यावहारिक) शिक्षाप्राप्‍ति सम्बन्धीका पदहरूलाई रातो, जिब्रो र बोली सम्बन्धीका पदहरूलाई पहेँलो, सुधारको लागि हरियो, रिस र झगडालाई बैजनी, अमरतालाई सुन्तला, मित्रतालाई खैरो, छोराछोरीको तालिमलाई नीलो रङ्ग प्रयोग गरेको छु। घर तथा परिवार सम्बन्धीका पदका अङ्कहरूलाई मैले नीलो गोलो रङ्ग लगाएको छु, अल्छे सम्बन्धीका पदको अङ्कलाई सामान्य शीशाकलमले गोलो लगाएको छु, सरकार सम्बन्धीका पदको अङ्कलाई हरियो गोलो, गरीब र गरीबी सम्बन्धीलाई खैरो गोलो र घमन्डलाई बैजनी गोलो लगाएको छु।
  • प्रेरितको पुस्तकमा मैले विश्वासद्वारा मुक्ति पाइने भन्ने शिक्षा सिकाउने पदहरूलाई रातो, बप्‍तिस्मा सम्बन्धीका पदहरूलाई नीलो, पश्चात्तापलाई हरियो, पावल पुगेका ठाउँका नाउँहरूलाई पहेँलो, ख्रीष्टको बौरिउठाइको उल्लेख गर्ने पदहरूलाई सुन्तला रङ्गले चिन्ह लगाएको छु।
  • प्रकाशको पुस्तकमा मैले सात मण्डलीका नामहरूलाई नीलो, छापहरूलाई बैजनी, तुरहीहरूलाई सुन्तला, परमेश्वरको क्रोधको उल्लेखहरूलाई रातो र कचौराहरूलाई खैरो रङ्गले चिन्ह लगाएको छु।

६) साथमा एउटा पठन-तालिका होस्

बाइबल पढ्नु (व्यवस्था १७:१८-१९; प्रकाश १:३) र बाइबल अध्ययन गर्नु (२ तिमोथी २:१५) दुईटै महत्त्वपूर्ण कुरा हुन्। पढ्नु र अध्ययन गर्नु दुई फरक-फरक कुरा हुन्। पहिला, बाइबल पढ्नु महत्त्वपूर्ण कुरा हो। विश्वासीलाई बाइबल झन् झन् राम्ररी बुझ्नलाई मद्दत दिलाउने एउटै कुरा छ भने त्यो हो बाइबललाई केवल पढेको पढै, पढेको पढै, पढेको पढै गर्ने। मेरी आमाले ७७ वर्षको उमेर पुगेर बाइबललाई वर्षको दुई पटक पूरै पढ्न थालेकी हुन् र त्यसबेलादेखि उहाँलाई मैले भेटेको हरेक पटक नै उहाँले आफू बाइबललाई अझ राम्ररी बुझ्न सकेको कुरा बताउनुभएको छ। साथै, बाइबल अध्ययन गर्नु पनि आवश्यक छ। यसको मतलब अब अलि बिस्तारै जानु हो, शब्दको अध्ययन गर्नु हो, खण्ड-खण्डलाई विश्लेषण गर्नु हो, विषयगत अध्ययन गर्नु हो, टिप्पणीहरूको प्रयोग गर्नु हो इत्यादि। यहाँ आइपुगेर हो हामी बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्न थाल्ने।

बाइबल पठन सम्बन्धी केही सुझावहरू

  1. प्रणालीबद्ध रूपले पढ्नुहोस्। यसको माने शुरुदेखि अन्तसम्म पढ्नुहोस्। बाइबल किन प्रणालीबद्ध रूपले पढिनुपर्छ? बाइबल केवल विभिन्न लेखोटको सँगालो मात्र होइन; यो एउटै सिङ्गो पुस्तक हो; अनि यसलाई बुझ्ने हो भने यो सिङ्गो पुस्तककै रूपमा पढिनुपर्छ। बाइबलको प्रत्येक एकल पुस्तकले बाँकी पुस्तकहरूको परिपूरकको रूपमा काम गर्दछ, र जति बाइबल प्रणालीबद्ध रूपले पढिन्छ तयतयि नै यसका खण्डहरू बिस्तारै आपसमा मेल खाएको देखिन थाल्छ।
  2. पुरानो र नयाँ नियमहरू दुवैबाट पढ्नलाई म सल्लाह दिन्छु। यसको लागि तपाईंले हरेक दिन पुरानो र नयाँ नियमबाट पढ्न सक्नुहुन्छ, अथवा पुरानो र नयाँ नियम पढ्नलाई तपाईंले पालो गर्न सक्नुहुन्छ, जस्तै तपाईं पहिला पुरानो नियमको एउटा पूरै किताब वा विभाजन पढ्न सक्नुहुन्छ (जस्तै उत्पत्ति अथवा पूरै पञ्चग्रन्थ) अनि त्यसपछि नयाँ नियमको एउटा पूरै किताब वा विभाजन पढ्न सक्नुहुन्छ (जस्तै मत्ती अथवा चारओटै सुसमाचारका पुस्तकहरू)।

    एक वर्षमा पूरै बाइबल पढ्नलाई प्रयोग गर्न सकिने एउटा तालिका ([PDF, 1.39MB download]) यस वेबसाइटले उपलब्ध गराएको छ। यस तालिकाअनुसार पढ्दा पाठकले हरेक दिन करीब दुईटा अध्याय पुरानो नियमबाट र दुईटा अध्याय नयाँ नियमबाट पढ्दछ र एक वर्षमा पुरानो नियम एक पटक र नयाँ नियम दुई पटक पूरै पढिन्छ (साथै भजनसङ्ग्रह पनि दुई पटक पढिन्छ)।

    ५२-हप्‍ताको पठन-तालिका पनि अर्को राम्रो उपाय हो। यसअनुसार पढ्दा पुरानो नियम एक पटक र नयाँ नियम दुई पटक पढिन्छ। यो पूरा गर्न हरेक दिन चारओटा अध्याय पढ्नुपर्ने हुन्छ।

  3. बिहान र साँझ गरी दुईपटक पढ्ने समय लिन सकिन्छ (भजनसङ्ग्रह ११९:१४७-१४८), अथवा बिहान र मध्यदिन। केही सुझाव यस प्रकार छन्:
    1. बिहान पुरानो नियमबाट एउटा भाग पढ्नुहोस् र साँझ नयाँ नियमबाट एउटा भाग पढ्नुहोस्।
    2. बिहानचाहिँ प्रणालीवद्धरूपमा पढ्नुहोस्, दिनको तीन-चार अध्याय गर्दै; अनि साँझचाहिँ अझ बढी प्रार्थना गर्दै पढ्नुहोस्, पवित्र आत्मालाई फरक-फरक खण्डमा डोर्‍याउन दिँदै।
    3. बिहानचाहिँ प्रणालीवद्धरूपमा पढ्नुहोस् अनि साँझचाहिँ भजनसङ्ग्रह र हितोपदेश पढ्नुहोस्।
  1. पढ्ने समयलाई दुई भाग लगाउन सक्नुहुन्छ: पहिलो भागमा पढ्नुहोस् र दोस्रोमा अध्ययन गर्नुहोस्। एक वर्षमा पूरै बाइबल पढ्नलाई आवश्यक दैनिक तीन वा चार अध्यायहरू पढ्न धेरै समय लाग्दैन। त्यसैले पठनपछि अध्ययनको समय लिन सकिन्छ। समयको यसरी विभाजन गर्नलाई यहाँ केही सुझावहरू छन्:
    1. पठन र अध्ययन एउटै अवधिभित्र गर्न सकिन्छ; यस महत्त्वपूर्ण कार्यको लागि लगभग एक घण्टा जति लिन सकिन्छ।
    2. पठन र अध्ययनलाई दिनको दुई बेग्लाबेग्लै समयमा विभाजित गर्न सकिन्छ, एक समयमा पढ्न र अर्कोमा अध्ययन गर्न सकिन्छ।
    3. वर्षको पहिलो भागमा पठनमा लागिपर्न सक्नुहुन्छ र वर्षको बाँकी भागमा अध्ययनमा लागिपर्न सक्नुहुन्छ। जस्तै, वर्षको पहिलो भागमा तपाईंले दिनको छ अध्यायहरू पढ्न सक्नुहुन्छ र त्यसरी साँढे छ महिनमा पूरै बाइबल पढेर भ्याउन सक्नुहुन्छ (बाइबलमा १,१८९ अध्यायहरू छन्)। तब बाँकी झण्डै आधा वर्ष तपाईंले बाइबलको अध्ययन गर्ने काममा बिताउन सक्नुहुन्छ।
  1. बाइबल पढ्न भर्खरै शुरु गर्दै हुनुहुन्छ भने (चाहे नयाँ विश्वासीको रूपमा वा पुरानोको रूपमा), वर्षको एक पटक पूरै पढ्नुहोस्। एउटा सरल बाइबल सर्वेक्षण पुस्तकको साथ-साथै पढ्नुहुन म सुझाव दिन चाहन्छु। कम्प्यूटर हुने अङ्ग्रेजी पढ्न सक्नेले Walter Groom को “Genesis to Revelation Bible Course” इन्टरनेटबाट यसको इ-बुक निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ (http://www.wayoflife.org/pdf/genesistorevelation.pdf)।

७) प्रार्थनासहित शुरु गर्नुहोस्

तपाईंको समझका आँखा खोलियोस् भनी परमेश्वरलाई पुकारा गर्नुहोस्। आफैले बाइबल बुझ्न सक्छु जस्तो सोचेर अतिआत्मविश्वासी नबन्नुहोस्। हामीले भजनसङग्रहका लेखको नमुनालाई पछ्याउनुपर्छ जसले पुकारे, “मेरा आँखाहरू खोलिदिनुहोस्, र म तपाईंका व्यवस्थाबाट अद्‍भुत कुराहरू देख्‍न सकूँ” (भजनसङ्ग्रह ११९:१८)। हितोपदेशले भन्छ, हामीले समझ पाउनको निम्ति पुकारा गरेपछि मात्र बुद्धि प्राप्‍त गर्नेछौं (हितोपदेश २:१-५)।

८) मन लगाएर पढ्नुहोस्

यदि तपाईं बाइबलमा ध्यान लगाएर पढ्न सक्नुहुन्न भने तपाईंको अध्ययन समय त्यति लाभदायक बन्दैन। मन सजिलै यताउता जान सक्दछ, त्यसैले हामीले जसरी भए पनि पवित्रशास्त्रमै आफ्नो विचार लगाइराख्‍नुपर्छ र परमेश्वरका वचनहरूलाई आफ्नो हृदयमा सम्हालिराख्‍नुपर्छ ताकि तिनले असल फल फलाऊन्। हामी एक कमजोर, आत्मिक भन्दा प्राणीक शरीरमा जिउँदछौं (जसलाई रोमी ७:२४ मा “यस मृत्युको शरीर” भनिएको छ) जो थाक्छ, जसलाई रोग लाग्छ। त्यति मात्र होइन, हामी अनेक फिक्री र सङ्कष्टले भरिएको संसारमा बाँचिरहेका छौं। त्यति मात्र होइन हाम्रो प्रगतिलाई रोक्‍न खोजिरहने हाम्रो एउटा सक्रिय आत्मिक शत्रु पनि छ। उसको नाम शैतान हो जसको माने हो “शत्रु” जो हाम्रो विरोध गर्नलाई हाम्रो सामु उभिन्छ। बाइबल अध्ययन आत्मिक युद्ध हो र यस युद्धमा विजयी बन्नलाई हामीले आवश्यक भएभरको कुराहरू गर्नैपर्छ।

पवित्रशास्त्रलाई बुझ्न र प्रयोग गर्न मान्छले यत्‍न गर्नुपर्छ नत्र भने शैतानले सत्यतालाई उसको हृदयबाट चोरेर लान्छ भन्ने कुरा बीउ छर्नेको दृष्टान्तले सिकाउँदछ (मत्ती १३:१९)। सत्यतामाथि मनन गरेर र त्यसको अर्थ पत्ता लगाएर हामीले त्यसलाई पक्रनैपर्छ।

बाइबल पठनमा मन लगाउनलाई यहाँ केही सुझावहरू छन्:

  1. यसबारे प्रार्थना गर्नुहोस्। बाइबल अध्ययनको समयमा तपाईंको मन धेरै यता र उता गरिरहेको पाउनुहुन्छ भने यस कुरालाई प्रभुको सामु लैजानुहोस्। उहाँको ज्ञानमा र उहाँको वचनको ज्ञानमा बढ्न चाहनुहुन्छ भन्दै उहाँलाई भन्नुहोस्, आफ्नो समस्या उहाँको सामु आफ्नो खाँचोको रूपमा ल्याउनुहोस् र पठनमा ध्यान दिन सक्नलाई उहाँको सहायताको माग गर्नुहोस्।
  2. कुनै विषयको फिक्री लागिरहेको छ भने त्यसलाई प्रभुमा राखिदिनुहोस् (१ पत्रुस ५:७) र त्यसको निम्ति उहाँमा भरोसा गर्नुहोस् अनि आफ्नो पूरै ध्यान उहाँको वचनतिर फर्काउनुहोस्।
  3. कोठामा तपाईंको ध्यानाकर्षण गर्ने कुनै कुरा छ भने त्यसलाई हटाउनुहोस्। मैले एकजना पास्टरलाई चिन्छु जसले आफ्नो कोठाको किताबका सबै चम्किला खोलहरू निकालेर हटाउनुभयो किनकि बाइबल अध्ययन गर्न खोज्दा उहाँको ध्यानलाई तिनले बाधा दिँदैथिए।
  4. बाइबल पढ्ने समयमा कम्प्यूटर प्रयोग गर्ने बारेमा होसियार हुनुहोस्। बाइबल अध्ययन गर्नलाई मैले कम्प्यूटर प्रयोग गर्दछु किनकि यो एकदम प्रभावकारी छ, तर पवित्रशास्त्रहरूमा मेरो दैनिक प्रार्थनामय समय बिताउँदा म कम्प्यूटर प्रयोग गर्दिन। किन अरू कुराले ध्यान यताउता जान ज्यादै सजिलो छ।
  5. अनेक विचारहरू आउँदा होसियार हुनुहोस्। बाइबल अध्ययन गरिरहँदा कतिपटक यस्तो हुन्छ कि अरू कुराका बारेमा विभिन्न विचारहरू वेगले आउने गर्छन् र बाइबल अध्ययन गर्न छोडेर ती कामहरू गर्नलाई तपाईंलाई परीक्षा हुन्छ। यसैले गर्दा आफूसँग कलम र कागत हुनु राम्रो हुन्छ ताकि ती विचारलाई टिपोट गर्न सक्नुहुन्छ र पछि ती कामलाई पूरा गर्न सक्नुहुन्छ। यसरी तिनलाई आफ्नो मनबाट हटाउन सक्नुहुन्छ र अध्ययनमा अगाडि बढ्न सक्नुहुन्छ। यदि तपाईं अरू काम पूरा गर्नलाई यता र उता कुद्‍ने बानी गर्नुहुन्छ भने, फलदायी बाइबल अध्ययन गर्न सक्ने तपाईंको क्षमताको सवालमा तपाईं अपाङ्गजस्तै बन्नुहुन्छ।
  6. फर्केर फेरि खण्डलाई पढ्नुहोस्। पवित्रशास्त्र पढ्ने क्रममा जब तपाईंले आफ्नो मन अन्यत्र पुगेको महसुस हुन्छ, महत्त्वपूर्ण कुरा के हो भने तपाईं फेर फर्केर उक्त खण्डलाई पढ्नुपर्छ जबसम्म आफूले पढिरहेको खण्डलाई तपाईं बुझ्नुहुन्न; पटक-पटक पढ्नुपर्ने पनि हुन सक्छ। कञ्चन बुझाइसहित एउटा पद पढ्नु बरु असल हो, विचार एकातिर भएको बेलामा पूरै अध्याय पढ्नुभन्दा।
  7. सकेसम्म बाइबल पढ्ने काम थकाइको बेलामा नपार्नुहोस्। कहिलेकाहिँ यसो नगरूँ भन्दा पनि नसकिएला; थाकेको बेलामा पढ्दै नपढ्नुभन्दा त पढ्नु नै बेस हुन्छ। तर बाइबल अध्ययन गर्न चाहने बुद्धिमानी व्यक्तिले आफ्नो समय तालिका यस्तो प्रकारले मिलाउनेछ ताकि उसले आफ्नो दिमाग ताजा हुँदा उसले पवित्रशास्त्रहरू अध्ययन गर्न सक्नेछ।
  8. विचार अन्यत्र घुम्न खोज्ने हुन्छ भने दिनमा अरू कुनै काम गर्नु अगाडि बाइबल पढ्ने काम गर्दा फरक पर्न सक्छ। मैले पहिला अन्य कुराहरू पढ्न र अध्ययन गर्न थालेँ भने, मलाई बाइबलमा ध्यान दिन झन् गाह्रो भएको महसुस गरेको छु।
  9. विचार अन्यत्र जान खोज्दा कहिलेकाहिँ स्वर निकालेर पढ्नु राम्रो हुन्छ। तपाईंको ध्यान पठनमा केन्द्रित गराइराख्‍न यसले मदत गर्न सक्छ।
  10. पढ्नलाई ठूलो अक्षरको बाइबल प्रयोग गर्दा पनि ध्यान दिन मदत हुन सक्छ किनकि त्यसलाई पढ्न सजिलो हुन्छ र बाइबलको पृष्ठ ज्यादा छितरबितर हुँदैन।
  11. लागिपर्नुहोस्। बाइबल पठनमा शैतानले तपाईंलाई पराजित नपारोस्। कुनै अवधिभरि तपाईंले ध्यान दिन सक्नुभएन भने पनि पढ्ने काम नछोड्नुहोस्। जीवनका अरू कुरामा जस्तै बाइबल पठनमा उतारचढाव आउँछन्। प्रभावकारी बाइबल अध्ययनको लागि सर्वोत्तम सुझाव भनेको त्यसमा लाग्न नछोड्नु हो!

९) आफ्नो बाइबल पठनबाट हरेक दिन कुनै न कुनै व्यावहारिक कुरा लिन खोज्नुहोस्

दिमागी ज्ञानको लागि मात्र बाइबल नपढ्नुहोस्; ख्रीष्टसितको आफ्नो सम्बन्धमा र उहाँसितको आफ्नो दैनिक हिँडाइमा बढ्दै जाने उद्देश्यले पढ्नुहोस्।

बाइबल पठनको एउटा डायरी कायम गर्नु राम्रो हुन्छ। मिति लेख्‍नुहोस्, आफूले पढेको खण्ड लेख्‍नुहोस् र पढ्दाहुँदि तपाईंले पाउनुभएका व्यावहारिक पाठहरू टिपोट गर्नुहोस्। आफैलाई सोध्नुहोस्, “आज यस खण्डबाट परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ?”

१०) प्रार्थनाको एउटा नोटकापी कायम गर्नुहोस्

धेरैजना विश्वासीहरूले आफ्नो दैनिक बाइबल पढ्ने समयसित अन्तर्विन्तीको प्रार्थना गर्ने समय पनि समावेश गर्दछन्। यो भनेको अरूका लागि प्रार्थना गर्नु हो। यसलाई १ तिमोथी २:१-२ मा बयाउन गरिएको छ। दैनिक रूपमा तपाईंले प्रार्थना गर्ने विभिन्न कुरा र विभिन्न व्यक्तिको सूचीसहित एउटा प्रार्थनाको नोटकापी (डायरी) कायम गर्दा मद्दत हुन्छ: सुझावस्वरूप, पतिहरूका लागि, पत्‍नीहरूका लागि, छोराछोरीहरूका लागि, आमाहरूका लागि, बाबुहरूका लागि, पास्टरहरूका लागि, मिसनरीहरूका लागि, मुक्ति नपाएका आफन्तका र चिनारूहरूका लागि, बिरामीका लागि, सतावटमा परेका विश्वासीका लागि र सरकारको लागि। निश्चित कुराका लागि प्रार्थना गर्नुहोस् र परमेश्वरबाट मिलेका आफ्ना प्रार्थनाका जवाफ टिपोट गर्न उक्त प्रार्थना डायरी प्रयोग गर्नुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

बाइबलको प्रमाण (भाग २)

Study Series

बाइबलको प्रमाण (भाग २)

डेविड क्लाउड

पद कण्ठ: हिब्रू ११:१; २ पत्रुस १:१६

अघिल्लो पाठमा बाइबलको ईश्वरीय प्रेरणाका चारओटा प्रमाणहरू हेर्‍यौं। यस पाठमा हामी अरू तीनओटा प्रमाणहरू हेर्नेछौं।

५) बाइबलको तथ्यात्मकताले यो परमेश्वरको वचन भएको प्रमाणित गर्दछ

बाइबलले बताएका सबै कुरा साँचो र तथ्यात्मक छन्।

जस्तै, बाइबलले भन्छ, मानिस पापी छ; यस कुरालाई पुष्टि गर्नु कुनै गाह्रो कुरा होइन। आँखा खोलेर केवल संसारलाई हेर्नुहोस्! प्रारम्भिक पापको बारेमा उसको धारणा कस्तो छ भनेर प्रश्‍न गरिँदा प्रख्यात बेलायती शब्दकोषकार शमूएल जोनसन (Samuel Johnson) ले जवाफ दिए, “प्रारम्भिक पापको सम्बन्धमा प्रश्‍न गर्नु आवश्यक छैन, किनभने मानव भ्रष्टताको कारण जेसुकै होस्, मानिस प्रत्यक्ष तवरले र आफ्नै स्वीकारले यति भ्रष्ट छ कि स्वर्ग र पृथ्वीका सारा नियमहरू समेत उसलाई अपराध गर्नदेखि रोक्नलाई अपर्याप्‍त छन्।” प्रिन्स्टन विश्वविद्यालयबाट शिक्षा हासिल गरेका “धर्मनिरपेक्ष यहूदी” डेभिड बर्लिन्स्कि (David Berlinski) भन्छन्, “यी टिकाटिप्पणीमा पाइने बुद्धिको सराहना गर्नलाई एकजना व्यक्ति ख्रीष्टियन नै हुनुपर्छ भन्ने छैन” (The Devil’s Delusion, p.33)।

बाइबल, मानव सम्बन्धीका अभिव्यक्तिहरूमा मात्र नभएर सबै कुरा सम्बन्धीका अभिव्यक्तिहरूमा साँचो छन्। बाइबल एक वैज्ञानिक निर्देशिका नभए तापनि यो वैज्ञानिक तवरले अचूक छ, यसका सबभन्दा प्रथम अध्यायहरूदेखि नै, जो झण्डै ४,००० वर्ष अगाडि लेखिएका हुन्।

बाइबलको वैज्ञानिक विशुद्धताका केही उदाहरणहरू यस प्रकार छन्; हामी अय्यूबको पुस्तकबाट शुरु गर्छौं जुनचाहिँ बाइबलकै सम्भवतः सबभन्दा पुरानो पुस्तक हो। हाइड्रलिक इन्जिनियरिङ्गमा डाक्टर उपाधि पाएका हेनरी मोरिस (Henry Morris) ले भने,

“यी उल्लेखहरू दृष्टिकोणमा आधुनिक छन् जसमा अवास्तविक बढाइ चढाइ र त्रुटीहरूको एउटै छनक कहिल्यै भेटिन्न जब कि त्यस्ता कुरा अन्य प्राचीन लेखोटहरूमा स्वभावैले भेटिन्छन् … शायद अझ ठूलो महत्त्वको कुरा यो छ कि प्रत्यक्ष प्राकृतिक वस्तुका थुप्रै उल्लेखहरूले भरिएको यो ४००० वर्ष पुरानो पुस्तकमा कुनै पनि वैज्ञानिक त्रुटी वा तर्कदोष छैनन्” (The Remarkable Record of Job)।

अय्यूबले पृथ्वी शून्यमा झुन्डिएको छ भनी भने (अय्यूब २६:७)। अहिलेको आधुनिक पुस्ताको लागि यो त थाह भएकै कुरा हो किनकि हामीले अन्तरीक्षमा पृथ्वी झुन्डिरहेको वास्तविक फोटोहरू नै देखेका छौं, तर विगतका पुस्ताहरूमा यो त्यत्तिकै थाह हुने कुरा थिएन; बरु त्यतिबेला पृथ्वी आटलास वा कछुवा वा हात्ती आदिको ढाडमा अडिरहेको छ भन्ने जस्ता थुप्रै किंवदन्तिहरूले मान्यता पाएका हुन्थे।

अय्यूबले हावाको तौल छ भनी भने (“हावाको तौल ठहर्‍याउनलाई” अय्यूब २८:२५)। सत्रौं शताब्दिमा आइपुगेर मात्र ग्यालेलियो (Galileo) ले वायुमण्डलको पनि तौल छ भनेर पत्ता लगाएका हुन्, र एरोडाइनामिक्स (aerodynamics) नामक आधुनिक विज्ञान यही वैज्ञानिक तथ्यमा आधारित छ। अझ, पृथ्वीको मौसमको क्रियाकलापमा हावाको तौलले महत्त्वपूर्ण भूमिका खेल्दछ। “हावाको तौल” ले समुद्रहरूबाट वाष्पिकरण भएको पानीलाई महादेशहरूको माथि-माथि भू-भागहरूमा बोकेर पुर्‍याउने विश्वव्यापी हावाको प्रवाहलाई नियन्त्रण गर्दछ (Morris, The Remarkable Record of Job)।

अय्यूबले समुद्रका मुहानहरूको बारेमा लेखे (अय्यूब ३८:१६)। मानिसले आफ्नै आँखाले देखेर समुद्रको पीँधमा भएका ताजा पानीका मूलहरूको बारेमा जान्न सक्न हिजोआज मात्र सम्भव भएको हो। आधुनिक विज्ञानद्वारा हजारौं अन्तर्जलीय मूलहरू भेटिएका छन् जसले हरेक वर्ष समुद्रहरूमा करौडौं टन पानी थपिरहेका हुन्छन्।

प्रकाशको एउटा बाटो हुन्छ र अन्धकारको ठाउँ हुन्छ भनेर अय्यूबले बुझ्दथे (अय्यूब ३८:१९)।

“यसको मतलब, प्रकाश कुनै स्थान वा परिस्थितिमा अवस्थित हुने कुरा होइन। न ता त्यो त्यत्तिकै एक्कासि प्रकट हुने वा अलप हुने वस्तु हो। प्रकाशले यात्रा गरिरहेको हुन्छ! त्यो एउटा “बाटो” मा वास गर्दछ, सधैं कुनै अन्यत्र स्थानतर्फ गइरहेको हुन्छ। यद्यपि त्यो सामान्यतयाः किरणहरूको रूपमा यात्रा गर्दछ, कहिलेकाहिँ त्यसले कणहरूको खोलोको रूपमा हिँडिरहेको जस्तै गर्दछ, तर त्यो जहिले पनि चलिरहेकै हुन्छ। जब प्रकाश रोकिन्छ, तब त्यहाँ अन्धकार हुन्छ। तसर्थ, अन्धकार अचल कुरा हो, स्थानमा बसिरहने; तर प्रकाश गतिशील कुरा हो, बाटोमा वास गरिरहने” (Morris)।

प्रकाशले हावा उत्पन्न गराउँछ भनेर बाइबलले भन्दछ (अय्यूब ३८:२४)। सूर्यको किरणले पृथ्वीको सतहलाई तताएदिएर हावा उत्पन्न हुन्छ जसमा तातो हावा मास्तिर उठ्छ र चिसो हावा तल खस्छ र फलस्वरूप विभिन्न मौसमहरू उत्पन्न हुने गर्छन् भन्ने कुरा आधुनिक मौसम विज्ञानले आविष्कार गरेको त भर्खरै मात्र हो।

अय्यूबले त्यो अचम्मको जलचक्रको बयान गरे (वाष्पीकरण, वायु सञ्चार, संघनन, वृष्टिपात, बहाउ) (अय्यूब ३८:२५-३०)। सत्रौं शताब्दिभन्दा अगाडि वाष्पीकरण (पानीबाट वाफ बन्ने) र संघनन (वाफबाट पानी बन्ने) प्रकृयाको पत्ता समेत लागेको थिएन र बीसौं शताब्दिसम्म यसलाई राम्ररी बुझिएको पनि थिएन।

बोटबिरूवा र पशुपक्षीहरूले आफ्नो-आफ्नो जातिअनुसार पुनरुत्पादन गर्दछन् भनेर बाइबलले भन्दछ (उत्पत्ति १)। यो कुरा आधुनिक विज्ञानको सारा अवलोकन र परीक्षणसित ठ्याम्मै मेल खान्छ। हरेक जातिअन्तर्गत निकै विविधता पाइन्छ, विभिन्न खालका गुलाफहरू, रूखहरू, भ्यागुताहरू, कुकुरहरू, तर फरक-फरक जातबीच — गुलाफ र रूख र भ्यागुता र कुकुरकाबीच — पुनरुत्पादन हुने गर्दैन।

अन्तरीक्ष नाप्न नसकिने गरी असीम र ताराहरू गन्न नसकिने गरी धेरै छन् भनेर बाइबलले बताउँछ (उत्पत्ति २२:१७; यर्मिया ३१:३७)। दूरदर्शक यन्त्र (टेलिस्कोप) को आविष्कार अघि मानिसको नाङ्गो आँखाले केही हजार तारा मात्र देख्‍न सक्थ्यो। तर आज हामीलाई थाह भएको छ ताराहरू अनगिन्ती छन् ठीक जसरी बाइबलले बताएको थियो। हाम्रो आकाशगङ्गा तारामण्डल (Milky Way Galaxy) मा नै ३०० खरब ताराहरू छन्। सन् १९९९ मा नासा (NASA) का खगोलशास्त्रीहरूले हबल स्पेस टेलिस्कोप प्रयोग गरेर सारा ब्रह्माण्डमा १२५ खरब तारामण्डलहरू भएको अनुमान लगाए। सबभन्दा नयाँ तारा-गणना जुलाई २००३ को घोषणा अनुसार अवलोकन गर्न सकिने ताराको सङ्ख्या ७० सेक्स्टिलियन पुगेको छ अर्थात् ७०,०००,०००,०००,०००,०००,०००,०००।

समुद्रमा मार्गहरू छन् भनेर बाइबलले बताएको छ (यशैया ४३:१६)। उन्नाइसौं शताब्दिदेखि समुद्री धारहरू वा मार्गहरूको नक्सा निकाल्ने गरिएको छ; पानी जहाजहरू यिनै धारहरूमा यात्रा गर्दछन् जसरी ट्रकहरू बाटोमा यात्रा गर्दछन्। सन् १८०० को बीचतिर वाशिङ्टनस्थित अमेरिकी नेभीको डिपो अफ चार्ट्स र इन्स्ट्रुमेन्ट्सका माथ्यु फोन्टेन मउरी (Matthew Fontaine Maury) ले लेखे,

समुद्रमा नदी छ: विषम खडेरीमा पनि त्यो टुट्दैन, र भयङ्कर बाढीमा पनि त्यो उर्लेर आउँदैन; त्यसका किनारहरू र पीँध चीसो पानीमा रहेका छन्, जब कि त्यसको धारचाहिँ न्यानो छ; मेक्सिको खाडी त्यसको मुहान हो भने त्यसको मुखचाहिँ आर्कटिक समुद्रमा पर्दछ। यसैलाई भनिन्छ गल्फ स्ट्रीम” (Maury, The Physical Geography of the Sea, 6th ed., 1856, p.25)।

उक्त आविष्कारपछि थप अरू समुद्री मार्गहरू पत्ता लाग्न थाले।

प्राणचाहिँ रगतमा हुन्छ भनेर बाइबलले बताएको छ (लेवी १७:११)। यो कुरा करीब ३,५०० वर्ष अगाडि लेखिएको थियो तर हालको समयमा आएर मात्र यसलाई वैज्ञानिक तवरले बुझ्न सकियो। शताब्दियौंसम्म रोगीलाई रक्तस्राव गराएर उपचार गर्ने चलन (blood-letting) थियो। अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङ्टन यही गलत अभ्यासले गर्दा अनावश्यक रूपमा चाँडै मरेको हो भनिन्छ। आधुनिक औषधी विज्ञानले बाइबलले उहिलेदेखि सिकाउँदै आएको कुरालाई अब सिकेको छ, कि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। रक्तनली र केशिकाहरू मिलेर बनेको अचम्मको रक्तसञ्चार प्रणालीले जीवन-दिने अक्सिजन र अन्य आवश्यक तत्त्वहरूलाई शरीरको प्रत्येक अङ्गमा पुर्‍याउने काम गर्दछ। साथै संक्रमणको प्रतिकार गर्ने र रगत जम्ने जस्ता “जीवधारीको प्राण” लाई आवश्यक पर्ने प्रकृयामा पनि रगतले महत्त्वपूर्ण भूमिका खेल्दछ।

बाइबल विज्ञानको पुस्तक होइन, तर जुन-जुन ठाउँमा बाइबलले विज्ञानलाई छुन्छ त्यहाँ बाइबल अचूक छ। यस कुराले बाइबलको ईश्वीय उद्‍भवको प्रमाण दिन्छ, किनकि सबै अन्य प्राचीन पुस्तकहरू वैज्ञानिक त्रुटीहरूले भरिएका छन्। भन्नुपर्दा १०० वर्ष मात्र पुरानो विज्ञानकै पुस्तकहरू त्रुटीहरूले भरिएका हुन्छन्।

६) बाइबलको सच्चाइ (निष्कपटता) ले यो परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ।

आफ्ना वीरहरूका जीवनी लेख्दा मानिसहरूले तिनका दोषहरूलाई प्रायः उल्लेखै गर्दैनन् वा तिनलाई चुनले सेतो पोत्‍ने गर्दछन्; तर मानिस जस्तो छ त्यस्तै प्रस्तुत गरीकन बाइबलले आफ्नो ईश्वरीय गुणलाई प्रदर्शन गरेको छ। हामी पढ्छौं आदमको विद्रोह, नूहको मत्तापन, दाऊदको व्यभिचार, सोलोमनको सत्यत्याग, योनाको आत्मदया, पत्रुसको इन्कार, पावल र बर्नबासको विवाद, र ख्रीष्टको बौरिउठाइ सम्बन्धी चेलाहरूको अविश्वास। बाइबल यहूदीहरूबाट लेखिएको हो, तर यसले निष्कपटतासाथ यहूदीहरूको दोषहरूलाई वर्णन गरेको छ: उनीहरूको हठ र अविश्वासले गर्दा उनीहरू ४० वर्षसम्म उजाडस्थानमा घुम्नुपरेको; न्यायकर्ताहरूको कालमा उनीहरूको मूर्तिपूजा; उनीहरूको विद्रोहले गर्दा उनीहरू आफ्नो भूमिबाट उखेलिएर विश्वभरि दुई हजार वर्षसम्म तितरबितर हुनुपरेको कुरा; उनीहरूले मसीहलाई इन्कार गरेको कुरा।

७) बाइबलको मुक्ति सम्बन्धी शिक्षाले यो परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ।

अनुग्रहले मुक्ति पाइन्छ भन्ने मुक्ति सम्बन्धी शिक्षा सिकाउने एउटै मात्र धर्मशास्त्र बाइबल हो। अन्य सबैले कामहरूले मुक्ति पाइन्छ भन्ने सिकाउँछ। हिन्दूधर्म अनुसार आफ्नो धर्म गरेर र आफ्नो कर्म पूरा गरेर मुक्ति पाइन्छ। मुस्लिमधर्म अनुसार अल्लाहमा समपर्ण गरेर र उहाँका आज्ञाहरू पालन गरेर मुक्ति पाइन्छ। बुद्धधर्म अनुसार जीवनकर्मद्वारा र ध्यानद्वारा र सन्यासद्वारा मुक्ति पाइन्छ। काठमाडौंको बौद्ध स्तूपलाई हेर्न जानुभयो भने त्यहाँ तपाईंले दिनको कुनै पनि समयमा बौद्धमार्गीहरू स्तूपलाई चक्कर मारिरेहिका, माला जपिरहेका, “ओम्मेमे-पेमे” घुमाइरहेका देख्‍न सक्नुहुन्छ। मुक्ति कमाउन खोजिरहेका हुनाले नै तिनीहरू यी सब गर्दछन्।

तर बाइबलले मात्र बताउँछ, मुक्ति त पापीहरूलाई परमेश्वरको सित्तैंको वरदान हो। यो वरदान दिनलाई उहाँले ठूलो मूल्य चुकाउनुपरेको थियो। यो ठूलो मूल्यमा किनिएको थियो जुनचाहिँ क्रूसमा परमेश्वरकै पुत्रको प्रायश्चितकारी बलिदान थियो। तर पापीको निम्ति भने यो सित्तैंमा पाइने कुरा हो।

“किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ” (एफेसी २:८-९)।

बाइबलले बताएको छ, आफ्नो पापहरूको प्रायश्चित गर्न पापीले परमेश्वरलाई दिन सक्ने कुनै पनि कुरा छैन। हामीले के दिन सक्छौं? धर्मी कामहरू? बाइबलले भन्छ, हाम्रा सबै धार्मिकता परमेश्वरको महान् पवित्रताको सामु फोहोर झुत्राझैं छन् (यशैया ६४:६)। पैसा? सारा सृष्टिका मालिकले हाम्रो जाबो पैसाले के गर्नुहुन्थ्यो र? चोखो हृदय? बाइबलले भन्दछ मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ र त्यो साह्रै दुष्ट छ (यर्मिया १७:९)। तब कसरी हामीले आफ्नै मुक्ति कमाउन सक्थ्यौं र?

“तर हामी सबै अशुद्ध थोकजस्ता छौं, र हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्; अनि हामी सबै पातजस्तै ओइलिन्छौं, र हाम्रा अधर्महरूले बतासले झैं हामीलाई उडाएर लगेका छन्” (यशैया ६४:६)।

होइन, मुक्ति अति गहिरो दया गर्ने प्रेमिलो परमेश्वरबाटको अनर्जित सित्तैंको वरदान हो। एउटा ख्रीष्टियन भजनमा जसरी भनिएको छ, “हामीलाई तिर्नै नसक्ने ऋण लागेको थियो; उहाँले तिर्नै नपर्ने ऋण तरिदिनुभो।”

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।

बाइबल कस्तो अचम्मको पुस्तक!

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

बाइबलको प्रमाण (भाग १)

Study Series

बाइबलको प्रमाण (भाग १)

डेविड क्लाउड

पद कण्ठ: प्रेरित १:३; १ कोरिन्थी १५:६; हिब्रू ११:६

बाइबल परमेश्वरको वचन हो भनेर मानिसले ग्रहण गर्नुपर्ने आखिरमा विश्वासैद्वारा हो। हिब्रू ११:६ लाई पढ्नुहोस्।

तर अर्कोतिर बाइबलीय विश्वास भनेको अन्धकारमा हामफाल्ने जस्तो अन्धो विश्वास होइन। यो त परमेश्वरले दिनुभएको अभिलेखमाथिको निर्धक्कता हो (रोमी १०:१७)। बाइबलका लेखकहरूले आफूहरूले चतुर्याइँसाथ कथिएका दन्त्यकथाहरू नभएर आधिकारिक प्रत्यक्षदर्शीका रूपमा “अनेकौं अचुक प्रमाणहरू” मा आधारित अभिलेख प्रस्तुत गरेका हौं भनेर हामीलाई ब्याख्या गरेका छन् (प्रेरित १:३; २ पत्रुस १:१६)।

बाइबलमाथि हाम्रो पूर्ण निर्धक्कता किन हुन सक्छ भन्ने केही वस्तुगत, समय-प्रमाणित कारणहरू यहाँ प्रस्तुत गरिन्छ:

१) ख्रीष्टको बौरिउठाइले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

सयौं मानिसहरू ख्रीष्टको बौरिउठाइका गवाही थिए (१ कोरिन्थी १५:५-७)। यो कुरा पावलले ख्रीष्टको बौरिउठाइ भएको केवल २०-३० वर्ष पछाडि मात्र लेखेका हुन् जतिबेला धेरैजना प्रत्यक्ष गवाहीहरू अझ पनि जीवितै थिए। के उनीहरू सबैले झूट बोल्दैथिए त? पटक-पटक बौरिउठ्नुभएका ख्रीष्ट एकैचोटी धेरैजनाद्वारा देखिनुभएको थियो अनि एकपटक उहाँ ५०० जना भन्दा धेरै मानिसहरूद्वारा देखिनुभएको थियो। उहाँलाई देख्‍नेहरूले उहाँसँग कुरा गरे, उहाँलाई हातले समाते, उहाँसँग हिँडे, उहाँसँग खाना खाए (लूका २४:३६-४३)।

बौरिउठाइ हुनुभन्दा अघि प्रेरितहरू अधिकारीहरूदेखि डरले लुक्दैथिए (यूहन्ना २०:१९)। उनीहरूले आफ्नै आँखाहरूले बौरिउठ्नुभएका ख्रीष्टलाई देखेपछि उनीहरू साहसी र निडर बने र सुसमाचारका लागि आफ्नै ज्यानहरू समेत दिन तयार भए।

बौरिउठ्नुभएको ख्रीष्टलाई देख्‍नुभन्दा अघि पावलले ख्रीष्टियनहरूलाई घृणा गर्थे र सताउँथे, तर पछिबाट उनी तिनीहरूलाई प्रेम गर्ने भए र येशूको खातिर उनले आफ्नो मान-इज्जत र धन-सम्पत्ति समेत खुशीसाथ गुमाए।

यस्ता परिवर्तनहरू हुनुको पछाडि त्यहाँ एउटा भयङ्कर शक्तिशाली घटना भएकै थियो।

२) बाइबलको अद्वित्तीय संरचनाले यो परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

बाइबल ४० जना बेग्लाबेग्लै लेखकहरूद्वारा लेखिएको हो जो लेखकहरू करिब १९ ओटा बेग्लाबेग्लै पेशाका मानिस थिए (गोठाला, सिपाही, किसान, मछुवा, महसूल सङ्कलक, डाक्टर, राजा, इत्यादि) र साथै उनीहरू करिब १६०० वर्षको अवधिभित्र जिउँदथे। त्यो भनेको लगभग ५० पुस्ता हुन आउँछ। बाइबलका अघिल्ला ३९ पुस्तकहरू करिब ११०० वर्षको अवधिभित्र हिब्रू भाषामा लेखिए। त्यसपछिको ४०० वर्षको अन्तरालमा शास्त्रको कुनै पनि खण्ड लेखिएन। त्यसपछि बाइबलका आखिरी २७ पुस्तकहरू करिब ५० वर्षको अवधिभित्र ग्रीक भाषामा लेखिए। लेखकहरू आपसमा मिलामतो गर्न सक्नेनै थिएनन् किनकि उनीहरू एउटै समयमा जिएका थिएनन्। तरैपनि अन्तिम नतीजा भने एउटा सिङ्गो रचना रहेको छ जसका खण्डहरू आपसमा ठ्याक्कै मिल खान्छन् र त्यहाँ कुनै अन्तर्विरोधहरू वा त्रुटीहरू छैनन्। सम्पूर्ण मानव इतिहासमै यो जस्तो कुनै अर्को पुस्तक छैन। कोहीकोहीले बाइबलमा त्रुटीहरू भेटिएको दाबी गरेका छन्, तर बाइबललाई मैले अध्ययन गर्दै आएको ३७ वर्ष भयो र प्रत्येक पटक जब मैले ती कथित त्रुटी वा अन्तर्विरोधलाई अध्ययन गरेको छु, तब मैले बाइबल नै सत्य रहेको र आलोचना गर्ने व्यक्तिचाहिँ गलत भएको भेट्टाएको छु। (Things Hard to Be Understood: A Handbook of Biblical Difficulties शीर्षक गरेको हाम्रो पुस्तकमा हेर्नुहोस्)।

३) बाइबलका लेखकहरूको निर्धक्कता र इमानदारिताले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ।

बाइबलले गवाही दिन्छ, “परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले” (२ पत्रुस १:२१), र बाइबलका लेखकहरूका जीवनहरूको अनुसन्धान गर्दा यस गवाहीको पुष्टि हुन्छ। यी मानिसहरू पवित्र, गम्भीर मानिसहरू थिए। उनीहरू जीवनको हरेक किसिमको पृष्ठभूमिबाटका थिए। उनीहरू असल नाम चलेका आत्मसंयमी मानिसहरू थिए। उनीहरूले कहेका अगमवाणीहरूले उनीहरूलाई धनवान् बनाउनु त परै जाओस्, कोहीकोही गरिब बनाइए र धेरैजना उनीहरूले अडान लिएका गवाहीका निम्ति बेसरी सताइए वा मारिए। बाइबलका अघिल्ला पाँच पुस्तकहरूका लेखक मोशाले उनले चाहेका भए फाराओका धर्मपुत्र रहेर करोडपतिको जीवन बिताउन सक्थे तर उनले परमेश्वरको सेवामा अत्यन्तै कष्टदायी जीवन बिताउन रोजे। बाइबलका थुप्रै लेखकहरूले यस्तै कसिमका निर्णयहरू गरे। उनीहरू कुनै हिसाबले पनि लोभ-लालच वा सांसारिक फाइदाबाट उत्प्रेरित भएका थिएनन्। उनीहरू सिद्ध मानिसहरू त थिएनन्, तर पवित्र मानिसहरू भने थिए। परमेश्वरको वचन बोल्नलाई उहाँले उनीहरूमाथि आफ्नो हात राख्‍नुभएको कुरा उनीहरू प्रत्येकले दाबी गरे। उनीहरूले बिताएका जीवनले र उनीहरूले पक्रेका गवाहीहरूले र उनीहरूले भोगेका मृत्युले समेत उनीहरू सत्य बोल्दैथिए भन्ने कुराको जोडदार गवाही दिन्छन्।

४) पूरा भएका भविष्यवाणीहरूले बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छन्।

बाइबलको ठूलो भाग भविष्यवाणीहरूले ओगटेको छ जसमा धेरैजसो पूरा भइसके। ती भविष्यवाणीहरू किटानसहितका र विस्तृत किसिमका छन् र तिनका पूरा हुवाइमा अलिकति पनि तलमाथि छैन।

येशू ख्रीष्टको सम्बन्धमा गरिएका भविष्यवाणीहरू

येशूको पूरै जीवन उहाँ जन्मनुभन्दा सयौं वर्ष अगाडि लेखिसकिएको थियो। यी भविष्यवाणीले उहाँको जन्मस्थान (मीका ५:२), कन्याबाटको जन्म (यशैया ७:१४), पापरहित जीवन (यशैया ५३:९), आश्चर्यकर्महरू (यशैया ३५:५), उदेकको बोली (यशैया ५०:४), यहूदी जातिबाट इन्कार गरिनुहुने कुरा (यशैया ५३:२), उहाँको क्रूसीकरण (भजनसङ्ग्रह २२:१६), धनी मानिसको चिहानमा उहाँको दफन (यशैया ५३:९) र बौरिउठाइ (भजनसङ्ग्रह १६) लाई ठ्याक्कै बयान गरेका थिए।

इस्राएल सम्बन्धी भविष्यवाणीहरू

इस्राएलको अस्तित्वको निरन्तरता इतिहासकै सबभन्दा आश्चर्यजनक कहानीहरूमध्येमा पर्दछ अनि सो कुरालाई पवित्रशास्त्रमा ज्यादै विस्तृत रूपमा भविष्यवाणी गरिएको थियो।

इस्राएलको इतिहासको भविष्यवाणी मोशाद्वारा गरिएको थियो र व्यवस्थाको पुस्तकमा झण्डै ४००० वर्ष अगाडि अभिलेख गरिएको थियो। उहाँको व्यवस्थालाई भङ्ग गरेको खण्डमा इस्राएललाई आफ्नो भूमिबाट तिमीहरू “उखालिनेछौ” र “पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितरबितर” पारिनेछौ भनेर परमेश्वरले चेतावनी दिनुभएको थियो (व्यवस्था २८:६३-६४)। त्यहाँ यहूदीहरूलाई तिमीहरूले “कुनै चैन पाउनेछैनौ, न ता तिम्रो पैतालाले विश्रामा पाउनेछ; तर परमप्रभुले तिमीलाई त्यहाँ कामिरहने हृदय, धमिलो देख्‍ने आँखाहरू र मनको व्याकुलता दिनुहुनेछ; अनि तिम्रो जीवन तिम्रो सामु दोधारमा झुन्डिरहनेछ; दिनरात तिमीले डराउनुपर्नेछ; अनि तिम्रो जीवनको कुनै भरोसा हुनेछैन” (व्यवस्था २८:६५-६६) भनेर भविष्यवाणी गरिएको थियो।

यो त इस्राएलको पहिलो शताब्दीदेखि आजसम्मको इतिहासको हुबहु वर्णन हो। ७० ए.डी. मा जरनल तीतसको नेतृत्वमा रोमी सेनाहरूद्वारा यरुशलेमलाई ढालियो र १३७ ए.डी. मा बार कोखबारले नेतृत्व गरेको यहूदी विद्रोहको प्रत्युत्तरमा सम्राट हेड्रियनको आदेशमा यरुशलेम पूरै ध्वस्त पारियो। यहूदी मानिसहरू पृथ्वीको छेउसम्म तितरबितर पारिए र कतै विश्राम पाएनन्। तिनीहरू मुसलमानहरूद्वारा घृणित भए र ग्रीक ओर्थोडक्स तथा रोमन क्याथोलिक चर्चहरूद्वारा हजार वर्षसम्म सताइए। हिटलरको शासनले उनीहरूलाई निमिट्यान्न पार्ने प्रयास गर्‍यो। दोस्रो महा विश्वयुद्धपछि बेलायतले अरबीहरूलाई प्राथमिकता दिँदै यहूदीहरूलाई आफ्नो भूमिमा फर्कनदेखि रोख्‍न खोज्यो। आजको दिनसम्म पनि तिनीहरू घृणाको पात्र भएका छन्। झण्डै सिङ्गो संसार नै इस्राएलको विपक्षमा छ र सञ्चारमाध्यममा मध्यपूर्वको सङ्कट सम्बन्धीका खबरहरू प्रायः इस्राएल-विरोधी झुकावका नै हुन्छन्।

तर इस्राएल आफ्नो भूमिमा फर्केर आउनेछ र इस्राएल एक राष्ट्र भइरहनेछ भनेर बाइबल अगमवाणीले भविष्यवाणी गरेको थियो अनि सन् १९४८ सालमा ठीक यही कुरा भयो। यसभन्दा पहिले संसारकै इतिहासमा कुनै पनि जाति २००० वर्षसम्म विश्वभरि तितिरबितर पारिएपछि र सताइएपछि पनि एक राष्ट्रको रूपमा, आफ्नो प्राचीन भाषा जस्ताको तस्तै लिएर, फेरि एकिकृत भएको पाइँदैन।

बाइबल अगमवाणीले इस्राएलको पुनर्स्थापनालाई दुईटा चरणमा बयान गर्दछ। पहिला, इस्राएल आफ्नो भूमिमा परमेश्वरप्रति अविश्वासकै मनस्थिति लिएर फर्केनेछ। त्यसपछि त्यो विश्वासमा आउनेछ। इजिकिएल ३७ मा भएको अचम्मको अगमवाणीले इस्राएलको पुनर्स्थापनाका यी दुई चरणहरूलाई बयान गर्दछ। इस्राएललाई सुख्खा हड्डीहरूको रूपमा बयान गरिएको छ जो पद ४-६ मा बौराइनेछ। पद ११-१४ ले उक्त दर्शन इस्राएल आफ्नो भूमिमा पुनर्स्थापना गरिने र परमेश्वरतर्फको इस्राएलको पश्चात्तापको बारेमा हो भनेर बताएको छ। पहिला, ती हड्डीहरूलाई नसा र मासु प्रदान गरिएको छ, तर तिनमा जीवन हुँदैन, अनि त्यसपछि परमेश्वरले ती मरेका हड्डीहरूमा सास फुकिदिनुहुन्छ र ती जीवित पारिन्छन् (इजिकिएल ३७-४-६)।

यस अगमवाणीको पहिलो भाग पुरा भइसकेको छ। इस्राएल आफ्नो भूमिमा राष्ट्रको रूपमा १९४८ सालदेखि रहँदै आएको छ, तर इस्राएल त्यहाँ अविश्वास र आत्मिक मृत्युको अवस्थामा छ। इस्राएलले आफ्नो मसीहलाई इन्कार गरिनै रहेको छ। इस्राएलसित न मन्दिर छ, न बलिदान छ, न साँचो उपासना नै। तर इस्राएल बाइबलले भविष्यवाणी गरेजस्तै आफ्नो भूमिमा फर्केर आएको छ। सन् १८०० सालमा प्यालेस्टाइनमा केवल छ हजार यहूदीहरू मात्र थिए, तर सन् २००० भित्र त्यहाँ ५० लाख भन्दा धेरै यहूदीहरू भइसकेका थिए (John Ecob, Amillennialism Weighed and Found Wanting, p. 44-45).

महासङ्कष्टको समयमा परमेश्वरले इस्राएललाई पश्चात्ताप प्रदान गर्नुहुनेछ र तिनमा आत्मिक जीवन फुकिदिनुहुनेछ र त्यो जीवित पारिनेछ।

इस्राएलको अस्तित्वको निरन्तरता एउटा ज्यादै ठूलो आश्चर्यकर्म हो र बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो भन्ने कुराको अकाट्य प्रमाण हो।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

बाइबल २

Study Series

बाइबल २

डेविड क्लाउड

पद कण्ठ: १ कोरिन्थी १०:११; १ थेस्सलोनिकी २:१३; २ तिमोथी ३:१६-१७

बाइबलको ईश्वरीय प्रेरणा

बाइबल परमेश्वरबाट चुनिएका अगमवक्ताहरूद्वारा लेखिएको हो। तिनीहरूले परमेश्वरबाट दिइएका शब्दहरू लेखे। यसलाई “ईश्वरीय प्रेरणा” (divine inspiration) भनिन्छ। यो कुरा सिकाउने मुख्य दुईटा खण्डहरूलाई विचार गर्नुहोस्:

२ तिमोथी ३:१३-१७

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो चाबी खण्ड हो र यसले धेरैओटा महत्त्वपूर्ण सत्यताहरू सिकाउँछ।

  1. बाइबल अन्य सबै पुस्तकहरूभन्दा अलग छ (२ तिमोथी ३:१५)। यहाँ बाइबल-शास्त्रलाई “पवित्र” भनिएको छ। यसको माने हो “अलग, भिन्न”। बाइबल एक्लै मानिसलाई दिइएको परमेश्वरको दिव्य वचन हो।
  2. बाइबल परमेश्वरबाटको हो (“परमेश्वरको प्रेरणाद्वारा दिइएको हो”, २ तिमोथी ३:१६)। ग्रीकबाट अक्षरशः अनुवाद गर्दा, यस पदले पवित्रशास्त्र “परमेश्वरबाट निश्वासित भएको” (God-breathed) हो भन्दैछ। यद्यपि यो मानिसहरूद्वारा लेखियो, बाइबल परमेश्वरको सास निश्वासनबाट दिइएको हो। बाइबलले आफ्नै बारेमा गरेको दाबी हो यो। यदि यसमा त्रुटीहरू र काल्पनिक कथाहरू भेटिएका भए यो झूटो साबित हुनेथ्यो। आफ्नो प्रेरणाको चर्चा गर्नुपर्दा पवित्रशास्त्रले प्रेरणाको तरिकालाई नभएर त्यसद्वारा आएको तयारी सामग्रीलाई मुख्य विषय बनाउँदछ। परमेश्वरले विभिन्न तरिकाले बोल्नुभयो (सपनाहरूद्वारा, दर्शनहरूद्वारा, स्वर्गदूतहरूद्वारा, प्रत्यक्षरूपमा – जस्तै सिनै पर्वतमा, आदि) तर हरेक अवस्थाको सवालमा आखिरमा ती लेखोटहरू ईश्वर-प्रेरित थिए।
  3. बाइबल पूर्णरूपमा नै परमेश्वरबाटको हो (“सबै पवित्रशास्त्र”, २ तिमोथी ३:१६)। सबै पवित्रशास्त्र परमेश्वरबाट आएको हो भनिएको छ। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द “ग्राफे” हो र यसको माने “लेखोट” वा “पुस्तक” हो। यसले “पूर्ण प्रेरणा” (plenary inspiration) लाई जनाउँछ जसको माने पूर्णरूपमा, पूरै, सबै भन्ने हुन्छ।
  4. बाइबल, त्यसको सबभन्दा सुक्ष्म बुँदा समेत, परमेश्वरबाटको हो (२ तिमोथी ३:१५)। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द, “ग्राम्मा” हो र यसले एउटा अक्षरलाई जनाउँदछ। यसरी, बाइबलका सबैभन्दा मसिना विवरणहरू पनि परमेश्वरबाटका हुन्। यसलाई “शाब्दिक प्रेरणा” (verbal inspiration) भनिन्छ।
  5. बाइबल एउटै पुस्तक हो र यसको एउटा सर्वोपरि विषयवस्तु छ र त्यो हो येशू ख्रीष्टमा प्रबन्ध गरिएको मुक्ति (२ तिमोथी ३:१५)। बाइबल, नानाथरीका धार्मिक लेखोटहरूको सङ्ग्रह होइन। यो त परमेश्वरले आफूलाई प्रकट गर्नलाई, मुक्तिको मार्ग बताउनलाई, युग‍हरू सम्बन्धी उहाँको योजनालाई प्रकट गर्नलाई उहाँले रचना गर्नुभएको सिङ्गो पुस्तक हो। सिङ्गो बाइबलमा बाइबलको हरेक भागको महत्त्वपूर्ण भूमिका रहेको छ।
  6. बाइबलले विश्वासीहरूलाई भ्रमदेखि जोगाउन सक्छ (२ तिमोथी ३:१३-१५)। यदि बाइबलमा काल्पनिक कथाहरू, त्रुटीहरू, र लेखकका बारेमा, आश्चर्यकर्मका बारेमा र भविष्यवाणीहरूका बारेमा असत्य दाबीहरू भएका भए, यो पूर्णरूपमा आधिकारिक हुन सक्दैनथ्यो र यसले झूटा शिक्षाहरूदेखि सुरक्षा प्रदान गर्न सक्दैनथ्यो!
  7. बाइबल एक ख्रीष्टियनलाई पूर्ण र परिपक्क्व बनाउनलाई पर्याप्‍त छ (२ तिमोथी ३:१७)। एक असिद्ध, अपूरो पुस्तकले सिद्धता ल्याउन सक्दैनथ्यो, अनि बाइबलले परमेश्वरको जनलाई सिद्ध बनाउन सक्ने भएको हुनाले यो स्पष्ट छ कि उसलाई अन्य केही कुराको आवश्यकता पर्दैन। तसर्थ, एक विश्वासीको जीवनमा र मण्डलीमा बाइबल नै विश्वास र अभ्यासको एकमात्र अधिकार हो।

२ पत्रुस १:१९-२१

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो अर्को चाबी खण्ड हो।

  1. पवित्रशास्त्र अन्धकारमा बलिरहेको बत्ती हो (२ पत्रुस १:१९)। अन्धकारपूर्ण स्थान संसार हो। यद्यपि यहाँ केही सत्यता भ्रमसित मिश्रित रूपमा रहेको पाइन्छ, संसारलाई अन्धकारपूर्ण स्थानको रूपमा दर्शाइएको छ किनकि मानिसले परमेश्वरबाटको प्रकाशबिना आत्मिक सत्यता जान्न सक्दैन। बाइबल नै त्यो प्रकाश हो जो अन्धकारको बीचमा बलिरहेको छ।
  2. बाइबल मानिसको इच्छाबाट तयार भई आएको कुरा होइन (२ पत्रुस १:२१)। अन्य पुस्तकहरू मानव लेखकको इच्छाका परिणाम हुन्, तर बाइबलचाहिँ होइन। परमेश्वरले केही निश्चित व्यक्तिहरूलाई चुन्नुभयो र उहाँको सन्देश प्रकाशन गर्नलाई उनीहरूलाई चलाउनुभयो। पवित्र आत्माले जब काम गर्नुभयो तब ती चुनिएका मानिसहरूले परमेश्वरका शब्दहरू बोले र लेखे।
  3. यस खण्डले बाइबल कुन तरिकाले दिइएको थियो भनेर बयान गर्दछ। परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुभयो, तर उहाँले उनीहरूलाई यस्तो प्रकारले प्रयोग गर्नुभयो कि तिनीहरूले जे लेखे त्यो परमेश्वरको वचन थियो। प्रेरणा र प्रकाशको विषयलाई छुँदा बाइबलले परमेश्वरलाई मुख्य विषय बनाउँदछ। हामीलाई प्रक्रियाको सम्बन्धमा एकदमै थोरै कुरा बताइएको छ। प्रेरणाको प्रक्रिया एउटा नखुलाइएको रहस्य हो। यो काम पवित्र आत्माद्वारा रहस्यमय ढङ्गले पूरा भयो। प्रेरणाको प्रक्रियाको बारेमा हामीले चिन्ता गर्नुपर्दैन; उक्त कुरा सम्पन्न भएकै हो भन्ने परमेश्वरको गवाहीलाई हामीले विश्वास गर्नुपर्छ र तयारी सामग्री अर्थात् बाइबलमाथि आफ्नो विश्वासको अभ्यास गर्नुपर्छ। आधुनिक शास्त्रज्ञहरू प्रायः ठीक यसको उल्टो गर्ने गर्छन्। तिनीहरू ईश्वरीय पक्षलाई नभएर मानवीय पक्षलाई मुख्य विषय बनाउँछन्। यसको कारण यो हो, प्रायःजसो आधुनिक शास्त्रज्ञहरू विश्वासको सिद्धान्तअनुसार चल्दैनन्। उनीहरू आफ्नै समझ र मानवीय विद्वत्ताअनुसार चल्दछन्। यो तरिकाले कुनै पनि मानिसले परमेश्वरको सिद्ध वचनलाई जान्न सक्दैन, किनकि “बिनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ” (हिब्रू ११:६)।
  4. “आफ्नो निजी व्याख्या” भन्ने वाक्यांशले बाइबलका लेखकहरूलाई जनाउँछ (२ पत्रुस १:२०)। सन्दर्भमा, योचाहिँ प्रकाश प्रदान गर्ने कार्यलाई जनाउँदैछ, त्यसलाई बुझ्ने कार्यलाई होइन। बाइबलका लेखकहरूले मानिसलाई दिइएको परमेश्वरको प्रकाशलाई आफ्नै विचारअनुसार व्याख्या गरेनन्; उनीहरूलाई पवित्र आत्माद्वारा परमेश्वरको प्रकाश दिइयो। उनीहरूले कतिपटक आफूले लेखिरहेका कुराहरूलाई समेत बुझेनन् (१ पत्रुस १:१०-१२)।

बाइबलको क्यानन (The Canonization of the Bible)

बाइबलको क्यानन भन्नाले पुरानो र नयाँ नियमका ६६ पुस्तकहरूको आधिकारिक सूची भन्ने बुझिन्छ। “क्यानन” शब्दको माने “एक नर्कट”, एउटा नाप्ने छडी, हो। यसले कुनै पनि कुरालाई एउटा स्थापित नियम वा मानदण्डले जाँच्ने प्रक्रियालाई जनाउँछ। पवित्रशास्त्रको क्यानन विश्वासद्वारा स्वीकार गरिनुपर्ने कुरा हो, किनकि त्यो यथार्थतः कसरी सम्पन्न भयो भन्ने कुराको ऐतिहासिक अभिलेख अस्तित्वमा छैन। परमेश्वर जसले पवित्रशास्त्र प्रदान गर्नुभयो उहाँले नै आफ्ना जनहरूलाई कुन-कुन पुस्तकहरू समावेश गरिनुपर्छ भनी डोर्‍याउनुभयो।

पुरानो नियमलाई यहूदीहरूले सङ्कलन गरेका हुन्। यहूदीहरूलाई नै हो परमेश्वरले हिब्रू पवित्रशास्त्रहरूको संरक्षण गर्ने काम दिनुभएको (रोमी ३:१-२)। उनीहरूले पवित्रशास्त्रको पालना सधैँ त गरेनन्, तरैपनि उनीहरूले यसलाई आदर गरे र हरेक बिन्दु र मात्रा समेत परमेश्वरको प्रेरणाबाट दिइएको वचन हो भनी विश्वास गरे। ख्रीष्ट आउनुभन्दा कम्तिमा पनि १०० वर्ष अगाडिका मृत सागरका चर्मपत्रहरू (The Dead Sea Scrolls) मा पुरानो नियमका उही पुस्तकहरू नै थिए जो आज हाम्रा बाइबलहरूमा रहेका छन्। कुमरान (Qumran) गुफाहरूमा पुरानो नियमका ३९ ओटा पुस्तकहरूमध्येमा एस्तरको पुस्तक बाहेक अरू जम्मै पुस्तकहरू भेटिए, तरैपनि यहूदी क्याननमा एस्तरको पुस्तक समाविष्ट पुस्तक नै थियो भन्ने कुरा सर्वविदितै छ।

नयाँ नियमलाई शुरुका मण्डलीहरूले सङ्कलन गरेका हुन्। उक्त प्रक्रिया परमेश्वरका आत्माको अगुवाइमा भएको थियो। पवित्र आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्‍याउनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभएको थियो (यूहन्ना १६:१३; १ यूहन्ना २:२०)। शुरुका मण्डलीहरूले ती प्रेरितीय लेखोटहरूलाई परमेश्वरको वचन भनी ग्रहण गरे। १ थेस्सलोनिकी २:१३ मा हेर्नुहोस्।

क्यानन प्रक्रिया (canonization process) कुनै अस्तव्यस्त खाले प्रक्रिया थिएन, जस्तो बाइबल इतिहासका धेरजसो हिजोआजका पुस्तकहरूले बयान गर्ने गर्छन्। त्यसको यथार्थ इतिहास समयको हुस्सुभित्र छिपिएको भएता पनि हामी विश्वासैद्वारा जान्दछौं कि परमेश्वरको आत्माले विश्वासीहरूलाई यस विषयमा ठीक-ठीक गरी डोर्‍याउनुभएको थियो। दोस्रो शताब्दीमा आइपुग्दासम्म विश्वासीहरूले पूरै नयाँ नियमलाई पवित्रशास्त्रको रूपमा साधारणतया स्वीकार गरिसकेका थिए भन्ने कुराको प्रमाण छ। पाठ्यग्रन्थका कतिपय मडर्निस्टिक अर्थात् नवीन विचारधारा राख्‍ने समालोचकहरू (modernistic textual critics) ले समेत दोस्रो शताब्दीको बीचमा नआइपुग्दै ग्रीक नयाँ नियमको वर्तमान २७-पुस्तकीय क्यानन अस्तित्वमा रहेको निष्कर्ष निकालेका छन्। (हेर्नुहोस्, David Trobisch, The First Edition of the New Testament, Oxford/New York: Oxford University Press, 2000)। दोस्रो शताब्दीबाट हामीलाई प्रमाण मिलेको छ कि प्रत्येक मण्डलीसँग प्रेरितका लेखोटहरूका आ-आफ्नै प्रतिलिपि हुने गर्थ्यो ता कि उनीहरू त्यसलाई पढ्न र त्यसबाट प्रचार गर्न सकून्। त्यसबेलाका एक प्रचारक, जस्टिन मार्टर (Justin Martyr) ले लेखे, “अनि आइतबार भनिने दिनमा शहरहरूमा वा गाउँहरूमा बस्नेहरूको एउटै स्थानमा सभा हुने गर्छ, र समयले भ्याएसम्म त्यहाँ प्रेरितहरूका पत्रहरू वा भविष्यवक्ताहरूको लेखोटहरूबाट पढेर सुनाइने गरिन्छ। पाठकले भ्याइसकेपछि सभापतिले प्रवचनमा हामीलाई यी उत्तम कुराहरूको देखासिकी गर्नलाई आग्रह गर्छन् र निमन्त्रणा गर्छन् (Justin Martyr, Apology)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

बाइबल १

Study Series

बाइबल १

डेविड क्लाउड

पद कण्ठ: भजनसङ्ग्रह ११९:१०५; लूका २४:२७; रोमी १५:४

बाइबल के हो?

बाइबल, परमेश्वरले आफूलाई मानवजातिकहाँ प्रकट गर्नलाई दिनुभएको पुस्तक हो। यसले जीवनका सबै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ जस्तै, परमेश्वर को हुनुहुन्छ? मानिसको उत्पत्ति कहाँबाट भयो? जीवनको उद्देश्य के हो? यो संसार किन दुःखकष्टले भरिएको छ? मान्छे किन मर्छ? मृत्युपछि के हुन्छ? मान्छे कसरी परमेश्वरसित ठीक सम्बन्धमा गाँसिन सक्छ? येशू को हुनुहुन्छ? उहाँ किन मर्नुभयो? भविष्यमा के हुनेवाला छ?

बाइबल परमेश्वरले चुन्नुभएका करिब ४० जना अगमवक्ताहरूद्वारा लेखियो अनि तिनीहरूले परमेश्वरद्वारा उनीहरूलाई दिइएका शब्दहरू लेखे (२ पत्रुस १:२१)। यो करिब १६०० वर्षको, करिब १५०० ई. पू. देखि ९० एडीसम्मको, अवधिभित्र लेखियो।

“बाइबल” भन्ने शब्द ग्रीकको “बिब्लोस्” बाट आउँछ जसको माने “पुस्तक” हो। बाइबल एउटै पुस्तक हो र यसले एकै स्वरमा बोल्छ, तर यो मुख्य दुइटा खण्डमा विभाजित छ — पुरानो नियम र नयाँ नियम। अझ, ‍बाइबलमा ६६ ओटा छुट्टै पुस्तकहरू छन्: पुरानो नियममा ३९ पुस्तकहरू, नयाँ नियममा २७। पुस्तकहरू अध्यायहरूमा विभाजित छन् र हरेक अध्याय पदहरूमा विभाजित छन् ताकि खण्डहरूलाई खोज्न सहज होस्। जस्तै, यूहन्ना ३:१६ ले यूहन्नाको पुस्तक, त्यसको तेस्रो अध्यायको १६ औं पदलाई जनाउँछ।

“नियम” भन्नाले करार वा सम्झौतालाई जनाइन्छ।

पुरानो नियम (OLD TESTAMENT) मोशाको व्यवस्थाद्वारा मानिससितको परमेश्वरको करार हो। व्यवस्था, परमेश्वरको पवित्रता र मानिसको पापी अवस्था प्रकट गरी येशूको आगमनको लागि बाटो तयार पार्ने उद्देश्यमा दिइएको थियो (रोमी ३:१९-२०)।

पुरानो नियम मूलतः हिब्रू भाषामा लेखियो।

पुरानो नियम निम्‍न प्रमुख खण्डहरूमा विभाजित छ:

व्यवस्था (The Law) — उत्पत्तिदेखि व्यवस्था। यस खण्डलाई पञ्चग्रन्थ (Pentateuch, अर्थात् “पाँच पुस्तकहरू”) भनिन्छ। यसले आकाश र पृथ्वीको सृष्टि, अदनको बगैँचामा मानिसको पतन, नूहको समयको विश्वव्यापी जलप्रलय, बाबेलको धरहरा र भाषाहरूको उत्पत्ति, अब्राहामको बोलावट र उसका छोराहरूबाट यहूदी जातिको शुरुआत, मिस्रदेशमा इस्राएलको दासत्व र त्यसबाटको प्रस्थान र (दस आज्ञासहितको) परमेश्वरको व्यवस्था दिने कामको बयान गर्दछ।

इतिहास (The History) — यहोशूदेखि एस्तर। यस खण्डमा प्रतिज्ञाको देशलाई उनीहरूले कब्जा गरेदेखि बेबिलोनी कैदसम्मको इस्राएलको अर्थात् यहूदी राष्ट्रको इतिहास पाइन्छ।

पद्य पुस्तकहरू (The Poetic Books) — अय्यूबदेखि श्रेष्ठगीत। यो खण्ड परमेश्वरको उपासना, दुःखकष्टको उद्देश्य र सतहमा हेर्दाको पार्थिव अस्तित्वको व्यर्थता जस्ता जीवनका गहन प्रश्नसित सम्बन्धित छ।

अगमवक्ताहरू (The Prophets) — यशैयादेखि मलाकी। यस खण्डमा इस्राएल, समग्रमा मानवजाति, र येशू ख्रीष्टका बारेमा भविष्यवाणीहरू छन्।

नयाँ नियम (NEW TESTAMENT) ख्रीष्टद्वारा किनिएको मुक्तिद्वारा मानिससितको परमेश्वरको करार हो। नयाँ नियममा ख्रीष्टको अलौकिक जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहण, ख्रीष्टका प्रेरितका शिक्षाहरू र भविष्य सम्बन्धीका अगमवाणीहरू छन्।

नयाँ नियम ग्रीक भाषामा लेखियो।

नयाँ नियम निम्न प्रमुख खण्डहरूमा विभाजित छ:

सुसमाचारहरू (The Gospels) — मत्ती, मर्कूस, लूका र यूहन्ना। यी चार सुसमाचारहरूले येशू ख्रीष्टको जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहणको बयान गर्दछन्। साथै यिनीहरूमा उहाँको दोस्रो आगमनको भविष्यवाणीहरू पनि छन्।

प्रेरितका कामहरू (The Acts of the Apostles) — प्रेरितको पुस्तकमा प्रथम चर्चहरू (मण्डलीहरू) को स्थापना र विस्तारको इतिहास बताइएको छ।

पावलका पत्रहरू (Paul’s Epistles) — रोमीदेखि फिलेमोन। यी पत्रहरू विभिन्न मण्डलीहरू र व्यक्तिहरूलाई ख्रीष्टियन शिक्षा सिकाउनलाई पावल प्रेरितद्वारा लेखिएका हुन्।

साधारण पत्रहरू (The General Epistles) — हिब्रूदेखि यहूदा। यी पत्रहरूलाई “साधारण पत्रहरू” भनिन्छ किनकि यीचाहिँ मण्डलीहरूलाई नभएर सबै ख्रीष्टियहरूलाई साधारण हिसाबमा लेखिए। यीचाहिँ पावल, याकूब, पत्रुस, यहूदा र यूहन्नाद्वारा लेखिए।

भविष्यवाणी (Prophecy) — प्रकाश। यस पुस्तकमा वर्तमान संसारको अन्तको बारेमा भविष्यवाणीहरू छन्।

नयाँ र पुरानो नियमबीचको सम्बन्ध निम्न तुलनाबाट देख्‍न सकिन्छ:

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।