रोमी ९:१-५

रोमी ९:१-५

 

रोमी अध्याय ९

रोमी अध्याय ९ — परिचय

रोमीको ९ देखि ११ अध्याय एउटा सिङ्गो एकाई हो। यी तीन अध्यायको विषयवस्तु इस्राएल जाति हो (९:३-४; १०:१,२१; ११:१-२,२६-२८ मा हेर्नुहोस्)। यी अध्यायहरूलाई एक हिसाबले उपवाक्यको रूपमा लिन सकिन्छ। विचारको प्रवाहलाई अध्याय ८ बाट सीधै अध्याय १२ मा जोड्न सकिन्छ। पहिलो आठ अध्यायहरूमा पावलले परमेश्वरको सुसमाचारलाई प्रस्तुत गरे, अर्थात् धर्मीकरणको असल खबर (रोमी १-५), पवित्रीकरणको असल खबर (रोमी ६-८) र महिमाकरणको असल खबर (रोमी ८)। अध्याय १२ मा उनले सुसमाचारको व्यावहारिक पक्षलाई प्रस्तुत गर्छन् अर्थात् सुसमाचारको सत्यतालेहाम्रो दैनिक जीवनलाई परमेश्वरसितको र हाम्रो छिमेकीसितको सम्बन्धमाके कसरी प्रभाव पार्नुपर्छ भन्ने कुरा देखाउँछन्। यसरी आठौं अध्याय स्वभावैले बाह्रौं अध्यायसित जोडिन्छ तर त्यसो गर्नुको सट्टा पावलले हामीलाई तीन-तीन अध्याय लामो उपवाक्य प्रदान गर्छन् जसमा उनले हामीलाई परमेश्वरको मनसाय र योजनामा इस्राएल जातिको के कस्तोस्थानरहेको छ भन्ने कुरा बुझ्न मदत गर्दछन्।

यो खण्ड ठूलो पीडाबाट सुरु हुन्छ (९:१-३) र यसकोअन्तचाहिँ परमेश्वरलाई ठूलो प्रशंसासहित हुन्छ (११:३३-३६)। यी तीन अध्यायहरूलाई सरल ढङ्गले विचार गर्ने एउटा तरिका यस प्रकार छ:अध्याय ९ मा इस्राएलको खास गरी विगतको चर्चा गरिएको छ (परमेश्वरको चुनिएको र विशेषाधिकार प्राप्त जातिको रूपमा)

अध्याय १० मा इस्राएलको खास गरी वर्तमानको चर्चा गरिएको छ (परमेश्वरको सुसमाचारको अधीनमा आउन अस्वीकार गरेको जातिको रूपमा)
अध्याय ११ मा इस्राएलको खास गरी भविष्यको चर्चा गरिएको छ (एक दिन बचाइने जातिको रूपमा जसले नयाँ करारका प्रतिज्ञाहरूको पूरा हुवाइको आनन्द अनुभव गर्नेछन्)।

यस खण्डलाई बुझ्न हामीले आफूलाई पहिलो शताब्दीमा जिउने व्यक्तिहरूको ठाउँमा राख्ने प्रयास गर्नुपर्छ र यहूदी समस्यालाई बुझ्ने प्रयास गर्नुपर्छ।तथ्य #१ — इस्राएल परमेश्वरको चुनिएको जाति हो (व्यवस्था ७:६-९; रोमी ११:२८)

तथ्य #२ — परमेश्वरले आफ्नो चुनिएको जातिलाई उनीहरूले आफ्ना मसीहको मातहतमा एक महिमापूर्ण राज्यको सुःखद अनुभव गर्नेछन् भन्ने प्रतिज्ञा गर्नुभएको थियो (दानियल ७:१३-१४; यशैया २:१-५; ९:६-७; ११:१-९; यर्मिया २३:५-८; ३१:३१-३७; ३३:१४-१६; लूका १:३२-३३)।

तथ्य #३ — इस्राएल जाति (कमसे कम इस्राएल जातिको अधिक भाग) ले आफ्नो मसीहलाई उहाँ पृथ्वीमा आउनुहुँदा अस्वीकार गरे (यूहन्ना १:११; मत्ती १२:२२-२४; मत्ती २१:३३-४६; २७:२२,२३,२५; यूहन्ना १९:१५; प्रेरित २२:२२; १ थेस्सलोनिकी २:१४-१५)।

तथ्य #४ — सुरुमा सिङ्गो मण्डली यहूदी विश्वासीहरूले बनेको थियो (प्रेरित अध्याय २, पेन्टेकोस्टको दिन)। तर विस्तारै यस संरचनामा बदली आयो। समय बित्दै जाँदाअन्यजातिहरूको सङ्ख्या झन् झन् वृद्धि भयोतर यहूदीहरूको सङ्ख्यात्मक वृद्धि थोरै मात्रामाभयो (यो हामी प्रेरितको पुस्तकको घटनाक्रमलाई हेर्दा र साथै मण्डली इतिहासलाई समग्रमा हेर्दा पनि देख्न सक्छौं)। आज मण्डली झण्डै पूर्ण रूपमा नै अन्यजातिहरूले बनिएको पाइन्छ (अनि मण्डली इतिहासको अधिकांश समयमा पनि यस्तै थियो)। प्रभु येशूलाई आफ्नो मसीहको रूपमा विश्वास गर्ने यहूदीहरूका लागि हामी धन्यवाद दिन्छौं, तर उनीहरू थोरै सङ्ख्यामा छन्। इस्राएल जाति सिङ्गो रूपमा अन्धा छ तर, खुसीको कुरा त्यहाँ केही अपवादहरू छन् (रोमी ११:२५ मा हेर्नुहोस्)।

के तपाईंले समस्या बुझ्न थाल्नुभयो? तथ्य #१ र #२ लाई तथ्य #३ र #४ ले काटेको जस्तो देखिन्छ। इस्राएलको गरिमामय राज्य कहाँ गयो? यहूदीहरूलाई दिइएका ती सबै प्रतिज्ञाहरूलाई के भयो? वर्तमानको लागि रहेको परमेश्वरको योजना (मण्डली) खास गरी अन्यजातिहरूमा केन्द्रित छ, यहूदीहरूमा होइन। किन यस्तो? के परमेश्वरले आफ्नो जातिलाई त्याग्नुभएको हो (रोमी ११:१ सित तुलना गर्नुहोस्)? के परमेश्वरलाई अब इस्राएल जातिको कुनै काम छैन? परमेश्वरको योजनामा यस जातिका निम्ति कुनै भविष्य बाँकी छ?

तपाईंले आफैलाई पहिलो शताब्दीको यहूदीको ठाउँमा राख्नुहोस्। पावलले प्रचार गरेको सुसमाचार या त साँचो थियो या त झूटो। पावल प्रेरितले प्रचार गरेका येशू ख्रीष्ट या त साँचो मसीह हुनुहुन्थ्यो या त हुनुहुन्नथ्यो। यसैले यहाँ दुई विकल्पहरू छन्: १) पावलले प्रचार गरेको सुसमाचार साँचो होइन, त्यसैले येशू ख्रीष्ट साँचो मसीह हुनुहुन्न र हामी साँचो मसीहको आगमनलाई पर्खनुपर्छ। यदि त्यसो हो भने, राज्य आइनसक्नुको कारण साँचो मसीह आउन बाँकी भएकोले हो। २) पावलले प्रचार गरेको सुसमाचार साँचो हो त्यसैले येशू ख्रीष्ट साँचो मसीह नै हुनुहुन्छ। यदि यसो हो भने राज्य किन स्थापना भएन त? यहूदी जाति किन यस संसारमा दुःख भोगिरहेका छन् त? पुरानो नियममा उल्लेखित राज्य सम्बन्धीका प्रतिज्ञाहरू किन पूरा भएका छैनन् त? के परमेश्वरले आफ्नो जातिलाई त्याग्नुभयो त? यिनै प्रश्नका जवाफस्वरूप परमेश्वरले हामीलाई रोमी ९-११ अध्यायहरू दिनुभएको छ।यी मुद्दाहरू आज पनि ज्यादै सान्दर्भिक छन्। ख्रीष्टलाई स्वीकार्ने व्यक्तिहरूमध्ये आज त्यस्ता कतिपय छन्, विशेष गरी रिफर्म्ड/कभेनन्ट ईश्वरशास्त्रको प्रभावमुनि रहेकाहरू, जोहरू इस्राएल जातिलाई भावी राज्यको कुनै आशा दिन मान्दैनन् जुन राज्य इस्राएलको मसीहको अधीनतामा पृथ्वीमै स्थापना हुने कुरा पुरानो नियमका सयौं भविष्यवाणीहरूमा पूर्वउल्लेखित छ। कसैकसैले यो सिकाउँछन् कि इस्राएललाई दिइएका प्रतिज्ञाहरू मण्डलीको अधिकारमा सर्न गएको छ। अरूहरूले यो सिकाउँछन् कि राज्य भनेको यहीँ छ, अहिले नै छ र ख्रीष्ट आफ्ना जनहरूको हृदयहरूमा राज्य गर्दैहुनुहुन्छ। एक अर्थमा यो साँचो भए तापनि यसले कुन चाहिँ कुराको समाधान गर्दैन भने राज्य सम्बन्धित आजसम्म पूरा नभएका त्यहाँ सयौं त्यस्ता प्रतिज्ञाहरू र भविष्यवाणीहरू छन्। राज्य लगायत आउनुहुने मसीहका बारेमा जेजस्ता कुराहरू परमेश्वरले पहिले गर्नुभयो, के उहाँले त्यसबारे त्यही नै भन्नुभएको हो त? त्यसैले रोमी ९-११ अध्यायहरू परमेश्वरको योजनामा इस्राएलको स्थान बुझ्नलाई एकदमै महत्त्वपूर्ण छन्।

परमेश्वर इस्राएल जातिसित के गर्दै हुनुहुन्छ? यसको जवाफ मूल रूपमा दुई पाटामा छन्:

१) वर्तमानमा नै एक यहूदीकोनिम्ति परमेश्वरको एउटा सुन्दर योजना र उद्देश्य छ, तर यो योजना र उद्देश्य तबसम्म वास्तविक बन्दैन जबसम्म उसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दैन। रोमी १०:९-१३; ११:१-५।

२) भविष्यमा पनि एक यहूदीकोनिम्ति परमेश्वरको एउटा सुन्दर योजना र उद्देश्य छ, तर यो योजना र उद्देश्य तबसम्म वास्तविक बन्दैन जबसम्म यहूदीहरूका साँचो मसीह यस पृथ्वीमा दोस्रो पटक फर्केर आउनुहुन्न। हेर्नुहोस् रोमी ११:२५-२८। वर्तमानमासमयमा इस्राएलले सुसमाचारलाई अस्वीकार गरेको छ अविश्वास गरेको छ तरैपनि यस कुराले परमेश्वरलाई उहाँका राज्य सम्बन्धी प्रतिज्ञाहरू पूरा गर्न रोक्नेछैन जुन प्रतिज्ञाहरू उहाँले इस्राएललाई दिनुभएको छ (रोमी ११:२८)।

वर्तमान मण्डली युग (जो झण्डै २००० वर्ष लामो भइसक्यो) पुरानो नियममा प्रकट गरिएको थिएन। पुरानो नियमको यहूदीले दूर्गम भविष्यलाई हेर्दा उसले एउटा पहाडको चुचुरो देख्थ्यो जुनचाहिँ मसीहको आगमन र राज्यको महान् युग थियो। उसले वास्तवमापहाडका दुईटा चुचुरालाई एउटै जस्तो देखिरहेका थिए र बीचमा एउटा बेसी पनि छ भन्ने कुरा महसुस गर्न सक्दैनथे:

यस कुरालाई दर्शाउने पुरानो नियमका केही खण्डहरूलाई विचार गर्नुहोस्:

१) यशैया ९:६-७

६ पदले मसीहको जन्मको कुरा गर्दछ र पद ७ ले उहाँको राज्यको कुरा गर्दछ तर यी दुई घटनाका बीच सयौं वर्षको अन्तराल छ भन्ने कुराको त्यहाँ कुनै छनक पाइँदैन।

२) मीका ५:२

मसीह बेथलेहेममा जन्मनैपर्छ र उहाँ इस्राएलमा शासक हुनैपर्छ। पहिलो आगमनमा यसमध्ये पहिलो घटना मात्र पूरा भयो।

३) यशैया ६१:१-२ (लूका ४:१८-१९ सित तुलना गर्नुहोस्)

भविष्यवाणीको कुन ठाउँमा पुगेर पढ्न रोक्नुपर्छ भन्ने कुरा प्रभु येशू जान्नुहुन्थ्यो किनकि उहाँको पहिलो आगमनमा अगमवाणीको कुनचाहिँ भाग पूरा हुन्छ भनेर उहाँ जान्नुहुन्थ्यो। न्यायको दिन आउनलाई त्यसले उहाँको दोस्रो आगमनलाई पर्खिरहेको छ।

४) जकरिया ९:९-१०

यस अगमवाणीको कुन भाग प्रभुको पहिलो आगमनमा पूरा भयो? (मत्ती २१:४-५ सित तुलना गर्नुहोस्)। यस अगमवाणीको कुन भागले भविष्यको पूरा हुवाइलाई पर्खनुपर्छ?

५) लूका १:३१-३३

नयाँ नियमको अगमवाणी माथि उल्लेखित पुरानो नियमका अगमवाणीहरूसित मिल्दोजुल्दो छ यस हिसाबले कि एक खण्ड पहिलो आगमनसित सम्बन्धित छ र अर्को खण्ड पूरा हुन दोस्रो आगमनलाई पर्खनुपर्छ।

पुरानो नियमको यहूदीले आफ्नो बाइबल पढ्दाहुँदी उसले केवल एउटै मात्र आगमन देख्न सक्थ्यो। आज हामी ख्रीष्टका दुई आगमनहरूको बीचमा बाँिचरहेका छौं जुन समय उहाँले आफ्नो मण्डली निर्माण गर्दैहुनुहुन्छ (मत्ती १६:१८) र आफ्नो नामका निम्ति जातिहरूका बीचबाट एउटा जाति निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। आज हामी बाइबल पढ्नेहरूलाई के फाइदा छ भने हामीले ख्रीष्टका दुई फरक-फरक आगमनहरूलाई पहिलेकाहरूले भन्दा प्रस्ट देख्न सक्छौं — एउटा आगमन इतिहास भइसक्यो र अर्को अझ पनि अगमवाणीकै रूपमा छ (उहाँ आउनुभयो र उहाँ फेरि आउनुहुनेछ)!

रोमी ९:१

आठौं अध्यायमा पावलले ख्रीष्टमा रहेकाहरूको महिमित सुरक्षा र सुिनश्चयताको बारेमा लेखे। अब नवौं अध्यायमा उनी ख्रीष्टमा नरहेका बहुसङ्ख्यक इस्राएलीहरूका बारेमा अत्यन्तै फिक्रीमा परेको भेट्टाउँछौं। “म साँचो बोल्दछु”, “म झूट बोल्दिनँ” — आफूले बताउन लागेको कुराको निम्ति पावलले हामीलाई तयार गराउँदैछन्। उनले बताउन लागेको कुरा यति अपत्यारिलो छ कि उनले साँच्ची नै सत्य बोल्दैछन् भन्ने कुराको आश्वासन आफ्ना पाठकहरूलाई दिनु परेको छ। आफू सत्य बोल्दैछु भन्ने कुरालाई स्पष्ट पार्न पावलले सो कुरा तीन-तीन फरक तरिकाले व्यक्त गर्दछन्: १) “म ख्रीष्टमा साँचो बोल्दछु” (ख्रीष्टबिना उनले यो भन्न सक्दैनथे किनकि ख्रीष्टबिना उक्त कुरा असत्य हुन्थ्यो); २) “म झूट बोल्दिनँ” (अपत्यारिलो भए तापनि मैले भन्न लागेको कुरा साँचो हो); ३) “मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ।” यदि पावलले झूट बोलिरहेका भए पवित्र आत्माले उनको विवेकलाई घोच्नुहुनेथ्यो र कायल पार्नुहुनेथ्यो र पावलको विवेकले, “पावल, तिमी झूट बोल्दैछौ” भन्दै उसलाई कुनै शान्ति दिनेथिएन। आफूसित दोषी विवेक छैन भनी पावल जान्दथे। सत्य बोल्दैछु भनी उनी जान्दथे।

रोमी ९:२

“भारी शोक” = दुःख, पीडा। पावल अत्यन्तै दुःखित थिए र गहिरो शोकमा थिए। “नटुङ्गिने” = नरोकीकन, निरन्तर (१ थेस्सलोनिकी ५:१७), अटुट, अविरल। “पीडा” = हाय, पीडाहरू (१ तिमोथी ६:१०)। यहाँ हामी यदि पावलको मात्र शोकदेख्छौं भने हामीले सिङ्गो दृश्य देखिरहेका छैनौं। हामीले पावलको शोक भन्दा पर हेर्नुपर्छ र आफ्नो चुनिएको जाति इस्राएलका निम्ति प्रभु आफै रोइरहनुभएको र दुःखित हुनुभएको र शोकित हुनुभएको देख्नुपर्छ (ठीक जसरी रूने अगमवक्ता यर्मिया स्वयं यहोवाकै शोकित हृदयका तस्वीर थिए)। रोमी ११:२८ मा (“शत्रुहरू”) र विशेष गरी १ थेस्सलोनिकी २:१५ मा भेटिने पावलका ज्यादै कडा अभिव्यक्तिहरूको दाँजोमा यो पद कतिलाई छक्कलाग्दो हुन सक्छ, तर पावल, उनका प्रभु जस्तै, एकातिर पापलाई घृणा गर्न तर अर्कोतिर पापीलाई प्रेम गर्न सक्थे।

रोमी ९:३

अब हामी पावलको अपत्यारिलो, स्तब्ध पार्ने अभिव्यक्ति पढ्छौं। “श्रापित” — यो ज्यादै कडा शब्द हो (ग्रीक – “आनाथेमा”)। यसको माने “श्रापित, विनाशको निम्ति अलग गरिएको कुरा, विनाशको निम्ति अर्पित कुरा, नाश भइछाड्ने कुरा, परमेश्वरबाट श्रापित र अलग राखिने कुरा।” गलाती १:८-९ र १ कोरिन्थी १६:२२ मा यसको प्रयोगलाई हेर्नुहोस्।

“इच्छा” = प्रार्थना गर्नु, चाहनु। “आफन्तहरू” = सह देशवासीहरू, एउटै जातिका सदस्यहरू।’ पावल भन्दैथे, “इस्राएल बाँचोस् भन्ने हेतुले म नष्ट हुन (सदाका लागि श्रापित हुन, ख्रीष्टबाट बञ्चित र अनन्त विनाशका लागि अर्पित हुन) सके हुन्थ्यो भनेर मैले इच्छा गरिरहेको थिएँ।” यहाँ कसैले आपत्ति जनाएको अनुमान गर्न सकिन्छ: “पावल, म तिम्रो कुरा विश्वास गर्दिनँ। कसले त्यस्तो कुरा गरेर पनि साँचो बोलेको हुन सक्छ र? के साँच्ची नै तिमी इस्राएल बाँचोस् भन्ने हेतुले स्वर्ग त्यागेर नरक जान तयार छौ?” पावल भन्छन्, “म साँचो बोल्दछु! म झूट बोल्दिनँ!” ख्रीष्टबाट अलग भएर पावलले यस्तो कुरा भन्न सक्ने नै थिएनन् किनकि त्यो सत्य हुनेथिएन (पद १ सित दाँज्नुहोस् “म ख्रीष्टमा साँचो भन्दछु”)। इस्राएलका निम्ति पावलको प्रेम र वास्ता मानवीय प्रेमभन्दा ज्यादै उच्च थियो। त्यो त उसभित्र हुनुहुने ख्रीष्टकै प्रेमभन्दा कम प्रेम थिएन। पावलले जे गर्न चाहन्थे ठीक त्यही काम ख्रीष्टले वास्तवमै गर्नुभयो! प्रभु येशू ख्रीष्टले स्वर्ग छोड्नुभयो (२ कोरिन्थी ८:९), र वास्तवमै नरक जानुभयो (यस अर्थमा कि उहाँलाई परमेश्वरले त्याग्नुभयो र दण्ड दिनुभयो) र हाम्रा निम्ति श्राप बन्नुभयो (गलाती ३:१३)। उहाँलाई परमेश्वरले त्याग्नुभयो (मत्ती २७:६) र उहाँलाई परमेश्वरले दण्ड दिनुभयो (यशैया ५३:५,६,१०) र त्यो नै नरकमा हुने अनुभव हो (मत्ती २५:४१,४६ र २ थेस्सलोनिकी १:८-९ मा त्यागिने र दण्डित हुने दुईटा तत्त्वलाई हेर्नुहोस्)। उहाँले हामीलाई बचाउने हेतुले यस्तो अद्भुत काम गर्नुभयो! यसलाई हामी भन्छौं “कलवरी प्रेम”। पावलले यस्तो कुरा व्यक्त गर्न सके किनभने उनको हृदय ख्रीष्टको प्रेमले भरिएको थियो अर्थात् त्यो प्रेम जसले ख्रीष्टलाई हाम्रा निम्ति वास्तवमै श्रापित बन्न अभिप्रेरित गर्यो ताकि हामी बाँच्न सकौं!

त्यो कुरा सारा इमानदारीपनमा र सत्यतामा उच्चारण गरिएको थियो, तरै पनि हामी बुझ्दछौं कि पावलको यो चाहना वास्तविक रूपमा पूरा हुन सक्दैनथ्यो। किन? १) रोमी ८:३८-३९: परमेश्वरको प्रेमदेखि उसलाई कुनै कुराले अलग पार्न सक्दैन भने ऊ श्रापित हुनु पनि सम्भव थिएन; २) त्यसको आवश्यकता पनि छैन किनकि ख्रीष्टले त्यो गरिसक्नुभयो! बरु पावलले आफ्नो जीवन एकजना मुक्तिदाताको सुसमाचार प्रचार गर्नलाई अर्पण गरे जुन मुक्तिदाताले पापीहरूलाई बचाउन वास्तवमै नरकको आगो र दण्ड बराबरको पीडा भोगिसक्नुभएको थियो, अनि पावल यो भन्छन् कि कसैले यो सुसमाचार प्रचार गर्दैन भने ऊ श्रापित होस् (गलाती १:८-९)। हाम्रो निम्ति यति धेरै गरिदिने ख्रीष्टलाई पनि एक व्यक्तिले किन प्रेम नगर्न सक्छ? (तुलना गर्नुहोस् १ कोरिन्थी १६:२२)। (आफ्ना जनहरूप्रतिको परमेश्वरको प्रेम र गहिरो दुःख र वास्ताले मोशाको हृदय भरिएको थियो — प्रस्थान ३२:३२; उत्पत्ति ४४:३३ मा यहूदालाई २ शमूएल १८:३३ मा दाऊदको शोकसित दाँज्नुहोस्)।

रोमी ९:४

पावलले शरीरअनुसारकाआफ्ना दाजुभाइ तथा आफन्तहरूलाई “इस्राएलीहरू” भनेर जनाउँछन्, जोहरू याकूबबाट जन्मे जसको अर्को नाउँ इस्राएल थियो (उत्पत्ति ३२:२८)। परिभाषाअनुसार एक जातीय यहूदी त्यो हो जसले “मेरा पूर्वजहरू अब्राहाम, इसाहक र याकूब हुन्!” भन्न सक्छ। त्यसो भन्न नसक्नेहरू अन्यजाति हुन्। यस वर्तमान युगमा ख्रीष्टमाथि विश्वास गरेका यहूदी लगायत अन्यजातिहरू चाहिँ मण्डली भनिने परमेश्वरको अद्वित्तीय संरचनाका सदस्य हुन् (१ कोरिन्थी १०:३२ र १२:१२-१३)।

“उनीहरूकै हुन्” — उनीहरूको हिस्सा के थियो भन्ने कुरा यहूदीहरूले जानेको पावल चाहन्थे। परमेश्वरले तिनीहरूलाई धेरै नै दिनुभएको थियो। उनीहरू परमेश्वरबाट विशेष रूपमा आशिष पाएका विशेष जाति थिए (व्यवस्था ७:६-८)। यही चुनिएको जातिलाई विभिन्न लाभहरू, आशिषहरू, विशेषाधिकारहरू र फाइदाहरू दिइए। पृथ्वीमा अरू कुनै जातिलाई परमेश्वरको हातबाट उनीहरूलाई जत्तिकै दिइएन।

इस्राएललाई दिइएको एउटा फाइदा त पावलले रोमी ३:१-२ मा उल्लेख गरिसके: परमेश्वरले यी मानिसहरूलाई आफ्नो वचन सुम्पनुभयो र त्यसको जिम्मा लाउनुभयो। परमेश्वरले केही यहूदीहरूलाई आफ्ना लेखनदासको रूपमा चलाउनुभयो (२ पत्रुस १:२१) र परमेश्वरले अरू थुप्रै यहूदीहरूलाई पवित्र शास्त्रहरूको प्रतिलिपिहरू बनाउन र उहाँको वचन प्रसारण गर्न प्रयोग गर्नुभयो अनि तिनीहरूले उक्त काम ज्यादै सावधानीपूर्वक र उत्कृष्टतापूर्वक पूरा गरे। रोमी ९ अध्यायमा पावलले इस्राएललाई दिइएका आठओटा थप फाइदाहरू सूचित गर्छन्।

१) धर्मपुत्र हुने हक

परमेश्वरसित इस्राएल जातिको एउटा अद्वित्तीय सम्बन्धके थियो भने उनीहरूलाई पुत्रत्वको विशेषाधिकार दिइएको थियो। पृथ्वीको अरू कुनै जातिलाई परमेश्वरले “मेरो छोरा” भनेर सम्बोधन गरिएको पाइँदैन। प्रस्थान ४:२२-२३ लाई ध्यान दिनुहोस्, “इस्राएल मेरो छोरा, मेरो जेठा छोरा हो। अनि म तँलाई भन्छु: मेरो छोरालाई जान दे, र उसले मेरो सेवा गरोस्!” जसरी जेठा छोराले विशेष सुविधा र दर्जा र स्थान पाउँथ्यो त्यसरी नै इस्राएलले जातिहरूको बीचमा एउटा विशेष स्थान पायो। यादमा राख्नुहोस्, प्रस्थान ४:२२-२३ मा अभिलेख गरिएका शब्दहरू परमेश्वरले उच्चारण गर्नुहुँदा इस्राएल परदेशमा बसोबासो गरिरहेका दासहरूको एउटा जमात मात्र थियो! होशे ११:१ मा पनि पढ्नुहोस्। परमेश्वरले आफ्नो छोरा इस्राएललाई प्रस्थानको समयमा मिश्रदेशबट बाहिर बोलाउनुभयो अनि सयौं वर्षपछि परमेश्वरले आफ्नो अद्वित्तीय पुत्रलाई हेरोद महानको मृत्युपछि मिश्रदेशबाट बाहिर बोलाउनुभयो — मत्ती २:१५। मलाकी १:६ पनि पढ्नुहोस् (पिता-पुत्रको सम्बन्धलाई ध्यान दिनुहोस्; समस्या के थियो भने इस्राएलले आफ्ना पितालाई आदर गरेनन्)। [रोमी ९:४ को धर्मपुत्रत्व राष्ट्रिय पुत्रत्वको विषय हो जुनचाहिँ रोमी ८:१५,२३ मा उल्लेखित व्यक्तिगत धर्मपुत्रत्व भन्दा भिन्न कुरा हो।]

२) महिमा

यसले परमेश्वरको उपस्थितिको सदृश्य प्रकटहुवाइलाई जनाउँछ। यो चाहिँ परमेश्वरको महामहिमपूर्ण उपस्थिति वा प्रकटहुवाइ हो जसमा उहाँ मानिसहरूको बीचमा बास गर्नलाई ओर्लनुहुन्छ। यसलाई शेकाइना महिमा (shekinah glory) भन्ने पनि गरिन्छ (हिब्रूमा शेकाइना भन्ने शब्द बास गर्नु भन्ने क्रियापदबाट आउँछ)। बाइबलमा यसलाई धेरैपटक “परमप्रभुको महिमा” भनेर उल्लेख गरिएको छ। प्रायःजसो यी प्रकटहुवाइहरू ज्योति, आगो वा बादलको रूपमा हुन्थे। जस्तै:

उत्पत्ति १५:१७ धूवाँ निस्कँदै गरेको अँगेठी र बल्दै गरेको राँको (अब्राहाम)
प्रस्थान ३:१-५ जलिरहेको पोथ्रा (मोशा)
प्रस्थान १३:२१-२२; १४:१९-२०,२४ बादलको खाँबो र आगोको खाँबो (प्रस्थान)
प्रस्थान १९:१६-२० आगो, धूवाँ, आदि (सिनाई पर्वत)
प्रस्थान ३३-३४ मोशालाई देखाइएको एउटा विशेष प्रकटहुवाइ
प्रस्थान ४०:३४-३८ भेट हुने पालमाथि बादल र आगो; दाँज्नुहोस् १ शमूएल ४:२१-२२
१ राजा ८:१०-११ बादल (सुलेमानको मन्दिरमा परमेश्वरको महिमा)
लूका २:८-९ चम्किलो महिमा (बेथलेहेमका गोठालाहरू)
मत्ती १७:१-८ रूप परिवर्तित ख्रीष्टको चमक

परमेश्वरले आफ्नो उपस्थिति यस्तो अपूर्व तरिकाले कुनै अरू जातिलाई प्रकट गर्नुभएन। “किनकि अर्को कुनचाहिँ यति महान् जाति होला जसको ईश्वर तिनीहरूको यति नजिक रहन्छ?” (व्यवस्था ४:७)।

३) वाचाहरू

बहुवचनको प्रयोगलाई ध्यान दिनुहोस्। अरू जातिहरूलाई एउटै मात्र करार दिइएको थियो — नूहसितको करार (उत्पत्ति ९:८-१७)। उक्त करार परमेश्वर र नूह लगायत नूहका छोराहरूबाटका सन्तानहरूसित बाँधिएको थियो जसअन्तर्गत सबै जातिका सबै मानिसहरू पर्छन् (उत्पत्ति ९:८-९)। यस करारमा परमेश्वरले संसारलाई जलप्रलयले फेरि कहिल्यै नष्ट नगर्ने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ९:१५) र उहाँले दिन/रात, ऋतुहरू आदिको निरन्तरताको प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ८:२१-२२)।

अरू करारहरू इस्राएललाई दिइयो र तिनलाई यसरी सूचित गर्न सकिन्छ:अब्राहामसितको करार (उत्पत्ति १५:७-२१; १७:१-१४)
अब्राहामबाटएउटा महान् जाति आउनेछ र निश्चित साँध-सीमाना भएको प्रतिज्ञा गरिएको भूमिमा वास गर्नेछ।
मोशासितको करार (प्रस्थान १९:५-८)
शर्तपूर्ण, व्यवस्थाको करार जसअनुसार इस्राएलले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्थ्यो। यसलाई पुरानो करार पनि भनिन्छ र इस्राएलले भङ्ग गरेको करार यही थियो (यर्मिया ३१:३२)।
प्यालेस्टाइनी करार (व्यवस्था २९-३०)
यस करारले यहूदीहरू छरपुष्ट पारिएपछि विश्वभरिबाट फेरि जम्मा पारिनेछन् र उनीहरू फेरि भूमिमा पुनःस्थापित हुनेछन् भन्ने कुरा बताएको छ (व्यवस्था ३०:१-९)।
दाऊदसितको करार (२ शमूएल ७:५-१९; दाँज्नुहोस् भजनसङग्रह ८९)
यो करारले एउटा अनन्त वंश र अनन्त सिंहासन र अनन्त राज्य र एकजना अनन्त व्यक्तिको प्रतिज्ञा गर्यो जो राजा हुनुहुनेछ अर्थात् ख्रीष्ट, दाऊदको पुत्र।
नयाँ करार (यर्मिया ३१:३१-३६)

यो करारले इस्राएलको राष्ट्रिय पुनर्जन्म (regeneration, नयाँजन्म) र उद्धारको कुरा गर्दछ जतिबेला परमेश्वरको व्यवस्था र परमेश्वरको आत्मा यहूदी जनभित्र राखिनेछ (दाँज्नुहोस् इजिकिएल ३६:२६-२९) र परमेश्वरको आत्मा उहाँका जातिभित्र राखिनुहुनेछ (इजिकिएल ३६:२७)। यस करारलाई रोमी ११:२६-२७ मा उल्लेख गरिएको छ।

४) व्यवस्था दिने काम

अरू कुनै जातिको सम्बन्धमा यो साँचो थिएन। ती आज्ञाहरू मिश्रीहरू वा बेबिलोनीहरू वा फारसीहरू वा रोमीहरूलाई दिइएको थिएन। उहाँको पवित्र व्यवस्थामा प्रकट गरिएको परमेश्वरको भययोग्य पवित्रता जान्ने अवसर इस्राएललाई दिइएको थियो: “अनि अर्को कुनचाहिँ यति महान् जाति होला, जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्था जत्तिकै धर्ममय छन्?” (व्यवस्था ४:८)।

५) परमेश्वरको सेवा

यसले परमेश्वरद्वारा स्थापित पूजाहारीगिरीको नेतृत्वमा गरिने भेट हुने पाल र मन्दिरको उपासना कार्यलाई समेट्थ्यो। हिब्रू ९:१,६,९ मा “सेवा” भन्ने शब्द परमेश्वरको भेट हुने पालको पूजाहारीय सेवासित सम्बन्धित भएको देखाउँछ। अन्य जातिहरू परमेश्वर सम्बन्धी अज्ञानतामा थिए (यूहन्ना ४:२२-२३ सित दाँज्नुहोस्) तर इस्राएललाई परमेश्वरको उपासना गर्ने र उहाँको नजिकमा जाने साँचो तरिका बताइएको थियो, जो सम्पूर्ण विधिहरूले प्रभु येशू ख्रीष्टको व्यक्तित्व र कार्यलाई सुन्दर ढङ्गले दर्शाउँथे।

६) प्रतिज्ञाहरू

यस अन्तर्गत पर्छन् “म गर्नेछु” भन्ने परमेश्वरका महान् अभिव्यक्तिहरू। आफ्ना जातिको पक्षमा उहाँले गर्नेछु भनी भन्नुभएका ती सबै कुराहरूको विचार गर्नुहोस्! उदाहरणस्वरूप यशैया ४१:८,१० लाई लिनुहोस् — “तर हे इस्राएल, तिमी मेरा दास हौ; हे याकूब, जसलाई मैले चुनेको छु – मेरो मित्र अब्राहामको वंश…नडराऊ; किनकि म तिम्रो साथमा छु; जिल्ल नपर; किनभने म तिम्रा परमेश्वर हुँ; म तिमीलाई बलियो पार्नेछु, अँ म तिमीलाई सहायता गर्नेछु; अँ, म मेरो धार्मिकताको दाहिने हातले तिमीलाई सम्हाल्नेछु।” इस्राएल जातिलाई दिइएका परमेश्वरका महान् र बहुमूल्य प्रतिज्ञाहरू अन्तर्गत मसीहको आगमनको प्रतिज्ञाहरू पनि पर्दथे जुन मसीहमा नै यस जातिको आशा अडेको थियो (यशैया २:१-४; ७:१४; ९:६-७, ११:१-११; २८:१६; आदि)।

७) पूर्खाहरू

विशेष गरी यसले अब्राहाम, इसहाक र याकूबलाई जनाउँछ जोहरू इस्राएल जातिका पूर्वजहरू थिए। इस्राएलका परमेश्वरले धेरै पटक यिनै तीनजनासित आफू आवद्ध भएको कुरा जनाउनुहुन्थ्यो (प्रस्थान ३:६,१५)।

८) ख्रीष्ट (मसीह — परमेश्वरको अभिषिक्त राजा!)

सबभन्दा ठूलो फाइदा सूचीको अन्तमा छ। आजसम्म जन्मेको सबभन्दा महान् व्यक्ति एक यहूदी भई जन्मनुभयो, “दाऊदका पुत्र, अब्राहामका पुत्र” (मत्ती १:१)। उहाँ “यहूदाको कूलको सिंह” (प्रकाश ५:५) हुनुहुन्छ। मुक्ति यहूदीहरूबाटको हो (यूहन्ना ४:२२) किनकि मुक्तिदाता यहूदीबाटका हुनुहुन्छ र उहाँबिना मुक्ति छैन (प्रेरित ४:१२)। उहाँको मनुष्यत्वको सम्बन्धमा शरीरअनुसार उहाँ एक इस्राएली हुनुहुन्थ्यो; उहाँको ईश्वरत्वको सम्बन्धमा उहाँ सबै माथि (पूर्णरूपमा सार्वभौम) सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ” (रोमी ९:५)।

यी सबै फाइदाहरू पाएर इस्राएलले तिनको के कति सदुपयोग गर्यो त? के उनीहरूले आफ्ना फाइदाहरूको फाइदा उठाए? के उनीहरू आफ्ना आशिषहरूले आशिषित भए? के उनीहरू आफ्ना लाभहरूले लाभान्वित भए? दुःखको कुरा यहीँ छ। हुन त अपवादका रूपमा केही भक्तजनहरू थिए (यूसूफ, मोशा, यहोशू, कालेब, दाऊद, दनियल, यर्मिया, आदि) तर अधिकांश यहूदीहरूले आफूसित भएको कुराको फाइदा उठाएनन्। बरु तिनीहरूले १) उनीहरूका पिताको रूपमा परमेश्वरलाई आदर गर्नु सट्टा उहाँलाई अनादर गरे र तुच्छ ठाने (मलाकी १:६); २) उनीहरूको बीचमा भएको परमेश्वरको उपस्थितिलाई उनीहरूले कुनै महत्त्व दिएनन्; ३) उनीहरूले परमेश्वरका करारगत प्रतिज्ञाहरूलाई बिर्से; ४) उनीहरूले परमेश्वरको व्यवस्थालाई भङ्ग गरे (यर्मिया ३१:३२); ५) उनीहरूका उपासनाहरू वास्तविकतारहित भए, रित्तो रीति मात्र भए; ६) महान् प्रतिज्ञाहरूलाई विश्वाससित मिसाइएन (हिब्रू ३:१८-४:२); ७) उनीहरू परमेश्वरमाथि विश्वास गर्ने विश्वासयोग्य अब्राहामका पाइलामा हिँडेनन् (रोमी ४:११-१२); अनि अन्तमा प्रमुख कुरा, ८) उनीहरूले आफ्नै मसीहलाई क्रूसमा टँगाए (मत्ती २७:२२; यूहन्ना १९:१५-१६; १ थेस्सलोनिकी २:१४-१५)।

आत्मिक सिद्धान्त: “किनभने हरेक, जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ; र जसलाई धेरै सुम्पिएको छ, त्यसबाट तिनीहरूले बढ्ता माग्नेछन्” (लूका १२:४७-४८)। इस्राएलीहरूलाई धेरै दिइएको थियो, र त्यसैले उनीहरूबाट धेरैको माग गरिनेछ। यो सिद्धान्त मत्ती ११:२०-२४ र १२:३८-४२ मा पनि देखिन्छ। जसलाई धेरै दिइएको छ उनीहरूको न्याय बढी कडा हुनेछ। दिइएको प्रकाश बमोजिम न्याय गरिनेछ।

आत्मिक प्रयोग: परमेश्वरले हामीलाई के दिनुभएको छ? हामीलाई के कस्ता फाइदा र लाभहरू छन्? हामीलाई दिइएका कुरालाई हामी के गर्दैछौं? के हामीसित बाइबल छ? (पुरानो नियम मात्र होइन तर पूरै बाइबल, ६६ पुस्तकहरू!)। हामीसित भएको बाइबललाई के गर्दैछौं? के परमेश्वरले हामीलाई उहाँको सन्तान हुने विशेषाधिकार दिनुभएको छ (यूहन्ना १:१२)? के उहाँले हामीलाई पालन गर्नलाई आज्ञाहरू र विश्वास गर्नलाई प्रतिज्ञाहरू दिनुभएको छ? के उहाँले हामीलाई उनीहरूको अनुसरन गरोस् भनेर विगतमा भक्तिपूर्ण जीवन जिउने पुरुष र स्त्रीहरूको नमुनाहरू दिनुभएको छ? उहाँको मण्डलीसित हामी के गर्दैछौं? उहाँको वचनसित के गर्दैछौं? प्रभु येशू ख्रीष्टसित हामी के गर्दैछौं? हामीले हाम्रा सबै फाइदहरूको फाइदा लिनुपर्छ। त्यसो गरेमा हामी कति आशिषित हुनेछौं; त्यसो नगरेमा हामीलाई हाय!

रोमी ९:५

ख्रीष्टको पूर्ण ईश्वरत्वलाई घोषणा गर्ने बाइबलका सबभन्दा प्रस्ट पदहरूमध्येमा रोमी ९:५ एउटा हो। यो पद येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भनेर बताउने अरू प्रस्ट खण्डहरूसँगै खडा छ:

यूहन्ना २०:२८ — उहाँ प्रभु हुनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ!

तीतस २:१३ — उहाँ महान् परमेश्वर हुनुहुन्छ
यशैया ९:६ — उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ
रोमी ९:५ — उहाँ धन्य परमेश्वर हुनुहुन्छ
यूहन्ना १:१ — उहाँ अनन्त परमेश्वर हुनुहुन्छ

हामीले कहिल्यै उहाँलाई परमेश्वरभन्दा सानो नबनाऔं जसरी “यहोवाका साक्षीहरू” र अन्य झूटा समूहहरूले बनाउने चेष्टा गरेका छन्। धार्मिक उदारवादीहरूले पनि उहाँलाई हाम्रो “महान् शिक्षक””सिद्ध नमुना””महत्त्वपूर्ण अगमवक्ता” आदिको संज्ञा दिनुको साथसाथै उहाँको मनुष्यत्वलाई जोड दिँदै ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्दछ। त्यस्ता व्यक्तिहरू रोमी ९:५ जस्तो पदको सामना गर्नुपर्दा त्यसलाई हुबहु स्वीकार गर्न सक्दैनन् र बरु त्यसको स्पष्ट मानेलाई बदल्न खोज्छन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ८:२८-३१

रोमी ८:२८-३१

 

रोमी ८:२८

यहाँ पाइने यो सुन्दर तुलनालाई ख्याल गर्नुहोस्: पद २६ — “हामी जान्दैनौं”; पद २७ — “हामी जान्दछौं”। हामीले जसरी प्रार्थना गर्नुपर्ने हो त्यो जान्दैनौं, तर हाम्रो परमेश्वरले उहाँ के गर्दैहुनुहुन्छ त्यो जान्नुहुन्छ र उहाँले सबै कुरा आफ्नो महिमाको निम्ति र उहाँका सन्तानको भलाइका निम्ति गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौं। परमेश्वरलाई प्रेम गर्ने व्यक्ति (साँचो विश्वासी) का निम्ति पद २८ बाइबलकै सबभन्दा सान्त्वनादायी पदमध्ये एउटा हो। यस पदको सान्त्वनादायी सत्यता परमेश्वरको विशेष गरी एउटा गुणमा आधारित छ — उहाँको सार्वभौमिकता। यदि सबै कुराहरू मिलेर (सबै घटना, सबै परिस्थिति, सबै परीक्षा, सबै भइरहेका कुराहरू, इत्यादि) भलाइ नै उत्पन्न गर्दछन् भने, यसले यो देखाउँछ कि परमेश्वर सबै कुराहरू भन्दामाथि हुनैपर्छ र सबै कुराहरू उहाँकै नियन्त्रणमनि हुनैपर्छ। यो कुनै डरपोक खाले “जे हुनु छ त्यही हुन्छ” भन्ने किसिमको अन्धविश्वास होइन। यो त त्यो उदेकको तथ्य हो कि एक सर्व-बुद्धिमानी, सर्व-प्रेमी, न्यायी परमेश्वर सबै कुराहरूमाथि नियन्त्रण गर्नुहुन्छ!

परमेश्वरको सार्वभौम क्रियाकलाप एफेसी १:११ मा उल्लेख छ र एफेसी ५:२० मा मानिलिएको पनि छ (हामी सबै कुराका निम्ति धन्यवाद दिन सक्छौं, सबै कुरा नै असल भएकोले होइन तर हाम्रो भरोसा एक सार्वभौम परमेश्वरमा भएकोले जसले सबै कुरालाई आफ्नो महिमाको लागि र हाम्रो भलाइको लािग अघि काममा लाउँदै हुनुहुन्छ)। रोमी ८:२८ एउटा तथ्य हो जसलाई हामीले जान्नुपर्छ र ठान्नुपर्छ, तर यो सुन्दर सत्यतालाई सबैले दाबी गर्न मिल्दैन। यो केवल तिनीहरूका लागि मात्र हो जो “परमेश्वरलाई प्रेम गर्नेहरू” हुन् जुन बयानले साँचो विश्वासीहरूलाई जनाउँछ (१ कोरिन्थी २:९; ८:३ पढ्नुहोस्)। हामी उहाँलाई प्रेम गर्दछौं किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)। यहाँ पावलले एकातिर परमेश्वरलाई प्रेम गर्ने र अर्कोतिर परमेश्वरलाई प्रेम नगर्ने दुई वर्गका विश्वासीहरू हुन्छन् भन्न खोजिरहेका होइनन्। निश्चय पनि कोही-कोही विश्वासीहरू प्रभुलाई अरू विश्वासीहरूले भन्दा बढी प्रेम गर्छन् र यो कुरा उनीहरूले उहाँको वचनको विश्वासयोग्य आज्ञापालनद्वारा प्रकट गर्छन्, तर यो पनि साँचो हो कि एक अर्थमा सबै विश्वासीहरूले ख्रीष्टलाई प्रेम गर्दछन्। ख्रीष्टप्रतिको प्रेम उहाँको वचन पालनद्वारा प्रकट हुन्छ (यूहन्ना १४:२१-२४) र उहाँका आज्ञा पालन गर्न नमान्नेहरू भएर पनि आफू ख्रीष्टलाई चिन्छु भन्नेहरू झूटा हुन् (१ यूहन्ना २:३-५ र यूहन्ना १७:३ लाई तुलना गर्नुहोस्)। परमेश्वरका सन्तान भएकोले हाम्रो जीवनमा आज्ञापालनको चरित्र हुनुपर्छ (१ पत्रुस १:१४)। हामी आज्ञापालन गर्छौं किनकि हामी स्वर्गमा बस्नुहुने हाम्रा पितालाई प्रेम गर्छौं। त्यति पनि नगरी बस्न हामी कसरी सक्छौं र?

उहाँलाई प्रेम नगर्नेहरू बचाइएका छैनन् र परमेश्वरको श्रापमनि छन् (१ कोरिन्थी १६:२२)। कसैले यदि, “म ख्रीष्टलाई प्रेम गर्दिनँ, अहँ गर्दै गर्दिनँ” भन्छ भने, त्यस्तो व्यक्तिले आफू उहाँमा विश्वास गर्ने हुँ भनेर कसरी दाबी गर्न सक्छ र? अर्कोतिर, त्यहाँ त्यस्ताहरू छन् जसले आफू परमेश्वरलाई प्रेम गर्छु भन्छन् तर तिनीहरूका क्रियाकलापले उनीहरू उहाँलाई खास प्रेम गर्दैनन् भन्ने कुरा प्रमाणित गर्छ (१ यूहन्ान ४:२०)। रोमी ८:२८ मा पावलले ख्रीष्टियनहरूको कुनै विशेष वर्गको कुरा गरिरहेका छैन् जोहरू परमेश्वरलाई प्रेम गर्छन् र अरूअरू परमेश्वरलाई प्रेम नगर्ने विश्वासीहरू भन्दा भिन्न छन्। परमेश्वरलाई प्रेम गर्नेहरू (पद २८) “बोलाइकाहरू” (पद २८) भनेर चिनाइएका छन्, अनि बोलाइएकाहरू चाहिँ उहाँले पहिले नै जान्नुभएकाहरू, पहिल्यै ठहराइएकाहरू, धर्मी ठहराइएकाहरू र महिमा दिइएकाहरू भनेर जनाइएका छन् (पद २९-३०)। यी तथ्यहरू एक-एक साँचो विश्वासीको सवालमा साँचा छन्। कोही-कोही विश्वासीहरू उहाँले पहिल्यै नजान्नुभएको, पहिल्यै नठहराइएका, नबोलाइएका, धर्मी नठहराइएका र महिमा नदिइएका हुनु भनेको असोचनीय कुरा हो।

यस पदले “सबै कुरा भलाई हुन्” भनेर बताउँदैन तर “सबै कुरा मिलेर भलाइ उत्पन्न गर्छन्” भनेर बताउँदछ।

रोमी ८:२८ को सत्यता यति महत्त्वपूर्ण छ कि परमेश्वरले उत्पत्तिको पुस्तककै नौवटा अध्यायहरू (यूसुफको जीवन) यसलाई दर्शाउन अलग गर्नुभएको छ। यूसूफको जीवनमा कति त ज्यादै नराम्रा र तीता घटना घटे — उनका दाजुहरूले उनलाई घृणा गरे, उसलाई मार्न खोजे, उसलाई दासत्वमा बेचे, इत्यादि (उत्पत्ति ३७) अनि पछिबाट यूसुफ एउटी दुष्ट स्त्रीको झूटो आरोपमा परीकन जेलमा हालिए (उत्पत्ति ३९)। तर परमेश्वरलाई प्रेम गर्ने यी मानिस यूसुफका लागि परमेश्वरको एउटा योजना र उद्देश्य थियो। यूसुफका बुबाले रोमी ८:२८ को सत्यता बुझेका थिएनन् (उत्पत्ति ४२:३६ पढ्नुहोस् — “यी सब कुराहरू मेरो विरोधमा छन्”) तर यूसुफले भने बुझेका थिए (उत्पत्ति ५०:२० पढ्नुहोस् र उत्पत्ति ४५:५,७ “परमेश्वरले मलाई पठाउनुभयो”)। यूसूफलाई पर्न गएका भयङ्कर नराम्रा घटनाहरू वास्तवमा इस्राएलका सन्तानलाई अनिकाल र मृत्युबाट बचाउने माध्यमको रूपमा प्रयोग गर्नुभयो।

सायद रोमी ८:२८ को सबभन्दा महान् उदाहरण ख्रीष्टकै जीवन हुनुपर्छ। निर्दोष, पापरहित परमेश्वरका पुत्रलाई धेरै धेरै अप्रिय र खराब कुराहरू गरिए। उहाँलाई एकजनाले इन्कार गरे, अर्कोले धोका दिए, उहाँलाई झूटा आरोप लगाइयो, गलत तरिकाले न्याय गरियो, निर्दोष भएर पनि दोषी ठहराइयो, कोर्रा लगाइयो, पिटियो, गिल्ला गरियो, थुकियो, र अन्तमा क्रूसमा टँगाइयो। यसबाट कुनै भलाइ उत्पन्न हुन सक्थ्यो त? अँ सक्यो, सबभन्दा ठूलो भलाइ नै, अर्थात् मानिसको उद्धार! ख्रीष्टको क्रूसीकरण मिलेर सबै मानिसहरूको मुक्ति सम्भव गरायो (१ तिमोथी ४:१० — उहाँको मृत्युले सबैको निम्ति मुक्ति प्रबन्ध गर्यो) र आफ्ो प्राणको मुक्तिका लागि उहाँ, केवल उहाँमा मात्र भरोसा गर्नेहरूलाई वास्तवमै मुक्ति दिलायो (१ तिमोथी ४:१० — “विशेष गरी विश्वास गर्नेहरूका”)। हो, मानिसले गरेको सबभन्दा पापमय काममा समेत परमेश्वरको योजना र उद्देश्य थियो जुन उहाँले पूरा गर्दै हुनुहुन्थ्यो। यो कुरा निम्न खण्डहरूमा देख्न सकिन्छ: प्रेरित २:२३; ३:१३-१८; ४:२६-२८ र लूका २२:२२ सित तुलना गर्नुहोस्) (यी पदहरूमा मान्छेको जिम्मेवारी र परमेश्वरको सार्वभौमिकताका बीच रहेको संवेदनशील सन्तुलनलाई ख्याल गर्नुहोस् — मानिसहरूले आफ्ना दुष्ट कामहरू पुरा गरे र उनीहरू आफ्ना कामका निम्ति पूरै जवाफदेही थिए, तर परमेश्वरले उनीहरूले गरेको कामलाई लिनुभई त्यसलाई मान्छेको मुक्तिको निम्ति रहेको उहाँको योजना पूरा गर्नुभयो!)।

“जो उहाँकै मनसायअनुसार बोलाइएका छन्” — साँचो विश्वासीहरूका लागि परमेश्वरको एउटा उद्देश्य छ, योजना छ र “ग्र्याण्ड डिजाइन” छ (र यसपछिका दुईटा पदहरूले उक्त उद्देश्य के हो भनेर बताउँछन्)। परमेश्वरको उद्देश्य विफल हुनेछैन। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा “ग्र्याण्ड डिजाइन” छ र त्यो डिजाइन परमेश्वरको अचुक योजना बमोजिम पूरा हुने नै छ। परमेश्वरको मनसाय कहिल्यै विफल हुनेछैन (रोमी ९:११; यशैया १४:२७; ४६:१०-११ पढ्नुहोस्)। परमेश्वरको योजना कहिल्यै असफल पारिन्न!

रोमी ८:२९-३० — प्रत्येक साँचो विश्वासीको निम्ति परमेश्वरको योजना

यस श्रृङ्खलालाई ख्याल गर्नुहोस्: १) पहिले नै जान्नुभएको (पूर्वज्ञान) २) पहिल्यै ठहराउनुभएको (पूर्वनिर्धारण) ३) बोलाउनुभएको (बोलावट) ४) धर्मी ठहराउनुभएको (धर्मीकरण) ५) महिमा दिनुभएको (महिमाकरण)। यसलाई एउटा सिक्रीको रूपमा सोच्दा सजिलो हुन्छ जसमा पाँचओटा एकदम बलिया-बलिया कडीहरू छन्। यसलाई हामी परमेश्वरको मुक्तिको सिक्री भन्ने नाम दिन सक्छौं, जुन सिक्री पूर्वज्ञानबाट सुरु हुन्छ र महिमाकरणमा अन्त हुन्छ। यो सिक्री अनादिबाट सुरु हुन्छ र अनन्तसम्म फैलिएको छ, अर्थात् विगतको अनादिबाट भविष्यको अनन्ततासम्म। यस सिक्रीको कुनै पनि कडी कहिल्यै तोडिन सकिँदैन (जुन कुरालाई हामी हेर्नेछौं)। विश्वासी अनन्तसम्म सुरक्षित छ!

यी पदहरूमा जोड चाहिँ परमेश्वरको काममा दिइएको छ भन्ने कुरालाई ध्यान दिनुहोस् — “उहाँले पहिले नै जान्नुभयो, पहिल्यै ठहराउनुभयो, इत्यादि।” यो सबै नै परमेश्वरको काम हो, मान्छेको होइन। परमेश्वरले विश्वासीलाई पहिले नै जान्नुभयो, परमेश्वरले पहिल्यै ठहराउनुभयो, परमेश्वरले बोलाउनुभयो, परमेश्वरले ध्रमी ठहराउनुभयो र परमेश्वरले महिमा दिनुभयो! परमेश्वरले गर्नुभएको यो हो! मुक्ति परमप्रभुबाटको हो (योना २:९ सित तुलना गर्नुहोस्)। मुक्ति परमेश्वरबाट सुरु भएर परमेश्वरमै अन्त हुन्छ। हाम्रो मुक्तिको सारा श्रेय र सम्पूर्ण महिमा परमेश्वरलाई नै जान्छ (१ कोरिन्थी १:२९,३१)। मान्छेले घमन्ड गर्न सक्दैन (एफेसी २:८-९) र भन्न सक्दैन, “हेर, मैले के गरेको छु!” होइन, मुक्ति “परमेश्वरबाटको हो” (१ कोरिन्थी १:३०; यूहन्ना १:१३)। हामी आफैलाई धन्यवाद दिँदैनौं तर हामी भन्छौं, “धन्यवाद प्रभु येशूलाई, धन्यवाद मुक्तिदातालाई!” बचाउने काम पूर्ण रूपमा परमेश्वरले गर्नुहुन्छ। यसले मान्छेलाई जिम्मेवारबिहीन बनाउँदैन। मान्छेले विश्वास गर्ने काम गर्नुपर्छ (यूहन्ना ३:१६-१८; प्रेरित १६:३१) र मान्छेले विश्वास नगर्दा त्यो उसको दोष ठानिन्छ (२ थेस्सलोनिकी २:१०-१२; यूहन्ना ५:४०); मत्ती २३:३७ सित तुलना गर्नुहोस्), तर परमेश्वर, हो परमेश्वर स्वयंले मात्र बचाउने काम गरिदिनुपर्छ। परमेश्वरले यो सब आफ्नो अचम्मको अनुग्रह र सार्वभौम मनसायअनुसार गर्नुहुन्छ (२ तिमोथी १:९ पढ्नुहोस् र २ थेस्सलोनिकी २:१३-१४ र एफेसी १:३-१४ सित तुलना गर्नुहोस्)।

अब हामी परमेश्वरको मुक्तिको सिक्रीका एउटा-एउटा कडीलाई हेरौं:

१) पहिलो कडी — “जसलाई उहाँले पहिले नै जान्नुभयो”

यहाँ “जसलाई” भन्ने सर्वनामले पद २८ मा उल्लेख भएकै समूहलाई जनाउँदछ — अर्थात् “परमेश्वरलाई प्रेम गर्नेहरू” र “उहाँकै मनसायअनुसार बोलाइएकाहरू” लाई। पावल साँचो विश्वासीहरूको कुरा गर्दैछन्। यो त्यो समूह हो जसलाई परमेश्वरले पहिले नै जान्नुभयो। “पहिले जान्नु” को माने “अगाडिबाटै जान्नु” हो। अनादिकालमा संसार हुनुभन्दा पहिलै नै, परमेश्वरले उहाँका साँचो विश्वासीहरूलाई चिन्नुहुन्थ्यो (२ तिमोथी २:१९ सित तुलना गर्नुहोस् — “प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ”)।

ध्यान दिएर हेर्नुहोस् यस पदले खास के भनिरहेको छ र के भनिरहेको छैन। यस पदले भन्छ, “जसलाई उहाँले पहिले नै जान्नुभयो”; यहाँ “जुन कुरा उहाँले पहिले नै जान्नुभयो” भनिएको छैन। यस पदले भन्छ परमेश्वरले तपाईंलाई पहिले नै जान्नुभयो। यस पदले परमेश्वरले तपाईंले के गर्नुहुन्थ्यो भन्ने कुरा पहिले नै जान्नुभयो भनेर भनिरहेको छैन। धेरैजनाले यो “पूर्वज्ञान” भन्ने कुरालाई यसरी बुझ्छन्: सबै कुरा जान्नुहुने परमेश्वरले अनादिकालदेखि नै को-कसले उहाँको पुत्रमा विश्वास गर्नेछन् र को-कसले उहाँको पुत्रमा विश्वास गर्नेछैनन् भनेर जान्नुभयो। यो अवश्य पनि साँचो कुरा नै हो र परमेश्वरको वचनमा सिकाइएको कुरा हो (यूहन्ना ६:६४ र ७-७७ पदहरू पढ्नुहोस्), तर रोमी ८:२९ ले सिकाइरहको कुरा त्यही नै चाहिँ होइन। यस पदमा तपाईंले विश्वास गर्ने कुरा परमेश्वरले पहिले नै जान्नुभयो भनेर भनिएको छैन। यस पदमा तपाईंलाई नै परमेश्वरले पहिले नै जान्नुभयो भनिएको छ। यस पदमा पहिले नै जानिएकाहरू चाहिँ व्यक्तिहरू हुन्। यस पदमा परमेश्वरले सबैजनालाई जान्नुभयो भनिएको छैन (यद्यपि परमेश्वरले अघिबाटै सबैजनाको बारेमा जान्नुहुन्थ्यो नै)। तर यस पदले यो सिकाउँदैछ कि परमेश्वरले ती व्यक्तिहरूलाई अघिबाटै जान्नुभयो जोहरू उहाँको मनसायअनुसार बोलाइएका छन् (यसको माने आफ्नो अविश्वासलाई नछोड्नेहरू र कहिल्यै मुक्ति नपाउनेहरू यस समूहमा पर्दैनन्)। अब यसको माने के हो?

बाइबलका अन्य खण्डहरूले परमेश्वरको पूर्वज्ञानलाई प्रकाश पार्दछ। आमोस ३:२ लाई विचार गर्नुहोस् — “पृथ्वीका सबै घरानाहरूमध्ये केवल तिमीहरू (इस्राएलका सन्तानहरू, पद १) लाई नै मैले जानेको छु“। यसको माने के हो? अवश्य नै परमेश्वरले मिश्रीहरू र अन्य राष्ट्रहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। यसको माने केवल उनीहरूको बारेमा जान्नु भन्ने मात्र नभईकन त्योभन्दा बढी हुनुपर्छ। परमेश्वरले सबै पृथ्वीका जातिहरू र सबै मानिसहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। तर परमेश्वर इस्राएलसित एउटा विशेष सम्बन्धमा प्रवेश गर्नुभयो जुनचाहिँ अन्य जातिहरूको सवालमा साँचो थिएन: “परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथि आफ्ना निम्ति एउटा विशेष जाति होऊ भनी चुन्नुभएको छ…परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नुभएको [छ]” (व्यवस्था ७:६-७)।

मत्ती ७:२३ पनि शिक्षामूलक छ। प्रभु येशूले कतिलाई भन्नुहुनेछ: “मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ!” उहाँ परमेश्वर हुनुभएको हुनाले उहाँले तिनीहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो, तर उहाँको तात्पर्य यो थियो: “तिमीहरूसित मेरो कुनै व्यक्तिगत सम्बन्ध कहिल्यै थिएन। तिमीहरू कहिल्यै मेरो भएका थिएनौं। तिमीहरू मेरा होइनौ!” यसरी “परमेश्वरद्वारा चिनिएको हुनु” (१ कोरिन्थी ८:३ पढ्नुहोस्) को माने उहाँसित तपाईंको एउटा व्यक्तिगत हुनु हो, तपाईं साँच्ची नै उहाँको हुनु हो! यूहन्ना १०:१४ सित तुलना गर्नुहोस् — “म मेरा भेडाहरूलाई चिन्छु!” “परमेश्वरद्वारा चिनिएको” हुनु, परमेश्वरको प्रेमको पात्र हुनु (यूहन्ना १३:१) र “संसारको उत्पत्तिभन्दा पहिल्यै ख्रीष्टमा चुनिनु” एउटा ज्यादै सुन्दर कुरा हो (एफेसी १:४)।

मैले परमेश्वरलाई चिन्नु (यूहन्ना १७:३) भन्दा पहिले नै उहाँले मलाई चिन्नुहुन्थ्यो (मत्ती २५:३४ सित तुलना गर्नुहोस्)। मुक्तिको सवालमा परमेश्वर पहिलो कदम चाल्ने व्यक्ति हुनुहुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। म उहाँलाई प्रेम गर्दछु किनकि उहाँले पहिले मलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)। मैले उहाँलाई खोजें किनकि उहाँले पहिले मलाई खोज्नुभयो (लूका १९:१०)। मैले उहाँलाई रोजें किनकि उहाँले पहिले मलाई रोज्नुभयो (यूहन्ना १५:१६)। म उहाँकहाँ आएँ किनकि उहाँले पहिले मलाई खिँच्नुभयो (यूहन्ना ६:४४,६५)। मैले देख्न सकें र बुझ्न सकें किनकि उहाँले पहिले मलाई दृष्टि दिनुभयो (मत्ती १६:१६-१७; प्रेरित १६:१४)। जसरी भजनमा लेखिएको छ,

मैले होइन पहिले उनले प्रेम गरे
मैले होइन पहिले उनले भेट्टाए
मैले होइन उनले पहिले खोजे मलाई
उनले वास्ता गर्छन मलाई।
– रन ह्यामिल्टन

हो, संसार सृष्टि हुनुभन्दा धेरै अगाडि मेरो अस्तित्व थियो! मेरो अस्तित्व परमेश्वरको विचार र मनसाय र योजनामा थियो। उहाँले मलाई जान्नुहुन्थ्यो! यर्मिया १:५ सित तुलना गर्नुहोस्।

२) दोस्रो कडी — “उहाँले पहिले नै ठहराउनु पनि भयो”

परमेश्वरले साँचो विश्वासीलाई पहिले नै जान्नुभयो मात्र होइन, तिनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले पहिले नै ठहराउनु पनि भयो! (रोमी ८:२९)। “पूर्वनिर्धारण” (predestination) अथवा “पहिले नै ठहराउनुभयो” भन्ने कुरा सुन्ने बित्तिकै कतिजना तर्सिने गर्छन्। वास्तवमा यो अति सुन्दर शिक्षा हो जसले हरेक विश्वास गर्ने हृदयलाई ठूलो सान्त्वना र उत्साह दिनुपर्ने हो। यसको ग्रीक शब्द दुईटा भागले बनेको छ: प्रो=पहिले; होरिज्जो=सीमाना वा छेउ। यसर्थ, पहिले नै ठहराउनु भनेको “अगाडिबाटै सीमाना तोक्नु; कुनै कुराको सीमाना पहिल्यै निर्धारण गर्नु।” कुनै व्यक्तिको सवालमा यो शब्द प्रयोग गरिन्छ भने त्यसको माने चाहिँ “निजको गन्तव्य वा भविष्य पूर्वनिर्धारण गर्नु” भन्ने बुझिन्छ। यसरी पहिले नै ठहराउनुको माने यो हो कि परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति एउटा महिमित भविष्य निर्धारित गर्नुभएको छ भन्ने हो, अर्थात् उहाँको आफ्नै पुत्रको रूपमा ढालिनु हो! (ख्रीष्टजस्तै बनिनु)।

“पहिले नै ठहराउनु” वा पूर्वनिर्धारण (predestination) शब्दको प्रयोग

१) प्रेरित ४:२८— “पहिलेबाट ठहराएका थिए” (सन्दर्भमा अघिल्ला पदहरू पढ्नुहोस्)। यी मानिसहरूले जे गरे त्यो चाहिँ ठ्याक्कै परमेश्वरको योजना र मनसाय र पूर्वनिर्धारणबमोजिम नै हुन पुग्यो! ख्रीष्टलाई क्रूस टँगाउँदै गर्दा उनीहरूले परमेश्वरकै अनन्त मनसायलाई पूरा गर्दैछन् भन्ने कुराको उनीहरूलाई कुनै महसुस थिएन। प्रेरित २:२३ सित तुलना गर्नुहोस् (“ठहराइएको योजना” उही शब्द हो, मात्र यसको अगाडिपट्टि “पहिले नै” (‘प्रो’) भन्ने उपसर्ग जोडिएको छैन)। मानिस आफ्नो दुष्ट कामका लागि दोषी र जिम्मेवार छ तर परमेश्वरको मनसाय पूरा भएको पनि छ। लूका २२:२२ सित तुलान गर्नुहोस् –“ठहराएअनुसार” — त्यो परमेश्वरको योजनामा सीमा तोकिसकिएको कुरा थियो र ठहराइसकिएको थियो कि उहाँको पुत्र क्रूसमा जानुपर्छ र पापी मानिसका हातमा सुम्पिइनुपर्छ, तरैपनि यहूदा आफ्नो यस दुष्ट कामको निम्ति पूरै जिम्मेवार ठानिए! उसमाथि परमेश्वरकै हाय रहेको छ! प्रेिरत ४:२२७-२८ मा हामी देख्छौं कि ख्रीष्टका शत्रुले गरेका कामहरू परमेश्वरकै सिद्ध योजनाको सीमानाभित्र नै पर्थे जोचाहिँ ख्रीष्टको क्रूसीकरणमा केन्द्रित थियो। अनादिकालमा परमेश्वरले येशू ख्रीष्ट क्रूसमा मर्नुहुनेछ भनेर ठहराउनुभयो र यो योजना हुबहु पूरा भयो। परमेश्वरले आफ्नो मनसाय पूरा गर्नलाई पापी मानिसका खराब क्रियाकलापलाई प्रयोग गर्नुभयो।

२) १ कोरिन्थी २:७ — संसार (युगहरू) को अघि नै परमेश्वरले उहाँको बुद्धिलाई हाम्रो महिमाको निम्ति ठहराउनुभयो। सन्दर्भले परिभाषित गरे अनुसार यहाँ “परमेश्वरको बुद्धि” भन्नाले क्रूसमा टँगाइनुभऐको ख्रीष्ट भन्ने बुझिन्छ (१ कोरिन्थी १:२३-२४; २:२; २:८)। यसरी हामीले यस मानेलाई वाक्यमा राख्न सक्छौं: “संसारको अघि नै परमेश्वरले क्रूसमा टँगाइनुभएको ख्रीष्टलाई हाम्रो महिमाको निम्ति ठहराउनुभयो।” अनादिकालमा परमेश्वरले आफ्नो असीम बुद्धिमा प्रतिफलस्वरूप विश्वासीको महिमा हुने गरी ख्रीष्ट क्रूसमा टँगाइनुहुनेछ भनी ठहराउनुभयो। यसर्थ, १) परमेश्वरको अहन्त योजना उहाँको बुद्धि अनुसार छ; २) परमेश्वरको अनन्त योजना उहाँको पुत्रको क्रूसको कार्यमा केन्द्रित छ; ३) परमेश्वरको अनन्त योजना अपरिवर्तनीय छ — त्यो अनादिकाल (“युगहरूको अघि नै”) ठहराइएको थियो; ४) परमेश्वरको अननन्त योजनाले विश्वासीहरूको महिमाकरणलाई समेटेको छ (“हाम्रो महिमाका निम्ति”)। रोमी ८:३० सित तुलना गर्नुहोस् — “उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।”

३) एफेसी १:४-५ — परमेश्वरले विश्वासीको निम्ति एउटा एकदम महिमित भविष्यको सीमानाहरू कोरेर तय गर्नुभएको छ। हाम्रो महिमापूर्ण भविष्य “धर्मपुत्र ग्रहण” भन्ने शब्दले बयान गर्दछ (जसरी हामीले रोमी ८:२३ मा अध्ययन गर्यौं)। परमेश्वरका पुत्रहरू भनी स्थानमा राखिएको हैसियतले प्राप्त हुने अधिकारहरू र विशेषाधिकारहरू र उपलब्धिहरू र आशिषहरू र हकको सम्पत्तिहरू विश्वासीहरूले प्राप्त गर्नेछन्!) एफेसी १:११-१२ सित तुलना गर्नुहोस्।

४) रोमी ८:२९ — हाम्रो भविष्यको गन्तव्य पक्का गरिएको छ: “उहाँको पुत्रको रूपमा ढालिऊन्”। यसको प्रक्रिया चाहिँ हरेक दिन अगाडि बढ्दैछ (२ कोरिन्थी ३:१८), तर यसको पूरा अनुभव गरिनलाई भने भविष्यको पूरा हुवाइ पर्खिरहेको छ (१ यूह्ना ३:१-४)। हामी उहाँजस्तै हुनेछौं! ख्रीष्टिय जीवनको लक्ष्य भनेको यही हो। पूर्वनिर्धारण चाहिँ उक्त लक्ष्य हासिल हुने नै छ भन्ने कुराको ग्यारेन्टी हो! म जहाँ पुग्नुपर्छ त्यहाँ मलाई परमेश्वरले पुर्याउनुहुनेछ!

“तब पुग्छौं जहाँ चाहन्छौं
जे बन्नुछ तब बन्छौं
जे अहिले नपाउन सक्ने
तब पाउनेछौं!”

यो साँच्ची नै परमेश्वरको बुद्धि हो — हामी जसले आदमलाई (उनको पतित पापपूर्ण अवस्थामा) प्रतिबिम्बित गर्यौं, एक दिन ख्रीष्टलाई सिद्धरूपमा प्रतिबिम्बित गर्नेछौं!

नोट: “पूर्वनिर्धारण” (पहिले नै ठहराउनुभयो, predestination) भन्ने शब्दलाई बाइबलमा कहिल्यै पनि निम्न तरिकामा प्रयोग गरिएको छैन: १) परमेश्वरले कोही व्यक्तिहरूलाई ख्रीष्टमा विश्वास गरोस् भनेर पूर्वनिर्धारित गर्नुभयो; २) परमेश्वरले केही व्यक्तिहरूलाई नरकमा पुगोस् भनेर पूर्वनिर्धारित गर्नुभयो।

रोमी ८:२९ मा “जेठा” भन्ने शब्दले ख्रीष्टलाई जनाउँदछ र यसको माने “ओहोदामा जो सबभन्दा उच्च छ” भन्ने हुन्छ। ख्रीष्टचाहिँ सर्वोच्च पुत्र हुनुहुन्छ, जोचाहिँ पहिलो स्थानको हुनुहुन्छ (यूहन्ना ३:१६ सित तुलना गर्नुहोस् — “एक मात्र जन्माइएको” अथवा अद्वित्तीय, एकै किसिमको मात्र, पुत्र)। ख्रीष्ट उहाँद्वारा परमेश्वरका पुत्रहरू बनाइएका अनगिन्ती भीडको शिर र प्रमुखको रूपमा खडा हुनुहुन्छ। ख्रीष्ट अद्वित्तीय पुत्र हुनुहुन्छ, तर उहाँले “धेरै पुत्रहरूलाई महिमामा” ल्याउनुहुन्छ (हिब्रू २:१०)।

३) तेस्रो कडी — “उनीहरूलाई उहाँले बोलाउनु पनि भयो” परमेश्वरको अनन्त मनसायको सिक्रीको अर्को कडी हो: बोलाउनुभयो! अठ्ठाइसौं पदमा हामीले यो शब्द देखेका थियौं — “जो उहाँकै मनसायअनुसार बोलाइएका छन्”। बोलाइएकाहरू को हुन्? सबै मानिसहरू ता होइनन्, किनकि अठ्ठाइसौं पदले उनीहरू “परमेश्वरलाई प्रेम गर्नेहरू” हुन् भनेर जनाइएका छन् (साँचो विश्वासीहरू, जोहरू परमेश्वरका हुन्, जसलाई पहिले नै जान्नुभयो, इत्यादि)। अवश्य नै, एउटा साधारण अर्थमा सबै मानिसहरू मुक्तिका निम्ति बोलाइएका हुन्छन् र सबै मानिसहरूलाई ख्रीष्टकहाँ निम्तो दिइएका हुन्छन्। मुक्तिका निम्ति दिइने यो विश्वव्यापी, सर्वसाधारण बोलावट वा निमन्त्रणालाई निम्न खण्डहरूमा देख्न सकिन्छ: रोमी १०:९-१३; मत्ती ११:२८; यूहन्ना ३:१६; यूहन्ना ७:३७-३८; प्रकाश २२:१७; इत्यादि। तर एउटा विशेष अर्थ छ जसअन्तर्गत परमेश्वरले केवल तिनीहरूलाई मात्र बोलाउनुहुन्छ जोहरू त्यो सुसमाचारको सर्वसाधारण बोलावटलाई स्वीकार गर्दछन् (जोहरू ख्रीष्टकहाँ आउँछन् र साँच्ची नै उहाँको हुन्)। यसरी १ कोरिन्थी १:२४-२७ जस्ता खण्डमा “बोलाइएकाहरू” भन्नाले परमेश्वरका चुनिएकाहरू, जोहरू साँच्ची नै बचाइएका छन् भन्ने बुझिन्छ। धेरैजना बोलाइएका छैनन् (१ कोरिन्थी १:२६) तर कोही-कोही भने छन्। २ तिमोथी १:९; १ पत्रुस १:१५; २:९; ५:१०; २ पत्रुस १:३; १:१०; प्रकाश १७:१४ पढ्नुहोस्, “बोलाइका”, “चुनिएका”, “विश्वासयोग्य”। ख्याल राख्नुस् कि यी सबै पदहरूले साँचो विश्वासीको कुरा गर्दैछन्, सर्वसाधारण रूपमा सबै मानिसको कुरा होइन। परमेश्वरले हामीलाई उहाँकहाँ बोलाउनुभएको छ (१ कोरिन्थी १:९) ता कि हामी उहाँको हुन सकौं।

४) चौथो कडी — “उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो” परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा धर्मी ठहराउनुभएको छ। हामीले यस अध्ययनमा धर्मीकरणको शिक्षाको विस्तृत अध्ययन गरिसकेका छौं (रोमी ३:२४-५:१)। प्रेरित १३:३९ पनि पढ्नुहोस्।

५) पाँचौं कडी — “उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो” विश्वासीको महिमाकरण भविष्यको घनटा हो। त्यो भइसकेको छैन (रोमी ८:१७-१८ अन्तर्गत यसको चर्चा गरिएको थियो)। हामी स्वर्ग पुगिसकेका छैनौं! हाम्रो मुक्ति पूरा हुन बाँकी नै छ! हामी अझै “ख्रीष्टजस्तो भइसकेका छैनौं” तर हामी हुनेछौं। हामीले नयाँ महिमित शरीरहरू पाइसकेका छैनौं। हामी पापरहित भइसकेका छैनौं! तर यस पदमा परमेश्वरले भन्नुहुन्छ, तिमी भइसकेका छौ! मैले तिमीलाई महिमा दिइसकें! भइसक्यो! भूतकालको प्रयोग भएको छ यहाँ! विश्वासीको दृष्टिकोणबाट हेर्दा भइसकेको त छैन। तर परमेश्वरको विचार र मनसायमा, त्यो भइसकेको छ! त्यो पूरा भइसक्यो! यो महिमाकरणको भविष्यको घटना यति निश्चित छ कि त्यो पूरा भइसकेको जस्तै छ। त्यो फत्ते भइसकेको कुरा हो यद्यपि हाम्रो दृष्टिकोणबाट त्यो अझ भइसकेको छैन।

सिक्रीका पाँच कडीहरूलाई पुनःउल्लेख गरी पुनरावलोकन गरौं:

  1. १) पूर्वज्ञान (FOREKNOWLEDGE) — संसार उत्पन्न हुनुभन्दा पहिले नै परमेश्वरले मलाई चिन्नुहुन्थ्यो र म उहाँको हुनेछु भनेर परमेश्वर जान्नुहुन्थ्यो। यो भनेको एक विशेष, प्रेमिलो सम्बन्धको कुरा हो।
  2. २) पूर्वनिर्धारण (PREDESTINATION) — अनादिकालमा परमेश्वरले मेरो निम्ति एउटा सुन्दर भविष्य रेखाङ्कित गर्नुभयो कि म उहाँको पुत्र जस्तै बनूँ।
  3. ३) बोलावट (CALLING) — परमेश्वरले मलाई अचम्म तरिकामा आफूकहाँ ल्याउनुभयो, मेरो अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र ल्याउनुभयो।
  4. ४) धर्मीकरण (JUSTIFICATION) — परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा सिद्ध रूपमा धर्मी ठहराउनुभयो जुनचाहिँ प्रभु येशू ख्रीष्टको क्रूसको कामको आधारमा छ।
  5. ५) महिमाकरण (GLORIFICATION) — परमेश्वरले मेरो मुक्तिलाई पूरा गर्नुहुनेछ र परमेश्वरको विचार र योजनामा त्यो पूरा भइसके बराबर छ!

यी पाँच कुराहरू प्रत्येक विश्वासी जनको सवालमा साँचो हुन्छ भन्ने कुरालाई टिप्पणी गरिनुपर्छ। तपाईंले पाँचओटामा केवल एउटा मात्र कुरा पाउन सक्नुहुन्न। पहिले नै जानिएको हुन तर धर्मी ठहरिएको नहुन असम्भव छ। धर्मी ठहरिएको हुन तर महिमा दिइएको नहुन असम्भव छ (यसर्थ, एक व्यक्तिले मुक्ति गुमाउनु असम्भव छ!)। बोलाइएको हुन तर धर्मी ठहरिएको नहुन असम्भव छ: “जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो।” के कुनै व्यक्तिको सवालमा पाँचओटामा तीनटा मात्र साँचो हुन सक्छ त? अहँ, पाँचैओटा साँचो हुनुपर्छ। कि त सबै पाइएको हुन्छ कि त एउटै पनि नपाइएको हुन्छ! निज कि ता बाँचेको हुन्छ कि त नबाँचेको हुन्छ र बाँचेको हो भने यी पाँचैओटा कुरा उसका हुन्छन्। साथै हामीले यो टिप्पणी पनि गर्नुपर्छ कि जोहरू कहिल्यै विश्वासी बन्दैनन् उनीहरूको सवालको यीमध्ये कुनै पनि कुराहरू साँचा हुँदैनन्। यहूदा पहिले नै जानिएको, पहिलै नै ठहराइएको, बोलाइएको, धर्मी ठहराइएको वा महिमा दिइएको कहिल्यै थिएन।

कसैले भन्ला, “तर मा पहिले नै जानिएको छु वा पहिले नै ठहराइएको छु वा बोलाइएको छु भन्ने कुरा कसरी जान्न सक्छु? मेरो निम्ति यी कुरा साँचो छन् भनेर म कसरी पक्का हुन सक्छु? यो मुक्तिको सिक्रीको म एक भागीदार हुँ भनेर म कसरी जान्न सक्छु? चाबी चाहिँ सिक्रीको चौथो कडी हो: धर्मीकरण। आफू धर्मी ठहरिएको छु भनेर के एक व्यक्तिले जान्न सक्छ? बिलकुल जान्न सक्छ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने प्रत्येक व्यक्ति धर्मी ठहरिन्छ भनेर बाइबलले सफासित बताएको छ। हेर्नुहोस्: रोमी ३:२२-२६; ३:३०; ४:१-५; ४:२४-२५; ५:१। हरेक विश्वासीले मुक्ति पाएको छ (प्रेरित १६:३१) र हरेक बचाइएको व्यक्ति धर्मी ठहरिएको छ (१ कोरिन्थी ६:९-११)। ख्रीष्टमा साँचो विश्वासी भएर पनि धर्मी नठहरिएको भन्ने त्यस्तो कुनै व्यक्ति हुँदैन। अनि यदि सिक्रीको एउटा कडी मेरो सवालमा साँचो छ भने (धर्मीकरण), अन्य चारओटा कडीहरू पनि साँचो हुनुपर्छ (पूर्वज्ञान, पूर्वनिर्धारण, बोलावट र महिमाकरण) किनभने सिक्री चाहिँ एउटा सिङ्गो सिक्री हो र यो तोडिन सक्दैन। ख्रीष्टको क्रूसमा सम्पन्न भएको काममाथि भरोसा गर्ने व्यक्तिले आफू परमेश्वरको योजना र मनसायमा समावेश गरिएको छु कि छैन भनेर चिन्ता गर्नुपर्दैन! त्यो त सदाको लागि पक्का भइसकेको छ! परमेश्वरको मुक्तिलाई प्रेम गर्ने जति सबैले निरन्तर भनोस्, “प्रभुको महिमा होस्!”

नोट: एउटा चर्चित सुसमाचारिय पर्चादेखि हामी होशियार हुनुपर्छ जुन पर्चा यसरी सुरु हुन्छ: “परमेश्वर तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंको निम्ति उहाँको एउटा सुन्दर योजना छ।” उहाँको पुत्रलाई इन्कार गर्नेहरूका निम्ति जो कुरा परमेश्वरले साँचेर राख्नुभएको छ त्यो सुन्दर त छैन (यूहन्ना ३:१८; ३:३६; २ थेस्सलोनिकी १:८-९ इत्यादि)। परमेश्वरको सुन्दर योजना त परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति हो, उहाँको मनसायअनुसार बोलाइएकाहरूला निम्ति हो (रोमी ८:२८)। एउटा व्यक्तिले मुक्ति पाएको स्पष्ट प्रमाण दिएको छ भने तब हामीले उसलाई रोमी ८:२८-३० मा पाइने सुन्दर सत्यताहरूलाई दाबी गर्न हौसला दिन सक्छौं, तर यस्ता खण्डहरूलाई हामीले होशै नगरी मुक्ति नै नपाएकाहरूको निम्ति कहिल्यै प्रयोग गर्नुहुँदैन। भन्नुपर्दा, रोमी ८ का सबै महान् सत्यताहरू केवल “ख्रीष्टमा” (रोमी ८:१) साँच्ची नै भएकाहरूका लागि मात्र हुन्। अर्कोतिर, हामीले कहिल्यै बिर्सनुहुन्न कि परमेश्वरले सबै मानिसहरू सत्यको पूर्ण ज्ञानमा आएको चाहनुहुन्छ (१ तिमोथी ३:३-४)।

रोमी ८:३१

तब हामी यी कुराहरूको विषयमा के भनौं? परमेश्वरले यदि यी सब गरिदिनुभएको छ भने (रोमी ९:२८-३०), म के भन्न सक्छु? हामी केवल यसरी निरन्तर भन्न सुरु गरौं, “धन्यवाद छ प्रभु!” परमेश्वर यदि हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला? जवाफ स्पष्ट छ: कोही पनि सक्दैन! धेरैजना हाम्रो विरोधमा हुन सक्छन् र विश्वासीहरूका धेरै शत्रु हुन सक्छन्, तर यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने, जोसुकै हाम्रो विरोधमा भए पनि फरक पार्दैन! भजनसङ्ग्रह ११८:६ र हिब्रू १३:६ पढ्नुहोस्। अब यसपछिका पदहरूले कसरी परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भन्ने कुरा देखाउँछन्। ३२ औं पदमा उहाँ हाम्रो निम्ति मर्नुभएको कुरा र ३४ औं पदमा उहाँ हाम्रो निम्ति जिउनुहुन्छ भन्ने कुरा देख्छौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ८:१४-२७

रोमी ८:१४-२७

 

रोमी ८:१४

नवौं पदमा एक साँचो ख्रीष्टियन त्यो हो जसभित्र पवित्र आत्माले अन्तरवास गर्नुहुन्छ भनेर सिकेका थियौं। यस पदमा हामी एक साँचो ख्रीष्टियनको अर्को लक्षण देख्छौं। परमेश्वरको आत्माले जतिजना डोर्याइँदछन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। एक साँचो विश्वासी आत्मा-निर्देशित हुन्छ। शरीरअनुसार जिउने ब्यक्ति (पद १२) अवश्य पनि आत्माद्वारा डोर्याइँदैन। यूहन्ना १०:२६-२७ पढ्नुहोस्। साँचो भेडाको लक्षण के हो? साँचो भेडाले साँचो गोठालालाई पछ्याउँछ। ख्रीष्टले डोर्याउछन् र उहाँका भेडा पछ्याउँछन्! त्यसैले यहाँ रोमी ८:१४ मा हामी सिक्छौं कि एउटा साँचो सन्तान आत्माद्वारा डोर्याइँदछ। यस क्रियापद शब्द चाहिँ वर्तमान कालमा छ: हामी पलपलमा र निरन्तर आत्माद्वारा डोर्याइँदैछौं। उहाँ सधैं हाम्रा जीवनहरूमा काम गरिरहनुभएको छ। कि त उहाँ हामीलाई धार्मिकताको बाटोमा डोर्याउँदैहुनुहुन्छ कि त उहाँले हामीलाई धार्मिकताको बाटोमा फर्काउँदैहुनुहुन्छ। कि त उहाँ हामीलाई नियन्त्रण (कन्ट्रोल) गरिरहनुहुभएको छ, कि त उहाँले हामीलाई कायल पार्दैहुनुहुन्छ, तर उहाँ सधैं हामीभित्र काम गरिरहुनुभएको छ (उहाँले हामीलाई कहिल्यै त्याग्नुहुन्न — एफेसी ४:३० पढ्नुहोस्)। कि त हामीले उहाँलाई शोकित पार्दैछौं कि त खुशी पार्दैछौं। हामी आत्माको घेराभित्र छौं र हामी यस घेराभन्दा बाहिर कहिल्यै हुन सक्दैनौं। स्मरण होस्, हामी “आत्मामा” छौं (रोमी ८:९)।

रोमी ८:१५

आठौं अध्यायमा चाबी शब्द “आत्मा” हो (यस अध्यायमा १९ पल्ट उल्लेखित)। एक व्यक्तिले साँच्चै मुक्ति पाएकै घडी उसले परमेश्वरको आत्मा प्राप्त गर्दछ, जसलाई यहाँ “धर्मपुत्र तुल्याउनुहुने आत्मा” (Spirit of adoption) भनिएको छ। बचाइएको व्यक्ति एउटा व्यवस्थापरक सम्बन्धमा प्रवेश गर्दैन तर एउटा प्रेमको सम्बन्धमा प्रवेश गर्दछ (रोमी ७:४ पढ्नुहोस्)। हामी एउटा दास जस्तो होइनौं जो डराउँदै एक कठोर र कडा मालिकको सामु उभिँदछ तर हामी एउटा बालक जस्तो हौं, आफ्नो बुबाको सामु एउटा छोरा जस्तो हौं। “अब्बा” भन्ने अारमेयिक शब्दलाई त्यसपछिको “पिता” भन्ने शब्दले व्याख्या गरेको छ। पितालाई जनाउने त्यो एउटा ज्यादै प्रचलित शब्द थियो, सायद झण्डै-झण्डै नेपालीको “बुबा” वा “बाबा” भन्ने शब्द जस्तै अर्थ बोकेको शब्द थियो। दुरुस्त यही शब्द प्रभु येशू स्वयंले मर्कूस १४:३६ मा प्रयोग गर्नुभएको पाउँदा हामी चकित हुन्छौं। स्वर्गका पितासित जस्तो घनिष्ट सम्बन्ध ख्रीष्टको थियो त्यस्तै खालको घनिष्ट सम्बन्ध विश्वासीहरूले पाएका छन् — उहाँको अनुग्रहको प्रशंसाको निम्ति! “ख्रीष्टमा” हुनेहरू जतिकै कोही पनि स्वर्गका पिताको झन् नजिक र प्यारो हुन सक्दैनन्। निम्न बहुमूल्य हरफहरूलाई विचार गर्नुहोस्:

“नजिक, परमेश्वरको यति धेरै नजिक, झन् नजिक म हुन सक्दिन
कारण परमेश्वरको पुत्रमा, म उहाँजत्तिकै नजिक भएको छु।

“प्यारो, परमेश्वरको यति धैरै प्यारो, झन् प्यारो म बन्न सक्दिन
कारण परमेश्वरको पुत्रमा, म उहाँजत्तिकै प्यारो बनेको छु।”

“धर्मपुत्र तुल्याउनुहुने” — यसमा दुईटा कुरा छन्: १) पुत्र २) स्थानमा राखिनु। परमेश्वरले विश्वासीलाई लिनुभई (जो एक समय क्रोधको र आज्ञा नमान्ने सन्तान थियो — एफेसी २:१-३) र उसलाई एउटा छोराको स्थानमा स्थापित गर्नुभएको छ र उसलाई त्यहाँ एक छोरा हुनाको हैसियतले प्राप्त हुने सबै विशेषाधिकारहरू र आशिषहरू र सम्पत्तिहरूको भागीदार बनाइएको छ!

रोमी ८:१६

पवित्र आत्माले हाम्रो मनुष्य आत्मासित गवाही दिनुहुन्छ कि हामी परमेश्वरका सन्तान हौं। यस छोटो पदले मुक्तिको निश्चयता भन्ने ज्यादै महत्त्वपूर्ण शिक्षाको विषयसित सम्बन्ध राख्छ। बाइबलले यो प्रस्टै सिकाएको छ कि एक व्यक्तिले आफू परमेश्वरको सन्तान हुँ भन्ने कुरालाई जान्न सक्दछ र त्यस सम्बन्धी उसलाई यही जीवनमै निश्चयता प्राप्त हुन सक्दछ। हामीले कसरी जान्न सक्छौं? यस पदले यो सिकाउँछ कि हामीले आफूहरू परमेश्वरका सन्तान हौं भनेर जान्न सक्छौं किनकि परमेश्वरका आत्माले हाम्रो आत्मासँग-सँगै गवाही दिनुहुन्छ। यसैले म परमेश्वरको सन्तान भएको छु भनेर बताउने त्यहाँ दुईटा गवाहीहरू छन्। पहिलो गवाही चाहिँ मेरो मनुष्य आत्मा हो — मभित्र रहेको त्यो भाग जो (मैले मुक्ति पाएदेखि यता) परमेश्वरप्रति संवेदनशील छ र आत्मिक कुराहरूप्रति संवेदनशील छ। मेरो आत्माले भन्छ, “हो, म परमेश्वरको सन्तान हुँ। म बाँचेको छु! म धर्मी ठहरिएको छु! प्रभु येशू ख्रीष्ट र उहाँको अनुग्रहले परमेश्वरसित मेरो एउटा ठिक सम्बन्ध र वास्तविक सम्बन्ध भएको छ! अब म परमेश्वरलाई आफ्नो पिता भनेर चिन्दछु र उहाँसित प्रार्थना गर्न सक्दछु, कुनै रीति गरेजस्तै गरी होइन तर एकदम ठिक र वास्तविक तरिकाले।” दोस्रो गवाही पवित्र आत्मा हुनुहुन्छ जसलाई मैले मुक्ति पाएकै घडी पाएको थिएँ। मेरो जीवनमा रहेको उहाँको उपस्थिति नै मेरो निश्चयताको आधार हो। उहाँ यदि मेरो जीवनमा नहुँदो हो त निश्चयताको मसित कुनै आधार नै हुनेथिएन (रोमी ८:९)। १ यूहन्ना ४:१३ सित पनि तुलना गर्नुहोस्। उहाँ मभित्र जिउनुहुन्छ र उहाँले मलाई म परमेश्वरको निजी हुँ भनेर निश्चयता दिनुहुन्छ। जुन बेला म परमेश्वरसित ठिक सङ्गतिमा हुँदिनँ त्यतिबेला पनि उहाँले मलाई कायल पार्नुहुन्छ र उहाँले आफ्नो शोकित उपस्थितिको आभास मलाई दिनुहुन्छ (एफेसी ४:३०), अनि यो पनि एउटा सङ्केत हो कि उहाँ मभित्र वास गर्नुहुन्छ र म उहाँको निजी भएको छु।

जब कसैले मुक्ति पाउँछ ऊसँग एउटा चेतना हुन्छ र उसलाई महसुस हुन्छ कि ऊ परमेश्वरको सन्तान हो (परमेश्वरबाट जन्मिएकाहरूमध्येको एक)। ऊ जान्दछ ऊ ख्रीष्टको निजी हो र ख्रीष्ट उसको हुनुभएको छ। साथसाथै परमेश्वरका आत्माले यही तथ्यलाई समर्थन गर्ने गरी आफ्नो मौन गवाही दिँदै गर्नुभएको हुन्छ। म आफ्नो हृदयदेखि भन्दछु, “म अब हुँ येशूको, येशू हुन् मेरो!” अनि आत्माले भन्नुहुन्छ, “हो, आमेन, र तिमीभित्रको मेरो उपस्थिति नै यसको प्रमाण हो!” गलाती ४:१-६ यसको समानन्तर खण्डको रूपमा पढ्नुहोस्। रोमी ८:१५ मा विश्वासी (“हामी”) ले भन्दछ, “अब्बा पिता”। गलाती ४:६ मा चाहिँ आत्माले भन्नुहुन्छ, “अब्बा पिता”। आत्माले हाम्रो आत्मासित गवाही दिनुहुन्छ कि हामी परमेश्वरका सन्तान हौं (व्यवस्था १९:१५ पढ्नुहोस् जहाँ दुईजना साक्षीले आ-आफ्ना गवाही दिन्छन्)। मनुष्य आत्माले भन्छ, “म परमेश्वरको सन्तना हुँ, अब्बा पिता!” पवित्र आत्माले भन्नुहुन्छ, “हो, ऊ परमेश्वरको सन्तान हो, अब्बा पिता!” दुईजना साक्षीको मुखबाट यो पक्का गरिन्छ!

पवित्र आत्माको एउटा ज्यादै महत्त्वपूर्ण सेवकाइ छ जसमा उहाँले मानिसहरूलाई विश्वस्त पार्ने (कायल पार्ने) काम गर्नुहुन्छ। उहाँले मलाई एक समय म एउटा पापी हुँ भनी विश्वस्त पार्नुभयो। अब उहाँले म एक पवित्र जन हुँ भनी विश्वस्त पार्नुहुन्छ। पवित्र आत्माले यो काम कसरी गर्नुहुन्छ? उहाँले परमेश्वरको वचन प्रयोग गरीकन मानिसहरूलाई कालय पार्ने र विश्वस्त पार्ने काम गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई हाम्रा पापीपनको सम्बन्धमा कायल पार्न परमेश्वरको वचन प्रयोग गर्नुभयो। उही आत्माले उही वचन प्रयोग गरीकन हामी परमेश्वरका भएका छौं भनेर हामीलाई विश्वस्त पार्नुहुन्छ: “यी कुराहरू लेखेको छु — तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस्” (१ यूहन्ना ५:१३; पद १० सित तुलना गर्नुहोस् जहाँ भित्री गवाहीको उल्लेख छ)। (नोट: मानिसहरूले ख्रीष्टमाथि विश्वास गरून् भन्ने उद्देश्यले यूहन्नाको सुसमाचार लेखिएको थियो र चाबी शब्दचाहिँ विश्वास हो — यूहन्ना २०:३१; पहिलो यूहन्नाको पुस्तकचाहिँ विश्वासीहरूले निश्चयता पाऊन् भन्ने उद्देश्यले लेखिएको थियो र चाबी शब्दचाहिँ थाह हो — १ यूहन्ना ५:१३)।

१ यूहन्ना ५:१० मा हेर्नुहोस् — चाबी यो हो: विश्वास गर र तिमीले थाह पाउनेछौ! (तपाईंको आफैभित्र गवाही हुनेछ)। रोमी ८:१५-१६ अनुसार यदि कसैले विश्वास गर्छ भने आत्माले उसको आत्मासित गवाही दिनेछ कि ऊ परमेश्वरको सन्तान हो। विश्वास गर र तिमीले थाह पाउनेछौ। भजनसङ्ग्रह ३४:८ ले यसको उदाहरण दिन्छ: प्रभु भला हुनुहुन्छ भनेर म कसरी जानूँ? चाख र हेर! जसले चाख्छन् उनीहरूले थाह पाउनेछन्! १ पत्रुस २:३ सित तुलना गर्नुहोस्। मिठाइ कति मीठो छ भनेर स्वादै नलिईकन कसरी थाह पाउन सकिन्छ र? यदि तपाईमले विश्वासै गर्नुभएको छैन भने परमेश्वरसितको व्यक्तिगत सम्बन्ध कति आशिषमय छ भनेर कसरी थाह पाउनुहुनेछ र?

रोमी ८:१७

हामी परमेश्वरका सन्तान मात्र होइनौं, हकवालाहरू पनि हौं। हाम्रो हकको सम्पत्ति ठूलो छ! हामी आत्मिक खरबपतिहरू हौं (एफेसी १:३)। १ पत्रुस १:३-४ पनि पढ्नुहोस्। पवित्र आत्मा हाम्रा हृदयहरूभित्र आउनुभएको छ र १) हामी अहिले परमेश्वरका सन्तान भएका छौं भनी निश्चयता दिनुहुन्छ (रोमी ८:१५-१६); २) हामीले पछि हाम्रो हकको सम्पत्ति प्राप्त गर्नेछौं भनेर जमानी बस्नुहुन्छ (एफेसी १:१३-१४)। हामी केवल परमेश्वरका हकवालाहरू मात्र होइनौं, हामी ख्रीष्टसँगै साझा-हकवालाहरू अथवा सह-हकवालाहरू पनि हौं। जे उहाँका हुन् ती हाम्रा हुन्! जे उहाँको हो त्यो मेरो हो! म ख्रीष्टका सबै सम्पत्तिहरूमा सहभागी भएको छु। ख्रीष्ट कति धनवान् हुनुहुन्छ? हिब्रू १:२ पढ्नुहोस् — सबै कुराका हकवाला र साथै १ कोरिन्थी ३:२१२३ पनि पढ्नुहोस्। धर्मपुत्र तुल्याइनु भनेको यही हो। परमेश्वरले मलाई एउटा छोराको स्थानमा राख्नुभएको छ र त्यस स्थानसँगसँगै आउने सबै अधिकार र विशेषाधिकार र उपलब्धी र आशिषहरू र हक सबै नै यसमा समावेश छन्। ख्रीष्टसँगै मैले सबै कुराहरू (रोमी ८:३२) खुशीसाथ प्राप्त गर्दछु यद्यपि ती एउटै पाउन पनि म योग्य छैन भनी म जान्दछु!

हामी पछिबाट ख्रीष्टसँग यी कुराका भागीदार हुनेछौं, तर अहिले पनि हामी ख्रीष्टसँग भागीदार छौं। हामी उहाँका धन र महिमामा सहभागी हुनेछौं, तर हामी उहाँका दुःखहरूमा पनि सहभागी हुन्छौं: “उहाँसँगै हामीले दुःख भोग्यौं भने”। विश्वासीले वर्तमानमा दुःख र भविष्यमा सुख (महिमा) को आशा गर्नैपर्छ। प्रभु येशू संसारमा हुनुहुँदा उहाँलाई एक किसिमले व्यवहार गरियो र हरेक विश्वासी यसकै भागीदार हुँदछ। जब प्रभु येशू आफ्ना पिताकहाँ फर्केर जानुभयो उहाँलाई अर्को किसिमले व्यवहार गरियो र हामी पनि यसको सहभागी हुनेछौं।

ख्रीष्टको अनुभवमा दुःखहरू पहिला आए र पछिबाट महिमा (लूका २४:२६) र विश्वासीको सवालमा पनि यस्तै हुन्छ। पहिला दुःखहरू र पछिबाट महिमा — पहिलो पत्रुसको विषय नै यही हो। उदाहरणको लागि १ पत्रुस १:५-६ मा हेर्नुहोस् जहाँ भविष्यको मुक्तिको महिमालाई वर्तमानका परीक्षाहरूका कठिनाइहरूसित तुलना गरिएको छ। १ पत्रुस १:११ मा हेर्नुहोस् जहाँ ख्रीष्टको दुःखहरूको चर्चा गरिएको छ जसपछि महिमा आयो। यो कुरा १ पत्रुस ३:१८ मा (ख्रीष्टको दुःख) र ३:२२ (ख्रीष्टको महिमा) पनि देखिन्छ। यसरी विश्वासीहरू अहिले ख्रीष्टका दुःखहरूको सहभागी हुन्छन् र पछिबाट हामी उहाँको महिमाको भागीदार हुनेछौं (१ पत्रुस ४:१३)। १ पत्रुस ५:१ ले पनि यसैको कुरा गर्छ। परमेश्वरको बगालको रेखदेख गर्ने काम वर्तमानको लागि धेरै दुःख र कठिनाइले ग्रस्त हुन्छन् (१ पत्रुस ५:२-३) तर यसमा भविष्यको महिमा पनि समावेश छ। अन्तमा १ पत्रुसको विषयवस्तुलाई ५:१० मा संक्षेपमा बताइएको छ। यसमा ध्यान दिनुहोस् कसरी दुःखहरू केवल थोरै समयका लागि मात्र हुन् (अनन्तताको तुलनामा वर्तमानको दुःख धेरै बेरको होइन) जसको पछि भविष्यको महिमा आउनेछ जुनचाहिँ अनन्तको लागि हुनेछ (१ पत्रुस ५:१०)।

वर्तमानका दुःखकष्टहरू प्रतीक्षा गरिनुपर्ने कुरा हुन् (यूहन्ना १५:१८-२१; १६:१-३; १६:३३; १७:१४; १ थेस्सलोनिकी ३:३; २ तिमोथी ३:१२; १ यूहन्ना ३:१३)। वर्तमानको दुःखकष्ट परमेश्वरबाटका विशेषाधिकार हुन् (फिलिप्पी १:२९; प्रेरित ५:४१)।

यस्तो सिकाउने पनि कोही-कोही छन्: कि हरेक विश्वासी “परमेश्वरको हकवाला” हो तर हरेक विश्वासी ख्रीष्टसँगै “साझा-हकवाला” होइन। उनीहरूको बुझाइमा “साझा हकवाला” भनिएकाहरू विश्वासीहरूको एउटा विशेष वर्ग हो जोहरू विजयी हुन्छन् र जोहरू कठिनाइ र दुःखकष्टका बाबजुद पनि अन्तसम्म लागिरहन्छन्। यस शिक्षाले यस पदलाई गम्भीर रूपमा गलत बुझेको देखाउँछ। पावलले यहाँ कुनै विशेष वर्गका विश्वासीहरूको कुरा गरिरहेका छैनन् जोहरू विजयी हुन्छन् र ख्रीष्टसँगै साझा हकवाला बन्न आफूलाई योग्य ठहराउँछन् र उहाँसँगै हजारवर्षको राज्यमा राज्य गर्छन् अनि अर्कातिर भने सांसारिक, दुःख-कष्ट नभोग्ने विश्वासीहरू चाहिँ हजार-वर्षीय राज्यबाट बञ्चित हुन्छन् र बाहिरी अन्धकारमा दाह्राकिटाइ र रूवाबासीका साथ हजार वर्षसम्म दण्डित हुन्छन्। कोही विश्वासीहरू अरू विश्वासीहरूभन्दा बढी दुःख भोग्छन्, यो साँचो हो, तर यो पनि साँचो हो कि सबै विश्वासीहरू ख्रीष्टका दुःखहरूको सहभागी हुन्छन् (२ कोरिन्थी १:५; यूहन्ना १५:१८-२१; १६:३३ इत्यादि)। हरेक विश्वासी ख्रीष्टसँगै साझा हकवाला हुन्छ, उहाँको महिमाको सहभागी बन्छ। सबै विश्वासीहरू ख्रीष्टसँगै उहाँको राज्यमा राज्य गर्नेछ (मत्ती १३:४०-४३)।

रोमी ८:१८ — अनन्तताको दाँजोमा वर्तमानका दुःखकष्टहरू

पावल यहाँ वर्तमान दुःखकष्टको चर्चा गर्दैछन् जसको अनुभव विश्वासीहरूले आफ्नो दिनदिनको हिँडाइमा गर्दछन् र उनले यसलाई विश्वासीहरूले भविष्यमा अनुभव गर्ने महिमासित तुलना गर्दछन् जब हामी प्रभुसित हुनेछौं। “म ठान्छु” — यो गणितीय शब्दावलीको माने हो “म हिसाब गर्छु, यस तथ्य साँचो भएको मानिलिन्छु, यो सत्य तथ्य हो भनी म जान्दछु!” हामीले यस तथ्यलाई विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र त्यसमा भरोसा गरेको चाहनुहुन्छ, त्यो साँचो हो भनेर पक्का भएको चाहनुहुन्छ। यस “अहिले” को समयका दुःखकष्टहरू पछि हामीलाई प्रकट गरिने महिमाको योग्य छैनन्। “योग्य” एउटा वजन सम्बन्धी शब्दावली हो र तराजु बराबर हुनु भन्ने यसको तात्पर्य हो। कुनै कुरा जब अर्को कुराको “योग्य” हुन्छ यसको माने ती बराबर वजनका छन्। यहाँ हामीलाई बताइएको छ कि दुःखकष्टहरू महिमासँग तुलना गरिने योग्यका छैनन्, अर्थात्, यहाँ ज्यादै असन्तुलित कुरा छ। महिमा चाहिँ दुःखकष्टहरू भन्दा बेसरी नै वजनदार छन्। यसलाई यसरी व्यक्त गर्न सकिन्छ: तराजुको एकातिर धुलोको एउटा नगण्य कण छ जुन चाहिँ वर्तमान समयका दुःखकष्टहरू जस्तै छ। तराजुको अर्कोतिर भने दस टन बराबरको सुनको ठूलो ढक छ जुन चाहिँ भविष्यको महिमाजस्तै छ। तुलना गर्ने कुरै भएन यहाँ! २ कोरिन्थी ४:१७ मा यही सत्यता प्रस्तुत गरिएको छ। वर्तमान दुःखकष्टहरू र क्लेशहरू ज्यादै “हलुको” छन् र “अस्थायी” छन्। महिमा भने एकदमै “वजनदार” र “अनन्त” छ। अवश्य पनि, जब हामी आफैं दुःखकष्ट र परीक्षाहरू भएर गइरहेका हुन्छौं ती हामीलाई एकदमै भारी लाग्ने गर्छन् र ज्यादै लामो समय जस्तै लाग्छ (मानौ ती कहिल्यै टुङ्गिदैनन्)। तर यो त हाम्रो एकदमै सीमित दृष्टिकोणबाट मात्र यस्तो देखिएको हो।अनन्तताको दृष्टिकोणबाट हेरिँदा यस जीवनमा हामीले सहेका परीक्षा र दुःखकष्टहरू ज्यादै हलुका छन्।

दुःखकष्टहरू कस्ता कुरा हुन् के पावल जान्दथे त? रोमी ८:१८ र २ कोरिन्थी ४:१७ मा पावल भन्दैछन् कि उनको भविष्यको महिमाको तुलनामा उनका वर्तमान दुःखकष्टहरू ज्यादै हलुका छन्। तब हामी छक्कै पर्छौं जब हामी पावलले वास्तवमै भोगेका दुःखहरूको बारेमा पढ्छौं २ कोरिन्थी ११:२३-२८ मा (प्रेरित ९:१६ सित तुलना गर्नुहोस्)। भन्नुपर्दा, हामीमध्ये धेरजसोले त यसरी भन्नुपर्ने हुन्छ: “मेरा दुःखकष्टहरू प्रेरित पावलका दुःखकष्टहरूसित तुलना गरिने योग्यका छैनन्!” तर पावल जान्दथे कि उनका दुःखकष्टहरू समेत भविष्यको महिमासित तुलान गरिने योग्यका छैनन् जुन चाहिँ उनी ख्रीष्टका साझा हकवाला भएकाले उनले पाउनेवाला थिए।

रोमी ८:१९

यस पद लगायत यसपछिका पदहरूले परमेश्वरको सृष्टिको कुरा गर्दैछन्, जीव (पशु, बनस्पति) र निर्जीव (चट्टान, पहाड, आदि)। यसलाई जनाउन हामीले “प्रकृति” भन्ने शब्द प्रयोग गर्न सक्छौं। प्रकृतिलाई यहाँ रोचक ढङ्गले व्यक्तिकरण गरिएको छ। प्रकृति अथवा सृष्टिले एउटा कुराको तीब्र प्रतीक्षा गरिरहेछ, त्यसको बाटो एकदम हेरिरहेकोछ। पशु र चराचुरुङ्गीहरू, पहाड-पहराहरू, खोला-नदीनालाहरू — ती सबैले भन्दैछन्, “यो कहिले होला भनेर मलाई पर्खनै गाह्रो भइसक्यो!” परमेश्वरको सृष्टि एउटा भयङ्कर श्राप र पापको बन्धनमनि छ। हामी एक पापले श्रापित भद्रगोल संसारमा बाँचिरहेका छौं भन्ने कुराको प्रमाण जताततै छ (पशुले पशुलाई मार्छ, जनावरले जनावरलाई खान्छ, डरलाग्दा हुरी र आँधीहरू, बाढी र तुफानहरू, डुबानहरू इत्यादि)। सधैं यस्तै हुने त गर्दैनथ्यो। मानिसको पतन अघि परमेश्वरको सृष्टि शान्तपूर्ण तालमेलमा रहेको थियो (उत्पत्ति १-२)। भविष्यमा यो तालमेल फेरि पुनस्थापित हुनेछ (यशैया ११:६-९ पढ्नुहोस्)। सृष्टि श्रापबाट मुक्त गराइनेछ र यो चाहिँ “परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई” को समयमा हुनेछ। जब उहाँको दोस्रो आगमनमा प्रभु येशू ख्रीष्ट प्रकट हुनुहुनेछ (२ थेस्सलोनिकी १:७) त्यतिबेला “परमेश्वरका पुत्रहरू” उहाँसँगै प्रकट हुनेछन् (प्रकाश १९:१४ लाई १९:७-८ सित तुलना गर्नुहोस्)।

रोमी ८:२०

“व्यर्थता” = रित्तोपना, निराशा। मानिस पापमा पतन भएपछि र परमेश्वरले पृथ्वीलाई श्राप दिनुभएपछि सृष्टि (प्रकृति) व्यर्थताको अधीनमा फस्यो। सारा विश्व-सृष्टिलाई नै आदमको पापको असरले धक्का दियो।

“आफ्नै इच्छाले होइन” = प्रकृति जगत आफ्नै इच्छाले यस श्रापमनि रहन रोजेको त होइन। पशुपक्षीहरू मिलेर कुनै सम्मेलन गरी ईश्वरीय श्रापमन आफूलाई राख्न स्वेच्छापूर्वक निर्णय गरेका होइनन्। रोजेका त आदमले हुन् र श्राप ल्याउनुहुने परमेश्वर हुनुहुन्थ्यो। “उहाँको” भन्नाले परमेश्वरको भन्ने बुझिन्छ जसले श्रापको उच्चारण गर्नुभयो र पृथ्वीलाई त्यसको अधीनतामा राख्नुभयो। यसले आदमलाई जनाउँदैन। सारा प्रकृति यो व्यर्थताको स्थितिमा ल्याइएको भए तापनि त्यहाँ आशा छ! भविष्यले एउटा आशाको प्रतिज्ञा ल्याउँछ। श्राप सधैंभरि रहनेछैन।

रोमी ८:२१

आशाको प्रतिज्ञा यो छ! प्रकृतिले छुटकारा पाउनेछ र त्यो स्वतन्त्र पारिनेछ। बन्धन = दासत्व। आज प्रकृति भ्रष्टताको स्थितिमा बाँधिएको छ — त्यो सड्ने, गल्ने, रोग लाग्ने, मर्ने र नाश हुने गर्छ (विज्ञानमा थर्मोडाइनामिक्सको दोस्रो नियम भनिने तथ्यसित तुलना गर्नुहोस् जसअनुसार विज्ञानले सबै ठाउँमा यही कुराको अवलोकन गरेको छ तर केवल बाइबलले मात्र यसको कारण बताउन सक्दछ)। यो रोचक कुरा छ कि मान्छेमा भएको अवस्था र स्थिति प्रकृतिमा प्रतिबिम्बित हुँदो रहेछ। जब मानिस श्रापनि हुन्छ त्यसबेला प्रकृतिले पनि त्यो प्रतिबिम्बित गर्दछ। जब उद्धार पाएकाहरूले पूर्ण रूपमा छुटकारा पाउँछन् त्यतिबेला प्रकृतिले यो प्रतिबिम्बित गर्नेछ।

रोमी ८:२२

“सारा सृष्टि” = जम्मै प्रकृति। “ऐया आत्था गर्नु” = पीडा र दुःख जनाउने गहिरो सुस्केरा हाल्नु। यहाँ पनि प्रकृतिलाई व्यक्तिकरण गरिएको छ। यहाँ त्यसलाई एउटी आमासित तुलना गरिएको छ जसलाई बच्चा जन्माउँदाको पीडा भइरहेकोछ। प्रसुति वेदनामा रहेको आमालाई आशा हुन्छ। उसलाई थाह छ एउटा जन्म हुनेछ र पीडा सधैंको लागि हुनेछैन। दुःख र पीडापछि एउटा नयाँ अस्तित्वको रमाहट आउँदछ। त्यसैगरि प्रकृति जगतलाई पनि छुटकाराको प्रतिज्ञा छ र एउटा नयाँ अस्तित्व ख्रीष्टको हजार वर्षीय राज्यमा पूरा हुनेछ र अझ अन्तम नयाँ आकाश र नयाँ पृथ्वीको कालखण्मा त्यो पूरा हुनेछ।

रोमी ८:२३

ऐया आत्था गरिरहेको त परमेश्वरको सृष्टि (प्रकृति) ले मात्र होइन। विश्वासीहरू पनि सुस्केरा हाल्दैछन्। हामी पनि एउटा भविष्यको घटनाको बाटो हेर्दैछौं। यस घटनालाई “धर्मपुत्र-ग्रहण” भनिएको छ र योचाहिँ भविष्यको धर्मपुत्र-ग्रहण हो जब हाम्रो पुत्रत्वलाई पूर्ण रूपमा हामीले अनुभव गर्नेछौं। यो “धर्मपुत्र-ग्रहण” लाई यहाँ “शरीरको छुटकारा” भनेर बयान गरिएको छ। यो चाहिँ अन्तिम र भविष्यमा हुने छुटकारा हो जुनचाहिँ त्यसबेला पूरा हुनेछ जब ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई आउनुहुनेछ। छुटकाराको वर्तमान पक्ष पनि छ जुनचाहिँ एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी १:३०; १ पत्रुस १:१८-१९ जस्ता पदहरूमा उल्लेख भएका छन्, तर छुटकाराको भविष्य पक्ष पनि छ (जब हाम्रो मुक्ति पूरा हुनेछ) जसरी एफेसी १:१४ र ४:३० मा र यहाँ रोमी ८:२३ मा पनि प्रस्तुत गरिएको छ। त्यसैगरी धर्मपुत्र-ग्रहणको पनि एउटा पक्ष छ जुनचाहिँ वर्तमानमै विश्वासीहरूको सवालमा साँचो छ (रोमी ८:१५) र धर्मपुत्र-ग्रहणको भविष्य पक्ष पनि छ जुनचाहिँ भविष्यमा पूरा हुनलाई पर्खिरहेको छ (रोमी ८:२३)।“पहिलोफल” चाहिँ हाम्रो मुक्ति पूरा हुने नै छ भन्ने कुराको बैना वा ग्यारेन्टी हो र यहाँ “पहिलोफल” ले अरू कसैलाई होइन तर विश्वासीको जीवनमा परमेश्वरका पवित्र आत्माको व्यक्तित्व र उहाँको उपस्थितिलाई जनाउँदछ। पहिलोफलको माने के हो? आफ्नो करेसा बारीबाट सुरुमा एकदुईटा गोलभेडा जब टिप्नुहुन्छ त्यो यसको सङ्केत हो कि पछि अरू थुप्रै गोलभेडा पनि आउँदैछन्। बगैंचाबाट थुप्रै अरू आशिषहरू पनि पाइनेछ। ख्रीष्टमाथि विश्वास गर्नेबित्तिकै एक व्यक्तिले पवित्र आत्मा पाउँदछ जो स्वयं आफै यस कुराको बैना हुनुहुन्छ (ग्यारेन्टी, जमानी — एफेसी १:१३-१४) कि पछि त्यहाँ अझ धेरै-धेरै कुराहरू आउनेवाला छन् (एउटा नयाँ शरीर, एउटा अनन्तको हकको सम्पत्ति, स्वर्गमा घर, भविष्यको महिमाकरण – पद १८ इत्यादि)।

रोमी ८:२४-२५

“किनकि हामी आशामा बचाइएका छौं” (विलियम केलीको अनुवाद) — जब हामी बचाइयौं हामी त्यस शब्दको अन्तिम र पूरा अर्थमा बचाइएका होइनौं। हामी अझै पनि यी छुटकारा नपाएका शरीरहरूमा नै छौं, हामी अझै पनि पाप र परीक्षासित सङ्घर्ष गर्छौं र हामी ऐया आत्था गर्छौं र त्यस दिनको एकदम बाटो हेर्दछौं जुन दिन हामी पापकै उपस्थितिदेखि पनि छुटाइनेछौं। बचाइएको व्यक्तिलाई उसको मुक्ति एक दिन पूरा हुने नै छ भन्ने कुराको निर्धक्क प्रतीक्षा (आशा) हुन्छ (फिलिप्पी १:६ पढ्नुहोस् — जुन काम सुरु गर्नुभएको छ परमेश्वरले त्यसलाई पूरा गर्नुहुनेछ)। किसानले जब पहिलो टिप्छ यसको मतलब उसले सबै उब्जनीको कटनी गरिसक्यो भन्ने होइन। होइन, उसले त सुरु मात्र गरेको छ, तर उसको यो आशा छ त यो प्रतिज्ञा छ कि एक दिन पूरै बाली भित्रिनेछ। तर उसले त्यसको निम्ति पर्खनुपर्छ!

आशा भन्ने शब्दले त्यसको नयाँ नियमको प्रायः प्रयोगमा कुनै अनिश्चयता वा शङ्काको अर्थ बोकेको छैन (जसरी नेपाली भाषामा त्यसको समान्य प्रयोगमा हुन्छ)। बरु यसले निश्चित प्रतीक्षालाई जनाउँछ र त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ। आशा भनेको भविष्यको त्यस्तो कुनै कुरा हो जसलाई प्राप्त गर्न बाँकी नै छ वा जो पूरा भइसकेको छैन, तर त्यो परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा भएकोले त्यो बिलकुलै निश्चित कुरा हो। प्रभुको आगमनको आशा यसको एउटा उदाहरण हो (तुलना गर्नुहोस् तीतस २:१३ — “धन्यको आशा” अथवा खुशीको प्रतीक्षा)। यसको सवालमा अनिश्चित कुरा एउटै मात्र छ, त्यो हो समय (कहिले भनेर हामी जान्दैनौं) तर यसको वास्तविकता भने पक्का छ किनकि हामीसँग प्रभुकै प्रतिज्ञा छ (यूहन्ना १४:३ आदि)। यो भविष्यको आशा हो जो पूरा भइसकेको छैन र हामी उत्सुकतासित उहाँ आउनुभएको होस् भनेर उहाँको बाटो हेर्दैछौं र प्रतीक्षामा छौं। परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरा पक्का भएको हुनाले हामी धैर्यतापूर्वक त्यसको पूरा हुवाइको निम्ति पर्खन सक्छौं। जसरी सुत्केरी हुन लागेकी आमा धैर्यतापूर्वक प्रसुती वेदनाका पीडा र दुःखहरूलाई सहन सक्छिन्त त्यसै गरी विश्वासी पनि जीवनका कठिन परीक्षाहरूमा धैर्यतापूर्वक खडा रहन सक्छ यो जानेर कि हाम्रो भविष्य परमेश्वरका प्रतिज्ञाहरू बराबर नै उज्याला छन् (१ थेस्सलोनिकी १:३ सित तुलना गर्नुहोस् — “आशाको धीरज”)।

रोमी ८:१९-२५ को सार र तालिका

सृष्टि (सारा प्रकृति) परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई पर्खिरहेको छ (पद १९)। परमेश्वरका पुत्रहरू शरीरको छुटकारालाई उत्सुकताका साथ पर्खिरहेका छन् (पद २३)। यी दुवै घटनाहरू ख्रीष्टको दोस्रो आगमनसित जोडिएका छन्। ख्रीष्टको दोस्रो आगमनलाई यदि एउटै सिङ्गो घटनाको रूपमा हेरिने हो भने यी दुवै पक्षलाई सँगसँगै राखेर हेर्न सकिन्छ। निम्न भिन्नताहरू उल्लेख गर्न सकिन्छ:

नोट: र्याप्चर एउटा प्रकाश हो (१ कोरिन्थी १:७; १ पत्रुस १:७; १:१३; ४:१३) तर यो चाहिँ पुत्रहरू (विश्वासीहरू) संसारका सामु प्रकट गरिने भन्ने होइन तर बरु ख्रीष्ट उहाँको सम्पूर्ण महिमामा पुत्रहरूकहाँ प्रकट गरिनुहुने भन्ने हो।

रोमी ८:२६-२७

यस अध्यायका तीनटा सुस्केरापूर्ण व्यथाहरूलाई ख्याल गर्नुहोस्:

पद २२ — सारा सृष्टिको व्यथा
पद २३ — सबै विश्वासीहरूको व्यथा
पद २६ — पवित्र आत्मा परमेश्वरको व्यवथा

“कमजोरीहरू” = दुर्बलताहरू, शक्तिहीन हुनु (हाम्रो क्षणभङ्गुरता र शिथिलतालाई जनाउने शब्द)। बलियो विश्वासी त्यो हो जसले आफू साँच्ची नै कति कमजोर छु भनेर बुझ्दछ (२ कोरिन्थी १२:१०)। प्रार्थनामा समेत (जब हामी परमेश्वर पिताकहाँ पूर्ण भरोसामा आएका हुन्छौं) हामीले आफ्नो कमजोरीपन जान्नु खाँचो छ (हामीले कसरी प्रार्थना गर्नुपर्ने हो र के प्रार्थना गर्नुपर्ने हो सो जान्दैनौं)। तर हाम्रो कमजोरीको बीचमा हामीसित एक ठूलो सहायत हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर स्वयं (“शान्तिदाता” शब्दसित तुलना गर्नुहोस् जसको अर्थ छेउमा आउन बोलाइएको व्यक्ति भन्ने बुझिन्छ अर्थात् एक सहायक)। प्रार्थनामा पवित्र आत्मा हाम्रा सहायक हुनुहुन्छ। “येशू कस्तो प्यारो मित्र!” पवित्र आत्मा कस्तो प्यारो मित्र!

पवित्र आत्मा परमेश्वरले हाम्रा कमजोर, कच्चा र त्रुटीपूर्ण प्रार्थनाहरू लिनुहुन्छ र परमेश्वरकहाँ ग्रहणयोग्य हुने गरीकन र उहाँको इच्छाअनुरुप हुने गरीकन तिनलाई काँटछाँट र रुपान्तर गरीकन परमेश्वर पिताकहाँ ल्याउनुहुन्छ। पवित्र आत्मा परमेश्वर र पिता परमेश्वरका बीच एउटा उदेकको सञ्चार हुने गर्दछ जसको बारेमा यहाँ हामीलाई बताइएको छ तर जुनचाहिँ हामी थोरै मात्र बुझ्दछौं (तरैपनि हामी यसको लागि एकदम धन्यवादी हुनुपर्दछ)। हामी जान्दैनौं कसरी प्रार्थना गर्नुपर्छ भनेर…त्यसैले उहाँले हाम्रो लागि प्रार्थना गर्नुहुन्छ! उहाँ जान्नुहुन्छ कसरी प्रार्थना गर्नुपर्छ!

पवित्र आत्माको अन्तर्विन्तीलाई परमेश्वको यस्तो काहो जसलाई थोरै स्थान दिइएको छ र थोरै मान दिइएको छ। यसमा ध्यान दिनुहोस् कि यसै अध्यायमा परमेश्वरको पुत्रको अन्तर्विन्तीलाई उल्लेख गरिएको छ (पद ३४)। आत्माले पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्नुहुन्छ (पद २७) र ख्रीष्टले पनि सो गर्नुहुन्छ (पद ३४)। दुवैले हाम्रा निम्ति प्रार्थना गर्नुहुन्छ र विन्ती गर्नुहुन्छ, तर फरक-फरक तरिकामा। दुवैले परमेश्वर पितासित हाम्रा निम्ति विन्ती गर्नुहुन्छ! दुवै सेवकाइहरू अपरिहार्य छन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ८:१-१३

रोमी ८:१-१३

 

रोमी अध्याय ८

रोमी ८:१

रोमीको आठौं अध्याय “ख्रीष्ट येशूमा” हुने व्यक्तिका लागि बाइबलकै सबैभन्दा हौसलापूर्ण, उत्साहजनक र रोमहर्षक अध्यायहरूमध्ये एक हो (अध्यायको पहिलो पदलाई अन्तिम पदसित तुलना गर्नुहोस्)। यो अध्याय “कुनै दण्डको आज्ञा छैन” बाट सुरु हुन्छ (पद १) र “कुनै कुराले अलग पार्नेछैन” (पद ३९) मा अन्त हुन्छ, अर्थात् न्यामा पर्नेछैन र अलग गरिनेछैन। यस अध्यायको पहिलो खण्डको चाबी शब्द “आत्मा” हो (जुनचाहिँ अध्याय ८ मा २० पटक उल्लेख छ जब कि उक्त शब्द १ देखि ७ अध्यायहरूभरि केवल ४ पल्ट मात्र पाइन्छ!)

ख्रीष्ट येशूमा हुने व्यक्ति सदा सुरक्षित र सुनिश्चित हुन्छ (पद १)। अनन्त सुरक्षाको शिक्षालाई खुलस्त गरी प्रस्तुत गर्ने बाइबलकै चाबी अध्यायहरूमध्ये रोमीको आठौं अध्याय एक हो।

“दण्डको आज्ञा (न्याय) “छैन” (पद १)। एक छेउसमेत छैन! तुलना गर्नुहोस् यूहन्ना ३:१८; ५:२४ र १ कोरिन्थी ११:३२। “दण्डको आज्ञा” को अक्षरशः माने “(कसैमाथि) न्याय खस्नु”। परमेश्वरको न्याय ममाथि खस्नेछैन! किन खस्नेछैन? हेर्नुहोस् रोमी ७:२४; ८:२ — मैले मृत्यु र पापको व्यवस्थाबाट छुटकारा पाइसकेको छु। यदि म अझै पाप र मृत्युको व्यवस्थाको अधीनमा भएको भए म परमेश्वरको दण्डको आज्ञामनि पर्थें (पापले न्याय, मृत्यु र दण्डको आज्ञाको माग गर्छ!)। तर, परमेश्वरको प्रशंसा होस्, कलवरीले यसको पूरै समाधान गरिसक्यो! परमेश्वरले आफ्नो पुत्रलाई दण्डको आज्ञा दिनुभयो (रोमी ८:३) ताकि म कहिल्यै दण्डको आज्ञामनि नपरूँ (रोमी ८:१)! परमेश्वरको न्याय उहाँको एकमात्र जन्माइएको पुत्रमाथि खस्न गयो ताकि उहाँको न्याय ममाथि नखसोस्! म दण्डको आज्ञामनि छैन; बरु म धर्मी ठहराइएको छु! रोमी ५ अध्यायको अन्तिम भागको शिक्षालाई ध्यानमा राख्नुहोस्। आदममा म दण्डको आज्ञामनि छु, र ख्रीष्टमा म धर्मी ठहरिएको छु!

साँचो विश्वासी दण्डको आज्ञामनि अथवा न्यायमा पर्नेछैन (यूहन्ना ५:२४)। उसको निम्ति त्यहाँ “कुनै दण्डको आज्ञा छैन” (रोमी ८:१)। उसका सबै पापहरू क्रूसमा समाधान गरिए। पापको निम्ति विश्वासीको पापको न्याय लगभग २००० वर्ष अगाडि पूरा भयो जब ख्रीष्ट न्यायमा पर्नुभयो र दण्डको आज्ञा सहनुभयो! उहाँले हाम्रा पापहरूका निम्ति सजायँ भोग्नुभयो र मेरा पापहरूका निम्ति दण्डित हुनुभयो। परमेश्वरको क्रोध उहाँमाथि खन्याइयो। “ऊ ता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो…परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको छ” (यशेया ५३:५,६)।

अनि जब हामी विश्वासले ख्रीष्टकहाँ आउँछौं हामी धर्मी ठहरिन्छौं र सारा विश्वका न्यायकर्ताद्वारा “दोषी छैन” भनेर घोषणा गरिन्छौं! “परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? के धर्मी ठहराउनुहुने परमेश्वरले? के मर्नुहुने ख्रीष्टले जो झन् बौराइनु पनि भएको छ, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ” (रोमी ८:३३-३४)। परमेश्वरले यदि हामीलाई कहिल्यै दण्डको आज्ञा दिनुहुनेछैन भने र परमेश्वरले यदि हामीलाई कहिल्यै दोष लाउनुहुनेछैन भने हामीले फिक्री गर्नुपर्दैन!

हामी “ख्रीष्ट येशूमा” छौं, जो हाम्रो जीवन हुनुहुन्छ। हामी बौराइएनुभएको र महिमित ख्रीष्टसँग यतिसम्म एक भएका छौं कि जस्तो उहाँ हुनुहुन्छ त्यस्तै हामी छौं। दण्डको आज्ञा हामीमाथि कहिल्यै खस्न सक्नेथिएन किनभने हामी उहाँसँग सम्मिलित छौं र उहाँसँगै गाँसिएका छौं। अर्को शब्दमा, हामी ख्रीष्टसँग यति सम्मिलित छौं कि परमेश्वरले यदि हामीलाई दण्डको आज्ञा दिनुहुनेथियो भने उहाँले आफ्नो पुत्रलाई पनि दण्डको आज्ञा दिनुपर्नेहुन्थ्यो। असम्भव! “न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको छ; किनभने जस्तो उहाँ हुनुहुन्छ, त्यस्तै हामी पनि यस संसारमा छौं” (१ यूहन्ना ४:१७)।

विश्वासी जन न्यामा पर्नेछैन भनेर एकातिर हामीलाई बताइएको छ भने (यूहन्ना ५:२४ र रोमी ८:१) अर्कोतिर यो पनि बताइएको छ कि प्रत्येक विश्वासी जन ख्रीष्टको न्यायआसनका सामु उभिनेछ (रोमी १४:१०)। यी दुई आपसमा जुधेजस्तै देखिने तथ्यहरू कसरी बुझ्ने? १) विश्वासी उसका पापहरूको निम्ति दोषी ठहराइन र दण्डमा पर्न न्यायकर्तारूपी परमेश्वरका कहिल्यै उहाँको सामु उभिनुपर्नेछैन। यो दण्डको आज्ञा र सजायँ उसको प्रतिस्थापक ख्रीष्टमाथि पहिल्यै खसिसकेको छ (रोमी ८:३ र माथिल्लो दफालाई हेर्नुहोस्)। स्मरण होस्, विश्वासी यदि एउटै पापको लागि मात्र पनि दोषी ठहरिनेथियो भने त्यो उसलाई अनन्तसम्म नरकको आज्ञामा दण्डमा पुर्याउनलाई पर्याप्त हुनेथियो। २) विश्वासी जन उसले आफ्नो ख्रीष्टिय जीवन कति विश्वासयोग्यसाथ बिताएको थियो भन्ने कुराको लेखा बुझाउन ख्रीष्टको न्याय आसन वा ‘बेमा’ को सामु उभिनेछन्। सवाल त्यसबेला दण्ड पाउने कि नपाउने भन्ने हुँदैन तर सवालचाहिँ इनाम पाउने कि गुमाउने भन्ने हुनेछ (१ कोरिन्थी ३:१२-१५)। इनाम गुमाउनु भनेको मुक्ति गुमाउनु होइन। सबैभन्दा अविश्वासयोग्य ख्रीष्टियन समेत ख्रीष्टको न्यायआसनको सामु “बचाइनेछ” र दण्डको आज्ञामा पर्नेछैन (१ कोरिन्थी ३:१५)।

“कुनै दण्डको आज्ञा छैन” — यस्तो उदेकको भनाइलाई कसले दाबी गर्न सक्छ र त्यसमा रमाउन पाउँछ? केवल तिनीहरू जो “ख्रीष्ट येशूमा” छन् (पद १)। त्यो भन्दा सुरक्षित ठाउँ अर्को छैन! नूहका दिनहरूमा एउटै मात्र सुरक्षाको ठाउँ थियो — जहाजभित्र! जहाजभित्र नभएका सबैमाथि परमेश्वरको इन्साफ आइपर्यो। आज येशू ख्रीष्ट नै हाम्रो सुरक्षाको जहाज हुनुहुन्छ! जोजो उहाँमा अवस्थित छन् तिनीहरू सुरक्षित छन् र सुनिश्चित छन् र परमेश्वरको न्यायमा पर्ने खतरामा छैनन्।

“ख्रीष्ट येशूमा” — रोमीको आठौं अध्यायमा पावलले बताउन लागेका सबै असल कुराहरू ख्रीष्ट येशूमा हुनेहरूको लागि मात्र हो। हरेक साँचो विश्वासी “ख्रीष्ट येशूमा” छ (गलाती ३:२६-२८ मा हेर्नुहोस् — “ख्रीष्टभित्र बप्तिस्मा लिएका (भएका)”, विश्वासद्वारा!)। “ख्रीष्ट येशूमा” भन्ने यो वाक्यांश यो भन्दा अगाडि भेटिने चाहिँ रोमी ६:२३ मा हो। ख्रीष्टमा हामीसँग अनन्त जीवन (रोमी ६:२३)। ख्रीष्टमा हामीलाई कुनै दण्डको आज्ञा छैन (रोमी ८:१)! ख्रीष्टमा हामी साँच्ची नै आशिषित छौं (एफेसी १:३)!

रोमी ८:२

यसलाई रोमी ७:२४ सित तुलना गर्नुहोस्। प्रश्न थियो, “कसले मलाई छुटकारा देला?” रोमी ८:२ मा दिइएको जवाफ छ — “ख्रीष्टले मलाई छुटकारा दिइसक्नुभयो!” रोमी ७ को पछिल्लो खण्डचाहिँ एक विश्वासीको सङ्घर्षरत, पराजित अवस्थाको बयान थियो। आठौं अध्यायमा पावलले विश्वासीलाई ख्रीष्ट येशूमा भएको उसको सिद्ध, अचूक ओहोदामाथि ध्यानकेन्द्रित गराउँछन्! जति हामी हाम्रो ओहोदा सम्बन्धी परमेश्वरका तथ्यहरूमाथि विश्वास गर्छौं त्यति नै त्यसले हाम्रो वास्तविक अवस्थालाई प्रभाव पार्नेछ र परिवर्तन गर्नेछ!

रोमी ८:२ ले दुईटा व्यवस्थालाई उल्लेख गरेको छ। उदाहरण: भू-आकर्षणको व्यवस्था र हवाइउड्डयनको व्यवस्था। भू-आकर्षणको व्यवस्थाले भन्दछ कि धातुले बनेको ठूलो र गह्रौं वस्तु आकाशबाट पृथ्वीमा खस्नैपर्छ र ध्वस्त हुनैपर्छ (हवाइजहाज खस्नुपर्छ!)। तर हवाइ-उड्डयनको व्यवस्था अझ उच्च व्यवस्था हो र यसले भू-आकर्षणको व्यवस्थालाई माथ गर्दछ र धातुको गह्रौं हवाइजहाजलाई राम्ररी उड्न र नखस्नलाई सम्भव तुल्याउँछ। पाप र मृत्युको व्यवस्थाले म पराजित हुन्छु र लड्छु र खस्छु (रोमी ७:२३-२५) तर ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले म परमेश्वरलाई खुशी पार्ने जीवन जिउन सक्दछु (रोमी ८:२)।

रोमी ८:३

त्यहाँ त्यस्ता केही कुराहरू छन् जुनचाहिँ व्यवस्थाले गर्न सक्दैन। व्यवस्था धर्मी छ तर यसले धर्मी ठहराउन सक्दैन (रोमी ७:१२; ३:२०)। व्यवस्था पवित्र छ तर यसले पवित्र बनाउन सक्दैन (रोमी ७:१२)। व्यवस्थाले मलाई म पापी छु भनेर बताउन सक्छ तर मलाई पवित्र जन बनाउन सक्दैन! (ऐनाले मेरो फोहोर देखाउन सक्छ तर मलाई सफा पार्न सक्दैन)। जुन कुरा व्यवस्थाले गर्न सकेन परमेश्वरले गर्नुभयो! जुन काम व्यवस्थाले गर्न सकेन मुक्तिदाता ख्रीष्टले गर्नुभयो!

व्यवस्था किन कमजोर थियो? समस्या व्यवस्थापट्टि थिएन तर मपट्टि पो थियो। त्यो “शरीरद्वारा कमजोर” थियो (रोमी ७:१४ सित तुलना गर्नुहोस्)। वास्तवमा व्यवस्था एकदम सामर्थ्ववान् छ। यदि कसैले त्यसका सबै आज्ञाहरू सधैंभरि पालन गर्दछ भने व्यवस्थाले जीवन दिन सक्छ (लूका १०:२५-२८; मत्ती १९:१६-१७), तर हामीमध्ये कसैले यो गरेका छैनौं नता सक्छौं नै त्यसैले व्यवस्थाले जीवन दिन सक्दैन। त्यसले आशिष ल्याउन सक्दैन, श्राप मात्र ल्याउन सक्छ (गलाती ३:१०-११)। तर कमजरी हाम्रो हो, व्यवस्थाको होइन। उदाहरण: एउटा बलियो लङ्गरलाई विचार गर्नुहोस्। के त्यो लङ्गरले पक्रन सक्छ? सक्छ! तर तपाईंले लङ्गरलाई हिलो माटोभित्र झार्नुभयो भने के त्यसले पक्रनेछ त? “जुन कुरा लङ्गरले गिलोद्वारा कमजोर भएको हुनाले गर्न सकेन।” समस्या परमेश्वरको पवित्र व्यवस्थाको होइन तर हाम्रो पापपूर्ण शरीरको हो!

रोमी ८:३ मा सुसमाचारलाई प्रस्तुत गरिएको कुरालाई ध्यान दिनुहोस्। यस पदले बताउँदैछ कि परमेश्वरले आफ्नो आफ्नै पापरहित पुत्रलाई पठाउनुभयो हाम्रो स्थानमा दण्डको आज्ञा पाउनलाई र हाम्रा पापहरूका निम्ति मर्नलाई। उहाँले किन त्यसो गर्नुभयो? ताकि हामी धार्मिकताका निम्ति जिऔं (पद ४ लाई १ पत्रुस २:२४ सित तुलना गर्नुहोस)।

पावलले यी कुराहरू कति होशियारपूर्वक बताएका छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। उनले अलिकति मात्र पनि फरक तरिकाले लेखेका भए त्यो झूटो शिक्षा हुनेथ्यो (ख्रीष्टको व्यक्तित्वका बारेमा गलत शिक्षा)। उनले “शरीरको समानतामा” भनेनन् किनभने त्यसो त ख्रीष्ट साँच्ची नै मानिस बन्नुभएन भनेको अर्थ लाग्थ्यो। ख्रीष्ट साँच्ची नै शरीरमा आउनुभयो र साँच्चीकै मानिस हुनुहुन्थ्यो (१ यूहन्ना ४:२-३)। पावलले “पापमय शरीरमा” भनेनन् किनभने त्यसो त ख्रीष्ट पापी हुनुभएको अर्थ लाग्ने थियो! पावलले के भन्दैछन् त? उनले यो बताउँदैछन् कि ख्रीष्ट साँच्चीकै एक मानिस हुनुहुन्थ्यो तर एक पापी मानिस हुनुहुन्नथ्यो!

“पापको निम्ति” — पापको निम्ति एक बलिदानको रूपमा! जसरी भजनमा गाउँछौं, “लिए मेरो दण्डस्थान!” २ कोरिन्थी ५:२१ सित तुलना गर्नहोस्। दण्डको आज्ञा भन्नाले परमेश्वरको न्याय एक व्यक्तिमाथि खस्नु हो। पापको निम्ति परमेश्वरको न्याय मेरा पापरहित प्रतिस्थापकमाथि खस्यो जब उहाँ क्रूसमा मर्नुभयो ताकि त्यो ममाथि नखसोस् (रोमी ८:१)। परमेश्वरको इन्साफरूपी आगोले क्रूस र त्यस वरिपरिको ठाउँलाई जलाइदियो ताकि जब म क्रूसको फेदमा विश्वासैद्वारा खडा हुन्छु परमेश्वरको इन्साफले मलाई जलाउनेछैन (जसरी आगोले एउटै ठाउँलाई दुईपटक जलाउँदैन)।

रोमी ८:४

“धार्मिकता” को माने “धर्मी मागहरू”। व्यवस्थाका केही निश्चित धर्ममय मागहरू छन्। व्यवस्थाले यो माग गर्दछ कि एक व्यक्तिले धर्मी जीवन बिताओस् जसको माने उसले परमेश्वरलाई प्रेम गरोस् (सिद्ध रूपमा) र आफ्नो छिमेकीलाई प्रेम गरोस् (सिद्ध रूपमा)। व्यवस्थाका मागहरू म कसरी पूरा गर्न सक्छु? मैले कसरी व्यवस्था पालन गर्न सक्छु्? पवित्र आत्माको व्यक्तित्व र सामर्थ्यले यो सम्भव छ। यस पदले “हामीद्वारा” भन्दैन तर “हामीमा”! यो चाहिँ परमेश्वरले आफ्नो सामर्थ्यद्वारा र उहाँको कार्यद्वारा र उहाँको आत्माद्वारा मभित्र गर्नुहुने कुरा हो! “शरीर” भन्नाले त्यो हो जुन म गर्दछु, आफैमा र आफैद्वारा (मैले फलाउने फल)। “आत्मा” भन्नाले त्यो हो जुन परमेश्वरले गर्नुहुन्छ, मभित्र गर्नुहुन्छ, अन्तरवास गर्नुहुने परमव्यक्ति पवित्र आत्माद्वारा। व्यवस्थाले माग गर्छ कि मैले परमेश्वरलाई र मेरो छिमेकीलाई प्रेम गर्नुपर्छ (मत्ती २२:३६-४०)। यी दुई आज्ञाहरू दस आज्ञाको मात्र नभएर परमेश्वरका सम्पूर्ण आज्ञाका सार हुन्। मैले व्यवस्था पालन गर्न खोजेर नै व्यवस्था पालन गर्न सक्ने होइन। एक पापीले परमेश्वरको पवित्र व्यवस्था पालन गर्न सक्दैन; त्यो असम्भव छ। एक “नवीकृत पापी” लाई समेत यो असम्भ्व छ। जसरी हामीले रोमी ७:१४-२५ मा देख्यौं, बाँचेको व्यक्तिले त्यो गर्न चाहन्छ तर उसले सक्दैन: “जे असल छ (परमेश्वरको व्यवस्था पालन गर्ने काम) त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिनँ” (रोमी ७:१८)। व्यवस्था पूरा गर्ने हो भने यसको चाबी प्रेम हो (रोमी १३:८-१० र गलाती ५:१४)। प्रेम हामीमा हुने हो भने यसको चाबीचाहिँ पवित्र आत्माले नियन्त्रित हिँडाइ हो (गलाती ५:१३-२३ र रोमी ८:४)। पवित्र आत्माले तब यो प्रेम ममा फलाउने काम गर्नुहुन्छ (गलाती ५:२२)। म सक्दिनँ तर उहाँ सक्नुहुन्छ! एक व्यक्ति परमेश्वरको आत्माको भरमा हिँड्दैछ भने, परमेश्वर उसको जीवनमा काम गरिरहनुभएको हुन्छ, उहाँले त्यो धर्मी जीवन प्रकट गरिरहनुभएको हुन्छ। उहाँको कारिगरी हौं हामी (एफेसी २:१०)! एकातिर, परमेश्वरको व्यवस्था पालन गर्नु मलाई अर्थात् मेरो शरीरलाई असम्भव छ। अर्कोतिर, मभित्र हुनुहुने परमेश्वरलाई (मैले उहाँलाई आफ्नो काम गर्न जब दिन्छु) व्यवस्था पूरा नगर्न असम्भव! जुन कुरा शरीरले कहिल्यै गर्न सक्दैन, त्यो परमेश्वरले गर्न सक्नुहुन्छ (पद ३ सित तुलना गर्नुहोस्)।

शरीरको नियन्त्रणमा रहेको व्यक्ति र आत्माको नियन्त्रणमा रहेको व्यक्ति बीचको भिन्नता देखाउने निम्न तालिकालाई विचार गर्नुहोस्। यस तालिकाले रोमी ८ को पहिलो १४ ओटा पदहरूलाई समेट्दछ।

नोट: मुक्ति नपाएको व्यक्तिले जीवन बिताउन सक्ने तरिका एउटै मात्र छ। ऊ “शरीरमा” छ त्यसैले ऊ “शरीरअनुसार” नै जिउनुपर्छ र हिँड्नुपर्छ (रोमी ८:८; पद ४ सित पनि तुलना गर्नुहोस्)। शरीरको अभिलाषा पूरा गर्नु बाहेक उनलाई कुनै विकल्प छैन। अन्तरवास गर्ने पापको ऊ पूरै बन्धमा रहेको छ। शरीरअनुसारको यस हिँडाइलाई एफेसी २:१-३ र एफेसी ४:१७-१९ मा बयान गरिएको छ।

मुक्ति पाएको व्यक्ति “आत्मामा” हुन्छ भनेर बयान गरिएको छ (रोमी ८:९) अनि ऊ अब उसो शरीरको घेराभित्र छैन (रोमी ८:९)। उसभित्र परमेश्वरको पवित्र आत्माले अन्तरवास गर्नुहुन्छ। उसको जीवनमाथि परमेश्वरको पवित्र आत्माको उपस्थितिले प्रभुत्व जमाउनुहुन्छ अनि यदि उसको चाल ठिक छैन भने पनि आत्माले आफ्नो शोकित उपस्थितिलाई प्रकट गर्नुहुन्छ (एफेसी ४:३०)।

मुक्ति पाएको व्यक्तिको जीवन पूरै शरीरको प्रभुत्वमनि छ भनेर भन्न मिल्दैन। ऊ पापमा फस्न सक्छ तर ऊ पापमा लागिरहँदैन (१ यूहन्ना अध्याय ३)। आत्माद्वारा ऊ कायल भईकन, पाप स्वीकार गरीकन र आवश्यक परेको खण्डमा ताडनामनि परीकन (१ कोरिन्थी ११:३१-३२) ऊ आज्ञापालनको मार्गमा फर्काइन्छ नै। विश्वासी जनले कुनै एउटा घडीमा शरीरका कुनै पनि कामहरूलाई प्रकट गर्नु सम्भव छ (गलाती ५:१९-२१) तर उसको जीवन शरीरका कामहरूकै प्रभुत्वमनि रहेको हुँदैन किनभने गलाती ५:२१ अनुसार “यस्ता-यस्ता कामहरू गर्नेहरू (वर्तमान काल — “गरिरहनेहरू”; जोहरू तिनमा लागिरहन्छन्) परमेश्वरका राज्यका हकवाला हुनेछैन” (१ कोरिन्थी ६:९-११ लाई एफेसी ५:५ सित तुलना गर्नुहोस्)।

तरैपनि बाइबलले यो स्पष्ट बताउँछ कि साँचो विश्वासी शरीरद्वारा नियन्त्रित हुन सक्छ। रोमी ८ अध्यायले यसको चर्चा गर्दैन तर रोमी १३:१२-१४ ले गर्छ। साथै १ कोरिन्थी ३:१-३ र गलाती ५:१६-२५ पनि हेर्नुहोस्। एक विश्वासी जो “आत्मा” छ ऊ “शरीरमा” भएको मान्छे जस्तै हिँड्नु र ख्रीष्टमा रहेको एउटा नयाँ सृष्टिलाई एक नयाँ जन्मै नपाएको केवल मानिस जस्तै हिँड्नु उसको लागि ठूलो अनियमितता हो (१ कोरिन्थी ३:३), तर दुःखको कुरा यो हुने गरेकै पाइन्छ।

रोमी ८:५-६

“मन लगाउँछन्” (यो क्रियापद मत्ती ६:२३ र कलस्सी ३:२ मा पनि प्रयोग भएको छ)। “शारीरिक हुनेहरू” — जोहरू पापपूर्ण आदमीय स्वभावद्वारा नियन्त्रित हुन्छन् (माथिको तालिकामा हेर्नुहोस्)। छैटौं पद लाई रोमी ६:२१-२३ सित तुलना गर्नुहोस्)।

रोमी ८:७

“किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुश्मनी गर्नु हो।” शरीर सधैं नै परमेश्वरको विरोधमा हुन्छ। शरीर परमेश्वरको शत्रु हो। “अधीनता” = कसैको मुनि रहनु, आज्ञाकारी। शरीर अधीनमा बस्दैन। बरु परमेश्वरको विरुद्धमा विद्रोह गर्दछ; यो परमेश्वरको विरोधमा र उहाँको व्यवस्थाको विरोधमा विद्रोह गर्दछ। यसको उदाहरण गन्ती १४:९-१०,२७-२९,४०-४४ मा पाइन्छ (परमेश्वर साथमा जानुहुन्छ भने हामी जान्नौं! परमेश्वर साथमा जानुहुन्न भने हामी जान्छौं! परमेश्वरले जे भन्नुहुन्छ, त्यसको हामी ठिक उल्टो गर्नेछौं!) “यो हुन नै सक्दैन” — शरीर अधीनतामा बस्नै सक्दैन। शरीरलाई परमेश्वरको अधीनतामा बस्नु असम्भव छ। मान्छेको पापमय शरीर (मानिसको पापी स्वभाव) अधीनतामा नबस्ने स्वभावको हुन्छ।

पाँचओटा कुरा छन् जो शरीरको सम्बन्धमा असम्भव छ:

१) शरीर बदली गराइन सकिन्न। विद्रोही, अधीनमा नबस्ने शरीर कहिल्यै अधीनमा बस्ने स्वभावको आज्ञाकारी शरीर बन्दैन। शरीरसित सामना गर्ने परमेश्वरको तरिका चाहिँ त्यसलाई बदली गर्नु होइन तर त्यसलाई दण्डको आज्ञा दिनु हो (रोमी ८:३) र क्रूसमा टाँगिदिनु हो (गलाती ५:२४; २:२०; रोमी ६:६ सित तुलना गर्नुहोस्)।

२) शरीर सुधार गर्न सकिन्न। त्यो सुधारिन वा पवित्रतामा पुनस्थापित गरिन सकिन्न। जे भ्रष्ट छ त्यो भ्रष्टै रहन्छ। जे असाध्य दुष्ट छ त्यो असाध्य दुष्ट नै रहन्छ (यर्मिया १७:९)। दुई हजार वर्ष अगाडि त्यसको सुधार होइन क्रूसीकरण गरिएको थियो!

३) शरीरलाई कहिल्यै सधाउन सकिन्न। शरीर हठी छ। त्यो आफ्नो तरिका बदल्न स्वीकार गर्दैन। त्यो अपरिवर्तनीय छ। परमेश्वरलाई खुशी पार्न शरीरलाई कहिल्यै सिकाउन सकिन्न। शरीर incorrigible छ — त्यसलाई सच्च्याइन वा सुधार गरिन सकिन्न। शरीरले आफ्ना मार्ग बदली गर्न मान्दैन। शरीरका कामहरू सधैं जस्ताको त्यस्तै रहन्छन् (गलाती ५:१९-२१ मा हेर्नुहोस्)।

४) शरीरलाई राम्रो बनाउन सकिन्न। त्यो सधैं उस्तै रहन्छ: पतित, भ्रष्ट, दुष्ट, पापमय, खराब, परमेश्वरको विरोधमा, विद्रोही, हठी, घमन्डी, इत्यादि।

५) शरीरलाई परमेश्वरसित मिलापमा ल्याउन सक्दैन। त्यो सधैं र सदा परमेश्वरको विरोधमा खडा रहन्छ (गलाती ५:१७ मा हेर्नुहोस्)। त्यो कहिल्यै परमेश्वरसित मिलाप गर्दैन; बरु त्यहाँ निरन्तर युद्ध जारी रहन्छ। परमेश्वर कहिल्यै उहाँको पवित्र र धर्मी चरित्र विपरित रहेको कुरासित मिलापमा आउन सक्नुहुन्न। परमेश्वरको प्रत्येक सन्तान यस तथ्यमा रमाहट गर्न सक्दछ: “अनि जो ख्रीष्टका हुन्, उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्” (गलाती ५:२४)।

रोमी ८:८

शरीरको बारेमा यी कुरा सत्य भएको हुनाले (पद ७), जो शरीरमा छन्, तिनीहरूले (नबाँचेकाहरूले) परमेश्वरलाई खुशी पार्न सक्दैनन् (उनीहरूले परमेश्वरलाई खुशी पार्नु असम्भव छ)। हिब्रू ११:६ सित तुलना गर्नुहोस् (जो शरीरमा छन् उनीहरू विश्वासरहित छन्)। रोमी ८:८ को टिप्पणी स्वरूप हितोपदेश १५:८,९,२६ लाई लिन सकिन्छ। शरीरले कहिल्यै, कुनै हालतले पनि परमेश्वरलाई खुशी पार्न सक्दैन। धेरजसो मानिसहरूलाई यस पदको सत्यता स्वीकार्न ज्यादै नै गाह्रो पर्छ। यसको तात्पर्य यो हो कि (ख्रीष्टमा आउनुअघि) मैले आफ्नो जीवनमा जे जति गरें ती एउटै पनि परमेश्वरलाई स्वीकारयोग्य थिएनन् र उहाँलाई मनपर्दा थिएनन्। हामीले कति कुरालाई असल र सही र प्रशंसायोग्य ठानेका थियौं होला तर परमेश्वर तिनमा प्रसन्न हुनुहुन्नथ्यो। परमेश्वरलाई हामीले खुशी पार्न सक्ने एउटै तरिका भनेको “येशू ख्रीष्टद्वारा” (हिब्रू १३:२१) हो।

आत्मामा मन लगाउने व्यक्तिको बारेमा पद ७-८ ले कस्तो अर्थ बोकेको छ त? यी पदलाई उल्टोतिरबाट लिएर हेरौं: आत्मिक मन (आत्मामा मन लगाउने) परमेश्वरको मित्र हुन्छ (परमेश्वरसित मिलाप र शान्तिमा हुन्छ, कुनै शत्रुता र लडाइँ हुँदैन), किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीनतामा बस्ने हुन्छ (रोमी ८:४) अनि सधैं त्यस्तै हुनैपर्छ। त्यसोभए आत्मामा हुनेहरूले परमेश्वरलाई खुशी पार्न सक्छन्! यसपछिको पदले आत्मामा हुनेहरूको बारेमा बताउँछ:

रोमी ८:९

“तिमीहरू” भन्ने शब्दलाई जोड दिइएको छ (शरीरमा हुनेहरूको विपरितमा “तिमीहरू”)। तिमीहरू शरीरमा छैनौ! तिमीहरूले परमेश्वरलाई खुशी पार्न सक्छौ! बाँचेको प्रत्येक व्यक्ति “आत्मामा” छ र नबाँचेको प्रत्येक व्यक्ति “शरीरमा” छ। प्रत्येक विश्वासी “आत्मिक” छ यस अर्थमा कि ऊसँग परमेश्वरको आत्मा छ (यहूदा १९ मा हेर्नुहोस्)। “वास गर्नुहुन्छ” = तिमीमा उहाँले आफ्नो घर बनाउनुहुन्छ। तिम्रो शरीर आत्माको घर हो अथवा वासस्थान हो अथवा पवित्र मन्दिर हो (१ कोरिन्थी ६:१९-२०)।

पावल भन्दैछन् कि आत्मा तिमीभित्र हुनुहुन्छ भने तिमी आत्मामा छौ! आत्मा तिमीभित्र हुनुहुन्न भने तिमी शरीरमा छौ (बाँचेका छैनौ)। “कुनै मानिस” = जो कोही। “त्यो उहाँको होइन” = ऊ (जससँग आत्मा छैन) ख्रीष्टको होइन, ऊ ख्रीष्टियन होइन, ऊ बाँचेको छैन। यस पदको तात्पर्यले स्पष्ट यो सिकाइरहेको छ कि हरेक साँचो विश्वासी पवित्र आत्माद्वारा अन्तरवास गरिएको हुन्छ। निजले मुक्ति पाएको छ भने ऊ पवित्र आत्माद्वारा अन्तरवास गरिएको हुन्छ र ऊ आत्मा (को घेरा) मा छ। एक एक विश्वासीले, विश्वास गरेकै आधारमा (त्यो एउटै शर्तमा) पवित्र आत्मा प्राप्त गरेको हुन्छ (यूहन्ना ७:३७-३९)। साँचो विश्वासी भएर पनि पवित्र आत्मा चाहिँ नपाएको भन्ने त्यस्तो कुनै व्यक्ति हुँदैन। साँचो ख्रीष्टियन अब उसो “शरीरमा” (शरीरको घेराभित्र) छैन। ऊ शरीरमा छैन तर शरीर उसभित्र भने छ (रोमी ७:१८)। याद राख्नुहोस् पवित्र आत्मालाई कसरी जनाइएको छ: “आत्मा”, “परमेश्वरका आत्मा”, “ख्रीष्टका आत्मा”।

नवौं पदले भन्छ आत्मा तिमीहरूभित्र हुनुहुन्छ
दसौं पदले भन्छ ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ (यूहन्ना १४:१७,२० मा पनि हेर्नुहोस्)।

रोमी ८:१०

रोमी ८:१ सित तुलना गर्नुहोस् — ख्रीष्ट मभित्र हुनुहुन्छ (पद १०) र म ख्रीष्टभित्र छु (पद १)! रोमी ८:९ ले सिकाउँछ कि म आत्माभित्र छु र आत्मा मभित्र हुनुहुन्छ! कति उदेकका सम्बन्धहरू! रोमी ७:१८ मा पावलले भन्छ, “म जान्दछु, मभित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन” तर विश्वासीले यो पनि भन्न सक्दछ, “म जान्दछु कि मभित्र जीवित परमेश्वर वास गर्नुहुन्छ!” यदि कुनै मानिसले साँच्ची नै मुक्ति पाएको छ भने येशू ख्रीष्ट उक्त व्यक्तिभित्र वास गर्नुहुन्छ (२ कोरिन्थी १३:५ मा हेर्नुहोस्)। यसैले, अब पावलले १० पदमा बताउन लागेको कुरा एउटा साँचो विश्वासीलाई लागु हुन्छ। तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भने निम्न कुरा साँचो छ: शरीर पापको कारण मरेको छ। कुन अर्थमा त्यो मरेको छ? तपाईं शरीरमा मर्नुभएको त छैन। यहाँ “मरेको” को तात्पर्य “मरणशील” हो (एघारौं पदमा हेर्नुहोस्); पापको कारण मर्ने, सड्ने, रोग लाग्न सक्ने भन्न खोजिएको हो। विश्वासीको शरीरको अहिले नै उद्धार गरिएको छैन (तर भविष्यमा गरिनेछ — रोमी ८:२३)। विश्वासीको शरीर अहिले नै जीवित पारिएको छैन, तर भविष्यमा पारिनेछ (रोमी ८:११)।

“तर आत्मा धार्मिकताको कारणले जीवन हो” — यो पद विश्वासीको शरीर र उसको आत्माबीचको तुलना हो। आत्मा मरेको छैन, त्यो जीवन हो। म आत्मामा जीवित पारिएको छु (एफेसी २:१,५)। मेरो आत्मा म धर्मी ठहराइएकै घडी जीवित पारिएको थियो। मेरो आत्मा जीवित पारिने काम मेरो मुक्तिकै घडीमा पूरा भइसकेको कुरा हो (रोमी ८:१०); मेरो शरीर जीवित पारिने काम भने भविष्यमा बौरिउठाइको दिनमा पूरा हुनेछ (रोमी ८:११)।

रोमी ८:११

“जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुभएको” — “जसले” भन्नाले परमेश्वर पितालाई जनाउँदछ। यदि परमेश्वरका आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ भने (बाँचेको हुनुहुन्छ भने यो तपाईंको निम्ति सत्य पनि हुन्छ — रोमी ८:९), परमेश्वरले (भविष्यमा) तिमीहरूका मरणशील शरीरहरू (हालमा उद्धार नभएका शरीरहरू जो मर्छन्, सड्छन् र रोगग्रस्त छन्) लाई जीवित पार्नुहुनेछ। यदि सर्वशक्तिमान् परमेश्वरले येशूलाई मरेकाहरूबाट बौराएर उठाउन सक्नुभयो भने उहाँले निश्चय पनि तपाईंहरूका शरीरहरूका निम्ति पनि त्यसैगरी काम गर्न सक्नुहुन्छ। विश्वासीहरूको भविष्यमा हुने बौरिउठाइको सम्बन्धमा यो एउटा सुन्दर प्रतिज्ञा हो। आज तपाईंभित्र आत्माको उपस्थिति हुनु चाहिँ भविष्यमा तपाईंको बौरिउठाइ हुनेछ भन्ने कुराको जमानी हो (एफेसी १:१३-१४; ४:३०)।

रोमी ८:१२

“ऋणी” = जसको कुनै दायित्व छ (रोमी १:१४)। हामी शरीरका ऋणी छैनौं किनकि हामी अब आत्माको घेराभित्र जिउँदछौं। शरीरप्रति हाम्रो एउटै पनि दायित्व छैन। शरीरलाई दिनुपर्ने केही छैन! वास्तवमा हामीले शरीरलाई बढ्तै दिइसकेकाछौं! हामीले ज्यादै समय शरीरमा बिताइसकेका छौं (१ पत्रुस ४:२-३ मा हेर्नुहोस्) अनि हामीले शरीरमा ज्यादै पाप गरिसकेका पनि छौं। बरु म आत्माअनुसार जिउनलाई ऋणी छु। यो मेरो ख्रीष्टिय दायित्व हो।

रोमी ८:१३

“जिउन” = वर्तमान काल (निरन्तर, आदतको रूपमा)। शरीर अनुसार जिउने जीवनको अन्तमा मृत्यु (परमेश्वरबाट अलग हुनुपर्ने स्थिति) छ (रोमी ६:२१)। “मार्यौ भने” = यो काम हामी कसरी गरौं? विश्वासीले आफ्नो शरीरका कामहरूलाई कसरी मार्दछ?

शरीरका कामहरूलाई मार्ने बारेमा बाइबलीय शिक्षा:

पहिले ध्यान यसमा दिनुहोस् कि हामीले “आत्माद्वारा” यो मार्ने काम गर्नुपर्छ। योचाहिँ आत्माको सामर्थ्यले गरिने काम हो, हाम्रै सामर्थ्यले होइन। विश्वासीको यो मार्ने कार्यका दुई पक्षलाई विचार गरिनुपर्छ:

१) ओहोदामा त्यो भइसकेको छ! गलाती ५:२४ ले भन्छ, “जो ख्रीष्टका हुन् (जो उहाँको निजी भएका छन्, रोमी ८:९ सित तुलना गर्नुहोस्), उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्।” यस पदले सो गर्नू भन्दैन तर भइसक्यो भन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। “शरीरलाई क्रूसमा टँगाऊ” भनेर यसले भन्दैन तर तिमीहरूले “शरीरलाई क्रूसा टँगाइसकेका छौ” भन्छ। त्यो कहिले भयो? २००० वर्ष अघि (गलाती २:२० सित तुलना गर्नुहोस्)! जब ख्रीष्ट मर्नुभयो, म मरें! मेरो क्रूसीकरण त्यसैबेला पूरा भएको हो।

२) अनुभवमा त्यो काम विश्वासीले गर्नुपर्छ: “पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार” (कलस्सी ३:५)। तर चाबी प्रश्न यो छ: यो काम कसरी गर्ने हो? विश्वास नै चाबी हो! ख्रीष्टमा म मरिसकेको छु भन्ने तथ्यलाई विश्वासले दाबी गर्दछ (कलस्सी ३:३ मा हेर्नुहोस् — “किनकि तिमीहरू मरेका छौ”) अनि विश्वासैद्वारा यो तथ्य सत्य छ भनेर म मानिलिन्छु (ठान्छु)। कलस्सी ३:५ को “यसकारण” ले तेस्रो पदमा उल्लेखित त्यो महान् सत्यतालाई औंल्याइरहेको छ जसअनुसार हामी ख्रीष्टसित र ख्रीष्टमा मरिसकेका छौं। यसैले जुन कुरा परमेश्वरले वास्तविकरूपमा पूरा गरिसक्नुभएको छ (गलाती ५:२३; कलस्सी ३:३; गलाती २:२०) त्यसलाई हामीले विश्वासैद्वारा गर्नलाई हामीलाई भनिएको हो (कलस्सी ३:५)। गलाती ५:२४ ले तथ्यलाई प्रस्तुत गर्दछ र कलस्सी ३:५ ले हाम्रो विश्वासको माग (तथ्यको आधारमा — कलस्सी ३:३) गर्दछ। जति हामीले विश्वासैद्वारा आफ्नो ओहोदालाई मानिलिन्छौं (ठान्छौं) त्यति नै त्यो हाम्रो खास अवस्थामा वास्तविक बन्दछ (आत्माको सामर्थ्यले)। रोमी ६:११ र त्यस सम्बन्धी “ठान्नु” अन्तर्गत गरिएको हाम्रो चर्चालाई पढ्नुहोस्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ७:११-२५

रोमी ७:११-२५

 

रोमी ७:११

तपाईंलाई धोका दिने र मार्ने को हो? खास बदमास को हो? खास धोकेबाज र हत्यारा को हो? पाप हो!!!

हिब्रू ३:१३ — पाप धोकेबाज हो

याकूब १:१३ — पाप हत्यारा हो

तर पापले व्यवस्थाको फाइदा उठायो।

रोमी ७:१२

यो पद यस खण्डको निष्कर्ष हो (“यसकारण” भन्ने शब्दले यसको सङ्केत दिन्छ) र यसले सातौं पद मा उठाइएको प्रश्नको जवाफ दिन्छ। समस्या व्यवस्थाको होइन। व्यवस्था त त्यसलाई दिनुहुने परमेश्वरको एउटा सिद्ध प्रतिबिम्ब हो। [यो एउटा उत्कृष्ट ऐना हो। यसले मेरो फोहोर देखाइदिन सक्छ, तर यसले मलाई सफा पार्न सक्दैन!] व्यवस्था पवित्र छ तर यसले मलाई पवित्र बनाउन सक्दैन। व्यवस्थाले मलाई कहिल्यै पवित्र बनाउन सक्दैन। यसले केवल म कतिसम्म अपवित्र रहेछु भनेर मात्र देखाउन सक्छ! व्यवस्था धर्मी छ तर यसले मलाई कहिल्यै धर्मी ठहराउन सक्दैन (रोमी ३:२०; गलाती २:१६)। यसले मलाई दोषी मात्र ठहराउन सक्छ। व्यवस्था असल छ तर यसले मलाई कहिल्यै असल बनाउन सक्दैन। यसले मलाई केवल मेरो नीचता मात्र देखाउन सक्छ (रोमी ७:२४) र मभित्र वास गर्ने खराबीलाई मात्र देखाउन सक्दछ (रोमी ७:१७-२१)।

रोमी ७:१३

फेरि हामी देख्छौं कि खास बेइमान चाहिँ पाप हो। व्यवस्थाले पाप उत्पन्न गर्दैन, पापले गर्छ (व्यवस्था १:१५; रोमी ६:२३)। व्यवस्थालाई दोष नलाउनुस्। खास शत्रु पाप हो। तर पापले जुन चीज असल छ त्यसलाई प्रयोग गर्दछ (व्यवस्थालाई)। “ज्यादै पापमय” को माने “पूरै पापपूर्ण”। व्यवस्थाले पापलाई ठूलो बनाइदियो (फोहोर त्यहाँ सुरुदेखि नै थियो तर तबसम्म मेरो समस्या खासै ठूलो लागेको थिएन जबसम्म मैले ऐनामा हेरिनँ अनि त्यसपछि त त्यो ज्यादै पापमय पो देखा पर्यो!)। जब हामी पवित्र कुराको छेउमा उभिन्छौं र आफैलाई हेर्छौं तब हामीले आफूलाई ज्यादै पापमय देख्छौं (यशैया ६:१-५ सित तुलना गर्नुहोस्)। परमेश्वरको पवित्र व्यवस्थाको छेउमा उभिँदा हामी पूर्णरूपमा अपवित्र देखा पर्छौं!

व्यवस्थाले पापको सवालमा गर्ने तीनटा कुरालाई ध्यान दिनुहोस्:

व्यवस्थाले पाप प्रकट गर्दछ (एउटा ऐनाले जस्तै) — पद ७; रोमी ३:२०

व्यवस्थाले पापलाई जगाउँछ (सर्पको उदाहरण) — पद ५,९

व्यवस्थाले पापलाई ठूलो देखाउँछ (पद १३, १ कोरिन्थी १५:५६ सित तुलना गर्नुहोस्

रोमी ७:१४

व्यवस्था आत्मिक छ। व्यवस्थाको कुनै समस्या छैन। व्यवस्था शारीरिक छैन। खास समस्या त ‘म’ हो! चौधौं पदमा सर्वनाम “म” मा जोड दिइएको छ। म शारीरिक छु, पापको हातमा बेचिएको छु (म पापको दास हुँ)। यसपछिका पदहरूमा “म” सर्वनाम शब्द कति धेरै पल्ट प्रयोग भएको छ भन्ने कुरालाई ध्यान दिनुहोस्! साथै चौधौं पदमा पावलले “मचाहिँ शारीरिक छु” भनेका कुरालाई ध्यान दिनुहोस्। उनले आफ्नो विगतको मुक्ति नपाएको अवस्थाको चर्चा गरिरहेका छैनन्, तर आफ्नो वर्तमान अवस्थाको । एकजना ख्रीष्टियन कसरी शारीरिक, र पापको दास हुन सक्दछ?

प्रथमतः हामी सबैजना बुझ्छौं कि एक अर्थमा साँचो विश्वासी शारीरिक हुँदैन। रोमी ८:९ ले भन्छ, “तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ।” पावलले आफ्नो मुक्ति नपाएको अवस्थालाई “शरीरमा” (रोमी ७:५) भएको समय भनेर जनाएका थिए। अर्को शब्दमा, ओहोदाको सवालमा साँचो विश्वासी (मुक्ति पाएको व्यक्ति) अब उसो शारीरिक घेराभित्र रहेको छैन, तर ऊ आत्माको घेराभित्र रहेको छ (रोमी ८:९)। ऊ ख्रीष्टमा छ र ख्रीष्ट उसभित्र हुनुहुन्छ। साथै ओहोदाको सवालमा मुक्ति पाएको व्यक्ति अब उसो पापको दास पनि होइन जसरी हामी रोमी ६:१७-१८; ६:२२ मा देखिसक्यौं। तर, रोमी ७:१४ मा पावल आफ्नो महिमित ओहोदाको चर्चा गरिरहेका छैनन् तर आफ्नो वास्तविक अवस्थाको। उनले आफ्नो वास्तविक ख्रीष्टिय जीवन जिउँदाहुँदीको अनुभवको कुरा गर्दैछन्। अनि एकजना साँचो ख्रीष्टियनको हिँडाइ शारीरिक हुनु सम्भव छ (१ कोिरन्थी ३:१-४ सित तुलना गर्नुहोस्)। यसको माने पावलको ख्रीष्टिय जीवन शारीरिकपनाले चिनिएको थियो र त्यसैले ग्रस्त थियो भन्ने होइन। पावल प्रेरितको बारेमा हामीलाई जति पनि कुरा थाह छ, त्यो यसको विपरित छन्। तर हामीले यो भन्नुपर्छ कि रोमी ७:१५-२४ पावल प्रेरितको एकदम वास्तविक अनुभव थियो र प्रत्येक इमानदार विश्वासीले यो स्वीकार गर्नैपर्छ कि धेरै वा थोरै यही कुरा उसले पनि अनुभव गरेको छ र पनि यही सङ्घर्ष भएर गएकै छ जसलाई पावल प्रेरितले यहाँ दर्शाएका छन्।

पावलले अनुभव गरेको दासत्वलाई निम्न पदहरूले व्याख्या गर्दछन्:

रोमी ७:१५

“किनभने” — यसले चौधौं पदमा उल्लेखित “पापको हातमा बेचिएको” (पापको दास भएको) भन्ने भनाइको व्याख्या गर्दछ। दास भनेको के हो? दास अर्को व्यक्तिको अधीनमा रहेको व्यक्ति हो, जसको कारण उसले गर्न चाहेको काम गर्न सक्दैन र उसले गर्न नचाहेको काम उसले गर्नुपर्छ, अँ उसले घृणा गरेको काम सेमत। यसको उदाहरणस्वरूप मिश्रीहरूको दास्त्वमुनि कष्ट भोगेका इस्राएलीहरूलाई विचार गर्नुहोस्। इस्राएली दासलाई ईँटहरू बनाउन जबरजस्ती लगाइयो। उसले यो गर्न चाहँदैनथ्यो तर उसले त्यो गर्नैपर्थ्यो। ऊ अरू कुराहरू गर्न चाहन्थ्यो, तर उसले चाहेको कुराहरू ऊ गर्न सक्दैनथ्यो। त्यस्तै गरी पापको दास भएको व्यक्ति पनि एउटा अन्योलग्रसत सङ्घर्षमा परेको हुन्छ (“सो म बुझ्दिनँ” को माने म ज्यादै जिल्ल परिरहेको छु, अन्योलमा छु”)। जे ऊ गर्न चाहन्छ ऊ गर्दैन। जे ऊ गर्न घृणा गर्छ त्यही ऊ गर्दछ! म जे गर्न चाहन्छु त्यो म गर्न सक्दिनँ र मैले जे घृणा गर्दछु त्यही मैले गर्नुपरेको छ!

रोमी ७:१६

“सहमत” को माने स्वीकार गर्नु। यो व्यक्ति व्यवस्थासित सहमत छ, त्यसलाई स्वीकार गर्छ! जस्तै: “तिमीले लोभलालच नगर्नू!” “म सहमत छु! यो असल व्यवस्था हो! लोभलालच विरुद्धको परमेश्वरको आज्ञा पवित्र छ, ठिक छ र असल छ। म त्यसलाई आमेन भन्छु। म लोभ गर्न चाहन्न। लोभ गर्नु गलत हो म जान्दछु। म लोभलाई घृणा गर्दछु तर लोभलालच नगरी सक्दिनँ! म यो पापको दास छु!”

रोमी ७:१७

यहाँ हामी अन्तरवास गर्ने पाप (INDWELLING SIN) को समस्या देख्छौं जुनचाहिँ प्रत्येक विश्वासीले सामना गर्ने एउटा ठुलो समस्या हो। रोचक कुरा के छ भने पावलले अन्तरवास गर्ने पाप र आफूबीच भिन्नता राख्दछन्: “म होइन…तर पाप।” यो यस कुराको सङ्केत हो कि पावलले यहाँ एकजना मुक्ति पाएको व्यक्तिको दृष्टिकोणबाट लेख्दैछन्। त्यो पापी ‘म’ चाहिँ उसको खास ‘म’ होइन। पावल ख्रीष्टमा एक नयाँ मानिस थिए, तर पापको सवालमा जिम्मेवार पक्षचाहिँ पुरानो पावल थियो। पावल यहाँ आफूले गरेको व्यवहारको उत्तरदायित्वदेखि भाग्न खोजिरहेका होइनन्, तर उनले दुईटा स्वभाव बीच भिन्नता राख्दैछन्, जसरी उनले बीसौं पदमा पनि गर्दछन्।

रोमी ७:१७ — “तब ता त्यो गर्ने म होइनँ…तर पाप” — हारको चित्कार हो यो!

गलाती २:२० — “म ता होइन, तर ख्रीष्ट” — विजयको चित्कार हो यो!

रोमी ७:१८

“मभित्र कुनै असल कुराले वास गर्दैन।” यो कठिन भनाइ हो, तर यो कुरा हरेक विश्वासीले देख्नैपर्छ र विश्वास गर्नैपर्छ। किन यहाँ “अर्थात् मेरो शरीरभित्र” भन्ने शब्दहरू भएको उपवाक्यांश पाउँछौं? यो अर्को सङ्केत हो कि पावल नयाँ जन्मै नपाएका व्यक्तिको दृष्टिकोणबाट नभएर एक मुक्ति पाएका व्यक्तिको दृष्टिकोणबाट लेख्दैछन्। पावललाई यहाँ एउटा उपवाक्यांश घुसाउनु आवश्यक पर्यो किनभने उनको पापमय शरीरबाहेक उसभित्र एकजना परमव्यक्ति अन्तरवास गर्नुहुन्छ (रोमी ८:९ मा हेर्नुहोस्) भनेर जान्दथे। “इच्छा गर्ने” को माने “चाहना गर्नु, चाहनु”। म असल गर्न चाहन्छु, म पापमाथि विजयी हुन चाहन्छु, म परमेश्वरको पवित्र व्यवस्था र परमेश्वरको वचन पालन गर्न चाहन्छु, तर त्यसलाई पूरा गर्ने मसित सामर्थ्य छैन। म शक्तिहीन छु! म असहाय छु! म त्यो गर्नै सक्दिनँ! ख्रीष्टिय जीवन जिउन म बिलकुलै असमर्थ छु!!! के तपाईंले यो कुरा पत्ता लगाउनुभएको छ? ख्रीष्टमा भएको नयाँ सृष्टिसित जुन कुरा असल र ठिक छ त्यो गर्ने इच्छा त छ (पद १८,१९,२१) तर सामर्थ्य भने छँदै छैन। पूरा गर्ने सामर्थ्य हामी आफैमा हुँदैन, त्यो केवल पवित्र आत्मा परमेश्वरमा मात्र हुन्छ (रोमी ८ अध्याय र तुलना गर्नुहोस् फिलिप्पी २:१३)।

कैयौं पटक हामी यो ठन्छौं कि हामीले आफैमा कुनै असल कुरा भेट्टाउनुपर्छ जसलाई हामी परमेश्वरलाई चढाउन सकौं। बाइबल शिक्षक सी ए कोट्सले एउटा साधारण उदाहरण दिएर यस दृष्टिकोणको भूल देखाउँछन्:

जहाँसम्म परमेश्वरलाई मतलब छ, त्यो कसिङ्गरको थुप्रो जलाइसकिएको छ, तर हामीले चाहिँ उक्त तथ्य साँचो भएको ठान्नुपर्छ!

रोमी ७:१९

यसको आशय पन्ध्रौं पदको जस्तै हो। जुन असल म गर्न चाहन्छु त्यो म गर्न सक्दिनँ; जुन खराब म गर्न चाहन्न, त्यो म गर्दछु! यी सबै पदहरूले त्यो सङ्घर्षको बयान गरिरहेको छ जोहरू साँचो विश्वासीहरू हुन्। नयाँ जन्म नपाएकाहरूको यस्तो किसिमको सङ्घर्ष नै हुने गर्दैन किनभने तिनीहरूसित एकै किसिमको मात्र स्वभाव हुन्छ (अर्थात् भ्रष्ट, पापमय, आदम-खालको स्वभाव)। तिनीहरू खराबकै इच्छा गर्छन् र त्यसैलाई गर्छन् (जबसम्म कुनै अरू कुराले रोक्दैन)। तिनीहरू जे असल र ठिक छ त्यसलाई घृणा गर्छन् र त्यसबाट पर हट्छन्। नबाँचेकाहरू पाप गर्छन् र त्यसलाई मन पराउँछन्। विश्वासीले पाप गर्दछ र त्यसलाई घृणा गर्दछ। असल गर्ने इच्छा जस्तो हामी बीसौं पदमा देख्छौं, चाहिँ “नयाँ मानिस” को चाहना हो, नबाँचेको मान्छेको चाहना होइन।

रोमी ७:२०

यस पदमा रहेको विचार सत्रौं पदको विचारसँग समानन्तर छ। यस अन्तरवास गर्ने पापको शक्तिलाई तोड्न म शक्तिहीन छु। म सक्दै सक्दिनँ! धेरै हिसाबमा यसरी नै उनीहरूमाथि रहेको मिश्रीहरूको शक्तिलाई तोड्न इस्राएलीहरूले गर्न सक्ने एउटै कुरा थिएन। उनीहरूलाई चाहिएको एउटा कुरा के थियो? एकजना उद्धारक! एकजना जसले आफ्नो सामर्थ्यले उनीहरूलाई दासत्वबाट छुटकारा दिन सक्दछ!

रोमी ७:२१

यो व्यवस्था चाहिँ “पाप र मृत्युको व्यवस्था” हो जसलाई ७:२३; ७:२५ र ८:२ मा पनि उल्लेख गरिएको छ। म लोभ गर्न चाहदिनँ; म सन्तुष्ट हुन चाहन्छु, तर लोभलालचको त्यो दुष्ट पाप ठिक मैसित छ (मेरो हृदयमा) अनि म त्यो पापको दास छु र त्यसैले मैले लोभ गर्नैपर्ने हुन्छ। म गर्न चाहन्न तर म गर्छु।

रोमी ७:२२

यी शब्दहरू नयाँ जन्म नपाएको मान्छेको मुखमा सुहाउँदैनन्। बाँचेको मान्छे मात्र परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छ (जस्तै दाऊद, भजनसङ्ग्रह १९:७-१०; भजनसङ्ग्रह ११९:३५ सित तुलना गर्नुहोस्)।

“आनन्दित हुनु” को माने “सहमत हुनु” (पद १६ सित तुलना गर्नुहोस्)। “म खुसीसाथ परमेश्वरको व्यवस्थासित सहमत हुन्छु!” म परमेश्वरको व्यवस्थासित सहमत छु र त्यसको पालना गर्ने मेरो उत्कट चाहना छ, तर म पापको दासत्व र पकडमा छु (पद २३)!

रोमी ७:२३

यो भयङ्कर युद्ध र सङ्घर्ष चलिरहेको कुरालाई ध्यान दिनुहोस् (गलाती ५:१७ सित तुलना गर्नुहोस्)। यस कुस्तीमा लड्नेहरू को को हुन् ध्यान दिनुहोस्:

यो लडाइँ कसले जित्दैछ? म त हारिसकें भनेर तेइसौं पदले बताउँछ! म त युद्धमा पक्राउ परी वशमा ल्याइएको छु! एक कैदी! वशमा! म पराजित भएको छु!

रोमी ७:२४

“अभागी मानिस” को माने “दुःखी मानिस”। यही “अभागी” शब्द प्रकाश ३:१७ मा पनि हेर्नुहोस्। एक दुःखी मानिस, एउटा दुःखी अवस्थामा! प्रत्येक विश्वासी आफ्नो अभागी अवस्था महसुस गर्ने ठाउँमा आइपुग्नु खाँचो छ। हामीले आफ्नो अत्यन्तै ठूलो खाँचो देख्नैपर्छ, विश्वासी भएर पनि। परमेश्वरले हामीलाई उपायरहित निराशाको तल्लो गहिराइहरूमा पुर्याउनुहुन्छ, हामीलाई त्यहीँ छोड्नलाई होइन, तर हामीलाई उहाँको अनुग्रहको चुचुरोहरूमा उकास्नलाई हो। अभागी मानिस एउटा वशमा ल्याइएको कैदी र पापको दास हो — जसले जे ठिक छ त्यो गर्न चाहन्छ तर असल गर्न सक्ने कुनै शक्ति छैन उसको र जुन कुरालाई उसले घृणा गर्दछ त्यही गर्न ऊ पुगिरहन्छ!

“कसले मलाई…छुटकारा देला?” एक उद्धारको माग गरिरहेको यस चित्कारमा, याद राख्नुहोस्, निजले “म के गरूँ?” अथवा “मैले आफूलाई कसरी छुटाऊँ?” भन्दैनन्। होइन, निज त आफू भन्ने व्यक्तिको अन्तमा आइपुगिसकेका छन्। आफूमा भर पर्दा त्यसले उसलाई केवल पराजय र विफलतामा मात्र पुर्याउन सक्यो। उसले आफूलाई बिलकुलै अशक्त र असहाय र आशारहित भएको पाए, तर उनी अन्तमा आफूभन्दा बाहिरबाटको छुटकाराको निम्ति कराउँछन्। व्यवस्थाले उसलाई सघाउन सक्दैन। व्यवस्थाले उसलाई पवित्र बनाउन सक्दैन। उनी कराउँछन् तर व्यवस्थाको निम्ति होइन, बरु परमप्रभुको निम्ति। व्यवस्था हामीद्वारा पूरा हुने कुरा होइन; त्यो हामीमा पूरा हुने कुरा हो (जुन कुरा हामी रोमी ८:४ मा देख्नेछौं), पवित्र आत्माको सामर्थ्यद्वारा जसको फल प्रेम हो जुन कुरा नै व्यवस्थाको पूरा हुवाइ हो (गलाती ५:२२; रोमी १३:८-१०)।

“यस मृत्युको शरीर” — रोमी ६:६ सित तुलना गर्नुहोस् — “पापको शरीर”; रोमी ७:२३ “मेरा अङ्गहरूमा भएको पापको व्यवस्था”। हाम्रा शरीरहरू अझ सम्म उद्धाररहित अवस्थामै छन् (रोमी ८:२३)। अन्तरवास गर्ने पापको प्रमुख कार्यालय भनेको शरीर नै हो र शरीरका अङ्गहरू चाहिँ अन्तरवास गर्ने पापको हतियारहरू हुन् (रोमी ६:१३ सित तुलना गर्नुहोस्)।

रोमी ७:२५

प्रभु येशू ख्रीष्ट नै महान् उद्धारक हुनुहुन्छ (रोमी ११:२६ र तुलना गर्नुहोस् २ कोरिन्थी १:१० सित)। “धन्यवाद” चाहिँ एउटा विश्वासपरक शब्द हो। “म विश्वास गर्दछु येशू ख्रीष्ट मलाई पापबाट बचाउने मेरा उद्धारक हुनुहुन्छ। धन्यवाद।! म विश्वास गर्दछु अब उसो म पापको दास होइन। धन्यवाद! म विश्वास गर्दछु म अब उसो पापको कैदी नभई येशू ख्रीष्टको कैदी भएको छु। धन्यवाद! मलाई चाहिने सहायता म आफूबाट होइन तर मेरो मुक्तिदाताबाट प्राप्त हुँदछ। धन्यवाद!” विजय हाम्रो शारीरिक युक्तिहरूबाट हुने कुरा होइन, आफूलाई विकास गर्ने जुक्तिहरूबाट होइन। विजय केवल जिउँदो परमेश्वरबाट मात्र आउने कुरा हो: २ कोरिन्थी २:१४ पढ्नुहोस्।

पद २५ को पछिल्लो भागले १५ देखि २४ सम्मका पदहरूको सारांश र निष्कर्ष बताउँछ (“तब”)। मनले म परमेश्वरको व्यवस्थाको सेवा गर्दछु (पद २२) तर शरीरले पापको व्यवस्थाको (पद २३)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ७:१-१०

रोमी ७:१-१०

 

रोमी अध्याय ७

व्यवस्थासितको विश्वासीको सम्बन्ध

रोमी ७ को जोडी विषय यस प्रकार छ: १) व्यवस्थासितको विश्वासीको सम्बन्ध र २) पवित्र जीवन जिउन सक्ने बनाउनलाई व्यवस्थाको पूर्ण असक्षमता। रोमी ६ अध्यायलाई रोमी ७ अध्यायसित तुलना गरौं:

ख्रीष्टिय जीवनमा विजयी बन्न विश्वासीले जान्नुपर्छ, ठान्नुपर्छ र सुम्पनुपर्छ (रोमी ६ को टिप्पणी हेर्नुहोस्)। ख्रीष्टले पूरा गर्नुभएको काममा गरिने विश्वास नै चाबी हो। मानवीय झुकाव चाहिँ ख्रीष्टिय जीवन शरीरमा जिउन खोज्नु हो, कामहरूद्वारा जिउन खोज्नु हो, हाम्रो आफ्नै प्रयास र सङ्घर्षले जिउन खोज्नु हो, प्रयास गर्दै, कोशिश गर्दै, कबूल गर्दै, नियम, तालिका आदि पछ्याउँदै जिउन खोज्नु हो। जति हामी कोशिश गर्छौं त्यति नै बेसी हामीलाई सङ्घर्ष हुन्छ र हामी विफल हुन्छौं। रोमी ७ अध्यायको सिङ्गो विषय यही हो कि व्यवस्थाद्वाराको पवित्रीकरण (पवित्रता) ले काम गर्दैन। गलाती ३:१-५ मा हेर्नुहोस्।

रोमी ६:१४ मा उल्लेखित पावलको भनाइलाई हामीले ध्यानमा राख्नुपर्छ — “किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ। यसको तात्पर्य यो हो कि यदि हामी व्यवस्थाको अधीनमा भएका भए हामीमाथि पापले राज्य गर्नेथ्यो। अनुग्रहको माने के हो र व्यवस्थाको माने के हो? वाचम्यान नीद्वारा लिखित यी हरफहरूलाई विचार गर्नुहोस्:

“अनुग्रहको माने परमेश्वरले मेरो निम्ति केही गर्नु हो; व्यवस्थाको माने मैले परमेश्वरको निम्ति केही गर्नु हो। परमेश्वरबाटका त्यहाँ केही पवित्र र धर्ममय मागहरू छन् जसको जिम्मेवारी उहाँले मलाई सुम्पनुभएको छ: व्यवस्था भनेको यही हो। अब यदि व्यवस्थाको माने परमेश्वरले व्यवस्था पूरा गरियोस् भनेर मबाट केही माग राख्नुहुन्छ भने, तब व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले त्यो अब उसो मबाट माग गर्नुहुन्न तर उहाँ आफैले त्यो प्रबन्ध गरिदिनुहुन्छ भन्ने हो। व्यवस्थाको तात्पर्य यो हो कि मैले उहाँको निम्ति केही गरोस् भनेर परमेश्वरले मबाट माग गर्नुहुन्छ; व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले मलाई त्यसको दायित्वबाट छुट दिनुहुन्छ र अनुग्रहमा उहाँ आफैले दायित्व पूरा गरिदिनुहुन्छ…रोमी ७ मा वर्णित समस्या हो हो कि शरीरमा रहेर मान्छेले परमेश्वरको निम्ति केही गर्न खोज्यो। जब तपाईं त्यसरी परमेश्वरलाई खुशी पार्न खोज्नुहुन्छ तुरुन्तै तपाईंले आफूलाई व्यवस्थामनि राख्नुहुन्छ र रोमी ७ अध्यायको अनुभव तपाईंको हुन थाल्दछ। [The Normal Christian Life, पृष्ठ १०५। वाचम्यान नीद्वारा लिखित हरफहरू हामीले यहाँ उद्धरण गर्दैमा हामी उहाँका सबै लेखोटहरूसित सहमत छौं भन्ने होइन।]

समस्या व्यवस्थापट्टि भएको होइन (रोमी ७:१२ मा हेर्नुहोस्); समस्या त पापी मानिसपट्टि पो छ (रोमी ७:१४; ८:७)।

रोमी ७:१-६ को छोटो रूपरेखा

  • पद १ – सिद्धान्त प्रस्तुत गरिन्छ
  • पद २-३ विवाहको उदाहरण दिइन्छ
  • पद ४ – सिद्धान्तलाई प्रयोग गरिन्छ
  • पद ५-६ प्रयोगलाई अझ व्याख्या गरिन्छ

रोमी ७:१

“त्यसमाथि राज्य गर्दछ” को माने कुनै कुरामाथि प्रभुत्व जमाउँदछ। व्यवस्था मानिसमाथि प्रभु रहेको छ (मानिसलाई शासन गर्छ), त्यसैले मानिस बाचुञ्जेल व्यवस्थाको मुनि रहन्छ। ऊ बाँचिरहेसम्म व्यवस्थाको मुनि हुन्छ! व्यवस्थासितको मान्छेको सम्बन्धलाई तोड्न सक्ने एउटै मात्र कुरा छ: मृत्यु!

रोमी ७:२-३ (विवाहको उदाहरण)

“पति भएको स्त्री” — यसको मतलब तिनी विवाहित छन्, आफ्ना पतिका अधीनमा छन् र उनको अधिकारमनि छन्।” “बाँधिएकी” — दुई व्यक्तिहरूको विवाह हुन्छ उनीहरू जीवनपर्यन्त बाँधिन्छन्; जबसम्म मृत्युले उनीहरूलाई अलग गर्दैन — मत्ती १९:५-६। विवाह दुईमा एकको मृत्यु नभएसम्म बन्धनकारी रहन्छ (१ कोरिन्थी ७:३९)। उक्त मृत्यु नभएसम्म कोही पनि विवाहको नियमबाट छुट्टिन सक्दैन।

विवाह जीवनपर्यन्तको समर्पणता हो। उनको पति बाचुञ्जेल अर्को व्यक्तिसित विवाह गर्न वा अर्को व्यक्तिसित सम्बन्ध गाँस्न स्वतन्त्र हुँदिनन् — त्यो त व्यभिचार ठहरिनेछ। पति मरे भने तिनी स्वतन्त्र हुन्छिन् (१ कोरिन्थी ७:३९)। मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याइदिन्छ र एउटा नयाँ सम्बन्ध हुन सक्न अनुमति दिन्छ। विवाह र सम्बन्धविच्छेद सम्बन्धी प्रभुको शिक्षाको लागि लूका १६:१८ मा हेर्नुहोस् (यो अरू ठाउँमा पनि उल्लेख छ)। यस उदाहरणको मूल तात्पर्य यो हो: मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याउँछ र एउटा नयाँ सम्बन्ध सम्भव गराउँछ।

रोमी ७:४

म व्यवस्थाद्वारा बाँधिएको छु। ममाथि त्यसले राज्य गर्दछ (पद १)। म कसरी मुक्त होउँला र (पद ६)? ख्रीष्टको मृत्युमा म मरें! म व्यवस्थाको लेखि मरें! व्यवस्था कहिल्यै मर्न सक्दैन, तर म मरें! मेरो मृत्युले एकजना नयाँ पतिसँग एउटा नयाँ सम्बन्ध हुन सक्दछ: “अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई” (पद ४)। म ख्रीष्टसँगै मरेको ले म व्यवस्थाबाट मुक्त भएको छु। म ख्रीष्टमा जिउँदो भएकोले म उहाँसँग एउटा सुन्दर सम्बन्धमा जोडिएको छु। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई व्यवस्थाबाट काटिएर स्वतन्त्र हुन र येशू ख्रीष्टसँग गाँसिन (उहाँसित एक हुन) सम्भव गराउनुभयो। ममाथि व्यवस्थाको होइन तर अब ख्रीष्टको प्रभुत्व रहेको छ। व्यवस्था एक भयङ्कर अप्रिय पति छन् — कठोर, चाम्रो, कडा, ठोस, माग राख्ने र अलचिलो। प्रभु चाहिँ सुन्दर पति हुनुहुन्छ — कृपालु, अनुग्रही र उहाँले, उहाँको सामर्थ्य र जीवनले, मलाई उहाँलाई खुशी पार्न सक्ने बनाउनुहुन्छ। जसरी वैवाहिक सम्बन्धले फल (छोराछोरी) उत्पन्न गराउँछ, ख्रीष्टसितको मेरो विवाहले फल उत्पन्न गराउँछ (रोमी ६:२२; गलाती ५:२२-२३ मा हेर्नुहोस्)। साथै यूहन्ना १५:१-७ पढ्नुहोस्: “फल”, “धेरै फल”, “अझ धेरै फल”।

तर म मरें भने, म कसरी अर्कासित विवाह गर्न सक्छु र? ख्रीष्टको मृत्युमा म मरें र ख्रीष्टको बौरिउठाइमा म जिउँछु! यसरी म ख्रीष्टसित विवाहमा बाँधिन सक्छु!

विश्वासी ख्रीष्टसँग विवाहित भएको छ! यो एउटा प्रेमको सम्बन्ध हो, यो व्यवस्थाको सम्बन्ध होइन। यो प्रेमको सम्बन्ध (ख्रीष्टसँग जोडिनु र उहाँसँग एक हुनु) नै ख्रीष्टिय विश्वासको सार हो। ख्रीष्टिय विश्वास एउटा धर्म होइन, यो त एक व्यक्तिसँग, परमेश्वरकै पुत्रसँगको एउटा सम्बन्ध हो (यूहन्ना १७:३)। यो केही गर्ने बारेमा होइन, तर कसैलाई चिन्ने बारेमा हो (यूहन्ना १७:३; १ यूहन्ना २:३-४)। यो विभिन्न नियमहरूको सँगालो होइन, र नैतिकताको प्रणाली होइन। यो त एकमात्र सत्य परमेश्वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टसितको अद्वित्तीय, अपूर्व र घनिष्ट सम्बन्ध हो।

आजकल धेरैजनाले यस सत्यतालाई बिर्सेका छन्। धेरैजनाको दृष्टिमा ख्रीष्टिय जीवन एउटा व्यवस्थावादी धार्मिक प्रणाली बन्न गएको छ। नियमहरू, विधिहरू, कर्तव्यहरू आदिको सञ्जालमा व्यस्त हुने प्रवृत्ति मान्छेमा प्रायः हुने गर्छ। ख्रीष्टिय जीवन भनेको बाइबल पढ्नु, प्रार्थना गर्नु र सुसमाचार सुनाउनु र पद कण्ठ गर्नु र अरू कामहरू गर्नु र अन्य कामहरू नगर्नु भनेर सोच्नु स्वाभाविक हो। ख्रीष्टियन भएर एक व्यक्ति कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी बोल्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले के कस्ता काम गर्नुहुँदैन र के कस्ता काम गर्नुपर्छ भनेर हामीलाई थाह छ, अनि चालै नपाईकन ख्रीष्टिय जीवनले त्यो मुख्य कुरा गुमाएको हुन्छ जसले यसलाई अरू सबै धर्महरूभन्दा पृथक बनाउँछ। हामीले प्रमुख कुरा नै गुमाएका हुन्छौं।

यस कुरालाई जोड दिन हामी हेरौं बाइबलमा के भनिएको छैन:

फिलिप्पी १:२१ — किनकि मेरा निम्ति जिउनु बाइबल पढ्नु हो, पदहरू कण्ठ गर्नु हो, दिनहुँ कम्तीमा १५ मिनेट प्रार्थना गर्नु हो र हरेक अवसरमा साक्षी दिनु हो।

फिलिप्पी ३:८ — अँ, साँच्चै मेरो जिब्रोलाई लगाम लगाउनु, मेरा खराब बानीलाई सुधार्नु, प्रार्थना र वचनमा दिनहुँ लाग्न खोज्ने कामको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु।

फिलिप्पी ३:१० — म यसो गर्न सकूँ र त्यसो नगर्न सकूँ र साक्षी बाँड्न आफूलाई बलजफ्ती गर्न सकूँ र हरेक खराबीको दुष्टताबाट अलग हुन सकूँ।

२ कोरिन्थी ५:९ — यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, हामी रिसाउनदेखि होसियार हुन सकौं, खानपीनको नियममा ध्यान दिन सकौं, पदहरू कण्ठ गर्न सकौं, आवश्यक आराम लिन सकौं, र सकभर खराब टिभी कार्यक्रमहरू धेरै नहेरेका होऔं भनेर प्रयत्न गर्दछौं।

वास्तवमा यी पदहरूले के भन्छन्? माथिका पदहरूमा जोड दिइएका कुरा चाहिँ एक व्यक्ति अर्थात् ख्रीष्टलाई जान्ने, प्रेम गर्ने र खुशी पार्ने भन्ने कुरामा छन्! कलस्सी १:९-१२ लाई ध्यान दिएर पढ्नुहोस्। यस महान् प्रार्थनामा जोड दिइएका कुरालाई ध्यान दिनुहोस्: उहाँको इच्छालाई जान्नु (पद ९), उहाँसँगै हिँड्नु (पद १०), उहाँलाई खुशी पार्नु (पद १०), उहाँको ज्ञानमा बढ्नु (पद १०), उहाँबाट बलवान् बनाइनु (पद ११), उहाँमा आनन्दित हुनु (पद ११), उहाँलाई धन्यवाद दिनु (पद १२)!

फेरि पनि हामी वैवाहिक सम्बन्धलाई विचार गरौं। पतिले गर्नुपर्ने कामहरू त्यहाँ विभिन्न हुन्छन् र गर्न नहुने कुराहरू पनि त्यहाँ विभिन्न हुन्छन्। उसले पालना गर्नुपर्ने कर्तव्यहरू त्यहाँ हुन्छन् र वहन गर्नुपर्ने जिम्मेवारीहरू त्यहाँ हुन्छन् र उसले पूरा गर्नुपर्ने दायित्वहरू त्यहाँ हुन्छन्। तर उनले यी सबै कुराहरू किन गर्दछन् त? किनकि तिनले एकजना व्यक्तिलाई प्रेम गर्ने निर्णय गरेका छन् — अर्थात् आफ्नी पत्नीलाई। पत्नीले धेरै कामहरू गर्छिन्: खानाहरू तयार गर्छिन्, भाँडा माझ्छिन्, भुइँ सफा गर्छिन्, लुगाहरू धुन्छिन्, इत्यादि। तर यी सबै कामहरू उनले किन गर्छिन्? के उनका पतिले उनलाई “तिमीले यस्तो गर्नेछौ”“यस्तो गर्नेछैनौ” भन्ने कुराहरूको एउटा लामो सूची दिएका हुनाले हो त? त्यस्तो कारणले त नहुनुपर्ने हो। उनले यी सबै किन गर्दैछन् भने उनले आफ्ना पतिको प्रेमको जवाफमा हो। वैवाहिक सम्बन्ध प्रेममा अडेको हुन्छ, व्यवस्थामा होइन।

ख्रीष्टिय जीवन त्यसोभए के को बारेमा हो त? ख्रीष्टिय जीवन खास एक व्यक्ति (परमव्यक्ति) लाई चिन्नु, उहाँलाई प्रेम गर्नु, उहाँलाई खुशी पार्न खोज्नु, उहाँसँगै हिँड्नु, उहाँलाई आदर गर्नु, उहाँको आज्ञा मान्नु, उहाँलाई धन्यवाद दिनु, उहाँमा आनन्दित हुनु, उहाँमा मग्न हुनु, उहाँमा भरोसा गर्नु, उहाँमा बढ्दै जानु, उहाँसँग कुरा गर्नु, उहाँको बारेमा अरूलाई बताउनु, उहाँमा रहनु, उहाँको बारेमा सिक्नु, उहाँबाट सिक्नु, उहाँको पाउमा बस्नु र उहाँको उपस्थितिमा आनन्दित हुनु हो। जोड दिइएको कुरालाई ध्यान दिनुहोस्: उहाँमा (एक व्यक्तिमा)!

आइतबारदेखि शनिबारसम्म जिउने क्रममा के हामी त्यस परमव्यक्तिसँग हिँड्दैछौं? के हामी उहाँमा मग्न हुन्छौं? कि त्यसो नभएर हामी एउटा रित्तो धार्मिक रीति र अर्थहीन नियम-पालनाको तालिका मात्र पछ्याउँदैछौं? यदि प्रभु येशू ख्रीष्टसँग हाम्रो एउटा विशेष, घनिष्ट प्रेमको सम्बन्ध छ भने यसले हाम्रा सबै क्रियाकलापहरूलाई बदलिदिन्छ। यसले प्रार्थनालाई बदल्नेछ (प्रार्थना भनेको हामीले प्रेम गरेको परमव्यक्तिसित कुरा गर्नु हो)। यसले बाइबल अध्ययनलाई बदल्नेछ (म यस परमव्यक्तिलाई अझ राम्ररी चिन्न चाहन्छु!)। यसले सुसमाचार सुनाउने कामलाई बदल्नेछ (म अरूहरूलाई यस उदेकका परमव्यक्तिलाई चिनाउन चाहन्छु! मैले चिनेको र प्रेम गरेको ख्रीष्टलाई अरूहरूले चिनून् भन्ने म चाहन्छु)। प्रकाश २:२-४ सित तुलना गर्नुहोस्।

के हामी एक व्यक्तिसँगै हिँड्दैछौं? कि हामी एउटा धर्म पूरा गर्न खोज्दैछौं? यूहन्ना १७:३ को प्रकाशमा के हामी आफ्ना हृदयहरूदेखि यसरी भन्न सक्छौं? — “म यस परमव्यक्तिलाई मेरा मुक्तिदाता, मेरा प्रभु, मेरा मित्र, मेरा सार्वभौम मालिक, मेरा सहायक, मेरा गोठाला, मलाई कहिल्यै नछोड्ने मेरा परममित्र… (अनि अझ अरू थुप्रै कुरा)”।

रोमी ७:५

चौथो पदले यो नयाँ सम्बन्धको फलको चर्चा गर्दछ; पाँचौं पदमा पुरानो सम्बन्धले फलाएको फलको कुरा छ। ख्रीष्टसित एक भएर र उहाँमा रहेर मैले परमेश्वरका निम्ति फल फलाउन सक्दछु (पद ४)। शरीरमा (रोमी ८:८-९) व्यवस्थाद्वारा जगाइएका पापहरूको वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे (पद ५)। साथै रोमी ६:२१ लाई (पुरानो जीवनको फल) रोमी ६:२२ (नयाँ जीवनको फल) सित पनि तुलना गर्नुहोस्। व्यवस्थाले मेरा अभिलाषाहरूलाई कहिल्यै पराजित गर्न सक्दैन। त्यसले केवल मेरा अभिलाषाहरूलाई जगाउन मात्र सक्छ। यस पदमा आपसमा जोडिएका शब्दहरूलाई ध्यान दिनुहोस्: व्यवस्था-पापहरू-मृत्यु र त्यसपछि रोमी ८:२ सित तुलना गर्नुहोस्।

रोमी ७:६

तर अब (ख्रीष्टमा अब बचाइएकोले) हामी व्यवस्थाबाट मुक्त (स्वतन्त्र, दाँज्नुहोस् ७:२ र ७:३ “मुक्त”) भएका छौं (भूतकाल), जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन। व्यवस्थाले एक व्यक्तिलाई कहिल्यै छुटकारा दिन सक्दैन। हामीलाई परमेश्वरको आत्मा र परमेश्वरको जीवन नै चाहिन्छ। विश्वासीले भन्न सक्दछ, “ख्रीष्टको मृत्युको कारण म व्यवस्थाको लेखि मरें र ख्रीष्टको बौरि उठाइको कारण म परमेश्वरको लेखि जिउँदछु।” पावलले यो कुरा यसरी व्यक्त गरे, ” (गलाती २:१९ साथै गलाती २:२० पनि हेर्नुहोस्)। ख्रीष्टमा एक विश्वासी भएकोले तपाईं व्यवस्थाको लेखि मर्नुभयो र परमेश्वरको लेखि जिउँदो हुनुभयो भन्ने कुरा के तपाईंले महसुस गर्नुभएको छ?

रोमी ७:७

यस अध्यायको यहाँसम्म व्यवस्थाको बारेमा हामीलाई के-के बताइयो त्यसलाई हेरौं:

  • पद २ — व्यवस्थाद्वारा बाँधिएको
  • पद ३ — व्यवस्थाबाट मुक्त
  • पद ५ — व्यवस्थाको निम्ति मरेको
  • पद ६ — व्यवस्थाबाट मुक्त…जसको बन्धनमा हामी थियौं

व्यवस्था त कुनै भयङ्कर नराम्रो कुरा जस्तो सुनिन्छ! व्यवस्था कति नराम्रो कुरा होला त यदि म त्यसबाट छुटाइनुपर्छ र त्यसबाट मुक्त गरिनुपर्छ भने। त्यसले मलाई पक्रेको छ र बाँधेको छ! त्यसले मेरो पापपूर्ण वासनाहरूलाई जगाइदिन्छ! व्यवस्था त कुनै ज्यादै खराब कुरा जस्तो सुनिन्छ, तर त्यसो होइन, र पावलले यस गलत धारणालाई सच्च्याउँछन्: “के व्यवस्था पाप हो?” के व्यवस्था कुने खराब र पापपूर्ण कुरा हो? “कदापि होइन!” समस्याको जड व्यवस्था होइन! व्यवस्थालाई दोष्याउने काम नगरियोस्! (यस प्रश्नको जवाफ रोमी ७:१२ मा दिइएको छ। व्यवस्था त पापकै उल्टो कुरा हो!)।

यस टिप्पणीको रोमी ३:२० अन्तर्गत उल्लेखित ऐनाको उदाहरणलाई पुनः विचार गर्नुहोस्। ऐनाको उद्देश्य व्यक्ति फोहोर छ भनेर देखाउनु हो। समस्या ऐनाको होइन तर व्यक्तिको अनुहारको हो। ऐना त फोहोर छँदै छैन! तर ऐनाले अनुहारमा भएको फोहोरलाई देखाइदिन्छ। फोहोर अनुहारको दोष ऐनालाई दिन मिल्दैन। “तर” को तात्पर्य “बरु उल्टो”। व्यवस्था पाप होइन तर पापलाई प्रकट गरिदिने काम गर्दछ (रोमी ३:२०)। ऐना फोहोर होइन तर फोहोरलाई प्रकट गरिदिन्छ। “पाप भनेको के हो, म जान्नेथिइनँ” — पावल आफ्नै पापको बारेमा अनजान थिए। [ऐना आइपुग्नुअघि सम्म निजले आफ्नो अनुहार सफै छ भनी ठानेको थियो!] जसरी ऐनाले फोहोर देखाइदिन्छ त्यसरी नै व्यवस्थाले पाप देखाइदिन्छ (र कायल पार्दछ)।

व्यवस्थाले पापलाई कसरी प्रकट गर्छ भन्ने कुराको एउटा निश्चित उदाहरण पावलले प्रस्तुत गर्दछन्। उनको उदाहरण चाहिँ दसौं आज्ञा हो। “लोभलालच” को माने “प्रबल इच्छा, अरूसँग भएको कुराको निम्ति प्रबल इच्छा, लोभ, अरूसँग भएको कुनै कुराको निम्ति ठूलो चाहना”। अर्को शब्दमा, “मभित्र भएको यो लोभलालचको डरलाग्दो पापको बारेमा म अनभिज्ञ रहनेथिएँ तर परमेश्वरसँग एउटा गजबको ऐना रहेछ जुनचाहिँ मेरो आफ्नै हृदयको लोभलालचलाई प्रकट गर्नलाई विशेषरूपमा उपयुक्त रहेछ, अर्थात् दसौं आज्ञा (प्रस्थान २०:१७): “तिमीले लालच (अरूसँग भएका कुराहरूको निम्ति प्रबल इच्छा) नगर्नू।” निश्चित किसिमको फोहोरमैला प्रकट गर्नका निम्ति परमेश्वरसित एउटा निश्चित ऐना छ; लोभको मैला प्रकट गर्नलाई परमेश्वरको ऐनाको नाम दसौं आज्ञा हो।

रोमी ७:८

“तर पाप (समस्याको जड) ले यस आज्ञा (दसौं आज्ञा) द्वारा मौका छोपेर (अवसर पाएर) ममा सबै प्रकारको लोभलालच (प्रबल इच्छा, पद ७ कै शब्द) उत्पन्न गरिदियो। किनकि व्यवस्थाबिना (आज्ञा आइपुग्नु अघि) पाप मरेको (निष्क्रिय, जीवनरहित, सुप्त, थोरै चहलपहल भएको अवस्थामा) थियो। ऐनाबिना आफ्नो फोहोर अनुहारको खासै धेरै महसुस हुँदैन तर ऐना आइपुगेपछि फोहोर त एक्कासी जिउँदो बन्दछ! “ओहो! कति फोहोर हो!” हुन त्यो अगाडिबाटै छँदै थियो तर ऐनाले उसलाई त्यसको महसुस गरायो! पारिलो घाममा डल्ला परेर सुतिराखेको सर्पलाई विचार गर्नुहोस्। त्यो निष्क्रिय छ, मरेको जस्तै छ। तर तपाईं गएर त्यसलाई चलाउनुभयो भने त्यो सर्प जागेर उठ्छ। व्यवस्थाले पनि पापलाई यस्तै किसिमले काम गर्दछ!

उदाहरण: दस आज्ञाको दोस्रो आज्ञा (प्रस्थान २०:४) लाई विचार गर्नुहोस्। यो आज्ञा पवित्र र न्यायपूर्ण र असल छ। यसमा कुनै कुरा गलत छैन। तर जब पापी मान्छेको अगाडि यो आज्ञा आइपुग्छ, उसले स्वभावैले के गर्छ? ऊ त्यसको विरुद्धमा उठ्छ र विद्रोह गर्छ! परमेश्वरले भन्नुहुन्छ, तिमीले यसो गर्नेछौ तर विद्रोहीले जवाफ दिन्छ म गर्दिनँ! परमेश्वरले भन्नुहुन्छ, तिमीले त्यसो गर्नेछैनौ तर विद्रोहीले जवाफ दिन्छ म गर्छु! त्यसैले त हामीले प्रस्थान ३२:७-८ मा त्यो खेदपूर्ण र आपत्तिजनक घटना पढ्छौं। मूर्तिपूजाको पाप उनीहरूको हृदयमा सुरुदेखि नै थियो तर आज्ञाले त्यसलाई जगाइदियो। मूर्तिपूजाको पाप आज्ञा दिइनु अगाडिसम्म मरेको थियो, त्यो निष्क्रिय थियो र सुप्त थियो। त्यसअघि सुनका बाछाहरू बनाउने उनीहरूको बानी थिएन। व्यवस्थाले पापलाई जगाउँछ र सो गर्नलाई उक्साउँछ। के हामी सुनको बाछाको लागि दोस्रो आज्ञालाई दोष दिऔं त? कदापि नहोस्!

रोमी ७:९

“एकपल्ट” ले पावललाई परमेश्वरको व्यवस्थाद्वारा सामना गरिनुभन्दा अगाडिको समयलाई जनाउँछ, आज्ञा आउनुभन्दा अघिको समय। “जिउँदो” को माने अविचलित, कायलरहित, आफूमाथि झुण्डिरहेको त्यो ठूलो मृत्यु दण्डको कुनै महसुस नभएको अवस्था। सबकुरा ठिकठाक छ जस्तै लाग्थ्यो (ऐनामा नहेरेको मान्छेको फोहोर अनुहार भए जस्तै। सब कुरा ठिकठाक जस्तै लाग्ला तर ठिकठाक छैन। समस्या त्यहाँ छँदै छ यद्यपि मलाई त्यसको महसुस समेत छैन)। “पाप जाग्यो” को माने “पाप फेरि जीवित भयो, पुनर्जागृत भयो” (बौरिउठाइलाई बयान गर्न प्रयोग हुने शब्द हो यो)। आज्ञाले पापलाई पुनर्जागृत गराउँछ र पापलाई बौराउँछ (सर्प एक्कासी जिउँदो पारिए जस्तै)। “म मरें” — एक्कासी म त एउटा व्यवस्था भङ्ग गर्ने व्यक्ति रहेछु र व्यवस्था भङ्ग गर्नेहरू मृत्यु दण्डको योग्य हुन्छन् भन्ने कुरा म महसुस गर्दछु! व्यवस्थालाई “मृत्युको सेवा” र “दोषी ठहराउने सेवा” भन्ने नाम दिइएको छ (२ कोरिन्थी ३:७,९)। परमेश्वरको पवित्र व्यवस्थाले पापीलाई कायल पार्दछ र “मार्दछ”!

रोमी ७:१०

“जीवनका निम्ति दिइएको” — यस भनाइको आशय मत्ती १९:१६-१७ र लूका १०:२५-२८ मा भेटिन्छ। जिउन र अनन्त जीवन पाउन एक व्यक्तिले केवल व्यवस्था पालन गर्नुपर्छ। तर उसले त्यसलाई सिद्ध र पूर्ण रूपमा पालन गर्नुपर्छ र त्यो चाहिँ उसले जीवनभरि नै गर्नुपर्छ! समस्या के छ भने कुनै पनि व्यक्तिले सो गरेको छैन र कुनै पनि पापीले त्यो गर्न सक्दैन! सफा अनुहार हुनेहरूले ऐनाको कुनै डर मान्नुपर्दैन। समस्या के छ भने हामीमध्ये कसैको पनि अनुहार सफा छैन! हामी सबै पापी छौं र त्यसैले व्यवस्थाले हामी सबैलाई दोषी ठहराउँछ! “मैले मृत्युको कारण भएको भेट्टाएँ” — मलाई व्यवस्थाले सामना गर्दा मैले व्यवस्था विरुद्धको आफ्नै पापपूर्ण अनाज्ञाकारितालाई महसुस गरें र मैले भङ्ग गरिएको व्यवस्थाको डरलाग्दो दण्डको सामना गर्नुपर्ने भयो जुनचाहिँ हो मृत्यु।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)