रोमी ४:१-१२

रोमी ४:१-१२

 

परिचय

रोमीको चौथो अध्यायका चाबी शब्द हुन् “विश्वास गर्नु” र “विश्वास”। यी चाबी शब्दहरू रोमी ४ अध्यायको ३,५,११,१२,१४,१६,१८,१९,२० र २४ मा भेटिन्छन्। धर्मीकरण विश्वासद्वारा हो, कामद्वारा होइन। यो हामी कसरी जान्दछौं? पुरानो नियमले यो प्रमाणित गर्दछ (अब्राहम र दाऊदको उदाहरणबाट यो देख्न सकिन्छ)!

रोमी ४:१

अब्राहाम कसरी धर्मी ठहरिए? उनले कसरी मुक्ति पाए? अब्राहामले परमेश्वरको धार्मिकता कसरी पाए? उनको सवालमा कुन कुरा साँचो थियो? अब्राहामले के पाए? अब्राहामले कुन कुरा पत्ता लगाए? व्यक्तिगत प्रश्न: के तपाईंले परमेश्वरको धार्मिकतालाई पत्ता लगाउनुभयो? के तपाईंले परमेश्वरको मुक्तिको उपाय पत्ता लगाउनुभयो? खेदको कुरा, धेरैजसो मानिसहरूले यस कुराको पत्ता लगाएकै छैनन्।

रोमी ४:२

तर्क पेश गर्ने हेतुले एकछिन पावल एउटा कुरालाई मानिलिन्छन् जुन सत्य छैन। “मानौं अब्राहाम कामहरूद्वारा धर्मी ठहरिएका थिए। यो साँचो हो भने उनले घमन्ड गर्न सक्थे।” साँचो मुक्तिको सवालमा घमन्ड (धाक, श्रेय लिनु, आफूलाई प्रशंसा गर्नु, घमन्ड साथ बोल्नु, समर्थन गर्नु, आदि) लाई कुनै ठाउँ छैन भन्ने कुरालाई देख्‍न रोमी ३:२७ र एफेसी २:८-९ मा हेर्नुहोस्। परमेश्वरलाई एउटै खाले घमन्ड मात्र स्वीकारयोग्य छ: प्रभुमा गरिने घमन्ड (१ कोरिन्थी १:२९,३१), अर्थात्, उहाँले गर्नुभएको कामको लागि सारा श्रेय र प्रशंसा परमेश्वरलाई दिनु (हाम्रा मुक्तिदाताको सम्बन्धमा घमन्ड गर्नु!)।

कुनै पापी मानिसले परमेश्वरको सामु कहिल्यै घमन्ड गर्नेछैन भन्ने कुरा छर्लङ्ग छ (१ कोरिन्थी १:२९ हेर्नुहोस् र रोमी ४:२ का अन्तिम चार शब्दहरूलाई पनि), तसर्थ अब्राहाम कामहरूद्वारा धर्मी ठहरिएको हुन सक्दैन भन्ने कुरा प्रस्ट हुन्छ।

टिप्पणी: कोही आफैंमा घमन्ड गर्दैछ वा प्रभुमा गर्दैछ भनेर हामी कसरी जान्न सक्छौं? कोही आफैंमा भरोसा गर्दैछ कि ख्रीष्टमा भनेर हामी कसरी भन्न सक्छौं? कहिलेकाहिँ यस्तो प्रश्नले त्यो प्रकट गरिदिन सक्छ: “तपाईं भययोग्य, पवित्र र जीवित परमेश्वरका सामु उभिनुभएको भए र उहाँले तपाईंलाई, ‘मेरो पवित्र उपस्थितिमा हुन तिम्रो के अधिकार छ?’ भनेर सोध्नुभएको भए तपाईंले के जवाफ दिनुहुनेथ्यो?” जवाफ राम्ररी सुन्नुहोस् र निजले आफैंमाथि भरोसा गर्दैछन् कि येशू ख्रीष्टमाथि भनेर जान्न खोज्नुहोस्। कुनै व्यक्ति येशू ख्रीष्ट बाहेक कुनै कुरामा विश्वास नगर्ने साँचो विश्वासी हो कि होइन भनेर पत्ता लगाउन “के म साँचो विश्वासी हुँ?” भन्ने अध्ययनलाई हेर्नुहोस्।

रोमी ४:३

अब्राहामले कसरी मुक्ति पाए (धर्मी ठहरिए) — कामहरूद्वारा कि विश्वासद्वारा? यो निर्णायक प्रश्न हो। संसारका सबै धर्म (साथै विभिन्न कल्ट र वादहरू) ले कुनै न कुनै किसिमको कामहरूद्वारा पाइने मुक्तिको प्रचार गर्छन् — मुक्ति पाउन र परमेश्वरको निगाह आर्जन गर्नलाई मानिसले केही काम गर्नुपर्छ र मानिसले केही मागहरू पूरा गर्नुपर्छ। परमेश्वरको मुक्तिको मार्ग बिलकुलै फरक छ। मानिस परमेश्वरका धर्मी मागहरू पूरा गर्न पूर्णतया विफल भएको छ (रोमी १-३) तर परमेश्वरले ख्रीष्टद्वारा पापी मानिसलाई मुक्ति पाउन र धर्मी ठहरिन सम्भव तुल्याउनुभएको छ।

यस पदले बाइबल नै विश्वास र अभ्यासको एकमात्र अधिकार हो भन्ने कुरा सिकाउँछ। जीवनका सबभन्दा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलले दिन्छ, केवल बाइबलले मात्र। “पवित्र शास्त्रले के भन्दछ?” “बाइबलले के भन्दछ?” यो एउटै कुराको मात्र मतलब छ। पोप वा पूजाहारी वा पास्टर वा प्रधानमन्त्रीले के भन्दछ, त्यसको मतलब छैन। परमेश्वरले के भन्नुहुन्छ भन्ने कुराको मात्र मतलब हुन्छ!

एक व्यक्तिले कसरी मुक्ति पाउँछ भन्ने कुरा देखाउन पावलले किन अब्राहामलाई मुख्य उदाहरणको रूपमा लिएका हुन्? अब्राहामलाई संसारभरि करोडौंले उच्च आदरका साथ लिन्छन्। यहूदीहरूले उनलाई आफ्‍नो जातिको ठूलो पूर्वजको रूपमा हेर्छन्, यहूदी जातिकै पिताको रूपमा। मुस्लिमहरूले पनि उनलाई उत्तिकै आदरभावले हेर्छन् किनकि अब्राहामबाटै इश्माएल आए जो अरबीहरूका पिता हुन्। सम्भवतः हामीले यस तथ्यलाई यहूदी र मुस्लिमलाई सुसमाचार सुनाउने माध्यमको रूपमा लिन सक्छौं। “अब्राहाम कसरी एक धर्मी व्यक्ति ठहरिए भनेर के तपाईंलाई कसैले बताएको छ?”

अब्राहाम कसरी धर्मी ठहरिए? बाइबलले यसको जवाफ प्रस्टै दिन्छ। पावलले उत्पत्ति १५:६ लाई उद्दृत गर्दछन्। उक्त पदले अब्राहाम विश्वासद्वारा धर्मी ठहरिएका हुन् भनेर स्पष्टै सिकाउँछ। “उनले परमेश्वरमाथि विश्वास गरे” अनि त्यसरी नै हो उनी धर्मी ठहरिएका। उक्त पदले कामहरूका बारेमा एउटै कुरा गर्दैन! आज मानिसले कसरी मुक्ति पाउँछ? हेर्नुहोस् एफेसी २::८-९ (ठिक जसरी अब्राहामले मुक्ति पाए त्यसरी नै!)। सबै समयका सबै मानिसहरूले एउटै तरिकाले मात्र मुक्ति पाएका छन्: “विश्वासद्वारा अनुग्रहले”। तरैपनि, विश्वास गरिनुपर्ने कुरा सधैं एकैनास रहेको छैन। जस्तै, मुक्ति पाउनलाई अब्राहामले विश्वास गर्नुपरेको कुरा के थियो (हेर्नुहोस् उत्पत्ति १५:५ र उत्पत्ति १२:१-३ सित दाँज्नुहोस्)? मुक्ति पाउन आज मानिसहरूले विश्वास गर्नुपर्ने कुरा के हो (हेर्नुहोस् गलाती २:२०; रोमी १०:९; १ कोरिन्थी १५:१-४; आदि)?

मुक्ति पाउनलाई के गर्नुपर्छ? — के गर्नुपर्छ भन्ने कुरा सबै समयहरूमा एकैनास रहँदै आएको छ। परमेश्वरलाई विश्वास गर्नुपर्छ र उहाँलाई उहाँको मुखको वचनकै आधारमा मानिलिनुपर्छ। विश्वासयोग्य परमेश्वरमाथि भरोसा राख्‍नुपर्छ। मुक्ति विश्वासद्वारा हो। मुक्ति सधैं र सदा येशू ख्रीष्टको बहाइएको रगतमा आधारित कुरा हो।

मुक्ति पाउनलाई के विश्वास गर्नुपर्छ? — के विश्वास गर्नुपर्छ भन्ने कुरा सबै समयहरूमा एकैनास रहँदै आएको छैन किनकि परमेश्वरले प्रत्येक पुस्तालाई उत्तिकै प्रकाश दिनुभएको छैन। प्रत्येक व्यक्ति परमेश्वरले उसलाई दिनुभएको प्रकाशको निम्ति जिम्मेवार छ। जसलाई धेरै दिइएको छ उसबाट धेरै माग गरिन्छ।

रोमी ४:३ अनुसार परमेश्वरले अब्राहामको विश्वासलाई धार्मिकता गन्नुभयो। अब्राहामको विश्वास अब्राहामलाई धार्मिकता गनियो। धर्मीकरणको माने यही नै हो। बैङ्क खाताको उदाहरणलाई विचार गरौं। तपाईं आफैंबाट तपाईंको बैङ्क खातामा कत्तिको धार्मिकता छ (रोमी ३:१०)? येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको हैसियतले तपाईंको बैङ्क खातामा के छ (हेर्नुहोस् रोमी ३:२२)? परमेश्वरले मेरो बैङ्क खातामा आफ्‍नो धार्मिकता हालिदिनुभयो!

बहीखाताको एक पृष्ठलाई विचार गर्नुहोस्। उक्त पृष्ठमा सिद्ध धार्मिकता भेटिनुपर्छ भन्ने परमेश्वरले माग राख्‍नुहुन्छ। तर आफ्‍नो पृष्ठलाई हेर्दा मेरो आफ्‍नो कुनै धार्मिकता नभएको म महसुस गर्दछु (रोमी ३:१०; यशैया ६४:६)। तर सुसमाचारको सत्यताले गहिरोसँग प्रभावित भएर मेरो पृष्ठमा मैले यी शब्दहरू लेख्न पुग्छु: “म आफ्‍नो सारा हृदयले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछु। उहाँ मेरो लागि मर्नुभयो र फेरि बौरेर उठ्नुभयो।” मैले आफ्‍नो खातामा लेखेको कुरालाई परमेश्वरले लिनुहुन्छ र भन्नुहुन्छ, “यो कुरालाई म धार्मिकता गन्दछु।” अनि केवल यस आधारमा मात्र म धर्मी ठहरिन सक्छु।

के तपाईंले कहिल्यै २ कोरिन्थी ५:२१ कति उदेकलाग्दो पद छ भनेर विचार गर्नुभएको छ? उहाँले मेरो पाप लिनुहुनुभयो र मैले उहाँको धार्मिकता पाएँ! कस्तो अद्भूत् सट्टापट्टा!

रोमी ४:४

यस पदले त्यो व्यक्तिको बयान गर्छ जसले काम गर्छ। यसपछिको पद (पद ५) ले काम नगर्ने व्यक्ति (विश्वासी जन) को बयान गर्दछ। जसले काम गर्दछ (पद४) उसले आफ्‍नो कामको बापत इनामको अपेक्षा गर्दछ। उसका कामहरूले उसलाई मुक्ति आर्जन गर्न र परमेश्वरसित निगाह कमाउन सक्छ भन्ने उसको विश्वास छ। यी पदबीचका भिन्नतालाई ध्यान दिनुहोस्:

 

परमेश्वरले यदि हामीले पाउनुपर्ने कुरा दिनुभएको खण्डमा त्यो के हुनेथ्यो (रोमी ६:२३; रोमी १:२९-३२ आदि)? हामीलाई मुक्ति दिन परमेश्वरलाई कर छैन तर उहाँले आफ्‍नो अनुग्रहले ख्रीष्टद्वारा हामीलाई मुक्ति दिनुहुन्छ। आफ्‍ना कामहरूद्वारा पापी मानिसले केवल दण्ड र अनन्त मृत्यु मात्र कमाएको छ।

रोमी ४:५

आज धेरैजसोको विचारमा मुक्ति पाउने उपाय भनेको “असल बन्नु” हो। उनीहरू यही विश्वास गर्छन् र सिकाउँछन् कि मुक्ति असल बनेर आर्जन गरिन्छ (“असल” को मानदण्ड उनीहरूले जस्तोसुकै स्थापना गरेको किन नहोस्)। रोमी ४:५ ले यो सिकाउँछ कि मुक्ति पाउने उपाय असल बनेर होइनविश्वास गरेर हो। असलको सिद्ध, ईश्वरीय मानदण्डको नाप बराबर हामी कोही पनि हुन सक्दैनौं।

“प्रभु, म असल छैन। म ठिक छैन। म पवित्र छैन। म धर्मी छैन। म एक दोषी, असहाय र आशारहित पापी हुँ। मेरो एउटै मात्र आशा भनेको एक अनुग्रही र कृपालु परमेश्वरकहाँ आउनु हो। म तपाईंको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछु जसले आफ्‍नो रगत मेरो निम्ति बहाउनुभयो र मेरो पापको दण्ड पूरै तिरिदिनुभयो। मलाई बचाउनलाई र म हुनुपर्ने किसिमको व्यक्ति बन्नलाई म तपाईंमाथि भरोसा गर्दैछु। म असल बन्न सक्छु केवल तपाईंको बचाउने अनुग्रहले मात्र!”

“जसले काम गर्दैन” — जब एक व्यक्तिले काम गरिरहेको हुँदैन, उसले आराम लिइरहेको हुन्छ! मुक्ति (धर्मीकरण) भनेको काम गर्ने कुरो होइन, तर अर्कैले गरेको काममाथि आराम लिनु हो अर्थात् क्रूसमा ख्रीष्टले पूरा गर्नुभएको काम — यूहन्ना १९:३०)। विश्वासीको ख्रीष्टमाथीको विश्वास धार्मिकता गनिन्छ (अब्राहामको सवालमा जस्तै गरी, पद ३)।

धेरैजनाले मुक्ति पाउँदैनन् किनकि तिनीहरूले आफूलाई भक्तिहीन भएको देख्दैनन् अनि आफूलाई मुक्तिको खाँचो छ भन्ने कुरा देख्न सक्दैनन्। हामीले आफूलाई परमेश्वरले देख्‍नुभए जस्तै देख्‍नु आवश्यक छ। तपाईंलाई रोमी ५:६ मा परमेश्वरले कसरी बयान गर्नुभएको छ? रोमी ५:८ मा? रोमी ५:१० मा?

तसर्थ रोमी ४:४-५ मा काम गर्ने र काम नगर्नेहरू (विश्वासीहरू) का बीच ठूलो भिन्नता छ। यी दुई समूहको बीच स्वर्ग र नरककै भिन्नता छ। संसारका सबै धर्मकर्म गर्ने व्यक्तिहरू (कल्ट र वादहरू समेत) लाई “गर” भन्ने शब्दले बयान गर्न सकिन्छ। उनीहरूका धर्मकर्मको सार नै यही शब्द हो। उनीहरू परमेश्वरका सामु स्वीकारयोग्य बन्नलाई यो अनि त्यो गर्न खोजिरहेका छन्। बाइबलीय इसाईमत (मुक्तिको ईश्वरीय उपाय) लाई भने “गरिसक्नुभयो!” भन्ने शब्दले बयान गर्न सकिन्छ। “म मेरो प्राण येशू ख्रीष्टले जे गरिसक्नुभयो त्यसमाथि पूरै भरोसा राख्छु!” कुनचाहिँ शब्दले तपाईंलाई ठिकसँग बयान गर्दछ? के तपाईं “गर” पट्टी हुनुहुन्छ कि “गरिसक्नुभयो” पट्टी? के तपाईं अनेक कुरा गर्नमा व्यस्त हुनुहुन्छ कि येशू ख्रीष्टले गरिसक्नुभएको काममाथि भरोसा गर्दै हुनुहुन्छ?

रोमी ४:६ — तीन महान् गणनाहरू

यहाँ ‘गणना’ भन्नाले एक व्यक्तिका निम्ति ठान्नु, ठहर्‍याउनु, उसको खातामा राखिदिनु भन्ने अर्थमा कुरा गर्दैछौं। बाइबलले तीन महान् गणनाहरूलाई उल्लेख गरेको छ:

तीन महान् गणनाहरू:

  1. आदमको पाप सम्पूर्ण मानव जातिको खातामा गनियो (रोमी ५:१२)। “आदमको पाप, हामी सबैको पाप!” साथै हेर्नुहोस् रोमी ५:१८-१९। परमेश्वरले पूरै संसारलाई दोषी देख्‍नुहुन्छ।
  2. मानव जातिको पाप येशू ख्रीष्टको खातामा गनियो जब उहाँ क्रूसमा मर्नुभयो (२ कोरिन्थी ५:२१)। उहाँ “हाम्रा निम्ति पाप बनाइनुभयो।” सारा संसारका पापहरू येशू ख्रीष्टमाथि राखियो जो परमेश्वरका थुमा हुनुहुन्थ्यो (यूहन्ना १:२९ र १ यूहन्ना २:२)। परमेश्वरले यो देख्‍नुहुन्छ कि मुक्ति सबैको लागि उपलब्ध गराइएको छ।
  3. परमेश्वरको धार्मिकता पापीको खातामा गनिन्छ जसले येशू ख्रीष्टमाथि विश्वास गर्दछ (रोमी ४:६ र साथै हेर्नुहोस् २ कोरिन्थी ५:२१; रोमी ३:२२ र रोमी ४:५)। परमेश्वरले विश्वासीलाई येशू ख्रीष्टमा पूर्णरूपमा धर्मी देख्‍नुहुन्छ। ख्रीष्टले क्रूसमा उसको निम्ति जे पूरा गर्नुभएको थियो त्यसबाट कुनै उपलब्धि हुँदैन जब सम्म एक पापीले उहाँमाथि विश्वास गर्दैन।

पहिलो दुईटाचाहिँ तथ्यहरू हुन्। तेस्रोचाहिँ विश्वासद्वारा अनुभवमा साँचो बन्दछ (हेर्नुहोस् रोमी ५:१७)।

रोमी ४:६-८ दाऊदको उदाहरण

दाऊद मोशीय भण्डारीपन (व्यवस्थाको प्रबन्ध) अन्तर्गत जिउँदथे। उनले मुक्ति कसरी पाए? परमेश्वरको व्यवस्था पालन गरेर हो त? होइन! भन्नुपर्दा त दाऊद एक व्यवस्था भङ्ग गर्ने व्यक्ति थिए (२ शमूएल ११ — एक व्यभिचारी)। जसरी अब्राहामले मुक्ति पाए उसरी नै दाऊदले मुक्ति पाए अनि आज पनि उही तरिकामा मानिसहरूले मुक्ति पाउँदछन्: विश्वासद्वारा अनुग्रहले (एफेसी २:८-९)। यी पदहरूले अब्राहाम जसरी धर्मी ठहरिएका थिए उसरी नै दाऊद पनि धर्मी ठहरिएका थिए (परमेश्वरको धार्मिकता उनको खातामा गनियो) भन्ने कुरा देखाउँछन्। दाऊद “कामहरूबिना” (पद ६) धर्मी ठहरिएका थिए। ठिक यिनै शब्दहरू (“कामहरूबिना”) रोमी ३:२८ मा पनि पाइन्छन्।

‌पावल फेरि आफ्‍नो भनाइलाई प्रमाणित गर्न पवित्र शास्त्रलाई आधार बनाउँछन्। उनले दाऊदकै भजन ३२:१-२ बाट उद्दृत गर्छन्। धर्मीकरणको उदेकको शिक्षाभित्र क्षमादानको सुन्दर सत्यता पनि समावेश छ भन्ने कुरालाई यहाँ ध्यान दिनुहोस्। पाप-क्षमालाई यहाँ तीन तरिकाले बयान गरिएको छ:

  1. अधर्म (बाङ्गोपना, गलतपना) क्षमा गरिएको छ।
  2. पापहरू (जो धेरै हुन्छन् र ठूला हुन्छन्) ढाकिएका छन्।
  3. पाप (जसको म साँच्ची नै दोषी छु) कहिल्यै मेरो खातामा गनिनेछैन (“कदापि” गनिनेछैन भनेर व्यक्ति गर्नलाई यहाँ ग्रीक भाषाको दोब्बर नकारात्मक (double negative) जनाउने शब्दहरू प्रयोग भएका छन्)।

धन्य (सुखी) भन्ने शब्दमा यहाँ जोड दिइएको कुरालाई ध्यान दिनुहोस्। हेर्नुहोस् रोमी ४:६,७,८,९। सुखको वास्तविक चाबी धन-सम्पत्ति वा सफलता वा ख्याति वा बौद्धिक प्राप्‍ति वा शक्ति वा मान्छेले जोडसाथ खोजी गर्ने त्यस्तो कुनै कुरा होइन। साँच्ची नै सुखी वा खुसी व्यक्ति त्यो हो जसले येशू ख्रीष्टमाथिको विश्वासद्वारा यो जान्दछ कि उसका पापहरू पूरै ढाकिएका छन् र क्षमा भएका छन्। आफू र आफ्‍नो सृष्टिकर्ताको बीच सबकुरा ठिक-ठाक छ भनेर उसले जान्दछ।

के तपाईंले परमेश्वरबाटको पाप-क्षमाको पूर्णता र उदेकतालाई कहिल्यै गहिरिएर विचार गर्नुभएको छ जुनचाहिँ ख्रीष्टको क्रूसको कारणले गर्दा मात्र सम्भव भएको छ? निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

  1. मीका ७:१९ — मेरा पापहरू सदाका लागि गए! तिनीहरू कहिल्यै सतहमा उठेर आउनेछैनन्!
  2. यर्मिया ५०:२० — मेरा पापहरू भेटिनेछैनन्!
  3. भजनसङ्ग्रह १०३:१०-१२ — परमेश्वरले मेरा पापहरू मबाट कति टाढा पुर्‍याइदिनुभएको छ त? (टिप्पणी: उत्तरदेखि दक्षिणसम्मको दूरी सीमित दूरी हो तर पूर्वदेखि पश्चिमसम्मको दूरी असीमित दूरी हो। तपाईं पश्चिम दिशामा जति पनि गएको गऐ गर्न सक्नुहुन्छ तर तपाईं उत्तर दिशमा सधैं गएक गऐ गर्न सक्नुहुन्न!)
  4. यशैया ३८:१७ — मेरा पापहरू उहाँको दृष्टिबाट पूरै हटाइए!
  5. यशैया ४४:२२ — मेरा पापहरू मेटाइए!
  6. यशैया १:१८ — मेरा पापहरू सेता पारिए! [रातो + रातो ‍= सेतो!”]
  7. हिब्रू १०:१६ (ग्रीकमा डबल नेगेटिभ)। मेरो पाप परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन।
  8. लेवी १६:२०-२२ — लखेटेर पठाइएको बाख्राले यो सन्देश बोकेको थियो: जाऊ, हराऊ!
  9. यूहन्ना १:२९ — “उठाऊ र हरण गर।” मेरा पापहरू पूरै उठाइए र हरण गरिए (मानौं बाह्य अन्तरीक्षमा रकेटले उडाइलगिए!)
  10. हिब्रू ९:२५ — “हटाइए” = कसरी हटाइए? पापको बलिदानद्वारा! परमेश्वरले पापलाई आँखा चिम्लन सक्नुहुन्न, बेवास्ता गर्न सक्नुहुन्न। उहाँले त्यसलाई कारवाही गर्नैपर्छ, त्यसको न्याय गर्नैपर्छ। अनि त्यो चाहिँ उहाँले हाम्रो धन्यको प्रतिस्थापक प्रभु येशू ख्रीष्टद्वारा गर्नुभयो!

ईश्वरीय पाप-क्षमा भन्ने कुरा नभएको भए हाम्रो हालत के हुनेथ्यो? त्यो मानिस कति श्रापित हुन्छ जसको खातामा पापको गणना गरिन्छ (दाँज्नुहोस् रोमी ४:८)! कुनै व्यक्ति उसका पापहरूमा मरे भन्ने कुराको विचार कति भयङ्कर डरलाग्दो छ (हेर्नुहोस् यूहन्ना ८:२१,२४)! परमेश्वरले यदि तपाईंसित तपाईंका पापहरू अनुसार व्यवहार गर्नुहुँदो हो त अर्थात् तपाईंका पापहरूले कमाएकै दण्ड तपाईंलाई दिनुहुँदो हो त के हुनेथ्यो (भजनसङ्ग्रह १०३:१०)? परमेश्वरले तपाईंलाई तपाईंका अपराधहरू अनुसार प्रतिफल दिनुहुँदो हो त तपाईंलाई के हुनेथ्यो (भजनसङ्ग्रह १०३:१०)? परमेश्वरले तपाईंसित बरु उहाँको अनुग्रह र कृपाअनुसार गर्नु नै बढी उत्तम छैन र (भजनसङ्ग्रह १०३:८)? यदि परमप्रभुले अपराधको हिसाब लिनुहुँदो हो त, को खडा हुन सक्थ्यो र (हेर्नुहोस् भजनसङ्ग्रह १३०:३)? यदि कडा न्याय कार्यान्वयन गरिँदो हो त र परमेश्वरले तपाईंको जीवनलाई नियालेर मूल्याङ्कन गर्नुहुँदो हो त र तपाईंका सबै पापहरूको हिसाब तपाईंको विरुद्धमा लिनुहुँदो हो त तपाईंको नतिजा के थियो? के तपाईं भजनसङ्ग्रह १३०:४ को लागि धन्यवादी हुनुहुन्छ? के तपाईंले व्यक्तिगत रूपमा परमेश्वरबाटको पाप-क्षमाको अनुभव गर्नुभयो? के तपाईंले त्यो सुखी मानिसको अनुभव गर्नुभयो जसलाई प्रभुले कहिल्यै पापको हिसाब लगाउनुहुन्न?

एकजनाको कबरस्थानमा केवल यति लेखिएको पाइयो: क्षमा पाएको! यो दुईटा शब्दले निजको सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा बताएको छ। पाप-क्षमा केवल येशू ख्रीष्टमा मात्र पाइन्छ (एफेसी १:७)।

रोमी ४:९

खतना भएकाहरू = यहूदी जाति
खतना नभएकाहरू = अन्यजातिहरू

परमेश्वरबाटको धर्मीकरणको आशिष कस-कसले पाउँछन्? पापहरूको क्षमाको आनन्द कस-कसले पाउँछन्? के यो आशिष यहूदीहरूका लागि मात्र हो कि अन्यजातिहरूका लागि पनि? [अब्राहाम, इसाहक र याकूबका सन्ततिलाई यहूदी भनिन्छ; गैरयहूदीलाई अन्यजाति भनिन्छ।] के धर्मीकरण र पाप-क्षमा यहूदीहरूको मात्र पेवा हो र? पावलले उदाहरणस्वरूप अघि सारेका व्यक्तिहरूको नाम सुनेर कसैलाई त्यसो हो कि जस्तो लाग्न सक्थ्यो: अब्राहामलाई यहूदीहरूको पिता मानिन्छ भने दाऊद यहूदीहरूका सबैभन्दा प्रख्यात राज थिए। अन्यजातिहरूको सम्बन्धमा कुरा के हो त? के उनीहरूका लागि कुनै आशिष छ त? यस प्रश्नको जवाफ पावलले रोमीको पुस्तकको अन्य ठाउँमा दिन्छन्: हेर्नुहोस् रोमी ३:२२ (परमेश्वरको धार्मिकता विश्वास गर्ने सबैका लागि हो) र रोमी ३:२९ र रोमी १०:१२-१३।

रोमी ४:९ख-१०

पावल फेरि उत्पत्ति १५:६ लाई उद्दृत गर्दछन्। अब्राहाम विश्वासद्वारा धर्मी ठहरिए भन्ने कुरा सिकाउने चाबी खण्ड नै यही हो। यस खण्डको आधारमा तब पावलले पद १० मा एउटा प्रश्न सोध्छन्: अब्राहाम धर्मी ठहिरँदा (उत्पत्ति १५:६) उनी यहूदी थिए कि अन्यजाति? उनी खतना गरिएका थिए कि थिएनन्? कुनचाहिँ पहिला आयो, उसले मुक्ति पाएको घटना कि उसको खतना भएको घटना? यसको जवाफ त छर्लङ्गै छ। अब्राहामको मुक्ति (उत्पत्ति १५:६) उनको खतना (उत्पत्ति १७:२४) हुनुभन्दा धेरै अगाडिको कुरा थियो। भन्नुपर्दा अब्राहाम धर्मी ठहरिएपछि उनको छोरा इश्मएलको जन्म भयो (उत्पत्ति १६:११) अनि अब्राहामको खतना गरिँदा यो केटो तेह्र वर्षको थियो (उत्पत्ति १७:२५)। तसर्थ, अब्राहाम पहिला धर्मी ठहरिएका हुन् अनि त्यसको १३ वर्षभन्दा पछि उनी खतना गरिएका हुन्। स्टिफ्लरले रोमीको आफ्‍नो टिप्पणीमा लेख्छन्, “पावलले यहूदीको घमन्डलाई उलटपुलट पारिदिएका छन्। मुक्तिका लागि अन्यजाति यहूदको खतनाकहाँ आउनुपर्ने होइन; बरु यहूदी पो अन्यजातिको विश्वासकहाँ आउनुपर्छ, त्यस्तो विश्वासकहाँ जस्तो चाहिँ आफ्‍नो खतना हुनुभन्दा धेरै अगाडि अब्राहामसित थियो।”

रोमी ४:११-१२

खतना दुईटा कुरा हो भन्ने जनाइएको छ: १) एउटा चिन्ह — चिन्हले कुनै कुरालाई दर्शाउँछ, अनि यस सन्दर्भमा खतनाले अब्राहामसित भएको उसको विश्वासलाई र उसलाई गनिएको धार्मिकतालाई जनाउँदछ। २) एउटा छाप — प्राचीन समयहरूमा कुनै दस्तावेजको सक्कलीपन देखाउनलाई छापहरू प्रयोग गरिन्थे (राजाबाट तपाईंले पत्र पाउनुभयो र त्यसमा राजाको छाप छ भने उक्त दस्तावेज नक्कली होइन, सक्कली हो भनेर जानिन्थ्यो)। अब्राहामको खतनाले उसको विश्वासको सक्कलीपन र वास्तविकतालाई दर्शाउने काम गर्‍यो। अब्राहाम खतनाले धर्मी ठहरिएका थिएनन्; उनी धर्मी ठहरिएकाले उनी खतना गरिए। आज पानीको बप्तिस्माको सवालमा पनि यही कुरा साँचो हुन्छ। कसैले पानीको बप्‍तिस्मा लिएकोले उसले मुक्ति पाउँदैन; तर उसले मुक्ति पाएको हुनाले उसलाई बप्‍तिस्मा दिइन्छ। विधिले मान्छेलाई परमेश्वरको दृष्टिमा ठिक बनाउने होइन। पहिला आफू परमेश्वरको दृष्टिमा ठिक हुनु खाँचो छ (विश्वासद्वारा) अनि त्यसपछि विधि पनि सार्थक हुन्छ।

अब्राहाम विश्वास गर्नेहरू सबैका पिता हुन् (रोमी ४:११)। उनी विश्वासयोग्यहरूका पिता हुन्। हरेक साँचो विश्वासीले भन्न सक्छ, “अब्राहाम मेरा पिता हुन् र म उनको सन्तान हुँ”। विश्वास गर्ने हरेक अन्यजातिले यो भन्न सक्छ (रोमी ४:११) र विश्वास गर्ने हरेक यहूदीले यो भन्न सक्छ। विश्वास नगर्ने यहूदीले शारीरिक वंशको दाबी गर्न त सक्छन् तर विश्वासको सवालमा भने उनीहरूसित पारिवारिक समानता भने छैन (हेर्नुहोस् मत्ती ३:७-१० र यूहन्ना ८:३३,३७,३८,३९-४४)। सन्तान उनीहरूका बाबुआमाजस्ता हुनुपर्ने हुन् र अविश्वासीहरूको अब्राहामसित कुनै आत्मिक समानता छैन जो एक विश्वासी थिए।

अब्राहाम विश्वासीहरूका पिता हुन् भनेर सिकाउने अरू खण्डहरू हुन्: रोमी ४:१६ र गलाती ३:७,८,९,१४,२६-२९ (जोहरू विश्वासद्वारा ख्रीष्टका हुन् उनीहरू अब्राहामका वंशका हुन्) र तुलना गर्नुहोस् लूका १९:९। यस प्रसङ्गमा लूका १६:१९-३१ को खण्ड ज्यादै चाखलाग्दो छ। स्वर्गलोकमा देखिएका “पिता” (लूका १६:२४) को हुन्? अझ, उक्त ठाउँलाई समेत “अब्राहामको काख” भन्ने संज्ञाले जनाइएको छ (पद २२)। विश्वासीहरू जाने ठाउँ त्यही हो अनि अब्राहाम चाहिँ विश्वासीहरूका पिता हुन्। दुःखको कुरा धनी मानिसले अब्राहामलाई आत्मिक पिता भनेर कहिल्यै चिनेनन् (पद २४)। उनी धनी थिए तर विश्वासमा धनी थिएनन् (दाँज्नुहोस याकूब २:५)।

शारीरिक रूपमा अब्राहाम यहूदीहरू (जोहरू इसाहक र याकूबबाट आए) का मात्र पिता नभईकन इश्माएलबाट आएकाहरूका पनि पिता थिए (अरबीहरू) र साथै एसाबबाट आएकाहरूका पनि (एदोमीहरू)। आत्मिक रूपमा अब्राहाम विश्वास गर्नेहरू सबैका पिता हुन्, चाहे यहूदी चाहे अन्यजाति। सम्भवतः उत्पत्ति २२:१७ ले अब्राहामका दुवै पार्थिव वा शारीरिक वंश (“बालुवा”) र साथै उनका स्वर्गीय वा आत्मिक वंश (“ताराहरू”) लाई जनाउँदैछ। वा त्यसले केवल एउटै कुरा जनाइरहेको पनि हुन सक्छ, कि अब्राहामका सन्तान अनगिन्ती हुन्छन् भनेर।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ३:२४-२६

रोमी ३:२४-२६

रोमी ३:२४

“धर्मी ठहरिन्छन्” = धर्मी भनेर घोषित हुन्छन् (यो एक कानुनी शब्दावली हो)। प्रायः “धर्मी ठहरिनु” लाई “कहिल्यै पाप नगरेझैं ठहरिनु” भनेर परिभाषित गरिन्छ तर यसको माने योभन्दा बढी छ। परमेश्वरले मलाई मैले कहिल्यै पाप नगरेझैं देख्नुहुने मात्र नभई मैले सधैं सिद्ध रूपमा धर्मी जीवन बिताएझैं देख्‍नु पनि हो, मेरो जन्म भएदेखि नमरेसम्म मैले आफ्‍नो सारा हृदयले, प्राणले, मनले र बलले उहाँलाई प्रेम गरेझैं र आफ्‍नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गरेझैं परमेश्वरले मलाई देख्‍नु हो। परमेश्वरले मलाई कसरी यसरी देख्न सक्नुहुन्छ? यसकारणले कि परमेश्वरले मलाई उहाँको सिद्ध पुत्रको सिद्ध धार्मिकताले पहिराइएको देख्‍नुहुन्छ र जसरी उहाँ धर्मी हुनुहुन्छ उसरी नै मलाई देख्‍नुहुन्छ (हेर्नुहोस् १ यूहन्ना ३:७)। हो, आफैमा त हामी धर्मी छैनौं (रोमी ३:१० आदि), तर जब हामी ख्रीष्टमाथि विश्वस गर्दछौं तब परमेश्वरले येशू ख्रीष्टको सिद्ध धार्मिकतालाई हाम्रो हिसाबमा राखिदिनुहुन्छ (हेर्नुहोस् रोमी ४:३-५ र उत्पत्ति १५:६ सित तुलना गर्नुहोस्)। अनि त्यस घडीबाट परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा देख्‍नुहुन्छ (२ कोरिन्थी ५:२१ सित दाँज्नुहोस्, “उहाँमा” भन्ने शब्दलाई ध्यान दिनुहोस्)।

“धर्मी ठहरिनु” को माने “धर्मी बनाउनु” होइन। हेर्नुहोस रोमी ३:४ मा (कुनै पनि व्यक्तिले परमेश्वरलाई धर्मी बनाउन सक्दैन, उसले केवल उहाँ धर्मी हुनुहुन्छ भनेर भन्न सक्छ र उहाँ धर्मी भएको कुरालाई घोषणा गर्न सक्छ)। पुरानो नियमले “दुष्टलाई निर्दोष ठहर्‍याउने” काम कहिल्यै गर्नु हुँदैन भनेर भन्दछ (हेर्नुहोस् हितोपदेश १७:१५)। अर्को शब्दमा भन्नुपर्दा, एकजना अपराधीलाई “तिमी दोषी छैनौ, तिमी निर्दोष छौ!” भनेर कहिल्यै नभन। त्यसो गरियो भने निजलाई धर्मी बनाइँदैन (ऊ त जस्ताको तस्तै अपराधी नै छ) तर निजलाई (गलत तवरले) धर्मी वा निर्दोष भनेर घोषणा गरिन्छ। डाक्टर अल्भा जे. मक्लेनले धर्मीकरणलाई यसरी व्याख्या गर्नुभएको छ:

धर्मी ठहराउनुको माने धर्मी भएझैं घोषित गर्नु र व्यवहार गर्नु हो। माफ गरिनुभन्दा अत्यन्तै बढी हो; क्षमाभन्दा हजारौं गुणा बढी हो। तपाईंले मलाई गलती गर्नुभयो, मानो, र तपाईं मकहाँ आउनुभयो; अनि मैले यसरी भन्न सक्छु, “म तपाईंलाई क्षमा गर्छु।” तर मैले तपाईंलाई धर्मी ठहराएको छैन। मैले तपाईंलाई धर्मी ठहराउन सक्दिनँ। तर जब परमेश्वरले जब एक मानिसलाई धर्मी ठहराउनुहुन्छ, उहाँ भन्नुहुन्छ, “म तिमीलाई एक धर्मी व्यक्ति भनेर घोषित गर्छु। अबदेखि उसो म तिमीलाई तिमीले कुनै पनि पाप नगरेको झैं व्यवहार गर्नेछु।” धर्मीकरणको माने पाप सबै बिगतमा राखियो, सबै हटाइयो – मेटियो – केवल क्षमा गरियो मात्र होइन, माफ गरियो मात्र होइन; यसको माने यो हो कि अपराधहरूको अभिलेखलाई पूरै साफ गरिनु र पापीलाई एक धर्मी मानिसको रूपमा खडा गरिनु, मानो उसले कहिल्यै पाप नगरेझैं, ऊ स्वयम् प्रभु येशू ख्रीष्ट जत्तिकै धर्मी भएझैं ठान्नु (Romans: The Gospel of God’s Grace, p. 107)।

हो, परमेश्वरले हामीलाई ख्रीष्टजत्तिकै धर्मी देख्‍नुहुन्छ। यसैले हो १ यूहन्ना ३:७ मा विश्वासीलाई “ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ” भनिएको छ। हामी आफैमा त हामीले पाप गरेका छौं र परमेश्वरको धर्मी मानदण्डको नापभन्दा घटी छौं (रोमी ३:२३)। तर ख्रीष्टमा हामी घटी हुन्नौं बरु हामी सिद्ध रूपमा परमेश्वरले माग गर्नुभएको सम्पूर्ण कुराको नाप बराबर हुन्छौं!

“सित्तैंमा” = अक्षरशः “वरदानको रूपमा” (यही ग्रीक शब्द “डोरेआन्” लाई प्रकाश २२:१७ मा प्रयोग गरिएको छ)। यसलाई “बिनाकारण अर्थात् कुनै कुरा दिइन हामीमा कुनै कारण नभईकन हामीलाई दिइनु” (William Newell, Revelation – A Complete Commentary, p. 366) भनेर परिभाषित गर्न सकिन्छ)। यही शब्द यूहन्ना १५:२५ मा पनि पाइन्छ जहाँ येशूले भन्नुभयो, “तिनीहरूले मलाई बिनाकारण घृणा गरे।” तिनीहरूको घृणाको पात्र बनिन त्यस योग्यको एउटै काम ख्रीष्टले गर्नुभएन (पाउनै नपर्ने घृणा)। त्यसरी नै, म एक विश्वास गर्ने पापी पनि, सित्तैंमा धर्मी ठहराइएँ, “बिनाकारण” (पाउनै नपर्ने धार्मिकता)। परमेश्वरको धार्मिकता पाउनलाई मैले एउटै काम गरिनँ। परमेश्वरले मलाई सित्तैंमा धर्मी ठहराउनुभयो नकि मैले गरेको कुनै कामले (ठिक जसरी तिनीहरूले ख्रीष्टलाई घृणा गरे तर उहाँले गरेको कुनै कामले गर्दा होइन)। “अनि जो तिर्खाउँछ, ऊ आओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस्” (प्रकाश २२:१७)।

“उहाँको अनुग्रहद्वारा” = अनुग्रहको माने “पाउनै नपर्ने दया, अनर्जित निगाह।” यहाँ हामी अनुग्रहको दुईटा बाइबलीय परिभाषाहरू पाउँछौं:

  1. एफेसी २:७ – “ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति।”येशू ख्रीष्टको कारणले, परमेश्वर तिनीहरूप्रति दयालु बन्न सक्नुहुन्छ जोहरू कुनै पनि दया पाउनलाई योग्य छैनन्। हामी पापमा मरेका थियौं र परमेश्वरको क्रोध पाउन योग्य थियौं भनेर एफेसी २:१-३ ले सिकाउँछ, तरैपनि परमेश्वरले, ख्रीष्टको कारण, हामीहरू जस्ता प्रति दयालु बन्न सक्नुहुन्छ जोहरू केवल उहाँको क्रोध मात्र पाउन योग्य थियौं। अनुग्रहको माने परमेश्वरबाटको पाउनै नपर्ने दया हो!
  2. तीतस ३:४ – “तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए।”मुक्तिदाताको कारण, परमेश्वर मानिसप्रति आफ्‍नो प्रेम र दया प्रकट गर्न सक्नुहुन्छ, त्यस मानिसप्रति समेत जो तीतस ३:३ मा वर्णित छ (मूर्ख, अनाज्ञाकारी, भ्रममा परेको, तरह-तरहका अभिलाषा र सुखविलासहरूको कमारा, द्वेष र डाहामा जीवन बिताउने, घृणित र एकअर्कालाई घृणा गर्ने)। यो मानिस परमेश्वरको क्रोध बाहेक कुनै कुरा पाउन योग्य छैन, तरैपनि ख्रीष्टको कारण उसले परमेश्वरको दया र प्रेमलाई जान्न सक्दछ। “अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो!”

यसरी, परमेश्वरको अनुग्रह भनेको मानिसप्रतिको उहाँको त्यस्तो दया र प्रेम हो जसको एक छेउ पाउन पनि ऊ योग्य छैन!

“परमेश्वरको अनुग्रह” = जुन कुरा परमेश्वरले हामीलाई दिनुहुन्छ यद्यपि हामी त्यो पाउन योग्य छैनौं! परमेश्वरले तपाईंलाई दिनुहुने केही त्यस्ता कुराहरू के हुन् जो पाउन तपाईं योग्य नै हुनुहुन्न? (क्षमा, अनन्त जीवन, स्वर्ग, आदि)

“परमेश्वरको कृपा” ‍‍= जुन कुरा परमेश्वरले हामीलाई दिनुहुन्न यद्यपि हामी त्यो पाउन योग्य छौं! परमेश्वरले तपाईंलाई नदिनुहुने केही त्यस्ता कुराहरू के हुन् जो पाउन तपाईं योग्य हुनुहुन्छ? (उहाँको क्रोध, उहाँको न्याय, अनन्त दण्ड, अग्‍नि-कुण्ड, आदि)।

“छुटकारा” = यो महत्त्वपूर्ण शब्दावलीको माने “दाम तिरीकन बचाइनु वा स्वतन्त्र पारिनु” हो। प्रभु येशूले आफ्‍नो रगत बहाउनुभई कलवरी क्रूसमा मर्नुहुँदा त्यो दाम तिर्नुभयो (हेर्नुहोस् १ पत्रुस १:१८-१९)। हाम्रो मुक्ति सित्तैंमा पाइने मुक्ति हो (दाँज्नुहोस् रोमी ३:२४ मा, “सित्तैंमा”) तर यो कुनै हालतले पनि सस्तो छैन! दाम तिरिनुपरेको थियो! परमेश्वरको न्याय पूरा गरिनैपर्छ। पापको पूर्ण दाम तिरिनैपर्छ। तब मात्र परमेश्वर हामीप्रति अनुग्रही बन्न स्वतन्त्र हुनुहुन्छ।

रोमी ३:२५

“उहाँलाई” — यसले “ख्रीष्ट येशू” लाई जनाउँदछ (२४ पदको अघिल्लो भागमा उल्लेखित)। भर्खरै छुटकाराको उल्लेख गरियो (पद २४) र छुटकाराले सधैं हामीलाई ख्रीष्टले क्रूसमा गर्नुभएको कार्यलाई सम्झना गराउनुपर्छ जुन कुरा नै पद २५ को विषय हो।

“ठहराउनुभयो” — सार्वजनिक रूपमा प्रकट गर्नुभयो। ख्रीष्टको मृत्यु गोप्य घटना थिएन; मानिस र स्वर्गदूतहरू यसको सार्वजनिक साक्षी थिए।

“प्रायश्चित” — ख्रीष्टको क्रूसको कार्यलाई बयान गर्ने एउटा चाबी शब्दावली यो हो। यसले हाम्रो मुक्तिको परमेश्वरमुखी पक्षलाई विशेष जोड दिन्छ। [छुटकारा – पापको दासत्वबाट (पापमुखी); मिलाप – मानिस परमेश्वरको शत्रु हुन छोड्छ (मानिसमुखी); प्रायश्चित – परमेश्वर सन्तुष्ट हुनुभयो (परमेश्वरमुखी)] हेर्नुहोस् १ यूहन्ना ४:१०। “प्रायश्चित” भन्ने शब्द पुरानो नियममा प्रयोग भएको छ, र त्यहाँ यसलाई “कृपा आसन” भनेर अनुवाद गरिएको छ। कृपा आसन चाहिँ भेट हुने पालको महापवित्रस्थानमा अवस्थित करारको सन्दुकलाई ढाक्ने ढकन थियो। उक्त ढकन निखुर सुनको थियो (प्रस्थान २५:१७) र त्यसका दुई छेउतिर पखेटा भएका करुब वा स्वर्गदूतको आकार निकालिएको थियो (प्रस्थान २५:१८)। सन्दुकभित्र परमेश्वरको व्यवस्था अर्थात् दस आज्ञा राखिएको थियो (प्रस्थान २५:२१)। रोमी ७:१२ मा व्यवस्थालाई पवित्र, न्यायपूर्ण र असल भनेर बयान गरिएको छ। कुनै पनि पापी मानिसलाई परमेश्वरको व्यवस्थालाई सिद्ध रूपमा पालन गर्नु के सम्भव छ (गलाती ३:१०; रोमी ३:२०; याकूब २:१०)? कदापि सम्भव छैन। तसर्थ सन्दुकभित्रबाट व्यवस्थाले ठूलो स्वरमा यस्तो सन्देश दिइरहेको हुन्थ्यो:

“व्यवस्था भङ्ग गर्दाको एउटा दण्ड छ अनि यो दण्ड पूरा हुनैपर्छ! हरेक व्यवस्था भङ्ग गर्ने व्यक्ति मर्नैपर्छ (प्रस्थान २१:१२-१७); रोमी १:३२; ६:२३)! पूर्णरूपमा दण्ड पूरा नभएसम्म परमेश्वरको न्याय सन्तुष्ट हुनेछैन!”

पापलाई दण्ड नदिएसम्म र पापको दण्ड पूर्णरूपमा पूरा नभएसम्म परमेश्वर कहिल्यै सन्तुष्ट हुन सक्नुहुन्न। येशू जब क्रूसमा मर्नुभयो त्यतिखेर मानिसको पापलाई दण्ड दिइयो र पापको दण्ड पूर्णरूपमा तिरियो (यूहन्ना १९:३०; १ यूहन्ना २:२)।

हरेक वर्षको एक पटक प्रायश्चितको दिनमा महापूजाहारी पशु बलिको रगत लिएर महापवित्रस्थानभित्र प्रवेश गर्दथ्यो र कृपा आसनमाथि रगत छर्कन्थ्यो (लेवी १६:१४-१५; हिब्रू ९:३-७)। कृपा आसनमाथिको रगतले ख्रीष्टको क्रूसको कार्यको पूर्व-छायाँ थियो अनि त्यसले यो सन्देश बोकेको हुन्थ्यो:

“दण्ड पूर्णरूपमा तिरिएको छ! एक प्रतिस्थापकको मृत्यु भएको छ र न्यायका सबै मागहरू पूरा भएका छन्! व्यवस्था भङ्ग गर्ने दोषीलाई न्याय गर्नुको सट्टा परमेश्वर अब ऊप्रति कृपालु हुन स्वतन्त्र हुनुहुन्छ!”

येशूले क्रूसमा सम्पन्न गर्नुभएको कार्यसित परमेश्वर पूर्णरूपमा सन्तुष्ट र खुसी हुनुहुन्छ। तपाईं नि? विश्वासले भन्छ, “परमेश्वर सन्तुष्ट हुनुहुन्छ र म पनि सन्तुष्ट छु (रोमी ३:२५) — यथेष्ट येशू मर्नुभो, मेरो लागि मर्नुभो!”

परमेश्वरको पवित्रता र न्याय सन्तुष्ट पारिएका छन् त्यसैले परमेश्वर हामीसित उहाँको अनुग्रहमा (रोमी ३:२४) व्यवहार गर्न स्वतन्त्र हुनुहुन्छ। तसर्थ हामी अनुग्रहको सिंहासन नजिक साहससित आउन सक्छौं नकि डरसित न्याय र क्रोधको सिंहासन नजिक (हिब्रू ४:१६; १०:१९-२२)! क्रूसमा सम्पन्न भएको कार्यको लागि परमेश्वरलाई प्रशंसा होस्!

“उहाँको रगतमा गरिएको विश्वासद्वारा” — “रगत” ले क्रूसमा उहाँले सम्पन्न गर्नुभएको कार्यलाई जनाउँदछ। ख्रीष्टले गर्नुभएको कार्यलाई व्यक्तिगत रूपमा लिइनुपर्छ र विश्वासद्वारा व्यक्तिगत बनाइनुपर्छ नत्र भने त्यसले कुनै फाइदा दिँदैन। यसको उदाहरण प्रस्थान १२:७ मा पाइन्छ। निस्तार चाडको पाठोलाई मारेर मात्र पुग्दैनथ्यो। रगतलाई व्यक्तिगत रूपमा ढोकाको चौकोसमा लगाइनुपर्थ्यो अनि मात्र उक्त घरको परिवार परमेश्वरको दण्डबाट उम्कन सक्थ्यो जुन दण्ड हरेक घरमाथि आइरहेथ्यो जहाँ रगत लगाइएको थिएन। विश्वासद्वारा के तपाईंले आफ्‍नै निम्ति त्यो कुरा दाबी गर्नुभयो जुन कुरा प्रभु येशू ख्रीष्टले क्रूसमा पूरा गर्नुभयो? के तपाईंले त्यसलाई आफ्‍नै बनाउनुभयो? कसरी ख्रीष्टको क्रूसको कार्य व्यक्तिगत रूपमा अपनाइनुपर्छ भन्ने कुराको अर्को उदाहरण यूहन्ना ६:५३-५४ मा भेटिन्छ। खाने र पिउने कुराको विचार गर्नुहोस्। खानेकुरा र पिउने कुराले तिनलाई व्यक्तिगत रूपमा अपनाइए मात्र र शरीरमा ग्रहण गरिए मात्र भौतिक जीवन प्रदान गर्न सक्छन्। मानो आफ्‍नो अगाडि नानाथरीका व्यञ्जन छन् र ती कति पौष्टिक छन् भनेर विश्वास गरिँदैमा तपाईंलाई कुनै फाइदा हुँदैन! तपाईंले त्यसलाई खानुपर्छ र उक्त भोजनलाई आफ्‍नै बनाउनुपर्छ!

रोमी ३:२५

“आफ्‍नो धार्मिकता प्रकट गर्नका निम्ति” — क्रूसमा परमेश्वरले आफ्‍नो धार्मिकता प्रकट गर्नुभयो र आफ्‍नो चरित्रलाई पुष्टि गर्नुभयो। “एक पवित्र परमेश्वरले पापलाई कसरी दण्डहीन छोड्न सक्नुहुन्छ?” पाप दण्डहीन छोडिन्न भनेर क्रूसले प्रमाणित गर्‍यो! पापको सवालमा आफू तटस्थ रहनुहुन्न भन्ने कुराको परमेश्वरले प्रमाण दिनुभयो। पापलाई परमेश्वरले केही गरेर छाड््नुहुन्छ, उहाँले त्यससित भयङ्कर कठोरतापूर्वक व्यवहार गर्नुहुन्छ।

“योचाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूको क्षमाका विषयमा आफ्‍नो धार्मिकता प्रकट गर्नका निम्ति हो” — पवित्र र धर्मी परमेश्वरले हजारौं वर्षसम्म (आदमदेखि क्रूसको समयसम्म) पापलाई सहनुभयो र दण्डहीन छोड्नुभयो। क्रूसअघि पुरानो नियमका विश्वसीहरू “उधारोमा” (तिनीहरूले ऐतिहासिक रूपमा त्यसबेलासम्म जुन कुरा सम्पन्न भइसकेको थिएन त्यसबाटका केही उपलब्धिहरू प्राप्‍त गरे यद्यपि उनीहरूको पापहरूको निम्ति तिर्ने काम भइसकेको थिएन) स्वर्गलोक पुग्थे; जसरी हामीले कुनै कुरा उधारोमा किन्यौं भने किनिएको मालको उपभोग गर्न सक्छौं यद्यपि त्यसको लागि हामी तिरिसकेका हुँदैनौं)। परमेश्वरको धार्मिकता क्रूसमा प्रकट भयो यस हिसाबले कि परमेश्वरले मानिसले गरेको (वा गर्नेवाला) एक-एक पापलाई न्याय गर्नुभयो र दण्ड दिनुभयो। क्रूस नै सम्पूर्ण इतिहासको केन्द्रीय बिन्दु र मुख्य बिन्दु हो। पुरानो नियमका विश्वासीहरू परमेश्वरले एक दिन जे गर्नुहुनेवाला थियो त्यसको प्रतीक्षामा जिए; आजका विश्वासीहरू भने ख्रीष्टले जे गरिसक्नुभयो त्यसलाई फर्केर हेर्न सक्छन्।

रोमी ३:२६

सुसमाचारमा मात्र समाधान हुन सक्ने परमेश्वरको सामु खडा भएको विशाल समस्या चाहिँ यो थियो: परमेश्वरले आफ्‍नो न्याय (धार्मिकता) लाई सम्झौता नगरीकन एक भक्तिहीन, दुष्ट, पापी व्यक्तिलाई कसरी धर्मी ठहराउन सक्नुहुन्छ? पापलाई न्याय गर्नु परमेश्वरका निम्ति न्यायसङ्गत कुरा हो, तर पापीलाई धर्मी ठहराउनु उहाँको निम्ति कसरी न्यायसङ्गत कुरा हुन सक्नुहुन्छ? यो समस्या केवल ख्रीष्टको क्रूसमा र ख्रीष्टको प्रतिस्थापनकारी मृत्युमा मात्र समाधान हुन सक्यो। क्रूसमा परमेश्वरले यस्तो योजना रच्नुभयो जसद्वारा उहाँले आफ्‍नो धर्मी र पवित्र चरित्रलाई कुनै पनि हिसाबले सम्झौता नगरीकन पापीलाई धर्मी ठहराउन सक्नुहुन्छ। आजका धेरै उदारवादीहरू मानिसको पापलाई आँखा चिम्लेर वा त्यसलाई बिर्सिदिएर, आदि, परमेश्वरको चरित्रलाई सम्झौता गराउन चाहन्छन्। परमेश्वरले कहिल्यै त्यसो गर्न सक्नुहुन्न। पापलाई न्याय नगरिएसम्म परमेश्वर कहिल्यै सन्तुष्ट हुन सक्नुहुन्न।

परमेश्वरबाटको धर्मीकरण सबै मानिसका लागि उपलब्ध गराइएको भए तापनि परमेश्वरले केवल “येशूमा विश्वास गर्नेलाई” मात्र धर्मी ठहराउनुहुन्छ भन्ने कुरालाई यस पदमा ख्याल गर्नुहोस्। धर्मीकरणको परमेश्वरको अनुग्रहपूर्ण वरदान सबैलाई प्रदान गरिएको छ, तर त्यसलाई व्यक्तिगत रूपमा विश्वासद्वारा ग्रहण गरिनुपर्छ (हेर्नुहोस् रोमी ५:१७)।

रोमी ३:२७

मुक्ति र धर्मीकरणको सम्बन्धमा घमन्ड गर्ने कुनै ठाउँ छैन किनकि सब गर्नुहुने परमेश्वर हुनुहुन्छ! योजना उहाँकै हो, मुक्ति उहाँकै, रगत बहाइएको उहाँकै थियो र हामी केवल एक महान् मुक्तिदातामा मात्र घमन्ड गर्न सक्छौं, कुनै हिसाबले पनि हामी को हौं र हामीले के गर्‍यौं भन्ने कुरामा होइन। हामी उहाँको योग्यता (उहाँ जो हुनुहुन्छ भन्ने कुरा) ले, उहाँको काम (उहाँले जे गरिदिनुभयो भन्ने कुरा) ले र उहाँको वचन (उहाँले जे भन्नुभएको छ भन्ने कुरा) ले बचाइन्छौं अनि उहाँलाई नै सब श्रेय जान्छ! हेर्नुहोस् एफेसी २:८-९; तीतस ३:५; १ कोरिन्थी १:२९-३१। यदि मुक्ति कामहरूबाट हुँदो हो त मानिसले घमन्ड गर्न सक्नेथ्यो (रोमी ४:२; एफेसी २:९), तर त्यसो होइन!

कामहरूको व्यवस्थाले भन्दछ, “गर र तिमी बाँच्नेछौ!” तर तपाईंले सिद्धरूपमा गर्नुपर्छ र व्यवस्थालाई पूरै पालन गर्नुपर्छ किनकि परमेश्वरले सिद्धताको माग गर्नुहुन्छ अनि त्यसमा कुनै घटी भेटिनुहुन्न।

विश्वासको व्यवस्थाले भन्दछ, “विश्वास गर र तिमी बाँच्नेछौं!” (यूहन्ना ६:४७; ५:२४; आदि)। ख्रीष्टले क्रूसमा गर्नुभएको सिद्ध काममाथि विश्वास गर्नुहोस्!

रोमी ३:२८

यहाँ पावल निष्कर्षमा आइपुग्छन्। धर्मीकरण हुने विश्वासद्वारा हो, कामहरूद्वारा होइन। रोमन क्याथोलिक धार्मिक प्रणालीले सिकाएको कामहरूद्वारा धर्मीकरणको विरुद्धमा “विश्वासद्वारा धर्मीकरण” नै मार्टिन लुथर र अरु प्रचारकहरूको ठूलो नारा थियो।

“निष्कर्ष” = रोमी ६:११ र ८:१८ मा पाइने “ठान्नु” भनेर अनुदित शब्द (यसको माने एक व्यक्तिले सत्य-तथ्यको आधारमा हिसाब गर्नु र एउटा ठन्डा र ठोस निष्कर्षमा आइपुग्‍नु जसलाई दृढतापूर्वक विश्वास गरिनुपर्छ)।

“कामहरूबिना” = पूर्णरूपमा कामरहित (दाँज्नुहोस् हिब्रू ४:१५ “पापरहित”; रोमी ३:२१ आदि)। पावलको निष्कर्ष सतहमा हेर्दा याकूब २:२४ सित बाझेको जस्तो देखिन्छ –“अब ता तिमीहरूले, विश्वासद्वारा मात्र होइन, तर कामहरूद्वारा मानिस धर्मी ठहरिन्छ भन्ने कुरा देख्यौ।” यो सतही अन्तर्विरोध समाधान हुन्छ जब हामी बुझ्छौं कि याकूब र पावलले मानिसको मुक्तिलाई दुई भिन्न दृष्टिकोणहरूबाट हेर्दैथिए।

पावल र याकूबका शिक्षा आपसमा बाझेका छैनन् बरु एउटाचाहिँ अर्कोको परिपूरक हुन्। दुवैले लेखेका कुरा परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन् (२ तिमोथी ३:१६)। मुक्ति नपाएको व्यक्ति कसरी परमेश्वरसित ठिक सम्बन्धमा आउन सक्छ भन्ने कुरा बताउनु पावलको उद्देश्य रहेको छ भने मुक्ति पाइसकेको व्यक्तिले आफ्‍नो विश्वास वास्तविक भएको कुरा कसरी प्रकट गर्न सक्दछ भन्ने कुरा बताउनु याकूबको उद्देश्य रहेको छ।

रोमी ३:२९-३०

परमेश्वरको महिमित सुसमाचार कुनै एक जातिमा सीमित राखिएको छैन। परमेश्वरले सबै मानिसहरूलाई सृष्टि गर्नुभएको हो र परमेश्वर सबै मानिसका निम्ति मर्नुभएको हो, त्यसैले सुसमाचारको सन्देश सबै मानिसलाई प्रदान गरिन्छ। यो कुरा रोमी १०:१२ मा सिकाइएको छ — “किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्ने सबैका निम्ति धनवान् हुनुहुन्छ।” परमेश्वरको सुसमाचार यहूदीहरूका लागि मात्र होइन; यो “हरेक” (रोमी १०:१३) का निम्ति हो।

“खतना भएकाहरू” = यहूदीहरू

“खतना नभएकाहरू” = अन्यजातिहरू

पावलले रोमीको अघिल्ला अध्यायहरूमा यहूदी लगायत अन्यजातिहरू दुवै पापमा हराएका छन् र परमेश्वरको दण्डाज्ञामुनि छन् (रोमी ३:१०) भन्ने कुरा निपुणतापूर्वक प्रमाणित गरिसके। यो थियो अशुभ-समाचार! अब पावलले यो शुभ-समाचार बताउँछन् कि सबै मानिसहरूलाई, दुवै यहूदी र अन्यजातिलाई, धर्मीकरण प्रदान गरिएको छ। अनि दुवै समूहकाहरूले एउटै तरिकामा मात्र त्यो प्राप्‍त गर्न सक्छन्: विश्वासद्वारा! मूल प्रश्न तपाईं यहूदी हुनुहुन्छ कि अन्यजाति भन्ने होइन। मूल प्रश्न चाहिँ तपाईं धर्मी ठहरिनुभएको छ कि छैन भन्ने हो (तपाईं क्रूसीकृत र पुनरुत्थित् प्रभुमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ कि हुनुहुन्छ भन्ने हो)।

रोमी ३:३१

“व्यर्थको तुल्याउँछौं” — प्रभावहीन तुल्याउँछौं, रद्द गर्नु

“त्यस्तो नहोस्!” — यो कहिल्यै नहोस्, यस्तो विचार नष्ट होस्!

“तर” — बरु

व्यवस्था तब स्थिर पारिन्छ जब त्यसले आफ्‍नो उद्देश्य पूरा गर्दछ (हेर्नुहोस् रोमी ३:२०)। कति कुराहरू छन् जो व्यवस्थाले गर्न सक्छ (रोमी ३:२०; ७:७-१४) र कति कुराहरू छन् जो व्यवस्थाले गर्न सक्दैन (रोमी ८:३; गलाती २:१६; रोमी ३:२० आदि)।

बाइबलीय इसाईमत न व्यवस्थावादी हुन्छ न ता व्यवस्थाहीन नै। व्यवस्थावादले व्यवस्थालाई स्थिर पार्दैन तर बरु रद्द गरिदिन्छ। अनुग्रहद्वारा मुक्ति पाइने कुरा (साँचो सुसमाचार) ले व्यवस्थालाई स्थिर पार्दछ।

“तब के हामी विश्वासद्वारा व्यवस्थालाई व्यर्थको तुल्याउँछौं त?” के हामी व्यवस्थालाई निष्कामको बनाउँछौं (व्यवस्थालाई निष्क्रिय तुल्याउँछौं, कामरहित बनाउँछौं)? के व्यवस्थाको कुनै काम नै छैन? के हामीले व्यवस्थालाई निष्क्रियतामा पुर्‍यायौं? होइन! कदापि होइन! व्यवस्था र सुसमाचारका भिन्न भिन्नै काम छन्। दुवैका आ-आफ्‍नै काम छन्। समस्या त्यसबेला आउँछ जुनबेला व्यवस्थालाई सुसमाचारको काम (मुक्ति दिनु) सुम्पन्छौं वा जुनबेला सुसमाचारलाई व्यवस्थाको काम (दोषी ठहराउनु) सुम्पन्छौं। हेर्नुहोस् गलाती ३:१७ जहाँ व्यवस्थाले सुसमाचारलाई निष्कामको बनाउन सक्दैन भन्ने कुरा सिकाइएको छ (हेर्नुहोस् गलाती ३:१९ — व्यवस्थाको आफ्‍नो छुट्टै काम छ)। व्यवस्थाको काम “क्रोध उत्पन्न गर्नु” हो (रोमी ४:१५)। यी दुईलाई कहिल्यै नमिसाउनुहोस् नत्र भने दुवैलाई बिगारिन्छ! सुसमाचारले परमेश्वरको पवित्रताका धर्मी मानदण्डहरू (“व्यवस्था”) लाई कहिल्यै पन्यालो पार्दैन। अर्कोतिर, व्यवस्थावाद (legalism) ले व्यवस्थालाई स्थिर पार्दैन बरु त्यसलाई अपमानित तुल्याउँछ। व्यवस्थावादले व्यवस्थालाई यस्तो तहमा ल्याउँछ जसलाई मान्छेले (मानो) पालन गर्न सक्छ।

व्यवस्था स्थिर पारिन्छ जब तिनका दण्डहरूलाई मजबूत पारिन्छ। प्रभु येशू ख्रीष्टले व्यवस्थाको दण्डलाई भोगेर व्यवस्थालाई स्थिर पार्नुभयो।

परमेश्वरको व्यवस्थाले हामीलाई परमेश्वरको बलि हुनुहुने थुमाकहाँ डोर्‍याएको होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ३:२१-२३

रोमी ३:२१-२३

रोमी ३:२१

“तर अब” — यस अभिव्यक्तिले पत्र एउटा मोडमा आइपुगेको कुराको सङ्केत दिन्छ। पत्रको यस बिन्दुमा आइपुग्दासम्म पावलले जति पनि कुरा बताएका छन् उनले “अशुभ-समाचार” बताएका छन्। उनले प्रस्‍टै मानिसको दोष र दण्ड देखाइदिएका छन्। पावलले हरेक मानिस हराएको अवस्थामा छ र “परमेश्वरको सामु दोषी” (रोमी ३:१९) र दण्डको योग्य छ भन्ने कुरा देखाइसकेका छन्। तर अब पावलले “शुभ-समाचार” बताउन थाल्छन्! शुभ-समाचार यो हो कि परमेश्वरसित मुक्ति अर्थात् “धर्मीकरण” को एउटा उदेकको सुन्दर योजना छ जसद्वारा पापी मानिसहरू पवित्र परमेश्वरका सामु धर्मी ठहरिन सक्छन्! “तर अब” — यस अभिव्यक्तिले यस पत्रको सिलसिलामा प्रचण्ड परिवर्तन आएको कुराको सङ्केत दिन्छ (एफेसी २:११-१३ र १ कोरिन्थी १५:१६-२० मा पनि पाइने यही अभिव्यक्तिसित तुलना गर्नुहोस्)।

यसपछिका छओटा पदहरू निर्णायक रूपले महत्त्वपूर्ण छन्। डाक्टर अल्भा जे. मक्लेनले रोमी ३:२१-२६ को बारेमा यसरी भन्नुभएको छ:

“यो खण्ड रोमीको पुस्तककै मुटु हो। यसैकारण सबै ख्रीष्टियनहरूले २१-२६ पदहरूलाई कण्ठ गर्नुपर्ने हो। यदि कसैले मलाई, “मक्लेन दाजु, यदि तपाईंले बाइबलबाट छओटा मात्र राख्‍न पाउनुभएमा, र बाँकी सबै लगिने भएमा, कुन छओटा रोज्नुहुन्थ्यो” भनेर सोधेको खण्डमा म यी छओटा पदहरू रोज्नेथिएँ। परमेश्वरको सम्पूर्ण सुसमाचार (शुभ-समाचार) यहाँ पाइन्छ, अनि त्यो पनि यस्तो प्रकारले कि जुनचाहिँ परमेश्वरको वचनको अन्य कुनै पनि खण्डमा पाइँदैन [Gospel of God’s Grace]।

एक्काइसौं पदबाट सुरु भएर अध्ययाकै अन्तसम्मको खण्डभित्र एउटा चाबी शब्द रहेको छ जुनचाहिँ बारम्बार दोहोराइएको छ। त्यो शब्द हो धार्मिकता

पद २१ – धार्मिकता
पद २२ – धार्मिकता
पद २४ – धर्मी ठहरिन्छन्
पद २५ – धार्मिकता
पद २६ – धार्मिकता, धर्मी, धर्मी ठहराउनेवाला

“धर्मी ठहराउनु” ‍ – धर्मी भनेर घोषणा गर्नु वा उच्चारण गर्नु

चाबी प्रश्न: एक धर्मी परमेश्वरले आफू धर्मी रहीकन एकजना अधर्मी मानिसलाई कसरी बचाउन सक्नुहुन्छ? यो प्रश्न पद २६ मा देखिन्छ — परमेश्वर कसरी, आफू धर्मी हुन नछोडीकन, पापीलाई धर्मी ठहराउनेवाला बन्न सक्नुहुन्छ? परमेश्वरले धर्मी तवरले पापीलाई न्याय गर्न सक्नुहुन्छ भन्ने कुरामा कुनै समस्या देखिँदैन, किनकि न्यायले माग गर्ने कुरा यही नै हो। तर, प्रश्न यो छ, परमेश्वरले आफ्‍नै धार्मिकतालाई सम्झौता नगरीकन कसरी एक दुष्ट व्यक्तिलाई धर्मी ठहराउन र दोषमुक्त गराउन सक्नुहुन्छ? “परमेश्वरले दोषीलाई कनै रीतिले निर्दोष ठहराउनुहुन्न” (नहूम १:३)। यसको मतलव उहाँले दोषीलाई दण्डरहित छोड्नुहुन्न। तरैपनि, दुष्ट पापीहरूलाई बचाउन परमेश्वरले ठिक यही काम गर्नुपर्ने हुन्छ! यो यस्तो समस्या हो जसको समाधान केवल ख्रीष्टको क्रूस (मृत्यु) मा भएको छ! ख्रीष्ट हाम्रो स्थानमा दण्डित हुनुभयो, हाम्रो प्रतिस्थापकको रूपमा (सट्टामा), ताकि हामी दोषमुक्त हुन सकौं भनेर।

“परमेश्वरको धार्मिकता प्रकट प्रकट भएको छ” — पावलले रोमी १:१७ मा यही कुरालाई लिएर सुरु गरेका थिए, तर उक्त सुरुको खण्डपछि यता परमेश्वरको धार्मिकता फेरि उल्लेख भएको पाइँदैन जबसम्म हामी रोमी ३:२१ मा आइपुग्दैनौं। पावलले पहिला हामीलाई यो धार्मिकता कति खाँचो छ भन्ने कुरा देखाउन चाहन्थे (दाँज्नुहोस् रोमी ३:१० सित)!

“बिनाव्यवस्था” = पूर्णतयाः रहित (हिब्रू ४:१५ पनि हेर्नुहोस् जहाँ “बिना” लाई “रहित” भनेर “पूर्णतया रहित” भन्ने अर्थमा प्रयोग भएको छ)। यस धार्मिकताको चाहिँ व्यवस्था पालन गर्ने काम वा व्यवस्थाका कुनै पनि कामहरूसित सम्बन्ध नै छैन। व्यवस्थासित यसको कुनै पनि सरोकार छैन। मानिसलाई धार्मिकता दिने चाहिँ परमेश्वरको व्यवस्थाले नभई परमेश्वरको अनुग्रहले हो!

पुरानो नियमका शास्त्रहरूमा हामीले बिनाव्यवस्थाको ईश्वरीय धार्मिकताको बारेमा सिक्न सक्छौं (रोमी १:२ सित तुलना गर्नुहोस्), जसको गवाही निम्न कुराहरूले दिन्छन्

  1. …व्यवस्थाले (हेर्नुहोस् उत्पत्ति १५:६; उत्पत्ति ७:१ को साथमा हिब्रू ११:७ लाई पनि हेर्नुहोस्)
  2. …भविष्यवक्ताहरूले (हेर्नुहोस् यशैया ५३:११; यर्मिया २३:६)।

रोमी ३:२२

“विश्वासद्वारा” — परमेश्वरको धार्मिकता विश्वासद्वारा प्राप्‍त गरिने कुरा हो

“येशू ख्रीष्टमाथिको” — अर्थात् यस विश्वासको निशाना भनेको क्रूसमा टँगाइनु भएको र बौरनुभएको ख्रीष्ट हुनुहुन्छ।

“विश्वास गर्ने सबै” — रोमी १:१६ सित तुलना गर्नुहोस्। सबैलाई यो धार्मिकताको खाँचो छ (रोमी ३:२३) अनि विश्वास गर्ने सबैले यो धार्मिकता पाउँछन्। बाइबलले कतै पनि “यूनभर्सलवाद” (एक दिन अन्तमा सबैले मुक्ति पाउनेछन् भन्ने शिक्षा) सिकाएको छैन। बाइबलले सिकाएको मुक्ति चाहिँ सबैलाई प्रदान गरिएको र उपलब्ध गरिएको तर विश्वास गर्ने जतिलाई मात्र त्यसको लाभप्राप्‍ति हुने मुक्ति हो (दाँज्नुहोस् १ तिमोथी ४:१०)। परमेश्वरले आफ्‍नो मुक्तिको लाभप्राप्‍ति चाहिँ विश्वासद्वारा तिनलाई अपनाउनेहरूमा सीमित गर्नुभएको छ।

पद २२ को अन्तिम भाग र पद २३ को पूरै भागलाई एक उपवाक्यको रूपमा लिन सकिन्छ: (किनभने त्यहाँ कुनै भिन्नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्)। २२ देखी २४ पदलाई उपवाक्यलाई नाघेर पढ्दा पनि मदत हुन्छ (“विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, र उहाँको अनुग्रहद्वारा …”)।

रोमी ३:२३

“सबैले पाप गरेका छन्” — सबै मानिसहरू एउटै डुङ्गामा छन् र डुङ्गा डुब्दैछ! तर परमेश्वरले आफ्‍नो कृपामा यी विनाशमुखी पापीहरूका लागि एउटा उदेकको मुक्तिको प्रबन्ध गर्नुभएको छ यदि उनीहरूले आफ्‍नो भरोसा ख्रीष्टमाथि राख्छन् भने।

“सबै” — सबैको माने सबै हो (सन्दर्भले परिभाषित गरेबमोजिम)। यस फराकिलो अभिव्यक्तिको कुनै अपवाद छ कि?

प्रभु येशूको बारेमा हामी के भनौं? उहाँले कहिल्यै पाप गर्नुभयो? हेर्नुहोस् १ पत्रुस १:१९; १ पत्रुस ३:१८; १ पत्रुस २:२२; प्रेरित ३:१४; १ यूहन्ना ३:५; मत्ती २७:४; मत्ती २७:२४; यूहन्न १९:४; मत्ती २७:१९; लूका २३:४१; मत्ती २७:४४; मत्ती २७:५४; लूका ४:३३-३४; यूहन्ना ८:४६; यूहन्ना ८:२९; मत्ती ३:१७; यशैया ५३:९; २ कोरिन्थी ५:२१; हिब्रु ४:१५; हिब्रू ७:२६; लूका १:३५ आदि। ख्रीष्टको पापरहितता ज्यादै महत्त्वपूर्ण शिक्षा हो।

कन्या मरियमको बारेमा हामी के भनौं? के उनी रोमी ३:२३का अपवाद हुन्? हेर्नुहोस् लूका १:४७ र लूका ५:३०-३२ सित तुलना गर्नुहोस्। कस्तो व्यक्तिलाई मुक्तिदाताको खाँचो हुन्छ? मरियम कस्ती व्यक्ति थिइन्? मरियमलाई पूज्न खोज्ने व्यक्तिहरूको पहिलो घटनाको अभिलेख लूका ११:२७ मा भेटिन्छ। मरियमलाई त्यस किसिमले प्रशंसा गर्ने कार्यलाई प्रभुले उत्साह दिनुभयो कि त्यसो गर्नदेखि निरुत्साहित पार्नुभयो? मरियम परमेश्वरको भय मान्ने स्त्री थिइन् जसलाई परमेश्वरले एक ज्यादै विशेष तरिकामा प्रयोग गर्नुभयो तर मरिमय-पूजादेखि होशियार हुनुहोस्।

“सबैले पाप गरेका छन्” — यो एक अति महत्त्वपूर्ण बाइबलीय सत्यता हो। यस कुरालाई बाइबलको अन्य ठाउँहरूमा पनि सिकाएको छ, जस्तै:

  1. यशैया ५३:६ कति जना हराएका छन्?
  2. १ राजा ८:४६ पापरहित मानिसहरू कतिजना छन्?
  3. यूहन्ना ७:१९ “व्यवस्था पालन गर्नेहरू” कतिजना छन्?

साथै १ यूहन्ना १:८,१० सित पनि दाँज्नुहोस्

“पाप गरेका छन्” — बाइबलमा “पाप” भन्ने शब्दको माने “निशाना चुक्नु” भन्ने हुन्छ अथवा “मानदण्डभन्दा घटी हुनु”। जस्तै, मानौं खेलका आयोजकले यसरी भने, “भलिबल खेलमा भाग लिन सक्नलाई खेलाडी कम्तीमा पनि साँढे पाँच फिट अल्गो हुनुपर्छ नत्र भने तपाईं उम्मेदवार समेत बन्न पाउनुन्न।” साँढे पाँच फिट भन्दा मुनिकाहरू आयोजकको मानदण्डभन्दा “घटी” ठहरिनेथिए र खेलमा भाग लिनदेखि बञ्चित हुनेथिए। हामी सबैजना परमेश्वरको मानदण्डभन्दा घटी भएका छौं।

पापलाई जनाउने हिब्रू शब्दलाई न्यायकर्ता २०:१६ मा रोचक ढङ्गले प्रयोग गरिएको छ। बेन्यामीनका सन्तानहरू घुयेँत्रो हान्न बेसरी सिपालु थिए। यी मानिसहरू देब्रे हात चलाउनेहरू थिए र उनीहरूले एउटा केशलाई पनि नचुकीकन निशानालाई हान्न सक्थे! एउटा केश भनेको त ज्यादै सानो निशाना हो तर उनीहरूले त्यसलाई नचुकीकन हान्न सक्थे। यो “चुक्नु” भन्ने शब्द “पाप” भन्ने शब्द हो। पापी भनेको चुक्ने व्यक्ति हो। पापी त्यो हो जसले निशाना चुकाउँछ, परमेश्वरको निशाना चुकाउँछ। परमेश्वरको निशाना के हो? यो मत्ती २२:३७,३९ मा उल्लेख गरिएको छ। तपाईंले यो निशानालाई सिद्धरूपमा भेट्टाउनुभएको छ कि त्यसलाई चुकाउनुभएको छ?

“परमेश्वरको महिमा” — परमेश्वरको सिद्ध चरित्रलाई समग्रमा जनाउन यो अभिव्यक्ति प्रयोग गरिएको छ:

परमेश्वर समग्रमा कस्तो हुनुहुन्छ:

तपाईं परमेश्वरको महिमाको नाप बराबर हुनुहुन्छ कि त्यसभन्दा घटी हुनुहुन्छ भनेर जाँच्ने अर्को उपाय छ। मानौं तपाईं स्वयम् पापरहित र निष्कलङ्क प्रभु येशू ख्रीष्टकै बगलमा उभिनुभयो। तपाईं उहाँको कदको कत्तिको बराबरीमा आइपुग्नुहुन्थ्यो होला? तपाईं उहाँको धार्मिकताको नाप बराबर भेटिनुहुन्थ्यो होला कि त्यसभन्दा घटी? प्रत्येक व्यक्ति कस्तो हुनुपर्ने हो भनेर निर्धारण गर्ने परमेश्वरको सिद्धताको मानदण्ड नै येशू ख्रीष्ट हुनुहुन्छ।

ख्रीष्टको दाँजोमा हामी कोही पनि खासै “अग्‍लो” छैनौं! भलिबल आयोजकलाई सम्झना गर्नुहोस्। तिनका अनुसार साँढे पाँच फिट भन्दा होचो कोही पनि खेलमा भाग लिन नपाइने थियो। परमेश्वरका अनुसार येशू ख्रीष्टको बराबरीमा नआउने कोही पनि स्वर्ग जान सक्दैन! यसको मतलब हामी कोही पनि स्वर्गका निम्ति योग्य छैनौं किनकि हामी सबै नै नापभन्दा घटी छौं! तरैपनि हामी सबै यसरी “होचो” ठहरिनेछौं भनेर परमेश्वर जान्नुहुन्थ्यो अनि त्यसैले उहाँले मुक्ति एउटा यस्तो योजना तयार गर्नुभयो जसद्वारा विश्वास गर्ने पापीहरू ख्रीष्ट जत्तिकै धर्मी ठहरिन सक्दछन् ( हेर्नुहोस १ यूहन्ना ३:७ — “जसरी उहाँ पनि धर्मी हुनुहुन्छ”)।

रोमी ३:२३ लाई दर्शाउने अरु उदाहरणहरू। उफ्रेर कोशी कटाउने: मानौं सबै मानिसहरूलाई उफ्रेर कोशी नदी कटाउनुपर्ने काम दिइयो। कुनै खेलाडी २० वा बढी फिटसम्म उफ्रन सक्‍ला। कुनै बुढी आइमाई एक फिटसम्म मात्र उफ्रन सक्‍ला। खेलाडीले बुढी आइमाईलाई भन्न सक्छ, “वाह! म तपाईंभन्दा पर उफ्रें।” तर बुढी आइमाईले यसरी जवाफ दिनेथिई, “हो, तर हामी दुवैले निशाना चुकायौं र हामी दुवै पुग्‍नुपर्ने ठाउँसम्म पुग्‍न सकेनौं र नापभन्दा घटी भयौं।” हवाइजहाजहरू: पहाडमा गएर हवाइजहाजहरू ठोक्किएको कुरालाई विचार गरौं। एउटा हवाइजहाज पहाडको फेदमा ठोक्किएर नष्ट भएछ, अर्को पहाडको बीचतिर ठोक्किएर नष्ट भएछ अनि अझ अर्कोचाहिँ पहाडको टुप्पाको पाँच फिट मुनि ठोक्किएर नष्ट भएछ, तर सबै नै ठोक्किएर नष्ट भए! कुनैकुनै अरुभन्दा माथि पुगे त सबै नै पहाडको नापभन्दा घटी भए! सवाल, तपाईं अरुभन्दा कम पापी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको होइन। कुरा यो हो कि तपाईंले जतिसुकै असल जीवन जिउनुभएको भए तापनि तपाईं जस्तो हुनुपर्ने थियो त्यसभन्दा घटी नै हुनुभएको छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ३:९-२०

रोमी ३:९-२०

 

परमेश्वरको न्यायिक फैसला: दोषी!

 

रोमी ३:९

नयाँ खण्डको रूपरेखा

  1. आरोप (रोमी ३:९) — सबै पापका वशमा छन्
  2. अभियोग (रोमी ३:१०-१८) — कानूनी कारवाही गर्न सक्‍ने अधिकारीद्वारा एउटा व्यक्तिलाई कुनै अपराधका निम्ति आरोप लगाएर लेखिएको औपचारिक दोष-पत्रलाई अभियोग भनिन्छ। यहाँचाहिँ उक्त अधिकारी परमेश्वर स्वयं हुनुहुन्छ।
  3. फैसला (रोमी ३:१९) — दोषी!!!

“तब” = तसर्थ। यसले रोमी ३:२ लाई इङ्गित गर्दछ। यहूदीलाई ठूलो लाभ थियो, त के यस कुराले उसलाई अन्यजातिभन्दा असल बनाउँछ त? अहँ!

“हामी” — (यस पदको पहिलो “हामी”); यहाँ पावलले आफूलाई यहूदीहरूसँगै एउटै समूहमा हालेको छ र पापको वशमा रहेका “सबै’ सँग आफूलाई पनि नम्रतापूर्वक समेटेको छ।

कतिजना पापी छन्? — सबै (रोमी ३:९,१२,१९,२३)
कतिजना धर्मी छन्? — कोही छैन (रोमी ३:१०-१२)

यहूदी र अन्यजाति दुवै एउटै डुङ्गामा छन् (अनि डुङ्गाचाहिँ डुब्दै-डुब्दै गइरहेछ!)।

“पहिल्यै हामीले…दोष लगाइसकेका छौं” — रोमी अध्याय १ र २ मा पावलले अन्यजाति र यहूदी दुवै नै पवित्र परमेश्वरका सामु दोषी छन् भनेर प्रमाणित गरेर देखाइसकेका छन्।

“यहूदी र ग्रीकहरू [अन्यजातिहरू]” — यसले सबैलाई समेट्छ!

“पापको वशमा” — पापको दोष मुनि, पापको पकड मुनि र पापले ल्याउने दण्ड र इन्साफको मुनि

रोमी ३:१०

“जस्तो लेखिएको छ” — गलाती ३:२२ सँग दाँज्नुहोस्। १० देखि १८ पदहरूमा पावलले पुरानो नियम शास्त्रबाट उद्दरण गर्दैछन्। पावलले उल्लेख गरेका पुरानो नियमका खण्डहरू यहाँ सूचित गरिन्छ:

रोमी ३:१०-१२ — भजनसङ्ग्रह १४:१-३ र ५३:१-३ बाट
रोमी ३:१३ — भजनसङ्ग्रह ५:९ र १४०:३ बाट
रोमी ३:१४ — भजनसङ्ग्रह १०:७ बाट
रोमी ३:१५-१७ — यशैया ५९:७-८ बाट (साथै हेर्नू: यशैया ४८:२२)
रोमी ३:१८ — भजनसङ्ग्रह ३६:१ बाट

मानिसको हृदयको भयङ्कर भ्रष्टता र मानिसको भयङ्कर पापी अवस्थाको बारेमा पुरानो नियमले प्रस्टै बताएको छ भन्ने कुरा माथिका खण्डहरूबाट बुझ्न सकिन्छ।

रोमी ३:१० चाहिँ भजनसङ्ग्रह १४:१-३ र ५३:१-३ बाटको उद्दरण हो। भजनसङ्ग्रह १४:२ लाई विचार गर्नुहोस् — “परमप्रभुले स्वर्गबाट…हेर्नुभयो”। परमेश्वरको दृष्टिकोणबाट हेर्दाको कुरा छ यहाँ! १ शमूएल १६:७ सँग दाँज्नुहोस्। मानव हृदयलाई परमेश्वरले आफ्नो सर्वज्ञानी दृष्टिकोणबाट यसरी देख्‍नुहुन्छ! पद १० चाहिँ त्यसपछिका पदले बताएको कुराको निचोर हो। यी सब पदहरूले हामी कति अधर्मी छौं भन्ने कुरा देखाउँछन्। यी पदहरूले परमेश्वरबाटको मानव हृदयको रोग निदानलाई प्रस्तुत गर्दछन्! (उदाहरण: मैले आफ्ना हातलाई सकेसम्म राम्ररी धोऊँला रे, तर ती हातलाई मैले एउटा सुक्ष्मदर्शक यन्त्रमुनि राखेर हेर्न सकेँ भने सायद म छक्कै पर्छु हाल किनकि ती हातमा अनेक किटाणु र फोहोर मैला देखा पर्ने थिए। अरूको तुलनामा आफूलाई हेर्दा मैले आफ्नो जीवन शुद्ध र सफा देखूँला, तर परमेश्वरले हेर्नुहुँदा म त्यस्तो देखिन्न)।

रोमी ३:११

“बुझ्ने कोही छैन” — मानिसको आत्मिक अन्धापनाको बयान हो यो। परमेश्वरका कुराहरूको सम्बन्धमा र परमेश्वरको सत्यताको सम्बन्धमा मानिससँग कुनै समझ छैन (दाँज्नू: १ कोरिन्थी २:१४)।

“परमेश्वरलाई खोज्ने [यत्‍नसित खोज्ने] कोही छैन” — तर के यसले प्रेरित १५:१७ र हिब्रू ११:६ लाई खण्डन गर्दैन र, जसअनुसार मानिसहरूले परमेश्वरको खोजी गर्छन् भन्ने कुरा बुझिन्छ? रोमी ३:११ को मूल आशय यो हो: मानिसलाई यदि उसकै भ्रष्ट स्वभावमा छोडियो भने ऊ परमेश्वरतर्फ दगुरेर जानुको सट्टा परमेश्वरदेखि भागेर नै जानेछ। मानिसहरू स्वभावैले परमेश्वरको बाटोमा हिँड्छन् कि आफ्नै बाटोमा (यशैया ५३:६)? के मानिसहरू स्वभावैले ज्योतिलाई प्रेम गर्छन् र ज्यतिमा आउँछन् (यूहन्ना ३:१९-२०)? परमेश्वरले आदमलाई खोज्नुभएको थियो कि आदमले परमेश्वरलाई (उत्पत्ति ३:६-१०)? हराएका मानिसहरूले मुक्तिदातालाई खोज्छन् कि मुक्तिदाताले हराएका मानिसलाई खोज्नुहुन्छ (लूका १९:१०)? १ यूहन्ना ४:१९ को शैलीमा हामी भन्न सक्छौं, “हामी उहाँलाई खोज्दछौं किनकि उहाँले पहिले हामीलाई खोज्नुभयो!” १ यूहन्ना ४:१० को शैलीमा हामी भन्न सक्छौं, “परमेश्वरको खोजी गर्ने र बचाउने प्रेम यसैमा छ — हामीले परमेश्वरलाई खोज्यौं भनेर होइन, तर उहाँले हामीलाई खोज्नुभयो!” यूहन्ना १५:१६ को शैलीमा, “तिमीहरूले मलाई खोजेनौं, तर मैले तिमीहरूलाई खोजें।” मानिसको हृदयमा जुन अनुग्रही काम गर्न परमेश्वर चाहनुहुन्छ र गर्नुहुन्छ त्यसका लागि प्रत्येक विश्वासीले परमेश्वरलाई धन्यवाद दिनैपर्छ (हेर्नू: प्रेरित १६:१४; यूहन्ना ६:४४-४५,६५)। महान् शुरुआतकर्ता परमेश्वर हुनुहुन्छ। भजन लेखकको शब्दमा,

“भौंतारिएँ अँध्यारोमा एकलो
पर थियो दिनको उज्यालो
येशूले भेट्टाएर बनाए मलाई आफ्नो
र हटाइदिए अन्धकार मेरो

मैले उहाँलाई प्रेम गर्नु अघि, उहाँले मलाई प्रेम गर्नुभयो
मैले उहाँलाई भेट्टाउनु अघि, उहाँले मलाई भेट्टाउनुभयो
मैले उहाँलाई खोज्नु अघि, उहाँले मलाई खोज्नुभयो
येशूले मेरो वास्ता गर्नुभयो” — रोन ह्यामिल्टन

हामी उहाँका बिराना शत्रु हुँदा-हुँदै र पापमा मरेका हुँदा-हुँदै (एफेसी २:१-५), उहाँले हामीलाई खोज्नुभयो (रोमी ५:६-१०)। आदम परमेश्वरकहाँ नफर्केकै अवस्थामा, परमेश्वर उसकहाँ फर्कनुभयो र उसलाई बोलाउनुभयो, “तिमी कहाँ छौ?” (उत्पत्ति ३:९)। हराएकालाई खोज्ने महान् र अनुग्रही खोजकर्ता परमेश्वर स्वयं हुनुहुन्छ! के तपाईं उहाँद्वारा भेट्टाइनुभयो?

रोमी ३:१२

“बाटोदेखि भड्किएका” — दाँज्नू: यशैया ५३:६

“बेकम्मा” = भ्रष्ट, काम नलाग्‍ने। ग्रीकमा “अमिलो बन्नु” भन्ने शब्दबाट आएको शब्द हो यो, दूध फाट्दा त्यो अमिलो बन्न गएको जस्तै। फाटेको दूध खासै काम लाग्दैन।

“असल (दया) गर्ने कोही छैन” — “असल” वा “दया” भन्ने शब्द एफेसी २:७ र तीतस ३:४ मा प्रयोग भएको छ (परमेश्वर निर्दयीप्रति धेरै दयालु हुनुहुन्छ!)। दया पाउन बिलकुलै नालायकहरू प्रति परमेश्वर दयालु हुनुभयो। भ्रष्ट मानिसमा भलोपन वा दया भन्ने हुँदैन।

रोमी ३:१० मा पावलले बताएका कुराको सवालमा कुनै अपवाद छ त? अर्थात्, रोमी ३:१० ले नसमेटेको कोही छ त? यहाँ कसरी जोड दिइएको छ त्यसलाई ध्यान दिनुहोस् त: “कोही छैन…एउटै पनि छैन…कोही छैन…कोही छैन…एउटै पनि छैन”

रोमी ३:१३

“चिहान” — परमेश्वरले मानिसको घोक्रोभित्र हेर्नुहुँदा के देख्‍नुहुन्छ? दाँज्नू: मत्ती २३:२७

“छल” — परमेश्वरको दृष्टिकोणबाट हेर्दा सबै मानिसहरू छली र ढँटुवाहरू हुन्।

“काला साँपहरू” — मिश्रमा पाइने गोमन साँप (तिनका मुखबाट विषालु शब्द निस्कन्छन्)

रोमी ३:१४

दाँज्नू: मत्ती १२:३४-३५। जब कसैले ईश्वर-निन्दा बोल्छ वा सराप्छ हामीले यसरी जवाफ दिन सक्छौं, “हजुर, तपाईंको भित्री हृदय देखिँदैछ है!” विश्वासीको मुख निरन्तर आशिष (परमेश्वरका बारेमा उच्चारण गरिने असल-असल कुराहरू) ले भरपूर हुनुपर्छ। हेर्नू: भजनसङ्ग्रह १०३:१-२।

रोमी ३:१५

“रगत बगानउलाई” — यी मानिसहरू खूनी हुन् भनी बयान गरिएको छ (रगत बगाउनु भन्नाले बल प्रयोग गरी हत्या गर्नु भन्ने बुझिन्छ)।

  • ख्रीष्टको मृत्युलाई यसरी बयान गरिएको छ (हिब्रू ९:२२)
  • ढुङ्गा हानी हत्या गरिएका स्तिफनसको मृत्युलाई यसरी बयना गरिएको छ (प्रेरित २२:२०)
  • प्राण दण्ड दिने कार्यलाई यसरी बयान गरिएको छ (उत्पत्ति ९:६)

रोमी ३:१६

“विनाश” = बरबादी

“विपत्ति” = कष्टग्रस्त, अभागी अवस्था, रोमी ७:२४ मा प्रयोग भएकै शब्द – “हाय! म कति अभागी मानिस!” हामी सबैले यो कुरा स्वीकार गर्नै पर्छ।

रोमी ३:१७

उनीहरूले शान्तिको बाटो जानेका छैनन्। हरेक युग र पुस्ताको मानव युद्ध (कयिनले हाबिललाई मारेको दिनदेखि यता) को भयानक इतिहासलाई विचार गर्नुहोस्। लन्डनको अन्तराष्ट्रिय कानून समाज (Society of International Law) ले एक पटक प्रकाशित गरेको तथ्याङ्क अनुसार मानव इतिहासको विगत ४,००० वर्षभित्र ८,००० ओटा शान्ति सम्झौताहरू भए तापनि केवल २८६ वर्ष मात्र युद्धरहित रहे। गत ३०० वर्षमा यूरोपमा २८६ ओटा साना र ठूला युद्धहरू चले। मानव इतिहास युद्धको इतिहास रहेको छ र समय झन् झन् बिग्रँदो छ। यस घडी संसारमा कुन कुन युद्ध र द्वन्द्वहरू चलिरहेका छन्? जुनबेला मानिस परमेश्वरसित मिलापमा रहेको हुँदैन (दाँज्नू: रोमी ५:१), त्यतिबेला ऊ आफ्नो छिमेकीसँग युद्ध गरिरेहको हुन्छ।

रोमी ३:१८

समस्याको आधारभूत र मूल जड यो हो। परमेश्वरको निम्ति त्यहाँ कुनै आदर वा सम्मान नै छैन। मान्छे पुलिस वा न्यायधीशसँग डराउला तर सारा पृथ्वीका न्यायकर्ताका सामु उसलाई डरै छैन! स्वस्थ किसिमले परमेश्वरको डर मान्ने व्यक्ति त्यो हो जसले प्रभुलाई मन नपर्ने कुनै पनि काम गर्नदेखि डराउँछ। हेर्नू: हितोपदेश १:७ र ९:१० (परमेश्वरको डर नै “शुरुआत” हो। त्यो बिना प्रभुको बुद्धिरूपी घरभित्र पस्‍ने ढोकाबाट कोही पनि छिर्न सक्दैन)। परमेश्वरको डर उहाँको साँचो सन्तानको पहिचान हुनुपर्छ (फिलिप्पी २:१२; १ पत्रुस १:१७)।

रोमी ३:१९

“हरेक मुख चुप रहोस्” — मान्छेले के प्रतिवाद गरोस्! उसलाई बोल्ने ठाउँ नै छैन! आरोप मुताबिक आफू दोषी भएको कुरा मानिसले जान्दछ! धर्मी न्यायकर्ता परमेश्वरले सब कुरा जान्नुहुन्छ, सब कुरा देख्‍नुहुन्छ र जति पनि पाप र अपराध गरिए ती एक-एकलाई देख्‍ने साक्षी स्वयं परमेश्वर नै हुनुहुन्छ। हामीले के भन्न सक्छौं र?

“दोषी” — सारा संसार परमेश्वरको न्यायका सामु “दोषी” भन्ने फैसला सुनाइनका लागि ल्याइएको छ र उनीहरू त्यहाँ थरथर काम्दै चूप भई उभिरहेका छन्!

रोमी ३:२०

एकातिर त्यस्ता कुराहरू छन् जुन व्यवस्थाले गर्न सक्दैन र अर्कोतिर त्यस्ता काम छन् जुन व्यवस्थाले गर्न सक्छ। यस पदअनुसार व्यवस्थाले के गर्न सक्दैन? यसले पापी मानिसलाई धर्मी ठहराउन सक्दैन। तर यही पदले, व्यवस्थाले मानिसलाई पापको ज्ञान दिन सक्छ भन्ने कुरा सिकाउँछ। यसले मानिसको पूर्ण पापी अवस्थालाई देखाउन सक्छ। व्यवस्थाको उद्देश्यलाई एउटा ऐनासित तुलना गर्न सकिन्छ। दिनभरिको कामकाजको क्रममा मेरो अनुहारमा कतै फोहोर मैला लागेर पनि मैले चाल नपाएको हुन सक्छ। एउटा ऐनाले मेरो अनुहारमा मैला छ भन्ने कुरालाई देखाइदिने एउटा राम्रो काम पूरा गरिदिन सक्छ। त्यसले मेरो समस्या देखाइदिन सक्छ। तर ऐनाले मैला पखाल्न सक्दैन! त्यसैगरी, परमेश्वरको पवित्र व्यवस्थाले म (परमेश्वरका पवित्र आज्ञाहरू पालन गर्न नसक्‍ने) एउटा दोषी पापी हुँ भनेर देखाउन सक्छ, तर त्यसले मलाई मुक्ति दिन सक्दैन। त्यसले मलाई दोषी ठहराउन मात्र सक्छ र मलाई एकजना मुक्तिदाताको खाँचो छ भन्ने कुरा मात्र देखाउन सक्छ। जसरी ऐनाले तपाईंलाई साबुन र पानीतिर डोर्‍याउनुपर्ने हो, त्यसरी नै व्यवस्थाले तपाईंलाई परमेश्वरका थुमाकहाँ डोर्‍याउनुपर्ने हो जसले तपाईंलाई मुक्त गर्न (बचाउन) र तपाईंका पापहरू हटाउन सक्‍नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ३:१-८

रोमी ३:१-८

परमेश्वरको न्यायबाट उम्कने प्रयास!

परिचय

दोस्रो अध्यायमा पावलले एउटा कुरा दक्षतापूर्वक प्रमाणित गरिसकेका छन्, अर्थात् यहूदीलाई कुनै बाहना छैन र ऊ परमेश्वरको दण्डको आज्ञा र इन्साफमुनि पर्न योग्य भएको छ। अब तेस्रो अध्यायमा के पाउँछौं त? यहाँ यहूदीले आफू उम्कनलाई अन्तिम प्रयास गरेको पाउँछौं, अर्थात् उसले न्यायबाट उम्कनलाई अब तर्क वितर्क गर्दछ! हिजोआज पनि यस्तै हुने गर्छ। जब हामी कसैलाई सुसमाचार सुनाउँछौं, र निजलाई उसको पापपूर्ण अवस्था स्पष्टै देखाउँछौं र उसलाई ख्रीष्टको आवश्यकता भएको देखाउँछौं, त्यतिबेला उसले जवाफमा परमेश्वरको न्यायबाट उम्कनलाई प्रायः विभिन्न तर्क वितर्क गर्न थाल्छ (जस्तै, “येशूको बारेमा सुन्दै नसुनेकाहरूलाई के हुन्छ नि?” “परमेश्वर यदि प्रेमिलो हुनुहुन्छ भने उहाँले कसैलाई नरकमा पठाउने काम कसरी गर्न सक्‍नुहोला र?” आदि-इत्यादि)।

रोमी ३:१-८

  1. त्यसो हो भने ता यहूदीलाई के लाभ रहेछ र? वा खतनाबाट के फाइदा रहेछ र?
  2. हर प्रकारले धेरै नै; विशेष गरी यो, कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए।
  3. यसकारण यदि कसै-कसैले विश्वास गरेनन् भने के भयो त? के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउनेछ र?
  4. त्यस्तो नहोस्! तर परमेश्वर सत्य ठहरिऊन्, र हरेक मानिस झूट; जस्तो लेखिएको छ: ‘तपाईं आफ्ना वचनहरूमा धर्मी ठहरिनुहुनेछ, र तपाईंको न्याय हुँदा विजयी बन्नुहुनेछ।’
  5. तर यदि हाम्रो अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भने हामी के भनौं त? (म मानिसको रीतिअनुसार बोल्दछु।)
  6. त्यसो नहोस्; नत्रभने कसरी परमेश्वरले संसारको न्याय गर्नुहुनेछ त?
  7. किनकि मेरो झुटको कारणले परमेश्वरको सत्यता, उहाँकै महिमाका निम्ति झन् प्रशस्त हुन्छ भने, किन अझै पनि म पापीझैं न्यायमा पर्दछु त?
  8. अनि खराब कुरा गरौं, र असल कुरा निस्कोस्’ भनी हामी किन नभनौं? आखिरमा हामीलाई त्यस्तै अपमानपूर्ण दोष लगाइएकै छ, र कतिले ‘यिनीहरूले भन्छन् नै’ भनी ठोकुवा दिएर भनेका पनि छन्। यस्ताहरूले दण्ड पाउनु उचित हो।

रोमी ३:१

“त्यसो हो भने ता” = तसर्थ। यस शब्दले हाम्रो ध्यानलाई फेरि दोस्रो अध्यायतिर लैजान्छ जहाँ यहूदीहरू तीनओटा कुराहरूमा भरोसा गर्दैछन् भन्ने कुरा हामीलाई देखाइएको थियो:

  1. उनीहरूसँग व्यवस्था छ भन्ने कुरामा
  2. उनीहरू खतना गरिएका छन् भन्ने कुरामा
  3. उनीहरू अब्राहामका सन्तान हुन् भन्ने कुरामा

पावलले दोस्रो अध्यायमा प्रस्टै के देखाए भने –

  1. व्यवस्था साथमा हुँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:१३)
  2. खतना गरिँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:२५)
  3. अब्राहामको सन्तान हुँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:२८-२९)

यी कुराहरूलाई विचार गरेपछि यहूदी जनलाई प्रश्न उठ्नु स्वभाविक नै हुन्छ जुनचाहिँ रोमी ३:१ मा व्यक्ति गरिएको छ — “त्यसो हो भने ता यहूदीलाई के लाभ रहेछ र?” आदि। के फाइदा रहेछ त? यदि हामी बाँकी संसारजस्तै दण्डको आज्ञामुनि पर्छौं भने यहूदी हुनुमा के लाभ रहेछ त? अन्यजातिहरू जस्तै हामी पनि परमेश्वरको न्यायमुनि पर्छौं भने यहूदी हुनुमा के लाभ रहेछ त? फाइदा खोई? के लाभ भयो? यदि व्यवस्था साथमा भएर, खतना गरिएर, अब्राहामको सन्तान भएर मलाई कुनै लाभ हुँदैन भने यहूदी भएर मलाई के लाभ रहेछ त?

रोमी ३:२

“हर प्रकारले धेरै नै” — यहूदीलाई लाभहरू धेरै थिए। अन्य कुनै पनि जातिलाई नदिइएका सौभाग्यहरू यहूदी जातिलाई दिइयो। पावलले तीमध्ये कतिलाई रोमी ९:४,५ मा सूचीत गरेका छन् तर यस खण्डमा भने उनले यहूदी भएको हैसियतले हुने सबैभन्दा ठूलो र प्रमुख लाभलाई उल्लेख गर्छन्: विशेष गरी यो, कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए!

यहूदीहरूको जिम्मामा परमेश्वरको वचन सुम्पिएको थियो। उनीहरूले परमेश्वरको वचनको भण्डारी हुने सौभाग्य पाए (हेर्नू: व्यवस्था ४:७-८ र भजनसङ्ग्रह १४७:१९-२०)।

“सुम्पिए” — तेस्रो पदको “विश्वास” भन्ने शब्द र “सुम्पिए” भन्ने शब्द ग्रीक भाषाको एउटै क्रियापदबाट आएका हुन्। अक्षरशः यसलाई यसरी अनुवाद गर्न सकिन्छ – ” उनीहरूलाई परमेश्वरका वचनहरूका साथ विश्वास गरियो” अथवा अर्को तरिकाले भन्दा, “परमेश्वरको वचन उनीहरूको विश्वासमा छोडियो।” एक पटक हामी आ-आफ्नै विषयमा विचार गरौ न: तपाईंसँग बाइबल छ भने तपाईंलाई ठूलो लाभ छ, ठूलो सौभाग्य छ र ठूलो जिम्मेवारी छ। बाइबल आफूसँग हुनु भनेको एउटा गम्भीर जिम्मेवारी हो। हामीसँग सत्यता छ भने हामी आफूसँग भएको सत्यततालाई लिएर केही न केही गर्न जिम्मेवार छौं। कतिका घरमा बाइबल छन् तर ती कहिल्यै खोलिँदैनन्, प्रयोग गरिँदैनन्। यहूदीहरूलाई परमेश्वरको वचन सुम्पिएको थियो त्यसैले उनीहरू आफूसँग भएको लिखित प्रकाशलाई विश्वास गर्न र त्यसको आज्ञा पालन गर्न जिम्मेवार थिए। के उनीहरू उक्त जिम्मेवारीमा विश्वासयोग्य भए (हेर्नू: रोमी ३:३)?

रोमी ३:३

परमेश्वर विश्वासयोग्य हुनुभएन भनेर यहूदीहरूले उहाँलाई दोष लगाइरहेका थिए भन्ने देखिन्छ: “प्रभु, तपाईंले हामीलाई आफ्नो वचन दिनुभयो र तपाईंले हामीलाई एउटा जातिको रूपमा थुप्रै प्रतिज्ञाहरू दिनुभयो, तर अब तपाईं हामीप्रति किन विश्वासयोग्य नहुनुभएको?” तिनीहरूले परमेश्वरलाई विश्वासयोग्य नभएको दोष लगाउँदै थिए: “परमेश्वरले हामीलाई चुन्नुभयो र अब आएर हामीलाई दण्डको आज्ञा पो दिनुहुन्छ!” तर वास्तवमा को विश्वासयोग्य भएको थिएन भन्ने कुरा पावलले तेस्रो पदमा देखाउँछन्!

“विश्वास” = विश्वासयोग्यता

“के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई व्यर्थको तुल्याउनेछ? अहँ! के मानिसमा भएको विश्वासहीनताले परमेश्वरमा भएको विश्वस्नीयतालाई खारेज गर्छ? अहँ!” परमेश्वरले उनीहरूलाई आफ्नो वचन दिनुभयो र विश्वस्नीयता कायम नराख्नेहरू त उनीहरू थिए। परमेश्वर चुक्नुभएन! बाइबल चुकेन! चुकेका त उनीहरू थिए! मोतीलाई सुङ्गुरका सामु फ्याँक्न सकिन्छ र तिनीहरूले त्यसलाई हिलो कुल्चिमिल्ची गर्ला तर ती अझ पनि मोती नै रहिरहन्छन्। त्यस्तै गरी यहूदीहरूले परमेश्वरको वचनमाथि जताततै कुल्चिमिल्ची गरे पनि परमेश्वरको वचन बदलिँदैन र तिनका प्रतिज्ञाहरू बदलिँदैनन् र उहाँको विश्वस्नीयतालाई असर पार्दैन (हेर्नू: २ तिमोथी २:१३)।

रोमी ३:४

रोमी ३:३ मा उठाइएको प्रश्‍नलाई जोडदार यसरी जवाफ दिइएको छ — “त्यस्तो नहोस्!” पावलले यस उद्‍गारलाई रोमीको पत्रमा बारम्बार प्रयोग गर्छन् (३:३१; ६:२; ६:१५; ७:७ आदि)। यसले कडासँग हुँदैन भन्दैछ।

तेस्रो पदमा “कसै-कसैले” भन्ने शब्दलाई पनि ध्यान दिनु आवश्यक छ। “सबैले” नभएर “कसै-कसैले” विश्वास गरेनन्। सबै यहूदीहरू विश्वासघाती थिएनन्। त्यहाँ कतिजना थिए (जस्तै पावल, पत्रुस, याकूब आदि) जसले परमेश्वरको वचनका प्रतिज्ञाहरूलाई विश्वास गरे। तर त्यहाँ अरूहरू थिए जसले विश्वास गरेनन्। बहुसङ्ख्यक यहूदीहरूले येशूलाई मसीहको रूपमा विश्वास गरेनन्।

रोमी ३:४

मानिसले झूट बोल्न सक्छ तर यसले परमेश्वरलाई झूटो तुल्याउँदैन! मानिस विश्वासघाती बन्न सक्छ तर यसले परमेश्वरलाई विश्वासघाती बनाउँदैन! विश्वभरीका मानिसले विकासवादी सिद्धान्तलाई विश्वास गरे पनि त्यो सत्य बन्दैन। परमेश्वर र परमेश्वरको वचन (विशेष गरी उत्पत्ति १-२) नै सत्य रहन्छ र सबै मानिस झूटा हुन्छन्!

यस पदमा पावलले भजनसङ्ग्रह ५१:४ बाट उद्दरण गर्छन् (जहाँ दाऊदले आफ्नो व्यभिचारको पापपछि गरेको गम्भीर पश्चात्तापको प्रार्थना पढ्न सकिन्छ):

“यस कारणले कि तपाईं बोल्नुहुँदा धर्मी र न्याय गर्नुहुँदा सच्चा ठहरिनुहुन्छ।” प्रभु तपाईंले जे भन्नुहुन्छ त्यो सही हुन्छ!

“र तपाईंको न्याय हुँदा विजयी बन्नुहुनेछ” = प्रभु, तपाईं सधैं विजयी हुनुहुन्छ। तपाईंले भनेको सधैं सही हुन्छ र हरेक मुद्दा तपाईंले नै जित्नुहुनेछ!

दाऊदको पश्चात्तापको प्रार्थनाका यी पङ्क्तिहरूलाई पावलले यहाँ प्रयोग गर्नु बुद्धिमानी कुरा थियो। यहूदीहरूले दाऊदलाई जत्तिकै अरू कसैलाई उच्च आदरले हेर्ने गर्दैनथे किनकि उनी इस्राएलका ईश्वर-भक्त राजा थिए जसले धेरै भजनहरू लेखेका थिए। दाऊदले समेत विश्वासघात गरेको कुरालाई पावलले यहाँ स्मरण गराउँदैछन्! दाऊद समेत एक व्यभिचारी र हत्यारा भए! उनले बाथशेबासित व्यभिचार गरे र युद्धभूमिमा तिनकी पतिको हत्या गराए। दाऊदले आफ्नै प्रार्थनामा भन्दै थिए, “प्रभु, तपाईं ठीक हुनुहुन्छ र म बेठीक छु!” म दोषी छु र मलाई परमेश्वरको कृपा चाहिन्छ भन्ने कुरा दाऊद जान्दथे।

यदि दाऊद दोषी थिए र दण्डको आज्ञामुनि थिए भने बाँकी सबै यहूदीहरू दोषी नहुने त कुरै भएन। कुनचाहिँ यहूदीले आफू दाऊदभन्दा असल भएको दाबी गर्ने आँट गर्न सक्थ्यो र? [टिप्पणी: चौथो अध्यायमा पुगेपछि दाऊद कसरी धर्मी ठहरिन सके भन्ने कुरा पावलले बताउनेछन्!]

रोमी ३:५

यहूदीहरूले परमेश्वरलाई विश्वासघात गरेको दोष मात्र नभएर यहाँ पाँचौं पदमा अधर्म (अन्याय) को दोष पनि लाउँदै थिए। “प्रभु, तपाईंले हामीलाई इन्साफ गर्नु न्यायोचित कुरा होइन।” (के आज पनि मानिसहरू यस्तै कुरा गर्छन्?) “प्रकट गर्छ” = प्रकाशमा ल्याउनु, ठूलो बनाउनु पावलले आफ्नो प्रश्नको जवाफ फेरि आफै दिन्छन् — “त्यसो नहोस्!” — हेर्नू: पद ६।

यहाँ प्रस्तुत गरिएको तर्कलाई विचार गरौं: मानिसको अधर्मले परमेश्वरको धार्मिकता अझ बुझ्न मद्दत गर्छ। दाँजोमा परमेश्वरको धार्मिकता अझ राम्ररी देख्‍न सकिन्छ। तपाईंको जुत्ता फोहोर छ जस्तो लाग्दैन भने त्सलाई हिलैहिलो लागेको जुत्ताको छेउमा राखी हेर्नुहोस्! आफू स्वस्थ छु जस्तो लाग्दैन भने केही बेर अस्पतालभित्र डुलेर हेर्नुहोस्! आफू पापी छु जस्तो लाग्दैन भने परमेश्वरको पवित्रताको एक झलक लिनुहोस् (जसरी यशैयाले यशैया ६:१-५ मा पाए)। ईश्वरीय धार्मिकता मानिसको अधर्मको अँध्यारो पृष्ठभूमिको दाँजोमा अझ राम्ररी चम्किलो देखा पर्छ। परमेश्वरको विश्वासयोग्यता मानिसको अविश्वसनीयताको अँध्यारो पृष्ठभूमिको तुलनामा अझ राम्ररी चम्किलो देखा पर्छ।

अब, तर्क यसरी गरिएको छ: “यदि मैले आफ्नो अधर्मले परमेश्वरको धार्मिकतालाई ठूलो तुल्याएको छु भने, कसरी त परमेश्वरले मलाई न्याय गर्न सक्‍नुहुन्छ? यदि मेरो पापले परमेश्वरलाई अझ धर्मी देखाउँछ भने परमेश्वरले मलाई कसरी मेरो पापको खातिर दोष लाउन सक्‍नुहुन्छ? मेरो पाप त परमेश्वरको लाभ हो! मेरो अधर्मले परमेश्वरलाई लाभ हुन्छ! मेरो पापले परमेश्वरलाई राम्रो देखाउँछ! मेरो अधर्मले परमेश्वरलाई धर्मी देखाउँछ! मेरो अविश्वसनीयताले परमेश्वरलाई विश्वासयोग्य देखाउँछ! त्यसैले उहाँको धर्मी चरित्रलाई ठूलो तुल्याएर, बढाएर मैले परमेश्वरलाई वास्तवमा उहाँको भलाइ गरेको छु! त्यसैले मेरो पापले परमेश्वरलाई यति लाभ हुँदो रहेछ भने परमेश्वरले मलाई मेरो पापको खातिर कसरी न्याय गर्न सक्‍नुहुन्छ र? त्यसैले यदि परमेश्वरले मलाई उहाँलाई सेवा पुर्‍याएको बापत न्याय गर्नुहुन्छ भने उहाँ अधर्मी ठहरिनुहुनेछ!”

“म मानिसको रीतिअनुसार बोल्दछु” — पावलले केवल अरूहरूका तर्कलाई प्रस्तुत गर्दै थिए।

रोमी ३:६

परमेश्वर संसारको न्याय गर्नेवाला हुनुहुन्छ र उहाँले सो गर्नु न्यायसङ्त कुरा हो भनी यहूदीहरू जान्दथे! तर्क यस प्रकारको छ: “यदि मैले संसारको न्याय गर्नु सही हो भने मैले तिमीहरूलाई न्याय गर्नु पनि सही हो (किनकि तिमीहरूको संसारकै हो!)”

यहूदीहरूले प्रयोग गरिरहेको खोक्रो तर्कलाई संसारले पनि प्रयोग गर्न सक्छन्। जस्तै, यूहन्ना ३:१६ लाई विचार गर्नुहोस्: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो…” दुष्ट मानिसहरूले यसरी भन्न सक्छन्, “हे परमेश्वर, हामीले जति पाप गर्‍यौं त्यति नै तपाईंको प्रेमको महिमा हुन्छ। तपाईंले हामीलाई किन न्याय गर्नुहुन्छ त? हाम्रो दुष्टताले तपाईंको प्रेमलाई कति राम्रो गरी देखाउँदछ!” यस्तै टेढा र भ्रष्ट विचारको शैलीमा ईश्वर-निन्दा गर्ने एउटा यस्तो ब्यानर प्रयोग समेत भेटिएको थियो: “ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो…हामी उहाँलाई निराश नपारौं!”

रोमी ३:७

त्यस्तै खालको तर्क यहाँ पनि प्रयोग गरिएको छ। “यदि मेरो झूट (विश्वासघात) ले परमेश्वरको सत्यतालाई ठूलो बनाउँछ भने र मेरो झूटले परमेश्वरको महिमा हुन्छ भने परमेश्वरले मलाई किन न्याय गर्नुहुन्छ?”

हुन त यो सत्य कुरा हो कि परमेश्वरले मानिसको दुष्टता र क्रोधलाई आफ्नो नाउँको महिमाको लागि प्रयोग गर्न सक्‍नुहुन्छ (भजनसङ्ग्रह ७६:१०)। फारोजस्तो एक दुष्ट र कठोर हृदय भएको व्यक्तिले पनि परमेश्वरलाई महिमा ल्याउन सक्छ (हेर्नू: रोमी ९:१७,१८,२१-२३)। फारोले पनि उही बाङ्गो तर्कको प्रयोग गर्दै यसरी भन्न सक्थे, “प्रभु, मेरो न्याय गर्न तपाईंलाई अधिकार छैन। मैले त तपाईंलाई सेवा पो पुर्‍याएको छु! मैले तपाईंलाई आफ्नो नाउँको महिमा गर्न मद्दत पुर्‍याएको छु! तपाईं मप्रति कति धेरै सहनशील हुनुभयो र कसरी तपाईंको सामर्थ्य प्रकट भयो भन्ने कुरा मैले गर्दा सबैले देख्‍न पाए। मैले तपाईंलाई विरोध नगरेको भए तपाईंले ती सामर्थी चिन्ह र आश्चर्यकर्महरू मिस्रदेशमा प्रकट गर्न सक्‍नुहुनेथिएन!” मानिसको पापले परमेश्वरलाई महिमा ल्याउन सक्छ तर यसको मतलब मानिस न्यायबाट बञ्चित हुन्छ भन्ने कदापि होइन।

द्रष्टव्य: परमेश्वरले आफ्नो सृष्टिमा पाप र दुष्टतालाई छिर्न किन अनुमति दिनुभयो? यस प्रश्नको जवाफ मरणशील मानिसले पूर्णरूपमा कहिल्यै पनि बुझ्न सक्‍नेछैन। एउटा कारण यो हुन सक्छ: परमेश्वर मूख्यतयाः आफूलाई चिनाउन (उहाँ कति महान् र महिमित हुनुहुन्छ भनेर प्रकट गर्न) चाहनुहुन्छ। परमेश्वरको अद्भुत चरित्रका कतिपय पक्षहरू त्यस्ता छन् जुनचाहिँ पाप नभएको अवस्थामा कहिल्यै पनि जान्न सकिने थिएन — उहाँको कृपा, उहाँको प्रेम, उहाँको सहनशीलता, उहाँको अनुग्रह, उहाँको न्याय, इत्यादि)। जस्तै, यदि क्षमा पाउन खाँचो भएका पापीहरू नै नभएका भए परमेश्वरले आफू पापीहरूलाई क्षमा गर्नलाई कति कृपालु हुनुहुन्छ भन्ने कुरा कसरी प्रकट गर्न सक्‍नुहुन्थ्यो र?

रोमी ३:८

“खराब कुरा गरौं, र असल कुरा निस्कोस्” — उनले यस्तो कुरा सिकाउँछन् भनेर पावललाई झूटो आरोप लगाइँदै थियो। किन? किनकि मुक्ति कुनै पनि कामबिना केवल अनुग्रहले पाइन्छ भनी पावलले सिकाउँथे। सबभन्दा दुष्ट पापीले समेत, उसले कुनै असल काम नगरीकनै, मुक्ति पाउन सक्छ भनी पावलले सिकाउँथे (हेर्नू: रोमी ३:२८; ४:१-५)। पावलको शिक्षालाई सजिलै कसरी टेढामेढा पार्न सकिन्थ्यो भन्ने कुरा हामीले बुझ्न सक्छौं — “हामी मनखुशीले जीवन बिताऔं र दुष्ट काम गरौं किनकि मुक्ति पाइने अनुग्रहले त हो नि। हामीले जति धेरै पाप गर्छौं उति नै उहाँको अनुग्रह चम्किलो हुन्छ त। हामी झन् झन् पाप गरौं किनकि यसले उहाँको अनुग्रहलाई झन् झन् ठूलो बनाउँछ।” यो चाहिँ अनुग्रहले मुक्ति पाइन्छ भन्ने सत्य शिक्षालाई बङ्ग्याउने दुष्प्रयास थियो। वास्तवमा परमेश्वरको अनुग्रहले यसको ठीक विपरित कुरा सिकाउँछ (हेर्नू: तीतस २:११-१२)!

“खराब कुरा गरौं, र असल कुरा निस्कोस्” — असल लक्ष्यमा पुग्‍नलाई जस्तोसुकै उपाय अपनाए पनि हुन्छ (the end justifies the means) भन्ने दुष्ट र अबाइबलीय सिद्धान्तअनुसारको विचार हो यो। पावलले यस सिद्धान्तलाई बिलकुलै दोषी ठहर्‍याउँछन्: “यस्ताहरूले दण्ड पाउनु उचित (योग्य, न्यायसङ्गत कुरा) हो”। आज यो सिद्धान्त निकै व्यापक भएको छ। केही उदाहरणहरू यहाँ उल्लेख गरौं:

  1. साम्यवाद वा कम्युनिस्ट सिद्धान्त (COMMUNISM) — कम्युनिस्ट नैतिकताको सिङ्गो प्रणाली यही सिद्धान्तमा आधारित छ। उनीहरू खराब कामप्रति आपत्ति जनाउँदैनन् यदि असल लक्ष्यमा पुगिन्छ भने (“असल” = कम्युनिस्ट उद्देश्यको विस्तार र प्रगति)। झूट बोल्नु, ठग्‍नु, हत्या गर्नु समेत उनीहरूका लागि कुनै ठूला कुरा होइनन् यदि तीबाट कम्युनिस्ट उद्देश्य हासिल हुन्छ भने। उनीहरूको उद्देश्यलाई वाधा दिने कुरा जति “पाप” भए (सत्य बोल्नु पनि पाप हुन सक्छ यदि सो गर्दा कम्युनिजमको लक्ष्यलाई वाधा पुर्‍याउँछ भने)।
  2. शुरुका इसाईहरू — मानौं उनीहरूले यसरी तर्क गरे रे: “म ख्रीष्टलाई इन्कार गर्छु ताकि मलाई रोमीहरूले मृत्युदण्ड नदेऊन् अनि म थप दिनहरू बाँच्न सक्‍नेछु र अरूहरूलाई प्रभुको बारेमा बताउन सक्‍नेछु!”
  3. स्कूल — “यो जाँचमा म चोर्नेछु र मेरो पढाइ पूरा गर्न सक्‍नेछु र डिग्री पाउनेछु र अन्तमा म डाक्टर बन्न सक्‍नेछु र त्यसपछि मैले धेरैजनाको ज्यान बचाउन सक्‍नेछु!”
  4. चोरी — “यो पैसा म चोर्नेछु र मेरो भोको परिवारलाई खुवाउन सक्‍नेछु ताकि उनीहरू नमरून्।” ख्रीष्टियन तरिका: “प्रभु, तपाईंको दृष्टिमा जे खराब छ त्यो मैले गर्नु हुन्न र मैले दस आज्ञा उल्लङ्घन गर्नु हुन्न। म चोर्नलाई इन्कार गर्छु किनकि तपाईंले भन्नुभएको छ, “तिमीले चोरी गर्नेछैनौ।” कसरी हुन्छ मेरो भोको परिवारको खाँचो पूरा गरियोस् भनी म तपाईंमाथि भरोसा गर्नेछु र म आफैले गर्न सक्‍ने जुनसुकै पनि न्यायसङ्गत उपाय म अपनाउनेछु।”)
  5. सुसमाचार प्रचार — “जसरी हुन्छ, आत्माहरू जित्‍नुपर्छ!” “म ख्रीष्टका शत्रुहरूसँग समेत मिलेर काम गर्नेछु र उनीहरूले मेरा क्रुसेडहरूलाई स्पन्सर गरिदिनेछन्, तब मैले धेरैलाई सुसमाचार प्रचार गर्न पाउनेछु!” [यो इभान्जेलिकल एकतावाद (evangelical ecumenism) को भूल हो। हेर्नू: पोपसित हातेमालो] “संसारलाई ख्रीष्टमा ल्याउनलाई हामी संसारजस्तै हुनुपर्छ र मध्यम मार्ग अपनाएर आफ्ना मापदण्ड (standards) हरूलाई सम्झौता गर्नुपर्छ।” होइन, हामीले हराएकाहरूको मुक्तिका लागि आफ्नै प्राणहरू वलिदान दिन समेत तयार हुनुपर्छ, तर हामीले परमेश्वरको आज्ञालाई तोड्ने जस्तो मूल्य चुकाउने काम कहिल्यै गर्नहुँदैन। हाम्रो सिद्धान्त यस्तो हुनुपर्छ: “परमेश्वरप्रति विश्वासयोग्य बनौं र उहाँको वचन मान्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हौं”। २ तिमोथी २:५ मा हामीलाई स्मरण गराइएको छ — हामीले परमेश्वरकै तरिकाले होडबाजी गर्नुपर्छ र उहाँकै नियमावलीको पुस्तक (बाइबल) लाई पछ्याउनैपर्छ! लक्ष्य हासिल गर्नलाई अपनाइने तरिका कस्तो छ भन्ने कुरा परमेश्वरलाई ज्यादै महत्त्वपूर्ण लाग्छ र हामीलाई पनि महत्त्वपूर्ण लाग्‍नुपर्ने हो!

याद राख्‍नुहोस्:

ठीक गर्छु भनेर बेठीक गर्नु कहिल्यै ठीक होइन!

हाम्रो मनोभाव सधैं यस्तो हुनुपर्छ: “प्रभु, जतिसुकै साह्रो वा गाह्रो परे तापनि म सही कुरा गर्नलाई नै रोज्नेछु अनि बाँकी परिणाम तपाईंकै हातमा छ भन्दै तपाईंमा भरोसा गर्नेछु। तपाईंले सबै कुरा ठीक ठाक मिलाउनुहुनेछ।” केवल ठीक मात्र गर्नुहोस् र बाँकी परिणामको लागि परमेश्वरमाथि भरोसा गर्नुहोस्!!!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी २:१६-२९

रोमी २:१६-२९

 

रोमी २:१६

(यो वाक्य १२ पदकै अंश हो।)

“त्यो दिन” = ५ औं पद पढ्नुहोस्। यस पदले पनि यही दिनको बयान गर्दैछ।

“गुप्‍त कुराहरू” = लुकेका, छिपाएर राखिएका कुराहरू

न्याय सिद्धान्त #११ – न्यायकर्ताको नजरदेखि कुनै पनि कुराहरू लुकेका अथवा छिपाएर राखिएका हुँदैनन्

हिब्रू ४:१२-१३ र मत्ती १०:२६ सित तुलना गर्नुहोस्। प्रकाश २०:१२ बाट हामी सिक्दछौं: एक दिन पुस्तकहरू खोलिनेछन् र सबै गुप्‍त कुराहरू प्रकट गरिनेछन्। हामीले कुनै पनि समयमा सोचेका, बोलेका वा गरेका हरेक कुराको ठीक-ठीक लेखा परमेश्वरले राख्ने गर्नुहुन्छ।

“येशू ख्रीष्टद्वारा” = मानिसहरूको अन्तिम न्यायकर्ता अरू कोही हुनेछैन, केवल ख्रीष्ट स्वयं हुनुहुनेछ (यूहन्ना ५:२२,२७)। पिता परमेश्वरले सम्पूर्ण न्याय उहाँको पुत्रलाई सुम्पिनुभएको छ।

न्याय सिद्धान्त #१२ – येशू ख्रीष्ट अन्तिम न्यायकर्ता हुनुहुनेछ जसको सामुन्ने सबै मानिसहरू उभिनेछन्।

“मेरो सुसमाचार अनुसार” = सुसमाचार प्रचार गर्दा पावलले परमेश्वरको न्यायको बारेमा पनि प्रचार गर्दथे (रोमी १:१३-१८ र प्रेरित १७:३१)। परमेश्वरको न्यायको बारेमा केही नबताउने प्रचार सुसमाचारको सही प्रस्तुति होइन।

रोमी २:१७

पावलले यहूदीको सवालमा चर्चा गर्दैछन्, अर्थात् एउटा धर्मकर्म गर्ने व्यक्तिको सवालमा। रोमीको पुस्तकको अघिल्ला अध्यायहरूमा पावलको उद्देश्य थियो सबै मानिसहरू दोषी छन् र उनीहरूलाई मुक्तिदाताको खाँचो छ भनेर देखाउनु। (रोमी ३:९,१९,२३)। यस खण्डमा उनले धर्मकर्म गर्ने यहूदी दण्डको आज्ञामुनि छ भनेर देखाउन लाग्दैछन्।

टिप्पणी: धर्मकर्म गर्ने व्यक्तिहरू स्वधर्मी (आफैंलाई धर्मी ठहराउने) हुन्छन् र सामान्यतयाः तिनीहरूलाई उनीहरू परमेश्वरको सामु दोषी र अपराधी छन् भनेर देखाउनु एकदमै गाह्रो हुन्छ (तुलना गर्नुहोस् लूका ५:२९-३२; १८:९-१४)।

यी पदहरूमा चाबी शब्द = व्यवस्था (२:१७,१८,२०,२३,२५,२६,२६ पढ्नुहोस्)। यहूदीहरूको साथमा अन्यजातिहरूसित नभएको कुरा थियो, अर्थात् परमेश्वरको लिखित व्यवस्था। उनीहरूलाई दिइएको कुराका निम्ति उनीहरू जवाफदेही हुने भएकाले, यहूदीहरू यही व्यवस्थाद्वारा न्याय गरिनेछन् (रोमी २:१२)। पावलले उनीहरूलाई अगाडि नै बताएअनुसार, आफ्नो साथमा व्यवस्था भएर मात्र पुग्दैन, त्यसलाई सुनेर मात्र पुग्दैन, तर के पनि आवश्यक छ (रोमी २:१३)?

“यहूदी भनिँदछौ” = आफूहरू अब्राहामका सन्तान भएकोमा यी मानिसहरू निकै गर्व गर्थे (मत्ती ३:९; यूहन्ना ८:३३,३९ पढ्नुहोस्)। “हामी यहूदीहरू भएका हुनाले हामी अरू सबैजनाभन्दा उत्तम छौं। हामी परमेश्वरको चुनिएको वंश हौं!” कतिजना त उनीहरू यहूदी भएकोले नै स्वर्गमा निश्चय पुग्ने सोचाइ राखेका जस्तै देखिन्थे। तर परमेश्वरको वचनबाट यो स्पष्ट छ कि यहूदी हुँदैमा कुनै पनि व्यक्ति परमेश्वरको सामु धर्मी बन्दैन। बाहिरी यहूदी हुनु (शारीरिक र वंशाणुगत यहूदी हुनु) एउटा कुरा हो तर आत्मिक र भित्रबाटको साँचो यहूदी हुनु अर्कै कुरा हो (रोमी २:२८-२९ पढ्नुहोस्)।

“व्यवस्थामाथि भर पर्दछौ” = व्यवस्थामा आड लिनु, आराम लिनु, निर्धक्क भएर बस्नु। यस खण्डमा पावल उनीहरूको निर्धक्कतालाई तहसनहस पार्न चाहन्छन्! उनले तिनीहरूको मुनिबाट तिनीहरू आराम गरिरहेका शैयालाई स्वाट्ट थुत्‍न लाग्दैछन्।

“परमेश्वरमा गर्व गर्दछौ” = परमेश्वरमा गर्व गर्नु। “अरू सबै जातिरूले झूटा इश्वरहरू र मुर्तिहरूलाई पुज्दछन् तर हामी त एकमात्र सत्य परमेश्वरको उपासना गर्दछौं।”

रोमी २:१८

“उहाँको इच्छा जान्दछौ” – यहूदीहरूसँग परमेश्वरको वचन थियो र त्यसैकारण उहाँको इच्छा उनीहरूलाई थाहा थियो (लूका ८:२१ लाई मत्ती १२:५० सँग तुलना गर्नुहोस् जहाँ हामीले देख्न सक्छौं कि परमेश्वरको वचनको पालना गर्नु नै उहाँको इच्छा पालन गर्नु बराबर हो)। परमेश्वरको इच्छा जान्नु एउटा कुरा हो, तर परमेश्वरको इच्छा पूरा गर्नु विल्कुलै अर्को कुरा हो।

“उत्तम-उत्तम (श्रेष्ठ) कुराहरू मन्जुर गर्दछौ” — तिनीहरूसँग नैतिक भेदको तिखो ज्ञान थियो, के असल हो र के खराब हो, तिनीहरूले प्रस्टैसँग अन्तर छुट्याउन सक्थे। तर असल के हो भनेर जान्नु एउटा कुरा हो तर जे असल हो, त्यो गर्नु अर्को कुरा हो। टिप्पणी: विश्वासीहरूसँग पनि असल-खराब छुट्याउन सक्ने ठीक क्षमता हुनुपर्छ (फिलिप्पी १:९-१० सित तुलना गर्नुहोस्)।

“व्यवस्थाबाटको शिक्षा पाएकोले (सिकाइएकोले)” – परमेश्वरबाट प्रकट गरिएको सत्यताको सवालमा तिनीहरू कुनै हिसाबले पनि अनजान थिएनन्। तर कसैको साथमा परमेश्वरको पवित्र व्यवस्था हुँदैमा त्यसले उसलाई पवित्र बनाउँदैन! कसैको साथमा परमेश्वरको धर्मी आज्ञाहरू हुँदैमा त्सयले उसलाई धर्मी बनाउँदैन! रोमीको पुस्तकको चाबी प्रश्न यही हो: एउटा व्यक्ति पवित्र परमेश्वरका सामु कसरी धर्मी हुन सक्छ? यो व्यवस्थाको कामहरूले हुने होइन (रोमी ३:२० पढ्नुहोस्)।

रोमी २:१९-२०

“आफूमाथि भरोसा” – पावल यी मानिसहरूलाई कस्ता शब्दहरूले बयान गर्दैछन्, ध्यान दिनुहोस्: भर परिरहेकाहरू, गर्व गरिरहेकाहरू, आफैंमाथि भरोसा गरिरहेकाहरू, इत्यादी। पावलले यी मानिसहरूलाई नम्र बनाउन, तिनीहरूको विश्रामलाई तहसनहस गर्न र तिनीहरूलाई कोमल बनाउन खाँचो थियो (लूका १८:१४ सित तुलना गर्नुहोस्)। धार्मिक घमण्डलाई पूरै तोड्न एकदम गाह्रो हुन्छ। धार्मिक व्यक्तिहरूले आफैंमा विश्वास गरिरहेका हुन्छन्, ख्रीष्टमा होइन। तिनीहरूको आरामदायी अवस्था खतरापूर्ण छ।

“आफूमाथि भरोसा” – मनाइएको हुनु, निश्चिन्त हुनु। यी दुई पदहरूमा यहूदीलाई आफूलाई अरूहरूभन्दा एकदमै श्रेष्ठ ठान्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ। आफूहरू त्यही नै भएको कुरामा उनीहरू विश्वस्त थिए (र परमेश्वरको गवाहीको रूपमा उनीहरू यस्तै नै हुनु पर्नेर्थ्यो – यशैया ४३:१०-१२ र व्यवस्था ४ अध्याय पढ्नुहोस्)।

“हामी आत्मिक कुरा देख्न सक्नेहरू हौं र अन्धाहरूहरूलाई मद्दत गर्न सक्ने हामी हौं।”
“हामीसँग ज्योति छ र अरू सबै जना अन्धकारमा छन्।”
“हामी बुद्धिमान छौं र मुर्खहरूलाई मद्दत गर्न सक्ने हामी मात्र हौं।”
“हामी आत्मिक रुपमा परिपक्व छौं र बालकहरूलाई मद्दत गर्ने सक्ने हामी हौं।”

ठूलै धक्का दिनलाई पावलले उनीहरूलाइ तयार पार्दैछन्। पावलले उनीहरूलाई तलै पछार्नेछन्।

“रूप” — यसले बाहिरपट्टीको कुरालाई जनाउँदछ (२ तिमोथी ३:५ सित तुलना गर्नुहोस्)। सतहमा उनीहरूको जीवन एकदम राम्रो देखिन्थ्यो र उनीहरूको धर्म बाहिरपट्टी उत्तम नै देखिन्थ्यो। तिनीहरूले १० आज्ञाहरू भटटट भट्ट्याउन सक्थे, शुद्ध र अशुद्ध पशु छुट्ट्याउन सक्थे, आदि इत्यादि। तर पावलले देखाउन लाग्दैछन्, रितिमा, सतहमा र बाहिरी क्रियाकलापमा सीमित धर्म यथेष्ट हुँदैन (रोमी २:२८)। यो ता वास्तविक र भित्रबाटको र “हृदयको” (रोमी २:२९) नै हुनु खाँचो छ। बाहिरबाट मात्रै धर्मी बन्दैमा एउटा व्यक्ति परमेश्वरसँग ठीक बन्दैन।

रोमी २:२१-२२

यी धार्मिक यहूदीहरूले आड लिइरहेको खम्बालाई धक्का दिएर ढालीदिन पावल अब तयार भएका छन्। यी मानिसहरूसित परमेश्वरको व्यवस्था थियो र तिनीहरूले परमेश्वरको व्यवस्था सुनेका थिए तर तिनीहरूले परमेश्वरको व्यवस्था पालन गरेका थिएनन् (पद १३) र त्यसैले परमेश्वरको व्यवस्थाद्वारा नै तिनीहरूको न्याय गरिनेछ (पद १२)। व्यवस्था पालन गर्नेहरू हुनुको सट्टा तिनीहरू व्यवस्था भङ्ग गर्नेहरू थिए (पद २३,२५)।

अरूहरूलाई सिकाउनुभन्दा पहिले हामीले आफैलाई सिकाउनुपर्छ (पद २५), विशेषगरी परमेश्वरको वचन सिकाउने सवालमा। कसैलाई सिकाउनुभन्दा पहिले वचनको सन्देश तपाईंकै हृदयमा छिरेको होस् भन्ने कुराको निश्चय गर्नुहोस्। आफूले प्रचार गरेका कुरालाई आफैले अभ्यास गर्न ती यहूदीहरू चुकेका थिए: “तिम्रो शब्दहरूको बोली भन्दा तिम्रो व्यवहारको बोली यति चर्को छ कि मैले तिम्रो कुरै खान सकिरहेको छैन!” उनीहरूको मुखको बोलीसित उनीहरूको जीवन मेल खाँदैनथ्थो। तिनीहरूले आज्ञाहरू सिकाउन त सिकाए तर ती आज्ञाहरू उनीहरू आफैंले पालन गरेनन्। मत्ती २३:१-३ मा प्रभुले बताउनुभएको धार्मिक यहूदीलाई तुलना गर्नुहोस्। के तिनीहरूका शिक्षालाई पछ्याऊ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो? के तिनीहरूका कामहरूलाई पछ्याऊ भनेर येशूले उनीहरूलाई सिकाउनुभयो? यसलाई फिलिप्पी ४:९ मा पावलको असल नमुनासित तुलना गर्नुहोस्।

रोमी २:२३

यहूदीहरू आफूलाई परमेश्वरका उत्कृष्ट गवाही ठान्थे (पद १९ पढ्नुहोस्) तर वास्तवमा तिनीहरू कामै नलाग्ने गवाहीहरू थिए। परमेश्वरको पवित्र व्यवस्थालाई तोडेर तिनीहरूले परमेश्वरको अनादर गरे (पद २३)। यसको थप व्याख्या पद २४ मा गरिएको छ।

रोमी २:२४

“परमेश्वरको नाम” – परमेश्वरको नामले परमेश्वरको व्याक्तित्त्व र उहाँको मर्यादा (प्रतिष्ठा) लाई जनाउँछ। परमेश्वरको नामको प्रयोग कसरी गरिनुपर्छ भन्ने कुरामा यहूदीहरू एकदम होसियार थिए, विशेषगरी यहोवा वा याहवे नामको सवालमा। उनीहरूले यो नामलाई यति पवित्र मान्दथे कि यस नामको उच्चारणसम्म पनि गर्दैनथे। ‘यहोवा’को सट्टामा परमेश्वरलाई जनाउने अरू नै शब्द प्रयोग गर्ने गर्थे। तरैपनि उनीहरूको जीवन जिउने तरिकाबाट तिनीहरूले परमेश्वरको नामको अनादर गर्दैथे।

“जसरी लेखिएको छ” – पावलले यही कुरा बताउने पुरानो नियमको कुनै खण्डको बारेमा सोच्दैथिए। यी दुई खण्डहरूलाई बिचार गर्नुहोस्: १) यशैया ५२:५; २) इजकिएल ३६:२१ (पद २२-२३ पनि पढ्नुहोस्।) परमेश्वरलाई आफ्नो नाम (आफ्नो मर्यादा, आफ्नो महिमा) भन्दा अन्य कुनै पनि कुरा ठूलो हुँदैन। यहूदीहरूले बेठीक जीवन बिताउँदा अरू जातिहरूको सामु परमेश्वर पनि बेठीक देखिनुहुने समस्या थियो। अरू राष्ट्रहरूले इस्राएललाई पापी जातिको रूपमा देखे भने तिनीहरूले यहोवा परमेश्वर पवित्र हुनुहुन्छ भनी कसरी सोच्न सक्लान् र? परमेश्वरका जनहरूले सँधै नै परमेश्वरलाई प्रस्तुत गरिरहेका हुन्छन्, या त सकारात्मक रूपमा या त नकरात्मक रूपमा। गवाही भनेको त्यस्तो व्यक्ति हो जसले आफ्नो जीवनले र जिब्रोले मानिसहरूलाई परमेश्वरको बारेमा ठीकसँग सोच्न बाध्य बनाउँछ।

रोमी २:२५

“खतना” – उनीहरूको खतना गरिएको छ भन्ने कुरामा यहूदीहरू ढुक्कसाथ भरोसा गर्दैथिए। रब्बीहरू (यहूदी धर्मगुरुहरू) का प्राचीन लेखोटहरूमा “खतना गरिएको कुनै पनि व्यक्ति नष्ट हुने छैन” भन्ने कुरा लेखिएबमोजिम यहूदीहरू खतनाको महत्त्व ठूलो भएको मान्थे। पावलको समयमा, खतना गरिएको कोही पनि नरकमा नफालियोस् भन्ने उद्देश्यले अब्राहाम नरकको ढोकामै उभिरहेको हुन्छ भन्ने भनाइ समेत थियो। स्मरण होस्, खतना केवल एक बाहिरी विधि मात्र थियो, भित्रपट्टिको वास्तविकताको बाहिरी सङ्केत वा चिन्ह (रोमी ४:११) थियो। भित्रपट्टि वास्तविकता छ भने मात्र बाहिरी विधिको अर्थ हुन्छ। भित्रपट्टि वास्तविकता नभएको खण्डमा बाहिरी रीति व्यर्थको हुन्छ, त्यसबाट त्यो रीति गर्नेलाई कुनै लाभ हुँदैन।

रोमी २:२६-२७

“बेखतना”— यसले अन्यजातिहरूलाई जनाउँछ जोहरूले खतनाको बाहिरी विधि पूरा गरेका हुँदैनन्।

यदि अन्यजातिसँग भित्री वास्तविकता छ भने, ऊसँग साँच्चै एक महत्त्वपूर्ण कुरा छ। बप्तिस्माको उदाहरण: तपाईं कुनचाहिँ व्यक्ति हुन रोज्नुहुन्छ? – ख्रीष्टमाथि विश्वास गरे तापनि कारणवश बप्तिस्मा नलिएको व्यक्ति हुन कि बप्तिस्मा लिए तापनि ख्रीष्टमाथि विश्वास नगरेको व्यक्ति हुन? यदि तपाईंलाई विधि (ritual) कि वास्तविकता (reality) मा एउटा छान्नु पर्ने भयो भने वास्तविकतालाई छान्नुहोस्। निश्चय नै दुइटै गरिनु सर्वोत्तम हो। एउटा साँचो विश्वासीले ख्रीष्टको आज्ञापालन गर्न र उसले मुक्ति पाएको क्षणमा उसलाई के भयो भनी देखाउन उसले बप्तिस्मा लिनुपर्छ। हामीले भन्न खोजेको यतिमात्र हो कि बप्तिस्मा लिएको एउटा अविश्वासी हुनु भन्दा बप्तिस्मा नलिएको एउटा विश्वासी हुनु नै उत्तम हो! विवाहको औँठीबाट उदाहरण: विवाहको औँठी भनेको एउटा पतिले आफ्नी पत्नीप्रति आफू विश्वासयोग्य हुन्छु भनेर परमेश्वरको सामु व्यक्त गरेको प्रतिवद्धताको केवल एक चिन्ह मात्र हो। तपाईं कुनचाहिँ रोज्नुहुन्छ? पाँच-पाँचजना परस्त्रीको पछि लाग्ने औँठी लगाएको पति कि आफ्नी पत्नीप्रति विश्वासयोग्य व्यवहार गर्ने औँठी नलगाएको पति? वास्तविकता (विश्वासयोग्यता) बिनाको चिन्ह (औंठी) को कुनै औचित्य छैन। पावलले भन्न खोजेको यही हो, एकातिर खतना नहुँदैमा अन्यजाति दोषी ठहरिँदैन र अर्कोतिर खतना हुँदैमा यसले यहूदीलाई बचाउँदैन (गलाती ५:६ र ६:१५ पढ्नुहोस्)।

रोमी २:२८-२९

यी पदहरूमा औंल्याइएका भिन्नताहरूलाई हेर्नुहोस् (बाहिरी-भित्री, शरीर-हृदय, व्यवस्था-आत्मा, मानिसहरू-परमेश्वर)। जन्मजात यहूदी (racial Jew) हुनु एउटा कुरा हो; नयाँ जन्म पाएको यहूदी (regenerated Jew) (साँचो यहूदी) हुनु अर्को कुरा हो। मानिसको भित्रपट्टि के छ, त्यो नै महत्त्वपूर्ण कुरा हो। पावलले हामीलाई तेस्रो अध्यायको निम्ति तयार पार्दैछन् जहाँ हामीलाई हामी वास्तवमा भित्रपट्टि कस्ता छौं भन्ने कुरा देखाइनेछ (३:१०-१८ हेर्नुहोस्)। “हृदयको खतना” को सम्बन्धमा हेर्नुहोस्: व्यवस्था १०:१६; ३०:६; यर्मिया ४:४; ९:२५-२६: यर्मिया ६:१० (तिम्रो कानको खतना गर!), प्रेरित ७:५१,५७; योएल २:१३; फिलीप्पी ३:३; भजनसङ्ग्रह ५१:६।

कृपया याद गर्नुहोस्: पद २८ मा पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ बाहिरी यहूदी हो। उसको खतना गरिएको छ र ऊ अब्राहामको वंशको हो, तर ऊ एउटा विश्वासी होइन (उसको हृदय परमेश्वरसँग ठीक छैन)। शारिरीक र बाहिरी रूपमा ऊ यहूदी हो, तर ऊ भित्रबाटको आत्मिक यहूदी भने होइन। पद २९ मा, पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ भित्रबाटको यहूदी हो। अर्थात्, ऊ त्यस्तो यहूदी हो जसले अब्राहाम, इसहाक र याकूबको परमेश्वरमाथि विश्वास गर्दछ। ऊ केवल अब्राहामको सन्तान होइन, तर ऊ परमेश्वरको सन्तान पनि हो। पद २९ मा, अन्यजातिहरू भित्रबाटका यहूदी हुन् भनी पावलले भनेका होइनन्। उद्धार पाएका अन्यजातिहरू कहिल्यै पनि यहूदीहरूको रूपमा हेरिएका छैनन् र उनीहरू कहिल्यै पनि “इस्राएल” को रूपमा हेरिएका छैनन्। यस महत्त्वपूर्ण भिन्नताको विस्तृत अध्ययनका लागि अङ्ग्रजीका पाठकलाई The Use of the Term Israel in the New Testament अध्ययन गर्न सल्लाह दिइन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)