रोमी ११:१

रोमी ११:१

 

रोमी अध्याय ११

परमेश्वरले आफ्‍ना जनहरू (इस्राएल) लाई परित्याग गर्नुभएको छैन

रोमी ११:१

रोमी १० को अन्तिम पदले इस्राएलले परमेश्वरलाई त्यागेको र परमेश्वरको सुसमाचारलाईइन्कार गरेको कुरालाई प्रस्टै औंल्याएको छ। इस्राएलीहरूले परमेश्वरलाई इन्कार गरेका छन् (रोमी १०:२१)। तब स्वभावैले एउटा प्रश्न उठ्छ: के परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको छ?“के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ?” यसको जोडदार जवाफ हो, अहँ; कदापि होइन! हाम्रो मनमा त्यस्तो विचार समेत नउब्जोस्! त्यस्तो विचार नष्ट होस्!

यस अध्यायमा पावलको मुख्य तर्कका दुई पाटा छन्: १) इस्राएलको अस्वीकार आंशिक अस्वीकार हो, पूर्ण होइन। अधिकांश यहूदीहरूले येशू ख्रीष्टमा रहेको परमेश्वरको सुसमाचारलाई अस्वीकार गरेका छन्, तर सबैले ता होइन। त्यहाँ यहूदीहरूको एउटा बाँकी रहेको भाग थियो जसले ख्रीष्टलाई विश्वास गर्यो, र पावल यही बाँकी रहेको भागमध्येका एक थिए (पद १)। चाबी पद हो रोमी ११:५। २) इस्राएलको अस्वीकार अस्थायी अस्वीकार हो, स्थायी होइन। यस जातिले सधैं नै परमेश्वरलाई इन्कार गरिरहनेछैन। भविष्यमा एउटा ठूलो अपूर्व दिन आउँदैछ जब यस जातिले उद्धार पाउनेछ (पद २६-२७)। यी दुवै चाबी धारणाहरू रोमी ११:२५ मा भेटिन्छन्: “जबसम्म (अस्थायी)अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा (आंशिक) अन्धापना आएको छ।” यो अन्धापना पूर्ण अन्धापना होइन र यो अन्धापना स्थायी होइन! आज कतिपय यहूदीहरू छन् जो ज्यादै राम्रोसँग देख्न सक्छन्! (उनीहरू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्छन्, र उनीहरू एकसमय अन्धा थिए भने अहिले उनीहरू देख्न सक्छन्!) भविष्यमा एउटा दिन आउँदैछ जब इस्राएल जातिले देख्नेछ र ख्रीष्टलाई आफ्नो मसीह र प्रभुको रूपमा चिन्नेछ (जकरिया १२:१०)।

यस अध्यायमा पावल दुवै वर्तमान र भविष्यलाई हेर्दछन्। वर्तमानलाई हेर्दा उनले यहूदीहरूको एउटा बाँकी रहेको भागलाई देख्छन् जसले मुक्ति पाएको छ (जो कुल सङ्ख्याको दाँजोमा एउटा सानो सङ्ख्यामासिमित छ)। भविष्यलाई हेर्दा उनले पूरै इस्राएलले मुक्ति पाएको देख्छन्। समयलाई जोड दिने शब्दहरूलाई यहाँ राम्ररी ध्यान दिनुहोस्:

१) वर्तमान, यसले दर्शाउँछ कि परमेश्वरको वर्तमान योजनामा यहूदीहरूको भाग छ: “यही प्रकारले यस वर्तमान समयमा पनि अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग छ” (रोमी ११:५)। २) भविष्य, यसले दर्शाउँछ कि परमेश्वरको भावी योजनामा यहूदीहरूको भाग छ: “अनि सारा इस्राएलले मुक्ति पाउनेछ (भविष्यत् काल)” (रोमी ११:२६), अनि योचाहिँ अन्यजातिहरूको पूर्णता आएपछि हुनेछ (रोमी ११:२५)। हो, यो साँचो हो कि उनीहरू लोटेका छन्, तर उनीहरूको लोटाइ पश्चात् उनीहरूको पूर्णता आउनेवाला छ (११:१२)। तिनीहरू “आफालिनु” (पद १ को भन्दा फरक शब्द) पश्चात् तिनीहरू “ग्रहण” गरिनेछन् (११:१५)। तिनीहरू परमेश्वरको मुक्तिको रूखबाट “भाँचिए” (११:१७,१९,२१,२४) तापनि पछिबाट तिनीहरू फेरि “गाँसिनेछन्” (११:१७,१९,२१,२४)। परमेश्वरले प्रतिज्ञाहरू र करारहरूद्वारा इस्राएल जातिप्रति आफ्नो वचनबद्धता (commitment) जनाउनुभएको छ, अनि यसैकारण इस्राएल जातिको सुन्दर भविष्य ग्यारेन्टीको कुरा हो, र परमेश्वरले यस बारेमा आफ्नो मन कदापि बदल्नुहुनेछैन (११:२८-२९)। इस्राएल यस विषयमा ढुक्क हुन सक्छ!

“त्याग्नु” = यसको अक्षरश: माने हो “धकेल्नु वा धकेली पठाउनु” (हेर्नुहोस् प्रेरित ७:२७), तसर्थ यसको तात्पर्य हो “इन्कार गर्नु, परित्याग गर्नु (सम्बन्ध विच्छेद गर्नु, कसैसँग कारोबार गर्न नमान्नु)।” के परमेश्वरले आफ्ना जनहरूलाई धकेली पठाउनुभएको छ? के परमेश्वरले उनीहरूसित सम्बन्ध विच्छेद गर्नुभएको छ? के परमेश्वरले उनीहरूसँग, वर्तमानमा वा भविष्यमा, कुनै कारोबार गर्न नमान्ने हुनुभएको छ? कदापि छैन! साँच्ची नै, रोमी १०:२१ मा पनि हामीले देख्यौं कि परमेश्वर आफ्ना जातिप्रति आफ्ना हात पसारेर बस्नुभएको छ! परमेश्वरले वास्ता गर्नुहुन्छ!

परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छैन भन्ने कुराको पहिलो प्रमाणस्वरूप पावलले आफूलाई अघि सार्छन्: “किनकि म पनि अब्राहामको वंशको, बेन्यामीनको कुलको इस्राएली हुँ (अनि परमेश्वरले मलाई त्याग्नुभएको छैन!)।” पावल एक बचाइएका यहूदी थिए जो ख्रीष्टकहाँ आएका थिए र कहिल्यै अफालिनेवाला थिएनन् (यूहन्ना ६:३७)। पद १ को अन्तिम भागले ‘इस्राएली’ कसलाई भनिन्छ भनेर एकदम किटान गरी परिभाषित गरेको कुरालाई ध्यानसित ख्याल गर्नुहोस्। एक इस्राएली त्यो हो जो शरीरमै अब्राहाम, इसाहक र याकूबको वंश हो र जो बाह्रमध्ये एउटा कुलबाट आएको व्यक्ति हो (पावलको सवालमा उनी बेन्यामीन कुलका थिए, दाँज्नुहोस् फिलिप्पी ३:५)। यो महत्त्वपूर्ण छ किनकि त्यहाँ कति मानिसहरू छन् जसलेयो गलत कुरा सिकाउँछन् कि मुक्ति पाएको जोकोही व्यक्ति र जो परमेश्वरको मण्डलीको हो ऊ एक साँचो इस्राएली हो (बाँचेका अन्यजातिहरू समेत)। यो साँचो होइन। परमेश्वरले साँचो इस्राएली कसलाई भनिन्छ भन्ने कुराको परिभाषालाई परिवर्तन गर्नुभएको छैन। एक इस्राएली ख्रीष्टमा विश्वास गरेर मण्डलीको एक अङ्ग बन्दछ, तर एक व्यक्ति मण्डलीको एक अङ्ग बन्दैमा ऊ इस्राएली बन्दैन। एक व्यक्ति जन्मैले इस्राएली बन्छ; एक व्यक्ति नयाँ जन्मले मण्डलीको बन्छ।

पुरानो नियमसित परिचित कुनै पनि यहूदीले जान्नुपर्ने कुरा यो हो कि परमेश्वरले इस्राएल जातिसित एउटा निश्चित वचनबद्धता व्यक्त गर्नुभएको छ र उहाँले यस जातिलाई कहिल्यै त्याग्ने वा अफाल्ने काम गर्नुहुन्न: हेर्नुहोस् यर्मिया ३१:३५-३७ र यर्मिया ३३:२५-२६। आज ख्रीष्टमा जस-जसले विश्वास गरेका छन् तिनीहरू यो सत्यतामा रमाहट गर्न सक्छन् कि परमेश्वर हामीप्रति गजबसित वचनबद्ध बन्नुभएको छ, जसको फलस्वरूप हामी ख्रीष्टमा सदाका निम्ति सुरक्षितसुनिश्चित छौं (यूहन्ना ६:३७-४०; १०:२७-३०; हिब्रू १३:५; आदि)। हामीले जब पाप गर्दछौं, परमेश्वरको आत्मा शोकित बन्नुहुन्छ तर उहाँ छोडेर जानुहुन्न (एफेसी ४:३०)। जब हामीले पाप गर्दछौं, हामीले ताडना पाउँछौं तर हामी कहिल्यै दोषी ठहरिँदैनौं (१ कोरिन्थी ११:३१-३२)। “अनन्त सुरक्षा” शीर्षक गरेको लेख अध्ययन गर्नुहोस् (wordoftruth.com.np)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १०:१३-२१

रोमी १०:१३-२१

 

रोमी १०:१३

यहाँ हामी मुक्तिको एउटा सुन्दर प्रतिज्ञा पाउँछौं। पुकार्ने काम मानिसले गर्नुपर्छ; बचाउने काम परमेश्वरले गर्नुहुन्छ। यो पद योएल २:३२ को उद्दरण हो जुन सन्दर्भमा यहोवाको नाम उल्लेख गरिएको छ। नयाँ नियमले यस योएलको खण्डलाई प्रेरित २:२१ मा र यहाँ रोमी १०:१३ मा उद्दरण गर्दछ, दुवै सन्दर्भमा येशूको नामलाई इङ्गित गरिएको छ (यसरी येशू यहोवासित बराबरी हुनुभएको जनाइएको छ जुन कुराचाहिँ ख्रीष्टको ईश्वरत्वको ठोस तर्क हो (‘ख्रीष्टको ईश्वरत्व’ शीर्षक गरेको अध्ययन पर्चा पढ्नुहोस् — wordoftruth.com.np)। विश्वभरिमा सबैभन्दा धनवान् मानिसहरू ती हुन् जोहरूले मुक्ति पाएका छन्! मुक्ति नपाएका संसारका खरबपतिहरू एक क्षणका लागि धनी हुन्छन् तर अनन्त अनन्तसम्म गरिब हुन्छन्! यस खण्डमा पाइने महत्त्वपूर्ण निमन्त्रणाका शब्दहरूलाई ध्यान दिनुहोस्: पद ११ — “हरेक” ; पद १२ — “सबै” (टीबीएस बाइबलमा यो शब्द छुटेको छ); पद १३ — “हरेक”

प्रभुको नाममा पुकार्ने व्यक्तिहरूको दुईटा प्रस्ट बाइबलीय उदाहरणहरू छन्: १) महसुल उठाउने, लूका १८:१०-१४ — “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्” २) क्रूसमा टँगाइएका कुकर्मी, लूका २३:३९-४३ — “हे प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ, तब मलाई सम्झिदिनुहोस्”। आफ्नो असाध्य ठूलो खाँचो महसुस गरेर तिनीहरूले विश्वासमा उनीहरूको खाँचो पूरा गर्न सक्नुहुने एकमात्र प्रभुलाई पुकारा गरे। महसुल उठाउने “धर्मी ठहरियो” र कुकर्मी चाहिँ धेरै समय नबित्दै “स्वर्गलोक” पुग्यो। फरिसी र अर्को चाहिँ कुकर्मी दुवैले प्रभुलाई पुकार्न इन्कार गरे र मुक्तिको निम्ति पुकार्न इन्कार गरे, अनि दुवै आ-आफ्ना पापमा रहिरहे। उनीहरू नरकमा ख्रीष्टरहित अनन्ताको सामना गर्नुपर्ने भए।

मानिसहरूले प्रभुलाई फरक-फरक तरिकाले पुकार्न सक्छन्। कुकर्मी भन्छन्, “हे प्रभु, मलाई सम्झिदिनुहोस्।” महसुल उठाउने भन्छन्, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्।”एकजनाले भन्न सक्छ, “प्रभु, मलाई बचाउनुहोस्” वा “हे प्रभु, मेरो हृदयमा आउनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्” अथवा “हे प्रभु, म एक ठूलो पापी हुँ र मलाई तपाईंको कृपा र अनुग्रह चाहिएको छ” अथवा “हे प्रभु, मैले के भन्नुपर्ने हो म जान्दिनँ, तर तपाईं मेरो मुक्तिदाता बनिदिनुहुन मलाई खाँचो छ।” शब्दहरू नै मुख्य कुरा होइनन्; मामिला हृदयको हो। कसैले केवल मुखले सुन्दर शब्दमा एउटा “पापीको प्रार्थना” गर्ला तर शब्दहरूले बचाउने होइन। परमेश्वर हृदयभित्र हेर्नुहुन्छ। परमेश्वरले त्यो व्यक्तिको खोज गर्दै हुनुहुन्छ जसले आफ्नो सम्पूर्ण भरोसा ख्रीष्टको व्यक्तित्व र कार्यमाथि राख्दैछ, जो ख्रीष्टमै र उहाँमा मात्र भरोसा गर्दैछ।
के तपाईंले प्रभुको नामलाई पुकार्नुभएको छ?

रोमी १०:१४-१५

यी ज्यादै गहकिला मिसनरी पदहरू हुन् जुन पदहरूले नसुनेकाहरूलाई सुसमाचार प्रचार गर्नुको महत्त्व दर्शाइरहेका छन्। पावलले यहाँ विपरीत क्रममा प्रस्तुत गर्छन्: उहाँलाई पुकार्नु, विश्वास गर्नु, सुसमाचार सुन्नु, सुसमाचार प्रचार गर्नु, पठाइनु। समयको क्रम अनुसार प्रस्तुति यसको ठीक विपरीत हुन्छ: पहिले परमेश्वरले प्रचारक पठाउनुहुन्छ र उसले सुसमाचार प्रचार गर्दछ, पापीले सुन्छ, उसको हृदयमा विश्वास गर्दछ र प्रभुको नाममा पुकार्दछ। हामी बचाइएकाहरूले परमेश्वरलाई त्यस व्यक्तिका निम्ति धन्यवाद दिन सक्छौं जसलाई हामीकहाँ सुसमाचारको सन्देश बोकाएर पठाउनुभयो। हामी बचाइएकाहरूको अरूहरूप्रति सुसमाचारको “ऋण” छ जसले सुनेका छैनन् (रोमी १:१५-१६ हेर्नुहोस् जहाँ हामी सिक्छौं कि पावल एक ऋणी थिए!)।

प्रभुको नाम पुकार्नु भनेको मुक्ति पाउनलाई विश्वास गर्नुबाहेक छुट्टै अर्को शर्त चाहिँ होइन। प्रभुको नाम पुकार्ने काम भित्रपट्टिको विश्वासको बाहिरी अभिव्यक्ति हो। कसैले ख्रीष्टलाई पुकार्नु अघि उसले पहिले ख्रीष्टलाई आफ्नो हृदयमा विश्वास गर्नुपर्छ। कुकर्मीले “हे प्रभु, मलाई सम्झिदिनुहोस्!” भनेर पुकार्नु अघि उसले पहिले आफ्नो हृदयमा विश्वास गर्यो। उसका शब्दले केवल उसको विश्वासलाई व्यक्त गरिरहेको थियो जुन विश्वास उसको हृदयमा आइसकेको थियो। महसुल उठाउनेले प्रभुसित दयाको निम्ति पुकार गर्दा, उसले आफ्नो हृदयमा विश्वास गरिसकेको थियो। त्यसैले हो, रोमी १०:१४ ले भन्छ, “तर जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकार्लान् त?” तपाईंले आफ्नो हृदयमा उहाँमाथि पहिले विश्वास गर्नुभएको छैन भने तपाईंले मुक्तिको निम्ति ख्रीष्टलाई पुकार्न सक्नुहुन्न। उहाँको नामलाई पुकार्ने काम, एक व्यक्तिमा आइसकेको विश्वासको स्वाभाविक प्रकटिकरण वा अभिव्यक्ति हो।

कसैले ख्रीष्टमाथि विश्वास गर्नु अगाडि उसले सुन्नुपर्छ (यूहन्ना ९:३५-३८ सित तुलना गर्नुहोस्)। कसैले ख्रीष्टको बारेमा सुनेकै छैन भने उसले ख्रीष्टमाथि विश्वास गर्न सक्दैन। विश्वासले आफूलाई ख्रीष्ट को हुनुहुन्छ र उहाँले के गरिदिनुभएको छ भन्ने तथ्यहरूमा बलियोसित जाम गराउँछ। ती तथ्यहरू परमेश्वरको वचनमा भेटिन्छन् र ती तथ्यहरू सुन्नु खाँचो छ (दाँज्नुहोस् रोमी १०:१७)।
कसैले सुन्न सक्नलाई, उसलाई सुसमाचार प्रचार गरिनुपर्छ (वा सुसमाचार उसकहाँ कुनै पर्चा अथवा पुस्तक आदिको माध्यमद्वारा पुर्याइनुपर्छ)। प्रचारकबिना सुसमाचारको सन्देश सुन्न पाइन्न र फलस्वरूप त्यहाँ विश्वास आउँदैन र मुक्ति पाइँदैन। यसमा विश्वासीहरूको एउटा ज्यादै ठूलो जिम्मेवारी छ किनकि हामी नै ती प्रचारकहरू हौं जसलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ (न स्वर्गदूहरू न ता अरू कोही नै)।
एक व्यक्तिले प्रचार गर्नु अघि (पद १५) ऊ पठाइनुपर्छ (परमेश्वरद्वारा)! पठाउने काम परमेश्वरले गर्नुहुन्छ! परमेश्वरले, मान्छेले होइन, उहाँका दासहरू र उहाँका मिसनरीहरूलाई पठाउनुहुन्छ। हामीले प्रार्थना गर्नुपर्छ (मत्ती ९:३८) र परमेश्वरले पठाउने काम गर्नुहुन्छ। परमेश्वरले पठाउनुभएकाहरूको पाउ कति सुन्दर जोहरूले सुसमाचारको सन्देश विश्वासयोग्य रूपमा घोषणा गर्दैछन्! झूटा सन्देश प्रचार गर्दै निस्केकाहरूको पाउ कति असुन्दर जो परमेश्वरद्वारा कहिल्यै पठाइएका थिएनन् (हेर्नुहोस् यर्मिया १४:१४,१५; २३:२१,३२ र साथै गलाती १:८-९)।
एकजना मिसनरी कुनै गाउँको बजारमा प्रचार गर्दै थिए र कोही व्यक्तिहरू उसलाई हेर्दै हाँसिरहेका थिए किनकि उनी त्यति सुन्दर थिएनन्। केही बेर त उनले सहे, र त्यसपछि भीडलाई उनले भने, “यो साँचो हो मेरो केश सुन्दर छैन किनभने मेरो तालु करिब करिब खुइलिसक्यो। न ता मेरा दाँत सुन्दर छन्, किनकि ती खास मेरा होइनन्; ती एक डेन्टिस्टले बनाएका हुन्। न ता मेरो अनुहार सुन्दर छ, न ता म राम्रा-राम्रा लुगा किन्न सक्छु। तर एउटा कुरा मलाई थाह छ; मेरा पाउहरू सुन्दर छन्! परमेश्वरले यही भन्नुभएको छ!” त्यसपछि उनले यशैया ५२:७ र रोमी १०:१५ लाई उद्दृत गरे।
सुसमाचार सुन्ने हरेकले नै सुसमाचारलाई विश्वास गर्ने र मुक्ति पाउने भएका भए कति असल हुन्थ्यो। तर दुःखको कुरा यो हो कि सुसमाचार सुन्ने अधिकांशले सुसमाचारलाई इन्कार गर्छन्, अनि अब यस कुराले हामीलाई पद १६ मा ल्याइपुर्याउँछ।

रोमी १०:१६

कति खेदको कुरा! परमेश्वरसँग असल खबर छ तर मानिसहरू त्यो चाहन्नन्! उनीहरू परमेश्वरको शान्तिको प्रस्तावलाई इन्कार गर्छन् (पद १५)। उनीहरू मुक्ति पाउनलाई दिइएको परमेश्वरको निमन्त्रणालाई इन्कार गर्छन् (पद १३)। उनीहरू परमेश्वरको धनहरूलाई इन्कार गर्छन् (पद १२)। उनीहरू परमेश्वरको यति महान् मुक्तिलाई इन्कार गर्छन् (पद ९)। उनीहरू परमेश्वरको धार्मिकतालाई इन्कार गर्छन् (पद ३)। मानिसको मूर्ख अविश्वासको दुष्परिणाम हो यो! तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्। साँच्चै, अधिकांश मानिसहरूले सुसमाचारलाई इन्कार गरेका छन्। एक व्यक्तिले सुसमाचारलाई कसरी अवज्ञा गर्दछ? त्यसलाई विश्वास गर्न इन्कार गरेर! परमेश्वरको आज्ञा १ यूहन्ना ३:२३ मा प्रस्टै देखिन्छ (पदको पहिलो भाग), र यो आज्ञालाई पालन नगर्नेहरू सुसमाचारप्रति अनाज्ञाकारी हुन्। यशैया अगमवक्ताले यो भयङ्कर अविश्वासको भविष्यवाणी यशैया ५३:१ मा गर्छन् जुन महत्त्वपूर्ण अध्यायमा मसीह हाम्रा पापका निम्ति मर्नुहुनेभविष्यवाणीगरिएको थियो। “कसले हाम्रो समाचार विश्वास गरेको छ?” धेरैजनाले छैन! कति खेदको कुरा कि आजसम्म पनि अधिकांश यहूदीहरूले यशैया ५३ को महान् समाचारलाई इन्कार गर्दछन् (साथै अधिकांश अन्यजातिहरूले पनि त्यसै गर्छन्!)। “अनि कसकहाँ परमप्रभुको पाखुरा (बल र सामर्थ्यको प्रतीक) प्रकट भएको छ?” सुसमाचारमा घुम्टो लागेको छ त हराएकाहरूका निम्ति लागेको छ (२ कोरिन्थी ४:३) र क्रूसको सन्देश उनीहरूको निम्ति“मूर्खता”भएको छ (१ कोरिन्थी १:१८) तर हामी मुक्ति पाएकाहरूको निम्ति यो परमेश्वरको सामर्थ्य हो (१ कोरिन्थी १:१८,२४; रोमी १:१६)। यशैया ५३:१ को भविष्यवाणी यूहन्ना १२:३७-३८ मा पूरा भयो, र आज पनि पूरा हुँदैछ जतिखेर मानिसहरूले परमेश्वरको अनुग्रहको सुसमाचारलाई इन्कार गर्छन् र परमेश्वरको पुत्र, एकमात्र मुक्तिदातामाथि भरोसा गर्न इन्कार गर्छन्।

रोमी १०:१७

यहाँ दुई पटक उल्लेख भएको “सुनाइ” भनेर अनुवाद गरिएको शब्द, पद १६ को “समाचार” भनेर अनुवाद गरिएको शब्द, एउटै ग्रीक शब्दबाट आउँछ। कसैले मुक्ति पाउने हो भनेउसले सुन्नुपर्ने समाचार र सन्देश त्यहाँ हुनु आवश्यक छ, अनि यो समाचार वा सन्देश विश्वास गरिनुपर्छ। बचाउने विश्वास मैले कसरी प्राप्त गर्न सक्छु? बचाउने विश्वास मकहाँ कसरी आउँछ? मैले परमेश्वरको वचनको सन्देश सुन्नुपर्छ र त्यसप्रति सकारात्मक जवाफ दिनुपर्छ। परमेश्वरको वचन शक्तिशाली छ (हिब्रू ४:१२)। परमेश्वरको वचन प्रभावशाली छ (१ थेस्सलोनिकी २:१३)। परमेश्वरको वचन जिउँदो छ (यूहन्ना ६:६३,६८; हिब्रू ४:१२)। परमेश्वरको वचन छेड्ने हुन्छ (हिब्रू ४:१२; एफेसी ६:१७)। परमेश्वरको वचनले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छ (२ तिमोथी ३:१५)। उसको विश्वासले मानिसले आफूलाई परमेश्वरका तथ्यहरूसित टँसाउनुपर्छ र परमेश्वरका ती तथ्यहरू चाहिँ परमेश्वरको वचनमा छन्। यसको माने बाइबलबाट सुसमाचारका तथ्यहरू सुन्ने सबैले नै मुक्ति पाउँछन् भन्ने होइन (जस्तो रोमी १०:१६ मा देख्यौं)। तर यसको माने यो हो कि बाइबलबाट सुसमाचारका तथ्यहरू नसुनीकन कसैले पनि मुक्ति पाउन सक्दैन।

बाइबलबिना पापीको हृदयलाई छेड्न खोज्नु सिपाहीले शत्रुको हृदयलाई तरवारबिना छेड्न खोज्नु जस्तै हो। विश्वासीहरूले बाइबलकै प्रतिरक्षा गर्नुपर्ने होइन, न ता बाइबल सत्य छ भनेर प्रमाणित गर्न प्रयास गर्नुपर्ने हो। उनीहरूले केवल बाइबललाई प्रयोग गर्नुपर्छ, र उहाँले आफ्नो वचनलाई आदर गर्नुभएको होस् र मानिसहरूको हृदयमा आवश्यक काम गरिदिनुभएको होस् भन्दै एक महान् परमेश्वरमाथि भरोसा गर्नुपर्छ। परमेश्वरको वचन निस्की जानेछ र यसले आफ्नो लक्ष्य हासिल गर्नेछ (यशैया ५५:११)। परमेश्वरका प्रचारकहरू बाइबलका मानिसहरू हुनुपर्छ! हामीले कहिल्यै त्यस विशुद्ध, नमिसिएको परमेश्वरको वचनको सत्यताको सट्टामा आफ्नै विचारहरू, धारणाहरू, दार्शनिक विचारहरू प्रतिस्थापन नगरेका होऔं! तुलना गर्नुहोस् एफेसी १:१३ (विश्वास सुसमाचार सुनेर आउँछ!)।

रोमी १०:१८

मानिसहरूले सुसमाचार किन पालन गर्दैनन् (पद १६)? मानिसहरू किन ख्रीष्टमाथि विश्वास गर्दैनन् (पद १७)? किन यतिका धेरै यहूदीहरू सुसमाचार पालन गर्न र ख्रीष्टकहाँ विश्वासमा आउन सकिरहेका छैनन्? के यो तिनीहरूले सुन्न नपाएकोले हो त? होइन, तिनीहरूले सुनेका छन्! तिनीहरूले खबर पाए! तिनीहरूले खबर सुने! समस्या के भने तिनीहरूले खबरप्रति सकारात्मक जवाफ दिएनन्। पावलले भजनसङ्ग्रह १९:४ बाट उद्दरण गर्दछन्, जुन खण्डले त्यो सत्यता प्रस्तुत गर्दछन् कि परमेश्वरको ज्ञान र परमेश्वरको महिमा सृष्टिद्वारा संसारको प्रत्येक भागमा रहेका सबै मानिसहरूकहाँ प्रकट गरिएको छ। हामीले यसलाई रोमी १ अध्यायमा विस्तृत रूपमा अध्ययन गर्यौं। फलस्वरूप सबै मानिसहरू बाहनारहित छन् किनकि परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। कतिपटक मानिसहरू प्रश्न गर्छन्, “सुसमाचार कहिल्यै नसुनेका टाढा-टाढा देशका मानिसहरूको सम्बन्धमा चाहिँ के त?” एकातिर यो निश्चय सत्य कुरा हो कि एक प्रचारकबिना तिनीहरूले सुसमाचारको सन्देश (ख्रीष्ट र क्रूसको सन्देश) सुन्न सक्दैनन् (रोमी १०:१४), साथै येशू ख्रीष्टको मण्डलीलाई हरेक प्राणीलाई सुसमाचार प्रचार गर्ने (मर्कूस १६:१५) र सबै जातिहरूलाई चेला बनाउने (मत्ती २८:१९-२०) जिम्मेवारी र आज्ञा दिइएको छ। हामीले यो पनि ख्याल राख्नुपर्छ कि प्रचारकहरूलाई पठाउनुहुने परमेश्वर नै हुनुहुन्छ (रोमी १०:१५ र मत्ती ९:३८) अनि उहाँको बुद्धिमा उहाँले ठीक व्यक्तिलाई, ठीक सन्देशसहित, ठीक ठाउँमा पठाउनुहुन्छ। अर्कोतिर, यो सत्य हो कि पृथ्वीभरिका सबै मानिसहरूले सृष्टिमा प्रकट गरिएको परमेश्वरको सन्देशलाई सुनिसकेका छन्। पापले गर्दा मानिसहरूले उनीहरूसित भएको परमेश्वरको ज्ञानलाई इन्कार गरे र दबाएर राखे (रोमी अध्याय १, विशेष गरी पद २१-२३, २८)।

सबै मानिसहरूले प्रकृतिमा परमेश्वरको प्रकाशलाई सुनेका छन् मात्र होइन, तर त्यहाँ अर्को सन्देश छ जुनचाहिँ यस मण्डली युगमा चारैतिर, टाढा-टाढासम्म घोषणा गरिँदैछ, अर्थात् सुसमाचारको सन्देश:

मर्कूस १६:१५ — “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर”
मर्कूस १६:२० — “अनि तिनीहरूले निस्केर जहाँतहीँ प्रचार गरे”
कलस्सी १:५-६ — “तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ जो तिमीहरूकहाँ आएको छ जसरी सारा संसारमा नै आएको छ”
कलस्सी १:२३ — “जुन सुसमाचार तिमीहरूले सुनेका छौ जुनचाहिँ स्वर्गमुनि भएको हरेक प्राणीलाई प्रचार गरिएको थियो”
रोमी १६:२६ — “तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ।”

रोमी १०:१९

परमेश्वरको सन्देश सारा जगतमा, मानिसहरू बसोबासो गर्ने संसारको कुनाकाप्चासम्म, अवहेलित अन्यजातिहरूकहाँ समेत, फैलाइनेछ भन्ने कुरा के इस्राएललाई थाह थियो? उनीहरूले जान्नुपर्थ्यो किनकि उनीहरूकै पवित्रशास्त्रले यो कुरा बताएको थियो। पावलले पहिले मोशालाई उद्दृत गर्दछन् (व्यवस्था ३२:२१ हेर्नुहोस्, र ध्यान दिनुहोस् कि व्यवस्थाको पुस्तकका लेखक मोशा हुन् भन्ने कुरा बाइबलले स्पष्टै सिकाएको कुरा हो, जुन कुरालाई कतिले मान्दैनन्। व्यवस्था ३२:२१ मा यहूदीहरूले जो ईश्वर होइन त्यसद्वारा परमेश्वरलाई रिस उठाए र जलन पैदा गरिदिए, त्यसैले परमेश्वरले पनि “जो जाति नै होइनन्” तिनीहरूद्वारा उनीहरूलाई रिस उठाउनुहुनेछ र जलन पैदा गर्नुहुनेछ। तिनीहरूले अर्कै ईश्वरलाई चुने; परमेश्वरले अर्कै जातिलाई चुन्नुहुनेछ! “मूर्ख” को माने समझ नभएको। यहाँ एउटा जाति छ जससँग समझ छैन (तीतस ३:३ मा हेर्नुहोस्), तरैपनि उनीहरूले सुसमाचारलाई विश्वास गर्छन्। यहूदीहरू, जससँग पवित्रशास्त्र थियो र जससँग समझ हुनुपर्थ्यो, उनीहरूले ख्रीष्टलाई र उहाँको सुसमाचारलाई इन्कार गरे। हेर्नुहोस् रोमी ११:११।

रोमी १०:२०-२१

पावलको दोस्रो उद्दरण यशैया ६५:१-२। “प्रकट गरिएँ”। अन्यजातिहरूले परमेश्वरलाई खोजेनन् (रोमी ९:३०), तर परमेश्वरले तिनीहरूलाई खोज्नुभयो र भेट्टाउनुभयो (दाँज्नुहोस् लूका १९:१०)। खोजकर्ता चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँले अहिले “जसले मेरो विषयमा खोजीनिती गरेनन्” उहाँ तिनीहरूलाई खोज्दै हुनुहुन्छ र “जसले मलाई खोजेनन्” तिनीहरूद्वारा उहाँ भेट्टाइनुभएको छ। तिनीहरूले केवल सुसमाचार सुने र विश्वास गरे! उहाँको अतुलनीय अनुग्रहको प्रशंसा होस्!
“विरोधी” को माने “परमेश्वरको विरोधमा, विद्रोही, परमेश्वरको कुनै पनि कुरासित सरोकारै राख्न इन्कार गर्ने।” परमेश्वर आफ्ना खुल्ला हात पसारेर पर्खनुहुन्छ (हितोपदेश १:२४; यशैया ६५:२); पापी मानिसहरूलाई परमेश्वरको कोमल निमन्त्रणालाई यो भन्दा राम्ररी कुन शब्दले व्यक्त गर्न सक्छ र? “दिनभरि पसारिएको हात चाहिँ त्यो अटुट विन्तीपूर्ण प्रेमको प्रतीक हो जुन प्रेमलाई इस्राएलले उसको इतिहासभरि नियमित रूपमा तुच्छ ठान्यो” (Expositor’s Greek New Testament)। मत्ती २३:३७ पढ्नुहोस्। परमेश्वर कति इच्छुक हुनुहुन्थ्यो! मानिस कति विद्रोही थियो! नष्ट हुनेहरूले आफूलाई मात्र दोष्याउन सक्छन्। परमेश्वरले यति अनुग्रह गरीकन प्रबन्ध गर्नुभएको र प्रदान गर्नुभएको औषधिलाई इन्कार गर्नु भनेको उपचारबिहिन बन्नु हो।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १०:८-१२

रोमी १०:८-१२

 

रोमी १०:८-९

“ख्रीष्ट दिइनुभएको छ र प्रचारिनुभएको छ। उहाँको नामलाई आफ्नो मुखले लिनु र आफ्नो हृदयले विश्वास गर्नुचाहिँ मान्छेको भाग हो” (विलियम केल्ली)।

ख्रीष्टको सम्बन्धमा गरिने महिमित घोषणा नजिकै छ। त्यो टाढा छैन। त्यो सबैको पहुँचमा छ र सबैलाई प्राप्य छ! मुक्तिको शुभ खबर सबैको पहुँचभित्र पर्दछ। (पौडने र जहाजको उदाहरण: जहाज त्यहीँ छ! मात्र चढ्नुपर्छ!) कति नजिक छ? त्यो तपाईंको मुखमा छ र तपाईंको हृदयमा छ! तर तपाईंले त्यसलाई केही गर्नुपर्छ! हृदयले त्यसलाई विश्वास गर्नुपर्छ! मुखले त्यसलाई स्वीकार गर्नुपर्छ!

पद ८-९ लाई क्रूसमा टाँगिएको कुकर्मीको उदाहरणद्वारा दर्शाउन सकिन्छ (मर्कूस १५:३२ र लूका २३:३९-४३ हेर्नुहोस्)। क्रूसमा टँगाइनुभएको ख्रीष्ट उसको ज्यादै नजिक हुनुहुन्थ्यो! वचन कुकर्मीको मुखैमा थियो तर गलत तरिकाको (उसले उहाँलाई सुरुमा निन्दा गर्यो)। तर यो मान्छेले पश्चात्ताप गर्यो र आफ्नो हृदयमा विश्वास गर्यो कि परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराउनुहुनेछ (लूका २३:४२) र उसको मुखले उहाँलाई प्रभु र राजा भनी स्वीकार गर्यो (लूका २३:४२)। हामीले पनि उसले जस्तै विश्वास र स्वीकार गरेका होऔं!

मुक्तिको काम ख्रीष्टले गरिसक्नुभयो; विश्वास गर्ने र स्वीकार गर्ने जिम्मेवारी मान्छेको हो। (जहाज तपाईंलाई समुद्र पारी पुर्याउनलाई पूरै सक्षम छ तर तपाईं जहाजमाथि चढ्नुपर्छ!) हामीले प्रचार गर्ने विश्वासको यो वचन के हो (पद ८)? पद ९ ले जवाफ दिन्छ। स्वीकारचाहिँ ग्रीक शब्द “होमोलोगेओ” हो (होमो=उही; लोगेओ=भन्नु, बोल्नु भन्ने क्रियापदबाट आउँछ) तसर्थ यसको माने हो “अर्को व्यक्तिले जस्तै उही कुरा भन्नु, अर्को व्यक्तिसित सहमत हुनु।” विश्वासीले अरू मानिसहरूको सामु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (मत्ती १०:३२) जसको माने हो उसले मुख खोलेर, सार्वजनिक रूपमा परमेश्वरले आफ्नो पुत्रको बारेमा जे भन्नुभएको छ त्यस कुरामा उहाँसित सहमत छु भनी जनाउनुपर्छ (१ यूहन्ना ५:९-१२)। परमेश्वरले भन्नुभएको छ, “यिनी मेरा प्रिय पुत्र हुन् (मत्ती १७:५) अनि ख्रीष्टलाई स्वीकार गर्ने विश्वासीचाहिँ उक्त वाणीसित सहमत हुन्छ (१ यूहन्ना ४:१५ पढ्नुहोस्)। पुत्र परमेश्वर संसारमा आउनुभयो र आफैमा मानव शरीर धारण गर्नुभयो (यूहन्ना १:१४) ताकी उहाँ पापी मानिसहरूका निम्ति मर्न सक्नुभयो (१ तिमोथी १:१५), र ख्रीष्टलाई स्वीकार गर्ने विश्वासीचाहिँ यस तथ्यसित सहमत हुन्छ (१ यूहन्ना ४:२-३ पढ्नुहोस्)।

येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्नुको माने निज येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने कुरासित सहमत छ (यूहन्ना १:४१; ४:२५-२६,४२)। पुरानो नियम पवित्र शास्त्रहरूअनुसार, मसीह निम्नानुसार दर्शाइनुभएको थियो: १) परमेश्वर-मानवको रूपमा (यशैया ७:१४); २) शक्तिशाली परमेश्वरको रूपमा (यशैया ९:६); ३) पापीको प्रतिस्थापक र मुक्तिदाताको रूपमा (यशैया ५३:४); ४) अनन्त राजा (मीका ५:२) र ५) परमप्रभु (यहोवा) हाम्रो धार्मिकता (यर्मिया २३:५-६)। येशू मसीह हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्दा त्यहाँ मूल्य चुकाउनुपर्ने हुन्छ (यूहन्ना ९:२२) र यस मूल्यको कारण धेरैजना उहाँलाई स्वीकार गर्न विफल हुन्छन् (यूहन्ना १२:४२)। तर जस-जसले उहाँलाई मानिसहरूका सामु साँच्चै स्वीकार गर्छन् उनीहरूलाई स्वयं ख्रीष्टकै प्रतिज्ञा छ कि उहाँले उनीहरूलाई स्वर्गदूतहरूको सामु र उहाँको स्वर्गीय पिताको सामु स्वीकार गर्नुहुनेछ (मत्ती १०:३२; लूका १२:८)।
“स्वीकार” को विपरीत अर्थ बोकेको शब्द हो “इन्कार” (यूहन्ना १:२०; १ यूहन्ना २:२२-२३)। स्वीकार गर्नुचाहिँ“हो” भन्नु हो; इन्कार गर्नुचाहिँ “हुँदैन” भन्नु हो। लूका २२:५७-६० मा पत्रुसले भन्नुपर्थ्यो, “हो, म उहाँलाई चिन्छु (पद ५७)!” “हो, म उनीहरूमध्ये एक हुँ (पद ५८)! “हो, म उहाँसँग थिएँ (पद ५९-६०)!” तर पत्रुसले ख्रीष्टलाई इन्कार गरे (यद्यपि उनको इन्कार अस्थायी थियो किनकि पछि, पेन्टेकोस्टको दिनमा, उनले हजारौंका सामु साहससँग ख्रीष्टलाई स्वीकार गरे र प्रचार गरे — प्रेरित अध्याय २)। तसर्थ, “के तिमी येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी अङ्गिकार गर्दछौ? के तिमी उहाँलाई आफ्नो भनी दाबी गर्दछौ?” भन्ने प्रश्न गरिँदा एउटा विश्वासीले यसरी जवाफ दिन सक्दछ: “हो म गर्दछु! म मान्छु कि उहाँ मेरो हुनुहुन्छ! म परमेश्वरको पुत्रको हुँ जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई दिहाल्नुभयो!” दोस्रो र तेस्रो शताब्दीमा ख्रीष्टियनहरूले भोगेका भयङ्कर सतावटहरूमा, ठूला यातनाहरूको बाबजुद पनि प्रभुलाई इन्कार नगर्ने विश्वासीहरूलाई “कन्फेसरहरू” (स्वीकारकर्ताहरू) भन्ने नाम दिइन्थ्यो। हाम्रो लागि मर्नलाई नशर्माउने परमेश्वरका निम्ति हामी कहिल्यै नशर्माएका होऔं (२ तिमोथी १:८; रोमी १:१६; १ पत्रुस ४:१६)!

अन्तमा, हाम्रो मुखको स्वीकार हाम्रो जीवनको व्यवहारसित मेल खानुपर्छ। तीतस १:१६ मा पावलले एउटा मानव समूहको बयान गर्छन् जसले परमेश्वरलाई चिन्छौं भनेर स्वीकार गर्छन्! तर के तिनीहरूले साँच्ची नै जिउँदो परमेश्वरलाई चिन्छन् त? उनीहरूका ओठले भन्छन्, “अँ, हामी परमेश्वरलाई चिन्छौं!” तर उनीहरूको जीवनहरूले भनिरहेको छ, “अहँ, हामी परमेश्वरलाई चिन्दैनौं।” तिनीहरूको हिँडाइले उनीहरूको बोलीलाईखण्डन गरिरहेको छ अनि योचाहिँपरमप्रभुको निम्ति एउटा घिन लाग्ने कुरा हो। यी मानिसहरू ख्रीष्टको नाम लिन्छन् तर तिनीहरू परमेश्वरका होइनन् (२ तिमोथी २:१९)। उनीहरूले परमेश्वरलाई चिन्छौं भन्ने दाबी गरे तापनि उनीहरू झूटा हुन् र उनीहरूमा सत्य छैन (१ यूहन्ना २:३-४)। ख्रीष्टमा विश्वास गर्नेहरू भएर हामीले तिमोथीले जस्तै सबै मानिसहरूका सामु असल अङ्गीकार गरेका होऔं (१ तिमोथी ६:१२)। संसारले यो देखोस् कि हामीले हाम्रा ओठले जुन ख्रीष्टको नाम लिन्छौं उहाँ उही परमेश्वर हुनुहुन्छ जसको सेवा हामीले हाम्रा जीवनले गर्दैछौं! जसरी एउटा बट्टाको बिल्ला त्यसभित्रको चीजलाई स्वीकार गर्नलाई हो, त्यसरी नै विश्वासीहरूले पनि आफ्ना प्रभु र मुक्तिदातालाई छर्लङ्गै, बिना लाज स्वीकार गर्नुपर्छ।

“यदि तिमीले आफ्ना मुखलेप्रभुयेशूलाई स्वीकार गर्यौ भने” — यहाँ “प्रभु” भन्ने शब्दलाई जोड दिइएको छ। यो वाक्यांशलाई वास्तवमा यसरी अनुवाद गरिनुपर्छ, “यदि तिमीले आफ्ना मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्यौ भने”। वाक्य रचना फिलिप्पी २:११ को जस्तै हो (“हरेक जिब्रोले ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ”) जहाँ टीबीएस बाइबलमा ठीकसँग अनुवाद गरिएको छ। येशू नै प्रभु हुनुहुन्छ! हरेक विश्वासीको मुखबाट निस्कनुपर्ने स्वीकारोक्ति यही सत्यता हो। “प्रभु” भन्ने शब्द ग्रीकमा “कुरिअस्” हो जुन शब्दचाहिँ पुरानो नियमभरि (अर्थात् ‘सप्टुआजिन्ट’ नाम गरेको पुरानो नियमको ग्रीक अनुवादभरि) नियमित रूपमा यहोवा शब्दलाई जनाउन प्रयोग गरिएको छ। येशू नै यहोवा हुनुहुन्छ भनेर हामीले स्वीकार गर्नुपर्छ, जसको माने उहाँ परमेश्वर हुनुहुन्छ (उहाँ एकमात्र मुक्तिदाता र एकमात्र परमेश्वर हुनुहुन्छ — यशैया ४३:११; ४४:६,८; ४५:२१-२२ मा पढ्नुहोस् जहाँ यहोवाले आफू एकमात्र परमेश्वर र एकमात्र मुक्तिदाता हुनुभएको कुरा घोषणा गर्नुहुन्छ। अर्को कुनै छैन!)। येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ। उहाँ नै सार्वभौम प्रभु हुनुहुन्छ! उहाँ यहोवा-येशू हुनुहुन्छ! विश्वासीहरूले खुसीसाथ यस सत्यतालाई स्वीकार्छन् (रोमी १०:९)। एक दिन सबै मानिसहरूले यस सत्यतालाई स्वीकार्नेछन् (फिलिप्पी २:११)। सुरुका शताब्दीहरूमा ख्रीष्टिय विश्वासीहरू सीजरको सामु घुँडा टेक्न इन्कार गरे र उनीहरूले उहाँलाई प्रभु भनेर सम्बोधन गर्न इन्कार गरे। बरु तिनीहरूले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरे!

येशू ख्रीष्ट साँच्ची नै मेरा प्रभु हुनुहुन्छ भने उहाँले मेरो खुसीसितको समर्पणता र हृदयदेखिको आज्ञापालन माग गर्नुहुन्छ र उहाँ त्यसको योग्य हुनुहुन्छ। म नम्रतामा उहाँको अधिकारमुनि आफूलाई झुकाउँछु र खुसीसित ती कुराहरू गर्दछु जुन कुराले उहाँलाई खुसी पार्दछ। योभन्दा कम म कसरी गरूँ? येशूले भन्नुभयो, “अनि तिमीहरू किन मलाई ‘हे प्रभु, हे प्रभु’ भन्दछौ, र मैले भनेका कुराहरूचाहिँ पालन गर्दैनौ?” (लूका ६:४६)। जर्मनी देशमा भेटिएको एउटा कबरस्थानको ढुङ्गामा निम्न शब्दहरू कुँदिएको पाइयो:

ख्रीष्ट हाम्रा प्रभु हामीसित यसरी बोल्नुहुन्छ:
तिमी मलाई मालिक भन्छौ, तर आज्ञा मेरो मान्दैनौ;
तिमी मलाई ज्योति भन्छौ, तर हेर्न मलाई चाहन्नौ;
तिमी मलाई बाटो भन्छौ, तर हिँड्न ममा मान्दैनौ;
तिमी मलाई बुद्धि भन्छौ, तर पछ्याउन मलाई चाहन्नौ;
तिमी मलाई सुन्दर भन्छौ, तर प्रेम मलाई गर्दैनौ;
तिमी मलाई धनी भन्छौ, तर माग्न मसित मान्दैनौ;
तिमी मलाई अनन्त भन्छौ, तर खोज्न मलाई चाहन्नौ;
तिमी मलाई अनुग्रही भन्छौ, तर भरोसा मलाई गर्दैनौ;
तिमी मलाई महान् भन्छौ, तर सेवा मेरो गर्दैनौ;
तिमी मलाई सामर्थी भन्छौ, तर आदर मलाई गर्दैनौ;
तिमी मलाई धर्मी भन्छौ, तर डर मेरो मान्दैनौ;
तिमीलाई मैले दोषी ठहराउँदा, आरोप मलाई नलगाऊ!

ख्रीष्टको प्रभुत्व

आज ख्रीष्टको प्रभुत्वको शिक्षा सम्बन्धमा ठूलो वादविवाद चलिरहेको छ। कतिपटक यो प्रश्न सोध्ने गरिन्छ, “के एक व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्न तर प्रभुको रूपमा चाहिँ ग्रहण नगर्न पनि सक्छ?”एक छेउतिर ती छन् जोहरू सिकाउँछन् कि १) मानिसहरूले ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण गर्न सक्छन् तर उहाँको प्रभुत्वलाई इन्कार गर्न पनि सक्छन्, र यसरी उनीहरू मनलाग्दी जीवन बिताउन सक्छन्; २) विश्वासीहरू स्वर्ग जानेछन् किनकि उनीहरूले मुक्ति पाएका हुन्छन्, तर पृथ्वीमा रहँदा उनीहरूमध्ये धेरैजनाले अनैतिक र दुष्ट जीवन बिताउँछन् जसले गर्दा उनीहरूअविश्वासीहरूभन्दाकुनै फरक देखिन्नन्; तरैपनि यी शारीरिकहरूले इनामचाहिँ पाउँदैनन्; ३) विश्वासीहरू उनीहरूको जीवनहरूमाथि रहेको ख्रीष्टको अधिकारको पूरै विद्रोह गर्दै जीवन बिताउन सक्छन् तरैपनि उनीहरूले मुक्ति पाएका हुन्छन्। अर्को छेउतिर ती छन् जोहरू सिकाउँछन् कि हरेक मुक्ति पाएको व्यक्ति निश्चय गरी ख्रीष्टको अधिकारमुनि झुक्ने नै छ र आफ्नो जीवनको हरेक क्षेत्रमा उहाँको प्रभुत्वमुनि आफूलाई सुम्पनेछ र एक विश्वासयोग्य चेला बन्नेछ। उनीहरूको धारणाअनुसार शारीरिक ख्रीष्टियन भन्ने हुँदैन र यदि कसैमा उल्लेखनीय शारीरिकपन देखिन्छ भने उसले मुक्ति नै पाएको छैन। जस्तो प्रायः हुने गर्छ, यस विषयमा बाइबलीय शिक्षा यी दुई विषमताहरूको कतै बीचतिर भेटिन्छ। परमेश्वरको सत्यतालाई सधैं होशियारिपूर्वक सन्तुलनमा राखिनुपर्छ।

“पेन्डुलम मच्चिन्छ, हास्यास्पद विषमताहरू, बीचमा रहेको सत्यतालाई पार गरी।”

निम्न कुराहरूलाई विचार गर्नुहोस्:

१) “प्रभु” (कुरिअस्) भन्ने शब्दावली एक मालिकको सवालमा प्रयोग भएको छ जो आफ्नो दास वा दासहरूमाथि मालिक छन् (कलस्सी ३:२२)। विश्वासीले भन्न सक्छ, “येशू ख्रीष्ट मेरो मालिक हुनुहुन्छ र मचाहिँ उहाँको प्रेमको दास हुँ!”

२) “प्रभु” भन्ने शब्दावली एक सम्राट वा राजाको सम्बन्धमा प्रयोग भएको छ जो आफ्ना प्रजामाथि मालिक छन्। यो शब्द रोमी सम्राटलाई बयान गर्न प्रयोग गरिन्थ्यो: “सीजर प्रभु हुन्!” दाँज्नुहोस् प्रेरित २५:२६; मत्ती २७:६३ (पिलातसको बारेमा) र प्रकाश १७:१४। विश्वासीले भन्न सक्छ, “येशू ख्रीष्ट मेरो राजा हुनुहुन्छ र म उहाँको प्रजा हुँ!”

३) “प्रभु” भन्ने शब्दावली एक पतिको सम्बन्धमा प्रयोग भएको छ जो आफ्नी पत्नीमाथि मालिक छन् (१ पत्रुस ३:६)। विश्वासी जन प्रभु येशू ख्रीष्टसित विवाहित छन् (रोमी ७:४; एफेसी ५:२२-३३)।

४) यो शब्दावली एक काममा लाउने व्यक्तिको सम्बन्धमा प्रयोग भएको छ जो आफ्ना कर्मचारीमाथि मालिक छन् (लूका १६:३,५)। विश्वासीले भन्न सक्दछ, “प्रभु येशू मेरो मालिक र मेरो हाकिम हुनुहुन्छ।”

५) यो शब्दावली एक बुबाको सम्बन्धमा प्रयोग भएको छ जो आफ्नो छोरामाथि मालिक छन् (मत्ती २१:३०)। विश्वासी जन परमेश्वरलाई आफ्नो स्वर्गीय पिताको रूपमा मान्दै आफूलाई सुम्पन्छ।

६) यहूदीका निम्ति,“कुरिअस्” भन्ने शब्दावली एक ग्रीक शब्द थियो जुन शब्द परमेश्वरका दुई महत्त्वपूर्ण नामहरूलाई अनुवाद गर्न प्रयोग गरिन्थ्यो: १) आदोनाइ (माने मालिक र प्रभु र सार्वभौम व्यक्ति; र २) यहोवा (परमेश्वरको सबभन्दा पवित्र नाम, जहाँसम्म यहूदीहरूको सवाल थियो; यसले पूर्ण ईश्वरत्वलाई जनाउँथ्यो)। भजनसङ्ग्रह ११०:१ लाई हेर्नुहोस् — “परमप्रभु (यहोवा) ले मेरा प्रभु (आदोनाइ) लाई भन्नुभयो।” ग्रीक अनुवादमा यी दुवै नामलाई कुरिअस् (प्रभु) शब्दले अनुवाद गरिएको छ।

७) त्यसैले जब थोमाले बौरिउठ्नुभएका प्रभुलाई देखे, उनले भने, “मेरा प्रभु र मेरा परमेश्वर” (यूहन्ना २०:२८) र यसले यस्ता मानेलाई समेटिरहेको छ “मेरा प्रभु, मेरा मालिक, मेरा सार्वभौम, मेरा स्वामी, मेरा अधिकारी, आदि”।

८) हामीले प्रचार गर्ने मुक्तिदाता येशू ख्रीष्ट चाहिँ प्रभु हुनुहुन्छ! “किनकि हामी आफैलाई होइन, तर ख्रीष्ट येशूको प्रचार गर्दछौं जो प्रभु हुनुहुन्छ” (२ कोरिन्थी ४:५)। उहाँ जो हुनुहुन्छ त्यसभन्दा अर्कै हुन सक्नुहुन्न! ख्रीष्टलाई टुक्राइन सकिन्न (एक भाग मुक्तिदाता र अर्कोचाहिँ प्रभु)।

९) जब एक व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्दछ उसले उहाँलाई प्रभुको रूपमा पनि ग्रहण गर्दछ किनकि उहाँ ठीक त्यही नै हुनुहुन्छ! कलस्सी २:६ लाई ध्यानपूर्वक हेर्नुहोस् — “जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ।” यो मुक्तिदाता को हुनुहुन्छ जसमाथि मैले विश्वास गरेको छु? लूका २:११ मा हेर्नुहोस् — “एक मुक्तिदाता जो ख्रीष्ट प्रभु हुनुहुन्छ!” हामीले ख्रीष्टको प्रभुत्वलाई उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुराबाट कहिल्यै विच्छेद गर्नुहुँदैन। एक व्यक्तिले यसरी भन्न मिल्दैन, “म उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गर्दछु तर म उहाँलाई प्रभुको रूपमा इन्कार गर्दछु!” यो असम्भव छ किनकि जुन व्यक्तिलाई तपाईंले ग्रहण गर्नुभयो (यदि तपाईंले साँच्ची नै उहाँलाई ग्रहण गर्नुभएको हो भने) उहाँ सबैमाथि प्रभु हुनुहुन्छ (प्रेरित १०:३६)। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ र उहाँ सबैका प्रभु हुनुहुन्छ। उहाँ अहिले नै प्रभु हुनुहुन्छ तपाईंले यो विश्वास गर्नुभए पनि वा नभए पनि, तपाईं त्यसबमोजिम जिउनुभए पनि वा नभए पनि, तपाईंले यसलाई स्वीकार गर्नुभए पनि वा नभए पनि, तपाईंले आफूलाई उहाँमा समर्पण गर्नुभए पनि वा नभए पनि। उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ र परमेश्वरले जे जति भन्नुभएको छ उहाँ त्यही हुनुहुन्छ! जब एक व्यक्तिले प्रभुलाई ग्रहण गर्दछ उसले उहाँलाई उहाँको सम्पूर्ण वास्तविकतालाई ग्रहण गर्दछ।

१०) प्रेरित ९:६ मा हेर्नुहोस् र प्रेरित २२:१० मा पनि। प्रेरित पावलले सुरुबाटै आफूलाई ख्रीष्टको प्रभुत्वमुनि सुम्पे। हरेक साँचो विश्वासीको हृदयको उग्गार यस्तो होस्, “प्रभु, म के गरूँ, तपाईं के चाहनुहुन्छ?” (दाँज्नुहोस् यशैया ६:८ — प्रभु, म यहाँ छु!)

११) प्रेरित १६:३१ मा हेर्नुहोस्। हामीले विश्वास गर्नुपर्ने प्रभुमा हो! दाँज्नुहोस् यूहन्ना ९:३८।

१२) के येशू ख्रीष्ट तपाईंको प्रभु हुनुहुन्छ? प्रत्येक साँचो विश्वासीले कुनै हिच्किचाहटबिना भन्नुपर्छ, “हो” र “आमेन!” यदि एक व्यक्तिले त्यसो भन्न सक्दैन भने, हामीलाई प्रश्न उठ्नुपर्छ निजले मुक्ति पाएको छ कि छैन भनेर (१ कोरिन्थी १२:३)।

१३) के तपाईं उहाँ प्रभु हुनुहुन्छ भन्ने वास्तविकलाई सुहाउने जीवन बिताउँदैहुनुहुन्छ? यो बेग्लै प्रश्न हो, र एक इमानदार विश्वासीले आफ्नो जीवन कतिपटक असुहाउँदो भएको स्वीकार गर्नेछ। लज्जित हुँदै तर इमानदारीतामा उसले सायद यसरी भन्नेछ, “धेरै पटक मैले मेरा प्रभुको आज्ञापलान गर्न र उहाँको अधीनतामा आफूलाई सुम्पन विफल भएको छु, र मेरो जीवनमाथि उहाँलाई पूर्ण अधिकार दिन विफल भएको छु। म आफैमा विद्रोह गर्ने एकदम झुकाव छ। तर उहाँ नै प्रभु हुनुहुन्छ भनी म जान्दछु र मेरो इच्छा चाहिँ सबै कुरामा उहाँको आज्ञापालन गर्नु हो।”

१४) यस्तो बेमेल भएको कुरा बाइबलका पन्नाहरूमा पटकपटक भेटिन्छ। जस्तै: येशू यदि साँच्ची नै हुनुहुन्छ भने पत्रुसले कसरी भन्न सकेका, “हुँदैन, प्रभु” (प्रेरित १०:१४)? येशू यदि साँच्ची नै हुनुहुन्छ भने पत्रुसले कसरी उहाँको वचनलाई काट्दै यसो भन्न सकेका, “यस्तो नहोस्, प्रभु! तपाईंमाथि यो कुरा कुनै रीतिले परिआउनेछैन!” (मत्ती १६:२२)? यदि येशू साँच्ची नै प्रभु हुनुहुन्छ पत्रुसले यूहन्ना १३:६,८ मा भनेका कुराहरू कसरी भन्न सकेका? हरेक अवज्ञा (आज्ञा उल्लङ्घन गर्ने काम), विश्वासीले गरेको हरेक पाप, ख्रीष्टको प्रभुत्वलाई चुनौती दिने कुरा हो। तर परमेश्वरले यी कुराका खातिर हामीलाई आफ्नो भन्न छोड्नुहुन्न। उहाँ कति अनुग्रही हुनुहुन्छ! यसैका लागि हामीसित एकजना वकिल अर्थात् सहायक हुनुहुन्छ (१ यूहन्ना २:१-२)!

१५) हामी जति प्रभुमा बढ्दै जान्छौं त्यति नै बढी हामी ख्रीष्टको प्रभुत्वको व्यावहारिक माने र कसरी यस सत्यताले हाम्रा जीवनहरूको हरेक क्षेत्रलाई प्रभाव पार्दछ भन्ने कुरा बुझ्दछौं। यो क्रमिक रूपमा हुने कुरा हो, एक्कासी होइन (२ कोरिन्थी १३:८)।

“आफ्नो हृदयमा विश्वास गर्यौ भने” — कुरा यहाँ समयको क्रम अनुसार बताउन खोजिएको होइन। विश्वास गर्ने काम वास्तवमा स्वीकार गर्ने कामभन्दा पहिले आउँछ (जसरी पद १० मा)। स्वीकार चाहिँ भित्रपट्टिको विश्वासको बाहिर, कानले सुनिने अभिव्यक्ति हो। “हृदयले” — धेरैजनासँग ख्रीष्ट सम्बन्धी दिमागी ज्ञान त हुन्छ, तर त्यति भएर पुग्दैन (प्रेरित ८:३७ — “आफ्नो सम्पूर्ण हृदयले”)। एक व्यक्तिले मुक्ति पाउँदा परमेश्वरले उसको हृदयमा एउटा उदेकको काम गर्नुहुन्छ (प्रेरित १६:१४)। सुसमाचार “हृदयबाट पालन गरेका छौ” (रोमी ६:१७)। प्रभुको सेवा गर्ने सम्बन्धमा पनि हृदय नै लागिपरेको हुन्छ, “हृदयदेखि नै परमेश्वरको इच्छा पूरा गर्नेहरू होओ” (एफेसी ६:५-६)।

“परेमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी…विश्वास” — ख्रीष्टको बौरिउठाइमा विश्वास गर्ने काम मुक्तिको निम्ति अनिवार्य छ। हाम्रो विश्वास एक जिउँदो मुक्तिदातामाथिको विश्वास हो (रोमी ४:२५; १ कोरिन्थी १५:१४-१९)। ख्रीष्टको प्रतिस्थापनकारी मृत्यु यहाँ उल्लेख भएको छैन तर त्यो यहाँ मानिलिइएको छ (बौरि उठ्न उहाँ मरेको हुनुपर्थ्यो), साथै उहाँको मृत्युको महत्त्वलाई पावलले रोमीको यस पुस्तकमा बारम्बार सिकाइसकेका छन्। “तिमीले मुक्ति पाउनेछौ” — यो हो मुक्ति पाइन्छ भन्ने परमेश्वरको पक्का प्रतिज्ञा! मानिसले यदि विश्वास गर्दछ ने बचाउने काम परमेश्वरले गर्नुहुन्छ। के तपाईंले यो मुक्तिको महिमित प्रतिज्ञालाई दाबी गर्नुभयो र आफ्नै बनाउनुभयो? के तपाईंको हृदयले उहाँमाथि विश्वास गरिरहेको छ? के तपाईंको मुखले उहाँको बारेमा बोलिरहेको छ?

रोमी १०:१०

यस पदले पद ९ को व्याख्या गर्दछ (“किनकि”) र घटनाक्रमलाई समयको क्रमअनुसार प्रस्तुत गर्दछ: पहिले विश्वास आउँछ र त्यसपछि स्वीकार आउनुपर्छ। “धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ” — रोमी ४:३,५ सित दाँज्नुहोस् (एक व्यक्तिले परमेश्वरमाथि विश्वास गर्दछ र यो उसको निम्ति धार्मिकता गनिन्छ)। विश्वास गर्ने काम भित्रपट्टि हुने काम हो; स्वीकार गर्ने काम बाहिरपट्टि गरिने काम हो (जसरी हृदय र मुख हुन्छ – हृदय भित्रपट्टि छ र अदृश्य छ; मुख बाहिर छ र देखिन्छ)।
स्वीकार चाहिँ विश्वासलाई सुनिने बनाउनु हो! विश्वास हृदयभित्र हुने कुरा हो, कसैले तपाईंको विश्वासलाई देख्न सक्दैन। जब हामी आफ्नो मुख खोल्छौं र अरूहरूसित ख्रीष्टले हाम्रो निम्ति गरिदिनुभएको कुरा र उहाँ कति उदेकको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा बताउँछौं, तब हामीले हाम्रो विश्वासलाई सुन्न सकिने बनाउँछौं र त्यसलाई अरूका निम्ति छर्लङ्ग पार्दछौं। [स्वीकार चाहिँ विश्वासलाई सुन्न सकिने बनाउनु हो जसरी असल कामहरू विश्वासलाई देख्न सकिने बनाउनु हो — याकूब २:१४-२६] तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भनेर मैले कसरी जान्न सक्छु र, जबसम्म तपाईंले त्यो स्वीकार गर्नुहुन्न र मलाई बताउनुहुन्न? एक व्यक्ति ख्रीष्टलाई आफ्ना ओठले स्वीकार गर्नुभन्दा अगाडि नै उसले आफ्नो हृदयमा ख्रीष्टमाथि विश्वास गरिसकेको हुन्छ। ख्रीष्टलाई स्वीकार्ने काम बचाउनेविश्वासको साथसाथैजाने कुरा हो। हामीले यदि मुक्ति पाएका छौं भने के सो कुरा हामीले बताउनुपर्दैन र? हामीले यदि साँच्ची नै उद्धार पाएका छौं भने के सो कुरा हामीले बताउनुपर्दैन र (भजनसङ्ग्रह १०७:२)? ख्रीष्टले उसको निम्ति जे गरिदिनुभएको छ,त्यससित एउटा साँचो विश्वासी कसरी लजाउन सक्छ र? मेरा निम्ति जसले आफ्नो जीवन दिनुभयो, के म उहाँको बारेमा खुलेर कुरा गर्नुपर्दैन र, अनि गर्व गर्नुपर्दैन र?
“मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ” — यसको माने स्वीकार गर्ने कामचाहिँ मुक्ति पाउनका निम्ति पूरा गर्नुपर्ने एउटा शर्त हो भन्ने होइन, तर बरु स्वीकार चाहिँ मुक्तिको स्वाभाविक परिणाम वा प्रमाण हो। कसैले मुक्ति पाउनका निम्ति ख्रीष्टलाई स्वीकार गर्नुपर्ने होइन; निजले ख्रीष्टलाई स्वीकार गर्दछ किनकि उसले मुक्ति पाएको छ। स्वीकार, एक व्यक्तिले मुक्ति पाउनलाई गर्ने काम होइन; स्वीकार, एक मुक्ति पाएको व्यक्तिले गर्ने काम हो! विश्वास बाहिरी रूपमा र सार्वजनिक रूपमा व्यक्त गरिनुपर्छ। विश्वास गर्ने काम जरा हो; स्वीकार चाहिँ फल हो। साँच्ची नै विश्वास गर्ने हरेकले ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (मत्ती १०:३२; १०:९ र दाँज्नुहोस् प्रकाश ३:५)। तरैपनि ख्रीष्टलाई स्वीकार गर्ने हरेक नै साँचो चेला हुँदैन (हेर्नुहोस् मत्ती ७:२३; तीतस १:१६ र २ तिमोी २:१९)। परमेश्वरको अात्मिक सेनामा “गोप्य विश्वासी” को लागि कुनै ठाउँ छैन। हामी हाम्रा प्रमुख सेनापतिदेखि कहिल्यै नलजाएका होऔं (२ तिमोथी २:३-४)!
जसरी एउटा बट्टाको बिल्लाले बट्टाभित्र के छ भनेर बताउँछ, त्यसरी नै स्वीकारद्वारा विश्वासीले आफूभित्र को जिउनुहुन्छ भनेर घोषणा गर्दछ (२ कोरिन्थी १३:५ “…येशू ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ”)। साथै गलाती २:२० पनि हेर्नुहोस्।

रोमी १०:११

यस पदले पद १० लाई व्याख्या गर्दछ (“किनकि”)। हामी यदि ख्रीष्टमाथि साँच्ची नै विश्वास गर्छौं भने हामी उहाँदेखि शर्माउनेछैनौं र फलस्वरूप उहाँलाई खुसीसित स्वीकार गर्नेछौं! “विश्वास गर्ने हरेक” — रोमी १:१६ मा पनि यही वाक्य-रचना भेटिन्छ। हाम्रो मुक्तिदाताले हाम्रो निम्ति के गरिदिनुभयो भनेर हामीले साँच्ची नै बुझेका छौं भने हामी उहाँको बारेमा कसरी गर्व नगर्न सक्छौं र? कसरी हामी उहाँले हाम्रो निम्ति गरिदिनुभएको कुराको बारेमा खुसीसित नबोलीकन बस्न सक्छौं र? “परमप्रभुले हाम्रा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ, यसैकारण हामी आनन्दित छौं!” (भजनसङ्ग्रह १२६:३)।

रोमी १०:१२

“कुनै भिन्नता छैन” भन्ने वाक्यांश रोमी ३:२२-२३ मा पनि भेटिएको थियो। उक्त खण्डमा, सबैले पाप गरेका हुनाले र सबै नै दोषी भएकाले (सबै नै उही दोषको सहभागी भएकाले)त्यहाँ कुनै भिन्नता छैन भन्ने कुरा उल्लेख छ। रोमी १० अध्यायमा चाहिँ, उही प्रभुले उहाँलाई पुकार्ने सबैमाथि आफ्नो धन वर्षाउनुहुने भएकोले (सबै मानिसहरूलाई उही मुक्तिको भागीदार हुनलाई निम्तो दिइएको हुनाले)त्यहाँ कुनै भिन्नता छैन भन्ने कुरा उल्लेख छ। सबैले पाप गरेका छन् तर त्यहाँ एकजना मुक्तिदाता हुनुहुन्छ जो सबैका निम्ति प्रबन्ध गरिनुभएको छ! कुनै भिन्नता बिना सबै मानिसहरू दोषी ठहरिएका छन्; कुनै भिन्नता बिना सबै मानिसहर मुक्ति पाउनलाई निम्त्याइएका छन्!
उहाँ यहूदीहरूमाथि प्रभु हुनुहुन्छ र उहाँ ग्रीक (अन्यजाति) हरू माथि प्रभु हुनुहुन्छ! रोमी ३:२९ र प्रेरित १०:३४-३६ (जुन बेला सुसमाचार अन्यजातिहरूलाई प्रचार गरिएको थियो)। परमेश्वर उहाँलाई पुकार्नेहरूप्रति धनवान् हुनुहुन्छ। उहाँको नाम पुकार्नेहरूमाथि उहाँले आफ्नो सम्पत्ति खन्याउनुहुन्छ। यो वरदान कति बहुमूल्य छ भन्ने कुरा परमेश्वरको वरदान (रोमी ६:२३; ५:१७; एफेसी २:८-९ आदि) लिएकाहरूले मात्र जान्दछन्। परमेश्वरको भलाइ, त्यसलाई“चाखेर हेर्नेहरू” (दाँज्नुहोस् भजनसङ्ग्रह ३४:८ र १ पत्रुस २:३) ले मात्र जान्दछन्। विश्वासीहरूले मात्र “उहाँको अनुग्रहको धन” (एफेसी १:७) लाई र “ख्रीष्टको खोजेर नसकिने धन” लाई जान्न थाल्न सक्छन्। “उहाँको अनुग्रहको धन — मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु — २१५ ओटा सत्यताहरू” शीर्षक गरेको पर्चा पढ्नुहोस् (wordoftruth.com.np)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १०:१-७

रोमी १०:१-७

 

रोमी अध्याय १०

दुवै यहूदी र अन्यजातिलाई मुक्ति

परिचय

रोमी अध्याय ९ ले परमेश्वरको सार्वभौमिकतालाई जोड दिएको थियो: आफ्नो योजनाको कार्यान्वयन परमेश्वर आफैले गर्नुहुन्छ (९:११); चुन्ने काम परमेश्वर आफैले गर्नुहुन्छ (९:११); बोलाउनुहुने परमेश्वर हुनुहुन्छ (९:११); कृपा देखाउनुहुने र दया राख्नुहुने परमेश्वर हुनुहुन्छ (९:१५-१६); कठोर पार्नुहुने परमेश्वर हुनुहुन्छ (९:१८); कृपाका भाँडाहरूलाई महिमाका निम्ति तयार पार्नुहुने परमेश्वर हुनुहुन्छ (९:२३); यहूदी र अन्यजातिलाई एउटै शरीरमा बोलाउनुहुने परमेश्वर हुनुहुन्छ (९:२४)।

रोमी अध्याय १० ले मानिसको जिम्मेवारीलाई जोड दिन्छ: प्रार्थना गर्नुपर्ने मानिसले हो (१०:१); अधीनतामा आफूलाई सुम्पनुपर्ने मानिसले हो (१०:३); विश्वास गर्ने काम मानिसको हो (१०:४); हृदयमा विश्वास गर्नुपर्ने र मुखले स्वीकार गर्नुपर्ने मानिसले हो (१०:९-१०); प्रभुको नामलाई पुकार्ने काम मानिसले गर्नुपर्छ (१०:१२-१३); सुसमाचार सुन्ने र विश्वास गर्ने काम मानिसले गर्नुपर्छ (१०:१४-१७)। बचाउने काम परमेश्वरले गर्नुहुन्छ तर विश्वास गर्ने काम मानिसले गर्नुपर्छ (प्रेरित १६:३१ र १ कोरिन्थी १:२१ हेर्नुहोस्)।

रोमी १०:१ (९:१-४ सित तुलना गर्नुहोस्)

“चाहना” को माने हो “इच्छा, अभिलाषा, उत्कण्ठा” (क्रियापदको माने हो “राम्ररी खुशी हुनु”; तसर्थ पावल यस्तो भन्दैथिए, “म उनीहरूको मुक्तिको अभिलाषी छु, र उनीहरूको मुक्तिले मेरो हृदयलाई ठूलो आनन्द र खुशी ल्याउनेथ्यो!”)। यहाँ “प्रार्थना” भन्ने शब्द प्रार्थनाको लागि नयाँ नियममा सामान्यतया प्रयोग गरिने शब्द नभएर कुनै खाँचोको कारण राखिने कुनै निश्चित माग भन्ने माने बोकेको शब्द हो। एउटा निश्चित खाँचोको निम्ति एउटा निश्चित माग थियो:अर्थात् उनीहरूले मुक्ति पाऊन्। भविष्यमा इस्राएलले एक राष्ट्र (जाति) कै रूपमा मुक्ति पाउनेछ (हेर्नुहोस् रोमी ११:२६)। वर्तमानमा पावलले व्यक्ति-व्यक्तिको रूपमा यहूदीहरूले ख्रीष्टमा विश्वास गरून् र मुक्ति पाऊन् भनेर प्रार्थना गर्दैथिए। पावल आफै एक यहूदी थिए जसले मुक्तिका निम्ति ख्रीष्टमाथि भरोसा गरे (प्रेरित अध्याय ९)। हाम्रो हृदयमा, पावलको जस्तै, हराएकाहरूका निम्ति ख्रीष्टको दया हुनुपर्छ (मत्ती ९:३६-३८)।

एउटा विषम र गलत शिक्षा छ जसले भन्छ कि परमेश्वरको सार्वभौमिकताले मानिसको जिम्मेवारीलाई अनावश्यक तुल्याएको छ। त्यो शिक्षा यस प्रकार छ: “मैले किन प्रार्थना गर्नुपर्छ र? एक व्यक्ति कि त चुनिएको हुन्छ, कि त नचुनिएको हुन्छ। परमेश्वरले उसलाई कि त बचाउनुहुन्छ, कि त बचाउनुहुन्न। एउटा व्यक्तिले मुक्ति पाउनेछ भनेर परमेश्वरले ठहराइसक्नुभएको छ भने उसले मुक्ति पाउने नै छ, मैले चाहे प्रार्थना गरूँ वा नगरूँ, त्यसैले मैले किन प्रार्थना गर्नुपर्छ र?” पावलले प्रार्थना गरे! परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने शिक्षा, यदि सठीक रूपमा बुझियो भने, त्यो कहिल्यै प्रार्थनाको बाधक बन्दैन। जुन परमेश्वरलाई हामी प्रार्थना गर्दछौं उहाँ नै हुनुहुन्छ जसले सबथोक नियन्त्रण गर्नुहुन्छ र “सबै कुराहरू आफ्नै इच्छाको मनसायअनुसार” काम गर्नुहुन्छ” (एफेसी १:११)। साथै प्रार्थनाले हामीलाई हाम्रा सार्वभौम परमेश्वरको मन र हृदय र इच्छासित एक मन बनाउँदछ ताकि उहाँ हामीमा र हामीद्वारा आफ्नो उद्देश्य झन् प्रभावकारी ढङ्गले अघि बढाउन सक्नुहुन्छ (फिलिप्पी २:१३)।

जब एक व्यक्तिले साँच्ची नै मुक्ति पाउँछ उसलाई अरूहरूले मुक्ति पाओस् भन्ने वास्ता हुन्छ, इच्छा र बोझ हुन्छ। उसले अरूलाई हराएका व्यक्तिहरूको रूपमा देख्नेछ जसलाई ख्रीष्टको नित्तान्त खाँचो छ। आफ्नो परमेश्वर र मुक्तिदाताको इच्छा जस्तो छ उसको पनि त्यस्तै इच्छा हुन्छ (१ तिमोथी २:३-४ हेर्नुहोस्)।

रोमी १०:२

पावल यहाँ भन्दैछन्: “म एउटा साक्षी हुँ! मलाई उनीहरूको जोशको बारेमा सब थाह छ किनकि म आफै एक यहूदी हुँ र म पनि उनीहरूजस्तै थिएँ (हेर्नुहोस् गलाती १:१४; फिलिप्पी ३:६ ज्ञानबिनाको जोश; ३:९-१० ज्ञानसहितको जोश)। ज्ञानबिनाको जोश हुनुचाहिँ एउटा फूटबल खेलाडीजस्तो हुनु हो जसले आफ्नो भएभरको बलले भकुण्डोलाई खेलाउँदै दगुर्छ, तर उल्टो दिशामा! कसैको जोश हुन्छ तर ज्ञान हुँदैन; अरूको ज्ञान हुन्छ तर जोश हुँदैन।

प्रभुका निम्ति जोश हुनु भनेको परमेश्वरलाई खुशी पार्न, उहाँको इच्छा पूरा गर्न, वर्तमान संसारमा हर तवरले उहाँको महिमाको प्रवर्तन गराउन ज्वलन्त अभिलाषा हुनु हो। जोशिलो मान्छे एउटै कुराको पछि लाग्छ। ‘ऊ लगनशील छ, उल्लसित छ, कट्टर छ, दिलोज्यान दिने खाले छ, आत्मामा जोशिलो छ’ आदि भनेर पुग्दैन। उसले केवल एउटै कुरा देख्छ, उसलाई एउटै कुराको वास्ता छ, ऊ एउटै कुराको निम्ति जिउँछ, ऊ एउटै कुराले निलिएको छ; अर्थात् परमेश्वरलाई खुशी पार्नु। ऊ बाँचे पनि वा मरे पनि — ऊ स्वस्थ्य होस् या रोगी — ऊ धनी होस् वा गरिब — उसलाई बुद्धिमान् ठानियोस् वा मूर्ख — उसलाई दोष लगाइयोस् वा प्रशंसा गरियोस् — उसले सुनाम कमाओस् वा बदनाम — उसलाई आदर गरियोस् वा अनादर — यी सबै कुराका लागि एक जोशिलो मानिसले कुनै मतलब राख्दैन। ऊ एउटै कुराको निम्ति जल्दछ; त्यो एउटा कुरा हो परमेश्वरलाई खुशी पार्नु, र परमेश्वरको महिमालाई अघि बढाउनु। यस जलनले नै उसलाई खान्छ भने पनि उसले वास्ता गर्दैन — ऊ सन्तुष्ट छ। ऊ ठान्दछ, जस्तो एउटा बत्ती, त्यस्तै ऊ पनि जल्नको लागि हो; अनि यदि ऊ जल्दै खर्चिन्छ भने उसले केवल त्यो काम पूरा गर्दछ जुन कामको लागि परमेश्वरले उसलाई नियुक्त गर्नुभयो। (जे सी राइली)

रोमी १०:३

“अनजान” शब्दचाहिँ पद २ को “ज्ञानअनुसार छैन” सित जोडिएको छ। तिनीहरू अनुग्रहमा आधारित धर्मीकरणको ईश्वरीय तरिकाको बारेमा अनजना थिए र तिनीहरू कामहरू/व्यवस्था/शरीरमा आधारित धर्मीकरणको आफ्नै तरिकालाई काममा लाउन खोज्दैथिए। जोडचाहिँ “आफ्नै” भन्ने शब्दलाई दिइएको छ। “खोजेर” भन्ने शब्दले रोजाइलाई जनाइरहेको छ। रोज्नुपर्ने कुरा यस प्रकार छ: धार्मिकता मैले आफ्नै प्रयासबाट प्राप्त गर्न खोज्ने कि परमेश्वरको अनुग्रहले? म आफ्नै धार्मिकतालाई स्थापना गर्न खोजूँ कि उहाँको धार्मिकताको अधीनतामा आफूलाई सुम्पूँ? मैले आफैलाई परमेश्वरकहाँ ल्याउन खोज्ने कि ख्रीष्टले मलाई परमेश्वरकहाँ ल्याउनुपर्ने हो (१ पत्रुस ३:१८)? धार्मिकता मैले सीनै पर्वतमा पाउने हो (व्यवस्था पालन गर्न खोजेर) कि कल्वरीमा पाउने हो (मेरा निम्ति क्रूसमा टाँगिनुभएको मुक्तिदातामाथि भरोसा गरेर)?

उदाहरण: व्यवस्था पालन गरेर आफ्नै धार्मिकता स्थापित गर्न खोजिरहेकाहरू ती मानिसहरूजस्ता हुन् जोहरू आफ्नै प्रयासले पौडी खेलेर समुद्र पार गरी जापानदेखि अमेरिका पुग्न खोज्छन्। त्यो असम्भव छ! कोहीकोही अरूअरू भन्दा अलिक पर पुग्लान्। कोही त थुप्रै किलोमिटर दूरी पनि पार गर्लान्। तर तिनीहरू सबै समुद्रमा डुबेर मर्छन्। एकैजना पनि सफल हुन सक्दैन। “आफूलाई अधीनतामा सुम्पनेहरू” ती जस्ता हुन् जोहरू जहाज चढ्छन् र उनीहरूलाई जापानदेखि अमेरिका पुर्याउनलाई जहाजमाथि भरोसा राख्छन्। पूरै काम जहाजले गर्छ। उनीहरू आफैले आफूलाई गन्तव्यमा पुर्याउँदैनन्, जहाजले उनीहरूलाई पुर्याउँछ। हामीलाई परमेश्वरकहाँ पुर्याउनेहुने चाहिँ ख्रीष्ट हुनुहुन्छ (१ पत्रुस ३:१८; यूहन्ना १४:६)। हाम्रा आफ्नै कामहरू, हाम्रा आफ्नै प्रयास, ती जतिसुकै इमानदारीपनमा गरिएका किन नहोऊन् र हामी जतिसुकै यत्नशील किन नहोऔं, तिनले हामीलाई परमेश्वरकहाँ कहिल्यै पुर्याउन सक्दैनन् (एफेसी २:८-९; तीतस ३:५)।

रोमी १०:४

जब म मुक्तिको निम्ति ख्रीष्टकहाँ आउँछु, यसले व्यवस्था पालनद्वारा धार्मिकता प्राप्त गर्न खोज्ने मेरा सबै खोजीलाई अन्त्य गरिदिन्छ। मलाई चाहिएको सम्पूर्ण धार्मिकता येशू ख्रीष्टमा पाइन्छ। व्यवस्थाले मलाई मेरो अधर्म देखाउन सक्छ तर त्यसले मलाई धार्मिकता दिन सक्दैन: “किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो” (गलाती २:२१)। परमेश्वरको धार्मिकता कलवरीमा पाइन्छ, सीनैमा होइन। जहाजको उदारणलाई फेरि लिऊँ: जहाज चढ्नुचाहिँ ख्रीष्टमा विश्वास गर्नु जस्तै हो (“विश्वास गर्ने हरेक”)। जहाजमाथि चढिसकेको हरेकले भन्न सक्छ: “अब उसो मलाई पौडनु पर्ने कुनै आवश्यकता छैन! मैले त्यो भन्दा धेरै राम्रो तरिका भेट्टाएको छु! मैले पौडेर कहिल्यै पुग्न नसक्ने ठाउँमा मलाई पुर्याइदिन म जहाजमाथि भरोसा गर्दैछु! मेरा पौडने दिनहरू अन्त्य भइसके किनकि म जहाजमा छु!” व्यवस्थाद्वारा धार्मिकताको खोजी गर्ने मेरा दिनहरू अन्त्य भए!

जसरी पावलले अर्को ठाउँमा लेखेका छन्, “र उहाँमा भेट्टाइन सकूँ, व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएकोले होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा हुने धार्मिकताले अर्थात् परमेश्वरको धार्मिकता, जो विश्वासद्वारा प्राप्त हुन्छ” (फलिप्पी ३:८ख-९)। विश्वास नगर्ने यहूदीहरू परमेश्वरको क्रोधमुनि थिए किनकि तिनीहरूको जीवन उहाँको व्यवस्थाको नापोसम्म पुग्न सक्दैनथ्यो अनि उनीहरू उहाँको अनुग्रहको अधीनतामा आफूलाई सुम्पन चाहँदैनथे।

“अन्त” को माने “टुङ्गो” हो। मूरेको टिप्पणीले मदत दिन्छ:

एउटा शर्त थपिएको छ भन्ने कुरा यहाँ टिपोट गरिनु खाँचो छ: “विश्वास गर्ने हरेक”। यस शर्तले यो जनाउँछ कि विश्वास गर्ने व्यक्तिको लागि मात्र ख्रीष्ट व्यवस्थाको अन्त हुनुहुन्छ”। [अविश्वासीहरू, तेस्रो पदमा बताइएजस्तै, अझै पनि धार्मिकता पाउनलाई व्यवस्थाको पछि दगुरिरहेका छन्, यद्यपि त्यो उपायले कहिल्यै काम गर्नेछैन। तिनीहरूका निम्ति व्यवस्था अन्त भइसकेको छैन किनकि तिनीहरू अझै पनि आफ्नो धार्मिकताका लागि त्यसैमा भरोसा गर्दैछन्।] पावल भन्छन्, विश्वास गर्ने हरेकको लागि यो सत्य हो कि ख्रीष्ट व्यवस्थाको अन्त हो, अनि उनको यो भनाइको तात्पर्य यो हो कि धार्मिकता प्राप्त गर्ने उपायको सम्बन्धमा चाहिँ व्यवस्थासितको प्रत्येक विश्वासीको सम्बन्ध अब टुङ्गिसकेको छ (Epistle to the Romans, p.50)।

व्यवस्थाले सिद्ध धार्मिकताको माग गर्दछ जुन कुरा म आफैले हासिल गर्न वा प्राप्त गर्न कहिल्यै सक्दिन। जब मैले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरें, मबाट परमेश्वरले सदासर्वदा माग गरिने जति सबै धार्मिकता मलाई ख्रीष्टमा दिइयो। मलाई खाँचो परेको कुरा मैले पाएँ, व्यवस्थाद्वारा होइन तर ख्रीष्टद्वारा। उहाँ नै मेरो धार्मिकता हुनुहुन्छ!

रोमी १०:५

यो उद्दरण लेवी १८:५ बाट लिइएको हो र जोडचाहिँ “गर्दछ” भन्ने शब्दमा छ। अक्षरशः अनुवाद गर्दा, “जुन मानिसले ती कुराहरू गरेको छ ऊ बाँच्नेछ।” यदि कुनै व्यक्तिले व्यवस्था पालन गरेको छ भने ऊ बाँच्नेछ! व्यवस्थाअनुसारको “सुसमाचार” यही हो, तर वास्तवमा यो असल खबर नै होइन जब हामी महसुस गर्दछौं कि यसको विपरीत पक्ष पनि साँचो हुन्छ: “तिमीले व्यवस्था पालन गर्न विफल भएका छौ भने तिमी मर्नेछौं!” भङ्ग गरिएको व्यवस्थाको बापत पाइने दण्डचाहिँ मृत्यु हो। तर यदि कुनै मानिसले व्यवस्था पालन गर्दछ भने ऊ बाँच्नेछ।

पौडने कि जहाज चढ्नेको उदाहरणलाई फेरि लिऊँ: तपाईं पौडी खेलिरहनुभयो भने तपाईं समुद्र पारी पुग्नुहुन्छ! यो एकदम साँचो हो तर यो एकदम असम्भव पनि छ! यदि तपाईंले व्यवस्था (सिद्ध रूपमा) पालन गर्नुभयो भने तपाईं बाँच्नुहुन्छ! यो पनि एकदम साँचो हो तर एकदम असम्भव हो। एक पापी व्यक्तिले व्यवस्था पालन गरेर मुक्ति कमाउनु भनेको असम्भव कुरा हो भनेर मत्ती १९:१६-१७, लूका १०:२५-२८ र गलाती ३:१०-१३ ले दर्शाएको छ।

मुक्तिको निम्ति व्यवस्थाको सुत्र यस्तो छ: गर र बाँच! (सबै आज्ञाहरू पालन गर र तिनलाई सिद्ध रूपमा पालन गर र तिनलाई निरन्तर पालन गरिराख र तिमी बाँच्नेछौ!)
मुक्तिको निम्ति अनुग्रह / क्रूसको सुत्र यस्तो छ: विश्वास गर र बाँच! ख्रीष्टले जे गरिसक्नुभयो त्यसमाथि विश्वास गर र अडेस लगाऊ (उहाँले सिद्ध्याइसक्नुभएकोक्रूसको काममा) र तिमीले अनन्त जीवन पाउनेछौ (यूहन्ना ३:१६; ५:२४; ६:४७ इत्यादि)।

मानिसले कहिल्यै भन्न सक्दैन, “अब सकियो! मैले गरी भ्याएँ! मैले हासिल गरें! मैले व्यवस्था पालन गरें अनि मैले यसलाई पूरै पालन गरें! (म पौडी खेल्दै समुद्र पार गरें!)” बिलकुल असम्भव! तर जुन कुरा मानिसले व्यवस्थाद्वारा गर्न सकेन, परमेश्वरले गर्न सक्नुभयो र त्यो गर्नुभयो, अनुग्रहद्वारा (हेर्नुहोस् रोमी ८:३-४)। जुन कुरा पौडी खेलेर गर्न सकिँदैनथ्यो त्यो जहाजमा चढेर हासिल गर्न सकिने भयो!

रोमी १०:६-७

पावलले यहाँ प्रयोग गरेको भाषा व्यवस्था ३०:११-१४ बाट लिइएको हो। कसले ख्रीष्टलाई स्वर्गबाट तल ल्याऊला? कसले ख्रीष्टलाई मरेकाहरूको बीचबाट माथि ल्याऊला?

“मानिसले दुइटै गर्न सक्दैथ्यो तर परमेश्वरले अनुग्रहमा मानिसलाई भेट्नुभयो। संसारमा आफ्नो पुत्रलाई पठाउने काम पिताले गर्नुभएको हो। उहाँ मरेकाहरूबाट बौराइनुभएको पिताको महिमाद्वारा भएको हो। ‘परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो’ अनि ‘परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराउनुभयो’” (विलियम केल्ली)।

ख्रीष्टलाई स्वर्गबाट ल्याउने काम तपाईंले गर्नुपर्दैन। पिताले पुत्रलाई पठाउनुभयो! उहाँ आइसक्नुभयो! त्यो भइसक्यो! “ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई संसारमा आउनुभयो” (१ तिमोथी १:१५)। यो त एउटा महिमापूर्ण, पूरा भइसकेको घटना हो (जसलाई विश्वास गरिनुपर्छ)।

ख्रीष्टलाई मरेकाहरूबाट बौराइनुपर्दैन। त्यो पूरा भइसक्यो! त्यो एक विश्वास गरिनुपर्ने तथ्य हो (पद ९)। मानिसले गर्नुपर्ने केही बाँकी छैन। मान्छेले होइन, परमेश्वरले देहधारण हुने गराउनुभयो अनि मानिसले होइन, परमेश्वरले पुनरुत्थान हुने गराउनुभयो। मानिसको मुक्तिको निम्ति ख्रीष्ट येशूले सबै आवश्यक काम पूरा गरिसक्नुभयो। उहाँ पृथ्वीमा ओर्लनुभयो, क्रूसमा मर्नुभयो र मरेकाहरूबाट बौरनुभयो। यी महान् तथ्यहरू प्रचारिनुपर्छ र विश्वास गरिनुपर्छ।

साँचो इसाईमत र संसारका सबै धर्महरूको बीचमा चौडा भिन्नता छ। संसारका धर्महरूलाई सारांशमा यसरी बयान गर्न सकिन्छ: “पूरा गर” जब कि साँचो इसाईमत लाई सारांशमा यसरी बयान गर्न सकिन्छ: “पूरा भइसक्यो”। ठूलोबोझमुनि दबिएको हृदयले विश्राम पाउँदा उसलाई हुने अनुभवलाई कसले बयान गर्न सक्छ जब उसले पत्ता लगाउँछ कि सब कामकुरा पूरा भइसकेको रहेछ र त्योचाहिँ अर्कोले पूरा गरिदिनुभएको रहेछ (यूहन्ना १९:३०)? पौडन खोजिरहेको त्यस व्यक्तिले अनुभव गर्ने विश्रामलाई कसले बयान गर्न सक्छ र जब उसले पत्ता लगाउँछ कि ऊ पौडेर समुद्र पारी पुग्नुपर्दैन तर ऊ केवल जहाजमाथि चढ्नुपर्छ र जहाजलाई सबै काम गर्न दिए पुग्छ!)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ९:२१-३३

रोमी ९:२१-३३

 

रोमी ९:२१

यसप्रश्नलेसकारात्मक जवाफको माग गर्दछ। हो, एउटा भाँडालाई आदरको र अर्कोलाई अनादरको बनाउन परमेश्वरको पूरै अधिकार छ। “ढिका” = माटोको डल्ला जसबाट कुमालेले भाँडा वर्तन बनाउँछ। “माटो” = यसले पापपूर्ण, पतित मानवजातिलाई जनाउँछ (परमेश्वरले नै मान्छेलाई पापी बनाउनुभएन)। जसरी अल्भा म्याक्लेनले लेखेका छन्,

“पावल यहाँ मानिसको सृष्टिको कुरा गरिरहेका छैनन्। परमेश्वरले मानिसलाई असल, पवित्र र धर्मी बनाउनुभएको थियो तर यहाँ माटो भनेर प्रेरित पावलले चर्चा गरेको चाहिँ पापपूर्ण माटोको हो। त्यस माटोबाट हरेक मानिस उस्तै रूपमा खडा हुन्छ। हरेक मानिस पापी छ, हरेक मान्छे दण्डको योग्य छ। त्यस जमातबाट एकजनालाई चुनेर उसमाथि कृपा देखाउन परमेश्वरलाई अधिकार छ।”

“भाँडा” = माटोको भाँडा, वर्तन, प्लेट, आदि। २ तिमोथी २:२० सित तुलना गर्नुहोस् जहाँ पनि आदरका र अनादरका भाँडाहरूको कुरा गरिएको छ। राजाको दरवारमा कुनै भाँडा होला जसमा सुन्दर फूलहरू सजाएर राखिन्छ जब कि त्यहाँ अर्को भाँडा होला जसमा किरैकिरा परेको फोहोरमैला फ्याँकिन्छ। अर्को भाँडा पानी बोकेर ल्याउन प्रयोग गरिएला र अर्कोचाहिँ गोबर वा कसिङ्गर बोकेर लैजान प्रयोग गरिएला। फरकफरक कामका लागि फरकफरक भाँडाहरू बनाउन कुमालेलाई पूरै अधिकार छ।

रोमी ९:२२

“इच्छा गरेर” = परमेश्वरले जे चाहनुहुन्छ; “देखाउने” = प्रमाणीकरण गर्न (पद १७ कै शब्द)। परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र प्रदर्शनी गर्न चाहनुहुन्छ (रोमी १:१८ पढ्नुहोस्)। “क्रोध” भन्ने शब्दले पापको विरुद्धमा रहेको परमेश्वरको कडा र ईश्वरीय बेखुशीलाई जनाउँछ। त्यो केवल रिसको झनक वा आवेग मात्र होइन तर पापको विरुद्धमा रहेको उहाँको स्थायी, स्थिर रिसको अवस्था हो; एउटा पवित्र क्रोध। यी क्रोधका भाँडाहरू (यसले मुक्तिरहित अवस्थामा अनन्तता प्रवेश गर्नेहरूलाई जनाउँछ) ले परमेश्वरको पवित्रता र धार्मिकता र सिद्ध न्यायलाई [प्रकाश १६:५ सित तुलना गर्नुहोस् — “तपाईं धर्मी हुनुहुन्छ, हे प्रभु… किनकि तपाईंले यसरी न्याय गर्नुभएको छ”]। “प्रकट गर्ने” = दर्शाउनु। परमेश्वर आफैलाई प्रकट गर्न र चिनाउन मन पराउनुहुन्छ। फाराओले परमेश्वरको सामर्थ्य र परमेश्वरका न्यायहरू निस्सन्देह जान्न पाए (प्रस्थान ५:२ सित तुलना गर्नुहोस् जब फाराओले भने, “म परमप्रभुलाई चिन्दिनँ”। परमेश्वरले आफूलाई यस मानिसकहाँ नाटकीय ढङ्गले चिनाउन अगाडि बढ्नुभयो।) सबै मानिसहरूले परमेश्वरलाई चिन्नेछन् या त न्यायकर्ताको रूपमा या त मुक्तिदाताको रूपमा।

विनाशका यी भाँडाहरूप्रति परमेश्वर कतिसम्म कृपालु हुनुहुन्थ्यो भन्ने कुरालाई ध्यान दिनुहोस्। “धीरज देखाउनुभयो” = सहनुभयो। “सहनशीलता” = रिसाउनमा ढिलो। परमेश्वर फाराओ लगायत इतिहासको पन्नामा पाइने थुप्रै अविश्वासीहरूप्रति खूबै धैर्य देखाउनुभयो। पश्चात्ताप गर्न नचाहनेहरू प्रतिको परमेश्वरको भलाइ र धैर्य रोमी २:४-५ मा पनि देख्न सकिन्छ।

“विनाशका निम्ति तयार परेका” (टि.बी.एस. बाइबलमा “बनाइएका” भनेर अनुवाद गरिएको छ तर ग्रीक शब्द καταρτισμενα कोयोसठीक अनुवाद होइन) — क्रोधका यी भाँडाहरूविनाशका निम्ति एकदम सुहाउँछन् जुन विनाशमा पर्न उनीहरू योग्य छन्। “तयार परेका” = मिलेका, तमतयार, विनाशका निम्ति पाकेका, विनाशको योग्य। यस क्रियापदलाई कतिले ग्रीक व्याकरणको मिडल भ्वाइस (middlevoice) को रूप मानेका छन्, “आफूलाई विनाशको निम्ति तयार पारेको हुँदा” (Bauer, Arndt&Gingrich)। Vine — “यहाँ मिडल भ्वाइसले निजहरूले आफूलाई विनाशको निम्ति तयार पारे भन्ने सङ्केत दिन्छ” (साथै म्याक्लेन पनि)। परमेश्वरलेउनीहरूलाई तयार पार्नुभयो अथवा बनाउनुभयो भनिएको छैन (यसलाई पद २३ सित तुलना गर्नुहोस् जहाँ भने “परमेश्वरले पहिलेदेखि तयार पार्नुभएको” भनिएको छ)। कथित “अस्वीकरणको सिद्धान्त” (doctrineofreprobation) को बारेमा रोमी ९:२३ अन्तर्गत हेर्नुहोस्।

“विनाशका निम्ति तयार परेका” भन्नुको तात्पर्य के हो? यो कुरा फाराओको उदाहरणद्वारा दर्शाइन्छ।

“परमेश्वरले उसलाई दुष्ट र कठोर बनाउनुभएन; तर उसको पापको सजायस्वरूप उहाँले ऊसित यसरी व्यवहार गर्नुभयो कि उसको स्वभावको खराबीलाई त्यसरूपमा र त्यस परिस्थितिअन्तर्गत प्रकट गर्नुभयो जसले उसलाई परमेश्वरको दण्डरूपी न्यायको उचित निशाना बनायो” (चार्ल्स हज)।

यस प्रकारले विचार गर्नुहोस्: मान्छे कसरी खराब बनाइन सकिन्छ? केही गर्नै पर्दैन! ऊ खराबै छ र उसलाई उसकै इच्छामा छोडियो भने उसले कालन्तरमा उसको हृदयको पापपूर्णता र ऊ परमेश्वरबाट दण्ड पाउन कतिसम्म योग्य छ भन्ने कुरा पूरापूर प्रकट गर्नेछ। मान्छे कसरी असल बनाइन र स्वर्गको निम्ति तयार पार्न सकिन्छ? यो त परमेश्वरको अनुग्रह र अनुग्रहको परमेश्वरबिना असम्भव छ। दुष्ट बन्नलाई मान्छेलाई परमेश्वर चाहिँदैन। असल बन्नलाई बरु मान्छेलाई परमेश्वर चाहिन्छ। मान्छे परमेश्वरबिना कहिल्यै असल बन्न सक्नेथिएन। एकताका एउटा सुसमाचारीय पर्चा थियो जसको आवरणमा “म नष्ट हुनलाई के गर्नुपर्छ?” भन्ने शब्दहरू थियो। पर्चालाई खोल्दा त भित्रपट्टिको पन्ना खालि थियो!

“विनाश” = अनन्तविनाश, सदाकोलागिबिग्रनु, हराउनु, सदाकालसम्म सजाय भोग्नु, नष्ट भइरहनु। यो शब्द मत्ती ७:१३; फिलिप्पी १:२८ (विनाश); ३:१९; १ तिमोथी ६:९; हिब्रू १०:३९; २ पत्रुस २:१; ३:७ (विनाश) र अन्य ठाउँहरूमा प्रयोग गरिएको छ।

रोमी ९:२३

कृपाका भाँडाहरूले एउटा महिमित भविष्यको आशा र प्रतीक्षा गर्न सक्छन्, र परमेश्वरले यी भाँडाहरूलाई प्रयोग गरेर उहाँ को हुनुहुन्छ (उहाँको महिमित व्यक्तित्व — उहाँको कृपा, भलाइ र अनुग्रह!) भन्ने कुरा देखाउनुहुनेछ। “पहिलेदेखि तयार पार्नुभएको” = पूर्वतयारी गरिएको, अगाडिबाट तयार गरिएको। एफेसी २:१० मा उही क्रियापद शब्द परमेश्वरले “अघिबाटै तयार पार्नुभएको” असल कामहरूलाई जनाउन प्रयोग भएको छ जुन कामहरूमा हामीहरू हिँड्नुपर्छ। मत्ती २५:३४ सित तुलना गर्नुहोस् — “संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी होओ।”

यी भाँडाहरूलाई महिमाको निम्ति अघिबाटै तयार पार्नुहुने परमेश्वर नै हुनुहुन्थ्यो भन्ने कुरा यस पदले ज्यादै प्रस्ट गरी बताउँछ (तुलनामा पद २२ ले परमेश्वरले ती क्रोधका भाँडाहरूलाई विनाशका निम्ति तयार पार्नुभयो भनेर बताउँदैन

के बाइबलले अस्वीकरणको सिद्धान्त सिकाउँछ?

चुनाउको सिद्धान्त (शिक्षा) परमेश्वरको वचनमा प्रस्टै सिकाइएको छ: “परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति शुरुदेखि नै चुन्नुभएको छ” (२ थेस्सलोनिकी २:१३; दाँज्नुहोस् एफेसी १:४; २ तिमोथी १:९; कलस्सी ३:१२; आदि)। चुनाउको सिद्धान्त बाइबलले सिकाएकोले, कति मानिसहरूले एउटा गलत कुरा मानिलिएका छन् र यसरी तर्क गरेका छन् कि त्यसको विपरीत पक्ष पनि साँचो हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले यदि कसैकसैलाई मुक्तिका निम्ति चुन्नुभएको छ भने परमेश्वरले बाँकी रहेकाहरूलाई दण्डको निम्ति चुन्नुभएको हुनुपर्छ। चुनाउको विपरीत पक्षलाई “अस्वीकरण”(doctrine of reprobation) भन्ने गरिएको छ, यस्तो शिक्षा कि कति व्यक्तिहरू दण्डका लागि पहिल्यै ठहराइएका हुन्छन् अर्थात् दण्डित हुनलाई अगाडिबाटै चुनिएका हुन्छन्। कतिका निम्ति यो कुरा तर्कसङ्गत र मुनासीब होला, तर यो कुरा बाइबलीय चाहिँ होइन! पवित्र शास्त्रबाट यहाँ तीनओटा उदाहरणहरू छन् जसबाट अस्वीकरणको शिक्षा बाइबलीय शिक्षा होइन भन्ने बुझिन्छ:

१) रोमी ९:२२-२३ पद २३ अनुसार उहाँ (परमेश्वर) ले कृपाका भाँडाहरूलाई महिमाका निम्ति अगाडिबाटै तयार पार्नुभयो। अस्वीकरणको सिद्धान्त यदि सत्य हुँदो हो ता २२ पद यसरी लेखिनु स्वाभाविक हुन्थ्यो: “क्रोधका भाँडाहरू जो उहाँ (परमेश्वर) ले विनाशका निम्ति तयार पार्नुभयो।” तर लेखोटमा यस्तो पाइँदैन।

२) मत्ती २५:३४ लाई मत्ती २५:४१ सित तुलना गर्नुहोस्। राज्य परमेश्वरद्वारा संसारको उत्पत्तिभन्दा अघिबाटै धर्मीहरूका लागि तयार गरिएको थियो (पद ३४)। अस्वीकरण यदि साँचो हुँदो हो त ३४ पदको उल्टो अभिव्यक्ति ४१ पदमा उल्लेख गरिनु स्वाभाविक हुन्थ्यो। त्यहाँ यसरी लेखिनु स्वाभाविक हुन्थ्यो, “हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ तिम्रो लागि तयार पारिएको छ।” तर होइन, अनन्त आगो मानिसको लागि होइन तर शैतान र त्यसका दूतहरूको लागि तयार पारिएको थियो।

३) २ थेस्सलोनिकी २:१०-१३। पद १३ मा चुनाउको गहकिलो शिक्षालाई उल्लेख गरिएको छ (जसको निम्ति पावल धेरै धन्यवाद दिन्छन्)। पद १० ले “नष्ट हुनेहरू” को उल्लेख गर्दछ। उनीहरू किन नष्ट हुन्छन्? अस्वीकरण यदि साँचो हुँदो हो त पावलले यसरी भन्नुस्वाभाविक हुन्थ्यो, “…किनकि तिनीहरूलाई परमेश्वरले मुक्तिका निम्ति चुन्नुभएको छैन।” तर पद १० ले त्यसो भन्दैन। तिनीहरू दण्डित हुन्छन्, तिनीहरू परमेश्वरद्वारा दण्डका निम्ति चुनिएकाले होइनन्, तर तिनीहरू “सत्यलाई विश्वास नगर्नेहरू” भएकाले (पद १२)।

अस्वीकरणको घृणास्पद शिक्षाको विरुद्धमा पवित्रशास्त्र कसरी जोगिएर प्रस्तुत हुन्छ भन्ने कुरालाई चिनिराख्नु गहिरो चासोको विषय छ। जस्तै, हेर्नुहोस् मत्ती २५:३४। यहाँ राजाले, आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई सम्बोधन गर्नुहुँदा भन्नुहुन्छ, “मेरा पिताका धन्य जनहरूहो, आओ, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी होओ।” यस सम्बोधनलाई उहाँका देब्रे हातपट्टि भएकाहरूलाई गरिएको सम्बोधनसित तुलना गर्नुहोस् (पद ४१): “हे श्रापितहरूहो [‘मेरा पिताका’ भनेर भन्नुहुन्न उहाँ], मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति [‘तिमीहरूको निम्ति’ भन्नुहुन्न उहाँ] तयार पारिएको छ।” त्यसैगरी रोमी ९ अध्यायमा पनि। “क्रोधका भाँडाहरू” को चर्चा गर्दा, तिनलाई “विनाशका निम्ति तयार परेका” भनेर वर्णन गरिएको छ — परमेश्वरद्वारा तयार पारिएका त अवश्य होइनन्, तर आफैद्वारा। अर्कोतिर, “दयाका भाँडाहरू” को चर्चा गर्दा, तिनलाई “उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नुभएको” भनेर वर्णन गरिएको छ।” चुनाउको महान् सत्यता पूर्णरूपमा स्थापित गरिन्छ; अस्वीकरणको घृणास्पद भ्रम, ज्यादै सतर्कतापूर्वक पन्साइन्छ (The Mackintosh Treasury, p. 606 footnote)।

हामीलाई कुनै पनि शिक्षा तर्कसङ्गत वा मुनासीब वा अर्थपूर्ण जस्तो लाग्दैमा हामीले त्यसलाई अँगालिहाल्नुहुँदैन तर बरु हामी ज्यादै होशियार हुनुपर्छ। कुनै पनि शिक्षाको पक्का कसी भनेको यो हो: “पवित्रशास्त्रले के भन्दछ?” (रोमी ४:३)। त्यो यदि बाइबलीय छ भने, त्यसलाई विश्वास गर्न हामी जिम्मेवार ठहरिन्छौं, चाहे त्यो हामीलाई तर्कसङ्गत लागोस् वा नलागोस्, त्यसलाई हामीले बुझ्न सकौं वा नसकौं, त्यो हामीलाई मुनासीब लागोस् वा नलागोस्। बाइबलले यो कुरा ज्यादै स्पष्ट पारेको छ कि जोहरू बचाइएका छन् र स्वर्ग जाँदैछन् तिनीहरू केवल परमेश्वरलाई मात्र धन्यवाद दिन बाध्य छन् र जोहरू हराएक छन् र दण्डित हुन्छन् तिनीहरू केवल आफैलाई मात्र दोष दिन बाध्य हुन्छन्

जोहरू बचाइएका छन् तिनीहरू केवल परमेश्वरलाई मात्र धन्यवाद दिन बाध्य हुन्छन्: हेर्नुहोस् १ कोरिन्थी १:२९-३१ (परमेश्वरले नै सबै श्रेय पाउनुपर्छ); एफेसी २:८-९ (घमन्ड गर्ने कुनै आधार छैन); मत्ती १६:१६-१७ (पत्रुस आफैले आफ्ना आँखा खोलेका होइनन्); यूहन्ना ६:४४-४५,६५ (अलौकिक, ईश्वरीय तवरले समर्थ नबनाइएसम्म कोही पनि मुक्तिदाताकहाँ आउन सक्दैन)। जोहरू हराएका छन् तिनीहरू केवल आफैलाई मात्र दोष दिन बाध्य हुन्छन्: १ तिमोथी २:४ (सबैले मुक्ति पाऊन् भन्ने इच्छा छ परमेश्वरको); रोमी १०:१२-१३ (उहाँलाई पुकार्ने सबैप्रति उहाँ धनवान् हुनुहुन्छ); मत्ती २३:३७ (परमेश्वर इच्छुक हुनुहुन्थ्यो; मानिस अनिच्छुक भए); यूहन्ना ५:४० (मानिससँग अनन्त जीवन नहुनुको एउटै कारण यो हो कि ऊ एकमात्र मुक्तिदाताकहाँ आउन उसको हठले इन्कार गर्दछ); २ थेस्सलोनिकी १:८-९ (अनन्त दण्ड पाउनेहरू ती हुन् जोहरूले सुसमाचारको असल खबरलाई पालन गरेनन्)। आफ्नो अनन्त गन्तव्यको लागि मानिस आफैले पूरै दोष र जिम्मा लिनुपर्छ।

मुक्ति पाएको व्यक्तिले धन्यवादी भएर भन्दछ, “म स्वर्ग पुग्नुको कारण परमेश्वर हुनुहुन्छ!” हराएको व्यक्तिले इमानदारसित भन्नुपर्छ, “म नरक पुग्नुको कारण म आफैं हुँ!” दण्डमा पर्नेहरूले परमेश्वरलाई कहिल्यै दोष्याउन सक्नेछैनन् अथवा “म दण्डमा परें किनकि परमेश्वरले मलाई चुन्नुभएन!” भन्न सक्नेछैनन्। उनीहरू दण्डमा पर्नुको आधार यो होइन कि परमेश्वरले उनीहरूलाई अस्वीकार गर्नुभयो तर खास यो हो कि उनीहरूले परमेश्वरलाई अस्वीकार गरे: “जसले विश्वास गर्दछ ऊ दोषी ठहरिनेछैन” (मर्कूस १६:१६)। “जसले विश्वास गर्दैन ऊ अघिबाटै दोषी ठहरिसकेको हुन्छ, किनकि उसले परमेश्वरको एकमात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन” (यूहन्ना ३:१८)। “पापको विषयमा — किनकि तिनीहरूले ममाथि विश्वास गर्दैनन्” (यूहन्ना १६:९)। “अनि तिमीहरू जीवन पाउनलाई मकहाँ आउन इच्छुक छैनौ” (यूहन्ना ५:४०)।

मानिसको मुक्ति उसको कुनै योगदानले प्राप्त हुने होइन। त्यो परमेश्वरको काम हो, “कामहरूबाट होइन नत्र ता कसैले घमन्ड गर्नेछ” (एफेसी २:८-९)। मानिसको अविश्वासमा परमेश्वरको कुनै योगदान हुँदैन। त्यो मानिसकै काम हो। परमेश्वर एकलैले बचाउनुपर्ने हुन्छ। मनिसले चाहिँ विश्वास गर्नुपर्ने हुन्छ। सम्पूर्ण महिमा र श्रेय जति परमेश्वरलाई दिइनुपर्छ। दोष जति विश्वास नगर्ने मानिसको हुन्छ। “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!”

रोमी ९:२४

दयाका यी भाँडाहरू को हुन्? “हामी जस्ताहरू!” दयाका भाँडाहरू ती हुन् जसलाई परमेश्वरले बोलाउनुभएको छ (रोमी ८:२८,३० मा हेर्नुहोस्)। मण्डलीलाई परमेश्वरको बाहिर बोलाइएको सभा (एकलेसिया) भनिएको छ जोचाहिँ दुवै यहूदी र अन्यजातिहरू मिलेर बनेको संरचना हो (दाँज्नुहस् रोमी ३:२९)।

ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्नुहोला। रोमीको पुस्तक पावलद्वारा लगभग ५६ एडी ताका लेखिएको हो, अर्थात् ख्रीष्टको मृत्यु र बौरिउठाइको करिब २५ वर्ष पश्चात्। अधिकांश यहूदीहरू सुसमाचारप्रति सकारात्मक बनिरहेका थिएनन् (रोमी ११:२८)। यहूदीहरूको ज्यादै सानो अल्पसङ्ख्यकले मात्र येशूमा मसीहको रूपमा आफ्नो भरोसा राखेका थिए जसमा पावल एक थिए। मण्डलीको सुरुआतमा सदस्यहरू सबै नै यहूदी थिए (प्रेरित २)। प्रेरित अध्याय १० मा अन्यजातिहरूको पहिलो समूहले मुक्ति पायो र तिनीहरू मण्डलीमा प्रवेश गरे। समय बित्दै जाने क्रममा झन् झन् धेरै गैर-यहूदीहरू ख्रीष्टमा आए, अनि धेरै समय बित्न नपाउँदै बहुसङ्ख्यक ख्रीष्टियनहरू त अन्यजातिहरू भए। मुक्ति पाएका यहूदीहरू चाँडै नै मण्डलीहरूमा अल्पसङ्ख्यक समूहमा परे। आज कुनै विश्वास गर्ने यहूदी विरलै भेटिन्छ। पावलले रोमीहरूलाई लेख्दाखेरि यो वास्तविकता एउटा ठूलै समस्याको रूपमा देखिन्थ्यो: यहूदीहरू यदि परमेश्वरका चुनिएका जनहरू हुन् भने (रोमी ९:१-५), किन यति थोरैले मात्र मुक्ति पाउँदैछन्? “के परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ?” (रोमी ११:१)। यस वर्तमान युगमा परमेश्वरका चुनिएका जनहरू चाहिँ तिनीहरू हुन् जोहरू “यहूदीहरूबाट मात्र होइन तर अन्यजातिहरूबाट पनि” बोलाइएकाहरू छन् भन्ने कुरा बुझ्न रोमी ९:२४ मा पावलले पाठकहरूलाई मदत गर्दैछन्।

कतिले मण्डली नै “साँचो इस्राएल” हो भनेर विश्वास गर्छन्। तर, यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि पावलले “अर्थात् हामीहरूप्रति, जसलाई उहाँले बोलाउनुभयो, साँचो यहूदीहरू, साँचो इस्राएल, जोचाहिँ मुक्ति पाएका यहूदी र मुक्ति पाएका अन्यजातिहरूले बनेको हुन्छ”भनेर लेख्दैनन्। होइन, परमेश्वरको मण्डलीमा त्यहाँ न ता यहूदी हन्छ न अन्यजाति (हेर्नुहोस् कलस्सी ३:१०-११; गलाती ६:१५)।

रोमी ९:२५-२६ (यी पदहरू ९:२४ मा उल्लेखित अन्यजातिहरूमा केन्द्रित छन्)

अन्यजातिहरूलाई परमेश्वरको जनहरू बन्ने के अधिकार छ? परमेश्वरको बाहिर बोलाइएको विशेष सभा, मण्डलीमा उनीहरू किन समावेश गरिनुपर्थ्यो? बिगतमा अन्यजातिहरू परमेश्वरका जनहरू कहलिँदैनथे। यहूदीहरू नै परमेश्वरका जनहरू हुँदै आएका थिए। परमेश्वरले एउटा जातिलाई कसरी उहाँको जाति बन्न दिन सक्नुहुन्छ जब कि उनीहरूको यसअघि परमेश्वरसित कुनै वास्तविक र सठीक सम्बन्ध नै थिएन?

पावलले यस प्रश्नको जवाफ होशेको पुस्तकको दुईटा ठाउँबाट उद्दरण गर्दै दिन्छन्। हेर्नुहोस् होशे २:२३ (रोमी ९:२५) र होशे १:९-१० (रोमी ९:२६)। होशे अगमवक्ताले इस्राएलको कुरा गर्दैछन्, उत्तरपट्टिका दस कुलहरू जो प्रभुबाट हटेका थिए र मूर्तिपूजालाई अँगालेका थिए। उनीहरूको धोकाको कारण परमेश्वरले तिनीहरूलाई आफ्नो निज प्रजाको रूपमा अस्वीकार गर्नुभयो र उनीहरूलाई “लो-अम्मी” (होशे १:९) भन्ने संज्ञा दिनुभयो, जुनचाहिँ हिब्रूमा “मेरो जाति होइन” भन्ने अर्थ लाग्छ। “किनकि तिमीहरूचाहिँ मेरो प्रजा होइनौ, र मचाहिँ तिमीहरूको परमेश्वर हुनेछैनँ” (होशे १:९)। तरैपनि हामी यो जानेर छक्क पर्छौं कि भविष्यमा इस्राएल फेरि पनि परमेश्वरको अनुग्रहमा फर्काइनेछ र परमेश्वरले उनीहरूलाई आफ्नो निज प्रजा भनेर दाबी गर्नुहुनेछ: “तिमीहरू जीवित परमेश्वरका छोराछोरीहरू हौ” भनिनेछ (होशे १:१० र २:२३ हेर्नुहोस्)। यी यहूदीहरू परमेश्वरबाट हटे र सत्यत्यागी, मूर्तिपूजक अवस्थामा गिरे, तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो कि यी यहूदीहरू एक दिन उहाँको निगाहमा पुनःस्थापित हुनेछन्। यद्यपि होशेले इस्राएलीहरूको चर्चा गर्दैथिए, यो सिद्धान्त अन्यजातिहरूलाई लागु हुन्छ। त्यो सिद्धान्त यो हो: परमेश्वरले यसअघि इन्कार गर्नुभएको जातिलाई आफूसित एउटा सम्बन्धमा ल्याउनुहुनेछ। पावलले यस सिद्धान्तलाई अन्यजातिको सम्बन्धमा लागु गर्छन्: उनीहरू परमेश्वरको प्रजा थिएनन्, तर अब उनीहरू हुन्! होशेको पुस्तकका उद्दरणहरूमा जोड दिइएको कुराचाहिँ परमेश्वरको सार्वभौम र सहानुभूतिपूर्ण अनुग्रह हो जुन चाहिँ तिनीहरूमाथि देखाइन्छ (चाहे यहूदी हुन् या अन्यजाति) जससँग आफूलाई परमेश्वरको प्रजा भनेर ठान्ने अधिकार छैन (१ पत्रुस २:९-१० हेर्नुहोस्)।

रोमी ९:२७-२९ (यी पदहरू रोमी ९:२४ मा उल्लेखित यहूदीहरूमा केन्द्रित छन्)

“ल, ठीक छ, हामी अन्यजातिहरूलाई परमेश्वरको प्रजाको भाग हुन दिन्छौं, तर यहूदीहरू नि? के यहूदीहरू परमेश्वरका प्रजा होइनन्? किन सबै यहूदीहरू परमेश्वरका प्रजा हुन सक्दैनन्? किन यहूदीहरूको ठूलो बहुसङ्ख्यक समूह सुसमाचारको विरुद्धमा छन् र क्रूसको शत्रु छन् (११:२८)? किन थोरै यहूदीहरूले मात्र ख्रीष्टलाई मुक्तिदाता भनेर थाह गरेका छन् र उहाँलाई विश्वासद्वारा ग्रहण गरेका छन्?”

पावलले यी प्रश्नलाई रोमी ९:२७-२९ मा सम्बोधन गर्छन्। उनको मुख्य कुरा यो हो: यहूदीहरूको एउटा सानो बाँकी रहेको भागले मात्र मुक्ति पाउनेछ। अधिकांश चाहिँ हराउनेछन् र नाश हुनेछन्। पावलले हिब्रू पवित्रशास्त्रहरू(पुरानो नियम)बाट उद्दरण गर्छन् जहाँ यस्तै हुनेछ भनेर सिकाइएको थियो। उनले यशैया १०:२२-२३ र यशैया १:९ बाट उद्दरण गर्छन्।

“कराएर” = यसले अगमवक्ताको वाणीको अत्यावश्यकता जनाउँछ। “समुद्रका बालुवाझैं” = गन्न नसकिने सङ्ख्या (यति धेरै कि ती तपाईं सबैलाई गन्नै सक्नुहुन्न)। “बाँकी रहेको भाग” = सानो भाग, सानो बचेको समूह। करौडौं करौडौं यहूदीहरूबाट केवल एउटा सानो सङ्ख्या (बाँकी रहेको भाग) ले मात्र मुक्ति पाउनेछ। बाँकी नाश हुनेछ। दाँज्नुहोस् रोमी ९:६ — इस्राएल जाति (यहूदीहरू) बाट त्यहाँ एउटा झनै सानो समूह छ जसलाई साँचो इस्राएल वा चुनिएको इस्राएल वा भक्ति गर्ने बाँकी रहेको भाग (रोमी ११:५ — “अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग”) भनिएको छ।

रोमी ९:२८ ले परमेश्वरको न्यायको चर्चा गर्दैछ। परमेश्वरले इस्राएल राष्ट्रलाई काँटछाँट गर्नुहुनेछ र घटाउनुहुनेछ ताकि एउटा बाँकी रहेको भाग मात्र बाँकी रहनेछ। परमेश्वरले न्याय गर्न भ्याउनुभएपछि त्यहाँ थोरै मात्र बाँकी रहन्छ! (“समाप्त = अन्तमा पुर्याउन, टुङ्गो लाउनु, पूरा गर्नु); “छोटो पार्नु” = छोट्ट्याउनु, छोटो काट्नु, सिमित गर्नु)। धेरैजसो यहूदीहरू “काटिएका छन्” तर एक बाँकी रहेको भाग बचाइनेछ। तुलना गर्नुहोस् “याकूबको दुःखको दिन” सित (यर्मिया ३०:७) जब इस्राएल जातिको दुई तिहाइभाग काटिनेछ र मर्नेछ (जकरिया १३:८)।

रोमी ९:२९ ले एउटा गुनासोको प्रत्युत्तर दिइरहेको देखिन्छ: “केवल थोरै मात्र (सानो बाँकी रहेको भाग) बचाइनु न्यायोचित होइन। बहुसङ्ख्यक यहूदीहरूले नै किन मुक्ति पाउन नहुने? किन थोरै मात्र बचेकाहरू हुने?” तर यो पदलाई पढ्दा हामी धन्यवादी पो हुनुपर्छ कि त्यहाँ केही बचेकाहरू हुनेछन् भनेर! कोही न कोही बाँचेकोमा नै हामी परमेश्वरलाई धन्यवाद चढाऔं! सोदोममा एउटै बचेनन्! सदोमको एउटै नागरिक उम्केनन् (लोत सदोमी थिएनन् यद्यपि उनी त्यहाँ बसोबासो गर्थे)। त्यो त सर्वनाशै भयो। तिनीहरू पूर्णरूपमा नै नाश भएका थिए। “सेनाहरूका परमप्रभु” = हिब्रू शब्दावली जसको अर्थ विश्वकै मालिक, सार्वभौम, प्रधान र प्रमुख भन्ने हुन्छ। “वंश” = यसलाई पद २७ को “बाँकी रहेको भाग” सित जोड्नुपर्छ (सायद यसले फसलको त्यो सानो भागलाई चित्रणस्वरूप जनाउँदछ जुनचाहिँ बीजारोपणको निम्ति सुरक्षित राखेर जोगाइन्छ; अर्थात्, अधिकांश मकै बस्तुभाउ र मानिसद्वारा खपत हुन्छ तर केही बीज अर्को बाली लाउनलाई बाँकी राखिएको हुन्छ)।

रोमी ९:३०-३१

“पछि लाग्नु” = कुनै कुराको पछि दगुर्नु, लखेट्नु, त्यसलाई प्राप्त गर्न कुनै कुराको पछि लाग्नु। अन्यजातिहरू परमेश्वरको धार्मिकताको पछि लागिरहेका थिएनन् तर उनीहरूले केवल आफ्नो विश्वास येशू ख्रीष्टमाथि राखे अनि त्यो प्राप्त गर्न पुगे (रोमी ३:२२-२४; ४:५; ५:१)। यहूदीहरूले व्यवस्थाबाटको धार्मिकताको पछि लागे र व्यवस्था पालन गर्न बेसरी प्रयत्न गरे तर तिनीहरूले कहिल्यै परमेश्वरको धार्मिकता प्राप्त गर्न सकेनन् किनकि परमेश्वरको धार्मिकता व्यवस्थाको कामहरूद्वारा आउने कुरै होइन (रोमी ३:२०; १०:३-४; गलाती २:१६)। व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न र प्राप्त गर्न एक व्यक्तिले आफ्नो जीवनको हरेक पल-पलमा सिद्धरूपमा व्यवस्था पालन गर्न सक्नुपर्छ। त्यसो त कुनै पनि पापी यहूदी (वा अन्यजाति) ले गर्न सकेको छैन न ता सक्छ नै (गलाती ३:१०-११)। अन्यजातिहरू परमेश्वरको धार्मिकताको खोजीमा त्यसको पिछा गरिरहेका थिएनन् तर तिनीहरूले सुसमाचार सुने र ख्रीष्टमाथि भरोसा राखे र सित्तैंमा र पूर्णरूपमा धर्मी ठहरिए (रोमीहरूलाई यो पत्र लेखिँदा थुप्रै-थुप्रै अन्यजातिहरूले इसाई विश्वासलाई ग्रहण गरिसकेका थिए)। यहूदीहरू परमेश्वरको धार्मिकतालाई पिछा गरिरहेका थिए तर त्यसलाई गलत तरिकाले प्राप्त गर्न खोजिरहेका थिए, अर्थात् उनीहरू मुक्तिदातामाथि भरोसा राख्नुको सट्टा आफैमाथि भरोसा राख्दैथिए (रोमी १०:३)। जुन धार्मिकता उनीहरू चाहन्थे र उनीहरूलाई असाध्य खाँचो थियो त्यो उनीहरूले हासिल गरेनन् र त्यससम्म पुग्न सकेनन्। यहूदीहरूले खोजे तर पाएनन्। अन्यजातिहरूले खोजेनन् तर तिनीहरूले पाए! (त्यो मानिस जस्तै जसले जीवनभरि सुनको खोजी गरे तर पाएनन्; अर्कोले चाहिँ सुन खोजेकै थिएनन् तर घर बनाउन जग खन्दा सुनको ठूलो खानी भेटे। अर्को उदाहरण: शिकारीले दिनभरि खरायोलाई लखेट्छन् र पक्रन सक्दैनन्। अर्को मान्छे, जसले शिकार खेलिरहेकै छैनन्, ठीक समयमा ठीक ठाउँमा पुग्छन् र एउटा खरायो उसकै अँगालोमा उफ्रेर आउँछ!)

अर्को उदाहरण: कलकत्ताको समुद्री बन्दरगाहमा उभिएका त्यस्ता व्यक्तिहरूलाई कल्पना गर्नुहोस् जोहरू उफ्रेर समुद्र पारी थाइल्यान्ड देश पुग्न खोजिरहेका छन्। यो हुनै नसक्ने कुरा हो (जसरी पापी मानिसहरूलाई परमेश्वरको पवित्र व्यवस्था पालन गर्नु पनि गर्नै नसकिने कुरा हो)। उफ्रनेहरूमा कोही पनि पारी थाइल्यान्ड पुग्दैनन् यद्यपि कोही कोही अरू भन्दा पर उफ्रन्छन्। तर सबै नै एकदम टाढा रहेको थाइल्यान्ड देशको किनारमा पुग्नदेखि ज्यादै घटी हुन्छन्। अर्को व्यक्ति छ जो उफ्रन खोजिरहेकैछैन। ऊ केवल त्यहाँ उभिरहेको छ ती उफ्रन खोज्ने मूर्खहरूलाई अवलोकन गरिरहेको छ। अझ राम्ररी देख्न भनी ऊ बन्दरगाहमा रहेको एउटा जहाजमाथि यसो चढ्छ र एक्कासी जहाज बन्दरगाह छोडेर उसलाई थाइल्यान्डसम्मै पुर्याइदिन्छ। उफ्रनेहरू आफ्नै कोशिशले गर्न खोज्दैथिए र तिनीहरू आफ्नो लक्ष्य हासिल गर्न सकेनन्, त्यसलाई प्राप्त गर्न सकेनन्। छेउमा त्यतिकै उभिरहेको व्यक्ति चाहिँ सबै काम गरिदिने जहाजको माध्यमले थाइल्यान्ड पुगे (यद्यपि ऊ त्यहाँ पुग्न खोजिरहेको थिएन)। १ पत्रुस ३:१८ सित दाँज्नुहोस्।

रोमी ९:३२-३३

इस्राएलले परमेश्वरको धार्मिकता किन पाएन? किनकि तिनीहरूले त्यसलाई गलत तरिकाले पाउन खोजे। अनि तिनीहरूले उही ख्रीष्टलाई नै इन्कार गरे जसले उनीहरूका निम्ति आफू क्रूसमा मरिदिनुभएर उनीहरूलाई धर्मी ठहरिने मौका दिनुभएको थियो। फेरि पावलले पुरानो नियमबाट उद्दरण गर्दछन् (यशैया ८:१४ र २८:१६ पढ्नुहोस्)। फेरि पनि जहाजको उदाहरणलाई विचार गर्नुहोस्। यहूदीहरू आफ्नै बलमा थाइल्यान्ड पुग्न खोज्दैछन् र एउटैले पनि त्यो हासिल गरिरहेको छैन। अब त्यहाँबाट एउटा जहाज निस्केर जाने तरखरमा छ (यसले ख्रीष्टलाई दर्शाउँछ जसले तिनीहरूलाई जहाँ पुग्नुपर्ने हो त्यहाँ पुर्याउन सक्नुहुन्छ — १ पत्रुस ३:१८)। तिनीहरू यस कुराप्रति रूष्ट बन्छन् र ठेस खान्छन् (“यो जहाजलाई हाम्रो बाटोबाट हटाऊ। हामी उफ्रेर जान खोज्दैछौं!”) तिनीहरूले गर्नुपर्ने केवल जहाजमा चढ्नु थियो र थाइल्यान्डसम्मै पुर्याइदिने काम जहाजलै नै गरिदिनेथियो (जहाजले ख्रीष्टलाई दर्शाउँछ; जहाजमा चढ्ने कामले विश्वासलाई दर्शाउँछ; उफ्रने कामले चाहिँ व्यवस्थाका कामद्वारा परमेश्वरकहाँ पुग्न खोज्ने प्रयासलाई दर्शाउँछ, अथवा मानिसको आफ्नै धर्मकर्मको प्रयासलाई)।

दाँज्नुहोस् मत्ती २१:४२-४४। चट्टान, येशू ख्रीष्टसितको तपाईंको सम्बन्ध कस्तो छ? तीनओटा रोजाइ: १) तपाईं चट्टानमा ठेस खान सक्नुहुन्छ र तोडिन सक्नुहुन्छ (१ पत्रुस २:८); २) तपाईंले आफूमाथि चट्टान खस्न दिन सक्नुहुन्छ र धूलोपीठो पारिन सक्नुहुन्छ। ३) तपाईं चट्टानमाथि दृढसित खडा हुन सक्नुहुन्छ र सुरक्षित र सुनिश्चित बन्न सक्नुहुन्छ (विश्वासको दृष्टान्त)। यी तीन रोजाइलाई जहाजको दृष्टान्तमा लागु गरौं: १) जहाजमा ठक्कर खाएर चोट पारिने; २) पानीमा हामफालेर जहाजद्वारा पेलिने; ३) जहाज चढ्ने थाइल्यान्ड पुर्याइने।

रोमी ९ ले परमेश्वरको सार्वभौमिकतालाई जोड दिन्छ। अब हामी रोमी १० अध्यायलाई अध्ययन गर्न तयार भएका छौं जसले मानिसको जिम्मेवारीलाई जोड दिन्छ, विशेष गरी, यहूदी जनहरूको जिम्मेवारी अर्थात् मसीहमाथि विश्वास गर्ने र उहाँले मात्र प्रबन्ध गर्न सक्ने धार्मिकता भेट्टाउने जिम्मेवारी।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ९:६-२०

रोमी ९:६-२०

 

रोमी ९:६

प्रतिज्ञाहरू: परमेश्वरले आफ्नो वचनमा इस्राएलीहरूलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। उहाँले उनीहरूलाई एउटा भूमि दिने प्रतिज्ञा गर्नुभएको छ (उत्पत्ति १५:१८; १७:८)। अब्राहामबाट एउटा महान् जाति आउनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ (उत्पत्ति १२:२) जुन जाति परमेश्वरको सामु कहिल्यै नष्ट हुनेछैन भनेर प्रतिज्ञा गर्नुभएको छ (यर्मिया ३१:३६-३७)। उहाँले एउटा भावी राज्यको युगको प्रतिज्ञा गर्नुभयो जुन बेला जगतभरि धार्मिकता हुनेछ (यर्मिया २३:५) र विश्वभरि शान्ति छाउनेछ (मीका ४:३)। उनीहरूसित उहाँले एउटा नयाँ करार बाँध्नुहुनेछ भनेर इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभयो जसअन्तर्गत पापहरूको क्षमा र परमेश्वरसितको विशेष सम्बन्ध उनीहरूको भाग हुनेछ (यर्मिया ३१:३१-३४ र इजिकिएल ३६:२४-२९)। सबभन्दा महत्त्वपूर्ण कुरा त उनीहरूले आफ्नो बीचमा स्वयं यहोवा (यहोवा येशू) कै व्यक्तिगत उपस्थितिको आनन्दमय अनुभूति गर्नेछन् (यशैया ३३:१७,२२; इजिकिएल ४८:३५; यर्मिया २३:५-६)।

समस्या: पावलले रोमीको पत्र लेख्दाहुँदी बहुसङ्ख्यक यहूदीहरू ख्रीष्टलाई र सुसमाचारलाई इन्कार गर्दैथिए। पावलले प्रचार गरेको सुसमाचारबाट यो प्रस्ट दर्शाइँदै थियो कि ख्रीष्टलाई इन्कार गर्नेहरू अनन्तको लागि दण्डित हुन्छन् जसमा विश्वास नगर्ने यहूदीहरू पनि पर्दछन्। सुसमाचार झन् झन् बढी सङ्ख्यामा अन्यजातिहरूमा फैलिँदैथ्यो। मण्डली सुरु हुँदा मण्डली यहूदी विश्वासीहरूद्वारा बनेको थियो (प्रेरित २) तर समय बित्दै जाँदा झन् झन् धेरै अन्यजातिहरू बचाइए र ख्रीष्टको शरीरका अङ्गहरू बने। यसरी हाम्रो सामु एउटा समस्या सृजना भएको देखिन्छ: ख्रीष्टमा विश्वास गर्न नमान्ने यहूदीहरूको बारेमा हामी के भनौं? ख्रीष्टलाई अस्वीकार गरेकोले परमेश्वरको क्रोधको सामना गर्नुपर्ने र प्रतिज्ञा गरिएको राज्यमा कहिल्यै सहभागी हुन नपाउने यहूदीहरूको सम्बन्धमा हामी के भनौं? परमेश्वरले यदि यी सबै प्रतिज्ञाहरू इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभएको छ भने, किन त थुप्रै थुप्रै यहूदीहरूले यी प्रतिज्ञाहरूको पूरा हुवाइलाई कहिल्यै देख्न सक्दैनन्? के परमेश्वरले आफ्नो वचन पूरा गर्न बिर्सनुभएको छ?

“व्यर्थ भयो” = विफलभयो।परमेश्वरकोवचनविफलभएकोछैन! इस्राएललाई दिइएका परमेश्वरका प्रतिज्ञाहरू पूरा नभईकन भुइँमा कहिल्यै खस्नेछैनन् (यहोशू २१:४५)। आफूले अब्राहाम, इसहाक वा याकूबसित गर्नुभएको प्रतिज्ञाहरूलाई परमेश्वरले कहिल्यै तोड्नुभएको छैन र तोड्नुहुनेछैन। तर यदि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भने यी प्रतिज्ञाहरूको पूरा हुवाइ कहिल्यै नदेख्ने थुप्रै यहूदीहरू हुनेछन् भन्ने तथ्यको स्पष्टिकरण कसरी दिने? पावलले एउटा सिद्धान्त बताएर यसलाई प्रष्ट्याउँछन्: जो इस्राएलका वंशका हुन्, उनीहरू सबै इस्राएली होइनन्। याकूबको वंशको हुँदैमा एक व्यक्ति साँचो इस्राएली बन्दैन। यहूदी हुँदैमा साँचो यहूदी भइँदैन। बाहिरी यहूदी हुँदैमा भित्री यहूदी भइँदैन (रोमी २:२८-२९)। बाहिरी खतना हुँदैमा हृदयमा खतना हुँदैन (रोमी २:२८-२९)।

रोमी ९:७

एक व्यक्ति एउटा महत्त्वपूर्ण पूर्ख्यौलीमा जन्मेर पनि परमेश्वरका आशिषहरू र प्रतिज्ञाहरूबाट बञ्चित हुनु सम्भव छ भन्ने सिद्धान्तलाई पावल अब उदाहरणसहित व्याख्या गर्न थाल्छन्। चाखलाग्दो कुरा, पावल पहिले उत्पत्तिको पुस्तकमा जान्छन् र आफ्नो कुरा दर्शाउन अब्राहाम, इसहाक र याकूब आदिका जीवनहरूको उदाहरणलाई लिन्छन्। पावलले आफ्ना पाठकहरू उत्पत्तिको पुस्तकसित राम्ररी परिचित हुन्छन् भन्ने कुरा मानिलिन्छन्। पछि उनले फाराओको उदाहरण दिँदा पाठकहरू प्रस्थानको पुस्तकसित पनि परिचित हुन्छन् भनी मानिलिन्छन्। पछि यस अध्यायमा उनले होशे र यशैयाबाट उद्दरण गर्दा पाठक यी पुस्तकहरूसित पनि परिचित हुन्छन् भनेर पावलले मानिलिन्छन्। रोमीको पुस्तकमा पावलले पुरानो नियमलाई करिब ६० पटक उद्दृत गर्छन्! आज धेरैजसो चर्च जाने मानिसहरू बाइबलको ज्ञानमा ज्यादै गरिब छन्। पवित्र शास्त्रको प्रायः पन्नाहरूसित उनीहरू अपरिचित छन्। जब बाइबल पल्टाएर हेर्नुहुन्छ तपाईंको आँखाको सामु देखा पर्ने पन्नासित तपाईं कत्तिको परिचित हुनुहुन्छ? उहाँको वचनसित झन् झन् राम्ररी परिचित हुन परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्!

पद ७ लाई विचार गर्नुहोस् — इसहाक अब्राहमका एउटै मात्र छोरा थिएनन्। अब्राहमबाट जन्मने पहिलो छोरा इश्माएल थिए; इसाहक वर्षौंपछि जन्मेका हुन्। त्यसैले अब्राहमका दुई सन्तान थिए (अब्राहमका वंशका दुईजना थिए) तर तिनमा एकजनाले मात्र ‘म अब्राहमको साँचो सन्तान हुँ’ भन्न सक्थे। शरीरमा दुवै अब्राहमका सन्तान थिए, तर आत्मिक रूपमा परमेश्वरले ती दुईमा एकजनालाई मात्र आशिष र प्रतिज्ञाहरूको पात्र हुनलाई चुन्नुभयो (उत्पत्ति १७:१९-२१; २१:१२)।

ख्रीष्टको समयमा यहूदीहरूले आफू अब्राहामको सन्तान भएको कुरामा ठूलो गर्व गर्ने गर्थे (मत्ती ३:९; यूहन्ना ८:३३,३७,३९,४४)। अब्राहामबाट आएका जति सबै नै आशिषित हुन्छन् र प्रतिज्ञाहरूका भागीदार बन्छन् भनी ठान्थे। इस्राएलबाट जन्मेका जति सबै साँचो इस्राएल हुन् भनी उनीहरू ठान्थे। साँचो यहूदी हुन चारजना पिता आवश्यक छन् भन्ने कुरा उनीहरूले बुझ्न सकेनन् — अब्राहाम, इसाहक, याकूब र परमेश्वर! यो कुरालाई अब्राहाम आफ्ना पिता भएको दाबी गर्ने इश्माएलीहरू (वर्तमान समयका अरबीहरू) सित तुलना गर्नुहोस्। यो कुरा अब्राहाम र इसाहक दुवैलाई आफ्ना पूर्वजको रूपमा दाबी गर्ने एसावका सन्तानहरू (एदोमीहरू) सित तुलना गर्नुहोस्। यो कुरालाई ख्रीष्टको समयका विश्वास नगर्ने ती यहूदीहरूसित तुलना गर्नुहोस् जसले अब्राहाम, इसहाक र याकूब (तीनैजना) लाई आफ्ना पिताको रूपमा दाबी गर्न सक्थे; तर समस्या के थियो भने परमेश्वर तिनीहरूका पिता हुनुहुन्नथ्यो (यूहन्ना ८:४२)। साँचो यहूदी हुन चारैजना चहिन्छ: अब्राहाम, इसाहक, याकूब र परमेश्वर। एक व्यक्ति परमेश्वरसित ठीकसँग सम्बन्धित हुन सक्ने व्यक्तिगत विश्वासद्वारा मात्र हो!

रोमी ९:८-९

इश्माएल शरीरका सन्तान थिए; इसाहक प्रतिज्ञाका (गलाती ४:२२-२३,२८)। इश्माएलको जन्म प्राकृतिक थियो (उत्पत्ति १६)। त्यो जन्म अब्राहामले परमेश्वरको कुरा सुनेर भएको जन्म थिएन तर आफ्नी पत्नीको कुरा सुनेर भएको थियो। परमेश्वरलाई उहाँको प्रतिज्ञा पूरा गर्न सहायता गर्न खोज्ने एउटा शारीरिक प्रयास थियो त्यो। इश्माएल त्यसको नतीजा थियो जो शरीरको सन्तान थियो। इसाहकको जन्म चाहिँ अलौकिक थियो (उत्पत्ति १८:१४)। त्यो जन्म आश्चर्यकर्मरूपी जन्म थियो — परमेश्वरकै काम थियो! इसाहक प्रतिज्ञाका सन्तान थिए। पावलको तात्पर्य यो थियो: अब्राहामका दुई छोराहरू थिए तर एकजना मात्र करारका प्रतिज्ञाहरूको भागीदार भए अनि उनी त्यो चुनिएको वंशजको भागीदार भए जो एउटा महान् जातिको रूपमा वृद्धि हुनेवाला थिए जसबाट नै मसीह आउनेवाला हुनुहुन्थ्यो। इसाहकलाई गन्तीमा लिइयो; इश्माएललाई लिइएन।

रोमी ९:१०

यहाँ अर्को उदाहरण छ जो झनै अचम्मको छ। अब्राहामका छोराहरूका आमाहरू भिन्न-भिन्नै थिए र तिनीहरू छुट्टाछुट्टै जन्मे। इसाहकको छोराहरूका भने आमा एउटै थिए, बाबु एउटै थिए (“एकजनाद्वारा अर्थात् हाम्रा पिता इसाहकद्वारा गर्भवती भएकी थिई”) र तिनीहरू सँगसँगै जन्मे। जन्म एउटै थियो र बच्चा दुईटा जन्मे (जुम्ल्याहा)। पहिलो जन्मेको अस्वीकार गरियो र दोस्रो जन्मने चाहिँ चुनियो (पद १२-१३)। मान्छेले चुन्ने काम गरेका भए एसाव चुनिने थिए किनकि जेठालाई नै प्रायः प्राथमिकता दिइन्थ्यो र बाबुचाहिँले एसावलाई नै प्राथमिकता दिएका थिए (उत्पत्ति २५:२८)। तर छनोट कार्य परमेश्वरको हातमा हुन्छ, मान्छेको हातमा होइन।

रोमी ९:११-१२

उत्पत्ति २५:२३ पढ्नुहोस्। रिबेकाका दुई छोराहरू जन्मनु अघि गर्भमा छँदै परमेश्वर उनीसित बोल्नुभयो र भन्नुभयो, “जेठा (पहिले जन्मने एसाव) ले कान्छा (याकूब) को सेवा गर्नेछ।” परमेश्वरले कान्छो (सानो) लाई रोज्नुभयो र उहाँले जेठो (ठूलो) लाई रोज्नुभएन र त्यस छनोटबाट उहाँले सानोलाई ठूलो बनाउनुभयो! यो चुनाउ ती छोराहरू जन्मनुअघि नै गरियो र उनीहरूले असल वा खराब गर्नु अघि नै गरियो। चुनाउअनुसार (उहाँको रोजाइ अनुसार) को परमेश्वरको मनसाय स्थिर रहोस् (स्थायी होस्, अपरिवर्तनीय रहोस्)। परमेश्वरको चुनाउ (उहाँको रोजाइ) कुन आधारमा गरिने कुरा हो? त्यो “कामहरूबाट होइन”। चुनाउ कामहरूबाट होइन, आर्जनबाट होइन, योग्यताबाट होइन (रोज्न योग्य भएकोले तपाईं रोजिएको होइन)। त्यो कामहरूमा आधारित छैन। परमेश्वरको चुनाउ “बोलाउनुहुनेबाट” हो। त्यो स्वयं परमेश्वरमै आधारित कुरा हो। चुनाउ गरिनुको कारण चुन्ने व्यक्तिमा भेटिने कुरा हो, चुनिएको व्यक्तिमा भेटिने कुरा होइन। यसरी इसाहकका दुई छोराहरू भए तर एकजनाले मात्र “म अब्राहाम र इसाहकको साँचो सन्तान हुँ” भन्न सक्थ्यो। शरीरमा दुवै सन्तान थिए तर आत्मिक रूपमा परमेश्वरले एउटालाई आशिषहरू र प्रतिज्ञाहरूको प्रापकबन्नलाई रोज्नुभयो।

रोमी ९:१३

यहाँउद्दृत वाक्य हामी मलाकी १:२-३ मा भेट्टाउँछौं। बोल्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ र यो अभिव्यक्ति ज्यादै कडा अभिव्यक्ति छ। एकदिन एउटी स्त्रीले स्पर्जनलाई सोधिन्, “म एसावलाई घृणा गर्छु भनेर परमेश्वरले भन्नुभएको कुरा म बुझ्न सक्दिनँ।” स्पर्जनले जवाफ दिए, “त्यो त मलाई समस्या लाग्दैन हजुर। परमेश्वरले याकूबलाई कसरी प्रेम गर्न सक्नुभयो भन्ने कुरा बुझ्न पो समस्या लाग्छ मलाई त।” हो नि, याकूब त एक छट्टु थिए! सबै मानिसहरू पनि त्यस्तै छन्। मानिसहरू हराएका छन् र नरक जाँदैछन् भन्ने कुरा अचम्मको छैन किनभने हामीले पाउनुपर्ने कुरा त्यही हो। कोही व्यक्तिहरू बचाइन्छन् र स्वर्ग जान्छन् भन्ने कुरा पो अचम्मको कुरा छ! परमेश्वरको न्याय अचम्मलाग्दो छैन किनभने त्यो त हामीले पाउनुपर्ने कुरा हो। अचम्मको कुरा त परमेश्वरको अनुग्रह पो छ: अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो!” भजनसङ्ग्रह ५:५ पढ्नुहोस् र पद ४ सित तुलना गर्नुहोस् (परमेश्वरको उपस्थितिमा कुनै पनि व्यक्तिलाई प्रवेश दिइन्छ भन्ने कुरा अचम्मको छ)। मलाकी १:२-३ मा “घृणा” भन्ने शब्दलाई हामी कसरी बुझ्न सक्छौं? लूका १४:२६ सित मत्ती १०:३७ लाई तुलना गर्नुहोस् (प्रभुको निम्ति हाम्रो प्रेम यति ठूलो हुनुपर्छ कि अरू कसैप्रतिको हाम्रो प्रेम तुलनामा घृणा जस्तै हुनुपर्छ)। अर्को प्रकाश पार्ने खण्ड हो उत्पत्ति २९:१६-१८,३०,३३। याकूबले राहेललाई चुने। उनले तिनलाई आफ्नो जीवन साथी हुनलाई रोजे। उनले तिनलाई प्रेम गर्न रोजे। लेआलाई घृणा गरियो यस अर्थमा कि तिनी रोजिएकी थिइन। रोमी ९ अध्यायको मुद्दा यो छ: परमेश्वरले कसलाई रोज्नुभएको छ? पावलको मुख्य तर्क यो छ: तिनीहरू सबै इस्राएल होइनन् जो इस्राएलको वंशबाट आएका छन्। इस्राएलभित्र एउटा विशेष समूह छ जसलाई चुनिएको इस्राएल (साँचो इस्राएल, विश्वासी इस्राएल) भनेर चिनिन्छ। यसरी हाम्रो अगाडिको विषयवस्तु चुनाउ (election) हो। तसर्थ परमेश्वरले “म एसावलाई घृणा गर्छु” भन्नुको मतलब “मैले एसावलाई चुनेको छैन” भन्नु हो। “म याकूबलाई प्रेम गर्छु” को मतलब “मैले याकूबलाई चुनेको छु र मेरा प्रतिज्ञाहरू र आशिषहरू उनैमा र उनीपछि उनको वंशमा पूरा हुनेछन्” भन्नु हो।

सिद्धान्त = तिनीहरूसबैइस्राएलहोइनन्जोइस्राएलबाटका हुन्

पावलको चित्रण:

प्रयोग:आजप्रभुयेशूख्रीष्टमा विश्वास गर्नेहरू अब्राहामका सन्तान (अब्राहामको वंशका) हुन्। गलाती ३:९,२६,२९ र रोमी ४:११-१२,१६ पढ्नुहोस्। अब्राहाम सबै विश्वासयोग्यहरू (सबै विश्वासीहरू चाहे यहूदी चाहे अन्यजाति) का पिता हुन्। विश्वास गर्ने अन्यजातिहरू अब्राहामका आत्मिक सन्तान हुन् तर शारीरिक सन्तान होइनन्। विश्वास गर्ने यहूदीहरू अब्राहामका शारीरिक लगायत आत्मिक सन्तान हुन्। विश्वास नगर्ने यहूदीहरू अब्राहामका शारीरिक सन्तान हुन् तर आत्मकि सन्तान होइनन्। विश्वास नगर्ने यहूदीहरूको अब्राहामसित कुनै पनि हिसाबले सम्बन्ध छैन। अब्राहामसित तपाईंको सम्बन्ध कस्तो छ?

रोमी ९:१४

कसैले आपत्ति जनाउला भनेर पावलले अघिबाटै त्यसको प्रत्युत्तर दिन्छन्: “परमेश्वरले एक व्यक्तिलाई चुन्ने र अर्कोलाई नचुन्ने काम कसरी गर्न मिल्छ? यो न्यायोचित भएन!” यसले हामीलाई चाबी प्रश्न सोध्न लगाउँछ: “के परमेश्वरसँग अधर्म छ त”? (ग्रीकमा यस प्रश्नले नकारात्मक जवाफको माग गर्छ)। “अधर्म” = दुष्टता, अन्याय, गलत कामकुरा वा गलत निर्णय, अन्यायपूर्ण व्यवहार गर्नु। के परमेश्वरसँग अधर्म (अन्याय) छ त? कदापि नहोस्! परमेश्वर सिद्धरूपमा धर्मी र न्यायोचित हुनुहुन्छ र उहाँले गर्ने सबै कामहरूमा उहाँ न्यायी हुनुहुन्छ। एसावसँग र याकूबसँग र हामी सबैसँग अधर्म छ तर परमेश्वरसँग भने छैन। अधर्म मानिससँग हुन्छ तर परमेश्वरसँग हुँदैन (रोमी १:१८,१९; २:८; ३:५; ६:१३ मा पढ्नुहोस् जहाँ उही “अधर्म” शब्द भेटिन्छन्; साथै रोमी ३:१० सित तुलना गर्नुहोस्)। एकैचोटी सदाका निम्ति निश्चित बन्नुहोस्: सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्छ (उत्पत्ति १८:२५ पढ्नुहोस्)। परमेश्वर अन्यायी हुनुभएको भए उहाँ परमेश्वर हुन छोड्नुहुन्थ्यो! धर्मी परमेश्वरले कुनै पनि गलती गर्न सक्नुहुन्न! यदि परमेश्वर मानिसका कामहरूको आधारमा वा मानिसको योग्यताको आधारमा वा मानिसले परमेश्वरबाट पाउनुपर्ने कुराको आधारमा व्यवहार गर्नुहुँदो हो त वा परमेश्वरले न्यायको आधारमा व्यवहार गर्नुहुँदो हो त, हामीमध्ये कोही पनि उम्कन सक्ने थिएनौं! हामी सबै परमेश्वरको क्रोध र न्यायमुनि पर्न योग्य छौं। हामी सबै परमेश्वरको नरकको योग्य छौं। परमेश्वरले यदि हामी एक-एकलाई सदाको लागि आगोको झीलभित्र पठाउनु हुँदो हो त उहाँ पूर्णरूपमा न्यायी र धर्मी हुनुहुनेथ्यो किनकि हामी एक-एकले पाउनु पर्ने कुरा नै त्यही हो (रोमी ६:२३क; रोमी १:३२; १:१८)। अचम्मको कुरा त परमेश्वरले कोही-कोहीलाई बचाउनुहुन्छ भन्ने होइन तर परमेश्वर कसैप्रति नै कृपालु हुन सक्नुहुन्छ भन्ने कुरा अचम्मको छ! मानिसहरू न्यायमा पर्छन् भन्ने कुरा होइन तर धर्मी ठहरिन्छन् भन्ने कुरा पो अचम्मको छ! एसावलाई घृणा गर्नभयो भन्ने कुरा होइन तर परमेश्वरले याकूबलाई प्रेम गर्नुभयो भन्ने कुरा पो अचम्मको छ! परमेश्वरको चुनाउ सम्बन्धी रहस्यहरूलाई चिन्तन मनन गर्नेहरू एउटा कुरामा कहिल्यै अचम्म मान्न र धन्यवादी हुन छोड्नुहुन्न कि परमेश्वरले उहाँको असीम कृपा र अनुग्रहमा कोही-कोहीलाई चुन्नुभएको छ: “तर भाइहरूहो, प्रभुका प्रियहरूहो, तिमीहरूका निम्ति सधैंभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ किनभने आत्माको पवित्रीकरण र सत्यको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति शुरुदेखि नै चुन्नुभएको छ” (२ थेस्सलोनिकी २:१३)।

रोमी ९:१५

यहाँ हामी परमेश्वरको उदेकको कृपा (दया) र कोमलता देख्दछौं। सार्वभौमपरमेश्वरलेआफ्नो कृपा कोहीकोही माथि खन्याउनुहुन्छ (“जसलाई म कृपा गर्न चाहन्छु”)। प्रश्न: “तर परमेश्वरले किन सबैजनामाथि आफ्नो कृपा खन्याउनुहुन्न?” प्रश्न सोध्नेले कुरै नबुझेको देखिन्छ। खास प्रश्न त यो पो छ: “परमेश्वरले किन कसैमाथि पनि आफ्नो कृपा खन्याउनुहुन्छ? हामी कोही पनि परमेश्वरको कृपा पाउन योग्य छैनौ। हामीले परमेश्वरको एक थोपा कृपा पाउन पनि योग्य छैनौं!” यदि परमेश्वरले कुनै कृपा देखाउनुहुन्न र एक-एक व्यक्तिमाथि उहाँले आफ्नो क्रोध खन्याउनुहुन्छ भने उहाँ बिलकुलै न्यायी हुनुहुनेथ्यो किनकि हरेकले पाउनुपर्ने त त्यही हो। अचम्मको कुरा यो छ कि परमेश्वरले कसैलाई पनि कृपा देखाउनुहुन्छ! कसैले मुक्ति पाउनु नै अचम्मको कुरा छ!

पावलले प्रस्थान ३३:१९ बाट उद्दृत गर्दैछन् र उक्त खण्डको प्रसङ्ग बुझ्नु महत्त्वपूर्ण छ। प्रस्थान ३२ मा इस्राएलका सन्तानहरू छिट्टै र दुष्ट रीतिले परमेश्वरले उनीहरूलाई आज्ञा गर्नुभएको बाटोबाट भड्किए (पद ८) र दोस्रो आज्ञालाई तोड्दै एउटा सुनको बाछो बनाए। ती मानिसहरू दोषी थिए र सबैजना दण्ड दिइन र नष्ट गरिन योग्य थिए (प्रस्थान ३२:१० — परमेश्वरले न्यायिक रूपमै ती सबैजनालाई नष्ट गर्न सक्नुहुन्थ्यो!)। अचम्मको कुरा यो छ कि केवल ३००० मात्र मरे (प्रस्थान ३२:२८)। आफ्ना जातिको निम्ति मोशाको वास्तालाई (प्रस्थान ३२:३२) यहूदीहरूको निम्ति रहेको पावलको वास्तासित तुलना गर्नुहोस् (रोमी ९:१-३)। हाम्रा परमेश्वरको महान् कृपाहरू देखेर हामी कहिल्यै अचम्म मान्न नछोडेका हौं (प्रस्थान ३४:५-७) अनि हामी, मोशा जस्तै, शिर निहुराएर उहाँलाई दण्डवत् गरेका हौं (प्रस्थान ३४:८) र यसरी भनेका हौं, “प्रभु तपाईंसित कुनै अधर्म छैन!”

रोमी ९:१६

यस पदले परमेश्वरको कृपा खन्याइने कामको कुरा गर्दैछ: “…कृपा देखाउनुहुने परमेश्वर।” कुन आधारमा परमेश्वरले कृपा देखाउनुहुन्छ? पदले के भन्छ ध्यान दिनुहोस्, “यो कुरा न ता…गर्नेको न ता …को तर …परमेश्वरको हो।”योमानिसबाटकोहोइनतरपरमेश्वरबाटकोहो! यूहन्ना१:१३सिततुलना गर्नुहोस्।

“यो कुरा न ता इच्छा गर्नेको” = यो मान्छेको इच्छा वा कामना वा चाहनामा भर पर्ने कुरा होइन; “न ता दोडादौड गर्नेको” = यो कुरा मान्छेको प्रयासमा भर पर्ने कुरा होइन (मान्छेको कडा परिश्रम र सङ्घर्ष)।

परमेश्वरको कृपा खन्याइने काम मान्छेको इच्छा र प्रयासमा भर पर्ने कुरा होइन। यो परमेश्वरमा भर पर्ने कुरा हो जसले भन्नुभयो, “जसलाई म कृपा गर्न चाहन्छु, उसलाई म कृपा गर्नेछु।” स्मरण रहोस्, कृपा पाउन कोही योग्य छैन। हामी सबै क्रोध पाउन योग्य छौं (एफेसी २:३-५)। तर परमेश्वर कृपा गर्न धनवान् हुनुहुन्छ (रोमी १०:१२)।

रोमी ९:१७

(प्रस्थान ९:१६ को उद्दरण; प्रस्थान १४:४ सित तुलना गर्नुहोस्)

यहाँ फाराओको उदाहरण पाउँछौं जो उनको ढिटपन र कठोर हृदय र परमेश्वरको कुरा मान्न उसले गरेको पापमय इन्कारका निम्ति कुख्यात छन्। यहाँ एकजना छन् जसले कृपा पाएनन् तर जसको हृदय कठोर बनाइयो (रोमी ९:१८ख)। तर फाराओलाई उसको दुष्टताको निम्ति दोष्याउनु अघि हामी सबैसँग फाराओको जस्तै हृदय छ भन्ने कुरा याद गरौं (यर्मिया १७:९)। आदममा सबै सन्तानहरू भ्रष्ट छन् (भजनसङ्ग्रह १४:१-३) र पूरै खराब छन् (रोमी ३:९-१९)।

“प्रचार” = प्रकटगर्नु, प्रदर्शन गर्नु, प्रमाणित गर्नु, देखिने बनाउनु, दर्शाउनु (रोमी ९:२२ र एफेसी २:६-७ तुलना गर्नुहोस्)। फाराओलाई उठाउनुमा परमेश्वरको उद्देश्य छ। परमेश्वरले आफ्नो सामर्थ्य देखाउन र प्रदर्शनी गर्न चाहनुभयो र परमेश्वरले आफ्नो नाम पृथ्वीभरि घोषणा गर्न चाहनुभयो। पापीहरूको मुक्ति परमेश्वरलाई ज्यादै महत्त्वपूर्ण छ (१ तिमोथी १:१५; यूहन्ना ३:१७, आदि) तर परमेश्वरलाई त्यो नै सर्वोपरि महत्त्वको कुरा होइन। परमेश्वरलाई अरू कुनै कुरा भन्दा पनि बढी वास्ता भएको कुरा भनेको उहाँको आफ्नै महिमा हो (उहाँ को हुनुहुन्छ भन्ने कुराको प्रमाणीकरण, प्रकटहुवाइ र प्रकाश)।

फाराओद्वारा परमेश्वरले आफूलाई एउटा गजबको तरिकाले प्रकट गर्न सक्नुभयो। फाराओ एक अत्यन्तै शक्तिशाली शासक थिए र उनको नाम र मर्यादा परपरसम्म फैलिएको थियो। धेरै हिसाबमा मिश्रको राज्यजस्तो अरू कुनै थिएन।

“पृथ्वीभरि प्रचार होस्” = जताततै घोषणा गरिनु; परपरसम्म घोषणा गरिनु। फाराओसितको परमेश्वरको व्यवहारले परमेश्वरलाई नचिन्ने संसारले इस्राएलका परमेश्वरको सामर्थ्यको एक झलक पाए (यहोशू २:९-१०; १ शमूएल ४:७-८)।

रोमी ९:१८

“यसकारण जसलाई उहाँले कृपा दिन चाहनुहुन्छ, त्यसलाई दिनुहुन्छ: अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, त्यसलाई पार्नुहुन्छ।” कृपा देखाउनुहुने परमेश्वर हुनुहुन्छ; हृदयलाई कठोर पार्ने (“कडा” वा “सुख्खा” पार्ने) परमेश्वर हुनुहुन्छ। घ्युलाई पगाल्ने घामले माटोलाई कडा पनि बनाउँछ। “एकातिर क्षमा पाउनेले ऊ अरूभन्दा असल भएकोले आफूले क्षमा पाएको हो भन्न मिल्दैन; अर्कोतिर दण्ड पाउनेले आफूले आफ्ना पाहरूका निम्ति जे उचित प्रतिफल छ त्यसबाहेक केही पाएको छैन भन्ने कुरा स्वीकार गर्नैपर्छ” (चार्ल्स हज)। हराएकाहरूले आफैलाई मात्र दोष दिन सक्छन्; मुक्ति पाएकाहरूले परमेश्वरलाई मात्र धन्यवाद दिन सक्छन्। सबै दोष मान्छेले पाउँछ (ऊ यसको योग्य छ); सबै श्रेय परमेश्वरलाई जान्छ (उहाँ त्यसको योग्य हुनुहुन्छ!)।सारामहिमापरमेश्वरले नै पाउनुहुन्छ (१ कोरिन्थी १:२९-३१)!

फाराओसितको परमेश्वरको व्यवहारलाई विचार गर्दा हामीले केही कुराहरूलाई ख्यालमा राख्नुपर्छ:

  1. परमेश्वरले फाराओको सम्बन्धमा कुनै अधर्म गर्नुभएन किनकि परमेश्वरसँग कुनै अधर्म छैन (रोमी ९:१४)।
  2. फाराओको हृदयलाई परमेश्वरले कठोर पार्नुभयो (प्रस्थान ४:२१; ९:१२; रोमी ९:१७-१८);
  3. फाराओ आफैले आफ्नो हृदयलाई पटकपटक कठोर पारे (प्रस्थान ८:३२);
  4. फाराओसित परमेश्वर ज्यादै सहनशील हुनुभयो (रोमी ९:२२)। फाराओले पटकपटक परमेश्वरलाई “हुँदैन” भने तर परमेश्वर पर्खनुभयो र उसलाई थप मौकाहरू दिनुभयो (यदि तपाईं वा म परमेश्वरको ठाउँमा भएका भए हामीले उसलाई पहिल्यै नष्ट गरिसकेका हुन्थ्यौं!);
  5. यी मानिसको जीवनमा परमेश्वर महिमित हुनुभयो (प्रस्थान ९:१६; १४:४)।

रोमी ९:१९

पावलले अर्को आपत्तिजनक प्रतिक्रियाको प्रतीक्षा गर्छन्: “उहाँले अझै किन दोष लाउनुहुन्छ त? किनकि कसले उहाँको इच्छालाई सामना गरेको छ र?” परमेश्वरले यदि हामीलाई कठोर पार्नुहुन्छ भने कठोर भएकोमा उहाँले हामीलाई किन दोष्याउने? “सामना” = विरोधमा खडा हुनु, विरोध गर्नु। फाराओले यसरी भनेको हामी कल्पना गर्न सक्छौं, “परमेश्वरले मलाई कसरी दोष लाउन मिल्छ र? म त केवल उहाँको इच्छा पूरा गर्दैछु र म उहाँलाई महिमा ल्याउँदैछु।”

रोमी ९:२०

पावलले उपर्युक्त प्रतिक्रियालाई खासै जवाफ दिँदैनन् बरु प्रभुको सामु हाम्रो हृदयको साँचो मनोभाव कस्तो हुनुपर्छ भन्ने कुरा दर्शाउँछन्। पावलले रोमी अध्याय ९ मा बुझ्न ज्यादै कठीन शिक्षाहरूको चर्चा गर्दैछन् (चुनाउअनुसार परमेश्वरको मनसाय – पद ११; परमेश्वरले सार्वभौम रूपमा कृपा देखाउनुहुने र अरूलाई कठोर पार्नुहुने कुरा — पद १८, आदि)। यी कुरा बुझ्ने एउटै मात्र उपाय छ। हामीले परमेश्वरको सामु हाम्रो सही ठाउँ लिनुपर्छ (दाँज्नुहोस् प्रस्थान ३४:८ — मोशाले आफ्नो शिर निहुराए र दण्डवत् गरे)। हामी को हौं भन्ने कुरा हामीले महसुस गर्नुपर्छ। हामी केवल धूलोका कमजोर सृष्टि मात्र होइनौं, अझ हामी पतित, भ्रष्ट प्राणी पनि हौं। हामीले आफूलाई नम्र तुल्याएर हाम्रा शिरहरूलाई हाम्रा सृष्टिकर्ताको सामु निहुराएपछि मात्र हामीले पापी मानिस सितको (जोहरू केवल परमेश्वरको क्रोध र न्याय पाउन मात्र योग्यका थियौं)परमेश्वरको सार्वभौम व्यवहारको बारेमा सिक्न तयार हुनेछौं।

परमेश्वरसित सवाल-जवाफ गर्न मानिसको के अधिकार छ र? के मान्छेले उसको सृष्टिकर्ताले भन्दा बढी जान्दछ र? के सृष्टि सृष्टिकर्ताभन्दा बुद्धिमान् छ? उहाँको कामकुरा न्यायोचित छ कि छैन भनेर प्रश्न उठाउने हामी को हौं र? उहाँको निष्पक्षतामाथि शङ्का उठाउने हामी को हौं र? एक डल्ला माटोलाई आफ्नो रोजाइ बमोजिमको जस्तोसुकै भाँडा बनाउन कुमालेको पूर्ण अधिकार हुन्छ अनि बनिएको भाँडाले त्यसमा आपत्ति जनाउने उसको कुनै अधिकार हुँदैन।
यशैया २९:१६ लाई हेर्नुहोस् जहाँ यशैया अगमवक्ताले माटोको भाँडाले आफू बनाइएको होइन भन्नु (“उनले मलाई बनाएनन्”) अथवा कुमालेको बुद्धि छैन भनेर मूर्ख कुरा गर्नु (“उनको समझ छैन”) कति ठूलो मूर्खता हुन्छ भन्ने कुरा देखाउँछन्। यशैया ४५:९ पढ्नुहोस् जहाँ यशैया अगमवक्ताले भाँडाको एउटा खपटाले आफ्नो रचनाकारसँग झगडा गर्नु कति मूर्ख कुरा हो भन्छन्। यर्मिया १८:१-६ सित तुलना गर्नुहोस्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)