Entries by Pradesh Shrestha

मानिस कसरी धर्मी ठहरिन्छ?

मानिस कसरी धर्मी ठहरिन्छ?

के पावल र याकूबका बीच अन्तर्विरोध छ?

पावल र याकूबका शिक्षा आपसमा बाझेका छैनन् बरु एउटाचाहिँ अर्कोको परिपूरक हुन्। दुवैले लेखेका कुरा परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन् (२ तिमोथी ३:१६)। मुक्ति नपाएको व्यक्ति कसरी परमेश्वरसित ठीक सम्बन्धमा आउन सक्छ भन्ने कुरा बताउनु पावलको उद्देश्य रहेको छ भने मुक्ति पाइसकेको व्यक्तिले आफ्नो विश्वास वास्तविक भएको कुरा कसरी प्रकट गर्न सक्दछ भन्ने कुरा बताउनु याकूबको उद्देश्य रहेको छ।

Paul-James Table

 

निष्कर्ष: हामी केवल विश्वासैद्वारा मात्र धर्मी ठहरिन्छौं अथवा मुक्ति पाउँछौं (पावलको शिक्षा)। धर्मी ठहराउने विश्वास एकलो हुँदैन; त्यसको साथमा असल कामहरू पनि हुनुपर्छ (याकूबको शिक्षा)। विश्वास एक्लैले बचाउँछ तर बचाउने विश्वास एक्लो हुँदैन! विश्वास एक्लैले बचाउँछ भन्ने कुरामा याकूब पावलसित सहमत थिए (याकूब २:२३; २:५ र प्रेरित १५) र बचाउने विश्वास एक्लो हुँदैन भन्ने कुरामा पावल याकूबसित सहमत थिए (एफेसी २:१०; तीतस ३:८; फिलिप्पी २:१२-१३)। यसरी पावल र याकूबका शिक्षा बाझिए जस्तो देखापरे तापनि वास्तवमा बाझेका छैनन्।

येशू ख्रीष्टको ईश्वरत्व

येशू ख्रीष्टको ईश्वरत्व

  • “अनि वचन परमेश्वर हुनुहुन्थ्यो” – यूहन्ना १:१
  • “अनि थोमाले जवाफ दिएर उहाँलाई भने: “हे मेरा प्रभु! र हे मेरा परमेश्वर!” – यूहन्ना २०:२८
  • “ख्रीष्ट…जोचाहिँ सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ” – रोमी ९:५
  • “त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ” – तीतस २:१३

(१) केवल परमेश्वरलाई मात्र जानाउन प्रयोग गर्न मिल्ने नामहरू ख्रीष्टलाई जनाउन प्रयोग गरिएको छ

  1. उहाँलाई परमेश्वर भनिएको छ
    1. यूहन्ना १:१ (यहोवाका साक्षीहरू यसलाई उनीहरूको अङ्ग्रेजी न्यू वर्ल्ड ट्रान्सलेशन (New World Translation) मा “a god” (“एक ईश्वर”) भनेर अनुवाद गर्न बाध्य भएका छन्
    2. यूहन्ना २०:२८
    3. रोमी ९:५ (हिजोआजका कतिपय अनुवादहरूमा यस पदको सुस्पष्ट भनाइलाई ओझेलमा पार्न विरामचिह्नको चलाकीपूर्ण प्रयोग गरिएको पाइन्छ)
    4. तीतस २:१३
    5. हिब्रू १:८
    6. १ यूहन्ना ५:२०
    7. यशैया ९:६
  2. उहाँलाई “परमेश्वरको पुत्र” भनिएको छ
    टिप्पणी: येशू ख्रीष्टको समयमा “परमेश्वरको पुत्र” भन्ने संज्ञाले “परमेश्वरसित बराबर” भन्ने अर्थ जनाउँथ्यो, अर्थात् “स्वभावमा समान”। येशूले आफू परमेश्वरको पुत्र हुँ भन्ने दाबी गर्नु आफू परमेश्वर भएको पूर्ण दाबी गर्नु थियो। यी पदहरूले यस कुरालाई पर्याप्त गरी छर्लङ्ग पार्दछन्: यूहन्ना ५:१७-१८; यूहन्ना १०:३३,३६; यूहन्ना १९:७।
  3. उहाँलाई “प्रभु” भनिएको छ (ग्रीक: कुरिअस्)
    हेर्नू: लूका २:११; यूहन्ना १३:१३; रोमी १०:९; १ कोरिन्थी १२:३; फिलिप्पी २:१० आदि।
    टिप्पणी: प्रभु येशूको समयमा प्रायः “सेप्टुवाजिन्ट” (पुरानो नियमको ग्रीक अनुवाद) चलनचल्तीमा थियो जसमा “यहोवा” शब्दलाई रूपान्तर गर्न “कुरिअस्” प्रयोग भएको छ (“यहोवा” लाई नेपाली बाइबलको पुरानो नियममा रूपान्तर गर्न “परमप्रभु” प्रयोग गरिएको छ)। “यहोवा” शब्दले अद्वितीय सत्य परमेश्वरलाई जनाउँछ भन्ने कुरा यशैया ४५:५-६ ले देखाउँछ।
  4. उहाँलाई “महिमाका प्रभु” भनिएको छ: १ कोरिन्थी २:८ लाई भजनसङ्ग्रह २४:८-१० सित दाँज्नुहोस्
  5. उहाँलाई “पवित्र जन” भनिएको छ: प्रेरित ३:१४ लाई होशे ११:९ र यशैया ४८:१७ सित दाँज्नुहोस्
  6. उहाँलाई “प्रथम र अन्तिम” भनिएको छ: प्रकाश १:१७-१८ र २:८ लाई यशैया ४४:६ सित दाँज्नुहोस्
  7. उहाँलाई “अल्फा र ओमेगा” भनिएको छ: प्रकाश २२:१३,१६ लाई प्रकाश १:८ सित दाँज्नुहोस्
  8. उहाँलाई “म हुँ” भनिएको छ: यूहन्ना ८:५८ र १८:६ लाई प्रस्थान ३:१४ सित दाँज्नुहोस्

निष्कर्ष — नामहरू

  1. येशू ख्रीष्टलाई जानाउन यी नामलाई प्रयोग गर्नेहरू यहूदी थिए, जोहरू पुरानो नियमसित परिचित थिए र यी नामलाई त्यसरी प्रयोग गर्नुको तात्पर्य राम्ररी बुझेका थिए।
  2. अझ, यी यहूदीहरू कट्टर एकेश्वरवादी (परमेश्वर एकमात्र हुनुहुन्छ भन्ने विश्वास गर्ने, monotheist) हरू थिए। यहूदी विश्वासको केन्द्रीय बुँदा यो थियो, “सुन हे इस्राएल, तिमीहरूका परमप्रभु परमेश्वर एउटै प्रभु हुनुहुन्छ” (व्यवस्था ६:४)। परमेश्वर र मानिसका बीच नाप्नै नसकिने दुरी छ भन्ने कुरामा उनीहरू विश्वास राख्थे। तरैपनि यिनै मानिसहरूले यी नामलाई येशू ख्रीष्टलाई जनाउन प्रयोग गरे।
  3. अझ, येशू ख्रीष्ट आफै यहूदी हुनुहुन्थ्यो र परमेश्वर एकमात्र हुनुहुन्छ भनी विश्वास गर्नुहुन्थ्यो र उहाँ मानिसभन्दा नाप्नै नसक्ने गरी उच्च हुनुहुन्छ भनी जान्नुहुन्थ्यो।

(२) येशू ख्रीष्टका त्यस्ता गुणहरू भएको बताइएको छ जो केवल परमेश्वरका मात्र हुन सक्छन्

प्रारम्भिक अवलोकन: यूहन्ना १६:१५ मा पाइने अत्यन्तै ठूलो दाबीलाई विचार गर्नुहोस्।

  1. येशू ख्रीष्टसित स्व-अस्तित्वरूपी (self-existent) जीवन छ
    1. यूहन्ना १:४ “उहाँमा जीवन थियो”
    2. यूहन्ना १४:६ “जीवन म हुँ”
    3. प्रेरित ३:१५ “जीवनका कर्ता”
  2. येशू ख्रीष्ट अनन्त (eternal) हुनुहुन्छ
    1. यशैया ९:६
    2. मीका ५:२
    3. दाँज्नू: यूहन्ना ८:३५; यूहन्ना ८:५८; १ यूहन्ना १:२; १ यूहन्ना ५:११
  3. येशू ख्रीष्ट अपरिवर्तनीय (unchangeable) हुनुहुन्छ: हिब्रू १:१०-१२; हिब्रू १३:८
  4. येशू ख्रीष्ट सर्वव्यापी (omnipresent) हुनुहुन्छ: मत्ती २८:२०
  5. येशू ख्रीष्ट सर्वज्ञानी (omniscient) हुनुहुन्छ: हेर्नू: यूहन्ना २:२४-२५ (दाँज्नू: यर्मिया १७:९-१०); यूहन्ना ६:६४; यूहन्ना १६:३०; कलस्सी २:३; उदाहरणहरू: मत्ती १७:२४-२७; लूका ५:२२; यूहन्ना १:४८; यूहन्ना ४:१६-१९; यूहन्ना २१:६
  6. येशू ख्रीष्ट सर्वशक्तिमान (omnipotent) हुनुहुन्छ: हेर्नू: यूहन्ना ५:१९; फिलिप्पी ३:२०-२१; प्रकाश १:८ (२२:१२-१३ सित दाँज्नुहोस्); उदाहरणहरू: लूका ४:३९; मत्ती ८:२६-२७; मर्कूस ५:१२-१३; लूका ७:१४-१५; यूहन्ना २:१९-२२
  7. येशू ख्रीष्ट सिद्ध (perfect) हुनुहुन्छ (“सिद्ध” को सामान्य बाइबलीय अर्थ: पूर्ण, कुनै कुरा घटी, अपूग नभएको): हेर्नू: कलस्सी १:१९; कलस्सी २:९-१०
  8. येशू ख्रीष्ट असीमित (infinite) हुनुहुन्छ: हेर्नू: यूहन्ना १०:२८; एफेसी ३:८; कलस्सी २:३
  9. येशू ख्रीष्ट अज्ञेय (जानेर नसकिने, incomprehensible) हुनुहुन्छ: हेर्नू: मत्ती ११:२७; एफेसी ३:८; एफेसी ३:१९
  10. येशू ख्रीष्ट पवित्र (holy) हुनुहुन्छ: हेर्नू लूका १:३५; प्रेरित ३:१४
  11. येशू ख्रीष्ट सत्य (true) हुनुहुन्छ: हेर्नू: यूहन्ना १४:६; प्रकाश ३:७
  12. येशू ख्रीष्ट प्रेम (love) हुनुहुन्छ: हेर्नू: यूहन्ना १३:१; रोमी ८:३५-३९; एफेसी ३:१९; १ यूहन्ना ३:१६
  13. येशू ख्रीष्ट धर्मी (righteous) हुनुहुन्छ: हेर्नू: २ तिमोथी ४:८; २ यूहन्ना २:१
  14. येशू ख्रीष्ट विश्वासयोग्य (faithful) हुनुहुन्छ: हेर्नू: प्रकाश ३:१४; प्रकाश १९:११
  15. येशू ख्रीष्ट कृपालु (merciful) हुनुहुन्छ: यहूदा २१; याकूब ५:११ (५:८ सित दाँज्नुहोस्)

निष्कर्ष — गुणहरू

  1. यूहन्ना १६:१५ — “पितासँग भएका सबै थोक मेरा हुन्’ (पितासँग भएको प्रत्येक गुण (attribute) पुत्रसँग पनि हुन्छ)
  2. यूहन्ना १७:६ — “मैले ती मानिसहरूकहाँ तपाईंको नाम प्रकट गरिदिएको छु” (पवित्र शास्त्रमा परमेश्वरको “नाम” भन्नाले परमेश्वरको चरित्र भन्ने बुझिन्छ अर्थात् परमेश्वरको सर्वस्व व्यक्तित्व। तसर्थ, येशू भन्दैहुनुहुन्छ, “तपाईं कस्तो किसिमको परमेश्वर हुनुहुन्छ भन्ने कुरा मैले देखाइदिएको छु। मैले तपाईंको चरित्रलाई दर्शाइदिएको छु।”)
  3. ख्रीष्टमा परमेश्वरत्वको सारा पूर्णता शारीरिक रूपमै बास गरेको छ भन्ने कुरा बाइबलले स्पष्टै सिकाउँछ (कलस्सी २:९)।

(३) परमेश्वरले मात्र गर्न सक्नुहुने कामहरू येशू ख्रीष्टले गर्नुभएको छ

  1. सबै कुरा प्रभु येशू ख्रीष्टले सृष्टि गर्नुभयो: यूहन्ना १:३; यूहन्ना १:१०; एफेसी ३:९; कलस्सी १:१६; हिब्रू १:२;
  2. ख्रीष्टले सबै थोकहरू सम्हाल्नुहुन्छ र उहाँद्वारा नै सबै कुराहरू स्थिर रहन्छन्: कलस्सी १:१७; हिब्रू १:३
  3. ख्रीष्टले नै इतिहासको प्रवाहलाई निर्धारण र निर्देशित गर्नुहुन्छ
    1. १ कोरिन्थी १०:४,९,११ इस्राएलका सन्तानलाई संरक्षण गर्नुहुने र पाल्नुहुने प्रभु येशू हुनुहुन्थ्यो
    2. हिब्रू १:२ ख्रीष्टले नै युगहरू (“संसारहरू”) पनि बनाउनुभयो
    3. यशैया ९:६ ख्रीष्ट नै अनन्तका पिता (युगहरूका पिता) हुनुहुन्छ
  4. ख्रीष्टले मानिसका पापहरू क्षमा गर्नुहुन्छ र अनन्त जीवन प्रदान गर्नुहुन्छ: मर्कूस २:५-१२ र यशैया ४३:२५ तुलना गर्नुहोस् (हेर्नू: भजनसङ्ग्रह ५१:४); यूहन्ना १०:२८; कलस्सी ३:१३
  5. ख्रीष्टले मण्डली निर्माण गर्नुहुन्छ र यसको संस्थागत अस्तित्वलाई कायम गर्नुहुन्छ: मत्ती १६:१८; एफेसी ४:७-१६; फिलिप्पी १:२, ४:२३
  6. ख्रीष्टले प्रार्थनाहरू ग्रहण गर्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ: यूहन्ना १४:१४; प्रेरित ७:५९; २ कोरिन्थी १२:७-९
  7. ख्रीष्टले बौरिउठाइमा मरेकाहरूलाई बौराउनुहुनेछ: यूहन्ना ५:२१; ५:२८-२९; ११:२४-२५; तुलना गर्नुहोस्: फिलिप्पी ३:२०-२१
  8. ख्रीष्ट नै संसारको अन्तिम न्यायधीश हुनुहुन्छ: मत्ती २५:३१-४६; यूहन्ना ५:२२; प्रेरित १०:४२; १७:३१; २ कोरिन्थी ५:१०

निष्कर्ष — कार्यहरू

  1. उयर्युक्त “कार्यहरू” आश्चर्यकर्महरूको वर्गमा राखिन्नन् किनकि आश्चर्यकर्महरू अगमवक्ता वा प्रेरितहरू जस्ता नियुक्त माध्यमद्वारा गरिनु सम्भव थियो।
  2. पुरानो नियममा यस्ता “कार्यहरू” को श्रेय परमेश्वरलाई दिइएको मात्र छैन, ती त एक मात्र सत्य परमेश्वरको पहिचान दिने सूचक हुन्।

(४) केवल सत्य परमेश्वरलाई मात्र गरिने उपासना येशू ख्रीष्टलाई गरिएको छ

  1. यस्तो उपासनाको योग्य केवल परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरा बाइबलले स्पष्टसँग सिकाउँदछ र कुनै पनि सृजित प्राणीलाई उपासना गरिनुहुँदैन, त्यो जतिसुकै उच्च किन नहोस्।
    1. प्रेरितहरूले उपासना गरिन इन्कार गरे (प्रेरित १४:११-१५)।
    2. पत्रुसले उपासना गरिन इन्कार गरे (प्रेरित १०:२५-२६)।
    3. स्वर्गदूतहरूले उपासना गरिन इन्कार गरे (प्रकाश १९:१०; २२:८,९)।
    4. मानिसहरूले केवल परमेश्वरको मात्र उपासन गर्नुपर्छ भनेर येशू ख्रीष्टले आज्ञा गर्नुभयो (मत्ती ४:८-१०)।
    5. जुन कुराको योग्य परमेश्वर मात्र हुनुहुन्छ त्यसलाई आफ्नो निम्ति ग्रहण गर्दा मानिसहरूले दण्ड पाएका छन् (प्रेरित १२:२१-२३)।
  2. तर यही बाइबलले ख्रीष्टलाई परमेश्वरलाई जस्तै गरी उपासना गरिनुपर्छ भनेर सिकाउँदछ।
    1. येशू ख्रीष्टले त्यस्तो उपासनालाई ग्रहण गर्नुभयो र प्रोत्साहन दिनुभयो: मत्ती १४:३१-३३; १५:२५-२८; २८:९-१०; २८:१६-१८; यूहन्ना ९:३५-३९।
    2. येशू ख्रीष्टले त्यस्तो उपासनाको माग गर्नुभयो: यूहन्ना ५:२३।
    3. पिताले ख्रीष्टलाई त्यसरी उपासना गरियोस् भनेर माग गर्नुहुन्छ: हिब्रू १:६।
    4. येशू ख्रीष्ट स्वर्गको समस्त गणद्वारा उपासना गरिनुहुनेछ: प्रकाश ५:८।
    5. येशू ख्रीष्टको उपासना अन्तमा सर्वव्यापी हुनेछ: फिलिप्पी २:१०-११ (सबै मानिसहरूले एक दिन येशू ख्रीष्टका सामु घुँडा टेक्नेछन्)।

५) परमेश्वरले आफ्नो विषयमा मात्र गर्न सक्नुहुने दाबीहरू येशू ख्रीष्टले आफ्नो विषयमा गर्नुभयो

  1. येशू ख्रीष्टले परमेश्वरका व्यवस्था तथा संस्थाहरू (laws and institutions) माथि आफ्नो पूर्ण अधिकार भएको दाबी गर्नुभयो।
    1. मोशाको व्यवस्थामाथि (मत्ती ५:३१-३४; ३८-२९)
    2. परमेश्वरको मन्दिरमाथि (मत्ती १२:६): स्मरण होस्, मन्दिरको नमुना र रचना स्वयं यहोवाद्वारा दिइएको थियो भन्ने कुरा प्रत्येक यहूदीलाई थाहा थियो।
    3. विश्राम-दिन (मत्ती १२:८ — येशू ख्रीष्ट “विश्रामदिनका पनि प्रभु हुनुहुन्छ”)। विश्राम-दिन परमेश्वरले स्थापना गर्नुभएको थियो भन्ने कुरा प्रत्येक यहूदीलाई थाहा थियो।
    4. राज्य (मत्ती १६:१९)।
  2. मुक्ति पाउनलाई मानिसले पितामाथि जसरी सर्वोपरि रूपमा विश्वास गर्नु खाँचो छ त्यसरी नै उसले उहाँमाथि पनि विश्वास गर्नुपर्छ भनेर येशू ख्रीष्टले दाबी गर्नुभयो: यूहन्ना १०:३०; १४:१; १७:३; २१:१५-२२।
  3. येशू ख्रीष्टले कहिलेकाहीँ पिताको कुनै उल्लेख नगरीकन मानिसको विश्वास र भक्ति उहाँतर्फ नै हुनुपर्छ भन्ने कुरा पनि गर्नुभयो: मत्ती ४:१९; ११:२८; यूहन्ना ३:३६।
  4. मान्छेले आफ्नो सबभन्दा गहिरो र प्यारो नातागोताको माया-ममतालाई भन्दा माथि उहाँलाई नै राख्नुपर्छ भन्ने कुरामा हाम्रो प्रभुले जोड गर्नुभयो: मत्ती १०:३७; लूका १४:२६
  5. मानिसका सबैभन्दा गहिरा आत्मिक र अनन्त खाँचोहरू सबै नै पूर्ण रूपमा उहाँमा पूरा हुन्छन् भनेर उहाँले दाबी गर्नुभयो:
    1. परमेश्वरको ज्ञान (मत्ती ११:२७)
    2. परमेश्वरकहाँ जाने बाटो (यूहन्ना १४:६)
    3. मुक्तिको ढोका (यूहन्ना १०:७-९)
    4. प्राणको लागि ज्योति (यूहन्ना ८:१२)
    5. जीवनको पानी (यूहन्ना ७:३७)
    6. परमेश्वरबाटको रोटी (यूहन्ना ६:३५,५१)
    7. प्राणको लागि विश्राम (मत्ती ११:२८-२९)
    8. आत्मिक अगुवाइ (यूहन्ना १०:११)
    9. खतरादेखि सुरक्षा (यूहन्ना १०:२८-३०)
    10. फल फलाउने जीवन-शक्ति (यूहन्ना १५:५)
    11. जीवन र बौरिउठाइ (यूहन्ना ११:२५-२६)।

निष्कर्ष — दाबीहरू

येशू ख्रीष्टको सम्बन्धमा अचम्मको कुरा के थियो भने उहाँले आफूलाई नै प्रचार गर्नुभयो!

“……म हुँ”
“मकहाँ आओ”
“जसले ममाथि विश्वास गर्दछ”
आदि।

(६) येशू ख्रीष्टको ईश्वरत्वका अप्रत्यक्ष गवाहीहरू

यसअन्तर्गत पवित्र शास्त्रका ती खण्डहरू पर्दछन् जोहरूमा ख्रीष्टको ईश्वरत्वलाई प्रबल रूपमा इङ्गित गरिएका छन् वा मानिलिइएका छन् यद्यपि तिनमा किटान गरेर नै सो कुराको उल्लेख छैन। यस किसिमको अप्रत्यक्ष गवाहीको महत्त्व यसैमा छ कि यसले ख्रीष्टको ईश्वरत्व नयाँ नियमको संरचनाकै अभिन्न अङ्ग हो भन्ने देखाउँदछ। भन्नुपर्दा, नयाँ नियममा पान्नै पिच्छे ख्रीष्टको ईश्वरत्वलाई स्वीकारिएको छ।

सूचीत गर्न सकिने थुप्रै उदाहरणहरूमध्येमा निम्न खण्डहरू केही हुन्:

  1. लूका ७:३७-३८, ४४-४८ – परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ भन्ने कुरा पाठकले बुझेका छन् भनी लूकाले मानिलिएका छन्। तसर्थ येशू परमेश्वर नै हुनुपर्छ!
  2. यूहन्ना १२:३७-४१ – यहाँ १२:४० का शब्दहरूलाई यशैयाले यहोवालाई देखेपश्चात् लेखेका हुन् (यशैया ६:१,१०)। तर यूहन्ना भन्छन्, यशैयाले ख्रीष्टको महिमा देखेका हुन् (यूहन्ना १२:४१), किनकि पाठकले यशैया ६ अध्यायका यहोवा येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर जान्दछन् भनेर यशैयाले मानिलिएका छन्।
  3. यूहन्ना १४:२८ – “मेरा पिता मभन्दा महान् हुनुहुन्छ” — यदि येशू स्वयं परमेश्वर नहुनुभएको भए, उहाँले कसरी आफूलाई पितासँग दाँज्न सक्नुहुन्थ्यो र? एउटा जाबो सीमित सृजित प्राणीले “पिता मभन्दा महान् हुनुहुन्छ” भन्ने कुराको विश्वास दिलाउन खोज्दै हिँड्नु भनेको त दुवै ईश्वरनिन्दा र हास्यास्पद कुरो हुन्थ्यो! सृष्टिकर्ता र सृष्टिका बीचको अन्तर अपार (infinite) छ र ती दुईलाई दाँज्नै सकिन्न। येशूले वास्तवमा त्रिएक परमेश्वरका व्यक्तिहरू बीचका कार्यगत भिन्नताहरूको चर्चा गर्दैहुनुहुन्थ्यो (ख्रीष्टले राजीखुशीसित आफैमा मनुष्यत्व र कतिपय सीमितताहरू धारण गर्नुभयो)। यो वास्तवमा ख्रीष्टको ईश्वरत्वकै प्रमाणिकरण गर्ने पद हो।
  4. यूहन्ना १९:३७ – यूहन्नाले जकरिया १२:१० बाट उद्दरण गर्दैछन्। तर उक्त खण्डको प्रसङ्ग हेर्ने हो भने (हेर्नू: जकरिया १२:१) छेडिएका व्यक्ति त यहोवा हुनुहुन्छ। यसर्थ, येशू ख्रीष्ट परमेश्वर नै हुनुपर्छ।
  5. १ तिमोथी १:१३ – (“उहाँ [येशू ख्रीष्ट] ले मलाई … सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले निन्दा गर्ने … थिएँ”) उनको जीवन परिवर्तित हुनु अगाडि उनले यहोवाको विरुद्धमा बोल्दै हिँड्थे भन्ने कुरा यहाँ पावलको अवश्य पनि होइन [पावल एक कट्टर यहूदी थिए]! तर उनले येशूको विरुद्धमा भने बोलेका थिए। पाठकले येशू नै यहोवा हुनुहुन्छ भन्ने कुरा बुझेका छन् भनेर उनले मानिलिएका हुनाले येशूको विरुद्धमा बोलिएका वचनहरू वास्तवमा ईश्वरनिन्दा थिए भन्ने कुरा पनि उनले मानिलिएका छन्।
  6. गलाती १:१ – “पावल प्रेरित (न ता मानिसहरूबाट, न ता मानिसद्वारा, तर येशू ख्रीष्ट…द्वारा”) पावलले येशू ख्रीष्टलाई मानिसभन्दा भिन्न हुनुभएको भनेर यसरी तुलना गर्दछन्; येशू ख्रीष्ट परमेश्वर नहुनुभएको भए यसरी भन्न मिल्दैनथ्यो।
  7. मत्ती १३:४१; १६:२७ र २४:३१ – यी खण्डहरूमा ख्रीष्टका स्वर्गदूतहरूको उल्लेख पाइन्छ। स्वर्गदूतहरू कसका हुन्?

अन्तिम निष्कर्ष

प्रेरितहरूको समयदेखि यता त्यस्तो कुनै इसाईमत छैन जसले ख्रीष्टको ईश्वरत्वलाई प्रमुख सिद्धान्तको रूपमा पक्रेको छैन। यो सत्यता इसाई विश्वासकै जग हो (मत्ती १६:१५-१८)। येशू ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्नेहरूले बाइबलीय र ऐतिहासिक अर्थमा आफूहरूलाई “ख्रीष्टियन” को संज्ञा दिनालाई उनीहरूलाई कुनै पनि अधिकार छैन।

थप सामग्री:

के यहोवा नाउँ येशू ख्रीष्टलाई लागु हुन्छ?
येशू परमेश्वर नै हुनुहुन्छ भन्ने एउटा प्रमाण: उहाँलाई गरिएको उपासना

Adapted from Dr. Alva McClain’s notes, revised by Dr. John C. Whitcomb and Ivan French, and put into this present from by George Zeller.

महम्मद र येशू ख्रीष्टको बीचमा अन्तर

महम्मद र येशू ख्रीष्टको बीचमा अन्तर

जर्ज जेलर

महम्मद युद्दका पैगम्बर थिए; ख्रीष्ट शान्तिका राजकुमार हुनुहुन्छ (यशैया ९:६-७)।

महम्मदका शिष्यले आफ्ना विश्वासको खातिर मारे; ख्रीष्टका शिष्यहरू आफ्ना विश्वासका लागि मारिए (प्रेरित १२:२; २ तिमोथी ४:७)।

महम्मदले “विधर्मी” लाई सताउनुपर्छ भनेर सिकाए; ख्रीष्टले सताउनेहरूमध्येका प्रमुखलाई क्षमा दिनुभयो र उसलाई बदलेर मिलापमा ल्याउनुभयो (१ तिमोथी १:१३-१५)।

महम्मदले ज्यान लिने काम गरे; ख्रीष्टले जीवन दिने काम गर्नुभयो (यूहन्ना १०:२७-२८)।

महम्मद र उनका योद्धाहरूले हजारौंलाई हत्या गरे; ख्रीष्टले कसैको हत्या गर्नुभएन, बरु धेरैलाई बचाउनुभयो (यूहन्ना १२:४८)।

महम्मदको तरिका जबर्जस्तीको थियो; ख्रीष्टको उद्देश्य स्वैच्छिक मन परिवर्तनको थियो (प्रेरित ३:१९)।

महम्मदले बलको प्रयोग गरे; ख्रीष्टले विश्वासको प्रचार गर्नुभयो (यूहन्ना ६:२९,३५)।

महम्मद एक लडाकु थिए; ख्रीष्ट एक उद्धारक हुनुहुन्छ (कलस्सी १:१३; १ थेस्सलोनिकी १:१०)।

महम्मदले आफ्ना शत्रुलाई तरवारले जिते; ख्रीष्टले आफ्ना शत्रुलाई अर्कै तरवारले जिते, अर्थात् आत्माको तरवारले जुनचाहिँ परमेश्वरको वचन हो (हिब्रू ४:१२; प्रेरित २:३७)।

महम्मदले भीडहरूलाई भने, “धर्म-परिवर्तन गर कि मर!”; ख्रीष्टले भन्नुभयो, “विश्वास गर र बाँच!” (यूहन्ना ६:४७; ११:२५-२६)।

महम्मद रगत बहाउनलाई छिटो थिए (रोमी ३:१५-१७); ख्रीष्टले धेरैका मुक्तिका लागि आफ्नै रगत बहाउनुभयो (एफेसी १:७)।

महम्मदले प्रचार गरे, “विधर्मीलाई मृत्यु!”; ख्रीष्टले प्रार्थना गर्नुभयो, “पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्” (लूका २३:३४)।

महम्मदले विधर्मीहरूका विरुद्ध पवित्र युद्ध (जिहाद) घोषणा गरे; ख्रीष्टले कलवरीको क्रूसमा पवित्र विजय हासिल गर्नुभयो (कलस्सी २:१४-१५) र उहाँलाई पछ्याउनेहरूले उक्त विजयमा भाग पाउँदछन् (यूहन्ना १६:३३)।

महम्मदले मानिसहरूलाई बलमिचाइँले वशमा ल्याए; ख्रीष्टले मानिसहरूलाई प्रेमले वशमा ल्याए (२ कोरिन्थी ५:१४)।

वर्तमान आतङ्ककारीहरूले महम्मदबाट प्रेरणा लिन्छन् र उनको अल्लाहको नाममा निन्दनीय अत्याचारहरू गर्छन्; ख्रीष्टियनहरूले चाहिँ उहाँबाट प्रेरणा लिन्छन् जसले भन्नुभयो, “मिलाप गराउनेहरू धन्यका हुन्” (मत्ती ५:९)।

आज महम्मदका कतिपय चेलाहरू कुनै आतङ्ककारी आक्रमणको खबर सुन्दा सडकमा उत्रेर हर्षोल्लास प्रकट गर्दछन्; ख्रीष्टका वर्तमान चेलाहरू विगतमा नामधारी “इसाईहरू” ले गरेका अत्याचारहरू — क्रूसेडहरू (crusades), स्पेनिश इन्क्विजिशन (Spanish Inquisition), आदि — को बारेमा सुन्दा ज्यादै दुःखित हुन्छन्।

धेरैजना मुस्लिमहरू शान्त र शान्तप्रेमी हुन्छन् किनकि उनीहरूले आफ्ना संस्थापकका शिक्षाहरूलाई कट्टर रूपमा पछ्याउँदैनन्; धेरैजना ख्रीष्टियनहरू शान्त र शान्त-प्रेमी हुन्छन् किनकि उनीहरूले आफ्ना संस्थापकका शिक्षाहरूलाई कट्टर रूपमा पछ्याउँदछन् (रोमी १२:१७-२१)।

महम्मदले आफ्ना सेवकहरूलाई युद्ध गर्न आह्वान गरे; येशूले चाहिँ भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता… मेरा सेवकहरूले लडाइँ गर्नेथिए; तर अब मेरो राज्य यहाँबाटको होइन” (यूहन्ना १८:३६)।

महम्मदले यहूदीहरूलाई मार्नका लागि आदेश दिए (हेर्नुहोस्, A. Guillaume, The Life of Muhammad, Oxford University Press [1975], p. 369; ख्रीष्टले चाहिँ सुसमाचार “पहिले यहूदीका लागि’ प्रचार गर्नका लागि आदेश दिनुभयो (रोमी १:१६)।

कुरानले भन्छ, “अल्लाहको खातिर युद्ध गर” (कुरान २.२४४); बाइबलले भन्छ, “हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौं” र “हाम्रा लडाइँका हतियारहरू शारीरिक छैनन्” (एफेसी ६:१२; २ कोरिन्थी १०:४)।

कुरानले भन्छ, “युद्ध गर र विधर्मीहरूलाई जहाँ-जहाँ भेट्टाउँछौं, त्यहाँ-त्यहाँ मार” (कुरान ९.५); ख्रीष्टले भन्नुभयो, “हरेक प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५)।

कुरानले भन्छ, म विधर्मीहरूको हृदयहरूमा आतङ्क उत्पन्न गराउनेछु” (कुरान ८.१२); परमेश्वरले चाहिँ विश्वासीहरूको हृदयहरूमा भय (आदरभावको डर) उत्पन्न गराउनुहुन्छ (यशैया ८:१३)।

कुरान, इस्लाम धर्म ग्रहण नगर्नेहरूको विरुद्धमा युद्ध गर्न, झगडा, आतङ्क र संहारको लहर मच्च्याउनका लागि समर्थन दिने आतङ्कवादी निर्देशिका हो; बाइबलचाहिँ सारा संसारभरि शान्तिको सुसमाचार फैलाउनका लागि एक मिसनरी निर्देशिका हो (रोमी १०:१५)।

महम्मदको लक्ष्य अल्लाहको निम्ति विश्वलाई जित्‍नु थियो; ख्रीष्टको लक्ष्य आफ्नो प्रतिस्थापनकारी मृत्युद्वारा पापको दण्ड र पापको शक्तिलाई जित्‍नु थियो (२ कोरिन्थी ५:२१; १ पत्रुस ३:१८)।

महम्मदले ख्रीष्टलाई एक असल अगमवक्ता ठाने; ख्रीष्टले महम्मदलाई एक झूटा अगमवक्ता भनी घोषणा गरे (यूहन्ना १०:१०; मत्ती २४:११)।

महम्मदले अल्लाह मात्र ईश्वर भएको दाबी गरे; ख्रीष्टले आफू स्वयम् परमेश्वर हुनुभएको दाबी गर्नुभयो (यूहन्ना १०:३०-३३; यूहन्ना ८:५८-५९; यूहन्ना ५:१८; यूहन्ना १४:९)।

महम्मदको चिहान: ओगटिएकै छ! ख्रीष्टको चिहान: रित्तो छ!

[अङ्ग्रेजी पाठकका लागि: इस्लामको रक्तपातपूर्ण इतिहासको उत्कृष्ट दस्तावेजीकरणका लागि पढ्नुहोस्, “The Bloody Legacy of Islam” by Chuck Sligh. E-mail: csligh2001@yahoo.com]

अचम्मको देहधारण

अचम्मको देहधारण

परमेश्वर एक मानव बन्नुभयो!

“वचन शरीर हुनुभयो अनि हाम्रा माझमा…वास गर्नुभयो”
(यूहन्ना १:१४)

“परमेश्वर शरीरमा प्रकट हुनुभयो”
(१ तिमोथी ३:१६)

जर्ज जेलर

विचार गर्नुहोस्, देहधारण कति अचम्मको कुरा थियो। बाइबलले यसको बयान ज्यादै सरल भाषामा गरेको छ:

“वचन परमेश्वर हुनुहुन्थ्यो…अनि वचन शरीर हुनुभयो अनि हाम्रा माझमा…वास गर्नुभयो (यूहन्ना १:१,१४)।

असीम परमेश्वर एक मानव बन्नुभयो। अनन्ततामा बास गर्नुहुने, समयको घेराभित्र प्रवेश गर्नुभयो (गलाती ४:४)। परमेश्वर जसको शरुआत नै थिएन, जो सधैंदेखि हुनुहुन्थ्यो, एक बालक भई जन्मनुभयो (मीका ५:२; यशैया ७:१४; ९:६)। सर्वशक्तिमान्, एक शिशु बन्नुभई मरियमको काखमा आश्रय लिनुभयो। सर्वस्वका सृष्टिकर्ता पशुको एउटा खाने भाँडोमा लेटाइनुभयो (लूका २:१२)। जो “अग्लो र उच्च सिंहासनमा विराजमान” हुनुहुन्थ्यो (यशैया ६:१), उहाँ लपेट्ने लुगाहरूले बेरिएर एउटा सानो डुँडमा राखिनुभयो र त्यसपछि नम्र गोठालाहरूद्वारा स्वागत गरिनुभयो।

सायद देहधारण सम्बन्धी सबैभन्दा अचम्मको कुरा यो थियो कि यसद्वारा अमरता पहिरहनुभएको परमेश्वर मृत्युको स्वाद लिन सक्ने तुल्याइनुभयो! जीवित परमेश्वर त मर्न सक्नुहुन्न। मानिस पापको कारण मृत्युको योग्य थियो, त्यो अनिवार्य थियो (रोमी १:३२; ६:२३), जसले गर्दा मानिस अनन्त कालसम्म परमेश्वरको जीवनदेखि बञ्चित हुनुपर्ने थियो (यशैया ५९:२; २ थेस्सलोनिकी १:८-९)। परमेश्वरले आफ्नो प्रेममा, आफ्नो न्यायपरायणतामाथि र धार्मिकतामाथि कुनै आँच नपुग्ने गरी, पापी मानिसको उद्धार गर्ने उपाय रच्नुभयो। उहाँले मानिसको सट्टामा, पापी मानिसका निम्ति आफैं मृत्यु-दण्ड भोगिदिने उपाय गर्नुभयो। यो सम्भव गराउन, परमेश्वर आफैं मानिस बन्नुपर्ने भयो र “यसरी उहाँले परमेश्वरको अनुग्रहद्वारा प्रत्येक मानिसका निम्ति मृत्युको स्वाद चाख्नुनभयो” (हिब्रू २:९)। अमर त मर्न सक्नुहुन्न, तर परमेश्वरले आफूमा हाम्रो मनुष्यत्व धारण गर्नुभयो अनि उहाँ ईश्वर-मानव (God-Man) भइकन मर्न सक्नुहुन्थ्यो र उहाँ त्यसरी हाम्रा पापका लागि मर्नुभयो (१ कोरिन्थी १५:३; १ पत्रुस ३:१८)।

हो, उहाँ मर्नलाई जन्मनुभएको थियो। पापीहरूलाई मुक्ति दिनलाई उहाँ यस संसारमा आउनुभएको थियो (१ तिमोथी १:१५; यूहन्ना ३:१७), र उक्त उद्धार-कार्य उहाँले बेतलेहेमको डुँडबाट पूरा गर्नुभएन तर गलगथाको क्रूसमा सम्पन्न गर्नुभयो। उहाँको जन्मले उहाँको मृत्यु सम्भव गरायो; उहाँको मृत्युले हाम्रो मुक्ति सम्भव गरायो। बाइबलले यस कुराको बयान यसरी गरेको छ: “किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ – उहाँको गरिबीद्वारा तिमीहरू धनवान् होओ भनेर उहाँ धनवान् भएर पनि तिमीहरूका निम्ति गरिब हुनुभयो” (२ कोरिन्थी ९:८)।

देहधारणको महत्त्वलाई कसैले गलत नबुझोस्। परमेश्वर शरीर बन्नुभयो, र परमेश्वर एक मानव बन्नुभयो, तर उहाँ त्यतिखेर पुत्र बन्नुभएको चाहिँ होइन। उहाँ “मासु र रगतका भागीदार” हुनुभयो, र उहाँ “आफ्ना भाइहरूसमान” हुनुभयो (हिब्रू २:१४,१७), तर उहाँ देहधारणद्वारा परमेश्वरको पुत्र बन्नुभएको भने होइन। यूहन्नाको पहिलो अध्यायले बताउँछ कि अनन्तको वचन शरीर हुनुभयो (पद १,१४)। पावल लेख्छन्, पुत्र “शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो” (रोमी १:३)। जो सधैंदेखि परमेश्वरका पुत्र हुनुहुन्थ्यो, उहाँ मानव जन्मद्वारा दाऊदका पुत्र हुनुभयो। अनन्त परमेश्वर, दाऊदको घराना र वंशमा जन्म लिनुभई एक मानव बन्नुभएको हो। अनन्त परमेश्वर, परमेश्वरका पुत्र बन्नुभएको चाहिँ होइन।

प्रभु येशूले एकपल्ट फरसीहरूलाई एउटा प्रश्न सोध्नुभयो जसको उत्तर उनीहरूले दिनै सकेनन्: “ख्रीष्ट (मसीह) को विषयमा तिमीहरूको के विचार छ? उनी कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने: “दाऊदका पुत्र।” उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसो भए कसरी दाऊदले आत्मामा उनलाई यसो भन्दै(भजनसङ्ग्रह ११०:१ मा) ‘प्रभु’ भने त?” (मत्ती २२:४२-४५)। यस प्रश्नले फरसीहरूको मुख चूप गरायो, तर वर्षौं पछाडि यही प्रश्नको उत्तर अर्को फरसीले दिए जसका आँखा परमेश्वरको अनुग्रहले खोलिएका थिए। उक्त जवाफ पावल प्रेरितद्वारा दिइएको छ जनुचाहिँ रोमी १:३-४ मा भेट्टाउन सकिन्छ। मसीह कसका पुत्र हुन्? उहाँको मनुष्यत्वले (“शरीरअनुसार”) उहाँ दाऊदका पुत्र हुनुहुन्छ (रोमी १:३)। उहाँको ईश्वरत्वले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ (रोमी १:४) जसले गर्दा उहाँ दाऊदका प्रभु हुनुहुन्छ। उहाँले आफू जो हुँ भनी दाबी गर्नुभएको थियो त्यसलाई उहाँको बौरिउठाइले पूरै प्रमाणित गरेको छ।

प्रभु येशू देहधारणले परमेश्वर बन्नुभएको होइन, न ता पुत्र बन्नुभएको हो। देहधारणद्वारा परमेश्वरका अनन्त पुत्रले हाम्रो मनुष्यत्व धारण गर्नुभयो तर परमेश्वर हुन छाड्नुभएन। हामी, मानिसका पुत्रहरू, परमेश्वरका पुत्रहरू [सन्तान] बनिन सकौं भनेर परमेश्वरका पुत्र मानिसका पुत्र बन्नुभयो (यूहन्ना १:१२; गलाती ३:२६)। हामीलाई यति माथि उकास्न उहाँ त्यति तल होचिन राजी गराउने उहाँको कृपालु प्रेम र अनुग्रह सम्झेर हामी उदेक मान्न कहिल्यै नछोडेका होऔं, प्रशंसा गर्न कहिल्यै नबिर्सेका होऔं! “हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ – हामी परमेश्वरका सन्तान कहलिँदछौं” (१ यूहन्ना ३:१)।

समलिङ्गताबारे बाइबलको शिक्षा

समलिङ्गताबारे बाइबलको शिक्षा

जर्ज जेलर

  1. रोमी अध्याय १ अनुसार समलिङ्गता (homosexuality), परमेश्वरको आदर गर्न र उहाँको सत्यतालाई मान्यता दिन असफल बनेको समाजको अवश्यम्भावी प्रतिफल हो (पद १८,२१ आदि)।

“किनकि सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ… किनकि परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न ता धन्यवादी नै भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो… र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्नै हृदयका कामुकताद्वारा आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनुभयो… परमेश्वरले तिनीहरूलाई नीच कामनाहरूकै निम्ति त्यागिदिनुभयो; किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे; अनि त्यही प्रकारले पुरुषहरूले पनि स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरुषहरूले पुरुषहरूसितै शर्मलाग्दो काम गर्दै एक-अर्काप्रति आफ्नो कामुकताले जले, र आप्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए” (रोमी १:१८,२१,२३,२४,२६,२७)।

  1. अस्वभाविक के हो भनी जान्न स्वभाविक के हो जान्नु आवश्यक पर्छ। यौन, प्रेम र विवाहको सन्दर्भमा के ठीक, के बेठीक, कुन उचित, कुन अनुचित, कुनचाहिँ पवित्र, कुनचाहिँ अपवित्र — कसरी जान्ने? परमेश्वरले हामीलाई दिनुभएको मानदण्ड (STANDARD) के हो? मत्ती १९:३-८ पढ्नुहोस् र पद ४ र ८ मा “शुरु” भन्ने शब्दलाई विशेष ध्यान दिनुहोस्। येशू ख्रीष्टका अनुसार, परमेश्वरले शुरुमा जे गर्नुभएको थियो त्यो नै कुनचाहिँ ठीक, पवित्र र उचित भन्ने कुराको मानदण्ड हो। यसले हामीलाई उत्पत्ति अध्याय २ (विशेष गरी पद २१-२५) मा फर्कन लगाउँछ। अर्को शब्दमा भन्ने हो भने उत्पत्ति २ नै मानदण्ड हो। उत्पत्ति २ मा जे पाउँछौं त्यो नै स्वभाविक, सठीक, शुद्ध र सुन्दर छ। मानवजातिको भलाइका लागि र यसको प्रजननका लागि परमेश्वरले नियुक्त गर्नुभएको र स्थापित गर्नुभएको कुरा ठीक यही नै हो। उत्पत्ति २ मा परमेश्वरले संस्थागत गराउनुभएको योजनाबाट पथभ्रष्ट भएको जुनसुकै पनि अभ्यासलाई अस्वभाविक, अप्राकृतिक, अनुचित भनेर मान्नुपर्छ र पुरुष-स्त्रीका लागि रहेको परमेश्वरको सिद्ध अभिप्राय र योजनाको विपरित भएको भनी मान्नुपर्छ।

यो स्पष्टसँग देखिने कुरो हो कि शुरुमा परमेश्वरले आदमकहाँ कुनै पुरुषलाई ल्याउनुभएन। यो पनि स्पष्टसँग देखिने कुरो हो कि शारीरिक र लैङ्गिक आधारमा पुरुष, पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री, स्त्रीका लागि। त्यसो त दुइटा छेस्किनीले वा दुइटा ढिम्रीले कुनै चीजलाई बाँध्न खोज्नु जस्तै हुन्छ। छेस्किनीचाहिँ ढिम्रीको लागि बनाइएको हो अनि ढिम्रीचाहिँ छेस्किनीको लागि। ढिम्रीलाई अर्को ढिम्रीभित्र जोड्न बनाइएको होइन। त्यस्तै, कुनै पुरुष अर्को पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री अर्को स्त्रीका लागि। स्त्री, पुरुषका निम्ति सृष्टि गरिएकी हो (१ कोरिन्थी ११:९)।

  1. इतिहासले बताएको सदोम (Sodom) को ठूलो पापलाई र त्यस पापले उक्त शहरमाथि निम्त्याएको परमेश्वरको इन्साफ (उत्पत्ति १८ र १९) लाई नबिर्सौं। उक्त पाप, “सदोमी” (sodomy) भन्ने संज्ञाले सदाका लागि मानव स्मृतिमा गढेर रहेको छ।
  2. परमेश्वरको वचनले समलिङ्गताको कडा भर्त्सना गरेको छ (लेवी १८:२२; लेवी २०:१३)। १ तिमोथी १:९-१० पनि हेर्नुहोस् (समलिङ्गता खाँटी शिक्षाको विपरित कुरो हो)।

“स्त्रीहरूसँगझैं पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो” (लेवी १८:२२)।

“कुनै मान्छेले स्त्रीसँग सम्भोग गरेझैं पुरुषसित गर्‍यो भने त्यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्” (लेवी २०:१३)।

  1. समलिङ्गीका लागि समेत त्यहाँ ठूलो आशा छ (१ कोरिन्थी ६:९-११):

“पुरुषगामीहरू” — दुइटा फरक-फरक ग्रीक शब्दलाई यहाँ नेपाली बाइबलमा एउटै शब्दले अनुवाद गरिएको छ। दुवै ग्रीक शब्दलाई हेरौं:

(१) मालाकोस (μαλακος) — नरम मान्छे, स्त्रीस्वभाव भएको, स्वास्नीमानिसजस्तो, विशेष गरी एक क्याटमाइट (catamite) अर्थात् विकृत कामवासनाका लागि प्रयोग गरिन आफूलाई सुम्पने पुरुष वा केटा, त्यसरी स्त्रीको भूमिका निर्वाह गर्ने केटामान्छे। यो भयो एउटा PASSIVE समलिङ्गी।

(२) आरसेनोकोइटेस (αρσενοκοιτης) — पुरुष समलिङ्गी जसले मलद्वारको यौन अभ्यास गर्दछ अर्थात् एक सदोमी (sodomite)। यस ग्रीक शब्दका दुइटा भाग छन्: (१) “पुरुष”; (२) “ओछ्यान” (यौन सम्बन्ध जनाउन प्रयोग गरिने नरम शब्द)। तसर्थ यस शब्दले पुरुषसित ओछ्यानमा जाने व्यक्तिलाई जनाउँछ। यस शब्दले स्त्रीसित एक पुरुष सुतेजस्तै एक पुरुष अर्को पुरुषसित सुत्‍ने कार्यलाई जनाउँदछ (तुलना गर्नुहोस् लेवी १८:२२ र २०:१३)। यो भयो एउटा ACTIVE समलिङ्गी।

“अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ” (१ कोरिन्थी ६:११)कतिपय करिन्थीहरू विगतमा समलिङ्गीहरू थिए तर ख्रीष्टले आमूल परिवर्तन ल्याउनुभएको थियो। एउटा समलिङगीले मुक्ति पाउन सक्छ र ऊ परिवर्तित हुन सक्छ! परमेश्वरको अनुग्रहले ऊ यस पापबाट पूर्णरूपले छुटकारा पाउन सक्छ।

समलिङ्गता वंशाणुको प्रतिफल भएको भए, अर्थात् जन्मबाटै निर्धारित झुकाव भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन। समलिङ्गता कुनै एक प्रकारको रोग भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन किनकि त्यस्तो रोगलाई कुनै चक्की, औषधी वा शल्यक्रियाको सीप चल्ने थिएन। समलिङ्गता एउटा पाप हो भने चाहिँ त्यहाँ पूरै आशा छ। किनकि पापको समाधानको उपाय त्यहाँ छ अर्थात् हाम्रा धन्य मुक्तिदाता प्रभु येशू ख्रीष्टमा। एक समलिङ्गीको जीवनमा हुन सक्ने सबैभन्दा ठूलो कुरो ख्रीष्टको सुसमाचारसितको उसको जम्काभेट हो। (पढ्नुहोस्: बाइबलले बताएको मुक्ति)

परमेश्वरको मानदण्ड र नियमभित्र रहनेहरूलाई त्यहाँ ठूलो आशिष छ (हिब्रू १३:४ लाई हितोपदेश ५:१८-१९ सित तुलना गर्नुहोस्)। परमेश्वरका मानदण्डलाई उल्लङ्घन गर्ने र उहाँले स्थापना गर्नुभएका यौन सम्बन्धी नियमहरूलाई उल्लङ्घन गर्नेहरूलाई यस जीवनमा पनि सुख हुँदैन र अन्तमा उनीहरू परमेश्वरको दण्डमुनि पर्नेछन् (हिब्रू १३:४ लाई हितोपदेश ५:२० र प्रस्थान २०:१४ मा उल्लेखित सातौं आज्ञासित तुलना गर्नुहोस्)।

पवित्र आत्माद्वाराको बप्तिस्मा र पवित्र आत्माको भरपूरी

पवित्र आत्माद्वाराको बप्तिस्मा र पवित्र आत्माको भरपूरी

 

एक तुलनात्मक अध्ययन तालिका

बप्तिस्मा भरपूरी
परिभाषा: पवित्र आत्माद्वाराको बप्तिस्मा परमेश्वरको त्यो कार्य हो जसद्वारा एउटा विश्वासी येशू ख्रीष्ट भित्र र उहाँको शरीर अर्थात् मण्डलीभित्र गाभिन्छ (१ कोरिन्थी १२:१३ र गलाती ३:२७)। परिभाषा: पवित्र आत्माको भरपूरी परमेश्वरको त्यो कार्य हो जसमा उहाँले समर्पित, आश्रित, र प्रयोग-योग्य विश्वासीलाई भर्नुहुन्छ, नियन्त्रण गर्नुहुन्छ र समर्थ तुल्याउनुहुन्छ (एफेसी ५:१८)।
बप्तिस्माचाहिँ विश्वास गरिनुपर्ने एउटा तथ्यको रूपमा बताइएको छ (१ कोरिन्थी १२:१३; गलाती ३:२७)। भरपूरीचाहिँ पालन गरिनुपर्ने आज्ञाको रूपमा बताइएको छ (एफेसी ५:१८)।
प्रत्येक विश्वासीले यो बप्तिस्मा पाइसकेको छ (१ कोरिन्थी १२:१३ – “सबै”; गलाती ३:२६-२७) प्रत्येक विश्वासी आत्माले भरपूर हुँदैन (यद्यपि उसको निम्ति परमेश्वरको इच्छा यही हो, ऊ भरपूर हुनुपर्ने हो – एफेसी ५:१७)।
विश्वासीलाई आत्मामा बप्तिस्मा हुन वा यस बप्तिस्माको खोजी गर्न आज्ञा कतै दिइएको छैन। विश्वासीलाई आत्माले भरपूर हुन आज्ञा दिइएको छ (एफेसी ५:१८; दाँज्नुहोस्, गलाती ५:१६)।
भूतकालिन क्रियापदको प्रयोग:

१ कोरिन्थी १२:१३ – “हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं(εβαπτισθημεν, ग्रीक व्याकरणमा एओरिस्ट, प्यासिभ, इन्डिकेटिभ)।

पूरा भइसक्यो यो!

वर्तमानकालिन क्रियापदको प्रयोग:

एफेसी ५:१८ – “आत्माले भरपूर भइरहो” (πληρουσθε, ग्रीक व्याकरणमा प्रेजेन्ट, प्यासिभ, इम्पेरटिभ)।

वर्तमानको वास्तविकता हुन आवश्यक छ यो!

कहिल्यै नदोहोर्‍याइने, एकैपल्ट, सदाका निम्ति सम्पन्न भएको परमेश्वरको कार्य हो यो। यसलाई दोहोर्‍याइन आवश्यक छ। भरपूर नभएको विश्वासी भरपूर हुन आवश्यक छ।
योचाहिँ ख्रीष्टमा एउटा विश्वासीको ओहोदासँग सम्बन्धित छ। योचाहिँ प्रभुसितको विश्वासीको हिँडाइ र सङ्गतीसँग सम्बन्धित छ।
यसको प्रतिफल:

विश्वासी जनलाई, उसले ख्रीष्टलाई मुक्तिदाता भनी भरोसा गरेकै घडी, येशू ख्रीष्टभित्र र उहाँको शरीरभित्र गाभिन्छ (१ कोरिन्थी १२:१३)। फलस्वरूप ऊ “ख्रीष्टमा” (२ कोरिन्थी ५:१७) र उहाँको मण्डलीमा (प्रेरित २:४७) गाभिन्छ।

यसको प्रतिफल:

विश्वासी जन उहाँको गवाही बन्न (ख्रीष्टको साक्षी हुन र उहाँको जीवन प्रकट गर्न) र उहाँको सेवा गर्न परमेश्वरद्वारा नियन्त्रित हुन्छ, उहाँको शक्तिले समर्थ तुल्याइन्छ।

यसको शर्त:

आत्माद्वारा बप्तिस्मा हुन एउटा उद्धाररहित व्यक्तिले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्दछ (प्रेरित १६:३१; गलाती ३:२६-२७)।

यसको शर्त:

आत्माले भरपूर हुन एउटा विश्वासीले सबै ज्ञात पाप स्वीकार गर्नुपर्छ (१ यूहन्ना १:९), परमेश्वरमा पूरै भर पर्नुपर्छ, शरीरमा होइन (गलाती ५:१६) र परमेश्वरको नियन्त्रणमा आफूलाई पूरै सुम्पनुपर्छ (१ थेस्सलोनिकी ५:१९)।

बप्तिस्मामा ओहोदाको सवाल छ। बप्तिस्मा भएको व्यक्तिको एउटा एकदम नयाँ ओहोदा हुन्छ। ऊ “ख्रीष्टमा” छ (२ कोरिन्थी ५:१७ र रोमी ८:१)। भरपूरीमा सामर्थ्यको सवाल छ: “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ” (प्रेरित १:८ र ४:३१,३३)।
आत्माद्वाराको बप्तिस्मा प्रत्येक विश्वासीले पाएको हुन्छ। आत्माको भरपूरी प्रत्येक विश्वासीलाई आवश्यक छ तर प्रत्येकसँग हुन वा नहुन सक्छ।
आत्माद्वाराको बप्तिस्मा एउटा व्यक्तिको मुक्तिसित सम्बन्धित छ। योचाहिँ ख्रीष्टमा पाइने थुप्रै मुक्ति-सम्बन्धित आशिषहरूमध्ये एक हो (एफेसी १:३; दाँज्नुहोस् एफेसी ४:५)। आत्माको भरपूरी एउटा व्यक्तिको प्रभुसितको उसको हिँडाइ र सङ्गतीसित सम्बन्धित छ। “आत्मिक” विश्वासी त्यो हो जो लगातार आत्माले भरिइरहन्छ (गलाती ५:२२-२३; ६:१)।
एउटा विश्वासीको बप्तिस्मा कहिल्यै रद्द हुन सक्दैन, ऊ “बप्तिस्मा-रहित” (un-baptized) हुन सक्दैन। परमेश्वरले विश्वासीलाई ख्रीष्टको शरीरबाट कहिल्यै निष्कासन गर्नुहुन्न (दाँज्नुहोस् एफेसी ५:२५-३२)। विश्वासी जन “ख्रीष्टमा” सुरक्षित रहेको हुन्छ। एउटा विश्वासी “भरपूर-रहित” (un-filled) बन्न सक्छ – आफ्नो जीवनमा पापलाई ठाउँ दिएर, परमेश्वरको नियन्त्रणमा सुम्पन इन्कार गरेर वा पूरै भरोसा ख्रीष्टमा राख्‍नुको सट्टा आफैमा भरोसा राखेर।

 

ऐतिहासिक दृष्टिकोणले हेर्दा, पवित्र आत्माद्वारा हुने बप्तिस्मा यसरी सम्पन्न भयो:

प्रेरित २ – यहूदीहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

प्रेरित ८ – सामरीहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

प्रेरित १० – अन्यजातिहरू ख्रीष्टको शरीरका अङ्गहरू बने।

आज प्रत्येक विश्वासी उसले विश्वास गरेकै घडी ख्रीष्टको शरीरको अङ्ग बन्दछ (१ कोरिन्थी १२:१३)।

बप्तिस्माभरपूरी दुवै एउटै समयमा कार्यान्वयन हुन सम्भव छ। उदाहरणको लागि: प्रेरितको दोस्रो अध्यायमा विश्वासीहरू बप्तिस्मा भए (प्रेरित १:५; हेर्नुहोस् प्रेरित ११:१५-१७), र साथै उनीहरू त्यसैबेला भरिए पनि (प्रेरित २:४)।