Entries by Pradesh Shrestha

बप्‍तिस्मा

बप्‍तिस्मा

बप्‍तिस्माको अर्थ

बाइबलले के भन्दछ?

प्रभु येशू ख्रीष्टले मण्डलीलाई दुइटा विधिहरू दिनुभएको छ। पहिलो, पानीको बप्‍तिस्मार दोस्रो, प्रभु-भोज। यहाँ हामी पानीको बप्‍तिस्माको अध्ययन गर्नेछौं।

मानिसहरूलाई पानीको बप्‍तिस्मा दिनू भन्ने आज्ञा येशू ख्रीष्टकै हो। मृत्युबाट बौरिउठ्नुभएपछि स्वर्गारोहण हुनुअघि येशूले आफ्ना चेलाहरूलाई यो आज्ञा दिनुभयो: “यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा _____________ देओ” (मत्ती २८:१९)। यो आज्ञा येशूको हो। तसर्थ, यसलाई मण्डलीले पालन गर्नैपर्छ!

बप्‍तिस्मा दिने ठीक तरिका कुन हो?

छिट्काउद्वारा बप्‍तिस्मा दिने मण्डलीहरूले बच्चा वा वयस्कको टाउकोमा केही थोपा पानीको छिट्का दिएर बप्‍तिस्मा दिन्छन्। खन्याएर बप्‍तिस्मा दिने मण्डलीहरूले निजको टाउकोमा पानी खन्याएर बप्‍तिस्मा दिन्छन्। चोपलेर बप्‍तिस्मा दिने मण्डलीहरूले निजलाई पानीमुनि पूरै डुबाइकन माथि उठाएर बप्‍तिस्मा दिन्छन्। कुन तरिका ठीक हो? बाइबलमा कुन तरिका सिकाइएको छ?

सर्वप्रथम “बप्‍तिस्मा” भन्ने शब्दको अर्थ बुझ्न आवश्यक छ। यसको अर्थ “छिट्काउ दिनु” वा “खन्याउनु” भन्ने होइन। “बप्‍तिस्मा”(βαπτίζω) एउटा ग्रीक शब्द हो जसको अर्थ हो, “चोपल्नु, डुबाउनु, कुनै एउटा चीजलाई अर्को चीजभित्र पूरै ढाकिने गरीकन हुल्नु”। तरल पद्धार्थको कुरा गर्दा यसको अर्थ हुन्छ, कुनै चीज वा व्यक्तिलाई तरलले पूरै डुब्ने गरी तरलभित्र राख्‍नु (पूरै डुबाउनु)।

प्रेरित ८:३६-३९ पढ्नुहोस्। पद ३८ र ३९ लाई विशेष ध्यान दिनुहोस्। फिलिपले नपुंसकलाई कसरी बप्‍तिस्मा दिए? ठीक उत्तरमा चिन्ह लगाउनुहोस्:

  1. पानीको छिट्काउ दिएर
  2. पानी खन्याएर
  3. पानीमा चोपलेर

मत्ती ३:१६ अनुसार प्रभु येशूको बप्‍तिस्मा कुन तरिकाले गरियो? ____________________।

यूहन्ना ३:२३ अनुसार यूहन्नाले एनोनमै किन बप्‍तिस्मा दिए? “किनभने त्यहाँ _______ _______ थियो”। कुन तरिकाले बप्‍तिस्मा दिँदा “धेरै पानी” चाहिन्छ? _______________________।

के पानीको बप्‍तिस्माले मुक्ति पाइन्छ?

मुक्ति पाउनलाई पानीको बप्‍तिस्मा अनिवार्य छ भनेर सिकाउने मानिसहरू धेरै छन्। येशू ख्रीष्टमा विश्वास गरेको व्यक्तिले पानीको बप्‍तिस्मा नलिएसम्म मुक्ति पाएको हुँदैन भनेर उनीहरू सिकाउँछन्। उनीहरू भन्छन्: “मुक्ति पाउनलाई ख्रीष्टमा विश्वास गर्नुपर्छ र बप्‍तिस्मा लिनुपर्छ। विश्वास गरेको घडीमा होइन तर बप्‍तिस्मा लिएको घडीमा मुक्ति पाइन्छ।” के बाइबलले यस्तै सिकाउँछ त?

निम्न पदहरूलाई होसियारसित पढ्नुहोस् र गल्ती भएमा सच्याउनुहोस् (पहिलो पदमा गरेर देखाइए जस्तै बाइबलमा नभएका शब्दहरूलाई धर्सो कोरेर काट्नुहोस्):

यूहन्ना ३:१६ – किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।
यूहन्ना ६:४७ – साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिँदछ, ऊसँग अनन्त जीवन छ।
प्रेरित १०:४३ – उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने हरेकले उहाँको नामद्वारा पापहरूको क्षमा पाउनेछ।
प्रेरित १६:३१ – प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ।
१ कोरिन्थी १:२१ – विश्वास गर्ने र बप्‍तिस्मा लिनेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो।

माथिका सबै पदहरू अनुसार मुक्ति पाउन र अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले गर्नुपर्ने एउटै कुरा के हो? ___________________। मुक्ति पाउनलाई केवल विश्वास आवश्यक पर्छ। ख्रीष्टमा विश्वास गरेको तर बप्‍तिस्मा लिन बाँकी रहेको (वा बप्‍तिस्मा लिन नपाइकनै मृत्यु भएको) व्यक्तिलाई विचार गर्नुहोस्। के उक्त व्यक्तिले मुक्ति पाउँछ (प्रेरित १६:३१)? ____________। “मुक्ति नपाएको विश्वासी” भन्ने कोही हुँदैन! हुन त, पानीको बप्‍तिस्मा ज्यादै महत्त्वपूर्ण कुरा हो। यो आज्ञापालनको महत्त्वपूर्ण कार्य हो अनि यसले ज्यादै महत्त्वपूर्ण सत्यताहरूलाई चित्रण गर्छ (जसको अध्ययन हामी तल गर्नेछौं)। तर यो प्रस्ट होस्, पानीको बप्‍तिस्माले मुक्ति पाइन्न।

मान्छेले कुनचाहिँ कुरा नगरोस् भनी शैतान चाहन्छ (लूका ८:१२ पढ्नहोस्)?

  1. विश्वास नगरोस्
  2. बप्‍तिस्मा नलेओस्
  3. मण्डली सभामा नजाओस्
  4. भजन नगाओस्

प्रेरित २:४१, प्रेरित १०:४३-४८ र प्रेरित १६:३०-३४ पढ्नुहोस्। यी पदहरू पढ्नुभई विचार गर्नुभए पछि तलको सूचीलाई ठीक क्रम सङ्ख्या दिनुहोस् (१,२,३,४):
________ उनीहरूले बप्‍तिस्मा लिए ________ उनीहरूले मुक्ति पाए ________ उनीहरूले परमेश्वरको वचन सुने (सुसमाचार सुने) ________ उनीहरूले ख्रीष्टमाथि विश्वास गरे

बप्‍तिस्मा मुक्ति पाउनलाई लिइने होइन; बप्‍तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने काम हो।

निम्न भनाइहरू ठीक छन् की बेठीक, सङ्केत दिनुहोस् (ठीक, बेठीक):

________ “मुक्ति पाउनलाई म पानीको बप्‍तिस्मा लिन चाहन्छु।”
________ “मुक्ति पाइसकेको हुनाले म पानीको बप्‍तिस्मा लिन चाहन्छु।”
________ “पानीमा बप्‍तिस्मा लिँदा मेरा सबै पापहरू पखालिनेछन्।”
________ “मैले ख्रीष्टमा विश्वास गरेकै घडी मेरा सबै पापहरू पखालिए र क्षमा भए।” प्रेरित १०:४३ पढ्नुहोस्।
________ “बप्‍तिस्मा मुक्ति नपाएकाहरूले लिने कुरा होइन; बप्‍तिस्मा मुक्ति पाएकाहरूले लिने कुरा हो।”

पानीको बप्‍तिस्मा प्रभु येशू ख्रीष्टसित ठीक सम्बन्ध गाँसेकाहरू अर्थात् मुक्ति पाएकाहरूले मात्र लिने कुरा हो। यदि कसैका पापहरू क्षमा भएका छैनन् वा धोइएका छैनन् भने उसले बप्‍तिस्मा लिनु हुँदैन। पानीको बप्‍तिस्मा लिनु अगाडि मुक्ति पाएको हुनुपर्छ।

मैले किन बप्‍तिस्मा लिनुपर्छ?

१. मैले मेरो प्रभुको आज्ञापालनस्वरूप बप्‍तिस्मा लिनुपर्छ।

बप्‍तिस्मा येशू ख्रीष्टले अह्राउनुभएको कुरा हो भनेर हामीले शुरूमै हेर्यौं (मत्ती २८:१९-२०)। प्रेरित १० मा प्रेरित पत्रुसले अन्यजातिहरूको एउटा समूहलाई सुसमाचार प्रचार गरे। यी अन्यजातिहरूले पत्रुसले प्रचार गरेका सुसमाचारलाई विश्वास गरे। प्रेरित १०:४८ मा हामी पढ्छौं कि “उनले तिनीहरूलाई प्रभुको नाममा ___________ लिनू भनी _________ दिए।” पत्रुसले यसो भनेनन्, “तपाईंहरूलाई इच्छा लाग्छ भने बप्‍तिस्मा लिनुहोस्, तर तपाईंहरूले बप्‍तिस्मा लिनैपर्छ भन्ने छैन।” होइन, पत्रुसले ती विश्वासी जनहरूलाई बप्‍तिस्मा लिनलाई आज्ञा गरे। बप्‍तिस्मा प्रत्येक विश्वासी जनले प्रभुको आज्ञा पालन गर्नलाई गर्नु पर्ने कुरा हो!

बप्‍तिस्मा आज्ञा हो भन्ने अर्को उदाहरण प्रेरित २:३८ मा पाइन्छ। पत्रुसले यहूदीहरूका भीडलाई सम्बोधन गर्दै यो आज्ञा दिए (प्रेरित २:३८): “तपाईंहरू हरेकले येशू ख्रीष्टको नाममा ___________ ___________।” कुनै पनि आज्ञा पालन गरिओस् भनेर दिइन्छ। मुक्ति नपाएको व्यक्तिलाई परमेश्वरले कुन आज्ञा दिनुहुन्छ (१ यूहन्ना ३:२३ को पहिलो भागमा)? ___________________________________________ _____________। ख्रीष्टमा विश्वास गरेपछि एक व्यक्तिले मुक्ति पाउँछ र त्यसपछि उसलाई परमेश्वरको अर्को महत्त्वपूर्ण आज्ञा छ: बप्‍तिस्मा लिनू! प्रेरित २:३८ र प्ररित २:४१ पढ्नुहोस्। के ती नयाँ विश्वासी जनहरूले बप्‍तिस्मा लिनू भन्ने आज्ञालाई पालन गरे? __________।

२. मैले एउटा चित्र प्रस्तुत गर्नलाई बप्‍तिस्मा लिनुपर्छ।

पानीको बप्‍तिस्मा मैले मुक्ति पाउँदा मलाई हुन गएको कुराको सुन्दर चित्र हो। मैले मुक्ति पाएकै घडी म “येशू ख्रीष्टभित्र बप्‍तिस्मा” भएँ (रोमी ६:३-४, गलाती ३:२७)। यसलाई तल चित्रमा उतारिएको छ:

हरेक व्यक्ति या त मुक्ति पाएको हुन्छ (“ख्रीष्टमा”) या त मुक्ति नपाएको हुन्छ (“ख्रीष्ट बाहिर”)। बाइबलले २ कोरिन्थी ५:१७ मा बताएको छ, “कोही ___________ छ भने ऊ एउटा नयाँ सृष्टि हो।” जब एक व्यक्तिले ख्रीष्टमा विश्वास गर्छ परमेश्वरले एउटा अचम्मको कार्य गर्नुहुन्छ। परमेश्वरले उसलाई येशू ख्रीष्टभित्र बप्‍तिस्मा गराउनुहुन्छ (अवस्थित गराउनुहुन्छ)। यसको मतलब विश्वासी जन येशू ख्रीष्टसित पूर्ण रूपमा ‘सम्मिलीकरण’ गरिन्छ। विश्वासी जन येशू ख्रीष्टको मृत्यु, उहाँको गडाइ र उहाँको बौरिउठाइमा पूर्ण रूपमले सम्मिलीकरण गरिन्छ (रोमी ६:३-५)। विश्वासी जन “ख्रीष्टमा” भएको हुनाले ऊ आफ्नो मुक्तिदातासित अचम्मसित सम्मिलित (एकबध्य) भएको कुराको चित्रस्वरूप पानीको बप्‍तिस्माले दिन्छ।

३. मैले मभित्र को हुनुहुन्छ भनेर गवाही दिन बप्‍तिस्मा लिनुपर्छ।

लेबल नभएको शीशीभित्र के छ भनेर हामीलाई जान्न गाह्रो पर्छ। तर लेबल लगाएपछि भने सजिलै जान्न सकिन्छ। लेबलले शीशीभित्र के छ भन्ने सङ्केत दिन्छ। लेबलले बताउँछ, “म खोकीको औषधीको शीशी हुँ। सबैलाई थाह होस्, मभित्र खोकीको औषधी छ!”

पावल, एक विश्वासी जन भएको हुनाले उसले यसरी भन्न सके: “ (मेरो पुरानो मान्छे अर्थात् पहिलेको पापपूर्ण जीवन) __________सित __________ _______________ ______, तरैपनि म जिउँछु; त्यसो भए पनि (मेरो पुरानो मान्छे अर्थात् पहिलेको पापपूर्ण जीवन) ता होइन, तर ख्रीष्ट मभित्र _______________; अनि जुन जीवनल अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)। तपाईं एक विश्वासी हुनुहुन्छ भने, तपाईंभित्र को जिउनुहुन्छ (गलाती २:२०)? _________________। पानीको बप्‍तिस्मा “शीशीमा लेबल लगाउने” सुन्दर अवसर हो जसद्वारा तपाईंले आफूभित्र को जिउनुहुन्छ र राज्य गर्नुहुन्छ भनेर अरूहरूले जान्न सक्नेछन्। सबै थोकमाथि राज्य गर्नुहुने प्रभु येशू ख्रीष्टको इच्छा यो हो, विश्वासी, उहाँमा भएको जीवनमै पूर्ण रूपले खुशी हुनु, आफ्नो हृदयमा उहाँलाई परमेश्वर, प्रभु र मुक्तिदाता भनी राज्य गर्न दिनु। के तपाईं उहाँको जिउँदो उपस्थिति र उहाँको राज्यको सामर्थ्य आफ्नो जीवनमा अनुभव गर्दै हुनुहुन्छ? छ भने तपाईंभित्र को जिउनुहुन्छ भनेर अरूहरूलाई थाह दिन तपाईंले चाहनुपर्छ। बप्‍तिस्मा लिनुहुँदा तपाईंले आफ्नो गवाही सुनाउन सक्नुहुन्छ र ख्रीष्टले तपाईंको जीवनमा के गर्नुभएको छ भनेर बताउन सक्नुहुनेछ। बप्‍तिस्मा लिनुहुँदा तपाईंले आफ्नो मुक्तिको घडीमा सम्पन्न हुनगएको कुराको सुन्दर चित्र प्रस्तुत गर्न सक्नुहुनेछ (पृष्ठ ३ को चित्रलाई हेर्नुहोस्)। यसरी “शीशीमा लेबल लगाउने” काम गरेजस्तै आफूभित्र कोहुनुहुन्छ भनेर बताउन सक्नुहुनेछ।

४. मैले म येशूलाई पछ्याउन चाहन्छु भनेर देखाउन बप्‍तिस्मा लिनुपर्छ।

बप्‍तिस्मा एउटा गम्भीर कुरा हो। बप्‍तिस्माको बारेमा हामीले राम्ररी विचार गर्नुपर्छ। आज धेरै मण्डलीहरूमा बप्‍तिस्मा एउटा ‘अर्थ-न-व्यर्थको’ धार्मिक रीतिमात्र हुनगएको छ। हामी त्यसो नगरौं। बप्‍तिस्माको अति महत्त्वपूर्ण अर्थ छ जसलाई हामीले कहिल्यै भुल्नुहुँदैन।

पानीको बप्‍तिस्मा, म दाम तिरेर किनिएको हुँ त्यसैले म पूर्ण रूपमा प्रभुको भएको छु भनेर आफूलाई र अरूलाई सम्झना गराउने कुरा हो (हेर्नुहोस्, १ पत्रुस १:१८-१९, १ कोरिन्थी ६:१९-२०)। साथै म यो बुझ्दछु, यस संसारमा म उहाँको साक्षी हुनका लागि उहाँको जीवन मद्वारा प्रकट गर्नु परमेश्वरको योजना रहेछ (प्रेरित १:८)।

पानीको बप्‍तिस्मा येशू ख्रीष्टलाई पछ्याउनेहरूले लिने कुरा हो (हेर्नुहोस्, लूका ९:२२-२६)। लूका ९:२३ मा येशूले भन्नुभयो, “जसले मेरो पछि आउने इच्छा गर्दछ, उसले आफैलाई ___________ गरोस्, दिनहुँ आफ्नो क्रूस उठाऔस् र मेरो __________ ____________।” ख्रीष्टलाई पछ्याउनु भनेको दुइटा कुरा हो: १) इच्छा (“मेरो पछि आउने इच्छा गर्दछ”) २) निर्णय – दिनहुँ आफूलाई “हुँदैन” भन्नु र प्रभुलाई “हस्” भन्नु (आफूलाई इन्कार गर्नु)। शुरूका ख्रीष्टियनहरूले बप्‍तिस्मा लिँदा आफूहरू ख्रीष्टका चेलाहरू भएको गवाही दिइरहेका हुन्थे। फलस्वरूप प्रायः उनीहरू संसारको घृणाको पात्र बन्न पुग्थे, दुर्व्यवहार, गिल्ला र खेदोको भागीदार बन्न पुग्थे। कहिले त आफ्नै परिवारबाट बहिष्कार गरिन्थे। तर उनीहरू जुनसुकै मूल्य तिर्नु परे पनि येशूलाई पछ्याउन इच्छुक थिए र उहाँलाई पछ्याउने निर्णय गरेकोमा उनीहरू खुशी थिए।

अन्धो भएर पनि तपाईंले दृष्टि पाउनु भयो भने तपाईं अवश्य खुशी हुनुहुनेछ। तर अरू अन्धाहरूले दृष्टि पाएका छैनन् र उनीहरूले तपाईंलाई बुझिदिएनन् भनेर के तपाईं फेरी अन्धा नै हुन रोज्नुहुनेछ र? ________________। तपाईं देख्न सक्नुहुन्छ भन्ने कुरा तपाईंका अन्धा मित्रहरूले नरुचाउलान् तर यसो भन्दैमा तपाईं अन्धा बन्नु राम्रो होला? _____________। त्यस्तै, परमेश्वरले विश्वासी जनलाई आत्मिक दृष्टिदिनुभएको छ, उसलाई अनन्त जीवन दिनुभएको छ। मुक्ति नपाएकाले यो नबुझ्लान्, मन नपराउलान् पनि, तर त्यसो भन्दैमा हामी अन्धकार र मृत्युमा फर्कनु अर्थहीन कुरा हो।

आज पनि येशूलाई पछ्याएर मूल्य चुकाउनु परेका व्यक्तिहरू छन्। संसारमा त्यस्ता राष्ट्रहरू छन् जहाँ ख्रीष्टियन बन्न सजिलो छैन। पानीमा बप्‍तिस्मा लिनेहरूको गवाही यस्तो हुनुपर्छ: “मैले येशूलाई पछ्याउने निर्णय गरें, म अन्धकार र मृत्यमा फर्कनेछैनँ! मेरो इच्छा, मेरो निर्णय यस्तो छ कि म येशूलाई पछ्याउनेछु, बाँकी जीवन प्रभुकै निम्ति जिउनेछु, उहाँकै सेवा गर्नेछु। परमेश्वरको मदतले म एक ख्रीष्टियनलाई सुहाउने जीवन जिउनेछु। जतिसुकै कठिन होस्, म येशूलाई नै पछ्याउने निर्णय गरेको छु। बेठीक संसार (समाज) को बीचमा म ठीक नै गर्ने, ठीक बोल्ने निर्णय गरेको छु। ख्रीष्टको कारण मैले मेरा मित्र (भनिने) हरू गुमाऊँला, दुर्व्यवहार र गिल्लाको पात्र बनूँला, मलाई अरूले नबुझिदिएला र मैले कष्ट भोग्नुपर्ला, तर त्यस्ता कुराहरू आइपरे पनि म सहन तयार छु, यो कुरा स्मरण गर्दै कि म शत्रुको इलाकाभित्र छु र एक समय मेरो समझ पनि उनीहरूको जस्तै अन्धा थियो। क्रूसमा मेरो मुक्तिदाताले भोग्नुभएको कष्टको तुलनामा मैले चुकाउनु पर्ने मूल्यलाई केही ठान्दिनँ।” के शुरूका ख्रीष्टियनहरू आफ्ना मुक्तिदाताका निम्ति दुःख भोग्न तयार थिए (प्रेरित ५:४०-४१)? _______________। उनीहरूले खुशीसाथ दुःख भोगे कि बेखुशी भएर? ________________।

के तपाईंले मुक्ति पाउनुभयो? के तपाईं येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? मुक्ति पाउनुहुँदा के तपाईं येशू ख्रीष्टभित्र बप्‍तिस्मा हुनुभयो? के तपाईं पानीको बप्‍तिस्मा लिनुभयो? किन लिनुभयो? वा, किन लिनुभएको छैन? के तपाईं येशूलाई पछ्याउन चाहनुहुन्छ? “चेलापनको मार्ग” असजिलो मार्ग हुन सक्ने भए तापनि के तपाईं सो मार्गमै हिँड्न चाहनुहुन्छ, यो जानेर कि प्रभु येशू ख्रीष्ट तपाईंसितै सो मार्गमा हिँड्नुहुनेछ (मत्ती २८:२०; हिब्रू १३:५)? मुक्तिदातालाई पछ्याउँदा मूल्य चुकाउनु पर्ला, कठीनाइ आउलान् तर यो पूरै सार्थक छ!

बप्‍तिस्मा लिने बेलामा प्रायः निजलाई आफ्नो छोटो गवाही बाँड्ने मौका दिइन्छ। आफ्नो मुक्तिको बारेमा र पानीको बप्‍तिस्माको अर्थको विचार गर्ने क्रममा, तपाईंको बप्‍तिस्माको समयमा गवाही दिँदै हुनुहुन्थ्यो भने तपाईंले के-के कुराहरू बाँड्नु राम्रो होला?

(पानीको बप्‍तिस्मा लिने बेलामा तपाईं के भन्न चाहनुहुन्छ, तल लेख्‍न सक्नुहुन्छ)

“म आज बप्‍तिस्मा लिँदै छु किनभने…”

नाम: ____________________ मिति: ________________________________

खुशीको खबर हुँदाहुँदै पनि कसरी चुप बस्ने?

खुशीको खबर हुँदाहुँदै पनि कसरी चुप बस्ने?

उत्तरी राज्य इस्राएलको राजधानी सामरियालाई अरामीहरूले घेरा हालेका थिए (२ राजा ६:२४)। सशस्त्र सेनाहरूद्वारा घेरिएको हुनाले, कुनै पनि खाना तथा अन्य उपभोग्य सामग्रीहरू भित्र्याउन सकिएको थिएन र अवस्था छिट्टै भयावह बन्दै थियो। खानेकुराको यति अनिकाल पर्‍यो कि गधाको एउटा टाउको (गधाको शरीरको सबैभन्दा अखाद्य अङ्ग) को निम्ति चाँदीको ठूलै रकम तिरिन्थ्यो। भोकाएका देशवासीहरूलाई चराको सुलीहरू धरि बिक्री गरिन्थ्यो (२ राजा ६:२५)। सबैभन्दा भयङ्कर डरलाग्दो कुरा त्यसबेला भयो जब दुईजना स्त्रीहरूले आफ्‍नै छोराहरूको हत्या गर्ने र तिनका मासु खाने सल्लाह गरे जसको बारेमा इस्राएलका दुष्ट राजाले थाहा पाए (२ राजा ६:२८-२९; लेवी २६:२९; व्यवस्था २८:५३ सित तुलना गर्नुहोस्)। यस घटनाले हामीलाई यो सम्झना गराउँदछ कि त्यस्तै परिस्थिति आइपर्दा एउटा मानिसको नीच-अधम हृदयले गर्न सक्ने कुराको कुनै सिमा नै छैन।

अब चारजना कोरीहरू शहरको मूलढोकाको पस्‍ने ठाउँमा थिए (२ राजा ७:३)। तिनीहरूले आफ्‍ना विकल्पहरूको लेखाजोखा गरे। यदि तिनीहरू शहरमै बसे भने तिनीहरू निश्चय नै बिस्तारै भुखमरीको कारणले पीडादायी मृत्यु मर्नेथिए। यदी तिनीहरूले शहर छोडे भने सायद शत्रुहरूको हातबाट तिनीहरू मर्नेथिए, तर कमसेकम पनि यो चाहिँ तरवारद्वारा शीघ्र किसिमको मृत्यु हुनेथियो (२ राजा ७:४)। शत्रुको छाउनीमा राती गुप्त तवरले छिरेर केही खाना चोर्न सक्ने सम्भावना कमै थियो। “हामी कुनै न कुनै प्रकारले मर्नुनै छ, त्यसैले कमसेकम प्रयास गर्नु उपयुक्त होला।” जब तिनीहरू छाउनीमा आए, छाउनी खाली भएकोमा तिनीहरू आश्चर्यचकित परे। परमेश्वरले अचम्म तरिकाले अरामी सेनाहरूलाई हो-हल्लाहरू सुन्ने तुल्याउनुभयो जसले तिनीहरूलाई सम्पूर्ण खानाहरू र सरसामानहरू त्यहीँ छोडेर आफ्‍नो ज्यान जोगाएर भाग्न बाध्य तुल्यायो (२ राजा ७:५-७)। शुरुमा चार कोरीहरूले स्वार्थपूर्ण व्यवहार गरे। शत्रुको छाउनीभरि भेटिएका प्रशस्त खानाहरूले तिनीहरूले आफ्‍नै भोक मेटाए। त्यसपछि तिनीहरूले भविष्यमा आफैलाई धनवान् बनाउने आशाले छाउनीबाट अरू सम्पत्तिहरू लिएर लुकाए।

तर केही बेरमै तिनीहरूले आफ्‍नो स्वार्थीपनालाई महसुस गरे, आफ्‍नो विचार बदले, र आफ्‍ना सहदेशवासीहरूको बारेमा विचार गरे: “तब तिनीहरूले एक-अर्कालाई भने: हामीले ठीक काम गरिरहेका छैनौं, आजको दिन शुभ-समाचारको दिन हो; तर हामी चुपै लागिरहेका छौं। हामी बिहान उज्यालो होउन्जेल पर्खिरह्यौं भने हामीमाथि कुनै विपत्ति आपइर्ला; यसकारण अब आओ, हामी गएर राजाको घरानालाई बताइदिऔं!” (२ राजा ७:९)। हामीसँग धेरै प्राणहरू बचाउन सक्ने शुभ-समाचार छ। हामी कसरी चुपै लागिरहन सक्छौं? कसरी हामी यसको विषयमा शान्त भएर रहन सक्छौं? ती कोरीहरूले उचित कार्य गरे। तिनीहरू शहरभित्र गए र शुभ-समाचार घोषणा गरिदिए। फलस्वरूप प्राणहरू बाँचे।

आज मानिसहरू भोकले मर्दैछन्। उनीहरूलाई जीवनको रोटीको बेसरी खाँचो छ (यूहन्ना ६:३५)। हामीहरू, जसले परमेश्वर कृपामय वा भलो हुनुहुन्छ भनी चाखेका छौं (भजनसङ्ग्रह ३४:८; १ पत्रूस २:३) र जसले स्वर्गबाट आएको रोटीले तृप्त भएकाछौं; हामीसँग सुसमाचार छ जुन अरूहरूले सुन्न एकदम खाँचो छ। हामी कसरी चुपै लागिरहन सक्छौं? हामी कसरी शान्त भएर रहन सक्छौं? हामी कसरी मौन भई रहन सक्छौं? “किनकि मैले सुसमाचार प्रचार गरेँ भने पनि मसित गर्व गर्नुपर्ने कुरा केही छैन; किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१६)।

यदि तपाईं चिकित्सकीय अनुसन्धानकर्ता हुनुभएको भए र तपाईंले क्यान्सर रोगको औषधी पत्ता लगाउनुभएको भए, के तपाईं यसबारे चुप रहनुहुनेथ्यो, कि तपाईंले सारा संसारलाई बताउनु हुनेथ्यो? ख्रीष्टमा विश्वास गर्नेहरू एउटा रोगको बारेमा जान्दछन् जुन क्यान्सर भन्दा धेरै खराब छ: “हृदय ता सबै कुराहरूभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट (निको नहुने गरी रोगी) हुन्छ; कसले त्यो जान्न सक्छ र?” (यर्मिया १७:९)। यसको मानवीय उपचार छैन, तर ईश्वरीय उपचार भने छ, जुनचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा पाइन्छ। अहो! हामी पापहरूमा हराइरहेको समयमा हामीलाई शुभ समाचार सुनाउन इच्छुक भएको व्यक्ति वा व्यक्तिहरूका निम्ति हामी परमेश्वरप्रति कत्ति-कत्ति धन्यवादी छौं। बेसरी (पापको) रोगले ग्रस्त रहेका हाम्रा वरिपरिका मानिसहरूलाई यो सुसमाचार सुनाउनको निम्ति परमेश्वरले हामीलाई साहस र हिम्मत प्रदान गर्नुभएको होस्।

जीवन छोटो छ
मृत्यु निश्चित छ
रोगचाहिँ पाप रहेछ
औषधीचाहिँ ख्रीष्ट हुनुहुन्छ!

यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा

यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा

 

उसरी नै म पनि तिमीहरूलाई पठाउँछु!
यूहन्ना २०:२१

 

पिताले पुत्रलाई पठाउनुभयो, र त्यही प्रकारले पुत्रले आफ्‍ना चेलाहरूलाई पठाउनुभएको छ। ख्रीष्टद्वारा पठाइनुको माने यदि हामीले बुझ्ने हो भने, हामीले ख्रीष्ट पिताद्वारा पठाइनुको माने बुझ्नु आवश्यक छ।

हाम्रा प्रभु कसरी पठाइनु भयो? पठाउने व्यक्तिसँग उहाँको सम्बन्ध कस्तो थियो? यूहन्नाको सुसमाचारले उक्त सम्बन्धको अर्थलाई स्पष्टसाथ वर्णन गरेको छ। तपाईंको आफ्‍नै व्यक्तिगत अध्ययनमा तपाईंले तल उल्लेख भएका पदहरूलाई हेर्न सक्नुहुन्छ र तिनीहरूलाई प्रार्थना गर्दै ध्यानपूर्वक पढ्न सक्नुहुन्छ।

निम्न खण्डहरू यूहन्नाको सु-समाचारमा भेटिन्छन्। यी खण्डहरूले ख्रीष्ट उहाँको पिताद्वारा पठाइनुभएको बारेमा बताउँछन्।

  1. ख्रीष्ट उहाँको आफ्‍नै इच्छा पूरा गर्न होइन, तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्न पठाइनुभयो (यूहन्ना ४:३४; ५:३०; ६:३८)। अन्य कुनै पनि कुराका निम्ति भन्दा यसका निम्ति प्रभु बढी तृष्णा गर्नुहुन्थ्यो; आफूले गर्नलाई चाहनुभएको कुरा होइन, तर पिताले चाहनुभएको कुरा गर्नलाई; आफ्‍नो इच्छा होइन, तर केवल पिताको इच्छा मात्र। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,”मेरो भोजन मलाई पठाउनुहुने ख्रीष्टको इच्छा पूरा गर्नु हो — ख्रीष्टले जे चाहनुहुन्छ र इच्छा गर्नुहुन्छ केवल त्यो गर्न मात्र। मेरो इच्छा होइन, तर ख्रीष्टको इच्छा पूरा होस्!”
  2. ख्रीष्ट आफैलाई खुशी पार्न होइन, तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,”किनकि उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु” (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-१०)। पावलको एउटै मात्र चाहना ख्रीष्टलाई खुशी पार्नु थियो (गलाती १:१०)। उनको एउटै मात्र डर भनेको प्रभुलाई कतै खुशी पार्न नसकूँला कि भन्ने थियो। सुसमाचार प्रचार कार्यको सवालमा एउटा विद्यमान समस्या के छ भने हाम्रो हेराइ मास्तिर भन्दा धेरै नै तेर्सोतिर हुने झुकाव छ – परमेश्वरमुखी भन्दा मान्छेमुखी भएको छ। हाम्रो ध्याउन्न मानिसलाई कसरी जित्ने भन्ने बारेमा झन् झन् बढ्दै जाने क्रममा हामी परमेश्वरलाई कसरी खुशी पार्ने भन्ने बारेमा भने झन् झन् कम महत्त्व दिन थाल्नु सम्भव छ। परिणामस्वरूप हामीले यस्ता तरिकाहरूद्वारा मानिसहरूलाई जित्ने कोशिस गरौंला जसले परमेश्वरलाई खुशी पार्दैन। हामीले कहिल्यै पनि नबिर्सौं कि हाम्रो प्राथमिक जिम्मेवारी भनेको परमेश्वरलाई खुशी पार्नु हो जसले हामीलाई पठाउनुभयो ताकि एक दिन हामीले उहाँको “स्याबास” सुन्न पाऔं।
  3. ख्रीष्ट आफ्नै महिमा खोज्न होइन, तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्नलाई पठाइनुभयो (यूहन्ना ७:१८)। ख्रीष्टले पहिचान, प्रशंसा वा ध्यान आफूतिर खिँच्न चाहनुभएन। उहाँले ध्यान पितातर्फ खिँच्न चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरको साक्षी हुनुहुन्थ्यो — उहाँलाई पठाउनुहुनेलाई स्पष्टसँग र निरन्तर रूपमा देखाउने साक्षी। उसरी नै, हामीले पनि आफू चिनिन चाहनुहुँदैन र आफ्‍नै प्रशंसा खोज्नुहुँदैन। हामी हाम्रो जीवनले आफ्‍नै कुरूपतातिर नभएर हाम्रा प्रभु येशूको सुन्दरतातिर ध्यानाकर्षण गर्न चाहन्छौं जसले हामीलाई पठाउनुभएको छ। हामी उहाँका साक्षीहरू हौं! हाम्रो जीवनले उहाँलाई मात्र देखाएको होस् (प्रेरित १:८; यशैया ४३:१०; यूहन्ना ३:३०)।
  4. ख्रीष्ट यस संसारमा उहाँका अदृश्य प्रेषक (पठाउने व्यक्ति) को प्रतिनिधित्व गर्न पठाइनुभयो(यूहन्ना ५:३७; तुलना गर्नुहोस् यूहन्ना १:१८)। मानिसहरूले पितालाई देख्न सकेनन्, तर उनीहरूले ख्रीष्टलाई देख्न सके। ख्रीष्टले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। उसरी नै, हामीलाई पनि संसारमा अदृश्य ख्रीष्टको प्रतिनिधित्व गर्न पठाइएको छ (२ कोरिन्थी ५:२०)। संसारले शिरलाई देख्न सक्दैनन् (यूहन्ना १६:१०-“अनि तिमीहरूले मलाई फेरि देख्दैनौ”) तर तिनीहरूले शरीरलाई देख्न सक्छन्, जोचाहिँ उहाँको मण्डली हो। कुनै पनि मानिसले ख्रीष्टलाई कहिल्यै पनि देखेको छैन (उहाँ स्वर्ग फर्कनु भएदेखि यता), तर उहाँलाई घोषणा गर्न र उहाँलाई चिनाउन मण्डली यस संसारमै छ (१ तिमोथी ३:१५-१६)।
  5. ख्रीष्ट यस संसारमा पठाइनुभयो यस हेतुले कि मानिसहरूले, उहाँलाई हेर्दा, उहाँलाई पठाउनुहुनेलाई देख्न सकोस् (यूहन्ना १२:४४-४५)। तुलना गर्नुहोस् यूहन्ना १४:९ (“जब तिमी मलाई देख्दछौ, तिमीले यथार्थमा पितालाई देखेका छौ जसले मलाई पठाउनुभयो”)। उसरी नै, जब पुरूष वा स्त्रीहरूले हाम्रो जीवनलाई हेर्दछन् तब उनिहरूले हामीलाई पठाउनुहुनेलाई देखेको हुनुपर्दछ, हाम्रा प्रभु येशू सम्मै (गलाती २:२०; ४:१९; ५:२२-२३; १ कोरिन्थी १३:४-७)। “ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा; माध्यम भूली देखून् सबले केवल येशूलाई!” (केट विकिन्सन्) जसले हामीलाई यस संसारमा पठाउनुभयो उहाँको स्वरूपलाई हामीले प्रतिबिम्बित र प्रकट गर्न सकौं (हेर्नुहोस् २ कोरिन्थी ३:१८)।
  6. ख्रीष्ट यस संसारमा उहाँका जीवित पिताद्वारा पठाइनुभयो र उहाँलाई पठाउनुहुनेद्वारा नै उहाँ जिउनुभयो (यूहन्ना ६:५७)। उसरी नै, जीवित ख्रीष्टले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा बाँच्छौं। ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:३-४; फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा केन्द्रित छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित थियो। स्मरण होस्, एउटा साक्षीको हैसियतले हाम्रो प्राथमिक जिम्मेवारी भनेको ख्रीष्टको जीवनलाई प्रकट गर्नु र जान्ने तुल्याउनु हो (हेर्नुहोस् २ कोरिन्थी ४:१०-११)।
  7. ख्रीष्ट यस संसारमा आफ्‍नै वचन र शिक्षा नभएर उहाँलाई पठाउनुहुनेका वचन र शिक्षाका साथ पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)। प्रभु येशूको शिक्षण तथा शिक्षामा मौलिकता थिएन। उहाँले सिकाउनु भएका सबै कुराहरू पिताबाटका थिए! उसरी नै, ख्रीष्टले पनि हामीलाई यस संसारमा पठाउनुभएको छ, हाम्रो आफ्‍नै सन्देश लैजान होइन तर ख्रीष्टको सुसमाचार सुनाउन र ख्रीष्टले आज्ञा गर्नुभएको सबै कुराहरूहरूलाई पालना गर्न सिकाउनलाई (मत्ती २८:२०)। सन्देशवाहकको काम मौलिक बन्नु होइन तर मात्र राजाको सन्देशलाई घोषणा गर्नु हो। हामी राजाहरूका राजाको सन्देश बोक्ने सन्देशवाहक बन्नुपर्छ (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०; २ तिमोथी ४:१-२)। सन्देश परमेश्वरबाटको हो। परमेश्वरले केही कुरा भन्नुभएको छ, हामीले त्यसलाई मात्र पुर्‍याइदिनुछ।
  8. ख्रीष्ट उहाँलाई पठाउनुहुनेबिना केही गर्न सक्नुभएन (यूहन्ना ५:३०)। उहाँ पूरै आफ्‍ना स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूरै हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं र उहाँबाट अलग भएर हामी केही पनि गर्न सक्दैनौं (यूहन्ना १५:५)। जसले हामीलाई पठाउनुभएको छ उहाँले नै हामीलाई हाम्रा मार्गका हरेक कदमहरूमा समर्थ तुल्याउनुपर्छ!
  9. ख्रीष्ट एक्लो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँको साथमा हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४)। उसरी नै, हामीमा पनि एकजनाको प्रतिज्ञा छ जसले हामीलाई पठाउनुभएको छ; “म…तिमीहरूको साथमा छु” (मत्ती २८:२०); र तुलना गर्नुहोस् मर्कूस १६:२० र हिब्रु १३:५। जसले हामीलाई पठाउनुभयो उहाँ हामीमा पनि हुनुहुन्छ।
  10. ख्रीष्ट उहाँलाई पठाउनुहुनेको काम गर्न व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र जब उहाँको काम समाप्त भयो, उहाँलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति उहाँ जानुभयो (यूहन्ना ७:३३; १६:५)। उसरी नै, हामी पनि सधैं हाम्रा प्रभु येशूको काममा प्रशस्तै हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम समाप्त हुन्छ तब हामीलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति हामी जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)। अलग हुनु र ख्रीष्टसँग रहनु धेरै असल छ (फिलिप्पी १:२१; २ कोरिन्थी ५:८)।

जब हामी यस आज्ञालाई ध्यान दिन्छौं हामी एउटै कुरा मात्र भन्न सक्छौं; “प्रभु, यी कुराहरूका लागि को पर्याप्त छ र? यो हामी कसरी गर्न सक्छौं र? म यस आज्ञामा हर्षित छु तर जे असल छ त्यो म कसरी पूरा गर्ने त्यो म भेट्टाउन सक्दिनँ।”

यो कसरी गर्न सकिन्छ त? जब हामी यूहन्नाको सुसमाचारको अध्ययन गर्दछौं हामीले एउटा अचम्मको कुरा भेट्टाउँछौं। ख्रीष्टले हामीलाई पठाउनुभएको मात्र छैन, तर उहाँले अर्को एक व्यक्तिलाई पनि पठाउनुभएको छ: “तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु” (यूहन्ना १६:७)। परमेश्वरको पवित्र आत्माबाट अलग भएर हामीले कहिले पनि हाम्रो काम (उहाँको आज्ञा) लाई पूरा गर्न सक्दैनौं। उहाँबाट मात्र हामीले ठीकसँग ख्रीष्टलाई चिनाउन सामर्थ्य प्राप्त गर्न सक्छौं (लूका २४:४९; प्रेरित १:८)। आज प्रत्येक विश्वासीभित्र पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९) जसको भरिपूर्णताद्वारा हामी “जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” (यूहन्ना २०:२१) भन्ने हाम्रा प्रभुको वचनलाई गएर पूरा गर्न सक्नेछौं।

प्रेमको साँचो उदाहरण

प्रेमको साँचो उदाहरण

 

शुरूका मोराभियन मिसनरीहरूद्वारा प्रदर्शित

प्रेमको परिभाषा: मैले प्रेम गरेको व्यक्तिले परमेश्वरको उच्चतम र सर्वोत्तम कुरा प्राप्त गरेको म चाहन्छु जसका लागि म आफू विशेष रूपमा खर्चिन पनि तयार छु।

प्रेमको नमुना: प्रभु येशू ख्रीष्ट स्वयं: “हामी उहाँद्वारा जिउन सकौं भनेर परमेश्वरले आफ्‍ना एक मात्र जन्माइएको पुत्रलाई संसारमा पठाउनुभयो – हामीतर्फ परमेश्वरको प्रेम यसैबाट प्रकट भयो” (१ यूहन्ना ४:९)।

निम्न विवरण रोबर्ट म्याक्शेन (१८१३-१८४३) द्वारा लेखिएको हो [Memoirs of McCheyne by Andrew A. Bonar, Moody Press, 1978 edition, pages 40-41]:

ख्रीष्टको खातिर आफूलाई भक्तिपूर्वक समर्पण गर्ने मैले यी मृतसरह दिनहरूमा यस्तो कहिल्यै नसुनेको एउटा उत्कृष्ट नमुना गत हप्ता एकजना बेलायती सेवकबाट यहाँ बताइएको सुन्न पाएँ। यो कुरा कहिल्यै छापिएको छैन, त्यसैले म यो तपाईंहरूलाई बताउनेछु, ठीक जस्तो मैले सुनेको थिएँ त्यस्तै, ताकि हाम्रा सेलाएका हृदयहरू उत्तेजित होऊन् र हामीले आफैंलाई परमेश्वरको निम्ति सुम्पिन सकौं।

कुष्ठरोगको भयानक रोग आजसम्म पनि अफ्रिकामा विद्यमान छ। यो कुष्ठरोग बाइबलमा लेखिएकै किसिमको रोग हो कि होइन, म जान्दिनँ, तर यो रोग निको नै नहुने, र यति संक्रामक मानिएको छ कि कसैले पनि कुष्ठरोगीको नजिक आउने हिम्मत गर्दैनथे। अफ्रिकाको उत्तरमा कुष्ठरोगीहरूको निम्ति एउटा ठूलो कुष्ठ-घर छ। यो एउटा विशाल ठाउँ हो, धेरै अग्लो पर्खालले घेरिएको, र खेतहरू भएको, जसमा कुष्ठरोगीहरूले खेती गर्दथे। भित्र छिर्ने एउटै मात्र ढोका छ, जसमा कडा पहरा दिइन्छ। जब-जब कुनै व्यक्तिमा कुष्ठरोगको दाग देखिएको भेट्टाइन्थ्यो, उसलाई यो ढोकामा लगिन्थ्यो र भित्र जान बाध्य गराइन्थ्यो, कहिल्यै नफर्किने गरी। त्यस डरलाग्दो ढोकाबाट भित्र प्रवेश गरेको कुनै मानिसलाई फेरि कहिल्यै बाहिर निस्कने अनुमति दिइँदैनथियो।

यस कष्टपूर्ण स्थानमा त्यस रोगको विभिन्न चरणहरूमा पुगेको थुप्रै कुष्ठरोगीहरू थिए। डा. हलबेक (Dr. Halbeck), बेलायतको मण्डलीको मिसनरीले, छेऊको डाँडाको टुप्पोबाट, तिनीहरूले काम गरिरहेको देखे। विशेषगरी उनले दुईजनालाई खेतमा केराउ रोप्दै गरेका देखे। एकजनाको हात थिएन, र अर्कोको खुट्टा थिएन—यी अङ्गहरू रोगले नाश भएका थिए। जसको हातहरू थिएन उसले अर्को खुट्टाहरू नभएकोलाई आफ्‍नो ढाडमा बोकिरहेको थियो, र उसले फेरि आफ्‍नो हातमा बीजको झोला बोकेको थियो, र केराउको बीज खसालिरहेको थियो, जसलाई अर्कोले आफ्‍नो खुट्टाले जमिनभित्र गाड्थ्यो; र यसरी तिनीहरूले एकजना व्यक्तिद्वारा हुने कामलाई दुईजना मिलेर गर्ने व्यवस्था मिलाएका थिए। हाय! संसारमा भएको कष्टको बारेमा हामी कति थोरै मात्र जान्दछौँ। रोगको बन्दनगृह यस्तो किसिमको छ।

तर तपाईंले सोध्नुहोला, त्यस्तो दुर्भागी बासिन्दाहरूको आत्माको चिन्ता कसले गर्ला र? कहिल्यै नफर्किने गरी त्यस भयानक ढोकाभित्र पस्ने साहस कसले गर्ला र? ती बिचरा गरीब कुष्ठरोगीहरूकहाँ मुक्तिदाताको सन्देश लग्न कसले आफ्‍नो बुबा र आमा, घर र जमीन छोड्ला? दुई मोराभियन मिसनरीहरू, ती आत्माहरूको निम्ति ईश्वरीय प्रेमले विवश भएर, त्यस कुष्ठघरलाई उनीहरूको सेवकाइ क्षेत्रको रूपमा चुने। उनीहरू त्यहाँ भित्र प्रवेश गरे, कहिल्यै नफर्किने गरी र मलाई यो बताइएको थियो कि उनीहरूको मृत्यु हुने बित्तिकै, अरू मोराभियनहरू उनीहरूको स्थान लिन एकदम तयार छन्। ओहो! मेरा प्रिय मित्रहरू, के हामी शर्मले नझुकौं र परमेश्वरका सामु लज्जित नहोऔं, कि हामी, उही रगतले छुटाइएका छौं र उही आत्माद्वारा सिकाइएका छौं तरैपनि हामीसित प्रभु येशू र मानिसका आत्माहरूको लागि भने उनीहरूको जस्तो प्रबल र हृदयभरिको प्रेम नहुनु?

The Biblical Evangelist का सम्पादक रोबर्ट सम्नर (Robert Sumner) ले म्याक्शेनको लेख पढेपछि यो विवरण थपेका थिए:

एकपटक म गाडीमा मानोस (Manous) भन्दा बाहिर करिब एक घन्टाको यात्रा गरेर जङ्गलभित्र कुष्ठरोगीहरूको वस्तीमा गएको थिएँ, यो एमेजन (Amazon) भन्दा करिब १००० माइल पर पर्छ। पास्टर निको भइसकेका थिए र निको भएपछि निज त्यहाँबाट निस्केर जान सक्थे। तर उनकी श्रीमति आशारहित अवस्थामा थिइन् र तिनलाई छोड्न नचाहेकाले उनी त्यहाँबाट जान इन्कार गरे।

त्यो पनि प्रेम नै थियो!

अक्विला र प्रिस्किल्ला

अक्विला र प्रिस्किल्ला

रोमी १६:३-४

 

१) अक्विला र प्रिस्किल्ला उद्यमी थिए:

उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्‍नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विला एक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलो पटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमा रोमबाट आएका थिए (प्रेरित १८:२)।

२) उनीहरू आतिथि सत्कार गर्न सरीक थिए:

उनीहरूले आफ्‍नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउने नै थिए। उनीहरूले पावललाई आफ्‍नो घर मात्र होइन तर आफ्‍नो हृदय पनि खुल्ला गरे (प्रेरित १८:३)।

३) उनीहरू सिकाउन सकिने स्वभावका थिए:

सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्ने ज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दा अगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन। उनीहरूले पावललाई आफ्‍नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलका ख्रीष्टलाई पनि आफ्‍नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथ उनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरू पावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसात गरे।

४) उनीहरू बाइबलमुखी थिए:

उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनि थिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमा सामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धी सत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूको सम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरको मार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यस वार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमा प्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय श्रीमतीहरू आफ्‍ना श्रीमानहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्या गर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचित छ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनी परमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमा कसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। श्रीमान र श्रीमतीको यो टोली परमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्न योग्यका थिए।

५) उनीहरू स्थानीय मण्डलीमुखी थिए:

१ कोरिन्थी १६:१९ र रोमी १६:५ – यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम र एफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूको लागि भेला हुने ठाउँ थियो – उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गति गर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६) उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए:

प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनको श्रीमानको नाम पनि सँगै भेटिन्छ। श्रीमानसँगै उनको नाम सधैं उल्लेख भएको छ। यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ। उनी आफ्‍नो श्रीमानसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाको सेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७) परमेश्वरबाट दान पाएको व्यक्तिसित उनीहरूको ठीक सम्बन्ध थियो:

रोमी १६:३ – यस पदमा तिनीहरूलाई पावलका “सहकर्मीहरू” भनी जनाइएको छ। जब अक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, “यी प्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।” के तपाईंको पाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्त व्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी ४:११)? तपाईं आफ्‍नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईं उहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँले तपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यी श्रीमान-श्रीमतीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाको रूपमा देख्ने गरेका थिए।

८) उनीहरू साहसी थिए:

रोमी १६:४ – स्पष्ट रूपमा पावलको जीवन यी साहसी श्रीमान-श्रीमतीप्रति ऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनै किसिमले आफ्‍नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ। तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्‍नै गर्दन दिएका थिए, र परिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादको ऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदि प्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो र अन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो। प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचो प्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छ कि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमा पार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्को बुँदातर्फ लैजान्छ।

९) प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्:

यी श्रीमान/श्रीमतीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीन ठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीक पाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चार ठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब कि सूचीमा श्रीमानको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएको छैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढी फुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्ट जोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनले पावलको लागि आफ्‍नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्। उनीसँग विशेष वरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्ति भएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्‍नो श्रीमानलाई यस्तो प्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्। नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकाले आफ्‍नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनको कहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनको श्रीमानसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकी श्रीमती थिइन्।

१०) उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए:

२ तिमोथी ४:१९ – यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँग भएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरू विश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाको कुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाए अनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनि तिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंको बारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीले हाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यै नगुमाऊँ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बाँसको कथा

बाँसको कथा

एउटा उखान

बी. ई. न्यूकोम्ब

अनुवाद: गंगाप्रसाद प्रधान (सन् १८५१-१९३२)

चीनको एउटा कुचेङ् भन्ने जिल्लाको पहाडको पाखामा अनमोल-अनमोल बाँसका बोटहरू छन्। तिनमा कतिपटक बाँसको मालिकको नाउँ समेत लेखिएका हुन्छन्। पहाडमा भएका पानीका मूलहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ अर्थात् मान्छेहरूले बाँस-बाँस् गाँस्दै लगेर लामा-लामा नली (ढुङ्ग्रो) बनाई पानी लैजान्छन्।

अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा दर्जनौं अरू बाँसका बोटहरूको बीचमा एउटा सुन्दर बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला-काला र चिल्ला-चिल्ला थिए। त्यसका राम्रा-राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै-बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीले त्यसको प्रशंसा गर्न थाल्यौं। अनि जब हामीले त्यसको प्रशंसा गर्दैथियौं तब हामीलाई यस्तो भान भयो कि तिनका पातहरूको मन्द-मन्द सरसराहटबाट, ती बिस्तारै-बिस्तारै हल्लिँदै सिरिरिरि गर्ने सोरले उसले हामीलाई यसो भन्दै थियो:

“तपाईंहरू मेरो विषयमा यो कति राम्रो हो
भन्ने विचार गर्नुहुन्छ? अनि मेरा लामा-लामा र अल्गा-अल्गा डाँठहरू र रहरलाग्दा हाँगाहरू देखी उदेक मान्नुहुन्छ? तरै पनि मैले घमन्ड गर्ने त कुनै ठाउँ छैन। मेरा जे जति छन् ती सबै मेरा मालिकको प्रेमिलो वास्ताको कारण मसित छन्। यी सबै उहाँकै हुन् जसले मलाई यो असल ठाउँमा रोप्नुभयो, जहाँ मेरा जराहरू तल तलसम्म गई पुग्दछन् जहाँ गुप्‍त पानी छ। अनि मेरा जराले त्यहाँ निरन्तर जीवन-दिने पानी चुसी रहन्छन्। जसले गर्दा म मेरो पूरै जीवन बनिँदै जानलाई रस र खुराक र ताजापन र सुन्दरता र बल पाउँदछु।

“अनि यो डाँडाको अर्कोपट्टि भएका बाँसका बोटहरू देख्नुहुन्छ? तिनको कस्तो दुर्गति छ र तिनका पातहरू सुक्‍न-सुक्‍न लागेका छन्। तिनका जराहरू भित्रको गुप्‍त पानीसम्म पुगेका छैनन्। तर मेरो लागि मैले गुप्‍त पानी पाएको कारणले मलाई केहीको घटी छैन।

“तपाईंहरूले मेरा डाँठमा भएका चिन्हहरू देख्नुहुन्छ? राम्ररी हेर्दैजानुहोस्। मेरो जीउमा गहीरो-गहीरो गरी काटिएका छन्। यी काटिएका डामहरूले मलाई दुःख हुन्छ। म उदेक मान्दथेँ मैले किन यसरी दुःख भोग्‍नुपर्दैछ भनेर। तर हतियार मेरा मालिकको आफ्नै हातमा थियो र त्यसद्वारा उहाँले मेरो जीउमा आफ्नो नाउँ खोप्‍दैहुनुहुन्थ्यो। अनि काम सक्किएपछि मेरा डाँठमा मेरा मालिकको नाउँ खोपिएछन् भनेर जब थाहा पाएँ तब म अवर्णनीय रमाहटले उर्लेँ। तब उहाँले मलाई प्रेम गर्नुहुन्छ र मलाई बहूमूल्य ठान्नुहुन्छ अनि सारा संसारले म उहाँको हुँ भनेर जानेको उहाँले चाहनुहुँदो रहेछ भन्ने कुराको अब मलाई कुनै शङ्का बाँकी रहेन। म अब यस कुरामा गर्व गर्दछु कि मेरा यस्ता मालिक हुनुहुन्छ।”

जब बोटले आफ्नो धनीको विषयमा हामीहरूलाई बताउँदैथियो, तब हामीहरूले यताउता हेर्‍यौं, त हेर, धनी आफै पनि त्यहाँ रहेछ। त्यसले प्यारसित एउटा बाँसलाई हेर्दैरहेछ। अनि त्यसले आफ्नो हातमा लाग्ने खुकुरी लिएको रहेछ। अनि धनीले बाँसलाई भन्यो, “मलाई तेरो खाँचो छ। के तैंले आफूलाई मलाई दिहाल्ने इच्छा गर्छस्?” तब बाँसले उत्तर दियो, “म तपाईंकै हुँ। तर म जस्तोले तपाईंको के काम चल्छ होला र?” धनीले भन्यो, “मलाई तेरो खाँचो छ। मेरो जरुवा पानी केही सुक्खा ठाउँहरूमा लैजानका लागि जहाँ पानी छैन।”

तब बाँसले भन्यो, “तर हे मालिक, मदेखि यस्तो काम कसोगरी हुन सक्छ? म ता तपाईंको मूलको जिउँदो पानीनेर रहन सक्छु। अनि आफ्नै खुराकको लागि यसको पानी चुस्‍न सक्छु। अनि म आफ्‍ना हातहरू आकाशतिर फिजाउँन सक्दछु। अनि मेरो जीवन नयाँ-नयाँ भइरहन म तपाईंको ताजा पार्ने पानीहरू पनि पिउँदछु। अनि म बलियो र राम्रो हुन सक्दछु। अनि म रमाहट गर्दछु किनभने बल र सुन्दरता सबै तपाईंबाट कै हुन्। अनि तपाईं मेरा कति असल मालिक हुनुहुन्छ भनी सबैलाई प्रचार गर्दछु। तर म अरूलाई कसोगरी जरुवा पानी दिन सक्छु? म आफ्नै खुराकको लागि साँच्चै पानी चुस्दछु, अरूलाई दिन सक्नलाई त मसित के छ र?”

तब धनीचाहिँको मुखबाट “तैंले आफूलाई मेरो लागि दिहाल्ने इच्छा गर्दछस् भने म तँलाईं काममा लगाउँछु” भन्ने मीठो बोली निस्क्यो। अर्थात् — “म तँलाईं काट्छु अनि तेरा सबै हाँगाहरू छिमल्छु अनि तँलाई नाङ्गो पारेर तँलाई तेरा यी अरू साथी बोटहरूको बीचदेखि पर लैजान्छु। अनि म तँलाई टाढो एकलास ठाउँमा लैजान्छु जहाँ तैंले मीठो स्वर सुन्न पाउँदैनस् जहाँ खालि घाँस र काँडाका झाडी मात्र छन्। अँ अनि तँमाथि चोट लाग्ने हतियार चलाउँछु जसले तँलाई अरू पनि दुःख दिनेछ। कसरी भने तेरा मनभित्र भएका सबै गाँठागुँठी एक-एक गरीकन काटी निकालिनेछन् तँदेखि मेरो जरुवा पानी बहेर जाने नबनुञ्जेलसम्म। तँ भन्दछस्, “तब ता म मरिहाल्छु”। अँ, हे मेरो आफ्नै बोट, तँ मर्नु ता मर्छस्। तर मेरो जरुवा पानी तँदेखि नअड्कीकन अनि नथामिनेगरी बहिरहनेछ। अँ साँच्ची-साँच्ची नै तेरो सुन्दरता जान्छ। अँ अबदेखि उसो तेरो सुन्दरताको लागि कसैले तँमाथि दृष्टि लाउनेछैन। तरैपनि तँदेखि बहने जरुवा पानी खानका लागि धेरै-धेरैजना तँमाथि निहुरिनेछन्। तिनीहरूले तेरो विषयमा केही विचार त गर्नेछैनन्। तरैपनि तेरो बाटोले तिनीहरूलाई दिएको त्यस जरुवा पानीको लागि के तिनीहरूले तेरो मालिकलाई धन्यवाद दिनेछैनन् र? मेरो बाँस, के तँ यस्तै हुनलाई इच्छा गर्छस्?” तब बाँसको कुरा सुन्नलाई म आफ्‍नो सास रोकेर बसेँ।

“मेरा मालिक, जे-जे मेरा छन्, ती सबै तपाईंबाटकै हुन्। तपाईंलाई मेरो खाँचो छ भने म आफ्नो जीवन खुशीसित इच्छा गर्दै तपाईंलाई दिहाल्छु। मेरो मरणको बाटोले मात्रै तपाईंले जरुवा पानी अरूलाई दिन सक्‍नुहुन्छ भने म मर्नलाई तयार छु। म तपाईंकै हुँ। मेरा मालिकको इच्छाअनुसार मलाई लिएर, जहाँ भए पनि, आफ्नो काममा लगाउनुहोस्।”

अनि धनी आफैचाहिँ उसको अनुहार दयाले भरिएको ता थियो। तैपनि धनीले यति राम्रो बोटलाई लाग्‍ने बञ्चरो लिएर दोहोर्‍याई-दोहोर्‍याईकन हिर्काएर काटी भुइँमा लडायो। त्यसले केही विरोध गरेन तर त्यसको प्रहार सहनलाई आफूलाई दिहाल्यो, मलीम शब्दले “हे मेरा मालिक, तपाईंको इच्छा अनुसार होस् भन्दै।” अनि धनीचाहिँले अहिललेसम्म बञ्चरो लिइरहेकै थियो। अनि डाँठ नछिनाउञ्जेलसम्म त्यसलाई हिर्काउँदैरह्यो अनि बोटले आफ्नो सुन्दरता अर्थात् आफ्ना पखेटा जस्ता हाँगाहरू जो त्यसको मुकुट थियो सधैंको लागि गुमायो।

अब त्यो साँच्चीनै नाङ्गो र मुडुलो भयो। अनि धनीको अनुहार अझै कोमल बन्यो, र त्यो कोमलता प्रेमिलो ज्योतिले अझै गहिरो भयो जसै लडाइराखेको लिङगो टुक्रालाई आफ्नो काँधमाथि उठाई बोक्यो। तब त्यसका साथीहरू त्यसलाई पहाडमाथि टाढो-टाढो डाँडा हुँदो लग्दै गर्दा उनीहरू विलाप गर्न लागे। तर बाँसको लिङ्गोले चाहिँ आफ्नो मालिकको प्रेमको लागि आफूलाई सुम्पिदियो “मेरा मालिक, तपाईंले जहाँ इच्छा गर्नुहुन्छ, मलाई उहीँ लैजानुहोस्” भनी मलीम शब्द गरी भन्दै।

अब धनीचाहिँले त्यसलाई बोकेर एकान्त र सुन्ने ठाउँमा पुर्‍यायो। त्यहाँ पुगेर एकछिनसम्म विचार गरिरह्यो। त्यसपछि फेरि, त्यो निर्दयी देखिने, लाग्‍ने हतियार आफ्नो हातमा लिएर लिङ्गोको मुटुमा पुग्‍नेगरी एक पटक हिर्कायो त्यसलाई आफ्नो जरुवा पानी लैजाने नली बनाउनका लागि। किनभने खालि लिङ्गोको मुटु फुटेको बाटोले मात्रै पानी नपाउने ठाउँमा बहेर जान सक्दथ्यो। लिङ्गो अझै पनि गनगन गरेन तर मुटु फुटेको शब्दले बिस्तारै-बिस्तारै भन्यो, “हे मेरा मालिक तपाईंको इच्छा पूरा होस्”। यसरी धनीचाहिँले फेरि प्रेमी मनले अनि दयालु अनुहारले चोट लाग्ने गरी प्रहार गर्‍यो। अनि चोट पार्नदेखि थामिएन तर लाग्‍ने हतियारले राम्रो गरी आफ्नो काम गर्दैरह्यो, सबै रोकटोक ननिकालिउञ्जेलसम्म। त्यसपछि मात्रै त्यसको धनीको मन सन्तुष्ट भयो।

तब उसले फेरि त्यसलाई बोकेर चोट लागेको र दुःख सहँदै गरेको अवस्थामा वहाँसम्म लग्‍यो जहाँ उसले अहिलेसम्म जरुवा पानी उम्रँदै गरेको देखेको थिएन। वहाँ पुगेर उसले त्यो यसरी राख्‍यो अर्थात् त्यसको एक छेउ पानीको छेउमा पुग्‍ने गरी। अब जिउँदो पानीको मूल बहँदै त्यसको मुटुमा निर्दयी तवरले पारिएको त्यसको मुटुका सबै घाउ-घाउदेखि छिर्दै-छिर्दै त्यसकै अर्को छेउपट्टिदेखि निस्की जानेसम्म गरी बहेर गयो। अनि बहँदाखेरि केही आवाज नबनाई भित्र-भित्र बहँदै बाहिर बही निस्क्यो निरन्तर रूपमा, नथामिने गरी। तब धनीचाहिँ मुसु-मुसु हाँस्दै खुशी भयो।

त्यसपछि धनीचाहिँले फेरि अरू-अरू बोटलाई हेर्न लाग्यो। कोही-कोही लिङ्गोले दुःख भोग्‍न मानेन तर अरू-अरू कतिले चाहिँ खुशीसित आफू-आफूलाई उसको हातमा दिहाले — “मालिक, हामीहरू तपाईंमाथि भरोसा राख्दछौं। आफूले आफ्नो इच्छाअनुसार हामीहरूसित गर्नुहोस्” भन्दै। तब बाँसको धनीले बाँसको झाङ्ग-झाङ्गदेखि रोजी-रोजी काटेर बोक्दै लाँदै अघिल्लो बाँसको छेउमा पुर्‍यायो। वहाँदेखि एउटा-एउटा गरी राख्यो त्यही अघिल्लोजस्तै दुःख भोग्ने बाँसहरूलाई एकअर्कासँग गाँस्दै-गाँस्दै। अनि जसरी त्यसले ती गोटैपिच्छे बाँसलाई तिनको ठाउँ-ठाउँमा गरी गाँसेर राख्यो तब तिनको घाउ पारिएका मुटुभित्र-भित्रबाट जरुवा पानी बहन थाल्यो। त यसैगरी त्यसको लाइन लामो-लामो हुँदै गयो अनि अन्तमा बाँसको नली पानी नभएको ठाउँसम्म पुग्यो। तब धेरै-धेरै समयदेखि तिर्खाले हैरान-हैरान परी मर्न आँटेका लोग्नेमान्छेहरू, स्वास्नीमान्छेहरू र केटाकेटीहरू समेतले आएर इच्छा पूरा हुने गरी पानी खाए। अनि तिनीहरूले यहाँ जरुवा पानी आएको भन्ने समाचार यता-उता सबैतिर लगे, “अब यो ठाउँबाट पानीको अनिकालको समय गयो! आओ, पानी खाओ!” भन्दै। तब मान्छेहरूले आई-आईकन पानी खाए अनि तिनीहरूको जीवन नयाँ भयो।

धनीचाहिँ यो देखेर मनमा बडो खुशी भयो। त्यसपछि बाँसको धनीले आफ्नो बाँसको नलीको छेउ-छेउमा गएर सोध्यो — “ए मेरो बाँस, के तँ अब तेरो यो दुःख र एक्लोपनदेखि पछुतो मान्छस्? अब तँ के मोलको भइस्? अँ अब तेरो मोल यही हो अर्थात् अबदेखि तैँले जगतलाई आफूदेखि जिउँदो पानी दिँदैछस्, दिरहन्छस्। के यसको लागि मूल्य चुकाउनु ज्यादा थियो?” बाँसले उत्तर दियो, “हे मेरा मालिक, थिएन, थिएन! अनि मलाई पछुतो छैन, हजार पटक छैन। मेरा दस हजार जीवन भए पनि कति खुशीसित म तपाईंलाई दिहाल्नेथिएँ। किनभने यो जान्न पाउनु मेरो लागि कति आनन्द भएको छ जो म आज जान्दछु कि मैले तपाईंलाई खुशी तुल्याउन पाएको छु।”

गंगा प्रसाद प्रधानको अनुवाद सर्वप्रथम सन् १९१३ सालमा छापिएको थियो। बी. ई. न्यूकोम्बको अङ्ग्रेजी मूल लेख हात परेपछि उक्त अनुवादलाई त्यसैसित तुलना गर्दै यहाँ केही परिमार्जित रूपमा प्रस्तुत गरिएको हो।