Entries by Pradesh Shrestha

सुसमाचार कसरी प्रस्तुत गर्ने?

हामी सुसमाचार कसरी प्रस्तुत गरौं?

व्यक्तिगत लाभको आधारमा कि व्यक्तिगत खाँचोको आधारमा?
रोमी १:१८ को एक टिप्पणी

“किनभने सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको परमेश्वरको क्रोध प्रकट भएको छ” (रोमी १:१८)

“परमेश्वरको क्रोध” — अधिकांश धार्मिक परिवेशहरूमा परमेश्वरको क्रोधको विषयलाई बेवास्ता गरिएको पाइन्छ। परमेश्वरको प्रेमलाई प्रायः उल्लेख गरिए तापनि परमेश्वरको क्रोधको कुरा भने बिरलै गरिन्छ। सुसमाचारलाई प्रस्तुत गर्दा “राम्रो खबर” बताउनु अघि “नराम्रो खबर” बताउनुपर्छ भनी पावल जान्दथे। हामीलाई परमेश्वरको धार्मिकता चाहिएको छ (रोमी १:१७) तर हामीले पाउनु पर्ने त परमेश्वरको क्रोध हो (पद १८)। मुक्ति पाउन तयार हुनु अघि एउटा मान्छेले मुक्तिको निम्ति आफ्नो खाँचो देख्‍नुपर्ने हुन्छ। लुका ५:२७-३२ पढ्नुहोस्। खाँचो नपरेसम्म मान्छे त्यत्तिकै डाक्टरकहाँ जाँदैन। आफूलाई खाँचोमा परेको पापीको रूपमा नदेखेसम्म एउटा मान्छे मुक्तिदाताकहाँ आउँदैन।

“अभक्ति र अधर्म” — हामी वास्तवमा कहाँसम्म भक्तिहीन र अधर्मी रहेछौं भन्ने कुरा रोमीको पुस्तकको पहिलो तीन अध्यायहरूबाट सिक्न सकिन्छ! हामी परमेश्वरको क्रोधको योग्य छौं भन्ने कुरा यी अध्यायहरूबाट सिक्नेछौं!

परमेश्वरले आफ्नो धार्मिकताको तराजुमा हलुका भेटिने सबै कुरालाई न्याय गर्नुपर्ने हुन्छ र तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुपर्ने हुन्छ। परमेश्वरको सिद्ध धार्मिकताको तराजुमा जोखिँदा तपाईं कस्तो भेटिनुहुन्छ — योग्य कि अयोग्य? १) एक मात्र साँचो धर्मी मानिस येशू ख्रीष्टसित तुलना गरिँदा के तपाईं योग्य भेटिनुहुन्छ? २) परमेश्वरको धर्ममय व्यवस्था (विशेष गरी दस आज्ञा) को तुलनामा के तपाईं योग्य भेटिनुहुन्छ? यी सबै आज्ञाहरूलाई के तपाईंले पूर्ण रूपमा पालन गर्नुभएको छ? यदि हामी परमेश्वरका सामु र आफैसित पनि इमानदार भयौं भने, हामी कुनचाहिँ निष्कर्षमा आउनैपर्ने हुन्छ (रोमी ३:१०)?

टिप्पणी: पावलले कसरी सुसमाचार प्रस्तुत गरे भन्ने कुरामा राम्ररी ध्यान दिनु महत्त्वपूर्ण छ। उनले अधर्मी तथा भक्तिहीनहरूका विरुद्धमा परमेश्वरको क्रोध स्वर्गबाट आउँदै गरेको कुराबाट शुरु गर्दछन्! हामीलाई परमेश्वरको सुसमाचारको कति टड्कारो खाँचो परेको छ भन्ने कुरा सबैले बुझून् भनेर पावलले “राम्रो खबर” प्रस्तुत गर्नु अगाडि “नराम्रो खबर” प्रस्तुत गर्दछन्। सुसमाचार प्रस्तुत गर्ने त्यहाँ मूलतः दुइटा तरिका छन्: १) व्यक्तिगत लाभको आधारमा (सुसमाचारले मलाई के कस्तो लाभ हुन्छ? ख्रीष्टियन हुनुमा के कस्ता फाइदाहरू छन्? के सुसमाचारले मलाई सुख मिल्नेछ? सफलता मिल्नेछ? सन्तुष्टि मिल्नेछ? आदि); २) व्यक्तिगत खाँचोको आधारमा (मानिस पवित्र परमेश्वरको क्रोध र दण्डमुनि असहाय र आशारहित अवस्थामा छ, यसकारण उसलाई मुक्तिको खाँचो छ नत्र भने ऊ अनन्त दण्डमा जानेछ)।

सुसमाचार आज प्रायः व्यक्तिगत लाभको आधारमा प्रस्तुत गरिएको पाइन्छ। त्यसरी सुसमाचार प्रस्तुत गरिएको उदाहरणस्वरूप एउटा पर्चामा लेखिएको लेखिएको कुरालाई हेरौं:

“तपाईं एउटा रमाइलो, स्वतन्त्र र भरिपूर्ण खाले जीवन जिउन चाहनुहुन्छ, होइन र? ठीक छ! म तपाईंजस्तै व्यक्तिसँग कुरा गर्न चाहिरहेको छु। मेरो पनि तपाईंको जस्तै चाहना छ।

तपाईं भन्नुहोला, “अरे, मेरो जस्तै चाहना तपाईंलाई पनि? तपाईं त ख्रीष्टियन भन्ठान्या!”

हो, म ख्रीष्टियन हुँ। तर मान्छेमा हुने आधारभूत इच्छाहरू मसँग पनि छन् — सन्तुष्टि, सुख, स्वतन्त्रता आदि इत्यादि। अनि यी सबै कुराहरू मैले मेरो सबैभन्दा प्रिय मित्र येशू ख्रीष्टमा प्राप्‍त गरें। मेरो अनुभवमा ख्रीष्टियन हुनु वर्तमानकै लागि लाभदायक कुरा हो। स्वर्ग र नरक छँदै छैनन् भने पनि (हुन त ती दुवै छन्), म त ख्रीष्टियन नै बन्नेथिएँ। किन? किनकि मलाई थाह छ ख्रीष्टियन जीवन सबैभन्दा उत्तम जीवन हो। यो जीवन मात्र जिउन लायक जीवन हो।”

अब यी कुराहरू साँचो हुन् भनेर हामीले स्वीकार त गर्नुपर्छ। सन्तुष्टि, सुख, स्वतन्त्रता तथा अन्य थुप्रै हितकर कुराहरू सबै ख्रीष्ट येशूमै पाइन्छन् र निश्चय पनि ख्रीष्टियन जीवन मात्रै जिउन लायक जीवन हो। तर के हामीले सुसमाचारलाई यो आधारमा प्रस्तुत गर्नु पर्ने हो त? के पावलको तरिका यही थियो? मुक्ति नपाएका धेरै-धेरै मानिसहरू आफूहरू ज्यादै सुखी छौं भन्ने ठान्दछन्। उनीहरू जीवनसित तुलनात्मक हिसाबमा सन्तुष्ट नै हुन्छन्, उनीहरूका काम-कुरा राम्रै चलिरहेका हुन्छन् र आफूले गरिरहेको काम-कुरामा उनीहरू खुशी नै हुन्छन्। आफ्नो जीवन शैलीसित उनीहरू सन्तुष्ट हुन्छन् र उनीहरूलाई ख्रीष्टियन बन्न विवश पार्ने त्यस्तो कुनै कुरा देख्दैनन्। “तिमीलाई यसैमा खुशी लाग्छ भने ख्रीष्टियन हुनु तिम्रो लागि राम्रै कुरा हो”, उनीहरू भन्छन्, “तर मलाई ठीकै छ र म जसरी जिइरहेको छु त्यसमा म खुशी नै छु।” उनीहरूले ख्रीष्टको निम्ति आफ्नो खाँचोलाई देख्‍न सकिरहेका छैनन्।

उदाहरण: मानौं कुनै अस्पतालले तपाईंलाई सम्पर्क गर्दै यसरी निम्तो दिए: “के तपाईं भोलि यहाँ आएर शल्यक्रिया गर्न चाहनुहुन्छ? हामी आजकल त्यति व्यस्त नभएको हुनाले हाम्रो स्टाफलाई व्यस्त राख्‍न काम चाहिएको छ। हामी तपाईंलाई चिरफार गर्नेछौं र सबै जाँच गर्नेछौं र फेरि जस्ताको त्यस्तै सिलाइदिनेछौं। तपाईंलाई यसले फाइदा गर्नेछ। चार पाँच दिनपछि आफूलाई गजब भएको तपाईंलाई महसुस हुनेछ! तपाईंलाई स्वास्थ्यलाभ हुनेछ! जीवनमा नपाएको कुरा तपाईंले पाउनुहुनेछ! हामीलाई शल्यक्रिया गर्न मात्र दिनुहोस् र यी सबै कुराले लाभान्वित बन्नुहोस्।” के तपाईं जानुहुन्थ्यो होला? किन जानुहुन्नथ्यो? तर मानौं डाक्टरहरूले तपाईंलाई तपाईंको शरीरभित्र एउटा घातक क्यान्सर फैलिन थालेको छ र त्यसलाई चाँडै काटेर फालिएन भने त्यसले तपाईंलाई मार्नेछ भन्ने कुरा बताए। के अब तपाईं शल्यक्रिया गर्न राजी हुनुहुनेथ्यो? किन?

उनीहरूको ठूलो खाँचो छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। ख्रीष्टमा प्रदान गरिएको मुक्तिको कति ठूलो खाँचो उनीहरूलाई छ भन्ने कुरा मानिसहरूले देख्‍नै पर्छ। रोमीको पहिलो तीन अध्यायहरू पढ्नुभएपछि तपाईंले आफ्नो हृदयभित्र एउटा घातक क्यान्सर (पाप) लागेको रहेछ र आफूलाई निको पार्न तपाईंले गर्न सक्ने केही पनि कुरा छैन रहेछ भन्ने कुरा तपाईंले महसुस गर्नुहुनेछ। एउटै उपाय ख्रीष्टमा रहेछ (“जीवन छोटो छ, मरण निश्चित छ, मृत्यु पापले ल्यायो, मुक्ति ख्रीष्टमा छ!”)

अर्को एउटा कुरा: यदि मानिसहरू व्यक्तिगत लाभको आधारमा ख्रीष्टकहाँ आए भने उनीहरू गलत कारणले पनि आएका हुन सक्छन्। येशू हामीलाई हाम्रा ________ बाट (मत्ती १:२१) मुक्त गर्न आउनुभएको हो, न कि हाम्रो अशान्ति वा एक्लोपना वा असफल जीवन शैलीबाट। यी अन्य कुराहरू त हृदयभित्रको आधारभूत समस्याको केवल सतही लक्ष्यणहरू मात्र हुन्: पापको कारणले मानिस आफ्नो सृष्टिकर्तासित ठीक सम्बन्धमा छैन। यो आधारभूत समस्याको समाधान भएपछि त्यसभन्दा गौण सतही समस्याहरू पनि समाधान हुनेछन्। दुःखको कुरा, वास्तविक ठूलो समस्या कुनचाहिँ हो भनेर अधिकांश मानिसहरू अनभिज्ञ छन्। जुन कुराको बारेमा उनीहरू सबैभन्दा कम वास्ता गर्छन् त्यही कुराकै बारेमा सबैभन्दा बढी वास्ता गरिनुपर्थ्यो: अर्थात्, पापको समस्याको बारेमा!

ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू

ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू

 

सङ्कष्ट-पूर्व आगमन (“र्‍याप्चर”) र सङ्कष्ट-पश्चात् आगमन (“दोस्रो आगमन) का बीच तुलनात्मक अध्ययन

 

१) कहिले?

क) र्‍याप्चर – सङ्कष्टकाल अघि (प्रकाश ३:१०)। मण्डली विश्वभरि आइपर्ने परीक्षाको उक्त घडीबाट जोगाइनेछ।
ख) दोस्रो आगमन – सङ्कष्टकाल पछि (मत्ती २४:२९-३०; प्रकाश १९:११-१६)।

२) कति छिटो?

क) र्‍याप्चर – “एकै छिनमा” (ग्रीकमा “अणु”, अक्षरशः “टुक्र्याउन नसकिने”; समयलाई वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेण्डमा भाग लगाइन्छ, र समयको “अणु” भन्नाले समयको सबभन्दा सानु एकाइ भन्ने बुझिन्छ अथवा “आँखाको झिमिकमा” (१ कोरिन्थी १५:५२)। र्‍याप्चर एकदम अचानक हुनेछ। चाल पाउँदा नपाउँदै उक्त घटना घट्नेछ (जस्तो हनोकलाई हुन गयो, उत्पत्ति ५:२४; हिब्रू ११:५)। नभेटिने गरी अचानक एउटा मान्छे “र्‍याप्चर” (अपसरन) हुन गएको उदाहरण प्रेरित ८:३९ मा छ (आउनेवाला र्‍याप्चरलाई जनाउने ग्रीक शब्द हारपाजो (αρπαζω) त्यहाँ प्रयोग भएको छ)।
ख) दोस्रो आगमन – उक्त घटना चाल पाउन सक्ने गरी हुन्छ, ज्यादा छिटो हुँनेछैन (मत्ती २४:२७; प्रकाश १:७; भजनसङ्ग्रह २:२; प्रकाश १९:१९)। ख्रीष्टको दोस्रो आगमन संसारका सबैले प्रस्टै देखिने गरी हुनेछ, नदेख्‍ने कोही हुनेछैन।

३) मिति (घटनाको दिन)

क) र्‍याप्चर – अज्ञात दिन। प्रभु येशू ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई अवश्य आउनुहुनेछ (यूहन्ना १४:३) तर कहिले भन्ने कुरा हामी जान्दैनौं (तुलना गर्नुहोस्, १ यूहन्ना २:२८ र ३:२ लाई जहाँ ग्रीक व्याकरणको संभाव्यतासूचक (subjunctive mood) प्रयोग भएको छ जसले उहाँको आगमनको यथार्थतालाई इङ्गित गर्नुको साथै उक्त घटनाको समय अनिश्चित भएको कुरालाई समेत जनाउँदछ।
ख) दोस्रो आगमन – तोकिएको दिन। दोस्रो आगमनको मिति कहिले पर्छ भनेर त्यसको दिन समेत हिसाब निकाल्न सकिन्छ। उक्त घटना ख्रीष्टविरोधीले इस्राएलसित करार सदर गरेको (दनिएल ९:२७) मितिबाट २५२० दिनमा घट्नेछ (७ वर्ष, अथवा ३०-३० दिनको ८४ महिना)। अथवा त्यो उजाड पार्ने घृणित बस्तु (मत्ती २४:१५) को समयदेखि १२६० दिन (३ १/२ वर्ष) पछि हुनेछ। हेर्नुहोस्, प्रकाश ११:२,३; १२:६,१४; १३:५; २ थेस्सलोनिकी २:८ (दोस्रो आगमनमा ख्रीष्टविरोधी नष्ट पारिन्छ)। तर माथि उल्लेखित करार सदर नभएसम्म कसैले पनि यस “तोकिएको दिन” कुन दिन पर्छ भनेर हिसाब निकाल्न भने सक्नेछैन।

४) पूर्व चिन्हहरू

क) र्‍याप्चर – चिन्हबिहीन (तीतस २:१३; प्रकाश २२:२०; आदि)। उहाँ आफ्नो मण्डलीलाई लिनलाई कुनै पनि घडी आउन सक्नुहुन्छ; उहाँ आउनसक्न पूरा हुनैपर्ने त्यस्तो कुनै कुरा छैन। केवल मण्डली निर्माणको पूर्णतालाई मात्र हामी पर्खिरहेका छौं (मत्ती १६:१८; रोमी ११:२५)। सो कहिले पूरा हुनेछ भन्ने कुरा परमेश्वर मात्र जान्नुहुन्छ।
ख) दोस्रो आगमन – थुप्रै चिन्हहरूसहित (मत्ती २४:३-२८)। ख्रीष्ट संसारमा फर्कन अघि थुप्रै कुरा पूरा हुनैपर्नेछ (जस्तै, प्रकाश ६-१८ का घटनाहरू)।

५) दृष्टिगोचरता

क) र्‍याप्चर – ख्रीष्टलाई मण्डलीले मात्र देख्‍नेछ (१ थेस्सलोनिकी ४:१७; १ यूहन्ना ३:२)।
ख) दोस्रो आगमन – ख्रीष्टलाई हरेक आँखाले देख्‍नेछ (प्रकाश १:७; मत्ती २४:२४-२७)।

६) घटनास्थल

क) र्‍याप्चर – आकाशमा (१ थेस्सलोनिकी ४:१७)
ख) दोस्रो आगमन – पृथ्वीमा (जकरिया १४:१४; प्रेरित १:११)।

७) घटनापश्चातको न्याय

क) र्‍याप्चर – ख्रीष्टको न्यायआसन (२ तिमोथी ४:१,८; १ पत्रुस १:७)
ख) दोस्रो आगमन – दुष्ट सेनाहरूको विनाश (प्रकाश १९:१७-१९) साथै बचेका जातिहरूको न्याय (मत्ती २५:३१-४६)।

८) पृथ्वीबाट लगिने को हुन् र पृथ्वीमा छोडिने को हुन्?

क) र्‍याप्चर – विश्वासीहरू लगिन्छन्, अविश्वासीहरू छोडिन्छन् (१ थेस्सलोनिकी ४:१३-१८; १ कोरिन्थी १५:५१-५३; यूहन्ना १४:३)
ख) दोस्रो आगमन – अविश्वासीहरू लगिन्छन्, विश्वासीहरू छोडिन्छन् (मत्ती २४:३७-४१ र लूका १७:३४-३७)। मत्ती २४:३८ मा हेर्नुहोस् जहाँ नूहका दिनमा अविश्वासी संसार इन्साफमा लगिएको थियो।

९) ख्रीष्टको आउनुको उद्देश्य

क) र्‍याप्चर – आफ्नो दुलहीलाई ग्रहण गर्न (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१७)
ख) दोस्रो आगमन – आफ्नो राज्यलाई ग्रहण गर्न (लूका १९:२२; प्रकाश १९-२० अध्यायहरू)

१०) जिउँदा विश्वासीका शरीरहरू

क) र्‍याप्चर – मण्डली युगका मरिसकेका विश्वासीहरू बौराइन्छन् र आकाशमा उठाइन्छन् भने जिउँदा विश्वासीहरू अमर शरीरमा बदली गराइन्छन् (१ कोरिन्थी १५:५२-५३; १ थेस्सलोनिकी ४:१७)।
ख) दोस्रो आगमन – सङ्कष्टकालबाट बचेर निस्केका विश्वासीहरू प्राकृतिक शरीरमै हजार वर्षको राज्यभित्र प्रवेश गर्नेछन् (मत्ती २५:२३) र यिनै विश्वासीहरूका सन्तानहरूद्वारा पृथ्वी फेरि भरिनेछ।






ख्रीष्टको दोस्रो आगमन सम्बन्धी गलत धारणाहरू

ख्रीष्टको दोस्रो आगमन सम्बन्धी गलत धारणाहरू

सी.आई. स्कोफिल्ड

 बाइबल अध्ययनको प्राथमिक चरणमा हुनुभएकाहरूलाई केही मदत पुग्ला कि भनेर ख्रीष्टको व्यक्तिगत र स-शरीर पुनरागमनको बाइबलीय शिक्षालाई खण्डन गर्ने विभिन्न उपकल्पनाहरू (theories) लाई यहाँ संक्षेपमा हेरिनेछ।

वर्तमान प्रबन्धको अन्तमा हुने उहाँको स-दृश्य र स-शरीर आगमन सम्बन्धी पवित्र शास्त्रका खण्डहरूलाई उहाँका ईश्वरीय गुणसित सम्बन्धित खण्डहरूसित अल्मल्याइनु हुँदैन भन्ने कुरा त प्रस्टै हुनुपर्छ। ईश्वरीय गुणले उहाँ सर्वज्ञानी र सर्वव्यापी हुनुभएकोले उहाँले सब कुरा जान्नुहुन्छ र उहाँ सधैं सबै ठाउँमा उपस्थित हुनुहुन्छ। मत्ती १८:२० र मत्ती २८:२० जस्ता खण्डहरू यसका नमूना हुन्।

यस अर्थमा उहाँ सधैं हामीसित हुनुहुन्छ, अँ यस युगको अन्तसम्म नै। यो त हृदयलाई हर्षित तुल्याउने सत्यता हो।

तर ख्रीष्ट येशू, जो एक मानव पनि हुनुहुन्छ, यस घडी स-शरीर व्यक्तिगत रूपमा परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ जसरी प्रेरित १:९-११ ले प्रस्टै बताएको छ:

अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो; र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथी जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने: “हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:१०,११)।

स्तिफनसले उहाँलाई त्यहीँ देखेका हुन्:

तर तिनले पवित्र आत्माले भरपूर भएर स्वर्गतिर डिठ लाएर हेर, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे, र भने: “हेर्नुहोस्, आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको म देख्दछु!” (प्रेरित ७:५५,५६)।

आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहुनुभएको छ(कलस्सी ३:१)।

यसलाई चित्रण गर्ने एउटा उदाहरण: फ्रान्स र प्रस्सियाको यद्ध चलिरहँदा, भोन मोल्टके, आफ्नो बुद्धि र सीपद्वारा साथै टेलिग्राफ तार-प्रणालीमार्फत, हरेक युद्धस्थलमा साँच्ची नै उपस्थित थिए यद्यपि स-दृश्य र व्यक्तिगत रूपमा उनी आफ्नो बर्लिनस्थित अफिसमा उपस्थित थिए। युद्धको पछिल्लो चरणमा उनी पेरिससामुको सेनासँग सम्मिलित भए अनि तब त्यहाँ उनको वास्तविक र स-दृश्य उपस्थिति हुन गयो। त्यसरी नै हाम्रा प्रभु आफ्नो ईश्वरीय गुणहरूको हैसियतले साँच्ची नै आफ्नो मण्डलीसँग अहिले नै उपस्थित हुनुहुन्छ, तर आफ्नो दोस्रो आगमनमा उहाँ स-दृश्य र व्यक्तिगत रूपमा यस पृथ्वीमा उपस्थित हुनुहुनेछ।

१) पेन्टेकोस्टको दिनमा भएको पवित्र आत्माको आगमन प्रभुको आगमन सम्बन्धीका अगमवाणीहरूको पूरा हुवाइ होइन न ता जोशिला जागृतिहरूमा वा आशिषमय प्रार्थना सभाहरूमा उहाँको उपस्थितिको अनुभव गरिनु नै त्यसको पूरा हुवाइ हो, किनकि:

(१) यस्तो व्याख्याले पवित्र आत्मालाई ख्रीष्टको एउटा अभिव्यक्ति (manifestation) मात्र तुल्याएर त्रिएकताको शिक्षालाई व्यावहारिक रूपमा रद्द गर्दछ।

(२) किनकि आत्माको आगमन सम्बन्धी आफ्नो प्रतिज्ञामा ख्रीष्टले उहाँलाई “अर्को शान्तिदाता” (यूहन्ना १४:१६) को संज्ञा दिनुभएको छ; र यूहन्ना १६:७ मा ख्रीष्ट भन्नुहुन्छ: “म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।”

(३) किनकि पेन्टेकोस्टपछि लेखिएका प्ररितको पुस्तक, पत्रहरू र प्रकाशको पुस्तकका लेखकहरूले प्रभुको आगमनलाई सधैं भविष्यमा हुने भनी एक सय पचास भन्दा बढी पटक उल्लेख गरेको पाइन्छ।

(४) किनकि ख्रीष्टको आगमनमा हुने भनी भविष्यवाणी गरिएका कुनै पनि घटनाहरू पेन्टेकोस्टमा पूरा भएनन्। ती हुन्: सुतेका पवित्र जनहरूको बौरिउठाइ (१ कोरिन्थी १५:२२,२३; १ थेस्सलोनिकी ४:१३-१६); जीवित रहेका विश्वासीहरूको “बदली” जसमार्फत उनीहरूले “अविनाशलाई पहिरनैपर्छ” — तिनीहरूका “दीनहीन शरीर…उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ” र तिनीहरू प्रभुलाई भेट्नका लागि हावामा उठाइनेछन् (१ कोरिन्थी १५:५१-५३; १ थेस्सलोनिकी ४:१७; फिलिप्पी ३:२०,२१); र बडो सामर्थ्य र महिमासहित मानिसका पुत्रको स-दृश्य आगमनको कारणले पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन् (मत्ती २४:२९,३०; प्रकाश १:७)।

हाम्रा प्रभुको आगमनको सेरोफेरोका घटनाहरू यिनै हुन्। जब उहाँ आउनुहुनेछ, यी घटनाहरू प्रत्यक्ष हुनेछन्। पेन्टेकोस्टमा यी मध्ये कुनै पनि पूरा भएनन् न ता पवित्र आत्माको अन्य कुनै अभिव्यक्तिमा नै पूरा भएका छन्।

२) एक पापीको जीवन परिवर्तित हुनु प्रभुको दोस्रो आगमन होइन।

कैयौं संख्यामा रहेका परिस्थितिजन्य भविष्यवाणीहरू सन्तोषजनक रूपमा यसरी नै पुष्टि हुने भन्ने हास्यास्पद उपकल्पनालाई गम्भीर रूपमा त नअपनाइनु पर्ने जस्तो देखिन्छ। यहाँ यति मात्र बताउन आवश्यक छ कि,

(१) पवित्र शास्त्र अनुसार वास्तविकता यसको ठीक विपरित छ। जीवन परिवर्तन एक पापी ख्रीष्टमा आएर हुने हो, ख्रीष्ट पापीकहाँ आउनुभएर हुने होइन (मत्ती ११:२८; यूहन्ना ५:४०; यूहन्ना ७:३७; ६:३७)।

(२) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू पापीको जीवन परिवर्तनको घडीमा पूरा हुँदैनन्।

३) ख्रीष्टियनको मृत्यु ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) प्रभुको एउटा भनाइलाई नबुझेर जब चेलाहरूले उनीहरूमध्येका एकजना उहाँ नआउन्जेलसम्म रहिरनेछन् भन्ने अर्थमा लिए, तब ‘यो चेलाचाहिँ मर्दैन’ भन्ने कुरा भाइहरूको बीचमा फैलियो (यूहन्ना २१:२२-२४)।

(२) बाइबलका लेखकहरूले विश्वासी जनको मृत्युलाई सधैं उसको प्रास्थानको रूपमा उल्लेख गरेको पाइन्छ। प्रभुको आगमनलाई ख्रीष्टियनको मृत्युसँग गाँसेको एउटै खण्ड पाइँदैन। हेर्नुहोस्, फिलिप्पी १:२३; २ तिमोथी ४:६; २ कोरिन्थी ५:८। मर्नै लागेका स्तिफनसले स्वर्ग खोलिएका देखे र मानिसका पुत्र आइरहनुभएको होइन तर “परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको” देखे (प्रेरित ७:५५,५६)।

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू ख्रीष्टियनको मृत्युको घडीमा पूरा हुँदैनन्।

४) रोमीहरूद्वारा सम्पन्न गरिएको यरूशलेमको विध्वंश ख्रीष्टको दोस्रो आगमन थिएन; किनकि

(१) मत्ती २४ र लूका २१ मा तीनओटा घटनाहरूको भविष्यवाणी गरिएको छ: मन्दिरको विध्वंश, प्रभुको आगमन र संसार (यस युग) को अन्त। मत्ती २४:३ मा हेर्नुहोस्। यी प्रस्ट रूपमा भिन्न-भिन्न कुराहरूलाई बिना आधार  एउटाको पूरा हुवाइ तीनैओटाको पूरा हुवाइ हो भन्ने धारणा उब्जिन गएको हो।

(२) प्रेरित यूहन्नाले प्रकाशको पुस्तकलाई यरूशलेमको विध्वंशपश्चात् लेखेका हुन् तर उनले प्रभुको आगमन भविष्यमै हुने भनी बताउँछन् (प्रकाश १:४,७; २:२५; ३:११; २२:७,१२,२०)। बाइबलको अन्तिम प्रतिज्ञा यस्तो छ, “साँच्ची नै म चाँडै आउँछु”; र अन्तिम प्रार्थना यस्तो छ, “ज्यु, आउनुहोस्, हे प्रभु येशू।”

(३)  प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू यरूशलेमको विध्वंशको घडीमा पूरा भएनन्। हेर्नुहोस्, १ थेस्सलोनिकी ४:१४-१७; मत्ती २४:२९-३१; मत्ती २५:३१,३२ इत्यादि।

५) इसाईमतको विस्तार ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) इसाईमतको विस्तार बिस्तारै हुने कुरा हो भने पवित्र शास्त्रले प्रभुको पुनरागमनचाहिँ झट्टैअचानक हुने बताएको छ (मत्ती २४:२७,३६-४२,४४,५०; २ पत्रुस ३:१०; प्रकाश ३:३)।

(२) इसाईमतको विस्तार एक प्रक्रिया हो भने प्रभुको पुनरागमनलाई पवित्र शास्त्रले सधैं घटनाको रूपमा उल्लेख गरेको पाइन्छ।

(३) इसाईमतको विस्तारले दुष्टहरूलाई मुक्ति ल्याउँछ भने ख्रीष्टको आगमनले उनीहरूलाई मुक्ति होइन तर “अचानक विनाश” ल्याउनेछ (१ थेस्सलोनिकी ५:२,३; २ थेस्सलोनिकी १:७-१०; मत्ती २५:३१-४६)।

६) यी कथित व्याख्या र उपकल्पनाहरू व्यापक भए तापनि तिनीहरू कुनै पनि शिक्षण संस्था वा सम्प्रदायका नाम चलेका ईश्वर-शास्त्रीका पुस्तकहरूमा भेटिँदैनन् न ता कुनै पनि सर्वमान्य बाइबल शिक्षकले यी धारणाहरूलाई समर्थन गरेको पाइन्छ। यी सबैले ख्रीष्टको स-शरीर स-दृश्य दोस्रो आगमनकै शिक्षालाई समर्थन गरेको पाइन्छ।

तरैपनि कहिलेकाहीँ यस्तो दाबी गरेको पाइन्छ कि सुसमाचार प्रचारद्वारा संसारै इसाई नबनेसम्म र उक्त संसारले एक हजार वर्षसम्म आफूलाई ख्रीष्टको आत्मिक राज्यको अधीनतामा नसुम्पेसम्म दोस्रो आगमन हुनै सक्दैन। यो धारणा पूरै गलत छ किनकि:

(१) पवित्र शास्त्रले ख्रीष्टको दोस्रो आगमनको घडीमा पृथ्वीको अवस्था सहस्राब्दीको आशिषले होइन बरु भयानक दुष्टताले भरिएको हुनेछ भनी बयान गरेको पाइन्छ (लूका १७:२६-३२ लाई उत्पत्ति ६:५-७ सित तुलना गर्नुहोस्; उत्पत्ति १३:१३; लूका १८:८; लूका २१:२५-२७)।

(२) पवित्र शास्त्रले वर्तमान प्रबन्धको सफरलाई शुरूदेखि अन्तसम्मै यस्तो प्रकारले बयान गरेको पाइन्छ कि उक्त बयानले यस प्रबन्धको कुनै पनि समयमा संसार इसाई बन्न सक्ने सम्भावनालाई कुनै ठाउँ दिँदैन  (मत्ती १३:३६-४३,४७-५०; मत्ती २५:१-१०; १ तिमोथी ४:१; २ तिमोथी ३:१-९; ४:३,४; २ पत्रुस ३:३,४; यहूदा १७-१९)।

(३) वर्तमान प्रबन्ध अन्तर्गत परमेश्वरको उद्देश्य संसारको धर्म-परिवर्तन (conversion) होइन, बरु “अन्यजातिहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई” हो। यस कुरापछि उहाँ फर्कनुहुनेछ अनि तब मात्र, यसभन्दा अघि होइन, संसार परिवर्तित हुनेछ। हेर्नुहोस्, प्रेरित १५:१४-१७; मत्ती २४:१४ (“साक्षी हुनालाई”); रोमी १:५ (सबै जातिहरू “बाट” होइन सबै जातिहरूका “बीचमा”); रोमी ११:१४ (“सबैलाई” होइन “कतिलाई”); १ कोरिन्थी ९:२२; प्रकाश ५:९ (“हरेक जाति” होइन “हरेक जातिबाट”)।

(४) ख्रीष्टको दोस्रो आगमनको दिन आउन अझै हजार वर्षभन्दा बढी समय बाँकी नै छ भने त त्यसको निम्ति “जागो” रहनुपर्छ र उक्त आगमनको “बाटो हेर्दै” जिउनुपर्छ भन्नु अर्थहीन हुन्छ।

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)






निन्दा चर्चा गर्नु भनेको के हो?

निन्दा चर्चा गर्नु भनेको के हो?

डेविड क्लाउड

निन्दा चर्चा एउटा भयानक खराबी हो र पतित मानव हृदयको भ्रष्टताको कारण यो एउटा ठूलो समस्या हो। पुरानो आदमीय स्वभाव यस्तो छ कि ऊ अर्काको निन्दो चर्चो सुन्न र फैलाउन मन पराउँछ। निन्दा चर्चा भन्ने कुरा “बूढी स्त्रीहरू” ले मात्र गर्छन् भन्ने छैन। भन्नु पर्दा, यो त स्वतन्त्र ब्याप्टिष्ट प्रचारकहरूका बीच एउटा ठूलो समस्या हो। म कहिलेकाहिँ आश्चर्यचकित भएको छु – पास्टरहरू र प्रचारकहरूले निन्दा चर्चा फैलाएका देखेर, र प्रभुको सामु मैले स्वीकार गर्नैपर्छ कि मेरो जीवनमा मैले पनि केही निन्दा चर्चा गरेको छु।

 

बाइबलमा निन्दा चर्चाको धारणालाई “चुक्ली हाल्नु”, “अर्काको काममा हात हाल्नु”, “निन्दा”, “कुराबोकुवा”, र “बकबक गर्नेहरू” भन्ने शब्दहरूले बयान गरिएको पाइन्छ। परमेश्वरका जनहरूले सचेत भई आफूहरूलाई यी पापहरूदेखि जोगाइराख्नुपर्छ। निन्दा चर्चा अत्यन्तै हानिकारक कुरा हो। निन्दा चर्चाले वास्तवमा एउटा प्रचारकको प्रभावकारितालाई नष्ट पार्न सक्छ र एउटा सिङ्गो मण्डलीलाई भताभुङ्ग पार्न सक्छ।

निन्दा चर्चा भनेको के होइन

तरैपनि एउटा महत्त्वपूर्ण कुरा के छ भने, निन्दा चर्चा र अन्य न्यायोचित अभ्यासका बीच भिन्नता राखिनुपर्छ, जस्तै:

उचित व्यक्तिहरूसित ईश्वरीय उद्देश्यका निम्ति सत्य कुरा बोल्नु निन्दा चर्चा होइन

त्यस्ता व्यक्तिहरूसित सत्यपूर्ण कुराहरू बाँड्नु गलत होइन जोहरूलाई त्यस किसिमका जनाकारी प्राप्त गर्ने अधिकार छ।

उदाहरणको लागि, क्लोएका घरानाले पावललाई कोरिन्थको मण्डलीका समस्याहरू बताउनु निन्दा चर्चा थिएन (१ कोरिन्थी १:११)। उक्त मण्डलीका संस्थापकका हैसियतले ती समस्याहरूको बारेमा जान्न पाउनु पावलको अधिकारभित्र पर्ने कुरा थियो। मण्डली सदस्यहरूका जीवनहरूको बारेमा एकजना पास्टरसित वा बाल सङ्गति शिक्षक/शिक्षिकासित वा डिकनसित कुरा गर्नु कुराबोकुवा बन्नु होइन जब ती कुराहरूको जानकारी हुनु उनीहरूलाई खाँचो छ। कुनै बाबु वा आमासित उनीहरूका छोराछोरीहरूलाई असर पार्ने विषयहरूमा कुरा गर्नु कुराबोकुवा बन्नु होइन।

क्रेटीहरूको राष्ट्रिय चरित्र कमसल छ भन्ने कुरा जनाउँदै त्यसको बयान गर्दा “सधैं झूट बोल्ने, दुष्ट पशु, अल्छे घिचुवा” (तीतस १:१२) जस्ता कडा शब्दावली प्रयोग गरीकन पावलले तिमोथीलाई सम्झना गराउँदा उनले निन्दा चर्चा गर्ने वा बदनामी फैलाउने काम गरेका होइनन्। जुन कुरा पावलले क्रेटीहरूको बारेमा बताए (उनीहरूकै एकजना कविलाई उद्दृत गर्दै), त्यो साँचो थियो, अनि उसको मनसाय उनीहरूलाई चोट पुर्‍याउनु थिएन तर उनीहरूलाई सहायता गर्नु थियो (“तिनीहरू विश्वासमा पक्का होऊन्”, १३ पद) र साथै क्रेटमा येशू ख्रीष्टको कामलाई अघि बढाउनु थियो।

एउटा ख्रीष्टियनले अर्को व्यक्तिलाई कुनै मण्डलीमा वा संस्थामा भएको कुनै गम्भीर समस्याको बारेमा चेतावनी दिनु गलत होइन, यदि उसलाई दिइएको जानकारी सत्य हो र मनसायचाहिँ कसैलाइ चोट पुर्‍याउनु नभईकन बरु सहायता गर्नु र चेतावनी दिनु हो भने। धेरैपटक मैले मानिसहरूलाई केही मण्डलीहरूको बारेमा र तिनमा भएका गम्भीर समस्याहरूको बारेमा चेतावनी दिएको छु। मैल यो काम व्यक्तिगत रूपमा र सार्वजनिक रूपमा गरेको छु। यो निन्दा चर्चा होइन र यो बदनाम गर्ने काम होइन।

परमेश्वरको महिमाको लागि सत्य बोल्नु निन्दा चर्चा होइन।

प्रचारकको शिक्षामा प्रश्न उठाउनु निन्दा चर्चा होइन

साथै पास्टरले दिएको शिक्षालाई पवित्र शास्त्रले जाँच्नु र नम्रतापूर्वक र ईश्वरीय ढङ्गले निजको सम्बन्धमा प्रश्न उठाउनु गलत होइन। वास्तवमा, परमेश्वरका सामु त्यसो गर्नु हाम्रो जिम्मेवारी नै हो। त्यो निन्दा चर्चा होइन र त्यो गलत छैन। निश्चय पनि, मैले आफ्‍नो आत्मा वा मनोभावको सधैं रखवाली गर्नुपर्छ ताकि म तीतो नबनूँ र खराब मनोभाव विकास नगरूँ र मण्डली सदस्यहरूका बीच वा जनसमाजमा पास्टरलाई चोट पुर्‍याउने उद्देश्यले कुराहरू फैलाउने काम नगरूँ।

साथै यस्ता कुराहरूमा आफू बुद्धिमानी हुनु जरुरत छ। जस्तै, कुनै कथित त्रुटी वा समस्याको बारेमा कुनै पास्टरको सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठाउनु साधारणतया बुद्धिमानी वा जायज होइन। यस्तो कुरा व्यक्तिगत रूपमा व्यवहार गरिनु सर्वोत्तम हुन्छ, कम्तीमा पनि सुरुमा। त्यसो भए तापनि, अन्ततः पास्टरको शिक्षामाथि प्रश्न उठाउनु गलत होइन।

“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)।

“सबै कुरा जाँच; जुन कुरा असल छ, त्यसलाई बलियो गरी समातिराख” (१ थेस्सलोनिकी ५:२१)।

“अनि भविष्यवक्ताहरूचाहिँ दुई वा तीनजना बोलून्, र अरूले जाँचून्” (१ कोरिन्थी १४:२९)।

पास्टरहरूलाई धेरै अधिकार छ, तर उनीहरू पोप होइनन् अनि उनीहरूको पछि अन्धो भएर लाग्नुहुँदैन। उनीहरूको अधिकार भनेको परमेश्वरको वचन हो, अनि उनीहरू यदि त्यसदेखि दयाँबायाँ लाग्छन् भने उनीहरूको कुनै अधिकार हुँदैन र उनीहरूको भूलदोष सुधारिनुपर्छ।

तैपनि धेरैजना ईश्वरीय ख्रीष्टियनहरूलाई त्यतिबेला निन्दक वा समस्या सृजना गर्ने व्यक्ति भनेर कलङ्क लगाइने गरिन्छ जतिबेला उनीहरूले प्रचारकले सिकाएको कुरामाथि प्रश्न उठाउने प्रयास गर्छन्। अति नै धेरै पास्टरहरूले मण्डली सदस्यहरूलाई आफ्‍नो हातमा लिन र आफूले गरेको कामकुरामाथि प्रश्न उठाउन खोज्नेहरूलाई निरुत्साहित पार्न “निन्दा चर्चा” भन्ने धारणाको दुरुपयोग गरेका छन्। यो ठीक होइन र यसले स्वस्थ नयाँ नियम माण्डलिक वातावरणको सृजना गर्दैन। पास्टरले यो यादमा राख्नुपर्छ कि निजले परमेश्वरका जनहरूमाथि आफ्‍नो प्रभुत्व लाद्नुहुँदैन। “परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन” (१ पत्रुस ५:३)। यस खण्ड अनुसार पास्टरले आफ्‍नो हक चलाउन भन्दा आफू बगालका निम्ति एउटा ईश्वरीय नमुना बन्न बढी चिन्तनशील हुनुपर्छ।

यसको माने मण्डलीका अरू सदस्यहरूको भन्दा पास्टरको बढी अधिकार हुँदैन भन्ने होइन। ऊसित अधिकार हुन्छ (हिब्रू १३:७,१७)। यहाँ हाम्रो चर्चाको विषय भनेको अधिकारको दुरुपयोगको हो। आजका कुनै पनि पास्टरसँगभन्दा बढी अधिकार भएका पावल प्रेरितले धरि यसरी भने, “तिमीहरूको विश्वासमाथि हामी राज्य गर्ने होइनौं, तर तिमीहरूका आनन्दका सहायकहरू हौं; किनकि विश्वासद्वारा नै तिमीहरू खडा हुन्छौ” (२ कोरिन्थी १:२४)।

पाप र भूलदोषको बारेमा चेतावनी दिनु निन्दा चर्चा होइन

झूटा शिक्षकहरूलाई औंल्याउनु र सत्यलाई सम्झौता गर्नेहरूको बारेमा चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। पावलले झूटा शिक्षकहरू र सत्यलाई सम्झौता गर्नेहरूको सम्बन्धमा तिनका नामै तोकेर १ र २ तिमोथीमा मात्र कम्तीमा पनि १० पटक चेतावनी दिए। कुनै मण्डली अगुवाले सार्वजनिक रूपमा गलत कुरा सिकाउँछ भने, परमेश्वरका जनहरूले त्यसको बारेमा सार्वजनिक रूपमै चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। मैले बिल्ली ग्राहाम वा जेरी फलवेल वा जेम्स डब्सन जस्ताको नाम तोकेर तिनका गलतीहरूको बारेमा चेतावनी दिँदा मलाई धेरैपटक बदनामी वा अर्काको काममा हात हाल्ने भनेर दोष्याइएको छ। तर मैले त्यसो गर्नु निन्दा होइन। परमेश्वरको वचनबाट बाटो बिराउनेहरूलाई चिन्नु र औंल्याउनु मेरो अधिकार छ र प्रचारकको हैसियतले मेरो जिम्मेवारी छ। त्यसो गर्नलाई मैले उनीहरूको अनुमति लिनुपर्दैन, अनि म पहिले उनीहरूकहाँ जानुपर्दैन। उनीहरूको गलती सार्वजनिक र दोहोरिने खालको छ भने, मेरो जिम्मेवारी भनेको उनीहरूको बारेमा सार्वजनिक रूपमा चेतावनी दिनु हो, ठीक जसरी पावलले हुमेनियस र अलेक्जान्डरको बारेमा (१ तिमोथी १:२०), फुगेल्लस र हर्मोगेनेसको बारेमा (२ तिमोथी १:१५), हुमेनियस र फिलेटसको बारेमा (२ तिमोथी २:१७), डेमासको बारेमा (२ तिमोथी ४:१०) र तमौटे अलेक्जान्डरको बारेमा (२ तिमोथी ४:१४-१५) चेतावनी दिए। पावलले यो कुरा ती पत्रहरूमा गरे जुन पत्रहरू सबै मण्डलीहरूमा प्रसारित गरिनका निम्ति उनले लेखेका थिए।

बदनामी गर्नु भनेको कसैलाई चोट पुर्‍याउने मनसायले उसको बारेमा आधारहीन, असत्य हल्ला फैलाउनु हो।

एकअर्कालाई अर्ती दिनु निन्दा चर्चा होइन

“तर जबसम्म ‘आज’ भनिन्छ, तबसम्म दिनहुँ एक-अर्कालाई अर्ती देओ, र पापको छलद्वारा तिमीहरूमध्ये कोही कठोर नबनोस्” (हिब्रू ३:१३)।

“अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं; र कसै‍-कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोडौं; तर एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं” (हिब्रू १०:२४-२५)।

ख्रीष्टियनहरू एक-अर्कालाई अर्ती दिन जिम्मेवार छन्। यसको माने एक-अर्कामाथि निगरानी राख्नुपर्छ र एक-अर्कालाई त्यस्ता कुराहरूको बारेमा अर्ती दिनुपर्छ जुन कुराले ख्रीष्टसितको हाम्रो हिँडाइलाई असर पार्न सक्छ। यस्तो सेवाको कामलाई निन्दा चर्चासित जोड्नुहुँदैन।

तर कतिपय मण्डलीहरूमा ठ्याक्कै यस्तै हुने गर्छ। यदि कुनै परिपक्क्व मण्डली सदस्यले अरू मण्डली सदस्यहरूलाई अर्ती दिन वा सुधार्न खोज्यो भने, उसलाई निन्दा फैलाउने वा समस्या ल्याउने व्यक्ति भनेर कलङ्कित पारिन्छ।

अरूलाई अर्ती दिन परिपक्क्वता र ईश्वरीयता अथवा भक्तिपूर्ण जीवन चाहिन्छ।

“अनि हे मेरा भाइहरूहो, तिमीहरूको विषयमा म पूरा निश्चित भएको छु, कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ, सबै ज्ञानले भरिएका छौ, एक-अर्कालाई चेताउनी दिन सक्ने पनि भएका छौ” (रोमी १५:१४)।

तर अर्ती चेतावनी दिने काम परिपक्क्व मण्डली सदस्यहरूले गर्ने न्यायसङ्गत काम हो। यो केवल पास्टरलाई मात्र गर्न दिइएको काम होइन।

मण्डलीका उमेरदार स्त्रीहरूले तरूणी स्त्रीहरूलाई कसरी सिकाउनुपर्छ र अर्ती दिनुपर्छ भन्ने कुरा तीतस २:३-५ ले बयान गरेको छ। तर मैले यस्ता मण्डलीहरू चिनेको छु जहाँ भक्तिपूर्वक जिउने उमेरदार स्त्रीहरूले यो सेवाको काम आत्मिक र शास्त्रसम्मत तरिकाले गर्न खोज्दा उनीहरूमाथि समस्या आइपर्न गयो। उनीहरूलाई यस्तो भनियो कि तरूणी स्त्रीहरूलाई सुधार्ने र चेलापनमा हुर्काउने काम केवल पास्टरको मात्र काम हो, तर बाइबलले त त्यसो भन्दैन। अरूहरूलाई सुधार्ने सेवाको एउटा यस्तो काम छ जसमा परिपक्क्व मण्डली सदस्यहरू सरीक हुनुपर्छ।

एउटा मण्डलीमा घटेको घटना म यहाँ स्मरण गर्दछु। एकजना जवान पुरुषलाई मण्डलीका केही परिपक्क्व सदस्यहरूले उसलाई उसको जागिर छोड्नुपर्छ भनेर सम्झाए किनकि उनी एक सांसारिक फिलिम हलमा काम गर्दैथिए र त्यो काम उसकै आत्मिक उन्नतिको लागि हानिकारक हुनुको साथसाथै मण्डलीका अरू जवान व्यक्तिहरू पनि उसको नमुनाले प्रभावित हुँदैथिए। जब उनले यस सल्लाहलाई पछ्याउन इन्कार गरे र आवेगमा आएर मण्डली छाडेर हिँडे, तब परमेश्वरको वचनबाट उसलाई सम्झाउनेहरूलाई समस्या ल्याउनेहरू भनेर कलङ्कित गरियो। वास्तवमा, उनीहरूले चेतावनी दिएर न्यायोचित बाइबलीय सेवाको अभ्यास गर्दैथिए।

निन्दा चर्चाको पाप र चेतावनीको सेवकाइका बीच भिन्नता कायम राख्नलाई ध्यान हुनुपर्छ।

निन्दा चर्चा यो हो

निन्दा चर्चा गर्नु भनेको कुराबोकुवा भएर घुमिहिँड्नु हो (लेवी १९:१६; हितोपदेश ११:१३; १८:८; २०:१९; २६:२०-२२)

निन्दा चर्चा गर्नु भनेको जिब्रोले बदनामी गर्नु हो (भजनसङ्ग्रह १५:३), जसको माने अरूहरूसित कसैको जीवनको व्यक्तिगत विवरणहरूको बारेमा उसलाई हानि गर्ने उद्देश्यले कुरा गर्नु हो।

निन्दा चर्चा गर्नु भनेको बदनामी फैलाउनु हो (गन्ती १४:३६,२७; २ शमूएल १९:२७; हितोपदेश १०:१८; यर्मिया ९:४-६; रोमी ३:८), जसको माने कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा झूटा कुराहरू बोल्नु हो। कुनै कुरा बदनामी फैलाउने कुरा हो भने त्यसमा झूट हुन्छ र चोट पुर्‍याउने उद्देश्य हुन्छ। कुनै पास्टरको पारपाचुके भएको छ भनेर कसैलाई भन्नु निन्दा चर्चा होइन यदि उक्त कुरा सत्य हो भने, तर उक्त पास्टरको पारपाचुके नभएको भए तापनि भएको छ भनेर भन्नु चाहिँ निन्दा चर्चा हो र बदनामी फैलाउनु हो। कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा हल्ला फैलाउनु दुष्ट निन्दा चर्चा गर्नु हो। हामीले कसैबाट सुनेका कुरालाई अर्को व्यक्ति वा व्यक्तिहरूलाई फैलाउनदेखि हामी अत्यन्तै होशियार हुनुपर्छ। कुनै कुरा सत्य हो या होइन भन्ने कुरामा यदि त्यहाँ कुनै प्रश्न छ भने, उक्त कुराको जानकारी भएको व्यक्तिबाट सो कुरा हो कि होइन भनेर प्रमाणित गर्नु अनिवार्य हुन्छ।

निन्दा चर्चा गर्नु भनेको अर्काको काममा हात हाल्नु हो (२ थेस्सलोनिकी ३:११; १ तिमोथी ५:१३; १ पत्रुस ४:१५), जसको माने आफू संलग्न हुनुपर्ने त्यहाँ कुनै न्यायोचित कारणै बिना अर्काको कामकुरामा मुछिन जानु वा हात हाल्नु हो।

यो लेख www.wayoflife.org वेबसाइटको मौलिक रचना What is Gossip? को नेपाली रुपान्तरण हो। यसलाई लेखकको अनुमतिले यहाँ प्रकाशित गरिएको छ।

“ख्रीष्‍टमा” हुनु भनेको के हो?

“ख्रीष्‍टमा” हुनु भनेको के हो?

जर्ज जेलर

    1. मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छ: १) जोहरू ख्रीष्‍टबाहिर छन् (कलस्सी ४:५; १ थेस्सलोनिकी ४:१२); २) जोहरू “ख्रीष्‍टमा” छन् (२ कोरिन्थी ५:१७; रोमी ८:१)।
    2. पहिलो जन्मले मान्छे “आदममा” हुन्छ (१ कोरिन्थी १५:२२) र पुरानो सृष्‍टिसित आवद्ध हुन्छ जुनचाहिँ आदममा मानिसको पतनले बिगारिएको थियो। दोस्रो जन्मले (यूहन्ना ३) मान्छे “ख्रीष्‍टमा” हुन्छ (१ कोरिन्थी १५:२२) र नयाँ सृष्‍टिसित आवद्ध हुन्छ (२ कोरिन्थी ५:१७) जुनचाहिँ ख्रीष्‍टद्वारा बचाइएको थियो।
    3. चाबी खण्डहरू: १) २ कोरिन्थी ५:१७ — मेरो नयाँ ओहोदा; २) एफेसी १:३ — मेरा आत्मिक आशिषहरू; ३) १ कोरिन्थी १:५ — मेरो प्रशस्त सम्पत्ति
    4. म कसरी “ख्रीष्‍टमा” हुन गएँ? यो मलाई कसरी हुन गयो? मानिसको जिम्मेवारी ‍= विश्वास (गलाती ३:२६) परमेश्वरको जिम्मेवारी ‍= बप्‍तिस्मा (गलाती ३:२७)। जब म बचाइएँ, परमेश्वरले मलाई येशू ख्रीष्‍टभित्र डुबाउनुभयो!
    5. म को हुँ? म के हुँ?
      ख्रीष्‍टमा
      • म एक नयाँ सृष्‍टि हुँ — २ कोरिन्थी ५:१७; दाँज्नुहोस् गलाती ५:६; ६:१५; एफेसी २:१०
      • म एक पवित्र जन हुँ — १ कोरिन्थी १:२
      • म उहाँको मण्डलीको एउटा भाग हुँ — एफेसी २:२१-२२
      • म परमेश्वरका आत्माको निम्ति एक मन्दिर हुँ — एफेसी २:२२
      • म परमेश्वरको अनन्त योजनाभित्र पर्छु — एफेसी १:४; २ तिमोथी १:९
      • म पूर्ण छु (ख्रीष्‍टको परिपूर्णताले पूरै भरपूर) — कलस्सी २:९; दाँज्नुहोस् कलस्सी १:१९)
      • म धनवान् बनाइएको छु — १ कोरिन्थी १:५
      • म ग्रहणयोग्य बनाइएको छु (परमेश्वरको अनुग्रह ममाथि खन्याइएको छ) — एफेसी १:६
      • म ज्योति हुँ — एफेसी ५:८
      • म परमेश्वरको प्रेमभित्र सुरक्षित छु — रोमी ८:३८-३९
      • म दृढ पारिएको, जरा हालिएको र निर्माण गरिएको छु — २ कोरिन्थी १:२१; कलस्सी २:७
      • म खतना गरिएको छु — कलस्सी २:११
      • म परमेश्वरको हृदयको नजिक छु — एफेसी २:१३

      यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
      विश्वासैद्वारा मैले यी कुराहरू यस्तै हुन् भनेर दाबी गर्नुपर्छ! मैले आफूलाई परमेश्वरले जस्तै देख्‍नुपर्छ!

 

    1. मसित के छ? मेरा सम्पत्ति के हुन्?
      ख्रीष्‍टमा…
      • मसित हरेक आत्मिक आशिषहरू छन् — एफेसी १:३
      • मसँग अनन्त जीवन छ (परमेश्वरसित अनन्त सम्बन्ध) — १ यूहन्ना ५:११; रोमी ६:२३; १ कोरिन्थी १५:२२
      • मसित महिमापूर्ण मुक्ति छ — २ तिमोथी २:१०
      • मसित धनाढ्य पैत्रिक सम्पत्ति छ — एफेसी १:४; हेर्नू: १ पत्रुस १:४; रोमी ८:१७
      • मसित एउटा महिमापूर्ण भविष्य छ — एफेसी १:४-५
      • मसित एउटा स्वर्गीय ओहोदा वा स्थान छ (बसालिएको) — एफेसी २:६
      • मसित एउटा उच्च बोलावट छ — फिलिप्पी ३:१४
      • मसित अनन्त महिमाको आशा छ — १ पत्रुस ५:१०
      • मसित परमेश्वरको सिद्ध धार्मिकता छ — २ कोरिन्थी ५:२१; १ कोरिन्थी १:३०; १ कोरिन्थी ६:११
      • मसित पवित्रता छ — १ कोरिन्थी १:२; १:३०; ६:११
      • मसित परमेश्वरको बुद्धि छ — १ कोरिन्थी १:३०; हेर्नू: कलस्सी २:३ र १ कोरिन्थी २:१६
      • मसित उद्धार छ (बन्धनबाट छुटकारा) — एफेसी १:७; कलस्सी १:१४; रोमी ३:२४; १ कोरिन्थी १:३०
      • मसित सुरक्षा छ — रोमी ८:१
      • मसित सम्पूर्ण पापको क्षमा छ — एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी ६:११ (“धोइएका”)

      यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
      विश्वासैद्वारा मैले आफ्ना सम्पत्तिहरूलाई अपनाउनुपर्छ र आफ्ना धनहरूको उपभोग गर्नुपर्छ!

 

  1. व्यावहारिक पक्षहरू
    ख्रीष्टमा…
    • म हिँड्छु र जिउँदछु — कलस्सी २:६
    • म स्थिर रहँदछु — फिलिप्पी ४:१
    • म सधैं विजय पाउँदछु — २ कोरिन्थी २:१४
    • म फलदायी हुँदछु — १ कोरिन्थी १५:५८; एफेसी २:१०
    • म सबै कुरा गर्न सक्छु — फिलिप्पी ४:१३
    • म परमेश्वरको नजिक जान सक्दछु ‍‍– एफेसी २:१३,१८
    • म आफ्ना सबै खाँचोहरू पूरा भएको पाउँछु — फिलिप्पी ४:१९
    • म सधैं आनन्द गर्न सक्छु — फिलिप्पी ४:४; १ पत्रुस १:८
    • म शुद्ध पार्ने आशा पाउँछु — १ यूहन्ना ३:३
    • म बलियो छु — २ तिमोथी २:१; एफेसी ६:१०
    • म विश्वासयोग्य छु — एफेसी १:१
    • मसँग विश्वास र प्रेम छ — १ तिमोथी १:१३
    • म परिपक्क्व बन्न सक्छु — कलस्सी १:२८

    यी तथ्यहरूको कारण मेरो जिम्मेवारी:
    विश्वासैद्वारा म यसरी नै हिँडूँ र जीवन बिताऊँ (कलस्सी २:७)!

येशूको प्रार्थनाको जीवन

येशूको प्रार्थनाको जीवन

आइभान फ्रेन्च

प्रार्थना भन्ने विषयवस्तुको अध्ययन गर्ने हो भने हामीले येशूको अभ्यास र शिक्षालाई अवलोकन गर्नु अत्यन्तै जायज देखिन्छ; किनकि —

पहिलो, उहाँले जुन विषयलाई छुनुहुन्छ, उहाँ त्यसको सर्वोत्कृष्ट शिक्षक ठहरिनुहुन्छ। प्रार्थनाको विषयमा उहाँका भन्ने कुरा धेरै छन्।

दोस्रो, उहाँ हरेक विश्वासीका लागि नमुना हुनुहुन्छ। यदि हामी थोरबहूत गम्भीरतामा उहाँको अनुसरण गर्न चाहन्छौं भने, हामीले उहाँको प्रार्थनाको निरन्तर तथा नियमित अभ्यासलाई अवलोकन गर्नैपर्ने हुन्छ।

तेस्रो, पवित्र जीवनको जड नै ख्रीष्टस्वरूप (Christlikeness) अर्थात् ख्रीष्टजस्तै बनिँदैजानु हो (१ यूहन्ना २:६; रोमी ८:२८,२९)। कुनै पनि ख्रीष्टियनलाई ख्रीष्टस्वरूपमा अघि बढेको मान्न सकिन्न जसले आफ्नो जीवनमा प्रार्थनालाई प्रशस्त ठाउँ दिँदैन।

आफ्नो सेवाकार्यको अवधिभित्र येशूले पन्ध्र पटक प्रार्थना गर्नुभएको कुरा सुसमाचारीय पुस्तकहरूमा उल्लेखित छ। प्रत्येकलाई हामी संक्षेपमा हेरौं।

१) उहाँको बप्तिस्मामा (लूका ३:२१)

  1. प्रार्थनामा पर्खँदै गर्नुहुँदा नै उहाँले पवित्र आत्माको अभिषेक प्राप्‍त गर्नुभएको। हेर्नू: यशैया ४२:१; यशैया ६१:१; प्रेरित १०:३८; मत्ती १२:२८।
  2. येशूको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण घडी थियो। उहाँ नासरतको आफ्नो दुर्बोध र अपरिचित घरबाट निस्केर सामर्थ्यका वचन र कार्यले रङ्गिने आफ्नो मसीह-सेवाकार्यमा उत्रन लाग्दै हुनुहुन्थ्यो। त्यसैले उहाँले प्रार्थना गर्नुभयो।
  3. एउटा साङ्केतिक घटना, हेर्नू: प्रेरित ४:२३-३३ (विशेष गरी पद ३१)। प्रार्थनाले सामर्थ्यलाई जन्माउँछ !

२) कपर्नहुममा व्यस्त हुनुभएको एउटा दिनको लगत्तैपछि (मर्कूस १:३५; लूका ४:४२)

  1. त्यस दिन शहरमा उहाँले सभाघरको सेवामा सिकाउने काम गर्नुभएको थियो, त्यहाँ उहाँलाई एकजना दुष्टात्मा लागेको मान्छेले बीचैमा अवरोध दिएको थियो, त्यसलाई उहाँले निको पार्नुभयो, पछि पत्रुसकी सासुलाई निको पार्नुभयो, र रोगी र दुष्टात्मा लागेका थुप्रैसित उहाँ व्यस्त हुनुभयो।
  2. तर भोलिपल्ट बिहान अबेरसम्म सुत्‍नुको सट्टा उहाँ प्रार्थना गर्नालाई सबैरै उठ्नुभयो।
  3. चेलाहरूले उहाँलाई भेट्टाए र एउटा विशाल भीड उहाँसित भेट्नलाई पर्खिरहेको छ भनेर जब उहाँलाई बताइयो, उहाँ अझ अरू गाउँ तथा शहरहरूमा पनि जानुपर्छ भनेर जवाफ दिनुभयो।
  4. यहाँ हामीले सिक्नुपर्ने पाठहरू छन्:
    1. दिन जति व्यस्त हुन्छ, प्रार्थनाको त्यति नै बढी खाँचो हुन्छ।
    2. हामीले प्रार्थनाको शान्त स्थानमा नै त्यस दिनका लागि “स्वर्गीय हुकुमहरू” प्राप्‍त गर्न सक्छौं।
    3. प्रार्थनाले दर्शन वा दृष्टिलाई निर्मल पार्छ, कर्तव्यलाई परिभाषित गर्छ, आत्मालाई मृदु बनाउँछ, अठोटलाई प्रबल बनाउँछ।

३) भीडको ठेलमठेलमा (लूका ५:१६)

  1. “अनि उहाँ सुनसान ठाउँहरूमा जानुहुन्थ्यो, र प्रार्थना गर्नुहुन्थ्यो।”
  2. यो वाक्यरचनाले उहाँका व्यस्त दिनहरू कस्तो किसिमको आदतले भिजेको थियो भन्ने सङ्केत दिन्छ।
  3. मानिसको भीड लाग्दा प्रार्थना गर्ने अवसर कम हुन्थ्यो तर त्यसको आवश्यकता झन् बढी हुन्थ्यो त्यसैले मौका पाउने बित्तिकै उहाँ भीडबाट अन्यत्र जानुभई प्रार्थनामा समय बिताउनुहुन्थ्यो।
  4. हाम्रो जीवनमा बाहिरबाट जति चापाचाप आइपर्छ त्यति नै बढी प्रार्थनाको समय नछोट्टिनका लागि डाही बनी सचेत रहनुपर्छ। प्रार्थना निराशाको विरुद्धमा सुरक्षा हो।

४) बाह्रजनालाई चुन्नुअगाडि (लूका ६:१२)

  1. “ती दिनहरूमा…” ती दिनहरू यस्ता थिए:
    1. भीडहरूका बीच लोकप्रियता
    2. फरिसीहरूको बढ्दो दुश्मनी
    3. उहाँको विशाल आत्मिक भवन अर्थात् मण्डलीको जग-ढुङ्गा हुनलाई चुन्ने काम (हेर्नू: एफेसी २:२०; प्रकाश २१:१४; मत्ती १६:१८)।
  2. रातभरि प्रार्थनामा जागो रहँदाको सुनसानमा परमेश्वर पिताले येशूलाई बाह्रजना “दिनुभयो” (हेर्नू: यूहन्ना १७:६,९,११,१२)।
  3. हामीले सिक्नुपर्ने पाठहरू:
    1. महत्त्वपूर्ण निर्णयहरू गर्नु अगाडि धेरै प्रार्थना गर्नुपर्छ।
    2. प्रार्थना गर्दा परमेश्वरसित सङ्गति पनि गरिन्छ। येशूले त्यत्रो समय माग्ने काम मात्र गरिरहनुभएको थियो भन्ने कुरो अकल्पनीय छ।
    3. येशू ख्रीष्टको हरेक साँचो स्थानीय मण्डलीले पदाधिकारीहरू चुन्ने, पास्टर नियुक्त गर्ने जस्ता काम गर्नुपर्दा यो नमुनालाई पछ्यानुपर्छ। काम गर्नु अगाडि सधैं लामो समयहरू प्रार्थनामा बिताइनुपर्छ।

५) पाँच हजारलाई खुवाउनुभएपछि र पहिलाकै परीक्षाको फेरि सामना गर्नुपर्दा (मत्ती १४:२२,२३; मर्कूस ६:४५,४६; यूहन्ना ६:१५)

  1. पहाडमाथि यस रात के भएको थियो राम्ररी ध्यान दिनुहोस्:
    1. उहाँले बप्तिस्मा दिने यूहन्नाको मृत्यु भयो भन्ने खबर पाउनुभयो — एक भावनामय घडी (मत्ती १४:१२)
    2. एकलै हुन र आराम लिन उहाँ तलाउको उत्तर-पूर्वी तटमा जानुभयो तर भीड उहाँको पछिपछि आयो (मत्ती १४:१३)।
    3. उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो (मर्कूस ६:३४) र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो (मत्ती १४:१४) – यसरी नै बाँकी दिन बिताउनुभयो र त्यसपछि वृद्धिको एउटा सामर्थी आश्चर्यकर्मद्वारा सारा जमातलाई खुवाउनुभयो।
    4. उहाँका उदेकलाग्दा आश्चर्यकर्मले उत्तेजित भएर उनीहरू उहाँलाई आफ्नो राजा बनाउन खोज्दछन् (यूहन्ना ६:१५)।
    5. उहाँले आफ्ना चेलाहरूलाई तलाउपारि पठाउनुभयो र प्रार्थना गर्नालाई पहाडको एकान्तमा जानुभयो (मत्ती १४:२३)।
  2. उहाँले के प्रार्थना गर्नुभयो हामीले अड्कल मात्र लाउन सक्छौं। यसो हेर्दा त्यसमा निम्न कुरा समावेश भए होलान्: परीक्षाबाटको छुटकाराको लागि धन्यवाद, शारीरिक र मानसिक नवीकरणका लागि विन्ती, र तलाउमा यात्रा गरिरहेका त्रसित चेलाहरूको विश्वासलाई हौसला दिन सक्नका लागि सामर्थ्य। (साथै उहाँले पानीमाथि-माथि हिँड्न र पत्रुसलाई पनि त्यसो गराउन सक्नलाई विशेष सामर्थ्य पनि प्राप्‍त गर्नुभएको थियो कि?)

६) सिजरिया फिलिप्पीमा (लूका ९:१८)

  1. यहाँ भएको कुनचाहिँ अनौठो अभिव्यक्तिले ध्यानलाई आकर्षण गर्दछ?
  2. अरूहरू उपस्थित हुँदा पनि उहाँलाई पितासित एक्लै हुन सम्भव गराउने आत्माको एकान्तताको अभ्यास गर्न उहाँ जान्नुहुन्थ्यो।
  3. “यी कतिपय आखिरी घटनाहरूले यस्तो सङ्केत दिएको जस्तो देखिन्छ कि उहाँले उनीहरू (बाह्रजना) लाई उहाँसितको त्यो गुप्त सामर्थ्यको आकर्षणका निम्ति उहाँ जस्तै तृषित बनाउन चाहनुभएको थियो” (गोर्डन, २२०)।

७) रूप परिवर्तन हुँदा (लूका ९:२९)

  1. प्रार्थना गरिरहनुहुँदा उहाँको रूप बदलियो।
  2. यसले कुनै कुराको सङ्केत दिँदैछ (हेर्नू: रोमी १२:२; २ कोरिन्थी ३:१८)। विश्वासीको जीवन विस्तारै विस्तारै रूपान्तरण हुने काममा प्रार्थनाको कुनै भूमिका छैन र?

८) सत्तरीजना फर्केर आएपछि (लूका १०:२०,२१)

  1. योचाहिँ एक किसिमको उद्‍गारको प्रार्थना (ejaculatory prayer) थियो अर्थात् एकाएक गरिएको प्रार्थना।
  2. यहाँ उहाँको हृदयको आनन्द प्रस्फुटित भएको देखिन्छ। उहाँ सधैं पिताको उपस्थितिको अनुभूति गर्नुहुन्थ्यो र उहाँसित बोल्नु उहाँको लागि एकदमै स्वाभाविक कुरो थियो।

९) जब उहाँको प्रार्थना गराइले चेलाहरूको इच्छालाई जगायो (लूका ११:१)

  1. निःसन्देह उनीहरू प्रार्थना गर्ने मानिस थिए, तर उनीहरूले येशूको प्रार्थना गराइमा यस्तो गुण भएको महसुस गरे कि उनीहरूलाई आफूहरू प्रार्थनाको बारेमा केही नजान्नेहरू रहेछौं भन्ने लाग्यो।
  2. “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्” भन्ने उनीहरूको अनुरोधले गर्दा प्रभुले “दृढतापूर्वक माग्ने छेमेकी” को दृष्टान्त बाट शिक्षा दिने मौका लिनुभयो।

१०) लाजरसलाई पुनर्जीवित पार्नुहुँदा (यूहन्ना ११:४१,४२)

  1. चिहान भएको ठाउँमा आइपुग्नु अगावै उहाँले एकलै प्रार्थना गर्दै हुनुहुन्थ्यो भन्ने कुराको यहाँ सङ्केत दिइएको छ र त्यहाँ हुन गएका घटनाहरू उहाँको प्रार्थनाकै जवाफस्वरूप घटेका हुन्।
  2. येशूको प्रार्थनाको जीवनका यी विभिन्न घटनाहरूलाई नियालेर हेर्दा उहाँले आफ्ना सामर्थ्यका कामहरू पवित्र आत्माको सामर्थ्यमा गर्नुभएको थियो भन्ने कुरा स्पष्ट हुन आउँछ जुन सामर्थ्य उहाँले प्रार्थनाद्वारा प्राप्‍त गर्नुहुन्थ्यो।

११) जब कोही ग्रीक खोजकर्ताहरू उहाँकहाँ ल्याइए (यूहन्ना १२:२७,२८)

  1. योचाहिँ उद्‍गारको प्रार्थना थियो – विश्वासी र अविश्वासी दुवैका बीचमा प्रस्फुटन भएको उहाँको गहीरो भावनाको अभिव्यक्ति।
  2. उहाँले पितासित राख्नुभएको मागले उहाँको वास्तविक मनुष्यत्वलाई झल्काएको छ। डरलाग्दो मृत्युको सम्भावना देखेर झस्किनु मनुष्य स्वभावका लागि पूर्णतयाः स्वाभाविक कुरा हो, पाप होइन।
  3. उहाँले आफूलाई तुरुन्तै पिताको अधीनतामा सुम्पनुभएको कुराले प्रार्थनाको अन्तिम लक्ष्य देखाउँदछ जुन हो परमेश्वरको महिमा।
  4. स्वर्गबाट आएको पिताको जवाफले प्रार्थनामा राखिएका मागहरूले साँच्ची नै वस्तुगत परिणामहरू ल्याउन सक्छन् भन्ने कुराको प्रमाण दिएको छ र त्यसलाई प्रकट गरेको छ।

१२) पत्रुसको निम्ति गरिएको उहाँको अन्तर्विन्ती (लूका २२:३१,३२)

  1. यहाँ उहाँको प्रार्थनाको आदतहरूमध्येको एउटा कुरा झल्केको पाइन्छ। उहाँले पत्रुसको निम्ति नाम लिएर प्रार्थना गरिरहनुभएको रहेछ। उहाँ अर्काका लागि अन्तर्विन्ती गर्ने गर्नुहुन्थ्यो।
  2. आज पनि बौरिउठ्नुभएका प्रभुको प्रार्थनाको सेवाकार्यको मुटु अन्तर्विन्ती हो (हेर्नू: हिब्रू ७:२५; रोमी ८:३४)।
  3. यस प्रार्थनाको जवाफ पक्कै पनि मिल्यो। त्यस रात पत्रुसको साहस टुटे तापनि उसको विश्वास भने टुटेन।

१३) उहाँको महापूजाहारीय प्रार्थना (यूहन्ना १७)

  1. वास्तवमा “प्रभुको प्रार्थना” यसलाई भन्न मिल्छ। उहाँको मृत्यु हुनु अगाडिको रातमा येशूले गर्नुभएको प्रार्थना हो यो। ठीक कुन ठाउँमा उहाँले यो प्रार्थना गर्नुभयो सो अनिश्चित छ तर त्यो यरुशलेम र गेतसेमनीको बीचको ठाउँ हुनुपर्छ भन्ने बुझिन्छ।
  2. यो प्रार्थनालाई तीन खण्डमा सजिलै विभाजन गर्न सकिन्छ: प्रभुले आफ्नो निम्ति, आफ्ना प्रेरितका निम्ति र आफ्नो भावी मण्डलीका निम्ति प्रार्थना गर्नुहुन्छ।
    1. ख्रीष्टले आफ्नो निम्ति गर्नुभएको प्रार्थना (पद १-५)
      1. विन्ती: “तपाईंको पुत्रको महिमा गर्नुहोस्…मेरो महिमा गर्नुहोस्” (पद १,५)
      2. उद्देश्य: “र तपाईंका पुत्रले पनि तपाईंको महिमा गरून्” (पद १)
      3. आधार: उहाँले पूरा गर्नुभएको कार्य (पद २-४)
    2. ख्रीष्टले आफ्ना प्रेरितका निम्ति गर्नुभएको प्रार्थना (पद ६-१९)
      1. विन्ती: “रक्षा गर्नुहोस्” (पद ११,१५), संसारका शत्रुदेखि, अर्थात् पाप र शैतानदेखि। “पवित्र पार्नुहोस्” (पद १७)। पवित्र पार्ने माध्यम परमेश्वरको वचन हो।
      2. उद्देश्य: एकता (पद ११) र आनन्द (पद १३)। (दाँज्नुहोस् यूहन्ना १५:११)
      3. आधार: परमेश्वरसितको सम्बन्ध (पद ६-८, १०) र संसारसितको सम्बन्ध (पद ११)। यसैको कारण उनीहरूलाई ईश्वरीय संरक्षणको खाँचो पर्छ (तुलना गर्नुहोस्: यूहन्ना १५:१८)
    3. ख्रीष्टले आफ्नो मण्डलीको लागि गर्नुभएको प्रार्थना (पद २०-२६)
      1. विन्ती: उनीहरू जीवनमा (पद २१) र वासस्थानमा (पद २४) एक होऊन्
      2. उद्देश्य: वर्तमान समयमा (पद २१,२३), “र…संसारले विश्वास गरोस्”; र भविष्यमा (पद २४) “र…मेरो महिमा तिनीहरूले देखून्”
      3. आधार: पितासितको ख्रीष्टको एकता (पद २१-२३) र ख्रीष्टको निम्ति पिताको प्रेम (पद २४,२५)
  3. सारांशमा, ख्रीष्टले तीनओटा कुराका लागि प्रार्थना गर्नुभयो: (१) आफ्नो महिमाकरणका लागि, (२) प्रेरितका संरक्षणका लागि र (३) सबै विश्वासीहरूलाई एक बनाइनका लागि

१४) गेत्समनीको बगैँचामा (मत्ती २६:३६-४६; मर्कूस १४:३२-४२; लूका २२:४०-४६)

  1. यूहन्ना १७ को प्रार्थनाको चरित्र शान्त छ भने गेत्समनीको तीव्र, किनकि पहिलोचाहिँ अन्तर्विन्तीको प्रार्थना थियो भने दोस्रोचाहिँ एकदमै व्यक्तिगत।
  2. त्यो “कचौरा” — अर्थात् भोलिपल्ट हुने पिताबाटको विपत्ती र विछोड — बाट उहाँ फेरि पनि झस्किनुभएकोबाट प्रभुको साँचो मनुष्यत्व झल्केको देखिन्छ।
  3. यस सङ्घर्षसित हामीले आफ्नै अनुभवलाई तुलना गर्नु खास असम्भवै छ किनकि यसमा ख्रीष्टका दुई स्वभावहरूका सारभूत एकता (hypostatic union) को भूमिका हुनु बाहेक हाम्रो निम्ति उहाँले सहनुभएको उहाँको कष्टको सवाल छ।
  4. तर आफ्नो गहिरो खाँचोको घडीमा उहाँले मानव सहचारिताको चाहना गर्नुभएको कुरामा ध्यान दिनुहोस्: “…तिमीहरू यहीं बस, र मसँग जागा रहो।” यहाँ हामी प्रार्थनाको सङ्गतिको चाहना देख्छौं।
  5. प्रार्थनामा ठूलो असफलता हुनुको पछाडीको कारण पनि यहाँ दिइएको छ: “…आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ।”
  6. साथै आफ्ना मानवीय भावनाहरू जस्तासुकै भए तापनि उहाँ पूर्णरूपमा पिताको इच्छामा सुम्पिनुभएको तथ्यलाई ध्यान दिनुहोस्: “…तरै पनि म जे इच्छा गर्छु त्यो होइन, तर तपाईं जे इच्छा गर्नुहुन्छ।”

१५) क्रूसबाट गर्नुभएका प्रार्थनाहरू (मत्ती २७:४६; मर्कूस १५:३४; लूका २३:३४,४६)

प्रभुले जसरी आफ्नो सेवाकार्य प्रार्थनाद्वारा सुरु गर्नुभयो (लूका ३:२१), उसरी नै अन्त पनि गर्नुभयो। क्रूसबाट बोल्नुभएका उहाँका सातओटा “वाक्यहरू” मध्येमा तीनओटा चाहिँ प्रार्थना थिए।निश्चय नै जीवनपर्यन्तका आदत मृत्युको घडीमा झल्कन्छन् नै।

  1. “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्” (लूका २३:३४)।
    1. यो एक अन्तर्विन्तीको प्रार्थना हो। उहाँका हातले अब परमेश्वरका काम गर्नु असम्भव थियो; उहाँका पाउ अब परमेश्वरका मार्गमा हिँड्नु असम्भव थियो; तर गर्न सकिने सेवाहरूमा सर्वोत्तमचाहिँ उहाँको लागि प्राप्य नै थियो जब उहाँ आफूलाई सताउनेहरूका लागि प्रार्थना गर्नुभयो।
    2. यहाँ हामी हाम्रा प्रार्थनाहरूका एउटा अत्यन्तै ठूलो लक्ष्यलाई हेरिरहेका छौं अर्थात् हामीलाई खराबी गर्नेहरू। हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र हामीलाई खराबी गर्नेहरूका लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई आज्ञा गरिएको छ (मत्ती ५:४४)। कतिपटक यो असम्भव जस्तै देखा पर्छ तर जसरी येशूले आफूलाई हत्या गरिरहेकाहरूका लागि प्रार्थना गर्नुभयो त्यसरी नै उनीहरूका लागि पनि हामीले प्रार्थना गर्ने अठोट गर्दा यो पहिलाभन्दा धेरै सजिलो हुन थाल्छ।
  2. “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मत्ती २७:४६; मर्कूस १५:३४)
    1. योचाहिँ हाम्रा पाप-हरणकर्ताको चित्कार थियो जब हाम्रा सबै पापहरू उहाँमाथि हालियो। यो व्यक्तिगत थियो, भयावह थियो, पीडादायी थियो र जान्नै नसकिने थियो।
    2. हाम्रो प्रार्थनाको जीवनका लागि महत्त्वपूर्ण कुरा के सिक्न सक्छौं? अवश्य नै यहाँ हामी पाप कति भयङ्कर थियो भन्ने देख्छौं र त्यसैले व्यक्ति क्षमा र शुद्धिकरणका लागि हामी पाप स्वीकार गर्न छिटो हुनुपर्छ।
  3. “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६)।
    1. प्रार्थना येशूको जीवनको आदत नै थियो। उहाँले “निरन्तर” प्रार्थना गर्नुभयो। अब उहाँले आफ्नो जीवन जसरी जिउनुहुन्थ्यो त्यसरी अन्त गर्नुभयो — पितासित शान्तमय सङ्गति गर्नुहुँदै।
    2. के हामी राम्रो तरिकामा मर्न चाहन्छौं? त्यसो भए हामी राम्ररी जिउनुपर्छ। र मृत्युको अनुभवलाई उचित किसिमले पार गराउने एउटै किसिमको जीवनचाहिँ प्रार्थनाको जीवन हो।

साभार:
Ivan H. French, The Principles and Practice of Prayer, The Great Commission Prayer League, Leesburg, Florida (1985)