Entries by Pradesh Shrestha

निस्तार-चाड होइन, प्रभु-भोज

प्रदेश श्रेष्ठ

“अनि अखमीरी रोटीका दिनहरूपछि हामीले फिलिप्पीबाट जहाज-यात्रा गर्यौं, र पाँच दिनमा उनीहरूकहाँ, ट्रोआसमा आइपुग्यौं, जहाँ हामी सात दिनसम्म बस्यौं। अनि हप्ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नाका निम्ति भेला भए, तब पावलले, जो भोलिपल्टै हिँड्नाका निम्ति तयार थिए, उनीहरूलाई वचन सुनाए, र मध्यरातसम्म वचन दिरहे” (प्रेरित २०:६-७)।

पवित्र शास्त्रको उपर्युक्त खण्डबाट हामी यो बुझ्दछौं कि पावल प्रेरित ट्रोआसमा आइपुग्दा अखमीरी रोटीका दिनहरू पूरा भएको कम्तीमा ५ दिन भइसकेको थियो। त्यसैले निस्तार-चाडको दिन पूरा भएको कम्तीमा १२ दिन भइसकेको थियो, किनकि वर्षको एक पटक मानिने निस्तार-चाडको लगत्तै पछि अखमिरी रोटीको एक हप्ताको चाड हुन्छ (प्रस्थान १२:६-१४ लाई प्रस्थान १२:१८ सित तुलना गर्नुहोस्; लेवी २३:५-६ पढ्नुहोस्)।

ट्रोआसमा आइपुगेर पावल ७ दिन बस्छन्। अब दिन गन्ती गर्दा निस्तार चाडको दिन पार गरिसकिएको कम्तीमा १९ दिन भइसकेको थियो। उक्त पर्खाइपछि हप्‍ताको पहिलो दिन (आइतबार) आइपुग्यो। त्यसै दिनमा “चेलाहरू रोटी भाँच्नाका निम्ति” भेला भएका थिए। यसको मतलब उनीहरू निस्तार-चाड मनाउनलाई भेला भएका थिए भन्न सकिन्न किनभने निस्तार-चाडको दिन पूरा भइसकेको अब कम्तीमा १९ दिन भइसकेको थियो। उनीहरू “रोटी भाँच्नाका निम्ति भेला भए” भन्नुको अर्थ उनीहरू निस्तार-चाड मान्नलाई नभएर “प्रभु-भोज” लिनका लागि भेला भए भन्ने हुनपुर्छ। यो प्रमाणित गर्न बाइबलका निम्न खण्डहरूलाई विचार गरौं।

  1. प्रेरित २:४२ – “अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी‍ -भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे” — प्रेरितहरू भएको यरुशलेमस्थित उक्त पहिलो मण्डलीमा उनीहरू “निस्तार-चाडमा लागिरहे” भनेर भनिएको पाइँदैन यद्यपि त्यतिखेर सबै ती विश्वासीहरू यहूदीहरू नै थिए। होइन, उनीहरू “रोटी-भँचाइ” मा लागिरहे। “लागिरहे” भन्ने बयानबाट रोटी-भँचाइ वर्षको एक पटक मानिने निस्तार-चाड जस्तो नभई प्रेरितहरूको शिक्षा, सङ्गति, प्रार्थनाहरू जस्ता बराबर गरिने विधि थियो भन्ने प्रस्ट हुन्छ।
  2. १ कोरिन्थी ११:२३-२४ – “किनकि यो कुरा मैले प्रभुबाट पाएँ, जो मैले तिमीहरूको हातमा सुम्पि पनि दिएँ, अर्थात् प्रभु येशूले, जुन रात पक्राउ पर्नुभयो, त्यही रात रोटी लिनुभयो; र धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो, र भन्नुभयो: ‘लेओ, खाओ; यो मेरो शरीर हो, जो तिमीहरूका निम्ति तोडिएको छ; मेरो सम्झनामा यो गर'” —
    1. यो विधि पावल प्रेरितले प्रभुबाट प्रकाशद्वारा पाए। यदि यो निस्तार-चाड भएको भए त्यसो भन्नु पर्ने थिएन किनकि निस्तार-चाड झण्डै १५०० वर्ष अघि देखि चलिआएकै थियो; त्यो मोशाद्वारा दिइएको थियो; त्यो पवित्र शास्त्रमा उल्लेख भइसकेको कुरो थियो; “प्रभुबाट पाएँ” भन्नुको तात्पर्य यो विधि निस्तार-चाड भन्दा बेग्लै र नयाँ विधि हुनुपर्छ।
    2. यो विधि प्रभुले बाह्र प्रेरितहरूलाई पनि दिनुभएको थियो भन्ने कुरा मत्ती २६:२६-२९, मर्कूस १४:२२-२५ र लूका २२:१९-२० मा उल्लेख छ। त्यहाँ प्रस्टै देख्‍न सक्छौं कि प्रभुले आफ्ना चेलाहरूसित त्यस रात पहिला निस्तार-भोज खानुभएको थियो (लूका २२:१३-१८) अनि त्यसपछि उहाँले एउटा बेग्लै र नयाँ विधिको आज्ञा दिनुभएको थियो (लूका २२:१९-२०); निस्तार-चाड मनाइँदा मिस्रदेशको दासत्वबाट परमप्रभुले उनीहरूलाई कसरी छुटकारा दिनुभएको थियो भन्ने कुराको स्मरण इस्राएलीहरूले (मण्डलीले होइन) गर्नुपर्थ्यो (प्रस्थान १२:२७); तर यस नयाँ विधिचाहिँ प्रभु येशू ख्रीष्टले क्रूसमा अर्पण गर्नुभएको उहाँको शरीर र बहाउनुभएको रगतको चित्रण गर्ने रोटीबाट र दाखरसबाट उहाँकै सम्झनामा हामी नयाँ नियमका विश्वासीहरूले लिनुपर्छ भन्ने उहाँकै आज्ञा हो।
  1. १ कोरिन्थी ११:२५ – “जहिले-जहिले तिमीहरू यो पिउँछौं, मेरो सम्झनामा यो गर” — हाम्रा प्रभु येशूको यस आज्ञाबाट हामी बुझ्छौं कि प्रभु-भोज बारम्बार लिइनुपर्छ। “जहिले-जहिले” को अर्थ वर्ष-वर्षमा भन्ने अर्थ लाग्दैन। “जहिले-जहिले तिमीहरू यो पिउँछौं” [मूल लेखोटमा οσακις αν πινητε (hosakis an pinete)] को व्याकरण सम्बन्धी टिप्पणी गर्दै ग्रीक भाषाविद ए. टी. रबर्टसन् यसरी लेख्छन्, “Usual construction for general temporal clause of repetition (an and the present subjunctive with hosakis)” (A.T. Robertson, Robertson’s Word Pictures). अर्थात्, कुनै कार्यकलाप बारम्बार दोहोर्याइनुपर्ने हो भने त्यसलाई बयान गर्नलाई प्रायः प्रयोग हुने व्याकरणात्मक रचना यहाँ प्रयोग भएको छ। यसैले प्रभु-भोज हप्ता-हप्तामा लिन सकिन्छ (जसरी ट्रोआसको मण्डलीमा गरिन्थ्यो भन्ने देखिन्छ, प्रेरित २०:७)। प्रभु-भोज बारम्बार लिइनुपर्ने भनेर प्रभुले हामीलाई आज्ञा गर्नुभए तापनि कति-कति अवधिमा लिइनुपर्छ भनेर चाहिँ तोक्नुभएन। त्यसैले हामीलाई केही मात्रामा स्वतन्त्रता छ र कतिपय मण्डलीहरूमा प्रभु-भोज महिना-महिनामा लिने गरिन्छ। यसमा कुनै आपत्ति छैन, यो शास्त्र-सम्मत छ। यस सम्बन्धी थप चर्चा गरिएको पढ्न चाहनुहुन्छ भने अर्को लेख पढ्न सक्नुहुन्छ: प्रभु-भोजको अर्थ – बाइबलले के भन्दछ?
  2. १ कोरिन्थी ११:२६ – “जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ, र यो कचौरा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ” — फेरि पनि यहाँ “जहिले-जहिले” को प्रयोग भएको छ। साथै रोटी र कचौराबाट लिनुपर्ने काम प्रभु येशू खीष्ट नआउन्जेल गरिनुपर्छ भनिएको यहाँ पाउँछौं। प्रभु येशू ख्रीष्टको पुनरागमन भइसकेको छैन। त्यसैले येशू ख्रीष्टको मण्डलीले आज प्रभु-भोज लिरहनुनैपर्छ। (उहाँको दोस्रो आगमन सम्बन्धी बाइबलीय शिक्षा बुझ्नलाई निम्न लेखहरूबाट मद्दत लिन सक्नुहुन्छ:

निष्कर्ष: येशू ख्रीष्टको मण्डलीलाई निस्तार-चाड मान्नुपर्ने कतै आज्ञा छैन। उक्त आज्ञा इस्राएललाई दिइएको हो। (इस्राएल र मण्डलीबीचको भिन्नता बुझ्नलाई यहूदी, अन्यजाति र परमेश्वरको मण्डली अध्ययन गर्नुहोस्।) प्रभु येशूले मण्डलीलाई प्रभु-भोज लिनुपर्ने आज्ञा दिनुभयो। उहाँको पुनरागमन नभएसम्म यो आज्ञा स्थानीय मण्डलीहरूमा पालना गरिनुपर्छ। प्रभु-भोज बारम्बार लिइनुपर्छ। निस्तार-चाड जस्तो यो वार्षिक चाड होइन। शुरुका मण्डलीहरूमा यो बारम्बार लिइने गरिन्थ्यो भन्ने कुरा प्रेरित २:४२, प्रेरित २०:७ जस्ता खण्डहरूबाट पुष्टि हुन्छ।

झूटा शिक्षादेखि होशियार: वर्षमा पटक-पटक प्रभु-भोज लिने मण्डलीहरू झूटा हुन् बरु वर्षको एक पटक “निस्तार-चाड” मान्नुपर्छ भनेर सिकाउने दक्षिण कोरियाको वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडले नेपालमा जहाँतहीँ आफ्ना झूटा शिक्षाहरू फैलाउने क्रममा छन्। उनीहरूको शिक्षा परमेश्वरको वचनको बिलकुलै बिपरित छ भन्ने कुरा देखाउने थप लेखहरू प्रस्तुत गर्ने प्रयास गरिनेछ।

आनसानहोङ्ग: झूटा ख्रीष्ट

आनसानहोङ्ग र “यरूशलेम माता” लाई परमेश्वर मान्ने झूटा चर्च

प्रदेश श्रेष्ठ

प्रिय मित्र, यदि हजुर वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडसित आवद्ध हुनुहुन्छ भने, हामी यो भन्न चाहन्छौं कि हामी हजुरहरूलाई घृणा गर्दैनौं बरू हामी सबै पापीहरूलाई सित्तैंमा पापको क्षमा र अनन्त जीवन दिनलाई क्रूसमा मर्नुभएर बौरनुहुने मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई हजुरले पनि व्यक्तिगतरूपमा चिन्न सक्नुभएको होस् भनेर प्रार्थना गर्दछौं। यहाँ उल्लेखित बाइबलका खण्डहरूलाई आफैं पढ्नुहोस् र चर्च अफ गडका शिक्षाहरूलाई जाँच्नुहोस्। आत्मिक मद्दतका लागि सम्पर्क गर्नुहोस्

वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड: झूटा चर्च

विश्वमा र नेपालमा पनि फैलिँदै गरेको यो एउटा झूटा चर्च अथवा “कल्ट” हो। येशू ख्रीष्टको सिद्ध बलिदान र बौरिउठाइमा विश्वास गरेर मुक्ति पाइन्छ भन्ने साँचो सुसमाचार (१ कोरिन्थी १५:१-४) को विपक्षमा खडा भएर मुक्ति पाउनलाई “निस्तार चाड” मान्नैपर्छ भन्ने उनीहरूको दाबी छ। तर परमेश्वरको वचन बाइबलअनुसार मुक्ति “विश्वासद्वारा अनुग्रहले” पाइन्छ, निस्तार चाड मानेर होइन। चाडद्वारा वा कुनै कामद्वारा मुक्ति पाइन्छ भन्ने जुनै पनि शिक्षालाई “ख्रीष्टको सुसमाचार उल्टापुल्टा पार्ने” “बेग्लै सुसमाचार” मा गनिनुपर्छ र त्यस सम्बन्धी उचित चेताउनी दिइनुपर्छ (गलाती १:६-८)।

“किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ” (एफेसी २:८-९)।

मुक्ति पाउनलाई नयाँ नियममा एउटै आज्ञा दिइएको छ —

“प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३१)।

मुक्ति विश्वासद्वारा पाइन्छ, व्यवस्था पालन गर्ने प्रयासले होइन। तर यस समूहले वर्षको एक पटक “निस्तार चाड” पालन नगरी मुक्ति पाइँदैन भनेर सिकाउँछ।

अर्को कुरा, यो समूह भ्रमात्मक छ किनकि यसले सत्यको वचन (बाइबल) लाई ठीक-ठीकसँग छुट्ट्याउँदैन (२ तिमोथी २:१५)। बाइबलमा भएका महत्त्वपूर्ण भिन्नताहरूलाई यसले बेवास्ता गर्दछ। यहूदी जातिलाई दिइएका आज्ञाहरू (व्यवस्था) लाई कुनै पनि रूपमा ख्रीष्टियनमाथि लागू गर्न खोज्नु भनेको प्रेरितहरूको समयमा यहूदीकरणवादीहरूले गरेको ठूलो भूललाई दोहोर्‍याउनु हो। तिनीहरू विश्वासमा आएका गैरयहूदी ख्रीष्टियनहरूकहाँ गएर यसरी शिक्षा दिँदै थिए: “मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउञ्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ” (प्रेरित १५:१)। यस प्रकारको दाबी गर्नेहरूलाई यरूशलेममा बसेको प्रेरितहरूको सभाले गलत ठहरायो। साथै अलमल्लमा परेका ती विश्वासीहरूलाई प्रेरितहरूको तर्फबाट एउटा पत्र लेखियो जसमा यो उल्लेख छ —

“कतिजनाले हामीकहाँबाट गएर ‘तपाईंहरूको खतना हुनैपर्छ र तपाईंहरूले व्यवस्था पालन गर्नैपर्छ भनेर — हुन ता त्यस्तो आज्ञा हामीले उनीहरूलाई दिएका थिएनौं — तपाईंको मन उथलपुथल पारिदिएर तपाईंहरूलाई कुराहरूले कष्ट दिएका रहेछन्” (प्रेरित १५:२४)।

आज पनि चर्च जानेहरूलाई खोजी-खोजी “तपाईंको चर्च झूटा छ किनकि तपाईंहरूको चर्चले निस्तार चाड मान्दैन” भन्दै कतिलाई बहकाउने उनीहरूको नियत छ। तर वास्तवमा उनीहरू आफै बहकाउमा परेका छन् (२ तिमोथी ३:१३) किनकि वचनले प्रस्टै यस्ता झूटा शिक्षाहरूको पहिल्यै खण्डन गरिसकेको छ —

“यसकारण खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा वा औंसी वा विश्रामदिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्; यीचाहिँ आउनेवाला कुराहरूको छाया हुन् तर शरीर ता ख्रीष्टको हो (कलस्सी २:१६-१७)।

तसर्थ, ख्रीष्ट येशूमा विश्वास गरेको व्यक्तिकहाँ गएर निजलाई चाडको विषयमा दोषी ठहराउन खोज्नु गलत हो भनेर बाइबलले बताएको छ।

झूटा शिक्षा कसरी चिनिन्छ?

प्रेरितहरूको शिक्षालाई खण्डन गर्ने कुनै पनि शिक्षा झूटा आत्माद्वारा उत्प्रेरित भएको हुन्छ (१ तिमोथी ४:१)। परमेश्वरका आत्माको प्रेरणाद्वारा यूहन्नाले यसरी लेखेका छन् —

“प्रियहरूहो, हरेक आत्मालाई विश्वास नगर, तर आत्माहरूचाहिँ परमेश्वरबाटका हुन् कि होइनन् भनी तिनीहरूलाई जाँचेर हेर; किनकि अनेकौं झूटा भविष्यवक्ताहरू संसारमा निस्किआएका छन्… हामी [यूहन्ना तथा अन्य प्रेरितहरू] परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ, उसले हाम्रो [प्रेरितहरूको] कुरा सुन्छ; जो परमेश्वरको होइन, त्यसले हाम्रो [प्रेरितहरूको] कुरा सुन्दैन। यसैबाट हामी सत्यका आत्मा र भ्रमको आत्मा चिन्छौं” (१ यूहन्ना ४:१,६)।

तसर्थ, चर्च अफ गड (वर्ल्ड मिसन सोसाइटी) झूटा चर्च हो किनभने यसले मुक्ति कसरी पाइन्छ भन्ने महत्त्वपूर्ण सवालमा प्रेरितहरूको स्पष्ट शिक्षालाई खण्डन गर्दछ। प्रेरितहरूका शिक्षाअनुसार मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ, तर वर्ल्ड मिसन सोसाइटी भन्छ, चाड नमाने मुक्ति पाइन्न।

यसलाई नेतृत्व गर्ने को हुन्?

दक्षिण कोरियाली आनसानहोङ्ग (सन् १९१८-१९८५) द्वारा सन् १९६४ मा वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडको शुरुआत भएको हो। उनी पहिला सेभेन्थ डे एडभेन्टिस्ट नामक अर्को झूटा शिक्षा समूहसित आवद्ध थिए। आनसानहोङ्ग झूटा भविष्यवक्ता हुन् किनभने उनले ख्रीष्टको दोस्रो आगमन सन् १९६७ र १९८८ मा हुनेछ भनेर दुई पटक झूटा भविष्यवाणी गरे। भविष्यवाणी झूटा ठहरिएपछि उक्त आगमन “गोप्य” रूपमा भएको भन्ने दाबी गर्दै झूटलाई ढाकछोप गरियो।

सन् १९८५ मा आनसानहोङ्गको मृत्यु भएपछि यसको नेतृत्व चङ्ग गिल् चाले गर्दै आएकी छिन् जसलाई अनुयायीहरूले “स्वर्गीय माता” भनेर मान्दछन्। सन् १९८८ मा आनसानहोङ्गका भविष्यवाणीहरू पूरा हुन नसकेपछि आनसानहोङ्गद्वारा प्रतिपादित चर्च अफ गडका शिक्षाहरूलाई पुनःव्याख्या गर्ने काम चङ्ग गिल् चाले गरिन् जो युवावस्थामा आनसानहोङ्गकी प्रेमिका थिइन्। मरिसकेका आनसानहोङ्गको जन्मलाई उनले अब ख्रीष्टको दोस्रो आगमनको संज्ञा दिइन् जब कि आफू जीवितै छँदा आनसानहोङ्गले म ख्रीष्ट हुँ भन्ने दाबी कहिल्यै गरेका थिएनन्। ख्रीष्टको दोस्रो आगमनमा उहाँको नाम “येशू” नै हुनेछ भन्ने कुरा आनसानहोङ्ग स्वयंले सिकाएका भए तापनि उनको मृत्युभएपछि “आनसानहोङ्ग” चाहिँ ख्रीष्टको “नयाँ नाम” हो भन्दै प्रकाश ३:१२ लाई दुरूपयोग गर्न थालियो। चङ्ग गिल् चा आनसानहोङ्गकी पत्नी भएकी नाताले उनी अब ख्रीष्टकी दुलही तथा स्वघोषित “पवित्र यरूशलेम माता” बनिन्। उनैले आनसानहोङ्गको जन्म आदि सबै कुरालाई गोप्यमा राखेकी छन्।

आनसानहोङ्ग: झूटा ख्रीष्ट

प्रथमतः प्रभु येशू ख्रीष्ट दोस्रो पटक आउनुहुँदा अर्कै व्यक्ति (आनसानहोङ्ग) भएर आउने कुरा झूटा हो। साथै उहाँ फेरि जन्मनुभई आउनुहुने कुरा पनि झूटा हो। यस कुरालाई पुष्टि गर्न बाइबलमा थुप्रै आधारहरू भए तापनि एउटै पदलाई यहाँ प्रस्तुत गर्नु काफी हुन्छ। प्रभु येशू ख्रीष्टको स्वर्गारोहणको घडीमा दुईजना स्वर्गदूतहरूले उहाँका चेलाहरूलाई यो घोषणा गरे,

“हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:११)।

उपर्युक्त पदबाट निम्न कुराहरू पुष्टि हुन्छ:

  1. दोस्रो आगमनमा प्रभु येशू ख्रीष्ट बेग्लै शरीरमा नभएर आफ्नो स्वर्गारोहणकै शरीरमा आउनुहुनेछ।
  2. जुन प्रकारले उहाँ स्वर्गतिर आरोहण हुनुभयो त्यही प्रकारले उहाँ पृथ्वीमा अवरोहण हुनुहुनेछ। येशू ख्रीष्टको दोस्रो आगमन जन्मरूपी आगमन हुनेछैन।

तर आनसानहोङ्ग बाइबल भविष्यवाणीअनुसार संसारमा आएका नभएर सन् १९१८ मा सामान्य रूपमा बौद्ध धर्मावलम्बी बाबु-आमाबाट जन्मेका हुन्।

साथै, साँचो ख्रीष्टले आफू बौरनुभएको केही समयपछि यसरी भन्नुभयो,

“नडराऊ, प्रथम र अन्तिम म नै हुँ। अनि जीवित म नै हुँ, म मरेको थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति जीवित छु” (प्रकाश १:१७-१८)।

तर आनसानहोङ्ग उनको मस्तिष्कमा रगत जमेर सन् १९८५ मा मरेर गए। साँचो ख्रीष्ट त कहिल्यै नमर्ने गरी सदासर्वदाका निम्ति जीवित हुनुहुन्छ!

अझ, साँचो ख्रीष्ट पापरहित हुनुहुन्थ्यो जसरी लेखिएको छ,

“उहाँले कुनै पाप गर्नुभएन, न ता कुनै छलकपट नै उहाँको मुखमा पाइयो” (१ पत्रुस २:२२)।

तर आनसानहोङ्गले झूटा भविष्यवाणीहरू गरे। उनले पटक-पटक विवाह र पारपाचुके गरे; उनले एकै समयमा एउटाभन्दा बढी पत्नीहरू राखे।

निष्कर्षमा, वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडले मान्ने ख्रीष्ट बाइबलका ख्रीष्ट होइनन्। यसले मान्ने परमेश्वर बाइबलका परमेश्वर होइनन्।

स्रोतहरू:

  1. http://ahnsahnghong.tinypurplegrapes.com — वर्ल्ड मिसन सोसाइटी चर्च अफ गडबाट निस्केर गएका तिनका भूतपूर्व सदस्य तथा पास्टरहरूद्वारा सञ्चालित वेबसाइट
  2. http://en.wikipedia.org/wiki/ World_Mission_Society_Church_of_God

(संशोधित संस्करण २०६५)

रोमन क्याथोलिक चर्चका थुप्रै अबाइबलीय सिद्धान्तहरू

रोमन क्याथोलिक चर्चका थुप्रै अबाइबलीय सिद्धान्तहरू

 

क्याथोलिक समर्थकलाई जटिल समस्या

डेविड क्लाउड

आफ्नो धर्म बाइबलमै आधारित भएको भनी दाबी गर्ने र यदि त्यसो होइन भने सो पुष्टि गर्नलाई चुनौती दिने कतिपय रोमन क्याथोलिक समर्थकहरूको निर्लज्ज साहसिकता देखेर म छक्क पर्दछु। उनीहरूकै चर्चले समेत आफ्ना शिक्षाहरू केवल बाइबलमै मात्र आधारित छैनन् भनेर स्वीकार गरेकै छ। आधिकारिक दोश्रो भ्याटिकन काउन्सील (Vatican Council II) का अभिव्यक्तिहरूले गर्दा यस बारेमा शङ्का गर्ने कुनै ठाउँ नै छैन:

“यस प्रकारले, चर्चले सबै प्रकटित सत्यताहरू सम्बन्धी आफ्नो निश्चयता केवल पवित्र शास्त्रहरूबाट मात्र ग्रहण गरेको हुँदैन। अतः दुवै पवित्र शास्त्र र परम्परालाई भक्ति र भयको बराबर भावनाले ग्रहण र आदर गरिनु पर्दछ” (Dogmatic Constitution on Divine Revelation, Chap. 2, 9, p. 682)।

भाषा योभन्दा बढी स्पष्ट हुन सक्दैन। आफ्ना शिक्षाहरू केवल बाइबलमा मात्र आधारित छन् भनेर रोम आफैले दाबी गर्दैन। तरैपनि थुप्रै क्याथोलिक समर्थकहरूले त्यस्तो दाबी गर्ने गरेका छन्। उनीहरू विशेष गरी इन्टरनेटमा सक्रिय छन् र मेरो वेबसाइट www.wayoflife.org मा रोमन क्याथोलिक प्रणालीको विरुद्धमा मेरा थुप्रै लेखहरू भएका हुनाले उनीहरूबाट मलाई नियमित रूपमा इ-मेलहरू आउने गर्दछन्।

अझ, यी समर्थकहरू यसरी दाबी गर्छन्: हामीलाई नयाँ नियम दिने र इसाईमतका प्रमुख शिक्षाहरू निर्धारण गरिदिने रोम भएको हुनाले हामीले रोमका खातिर परमेश्वरलाई प्रशंसा चढाउनुपर्छ र आफूलाई रोमको अधीनमा सुम्पनुपर्छ अरे। इतिहासलाई संशोधन गर्न खोज्ने यस्तो चलाकीको विरुद्धमा मेरो प्रत्युत्तर सरल छ। यदि रोमन क्याथोलिक चर्चले हामीलाई नयाँ नियम दिएको हो भने, रोमन क्याथोलिक चर्च नयाँ नियमका पन्नाहरूमा पाइने मण्डलीहरूभन्दा बिलकुलै भिन्न हुनु अचाक्ली अनौठो कुरा भएन र! यो त चीलबाट भ्यागुता जन्म्यो भने बराबर हो। यी क्याथोलिक समर्थकहरूलाई निम्नलिखित प्रश्‍नहरू यहाँ चुनौतीस्वरूप प्रस्तुत गरिएका छन्। मेरो चुनौती यति हो: निम्नलिखित मुख्य-मुख्य क्याथोलिक शिक्षाहरू बाइबलमा कहाँ छन्, मलाई देखाइदिनुहोस्। जवाफमा यो प्रत्यक्ष हुनेछ कि रोमका शिक्षा लगायत अभ्यासहरू नयाँ नियमका मण्डलीहरूका हुँदै होइनन्।

  • पत्रुसले क्याथोलिक पोपको भूमिका निर्वाह गरेको र अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
  • पत्रुसलाई शुरुका मण्डलीहरूले पोपको रूपमा व्यवहार गरे भनी बाइबलले कहाँ बताएको छ र?
  • एउटा मान्छे नै सबै मण्डलीहरूका शिर हुन् भनी बाइबलले कहाँ बताएको छ र?
  • विश्वासीहरू नै पूजाहारीहरू हुन् भन्ने बाहेक परमेश्वरले मण्डलीहरूमा एउटा छुट्टै विशेष पूजाहारीगिरी स्थापना गर्नुभएको छ भनेर बाइबलले कहाँ बताएको छ र?
  • शुरूका मण्डलीहरूमा त्यस खाले पूजाहारीहरूको कामको बारेमा बाइबलले कहाँ बयान गरेको छ र?
  • नयाँ नियमका पूजाहारीहरू मेल्किसेदेकको रीतिबमोजिम नियुक्त गरिन्छन् भनेर बाइबलले कहाँ बताएको छ र?
  • पास्टरहरू अविवाहित हुनुपर्छ भन्ने शर्त बाइबलमा कहाँ भेटिन्छ र?
  • प्रेरितहरूले आफ्नो अधिकारलाई एक पछि अर्को गरी हस्तान्तरण गरे भनेर बाइबलले कहाँ बताएको छ र?
  • प्रेरितहरूको अधिकार हस्तान्तरणका लागि आवश्यक योग्यताहरू बाइबलले कहाँ बताएको छ? एल्डर तथा डिकनहरूका लागि त्यहाँ योग्यताहरू खुलाइएका छन्, तर प्रेरितहरूको निरन्तरताका लागि आवश्यक योग्यताहरू कहाँ छन् र?
  • शुरुका मण्डलीहरूमा नन्‌ (भिक्षुणी) हरूको बयान कहाँ गरेको छ र?
  • बाइबलमा मरियमलाई अथवा परमेश्वरबाहेक अन्य कुनै व्यक्तिलाई प्रार्थना गरिरहेको कहाँ पाइन्छ र?
  • मरियमलाई परमेश्वरकी आमा भनेर बाइबलले कहाँ बताएको छ र?
  • मरियम स्वर्गकी रानी हुन् भनेर बाइबलले कहाँ बताएको छ र?
  • मरियम पापरहित छिन् भन्ने शिक्षा बाइबलमा कहाँ पाइन्छ र?
  • ख्रीष्टमा विश्वासै गर्न नसक्ने नाबालकको बप्‍तिस्मा गरिएको बाइबलमा कहाँ पाइन्छ र?
  • चर्चले मृतकहरूलाई “सन्त” (saint) को उपाधिहरू दिएर उनीहरूलाई प्रार्थनामा पुकारा गर्न सकिन्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
  • मृतकले जीवितका निम्ति अन्तरविन्ती गर्न सक्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
  • बाइबलले पर्गेटोरीको बारेमा कहाँ सिकाएको छ र?
  • मण्डलीहरूले मृतकहरूका हड्डीहरूलाई धार्मिक रीतिले प्रयोग गर्नुपर्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
  • मण्डलीहरूले पापमोचन पत्र (indulgences) प्रयोग गर्‍यो भनेर बाइबलले कहाँ सिकाएको छ र?
  • क्याथोलिक मास (mass) सम्पन्न भएको वा त्यसको बयान गरिएको उदाहरण बाइबलमा भए त्यो कहाँ छ त?
  • ख्रीष्टले मासको स्थापना गर्नुभएको हो भने र रोमको दाबीअनुसार त्यो इसाई विश्वासकै केन्द्र हो भने, किन प्रेरितको पुस्तकमा र नयाँ नियमका पत्रहरूमा त्यसको एउटै उदाहरण भेटिँदैन?
  • ख्रीष्टियनहरूले दाखरसबिना केवल रोटी मात्र लिएर प्रभु भोज लिएको बाइबलमा कहाँ पाइन्छ र?
  • पावल वा शुरुका मण्डली अगुवाहरूले त्यहाँ सात स्याक्रामेन्ट (sacrament) अर्थात् धार्मिक संस्कारहरू हुन्छन् भनेर कहाँ सिकाएका छन् र?
  • मण्डलीहरूले कन्फरमेशन (confirmation) भन्ने स्याक्रामेन्टको अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
  • एक्स्ट्रिम अङ्कशन (extreme unction) अर्थात् अन्त्येष्टि क्रियालाई धार्मिक संस्कारको रूपमा मण्डलीहरूले अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
  • रोजरीको प्रार्थना (prayer of the rosary) बाइबलमा कहाँ पाइन्छ र?
  • रोमको ढाँचामा भड्किला रीतिविधीहरू गर्नलाई नयाँ नियमका मण्डलीहरूलाई आज्ञा दिइएको बाइबलमा कहाँ पाइन्छ र?
  • चर्चको प्रमुख कार्यालय रोममा हुनुपर्छ भन्ने कुरा बाइबलमा कहाँ पाइन्छ र?

अन्तिम बुँदा अलिक फरक छ किनकि यो, रोमन क्याथोलिक प्रणाली बाइबलमा पाइँदैन भन्ने बारेमा नभएर हाम्रा मित्र ब्रायन स्नाइडरले हामीसित बाँड्नुभएको एउटा प्रश्‍न हो:

  • बिगतका १,७०० वर्षहरूमा रोमन क्याथोलिक चर्चले लाखौंलाई धर्मद्रोही ठानी उनीहरूको ज्यान लिएका छन् — ‘एक मात्र साँचो मण्डली’ को अधीनमा आउन इन्कार गर्ने यहूदीहरू, भिन्न मत राख्‍ने क्याथोलिकहरू (dissident Catholics), प्रोटेस्टेन्टहरू (Protestants), आनाब्याप्टिस्टहरू (Anabaptists), हसाइटहरू (Hussites), लोलार्डहरू (Lollards), वाल्डेनजिसहरू (Waldenses), अल्बिगेन्जिसहरू (Albigenses) र टाढा-टाढासम्मका अन्य थुप्रै मानिसहरूको ज्यान। आज, रोमन क्याथोलिक चर्चले ठीक यिनै विचारधारा अपनाएकाहरूलाई ‘अलग रहेका दाजुभाईहरू’ (separated brethren) भन्ने संज्ञा दिँदै छन् र धार्मिक विश्वासको आधारमा सतावट दिनु गलत हो भनेर सिकाउँदै छन्। कुनचाहिँ चर्च ठीक हो? आफ्ना शिक्षाहरूको प्रतिवाद गर्नेहरूको ज्यान लिने चर्च ठीक कि अन्य ख्रीष्टियनहरू — साथै अन्य धर्महरू समेत — स्वर्ग जाने वैकल्पिक मार्गहरू हुन् भनेर सिकाउने चर्च ठीक?

निष्कर्ष

प्रिय मित्र, हजुर एक रोमन क्याथोलिक हुनुहुन्छ भने, कृपया यो बुझिदिनुहोस् कि हामी हजुरलाई घृणा गर्दैनौं। बरु यसको ठीक विपरित, हामी हजुरलाई यति धेरै प्रेम गर्दछौं कि हामी हजुरसमक्ष रोमन क्याथोलिक चर्चको बारेमा सत्य-तथ्य खुलस्त गरी बताइदिन चाहन्छौं ता कि यसको पथभ्रष्टता देख्‍नुभई हजुर पनि ख्रीष्टकहाँ बाइबलीय विश्वासद्वारा फर्कनुभएको होस्। हजुरले मुक्ति पाउनुभएको होस् भन्ने हाम्रो चाहना र परमेश्वरमा प्रार्थना हो। पापहरूको क्षमा र अनन्त जीवन त कलवरी क्रूसमा येशू ख्रीष्टले किन्नुभएको उपहार हो जुन उपहार उहाँले हजुरलाई पनि प्रदान गर्दै हुनुहुन्छ। यो आफैले कमाउन खोज्नुपर्ने कुरै होइन। पापीको हैसियतले परमेश्वरको निगाह प्राप्‍त गर्नलाई हजुरले जति जे गरे पनि पर्याप्‍त हुन सक्दैन। यो कुनै पनि चर्चले हजुरको लागि कमाइदिन सक्ने कुरा होइन। यो, बप्‍तिस्मा वा कन्फर्मेशन जस्ता चर्चको कुनै पनि रीति पूरा गरेर प्राप्‍त गर्न सकिने कुरा होइन। मुक्ति येशू ख्रीष्टद्वारा परमेश्वरबाटको सित्तैंमा पाइने अनन्त कृपा हो, अनि पश्चात्ताप र विश्वास गरी उहाँकहाँ आउने प्रत्येक पापीलाई ग्रहण गर्न उहाँ तयार र सक्षम हुनुहुन्छ। आफूले अनन्त जीवन पाएको छु भनी अहिले नै, आजै हजुरले थाह गर्न सक्नुहुन्छ भनेर बाइबलले भन्दछ।

“अनि गवाही यही हो — परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ; र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन। मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु — तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस्, र परमेश्वरका पुत्रको नाममा तिमीहरूले विश्वास गर” (१ यूहन्ना ५:११-१३)।

“किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ” (एफेसी २:८-९)।

“तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र ता अनुग्रह अनुग्रह नै हुँदैन” (रोमी ११:६)।

“हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु; अनि तिमीहरूले आ-आफ्नो मनमा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो, र मेरो भारी हलुका छ” (मत्ती ११:२८-३०)।

यी महत्त्वपूर्ण सत्यताहरू अझ बुझ्नलाई वा बाइबल विश्वास गर्ने एउटा असल मण्डली खोज्नलाई हाम्रो मदत चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न कुनै सङ्कोच नमान्नुहोला।

मुक्ति पाउनु र चेला बन्नुमा भिन्नता के छ?

मुक्ति पाउनु र चेला बन्नुमा भिन्नता के छ?

 
मुक्ति चेलापन
मुक्ति भन्ने कुरा सित्तैंमा, बिना दाम पाइने कुरा हो (रोमी ६:२३; यशैया ५५:१), यद्यपि कुनै पनि हिसाबले मुक्ति सस्तो कुरा भने होइन (१ पत्रुस १:१८-१९; १ कोरिन्थी ६:२०)। चेला हुन चाहने व्यक्तिले भने मूल्य चुकाउनैपर्छ, आफूले तिर्नु पर्ने दाम उसले हिसाब गर्नैपर्छ (लूका १४:२५-३३)।
समयको सवालमा मुक्ति भनेको एकै क्षणमा पाइने कुरा हो (प्रेरित २:४७)। समयको सवालमा चेला बन्ने काम आजीवन चल्ने प्रक्रिया हो (यूहन्ना ८:३१; मत्ती २८:१९-२०)।
मुक्ति पाउनलाई प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ (प्रेरित १६:३०-३१)। चेला हुनलाई ख्रीष्टलाई पछ्‍याउनुपर्छ (मत्ती ४:१८-२२)।
मुक्ति पाउनु भनेको ख्रीष्टकहाँ आउनु हो र पापको बोझाबाट विश्राम पाउनु हो (मत्ती ११:२८)। चेला हुनु भनेको ख्रीष्टको जुवा बोक्‍नु हो र उहाँबाट सिक्नु हो (मत्ती ११:२९)।
ख्रीष्टले मलाई प्रेम गर्ने कुरा मुक्ति अन्तर्गतको कुरा हो (रोमी ५:८; गलाती २:२०)। मैले ख्रीष्टलाई प्रेम गर्ने कुरा चेलापन अन्तर्गतको कुरा हो (मत्ती १०:३७)।
सुसमाचार विश्वास गर्ने व्यक्ति एउटा साँच्चै मुक्ति पाएको व्यक्ति हो (रोमी १:१६; ६:१७)। ख्रीष्टको वचनमा लागिरहने व्यक्ति एउटा साँच्चीकै चेला हो (यूहन्ना ८:३१)।
मुक्ति पाउनलाई एउटा व्यक्ति क्रूसमा टाँगिनुभएको ख्रीष्टको पाउमा झुक्नुपर्छर परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ (लूका १८:१३)। चेला बन्नलाई एउटा व्यक्ति ख्रीष्टको पाउनेर बस्नुपर्छ र उहाँको वचनलाई नम्र र सिकाउन सकिने हृदय लिएर सुन्नुपर्छ (लूका १०:३९)।
मुक्ति पाइसकेको व्यक्ति एक विश्वासीहो (१ यूहन्ना ५:१)। सिक्दै गरेको व्यक्ति एक चेला हो [ग्रीक भाषामा चेलाको शाब्दिक अर्थ “सिकारु, विद्यार्थी, शिष्य, अनुयायी” हो]
मुक्ति पाइसकेको व्यक्तिले ख्रीष्टलाई स्वीकार गर्दछ (रोमी १०:९-१०)। एउटा चेलाले आफैलाई इन्कार गर्दछ (लूका ९:२३)।
मुक्ति पाएको व्यक्तिले ख्रीष्टलाई प्राप्‍तगरेको हुन्छ (१ यूहन्ना ५:१२)। एउटा चेलाले आफ्ना सम्पत्तिहरू त्याग्दछ (लूका १४:३३)।
भरोसा गर्ने काम मुक्ति अन्तर्गतको कुरा हो (एफेसी १:१३)। अभ्यास गर्ने काम चेलापन अन्तर्गतको कुरा हो (मत्ती २८:१९-२०)।
मुक्ति पाउनु भनेको हामीले परमेश्वरको वरदानलाई ग्रहण गर्नु हो (यूहन्ना १:१२; एफेसी २:८-९)। चेला बन्नु भनेको परमेश्वरका शिक्षाहरू ग्रहण गर्नु हो (प्रेरित २:४२)।
परमेश्वरले माग गर्नुभएको त्यो सिद्ध धार्मिकताको सवालमा प्रत्येक विश्वासी प्रभु येशू ख्रीष्टमा अलिकति पनि घटी छैन (२ कोरिन्थी ५:२१)। चेलापानले राखेका ती सबै मागहरूको सवालमा विश्वासीहरू प्रायः घटी नै हुन्छन् (लूका १४:२५-३३)।
मुक्तिचाहिँ ख्रीष्टमा भएको एउटा व्यक्तिको ओहोदासित सम्बन्धित छ (ख्रीष्टमा भएको हाम्रो सिद्ध पद)। चेलापनचाहिँ एउटा व्यक्तिको अवस्थासित सम्बन्धित छ (हाम्रो वास्तविक अभ्यास वा हिँडाइ)।
मुक्तिको सवालमा परमेश्वरले के गरिदिनुभएको छ भन्ने कुरामा जोड दिइन्छ (१ कोरिन्थी १५:३-४)। चेलापनको सवालमा मान्छेले के गर्नुपर्छ भन्ने कुरामा जोड दिइन्छ (लूका १४:२५-३३)।
मुक्तिको केन्द्रबिन्दुमा ख्रीष्टले सम्पन्न गर्नुभएको कार्य रहेको छ (१ कोरिन्थी १:१८)। चेलापनको केन्द्रबिन्दुमा ख्रीष्टको वचनअर्थात् उहाँको शिक्षा रहेको छ (यूहन्ना ८:३१)।
परमेश्वरले आफ्नो पुत्रले गर्नुभएको कार्यको आधारमा आफ्नो वचन पूरा गर्न आफूलाई सुम्पिनुभएको कुरा (रोमी ३:२४)। विश्वासीले ख्रीष्टसितको आफ्नो सम्बन्धको आधारमा ख्रीष्टको वचन पूरा गर्न आफूलाई सुम्पने कुरा (यूहन्ना ६;६८)।
मुक्ति पाएको व्यक्ति एक पवित्र जन हो (१ कोरिन्थी १:२)। चेला एक शिष्य अथवा सिक्ने व्यक्ति हो (मत्ती ११:२९)। कुनै विश्वासीहरू अरू भन्दा असल शिष्य हुन्छन्।
मुक्ति पाउनलाई निमन्त्रणा: मकहाँ आऊ (यूहन्ना ६:३७; मत्ती ११:२८) चेला हुनलाई निमन्त्रणा: मेरो पछि लाग (लूका ९:२३)।
मुक्ति पाउनलाई विश्वास गर भन्ने आज्ञालाई पालन गर्नुपर्छ (१ यूहन्ना ३:२३क; यूहन्ना ३:३६) चेलापनले ख्रीष्टका सबै आज्ञाहरू पालन गर्नुपर्ने माग गर्दछ (मत्ती २८:१९-२०)।
मुक्ति पाउनु भनेको एउटा पापीले उहाँको वचन सुन्नु हो र उहाँमाथि विश्वास गर्नु हो (यूहन्ना ५:२४)। चेला हुनु भनेको एउटा पवित्र जन उहाँको पाउनेर वस्नु हो र उहाँको वचन सुन्नु हो (लूका १०:३९)।
एउटा पापीले मुक्ति पाउने हेतुलेचेलापनका मागहरू पूरा गर्न खोज्नुहुँदैन। यो भनेको कामहरूद्वारा मुक्ति पाउन खोज्नु हो। एउटा पवित्र जनले उसले मुक्ति पाएको हुनाले चेलापनका सबै मागहरू पूरा गर्न खोज्दछ। यो भनेको “असल कामहरूका लागि” बचाइएको हुनु हो (एफेसी २:१०)।
क्रूसको सन्देश सुनेर विश्वास गर्नु (१ कोरिन्थी १:१८; १५:१-४) दिनहुँ आफ्नो क्रूस बोक्नु (लूका ९:५३)
परमेश्वरबाटको मुक्ति सिद्ध छ, कुनै घटी छैन (कलस्सी २:१०; १ कोरिन्थी १:३०)। चेलापनका सबै मागहरू पूरा गर्ने मेरो जिम्मेवारीको सवालमा म सिद्ध भइसकेको छैन तर “म त्यसको पछि लाग्छु” (फिलिप्पी ३:१२-१३)।
मुक्ति पाएको व्यक्ति हुन आवश्यक कुरा: विश्वास गर्नुपर्छ; सर्वपर्याप्‍त मुक्तिदाता प्रभु येशू ख्रीष्टमा सरल भरोसा (यूहन्ना ३:१६; प्रेरित १६:३१)। साँचो चेला हुन ऊ ख्रीष्टको वचनमा लागिरहनुपर्छ, ख्रीष्टलाई सर्वोपरी प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ, आफ्ना सारा सम्पत्तिलाई त्याग्नुपर्छ, आफ्नो क्रूसलाई दिनहुँ बोक्नुपर्छ, आदि। चेलापनका मागहरू थुप्रै छन् र कठीन छन्।
चेलापन (र यसमा समावेश सबै कुरा) मुक्तिका लागि आवश्यक कुरा होइनन्। चेलापन मुक्ति पाएको प्रत्येक व्यक्तिको कर्तव्य नै हो।
मुक्ति मूलतः धर्मीकरणसित सम्बन्धित कुरा हो।

चेलापन मूलतः पवित्रीकरणसित सम्बन्धित कुरा हो।

धर्मीकरण र पवित्रीकरण आपसमा सम्बन्धित कुरा हुन् तर ती दुईबीच अलमल हुनुहुन्न। ती दुईलाई छुट्टाछुट्टै राखिनु आवश्यक छ। मुक्ति र चेलापनलाई पनि त्यसैगरी छुट्टाछुट्टै राखिनु आवश्यक छ।

मुक्तिले एउटा व्यक्तिलाई ख्रीष्ट (शिक्षक) सित ठीक सम्बन्धमा ल्याउँछ। चेलापनचाहिँ शिक्षक र शिष्यबीच निरन्तर चलिरहने सम्बन्ध र अन्तरक्रिया हो (आजीवन प्रक्रिया)।

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

अनि जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्।”(भजनसंग्रह ९:१०)

जीवनका समस्याहरूको बीचमा परमेश्वरमा भरोसा राख्‍न सक्न परमेश्वरको नाम जान्न आवश्यक छ। परमेश्वरको नाम भन्नाले परमेश्वरका गुणहरू बुझिन्छ। “पवित्र”, “सत्य”, “सर्वशक्तिमान”, “सर्वज्ञानी” जस्ता शब्दहरूले उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर जनाउँदछन्। त्यसैले परमेश्वर को हुनुहुन्छ भनेर जसले साँच्चै जानेको छ उसैले परमेश्वरको नाम जानेको छ। अनि जसले उहाँको नाम जानेको छ उसले उहाँमाथि भरोसा राख्‍दछ। [प्रिय पाठक, तपाईंले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु भएको छैन भने हामी तपाईंलाई अर्को लेख पनि पढ्नलाई विनम्र अनुरोध गर्दछौं: मुक्ति पाउन मैले के गर्नुपर्छ?]

के तपाईंको जीवनमा कुनै समस्या छ? आउनुहोस्, एउटा काल्पनिक तराजु लिऔं। एकातिर आफ्नो समस्यालाई राखौं र अर्कोतिर परमेश्वरको नामलाई। अनि सिकौं भरोसा गर्न हाम्रा जीवित र सत्य परमेश्वरलाई!

> परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ — मेरो समस्यालाई समाधान गर्न सक्ने क्षमता उहाँसित छ; उहाँले त्यसलाई समाधान गर्न सक्नुहुन्छ। उहाँको निम्ति कुनै कुरा पनि औधी कठिन हुँदैन (उत्पत्ति १८:४)। कुनै पनि समस्या उहाँको क्षमताभन्दा बाहिरको हुँदैन। तसर्थ उहाँद्वारा म सबै कुराहरू गर्न सक्नेछु (फिलिप्पी ४:१३)।

[परमेश्वरले] हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ (एफेसी ३:२०)।

> परमेश्वर सर्वज्ञानी हुनुहुन्छ — मेरो समस्याको बारेमा उहाँलाई सब थाह छ। त्यतिमात्र नभएर मेरो समस्याको समाधान गर्ने उपाय समेत उहाँलाई थाह छ। साथै यस समस्याको बीचमा मैले कतिसम्म सहन सक्छु भनेर पनि उहाँलाई थाह छ।

मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू परीक्षा तिमीहरूमाथि आइपरेको छैन; तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनि बनाउनुहुनेछ (१ कोरिन्थी १०:१३)।

> परमेश्वर बुद्धिमानी हुनुहुन्छ — मलाई सबभन्दा बढी भलाइ कसरी हुन्छ भनेर उहाँ जान्नुहुन्छ। यसैले त उहाँले यो समस्या मेरो जीवनमा आइपर्न दिनुभयो। मेरो समस्या-समाधानको सर्वोत्तम उपाय उहाँले नै जान्नुहुन्छ।

तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ, र हपार्नुहुन्न; अनि उसलाई यो दिइनेछ (याकूब १:५)।

> परमेश्वर सर्वव्यापी हुनुहुन्छ — म समस्यामा परेको छु तर म एकलो छैन किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मभित्रै हुनुहुन्छ (गलाती २:२०)। उहाँले मलाई कुनै रीतिले छोड्नुहुनेछैन, न ता मलाई कुनै रीतिले त्याग्नुहुनेछ। समस्या आइपर्दा म एकलैले समाधान गर्नुपर्छ भनेर उहाँले कहिल्यै भन्नुभएन। जिउँदो परमेश्वर नै मेरा सहायक हुनुहुन्छ।

परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस (प्रस्थान १४:१४)।

तिमीहरूको चालचलन पैसाको लोभरहित होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तोष गर; किनकि उहाँ आफैले भन्नुभएको छ: ‘म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु।’ यसकारण हामी हिम्मसँग भन्न सक्छौं: ‘प्रभु मेरा सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ, मान्छेले मलाई के गर्न सक्छ र?’ (हिब्रू १३:५-६)।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई समाल्नेछु (यशैया ४१:१०)।

हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु (मत्ती २८:२०)।

> परमेश्वर अपरिवर्तनीय (बदलिन नसकिने) हुनुहुन्छ — जब परमेश्वरले मलाई बचाउनुभयो तब मेरो जीवनको सबभन्दा ठूलो समस्या हल भयो। अब उही परमेश्वरले त्योभन्दा सानो जुनसुकै समस्यामा पनि मलाई सहायता गर्न सक्नुहुन्छ। जुन परमेश्वरले दाऊदलाई, दनिएललाई, पावललाई र अरू धेरैजनालाई उनीहरूका समस्याहरूमा सहायता गर्नुभयो, उही परमेश्वरले मलाई पनि सहायता गर्न सक्नुहुन्छ। परमेश्वर हरहमेसा परमेश्वर नै हुनुहुन्छ भनी म मानिलिन सक्छु।

येशू ख्रीष्ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ (हिब्रू १३:८)।

> परमेश्वर सार्वभौम हुनुहुन्छ — हरेक परिस्थितिको सम्पूर्ण नियन्त्रण परमेश्वरकै हातमा हुन्छ। उहाँले यो समस्या मेरो जीवनमा आउन दिनुभयो र यो पनि उहाँकै हातमा छ।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेरभलाइ नै उत्पन्न गर्दछन् (रोमी ८:२८)।

> परमेश्वर विश्वासयोग्य हुनुहुन्छ — मेरो समस्याको समाधानको निम्ति मैले परमेश्वरमाथि भरोसा राख्दा उहाँले मलाई धोका दिनुहुनेछैन (व्यवस्था ३१:६)। उहाँका प्रतिज्ञाहरू चुक्नेछैनन्। मेरो यो परिस्थितिमा म परमेश्वरमाथि भर पर्न सक्छु। परमेश्वर पूर्ण रूपमा भरपर्दो, विश्वासीलो, वफादार हुनुहुन्छ।

किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा ‘हो’ हुन्छन्, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा ‘आमेन’ पनि हुन्छन् (२ कोरिन्थी १:२०)।

> परमेश्वर सत्य हुनुहुन्छ — मेरो समस्याको बीचमा म परमेश्वरको वचनको प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छु किनभने परमेश्वर झूट बोल्नुहुन्न; उहाँले झूट बोल्नै सक्नुहुन्न (तीतस १:२)। उहाँले जे भन्नुहुन्छ, त्यो उहाँले गर्नुहुन्छ।

उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ सामर्थी पनि हुनुहुन्छ (रोमी ४:२१)।

> ‍परमेश्वर अनन्त हुनुहुन्छ — अनन्तताको परिप्रेक्ष्यमा वा दाँजोमा हेर्दा मेरो समस्या सानोभन्दा सानो देखिन्छ।

अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन् (व्यवस्था ३३:२७)।

> परमेश्वर प्रेम हुनुहुन्छ — मेरो यो समस्यामा परमेश्वरले स्वयम् आफैलाई चिनाउन चाहनुहुन्छ। यस्तो कुनै समस्या छैन, त्यो जतिसुकै ठूलो किन नहोस्, जसले मलाई उहाँको प्रेमबाट अलग पार्न सक्दछ।

कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ: ‘तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।’ तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍– न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)।

> परमेश्वर भला हुनुहुन्छ — मेरो समस्या र मेरो अप्ठ्यारो परिस्थितिकै बीचमा पनि परमेश्वरले मलाई उहाँको पुत्रजस्तै बनाउँदै लैजान चाहनुहुन्छ (रोमी ८:२८-२९)। जस्तोसुकै संकष्ट किन नहोस्, उहाँ भला हुनुहुन्छ भनी म उहाँको प्रशंसा गर्न सक्छु (भजनसंग्रह १०७:८,१५)।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइनै उत्पन्न गर्दछन् — उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्। किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो (रोमी ८:२८-२९)।

> परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ — मेरो जीवनमा यो समस्या आउन दिनुमा परमेश्वरले ठीक नै गर्नुभएको छ। परमेश्वरले कहिल्यै गलती गर्नुहुन्न।

सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र? (उत्पत्ति १८:२५)।

प्रिय विश्वासी जन, दैनिक जीवनका भार र समस्याहरूका बीच जीवित परमेश्वरलाई कत्तिको सम्झने गर्नुहुन्छ? “जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्” (भजनसंग्रह ९:१०)।