Entries by Pradesh Shrestha

बाइबललाई श्रदाञ्जलि

बाइबललाई श्रदाञ्जलि

 

बाइबलमा परमेश्वरकै मन छ, मानिसको अवस्था छ, मुक्तिको मार्ग छ, दुष्टहरूको विनाश छ र विश्वास गर्नेहरूको सुख छ। यसका शिक्षाहरू पवित्र छन्, यसका नीतिहरू आधिकारिक छन्, यसका इतिहासहरू सत्य छन् र यसका फैसलाहरू अपरिवर्तनीय छन्। बुद्धिमान हुन यसलाई पढ्नुहोस्, सुरक्षित हुन विश्वास गर्नुहोस्, पवित्र हुन पालन गर्नुहोस्। डोर्‍याउनलाई यसमा ज्योति छ, सामर्थ्य दिने भोजन छ, ढाडस दिने साहारा छ।

यात्रीको नक्सा हो यो, परदेशीको लौरो, चालकको कम्पास हो यो र तलवार योद्धाको। ख्रीष्टियनको राजपत्र हो यो। यहाँ सत्ययुग पुनर्स्थापित हुन्छ, स्वर्ग खोलिन्छ, नरकका ढोकाहरू प्रकट हुन्छन्। ख्रीष्ट यसको केन्द्रीय विषय हो, हाम्रो भलाइ यसको उद्देश्य र परमेश्वरको महिमा यसको लक्ष्य।

यसले स्मृतिलाई भर्नुपर्छ, हृदयलाई नियन्त्रण गर्नुपर्छ, पाउहरूलाई डोर्‍याउर्नुपर्छ। यसलाई बिस्तारै पढ्नुहोस्, बारम्बार पढ्नुहोस्, प्रार्थनासहित पढ्नुहोस्। यो, ऐश्वर्यको खानी हो, महिमाको स्वर्गलोक हो र सुखको नदी हो। यो तपाईंलाई यस जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ र यसलाई सदासर्वदा स्मरण गरिनेछ। यसमा सबभन्दा ठूलो जिम्मेवारी छ, अधिक परिश्रमलाई इनाम छ र यसका पवित्र कुराहरूसित खेलबाड गर्नेहरू सबलाई दण्ड छ।

(अङ्ग्रेजीबाट अनूदित)

बाइबल एक अद्‍भुत पुस्तक

बाइबल एक अद्‍भुत पुस्तक

 

बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण

डेविड डनलाप

“बाइबल अरू पुस्तक जस्तो होइन” — यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्वरले आफ्नो वचनलाई जिउँदो (हिब्रू ४:१२) को संज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नो वचनको संरचनामा जीवन-तत्त्व समावेश गर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यी पवित्र शास्त्रहरूद्वारा हरेक युग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ — गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ। बाइबलले सिकाएका र समर्थन गरेका कुराहरू अद्‍भुतरूपमा अचूक छन्। बाइबलको मूल सन्देश मुक्तिको सन्देश हो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वा पुरातत्त्वको विषयलाई छुँदा बाइबलको ज्ञान अग्रणी स्थानमा रहेको पाइन्छ जुन ज्ञान साँचो र सत्यापनीय भएको पाइन्छ। जीवनका सबभन्दा गहन प्रश्‍नहरूको जवाफ खोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिक सिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्‍भवको प्रमाणस्वरूप पाउँदछ। बाइबल भनिने यस अद्‍भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटै मात्र छ — यो परमेश्वरकै प्रेरणाबाट दिइएको पुस्तक हो।

बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको

“सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि र धार्मिकताको तालिमका लागि लाभदायक छ” (२ तिमोथी ३:१६)। बाइबल ईश्वरीय प्रेरणाबाट आएको हो भन्नुको तात्पर्य के हो? उक्त प्रेरणाको लम्बाइ र चौडाइ व्यक्त गर्न “पूर्ण” र “शाब्दिक” जस्ता व्याख्यात्मक शब्दहरू प्रयोग गरिन्छन्। “पूर्ण” शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाई सङ्केत गर्दछ। “शाब्दिक” ले चाहिँ बाइबलको प्रत्येक शब्द नै ईश्वर-प्रेरित हो भन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीय लेखकहरूमाथिको पवित्र आत्माको अलौकिक प्रभाव हो जुन प्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छ कि बाइबलले आफ्नो प्रेरणाको तथ्यलाई प्रस्टै उल्लेख गरे तापनि यसले आफ्नो प्रेरणाको पक्षमा कहिल्यै बहस गर्न खोज्दैन। कसै-कसैले यस असङ्गति [paradox] लाई देखेर ताजुब मानेका छन्। एकपटक लोकप्रिय बाइबल शिक्षक सी एच म्याकिन्टोश (१८२०-१८९६) लाई सोधियो, किन बाइबलले आफ्नो प्रेरणाको पक्षमा बहस गर्दैन? उनले जवाफ दिए, “त्यो त सूर्य चम्किरहेको छ कि छैन भनेर प्रमाणित गर्न एउटा टर्च-लाइटलाई आकाशतिर देखाए बराबर हुन्छ!” भनाइको तात्पर्य यो थियो कि बाइबल आफै नै सर्वोत्तम प्रमाण हो। त्यसो भए तापनि बाइबलको शुरूदेखि अन्तसम्म नै अद्वित्तीय र अनन्त परमेश्वरकै लक्ष्यण भेटिन्छ।

अविनाशी पुस्तक बाइबल

कुनै पुस्तक विशेष छ भने त्यो पच्चीस वर्षसम्म पनि छापिन सक्छ। जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन्। तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक-पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ।

रोमी सम्राट डायोक्लेटियन (ई सं ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन्। सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन्। तर उनीहरूले हासिल गरेको सफलता न्यून छ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता “इनलाइटनमेन्ट” स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो। तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटक घोषणा गरे, “अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ।” तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भोल्टेयर बसेकै घरबाट त्यहाँ भएको उनकै छापाखाना प्रयोग गरी जेनेभा बाइबल सोसाइटीले धमाधम बाइबलहरू छाप्न थाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोर तुल्याएन बरु झन् मजबुत तुल्यायो। विश्वासको खातिर कठोर सतावट भोग्ने फ्रान्सेली ह्युगनटहरूले बाइबल र इसाईमतलाई तीन कामदारहरूको घनको प्रहारमुनि रहेको फलामको अचानोसित तुलना गरेर चित्र कोरेका छन् जसमुनि निम्न शब्दहरू कुँदिएका छन्:

“घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!”

परमेश्वरको वचन अविनाशी छ भन्ने तथ्य आजको दिनसम्मै पुष्टि भएको छ। बाइबलले हामीलाई याद गराउँदछ, “घास ओइलिहाल्छ, र फूल झरिहाल्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ” (१ पत्रुस १:२४-२५)।

पुरातात्त्विक प्रमाण

पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण र कैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थन गरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता र सत्यताको खिल्ली उडाउँदै आए। तर, गत पच्चीस वर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबल ठीक तर उदारवादी विद्वानहरू बेठीक प्रमाणित गरेको छ। बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदी उत्खनक डा नेल्सन ग्लुएकले यसरी लेखेका छन्:

निर्विवादरूपमा यो भन्न सकिन्छ कि पुरातत्त्वको कुनै पनि आविष्कारले बाइबलको एउटै बुँदालाई समेत खण्डन गरेको छैन। बरु थुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएका छन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्ट रूपरेखामा वा पक्का प्रतिरूपमा समर्थन गरेको पाइएको छ।(१)

बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तम उदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिन सकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदा सम्पन्न भएको थियो। पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन् भनी खिल्ली उडाए। उनीहरूको तर्क यो थियो: कुनै पनि सरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ-आफ्ना जन्मस्थानमा जबरदस्ती कसरी पठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्ने इसाईहरूलाई त्यस्तो जनगणना प्राचीन मध्यपूर्वमा भएको थियो भन्ने प्रमाण निकाल्न चुनौती समेत दिए। तर, गत केही वर्षहरूमा लेखोटहरू भेटिएका छन् जसले त्यस्ता जनगणनाहरूलाई समर्थन गर्दछन्। ख्रीष्टियन विद्वान डा जोन म्याकरेले, आफ्नो पुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व र नयाँ नियम) मा पहिलो शताब्दीबाटको एउटा लेखोट प्रस्तुत गर्नुहुन्छ जसमा यसरी लेखिएको छ:

मिश्रका अधिपति गायस भिबियस म्याक्सिमस [बाट]: घर-घरको जनगणना लिने समय अब आइपुगेको हुनाले कारणवश आ-आफ्नो इलाकाबाहिर बसोबास गरिरहेका सबैलाई आ-आफ्नै घरमा फर्कनलाई बाध्य गराउन आवश्यक परेको छ ताकि उनीहरूले गणनाको नियमित काम पूरा गरून् र साथै आ-आफ्नो भूमिको खेतीपातीमा यत्‍नपूर्वक ध्यान दिऊन्।(२)

यो लगायत अन्य थुप्रै आविष्कारहरूले पवित्र शास्त्रको साँचोपनलाई समर्थन गर्दछ। बाइबलको अभिलेखलाई थप समर्थन गर्ने केही पुरातात्त्विक नव-आविष्कारहरू यस प्रकार छन्: एल्बा शीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, “चौतारा” (येशूलाई न्याय गरिएको स्थान) र बेथसैदाको पोखरीको अस्तित्व।

सप्रमाणताको जाँच

इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन्। सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ। हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन्। अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन्। साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ। नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ।(३)

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन्। त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन्। तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ।

मृत-सागरका चर्मपत्रहरू

१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।

भविष्यवाणीको प्रमाण

बाइबलका भविष्यवाणीहरू यस पुस्तकको ईश्वरीय-उद्‍भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटा हो। बाइबलका करिब ३,८५६ पदहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन् — प्रत्येक ६ ओटामा एउटा पदले भावी घटनाहरू बताउँदछ। दुवै पुरानो र नयाँ नियमले भावी विश्व घटनाहरूको ईश्वरीय प्रकाश प्रस्तुत गर्दछन्। टायरको विनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमको पतन — प्रत्येक नै बाइबलमा किटानसाथ भविष्यवाणी गरिएका थिए र तिनमा उल्लेखित सानो भन्दा सानो बुँदा समेत हुबहु पूरा भए। यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ। बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका “ईश्वर” भनाउँदाहरूदेखि पृथक राख्‍नुहुन्छ। संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ — “मजस्तै को छ र? त्यसले घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्… जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्… तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ। मैले भनेको कुरा म पूरा गर्नेछु” (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९)। तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन। यथार्थ यही हो — केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो।

निष्कर्ष

बाइबल परमेश्वरबाटै दिइएको हो भन्ने कुराको समर्थन गर्ने प्रमाणहरूको सँगालो वृहत् र विश्वसनीय छ। पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक र नैतिक प्रमाण एक अल्गो र अटल गढी जस्तै खडा छ। तथापि उदारवादी आलोचक र अविश्वासीहरूले यसमाथि हमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएका होइनन् तरैपनि पवित्र शास्त्रको सत्यतालाई कमजोर तुल्याउन तीमध्ये एउटै प्रयास पनि सफल भएको छैन। बाइबल एक विश्वव्यापी सन्देश बोकेको पुस्तक हो जुन सन्देश सबै मानिसका लागि हो। यो एउटै मात्र पुस्तक हो जसमा दुवै बालक र विद्वानले उत्तिकै आनन्द लिन सक्दछ। यसको सरल, जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरूलाई पार गरेर करोडौंलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन बनाउँदछ र विद्रोहीलाई पवित्र जन बनाउँदछ। बाइबलको सबभन्दा ठूलो प्रमाणचाहिँ यसले तपाईंमा ल्याउन सक्ने जीवनको परिवर्तन हो।

उद्धृत रचनाहरू

(१) डा नेल्सलन ग्लुएक, रिभर्स इन द डेजर्ट, (न्यू योर्क, न्यू योर्क: ग्रोभ, १९६०), पृष्ठ ३१

(२) डा जन म्याकरे, आर्किअलजि एण्ड द न्यू टेस्टामेन्ट, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: बेकर, १९९१), पृष्ठ १५५

(३) फ्रेडरिक जे केन्यन, द स्टोरि अफ द बाइबल, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: अर्डम्यान्स्, १९६७), पृष्ठ १३३

बाइबल कसरी अध्ययन गर्ने

बाइबल कसरी अध्ययन गर्ने

 

बाइबल कसरी अध्ययन गर्ने?

(Robert F. Ramey, Joy of Discovery in Bible Study)

धेरैजसो मानिसहरू बाइबल विरलै पढ्छन् — समस्यामा पर्दा होला वा मण्डली सभामा बस्दा। उनीहरू आफ्नो बाइबलीय ज्ञान अर्काबाट प्राप्‍त गर्न सन्तुष्ट छन्। अरूहरूचाहिँ बाइबल नियमित रूपमा पढ्छन् तर पवित्र शास्त्रका अनमोल रत्नहरू पत्ता लगाउने विधि जान्दैनन्। यहाँ वर्णन गरिएको अध्ययन विधिले परमेश्वरको सत्यतालाई सार्थक रूपमा जान्नलाई मदत मिल्नेछ। प्रयोग गरी हेर्नुहोस्! पढ्नुहोस्, २ तिमोथी २:१५।

खुड्किलो १ – अवलोकन गर्नुहोस्

चाबी पद:यूहन्ना ५:३९ “खोजी गर”

चाबी प्रश्‍न:
पवित्र शास्त्रले के बताउँछ?

उद्देश्य: सबै शब्द, सूक्ष्म विवरण र सजिलै छुट्न सक्ने विचार-भावना समेत पत्ता लगाउनु। कति पटक आफ्नै आँखाका अगाडिका कुरा देख्न सक्दैनौं हामी। हामी खोजतलाश गर्न जान्दैनौं। हामी हतार-हतार पढ्छौं। यसरी पदले प्रस्टै बताएको कुरा सजिलै छुट्न सक्छ।

अर्थ: “खोजी गर” को मतलब, प्रत्येक शब्द र वाक्यांशलाई हेर्नु, अवलोकन गर्नु, तलाश गर्नु, ध्यान लगाउनु, ख्याल गर्नु, विचार गर्नु।

विधि: दोहोर्याइ-तेहर्याइ पढ्नुहोस्। टिपोट गर्नुहोस्। प्रश्न गर्नुहोस्: को? के? कसले? कहिले? कहाँ? किन? कसरी? आफ्नै शब्दमा उतार्नुहोस्।

खुड्किलो २ – अर्थ बुझ्नुहोस्

चाबी पद: मत्ती २४:१५ “पढ्नेले बुझोस्”

चाबी प्रश्‍न:
पवित्र शास्त्रको माने के हो?

उद्देश्य: बाइबल लेखकले कुन अर्थमा लेखे र आफ्नो पाठकवर्गले के बुझेको उनी चाहन्थे सो कुराको व्याख्या गर्नु, अर्थ खोल्नु।

अर्थ: व्याख्या गर्नु, स्पष्ट पार्नु, अर्थ बताउनु, माने खोल्नु।

विधि: संस्कृति, भाषा र समयको दूरी को समस्या समाधान गर्नु। सो गर्न सक्न हामीलाई अनुवादहरू, शब्दकोषहरू, मानचित्र हरू आदिको मदत चाहिन्छ।

 

आफूले भन्नुभएको कुराको सम्बन्धमा परमेश्वर गम्भीर हुनुहुन्छ। समस्या के हो भने परमेश्वरको वचन पढ्न लाग्दा हामी प्रायः हाम्रा आफ्नै विचार र पूर्वधारणाहरू ल्याउँछौं र बाइबलको अर्थलाई हाम्रै पूर्वधारणामा मोड्छौं। यसैले त हो, मान्छेहरू बाइबललाई प्रयोग गरेर आफूले चाहेको जेसुकै कुरालाई प्रमाणित गर्न सक्छन्। तर उनीहरूले बाइबललाई प्रयोग गरेका होइनन्, बरु दुरुपयोग गरेका हुन् किनभने उनीहरूले परमेश्वरको पवित्र वचनमाथि उनीहरूका आफ्नै व्याख्याहरू जबरदस्ती लाद्ने काम गर्दछन्।

परमेश्वरले जे भन्नुभयो, त्यही भन्न दिनुको सट्टा हामी बाइबले जे भनेको चाहन्छौं वा हाम्रो विचार अनुसार बाइबलले के भन्नुपर्थ्यो भन्ने लाग्छ त्यहीअनुरूप अर्थ लगाउँछौं। यो आत्मगत तरिका हो र यसले साँचो बाइबल अध्ययनमा ह्रास ल्याउँछ; परमेश्वरले यसलाई मान्यता दिनुहुन्न। हामी परमेश्वरकहाँ नम्र हृदय लिएर आउनुपर्छ, हाम्रा सबै पूर्वधारणाहरूलाई पन्छाएर आउनुपर्छ र भन्नुपर्छ, “प्रभु तपाईंको मार्ग सिकाउनुहोस् मलाई। मलाई सिक्न सहायता गर्नुहोस्, उल्टो सिकेकोलाई सुल्टो सिक्न, सिकेको कुरालाई फेरि सिक्न सहायता गर्नुहोस्। मेरो विचारलाई सुधार्नुहोस्। आफ्नो कुराको पक्षमा होइन तर तपाईंले भन्नुभएको कुराको पक्षमा मेरो विचारलाई मोड्न सहायता गर्नुहोस्।”

परमेश्वरको पवित्र आत्माले हाम्रा समझका आँखाहरूलाई खोलिदिनुभएको होस् ताकि हामी परमेश्वरको सत्यता जान्न सकौं ताकि हामी परमेश्वरको सत्यतामा हिँड्न सकौं (२ यूहन्ना ४; ३ यूहन्ना ३-४)।

 

खुड्किलो ३ – अभ्यास गर्नुहोस्

चाबी पद: याकूब १:२२ “पालन गर्नेहरू होओ”

चाबी प्रश्‍न:
मेरो निम्ति पवित्र शास्त्रको माने के हो?

उद्देश्य: आत्मिक पाठहरू सिक्नु, अनुग्रहमा बढ्नु र फलस्वरूप जीवन बदलिनु। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुराले आफ्नो जीवन परिवर्तित हुनु।

अर्थ: गर्नु, काममा ल्याउनु, पालन गर्नु, विश्वास गर्नु, प्रयोगमा ल्याउनु, व्यावहारिक बनाउनु आदि।

विधि: यी प्रश्नहरूको जवाफ दिनुहोस्: कुनै प्रतिज्ञा छ जुन म विश्वास गरूँ? कुनै नमुना छ, म देखासिकी गरूँ? कुनै पाप जसबाट म अलग रहूँ? कुनै कर्तब्य, म पालन गरूँ? कुनै प्रार्थना जुन म पनि गरूँ? आदि।

 

“बाइबल शिक्षा, केवल सिकाउनकै लागि सिकाइनु जस्तो नीरस र अर्थहीन काम अरू छैन होला। सत्यता, जब जीवनसम्मत हुँदैन, बाइबलीय अर्थमा त्यो सत्यता नै होइन, त्यो अर्कै कुरा हो, सत्यता भन्दा निम्न कुरा हो। बाइबलचाहिँ परमेश्वर, मानिस र सृष्टिको बारेमा मानिसलाई थाह नभएका कुराहरूको तथ्यहरूको सँगालो मात्र होइन। यो त ती तथ्यहरूमा आधारित अर्तीको पुस्तक हो। बाइबलको अधिकांश भागले मानिसलाई आफ्नो चाल बदलेर आफ्नो जीवनलाई त्यसका पन्नाहरूमा प्रकाशित परमेश्वरको इच्छाअनुरूप बनाउँदै लैजान मानिसलाई मनाउने जोडदार प्रयास गरेको पाइन्छ। पालना नगरिएसम्म ईश्वर-शास्त्र बिनाकामको हुन्छ। सबै शिक्षाको पछाडि एउटै उद्देश्य हुन्छ, त्यो हो नैतिक काम। नैतिक जिम्मेवारी-बोध बिनाको बाइबल प्रचारलाई कुनै विरोध आउँदैन। तर जब त्यो सत्यता श्रोताको हृदयको विरुद्धमा छ भनी जब उसलाई बोध गराइन्छ, तब युद्ध प्रारम्भ हुन्छ। ठीक-ठीक शिक्षालाई जीवनसित असम्बन्धित रूपमा प्रस्तुत गरुञ्जेल मानिसले बिनाआपत्ति मण्डली सभा आउने, सहायता गर्ने गर्दछ। प्रचलित इसाईवाद अधिकांशरूपमा वस्तुगत सत्यतालाई संगीतले मीठो बनाइएको र धार्मिक मनोरञ्जनले स्वादिलो बनाइएको अभ्यासभन्दा बढी छैन।”

— ए डब्लू टोजर

 

खुड्किलो ४ – तुलना गर्नुहोस्

चाबी पद: १ कोरिन्थी २:१३ “तुलना गर्दै”

चाबी प्रश्‍न:
पवित्र शास्त्रको अन्य खण्डहरूमा के उल्लेख छ?

उद्देश्य: आफूले अध्ययन गरिरहेको पवित्र शास्त्रको खण्डलाई बाँकी बाइबलसित मिलान गर्नु। बाइबलको प्रत्येक खण्डलाई पूर्ण बाइबलसितको सम्बन्धमा देखिनु आवश्यक छ। एउटा रूखलाई राम्ररी देखेपछि त्यसलाई सम्पूर्ण वनसितको त्यसको सम्बन्धमा देख्‍नुपर्छ। बाइबल एक सिङ्गो एककृत सँगालो हो र सबै भागहरू कसरी आपसमा जोडिएका छन् सो देख्न आवश्यक छ।

अर्थ: पवित्र शास्त्रका खण्डहरूको परस्पर सम्बन्धलाई जोड्नु, तिनलाई पूर्णतामा हेर्नु, सम्मिलन गर्नु।

विधि: आफूलाई प्रश्न गर्नुहोस्: मैले भर्खरै अध्ययन गरेको खण्डलाई बाइबलका कुनचाहिँ अन्य पदहरू, खण्डहरू वा अध्यायहरूसित मिलान गर्न सक्छु। मैले अध्ययन गरेको कुरालाई प्रकाश पार्ने वा समर्थन गर्ने अन्य समानन्तर खण्डहरू म भेट्टाउन सक्छु कि? यसमा, बाइबलको पन्नाहरूको प्रायः तलपट्टि पाइने सन्दर्भ पद (क्रस रेफरेन्स) हरू र क्रमशब्द पुस्तकहरूबाट मदत मिल्न सक्छ।

 

बाइबल यसरी पढ्नुहोस्

1. प्रार्थनासहित (भजनसंग्रह २५:४-५; ११९:१८)
2. नियमितरूपमा (मत्ती ४:४; अय्युब २३:१२)
3. विस्तारै (१ कोरिन्थी १४:१९)
4. ध्यानपूर्वक (यूहन्ना ५:३९)
5. क्रमिकरूपमा (१ कोरिन्थी १४:४०)
6. प्रश्नहरूसहित (माथि उल्लेखित)
7. प्रेमपूर्वक (भजनसंग्रह ११९:९७)
8. आदरपूर्वक (यशैया ६६:२)
9. विश्वाससहित (हिब्रू ४:२)
10. आज्ञाकारीपूर्वक (प्रकाश १:३; २२:७,१४; याकूब १:२२)।

राज्यको प्रबन्ध

राज्यको प्रबन्ध

 

(ख्रीष्टको दोश्रो आगमनदेखि नयाँ आकाश र नयाँ पृथ्वीसम्म)

यस अध्यायमा हामी सातौं प्रबन्धको अध्ययन गर्नेछौं जुनचाहिँ अन्तिम प्रबन्ध पनि हो। येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो, “तपाईंको __________ आओस्” (मत्ती ६:१०)। परमेश्वरको महान् राज्य आउँदैछ (प्रकाश ११:१५)। त्यो समय आउँदैछ जब मानिसहरूले पृथ्वीमा परमेश्वरको इच्छा पूरा गर्नेछन् (पढ्नुहोस् मत्ती ६:१०)। के आज त्यस्तै भइरहेको छ त? _________। आज पृथ्वीमा परमेश्वरको इच्छा पूरा भइरहेको छ कि प्रायःजसो मानिसहरू परमेश्वरलाई बेवास्ता गर्दै आफूले जे चाहन्छन् त्यही गरिरहेका छन्? ________________________________________। परमेश्वरको राज्य आइसकेको छैन तर त्यो आउँदैछ!

शताब्दियौं देखि मानिसहरूले एउटा सुन्दर संसारको सपना देख्दै आएका छन्। सब युद्ध, कलह, दुषकर्म, भोकमरी, रोगबिमारबाट मुक्त संसार अर्थात् “सत्य युग” को चाहना गरेका छन् उनीहरूले। बाइबलले बताउँछ, एउटा सुन्दर भविष्य आउँदैछ। भन्ने हो भने, सम्भवत: परमेश्वरको राज्य दस वर्ष नबित्दै आउन सक्छ! [मिति निर्धारण गर्ने प्रयास होइन यो। केवल सम्भावना मात्र जुनचाहिँ वास्तविकता हुनेछ यदि र्‍याप्चरको घटना एक-दुई वर्षमै घट्ने हो भने। राज्यको आगमन अझै वर्षौंसम्म ढिलाइ हुन सक्छ। परमेश्वर मात्र समय जान्नुहुन्छ, हामी जान्दैनौं]।

अघिल्लो पाठमा हामीले महासङ्कष्टको समयको अध्ययन गर्‍यौं जुन समय संसारकै सबैभन्दा संकटपूर्ण हुनेछ (मत्ती २४:२१)। के तपाईंलाई थाहा छ, सबैभन्दा नराम्रो समय पछि सबभन्दा राम्रो समय आउनेछ (मत्ती २४:२९-३०)। त्यसबखत नै “सत्य युग” को शुरुआत हुनेछ। त्यो समय संसारकै सबभन्दा आशिषपूर्ण र फलिफापको समय हुनेछ, त्यस्तो समय जुन कि मानिस पापमा पतन भएदेखि यता कहिल्यै भएको छैन।

१. प्रारम्भमा मानिसको अवस्था

परमेश्वरको राज्य कस्तो हुनेछ त? त्यसबेला पृथ्वीको अवस्था आजको भन्दा कसरी फरक हुनेछ? भविष्यको राज्यको जीवन कस्तो हुनेछ? त्यो “सुवर्ण युग” लाई कसरी वर्णन गर्ने? त्यस राज्यको समयको बारेमा दसओटा कुराहरूको अध्ययन गरौं:

    1. समस्त पृथ्वीमाथि येशू ख्रीष्ट राजा हुनुहुनेछ।
      “परमप्रभु __________ _________का राजा हुनुहुनेछ” (जकरिया १४:९)। येशू ख्रीष्ट सारा जगतको नरेश र सार्वभौम शासक हुनुहुनेछ! यस राजाको आराधना र सेवा क-कसले गर्नेछन् (दनिएल ७:१४)? ________________________________________। यशैया २:३ अनुसार कुनचाहिँ शहर ख्रीष्टको राज्यको राजधानी हुनेछ? ___________________। राज्यको समयमा हुने ख्रीष्टको शासन प्रणालीलाई प्राय: ईश्वर-राज्य (THEOCRACY) अर्थात् ईश्वरद्वारा संचालित शासन भन्ने गरिन्छ। अद्वित्तीय ईश्वर-मानव (GOD-MAN) प्रभु येशू नै सिंहासनमा विराजमान हुनुहुनेछ। उहाँभन्दा सिद्ध शासक कोही छैन!

 

    1. ख्रीष्ट नै सिद्ध शासक हुनुहुनेछ।
      संसारमा ज्यादै खराब शासकहरू आए, गए (जस्तै, प्रस्थानको फारो, हेरोद महान्, हिटलर, सद्दाम हुसेन, कयौं अरू)। कैयौं शासकहरू क्रूर, महत्वकांक्षी र अत्याचारी थिए। अति असल मानिएका शासक र राष्ट्रपतिहरू समेत निकै असिद्ध थिए। भावी राज्यको युगमा एकजना सिद्ध शासक हुनुहुनेछ: “किनकि परमप्रभु हाम्रा _____________ हुनुहुन्छ। परमप्रभु हामीलाई ____________ _______ हुनुहुन्छ। परमप्रभु हाम्रा ________ हुनुहुन्छ” (यशैया ३३:२२)। यस पदले हामीलाई कतिपय राष्ट्रमा हुने सरकारको तीनओटा अङ्गहरूको सम्झना गराउँछ। प्रभु येशू नै सिद्ध न्यायधीश हुनुहुनेछ (न्यायपालिका, सर्वोच्च अदालत), सिद्ध राजा हुनुहुनेछ (कार्यपालिका, राष्ट्र प्रमुख) अनि उहाँले नै सिद्ध व्यवस्थाहरू बनाउनुहुनेछ (व्यवस्थापिका, संसद)! न्यायपालिका, कार्यपालिकाव्यवस्थापिका तीनैओटा अङ्ग एउटै व्यक्ति येशू ख्रीष्टमा निहित हुनेछ!

 

    1. ख्रीष्टले सिद्ध निष्पक्षतामा र धार्मिकतामा शासन गर्नुहुनेछ।
      उहाँले धा_________सित पृथ्वीमा न्याय र शासन गर्नुहुनेछ (यशैया ११:४-५)। यस राजाले गर्नुहुने सब कार्य, बोल्नुहुने सब कुरा न्यायोचित र सही हुनेछ! उहाँले कुनै भूल गर्नुहुनेछैन। उहाँले संसारको शासन कुनै त्रुटिबिना गर्नुहुनेछ। उहाँले गर्नुहुने प्रत्येक निर्णय सही र न्यायपूर्ण हुनेछ।

 

    1. पृथ्वीमा शान्ति छाउनेछ।
      “उहाँले पृथ्वीको छेउसम्म नै लडाइँहरू ________ गराउनुहुन्छ” (भजनसंग्रह ४६:९)। के आज पनि यस्तै छ? _______। यशैया २:४ अनुसार राज्यको युगमा स्थल-सेना, जल-सेना वा हवाइ-सेना कुनैको पनि आवश्यकता हुनेछैन। युद्ध केवल इतिहासमा सिमित हुनेछ किनकि _________का राजकुमार (यशैया ९:६) सिंहासनमा विराजमान हुनुहुनेछ।

 

    1. सबै मानिसहरूलाई परमेश्वरको सत्यता सिकाइनेछ।
      आज संसारमा थुप्रै धर्महरू छन्। परमेश्वर को हुनुहुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने बारेमा मानिसहरू अनेकौं विचित्र धारणहरू राख्छन्। राज्यको युगमा परिस्थिति बेग्लै हुनेछ। प्रभु येशू ख्रीष्ट आफैंले पृथ्वीमाथि शासन गर्दै मानिसहरूलाई परमेश्वरको बारेमा सत्य सिकाउनुहुनेछ (यशैया २:३)। त्यहाँ कुनै पनि झूटो धर्मलाई अनुमति दिइनेछैन। केवल सत्य मात्र सिकाइनेछ। सबैले राजालाई उपासना गर्नुपर्नेछ! के त्यस बेला “तपाईंहरूले प्रभुलाई चिन्नु खाँचो छ” भन्दै बताउने मिसनरी प्रचारकहरूको खाँचो पर्नेछ (यर्मिया ३१:३४)? _____________। के समस्त जगतले प्रभुको बारेमा जान्नेछ (यशैया ११:९)? _____________। के आज पनि यस्तै छ? ________।

 

    1. शैतानले समस्या दिन पाउनेछैन।
      प्रकाश अध्याय २० मा हामी सिक्छौं, राज्यको युग १००० वर्ष लामो हुनेछ। यस अध्यायमा यस १००० वर्षको अवधिलाई उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: _______________________। (यसैले राज्यको युगलाई “मलेनियम” पनि भन्ने गरिन्छ जसको अर्थ हो हजार वर्षको अवधि)।

      त्यस १००० वर्षको अवधिमा शैतान कहाँ हुनेछ (प्रकाश २०:१-३)? _______________________। शैतानलाई मलेनियमको पूरै अवधिभरि “कैद” गरिन्छ! के १ पत्रुस ५:८ राज्यको युगमा साँचो हुनेछ? __________। के त्यो आज साँचो छ? __________। आदम र हव्वाकै समयदेखि शैतानले पृथ्वीमा उपद्रव गर्दै आएको छ। तर राज्यको युगमा उसले पृथ्वीमा कुनै प्रभाव जमाउनेछैन। यस विषयमा हामी यस पाठमा अरू अध्ययन गर्नेछौं।

 

    1. बाँझो भूमिहरू फलदायी बन्नेछन्।
      यशैया ३२:१५ मा हामी सिक्छौं, मरुभूमि म________ खे_________ बन्नेछ। यस्तो नयाँ दृश्यलाई यशैया ३५:१-२ मा बयान गरिएको छ। मरुभूमि फल्दोफुल्दो बन्नलाई प्रशस्त पानीको आवश्यकता पर्दछ। के परमेश्वरले मरुभूमिहरूका लागि प्रशस्त पानीको प्रबन्ध गर्नुहुनेछ (यशैया ३५:६-७)? ___________।

 

    1. रोग-बिमार निर्मूल पारिनेछ।
      आज संसारमा रोग-बिमार व्यापक छ। के राजा प्रभु येशू ख्रीष्टले रोग-बिमारको समस्याको बारेमा केही गर्न सक्नुहुन्छ (मत्ती ४:२३-२४)? ______________। राज्यको युगमा जिउने व्यक्तिले “म ___________ छु” (यशैया ३३:२४) भन्नेछैन। त्यस दिन बहिराले कान सुन्नेछ र अन्धाले आँखा देख्‍नेछ (यशैया २९:१८ र यशैया ३५:५-६)। आउनेवाला राज्यका प्रजाले सुन्दर स्वस्थ्यको अनुभूति गर्नेछन्।

 

    1. मानिसहरूको आयु सयौं वर्ष लामो हुनेछ।
      आज सय वर्ष पुगेको मानिसलाई वृद्ध मानिन्छ कि बालक? ___________। यशैया ६५:२० ले राज्यको बयान गर्दछ। यस पदले सय वर्षको बालकको कुरा गर्दछ! यशैया ६५:२२ मा हामी सिक्छौं मानिसको आयु रूखको आयुजस्तै हुनेछ। कतिपय रूखहरू सयौं वर्ष बाँच्छन् भन्ने कुरा के तपाईंलाई थाहा थियो? राज्यको युगमा जिउनेहरू वर्षौं-वर्षौं बाँचिरहनेछन्। राज्यको युगमा येशू ख्रीष्टले कहिले काहिँ पापीहरूलाई मृत्युदण्ड दिनुहुनेछ (हेर्नुहोस् यशैया ६५:२०) तर मानिसहरूले ख्रीष्टका नियम-कानूनलाई पालन गरे भने उनीहरूलाई कुनै समस्या आइपर्नेछैन र उनीहरू वर्षौं बाँचिरहनेछन्। धेरैजसो मानिसहरू राज्यको पूरै युग बाँचेर मतुशेलहभन्दा वृद्ध हुनेछन् (हेर्नुहोस् उत्पत्ति ५:२७)!

 

  1. पशुपंक्षीको स्वभावमा परिवर्तन आउनेछ।
    यो अचम्मको परिवर्तनलाई यशैया ११:६-९ र ६५:२५ मा बयान गरिएको छ। के आजका पशुपंक्षी यस्तै छन्? ____। आज एउटा पाठो र ब्वाँसोलाई सँगै राखियो भने के हुन्छ? आज एउटा विषालु सर्प र एउटा सानो बालकलाई सँगै राखियो भने के हुन्छ? पशु जगतमा समेत राम्रो परिवर्तन आउनेछ! राज्यको यस युग अगाडी पनि पृथ्वीमा एउटा समय थियो जब पशु प्राणीहरू शाकाहारी नै थिए, एउटै मांसहारी थिएनन् (उत्पत्ति १:३०)।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सङ्कष्टकाल

सङ्कष्टकाल

 

प्रभु येशू ख्रीष्टले आफ्नो मण्डलीलाई स्वर्गमा लैजान आउनुहुने घटनाको लगत्तैपछि एउटा सात वर्ष लामो समयावधिको शुरूआत हुनेछ जसलाई “सङ्कष्टकाल” (TRIBULATION PERIOD) भनिन्छ। यस ७ वर्षे समयावधिलाई “दनियलको ७० औं हप्‍ता” (दनियल ९:२४-२७) पनि भनिन्छ। पछि हामी देख्‍नेछौं, उक्त हप्ता ७ दिनको नभएर ७ वर्षको “हप्ता” हुनेछ। सात वर्षको यस हप्ताको पछिल्लो आधा भाग (पछिल्लो ३ १/२ वर्ष) लाई प्रायः म_____________ (मत्ती २४:२१) भनिन्छ किनकि उक्त समय संसारकै इतिहासको सबैभन्दा सङ्कष्टपूर्ण समय हुनेछ। सङ्कष्टकालको लगत्तैपछि कुनचाहिँ महान् घटना घट्नेछ (मत्ती २४:२९-३०)? _________________________________________________।

ख्रीष्टको मृत्युपछिका मुख्य-मुख्य घटनाहरूको विवरणहरू संक्षेपमा यस प्रकार छन्:

उपर्युक्त अंकित नक्साका दस अंकहरूले तल सूचित दस बुँदाहरूको सङ्केत दिन्छन्:

ख्रीष्टको मृत्यु (१ कोरिन्थी १५:३; २ कोरिन्थी ५:२१; रोमी ५:८; १ पत्रुस ३:१८)

ख्रीष्टको बौरिउठाइ (१ कोरिन्थी १५:४; रोमी १:४)

पेन्टेकोस्टको दिनमा पवित्र आत्माको आगमन (प्रेरित २)। ख्रीष्टको शरीर अर्थात् मण्डलीको जन्मदिनलाई पनि यसै अंकले सङ्केत दिन्छ।

वर्तमान मण्डली युग जसमा येशू ख्रीष्टले आफ्नो मण्डली (मत्ती १६:१८) बनाउँदै हुनुहुन्छ र आफ्नो नामको निम्ति एउटा जातिलाई बोलाएर निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। (पाठ १० मा हेर्नुहोस्)

त्यो समय जब प्रभु येशू ख्रीष्ट स्वर्गबाट तल ओर्लनुहुनेछ र मण्डली प्रभुलाई भेट्नलाई “उठाइनेछ” (१ थेस्सलोनिकी ४:१३-१८)। यस घटनालाई मण्डलीको र्‍याप्चर (RAPTURE) भनिन्छ। र्‍याप्चरसहित पृथ्वीमा मण्डली युगको समाप्त हुनेछ।

सङ्कष्टकालको शुरूआत, साथै दनियलको ७० औं हप्ताको शुरूआत। यस सात वर्षको अवधि त्यसबेला शुरू हुनेछ जब इस्राएल जातिसित एउटा करार बाँधिनेछ (दनियल ९:२७)।

उक्त सात वर्षे अवधिको ठीक बीचमा आएर करार भङ्ग हुनेछ अनि “पापको पुरुष” (ख्रीष्ट विरोधी) संसारकै शासक बन्नेछ र मानिसहरूले उसलाई परमेश्वर नै मानेर पूजून् भनेर उसले विश्वलाई बाध्य गराउनेछ (दनियल ९:२७; मत्ती २४:१५-२१; २ थेस्सलोनिकी २:३-४)।

येशूले यस ३ १/२ वर्षको अवधिलाई “महासङ्कष्ट” (GREAT TRIBULATION) भन्ने संज्ञा दिनुभएको छ (मत्ती २४:२१) जुन समय संसारको लागि अपूर्व सङ्कष्टको समय हुनेछ। त्यो समय शैतानिक क्रियाकलाप तीब्र रूपमा अघि बढ्ने समय हुनेछ (प्रकाश १२:७-१२) र शैतानकै मान्छे पृथ्वीको शासक बन्नेछ जो एक कट्टर अधिनायकबादी हुनेछ (प्रकाश १३:१-१०)।

सङ्कष्टकाल समाप्त त्यसबेला हुनेछ जब प्रभु येशू ख्रीष्ट सामर्थ्य र ठूलो महिमामा संसारमा फर्किनुहुनेछ (मत्ती २४:२९-३०; प्रकाश १९:११-१६)।

१० येशू ख्रीष्टले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। यसलाई प्रायः “हजार वर्षको राज्य” भनिन्छ किनकि त्यो हजार वर्ष लामो हुनेछ (प्रकाश अध्याय २०)।

सङ्कष्टकालको समयलाई बाइबलका धेरैओटा खण्डहरूले बयान गरेको छ, विशेषत: मत्ती अध्याय २४, दनियल अध्याय ९, २ थेस्सलोनिकी अध्याय २ र प्रकाश अध्याय ४-१९ ले। तर कति मानिसहरू भविष्यमा सङ्कष्टकालको समय आउँदै छ भनेर विश्वास गर्दैनन्। पवित्र शास्त्रका माथि उल्लेखित खण्डहरू सबै पूरा भइसके भनेर उनीहरू विश्वास गर्छन्। तर बास्तवमा, ती अध्यायहरूमा बयान गरिएका घटनाहरू इतिहासमा कहिल्यै पूरा भएका छैनन्। उदाहरणका लागि प्रकाश ८:७-१२ मा उल्लेखित इन्साफ वा महामारीहरूलाई विचार गरौं। त्यस्ता घटनाहरू आजसम्म कहिल्यै घटेका छन् त? विश्वले त्यस्ता महामारीहरू कहिल्यै देखेको छैन। सारा विश्वमाथि एकलौटी शासन गर्ने मान्छे इतिहासमा कहिले आए र जसलाई सारा विश्वले परमेश्वर नै मानेर दण्डवत् गरे (प्रकाश १३:१-१२)? सारा विश्वले एउटा मान्छेको मूर्तिलाई दण्डवत् गर्नैपर्ने बाध्यता इतिहासमा कहिले आएको थियो र (प्रकाश १३:१६-१७)? यी कुराहरू विगतमा घटेका घटनाहरू होइनन्।

माथिको दफामा सूचित खण्डहरूलाई अक्षरश: नै अर्थ लगाइनुपर्छ। यी अध्यायहरूले पृथ्वीमा आजसम्म कहिल्यै नघटेका घटनाहरूको बयान गर्दै छन्। यी घटनाहरू आजसम्म कहिल्यै नघटेका घटनाहरू भएका हुनाले यी घटनाहरू भविष्यमै हुने घटनाहरू हुनुपर्छ। एक प्रबन्धबादी, परमेश्वरले जे बताउनुभएको छ त्यसैमा विश्वास गर्ने व्यक्ति भएको हुनाले, उसले यी घटनाहरू भविष्यमा नै (सम्भवत: निकट भविष्यमै) हुनेछन् भनेर बुझ्दछ, ठीक जसरी परमेश्वरले बताउनुभएको छ त्यसरी नै।

सङ्कष्टकाल विगत इतिहासमा घटिसकेको घटना होइन तर भविष्यमा हुने घटना हो। हामी मत्ती २४:२९-३० मा सिक्छौं, सङ्कष्टकालको लगत्तै पछि येशू ख्रीष्ट पृथ्वीमा फर्की आउनुहुनेछ। येशू ख्रीष्टको उक्त पुन:आगमन हालसम्म पूरा नभइसकेको, अत: भविष्यमै हुने, घटना भएको हुनाले सङ्कष्टकालको समय पनि भविष्यमै हुने घटना हुनुपर्छ जुन आजसम्म पूरा भइसकेको छैन।

हामीले विभिन्न प्रबन्धहरूको अध्ययन गर्दै आयौं। अन्य प्रबन्धहरूको तुलनामा यस सङ्कष्टकालको अवधिलाई हामी कसरी बुझ्ने त? सात वर्षको लामो यो सङ्कष्टकाललाई प्रायः छुट्टै प्रबन्धको रूपमा हेरिँदैन। यी सात वर्षहरू, अनुग्रहको प्रबन्ध (छैटौं प्रबन्ध) को ठीक पुछारमा अनि राज्यको प्रबन्ध (सातौं प्रबन्ध) को ठीक अगाडि पर्न जान्छन्। सात वर्ष लामो यस सङ्कष्टकाललाई अनुग्रहको प्रबन्धपछि आउने परमेश्वरको इन्साफ भनेर प्रायः बुझ्ने गरिन्छ।

१) निर्दोषता

निर्दोषताको प्रबन्धको समयमा मानिसलाई उसको सबैभन्दा राम्रो अवस्थामा पायौं। मानिस निर्दोष थियो, ऊ पापरहित थियो, ऊ परमेश्वरको स्वरूपमा सृष्टि गरिएको थियो अनि उसलाई एउटा सुन्दर बगैंचामा राखिएको थियो जहाँ ऊ दिन-दिनै परमेश्वरसित मीठो सङ्गतिमा हिँड्न सक्थ्यो। सङ्कष्टकालको समयमा भने हामी मानिसलाई उसको सबैभन्दा नराम्रो अवस्थामा पाउँछौं। त्यहाँ मानिसलाई उसको पूर्ण भ्रष्टता र पापमा देख्छौं। उक्त समय अधर्म अथवा भ्रष्टता (LAWLESSNESS, २ थेस्सलोनिकी २:७) को समय हुनेछ। उक्त समय परमेश्वरले उहाँलाई अस्वीकार गर्ने संसारमाथि आफ्नो इन्साफहरू खन्याउने समय हुनेछ। ती मानिसहरू पश्चात्तापी भई इन्साफका परमेश्वरतर्फ फर्कँदै उहाँको कृपाको चाहना गर्नेछन् कि उनीहरू पश्चात्ताप गर्न अस्वीकार गर्नेछन् (प्रकाश ९:२०-२१; १६:९,११)? ___ ______________________________________________।

आदम आफ्नो निर्दोष अवस्थाबाट पतन भएदेखि यता मानिस झन् झन् पापको गहिराइभित्र डुब्दै गएको छ। अन्तिम सात वर्षको समय (सङ्कष्टकाल) मा आइपुग्दा मानव जाति दुष्टताको गहिराइको पिँधमै पुगिसकेको हुनेछ। त्यसबेला शैतानले आफ्नो सारा बल पृथ्वीमा केन्द्रित गर्नेछ (प्रकाश १२:१२) र परमेश्वरले मानिसलाई उसको पतित, पापी स्वभावलाई पूर्ण रूपमा अभिव्यक्त गर्न अनुमति समेत दिनुहुन्छ। मानिसको हृदय सधैं नै “सबै कुराभन्दा _______” र “_______ पार्न नसकिने” (यर्मिया १७:९) भए तापनि सङ्कष्टकालको समयमा मानिसलाई उसको दुष्टता व्यक्त गर्न अनुमति दिइनेछ। सङ्कष्टकालमा आदमका सन्तानहरू उनीहरूको सबैभन्दा नीच अवस्थामा देखिनेछन्!

२) विवेक

बाइबलले, विवेकको प्रबन्ध अन्तर्गत जिउनेहरू र सङ्कष्टकालको आखिरतिर जिउनेहरूको बीचमा एउटा महत्त्वपूर्ण तुलना गरेको छ:

“तर नूहका दिनहरू जस्ता थिए, त्यस्तै मानिसका पुत्रको ____________ पनि हुनेछ” (मत्ती २४:३७)।

यस पदले जलप्रलय अगाडि (विवेकको प्रबन्धअन्तर्गत) जिइरहेकाहरू र येशू ख्रीष्टको आगमनको ठीक अगाडि (सङ्कष्टकालमा) जिउनेहरूको बीचमा तुलना गरेको छ। केही समानताहरू यस प्रकार छन्:

नूहका दिनहरूमा

सङ्कष्टकालको समयमा

पृथ्वीमा मानिसहरूको ____________ बढी भएको (उत्पत्ति ६:५)

मानिसको दुष्टता ज्यादै बढी हुनेछ (२ थेस्सलोनिकी २:७-८)।

परमेश्वरलाई बेवास्ता गर्दै, परमेश्वरलाई आफ्नो विचारमा राख्‍न अस्वीकार गर्दै र परमेश्वरका चेताउनीहरूलाई सुन्न इन्कार गर्दै, मानिसहरू आफ्नो दिनचर्या (खाने, पिउने, विवाह गर्ने, आदि) मा लागिरहे (मत्ती २४:३८)।

जलप्रलय अगाडि जस्तै मानिसले आफ्नो भक्तिहिन जीवनलाई निरन्तरता दिइरहनेछ: उसले परमेश्वरलाई बेवास्ता गर्दै, परमेश्वरलाई आफ्नो विचारमा राख्‍न अस्वीकार गर्दै, परमेश्वरका चेताउनीलाई सुन्न अस्वीकार गर्दै।

परमेश्वरको इन्साफ अकस्मात् आइपर्‍यो (जलप्रलय) अनि मानिसहरू त्यसका लागि बेतयार थिए (मत्ती २४:३९)।

परमेश्वरको इन्साफ अकस्मात् आइपर्नेछ (ख्रीष्टको दोस्रो आगमन) अनि मानिसहरू यसका लागि पूर्ण रूपमा बेतयार हुनेछन् (मत्ती २४:४०-४१ र लूका १७:३०-३७)।

विवेकको प्रबन्धअन्तर्गत नाश भएर जानेहरूको इतिहासले ख्रीष्टको पुन:आगमन अगाडि जिउनेहरू (अर्थात् सङ्कष्टकालमा जिउनेहरू) का लागि एउटा ज्यादै महत्त्वपूर्ण सन्देश बोकेको छ: “तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ (लूका १३:३,५)!”

३) मानवीय शासन

सङ्कष्टकालको समयमा विश्वको मानवीय शासन सबैभन्दा खराब रूपमा देखिनेछ: त्यसबेला शैतानकै मान्छेले एउटा संगठीत विश्व शासन (ONE WORLD GOVERNMENT) चलाउनेछ।

बाबेल शहरलाई एकपटक फर्केर हेरौं (उत्पत्ति ११)। त्यसबेला मानिसहरू एकजूट हुन चाहेका थिए (उत्पत्ति ११:६)। पापपूर्ण मानिसहरू एकजूट हुँदा उनीहरूले गर्न सक्ने खराबीको सीमा रहन्न भनी परमप्रभु जान्नुहुन्थ्यो। तसर्थ, परमेश्वरले उनीहरूको भाषालाई खलबल पारिदिनुभयो र उनीहरूलाई छरपुष्ट पारिदिनुभयो अनि यही महान घटनाबाट थुप्रै जातिहरूको शुरूआत भयो।

एक भन्दा बढी राष्ट्रहरू हुँदा नै विश्वलाई कल्याण छ किनभने थुप्रै राष्ट्रहरू हुँदा शक्ति-सन्तुलन (balance of powers) हुन्छ। कुनै एक राष्ट्रले विश्वभरि एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाबेलको धरहराको समयमा जुन कुरालाई परमेश्वरले रोक लगाउनुभयो, त्यही कुरालाई उहाँले एक दिन (यद्यपि थोरै बेरको लागि) अनुमति दिनुहुनेछ। बाबेलमा पापपूर्ण मानिसले शुरू गरेको प्रयासले एक दिन सङ्कष्टकालको पछिल्लो भागमा आएर विशाल रूप लिनेछ। बाबेलका मानिसहरू जे गर्न विफल भए त्यो पूरा गर्न सङ्कष्टकालको समयमा शैतानको मान्छे (पापको पुरूष) सफल बन्नेछ।

उक्त भयानक विश्व शासकलाई प्रकाश १३:१-१० मा बयान गरिएको छ। यस खण्डमा उसलाई “पशु” को संज्ञा दिइएको छ। यस मान्छेले आफ्नो अधिकार कसबाट पाउनेछ (प्रकाश १३:२; १२:९)? ______________। को “छक्क परेर पशुको पछि” लाग्नेछ (प्रकाश १३:३)? __________________। यस मानिसको विरुद्धमा को युद्ध गर्ने सक्नेछ (प्रकाश १३:४)? _______________________। प्रकाश १३:८ अनुसार उसलाई कसले दण्डवत् गर्नेछ? _________________________। यस मानिसलाई दण्डवत् गर्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (प्रकाश १३:१५)? _________________________। यस मानिस यति शक्तिशाली हुनेछ कि विश्वकै अर्थतन्त्र उसको नियन्त्रणमा हुनेछ (प्रकाश १३:१६-१८)!

संसारमाथि आफूले शासन गर्न (राज्यको युग) अगाडि परमेश्वरले मानिसलाई शासन गर्न दिनुहुन्छ (सङ्कष्टकाल) उक्त शासन एउटा संगठीत विश्व शासन हुनेछ जसको नियन्त्रण एउटा अत्यन्तै दुष्ट मानिसको हातमा हुनेछ। संसार त्यस्तो संगठीत विश्व शासन तर्फ लम्किरहेको छ भन्ने सङ्केत के आज संसारमा देख्न सकिन्छ? (यातायात, संचार, इन्टरनेट, विश्व बैंक आदिलाई विचार गर्नुहोस्)

४) प्रतिज्ञा

परमेश्वरले अब्राहाम र उनका सन्तानहरू (इस्राएलका सन्तानहरू) लाई केही निश्चित प्रतिज्ञाहरू दिनुभयोय भनेर हामीले यस अध्ययनको छैटौं पाठमा हेर्यौं। उहाँ विश्वासयोग्य हुनुभएको हुनाले परमेश्वरले आफ्ना यी प्रतिज्ञाहरूलाई कहिल्यै तोड्न सक्नुहुन्न।

सङ्कष्टकालको समयमा परमेश्वर आफूले चुन्नुभएको यहूदी जातिप्रति विश्वासयोग्य हुनुभएको देख्‍नेछौं। परमेश्वर इस्राएल जातिसित एउटा अत्यन्तै विशेष प्रकारले व्यवहार गर्नुहुनेछ र फलस्वरूप यस जाति विजयी भएर उठेको हामीले देख्‍नेछौं! यर्मिया ३०:७ मा सङ्कष्टकालको समयलाई “___________ को…दुःखको _________” भनेर बयान गरिएको छ। त्यस समय, याकूब (इस्राएल जाति) बाट उत्पन्न भएको राष्ट्रको निम्ति ज्यादै संकटपूर्ण समय हुनेछ। शैतान र उसले अधिकार दिएको शासकले इस्राएललाई नष्ट गर्ने प्रयास गर्नेछ तर परमेश्वरले यस जातिलाई रक्षा गर्नुहुनेछ: “ऊ त्यसबाट _______________” (यर्मिया ३०:७)।

प्रकाश अध्याय १२ मा इस्राएल जातिलाई एउटी “स्त्री” को रूपमा बयान गरिएको छ अनि शैतानलाई चाहिँ एउटा डरलाग्दो “अजिंगर” को रूपमा चित्रण गरिएको छ। सङ्कष्टकालको समयमा “अजिंगर” ले कसलाई सताउने प्रयास गर्छ (प्रकाश १२:१३)? _________________। के त्यो अजिंगर सफल हुनेछ? कि परमेश्वरले त्यस स्त्रीको रक्षा गर्नुहुनेछ (प्रकाश १२:१४-१७)? __________________ _________________________।

येशू ख्रीष्ट पृथ्वीमा पहिलो पटक आनुहुँदा इस्राएल जातिले उहाँलाई ग्रहण गर्‍यो कि अस्वीकार गर्‍यो (यूहन्ना १:११)? ________________________। सङ्कष्टकालको अन्तमा येशू ख्रीष्ट दोस्रो पटक पृथ्वीमा आउनुहुँदा के इस्राएल जाति पश्चात्ताप गरी ख्रीष्टकहाँ फर्केनेछ र बचाइनेछ कि त्यस जातिले ख्रीष्टलाई अस्वीकार गर्नेछ (रोमी ११:२६-२७; जकरिया १२:९-११ मा पढ्नुहोस्)? _________________ __________________। सङ्कष्टकालका ती संकटपूर्ण घडीहरूभरि परमेश्वरले यहूदी जातिहरूको हृदयहरूमा एउटा विशेष काम गर्दै आउनुहुनेछ ताकि पृथ्वीमा येशू ख्रीष्टको पुन:आगमन हुँदा उनीहरू उहाँको आगमनका लागि तयार हुनेछन्।

५) व्यवस्था

सङ्कष्टकालको समयले मानिस परमेश्वरको व्यवस्था पालन गर्न पूरै विफल भएको देखाउनेछ। २ थेस्सलोनिकी २:७-८ अनुसार सङ्कष्टकालको समय अत्यन्तै अधर्म वा भ्रष्टता (LAWLESSNESS) को समय हुनेछ। त्यसबेलाको विश्व-शासकलाई २ थेस्सलोनिकी २:८ मा “त्यो अधर्मी” (अर्को शब्दमा, “भ्रष्ट व्यक्ति”, LAWLESS ONE) भन्ने संज्ञा दिइएको छ। विश्वको भावी शासक पूर्ण रूपमा परमेश्वरको पवित्र व्यवस्थाको विरुद्धमा हुनेछ।

परमेश्वरको पवित्र व्यवस्थामा पहिला दुई आज्ञाहरूले (प्रस्थान २०:३-५ पढ्नुहोस्) परमेश्वरको सट्टामा अन्य कुनै कुरा प्रतिस्थापन गर्नुहुँदैन, केवल परमेश्वरलाई मात्र दण्डवत् गर्नुपर्छ भनेर प्रस्ट बताएका छन्। परमेश्वरको व्यवस्थामा मानिसहरूलाई कुनै मूर्ति, वा सालिक वा झूटा ईश्वरलाई दण्डवत् गर्न मनाही गरिएको छ। इस्राएलका सन्तानहरूले यस व्यवस्थालाई भङ्ग गरे जब उनीहरूले सुनको बाछो बनाए र त्यसलाई दण्डवत् गरे (प्रस्थान ३२)।

सङ्कष्टकालका मानिसहरू, मूर्तिपूजाको यस्तो पाप गर्नेछन् जुन खालको मूर्तिपूजा आजसम्म संसारले कहिल्यै देखेको छैन। एउटा मान्छेले, आफू परमेश्वर हुँ भन्ने दाबी गर्दै, मानिसहरूलाई दण्डवत् गर्न लगाउँछ (२ थेस्सलोनिकी २:४)। यस मानिसको एउटा अचम्मको मूर्ति वा सालिकलाई यहूदीहरूको मन्दिरमा स्थापना गरिनेछ (प्रकाश १३:१४-१५ मा पढ्नुहोस्)। यस मूर्तिलाई दण्डवत् गर्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (प्रकाश १३:१५)? _________________________। के विश्वका अधिकांश बासिन्दाहरूले यस मानिसलाई दण्डवत् गर्नेछन् त (प्रकाश १३:८)? ___________। यो नै अधर्म वा भ्रष्टता (LAWLESSNESS) को चरमबिन्दु हुनेछ।

६) अनुग्रह

उक्त सङ्कष्ट, उहाँको अनुग्रहलाई अस्वीकार गर्ने संसारमाथि आइपर्ने परमेश्वरको इन्साफ नै हुनेछ। सबैभन्दा अधिक अनुग्रहको अवधि (अर्थात् वर्तमान अनुग्रहको अवधि) पछि सबैभन्दा अधिक इन्साफको अवधि आउनेछ (सङ्कष्टको सात वर्ष)। मानिसहरूले परमेश्वको अनुग्रहलाई अस्वीकार गरेपछि त्यहाँ परमेश्वरको इन्साफबाहेक अरू केही बाँकी रहँदैन। यदि मानिसले परमेश्वरको प्रेमलाई अस्वीकार गर्दछ भने उनीहरूले परमेश्वरको क्रोध र रिसको सामना गर्नुपर्ने हुन्छ।

प्रकाशको पुस्तकले हामीलाई सिकाउँछ, त्यसबेला इन्साफ वा महामारीहरू पृथ्वीमाथि तीन चरणहरूमा वर्षनेछन्:

१. सात छापका इन्साफहरू
प्रकाश अध्याय ६ र ८:१
२. सात तुरहीका इन्साफहरू
प्रकाश अध्याय ८, ९ र ११:१५
३. सात कचौराका इन्साफहरू
प्रकाश अध्याय १६

यी भयानक इन्साफहरूको विचार गर्दा हामीलाई परमेश्वरले मोशाको समयमा मिश्रमाथि प्रहार गर्नुभएका महामारीहरूको सम्झना आउँछ (प्रस्थान अध्याय ६-१२)। एउटा भिन्नता यो हो: मोशाको समयका महामारीहरू मिश्रदेशमै सीमित थिए। यस ठूलो सङ्कष्टको समयमा भने महामारी र इन्साफहरू “पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नका निम्ति _________ ______________माथि आउनेछ” (प्रकाश ३:१०)। यी महामारीहरू उनीहरूमाथि आएपछि ती मानिसहरूले के गर्नेछन्? के उनीहरू आफ्नो होशमा आएर परमेश्वरकहाँ फर्कनेछन्? के उनीहरू पश्चात्ताप गरी आफ्ना दुष्ट मार्गहरूदेखि फर्केनछन् (प्रकाश ९:२०-२१)? ____________।

इन्साफको बीचमा अनुग्रह

सङ्कष्टकालको समय पापी मानिसहरूलाई परमेश्वरले इन्साफ गर्ने समय हुनेछ, तरैपनि त्यस समय मानिसहरूले मुक्ति पाउने समय पनि हुनेछ। इन्साफको बीचमा समेत परमेश्वरको अनुग्रह देख्न सकिनेछ। मानव इतिहासको सबैभन्दा घोर अन्धकारको घडीमा पनि त्यहाँ ज्योतिको एउटा किरण हुनेछ। परमेश्वरले प्रेममा आफ्नो हात पसार्नुहुनेछ र अनुग्रहले मानिसहरूलाई बचाउनुहुनेछ।

प्रकाश अध्याय ७ मा पढ्नुहोस्। यस अध्यायले हामीलाई त्यस ठूलो सङ्कष्टको समयमा बचाइएका मानिसहरूको विषयमा बताउँछ। त्यहाँ मुक्ति पाएका यहूदीहरू कतिजना हुनेछन् (प्रकाश ७:४)? ________________________। पद ९ मा त्यहाँ हरेक जातिबाट मुक्ति पाएकाहरूको अर्को समूह पनि देख्छौं। त्यहाँ कतिजना थिए? __________________________। हो, महासङ्कष्टबाट मुक्ति पाएकाहरू थुप्रै हुनेछन् (पद १४)। सङ्कष्टको समयमा के त्यहाँ सुसमाचार सुन्न पाइनेछ (मत्ती २४:१४ पढ्नुहोस्)? _____________। यस सुसमाचारलाई पृथ्वीका बासिन्दाहरूकहाँ ल्याउन एउटा स्वर्गदूतलाई समेत प्रयोग गरिनेछ (प्रकाश १४:६-७)।

७) राज्य

टिप्पणी: यस आखिरी प्रबन्धलाई हामी यस अध्ययन मालाको बाह्रौं पाठमा अध्ययन गर्नेछौं।

सङ्कष्टकाल तब समाप्त हुनेछ जब राजाले आफ्नो खुट्टाले पृथ्वीमाथि टेक्नुहुनेछ र आफ्नो राज्यलाई स्थापना गर्न थाल्नुहुनेछ (मत्ती २४:२९-३०)। सबैभन्दा ठूलो सङ्कष्टको समयपछि सबैभन्दा ठूलो आशिषको समय आउनेछ।

के तपाईंले आँधी बेहरी आउँदै गरेको देख्‍नुभएको छ? चारैतिर अंधकारले छोप्छ र आँधी शुरू हुन्छ, गर्जन सुनिन्छ अनि पानी वर्षिन थाल्छ। कहिलेकाहीँ आँधी छिट्टै सकिन्छ र सूर्य फेरि देखा पर्छ र चारैतिर शान्त वातावरणले छाउँछ। आकाशमा इन्द्रेणी पनि देखिएला! यस्तै नै सङ्कष्टकाल पछिको संसार पनि हुनेछ। सूर्य निस्की आउनेछ (मलाकी ४:२ मा पढ्नुहोस्)। येशू ख्रीष्ट यस पृथ्वीमा फर्कनुहुनेछ। त्यो समय शान्ति र आशिषको समय हुनेछ। त्यस समय संसारको इतिहासकै सबभन्दा सुन्दर समय हुनेछ। सबभन्दा नराम्रो समयपछि सबभन्दा राम्रो समय आउनेछ। परमेश्वरको राज्य आउँदै छ (मत्ती ६:१० पढ्नुहोस्)।

अपूर्व सङ्कष्टको समय

सङ्कष्टकालको समय इतिहासकै सबैभन्दा अन्धकारमय घडी हुनेछ। हाम्रो संसार पटकपटक भयावह घडीहरू भएर आइसक्यो। त्यहाँ भयानक युद्धहरू (दुइटा त विश्व युद्धहरू) भए, भयानक महामारीहरू भए, भयानक सतावटहरू भए, दुष्ट मानिसहरू सिंहासनमा बसेर निरंकुश शासन चलाए। यी सबै कुराहरू, जतिसुकै भयानक किन नहोस्, आउँदै गरेका कुराहरूको तुलनामा केही होइनन्। सबैभन्दा भयानक घडी आउन बाँकी नै छ! यस पृथ्वी थुप्रै सङ्कष्टरूपी आँधीहरू भएर आइसक्यो तर अब एउटा भयानक तुफान आउँदै छ!

सङ्कष्टकालको समय संसारको इतिहासकै सबैभन्दा संकटपूर्ण हुनेछ भनी सिकाउने खण्डहरू तीनओटा छन्। जोडा मिलाउनुहोस्:

१. ______ “यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू शुरू भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैन क. यर्मिया ३०:७
२. ______ “किनभने त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो पृथ्वीको शरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछ ख. दनियल १२:१
३. ______ “त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्ति यो दुःखको दिन हुनेछ” ग. मत्ती २४:२१

त्यो समय छोटो हुनेछ

सङ्कष्टकालको समयको बारेमा केवल एउटै कुरा राम्रो छ। त्यो धेरै समयको लागि हुनेछैन! येशूले मत्ती २४:२१ मा बताउनुभएको महा सङ्कष्टको समय केवल ३ १/२ वर्ष लामो हुनेछ। त्यसबेला पृथ्वीमा बस्नेहरूका लागि यो खुशीको कुरा हुनेछ। परमेश्वरले त्यस समयलाई लामो बनाउनुहुनेछैन; उहाँले त्यसलाई छोटो बनाउनुहुनेछ (मत्ती २४:२२ पढ्नुहोस्)। यद्यपि त्यस समयमा जिउन सजिलो हुनेछैन, खुशीको कुरा यो छ कि त्यस समय चाँडै समाप्त हुनेछ! चार वर्ष लामो कलेजको अध्ययन पार गर्न भन्दा सङ्कष्टकालको आखिरी भाग (३ १/२ वर्ष) लाई पार गर्न छोटो समय लाग्नेछ।

सङ्कष्टकालको अवधि

दनियल ९:२७ मा अगमवक्ताले “एक सा___” को उल्लेख गरेका छन्। उनले येशू ख्रीष्ट यस पृथ्वीमा फेरि आउनु भन्दा ठीक अगाडिको एक साताको कुरा गर्दै छन्। त्यो एउटा ज्यादै विशेष साता हो। एक साताको कुरा गर्दा हामी प्रायः सात दिनको समयावधिलाई बुझ्छौं। तर दनियलले दिनको साताको कुरा गरिरहेका छैनन्। उनले वर्षहरूको साताको कुरा गर्दै छन्। एक सातको कुरा गर्दा दनियलले सात वर्षको कुरा गर्दैथिए। उनले, ख्रीष्ट पृथ्वीमा आउनु भन्दा ठीक अगाडिको सात वर्षको कुरा गर्दैथिए:

येशू ख्रीष्ट, यी सात वर्षको लगत्तै पछाडि आउनुहुनेछ।

साथै दनियल ९:२७ मा अगमवक्ताले “सातको बीच” को उल्लेख गर्दछन्। याद राख्‍नुहोस्, यस साता सात वर्षको साता हो। यदि तपाईंले यस सात वर्षे साताको ठीक बीचमा एउटा रेखा कोर्नुभयो भने यस साता कति-कति वर्षको दुई भागमा विभाजित हुनेछ? ___________।

येशूले मत्ती २४:२१ मा उल्लेख गर्नुभएको महा सङ्कष्टको समयचाहिँ पछिल्लो ३ १/२ वर्ष (साताको पछिल्लो आधा भाग) हो। महा सङ्कष्टको समय, ख्रीष्ट पृथ्वीमा फेरि आउनुहुनुभन्दा अगाडिको ३ १/२ वर्षमा हुनेछ। यस ३ १/२ वर्षको समयावधिलाई बाइबलले विभिन्न तरिकाले जनाएको छ:

  1. १,२६० दिन (प्रकाश १२:६,१४)
  2. ___________ महिनाहरू (प्रकाश ११:२; १३:५)
  3. “समय, समयहरू र आधा समय” (प्रकाश १२:१४)
    “समय”= १ वर्ष, “समयहरू” = २ वर्ष, “आधा समय” = १/२ वर्ष
    यसले जम्मा कति वर्षको समयलाई जनाउँछ? _______________
  4. “समय छोटो छ” (प्रकाश १२:१२)

प्रमुख व्यक्तित्वहरू

सङ्कष्टकालको घटनाक्रममा मुख्य मुख्य भूमिका खेल्ने व्यक्तित्वहरू को-को हुन्? तिनीहरू यस प्रकार छन्:

  • पापको पुरुष (जसलाई पशुख्रीष्ट-विरोधी भनिन्छ)
    पढ्नुहोस् प्रकाश १३:१-१०; २ थेस्सलोनिकी २; १ यूहन्ना २:१८
  • झूटो अगमवक्ता (जसलाई “दोस्रो पशु” पनि भनिन्छ)
    पढ्नुहोस् प्रकाश १३:११-१८
  • अजिंगर (अर्थात् शैतान)
    पढ्नुहोस् प्रकाश १२
  • परमेश्वरको इन्साफ
    पढ्नुहोस् प्रकाश ६,८,९,१६
  • इस्राएल जाति (जसलाई “स्त्री” पनि भनिएको छ)
    पढ्नुहोस् प्रकाश १२
  • विश्वका अन्य जातिहरू
    पढ्नुहोस् जकरिया १२:९; १४:२
  • आउनुहुने राजा
    पढ्नुहोस् प्रकाश ४-५ र १९:११-१६

सङ्कष्टकालको समयमा पृथ्वीमा एउटा “व्यक्तित्व” उपस्थित हुनेछैन, त्यो हो प्रभुकी दुलही, अर्थात्, मण्डली। मण्डलीलाई सङ्कष्टकालको उक्त समयबाट जोगाउनुहुने प्रतिज्ञा परमेश्वरले प्रकाश ३:१० मा गर्नुभएको छ जुन समय सारा पृथ्वीमाथि आइपर्नेछ। प्रकाश ४-१९ ले सङ्कष्टकालको समयको बयान गर्दछ तर यी कुनै पनि अध्यायमा मण्डली त्यस समयमा पृथ्वीमा हुने भनी बताइएको छैन। बास्तवमा, यी अध्यायहरूमा “मण्डली” भन्ने शब्द नै पाइन्न। सङ्कष्टकाल शुरू हुनभन्दा अगाडि नै मण्डलीलाई स्वर्गमा लैजान येशू ख्रीष्ट आउनुहुनेछ।

दुई चित्रणहरू

१. हनोकको चित्रण (उत्पत्ति ५:२१-२४ र हिब्रू ११:५)

हनोक, इन्साफ (जलप्रलयको इन्साफ) आउनुअघि नै पृथ्वीबाट लगिए।

हनोक, इन्साफ आउनुअघि नै पृथ्वीबाट लगिने (र्‍याप्चर – १ थेस्सलोनिकी ४:१३-१८) विश्वासीहरूको चित्रण हो

२. नूहको चित्रण (मत्ती २४:३७-४१)

नूह इन्साफ (जलप्रलय) भएर गए र बाँचे

नूह, सङ्कष्टकालको समयमा मुक्ति पाउने र सङ्कष्टकालभरि बाँचेर राज्यमा (उनीहरूका प्राकृतिक शरीरमै) प्रवेश गर्ने विश्वासीहरूको चित्रण हो। यसमध्येका केही व्यक्तिहरूलाई येशूले मत्ती २५:३४ मा उल्लेख गर्नुभएको छ।

कुनै आशा छ त?

र्‍याप्चर अगाडि येशू ख्रीष्टलाई अस्वीकार गर्नेहरूले र्‍याप्चर पछाडि मुक्ति पाउन सक्नेछैनन् भनेर कतिपयले सिकाउने गर्छन्। उनीहरू भन्छन्, र्‍याप्चर अगाडि सुसमाचारको सन्देशलाई सुनेर त्यसलाई अस्वीकार गरेकाहरूलाई र्‍याप्चर पछाडि मुक्ति पाउने कुनै आशा छैन। उनीहरू २ थेस्सलोनिकी २:१०-१२ लाई यस शिक्षाको आधार मान्छन् र भन्छन्, सङ्कष्टकालको समयमा र्‍याप्चर अगाडि सुसमाचार कहिल्यै नसुनेकाहरूले मात्र मुक्ति पाउन सक्नेछन्।

ती पदहरूको अर्थ बास्तवमा त्यो होइन। २ थेस्सलोनिकी २:१०-१२ को खण्डले र्‍याप्चर अगाडि सत्यलाई अस्वीकार गर्नेहरूको कुरा गरिरहेको छैन। यी पदहरूले त सङ्कष्टकालको समयमा सत्यलाई अस्वीकार गर्नेहरूको कुरा गरिरहेको छ। यी मानिसहरू ती हुन् जसले जानाजानी शैतानको मान्छे (२ थेस्सलोनिकी २:३-९) लाई पछ्याउने निर्णय गर्नेछन्। यी मानिसहरू ती हुन् जसले सत्यलाई अस्वीकार गर्नेछन् र झूट (त्यो मान्छेलाई दण्डवत् गरिनुपर्छ भन्ने झूट!) लाई ग्रहण गर्नेछन् । यी मानिसहरू ती हुन् जसले सुझबुझले पशुको चिन्हलाई लिनेछन् र यस मान्छेलाई दण्डवत् गर्नेछन्। कसैले त्यसो गरेमा (प्रकाश १४:९) उसलाई के हुनेछ (प्रकाश १४:१०-११)? ______________________________ _____________________________________। सङ्कष्टकालको समयमा शैतानको मान्छेको पक्षमा स्वेच्छाले जानेहरू दण्डित हुनेछन् (२ थेस्सलोनिकी २:१२)। यी पदहरूले सत्यलाई त्यस बेला अस्वीकार गर्ने मानिसहरूको कुरा गर्दै छन् जुनबेला पक्ष-विपक्षको सवाल अत्यन्तै प्रस्ट हुनेछ:

मानिसले परमेश्वरलाई दण्डवत् गर्न सक्नेछ (प्रकाश १४:६-७)

वा

मानिसले शैतानको मान्छेलाई दण्डवत् गर्न सक्नेछ (प्रकाश १४:९-११)

तरैपनि हामीले निम्न कुराहरूलाई ध्यान दिनुपर्छ:

  1. हामी जुनसुकै समयमा जिउने व्यक्ति किन नहोऔं, सत्यलाई अस्वीकार गर्नु भनेको सधैं डरलाग्दो कुरा हो।
  2. मुक्ति पाउने समय आज हो, भोलि होइन। तपाईं यदि आज मुक्ति पाउन अस्वीकार गर्नुहुन्छ भने भविष्यमा तपाईं मुक्ति पाउन इच्छुक बन्नुहुनेछ भन्ने के निश्चयता छ र?
  3. यदि कसैले आज सजिलो (सतावट बिना वा थोरै सतावटको) परिस्थितिमा ख्रीष्टलाई विश्वास गर्न अस्वीकार गर्छ भने यस व्यक्तिले भोलि गएर झन् कठिन परिस्थितिमा ख्रीष्टलाई किन विश्वास गर्ला र? सङ्कष्टकालको समयका विश्वासी जनहरू साह्रै सतावटमा पर्नेछन् र धेरैले आफ्ना विश्वासका निम्ति उनीहरूका प्राणहरू गुमाउनेछन्। आज सुसमाचारलाई अस्वीकार गर्नेहरू भोलि गएर पनि सुसमाचारलाई अस्वीकार गर्ने खतरामा छन्। र्‍याप्चर अगाडि सुसमाचारलाई अस्वीकार गर्ने व्यक्ति सङ्कष्टकालमा पापको मानिसलाई दण्डवत् गर्ने व्यक्ति बन्न सक्छ। आज अविश्वासमा रहनेहरू भोलि पनि अविश्वासमै रहने सम्भावना छ।
  4. अर्कोतिर, एकताकाको कडा सत्य-विरोधीलाई परमेश्वरले पछि बचाउनै सक्नुहुन्न भनेर हामी भन्न सक्दैनौं। यदि ऊ वा कुनै व्यक्ति परमेश्वरको पुत्रकहाँ फर्कन्छ र उहाँमा र उहाँको वचनमा भरोसा गर्छ भने उसले मुक्ति पाउनेछ। नबिर्सनुहोस्, परमेश्वरले टार्ससका शाऊललाई समेत बचाउनुभयो!
  5. आजै मुक्ति पाउनुहोस्! याद गर्नुहोस्, यस पाठमा हामीले अध्ययन गर्दै आएको सङ्कष्टकालको समय त आजको एक वर्षभन्दा कम समयमै शुरू हुन सक्छ! यो समय त अहिलेको एक महिना भन्दा कम समयमा शुरू हुन सक्छ! र्‍याप्चरकुनै पनि समयमा हुन सक्छ अनि सङ्कष्टकालको समय त्यसको थोरै समयमै शुरु हुनेछ!

यदि ख्रीष्ट आज आफ्ना विश्वासी जनहरूका निम्ति आउनुभयो भने (पढ्नुहोस् यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८) के उहाँले तपाईंलाई आफ्नो साथमा लैजानुहुनेछ कि उहाँले तपाईंलाई यहीँ छाड्नुहुनेछ? के तपाईं आफूले मुक्ति पाएँ भनी निश्चित हुनुहुन्छ? के तपाईंसित साँच्ची नै अनन्त जीवन छ? के तपाईं भविष्यलाई सामना गर्न तयार हुनुहुन्छ? यदि हुनुहुन्न भने आजै आफ्नो पास्टर वा बाइबल शिक्षकसित कुरा गर्नुहोस्। उहाँहरू तपाईंलाई मदत गर्न चाहनुहुन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मण्डली—आज परमेश्वरको योजना

मण्डली—आज परमेश्वरको योजना

 

आज हामी अनुग्रहको प्रबन्धमा बाँचिरहेका छौं (पाठ ९ मा हेर्नुहोस्)। अनुग्रहको वर्तमान युगमा परमेश्वरले एउटा अति विशेष र एकदमै अचम्मको काम गर्दै हुनुहुन्छ। हाम्रो अध्ययनको क्रममा अर्को प्रबन्धको अध्ययनमा अगाडि बढ्नु अघि हामी यहाँ केही समय अडिएर आज परमेश्वर संसारमा के गर्दै हुनुहुन्छ भन्ने कुरालाई बुझ्न चाहन्छौं।

मत्ती १६:१८ मा प्रभु येशू ख्रीष्टले भविष्यमा आफूले गर्न लागिरहनुभएको कुरालाई आफ्ना चेलाहरूलाई अवगत गराउनुभयो: “यस चट्टानमाथि म आफ्नो ____________ ____________, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।” यस महत्त्वपूर्ण पदबाट हामीले कम्तिमा चारओटा कुराहरू सिक्दछौं:

१. निर्माता ख्रीष्ट हुनुहुन्छ!

२. निर्माण कार्य चट्टानमाथि गरिनेछ!

३. निमार्ण गरिने “भवन” मण्डली हो!

४. मण्डलीको स्वामित्व ख्रीष्टमा निहित छ! – (“म आफ्नो मण्डली बनाउनेछु”)

आज प्रभु येशू एउटा कुराको निर्माण गर्दैहुनुहुन्छ। उहाँले आफ्नो लागि एउटा ज्यादै प्रिय कुरा निर्माण गर्दैहुनुहुन्छ। उहाँले आफ्नो स्वामित्वका निम्ति एउटा विशेष कुराको निर्माण गर्दैहुनुहुन्छ: “म _________ मण्डली बनाउनेछु” (मत्ती १६:१८)।

यो भवनजस्तै अर्को कुनै छैन। यो भवन कुनै ठूलो शहरका भवनहरू जस्तै होइन। यो “भवन” निर्जीव इट्टा, सिमेन्ट, डण्डी र काठले बनेको भवन होइन। यो “भवन” जिउँदा पत्थरहरूले बनेको भवन हो (१ पत्रुस २:५ पढ्नुहोस्)। क्रूसमा मरेर बौरिउठ्नुभएको ख्रीष्टमाथि विश्वास गरेका र उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेका मानिसहरू (यूहन्ना १:१२) नै यस भवनका “पत्थरहरू” हुन्।

ख्रीष्टको शरीर

माथि उल्लेख गरियो, मण्डलीलाई एउटा भवनको रूपमा बयान गरिएको छ – जिउँदा पत्थरहरू अर्थात् जिउँदा विश्वासीहरूले बनेको भवन (१ पत्रुस २:५)। मण्डलीलाई भवनको रूपमा मात्र होइन शरीरको रूपमा पनि बयान गरिएको छ:

१. एफेसी १:२२-२३ “र उहाँ (ख्रीष्ट) लाई सबै कुराहरूमाथि _________ हुनाका निम्ति _____________लाई दिनुभयो, जोचाहिँ उहाँको ____________ हो।”

२. कलस्सी १:१८

“अनि उहाँ (ख्रीष्ट) ____________ अर्थात् _____________का __________ हुनुहुन्छ।”

यी पदहरूले हामीलाई मण्डली ख्रीष्टको शरीर हो भनेर सिकाउँदछन्। प्रत्येक विश्वासी जन यस शरीरको अंग हो (१ कोरिन्थी १२:२७ पढ्नुहोस्)। यस शरीरको शिर को हुनुहुन्छ (कलस्सी १:१८)? __________________। मण्डली जिउँदा अंगहरूले बनेको एउटा जिउँदो संरचना (एउटा शरीर) हो।

एक व्यक्ति कसरी साँचो मण्डलीको अंग बन्दछ? एक व्यक्ति कसरी यस भवनको “पत्थर” बन्दछ? एक व्यक्ति कसरी ख्रीष्टको शरीरको अंग बन्दछ? तलको चित्रलाई अध्ययन गरौं:

यस चित्रमा हामी देख्छौं, शिर स्वर्गमा हुनुहुन्छ (कलस्सी ३:१-२) र मण्डली पृथ्वीमा छ (यूहन्ना १७:१५)। प्रत्येक अंग शिरसँग र साथै एकअर्कासँग सम्बन्मा गाँसिएको छ। क्रूसद्वारा (विश्वास गरेर) बाहेक कोही पनि ख्रीष्टको मण्डलीको अंग बन्न सक्दैन। जब एक व्यक्तिले विश्वास गर्छ, तब परमेश्वरले उसलाई उहाँको शरीरभित्र गाभ्ने काम (बप्‍तिस्मा) गर्नुहुन्छ (१ कोरिन्थी १२:१३)।

के तपाईं ख्रीष्टको शरीरको अंग हुनुहुन्छ? के तपाईं क्रूसको बाटो भएर आउनुभयो (त्यहाँ ख्रीष्ट तपाईंको लागि मर्नुभयो र उहाँले तपाईंका पापहरूका पूरा मूल्य चुक्ता गरिदिनुभयो भनेर विश्वास गर्नुभयो)? के तपाईंले क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको मुक्तिदातामाथि विश्वास गर्नुभयो? आज, साँच्ची नै मुक्ति पाएका सबै मानिसहरू ख्रीष्टको शरीरको अंगहरू भएका छन् अनि ख्रीष्टको यस शरीरलाई मण्डली भनिन्छ।

पवित्र आत्माको आगमन

मण्डली सधैंदेखि थिएन। आदमको सृष्टि हुँदा मण्डली थिएन। नूहको समयमा मण्डली थिएन। अब्राहाम, दाऊद र यशैया सबै नै विश्वासी जनहरू थिए तर उनीहरू मण्डलीका अंगहरू थिएनन् किनभने त्यसबेला मण्डली थिएन। बप्‍तिस्मा दिने यूहन्नाको समयमा मण्डली थिएन। येशू पृथ्वीमा हिँड्नुहुँदा मण्डली थिएन। येशू ख्रीष्टको मृत्यु र बौरिउठाइ नभएसम्म मण्डलीको शुरूआत भएको थिएन।

क्रूसमा आफ्नो मृत्यु हुनभन्दाको अघिल्लो रातमा येशूले आफ्ना चेलाहरूलाई एउटा विशेष दिनको बारेमा बताउनुभयो जब पवित्र आत्मा प्रत्येक विश्वासी जनभित्र वास गर्न आउनुहुनेछ। यूहन्ना १४ देखि १६ अध्यायहरूलाई सरसर्ती हेर्नुहोस् (आफ्नो मरण हुनभन्दाको अघिल्लो रातमा येशूले आफ्ना चेलाहरूसित बोल्नुभएका वचनहरू यिनै हुन्)। शान्तिदाताको उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ___________________। शान्तिदाता चाहिँ पवित्र आत्माको अर्को नाउँ हो। शान्तिदाता भन्ने शब्दको अर्थ हो, “सहायक, तपाईंलाई सहायता गर्न, सान्त्वना दिन, हौसला दिन तपाईंको छेउमा आउन बोलाइएको व्यक्ति”। पवित्र आत्माको उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ____________________।

यूहन्ना अध्याय १४ र १५ मा पवित्र आत्मा पठाइनुहुने भनी उल्लेख गर्ने पदहरू भेट्टाउनुहोस्: ______________________। यूहन्ना १६:७,८,१३ को विचार गर्नुहोस्। के यी पदहरूले पवित्र आत्मा आउनुहुने समयको बारेमा बताउँदै छन्? __________________।

प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई एकजना व्यक्ति पठाइनुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। यस व्यक्तिले चेलाहरूलाई सहायता गर्नुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूसँगै रहनुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूभित्र वास गर्नुहुनेछ (यूहन्ना १४:१७), चेलाहरूलाई सिकाउनुहुनेछ (यूहन्ना १४:२६), चेलाहरूलाई ख्रीष्टको बारेमा गवाही दिनुहुनेछ (यूहन्ना १५:२६) र चेलाहरूलाई डोर्याउनुहुनेछ (यूहन्ना १६:१३) भनी प्रभुले भन्नुभयो। उक्त व्यक्ति को हुनुहुन्छ? ____________________________।

पवित्र आत्माको आगमन इतिहासकै सबभन्दा महत्त्वपूर्ण घटनाहरूमध्ये एउटा घटना हो। त्यही दिनमा मण्डलीको शुरूआत भएको हो (प्रेरित ११:१५ पढ्नुहोस् जहाँ पेन्टेकोस्टको दिनलाई “शुरू” भनेर जनाइएको छ)। त्यही दिन मण्डलीको जन्म भयो। त्यही दिन परमेश्वर आफ्ना विश्वासी जनहरूभित्र विशेष रूपमा वास गर्न आउनुभयो: पवित्र आत्मा “_________________ हुनुहुनेछ” (यूहन्ना १४:१७) र “उहाँ सधैंभरि तिमीहरूसँगै रहून् भनेर” (यूहन्ना १४:१६) दिइनुहुनेछ।

पवित्र आत्मा एक विशेष दिनमा आउनुभयो जसलाई पेन्टेकोस्टको दिन भनिन्छ। पवित्र आत्माको आगमनको बारेमा हामी प्रेरित अध्याय २ मा पढ्न सक्छौं (विशेष गरी अध्यायको शुरूको खण्डमा)। तलको नक्साले पवित्र आत्मा कहिले आउनुभएको थियो भनेर देखाउँदछ:

पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो र मण्डलीको जन्म भयो। यसै दिनदेखि परमेश्वर विश्वासी जनहरू भित्र विशेषरूपमा बस्न आउनुभयो।

ख्रीष्टमसलाई “येशू ख्रीष्टको जन्मदिन” भनेर मान्ने चलन छ। त्यसले हामीलाई त्यस समयको सम्झना गराउँछ जब परमेश्वर स्वर्ग छोडेर एउटा मानव शरीरमा जिउन आउनुभयो: “वचन (येशू ख्रीष्ट) ___________ हुनुभयो, अनि हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। यसलाई ख्रीष्टको देहधारण (INCARNATION) भनिन्छ किनकि परमेश्वरले देह (मानव शरीर) धारण गर्नुभयो (यूहन्ना १:१४, १ तिमोथी ३:१६)। परमेश्वर मानव शरीरमा जिउन आउनुभयो।

पेन्टेकोस्टको दिनले चाहिँ हामीलाई यो सम्झना गराउँछ, पवित्र आत्मा परमेश्वर अर्को शरीरमा जिउनलाई आउनुभयो, अर्थात् ख्रीष्टको शरीरमा जसलाई मण्डली भनिन्छ। यसै दिनदेखि परमेश्वर विश्वासी जनहरू भित्र विशेषरूपमा बस्न आउनुभयो र मण्डलीको जन्म भयो। मण्डली “_________द्वारा परमेश्वरको वा_____________ हो” (एफेसी २:२२)।

टिप्पणी: यस अध्ययनको दोस्रो पाठमा हामीले सिकेका थियौं, कतिपयले मण्डली पेन्टेकोस्टको दिनमा शुरू भएको हो भनेर विश्वास गर्दैनन्। मण्डली प्रेरितको दोस्रो अध्याय (पेन्टेकोस्ट) मा शुरू भएको हो भनेर बाइबलले प्रस्टै सिकाउँछ। मत्ती १६:१८ मा येशूले भन्नुभयो, “म आफ्नो मण्डली बनाउनेछु“। उहाँले भविष्यत् कालको प्रयोग गर्नुभयो (“बनाउनेछु”) जसको मतलब मण्डली शुरू भइसकेको थिएन तर भविष्यमा बनाइने योजना थियो। १ कोरिन्थी १२:१३ मा हामी सिक्छौं, मानिसहरू मण्डलीको अंग तब बन्दछन् जब उनीहरूलाई परमेश्वरले ख्रीष्टको शरीरमा बप्‍तिस्मा दिनुहुनेछ। चाबी प्रश्न यो हो: परमेश्वरले ख्रीष्टको शरीरमा मानिसहरूलाई सबभन्दा पहिले कहिले बप्‍तिस्मा गर्नुभयो? मत्ती ३:११ मा उक्त बप्‍तिस्मा भविष्यमै हुने बताइएको छ (त्यसबेला भइसकेको थिएन)। प्रेरित १:५ मा उक्त बप्‍तिस्मा अझै भविष्यमै हुने बताइएको छ। त्यो घटना घटिसकेको थिएन तर त्यो “अब केही दिनपछि” हुनेछ भनेर बताइएको छ। केही दिन (दस दिन) पछि पवित्र आत्मा आउनुभयो (प्रेरित २)। प्रेरित ११:१५-१७ मा हामी सिक्छौं, उक्त बप्‍तिस्मा सबभन्दा पहिले प्रेरित अध्याय २ मा पूरा भएको थियो। त्यही दिन (पेन्टेकोस्टको दिन) मा परमेश्वरले मानिसहरूलाई उहाँको शरीरमा सबभन्दा पहिला गाभ्नुभयो अनि त्यस शरीरलाई मण्डली भनिन्छ। साथै हामीले यो ख्याल राख्‍नुपर्छ, प्रेरित अध्याय २ को अन्तमा आइपुग्दा हामी मण्डली अस्तित्वमा आइसकेको देख्छौं (प्रेरित २:४७ पढ्नुहोस्)।

यस शरीर र भवनमा थपिने कार्य

प्रेरित १:१५ अनुसार त्यहाँ करिब कतिजना चेलाहरू (विश्वासी जनहरू) थिए?_____________। प्रेरित २:१-३ मा हामी सिक्छौं, पवित्र आत्मा यी मानिसहरूमाथि आउनुभयो र मण्डलीको जन्म भयो। मण्डलीको शरूआत हुँदा त्यो करिब १२० अंगहरूले बनेको शरीर थियो! त्यो, करिब १२० जिउँदा ईंटाहरूले बनेको भवन थियो!

त्यही दिनमा केही समयपछि पत्रुसले प्रचार गरे अनि थुप्रै मानिसहरूले विश्वास गरे। अरू कति “ईंटाहरू” भवनमा थपियो (प्रेरित २:४१)? __________________। परमेश्वरले मण्डली, आफ्नो भवन, लाई निर्माण गर्न भ्याइसक्नुभएको थिएन। बास्तवमा, उहाँको काम भरखरै शुरू मात्र भएको थियो। प्रेरित २:४७ मा हामी यो पढ्छौं: “अनि दिनहुँ प्रभुले __________ पाउनेहरूलाई _____________मा ___________हुन्थ्यो।” दिनदिनै भवनमा नयाँ ईंटाहरू थपिंदैथिए, शरीरमा नयाँ अंगहरू थपिंदैथिए। पछि प्रेरित ४:४ मा हामी सिक्छौं, त्यहाँ ______________ पुरुषहरू थिए जसले विश्वास गरेका थिए। के परमेश्वरले आफ्नो शरीरमा विश्वासी जनहरू थप्दै जानुभयो र आफ्नो भवनमा ईंटाहरू थप्दै जानुभयो (प्रेरित ५:१४ र ११:२४)? ________________।

आज परमेश्वर आफ्नो मण्डली अझै निर्माण गर्दैहुनुहुन्छ। एक दिन यो निर्माण योजना पूरा हुनेछ, तर यो अझै पूरा भइसकेको छैन। परमेश्वरले अझै मानिसहरूलाई बचाउँदै हुनुहुन्छ र ख्रीष्टको शरीरमा थप्दैहुनुहुन्छ। परमेश्वरले आज संसारमा गर्दैरहनुभएको कामलाई प्रेरित १५:१४ मा बयान गरिएको छ – परमेश्वरले अन्यजातिहरू (संसारभरिका जातिहरू) सँग भेट गर्दै हुनुहुन्छ। किन? –”अन्यजातिहरूको बीचबाट आफ्ना _________का निम्ति एउटा __________ निकाल्नालाई।”

परमेश्वरको रहस्य

एफेसी ३:३-५ मा पावल प्रेरितले एउटा रहस्य अर्थात् गोप्य कुराको उल्लेख गरेका छन्। यो रहस्य एउटा यस्तो कुरा थियो जुनचाहिँ “अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको ___________, जसरी यो ___________ आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ (एफेसी ३:५)।” यो रहस्य एउटा यस्तो कुरा थियो “उहाँ (परमेश्वर) मा ____________देखि ___________ बसेको” (एफेसी ३:९) थियो। के परमेश्वरले यस रहस्य पावललाई बताउनुभयो को त्यसलाई गुप्यमै राख्‍नुभयो (एफेसी ३:३)? ________________________।

एउटा केटोको खल्तीभित्र केही चीज छ। त्यो के हो उसले जान्दछ तर अरू कसैले जान्दैन। त्यो कुरा गोप्य छ! त्यो चीज खल्तीभित्र लुकेर बसेको छ। उसको खल्तीमा के छ उसले निकालेर अरूलाई नदेखाएसम्म कसैले थाह पाउन सक्दैन।

संसारको शुरूदेखि नै परमेश्वरसित एउटा गोप्य कुरा थियो (जसलाई “रहस्य” भनिएको छ)। परमेश्वरसित उहाँको “खल्ती” मा एउटा कुरा थियो जुन कुराका बारेमा उहाँले कसैलाई बताउनुभएन। आदमलाई यस रहस्यको बारेमा थाह थिएन। अब्राहाम र दाऊदलाई यस रहस्यको बारेमा केही थाह थिएन। बप्‍तिस्मा दिने यूहन्ना जान्दैनथे परमेश्वको खल्तीमा के छ भनेर। तर आखिरमा प्रेरित पावलको समयहरूमा परमेश्वरले त्यो रहस्य ब_____________ (एफेसी ३:३)। के आज परमेश्वर उहाँको “खल्ती” मा एक समय के थियो भनेर मानिसहरूले देखेको चाहनुहुन्छ (एफेसी ३:९)? ___________।

यो रहस्य के हो? के हो यो गोप्य कुरा जुनचाहिँ यति लामो समयसम्म बताइएको थिएन? यसको जवाफ एफेसी ३:६ मा पाइन्छ – “अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा-हकवालाहरू, एउटै ___________को साझेदार र उहाँका प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ।” यो सुन्दर रहस्य यो हो कि, मुक्ति पाएका यहूदीहरू र मुक्ति पाएका अन्यजातिहरू एउटै शरीरमा एकिकृत हुनेछन्! यस पृथ्वीमा परमेश्वरले एउटा शरीर राख्‍नुभएको छ अनि यो शरीरलाई मण्डली भनिन्छ। कलस्सी १:२६-२७ मा पनि यस रहस्यको बारेमा हामी सिक्छौं। पद २७ मा हामी सिक्छौं, “महिमाको आशा ख्रीष्ट ______________ ________” नै यो रहस्य हो। येशू ख्रीष्ट मण्डलीमा जिउनुहुन्छ! येशू ख्रीष्ट आफ्ना विश्वासी जनहरूका हृदयहरूमा विशेष प्रकारले जिउनुहुन्छ। मण्डली “______________को घर हो” (१ तिमोथी ३:१५)। परमेश्वर त्यहाँ बास गर्नुहुन्छ। यो उहाँको घर हो!

पुरानो नियमका समयहरूमा मण्डलीलाई देख्न सकिंदैन थियो

विगतका युगहरूमा मण्डली सम्बन्धित सत्यता बताइएको थिएन (कलस्सी १:२६)। पुरानो नियमको विश्वासी जनलाई मण्डलीको बारेमा बताइएको थिएन। एक दिन परमेश्वर विश्वासी जनहरू मिलेर बनेको एउटा शरीरमा बास गर्नुहुनेछ भनेर उसलाई बताइएको थिएन। मसीह एक दिन मर्नुहुनेछ भनेर उसले जान्दथ्यो (यशैया ५३; भजनसंग्रह २२; दनियल ९:२६)। मसीहले एक दिन संसारमा राजा हुनुभएर शासन गर्नुहुनेछ भनेर पनि उसले जान्दथ्यो (मीका ५:२; यशैया ९:६-७; दनियल ७:१३-१४; यर्मिया २३:५-६)। ख्रीष्ट (मसीह) को पहिलो आगमनको बारेमा उसले केही कुराहरू जान्दथ्यो अनि ख्रीष्टको दोस्रो आगमनको बारेमा पनि उसले केही कुराहरू जान्दथ्यो तर ख्रीष्टका दुई आगमनहरूको बीचमा के हुनेछ भनेर उसले जान्दैनथ्यो।

तपाईंले टाढाबाट पर्वतको चुचुरोहरूलाई कहिल्यै हेर्नुभएको छ? हेर्दा एउटै चुचुरोजस्तै देखिए तापनि तपाईं अलि नजिक पुग्नुभएपछि त्यहाँ बास्तवमा दुइटा पर्वतका चुचुरोहरू रहेछन् र बीचमा बेसी रहेछ भनेर देख्‍नुहुनेछ। पुरानो नियमको विश्वासी जनले भविष्यतिर आँखा लगाउँदा पनि यस्तै देख्थ्यो। उसले दुइटा पर्वतका चुचुरोहरू देख्थ्यो (ख्रीष्टको पहिलो र दोस्रो आगमन) तर उसले बीचको बेसी (मण्डली युग) लाई देख्न सक्दैनथ्यो:

आज हामी ख्रीष्टका दुई आगमनहरूको बीचको बेसीमा बाँचिरहेका छौं। ख्रीष्टको पहिलो आगमन त इतिहास भइसक्यो (वितिसक्यो) र ख्रीष्टको दोस्रो आगमन चाहिँ भविष्यवाणी मै छ (आउन बाँकी नै छ)। बीचको बेसीलाई मण्डली युग (वा अनुग्रहको युग वा पवित्र आत्माको युग) भनिन्छ।

परमेश्वरको मन्दिर कहाँ छ?

मोशाको समयमा परमेश्वर कहाँ बास गर्नुहुन्थ्यो? परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्नुभयो? परमेश्वरको महिमा कहाँ देखिन्थ्यो? परमेश्वरको घर कहाँ भेट्टाउन सकिन्थ्यो? परमेश्वरले देखिने रूपमा आफ्नो उपस्थितिलाई कहाँ प्रकट गर्नुभयो? यसको जवाफ पाइन्छ प्रस्थान ४०:३४-३५ मा – “परमप्रभुको महिमा (परमेश्वरको देखिने रूप) ले ___________ _______________ भरियो।” परमेश्वरले आफूलाई भेट हुने पाल नाम गरेको एउटा विशेष तम्बुमा प्रकट गर्नुभयो। परमेश्वरले उक्त तम्बुलाई विशेष प्रकारले भर्नुभयो।

सोलोमनको समयमा परमेश्वर कहाँ बास गर्नुभयो? परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्नुभयो? परमेश्वरको महिमा कहाँ देखियो? यसको जवाफ पाइन्छ १ राजा ८:११ मा – “किनभने परमप्रभुको _____________ले ____________ भरिएको थियो।” परमेश्वरले मन्दिर भनिने एउटा विशेष भवनद्वारा आफूलाई प्रकट गर्नुभयो। परमेश्वर उक्त मन्दिरमा बास गर्नुभयो र त्यसलाई उहाँले आफ्नो पवित्र उपस्थितिले भर्नुभयो।

प्रभु येशूको समयमा परमेश्वरको महिमा कहाँ देखिन्थ्यो? परमेश्वरले आफूलाई कसरी प्रकट गर्नुभयो? यूहन्ना १:१४ मा हामी सिक्छौं, परमेश्वर एउटा मानव शरीरमा जिउन आउनुभयो अनि परमेश्वरको महिमा देखियो। यूहन्ना १४:७ मा येशूले भन्नुभयो, “तिमीहरूले __________ चिनेका भए मेरा _________लाई पनि चिनेका हुन्थ्यौ।” येशूलाई चिन्नु पितालाई चिन्नु हो! यूहन्ना १४:९ मा हामी सिक्छौं, __________लाई देख्‍नु पितालाई देख्‍नु हो! परमेश्वरले आफूलाई आफ्नो पुत्र, प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा चिनाउनुभयो। उहाँको शरीर परमेश्वरको मन्दिर थियो (यूहन्ना २:१९-२१ हेर्नुहोस्)।

आज परमेश्वर कहाँ बास गर्नुहुन्छ? आज परमेश्वरको मन्दिर कहाँ छ?

आज पृथ्वीमा कुनै भेट हुने पाल छैन। आज यरुशलेममा कुनै यहूदी मन्दिर छैन। आखिरी यहूदी मन्दिर ई.सं. ७० मा रोमीहरूद्वारा ध्वस्त भयो। आज प्रभु येशू ख्रीष्ट यस पृथ्वीमा एउटा मानव शरीरमा रहिरहनुभएको छैन। आज परमेश्वरको मन्दिर कहाँ छ? आज परमेश्वरले आफ्नो उपस्थिति कहाँ प्रकट गर्दै हुनुहुन्छ? परमेश्वरको महिमा कहाँ देखिन्छ? परमेश्वर आज कहाँ जिउनुहुन्छ, कहाँ बास गर्नुहुन्छ? यसको जवाफ १ कोरिन्थी ३:१६ मा पाइन्छ – “_______________ (विश्वासी जनहरू) परमेश्वरका ___________ हौ, र परमेश्वरका ___________ तिमीहरूभित्र _________ गर्नुहुन्छ – के यो कुरा तिमीहरूलाई थाह छैन?” आज मण्डली (विश्वासी जनहरू मिलेर बनेको संरचना) नै परमेश्वरको मन्दिर हो। परमेश्वरले ख्रीष्टको शरीर (मण्डली) लाई आफ्नो महिमाले भर्नुहुन्छ (एफेसी १:२२-२३)। मण्डली नै परमेश्वरको घर हो (१ तिमोथी ३:१५) र यो नै “आत्माद्वारा ______________को वासस्थान हो” (एफेसी २:२२)। आज परमेश्वरले आफूलाई मण्डलीमा र मण्डलीद्वारा प्रकट गर्न चाहनुभएको छ!

यदि परमेश्वर सबै विश्वासी जनहरू (मण्डली) भित्र वास गर्नुहुन्छ भन्ने कुरा साँचो हो भने परमेश्वर प्रत्येक विश्वासी जनभित्र पनि वास गर्नुहुन्छ भन्ने कुरा पनि साँचो हो। “अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको _________ पवित्र आत्माको _____________ हो, जो ___________________ हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ” (१ कोरिन्थी ६:१९)। के तपाईं एउटा विश्वासी जन हुनुहुन्छ? यदि हुनुहुन्छ भने, परमेश्वर तपाईंभित्र वास गर्नुहुन्छ के तपाईं साँच्ची नै विश्वास गर्नुहुन्छ? यदि उहाँ तपाईंभित्र रहनुहुने (RESIDENT, तपाईंको हृदयभित्र जिउनुहुने) व्यक्ति हुनुहुन्छ भने के उहाँ तपाईंमा राज्य गर्ने (PRESIDENT, तपाईंको हृदय र जीवनमा नियन्त्रण गर्ने, शासन गर्ने) व्यक्ति पनि हुनुपर्ने होइन र?

 आज मण्डली नै त्यो स्थान हो जहाँ परमेश्वरले उहाँ को हुनुहुन्छ भनेर प्रकट गर्नुहुन्छ। मण्डली आज पृथ्वीमा छ ताकि मानिसहरूले जानून् कि त्यहाँ एक जीवित परमेश्वर र मुक्तिदाता हुनुहुन्छ जसरी उहाँ पृथ्वीमा रहेको उहाँको जीवित शरीर मण्डलीमा देखिनुहुन्छ। ढोकाको मुनिबाट तपाईंले बिरालोको पुच्छर हल्लिरहेको देख्‍नुभयो भने तपाईंलाई थाह हुन्छ, ढोका पछाडि बिरालोको बाँकी भाग हुनुपर्छ! जब संसारले ख्रीष्टको शरीर (विश्वासी जनहरू) लाई ठीक तरिकाले जीवन जिइरहेको देख्दछ, तब संसारले जान्नेछ कि त्यहाँ एउटा शिर हुनुहुन्छ, अर्थात् प्रभु येशू ख्रीष्ट, जो स्वर्गमा हुनुहुन्छ। शरीर छ भने त्यहाँ शिर पनि हुनुपर्दछ!

मानिस र स्वर्गदूतहरूका सामु जीवित परमेश्वरको प्रदर्शनी गर्नका लागि आज मण्डलीलाई यस पृथ्वी राखिएको छ (निम्न चित्रलाई अध्ययन गर्नुहोस्):

स्वर्गदूत र मानिसहरूका सामु परमेश्वरलाई प्रकट गर्नका लागि त्यहाँ मिलिजुली काम गर्न (TEAMWORK) आवश्यक पर्छ! मण्डलीको प्रत्येक अंग स्वस्थ रहनुपर्छ र प्रभुमा बढ्दै जानुपर्छ (दिन प्रति दिन ख्रीष्ट जस्तै बन्दै जानुपर्छ)। अंगहरू जति स्वस्थ हुन्छन् त्यति नै स्वस्थ शरीर हुन्छ। विश्वासी जनहरू आत्मिक रूपमा रोगी छन् भने उनीहरूले परमेश्वरलाई दर्शाउने काम त्यति राम्रोसँग गरिरहेका हुनेछैनन् (किनकि संसारले ख्रीष्टको रूप नभएको मानिसहरूलाई देख्‍नेछन्)। एउटा व्यक्ति कसरी एक स्वस्थ विश्वासी जन हुन सक्छ? एउटा स्वस्थ विश्वासी जनले गर्नुपर्ने केही कामहरू के-के हुन्? एउटा स्वस्थ विश्वासी जनले गर्नु नहुने केही कामहरू के-के हुन्? के तपाईं एक स्वस्थ विश्वासी जन हुनुहुन्छ? परमेश्वरलाई दर्शाउने काममा तपाईंले बल पुर्याउँदै हुनुहुन्छ कि बाधा दिँदै हुनुहुन्छ?

भवन निर्माण पूरा हुने दिन

मण्डलीको जन्म झण्डै २००० वर्ष अगाडि भयो (पेन्टेकोस्टको दिनमा, ख्रीष्टको मृत्यु र बौरिउठाइ भएको केही दिनपछि)। त्यसबेला देखि नै परमेश्वरले आफ्नो मण्डलीमा मानिसहरूलाई थप्ने काम गर्दै हुनुहुन्छ। आज पनि परमेश्वरले आफ्नो मण्डली बनाउदै हुनुहुन्छ। एक दिन (त्यो दिन हामीलाई थाह छैन) मण्डली बनाउने काम पूरा हुनेछ। एक दिन भवनको अन्तिम ईंटालाई त्यको ठाउँमा राखिनेछ र भवन निर्माण पूरा हुनेछ। एक दिन मण्डलीको अन्तिम अंगले मुक्ति पाउनेछ (यद्यपि त्यो व्यक्ति को हो र कहिले हुनेछ भनेर हामी जान्दैनौं)।

मण्डली पूर्ण रूपमा निर्माण भएपछि एउटा अचम्मको कुरा हुनेवाला छ। आफ्नो मण्डलीलाई स्वर्गमा लैजान येशू ख्रीष्ट फेरि आउनुहुनेछ। यस महान् घटनालाई “र्‍याप्चर” (RAPTURE, मण्डली एक्कासी उठाइने) भनिन्छ अनि यसको बयान यूहन्ना १४:३, १ थेस्सलोनिकी ४:१३-१८, १ कोरिन्थी १५:५१-५२ र तीतस २:१३ मा गरिएको छ। यस महान् घटना कुनै पनि घडीमा हुन सक्ने सम्भावना छ। आज मण्डली झण्डै पूर्ण रूपमा पुगिसकेको हुन सक्छ — यो ज्यादै सम्भावित कुरा हो। सम्भवत: परमेश्वर आज भवन निर्माणको, भनौं, “गजुर-चरण” मा पुग्नुभएको छ। जब गजुरलाई आफ्नो स्थानमा राखिन्छ तब मण्डली पूर्ण हुनेछ अनि ख्रीष्ट आफ्ना विश्वासी जनहरूलाई स्वर्गमा लैजान ओर्लि आउनुहुनेछ।

के तपाईं एक विश्वासी जन हुनुहुन्छ? के तपाईं मण्डलीको अंग हुनुहुन्छ? मुक्ति पाउनलाई सबभन्दा उचित दिन आज हो, विशेष गरी आज अनुग्रहको युगमा बाँचिरहेको दिनमा। के तपाईं, तपाईंलाई लिन आउँदै गर्नुहुने प्रभुको आगमनको बाटो हेर्दै हुनुहुन्छ? तपाईंको लागि हुने प्रभुको आगमनका लागि के तपाईं तयार हुनुहुन्छ (१ यूहन्ना २:२८ मा हेर्नुहोस्)?

प्रभु येशू आफ्नो मण्डलीका निम्ति आउनुभएपछि संसार तत्कालै सात-वर्षे सङ्कष्ट (TRIBULATION) को अवधि (मत्ती २४:२१, ठूलो सङ्कष्टको समय) भित्र प्रवेश गर्नेछ। बाइबलले हामीलाई भविष्यमा हुने सङ्कष्टपूर्ण त्यस समयावधिबारे धेरै कुरा बताएको छ। आगामी पाठको हाम्रो विषय यही हुनेछ। याद राख्‍नुहोस्, जो-जो ख्रीष्टको मण्डलीका हुन् उनीहरू स्वर्गमा जानेछन् (यूहन्ना १४:१-३; प्रकाश ३:१०), तर जो-जो ख्रीष्टको मण्डलीका होइनन् उनीहरू यस परीक्षा (TESTING, TRIBULATION) को घडीभित्र प्रवेश गर्नेछन् जुनचाहिँ सारा संसारमाथि आउनेछ (प्रकाश ३:१०)। तपाईं कुनचाहिँमा पर्नुहुनेछ? र्‍याप्चरमा कि सङ्कष्टकालमा?

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)