Entries by Pradesh Shrestha

रोमी १२:११-२१

रोमी १२:११-२१

 

रोमी १२:११

“अल्छे” = काम नगरी बस्‍ने, अल्छे (मत्ती २५:२६)। “प्रयत्न गर्नामा” = यो शब्दको माने उत्सुकता, जाँगर, उद्यम, जोश, प्रभुलाई हरेक कामकुरामा खुशी पार्न भएभरको बल लगाउनु। “आत्मामा जोशिला होओ” — जोशिलो भन्ने शब्द “उम्लनु, भकभक पाक्नु” भन्ने शब्दबाट आउँछ। आत्मिक जीवनमा हामी प्रभुको निम्ति अागोजस्तै हुनुपर्छ, रापिलो, उम्लिरहेको, तातो, जोशिलो, चम्किलो! कहिलेकाहीँ हामी चिसिन्छौं र मनतातो बन्छौं (प्रकाश ३:१६,१९)। हामी तातो भएको परमेश्वर चाहनुहुन्छ, एउटा ईश्वरीय जोश भएको र प्रभुका कुराहरूको निम्ति उत्तेजित भएको चाहनुहुन्छ। दाँज्नुहोस् तीतस २:१४ — “असल-असल कामहरूमा जोशिलो” (असल गर्नका लागि बल्दो जोश भएको)। तपाईंको आत्मिक तापक्रम कस्तो छ? के तपाईं जोशिलो हुनुहुन्छ? परमेश्वरका कुराहरूको निम्ति जोशको सवालमा के तपाईं उम्लने विन्दुमा हुनुहुन्छ? प्ररित १८:२५ मा हामी त्यस्तो एकजना मानिसको बारेमा सिक्छौं! “प्रभुको सेवामा गरिरहो” — हामी निरन्तर उहाँको प्रेमको दासको रूपमा प्रभुको सेवा गरिरहनुपर्छ। उहाँ हाम्रा धन्यको मालिक हुनुहुन्छ। परमेश्वर अल्छे दासहरू चाहनुहुन्न। उहाँ त्यस्ता विश्वासीहरू चाहनुहुन्छ जो परिश्रमी र जोशिला हुन्छन्।

रोमी १२:१२

“आशामा आनन्दित होओ” — विश्वासीहरू भएर हामी आफूसित भएको आशामा निरन्तर आनन्द गरिरहनुपर्छ। आशाले त्यस महिमित भविष्यको प्रतीक्षा जनाउँछ जो पक्का छ किनकि परमेश्वरले आफ्‍नो वचन दिनुभएको छ। भविष्यको बारेमा विचार गर्दा हामी निर्धक्क भई र हर्षित प्रतीक्षासहित त्यसको बाटो हेर्न सक्छौं। हाम्रो भविष्य परमेश्वरका प्रतिज्ञा जत्तिकै उज्यालो छ। प्रभु येशू ख्रीष्टको आगमन पक्का कुरा हो! परमेश्वरको हरेक सन्तानको एउटा एकदम उज्यालो भविष्य छ, र यस कुराले हाम्रा हृदयहरूलाई ठूलो रमाहट ल्याउनुपर्छ। रोमी ८ ले हाम्रो भविष्यको प्रतीक्षाको बारेमा धेरै कुरा बताएको छ!

“सङ्कष्टमा स्थिर रहो” — “स्थिर” को माने जीवनका परीक्षाहरूमुनि रहिरहनु, लागिरहनु, सहिरहनु, नछोडीकन बस्‍नु, हरेस नखानु, हार नखानु तर सबै कठिनाइहरू र बाधाअड्चन र समस्याहरू र दबाबहरूका बाबजुद पनि अगाडि बढिरहनु! १ थेस्सलोनिकी १:३ मा हामी सिक्छौं कि आशाले धीरज उत्पन्न गर्दछ। आशाको कारणले हामी सङ्कष्ट र च्यापोको बीचमा पर्दा पनि हामी सहन सक्छौं र लागिरहन सक्छौं। आशाले वर्तमान परीक्षाभन्दा पर हेर्छ र परमेश्वरका प्रतिज्ञाहरूलाई पक्रन्छ। “दृढतापूर्वक लागिरहो” = टाँसिनु, जोडपूर्वक नछोडीकन लागिरहनु। विश्वासीले आफूलाई प्रार्थनाको निम्ति अर्पनुपर्छ र प्रार्थनामा बलियो रहनुपर्छ। प्रार्थनाको निम्ति यत्न र दृढता आवश्यक पर्छ। प्रार्थना गर्न सजिलो छैन र त्यसमा लागिरहनु सजिलो छैन (यस क्रियावाचक शब्दको अन्य प्रयोगको लागि हेर्नुहोस्, प्रेरित १:१४; २:४२; ६:४; कलस्सी ४:२)।

रोमी १२:१३

“सहायता गर”= बाँड्नु, आदान-प्रदान गर्नु, कसैमा चासो लिनु, योगदान दिनु। “खाँचोमा” — आवश्यकताहरू। त्यहाँ विश्वासीहरू हुन्छन् जसलाई साँच्चीकै खाँचो परिरहेको हुन्छ जो पूरा गर्न मसित क्षमता हुन्छ। के म अरू विश्वासीहरूको खाँचोप्रति संवेदनशील छु? के म आफैबाट, मेरो समय, मेरो पैसा, आदि ख्रीष्टलाई आदर हुने तरिकाले दिन र यी खाँचोहरू पूरा गरिदिन इच्छुक छु? “पाहुनाहरूको सेवामा लागिरहो” — यो एउटा रोचक अभिव्यक्ति हो र अक्षरशः यसको माने हो पाहुना सत्कारको पछि लाग्‍नु वा दगुर्नु। यो एउटा ग्रीक शब्दबाट आउँछ जसलाई प्रायः “सताउनु” भनेर अनुवाद गरिन्छ। सतावट दिने व्यक्ति त्यो हो जसले कसैलाई हानी गर्न लखेट्छ। पाहुनासत्कारको पछि लाग्‍ने एउटा असल उदाहरण चाहिँ अब्राहाम हो, उत्पत्ति १८:१-६ (उनी कसरी दौडे, हेर्नुहोस्!)। “पाहुनाहरूको सेवा” = परदेशीहरूको प्रेम। ख्रीष्टिय सत्कारको विषयमा हेर्नुहोस् १ तिमोथी ३:२; तीतस १:७-८; १ तिमोथी ५:१०; हिब्रू १३:२ (उत्पत्ति १८:१-६ को बारेमा); १ पत्रुस ४:९ र ३ यूहन्ना ५-८।

रोमी १२:१४

“आशिष देओ” = कसैको बारेमा असल बोल्नु (श्रापको उल्टो जसरी यसै पदमा देख्छौं)। “सताउनेहरू” = पद १३ मा प्रयोग भएकै शब्द हो (पाहुना सत्कारको पछि लाग)। यहाँ चाहिँ तिनीहरूको उल्लेख छ जोहरूउनीहरूलाई हानी गर्ने वैरभावको नियतले विश्वासीहरूको पछि लाग्छन् र लेखेट्छन्। पावलले हामीलाई त्यस्ता व्यक्तिहरूमाथि न्यायको फैसला नगर्नलाई निर्देशन दिँदैछन्। बदला नलिऊ (यसको बारेमा पावलले अध्यायको अन्ततिर अझै बताउनेवाला छन्)। वास्तवमा पावल यहाँ स्वयं ख्रीष्टकै शिक्षा दोहोर्याउँदैछन् (हेर्नुहोस् मत्ती ५:४४)। “श्राप” = यो चाहिँ हाम्रा शत्रुहरूप्रतिको हाम्रो स्वाभाविक प्रतिक्रिया हो तर यो ख्रीष्टिय प्रतिक्रिया होइन। यस अध्यायको अन्तिम खण्डले बताउनेछ हामीले कसरी र कस्तो प्रतिक्रिया देखाउनुपर्छ जब मानिसहरूले हामीलाई दुर्व्यवहार गर्छन्!

रोमी१२:१५

हामीएउटैशरीरका पारस्परिक अङ्गहरू हौं। परमेश्वरले हामीलाई एउटा गजबको तरिकामा एकअर्कासित एक बनाउनुभएको छ। “अङ्गहरूले एक-अर्काका निम्ति एकै प्रकारको वास्ता राखून्। अनि एउटा अङ्गले दुःख पायो ने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्, अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आनन्द मनाउँछन्” (१ कोरिन्थी १२:२५-२६)। हामीले एकअर्काको निम्ति सहानुभूति राख्नुपर्छ, उनीहरूको आनन्द र दुःखहरूमा संलग्‍न भएर। म तपाईंजस्तै उही शरीरको अङ्ग भएको हुनाले, तपाईंका आनन्दहरू मेरा आनन्द हुन् र तपाईंका आँसुहरू मेरा आँसु हुन्। म स्वतन्त्र छैन, तर बरु म शरीरको हरेक अर्को अङ्गसित जोडिएको छु। मलाई उनीहरूको खाँचो छ र उनीहरूलाई मेरो खाँचो छ। नोट: कहिलेकाहीँ कसैसित आनन्द मनाउनुभन्दा ऊसित रून सजिलो हन्छ। योचाहिँ घमन्ड, डाहा, इर्ष्या, आदिले हुन्छ।

रोमी१२:१६

“एकैमनकाहोओ” = उही कुरा सोच्नु, सहमत हुनु, सम्मतिमा जिउनु, एक्यपूर्ण हुनु। हामी शरीरको एकताबाट बेमेल भई जिउनुहुन्न (मानव शरीरको विचार गर्नुहोस्; एउटा खुट्टा उत्तरतिर अर्कोचाहिँ दक्षिण जान चाहे कस्तो हुन्थ्यो)। दाँज्नुहोस् फिलिप्पी ४:२ र २ कोरिन्थी १३:११। विश्वासीहरू आपसमा सहमत हुनुपर्छ, एउटै दृष्टिकोणलाई हृदयमा ठाउँ दिनुपर्छ, सर्वसम्मतिमा हुनुपर्छ। त्यहाँ कुनै अमेल वा असहमति हुनुहुन्न। “परमेश्वरको महिमा गर्न को सहमत हुनुहुन्छ?” सबैजना सहमत हुन्छन् र भन्छन्, “आमेन!” “ख्रीष्टलाई खुशी पार्नु पहिलो प्राथमिकता हो भनेर को विश्वास गर्नुहुन्छ?” सबैजना सर्वसम्मति जनाउँछन् र भन्छन्, “आमेन!” “ख्रीष्टलाई पछ्याउन र विश्वासको असल लडाइँ लड्न को चाहन्छ?” सबैजना अघि सर्छन् र भन्छन्, “म चाहन्छु!” “कसले पाप र भ्रमलाई घृणा गर्छ?” सबैजनाले जवाफ दिन्छ, “हामी सबैले!” विश्वासीहरूको बीचमा हुनुपर्ने यस्तो खाले सहमति हो। हामी बेग्‍लाबेग्‍लै लक्ष्यहरू र उद्देश्यहरूको पछि लागिरहेको हुनुहुँदैन। यसको माने हामी प्रभुमा बढ्दै जाँदा र परमेश्वरको सत्यता बुझ्न खोज्ने क्रममा शिक्षाका केही बुँदाहरू सम्बन्धी त्यहाँ कहिल्यै इमानदार र शान्तिपूर्ण असहमतिहरू हुँदैनन् भनेको होइन। हामीमध्ये कसैले पनि परमेश्वरको सत्यता जसरी बुझ्नु पर्ने हो त्यसरी बुझेका छैनौं र हामीमध्ये कसैले पनि सबै कुरा ठीकसँग जानेका छैनौं। परमेश्वरले जान्नुहुन्छ तर हामी जान्दैनौं। चाबी फिलिप्पी २:५ मा छ — जति हामी ख्रीष्टसित सहमत हुन्छौं, त्यति नै हामी एकअर्कासित सहमत हुन्छौं। जब सत्यता सम्बन्धी असहमति हुन्छ, त्यसको माने एक वा अर्को पक्षा (वा दुवै) ख्रीष्टसित सहमत छैन (कि त जानाजानी, कि अनजानमा)। हामीसँग यदि परमेश्वरकै दृष्टिकोण छ भने हामी एकअर्कासित सहमत हुन्छौं।

“अल्गा कुराहरू” = ज्यादै उच्च कुराका पछि सङ्घर्ष नगर्नुहोस्। योचाहिँ घमन्डी महत्त्वकाङ्क्षाको विरुद्धमा चेतावनी हो (उच्च कुराहरू खोज्नु जस्तै सम्मान र सम्पत्ति, ओहोदा र अधिकार, ज्यादै इच्छा गर्नु)। उच्च कुराहरूको पछि ज्यादै आकाङ्क्षा नगर्नुहोस् (भजनसङ्ग्रह १३१:१ पढ्नुहोस्)। “नम्रहरू” = व्याकरणको आधारमा यसको माने दुईटा मध्ये एउटा हुन सक्छ: १) होचा वा नम्र मानिसहरू (पुलिङ्); २) होचा कुराहरू (नपुंसक) “-तर्फ झुक” = बगाएर लगिनु, डोर्‍याएर लगिनु। पुलिङमा अर्थ यस्तो हुन्छ: नम्र मान्छेहरूसित सङ्गत गर, त्यस्तालाई तुच्छ नठान (ख्रीष्ट हाम्रो नमुना हुनुहुन्छ, महसुल उठाउने र पापीहरू, बहिष्कृत र गरिबहरू उहाँका मित्रहरूमध्ये पर्थे)। नपुंसकमा अर्थ यस्तो हुन्छ: उच्च कुराहरूमा नभएर, आफूलाई नम्र मार्गहरूसित मिलाऊ, आफूलाई होचा कुराहरू, परिस्थितिहरू, कामहरूतर्फ सुम्प वा तिनको अधीनमा राख।

“आफ्‍नो दृष्टिमा बुद्धिमान्” — यो चाहिँ अहङ्कार (आफ्‍नो विषयमा ज्यादा उच्च धारणा हुनु) को विरुद्धमा चेताउनी हो। आफ्‍नै मूल्याङ्कनमा बुद्धिमान् नहुनुहोस् (आफ्‍नो दृष्टिमा — हितोपदेश ३:७ र यशैया ५:२१)।

रोमी १२:१७

“खराबको बदलामा खराब” = खराबको सट्टा खराब फिर्ता दिनु। “बदला” = फिर्ता दिनु, इनाम दिनु, उनीहरूले गरेको कुनै खराबको निम्ति कसैलाई फिर्ता तिर्नु (कसैले तपाईंलाई नाकमा हिर्काउँछ भने तपाईंले पनि उस्तै व्यवहार उसलाई फिर्ता दिनु)। यो मनोभाव यसरी व्यक्त गर्न सकिन्छ, “त्यसको निम्ति म तँलाई साटो फेरेर छोड्नेछु! म बराबर गरेर छोड्नेछु! त्यो गरेर तँ त्यत्तिकै उम्कनेछैनस्। यसको लागि तैँले तिर्नेछस्!”) सुनौलो नियमको सट्टामा यहाँ मैलो नियम यस प्रकार छ: अरूले तिमीलाई जस्तो गरेका छन् उनीहरूलाई पनि त्यस्तै गर कि त अझ नराम्रो गर! यही विषय सिकाउने अरू नयाँ नियमका खण्डहरू १ थेस्सलोनिकी ५:१५ र १ पत्रुस ३:९। निजलाई उसले पाउनु पर्ने कुरा नदेऊ। हामी कति धन्यवादी हुनुपर्छ कि परमेश्वरले हामीलाई हामीले पाउनुपर्ने कुरा दिनुभएन (हेर्नुहोस् भजनसङ्ग्रह १०३:१०; १३०:३-४)।

पुरानो नियमले सिकाएको “आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत” (प्रस्थान २१:२४) आदिको विषयमा के भनौं? यसको माने यो हो कि सजायँचाहिँ अपराध बराबर हुनुपर्छ अनि यो सत्य र मान्य न्यायिक सिद्धान्त हो। एउटा व्यक्ति जे पाउन योग्य छ, उसले त्यही नै पाउनुपर्छ। जस्तै, उत्पत्ति ९:६ (ज्यानको सट्टा ज्यान)। के पुरानो नियमले प्रतिशोधको शिक्षा (बदला लिनु भन्ने शिक्षा) सिकाउँछ तर नयाँ नियमले चाहिँ बदला नलिनु भन्ने शिक्षा सिकाउँछ भन्ने हो त? हितोपदेश २०:२२ र हितोपदेश २५:२१-२२ दुवै नै पुरानो नियमका खण्ड हुन् र दुवै खण्डले बदला नलिनु भनेर सिकाउँछ। साथै रोमी १३:१-४ नयाँ नियमको खण्ड हो र यो खण्डले स्पष्टै सकाउँछ कि दुष्कर्म गर्नेहरूलाई सजायँ दिइनुपर्छ, र यो काम परमेश्वरले शासक (सरकार) हरू, अधिकारीहरू आदिद्वारा गर्नुहुन्छ। रोमी १२ मा पावलले खराब काम गर्नेहरूलाई सजायँ दिइनुहुन्न भनेर सिकाइरहेका होइनन्। उनको मुख्य बुँदा यो हो कि, जसरी हामी देख्नेछौं, विश्वासीले सिद्ध न्यायकर्ता परमेश्वरलाई नै अन्याय अत्याचारहरूको ठीक कारवाही उहाँको तरिकामा र उहाँको समयमा गर्न दिनुपर्छ (उदाहरणको लागि पद १९ मा हेर्नुहोस्)।

“चिन्ता गर” — यहाँ यसरी अनुवाद गरिएको उही ग्रीक शब्द १ तिमोथी ५:८ मा “प्रबन्ध गर्नु” भनेर अनुवाद गरिएको छ (आफ्‍नो घरपरिवारको निम्ति प्रबन्ध गर्नु)। शब्दको माने हो “कुनै कुरा, व्यक्तिको निम्ति विचार राख्नु, कुनै कुरा, व्यक्तिलाई नजरमा वा ध्यानमा राख्नु”। “भलो” = असल, नैतिकरूपमा राम्रो र सुन्दर, उत्कृष्ट, प्रशंसनीय। यो पद चाहिँ हितोपदेश ३:४ को उद्दरण हो (सप्टुआजिन्टबाट) र २ कोरिन्थी ८:२१ सित तुलना गर्नुहोस्। हामी सबैको दृष्टिकोणमा जे उिचत र असल छ त्यो गर्न ध्यान दिनुपर्छ। हामी साक्षी हौं। मानिसहरू हेरिरहेका छन्। ख्रीष्टियनको व्यवहार कस्तो हुनुपर्छ भनी उनीहरू जान्दछन्। संसारले जस्तै हामी पनि बदला लिन्छौं कि लिँदैनौं, साटो फेर्न खोज्छौं कि खोज्दैनौं, बराबरी हुन खोज्छौं कि खोज्दैनौं भनेर तिनीहरू नियालेर हेर्छन्। रोमी १२:१७ लाई धेरै प्रकाश पार्ने एउटा महत्त्वपूर्ण पद १ थेस्स्लोनिकी ५:१५ हो।

आज हामी मुद्दा-मामिलाले मोहित भएको समाजमा बाँचिरहेकाछौं जसको नीतिवाक्य भनेको “मुद्दा देऊ कि मुद्दा लेऊ” जस्तो देखिन्छ। मेरो आफ्‍नो व्यक्तिगत फाइदाको निम्ति मैले अर्को व्यक्तिबाट कति पाउन सक्छु, जोड त्यसैमा भएको देखिन्छ। यो त यस अध्यायमा प्रस्तुत गरिएको प्रेमको सिद्धान्तहरूको विपरीत हो। प्रेमले सधैं सोध्छ, “मैले यस व्यक्तिलाई कति दिन सक्छु, त्यसो गर्दा नोक्सानी र बलिदानको आवश्यक्ता किन नपरोस्” यस्तो भ्रमित समाजमा ख्रीष्टको प्रेमले हृदय भरिएका विश्वासीहरू अति उज्यालो भई चम्कनुपर्छ! हाम्रो काम अर्कालाई हाम्रो आफ्‍नै व्यक्तिगत फाइदाको निम्ति प्रयोग गर्नु वा दुरूपयोग गर्नु होइन!

रोमी१२:१८

“सम्भवभए” — यी शब्दले यो जनाइरहेको छ कि यो सधैं सम्भव हुँदैन।
“तिमीहरूबाटजहाँसम्महुनसक्छ” = जहाँसम्म त्योतिमीमाभरपर्ने कुरा हुन्छ। मेलमिलाप दुईतर्फी सडक हो। मेलमिलापमा बस्‍न हामीले आफ्‍नो भाग गर्नुपर्छ, तर अर्काको व्यवहारमाथि हाम्रो कुनै नियन्त्रण हुँदैन। मसित हिँउको एक डल्ला छ, अर्कोसित अर्को छ। म आफ्‍नो डल्लाले अर्कालाई हिर्काउँदिनँ भनेर निर्णय गर्न सक्छु, तर उसले उसको डल्लाले के गर्छ, त्यो म नियन्त्रण गर्न सक्दिनँ। पावलको बुँदा यति छ: मेलमिलापमा खलबली ल्याउने काम ख्रीष्टियनको पक्षबाट कहिल्यै सुरु हुनुहुँदैन। “मेल-मिलापमाबस” कोमाने “शान्तिसँगबस, शान्तिमाबस।”

नयाँनियमको ४ ठाउँमा विश्वासीलाई मेलमिलापको पछि लाग्‍न भनिएको छ (त्यसको पछि दगर्नु, त्यसलाई लखेट्नु!): रोमी १४:१९; २ तिमोथी २:२२; हिब्रू १२:१४ र १ पत्रुस ३:११।

रोमी१२:१९

“बदला” = अन्यायकोबदलालिनु (खराब गर्नेलाई सजायँ दिएर खराबीको पूरै क्षतिपूर्ति लिनु)।आफ्‍नोबदला प्राप्त नगर! “क्रोधलाईठाउँदेऊ” — परमेश्वरको क्रोधलाई त्यसको उद्देश्य पूरा गर्नलाई अवसर देऊ। एकातिर पन्छिएर बस र मामिला परमेश्वरलाई छोडिदेऊ र परमेश्वरसित छोडिदेऊ। आत्मसमर्पण गर र सम्बन्धित व्यक्तिलाई परमेश्वरको क्रोधका निम्ति सुम्पिदेऊ जसले ठीक समयमा ठीक तरिकाले व्यवहार गर्नुहुनेछ। दाँज्नुहोस् एफेसी ४:२७ — शैतानलाई उसको प्रभाव जमाउन कुनै मौका वा अवसर नदेऊ, उसलाई खुल्ला ढोका नदेऊ। परमेश्वर उहाँका सन्तानहरूलाई गरिएको खराबीहरूको हिसाब लिन अवसर चाहनुहुन्छ, अनि त्यसो गर्नु उहाँको अधिकार हो। परमेश्वर क्रोधले बदला लिनुहुन्छ! पाप देखेर हामीभन्दा परमेश्वर क्रुद्ध हुनुहुन्छ! उहाँ हामीभन्दा बढी सहनशील (रिसाउनमा ढिलो) हुनुहुन्छ! परमेश्वरले सबथोक ठीकठाक पर्नुहुनेछ। दुष्टहरू कुनै कुराबाट पनि उम्कनेछैनन्। मैले साटो फेर्नु खाँचो छैन, तर परमेश्वरले त्यो गर्नुहुनेछ।

“बदला लिने (सजाय दिने) काम मेरो हो” हिब्रू र अक्षरश: ग्रीकमा यस्तो छ (व्यवस्था ३२:३५ र हिब्रू १०:३०), “प्रतिशोध मेरो हो!” “बदला दिनेछु” = फर्काउनु, फिर्ता दिनु, दण्ड वा बदलामार्फत फेरि तिर्नु। उदारवादी (लिबरलहरू) र मडर्निस्टहरूले प्रायः यसरी भन्ने गरेका छन्: “पुरानो नियमको परमेश्वर निर्दयी, निष्ठुर (दया माया नभएको), दण्ड दिन, बदला दिन इच्छुक इन्साफ र क्रोधका परमेश्वर हन्, तर नयाँ नियमको परमेश्वर प्रेमिलो, कृपालु स्वर्गीय पिता हुन्।” तर यहाँ रोमी १२ मा हामीलाई बदला लिने परमेश्वरसित परिचय गराइँदैछ! अनि भजनसङ्ग्रह १०३:१३ मा परमेश्वरलाई एक दयालु पितासँग तुलना गरिएको छ! साथै भजनसङ्ग्रह १०३:१० मा पनि हेर्नुहोस् जसले यो जनाएको छ कि जसले परमेश्वरको डर मान्दैनन् तिनीहरू उनीहरूकै पाप र अपराधहरू अनुसार कारवाही गरिनेछन्! भजनसङ्ग्रह १०३:१७ पनि हेर्नुहोस् जसले परमेश्वरको क्रोध उहाँको डर नमान्नेहरू प्रति अनादिदेखि अनन्तसम्म रहिरहन्छ। जीवित परमेश्वरका हातमा पर्नु डरलाग्दो कुरा हो (अनि स्मरण होस्, यो पद पनि नयाँ नियमको पद हो — हिब्रू १०:३१)।

रोमी १२:२०

यहाँ हामी हाम्रा शत्रुलाई कसरी प्रेम गर्न सक्छौं भन्ने कुरा व्यावहारिक रूपमा व्यक्त गरिएको पाउँछौं (मत्ती ५:४४ सित दाँज्नुहोस्)। हितोपदेश २५:२१,२२ हेर्नुहोस्। शत्रूप्रति साँचो प्रेम हुनु भनेको निजप्रति हाम्रो भावना जस्तोसुकै भए तापनि हामी उसलाई आवश्यक परिरहेको कुरा दिनलाई रोज्नु हो। आफ्‍नो शत्रुलाई स्वाभाविक रूपमा नै प्रेम गरूँ जस्तो एक व्यक्तिलाई लाग्दैन। बरु उसलाई नाकमा हिर्काऊँ वा उसको साइकल वा गाडीको टायर पञ्चट पारिदिऊँ जस्तो लाग्‍न सक्छ, तर उसलाई केही कुरा खुवाऊँ र केही कुरा पिउन दिऊँ जस्तो लाग्दैन। हामी आफ्‍ना शत्रुलाई प्रेम गर्छौं, हामीलाई त्यसो गरूँ जस्तो लागेर होइन, तर किनकि परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ (मत्ती ५:४४)। त्यो जुन बेला गरूँ जस्तो लाग्छ त्यति बेला म गर्छु भन्यौं भने त्यो कहिल्यै हुनेछैन! २ राजा ६:२०-२३ पढ्नुहोस्, एलिशाले आफ्‍ना शत्रुहरूलाई कसरी व्यवहार गरे भन्ने कुराको उदाहरणको लागि।

“आगोको भुङ्ग्रो”= बल्दो अँगार वा कोइला, फिलिङ्गो। “रास लाउनु” = थुपार्नु। तपाईंको शत्रुलाई जब तपाईं खुवाउनुहुन्छ र पियाउनुहुन्छ, तपाईंले उसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाउँदैहुनुहुन्छ! निस्सन्देहः यो शाब्दिक अर्थमै लिइने कुरा होइन।
“जब पवित्र शास्त्रको सोझो अर्थ नै अर्थपूर्ण छ, अन्य अर्थ नखोज्नुहोस्, र शब्दलाई सोझो अर्थमा लिन निमल्ने कुराको स्पष्ट सङ्केत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको सोझो अर्थमै लिनुहोस्” (डा डेविड कूपर)

तर यहाँ सोझो अर्थ अर्थपूर्ण छैन। तरैपनि, यस पदले सिकाइरहेको कुरालाई दर्शाउनका निम्ति, यसलाई सोझो अर्थमै लिएर हेरौं। मानौं कुनै बनभोजमा जाँदा कसैले तपाईंलाई जानाजानी एउटा भकुण्डोले ताकेर तपाईंलाई हिर्काई पठाउँछ जसले तपाईंलाई टाउकैमा बेसरी लाग्छ र त्यसपछि उसले तपाईंलाई हिलोले छ्याप्छ अनि मुखैमा थुक्छ। तपाईंले चाहिँ केही राता-राता झर्झराउँदो आगोको भुङ्ग्रो लिएर, ऊ अर्कोतिर फर्केर बसिरहेको बेलामा, त्यसलाई उसकै टाउकोमाथि रास लगाइदिनुभयो। के उसलाई यो मन पर्नेछ? अवश्य पर्नेछैन! त्यो त कसैलाई गर्न सकिने सबभन्दा नराम्रो व्यवहार हुन्थ्यो! त्यसभन्दा नराम्रो के गर्न सकिन्थ्यो र? त्यो असह्य हुनेथ्यो। त्यसले नराम्रो गरी चोट पुर्‍याउनेथ्यो। परमेश्वरले भनाइ यो हो: यदि तिमी आफ्‍नो शत्रुलाई आक्रमण गर्न चाहन्छौ भने, उसलाई भलाइ गर! त्यो उसलाई असह्य व्यवहार हुनेछ। त्यो तिमीले गर्न सक्ने सबभन्दा प्रभावकारी काम हुन्थ्यो। त्यो त दयाले मानिसहरूलाई मार्नु हो; सद्गुणद्वारा उनीहरूलाई बदला लिनु हो, प्रेमका कामद्वारा उनीहरूलाई नष्ट गर्नु हो र मेलमिलापले उनीहरूलाई सताउनु हो। स्टिफनसको विचार गर्नुहोस्। उनका शत्रुहरूका लागि प्रार्थना गर्नुको सट्टा उनीहरूलाई उनले ढुङ्गाले हानेका भए उनीहरूले चाहेजस्तै हुन्थ्यो! उनीहरूको निम्ति गरिएको उनको प्रार्थना उनीहरूलाई पीडादायी भएको हुनुपर्छ! अर्को पटक कसैबाट तपाईंलाई खराबी गरिँदा तपाईंले आफ्‍नो शत्रुलाई प्रेमको व्यवहार गरी देखाउनुहोस् र उनीहरूको हृदयहरूमा काम गर्नलाई परमेश्वरमा भरोसा गर्नुहोस्।

[टिप्पणी: हेन्ड्रिक्सन भन्छन्, “सोच्दै नसोचेको दयालु व्यवहारको पात्र बन्न जाँदा उत्पन्न भएको लाज, शरम र मनको चूर्णताको मानसिक पीडालाई जनाउँछन् प्रतीकको रूपमा यी आगाका भुङ्ग्राले। खराबीको सट्टा भलाइ दिने खराबी सहेको व्यक्तिको विशालहृदयताको व्यवहारले यस्तो नतीजा उत्पन्न गराउँछ।” — Romans 9-16, p. 423.

अल्बर्टबार्न्स्लेख्छन्, “मानिसको टाउकोमाथि रास लगाइएको आगोको भुङ्ग्रोले प्रचण्ड पीडालाई व्यक्त गरिरहेको छ। प्रेरित पावलले यो भन्दैछन् कि शत्रुलाई भलाइ गर्दाखेरि हुने नतीजा यो हो कि त्यसले पीडा उत्पन्न गर्दछ। तर उक्त पीडाचाहिँ लाज र शरम र पछुताउको विवेकबाट उत्पन्न हुन्छ, आफ्‍नो व्यवहार खराब थियो र आफूले परमेश्वरलाई रिस उठाएको छु भन्ने डरको महसुसद्वारा उत्पन्न हुन्छ र फलस्वरूप ऊ पश्चात्तापमा डोर्‍याइन सक्छ” — Barnes’ Notes, Acts – Romans, p. 283]

रोमी १२:२१

यहाँउहीक्रियापदको कृतिवाच्य (active voice) र कर्मवाच्य (passive voice) रूपहरू छन्। “नहार” =कर्मवाच्य; “जित” = कृतिवाच्य। खराबीलाई तिमीमाथि विजयी बन्न नदेऊ, तर जाऊ गएर बरु तिमी भलाइलेखराबीमाथि विजयी बन। खराबीलाई भलाइले डुबाऊ। पावल म्याकमिलन नाम गरेका एकजना समर्पित विश्वासीलाई चिन्दछु, जो मसँगै सेमिनरी (बाइबल कलेज) मा पढ्नुभयो। धेरै वर्ष अगाडि उनका बाबु सुसमाचारको सेवा गर्न गएको ठाउँमा उनलाई निर्ममतासाथ हत्या गरी मारिएको थियो। मेरो साथीको इच्छा त्यही ठाउँमा गएर जसले उनका बाबुलाई मारे, उनीहरूकै बीचमा मिसनरी भएर आफ्‍नो जीवन अर्पण गर्नु थियो। खराबीलाई भलाइले जित्ने यो सुन्दर उदाहरण हो: ख्रीष्टको सुसमाचार उनीहरूलाई नै दिनु जसले उनका बाबुको हत्या गरेका थिए। उनको हृदयमा बदलाले कुनै ठाउँ पाएन, तर ख्रीष्टको प्रेमले चाहिँ पायो। कालन्तरमा, प्रभुले पावललाई सेवकाइको बेग्‍लै क्षेत्रमा डोर्‍याउनुभयो। उनका बाबुले नै परिश्रम गरेकै ठाउँमा उनलाई फिर्ता पठाउनु परमेश्वरको रोजाइ थिएन, तर पावल त्यहाँ जान तयार थिए अथवा जुनसुकै ठाउँमा जहाँ प्रभुले डोर्‍याउनुहुन्थ्यो।

रोमी १२ अध्यायको अध्ययन यहीँ अन्त हुन्छ। रोमी १२ र १३ लाई एउटा जोड्ने कुरा छ। खराब गर्नेहरूलाई दण्ड दिनु विश्वासीकै काम होइन भनेर हामी सिकिसकेका छौं। त्यो परमेश्वरको काम हो। क्रोधको बदला लिने परमेश्वर हुनुहुन्छ। बदला लिने काम उहाँको हो। उहाँले आफ्‍नो तरिकामा र आफ्‍नै समयमा त्यसलाई फेरि तिर्नुहुन्छ। खराब गर्नेहरूलाई परमेश्वरले दण्ड दिने एउटा तरिका अध्याय १३ ले बताउँछ जुनचाहिँ हो मानव शासकहरू (सरकार) द्वारा जसलाई उहाँले नियुक्त गर्नुभएको छ र स्थापित गर्नुभएको छ (रोमी १३:४ मा हेर्नुहोस्)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पेन्टेकोस्टलवादका ३५ ओटा सैद्धान्तिक सवालहरू

Study Series

परिचय

“सबै कुरालाई जाँच, जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख।” (१ थेस्सलोनिकी ५:२१)

प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिले सबै कुराहरूको जाँच गर्नुपर्दछ। उसले आधुनिक क्यारिज्म्याटिक अभियान (Modern Charismatic Movement) को पनि जाँच गर्नुपर्दछ। हाम्रो एक मात्र अचूक र निर्णायक मापदण्ड परमेश्वरको वचन हो। परमेश्वरको त्रुटिरहित वचनको तराजुमा जोख्दा क्यारिज्म्याटिक अभियानको वास्तविक तौल पत्ता लाग्छ। हाम्रो जाँच गर्ने विधि शिक्षाको आधारमा हुनेछ। यहाँ ३५ ओटा शिक्षागत प्रसङ्गहरूमा चर्चा गरिनेछ। हाम्रो चाबी प्रश्‍न यो हुनेछ, “पवित्र शास्त्रले के भन्दछ?” (रोमी ४:३)। क्यारिज्म्याटिक अभियानको शिक्षा परमेश्वरको वचनभन्दा भिन्न छ कि छैन भनेर थाह पाउन तुलनात्मक अध्ययन गरिनेछ। कुनै पनि शिक्षा परमेश्वरको वचनसित मेल खाँदैन भने अथवा त्यसले परमेश्वरको स्पष्ट शिक्षालाई खण्डन गर्दछ भने त्यस शिक्षालाई गलत र झूटा भनेर नामाकरण गरिनुपर्दछ।

हाम्रा निष्कर्षहरू वस्तुगत सत्यता (objective truth) मा आधारित हुनुपर्दछ अर्थात् परमेश्वरको वचनका स्पष्ट तथ्यहरूमा। हाम्रा निष्कर्षहरू आत्मगत भावनाहरू (subjective feelings) मा आधारित हुनेछैनन् र हुनुहुँदैन पनि – “मलाई एउटा यस्तो अनुभव भयो त्यसैले यो साँचो हुनुपर्दछ” भन्ने तर्क आत्मगत हो, वस्तुगत होइन। “अन्य भाषाहरूको दान वर्तमान समयमा पनि दिइँदछ किनकि मैले अन्य भाषामा बोलेको छु”, “अन्य भाषामा बोल्नु ठीक रहेछ किनभने मैले चिन्ने फलानोले समेत अन्य भाषामा बोल्नुहुन्छ” — यी आत्मगत तर्कहरू हुन्। “आज पनि प्रेरितहरूको समयमा जस्तै चङ्गाइ गर्ने विशेष वरदान दिइँदो रहेछ किनकि मेरा एक घनिष्ट मित्रले एउटा त्यस्तो व्यक्तिद्वारा चङ्गाइ पाए”, आदि आत्मगत तर्क हुन्। यस अध्ययनमा हाम्रा निष्कर्षहरू आत्मगत अनुभवहरूमा आधारित नभई परमेश्वरको वस्तुगत सत्यतामा आधारित हुनेछन् — “म यो जान्दछु किनकि परमेश्वरले सो भन्नुभएको छ। मेरा व्यक्तिगत अनुभवहरू जस्तासुकै होऊन्, म सब कुरालाई परमेश्वरको वचनले जाँच गर्नेछु। अनि यदि मेरो अनुभव वा मेरा भावनाहरूलाई परमेश्वरको वचनले खण्डन गर्दछ भने म आफ्ना लगायत अरूहरूका अनुभव वा भावनाहरूसित नभएर परमेश्वरको वचनसितै सहमत हुनेछु।”

हामी मार्टिन लुथरको निम्न भनाइसित पूरै सहमत छौं —

“भावनाहरू आउँछन्, भावनाहरू जान्छन्, अनि भावनाहरू भ्रमात्मक हुन्छन्। मेरो अधिकार पत्र परमेश्वरको वचन हो, अन्य कुनै कुरा विश्वास गरिन लायक छैन। कुनै न्यानो अनुभूतिको अभावमा मेरो हृदय दोषी भावनाले कायल होला अरे तरैपनि त्यहाँ एकजना हुनुहुन्छ जो मेरो हृदयभन्दा महान् हुनुहुन्छ जसको वचन भङ्ग हुन सक्दैन। प्राण र शरीर अलग नहोउञ्जेल म परमेश्वरकै अपरिवर्तनीय वचनमाथि भरोसा राख्‍नेछु। किनभने ती टलेर गए तापनि उहाँको वचन सदासर्वदा खडा रहनेछ।”

यसका सकारात्मक पक्षहरू

निष्पक्षतामा हामीले आधुनिक क्यारिज्म्याटिक अभियानका कतिपय सकारात्मक पक्षहरूलाई स्वीकार्नुपर्छ। यद्यपि हाम्रो अध्ययनमा यस अभियानका थुप्रै गलत शिक्षाहरूलाई प्रस्टै देखाउन चाहन्छौं तरैपनि हामी यसका सकारात्मक पक्षहरूप्रति अन्धा बन्न चाहन्नौं। यद्यपि समग्रमा हामी क्यारिज्म्याटिक अभियानलाई स्वीकार गर्दैनौं र क्यारिज्म्याटिक व्यक्तिहरूसँग उनीहरूको गलत शिक्षा र अनुभव-केन्द्रित सिद्धान्तमा लाग्न सक्दैनौं, तरैपनि हामी उनीहरूबाट सिक्न सक्छौं र कतिपय प्रशंसनीय कुराहरूलाई स्वीकार गर्न सक्छौं।

उनीहरूमध्ये कतिजनासँग परमेश्वरका कुराहरूका निम्ति एक प्रकारको उत्साह भएको पाइन्छ। उनीहरू खुल्लमखुल्ला वा व्यक्तिगतरूपमा प्रभुको प्रशंसा गर्न प्रायः धक मान्दैनन्। उनीहरू ख्रीष्टियन या अख्रीष्टियनहरूको बीचमा प्रभुको बारेमा बोल्न लाज मान्दैनन्।

आत्मिक कुराहरूको विषयमा उनीहरू प्रायः उत्तेजित हुन्छन्। आफूले जे पाएका छन् ती विषयमा अरूलाई बताउन उनीहरू प्रायः उत्साहित हुन्छन् — “मित्र, मैले जे पाएको छु सो कुरा तपाईंले पनि पाउनुभएको म चाहन्छु।”

उनीहरूसित एक प्रकारको आत्मिक गतिशीलता छ जुनचाहिँ, खेदको कुरा, कतिपय बाइबल विश्वासीहरूमा घटी भएको पाइन्छ। उनीहरू फुर्तिला, उत्साहित, उत्तेजित, भावुक र स्पन्दनशील हुन्छन्। उनीहरूमा प्रायः प्रभुको सेवा गर्नलाई जोश हुन्छ यद्यपि त्यो जोश ज्ञान अनुसार नभएको पाइन्छ। के बाइबलीय विश्वासीहरू परमेश्वरका कुराहरूका निम्ति उत्तेजित र उत्साहित हुनुपर्ने होइन र? प्रायःजसो हामी शुरूमा यस्तै थियौं जब हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तदाता भनी चिन्यौं, तर समय बित्दै जाँदा जोश घट्दै जाने हाम्रो एउटा स्वभाव छ। हाम्रो पहिलो प्रेम छोड्न सजिलो छ। ज्ञानमा बढ्दै जाने क्रममा ख्रीष्टको निम्ति हाम्रो जोश नहराउन अनि उहाँलाई चिनाउनलाई उत्साह नहराउन हामी सतर्क होऔं।

प्रायश: क्यारिज्म्याटिक व्यक्तिहरूले एक किसिमको आनन्द र उमङ्ग प्रदर्शन गर्दछन्। उनीहरू आफ्ना क्रियाकलापहरू रमाहटका साथ गरिरहेका देखिन्छन्। उनीहरूको धर्म एउटा मरेको रीति नभई त्यो उनीहरूका लागि अति व्यक्तिगत र वास्तविक भएको देखिन्छ। उनीहरू जे गर्छन् ती उनीहरूका लागि अर्थपूर्ण भएका हुनाले र उनीहरू तिनमा आनन्दित भएका हुनाले गर्ने गर्छन्।

उनीहरूमध्ये कतिपयले एक अर्काका निम्ति एक प्रकारको न्यानोपना र वास्ता देखाउँछन्। उनीहरू मिलनसार र फरासिलो हुन्छन् अनि साधारणतया: अरूसित प्रभुको विषयमा र उहाँले उनीहरूका निम्ति के गरिदिनुभयो भन्ने बारेमा बताउन डराउँदैनन्।

उनीहरूका निम्ति बाइबल र प्रार्थना महत्त्वपूर्ण हुन्छन्। उनीहरू आफ्ना स-साना प्रार्थना झुण्डहरूमा र बाइबल अध्ययन समयहरूमा सँगै भेला हुन रूचाउँछन्। सङ्गती, प्रार्थना, स्तुति-प्रशंसा र भजनहरूमा सहभागी हुन मन पराउँछन्। मूल समस्या यही हो कि उनीहरूले बाइबलको अर्थ लगाउने काममा आफ्नो आत्मगत र व्यक्तिगत अनुभवलाई नै आधार बनाउने गर्दछन्। तर पवित्र शास्त्र प्रतिको उनीहरूको अभिरूचि र मुक्तिदातासँग व्यक्तिगत र वास्तविक सम्बन्ध राख्‍न चाहने उनीहरूको इच्छाको भने हामी तारिफ गर्छौं।

हामीले क्यारिज्म्याटिक व्यक्तिहरूबाट सिक्न सक्छौं। यस अभियानलाई परमेश्वरको वचनले जाँच्ने क्रममा यस अभियानमा भएका तारिफ गर्न लायक र उदाहरणीय कुराहरूलाई स्वीकार्नुपर्छ। यस अभियानका सकारात्मक पक्षहरूबाट हामीले सिक्न सक्छौं। शिक्षागत पक्षमा सठीक हुन परमेश्वरले हामीलाई मदत गर्नुभएको होस्। तर शिक्षागत पक्षमा ठीक (orthodox) भएर पनि शिक्षालाई जीवनमा रूपान्तर गराउने मुक्तिदातासँगको वास्तविक र सठीक सम्बन्धमा कमी (dead orthodoxy) भने नहोस्। हामी आफूमा जीवनरहित शिक्षा भएको चाहँदैनौं साथै शिक्षारहित जीवन भएको पनि चाहन्नौं। साँचो शिक्षा सधैं “भक्तिअनुसारको” हुन्छ, अर्थात् त्यसमा परमेश्वरको भय अनुरूपको चालचलन हुँदछ (१ तिमोथी ६:३)।

 

रोमी १२:३-१०

रोमी १२:३-१०

 

रोमी १२:३

पद २ मा हामीले सिक्यौं कि हामीले परमेश्वरको आत्मालाई हामीलाई ख्रीष्टको रूप र समानतामा बदली गर्न दिनुपर्छ (२ कोरिन्थी ३:१८ सित दाँज्नुहोस्)। हामी यदि ख्रीष्ट जस्तै हुने हो भने हामी नम्र हुनुपर्छ (दाँज्नुहोस् फिलिप्पी २:५-८), र यो नै ३ पदमा पावलको बुँदा हो। “म भन्दछु” — यो चाहिँ एउटा विनीत र नम्र आज्ञा दिने पावलको तरिका हो। “मलाई दिइएको अनुग्रहद्वारा” — पावलले प्रेरित हुनाका लागि अनुग्रह (परमेश्वरको अनर्जित निगाह) पाएका थिए (रोमी १:५), र अब उनले एउटा प्रेरितको हैसियतले लेख्दैछन् यी रोमी विश्वासीहरूलाई र उनीहरूलाई नम्रता सम्बन्धी एउटा विनीत, प्रेमिलो आज्ञा दिँदैछन्।

“आफ्‍नो विषयमा जति सोच्नुपर्छ, त्योभन्दा बढी नसोच” — हामीले आफ्‍नो विषयमा ठीकसँग सोच्नुपर्छ, र हाम्रो आफ्‍नै महत्त्व र उत्कृष्टता (श्रेष्ठता, महानता) को अतिरञ्जित र अवास्तविक सोचाइद्वारा घमन्डले फुलेको हुनुहुँदैन। हामीले आफ्‍नो विषयमा उच्च, अल्गो, घमन्डपूर्ण हेराइ राख्नुहुँदैन, तर हामीले आफूलाई परमेश्वरको हेराइले हेर्नुपर्छ। “सचेत” — स्वस्थ मन भएको, विवेकी, गम्भिरतापूर्वक आफ्‍नो विषयमा सन्तुलित र सठीक मूल्याङ्कन हुनु, आफूलाई परमेश्वरले जस्तै देख्नु।

गलाती ६:३ लाई विचार गर्नुहोस्। हामी केही हौं भनी हामी ठान्छौं; परमेश्वर भन्नुहुन्छ, हामी केही होइनौं! हामी एउटा ठूलै अङ्क हौं भनी ठान्छौं, तर वास्तवमा हामी शून्य हौं, परमेश्वरबिना। तर हामी आफ्‍नो शून्यता र महत्त्वहीनता देखेर निराश बन्नुहुन्न। असल खबर यो हो कि परमेश्वरले उहाँको अनुग्रहमा मलाई शून्यबाट केही न केही बनाउन सक्नुहुन्छ। मार्टिन लुथरले एक पटक भने,
“परमेश्वरले संसारै शून्यबाट सृष्टि गर्नुभयो (उत्पत्ति १:१; हिब्रू ११:३) र जबसम्म हामी शून्य भएर बस्छौं तबसम्म उहाँले हामीबाट केही न केही बनाउन सक्नुहुन्छ।” साथै, १ कोरिन्थी ४:७ को हामीलाई नम्र तुल्याउने सत्यतालाई पनि विचार गर्नुहोस् — तपाईंसँग के छ जो तपाईंले पाउनुभएन?

एक दृष्टान्त:

जब तिमी आफ्‍नै महत्त्वको भावनाले गमक्कफुल्न थाल्छौ
जब तिम्रो अहमहिम शिखरको चुचुरोमा पुग्दछ
जब तिमी आफू भीआइपी हुँ भन्ने कुरालाई स्वयंसिद्धतथ्यको रूपमा मानिलिन्छौ
जब तिमीमा “म नभए मेरो रिक्त स्थान कसैगरी भरिन्न” भन्ने भावना आउँदछ
तब यो सरल निर्देशनलाई पछ्याऊ, र तिम्रो प्राणलाई क्षुद्रताले झुकेको हेर।
एउटा बाल्टीन लिएर त्यसलाई पानीले भर
आफ्‍नो हातलाई नाडीसम्म डुबाऊ
अब हातलाई झट्टै बाहिर निकाल अनि बाँकी रहेको रिक्त स्थान नै त्यो नाप हो जुन नापले तिमीलाई गुमाइएको अनुभव हुनेछ।
हात छिराउँदा जतिसुकै छप्ल्याङ्ग छुप्लुङ्ग गरौला
अनि पानीलाई जतिसुकै हल्लाऊला
तर रोक अनि एक मीनेटमा नै जान्नेछौ
त्यो पहिला जस्तो थियो त्यो त्यस्तै हुनेछ।

अर्को कविताले पनि साँचो नम्रताको दृष्टिकोण कस्तो हुन्छ भनेर प्रस्तुत गर्छ:

“एउटा सानो रूख, होचो तर आफूमै सन्तुष्ट,
एकनजर जमिनतिर लायो र त्यसको शिर ठाडो पार्‍यो र करायो,
“हेर, म कति अल्गो छु, जमिनभन्दा कति माथि छु!”
अनि यसरी धाक दिँदै त्यो गिल्लापूर्ण आनन्दले हल्लियो।
जङ्गलको एउटा अल्गो सल्लाले स्वर्गतिर आफ्‍नो शिर उठायो
र हेर्दै गर्दा त्यसले सुस्केरा हाल्यो,
“हाय! म कति सानो छु, र विशाल आकाशहरू कति टाढा;
कति प्रकाश वर्ष दुरी छ मदेखि परको तारा।”
हाम्रो उचाइ, नाप्ने कुरामा भर पर्छ
जमिनबाट मास्तिर कि आकाशदेखि तलतिर!”

होचो मानिस त्यो हो जसले उच्च र अल्गोको एक झलक पाएको छ (यशैया ६:१,५; ५७:१५)। आफूलाई बढी ठानेर सोच्ने विश्वासीले आफूलाई अरूसित दाँज्छ र अरूभन्दा आफूलाई उचाल्छ जब उसले आफू अर्कोभन्दा बढी महत्त्वपूर्ण छु भनी घमन्ड गर्छ। रोमी १२:३ मा पावल हरेक विश्वासीले यो बुझेको चाहन्छ कि प्रत्येक विश्वसीसित उसलाई परमेश्वरले दिनुभएको एउटा विशेष दान हुन्छ जुन चाहिँ उहाँले सम्पूर्ण शरीरको फाइदाको लागि दिनुहुन्छ।

“बाँडिदिनुभएको” = “विभाजन गर्नु, बाँडेर दिनु। परमेश्वर नै वरदानहरू दिनुहने महान् दाता हुनुहुन्छ, र उहाँको बुद्धिमा उहाँले वरदानहरू ठीक-ठीकसँग बितरण गर्नुहुन्छ। “हरेकलाई” — हरेक विश्वासी (एउटैलाई पनि छुटाइन्न)। वरदानरहित विश्वासी एउटै हुँदैन (कोही पनि विश्वासी वरदान नभएको हुँदैन)। हरेक विश्वासीलाई वरदान दिइएको छ। योचाहिँ मुक्ति पाएकै घडीमा हुने कुरा हो। वरदान खोज्नुपर्ने कुनै आवश्यकता छैन। उसलाई दिइसकेको कुरा खोज्नु भनेको एउटा विश्वासीले मूर्ख काम गर्नु हो। हामीसित भएको जुनसुकै वरदानहरूलाई विकास गर्नु र अभ्यास गर्नु आवश्यक छ, अनि यो चाहिँ एउटा स्वस्थ विश्वासी भइरहेर गरिन्छ, दाखको बोटमा रहेर यो गरिन्छ अर्थात् ख्रीष्टमा रहेर, जो हाम्रो जीवन हुनुहुन्छ (यूहन्ना १५:१-५)।

“विश्वासको नाप” — पद ६ सित दाँज्नुहोस् (“विश्वासको मात्राअनुसार”। यहाँ पावलले मुक्ति पाउनलाई गरिने विश्वासको कुरा गरिरहेका छैनन् (जस्तो एफेसी २:८ मा), तर उनले निश्चित र बेग्‍लाबेग्‍लै दानहरूको कुरा गर्दैछन् जो परमेश्वरले विश्वासीहरूलाई प्रदान गर्नुभएको छ र ती दानहरू अभ्यास गर्नलाई चाहिने विश्वासको कुरा गर्दैछन्। वरदानहरू प्रभुमा विश्वास र भरोसा नगरीकन सठीक रूपमा अभ्यास गर्न सकिँदैन।

रोमी १२:४-५

जसरी मानव शरीरमा त्यस्तै ख्रीष्टको शरीरमा पनि हुन्छ। एउटा शरीर हुन्छ तर धेरै अङ्गहरू हुन्छन् र अङ्गहरूका फरक-फरक काम हुन्छन्, तर ती सबै अङ्गहरू एउटै शरीरका हुन्छन् र तिनीहरू सबैका महत्त्वपूर्ण काम हुन्छन्। सबैको काम हुन्छ, सबै महत्त्वपूर्ण छन्, सबैको भाग हुन्छ, तर काम फरक-फरक हुन्छन्। एक हिसाबले हामी धेरै छौं (धेरै अङ्गहरू); तर अर्को हिसाबले हामी एउटा छौं (एउटै शरीर)। हामी उही शरीरका सह-अङ्गहरू हौं, उही साझा जीवनका भागीदाहरू हौं। यी पदहरूका सत्यतालाई १ कोरिन्थी १२:१२-३१ मा ठूलो बनाइएको छ। विश्वासीहरूको एक स्थानीय मण्डली स्वस्थ्य जब हुन्छ तब ख्रीष्टको जीवन प्रकट हुन्छ, नबाँचेकाहरू कायल हुन्छन् र परमेश्वर महिमित बन्नुहुन्छ।

रोमी १२:६

पावल अब आत्मिक वरदानहरूको चर्चा गर्छन् (आत्मिक वरदानको चर्चा गर्ने नयाँ नियमका अरू खण्डहरूको निम्ति १ कोरिन्थी १२-१४; एफेसी ४ र १ पत्रुस ४ मा हेर्नुहोस्)। “वरदान” भनेर अनुवाद गरिएको ग्रीक शब्द “कारिस्मा” हो (जसबाट नै “क्यारिस्मेटिक” शब्द आउँछ जसले अाजको आधुनिक धार्मिक अभियानलाई बयान गर्छ जसका समर्थकहरू आत्मिक वरदानरहरूलाई, खेदको कुरा, अचाक्लि जोड दिन्छन्)। “कारिस” ग्रीक शब्दचाहिँ अनुग्रह हो, त्यसैले यीचाहिँ “अनुग्रह-दानहरू” हुन्। परमेश्वरले आफ्‍नो अनुग्रहमा यी वरदानहरू आफ्‍नो शरीरलाई दिनुभएको छ जसको फलस्वरूप शरीरको एउटै अङ्ग पनि दानरहित छैन, अनि यी दानहरू सम्पूर्ण शरीरको फाइदाका निम्ति हुन्।

“बेग्‍ला-बेग्‍लै किसिमका दानहरू” — सबै अङ्गहरूका बेग्‍ला-बेग्‍लै (उस्तै होइन) दानहरू र क्षमताहरू छन् जोहरू आपसमा परिपूरक छन्। यो कुरा मानव शरीरका अङ्गहरूद्वारा दर्शाइन्छ जुन अङ्का फरक-फरक काम हुन्छन् (१ कोरिन्थी १२ पढ्नुहोस्)। “विश्वासको नाप” — यो एउटा रोचक अभिव्यक्ति हो जसबाट एउटा ईश्वशास्त्रीय शब्दावली आएको छ: “विश्वासको उपमा” (analogy of faith) (जसलाई कहिलेकाहिँ “शास्त्रको उपमा”, analogy of Scripture, पनि भन्ने गरिन्छ)। “विश्वासको उपमा” को माने पवित्रशास्त्रलाई पवित्रशास्त्रकै प्रकाशमा र पवित्रशास्त्रसँग मेल खाने गरी व्याख्या गरिनुपर्छ भन्ने हो। पवित्रशास्त्रको व्याख्या गर्ने अचूक नियम पवित्रशास्त्र आफै हो। कुनै पनि पद बाइबलको समग्र शिक्षाको प्रकाशमा बुझिनुपर्छ र त्यसले बाइबलको अन्य ठाउँमा प्रस्टै सिकाएको कुरालाई खण्डन गर्नुहुँदैन। बाइबलले आफैलाई खण्डन गर्न सक्दैन। जस्तै: हिब्रू १०:२६-३० लाई झलक्क हेर्दा यसले साँचो विश्वासीले मुक्ति गुमाउन सक्छ जस्तै सिकाएको देखिन सक्छ, तर शास्त्रको उपमाद्वारा यो हुन सक्दैन भनेर हामी जान्दछौं (यूहन्ना १०:२७-३०; यूहन्ना ६:३७-४०; इत्यादि)। बाइबल व्याख्या गर्ने यो साँचो सिद्धान्त हो, तर यस पदमा “विश्वासको नाप” भन्ने शब्दले खास यही माने बताइरहेको होइन। जससँग अगमवाणीको वरदान छ उसले उसको विश्वासको नापअनुसार अगमवाणी गर्नुपर्छ। सबै आत्मिक वरदानहरू विश्वासमा अभ्यास गरिनुपर्छ, परमेश्वरलाई हेर्दै, उहाँको वचनलाई हेर्दै, ख्रीष्टसँग स्वस्थ्य सम्बन्ध कायम गर्न खोज्दै गरिनुपर्छ।

१) भविष्यवाणीको वरदान – भविष्यवाणीको वरदान के थियो भनेर बुझ्न एकदम महत्त्वपूर्ण छ। यस वरदानका केही अपुग परिभाषाहरू यस प्रकार छन्:
”परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता” [बिल्ली ग्राहाम, पवित्र आत्मा, पृष्ठ १३९]।
“भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।” [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४।

यी परिभाषाहरू अनुसार वरदान पाएको कुनै पनि बाइबल शिक्षक वा पास्टरसँग भविष्यवाणीको वरदान हुन्छ, तरैपनि रोमी १२:६-७ ले भविष्यवाणीको वरदान र शिक्षकको वरदानको बीच स्पष्ट भिन्नता जनाएको छ। भविष्यवक्ता के हो भन्ने बाइबलीय परिभाषाको निम्ति हेर्नुहोस् प्रस्थान ४:१५-१६; ७:१-२ र २ पत्रुस १:२१ (भविष्यवक्ताचाहिँ परमेश्वरकै प्रवक्ता वा मुख थिए र उनले भविष्यवक्ताको हैसियतले बोलेका कुरा ईश्वरीय प्रेरणाको बोली थियो; त्यो परमेश्वरकै वचन थियो)। भविष्यवक्ताहरू
“मानिसहरू थिए जोहरू पवित्र आत्माको प्रत्यक्ष प्रभावमुनि रहेर बोले, र परमेश्वरबाटको निश्चित सन्देश सम्प्रेषण गरे जोचाहिँ सैद्धान्तिक सत्यता, वर्तमान कर्तव्य वा भावी घटना सम्बन्धी ईश्वरीय वाणी थिए” (चार्ल्स हज)।

सुरुको मण्डलीमा अगमवाणीको ठूलो खाँचो थियो किनकि सुरुका मण्डलीहरूसित पूरा नयाँ नियम थिएन (यी पुस्तकहरू लेखिन दशकौं लाग्यो)। नयाँ नियमको सत्यताबिना एउटा मण्डली कसरी चल्न सक्छ? त्यो सक्दैन! सुरुका मण्डलीहरूलाई नयाँ नियमका पुस्तकहरूको अभाव भए तापनि, उनीहरूलाई नयाँ नियमका सत्यताहरूको अभाव नहोस् भनेर परमेश्वरले त्यसको निम्ति प्रबन्ध गर्नुभयो। योचाहिँ उहाँले नयाँ नियमकालीन भविष्यवक्ताहरूद्वारा मण्डलीहरूलाई चाहिएको प्रकाश दिएर प्रबन्ध गर्नुभयो (मण्डली सम्बन्धी सत्यताहरू, पारपाचुके सम्बन्धी शिक्षा, मण्डली अगुवाहरू सम्बन्धी, मण्डली अनुशासन सम्बन्धी, भविष्यमा हुने घटनाहरू सम्बन्धी र अरू धेरै चाबी विषयहरू सम्बन्धी शिक्षाहरू जो चाहिँ अहिले नयाँ नियमका पुस्तकहरूमा लेखिएका छन्, विशेष गरी पत्रहरूमा)। भविष्यवक्ताको वरदान अस्थायी वरदान थियो भन्ने कुरा एफेसी २:२० ले प्रबल रूपमा सङ्केत दिन्छ (जग एकपटक मात्र बसालिन्छ)। साथै, यदि भविष्यवाणी आज पनि दिइने हुँदो हो ता, बाइबल अधुरो छ भन्ने हुन्थ्यो र बाइबल मण्डलीको निम्ति पर्याप्त छैन भन्ने हुन्थ्यो। यसको माने हामीलाई थप प्रकाश चाहिन्छ भन्ने हुन्थ्यो र हाम्रो बाइबल अपुग छ भन्ने हुन्थ्यो। यो कदापि हुन सक्दैन! परमेश्वरको वचन आज मण्डलीको निम्ति पूर्ण रूपमा पर्याप्त छ (हेर्नुस्, यूहन्ना १६:१३, प्रकाश २२:१८)।

रोमी १२:७

(२) सेवाको वरदान — यो हो सेवा (नम्र सेवा) गर्ने वरदान। यसबाट “डिकन” भन्ने शब्द आउँछ (डिकनहरू बाइबल अनुसार नम्र सेवकहरूको रूपमा परिभाषित गरिएका छन्, जसले एल्डरहरू र आत्मिक अगुवाहरूको काँधबाट भार उठाइदिन्छन् ताकि तिनीहरूले आफूहरूलाई प्रार्थना र परमेश्वरको वचनको सेवामा निरन्तर लगाइराख्न सकून्। हाम्रो प्रभुको उदाहरण मर्कूस १०:४५ मा भेट्छौं। सबै विश्वासीहरूले यसरी सेवा गर्नुपर्छ, तर कोहीकोही चाहिँ यस कुरामा विशेष गरी दान पाएका हुन्छन्। परमेश्वरले हरेक विश्वासीलाई एक दासको जस्तै हृदय दिनुभएको होस्।

(३) सिकाउने वरदान — यो हो शिक्षामा बसाल्ने वरदान (शिक्षा वा परमेश्वरको सत्यतालाई परमेश्वरका जनहरूको हृदय र मनहरूमा छिराउनु, पवित्र आत्माद्वारा र पवित्र शास्त्रहरूको प्रस्ट घोषणाद्वारा)। शिक्षकले मानिसहरूलाई शिक्षा र सत्यताले पूरै भिजाउनुपर्छ। सबै विश्वासीहरूले सिकाउन सक्नुपर्छ र सत्यता केही हदसम्म बाँड्न सक्नुपर्छ, तर कोही विश्वासीहरू यसमा विशेष गरेर दान पाएका हुन्छन्। शिक्षक र भविष्यवक्ताको बीच एउटा भिन्नता यो हो: भविष्यवक्ताले आफ्‍नो सन्देश सोझै परमेश्वरबाट प्राप्त गर्छ जसको फलस्वरूप उसले बोलेको कुरा ईश्वरीय प्रेरणाको वाणी हुन्छ: “परमप्रभु यसो भन्नुहुन्छ!” शिक्षकले आफ्‍नो सन्देश परमेश्वरको वचन परिश्रमसित अध्ययन गरेर र पवित्र आत्माको प्रकाश दिने सेवकाइमा प्रार्थना भर पर्दै आउँछ। अगमवक्ताले परमेश्वरको वचन दिन्छ। शिक्षकले परमेश्वरको वचनको व्याख्या गर्छ र घोषणा गर्छ (तर प्रत्यक्ष ईश्वरीय प्रेरणाअन्तर्गत चाहिँ होइन)। शिक्षकले गरेका वचनको व्याख्याहरू अचूक हुँदैनन्। ऊ समझ पाउनलाई प्रभुमा जोडसित भर पर्नुपर्छ, प्रार्थना गर्दै कि पवित्रशास्त्रको साँचो व्याख्या गर्न प्रभुले उसलाई अगुवाइ गर्नुभएको होस् र भूलबाट जोगाउनुभएको होस् भन्दै।

रोमी १२:८

(४) अर्ती दिने वरदान — यो हो सान्त्वना दिन सक्ने, अरूलाई हौसला र सहायता दिन सक्ने वरदान (दाँज्नुहोस् “शान्तिदाता” भन्ने शब्द)। परमेश्वरका जनहरूलाई सान्त्वना र हौसलाका शब्दहरूको खाँचो पर्छ। हामी सबैले यसो गर्नुपर्छ (हिब्रू ३:१३; १०:२५ हेर्नुहोस्) तर कोहीकोही हुन्छन् जोहरू यसमा विशेष रूपमा दान पाएका हुन्छन्। हामी अय्यूबका मित्रहरूजस्ता “दुःखदायी सान्त्वना दिनेहरू” (अय्यूब १६:२) बन्न चाहन्नौं!

(५) दिने वरदान — शब्दको माने हो “अंश दिनु, प्रदान गर्नु, योगदान दिनु, बाँड्नु, अर्काको खाँचोमा योगदान दिनु (भौतिक वा आर्थिक रूपमा)।” “मन खोलेर” — स्वतन्त्रतापूर्वक, खुलेर। हामी सबैजना दिनेहरू हुनुपर्छ (एफेसी ४:२८) तर कोहीकोही विश्वासीहरू यस कुरामा विशेष दान पाएका हुन्छन्।

(६) अगुवाइ गर्ने वरदान — शब्दको माने हो “अगाडि उभिनु”, यसर्थ “शिरमा हुनु, शीर्ष,अगुवाइ गर्नु, निर्देशन दिनु।” यसले स्थानीय मण्डलीमा हुने नेतृत्वलाई जनाउँछ। सबैजनानै दान प्राप्त अगुवा हुँदैनन्। यो शब्द स्थानीय मण्डलीको नेतृत्वको सम्बन्धमा १ थेस्सलोनिकी ५:१२, १ तिमोथी ३:४-५; ५:१७ मा पनि उल्लेख छ। “यत्न” = इच्छुक, उत्सुक भएर, आफ्‍नो दिलोज्यान दिनु, परमेश्वरलाई आदर गर्ने खालको नेतृत्व प्रदान गर्नलाई भएभरको जमर्को गर्नु।

(७) कृपा देखाउने वरदान — यसले दयालाई जनाउँछ (अन्धकारमा डुबेको, कष्टमा परेको, कुनै रोगी, दु:खी प्राणको लागि सूर्यको किरण झैं बनिदिनु)। “हर्ष” = यो २ कोरिन्थी ९:७ मा पनि प्रयोग भएको शब्द हो, यसको माने हो हँसिलो, खुशीलो)। हँसिलो भन्नाले यस्तो व्यक्ति जसले नैराश्यता र फिक्रीलाई हटाउन सक्ने, जसले हरेस खाएको व्यक्तिको हृदयमा आशा र साहस जगाउन सक्ने, हृदय प्रफुल्लित तुल्याउन सक्ने भन्ने बुझिन्छ।

यसरी पावलले यी तीन पदहरू (पद ६-८) मा सातओटा फरक-फरक वरदानहरू उल्लेख गर्छन्। यो वरदानहरूको एक नमूना सूची मात्र हो, पूर्ण सूची निश्चय पनि होइन। यीमध्ये एउटा, भविष्यवाणी, एक अस्थायी वरदान थियो जो “बितेर” गइसक्यो (१ कोरिन्थी १३:८) तर अरू दानहरू आज पनि स्थानीय मण्डलीहरूमा आवश्यक छन्।

पवित्रशास्त्रहरूले सबैभन्दा ठूलो वरदानलाई जोड दिन्छ भनेर महसुस गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो: परमेश्वरकै जीवनको वरदान जो चाहिँ हरेक विश्वासीको साथमा वर्तमानमै हुने कुरा हो (१ यूहन्ना ५:११-१२; रोमी ६:२३; यूहन्ना ६:४७)। कुनै पनि विश्वासी यस वरदानबिहिन छैन! हाम्रो पहिलो र सबभन्दा अघिल्लो जिम्मेवारी भनेको अन्तरवास गर्नुहुने पवित्र आत्माको सामर्थ्यले प्रभु येशू ख्रीष्टको बौरिउठाइको जीवनलाई प्रकट गर्नु हो (२ कोरिन्थी ४:१०-११; गलाती २:२०; ४:१९; ५:२२-२३)। ख्रीष्टको शरीरको प्रत्येक अङ्ग प्रभु येशू ख्रीष्टसित स्वस्थ्य र सठीक सम्बन्धमा रहनु खाँचो छ, साँचो दाखको बोटको रूपमा उहाँमा रहिरहनु आवश्यक छ (यूहन्ना १५:१-५)। उहाँ हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:४)। ख्रीष्टसँग स्वस्थ्य सम्बन्धमा रहने क्रममा हामीले उहाँको महिमाको निम्ति र हामी रहेको स्थानीय मण्डलीको फाइदाको निम्ति आफ्‍नो दान वा दानहरूको विकास गर्नेछौं।

रोमी १२:९

“प्रेम” — प्रेम त्यसलाई भनिन्छ जसले प्रेम गरिएको व्यक्तिको निम्ति परमेश्वरबाटको सबभन्दा उच्च र सबभन्दा उत्तम कुराको खोजी गर्दछ; यसमा मेरो निर्णय र मेरो रोजाइ संलग्‍न हुन्छ — त्यो अर्को व्यक्तिको भलाइको निम्ति आफूलाई दिन, व्यक्तिगत मूल्य वा बलिदानको खाँचो जतिसुकै किन नपरोस्। “निष्कपट” =कपटरहित, देखावटी होइन, प्रेम जो सकली र इमानदार छ। जब तपाईं प्रेमिलो हुनुहुन्न तब प्रमिलो भएझैं देखावटी नबन्नुहोस्; प्रेमको मुकुन्डो नलाउनुहोस्। कसैलाई प्रेम गर्छु भन्ने नाटक वा बाहना नदेखाउनुहोस् तर साँच्चीकै देखाउनुहोस्। कपटी प्रेमको उदाहरणहरू याकूब २:१४-१६ र १ यूहन्ना ३:१६-१८ मा छन्। कोही व्यक्तिहरू बोलीले प्रेम गर्छन् तर व्यवहारले होइन (१ यूहन्ना ३:१८)। जसरी डी एल मूडीले भने,
“कति मान्छेहरू बाक्लो तरको कुरा गर्छन् र पानी हालेको दूधको जीवन जिउँछन्!”

“घृणा” = कुनै कुरादेखि खुम्चिएर पछि हट्नु। “खराब” = दुष्ट, खराब। “हे परमप्रभुलाई प्रेम गर्नेहरूहो, खराबीलाई घृणा गर” (भजनसङ्ग्रह ९७:१० र हितोपदेश ८:१३ र आमोस ५:१५ पढ्नुहोस्)। ख्रीष्टियनहरू उनीहरूको प्रेमको निम्ति चिनिनुपर्छ (यूहन्ना १३:३५) र उनीहरूको घृणाको निम्ति पनि चिनिनुपर्छ। हाम्रा परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई हामीले पनि घृणा गर्नुपर्छ। “टाँसिबस” = कुनै कुरासित नजिक भई टाँसिनु, जुन कुरा असल छ त्यससँग एकसाथ जोडिनु, त्यसप्रति समर्पित हुनु, जे असल छ त्योसँग टाँसिनु।

टिप्पणी: रोमी १२ अध्यायको बाँकी भाग निष्कपट प्रेमको धारणाले भरिएको छ। कति हिसाबमा यो १ कोरिन्थी १३ अध्याय जस्तै अर्को “प्रेमको अध्याय” हो। रोमी १२ मा परमेश्वरको प्रेम निश्चय पनि एउटा मूल विषय हो।

रोमी १२:१०

“कोमलतापूर्वक माया गर” = ममतासाथ प्रेम गर्नु, एकअर्काप्रति अर्पित, कोमलतापूर्वक माया गर्नु। यसले त्यो प्रेम र स्‍नेहलाई जनाउँछ जो पारिवारिक सम्बन्धहरूमा हुनुपर्छ — पारिवारिक स्‍नेह, अर्पण र वास्ता। यसले नजिकका नातेदारसितको प्रेमलाई जनाउँछ, जोहरू पारिवारिक बन्धनले जोडिएका छन्। विश्वासीहरू परमेश्वरको परिवारमा एकसाथ जोडिएका छन् र उनीहरूको आपसमा त्यस्तो प्रेम र स्‍नेह हुनुपर्छ (१ यूहन्ना ३:१४)। “भातृ-प्रेमले” — यो हो “फिलाडेल्फिया” भन्ने ग्रीक शब्द जसको माने हो “दाजुभाइका निम्ति प्रेम”। यसले ख्रीष्टमा हाम्रा दाजुभाई र दिदीबहिनीप्रति हुने प्रेमलाई जनाउँछ। “आदर गर्नामा”— हामीले एक अर्कालाई आदर गर्नुपर्छ र एक अर्कालाई मूल्यवान् ठान्नुपर्छ; हामीले अर्को व्यक्ति मूल्यवान् छ भनेर देख्नुपर्छ र उसलाई हामीले दिनुपर्ने आदर र सम्मान दिनुपर्छ। अर्को व्यक्तिलाई ऊ कुनै मूल्यको नभएको जस्तो गरी व्यवहार नगर्नुहोस्। यदि कुनै व्यक्तिभित्र ख्रीष्ट जिउनुहुन्छ भने त्यो व्यक्ति मूल्यवान् छ!

“एउटाले अर्कोलाई उछिन” — होचिएको मन धारण गरेर मैले मसँगैको विश्वासीलाई आफूभन्दा असल भएको मैले ठान्नुपर्छ (हेर्नुहोस् फिलिप्पी २:३)। त्यो व्यक्ति घमन्डले कति अन्धा पारिएको छ जसले सधैं नै आफूलाई अरूभन्दा उत्तम देख्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पेन्टिकोस्टल पथको संक्षिप्‍त इतिहास

Study Series

पेन्टिकोस्टल पथको संक्षिप्‍त इतिहास

जर्ज जेलर

तीनओटा छालहरू

दोस्रो शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म भक्तिपूर्वक जिउने शास्त्रसम्मत विश्वासीहरूले अन्यभाषाहरूमा बोलेका भनिने कुनै ऐतिहासिक प्रमाण छैन। ती शताब्दीहरूमा अन्यभाषाहरूमा बोलेका भनिने घटनाहरू त छन्, तर प्रत्येक स्थितिमा अन्यभाषाहरूमा बोल्ने व्यक्तिहरू चाहिँ झूटा-शिक्षा समूहहरूमा आबद्ध रहेको पाइन्छ। यस लेखको बुँदा #१५ मा पढ्नुहोस्। दोस्रो शताब्दीका मन्टानसदेखि लिएर उन्नाइसौं शताब्दीका एडवर्ड इर्भिङ्गसम्म मण्डलीभित्रका “अन्यभाषाहरू” का घटनाहरूलाई कहिल्यै सकली इसाईमतको अंशको रूपमा स्वीकार गरिएको पाइँदैन। साथै हामीले यो पनि ध्यानमा राख्‍नुपर्छ, यी “झूटा-शिक्षा समूह” का हरूले एक किसिमको विकृत उत्तेजनाबाट उत्प्रेरित अर्थहीन बकबक बोलिरहेका थिए, प्रेरित अध्याय २ को जस्तो वास्तविक भाषाहरूमा होइन।

छाल #१ – पुरानो पेन्टेकोस्टल पथ

१९०१ मा संयुक्त राज्य अमेरिकाको टोपीका, क्यान्जास्‌स्थित बेथेल बाइबल कलेजमा आग्नेस अजमान (Agnes Ozman) ले, उनको शब्दमा, “आत्माको बप्‍तिस्मा” पाए र “अन्य भाषाहरू” मा बोले। त्यसपश्चात् उक्त अभ्यास संयुक्त राज्य अमेरिकामा होलीनेस् अभियान (Holiness movement) को अंशको रूपमा अघि बढ्यो। १९०६ मा लस एन्जलस क्यालिफोर्नियास्थित अजुसा स्ट्रीटमा अन्य भाषाहरू बोलिए। १९०१ र १९०६ का यी दुई घटनाहरूबाट नै पेन्टेकोस्टल सम्प्रदायहरूको उदय भयो जोहरू आज संसारमै छन् (असेम्बलिज् अफ गड अर्थात् एजी चर्चहरू आदि)।

छाल #२ – नव-पेन्टेकोस्टल पथ वा क्यारिज्म्याटिक जागृति

यसलाई कहिलेकाहीँ नव-क्यारिज्म्याटिक अभियान पनि भन्ने गरिन्छ। यसले केही वरदानहरूलाई, विशेषतः अन्यभाषाहरूलाई, विशेष जोड दिएकोले यो अभियान एकातिर पुरानो क्यारिज्म्याटिक, पेन्टेकोस्टल अभियान जस्तै नै थियो भने अर्कोतिर यसले साम्प्रदायिक सीमानाहरू र बाधकहरूलाई पार गर्न सक्नु यस अभियानको नयाँ पक्ष थियो।

१९६० मा क्यालिफोर्नियास्थित भ्यान नाइज (Van Nuys) मा एउटा डेनिस् बेनेट (Dennis Bennett) रेक्टर रहेका सेन्ट मार्क्स् नामक एउटा एपिस्कोपल चर्चमा आधुनिक क्यारिज्म्याटिक अभियानको उदय भयो। उक्त मण्डलीमा अन्यभाषाहरूको बोलीको ठूलो प्रस्फुटन भएको थियो। उक्त घटना यति महत्त्वको ठानियो कि दुवै टाइम र न्यूजविक पत्रिकाले यसबारे लेखे। त्यसपछि यो अभियान एपिस्कोपल चर्च र त्यसपछि लुथरनहरू र प्रेस्बिटेरियनहरू समेतका बीच आगो झैं सल्कियो।

चाँडै नै यो अभियानले विश्वविद्यालयहरूमा प्रवेश गर्‍यो। यसको शुरुआत संयुक्त राज्य अमेरिकाकै न्यू इङ्ल्याण्डमा भयो। १९६२ सालको अक्टोबर महिनामा येल यूनिभर्सीटी (Yale University) का इभान्जेलिक इन्टरभार्सीटी क्रिश्चियन फेलोशीपका सदस्यहरूका बीचमा ग्लोसोलालिया (अन्य भाषाहरू) को प्रस्फुटन `भयो। यस नव-पेन्टेकोस्टल जागृतिमा एपिस्कोपेलियनहरू, लुथरनहरू, प्रेस्बिटेरियनहरू, मेथोडिस्टहरू र एकजना रोमन क्याथोलिक समेत थिए। पाँचजना चाहिँ फाइ-बेटा-काप्पा (Phi Beta Kappa) का सदस्यहरू थिए र कोही चाहिँ क्याम्पसमा धार्मिक अगुवा थिए (चाँडै नै उनीहरूलाई “ग्लोसो येलिज्” भनेर जनाउन थालियो)। त्यसपछि यो अभियान डार्टम्यूथ कलेज (Dartmouth College) , स्टानफोर्ड यूनिभर्सीटी (Stanford University) र प्रिन्स्टन थिओलजिकल सेमिनरी (Princeton Theological Seminary) मा फैलियो।

यीभन्दा पनि बढी महत्त्वको घटना चाहिँ १९६७ मा घट्यो। सबै मार्गहरूले रोम नै पुर्‍याउँछन् (All roads lead to Rome) भन्ने भनाइ नै छ। ईस्टर विदाको अवसरमा, १९६७ सालको बसन्त ऋतुको याममा नोट्रे डेम (Notre Dame) इलाकामा करिब ३० जना जोशिला क्याथोलिकहरूले “पवित्र आत्माको बप्‍तिस्मा” पाएका थिए। १९६८ मा १००-१५० जना व्यक्तिहरू क्याथोलिक पेन्टेकोस्टल सम्मेलनमा भेला भए। १९६९ को सम्मेलनमा २५-३० जना पूजाहारीहरू सहित लगभग ४५० जना क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७० मा देखिएको वृद्धि झनै उल्लेख्य थियो। झण्डै १,३०० जना उक्त सम्मेलनमा भेला भए जसमा क्यानडाका क्याथोलिकहरू पनि थिए। १९७३ मा नोट्रे डेममा १० ओटा देशका क्याथोलिक सहभागीहरू सहित २२,००० क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७४ मा उक्त नोट्रे डेम सम्मेलनमा ३०,००० जनाको सहभागिता रहेको थियो। अन्तमा १९७५ मा रोममा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा ५० ओटा देशका यात्रुहरू आए जहाँ पोप पावल छैठौं (Pope Paul VI) ले यस अभियानप्रति आफ्नो हार्दिक समर्थन रहेको जनाएँ। उक्त अभियान कवेल रोमन क्याथोलिक चर्चमा मात्र नभएर सबै प्रोटेस्टेन्ट सम्प्रदायहरूमा बेसरी वृद्धि भइरहेको थियो।

१९७७ को ग्रीष्म याममा क्यान्जास् सीटी क्यारिज्म्याटिक सम्मेलन सम्पन्न भएको थियो। यसमा पेन्टेकोस्टल अभियानका तीनैओटा उपशाखाहरूको उपस्थिति थियो: १) पुरानो पेन्टेकोस्टलहरू, २) प्रोटेस्टेन्ट क्यारिज्म्याटिकहरू, र ३) क्याथोलिक क्यारिज्म्याटिकहरू। आधुनिक इतिहासमा धेरैभन्दा धेरै “आत्मामा बप्‍तिस्मा” भएकाहरूको सबैभन्दा ठूलो सम्मेलन यही नै थियो। उक्त ५-दिने सम्मेलनमा झण्डै ५०,००० सहभागीहरू थिए। एक वक्ताले गर्वका साथ उक्त सम्मेलनलाई अमेरिकी इसाईमतको इतिहासको सबैभन्दा ठूलो र धेरैभन्दा धेरैलाई समेट्न सकेको सम्मेलन (most inclusive ecumenical conference) भएको भनेर घोषणा गरे। सहभागीहरूमा झण्डै आधा जति त रोमन क्याथोलिकहरू नै थिए।

१९७७ मा प्रकाशित एउटा पत्रिका (एपी) को लेखअनुसार त्यसबेला अमेरिकामा ५० लाख पुरानो पेन्टेकोस्टलहरू र ५० लाख नयाँ पेन्टेकोस्टलहरू गरेर जम्मा १ करोड क्यारिज्म्याटिकहरू थिए। तसर्थ यो नयाँ क्यारिज्म्याटिक अभियानको १७ वर्ष (१९६० देखि १९७७) भित्र नै ५० लाखको सङ्ख्यात्मक वृद्धि भयो! आज पनि यो अभियान एकदम जिउँदो र बढ्दो छ यद्यपि १९६० को दशक र १९७० को दशकको शुरुको जत्तिकै वृद्धिदर नहोला। जनवरी ७, १९८३ को क्रिश्चियानिटी टुडे अनुसार असेम्बली अफ गड (पेन्टेकोस्टल) सम्प्रदाय अमेरिकाको सबैभन्दा छिटो वृद्धि भइरहेको सम्प्रदाय हो। त्यसबेला असेम्बली अफ गडमा आबद्धहरूको सङ्ख्या १६ लाख थियो र छिटोछिटो वृद्धि हुँदै थियो।

नयाँ क्यारिज्म्याटिकहरू चरित्रमा अलगपनतावादीहरू नभएर सुधारवादीहरू हुन्। उनीहरू पुराना संरचनाहरूबाट अलग हुने इच्छा गर्दैनन्। बरु पुरानै मण्डलीहरूमा रहिरहेर आफ्नो निरन्तर उपस्थितिद्वारा ती मण्डलीहरूलाई भित्रबाट परिवर्तन गर्नका लागि उनीहरूलाई निर्देशन दिइन्छ। क्यारिज्म्याटिक जागरण (Charismatic Renewal) यसैलाई भनिन्छ।

छाल #३ चिन्ह चमत्कार अभियान

“तेस्रो छाल” (third wave) भन्ने वाक्यांशको प्रथम प्रयोग सी. पीटर वाग्नर (C. Peter Wagner) द्वारा १९८३ मा भएको हो:

ऐतिहासिक रूपमा हामी अब तेस्रो छालमा छौं भन्ने मलाई लाग्छ। पवित्र आत्माको कार्यगतिको पहिलो छाल पेन्टेकोस्टल अभियानको रूपमा यस शताब्दीको शुरुतिर प्रारम्भ भयो। दोस्रो छालचाहिँ १९५० को दशकमा ठूला सम्प्रदायहरूमा शुरु हुन गएको क्यारिज्म्याटिक अभियान थियो। १९८० को दशकमा म तेस्रो छाल देख्छु जसमा पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूले अनुभव गरेको पवित्र आत्माको अलौकिक कार्यप्रति इभान्जेलिकलहरू तथा अन्य ख्रीष्टियनहरू पनि खुल्ला हुन थाले। झण्डै यो पूरै शताब्दीभरि देखिँदै आएको कुनै एउटा कुराको नयाँ छालमा हामी छौं भन्ने मलाई लाग्छ। [Peter Wagner, “The Third Wave?” Pastoral Renewal, July-August 1983, pages 1-5.]

यस अभियानलाई चिन्ह-चमत्कार अभियान (Signs and Wonders Movement) र भिन्यार्ड अभियान (Vineyard Movement) भनिन्छ। यो द्रुतगतिले वृद्धि हुँदै गरेको अभियान हो जसले दुवै क्यारिज्म्याटिक तथा गैर‍-क्यारिज्म्याटिक मण्डलीकाहरूलाई खिँच्दै छ। यस अभियानले “शक्ति प्रचार” (“power evangelism”) लाई जोड दिन्छ जसमा सुसमाचारलाई अलौकिक चिन्ह र चमत्कारद्वारा व्याख्या र प्रकट गरिन्छ।

यस अभियानका अग्रजहरू मुख्य तीनजना छन्: १) जन विम्बर (John Wimber), सम्भवत: यस अभियानका सबभन्दा केन्द्रीय व्यक्तित्व हुन्। उनी भिन्यार्ड अर्थात् दाखबारी मण्डली अभियान (Vineyard church movement) का संस्थापक हुन् र उनले सी. पिटर वाग्नरसँगै फुलर सेमिनरी (Fuller Seminary) मा अध्यापन गराए। अध्यापनको शीर्षक थियो “चिन्ह, चमत्कार र मण्डली वृद्धि”। २) सी. पिटर वाग्नर फुलर सेमिनरी स्कूल अफ वर्लड मिसन्स्‌का एक प्राध्यापक थिए जहाँ जन विम्बरसँगै उनले अध्यापन गराए। ३) पावल कयिन (Paul Cain) एक प्रभावकारी आधुनिक अगमवक्ता हुन् जो विलियम ब्रानहाम (William Branham) का चेला हुन् जसलाई कयिनले “हाम्रो युगकै सबैभन्दा ठूला चङ्गाइकर्ता” र “सारा युगहरूमा सबभन्दा ठूला अगमवक्ता” भन्ने नाम दिए। ब्रानहाम भने परमेश्वरत्व र त्रिएकता सम्बन्धी गलत दृष्टिकोण राख्‍ने एक झूटा अगमवक्ता थिए।

चिन्ह-चमत्कार अभियानभित्र अन्य भाषा बोलिएको भेटिन्छ तर अन्य भाषाकै वरदानलाई पेन्टेकोस्टल र क्यारिज्म्याटिक अभियानमा जत्तिकै जोड दिइएको पाइँदैन। चिन्ह चमत्कार अभियान (Vineyard movement) ले वर्तमान समयका अगमवक्ताहरूको महत्त्वमाथि जोड दिँदै अगमवाणीको वरदान चङ्गाइको वरदानलाई जोड दिने गर्छ।

“पवित्र हाँसो” अभियान (Holy Laughter Movement)

[टिप्पणी: निम्न खण्ड Media Spotlight, P.O. Box 290, Redmond, WA 98073 द्वारा प्रकाशित आल्बर्ट जेम्स डेगर (Albert James Dager) द्वारा लिखित “पवित्र हाँसो” बाट उद्दरण गरिएको हो।]

थुप्रै मण्डलीहरूले आ-आफ्ना सभाहरूमा कुनै गम्भीर विधि पालन गरिँने क्रममा वा पुलपिटबाट प्रचार भइरहँदा समेत स्वतःस्फूर्त र अनियन्त्रित हाँसोहरूको प्रस्फुटन हुन गइरहेको कुराको खबर पठाउँदै छन्। कतिपयले ती सभाहरूमा अनियन्त्रित रूपले रुने, हर्षोन्मादले बेहोश भई भुइँमा लड्ने, र कुकुरका भुकाइ वा सिंहका गर्जन जस्ता पशुका आवाजहरू निकाल्ने गरेको खबर पठाउँदै छन्। कोहीचाहिँ मात लागेको जँड्याहाजस्तै सीधा हिँड्नै नसक्ने पाराले यता र उता हुत्तिन्छन्। छोटकरीमा, यी सबलाई “पवित्र हाँसो” भन्न थालिएको छ, किनकि हाँसो नै यसको सर्वप्रमुख चरित्रको रूपमा देखिएको छ।

प्रभु येशू वा प्रेरितहरूमध्ये कसैले पनि कुकुरजस्तै भुक्दै वा सिंहजस्तै गर्जँदै वा जँड्याहाजस्तै हुत्तिँदै वा अनियन्त्रित रूपमा हाँस्दै गरेको अनुमान समेत गर्न सकिन्न।

“पवित्र हाँसो” को एउटा खूब चर्चित विस्फोटन १९९४ मा टोरोन्टोमा भएको थियो। “उपासकहरू हाँस्छन्, रून्छन्, आर्तनादको आवाज निकाल्छन्, काँप्छन्, भुइँमा लड्छन्, र, कतिलाई वितृष्णा उत्पन्न गराउँदै, एक प्रकारको कोलाहल मच्चाउने कार्य समेत गर्दै छन् जसको आवाजचाहिँ जङ्गलको र पशुपालन केन्द्रको आवाजको मिसावट जस्तै सुनिन्छ। [Daina Doucet, “What is God doing in Toronto?” Charisma, February, 1995, page 20]

यस “पवित्र हाँसो” अभियानका एक अग्रज हुन् रड्नी मोर्गन हावर्ड-ब्राउन (Rodney Morgan Howard-Browne) …दक्षिण अफ्रिकाका एक हट्टाकट्टा, ६ फुट अग्ला क्यारिज्म्याटिक प्रचारक। १९७९ मा, १८ वर्षको उमेरमा, अझ गहिरो आत्मिक अनुभवको खोजीमा घण्टौंसम्म प्रार्थना गर्ने क्रममा, उनले परमेश्वरलाई चुनौती दिए: “कि त तपाईं यहाँ तल ओर्लेर मलाई छुनुहोस्, नत्र म त्यहाँ माथि उक्लेर तपाईंलाई छुनेछु।” एक्कासी, उनको सम्पूर्ण शरीरै आगो बलिरहे जस्तो उनलाई अनुभूति भयो। अनियन्त्रित भई उनी हाँस्न थाले। त्यसपछि उनी रोए अनि अन्य भाषाहरूमा बोल्न थाले। “म स्वर्गकै विद्युत स्रोतमा जोडिन पुगें”, उनले पछिबाट लेखे। “अनि त्यस दिन देखि अरूहरूलाई पनि त्यसैमा जोडिदिने मेलाई इच्छा लागेको छ।” [Julia Duin, “Praise the Lord and pass the New Wine,” Charisma, August, 1994, p.22]

“पवित्र हाँसो” को पछाडि रहेको धारणा यो हो: मण्डलीमा बस्दा किन निराश र दुःखी हुने, किन टाउको दुखाउने? बरु अलिकति रमाइलो किन नगर्ने? मरेका, जीवनरहित, उराठ लाग्दो मण्डलीहरूप्रतिको प्रतिक्रिया हो यो अभियान। मण्डली सभाको पछाडितिर बसिरहेको एकजनाको हृदयघात हुँदाको एउटा हास्यव्यङ्ग सुन्नमा आएको छ। इमर्जेन्सी चिकित्सकहरू दृश्यमा आइपुग्दाखेरि उक्त व्यक्ति बसेका बेन्चमा सबै नै सुतिरहेको अवस्थामा भेटिएकाले चिकित्सकहरूले हृदयघात हुने र अरू निदाइरहेकाहरूको बीचमा भिन्नता नै छुट्ट्याउन सकेनन् अरे। यदि सुतिरहनुको सट्टामा हाँसिरहेका भए बरु ती चिकित्सकहरूलाई मदत मिल्थ्यो अरे।

“पवित्र हाँसो” हुने सभाको एउटा उदाहरण: शुरुमा श्रोतागणका बीचबाट यहाँ-त्यहाँ लाटोकोसेरो कराएजस्तै एकदुइटा आवाज र हाँसोहरू निस्कन्छन्, तर त्यसबेला सम्म वातावरण तुलनात्मक रूपमा शान्त नै हुन्छ। केही समयको शिक्षणपछि, हावर्ड-ब्राउन एक पास्टरलाई अगाडि बोलाउँछन् जो गत रात मात्र आफू मानसिक हस्पिटलमा भर्ना हुन तयार भएको भन्ने कुरा गरेका थिए। यस रात उनलाई पवित्र आत्माको दोब्बर डोस (मात्रा) को प्रतिज्ञा गर्दै हावर्ड-ब्राउन आफ्ना हातहरू उक्त व्यक्तिमाथि राख्छन् अनि तुरुन्तै त्यस व्यक्ति भुइँमा लड्छन्।

त्यसपछि हावर्ड-ब्राउन आफ्नो एउटा खुट्टालाई त्यस व्यक्तिको पेटमाथि राख्छन् र उनी अब सदाका लागि बदली भएर जानेछन् भनी घोषणा गर्छन्। त्यहाँ कसैले सोध्छन्, “किन तपाईंले उसमाथि आफ्नो खुट्टा राख्‍नुभएको?” “उसमाथि हात राख्‍न मलाई निउरन मन नलागेकोले।” श्रोतागणबाट हाँसोको विस्फोटन हुन्छ र यस घडीपश्चात् सब कुराले गति लिन थाल्छ। त्यस व्यक्तिमाथि निउरेर उनी भन्छन्, “अघि बढ; तिम्रो भुँडीको फोका निस्कन देऊ।” ती व्यक्ति अलिक बेसी हाँस्छन्। “अझ!” उनी झन् बेसरी हाँस्छन्। “अझ!” उनी अझ बेसरी हाँस्न प्रयास गर्छन्। “अझ!” उनी जबरदस्ती हास्न थाल्छन् जसको आवाज क्वाँक क्वाँक जस्तो हाँसो सुनिन्छ। “अझ!” ती व्यक्तिले आफ्ना खुट्टाहरूलाई झ्वाट्ट माथि लग्छन् र साइकल चलाएजस्तै चलाउँदै हाँस्छन्, “हू! हू! हु!” हावर्ड-ब्राउन बताउँछन्, “यसलाई भनिन्छ पवित्र आत्माको कसरत।”

यस्तै खाले कुरा अरू व्यक्तिहरूलाई पनि त्यहाँ भइरहेको हुन्छ। उदाहरणका लागि, हावर्ड-ब्राउन एकजनालाई उसको खुट्टामा लात हान्दै भन्छन्, “तिम्रो भुँडीभित्रको आनन्द बाहिर फुटेर आउन दिनुपर्छ! प्रार्थना गर्न छोड, आनन्दलाई फुटेर निस्कन देऊ”, आदि।

हावर्ड-ब्राउन प्रेरित २ मा पत्रुसलाई उद्दरण गर्छन्: “तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…” अगाडिको बेन्चका एक महिलामाथि उनले आफ्नो हात राख्‍छन् फलस्वरुप उनी छारे रोगीले जस्तै हातहरू हल्लाउँदै पटक पटक चिल्लाउँछिन्। यिनीचाहिँ एउटा पास्टरका पत्‍नी हुन् भन्ने उनले बताउँछन्।

उनले फेरि दोहोर्‍याउँछन्, “तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…”, र त्यसपछि शुरु हुन्छ जँड्याहाको प्रदर्शनी: बेन्चमा बसिरहेकै बेला एकजना व्यक्तिले आफ्नो टाउको झ्वाट्ट पछिल्तिर लग्छन् र एउटा खुट्टाले हावामा लात हान्दै बेसरी हाँस्छन्। एक्कासि उनी आफ्नो आसनबाट फुत्त निस्कन्छन् र रेलगाडी जस्तै गरी साँघुरो घेरामा घुम्न थाल्छन्। त्यसपछि उनी हावर्ड-ब्राउनतिर फर्कन्छन्, एउटा खुट्टाले अघिल्तिर लात हान्छन् र प्ल्यात्त भुइँमा लड्छन्। अर्कोचाहिँ आफ्नो आसनबाट फुत्त निस्कन्छन्, उही रेलगाडीकै तमाशा देखाउँछन्, जथाभावी हात चलाउँछन् र भुइँमा पछारिन्छन्। एकछिनपछि पहिलो व्यक्ति उठ्छन् र आफ्नो अनुहारमा जँड्याहाको मुस्कान देखाउँदै मात लागेको जस्तै गरी यताउता हिँड्न थाल्छन्, हावर्ड-ब्राउनलाई सलाम ठोक्छन् र ढ्याप्प गर्दै आफ्नो आसनमा बस्न पुग्छन्। यो सब बनावटी भएको प्रस्टै देखिन्थ्यो तर हावर्ड-ब्राउन र दर्शकहरूले यसमा बेसरी मज्जा लिन्छन्।

बाँकी साँझभरि क्रियाकलापहरू यस्तै प्रकारले अघि बढ्छन्। हावर्ड-ब्राउन आफूलाई क्यारिज्म्याटिक जोशको “नयाँ मद्य” बाँड्ने “होली गोस्ट बार्टेन्डर” (पवित्र आत्मा पिलाउने भट्टी-मालिक) भनी जनाउन रूचाउँछन्। भौतिक किसिमले मात लाग्न सकिन्छ भने आत्मिक किसिमले पनि मात लाग्न सकिन्छ भन्ने उनी सिकाउँछन्। मानिसहरूलाई आत्मिक मात लगाउनु नै आफ्नो जीवनको उद्देश्य भएको उनले बताउँछन्।

एकपटक हावर्ड-ब्राउनले भने: “एक रात म नरकको प्रचार गर्दैथिएँ, र हाँसै-हाँसोले पूरै ठाउँ भरियो। नरक कस्तो ठाउँ हो भनेर मैले जति बताएँ त्यति बेसी उनीहरू हाँसे।” [Reported in the Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] मुक्ति पाएको प्रत्येक व्यक्तिले नरक कुनै हिसाबले पनि हाँस्ने विषय होइन भन्ने त जानेको हुनुपर्छ।

यी सभाहरूमा परमेश्वरको वचनबाट साँचो शिक्षा कमै सिकाइन्छ। अनि सिकाउने काम भयो भने पनि त्यसलाई हाँसोहरूले बीचमै काटिदिन्छ। एकजना क्यारिज्म्याटिक लेखकले भने, “श्रोतागणको ठूलो जमात नै कम्प छुट्ने गरी हाँस्ने कामले पुलपिलबाट भनिएको जुनसुकै कुरालाई पनि असान्दर्भिक तुल्याइदिन्छ भन्ने कुरा कसैले शङ्का गर्दैन।” [Reported in Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] आफ्नै स्थानिय मण्डलीको विचार गर्नुहोस्। परमेश्वरको वचन प्रचार हुने क्रममा पाँच-पाँच मीनेटमा मानिसहरू नियन्त्रणबिना र चर्को गरी हाँस्छन् भने त्यहाँ सिक्ने काम कत्तिको हुन सक्ला? यस्तो सर्कस जस्तो वातावरणमा पनि कुनै सिक्ने काम हुन सक्छ र?

सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् भनेर परमेश्वरको वचनले बताएको छ। महिला र पुरषहरू भुइँमा पछारिँदै, मात लागेको जस्तै गर्दै, लाटोकोसेरो र पशुका आवाज निकाल्नु निश्चय पनि परमेश्वरको सभालाई सुहाउने शिष्टपूर्ण व्यवहार होइन (दाँज्नुहोस् १ तिमोथी ३:१५)। “पवित्र हाँसो” अपवित्र मात्र नभएर यसले परमेश्वरको नियमवद्ध क्रमलाई अलमल्याउँछ र त्यसको विरोध गर्दछ।

रोमी १२:१-२

रोमी १२:१-२

 

अध्याय १२

परिचय

यस अध्यायबाट रोमीको पुस्तकको व्यावहारिक खण्ड सुरु हुन्छ। अहिलेसम्म रोमीको पुस्तकमा हामीले एकदम थोरै मात्र आज्ञाहरू भेटेका छौं (अध्याय ६ का केही आज्ञाहरू बाहेक — “थाह गर”, “ठान”, “सुम्प”, आदि)। अघिल्लो अध्यायहरूले हामीलाई हामीले के गर्नुपर्छ भन्ने कुरामा जोडदिँदैन, तर परमेश्वरले के गर्नुभएको छ भन्ने कुरामा। यस्तै ढाँचा एफेसीको पुस्तकमा पनि पाइन्छ। पहिलो तीन अध्यायहरूमा परमेश्वरले अनुग्रहमा जे गरिदिनुभएको छ त्यसलाई जोड दिइएको छ। पछिल्ला तीन अध्यायहरू व्यावहारिक छन् र तिनमा धेरैओटा आज्ञाहरू भेटिन्छन्। जुन कुरा परमेश्वरले अनुग्रहमा गर्नुभएको छ, त्यो नै ख्रीष्टिय व्यवहार र चालचलनको निम्ति साँचो आधार हो।

रोमी १२:१

“यसकारण” — यसले हामीलाई पावलले पहिलो ११ अध्यायहरूमा प्रस्तुत गरेको सबै कुरातर्फ औंल्याउँछ (दोषी, भक्तिहीन पापीको लागि परमेश्वरले गरिदिनुभएका ती सबै कुराहरूतर्फ!)।

“विन्ती” — पावल मानो हात जोड्दै विन्ती गर्दैछन्, आग्रह गर्दैछन् (एफेसी ४:१ मा उही शब्द छ)। व्यवस्थाले भन्छ, “म तिमीलाई आज्ञा गर्छु,” तर अनुग्रहले भन्छ, “म तिमीलाई विन्ती गर्छु।” व्यवस्थाको आज्ञापालन डरमा आधारित हुन्छ (निजले आज्ञापालन गर्छ किनकि आज्ञापालन नगर्दा भोग्‍नुपर्ने दण्डदेखि ऊ डराउँछ); सुसमाचारीय आज्ञापलान चाहिँ प्रेममा आधारित हुन्छ (२ कोरिन्थी ५:१४ — ख्रीष्टको प्रेमले मलाई विवश पार्दछ”)।

“परमेश्वरका कृपाहरूद्वारा” — यो रोमी ११:३०-३२ कै “कृपा” भन्ने शब्द त होइन, तर यसले पनि उस्तै भाव बोकेको छ। यसको माने हो, “दया, कृपा, सहानुभूति।” परमेश्वर हामीप्रति कति दयालु हुनुभयो र टिठाउनुभयो भन्ने कुरा सम्झँदा यसले हामीलाई भक्तिपूर्ण ख्रीष्टिय जीवन जिउनलाई ठूलो प्रेरणा दिनुपर्ने हो। परमेश्वर मप्रति यदि टिठाउनुभयो र यति कृपालु हुनुभएको छ भने, किन मैले मेरो जीवन र मेरो सर्वस्व उहाँको सेवाको लागि नदिऊँ? यदि परमेश्वरको पुत्र मेरो निम्ति मरिदिनुभएको हो भने, कसरी म उहाँको निम्ति जिउन छोडेर कुनै कमसल मार्ग अपनाऊँ? आइज्याक वाट्सले लेखे:

“यस्तो अचम्मको, यस्तो ईश्वरीय प्रेमले,
मेरो प्राणको माग गर्दछ,
मेरो जीवनको माग गर्दछ,
मेरो सर्वस्व माग गर्दछ!”

“भाइहरूहो” — पावल यहाँ रोमका विश्वासीहरूलाई सम्बोधन गर्दैछन्। आफ्‍नो शरीरलाई बलिदानको रूपमा परमेश्वरलाई चढाउने काम (रोमी १२:१), मुक्ति नपाएका व्यक्तिहरूलाई गर्नलाई भनिएको कुरा होइन (जस्तो Lordship Salvation “लर्डशीप साल्भेसन” का समर्थकहरूले सिकाउलान्), तर यो त मुक्ति पाएका व्यक्तिहरूले गर्नुपर्ने कुरा हो (हामीले यसोगर्छौं किनकि हामीले मुक्ति पाएका छौं, मुक्ति पाउनलाई होइन)।

“आफ्‍ना शरीरहरूलाई चढाइदेओ” — “चढाइदेओ” भन्ने शब्द रोमी ६:१३ कै शब्द हो (जहाँ “सुम्प” भनेर अनुवाद गरिएको छ), र यी दुई पदको तुलनाले यो देखाउँछ कि “तिम्रो शरीरलाई” को माने “आफैलाई” हो। जब तपाईं आफ्‍नो शरीर परमेश्वरलाई दिनुहुन्छ, तपाईं आफू जे जति हुनुहुन्छ र आफूसित जे जति छ त्यो दिनुहुन्छ। “चढाइदेओ” शब्द ग्रीक व्याकरणको एओरिस्ट (aorist) कालमा छ जसको मानेहो, “सो गरिछाड!”। यो कुनै त्यस्तो काम होइन जुन चाहिँ निरन्तर गरिन्छ (नत्रता वर्तमानकालिक क्रियापद प्रयोग हुन्थ्यो)। यदि हरेक विश्वासीले यसो गर्न सके भने र यस कामलाई एकैचोटी सदाका लागि फत्ते गर्न सके भने सबभन्दा उत्तम हुनेथ्यो। आफूलाई यसरी सुम्पेको विश्वासीले पछिपछिको समयमा त्यसको सम्झना गर्न सक्थ्यो र यो काम आफूले गरिसकें भनेर ठान्न सक्थ्यो:
“प्रभु, मेरो शरीर तपाईंको लागि चढाइसकिएको छ र तपाईंलाई दिइसकेको छ! म दाम तिरी किनिएको हुँ! म तपाईंको दास हुँ! मेरो शरीर तपाईंको निजी हो भनेर म कहिल्यै नभुलूँ!” (दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०)

एओरिस्ट कालको माने यस्तो होइन (जसरी धेरै बाइबल शिक्षकहरूले सिकाउँछन्) कि त्यो एक पटक गरिने कार्य हो जो फेरि कहिल्यै दोहोराइँदैन। त्यस्ता समयहरू हुन्छन् जब हामी विश्वासीहरू लड्छौं, विफल हुन्छौं र हामीले रोमी १२:१ ले भनेको कुरा गर्नुपर्छ,
“प्रभु, तपाईंले मलाई आफ्‍नो अचम्मको अनुग्रहले बचाउनुभएको छ, अनि यद्यपि मैले पाप गरें र तपाईंलाई धोका दिएँ, म खुसीसित मेरो शरीर तपाईंको सेवाको निम्ति तपाईंलाई चढाउँछु। म आफूलाई (म जे जति छु, मसित जे जति छन्) नयाँ गरी तपाईंलाई समर्पण गर्छु। लिनोस् प्रभु मेरो जीवन यो, होस् सम्पूर्ण तपाईंको। लिनोस् मलाई हे प्रभु, पूरै हुन्छु तपाईंको, पूरै हुन्छु तपाईंको!”

“बलिदान” — प्रत्येक नयाँ नियमको विश्वासी एउटा पूजाहारी हो, अनि पूजाहारीहरू बलिदान चढाउँछन्। बलिदानचाहिँ पूरै परमेश्वरको हुन्थ्यो — त्यो उहाँकै हुन्थ्यो! विश्वासी-पूजाहारीले चाहिँ आफैलाई पूरै (उसको शरीरलाई) परमेश्वरलाई, उहाँको प्रयोजनको लागि, चढाउनुपर्छ, दिनुपर्छ। एकजान विश्वासीले रोमी १२:१ पढे र वास्तवमै कुनै डाँडामाथि गए र ढुङ्गाहरू जम्मा पारेर एउटा कामचलाउ वेदी तयार गरे। त्यसपछि उनले आफूलाई वेदीमाथि सुताए र भने, “प्रभु, म यहाँ छु! म तपाईंको जिउँदो बलिदान हुँ। तपाईंले मलाई जसरी चाहनुहुन्छ त्यसरी प्रयोग गर्नुभएको म चाहन्छु। मेरो जीवन तपाईंकै हो।” परमेश्वरले हामीलाई ढुङ्गाकै वेदी निर्माण गर त भन्नुभएको छैन, तर हाम्रा शरीरहरूलाई जिउँदो बलिदानको रूपमा चढाइदेओ चाहिँ भन्नुभएको छ।

“जिउँदो” — काटिएरमरेको अवस्थामा पुग्‍ने पुरानो नियमको पशु बलिदानको तुलनामा। यो जिउँदो बलिदान किन हो भनेर अझ राम्रोसित बुझ्न सहायता होस् भनेर जेम्स भेन्टिलाटोले निम्न टिप्पणी थप्नुभएको छ:
“हामीले आफूहरूलाई मरेकाहरूबाट बौरेर जिउँदो भएकाहरूको रूपमा परमेश्वरकहाँ चढाउनुपर्छ (रोमी ६:१३)।” “जिउँदो” भन्नाले केवल काटेर मारिएका बलिदानहरूसितको तुलनामा मात्र होइन, तर ख्रीष्ट येशूमा भएको हाम्रो बौरिउठाइको जीवनको ओहोदा वा धरातलको दृष्टिकोणबाट पनि “जिउँदो” बलिदान, र यसरी यो कुरा रोमी ६-८ अध्यायहरूका सम्मिलिकरणका सत्यताहरूसित जोडिएको छ।

साथै यसले “लर्डशीप मुक्ति” (Lordship Salvation) भनिने शिक्षाको अर्थहीनता पनि देखाउँछ। किनकि “पापीहरूलाई” उनीहरू आफ्‍नो जीवनको रूपमा (यसर्थ पुरानो आदम जीवनप्रति मरेको) ख्रीष्ट येशूमा बौरिउठाइको ओहोदा र धरातलमा अवस्थित गराइनुभन्दा अगाडि उनीहरूले परमेश्वरकहाँ आफूहरूलाई चढाउनुपर्छ, सुम्पनुपर्छ, समर्पण गर्नुपर्छ, उहाँको अधीनतामा सुम्पनुपर्छ भन्नु व्यर्थ र मूल्यहीन कुरा हो! रोमी १२ मा निजले आफूलाई परमेश्वरकहाँ “चढाउनु” अघि रोमी ६ अध्यायअनुसार “ठान्नु” पर्छ। अनि मुक्ति नपाएको व्यक्ति, जो ख्रीष्ट येशूमा अवस्थित छैन, “ठान्न” लाई उसित कुनै आधार नै छैन। “समर्पण अघि क्रूसको मृत्यु आउँछ।”
माइल्स जे स्टानफर्डले यसलाई यसरी व्यक्ति गरे:
यहाँ विषयको मुख्य बुँदा यस प्रकार छ। प्रश्न यो हो, कुनचाहिँ जीवन उहाँलाई समर्पण गरिनुपर्ने हो, पुरानो स्व-जीवन कि नयाँ ख्रीष्ट-जीवन? परमेश्वरले पुरानोबाट (जो क्रूसमा दोषी ठहराइयो) एउटै कुरा ग्रहण गर्न सक्नुहुन्न — उहाँले केवल त्यसलाई मात्र देख्नुहुन्छ र मान्नुहुन्छ जुनचाहिँ उहाँको पुत्रमा केन्द्रित छ जो हाम्रो जीवन हुनुहुन्छ। त्यसैले समर्पणको सम्बन्धमा परमेश्वरको केवल एउटै शर्त छ: “मरेकाहरूबाट जिउँदा भएझैं गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प” (रोमी ६:१३)। हाम्रो धरातल यही मात्र हो अनि यही मञ्चबाट हामीले आफूलाई पाप, व्यवस्था, संसारको लेखि मरेको र बौरनुभएका ख्रीष्टमा परमेश्वरप्रति जिउँदो ठान्नुपर्छ ‘ताकि हामी जीवनको नयाँपनामा, बौरेको जीवनमा हिँड्न सकौं’ (रोमी ६:११,४ख)।
“मरेकाहरूबाट जिउँदा भएझैं गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प” (रोमी ६:१३)। यो नै समर्पणको साँचो ठाउँ हो। तिनीहरूले ख्रीष्टसितको आफ्‍नो सम्मिलिकरण (identification, एकसाथ जोडिएको भन्ने सत्यता) सिक्नु अगाडि विश्वासीहरूले आफूहरूलाई परमेश्वरकहाँ सुम्पनु भनेको उनीहरूले केवल प्राकृतिक मानिस (पुरानोमानिस, क्रूसमा दोषी ठहराइएको आदमीय जीवन) का अङ्गहरूलाई चढाउनु हो जसलाई उहाँले स्वीकार गर्न सक्नुहुन्न। केवल तिनीहरू जो “मरेकाहरूबाट जिउँदो” भएका छन् — भन्नाले, मृत्युमा उहाँसितको आफ्‍नो समानतालाई पूरै अपनाएका छन् — तिनीहरूलाई आफ्‍ना अङ्गहरूलाई परमेश्वरकहाँ हतियारको रूपमा चढाउनलाई आग्रह गरिएको छ।”
पावलका सबै पत्रहरूको होशियारपूर्वक अध्ययनले यो देखाउनेछ कि ती पत्रहरू रोमी ६ अध्यायमा प्रस्तुत गरिएको क्रूसको धरातलको आधारमा लेखिएका छन् — यो तथ्य कि परमेश्वरले पुरानो पतित आदमीय-जीवनलाई क्रूसमा सुम्पनुहुन्छ र त्यससित कुनै सरोकार राख्नुहुन्न। परमेश्वरले सबै विश्वासीहरूसित ‘ख्रीष्टमा तिमी मर्‍यौ’ भन्ने आधारमा व्यवहार गर्नुहुन्छ” (माइल्स स्टानफर्ड)।

“पवित्र” — परमेश्वरको पवित्र इच्छा र सेवाको निम्ति अलग गरिएको। परमेश्वरका जनहरू “पवित्र जनहरू” हुन्, राजाहरूको राजाको सेवाका निम्ति अलग गरिएका! के तपाईं आफूलाई सर्वोच्च परमेश्वरको एक पवित्र सेवकको रूपमा हेर्ने गर्नुहुन्छ?

“ग्रहणयोग्य” — मनपर्दो (परमेश्वर यस्ता बलिदानसित खुशी हुनुहुन्छ)। जब विश्वासीहरू आफ्‍नो सर्वस्व दिन इन्कार गर्छन् त्यसमा परमेश्वर खुशी हुनुहुन्न। हाम्रो प्राण र मुक्तिदाताको बीचमा अलग पार्ने कुरा त्यहाँ एउटै नहोस्।

“उचित”“तर्कसङ्गत” भन्ने अर्थ लाग्‍ने अङ्ग्रेजी शब्द (logical) उही ग्रीक शब्दबाट आउँछ। ख्रीष्टले हाम्रा निम्ति जे गरिदिनुभएको छ, त्यसलाई सम्झेर, पूर्ण समर्पणताको सुम्पने कार्यले हामीले आफैलाई पूरै दिनु भनेको हामीले गर्न सक्ने एकमात्र मुनासीब र तर्कसङ्गत कुरा हो। साँचो विश्वासीको निम्ति, यस बाहेक अन्य कुनै कुराको अर्थ हुँदैन! यो नै गर्नुपर्ने मुनासीब कुरा हो। यसरी नै हो विश्वासीहरूले परमेश्वरको उपासना गर्ने (यो एक ‘सेवा’ हो), जब उहाँको सेवाको निम्ति आफूलाई पूर्णरूपमा दिन्छन्।

समर्पणसम्बन्धी एउटा टिप्पणी: कुनै कुनै मण्डलीहरूले विश्वासीहरूलाई अगाडि आउन र आफ्‍ना जीवनहरू प्रभु येशूलाई सुम्पन बेसरी जोड दिन्छ। यस्तो समर्पणको महत्त्वलाई हामी कुनै हालतले पनि न्यूनीकरण गर्न चाहन्नौं, तर बाइबलीय सन्तुलन कायम गर्न हामी होसियार पनि हुनुपर्छ। “लर्डशीप मुक्ति” का समर्थकहरू, प्रभुलाई आफ्‍नो जीवन समर्पण गर्नु वा ख्रीष्टको प्रभुत्वमा आफूलाई सुम्पनु चाहिँ मुक्ति पाउनलाई पूरा गर्नुपर्ने शर्त हो जस्तै कुरा गर्छन्। ख्रीष्टको प्रभुत्वमुनि आफूलाई सुम्पने कार्य मुक्ति पाइसकेपछिको प्रतिफल हुनुपर्छ, मुक्ति प्राप्तिको शर्त होइन। मुक्ति, हामीले परमेश्वरको निम्ति के गर्छौं भन्ने कुरामा नभएर परमेश्वरले हाम्रो निम्ति के गरिसक्नुभएको छ भन्ने कुरामा आधारित छ।

धेरैले यो पनि सिकाउँछन् कि समर्पणता चाहिँ मुक्ति पाइसकेपश्चात् ख्रीष्टिय जीवनको कुनै घडीमा गरिने कुरा हो। उनीहरूले यसरी भन्न सक्छन्, “पहिले एकजना व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। त्यसपछि सायद महिनौंपछि वा वर्षौंपछि निजले ख्रीष्टलाई आफ्‍नो जीवनको प्रभु बनाउनुपर्छ र आफ्‍नो जीवनलाई प्रभुमा सुम्पनुपर्छ।” यसमा केही सत्यता त छ, तर निम्न महत्त्वपूर्ण बुँदाहरूलाई विचार गर्नुहोस्:

१) समर्पणता चाहिँ मुक्तिकै घडीमा गरिनुपर्ने कुरा हो। प्रेरित पावलको जीवनमा यो साँचो थियो। उसको बदली हुनेबित्तिकै उसले भने, “प्रभु, म के गरूँ, तपाईं के चाहनुहुन्छ?” सुरुबाटै उनले आफूलाई ख्रीष्टको प्रभुत्वमुनि समर्पित गरे। हामीले मुक्ति भर्खरै पाएको बेलामा ख्रीष्टले हाम्रो निम्ति गरिदिनुभएको सब थोकका निम्ति हामी यति कृतज्ञ हुन्छौं कि हाम्रा निम्ति मर्नुहुने र फेरि बौरनुहुने प्रभुलाई खुशी पार्नु नै हाम्रो इच्छा हुन्छ (२ कोरिन्थी ५:१४-१५)। हामी उहाँको निम्ति जिउन र सबै कामकुरामा उहाँलाई आदर गर्न चाहन्छौं जो हाम्रा निम्ति मर्नुभयो!

२) के कसैले ख्रीष्टलाई प्रभु बनाउन सक्छ? अहँ! तपाईंले उहाँलाई प्रभु बनाउने त होइन; उहाँ प्रभु हुनुहुन्छ। उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ। तपाईंले उहाँलाई आफ्‍नो जीवनको प्रभु बनाउन सक्नुहुन्न। उहाँ तपाईंको जीवनको प्रभु हुनुहुन्छ, तपाईंले यस तथ्यलाई स्वीकार गरे पनि, नगरे पनि। उहाँ प्रभु हुनुभएकोले, मैले उहाँलाई प्रभु भनेर मानिलिनुपर्छ। उहाँ प्रभु हुनुभएकोले, मैले उहाँलाई प्रभु भनेर अादर गर्नुपर्छ, उहाँको अधिकारमुनि झुक्नुपर्छ, उहाँको वचनको सामु थरथर काम्नुपर्छ। उहाँ प्रभु हुनुभएको हुनाले मैले आफ्‍नो शरीरलाई एउटा जिउँदो बलिदानको रूपमा उहाँलाई चढाउन सक्छु (रोमी १२:१-२)। “म ख्रीष्टलाई मेरो जीवनको प्रभु बनाउन चाहन्छु” भनेर मानिसहरूले भन्दा, उनीहरूको भनाइको तात्पर्य त अवश्य नै हामी बुझ्दछौं। तिनीहरूले आफूहरूलाई उहाँको प्रभुत्वमुनि समर्पित गर्न चाहन्छन् र उहाँको सठीक अधिकारको अधीनतामा आउन चाहन्छन् भन्ने कुरा उनीहरूले जनाएका हुन्। तरैपनि त्यस कुरालाई अझ राम्रो तरिकाले व्यक्त गर्न सकिन्छ: “म आफ्‍नो जीवन येशू ख्रीष्ट मेरो प्रभु हुनुहुन्छ भन्ने तथ्यसित मेल खाने गरीकन जिउन चाहन्छु। मेरो जीवनमा उहाँको सिद्ध इच्छा के उहाँको प्रभुत्वले मेरो अधीनता र आज्ञापालन र खुशीसितको समर्पणताको माग गर्दछ।”

३) हामी यदि इमानदार छौं र वास्तविकतालाई मुखैमा हेर्छौं भने हामीले यो स्वीकार गर्नैपर्छ कि त्यस्ता समयहरू हुन्छन् जब हरेक साँचो विश्वासीले ख्रीष्टको अधिकारको विरोध गर्छ र उहाँको वचनको अवज्ञा गर्छ। उहाँको प्रभुत्वप्रति पूर्ण अधीनता हुनलाई उहाँका सबै आज्ञाहरूप्रति पूर्ण आज्ञाकारिता हुनपर्छ, तर हामी सबै नै यसभन्दा घटी नै भएका छौं। विश्वासी हुँ भन्ने ‘क’ र ‘ख’ विश्वासीका दुई भनाइहरूलाई विचार गर्नुहोस्:

विश्वासी हुँ भन्ने ‘क’ विश्वासी:

“मैले ख्रीष्टलाई मेरो मुक्तिदाताको रूपमा ग्रहण गरेको छु, तर म उहाँलाई प्रभुको रूपमा आफूलाई अधीनमा राख्न इन्कार गर्छु! मेरो जीवनमाथिको उहाँको अधिकारलाई इन्कार गर्दछु र म उहाँको आज्ञा पालन गर्न इन्कार गर्दछु। नरकबाट बचाउने मुक्तिदाताको रूपमा म उहाँलाई लिन म खुशी छु, तर मैले के गर्नुपर्छ भनेर उहाँले मलाई भन्न पाउनुहुनेछैन।”

विश्वासी हुँ भन्ने ‘ख’ विश्वासी:

“म मेरा प्रभुको आज्ञा पालन गर्न चाहन्छु, जो मेरो लागि मर्नुभयो, तर त्यस्ता धेरै समयहरू छन् जब म विफल हुन्छु। मेरो हृदय गहिरोसित दुःखित हुन्छ जब म उहाँको आज्ञा पालन गर्न विफल हुन्छु र म कायल हुन्छु र मलाई चैन हुँदैन। मैले मेरा प्रभुलाई अनादर गरेको छु र उहाँको नामलाई गिराएको छु।”

विश्वासी हुँ भन्ने ‘क’ विश्वासीले, उसको भनाइ र मनोभावबाट, प्रभु येशू ख्रीष्टसित उसको साँचो, व्यक्तिगत र मुक्ति पाएको सम्बन्ध छ भन्ने कुराको खासै प्रमाण प्रस्तुत गरेको देखिँदैन। विश्वासी हुँ भन्ने ‘ख’ विश्वासी चाहिँ एउटा ख्रीष्टको साँचो चेला भएको देखिन्छ, किनकि यद्यपि उसले पाप गरेको छ र आफ्‍नो प्रभुको विरुद्धमा विद्रोह गरेको छ, ऊ त्यसबारे चिन्तित र चूर्ण भएको देखिन्छ। पाप गर्ने विश्वासीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मा शोकित बन्नुहुन्छ र उहाँले आफ्‍नो शोकित उपस्थितिको अनुभव दिनुहुन्छ। आर जी रेनोल्डले यसरी लेख्नुभएको छ:
जुन व्यक्ति पापपूर्ण तरिकामा जिउँदैछ, जो जान्दछ आफू पापपूर्ण तरिकामा जिउँदैछु भनेर, जो त्यसरी जिउन खुशी छ, जसले त्यो पापपूर्ण जिउने तरिकामा जिइरहने नियत वा लक्ष्य राखेको छ — त्यस व्यक्तिसित पवित्र आत्मा अन्तरवास गर्नुभएको छैन। आफ्‍नो पापको सम्बन्धमा ऊ “निश्चिन्त” हुन सक्नु नै पवित्र आत्मा उसमा हुनुहुन्न भन्ने कुराको प्रमाण हो। उसको आत्मिक जीवनको जाँच गर्दा परिणाम निस्कन्छ — “जीवनरहित”।

४) के एउटा नयाँ विश्वासीलाई ख्रीष्टको प्रभुत्वको सम्पूर्ण मतलब वा तात्पर्यको बोध हुन्छ? हुँदैन, ख्रीष्टको प्रभुत्वको माने र त्यससित संलग्‍न दायित्व के हो भनेर नयाँ विश्वासीले भर्खरै सिक्न थालेको हुन्छ। ख्रीष्टमा नयाँ जन्मेको बालकलाई समर्पणता र अधीनताको बारेमा एकदम थोरै थाह हुन्छ। उसका पापहरू उसलाई क्षमा भए र उसले ख्रीष्टलाई ग्रहण गरेको छ र उसित अनन्त जीवन छ भन्ने कुरा उसलाई थाह हुन्छ। आफूले पाएको यति ठूलो मुक्तिको निम्ति ऊ धन्यवादले भरिएको हुन्छ र उसको निम्ति मरिदिनुहुने प्रभुलाई ऊ खुशी पार्न इच्छुक हुन्छ। तर ख्रीष्टको प्रभुत्वले उसको विवाहलाई, उसको परिवारलाई, उसको आर्थिक कुराहरूलाई, उसको मण्डलीलाई, उसले आफ्‍नो शरीरको स्याहार गर्ने तरिका आदिलाई कसरी प्रभाव पार्दछ भन्ने यी सब कुराहरू त उसलाई सिक्न समय लाग्छ।

त्यस्तै गरी एउटा नयाँ विश्वासीले मुक्ति दिने ख्रीष्टको अनुग्रहको सम्पूर्ण अर्थ र आशय एकैचोटीमा बुझ्दैन। अनुग्रहले मुक्ति पाउनु भनेको के हो, त्यसको माने उसले सिकिरहेको हुन्छ र यो कुरा उसले सिक्नु भनेको जीवनभर लाग्‍ने प्रकृया हो। एउटा विश्वासीले यूहन्ना ३:१६ लाई एक वर्ष अगाडि जति बुझेको थियो उसले अहिले त्यसको आशय अझ गहिरो गरी बुझेको हुनुपर्छ र एक वर्षपछि त्यो उसको लागि झन् बढी अर्थपूर्ण बन्नुपर्छ। चेलापन र प्रभुत्वको सम्बन्धमा पनि यही कुरा साँचो हुन्छ। यसमा एउटा सिक्ने प्रकृया समावेश भएको हुन्छ। ख्रीष्टको प्रभुत्वको वास्तविकता एक वर्ष अगाडि भन्दा अहिले मलाई झन् प्रिय हुनुपर्ने हो। म ख्रीष्टमा बढ्दै जाँदाहुँदी, ख्रीष्ट आफ्‍नो प्रभुको अधीनमा आफूलाई सुम्पनु भनेको के हो म क्रमैसँग बुझ्दै जान्छु।

रोमी १२:१ ले हरेक विश्वासीलाई निरन्तर सम्झना गराओस् कि हामी आफैका होइनौ किनकि हामी दाम तिरी किनिएका हौं (१ कोरिन्थी ६:१९-२०)। आफ्‍नो शरीरलाई मनलागी प्रयोग गर्ने हामीलाई अधिकार छैन। येशू ख्रीष्टको प्रेमका दासको कर्तव्यबमोजिम आफ्‍नो शरीरलाई उहाँलाई मनपर्दो हिसाबले प्रयोग गर्नुपर्छ। हामी रगतले किनिएका हौं र प्रेमले बाँधिएका छौं। हामीले आफूलाई मरेकाहरूबाट बौरेकाहरू झैं परमेश्वरकहाँ चढाउनुपर्छ (रोमी ६:१३)। कलवरीमा देखाइएको परमेश्वरको कृपा र अनुग्रहको कारणले हामी यसभन्दा कम कसरी गर्न सक्छौं र?

रोमी १२:२

यस पदमा दुईटा आज्ञाहरू छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। पहिलो चाहिँ नकरात्मक आज्ञा छ (हामीले के गर्नुहुँदैन) र दोस्रो चाहिँ सकारात्मक (हामीले के गर्नुपर्छ)। “यस संसार” = यस युग (ग्रीक αιων)।२कोरिन्थी ४:४ मा शैतान “यस संसार (युग) को ईश्वर” हो भनेर सिक्छौं। यस वर्तमान दुष्ट संसार (युग) बाट हामीलाई छुटकारा दिनाका लागि ख्रीष्टले आफैलाई हाम्रा पापहरूका निम्ति दिहाल्नुभयो” — गलाती १:४। जब हामीले मुक्ति पाएका थिएनौं हामी यही दुष्ट, शैतानिक युग/संसारको अङ्ग थियौं, तर परमेश्वरले हामीलाई यसबाट छुटकारा दिनुभएको छ। कलस्सी ४:१४ मा एउटा वफादार विश्वासी मानिएकोडेमासलाई, पछिबाट पावलका यी दुःखद शब्दहरूमा बयान गरिएको छ, “किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ” (२ तिमोथी ४:१० — “वर्तमान” भन्नाले त्यो अहिले छ तर धेरै बेर टिक्दैन; त्यो ज्यादै अस्थायी छ)। अन्तमा तीतस २:१२ मा विश्वासीहरूलाई यस वर्तमान युगमा अनुग्रहले भक्तिसाथ जिउनलाई सिकाइएको छ। हामी यस संसारमा छौं, तर हामी “यस संसारकै” जस्तो गरी र संसारकै प्रणालीको अङ्ग जस्तै गरी जिउनुहुँदैन जुन संसार सत्य र जिउँदो परमेश्वरको विपरीतमा छ।

“एकनासे नहोओ” — यस क्रियापदको माने “उस्तै रूप बनिनु, एकरूप बनिनु, एउटै रूपमा ढालिनु, एउटाको आकार वा ढाँचा अर्कोजस्तै बनाउनु।” पावल भन्दैछन्, “तिमीलाई उसकै ढाँचामा ढाल्ने काम गरिराख्न संसारलाई नदेऊ!” त्यसको आचार, बोली, अभिव्यक्तिहरू, शैलीहरू र आनीबानीहरूद्वारातिमीनढालिऊ! केनेथ वीस्टले यस पदलाई यसरी भावानुवाद गरेका छन्:
“यस संसारको ढाँचाअनुसारको बाह्य अभिव्यक्तिलाई अपनाउन छोड, जुनचाहिँ, तिमी एउटा नयाँ जन्म पाएको परमेश्वरको सन्तानको हैसियतले, तिम्रो भित्री व्यक्तित्वमा जे छौ त्यसबाट आएको अभिव्यक्ति होइन।”

“तर” — यस शब्दले जोडदार तुलना जनाउदैछ। परमेश्वरले माथिको नकारात्मक आज्ञा पश्चात् एउटा प्रबल सकारात्मक आज्ञा दिनुहुन्छ! “बदली हुँदै जाओ” — यस क्रियापदको माने हो बदली हुनु, अर्को रूप बन्नु। यहाँ प्रयोग भएको ग्रीक शब्द चाहिँ मेटामोर्फोसिस हो (जुन शब्द अङ्ग्रेजीमा झुसिलकिरो पुतली बन्ने प्रकृयालाई बयान गर्न प्रयोग हुन्छ)। यो शब्द मत्ती १७:२ मा हाम्रो प्रभुको रूप परिवर्तनलाई बयान गर्न प्रयोग भएको छ। प्रभु यसरी बदली हुनुभयो कि उहाँको भित्री महिमा बाहिर देखा पर्न आयो (यूहन्ना १:१४ सित तुलना गर्नुहोस्)। यहाँ र २ कोरिन्थी ३:१८ मा ख्रीष्टिय जीवनमा हुने परिवर्तनको प्रकृयालाई जनाउन प्रयोग भएको छ जब विश्वासी जन झन् झन् ख्रीष्टको रूपमा बदली हुँदै जान्छ (हिजोभन्दा आज र आजभन्दा भोली झन् ख्रीष्टजस्तै बनिनु)। यो शब्द २ कोरिन्थी ३:१८ मा पवित्र आत्माले उत्पन्न गराउनुहुने परिवर्तनलाई जनाउन प्रयोग भएको छ जुन परिवर्तनचाहिँ विश्वासी जनले प्रभु येशूको महिमालाई उहाँको वचनमा हेर्दाहुँदी हुने नतिजा हो, जब ऊ क्रमिक रूपमा (एउटा महिमादेखि अर्को महिमामा) ख्रीष्टको समानतामा बदली हुँदै जान्छ। रोमीको पुस्तकमा हामीले देखिसेका छौं कि परमेश्वरको उद्देश्य भनेको हामीलाई ख्रीष्टको रूपमा ढाल्नु हो (रोमी ८:२९)। यो क्रियापद चाहिँ वर्तमान कालमा प्रयोग भएको छ (२ कोरिन्थी ३:१८): हामी निरन्तर बदली गराइँदै जानु पर्छ। यो परिवर्तन एकै दिनमा वा एकै महिनामा वा एकै वर्षमा हुने परिवर्तन होइन। यो यस्तो प्रकृया हो जो हामी ख्रीष्टसित हुन नगएसम्म जारी रहन्छ (१ यूहन्ना ३:२)। यो क्रियापदचाहिँ कर्मवाचक (passive voice) शब्द भएकोले (२ कोरिन्थी ३:१८) यसले यो जनाउँदैछ कि यो बदली हामी आफैले उत्पन्न गर्ने बदली होइन!

हामी बदली गराइँदै जानुपर्छ। योचाहिँ परमेश्वरले हामीमा र हामीद्वारा गर्ने काम हो। हामीले उहाँमा भरोसा गर्नुपर्छ र उहाँलाई त्यो काम गर्न दिनुपर्छ जो उहाँले मात्र गर्न सक्नुहुन्छ।

यो बदली कसरी उत्पन्न हुन्छ? “तिमीहरूको मनको नयाँ हुवाइद्वारा” । यो एउटा मनमा हुने प्रकृया हो जसलाई भाइन्सले यसरी बयान गर्छन्:
“यो चाहिँ नैतिक र आत्मिक हेराइ तथा विचारधारालाई परमेश्वरको मनसित समायोजन गर्ने वा मिलाउने कार्य हो, जसको उद्देश्य चाहिँ जीवनमै परिवर्तनशील प्रभाव पार्नु हो।”

विश्वासीको मन परमेश्वरको वचनले भिजेको हुनुपर्छ ताकि हामीले झन् झन् परमेश्वरले जस्तै देख्न, विचार गर्न र भावना राख्न सकौं। नवीकरण सम्बन्धी अरू नयाँ नियमका पदहरूको लागि कलस्सी ३:१० र २ कोरिन्थी ४:१६ हेर्नुहोस्। जुन विश्वासी बदली हुँदैछ उसले निरन्तर परमेश्वरको इच्छा प्रमाणित गर्दैछ अथवा जाँचेर थाह गर्दैछ, अँ त्यस्तो कुरा जुन परमेश्वरको लागि ग्रहणयोग्य (मनपर्दो) हुन्छ र उहाँको सिद्ध इच्छा हो। विश्वासीको हृदयदेखिको खोजी यो हो: “परमेश्वर जे चाहनुहुन्छ, म त्यही चाहन्छु, त्यसभन्दा बढ्ता होइन, कम पनि होइन! म अरू केही चाहन्न, तर परमेश्वरकै सर्वोत्तम चाहन्छु! मेरो इच्छा होइन तर तपाईंको इच्छा पूरा होस्!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ११:१६-३६

रोमी ११:१६-३६

 

रोमी ११:१६

“किनकि” — पावलले अब भविष्यमा हुने इस्राएलको पुनःस्थापनाको र साथै अन्यजातिहरूको वर्तमान स्थितिको थप कारण खुलाउँछन्। यो व्याख्या अबको तीनओटा पदहरूमा भेटिन्छ जुन पदहरूमा जैतुनको रूखको दृष्टान्त प्रस्तुत गरिएको छ। “पहिलोफल” ले मुछेको पीठोलाई जनाउँछ। “ढिका” ले मुछेको सम्पूर्ण पीठोलाई जनाउँछ (हेर्नुहोस् गन्ती १५:१७-२१ जहाँ “मुछेको पीठोको पहिलो ढिकाबाट तिमीहरूले परमप्रभुलाई…चढाउनु”)। मूरे भन्छन्,
“प्रभुलाई चढाइएको मुछेको पीठोको पहिलो ढिकाबाट मुछेको सम्पूर्ण पीठो अर्पण गरिएको (पवित्र ठहरिएको) बुझिन्थ्यो।”
पावल अब हामीलाई मुछेको पीठोको दृष्टान्तपछि जैतुनको रूखको दृष्टान्तपट्टि लान्छन् जुन दृष्टान्त पद २४ सम्मै छ। पूरै ढिका (मुछेको सम्पूर्ण पीठो) पीठोको पहिलोफल जत्तिकै पवित्र हुनुपर्छ। त्यस्तै हाँगाहरू पनि जरा जत्तिकै पवित्र हुनुपर्छ। पवित्र जराको पवित्र हाँगाहरू हुन्छन्। पहिलोफल र जराले अब्राहाम, इसाहक र याकूबलाई जनाउँछ (दाँज्नुहोस् रोमी ११:१८ र ९:५ “पूर्खाहरू”)। पूर्खाहरू पवित्र थिए किनकि तिनीहरू परमेश्वरबाट चुनिएका थिए। तिनीहरू एउटा विशेष उद्देश्यले परमेश्वरद्वारा अलग गरिएका र चुनिएका थिए। उनीहरूबाट परमेश्वरको विशेष र पवित्र जातिको उद्भव भयो (व्यवस्था ७:६-८; दाँज्नुहोस् यर्मिया २:२-३)।

रोमी ११:१७

परमेश्वर, जरालाई सुहाउने हाँगाहरू चाहनुहुन्छ। “परमेश्वरलाई विश्वास” (उत्पत्ति १५:६) गर्ने पूर्खा अब्राहाम र विश्वासहीन यहूदीहरूका बीच कुनै समानता छैन। स्वाभाविक हाँगाहरूले इस्राएललाई जनाउँछ। जङ्गली हाँगाहरूले अन्यजातिहरूलाई जनाउँछ। खनजोत गरिएको जैतुनको रूखले परमेश्वरको आशिषको स्थानलाई जनाउँछ। जङ्गली जैतुन रूख चाहिँ आशिषको ठाउँ होइन (दाँज्नुहोस् एफेसी २:११-१३) तर जङ्गली जैतुनको रूखका हाँगाहरू खनजोत गरिएको जैतुनको रूखमा कलम गाँसिन्छन् अनि तब ती हाँगाहरूले जैतुनको रूखको जरा र पोषिलोपनमा सहभागी हुन सक्छन् (रोमी ११:१७)। कति स्वाभाविक हाँगाहरू “भाँचिए”, र पद २० ले यसको कारण बताउँछ (“अविश्वासको कारणले”)। जङ्गली हाँगाहरू, ख्रीष्टमा राखिएको विश्वासको कारण “तिनीहरूमा कलम गासिए” — दाँज्नुहोस् रोमी ९:३०-३२ — र यसरी आशिषको स्थानमा अवस्थित छन्। विश्वास गर्ने अन्यजातिहरू परमेश्वरको मुक्ति, परमेश्वरको धार्मिकता र परमेश्वरका आत्माको भागीदार हुन सक्छन् — हेर्नुहोस् गलाती ३:१४ — ताकि अब्राहामको आशिषहरू येशू ख्रीष्टद्वारा अन्यजातिहरूमाथि आऊन्, ताकि हामी विश्वासद्वारा आत्मा पाऔं।

रोमी ११:१८

“ती (स्वाभाविक) हाँगाहरूको विरोधमा घमन्ड नगर!” पावल यहाँ अन्यजातिहरूलाई सम्बोधन गर्दैछन् र उनीहरूलाई कडा चेताउनी दिँदैछन्। उनीहरूले जरालाई सम्हालेका होइनन्, तर जराले उनीहरूलाई सम्हालेको हो, अनि यस कुरालाई उनीहरूले महसुस गर्नु खाँचो थियो। उनीहरूले जुन स्थान पाएका थिए त्यो उनीहरूले आफ्नो योग्यता वा असलपनको कारण पाएका थिएनन्, तर केवल अब्राहामका परमेश्वरमा राखिएको उनीहरूको विश्वासद्वारा उनीहरू अब्राहामसित सम्बन्धित भएकाले थियो (रोमी ४:१२,१६)।

रोमी ११:१९-२०

मूरेको टिप्पणी यहाँ सुहाउँदो छ:
“जुन गर्व गराइलाई यहाँ दोषी ठहराइएको छ त्यो चाहिँ त्यो घमन्ड र स्वाभिमानी निर्धक्कता हो जसप्रति विश्वासी अन्यजातिहरू झुक्न सक्छन् जब तिनीहरूले इस्राएलको हटाइले गर्दा ओगटेको विशेषाधिकार र आदरको स्थानलाई विचार गर्दछन्… कसैलाई अनुशासन गर्नु परेको कारण निलम्बित गरिएको अवस्थामा, जुन व्यक्तिलाई उसको रिक्त स्थानमा राखिन्छ, त्यस व्यक्तिलाई आफ्नो पदोन्नती भएको देखेर, आफ्नोस्वधर्मीपनमा सेखी गर्ने र लोटेको व्यक्तिलाई तिरस्कारको भावनाले हेर्नेजोखिम आइपर्छ।”

अन्यजातिले भन्छ, “मलाई कलम गाँसियोस् भनी हाँगाहरू भाँचिएका हुन्”। पावल भन्छन्, “ठीकै भन्यौ! तिम्रो भनाइ ठीकै हो!” (पद २०)। यो सत्य हो कि इस्राएलको लोटाइले गर्दा मुक्ति अन्यजातिहरूमा आयो (पद ११), तर यो किन सत्य हो भन्ने कुरा अन्यजातिहरूले बुझ्नु खाँचो छ। इस्राएल लोटेको अविश्वासको कारणले हो र अविश्वासको कारणले हो स्वाभाविक हाँगाहरू भाँचिएका। विश्वासको कारणले हो अन्यजातिहरू खडा भएका। त्यसैले यो चेताउनी: “अभिमानी नहोऊ, तर डराऊ!” तिमी चाहिँ लोट्न सक्दैनौ भनेर नसोच! यदि यहूदीहरूले ख्रीष्टलाई अविश्वासले गर्दा इन्कार गरे भने, के अन्यजातिहरूले पनि त्यस्तै गर्न सक्दैनन्? यो चेताउनी गत २००० वर्षको मण्डली इतिहासमा अधिक मात्रामा बेवास्ता गरिएको पाइन्छ। किनकि हामीले अन्यजातिहरूलाई देखेका छौं जो ख्रीष्टमा सकली विश्वास नराखीकनै आशिषको स्थानमा रहन सक्छौं भन्ने सोच्छन् (विश्वासको सट्टामा रीतिवाद, धर्म, मानवीय विचारवाद, आदिको पछि लागेर)।

रोमी ११:२१

यदि परमेश्वरले रूखकै अङ्ग हुनुपर्ने स्वाभाविक हाँगाहरूलाई (अविश्वासको कारणले) हटाउनुभयो भने, परमेश्वरले झन् बढ्ता गरी जङ्गली अस्वाभाविक हाँगाहरूलाई हटाउनुहुन्छ, जुन अस्वाभाविक हाँगाहरू परमेश्वरको भलोपन र कृपा बिना त त्यहाँ हुनै नपर्ने हाँगाहरू हुन्! यदि परमेश्वरले यहूदीहरूलाई बाँकी राख्नुभएन भने, उहाँले अन्यजातिहरूलाई किन बाँकी राख्नुहुनेथ्यो र? यदि परमेश्वरले इस्राएलमा भएको अविश्वासलाई न्याय गर्नुभयो भने के उहाँले अन्यजातिहरूको बीचमा भएको अविश्वासलाई न्याय गर्नुहुन्न? यदि परमेश्वरका चुनिएका जनहरू अविश्वासमा लोटे भने, के यस कुराले अन्यजातिहरूलाई आफ्नो विषयमा होशियार हुन लगाउनुपर्ने होइन र, ताकि उनीहरूले पनि त्यस्तै नगरून्?

रोमी ११:२२

अन्यजातिहरूका प्रेरित पावल (पद १३) अन्यजातिहरूले ध्यानपूर्वक परमेश्वरको भलोपन (दया) र कठोरता (कडापन) दुवैलाई विचार गरेको चाहन्छन्। परमेश्वरको कडापनचाहिँ विश्वासहीन इस्राएलसित गर्नुभएको उहाँको व्यवहारमा देखिन्छ। तिनीहरू आशिषको स्थानबाट काटिएका छन्। परमेश्वरको दयाचाहिँ विश्वास गर्ने अन्यजातिहरूसितको उहाँको अनुग्रहपूर्ण व्यवहारमा देखिन्छ जुन अन्यजातिहरू मुक्तिका आशिषहरूको भागीदार भइरहेका छन्। “यदि उहाँको दयमा लागिरहय्यौ भने”। “लागिरह्यौ” भन्ने शब्द पद २३ को “रहनु” शब्द नै हो। इस्राएल सधैं नै अविश्वासमा रहनेछैनन् (पद २३), तर अन्यजातिहरूले यो पक्का गरून् कि तिनीहरू विश्वासमा रहिरहून् ताकि उनीहरू परमेश्वरको भलोपनमा निरन्तरता पाऊन् नत्रता उनीहरू काटिनेछन्।

नोट: यो खण्डलाई विश्वासीको अनन्त सुरक्षाको दृढ शिक्षाको विरुद्धमा विवाद गर्न प्रयोग गर्नु हुँदैन। पावलले कुनै व्यक्ति विशेषलाई होइन, तर यहूदीहरू र अन्यजातिहरू तर्फ आफ्नो नजर लगाउँदैछन्। उनले भन्न खोजेको सरल कुरा यहि हो: ठीक जसरी यहूदीहरूले ख्रीष्टलाई इन्कार गरे र आशिषहरूको स्थानबाट हटाइए, त्यसरी नै अन्यजातिहरू पनि, यदि तिनीहरूले ख्रीष्टलाई इन्कार गरे भने आशिषको स्थानबाट हटाइनेछन्। उनले यहाँ कुनै एउटा अन्यजाति व्यक्तिको बारेमा कुरा गरिरहेका छैनन् जसले ख्रीष्टमाथि विश्वास गरेको छ र मुक्ति पाएको छ, र कालान्तरमा उसको जीवनमा उसले ख्रीष्टलाई मुक्तिदाताको रूपमा इन्कार गर्दछ, आफ्नो मुक्ति गुमाउँदछ र नरकमा जाँदछ। यो बाइबलीय रूपमा असम्भव छ। जोहरूलाई पिताले ख्रीष्टलाई दिनुभएको छ (साँचो विश्वासी), उनीहरू कहिल्यै नष्ट हुनेछैनन् (यूहन्ना ६:३७-४०; १०:२७-३०)। परमेश्वरले हामीलाई मुक्ति दिनु मात्र हुँदैन तर हामीलाई बचाएर राखिराख्नु पनि हुन्छ। साँचो विश्वासी कहिल्यै पनि घातक तरिकाले र पूर्ण रूपले विश्वासबाट हट्दैन (यद्यपि उसको जीवनमा विश्वासको गम्भीर ह्रासहरू हुन सक्छन्)। यो कुरा लूका २२:३१-३२ मा सफासँग सिकाइएको छ। पत्रुसको जीवनमा विश्वासको गम्भीर ह्रास आएको थियो र आफ्नो परमेश्वरलाई समेत इन्कार गर्यो, तर ख्रीष्टको अन्तर्विन्तीको लागि धन्यवाद, उसको विश्वास टुटेन! त्यहाँ कमजोरीपन र परिक्षा अनि विफलताका समयहरू भए तापनि, हामीले विश्वास गरिरहौं भनेर परमेश्वरले हाम्रा हृदयहरूमा काम गर्नुहुन्छ: “अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ” (१ पत्रुस १:५)। यो कुरालाई प्रेरित २७:२२-३१मा सफासँग देखाइएको छ। ती मानिसहरूको कुशलता र सुरक्षा परमेश्वरद्वारा पहिल्यै नै बताइएको र प्रतिज्ञा गरिएको अनि निश्चयता गरिएको थियो (प्रेरित २७:२२,२४,२५) तरैपनि जहाजभित्र राख्नु नै उनीहरूलाई सुरक्षित राख्नको निम्ति परमेश्वरको तरिका थियो (३१ पद)। “विश्वासको जहाज”मा भएका मानिस (साँचो विश्वासी)हरूलाई परमेश्वरद्वारा सुरक्षाको प्रतिज्ञा र निश्चयता दिइएको छ (यूहन्ना १०:२७-३०), तरैपनि हामीलाई जहाज छोडेर जानुको (विश्वासबाट हटेर जानुको) खतराको बारेमा दोहोरो चेतावनीहरू दिइरहनु नै हामीलाई सुरक्षित राख्नको निम्ति परमेश्वरको तरिका हो। त्यस प्रकारका चेतावनीहरू (कलस्सी १:२३; प्रेरित १३:४३; प्रेरित १:२२मा भएझैं) विश्वासीलाई ख्रीष्टमा सँधैको निम्ति सुरक्षित र कुशल राख्नलाई परमेश्वरद्वारा प्रयोग गरिन्छन्। साँचो विश्वासी सदाको निम्ति विश्वासको जहाजमा रहिरहन्छ। ऊ चािहँ जहाजको तखतामा बेस्सरी पच्छारिन सक्छ (पत्रुसझैं), तर ऊ कहिल्यै पनि जहाजबाट बाहिर खस्नेछैन!

रोमी ११:२३-२४

पावल अब भविष्यमा हुने इस्राएल जातिको पुनःस्थापनासित सम्बन्धित मुख्य बुँदामा फर्कन्छन् (पद १२ र १५ तुलना गर्नुहोस्)। “तिनीहरू” ले इस्राएल (यहूदीहरू) लाई जनाउँछ। आज यहूदीहरू अविश्वासमा छन् (उनीहरूमध्य अधिकांश, यद्यपि सबै ता होइन), अनि यही कारणले गर्दा उनीहरू जैतुनको रूखका अङ्ग रहेका छैनन्। तर उनीहरू अविश्वासमा रहेनन् भने (अर्थात् उनीहरूले ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गरे भने), उनीहरू जैतुनको रूखमा फेरि कलम गाँसिनेछन् र फेरि पनि आशिषको स्थानमा हुनेछन् (पद १७)। तिनीहरू अविश्वासको कारणले हटाइएका थिए (पद २०) र तिनीहरू विश्वास गरेर फेरि फर्कन सक्छन् (पद २३)। तिनीहरूलाई हटाउनुहुने र भाँच्नुहुने परमेश्वर अवश्य पनि तिनीहरूलाई फेरि कलम गाँस्न सक्नुहुन्छ। वास्तवमा, स्वाभाविक हाँगाहरूलाई कलम गाँस्ने काम जङ्गली हाँगाहरूलाई कलम गाँस्नु जति असाधारण काम होइन। जुन काम परमेश्वरले अन्यजातिहरूलाई गर्नुहुन्छ त्यो “स्वभावको विपरीत” काम हो। झन् कति बढ्ता गरी यहूदीहरू (स्वाभाविक हाँगाहरू) तिनीहरूको आफ्नै जैतुन रूखमा कलम गाँसिनेछन्? भन्नुपर्दा, तिनीहरूको स्थान त्यहीँ नै हो!

कलमगाँस्ने बारेमा नोट: कलम गाँस्नु (कृया)को अर्थ कुनै विरुवा वा वृक्षको मुना वा कोपिलालाई कलमको रूपमा कुनै अर्को विरुवा वा वृक्षमा गाँस्नु हो, जहाँ उक्त कलम, स्थायी अङ्गको रूपमा बढ्न थाल्छ।
“जैतुनको रूख प्राय: जसो जङ्गली रूखझैं हुर्कन्छन्, र त्यसैले मानिसलेतिनको खेती गर्नुपर्दा, त्यहाँ कलम गाँस्ने काम गरिनुपर्छ। विकासी जैतुनको रूखको कलम जङ्गली जैतुनको रूखको मूल डाँठमा गाँसिन्छ, र त्यसपछि जङ्गली जैतुनको रूखलाई जमिनबाट अलिकति मास्तिर काटेर ढालिन्छ, र तल्लो भागचाहिँ जरा र गाँसिएको कोपिलाको निम्ति पोषक बन्दछ। कलम गाँस्ने प्राचीन चलनचल्तीको प्रकृया यही हो। प्रेरित पावलले भने, आफ्नो तर्कको खातिर, कलम गाँस्ने प्रकृयालाई प्राकृतिक प्रकृयाभन्दा त्यसविपरीतको प्रकृयाको रूपमा लिएर आफ्नो चर्चालाई प्रस्तुत गर्छन्। तिनले अन्यजातिहरूको जङ्गली जैतुनलाई परमेश्वरले यहूदी जातिको असल कलमी डाँठमा कलम गाँस्नुभएको बारेमा बताउँदैछन्, जुनचाहिँ विपरीत चलनचल्ती हो (रोमी ११:२४)” (MannersandCustoms of Bible Lands, by Fred H. Wight)

रोमी ११:२५

रोमका विश्वासीहरू वर्तमान युगमा इस्राएलको आंशिक अन्धापनाको बारेमा अनजान रहेको पावल चाहँदैनथे। नयाँ नियमको रहस्य भनेको त्यो हो जसलाई छिपाइएको, गोप्य राखिएको थियो र विगतका युगहरूमा मानिसहरूलाई प्रकट गरिएको थिएन तर अब यस युगमा नयाँ नियमका प्रेरित र अगमवक्ताहरूद्वारा प्रकट गरिएको छ र थाह गराइएको छ (एफेसी ३:४-५; ३:९; कलस्सी १:२६; रोमी १६:२६)। जुन कुरा पावलले रोमका विश्वासीहरूले जानेको चाहन्थे त्यो यस्तो कुरा थियो जुन कुरा पहिलेका युगकाहरूलाई केही थाह थिएन। मोशा, दाऊद र यशैयालाई पावलले यहाँ बताइरहेका कुराको बारेमा केही जान्दैनथे। पावलले एउटा विशेष कुराको बारेमा चर्चा गर्दैछन् जुन कुरा परमेश्वरले यस युगमा, ख्रीष्टका दुई आगमनहरूको अन्तरालमा, अन्यजातिहरूको बीचमा गर्दैहुनुहुन्छ (दाँज्नुहोस् प्रेरित १५:१४),जुनअन्तरालमा इस्राएल अन्धाअवस्थामा छ। इस्राएलको अन्धापनाको बारेमा २ कोरिन्थी ३:१४-१६ मा हेर्नुहोस्। यो अन्धापना यहूदी व्यक्तिहरूबाट हटाइनु सम्भव छ जब तिनीहरू प्रभु येशूकहाँ फर्कन्छन्; यो अन्धापना इस्राएल जातिबाटै चाहिँ उहाँको दोस्रो आगमनको समयमा हटाइनेछ जुन बेला इस्राएल जाति प्रभुकहाँ फर्कनेछ (२ कोरिन्थी ३:१६ र रोमी ११:२६)। अन्यजातिहरू घमन्डले फुलेको पावल चाहँदैनथे (“तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान् ठानौला भनेर”), र त्यस्तो हुनदेखि जोगिन अन्यजाति विश्वासहरूले इस्राएलको निम्ति परमेश्वरको वर्तमान र भविष्यको योजना बुझ्नु खाँचो छ। इस्राएलको अन्धापनाको बारेमा पावलले दुईटा मुख्य बुँदा प्रस्तुत गर्छन्: १) उसको अन्धापना आंशिक अन्धापना हो, पूर्ण अन्धापना होइन। यद्यपि धेरैजसो यहूदीहरू आज अन्धा छन्, सबै यहूदीहरू अन्धा छैनन्। कोही यहूदीहरू छन् जोहरू ज्यादै सफा देख्छन् किनकि तिनीहरूले येशूलाई आफ्नो मसीहको रूपमा ग्रहण गरेका छन्; २) उसको अन्धापना अस्थायी हो, स्थायी होइन। त्यो चाहिँ “जबसम्म अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन तबसम्म” रहने कुरा हो (पद २५)। “अन्यजातिहरूको पूर्ण सङ्ख्या” के हो? आज ख्रीष्ट आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ, जो चाहिँ मुख्य गरी अन्यजातिहरूले बनेको छ। परमेश्वरले आफ्नो संसारका जातिहरूसँग भेट गर्दै हुनुहुन्छ उनीहरूको बीचबाट एउटा जाति निकाल्नलाई (प्रेरित १५:१४)। भविष्यको एक समयमा आएर (जुन समय परमेश्वरलाई मात्र थाह छ), अन्यजातिहरूको पूर्ण सङ्ख्या भित्र आइसक्नेछ (अर्थात् परमेश्वरले आफ्नो मण्डलीमा समावेश गर्न चाहनुभएकाहरू सबै नै जम्मा पारिएपछि, बचाइएपछि)।

“अन्यजातिहरूको पूर्ण सङ्ख्या” (रोमी ११:२५) लाई “अन्यजातिहरूको समयहरू” सित अलमल नगर्नुहोस् (लूका २१:२४)।

१) अन्यजातिहरूको पूर्ण सङ्ख्याभन्ने कुराचाहिँ यस वर्तमान युगको समयमा मण्डलीसितको अन्यजातिहरूको सम्बन्धको विषय हो। परमेश्वरले आफ्नो मण्डलीमा दिनहुँ मुक्ति पाएकाहरूलाई थप्ने काम गर्दै हुनुहुन्छ (प्रेरित २:४७), अनि प्रमुख रूपमा यस शरीरमा थपिँदै गरेकाहरू चाहिँ अन्यजातिहरू हुन् यद्यपि केवल अन्यजातिहरू मात्र ता होइनन्। जब अन्यजातिहरूको पूर्ण सङ्ख्या भित्र आउँछ, तब मण्डलीको उठाइलगिने कार्य (र्याप्चर) हुन्छ (ख्रीष्टको शरीर त्यसको पूर्णतामा पुग्नेछ!)।

२) अन्यजातिहरूको समयचाहिँ इस्राएल जातिसितको अन्यजातिहरूको सम्बन्धको विषय हो। लूका २१:२४ मा जसरी भनिएको छ — “अन्यजातिहरूका समयहरू पूरा नहोउन्जेल यरूशलेमचाहिँ अन्यजातिहरूद्वारा कुल्चीमिल्ची गरिनेछ।” स्कोफिल्डले यस समयावधिलाई यस प्रकारले बयान गर्छन्:
“अन्यजातिहरूका समयहरू त्यो लामो समयावधि हो जसको सुरुआत नबुकदनेजर राजाको शासनकालमा यहूदाको बेबिलोनी कैदबाट सुरु भयो; यस समयावधिको अन्तचाहिँ ‘कसैका हातहरूबिना काटिएको एउटा ढुङ्गा’ (दनियल २:३४,३५,४४), अर्थात् प्रभुको महिमापूर्ण आगमनद्वारा (प्रकाश १९:११,२१) अन्यजातिहरूको विश्व-शक्तिको विनाश भएर टुङ्गिन्छ, जुन समय नआएसम्म चाहिँ यरूशलेम राजनीतिक रूपमा अन्यजातिको शासनमुनि हुन्छ (लूका २१:२४)।”
“अन्यजातिहरूको पूर्ण सङ्ख्या” कोसम्बन्धमा, विश्वासीहरू मिलेर बनेको शरीर पूरा नभएसम्म बचाइँदै गरेका र मण्डलीमा थपिँदै गरेकाहरू चाहिँ अन्यजातिहरू हुन्। “अन्यजातिहरूका समयहरू” को सम्बन्धमा, ख्रीष्टको दोस्रो आगमनसम्म यरूशलेममाथि शासन गर्ने र नियन्त्रण गर्नेहरू चाहिँ अन्यजातिहरू हुन्। यी दुई वाक्यांशहरू उस्तै-उस्तै सुनिए तापनि ती दुईलाई छुट्ट्याइनुपर्छ (तर कति पटक क्रस-रेफरेन्स बाइबलहरू आदिमा रोमी ११:२५ लाई लूका २१:२४ सित एउटै भए झैं जोडिएको पाइन्छ)। हामीले फरक कुराहरूको बीच भिन्नता राख्नुपर्छ।

रोमी ११:२६

अन्यजातिहरूको पूर्ण सङ्ख्यापछि (पद २५) इस्राएलको पूर्णता आउनेछ (पद १२, पद २६ “सारा इस्राएल बचाइनेछ”। यस पदले प्रस्टै इस्राएल जातिको भविष्यमा हुने मुक्तिको भविष्यवाणी गर्दछ। साथै त्यो कहिले हुनेछ भनेर पनि यसले बताउँछ: त्यस बेला जब महान् उद्धारक सियोनबाट निस्केर आउनुहुनेछ (जुनचाहिँ येशू ख्रीष्टको दोस्रो आगमनको स्पष्ट उल्लेख हो — दाँज्नुहोस् यशैया ५९:२०)। इस्राएलको उज्यालो भविष्य छ। यो ध्यानमा राखिनुपर्छ कि इस्राएल जाति आज एक भक्तिपूर्वक जिउने जाति होइन। यो एक विश्वास नगर्ने जातिको रूपमा छ, अनि अधिकांश रूपमा परमेश्वरलाई इन्कार गर्ने जातिको रूपमा छ (जसले पुत्रलाई आदर गर्दैनन् उनीहरूले पितालाई आदर गर्दैनन् — यूहन्ना ५:२३, अनि जसले पुत्रलाई इन्कार गर्छन् उनीहरूसित पिता हुँदैन — १ यूहन्ना २:२३)। तर एउटा दिन आउँदैछ जब ख्रीष्ट उद्धारकले यस जातिबाट अभक्ति हटाउनुहुनेछ र इस्राएल एक परमेश्वरको भय मान्ने र परमेश्वरको आदर गर्ने जाति बन्नेछ।

रोमी ११:२७

इस्राएलले सामूहिक (राष्ट्रिय) रूपमा मुक्ति पाउनेछ भन्ने कुरा (पद २६) यस जातिसित परमेश्वरले गर्नुभएको एउटा विशेष करार (वाचा) द्वारा पक्का गरिएको कुरा थियो। उक्त करार (वाचा) मा एउटा प्रबन्ध के गरिएको थियो भने इस्राएलका पापहरू हटाइनेछन्। कुनचाहिँ करार (वाचा) थियो यो? स्पष्टै रूपमा यो त नयाँ करार(वाचा) हो जसको बारेमा हामी यर्मिया ३१:३१-३४ मा पढ्छौं (पद ३४ को अन्ततिर पढ्नुहोस् जहाँ एउटा उल्लेखनीय प्रतिज्ञा गरिएको छ, “म तिनीहरूको अधर्म क्षमा गर्नेछु, र तिनीहरूको पाप म फेरि कहिल्यै सम्झनेछैनँ।” पद २७ मा “तिनीहरूसित” र “तिनीहरूका” ले पद २६ को “इस्राएल” र “याकूब” लाई जनाउँछ। यर्मिया ३१:३१ ले छर्लङ्गै देखाउँछ कि नयाँ करारचाहिँ इस्राएल र यहूदाका दुवै घरानासित बाँधिएको करार हो (तसर्थ यसले सम्पूर्ण इस्राएल जातिलाई समेट्छ)। यस पदले नयाँ नियमको तर्फबाट यो प्रमाण दिन्छ कि परमेश्वरले आफ्ना नयाँ करारका प्रतिज्ञाहरू भविष्यमा इस्राएल जातिसित पूरा गर्नुहुनेछ।

टिप्पणी: धेरैजानले यस्तो सिकाउँछन् कि इस्राएल जातिसित परमेश्वरको अब कुनै सरोकार छैन र परमेश्वरले आफ्नो नयाँ करारका प्रतिज्ञाहरू यस जातिसित पूरा गर्नुहुनेछैन। उनीहरू सिकाउँछन् कि मण्डली नै “परमेश्वरको साँचो इस्राएल” हो र नयाँ करारका प्रतिज्ञाहरू मण्डलीमा पूरा हुँदैछन् जुन कुरा पुष्टि गर्न उनीहरू मत्ती २६:२८; २ कोरिन्थी ३:१-८ र हिब्रू ८:६-१३; १०:१६-१७ जस्ता खण्डहरू प्रस्तुत गर्छन्। यस युगका विश्वासीहरू नयाँ करारका आत्मिक आशिषहरूको भागीदार हुन्छन् भन्ने कुरा सत्य हो (माथि उल्लेखित खण्डहरू हेर्नुहोस्), इस्राएलमा डाहा पैदा गर्न (रोमी ११:११ अन्तर्गतको टिप्पणी हेर्नुहोस्), तरैपनि यो पनि सत्य हो कि इस्राएलले उसलाई प्रतिज्ञा गरिएका नयाँ करारका आशिषहरू सबै प्राप्त गर्नेछ जब ख्रीष्ट फर्कनुहुनेछ, जसरी रोमी ११:२६-२७ मा सिकाइएको छ। भन्नुपर्दा, पद २८-२९ ले परमेश्वरले यी प्रतिज्ञाहरू इस्राएललाई पूरा गर्न विफल हुनु असम्भव कुरा हो भनेर देखाउँछन्। इस्राएल परमेश्वरको सामु एक जाति हुन छोड्नु हो भने त्यसभन्दा पहिले के कस्तो कुरा हुनु आवश्यक छ भनेर परमेश्वरले यर्मियाद्वारा भन्नुभएको कुरालाई ध्यानपूर्वक विचार गर्नुहोस् — यर्मिया ३१:३५-३७ र यर्मिया ३३:१९-२६। यहूदी-विरोधी (anti-Semetic) हरूलाई यो निकै ठूलो चुनौती हो! इस्राएललाई निमिट्ट्यान्न पार्न चाहनेहरूलाई परमेश्वरबाटको यो रोचक चुनौती हो!

रोमी ११:२८

सुसमाचारको सम्बन्धमा, यहूदीहरू शत्रुहरू हुन्; चुनाउको सम्बन्धमा, यहूदीहरू परमेश्वरद्वारा चुनिएका हुन् र उहाँका अपरिवर्तनीय प्रतिज्ञाहरूका पात्र हुन् जुन प्रतिज्ञाहरू उहाँले अब्राहाम, इसाहक र याकूबसित गर्नुभयो। सुरुको मण्डलीका दिनहरूमा (जस्तो प्रेरितको पुस्तकमा देख्न सकिन्छ) सुसमाचार प्रचारमाथि सबभन्दा ठूलो विरोध आएको भनेको विश्वास नगर्ने यहूदीहरूबाट थियो। यो कुरा सायद सबभन्दा प्रस्टसित १ थेस्सलोनिकी २:१४-१६ मा देख्न सकिन्छ (यी ज्यादै कडा शब्द हुन्, तर याद गर्नुहोस् यी शब्द तिनै प्रेरितद्वारा लेखिएका हुन् जसले रोमी ९:१-४ र १०:१ लेखे)। कुनै-कुनै यहूदीहरूको अविश्वास र वैरभावले आफूले चुन्नुभएको जातिसित गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई अदल-बदल गर्दैन (व्यवस्था ७:६-८ र व्यवस्था १०:१५ हेर्नुहोस्)। यहूदीहरूप्रति आज हाम्रो मनोभाव कस्तो हुनुपर्छ भन्ने कुरा देखाउनलाई रोमी ११:२८ ले हामीलाई धेरै मदत गर्दछ। एकातिर हामीले उनीहरूले गरेको भूललाई न्यूनीकरण गर्न वा ढाकछोप गर्न सक्दैनौं। हामी यति साह्रो “इस्राएल-पक्षी” हुनुहुन्न कि उनीहरूले कुनै भूल गर्दैनन् जस्तो गरी हामी बहाना गरौं। परमेश्वरले यस जातिबाट अभक्ति हटाउनुभएको छैन (पद २६ हेर्नुहोस्) र यहूदी जनहरूद्वारा थुप्रै नै अभक्तिका क्रियाकलापहरू भएका छन्। अर्कोतिर, परमेश्वरको योजना र कार्यक्रममा यस जातिको ज्यादै विशेष स्थान छ भन्ने कुरा हामी बिसर्नु हुँदैन, अनि उत्सुकतासाथ हामी यस जातिलाई परमेश्वरले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरा जानेर त्यसको बाटो हेर्नुपर्छ। मोशा र बालामका दिनहरूमा इस्राएल जातिलाई श्राप दिने त्यहाँ प्रयास गरिएको थियो, तर जहाँ परमेश्वरले आशिष दिनुभएको छ, मान्छेले श्राप दिन सक्दैन (गन्ती २३:२० हेर्नुहोस्) किनभने परमेश्वरले जे जति बोल्नुभएको छ र प्रतिज्ञा गर्नुभएको छ उहाँले ती कुरा पूरा गर्नुहुन्छ नै (गन्ती २३:१९ हेर्नुहोस्)!

रोमी ११:२९

कारण यहाँ छ, किन इस्राएल परमेश्वरको सामु प्रिय जाति रहिरहेको छ! “किनकि परमेश्वरका अनुग्रहका दानहरू र बोलावट नउल्टिने हुन्छन्।” परमेश्वरले आफ्नो मन बदल्नुहुनेछैन र उहाँले इस्राएलको निम्ति आफ्नो भविष्यको योजना र कार्यक्रम बदल्नुहुनेछैन। यस जाति प्रति परमेश्वरको वचनबद्धता (commitment) अटल र रद्द गर्न नसकिने (irrevocable) छ, (त्यो यस्तो छ कि परमेश्वरले त्यो कुरा फिर्ता लिनुहुनेछैन!)। परमेश्वरले आफ्नो मन बदल्नुहुनेछैन! परमेश्वरले आफ्नो वचन अर्थात् अब्राहाम, इसाहक र याकूबलाई दिनुभएका प्रतिज्ञाहरू बदल्नुहुनेछैन। परमेश्वरले यस जातिलाई आफ्नो वचन (वचनबद्धता) दिनुभएको छ र उहाँले त्यसलाई तोड्नुहुनेछैन।

रोमी ११:३०-३२

यस पदमा अन्यजातिहरूको विषयमा चर्चा गरिँदैछ (“तिमीहरू” = अन्यजातिहरू) र यसपछिको पदमा यहूदीहरूको चर्चा गरिँदैछ (“तिनीहरूले” र “तिनीहरूले” (पद ३१) =  यहूदीहरू)। यी पदमा “विश्वास” भन्ने शब्द वास्तवमा “आज्ञापालन” भन्ने शब्द हो। जसरी न्यूवेलले भनेका छन्
हाम्रो अन्यजाति इतिहासलाई छोटकरीमा यसरी बयान गर्न सकिन्छ, “परमेश्वरप्रति अनाज्ञाकारी” तर हाम्रो वर्तमान ओहोदालाई यसरी बयान गर्न सकिन्छ, “कृपा पाएको”।
परमेश्वर दयनीय र नालायकहरूप्रति कृपालु हुन रूचाउनुहुन्छ! पद ३१ मा हामी सिक्छौं कि आज यहूदीहरू अनाज्ञाकारी र अविश्वासी छन्, तर भविष्यमा उनीहरूले पनि कृपा पाउनेछन्। इस्राएलको अविश्वासद्वारा अन्यजातिहरूले अहिले कृपा पाउँछन् (पद ३०); परमेश्वरको कृपा अन्यजातिहरूलाई देखाइएकोले एकदिन इस्राएलले कृपा पाउनेछन् (पद ३१)। रोमी ११:११ पनि हेर्नुहोस् जहाँ हामी यही सत्यता पाउँछौं (इस्राएल लोट्छन् ताकि मुक्ति अन्यजातिहरूलाई आओस्; अन्यजातिहरूले इस्राएलमा डाहा पैदा गर्दछ ताकि इस्राएलले मुक्ति पाउन सकोस्!)। केवल उहाँको क्रोध मात्र पाउन लायकहरूमाथि परमेश्वरको कृपा पोख्याइन्छ (पद ३२)!

रोमी ११:३३-३६

पावलले यहाँ एउटा प्रशंसाको उद्गारसहित यस खण्डलाई अन्त गर्छन्, परमेश्वरको खोजेर नसकिने बुद्धिको कारण उनी उल्लसित भई परमेश्वरलाई स्तुति चढाउँछन्। रोमी ९:१९-२० मा परमेश्वरसित सवाल-जवाफ गर्ने व्यक्तिसित पावलका शब्दलाई दाँज्दा त्यहाँ ठूलो अन्तर देखिन्छ। हृदयको नम्रतामा पावल परमेश्वरको उपासना गर्छन्, यो स्वीकार गर्दै कि त्यहाँ परमेश्वरको बारेमा र परमेश्वरका मार्गहरूको बारेमा धेरै कुरा छन् जो उनी बुझ्दैनन्, तरैपनि यो उनी पूर्ण निश्चयतामा जान्दछन् कि परमेश्वरले जो सिद्ध रूपमा बुद्धिमानी छ र सर्वोत्तम छ त्यो मात्र गर्नुहुन्छ। परमेश्वरलाई मानवीय सल्लाहकारहरूको आवश्यकता पर्दैन! बरु हामी उहाँको सामु झुक्नुपर्छ र उहाँको सल्लाहको अधीनतामा आफूलाई सुम्पनुपर्छ! परमेश्वर महान् शिक्षक हुनुहुन्छ। हामी उहाँलाई सिकाउँदैनौं, तर उहाँले हामीलाई सिकाउनुहुन्छ (पद ३४)। परमेश्वर नै महान् दाता हुनुहुन्छ। हामीसँग के छ र जो हामीले उहाँबाट पाएनौं? (१ कोरिन्थी ४:७ सित दाँज्नुहोस्)। परमेश्वर हामीप्रति ऋणी हुनुहुन्न, हामी उहाँप्रति ऋणी छौं!

अन्तिम पद (पद ३६) मा हामी देख्छौं पावलको सोचाइ र परमेश्वर सम्बन्धी उसको ज्ञान कति परमेश्वर-केन्द्रित थियो (तुलनामा आजका थुप्रै मानवीय, मानव-केन्द्रित दृष्टिकोण र तरिकाहरू पावलका भन्दा धेरै भिन्न छन्):

“उहाँबाट” — परमेश्वर सबै कुराका श्रोत हुनुहुन्छ। उहाँ सबै कुराका सुरु हुनुहुन्छ। सबै कुरा उहाँबाटै आउँछन्। सबै कुराको थालनी उहाँबाटै हुन्छ। उहाँ अल्फा (ग्रीक वर्णमालाको पहिलो अक्षर), सुरु हुनुहुन्छ!
“उहाँद्वारा” — सबै कुरा परमेश्वरबाट भएरै जान्छन्। उहाँ सबै कुराका माध्यम हुनुहुन्छ। उहाँ सबै कुरासित पूरै संलग्न वा सरिक हुनुहुन्छ। कुनै पनि कुरा उहाँको योजना र मनसायभन्दा बाहिर पर्न सक्दैन। सबै कुराको प्रवाह उहाँद्वारै हुनुपर्छ र उहाँबिना कुनै पनि कुरा गरिनु सम्भव छैन।
“उहाँकै निम्ति” — सबै कुराको लक्ष्य उहाँ हुनुहुन्छ। सबै कुरा परमेश्वरमा टुङ्गिनुपर्छ। उहाँ नै सबै कुराको अन्तिम उद्देश्य र लक्ष्य हुनुहुन्छ। उहाँ अल्फा मात्र हुनुहुन्न, उहाँ ओमेगा पनि हुनुहुन्छ; उहाँ सुरु मात्र हुनुहुन्न, उहाँ अन्त पनि हुनुहुन्छ! उहाँ प्रथम मात्र हुनुहुन्न, उहाँ अन्तिम पनि हुनुहुन्छ! यसो भन्नु बाहेक हामी अरू के भन्न सक्छौं र — “उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन!” (पद ३६)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)