Entries by Pradesh Shrestha

रोमी १४:७-१२

रोमी १४:७-१२

 

रोमी १४:७-९

हामी जे गर्दछौं त्यो महत्त्वपूर्ण छ र हरेक विश्वासी आफ्नै मनमा पूरा निश्चित हुनुपर्छ। हामी जे गर्छौं त्यो कसरी गर्छौं अझ महत्त्वपूर्ण छ, र हरेक विश्वासीले यो निश्चित गर्नुपर्छ कि उसले जे गर्दछ त्यो प्रभुको निम्ति गरोस्। खास कुरा यो तथ्य हो कि “हामी प्रभुका हौं”। हामी आत्मा, प्राण र शरीर उहाँका हौं! उहाँ हाम्रो मालिक हुनुहुन्छ र हामी उहाँका दासहरू हौं। यो नै हाम्रो ख्रीष्टिय स्वतन्त्रता हो: हामी उहाँका प्रेमका दासहरूको रूपमा ख्रीष्टको सेवा गर्न स्वतन्त्र छौं! कुनै पनि विश्वासी “आफ्नै निम्त??” (पद ७) जिउँदैन। किन? यसको कारण २ कोरिन्थी ५:१४-१५ मा बताइएको छ, “किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं – सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनुहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ, जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो।” हामी अबदेखि उसो हाम्रो आफ्नै निम्ति जिउनु हुँदैन। हामीले मुक्ति नपाएको बेलामा आफ्नो सारा जीवन त्यसरी बितायौं (१ पत्रुस ४:१-२)। बरु हामी उहाँको निम्ति जिउनुपर्छ जो हाम्रो निम्ति मर्नुभयो र बौरेर उठ्नुभयो।

ख्रीष्टिय जीवन जिउनु भनेको उहाँको लेखि जिउनु हो — अर्थात् उहाँको सेवा गर्नु, उहाँको आदर गर्नु, उहाँलाई खुशी पार्नु, खुशीसित उहाँको आज्ञा पालन गर्नु हो। हामीले उहाँको महिमा गर्नुपर्छ चाहे जीवनद्वारा चाहे मृत्युद्वारा (हेर्नुहोस्, फिलिप्पी १:२०-२३)। हाम्रो मृत्युसमेत उहाँको निम्ति गरिने एउटा सेवा गनिनुपर्छ (दाँज्नुहोस् यूहन्ना २१:१९)। हाम्रो मराइ र जिआइ उहाँकै हातमा छन् किनकि हामी उहाँका हौं। हाम्रा दिनहरू र आयु उहाँकै शासनमुनि छन्। मृत्युले यस सम्बन्धलाई बदल्दैन। हामी जीवित छँदा उहाँ नै हाम्रो प्रभु हुनुहुन्छ। हामी मर्दा उहाँ नै हाम्रो प्रभु हुनुहुन्छ। भन्नुपर्दा, मृत्युले यस सम्बन्धलाई अझ उत्तम बनाउँछ किनकि बिदा लिनु र ख्रीष्टसँग रहनु अति उत्तम (“far better”) हो (फिलिप्पी १:२३) र यसलाई “लाभ” ठानिन्छ (फिलिप्पी १:२१), अनि शरीरबाट अलग हुनु त प्रभुसित रहनु हो (२ कोरिन्थी ५:८)। उहाँ प्रभु हुने उद्देश्यले ख्रीष्ट मर्नुभयो र बौरनुभयो र फेरि जीवित हुनुभयो (फिलिप्पी २:९-११)।

१) म आफ्नै प्रभु होइन (१ कोरिन्थी ६:१९-२०)
२) म आफ्ना सङ्गी विश्वासीहरूमाथि प्रभु र न्यायकर्ता होइन (रोमी १४:१०)।
३) उहाँ प्रभु हुनुहुन्छ र म उहाँको सेवक हुँ र प्रेमको दास हुँ, म आफ्ना सङ्गी विश्वासीहरूसँगै सेवा गर्दैछु, उहाँप्रति र केवल उहाँप्रति मात्र जवाफदेही छु!

रोमी १४:१०

यस पदको मनसाय पद ३ सित जोडिएको छ। पद ३ मा कमजोर विश्वासीलाई अर्को विश्वासीको न्याय नगर्न भनिएको थियो र बलियो विश्वासीलाई कमजोर विश्वासीलाई तुच्छ नठान्न भनिएको थियो। विश्वासीहरूले अरू विश्वासीहरूको न्याय गर्नु हुँदैन र उनीहरूलाई हेलाको दृष्टिले हेर्नुहुन्न। पद ६ को प्रकाशमा यो सम्झना गर्नुहोस् कि तपाईंले न्याय गर्ने वा हेला गर्ने व्यक्ति त तपाईंको भाइ हो। उसको ठीक मनोभाव छ, ठीक हृदय छ, उसले प्रभुको सेवा गर्दैछ र धन्यवाद दिँदैछ। उसको अभिप्राय ठीक छ। ऊ तपाईंको शत्रु होइन। उसलाई सहायता गर्न र उसको उन्नति गर्न र उसको निम्ति उदाहरण बन्न खोज्नुहोस्, तर उसलाई न्याय नगर्नुस् वा उसलाई तल्लो दर्जामा नराख्नुस्। प्रभु येशू ख्रीष्ट आफै हरेक साँचो विश्वासीको न्याय बन्नुहुनेछ: “किनकि हामी सबै ख्रीष्टको न्यायआसको सामु उभिनेछौं।”

“हामी” — सन्दर्भमा यसले केवल विश्वासीहरूलाई जनाउँदछ, जोहरूले “हामी प्रभुकै हौं” भन्न सक्छन् (पद ८)।
“सबै” — यो न्याय सबै विश्वासीहरूलाई समेट्ने न्याय हो; एउटै पनि छुट्नेछैन।
“उभिनेछौं” — यो भविष्यमा हुने घटना हो जुन घटना मण्डलीको र्याप्चरको लगत्तै पछि हुनेछ (दाँज्नुस् १ यूहन्ना २:२८)।
“हामी सबै उभिनेछौं” — यो एउटा प्रतिज्ञा हो। हामीमध्ये एक-एक नै त्यहाँ उभिनेछौं। यो पक्का (ग्यारेन्टीको) कुरा हो।
“उभिनेछौं” — एउटा न्यायकर्ताको सामु उभिनु वा देखा पर्नु (दाँज्नुस् प्रेरित २७:२४ जहाँ उही क्रियापद प्रयोग भएको छ — पावल सिजरको सामु उभिनैपर्छ, जुन सिजर त्यसबेलाको समयमा सबैभन्दा उच्च मानव न्यायकर्ता थियो)।

हरेक विश्वासी आफ्नो लेखा दिनलाई उभिने कुन न्यायधीशको सामु हो? उक्त न्यायधीश ख्रीष्ट स्वयं हुनुहुन्छ। यो ख्रीष्टको न्यायआसन हो। ख्रीष्ट न्यायको सिंहासनमा बस्नुभएको छ। यस तथ्यले येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर स्पष्ट देखाउँछ। ख्रीष्ट यहाँ हरेक विश्वासीको अन्तिम न्यायधीश हुनुहुन्छ भनी बताइएको छ, जसको सामु हामी हाम्रा हरेक शब्द, विचार वा कामका लागि जवाफदेही हुनेछौं। परमेश्वर पिताले सबै न्याय पुत्र परमेश्वरलाई सुम्पनुभएको छ (हेर्नुस् यूहन्ना ५:२२,२७)।

“न्यायआसन” भन्ने शब्द ग्रीकमा “बेमा” भन्ने शब्द हो। हरेक विश्वासी ख्रीष्टको “बेमा” को सामु उभिनुपर्छ। अनुवाद ठीक छ। यसको माने एउटा न्याय आसन हो, एउटा आसन जसमा एक न्यायधीश बस्दछन्। सामान्यतया त्यो एउटा उठाइएको ठाउँ हुन्थ्यो, कहिलेकाहिँ सिँढी चढेर जाने गरी बनाइन्थ्यो। “बेमा” लाई हाम्रा वर्तमान अड्डा अदालतमा रहने न्यायधीशको कुर्सीसित तुलना गर्न सकिन्छ जो सामान्यतया कक्षको अन्य कुनै पनि कुर्सीभन्दा उच्च तहमा अवस्थित हुन्छ। “बेमा” लाई ओलम्पिक खेलकुदको सन्दर्भमा पनि प्रयोग हुने गरिन्थ्यो। खेलकुदको न्यायधीशले प्रतियोगिताका विजेता (दौडने, कुस्ती खेल्ने वा अन्य) लाई “स्टेफानोस्” (मुकुट) प्रदान गर्दथे। “बेमा” शब्दावली नयाँ नियममा १२ पटक उल्लेख छ। पिलातस आफ्नो न्यायआसनमाथि बसे जब उनले ख्रीष्टको न्याय गरे (मत्ती २७:१९)। प्रेरित २५:६ मा पावल सिजरियाको फेस्टसको न्यायआसनमा बसे। पछि पावल सिजरको न्यायआसनका सामु उभिए (प्रेरित २७:२४)।

पावल फरक-फरक न्यायआसनका सामु उभिने अनुभव भएर गरे, तर पावललाई एउटै मात्र बेमाको खास मतलब थियो अर्थात् ख्रीष्टको न्यायआसन! “यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछौं।” (२ कोरिन्थी ५:९)। “अँ, साँच्चै मेरा प्रभु येशू ख्रीष्टको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु; उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपेँ, अनि ख्रीष्टलाई प्राप्त गरूँ र उहाँमा भेट्टाइन सकूँ भनेर म तिनीहरूलाई कसिङ्गर ठान्छु।” (फिलिप्पी ३:८)।

त्यसोभए यस पदमा पावल के भन्न खोज्दैछन्? तिमी किन आफ्नो भाइको न्याय गर्दैछौ? न्यायधीश तिमी होइनौ, ख्रीष्ट हुनुहुन्छ! तिम्रो भाइ मात्र होइन, तिमी पनि न्याय गरिनेछौ! तिमीले त्यस दिन ख्रीष्टबाट “स्याबास” र इनाम पाउन सकूँ भनेर तिमीले आफ्नै विषयमा फिक्री गर!

याद गरौं, ख्रीष्टको न्यायआसनको सम्बन्धमा कुरा गर्दाखेरि हामी अनन्त दण्डमा पुर्याउने खालको दोषी ठहराउने न्यायको कुरा गरिरहेका छैनौं। विश्वासी जन ख्रीष्ट येशूमा अवस्थित छ र ख्रीष्टमा उसको निम्ति कुनै दण्डको आज्ञा छैन (हेर्नुस् रोमी ८:१ र यूहन्ना ५:२४)। विश्वासी आफै चाहिँ बच्नेछ (हेर्नुस् १ कोरिन्थी ३:१५ — “कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्केजस्तो”)। तरैपनि कति विश्वासीहरूको लागि त्यो कति खेदजनक कुरा हुनेछ कि त्यो बचेको आत्मा भए तापनि खेर फालिएको जीवन हुनेछ! (आत्मा अनन्तकालको लागि बच्यो तर अनन्तताको मूल्यमान्यताद्वारा लेखाजोखा गरिँदा उसको जीवन भने खासै उल्लेखनीय भएन।)

रोमी १४:११

यस पदमा पावलले यशैया ४५:२३ बाट उद्दरण गर्दछन् — “मैले आफ्नै नाममा कसम खाएको छु; धार्मिकताका साथ मेरो मुखबाट वचन निस्केर गएको छ, र त्यो फर्कनेछैन: मेरो सामु हरेक घुँडा टेकिनेछ, हरेक जिब्रोले कसम खानेछ।” सन्दर्भलाई हेर्दा, यशैयाको यस खण्डमा बोल्नुहुने व्यक्ति परमप्रभु (यहोवा), सृष्टिकर्ता नै हुनुहुन्छ (यशैया ४५:१८,२१)। पद २२ मा सबै ठाउँका सबै मानिसहरूलाई मुक्तिको निम्ति बोलाइएको छ: “हे पृथ्वीका छेउछेउका मानिसहरूहो, मलाई हेर, र उद्धार पाओ; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन” (यशैया ४५:२२)। पद २२ मा यशैयाको मुख्य बुँदा यो छ: मुक्ति सबैको निम्ति उपलब्ध छ! पद २३ मा यशैयाको मुख्य बुँदा यो छ: सबैको निम्ति व्यक्तिगत जवाफदेहीता छ! हरेक घुँडा टेक्नेछ! आज मुक्तिदाताको सामु घुँडा टेक्न अस्वीकार गर्नेहरू (पद २२) ले पछिको समयमा न्यायकर्ताको सामु घुँडा टेक्नेछ (पद २३)।

कसम भनेको म सत्य बोल्नेछु, प्रतिज्ञा पूरा गर्नेछु, विश्वासयोग्य रहनेछु आदि जनाउने एउटा त्यस्तो घोषणा हो जो परमेश्वरको वा अन्य कुनै आदरको व्यक्ति वा वस्तुको नाउँ काढेर व्यक्त गरिन्छ। मानिसहरूले आफूभन्दा ठूलोको नाममा कसम खान्छन् (हिब्रू ६:१६), तर परमेश्वरभन्दा ठूलो कोही छैन त्यसैले यहोवाले आफ्नै नाममा कसम खानुहुन्छ (हेर्नुस् यशैया ४५:२३, “मैले आफ्नै नाममा कसम खाएको छु” र दाँज्नुस् हिब्रू ६:१३ सित)। हरेक घुँडा टेक्नेछ भन्ने तथ्य यही अपरिवर्तनीय कसमद्वारा पक्का छ।

यशैया ४५:२३ भक्तिहीन अविश्वासीहरूलाई लागु हुन्छ भनेर हामी प्रायः सोच्ने गर्छौं: “म एकजना व्यक्तिलाई चिन्छु जसको मुख फोहोर कुराले भरिएको हुन्छ जसले ख्रीष्टलाई जहिले पनि निन्दा गर्ने गर्छ। एक दिन यही व्यक्तिले ख्रीष्टको सामु घुँडा टेक्नेछ र येशू प्रभु नै हुनुहुन्छ भनेर स्वीकार गर्नेछ!” यो साँचो हो र फिलिप्पी २:९-११ ले यो प्रस्टै सिकाएको कुरा हो जहाँ यशैयाको यही खण्डलाई उद्दृत गरिएको छ। साँचो विश्वासीहरू यूनिभर्सलिज्मको शिक्षा अर्थात् एक दिन सबैजनाले मुक्ति पाउनेछ भन्ने शिक्षालाई अस्वीकार गर्छन्। तर घुँडा टेक्ने सवालमा र ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्ने सवालमा चाहिँ हामी यूनिभर्सलिज्मलाई विश्वास गर्दछौं। सबै ठाउँका सबै मानिसहरूले यसो गर्ने नै छन्। फरक यो छ कि मुक्ति पाएकाहरूले यही जीवनमा ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्ने सुअवसर लिन्छन् (रोमी १०:९-१०)। मुक्तिदाताको सामु घुँडा टेक्ने समय आज हो। हामीले आज नै राजीखुशीले सो गर्नुपर्छ, पछिबाट बाध्यताले सो गर्नुको सट्टा।

यहाँ येशू ख्रीष्टको ईश्वरत्वको बलियो प्रमाण देख्दछौं। यशैयाको खण्डमा परमप्रभु (यहोवा) को सामु मानिसहरूले घुँडा टेक्नेछन् भनिएको छ। तर जब यो खण्डलाई नयाँ नियममा उद्दरण गरिन्छ, दुवै फिलिप्पी २:९-११ र रोमी १४:११ मा, मानिसहरूले घुँडा टेक्ने प्रभु येशू ख्रीष्टको सामु हो भन्ने कुरा देख्छौं। साँच्ची नै उहाँ यहोवा येशू हुनुहुन्छ, बाइबलको सुस्पष्ट सत्यता जसलाई यहोवाका साक्षीहरूले पूरै अस्वीकार गर्दछन्। “ख्रीष्टको ईश्वरत्व” शीर्षक गरेको हाम्रो अध्ययन सामग्रीमा पनि हेर्नुहोस् जहाँ “यहोवा” को पवित्र नाम प्रयोग भएका धेरै खण्डहरू येशू ख्रीष्टलाई लागु गरिएको कुरा देखाइएको छ।

यहाँ रोमी १४:११ मा पावलले यशैया ४५:२३ को सत्यतालाई लिन्छन् र विश्वासीहरूलाई लागु गर्छन्। जोड चाहिँ “हरेक” भन्ने शब्दलाई दिइएको छ। हरेक एउटा एउटा विश्वासीले उहाँको न्यायआसनमा ख्रीष्टको सामु घुँडा टेक्नेछ। हरेक विश्वासीले सर्वोच्च न्यायधीशको हैसियतले उहाँको पूरा अधिकारलाई स्वीकार गर्नेछ।

रोमी १४:१२

फेरि जोड चाहिँ “हरेक” भन्ने शब्दमै छ। “हामीमध्ये हरेकले”। यस न्यायबाट उम्कने कुनै उपाय छैन। जोड दिइएको कुरालाई ध्यान दिनुहोस्:
“हामी सबै” — पद १०
“हरेक घुँडा” — पद ११
“हरेक जिब्रो” — पद ११
“हामीमध्ये हरेक” — पद १२

ध्यान दिनुहोस् त्यस भययोग्य, व्यक्तिगत जवाफदेहीदा: “हामीमध्ये हरेकले परमेश्वरलाई आफ्नो-आफ्नो [आफ्नै सम्बन्धमा] लेखा दिनेछ।” मैले तपाईंको निम्ति लेखा दिनुपर्नेछैन। तपाईंले मेरो निम्ति लेखा दिनुपर्नेछैन। हरेक विश्वासी परमेश्वरको सामु एक निजी व्यक्तिको रूपमा खडा हुनुपर्नेछ। उसले के गर्यो वा उसले कसरी सेवा गर्यो भन्दै तपाईंले अर्को व्यक्तिको अनावश्यक मतलब नराख्नुस्। सवाल यहाँ तपाईंको हो। प्रत्येक विश्वासी व्यक्तिगत रूपमा नै ख्रीष्टको सामु जवाफदेही छ र उसले आफ्नै लेखा दिनुपर्छ। हाम्रो ठूलो लालसा उहाँका निम्ति ग्रहणयोग्य (मनपर्दो) बन्नलाई होस् (२ कोरिन्थी ५:९)। हामी ख्रीष्ट हाम्रा दाखको बोट (हाम्रो जीवनको श्रोत) मा रहिरहेका हौं ताकि हामी उहाँको आगमनमा उहाँको सामु शर्ममा पर्नु नपरोस् (१ यूहन्ना २:२८)। जो हाम्रा निम्ति मर्नुभयो र फेरि बौरनुभयो (दाँज्नुस् मत्ती २५:२१) उहाँकै ओठहरूबाट “स्याबास!” भन्ने वचन एक दिन सुन्न पाउनु भन्दा बढी इनामदायी कुरा अर्को कुनचाहिँ हुन सक्ला र? २ तिमोथी ४:७-८ मा पावलले भने जस्तै हामीले पनि अन्तमा भन्न पाउनु भन्दा सन्तुष्टदायी अर्को कुरा के हुन सक्ला र —

“मैले असल लडाइँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु; अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुन्छ” (२ तिमोथी ४:७-८)।

ख्रीष्टको न्यायआसन सम्बन्धी अर्को चाबी खण्ड २ कोरिन्थी ५:१० हो — “किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब, हरेले जे गरेको छ, त्यसअनुसारको फल पाउनलाई हामी सबै ख्रीष्टको न्यायआसनका सामु देखा पर्नुपर्छ”। “पाउनेछौं” भन्ने शब्द महत्त्वपूर्ण छ। यसको माने जे आफ्नो हो त्यो पाउनु हो (प्रतिफल), जे पहिले आफ्नै थियो त्यो पाउनु, फिर्ता पाउनु, जे आफूले कमाएका छौं त्यही पाउनु, जे आफूले पाउनुपर्थ्यो त्यो पाउनु, आफूले जे गरेका थियौं त्यसको आधारमा जे आउँदैछ त्यो प्राप्त गर्नु। ख्रीष्टको न्यायआसनमा यो प्राप्त गराइ वा प्रतिफल कि त सकारात्मक हुन्छ कि त नकारात्मक: “चाहे असल (सकारात्मक) होस् चाहे खराब (नकारात्मक)”। एफेसी ६:८ मा पावलले यही न्यायको चर्चा गर्दा यही “पाउने” भन्ने शब्दलाई सकारात्मक प्राप्तिको अर्थमा प्रयोग गर्दछन्: “यो जानेर कि हरेक मानिसले, चाहे ऊ दास होस् चाहे स्वतन्त्र, जे-जे भलो काम (सकारात्मक) गर्दछ, प्रभुबाट उसले त्यही पाउनेछ” यससित मिल्ने समानान्तर खण्ड कलस्सी ३:२५ मा पावलले यहाँ पनि ख्रीष्टको न्यायआसनको चर्चा गर्दै उही “पाउनेछौं” भन्ने शब्दलाई नकारात्मक प्राप्तिको अर्थमा प्रयोग गर्दछन्: “तर जसले खराबी (नकारात्मक) गर्दछ, त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ; अनि त्यहाँ पक्षपात हुँदैन।”

मुक्तिको सवालमा विश्वासीहरूले उनीहरूले पाउनुपर्ने कुरा पाउँदैनन्। उनीहरूले कमाएकै कुरा उनीहरूले फिर्ता पाउँदैनन्। उनीहरूले अनन्त मृत्यु कमाएका छन्, तर परमेश्वरको अनुग्रहले उनीहरूलाई अनन्त जीवन दिइन्छ (रोमी ६:२३)। इनामको सवालमा, विश्वासीहरूले आफूले जे कमाएका छन् ख्रीष्टको न्यायआसनमा त्यही पाउनेछन् उनीहरूले मुक्ति पाएको दिनदेखि आफ्नो शरीरमा जे गरेका छन् त्यही बमोजिम पाउनेछन्।

मुक्ति र इनामहरूका बीच भिन्नता

एक बाइबल विश्वासीले, रोमीको पुस्तकमा र परमेश्वरको वचनभरि, मुक्ति र इनामहरूको बीचमा भिन्नता कायम राख्न ख्याल गर्नुपर्छ। जस्तै रोमी ८:१ मा हामी सिक्छौं ख्रीष्टमा हुने व्यक्तिको निम्ति त्यहाँ न्याय छैन, दण्डको आज्ञा छैन किनभने हाम्रा प्रतिस्थापक हाम्रो स्थानमा दण्डित हुनुभयो (रोमी ८:३)। तरैपनि, यहाँ रोमी १४ मा हामी सिक्छौं विश्वासीहरूका निम्ति त्यहाँ न्याय छ किनकि हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु उभिनुपर्छ (रोमी १४:१०)। रोमी ८:१ को न्याय चाहिँ त्यो न्याय हो जसबाट हामी बचाइसकिएका छौं (यूहन्ना ३:१८; ५:२४ सित दाँज्नुस्)। रोमी १४:१० को न्याय सबै बचाइएका व्यक्तिहरूको निम्ति हो र यसको सरोकार इनाम पाउने वा गुमाउने कुरासित छ। मुक्ति र इनामहरूका बीच राम्ररी भिन्नता राख्नुपर्ने आवश्यकता १ कोरिन्थी ३:१५ जस्तो खण्डमा देखिन्छ —

“कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्केजस्तो।”
इनाम गुमाउने कुरा, यद्यपि विश्वासीको निम्ति यसले अनन्तकालीन असरहरूसित सरोकार राख्दछ, यसले उसको मुक्तिको सुनिश्चयतालाई असर पार्दैन। निम्न तालिकाले हामीलाई मुक्ति र इनामहरूका बीचको भिन्नताका केही चाबी बुँदाहरूमा ध्यान दिन मद्दत गर्दछ:

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पुरानो नियमका पुस्तकहरू

बाइबल, एउटै ठेलीमा सङ्ग्रहित एक पुस्तकालय नै हो। “बाइबल” भन्ने शब्दको अर्थ “पुस्तकहरू” हो। बाइबलमा जम्माजम्मी ६६ पुस्तकहरू छन्:

Table 1-1

यस अध्ययनमालामा हामी तपाईंलाई पुरानो नियमका ३९ पुस्तकहरूको परिचय दिन चाहन्छौं।

पुरानो नियमका पुस्तकहरूका चार समूहहरू

पुरानो नियमका ३९ ओटा पुस्तकहरूलाई चार समूहहरूमा विभाजन गर्न सकिन्छ:

Table 1-2

अगामी तीन महिनाभित्र पुरानो नियमका ३९ ओटै पुस्तकहरूका नामहरूलाई क्रमैसँग भन्‍न र लेख्‍न सिक्न एउटा योजना गर्नुभयो भने राम्रो हुन्छ। यसले तपाईंलाई यी पुस्तकहरू भेट्टाउन मद्दत गर्नेछ। तपाईंको पास्टरले तपाईंलाई दनिएलको पुस्तक पल्टाउन लगाउनुहुँदा तपाईंलाई यो थाहा हुनुपर्छ, उक्त पुस्तक ________________को पुस्तकको पछाडि र ____________को पुस्तकको अगाडि पर्दछ।

यी पुस्तकहरू लेख्ने को थिए?

परमेश्‍वरको वचन बाइबल धेरैजना फरक-फरक व्यक्तिहरूद्वारा लेखिएको थियो। मोशाले बाइबलकै प्रथम पाँच पुस्तकहरू लेखे। अरू मानिसहरूले अरू पुस्तकहरू लेखे। बाइबलका लेखकहरू फरक-फरक समयमा जिउँथे। मलाकीले आफ्नो पुस्तक मोशाले भन्दा १००० वर्ष पछि लेखे। बाइबलका लेखहरू फरक-फरक पेशा भएका मानिसहरू थिए। दाऊद र आमोस गोठाला थिए। यहोशू एक सिपाही थिए। सुलेमान र दाऊद राजाहरू थिए। शमूएल (जसले सम्भवतः न्यायकर्ता र रूथ लेखे) एक पूजाहारी थिए। एज्रा एक शास्त्री (बाइबल शिक्षक) थिए। दानिएल एक महत्त्वपूर्ण राजकर्मचारी थिए। परमेश्‍वरले यी फरक-फरक व्यक्तिहरूलाई एकदम विशेष प्रकारले प्रयोग गर्नुभयो।

बाइबल मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबल परमेश्‍वरद्वारा पनि लेखिएको थियो भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। २ पत्रुस १:२१ मा हामी सिक्छौं, “परमेश्‍वरका पवित्र____________(जस्तै, मोशा, दाऊद, यशैया र दानिएल___________ __________ द्वारा प्ररणा पाएर बोले।” परमेश्‍वरले यी व्यक्तिहरूलाई विशेष प्रकारले चलाउनुभयो जसको परिणामस्वरूप तिनीहरूले जे-जे लेखे, ती कुराहरू परमेश्‍वरले उनीहरूद्वारा लेखाउन चाहनुभएकै कुराहरू थिए। परमेश्वरले यी मानिसहरूलाई एउटै पनि असत्य वा त्रुटिपूर्ण कुरा लेख्न दिनुभएन।बाइबल परमेश्‍वरको वचन हो भनेर हामीले कहिल्यै भुल्नु हुँदैन। बाइबल लेखाउन उहाँले धेरैजनालाई प्रयोग गर्नुभए तापनि बाइबलको एकमात्र वास्तविक लेखकचाहिँ परमेश्‍वर स्वयं हुनुहुन्छ।

अधिकांश बाइबल पुरानो नियममै निहित छ

पुरानो नियममा ३९ पुस्तकहरू छन्; नयाँ नियममा २७ मात्र।
पुरानो नियममा ९२९ अध्यायहरू छन्; नयाँ नियममा २६० मात्र।
पुरानो नियमले बाइबलको ३/४ भागलाई समेट्छ।
नयाँ नियमले बाइबलको १/४ भागलाई समेट्छ।

पुरानो नियम नयाँ नियमभन्दा कति ठूलो छ भनी दाँज्न यसो गर्न सक्नुहुन्छ। तपाईंको बाइबल लिनुहोस् र एउटा हातले पुरानो नियमका सम्पूर्ण पुस्तकहरू (उत्पत्तिदेखि मलाकीसम्म) लाई समाउनुहोस्। अर्को हातले नयाँ नियमका सम्पूर्ण पुस्तकहरू (मत्तीदेखि प्रकाशसम्म) लाई समाउनुहोस्।अब दाँज्नुहोस् प्रत्येक हातले कति-कति पन्‍नाहरू समाइराखेका छन्।

केही याद गर्नुपर्ने मितिहरू

पुरानो नियमका पन्‍नाहरूमा उल्लेखित घटनाहरू प्रभु येशू ख्रीष्ट बेथलेहेममा जन्मनुभन्दा अघि घटेका हुन्। सुलेमान ई.पू. ९७१ मा राजा भए भन्‍नुको अर्थ उनी प्रभु येशू बेथलेहोममा जन्मनुभन्दा ९७१ वर्ष अगाडि राजा भए भन्‍नु हो। निम्न चार मितिहरूलाई याद राख्नाले बाइबल बुझ्न मद्दत मिल्नेछ:

  1. अब्राहाम ई.पू. २००० तिर जिउँथे
  2. मोशा ई.पू. १५०० तिर जिउँथे
  3. दाऊद ई.पू. १००० तिर जिउँथे
  4. सुलेमानले निर्माण गरेको मन्दिरलाई बेबिलोनीहरूले ई.पू. ५०० तिर ध्वस्त पारे (यसको ठीक मिति थियो, ई.पू. ५८६)।

उहाँको कथा

बाइबल परमेश्‍वरको इतिहासको पुस्तक हो। यसले हामीलाई सबभन्दा शुरु (उत्पत्ति १:१) देखि लिएर सबभन्दा अन्त (प्रकाश २१-२२) सम्मकै विश्व इतिहासका कुराहरू बताउँछ।

बाइबल पढ्दै जाँदा हामी सिक्छौं कि वास्तवमा इतिहास (History) भनेको उहाँको कथा (His Story) नै रहेछ। इतिहास त परमेश्‍वरको कथा हो! धेरै मानिसहरू वास्तवमा इतिहास बुझ्दैनन् किनकि उनीहरू परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र इतिहासमा परमेश्‍वरको कुनै सरोकार छैन भन्‍ने सोच्छन्। बाइबल पढ्दै जाँदा हामी यो पत्ता लगाउँछौं, इतिहाससँग परमेश्‍वरको पूर्णरूपमा सरोकार छ। परमेश्‍वरको एउटा उदेकको योजना छ जसलाई उहाँले शताब्दीयौंदेखि कार्यान्वयन गर्दै आउनुभएको छ। परमेश्‍वरले आफ्नो योजनालाई कार्यान्वयन गर्दै आउनुभएको तथ्य बाइबलमा हामी प्रस्टै देख्छौं जहाँ उहाँले आफ्नो कथा बताउनुहुन्छ!

उहाँको कथाको विषय को हो?

उहाँको कथाले एउटा जातिसित सम्बन्ध राखेको छ

पुरानो नियमको अधिकांश भाग एउटा जाति अर्थात इस्राएल राष्ट्रसँग सम्बन्धित छ। यस राष्ट्रको शुरुआत अब्राहामबाट भयो। अब्राहामको बारेमा हामी सर्वप्रथम उत्पत्ति १२ अध्यायमा पढ्छौं। यसको मतलव उत्पत्ति १२ अध्यायदेखि लिएर पुरानो नियमको सम्पूर्ण भागहरू हुँदै मलाकीको पुस्तकसम्मै, पुरानो नियमले यस राष्ट्रको कथा बताउँछ। सम्पूर्ण पुरानो नियम इस्राएल राष्ट्रसँग सम्बन्धित छ (उत्पत्तिको पहिलो ११ अध्यायहरू बाहेक)।

उहाँको कथा मुक्तिदाता येशू ख्रीष्टमा केन्द्रित छ

पुरानो नियम ख्रीष्ट-केन्द्रित ग्रन्थ हो। पुरानो नियम येशू प्रभु बेथलेहेममा जन्मनुभन्दा अगाडि लेखिएको भए तापनि यसले मुक्तिदाताको सम्बन्धमा धेरै कुरा बताउँछ।

लुका २४:२७ मा हामी यो सिक्छौं, पुरानो नियमले येशू ख्रीष्टको सम्बन्धमा थुप्रै कुरा बताउँदछ: “अनि उहाँले मोशाको र सबै भविष्यवक्ताहरूबाट शुरु गरेर ________पवित्र शास्त्रहरूमा (सम्पूर्ण पुरानो नियममा) _____________विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” पुरानो नियमको मूल विषय नै येशू ख्रीष्ट हो। यो पुरणरूपमै उहाँको विषयमा हो! लुका २४:४४-४५ र यूहन्‍ना ५:३९ पनि पढ्नुहोस् जहाँ पनि यही कुरा उल्लेख छ।

येशू ख्रीष्ट पुरानो नियमको हरेक पुस्तकमा भेटिनुहुन्छ। एक लेखकले यसरी व्यक्त गरेका छन्:

  • उत्पत्तिमा उहाँ “स्त्रीको सन्तान” हुनुहुन्छ (३:१५)।
  • प्रस्थानमा उहाँ पापीहरूका लागि मारिनुभएका परमेश्‍वरका थुमा हुनुहुन्छ (अध्याय १२)।
  • लेवीमा उहाँ हाम्रो महापूजाहारी हुनुहुन्छ (पुरै पुस्तक)।
  • गन्तीमा उहाँ याकूबबाटको तारा हुनुहुन्छ (२४:१७)।
  • व्यवस्थामा उहाँ मोशा जस्तै अगमवक्ता हुनुहुन्छ (१८:१५)।
  • यहोशूमा उहाँ प्रभुका सेनाहरूका कप्तान हुनुहुन्छ (५:१३-१५)।
  • न्यायकर्तामा उहाँ परमप्रभुका दूत अर्थात् यहोवाका सन्देशवाहक हुनुहुन्छ (अध्याय १३)।
  • रूथमा उहाँ हाम्रा “नातेदार-उद्धारक” हुनुहुन्छ (अध्याय ३)।
  • शमूएल, राजाहरू र इतिहासमा उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ (१ शमूएल ८:१-९)।
  • एज्रा, नेहम्या र एस्तरमा उहाँ पृथ्वीका सबै राज्यहरूमाथि सार्वभौम प्रभु हुनुहुन्छ (पुरै पुस्तक)।
  • अय्युबमा उहाँ हाम्रा पुनरुत्थित र फर्की आउनुहुने उद्धारक हुनुहुन्छ (१९:२५)।
  • भजनसङ्ग्रहमा उहाँ धन्यको मानिस (भजनसङ्ग्रह १), मानिसका पुत्र (भजनसङ्ग्रह २), क्रूसमा मारिनुभएको जन (भजनसङ्ग्रह २२), फेरि आउनुहुने जन (भजनसङ्ग्रह २४), राज्य गर्नुहुने जन (भजनसङ्ग्रह ७२) हुनुहुन्छ।
  • हितोपदेशमा उहाँ हाम्रो बुद्धि हुनुहुन्छ (अध्याय ८)।
  • उपदेशकमा उहाँ मानिसले बिर्सेका बुद्धिमान जन हुनुहुन्छ (९:१४-१५)।
  • श्रेष्ठगीतमा उहाँ मेरा प्रिय हुनुहुन्छ (२:१६)।
  • यशैयामा उहाँ हाम्रो सट्टामा दुःख भोग्हुनुहुने जन हुनुहुन्छ (अध्याय ५३)।
  • यर्मियामा उहाँ परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ (२३:६)।
  • विलापमा उहाँ शोकका मानिस हुनुहुन्छ जो आफ्ना जनहरूका निम्ति रुनुहुन्छ (१:१२-१८)।
  • इजकिएलमा उहाँ परमेश्‍वरका महिमा हुनुहुन्छ (१:२८)।
  • दानिएलमा उहाँ चकनाचूर पार्ने ढुङ्गा हुनुहुन्छ (२:३४) र आगोको भट्टि र सिंहहरूको खोरमा साथ दिने मित्र हुनुहुन्छ (३:२३-२५; ६:२२)।
  • होशेमा उहाँ दाऊदका महाराजा हुनुहन्छ (३:५)।
  • योएलमा उहाँ आफ्ना जनहरूका आशा हुनुहुन्छ (३:१६)।
  • आमोसमा उहाँ इस्राइललाई छुटाउनुहुने जन हुनुहुन्छ (३:१२)।
  • ओबदियामा उहाँ सियोन पर्वतमा हुनुहुने उद्धारक हुनुहुन्छ (पद १७)।
  • योनामा उहाँ गाडिनुभएका र बौरिउठ्नुभएका मुक्तिदाता हुनुहुन्छ (तुलना गर्नुहोस् मत्ती १२:४०)।
  • मीकामा उहाँ बेथलेहेममा जन्मनुहुने अनन्तका परमश्‍वर हुनुहुन्छ (५:२)।
  • नहूममा उहाँ क्रोधको दिनमा हाम्रा शरणस्थान हुनुहुन्छ (१:७)।
  • हबक्कूकमा उहाँ हाम्रो विश्वासका लङ्गर हुनुहुन्छ (२:४)।
  • सपन्याहमा उहाँ न्याय र शुद्धिकरणका लागि बीचमा हुनुहुने जन हुनुहुन्छ (३:५,१५)।
  • हग्गैमा उहाँ उपस्थित र सामर्थी प्रभु हुनुहुन्छ (१:१३)।
  • जकरियामा उहाँ हिर्काइएका गोठाला हुनुहुन्छ (१३:७)।
  • मलाकीमा उहाँ धार्मिकताका पुत्र हुनुहुन्छ (४:२)।

बाइबल इतिहासलाई सरसरती हर्दा

सृष्टि

उत्पत्ति

परमेश्‍वरले सारा त्रिभुवन (universe) को सृष्टि गर्नुभयो अनि मानिसलाई पृथ्वीमा राख्नुभयो तर मानिसले आफ्ना सृष्टिकर्ताको आज्ञा उल्लङ्घन गर्‍यो र ऊ पापमा फस्यो।

जलप्रलय

उत्पत्ति

परमेश्‍वरले एक विश्‍वव्यापी जलप्रलय पठाउनुभई पापी मानिसलाई इन्साफ गर्नुभयो। उक्त भयानक इन्साफमा केवल नूह र उनको परिवार बचाइए।

भाषाको खलबल

उत्पत्ति

परमेश्‍वरले बाबेल धरहराका पापी मानिसहरूका बीच विभिन्‍न भाषाको खलबल पठाउनुभई तिनीहरूलाई विश्वको चारैतिर छरपुष्ट पारिदिनुभयो। ती मानिसहरू छरिँदै गएर नै विभिन्‍न राष्ट्रहरू शुरु भए। अब्राहामको बोलावट

उत्पत्ति

परमेश्‍वरले अब्राहामलाई आफ्नो कुटुम्ब र भूमिलाई छोडेर प्रतिज्ञाको देशमा जानलाई बोलाउनुभयो। अब्राहाम यहूदी जाति इस्राएलका पिता भए।

दासत्व

प्रस्थान

यूसुफको समयमा इस्राएलका सन्तानहरू मिश्रदेश झरे। पछिबाट उनीहरू त्यस देशमा करिब ४०० वर्षसम्म दासत्वमा परे। तर अन्तमा परमेश्‍वरले उनीहरूलाई छुटकारा दिनुभयो र मिश्रदेशबाट लाल समुद्र पार गराउँदै उनीहरूलाई बाहिर निकाल्नुभयो।

छाउनी

प्रस्थान – व्यवस्था

चालिस वर्षसम्म इस्राएलका सन्तानहरू उजाडस्थानमा छाउनीमा बसोबास गरे। यही समयमा उनीहरूलाई दस आज्ञा दिइयो र भेट हुने पाल निर्माण गरियो।

कब्जा

यहोशू

यहोशूको नेतृत्वमा इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र प्रवेश गरे, त्यसलाई कब्जा गरे र त्यहाँ बसोबास गर्न थाले।

विकृति

न्यायकर्ता

प्रतिज्ञाको देशमा बसोबास गर्न थालेपछि इस्राएलका सन्तानहरूले आफ्ना हृदयहरूलाई प्रभुबाट फर्काउन थाले र “आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्न थाले”। न्यायकर्ताहरूको समय थियो यो।

मुकुट

शमूएल, राजा, इतिहास

न्यायकर्ताहरूको समयपछि राजाहरूको समय आयो। शाऊल, दाऊद र सुलेमान इस्राएलका शुरुका राजाहरू थिए। सुलेमानपछि राज्य दुई भागमा विभाजित हुनगयो: १)‍ इस्राएलको उत्तरी राज्य जसको राजधानी सामरियामा थियो; २) यहूदाको दक्षिणी राज्य जसको राजधानी यरूशलेममा थियो। उत्तरी र दक्षिणी राज्यका आ-आफ्नै राजाहरू भए।

कैद

दोस्रो राजा, दोस्रो इतिहास

परमेश्‍वरले अश्‍शूरीहरूलाई पठाउनुभई पहिला इस्राएलको उत्तरी राज्यलाई इन्साफ गर्नुभयो।अश्शूरीहरूले इस्राएलको राज्यलाई पराजित गरे र मानिसहरूलाई कैद गरी लगे पछिबाट परमेश्‍वरले नेबुकदनेजर राजाको नेतृत्वमा बेबिलोनीहरूलाई पठाउनुभई यहूदाको दक्षिणी राज्यलाई इन्साफ गर्नुभयो। यहूदाको राज्य ढल्यो र मानिसहरू कैदी बनाइएर बेबिलोन लगिए।

निर्माण

एज्रा, नेहम्याह, एस्तर

बेबिलोनी कैदको ७० वर्षपछि परमेश्‍वर इस्राएल राष्ट्रमाथि अनुग्रह गर्नुभयो र यहूदीहरूका एउटा सानो झुण्ड (करिब ५०,००० जति) लाई देशमा फर्कन दिनुभयो।यही समयमा नै उनीहरूले परमेश्‍वरको भवनलाई निर्माण गरे जसलाई बेबिलोनीहरूले ध्वस्त पारेका थिए (एज्रामा पढ्नुहोस्) अनि पछिबाट उनीहरूले यरुशलेम शहरका पर्खालहरूको पुनर्निर्माण गरे (नेहम्याहमा पढ्नुहोस्)। यही चरणमा पुगेर पुरानो नियम इतिहास टुङ्गिन्छ। यसको करिब ४०० वर्षपछि प्रभु येशू ख्रीष्ट बेथलेहेम शहरमा जन्मनुभयो।

* * * * *

अब अगामी पाठहरूमा हामी पुरानो नियमका ३९ ओटै पुस्तकहरूलाई अलिक नजिकबाट अध्ययन गर्न तयार छौं। ती पुस्तकहरूलाई एक एक गर्दै हेर्ने क्रममा हामी निम्न प्रकारका प्रश्‍नहरू अगाडि सार्दै अध्ययन गर्न चाहन्छौं:

  1. यस पुस्तकको नाम के हो र किन यसलाई उक्त नाम दिइयो?
  2. यस पुस्तकको विषय के हो?
  3. यस पुस्तकमा कुनै चाबी पद छ?
  4. यस पुस्तकको विचार गर्दा मैले याद गर्नुपर्ने कुरा के हो?
  5. यस पुस्तक बाइबलका अरू पुस्तकहरूसँग कसरी सम्बन्धित छ?
  6. यस पुस्तकको सन्देशले मेरो जीवनलाई कसरी परिवर्तन गर्न सक्दछ?

यी प्रश्‍नहरूका उत्तर खोज्ने क्रममा परमेश्‍वरले हामीलाई सहायता गर्नुभएको होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १४:१-६

रोमी १४:१-६

 

रोमी अध्याय १४

रोमी १४:१

यस पदमा बयान गरिएको कमजोर व्यक्ति को हो? ऊ कमजोर छ, बलियो छैन, तर ऊ एक विश्वासी हो किनकि ऊ “विश्वासमा” छ। शिक्षाको बुझाइमा ऊ कमजोर छ। हुन सक्छ ऊ एक नयाँ विश्वासी हो अथवा परमेश्वरका कुराहरूमा बढ्न सकेको छैन (२ पत्रुस ३:१८; १ कोरिन्थी ३:१-४)। हुन सक्छ ऊ खाँटी शिक्षाको मुनि हुर्कन पाएको छैन। उक्त कमजोर विश्वासी पापमै जिइरहेको त छैन। सन्दर्भलाई हेर्दा त्यहाँ कुनै नैतिक समस्या संलग्न भएको देखिँदैन। तरैपनि, उक्त व्यक्तिले ख्रीष्टिय स्वतन्त्रताको विषय नै नबुझेको देखिन्छ।

यस कमजोर भाइप्रति हाम्रो जिम्मेवारी कस्तो हुनुपर्छ त? त्यस्तोलाई “ग्रहण” गर्नुपर्छ। यस व्यक्तिलाई अस्वीकार नगर। उसलाई ग्रहण गर्नुपर्छ, उसलाई आफूकहाँ लिनुपर्छ, ग्रहण गर्नुपर्छ, उसलाई आफ्नैजस्तो ठान्नुपर्छ, उसलाई ख्रीष्टमा एक प्रिय भाइ ठान्नुपर्छ। “ग्रहण” भन्ने शब्दलाई प्रेरित २८:२ मा “स्वागत गरे” भनेर अनुवाद गरिएको छ: “अनिती आदिवासी मानिसहरूले हामीलाई ठूलो दया देखाए; किनभने पानी परिरहेको र जाडो भएको हुनाले तिनीहरूले आगो बाले, र हामी सबैलाई स्वागत गरे।”. आदिवासीहरूबाट पावलले न्यानो स्वागत पाए र असल व्यवहार पाए। कमजोर विश्वासीहरूलाई ख्रीष्टको खातिर दयालु व्यवहार गरिनुपर्छ।

यस कमजोर विश्वासीलाई हामीले किन ग्रहण गर्नुपर्छ? यसको कारण पद ३ को अन्तमा बताइएको छ: “किनकि परमेश्वरले उसलाई ग्रहण गर्नुभएको छ।” साथै रोमी १५:७ मा पनि हेर्नुहोस्। ख्रीष्टले उसलाई ग्रहण गर्नुभएको छ भने, कसरी हामीले उसलाई अस्वीकार गर्न सक्छौं र? प्रभुले हामीलाई ग्रहण गर्नुभयो भन्ने कुरामा हामी कति धन्यवादी हुनुपर्छ: “पिताले मलाई जतिजना दिनुहुन्छ, ती सबै मकहाँ आउनेछन्; अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैन” (यूहन्ना ६:३७)! परमेश्वरले हामीलाई ग्रहण गर्नुभएको छ र हामीलाई कहिल्यै अफाल्नुहुनेछैन र अस्वीकार गर्नुहुनेछैन।

“शङ्कापूर्ण कुराहरूको विषयमा वादविवाद” — कमजोर विश्वासीलाई ठूलो वादविवाद र झगडा गर्ने उद्देश्यमा ग्रहण नगर्नुहोस्। उसका सङ्कुचित विचारधाराहरूको आलोचना गर्ने र उसका विचारधारणाहरूलाई न्याय गर्ने उद्देश्यले नै उसलाई ग्रहण नगर्नुहोस्: “तपाईंलाई हाम्रो मण्डलीमा आउन त दिन्छौं तर ख्रीष्टियनहरूले के-के खान हुन्छ भन्ने कुराको बारेमा चाहिँ तपाईंले धेरै सिक्नुछ भन्ने कुराचाहिँ महसुस गर्नुपर्छ!” “यद्यपि तपाईं केही गम्भिर कुराहरूमा अड्किरहनुभएको छ, तपाईंलाई यहाँ स्वागत छ, तर हामीले तपाईंलाई सोझ्याउनै पर्छ।” “अब तपाईं हामीसित आवद्ध बन्नुभएको नाताले हामीले के खान हुन्छ र हुँदैन भन्ने विषयमा हामी वादविवाद गरौं र तपाईं गलती हुनुहुन्छ भनेर म बाइबलबाट प्रमाणित गरेर देखाउँछु!” कमजोर विश्वासीलाई ग्रहण गरिनुपर्ने तरिका यस्तो होइन।

रोमी १४:२

सही शिक्षा बुझेको विश्वासीले जान्दछ उसले सबै कुराहरू खान सक्छ। व्यवस्थाअन्तर्गत यहूदीहरूले केही खानेकुराहरू खान सक्थे र केही खानेकुराहरू खान सक्दैनथे (लेवी ११ पढ्नुहोस्)। परमेश्वरले उनीहरूलाई शुद्ध र अशुद्धका बीच अनि पवित्र र अपवित्रका बीच भिन्नता राख्न सिकाउँदै हुनुहुन्थ्यो, (लेवी ११:४४-४७)। वर्तमान प्रबन्धमा परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि कुरा निषेधित छैन यदि त्यो धन्यवादसाथ ग्रहण गरिन्छ भने: “ किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने ुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ” (१ तिमोथी ४:४-५)। रोमी १४:२ मा उल्लेखित कमजोर विश्वासीको केवल सागपात वा सब्जीहरू मात्र खाने बानी रहेछ, सबै कुरा खान मिल्दैन भन्ने उसको विश्वास रहेछ (मासु निषेधित छ भन्ने विश्वास गर्दो रहेछ)।

रोमी १४:३

यो पद बलियो र कमजोर दुवै खालको विश्वासीलाई चेतावनी हो। बलियो विश्वासीमा कमजोरलाई तुच्छ ठान्ने प्रवृत्ति हुन्छ (उसलाई तल्लो दर्जाको ठान्नु, आफूभन्दा मुनिको ठान्नु)। कमजोर विश्वासीमा चाहिँ बलियोलाई न्याय गर्ने वा आलोचना गर्ने प्रवृत्ति हुन्छ।

बलियो विश्वासी भन्ला, “कस्तो मूर्ख शाकाहारी! तपाईं शिक्षामा यतिसम्म कमजोर कसरी हुनुभएको? ख्रीष्टमा विश्वासीहरू भएको नाताले हामीले सबै कुराहरू खान सक्छौं भनेर तपाईंलाई त्यति पनि थाहा छैन?” [तुच्छ ठान्ने काम]

कमजोर विश्वासीले भन्ला, “तपाईंले मासु खान नहुने थियो। तपाईंले सुङ्गुरको मासु खान नहुने थियो। तपाईंले यस्तो काम गर्नु गलत हो!” [न्याय गर्ने काम] पद ३ को अन्तिम वाक्यांश [“परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ”] ले सम्भवतः बलियो विश्वासीलाई मात्र जनाउँदछ जसलाई कमजोर विश्वासीले न्याय गर्ने काम गर्दैछ, तर यसले दुवैलाई जनाइरहेको पनि हुन सक्छ [“जसले खाँदछ” र “जसले खाँदैन”]। यदि यसले “जसले खान्छ” उसलाई मात्र जनाइरहेको भए तापनि यो साँचो नै रहन्छ कि परमेश्वरले दुवैलाई ग्रहण गर्नुभएको छ (रोमी १५:७) र यसैको कारण हामीले हाम्रा विश्वासी दाजुभाइहरूलाई ग्रहण गर्नुपर्छ चाहे उनीहरू कमजोर हुन् चाहे बलिया (हेर्नुस् रोमी १४:१ मा जहाँ विश्वासीहरूलाई कमजोरहरूलाई ग्रहण गर्न भनिएको छ)।

स्मरण रहोस् परमेश्वरले (पावलद्वारा) जो “कमजोर छ” (पद १) उसलाई त्यसरी जनाउनुहुन्छ तर बलियो विश्वासीलाई “बलियो” भनेर जनाउनुहुन्न। एक विश्वासी परिपक्क्व भए पनि र शिक्षागत मुद्दाहरूलाई बुझेको भए पनि ऊ परमेश्वरको अनुग्रहबिना त ज्यादै कमजोरै हुन्छ (२ तिमोथी २:१, “ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ”) अनि आफ्नो भाइलाई तुच्छ ठान्ने जस्तो पाप गर्ने (रोमी १३:३,१०) अनि आफ्नो ज्ञानको कारण घमण्डले फुलिने (१ कोरिन्थी ८:१) प्रवृत्ति उसमा हुन्छ। परमेश्वरको सामर्थ्य सिक्ने भनेको हाम्रो कमजोरीमा हो (२ कोरिन्थी १२:१०)।

रोमी १४:४

यो पद त्यो व्यक्तिको लागि हो जसले आफ्नो विश्वासी भाईलाई उसको खानेकुराको कारणले न्याय गर्दछ। “दास” भन्ने शब्दले एउटा घरमा बस्ने दासलाई जनाउँदछ। न्याय गर्ने व्यक्तिले आफू नै घर मालिक होइन भन्ने कुरा महसुस गर्नुपर्छ। ऊ नै त्यस मानिसको मालिक वा प्रभु होइन। ऊ पनि नोकर नै हो, केवल एक सङ्गी दास हो, सङ्गी विश्वासी हो। दास केवल आफ्नो मालिकप्रति मात्र जिम्मेवार रहन्छ। ऊ उसको मालिकप्रति जवाफदेही हुन्छ, अरू कसैप्रति होइन। उसलाई न्याय गर्ने अधिकार केवल उसको मालिकलाई मात्र हुन्छ। विश्वासीको मालिक प्रभु येशू ख्रीष्ट हुनुहुन्छ (पद ९)। विश्वासी उहाँप्रति जवाफदेही र जिम्मेवार रहन्छ। हामी एक दिन उभिने उहाँकै न्यायआसनको सामु हो (पद १०)।

मानौं दुईजना मानिसहरू एउटा कारखानामा काम गर्दैछन् र एउटाले अर्कोलाई भन्छ, “तिमीले गरेको काम त खत्तम छ!” त्यो सहकर्मीले के भन्दछ, चाहे त्यो साँचो होस् या नहोस्, त्यसले खासै फरक पार्दैन। ऊ नै हाकिम होइन। यदि हाकिमले उसलाई तिमीले गरेको काम खत्तम छ भन्यो भने चाहिँ उसले चिन्ता गर्नुपर्ने हुन्छ।

हाम्रा प्रभु येशू कस्तो खालको मालिक हुनुहुन्छ? हाम्रो प्रभुले आफ्ना दासहरू लडेको चाहनुहुन्न। उनीहरू खडा रहेको उहाँ चाहनुहुन्छ। परमेश्वरले उनीहरूलाई खडा राख्नुहुन्छ। परमेश्वरको उनीहरूको पक्षमा हुनुहुन्छ, उहाँ उनीहरूको विरोधमा हुनुहुन्न (रोमी ८:३१)। जसरी भजनले भन्दछ, “तँ खडा हुनेछस् मेरो सामर्थ्यले”। परमेश्वरले तिनीहरूलाई खडा राख्न सक्नुहुन्छ! विश्वासीहरू भएर हामीले यस कुरामा परमेश्वरको देखासिकी गर्नुपर्छ। हाम्रो इच्छा यस्तो हुनुपर्छ कि हाम्रा सङ्गी विश्वासीहरू खडा रहून् र हामीले उनीहरूलाई खडा हुनलाई सक्दो सहायता गर्नुपर्छ। हामीले उनीहरूलाई न्याय गरेर वा तुच्छ ठानेर ढाल्न खोज्नुहुन्न। हामी उनीहरूलाई उठाऔं र अझ उच्च धरातलमा उकास्न मदत गरौं। “सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्” (१ कोरिन्थी १४:२६)।

रोमी १४:५

खानेकुराको विषयलाई छोडेर अब पावल दिन मान्ने विषयमा चर्चा गर्दछन्। के हामीले एउटा दिनलाई अर्को दिन भन्दा बढी विशेष वा बढी पवित्र मान्नुपर्छ? एउटा विश्वासीले त्यस्तै ठान्दछ तर अर्को विश्वासीले हरेक दिनलाई उस्तै ठान्दछ। खानेकुराको सवालमा पावलले कमजोर विश्वासी को हुन् भनेर औंल्याए (पद २)। तर यहाँ पावलले त्यस्तै गरी औल्याउँदैनन्। एउटा विश्वासीले एउटा दिन छनोट गर्छ र भन्छ, “यो दिन विशेष हो। यो दिन पवित्र हो।” अर्को विश्वासीले सबै दिनहरू पवित्र ठान्छ: “शनिवारको दिन आइतवार जत्तिकै पवित्र हुन्छ र आइतवार सोमबार जत्तिकै पवित्र हुन्छ।” कुनचाहिँ विश्वासी ठीक हो? कुनचाहिँ विश्वासी बलियो विश्वासी हो जससित दिनहरूको बारेमा सही शिक्षागत बुझाइ छ?

अर्को ठाउँमा पावलले कुनै दिनहरूलाई पालना गर्ने व्यवस्थावादी खतराको विरुद्धमा चेतावनी दिएका छन्: “तिमीहरू दिन, महिना, समय र वर्षहरू मान्दछौ। व्यर्थैमा मैले तिमीहरूका लागि मेहनत गरें कि भनी मलाई तिमीहरूसँग डर लागेको छ” (गलाती ४:१०-११)। ख्रीष्ट मरेकाहरूबाट बौरेर उठ्नुभएको दिन, “प्रभुको दिन” अथवा हप्ताको पहिलो दिन (आइतवारको दिन) आराधनाको लागि जुट्ने दिनको रूपमा विश्वासीहरूले मान्दै आएको चलन छ। हिब्रू १०:२५ ले अरू विश्वासीहरूसित सँगै नजुट्नेहरूलाई कडा चेतावनी दिएको छ। तरैपनि, हामीले नयाँ नियममा कतै पनि यस्तो आज्ञा भेट्दैनौं: “तिमीले प्रभुको दिन पालना गर्नेछौ!” अथवा “तिमीले आइतवारलाई मान्नुपर्छ!” [नेपालमा प्रायः शनिवारको दिन जुट्ने गरिन्छ किनकि अधिकांश मानिसहरू भेला हुन सक्ने दिन यही हो।] ख्रीष्टमा रहेको विश्वासीको लागि हरेक दिन नै “पवित्र भूमि” हुन्छ जब हामी प्रभुलाई सेवा गर्छौं र हाम्रो उच्च, स्वर्गीय र पवित्र बोलावटको योग्य चालमा हिँड्छौं (एफेसी ४:१)। यो कुरा प्रस्ट छ, हामी अरू दिनहरूमा भन्दा शनिवार बढी समर्पित भएर जिउनु त हुँदैन। तरैपनि त्यहाँ कति “शनिवारे ख्रीष्टियनहरू” पनि छन् भनेर हामी स्वीकार गर्दछौं जोहरूले शनिवारको दिन राम्रो देखा पर्दछन् जब कि बाँकी हप्ता भने अर्कै प्रकारले जिउँदछन्। प्रियहरूहो, यस्तो त नहुनुपर्ने हो!

दिने सम्बन्धमा पनि यही सिद्धान्त लागु हुन्छ। आफ्नो आयको दसौं अंश प्रभुको हो र बाँकी आफ्नै हो भनी ठान्ने काम कमजोर विश्वासीले गर्दछ: “मसित दस रूपैयाँ छ। यो एक रुपैयाँ चाहिँ पवित्र र विशेष हो। यो दसौं अंश हो। अरू नौं रूपैयाँ चाहिँ मेरै प्रयोजनका लागि हुन्।” बलियो विश्वासीले यसलाई एकदम बेग्लै दृष्टिकोणले हेर्दछ: “मसित भएको जम्मै प्रभुको हो किनकि म आफैको होइन; म दाम तिरी किनिएको हुँ (१ कोरिन्थी ६:१९-२०)। मैले आफूसित भएको दस रूपैयाँमा एक वा बढी रुपैयाँ स्थानीय मण्डलीलाई दिऊँला, तर बाँकी रूपैयाँहरू पनि प्रभुकै हुन् र परमेश्वरले मलाई दिनुभएको जे जति छ त्यो सबैको म असल भण्डारी हुन चाहन्छु।”

रोमी १४:५ ले प्रेरितहरूको समयमा विश्रामदिन पालन गर्ने सवालसित पनि सरोकार राख्दछ। अल्फोर्डले यस खण्डमा टिप्पणी गर्दा यसरी लेख्छन्:
अब प्रश्न उठ्छ, यदि सात दिनमा एक दिनलाई कुनै न कुनै रूपमा मान्नुपर्छ भनेर परमेश्वरबाट सुम्पिएको दायित्व छ भन्ने पावलको मान्यता हुँदो हो त के उनले रोमी १४:५ मा यस्तो कुरा भन्न सक्थे र? उनको तर्कको प्रवाहको स्पष्ट तात्पर्य रहेको यो देखिन्छ कि त्यस्तो कुनै पनि दायित्व उनी जान्दैनथे बरु विश्वासमा बलियो रहेका ख्रीष्टियनका निम्ति सबै समयहरू र दिनहरू उस्तै हुन्छन् भन्ने कुरा उनले विश्वास गर्दथे। यस खण्डको अन्य कुनै वैकल्पिक अर्थ म देख्दिनँ। यदि हप्ताको कुनै एक दिनको विश्रामदिनको जस्तै पृथक चरित्र हुँदो हो त प्रेरित पावलले सबै दिन बराबर महत्त्वको हुन्छ भनेर ठान्ने व्यक्तिको सराहना गर्नु वा समर्थन गर्नु पूर्ण रूपमा असम्भव कुरा हुनेथ्यो किनकि उक्त व्यक्तिले पद ६ अनुसार कुनै दिनलाई विशेष स्थान नै दिँदैन। नत्र भने पावलले उक्त व्यक्तिलाई परमेश्वरको आज्ञा उल्लङ्घन गरेको भन्दै उसलाई आफ्न कडा असमर्थन जनाउनुपर्नेथ्यो। तसर्थ, म यो ठान्दछु हप्ताको कुनै एक दिन, चाहे सातौं वा पहिलो, मान्नुपर्छ भन्ने मान्यता प्रेरितहरूको समयमा थिएन। [अल्फोर्ड्स ग्रीक टेस्टामेन्ट, रोमी १४:५ अन्तर्गतको टिप्पणी]

विलियम न्यूवेल, आफ्नो रोमीको टिप्पणीमा, दोस्रो शताब्दीका मण्डली अगुवाहरूले विश्रामदिन पालन गर्ने सम्बन्धमा उनीहरूको बुझाइसम्बन्धी उनीहरूको भनाइहरूलाई उद्दरण गर्दछन्। उनले इग्नेशियस (Ignatius) लाई उद्दृत गर्दछन् जो इसं ११५ मा शहीद बने:
“पुराना कुराहरूसित सरोकार राखेकाहरू निश्चयताको नयाँपनामा आएका छन् र अबउसो विश्रामदिनहरू पालन गर्दैनन्, बरु प्रभुको दिन बमोजिम जिउँदछन् जसमा नै हाम्रो जीवन, उहाँ बौरिउठ्नुभएको हुनाले, उहाँमै निर्भर रहेको छ।”

जस्टिन मार्टर (जो इ सं १६८ ताका शहीद बने) ले विश्रामदिनलाई परित्याग गरेकोमा उनी ट्राइफोद्वारा जब हप्काइए उनले यसरी जवाफ दिए:
“हामीले विश्रामदिन कसरी पालन गर्न सक्छौं र जब कि हामी हप्ताका सबै दिनहरूमा पापबाट विश्राम लिन्छौं?”

पद ५ को अन्तमा पावलले भने, “हरेक आफ्नै मनमा पूरा निश्चित होस्”। आज हामी यस्तो समयमा जिउँदैछौं जब शिक्षाको महत्त्वलाई न्यूनीकरण गरिन्छ र धेरै पटक यस्तो मनोभाव आपनाएको पाइन्छ: “ख्रीष्टियनहरूले के विश्वास गर्छन् खासै फरक पार्ने कुरा होइन, विशेष गरी फरक-फरक अवधारणाहरू भएका विषयहरूको सम्बन्धमा। महत्त्वपूर्ण कुरा यो हो कि हामीले एक अर्कालाई प्रेम गरौं।” तर ध्यान यसमा दिनुहोस् कि पावलले यी कुराहरू महत्त्वपूर्ण छैनन् भनेर भन्दैनन्। उनले यसरी भन्दैनन्: “खानेकुराको विषयमा र दिन मान्ने बारेमा तपाईंले के विश्वास गर्नुहुन्छ त्यो जेसुकै भए पनि फरक पर्दैन।” होइन, बरु उल्टो उनले भन्छन् कि हरेक विश्वासी आफ्नो मनमा यी विषयहरूको बारेमा विश्चस्त होओस्। कुन कुरा ठीक हो भन्ने कुरामा तपाईंलाई विश्वस्त तुल्याउन र निश्चित तुल्याउन परमेश्वरलाई दिनुहोस्! विश्वासमा कमजोरहरूलाई हामीले प्रेम गर्नुपर्छ (पद १ र ३) र हामीले तिनीहरूको उन्नति गर्नुपर्छ तर परमेश्वरले विश्वासी जनलाई कहिल्यै पनि विश्वासमा र शिक्षामा कमजोर हुनलाई प्रोत्साहन दिनुहुन्न। शिक्षागत मामिलाहरू र विश्वास र अभ्यासको मामिलाहरूमा विश्वासी “पूरा निश्चित” हुनुपर्छ। परमेश्वरले हामीलाई खडा हुन र सामना गर्न र समझमा स्थिर हुन सहायता गर्नुभएको होस्।

रोमी १४:६

विश्वासी “पूरा निश्चित” (पद ५) हुनुपर्छ मात्र होइन, उसले जे पनि गर्दछ त्यो “प्रभुको निम्ति” गर्नुपर्छ (पद ६)। “अनि जे पनि तिमीहरू गर्दछौ, सो मानिसहरूका निम्ति होइन, तर प्रभुका निम्ति गरेझैं तनमनले गर; यो जानेर कि प्रभुबाट तिमीहरूले पैतृक-सम्पत्तिरूपी इनाम पाउनेछौ; किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ” (कलस्सी ३:२३-२४)। पद ६ ले यहाँ चर्चा गरिएका दुवै विवादस्पद विषयहरूसित सरोकार राख्दछ: खानेकुराको सम्बन्धमा (पद २) र दिन मान्ने सम्बन्धमा (पद ५)। यस पदको वाक्यरचना कियज्मस् (chiasmus) अथवा inverse parallellismको रचना हो:

क) कमजोर विश्वासी जसले दिन मान्दछ
ख) बलियो विश्वासी जसले दिन मान्दैन
ख) बलियो विश्वासी जसले सबै कुरा खन्छ — पद २
क) कमजोर विश्वासी जसले सबै कुरा खाँदैन, सागपात मात्र खान्छ

यद्यपि खाने र दिन मान्ने सम्बन्धमा अभ्यासहरू फरक-फरक हुन्छन् तरैपनि ख्याल गर्नुपर्ने महत्त्वपूर्ण कुरा यो छ कि जहाँसम्म हरेकको आफ्नो व्यक्तिगत सवालको कुरा छ, उसको अभिप्राय सही हुनुपर्छ, हृदय ठीक हुनुपर्छ र मनोभाव ठीक हुनुपर्छ। प्रत्येक विश्वासीले जे गर्दैछ त्यो उसले प्रभुको निम्ति गर्नुपर्छ, प्रभुलाई खुशी पार्न र प्रभुलाई आदर गर्न। प्रत्येकले धन्यवादसित त्यो गरोस्, परमेश्वरको डरमा। प्रत्येकले १ कोरिन्थी १०:३१ को सिद्धान्तलाई अभ्यास गरोस् — “यसकारण चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरूले जेसुकै गर, सबै कुरा परमेश्वरकै महिमाका निम्ति गर” । आफू सबै कुरा खान स्वतन्त्र छु भनी बुझेको विश्वासी परमेश्वरलाई ध्यानपूर्वक धन्यवाद देओस् (१ तिमोथी ४:३-५)। सागपात खाने विश्वासी (पद २) उसको सामु पस्किएको सागपातको निम्ति परमेश्वरलाई ध्यानपूर्वक धन्यवाद देओस्। सुरुका ख्रीष्टियनहरू खाने बेलामा परमेश्वरलाई धन्यवाद चढाउँथे (प्रेरित २७:३५ मा पावलको असल नमुनालाई हेर्नुस्)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १३:११-१४

रोमी १३:११-१४

 

रोमी १३:११-१४

येशू ख्रीष्टमा विश्वास राख्नेहरू भएकाले हामी सुतिरहेको भेटिनुहुँदैन। हामी जागो र सतर्क, प्रभुको सेवा गरिरहेको हुनुपर्छ। तरैपनि, खेदको कुरा यो छ कि कति विश्वासीहरू आत्मिक निद्रा र झप्कीमा छन् जुन कारणले गर्दा परमेश्वरले एउटा जागरण ध्वनिको आवाज उठाउनुहुन्छ। नयाँ नियममा चारओटा खण्डहरू छन् जहाँ परमेश्वरले विश्वासीहरूलाई बिउँझ भन्नुहुन्छ!

१) एफेसी ५:१४

हे निदाउने, बिउँझ! उठ! उठ्ने समय भयो! आफूलाई बिउँझाऊ! विश्वासीहरू तिनीहरूको आत्मिक निद्राबाट झस्स्याङ्गै पारिनुपरेको छ।
विश्वासीहरू ख्रीष्टको निम्ति उठेर चम्कनुपरेको छ! किन? किनकि हामी ज्योतिका सन्तान हौं, अन्धकारका होइनौं (पद ८)। “मुर्दाहरूका बीचबाट उठ।” यस पदमा प्रयोग भएको भाषा बौरिउठाइको भाषा हो। विश्वासीहरूलाई आत्मिक पुनर्जागरण चाहिएको छ, विश्वासीहरू आत्मिक मृत अवस्थाबाट उठ्नुपरेको छ। हामी आत्मिक रूपमा जागो (बिउँझेको) हुनु खाँचो छ र हामी आत्मिक रूपमा जिउँदो हुनु खाँचो छ। यस पृथ्वीमा बाँच्नुको उद्देश्य नै हाम्रो प्रभु येशू ख्रीष्टको जीवन प्रकट गर्नु हो (२ कोरिन्थी ४:१०-११), उहाँको जीवन दर्शाउनु हो। येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनेर संसारले कसरी जान्न सक्नेछ? उहाँका विश्वासी जनहरूमा उहाँ जिउनुभएको देखेर हो: “ख्रीष्ट मभित्र जिउनुहुन्छ” (गलाती २:२०)। यो कसरी पूरा हुन सक्छ? एफेसी ५:१८ नै चाबी हो: “आत्माले भरपूर होओ!”

२) १ कोरिन्थी १५:३२-३४

कोरिन्थको मण्डलीमा शिक्षाको एउटा गम्भीर समस्या थियो। कोरिन्थमा भएकाहरूमध्ये कतिले बौरिउठाइ हुँदैन भन्दैथिए (१ कोरिन्थी १५:१२)। यो झूटा शिक्षाअनुसार मानिसहरू मरेपछि सबै कुरा सकिन्छ! उनीहरू फेरि बौराइँदैनन्।

सही शिक्षालाई इन्कार गर्नु ज्यादै गम्भीर कुरा हो किनकि यसले नैतिक सडावट ल्याउँछ। एक व्यक्तिले विश्वास गरेको कुराले उसको व्यवहारलाई असर पार्दछ। झूटा शिक्षाले मानिसको जीवन जिउने तरिकालाई प्रभाव पार्दछ। उनीहरूको विश्वास ठीक छैन भने उनीहरूको जीवन ठीक हुँदैन। मरेकाहरू भोलि बौरेर उठ्दैनन् भने आज बरु शारीरिक अभिलाषाहरूमा किन नजिउने? भोलि मर्नुछ भने आज किन मोजमस्ती नगर्ने? एपिक्यूरियन अवधारणा यही थियो कि मान्छे जिउनुको उद्देश्य भनेको मोजमस्ती गर्नु हो: “खाऔं र पिऔं, किनकि भोलि ता हामी मर्छौं” (१ कोरिन्थी १५:३२)। एउटा एपिक्यूरियन झिङ्गाको एउटा प्राचीन किम्बदन्ती थियो जो एक भाँडो महमा डुब्दैथियो र मर्न लाग्दै थियो। झिङ्गाले भन्छ, “मैले खाएँ, पिएँ र नुहाएँ; म मरे भने मलाई कुनै फिक्री छैन।”

“धोका नखाओ; खराब सङ्गतहरूले असल चरित्र बिगार्छन्” (१ कोरिन्थी १५:३३)। “खराब सङ्गत” को माने हो “खराब मित्रताहरू, खराब साँठगाँठहरू”। खराब शिक्षा अँगाल्नेहरूसित र त्यसअनुसार व्यवहार गर्नेहरूसित सङ्गत नगर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईं बिग्रनुहुनेछ। खराब सङ्गतले असल नैतिकता (असल चरित्र) लाई बिगार्छ। ठीक खालका मानिसहरूसित हिँड्नु र सङ्गत गर्नु ज्यादै महत्त्वपूर्ण कुरा हो (हितोपदेश १३:२०; भजनसङ्ग्रह ११९:६३)।

पावलको जागरण ध्वनि पद ३४ मा भेटिन्छ, “धार्मिकताका निम्ति जागी उठ, र पाप नगर; किनकि कतिसँग परमेश्वरको ज्ञान छैन; तिमीहरूलाई शर्ममा पार्नालाई म यो भन्दछु” (१ कोरिन्थी १५:३४)। यस पदमा “धार्मिकता” भनेर अनुदित शब्द वास्तवमा एउटा क्रियाविशेषण (adverb) हो: “धर्मी तवरले, ठीक तरिकाले, धर्मी तरिकाले जागी उठ।” “जागी उठ” को माने मातेर सुतेपछि होशमा उठ्नु हो, मात लागेर निद्रामा परेपछि आफ्नो होशमा आउनु हो। पावल भन्दैछन्, “होशमा फर्केर उठ! तिम्रो नैतिक बेहोसीपन र निद्राबाट उठ! यो बिगार्ने र झूटा शिक्षाको रक्सीले नमात। यो गलत शिक्षाको नराम्रो असरमुनि बसिरहन छोड।”

३) १ थेस्सलोनिकी ५:४-९

परमेश्वरको वचनको सत्यता जानेका हुनाले विश्वासीहरू संसारमा भइरहेका कुराको बारेमा सजग हुन्छन्। परमेश्वरले पवित्रशास्त्रमा प्रकट गर्नुभएको उहाँका भावी योजनाहरू विश्वासीहरू जान्दछन्। आउनेवाला घटनाहरूले नबाँचेकाहरूलाई भने बिलकुलै बेतयारी अवस्थामा भेट्टाउनेछन् (१ थेस्सलोनिकी ५:२-३)।

पद ४-५ हेर्नुस्। विश्वासीहरू अन्धकारमा छैनन्, यद्यपि एक समय उनीहरू त्यस अवस्थामा थिए (१ पत्रुस २:९; कलस्सी १:१३)। विश्वासीहरू ज्योतिका सन्तान हुन्। हामी संसारमा छौं तर संसारका होइनौं। हामी अन्धकारको संसारमा छौं तर हामी अन्धकारका होइनौं। हामी ज्योतिका हौं, दिनका हौं।

“यसैकारण हामी अरूझैं नसुतौं; तर हामी जागा रहौं र सचेत रहौं” (१ थेस्सलोनिकी ५:६)। यो बेग्लै किसिमको जागरण ध्वनि हो। अरू खण्डहरूमा “जागी उठ!” भनिएको थियो। यो खण्ड अलिकति यस प्रकारले बेग्लै छ कि यसले भन्छ, “ननिदाऊ!” यहाँ “अरू” भनेर जनाइएकाहरू नबाँचेका मानिसहरू हुन्। “सुतिरहेकाहरू” चाहिँ नबाँचेकाहरू हुन्। विश्वासीहरू जागा रहनुपर्छ। प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाताको रूपमा नचिन्नेहरू सुतिरहेका छन्! तिनीहरूका आत्मिक आँखा बन्द छन्। के हुँदैछ र उनीहरू कति भयङ्कर खतरामा छन् भन्न कुराको सम्बन्धमा उनीहरू अचेत छन्।

पद ७ मा हामी सिक्छौं कि सुत्ने काम रातको काम हो। यो काम दिवाको लागि बिलकुलै असुहाउँदो छ। तपाईं बैङ्कमा जानुभयो भने खजाञ्चीलाई सुतिरहेको त भेट्टाउनुहुन्न सामान्यतया। अथवा तपाईंले हुलाकीलाई तपाईंको घरको आगनमा सुतिरहेको त देख्नुहुन्न। त्यस्तो काम दिवा समयमा अनुचित र असुहाउँदो हुन्छ।

विश्वासीहरू दिवा समयका मानिसहरू हुन्। नबाँचेकाहरू रातका मानिसहरू हुन् (पद ८)। दिनका मानिसहरू ती हुन् जो जागो र सतर्क र सचेत हुन्छन्। ख्रीष्टका निम्ति जागा र जलिरहेको चम्किरहेको एकजना सचेत विश्वासीको सुन्दर बयान १ थेस्सलोनिकी ५:१६-१९ मा भेटिन्छ।

४) रोमी १३:११-१४

यो चाहिँ नयाँ निमयको चौथो खण्ड हो जसले हामीलाई परमेश्वरको जागरण ध्वनि सुनाउँछ।

रोमी १३:११

बिउँझने बेला भयो! वास्तवमा, तपाईं बिउँराखेको हुनुपर्ने! एकजना ढिलोसम्म सुतिरहेको युवालाई विचार गर्नुस्। उसका बुबाआमाको आवाज सुनिन्छ, “एई, उठ, उठ! यतिबेलासम्म के सुतिरहेको? कति बजिसक्यो थाहा छ? ढिलो भइसक्यो! तिमी त दुई घण्टा अघि उठिसक्नुपर्ने!” पावल भन्दैछन्, “यो कुन समय हो थाहा छ? यो सुत्ने समय होइन! यो त जागो र सतर्क रहनुपर्ने समय हो। उठ र प्रभुको सेवा गर!”

“हाम्रो मुक्ति” ले हाम्रो भविष्यको र अन्तिम मुक्तिलाई जनाउँछ। यसलाई “छुटकाराको दिन” (एफेसी ४:३०; रोमी ८:२३) पनि भनिएको छ। योचाहिँ त्यो घडी हो जब हाम्रो मुक्ति पूरा हुनेछ, त्यसले आफ्नो अन्तिम रूप प्राप्त गर्नेछ, अनि त्यो कत्रो रमाहटको दिन हुनेछ! तब हामी प्रभुको उपस्थितिमा हुनेछौं, पापको उपस्थितिबाट सदाको लागि स्वतन्त्र बन्नेछौं! हाम्रो मुक्ति पूरा हुने समय हामीले ख्रीष्टमा पहिले विश्वास गरेको दिनमा भन्दा नजिक छ। तपाईंले विश्वास गर्नुभएको कति वर्ष भयो? ___________। यसको माने तपाईंले पहिले विश्वास गरेको भन्दा अब __________ वर्ष नजिक हुनुहुन्छ। प्रभुको आगमन नजिक आउँदैछ, ख्रीष्टको दिन नजिकै छ र जुन परमेश्वरले तपाईंभित्र एउटा असल काम सुरु गर्नुभयो उहाँले त्यसलाई त्यो दिन पूर्णतामा पुर्याउनुहुनेछ (फिलिप्पी १:६)। हाम्रो छुटकारा र मुक्तिको अन्तिम दिन नजिकिँदै छ (लूका २१:२८ सित तुलना गर्नुस्)। त्यो दिन छिटो-छिटो आउँदैछ (तुलना गर्नुस् हिब्रू १०:२५)। अल्फोर्डले लेखेका छन्: “यस खण्डलाई निष्पक्ष हिसाबले व्याख्या गर्न खोज्ने व्यक्तिले यो महसुस गर्नेनैछ कि प्रेरित [पावल] ले यहाँ, अरू ठाउँमा जस्तै [१ थेस्सलोनिकी ४:१७; १ कोरिन्थी १५:५१] प्रभुको आगमन छिटोछिटो नजिकिँदै गरेको छ भनेर बताउँदैछन्।”

अहिले प्रभुको सेवा गर्नलाई समय सिमित छ। हाम्रा दिनहरू गन्तिमा थोरै छन्। हामी जागा रहन र समयलाई सदुपयोग गर्न र उहाँको सेवा गर्ने क्रममा हाम्रो परमेश्वरले हामीलाई दिनुहुने हरेक अवसरको सक्दो फाइदा उठाउन कति महत्त्वपूर्ण छ। हाम्रो अन्तिम मुक्तिको दिन जब आउनेछ, हामी फेरि पनि सुसमाचार घोषणा गरिरहेका हुँदैनौं। हामी अझ पनि ख्रीष्टका निम्ति आत्माहरू जितिरहेका हुँदैनौं। यस्ता कामहरू अहिले हामीले गर्ने काम हुन्, ख्रीष्टको खातिर र परमेश्वरको महिमाको निम्ति।

रोमी १३:१२

रात धेरै बितिसक्यो (रात छिप्पिसक्यो, करिब सकिसक्यो)। अझै पनि रातको समय छ, तर रात झण्डै बितिसक्यो। दिन आइसकेको छैन, तर झण्डै आइसक्यो। दिन “नजिकै” छ। दिन नजिकिँदैछ र झन् झन् नजिक झन् झन् नजिक आउँदैछ (तुलना गर्नुस् हिब्रू १०:२५)। “नजिकै” भन्ने शब्द पद ११ कै शब्द हो। यो मत्ती ३:२ मा “राज्य” को सम्बन्धमा प्रयोग भएको छ (राज्य “नजिकै आएको छ”) र याकूब ५:८ मा प्रभुको आगमनको सम्बन्धमा प्रयोग भएको छ। प्रभुको आगमन यति नजिक छ कि त्यो झण्डै आइसक्यो! हामी यो अन्धकारमय संसारमा बाँचिरहेका छौं। अझै पनि रातकै समय छ, तर दिन चाँडै खस्नेछ। हामी ख्रीष्टको आगमनको दिन पर्खँदैछौं (र्याप्चरको दिन)। “त्यो धन्यको आशाको बाटो हेर्दै” (तीतस २:१३)। “हाम्रो प्रभु येशू ख्रीष्टको आगमनको बाटो हेर्दै” (१ कोरिन्थी १:७ र पद ८ जहाँ उक्त आगमनलाई “ख्रीष्टको दिन” बराबर भएको मानिएको छ)। “फालौं” को माने “फुकाल्नु, कुनै कुरादेखि आफूलाई रहित पार्नु, लुगा फुकाल्नु जस्तै”। “भिरौं” को चाहिँ ठीक उल्टो माने हुन्छ (तसर्थ वस्त्र पहिरनु, वस्त्र पहिरेको हुनु, कुनै कुरा धारण गर्नु)। “हतियार” शब्दले हामी एउटा युद्धमा छौं भन्ने कुरा जनाउँदैछ। अझै पनि रातकै समय छ! हामी एउटा वास्तविक लडाइँमा छौं। सिपाहीहरू सुतिरहेको अवस्थामा भेटिनुहुँदैन। हामी जागो र सतर्क हुनुपर्छ ताकि हामी लड्न सकौं र जित्न सकौं! उठ र चम्क र लड! ज्योतिको हतियार भिर। परमेश्वरले विश्वासीको लागि प्रबन्ध गर्नुभएको पूर्ण हातहतियारको लागि एफेसी ६:१०-१८ र १ थेस्सलोनोकी ५:८ मा पढ्नुहोस्। रोचक कुरा के छ भने विश्वासीको हातहतियारको चर्चा गर्ने यी दुवै खण्डहरू परमेश्वरको जागरण ध्वनिबाट सुरु हुन्छन् (हेर्नुस् एफेसी ५:१४ र १ थेस्सलोनिकी ५:६)।

रोमी १३:१३

विश्वासीहरू “इमानदार भएर” अथवा शिष्ट(१ कोरिन्थी १४:४० कै शब्द)तरिकालेहिँड्नुपर्छ। ज्योतिका सन्तानलाई सुहाउने प्रकारले हामी हिँड्नुपर्छ। रातकै समय छ, तर हामी रातका होइनौं, अनि हामी यसरी हिँड्नुपर्छ जसरी दिन र ज्योतिको राज्यसित आवद्ध भएकाहरूलाई सुहाउँछ।हामीले फाल्नुपर्ने अन्धकारका केही त्यस्ता पापहरू यस पदमा सूचित गरिएका छन्:

पार्टीका पापहरू:
मोजमज्जा – अचाक्ली खानपान, मद्यपानोत्सव, होहल्लापूर्ण उत्सव(गलाती ५:२१ मा शरीरका कामहरूमध्ये एक)। हामीले मुक्ति पाउनुभन्दा अघिको हाम्रो पुरानो जीवनको बयान गर्न यही शब्दलाई १ पत्रुस ४:३ मा “रक्सीधोकाइ” भनेर अनुवाद गरिएको छ।

मतवालापन— लूका २१:३४ मा हर्नुस्। हामी जागा, सचेत र सतर्क रहनुपर्छ, रक्सीले मातेको नभएर आत्माले भरपूर हुनुपर्छ (एफेसी ५:१८)।
ओछ्यानका पापहरू:

व्यभिचार — अक्षरशः यसको माने हो “ओछ्यान”। यसले ओछ्यानमा गरिने पापपूर्ण क्रियाकलापलाई जनाइरहेको छ। विवाहको ओछ्यान पवित्र र निष्कलङ्क हुन्छ, तर सबै अरू “ओछ्यानहरू” परमेश्वरको न्यायमुनि पर्छन् (हिब्रू १३:४)। कुनै पनि किसिमको यौन अनैतिकता उहाँको निम्ति घिनलाग्दो कुरा हो जुन परमप्रभुले विवाहलाई एउटा पवित्र संस्थाको रूपमा र मानिसको भलाइको निम्ति स्थापना गर्नुभएको थियो।

कामुकता — यसले यौन उच्छृङ्खलतालाई जनाउँछ; अर्थात् लगामरहित अभिलाषा, सीमारहित भोगविलासीपन जसअन्तर्गत पत्नी सट्टापट्टा गर्ने, मद्यपान नैशोत्सव (मदिरा पान गरेर रातमा व्यभिचार पूर्ण तवरले मनाउने उत्सव) र अन्य यौन ज्यादतीहरू पर्दछन्। यो शब्दावली शरीरका कामहरूलाई जनाउन प्रयोग भएको छ (गलाती ५:१९), नबाँचेकाहरूको हिँडाइलाई (१ पत्रुस ४:३), हृदयको अवस्थालाई (मर्कूस ७:२२) र सदोमीहरूको व्यवहारलाई (२ पत्रुस २:७) बयान गर्न प्रयोग भएको छ।

शैतानिक पापहरू:
झगडा — अमेल, विवाद, कलह, बाझाबाझ, भनाभनी (हेर्नुस् गलाती ५:२० र १ कोरिन्थी १:११ र ३:३)। डाहा — अर्कासित भएको कुराको लागि वा अर्कोले गर्न सक्ने कुराले गर्दा डाही बन्नु (गलाती ५:२० हेर्नुस्)। झगडा र डाहा दुवैको जरामा घमन्ड रहेको हुन्छ, त्यही पाप जसले गर्दा शैतानको पतन भयो (हेर्नुस् १ तिमोथी ३:६ र दाँज्नुस् १ तिमोथी ६:४)।

रोमी १३:१४

पद १३ मा उल्लेखित अन्धकारका कामहरूको ठीक विपरीतमा विश्वासीहरूले ज्योतिका हतियार भिर्नुपर्छ, अर्थात् प्रभु येशू ख्रीष्टलाई, जो नै हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:३-४)। “प्रबन्ध” शब्दको माने हो “पूर्वदृष्टि, वास्ता, पूर्वविचार”। जस्तै, एउटा परिवार छ जो यात्रामा जाँदैछ। तब उनीहरूले सामान्यता यात्राको लागि प्रबन्ध गर्दछ। त्यसको योजना बनाउँछ, राम्ररी सोचविचार पुर्याउँछ, यात्राको निम्ति चाहिएका सरसामान जुटाउँछ, यातायातको साधनको प्रबन्ध गर्दछ, इत्यादि। पापले त्यसको घातक काम गर्न सक्छ जब हामीले त्यसको निम्ति ठाउँ दिन्छौं। हामीले त्यसको निम्ति प्रबन्ध गर्छौं। हामीले त्यसको योजना गर्छौं र त्यसको बारेमा सोच्छौं र त्यसको निम्ति हामीले हजारौं फरकफरक तरिकाले प्रबन्ध गर्छौं। हामीले आफ्नो पुरानो, पापपूर्ण स्वभावलाई कसरी सन्तुष्ट पारौं भनेर हामीले सोच्नुहुँदैन र योजना गर्नुहुँदैन। याद गर्नुस्, शरीरलाई सुधार्न, राम्रो बनाउन, बदल्न, सुन्दर बनाउन सकिन्न। त्यसको समाधानको एउटै मात्र उपाय हो: क्रूस (मृत्यु!): “अनि जो ख्रीष्टका हुन् उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्” (गलाती ५:२४)।

प्रभु येशू ख्रीष्टलाई पहिर! “पहिर” को माने लुगा लगाउनु हो, आफूलाई वस्त्रले ढाक्नु। हामीले आफूलाई ख्रीष्टले पहिरनुपर्छ। हामीले उहाँको चरित्र पहिरनुपर्छ। लुगा प्रस्टै देखिने कुरा हो। मानिसहरूले हामीलाई हेर्दाखेरि उनीहरूले हाम्रा लुगाहरू सजिलै देख्न सक्छन्। मानिसहरूले हामीलाई हेर्दा, ख्रीष्ट देखिनुभएको होस्। हाम्रो चालचलनमा उहाँ देखिनुभएको होस्। मानिसहरूले हामीलाई हेर्दा, के तिनीहरूले प्रभु येशूलाई देख्छन् कि तिनीहरूले शरीर (पाप स्वभाव) को कुरूपता देख्छन्? तिनीहरूले व्यक्तिगत स्वार्थको लागि जिइरहेको जीवन देख्छन् कि उहाँको निम्ति जिइरहेको देख्छन् जो हाम्रा निम्ति मर्नुभयो र फेरि बौरनुभयो (२ कोरिन्थी ५:१५)?

एक व्यक्तिलाई पहिरने भन्ने कुरा हामीलाई अनौठो लाग्न सक्छ, तर ग्रीकहरूले यस अभिव्यक्तिको माने “उहाँको उदाहरणको देखासिकी गर्नु, उहाँको आत्माको नकल गर्नु, उहाँजस्तै हुनु” हो भनेर बुझ्थे। [कसैले सिंहको वस्त्राभूषण पहिरन्छ भने सामान्यतया ऊ सिंहको नक्कल गर्न खोज्छ, सिंहजस्तै हिँड्न खोज्छ, सिंहको जस्तै आवाज निकाल्न खोज्छ, आदि]। हामीले प्रभु येशू ख्रीष्टको सुन्दर चरित्र पहिरनुपर्छ ताकि उहाँ देखिनुभएको होस्। ख्रीष्टलाई पहिरनुहोस्! उहाँ नै हाम्रो जीवन हुनहुन्छ, हाम्रो पहिरन हुनुहुन्छ!

यस पदलाई गलाती ३:२७ सित तुलना गर्नुस् जहाँ सिकाइएको छ कि हरेक विश्वासीले ख्रीष्टलाई पहिरिसकेको छ:
तपाईंले ख्रीष्टलाई पहिरनुभएको छ (गलाती ३:२७)
ख्रीष्टलाई पहिरनुहोस् (रोमी १३:१४)

एउटा खण्डले तपाईंले त्यो गरिसक्नुभएको छ भन्छ; अर्को खण्डले तपाईंले त्यो गर्नुपर्छ भन्छ। गलातीको खण्डले विश्वासीको ओहोदाको चर्चा गर्दैछ; रोमीको खण्डले विश्वासीको अवस्थाको चर्चा गर्दैछ। ख्रीष्टमा हाम्रो एउटा सिद्ध ओहोदा छ, र यसको कारण हामीले ख्रीष्टलाई पहिरेका छौं। परमेश्वरले मलाई ख्रीष्टमा देख्नुहुनेभएकोले, म ख्रीष्टजस्तै छु। मसित उहाँको धार्मिकता छ! म उहाँमा सिद्ध र पूर्ण छु! मसित कुनै चरित्र खोट छैनन्! तर मेरो वास्तविक अवस्था (दिनदिनको हिँडाइ) को सम्बन्धमा, जब मानिसहरूले मलाई देख्छन्, के तिनीहरूले ख्रीष्टलाई देख्छन्? के उनीहरूले उहाँको चरित्र देख्छन्? के तिनीहरूले आत्मको फल देख्छन् (गलाती ५:२२-२३)?
नयाँ मान्छेलाई पहिरने सम्बन्धमा पनि यही कुरा हामी देख्छौं:

१ कलस्सी ३:९-१० तिमीले नयाँ मान्छे पहिरेका छौ (पूरा भइसकेको कुरा, गर्नुपर्ने आज्ञा होइन) एफेसी ४:२२-२४: नयाँ मान्छे पहिर (एउटा आज्ञा)

कलस्सीले तथ्यलाई प्रस्तुत गर्छ; एफेसीले विश्वासको माग गर्छ। जुन कुरा परमेश्वरले तथ्यको रूपमा पूरा गरिसक्नुभएको छ, त्यो कुरा हामीलाई विश्वासद्वारा गर्नलाई भनिएको छ। रोमी १३:१४ ले पनि ख्रीष्टमा भएको हाम्रो ओहोदाको तथ्यको आधारमा विश्वासको माग गर्दछ। विश्वासैद्वारा हामीले प्रभु येशू ख्रीष्टलाई पहिरनुपर्छ, अनि हामीमा उहाँको जीवन र चरित्र देखिन दिनुपर्छ। हामीले विश्वासैद्वारा आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान!” (रोमी ६:११)। जसरी भजन लेखकले भन्छन्,

“ख्रीष्टको सुन्दरता देखियोस्, आत्मा जित्ने प्रयासमा
माध्यम भूली देखून् सबले, केवल येशूलाई।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १३:६-१०

रोमी १३:६-१०

 

रोमी १३:६

हामीले कर तिर्नुपर्छ। किन? यी मानिसहरू परमेश्वरका सेवकहरू हुन् (१३:४) अनि हामीले परमेश्वरका सेवकहरूलाई टेवा दिनुपर्छ। उनीहरू सार्वजनिक सेवकहरू हुन् जोहरू परमेश्वरको इच्छा कार्यान्वयन गर्दैछन्, विशेष गरी जब उनीहरूले खराब गर्नेहरूलाई क्रोधले कारवाही गर्छन्। उनीहरू आ-आफ्ना सरकारी सेवामा निरन्तर लागिरहन्छन् (“तिनीहरू यही काममा निरन्तर लागिरहने”) र उनीहरूलाई टेवा दिइनु खाँचो छ। हाम्रो पक्षमा सेवा गर्ने र काम गर्ने प्रहरीहरू, आगलागी नियन्त्रकहरू र अन्य सार्वजनिक सेवकहरूका निम्ति हामी कति धन्यवादी हुनुपर्छ। उनीहरूलाई आर्थिक पारिश्रमिक दिइनुपर्छ।

रोमी १३:७

“तिनीहरूलाई दिनुपर्ने कुरा देओ”= ऋण लागेको कुरा फिर्ता दिनु, जे वास्तवमा अर्काको हो त्यो तिनीहरूलाई दिनु। हाम्रो समाजप्रति हाम्रो ऋण छ। सबै मानिसहरूप्रति रहेको हाम्रो दायित्वलाई हामीले पूरा गर्नुपर्छ। हामीले दिनुपर्ने त्यहाँ चारओटा कुरा छन्: कर, भन्सार, डर र आदर। “कर” = व्यक्तिलाई र जायजेथालाई लाग्ने कर, विशेष गरी सिजर (रोम) लाई तिर्नुपर्ने; “भन्सार” = आयात र निर्यात गरिने सामानलाई लाग्ने कर, पटके कर। त्यहाँ कोही छन् जो हाम्रो डर अथवा सम्मानको योग्य छन्। त्यहाँ कोही छन् जो हाम्रो आदरको योग्य छन्। पुलिस अफिसरहरू, न्यायधीशहरू जस्ता पदमा रहेका व्यक्तिहरू हाम्रो सम्मान र आदरको योग्य हुन्छन्। १ पत्रुस २:१७ मा “सबै मानिसहरूलाई आदर गर” भनी हामीलाई भनिएको छ। कर र भन्सार सम्बन्धी हाम्रा प्रभुले सिकाउनुभएको कुरालाई सम्झना गरौं: मत्ती १७:२४-२७ र लूका २०:२१-२६।

रोमी १३:८

“कुनै पनि कुरामा कसैको ऋणी नहोओ” = कसैप्रति कुनै कुराको ऋणी नहोओ। यस महत्त्वपूर्ण वाक्यांशको व्याख्या दुई तरिकाले गर्ने गरिएको छ: १) म कसैको ऋणी छैन किनकि म कहिल्यै ऋण लिने गर्दिनँ। म पैसा सापट लिन इन्कार गर्छु। म क्रेडिट कार्ड प्रयोग गर्न इन्कार गर्छु। आफूसित पैसा नभएसम्म म कुनै पनि कुरा किन्न इन्कार गर्छु। म कहिल्यै कुनै कुरा सापट लिनेछैन र फलस्वरूप म कसैप्रति कहिल्यै ऋणी हुनुपर्नेछैन। २) म कसैको ऋणी छैन किनकि मैले मेरा सबै ऋणहरू तिरेको छु। मैले मेरा सबै दायित्वहरू पूरा गरेको छु जब तिर्ने बेला हुन्छ। म कतिजना प्रति ऋणी थिएँ तर मैले मेरा ऋणहरू समयमै तिरेको छु र मैले आफ्ना दायित्यवहरू पूरा गरेको छु। मैले कुनै पनि ऋणहरू नतिरी राखेको छैन। पहिलो व्याख्या सही हुन सक्दैन भन्ने धेरै कारणहरू छन्। यस व्याख्याले भन्छ, “म कसैप्रति ऋणी छैन किनकि म कहिल्यै ऋणमा परेको छैन।” यसले अघिल्लो पद (पद ७) लाई खण्डन गर्दछ जहाँ भनिएको छ कि हामीले सबैलाई जे-जे दिन हामी ऋणी छौं त्यो दिनुपर्छ (भन्नाले, हामी हाम्रो समाजका मानिसहरूप्रति ऋणी छौं र हामीले उनीहरूलाई ती कुराहरू तिर्नुपर्छ जो उनीहरूलाई दिनुपर्छ)। तसर्थ, सातौं पदको जोड हामीले ऋण बोक्नुहुन्न भन्ने होइन कि बरु ती ऋणहरूको टुङ्गो लाउनुपर्छ र जे हामीले दिनुपर्छ त्यो फिर्ता दिनुपर्छ (तिर्नुपर्छ) भन्ने हो। तसर्थ हामीले पद ८ लाई यसरी बुझ्नुपर्छ: “म कसैप्रति ऋणी छैन किनकि मैले हरेक मानिसलाई मैले उसलाई दिनुपर्ने कुरा दिएको छु।” तसर्थ पद ८ को माने “कहिल्यै ऋण लिनुहुन्न” भन्ने हो भन्ने व्याख्यालाई रद्द गर्छौं। यसको माने बुझिनुपर्ने यसरी हो: “आफ्ना ऋणहरू तिर्नू (जे ऋण लागेको छ तिर्नू) ताकि तिमी कसैप्रति ऋणी नहोओ।”

यदि अर्को व्याख्या सही हुँदो हो त (“ऋण कहिल्यै लिनुहुन्न”), सबै सापटी लिने काम पापपूर्ण हुनेथ्यो, किनकि तपाईंले आफूलाई ऋणमा पार्नुहुनेथ्यो र सापट लिइएको कुरा तिर्न वा फिर्ता गर्न तपाईंको दायित्व हुनेथ्यो। यसअन्तर्गत पैसा मात्र नभई कुनै पनि सामान सापट लिने कुरा पर्नेथ्यो (जस्तै पुस्तकालयबाट किताब सापट लिनु, छिमेकीको मोबाइल चार्जर सापट लिनु, आदि)। साथै, सापट दिनु पनि गलत हुनेथ्यो किनकि त्यसो गरेर पापलाई हौसला दिइनेथ्यो (तपाईंले कसैलाई सापट लिन हौसला दिनुहुनेथ्यो र यसरी उसलाई ऋणी बन्न हौसला दिनुहुनेथ्यो)।

त्यसैले हामीले यो प्रश्न सोध्नुपर्ने हुन्छ: के पवित्रशास्त्रले सापट लिने दिने कामलाई दोष्याएको छ? यद्यपि बाइबलले सापट लिँदाका खतराहरू बारे हामीलाई चेतावनी दिन्छ, यसले यस कार्यलाई नै दोष्याएको छैन। भन्नुपर्दा, पवित्रशास्त्रले सापट दिन समेत हौसला दिन्छ। निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

भजनसङ्ग्रह picture

११२:५ — भलो मानिसले कृपा देखाउँछ र उधारो दिन्छ; उसले आफ्ना कामकुरा सुझबुझले सञ्चालन गर्छ।
हितोपदेश १९:१७ — जसले गरिबमाथि दया देखाउँछ, उसले परमप्रभुलाई सापट दिन्छ; अनि उसले जे दिएको छ, त्यो उहाँले उसलाई फिर्ता गरिदिनुहुनेछ।
गरिबलाई सापट दिनु नोक्सानी ल्याउने कदम हो किनकि गरिबले ऋण फिर्ता दिन सक्दैन। तर गरिबलाई दिने काम (जब त्यो ठीक समयमा र ठीक तरिकामा गरिन्छ) लाई यहाँ परमप्रभुलाई सापट दिएको मानिएको छ, किनकि परमप्रभुले त्यसलाई फिर्ता तिरिदिनुहुन्छ जसले गरिबलाई दिन्छ।
“अनि एकजनाले एउटा बलोको काठ ढाल्दै गर्दा बन्चरो बिँडबाट खुस्केर पानीभित्र खस्यो; र तिनले पुकारेर भने: “हाय, मेरा स्वामी! किनकि यो ता मागेर ल्याइएको चीज थियो!” (२ राजा ६:५)
त्यो बन्चरो सापट लिनुमा कुनै आपत्ति थिएन। यहाँ आपत्ति कुन कुरामा आयो भने सापट लिइएको कुरा नदीभित्र हरायो जसले गर्दा त्यसलाई फिर्ता दिन असम्भव भयो। पवित्रशास्त्रले दोष्याएको कुरा सापट लिने कामलाई होइन तर सापट लिइएका सामानहरूलाई फिर्ता नदिने कामलाई र सापटलाई नतिर्ने कामलाई हो।
“धनीले गरिबहरूमाथि शासन चलाउँछ; अनि ऋण लिने ऋण दिनेको दास हुन्छ” (हितोपदेश २२:७)

सापट लिने व्यक्ति सापट दिने व्यक्तिको दास बन्दछ। यसले सापट लिने कामलाई दोष्याउँदैन तर यसमा रहेको खतराको विरूद्धमा चेतावनी दिन्छ। आफूलाई दीर्घकालीन ऋणमा पार्नुमा ठूलो खतरा छ। हामीले आफ्ना ऋणहरू सकेसम्म चाँडो तिर्नुपर्छ र हामीले तिर्न सक्ने भन्दा बढी ऋण लिनुहुँदैन भन्ने कुरामा एकदम होशियार हुनुपर्छ।
“दुष्टले ऋण लिन्छ, र तिर्दैन; तर धर्मी जनले कृपा देखाउँछ र दिन्छ” (भजनसङ्ग्रह ३७:२१)।

यस पदको पहिलो भागलाई विचार गर्नुहोस्। यस मानिसलाई किन “दुष्ट” भनियो? उसले सापट लिएकोले त होइन, तर उसले सापट लिएको कुरा फिर्ता नदिएकोले हो। आफूले सापट लिएको कुरा फिर्ता नदिनु वास्तवमा एक किसिमको चोरी हो। यो चाहिँ कुनै कुरा बढी लामो समयको लागि आफूसित राखिराख्नु र त्यो आफ्नै भएजस्तै चलाउनु हो, जब कि त्यो त्यसको आधिकारीक मालिकलाई फिर्ता दिइनुपर्थ्यो। मानौं तपाईंले आफ्नो छिमेकीको मोबाइल चार्जर चोर्नुभयो र त्यो तपाईंको कोठामा भेटियो। अब मानौं तपाईंले आफ्नो छिमेकीको मोबाइल चार्जर सापट लिनुभयो र त्यो फिर्ता दिन विफल हुनुभयो र महिनौंपछि पनि त्यो तपाईंको कोठामा भेटियो। दुवैमा तपाईंले जुन कुरा आफ्नो छिमेकिको हो त्यसलाई गलत तवरले आफूसित राख्नुभएको छ। त्यो सामान आफ्नै सामान भएजस्तै तपाईंले व्यवहार गर्नुहुँदैन, किनकि त्यो तपाईंको होइन। हामीले अर्काको सामानको आदर गर्नुपर्छ। माथिका दुईटा उदाहरणहरूका बीच फरक यति हो कि त्यो चार्जर तपाईंको कोठामा कसरी आइपुग्यो भन्ने कुरामा। पहिलो उदाहरणमा त्यो चोरीको पापले त्यहाँ आइपुग्यो। दोस्रो उदाहरणमा त्यो त्यहाँ आइपुग्यो किनकि त्यो तपाईंको छिमेकीको अनुमतिले तपाईंले सापट लिनुभयो। तपाईंले त्यो प्रयोग गर्न सक्नुहुन्छ भनेर छिमेकीले भन्यो। तर त्यो प्रयोग गर्न सक्नुहुन्छ र महिनौंसम्म राख्न सक्नुहुन्छ भनेर त छिमेकीले भनेको थिएन!

पुस्तकालयको विचार गर्नुहोस्। पुस्तकालयबाट किताब वा सीडी सापट लिनु कुनै गलती होइन। पुस्तकालय यसैका लागि हो अनि त्यसो गर्नु हौसला दिइन्छ। गलती तब हुन्छ जब हामीले समयमै किताबहरू फिर्ता ल्याउँदैनौं। त्यतिबेला जरिवाना र फाइन तिर्नुपर्ने हुन्छ।
“तर उसका निम्ति [गरिब मानसिका निम्ति] तिमीले आफ्नो मुठी ठूलो खोल्नु, र निश्चय उसलाई जे खाँचो छ, उसको त्यस खाँचोका निम्ति पुग्ने गरी उधारो दिनू!” (व्यवस्था १५:८)।

यहाँ उधारो दिन हौसला दिइएको छ।
“अनि उनीहरूबाट फिर्ता पाउने आशा राखी तिमीहरूले उनीहरूलाई सापट दिँदछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि पापीहरूलाई दिएको जति फिर्ता पाउने आशामा सापट दिँदछन्। तर तिमीहरूका शत्रुहरूलाई प्रेम गर, र भलाइ गर, अनि फेरि केही पाउने आशा नगरीकन सापट देओ; र तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू परमप्रधानका सन्तान हुनेछौ। किनकि उहाँ अधन्यवादी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ” (लूका ६:३४-३५)।

यदि सापट दिनु आफैमा पाप हुँदो हो त, प्रभु येशूले कहिल्यै यसरी भन्नुहुनेथिएन। यहाँ सिकाइएको कुरा यो हो कि उनीहरूले हामीलाई बदलामा खराब गरे तापनि हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ र उनीहरूको भलाइ गर्नुपर्छ। यहाँ हामीले गर्न सक्ने भलाइ भनेको सापट दिनु हो र उनीहरूले हामीलाई गर्न सक्ने खराबी भनेको उनीहरूले त्यो फिर्ता नदिन सक्ने सम्भावना हो।
“ऊ सदा कृपालु रहन्छ, र ऋण दिन्छ; अनि उसको सन्तान आशिषित हुन्छ” (भजनसङ्ग्रह ३७:२६)। धर्मी मानिस अनुग्रही हुन्छ र उसले ऋण दिन्छ
याद गर्नुहोस्, सापट लिनु पाप हुँदो हो त [जसरी कतिले रोमी १३:८ लाई गलत व्याख्या गरी सिकाउँछन्], ऋण दिनु पनि पाप हुनेथ्यो। किन? किनभने कसैलाई ऋण दिँदा उक्त व्यक्ति ऋणी बन्नेथ्यो र फलस्वरूप पापी हुनेथ्यो। ऋण दिने कामले अर्कोलाई पाप गर्न लाउँछ भने, ऋण दिनु गलत हुनेथ्यो। तर माथिका पदहरूले सिकाएको कुरा यो होइन। साँच्चै, प्रभु येशूले भन्नुभयो,
“जसले तिमीसित माग्छ, त्यसलाई देऊ; अनि जसले तिमीसँग सापट लिन चाहन्छ, त्यसपट्टि पिठ्यूँ नफर्काऊ” (मत्ती ५:४२)।
रोमी १३:८ को साँचो माने यो हो कि हामीले जिम्मेवारपूर्ण तवरले आफ्ना ऋणहरू तिर्नुपर्छ जसको फलस्वरूप “कसैको ऋणी नहोओ” भन्ने वचन पूरा होओस्। यसको माने तपाईं कहिल्यै ऋणमा पर्नुहुँदैन भन्ने होइन, किनकि त्यसो हुँदो हो त तपाईंले पुस्तकालयको किताब लिनुहुँदैन, कसैसित कलम सापट लिनुहुँदैन र छिमेकिसित उसको हँसिया वा हथौडि सापट लिनुहुँदैन।

यो नै सही माने हो भन्ने कुरा पदको अघिल्लो भागले प्रस्ट पार्दछ: “एक-अर्कालाई प्रेम गर्नुबाहेक कुनै पनि कुरामा कसैको ऋणी नहोओ; किनकि जसले अर्कोलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको छ” (रोमी १३:८)। हामी कहिल्यै ऋणमा पर्नुहुँदैन भन्ने अवधारणाले यो सिकाउँछ कि हाम्रो कुनै दायित्वहरू हुनुहुँदैन। रोमी १३:८ ले हाम्रो कुनै दायत्वहरू हुनुहुँदैन भनेर सिकाउँदैन, तर बरु हामीले हाम्रा ऋणहरू तिरेर हाम्रा दायित्वहरू पूरा गर्नुपर्छ। तरैपनि त्यहाँ एउटा यस्तो दायित्व छ जुनचाहिँ हामीसँग सधैं भइरहन्छ अनि त्यो दायित्व हो प्रेमको ऋण। तपाईंले उक्त ऋण जति बढी तिर्नुहुन्छ, त्यति नै बढी तपाईंलाई ऋण लाग्छ।

मानौं तपाईंलाई कसैको १०० रुपैयाँ ऋण लागेको छ। एक हप्ता पछि तपाईंले उसलाई यति पैसा फिर्ता दिनुभयो। तब तपाईं भन्न सक्नुहुन्छ, “मैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरेको छु। म अब उसो ऋणमा छैन। यो पार लागिसक्यो। मैले अरू तिर्नुपर्दैन।” यसको तुलनामा, जब तपाईंले कसैलाई प्रेम देखाउनुहुन्छ र अर्को व्यक्तिको खातिर तपाईंले आफैलाई दिनुहुन्छ, तब तपाईंले भन्न सक्नुहुन्न, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। मैले यस व्यक्तिलाई प्रेम गरेँ र अब उसो मेरो दायित्व बाँकी छैन। मैले यस व्यक्तिलाई फेरि प्रेम गर्नुपर्दैन।” होइन, प्रेम यस्तो दायित्व हो जो निरन्तर रहन्छ र हामीले त्यो तिरिरहनुपर्छ।

मुक्तिको उदाहरण: हाम्रा पापहरूको कारण हामीलाई परमेश्वरप्रति ठूलो ऋण लागेको थियो। ख्रीष्टले यस्तो ऋण तिर्नलाई आउनुभयो जुन ऋण उहाँको थिएन किनकि हामीलाई यस्तो ऋण लागेको थियो जुन हामी तिर्न सक्दैनथ्यौं। “पापको ज्याला मृत्यु हो” र हामीले हाम्रो ऋण तिर्न सक्ने एउटै उपाय भनेको आगोको झीलमा अनन्तसम्म परमेश्वरबाट अलग गरिनु (मृत्यु) थियो। तर क्रूसमा प्रभु येशूले हाम्रो ठाउँ लिनुभयो, उहाँ हाम्रो प्रतिस्थापकको रूपमा मर्नुभयो र हामीलाई लागेको ऋण उहाँले पूरै तिरिदिनुभयो। पापीले सोध्न सक्थ्यो, “तर परमेश्वर, मेरो पापको कारण के अनन्तसम्म आगोको झीलमा बिताउनुपर्ने मेरो दायित्व छैन र?” परमेश्वरको जवाफ हुनेथ्यो, “त्यो ऋण तिरिसकिएको छ भन्ने कुरामा म पूर्णरूपमा सन्तुष्ट छु। मेरो प्रिय पुत्रले पूरै त्यो सबै तिरिसक्यो!” जसरी भजनले भन्दछ, “मेरो पापको ऋण येशूले तिरे, पापको त्यो रक्ताम्मे दाग हिँउसरी पारे!”

मेरो छिमेकीप्रतिको मेरो जिम्मेवारी मैले कसरी पूरा गर्न सक्छु? प्रेम बिना त्यसो गर्नु असम्भव छ: “किनकि जसले अर्कोलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको छ।” गलाती ५:१४ ले पनि यही सिकाउँछ: “किनकि सारा व्यवस्था एउटै शब्दमा अर्थात् ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर’ भन्ने कुरामा पूरा हुन्छ।”

रोमी १३:९-१०

यस पदमा पावलले व्यवस्थाको दोस्रो पाटीबाट उद्दरण गर्छन् जसले हाम्रो मानवमुखी जिम्मेवारीहरूसित सम्बन्ध राख्दछ, अर्थात् हाम्रो छिमेकीप्रतिका हाम्रा दायित्वहरूसित। उनले सातौं, छैठौं, आठौं, नवौं र दसौं आज्ञाहरूबाट उद्दरण गर्दछन् (हेर्नुहोस् प्रस्थान २०:१३-१७) र त्यसपछि उनले लेवी १९:१८ मा पाइने संक्षिप्त आज्ञालाई उल्लेख गर्छन्, “तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू”, जुन आज्ञा प्रभु येशूले दोस्रो ठूलो आज्ञा हो भन्नुभयो (मत्ती २२:३८-३९)। यदि हामीले प्रभु परमेश्वरलाई साँच्ची नै प्रेम गर्दछौं भने (सबभन्दा ठूलो आज्ञा), हामी एउटा मूर्तिको सामु झुक्नेछैनौं, उहाँको नाम व्यर्थमा लिनेछैनौं, आदि। “प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन” (पद १०)। यदि हामी आफ्नो छिमेकीलाई साँच्ची नै प्रेम गर्छौं भने, हामीले उसको केही चोर्नेछैनौं, उसको पत्नीसित व्यभिचार गर्नेछैनौं, उसको हत्या गर्नेछैनौं, उसको कुनै कुराको लोभ गर्नेछैनौं, आदि। यसैले गर्दा हो प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। यदि तपाईं परमेश्वरलाई र आफ्नो छिमेकीलाई ठीकसँग प्रेम गर्नुहुन्छ भने त्यो तपाईंले व्यवस्था पालन गर्नुभएको र त्यसका मागहरू पूरा गर्नुभएको बराबर हो। पद ९ ले भन्छ सम्पूर्ण व्यवस्थाको सार (“ती सबैको सार”) यही हो! व्यवस्थाका ६१३ ओटा आज्ञाहरूको सार प्रस्थान २० अध्याय र व्यवस्था ५ अध्यायमा भेटिने दस आज्ञाहरू हुन्। यी दस आज्ञाहरूको सार मत्ती २२:३६-४० मा भेटिने दुई आज्ञाहरू हुन्। यी दुई आज्ञाहरूको सार एउटै शब्द हो: “प्रेम”।
तर हामीले प्रेम कसरी गर्न सक्छौं त? हामी आफैंमा यो असम्भव छ! यसको चाबी भेटिन्छ गलाती ५:१६,२२ र रोमी ८:२-४ मा।

परमेश्वरको जागरण ध्वनि!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १३:१-५

रोमी १३:१-५

 

रोमी अध्याय १३

मानव शासन र परमेश्वरको जागरण ध्वनि

परिचय

खराब काम गर्नेहरूमाथि क्रोध र न्याय सम्पादन गर्ने परमेश्वरको एउटा तरिका चाहिँ मानव शासन (रोमी १२ को अन्तिम भाग यस प्रकारले रोमी १३ सित जोडिन्छ) प्रणाली हो। परमेश्वरले जलप्रलय पश्चात् मानिसलाई शासन चलाउने अधिकार सुम्पनुभयो। यो कुरा विशेष गरी यसबाट देखिन्छ कि परमेश्वरले मानिसलाई अपराधीहरूलाई, विशेष गरी हत्याराहरूलाई, दण्ड दिने अधिकार सुम्पनुभएकोबाट देखिन्छ (उत्पत्ति ९:६)। यही सत्यता रोमी अध्याय १३ मा पनि प्रस्तुत गरिएको छ।

रोमी १३:१

“हरेक प्राण” = हरेक व्यक्ति

“अधीनतामा रहोस्”= यो एउटा सैनिक शब्दावली हो जसको माने हुन्छ “दर्जाको मुनि रहनु, अधिकारीको मुनि आफ्नो उचित स्थान लिनु, अधीनमा बस्नु, सुम्पनु, आज्ञाकारी हुनु।” तीतस ३:१ मा पाइने आज्ञासित तुलना गर्नुहोस्। “उच्च अधिकारीहरू”= अधिकारीहरू, शासन गर्ने अधिकारीहरू, जसलाई पद ३ मा शासकहरू अर्थात् सरकारी अधिकारीहरू भनेर परिभाषित गरिएका छन्। मानव शासन जलप्रलय पश्चात् परमेश्वरद्वारा स्थापना गरिएको हो। चाबी पद उत्पत्ति ९:६ हो जसअनुसार मान्छेको रक्तपात गर्ने व्यक्ति (हत्यारा) को मानिसद्वारा नै रक्तपात गरिनुपर्छ। परमेश्वर स्वयं आफैले हत्याराहरूलाई सजायँ दिने निर्णय गर्न सक्नुहुन्थ्यो, तर त्यसको सट्टा उहाँले यसको जिम्मा मानिसलाई दिन रोज्नुभयो। मानव शासन परमेश्वरद्वारा स्थापना गरिएको र नियुक्त गरिएको निकाय हो, र चाहे मुक्ति पाएका होस् वा नपाएका, सबै मानिसहरू सरकारी सेवाबाट लाभान्वित भइरहेका हुन्छन्, र सरकारका नियमहरू अवज्ञा गर्ने र त्यसको अधिकारको विरुद्धमा विद्रोह गर्ने जति सबै मानिसहरूले सरकारको डर मान्नुपर्छ।

“किनकि कुनै अधिकारी छैन, जो परमेश्वरबाटको होइन”— परमेश्वर नै अन्तिम र सर्वोच्च अधिकारी हुनुहुन्छ। उहाँ हरेक शासकको माथि हुनुहुन्छ। यो कुरा प्रभु येशूले यूहन्ना १९:११ मा ज्यादै स्पष्ट पार्नुभयो। साथै दाँज्नुस्, दनियल ४:१७,२५,३२; २ इतिहास २०:६ र भजनसङ्ग्रह ७५:७। “नियुक्त”=स्थापित, पदमा बहाल गरिएको। स्वर्गका सार्वभौम परमेश्वरको इच्छा र अनुमतिबिना कुनै पनि मानिस कुनै पनि अधिकारको स्थानमा हुँदैन।

रोमी १३:२

सरकारी अधिकारीहरू परमेश्वरबाट नियुक्त भएका हुनाले, उनीहरूको विरोध नगर्नुहोस्! परमेश्वरले स्थापना गर्नुभएको विधिको विरुद्धमा लड्नु बुद्धिमानी होइन। “विरोध” = विरुद्धमा खडा हुनु, प्रतिरोध गर्नु (“अधीनतामा सुम्पनु” को विपरीत)। “दण्ड” =न्याय वा सजाय। अधिकारीहरूको अवज्ञा गर्नु परमेश्वरको अवज्ञा गर्नु हो (हेर्नुस् १ पत्रुस २:१३-१७)।

रोमी १३:३

“डर” = शासकहरूले सुकर्मको सराहना गर्नुपर्छ र कुकर्मलाई सजाय दिनुपर्छ। साधारणतया सरकारहरूले असललाई इनाम दिन्छन् र खराबलाई सजाय दिन्छन्। कसैले नियमहरू पालन गर्छ भने र ऊ नियमअनुसार जिउने नागरिक हो भने साधारणतया उसले कुनै कुराको डर मान्नुपर्दैन। पत्रुसको पहिलो पत्रले आफूले गरेको गल्तीको कारण दुःख भोग्नेहरू र आफ्नो ख्रीष्टियन गवाहीको कारणले दुःख भोग्नेहरूका बीच स्पष्ट भिन्नता राखेको छ (हेर्नुस् १ पत्रुस २:१४,१९-२०; ३:१३-१४; ४:१४-१६)।

रोमी १३:४

शासक (सरकारी अधिकारी) परमेश्वरको सेवक हो! आज यसले हाम्रो राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, प्रहरी, आदिलाई जनाउँछ। यीमध्ये धेरैजसो मानिसहरू मुक्ति नपाएका भए तापनि तिनीहरू परमेश्वरका सेवकहरू हुन् यस अर्थमा कि कुकर्म गर्नेहरूलाई सजाय दिएर तिनीहरूले परमेश्वरको इच्छा कार्यान्वयन गर्दैछन्। हाम्रो भलाइका लागि ती व्यक्तिहरूलाई परमेश्वरले अधिकारका स्थानहरूमा राख्नुभएको हो। कानून तोड्ने र कुकर्म गर्नेहरू डराउनुपर्ने कारण छ, किनकि उनीहरू पक्राउ परे भने अधिकारहरूले तोकेको सजाय उनीहरूले भोग्नुपर्ने हुन्छ। कुकर्मीहरूलाई परमेश्वरले आफै सजाय दिन सक्नुहुन्थ्यो, तर कुकर्मी गर्ने व्यक्तिमाथि क्रोधको काम गर्न उहाँले बरु मानव सरकारलाई रोज्नुभएको छ। यही कारणले गर्दा शासकहरू हाम्रा फाइदाका निम्ति र हाम्रो भलाइका निम्ति हुन्। नियम तोड्ने व्यक्तिहरूलाई सजाय दिईकन र नियम तोड्न चाहनेहरूलाई त्यसो गर्नदेखि निरुत्साहित पारीकन र रोकथाम गरीकन सरकारले हामीलाई सुरक्षा दिन्छ। जोहरू सजायदेखि डराउँछन् र पक्राउ परिएला कि भनी डराउँछन् उनीहरूले अपराध गर्ने सम्भावना कम हुन्छ। बदला लिने काम परमेश्वरको हो (रोमी १२:१९), अनि बदला लिने परमेश्वरले उहाँका सरकाररूपी सेवकलाई कुकर्मीहरूमाथि क्रोधको कारवाही गर्न अनुमति दिनुभएको छ (रोमी १३:४)।

परमेश्वरले सरकारलाई जीवन र मृत्युको अधिकार दिनुभएको छ, अर्थात् मृत्युदण्ड दिने अधिकार दिनुभएको छ। उसले निरन्तर तरवार भिरेको हुन्छ, अनि त्यो तरवार कुकर्मीहरूलाई सजाय दिनलाई प्रयोग हुन्छ। सरकारले तरवार व्यर्थमा भिरेको हुँदैन, बरु त्यसले एउटा ज्यादै महत्त्वपूर्ण उद्देश्य पूरा गर्दछ। नयाँ नियमहरूको समयमा तरवार चाहिँ मृत्युदण्ड दिने हतियार थियो। बप्तिस्मा दिने यूहन्ना तरवारले फाँसी दिइए (प्रेरित १२:२)। पावल सम्राट नीरोका दिनहरूमा तरवारले फाँसी दिइए (पावल रोमी नागरिक भएकाले उनलाई क्रूसमा फाँसी दिन मिल्दैनथ्यो)। क्रूसीकरण चाहिँ सबभन्दा जघन्य अपराधीहरूलाई फाँसी दिने तरिका थियो। मृत्युदण्ड दिने प्रचलित तरिका चाहिँ तरवारले टाउको काट्नु थियो।

मृत्युदण्ड (capital punishment) एउटा महत्त्वपूर्ण विषय हो र यसबारे बाइबलले के सिकाउँछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण कुरा हो।
१) परमेश्वर स्वयंले स्थापना गर्नुभएको
मृत्युदण्ड,विश्वव्यापी जलप्रलयपछि परमेश्वर स्वयंले स्थापना गर्नुभएको कुरा हो। यो कुरा हामी उत्पत्ति ९:६ मा सिक्छौं — “हरेक जसले मानिसको रगत बगाउँछ, त्यसको रगत मानिसद्वारा नै बगाइनेछ; किनकि उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।” यस पदले एउटा हत्याराको कुरा गर्दछ, जसले जानाजानी र हिंसात्मक किसिमले अर्को मानिस मर्ने गरी उसको रगत बगाउँछ। हत्यारालाई मृत्युदण्ड दिन परमेश्वरले यहाँ मानिसलाई कर्तव्यस्वरूप अधिकार दिनुभएको छ: “त्यसको रगत मानिसद्वारा नै बगाइनेछ।” यसको कारणचाहिँ मानव जीवनको मूल्य र पवित्रता भएको बताइएको छ: “किनकि उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।” यहाँ “प्राणको बदलामा प्राण, आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत” (प्रस्थान २१:२३-२४) भन्ने नियमको आधारमा न्याय सम्पादन गरिने कुरा छ। दण्ड अपराधलाई मिल्दो हुनुपर्छ। यस खण्डमा अपराध हत्या हो र दण्ड मृत्यु हो। स्मरण होस्, मोशाको व्यवस्था दिइनुभन्दा अघि मानिसलाई उत्पत्ति ९:६ दिइएको थियो।

२) “तिमीले हत्या नगर्नू”?
मृत्युदण्ड छैटौं आज्ञासित जुध्दैन जसले भन्छ, “तिमीले हत्या नगर्नू” (प्रस्थान २०:१३)। जुनसुकै हत्या, मार्ने कार्य भए तापनि तर सबै मार्ने कार्य हत्या होइन। मारेर हत्या नहुने केही उदाहरणहरू यस प्रकार छन्: क) युद्धमा शत्रुलाई मार्नु (बाइबलको उदाहरण: दाऊदले गोल्यतलाई मारेको, भूमि कब्जा गर्दा यहोशू र इस्राएलीहरूले मारेका; ख) पतिले उसकी पत्नी, बालबच्चालाई कसैले हत्या गर्न लाग्दा प्रतिरक्षा गर्नलाई आक्रमणकारीलाई मारेको; ग) प्रहरीले आफ्नो काम-कर्तव्यको सिलसिलामा निर्दोष ज्यानको प्रतिरक्षा गर्न मारेको; घ) जसले मृत्युदण्ड सम्पादन गर्छ, जस्तै जसले बिजुली-मेचको करेन्ट पठाउन स्वीच अन गर्दछ; ङ) कसैलाई अनायास मारेको, जब मार्नेले उसको ज्यान लिने लक्ष्य राखेकै थिएन। साथै यो पनि टिप्पणी गरिनुपर्छ कि प्रभु येशू ख्रीष्ट स्वयंले उहाँको दोस्रो आगमनमा “न्याय र लडाइँ गर्नुहुन्छ” जसको नतीजास्वरूप अनगिन्ती मृत्युहरू हुनेछन् (प्रकाश १९:११-२०)।
३) मृत्युदण्ड पाउन लायकका अपराधहरू
मृत्युदण्डलेदस आज्ञालाई मिच्दैन भन्ने कुरामा हामी विश्वस्त छौं। यो कुरा दस आज्ञा उल्लेख गरिएपछिकै अध्यायलाई अध्ययन गर्दा छर्लङ्ग हुन्छ अर्थात् प्रस्थान २१ अध्याय (दस आज्ञा प्रस्थान २० मा भेटिन्छ)। परमेश्वरले प्रस्थान २१ अध्यायमा कतिपय अपराधहरूको बदला मृत्युदण्डको माग गर्नुभयो, जस्तै हत्या, अपहरण, बाबुआमालाई सराप्ने काम, आदि। प्रस्थान २१:१२,१५,१६,१७ मा हेर्नुस्। मोशाको नियममा मृत्युदण्ड लायकका अरू अपराधहरूको लागि लेवी २०:१०-१७ मा हेर्नुस्।
४) न्याय सम्पादन गर्ने व्यक्ति परमेश्वरका सेवक हुन्
नयाँ नियमको समयहरूमा मृत्युदण्डको अभ्यास अझै हुने गर्थ्यो। रोमी १३:४ ले भन्छ, परमेश्वरले कुकर्मीहरूमाथि तरवारद्वारा क्रोध सम्पादन गर्न मानव सरकारहरूलाई अधिकार दिनुभएको छ (तरवार, नयाँ नियमको समयहरूमा मृत्युदण्ड दिने सामान्य हतियार थियो)। प्रेरित पावल यस्तो समयमा जिउँथे जुन बेला रोमी साम्राज्यमा मृत्युदण्ड सामान्यतया प्रचलनमै थियो (जुन कुरा चाहिँ आजको भन्दा फरक छ), तरैपनि उनले त्यस अभ्यासलाई गल्ती ठहराएनन्। बरु उल्टो, तरवार भिर्ने व्यक्ति परमेश्वरको सेवक हुन् भनी उनले बयान गर्छन्। तसर्थ कुकर्मीलाई सजाय दिने व्यक्तिले परमेश्वरद्वारा अधिकृत भएको हैसियतले नै त्यसो गर्ने गर्छन्।
५) एउटा प्रभावकारी प्रतिरोधक (deterrent)
जब मृत्युदण्ड दृढतापूर्वक अभ्यास गरिन्छ त्यो अपराधी निरुत्साहित पार्ने ज्यादै प्रभावकारी प्रतिरोधक बन्दछ किनकि मृत्युको डर मानिसको सबभन्दा ठूलो डर हो (हिब्रू २:१४-१५ मा हेर्नुस्)। मृत्यु नै डरहरूको राजा भएको हुनाले, एउटा मान्छेले अपराध गर्नु अघि दुईपटक सोच्छ यदि उसले आफ्नो ज्यान गुमाउनुपर्ने हुन्छ भनेर उसलाई थाह छ भने। तर उसलाई आइपर्न सक्ने सबभन्दा अप्रिय कुरा भनेको आजीवन कारागारमा खानेकुरा, टेलिभिजन आदिको प्रबन्धसहित बिताउनु हो भन्ने थाहा छ भने कसैको हत्या गर्न उसलाई कम हिच्किचाहट हुनेछ। जब न्याय छिट्टै सम्पादन गरिन्छ तब “अनि बाँकी मानिसहरूले यो सुन्नेछन् र डराउनेछन्, अनि तिमीहरूको बीचमा यस्तो खराब काम फेरि कहिल्यै गर्नेछैनन्” (व्यवस्था १९:२०)। जब सही सजाय तुरुन्त सम्पादन हुँदैन, तब त्योचाहिँ अपराध गर्नलाई प्रोत्साहन बन्छ (उपदेशक ८:११ हेर्नुस्)।
६) निर्दयी र अमानवीय?
के मृत्युदण्ड निर्दयी र अमानवीय कुरा हो? मृत्यु सामान्यतया हेर्नलाई अप्रिय कुरा हो, र निश्चय पनि अपराधीलाई मृत्युदण्ड दिने जिम्मेवारी पाएको व्यक्तिको काम लोभलाग्दो काम होइन। तैपनि हामी होशियार हुनुपर्छ नत्र हामी अपराधको पीडित पक्षलाई बिर्सेर पीडकमाथि ध्यानकेन्द्रित होऔंला। जानीबुझी कसैको हत्या गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। बलजफ्ती बलत्कार गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। हवाइजहाज अपहरण गर्नु र थुप्रै निर्दोष व्यक्तिहरूको ज्यान जोखिममा पार्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। मान्छेको जिन्दगी बर्बाद पार्ने लागु औषधिको धन्दा गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। अपराधीलाई बचाउने हाम्रो जोशमा हामीले अपराधको जघन्यता बिर्सन पुगौंला। मृत्युदण्डको सम्बन्धमा एक व्यक्तिको धारण जस्तोसुकै किन नहोस्, एउटा कुरामा सबैजनाले सहमत जनाउनै पर्छ कि यदि हत्यारालाई मृत्युदण्ड दिइयो भने उसले फेरि कहिल्यै हत्या गर्नेछैन। यो उल्लेखनीय छ कि जोहरू मृत्युदण्ड मानिसहरूका जीवनहरूलाई नष्ट पार्ने निर्दयी र अमानवीय तरिका हो भनी यसको निन्दा गर्दछन्, कतिपटक तिनै व्यक्तिहरू नै हुन्छन् जसले गर्भपतनको बेसरी समर्थन गर्दछन्। एउटा नजन्मिएको बच्चाको भन्दा एउटा दोषी हत्याराको कसरी बढी बाँच्ने अधिकार भयो?
७) पावलको व्यक्तिगत गवाही
प्रेरित पावल मृत्युदण्डको बारेमा कस्तो धारणा राख्थे? के उनले त्यो अन्यायपूर्ण र निर्दयी र अमवानीय कुरा हो भनी ठान्थे? हुन त हामीले रोमी १३ मा पावलको शिक्षालाई हेरिसकेकाछौं, तर हामीले प्रेरित २५:११ मा प्रेरित पावलले भनेको कुरालाई पनि टिप्पणी गर्नु राम्रो हुन्छ: “किनकि म अपराधी छु भने वा मारिन लायकको कुनै काम गरेको छु भने म मर्नलाई इन्कार गर्दिनँ।” कुनै कुनै अपराधहरू मृत्युदण्ड सजायको योग्य हुन्छ भन्ने कुरा पावल जान्दथे र त्यस्ता अपराधहरूको दोषीहरू मारिनुपर्छ भन्ने कुरा उनी जान्दथे। यदि त्यस्तो कुराको दोषी आफै भएको खण्डमा उनी मर्न इन्कार गर्नेथिएनन्। मृत्युदण्डको योग्यका कामहरू आफूबाट भएको भए उनी मृत्युदण्डको अधीनतामा आफूलाई सुम्पनेथिए। अवश्य नै पवाल त्यस्ता अपराधहरूदेखि निर्दोष थिए तरैपनि उनी सम्राट नीरोको आदेशमा मारिए। कुन अपराधका निम्ति? परमेश्वरको अनुग्रहको सुसमाचार प्रचार गरेका हुनाले!
८) जानकार आदिवासीहरू
असभ्य मानिसहरू समेत उनीहरूको हृदयको अन्तस्करणमा केही अपराधहरूले मृत्युदण्डको माग गर्दछ भन्ने कुरा जान्दछन्। यो कुरा प्रेरित २८ अध्यायमा दर्शाइएको छ जब पावल आफू चढेको जहाज भताभुङ्ग भएर मल्टा टापुमा उत्रे जहाँ दयालु आदिवासीहरूको एउटा समूहसित उनको भेट भयो (पद १-२)। पावलले आगो बाल्न झिक्रा जम्मा गर्ने क्रममा एउटा घातक विषालु सर्पले उनको हातमा डस्यो। साधारणतया यस्तो डसाइले केही मीनेटमै मृत्युमा पुर्याउँथ्यो। यो देख्ने आदिवासीहरूले भने, “ ________________???” (पद ४)। यी आदिवासीहरूले आफूले देखेको कुरालाई मृत्युदण्ड ठाने र त्यसबाट उनीहरूले उनको अपराधको अड्कल काटे (तिनी हत्यारा हुनुपर्छ)। पछिबाट आफूहरू भूलमा परेको कुरा उनीहरूले बुझे, तर यहाँ भन्न खोजिएको कुरा यो हो कि यी आदिवासीहरूभित्र न्यायको एउटा मानदण्ड स्वभावैले थियो अनि तिनीहरू यो कुरा जान्दथे कि हत्याराहरू मृत्युदण्डको अपराधको योग्य हुन्छन्।
९) कुकर्मीको गवाही
लूका २३ मा हामी एउटा मानिसको इमानदार गवाही पढ्छौं जुन मान्छे उसले गरेका अपराधहरूका निम्ति मृत्युदण्ड भोग्दैथिए। यो चाहिँ रोमीहरूको क्रूसीकरणद्वाराको मृत्युदण्ड थियो। यो मान्छे एउटा कुकर्मी थियो, ऊ पक्राऊ परेको थियो र मृत्युदण्ड लायकका अपराधहरूको दोषी भेट्टाइएको थियो। आधुनिक समयमा मृत्युदण्ड दिइने तरिकाहरू रोमीहरूको क्रूसको दाँजोमा ज्यादै नरम र पीडारहित हुन्छन्। त्यो मान्छेले मृत्युदण्ड दिने सम्बन्धमा कस्तो विचार राख्थे? के त्यसलाई उनले निर्दयी र अमानवीय ठान्थे? के त्यसलाई उनले अन्यायपूर्ण र अनुचित ठान्थे? उसको गवाही यस्तो थियो (दोषी ठहराइएको अपराधीलाई सम्बोधन गरिएका उनका शब्दहरू):
“के तँ परमेश्वरको डर मान्दैनस्, जब कि तँ पनि त्यही दण्डमा परिरहेछस्? हामीले ता साँच्चै न्यायअनुसार नै; किनकि हामीले आफ्ना ”कामहरूको उचित फल पाइरहेछौं, तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्” (लूका २३:४०-४१)।
अर्को शब्दमा, तिनी भन्दैथिए, “हामीले ठीक जे पाउनुपर्ने त्यही पाउँदैछौं: क्रूसीकरणको मृत्यु। हामीले जे गरेका छौं त्यो मृत्यदण्डको योग्छ छ!” मानिसहरू र मानव सरकारहरूको सामु हामीमध्ये धेरैजसो मृत्युदण्डको योग्यका अपराधहरू गरेका हुँदैनौं। तरैपनि, पवित्र परमेश्वरका सामु हामी सबैले यो महसुस गर्नैपर्छ कि हामीले त्यस्ता केही कामहरू गरेका छौं जो मृत्युदण्डका योग्य छन् (हेर्नुस् रोमी १:२९-३२; ६:२३क)। जसरी पुरानो नियमले भन्दछ, “जुन प्राणीले पाप गर्छ, त्यही मर्छ” (इजिकिएल १८:४)। हामी कति धन्यवादी हुनुपर्छ कि हाम्रा प्रभु येशू ख्रीष्ट हाम्रा निम्ति हाम्रो मृत्युदण्ड भोग्नुभयो: “तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५:८)।
१०) एउटा निर्दोष व्यक्तिको मृत्यु
मृत्युदण्ड अभ्यास गरियो भने, के बेलाबखत निर्दोष व्यक्ति दोषी ठहराइएर मारिन सक्दैन र? हो, खेदको कुरा, यो सत्य हो। हाम्रो न्यायिक प्रणाली ज्यादै असिद्ध छ र कतिपटक दोषीहरू निर्दोष ठहराइन्छन् र निर्दोषहरू दण्डमा पर्छन् (दाँज्नुस् व्यवस्था २५:१)। मृत्युदण्ड अभ्यास नगरिए पनि यो सत्य हो कि कहिलेकाहिँ कतिपय निर्दोष मानिसहरू आजीवन कारागारमा पठाइन्छन्। हामीले यो बिर्सनुहुन्न कि स्वर्गमा एक सत्य र धर्मी न्यायकर्ता हुनुहुन्छ जसले सबै जान्नुहुन्छ र जसले एकदिन सबै गल्तीहरूलाई सच्च्याउनुहुनेछ र सबै बाङ्गा कुरालाई सोझ्याउनुहुनेछ। अनन्ततामा सबै कुरा सच्च्याइनेछ (लूका १६:२५ यसलाई दर्शाउने एउटा उदाहरण हो)। निर्दोष व्यक्ति मारिएको सबभन्दा ठूलो उदाहरण स्वयं प्रभु येशू ख्रीष्टको हो, “जसले कुनै पाप गर्नुभएन, न ता उहाँको मुखमा छल पाइयो” (१ पत्रुस २:२२)। आजसम्मको एकमात्र पापरहित व्यक्तिलाई क्रूसमा फाँसी दिइयो! ख्रीष्टको मृत्युको विचार गर्दा हामीले यो सम्झनुपर्छ कि उहाँले दुःख भोग्नुभएको र रगत बहाउनुभएको र मर्नुभएको हाम्रा पापहरूको निम्ति हो (१ कोरिन्थी १५:३; रोमी ५:८)।
“किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनालाई ख्रीष्टले पनि – धर्मी जनले अधर्मीहरूका निम्ति – पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो, तर आत्माद्वारा जीवित पारिनुभयो” (१ पत्रुस ३:१८)।
दोषी त हामीहरू हौं जसले मृत्युदण्ड पाउनुपर्थ्यो (रोमी ६:२३), येशूले पूरै तिरिदिनुभयो! हामी बाँच्न सकौं भनेर उहाँ मर्नुभयो (यूहन्ना ५:२४)!

रोमी १३:५

हामी सरकारी अधिकारीहरूको अधीनतामा रहनुपर्छ भन्ने कुरा पावल यहाँ सिकाउँछन्: “तिमीहरू…अधीनतामा रहनुपर्छ”। यो आवश्यक छ! रहनुपर्छ! त्यसपछि उनले हामी किन अधीनतामा रहनुपर्छ भन्ने दुईटा कारणहरू दिन्छन्। १) “क्रोध” — हामी अधीनताबाट हट्न डराउँछौं; हामी परमेश्वरका सेवकसित डराउँछौं, जो “खराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्वरका सेवक हुन्” (पद ४)। योचाहिँ कानुन भङ्ग गरेको खण्डमा हामीले पाउनुपर्ने दण्डको सम्बन्धमा हामीसित एउटा स्वस्थ किसिमको डर हुनु हो। योचाहिँ देशका नियमहरूको विरुद्धमा लाग्ने र विद्रोह गर्नेहरू र तिनलाई उल्लङ्घन गर्नेहरूमाथि आइपर्ने नराम्रो प्रतिफलदेखि हामी डराउनु हो। अपराधलाई प्रतिरोध गर्ने (त्यो गर्नदेखि निरुत्साहित पार्ने) त्यहाँ केही न केही कुरा हुनैपर्छ। अधिकारीहरूले यदि दण्डलाई हटाइदिए भने, तिनीहरूले डरलाई पनि हटाउन पुग्छन्, अनि फलस्वरूप त्यहाँ अपराधको कुनै प्रतिरोधक रहँदैन। २) “विवेक” — हामी हाम्रो विवेकको कारणले अधीनतामा रहनुपर्छ। हामीसित सफा विवेक हुनु आवश्यक छ। सफा विवेक भएको व्यक्तिले भन्न सक्छ, “म जान्दछु म एउटा नियमबद्ध जिउने नागरिक हुँ। म परमेश्वरका व्यवस्थाहरू पालन गर्दैछु र म देशका व्यवस्थाहरू पनि पालन गर्दैछु। म यसो गर्छु किनकि परमेश्वरले यही आज्ञा छ।” धेरैजना मानिसहरू पहिलो कारणले अधीनतामा रहन्छन् (“क्रोध”) तर दोस्रो कारण (“विवेक”) ले होइन। उनीहरू तर्क गर्छन्, “जबसम्म म छलेर उम्कन सक्छु र सजायबाट बच्न सक्छु, तबसम्म नियम उल्लङ्घन गर्न मलाई कुनै समस्या लाग्दैन” (राजस्व, कर छल्ने, नक्कलि प्रमाण पत्र बनाउने, उमेर ढाँट्ने आदि काम)।
अन्य ठाउँमा बाइबलले यो सिकाउँछ कि यस्तो समय पनि हुन्छ जब हामी अधीनतामा रहनुहुँदैन, जब हाम्रा माथिका अधिकारीहरूको आज्ञा नमान्न आवश्यक पर्छ। तीनओटा उदाहरणहरू प्रस्ट छन्: १) दानियल ३ अध्यायमा जब शद्रक, मेशेक र अबेद-नेगोकोलाई राजा नबुकदनेसरले मूर्तिलाई ढोग्ने हुकुम गरे; २) दानियल ६ अध्यायामा जब दानियललाई प्रार्थन नगर भन्ने हुकुम गरियो; ३) प्रेरित ५ मा जब सुरुका ख्रीष्टियनहरूलाई धार्मिक अधिकारीहरूले प्रचार नगर भन्ने आदेश दिए। त्यस किसिमका मामिलाहरूमा अधिकारीहरू परमेश्वरकै अधिकारक्षेत्रभित्र छिरेका हुन्छन् जुनचाहिँ परमेश्वरको व्यवस्थापनको उल्लङ्घन हो। जब आज्ञाहरू जुध्छन्, तब हामी प्रेरित ५:२९ को शिक्षालाई पछ्याउनुपर्छ — “तब पत्रुस र अरू प्रेरितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ।” मानव अधिकारीहरूको अवज्ञा गरेको दुईटा अरू उदाहरणहरू यी हुन्: १) हिब्रू सुडेनीहरू (प्रस्थान १:१५-१७); २) पूर्वबाट आएका विद्वानहरू जसले हेरोद राजाको स्पष्ट आज्ञालाई उल्लङ्घन गरे (मत्ती २:८,१२,१६)।
सरकारी अधिकारीहरूप्रतिको विश्वासीहरूको जिम्मेवारीको बारेमा बताउने अरू खण्डहरू यी हुन्: १ पत्रुस २:१३-१७; ३:१३-१४; ३:१६-१७।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)