Entries by Pradesh Shrestha

रोमी २:१६-२९

रोमी २:१६-२९

 

रोमी २:१६

(यो वाक्य १२ पदकै अंश हो।)

“त्यो दिन” = ५ औं पद पढ्नुहोस्। यस पदले पनि यही दिनको बयान गर्दैछ।

“गुप्‍त कुराहरू” = लुकेका, छिपाएर राखिएका कुराहरू

न्याय सिद्धान्त #११ – न्यायकर्ताको नजरदेखि कुनै पनि कुराहरू लुकेका अथवा छिपाएर राखिएका हुँदैनन्

हिब्रू ४:१२-१३ र मत्ती १०:२६ सित तुलना गर्नुहोस्। प्रकाश २०:१२ बाट हामी सिक्दछौं: एक दिन पुस्तकहरू खोलिनेछन् र सबै गुप्‍त कुराहरू प्रकट गरिनेछन्। हामीले कुनै पनि समयमा सोचेका, बोलेका वा गरेका हरेक कुराको ठीक-ठीक लेखा परमेश्वरले राख्ने गर्नुहुन्छ।

“येशू ख्रीष्टद्वारा” = मानिसहरूको अन्तिम न्यायकर्ता अरू कोही हुनेछैन, केवल ख्रीष्ट स्वयं हुनुहुनेछ (यूहन्ना ५:२२,२७)। पिता परमेश्वरले सम्पूर्ण न्याय उहाँको पुत्रलाई सुम्पिनुभएको छ।

न्याय सिद्धान्त #१२ – येशू ख्रीष्ट अन्तिम न्यायकर्ता हुनुहुनेछ जसको सामुन्ने सबै मानिसहरू उभिनेछन्।

“मेरो सुसमाचार अनुसार” = सुसमाचार प्रचार गर्दा पावलले परमेश्वरको न्यायको बारेमा पनि प्रचार गर्दथे (रोमी १:१३-१८ र प्रेरित १७:३१)। परमेश्वरको न्यायको बारेमा केही नबताउने प्रचार सुसमाचारको सही प्रस्तुति होइन।

रोमी २:१७

पावलले यहूदीको सवालमा चर्चा गर्दैछन्, अर्थात् एउटा धर्मकर्म गर्ने व्यक्तिको सवालमा। रोमीको पुस्तकको अघिल्ला अध्यायहरूमा पावलको उद्देश्य थियो सबै मानिसहरू दोषी छन् र उनीहरूलाई मुक्तिदाताको खाँचो छ भनेर देखाउनु। (रोमी ३:९,१९,२३)। यस खण्डमा उनले धर्मकर्म गर्ने यहूदी दण्डको आज्ञामुनि छ भनेर देखाउन लाग्दैछन्।

टिप्पणी: धर्मकर्म गर्ने व्यक्तिहरू स्वधर्मी (आफैंलाई धर्मी ठहराउने) हुन्छन् र सामान्यतयाः तिनीहरूलाई उनीहरू परमेश्वरको सामु दोषी र अपराधी छन् भनेर देखाउनु एकदमै गाह्रो हुन्छ (तुलना गर्नुहोस् लूका ५:२९-३२; १८:९-१४)।

यी पदहरूमा चाबी शब्द = व्यवस्था (२:१७,१८,२०,२३,२५,२६,२६ पढ्नुहोस्)। यहूदीहरूको साथमा अन्यजातिहरूसित नभएको कुरा थियो, अर्थात् परमेश्वरको लिखित व्यवस्था। उनीहरूलाई दिइएको कुराका निम्ति उनीहरू जवाफदेही हुने भएकाले, यहूदीहरू यही व्यवस्थाद्वारा न्याय गरिनेछन् (रोमी २:१२)। पावलले उनीहरूलाई अगाडि नै बताएअनुसार, आफ्नो साथमा व्यवस्था भएर मात्र पुग्दैन, त्यसलाई सुनेर मात्र पुग्दैन, तर के पनि आवश्यक छ (रोमी २:१३)?

“यहूदी भनिँदछौ” = आफूहरू अब्राहामका सन्तान भएकोमा यी मानिसहरू निकै गर्व गर्थे (मत्ती ३:९; यूहन्ना ८:३३,३९ पढ्नुहोस्)। “हामी यहूदीहरू भएका हुनाले हामी अरू सबैजनाभन्दा उत्तम छौं। हामी परमेश्वरको चुनिएको वंश हौं!” कतिजना त उनीहरू यहूदी भएकोले नै स्वर्गमा निश्चय पुग्ने सोचाइ राखेका जस्तै देखिन्थे। तर परमेश्वरको वचनबाट यो स्पष्ट छ कि यहूदी हुँदैमा कुनै पनि व्यक्ति परमेश्वरको सामु धर्मी बन्दैन। बाहिरी यहूदी हुनु (शारीरिक र वंशाणुगत यहूदी हुनु) एउटा कुरा हो तर आत्मिक र भित्रबाटको साँचो यहूदी हुनु अर्कै कुरा हो (रोमी २:२८-२९ पढ्नुहोस्)।

“व्यवस्थामाथि भर पर्दछौ” = व्यवस्थामा आड लिनु, आराम लिनु, निर्धक्क भएर बस्नु। यस खण्डमा पावल उनीहरूको निर्धक्कतालाई तहसनहस पार्न चाहन्छन्! उनले तिनीहरूको मुनिबाट तिनीहरू आराम गरिरहेका शैयालाई स्वाट्ट थुत्‍न लाग्दैछन्।

“परमेश्वरमा गर्व गर्दछौ” = परमेश्वरमा गर्व गर्नु। “अरू सबै जातिरूले झूटा इश्वरहरू र मुर्तिहरूलाई पुज्दछन् तर हामी त एकमात्र सत्य परमेश्वरको उपासना गर्दछौं।”

रोमी २:१८

“उहाँको इच्छा जान्दछौ” – यहूदीहरूसँग परमेश्वरको वचन थियो र त्यसैकारण उहाँको इच्छा उनीहरूलाई थाहा थियो (लूका ८:२१ लाई मत्ती १२:५० सँग तुलना गर्नुहोस् जहाँ हामीले देख्न सक्छौं कि परमेश्वरको वचनको पालना गर्नु नै उहाँको इच्छा पालन गर्नु बराबर हो)। परमेश्वरको इच्छा जान्नु एउटा कुरा हो, तर परमेश्वरको इच्छा पूरा गर्नु विल्कुलै अर्को कुरा हो।

“उत्तम-उत्तम (श्रेष्ठ) कुराहरू मन्जुर गर्दछौ” — तिनीहरूसँग नैतिक भेदको तिखो ज्ञान थियो, के असल हो र के खराब हो, तिनीहरूले प्रस्टैसँग अन्तर छुट्याउन सक्थे। तर असल के हो भनेर जान्नु एउटा कुरा हो तर जे असल हो, त्यो गर्नु अर्को कुरा हो। टिप्पणी: विश्वासीहरूसँग पनि असल-खराब छुट्याउन सक्ने ठीक क्षमता हुनुपर्छ (फिलिप्पी १:९-१० सित तुलना गर्नुहोस्)।

“व्यवस्थाबाटको शिक्षा पाएकोले (सिकाइएकोले)” – परमेश्वरबाट प्रकट गरिएको सत्यताको सवालमा तिनीहरू कुनै हिसाबले पनि अनजान थिएनन्। तर कसैको साथमा परमेश्वरको पवित्र व्यवस्था हुँदैमा त्यसले उसलाई पवित्र बनाउँदैन! कसैको साथमा परमेश्वरको धर्मी आज्ञाहरू हुँदैमा त्सयले उसलाई धर्मी बनाउँदैन! रोमीको पुस्तकको चाबी प्रश्न यही हो: एउटा व्यक्ति पवित्र परमेश्वरका सामु कसरी धर्मी हुन सक्छ? यो व्यवस्थाको कामहरूले हुने होइन (रोमी ३:२० पढ्नुहोस्)।

रोमी २:१९-२०

“आफूमाथि भरोसा” – पावल यी मानिसहरूलाई कस्ता शब्दहरूले बयान गर्दैछन्, ध्यान दिनुहोस्: भर परिरहेकाहरू, गर्व गरिरहेकाहरू, आफैंमाथि भरोसा गरिरहेकाहरू, इत्यादी। पावलले यी मानिसहरूलाई नम्र बनाउन, तिनीहरूको विश्रामलाई तहसनहस गर्न र तिनीहरूलाई कोमल बनाउन खाँचो थियो (लूका १८:१४ सित तुलना गर्नुहोस्)। धार्मिक घमण्डलाई पूरै तोड्न एकदम गाह्रो हुन्छ। धार्मिक व्यक्तिहरूले आफैंमा विश्वास गरिरहेका हुन्छन्, ख्रीष्टमा होइन। तिनीहरूको आरामदायी अवस्था खतरापूर्ण छ।

“आफूमाथि भरोसा” – मनाइएको हुनु, निश्चिन्त हुनु। यी दुई पदहरूमा यहूदीलाई आफूलाई अरूहरूभन्दा एकदमै श्रेष्ठ ठान्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ। आफूहरू त्यही नै भएको कुरामा उनीहरू विश्वस्त थिए (र परमेश्वरको गवाहीको रूपमा उनीहरू यस्तै नै हुनु पर्नेर्थ्यो – यशैया ४३:१०-१२ र व्यवस्था ४ अध्याय पढ्नुहोस्)।

“हामी आत्मिक कुरा देख्न सक्नेहरू हौं र अन्धाहरूहरूलाई मद्दत गर्न सक्ने हामी हौं।”
“हामीसँग ज्योति छ र अरू सबै जना अन्धकारमा छन्।”
“हामी बुद्धिमान छौं र मुर्खहरूलाई मद्दत गर्न सक्ने हामी मात्र हौं।”
“हामी आत्मिक रुपमा परिपक्व छौं र बालकहरूलाई मद्दत गर्ने सक्ने हामी हौं।”

ठूलै धक्का दिनलाई पावलले उनीहरूलाइ तयार पार्दैछन्। पावलले उनीहरूलाई तलै पछार्नेछन्।

“रूप” — यसले बाहिरपट्टीको कुरालाई जनाउँदछ (२ तिमोथी ३:५ सित तुलना गर्नुहोस्)। सतहमा उनीहरूको जीवन एकदम राम्रो देखिन्थ्यो र उनीहरूको धर्म बाहिरपट्टी उत्तम नै देखिन्थ्यो। तिनीहरूले १० आज्ञाहरू भटटट भट्ट्याउन सक्थे, शुद्ध र अशुद्ध पशु छुट्ट्याउन सक्थे, आदि इत्यादि। तर पावलले देखाउन लाग्दैछन्, रितिमा, सतहमा र बाहिरी क्रियाकलापमा सीमित धर्म यथेष्ट हुँदैन (रोमी २:२८)। यो ता वास्तविक र भित्रबाटको र “हृदयको” (रोमी २:२९) नै हुनु खाँचो छ। बाहिरबाट मात्रै धर्मी बन्दैमा एउटा व्यक्ति परमेश्वरसँग ठीक बन्दैन।

रोमी २:२१-२२

यी धार्मिक यहूदीहरूले आड लिइरहेको खम्बालाई धक्का दिएर ढालीदिन पावल अब तयार भएका छन्। यी मानिसहरूसित परमेश्वरको व्यवस्था थियो र तिनीहरूले परमेश्वरको व्यवस्था सुनेका थिए तर तिनीहरूले परमेश्वरको व्यवस्था पालन गरेका थिएनन् (पद १३) र त्यसैले परमेश्वरको व्यवस्थाद्वारा नै तिनीहरूको न्याय गरिनेछ (पद १२)। व्यवस्था पालन गर्नेहरू हुनुको सट्टा तिनीहरू व्यवस्था भङ्ग गर्नेहरू थिए (पद २३,२५)।

अरूहरूलाई सिकाउनुभन्दा पहिले हामीले आफैलाई सिकाउनुपर्छ (पद २५), विशेषगरी परमेश्वरको वचन सिकाउने सवालमा। कसैलाई सिकाउनुभन्दा पहिले वचनको सन्देश तपाईंकै हृदयमा छिरेको होस् भन्ने कुराको निश्चय गर्नुहोस्। आफूले प्रचार गरेका कुरालाई आफैले अभ्यास गर्न ती यहूदीहरू चुकेका थिए: “तिम्रो शब्दहरूको बोली भन्दा तिम्रो व्यवहारको बोली यति चर्को छ कि मैले तिम्रो कुरै खान सकिरहेको छैन!” उनीहरूको मुखको बोलीसित उनीहरूको जीवन मेल खाँदैनथ्थो। तिनीहरूले आज्ञाहरू सिकाउन त सिकाए तर ती आज्ञाहरू उनीहरू आफैंले पालन गरेनन्। मत्ती २३:१-३ मा प्रभुले बताउनुभएको धार्मिक यहूदीलाई तुलना गर्नुहोस्। के तिनीहरूका शिक्षालाई पछ्याऊ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो? के तिनीहरूका कामहरूलाई पछ्याऊ भनेर येशूले उनीहरूलाई सिकाउनुभयो? यसलाई फिलिप्पी ४:९ मा पावलको असल नमुनासित तुलना गर्नुहोस्।

रोमी २:२३

यहूदीहरू आफूलाई परमेश्वरका उत्कृष्ट गवाही ठान्थे (पद १९ पढ्नुहोस्) तर वास्तवमा तिनीहरू कामै नलाग्ने गवाहीहरू थिए। परमेश्वरको पवित्र व्यवस्थालाई तोडेर तिनीहरूले परमेश्वरको अनादर गरे (पद २३)। यसको थप व्याख्या पद २४ मा गरिएको छ।

रोमी २:२४

“परमेश्वरको नाम” – परमेश्वरको नामले परमेश्वरको व्याक्तित्त्व र उहाँको मर्यादा (प्रतिष्ठा) लाई जनाउँछ। परमेश्वरको नामको प्रयोग कसरी गरिनुपर्छ भन्ने कुरामा यहूदीहरू एकदम होसियार थिए, विशेषगरी यहोवा वा याहवे नामको सवालमा। उनीहरूले यो नामलाई यति पवित्र मान्दथे कि यस नामको उच्चारणसम्म पनि गर्दैनथे। ‘यहोवा’को सट्टामा परमेश्वरलाई जनाउने अरू नै शब्द प्रयोग गर्ने गर्थे। तरैपनि उनीहरूको जीवन जिउने तरिकाबाट तिनीहरूले परमेश्वरको नामको अनादर गर्दैथे।

“जसरी लेखिएको छ” – पावलले यही कुरा बताउने पुरानो नियमको कुनै खण्डको बारेमा सोच्दैथिए। यी दुई खण्डहरूलाई बिचार गर्नुहोस्: १) यशैया ५२:५; २) इजकिएल ३६:२१ (पद २२-२३ पनि पढ्नुहोस्।) परमेश्वरलाई आफ्नो नाम (आफ्नो मर्यादा, आफ्नो महिमा) भन्दा अन्य कुनै पनि कुरा ठूलो हुँदैन। यहूदीहरूले बेठीक जीवन बिताउँदा अरू जातिहरूको सामु परमेश्वर पनि बेठीक देखिनुहुने समस्या थियो। अरू राष्ट्रहरूले इस्राएललाई पापी जातिको रूपमा देखे भने तिनीहरूले यहोवा परमेश्वर पवित्र हुनुहुन्छ भनी कसरी सोच्न सक्लान् र? परमेश्वरका जनहरूले सँधै नै परमेश्वरलाई प्रस्तुत गरिरहेका हुन्छन्, या त सकारात्मक रूपमा या त नकरात्मक रूपमा। गवाही भनेको त्यस्तो व्यक्ति हो जसले आफ्नो जीवनले र जिब्रोले मानिसहरूलाई परमेश्वरको बारेमा ठीकसँग सोच्न बाध्य बनाउँछ।

रोमी २:२५

“खतना” – उनीहरूको खतना गरिएको छ भन्ने कुरामा यहूदीहरू ढुक्कसाथ भरोसा गर्दैथिए। रब्बीहरू (यहूदी धर्मगुरुहरू) का प्राचीन लेखोटहरूमा “खतना गरिएको कुनै पनि व्यक्ति नष्ट हुने छैन” भन्ने कुरा लेखिएबमोजिम यहूदीहरू खतनाको महत्त्व ठूलो भएको मान्थे। पावलको समयमा, खतना गरिएको कोही पनि नरकमा नफालियोस् भन्ने उद्देश्यले अब्राहाम नरकको ढोकामै उभिरहेको हुन्छ भन्ने भनाइ समेत थियो। स्मरण होस्, खतना केवल एक बाहिरी विधि मात्र थियो, भित्रपट्टिको वास्तविकताको बाहिरी सङ्केत वा चिन्ह (रोमी ४:११) थियो। भित्रपट्टि वास्तविकता छ भने मात्र बाहिरी विधिको अर्थ हुन्छ। भित्रपट्टि वास्तविकता नभएको खण्डमा बाहिरी रीति व्यर्थको हुन्छ, त्यसबाट त्यो रीति गर्नेलाई कुनै लाभ हुँदैन।

रोमी २:२६-२७

“बेखतना”— यसले अन्यजातिहरूलाई जनाउँछ जोहरूले खतनाको बाहिरी विधि पूरा गरेका हुँदैनन्।

यदि अन्यजातिसँग भित्री वास्तविकता छ भने, ऊसँग साँच्चै एक महत्त्वपूर्ण कुरा छ। बप्तिस्माको उदाहरण: तपाईं कुनचाहिँ व्यक्ति हुन रोज्नुहुन्छ? – ख्रीष्टमाथि विश्वास गरे तापनि कारणवश बप्तिस्मा नलिएको व्यक्ति हुन कि बप्तिस्मा लिए तापनि ख्रीष्टमाथि विश्वास नगरेको व्यक्ति हुन? यदि तपाईंलाई विधि (ritual) कि वास्तविकता (reality) मा एउटा छान्नु पर्ने भयो भने वास्तविकतालाई छान्नुहोस्। निश्चय नै दुइटै गरिनु सर्वोत्तम हो। एउटा साँचो विश्वासीले ख्रीष्टको आज्ञापालन गर्न र उसले मुक्ति पाएको क्षणमा उसलाई के भयो भनी देखाउन उसले बप्तिस्मा लिनुपर्छ। हामीले भन्न खोजेको यतिमात्र हो कि बप्तिस्मा लिएको एउटा अविश्वासी हुनु भन्दा बप्तिस्मा नलिएको एउटा विश्वासी हुनु नै उत्तम हो! विवाहको औँठीबाट उदाहरण: विवाहको औँठी भनेको एउटा पतिले आफ्नी पत्नीप्रति आफू विश्वासयोग्य हुन्छु भनेर परमेश्वरको सामु व्यक्त गरेको प्रतिवद्धताको केवल एक चिन्ह मात्र हो। तपाईं कुनचाहिँ रोज्नुहुन्छ? पाँच-पाँचजना परस्त्रीको पछि लाग्ने औँठी लगाएको पति कि आफ्नी पत्नीप्रति विश्वासयोग्य व्यवहार गर्ने औँठी नलगाएको पति? वास्तविकता (विश्वासयोग्यता) बिनाको चिन्ह (औंठी) को कुनै औचित्य छैन। पावलले भन्न खोजेको यही हो, एकातिर खतना नहुँदैमा अन्यजाति दोषी ठहरिँदैन र अर्कोतिर खतना हुँदैमा यसले यहूदीलाई बचाउँदैन (गलाती ५:६ र ६:१५ पढ्नुहोस्)।

रोमी २:२८-२९

यी पदहरूमा औंल्याइएका भिन्नताहरूलाई हेर्नुहोस् (बाहिरी-भित्री, शरीर-हृदय, व्यवस्था-आत्मा, मानिसहरू-परमेश्वर)। जन्मजात यहूदी (racial Jew) हुनु एउटा कुरा हो; नयाँ जन्म पाएको यहूदी (regenerated Jew) (साँचो यहूदी) हुनु अर्को कुरा हो। मानिसको भित्रपट्टि के छ, त्यो नै महत्त्वपूर्ण कुरा हो। पावलले हामीलाई तेस्रो अध्यायको निम्ति तयार पार्दैछन् जहाँ हामीलाई हामी वास्तवमा भित्रपट्टि कस्ता छौं भन्ने कुरा देखाइनेछ (३:१०-१८ हेर्नुहोस्)। “हृदयको खतना” को सम्बन्धमा हेर्नुहोस्: व्यवस्था १०:१६; ३०:६; यर्मिया ४:४; ९:२५-२६: यर्मिया ६:१० (तिम्रो कानको खतना गर!), प्रेरित ७:५१,५७; योएल २:१३; फिलीप्पी ३:३; भजनसङ्ग्रह ५१:६।

कृपया याद गर्नुहोस्: पद २८ मा पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ बाहिरी यहूदी हो। उसको खतना गरिएको छ र ऊ अब्राहामको वंशको हो, तर ऊ एउटा विश्वासी होइन (उसको हृदय परमेश्वरसँग ठीक छैन)। शारिरीक र बाहिरी रूपमा ऊ यहूदी हो, तर ऊ भित्रबाटको आत्मिक यहूदी भने होइन। पद २९ मा, पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ भित्रबाटको यहूदी हो। अर्थात्, ऊ त्यस्तो यहूदी हो जसले अब्राहाम, इसहाक र याकूबको परमेश्वरमाथि विश्वास गर्दछ। ऊ केवल अब्राहामको सन्तान होइन, तर ऊ परमेश्वरको सन्तान पनि हो। पद २९ मा, अन्यजातिहरू भित्रबाटका यहूदी हुन् भनी पावलले भनेका होइनन्। उद्धार पाएका अन्यजातिहरू कहिल्यै पनि यहूदीहरूको रूपमा हेरिएका छैनन् र उनीहरू कहिल्यै पनि “इस्राएल” को रूपमा हेरिएका छैनन्। यस महत्त्वपूर्ण भिन्नताको विस्तृत अध्ययनका लागि अङ्ग्रजीका पाठकलाई The Use of the Term Israel in the New Testament अध्ययन गर्न सल्लाह दिइन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी २:११-१५

रोमी २:११-१५

 

रोमी २:११

“पक्षपात” — अक्षरश: “(व्यक्तिको) अनुहारलाई ग्रहण गर्नु”। परमेश्वरले कुनै पनि व्यक्तिसित उसको “अनुहार” को आधारमा व्यवहार गर्नुहुन्न (बाहिरी भागलाई ध्यान दिनु जस्तै: राष्ट्रियता, वंश, छालाको रङ्ग, धन इत्यादी)। परमेश्वरले बाहिरी सतहमा भन्दा भित्र गहिराइमा हेर्नुहुन्छ। ग्रीक चलनमा रहेकी ‘इन्साफकी देवी’ को अगाडि न्यायको निम्ति आएको व्यक्तिलाई नदेखून् भनेर त्यस इन्साफकी देवीको आँखामा पट्टी बाँधिएको हुन्थ्यो।

न्याय सिद्धान्त #९ – परमेश्वर पक्षपात गर्नुहुन्न।

रोमी २:१२

यस पदले पद ११ को विचारलाई नै निरन्तरता दिन्छ। परमेश्वर न्याय गर्नमा पक्षपाती हुनुहुन्न। परमेश्वरले न्यायमा अन्यजातिहरूमाथि यहूदीहरू (उहाँका चुनिएका व्याक्तिहरु) को पक्ष लिनुहुन्न। दुवै यहूदी र अन्यजातीहरूको न्याय स्वच्छतापूर्ण हुनेछ।

“व्यवस्था नभए” काहरू को हुन् (रोमी २:१४)?

व्यवस्था भएकाहरू को हुन् (रोमी२:१७-२०)?

नोट: परमेश्वरले अरू राष्ट्रहरू (जस्तै मिश्र, अश्शूर इत्यादि) लाई कहिल्यै पनि व्यवस्था दिनुभएन। व्यवस्था केवल इस्राएल राष्ट्रलाई मात्र दिइएको थियो (प्रस्थान १९:३-५; २०:२; ३४:२७ पढ्नुहोस् र व्यवस्था ४:१-८ र रोमी ९:४ सित दाँज्नुहोस्)

१२ पदको पहिलो भाग अनुसार, बिना व्यवस्था पाप गरेका अन्यजाति (सृष्टिपूजक व्यक्ति)हरूलाई के हुनेछ? (“के सृष्टिपूजकहरू हराएका छन्?” भन्ने प्रश्नमा यसले प्रकाश पार्दछ।) १२ पदको अघिल्लो भागअनुसार, व्यवस्था पाएको हुँदा-हुँदै पनि पाप गरेका यहूदीहरूलाई के हुनेछ? “तर जतिले… पाप गरेका छन्” भन्ने वाक्यशैलीलाई ध्यान दिनुहोस्। कतिजनाले पाप गरेका छन् (रोमी ३:२३ र ३:९ पढ्नुहोस्)?

पावलले बताउन चाहेको कुरा यो हों:

  • व्यवस्थाको अज्ञानताले अन्यजातिहरूलाई मुक्ति दिँदैन।
  • व्यवस्थाको आधिकारीताले यहूदीहरूलाई मुक्ति दिँदैन।

धर्मी न्यायकर्ताको सामु दुवै दोषी छन्।

न्याय सिद्धान्त # १० – एउटा व्यक्तिसँग भएको प्रकाशबमोजिम उसको न्याय हुन्छ।

जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ (लूका १२:४८ पढ्नुहोस्)। यहूदीहरूलाई धेरै प्रकाश दिइएको थियो। यहूदीहरूसँग परमेश्वरको व्यवस्था लिखित रूपमा थियो (१० आज्ञाहरू इत्यादी)। यहूदीको न्याय ऊसँग भएको व्यवस्थाद्वारा गरिनेछ। व्यावस्था नभएको अन्यजातिको न्याय त्यस व्यवस्थाद्वारा गरिनेछैन। ऊसँग नभएको थोकको निम्ति उसलाई जवाफदेही बनाइनेछैन। तर अन्यजातिसँग अरू नै थोक छ। उसलाई केही प्रकाश दिइएको छ र ऊसँग भएको त्यस प्रकाशबमोजिम नै उसको न्याय गरिनेछ। मोशाको व्यवस्था त अन्यजातिहरूसँग थिएन तर त्यहाँ अर्कै व्यवस्था थियो जुन तिनीहरूसँगै थियो (हामीले पद १५ मा देख्‍नेछौं)।

रोमी २:१३-१५ (उपवाक्य)

१३-१५ पदहरू कोष्ठक भित्र राखिएका (उपवाक्य) हुन्। (यसलाई बुझ्नका लागि, १२ पद पढ्नुहोस् र त्यसपछि सोझै १६ पदमा जानुहोस्)। यहाँ रहेको बनावट विपरीत समानान्तरता हो (CHIASM) र यसलाई स्पष्ट बुझ्नलाई तल हेर्नुहोस्:

A1 पद १२(क) – यहाँ अन्यजातिहरूको बारेमा बताइएको छ (जससँग व्यवस्था छैन)

A2 पद १२(ख) – यहाँ यहूदीहरूको बारेमा बताइएको छ (जससँग व्यवस्था छ)

B2 पद १३ – यहाँ यहूदीहरूको बारेमा बताइएको छ

A2 पद १४-१५ – यहाँ अन्यजातिहरूको बारेमा बताइएको छ

फिलेमोन ५ र प्रेरित २०:३२ मा पनि यस्तै किसिमको विपरीत समानान्तरता छ। तिनीहरूलाई पत्ता लगाउन सक्नुहुन्छ?

१३ पद – यस पदले यहूदीहरूको बारेमा बताउँछ जससँग व्यवस्था थियो र जसले व्यवस्था सुनेका थिए। व्यवस्था हुनु मात्र पर्याप्त छैन। व्यवस्था सुन्नु मात्र पनि पर्याप्त छैन। एउटा व्यक्तिले व्यवस्था पालन गर्नैपर्छ (मान्नै पर्छ)। पावलको तर्क एकदम सरल छ: यहूदीहरूसँग व्यवस्था थियो (स्वामित्व थियो), तिनीहरूले व्यवस्था सुने, तर व्यवस्था पालन गरेनन्, र त्यसैले, यहूदीहरू दोषी छन्।

यस वाक्यशैलीलाई ध्यान दिनुहोस्: “व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिनेछन् (पद १३)”। यसको मतलब के परमेश्वरको व्यवस्था पालन गरेर कुनै व्यक्ति स्वर्ग पुग्न सक्छ भन्ने हो? तलका यथार्थहरूलाई ध्यान दिनुहोस्:

  1. रोमीको पुस्तकका अघिल्ला अध्यायहरूको उद्देश्यलाई नभुल्नुहोस्। सबै मानिसहरू (यहूदीहरू र अन्यजातिहरू समान रूपमा) परमेश्वरका सामु पतित र दोषी अवस्थामा छन् भनी पावलले देखाइरहेका छन्। सबै नै मानिसहरू दोषी छन् भनेर पावलले देखाउँदैछन्। मुक्ति पाउन एउटा व्यक्तिले के गर्नैपर्छ भनेर उनले रोमीका पछिल्ला भागहरूमा देखाउनेछन् (रोमी ३:२८; ५:१; १०:९-१३ इत्यादी)।
  2. व्यवस्था पालन गरेर एउटा व्यक्तिले मुक्ति पाएको हुँदैन भन्ने कुरालाई रोमीका पछिल्ला भागरूमा पावलले एकदम छर्लङ्ग बनाउनेछन् (रोमी ३:२० पढ्नुहोस्)
  3. “व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिनेछन्” – मानौं, यो भनाई सही हो। व्यवस्था पालन गर्नेहरूले मुक्ति पाउनेछन्। सैद्धान्तिक रूपमा त यो सत्य हो तर व्यावहारिक रूपमा यो कदापि सम्भव छैन। जब मानिसहरू पवित्र न्यायकर्ताका सामु उभिनेछन्, व्यवस्था पालन गर्नेहरू सबैजना धर्मी ठहरिनेछन् र व्यवस्था भङ्ग गर्नेहरू सबैजना दोषी ठहरिनेछन्। समस्या यही हो कि व्यवस्था पालन गर्ने व्यक्ति त्यहाँ कोही पनि छैनन्, अहँ, एउटै पनि छैनन् (रोमी ३:१०-१२)
    (सैद्धान्तिक रूपमा) व्यवस्था पालन गरेर अनन्त जीवन प्राप्त गर्नु सम्भव छ। बाइबलले यसबारे के बताउँछ? बिचार गरौं:
    1. रोमी १०:५ बाट हामी जान्दछौं कि व्यवस्थामा भएका कुराहरू पालन गर्ने मानिस जिउनेछ (लेवी १८:५)।
    2. मत्ती १९:१६-१९ मा अनन्त जीवन पाउन तिमीले आज्ञाहरू पालन गर्नैपर्छ भनी प्रभु येशूले बताउनुभयो। लूका १०:२५-२८ मा पनि त्यही सन्देश छ: आज्ञाहरू पालन गर र तिमीले अनन्त जीवन पाउनेछौ।< br />
      समस्या: के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्था पालन गर्नु सम्भव छ र? के कसैले १० आज्ञाहरू कहिल्यै पूर्ण रूपमा पालन गरेको छ? के कसैले सिद्ध रूपमा परमेश्वरलाई र उसको छिमेकीलाई प्रेम गरेको छ (मत्ती २२:३६-४०)? व्यवस्था साँच्चै पालन गर्ने व्यक्ति त्यहाँ कोही छ कि? कि बरु हामी सबै नै व्यवस्था भङ्ग गर्ने दोषीहरू हौं?
    3. गलाती ३:१०-१३। परमेश्वरको व्यवस्था पूर्ण रूपमा पालन गर्ने व्यक्ति धन्य हो। परमेश्वरको व्यवस्था सिद्ध रूपमा पालन गर्न नसक्ने व्यक्ति श्रापित र दोषी र मृत्युको योग्यको हो। सु-समाचारको शुभ-सन्देश यही हो कि ख्रीष्ट व्यवस्था भङ्ग गर्नेहरूका लागि मर्नुभयो (गलाती ३:१३) र हाम्रो श्राप आफूमाथि नै लिनुभयो।

त्यसैले पावलको तर्क यति हो: “सुन मेरा यहूदी भाइहरूहो, व्यवस्था सुनेर मात्र पुग्दैन। तिमीहरूले व्यवस्था पूर्ण रूपमा पालन गर्नैपर्छ नत्रता तिमीहरू परमेश्वरको श्राप र दण्ड मुनि छौ!” व्यवस्थाद्वारा धर्मी ठहरिन चाहनेहरूले सम्पूर्ण व्यवस्थाको पालन गर्नुपर्छ र यसलाई सिद्ध रूपमा पालन गर्नैपर्छ।

रोमी २:१४-१५

अन्यजातिहरूसँग परमेश्वरको लिखित व्यवस्था छैन। तिनीहरूसँग मोशाको व्यवस्था छैन। तर यी पदहरू अनुसार तिनीहरूसँग परमेश्वरको व्यवस्था तिनीहरूभित्रै छ, “आफ्नै हृदयहरूमा… लेखिएको देखाउँछन्”। तिनीहरूले १० आज्ञाका प्रतिलिपी कहिल्यै नदेखे तापनि हत्या गर्नु, चोरी गर्नु, झूट बोल्नु आदि गलत हो भन्ने कुरा तिनीहरूलाई थाहा छ। अनि जब तिनीहरूले यस्ता कामहरू गर्दछन् तब तिनीहरूको विवेकले नै उनीहरूलाई दोषी ठहराउँदछ। यहाँ दुई उदाहरणहरू छन्: १) प्रेरित २८:३-४। यी आदिवासीहरूले १० आज्ञाहरू कहिल्यै पनि देखेका थिएनन् तर हत्या गर्नु गलत हो र त्यसो गर्ने व्यक्ति मृत्यु दण्ड पाउन योग्य हुन्छ भन्ने कुरा तिनीहरूलाई थाहै थियो! २) यी अन्यजाति राजाले १० आज्ञाहरू कहिल्यै पनि देखेका थिएनन् तरैपनि व्यभिचार गर्नु गलत हो भन्ने तिनलाई थाहा थियो।

“दोषी” – “तिमी दोषी छौ! तिमीले जे गर्‍यौ, त्यो गलत छ!”

“निर्दोष” – “तिमी दोषी छैनौ! तिमीले जे गर्‍यौ त्यो गलत छैन!”

जब तिनीहरूले असल गर्दछन्, तिनीहरूको विवेक हर्षित हुँदछ र प्रशंसा गर्दछ। जब तिनीहरूले गलत गर्दछन्, तिनीहरूको विवेकले तिनीहरूलाई दोषी ठहराउछ र भन्दछ, “छि:!”

त्यसैले, मोशाको व्यवस्थाले आज्ञा गरेको काम गर्न असफल भएकाले यहूदीहरूले पाप गरेका ठहरियो। आफ्नो विवेकले भनेको काम गर्न असफल भएकाले अन्यजातिहरूले पाप गरेका ठहरियो। परमेश्वरले दिनुभएको प्रकाशमा जिउन दुवै यहूदी र अन्यजाति विफल भए। त्यसैले, दुवै परमेश्वरको सामु दोषी छन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी २:७-१०

रोमी २:७-१०

न्याय सिद्धान्त #८: खराब गर्नेलाई परमेश्वरले दण्ड दिनुहुन्छ र असल गर्नेलाई इनाम दिनुहुन्छ।

यस खण्ड (पद ७-१०) को संरचनालाई प्रतीपसादृश्य (chiasm) वा विपरीत समानान्तरता (inverted parallelism) भनिन्छ जसलाई यसरी दर्शाउन सकिन्छ:

पद ७– असल गर्नेलाई परमेश्वरले यसरी इनाम दिनुहुन्छ। (क१)

पद ८ — खराब गर्नेलाई परमेश्वरले यसरी दण्ड दिनुहुन्छ। (ख१)

पद ९ – खराब गर्नेलाई परमेश्वरले यसरी दण्ड दिनुहुन्छ। (ख१)

पद १० – असल गर्नेलाई परमेश्वरले यसरी इनाम दिनुहुन्छ। (क१)

[प्रतीपसादृश्य (chiasm) सम्बन्धी विस्तृत जानकारी लिन चाहनुहुने अङ्ग्रेजीका पाठकलाई Englishman’s Greek को अध्ययन गर्न सुझाव दिइन्छ]

यी शब्दका परिभाषा (ग्रीकअनुसार) निम्नअनुसार छन्:

“दिनुहुनेछ” (पद ६) = फिर्ता दिनु, भुक्तानी गर्नु, प्रतिफल दिनु (जसले जे कमाएको छ उसलाई त्यही दिनु)।

“झगडालु” (contentious) = स्वार्थी, आफ्नै भलाई खोज्ने

“पहिले यहूदीमाथि” (पद ९) – किन यहूदीहरू न्यायमा “पहिले” पर्छन् त? किनभने लूका १२:४८ अनुसार, “जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ”। यहूदीलाई धेरै दिइएको थियो (रोमी ३:१-२ र रोमी ९:१-५ पढ्नुहोस्)। जसलाई बढी दिइएको छ उसको दायित्व पनि बढी हुन्छ। “तिमीलाई जति प्रकाश र सत्यता प्रदान गरिएको थियो, त्यो पाएर तिमीले के गर्‍यौ त?” भनेर परमेश्वर हाम्रा न्यायकर्ताले हामीलाई सोध्नु कुनै अनुचित कुरो होइन। जस्तै, सुसमाचारको एउटै गवाही नभएको कुनै बिकट जङ्गलमा बस्ने अख्रीष्टिय आदिवासीभन्दा काठमाण्डौं शहरको एउटा बाइबलीय चर्चघरको नजिकै बस्ने अख्रीष्टियन बढी जवाफदेही हुन्छ। जङ्गलमा बस्ने उक्त व्यक्ति परमेश्वरको न्यायमा नै पर्दैन भन्ने होइन, तर जसलाई बढी अवसर दिइन्छ उसलाई परमेश्वरले उत्तिकै कडासित न्याय गर्नुहुन्छ भन्ने हो। “के येशूको बारेमा सुन्नै नपाएकाहरू नरक जानेछन् त?” भन्ने प्रश्नको बाइबलीय जवाफका लागि पाठकलाई रोमी १ अध्यायको टिप्पणी अध्ययन गर्नलाई सुझाव दिइन्छ।

ईश्वर-शास्त्रीय समस्या

 

पावलले यहाँ असल कामहरू गरेर अनन्त जीवन कमाइन्छ भनेर सिकाउँदैछन् कि जस्तो देखिन सक्छ। “अनन्त जीवनको अधिकारी हुन मैले के गर्नुपर्छ?” पहिलो झलकमा पावलको उत्तर यस्तो भएजस्तै देखिन्छ: “अनन्त जीवन पाउन तिमीले धैर्यताका साथ असल कामहरूमा लागिरहनुपर्छ।”(पद ७) अथवा “अनन्त जीवन पाउन तिमीले असल कर्म गर्नुपर्छ।”(पद १०)। यस ईश्वर-शास्त्रीय समस्यालाई हल गर्न निम्न बुँदाहरूलाई विचार गरौं:

    1. पवित्र शास्त्र मुताबिक, अनन्त जीवन पाउनका लागि मान्छेले के गर्नुपर्छ (यूहन्ना ३:१६; ३:३६; ६:४७; ५:२४; ११:२५-२६; प्रेरित १६:३०-३१ इत्यादि)?
    2. पवित्र शास्त्र मुताबिक, अनन्त जीवन असल काम बापत कमाइने कुरा हो कि यो विश्वासद्वारा कुनै पनि पापीले प्राप्‍त गर्ने सक्ने सित्तैंको वरदान हो (रोमी ६:२३; ५:१६-१८; एफेसी २:८-९)?
    3. रोमीको पुस्तकका अन्य खण्डमा पावलले सिकाएअनुसार कोही पनि आफ्नै असल कर्मले स्वर्ग पुग्न सक्दैन (रोमी ३:२८) तर उसले ख्रीष्ट येशूमा राखेको विश्वासद्वारा मात्र पुग्न सक्छ (रोमी ४:५)।
    4. “असल मानिस स्वर्ग जान्छन् तर खराब मानिस नरक जान्छन्” भन्ने भनाइ मानिसमा व्याप्‍त एउटा गलत अवधारणा हो। यसको तुलनामा तलका कुरालाई विचार गरौं:
      1. असल मानिस कति जना छन् (रोमी ३;१०,१२)?
      2. खराब मानिस कति जना छन् (रोमी ३:१९,२३; ५:१२)?
      3. लूका १८:९-१३ मा बयान गरिएको फरिसी धर्मकर्ममा लिप्‍त थियो, नैतिकवान् थियो, र धेरै असल कर्महरू गर्ने उसको आदत थियो। पद १४ अनुसार के यो “असल मान्छे” स्वर्गमा भेटिएला त?
      4. ख्रीष्टसँगै क्रूसमा टाँगिएको एक जना अपराधीले — जसले पश्चात्ताप गरेको थियो — निःसन्देह ऊ एक “खराब मान्छे” थियो, र पनि ऊ स्वर्गमा भेटिनेछ कि (लूका २३:४२-४३)?
      5. के बाइबलले भक्तिहीन मान्छेहरू धर्मी ठहराइने र बचाइने कुरा गरेको छ (रोमी ४:५; ५:६)? के कुनै पापीहरू बचाइन्छन् र स्वर्ग जान्छन् (१ तिमोथी १:१५)? अवश्य नै, स्वर्ग अनुग्रहद्वारा बचाइएका पापीहरूले भरिएको हुनेछ। यदि स्वर्गप्राप्‍तिको सवाल हामी कत्तिको असल र योग्य बन्न सक्छौं भन्ने कुरामा निर्भर भएको भए, हामी मध्ये एक जना पनि स्वर्ग जाने थिएनौं!
      1. रोमी २:७-१० को खण्ड लेख्नुमा पावलको उद्देश्य जे थियो त्यसैलाई मध्यनजरमा राखिनु आवश्यक छ। यस खण्डमा मुक्तिको विषयलाई होइन तर न्यायको विषयलाई प्रसङ्ग बनाइएको छ। मान्छेले मुक्ति कसरी पाउन सक्छ भन्ने कुरा पावलले यहाँ चर्चा गरिरहेका छैनन्; बरु मानिसहरू पतित छन् र उनीहरू पवित्र र धर्मी न्यायकर्ता परमेश्वरका सामु दोषी छन् भन्ने कुरालाई पावल यहाँ देखाइरहेका छन्। पावलले केवल न्यायसम्बन्धी यौटा आधारभूत सिद्धान्तलाई औंल्याउँदैछन्, अर्थात् परमेश्वर खराब मानिसलाई दण्ड दिनुहुन्छ र धर्मी मानिसलाई इनाम दिनुहुन्छ। तर पावलले यस खण्डमा मानिस कसरी धर्मी बन्न सक्छन् भन्ने कुराको चर्चा गर्दैनन्। उनले यसको चर्चा रोमीको पुस्तकमा अलि पछि गर्नेछन् जब उनले धर्मीकरणको अचम्मको शिक्षाको चर्चा गर्नेछन् (रोमी ३:२४; ३:२८; ४:५;५:१ इत्यादि पढ्नुहोस्)
      2. रोमी २:७-१० मा पावलले दुई समूहका मानिसहरूको बारेमा बताउँछन् र बयान गर्छन्।

 

समूह १ समूह २
“धीरजसँग असल काममा” लागिरहनेहरू (पद ७) जोहरू धीरजसँग असल काममा लागिरहँदैनन्
जोहरू स्वार्थी छैनन् जोहरू “झगडालु” (स्वार्थी) छन् (पद ८)
जोहरू सत्यता पालन गर्छन् जोहरू “सत्यता पालन गर्दैनन्” (पद ८)
जोहरू अधर्म पालन गर्दैनन् जोहरू “अधर्म पालन गर्दछन्” (पद ८)
जोहरू दुष्ट काम गर्दैनन् जोहरू “दुष्ट काम” गर्दछन् (पद ९)
जोहरू “असल काम गर्ने” हरू (पद १०) जोहरू असल काम गर्दैनन्

 

यसलाई यूहन्ना ५:२९ सित दाँज्नुहोस् जहाँ पनि दुई समूहको कुरा छ: १) भलो गर्नेहरू (जीवन): २) दुष्ट काम गर्नेहरू (दण्ड)

        1. यूहन्ना ३:१९-२१ ले यस ईश्वर-शास्त्रीय कठीनाइलाई सुल्झाउन निकै मद्दत गर्दछ। त्यहाँ हामीलाई बताइएको छ कि दुष्ट काम गर्नेहरू ती हुन् जसले ज्योति (येशू ख्रीष्ट) लाई घृणा गर्दछन् र जोहरू ज्योति (येशू ख्रीष्ट) कहाँ आउन इन्कार गर्दछन्। अर्को शब्दमा, दुष्ट काम गर्नेहरू चाहिँ विश्वास नगर्नेहरू हुन्। परमेश्वरको दृष्टिमा, असल काम गर्ने अथवा “सत्य काम गर्ने” व्यक्ति त्यो व्यक्ति नै हो जो ज्योति (येशु ख्रीष्ट) कहाँ आउछ
        2. ३ यूहन्ना ११ पनि महत्त्वपूर्ण छ। “जसले भलाइ गर्दछ, ऊ परमेश्वरबाटको हो (ऊ परमेश्वरको निजी हो, ऊ परमेश्वरबाट जन्मेको व्यक्ति हो, ऊ ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हो); तर जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन (१ यूहन्ना ३:६ दाँज्नुहोस्, दुष्ट काम गर्ने मानिस नबचाइएको व्यक्ति हो जो कहिल्यै नयाँ गरी जन्मेको छैन”। त्यसैले, माथिका हरफहरूबाट हामीले यो निष्कर्ष निकाल्न सक्छौं कि समूह १ (माथि हेर्नुहोस्) नयाँ जन्म पाएका विश्वासीहरूले बनेको समूह हो र समूह २ (माथि हेर्नुहोस्) विश्वास नगर्नेहरू र ख्रीष्टकहाँ आउन इन्कार गर्नेहरूले बनेको समूह हो।
        3. कुनै पनि व्यक्ति आफैंमा वा आफैद्वारा असल कामहरू गर्न सक्दैन (सोमी ३:१२)। हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन् (यशैया ६४:६)। विश्वासबाहेक र बिना विश्वास हामीले परमेश्वरलाई खुशी पार्न सक्दैनौं (हिब्रू ११:६ र रोमी ८:८)। अर्को शब्दमा भन्नुपर्दा, मुक्ति दिने अनुग्रहबिना सबका सब नै समूह २ मा पर्नेथिए (माथि हेर्नुहोस्)।
        4. जब एक जना व्यक्तिले मुक्ति पाउँदछ र नयाँ गरी जन्मन्छ, त्यहाँ एउटा उदेकको काम हुँदछ! परमेश्वरले नै उक्त बचाइएको पापीलाई असल काम गर्न सक्ने तुल्यानुहुन्छ। किनभने, अब परमेश्वर त्यस व्यक्तिभित्र जिउनुहुन्छ र त्यस व्यक्तिद्वारा आफ्नो शुभ इच्छा पुरा गर्नुहुन्छ (फिलिप्पी २:१३)। मुक्ति पाएको व्यक्तिले असल कामहरू सम्पादन गर्न सक्छ (एफेसी २:१०)। विश्वासी जनले मुक्ति पाउनको निम्ति असल काम गर्दैन तर उसले मुक्ति पाएको कारणले असल काम गर्दछ। असल कामहरू मुक्तिको प्रतिफल वा परिणाम हो तर मुक्तिको कारक चाहिँ होइन। जसरी मत्ती ७:१७-१९ ले प्रस्टै सिकाएको छ, एकातिर मुक्ति पाएको हरेक व्यक्तिले असल काम गर्नेछ भने अर्कोतिर मुक्ति नपाएको हरेक व्यक्तिले असल काम गर्न सक्दैन

निष्कर्ष: पावलले यहाँ परमेश्वरले असललाई इनाम दिनुहुन्छ र खराबलाई दण्ड दिनुहुन्छ भन्ने न्यायको साधारण सिद्धान्तलाई प्रस्तुत गरिरहेका छन्। पावलले यहाँ मानिसको न्याय कसरी गरिन्छ भन्ने बारेमा चर्चा गर्दैछन् न कि मानिसले मुक्ति कसरी पाउँछन् भन्ने बारेमा। पावलले पछि रोमी ३ र ४ अध्यायमा दुष्ट मानिसलाई परमेश्वरले आफ्नो अनुग्रहद्वारा बचाउन सक्नुहुन्छ भन्ने खुशीको खबर घोषणा गर्नेछन्। तब हामी मुक्ति कसरी पाइन्छ भन्ने बारेमा सिक्नेछौं।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी २:१-६

रोमी २:१-६

परिचय

एउटा सृष्टिपूजक परमेश्वरदेखि पतित अवस्थामा रहेको छ र त्यस्तो व्यक्तिलाई कुनै बहाना छैन भन्ने कुरा पावलले प्रस्ट र चित्तबुझ्दो रूपमा देखाइसकेका छन् (रोमी १:१७-३२)। अब दोस्रो अध्यायको पहिलो खण्डमा पावलले एक नैतिकतावादी पनि परमेश्वरदेखि पतित अवस्थामा रहेको र उसलाई कुनै बहाना नभएको कुरा देखाउनेछन्। अनि दोस्रो अध्यायको पछिल्लो खण्डमा र तेस्रो अध्यायमा लिखित प्रकाश पाएको व्यक्ति (यहूदी) समेत पतित अवस्थामा रहेको र उसलाई कुनै बहाना नभएको कुरा पावलले देखाउनेछन्।

न्याय सिद्धान्त #१: धर्मी न्यायकर्ता परमेश्वरका सामु नैतिक मानिसलाई कुनै बहाना छैन।

रोमी २:१

“कुनै बहाना नहुनु” को अर्थ “निरुत्तर हुनु” हो (रोमी १:२० सित दाँज्नुहोस्)। अर्थात् ऊसँग भन्ने कुरा केही छैन, उसको मुख बन्द गरिएको छ (रोमी ३:१९ सित दाँज्नुहोस्)। ऊ दोषी छ र आफू दोषी भएको ऊ जान्दछ।

यस पदमा त्यस्तो व्यक्तिको चर्चा गरिएको छ जसले अर्काको न्याय गर्दछ र अर्काको कामकुरालाई दोषी ठहराउँदछ। तसर्थ, यहाँ एक नैतिकतावादीको चर्चा गरिँदैछ (नैतिकतावादी एक नैतिक विवेचना गर्ने क्षमता भएको व्यक्ति हो जसले कसैलाई नैतिक आधारमा न्याय गर्दछ)। नैतिकतावादी र सृष्टिपूजकको बीचमा भिन्नता छ। रोमी १:३२ अनुसार सृष्टिपूजकले पापी आचरणको समर्थनसराहना गर्दछ तर रोमी २:१ अनुसार नैतिकतावादीले पापी आचरणको निन्दान्याय गर्दछ।

नैतिकतावादीले अर्काको पापी आचरण देखेर उसलाई दोषी ठहराउँदछ तर उही कुराको दोषी ऊ आफैं पनि भएको हुनाले वस्तुतः उसले आफैंलाई दोषी ठहराइरहेको हुँदछ। यस आधारभूत तथ्यलाई निम्न तीनओटा उदाहरणहरूद्वारा स्पष्ट रूपले देखाउन सकिन्छ।

  1. यहूदा (उत्पत्ति ३८:१२-२६): के यहूदाले अर्को व्यक्तिलाई दोषी ठहर्‍याएको थियो (पद २४)? के उही कुरामा यहूदा आफै दोषी थियो? के यसले यहूदालाई निरुत्तर पारेको थियो र उसलाई आफूले केही भन्न नसक्ने, कुनै बहाना गर्न नसक्ने स्थितिमा पुर्‍याएको थियो (पद २६)? त्यस स्त्रीलाई दोषी ठहर्‍याउँदा के उसले आफैलाई दोषी ठहर्‍याएको थियो?
  2. दाऊद (२ शमूएल १२:१-९; २ शमूएल ११): के दाऊदले कसैलाई दोषी ठहर्‍याएको थियो (२ शमूएल १२:५-६)? अर्कालाई दोषी ठहर्‍याउँदा के उसले वास्तवमा आफैलाई दोषी ठहर्‍याउँदै थियो (पद ७)? के आफ्नो दोष महसुस गर्न दाऊदलाई कर लाग्यो (पद १३)?
  3. यूहन्ना ८:१-११: यी यहूदीहरूले एउटी दोषी स्त्रीको न्याय गर्दैथे तर दोषी व्यक्ति उनी मात्र थिइनन् भन्ने कुरा तिनीहरूले छिट्टै महसुस गरे! ती नैतिकतावादीहरू र धर्मगुरुहरूलाई एक शब्द बोल्न नसक्ने गरी त्यहाँबाट फर्कन कर लाग्यो।

सिद्धान्त: अर्काको पाप हामीले सजिलै देख्‍न किन सक्छौं भने हामी आफैंमा पाप छ र पापसित हामी राम्ररी परिचित छौं। कसैलाई दोष्याउन एउटा औंला ठडाइँदा, तीन-तीनओटा औंलाहरूले दोष्याउनेलाई ताकिरहेका हुन्छन्!

रोमी २:२

न्याय सिद्धान्त #२: परमेश्वरको न्याय सत्यता अनुसार हुन्छ।

हामी जान्दछौं = हामी निश्चित छौं।

एउटा मानव न्यायधीशले कुनै पनि मामिलाको खास कुरा जान्ने र त्यसका सत्य‍-तथ्यहरू ठम्याउने प्रयास त गर्ला तर ऊ एउटा सीमित मानव मात्र हो। उसले मानिसहरूको गवाहीलाई ग्रहण गर्नुपर्ने हुन्छ जसमध्ये धेरैले शपथ खाएर पनि झूट बोल्दछन्। “म सत्य, पूरै सत्य र केवल सत्य मात्र बोल्नेछु” भनेर शपथ खाने मान्छेले सत्य नबोल्न सक्छ तर यस कुराले परमेश्वरलाई कुनै बाधा पुर्‍याउँदैन। उहाँका सामु हरेक मामिलाका यथार्थ तथ्यहरू नाङ्गा र खुल्ला छन्। उहाँलाई न गवाहीहरूको आवश्यकता पर्दछ नता न्यायसमितिको नै किनकि सम्पूर्ण मानवजातिको एक-एक अपराध र पापलाई व्यक्तिगत रूपमा देख्‍नुहुने प्रत्यक्ष गवाही उहाँ स्वयं हुनुहुन्छ। उहाँले सबै तथ्यहरू एक-एक गरी जान्नुहुन्छ (हिब्रू ४:१२-१३ पढ्नुहोस्)। कुनै पनि व्यक्तिको मामिलालाई बङ्ग्याउने काम उहाँले कहिल्यै गर्नुहुन्न! परमेश्वरको न्याय सधैं सत्यता अनुसार नै हुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।

रोमी २:३

न्याय सिद्धान्त #३ परमेश्वरको न्यायबाट उम्किन असम्भव छ।

यस पदमा भएको प्रश्नको उत्तर निस्सन्देह यही हो: “अहँ! उम्किने बाटो छैन।” यदि कुनै व्यक्तिले आफू परमेश्वरको न्यायबाट उम्किनेछु भनी सोच्दछ भने उसले गलत सोच्दैछ! “अच्युत अपराध” अर्थात् सबैलाई छल्न सक्ने अपराध खास कुनै हुँदैन । मानिसहरू मानवीय न्यायबाट त उम्केलान् तर ईश्वरीय न्यायबाट तिनीहरू कदापि उम्कनेछैनन्।

रोमी २:४

न्याय सिद्धान्त #४: मानिसहरू परमेश्वरबाट भाग्नु हुँदैन (पद ३– “उम्किन” असम्भव छ) तर उनीहरू परमेश्वरतिर भाग्नु पर्छ (पद ४– “पश्चात्ताप” अत्यावश्यक छ)।

कृपा = दया, उदारता। परमेश्वरको भलाइ सबै मानिसहरूकहाँ पुग्दछ (मत्ती ५:४५ र प्रेरित १४:१७ पढ्नुहोस्)।

सहनशीलता = लगाम लगाउने काम, (परमेश्वरले आफ्नो न्यायलाई लगाम लगाइराख्‍नुभएको छ), परमेश्वरले आफ्नो सजायलाई ढिलो गर्नुहुन्छ। उहाँले पापको न्याय तत्कालै, तरुन्तै गर्नुहुन्न।

धीरज (धैर्य) = धेरै समयपछि मात्र रिसाउनु, रिसाउनलाई ढिलो (यसको अर्थ परमेश्वर कहिल्यै रिसाउनुहुन्न भन्ने होइन तर यसको अर्थ उहाँ रिसाउनमा ढिलो हुनुहुन्छ भन्ने चाहिँ हो। उहाँको धैर्य सधैंभरि रहिरहँदैन)।

परमेश्वर कृपालु अनि सहनशील र धैर्यवान् हुनुहुन्छ भन्ने कुराले मान्छेलाई पश्चात्तापमा डोर्‍याउनुपर्ने हो! मान्छे परमेश्वरतर्फ दगर्नुपर्ने हो – उहाँको कृपा पाउनलाई! तर उल्टो मानिसहरूले परमेश्वरलाई तिरस्कार गर्छन्, आफ्ना हृदयहरूलाई कठोर बनाउँदछन् र पश्चात्ताप गर्नै मान्दैनन्! आज यस अनुग्रहको युगमा परमेश्वरको उदारता, अनुग्रह र कृपा सबै मानिसहरूमा प्रशस्त गरी आएको छ, तरैपनि मानिसहरू पश्चात्ताप गर्न मान्दैनन्। भावी सङ्कष्टकालको समयमा, परमेश्वरको कठोरता, न्याय र महामारीहरू मानिसहरूमाथि प्रशस्त गरी खनिनेछन्, तर अझै पनि, मानिसहरू पश्चात्ताप गर्न राजी हुनेछैनन् ( प्रकाश ९:२०-२१ पढ्नुहोस्)। तै पनि जब कुनै एउटा पापीले पश्चात्ताप गर्दछ, चाहे अनुग्रहको युगमा होस् या सङ्कष्टकालमा, त्यतिखेर स्वर्गमा ठूलो आनन्द हुन्छ (लूका १५:७,१०)।

रोमी २:५

न्याय सिद्धान्त #५: अधर्मीहरूको अन्तिम न्यायको दिन आइरहेको छ।

यस न्यायको दिनलाई “क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिन” भनी व्याख्या गरिएको छ। अधर्मीहरूको अन्तिम न्यायको त्यस दिनलाई २ पत्रूस ३:७ मा (“न्यायको दिन र भक्तिहीन मानिसहरूका विनाश”) र प्रकाश २०:११-१५ मा पनि बयान गरिएको छ।

कठोरता: मान्छेले परमेश्वरको कृपा, सहनशीलता र धैर्यतालाई जति बेवास्ता गर्दछ त्यति नै उसको हृदय झन् झन् कठोर बन्दै जान्छ।

पश्चात्तापी नहुने: अर्थात् पश्चात्ताप गर्न इन्कार गर्ने (क्रूसमा टाँगिएका ती दुई कुकर्मीहरूको तुलना गर्नुहोस् — एउटा पश्चात्ताप गर्ने वा पश्चात्तापी व्यक्ति थियो र अर्को चाहिँ पश्चात्ताप नगर्ने व्यक्ति थियो)।

तिमीले आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ = क्रोध थुपार्नेहरू, क्रोधको लोभ गर्नेहरू। स्वर्गमा सम्पत्ति थुपार्नुको सट्टा (मत्ती ६:१९-२०) उनीहरू स्वर्गबाटको क्रोध थुपारिरहेका छन् (त्यस अन्तिम दिनको लागि सञ्चय गरिरहेका छन्)।

न्याय सिद्धान्त # ६: परमेश्वरको न्याय पूर्णतया धर्ममय हुन्छ!

यसलाई “परमेश्वरको धर्ममय न्याय” भनिन्छ। धर्मी न्यायकर्ता परमेश्वरले भूल गर्नुहुन्न! उत्पत्ति १८:२५ र रोमी ९:१४ पढ्नुहोस्। ईश्वरीय न्यायकर्ताले कुनै कुराको फैसला गर्नुहुँदा त्यो अवश्य सही हुनुपर्छ। सजाय पनि सही नै हुनुपर्छ। परमेश्वर भूल गर्नुहुन्न। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्छ। उहाँले गल्ती गर्न सक्नुहुन्न। नरकको प्रत्येक भागीदार पूर्ण रूपमा त्यसको लायक हुनेछन्।

न्याय सिद्धान्त #७: परमेश्वरको न्याय न्यायोचित हुन्छ – हरेक मानिस जस्तो पाउनलाई योग्य छ, उसले ठीक त्यस्तै पाउनेछ।

“परमेश्वरले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुनेछ।” सिद्ध इन्साफले यसरी काम गर्दछ। परमेश्वरले मानिसको कामको लेखाजोखा गर्नुहुन्छ र त्यहीअनुसारको न्याय गर्नुहुन्छ। उहाँले अपराधलाई ठ्याक्कै सुहाउने दण्ड दिनुहुनेछ। हरेक मानिसले आफूले पाउनुपर्ने प्रतिफल प्राप्‍त गर्नेछ, चाहे त्यो असल होस् या खराब।

यही सिद्धान्त निम्न खण्डहरूमा पनि सिकाइएको छ: मत्ती १२:३६-३७ (मानिसहरूले बोलेका शब्दहरूअनुसार तिनीहरूको न्याय गरिनेछ); मत्ती १६:२७ (हरेक मानिसलाई उसका कामहरूअनुसार प्रतिफल दिइनेछ); रोमी १२:१९ (मानिसहरूले गरेका खराबीहरूको बदला तिनीहरूलाई दिइनेछ।); प्रकाश १८:४-६, न्यायकर्ता १:७ (“मैले उनीहरूलाई जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।”); २ शमूएल ३:३९; भजनसङ्ग्रह २८:४; भजनसङ्ग्रह ६२:१२; भजनसङ्ग्रह ९४:१-२; हितोपदेश २२:१२; विलाप ३:६४ र यर्मिया १७:१०।

परमेश्वरलाई धन्यवाद होस्, उहाँ केवल इन्साफको परमेश्वर हुनुहुन्न तर उहाँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ। इन्साफको अनुसार, पापको न्याय गरिनैपर्छ र दण्डित हुनैपर्छ। अनुग्रहको अनुसार, पापलाई क्षमा र माफ गर्न सकिन्छ (भजनसङ्ग्रह १०३:३ र एफेसी १:७)। परमेश्वर न्यायको परमेश्वर हुनुहुन्छ तर उहाँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ (भजनसंग्रह १०३:८)। परमेश्वरको अनुग्रहको कारणले मात्र भजनसङ्ग्रह १०३:१० सत्य हुन सकेको हो। सुसमाचारको अचम्मको सत्यता यही हो कि आफ्नो इन्साफलाई सम्झौता नगरीकनै परमेश्वर पापी व्यक्तिहरू प्रति अनुग्रही बन्न सक्नुहुन्छ। प्रभु येशू ख्रीष्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो — यसरी परमेश्वरले हाम्रो पापहरू अनुसारको व्यवहार ख्रीष्टसँग गरिसक्नुभयो र परमेश्वरले ख्रीष्टलाई हाम्रा पाप-अपराधहरू अनुसारको प्रतिफल दिनुभइसक्यो (भजनसङ्ग्रह १०३:१०)! उहाँले आफ्नो न्याय र क्रोध ख्रीष्टमाथि खन्याउनुभएको हुनाले उहाँको पुत्रमाथि विश्वास गर्ने पापीलाई परमेश्वरले सित्तैंमा धर्मी ठहराउन सक्नुहुन्छ र पनि आफू धर्मी रहिरहन सक्नुहुन्छ (रोमी ३:२६; ४:५)। परमेश्वरको प्रशंसा होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १:२९-३२

रोमी १:२९-३२

 

दुष्कर्महरूको एउटा डरलाग्दो सूची

पावलले पद २९-३१ मा दुष्कर्महरूको एउटा ज्यादै डरलाग्दो र गम्भीर सूची प्रस्तुत गर्दछन्। उनले यहाँ ती मानिसका अपराधहरूको भयानक तालिका प्रस्तुत गर्दछन्। यसलाई बास्तवमा “मनुष्य हृदयको ईश्वरीय एक्स-रे” नै मान्न सकिन्छ (यर्मिया १७:९ र मर्कूस ७:२१-२३ मा उल्लेखित प्रभु येशूका वचनलाई तुलना गर्नुहोस्)। यस सूचीलाई विचारपूर्वक हेर्दा आफ्नै हृदयलाई जाँच्नुहोस्। प्रत्येक वर्णन पढ्दै जाँदा आफैंलाई प्रश्न गर्नुहोस्, “प्रभु, के त्यो म हुँ? के म यसमा दोषी भएको छु? यसले मेरै बयान गरिरहेको त छैन?”

  1. “सबै प्रकारका अधर्मले भरपूर” — कुनै पनि खराब विचार, बोली, कार्यकलाप वा जीवन शैलीलाई जनाउने शब्द
  2. “सबै प्रकारका व्यभिचारले भरपूर” — कुनै-कुनै ग्रीक पाण्डुलिपिहरूमा यो शब्द छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन। यस शब्दले हरेक अनैतिक यौन सम्बन्धलाई जनाउँदछ (परमेश्वरले उत्पत्ति २ मा स्थापना गर्नुभएकोसित नमिल्ने जुनसुकै अभ्यास)।
  3. “सबै प्रकारका दुष्टताले भरपूर” — दुष्टता, खराबी; जुन कुरो खराब छ त्यही गर्न मन पराउनेहरू
  4. “सबै प्रकारका लोभले भरपूर” — अक्षरश: “अझ धेरै हुनु”, झन् झन् धेरै, झन् झन् धेरैको उत्कट अभिलाषा हुनु। लोभको विपरित कुरो सन्तुष्ट र तृप्‍त। यसर्थ आफूसँग जे छ त्यसमा असन्तुष्ट रहेका लालची व्यक्ति
  5. “सबै प्रकारका शत्रुभावले भरपूर” — दुष्टता, भ्रष्टता, खराबी जनाउने शब्द
  6. “डाहाले भरपूर” — ईर्ष्या, डाहा (अर्काको कुरोमाथि)
  7. “हत्याले भरपूर” –– स्मरण होस्, घृणा र रिस गर्दा हामी “मनको हत्या” को दोषी हुन्छौं भनी येशूले भन्नुभयो (मत्ती ५:२१-२२)।
  8. “झगडाले भरपूर” — कलह, विवाद, मतभेद, रगडा-झगडा गर्ने प्रवृत्तिको
  9. “छलले भरपूर” — दाउपेच खेल्ने, चालबाजी गर्ने, छलकपट गर्ने, धोखा दिने
  10. “दुष्ट विचारले भरपूर” — खराब मिजास, नराम्रो बानी-बेहोरा वा चरित्र, सबैभन्दा राम्रोलाई समेत नराम्रो बनाउने
  11. “कान फुक्नेहरू” — लुकीछिपी अर्काको बारेमा कानेखुसी गर्नु (ग्रीकमा प्सीथुरिस्टेस्, जसको उच्चारण गर्दा समेत कानेखुसीको भान मिल्छ), अर्काको बदनाम गर्ने, निराधार कुरा आदि फैलाउने
  12. “निन्दा गर्नेहरू” — ग्रीकमा यसको अक्षरश: अर्थ “विरोधमा बोल्नु” भन्ने हुन्छ, अनुपस्थित व्यक्तिका बारेमा छुच्चो वा खराब कुरा गर्नु (जो उपस्थित भएका भए ती कदापि भनिँदैनथे), खुलेआम लाञ्छना, झूटा दोष लगाउनु
  13. “परमेश्वरलाई घृणा गर्नेहरू” — परमेश्वरको नाम लिँदाको तरिकाबाट समेत देखिने कुरो
  14. “अनादर गर्नेहरू” — हिंसात्मक, अरूमाथि चोट पुर्‍याउने व्यक्ति (१ तिमोथी १:१३)
  15. “घमण्डी” — अहङ्कारी, अक्षरश: “आफू अरूभन्दा ठूलो देखिनु, आफूलाई अरूभन्दा ठूलो देखाउनु”
  16. “सेखीबाजहरू” — धाक देखाउनेहरू
  17. “खराब-खराब कुरा जन्माउनेहरू” — अब कुनचाहिँ अर्को दुष्कर्म गरौं भनी उनीहरू युक्ति रच्छन्, योजना गर्छन्।
  18. “बाबुआमाको आज्ञा नमान्नेहरू” — यस सूचीमा यो बुँदा असुहाउँदो देखिएला, तर परमेश्वरको नजरमा यो कुरो कति गम्भीर छ भन्ने कुरा यसले देखाउँछ। हामीमध्ये कसले यस कुरामा आफू कहिल्यै दोषी नभएको दाबी गर्न सक्छ र?
  19. “समझ नभएकाहरू” — समझ रित्तो भएका (परमेश्वरको कुरा नसुनेकाले मूर्ख भएका), बोधा, आत्मिक अन्धा
  20. “करार भङ्ग गर्नेहरू” — विश्वासघाती, उनीहरू आफ्नो वचन राख्‍दैनन्
  21. “स्वाभाविक माया नभएकाहरू” — प्रेम नगर्ने, कठोर हृदय भएको, आफ्ना नानीहरूप्रति बाबुआमा हुने, दाजु-भाइ, दिदी-बहिनीबीच आदि हुने स्वाभाविक माया नभएको
  22. “मेल गर्न नचाहनेहरू” — क्षमा नदिने (कुनै-कुनै ग्रीक पाण्डुलिपिमा यो छुटेको छ त्यसैले कतिपय अनुवादहरूमा यो शब्द पाइँदैन)
  23. “दया नभएकाहरू” — कुनै दया-माया नदेखाउने, निष्ठुर, निर्दयी

चीनको क्यान्टनका डा. आर एच ग्रभ्स्‌ले एक चिनियाँले यी पदहरू पढेपछि यो बयान पावलले नभएर चीनसित परिचित आधुनिक मिसनरीले लेखेको हुनुपर्छ भन्ने धारण व्यक्त गरेको कुरा बताएका छन्। यस सूचीले चिनियाँहरूको दुरुस्तै बयान गरेको भेटियो!

व्यक्तिगत प्रश्‍न: के माथिका कुनै शब्दले तपाईंको बयान गरेको छ कि? (यी दुष्कर्म भेट्टाउन हामी पक्कै पनि चीनसम्म जानैपर्दैन!)। समग्रमा यी शब्दले मानिसको पूर्ण भ्रष्टताको विस्तृत चित्र कोरेको छ। “हाय! म कति अभागी (wretched) मानिस!”

रोमी १:३२

“जानी-जानीकन पनि” = पूरै जानीकन

“परमेश्वरको न्याय” = अक्षरश: “न्यायोचित माग,  कानूनी आदेश, फैसला”

फैसला = तिमी दोषी छौ!

दण्डाज्ञा = तिमी मृत्युदण्डको योग्य छौ! (यो तिनीहरू जान्दछन् पनि)

“यस्ता-यस्ता काम गर्नेहरू” — कस्ता कामहरू? पद २९-३१ मा सूचित कामहरू।

“लायकका” = (बराबर रहेको तराजुको विचार गर्नुहोस्) दण्डचाहिँ अपराधको बराबर हुनुपर्छ; जति अपराध छ त्यति नै दण्ड पनि हुनुपर्छ।

अपराध = पद २९-३१ हेर्नुहोस्

दण्ड = “मृत्युदण्डको लायकका हुन्छन्” (पद ३२; साथै रोमी ५:१२ र ६:२३)

द्रष्टब्य: सुसमाचारको शुभ-खबर यही हो कि येशू ख्रीष्टले उक्त दण्ड भोगिदिनुभयो जब उहाँ क्रूसमा मर्नुभयो — रोमी ५:६-९ पढ्नुहोस्। “भक्तिहीन” भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:६ सित तुलना गर्नुहोस्। “क्रोध” भन्ने शब्दको विचार गर्ने क्रममा रोमी १:१८ लाई रोमी ५:९ सित तुलना गर्नुहोस्।

सृष्टिपूजक तथा मूर्तिपूजकहरूले परमेश्वरको न्यालाई 

राम्ररी जानेका छन् भन्ने कुराको प्रमाण प्रेरित २८:१-४ मा पाइन्छ। हत्याराहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भनी ती आदिवासीहरू जान्दथे! (यद्यपि उक्त घटनामा उनीहरू पावलकै सम्बन्धमा भने भूलमा परेका थिए)।

पद ३२ को आखिरी भागको विचार गर्नुहोस्। तिनीहरू आफैं यी अपराधहरू गर्ने गर्छन् (त्यस्ता कामले मृत्युदण्ड ल्याउँछ भन्ने जानेर पनि) र साथै यस्ता काम गर्नेहरूसँग “खुशी पनि हुन्छन्” अर्थात् तिनीहरू यस्ता काम गर्नेहरूको तारिफ गर्छन्, उनीहरूलाई बधाइ दिन्छन्। तिनीहरू पापमा खुशी हुन्छन् र साथै पापीहरूको सङ्गतमा पनि खुशी हुन्छन्!

रोमी अध्याय १ को सारांश

  1. मानिस परमेश्वरको धार्मिकताविहिन छ उसलाई त्यसैको खाँचो छ (पद १७)।
  2. मानिस परमेश्वरको क्रोध पाउन लायकको छ, उसले त्यही नै कमाएको छ (पद १८)।
  3. परमेश्वरले आफूलाई मानिसकहाँ पुस्तक #१ (सृष्टि) द्वारा छर्लङ्गै प्रकट गरिसक्नुभएको छ, त्यसैले मानिसलाई कुनै बाहना छैन (पद १९-२०)।
  4. मानिसले परमेश्वरलाई जानेको थियो/चिन्दथ्यो तर उसले उक्त ज्ञानलाई इन्कार गर्‍यो। मानिसले परमेश्वरलाई उहाँको व्यक्तित्वको खातिर दिनुपर्ने आदर दिन र उहाँलाई उहाँका कामका खातिर धन्यवाद दिन विफल भए (पद २१)।
  5. मानिसले परमेश्वरलाई परित्याग गरेकाले साटोमा परमेश्वरले पनि मानिसलाई परित्याग गर्नुभयो र उसलाई उसकै पापमय मार्गमा लाग्न दिनुभयो (रोमी १:२४,२६,२८ मा तीन पटक “परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो” भन्ने कुरालाई पढ्नुहोस्)।
  6. मानिस अधर्मी, छ भक्तिहीन छ (पद २९-३१), त्यसैले ऊ परमेश्वरको क्रोध पाउन लायकको छ (पद १८)।
  7. धर्मी न्यायकर्ता परमेश्वरले मानिसलाई नजर लगाउनुहुँदा,

फैसला छ: तिमी दोषी छौ! (र तिमीलाई कुनै बाहना छैन)।

 

दण्डाज्ञा छ: तिमीले भोग्नुपर्ने सजाय मृत्युदण्ड हो! (पद ३२)।

रोमी अध्याय १ का चाबी शब्दहरू:

  1. धार्मिकता, अधर्म (पद १७,१८,२९) — धर्मी र पवित्र परमेश्वरका सामु ग्रहणयोग्य हुनाका लागि उसलाई आवश्यक पर्ने धार्मिकता मानिससित छैन
  2. जान्नु (पद १९,२१,२८,३२) — तिनीहरूले परमेश्वरलाई जानेका थिए/चिन्दथे साथै तिनीहरू परमेश्वरको न्यायलाई राम्ररी जान्दछन्, त्यसैले तिनीहरूलाई कुनै बाहना छैन।
  3. परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो (पद २४,२६,२८)।

स्मरण रहोस्, तिनीहरूले पहिला परमेश्वलाई परित्याग गरेका हुन्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १:२४-२८

रोमी १:२४-२८

 

परमेश्वरद्वारा तीनदोबर त्यागिएका

यस खण्डमा तीन-तीन पटक हामी पढ्छौं, “परमेश्वरले त्यागिदिनुभयो/सुम्पिदिनुभयो” (रोमी १:२४,२६,२८)। प्रत्येक पटक उही ग्रीक शब्द प्रयोग गरिएको छ जसको अर्थ “हस्तान्तरण गर्नु, सुम्पिनु, कुनै व्यक्तिलाई छोडिदिनु” भन्ने हुन्छ। यहूदाले येशूलाई सुम्पिदिए वा धोका दिए भनेर बताउन यही शब्द प्रयोग गरिएको छ (मत्ती २६:२१,२३,२४; २७:३ आदि)। यहाँ उक्त शब्द परमेश्वरले मानिसहरूलाई उनीहरूका आफ्नै अभिलाषाहरूमा सुम्पिदिनुभएको कुरा बताउन प्रयोग गरिएको छ। भजनसङ्ग्रह ८१:१२ सित दाँज्नुहोस् — “यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहअनुसार हिँडे।” परमेश्वरले उनीहरूलाई इन्साफस्वरूप त्यागिदिनुभयो, उनीहरूकै पापमय मार्गमा छोडिदिनुभयो। उनीहरूले परमेश्वरलाई त्यागेका हुनाले परमेश्वरले उनीहरूलाई त्यागिदिनुभयो। परमेश्वरले इन्साफस्वरूप उनीहरूलाई परित्याग गर्नुभयो, उनीहरूलाई उनीहरूकै अभिलाषाहरू अर्थात् कुकामनाहरूमै छोडिदिनुभयो, (कुकुरलाई त्यसको सिक्री फुकालेर छोडिदिएजस्तै) लगाम हटाइदिनुभयो र पापमय मानिसलाई उसले चाहेजस्तै गर्न दिनुभयो।

रोमी १:२४

यसकारण” — यसले हामीलाई यसभन्दा अघिका पदहरू (२१-२३) लाई औंल्याउँछन्। परमेश्वरले किन उनीहरूलाई त्यागिदिनुभयो? किनभने उनीहरूले परमेश्वरलाई त्यागे र उहाँको महिमालाई एउटा निर्जीव मूर्तिसित साटे। भजनसङ्ग्रह ११५ मा मूर्तिपूजाको मूर्खताको बारेमा लेखिएको चित्रात्मक व्याख्या पढ्नुहोस्। मूर्ति बनाउनेहरू मूर्तिजस्तै लाटा हुन्छन्!

अशुद्धता” — उनीहरूको चाहना यही थियो त्यसैले परमेश्वरले उनीहरूलाई उनीहरूको रहर पूरा गर्न दिनुभयो। दृष्टान्त: सुङ्गुरलाई सफासित धुनुहोस्, प्रदर्शनीका लागि लुगासमेत लगाइदिनुहोस्, तर त्यसलाई छोडिदिएकै घडी त्यो सिधै हिलोमा लडिबुडी गर्न जानेछ। स्वभावैले त्यसले अशुद्धता मन पराउँछ। मानिसहरू आफ्नो पाप मन पराउँछन् (यूहन्ना ३:१९ सित तुलना गर्नुहोस्)।

आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर” — यसलाई पछि रोमी १:२६-२७ को सन्दर्भमा व्याख्या गरिनेछ।

रोमी १:२५

साटे” — सट्टापट्टा गरे। सत्यतालाई नअँगालीकन उनीहरूले त्यसलाई झूटको सट्टामा त्यागिदिए।

“सत्य” = सृष्टिकर्ता मात्र उपासना गरिन योग्य हुनुहुन्छ!

“झूट” = सृष्टि उपासना गरिन योग्य छ। मत्ती ४:९ मा शैतानले येशूलाई यस झूटले परीक्षा गर्‍यो [“भुइँमा घोप्टो परेर म (एउटा सृष्टिलाई) लाई दण्डवत् गर्नु”]। मत्ती ४:१० मा येशूले शैतानलाई सत्यले प्रत्युत्तर दिनुभयो [“तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत् गर, र उहाँकै मात्र सेवा गर” — परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ]।

यसलाई यहोवाका साक्षी नाम गरेको झूटा समूह (“कल्ट”) को शिक्षासित तुलना गर्नुहोस्। उनीहरूको शिक्षाअनुसार येशू केवल एक सृष्टि मात्र हुन् [एक उच्च स्वर्गदूत जसलाई परमेश्वरले शुरुमा सृष्टि गर्नुभयो र जसद्वारा परमेश्वरले अन्य सबै थोक सृष्टि गर्नुभयो]। यहाँ यहोवाका साक्षीहरूलाई एउटा ठूलो समस्या छ। यदि ख्रीष्ट उनीहरूले भनेजस्तै एक सृष्टि मात्र हुनुहुन्छ भने र यदि सृष्टि-पूजा परमेश्वरले दण्डनीय कार्य हो भनी भन्नुभएको छ (जसरी रोमी १:२५ जस्ता बाइबलका खण्डमा पाइन्छ) भने, ख्रीष्टलाई उपासना गर्ने कामलाई किन स्वीकार गरिन्छ र अझ यसो गर्न आज्ञा समेत किन दिइएको छ? निम्न कुराहरूलाई विचार गर्नुहोस्: 

  1. केवल परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ र सृष्टिको कुनै पनि कुरालाई (त्यो जतिसुकै उच्च भए पनि) उपासना गरिन हुन्न भनेर बाइबलले प्रस्टै सिकाउँछ। उदाहरणको लागि, प्रेरितहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १४:११-१५), पत्रुसले उनलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रेरित १०:२५-२६), स्वर्गदूतहरूले उनीहरूलाई गरिएको दण्डवत्‌लाई अस्वीकार गरे (प्रकाश १९:१०; २२:८-९), मानिसले परमेश्वरलाई मात्र दण्डवत् गर्नुपर्छ भनेर ख्रीष्टले आज्ञा गर्नुभयो (मत्ती ४:८-१०) र जुन कुरा पाउन परमेश्वरले मात्र योग्य हुनुहुन्छ त्यसलाई मानिसले आफ्नो निम्ति स्वीकार गर्दा मानिस दण्डित भएको पाइन्छ (प्रेरित १२:२१-२३)।
  2. तैपनि यही बाइबलले ख्रीष्टलाई परमेश्वरलाई जस्तै उपासना गरिनु पर्छ भनेर सिकाउँदछ।
    1. ख्रीष्टले यस प्रकारको उपासनालाई स्वीकार मात्र गर्नुभएन, त्यसो गर्न उत्साह समेत दिनुभयो (मत्ती १४:३१-३३; १५:२५-२८; २८:९-१०; २८:१६-१८; यूहन्ना ९:३५-३९)।
    2. ख्रीष्टले यस प्रकारको उपासनाको माग समेत गर्नुभयो (यूहन्ना ५:२३)।
    3. ख्रीष्टलाई दण्डवत् गरियोस् भनी पिताले आज्ञा गर्नुहुन्छ (हिब्रू १:६)। साथै भजनसङ्ग्रह २:१२ सित तुलना गर्नुहोस् (“चुम्बन” = उपासना गर्नु, श्रद्धा-भक्ति चढाउनु।
    4. स्वर्गीय प्राणीहरू अर्थात् स्वर्गदूतहरूद्वारा ख्रीष्ट दण्डवत् गरिनुहुनेछ (प्रकाश ५:८)।
    5. ख्रीष्टको उपासना सर्वव्यापी हुनेछ (फिलिप्पी २:१०-११)। मुक्ति पाएका र नपाएका दुवैले ख्रीष्टलाई घुँडा टेक्नेछन् र उहाँलाई प्रभु भनी स्वीकार गर्नेछन्।

निष्कर्ष: यहोवाका साक्षीहरू येशू वास्तवमा को हुनुहुन्छ भन्ने सवालमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत् गरिन योग्य सृष्टिकर्ता-परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ। जसरी रोमी ९:५ मा बताइएको छ, ख्रीष्ट त सर्वोच्च, सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ (यहोवाका साक्षीहरू यस पदमा पद चिन्ह घुसाएर यसको अर्थलाई बदल्ने प्रयास गर्दछन्, र कतिपय अनुवादहरूले पनि त्यसै गर्ने प्रयास गरेका छन्। यस पदलाई रोमी अध्याय ९ मा विस्तृतरूपमा हेरिनेछ)।

रोमी १:२५ मा पावल आफैले सृष्टिकर्ताको उपासना गर्दथे भन्ने कुरालाई प्रस्टै व्यक्त गर्दछन्! यस पदमा उनको हृदयबाट प्रशंसाको उद्‍गार प्रस्फुटित हुन्छ (झण्डै-झण्डै रोमी ९:५ को जस्तै)। यहाँ सृष्टिकर्ताको प्रशंसा गर्दाहुँदी पावलले त्रिएक परमेश्वरको विशेष गरी दोस्रो व्यक्ति (प्रभु येशू ख्रीष्ट) को सोँच राखेको हुन सक्छ (येशू ख्रीष्टलाई सृष्टिकर्ताको रूपमा प्रस्तुत गर्ने ती खण्डहरूलाई हेर्नुहोस्: कलस्सी १:१३-१६; यूहन्ना १:१-; एफेसी ३:९; हिब्रू १:२; १ कोरिन्थी ८:६)।

रोमी १:२५ मा थप टिप्पणी: नयाँ नियममा अर्को पनि खण्डले यहाँजस्तै तोकेर “झूट” को उल्लेख गरेको छ। त्यो हो २ थेस्सलोनिकी २:११। सन्दर्भले उक्त “झूट” रोमी १:२५ कै झूटको कुरा भएको देखाउँछ अर्थात् सृष्टि उपासना गरिन योग्य छ भन्ने झूट। सृष्टि-पूजा चौथो पदमा उल्लेख भएको कुरालाई ध्यान दिनुहोला। पापको पुरुष (जो केवल एक मानिस मात्र हुन्) ले आफूलाई परमेश्वरकै स्थानमा स्थापना गर्नेछन् र आफूलाई उपासना गरिनुपर्ने व्यक्तिको रुफमा प्रस्तुत गर्नेछन् (यस भविष्यवाणीको अझ विस्तृत बयान पढ्नलाई प्रकाश १३ मा हेर्नुहोला)। साँच्चै, उनले त्यस प्रकारको उपासना माग गर्नेछन् र त्यसो गर्न इन्कार गर्नेहरूलाई दण्ड दिनेछन्।

रोमी १:२६

यी मानिसहरूले सत्यलाई इन्कार गरे र झूटलाई अँगाले। तिनीहरूले सत्यलाई परित्याग गरे, त्यसैले परमेश्वरले तिनीहरूलाई परित्याग गर्नुभयो। तिनीहरूले परमेश्वरलाई त्यागे, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो (तिनीहरूका आफ्नै अभिलाषाहरू र कुकामनाहरूमा सुम्पिदिनुभयो)।

“कामनाहरू” = अभिलाषाहरू

“नीच” = अनादरणीय, अपमानजनक, लज्जाजनक

“स्त्रीहरू” = स्वास्नीमान्छेलाई जनाउने विशिष्ट शब्द

“साटे” = सट्टापट्टा गर्नु (तिनीहरूले गरेको साटफेर नोक्सानीपूर्ण थियो; आफ्ना शरीरहरूलाई परमेश्वरको इच्छाबमोजिम प्रयोग गर्नुको सट्टा विकृत र “अस्वाभाविक” प्रकारले दुरुपयोग गरे)।

“अस्वाभाविक” = प्रकृतिको विपरित, पथभ्रष्ट, अनुचित

रोमी १:२७

“पुरुषहरू” = लोग्नेमान्छेलाई जनाउने विशिष्ट शब्द

“स्वाभाविक” = जुन कुरा प्रकृतिअनुरूप छ, परमेश्वरको नजरमा उचित र ठीक छ (मानदण्ड निर्धारण गर्ने व्यक्तिचाहिँ परमेश्वर नै हुनुहुन्छ)।

“जले” = तिनीहरू कामवासनाले उत्तेजित भए; कुइच्छाले तिनीहरूलाई भत्‌भत् पोल्यो (यसले प्रेम नभएर अभिलाषालाई जनाउँदछ)

“परुषहरूले पुरुषहरूसित” = समलिङ्गता

“शर्मलाग्दो” = लज्जापूर्ण

“पाए” = तिनीहरूले गरेका कामबापत जे पाउनुपर्ने त्यही पाए

“दण्ड” = प्रतिफल, सजाय

“उचित” = आवश्यक, अपरिहार्य (यस प्रकारको पापलाई दण्ड नदिई हुँदैन)

समलिङ्गताबारे बाइबलको शिक्षा

  1. रोमी अध्याय १ अनुसार समलिङ्गता (homosexuality), परमेश्वरको आदर गर्न र उहाँको सत्यतालाई मान्यता दिन असफल बनेको समाजको अवश्यम्भावी प्रतिफल हो (पद १८,२१ आदि)।
  2. अस्वभाविक के हो भनी जान्न स्वभाविक के हो जान्नु आवश्यक पर्छ। यौन, प्रेम र विवाहको सन्दर्भमा के ठीक, के बेठीक, कुन उचित, कुन अनुचित, कुनचाहिँ पवित्र, कुनचाहिँ अपवित्र — कसरी जान्ने? परमेश्वरले हामीलाई दिनुभएको मानदण्ड (STANDARD) के हो? मत्ती १९:३-८ पढ्नुहोस् र पद ४ र ८ मा “शुरु” भन्ने शब्दलाई विशेष ध्यान दिनुहोस्। येशू ख्रीष्टका अनुसार, परमेश्वरले शुरुमा जे गर्नुभएको थियो त्यो नै कुनचाहिँ ठीक, पवित्र र उचित भन्ने कुराको मानदण्ड हो। यसले हामीलाई उत्पत्ति अध्याय २ (विशेष गरी पद २१-२५) मा फर्कन लगाउँछ। अर्को शब्दमा भन्ने हो भने उत्पत्ति २ नै मानदण्ड हो। उत्पत्ति २ मा जे पाउँछौं त्यो नै स्वभाविक, सठीक, शुद्ध र सुन्दर छ। मानवजातिको भलाइका लागि र यसको प्रजननका लागि परमेश्वरले नियुक्त गर्नुभएको र स्थापित गर्नुभएको कुरा ठीक यही नै हो। उत्पत्ति २ मा परमेश्वरले संस्थागत गराउनुभएको योजनाबाट पथभ्रष्ट भएको जुनसुकै पनि अभ्यासलाई अस्वभाविक, अप्राकृतिक, अनुचित भनेर मान्नुपर्छ र पुरुष-स्त्रीका लागि रहेको परमेश्वरको सिद्ध अभिप्राय र योजनाको विपरित भएको भनी मान्नुपर्छ।

यो स्पष्टसँग देखिने कुरो हो कि शुरुमा परमेश्वरले आदमकहाँ कुनै पुरुषलाई ल्याउनुभएन। यो पनि स्पष्टसँग देखिने कुरो हो कि शारीरिक र लैङ्गिक आधारमा पुरुष, पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री, स्त्रीका लागि। त्यसो त दुइटा छेस्किनीले वा दुइटा ढिम्रीले कुनै चीजलाई बाँध्न खोज्नु जस्तै हुन्छ। छेस्किनीचाहिँ ढिम्रीको लागि बनाइएको हो अनि ढिम्रीचाहिँ छेस्किनीको लागि। ढिम्रीलाई अर्को ढिम्रीभित्र जोड्न बनाइएको होइन। त्यस्तै, कुनै पुरुष अर्को पुरुषका लागि बनाइएका होइनन् न ता स्त्री अर्को स्त्रीका लागि। स्त्री पुरुषका निम्ति सृष्टि गरिएकी हो (१ कोरिन्थी ११:९)।

  1. इतिहासमा सदोमको ठूलो पापलाई र त्यस पापले उक्त शहरमाथि निम्त्याएको परमेश्वरको इन्साफ (उत्पत्ति १८ र १९) लाई नबिर्सौं। त्यो पाप “सदोमी” (sodomy) भन्ने संज्ञाले सदाका लागि मानव स्मृतिमा गढेर रहेको छ।
  2. परमेश्वरको वचनले समलिङ्गताको कडा भर्त्सना गरेको छ (लेवी १८:२२; लेवी २०:१३)। १ तिमोथी १:९-१० पनि हेर्नुहोस् (समलिङ्गता खाँटी शिक्षाको विपरित कुरो हो)।
  3. समलिङ्गीका लागि समेत त्यहाँ ठूलो आशा छ (१ कोरिन्थी ६:९-११)।

“पुरुषगामीहरू” — दुइटा फरक-फरक ग्रीक शब्दलाई यहाँ नेपाली बाइबलमा एउटै शब्दले अनुवाद गरिएको छ। दुवै ग्रीक शब्दलाई हेरौं:

मालाकोस (μαλακος) — नरम मान्छे, स्त्रीस्वभाव भएको, स्वास्नीमानिसजस्तो, विशेष गरी एक क्याटमाइट (catamite) अर्थात् विकृत कामवासनाका लागि प्रयोग गरिन आफूलाई सुम्पने पुरुष वा केटा, त्यसरी स्त्रीको भूमिका निर्वाह गर्ने केटामान्छे। यो भयो एउटा PASSIVE समलिङ्गी।

आरसेनोकोइटेस (αρσενοκοιτης) — पुरुष समलिङ्गी जसले मलद्वारको यौन अभ्यास गर्दछ, एक सदोमी (sodomite)। यस ग्रीक शब्दका दुइटा भाग छन्: (१) पुरुष; (२) ओछ्यान (यौन सम्बन्ध जनाउन प्रयोग गरिने नरम शब्द)। तसर्थ यस शब्दले पुरुषसित ओछ्यानमा जाने व्यक्तिलाई जनाउँछ। यस शब्दले स्त्रीसित एक पुरुष सुतेजस्तै एक पुरुष अर्को पुरुषसित सुत्‍ने कार्यलाई जनाउँदछ (तुलना गर्नुहोस् लेवी १८:२२ र २०:१३)। यो भयो एउटा ACTIVE समलिङ्गी।

“अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ” — कतिपय करिन्थीहरू विगतमा समलिङ्गीहरू थिए तर ख्रीष्टले आमूल परिवर्तन ल्याउनुभएको थियो। एउटा समलिङगीले मुक्ति पाउन सक्छ र परिवर्तित हुन सक्छ! परमेश्वरको अनुग्रहले ऊ यस पापबाट पूर्णरूपले छुटकारा पाउन सक्छ।

समलिङ्गता वंशाणुको प्रतिफल भएको भए, अर्थात् जन्मबाटै निर्धारित झुकाव भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन। समलिङ्गता कुनै एक प्रकारको रोग भएको भए, परिवर्तनको त्यहाँ कुनै आशा हुने थिएन किनकि त्यस्तो रोगलाई कुनै चक्की, औषधी वा शल्यक्रियाको सीप चल्ने थिएन। समलिङ्गता एउटा पाप हो भने चाहिँ त्यहाँ पूरै आशा छ। किनकि पापको समाधानको उपाय त्यहाँ छ अर्थात् हाम्रा धन्य मुक्तिदाता प्रभु येशू ख्रीष्टमा। एक समलिङ्गीको जीवनमा हुन सक्ने सबैभन्दा ठूलो कुरो ख्रीष्टको सुसमाचारसितको उसको जम्काभेट हो।

परमेश्वरको मानदण्ड र नियमभित्र रहनेहरूलाई त्यहाँ ठूलो आशिष छ (हिब्रू १३:४ लाई हितोपदेश ५:१८-१९ सित तुलना गर्नुहोस्)। परमेश्वरका मानदण्डलाई उल्लङ्घन गर्ने र उहाँले स्थापना गर्नुभएका यौन सम्बन्धी नियमहरूलाई उल्लङ्घन गर्नेहरूलाई जीवनमा सुख हुँदैन र आखिरमा उनीहरू परमेश्वरको दण्डमुनि पर्नेछन् (हिब्रू १३:४ लाई हितोपदेश ५:२० र प्रस्थान २०:१४ मा उल्लेखित सातौं आज्ञासित तुलना गर्नुहोस्)।

रोमी १:२८

“परमेश्वरले तिनीहरूलाई सुम्पिदिनुभयो” वा त्यागिदिनुभयो भन्ने यो तेस्रो उल्लेख हो। मूल लेखोट (ग्रीक) मा यस वाक्यभित्र शब्दको खेल (pun, श्लेषोक्ति) भेटिन्छ जसलाई नेपालीमा यसरी रूपान्तरण गर्न सकिन्छ: “तिनीहरूले परमेश्वरको ज्ञानलाई भ्रष्ट पारे त्यसैले परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो”; अथवा, “तिनीहरूले परमेश्वरको ज्ञानलाई फ्याँकिदिए गरिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई एउटा फ्याँकिएको मनको वशमा सुम्पिदिनुभयो!” तिनीहरूले परमेश्वरको ज्ञानलाई त्यागिदिए, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो। उनीहरूले आफ्नै भ्रष्ट मनका आवेगलाई पछ्याऊन् र आफ्नै भ्रष्ट हृदयका कामनाहरूलाई पछ्याऊन् भनी मानिसहरूलाई त्यागिदिनु भनेको एक डरलाग्दो न्याय हो! “यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ; र उनीहरू आफ्नै सल्लाहहरूअनुसार हिँडे” (भजनसङ्ग्रह ८१:१२)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)