Entries by Pradesh Shrestha

रोमी ७:१-१०

रोमी ७:१-१०

 

रोमी अध्याय ७

व्यवस्थासितको विश्वासीको सम्बन्ध

रोमी ७ को जोडी विषय यस प्रकार छ: १) व्यवस्थासितको विश्वासीको सम्बन्ध र २) पवित्र जीवन जिउन सक्ने बनाउनलाई व्यवस्थाको पूर्ण असक्षमता। रोमी ६ अध्यायलाई रोमी ७ अध्यायसित तुलना गरौं:

ख्रीष्टिय जीवनमा विजयी बन्न विश्वासीले जान्नुपर्छ, ठान्नुपर्छ र सुम्पनुपर्छ (रोमी ६ को टिप्पणी हेर्नुहोस्)। ख्रीष्टले पूरा गर्नुभएको काममा गरिने विश्वास नै चाबी हो। मानवीय झुकाव चाहिँ ख्रीष्टिय जीवन शरीरमा जिउन खोज्नु हो, कामहरूद्वारा जिउन खोज्नु हो, हाम्रो आफ्नै प्रयास र सङ्घर्षले जिउन खोज्नु हो, प्रयास गर्दै, कोशिश गर्दै, कबूल गर्दै, नियम, तालिका आदि पछ्याउँदै जिउन खोज्नु हो। जति हामी कोशिश गर्छौं त्यति नै बेसी हामीलाई सङ्घर्ष हुन्छ र हामी विफल हुन्छौं। रोमी ७ अध्यायको सिङ्गो विषय यही हो कि व्यवस्थाद्वाराको पवित्रीकरण (पवित्रता) ले काम गर्दैन। गलाती ३:१-५ मा हेर्नुहोस्।

रोमी ६:१४ मा उल्लेखित पावलको भनाइलाई हामीले ध्यानमा राख्नुपर्छ — “किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ। यसको तात्पर्य यो हो कि यदि हामी व्यवस्थाको अधीनमा भएका भए हामीमाथि पापले राज्य गर्नेथ्यो। अनुग्रहको माने के हो र व्यवस्थाको माने के हो? वाचम्यान नीद्वारा लिखित यी हरफहरूलाई विचार गर्नुहोस्:

“अनुग्रहको माने परमेश्वरले मेरो निम्ति केही गर्नु हो; व्यवस्थाको माने मैले परमेश्वरको निम्ति केही गर्नु हो। परमेश्वरबाटका त्यहाँ केही पवित्र र धर्ममय मागहरू छन् जसको जिम्मेवारी उहाँले मलाई सुम्पनुभएको छ: व्यवस्था भनेको यही हो। अब यदि व्यवस्थाको माने परमेश्वरले व्यवस्था पूरा गरियोस् भनेर मबाट केही माग राख्नुहुन्छ भने, तब व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले त्यो अब उसो मबाट माग गर्नुहुन्न तर उहाँ आफैले त्यो प्रबन्ध गरिदिनुहुन्छ भन्ने हो। व्यवस्थाको तात्पर्य यो हो कि मैले उहाँको निम्ति केही गरोस् भनेर परमेश्वरले मबाट माग गर्नुहुन्छ; व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले मलाई त्यसको दायित्वबाट छुट दिनुहुन्छ र अनुग्रहमा उहाँ आफैले दायित्व पूरा गरिदिनुहुन्छ…रोमी ७ मा वर्णित समस्या हो हो कि शरीरमा रहेर मान्छेले परमेश्वरको निम्ति केही गर्न खोज्यो। जब तपाईं त्यसरी परमेश्वरलाई खुशी पार्न खोज्नुहुन्छ तुरुन्तै तपाईंले आफूलाई व्यवस्थामनि राख्नुहुन्छ र रोमी ७ अध्यायको अनुभव तपाईंको हुन थाल्दछ। [The Normal Christian Life, पृष्ठ १०५। वाचम्यान नीद्वारा लिखित हरफहरू हामीले यहाँ उद्धरण गर्दैमा हामी उहाँका सबै लेखोटहरूसित सहमत छौं भन्ने होइन।]

समस्या व्यवस्थापट्टि भएको होइन (रोमी ७:१२ मा हेर्नुहोस्); समस्या त पापी मानिसपट्टि पो छ (रोमी ७:१४; ८:७)।

रोमी ७:१-६ को छोटो रूपरेखा

  • पद १ – सिद्धान्त प्रस्तुत गरिन्छ
  • पद २-३ विवाहको उदाहरण दिइन्छ
  • पद ४ – सिद्धान्तलाई प्रयोग गरिन्छ
  • पद ५-६ प्रयोगलाई अझ व्याख्या गरिन्छ

रोमी ७:१

“त्यसमाथि राज्य गर्दछ” को माने कुनै कुरामाथि प्रभुत्व जमाउँदछ। व्यवस्था मानिसमाथि प्रभु रहेको छ (मानिसलाई शासन गर्छ), त्यसैले मानिस बाचुञ्जेल व्यवस्थाको मुनि रहन्छ। ऊ बाँचिरहेसम्म व्यवस्थाको मुनि हुन्छ! व्यवस्थासितको मान्छेको सम्बन्धलाई तोड्न सक्ने एउटै मात्र कुरा छ: मृत्यु!

रोमी ७:२-३ (विवाहको उदाहरण)

“पति भएको स्त्री” — यसको मतलब तिनी विवाहित छन्, आफ्ना पतिका अधीनमा छन् र उनको अधिकारमनि छन्।” “बाँधिएकी” — दुई व्यक्तिहरूको विवाह हुन्छ उनीहरू जीवनपर्यन्त बाँधिन्छन्; जबसम्म मृत्युले उनीहरूलाई अलग गर्दैन — मत्ती १९:५-६। विवाह दुईमा एकको मृत्यु नभएसम्म बन्धनकारी रहन्छ (१ कोरिन्थी ७:३९)। उक्त मृत्यु नभएसम्म कोही पनि विवाहको नियमबाट छुट्टिन सक्दैन।

विवाह जीवनपर्यन्तको समर्पणता हो। उनको पति बाचुञ्जेल अर्को व्यक्तिसित विवाह गर्न वा अर्को व्यक्तिसित सम्बन्ध गाँस्न स्वतन्त्र हुँदिनन् — त्यो त व्यभिचार ठहरिनेछ। पति मरे भने तिनी स्वतन्त्र हुन्छिन् (१ कोरिन्थी ७:३९)। मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याइदिन्छ र एउटा नयाँ सम्बन्ध हुन सक्न अनुमति दिन्छ। विवाह र सम्बन्धविच्छेद सम्बन्धी प्रभुको शिक्षाको लागि लूका १६:१८ मा हेर्नुहोस् (यो अरू ठाउँमा पनि उल्लेख छ)। यस उदाहरणको मूल तात्पर्य यो हो: मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याउँछ र एउटा नयाँ सम्बन्ध सम्भव गराउँछ।

रोमी ७:४

म व्यवस्थाद्वारा बाँधिएको छु। ममाथि त्यसले राज्य गर्दछ (पद १)। म कसरी मुक्त होउँला र (पद ६)? ख्रीष्टको मृत्युमा म मरें! म व्यवस्थाको लेखि मरें! व्यवस्था कहिल्यै मर्न सक्दैन, तर म मरें! मेरो मृत्युले एकजना नयाँ पतिसँग एउटा नयाँ सम्बन्ध हुन सक्दछ: “अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई” (पद ४)। म ख्रीष्टसँगै मरेको ले म व्यवस्थाबाट मुक्त भएको छु। म ख्रीष्टमा जिउँदो भएकोले म उहाँसँग एउटा सुन्दर सम्बन्धमा जोडिएको छु। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई व्यवस्थाबाट काटिएर स्वतन्त्र हुन र येशू ख्रीष्टसँग गाँसिन (उहाँसित एक हुन) सम्भव गराउनुभयो। ममाथि व्यवस्थाको होइन तर अब ख्रीष्टको प्रभुत्व रहेको छ। व्यवस्था एक भयङ्कर अप्रिय पति छन् — कठोर, चाम्रो, कडा, ठोस, माग राख्ने र अलचिलो। प्रभु चाहिँ सुन्दर पति हुनुहुन्छ — कृपालु, अनुग्रही र उहाँले, उहाँको सामर्थ्य र जीवनले, मलाई उहाँलाई खुशी पार्न सक्ने बनाउनुहुन्छ। जसरी वैवाहिक सम्बन्धले फल (छोराछोरी) उत्पन्न गराउँछ, ख्रीष्टसितको मेरो विवाहले फल उत्पन्न गराउँछ (रोमी ६:२२; गलाती ५:२२-२३ मा हेर्नुहोस्)। साथै यूहन्ना १५:१-७ पढ्नुहोस्: “फल”, “धेरै फल”, “अझ धेरै फल”।

तर म मरें भने, म कसरी अर्कासित विवाह गर्न सक्छु र? ख्रीष्टको मृत्युमा म मरें र ख्रीष्टको बौरिउठाइमा म जिउँछु! यसरी म ख्रीष्टसित विवाहमा बाँधिन सक्छु!

विश्वासी ख्रीष्टसँग विवाहित भएको छ! यो एउटा प्रेमको सम्बन्ध हो, यो व्यवस्थाको सम्बन्ध होइन। यो प्रेमको सम्बन्ध (ख्रीष्टसँग जोडिनु र उहाँसँग एक हुनु) नै ख्रीष्टिय विश्वासको सार हो। ख्रीष्टिय विश्वास एउटा धर्म होइन, यो त एक व्यक्तिसँग, परमेश्वरकै पुत्रसँगको एउटा सम्बन्ध हो (यूहन्ना १७:३)। यो केही गर्ने बारेमा होइन, तर कसैलाई चिन्ने बारेमा हो (यूहन्ना १७:३; १ यूहन्ना २:३-४)। यो विभिन्न नियमहरूको सँगालो होइन, र नैतिकताको प्रणाली होइन। यो त एकमात्र सत्य परमेश्वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टसितको अद्वित्तीय, अपूर्व र घनिष्ट सम्बन्ध हो।

आजकल धेरैजनाले यस सत्यतालाई बिर्सेका छन्। धेरैजनाको दृष्टिमा ख्रीष्टिय जीवन एउटा व्यवस्थावादी धार्मिक प्रणाली बन्न गएको छ। नियमहरू, विधिहरू, कर्तव्यहरू आदिको सञ्जालमा व्यस्त हुने प्रवृत्ति मान्छेमा प्रायः हुने गर्छ। ख्रीष्टिय जीवन भनेको बाइबल पढ्नु, प्रार्थना गर्नु र सुसमाचार सुनाउनु र पद कण्ठ गर्नु र अरू कामहरू गर्नु र अन्य कामहरू नगर्नु भनेर सोच्नु स्वाभाविक हो। ख्रीष्टियन भएर एक व्यक्ति कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी बोल्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले के कस्ता काम गर्नुहुँदैन र के कस्ता काम गर्नुपर्छ भनेर हामीलाई थाह छ, अनि चालै नपाईकन ख्रीष्टिय जीवनले त्यो मुख्य कुरा गुमाएको हुन्छ जसले यसलाई अरू सबै धर्महरूभन्दा पृथक बनाउँछ। हामीले प्रमुख कुरा नै गुमाएका हुन्छौं।

यस कुरालाई जोड दिन हामी हेरौं बाइबलमा के भनिएको छैन:

फिलिप्पी १:२१ — किनकि मेरा निम्ति जिउनु बाइबल पढ्नु हो, पदहरू कण्ठ गर्नु हो, दिनहुँ कम्तीमा १५ मिनेट प्रार्थना गर्नु हो र हरेक अवसरमा साक्षी दिनु हो।

फिलिप्पी ३:८ — अँ, साँच्चै मेरो जिब्रोलाई लगाम लगाउनु, मेरा खराब बानीलाई सुधार्नु, प्रार्थना र वचनमा दिनहुँ लाग्न खोज्ने कामको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु।

फिलिप्पी ३:१० — म यसो गर्न सकूँ र त्यसो नगर्न सकूँ र साक्षी बाँड्न आफूलाई बलजफ्ती गर्न सकूँ र हरेक खराबीको दुष्टताबाट अलग हुन सकूँ।

२ कोरिन्थी ५:९ — यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, हामी रिसाउनदेखि होसियार हुन सकौं, खानपीनको नियममा ध्यान दिन सकौं, पदहरू कण्ठ गर्न सकौं, आवश्यक आराम लिन सकौं, र सकभर खराब टिभी कार्यक्रमहरू धेरै नहेरेका होऔं भनेर प्रयत्न गर्दछौं।

वास्तवमा यी पदहरूले के भन्छन्? माथिका पदहरूमा जोड दिइएका कुरा चाहिँ एक व्यक्ति अर्थात् ख्रीष्टलाई जान्ने, प्रेम गर्ने र खुशी पार्ने भन्ने कुरामा छन्! कलस्सी १:९-१२ लाई ध्यान दिएर पढ्नुहोस्। यस महान् प्रार्थनामा जोड दिइएका कुरालाई ध्यान दिनुहोस्: उहाँको इच्छालाई जान्नु (पद ९), उहाँसँगै हिँड्नु (पद १०), उहाँलाई खुशी पार्नु (पद १०), उहाँको ज्ञानमा बढ्नु (पद १०), उहाँबाट बलवान् बनाइनु (पद ११), उहाँमा आनन्दित हुनु (पद ११), उहाँलाई धन्यवाद दिनु (पद १२)!

फेरि पनि हामी वैवाहिक सम्बन्धलाई विचार गरौं। पतिले गर्नुपर्ने कामहरू त्यहाँ विभिन्न हुन्छन् र गर्न नहुने कुराहरू पनि त्यहाँ विभिन्न हुन्छन्। उसले पालना गर्नुपर्ने कर्तव्यहरू त्यहाँ हुन्छन् र वहन गर्नुपर्ने जिम्मेवारीहरू त्यहाँ हुन्छन् र उसले पूरा गर्नुपर्ने दायित्वहरू त्यहाँ हुन्छन्। तर उनले यी सबै कुराहरू किन गर्दछन् त? किनकि तिनले एकजना व्यक्तिलाई प्रेम गर्ने निर्णय गरेका छन् — अर्थात् आफ्नी पत्नीलाई। पत्नीले धेरै कामहरू गर्छिन्: खानाहरू तयार गर्छिन्, भाँडा माझ्छिन्, भुइँ सफा गर्छिन्, लुगाहरू धुन्छिन्, इत्यादि। तर यी सबै कामहरू उनले किन गर्छिन्? के उनका पतिले उनलाई “तिमीले यस्तो गर्नेछौ”“यस्तो गर्नेछैनौ” भन्ने कुराहरूको एउटा लामो सूची दिएका हुनाले हो त? त्यस्तो कारणले त नहुनुपर्ने हो। उनले यी सबै किन गर्दैछन् भने उनले आफ्ना पतिको प्रेमको जवाफमा हो। वैवाहिक सम्बन्ध प्रेममा अडेको हुन्छ, व्यवस्थामा होइन।

ख्रीष्टिय जीवन त्यसोभए के को बारेमा हो त? ख्रीष्टिय जीवन खास एक व्यक्ति (परमव्यक्ति) लाई चिन्नु, उहाँलाई प्रेम गर्नु, उहाँलाई खुशी पार्न खोज्नु, उहाँसँगै हिँड्नु, उहाँलाई आदर गर्नु, उहाँको आज्ञा मान्नु, उहाँलाई धन्यवाद दिनु, उहाँमा आनन्दित हुनु, उहाँमा मग्न हुनु, उहाँमा भरोसा गर्नु, उहाँमा बढ्दै जानु, उहाँसँग कुरा गर्नु, उहाँको बारेमा अरूलाई बताउनु, उहाँमा रहनु, उहाँको बारेमा सिक्नु, उहाँबाट सिक्नु, उहाँको पाउमा बस्नु र उहाँको उपस्थितिमा आनन्दित हुनु हो। जोड दिइएको कुरालाई ध्यान दिनुहोस्: उहाँमा (एक व्यक्तिमा)!

आइतबारदेखि शनिबारसम्म जिउने क्रममा के हामी त्यस परमव्यक्तिसँग हिँड्दैछौं? के हामी उहाँमा मग्न हुन्छौं? कि त्यसो नभएर हामी एउटा रित्तो धार्मिक रीति र अर्थहीन नियम-पालनाको तालिका मात्र पछ्याउँदैछौं? यदि प्रभु येशू ख्रीष्टसँग हाम्रो एउटा विशेष, घनिष्ट प्रेमको सम्बन्ध छ भने यसले हाम्रा सबै क्रियाकलापहरूलाई बदलिदिन्छ। यसले प्रार्थनालाई बदल्नेछ (प्रार्थना भनेको हामीले प्रेम गरेको परमव्यक्तिसित कुरा गर्नु हो)। यसले बाइबल अध्ययनलाई बदल्नेछ (म यस परमव्यक्तिलाई अझ राम्ररी चिन्न चाहन्छु!)। यसले सुसमाचार सुनाउने कामलाई बदल्नेछ (म अरूहरूलाई यस उदेकका परमव्यक्तिलाई चिनाउन चाहन्छु! मैले चिनेको र प्रेम गरेको ख्रीष्टलाई अरूहरूले चिनून् भन्ने म चाहन्छु)। प्रकाश २:२-४ सित तुलना गर्नुहोस्।

के हामी एक व्यक्तिसँगै हिँड्दैछौं? कि हामी एउटा धर्म पूरा गर्न खोज्दैछौं? यूहन्ना १७:३ को प्रकाशमा के हामी आफ्ना हृदयहरूदेखि यसरी भन्न सक्छौं? — “म यस परमव्यक्तिलाई मेरा मुक्तिदाता, मेरा प्रभु, मेरा मित्र, मेरा सार्वभौम मालिक, मेरा सहायक, मेरा गोठाला, मलाई कहिल्यै नछोड्ने मेरा परममित्र… (अनि अझ अरू थुप्रै कुरा)”।

रोमी ७:५

चौथो पदले यो नयाँ सम्बन्धको फलको चर्चा गर्दछ; पाँचौं पदमा पुरानो सम्बन्धले फलाएको फलको कुरा छ। ख्रीष्टसित एक भएर र उहाँमा रहेर मैले परमेश्वरका निम्ति फल फलाउन सक्दछु (पद ४)। शरीरमा (रोमी ८:८-९) व्यवस्थाद्वारा जगाइएका पापहरूको वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे (पद ५)। साथै रोमी ६:२१ लाई (पुरानो जीवनको फल) रोमी ६:२२ (नयाँ जीवनको फल) सित पनि तुलना गर्नुहोस्। व्यवस्थाले मेरा अभिलाषाहरूलाई कहिल्यै पराजित गर्न सक्दैन। त्यसले केवल मेरा अभिलाषाहरूलाई जगाउन मात्र सक्छ। यस पदमा आपसमा जोडिएका शब्दहरूलाई ध्यान दिनुहोस्: व्यवस्था-पापहरू-मृत्यु र त्यसपछि रोमी ८:२ सित तुलना गर्नुहोस्।

रोमी ७:६

तर अब (ख्रीष्टमा अब बचाइएकोले) हामी व्यवस्थाबाट मुक्त (स्वतन्त्र, दाँज्नुहोस् ७:२ र ७:३ “मुक्त”) भएका छौं (भूतकाल), जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन। व्यवस्थाले एक व्यक्तिलाई कहिल्यै छुटकारा दिन सक्दैन। हामीलाई परमेश्वरको आत्मा र परमेश्वरको जीवन नै चाहिन्छ। विश्वासीले भन्न सक्दछ, “ख्रीष्टको मृत्युको कारण म व्यवस्थाको लेखि मरें र ख्रीष्टको बौरि उठाइको कारण म परमेश्वरको लेखि जिउँदछु।” पावलले यो कुरा यसरी व्यक्त गरे, ” (गलाती २:१९ साथै गलाती २:२० पनि हेर्नुहोस्)। ख्रीष्टमा एक विश्वासी भएकोले तपाईं व्यवस्थाको लेखि मर्नुभयो र परमेश्वरको लेखि जिउँदो हुनुभयो भन्ने कुरा के तपाईंले महसुस गर्नुभएको छ?

रोमी ७:७

यस अध्यायको यहाँसम्म व्यवस्थाको बारेमा हामीलाई के-के बताइयो त्यसलाई हेरौं:

  • पद २ — व्यवस्थाद्वारा बाँधिएको
  • पद ३ — व्यवस्थाबाट मुक्त
  • पद ५ — व्यवस्थाको निम्ति मरेको
  • पद ६ — व्यवस्थाबाट मुक्त…जसको बन्धनमा हामी थियौं

व्यवस्था त कुनै भयङ्कर नराम्रो कुरा जस्तो सुनिन्छ! व्यवस्था कति नराम्रो कुरा होला त यदि म त्यसबाट छुटाइनुपर्छ र त्यसबाट मुक्त गरिनुपर्छ भने। त्यसले मलाई पक्रेको छ र बाँधेको छ! त्यसले मेरो पापपूर्ण वासनाहरूलाई जगाइदिन्छ! व्यवस्था त कुनै ज्यादै खराब कुरा जस्तो सुनिन्छ, तर त्यसो होइन, र पावलले यस गलत धारणालाई सच्च्याउँछन्: “के व्यवस्था पाप हो?” के व्यवस्था कुने खराब र पापपूर्ण कुरा हो? “कदापि होइन!” समस्याको जड व्यवस्था होइन! व्यवस्थालाई दोष्याउने काम नगरियोस्! (यस प्रश्नको जवाफ रोमी ७:१२ मा दिइएको छ। व्यवस्था त पापकै उल्टो कुरा हो!)।

यस टिप्पणीको रोमी ३:२० अन्तर्गत उल्लेखित ऐनाको उदाहरणलाई पुनः विचार गर्नुहोस्। ऐनाको उद्देश्य व्यक्ति फोहोर छ भनेर देखाउनु हो। समस्या ऐनाको होइन तर व्यक्तिको अनुहारको हो। ऐना त फोहोर छँदै छैन! तर ऐनाले अनुहारमा भएको फोहोरलाई देखाइदिन्छ। फोहोर अनुहारको दोष ऐनालाई दिन मिल्दैन। “तर” को तात्पर्य “बरु उल्टो”। व्यवस्था पाप होइन तर पापलाई प्रकट गरिदिने काम गर्दछ (रोमी ३:२०)। ऐना फोहोर होइन तर फोहोरलाई प्रकट गरिदिन्छ। “पाप भनेको के हो, म जान्नेथिइनँ” — पावल आफ्नै पापको बारेमा अनजान थिए। [ऐना आइपुग्नुअघि सम्म निजले आफ्नो अनुहार सफै छ भनी ठानेको थियो!] जसरी ऐनाले फोहोर देखाइदिन्छ त्यसरी नै व्यवस्थाले पाप देखाइदिन्छ (र कायल पार्दछ)।

व्यवस्थाले पापलाई कसरी प्रकट गर्छ भन्ने कुराको एउटा निश्चित उदाहरण पावलले प्रस्तुत गर्दछन्। उनको उदाहरण चाहिँ दसौं आज्ञा हो। “लोभलालच” को माने “प्रबल इच्छा, अरूसँग भएको कुराको निम्ति प्रबल इच्छा, लोभ, अरूसँग भएको कुनै कुराको निम्ति ठूलो चाहना”। अर्को शब्दमा, “मभित्र भएको यो लोभलालचको डरलाग्दो पापको बारेमा म अनभिज्ञ रहनेथिएँ तर परमेश्वरसँग एउटा गजबको ऐना रहेछ जुनचाहिँ मेरो आफ्नै हृदयको लोभलालचलाई प्रकट गर्नलाई विशेषरूपमा उपयुक्त रहेछ, अर्थात् दसौं आज्ञा (प्रस्थान २०:१७): “तिमीले लालच (अरूसँग भएका कुराहरूको निम्ति प्रबल इच्छा) नगर्नू।” निश्चित किसिमको फोहोरमैला प्रकट गर्नका निम्ति परमेश्वरसित एउटा निश्चित ऐना छ; लोभको मैला प्रकट गर्नलाई परमेश्वरको ऐनाको नाम दसौं आज्ञा हो।

रोमी ७:८

“तर पाप (समस्याको जड) ले यस आज्ञा (दसौं आज्ञा) द्वारा मौका छोपेर (अवसर पाएर) ममा सबै प्रकारको लोभलालच (प्रबल इच्छा, पद ७ कै शब्द) उत्पन्न गरिदियो। किनकि व्यवस्थाबिना (आज्ञा आइपुग्नु अघि) पाप मरेको (निष्क्रिय, जीवनरहित, सुप्त, थोरै चहलपहल भएको अवस्थामा) थियो। ऐनाबिना आफ्नो फोहोर अनुहारको खासै धेरै महसुस हुँदैन तर ऐना आइपुगेपछि फोहोर त एक्कासी जिउँदो बन्दछ! “ओहो! कति फोहोर हो!” हुन त्यो अगाडिबाटै छँदै थियो तर ऐनाले उसलाई त्यसको महसुस गरायो! पारिलो घाममा डल्ला परेर सुतिराखेको सर्पलाई विचार गर्नुहोस्। त्यो निष्क्रिय छ, मरेको जस्तै छ। तर तपाईं गएर त्यसलाई चलाउनुभयो भने त्यो सर्प जागेर उठ्छ। व्यवस्थाले पनि पापलाई यस्तै किसिमले काम गर्दछ!

उदाहरण: दस आज्ञाको दोस्रो आज्ञा (प्रस्थान २०:४) लाई विचार गर्नुहोस्। यो आज्ञा पवित्र र न्यायपूर्ण र असल छ। यसमा कुनै कुरा गलत छैन। तर जब पापी मान्छेको अगाडि यो आज्ञा आइपुग्छ, उसले स्वभावैले के गर्छ? ऊ त्यसको विरुद्धमा उठ्छ र विद्रोह गर्छ! परमेश्वरले भन्नुहुन्छ, तिमीले यसो गर्नेछौ तर विद्रोहीले जवाफ दिन्छ म गर्दिनँ! परमेश्वरले भन्नुहुन्छ, तिमीले त्यसो गर्नेछैनौ तर विद्रोहीले जवाफ दिन्छ म गर्छु! त्यसैले त हामीले प्रस्थान ३२:७-८ मा त्यो खेदपूर्ण र आपत्तिजनक घटना पढ्छौं। मूर्तिपूजाको पाप उनीहरूको हृदयमा सुरुदेखि नै थियो तर आज्ञाले त्यसलाई जगाइदियो। मूर्तिपूजाको पाप आज्ञा दिइनु अगाडिसम्म मरेको थियो, त्यो निष्क्रिय थियो र सुप्त थियो। त्यसअघि सुनका बाछाहरू बनाउने उनीहरूको बानी थिएन। व्यवस्थाले पापलाई जगाउँछ र सो गर्नलाई उक्साउँछ। के हामी सुनको बाछाको लागि दोस्रो आज्ञालाई दोष दिऔं त? कदापि नहोस्!

रोमी ७:९

“एकपल्ट” ले पावललाई परमेश्वरको व्यवस्थाद्वारा सामना गरिनुभन्दा अगाडिको समयलाई जनाउँछ, आज्ञा आउनुभन्दा अघिको समय। “जिउँदो” को माने अविचलित, कायलरहित, आफूमाथि झुण्डिरहेको त्यो ठूलो मृत्यु दण्डको कुनै महसुस नभएको अवस्था। सबकुरा ठिकठाक छ जस्तै लाग्थ्यो (ऐनामा नहेरेको मान्छेको फोहोर अनुहार भए जस्तै। सब कुरा ठिकठाक जस्तै लाग्ला तर ठिकठाक छैन। समस्या त्यहाँ छँदै छ यद्यपि मलाई त्यसको महसुस समेत छैन)। “पाप जाग्यो” को माने “पाप फेरि जीवित भयो, पुनर्जागृत भयो” (बौरिउठाइलाई बयान गर्न प्रयोग हुने शब्द हो यो)। आज्ञाले पापलाई पुनर्जागृत गराउँछ र पापलाई बौराउँछ (सर्प एक्कासी जिउँदो पारिए जस्तै)। “म मरें” — एक्कासी म त एउटा व्यवस्था भङ्ग गर्ने व्यक्ति रहेछु र व्यवस्था भङ्ग गर्नेहरू मृत्यु दण्डको योग्य हुन्छन् भन्ने कुरा म महसुस गर्दछु! व्यवस्थालाई “मृत्युको सेवा” र “दोषी ठहराउने सेवा” भन्ने नाम दिइएको छ (२ कोरिन्थी ३:७,९)। परमेश्वरको पवित्र व्यवस्थाले पापीलाई कायल पार्दछ र “मार्दछ”!

रोमी ७:१०

“जीवनका निम्ति दिइएको” — यस भनाइको आशय मत्ती १९:१६-१७ र लूका १०:२५-२८ मा भेटिन्छ। जिउन र अनन्त जीवन पाउन एक व्यक्तिले केवल व्यवस्था पालन गर्नुपर्छ। तर उसले त्यसलाई सिद्ध र पूर्ण रूपमा पालन गर्नुपर्छ र त्यो चाहिँ उसले जीवनभरि नै गर्नुपर्छ! समस्या के छ भने कुनै पनि व्यक्तिले सो गरेको छैन र कुनै पनि पापीले त्यो गर्न सक्दैन! सफा अनुहार हुनेहरूले ऐनाको कुनै डर मान्नुपर्दैन। समस्या के छ भने हामीमध्ये कसैको पनि अनुहार सफा छैन! हामी सबै पापी छौं र त्यसैले व्यवस्थाले हामी सबैलाई दोषी ठहराउँछ! “मैले मृत्युको कारण भएको भेट्टाएँ” — मलाई व्यवस्थाले सामना गर्दा मैले व्यवस्था विरुद्धको आफ्नै पापपूर्ण अनाज्ञाकारितालाई महसुस गरें र मैले भङ्ग गरिएको व्यवस्थाको डरलाग्दो दण्डको सामना गर्नुपर्ने भयो जुनचाहिँ हो मृत्यु।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ६:१५-२३

रोमी ६:१५-२३

 

रोमी ६:१५

प्राकृतिक मान्छेले परमेश्वरको अनुग्रह बुझ्नै सक्दैन। ऊ ठान्छ कि अनुग्रहमनि हुनु पाप गर्नलाई अनुमति हो। अनुग्रह एक अनुमति (पाप गर्नलाई स्वतन्त्रता) होइन तर यो छुटकारा (पाप नगर्नलाई स्वतन्त्रता) हो। के परमेश्वरको अनुग्रहले विश्वासीलाई दुष्ट भएर जिउन र पापमा लागिरहन सिकाउँछ (तीतस २:११-१२ मा हेर्नुहोस्)? आफ्नो पिठ्युमा पापको एउटा भयङ्कर भारी बोक्दै गरेको एउटा व्यक्तिलाई विचार गर्नुहोस्। जब ऊ सिनाई पर्वत नजिक आउँछ, के हुन्छ? उसले आफ्नो भारी झनै गह्रौं भएको महसुस गर्छ (रोमी ७:१३)! जब ऊ कलवरी पर्वत नजिक आउँछ, के हुन्छ? भारी क्रूसको फेदमा खस्छ। सिनाई पर्वतले पापको प्रभुत्वलाई कहिल्यै तोड्न सक्दैन, केवल अनुग्रहले मात्र त्यो गर्न सक्छ। सिनाई पर्वतले पापको भारले दबिएको प्राणलाई कहिल्यै छुटकारा दिन सक्दैन, तर कलवरीले सक्छ। व्यवस्थाले पापको शक्तिलाई तोड्न कहिल्यै सक्दैन। व्यवस्थाले पापलाई के गर्दछ भनेर बाइबलले बताएकै छ — त्यसले पापलाई शक्ति पो दिन्छ! (१ कोरिन्थी १५:५६) र व्यवस्थाद्वारा पाप ज्यादै पापमय बन्छ (रोमी ७:१३)।

रोमी ६:१६

पावलले आफ्ना पाठकहरूलाई यस पदमा एउटा ज्यादै सरल सिद्धान्तको सम्झना गराउँछन्। जसको आज्ञा मान्छौ त्यसकै दास बन्छौ! जसको सेवा गर्छौ त्यसकै सेवक बन्छौ। पोक्चेको सेवा गर्ने पोक्चेकै सेवक हो। परमेश्वरको सेवा गर्ने परमेश्वरकै सेवक हो। पापको सेवा गर्ने पापकै सेवक हो! यस पदमा अर्को पनि सिद्धान्त लुकेको : “कुनै पनि मानिसले दुई मालिकको सेवा गर्न सक्दैन” (मत्ती ६:२४)। परमेश्वर र पाप दुवैको सेवा गर्न सकिन्न। कि एक कि अर्कोको सेवा गरिनुपर्छ (यूहन्ना ८:३४ मा पनि हेर्नुहोस्)।

रोमी ६:१७-१८

विश्वासीले बितेको समयमा आफू को थिएँ (पद १७) र परमेश्वरको अनुग्रह अहिले को बनेको छु भनेर सधैं सम्झना गर्नुपर्छ (पद १८)। (निम्न अध्ययन हेर्नुहोस्: “उहाँको अनुग्रहको धन — मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु? – २१५ ओटा सत्यताहरू”)

तिमीहरू पापका दासहरू थियौ (पद १७)

तिमीहरू धार्मिकताका दासहरू बन्यौ (पद १८)

यस्तो परिवर्तन कसरी हुन आयो? “तिमीहरूले हृदयबाट (रोमी १०:९-१०) शिक्षाको त्यस रूपलाई पालन गरेका छौ” (पद १७)। पावल यहाँ सुसमाचारको सन्देशको कुरा गर्दैछन् अर्थात् क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा बताइएको जुन समाचार यी मानिसहरूले ग्रहण गरेका थिए र विश्वास गरेका थिए (प्रभु येशू ख्रीष्टमाथि विश्वास गरीकन सुसमाचारको पालन गरेका थिए)। पद १८ ले अक्षरशः बताउँछ, “तिमीहरू धार्मिकताको दास बनाइयौ।” कति उदेकको दासत्व यो!

यी दुई पदहरू पावलले परमेश्वरलाई धन्यवाद ज्ञापन गर्दै सुरु गरेको कुरालाई ध्यानमा राख्नुहोस्। धन्यवाद दिने काम वास्तवमा विश्वासको काम हो र ठान्ने वा मानिलिने काम हो (पद ११)। पावल भन्दैथिए, “धन्यवाद छ परमेश्वर, कि म एक समय पापको दास भए तापनि अब म धार्मिकताको दास भएको छु!” अर्को शब्दमा, उनी भन्दैथिए, “प्रभु, म एक वितेको समयमा पापको दास थिएँ तर अब म धार्मिकताको दास भएको छु भन्ने कुरा विश्वास गर्दछु!” धन्यवाद दिने कामचाहिँ परमेश्वरले गरिसक्नुभएको कुराका तथ्यहरूमा आफ्नो विश्वास व्यक्ति गर्ने एउटा उत्तम र परमेश्वरद्वारा नियुक्त गरिएको तरिका हो। साँचो धन्यवाद भनेको ठान्ने कामलाई क्रियाशील बनाउनु हो: “धन्यवाद छ प्रभु कि ख्रीष्ट येशू मेरा प्रभुमा म पापतर्फ मरें र परमेश्वरतर्फ जिउँदो भएँ” (रोमी ६:११ मा हेर्नुहोस्)।

स्वतन्त्रता खास कस्तो कुरा हो? के त्यो मनलाग्दी गर्नलाई अनुमति हो? के त्यो पाप गर्नलाई स्वतन्त्रता हो? कदापि नहोस्! यी पदहरूले देखाउँछन् कि साँचो ख्रीष्टिय स्वतन्त्रता भनेको परमेश्वरको सेवा गर्नलाई स्वतन्त्रता हो। विश्वासी दास त दासै हो। फरक के छ भने, उसले मालिक बदलेको छ!

रोमी ६:१९

पावल यहाँ मानवीय शब्दाली प्रयोग गर्दैछन् र मानिस-मानिस बीचको साधारण सम्बन्धलाई लिएर एउटा उदाहरण प्रस्तुत गर्दैछन्।

“दुर्बलता” = कमजोरीपन

“अधर्म” = व्यवस्थाहीनता (lawlessness)

“दास” = कमारो

ख्रीष्टकहाँ आउनुअघि हामीले पापको सेवा गर्थ्यौं; अब हामी धार्मिकताको सेवा गर्दछौं!

“सुम्प” = चढाउनु, परमेश्वरको प्रयोजनका निम्ति दिनु (पद १३)

हामी रगतको दामले किनिएका व्यक्तिहरू भएकाले हाम्रो अब एकजना नयाँ मालिक हुनुहुन्छ भन्ने कुरालाई एकदम प्रस्टै देखाउनुपर्छ।

स्तुति गाओ, ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!

आनन्दसित अर्पण गरौं, हाम्रो तन-मनलाई!

रोमी ६:२०

योचाहिँ मेरो उद्धाररहित जीवनको बयान हो। म धार्मिकताको सम्बन्धमा स्वतन्त्र थिएँ। म ठिक जीवन र ठिक विचारदेखि स्वतन्त्र थिएँ। म अधर्मको दास थिएँ। परमेश्वरलाई खुशी पार्न मैले केही गर्न सक्दिन थिएँ (रोमी ८:८)। म पापको दास थिएँ। तर परमेश्वरलाई धन्यवाद होस्, म मुक्त भएको छु!

रोमी ६:२१

हामीले आफ्नो मुक्ति नपाएको जीवनलाई फर्केर हेर्दा त्यसमा एउटै कुरा देख्दैनौं जसलाई हामीले फलको रूपमा दाबी गर्न सक्छौं। मत्ती ७:१७-१८ (खराब रूखले असल फल फलाउन सक्दैन)। मेरो मुक्ति नपाएको जीवनलाई परमेश्वरको दृष्टिकोणबाट जब म हेर्दछु, म लज्जित हुन्छु। परमेश्वरबाट अलग र उहाँको जीवनबाट पराई भई जिएको मेरो जीवनदेखि म गर्व गर्न सक्दिनँ। एक मुक्ति नपाएको जीवनको अन्त मृत्यु हो। एक मुक्ति नपाएको जीवनलाई यसरी बयान गर्न सकिन्छ: फलरहित, फलरहित, फलरहित…मृत्यु!

जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँडिरहें मैले हार सम्झे जीवनलाई, जीवनलाई व्यर्थ थियो यो जीवन मेरो प्रभु तिमीमा अर्थ पाएँ! — मदन किराँत

रोमी ६:२२

कत्रो भिन्नता! परमेश्वरको अनुग्रहले कत्रो भिन्नता ल्यायो! मुक्ति पाएको व्यक्तिको जीवनलाई यसरी बयान गर्न सकिन्छ: फलवन्त, फलवन्त, फलवन्त…अनन्त जीवन! विश्वासी जन पापबाट स्वतन्त्र छ, परमेश्वरको दास भएको छ, पापबाट अलग जीवन जिउँछ र परमेश्वरतर्फ अलग्गिएको जीवन (पवित्रता) जिउँछ र अन्तचाहिँ अनन्त जीवन हो (परमेश्वरसित अनन्त सम्बन्ध, हेर्नुहोस् यूहन्ना १७:३ मा)।

जिउँदो परमेश्वरको सन्तान भएकाले हाम्रा जीवनहरू उहाँको फलले चिनिएको होस् (गलाती ५:२२-२३)। हामीले धेरै फल फलाएका होऔं (यूहन्ना १५), उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति।

रोमी ६:२३

यो पद स्वभावैले दुई भागमा विभाजित छ। पहिलो भागले देखाउँछ मान्छेले पाउनुपर्ने के हो (ऊ कुन कुराको योग्य छ); दोस्रो भागले देखाउँछ परमेश्वरले दिनुहुने कुरा के हो (जसको योग्य ऊ छैन)। वास्तवमा पद २३ को पहिलो भागले २१ औं पदको सार बताउँछ र पद २३ को दोस्रो भागले २२ ओं पदको सार बताउँछ।

“जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्दछौ, ती कुराहरूमा तिमीहरूले त्यस बेला के फल पायौ र? किनकि ती कुराहरूको अन्तचाहिँ मृत्यु हो…किनकि पापको ज्याला मृत्यु हो” (पद २१, २३क)

“तर अब ता पापबाट स्वतन्त्र पारिएपछि , र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ, अनि अन्तचाहिँ अनन्त जीवन हो… परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (पद २२, २३ख)।

“ज्याला” = पारिश्रमिक, कमाइएको कुरो, हामीले पाउनुपर्ने कुरो जसको लागि हामीले काम गरेका थियौं। कस्तो भयानक ज्याला! पाप त डरलाग्दो तनखादाता हो नि! काम दिने यो मालिक कति कुरूप! खराब कामहरूको जीवनले मैले मृत्यु कमाएको छु। मेरो पापमय जीवनले मेरो निम्ति कमाएको त्यही हो! मैले जीवन जसरी बिताएको छु त्यसको तलब थाप्न म इच्छु हुनेथिइनँ!

“वरदान” = सित्तैंको उपहार (ग्रीकमा “करिज्मा”)। उपहार भनेको ज्यालाभन्दा बिलकुलै भिन्न कुरा हो। एउटा कमाइन्छ, अर्कओ कमाउन सकिन्न, त्यो केवल धन्यवादसाथ लिन मात्र सकिन्छ। एउटा हामीले पाउनैपर्ने कुरा हो; अर्को हामीले पाउनु पर्ने कुरा नै होइन। हामी धन्यवादी हुनुपर्छ कि परमेश्वरले हामीसित अनुग्रह अनुसार व्यवहार गर्नुहुन्छ, व्यवस्था अनुसार होइन। हरेक व्यवस्था प्रणाली कामहरूको प्रणाली हो र त्यसअनुसार एक व्यक्ति ठिक जे पाउनुपर्थ्यो त्यही नै पाउँछ। परमेश्वरबाटको अनन्त जीवनको उपहार चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (१ यूहन्ना ५:११ को “यो जीवन उहाँको पुत्रमा छ” लाई रोमी ६:११ सित तुलना गर्नुहोस् जहाँ “प्रभु येशू ख्रीष्टमा (द्वारा होइन) परमेश्वरका निम्ति जिउँदो” भनेर अनुवाद गरिनुपर्छ)।

सुरुमा रोमी ६:१ मा उठाइएको प्रश्नलाई २३ पदमा जवाफ दिइएको छ। यदि कोही निरन्तर पापमै जिइरहन्छ भने उसले आफू परमेश्वरको अनुग्रहको ज्ञान नपाएको व्यक्ति भएको दर्शाइरहेको हुन्छ। उसले आफ्नो पापमय जीवनको लागि उसले ठिक जे पाउनुपर्थ्यो त्यही नै पाउँछ: मृत्यु! यस मृत्युमा मूलतः दुईटा कुरा समावेश छ: १) परमेश्वरबाट अलग पारिनु; र २) परमेश्वरबाट दण्ड पाउनु। २ थेस्सलोनिकी १:८-९; मत्ती २५:४१,४६; प्रकाश २०:१५ इत्यादिमा हेर्नुहोस्। प्रभु येशू ख्रीष्टले यो मृत्युदण्ड मेरो निम्ति भोगिदिनुभयो। उहाँ परमेश्वरबाट अलग पारिनुभयो (भजनसङ्ग्रह २२:१; मत्ती २७:४६) र उहाँले परमेश्वरबाट दण्ड भोग्नुभयो (यशैया ५३; १ पत्रुस ३:१८)। मेरो खातिर पूरा गरिदिनुभएको प्रभु येशू ख्रीष्टको काममा परमेश्वर बिलकुलै सन्तुष्ट हुनुहुन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ६:७-१४

रोमी ६:७-१४

 

रोमी ६:७

किन विश्वासी जन अब उसो पापको दास हुनुपर्दैन भन्नु कुराको कारण यस पदले दिन्छ (“किनकि”)। “किनकि जो मरेको छ, त्यसले पापबाट छुटकारा पाएको छ”। साथै हेर्नहोस् रोमी ६:१८,२२ — “पापबाट स्वतन्त्र”। अब्राहाम लिङ्कन र अमेरिकी सरकारले जब दासहरूलाई मुक्त गरे तिनीहरूले आफ्नो स्वतन्त्रताको फाइदा लिनलाई पाँचओटा कुरा गर्नु आवश्यक थियो: १) घोषणाको जानकारी पाउनुपर्थ्यो २) त्यो साँचो हो भनी विश्वास गर्नुपर्थ्यो (मानिलिनुपर्थ्यो, ठान्नुपर्थ्यो); ३) आफ्नो स्वतन्त्रताको दाबी गर्नुपर्थ्यो: आफ्नो मालताल पोका पार्ने इत्यादि; ४) दास हुन अस्वीकार गर्नुपर्थ्यो — स्वतन्त्र भएजस्तै जिउनुपर्थ्यो; ५) अमेरिकी सरकार उसको पक्षमा त्यसको सारा अधिकार र सामर्थ्यमा खडा हुनेछ भन्ने कुरामा ढुक्क हुनुपर्थ्यो। त्यसैगरी विश्वसी जन पनि “जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो त्यसैमा बलियो गरी खडा” हुनुपर्छ (गलाती ५:१) र उसको दिनदिनको अनुभवमा यस स्वतन्त्रतालाई वास्तविक बनाउन सक्नुहुने पवित्र आत्मा परमेश्वर (रोमी ८) को सारा अधिकार र सामर्थ्यमाथि उसले पूरै आड लिनुपर्छ।

रोमी ६:८

अब यदि हामी ख्रीष्टसँग मरिसकेका छौं भने (छौं पनि), उहाँसँगै हामी जिउने पनि छौं भनी हामी विश्वास गर्दछौं। विश्वास नै चाबी हो! हामीले परमेश्वरका तथ्यहरूलाई विश्वास गर्नुपर्छ! “परमेश्वरले व्यवहारलाई होइन, तर विश्वासलाई अगाडि राख्नुहुन्छ; व्यवहार विश्वासको पछि-पछि आउँछ” (न्यूवेल, पृष्ठ २३४)। परमेश्वरले ख्रीष्टसितको हाम्रो सम्मिलिकरण र उहाँमा रहेको हाम्रो ओहोदा सम्बन्धी तथ्यहरू प्रकट गरिदिनुभएको छ। विश्वासले यी तथ्यहरूमाथि विश्राम-भरोसा राख्नुपर्छ। सह-क्रूसीकृत मात्र होइन सह-पुनर्वजीवित पनि! म उहाँको मृत्युको भागीदार भएको छु र म उहाँको जीवनको भागीदार पनि भएको छु!

रोमी ६:९

म कस्तो किसिमको जीवनको भागीदार भएको छु? अनन्त जीवन, अविनाशी जीवन! मृत्युले ख्रीष्टमाथि अब उसो कहिल्यै राज्य गर्दैन र त्यसले ममाथि पनि कहिल्यै राज्य गर्दैन। प्रकाश १:१८ मा हेर्नुहोस्। ख्रीष्टमाथि मृत्युको अब उसो कहिल्यै प्रभुत्व छैन। उहाँले त्यसलाई पराजित गर्नुभयो! उहाँको मृत्यु सदालाई गइसकेको विगतको कुरा हो। ख्रीष्टको बौरिउठाइ लाजरसको भन्दा निकै भिन्न थियो। लाजरस बौराइए केवल फेरि मर्नलाई। ख्रीष्ट बौराइनुभयो फेरि कहिल्यै नमर्नलाई। ख्रीष्टकै जीवनमा म जिउँछु! उहाँको मृत्युमा म मरें। “म … क्रूसमा टँगाइएँ त्यसो भए पनि म जिउँछु” (गलाती २:२०)। ख्रीष्टसितको मेरो सम्मिलिकरणले गर्दा म उहाँको अविनाशी जीवनको भागीदार भएको छु। साँच्ची नै, उहाँ मेरो जीवन हुनुहुन्छ (कलस्सी ३:३- ४)!

रोमी ६:१०

पावलले अब ख्रीष्टको मृत्यु कहिल्यै नदोहोरिने केवल एक पटकको घटना थियो भन्ने कुरालाई खुलस्त (“किनकि”) पार्छन्। “एकै पल्ट” = “सदाका निम्ति एक पटक”! ख्रीष्टको मृत्यु एकै पल्ट मात्र हुने घटना थियो भन्ने शिक्षा महत्त्वपूर्ण छ र यसलाई निम्न खण्डहरूमा जोड दिइएको छ: हिब्रू ९:२६,२८; १०:१०-१४; १ पत्रुस ३:१८। ख्रीष्ट यदि फेरि मर्नुपर्ने थियो भने यसको तात्पर्य उहाँको मृत्यु पर्याप्त भएन र क्रूसमा उहाँको कार्य पूरा भएको थिएन भन्ने हुन्छ (यूहन्ना १९:३० र १७:४ मा हेर्नुहोस्)। क्रूसमा ख्रीष्टले पूरा गरिसिद्ध्याउनुभएको कार्यलाई रोमन क्याथोलिकले सिकाउने ‘मास’ (MASS) सम्बन्धी झूटो शिक्षालाई तुलना गर्नुहोस्। आधिकारिक बल्टिमूर क्याटेकिज्म (Official Baltimore Catechism) मा यस्तो लेखिएको छ:

“पवित्र यूकारिस्ट [रोटीको टुक्रा] एउटा धार्मिक संस्कार (sacrament) र बलिदान हो…ख्रीष्टले यूकारिस्टलाई त्यो विधिको रूपमा स्थापना गर्नुभयो जसद्वारा भोलिपल्ट कलवरीमा हुने उहाँको बलिदानलाई शताब्दियौंसम्म निरन्तरता दिनेवाला थियो… मासले क्रूसको बलिदानलाई निरन्तरता दिन्छ। मास चढाइएको प्रत्येक पटक ख्रीष्टको बलिदान दोहोराइन्छ… मासद्वारा ख्रीष्टले आफूलाई पिताकहाँ निरन्तर चढाइरहनुहुन्छ जसरी उहाँले क्रूसमा चढाउनुभयो।”

पद १० मा ख्रीष्ट “पापका निम्ति…मर्नुभयो” भनिएको छ। ख्याल गर्नुहोस्, उहाँ “पापहरूका निम्ति मर्नुभयो” भनिएको छैन। रोमी ६ को सम्बन्ध “पाप” स्वभाव (जरा) सित छ “पापहरू” (कुहिएको फल) सित छैन। रोमी ६ पाप स्वभावको शक्तिबाट छुटकारा पाउने बारेमा हो, पापको दण्डबाट छुटकारा पाउने बारेमा होइन। रोमी ६-८ मा जोड दिइएको विषय नै यही हो।

साथै यो पनि बुझ्नु महत्त्वपूर्ण छ कि रोमी ६:१० ले ख्रीष्ट “हाम्रा पापहरूका निम्ति” अर्थात् हामीलाई पापहरूको दण्डबाट छुटकारा दिनलाई, हाम्रा पापहरूको क्षमा दिलाउनलाई मर्नुभएको कुरा गरिरहेको छैन। हाम्रा पापहरूका निम्ति ख्रीष्टको मृत्यु भएको कुरा रोमी ३ र ४ मा जोड दिइएको थियो (त्यहाँ बहुवचन प्रयोग भएको कुरालाई ध्यान दिनुहोस्, रोमी ४:७,२५, “अधर्महरू”, “पापहरू”, “अपराधहरू”)।

रोमी ६:१० मा ख्रीष्ट एकै पल्ट सदालाई “पापका निम्ति” अथवा [अक्षरशः अनुवादअनुसार] “पापतर्फ” मर्नुभयो, “पापहरूका निम्ति” होइन। अनि विश्वासीहरू उहाँसँगै सम्मिलित भएकाले, म यसरी भन्न सक्छु, “म उहाँमा एकै पल्ट सदालाई पापतर्फ मरें।” ख्रीष्टमा भएको हाम्रो ओहोदा र आत्माद्वाराको बप्तिस्माद्वारा उहाँसितको हाम्रो एकताको हैसियतले (रोमी ६:३-४), उहाँको मृत्यु, गडाइ, बौराइ र स्वर्गारोहणमा ख्रीष्टलाई जे-जे भए ती मेरो सम्बन्धमा पनि साँचो भएका छन्।

रोमी ६:१० लाई रोमी ८:३ सित जोड्नुपर्छ जहाँ ख्रीष्टको मृत्युले “शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो” भनिएको छ। “पापहरू” (फल) चाहिँ क्षमा गरिन्छन् (प्रेरित १०:४३, २:३८; ३:१९, लूका २४:४७ इत्यादिमा बहुवचन “पापहरू” भनिएको कुरालाई ख्याल गर्नुहोस्)।, तर “पाप” स्वभाव चाहिँ दण्डित भयो (क्षमा दिइएन)। परमेश्वरले हाम्रो पाप स्वभाव (पापको श्रोत) लाई क्षमा गर्नुहुन्न, बरु उहाँले त्यसलाई कलवरीमा दण्डको आज्ञा दिनुभयो (रोमी ८:३)।

“किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति [पाप बलिको रूपमा, यसर्थ पापहरू बोक्न] पठाईकन गर्नुभयो र शरीरमा पापलाई [पाप स्वभावलाई] दण्डको आज्ञा दिनुभयो” (रोमी ८:३)।

ख्रीष्ट “पापतर्फ एकै पल्टका लागि मर्नुभयो” (रोमी ६:१०)। मृत्यु बाइबलमा कति पटक पृथक्करण (separation) सित सम्बन्धित भएको पाइन्छ। ओहोदामा मे पापको श्रोत (पुरानो मान्छे, पाप स्वभाव इत्यादि) बाट अलग (पृथक) पारिएको छु। म ओहोदामा अब उसो पुरानो आदमीय शरीर (रोमी ८:९ मा हेर्नुहोस्) मा छैन, यद्यपि अनुभवमा त्यो मभित्र अझै पनि छ।

ख्रीष्टसितको हाम्रो सम्मिलिकरणले उहाँमा हामीले एकदम नयाँ ओहोदा पाएका छौं। अब उसो हामी पहिलो आदममा छैनौं जुन आदम पुरानो सृष्टिका शिर हुन् जसअन्तर्गत बितेको समयमा हामी आवद्ध थियौं, तर हामी अन्तिम आदममा छौं जो नयाँ सृष्टिका शिर हुनुहुन्छ। “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्” (२ कोरिन्थी ५:१७)।

“हाम्रो पुरानो (आदमीय) मान्छे” भन्नाले हामी पूर्ण रूपमा आदममा जे-जस्ता थियौं त्यसलाई जनाउँछ; यसर्थ, ख्रीष्टसँगै हाम्रो पुरानो मान्छे क्रूसमा टँगाइँदा (रोमी ६:६), आदममा रहेको हाम्रो इतिहासलाई पूर्णविराम लगाइयो; हामी पहिलो/पुरानो आदममा रहेको हाम्रो ओहोदाबाट काट्टियौं र अलग पारियौं।

यसको बयान विलियम न्यूवेलले यसरी गर्छन्:

“के ख्रीष्ट त्यस पवित्र जनले हाम्रा पापहरूका दोष बोक्नुभएपछि पुग्दैनथ्यो र? अहँ, हामी त आदम प्रथमसित सङ्घीय रूपमा सम्मिलित थियौं — त्यस वंश जो खर्लप्पै अधर्मी र खराब भनेर प्रमाणित भइसकेको थियो। अनि हामीलाई उक्त आदम-अवस्थाबाट रिहा गरियोस् भन्ने हेतुले, केवल हाम्रा पापहरू मात्र बोकिनु आवश्यक थिएन तर हामी आफूहरूलाई समेत पुरानो आदमीय शिरबाट रिहा गरिनुपर्थ्यो।

अब परमेश्वरको उपाय चाहिँ पुरानो मान्छेलाई “बदल्नु” होइन रहेछ, तर त्यसलाई क्रूसको मृत्युमा पठाउनु रहेछ र हामीलाई त्यसबाट छुटाउनु रहेछ। आदम वंशमै रहने कोही पनि बाँच्नेछैन! “तिमीहरूले नयाँ जन्म पाउनैपर्छ!” भन्ने घोषणा ख्रीष्टमा आजसम्म नआएकाका कानमा सङ्कट त के त्रासकै ध्वनि गुञ्जिए बराबर हुनुपर्छ। किनकि परमेश्वरको तरिका चाहिँ एउटा दोस्रो मानिस, एउटा अन्तिम आदमलाई अगाडि सार्नु रहेछ, अर्थात् ख्रीष्टलाई। तब हाम्रो पुरानो मान्छे ख्रीष्टसँगै क्रूसमा टँगाइनेभो, ताकि पुरानो मान्छेको सर्वस्व खराबी विश्वासीहरूको सवालमा परमेश्वरको सामु बिलकुलै मेटिनेभयो। किनकि तिनीहरू पहिले आदमबाट न्यायपूर्ण तवरले रिहास गरिनुपर्छ अनि मात्र उनीहरू ख्रीष्ट, अर्को आदममा सृजना गरिनुहुन्छ! अनि यो चाहिँ मृत्युद्वारा गरिनुपर्छ।” (रोमी, पृष्ट २२१-२२२)।

विश्वासी जन हरेक दिन पापतर्फ मर्नु खाँचो छैन। ख्रीष्ट पापतर्फ एकै पल्ट मर्नुभयो। विश्वासी जन एकै पल्ट (झण्डै २००० वर्ष अघि) पापतर्फ मर्यो। म मरिरहनु खाँचो छैन… म मरें! तर मैले हरेक दिन गर्नुपर्ने एउटा कुरा छ। यस कुराले हामीलाई एघारौं पदमा ल्याउँछ — ठान्नु!

रोमी ६:११

“यही प्रकारले” — माथिका पदहरूमा उल्लेख गरिएका यी तथ्यहरूको आधारमा। ख्रीष्टको मृत्युमा म मरें (पद ६-८, १०) र ख्रीष्टको बरिउठाइमा म जिउँछु (पद ८- १०)। ख्रीष्ट सम्बन्धी जे साँचो छ त्यो मेरो निम्ति साँचो छ! जसरी ख्रीष्ट पापतर्फ मर्नुभयो र अहिले परमेश्वरतर्फ जिउनुहुन्छ (पद १०) त्यसरी नै म पनि पापतर्फ मरें र म परमेश्वरतर्फ जिउँछु (पद ११)। यी जोडी सत्यताहरू (ख्रीष्टमा मेरो मृत्यु र बौरिउठाइ) गलाती २:२० मा लगायत अरू थुप्रै खण्डहरूमा देख्न सकिन्छ (कलस्सी २:२० र कलस्सी ३:१ मा हेर्नहोस्)।

“ठान्नु” — यस अध्यायको खास प्रथम आज्ञा यही हो! यसअघि परमेश्वरले हामीले थाहा गर्नुपर्ने तथ्यहरू प्रस्तुत गर्दै हुनुहुन्थ्यो। यो चाबी शब्दको माने के हो? यो एउटा गणितीय शब्दावली हो: हिसाब निकाल्नु, गन्नु, मानिलिनु, कुनै कुरा साँचो भएको मान्नु, यी तथ्यहरूलाई हिसाबमा लिएर तिनलाई विश्वास गर्नु, यी कुरा साँचो हुन् भनी सोच्नु, आफूलाई मरेको ठान्नु र आफूलाई ख्रीष्टमा जिउँदो ठान्नु। यो क्रियापद वर्तमान कालमा छ: हामीले ठान्ने काम गरिरहनुपर्छ, दिन प्रति दिन, पल पलमा। ठान्ने काम हाम्रो निरन्तरको कर्तव्य हो जब हामी विश्वासद्वारा हिँड्छौं। ठान्नु एउटा विश्वासपरक शब्द हो। विश्वासैद्वारा विश्वासी जनले परमेश्वरका तथ्यहरूलाई मानिलिनुपर्छ र ती आफ्नै निजी हुन् भनी दाबी गर्नुपर्छ। तथ्यहरूलाई थाहा गरेर मात्र पुग्दैन। तथ्यहरूलाई विश्वासैद्वारा व्यक्तिगत बनाइनुपर्छ, आफ्नै निम्ति अपनाइनुपर्छ।

यो “ठान्नु” शब्द (ग्रीक शब्द लोगिज्जोमाइ) का अन्य प्रयोगहरूलाई विचार गर्नुहोस्:

रोमी ३:२८ — मुक्ति विश्वासद्वारा पाइन्छ, कामहरूद्वारा होइन, र यस तथ्यलाई साँच्ची नै धर्मी ठहरिएको हरेक व्यक्तिले मानिलिनुपर्छ।

रोमी ८:१८ — एकाति जीवनका सबै दुःख-कष्टहरू जोडेर र अर्को तिर हाम्रो भविष्यका सारा महिमालाई जोडेर हामीले हिसाब गर्नुपर्छ र ती दुईका बीच तुलना गर्नुपर्छ।

२ कोरिन्थी १०:१०-११ (“याद गरोस्”) — जब हामी तिमीहरूकहाँ आउँछौं हामी हाम्रा पत्रहरूमा जस्ता थियौं त्यस्तै हुनेछौं, तिमीहरूले यो मानिलिए हुन्छ!

हिब्रू ११:१० — “ठाने” एउटा विश्वासपरक शब्द हो। अब्राहामले एउटा हिसाब निकाल्नुपरेको थियो। उसँग भएका दुईटा तथ्य निम्नानुसार थिए: १) परमेश्वरको आज्ञा: आफ्नो छोरालाई बलि चढाऊ; २) परमेश्वरको प्रतिज्ञा: तिम्रो छोराका सन्तान हुनेछन्। विश्वासैद्वारा उनले यी तथ्यलाई जोडे र एउटा निष्कर्ष निकाले: मरेको इसाहकले सन्तान जन्माउँदैनन् त्यसैले परमेश्वरले उसलाई मरेकोबाट बराउनुहुनेछ!

रोमी ६:११ मा हामीले एक जोडी तथ्यलाई साँचो ठान्नुपर्छ: १) म ख्रीष्टमा मरें; २) म ख्रीष्टमा जिउँदो छु।

“पापका निम्ति मरेका” — म किन मरेको छु? किनकि म मरें (पद २)! “येशू ख्रीष्टद्वारा” लाई “येशू ख्रीष्टमा” भनेर अनुवाद गरिनुपर्छ” (२३ पदमा पनि)। ख्रीष्टमा म मरेंख्रीष्टमा म जिउँछु!ख्रीष्टमा छु (रोमी ६:३) र यसरी म उहाँसँगै उहाँको मृत्यु र बौरिउठाइमा सम्मिलित भएको छु! बितेको समयमा म ख्रीष्टको बाहिरपट्टि थिएँ (कलस्सी ४:५; १ तिमोथी ३:७ इत्यादिमा हेर्नुहोस्) र त्यसबेला म पापतर्फ जिउँदो थिएँ (मेरो जीवनमाथि पापको शक्ति र अधिकार थियो) र परमेश्वरतर्फ मरेको थिएँ (पापले गर्दा म परमेश्वरदेखि अलग थिएँ र उहाँसित त्यस्तो कुनै जीवन्त सम्बन्ध थिएन — एफेसी २:१; ४:१८)। तर अब ममाथि रहेको पापको अधिकार क्रूसमा रद्द भएको छ र म अब एक जिउँदो मुक्तिदातासँग जोडिएको छु रोमी ७:४)। हाम्रो गर्व ख्रीष्टमा छ र उहाँको क्रूसमा छ (१ कोरिन्थी १:२९-३१; गलाती ६:१४)!

परमेश्वरले हामीलाई कुनै कुरा साँचो बनाउनलाई त्यसलाई साँचो “ठान” भन्नुहुन्न तर त्यो उहाँमा, ओहोदाको कारण, साँचो भएकोले हो। तथ्यहरू तथ्य नै रहन्छन्, हामीलाई त्यसलाई साँचो ठाने पनि नठाने पनि, ती तथ्यलाई विश्वास गरे पनि नगरे पनि। तर ती तथ्यहरूको हामीलाई कुनै फाइदा हुँदैन जबसम्म तिनलाई हामी विश्वासैद्वारा दाबी गर्दैनौं।

रोमी ६:१२

यहाँ हामीलाई अर्को आज्ञा छ: “पापलाई तिमीहरूको मर्ने शरीरमा (राजाले जस्तै) राज्य गर्न दिइनराख।” एउटा विश्वासीले यो हुन दिनु सम्भव छ (नत्रता यो आज्ञा अर्थहीन हुनेथ्यो)। जब विश्वासीहरू विश्वासैद्वारा हिँड्दैनन् र परमेश्वरका तथ्यहरूलाई साँचो ठान्दैनन् (पद ११), तब पापले राज्य गर्नेछ। पापलाई तिम्रो जीवनमा सर्वेसर्वा हुन नदेओ! पापलाई नियन्त्रण गर्ने शासक हुन नदेओ। मैले यो विश्वास गर्नुपर्छ र ठान्नुपर्छ कि पाप एक पदच्यूत भइसकेको राजा हो! पाप अब उसो ममाथि राजा होइन! पाप अब उसो मेरो मालिक होइन अनि मैले त्यसको आज्ञा मान्नुपर्दैन जसरी बितेको समयमा मैले पर्थ्यो (पदको अन्तिम भाग)! परमेश्वर पो मेरा राजा र मालिक हुनुहुन्छ, पाप होइन।

“मर्ने शरीर” = मेरो उद्धार गर्न बाँकी रहेको शरीर, जुन शरीरले पाप गर्न सक्छ र र जुन शरीर मर्न सक्छ। जब हाम्रो शरीरको उद्धार र छुटकारा हुन्छ (रोमी ८:२३ मा हेर्नुहोस्) तब हाम्रो शरीर “अविनाशी” बन्छ (१ कोरिन्थी १५:५१-५४) र पापले हाम्रा शरीरहरूमा कहिल्यै राज्य गर्नेछैन। त्यसबेला यस पदमा दिइएको जस्तो आज्ञाको कुनै खाँचो पर्नेछैन! टिप्पणी: पापले हाम्रा मर्ने शरीरमा आफूलाई व्यक्त गर्न सक्ने र “राज्य” समेत गर्न सक्ने तथ्यले पाप निर्मूल गरिएको छैन भन्ने प्रमाण दिन्छ।

रोमी ६:१३

यहाँ हामीलाई अर्को चाबी आज्ञा दिइएको छ: “सुम्पिनराख! सुम्पन छोड!” “सुम्प” भन्ने शब्दको माने “चढाउनु, कसैको इच्छा, प्रयोगको निम्ति प्रस्तुत गर्नु”। आफ्ना शारीरिक अङ्गहरूलाई पापको इच्छामा (पापको प्रयोजनका निम्ति) नराख। यस शब्दलाई निम्न खण्डहरूमा प्रयोग गरिएको छ: लूका २:२२; प्रेरित १:३; ९:४१ (मरेकोबाट जिउँदो भएको व्यक्तिको रूपमा!); रोमी १२:१। रोमी ६:१३ को सन्दर्भमा हेर्दा यो शब्दको आशय यस्तो हुन्छ कि एउटा दास आफ्नो मालिकका सामु खडा छ र मालिकले इच्छा गरेको जुनसुकै काम गर्न पनि ऊ तत्पर छ (शब्दको अक्षरशः माने हो “छेउमै उभिनु”); उसको प्रयोजनका निम्ति खडा छ, उसको कुरा मान्न तयार छ। प्रभु, मेरा अङ्गहरू तपाईंको सेवामा समर्पित छन्!

“हतियारहरू” = औजार, भाँडो, हतियार। परमेश्वर हाम्रा अङ्गहरू आफ्नो भाँडोको रूपमा चाहनुहुन्छ। हाम्रा अङ्गहरू परमेश्वरको महिमाका निम्ति धार्मिकताका हतियार हुनुपर्छ। “लिनुस् प्रभु मेरो ज्यान, होस् तपाईंलाई बलिदान”।

यस पदमा हामी यस अध्यायको विश्वासीको जिम्मेवारीसित सम्बन्धित तेस्रो चाबी पद पाउँछौं: १) जान वा थाहा गर (पद ३,६,९); २) ठान वा मानिलेओ (पद ११); ३) सुम्प वा चढाऊ (पद १३)। हामीले ख्रीष्टको मृत्यु र बौरिउठाइमा उहाँसँगको हाम्रो सम्मिलिकरण सम्बन्धी परमेश्वरका तथ्यहरू जान्नुपर्छ। हामीले विश्वासैद्वारा ती तथ्यहरूलाई मानिलिनुपर्छ र अपनाउनुपर्छ। हामीले यी तथ्यहरूको आधारमा आफूहरूलाई परमेश्वरको हातमा सुम्पनुपर्छ।

पद १३ को चाबी वाक्यांश यो हो: “मरेकाहरूबाट जिउँदा भएझैं गरी” (यसले हामीलाई पद ११ मा हामीले मानिलिएका महान् तथ्यहरूमा फर्काउँछ)। समर्पणताको सवालमा यही ठाउँमा आएर धेरैजनाले भूल गर्दछन्। उनीहरू आफ्नो पुरानो ‘म’ लाई परमेश्वरकहाँ सुम्पन्छन्। परमेश्वरले “पुरानो मान्छे” लाई प्रयोग गर्न सक्नुहुन्न र प्रयोग गर्नुहुन्न पनि। परमेश्वरले पुरानो मान्छेलाई बदल्नुहुन्न र उहाँले पुरानो मान्छेलाई सुधार्नु पनि हुन्न। जब हामी आफूलाई परमेश्वरकहाँ सुम्पन्छौं, हामी खास कसलाई सुम्पँदैछौं? के हामीले आफूलाई “मरेकाहरूबाट जिउँदा भएझैं गरी” आफूलाई सुम्पँदैछौं?

“प्रभु, म तपाईंलाई धन्यवाद दिन्छु कि ख्रीष्टमा पुरानो कुराहरू बितिगएका छन् र सबै कुरा नयाँ भएका छन्। ख्रीष्टमा एक नयाँ सृष्टि (सृजना) भएको हैसियतले म आफूलाई तपाईंकहाँ सुम्पन्छु, यो भरोसा गर्दै कि तपाईंले मभित्र ती असल कामहरू गर्नुहुनेछ जुन कामहरू तपाईंले अघिबाटै म तिनमा हिँड्नुपर्छ भनेर तपाईंले तयार गर्नुभएको छ (एफेसी २:१०)। पापतर्फ मरेको र परमेश्वरतर्फ जिउँदो भएको एक व्यक्तिको रूपमा म आफूलाई तपाईंको हातमा चढाउँदछु।”

यस किसिमको समर्पणता परमेश्वरलाई मनपर्दो हुन्छ। उहाँको पवित्र सेवाको निम्ति परमेश्वरले हामी आदममा जे-जस्तो छौं त्यसलाई होइन तर केवल त्यो मात्र प्रयोग गर्न सक्नुहुन्छ जो ख्रीष्टमा हामी छौं। हामी आदममा जे छौं त्यसलाई इन्कार गरियो र क्रूसमा दण्डको आज्ञा दिइयो!

रोमी ६:१४

“राज्य” भन्ने शब्द “कुरिअोस्” भन्ने ग्रीक शब्दबाट आउँछ र कुरिओसको माने हो “प्रभु” वा “मालिक”। पाप तपाईंको प्रभु वा मालिक हुनेछैन! यदि पाप तपाईंको प्रभु र मालिक हुँदो हो त तपाईं पापको दास हुनुहुनेथ्यो। यसर्थ पावल भन्दैछन्, “तिमी पापको दास हुनेछैनौं। पाप तिमीमाथि मालिक हुनेछैन।” किन पापले हामीमाथि राज्य गर्नेछैन? “किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौ।” हामी व्यवस्थाको प्रणाली अन्तर्गत छैनौ; हामी अनुग्रहको प्रणाली अन्तर्गत छौं। हामी व्यवस्थाको शासन मुनि छैनौं, हामी अनुग्रहको शासन मुनि छौं। व्यवस्था हामीमाथि सार्वभौम छैन। अनुग्रह हामीमाथी सार्वभौम छ (रोमी ५:२१ मा हेर्नुहोस् — अनुग्रहले राज्य गर्दैछ!)। म जीवनको नियमको रूपमा व्यवस्थामुनि छैन, तर अनुग्रहमुनि छु।

त्यहाँ धेरैजना छन् जोहरूले ख्रीष्टियनलाई व्यवस्थाको अधीनमा राख्न खोज्छन्। यो एक खतरनाक भूल हो र यसको नतीजा यो हुन्छ कि विश्वासी पापको अधीनतामा राख्न पुगिन्छ। व्यवस्था र अनुग्रह (Law and Grace) शीर्षक गरेको अल्भा जे म्याक्लेनको पुस्तकमा व्यवस्थासितको विश्वासीको सम्बन्धको बारेमा निम्न उत्तम टिप्पणीहरू पाइन्छन्:

“के एक ख्रीष्टिय विश्वासी व्यवस्थाको अधीनमा छ? क) कोही तर्क गर्छन् कि विश्वासी नैतिक व्यवस्थाको अधीनमा छ (दस आज्ञा इत्यादि) तर विधीको व्यवस्था (बलिदानको प्रणाली इत्यादि) को अधीनमा छैन; ख) अरू भन्छन् हामी नैतिक व्यवस्थाको अधीनमा छौं तर त्यसको दण्डहरू मुनि छैनौं; ग) अझ अरू दाबी गर्छन् कि हामी जीवनको नियमको रूपमा नैतिक व्यवस्थाको अधीनमा छौं तर मुक्तिको उपायको रूपमा त्यसको अधीनमा छैनौं (हामी पवित्रीकरणका निम्ति व्यवस्थाको अधीनमा छौं तर धर्मीकरणका निम्ति होइन) … हामी माथिका कुनै पनि गलत धारणाहरूद्वारा बाटो बिराउनेछैनौं यदि हामीले परमेश्वरको व्यवस्थाको पूर्ण परिभाषालाई बलियो गरी पक्रन्छौं, अर्थात् यो कि बाइबलमा परमेश्वरको व्यवस्था एउटै व्यवस्था हो जस अन्तर्गत नैतिक, विधिवत् र सामाजिक तत्त्वहरू छन् र तिनका दण्डहरूदेखि अपृथक्य (inseparable, अलग गर्न नसकिने) छन्।

“अधीनमा” भन्ने नामयोगी शब्द (ग्रीकमा हुपो) को माने हो, “कुनै व्यक्ति वा कुराको शक्तिको अधीनमा हुनु, कुनै कुराको शक्तिमनि हुनु, कुनै कुराको शासन वा सार्वभौमिकतामनि हुनु।” एउटा उत्तम उदाहरण मत्ती ८:९ मा भेटिन्छ जहाँ रोमी सुबेदारले भन्छन्, “किनभने म पनि अधिकारमनि (हुपो) रहने मानिस हुँ, मेरो अधीनमा (हुपो) पनि सिपाहीहरू छन्।” जसरी सुबेदार पूर्णरूपमा रोमी सैनिक अधिकार अन्तर्गतका नियम लगायत दण्डहरूको अधीनमा थियो, त्यसैगरी उनका सिपाही पनि उसका अधीनमा थिए। सारांशमा हामी यो भन्न सक्छौं कि बाइबलीय अर्थमा कोही “व्यवस्थाको अधीनमा” हुनु भनेको परमेश्वरको व्यवस्थाको अधीनमा हुनु हो — त्यसको अखण्ड पूर्णतामा सिङ्गो मोशीय व्यवस्था प्रणालीको अधीनतामा हुनु हो — अर्थात् त्यसका आज्ञाहरूको अधीनमा हुनु र तिनलाई तोडेको खण्डमा सम्बन्धित दण्डहरूको अधीनमा हुनु हो।

अब परमेश्वरको वचनले स्पष्टै बताउँछ कि ख्रीष्टिय विश्वासी जन “व्यवस्थाको अधीनमा” छैन। कम्तिमा पनि चार पटक नयाँ नियमले सरल ढङगमा कुनै शर्तबिना यस महान् सत्यतालाई बताउँदछ: १) रोमी ६:१४; २) रोमी ६:१५; ३) गलाती ५:१८; ४) १ कोरिन्थी ९:२० (हेर्नुहोस् नयाँ स्कोफिल्ड बाइबल वा एन ए एस बी) (म्याक्लेन, पृष्ठ ४१-४३)।

मुक्तिको उपायको रूपमा एक व्यक्ति व्यवस्थाको अधीनमा छैन भनेर बाइबलले धेरै स्पष्टसित बताउँदछ। व्यवस्था (पालन गर्ने प्रयास) ले कहिल्यै धर्मी ठहराउन सक्दैन (रोमी ३:२०; गलाती २:१६; प्रेरित १५:७-११; प्रेरित १३:३८-३९; रोमी ३:२७-२८)। मानिस व्यवस्थाका कुनै पनि कामहरूबिना अनुग्रहले विश्वासद्वारा बचाइन्छ।

साथै बाइबलले यो पनि धेरै सफासित बताउँछ कि एक व्यक्ति जीवनको नियमको रूपमा व्यवस्थाको अधीनमा छैन। व्यवस्था (पालन गर्ने प्रायस) ले कहिल्यै पवित्र बनाउन सक्दैन। व्यवस्था पवित्र छ (रोमी ७:१२) तर यसले हामीले पवित्र बनाउन सक्दैन। रोमी ६ अध्यायले यो स्पष्ट पार्दछ कि पवित्रीकरण व्यवस्थाका कामहरूबाट हुने होइन। गलातीको पुस्तकको शिक्षा पनि यही हो (विशेष गरी गलाती ३:२-३ मा हेर्नुहोस्)। अनि रोमी ७ (जसको अध्ययन पछि गरिनेछ) ले एउटा मान्छेले व्यवस्थाको अन्तर्गत रहेर पवित्रीकरणको प्रयास गर्दाको उसको पूर्ण नैराश्यता र विफलतालाई दर्शाउँदछ।

पावलले जब रोमी ६:१४ मा विश्वासी जन “व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा” छ भन्छन् उनले पवित्रीकरणको कुरा गर्दैछन् (पवित्रतामा विश्वासीको क्रमिक प्रगति), धर्मीकरणको होइन (ख्रीष्टमा परमेश्वरको सामु विश्वासी धर्मी ठहराइएको उसको ओहोदा)। पावलले यस पत्रमा अघिबाट देखाइसेक कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन (रोमी ३:२०; ३:२८)। अध्याय ६ मा विषय चाहिँ पवित्रीकरणको हो (पवित्रता — पद १९,२२), धर्मीकरणको होइन (जसको चर्चा अध्याय ३-५ मा गरियो)। रोमी ६:१४ बाट यो स्पष्ट छ कि पावल पापको प्रभुत्व र शक्ति र अधिकारको कुरा गर्दैछन्, अनि पवित्रीकरणको विषय पनि यही हो।

“व्यवस्थाको अधीनमा” हुनु व्यवस्थाको राज्यमनि हनु हो (रोमी ७:१) र त्यसको पकडभित्र हुनु हो (रोमी ७:६)। जब कोही “व्यसवस्थाको अधीनमा” छ ऊ “पापको राज्यमनि पनि छ” (रोमी ६:१४ हेर्नुहोस्)। यी दुई सँगसँगै जान्छन्। व्यवस्थाको अधीनमा हुनु पापको बन्धन र प्रभुत्वमुनि हुनु हो। यसको कारण यो हो कि व्यवस्थाले माग गर्छ तर पूरा गर्ने क्षमा केही दिँदैन (रोमी ७:१८ सित तुलना गर्नुहोस्)। जन बन्यानले व्यवस्था र अनुग्रहबीचको भिन्नतालाई यसरी लेखे:

व्यवस्थाले एक व्यक्तिलाई केवल बन्धनभित्र मात्र हुल्छ (जस्तो रोमी ७ मा हामीले देख्नेछौं)। केवल परमेश्वरको अनुग्रहले मात्र छुटकारा दिलाउँछ! समस्या व्यवस्थाको होइन (रोमी ७:१२); समस्या मान्छेको हो जो पापी छ (रोमी ७:१४)। व्यवस्थाले मान्छेलाई परमेश्वरका भयानक र पवित्र मागहरू देखाउँछ। मानिस परमेश्वरले माग गर्नुभएका कुरा पूरा गर्न असहाय र असक्षम छ (रोमी ७:१५-२४)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ६:१-६

रोमी ६:१-६

 

रोमी अध्याय ६

परिचय

रोमीको पहिलो पाँच अध्यायहरू धर्मीकरणसित सम्बन्धित भएको पाइयो। रोमीको छैटौं अध्यायले पवित्रीकरणसित सम्बन्धित छ। “पवित्रीकरण” को माने “पवित्रता” हो (परमेश्वरको सेवाका निम्ति अलग गरिनु)। यो शब्द रोमी ६:१९,२२ मा पाइन्छ।

परमेश्वरले मलाई पापको दण्डबाट बचाउनुभयो — यो हो धर्मीकरण (रोमी १-५)।

परमेश्वरले मलाई पापको शक्तिबाट बचाउँदैहुनुहुन्छ — यो हो पवित्रीकरण (रोमी ६-८)।

परमेश्वरले मलाई पापको उपस्थितिबाट बचाउनुहुनेछ जुन बेला मेरो मुक्ति पूर्ण हुनेछ — यो हो महिमाकरण (रोमी ८)।

यसर्थ रोमी ६ को सम्बन्ध निम्न महत्त्वपूर्ण प्रश्नहरूसित छ: ख्रीष्टिय जीवन जिउने कसरी हो? पापमाथि विजयी बन्ने कसरी हो? प्रभु येशू ख्रीष्टको सेवाको निम्ति समर्पित खालको जीवन जिउने कसरी हो? पापको दासत्वबाट म कसरी स्वतन्त्र हुन सक्छु? परमेश्वरलाई खुशी पार्ने खालको जीवन जिउनलाई मैले के गर्नुपर्छ?

यदि कसैले “मैले मुक्ति पाउन के गर्नुपर्छ?” भनेर सोध्यो भने वा “धर्मी ठहरिन मैले के गर्नुपर्छ?” भनेर जान्न चाह्यो भने अवश्य पनि हामीले उसलाई बाइबलबाटै परमेश्वरको जवाफ दिनुपर्छ (प्रेरित १६:३०-३१ सित तुलना गर्नुहोस्)। त्यसैगरी कुनै विश्वासीले “ख्रीष्टिय जीवन जिउनलाई मैले के गर्नुपर्छ?” भनेर सोध्यो भने वा “जीवनको नयाँपनामा हिँड्न मैले के गर्नुपर्छ?” भनेर जान्न चाह्यो भने हामीले उसलाई परमेश्वरकै वचनबाट स्पष्ट जवाफहरू दिन सक्नुपर्छ। यी प्रश्नका जवाफहरू रोमीको छैटौं अध्यायमा पाइन्छन्। दुःखको कुरा यो छ कि अनेकौं ख्रीष्टियनहरू विजय र पवित्रता सम्बन्धी परमेश्वरका सिद्धान्तहरू बुझ्दैनन्। परमेश्वरका सिद्धान्तहरूलाई पछ्याउनुको सट्टा उनीहरू विभिन्न शारीरिक प्रणाली र युक्तिहरू पछ्याउँछन्। उनीहरू स्व-विकास गर्न खोज्ने मानवीय युक्ति पछ्याउने प्रयास गर्छन्। उनीहरू स्व-अनुशासनको युक्ति पछ्याउने प्रयास गर्छन्। उनीहरू पाप स्वीकार गरेर हेर्छन् (त्यो असल हो, सही हो, १ यूहन्ना १:८-१०) तर पाप स्वीकार गरेर नै पापहरू रोकिएको जस्तो देखिँदैन र उनीहरू पाप-स्वीकार-पाप-स्वीकार-पाप-स्वीकार चक्रमा फस्छन् (अर्थात् निरन्तर पाप स्वीकार गरेर पनि पापलाई त्याग्न नसकिएको अवस्था)। उनीहरू सङ्घर्ष गर्छन्, उनीहरू परिश्रम गर्छन्, अझ राम्रो गर्ने प्रयास गर्छन्, इत्यादि तर सधैं त्यो पहिलेकै कुरा दोहोरिन्छ — हार! पावलले यसलाई रोमी ७:१४-१८ मा राम्ररी बयान गर्दछन्: जुन कुराहरू म गर्न चाहनछु त्यो म गर्दिनँ र जुन कुराहरू म घृणा गर्दछु तिनै कुराहरू म गर्दछु! म परमेश्वरको इच्छा गर्न चाहन्छु तर जुन कुरा ठिक छ त्यो म गर्न सक्दिनँ! जति म प्रयास गर्छु झन् म त्यति नै विफल भएको जस्तो हुन्छु!

रोमी ६ अध्यायले समेटेका कुराहरू जान्न हामी छोटकरीमा यस अध्यायलाई सरसरती हेरौं:

  • पद १ – पापमा नलागिरहने भन्ने बारेमा
  • पद २ – पापमा नजिइरहने भन्ने बारेमा
  • पद ४ – जीवनको नयाँपनामा हिँड्ने बारेमा
  • पद ६ – पापको सेवा गरिनरहने बारेमा (पापको दास भइनरहने)
  • पद १२ – पापलाई हामीमाथि राज्य गर्न नदिने बारेमा
  • पद १३ – हाम्रा शरीरका अङ्गहरूद्वारा परमेश्वरको सेवा गरिरहने बारेमा
  • पद १४ – पापको रजाइँमुनि रहिनरहने बारेमा
  • पद १९ र २२ – पवित्रता

हो, यी पदहरूले ख्रीष्टिय जीवनकै बारेमा बताउँदैछन्, पापसितको हाम्रो सम्बन्धको बारेमा बताउँदैछन्, विजयी कसरी बन्ने इत्यादि भन्ने बारेमा बताउँदैछन्।

पवित्र जीवन जिउनलाई मैले के गर्नुपर्छ? हामी यस अध्यायमा के कस्ता आज्ञाहरू दिइएका छन् भनेर खोजौं। उल्लेखनीय कुरा के छ भने यहाँ भेटिने पहिलो आज्ञा एघारौं पदमा आएर मात्र भेटिन्छ — “ठान”। यी पदहरूमा “गर्ने” कामलाई जोड दिइएको छैन तर “जान्ने” कामलाई (हेर्नुहोस् रोमी ६:३,६,९,१६; ७:१)। विजय पाउन मैले त्यहाँ जान्नुपर्ने केही कुराहरू छन्! मैले कुनै काम गर्नुपर्ने सवाल उठ्दैन यहाँ तर मैले केही कुरा जान्नुपर्ने सवाल उठ्दछ!

रोमी ६ अध्यायका तीनटा चाबी शब्दहरू यी हुन्: १) जान्नु (पद ३,६,९); २) ठान्नु (पद ११); ३) सुम्पनु (पद १३)। प्रथमतः विश्वासीले निश्चित तथ्यहरू जान्नुपर्छ! यी तथ्यहरू प्रभु येशू ख्रीष्टको मृत्यु र बौरिउठाइमा केन्द्रित छन् (धर्मीकरणका तथ्यहरू पनि सुसमाचारका उही तथ्यहरूमा केन्द्रित छन् — रोमी ४:२५)। यी तथ्यहरू ख्रीष्टले आफ्नो मृत्यु र बौरिउठाइ (उहाँले सिद्ध्याइसक्नुभएको कार्य) द्वारा पूरा गरिसक्नुभएका कुरामा केन्द्रित छन्। जोड, म के गरूँ भन्ने कुरामा होइन, तर ख्रीष्टले के गरिसक्नुभएको छ भन्ने कुरामा दिइएको छ! दोस्रो, विश्वासीले यी तथ्यहरू त्यस्तै हुन् भनेर ठान्नुपर्छ अथवा ती तथ्यहरूलाई मानिलिनुपर्छ (साँचो छन् भनेर सोच्नुपर्छ)। विश्वास नै चाबी हो! विश्वासले आफूलाई परमेश्वरको वचनका तथ्यहरूमा टँसाउँछ र ती सत्य छन् भनी मानिलिन्छ! विश्वासले परमेश्वरको वचनका तथ्यहरूलाई “आमेन” भन्छ। विश्वासले भन्छ, “हो यो साँचो हो। म पापको लेखि मरेको छु र म परमेश्वरको लेखि जीवित छु! म यस तथ्यमा रमाउँदछु!” (दाँज्नुहोस् पद ११)। तेस्रो, विश्वासीले आफू मरेकोबाट जीवित भएको एक व्यक्तिको रूपमा उसका शारीरिक अङ्गहरू परमेश्वरलाई सुम्पनुपर्छ वा चढाउनुपर्छ (पद १३)। ऊ ख्रीष्टमा एक नयाँ सृष्टि भएकोले उसले यो महसुस गर्दछ कि ऊसित जेजति छ त्यो राजाहरूका राजाको सेवामा चढाइनुपर्दछ!

रोमी ६:१

“तब” = तसर्थ, यसकारण। यस शब्दले हामीलाई पाँचौं अध्यायको अन्तिम भागतिर हेर्न लगाउँदैछ (विशेष गरी ५:२० मा हेर्नुहोस् जहाँ पापले गर्दा अनुग्रह झन् प्रशस्त भयो भन्ने कुरा बताइएको छ)।

“के हामी पापमा लागिरहौं” — के म पाप प्रशस्त गरिरहूँ ताकि अनुग्रह प्रशस्त होस्? परमेश्वरको अनुग्रहलाई नबुझ्नेहरूले यसरी तर्क गर्लान्: “यदि परमेश्वरको अनुग्रह पापले ठूलो बनाउँछ भने म बेसरी पाप गर्नेछु ताकि म परमेश्वरको अचम्मको अनुग्रहलाई झन् बढ्ता गरी प्रकट गर्न सकूँ। यदि परमेश्वरको अनुग्रह म कति नीच पापी भएकोले ठूलो बनाइन्छ भने म झन् नीच बनिदिनेछु! भजनले भनेको छु, “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो।” म झन् बढ्ता गरी तुच्छ र नीच बनिदिनेछु ताकि परमेश्वरको अनुग्रह झनै अचम्मको देखा परोस्!”

प्राकृतिक मानिस (१ कोरिन्थी २:१४) ले परमेश्वरको अनुग्रहलाई कामुकता (लाज पचाएको व्यवहार, अनियन्त्रित अभिलाषा — यहूदा ४) मा यसरी परिवर्तन गर्दछन्: “तिमी ख्रीष्टियनहरूले भनेझैं यदि एक व्यक्ति अनुग्रहले बचाइन्छ कामहरूले (असल हुन खोजेर) होइन भने र यदि मुक्ति पाएको व्यक्ति सधैंको लागि सुरक्षित हुन्छ भने, मेरो हेराइमा यसको तात्पर्य यो हो कि एकपटक मुक्ति पाएपछि उसले आफ्नो इच्छाअनुसार जीवन बिताए हुन्छ। यदि एक व्यक्ति ऊ कति असल छ भन्ने आधारमा उसले मुक्ति पाउने होइन भने र यदि एक मुक्ति पाएको व्यक्ति ऊ कति खराब छ भन्ने आधारमा ऊ नष्ट हुँदैन भने, म भन्छु, उसलाई खराब बन्नदेखि केले रोख्छ? ऊ किन पापमा लागिनरहोस् यो देखाउन कि परमेश्वर आफ्नो दुष्ट सन्तानप्रति कति अनुग्रही र क्षमाशील हुनुहुन्छ भनेर सबैले देखोस्?”

परमेश्वरको अनुग्रह जानेको हरेक साँचो विश्वासीले यसको प्रतिक्रिया केवल एउटै तरिकाले मात्र दिनुपर्छ: “कदापि नहोस्! यस्तो नहोस्! यस्तो विचार नष्ट होस्!”

परमेश्वरको अनुग्रह सत्यतामै जानेकाहरूले त्यसलाई पाप गर्ने अनुमतिको रूपमा प्रयोग गर्दैनन्। परमेश्वरको अनुग्रहले त्यसको ठिक उल्टो सिकाउँछ (तीतस २:११-१२ मा हेर्नुहोस्)। हाम्रो नीचपना र दुष्टता जुन गहिराइहरूसम्म पुगिसके निश्चय पनि ती नै काफी छन् हाम्रो अनुग्रही परमेश्वरलाई उच्च पार्न र पापमाथि पाप थप्न कुनै खाँचो छैन। हामीले पर्याप्त गरी पाप गरिसकेका छौं (१ पत्रुस ४:३ मा हेर्नुहोस्)। हामीले पापको गहिराइहरू खोजतलाश गरिसकेका छौं र पापको दलदले हिलोभित्र अझ गहिरो जान हामीलाई खाँचो छैन। अझ, १ यूहन्नाको पुस्तकले हामीलाई सिकाउँदछ कि जोहरू निरन्तर पापमा लागिरहन्छन् (त्यसको अभ्यास गरिरहन्छन्) तिनीहरू कहिल्यै परमेश्वरबाट जन्मेका हुँदैनन् (१ यूहन्ना ३:६,८,९; ५:१८ मा हेर्नुहोस्)। परमेश्वरको साँचो सन्तानले पापलाई घृणा गर्छ र त्यसको क्रूर दासत्वबाट फुत्कन चाहन्छ। ऊ निश्चय पनि त्यसमा लागिरहन चाहँदैन।

रोमी ६:२

“हामी जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?”

ख्याल राख्नुहोस्, यो पद एउटा आज्ञा होइन। पावलले, “तिमी पापको निम्ति मर्नुपर्छ!” भनिरहेका छैनन्। यो पद एउटा तथ्यको अभिव्यक्ति हो: तथ्य यो हो: म, (विश्वासी हुनुहुन्छ भने आफ्नै नाउँ यहाँ राख्नुहोस्), पापको निम्ति मरे!” साथै यो पनि ख्याल राख्नुहोस्, यो एउटा हुनेवाला कुरा होइन तर यो एउटा भइसकेको कुरा हो! (भूतकाल) यो पूरा भइसक्यो! यो सम्पन्न भइसक्यो! म पापको निम्ति मरें! होशियार, तथ्यअनुसार अघि बढ्नुहोस्, अनुभवअनुसार होइन। हाम्रो व्यक्तिगत अनुभवले यस तथ्यलाई धेरै पटक खण्डन गरेको जस्तो देखिन्छ। मेरो अनुभव (म जसरी वास्तवमै जिउँदछु) ले धेरै पटक मलाई भन्छ कि म पापको निम्ति एकदमै जीवितै छु, तर परमेश्वर भन्नुहुन्छ म त्यसको निम्ति मरें! नबाँचेको व्यक्ति परमेश्वरको निम्ति मरेको छ (एफेसी २:१ — सम्बन्धरहित, कुनै जिउँदो सम्पर्क छैन) र पापको निम्ति जिउँदो छ। बाँचेको व्यक्ति पापको निम्ति मरेको छ र परमेश्वरको निम्ति जिउँदो छ (तुलना गर्नुहोस् पद ११)। अब उसो उसको जीवनमाथि पापको कुनै अधिकार छैन। उसको जीवनमाथि परमेश्वरकै पूरापूर अधिकार छ, वास्तवमा परमेश्वर नै उसको जीवन हुनुहुन्छ (कलस्सी ३:३-४ मा हेर्नुहोस्)।

“पापसितको हाम्रो सम्बन्ध एउटा कुरा हो, पापको उपस्थिति अर्कै कुरा हो — यी दुईबीचको भिन्नतालाई अलमल नगरियोस्! हामी मरिसकेका छौं भन्ने प्रकट गरिएको यस तथ्य र छुटकाराको हाम्रो अनुभवबीच भिन्नता राख्नुहोस्। किनभने हामी हाम्रा अनुभवले पापको निम्ति मर्ने होइन: हामी ख्रीष्टको मृत्युमा पापको निम्ति मरिसकेका छौं। हामी पापको निम्ति मरिसकेका छौं भन्ने तथ्य चाहिँ हाम्रो बारेमा परमेश्वरबाटै प्रकट गरिएको वचन हो, अनि हामी यसलाई इन्कार गर्न सक्दैनौं! “हाम्रा अङ्गहरूमा” रहेको पापको उपस्थितिले गर्दा हामी त्यसको निम्ति मरिसकेका छौं भन्ने तथ्यलाई समात्न र पक्रन हामीलाई गाह्रो पर्छ: तर परमेश्वरले त भन्नुभएकै छ। अनि ठिक समयमा सब कुरा हाम्रो विश्वासलाई सम्झाइदिनुहुनेछ पनि” (विलियम न्यूवेल, रोमी)।

पापप्रतिको विश्वासीको मृत्यु चाहिँ येशू ख्रीष्टसितको हाम्रो सम्मिलिकरण (UNION, एकता) सित सम्बन्धित छ जसरी निम्न पदहरूमा बुझाइएको छ। हामी येशू ख्रीष्टसित यस्तो गरी एक बनाइएका छौं किन पापप्रतिको उहाँको मृत्यु (पद १०) पापप्रतिको हाम्रो मृत्यु भएको छ। हामी उहाँमा पापको निम्ति मर्यौं।

रोमी ६:३

“थाह” भन्ने शब्दलाई ख्याल गर्नुहोस्। पावलले एउटा तथ्य प्रस्तुत गर्दैछन् जसलाई विश्वासीले थाह गर्नुपर्छ र त्यसलाई मानिलिनुपर्छ (ठान्नुपर्छ)। यस तथ्यको बारेमा अनजान नरहनुहोस्! विश्वास गर्नुहोस्!

“हामीहरूमध्ये जतिजनाले” = हामी सबैले। ख्रीष्टमा भएको हरेक साँचो विश्वासीलाई यो कुरा भइसकेको छ। येशू ख्रीष्टमा बप्तिस्मा नभएकाहरू तिनीहरू मात्र हुन् जोहरू बाँचेका छैनन्।

“येशू ख्रीष्टभित्र बप्तिस्मा लियौं” — यो पानीको बप्तिस्माको कुरा होइन। यो पानीभित्र डुबाइने बप्तिस्मा होइन तर ख्रीष्टभित्र डुबाइने बप्तिस्मा हो। कसैले ठिकै भनेको छ, रोमीको छैटौं अध्यायमा एक थोपा पानी छैन। रोमी ६ मा पावलले चर्चा गरिरहेको बप्तिस्मा विधिको बप्तिस्मा होइन, तर वास्तविक बप्तिस्मा हो। यो वास्तविक बप्तिस्मा ठिक उत्तिनैखेर पूरा हुन्छ जब एक व्यक्तिले मुक्ति पाउँछ अनि यो चाहिँ केवल परमेश्वरले दिन सक्ने बप्तिस्मा हो। विधिको बप्तिस्मा (पानीको बप्तिस्मा) एक व्यक्तिले मुक्ति पाइसकेपछित गरिने कार्य हो जुनचाहिँ वास्तविक बप्तिस्माको प्रतीक (मैले मुक्ति पाएको घडि मलाई हुन गएको कुराको चित्रण) को रूपमा लिइने कुरा हो। “येशू ख्रीष्टभित्र बप्तिस्मा” हुने कुरा गलाती ३:२६-२७ मा पनि उल्लेख छ। यस बप्तिस्माको प्रतिफल यो हो कि विश्वासी अब “ख्रीष्टमा” छ (गलाती ३:२८, २ कोरिन्थी ५:१७; रोमी ८:१ इत्यादिमा हेर्नुहोस्)। “बप्तिस्मा” भन्ने शब्द “डुबाउनु, चोपल्नु, कुनै चीजलाई अर्को चीजभित्र राख्नु र यसरी उक्त चीजसित पूरै सम्मिलित हुनु।” विश्वासी जन येशू ख्रीष्टभित्र डुबाइएको छ र परमेश्वरको पुत्रभित्र अवस्थित गरिएको छ जसको फलस्वरूप ऊ “ख्रीष्टमा” छ। यहीँ नै हो उसलाई ओहोदा दिइएको (राखिएको)। यसैले हामी प्रायः ख्रीष्टमा रहेको विश्वासको ओहोदाको कुरा गर्दछौं।

नयाँ नियममा दुईटा महान् सत्यताहरू पटकपटक दोहोराइएका छन्: १) बप्तिस्मा (BAPTISM) २) अन्तरवास (INDWELLING) । बप्तिस्माले मलाई परमेश्वरभित्र अवस्थित गराउँछ र अन्तरवासले परमेश्वरलाई मभित्र अवस्थित गराउँछ। यस्तो सम्बन्धको बारेमा प्रभुले यूहन्ना १४:२० मा पूर्वउल्लेख गर्नुभएको थियो — “तिमीहरू ममा (बप्तिस्मा) र म तिमीहरूमा (अन्तरवास)” र साथै यूहन्ना १७:२१,२३,२६ मा पनि हेर्नुसहो्।

यदि म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु भने यसको तात्पर्य म…

१) उहाँको मृत्युभित्र बप्तिस्मा भएको छु (रोमी ६:३) २) उहाँको गडाइभित्र बप्तिस्मा भएको छु (रोमी ६:४) ३) उहाँको बौरिउठाइभित्र बप्तिस्मा भएको छु (रोमी ६:४-५) ४ उहाँको शरीर, मण्डलीभित्र बप्तिस्मा भएको छु (१ कोरिन्थी १२:१३)

ख्रीष्टको इतिहास मेरो इतिहास भएको छ किनकि म ख्रीष्टभित्र छु। यसरी उहाँको मृत्यु मेरो मृत्यु हो, उहाँको गडाइ मेरो गडाइ हो, उहाँको बौरिउठाइ मेरो बौरिउठाइ हो र उहाँको स्वर्गारोहण मेरो स्वर्गारोहण हो (एफेसी १:२०-२१; २:६ — ख्रीष्टमा म स्वर्गीय स्थानहरूमा बसालिएको छु!)। एक ख्रीष्टियन ख्रीष्टसित र ख्रीष्टमा यति नजिकसँग एक बनाइएको छ कि प्रभु येशूले टार्ससका शाऊललाई यसरी भन्न सक्नुभयो, “तिमी मलाई किन सताउँछौ?” (प्रेरित ९:४)। जब शरीर (मण्डली) लाई चोट लाग्छ, शिरलाई दुखाइ हुन्छ!

पानीको बप्तिस्माको उद्देश्य ख्रीष्टमा वा ख्रीष्टभित्र रहेको विश्वासीको यस महिमापूर्ण सम्बन्ध र ओहोदालाई दर्शाउनु हो। निम्न बुँदाहरूलाई विचार गर्नुहोस्:

१) म ख्रीष्टमा भएकोले म उहाँसित उहाँको मृत्यु, गडाइ र बौरिउठाइमा एक भएको छु (रोमी ६:३-४) अनि पानीको बप्तिस्मा चाहिँ म उहाँसँगै मरें र उहाँसँगै बौरें (गलाती २:२०) भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो!

२) म ख्रीष्टमा भएकोले म एउटा नयाँ सृष्टि हुँ (२ कोरिन्थी ५:१४ -१७), अनि पानीको बप्तिस्मा चाहिँ मसित एउटा नयाँ जीवन र नयाँ हिँडाइ छ भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो (एफेसी २:१० र रोमी ६:४)।

३) म ख्रीष्टमा भएकोले म उहाँको शरीर अर्थात् मण्डली (१ कोरिन्थी १२:१३) को सदस्य हुँ अनि पानीको बप्तिस्मा चाहिँ म अब ख्रीष्टको शरीरको एउटा सदस्य हुँ र विश्वासीहरूको एउटा स्थानीय सभासित म आवद्ध छु भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो (प्रेरित २:४१-४२ मा हेर्नुहोस्)।

४) म ख्रीष्टमा भएकोले मैले पापहरूको क्षमा पाएको छु (एफेसी १:७) अनि बप्तिस्मा चाहिँ मेरा पापहरू पखालिएको तथ्यको एक साङ्केतिक चित्रण हो (प्रेरित २:३८; २२:१६ सित तुलना गर्नुहोस्)।

५) म ख्रीष्टमा भएकोले म अब उसो दण्डको आज्ञामुनि छैन (रोमी ८:१) अनि बप्तिस्माले चाहिँ म दोषमुक्त भएको छु र परमेश्वरतर्फ मसित असल विवेक छ भन्ने

तथ्यको गवाही दिने काम गर्दछ (१ पत्रुस ३:२१)।

रोमी ६:४

“हामी उहाँसँगै मृत्युभित्र गाडियौं” — ख्रीष्टसँगै गाडिनुको महत्त्व के हो? निम्न दुई तथ्यहरूलाई विचार गर्नुहोस्:

१) ख्रीष्टको गडाइले हामीलाई उहाँको क्रूसको मृत्युलाई फर्केर हेर्न लाउँछ। ख्रीष्टको गडाइ उहाँको मृत्युसित सम्बन्धित छ जसरी रोमी ६:३-४ ले देखाउँछ। कोही व्यक्ति गाडियो भन्नुको तात्पर्य उक्त व्यक्ति मर्यो भन्ने हो! “गत हप्ता मेरो बुबाको दफन गरियो” (यसको माने हो “मेरो बुबा मर्नुभयो”)। सामान्यतया मरेका मानिसहरूलाई मात्र गाडिन्छ। लाजरसलाई गाडियो किनभने तिनी मरे (यूहन्ना ११)! ख्रीष्टको गडाइ चाहिँ उहाँ साँच्ची नै मर्नुभएको थियो भन्ने कुराको ठूलो प्रमाण हो। यसलाई १ कोरिन्थी १५:३-५ को तर्कसित तुलना गर्नुहोस् जहाँ पहिला एउटा भनाइ उल्लेख गरिन्छ र त्यसपछि त्यसको प्रमाण दिइन्छ: ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो! यसको प्रमाण: उहाँ गाडिनुभयो! ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो! यसको प्रमाण: उहाँ देखा पर्नुभयो!

२) ख्रीष्टको गडाइले हामीलाई त्यसपछिको उहाँको बौरिउठाइलाई हेर्न लाउँछ। ख्रीष्ट साँच्ची नै गाडिनुभएको थियो र उहाँको मृत शरीरलाई साँच्ची नै एउटा कबरस्थानभित्र राखिएको थियो। बौरिउठाइको महिमित तथ्य सबैलाई प्रमाणित गरिएको थियो जब उहाँको शरीर, जुन गाडिएको थियो, त्यो एक्कासी कबरस्थानमा पाइएन! त्यो शरीर त्यहाँ थिएन! “उहाँ यहाँ हुनुहुन्न… आओ प्रभु राखिनुभएको ठाउँ हेर!” (मत्ती २८:६)। आओ र उहाँ गाडिनुभएको ठाउँ हेर!

यसरी जब तपाईं ख्रीष्टकको गडाइलाई विचार गर्नुहुन्छ सधैं यो याद गर्नुहोस्: १) चिहानभित्रको त्यो शरीर साँच्ची नै मरेको थियो; २) तीन दिनपछि चिहानभित्र रहेको त्यो शरीर साँच्ची नै त्यहाँ थिएन। ख्रीष्ट साँच्ची नै बौरेर उठ्नुभएको थियो र सदाको लागि जीवित हुनुभएको थियो!

रोमी ६:४ख-५

हामी केवल ख्रीष्टसित उहाँको मृत्युमा एक भएका होइनौं तर उहाँसित उहाँको बौरिउठामा पनि एक भएका छौं। ख्रीष्ट मर्नुभयो, र म पनि उहाँमा मरें! ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो (रोमी ६:४), र ख्रीष्टमा म पनि बौराइएँ। यस विचारलाई पद ५ मा पनि दोहोराइएको छ: “एकैसाथ जोरिएका” = एक बनाइएका। मेरो हिँडाइ (रोमी ६:४ख) ख्रीष्टमा भऐको मेरो ओहोदासित मेल खानुपर्छ (रोमी ६:५)। ख्रीष्टमा मैले नयाँ जीवन पाएको छु र म यस तथ्यको प्रकाशमा हिँड्नुपर्छ! हामीले उहाँको जीवनलाई विश्वासैद्वारा अपनाउनुपर्छ (पद ११ सित तुलना गर्नुहोस् — “ठान”)।

रोमी ६:६

“थाहा गर्दै” — यस पदले विश्वास गरिनुपर्ने एउटा चाबी तथ्यलाई प्रस्तुत गर्दछ! “पुरानो मान्छे” के हो (रोमी ६:६; एफेसी ४:२२; कलस्सी ३:९) र “नयाँ मान्छे” के हो (कलस्सी ३:१०; एफेसी ४:२४)? पुरानो मान्छे = आदममा म जो-जस्तो छु र आदममा मसँग जे-जस्ता छन् ती सबको सँगालोलाई पुरानो मान्छे भनिन्छ; नयाँ मान्छे = ख्रीष्टमा म जो-जस्तो छु र आदममा मसँग जे-जस्ता छन् ती सबको सँगालोलाई नयाँ मान्छे भनिन्छ। आदममा भएको मेरो पुरानो जीवन पुरानो मान्छे हो; ख्रीष्टमा भएको मेरो नयाँ जीवन नयाँ मान्छे हो। एउटा चाहिँ ‘म’-जीवन हो; अर्को चाहिँ ख्रीष्ट-जीवन हो। एउटा चाहिँ पतन भएको मानिससित सम्बन्धित छ; अर्को चाहिँ उद्धार गरिएको वा नयाँ जन्मेको मानिससित सम्बन्धित छ। पुरानो मान्छे चाहिँ ‘पुरानो म’ हो; नयाँ मान्छे चाहिँ ‘नयाँ म’ हो, ख्रीष्टमा नयाँ सृष्टि हो। पुरानो मान्छेका गुणहरू आदमबाट सरेर आएको पतित पापपूर्ण स्वभावबाट आउँछ; नयाँ मान्छेका गुणहरू नयाँ जन्म हुँदा परमेश्वरबाट पाइने ईश्वरीय पवित्र स्वभावबाट आउँछ। पुरानो मान्छे शरीरबाट जन्मेको हुन्छ; नयाँ मान्छे परमेश्वरबाट जन्मेको हुन्छ। पुरानो मान्छे प्राकृतिक जन्मबाट हुन आयो; नयाँ मान्छे नयाँ जन्मबाट हुन आयो। पुरानो मान्छे “धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट” छ (एफेसी ४:२२; रोमी ७:२४ सित तुलना गर्नुहोस।); नयाँ मान्छे परमेश्वरको स्वरूपअनुसार [उहाँको प्रतिबिम्ब] धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ” (एफेसी ४:२४)। नयाँ मान्छे एउटा नयाँ कुरो हो जसको पूर्व-अस्तित्व थिएन तर यो सृष्टि गरिएको हो (एफेसी ४:२४; २ कोरिन्थी ५:१७)। तपाईंले मुक्ति पाउनुभन्दा पाँच वर्षअघि नयाँ मान्छेको अस्तित्व नै थिएन, तर पुरानो मान्छेको भने थियो!

“पुरानो मान्छे केवल पुरानो स्वभाव मात्र होइन, यद्यपि त्यसले पुरानो स्वभावलाई समेट्छ; पुरानो मान्छेसित एउटा स्वभाव छ जो परमेश्वरको विरुद्धमा छ अनि यही स्वभाव पुरानो मान्छेका क्रियाकलापहरूको चरित्रमा झल्कन्छ” (रोइ ह्यूब्नर)।

एफेसी ४:२५-३१ मा पुरानो मान्छे उसका कामको आधारमा बयान गरिएको छ: त्यो एउटा दुष्ट फटाहा हो (पद २५), त्यसको नराम्रो रिस छ (पद २६), त्यो एक खराब चोर हो (पद २८), त्यसको मुख भ्रष्ट छ र त्यसबाट फोहोर निस्किरहन्छ (पद २९) र तीतोपना, क्रोध, रिस, कलह, निन्दा र क्षमा नदिने आत्मा त्यसका चरित्र हुन् (पद ३१-३२)। तुलनामा, नयाँ मान्छेले सत्य बोल्छ (पद २५), आवश्यक कुरामा सही तरिकाले रिसाउँछ (पद २६), कडा परिश्रम गर्छ र दिन जानेको छ (पद २८), उन्नति गराउने असल कुरा बोल्छ (पद २९) र दया, कोमलता, क्षमाशील आत्मा उसका चरित्र हुन्। नयाँ मान्छे परमेश्वरकै अर्थात् उसलाई सृष्टि गर्नुहुनेकै प्रतिबिम्ब हो!

के जान्न महत्त्वपूर्ण छ भने पुरानो मान्छे अपरिवर्तनीय छ! त्यो कहिल्यै बदलिने छैन! त्यो सदा र सधैं भ्रष्ट छ! पुरानो मान्छेले कहिल्यै आफूलाई सुधार्नेछैन (वास्तवमा, तपाईंले मुक्ति पाउनुभएपछि पुरानो मान्छे झनै खराब देखापर्छ!)। पुरानो मान्छे कहिल्यै सुध्रिनेछैन। त्यो चाम्रो न चाम्रो छ! त्यो पूर्णरूपमा भ्रष्ट छ र सधैं त्यस्तै रहिरहन्छ। जब एक व्यक्तिले मुक्ति पाउँछ पुरानो मान्छे बदली हुँदैन, त्यो जस्ताको त्यस्तै रहेको हुन्छ।

त्यसोभए परमेश्वरले पुरानो मान्छेको सामना कसरी गर्नुहुन्छ? परमेश्वरले पुरानो मान्छेलाई बदली गर्नुहुन्न। त्यसलाई परिवर्तन गर्नुहुन्न। तपाईंको पुरानो ‘म’ लाई परमेश्वरले के गर्नुभयो? आदममा तपाईं जो-जस्तो हुनुहुन्छ र तपाईंसित जे-जस्तो छ, त्यसलाई के गर्नुभयो? रोमी ६:६ ले यसको जवाफ दिन्छ: “हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो (भूतकाल)।” परमेश्वरले पुरानो मान्छेलाई दण्डको आज्ञा दिनुभयो, त्यसको न्याय गर्नुभयो र आफ्नो क्रोध उहाँमाथि खन्याउनुभयो जब धन्यको प्रभु मुक्तिदाता येशू क्रूसमा मर्नुभयो। मेरो पुरानो मान्छे क्रूसमा टँगाइयो!

“क्रूसमा टँगाइयो” — त्यो पूरा भयो! त्यो सिद्धिसक्यो! पुरानो मान्छेलाई तपाईंले टँगाउनुपर्दैन! त्यो काम २००० वर्ष अगाडि पूरा भइसक्यो। यो तपाईंले गर्ने काम होइन, त्यो परमेश्वरले गरिसक्नुभयो! यो पालन गर्नुपर्ने आज्ञा होइन; यो विश्वास गरिनुपर्ने तथ्य हो! पुरानो मान्छेको सामना तपाईंले गर्नुपर्दैन। क्रूसमा उहाँले नै त्यसको सामना गरिसक्नुभयो! पुरानो मान्छेलाई जित्ने खोज्नेहरू कहिल्यै जित्दैनन्!

रोमी ६:६ मा हाम्रो ओहोदा र अनुभवको बीच भिन्नता राख्नुपर्छ। यो पद एक ख्रीष्टियनको अनुभवको बयान होइन (जस्तो क्याल्भिनवादीहरू सिकाउँछन्)। “हाम्रो पुरानो मान्छे क्रूसमा टँगाइयो” भन्ने कुरा ख्रीष्टमा भएको हाम्रो ओहोदा सम्बन्धी एउटा तथ्य हो। हाम्रो वास्तविक अनुभवमा हाम्रो पुरानो मान्छे धेरै पटक एकदम जिउँदो र कुशलै देखिन्छ, तर हामी आफ्नो अनुभवअनुसार हिँड्नुहुँदैन। हामी परमेश्रले भन्नुभएको कुरा (तथ्यहरू) अनुसार हिँड्नुपर्छ! तपाईंको ओहोदाका तथ्य यो हो कि तपाईंको पुरानो मान्छे ख्रीष्टसँगै टँगाइएको थियो। त्यस तथ्यलाई विश्वासैद्वारा दाबी गर्नुहोस् यद्यपि तपाईंको नजरमा त्यो उल्टो जस्तो लाग्ला रे! त्यो हो भनेर ठान्नुहोस्! जति बढी यस सत्यतालाई हामी विश्वासद्वारा दाबी गर्दछौं त्यति नै बढी यो हाम्रो वास्तविक अनुभवमा साँचो हुनेछ। जति बढी हामी आफ्नो ओहोदालाई मानिलिन्छौं त्यति नै बढी पवित्र आत्मा परमेश्वरले त्यसलाई हाम्रो वास्तविक अवस्थामा साँचो तुल्याइदिनुहुनेछ। विश्वास नै चाबी हो।

कलस्सी ३:९-१० लाई विचार गर्नुहोस्। यसको भाषालाई ध्यान दिनुहोस्। यसले भन्छ, “तिमीले निकालिदिएका छौ” र “तिमीले पहिरेका छौ”। यी आज्ञा होइनन्, यी त तथ्यहरू हुन्। पुरानो मान्छे किन निकालिएको छ? फेरि, यसको जवाफ रोमी ६:६ ले दिन्छ। पुरानो मान्छे निकालिएको छ किनकि परमेश्वरले त्यसलाई क्रूसमा टँगाइदिनुभयो! मेरो पुरानो मान्छे निकालिएको थियो र कलवरीमा टँगाइएको थियो! नयाँ मान्छे चाहिँ मुक्ति पाएकै घडीमा पहिराइएको थियो किनकि त्यही घडी म ख्रीष्टमा एउटा नयाँ सृष्टि भएको छु!

कलस्सीले तथ्य बताउँछ; एफेसीले विश्वासको माग गर्छ! एफेसीको पत्रमा हामीलाई विश्वासद्वारा त्यो काम गर्न भनिएको छ जुन काम परमेश्वरले वास्तवमा गरिसक्नुभयो भनेर कलस्सीले बताउँदछ! पुरानो मान्छेलाई म कसरी फालूँ? यो मानिलिएर कि परमेश्वरले त्यो गरिसक्नुभयो! मेरो पुरानो मान्छे ख्रीष्टसँगै क्रूसमा टँगाइयो भन्ने कुरा मानिलिँदै। नयाँ मान्छेलाई म कसरी पहिरूँ? यो मानिलि

एर कि म येशू ख्रीष्टमा नयाँ सृष्टि भएको छु! क्रूसमा पूरा गरिएको क्रूसमा विश्वास गर्दै पुरानो मान्छेलाई फालिन्छ; ख्रीष्टमा भएको मेरो महिमित ओहोदामा विश्वास गर्दै नयाँ मान्छेलाई पहिरिन्छ।

यही सिद्धान्तको अर्को उदाहरण गलाती ३:२७ र रोमी १३:१४ मा भेटिन्छ। पहिलो खण्डले बताउँछ कि हामीले ख्रीष्टलाई पहिरेका छौं। दोस्रो खण्डले चाहिँ हामीलाई आज्ञा गर्दछ, “ख्रीष्टलाई पहिर!” गलाती ३:२७ चाहिँ तथ्य हो (तिमीले ख्रीष्टलाई पहिरेका छौ!)। रोमी १३:१४ ले चाहिँ विश्वासको माग गर्दछ (हामीलाई विश्वासैद्वारा त्यो काम गर भन्दछ जुनचाहिँ परमेश्वरले वास्तवमा गरिसक्नुभएको छ!)।

गलाती २:२० लाई विचार गर्नुहोस् — “म (आदममा भएको पुरानो मान्छे) ख्रीष्टसित क्रूसमा टँगाइएको छु, तरैपनि म (ख्रीष्टमा भएको नयाँ मान्छे) जिउँछु, त्यसो भए पनि म (आदममा भएको पुरानो मान्छे) ता होइन तर ख्रीष्ट म (ख्रीष्टमा भएको नयाँ मान्छे) भित्र जिउनुहुन्छ; अनि जुन जीवन म (नयाँ मान्छे) अहिले शरीरमा जिउँछु, त्यो म (नयाँ मान्छे) परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो।”

विश्वासले परमेश्वरबाटका तथ्यहरूलाई विश्वास गर्नुपर्छ र ती सत्य छन् भनी मानिलिनुपर्छ!

“पापको शरीर” (रोमी ७:२४ सित तुलना गर्नहोस्) — यसले मेरो उद्धार गरिन बाँकी रहेको शरीरलाई जनाउँछ जुन शरीरलाई उसको हतियारको रूपमा पापले प्रयोग गर्दछ। आठौं अध्यायमा यो सिक्नेछौं कि विश्वासीको भविष्यको आशा अनुसार शरीरको उद्धार हुनेछ (रोमी ८:२३) जसपछि हामीले फेरि कहिल्यै पाप गर्नेछैनौ। तर आज भने हामीसित एउटा उद्धार गरिन बाँकी रहेको शरीर छ जो अझै पाप, रोग, भ्रष्टता, विनाश र आखिरमा शारीरिक मृत्युको अधीनमा छ। पाप अझै पनि हाम्रा अङ्गहरूमा उपस्थित रहेको छ (रोमी ६:१२; ६:१६; ६:१९; ७:५; ७:१३; ७:१७; ७:२०-अन्तरवास गर्ने पाप; ७:२३;७:२५)।

“बेकम्मा” — निष्क्रिय, प्रभावहीन, शक्तिहीन, ‘कामहीन’, कामबाट मुक्त। ख्रीष्टको क्रूसको उपलब्धीले गर्दा र उक्त उपलब्धीमाथिको मेरो विश्वासले गर्दा पापले ममाथिको आफ्नो शक्ति गुमाएको छ: “अब उसो हामीले पापको सेवा नगरौं भनेर” (रोमी ६:६ को अन्तिम भागलाई नेपालीमा अक्षरशः अनुवाद गर्दा)। अब उसो हामी पापको दास भएझैं सेवा गरिरहनु खाँचो छैन। मुक्ति पाउनु अघि म अटुट रूपमा पापको दास थिएँ (यूहन्ना ८:३४ र रोमी ८:७-८)। ख्रीष्टमा अब म स्वतन्त्र पारिएको छु (रोमी ६:१८,२२ मा हेर्नुहोस्)।

स्मरण होस् (यो महत्त्वपूर्ण कुरा हो), हामीले मुक्ति पाउँदा हाम्रो पापी स्वभाव निर्मूल गरिँदैन (त्यसले आफूलाई व्यक्ति गर्न नै नसक्ने गरी जरै उखालिएर पूरै फालिएको हुँदैन)। यो कुरा हामी तीनटा कारण जान्दछौं।

१) पवित्रशास्त्रले सो स्पष्टै बताएकोले — १ यूहन्ना १:८,१०; २:१-२। २) यस शरीरमा रहँदा विश्वासीहरूले पाप गर्न सक्छन् र गर्छन् भन्ने तथ्य सबैको अनुभव भएकोले (यदि मेरो पाप निर्मूल पारिएको भए त पाप असम्भव हुनेथियो)। ३) रोमी ७:१४-२४ ले विश्वासीको जीवनमा अन्तरवास गर्ने पापको समस्या, उपस्थिति र शक्तिको चर्चा गरेकोले।

पाप यदि निर्मूल पारिएको भए त यसले विश्वासीलाई कुनै समस्या नै ल्याउँदैनथ्यो, त्यो हाजिर नै हुनेथिएन र त्यसको कुनै शक्ति नै हुनेथिएन।

दुईटा विषमतादेखि होशियार हुनुहोस्:

१) पापरहित सिद्धता (SINLESS PERFECTION) मा विश्वास गर्नेहरू।

मैले मुक्ति पाएको दिनदेखि मैले कहिल्यै पाप गरेको छैन र पाप गर्नै सक्दिनँ।”

यस गलत धारणालाई १ यूहन्ना १:८,१० ले जवाफ दिन्छ।

२) पापपूर्ण असिद्धता (SINFUL IMPERFECTION) मा विश्वास गर्नेहरू।

“मैले पाप नगरी सुख छैन। मलाई पाप गर्ने बाध्यता नै छ। पाप गर्नु बाहेक मेरो अर्को विकल्प नै छैन। इत्यादि।”

यस गलत धारणालाई १ यूहन्ना २:१; रोमी ६ इत्यादिले जवाफ दिन्छ। पापमाथि विजयी बन्न परमेश्वरले विश्वासीको लागि प्रबन्ध गर्नुभएको छ (रोमी अध्याय ८)।

“अब उसो” — निम्नसूचित उदेकका “अब उसो” खण्डहरूलाई ध्यान दिनुहोस्:

१) रोमी ६:६ — अब उसो म पापको अटुट दास हुनु छैन २) गलाती २:२० — अब उसो म जिउनु छैन तर ख्रीष्ट (मेरो जीवन होइन तर ख्रीष्टको जीवन — मभित्र उहाँको जीवन)। ३) २ कोरिन्थी ५:१५ — अब उसो आफ्नो निम्ति जिउनु छैन ४) एफेसी ४:१७ — अब उसो मुक्ति नपाएकाहरूजस्तो हिँड्नु छैन ५) एफेसी ४:२८ — अब उसो पुरानो मान्छेका काम गर्नु छैन ६) १ पत्रुस ४:२ — अब उसो मानिसका अभिलाषाका निम्ति जिउनु छैन ७) एफेसी ४:१४ — अब उसो बालक रहनु छैन (विश्वासीहरू बढ्दै जानुपर्छ, परिपक्क्व बन्दै जानुपर्छ, हरेक दिन ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानुपर्छ)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ५:१२-२१

रोमी ५:१२-२१

 

रोमी ५:१२

एकजना मानिस = आदम। आदममार्फत पाप संसारभित्र प्रवेश गर्यो। अनि जबजब पाप आउँछ त्यसले साथमा आफ्नो निकटको साथी पनि लिएरै आउँछ: मृत्यु। पाप र मृत्यु एउटा अभिन्न जोडी हुन् — ती दुई सधैं साथमा रहन्छन्। पापले मृत्यु जन्माउँछ (याकूब १:१५)।

र पापद्वारा मृत्यु आयो = आदमद्वारा पाप संसारमा प्रवेश गर्यो; पापद्वारा मृत्यु संसारमा प्रवेश गर्यो।

उत्पत्ति २:१७ मा पनि पाप र मृत्युबीचको सम्बन्धलाई ध्यान दिनुहोस्।

किनकि सबैले पाप गरेका छन्” = यसलाई “किनकि सबैले पाप गरे” भनेर अनुवाद गरिनुपर्थ्यो।

सबै मानिसहरूले आदममा पाप गरे र सबै मानिसहरू आदममा मरे। उदाहरण: एउटा जङ्गलमा ठूलो आगलागी भएको विचार गर्नुहोस् (याकूब ३:५)। एउटा सानो काँटी सल्काएर भुइँमा फ्याँक्दा त्यो एउटा सानो कामले एउटा सिङ्गो जङ्गल नाश हुन सक्छ। एउटा काँटी जमिनमा खसालिएकोले जङ्गलको हरेक रूख त्यसरी नै खसालिन सक्छ। त्यस्तै गरी आदमको एउटा “सानो” अनाज्ञाकारीताले मानवजातिरूपी सिङ्गो जङ्गल पतन भयो। आदमले काँटी सल्काइदियो र हामी प्रत्येक नै जलेर नष्ट भयौं। एकजना मान्छेले कहाँसम्मको असर पार्न सक्दो रहेछ!

ग्रीकमा रोमी ५:१२ को बीचतिरको “सबै मानिसहरू” लाई जोड दिइएको छ। मृत्यु कसकहाँ फैलियो? सबै मानिसहरूमा! मृत्यु सबै मानिसहरूमा किन फैलियो? सारा मानवजाति पाप र मृत्यु जस्तो भयङ्कर रोगले किन सङ्क्रमित भयो? किन सबै मानिसहरू? किन आदममात्र होइन? यदि पाप गर्ने ऊ हो भने किन ऊ र ऊ मात्र मर्नु पर्ने नभएको? किन मृत्यु सबै मानिसहरूमा फैलियो? परमेश्वरको जवाफ यस प्रकार छ: जब आदमले पाप गरे, हामी सबैले पाप गर्यौं! जब आदम पतन भए, हामी पतन भयौं। मृत्यु सबै मानिसहरूमा किन फैलियो? “किनकि सबैले पाप गरे” (रोमी ५:१२, पदको अन्ततिर हेर्नुहोस्)। सबै मानिसहरूले कहिले पाप गरे? जब आदमले पाप गरे!

यो सत्यता स्वीकार गर्न गाह्रो होला तर यो कुरा यस खण्डमा पटकपटक दोहोराइएको छ: रोमी ५:१५ — आदमको अपराधले गर्दा, धेरै मरे! आदमको पापले गर्दा, म मरें! रोमी ५:१८ — आदमको पापले गर्दा म दण्ड र न्यायमुनि परेको छु! रोमी ५:१९ — आदमको अनाज्ञाकारिताले गर्दा म एक पापी बनाइएँ! साथै हेर्नुहोस् १ कोरिन्थी १५:२२ — आदममा सबै मर्छन्!

आदममा सबैले पाप गरे। साथै यो पनि सत्य हो कि आदममा सबैजना सृष्टि गरिए। भन्नुपर्दा, आज बाँचिरहेका मानिसहरू सृष्टि गरिएका होइनन्। हामी यस संसारमा सृष्टि (creation) द्वारा आएनौं तर प्रजनन (procreation) द्वारा आयौं। सृष्टि गरिएका व्यक्तिहरू आदम र हव्वा मात्र थिए। तरैपनि एक अर्थमा म आदममा सृष्टि गरिएको थिएँ भन्नु सही हो। आदमबिना मेरो अस्तित्व नै हुनेथिएन। आदम सृष्टि गरिँदा म उनकै कोखमा थिएँ (दाँज्नहोस् हिब्रू ७:१०)। म उनको वंशको अंश थिएँ। (त्यसैगरी सारा यहूदी जाति अब्राहाम, इसाहक र याकूबमा थिए भन्न सकिन्छ)।

आदमले पाप गर्दा, म त्यहाँ उपस्थित नै थिइनँ। मैले त्यो फल खाइनँ, आदमले खाए। मैले परमेश्वरको आज्ञा तोडिनँ, आदमले तोडे। तरैपनि एक अर्थमा म त्यहीँ थिएँ। म आदममा थिएँ। मैले आदममा पाप गरें! म आदममा मरें! कसैलाई प्रश्न गरिन्छ, “तिमीलाई अहिलेसम्म घटेको सबभन्दा नराम्रो घटना कुन हो?” यसको जवाफ विभिन्न होला: प्रियजनको मृत्यु, नराम्रो गाडी दुर्घटना, कुनै अप्रत्याशित वियोग, आदि। तर त्यस्ता सबै जवाफ बेठिक छन्। बाइबलले उक्त प्रश्नको एउटै मात्र सही जवाफ प्रकट गर्दछ: मलाई घटेको सबभन्दा नराम्रो घटना त्यो थियो जब हजारौं वर्ष अघि आदमले प्रतिबन्धित फल खाए (रोमी ५:१२)। त्यसैगरी मलाई घटेको सबभन्दा राम्रो घटना त्यो थियो जब लगभग २००० वर्ष अघि येशू ख्रीष्ट क्रूसमा मर्नुभयो (रोमी ५:१८-१९)।

मैले आदममा पाप गरें, म आदममा मरें, म आदममा दण्डमुनि छु भन्ने कुरा किन सत्य छ? त्यो घटनाको बेलामा म त्यहाँ उपस्थित नै थिइनँ, न थिएँ कि? निम्न कुरालाई विचार गर्नुहोस्:

१) बाइबल विश्वासी भएर हामी सबै सहमत छौं कि आदम हामी सबका पिता हुन्। हामी सबै आदमबाट आयौं। हामी प्रत्येकको वंशावली आदमसम्म पुग्छ, कुनै “बनमान्छे” सम्म होइन। हामी सबै “आदमका सन्तान” हौं (दाँज्नुहोस् भजनसङ्ग्रह १४:२-३; उत्पत्ति ६:५-६; ११:५)।

२) जब आदमले पाप गरे एक अर्थमा म त्यहीँ थिएँ। मे आफ्नो पिता आदमको कोखमा थिएँ (म उसको बीउमा थिएँ)। यसलाई बुझ्न उत्पत्ति १४:१८-२० लाई हेरौं। हेर्नुहोस्, अब्राहामले मलकेसिदेकलाई दशांस दिए। अब्राहामबाट इसाहक अनि त्यसपछि याकूब आए। याकूब (इस्राएल) का बाह्र छोरा भए जसमध्ये एकजना लेवी थिए। लेवीबाट हारून र उनका छोराहरू आए जोहरू पूजाहारी थिए। यी कुरालाई मनमा राखेर हिब्रू ७:४-१० हेर्नुहोस्। यदि हिब्रूका लेखकले लेवीले मलकेसिदेकलाई दशांस दिए भनेर भन्न सक्छन् किनकि उनी अब्राहामको कोखमा थिए यद्यपि हामीलाई थाहा छ दशांस दिने वास्तवमा अब्राहाम मात्र थिए र लेवी त जन्मेका पनि थिएनन्, त्यसो भए उही हिसाबले म पनि यसरी भन्न सक्छु: “मैले पनि आदममा पाप गरें, किनकि आदमले पाप गर्दा म आफ्नो पिता आदमको कोखमा थिएँ।” तसर्थ जब आदमले पाप गरे एक अर्थमा म पनि त्यहाँ थिएँ।

३) आदमले मेरो प्रतिनिधिको रूपमा काम गरे। आदम हाम्रो जातिका शिर थिए र उनले मानवजातिकै प्रतिनिधित्व गरे। यो रोचक कुरा हो कि मानिसको पतनलाई आदमको अनाज्ञाकारितासित जोडिएको छ, हव्वाको अनाज्ञाकारितासित होइन यद्यपि आज्ञा तोड्ने पहिलो व्यक्ति हव्वा थिए। तर हव्वा मानव जातिका शिर थिएनन्। आदमले खानु नै मूल समस्या थियो। तब नै मानवजाति पतन भयो। प्रतिनिधि भनेको अरूको पक्षमा काम गरिदिने व्यक्ति हो। आदम अदनको बगैँचामा तपाईं र मेरो ठाउँमा काम गर्दै थिए, प्रतिनिधित्व गर्दै थिए। आज हामी मानिसहरूलाई प्रतिनिधि सभाको लागि निर्वाचनद्वारा चुन्छौं जोहरू “प्रतिनिधिहरू” कहलिन्छन्। उनीहरूले मेरो निम्ति सभामा मेरो प्रतिनिधित्व गर्छन् र त्यहाँ निर्णय आदि पारित गर्दा मेरो निम्ति भोट दिन्छन्। मैले सिधै भोट दिन सक्दिनँ तर मेरो निम्ति भोट दिन उनीहरू त्यहाँ छन्। जब आदम मेरो प्रतिनिधिको रूपमा अदनको बगैँचामा थिए, उसले भोट दिनु परेको थियो। उनले कि त परमेश्वरको पक्षमा कि त विपक्षमा भोट दिनुपर्थ्यो। उनले परमेश्वरको आज्ञा मान्न वा नमान्न रोज्नुपर्थ्यो। उनले परमेश्वरको विरुद्धमा भोट दिए! उनले आज्ञा नमान्न रोजे। त्यहाँ एक अर्थमा उनको भोट मेरो भोट भयो।

आदमले गलत दिशामा भोट दिए भनेर उनलाई हामीले दोषी ठहराउनु अघि, हामीले आफैलाई उनको ठाउँमा राखेर सोचौं। मानौं आदमको सट्टामा म त्यहाँ भएको भए। मानौं मलाई आज्ञा मान्ने कि नमान्ने भन्ने त्यो जाँच दिइएको भए। के मैले आदमले भन्दा फरक गर्थें?

तपाईं आपत्ति जनाउनुहोला, “यो प्रतिनिधित्वको शिक्षा मलाई मन पर्दैन! यो न्यायोचित होइन! म आदमद्वारा प्रतिनिधित्व गरिन चाहन्न!” तर प्रतिनिधित्वको शिक्षालाई इन्कार गर्ने बित्तिकै तपाईंले बाइबलकै एउटा सबभन्दा सुन्दर शिक्षालाई इन्कार गर्नुहुन्छ। कुरा यस्तो हो, आदम मात्र तपाईंको प्रतिनिधि भएका होइनन् तर ख्रीष्ट पनि तपाईंको प्रतिनिधि बन्नुभयो! आदमले मात्र तपाईंको पक्षमा काम गरेनन्, ख्रीष्टले पनि तपाईंको पक्षमा काम गर्नुभयो! आदमले तपाईंलाई समस्याभित्र ल्याए तर ख्रीष्टले तपाईंलाई निकाल्न सक्नुहुन्छ! अनि तपाईं त्यहाँ उपस्थित नै नहुनुभएको हुनाले आदमले तपाईंको प्रतिनिधित्व गर्नु न्यायोचित थिएन भनेर यदि तपाईं भन्नुहुन्छ भने, एकछिन यसलाई विचार गर्नुहोस्: ख्रीष्टले तपाईंको प्रतिनिधित्व गर्नु कत्तिको न्यायोचित थियो? के एक पूरै निर्दोष मानिसलाई मृत्युदण्ड दिइनु न्यायोचित थियो? तपाईंले गर्नुभएका पापका लागि उहाँलाई न्याय गरिनु के न्यायोचित थियो? पवित्र परमेश्वरको न्याय र क्रोध तपाईंको सट्टामा उहाँमाथि खस्नु के न्यायोचित थियो? याद गर्नुहोस्, जे आदमले गरे त्यो तपाईंलाई घटेको सबभन्दा नराम्रो कुरा थियो तर जे ख्रीष्टले गर्नुभयो त्यो तपाईंलाई घटेको सबभन्दा राम्रो कुरा थियो!!

यो सिद्धान्त बुझ्नाले बाइबल तपाईंको लागि जिउँदो भएर आउँछ। जब तपाईं उत्पत्ति ३ मा आदमको पतनको अभिलेख पढ्नुहुन्छ, तपाईंले यो बुझ्नुहुन्छ कि त्यो कुनै ज्यादै परको कुरा होइन जसको तपाईंसित कुनै सरोकार छैन बरु एक वास्तविक अर्थमा तपाईं त्यहाँ हुनुहुन्थ्यो। आदम तपाईंको प्रतिनिधि भएकाले आदमले जे गरे त्यसमा तपाईं सहभागी हुनुभयो। आदमको पतनमा हामी सबैले पाप गर्यौं!

त्यसै गरी जब तपाईं क्रूसीकरणको अभिलेखहरू पढ्नुहुन्छ तपाईंले यो सम्झनुहुन्छ कि एक वास्तविक अर्थमा नै तपाईं त्यहाँ हुनुहुन्थ्यो। उहाँको मृत्यु तपाईंको मृत्यु बन्यो। उहाँको इतिहास तपाईंको इतिहास बन्यो (जसरी हामी रोमी ६ अध्यायमा देख्नेछौं)। ख्रीष्ट क्रूसमा टाँगिँदै गर्नुभएको कुरा जब म पढ्छु त्यो ज्यादै व्यक्तिगत कुरा हुन जान्छ किनकि म पनि त्यहाँ क्रूसमा टाँगिएँ (गलाती २:२०)। अनि परमेश्वरलाई धन्यवाद होस्, म उहाँसँगै त्यो चिहानबाट पनि निस्किआएको हुँ!

साथै रोमी ५:१२ ले विज्ञानसित विशेष गरी सृष्टिवाद कि क्रमविकासवाद भन्ने वादविवादसित सम्बन्धित एउटा कुरा पनि बताउँछ। यस पदले यो बताउँछ कि मृत्यु आदमको पापको परिणाम हो। मानिसको पापले पशु जगतलाई समेत असर गर्यो, अनि जसरी हामी रोमी ८:१९-२२ मा सिक्नेछौं जसअनुसार पशुहरू सुस्केरा हाल्दैछन्, मानिसको पापको कारणले गर्दा आइपरेको बन्धनबाट छुटकारा पाउनलाई। आदमको पतन अघि पशु जगतमा मृत्यु थिएन, त्यसैले मानिसको पतन हुनु अघि पशुका जीवशेषहरू हुन सक्दैनथे (जुन कुरा क्रमविकासवादको विपरित छ)। सृष्टिवादीहरू विश्वास गर्छन् कि अधिकांश जीवशेषहरू नूहका दिनहरूमा घटेको विश्वव्यापी जलप्रलयको समयमा बन्न गएका हुन्।

रोमी ५:१३-१४

यहाँ पावलको लेखन शैलीअनुरूप एउटा लामो उपवाक्य (parenthesis) सुरु हुन्छ जुन उपवाक्य पद १३ बाट सुरु भएर १७ मा समाप्त हुन्छ। तसर्थ, पद १२ पढेपछि एकछिनलाई बीचमा रहेको उक्त उपवाक्यलाई नाघेर पद १८ सित जोडेर पढ्नुपर्छ।

सम्म” — पावल यहाँ व्यवस्था दिइनुभन्दा अघिको कालखण्डलाई ध्यानमा राख्दैछन् (पद १३ मा हेर्नुहोस् — आदमदेखि मोशासम्मको कालखण्ड)। यो थियो मोशाअघिको, व्यवस्थाअघिको कालखण्ड (रोमी ४:१५ सित तुलना गर्नुहोस्)। आदमदेखि मोशासम्मको कालखण्डमा पाप र मृत्यु थियो तर अपराध थिएन। हुँदै नभएको व्यवस्थाको विरोधमा अपराध गर्न सकिन्न। पाप त थियो, जस्तै कयिनले हत्या गरेको थियो (उत्पत्ति ४), र जलप्रलयअघिको संसारमा दुष्टता थियो (उत्पत्ति ६:५)। संसारमा मृत्यु पनि थियो जुन कुरा उत्पत्तिको पाँचौं अध्यायले दर्शाउँछ।

हिसाब” गर्नु = गन्नु, ठान्नु। पाप त थियो तर व्यवस्था नआएसम्म त्यसलाई अपराध भनेर गनिएन (ठानिएन)। गलाती ३:१९ सित तुलना गर्नुहोस् (पापलाई अपराधको थप चरित्र दिनको निम्ति व्यवस्था दिइएको थियो ताकि पाप झनै पापपय देखियोस् — रोमी ७:१३)। आदमको पाप “अपराध” गनिएको थियो (पद १४) किनकि उनले परमेश्वरकै प्रकटित व्यवस्थालाई उल्लङ्घन गरे (उत्पत्ति २:१७)। मृत्युले आदमदेखि मोशासम्मै राजालै जस्तै शासन गर्यो (पद १४) यद्यपि मानिसहरूले आदमले जस्तै गरी अपराध गरेका थिएनन् (उनीहरूले आदमले जस्तै प्रस्टै प्रकट गरिएको आज्ञालाई तोडेका थिएनन्)।

यी दुई पदहरूमा पावलको मूल आशय यो हो कि मृत्यु सबै मानिसहरूमा फैलियो (पद १२), उनीहरूले पाप गरेकाले होइन, तर आदमले पाप गरेकोले। मानवजातिमा मृत्यु ल्याएको आदमको पापले थियो। आदमदेखि मोशासम्मका मानिसहरूले आदमले जस्तै पाप गरेका थिएनन् (आदमको पाप परमेश्वरबाटको प्रत्यक्ष आज्ञाको उल्लङ्घन थियो)। तरैपनि मृत्युले उनीहरूमाथि राज्य गर्यो, उनीहरूकै कामले गर्दा होइन, तर आदमको कामले गर्दा! आज हामी शिशुहरूको उदाहरण लिन सक्छौं जो मर्छन्। ती बच्चाहरू ठिक बेठिक केही जान्दैनन् तर तिनीहरू मर्छन्। यसले हामीलाई आदमको पापको विश्वव्यापी असरको सम्झना गराउँछ। उनको अपराधले गर्दा मृत्युदण्ड सबै मानिसहरूमाथि आइपर्यो।

आदम पछि आउनेवालाको एक “छायाँ” वा प्रतीक हुन्, अर्थात् येशू ख्रीष्टको (रोमी ५:१४)। आदम ख्रीष्टका एक प्रतीक हुन्। १ कोरिन्थी १५:४५ मा येशू ख्रीष्टलाई “आदम” भनिएको छ (“अन्तिम आदम”) र ख्रीष्टलाई पहिलो मानिस आदमको तुलनामा “दोस्रो मानिस” (१ कोरिन्थी १५:४७) पनि भनिएको छ। यी दुई मानिसलाई तुलना गर्दा हामी त्यहाँ समानता र भिन्नताहरू दुवै देख्छौं:

रोमी ५:१५

यस पदको “झन् बढ्ता गरी” लाई ध्यान दिनुहोस् (यस्तै अभिव्यक्ति रोमी ५ मा अरू ४ पटक भेटिन्छ। तिनलाई भेट्टाउन सक्नहुन्छ? पद ____ ____ ____ ____)

आदमले “बढी” गरे (खराबको निम्ति) तर ख्रीष्टले “झन् बढी” गर्नुभयो मानिसको आशिष र फाइदाको निम्ति। आदमको अपराधले धेरै मरे (simple past aorist tense)। आदमको पतनमा हामी सबले पाप गर्यौं, र आदमको मृत्युमा हामी सब मर्यौं!

अनुग्रहको दान” — यस सुन्दर अभिव्यक्तिलाई विचार गर्नुहोस्। मुक्ति/धर्मीकरण सित्तैंमा पाइन्छ तर यो सस्तो छैन। यो असीम मूल्यमा किनिएको थियो (१ कोरिन्थी १६:२०; १ पत्रुस १:१८-१९)।

आदमको अपराधले मानवजातिमा पतन र मृत्यु ल्यायो (“मृत्यु सबै मानिसहरूमा फैलियो”) तर क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको ख्रीष्टले प्रदान गर्नुहुने सित्तैंको दानले उक्त दान ग्रहण गर्ने जतिमा क्षमा र जीवन ल्याउँछ। आदमको अपराधले गर्दा सबै मानिस मरे (पद १५ — “धेरै” को माने “सबै” हुन सक्ने एउटा महत्त्वपूर्ण उदाहरण यो हो) तर ख्रीष्टको मृत्युद्वारा परमेश्वरको अनुग्रहको जीवनरूपी दान र धार्मिकता सबैलाई प्रदान गरिन्छ।

प्रशस्त” = चुलिएर पोखिनु, नापभन्दा बढी हुनु। यसले परमेश्वरको चुलिएर पोखिने, ज्यादै प्रशस्त परमेश्वरको अनुग्रहलाई जनाउँछ (दाँज्नुहोस् पद २०-२१)। तुलना गर्नुहोस् पद १२ — फैलियो”। पाप र मृत्यु सबै मानिसमा फैलियो। परमेश्वरको अनुग्रहको दान झन् बढ्ता गरी सबैमा चुलिएर पोखियो!

रोमी ५:१६

यस पदमा “एउटै अपराधबाट दण्डका आज्ञा” र “अनेकौं अपराधहरूबाट धर्मीकरण” को बीच तुलना गरिएको छ। आदमको एउटा अपराधबाट दण्डको आज्ञा आयो। यसलाई समाधान गर्न ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँलाई “अनेकौं अपराधहरू” बोक्नु आवश्यक पर्यो। आदमको एउटा अपराधले मानवजातिमा न्याय र दण्डको आज्ञा ल्यायो। जे ख्रीष्टले गर्नुभयो त्यो झन् ठूलो थियो किनकि उहाँले अनेकौं अपराधहरू मेट्ने उपाय गर्नुभयो। अल्भा म्याकलेनले यो उदाहरण दिन्छन्: एकजना मान्छे जङ्गलमा गएर एउटा काँटी सल्काउँछ र एउटा रूखलाई आगो लगाउँछ। यो त जसकसैले पनि गर्न सक्ने एउटा सानो काम हो। अब चाँडै सारा बन आगोले दन्किनेछ। मानौं एकजना आएर त्यो पूरै ढडेलोलाई निभाइदिए। के यो दोस्रो काम पहिलो भन्दा ठूलो, “झन् बढी” हुनेथिएन र? आदमको एउटा अपराधले मानवजातिको पूरै “बन” पतन भयो। ख्रीष्टको धर्मी कार्यले करोडौं करौडौं अपराधहरू चुक्ता गरिए र मेटिन सक्ने गरायो! ख्रीष्टले झन् बढी गर्नुभयो!

रोमी ५:१७

प्रशस्तता” शब्द पद १५ को “प्रशस्त भएको छ” सित सम्बन्धित छ। परमेश्वरको अनुग्रह ज्यादै प्रशस्त अनुग्रह हो र चुलिएर पोखिने अनुग्रह हो! यो सित्तैंको दान सबै मानिसहरूलाई प्रदान गरिएको छ तर हरेक मानिसको एउटा जिम्मेवारी छ। उसले त्यसलाई लिनुपर्छ अथवा ग्रहण गर्नुपर्छ! “पाउनेहरू” लाई “ग्रहण गर्नेहरू” भनेर अनुवाद गरिनुपर्छ जसरी यूहन्ना १:१२ मा गरिएको छ। “ग्रहण गर्नु” शब्द विश्वाससित सम्बन्धित शब्द हो (यूहन्ना १:१२ मा हेर्नहोस्)।

“यस दानको प्रशस्ततालाई जस-जसले “ग्रहण” गर्छन् उनीहरूले त्यसको साथमा धार्मिकताको दान प्राप्तगर्छन्। कस्तो दान यो! कामहरूबिना, व्यवस्थाबिना, रीतिबिना, योग्यताबिना, परमेश्वरबाटकै धार्मिकताको पूरापूर दान! यस खण्डलाई बाइबल क्लासहरूमा सिकाउँदा मैले धेरैपटक उनीहरूलाई तीन-तीन पटक यी दुई वाक्यांशलाई दोहोराउन लगाउने गरेको छु: “अनुग्रहको प्रशस्तता”, “धार्मिकताको दान”। त्यसो गर्न हामी तपाईंलाई जोडदार अनुरोध गर्छौं। गरेर हेर्नुहोस्।” (विलियम न्यूवेल, रोमी)

आदमको कारण मृत्युले राज्य गर्यो (अनगिन्ती कबरस्थानहरूले यसको गवाही दिन्छन्)। येशू ख्रीष्टिको कारण विश्वासीहरूले राज्य गर्छन् (अक्षरशः “राजाझैं राज्य गर्नेछन्!”)।

रोमी ५:१८

उपवाक्य अब समाप्त भएको छ र यस पदलाई पद १२ सित जोडेर पढ्नुपर्छ (अनि जहाँ वाक्य अर्थपूर्ण बनाउन अङ्ग्रेजी बाइबलमा आइटालिक्स (ढल्काइएको लिपि) द्वारा सङ्केत गरी शब्द थपिएको छ त्यहाँ “दण्डको आज्ञा” थप्नुको सट्टा “मृत्यु” उपयुक्त होला)।

“एकजनाको धार्मिकताद्वारा” = एकजनाको धर्मी कामद्वारा (अर्थात् क्रूसमा मर्ने ख्रीष्टको धर्मी काम)।

सित्तैंको दान सबै मानिसमाथि आयो (ख्रीष्टको क्रूसको काम सम्पूर्ण मानव जातिको निम्ति गरिएको थियो) तर दुःखको कुरा सबै मानिसहरूले त्यो ग्रहण गर्दैनन् (पद १७)। क्याल्भिनले यसरी भने,

“उहाँले यो निगाह सबैका लागि साझा बनाइदिनुहुन्छ, किनकि यो सबैका लागि विचारयोग्य छ, किनकि वास्तवमा यो सबैकहाँ सम्म तन्काइएको छ (अर्थात् उनीहरूको अनुभवमा); किनकि यद्यपि ख्रीष्ट सारा संसारको पापका निम्ति दुःख भोग्नुभयो, अनि यद्यपि परमेश्वरको भलोपनले सबैलाई बिना पक्षपात प्रदान गरिएको छ, तरैपनि सबैले यसलाई ग्रहण गर्दैनन्।” (टिप्पणी: क्याल्भिनले यहाँ ख्रीष्ट सबै मानिसहरूका

रोमी ५:१९

“बनिए” = भए, त्यस बनोटका भए; आदममा हुनेहरू सबै पापी हुन्छन्; ख्रीष्टमा हुनेहरू सबै धर्मी हुन्छन्। जन्मले हामी आदममा छौं; नयाँ जन्मले हामी ख्रीष्टमा छौं।

“एकजनाको आज्ञापालनद्वारा” — यसले उहाँको साधारण रूपमा रहेको आज्ञाकारी जीवनलाई जनाउँदैन, तर उहाँ क्रूसमा आज्ञापालनस्वरूप जानुभएको कुरालाई जनाउँदछ (फिलिप्पी २:८; मत्ती २६:४२; र हिब्रू ५:८ सित तुलना गर्नुहोस्)। आदमको अनाज्ञाकारिताको सवाल एउटा रूखमा केन्द्रित थियो (उत्पत्ति २:१६-१७) र ख्रीष्टको आज्ञापालनको काम एउटा रूखमै केन्द्रित थियो (१ पत्रुस २:२४)।

रोमी ५:२०

“आयो” = साथमा हुन आयो। व्यवस्था किन साथमा हुन आयो? व्यवस्थालाई किन थपियो (तुलना गर्नुहोस् गलाती ३:१९)? “अपराध प्रशस्तै होस् भनेर”। व्यवस्थाले पापलाई झनै नराम्रो देखिने बनाउँछ! व्यवस्थाले पापलाई अपराधरूपी थप चरित्र दिलाउँछ र पापलाई झनै पापमय देखिने बनाउँछ (तुलना गर्नुहोस् रोमी ७:१३)। एउटा ठूलो देख्ने गराउने शीशा (magnifying glass) लाई विचार गर्नुहोस् र “प्रशस्तै हुनु” को सट्टामा “ठूलो देखिनु” प्रतिस्थापन गर्नुहोस्: “अनि अपराध ठूलो देखियोस् भनेर व्यवस्था आयो; तर जहाँ पाप ठूलो देखियो त्यहाँ अनुग्रह झन् बढी ठूलो देखियो!” व्यवस्थाले पापलाई ठूलो देखाइदिन्छ। पापले अनुग्रहलाई ठूलो देखाइदिन्छ! परमेश्वरको अनुग्रह पापको कालो पृष्ठभूमिको विरुद्धमा सबभन्दा उज्यालो गरी चम्कन्छ। “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो!” परमेश्वरले आफ्नो विश्व-सृष्टिमा किन पापलाई प्रवेश गर्ने अनुमति दिनुभयो? एउटा कारण (अरू पनि छन्) यो हो कि यसले उहाँलाई आफ्नो अनुग्रहको झन् बढी” लाई प्रकट गर्ने मौका दियो। जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन् बढी प्रशस्त भयो! जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह पूरै चुलिएर पोखियो!

रोमी ५:२१

यस खण्डको सुरुमा पाप र मृत्युले राज्य गर्दै थियो; अब अनुग्रहले राज्य गर्दैछ! “जसरी पापले राजाले झैं मृत्युद्वारा शासन गरेथ्यो, त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा जीवनका निम्ति हाम्रा प्रभु येशू ख्रीष्टद्वारा राजाले झैं शासन गर्न गरोस्।” यस पदले परमेश्वरको महान् लक्ष्यलाई प्रकाश पार्छ: जहाँ मृत्युले आफ्नो राज्य स्थापना गरेको थियो त्यहाँ अनुग्रहले आफ्नो राज्य स्थापना गरोस्: अनि त्यो काम, अवश्य पनि, धार्मिकताद्वारा पूरा गरोस्, — अर्थात्, सर्वप्रथम ईश्वरीय मागहरू धार्मिकतापूर्वक क्रूसमा पूरा गरियोस्, अनि यसरी सबै कुरा “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा” हुन सकोस्।” — विलियम न्यूवेल। यसरी रोमीको आखिरी खण्डको विषय यो हो: आदमको अपराधद्वारा दण्डको आज्ञा, र ख्रीष्टको धर्मिकताको काम गर्ने मृत्युद्वारा धर्मीकरण।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी ५:१-११

रोमी ५:१-११

 

रोमी अध्याय ५

रोमी ५:१

रोमी ४:२५ को एउटा चाबी शब्द (“धर्मीकरण”) पाँचौं अध्यायको पहिलो पदसित जोडिन्छ भन्ने कुरालाई ध्यान दिनुहोस् (“धर्मी ठहरिएका हुनाले”)। “यसकारण” भन्ने शब्दले यसअघि उल्लेखित कुराहरूलाई इङ्गित गर्दैछ। अहिलेसम्म पावलले रोमीको पुस्तकमा निम्न कुराहरू देखाइसकेका छन्…

धर्मीकरणको खाँचो – सबै मानिसहरू परमेश्वरका सामु पापी र दोषी छन् (रोमी १-३)

धर्मीकरणको उपाय – ख्रीष्टको उद्धारकारी क्रूसको कार्यको आधारमा विश्वासद्वारा अनुग्रहले (रोमी ३:२४-२८)

धर्मीकरणको उदाहरण – अब्राहामको उदाहरण (रोमी ४)

पाँचौं अध्यायबाट नयाँ खण्डको सुरुआत हुन्छ। पावलले अब धर्मीकरणका केही उपलब्धीहरू बताउन थाल्छन् (रोमी ५:१-११)। धर्मीकरण परमेश्वरको सित्तैंको वरदान हो (रोमी ५:१८) र यो मुक्ति-प्राप्तिको घडीमा एउटै सिङ्गो उपहारको रूपमै प्राप्त गरिएको सँगालोको साथसाथै प्राप्त गरिन्छ। रोमी ५:१ मा पावल यो चाहन्छन् कि हामीले उक्त उपहारको सँगालोलाई खोलेर हेरौं र त्यसभित्र भएका केही उपलब्धीहरू र आशिषहरूलाई देख्न सकौं! एकदुईटा उदाहरणहरू यस प्रकार छन्…

रोमी ५:१ – हामीले परमेश्वरसित शान्ति पाएका छौं

रोमी ५:२ – हामीले अनुग्रहमा ओहोदा र प्रवेश पाएका छौं

रोमी ५:११ – हामीले मिलाप पाएका छौं

यी सबै आशिषहरू र उपलब्धीहरूको कारणले गर्दा यहाँ ढुक्कसाथ गर्व र आनन्द गर्ने प्रशस्त ठाउँ छ: रोमी ५:२ — “हामी आनन्द मनाउँछौं”; रोमी ५:३ — “हामी आनन्द मनाउँछौं”; रोमी ५:११ – “हामी आनन्द मनाउँछौं”। यी तीनै ठाउँमा एउटै ग्रीक शब्द प्रयोग भएको छ। उक्त क्रियापदको माने हो, “गर्व गर्नु, घमन्ड गर्नु, गर्वसित आनन्द मनाउनु।” उहाँको अनुग्रहले हाम्रा भएका परमेश्वरका आशिषहरूका निम्ति हामीले धेरै गर्व गर्न सक्छौं! हामी एक महान् परमेश्वरमा गर्व गर्छौं र घमन्ड गर्छौं!

कोहीकोही “दोस्रो आशिष” वा “अनुग्रहको दोस्रो काम” पाउनु आवश्यक छ भन्छन्। उनीहरू मुक्तिपछि एउटा अनुभव पाउनुपर्छ भन्छन् जसलाई उनीहरू अन्यभाषा वा “आत्माको बप्तिस्मा” भन्छन्। यसको जवाफ निम्न बुँदाहरूले दिन्छ:

१. धर्मीकरणसित पाइने आशिषहरू विश्वासद्वारा धर्मी ठहरिएका जति सबैका निम्ति हुन्।

२. ख्रीष्टमा भएको विश्वासी जन स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशिषित बनाइसकिएको छ (एफेसी १:३)। विश्वासीलाई ख्रीष्टमा पाइने एउटै कुराको पनि घटी छैन। यदि कसैसित ख्रीष्ट हुनुहुन्छ भने (१ यूहन्ना ५:११-१२; हिब्रू १३:५) उसलाई कुनै कुराको घटी छैन।

३. विश्वासी ख्रीष्टमा धनवान् बनाइएको छ भन्ने कुरा १ कोरिन्थी १:५ बाट सिक्न सकिन्छ (शारीरिक कोरिन्थीहरूको सवालमा पनि यो कुरा सत्य नै थियो)। हामी यदि ख्रीष्टमा धनवान् भइसकेका छौं भने (२ कोरिन्थी ८:९) हामीलाई दोस्रो आशिष किन चाहियो?

४. विश्वासी जन ख्रीष्टमा पूर्ण छ (कलस्सी २:९ सित १:१९ लाई दाँज्नुहोस्)।

५. उहाँले मेरो निम्ति आफ्नै पुत्रलाई समेत बाँकी नराखीकन त्यसको साथसाथै मलाई सबै कुराहरू सित्तैंमा दिनुभएको छ भनेर बाइबलले सिकाउँछ (रोमी ८:२१)। म आशिषित भएको छु र साँच्ची नै आशिषित भएको छु!

यदि ख्रीष्टमा हामीले सबै आत्मिक आशिषहरू पाइसकेका छौं भने हामीलाई कुन कुराको घटी छ र?

विश्वासीहरूले दोस्रो आशिष नपाउनु खास समस्या होइन। बरु विश्वासीहरूले आफूहरू ख्रीष्टमा कति आशिषित छौं भन्ने कुरा महसुस नगर्नु चाहिँ खास समस्या यो हो। उनीहरू आफ्ना धनलाई दाबी गर्दैनन् र आफ्न सम्पत्तिलाई आफ्नो बनाउँदैनन्। राजाका छोराछोरीहरू खातेजस्ता भएर जिउन छाड्नुपर्छ।

पावलले रोमी ५ अध्यायमा नआइपुगेसम्म मुक्तिका आशिषहरूलाई प्रस्तुत नगर्नु उल्लेखनीय कुरा छ। पावलले सुसमाचार (रोमी १-४) खाँचोको आधारमा प्रस्तुत गरे, आशिषहरूको आधारमा होइन। हराएकाहरूले उनीहरूलाई मुक्तिदाताको किन खाँचो छ भनेर जान्नैपर्छ। आफ्नो भयङ्कर खाँचो जब उनीहरूले देख्छन् र मुक्तिदाताकहाँ आउँछन् तब तिनीहरूले मुक्तिसित पाइने सबै आशिषहरूलाई बुझ्न थाल्नेछन् (रोमी ५)। धेरैपटक सुसमाचारलाई हराएकासामु सक्दो आकर्षक बनाउने प्रयास गरिन्छ र उसले ख्रीष्टमाथि भरोसा गर्यो भने उसले कति उदेकका आशिषहरू पाउनेछन् भनी बताइन्छ: “तपाईंले प्रभुमाथि विश्वास गर्नुभयो तपाईंले परमेश्वरसित मिलाप पाउनुहुनेछ!” तर यहाँ समस्या यो छ कि उसले परमेश्वरसित मिलाप पाउनुपर्ने खाँचो देख्दैन। उसलाई पवित्र शास्त्रबाट यो देखाइनुपरेको छ कि उसको पापी अवस्थामा ऊ परमेश्वरको शत्रु हो, कि उसले विद्रोहमा परमेश्वरसित युद्ध गर्दैछ अनि यो कि स्वर्गबाट उसको विरुद्धमा परमेश्वरको क्रोध प्रकट भएको छ (हेर्नुहोस् रोमी १:१८; ५:१० आदि)। फाइदाको आधारमा नभई खाँचोको आधारमा सुसमाचार प्रस्तुत गर्नुपर्छ भन्ने कुराको महत्त्व बारे यस अध्ययन टिप्पणीको पहिलो अध्यायमा हेर्नुहोला।

धर्मी ठहरिएका हुनाले = धर्मीकरणको काम विश्वासीको जीवनमा चलिरहने एउटा प्रक्रिया होइन; यो त तपाईंले मुक्ति पाएकै घडीमा पूरा भएको एउटा काम हो।

तपाईं विश्वासद्वारा धर्मी ठहरिनुभएकोले परमेश्वरसित तपाईंले मिलाप पाउनुभएको छ। परमेश्वरसितको मिलाप प्रत्येक विश्वासीसित भएको कुरा हो! मेरो र परमेश्वरबीच भएको पहिलेको शत्रुता अब सधैंका लागि बितेर गइसकेको छ! युद्ध टुङ्गियो! म आफ्ना सृष्टिकर्तासित मिलापमा छु र उहाँले मलाई पूरै ग्रहण गर्नुभएको छ। म को हुँ वा मैले के गरेको छु भन्ने कुनै पनि आधारमा म ग्रहणयोग्य हुन गएको होइन। तर येशू ख्रीष्ट को हुनुहुन्छ र उहाँले के गरिदिनुभएको छ (एफेसी १:६-७) भन्ने आधारमा नै म ग्रहणयोग्य हुन गएको हुँ। परमेश्वर आफ्नो प्रिय पुत्रसित अति प्रसन्न हुनुहुन्छ (मत्ती ३:१७) अनि परमेश्वर मसित अति प्रसन्न हुनुहुन्छ किनकि म उहाँको प्रिय पुत्रमा अवस्थित छु (एफेसी १:६ — “ग्रहणयोग्य” भनेको “ज्यादै अनुग्रहित”)। दुःखको कुरा, यस ग्रहणयोग्य बनाइएको कुरालाई प्रायः विश्वासीहरूले परमेश्वरको वचनलाई नपत्याएको पाइन्छ। सब कुरा राम्ररी चलिरहेको बेलामा र परमेश्वरले आशिष दिरहनुभएको जस्तो देखिँदा परमेश्वरले उनीहरूलाई ग्रहण गर्नुभएको छ भन्ने उनीहरूलाई लाग्दछ। तर कतै ठेस खान पुग्दा र सब कुरा गाह्रो र साह्रो भएझैं लाग्दा, उनीहरूलाई लाग्छ परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्न र ग्रहण गर्नुहुन्न। यो कसरी हुन सक्छ? परमेश्वरको सामु हामीलाई सिफारिश गराउन सक्ने कुरा हामीसित एउटै छैन। हामी ग्रहणयोग्य बनेको ख्रीष्ट येशूमा हो, आफैमा होइन। परमेश्वरले हामीलाई केवल अनुग्रहले उहाँको पुत्रमा ग्रहण गर्नुभएको छ, अनि हामीले यसै तथ्यलाई आफ्नो विश्वासको आधार बनाउनुपर्छ।

मेरो र परमेश्वरको बीचमा बिगतमा रहेको शत्रुतालाई म कहिल्यै नभुलूँ। निम्न गम्भीर पदहरूलाई ध्यानपूर्वक विचार गर्नुहोस्:

रोमी १:१८ (मेरो विरोधमा परमेश्वरको क्रोध थियो)

रोमी २:२ (मेरो विरोधमा परमेश्वरको न्याय थियो)

भजनसङ्ग्रह ५:५ (परमेश्वर मलाई घृणा गर्नुहुन्थ्यो)

भजनसङ्ग्रह ७:११(परमेश्वर दिनहुँ मसित रिसाउनुहुन्थ्यो)

हितोपदेश १५:८ (मैले प्रायस गरेका असल र धार्मिक काम समेत परमेश्वरलाई पूरै अस्वीकारयोग्य थिए)

रोमी ८:८ (परमेश्वरलाई खुसी पार्न उद्धाररहित व्यक्तिले गर्न सक्ने एउटै कुरा छैन)

हो, मेरो दुष्ट कामहरूले (कलस्सी १:२१) म परमेश्वरको शत्रु थिएँ (रोमी ५:१०)। दुष्टलाई कुनै शान्ति हुँदैन (यशैया ४८:२२; ५७:२०-२१)।

परमेश्वरसित मिलाप (शान्ति) एउटा मात्र उपायले सम्भव भयो — क्रूसद्वारा(हेर्नुहोस कलस्सी १:२०-२१ र एफेसी २:१३-१८)।

मेरो विरोधमा हुनुभएको परमेश्वर (रोमी १:१८; २:२) अब मेरो विरोधमा हुनुहुन्न भन्ने जानेर म कति धन्यवादी हुनुपर्ने हो (रोमी ८:३१)। उहाँ मेरो पक्षमा हुनुहुन्छ (भजनसङ्ग्रह ११८:६)!

परमेश्वरसितको शान्ति (मिलाप) हरेक विश्वासीको आशिषमय हिस्सा हो। परमेश्वरको शान्ति (फिलिप्पी ४:७) फरक कुरा हो।

फिलिप्पी ४:७ मा बयान गरिएको परमेश्वरको शान्ति अनुभव गर्न विश्वासीले फिलिप्पी ४:६ का शर्तहरू पूरा गर्नुपर्ने हुन्छ। शर्तहरू यस प्रकार छन्: १) कुनै कुराको फिक्री नगर्नु; २) प्रार्थना = परमेश्वर को हुनुहुन्छ भन्ने आधारमा उहाँकहाँ जानु; ३) विन्ती = मेरो जीवनको निश्चित खाँचोको आधारमा एक निश्चित माग (जुन कुराले मलाई फिक्री लाग्दैथियो); ४) धन्यवाद = परमेश्वरले आफ्नै तरिकामा र आफ्नै समयमा समस्याको समाधान गर्नुहुन्छ भनेर धन्यवाद दिनु। यी चारओटा काम गरियो भने यसको प्रतिफल परमेश्वरको शान्ति हुनेछ। साथै यूहन्ना १४:२७ मा बताइएको ख्रीष्टको शान्तिको वरदानलाई पनि यहाँ उल्लेख गर्दछौं जसले गर्दा विचलित संसारको बीचमा हामीसित अविचलित हृदय हुनु सम्भव छ (दाँज्नुहोस् यूहन्ना १६:३३)। के हामी ख्रीष्टले हामीलाई दिनुभएको वरदानमा रमाउँदैछौं?

साथै ओहोदामा ग्रहणयोग्य हुनु र अनुभवमा ग्रहणयोग्य हुनु बीचको भिन्नता (अथवा ओहोदा र अवस्थाको बीचको भिन्नता) लाई पनि बुझ्नु आवश्यक छ। ख्रीष्टमा हामी ओहोदामा राखिएको हुनाले ग्रहणयोग्य भएका छौं र परमेश्वर हामीसित सधैं प्रसन्न हुनुहुन्छ किनकि हामी उहाँको प्रिय पुत्रमा राखिएका छौं (मत्ती ३:१७ लाई एफेसी १:६ सित तुलना गर्नुहोस्)। तर हाम्रो वास्तविक अवस्थामा (संसारमा हामी प्रभुसित हिँड्दाहुँदीको हाम्रो वास्तविक अनुभवमा) हामीले कि त प्रभुलाई खुसी पारिरहेका हुन्छौं कि त बेखुसी पारिरहेका हुन्छौं (हेर्नुहोस् २ तिमोथी २:४; १ थेस्सलोनिकी ४:१; गलाती १:१०; १ यूहन्ना ३:२२; कलस्सी १:१०; ३:२०; रोमी १२:२; एफेसी ५:१०; २ कोरिन्थी ५:९; १ कोरिन्थी ७:३२)। चाबी पद हिब्रू ११:५-६ ले यो बताउँछ कि हामीले परमेश्वरलाई खुसी पार्ने विश्वासद्वारा हो। साथै रोमी ८:८-९ सित पनि तुलना गर्नहोस् जहाँ यो दर्शाइएको छ कि हामी परमेश्वरलाई तबमात्र खुसी पारेका हुन्छौं जब हामी आत्मामा हिँड्दछौं (दाँज्नुहोस् गलाती ५:१६)। यसरी त्यहाँ विभिन्न पदहरूले हामी अनुभवमा ग्रहणयोग्य हुने भन्ने बारेमा (अर्थात् विश्वासमा हामी दिनदिनै हिँडेर र पवित्र आत्माको भरमा हिँडेर हामीले परमेश्वरलाई खुसी पार्नुपर्छ भन्ने बारेमा) बताउँछन्, तर हामी ओहोदामा ग्रहणयोग्य भइसकेको कुराको महत्त्वलाई कहिले सानो ठान्नुहुँदैन। धेरै विश्वासीहरू उनीहरू पिताको निम्ति ख्रीष्टमा प्रसन्न तुल्याउने र पूर्णरूपमा ग्रहणयोग्य भइसकेका छन् भन्ने कुरा जान्दैनन् र विश्वास गर्दैनन् र ठान्दैनन्। जति हामी ओहोदामा ग्रहणयोग्य भएका छौं भन्ने कुरामा विश्वासैद्वारा भर पर्छौं उति नै हामी हाम्रो दिनदिनको हिँडाइमा परमेश्वरलाई खुसी पार्न स्वतन्त्र हुनेछौं।

रोमी ५:२

उहाँद्वारा = ख्रीष्टद्वारा हामीले शान्ति (“मेलमिलाप”) पाएका छौं (पद १) र ख्रीष्टद्वारा हामीले प्रवेश पाएका छौं। प्रवेशको ग्रीक शब्दको शाब्दिक माने हुन्छ, “डोर्याउने वा कसैको सामु ल्याउने काम”। परमेश्वरले हामीलाई उहाँकै सामु उहाँकै उपस्थितिभित्र डोर्याउनुहुन्छ र ल्याउनुहुन्छ! ख्रीष्टले यो सम्भव गराउनुभयो (एफेसी २:१३-१८; हिब्रू १०:१९-२०) अनि हामी आउन सक्ने केवल उहाँद्वारा मात्र हो (यूहन्ना १४:६)। परमेश्वरले विश्वासीलाई उहाँको उपस्थितिमा साहससित आउनलाई आज्ञा गर्नुहुन्छ (हिब्रू ४:१६; १०:१९,२२)!

संसारमा राजा वा राष्ट्रपति वा अन्य “महत्त्वपूर्ण” व्यक्तित्वको “दर्शनभेट” गर्न ज्यादै कठिन वा असम्भव नै हुन्छ। तर राष्ट्रपतिको छोराको विशेष अधिकार हुन्छ र ऊ उसको कार्यालयभित्र सिधै छिर्न सक्छ। परमेश्वरको सन्तानको हैसियतले विश्वासी पनि आफ्नो पवित्र, स्वर्गीय पिताकै सम्मुखमा कुनै पनि समय कुनै पनि ठाउँमा आउन सक्छ र राजाहरूका राजासित दर्शनभेट गर्न सक्दछ।

पुरानो नियमका दुईटा उदाहरणहरूबाट हामीले पाएको यस प्रवेश कति ठूलो विशेषाधिकार हो र कति ठूलो आशिष हो भन्ने कुरा देख्न सक्छौं: १) सिनाई पर्वतको सामु इस्राएलका सन्तान — पवित्र परमेश्वरले सिनाई पर्वतमा आफ्नो पवित्र व्यवस्था दिनुहुँदा मानिसहरूलाई प्रवेश दिइएन। उनीहरूलाई टाढा बस्न भनियो र धेरै नजिक नजान चेतावनी दिइयो (प्रस्थान १९:१२-१३,१६,१८,२१-२४); २) भेट हुने पालको सामु इस्राएलका सन्तान — परमेश्वरले महापवित्रस्थान (भेट हुने पालभित्रको पर्दापछाडिको सबभन्दा भित्री कोठा) को कृपाआसनमाथि विशेष रूपमा आफ्नो महिमा र उपस्थितिलाई प्रकट गर्नुभयो। इस्राएलको सन्तानलाई कस्तो किसिमको पहुँच (प्रवेश) दिइयो? उनीहरूलाई दिइएको प्रवेश ज्यादै सीमित थियो! त्यस ठाउँमा एकजना मात्र पस्न पाउँथ्यो र ऊ वर्षको एक पटक मात्र पस्न पाउँथ्यो (हिब्रू ९:७)! आज कति फरक छ! ख्रीष्टले पूरा गर्नुभएको कामले गर्दा त्यो पर्दा च्यातिएको छ (मत्ती २७:५१) र विश्वासीहरू “महापवित्रस्थान” भित्र (हिब्रू १०:१९) पस्न पाउँछन्। हामीलाई असीमित प्रवेश छ (हिब्रू ४:१६; १०:१९-२०)। के हामी यसको फाइदा लिँदैछौं?

यही अनुग्रहभित्र हामी खडा छौं” — एक व्यक्ति धर्मी ठहिरिसकेको छ भने (रोमी ५:१), ऊ असल ठाउँमा खडा छ! उसको ओहोदा राम्रो छ। विश्वासीहरूले अनुग्रहमा सुन्दर ओहोदा पाएका छन्! परमेश्वरको निगाहभित्र उनीहरू खडा छन्। “हामी खडा छौं” भन्ने क्रियापद पूर्णकालमा (perfect tense) छ जसको माने हामी अनुग्रहभित्र खडा छौं र हामी अनुग्रहभित्र खडा भइरहन्छौं र यो खडा हुवाइ (ओहोदा) कहिल्यै बदलिँदैन! पवित्र परमेश्वरको उपस्थितिभित्र एकजना पापी कसरी खडा हुन सक्छ र उहाँको भलाइको भागीदार कसरी हुन सक्छ? केवल अनुग्रहले मात्र हो (हेर्नुहोस् भजनसङ्ग्रह १३०:३-४; भजनसङ्ग्रह १०३:१०)। हामी परमेश्वरको सामु खडा हुन सक्छौं किनभने उहाँको अनुग्रहमा र ख्रीष्टले पूरा गर्नुभएको कामको आधारमा प्रभुले हामीसित पापको हिसाब माग्नुहुन्न (रोमी ४:८)। यदि परमेश्वरले पापको हिसाब लिने हो भने अवश्य पनि हामीमध्ये कोही पनि खडा हुन सक्ने थिएनौं (भजनसङ्ग्रह १३०:३; भजनसङ्ग्रह १:५-६)!

आनन्द = गदगद हुनु, गर्वसित हर्षित बन्नु। यो शब्द यही अध्यायको दुईटा ठाउँमा छ (पद ३ र पद ११)।

आशा = यो शब्दले कुनै भविष्यको कुरालाई जनाउँछ, भविष्यको प्रतीक्षा (हेर्नुहोस् रोमी ८:२४)। नेपालीमा “आशा” ले अनिश्चयताको अर्थ बोकेको हुन्छ (“आज मौसम उघ्रेला कि भन्ने आशा गरेको छु”; “आज विदेशबाट छोराको फोन आउला कि भनेर आशा गरेको छु”)। नयाँ नियममा “आशा” शब्दले निश्चयताको अर्थ बोकेको हुन्छ किनभने जब परमेश्वरले भविष्यमा कुनै कुरा हुनेछ भनेर भन्नुहुन्छ त्यो कुनै शङ्का बिना हुने नै छ भनेर हामीले प्रतीक्षा गर्न सक्छौं। यसको एउटा उदाहरण हो तीतस २:१३ — “धन्यको आशा” (खुशीको प्रतीक्षा)। ख्रीष्टको आगमन सम्बन्धी कुनै अनिश्चयता छैन (यूहन्ना १४:२-३) केवल हामीलाई उक्त घडी थाहा छैन। उहाँ आउनुहुन्छ भन्ने कुरामा हामी निश्चित छौं तर उक्त भव्य घटना कहिले हुनेछ भन्ने कुरामा हामी निश्चित छैनौं।

परमेश्वरको महिमा — यो चाहिँ भविष्यको कुरा हो जसको प्रतीक्षामा विश्वासी जन पर्खिरहेको छ। विश्वासीको एउटा महिमित भविष्य छ जसलाई परमेश्वरले ठहराउनुभएको छ उसको निम्ति र तयार पार्नुभएको छ (दाँज्नुहोस् १ कोरिन्थी २:९-१०)। विश्वासीको महिमाकरण निम्न खण्डहरूमा देखिन्छ: रोमी ८:१८; ८:३० (त्यो यति पक्का छ कि परमेश्वरको दृष्टिकोणबाट हेर्दा त्यो भई पनि सक्यो!); २ कोरिन्थी ४:१७; १ पत्रुस १:११; ४:१३; ५:१०; १ यूहन्ना ३:१-२; इत्यादि।

रोमी ५:३

हामी आनन्द मनाउँछौं, आफ्नो भविष्यको आशा (पद २) को खातिर मात्र होइन, तर हाम्रा सङ्कष्टहरूले धैर्य उत्पन्न गर्दछ भन्ने वर्तमान निश्चयताको खातिर पनि आनन्द मनाउँछौं (पद ३)। सङ्कष्ट एउटा अमिल्दो कुरा होइन बरु त्यो आफ्ना जनहरूका निम्ति परमेश्वरको प्रेमिलो योजनामा रहेको कुरा हो।

सङ्कष्टहरू= दबाउने कुराहरू, कष्टहरू, हामीलाई निचोर्ने जीवनका दुःखहरू, परीक्षाहरू, समस्याहरू, कठिनाइहरू, आदि। हेर्नुहोस् यूहन्ना १६:३३; प्रेरित १४:२२ र १ थेस्सलोनिकी ३:३-४ (सङ्कष्टहरू आइपर्ने कुरा नै हुन्)। विश्वासी जन सङ्कष्टमा किन रमाउँदछ? किनभने उसलाई एउटा कुरा थाहा छ! उसलाई थाहा छ कि सङ्कष्टले धैर्य उत्पन्न गर्छ।

धैर्य = यसको शाब्दिक माने “मुनि रहिरहरनु, बसिरहनु”। तसर्थ यसको माने कठिनाइहरूका बीचमा सहनशील हुनु, थेगिरहनु, मुनि बसिरहनु, समस्याका बीचमा “धन्यवाद” भन्नु। परीक्षाका बीच धैर्यतापूर्वक सहने भन्ने बुझिन्छ। परीक्षा र समस्याहरूले विश्वासीलाई झन् बलियो बनाउनुपर्छ। दबाउने कुराहरूले हामीलाई प्रभु येशू ख्रीष्टभित्र झन् दबिने बनाउनुपर्छ र फलस्वरूप हामीले उहाँको अनुग्रहको पूरा प्रशस्तता जान्न सकौं। दाँज्नुहोस रोमी १२:१२। हरेक परिस्थितिमा ख्रीष्ट प्रशस्त हुनुहुन्छ!

रोमी ५:४

खारिएको गुण — योचाहिँ “जाँच्नु” भन्ने शब्दबाट आएको हो। परमेश्वरले किन हामीलाई सङ्कष्ट पठाउनुहुन्छ? उहाँले हामीलाई जाँच्दै हुनुहुन्छ! परमेश्वरले अब्राहामलाई आफ्नो छोरा किन बलिदान चढाउन लाउनुभयो (उत्पत्ति २२)? उहाँले उसको विश्वास जाँच्दैहुनुहुन्थ्यो! हाम्रो विश्वासको जाँच एउटा बहुमूल्य कुरा हो (१ पत्रुस १:७)। प्रत्येक परीक्षा र कठिनाइ प्रभुमा भरोसा गर्ने र उहाँ विश्वासयोग्य र प्रशस्त हुनुहुन्छ भनेर पत्ता लगाउने अपूर्व अवसर हो। “खारिएको गुण” शब्दले “जाँचिएको” भन्ने माने बोकेको छ। यसको आशय हो: हामी जाँचिन्छौं मात्र होइन (परमेश्वरले आउन दिनुभऐका सङ्कष्टहरूले) तर हामी जाँच पास पनि गर्छौं (जसरी अब्राहामले गरे उत्पत्ति २२ मा)। “खारिएको गुण” शब्दले “प्रमाणित चरित्र” भन्ने आशय बोकेको छ अथवा “जाँचेर प्रमाणित” वा “जाँचेर प्रमाणित भएको चरित्र”। यसले त्यो व्यक्तिलाई जनाइरहेको छ जसले उसको अग्निमय परीक्षा सफलतापूर्वक सहेको छ। उसले सिकेको छ कि परमेश्वरको अनुग्रहले उसले सहन सक्छ। “सङ्कष्टको बीचमा मैले परमेश्वरमाथि भरोसा गरेको छु र परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनेर मैले पत्ता लगाएको छु!”

खारिएको गुणले आशा [उत्पन्न गर्छ] — चक्र पूरा भएको छ! पद २ मा हामी “आशा” बाट सुरु गरेका थियौं र पद ४ मा हामी “आशा” मै फर्केर आइपुगेका छौं। उदाहरण: एक जवान पर्वतारोही पहिलो प्रयासमा सफल हुन्छ। यसले उसलाई आशा दिन्छ: “म फेरि पनि सक्छु!” जीवनका हरेक उकालीमा परमेश्वरको विश्वासयोग्यता अनुभव जब गर्छौं यसले हाम्रो हृदयमा एउटा निश्चयताको प्रतीक्षा उत्पन्न गर्दछ जसले भन्दछ, “म उहाँकहाँ नपुगुन्जेल परमेश्वर विश्वासयोग्य भइरहनुहुनेछ!”

रोमी ५:३-४ लाई दर्शाउने एउटा उदाहरण हो प्रेरित ७ मा स्टिफनसको:

  1. स्टिफनसले ठूलो विरोध र दबाबको सामना गर्दै थिए: सङ्कष्ट
  2. स्टिफनसले ठूलो धैर्य देखाए। उनी त्यसमा साहससित अडिग रहे: धैर्य (प्रेरित ७:५५)।
  3. स्टिफनसले उक्त परीक्षा भव्यसित परमेश्वरकै स्याबासीका साथ पास गरे: खारिएको गुण
  4. स्टिफनससित एउटा धन्यको आशा थियो (प्रेरित ७:५५)।

रोमी ५:५

“आशा” = भविष्यको प्रतीक्षा (पद २ र त्यस अन्तर्गतका टिप्पणीलाई हेर्नुहोस्)। मेरो भविष्यमा हुने मुक्ति र महिमाकरण पक्का छ! ख्रीष्टमा आशा राख्नेहरू कहिल्यै लज्जित वा निरुत्साहित हुनुपर्दैन। मुक्तिका तीन चरणलाई ध्यानमा राख्नुहोला– भूत, वर्तमान र भविष्य (दाँज्नुहोस् २ कोरिन्थी १:१० जहाँ परमेश्वरको महिमित छुटकारा तीन कालमा हुन्छन् भनेर देख्छौं)।

भूत – म पापको दण्डबाट बचाइएँ किनकि ख्रीष्टले मेरो निम्ति मृत्युदण्ड भोग्नुभयो (यसलाई भनिन्छ धर्मीकरण, JUSTIFICATION)।

वर्तमान – म पापको शक्तिबाट बचाइँदैछु र पापको शासनमुनि म रहनुपर्दैन (यसलाई भनिन्छ पवित्रीकरण, SANCTIFICATION — हेर्नुहोस् रोमी ६:१८,२२ “पापबाट स्वतन्त्र”)।

भविष्य – म पापकै उपस्थितिबाट बचाइनेछु (यसलाई भनिन्छ महिमाकरण, GLORIFICATION)

“आशा” भन्ने शब्दले मुक्तिको भविष्य-पक्षलाई औंल्याउँछ (हेर्नुहोस् रोमी ५:९-१० जहाँ यस भविष्य-पक्षलाई जोड दिइएको छ: “बचाइनेछौं”)। विश्वासी भएर म आफ्नो हृदयमा यो जान्न सक्छु कि मेरो भविष्यको मुक्ति पक्का छ र जुन परमेश्वरले मभित्र बचाउने काम सुरु गर्नुभयो उहाँले पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)! उहाँले जे सुरु गर्नुहुन्छ त्यो पूरा गर्नुहुन्छ (रोमी ८:२९-३०)! विश्वासीसित यस्तो निश्चयता र यस्तो प्रतीक्षा (आशा) कसरी हुन सक्छ? “किनभने परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ” (रोमी ५:५)।

“परमेश्वरको प्रेम” = यसले हामीले उहाँलाई गरेको प्रेमलाई नभएर हामीप्रति प्रकट गरिएको उहाँको प्रेम (पद ८) लाई जनाउँदछ। हुन त, यी दुई आपसमा सम्बन्धित कुरा हुन् (“हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो” — १ यूहन्ना ४:१९)। परमेश्वरको पवित्र आत्मा मेरो हृदयमा काम गर्नुहुन्छ अनि उहाँले मलाई उहाँको महान् प्रेमको निश्चयता दिनुहुन्छ (जुन क्रूसमा प्रकट गरियो — पद ६-१०)। यदि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भने यो पक्का छ कि उहाँले मलाई अन्तसम्म बोक्नुहुनेछ र मेरो मुक्तिको अन्तिम पूर्णतासम्म पुर्याउनुहुनेछ!

हामीलाई दिइनुभएको पवित्र आत्मा पवित्र आत्मा हरेक विश्वासीलाई परमेश्वरबाटको वरदान हुनुहुन्छ (हेर्नुहोस् यूहन्ना ७:३९; रोमी ८:९; १ कोरिन्थी ६:१९)। धर्मीकरणको एउटा उपलब्धी चाहिँ पवित्र आत्मा परमेश्वरको हामीभित्र अन्तरवास गर्नुहुने उपस्थिति हो। उहाँको एउटा सेवकाइ चाहिँ हामीलाई क्रूसमा प्रकट गरिएको हाम्रो मुक्तिदाताको प्रेमतर्फ औंल्याउनु हो र यस प्रेमलाई हाम्रो हृदयभित्र खन्याउनु हो (रोमी ५:५-१०)। यसपछिका पदहरूले हामीलाई कलवरीको क्रूसतिर हेर्न लाउँछन् र हामीलाई परमेश्वरको प्रेम र हाम्रो भविष्य र पूर्ण मुक्तिको सम्बन्धमा उक्त प्रेमको माने कस्तो छ भन्ने कुराको व्याख्या गर्छन्।

रोमी ५:६

कमजोर हुँदाखेरि — हाम्रो हराएको अवस्थाको गहकिलो वर्णन: एकदम कमजोर, शक्तिहीन, असहाय। आफूलाई बचाउन वा आफ्नो हराएको अवस्थालाई बदल्न हामीले गर्न सक्ने एउटै कुरा थिएन। हामीलाई एक सामर्थी मुक्तिदाताको खाँचो थियो!

ठिक समयमा = दाँज्नुहोस् गलाती ४:४-५। हाम्रो उद्धाररहित अवस्थालाई परमेश्वरले गर्नुभएको बयानलाई ध्यान दिनुहोस्: भक्तिहीन (पद ६); पापीहरू (पद ८); परमेश्वरका शत्रु (पद १०)। ख्रीष्ट भक्तिहीनका निम्ति मर्नुभयो र नालायकलाई प्रेम गर्नुभयो। हामीमा प्रेम गर्न योग्य एउटै कुरा नभए तापनि हामीलाई प्रेम गर्नुभयो।

भक्तिहीन — हेर्नुहोस् रोमी ४:५। भक्तिहीन ती हुन् जोसित परमेश्वरको कुनै डर छैन, परमेश्वरप्रति कुनै आदरभाव छैन र परमेश्वरप्रति कुनै भक्तिभाव छैन (हेर्नुहोस् रोमी ३:१८)। ख्रीष्ट यस किसिमका मानिसका निम्ति मर्नुभयो!

निम्ति = यसले प्रस्टै प्रतिस्थापना (SUBSTITUTION) को अर्थ बोकेको — दाँज्नहोस् १ पत्रुस ३:१८)।

रोमी ५:७

यस पदले एउटा तुलना गरेर थप बयान गर्दछ। मानिसको सबैभन्दा ठूलो प्रेम पनि परमेश्वरक प्रेमको नजिक आउँदैन। मानिसले आफ्नो मित्रको निम्ति प्राण देला (यो धेरै हुने गर्दैन तर यहाँ त्यहाँ हुने गर्छ), तर परमेश्वर-मानिसले आफ्ना शत्रुका निम्ति उहाँको प्राण अर्पण गर्नुभयो!

मुस्किलले = गाह्रै, विरलै

धर्मी – तुलनामा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो (हेर्नुहोस् १ पत्रुस ३:१८)।

सायद = सम्भवतः

आँट गर्ला कि = साहस गर्ला कि

उदाहरण: जनवरी १३ १९८२ को घटना

रोमी ५:८

तर – भिन्नता नोट गर्नुहोस्! मानिसले आँट गर्ने भन्दा अत्यन्तै बढ्ता परमेश्वरले गर्नुभयो! उहाँले आफ्ना शत्रुका निम्ति आफ्नो ज्यान दिनुभयो!

प्रकट गर्नुहुन्छ = देखाउनुहुन्छ, प्रत्यक्ष दर्शाउनुहुन्छ

पापीहरू = निशाना चुकेकाहरू, जोहरू परमेश्वरको धर्मी मानदण्डभन्दा कम भेटिए (हामी सबैले सर्वशक्तिमान् परमेश्वरको विरुद्धमा पाप गरेका छौं! हेर्नुहोस् रोमी ३:२३)।

परमेश्वरले आफ्नो प्रेम कसरी देखाउनुहुन्छ? परमेश्वरको प्रेमलाई देख्न हामी कता हेरौं? मानिसहरूले कतिपटक परमेश्वरलाई प्रेमिलो नभएको आरोप लगाउँछन्। “एक प्रेमिलो परमेश्वरले कसरी भारतमा वा अफ्रिकामा लखौंलाई भोकमरीमा पार्नुहुन्छ?” “एक प्रेमिलो परमेश्वरले कसरी भुइँचालोमा हजारौंलाई मर्न दिनुहुन्छ?” इत्यादि। तर परमेश्वरको प्रेमलाई देख्न ठिक ठाउँमा हेर्नुपर्छ! परमेश्वरको प्रेमको सबभन्दा ठूलो प्रदर्शनी कलवरी क्रूस हो! हेर्नुहोस् यूहन्ना ३:१६; १ यूहन्ना ३:१६; ४:९-१०।

रोमी ५:९-१०

यी दुई पदहरूमा पावलले ठूलोबाट सानोको तर्क राख्दैछन्। अर्को शब्दमा, यदि परमेश्वरले ठूलो गरिसक्नुभएको छ भने सानो त अवश्य गर्नुहुनेछ। यस्तै तर्कको लागि रोमी ८:३२ मा हेर्नुहोस् र साथै मत्ती ६:२५ को आखिरी भागसित तुलना गर्नुहोस् — यदि परमेश्वरले तपाईंलाई शरीर र जीवन (ठूला कुरा) दिनुभएको छ भने के उहाँले शरीर र जीवन धान्न आवश्यक कुरा प्रबन्ध गर्नुहुन्न र?

रोमी ५:९

यदि परमेश्वरले आफ्नो रगतले धर्मी ठहराइसक्नुभयो भने झन् कति बढ्ता गरी हामी येशू ख्रीष्टद्वारा क्रोधबाट बचाइनेछौं! अर्को शब्दमा, यदि ख्रीष्ट तपाईं अधर्मी हुँदाहुँदै तपाईंलाई बचाउन मर्नुभयो भने तपाईं (उहाँमा) धर्मी भइसकेपछि झन् कति बढ्ता गरी उहाँले तपाईंलाई बचाउनुहुनेछ! यदि तपाईं उहाँको शत्रु हुँदाखेरि उहाँ तपाईंको निम्ति मर्नुभयो भने तपाईं अब उहाँको मित्र बन्नुभएको ले झन् कति बढ्ता तपाईंको निम्ति गर्नुहुनेछ! यदि परमेश्वर म पापी हुँदाहुँदै मर्नुभयो भने भने (पद ८) म उहाँको सन्तान भएपछि झन् कति बढ्ता गरी उहाँले आफ्नो प्रेम ममाथि वर्षाउनुहुनेछ!!

रोमी ५:१०

यस पदले पद ९ को अझै व्याख्या गर्छ (“किनभने”)। यदि परमेश्वरले हामी उहाँका शत्रु हुँदाहुँदै हामीलाई आफूसित मिलाप गराउनुभयो भने अब हामी उहाँसितको बहुमूल्य सम्बन्धमा प्रवेश गरिसकेपछि झन् कति बढ्ता गरी हाम्रो निम्ति गर्नुहुनेछ!

मिलाप भयो = परमेश्वर र मानिस एकआपसमा शान्ति र मिलापमा ल्याइएका छन् (पद १) र सबै शत्रुता हटिसकेको छ र सङ्गतीलाई छेक्ने सबै वाधा वितेर गएका छन्। पवित्र परमेश्वरलाई पापी मानिसलाई अलग गर्ने भयानक खाडल अब पुरिएको छ र जोडिएको छ। परमेश्वरले आफ्नो पवित्रतालाई सम्झौता गर्नुभएर हामी मिलाप गराइएका होइनौं (“म मानिसलाई मकहाँ आउन दिनेछु किनभने म उसको पापमाथि आँखा चिम्लनेछु र मेरो पवित्रतालाई सम्झौता गर्नेछु” — यस्तो कदापी हुन सक्दैन!), तर किनभने परमेश्वरले आफ्नो पुत्रलाई बलिदान दिनुभयो!

“उहाँको जीवनद्वारा बचाइनेछौं” — यी तीन शब्दहरूलाई ठ्याक्कै मेल खाने टिप्पणी हिब्रू ७:२५ मा पाइन्छ। मेरो अनन्त सुरक्षा उहाँको जीवनसित बाँधिएको छ। मैले आफ्नो मुक्ति गुमाउन त बौरिउठ्नुभएका प्रभु येशू मर्नुपर्ने हुन्छ (तर रोमी ६:९-१० र प्रकाश १:१८ मा हेर्नुहोस्)! उहाँ एक पटक मर्नुभयो तर फेरि कहिल्यै मर्नुहुनेछैन! उहाँ जिउनुहुन्छ र हाम्रो निम्ति अन्तरविन्ती गर्नुहुन्छ! उहाँ मलाई बचाउन मर्नुभयो; उहाँ मलाई बचाइराख्न जिउनुहुन्छ!

रोमी ५:११

मिलाप पाएका छौं — पद १० को “मिलाप भयो” सित जोड्नुहोस्। हाम्रो मुक्तिको उपलब्धीहरूको सँगालोमा मिलाप अर्को ठूलो आशिष हो! मिलाप बारे थप कुरा जान्न २ कोरिन्थी ५:१७-२१ मा पनि हेर्नुहोस्।

रोमी ५:१-११ मा आनन्द मनाउनुपर्ने तीनटा कुरा छन्:

१) हाम्रो भविष्यको रमाहट — “हामी परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं” (पद २);

२) हाम्रो वर्तमानको रमाहट — “हामी सङ्कष्टहरूमा आनन्द मनाउँछौं” (पद ३);

३) हाम्रो बिगतको रमाहट — “हामी परमेश्वरमा आनन्द मनाउँछौं उहाँद्वारा अब हामीले मिलाप पाएका छौं” (पद ११)।

हाम्रो मिलाप सम्पन्न भइसकेको छ (बिगत), परमेश्वरले अब हामीलाई सङ्कष्टहरूद्वारा मोड्दै, ढाल्दै हुनुहुन्छ (वर्तमान) र हाम्रो महिमाकरण अझ आउन बाँकी नै छ (भविष्य)।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)