Entries by Pradesh Shrestha

आश्चर्यकर्महरू

Study Series

आश्चर्यकर्महरू

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: मत्ती १२:३९; २४:२४; यूहन्ना २०:३१-३२; रोमी ८:२२-२५; २ कोरिन्थी १२:१२

आज ख्रीष्टिय जीवन र सेवकाइमा आश्चर्यकर्महरूको स्थानको बारेमा धेरै अलमल रहेको छ। के ईश्वरीय चङ्गाइ वर्तमान समयको निम्ति पनि हो? के आज पनि प्रेरित र अगमवक्ताहरू छन्? यी लगायत अन्य थुप्रै मुद्दाहरूलाई हामीले The Pentecostal-Charismatic Movements भन्ने पुस्तकमा विस्तृत रूपमा चर्चा गरेका छौं। वे अफ लाइफ लिटरेचरबाट उपलब्ध यस पुस्तकलाई ध्यानपूर्वक पढ्न हरेक अङ््ग्रेजी पाठकलाई आग्रह गर्दछौं।

यी मुद्दाहरूलाई बुझ्न हामीलाई मदत गर्ने पवित्र शास्त्रका केही आधारभूत शिक्षाहरूलाई हामी यस पाठमा हेर्नेछौं।

१) ख्रीष्ट र प्रेरितहरूका आश्चर्यकर्महरूको एउटा विशेष, अस्थायी उद्देश्य थियो। ती आश्चर्यकर्महरू मण्डली युगका लागि नमुनास्वरूप गरिएका थिएनन्।

  1. येशूका आश्चर्यकर्महरू उहाँ मसीह हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नका निम्ति गरिएका थिए (यूहन्ना ५:२६; १०:२५, ३७-३८; १४:११; १५:२४; २०:३०-३१)। ख्रीष्टका आश्चर्यकर्मको उद्देश्य के थियो भन्ने सवालमा यी पदहरूले कुनै पनि शङ्का गर्ने ठाउँ बाँकी राख्दैनन्। प्रेरितहरूले समेत येशूले गर्नुभएका सबै आश्चर्यकर्महरू गर्न सकेनन् (जस्तै, आँधीलाई शान्त गराउने र हजारौंलाई खुवाउने), अनि यदि सकेका भए ख्रीष्टका आश्चर्यकर्महरूको चिन्हरूपी चरित्र प्रभावहीन ठहरिन जानेथिए।

    यूहन्ना १४:१२ लाई के गर्ने नि? यसको अर्थ शताब्दियौंसम्म विश्वासीहरूले येशूका भन्दा महान् चिन्हरूपी आश्चर्यकर्महरू गर्न सक्नेछन् भन्ने हुन सक्दैन। त्यो असम्भव कुरा हुनेथ्यो। हजारौंलाई खुवाउनु, पानीमाथि हिँड्नु र मरेकालाई बिउँताउनु भन्दा ठूला आश्चर्यकर्महरू के हुन सक्थ्यो र? चेलाहरूले उहाँले भन्दा ठूलो आश्चर्यकर्महरू गर्नेछन् भनेर येशूले भन्नुभएको होइन; उनीहरूले उहाँले भन्दा ठूला कामहरू गर्नेछन् चाहिँ उहाँले भन्नुभएको हो। “कामहरू” भन्ने शब्द कुनै ठाउँहरूमा येशूका आश्चर्यकर्महरूको बयान गर्न प्रयोग भएका छन्, तर त्यसैमा सीमित भने छैन। येशू केवल प्यालेस्टाइनभित्र मात्र सेवकाइ गर्नुभयो र उहाँको प्रत्यक्ष सेवकाइअन्तर्गत तुलनात्मक रूपमा थोरै आत्माहरू मात्र बचाइएको देख्‍नुभयो, तर उहाँका चेलाहरू सारा संसारभरि सेवकाइ गरेका छन् र तिनीहरूले अनगिन्ती आत्माहरू बचाइएका देखेका छन्। येशूले कुनै पुस्तक लेख्‍नुभएन, तर उहाँका प्रेरितहरूले पवित्र शास्त्रको बाँकी रहेको भागलाई पूरा गरे। अभक्तिको पुस्ताको बाबजुद पनि परमेश्वरका जनहरूले पवित्र जीवनहरू यापन गर्न, सबभन्दा अग्निमय उत्‍पीडनहरूको सामना गर्न र संसारको पल्लो छेउसम्म सुसमाचार प्रचार गर्न सामर्थ्य प्राप्‍त गरेका छन्। परमेश्वरका जनहरूले निरन्तररूपमा नै आश्चर्यकर्महरू अनुभव गर्दैआएका छन् र महान् कार्यहरू गरेका छन् तर तिनीहरूले मसीहका चिन्हरूपी आश्चर्यकर्महरू भने गरेका छैनन्।

  2. आफूहरू प्रेरितहरू भएको प्रमाणित गर्नलाई प्रेरितहरूले आश्चर्यकर्महरू गरे (मर्कूस ३:१४-१५; २ कोरिन्थी १२:१२)। यदि हामीले प्रेरितको पुस्तकलाई केलाएर अध्ययन गर्‍यौं भने हामीले यो देख्छौं कि आश्चर्यकर्महरू जति प्रेरितहरूद्वारा गरिएका थिए। प्रेरित २:४३; ४:३३; ५:१२ यसका उदाहरणहरू हुन्। यसको अपवादहरूमा केवल थोरै व्यक्तिहरू मात्र पर्छन् जोहरू प्रेरितहरूसँग संलग्न थिए र जसमाथि प्रेरितहरूले आफ्‍ना हातहरू राखेका थिए। शुरुका मण्डलीहरूका विशाल सङ्ख्यामा रहेका विश्वासीहरूले चिन्हरूपी आश्चर्यकर्महरू गर्न सक्दैनथे। तबिथा बिरामी पर्दा जोप्पाका विश्वासीहरूले तिनलाई मदत गर्न सकेनन्, अनि जब तिनी मरिन् उनीहरूले तिनलाई बौराउन सकेनन्। तिनीहरूले पत्रुसलाई बोलाइपठाउनु आवश्यक पर्‍यो जो एक प्रेरित थिए (प्रेरित ९:३६-४१)। यदि जोकोही विश्वासीहरूले सर्वसाधारणरूपमा त्यस्ता आश्चर्यकर्महरू गर्न सक्ने भएता प्रेरितको लक्षणको कुनै अर्थ हुनेथिएन। मलाई विमानस्थलमा लिन आउने अपरिचित व्यक्तिलाई मैले म रातो टोपी लगाएर आएको हुन्छु भने भने, रातो टोपी चाहिँ मलाई चिनाउने चिन्ह हुनेछ; तर यदि अरूहरू पनि रातो टोपी लगाएर विमानबाट उत्रे भने उक्त चिन्हको कुनै अर्थ हुँदैन। प्रथम मण्डलीहरूमा आश्चर्यकर्महरू गर्ने त्यस्तो कुनै पनि सर्वसाधारण अनुभव थिएन। ती त एक विशेष समयका लागि विशेष चिन्हहरू थिए।

२) परमेश्वरले सधैं निको पार्नुहुन्न तर प्रार्थनाको जवाफस्वरूप उहाँले कति पटक निको पार्नुहुन्छ।

  1. नयाँ नियमले निम्न तीनओटा उदाहरणहरू दिएको छ जसबाट निर्णायक रूपमा प्रमाणित हुन्छ कि परमेश्वरले विश्वासी जनको रोगलाई सधैं नै निको पार्नुहुन्छ भन्ने कुरा साँचो होइन।
    1. तिमोथीको उदाहरण (१ तिमोथी ५:२३)। तिमोथी बारम्बार विरामी पर्थे र प्रेरित पावलले उनलाई तिनको पेटको खातिर र तिनका बारम्बार हुने दुर्बलताको खातिर अलिकति दाखमद्य प्रयोग गर्नलाई निर्देशन दिन्छन्। परमेश्वरले तिमोथीलाई उनको रोगबाट अलौकिक चङ्गाइ गर्नुभएन नता उहाँले तिमोथीलाई उसको रोगलाई सराप्‍न नै निर्देशन दिनुभयो नता ती रोगहरूमाथि “विश्वासको वचन” उच्चारण गर्न नै भन्नुभयो।
    2. ट्रोफिमसको उदाहरण (२ तिमोथी ४:२०)। पावलले ट्रोफिमसलाई मिलेटसलाई विरामी अवस्थामै छोड्नुपर्‍यो। तिनको अलौकिक चङ्गाइ गरिएन।
    3. पावलको उदाहरण (२ कोरिन्थी १२:७-१०)। तीन-तीन पटक पावलले परमेश्वरसित यस समस्यालाई हटाइन विन्ती गरे, तर बाइबलले भन्दछ, परमेश्वरले सो गर्न इन्कार गर्नुभयो। उक्त दुर्बलाता उसकै आत्मिक उन्नतिका लागि उसले बोकिरहनुपर्छ भनेर परमेश्वरले पावललाई भन्नुभयो। यो जानेपछि पावलले आफूलाई परमेश्वरको इच्छामा सुम्पे र बुद्धिमानीपूर्वक भने, “यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु” (२ कोरिन्थी १२:१०)। आज ख्रीष्टियानहरूको लागि यो एउटा सिद्ध उदाहरण हो। हामीले चङ्गाइको लागि र परीक्षा र कठिनाइहरूबाट छुटकारा पाउनको लागि प्रार्थना गर्नुपर्छ तर जब परमेश्वरले चङ्गाइ गर्नुहुन्न त्यस बेला हामी परमेश्वरको इच्छाप्रति झुक्नुपर्छ र त्यो रोग वा परीक्षालाई ईश्वरीय हातबाटको कुराको रूपमा स्वीकार गर्नुपर्छ। यो विश्वासको अभाव होइन; यो त सर्वशक्तिमान परमेश्वरको सार्वभौमिकताप्रतिको अधीनता हो। कोही-कोही पेन्टेकोस्टलवादीहरूले पावलको दुर्बलता कुनै रोग थिएन भनेर तर्क गर्न खोजेका छन् तर २ कोरिन्थी १२:९ मा “दुर्बलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द (आस्थनेया) लाई अन्य ठाउँहरूमा “रोग” (यूहन्ना ११:४) “बिरामी” (प्रेरित २८:९) भनेर अनेर अनुवाद गरिएको छ।
  1. आज परमेश्वरले याकूब ५:१३-१५ को नमुनाअनुसार चङ्गाइ गर्ने गर्नुहुन्छ। यस खण्डमा एउटा सार्वजनिक चङ्गाइ सभाको नभई व्यक्तिगत चङ्गाइको प्रसङ्ग प्रस्तुत गरिएको छ अनि यसमा “चङ्गाइको वरदान” भएको व्यक्तिको कुनै कुरा छैन। यसमा केवल मण्डलीका एल्डरहरूको उल्लेख छ जोहरूले विरामी व्यक्तिलाई तेलले अभिषेक गर्दछन् र उसमाथि प्रार्थना गर्दछन्।
  2. हामीले ख्रीष्ट नफर्कुन्जेल आफ्‍नो महिमित अवस्था प्राप्‍त गर्नेछैनौ भनेर रोमी ८:२२-२५ ले हामीलाई सिकाउँदछ। त्यसबेला सम्म हामीले यस पापले श्रापित संसारमा सङ्कष्टहरू, दुःखहरू र मृत्युको अनुभव गर्नुपर्नेछ जसअन्तर्गत रोग-बिमार पनि पर्दछ।

३) येशूले आश्चर्यकर्महरूको पछि लाग्नेहरूलाई चेताउनी दिनुभएको छ (मत्ती १२:३८-३९)। यो खण्ड आधुनिक पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरलाई एउटा कडा हप्की हो।

४) मण्डली युगको अन्ततिर झूटा चिन्ह र चमत्कारहरू हुनेछन् भनेर बाइबलले चेताउनी दिएको छ (मत्ती २४:२४)। यस युगको आखिरी चरणको एउटा चरित्र भनेको झूटा भविष्यवक्ताहरूद्वारा गरिने “ठूला-ठूला चिन्ह र चमत्कारहरू” हुन् भनेर येशूले चेताउनी दिनुभयो। यसकारण यो स्पष्ट बुझिने कुरा हो कि कसैले आश्चर्यकर्महरू गर्दैछ भन्दैमा ती आश्चर्यकर्महरू परमेश्वरबाटकै हुन् भन्ने होइन। ती त शैतानबाटका हुन सक्छन्! भिन्नता जान्न सक्ने एउटै मात्र छ, त्यो हो तिनीहरूको शिक्षालाई बाइबलद्वारा जाँच्नु। हामीले “सबै कुराहरू जाँच्नुपर्छ” (१ थेस्सलोनिकी ५:२१)। हामी ती बेरियालीहरू जस्तै हुनुपर्छ जोहरूले “यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)। यही एउटै मात्र उपायद्वारा हामीले आफैलाई शैतानका धूर्त युक्तिहरूबाट जोगाउन सक्छौं।

आश्चर्यकर्महरूका पुनरावलोकन प्रश्‍नहरू

  1. आश्चर्यकर्महरू सम्बन्धी चार आधारभूत बाइबलीय शिक्षाहरू के-के हुन्?
  2. येशूका आश्चर्यकर्महरूको उद्देश्य के थियो?
  3. विश्वासीहरूले उहाँले गरेका कामहरूभन्दा ठूला-ठूला कामहरू गर्नेछन् भन्ने येशूको भनाइको तात्पर्य के थियो?
  4. प्रेरितहरूद्वारा गरिएका आश्चर्यकर्महरूको उद्देश्य के थियो?
  5. कुनचाहिँ पदमा पावलले “प्रेरितका लक्षणहरू” भन्ने कुराको उल्लेख गरे?
  6. यदि त्यस्ता आश्चर्यकर्महरू सर्वसाधारण रूपमा जोकोही विश्वासीले गर्न सक्ने भएका भए प्रेरितको लक्षणको कुनै ______________ हुनेथिएन।
  7. विश्वासीको रोग-बिमारलाई परमेश्वरले सधैं निको पार्नुहुन्न भनेर प्रमाणित गर्ने नयाँ नियममा पाइने तीनओटा उदाहरणहरू कुन-कुन हुन्?
  8. नयाँ नियमको कुन पुस्तकको कुन अध्यायमा विरामीको लागि कसरी अभिषेक गर्ने र प्रार्थना गर्ने भनेर बताइएको छ?
  9. चिन्हहरूको खोजी गर्ने व्यक्तिहरूको बारेमा येशूले के भन्नुभयो?
  10. विश्वासी जन शैतानको बहकाउदेखि कसरी बच्न सक्छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






उपवास के हो?

Study Series

उपवास के हो?

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: मत्ती ६:१६-१८; १७:२१

बाइबलीय उपवास भनेको कुनै निश्चित आत्मिक समस्या वा खाँचोमाथि विशेष ध्यान दिन सक्नलाई खानेकुरा र शायद अन्य न्यायोचित सुखसुविधाबाट समेत आफूलाई बञ्चित गर्नु भन्ने बुझिन्छ। यसको अभ्यास पापको स्वीकार र प्रार्थनाको साथसाथै गरिन्छ।

उपवास सम्बन्धी चेतावनीहरू

१) बाइबलीय उपवास देखाउनलाई गरिने कुरा होइन (मत्ती ६:१६-१८)। कपटपूर्ण धर्मलाई परमेश्वर घृणा गर्नुहुन्छ जुन कुरा भनेको परमेश्वरको सामु साँचो पवित्रता रहित भएर पनि मानिसका सामु पवित्र देखा पर्ने मानिसको प्रयास हो। यस खण्डमा मानिसहरूका सामु आत्मिक देखा पर्न खोज्नलाई गरिने खालको उपवासलाई ख्रीष्टले हप्काउँदै हुनुहुन्छ। सही ढङ्गले गरिने खालको उपवासको अभ्यासकै उहाँले उपहास गर्नुभएको चाहिँ होइन। वास्तवमा, आफ्‍ना चेलाहरू उपवास बस्छन् भन्ने कुरालाई उहाँले त्यत्तिकै मानिलिनुभएको देखिन्छ। उहाँले “यदि तिमीहरू उपवास बस्दछौ” भन्नुभएन, बरु “जब तिमीहरू उपवास बस्दछौ” भन्नुभयो। अनि उहाँले बाइबलीय उपवास बस्नेहरूले परमेश्वर पिताबाट खुल्लमखुल्ला इनाम पाउनेछन् भन्ने सुन्दर र निश्चित प्रतिज्ञा दिनुभयो।

२) बाइबलीय उपवास एउटा रित्तो धार्मिक रीति होइन (लूका १८:१२)। यस पदको अभिव्यक्ति चाहिँ एउटा फरिसीको हो जसले आफूलाई परमेश्वरको सामु धर्मी ठहराउनलाई धर्मको अभ्यास गर्दैथियो। नियमित समयावधिहरूमा ऊ उपवास बस्नेगर्थ्यो। तर, बाइबलमा कतैपनि त्यस किसिमको अभ्यास गर्नुपर्छ भनेर सिकाइएको छैन। उपवास भनेको हप्ता-हप्‍तामा, वा महिना-महिनामा वा प्रभु-भोजको अगाडि, आदि बसिने एउटा रीति होइन। उपवास वास्तवमा कुनै विशेष खाँचो आइपर्दा र पवित्र आत्माले अगुवाइ गर्नुहुँदा अभ्यास गरिने कुरा हो।

३) बाइबलीय उपवास शारीरिक स्वास्थ्यको लागि होइन। विभिन्न किसिमका उपवासहरूले स्वास्थ्यको उन्नति गर्ला वा नगर्ला, तर बाइबलमा उपवास बस्नलाई यस्तो उद्देश्य अघि सारिएको कहिल्यै छैन। शारीरिक फाइदाको लागि उपवासको महत्त्वलाई जोड दिने ख्रीष्टिय किताबहरू छ्यास्छ्यासती भेटिन्छन्, तर यो बाइबलीय उपवास होइन। उपवास स्वास्थ्यको लागि राम्रो कुरा हो या होइन हामी भन्न सक्दैनौं, अनि स्वास्थ्यको लागि उपवास बस्नु गलत हो वा ठीक हो पनि भन्न सक्दैनौं। हामी केवल यति भन्दछौं कि बाइबलले उपवासलाई स्वास्थ्यको सम्बन्धलाई जोडेर बताएको छैन।

४) बाइबलीय उपवास एउटा रित्तो सन्न्यासी अभ्यास होइन (कलस्सी २:२०-२३)। उपवासले पवित्र बनिन्छ भनेर विश्वास गर्ने कतिपय झूटा शिक्षकहरूले पावलको समयमा उपवासको अभ्यास गर्दैथिए। एउटा नियमावली (“नछोओ, नचाख, हातमा नलेओ”) लाई पालन गरेर मुक्ति र पवित्रता प्राप्‍त गरिन्छ भनेर उनीहरूले सिकाउँथे। रोमन क्याथोलिक सन्न्यास प्रणाली (Roman Catholic monasticism) ले यस भ्रमलाई अँगालेको हो। ती क्याथोलिक सन्न्यासीहरू स्वर्गमा पुग्ने “सिँढी चढ्ने” र परमेश्वरको नजिक पुग्ने लक्ष्यमा समाजबाट बिलकुलै पृथक बसे र आफैलाई पिट्ने, भोकभोकै बस्ने, ननुहाउने र लुगै नफेर्ने जस्ता अरू थुप्रै कुराहरू गरे। तर यो एक झूटा सुसमाचार हो। मुक्ति परमेश्वरको अनुग्रहले पाइने दामबिनाको वरदान हो र पवित्रता र आत्मिक विजय सन्न्यासी अभ्यासबाट नभएर विश्वासीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्माको सामर्थ्यमा सरल नयाँ नियम विश्वासप्रतिको आज्ञापलानद्वारा हो। उपवास ख्रीष्टिय जीवन र सेवकाइको महत्त्वपूर्ण भाग हो, तर आत्मिकता भन्ने कुरा शरीरलाई कष्ट दिएर र विभिन्न रीति तथा खानपीन सम्बन्धी नियमहरू पालन गरेर हासिल गरिन्छ भनेर सोच्नदेखि हामी होशियार बस्नुपर्छ। साँचो आत्मिकता भनेको येशू ख्रीष्टसितको ठीक सम्बन्ध र सङ्गति हो।

५) उपवासले प्रार्थनाहरूको जवाफ मिल्नेछ भनेर ग्यारेन्टी दिन्छ भन्ने छैन। २ शमूएल १२ मा दाऊदले आफ्‍नो बच्चाको ज्यान जोगाइयोस् भनेर परमेश्वसित उपवाससहित प्रार्थना गरे जुन बच्चा बातशेबासितको उसको व्यभिचारको सम्बन्धबाट गर्भाधारण भएको थियो। उक्त अवसरमा परमेश्वरले दाऊदको उपवासलाई आदर गर्नुभएन। यसले हामीलाई यो सम्झाउँछ कि उपवास आत्मिक लडाइँमा एउटा महत्त्वपूर्ण अभ्यास भए तापनि त्यसले परमेश्वरबाट हामीले चाहिरहेको कुरा प्राप्‍त नै गर्छौं भन्ने ग्यारेन्टी दिँदैन। उपवाससहितको प्रार्थनाले धेरैपटक खोजिरहेकै जवाफ प्राप्‍त गराउँछ तर त्यसको ग्यारेन्टी भने छैन। प्रार्थनाको जवाफ दिने कुरामा परमेश्वर सदैव सार्वभौम हुनुहुन्छ र हामी सधैं उहाँको इच्छामा सुम्पिएको हुनुपर्छ।

६) उपवास व्यवस्थाजस्तो बाध्यताको कुरा होइन तर स्वतन्त्रताको। यो व्यक्तिगत कुरा हो। ख्रीष्टिय जीवन र सेवकाइमा उपवास महत्त्वपूर्ण र उपयोगी कुरा हो तर यो आज्ञा गर्न सकिने कुरा होइन र अरूहरूको आत्मिक अवस्थाको न्याय गर्नलाई प्रयोग गरिने कुरा पनि होइन।

उपवासको महत्त्व

पुरानो र नयाँ नियमका केही सकारात्मक उल्लेखहरूबाट उपवासको महत्त्व देख्‍न सकिन्छ। पवित्रशास्त्रमा उपवासको बारेमा ३० भन्दा बढी सकारात्मक उदाहरणहरू, आज्ञाहरू र निर्देशनहरू भेटिन्छन्।

न्यायकर्ता २०:२६–युद्धमा विजय हुन इस्राएलीहरू उपवास बसे
१ शमूएल १:६-७–एउटा छोरा पाउन हन्ना उपवास बसिन्
१ शमूएल ७:६–पश्चात्ताप गर्दा इस्राएलीहरू उपवास बसे
१ शमूएल ३१:१३–याबेश-गिलादका मानिसहरू शाऊलको निम्ति शोक मनाउँदा उपवास बसे
२ शमूएल १:१२–दाऊद र उनका मानिसहरू शाऊल, योनातान र मारिएका इस्राएलीहरूका निम्ति शोक मनाउँदा उपवास बसे
२ शमूएल १२–दाऊद आफ्‍नो बच्चाको निम्ति कृपा माग्दै उपवास बसे
१ राजा २१:२७–आहाब कृपा पाउन उपवास बसे
२ कोरिन्थी २०:३–यहोशापात र इस्राएल सहायता र सुरक्षा पाउन उपवास बसे
एज्रा ८:२१-२३–एज्रा र यहूदीहरू सहायता र सुरक्षा पाउन उपवास बसे
नहेम्याह १:४–नहेम्याह शोक मनाउँदा र सहायता चाहँदा उपवास बसे
नहेम्याह ९:१-२–इस्राएलीहरू शोक मनाउँदा र पश्चात्ताप गर्दा उपवास बसे
एस्तर ४:१६–एस्तर र उनका साथीहरू विजय पाउन उपवास बसे
एस्तर ९:३–विजयको पछाडि उपवासले भूमिका खेलेको थियो भनेर यहाँ उल्लेख गरिएको छ भजनसङ्ग्रह ३५:१३-१४–प्रार्थना र शोकसहित उपवास
भजनसङ्ग्रह ६९:१०-११–प्रार्थना र शोकसहित उपवास
यशैया ५८:६-८–परमेश्वरलाई खुशी पार्ने उपवास
यर्मिया ३६:९–इस्राएलीहरू कृपा पाउन उपवास बसे
योएल १:१४; २:१२,१५–परमेश्वरले उपवास बस्न र पश्चात्ताप गर्न आज्ञा गर्नुभयो
योना ३:५–कृपा पाउन निनवेकाहरू पश्चात्ताप गरे र उपवास बसे
दानियल ९:३–दानियल बुद्धिका निम्ति उपवास बसे
मत्ती ४:२–उजाडस्थानमा परीक्षा गरिँदा येशू उपवास बस्नुभयो
मत्ती ६:१७-१८–पिताले उपवासमाथि आशिष दिनुहुन्छ भनेर येशूले प्रतिज्ञा गर्नुभयो
मत्ती १७:२१–कतिपय शैतानिक किल्लाहरू भत्काउनलाई उपवास आवश्यक पर्छ
मर्कूस ९:२९–शैतानिक शक्तिहरूलाई जित्नलाई उपवास आवश्यक पर्छ
लूका २:३७–हन्नाले परमेश्वरको सेवा गर्ने क्रममा उपवास त्यसको एक भाग थियो
प्रेरित १३:२–एन्टिओकका सेवकहरूको सेवकाइको क्रममा उपवास त्यसको एक भाग थियो
प्रेरित १३:३–नियुक्ति कार्य उपवाससहित गरिन्थ्यो
प्रेरित १४:२३–नियुक्ति कार्य उपवाससहित गरिन्थ्यो
१ कोरिन्थी ७:५–वैवाहिक सम्बन्धबाट अलग रहनलाई एक मात्र सही कारण उपवास र प्रार्थना हो
२ कोरिन्थी ६:५–आफूलाई येशू ख्रीष्टको सेवकको रूपमा प्रमाणित गर्ने पावलको एउटा तरिका उपवास थियो
२ कोरिन्थी ११:२७–पावल बारम्बार उपवास बस्थे

उपवास सम्बन्धी उपर्युक्त उदाहरण तथा निर्देशनहरूलाई हलका सम्झन मिल्दैन। पवित्र शास्त्रका उदाहरणहरू तिनका आज्ञाहरू जत्तिकै महत्त्वपूर्ण हुन्छन् भनिएको छ — १ कोरिन्थी १०:११; रोमी १५:४। प्रभु येशू ख्रीष्ट हाम्रो नमुना हुनुहुन्छ (१ पत्रुस १:२१), र उजाडस्थानको परीक्षाको घडीमा उहाँले बस्नुभएको उपवास हाम्रो निम्ति नमुना हो जसरी गेत्सेमनीमा उहाँका परीक्षाका घडीका प्रार्थनाहरू हाम्रा निम्ति नमुना हुन्। साथै पावल प्रेरितको अनुसरण गरिनुपर्छ भनेर हामीलाई बताइएको छ (फिलिप्पी ३:१७; ४:९) र पावलले हाम्रा सामु बारम्बार उपवास बस्ने नमुना छोडेका छन् (२ कोरिन्थी ११:२७)।

उपवासको प्रमुख उद्देश्य

उपवास आत्मिक युद्धको एक अनिवार्य अङ्ग हो भनेर प्रभु येशूले बताउनुभयो, अनि शैतानिक किल्लाहरूको विरुद्धमा युद्ध गर्नेहरूलाई यो कुरा वास्तविक हो भनेर थाह छ (मत्ती १७:१८-२१)! साँच्ची नै त्यहाँ त्यस्ता शैतानिक किल्लाहरू छन् जसलाई प्रार्थना र उपवास बिना कुनै पनि कुराद्वारा जित्न सकिन्न।

हामी उपवास बस्नुपर्ने केही अवसरहरू के‍-के हुन्?

शैतानिक किल्लाहरूमाथि विजय हुनलाई बाहेक निम्न अवसरहरूले पनि उपवासको माग गर्दछन्:

  1. बेसरी परीक्षित हुँदा उपवास बस्नुहोस् (मत्ती ४:२)।
  2. बुद्धिको उत्कट चाहना हुँदा उपवास बस्नुहोस् (दानियल ९:३)।
  3. परमेश्वरको सहायता र सुरक्षाको खाँचो पर्दा उपवास बस्नुहोस् (एज्रा ८:२१-२३; २ इतिहास २०:३; यर्मिया ३६:९)।
  4. हेर्दा असम्भव देखिने परिस्थितिहरूमाथि विजय चाहँदा उपवास बस्नुहोस् (एस्तर ४:१०-१७; ९:३१; नहेम्याह १:४)।
  5. पश्चात्ताप, पाप‍-स्वीकार र पुनर्जागरणका विशेष समयहरूमा उपवास बस्नुहोस् (योएल १:१४; २:१२; २:१५; नहेम्याह ९:१-२)।
  6. नयाँ सेवकाइको प्रारम्भ गर्दा र परमेश्वरको वचन घोषणा गर्न र आत्मिक शत्रुहरूसँग युद्ध गर्न प्रस्थान गर्दा उपवास बस्नुहोस् (प्रेरित १३:२-३; १४:२३)।
  7. आत्मिक सेवकाइमा लागिपर्दा उपवास बस्नुहोस् (२ कोरिन्थी ६:५; ११:२७)।

उपवास सम्बन्धी एउटा उत्साहपूर्ण प्रतिज्ञा (मत्ती ६:१७-१८)

प्रभु येशू ख्रीष्टले उपवास सम्बन्धी एउटा निश्चित प्रतिज्ञा दिनुभयो। ठीक तरिकामा ठीक कारणले कसैले उपवास बस्दा–“गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ।” यो प्रतिज्ञा बाइबलमा भएका सबभन्दा सुन्दर प्रतिज्ञाहरूमध्ये एक हो र यसलाई सजिलै बिदा गर्न सकिन्न। यदि उपवास महत्त्वपूर्ण कुरा नभएको भए परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुहुने थिएन। ख्रीष्टले सही किसिमको उपवास बस्ने कामलाई कहिल्यै निरुत्साहित पार्नुभएन। गलत अभ्यासको उहाँले दोष देखाउनुभयो र त्यसलाई सच्च्याउनुभयो तर आत्मिक उपवासलाई उहाँले कहिल्यै निरुत्साहित पार्नुभएन। भन्नुपर्दा, उहाँले आफ्‍ना चेलाहरूले उपवास बस्छन् भन्ने कुरालाई त्यत्तिकै मानिलिनुभएको छ।

परमेश्वरले किन उपवासको माग गर्नुहुन्छ?

यस प्रश्‍नलाई हामी पूर्णरूपमा जवाफ दिन शायद सक्दैनौं, तर उपवासले हृदयको गम्भीरतालाई प्रमाणित गर्दछ भन्ने कुरा चाहिँ हामी जान्दछौं (हिब्रू ११:६)।

परमेश्वरले मानिसका हृदयहरू देख्नुहुन्छ तर बाइबलले भन्दछ उहाँ हृदयको चाहनाको खुल्ला प्रमाणको माग गर्नुहुन्छ — योएल २:१२, “”

यो कुरा अब्राहामले इसाहकलाई बलि चढाएको कुरामा देखिन्छ। अब्राहामले आज्ञा पालन गर्नेछ र आफ्‍नो प्रिय छोरालाई चढाउनेछ भनेर परमेश्वर जान्नुहुन्थ्यो, तर अब्राहामले वास्तवमै उक्त कार्य गरेर देखाएको परमेश्वर चाहनुहुन्थ्यो। इसाहकलाई बलि चढाउन भनी अब्राहामले छुरी उठाइसकेपछि मात्र परमेश्वरले भन्नुभयो, “त्यस केटामाथि आफ्‍नो हात नबढाऊ, र त्यसलाई केही नगर; किनकि अब म जान्दछु – तिमी परमेश्वरको डर मान्दा रहेछौ, किनभने तिम्रो छोरालाई, तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ” (उत्पत्ति २२:१२)।

प्रार्थनाका विषयहरूमा परमेश्वरप्रतिको हाम्रो हृदयको उत्कटता र इमानदारीता देखिने एउटा प्रमाण उपवास हो। उपवास जस्ता कुराहरू आवश्यक छैनन् किनकि परमेश्वरले हाम्रो हृदय जान्नुहुन्छ भनेर हामी भनौंला तर अब्राहाम र उनको छोराको घटना जस्ता उदाहरणहरूले परमेश्वर हाम्रो विश्वास र उत्कटताको प्रमाण माग्नुहुन्छ भन्ने देखाइरहेका छन्।

बाइबलीय उपवास कति लामो हुन्छ?

बाइबलले उपवास बस्नलाई कुनै समय अवधि तोकेको छैन। दानियलले २१ दिनसम्म उपवास बसे। एस्तर र मर्दकै ३ दिन ३ रात उपवास बसे। प्रभु येशू ख्रीष्ट उजाडस्थानमा ४० दिनसम्म उपवास बस्नुभयो। तर मानिसहरूले कति दिन उपवास बसे भनेर प्रायः बाइबलले बताउँदैन। जस्तै, यरूशलेमसम्मको यात्रा शुरु गर्न अगाडि एज्राले कति समय उपवास बसे भनेर हामीलाई बताइएको छैन (एज्रा ८:२१-२३)।

उपवास, पवित्र आत्माको अगुवाइमा गरिने व्यक्तिगत स्वतन्त्रताको विषय हो। त्यो एक वा एकभन्दा बढी छाकको उपवास हुन सक्छ जुन चाहिँ उक्त घडीको खाँचो र परमेश्वरको अगुवाइबमोजिम गर्न सकिन्छ। रोमी १४ ले यस किसिमको कुराको गरिरहेको छ जहाँ भनिएको छ, “कसैले एउटा दिन अर्को दिनभन्दा ठूलो मान्दछ; अर्कोले सबै दिन एकनास ठान्दछ। हरेक आफ्‍नै मनमा पूरा निश्चित होस्” (रोमी १४:५)।

बाइबलीय उपवास के हो?

बाइबलीय उपवासमा निम्न आधारभूत तत्त्वहरू हुन्छन्:

  1. खानेकुरा तथा न्यायोचित शारीरिक सुखविलासका कुराहरूबाट अलग रहनु (मत्ती ४:१-२; १ कोरिन्थी ७:५)।
  2. प्रार्थना (मत्ती १७:२१)। बाइबलीय उपवास जहिले पनि प्रार्थना र परमेश्वरसितको सङ्गतिलाई बढी ध्यान दिने कामसित जोडिएको छ। प्रार्थनाबिनाको उपवास बाइबलीय उपवास होइन।
  3. पापहरूको स्वीकार (दानियल ९:३-६; पूरै अध्याय हेर्नुहोस्)। उपवासका बाइबलीय उदाहरणहरू प्रायः विशेष पश्चात्ताप र पाप स्वीकारका समयहरूसित सम्बद्ध छन्।
  4. संसारका दुष्ट कुराहरूदेखि अलग रहनु र परमेश्वरको नजिक जानु (याकूब ४:४-१०)। शैतानको सामना गर्ने काम यस खण्डको सन्दर्भ हो। यहाँ आत्मिक युद्धको कुरा गरिँदैछ जो नै उपवासको मुख्य उद्देश्य हो। शैतानलाई जित्न विश्वासीले आफूलाई दुष्टताबाट शुद्ध पार्नुपर्छ र ऊ परमेश्वरको नजिक जानुपर्छ।

उपवास बस्नलाई बाइबलले कडा वा अलचिलो नियमहरू तोकेको छैन। दानियलको २१ दिनको उपवासमा हामीलाई बताइएको छ, “पूरा तीन हप्ता पूरा नहोउन्जेल मैले न स्वादिष्ट भोजन खाएँ, न मासु; अनि दाखमद्य मेरो मुखमा पसेन, अनि मैले आफूमाथि तेल लगाउँदै लगाइनँ” (दानियल १०:३)। यसको मतलब दानियलले केही न केही त खाएको बुझिन्छ, तर स्वादिष्ट भोजन खानदेखि भने उनी अलग रहे।

परमेश्वरले उपवास सम्बन्धी निश्चित निर्देशनहरू नतोक्नुभएको हुनाले, यसको अभ्यास एक व्यक्ति र प्रभुको बीचको व्यक्तिगत मामिला हुनुपर्छ। जस्तै, बच्चाको आमाले पटक्कै खान छोड्नु बुद्धिमानी हुँदैन किनकि तिनी मात्र नभई तिनको शिशु पनि उक्त खानेकुरामा निर्भर रहेको हुन्छ। मधुमेह जस्ता स्वास्थ्य समस्या भएकाहरू उपवास सम्बन्धी होशियार हुनुपर्छ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, “म तिमीलाई शिक्षा दिनेछु; अनि तिमीले कुन मार्गमा चल्नुपर्ने हो, सो तिमीलाई सिकाउनेछु; म मेरो आँखाले तिमीलाई अगुवाइ गर्नेछु” (भजनसङ्ग्रह ३२:८)। यो प्रतिज्ञाले उपवासलाई पनि समेट्छ। परमेश्वरले नै मलाई कहिले उपवास बस्ने, कति लामो बस्ने र कुन-कुन कुरादेखि अलग बस्ने भनेर सिकाउनुहुनेछ।

उपवास बस्नलाई कडा नियमावली नभए तापनि मैले एउटा कुरालाई जोड दिनुपर्छ कि प्रभावकारी हुनलाई एक बाइबलीय उपवासमा केही गम्भीरताको तत्त्व हुनैपर्छ। साँझको खानेकुरा छोडेर बिहानसम्म उपवास बस्नु गम्भीर उपवास होइन। एक छाक छोड्नु गम्भीर उपवास होइन। आफू दुई दिनसम्म दूधबाट बनाएको पेय पद्धार्थ पिउँदै उपबास बसेको कुरा एकजना जवान पास्टरले मलाई बताए। त्यसलाई एक गम्भीर उपवास मान्न सकिन्न! यो त दानियलको उपवासको ठीक उल्टो हो। उनले त कुनै स्वादिष्ट भोजन खाएनन्, तर दूधले बनेको मिल्क शेक त एक हिसाबले स्वादिष्ट भोजन मात्रै मान्न सकिन्छ! मेरो धारणामा एक पूर्ण दिनको उपवासभन्दा कमको उपवासलाई बाइबलीय उपवासको संज्ञा दिन थाल्न पनि सकिन्न।

उपवास सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. बाइबलीय उपवास के हो?
  2. उपवास सम्बन्धी यहाँ दिएका ६ ओटा चेतावनीहरू के‍-के हुन्?
  3. फरसीहरू किन उपवास बस्थे?
  4. स्वास्थ्यको लागि उपवास बस्ने बारेमा बाइबलले कत्तिको बताएको छ?
  5. कलस्सी २:२०-२३ मा पावलले चेतावनी दिएका झूटा शिक्षकहरूको झूटा सुसमाचार के थियो?
  6. के उपवासले निजको प्रार्थनाहरूको जवाफ मिल्नेछ भन्ने ग्यारेन्टि दिन्छ?
  7. बाइबलमा उपवास सम्बन्धी कतिओटा उदाहरणहरू र निर्देशनहरू पाइन्छन्?
  8. पावलले कत्तिको उपवास बसे?
  9. उपवासको प्रमुख उद्देश्य के हो?
  10. उपवास बस्नुपर्ने अरू सात अवसरहरू के-के हुन्?
  11. कुन खण्डमा येशूले उपवास सम्बन्धी उत्साहपूर्ण प्रतिज्ञा दिनुभयो?
  12. बा‍इबलीय उपवास कति लामो हुन्छ?
  13. बाइबलीय उपवासका चार तत्त्वहरू के-के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






र्‍याप्चर

Study Series

र्‍याप्चर

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ थेस्सलोनिकी ४:१३-१८

“र्‍याप्चर” भन्ने शब्द बाइबलमा पाइँदैन तरैपनि यो १ थेस्सलोनिकी ४:१३-१८ मा बयान गरिए अनुसार विश्वासी जनहरू उठाइलगिने कुरालाई जनाउने शब्दावली हो। १ थेस्सलोनिकी ४:१७ को “उठाइनेछौं” भन्ने शब्द अन्य ठाउँमा “खोसेर लैजान्छ” (यूहन्ना १०:२८) भनेर अनुवाद गरिएको छ। यो शब्द इथियोपियाइ नपुंसकले प्रभुलाई पाएपछि पवित्र आत्माले फिलिपलाई उठाएर लैजानुभएको कुरालाई बयान गर्न प्रयोग भएको छ (प्रेरित ८:३९)। दनियलको ७० औं हप्ता (Daniel’s 70th week) को प्रारम्भ हुनुभन्दा अगाडि ख्रीष्टले नयाँ नियमका विश्वासीहरूलाई ठीक यस्तै गर्नुहुनेछ।

१ थेस्सलोनिकी ४:१३-१८ मा आधारित पाठहरू

  1. र्‍याप्चरको घडीमा दुईटा घटना पूरा हुनेछन्: ख्रीष्टमा मरेकाहरू बौराइनेछन् (१ थेस्सलोनिकी ५:१४-१६) र जीवित रहेका पवित्र जनहरू बदली गराइनेछन् र उठाइलगिनेछन् (१ थेस्सलोनिकी ५:१७)। जीवित रहेका पवित्र जनहरूको बदली हुवाइलाई १ कोरिन्थी १५ अध्यायमा विनाशी, मरणशील शरीर तुरुन्तै अविनाशी र अमर शरीरमा बदली गराइनेछ भनेर बयान गरिएको छ (पद ५२-५३)। १ थेस्सलोनिकी ४ अनुसार ख्रीष्टमा मरेकाहरू उहाँसँगै स्वर्गमा छन्; कुनै कुनै झूटा शिक्षाले दाबी गरेझैं उनीहरू चिहानमा सुतिरहेका छैनन्।
  2. र्‍याप्चर विश्वासीको आशा हो (१ थेस्सलोनिकी ५:१३)। हामीले प्रतीक्षा गरेर बाटो हेरिरहेको घटना यही हो। हामी ख्रीष्टविरोधी वा महासङ्कष्टको बाटो हेरिरहेका छैनौं!
  3. र्‍याप्चर निश्चित छ। ख्रीष्टको बौरिउठाइ जत्तिकै यो निश्चित छ (१ थेस्सलोनिकी ५:१४)। यो प्रभुको वचन हो (१ थेस्सलोनिकी ५:१५)।
  4. र्‍याप्चर सान्त्वना हो (१ थेस्सलोनिकी ४:१८)। यदि महासङ्कष्ट पश्चात् मात्र र्‍याप्चर हुने भएको भए यसले सान्त्वना प्रदान गर्न सक्दैनथ्यो।

सङ्कष्टकाल अगाडि नै र्‍याप्चर हुनेछ भन्ने बाइबलीय प्रमाण

मण्डली युगका विश्वासीहरूको र्‍याप्चर अक्षरशः हुनेछ भनेर विश्वास गर्नेहरूका बीचमा तीनओटा फरक फरक अवधारणाहरू छन्। यी अवधारणाहरू र्‍याप्चर र महासङ्कष्टको समय तालिकासित सम्बन्धित छन्। यी तीन अवधारणाहरू यस प्रकार छन्: पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू महासङ्कष्टकाल अगाडि नै र्‍याप्चर गराइनेछन्; मध्य-सङ्कष्टकालीय र्‍याप्चर (Mid-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू दनियलको ७० अौं हप्‍ताको पहिलो आधा भागको अनुभव गर्नेछन्; सङ्कष्ट-पश्चातीय र्‍याप्चर (Post-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू सङ्कष्टकालको पूरै कालखण्डको अनुभव गर्नेछन्।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर नै सही बाइबलीय शिक्षा हो भन्ने कुरामा हामी विश्वस्त हुनुका कारणहरू निम्नअनुसार छन्। यस अध्ययनमा हामी “मण्डली” भन्ने शब्दलाई सामान्य, संस्थागत अर्थमा प्रयोग गर्दैछौं:

१) मण्डली युगका विश्वासीहरूलाई उनीहरू क्रोधबाट बचाइनेछन् भन्ने प्रतिज्ञा दिइएको छ (१ थेस्सलोनिकी १:९-१०; ५:१-९; रोमी ५:९; प्रकाश ३:१०)।

महासङ्कष्टलाई परमेश्वरको क्रोधको दिन भन्ने संज्ञा स्पष्टै दिइएको छ। आज परमेश्वरले आफ्‍नो क्रोधलाई थामिराख्‍नुभएको छ; उहाँ अनुग्रहको सिंहासनमाथि विराजमान हुनुहुन्छ तर त्यो दिन नजिक आउँदैछ जब उहाँ न्यायको सिंहासनमाथि बस्नुहुनेछ। तब “उहाँको क्रोधको दिन” सारा संसारमाथि आउनेछ (भजनसङ्ग्रह ११०:५; यशैया १३:६-१३; प्रकाश ६:१६-१७)। प्रत्येक शताब्दीमा बाइबल-विश्वासी मण्डलीहरूले उत्पीडनका अनुभव गरेका छन्, तर त्यो भनेको महासङ्कष्ट भन्दा फरक कुरा हो। पवित्र जनहरूका उत्पीडनहरू दुष्ट मानिस र शैतानको क्रोधका कारण हुन्छन् जब कि सात वर्ष लामो सङ्कष्टकाल विशेष गरी परमेश्वरको क्रोधको समय हो ( प्रकाश ६:१६-१७; १४:१०)। मण्डली क्रोधको समयबाट बचाइने नभएर क्रोधको समयमा बचाइनेछन् भनेर कोही‍-कोही ठान्छन्। तर यो साँचो हुन सक्दैन किनभने महासङ्कष्टको समयमा यस पृथ्वीमा रहनेहरू क्रोधबाट बचाइँदैनन् तर उनीहरू मारिन्छन् भन्ने कुरा बाइबलले सिकाउँछ (प्रकाश १३:७)। मण्डली युगका विश्वासीहरू क्रोधबाट बचाइनेछन् भनेर सिकाउने पदहरूको माने उनीहरू क्रोधको उपस्थितिबाटै मुक्त हुनेछन् भन्ने हुनुपर्दछ। महासङ्कष्टको बारेमा हामीलाई बताइएको छ – “सम्पूर्ण पृथ्वीमाथि बस्नेहरू सबैमाथि पासोझैं त्यो आइपर्नेछ” (लूका २१:३५)। तसर्थ, मण्डली युगका विश्वासीहरू या त पृथ्वीबाट स-शरीर अलग पारिनुपर्ने हुन्छ या त क्रोधको दिनमा मुछिनुपर्ने हुन्छ। परमेश्वरको प्रतिज्ञा छ, “म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुनचाहिँ पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नाका निम्ति सारा संसारमाथि आउनेछ” (प्रकाश ३:१०)। यस पदबाट परमेश्वरले मण्डली युगका विश्वासीहरूलाई परीक्षामा जोगाउनुहुने नभएर परीक्षाबाट नै जोगाउनुहुनेछ भन्ने कुरा प्रस्ट बुझिन्छ।

२) पवित्र आत्मा सङ्कष्टकाल अगाडि अलग्गिनुहुनेछ (२ थेस्सलोनिकी २:१-८)।

बाइबलका अन्य खण्डहरूमा पवित्र आत्मा पापलाई रोकिराख्ने व्यक्तिको रूपमा बयान गरिनुभएको छ (उत्पत्ति ६:३; यशैया ५९:१९)। पवित्र आत्मा, मण्डलीलाई महान आज्ञा (प्रेरित १:८) पूरा गर्ने सामर्थ्य प्रदान गर्न वर्तमान प्रबन्धको शुरुमा यस संसारमा पेन्टेकोस्टको दिनमा आउनुभयो। परमेश्वरको ठूलो क्रोधको दिन अगावै उहाँले मण्डली युगका विश्वासीहरूलाई स्थानान्तरण अर्थात् र्‍याप्चर गर्नुहुनेछ। यसको मतलब पवित्र आत्मा त्यसपछि संसारमा पटक्कै हुनुहुनेछैन भन्ने होइन। यसको मतलब उहाँ जुन प्रकारले यस वर्तमान युगमा उपस्थित हुनुहुन्छ दुरुस्त त्यसरी नै चाहिँ त्यसबेला हुनुहुनेछैन भन्ने हो।

३) र्‍याप्चर अचानक (imminent) अर्थात् कुनै पनि बेला हुन सक्ने घटना हो।

यो कुरा ख्रीष्टले सिकाउनुभयो (मत्ती २४:४२,४४; २५:१३; मर्कूस १३:३३)। यो कुरा पावलले सिकाए (फिलिप्पी ४:५; तीतस २:१२-१३)। यो कुरा याकूबले सिकाए (याकूब ५:८-९)। यो कुरा पत्रुसले सिकाए (१ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षामा जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)। नयाँ नियमको विश्वासी जनले सारा संसारभरिका मानिसहरूलाई छोप्न आउने “अन्धकारको दिन” बाट छुटकारा पाउनेछ भनी प्रतिज्ञा गरिएको हुनाले प्रेरित पावलले थेस्सलोनिकाका विश्वासीहरूलाई उनीहरू चिन्ह तथा समयहरूको पछि लाग्नु आवश्यक छैन भन्ने कुरा सिकाए (१ थेस्सलोनिकी ५:१-९)। मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षामा होइन तर परमेश्वरको पुत्रबाटको छुटकाराको प्रतीक्षामा जिउँदछ।

४) मण्डली पुरानो नियममा प्रकट नभएको एक रहस्य हो (एफेसी ३:१-११)।

पुरानो नियमका अगमवक्ताहरूले भविष्यवाणी गरेका घटनाहरूको कालक्रमसित नयाँ नियम मण्डलीको कुनै सरोकार छैन। उनीहरूले ख्रीष्टको पहिलो आगमनको, उहाँको अलौकिक जन्मको, उहाँको जीवनको, मृत्युको, बौरिउठाइको र स्वर्गारोहणको स्पष्टै भविष्यवाणी गरे। तिनै अगमवक्ताहरूले ख्रीष्टको दोस्रो र महिमित आगमनको र त्यस अगाडि हुने अपूर्व विश्वव्यापी सङ्कष्टको र त्यसपछि स्थापना हुने महिमित मसीही राज्यको भविष्यवाणी गरे। तर ती अगमवक्ताहरूले वर्तमान मण्डली युगलाई देख्‍न सकेनन् — “जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:५)।

पहिलो र दोस्रो आगमनको बीचमा एउटा कालखण्ड रहेको छ जसलाई पुरानो नियमका अगमवक्ताहरूले देखेनन्। यो कालखण्ड मण्डली युग हो। इस्राएल केही समयको लागि (अस्थायी रूपमा) हटाइनेछ र त्यस बेला परमेश्वरले सबै जातिहरूबाट मानिसहरूको एउटा विशेष आत्मिक शरीर निर्माण गर्नुहुनेछ भन्ने कुरा अगमवक्ताहरूले देखेनन्। उहाँले यस उद्देश्यलाई पूरा गर्नुभएपछि र अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आएपछि परमेश्वरले इस्राएलको हाल स्थगित रहेको अगमवाणीरूपी घडीलाई पुनः सञ्चालनमा ल्याउनुहुन्छ र आफ्‍नो प्राचीन चुनिएको जातिको सम्बन्धमा रहेका पुरानो नियमका बाँकी सबै भविष्यवाणीहरूलाई पूरा गर्नुहुनेछ। “…जबसम्म अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ” (रोमी ११:२५)।

दनियलको पुस्तकको नवौं अध्यायमा उल्लेखित सत्तरीयौं हप्‍ता (Daniel’s 70th week) र महासङ्कष्टको कालखण्ड इस्राएलसित सम्बन्धित कुरा हुन्, मण्डली‍ युगका विश्वासीहरूसित होइन। वर्तमान रहस्यको कालखण्डको अन्त त्यसबेला हुनेछ जुन बेला मण्डली युगका विश्वासीहरू पृथ्वीदेखि उठाइलगिनेछन्। अनि प्रभुले इस्राएल जातिको सम्बन्धमा रहेको उहाँको योजनालाई अगाडि बढाउनुहुनेछ जब उहाँले याकूबको कष्ट (Jacob’s trouble) को कालखण्ड (यर्मिया ३०:६), मसीहको महिमित आगमन, बचेकाहरूलाई फेरि जम्मा पार्ने काम र मसीही राज्यको स्थापना सम्बन्धीका पुरानो नियमका भविष्यवाणीहरू पूरा गर्नुहुनेछ।

५) सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा मण्डली रहिरहेको हुँदैन भन्ने कुरा प्रकाशको पुस्तकले देखाउँदछ।

प्रकाश अध्याय ३ पछि मण्डली पृथ्वीमा रहिरहेको पाइँदैन।

सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा परमेश्वरको साक्षी हुने जिम्मेवारी इस्राएलको हुनेछ, मण्डलीको होइन (प्रकाश ७)।

प्रकाश ११ मा उल्लेखित दुई साक्षीहरूको सेवकाइले उनीहरूलाई इस्राएल जाति र “परमप्रभुको दिन” सित सम्बन्धित पुरानो नियमका अगमवाणीहरूसित सम्बन्धित रहेको देखाउँछन्। यी दुई साक्षीहरू आफ्‍नो काम यरूशलेमबाट सञ्चालन गर्छन्, अर्थात् इस्राएलको राजधानीबाट। मण्डलीहरूको त्यस्तो कुनै राजधानी भन्ने कुरा नै हुँदैन किनकि मण्डलीको आशा स्वर्गीय आशा हो, पार्थिव होइन (कलस्सी ३:१-४; फिलिप्पी ३:१७-२१)। यी दुई साक्षीहरू भाङ्ग्राको लुगा लगाउँछन् जुनचाहिँ पुरानो नियमको इस्राएलमा त्यस्तै समयमा लगाइने गरिन्थ्यो, तर नयाँ नियम विश्वासीहरूसित सरोकार राख्‍ने कुरा यो होइन। कहिल्यै मण्डलीहरूले भाङ्ग्रा लगाएको पाइँदैन। बरु तिनीहरूलाई “प्रभुमा सधैं आनन्द गर; म फेरि भन्दछु, आनन्द गर” (फिलिप्पी ४:४) भनिएको पाइन्छ। मण्डली युगको विश्वासीको न्याय सदाको लागि बितेर गइसकेको छ अनि उसले आफ्‍नो मन स्वर्गीय स्थानहरूमा लगाउनुपर्छ जहाँ उसको ओहदामा ऊ ख्रीष्टसँगै अनन्तका लागि विजयी तुल्याइएर बसालिएको छ (एफेसी २:५-१०)। प्रकाश ११:४ ले यी दुई साक्षीहरूलाई पुरानो नियमको अगमवाणीसित जोडिएको देखाउँछ। जकरिया ४:३,११,१४ इस्राएलको भविष्यवाणी हो, मण्डलीको होइन। अझ, यी दुई साक्षीहरूले प्रकाश १०:५-६ मा आफ्‍ना शत्रुहरूमाथि इन्साफ बर्साउँछन्। ठीक यस्तै इन्साफ बर्साउन चाहिरहेका आफ्‍ना चेलाहरूलाई भने येशूले हप्‍काउनुभयो र बरु मण्डली युगका विश्वासीलाई आफ्‍ना शत्रुहरूको विनाशका निम्ति होइन भलाइका निम्ति प्रार्थना गर्नलाई आज्ञा दिनुभयो (लूका ९:५४-५६; रोमी १२:१४,१७-२१)।

सङ्कष्टकालको कालखण्डमा शैतानले इस्राएललाई सताउनेछ, मण्डलीलाई होइन (प्रकाश १२)। यस अध्यायको स्त्रीले इस्राएललाई जनाउँछ भन्ने कुरामा कुनै शङ्का छैन। पद ५ मा उक्त स्त्रीले ख्रीष्टलाई जन्माएको देखाइएको छ; यो कुरा स्पष्ट छ कि येशू इस्राएलद्वारा जन्मनुभयो, मण्डलीद्वारा होइन (यशैया ९:६-७; रोमी ९:५)। साथै, प्रकाश १२:१-२ का साङ्केतिक चिन्हहरूको भाषाले पुरानो नियमको इस्राएललाई जनाइरहेको छ। इस्राएललाई स्त्रीको संज्ञा दिइएको छ (यशैया ५४:५-७)। प्रकाश १२:२ का घाम, जून र १२ ताराहरूको उल्लेखले हाम्रो ध्यान यूसुफले देखेको इस्राएलसित सम्बन्धित सपनातिर लैजान्छ (उत्पत्ति ३७:९)। प्रकाश १२:२ का शब्दहरू मीका ५:३ को झण्डै हुबहु उद्धरण हो जहाँ फेरि मसीहद्वारा हुने इस्राएलको छुटकाराको उल्लेख छ। यी साङ्केतिक चिन्हहरू नयाँ नियमका मण्डलीहरूलाई बयान गर्न प्रयोग गरिएका छैनन्।

यिनै लगायत अन्य कारणहरूले पनि नयाँ नियमका पवित्र जनहरूको र्‍याप्चर दनियलको ७० औं हप्‍ता शुरु हुनु भन्दा अगाडि हुनेछ भनेर हामी विश्वस्त भएका छौं। परमेश्वरको अगमवाणीको पात्रोमा अब कुनै पनि बेला पूरा हुनलाई पर्खिरहेको घटना भनेको र्‍याप्चर नै हो।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) को महत्त्व

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा थोरै महत्त्वको, ज्यादा ध्यान दिनु नपर्ने शिक्षा होइन। जसरी हामीले हेरिसकेका छौं, ख्रीष्टले, पावलले, याकूबले र पत्रुसले ख्रीष्टको पुनरागमन कुनै पनि घडी हुन सक्ने, र त्यसैले प्रतीक्षा गरिनुपर्ने घटना हो भनेर सिकाए (मत्ती २४:४४; फिलिप्पी ४:५; याकूब ५:८-९; १ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षा गर्दै जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा विश्वासीलाई आफ्‍नो ख्रीष्टिय जीवनलाई शुद्ध राख्नलाई एकदमै प्रेरणा दिने शिक्षा हो।

  1. यसले परीक्षा र उत्पीडनहरूको बीचमा विश्वासीलाई उत्साह प्रदान गर्छ (१ थेस्सलोनिकी ४:१७-१८)।
  2. यसले मण्डलीलाई महान् आज्ञामा ध्यान-केन्द्रित रहन मदत गर्छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; प्रेरित १:८)। यसले हामीलाई यो सिकाउँछ कि सुसमाचार प्रचार गर्ने काम, मानिसहरूलाई ख्रीष्टमा ल्याउने काम र सत्यको खाँबो र जगको रूपमा मण्डलीहरूलाई स्थापना गर्ने काम सर्वोपरि महत्त्वको सबभन्दा जरूरी काम हो। डी. एल. मूडीले एकदम ठीक कुरा गरेका हुन् जब उनले भने, “म यस संसारलाई भताभुङ्ग भएको जहाजको रूपमा देख्दछु। परमेश्वरले मलाई ज्यान बचाउने डुङ्गा दिनुभएको छ र मलाई भन्नुभएको छ, ‘मूडी, तिमीले सकभर धेरैजनालाई बचाऊ।'”
  3. यसले हामीलाई प्रभुका काममा व्यस्त रहन प्रेरणा दिन्छ (१ कोिरन्थी १५:५८)।
  4. यसले हामीलाई आज्ञापालनको जीवन व्यतित गर्न प्रेरणा दिन्छ (१ यूहन्ना ३:१-३; १ थेस्सलोनिकी ५:४-७)।
  5. यसले हामीलाई दुष्टताबाट अलग रहन प्रेरणा दिन्छ (तीतस २:१३-१४)।
  6. यसले विश्वासीहरूलाई झूटा शिक्षा (heresy) र सत्यत्याग (apostasy) देखि सचेत रहने बनाउँछ (२ तिमोथी ४:३-४; १ यूहन्ना २:२४-२८)।

र्‍याप्चर सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. “र्‍याप्चर” शब्दले कुन कुरालाई जनाउँछ?
  2. र्‍याप्चर हुँदा पूरा हुने दुईटा घटनाहरू कुन कुन हुन्?
  3. मरिसकेका विश्वासीहरू कहाँ छन्?
  4. र्‍याप्चर कत्तिको निश्चित कुरा हो?
  5. र्‍याप्चर विश्वासीहरूका लागि किन सान्त्वनाको कुरा हो?
  6. र्‍याप्चर सम्बन्धी तीन अवधारणाहरू के-के हुन्?
  7. र्‍याप्चर सङ्कष्टकालको कालखण्ड अगाडि नै हुनेछ भनेर हामीले किन विश्वास गर्छौ? पाँचओटा कारणहरू दिनुहोस्।
  8. महासङ्कष्टलाई परमेश्वरको ______________ को दिन भन्ने संज्ञा दिइएको छ।
  9. र्‍याप्चरको सवालमा “अचानक” (imminent) को माने के हो?
  10. नयाँ निमयका कुन‍ चारजना प्रचारकहरूले प्रभुको पुनरागमन अचानक (imminent) हुनेछ भनेर सिकाए?
  11. शुरुका ख्रीष्टियनहरूले प्रभु कहिले आउनुहुनेछ भनेर प्रतीक्षा गर्थे?
  12. के मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षा गर्दैछ?
  13. नयाँ नियममा “रहस्य” भन्ने शब्दावलीको माने के हो?
  14. के पुरानो नियमका अगमवक्ताहरूले मण्डली युगको वर्णन गरे?
  15. प्रकाशको पुस्तकले मण्डलीको नभएर इस्राएलको वर्णन गर्दछ भनेर हामी कसरी जान्दछौं?
  16. प्रकाशको पुस्तकका दुई साक्षीहरू यहूदी हुनुपर्छ भनेर हामी कसरी जान्दछौं?
  17. प्रकाश १२ को स्त्री इस्राएल हो भनेर हामी कसरी जान्दछौं?
  18. कुनै पनि बेला हुन सक्ने र्‍याप्चरको शिक्षाले ख्रीष्टिय जीवनलाई कसरी शुद्ध पार्दछ? ६ ओटा बुँदाहरू बताउनुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






अन्य भाषा २

Study Series

अन्य भाषा २

डेविड क्लाउड

अघिल्लो पाठमा हामीले अन्य भाषाको वरदान सम्बन्धी चारओटा आधारभूत सत्यताहरूको चर्चा गर्‍यौं। (१) बाइबलीय अन्य भाषाहरू संसारमै बोलिने वास्तविक भाषाहरू थिए। (२) बाइबलीय अन्य भाषाहरू अलौकिक तवरले प्रदान गरिएका थिए। (३) बाइबलीय अन्य भाषाहरूका सवालमा तिनका साथसाथै अनुवाद गर्ने अलौकिक वरदान पनि दिइन्थ्यो। (४) बाइबलीय अन्य भाषाहरू अविश्वासी इस्राएलको निम्ति चिन्ह थियो।

यस पाठमा हामी अन्य भाषाहरू सम्बन्धी अरू तीन आधारभूत सत्यताहरूको चर्चा गर्नेछौं:

५) बाइबलीय अन्य भाषाहरू प्रेरितीय निर्देशनहरूको घेराभित्र अभ्यास गरिनुपर्थ्यो (१ कोरिन्थी १४)

पावलले भने, “भाषाहरूमा बोल्नालाई मनाही नगर”, तर साथसाथै उनले भाषाहरू कसरी प्रयोग गरिनुपर्छ भन्ने बारेमा धेरैओटा प्रतिबन्धहरू पनि लगाए। मैले आधुनिक युगमा “अन्य भाषाहरू” प्रेरितीय नियमहरूको घेराभित्र रहेर अभ्यास गरिएको कहिल्यै देखेको छैन।

  1. अन्य भाषाहरू पालैसित बोलिनुपर्छ, एक-एक गरी (“यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र पालैसँग बोलून्…” १ कोरिन्थी १४:२७)। मैले देखेका धेरजसो पेन्टेकोस्टल-क्यारिज्म्याटिक सभाहरूमा उनीहरूका “अन्य भाषाहरू’ धेरैजनाद्वारा एकैचोटी बोलिएको पाएको छु।
  2. अन्य भाषाहरू अनुवाद गरिनुपर्छ (“अनि एउटाले अनुवाद गरोस्” १ कोरिन्थी १४:२७)। आधुनिक पेन्टेकोस्टलवादमा अन्य भाषाका सन्देशहरू विरलै अनुवाद गरिन्छन्, अनि गरियो भने पनि “अनुवाद” र “अन्य भाषा” को बीच कुनै सरोकार नभएको कुरा प्रष्टै थाह हुन्छ।
  3. त्यहाँ कुनै गडबड हुनुहुँदैन (“किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ” १ कोरिन्थी १४:३३)। आफू गएको जुनै पनि पेन्टेकोस्टलक-क्यारिज्म्याटिक सभा जहाँ “आत्माले काम गरिरहेको” मानिन्थ्यो, मलाई यस्तो विचार आउने गरेको छ, “यहाँ गडबड छ”। त्यहाँ अस्तव्यस्तताको हैकम रहन्छ। ती “अन्य भाषाहरू” बुझ्न सकिँदैनन्। त्यहाँ अर्थ न व्यर्थका कुराहरू भइरहेका हुन्छन् र बाइबलमै नभएका कुराहरू भइरहेका हुन्छन्। तर परमेश्वर गडबडको परमेश्वर हुनुहुन्न भनेर हामीलाई भनिएको छ; यो त निकै फराकिलो अभिव्यक्ति हो।
  4. त्रीहरूलाई अन्य भाषाहरूमा बोल्न मनाही छ (“तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ” १ कोरिन्थी १४:३४)। पावलले मोशाको व्यवस्थाको उल्लेख गर्छन् जसले पनि स्त्री पुरुषको अधीनमा राखिएको कुरा बताउँछ (उत्पत्ति ३:१६; गन्ती ३०:३-१३)। पेन्टेकोस्टलवादको जन्म भएदेखि नै स्त्रीहरू अन्य भाषाहरूको सवालमा अग्रपन्थी भूमिका निर्वाह गर्दै आएका छन्। टोपिका, क्यान्जासमा रहेको पारहामको बाइबल स्कूलमा अन्य भाषा प्रथम पटक बोल्ने व्यक्ति एक स्त्री थिई। सेमूरको अजूसा स्ट्रीट मिशनमा अन्य भाषा बोल्ने प्रथम व्यक्ति एक स्त्री थिई। सन् १९०६ को एप्रिल १७ मा उक्त मिशनमा पुग्ने लस एन्जेलेस टाइम्सका एक पत्रकारले अवलोकन गरे, “बूढो प्रचारक [सेमूर] ले ‘दिदीबहिनीहरू’ लाई ‘अन्य भाषाहरू निस्केर आओस्’ भन्दै जोड गरे अनि स्त्रीहरूले आफूहरूलाई धार्मिक उत्तेजनाको उत्पातका निम्ति सुम्पिहाले।”
  5. सबै कुरा शिष्टतापूर्वक गरिनुपर्छ (“सबै कुराहरू शिष्टतापूर्वक… गरिऊन्” १ कोरिन्थी १४:४०)। “शिष्टतापूर्वक” भनेर अनुवाद गरिएको ग्रीक शब्द हो “यूस्खेमेनोस्”, जसलाई “इमान्दार भएर” (रोमी १३:१३; १ थेस्सलोनिकी ४:१२) भनेर पनि अनुवाद गरिएको छ। यस शब्दले नैतिक शिष्टता, इमान्दारीपन र निष्ठावान् चरित्रको भावना बोकेको छ, अर्थात् येशू ख्रीष्टको सुसमाचार र येशू ख्रीष्टको मण्डलीलाई यसरी सिँगारियोस् कि हाम्रा क्रियाकलापहरूले सुसमाचार वा मण्डलीमाथि कुनै पनि निन्दा निम्त्याउने काम नगरोस्। पेन्टेकोस्टल‍-क्यारिज्म्याटिक लहरमा हुने भ्रम र झूटहरूको बिगबिगीको बारेमा जब हामी विचार गर्दछौं र धेरैपटक स्त्रीहरू आत्माद्वारा प्रभावित भएको भनी दाबी गरिएको कुरालाई र उनीहरू अशिष्ट तवरले ढलेका र फलस्वरूप उनीहरूलाई ढाकिनुपरेका कुरालाई जब हामी विचार गर्दछौं यो स्पष्ट जानिन्छ कि त्यहाँ सबै कुराहरू शिष्टतापूर्वक गरिने काम भएको छैन।
  6. सबै कुरा क्रमअनुसार गरिनुपर्छ (“सबै कुराहरू… क्रमअनुसार गरिऊन्” १ कोरिन्थी १४:४०)। सृष्टिका परमेश्वर व्यवस्थित परमेश्वर हुनुहुन्छ। जर्ज गार्डिनर (George Gardiner) धेरै वर्षसम्म एक पेन्टेकोस्टल थिए र उहाँ भन्नुहुन्छ पेन्टेकोस्टलवादबाट उहाँको बाहिर निस्कने यात्राक्रम “एकातिर क्यारिज्म्याटिक अभ्यासहरू र अर्कोतिर बाइबलका अभिव्यक्तिहरूका बीच रहेको अत्यन्तै विशाल खाडलको बारेमा उठेका पिरल्ने प्रश्नहरूबाट शुरुआत भएको थियो!” (गार्डिनर, दि कोरिन्थियन क्याटास्ट्रोफी, पृष्ठ ८)। उनले प्रेरितको पुस्तकलाई अध्ययन गर्ने अठोट गरे। “मैले प्रेरितको पुस्तकलाई दोहोर्‍याएर पढें, विस्तारै र ध्यान दिएर पढें, यसरी प्रार्थना गर्दै पढें, ‘प्रभु, यहाँ के भनिँदैछ म देख्न सकूँ, केवल वचनले जे भन्छ त्यही मात्र देख्न सकूँ। यदि मैले आफू गलत भएको भेट्टाएँ भने त्यो स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस् र मैले अनावश्यक आलोचना गरेको भेटियो भने भूल स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस्।’ प्रेरितको पुस्तकभित्रको मेरो यात्राले मेरो आँखा खोलिदियो! शुरुका मण्डलीहरूको क्रियाकलाप तथा अनुभवहरू आधुनिक लहरका क्रियाकलाप तथा ‘अनुभवहरू’ भन्दा ज्यादै परका कुरा थिए। कति हिसाबले त ती ठीक उल्टा थिए!” (The Corinthian Catastrophe)। हो, यही कुरा मैले पनि आफू एक नयाँ ख्रीष्टियान हुँदा पत्ता लगाएको थिएँ। उनीहरूको “अन्य भाषाहरू” बाइबलीय ढङ्गले अभ्यास नगरिएको कुराले पेन्टेकोस्टलवाद शास्त्रसम्मत छैन भनी म विश्वस्त भएको हुँ। म दर्जनौं पटक संसारका विभिन्न स्थानहरूका पेन्टेकोस्टलक र क्यारिज्म्याटिक सभाहरूमा गएको छु र मैले कहिल्यै पनि अन्य भाषाहरू बाइबलीय ढङ्गमा परिचालन भएको देखेको छैन।

६) पेन्टेकोस्टल-क्यारिज्म्याटिक तरिकाको “अन्य भाषामा बोल्ने” काम अबाइबलीय र खतरनाक छ।

मानौं, आज “अन्य भाषाहरूको बोली” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” जस्तो कुरा छ भन्ने कुरालाई हामीले स्वीकार्‍यौं र त्यसले हामीलाई अझ असल ख्रीष्टिय जीवन यापन गर्न मदत गर्छ भन्ने कुरालाई मान्यौं र त्यसलाई “आफै गरी हेर्नोस् न” भन्ने पेन्टेकोस्टल-क्यारिज्म्याटिक चुनौतीलाई स्वीकार्‍यौं, तब त्यसपछि उठ्ने प्रश्न हो, “म यस ‘भाषा’ वा ‘प्रार्थना गर्ने भाषा’ मा कसरी बोल्न थाल्न सक्छु त’?” प्रायः जवाफ यस्तो आउने गर्छ:

पहिलो कदम: हामीलाई भनिन्छ कि पहिलो कदम भनेको यी कुरालाई विश्लेषण गर्ने पट्टी लाग्न छाड्नुपर्छ र नयाँ अनुभवहरूका लागि आफूलाई खुल्ला बनाउनुपर्छ। माइकल हार्पर (Michael Harper) ले लेखेको दीज वन्डर्फूल गीफ्ट्स (These Wonderful Gifts) किताबमा एउटा अध्यायको शीर्षक “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” राखिएको छ जसमा विश्वासीलाई अनुभवहरूलाई धेरै होशियार र कट्टर भएर विश्लेषण गर्न छाड्न शिक्षा दिइएको छ र “आपत्ति जनाउने सूचक प्रणालीहरू” खडा गर्न छोड्न र “सुरक्षाका पर्खालहरूभित्र डराएर टुक्रुक्क बस्न” छाड्न अर्ती दिइएको छ। उनी भन्छन्, विश्वासीहरू आफ्‍ना “पर्खाल र अचूक प्रणालीहरू” को भित्रबाट बाहिर निस्केर आउनुपर्छ र परमेश्वरको सामु आफूलाई केवल खुल्ला मात्र बनाउनुपर्छ। क्यारिज्म्याटिक अनुभवहरू प्राप्‍त गर्नलाई आवश्यक तर अबाइबलीय र अत्यन्तै खतरनाक कदम यही हो। बाइबलले विश्वासीलाई सबै समयहरूमा सचेत र जागो रहनलाई चेताउनी दिन्छ (१ पत्रुस ५:८)। यसको अर्थ हो हाम्रा मनहरूमाथि हाम्रो नियन्त्रण रहिरहनु आवश्यक छ र त्यसमा कुनै पनि हानिकारक पराइ तत्त्वहरूको प्रभाव पर्न दिनुहुँदैन। यो त “लेटिङ् गो” अर्थात् “आफूलाई अनियन्त्रित छोड्नु” र सबै कुराहरूको जाँच गर्न छोड्नुको ठीक विपरित कुरा हो।

दोस्रो कदम: पवित्र शास्त्रद्वारा जाँच गर्ने कामलाई परित्याग गरिसकेपछि “अन्य भाषाहरूको वरदान” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” लाई अनुभव गर्नलाई चलिआएको तरिका हो आफ्‍नो मुख खोल्नु र शब्दहरू बोल्न थाल्नु तर बुझिने शब्दहरू ता होइन, अनि दाबीअनुसार “परमेश्वरले नियन्त्रणमा लिनुहुन्छ।”

यो त यति साह्रो अबाइबलीय र मूर्खतापूर्ण कुरा छ कि यसलाई झूटो साबित गरिनु अनावश्यक देखिन्थ्यो। नयाँ नियममा यस्तो कुरा बिलकुलै पाइँदैन। बाइबललाई बेवास्ता गर्नु र बाइबलले कहिल्यै खोजी गर नभनेको कुराको खोजी गर्नु र बाइबलले समर्थन नगरेको तरिकामा त्यसो गर्नु, र जाँचबुझै नगरीकन यस किसिमका धार्मिक अनुभवहरूका निम्ति आफूलाई खुल्ला बनाउनु भनेको आफूलाई “अर्कै आत्मा” (२ कोरिन्थी ११:४) ग्रहण गर्ने खतरामा पार्नु हो। ख्रीष्टियानहरूलाई प्रभाव पार्न खोज्ने बहकाउने आत्माहरू त्यहाँ छन् भनेर बाइबलले ख्रीष्टियानहरूलाई चेताउनी दिएको छ जुन आत्माहरू ज्योतिका स्वर्गदूतहरू र परमेश्वरका सेवकहरूको भेषमा देखा पर्न सक्छन् (२ कोरिन्थी ११:१३-१५; मत्ती २४:२४)। उनीहरूको शारीरिक अवस्थाले, खराबप्रतिको सहिष्णुताले र खुट्ट्याउन नसक्ने अवस्थाले गर्दा कोरिन्थीहरू झूटा आत्माहरूलाई ग्रहण गर्ने खतरामा रहेको कुराको चेताउनी पावलले दिन्छन् (२ कोरिन्थी ११:३-४)। साँचो ख्रीष्टियान दुष्ट आत्माले पक्रिन त सक्दैन तर ऊ तिनीहरूद्वारा निश्चय पनि प्रभावित हुन भने सक्दछन्।

अन्य भाषाहरूको बोली एक ईश्वरीय आश्चर्यकर्म थियो र त्यो परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिने कुरा थियो भनेर बाइबलले स्पष्टै सिकाएको छ। “तर यी सबै कुराहरू एउटै र उहीं आत्माले नै गर्नुहुन्छ, जसले आफ्‍नै इच्छाअनुसार हरेकलाई अलग-अलग बाँडिदिनुहुन्छ” (१ कोरिन्थी १२:११)। पेन्टेकोस्टको दिनमा चेलाहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन् न ता “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” को कुनै तालिम लिएका थिए। भन्नुपर्दा, उनीहरूले अन्य भाषाहरूमा बोल्ने आशा समेत गरेका थिएनन्। प्रेरितको पुस्तकमा ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोलेको प्रत्येक घटनामा ती अन्य भाषाहरू परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिएका थिए। एउटै पनि घटनामा प्रापकहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन्।

७) पहिलो शताब्दिमा समेत बाइबलीय अन्य भाषाहरू सबै ख्रीष्टियानहरूद्वारा बोलिने कुरा थिएन (१ कोरिन्थी १२:७-१०,२८-३०)

पावल प्रश्न गर्छन्, “के सबैले विभिन्न भाषाहरू बोल्छन्?” प्रश्न यसरी प्रस्तुत गरिएको छ कि त्यसको जवाफ एउटै मात्र हुन सक्छ, “बोल्दैनन्”।

प्रेरितको पुस्तकको एक सरल सर्वेक्षण गरियो भने त्यसले निर्णायक रूपमै यस कुरालाई प्रमाणित गर्नेछ कि शुरुका मण्डलीहरूमा सबै विश्वासीहरूले अन्य भाषाहरूमा बोल्दैनथे। पेन्टेकोस्टको दिनमा समेत माथिल्लो कोठामा रहेका चेलाहरूले अन्य भाषाहरूमा बोले तापनि (प्रेरित २:४) त्यस दिन पत्रुसको प्रचारद्वारा मुक्ति पाएकाहरूले अन्य भाषाहरूमा बोलेनन् (प्रेरित २:४०-४२)। प्रेरित ४:४ र ६:७ मा विश्वास गरेका यहूदीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ८:३५-३९ मा मुक्ति पाएका इथियोपियाईले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ११:२०-२१ मा एन्टिओकमा मुक्ति पाउने प्रथम व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १६:१३-१५ मा मुक्ति पाएका लिडिया र तिनका घरनाकाहरू र प्रेरित १६:३०-३३ मा मुक्ति पाएका फिलिप्पी कैदखानाका हाकिम र तिनका परिवारले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १७:४, १२, ३४ मा मुक्ति पाएका थेस्सलोनिकीहरू र बेरियालीहरू र एथेन्सबासीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १८:८ मा मुक्ति पाएका क्रिस्पस र अरूहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १९:१७-१९ मा एफेसेसमा विश्वास गर्नेहरूले अन्य भाषाहरूमा बोलेनन्।

नयाँ नियममा कुनै पनि हिसाबमा अन्य भाषाहरूको बोलीलाई जोड दिइएको छैन। प्रेरितको पुस्तकभरिमा त्यो केवल तीनपटक अभ्यास गरिएको थियो अनि बाँकी बहुसङ्ख्यक विश्वासीहरूले त्यसको प्रयोग गरेनन्। पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरमा अन्य भाषाहरूको बोलीलाई जुन किसिमको जोड दिइन्छ त्यसलाई सृजना गर्नलाई बाइबलमै नभएका थुप्रै कुराहरू त्यहाँ भएजस्तै गरी पढ्नुपर्छ अनि यो त इमानदार ख्रीष्टियान भाइहरूले पवित्र शास्त्रहरूको प्रयोग गर्ने तरिका पटक्कै होइन।

(अन्य भाषाहरूको बोली सम्बन्धी थप अत्यन्तै विस्तृत अध्ययनका लागि अङ्ग्रेजी पाठकले वे अफ लाइफ लिटरेचरबाट प्रकाशित The Pentecostal-Charismatic Movements पढ्नुहोला। यस पुस्तकमा हामीले कथित “व्यक्तिगत प्रार्थना गर्ने भाषा”, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको भरपूरी, आगोको बप्तिस्मा, विश्वासीहरूका निम्ति भाषाहरूको चिन्ह, भाषाहरूको अनुवाद, रोमन क्याथोलिक चर्च तथा झूटा शिक्षा( कल्ट) हरूमा अन्य भाषाहरूको बोली, आदि अरू थुप्रै कुराहरूको चर्चा गरेका छौं।)

अन्य भाषाहरूको बोली सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. अन्य भाषाहरू सम्बन्धी सातओटा आधारभूत बाइबलीय सत्यताहरू के-के हुन्?
  2. बाइबलीय अन्य भाषाहरू वास्तविक ______________________ थिए।
  3. “ग्लोस्सा” भन्ने ग्रीक शब्दको माने के हो?
  4. नयाँ नियमको कुन खण्डमा हामी कसरी अन्य भाषाहरूमा बोल्न सिक्न सक्छौं भनेर बयान गरिएको छ?
  5. क्यारिज्म्याटिकहरूले अन्य भाषाहरू अनुवाद गर्न सक्छन् कि सक्दैनन् भनेर प्रमाणित गर्नलाई भूतपूर्व पेन्टेकोस्टलवादी फर्नान्ड लेग्रान्डले कुन चुनौतीको युक्ति निकाले?
  6. बाइबलीय अन्य भाषाहरू ______________________________________ का निम्ति चिन्ह थिए।
  7. १ कोरिन्थी १४:२०-२२ मा पावलले पुरानो नियमको कुनचाहिँ भविष्यवाणीलाई उद्धृत गर्दछन्?
  8. रेरितको पुस्तकमा अन्य भाषाहरू अभ्यास भएको हरेक घटनामा ___________________________ उपस्थित थिए।
  9. अन्य भाषाहरू यहूदीहरूका निम्ति चिन्ह थिए भन्ने तथ्यले सबै आधुनिक अन्य भाषाहरूको बोलीलाई झूटा साबित गर्दछ। कसरी?
  10. १ कोरिन्थी १४ मा अन्य भाषाहरूको बोली सम्बन्धी छओटा नियमहरू के-के हुन्?
  11. पेन्टेकोस्टलवादी अन्य भाषाहरूमा बोल्नका निम्ति आवश्यक दुईटा खुड्किलाहरू के-के हुन्?
  12. पावलले कुनचाहिँ पुस्तकको कुन अध्यायमा उनको समयमा सबै ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोल्थे भनेर बताए?
  13. के पेन्टेकोस्टको दिनमा मुक्ति पाएका ३,००० ले अन्य भाषाहरूमा बोले?
  14. के इथियोपियाई नपुंसकले वा फिलिप्पीका कैदखानाका हाकिमले अन्य भाषाहरूमा बोले?
  15. रेरितको पुस्तकमा अन्य भाषाहरूको बोली कति पटक उल्लेख भएको छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






अन्य भाषा के हो, के होइन? १ यस पृष्ठलाई छाप्नुहोस्

Study Series

अन्य भाषा के हो, के होइन? १

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: प्रेरित २:४-६; १ कोरिन्थी १२:३०; १३:८; १४:२०-२२, २७, ३३, ३४, ३७, ४०

पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहर (Pentecostal-Charismatic Movement) मा बाइबलमा उल्लेखित अन्यभाषाको वरदानलाई ठूलो जोड दिइन्छ तर बाइबलको शिक्षाअनुसार यो एउटा अस्थायी अभ्यास थियो जुनचाहिँ पहिलो शताब्दिका मण्डलीहरूमै सीमित थियो। अन्य भाषाको शिक्षा सम्बन्धी सातओटा महत्त्वपूर्ण पाठहरू निम्नानुसार छन्:

१. बाइबलीय अन्य भाषाहरू संसारमा बोलिने वास्तविक भाषाहरू थिए (प्रेरित २:४-११)

बाइबलीय अन्य भाषाहरूको बारेमा एउटा आधारभूत तथ्य यो हो कि ती साँच्चीकै भाषाहरू थिए न कि बुझ्न नसकिने कुनै किसिमको बकबक। “प्रथम उल्लेख” को नियम (law of first occurrence) बाइबल व्याख्याको महत्त्वपूर्ण नियम हो; नयाँ नियममा अन्यभाषाको प्रथम अभ्यास प्रेरित २:६-११ मा देखिन्छ। त्यहाँ हामी देख्छौं अन्यभाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषामा बोल्न सक्ने अलौकिक क्षमता थियो। यहाँ कम्तिमा चौध‍-पन्ध्रओटा फरक-फरक भाषाहरूको उल्लेख भएको छ। यी चाहिँ सामान्य गरी संसारमै बोलिने भाषाहरू थिए जो त्यसबेला प्रचलित थिए। यहूदी चेलाहरूहरूले यी भाषाहरूमा बोल्न सके यद्यपि उनीहरूले तिनलाई सिकेकै थिएनन्। १ कोरिन्थी १२-१४ मा उल्लेखित अन्यभाषाको वरदान प्रेरितको पुस्तकको भन्दा फरक थियो भनेर विश्वास गर्नुपर्ने त्यहाँ कुनै कारणै छैन। दुवै ठाउँमा अन्यभाषाको अभ्यास आफूले कहिल्यै नसिकेको संसारकै भाषा बोल्ने काम थियो। दुवैमा उही ग्रीक शब्द “ग्लोस्सा” प्रयोग भएको छ। यस शब्दले कि त जिब्रोलाई नै जनाउँदछ (मर्कूस ७:३३) कि त जिब्रोले बोलिने भाषालाई।

२) बाइबलमा उल्लेखित अन्यभाषा परमेश्वरको इच्छामा प्रदान गरिएको अलौकिक वरदान थियो (प्रेरित २:४; १ कोरिन्थी १२:७-११)

योचाहिँ अन्यभाषाहरू सम्बन्धी आधारभूत सत्यता हो र यसले हामीलाई यो सिकाउँछ कि अन्यभाषाहरू न बलजफ्ती गरेर न सिकेर आउने कुरा हो; यस तथ्यले वर्तमान पेन्टेकोस्टल र क्यारिज्म्याटिकहरूको सामान्य अभ्यासलाई काट्छ। उदाहरणको लागि, डेनिस बेनेट (Dennis Bennet) भन्छन्, “आफ्‍नो मुख खोल्नुहोस् र बोल्न थाल्नुहोस्। अङ्ग्रेजीमा नबोल्नुहोस् न ता आफूले जान्ने अरू कुनै भाषामा, किनकि तपाईं आफूले जानेकै भाषामा बोल्नुहुन्छ भने परमेश्वरले तपाईंलाई अन्यभाषाहरूमा बोल्न अगुवाइ गर्न सक्नुहुन्न। …प्रथम पटक बोल्न सिक्दै गरेको एउटा बालकले जस्तै गरी आफ्‍नो मुख खोल्नुहोस् र आफ्‍ना ओठहरूमा आउने पहिलो उच्चारण तथा अभिव्यक्तिहरूमा बोल्न थाल्नुहोस्” (The Holy Spirit and You, pp.76,77)।

नयाँ नियममा यस्तो कुनै कुरा बिलकुल पाइँदैन। पेन्टेकोस्टको दिनमा चेलाहरू अन्यभाषाहरूमा बोल्न खोजिरहेका थिएनन्। उनीहरूले अन्यभाषामा बोल्न सिकाउने तालिममा भाग लिएका थिएनन्। नयाँ नियमको कहीँ पनि हामीलाई अन्यभाषाहरूमा बोल्न सिकाउने निर्देशनहरू दिइएका छैनन्। यदि तपाईंले कुनै कुरा सिकेर गर्न सक्नुहुन्छ भने त्यो आश्चर्यकर्म हुन सक्दैन!

३) अन्यभाषाको वरदानको साथसाथै अन्यभाषाको अनुवाद गर्ने उत्तिकै अलौकिक वरदान पनि हुन्थ्यो (१ कोरिन्थी १४:२७-२८)

तर जब हामी पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरलाई विचार गर्छौं, “अन्यभाषाको अनुवाद” त एउटा साँच्चीकै विचित्र कुराको रूपमा देखा परेको पाउँछौं किनकि “अन्यभाषाहरू” र “अनुवाद” का बीच कुनै समानता नै पाइँदैन। मैले धेरैपटक तीन वा चार शब्दहरूले बनेको अन्यभाषाको सन्देशलाई सुनेको छु (जस्तै, शालालामा, शालाबामा, शालानूना, शालालामा, शालाबामा, शालानूना) जसलाई एउटा विस्तृत आत्मिक सन्देशको रूपमा अनुवाद गरिएको पाएँ। फ्रान्सका भूतपूर्व पेन्टेकोस्टल फर्नान्ड लेग्रान्डले यो पेन्टकोस्टल “अनुवादको दुविधा” लाई यसरी बयान गर्छन्, “मैले व्यक्तिगत रूपमा सक्दो ध्यान पुर्‍याई र खुला मनस्थिति लिएर जाँच गर्दा अनुवादका सबै उदाहरणहरूमा मैले मानवीय जालसाजी र जानाजानी चालबाजी बाहेक अरू केही भेटिनँ।”

लेग्रान्डले एउटा जाँच गर्ने युक्ति निकाले। उनले एक स्कटिश मान्छेले “प्रभुको प्रार्थना” गरेको रिकर्ड गरे र केही क्यारिज्म्याटिकहरूलाई त्यसको अनुवाद गर्न लगाए, तर अङ्ग्रेजीको “प्रभुको प्रार्थना” त फ्रान्सेलीमा एउटा अर्तीको सन्देशमा परिवर्तित हुन गयो!” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ४७-५१)।

लेग्रान्डले अर्को एउटा चुनौती दिने युक्ति पनि निकाले, तर कुनै पनि पेन्टेकोस्टल वा क्यारिज्म्याटिकले उक्त चुनौतीलाई स्वीकारेको छैन। “एउटा सभाको आयोजना गर्नुहोस् जहाँ तपाईंहरूमध्ये एकजनाले अन्यभाषामा बोल्नुहोला र तीनजना अरूहरूले चाहिँ छुट्टाछुट्टै बसेर त्यसको अनुवादलाई रिकर्ड गर्नुहुनेछ। मोटामोटी एउटै कुरा बताउनुपर्ने ती अनुवादहरूलाई आपसमा तुलना गरिनेछ। … आजसम्म स्वीकार नगरिएको मेरो यस प्रस्तावलाई अन्यभाषा बोल्ने कुनै पनि क्यारिज्म्याटिक समुदायलाई चुनौतीको रूपमा लिखित रूपमा लिएर म यहाँ खडा रहेको छु” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ५२)।

४) बाइबलका अन्यभाषाहरू अविश्वासी इस्राएललाई मण्डलीको शुरुआत भएको छ भन्ने कुराको एउटा चिन्ह थियो अनि उक्त उद्देश्य पूरा भएपछि अन्यभाषाहरू बन्द भए (१ कोरिन्थी १४:२०-२२)

बाइबलीय अन्यभाषाहरूको सम्बन्धमा अर्को आधारभूत सत्यता के हो भने ती चाहिँ मूलतः इस्राएललाई परमेश्वरले सुसमाचार सबै जातिहरूमा फैलाउँदै हुनुहुन्छ भन्ने कुराको चिन्ह थियो। कोरिन्थीहरूले आत्मिक वरदानहरूको दुरुपयोग गर्दैथिए र विशेष गरी अन्यभाषासित उनीहरू मोहित भएका थिए। आत्मिकरूपमा बालकै भएकाले (१ कोरिन्थी ३:१) उनीहरू आफ्‍ना वरदानहरूको प्रदर्शनी गर्दैथिए। पावलले उनीहरूलाई अन्यभाषाहरूको साँचो उद्देश्य जान्न र फलस्वरूप बालक हुन छाड्न र पूरा बढेको मानिस बन्न आग्रह गर्दछन्। अन्यभाषाहरू यशैया २८:११-१२ को अगमवाणीको पूरा हुवाइ थियो जुन अगमवाणी यहूदीहरूलाई लक्षित थियो।

ती अलौकिक भाषाहरू चाहिँ परमेश्वर सबै मानव जातिहरूसित बोल्दैहुनुहुन्छ र उनीहरूलाई यहूदी लगायत अन्यजाति दुवै मिलेर बनेको एउटा नयाँ आत्मिक संरचनाभित्र आउनलाई बोलाउँदै हुनुहुन्छ भन्ने कुराको अविश्वासी इस्राएललाई चिन्ह थियो। यशैया २८:११ मा “यस जाति” भन्नाले यहूदी जातिलाई जनाँदछ जोसित यशैया अगमवक्ता बोल्दैथिए।

प्रेरितको पुस्तकमा, अन्यभाषाको वरदानमा बोलिएको हरेक अवसरमा यहूदीहरू उपस्थित भएको हामी पाउँछौं (प्रेरित २:६-११; १०:४६; १९:६)। पेन्टेकोस्टको दिनमा र प्रेरित १९ मा अन्यभाषा बोल्नेहरू स्वयं यहूदीहरू थिए। फर्नान्ड लेग्रान्डले निम्न महत्त्वपूर्ण अवलोकन गर्दछन्:

“उल्लेखनीय कुरा यो छ कि जहाँ-जहाँ यो चिन्ह देखा परेको पाइन्छ त्यो सधैँ यहूदीहरूको उपस्थितिमा देखा परेको पाइन्छ। अनि यहूदीहरूको अनुपस्थितिमा, जस्तै एथेन्समा वा माल्टामा, चिन्ह पनि अनुपस्थित भएको पाइन्छ।… उक्त चिन्हको चरित्रमै हामी यहूदीहरूको अविश्वासको चरित्र देख्दछौं। … उक्त चिन्हले पराइ भाषा बोल्नेहरूको अर्थात् अन्यजातिहरूको मुक्तिको सम्बन्धमा रहेको यहूदीहरूको अविश्वासलाई दोषी ठहराउने वा सुधार्ने काम गर्दैथियो। …तर ठीक यही कुरा नै थियो जुनचाहिँ यहूदीहरू विश्वास गर्न चाहँदैनथे। भन्नुपर्दा उनीहरू “सबै मानिसहरूका विरोधमा छन्…तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्” भनेर पावलले लेख्नुपरेको थियो (१ थेस्सलोनिकी २:१५-१६)। … पराइ जातिहरूसित यहूदीहरू अब एक बनिएको भन्ने धारणा पहिलो शताब्दिका यहूदीहरूलाई पचाउनै नसकिने कुरा थियो। त्यस्तो विचार मात्र पनि यहूदीहरूको पूर्वज प्रवृत्तिलाई उत्तेजित पार्न पर्याप्त थियो। तरैपनि उनीहरूले बुझ्नैपर्ने र अन्तमा स्वीकार गर्नैपर्ने प्रथम कुरा पनि त्यही थियो। त्यसैले तिनीहरूले जुन कुरा विश्वास गर्न सक्दैनथे वा चाहँदैनथे त्यही कुरा उनीहरूले बुझ्न सकून् भनेर परमेश्वरले उनीहरूलाई सबभन्दा सुहाउँदो चिन्ह दिनुभयो; उहाँले यहूदीहरूलाई अलौकिक तवरले पराइ जातिहरूको भाषाहरू बोल्ने बनाउनुभयो। त्यसो गर्नाले परमेश्वरले यहूदी प्रशंसा यी अन्यजातिका जिब्रोहरूमा हालिदिनुभयो।

“बाइबललाई सरलै ढङ्गले तर ध्यानपूर्वक पढियो भने सुस्पष्ट तरिकाले ‘यहूदी’ को गन्ध नभएको जुनसुकै कुराप्रति पनि यहूदीहरूको कडा विरोध रहेको दृश्यलेख प्रकट भएको पाइन्छ। त्यहाँ योनालाई भेट्छौं जसले निनवेका मानिसहरूलाई यतिसम्म घृणा गरे कि उनी परमेश्वरलाई नै अवज्ञा गर्न पुगे। … आफ्‍नो खिन्नतामा उनी आफ्‍नै मृत्युको माग गर्न सम्म पुग्छन्। निनवे नाश नहुने हो भने योना मरोस्! … शताब्दि-शताब्दिमा यस्तो विरोध र अविश्वासको आत्मा झन्-झन् कठोर बन्दै गयो। यहूदीहरू यावेका हुन् र यावे यहूदीका हुन् भन्ने धर्मान्धताको घेराबाहिर बाँकी सबैजना श्रापित थिए। …

“उनीहरूको भन्दा बेग्लै भाषा बोल्नेहरूले परमेश्वरको भलोपनको आशिष पाउन सक्छन् भन्ने विचारलाई प्रस्तुत गर्नु भनेको आफ्‍नो ज्यानलाई जोखिममा पार्नु थियो। तिनीहरूले येशूलाई फ्याँक्न डाँडाको डिलमा लगिहाले किनभने उहाँले यति मात्र भन्नुभएको थियो: “एलियाको समयमा साँढे तीन सालका निम्ति आकाश बन्द हुँदा सारा देशभरि ठूलो अनिकाल लागेको बेलामा इस्राएलमा अनेकौं विधवाहरू थिए, तर सिडोन सारेफातमा एउटी विधवा स्त्रीकहाँ बाहेक तीमध्ये अरू कसैकहाँ एलिया पठाइएनन्। अनि भविष्यवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोरीहरू थिए, तर सिरियावासी नामानबाहेक तीमध्ये अरू कोही शुद्ध भएन (लूका ४:२५-२७)।” यो त, उनीहरूको दृष्टिमा, मृत्युदण्डको पर्याप्त आधार थियो। …

“प्रेरितको २२ अध्यायको विवरण कस्तो छ! कैदी पावल गढीको सिँढीमाथि उभिएका छन्। भीडलाई एक हातले इशारा गर्छन् र बोल्ने अनुमति माग्छन्। हिब्रूमा बोल्न थाल्दा भीड चुपचाप भई सुन्छ। … तर उनले जब भन्न थाल्छन्, ‘अनि उहाँले मलाई भन्नुभयो, जाऊ, म तिमीहरूलाई टाढाटाढा अन्यजातिहरूकहाँ पठाउनेछु’, तब उक्त वाक्यमाथि हावामै मानो ब्रेक लाग्छ। तिनीहरूले ‘अन्यजातिहरू’ भन्ने त्यस शब्दसम्म चाहिँ उनको कुरा सुने; अनि कराउँदै हावामा धूलो फ्याँक्नथाले, ‘पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!’ कुन कुराले तिनीहरूलाई त्यस्तो गरी विस्फोट गरायो? केवल यही कुरा कि परमेश्वर चाहिँ सबै मानिस र सबै भाषीका परमेश्वर हुन सक्नुहुन्छ भन्ने धारणा।

“अन्यभाषाहरूको बोली यही महान् सत्यताको चिन्ह थियो जुन सत्यताभित्र प्रवेश गर्नलाई ‘यस जाति’ का निम्ति चाहिँ त्यो माध्यम नै थियो। …

“यस किसिमको अविश्वासलाई त्याग्न र परमेश्वरले शुद्ध ठान्नुभएका जातिहरू र भाषाहरूलाई अबदेखि उसो अशुद्ध नठान्नलाई विश्वस्त पारिनुपर्ने जाति केवल यहूदीहरू थिए, ती भाषाहरू जो पवित्र आत्माद्वारा बोलिनलाई समेत अशुद्ध थिएनन्। … पत्रुसलाई दिइएको तीनदोब्बर दर्शनले जस्तै, पराइ भाषाहरूमा दिइएको यो चिन्हले उनीहरूलाई मुक्ति चाहिँ “जोसुकै”, “सबै प्राणी”, “सबै भाषी” को लागि हो भन्ने कुराको शिक्षा दिने काम गर्‍यो।’ …

“तर सबै जातिहरू, कुलहरू, राष्ट्रहरू र भाषाहरू मिलेर बनेको आजको मण्डलीमा पवित्र आत्मा सबै जातिहरू, राष्ट्रहरू, कुलहरू र भाषाहरूमाथि खन्याइएको छ भनेर फेरि दोहोर्‍याईकन कसलाई अझ पनि विश्वस्त पारिनु आवश्यक परेको छ र?” (लेग्रान्ड, All About Speaking in Tongues, pp. 24-27, 33)।

परमेश्वरले एउटा नयाँ काम गर्दैहुनुहुन्छ अर्थात् सबै मानिसहरूका बीचमा सुसमाचार पुर्‍याउँदै हुनुहुन्छ अनि दुवै यहूदी र अन्यजातिहरूलाई एउटा नयाँ आत्मिक संरचनाभित्र ल्याउँदैहुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई, अन्यभाषाहरू, इस्राएल जातिको निम्ति दिइएको एउटा चिन्ह थियो भन्ने कुरा बुझिएन भने अन्यभाषाहरू सम्बन्धी सही बाइबलीय शिक्षा जान्नु असम्भव छ।

अन्यभाषाहरू सम्बन्धी यस सुस्पष्ट बाइबलीय शिक्षा एकलैले सबै आधुनिक अन्यभाषाहरूको अभ्यासलाई झूटो साबित गर्दछ। के त्यहाँ यहूदीहरू उपस्थित थिए त जब सन् १९०१ मा क्यान्सासमा चार्ल््स पारहाम (Charles Parham) को बाइबल स्कूलका विद्यार्थीहरूले “अन्यभाषाहरूमा” बोल्न थाले वा जब सन् १९०६ मा लस एन्जेलेसमा अजुसा स्ट्रिट मिशन (Azusa Street Mission) मा “अन्यभाषाहरू” को प्रस्फुटन भयो? यदी यहूदीहरू त्यहाँ उपस्थित भएका भए, परमेश्वरले सुसमाचार सबै जातिहरूमा पुर्‍याउँदैहुनुहुन्छ र सुसमाचारद्वारा एउटा नयाँ संरचनाको सृजना गर्दै हुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई उक्त अन्यभाषाहरू बोल्ने कामले कसरी चिन्हको रूपमा काम गर्नेथ्यो? उक्त चिन्ह त १९०० वर्ष अघि दिइसकेको थियो। कुन हिसाबा उक्त चिन्ह पहिलो शताब्दिमा पूर्णरूपमा पूरा भएको थिएन त? यी त प्रत्येक पेन्टेकोस्टल र क्यारिज्म्याटिकले जवाफ दिनैपर्ने कठीन प्रश्नहरू हुन्। यहूदीहरूलाई अन्यभाषाहरूको चिन्हको अझै आवश्यकता छ भनेर यदि कसैले जवाफ दिन्छ भने, हामी प्रश्न गर्छौं, “त्यसो भए किन त पेन्टेकोस्टल-क्यारिज्म्याटिक अभियानहरूले अन्यभाषाको यस पक्षलाई पूरै बेवास्ता गरेका?” टोपिकाका पारहामले र लस एन्जेलेसका सेमूरले इस्राएलको निम्ति चिन्ह बनोस् भनेर अन्यभाषाहरूको खोजी गरेनन् तर “पवित्र आत्माको बप्‍तिस्माको” चिन्हको रूपमा त्यसको खोजी गरे। एजी चर्चहरू (Assemblies of God) र चर्च अफ गड अफ प्रोफेसी (Church of God of Prophecy) र फोरस्क्वायर पेन्टेकोस्टलक चर्चहरू (Foursquare Pentecostal Churches) अनि बाँकी सबैको सवालमा यही कुरा भन्न सकिन्छ।

“मेरो किताब पढेपछि एकजनाले मलाई भने, ‘तपाईंको लागि यस सम्बन्धी सम्पूर्ण कुराको सार भनेको यो एउटा चिन्ह हो।’ अवश्य हो नि! जस्तै, एउटा चिन्हपाटीलाई लिनुहोस्; कसैले निकै लम्बेचौडा कुरा गर्दै त्यसको उचाइ, त्यसको आकार, त्यसको रङ्ग, त्यसका अक्षरहरूको चमक र आकारको वर्णन गर्ला मानो, तर ती भनाइहरू जतिसुकै ठीक भए तापनि उक्त वस्तुको एउटै र अन्तिम उद्देश्य भनेको एउटा चिन्हपाटीको काम दिनु हो। अन्यभाषाहरूको बोली सम्बन्धमा पनि कुरा त्यस्तै हो। त्यसलाई जसरी हेरे पनि, पवित्र आत्माले भन्नुभएकै छ, त्यो अविश्वसी इस्राएलको निम्ति चिन्ह हो। अरू कुरामा जस्तै यस विषयमा पनि यो स्पष्टै देखिने कुरा हो कि नियमावलीलाई पछ्याउने काम भएको छैन” (फर्नान्ड लेग्रान्ड, All About Speaking in Tongues, pp. 67)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






गर्भपतन

Study Series

गर्भपतन

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।