Entries by Pradesh Shrestha

सबै कुरा जाँच्ने मनस्थिति

Study Series

सबै कुरा जाँच्ने मनस्थिति

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: भजनसङ्ग्रह ११९:१२८; हितोपदेश १४:१५; प्रेरित १७:११; २ कोरिन्थी १०:५; कलस्सी २:८; १ थेस्सलोनिकी ५:२१; १ पत्रुस ५:८

आत्मिक विजय पाउनलाई एक ख्रीष्टियनले अनिवार्य रूपमा विकास गर्नुपर्ने एउटा कुरा हो जाँच गर्ने मनस्थिति। यसको मतलब उसले कुनै पनि कुरालाई त्यो ठीक छ कि छैन, त्यो साँचो हो कि होइन भनेर बाइबलले जाँच्न सिक्नुर्छ।

म प्रभुलाई धन्यवाद चढाउँदछु कि मलाई ख्रीष्टमा डोर्‍याउने व्यक्तिले यो कुरा मलाई सिकाउनुभयो जसको फलस्वरूप मैले आफ्‍नो विश्वासी जीवन सबै कुरा जाँच्ने दृष्टिकोणका साथ प्रारम्भ गर्न सकेँ। यसले मलाई अनेकौं आत्मिक जोखिमहरूदेखि जोगाएको छ। हामी दक्षिण फ्लोरिडादेखि मेक्सिकोसम्म यात्रा गर्ने क्रममा खाडीको किनारनेर कुनै एक ठाउँमा एउटा इसाई पुस्तक पसलमा छिरेका थियौं। त्यो ठाउँ मोबाइल, आलबामा थियो जस्तो लाग्छ। उनले मलाई एउटा किङ्ग जेम्स बाइबल किनिदिनुभयो अनि त्यसपछि उहाँले त्यहाँ बिक्रीमा राखिएका सबै पुस्तकहरूलाई देखाउँदै भन्नुभयो, “तिमी एकदम होशियार हुनुपर्छ र सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ। मान्छेमाथि भरोसा राख्‍न सकिन्न; “ठूला-ठूला नामहरू” माथि भरोसा राख्‍न सकिन्न। धेरै झूटा शिक्षकहरू हुनेछन् भनेर बाइबलले चेतावनी दिएको छ।” यही बुद्धिमानी सल्लाहका साथ मैले आफ्‍नो ख्रीष्टिय जीवन प्रारम्भ गरेँ।

यस प्रकारले जाँच्ने मनस्थितिलाई आज इसाई भन्नेहरूको बीच तिरस्कार गरिन्छ, “इभान्जेलिकलहरू” का बीच समेत। म पहिलो पटक पत्रकारको अधिकार सहित एउटा एक्यूमेनिकल (एकतावादी) सम्मेलनमा उपस्थित हुँदाको कुरा म सम्झना गर्दछु। त्योचाहिँ सन् १९८७ मा न्यू ओर्लियन्समा थियो अनि त्यहाँ ४० ओटा बेग्ला-बेग्लै सम्प्रदायहरूबाट दसौं हजार मानिसहरू उपस्थित थिए। त्यसमा रोमन क्याथोलिकहरूको ठूलै सहभागिता रहेको थियो। हरेक विहान रोमन क्याथोलिकहरूको मास (mass) हुन्थ्यो। एक दिन म एकजना एपिस्कोपेली (Episcopalian) साधारण अगुवासित कुरा गर्दै थिएँ र उसले आफ्‍नो मुक्तिको गवाही बाँडे जुनचाहिँ शास्त्र-सम्मत नै सुनिन्थ्यो। तब मैले यस्तै एउटा प्रश्न गरेँ, “यदि तपाईं बाइबल विश्वास गर्नुहुन्छ र प्रभुलाई चिन्नुहुन्छ भने तपाईं कसरी यो धर्मभ्रष्ट खिचडीको बीचमा आरामसँग बस्न सक्नुहुन्छ?” उनले जवाफ दिए, “तपाईं अलिक खुकुलो हुनुपर्छ; भ्रममा परिएला कि भनेर तपाईं बढ्तै डर मान्नुहुन्छ।”

यो त खतरा र ज्यादै मूर्ख सल्लाह हो जब हामी निम्न चेताउनीहरूलाई विचार गर्दछौं।

मत्ती ७:१५-१७

  1. झूटा अगमवक्ताहरूले मानिसहरूलाई धोका दिनेछन् भनेर येशूले चेताउनी दिनुभयो। आज यति धेरै झूटा मण्डलीहरू देखेर हामी अचम्म मान्नुपर्दैन। त्यहाँ झूटा अगमवक्ताहरू हुनेछन् भनेर हामीले अघिबाटै जान्नुपर्छ र उनीहरूको बहकाउमा नपर्नलाई हामी होशियार हुनुपर्छ।
  2. झूटा अगमवक्ताहरू बाह्यरूपमा साँचा अगमवक्ताहरू जस्तै देखा पर्नेछन् र यसरी बेहोशियारीहरूलाई धोका दिनेछन् भनेर येशूले चेताउनी दिनुभयो। उनीहरूसित बाइबल हुन्छ; उनीहरू येशूकै कुरा गर्छन्, मुक्तिकै कुरा गर्छन्, असल जीवन जिउने कुरा गर्छन्। उनीहरूको मण्डलीहरू हुन्छन् र शिक्षा सिकाउँछन्।
  3. झूटा शिक्षकहरू उनीहरूको फलबाट चिनिन्छन् (पद १६-२०)।
    1. झूटा शिक्षकहरूको फल उनीहरूका कामहरू होइनन्; पद २२-२३ मा येशूले बताउनुभयो झूटा शिक्षकहरूले “धेरै अचम्मका कामहरू” गर्नेछन्।
    2. झूटा शिक्षकलाई पक्का गरी चिनाउने फल उसको झूटा शिक्षा हो (प्रेरित २०:३०; रोमी १६:१७; गलाती १:६-७; १ तिमोथी १:३; २ पत्रुस २:१; १ यूहन्ना ४:१-२)। मदर टेरेसालाई विचार गर्नुहोस्। तिनले संसारको सबभन्दा गरीब ठाउँहरूमा गरीब र रोगीका लागि सेवाको थुप्रै असल कामहरू गरिन्, तर तिनले ख्रीष्टलाई चिन्दिनथिन् र तिनले एक झूटा सुसमाचारमाथि भरोस गर्थिन् र तिनले झूटा शिक्षाहरू सिकाइन्। सन् २००७ मा प्रकाशित मदर टेरेसा: कम बी माइ लाइट (Mother Teresa: Come Be My Light) नामक पुस्तकमा यी क्याथोलिक भिक्षुणीले आफ्‍ना क्याथोलिक कन्फेसरहरू (cofessors) र अगुवाहरूलाई ६६ वर्षभन्दा पहिलादेखि व्यक्त गरेका स्वीकारोक्तिहरू अभिलेख गरिएका छन्। उनले आफ्‍नो आत्मिक अवस्थालाई “मेरो अन्धकार” र येशूलाई “अनुपस्थित जन” (“Absent One”) भनेर तारन्तार उल्लेख गर्छिन्। सन् १९५३ को मार्चमा उनले लेखिन्, “…मभित्र यस्तो भयङ्कर अन्धकारले बास गरेको छ, मानौं सर्वस्व नै मरेको छ। मैले यो ‘काम’ लगभग शुरु गरेदेखि नै यस्तो अवस्था रहँदै आएको छ।” एकजना कन्फेसरको सल्लाहबमोजिम उनले येशूलाई यसरी लेखिन्: “म बोलाउँछु, म पक्रन्छु, म चाह गर्छु — अनि जवाफ दिने त्यहाँ कोही छैन — साहारा कोही छैन — अहँ, कोही छैन। एकलो…मेरो विश्वास कहाँ छ — भित्री गहिराइमा समेत त्यहाँ केही छैन, तर रित्तोपना र अन्धकार। …जब म आफ्‍ना विचारहरूलाई स्वर्गतर्फ उचाल्न खोज्छु — तब कायल पार्ने यस्तो रित्तोपना हुन्छ कि तिनै विचारहरू धारिला चक्कूझैं फर्कन्छन् र मेरो प्राणलाई छियाछिया पार्छन्। — परमेश्वर मलाई प्रेम गर्नुहुन्छ भनी मलाई बताइएको छ — तरैपनि अन्धकार र चिसोपना र रित्तोपनाको वास्तविकता यति भयङ्कर छ कि मेरो प्राणलाई कुनै कुराले छुँदैन।” सन् १९६२ मा उनले लेखिन्, “यदि म कुनै हालतले सन्त बनेँ भने — निश्चय नै म ‘अन्धकार’ को सन्त हुनेछु।” सन् १९८४ मा हामीले मदर टेरेसाको संस्था मिसनरीज् अफ च्यारीटीका सिस्टर आनसित अन्तर्वार्ता लिएका थियौं। आनचाहिँ नेपालमा वृद्धाहरूका बीच काम गर्दैथिइन्; मर्न लागेका हिन्दूहरूलाई ख्रीष्टमा ल्याउन खोज्ने उनीहरूको उद्देश्य नरहेको बरु उनीहरूकै देव‍देवीहरूलाई पुकार्नलाई आफूहरूले निर्देशन दिने गरेको कुरा उनले हामीलाई बताइन्।

मत्ती २४:४-५,११,२४

  1. झूटा अगमवक्ताहरू उठ्नेछन् र मण्डली युगको अन्ततिर तिनीहरू वृद्धि हुनेछन् भनेर येशूले चेताउनी दिनुभयो। जति हामी उहाँको आगमनको नजिक आइपुग्छौं उति नै बढी आत्मिक भ्रमको हामीले सामना गर्नुपर्नेछ अनि त्यो कुरा आज हाम्रो दिनमा देख्दैछौं। धेरैजसो मण्डलीहरू बाइबलसँग मेल खाँदैनन्। झूटा शिक्षकहरूको बिगबिगी छ।
  2. अन्तिम दिनहरूको भ्रम यति प्रभावकारी हुनेछ, “यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकाहरूलाई पनि बहकाउनेछन्।” यो त भयङ्कर खाले भ्रम हो। त्यसैले हामीले एकदम यत्न गर्नुपर्छ र हामी एकदम होशियार हुनुपर्छ!
  3. होशियार भएर र जाँच गर्ने मनस्थिति अपनाएर आफूलाई र आफ्‍ना प्रियजनहरूलाई सुरक्षित राख्नु विश्वासी जनको जिम्मेवारी हो।
  4. झूटा शिक्षकहरूले “चिन्ह र चमत्कारहरू” द्वारा धोका दिन्छन् भनेर येशूले चेताउनी दिनुभयो। यस सन्दर्भमा हामीलाई पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरको सम्झना आउँछ जसमा आश्चर्यकर्महरूलाई ठूलो जोड दिइन्छ। येशूको चेताउनीलाई विचार गरेपछि हामी जान्दछौं कि कुनै प्रचारकको सेवकाइको साथसाथमा कथित आश्चर्यकर्महरू हुन्छन् भन्दैमा त्यो परमेश्वरबाटको हो भन्ने हुँदैन। हरेक सेवकाइलाई बाइबलले नै जाँच्नुपर्छ, केवल बाइबलले मात्र।
  5. येशूले झूटा ख्रीष्टहरूको बारेमा चेताउनी दिनुभयो र आज संसारमा त्यस्ताहरूको बिगबिगी छ। रोमन क्याथोलिक चर्चले रोटीको एउटा चोख्याइएको टुक्रालाई र सामर्थी मरियमको काखमा बस्ने एक दुर्बल मान्छेलाई ‘ख्रीष्ट’ मानेको छ। यहोवाका साक्षीहरू र यूनिटेरियनहरूले ईश्वरत्वबिहीन ख्रीष्टलाई ‘ख्रीष्ट’ भन्छन्। मोर्मनहरूले मानेका ‘ख्रीष्ट’ शैतानका दाजु हुन्। नयाँ युगी (New Ager) हरूले मानेका ‘ख्रीष्ट’ ले भारतमा आएर रहस्यवादी ज्ञान हासिल गरे। डा भिन्ची कोड (Da Vinci Code) का ‘ख्रीष्ट’ एक विवाहित व्यक्ति थिए। लिबरेशन थिअलोजी (Liberation Theology) का ‘ख्रीष्ट’ क्रान्तिकारी लडाकु हुन्। जीजस सेमिनार (‍Jesus Seminar) थरीका ‘ख्रीष्ट’ आफू के गर्दैछु सो नजानेका एक सम्भ्रमित मानिस थिए। ख्रीष्टियन रक सङ्गीत (Christian Rock Music) का पक्षधरका ‘ख्रीष्ट’ चाहिँ रमझम गर्ने ठाँटिला व्यक्ति हुन्। इमर्जिङ्ग चर्चका ‘ख्रीष्ट’ एक पर्यावरणवादी (environmentalist) हुन्। इस्लामका ‘ख्रीष्ट’ क्रूसमा मरेनन्।

यूहन्ना ८:३१-३२

  1. सत्य जान्ने र पाप तथा भ्रमबाट बच्ने एउटै मात्र उपाय भनेको येशूको वचनमा लागिरहनु हो। स्मरण होस्, उहाँले “वचनहरू” (बहुवचन) भन्नुभएन तर “वचन” (एकवचन) भन्नुभयो। यसले पवित्र शास्त्र अर्थात् बाइबललाई जनाउँछ। परमेश्वरको वचन ईश्वरीय प्रेरणाद्वारा लेखियो, क्याननीकरण (अध्याय १९ – बाइबल, भाग २ हेर्नुहोस्), गरियो अनि बाइबलमा हाम्रो लागि संरक्षण गरियो। तसर्थ, यदि हामी सत्य जान्न चाहन्छौं भने हामीले यसैलाई पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ, कण्ठ गर्नुपर्छ, मनन गर्नुपर्छ, पालन गर्नुपर्छ र सबै कुरालाई यसैद्वारा जाँच्नुपर्छ।
  2. यो नै एक मात्र उपाय हो र साथै यो उपाय पक्का पनि छ। हामीलाई येशूको प्रतिज्ञा छ: यदि हामी उहाँको वचनमा लागिरह्यौं भने हामीले सत्य जान्नेछौं। एक नयाँ ख्रीष्टियन हुँदा परिश्रमसाथ बाइबल अध्ययन गर्न र गत ३७ वर्षसम्म यसलाई निरन्तरता दिइरहन मलाई ‍अभिप्रेरित गरेको एउटा प्रतिज्ञा यही हो। म सत्य जान्न चाहन्छु र ख्रीष्टले मलाई उहाँको प्रतिज्ञा दिनुभएको छ। कुनचाहिँ शिक्षा ठीक हो भनेर हामी निश्चित हुन सक्दैनौं त्यसैले हामी सबैजना हातेमालो गरौं भनेर इसाई जगतभित्र आवाज उठाउने धेरैजना छन्, तर हामीले जान्न सक्छौं भनेर येशूले आफ्‍नो प्रतिज्ञा दिनुभएको। दाँज्नुहोस्, यूहन्ना ७:१७।

प्रेरित १७:११

  1. सबै कुराहरूलाई पवित्र शास्त्रहरूद्वारा जाँच्नेहरू भएकाले बेरियाका यहूदीहरूको प्रशंसा गरिएको छ। आधुनिक इसाई जगतमा यो लोकप्रिय ठानिदैन तर परमेश्वरको वचनमा भने यसलाई “उत्तम” मानिएको छ।
  2. उनीहरूले दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे भन्ने कुराको ख्याल राख्नुहोस्। परमेश्वरको वचनले कुनै पनि कुरा जाँच्ने हो भने तपाईंले पहिले वचनलाई अध्ययन गर्नुपर्छ।

१ थेस्सलोनिकी ५:२१

  1. हामीलाई सबै कुरा जाँच्न जोडदार अर्ती दिइएको छ। यो त ज्यादै फराकिलो जिम्मेवारी हो। हामीले आफ्‍नो जीवनमा सबै कुराहरूलाई परमेश्वरको पवित्र वचनले जाँच्नुपर्छ, केवल इसाई शिक्षा र “माण्डलिक” कुराहरूलाई मात्र होइन, तर पेशा, सङ्गत, फेशन, मनोरञ्जन, विवाह, छोराछोरी हुर्काउने तरिका, सङ्गीत र अन्य सबै कुराहरू।
  2. जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख्‍न पनि हामीलाई जोडदार अर्ती दिइएको छ जुनचाहिँ ती कुराहरू हुन् जो परमेश्वरको वचन अनुरूप छन् र वचनले समर्थन गरिएका छन्।

२ कोरिन्थी १०:५

  1. विश्वासीले हरेक विचारलाई सत्यको कैदी बनाएको परमेश्वर चाहनुहुन्छ। यो त ज्यादै फराकिलो आज्ञा हो।
  2. यसो गर्नु भनेको हामीले आफ्‍ना मनहरूलाई परमेश्वरको वचनले भर्नु हो र हाम्रो हृदयमा छिर्ने हरेक विचारलाई उक्त वचनले नापजोख गर्नु हो।
  3. मान्छेको कल्पना अर्थात् मन एउटा भयङ्कर युद्धभूमि हो र होशियारसाथ यसको सुरक्षा गरिनुपर्छ। आधुनिक मनोरञ्जन उद्योगले आफ्‍ना शक्तिशाली बन्दुकहरूलाई तेर्साएर मान्छेको कल्पनालाई तारो बनाएको छ। शैतानको अगुवाइमा मनोरञ्जनका रचनाकारहरू विलासीपनद्वारा कल्पनाशक्तिलाई भ्रष्ट पार्न चाहन्छन् र व्यर्थका संसारहरूको सृजना गरेर मान्छेको विचारलाई जीवित परमेश्वरदेखि अन्यत्र मोड्न चाहन्छन्। विशेष गरी डरलाग्दो कथा र कल्पित भविष्यमा आधारित कथा भएका चलचित्रहरू विश्वासीलाई हानिकारक हुन्छन्।

२ कोरिन्थी ११:३-४

  1. ख्रीष्टियनहरूलाई ठूलो आत्मिक खतरा छ (२ कोरिन्थी ११:३-४)। कोरिन्थीहरू शिक्षाको सम्बन्धमा होशियार नभएकाले पावल उनीहरूको लागि डराउँछन्।
  2. शैतानले शिक्षालाई जटिल बनाउने काम गर्छ (“सीधापनबाट तिमीहरूका मनहरू भ्रष्ट हुन्छन् कि”, २ कोरिन्थी ११:३)। यसका उदाहरणहरू हुन् ईश्वरशास्त्रीय आधुनिकवाद (theological modernism), क्याल्भिनवादी रिफर्म्ड ईश्वरशास्त्र (Calvinistic Reformed theology), र इमर्जिङ्ग चर्चका शिक्षा। परमेश्वरको वचनको सत्यता अत्यन्तै गहिरो छ, तर यसमा यस्तो सरलता पनि छ कि सर्वसाधारण व्यक्तिहरूले यो बुझ्न सक्छन् (लूका १०:२१)।
  3. पावलले झूटा ख्रीष्टहरू, झूटा सुसमाचारहरू र झूटा आत्माहरूको चेताउनी दिए। विश्वासी होशियार हुनुपर्छ र कसैले ख्रीष्टको बारेमा वा सुसमाचारको बारेमा वा आत्माको बारेमा कुरा गर्दैमा उसलाई विश्वास गर्नुहुन्न। सबै कुरालाई परमेश्वरको वचनद्वारा होशियारपूर्वक जाँच्नुपर्छ।
  4. प्रेरितहरूको शिक्षा नै सत्यताको मानदण्ड हो भनेर हामीले पद ४ मा देख्छौं (“हामीले प्रचार नगरेको”)। हामीसित प्रेरितहरूको शिक्षा नयाँ नियमका शास्त्रहरूमा छ। यो नै “पवित्र जनहरूलाई एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वास” हो (यहूदा ३) जसद्वारा हामीले शिक्षा र अभ्यासलाई नापजोख गर्नपर्छ।
  5. शैतान धूर्त छ त्यसैले धेरै बुद्धिमानीसाथ र जोशका साथ त्यसको सामना गरिनुपर्छ (२ कोरिन्थी ११:३)।
  6. शिक्षागत विषयमा फराकिलो दृष्टिकोण (broad-mindedness)अपनाउनु शारीरिकपनको प्रमाण हो, आत्मिकपनको होइन। कोरिन्थीहरू शारीरिक भएकाले (१ कोरिन्थी ३:१-२), तिमीहरूले झूटा शिक्षकहरूलाई “राम्ररी सहन सक्नेथ्यौ” (पद ४) भनेर पावलले उनीहरूलाई भने। यसको मतलब उनीहरू झूटा शिक्षालाई पछ्याउने थिए नै भन्ने त होइन तर उनीहरू त्यसलाई ठाउँ दिनेथिए; उनीहरू त्यसलाई ठीकसँग सामना नगर्नेवाला थिए। “दुवै पाटालाई देख्‍न सक्नु” आत्मिकताको लक्षण होइन। सत्यतको एउटै मात्र पाटा हुन्छ! सत्यको बाटो साँघुरो हुन्छ (मत्ती ७:१४)।
  7. झूटा शिक्षकहरू सच्चा शिक्षकहरूको नक्कल गर्छन् (२ कोरिन्थी ११:१३-१५)। उनीहरू नयाँ कुराहरू आविष्कार गर्दैनन्; उनीहरू पुराना कुरालाई बङ्ग्याउँछन्। उनीहरूका चर्च हुन्छन्, बाइबल हुन्छन् र येशू प्रचार गर्छन्। कुनै कुरा जति सत्यसित मिल्दोजुल्दो हुन्छ त्यति नै त्यसको भ्रमलाई छुट्ट्याउन गाह्रो पर्छ।

कलस्सी २:८

  1. फेरि हामीलाई झूटा शिक्षकहरूदेखि होशियार रहन अर्ती दिइएको छ। हामीसँग जाँच्ने मनस्थिति हुनुपर्छ।
  2. झूटा शिक्षकहरू अरूलाई “शिकार बनाउन” अर्थात् लुट्न चाहन्छन्। झूटा शिक्षकहरू विश्वासीहरूलाई परमेश्वरको वचनमाथिको उनीहरूको पूर्ण निश्चयता र ख्रीष्टको अनुग्रमाथिको पूर्ण निश्चयतालाई लुट्न चाहन्छन् र त्यसको सट्टामा मानवीय परम्परा र तत्त्वज्ञान प्रतिस्थापन गर्न चाहन्छन्।
  3. यी झूटा शिक्षकहरूलाई पराजित गर्ने उपाय भनेको बाइबललाई ईश्वरीय प्रेरणाद्वारा दिइएको वचनको रूपमा र विश्वास र अभ्यासको निम्ति एक मात्र अधिकारको रूपमा बलियो गरी पक्रनु हो (२ तिमोथी ३:१६-१७)।

प्रकाश २:२,६

  1. झूटा शिक्षकहरूलाई जाँच गरेकोमा र तिनीहरूलाई अस्वीकार गरेकोमा एफेसीको मण्डलीलाई तारिफ गरिएको छ। येशू यस कुरामा खुशी हुनुभयो। प्रत्येक विश्वासी जन र प्रत्येक मण्डलीले यस नमुनालाई पछ्याउनुपर्छ।
  2. उक्त मण्डलीले यस कुरामा बलियो अडान लिएको कुरालाई ख्याल राख्‍नुहोस्। तिनीहरूले झूटा शिक्षकहरूलाई “झूट” भन्ने संज्ञा दिए र उनीहरूका कामहरूलाई घृणा गरे।

हितोपदेश १४:१५

हितोपदेशको पुस्तकले बुद्धिमान र मूर्खको तुलना गर्दछ। यस पदमा मूर्ख व्यक्ति त्यसलाई भनिएको छ जो सजिलै विश्वास गर्छ र जसलाई सजिलै बहकाइन्छ र जसले सबै कुरालाई परमेश्वरको वचनद्वारा होशियारपूर्वक जाँच गर्दैन। “बोधा” को माने सजिलोसँग ठग्न सकिने भनेको हो। “बोधा” ले ख्रीष्टिय किताबहरू पढ्छ, प्रवचनहरू सुन्छ र समारोहहरूमा भाग लिन्छ र जाँचै नगरीकन सबै कुरा निल्छ।

भजनसङ्ग्रह ११९:१२८

  1. भजनका लेखकले परमेश्वरको वचनलाई प्रेम गर्ने र हरेक झूटा कुरालाई घृणा गर्ने बारेमा नमुना प्रस्तुत गर्छन्। यसलाई भनिन्छ जाँच्ने मनस्थिति। बाइबल नै सत्यको अविवाद्य मानदण्ड हो र जीवनका हरेक कुरालाई यस मानदण्डले नापजोख गरेर हामी भ्रमदेखि बच्न सक्छौं।
  2. विश्वासी जन सत्यका निम्ति जोशिलो हुनुपर्छ भन्ने कुरा हामी यहाँ देख्छौं। भजनका लेखक यस बारेमा मनताता थिएनन्। उनले परमेश्वरको वचनलाई अत्यन्तै आदरभावसाथ लिएका थिए र तिनले हरेक झूटा मार्गलाई घृणा गरे।

सबै कुरा जाँच्ने मनस्थिति सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. झूटा भविष्यवक्ताहरूदेखि होशियार हुनलाई येशूले मानिसहरूलाई कुन पुस्तकको कुन अध्यायमा चेताउनी दिनुभयो?
  2. झूटा शिक्षकहरूले किन धेरैजनालाई बहकाउन सक्छन्?
  3. के झूटा शिक्षकहरूले असल कामहरू गर्न सक्छन्?
  4. एक झुटा शिक्षकको फल के हो?
  5. झूटा शिक्षकहरूले _______________________ द्वारा बहकाउँछन् भनेर मत्ती २४ मा येशूले चेताउनी दिनुभयो।
  6. आजका केही झूटा ख्रीष्टहरू के-के हुन्?
  7. हामी आज येशूको वचन कहाँ पाउन सक्छौं?
  8. जोहरू उहाँको वचनमा लागिरहन्छन् उनीहरूले सत्य जान्नेछन् भनेर येशूले कुन खण्डमा प्रतिज्ञा गर्नुभयो?
  9. बेरियाका यहूदीहरूलाई किन तारिफ गरियो?
  10. सबै कुरा जाँच भनेर कुन पदले भन्छ?
  11. ख्रीष्टको आज्ञाकारी बनाइनलाई हाम्रा कतिओटा विचारहरूलाई कैद गरिनुपर्छ?
  12. यो हामी कसरी गर्न सक्छौं?
  13. कोरिन्थका विश्वासीहरूका लागि पावल किन डराएका थिए?
  14. ख्रीष्टमा भएको सीधापनालाई कसले भ्रष्ट पार्दछ?
  15. पावलले कोरिन्थीहरूलाई झूटा _______________, झूटा _______________ र झूटा _________________ को बारेमा चेताउनी दिए।
  16. शिक्षागत सवालहरूमा चौडा विचारधारा राख्‍नु किन असल गुण होइन?
  17. झूटा शिक्षकहरू ______________ कुरा आविष्कार गर्दैनन्; उनीहरू _____________ कुराहरूलाई बङ्ग्याउँछन्।
  18. तत्त्वज्ञान र परम्पराको शिक्षा दिने झूटा शिक्षकहरूलाई हामी कसरी पराजित गर्न सक्छौं?
  19. के झूटा शिक्षकहरूलाई भण्डाफोर गरेकाले एफेसीको मण्डलीलाई येशूले हप्‍काउनुभयो?
  20. के झूटा शिक्षालाई घृणा गर्नु ठीक हो?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






अलगपनता – सैद्धान्तिक (भाग २)

Study Series

अलगपनता – सैद्धान्तिक (भाग २)

डेविड क्लाउड

‍कण्ठ गर्नुपर्ने पदहरू: रोमी १६:१७; १ कोरिन्थी १५:३३; २ तिमोथी ३:५

यसभन्दा अघिल्लो पाठमा हामीले अलगपनताको जग, अलगपनताको तरिका र अलगपनताको कारणलाई अध्ययन गर्‍यौं। यस पाठमा हामी अलगपनताको आधार, अलगपनताको कदम, अलगपनताको मनोभाव र अलगपनताको फलदायितालाई अध्ययन गर्नेछौं।

अलगपनताको आधार (२ तिमोथी २:१८)

प्रथमतः अलगपनताको रेखा ठ्याक्कै कहाँ कोर्नुपर्छ वा कुनै मण्डली वा फेलोसिपले बाटो बिराउन थाल्दा त्यसलाई ठ्याक्कै कुन बेला छोड्नुपर्छ आदि भन्ने सम्बन्धमा मैले प्रत्येक प्रश्नको जवाफ दिन सक्दिनँ। पवित्र शास्त्रमा केही स्पष्ट मार्गदर्शन र सिद्धान्तहरू दिइएका छन् र बाँकी कुराका लागि प्रत्येक विश्वासी र प्रत्येक प्रचारकले पवित्र आत्माको अगुवाइलाई पछ्‍याउनुपर्छ (२ तिमोथी २:७; १ यूहन्ना २:२०,२७)।

दोस्रो कुरा, अलगपनताको बाइबलीय आधार धेरैजसोले विश्वास गरेको र सिकाएको भन्दा धेरै नै साँघुरो छ।

प्रचलित इभान्जेलिकल अवधारणाको सारांश यो भनाइले व्यक्त गर्दछ: “सारभूत कुराहरूमा एकता; गैर-सारभूत कुराहरूमा स्वतन्त्रता; सबै कुराहरूमा दया” (“In essentials unity; in non-essentials liberty; in all things charity”). प्रमीस किपरहरू (Promise Keepers) को यही अवधारणा छ। उनीहरूको कार्यक्रमहरूका वक्ताहरूले थुप्रै “विभाजनमूलक” विषयवस्तुहरूलाई छुनै हुँदैन, जस्तै “अनन्त सुरक्षा, आत्माका वरदानहरू, बप्तिस्मा, पूर्व-सङ्कष्टकालीय अगमवाणी वा सङ्कष्ट-पश्चात् अगमवाणी, चर्चका संस्कार वा विधिहरू” (Promise Keepers Ambassador Booklet)।

चर्चित इभान्जेलिकल अगुवा चक स्वीन्डोल (Chuck Swindoll) को यही अवधारणा छ। उनले लेखे, “एक ताका मेरो जीवनमा मेरो यस्तो कट्टर अडान थियो कि म एक-एक बिन्दु र मात्राको लागि सङ्घर्ष गर्न तत्पर थिएँ। कतिओटा कुराहरूको लागि म मर्न तयार थिएँ भन्ने कुराको सूचीकरण गरी साध्य थिएन। म जति छिप्पिँदै गएको छु त्यति नै त्यो सूची छोटिँदै गएको छ” (Grace Awakening, p. 189)।

अलगपनताको मुद्दालाई अलमल्याउनलाई चक स्वीन्डोलले लोभ्याउने-र-बदल्ने (bait and switch) काइदा अपनाएको कुरालाई ख्याल गर्नुहोस्। शुरुमा चाहिँ उनले “एक‍-एक बिन्दु र मात्राको लागि सङ्घर्ष” गर्ने बारेमा कुरा गर्छन् तर त्यसपछि उनले विषयलाई आफू “मर्न तयार” भएका कुरामा बदल्छन्। १ कोरिन्थी ११ अध्यायमा भएको पुरुष र स्त्रीका केशको लम्बाइको सत्यताबारेमा र यस वर्तमान संसारमा पुरुष-स्त्रीको अधिकारको तुलनात्मक स्थानको निम्ति नै म ज्यान दिने त होइन, तर यो कुरा परमेश्वरको अचूक वचनको अंश भएको हुनाले म त्यसलाई प्रचार गर्न र त्यसलाई आक्रमण गरिएको खण्डमा त्यसको निम्ति सङ्घर्ष गर्न समेत आफू बाध्य भएको ठान्दछु।

धेरै स्वतन्त्र ब्याप्टिष्टहरू यस अवधारणालाई अपनाउँदैछन्। Thinking Outside the Box नामक पुस्तकमा चर्चित स्वतन्त्र ब्याप्टिष्ट पास्टर चार्ल्स कीन (Charles Keen) ले लेखे, “म बिस्तारै सिक्ने खालको हुँ तर मैले अन्तमा यो महसुस गरेँ कि सबै सत्यताहरू उत्तिकै महत्त्वका हुँदैनन्…क्रूसका शत्रु को हुन् निर्णय गरौं र तीदेखि अलग होऔं। अनि अनुग्रहका मित्र को हुन् निर्णय गरौं र तिनीहरूप्रति सहिष्णुता अपनाऔं” (पृष्ठ ८१)।

यस प्रचलित अवधारणालाई निम्न पवित्र शास्त्रका अधिकारमा रद्द गर्दछौं:

आज “गैर-सारभूत” वर्गमा पर्ने शिक्षाहरू पवित्र शास्त्रमा उल्लेखित अलगपनताका उदाहरणहरूमा पर्दछन्। २ तिमोथी २:१८ लाई विचार गर्नुहोस्। हुमेनियस र फिलेटसले सिकाएको असत्य “बौरिउठाइ भइसक्यो” भन्ने कुरा थियो । तिनीहरूले बौरिउठाइलाई इन्कार गरेनन् तर त्यसलाई लाक्षणिक अर्थ लगाए (spiritualized it)। यो भनेको आज लाक्षणिक व्याख्या विधिलाई अगमवाणी र रिप्लेस्मेन्ट थिअलजी (replacement theology) मा लागु गर्नु जस्तै हो जसमा मण्डली इस्राएलका प्रतिज्ञा र करारहरूको अधिकारी बनेको छ भनेर दाबी गरिन्छ। अगमवाणीको व्याख्या स्वन्त्रताको विषयवस्तु हो र त्यसकै कारण हामी अलग्गिनु हुन्न भन्ने कुरा व्यापक रूपमा ठानिन्छ तर पावलले प्रस्तुत गरेको अलगपनताको अवधारणा बेग्लै छ।

विश्वासीहरूलाई हामीले सबै कुराहरू सिकाउनुपर्छ भनेर ख्रीष्टले हामीलाई आज्ञा गर्नुभयो (मत्ती २८:२०)। यसको मतलब मण्डलीहरूले नयाँ नियममा भएका सबै कुरालाई आदर गर्नुपर्छ केवल “सारभूत” वा “आधारभूत” कुरालाई मात्र होइन।

पावलले परमेश्वरका सारा मनसाय प्रचार गरे (प्रेरित २०:२६-२७)। पावलले एफेससका एल्डरहरूलाई दिएको आफ्‍नो अन्तिम सन्देशमा यो कुरा बताएका थिए। उनले तिनीहरूलाई एउटा नमुना प्रस्तुत गर्दैथिए जसलाई उनीहरूले पछ्‍याउनुपर्थ्यो।

साँचो ख्रीष्टिय एकताको निम्ति वैचारिक एकता आवश्यक छ (१ कोरिन्थी १:१०)। यसअनुसार एकताको आधार ज्यादै साँघुरो हुन्छ भन्ने बुझिन्छ। साँचो ख्रीष्टिय एकता “अनेकतामा एकता” होइन। यो खण्डले शिक्षागत एकता (doctrinal unity) अनिवार्य ठानिएको एउटा स्थानीय मण्डलीमा अनुभव गर्न सकिने एकताको बयान गर्दछ। कुनै पनि एक्यूमेनिकल (एकतावादी) कार्यक्रममा भाग लिँदाहुँदी यो आज्ञा पालन गर्नु असम्भव हुन्छ, त्यो चाहे फ्रान्क्लीन ग्राहाम वा लुइस पलाउ जस्ताको एक्यूमेनिकल प्रचार कार्य (ecumenical evangelism) होस् या प्रमीस कीपर सम्मेलन जस्ता इभान्जेलिकल एकता (evangelical ecumenism) होस् वा वर्ल्ड काउन्सील अफ चर्चेज (World Council of Churches) जस्ताको उदारवादी एकता (liberal ecumenism) होस् वा इन्डिपेन्डेन्ट ब्याप्टिष्ट फ्रेन्ड्स इन्टरनेशनल जस्ता आधारभूतवादी एकता (fundamentalist ecumenism) होस्।

तिमोथीलाई प्रेरितहरूको शिक्षा “निष्कलङ्क” (दागरहित) राख्नुपर्छ भन्ने आज्ञा दिइएको थियो (१ तिमोथी ६:१३-१४)। कलङ्क (spot) भनेको त सानो दाग मात्र हो! यस पत्रमा पावलले सिकाएका शिक्षालाई आज “दोस्रो महत्त्व” को वर्गमा राख्ने गरिन्छ। यस पत्रमा सिकाइएका विषय अन्तर्गत मण्डली शासन र मण्डलीमा स्त्रीहरूको भूमिका पर्दछन्।

एकताको खातिर पवित्र शास्त्रको कुनै-कुनै भागलाई “दोस्रो महत्त्वको” (secondary) ठान्न मिल्छ भन्ने कुराको बाइबलमा कतै पनि सङ्केत छैन यस प्रचलित सिद्धान्तको कुनै पनि बाइबलीय आधार छैन; “काम-बन्छ-भने-ठीक-छ” भन्ने अवधारणा (pragmatism) हो यो।

यसर्थ हामीले प्रचलित विश्वासअनुसार भन्दा धेरै साँघुरो हिसाबमा अलगपनताको रेखा कोर्नुपर्छ भन्ने कुरामा म निश्चित छु। जस्तै, केही वर्ष अघि एउटा आधारभूतवादी प्रेस्बिटेरियन कलेजमा प्रचार गर्न मलाई निमन्त्रणा गरिएको थियो। ग्रीक रिसिभ्ड टेक्स्टको प्रतिरक्षा र किङ्ग जेम्स बाइबल र आधारभूतवादी अडान जस्त धेरै कुरामा म ती भाइहरूसित सहमत छु तरैपनि मैले निमन्त्रणालाई अस्वीकार गर्नुपर्‍यो किनभने हाम्रो असहमतिका दुईटा कुरा — शिशु बप्‍तिस्मा र सभरन ग्रेस क्याल्भिनवादी थिअलजी — महत्त्वपूर्ण छन्।

सन् १९७० को दशकमा एक म नयाँ ख्रीष्टयन हुँदाखेरि डेविड नेटलटन (David Nettleton) को “सीमित सन्देश कि सीमित सङ्गती” (Limited Message or a Limited Fellowship) शीर्षक गरेको पुस्तिकाले मलाई ठूलो सहायता मिलेको थियो। त्यो जेनरल असोसिएशन अफ रेगुलर ब्याप्टिष्ट्स् (General Associaltion of Regular Baptists) द्वारा छापिएको थियो जुन बेला उक्त सङ्गतीले अलगपनता सम्बन्धी असल अडान लिने गर्दथ्यो र नव-इभान्जेलिकलवादमा ढालिएको थिएन। उनी जवान प्रचारक छँदा डेविड नेटलटनलाई अन्तर-सामुदायी युवा सम्मेलनमा प्रचार गर्न बोलाइएको थियो। जब उनलाई त्यहाँ तीनओटा कुराहरूमा प्रचार गर्न नमिल्ने नत्र ता त्यसले अन्तर-सामुदायी परिपेक्ष्यमा विभाजन ल्याउनेछ भन्ने कुराको अवगत गराइयो, तब आफूले अब एउटा निर्णय गर्नुपर्ने कुराको उनलाई महसुस भयो। कि त आफूले आफ्‍नो सन्देशलाई सीमित पार्नुपर्‍यो कि त सङ्गतीलाई सीमित पार्नुपर्‍यो। यदि पावलले जस्तै परमेश्वरका सारा मनसाय प्रचार गर्न रोजेको खण्डमा (प्रेरित २०:२६-२७) अन्तिम दिनहरूका सत्यत्याग र सम्झौताको वर्तमान घडीमा सङ्गती र सेवकाइ गर्ने आफ्‍ना अवसरहरू एकदमै सीमित हुने कुरा छर्लङ्ग देखियो।

जहाँसम्म अलगपनताको रेखा कहाँ कोर्ने भन्ने सवालमा, चौडा पक्षतिर कोरेर गलती गर्नुभन्दा साँघुरो पक्षतिर कोरेर गलती गर्नु नै उत्तम छ। अलगपनताको सम्बन्धमा खुकुलो हुनु भनेको सम्झौताको चिप्लो भीरमा बस्नु हो जहाँबाट धेरै विश्वासीहरूको आत्मिक पतन भएको छ।

साथै हामीले भावी पुस्ताको बारेमा पनि सोच्नुपर्छ। यदि एक वरिष्ठ प्रचारक अलगपनतामा खुकुलो भए भने त्यस कुराले उसकै जीवनकालमा उसको सेवकाइलाई नाटकीय ढङ्गले नै असर त नगर्ला, तर अर्को पुस्ताको हालत कस्तो होला? तिनका छोराछोरी र नातीनातिनीहरू कुन स्थानमा रहेनछन् र तिनीहरू कुन दिशातिर लाग्नेछन् होला? बुबाआमाले जे अलिअलि गर्छन् छोराछोरीले त्यही काम अत्यधिक मात्रामा गर्छन् भन्ने कुरा धेरैले अवलोकन गरेको कुरा हो।

अलगपनताको कदम (२ तिमोथी २:२०,२१)

अलगपनताको कदम चाल्‍नुपर्ने चाहिँ विश्वासीले हो। जस्तै, यदि कुनै मण्डली वा सङ्गती वा संस्था गलत मार्गमा समर्पित भएको मैले पत्ता लगाएँ भने मलाई निष्कासन गरिनु अगाडि नै म आफै अलग हुन मैले कदम चाल्नुपर्छ।

अलगपनताको मनोभाव (२ तिमोथी २:२४)

विश्वासको निम्ति सङ्घर्ष गर्ने क्रममा मैले सधैं ठीक आत्मा कायम राख्‍नुपर्छ। “अर्काबाट शैतान निकाल्न खोज्दा आफैभित्र शैतानलाई ठाउँ दिनु भएन!” घमन्ड वा घृणाले भरिनु सधैं गलत हो। वर्षौं अघि सुसमाचार प्रचारक मेल रटर (Mel Rutter) ले मलाई यो असल सुझाव दिएका थिए, “छोरा, आफ्‍नो अडानमा चट्टानजस्तै हुनु र आफ्‍नो मनोभावमा चट्टानबाटको महजस्तै।”

अलगपनताको फलदायिता (२ तिमोथी २:२५-२६)

सहायताको खाँचो परेकाहरूलाई हामीले सहायता गर्न खोज्नुपर्छ तर त्यो काम हामी अलगपन्थी स्थानबाट गर्नुपर्छ। मैले धेरैजना मानिसहरूलाई रोमन क्याथोलिक, नव‍-‍इभान्जेलिकल, क्यारिज्मेटिक, सेभेन्थ-डे-एडभेन्टिस्ट लगायत अन्य किसिमका झूटा र सम्झौतावादी मण्डलीहरूबाट निस्केर आएको देखेको छु, तर मैले यस्ता मण्डलीहरूसित आवद्ध भएर र तिनीहरूमा प्रचार गरेर त्यसो हुन गएको होइन। मैले सो काम लेखहरू छापेर, व्यक्तिगत कुराकानी गरेर र खाँटी मण्डलीहरूमा र अन्य अवसरहरूमा प्रचार गरेर र बाहिरकाहरूलाई निमन्त्रणा गरेर गर्दै आएको छु।

निष्कर्ष

१) अलगपनता आत्मिक सुरक्षाको मामिला हो। अलगपनतालाई रद्द गर्नु चिप्लो भिर हो (१ कोरिन्थी १५:३३)। सन् १९७० को दशकमा म पढेको बाइबल कलेज टेनेसी टेम्पल (Tennessee Temple) अलगपनतामा कमजोर थियो र ८० र ९० का दशकहरूमा बिस्तारै झन् झन् कमजोर बन्दै गयो। एक्काइसौं शताब्दी आइपुग्दा सम्म तिनीहरूले ख्रीष्टिय रक कन्सर्टहरू प्रदर्शनी गर्न थाल्दा र सदर्न ब्याप्टिष्ट कन्भेनसनमा गाभिँदा कुनै अचम्मको कुरा भएन।

२) अलगपनतालाई रद्द गर्ने काम मन्द र चुपचाप तवरले शुरु हुन्छ। यसलाई औंल्याएर तोक्न वा चिन्न त्यति सजिलो छैन। अनि जो-जो अलगपनतालाई रद्द गर्ने प्रकृयाको प्रारम्भिक चरणमा छन् कसैले तिनीहरूलाई त्यसो हुन लागिरहेको हुन सक्छ है भनेर चुनौती दिँदा तिनीहरू ठेस खाने गर्छन्। अलगपनतालाई रद्द गर्ने काम सकारात्मकतालाई बढ्दो रूपमा जोड दिने, गलत प्रति पहिला भन्दा बढी लचिलो हुन थाल्ने केवल मनोभावको परिवर्तनबाट शुरु हुन्छ। अलगपनतालाई रद्द गर्ने कामको पहिलो कदम कुनै प्रचारक वा मण्डली वा बाइबल कलेजले के गर्छ वा भन्छ भन्ने कुराबाट भन्दा त्यसले के गर्दैन वा भन्न चुक्छ भन्ने कुराबाट चिन्न सकिन्छ।

निम्न प्रश्नहरूद्वारा कुनै संस्थाले अलगपनतालाई परित्याग गर्दैछ कि छैन भनेर चिन्नलाई मदत पुर्‍याउन सक्छ: के त्यसले अलगपनताको विषयमा कहिल्यै सम्मेलन बोलाएको छ? के त्यसले अलगपनतामा प्रबल रहेका प्रचारकहरूलाई सम्झौताको विरुद्धमा प्रस्टै तुरही फुक्नलाई निम्त्याउने गर्छ? के त्यसले आफू अलगपनतावादीहरूको मित्रको रूपमा आफूलाई सार्वजनिक र स्पष्ट रूपमा चिनाउने गर्छ? के त्यसले आफ्‍ना सदस्यहरूलाई अलगपनता सम्बन्धी पाठ्य सामग्रीहरू सिफारिश गर्दछ? कि अलगपनता एक ताका प्रचार गरिने कुरो थियो, चर्चा गरिन्थ्यो र अभ्यास गरिन्थ्यो तर अब प्रायः अजेन्डामा समावेश नगरिने कुरा भएको छ? के उक्त संस्था आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music) प्रयोग गर्नेहरूसित साँठगाँठ गर्दैछन् वा सम्भवतः आफै पनि यस्तो सङ्गीत अपनाउने दिशामा लम्कँदैछ? यदि त्यसो हो भने, यो ज्यादै ठूलो आवाज दिने सूचक हो किनकि आधुनिक ख्रीष्टिय सङ्गीत केवल सङ्गीत मात्र होइन; यो इसाईमतको एक अवधारणा हो जुनचाहिँ अलगपनताको विरुद्धमा छ अनि आधुनिक ख्रीष्टिय सङ्गीत र अलगपनताको अडान धेरै बेरसम्म मिलेर बस्न सक्दैन र बस्दैन पनि।

३) यदि असत्यलाई चाँडै रोक लगाइएन भने त्यसलाई कदापि रोक्न सकिन्न। यही कारणले गर्दा म अलगपनतामा नरम हुन थालेका स्वतन्त्र ब्याप्टिष्टहरूलाई चेतावनी दिने गर्दछु।

४) हामीले आफैलाई, हाम्रा मण्डलीहरूलाई र हाम्रा परिवारहरूलाई सधैं सिकाइरहनुपर्छ। नयाँ नियमका पत्रहरूले बारम्बार असत्यको सामना गरिरहेको देखिन्छ अनि यो नै हाम्रो सेवकाइको नमुना हो। तर धेरै बाइबल विश्वास गर्ने मण्डलीहरूले, यदि गरिहाले तापनि, विरलै झूटा शिक्षा र सम्झौताको बारेमा स्पष्ट चेतावनी दिने गर्दछन् र यस्ता कुराहरूको चेतावनी दिने सेवकाइहरूप्रति उनीहरू कृतज्ञ हुँदैनन् अथवा तिनीहरूको प्रयोग गर्दैनन्।

५) अल्पसङ्ख्यकमा परिएला कि भनेर हामी डराउनुहुन्न। सत्य सधैं अल्पसङ्ख्यकमा हुने गरेको छ। प्रभु येशूले चेतावनी दिनुभयो, “जब मानिसका पुत्र आउँछन्, तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?” उहाँले मण्डली युगलाई “त्यो पूरै खमीरी नहोउन्जेल” भित्रपट्टि खमीर लुकाइराखेको पीठोसित तुलना गर्नुभयो (मत्ती १३:३३)। यसले सत्यत्यागको विस्तारलाई जनाउँदछ। मण्डली युगको अन्ततिर साँचो मण्डलीहरू थोरै हुनेछन् र झूटा मण्डलीहरू धेरै हुनेछन्।

६) अलगपनता महत्त्वपूर्ण कुरा हो तर अलगपनता अलगपनताकै निम्ति होइन। मैले मृतअवस्थामा रहेका कुनैकुनै अलगपन्थी मण्डलीहरूमा प्रचार गरेको छु। ख्रीष्टिय जीवनको मूल विषय अलगपनता होइन तर जीवित ख्रीष्टसँगको एक जिउँदो सम्बन्ध हो। अनि महान् आज्ञा अलगपनता होइन; अलगपनता केवल त्यो सुरक्षाको पर्खाल हो जसले हामीलाई महान् आज्ञा प्रभावकारी ढङ्गले पूरा गर्न सम्भव तुल्याउँछ। धेरै अलगपन्थी मण्डलीहरूमा आत्मिक जागृतिको नितान्त खाँचो छ।

अलगपनता भाग २ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. विश्वासीले उसलाई सिकाउने परमेश्वरबाटको अभिषेक पाएको छ भनेर कुन पदले बताउँछ?
  2. “सारभूत कुरामा एकता; गैर-सारभूत कुरामा स्वतन्त्रता; सबै कुरामा दया” भन्ने प्रचलित अवधारणालाई हामी रद्द गर्दछौं। छओटा कारणहरू दिनुहोस्।
  3. हुमेनियस र फिलेटसले सिकाएको झूटो कुरा के थियो?
  4. मत्ती २८:२० मा हामीलाई कतिओटा कुराहरूको पालना गर्नुपर्छ भनेर भन्नुभयो?
  5. कुन पुस्तकको कुन अध्यायमा आफूले परमेश्वरको सारा मनसायलाई प्रचार गरेको कुरा पावलले बताए?
  6. कुन खण्डमा पावलले तिमोथीलाई सत्यतालाई निष्कलङ्ग राख्‍न आज्ञा दिए?
  7. कुनै पनि प्रचारकले किन सीमित सन्देश र सीमित सङ्गतीको बीचमा रोज्नुपर्ने हुन्छ?
  8. के बाइबलले प्रचारकलाई आफ्‍नो सन्देशलाई सीमित गर्न स्वतन्त्रता दिन्छ?
  9. अलगपनताको कदम चाल्नुपर्ने कसले हो?
  10. अलगपनता अभ्यास गर्दा हाम्रो मनोभाव कस्तो हुनुपर्छ?
  11. के हामीले अलगपनता अपनाएर पनि अरू मानिसहरूलाई सहायता गर्न र फलदायी हुन सक्छौं?
  12. खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छ भनेर कुन पदले सिकाउँछ?
  13. अलगपनतालाई रद्द गर्ने काम कसरी शुरु हुन्छ?
  14. असत्यलाई _________________ रोक लगाइएन भने त्यसलाई ___________________ रोक्न सकिन्न।
  15. के अन्तिम दिनहरूमा सत्यता बहुसङ्ख्यकले मान्नेछन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






अलगपनता – सैद्धान्तिक १

Study Series

अलगपनता – सैद्धान्तिक १

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: २ तिमोथी २:१६-१८

अलगपनताको शिक्षा आज तिरस्कृत र घृणित शिक्षा बनेको छ किनभने यो एकताको प्रचलित अवधारणा विपरित छ।

एक ताका सदर्न ब्याप्टिष्ट मण्डलीहरूबाट स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरू जस्ता बाइबलीय मण्डलीहरूलाई छुट्टयाउने कुरा अलगपनता थियो भने आजको अवस्था छिटोछिटो बदलिँदै छ किनभने आज थुप्रै स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूले अलगपनतालाई कि त सीधै इन्कार गर्दैछन् कि त त्यसलाई बेवास्ता गरी बगेर जान दिँदैछन्।

यद्यपि यो व्यापक रूपमा रद्द गरिएको र घृणा गरिएको कुरा हो, अलगपनता एक आवश्यक अभ्यास हो किनभने यो आत्मिक सुरक्षाको माध्यम हो।

मेरो आफ्‍नै ख्रीष्टिय जीवनमा मैले अलगपनता तीन चरणहरूमा सिकेँ: पहिलो, सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ र झूटा शिक्षाको बारेमा सतर्क हुनुपर्छ भन्ने कुरा मलाई एक नयाँ ख्रीष्टियन हुँदा सिकाइएको थियो। मलाई ख्रीष्टमा ल्याउने व्यक्तिले १ थेस्सलोनिकी ५:२१ जस्ता पदहरू सिकाए। उनले मलाई एउटा ख्रीष्टिय पुस्तक पसलमा लगेर ख्रीष्टिय पुस्तकहरू छान्दा धेरै होशियार हुनुपर्छ किनकि थुप्रै त्यस्ता पुस्तकहरूले मलाई गलत दिशामा लैजान सक्छन् भन्ने कुराको चेतावनी दिए। दोस्रो, मैले एक स्वतन्त्र ब्याप्टिष्ट बाइबल कलेजमा अलगपनता सिकेँ। त्यहाँ मैले रोमन क्याथोलिकवाद, उदारवादी ईश्वरशास्त्र, क्यारिज्मेटिकवाद, नव‍-इभान्जेलिकलवाद र ख्रीष्टिय रक जस्ता झूटा शिक्षा तथा आधुनिक लहरहरूको खतराको बारेमा केही कुरा सिकेँ। तेस्रो, व्यावहारिक तहमा म एक जवान मिसनरी हुँदा नेपाल ख्रीष्टियन फेलोशिप (Nepal Christian Fellowship) सितको मेरा अनुभवहरूमा मैले अलगपनता सिकेँ। योचाहिँ एउटा एकतावादी‍‍-क्यारिजमेटिक सङ्गती थियो र प्रचार गर्न र विभिन्न अवसरहरूमा सिकाउन उनीहरूबाट पाएको निमन्त्रणालाई स्वीकार गरेर मैले उनीहरूलाई मदत गर्न सक्छु र सायद उनीहरूलाई परिवर्तन गराउन पनि सक्छु भन्ने कुरामा म विश्वस्त थिएँ। तर त्यसको सट्टा शिक्षागत सङ्घर्ष (doctrinal conflict) ले गर्दा यसको नतीजा केवल समस्या र गडबडी थियो। मैले यो सिकेँ कि झूटा शिक्षकहरू र सम्झौतावादीहरूबाट अलग हुनु र भित्र रहेर होइन बरु बाहिरबाट उनीहरूलाई मदत गर्न खोज्नु नै बाइबलीय र बुद्धिमानी कुरा हो।

२ तिमोथी २:१५-१६

अलगपनताको जग (२ तिमोथी २:१५)

पहिलो, अलगपनताको जग भनेको बाइबलको ठोस ज्ञान हो। यो बिना कुनै पनि ख्रीष्टियनले सत्य र असत्यलाई छुट्ट्याउन सक्दैन। यसको मतलब प्रत्येक विश्वासी परिश्रमसाथ बाइबल अध्ययन गर्ने विद्यार्थी हुनुपर्छ। दैनिक बाइबल अध्ययनको बानी बसाल्नु अति महत्त्वपूर्ण छ। साथै यसको मतलब हरेक मण्डली परमेश्वरका जनहरूलाई पवित्र शास्त्रहरूमा तालिम दिइरहने बाइबल पाठशाला हुनुपर्छ र प्रभावकारी रूपमा झूटा शिक्षाको सामना गर्न तयार बनाउनुपर्छ।

दोस्रो, अलगपनताको जग भनेको एक जाँच गर्ने मनस्थिति हो। परमेश्वरको वचनलाई ठीक-ठीकसँग छुट्ट्याउनु भनेको सत्य र असत्यको बीचमा निरन्तर भिन्नता राख्‍नु हो। हेर्नुहोस् भजनसङ्ग्रह ११९:१२८; हितोपदेश १४:१५; प्रेरित १७:११; १ थेस्सलोनिकी ५:२१।

अलपनताको तरिका (२ तिमोथी २:१६,१७)

असत्य मार्ग अपनाउनेहरूलाई प्रस्टै चिनाउनुपर्छ (२ तिमोथी २:१७)

पावलले साधारण रूपमा अस्पष्ट चेतावनी दिएनन्। १ र २ तिमोथीमा मात्र उनले झूटा शिक्षकहरू र सम्झौतावादीका नामहरू १० पटक तोकेर उल्लेख गरे (१ तिमोथी १:२०; २ तिमोथी १:१५; २:१७; ३:८; ४:१०,१४)।

यो महत्त्वपूर्ण अभ्यास आज मण्डलीहरूमा प्रायः पाउन सकिन्न, “आधारभूतवादी” (fundamentalist) नाम लिन नछोडेकाहरूमा समेत। मानिसहरूलाई जानकार राख्न र पूर्वचेतावनी दिन मण्डलीहरूले “ओ तिमोथी” (O Timothy) पत्रिका र “फ्राइडे चर्च न्यूज नोट्स” (Friday Church News Notes) जस्ता प्रकाशनहरूमा पाइने जानकारी तथा चेतावनीहरूलाई वितरण गर्नुपर्छ। मण्डलीहरू “डिफेन्स अफ दि फेथ” (Defense of the Faith) जस्ता अध्ययन मालाहरूमा आधारित तालिमहरू दिनुपर्छ। आफ्‍ना जनहरूलाई खाँटी पठन सामग्रीहरू उपलब्ध गराउन मण्डलीहरूले आफ्‍नै किताब पसल सञ्चालन गर्नुपर्छ। पुरानो मार्गहरूमा स्थिर भएर उभिरहने मण्डलीहरूले प्रायः यी तीनओटै कामहरू गरिरहेका छन्।

असत्य मार्ग अपनाउनेहरूदेखि अलग हुनुपर्छ (“त्याग”, २ तिमोथी २:१६; “तिनीहरूबाट टाढा बस”, २ तिमोथी ३:५, “यस्ताहरूबाट पर बस”)।

उनीहरूका मण्डलीहरू र सभाहरूबाट अलग बस्नुपर्छ। कुनै मण्डलीले गलत कुरा सिकाउँदछ भन्ने कुरा तपाईंलाई थाहा छ भने, त्यसबाट टाढा बस्नुहोस्। कुनै प्रचारकले गलत कुरा सिकाउँछ भन्ने कुरा तपाईंलाई थाहा छ भने उसको सभामा नजानुहोस्। धेरैजना व्यक्तिहरू प्रमीस किपर सभा वा क्यारिज्मेटिक बाइबल अध्ययन वा ख्रीष्टिय रक कन्सर्टमा गएका छन् र यसरी परमेश्वरको अलगपनताको आज्ञालाई अवज्ञा गरेको हुनाले उनीहरू गलत मार्ग अपनाउनलाई परिवर्तित भएका छन्।

उनीहरूका पुस्तकहरू, वेबसाइटहरू, टिभी र रेडियो प्रसारणहरू, एमपीथ्री प्रवचनहरूबाट अलग बस्नुहोस्। यसो गर्न विफल हुनु नै स्वतन्त्र ब्याप्टिष्ट मण्डलीहरूभित्र क्याल्भिनवाद र नवइभान्जेलिकलवाद बेजोडसित छिर्न पाउनुको मुख्य कारण हो। केही वर्ष अगाडि मिशिगनका एकजना पास्टरले मलाई भने कि उनीहरूका सबभन्दा कमजोर र अस्थिर मण्डली सदस्यहरू चाहिँ सबभन्दा बढी मात्रामा ख्रीष्टिय रेडियो सुन्नेहरू हुन्। यसको कारण यो हो कि “इभान्जेलिकल” स्टेशनका कार्यक्रमहरू समेत प्रायः झूटा शिक्षकहरू र सम्झौतावादीहरूले भरिएका हुन्छन्। वे अफ लाइफ लिटरेचरको वेबसाइटमा भएको “ख्रीष्टिय पुस्तक पसलका खतराहरू” (Dangers in Christian Bookstores) र “ख्रीष्टिय रेडियोका खतराहरू” (Dangers on Christian Radio) मा थुप्रै लेखकहरू र रेडियो व्यक्तित्वहरू सूचीत गरिएका छन् जसबाट पर बस्नुपर्छ। (यसमा समावेश छन्: बिल्ली र फ्रान्क्लीन ग्राहाम, रिक वारेन, चक कोल्सन, चक स्वीन्डोल, जीम सिम्बला, फिलिप यान्सी, जोन म्याक्स्वेल, म्याक्स लुकाडो, एलेजाबेथ एलिअट, जेरी ब्रीजेज, ज्याक हेफोर्ड, बील हाइबेल्स, जेम्स डब्सन, रबर्ट शूलर, केन ब्लान्चार्ड, रिचार्ड फस्टर, डालस वीलार्ड, रबर्ट वेबर, जोन माइकल ट्यालबट, सीएस लुइस, नर्मन भिन्सेन्ट पील, ब्रुस विल्किन्सन्, रब बेल, ब्रेनन म्यानिङ्ग, टोनी कम्पोलो, डोनाल्ड मिलर, अरवीन म्याकम्यानस र ब्रायन म्याकलारेन।)

उनीहरूका बाइबल स्कूलहरूबाट अलग बस्नुपर्छ। न्यू इभान्जेलिकलवाद र मडर्न टेक्स्चूवल क्रिटिसिज्म जस्ता कुराहरू आधारभूत बाइबलीय मण्डलीहरूमा डालस थिअलजिकल सेमिनरी जस्ता न्यू इभान्जेलिकल अध्यापन केन्द्रहरूबाट पनि छिरिरहेका छन्।

अलगपनताको कारण (२ तिमोथी २:१६ख, १७)

यो बुझ्नुपर्ने ज्यादै महत्त्वपूर्ण बुँदा हो।

क) असत्यद्वारा भ्रष्ट नबन्नका लागि हामीले अलगपनताको अभ्यास गर्नुपर्छ (“सड्ने घाउले झैं खाँदै लैजानेछ”)। सडेको स्याउहरूको बीचमा राख्दा राम्रो स्याउले तिनीहरूको स्वस्थ्यलाई वृद्धि गर्दैन! दाँज्नुहोस् १ कोरिन्थी १५:३३।

नव-इभान्जेलिकलवादको उदाहरणलाई विचार गर्नुहोस्। सन् १९५० को दशक ताका बिल्ली ग्राहाम जस्ता इभान्जेलिकल अगुवाहरूले अलगपनतालाई परित्याग गरे। नव-इभान्जेलिकलवादका शुरुका एक अगुवा हारोल्ड लिन्डसेल (Harold Lindsell) ले पछिबाट स्वीकार गरे, “एक दशक जति भित्रमा नव-इभान्जेलिकलवाद आफू भित्रबाटै बाइबल त्रुटीरहित छ वा अमोघ छ भन्ने मान्यताको सवालमा बढ्दो शङ्का-उपशङ्काद्वारा ग्रस्त हुन थालिसकेको थियो” (Lindsell, Bible in the Balance, 1979)।

ज्याक भ्यान इम्पी (Jack van Impe) को उदाहरणलाई विचार गर्नुहोस्। सन् १९७० को दशकमा तिनी एक आधारभूतवादी थिए तर १९८० को दशकमा तिनले आफ्‍नो अडान बदले। सन् १९८४ मा उनले Heart Disease in Christ’s Body भन्ने पुस्तक निकाले जसमा उनले अलगपनतावादको विरुद्धमा लेखे र एकतावादी अवधारणालाई अघि सारे। उनले भने, “परमेश्वर क्याथोलिकहरू, लूथरनहरू, ब्याप्टिष्टहरू र पेन्टेकोस्टलहरूका हृदयभित्र आउनुहुन्छ, र यसरी परमेश्वर हामीभित्र हुनुभएकोले हामी एकअर्कासित सङ्गती गर्न सक्छौं।” सन् १९९० को दशक आइपुग्दा सम्म भ्यान इम्पीले पोपको प्रशंसा गर्न थालिसकेका थिए। उनले Startling Revelations: Pope John Paul II नाकम भिडियो प्रकाशित गरे जसमा उनले पोपलाई ख्रीष्टिय विश्वासको हिरोको रूपमा उचाले! यति छोटो समयमा नै उनी यहाँसम्म आत्मिक अन्धा हुन पुगे।

जेम्स रबिन्सन (James Robinson) को उदाहरणलाई विचार गर्नुहोस्। उनी १९७० को दशकमा एक साहसी सदर्न ब्याप्टिष्ट प्रचारक थिए जसले उदारवाद (liberalism) र सांसारिकपन (worldliness) को विरुद्धमा प्रचार गर्दथे। तर १९८० मा उनी एक क्यारिज्मेटिक बने र आफू “नकारात्मकवाद” बाट उन्मुक्त भएको दाबी गरे! सन् १९८७ मा न्यू ओर्लियन्समा एक विशाल एक्यूमेनिकल क्यारिज्मेटिक सम्मेलनमा सम्बोधन गर्ने क्रममा उनले पोपकै प्रशंसा गर्दैथिए! म एक पत्रकारको हैसियतले त्यहीँ उपस्थित थिएँ र उनले यसो भनेको मैले सुनेँ, “म के भन्न चाहन्छु भने, अहिले यस पृथ्वीमा नैतिकताको सबैभन्दा उत्कृष्ट प्रतिनिधिहरूमध्येमा एकजना पोप हुनुहुन्छ। यो जान्ने व्यक्तिहरूले उनी एक नयाँ जन्म पाएका व्यक्ति हुन् भन्ने साँच्ची नै विश्वास गर्दछन्।”

ख) अरूहरूलाई ठेस नखुवाउन हामीले अलगपनताको अभ्यास गर्नुपर्छ (१ कोरिन्थी ८:९-१३)।

आफूलाई जहाँ‍‍-जहाँबाट निमन्त्रणा आउँछ त्यहाँ-त्यहाँ गएर प्रचार गर्ने बिल्ली ग्राहामको अवधारणा हो, तर उनले रोमन क्याथोलिक र उदारवादी प्रोटेस्टेन्ट मण्डलीहरूमा गई प्रचार गरेर गलत उदाहरण देखाएका छन्। पोल्याण्डमा उनले क्याथोलिक मण्डलीहरूमा प्रचार गरे, अझ ब्लाक मडोन्ना नाम गरेको मरियमको मुख्य थानको बाहिर उभिएर आगन्तुकहरूलाई अभिवादन गरे। यस घटनाको तस्वीर छापिएको “डीसीजन” (Decision) पत्रिकाको एक प्रति मसितै छ। क्याथोलिक मण्डलीहरूमा प्रचार गर्ने ग्राहामको अभ्यासले उनले रोमन क्याथोलिक मण्डलीलाई आफूले स्वीकार गर्दछु भन्ने र त्यसमा लागिरहनु राम्रै कुरा हो भन्ने सन्देश दिएका छन्। यो कति भयङ्कर गलत सन्देश हो! बिल्ली ग्राहाम, फ्रान्क्लिन ग्राहाम, लुइस पलाउ लगायत अनगिन्ती अन्य एक्यूमेनिकल प्रचारकहरूले बाइबलको आज्ञा पालन नगरीकन झूटा शिक्षकहरूदेखि अलग बस्न अस्वीकार गरेकाले कति करोडौं व्यक्तिहरू झूटा मण्डलीहरूमा लागिरहन प्रोत्साहन पाए भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ।

ग) परमेश्वरको आज्ञा पालन गर्नलाई हामीले अलगपनताको अभ्यास गर्नुपर्छ!

अलगपनताको अभ्यास नगर्नलाई ख्रीष्टियनहरूले थुप्रै बाहनाहरू बनाउँछन् तर ठीक गर्छु भन्ने उद्देश्यले बेठीक गर्नु कहिल्यै ठीक होइन! मण्डलीहरूमा र गाउँहरूमा प्रचार गर्नलाई मेरी श्रीमतीले निमन्त्रणा पाएकी छिन्, तर उनले जहिले पनि इन्कार गरेकी छिन् किनकि परमेश्वरले उनलाई त्यसो गर्न मनाही गर्नुभएको छ (१ तिमोथी २:१२)। उनेल सजिलै भन्न सक्थिन्, “तर यतिखेर प्रचार गर्ने पुरुषहरू छैनन् र कोही न कोहीले प्रचार त गर्नैपर्छ।” तर ठीक गर्छु भन्ने उद्देश्यले बेठीक गर्नु कहिल्यै ठीक होइन!

अलगपनता – सैद्धान्तिक भाग १ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. अलगपनताको जग के हो?
  2. विश्वासीलाई जाँच गर्ने मनस्थिति धारण गर्न सिकाउने चारओटा पदहरू कुन-कुन हुन्?
  3. अलगपनताको तरिकामा कुन दुई कुराहरू पर्दछन्?
  4. तिमोथीलाई आफ्‍ना पत्रहरूमा पावलले कति पटक झूटा शिक्षकहरूको नाम तोकेर लेखे?
  5. अलगपनताको तरिकालाई बाइबलले कुन तीन तरिकामा बयान गरेको छ?
  6. कुनै पनि झूटा शिक्षा सिकाइने मण्डली वा बाइबल अध्ययन वा सम्मेलनमा भाग लिन एक विश्वासी जनले किन इन्कार गर्नुपर्छ?
  7. कुनचाहिँ रेडियो कार्यक्रम सुन्ने वा कुन पुस्तक पढ्ने बारेमा विश्वासीहरू किन होशियार हुनुपर्छ?
  8. हामीले अलगपनताको अभ्यास गर्नुपर्ने तीनओटा कारणहरू के-के हुन्?
  9. ज्याक भ्यान इम्पीले १९८४ मा कुन कुराको विरोध गरे?
  10. झूटा मण्डलीहरूमा प्रचार गर्दा एक्यूमेनिकल प्रचारकहरूले कुन सन्देश दिइरहेका हुन्छन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






मनोरञ्जनको परीक्षण

Study Series

मनोरञ्जनको परीक्षण

डेविड क्लाउड

पद कण्ठ: भजनसङ्ग्रह १०१:३; रोमी ६:१६; १ कोरिन्थी १०:२१;३१; फिलिप्पी ४:८; १ यूहन्ना ५:२१

बाबुआमा तथा शिक्षकहरूले युवाहरूलाई मनोरञ्जनसित सरोकार राख्‍ने बाइबलीय सिद्धान्तहरूलाई सिकाउनुपर्छ। मानिस परमेश्वरको सृष्टिमा आनन्द गरोस् भनेर ऊ बनाइएको हो। परमेश्वरले “हाम्रा आनन्दका निम्ति हामीलाई सब थोक प्रशस्त गरी दिनुहुन्छ” (१ तिमोथी ६:१७)। तर सृष्टिको पतन हुन गयो र त्यसमा थुप्रै आत्मिक खतराहरू रहेका छन् (१ पत्रुस ५:८)। कतिपय क्रियाकलापहरू आफैमा बाइबल विपरित नहोलान् तर तिनमा समेत कति त फाइदा नदिने कुराहरू हुन्छन् (१ कोरिन्थी ६:१२)। त्यसैले हामीले परमेश्वरको वचनद्वारा ती कुराहरूलाई परीक्षण गर्न सिक्नुपर्छ ताकि हामी बुद्धिका साथ हिँड्न सकौं, मूर्खतामा होइन।

युवाहरूलाई केवल “यो गर्न हुन्छ, त्यो गर्न हुँदैन” मात्र भनेर गर्न हुने र नहुने कुराहरूको एउटा सूची दिएर मात्र हुन्न। उनीहरूलाई हामीले ध्यानपूर्वक र धैर्यपूर्वक परमेश्वरको वचन व्यावहारिक किसिमले सिकाउनुपर्छ ताकि उनीहरूले ती वचनका पाठहरू दैनिक जीवनमा प्रयोग गर्न जान्न सकून्।

ख्रीष्टियन जीवनमा र ख्रीष्टियन परिवारमा मनोरञ्जनलाई परीक्षण गर्न मिल्ने केही बाइबलीय सिद्धान्तहरू निम्न प्रकारका छन्। प्रत्येक बुँदा अन्तर्गत आफैलाई निम्न प्रश्न सोध्नुहोस्: यस परीक्षणमा विफल ठहरिने मनोरञ्जनका केही रूपहरू अथवा उदाहरणहरू के-कस्ता हुन सक्छन्?

  • के यसलाई तपाईं परमेश्वरको महिमाको लागि गर्न सक्नुहुन्छ? (१ कोरिन्थी १०:३१)
  • के यो कुरा संसारबाटको हो? (१ यूहन्ना २:१५-१६)
  • के यसमा खराब कुराहरू हेर्ने काम पनि हुन्छ? (भजनसङ्ग्रह १०१:३)
  • के यसले सुसमाचार र ख्रीष्टको कामलाई अगाडि बढाउँछ? (१ को १०:२८,३२-३३)
  • के यसले अरूहरूलाई ठेस खुवाउँछ? (रोमी १४:१३-१६,२१)
  • के यसले तपाईंलाई हितकर (स्वस्थकर) कुराहरूमा मन लगाउने बनाउँछ? (फिलिप्पी ४:८)
  • के यो कुरा मूर्तिपूजासँग आवद्ध छ? (१ यूहन्ना ५:२१)
  • के यो कुरा व्यभिचारसित सम्बन्धित छ? (१ कोरिन्थी ६:१८)
  • के यो कुरा शैतानबाटको हो? (१ कोरिन्थी १०:२१)
  • के यसले भक्तिहीनहरूको विचारधारालाई प्रोत्साहन दिन्छ वा त्यसको समर्थन गर्दछ? (कलस्सी २:८)
  • के यो कुरासित त्यस्तो कुनै पनि कुरा सम्बन्धित छ जुनचाहिँ परमेश्वरको साँचो ज्ञानको विरुद्धमा छ (२ कोरिन्थी १०:५)
  • के यो क्रियाकलाप तपाईं बिनाशङ्का विश्वासका साथ गर्न सक्नुहुन्छ? (रोमी १४:२३)
  • के यो क्रियाकलाप मेरो समयको सदुपयोग हुने काम हो? एफेसी ५:१५-१६)
  • के यस क्रियाकलापले मलाई दास बनाउन सक्ने सम्भावना छ? (रोमी ६:१६-१८)

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विश्वासी जन र मद्यपान

Study Series

विश्वासी जन र मद्यपान

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पद: हितोपदेश २०:१; २३:१९-२१; १ कोरिन्थी १०:३२-३३; १ थेस्सलोनिकी ५:२२

परिचय

१) ख्रीष्टको नाम धारण गर्ने धेरैजसो व्यक्तिहरू संयमी भएर मद्यपान गर्दा हुन्छ भन्ने कुरामा विश्वास गर्छन्। यो कुरा रोमन क्याथोलिकहरू (Roman Catholics), ओर्थोडक्सहरू (Orthodox), लुथरनहरू (Lutherans) र इमर्जिङ्ग इभान्जेलिकल (Emerging Evangelical) चर्चकाहरूको सवालमा साँचो छ। उदाहरणको लागि, “Listening to the Beliefs of Emerging Churches: Five Perspectives” भन्ने किताबमा मद्यपानको आनन्दको बारेमा दर्जनौं पटक उल्लेख गरिएको छ। लेखकहरू हुन्, कारेन वार्ड (Karen Ward), मार्क ड्रिस्कोल (Mark Driscoll), जोन बर्क (John Burke), डान किम्बल (Dan Kimball) र डग प्याजिट (Doug Pagitt)। उनीहरू इश्वरशास्त्रीय छलफल गर्न भट्टीहरूमा भेटघाट गर्छन्, र उनीहरू बियर बनाउने तरिकाहरू एकअर्कासँग सट्टापट्टा गर्ने गर्छन्।

२) बाइबलमा “दाखमद्य” भन्ने शब्द एक प्रजातीय शब्द (generic term) हो। त्यसैले विशिष्ट शब्दको जस्तै यसको एउटै अर्थ हुँदैन। कतिपय ठाउँमा यसको अर्थ अङ्गुरको ताजा जुस (दाखरस) हन्छ; कतिपय ठाउँमा यसको अर्थ रक्सीयुक्त मद्य (alcoholic wine, मदिरा) हुन्छ।

निम्न पदहरूले “दाखमद्य” भन्ने शब्दको माने अङ्गुरको ताजा जुस हुन सक्छ भनेर प्रमाणित गर्छ: व्यवस्था ११:१४; २ इतिहास ३१:५; नहेम्याह १३:१५; हितोपदेश ३:१०; यशैया ६५:८। रक्सीबिहीन दाखमद्य (Non-alcoholic wine) लाई कतिपय ठाउँमा “दाखको फल” (मत्ती २६:२९) को संज्ञा दिइएको छ।

डाक्टर ब्रुस ल्याकिले भन्नुभयो, “बाइबलमा यदि ‘दाखमद्य’ भन्ने शब्द रक्सीयुक्त मद्यलाई जनाउन प्रयोग गरिएको छ भने सन्दर्भले त्यो सधैं छर्लङ्ग पार्छ। ती सन्दर्भहरूमा परमेश्वरले त्यसको खराब असरको चर्चा गर्नुहुन्छ र त्यसको विरुद्धमा चेताउनी दिनुहुन्छ। उदाहरणको लागि उत्पत्ति ९ लाई लिन सकिन्छ जहाँ जलप्रलय पश्चात् नूहको अनुभवलाई बयान गरिएको छ। २१ पदले भन्छ, ‘अनि तिनले दाखमद्यबाट पिए, र मत्त भए; अनि आफ्‍नो पालभित्र तिनले आफूलाई नाङ्गा तुल्याए।’ प्रष्टै, यहाँ दाखमद्यको माने मद्य वा मदिरा हो।”

मदिरा प्राकृतिक उत्पादनको वस्तु होइन; यो मान्छेबाटको उत्पादन हो। अङ्गुरको जुस प्राकृतिक तवरले किण्वीकरण भई रक्सीयुक्त बन्न त बन्छ तर त्यो छिट्टै सिर्का (vinegar, भिनिगर) मा परिणत हुन्छ। त्यो रक्सीयुक्त अवस्थामा रहिरहँदैन। Bible Wines and the Laws of Fermentation नामक पुस्तकले मद्य बनाउनलाई के कस्ता कुराहरू आवश्यक छन् भन्ने कुराको बयान गर्दछ।

तसर्थ, येशूले पानीलाई “दाखमद्य” मा परिणत गर्नुहुँदा (यूहन्ना २:१-११) र प्रेरित पावलले तिमोथीलाई उसको पेटको लागि अलि-अलि “दाखमद्य” प्रयोग गर्नलाई सल्लाह दिँदा (१ तिमोथी ५:२३), त्यहाँ रक्सीयुक्त दाखमद्यकै कुरा गरिएको हो भन्ने होइन। (यस बारेमा थप जानकारी पाउन “Did Jesus Make Alcoholic Wine?” (अङ्ग्रेजी) पढ्नुहोस्।

नयाँ नियमको विश्वासी जन रक्सीयुक्त पेय पदार्थहरूदेखि पूर्णरूपमा अलग रहनुपर्छ भनेर बाइबलले सिकाउँछ भन्ने कारणहरू निम्न प्रकारका छन्:

 

१) दाखमद्यले गिज्याउँछ र मानिसलाई ठग्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१)।

रक्सीयुक्त पेय पदार्थहरूलाई सीमित मात्रामा पिउँदा हुन्छ भन्ने भनाइ तर्कसङ्ग भए जस्तै सुनिन्छ, तर आफूहरू पियक्कड नै बन्नलाई अघि सरेकाहरू पियक्कडहरू धेरैजना हुँदैनन्। झूटो सावित गर्न नसकिने तथ्य यो हो कि जसले पिउँदै पिउँदैन ऊ कहिल्यै मात्नेछैन र ऊ निश्चय पनि पियक्कड बन्नेछैन।

ब्रुस ल्याकिको भनाइसित हामी सहमत छौं, “मद्यले कसरी ठग्छ? ठीक जसरी आज मानिसहरूले त्यसको वकालत गर्दैछन्, अर्थात् थोरै पिएर केही हानि हुँदैन अरे। धेरै पिउनु खराब हो भनेर सबैले स्वीकार गर्छन्। मदिरा कम्पनीहरू समेतले हामीलाई पिएर गाडी नचलाउनुहोस् भनिरहेका छन्, तर थोरै पिउनु ठीकै हो भन्ने उनीहरूको जिकीर छ। तर, त्यही कुरा नै भ्रमात्मक कुरा हो। कति थोरै पिउने भन्ने कुरा कसलाई थाह छ र? विज्ञहरूको अनुसार प्रत्येक व्यक्ति फरक हुन्छ। एकजनालाई एक घुट्कीले मात लाग्न सक्छ भने अर्कोलाई लाग्न त्योभन्दा धेरै चाहिन्छ। एउटै व्यक्तिको पनि फरक अवस्थाहरूमा मदिराप्रति उसको फरक प्रतिक्रिया हुन्छ, जस्तो कि उसले कति खानेकुरा खाएको छ आदि। त्यसैले ‘अलिकतिले केही हानि गर्दैन’ भन्ने कुरा भ्रम हो, र यसद्वारा ठगिएको व्यक्ति बुद्धिमान् होइन।!”

नूहले आफू मत्त हुने नै योजना बनाए होला जस्तो मलाई लाग्दैन न ता आफ्‍नो नातीमाथि त्यत्रो समस्या ल्याऊँला भनेर नै उनले सोचेका थिए — जुन समस्या आजको दिनसम्म पनि जारी छ — हो, मद्यले गिज्याउँछ।

मेरो आमापट्टिको हजुरबुबा पुस्तौंदेखि पियक्कडहरूको पूर्ख्यौलीमा जन्मनुभएको थियो र मेरो हजुरआमाले विवाह गर्नुभन्दा पहिला उहाँलाई एक थोपा रक्सी नछुनलाई प्रतिज्ञा गराउनुभएको थियो, अनि उहाँले त्यसरी प्रतिज्ञा गर्न मान्नु पनि भयो। तर एक दिनको कुरा थियो, उहाँ र अर्को सिकर्मी एउटा घरको छानामाथि काममा गर्दै हुनुहुन्थ्यो अनि त्यो अर्को व्यक्तिले उहाँलाई “जिब्रो शीतल पार्न” एक चुस्को मात्र पिउनलाई मनाएछन्। अनि दुवैजना बेसरी मातेछन् र थानामा पुर्‍याइएछन् जब कि मेरो हजुरबुबा एउटा ब्याप्टिस्ट मण्डलीमा डिकन हुनुहुन्थ्यो! उहाँले एकदमै पछुतो मान्नुभयो र उहाँ पुनस्थापित हुनु पनि भयो अनि त्यसपछि उहाँले अर्को थोपा फेरि पिउनुभएन तर मदिराले गिज्याउँछ भन्ने कुराको यो डरलाग्दो प्रमाण थियो।

मद्यमा ठग्ने र बिगार्ने क्षमता छ। त्यसलाई आफ्‍नो वशमा राख्‍ने सकिने हो कि त्यसले आफूलाई वशमा ल्याउने हो कसैले जान्न सक्दैन। हितोपदेश २०:१ को निर्देशनले मलाई यो बताउँछ कि बुद्धिमानी मानिसले त्यसलाई आफूबाट अलग्गै राख्‍नेछ।

तलको बुद्धिमानी भनाइ जोन पेटन (John Paton) को हो जो नयाँ हिब्रडिज (New Hebrides) मा मिसनरी थिए (१८९१):

“मद्यपान कसरी सीमित मात्रामा गर्न सकिन्छ भनेर सिकाउने संयम समाजहरू (Temperence Societies) वास्तवमा सफल भएका छैनन् बरु परमेश्वरको अनुग्रहले मद्यपान गर्नदेखि पूर्णरूपमा अलग बस्नु नै यसको एकमात्र औषधि हो र बच्ने उपाय हो भन्ने कुरामा म सानै छँदा अवलोकनबाट विश्वस्त भएको हुँ। मद्यको जति मात्रा एकजनाको लागि संयमपूर्ण ठानिन्थ्यो त्यो अर्कोलाई मताउन सक्ने मात्रा हुन सक्थ्यो; अनि जति पनि व्यक्तिहरू पियक्कड छन् तिनीहरू पूरै परहेजमा बस्नेहरूका बीचबाट आएका हुँदैनथे तर संयमी भई पिउनेहरू वा त्यसरी पिउन प्रयास गर्नेहरूको बीचबाट आएका हुन्थे। संयम समाजका मानिसहरूलाई मैले अरू नपिउनेहरूको सामु पिइरहेको देखेको थिएँ जोहरू पछि गएर पियक्कड बने अनि त्यस बारेमा आफूहरू दोषी छैनौं भनेर उनीहरू कसरी सोच्न सक्छन् होला भनेर मैले कहिल्यै बुझ्न सकिनँ; साथै एकताका संयम समाजहरूको जोडदार वकालत गर्ने मण्डलीका सेवकहरू र अरूहरूलाई उनीहरूको कथित संयमबाट पतन भएर पियक्कड बनेको पनि देखेको छु। तसर्थ जुनसुकै पनि लागु पदार्थको सम्बन्धमा मेरो जीवनभर मैले यो कुरा निर्विवाद रूपमा देखेको छु कि एकमात्र समझदारपूर्ण संयम भनेको तिनीहरूलाई पेय पदार्थको रूपमा प्रयोग गर्नेदेखि पूर्णरूपमा अलग बस्नु हो र तिनलाई केवल औषधिको रूपमा मात्र प्रयोग गर्नु हो, अनि त्यो पनि अधिकतम सतर्कतासाथ किनकि ती एकदम नीचता र अनैतिकताका भ्रमात्मक र अस्वस्थ्यकर विष हुन्।”

बाइबलले मात्न निषेध गरेको छ भनेर इमर्जिङ्ग चर्चकाहरू समेत सहमत छन्, तर उनीहरू र उनीहरूका पिउने मित्रहरू कहिल्यै “अलिकति” पनि मात्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? उनीहरूले पियक्कड बन्न कसैलाई पनि परीक्षामा पार्नेछैनन् भनेर के तिनीहरूले ग्यारेन्टी दिन सक्छन् र? अहँ, सक्दैनन्, किनकि “दाखमद्यले गिज्याउँछ।”

२) रक्सीयुक्त पेय पदार्थबाट टाढा बस्नुपर्छ किनकि त्यो अन्य थुप्रै खराबीहरू र खतराहरूसित आवद्ध छ (हितोपदेश २३:१९-२३, २९-३५)।

आफ्‍ना बाबुआमाको कुरा सुन्नू र सत्यता किन्नू र त्यसलाई नबेच्नू भनेर बाबुले छोरालाई दिइरहेको जोडदार आग्रहका साथ यो खण्ड शुरु हुन्छ (हितोपदेश २३:२२-२३)। आफ्‍नो सारा हृदय र बल र जीवनलाई त्यसप्रति उन्मुख गराएर “सत्यता किन” र शैतानको कुनै पनि रित्तो र भ्रमात्मक प्रलोभनको सट्टामा “त्यसलाई नबेच” भन्दै बाबुले आफ्‍नो छोरालाई अर्ती दिँदैछ। यसले एक व्यक्तिलाई “सामाजिक मद्यपान” (social drinking) लाई प्रोत्साहन गर्ने नाचगान, भट्टिहरू, रात्री-क्लबहरू जस्ता सांसारिक क्रियाकलापहरू र स्थानहरूको प्रलोभनदेखि जोगाउनेछ।

पियक्कडलाई गरीबी हुन्छ (हितोपदेश २३:१९-२१)। हितोपदेशले युवकलाई पियक्कडहरू र घिचुवाहरूको सङ्गतदेखि टाढा बस्न सल्लाह दिन्छ किनकि ती कुराहरू गरीबीसित आवद्ध छन्। यो निश्चित छ ती कुराहरूले आत्मिक गरीबी ल्याउँछन् र प्रायः आर्थिक गरीबी पनि ल्याउँछन्।

पियक्कड श्राप, शोक र झगडाहरूले पीडित हुन्छ (हितोपदेश २३:२९)। समाजका धेरैओटा श्रापहरू रक्सीधोकाइका प्रतिफल हुन्। जस्तै, तोडिएका वैवाहिक सम्बन्धहरू, गुमेका मित्रताहरू, सामाजिक इज्जतबाटका पतनहरू, आर्थिक नोक्सानिहरू, गाडी तथा हवाई दुर्घटनाहरू, अपराधहरू, छुरी धसाइहरू, गोली हनाइहरू, बिग्रेका बाल्यावस्थाहरू, किशोरी गर्भाधारणहरू, टाट पल्टाइहरू, र आत्महत्याहरू। मेरो एकजना जिजुबाजे धनी मान्छे हुनुहुन्थ्यो जसका दुईटा रेष्टुरेन्ट एण्ड बार थिए र उहाँ बेसरी पिउनुहुन्थ्यो। एकदिन उहाँ आफ्‍नो दामी क्याडिल्याक गाडीमा चढेर एउटा शवगृहमा जानुभयो, आफ्‍नै कञ्चटमा पिस्तोल तेर्साउनुभयो र आफ्‍नै ज्यान लिनुभयो।

पियक्कडले मुख बजाउँछ (हितोपदेश २३:२९)। रक्सीले मातेको मान्छे अर्थहीन कुराहरू र मूर्ख कुराहरू बोल्छ।

पियक्कडलाई बिनाकारणै चोटहरू लागेका हुन्छन् (हितोपदेश २३:२९)। ऊ जान्दैन आफू कहाँ थिएँ वा आफूले के गरेँ र कसरी उसलाई चोटहरू लागे। त्यो झगडा वा दुर्घटना वा लोटाइको उसलाई सम्झना हुँदैन। मेरो ससुराले एलेस्कामा एक रात गाडी ठोक्काउनुभयो जब उहाँ एउटा पुल पार गर्नुभएपछि अगाडिको मोडमा नकाटीकन सीधै हाँक्नुभयो। ढलपल गरी धर्मराउँदै बाटोमा हिँडिरहेको उहाँलाई भेटियो र आफूलाई के भयो भन्ने कुराको समेत उहाँलाई अत्तोपत्तो थिएन।

पियक्कडका आँखाहरू राता हुन्छन् (हितोपदेश २३:२९)। उसको शरीरमै असर परेको हुन्छ। उसका आँखामा असर परेको हुन्छ; उसका मृगौलाहरूमा असर परेको हुन्छ; उसको कलेजोमा असर परेको हुन्छ; उसको मस्तिष्कमा असर परेको हुन्छ।

पियक्कडका आँखाले पराई स्त्रीहरूलाई हेर्छन् (हितोपदेश २३:३३)। यो चाहिँ रक्सीधोकाइसित कसरी अनैतिकतको निकट सम्बन्ध हुन्छ भन्ने कुराको बयान हो। पियक्कडका नैतिक संवेदनशीलता शिथिल बन्छन् र ऊ खुकुलो चरित्रका स्त्रीहरूप्रति आकर्षित हुन्छ। भनिन्छ, “मदिरा अभिलाषाको आगोको इन्धन हो”।

पियक्कडको हृदयले टेढा कुराहरू बक्छ (हितोपदेश २३:३३), जस्तै श्रापहरू, तीता बोलीहरू, निन्दाहरू र फोहोर ठट्टादिल्लगीहरू।

पियक्कड लापरवाही बन्छ र ऊ मूर्ख प्रकारले निडर हुन्छ (हितोपदेश २३:३४)। समुद्रको बीचमा तैरिरहँदा वा समुद्रमा हिँडिरहेको जहाजको मस्तुलको टुप्पामा बस्दा ऊ पल्टेर निदाउन चाहन्छ। ठूलो समुद्री जहाजको बीचको मस्तुल २०० सम्म फीट अल्गो हुन सक्छ। पियक्कड मातेको बेलामा गाडी चलाउँछ वा हवाइजहाज हाँक्छ; ऊ व्यस्त राजमार्गको बीचमा हल्लिँदै हिँड्छ; अरूबेला नजिक पनि नगइने होहल्ला मच्चिरहेको भट्टीभित्र ऊ पस्छ; जङ््गी मान्छेहरूलाई ऊ कुस्ती खेल्ने चुनौती दिन्छ। २०१० सालको जुलाइ महिनामा मातेको एकजना अष्ट्रेली नागरीक एउटा निकुञ्जभित्र छिरेर १५-फुटको गोहीमाथि चढ्न खोजेछ र खुट्टामा एउटै मात्र टोकाइ खाएर अचम्मसाथ बाँचेछ। पियक्कड पैसा खर्च गर्न लापरवाह गर्छ। ऊ नैतिकतामा लापरवाह गर्छ। गलत सङ्गतसित लापरवाहसाथ यताउता हिँड्छ। उसले अमूल्य सम्बन्धहरू र मित्रताहरूलाई लापरवाहसात मिल्काउँछ।

पियक्कडलाई दुख्नुपर्ने ठाउँमा दुख्दैन (“तिनीहरूले मलाई हिर्काए, तर म बिरामी भइनँ; तिनीहरूले मलाई कुटे, तर त्यो मैले थाहै पाइनँ”, हितोपदेश २३:३५)। उसको मात लागेको मुद्राबाट नउठेसम्म पियक्कडलाई आफ्‍नो रक्सीधोकाइको मूर्खताले निम्त्याएको पीडाप्रति उसको होसहवास हुँदैन।

पियक्कड अनौठो प्रकारले दास बनाइएको हुन्छ (“म कहिले बिउँझूँ? म फेरि त्यसको खोज गर्नेछु”, हितोपदेश २३:३५)। एउटा रक्सीधोकाइको घटना बित्न पाएको छैन ऊ फेरि त्यसैको खोजी गर्न चाहन्छ। रक्सीले उसको स्वास्थ्यलाई खत्तम पारिसके तापनि र उसको दाम्पत्य जीवनलाई भताभुङ्ग पारिसके तापनि र उसको पेशालाई चक्नाचूर पारिसके तापनि, ऊ सितिमिति पिउन छोड्दैन। “यो एउटा गहिरो र साँघुरो खाडल हो जसबाट निस्कन करीब असम्भव छ; त्यसैले त्यसको छेउबाट दूर रहनु बुद्धि हो। यस पापको दिशामा एक कदम मात्र पनि चाल्नदेखि होसियार! किनभने त्यसदेखि कदम फर्काउन यति गाह्रो छ कि “फर्क!” भनेर चिच््याउने विवेकलाई धरी त्यसले भ्रष्ट पारिसकेको हुन्छ र त्यस अवस्थामा परमेश्वरको अनुग्रहलाई परित्याग गरिसकिएको हुन्छ” (म्याथ्यू हेनरी)।

३) बाइबलले विश्वासी जनलाई कुनै पनि कुरामा अरूलाई ठेस नखुवाउन आज्ञा गर्दछ (१ कोरिन्थी १०:३२-३३)।

मुक्ति पाएको केही महिना पछि मैले चुरोट छोडेँ तर चुरोट आफैमा खराब कुरा हो भन्ने विचारले मैले त्यसलाई छोडेको थिइनँ न ता त्यो ‍स्वास्थ्यको लागि हानिकारक छ भन्ने विचारले नै; तर यो अरूहरूलाई ठेस खुवाउने कुरा हो भन्ने कुरा बुझेर नै मैले चुरोट छोडेको थिएँ। म आफ्‍नो साक्षी दोषरहित भएको चाहन्थे ताकि परमेश्वरले मलाई प्रयोग गर्न सक्नुभएको होस् र उहाँले मलाई अनन्त फल दिनुभएको होस्। मैले कसैलाई ख्रीष्टको बारेमा बताउन खोज्दा उसले मेरो पाकेटमा एक बट्टा चुरोट देखेर मेरो कुरा सुन्न नचाहने बनेको वा उसको ध्यान सुसमाचारदेखि अन्यत्र खिँचिएको म चाहदैनथेँ।

चुरोटको सवालमा त्यो साँचो हो भने, अनि हो पनि, त्यसोभए रक्सीयुक्त पेय पदार्थको बारेमा यो झनै साँचो हो। विश्वासी भएर पिउनु हुँदैन ‍भन्ने कुरा धेरैजना अविश्वासीहरूले नै सोच्दछन्। कतिपय ख्रीष्टियानहरूले आफ्‍नो निम्ति अपनाएको मानदण्डभन्दा अविश्वासीहरूले ख्रीष्टियानहरूका निम्ति राखेको मानदण्ड उच्च छ। अमेरकाको यूटालाई विचार गर्नुहोस्, जहाँ मर्मनहरूले समेत रक्सीयुक्त पेय पदार्थ पिउनु गलत हो भनेर विश्वास गर्छन्! ती मर्मनहरूले मद्यपान गर्ने गैर-मर्मन ख्रीष्टियानहरूलाई कसरी हेर्छन् होला त?

विश्वासीले आफ्‍नो जीवनदेखि मद्यपान हटाउनुपर्छ भन्ने कारणको रूपमा आफूले गरेको मद्यपानले कसैलाई ठेस खुवाउला कि भन्ने सम्भावना मात्र पनि पर्याप्‍त छ, अनि आजको समाजमा त्यो सम्भावना ज्यादै ठूलो छ। मासु खाँदा कसैलाई ठेस लाग्छ भने र उसको साक्षीको निम्ति हानिकारक छ भने पावल यस वर्तमान संसारमा कहिल्यै मासु नखान समेत तत्पर थिए (१ कोरिन्थी ८:१३) जब कि मासु खानु त कुनै अवैध काम होइन। झन् बढ्ता गरी एक विश्वासीले रक्सीयुक्त पेय पदार्थलाई परित्याग गर्न तयार हुनुपर्ने हो जब कि त्यो ज्यादै संदिग्ध कुरा हो र त्यसमा आफैलाई र अरूलाई हानि पुर्‍याउने शक्ति छ (जुनचाहिँ मासुमा छैन)!

४) बाइबलले विश्वासीलाई दुष्टताको हरेक रूपमा अलग बस्न आज्ञा गर्छ (१ थेस्सलोनिकी ५:२२)।

यो त धेरै कुरालाई समेट्ने ज्यादै फराकिलो अर्ती हो। रक्सीयुक्त पेय पदार्थ आजको समाजमा भयङ्कर दुष्टता र श्रापको रूपमा देखा परेको छ। ती गाडी दुर्घटनाहरूलाई विचार गर्नुहोस्, स्वास्थ्यको नाश र अकालका मृत्युहरूलाई विचार गर्नुहोस्, व्यभिचारहरू, अश्लीलताहरू, पारपाचुकेहरू, बेवास्ताको शिकार बनेका बाल‍बच्चाहरू, दुर्व्यवहारका शिकार बनेका पत्नीहरू, खेर गएका पैसाहरू, ती जुवाहरू, ती निन्दाहरू, ती सत-प्रतिशत मूर्खताहरूलाई विचार गर्नुहोस्। बियर र रक्सीका ती विज्ञापनहरूलाई हेर्नुहोस्, कसरी तिनले कामवासनालाई र गैरजिम्मेवारीपनलाई निर्लज्ज प्रकारले प्रदर्शन गर्छन्।

२०१० सालको अप्रिल महिनाको एउटा रिपोर्टअनुसार, रूसमा भोड्का पिउने काम एउटा महामारी नै बनेको छ। एकजना मामुली रूसीले वार्षेनी १५ देखि १८ लिटर कडा मद्य पिउने गर्छ जसले औसतमा प्रत्याशित आयुलाई एक दशकले घटाउँछ। रूसी पुरुषको प्रत्याशित आयु ६१.८ वर्ष मात्र छ। जनवरी २००५ मा बेलायतको रोयल कलेज अफ फिजिसियनहरूले राष्ट्र मदिरा-सम्बन्धित समस्याहरूको महामारीले ग्रस्त छ भनेर चेताउनी दियो जुन महामारीले देशभरि उपद्रव र रोगहरूको वृद्धि गराउँदैछ (The Telegraph, Jan 3, 2005)। यही महामारी विश्वभरि नै दनदनती सल्किरहेको छ।

आज यदि कुनै कुरालाई दुष्टताको रूप मान्न सकिन्छ भने त्यो रक्सीयुक्त पेय पदार्थ नै हो, र बाइबलले हामीलाई दुष्टताको हरेक रूपबाट अलग बस्नुपर्छ भन्ने सल्लाह मात्र दिएको छैन; यसले हामीलाई त आज्ञा नै गरेको छ!

५) आजको दाखमद्यमा भएको र बाइबलकालीन दाखमद्यमा भएको रक्सीको मात्राको बीचमा उल्लेखनीय भिन्नता छ।

बाइबलकालीन दाखमद्य सामान्यतया पन्यालो हुन्थ्यो। त्यो भनेको म सेनामा हुँदा त्यहाँ बूट क्याम्पमा पिउन पाइने दुई प्रतिशत बियर जस्तै हुन्थ्यो।

“आजका धेरैजना मद्यपान गर्ने ख्रीष्टियानहरूले नयाँ निमयमा उल्लेखित दाखमद्य हिजआजकै दाखमद्य जस्तै थियो भनेर मानिलिएका हुन्छन्। तर यो धारणा गलत हो। वास्तवमा आजको दाखमद्य बाइबलीय परिभाषाले कडा मद्य (strong drink, मदिरा) हो र त्यसैले त्यो बाइबलमा निषेधित छ। … प्राचीन समयका अविश्वासीहरूले समेत आजका कतिपय ख्रीष्टियानहरूको जस्तो मद्यपान पिउने गर्दैनथे” (Norman Geisler, Focus in Missions, Sept, 1986)।

“आजको दुईटा मार्टिनीमा रहेको मद्य बराबरको दाखमद्य पिउने हो भने बाइबलमा उल्लेखित दाखमद्य (तीन भाग पानी र एक भाग दाखमद्य) को त बाइस गिलास पिउनुपर्ने हुन्छ” (Robert Stein, Ibid.)।

निष्कर्ष

१) येशूले रक्सीयुक्त दाखमद्य पिउनुभयो वा बनाउनुभयो भनेर हामी विश्वास गर्दैनौं। सर्वप्रथम, पूजाहारीहरू र राजाहरूलाई रक्सीयुक्त पेय पदार्थ पिउन निषेधित थियो (लेवी १०:९; हितोपदेश ३१:४-५), अनि येशू दुवै पूजाहारी र राजा हुनुहुन्छ। दोस्रो कुरा, दाखमद्यले गिज्ज्याउँछ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश २०:१) अनि येशू मानिसहरूलाई गिज्ज्याउन आउनुभएको होइन। तेस्रो कुरा, दाखमद्य (अर्थात् दाखरस) को आश्चर्यकर्मको प्रतिफलले देखाउँछ कि येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको थिएन (यूहन्ना २:११)। यस आश्चर्यकर्मले ख्रीष्टले पवित्र मसीहको रूपमा आफ्‍नो महिमा प्रकट गर्नुभयो जसको फलस्वरूप चेलाहरूले उहाँमाथि विश्वास गरे। यदि उहाँले दाखरस नभएर रक्सीयुक्त दाखमद्य बनाउनुभएको हो भन्ने अर्थमा त्यसलाई लिने हो भने त्यसको मतलब त उहाँले मातेकाहरूलाई झनै रक्सीले मताउने काम गर्नुभएको ठहरिन्थ्यो!

२) इस्राएलीहरूलाई कुनै अवसरहरूमा कडा मद्य पिउन अनुमति थियो भन्ने कुरा साँचो हो (व्यवस्था १४:२६), तरैपनि आज उहाँका जनहरूका निम्ति यो परमेश्वरको इच्छा हो भन्ने चाहिँ होइन। विश्वासीलाई जिउने नियम नयाँ नियममा अझ उच्च मानदण्डको छ। जस्तो कि, मोशाको व्यवस्थामा बहुविवाह गर्न छुट थियो तर नयाँ नियममा कतै पनि त्यस्तो प्रबन्ध गरिएको छैन।

३) ख्रीष्टियानलाई रक्सीयुक्त पेय पदार्थ पिउनलाई कुनै आवश्यकता नै छैन। त्यसले उसको जीवनमा कुनै मूल्य थप्दैन।

४) हामी खतरापूर्ण धरापहरूले भरिएको संसारमा हिँडिरहेका छौं (१ पत्रुस ५:८)। हाम्रा भयङ्कर आत्मिक शत्रुहरू छन्: संसार, शरीर र शैतान। आत्मिक शिथिलता ल्याउने र हामीलाई हानि ल्याउन सक्ने कुनै पनि कुराबाट अलग बस्नु बुद्धिमानी हो।

५) हामी भयङ्कर सत्यत्याग (apostasy) को घडीमा बाँचिरहेका छौं (२ तिमोथी ४:३-४)। इमर्जिङ्ग चर्चले मद्यपान गर्न मन पराउनुको कारण यो हो कि तिनीहरू स्वतन्त्रताको धाक दिन्छन् र पावलको भविष्यवाणीले भनेजस्तै आफ्‍नै अभिलाषाहरू अनुसार जिउँछन्। उनीहरूको उदाहरणलाई पछ्याउनु मूर्खता हो।

विश्वासी जन र मद्यपान सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. बाइबलमा दाखमद्य भन्ने शब्द एक _______________________ शब्द हो।
  2. “दाखमद्य” भन्ने शब्दले ताजा अङ्गुरको जुसलाई जनाउन सक्छ भनेर प्रमाणित गर्ने दुईटा पदहरू बताउनुहोस्।
  3. बाइबलको कुनै पनि खण्डमा दाखमद्य भन्ने शब्दले अङ्गुरको रस (दाखरस) लाई जनाउँदैछ कि रक्सीयुक्त पेय पदार्थलाई जनाउँदैछ भनेर हामीले कसरी छुट्ट्याउन सक्छौं?
  4. नयाँ नियमको ख्रीष्टियानले मद्यपानलाई पूरै त्याग्नुपर्छ भनेर हामीले विश्वास गर्नुको पाँच कारणहरू के-के हुन्?
  5. कुन पदले दाखमद्यले गिज्ज्याउँछ र ठग्छ भनेर सिकाउँछ?
  6. कसैले कहिल्यै पिउँदैन भने के ऊ कहिल्यै पियक्कड बन्छ?
  7. रक्सीयुक्त पेय पदार्थहरू कसरी भ्रमात्मक छन्?
  8. हितोपदेशको कुन अध्यायले मद्यपानससित सम्बन्धित सबै दुष्टताहरूलाई बयान गर्दछ?
  9. हामीले अरूहरूलाई ठेस खुवाउनुहुँदैन भन्ने बाइबलको चेताउनीको माने के हो?
  10. दुष्टताको हरेक रूपबाट अलग बस्न विश्वासीलाई बाइबलको कुन पदेले सिकाउँछ?
  11. बाइबलकालीन दाखमद्य र आधुनिक समयको रक्सीयुक्त दाखमद्यमा के फरक छ?
  12. येशूले रक्सीयुक्त दाखमद्य बनाउनुभएको होइन भनेर हामीले विश्वास गर्नुको तीनओटा कारणहरू के-के हुन्?
  13. सत्यलाई परित्याग गरेका ख्रीष्टियानहरू आफ्‍नै अभिलाषाहरू अनुसार जिउनेछन् भनेर चेताउनी दिने बाइबलको खण्ड कुन हो?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

Study Series

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

भाग २

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ६:९-११; ११:१५; २३:२०-२१; एफेसी ४:२८; हिब्रू १३:५-६

१) परमेश्वरलाई पहिलो स्थान दिनुहोस् र आफ्ना खाँचोहरू पूरा गरिन उहाँमाथि भरोसा राख्‍नुहोस् (मत्ती ६:३१-३३)

यदि विश्वासीले परमेश्वरलाई पहिलो स्थान दिन्छ भने सबै कुरा मिलेर आउँछ, तर यदि उसले आफैलाई पहिलो स्थानमा राख्‍छ भने सबै कुरा भताभुङ्ग भएर जान्छ!

  1. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको परमेश्वरको आज्ञा मान्नु हो। यसको माने मेरो आफ्नो कामकुरालाई भन्दा परमेश्वरको कामकुरालाई प्राथमिकता दिनु हो; आफूलाई खुशी पार्नुभन्दा परमेश्वरलाई खुशी पार्नु हो। विश्वासीले मण्डलीको सवालमा परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। म नयाँ विश्वासी हुँदा मैले माण्डलिक सभालाई छोड्न बाध्य गराउने कुनै पनि काममा हात नहाल्ने निर्णय गरेँ (हिब्रू १०:२५)। विश्वासीले पैसाको सवालमा आफ्नो आम्दानीको पहिलोफल परमेश्वरलाई दिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। विश्वासीले बाइबलको सवालमा दिनको पहिलो भागलाई बाइबल अध्ययन र आराधना गर्नलाई अलग गरेर र परमेश्वरको वचन झन्-झन् राम्ररी सिक्नलाई हरेक मौका लिएर परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। साथै विश्वासीले पेशा र मित्रताहरू र विवाह आदि जस्ता आफ्ना निर्णयहरूमा पनि परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ।
  2. परमेश्वरलाई पहिलो स्थान दिनुको माने परमेश्वरमाथि भरोसा गर्नु हो। यसको माने उहाँका प्रतिज्ञाहरू विश्वास गर्नु र उहाँलाई शङ्का नगर्नु हो। मैले उहाँको आज्ञा मान्नुपर्छ अनि त्यसपछि मैले उहाँले मेरो वास्ता गर्नुहुन्छ र मेरा कामकुराहरू मिलाउनुहुनेछ भनेर उहाँमाथि भरोसा गर्नुपर्छ।
  3. परमेश्वरलाई पहिलो स्थान दिनु भनेको धैर्य गर्नु र प्रभुको बाटो हेर्नु हो (भजनसङ्ग्रह २७:१४; हितोपदेश २०:२२)। हामीले धैर्य गर्नुपर्छ भनेर परमेश्वरले माग राख्‍नुभएको छ; यो एउटा ठूलो आत्मिक नियम हो। परमेश्वरको इच्छा र योजनामा कामकुराहरू रातारात हुँदैनन्। हाम्रो विश्वास साँचो छ कि छैन भनेर उहाँले हाम्रो जाँच गर्नुहुन्छ। परिस्थिति जस्तोसुकै कठिन भए पनि हामी आफ्ना कर्तव्यहरूमा विश्वासयोग्य हुनुपर्छ र अगाडि बढिनैरहनुपर्छ।

२) कडा परिश्रम गर्नुहोस् (हितोपदेश ६:६-११)

हितोपदेशको पुस्तक व्यावहारिक बुद्धिको पुस्तक हो, र यसले बारम्बार अल्छिपनाको विरुद्धमा चेताउनी दिन्छ। परमेश्वरले कडा परिश्रमलाई आशिष दिनुहुन्छ र अल्छिपनालाई उहाँ घृणा गर्नुहुन्छ। उहाँले हामीलाई कमिलाबाट सिक भन्नुहुन्छ। कमिलाबाट सिक्न सकिने केही पाठहरूलाई विचार गरौं:

  1. कमिला निगरानीबिना काम गर्छ र विश्वासीले पनि दिनको शुरुदेखि दिनको अन्तसम्म उसलाई हेरिरहने कोही नभए पनि वा उसलाई घरिघरि घच्घचाउने कोही नभए पनि विश्वासयोग्य भएर ख्रीष्टको सेवा गर्नुपर्छ।
  2. कमिलाले मौका हुँदैमा काम गर्छ र “राम्रो दिन” कहिले आउला भनेर पर्खी बस्दैन। त्यस्तै, विश्वासीले पनि “दिन छँदै” काम गर्नुपर्छ र पछि गरूँला भन्दै कामलाई पन्साउनुहुँदैन।
  3. कमिला अरू कमिलाहरूसित तालमेल मिलाई काम गर्छ। प्रत्येक कमिलाले आफ्नो भाग गर्छ, र त्यस्तै गरी प्रत्येक विश्वासीको पनि माण्डलिक शरीरभित्र आफ्नै विशिष्ट सेवाकार्य हुन्छ।
  4. कमिला त्यति सानो भएर पनि र तुलनामा महत्त्वहीन देखिए तापनि उसले काम गर्छ। हाम्रो जीवनमा र मण्डलीमा यो हाम्रो उदाहरण हुनुपर्छ। सबैभन्दा सानो व्यक्ति र सबैभन्दा सरल काम पनि यदि परमेश्वरको निम्ति भनेर गरिन्छ भने त्यो उहाँको दृष्टिमा मूल्यवान् हुन्छ।

अरू थुप्रै हितोपदेशहरूले अल्छि हुने कुराको विरुद्धमा चेताउनी दिन्छ किनकि पापी मानव स्वभाव अल्छिपनातिर नै झुक्न खोज्छ (हितोपदेश १०:४-५; १२:२४; १४:२३; १५:१९; १९:१५; २०:४,१३; २१:२५-२६; २४:३०-३४; २६:१४; २७:२३-२७)।

३) इमान्दार हुनुहोस् (एफेसी ४:२८)

परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ र उहाँ बेइमानीलाई घृणा गर्नुहुन्छ। तर हामी पापीहरू हौं र हामी पापपूर्ण संसारमा बाँचिरहेका छौं, र अनेकौं तरिकामा हामीलाई बेइमानी हुनलाई परीक्षा आउँछ — ठग्न, चोर्न, कुरा बङ्ग्याउन, काममा पूरा बल नलगाउन, घुस खान, र अन्य तरिकाले हाम्रा व्यवहारहरूमा अन्यायी हुन। हामीले यस्ता प्रलोभनहरूलाई इन्कार गर्नुपर्छ र यस अन्धकारपूर्ण संसारमा ख्रीष्टका राजदूहरूका रूपमा इमान्दार हुनुपर्छ। परमेश्वरले सत्यवादितालाई आशिष दिनुहुन्छ र बेइमानीलाई न्याय गर्नुहुन्छ।

४) अरूलाई दिन र सहायता गर्न सिक्नुहोस्

लूका ६:३८; गलाती ६:१०; एफेसी ४:२८; रोमी १२:१३; १ तिमोथी ६:१८; हिब्रू १४:१६

विश्वासीसँग दिनलाई तत्पर खालको हृदय हुनुपर्छ, कञ्जुसी र आफ्नो बारेमा मात्र विचार गर्ने खालको होइन। जो परमेश्वरलाई पहिलो स्थान दिन सिक्छन् र प्रभुको कामका निम्ति दसौं अंशहरू र भेटीहरू दिन्छन् र अरूलाई सहायता गर्न सिक्छन्, तिनीहरूको नै यस जीवनमा फलिफाप हुन्छ किनभने तिनीहरूसित परमेश्वरको आशिष हुन्छ।

५) सांसारिक मानिसहरूको पछि नलाग्नुहोस् (हितोपदेश १२:११; २३:२०-२१)।

मूर्ख मानिसहरू ती हुन् जो पैसाको सठीक प्रयोग गर्न जान्दैनन्, जसको गवाही राम्रो छैन, जसले आफूहरू आर्थिक व्यवहारहरूमा बुद्धिमानी नभएको प्रमाण दिइसकेका छन्, जो पापपूर्ण मार्गहरूमा हिँडिरहेका छन्। सांसारिक मित्रहरू सच्चा मित्र होइनन् भनेर उडाउ पुत्रले सिक्यो। तिनीहरू तपाईंलाई प्रेम गर्दैनन्; तिनीहरू तपाईंसित भएका चीजहरूलाई प्रेम गर्छन्। तिनीहरू तपाईंलाई केवल प्रयोग गर्न चाहन्छन्। अनि मूर्ख मानिसहरूको पछि लाग्नेहरू बुद्धिमानी बन्दैनन् बरु प्रायः आफ्नो आम्दानीलाई खेर फाल्न पुग्छन् र अवसरहरूलाई मिल्काउन पुग्छन् (१ कोरिन्थी १५:३३)। म जवान हुँदा मलाई यस्तै भएको हो। मैले पाउन सक्ने शिक्षा मैले हासिल गर्न सकिनँ र आफूलाई उचित ढङ्गले विकास गर्न सकिनँ किनभने म मूर्खहरूको भीडको पछि लागिरहेको थिएँ। खेर फालिएको समयलाई पश्चात्ताप गरे पनि फिर्ता पाउन सकिन्न।

६) छिटो सम्पत्ति‍-आर्जनको प्रतिज्ञाको पछि नलाग्नुहोस् (हितोपदेश १३:११; २१:५)

यदि कुनै पनि आर्थिक कारोवार सुन्दैमा यति आकर्षक सुनिन्छ कि त्यो “साँचो होला त” भन्ने मनमा लाग्छ भने, त्यो साँचो होइन पनि!

७) ऋण लिने र दिने बारेमा होशियार हुनुहोस् (हितोपदेश ६:१-५)

योचाहिँ विचार नपुर्‍याईकन ऋण लिने र करार बाँध्ने सम्बन्धमा दिइएको चेताउनी हो।

गलती भएको महसुस भएमा त्यसबाट निस्कने उपाय खोज्‍नुहोस् (जस्तै, मगनी, व्यापारिक साझेदारिता, जागिर, पढाइ)। यदि तपाईंको दायित्व पक्का गरिसकिएको छ भने, करार पूरा गर्नु तपाईंको जिम्मेवारी हो, तर सम्भव भएसम्म त्यसबाट आफू निस्कनलाई सकेसम्म केही न केही गर्नु बुद्धिमानी हुन्छ, जस्तै, विचार नपुर्‍याईकन लिइएको ऋण छिटो तिर्नलाई दुई-दुईटा काम गर्नुपर्ला।

जसले ऋण लिन्छ ऊ दास बन्छ (हितोपदेश २२:७)। एक आर्थिक दायित्व भनेको मानिस र परमेश्वरको सामु एउटा गम्भिर करार हो। आफूले तिर्न सक्ने कुरा पक्का नगरीकन ऋण नलिनुहोस्। २ राजा ४:१ मा एकजना अगमवक्ताको परिवार कति नराम्रो समस्यामा परेको कुरालाई विचार गर्नुहोस्। जब हामी आफ्नो वचन दिन्छौं तब त्यो पूरा गर्न परमेश्वरले हामीलाई जिम्मेवार भएको ठान्नुहुन्छ। हामीले सत्य बोल्नुपर्छ भन्ने उहाँको माग छ (जकरिया ८:१६; एफेसी ४:१५)। हामी आफूले दिएका प्रतिज्ञाहरूले बाँधिएका हुन्छौं, चाहे त्यो वैवाहिक करार होस् वा बेपारको करार होस्। अमेरिकामा कुनै-कुनै विश्वासीका बारेमा मलाई थाहा छ जसले ऋणबाट उम्कनलाई सरकारको शरण लिन पुगेका छन् (टाट उल्टेको भनेर) तर त्यो ख्रीष्टियन तरिका होइन। कुनै-कुनै परिस्थितिमा आपसी कुराकानीद्वारा करारको भुक्तानी अवधिलाई लम्ब्याउन आवश्यक पर्न सक्छ, तर ऋण भनेको चुक्ता गर्नैपर्छ।

विशेष गरी खराब शर्तमा ऋण लिनु बुद्धिमानी होइन। एकजना साथी हाल सालै बैङ्कमा कर्जा लिने विषयमा बुझ्न जानुभएको थियो। बैङ्कले २०% ब्याज लिने रे, साथै कर्जाको २०% रकम बैङ्कमै सञ्चय गरी त्यसको समेत ब्याज तिर्नुपर्ने रे! यहाँ मानिसहरूले ३०% ब्याज तिर्नुपर्ने व्यक्तिगत कर्जा लिने गर्छन् जसको साथसाथै विभिन्न जरीवाना र शुल्कहरू पनि तोकिएका हुन्छन्। यस्ता करारहरूमा सहमत हुनेहरू मूर्ख हुन्। परमेश्वरले हाम्रा खाँचोहरू पूरा गरिदिने र उहाँको आज्ञा पालन गरेको खण्डमा उहाँले हाम्रो लागि बाटो खोलिदिने प्रतिज्ञा गर्नुभएको छ, त्यसैले हामीले उहाँमाथि भरोसा गर्नुपर्छ र आवेगमा सोच विचारै नपुर्‍याई मूर्ख निर्णयहरू गर्नुहुँदैन। यस्तो गर्नु भनेको विश्वासले होइन अविश्वासले काम गर्नु हो, तर विनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ (हिब्रू ११:६)।

उधारो दिने विषयमा होशियार हुनुहोस्। कसैलाई उधारो दिने समय पनि हुन्छ (भजनसङ्ग्रह ३७:२६; लूका ६:३५), तर उधारो माग्ने जोसुकैलाई दिनु बुद्धिमानी होइन। उधारो दिने काम सुझबुझले गर्नुपर्छ (भजनसङ्ग्रह ११२:५)। अपरिचित व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश ११:१५)। अल्छि मान्छे वा कडा परिश्रममा नलागिरहेको मान्छेलाई उधारो नदिनुहोस् (२ थेस्सलोनिकी ३:१०)। राम्रो गवाही नभएको, भर पर्न नसकिने व्यक्तिलाई उधारो नदिनुहोस् (हितोपदेश २५:१९; लूका १६:१०)। पैसाको सवालमा बुद्धिमानी भएको प्रमाणित नभएको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। नराम्रो गरी ऋणमा डुबिरहेको व्यक्तिलाई पैसा सापट नदिनुहोस्। खराब चरित्र (जस्तै, ढाँट्ने, चोर्ने, ऋणदातादेखि भाग्ने, आफ्नो ख्रीष्टियन जीवनमा अविश्वासयोग्य) हुनेलाई पैसा सापट नदिनुहोस्। अरूलाई खराब गर्न टेवा दिनु भनेको उनीहरूको खराब कामहरूमा सहभागी बन्नु हो (१ तिमोथी ५:२२; २ यूहन्ना १०-११; प्रकाश १८:४)।

८) असल सल्लाह लिनुहोस् (हितोपदेश १९:२०; २४:६)

ठूला-ठूला आर्थिक निर्णयहरू आफू एक्लैले नगर्नुहोस्; पास्टरहरू र बाबुआमाहरू र मण्डलीका उमेर खाएका पाको पवित्रजनहरू जस्ता बुद्धिमानी व्यक्तिहरूसित असल सल्लाह लिनुहोस्। आर्थिक मामिलाहरूमा बुद्धिमानी भएको प्रमाणित भएकाहरूसित सल्लाह लिनुहोस्। तपाईं युवा हुनुहुन्छ भने आफ्नै साथीभाइहरूसित सल्लाह नलिनुहोस्; उमेर खाएका, बढी बुद्धि भएकाहरूकहाँ जानुहोस्।

९) आर्थिक मामिलाहरूमा अविश्वासीहरूसित एउटै जुवामा ननारिनुहोस् (२ कोरिन्थी ६:१४)

यसले नातागोतालाई पनि समेट्छ। एउटा नयाँ विश्वासी यस्तो कुरामा जेलिएको छ भने उसले आफूलाई त्यस्ता जुवादेखि छिटो भन्दा छिटो निकाल्न जे गर्न सकिन्छ गर्नुपर्छ ताकि ऊ ख्रीष्टको सेवा गर्न स्वतन्त्र बनोस्।

१०) आफूसित जे छ त्यसमा धन्यवादी बन्नुहोस् र त्यसलाई प्रयोगमा ल्याउनुहोस् (हितोपदेश १२:२७); काम नगरी बस्नलाई बहाना नबनाउनुहोस् (हितोपदेश २०:४; २२:१३)

आफूसित नभएको कुराको फिक्री नगर्नुहोस्; जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस् र आफूसित जे छ त्यसलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयोग गर्नुहोस्, र परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ र अरू थप प्रबन्ध गर्नुहुनेछ। परमेश्वरसित बुद्धि माग्नुहोस्।

आत्मिक क्षेत्रमा उही सिद्धान्त काममा आउँछ। बाइबलको बारेमा सबै कुरा नजानेसम्म प्रभुको सेवा गर्नलाई र मानिसहरूलाई ख्रीष्टको बारेमा बताउनलाई पर्खेर बस्ने होइन; आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गर्नुहोस्। बाइबल अध्ययन गर्नलाई दराजभरी किताब नभएसम्म पर्खेर बस्ने होइन; आफूसँग जे छ त्यहीँबाट शुरु गर्नुहोस्। आफूसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस् र परमेश्वरले त्यसको वृद्धि गरिदिनुहुन्छ। आज मैले के गर्नुपर्छ भनेर आफूलाई जति थाहा छ त्यसमा विश्वासयोग्य बन्नुहोस् र परमेश्वरले भोलि तपाईंलाई अझ अरू ढोकाहरू खोलिदिनुहुनेछ।

धेरैजना विश्वासीहरू प्रभुको सेवा गर्नुको सट्टा बहानाहरू बनाउँछन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डली सभाहरूमा विश्वासयोग्य भएर उपस्थित हुँदैनन्। उनीहरू यो बहानामा वा त्यो बहानामा मण्डलीमा आफूले गर्न सक्ने कुनै एउटा सेवाको भागमा लाग्दैनन्। के भन्ने भनेर जान्दिनँ भन्दै वा डरले वा आफ्नो जातले गर्दा वा आफू अनपढ भएकोले भन्दै उनीहरू सुसमाचार सुनाउँदैनन्। आफ्नो आँखा राम्ररी नदेख्‍ने भएकोले वा राम्ररी पढ्न आउँदैन भन्दै वा पढ्नै आउँदैन भन्दै उनीहरू बाइबल पढ्दैनन्। आखिरमा पढ्न सिक्नलाई त्यति गाह्रो कुरा पनि होइन, र प्रत्येक विश्वासीले जस्तोसुकै उपाय अपनाएर भए पनि बाइबल पढ्ने उपाय निकाल्नुपर्छ। सामान्य समझ भएको जोकोहीले पनि पढ्नलाई सिक्न चाहन्छ भने उसले पढ्न सिक्न सक्छ, तर बहाना बनाउनेहरूले जीवनमा कहिल्यै प्रगति गर्नेछैनन्।

११) परमेश्वरले जे दिनुहुन्छ त्यसमा सन्तोष गर्नुहोस् (हिब्रू १३:५-६)।

अझ कमाउनलाई कडा परिश्रम गर्नु गलत होइन, र वृद्धि गर्नलाई सञ्चय गर्नु र वृद्धि गरिदिनुहोस् भनेर परमेश्वरसित माग्नु गलत होइन, तर आफूसँग नभएसम्म खर्च गर्नु बुद्धिमानी होइन। आफूसित जे छ त्यसमा जब सन्तोष गर्नुहुन्छ, तपाईं परमेश्वरमाथि भरोसा राख्‍न सक्नुहुन्छ र तपाईंले मान्छेको डर मान्नुपर्नेछैन। लोभ-लालच गर्दै, जहिले पनि अझ धेरैको लालसा गर्दै जिउनु गलत हो। परमेश्वरले लोभ मूर्तिपूजाजस्तै हो भन्नुहुन्छ (कलस्सी ३:५)। जो धनी हुन चाहन्छ ऊ भयङ्कर आत्मिक खतरामा छ (१ तिमोथी ६:६-१०)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।