Entries by Pradesh Shrestha

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

Study Series

आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने?

भाग १ – दसौं अंश

डेविड क्लाउड

पद कण्ठ: हितोपदेश ३:९-१०; मलाकी ३:१०; लूका ६:३८; २ कोरिन्थी ९:६-७

बाइबलले पैसाको बारेमा धेरै कुरा बताएको छ; येशूका धेरैओटा प्रवचनहरू यही विषयमा थिए; मान्छेको हृदय उसको सम्पत्तिसित बाँधिएको हुन्छ भनेर उहाँले सिकाउनुभयो।

दसौं अंशको अभ्यास गरेर (मलाकी ३:८-११)

दसौं अंश, जसको माने आफ्नो आम्दानीको कम्तीमा १०% परमेश्वरलाई दिने कुरालाई जनाउँछ, परमेश्वरलाई आदर गर्ने र यस खाँचोमा डुबेको संसारमा उहाँको महान् कामलाई टेवा पुर्‍याउने एउटा तरिका हो। परमेश्वरले यसमाथि आशिष दिने प्रतिज्ञा गर्नुभएको छ, अनि कयौं विश्वासीहरूले आफूहरू आफ्नो आम्दानीको १००% मा जिउन खोज्नु भन्दा ९०% (अथवा ८०% इत्यादि) मा जिउँदा बढी उत्तम हुन्छ भनेर पत्ता लगाएका छन्।

  1. दसौं अंशको अभ्यास मोशाको व्यवस्थाभन्दा पहिलादेखिको हो। दसौं अंश दिने पहिलो व्यक्ति अब्राहाम थिए (उत्पत्ति १४:१८-२०)। उनले व्यवस्था पालन गर्नलाई भनेर दसौं अंश दिएका थिएनन्; उनले परमेश्वरलाई उहाँको प्रतिनिधि राजा/पूजाहारी मेल्किसदेकद्वारा आदर गर्नलाई दसौं अंश दिए। याकूबले दसौं अंश दिने अभ्यासलाई निरन्तरता दिए (उत्पत्ति २८:२०-२२)। त्यसैले हामी देख्दछौं दसौं अंश दिने अभ्यास व्यवस्थाबाट शुरु भएको होइन। योचाहिँ परमेश्वरका जनहरूले शुरुदेखिनै बुझ्दै आएको सिद्धान्त हो।
  2. व्यवस्थाअन्तर्गत दसौं अंश दिने अभ्यास हुन्थ्यो। मोशाको व्यवस्थाअन्तर्गत त्यहाँ वास्तवमा दोहोरो दसौं अंश थियो। इस्राएलीहरूले आफ्नो सबै आम्दानीको १०% दिनुपर्थ्यो (गन्ती १८:२४-२८; नहेम्याह १०:३८), साथै तिनीहरूले वार्षिक चाडहरूमा भेटीहरू ल्याउनुपर्थ्यो (जसलाई दोस्रो वा चाडको दसौं अंशा भनिन्थ्यो) (व्यवस्था १४:२२-२५)। साथै तिनीहरूले गरिबहरूलाई पनि दिनुपर्थ्यो (प्रस्थान २३:११; लेवी १९:१०; २३:२२)।

मलाकी ३:८-१२

  1. परमेश्वरले भन्नुहुन्छ, दसौं अंश आफै राख्‍नेहरूले उहाँलाई लुटेका हुन्। यसको कारण यो थियो कि मोशाको व्यवस्थाअन्तर्गत परमेश्वरले दसौं अंश दिनुपर्छ भन्ने आज्ञा दिनुभएको थियो र त्यसमाथि उहाँकै स्वामित्व हुन्थ्यो। पुरानो नियमकै दसौं अंश नयाँ नियमको विश्वासीले दिनुपर्छ वा पर्दैन भन्ने मान्यता जुनसुकै भए तापनि, यो निश्चित कुरा हो कि मण्डलीमा विश्वासीको धेरै आर्थिक जिम्मेवारीहरू हुन्छन् र तिनलाई पूरा गर्न विफल हुनु भनेको परमेश्वरलाई लुट्नु हो।
  2. परमेश्वरले दसौं अंश दिनेहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ। विश्वासीले परमेश्वरलाई नदिईकन आफ्नो आम्दानीको १००% मा जिउन खोज्नुमा भन्दा दसौं अंशहरू र भेटीहरू दिएर र आफूसँग बाँकी भएकोमा जिउँदा नै उसले आफ्नो जीवन व्यवहार बढी उत्तम भएको पाउनेछ। यो बढी उत्तम किन छ भने किनकि मेरो जीवनमा परमेश्वरको आशिषबिना जिउनुभन्दा उहाँको आशिषसहित जिउनु बढी उत्तम हो। उहाँले “म तिमीहरूका निम्ति खाइदिनेलाई हप्‍काउनेछु” भन्नुको माने हाम्रो पैसा लुटिन सक्ने त्यस्ता कुराहरू हुनदेखि उहाँले रोक्नुहुन्छ भन्ने हो। यसको माने दसौं अंश दिनेहरूलाई कहिल्यै सङ्कष्ट आइपर्नेछैन भनेको होइन, उनीहरूको छाना कहिल्यै चुहिने हुँदैन भनेको होइन अथवा उनीहरूको मालसामान कहिल्यै टुटफुट हुँदैन वा उनीहरूको बालबच्चा कहिल्यै बिरामी हुँदैनन् भनेको होइन। यसको माने त्यहाँ अरू थुप्रै कुराहरू छन् जो नत्र ता हुन सक्थे तर जुनचाहिँ परमेश्वरको आशिषको कारणले हुन पाउनेछैनन्।
  3. दसौं अंशहरू परमेश्वरको भण्डार-घरभित्र ल्याइनुपर्छ। पुरानो नियममा भण्डार-घर भनेको यरूशलेममा भएको मन्दिर थियो। आज मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। सबभन्दा शुरुको प्रथम मण्डलीमा मानिसहरूले आफ्ना दानहरू ल्याए र तिनलाई अगुवाहरूको पाउमा राखिदिन्थे (प्रेरित ४:३४-३५)। यही नै आज हाम्रो लागि नमुना हो। मण्डलीको त पुरानो नियमको मन्दिरको भन्दा धेरै नै काम छ। मण्डलीलाई सुसमाचार पृथ्वीको छेउसम्म प्रचार गर्नलाई आज्ञा दिइएको छ (मत्ती २८:१८-२०)। यो त ज्यादै खर्चिलो अभियान हो, अनि यसको खर्च परमेश्वरका जनहरूले व्यहोर्नुपर्ने हुन्छ। सुसमाचारका प्रचारकहरूलाई मण्डलीहरूद्वारा टेवा दिइनुपर्छ (१ कोरिन्थी ९:१४; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)।

हितोपदेश ३:९-१०

  1. बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउनुपर्छ। पहिलो पदलाई विचार गर्नुहोस् जहाँ यस अध्यायमाचाहिँ एउटा बाबुले आफ्नो छोरालाई दिएका निर्दैशनहरू छन् भन्ने देखिन्छ। बाबुआमाले आफ्ना छोराछोरीहरूलाई दसौं अंश दिन सिकाउन सक्दैनन् जबसम्म उनीहरू आफैले त्यो सिकेका छैनन्। बाबु वा आमाले जब आफ्नो नानीलाई दसौं अंश दिन सिकाउँछ उसले पहिला उसलाई अलिकति पैसा हरेक हप्‍ता भेटी उठाइँदा त्यहाँ राख्‍नलाई दिन्छ। जब बालक वा बालिकाले आफ्नै पैसा कमाउन थाल्छ, त्यो जतिसुकै थोरै किन नहोस्, बाबुआमाले उसलाई त्यसको १०% परमेश्वरलाई दिनलाई सिकाउँछ। बालककालदेखिनै दसौं अंश दिने बानी बसालियो भने ठूलो हुँदा त्यसलाई निरन्तरता दिन सजिलो हुन्छ।
  2. दसौं अंशचाहिँ “आफ्नो सबै उब्जनी (आम्दानी)” बाट दिइनुपर्छ। यसको मतलब जब-जब हामीले कुनै पैसा कमाउँछौं वा प्राप्‍त गर्दछौं त्यसबाट हामीले प्रभुलाई त्यसको दसौं अंश दिनुपर्छ।
  3. दसौं अंश दिनेहरूलाई आशिष दिने परमेश्वरको प्रतिज्ञा छ। यो प्रतिज्ञा पवित्रशास्त्रमा दोहोराइएको छ किनभने परमेश्वरले यो कुरा पक्का हो भनेर जोड दिन चाहनुहुन्छ। हामी परमेश्वरको वचनमा भरोसा गर्न सक्छौं!
  1. दिने सम्बन्धमा नयाँ नियमका केही खण्डहरू

लूका ६:३८

येशूले यहाँ दिने सम्बन्धीमा एउटा अचम्मको प्रतिज्ञा गर्नुभयो। उहाँले तोकेर दसौं अंशकै बारेमा नभएर सामान्यरूपमा दिने विषयमा कुरा गरिरहनुभएको छ। परमेश्वर हर्षसाथ दिनेलाई मन पराउनुहुन्छ। यो यस्तो कुरा हो जसको उहाँले ख्याल राख्‍नुहुन्छ र प्रशस्त गरी आशिष दिनुहुन्छ।

१ कोरिन्थी १६:१-२

यस खण्डमा हामी देख्‍छौं शरुका मण्डलीका विश्वासीहरूले हप्‍ताको पहिलो दिनमा भेला हुँदाखेरि सङ्कलन कार्य गर्ने गर्थे। यहाँ उल्लेखित सङ्कलनचाहिँ पावलले यरूशलेममा भएका ख्रीष्टियनहरूका लागि उठाइरहेका थिए किनकि त्यसबेला उनीहरूलाई अनिकालको कारणले दुःख भइरहेको थियो (रोमी १५:२६)। यस अवसरमा पनि पावलले उनीहरूलाई “परमेश्वरले फलिफाप गराउनुभएअनुसार” दिनलाई सिकाए। यसको माने दिने कामचाहिँ आनुपातिक ढङ्गले हुनुपर्थ्यो। यो दसौं अंशको जस्तै सिद्धान्त हो। जसले बढी कमाउन सक्छन्, उनीहरूले बढी दिन्छन्।

२ कोरिन्थी ९:६-७

यो पनि फेरि उही विशेष सङ्कलनको कुरा हो जुन पावलले यरूशलेमका विश्वासीहरूका लागि उठाउँदैथिए।

हामी देख्छौं कि यस्ता भेटीहरू स्वेच्छापूर्ण भेटी हुन्, यसको माने प्रत्येक विश्वासीले कति दिने भन्ने बारेमा आफ्नै निर्णय गर्दछ (२ कोरिन्थी ९:७)।

पावलले उनीहरूको दिने कामलाई आशिष दिनुहुनेछ भनेर प्रतिज्ञा गरे।

  1. दसौं अंश दिने काम विश्वासैद्वारा गरिनुपर्छ

प्रभावकारी ढङ्गले दसौं अंश दिने एउटै मात्र उपाय भनेको विश्वासैद्वारा यसको अभ्यास गर्नु हो। हामीले कठिनाइका घडीहरूमा समेत परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्छ। अनि हामीले सम्झना गर्नुपर्छ कि परमेश्वरले विश्वासको जाँच गर्नुहुन्छ, त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई अझ प्रबल बनाउन (याकूब १:२-४)। धेरै पटक जब एउटा विश्वासीले दसौं अंश दिन थाल्ने निर्णय गर्दछ तब उसको निर्णयको जाँच गर्नलाई उसलाई केही आर्थिक समस्या आउँछ।

जोन आर राइसले बीसौं शताब्दिको शुरुतिरको टेक्सासको एक काइकेनदाल नाम गरेका प्रचारकको चर्चा गर्छन्। उनी प्रचार कार्यमा त्यस इलाकाको ठाउँ-ठाउँमा पालैपालो फन्को मार्दै घुम्ने गर्थे र उसले पाउने सङ्कलित भेटीहरू ज्यादै थोरै थिए, यतिसम्म कि उसको ठूलो परिवारलाई समस्या थियो। एक सालको कुरा हो एकजना धनी व्यापारी उक्त इलाकामा आएछन् र विभिन्न मण्डलीहरूमा आफ्नो गवाही बाँडेछन् र काइकेनदालले उसलाई पाहुना सत्कार गरेछन् र आफ्नो बग्गीमा एउटा सभादेखि अर्को सभामा उनलाई डोर्‍याएछन्। विभिन्न कुरामध्येमा त्यस व्यापारीले विश्वासीहरूलाई दसौं अंश दिनलाई चुनौती दिएछन्। एक दिन बग्गीमा चढेर जाँदै गर्दा व्यापारीले प्रचारकलाई दसौं अंश दिनुपर्छ भन्ने बारेमा विश्वास गर्नुहुन्छ कि हुन्न भनेर सोधेछन्।

तिनले जवाफ दिए, “गर्छु, दसौं अंश दिन म चाहन्छु, तर म ज्यादै गरीब छु र मलाई मेरो ठूलो परिवार स्याहार्नुपरेको छ।”

व्यापारीले जवाफ दिए, “म तपाईंलाई एउटा प्रस्ताव राख्छु। तपाईंले यदि एक सालभरि दसौं अंश दिने गर्नुभयो भने, म तपाईंलाई ग्यारेन्टी दिन्छु। उक्त सालको कुनै पनि समयमा यदि तपाईंले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न नसक्नुभएको आफूलाई पाउनुभयो भने र के गर्ने कसो गर्ने भयो भने खालि मलाई सम्पर्क गर्नुहोस् र आवश्यक रकम म तपाईंलाई पठाइदिनेछु। म एउटा धनी मानिस हुँ र म आफूले बोलेको वचन पूरा गर्ने मानिस हुँ।”

काइकेनदालले उत्साही भई जवाफ दिए, “हुन्छ, म खुशीसाथ तपाईंको यो प्रस्तावलाई स्वीकार गर्छु।”

प्रचारकले आफूले स्वीकारेअनुसार विश्वासयोग्य रीतिले दसौं अंश दिन थाले तर उसले कहिल्यै पनि ती व्यापारीलाई सम्पर्क गर्नुपरेन। बाह्र महिनाको अन्तमा पुगेर प्रचारकले यस कुरालाई मनन गर्दैथिए। परमेश्वरले उनलाई त्यस साल प्रशस्त गरी आशिष दिनुभएको थियो र उनका सबै खाँचोहरू पूरा गरिदिनुभएको थियो। मानिसहरूले उसलाई भेटीहरूमा पहिलाभन्दा कयौं गुणा धेरै दिएका थिए, अनि उनको परिवारले थुप्रै विशेष आशिषहरू अनुभव गरेका थिए। यी कुराहरूलाई जब उनले विचार गरिरहेका थिए तब एक्कासी उनको हृदयलाई एउटा पीडाले पक्र्यो। किनकि उसलाई यो महसुस भयो कि उनले एउटा व्यापारी मान्छेको वचनमाथि भरोसा गरेका थिए तर त्यो भन्दा पनि ठूला-ठूला प्रतिज्ञाहरू गर्ने जीवित परमेश्वरको वचनमाथि भरोसा गर्न उनी चाहेका थिएनन्!

  1. हो, दसौं अंश दिनुपर्छ भन्ने आज्ञा मोशाको व्यवस्थामा जस्तै गरी नयाँ नियममा छैन तर…
    1. सम्झना गर्नुहोस्, दसौं अंश मोशाको व्यवस्थाभन्दा पहिलादेखिको अभ्यास हो। अब्राहामले आफू व्यवस्थाको अधीनमा भएकाले दसौं अंश दिएका थिएनन्; उनले दसौं अंश दिए किनकि उनले परमेश्वरलाई आदर गर्न चाहन्थे र परमेश्वरको काम (जसको प्रतिनिधित्व मल्किसदेकले गर्दैथिए) मा योगदान दिन चाहन्थे। यो नयाँ नियमका विश्वासीहरूलाई असल उदाहरण हो, किनकि हामी विश्वासद्वारा अब्राहामका सन्तान हौं (रोमी ४:१६-१७)।
    2. पुरानो नियमचाहिँ हाम्रो उदाहरणका लागि दिएको थियो (रोमी १५:४; १ कोरिन्थी १०:११)। पावलले नयाँ नियमका विश्वासीहरूले प्रचारकहरूलाई र प्रचार कार्यलाई टेवा दिनुपर्छ भनेर सिकाउनलाई पुरानो नियमको दिने प्रणालीलाई अधिकारस्वरूप प्रयोग गरे (१ कोरिन्थी ९:८-१४)।
    3. आफ्ना जनहरू दिने खालका मानिसहरू होऊन् भन्ने कुरा ख्रीष्टले प्रस्टै व्यक्त गर्नुभएको उहाँको इच्छा हो (लूका ६:३८)। “दसौं अंश दिनुपर्छ” भन्ने कुरामा विश्वास नगर्ने कतिपयहरूलाई मैले भेटेको छु जो कञ्जुस छन्। मण्डलीमा उनीहरूले आफ्नो उचित अभिभारा बोक्दैनन्। कञ्जुस्याइँ र कसिएको मुठ्ठी एउटा परमेश्वरको सन्तानको वास्तविक चरित्र होइन। दसौं अंश व्यवस्थाको कुरा हो भनेर तपाईंले यदि विश्वास गर्नुहुन्छ भने तापनि, यस वर्तमान संसारमा परमेश्वरको कामको खाँचोहरूको प्रसङ्गमा तपाईंले आफ्नो आम्दानीको ९०% भन्दा भाग आफ्नै निम्ति राख्‍नलाई त तपाईंलाई शर्म लाग्नुपर्ने हो। वर्तमान समयमा दसौं अंश दिने नियम छैन भनेर विश्वास गर्नेहरूमध्येमा सबै नै कञ्जुस हुँदैनन् भन्ने कुरा पनि म यहाँ थप्नलाई ढिलो गर्न चाहन्न। वास्तवमा म कतिलाई चिन्छु जसले आफ्नो आम्दानीको ३०%, ४०%, ५०% समेत प्रभुलाई दिन्छन्।
    4. विश्वासीका थुप्रै आर्थिक दायित्व अर्थात् कर्तव्यहरू छन्। महान् आज्ञा एउटा दायित्व हो। सुसमाचारलाई सबै जातिका सबैजनालाई पुर्‍याउन हामीलाई आज्ञा गरिएको छ (मर्कूस १६:१५; प्रेरित १:८)। यसलाई ख्रीष्टको “महान् आज्ञा” भनिन्छ किनकि नयाँ नियममा यसलाई पाँच-पाँच पटक दोहोराइएको छ, र यसरी यसको महत्त्वलाई जोड दिइएको छ। विश्वव्यापी रूपमा सुसमाचारको प्रचार कार्यचाहिँ ख्रीष्टको मृत्युसँग सम्बन्धित छ यसमा कि मानिसको पापको निम्ति भएको ख्रीष्टको वेदना वा दुःखभोगाइ प्रभावहीन हुन्छ यदि सुसमाचारको घोषणा गरिँदैन भने (लूका २४:४६-४७)। विश्वव्यापी सुसमाचार अभियान ज्यादै खर्चिलो कार्य हो। यस कामलाई अघि बढाउन प्रत्येक विश्वासीलाई आफूले जे गर्न सक्छ त्यो गर्नुपर्ने दायित्व छ, र यसअन्तर्गत आफै सुसमाचार सुनाउनु हो, प्रार्थना गर्नु हो, दिनु हो। प्रचारकहरूलाई र मिसनरीहरूलाई टेवा दिनु एउटा दायित्व नै हो (१ कोरिन्थी ९:१४; फिलिप्पी ४:१५-१७; तीतस ३:१३-१४; ३ यूहन्ना ५-८)। मण्डली पनि एउटा दायित्व नै हो। यस वर्तमान युगमा यो नै परमेश्वरको घर र सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। यो नै विश्वव्यापी सुसमाचार प्रचारको केन्द्र हो (प्रेरित १३:१-४)। यसैकारण मण्डलीको काममा आर्थिक रूपमा टेवा दिनु हरेक विश्वासीको दायित्व हो ताकि यसले यस खाँचोमा डुबिरहेको संसारमा परमेश्वरले दिनुभएको कार्यलाई पूरा गर्न सकोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२)

Study Series

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (२)

डेविड क्लाउड

पद कण्ठ: २ कोरिन्थी १:८-९; २ कोरिन्थी १२:७-१०; २ तिमोथी ३:१२

अघिल्लो पाठमा हामीले ख्रीष्टियन जीवनमा आइपर्ने दुःखकष्टका चारओटा कारणहरू अध्ययन गर्‍यौं: (१) हामी एक श्रापित संसारमा बाँचिरहेका छौं, (२) परमेश्वरले पापको निम्ति ताडना दिनुहुन्छ, (३) विश्वासको जाँच, र (४) आत्मिक उन्नति। यस पाठमा हामी दुःखकष्टका अरू पाँचओटा कारणहरू अध्ययन गर्नेछौं।

उसले अरूलाई मद्दत गर्न सकोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:३-४)

कष्टदायी अनुभवहरूबाट सिकेका पाठहरूद्वारा हामीले अरूलाई मद्दत गर्न सक्नु हाम्रा दुःखकष्टको अर्को कारण हो। हामीले परमेश्वरको अनुग्रह र सान्त्वना अनुभव गरेका छौं भने हामीले अरूलाई सान्त्वना दिन सक्नेछौं। मेरो ३७ वर्षको ख्रीष्टियन जीवनमा सामना गर्नुपरेको हरेक परीक्षाले मलाई अरूलाई हौसला दिन मद्दत मिलेको छ।

उसले आफैमाथि भरोसा नराखोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:८-९)

दुःखकष्टद्वारा परमेश्वरले हाम्रो आत्मविश्वासलाई तोड्नुहुन्छ र हामीलाई उहाँमा भरोसा गर्न बाध्य तुल्याउनुहुन्छ। परमेश्वरले विशेषरूपमा चलाउनुहुने हरेक व्यक्ति यो प्रकृया भएर जानैपर्छ। मिस्रदेशमाथि उच्च अधिकारीको पदमा पदोन्नती गरिनुअघि, यूसुफले १३ वर्षसम्म दुःख भोग्नुपर्‍यो। इस्राएललाई नेतृत्व गर्न तयार बनाइनुअघि मोशाले उजाडस्थानको एउटा कुनामा बसोबास गर्दै ४० वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। शाऊलको खेदोबाट लुक्दै-भाग्दै दाऊदले ६ वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। ती दुःखकष्ट र पर्खाइ आत्मिक शुद्धिकरणको प्रकृया थिए।

उसलाई नम्र बनाउने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १२:७-१०)

घमन्ड पुरानो, पतित शरीरको अवगुण हो (मर्कूस ७:२१-२२)। सबभन्दा मूर्ख, अज्ञानी मान्छेसमेत घमन्डी बन्न सक्छ, अनि मान्छे जति सफल बन्छ त्यति नै उसले घमन्डसित लड्नुपर्ने हुन्छ। चार्ल्स स्पर्जनले आफ्नो सबभन्दा ठूलो लडाइँ घमन्डसितको हुने गरेको बताए। परमेश्वरले हामीलाई नम्र तुल्याउने उद्देश्यमा दुःखकष्टहरू पठाउने गर्नुहुन्छ। हामीलाई घमन्डदेखि जोगाउन कतिओटा परिस्थितिहरू उहाँले सृजना गर्नुहुन्छ, कतिओटा कुराहरू हाम्रा जीवनमा पठाउनुहुन्छ भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ।

दुःखकष्टलाई कसरी लिइनुपर्छ भन्ने कुरा हामीलाई पावलले सिकाउँछन्। पहिलो, उहाँको इच्छा भए त्यसलाई हटाइयोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। उनको शरीरको काँडा हटाइयोस् भनेर पवालले परमेश्वरले तीनपटक विन्ती गरे। दोस्रो, हामीले आफूलाई परमेश्वरको अधीनतामा सुम्पनुपर्छ र उहाँको इच्छालाई स्वीकार्नुपर्छ। पावलले परमेश्वरसँग प्रार्थना गर्दा, जबरदस्ती गर्न खोजेनन्; उनले केवल सहायता मागे। प्रार्थना गर्ने बाइबलीय तरिका यो हो। यसरी नै प्रभु येशू आफैले पनि प्रार्थना गर्नुभयो (लूका २२:४२)। परमेश्वरले पावललाई उसको कष्ट हटाउने उहाँको इच्छा नभएको कुरा जब प्रकट गर्नुभयो, पावल परमेश्वरसँग चिढिएनन् र उक्त समस्या हटाइयोस् भनेर अझै विन्ती गर्ने काम गरेनन्; उनले सिर्फ आफूलाई परमेश्वरको अधीनतामा सुम्पे। उनले यो आत्मिक सिद्धान्तलाई बुझे, “जब म कमजोर छु, तब म बलियो हुन्छु”।

प्रत्येक रोग चङ्गाइ हुनु परमेश्वरको इच्छा हो भनेर विश्वास गर्ने कतिपय पेन्टेकोस्टलहरूले पावलको दुर्बलताको तात्पर्य रोग होइन भन्ने तर्क राख्छन्, तर २ कोरिन्थी १२:९ मा “दुर्बलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द (आस्थेनेइया) लाई अन्य ठाउँमा “रोग” (मत्ती ८:१७, यूहन्ना ११:४) र “बिरामी” (प्रेरित २८:९) भन्ने शब्दले अनुवाद गरिएको छ।

सतावटको कारणले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ तिमोथी ३:१२)

उसले ख्रीष्टमाथि विश्वास राखेको कारणले विश्वासीले दुःखकष्ट भोग्दछ। हामी शत्रुको इलाकाभित्र हिँडिरहेका छौं जुन शत्रुले परमेश्वरलाई र परमेश्वरमाथि विश्वास गर्नेहरूलाई घृणा गर्दछ। कति हिसाबमा हामीले मुक्ति पाएपछि पहिलाभन्दा बढी दुःख भोग्दछौं! किनकि हाम्रा अब नयाँ शत्रुहरू छन् जो पहिला थिएनन्: संसार, शरीर र शैतान। मुक्ति पाउनुअघि यी हाम्रा मित्र थिए। अब ती हाम्रा शत्रु भएका छन्। पावल प्रेरित उनका यहूदी देशवासीहरूद्वारा र उनले ख्रीष्टको प्रचार गरेका मूर्तिपूजकहरूद्वारा बेसरी सताइए। २३ वर्षको उमेरमा म नयाँ जीवनमा परिवर्तित हुँदा म आफ्ना पुराना मित्रहरूद्वारा, मेरो अफिसका सहकर्मीहरूद्वारा र अविश्वासी आफन्तहरूद्वारा सताइन थालेँ। यसमा हामीले अचम्म मान्नु पर्दैन।

जुन बेला हामीले ख्रीष्टको आज्ञापालन गर्दछौं र मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दछौं त्यतिबेला हामीले विशेष गरी सतावट भोग्नुपर्ने हुन्छ। जब ज्योति चम्कन्छ, तब ज्योतिलाई घृणा गर्नेहरूले त्यसको विरोधमा आवाज उठाई छोड्छन्!

शैतानका आक्रमणहरूले गर्दा विश्वासीलाई दुःखकष्ट आइपर्छ (अय्यूब २:३-६)

उहिलेको अय्यूबले जस्तै विश्वासीले शैतानको हातबाट पनि दुःख भोग्दछ। त्यो हाम्रो शत्रु हो र उसको उद्देश्य भनेको हामीलाई निरुत्साहित पार्नु र हामीलाई नष्ट गर्नु हो (१ पत्रुस ५:८)।

शैतानले, अय्यूबको सवालमा जस्तै, उसलाई जति अनुमति दिइएको छ त्यतिसम्म मात्र गर्न सक्दछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन, तर परमेश्वरले कष्ट आउन दिनुभएकोमा हामी परमेश्वरसित रिसाउनु हुँदैन। उक्त कष्टद्वारा शैतान हाम्रो विनाश चाहन्छ तर परमेश्वरले त्यसद्वारा हाम्रो भलाइ र उहाँको महिमा होस् भनेर त्यसलाई आउन दिनुहुन्छ। अय्यूबले यो कुरा बुझेका थिएनन् र उनी रिसाए र अलमलमा परे, तर हामीलाई उनलाईभन्दा बढी प्रकाश दिइएको छ र हामी परमेश्वरको चरित्रलाई दोष्याउन खोज्ने शैतानका झूटहरूलाई विश्वास गर्नेसम्मको मूर्ख बन्नुहुँदैन।

साथै शैतानलाई कुनै ठाउँ दिने काम नगर्नु विश्वासीका लागि ज्यादै महत्त्वपूर्ण कुरा छ। पाप स्वीकार नगर्दा हामीले शैतानलाई ठाउँ दिन्छौं (एफेसी ४:२२-३०)। साथै मूर्तिपूजासँग सङ्गत गर्दा हामीले त्यसलाई ठाउँ दिएका हुन्छौं (१ कोरिन्थी १०:२०-२१; २ कोरिन्थी ६:१४-१७)। म नयाँ विश्वासी हुँदा मैले शैतानसँग सम्बन्धित मेरा किताबहरूलाई र सङ्गीतहरूलाई र अन्य कुराहरूलाई नष्ट गरेँ किनकि “यस संसारको ईश्वर” सँग मेरो कुनै सरोकार राख्‍न चाहिनँ।

परमेश्वरका उद्देश्यहरू पूरा होस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (यूहन्ना ९:१-३)

फेनी क्रस्बी सानैदेखि अन्धी थिइन्, र उनको जीवन र उनका गीतहरू अनगिन्ती मानिसका लागि आशिष र चुनौती बनेका छन्। युवावस्थामा तिनले लेखिन्:

ओहो, कति आनन्द छ मलाई
यद्यपि म देख्‍न सक्दिनँ
अठोट म गर्दछु यो
संसारमा सन्तुष्ट रहन!

कति धेरै छन् आशिष मेरा
जो छैनन् अरूसित
अन्धी भएकीले रून, सुस्केरा हाल्न
अहँ सक्दिनँ, त्यस्तो म गर्दिनँ।

निष्कर्ष

  1. दुःखकष्टहरू ख्रीष्टियन जीवनमा आवश्यक कुरा हुन्, तर हाम्रो दुःखकष्ट थोरै दिनका लागि मात्र हुन्। यो “केही समयका निम्ति” (१ पत्रुस १:६) हो। पछिको “सदा रहने भारी महिमा” को तुलनामा हाम्रो सङ्कष्ट “छिनभरको” मात्र हो (२ कोरिन्थी ४:१७)।
  2. कैयौंपटक हामीले आफ्ना सङ्कष्टहरूका कारण जान्नेछैनौं; हामीले केवल परमेश्वरमाथि भरोसा राख्‍नुपर्ने हुन्छ। अय्यूब यस कुराका प्रमुख उदाहरण हुन्। भजनसङ्ग्रहहरूमा “किन” भन्ने शब्द १५ पटक उल्लेख भएको छ (भजनसङ्ग्रह १०:१; २२:१; ४२:९; ४३:२; ४४:२३; ७४:१,११; ८८:१४)।
  3. परमेश्वरको योजनामा दुःखकष्टहरू प्रायः बहुउद्देशीय हुन्छन्। जस्तै, कुनै रोगबिमार वा कुनै कठीन परिस्थिति धैर्य र नम्रता सिकाउनलाई, सांसारिकपनबाट अलग गराउनलाई, हृदयलाई परमेश्वरको नजिक खिँच्नलाई, विश्वास बढाउनलाई र अरूलाई सिकाउन प्रयोग गर्ने सक्ने त्यस्ता पाठहरू उसलाई सिकाउनलाई आएको हुन सक्छ।
  4. हामी दुःखकष्टका समयहरू भएर जाने गर्छौं (१ पत्रुस ५:१०)। यो बोटबिरुवाको जीवनचक्रसित तुलना गर्न सकिन्छ। जस्तै, हामी बस्ने दक्षिण एशियाको पहाडी इलाकामा खेती गरिने चियाको बोटलाई लिऊँ। ती बोटका गजबका जीवनचक्रहरू हुन्छन्। ती बढ्छन् र पातहरू फैलाउँछन् र ती पात टिपिन्छन्; अनि समय-समयमा ती बोटहरूलाई बेसरी छिमलिन्छ, मानौं बोटहरू त मरे कि जस्तो लाग्न सक्छ, तर ती मरेका हुँदैनन्। बरु गुणस्तरीय चिया उत्पादन गर्न सकोस् भन्ने हेतुले ती बोटहरू एउटा आवश्यक चरण भएर जाँदैछन्। ख्रीष्टियन जीवन पनि यस्तै हुन्छ। हामी त्यस्ता अवधिहरू भएर जान्छौं जुन बेला हामीलाई हाम्रो आत्मिक जीवन मरेको जस्तो लाग्न सक्छ र “के भइरहेको होला” र “परमेश्वर कहाँ हुनहुन्छ होला” भन्ने कुराहरू हामीलाई बुझ्न गाह्रो लाग्न सक्छ। तर त्यस्ता समयहरू सधैं रहिरहन्नन्। परमेश्वर, महान् किसानले हामीले अझ फल फलाओस् भन्ने हेतुले हामीलाई छिमल्दैहुनुहुन्छ र तयार पार्दैहुनुहुन्छ (यूहन्ना १५)। हाम्रो कर्तव्य भनेको ती सबै चरणहरू भएर जाँदा विश्वासयोग्य रहनु हो, हाम्रो विश्वास उहाँमाथि राखिरहनु हो। यो प्रकृया रातारात हुने होइन। भन्नुपर्दा, हाम्रो जीवनभित्र विभिन्न कुराहरूको काम गर्नलाई परमेश्वरलाई वर्षौं लाग्न सक्छ, दशकौंसमेत।
  5. यदि तपाईं ख्रीष्टलाई चिन्नुहुन्न भने, तपाईंलाई यस संसारमा दुःखकष्टहरू हुनेछन् र झन् पछि सदाका लागि झन् ठूला दुःखकष्टहरू हुनेछन्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






ख्रीष्टियन जीवन र दुःखकष्टहरू (१)

Study Series

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (१)

डेविड क्लाउड

पद कण्ठ: अय्यूब ५:७; रोमी ८:१८-१९; हिब्रू १२:७-८; याकूब १:२-८

दुःखकष्ट आइपरेको देखेर विश्वासी जिल्ल पर्नु हुँदैन किनकि यो त ख्रीष्टियन जीवनमा एउटा आवश्यक कुरा हो भनेर बाइबलले खुलस्त बताएको छ। हामीलाई किन दुःखकष्ट आइपर्छ भन्ने कुरा समेत बाइबलले बताइदिएको छ।

दुःखकष्टहरू अनेकौं रूपमा आउने गर्छन्: रोग-बिमार लाग्नु र शारीरिक पीडा हुनु, मानसिक निराशा र अँध्यारोपनले छोपिनु, चीजबीच टुटफुट हुनु, खिइएर जानु, अभाव पर्नु, नोक्सानी भोग्नु, आशा टुट्नु, मनोरथ विफल हुनु, बदनाम गरिनु र अरूबाटको अन्य दुर्व्यवहारको शिकार बन्नु।

विश्वासीको जीवन परमेश्वरको नियन्त्रणमा हुन्छ जसरी आफ्नो चक्रका सामु कुमाले बस्दछन् अथवा जसरी एउटा किसानले आफ्नो दाखको बोटलाई छिमल्दछन् अथवा जसरी एउटा जुहारीले बहुमूल्य धातुलाई खार्दछन् (रोमी ८:२८)। उहाँ सुरुबाटै अन्तिम परिणाम जान्नुहुन्छ र हाम्रो जीवनमा उहाँका उद्देश्यलाई पूरा गर्न सक्ने बुद्धि र सामर्थ्य उहाँसित छ।

ऊ एउटा श्रापित संसारमा बाँचिरहेको हुनाले विश्वासीलाई दुःखकष्ट आइपर्छ (अय्यूब ५:७; रोमी ८:१८-२३)

यद्यपि हामीले मुक्ति पाएका छौं, हामी अझै पनि परमेश्वरले श्राप दिनुभएको संसारमा नै बाँचिरहेका छौं जसको फलस्वरूप हामी यहाँ आइपर्ने समस्याहरूको अधीनतामा नै छौं भन्ने कुरालाई यस महत्त्वपूर्ण खण्डले हामीलाई बिर्सन दिँदैन। हामी एक पापी संसारमा बाँचिरहेका पापीहरू हौं। पावलले यस वर्तमान जीवनलाई “विनाशको बन्धन”, “ऐया-आत्था”, “प्रसूति-वेदना”, र “तड्पिरहेको” जस्ता शब्दले बयान गर्दछन्। यहाँ हामीलाई उत्पत्ति ३:१६-१९ को सम्झना गराइँदैछ जहाँ परमेश्वरले आदमको पापले गर्दा भूमिलाई श्राप दिनुभयो। परिणामस्वरूप हामीलाई झारपात, हिलोमैलो, ढुङ्गा-बालुवा, कीराफट्याङ्ग्रा, खिया, टुटफुट, क्षय, कठोर परिश्रम र पीडाको सामना गर्नु छ। परमेश्वरले दूरगामी परिणाम हुने गरी स्त्रीलाई पनि न्याय गर्नुभयो। “तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढाइदिनेछु। दुःखसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्‍नेछ” (उत्पत्ति ३:१६)।

दाँतको दुःखाइ जस्तो एउटा सानो कुरालाई विचार गर्नुहोस्। दाँत दुःख्‍ने भनेको प्रायः ज्यादा मीठाइ खाएर हुने गर्छ जसले दाँतलाई कुहाउने काम गर्छ। यो भनेको “मानिसले जे छर्छ त्यसैको कटनी पनि गर्नेछ” (गलाती ६:७) भन्ने सिद्धान्तको र हामी मर्दै गइरहेको एउटा नाशवान शरीरमा बाँचिरहेका छौं भन्ने तथ्यको नतिजा हो। स्वर्गमा यस्तो हुनेछैन! जीवन यस्ता दुःखकष्टले भरिभराउ छ। यस्ता कुरालाई लिएर परमेश्वरको विरुद्धमा गनगन गर्नु वा उहाँलाई शङ्का गर्नु बुद्धिमानी होइन। भन्ने नै हो भने, उहाँले हामीलाई हामीले पाउनु पर्ने भन्दा बढी नै दया देखाउनुहुन्छ।

यस पापले श्रापित संसारमा बस्दाको वास्तविकतालाई यसरी एउटा हास्यात्मक ढङ्गले व्यक्त गरिएको छ जसलाई मर्फीको नियम (Murphy’s Law) भन्ने गरिन्छ: “गडबड हुन सक्ने जुनसुकै पनि कुरा गडबड भएर छाड्छ” (Whatever can go wrong will go wrong)।

हामी यस अवस्थाबाट फुत्कनेछैनौं जबसम्म ख्रीष्ट आउनुहुन्न, अर्थात् जबसम्म हामीले “शरीरको छुटकारा” पाउँदैनौं (पद २३)। यसले शारीरिक बौरिउठाइलाई जनाउँदछ। तबमात्र “शोक र सुस्केरा” को अवस्थालाई “रमाहट र आनन्द” ले विस्थापित गर्नेछ (यशैया ३५:१०)।

पापको र परमेश्वरको ताडनाको कारण विश्वासीले दुःखकष्ट आइपर्छ (हिब्रू १२:१-१३)

परमेश्वरले आफ्ना सन्तानलाई उनीहरूको पापको कारण ताडना दिने भएकोले विश्वासीले दुःख भोग्नुपर्ने हुन्छ (हिब्रू १२:१)। आफ्नो पापको कारण दाऊदले बेसरी दुःख पाए; तिनका अवैध सन्तान मरे र तिनका छोराहरूले विद्रोह गरे (२ शमूएल १२:१०-१२)। परमेश्वरले स्वीकार गरिएको पापलाई क्षमा त गर्नुहुन्छ, तर त्यसको असर भने अझै रहिरहन्छ। १२ कक्षा भ्याउने बित्तिकै स्नूकर खेल्ने ठाउँमा मैले आफ्नो पाँचओटा दाँत गुमाउनु परेको थियो। म प्रभुको विरुद्धमा विद्रोह गर्दै हिँड्दै थिएँ र त्यसको फल भोग्न थाल्दै थिएँ। २३ वर्षको उमेरमा मैले मुक्ति पाएँ तर मैले ती दाँत फिर्ता पाइनँ। कोरिन्थको मण्डलीमा कतिजना विश्वासीहरूले प्रभु-भोजको दुरुपयोग गरेका हुनाले तिनीहरू रोगी भए भने कोही मरे (१ कोरिन्थी ११:२९-३०)। परमेश्वरको प्रबन्धअन्तर्गत खटिएका अधिकारीहरूको कानूनी कारवाहीमा पर्नु पनि पापलाई ताडना दिने उहाँको एउटा उपाय हो (१ पत्रुस ४:१५)। परमेश्वरका जनहरूले कानून उल्लङ्घन गर्छन् भने उनीहरू दण्डबाट प्रतिरक्षित हुँदैनन्। भन्नुपर्दा, तिनीहरू नै पहिला पक्राइनलाई परमेश्वरले चाँजोपाँजो प्रायः मिलाउने गर्नुहुन्छ!

  1. परमेश्वरले गर्नुहुने पापको अनुशासन उहाँको प्रेमको काम हो (हिब्रू १२:६)
  2. परमेश्वरले गर्नुहुने पापको अनुशासन उन्नतिका लागि हो (हिब्रू १२:१०)। परमेश्वर एक असल पिता हुनुहुन्छ र उहाँले आफ्ना सन्तानलाई सुधार्नुहुन्छ। (के तपाईं एक असल पिता हुनुहुन्छ?)
  3. परमेश्वरले गर्नुहुने पापको अनुशासन मुक्तिको एउटा प्रमाण हो (हिब्रू १२:७-८)। “यदि अनन्त सुरक्षा साँचो हो भने विश्वासीले मनलाग्दी जिए भइहाल्यो नि” भनेर कोही-कोही भन्छन्, तर मनलाग्दी जिउनेहरूले आफूहरू कहिल्यै नयाँ गरी जन्मेका थिएनौं भन्ने कुराको प्रमाण दिइरहेका हुन्छन्।
  4. परमेश्वरले गर्नुहुने पापको अनुशासन आनन्दमय हुँदैन (हिब्रू १२:११)। यसलाई वाधा दिन सकिन्छ। हामीले हाम्रो जीवनमा प्रभुको अनुशासनलाई वाधा दिन सक्ने धेरै तरिका छन्। हामीले त्यसलाई तुच्छ ठान्न सक्छौं (हिब्रू १२:५), त्यसको कारण हताश हुन सक्छौं (हिब्रू १२:५), त्यसलाई अस्वीकार गर्न सक्छौं (हिब्रू १२:७), सेवा गर्न छाड्न सक्छौं (“लत्रिएका हातहरू”, हिब्रू १२:१२), प्रार्थना गर्न छाड्न सक्छौं (“कमजोर घुँडाहरू”, हिब्रू १२:१२), र बाटोबाट भड्किन सक्छौं (हिब्रू १२:१३)।
  5. मैले गर्नुपर्ने कर्तव्य भनेको आफ्नो पापलाई परमेश्वरका सामु स्वीकार गर्नु हो (भजनसङ्ग्रह ३८:१-४, १८)। यो भनेको आफ्नो पापलाई लुकाउनु वा त्यसको लागि बहाना बनाउनु वा अरूलाई दोष्याउनुको ठीक उल्टो कुरा हो।

उसको विश्वासको जाँच गरिनलाई विश्वासीलाई दुःखकष्ट आइपर्छ (याकूब १:२-८)

  1. दुःखकष्टहरूको एउटा प्रमुख उद्देश्य हाम्रो विश्वासलाई जाँच्नु हो। परमेश्वरले आफ्नो मूल्याङ्कनमा विश्वासलाई ज्यादै उच्च मूल्यको ठान्नुहुन्छ; बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ (हिब्रू ११:६)। ख्रीष्टियन जीवन नै विश्वासको बारेमा हो; यो “विश्वासदेखि विश्वाससम्म” को कुरा हो (रोमी १:१७)। आदम र हव्वाले परमेश्वरको विरुद्धमा जब पाप गरे र उनीहरूमाथिको उहाँको पूर्ण अधिकारलाई इन्कार गरे, तब परमेश्वरले आफूलाई मानव जातिदेखि लुकाउनुभयो र हामीले उहाँको वचनलाई विश्वास गर्नुपर्ने माग राख्‍नुभयो।
  2. विश्वास सँधै नै जाँचिन्छ। कसैले आफूले ख्रीष्टमाथि विश्वास गरेको कुरा स्वीकार गरेपछि त्यसको जाँच आउँछ नै। येशूले “ढुङ्गेनी जमिनहरूमा छरिएको बिउ” को बारेमा कुरा गर्नुभयो जुनचाहिँ तुरुन्तै उम्रन्छ तर “कष्ट” को कारण त्यो मरेर जान्छ (मत्ती १३:२०-२१)। हामीले जब नयाँ निर्णयहरू गर्दछौं त्यसपछि पनि जाँच आउँछ, जस्तै जब हामी मण्डलीप्रति विश्वासयोग्य हुने निर्णय गर्छौं वा दैनिक रूपमा बाइबल पढ्ने निर्णय गर्छौं वा दसौं अंश दिने निर्णय गर्छौं वा आयोजना गरिएको सुसमाचार प्रचारमा भाग लिने निर्णय गर्छौं। विश्वासमा आएका एकजना हिन्दूको मलाई याद आउँदछ जसले हिन्दूलाई विवाह नगर्ने निर्णय गरे किनकि उनी बेमेल जुवामा बाँधिन चाहँदैनथे। उनको विश्वास निकै जाँचियो जब उनका बाबु र दाजुले उनीमाथि दवाव दिन थाले। उनीहरूले विन्ती गरे, धम्की दिए, र ठूलै रकम समेतको प्रस्ताव राखे।
  3. त्यहाँ “नाना प्रकारका परीक्षाहरू” हुन्छन् (पद २)। समस्याहरू धेरै किसिमका रूपमा आउने गर्छन्। यहाँ शैतानका परीक्षाहरूको कुरा गरिएको होइन जसद्वारा त्यसले हामीलाई पाप गराउन खोज्न। यहाँ ती समस्या वा कष्टहरूको कुरा गरिएको हो जुनचाहिँ हाम्रो विश्वासलाई जाँच्न परमेश्वरद्वारा पठाइन्छन् वा उहाँको अनुमतिले आउँछन्।
  4. हामी परीक्षाहरूमा “पर्दछौं” (पद २)। हामीले सोच्दै नसोचेको बेलामा ती आउने गर्छन्।
  5. हाम्रो कर्तव्य भनेको धैर्य गर्नु हो र परमेश्वरलाई आफ्नो इच्छा पूरा गर्न दिनु हो। धैर्यता विश्वासद्वारा आउँछ (२ थेस्सलोनिकी १:४)। अनि दुवै नै परमेश्वरको वचनद्वारा आउने कुरा हुन् (रोमी १०:१७; १५:४)।
  6. दुईचित्ते बन्न सक्ने एउटा खतरा छ त्यहाँ (पद ६-८)। यसले शङ्का गर्ने, पछि हट्ने, आत्मिक रूपमा अस्थिर बन्ने कुरालाई जनाउँदैछ।
  7. परमेश्वरले हरेक घडी सिद्ध विश्वास हुनैपर्छ भन्ने माग राख्‍नुहुन्न; केवल हामी आफ्ना शङ्कामाथि विजयी भएका र हामीले उहाँको सेवा गर्न नछोडेका उहाँ चाहनुहुन्छ। अब्राहाम र सारालाई नयाँ नियममा विश्वासका वीरका रूपमा कदर गरिएका छन् (हिब्रू ११:११, १७), तर उनीहरूको जीवनको एउटा घडीमा परमेश्वरको प्रतिज्ञा सुनेर दुवैजना हाँसेका थिए (उत्पत्ति १७:१७; १८:१२)। पछि उनीहरू आफ्नो शङ्कामाथि विजयी बने र पछि गएर विश्वासका वीरहरूको नामाङ्कन गरिँदा उनीहरूले पनि स्थान पाए। शाऊलद्वारा खेदो गरिएका दाऊद र शैतानद्वारा पीडीत भएका अय्यूबको सवालमा पनि यही कुरा पाउँछौं।

आत्मिक उन्नति गराउनलाई विश्वासीलाई दुःखकष्ट आइपर्छ (रोमी ५:१-५)

  1. सङ्कष्ट सामान्य ख्रीष्टियन जीवनको एउटा भाग नै हो (रोमी ५:३)। “सङ्कष्ट” भनेर अनुवाद गरिएको ग्रीक शब्द (थ्लिप्सीस) को माने थिच्नु हो। यसले हरेक प्रकारको दुःखकष्टलाई जनाउँछ। यसलाई अन्य ठाउँमा “कष्ट” (मत्ती १३:२१, १ कोरिन्थी ७:२८), “प्रसूति-वेदना” (यूहन्ना १६:२१), “भार पर्नु” (२ कोरिन्थी ८:१३) भन्ने शब्दले अनुवाद गरिएको छ।
  2. हाम्रो कर्तव्य भनेको आफूलाई ठीक मनोभावनामा राख्‍नु हो। “आनन्द मनाउँछौं” को माने कुनै कुरामा निर्धक्क हुनु वा भरोसा गर्नु हो (१ कोरिन्थी १:३१; ३:२१; ४:७)। यसको ग्रीक शब्द “काउखाओमाइ” लाई “गर्व गर्नु” भनेर पनि अनुवाद गरिएको छ (रोमी २:१७,२३)। आफ्नो मार्गमा जस्तोसुकै कष्ट आए पनि विश्वासी परमेश्वरमा निर्धक्क रहनुपर्छ।
  3. यदि विश्वाससहित त्यसलाई लिइयो भने सङ्कष्टले ख्रीष्टियन जीवनमा अनुभव दिलाउँछ जसको कारण विश्वासी अरूका लागि आशिषको बन्न सक्दछ।
  4. यदि विश्वासहित त्यसलाई लिइयो भने सङ्कष्टले परमेश्वरमाथि अझ निर्धक्क बनाउँदछ (रोमी ५:४-५, “आशा”)।
  5. यदि विश्वासहित त्यसलाई लिइयो भने सङ्कष्टले आत्मिक रूपमा बढाउँदछ (रोमी ५:३-५)। सुनलाई खार्न आगो चाहिन्छ। पाको विश्वासीलाई कदर गर्नुपर्ने एउटा कारण यो हो।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






ख्रीष्टको न्यायआसन

Study Series

ख्रीष्टको न्यायआसन

१ कोरिन्थी ३:१०-१५

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ कोरिन्थी ३:१०-१५

बाइबलमा विश्वासीको न्यायको बारेमा सबभन्दा विस्तृत शिक्षा प्रकट गरिएको खण्ड यही हो। प्रत्येक विश्वासी उक्त न्यायमा खडा हुने भएकोले हामीले यसमा गहिरो चासो राख्‍नुपर्छ।

ख्रीष्टको न्यायआसनका सामु को-को खडा हुनेछन्?

१) यो मुक्ति नपाएकाहरूको निम्ति होइन तर विश्वासीहरूका निम्ति हो (१ कोरिन्थी ३:११-१२)। यो तिनीहरूका निम्ति हो जसले आफ्‍ना जीवनरूपी भवनहरूलाई ख्रीष्टरूपी जगमाथि बसालेका छन्।

२) मुक्ति नपाएकाहरूको न्याय प्रकाश २०:११-१५ मा बयान गरिएको छ। त्योचाहिँ ठूलो सेतो सिंहासनको न्याय हो जुनचाहिँ थुमाको जीवनको पुस्तकमा नाम नलेखिएकाहरूको निम्ति हुनेछ। तिनीहरू मुक्तिदाताबिहीन भएकाले आफ्‍नै कामहरूको आधारमा न्याय गरिनेछन् र तसर्थ अग्निकुण्डमा अनन्त कष्टमा जानका निम्ति दोषी ठहर्‍याइनेछन्।

ख्रीष्टको न्यायआसनमा प्रकट हुने आगो के हो (१ कोरिन्थी ३:१३)?

१) यसले पवित्रशास्त्रहरूलाई जनाउँछ भन्ने हाम्रो विश्वास हो। प्रथमतः पवित्रशास्त्रलाई आगोको उपमा दिइएको छ (यर्मिया २३:२९)। साथै पवित्रशास्त्रले न्याय गर्नेछ भनिएको छ (भजनसङ्ग्रह ९६:१३; यूहन्ना १२:४८)। पवित्रशास्त्रमा ख्रीष्टको मन छ जसद्वारा हामी न्याय गरिनेछौं (१ कोरिन्थी २:१६)। साथै, पवित्रशास्त्र पूर्ण छ; तसर्थ विश्वासीलाई अरू कुनै कुरा चाहिँदैन र अन्य कुनै कुराद्वारा उसको न्याय हुन सक्दैन (२ तिमोथी ३:१६-१७)।

बाइबलले हामीले यस संसारमा गरेका कामहरूको न्याय गर्नेछ (१ कोरिन्थी ३:१३ “हरेक मानिसको काम”)। यसले हामीले बोलेका कुराहरूको न्याय गर्नेछ (मत्ती १२:३६ “हरेक वचन”)। यसले हामीले आफ्‍नो समयलाई कसरी प्रयोग गरेका छौं (मत्ती १२:३६ “हरेक व्यर्थ”) त्यसको पनि न्याय गर्नेछ। यसले हामीले विश्वास गरेका कुराहरूलाई पनि न्याय गर्नेछ (२ तिमोथी २:१५)।

तसर्थ, ख्रीष्टको न्यायआसनको निम्ति हामी तयार हुनलाई हामीले यस वर्तमान जीवनमा बाइबल पढ्नुपर्छ र त्यसको आज्ञापालन गर्नुपर्छ; हामीले यसलाई अध्ययन गर्नुपर्छ, कण्ठ गर्नुपर्छ, त्यो प्रचारिएको सुन्नुपर्छ, र त्यसको शिक्षामुनि हामी नियमित रूपमा र विश्वासयोग्य भई बस्नुपर्छ।

२) साथै, यसले ख्रीष्ट स्वयंलाई पनि जनाउँछ भन्ने हामी विश्वास गर्दछौं। प्रकाश २:१८-१९ पढ्नुहोस्। येशूका आँखाहरू आगोको ज्वालाको रूपमा बयान गरिएका छन् किनकि उहाँ हाम्रो बारेमा सबै कुरा जान्नुहुन्छ। मेरो न्याय गर्नेवाला मेरा पास्टर होइनन्, मेरो मण्डली होइन, मेरो सम्प्रदाय होइन, मेरा बाबुआमा होइनन्, मेरी पत्नी वा मेरा पति होइनन्, मेरा मित्रहरू होइनन्। विश्वासीको न्याय गर्नेवाला स्वयं ख्रीष्ट आफै हुनुहुनेछ। हाम्रा प्राथमिकताहरू केमा हुनुपर्छ त भन्ने कुरा यसले देखाउँछ। हामी आफैंलाई वा अरूहरूलाई खुशी पार्न जिउनुहुँदैन, तर ख्रीष्टलाई खुशी पार्न जिउनुपर्छ। हामीले ख्रीष्टमा बाहेक अन्य कुनै कुरामा हाम्रो भरोसा राख्नुहुँदैन।

ख्रीष्टको न्यायआसनको उद्देश्य के हो?

१) ख्रीष्टको न्यायआसनको सरोकार मुक्तिसित नभएर सेवासित छ (१ कोरिन्थी ३:८,१०,१३,१५)। मुक्ति एक वरदान हो, इनाम होइन (एफेसी २:८-९)। चौधपटक यसलाई वरदानको संज्ञा दिइएको छ र वरदान भन्ने कुरा इनामको ठीक उल्टो कुरा हो। वरदान (वा उपहार) चाहिँ कसैले किनेर मलाई सित्तैंमा दिइएको कुरा हो। यदि त्यसको निम्ति मैले केही पैसा दिएँ वा त्यो कमाउनलाई मैले अलिकति पनि केही काम गरेँ भने त्यो उपहार हुन छोड्छ। ख्रीष्टले विश्वासीको अनन्त मुक्ति आफैंले किनिदिनुभयो (हिब्रू १:३), आफ्‍नै रगतको ठूलो दाम तिरेर। विश्वासीले यसमा थप्न सक्ने कुनै कुरा छैन। परमेश्वरको अनुग्रहले मैले मुक्ति पाएपछि, मैले मलाई बचाउनुहुने प्रभुको सेवा गर्नुपर्छ (एफेसी २:८-१०), र ख्रीष्टको न्यायआसनले यही सेवाको जाँच गर्नेछ। योचाहिँ एकजना छोरा आफ्‍नो बाबुको निम्ति बाबुको खेतबारीमा वा व्यापारमा काम गरेजस्तै हो। छोरा यदि परिश्रमी छैन भने ऊ छोरा हुन त छोड्नेछैन र बाबुले उसलाई माया गर्न छोड्नेछैन तर उसले पाउने इनाम भने पाउनेछैन जुनचाहिँ यदि ऊ बाबुको सेवामा परिश्रमी र विश्वासयोग्य र इमानदार भएको भए पाउनेथ्यो। विश्वासीले मुक्ति गुमाउन सक्दैन र ऊ अनन्तसम्म सुरक्षित छ भन्ने कुरा सिकाउने नयाँ नियमका खण्डहरूमध्येमा १ कोरिन्थी ३:१५ सबैभन्दा स्पष्ट खण्डहरूमध्येमा एक हो। यदि ख्रीष्टको न्यायआसनमा सबै कुरा गुमाउने शारीरिक विश्वासी “आफैचाहिँ बाँच्नेछ” भने विश्वासीले आफ्‍नो मुक्ति गुमाउन कसरी सम्भव छ र?

२) ख्रीष्टको न्यायआसन सजायँ दिनलाई होइन तर इनाम प्राप्त गर्न वा गुमाउनलाई हो। विश्वासीको सजायँ त ख्रीष्टले क्रूसमा भोगिसक्नुभयो! ख्रीष्टको न्यायआसन ओलम्पिकमा भाग लिने खेलाडीजस्तै हो। ऊ दौडमा हार्‍यो भने उसले आफूले कमाउन सक्ने मुकुट गुमाउँदछ।

ख्रीष्टको न्यायआसनमा कुन कुराको न्याय गरिनेछ (१ कोरिन्थी ३:१२)?

यस पदले दुई किसिमको ख्रीष्टिय जीवनहरूलाई बयान गर्दछ अनि दुवैले आफ्‍ना-आफ्‍नै इनाम पाउनेछन्:

१) एक किसिमको ख्रीष्टिय जीवनलाई “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” सित तुलना गरिएको छ।

यसले अनन्तसम्म रहने कुराहरूलाई जनाउँछ, जुन कुराको अनन्त मूल्य हुन्छ। जस्तै, त्यो अनन्त शहर, नयाँ यरूशलम, निखुर सुनले बनेको छ (प्रकाश २१:१८)। साथै यसले परमेश्वरसित सम्बन्धित कुराहरूलाई पनि जनाउँछ। जस्तै, भेट हुने पालभित्रको सन्दुक र कृपा आसन, जसले ईश्वरत्वलाई सङ्केत गर्दथ्यो, ती सुनले बनिएका थिए (प्रस्थान २५:१०-११)।

“सुन, चाँदी र बहुमूल्य पत्थरहरू” खाले ख्रीष्टिय जीवनले निम्न कुराहरूलाई समेट्छ: दिन-दिनै ख्रीष्टसितको सङगतीमा हिँड्नु, शरीरमा होइन आत्मामा हिँड्नु, फलदायी प्रार्थनाको जीवन कायम राख्नु, ख्रीष्टको वचनमा मग्न हुनु, ख्रीष्टको मण्डलीलाई प्रेम गर्नु, ख्रीष्टको काममा जोशिलो हुनु, संसारका दुष्ट कुराहरूदेखि अलग रहनु र आफ्‍नो जीवनलाई संसारसित एकनासे हुन इन्कार गर्नु, झूटा शिक्षाहरूदेखि अलग रहनु, भक्तिसाथ जिउने पति वा पत्नी बन्नु, छोराछोरीहरूलाई प्रभुको सेवा गर्नलाई हुर्काउनु, र आत्माहरूलाई ख्रीष्टमा ल्याउनु। यी सबै कुराहरू प्रभुका सामु सुन, चाँदी बहुमूल्य पत्थरहरू हुन् र तिनका लागि प्रशस्त गरी इनाम दिइनेछ।

२) अर्को खाले ख्रीष्टिय जीवनलाई “काठ, घाँस र पराल” सित तुलना गरिएको छ।

यसले मानिस र संसारसित सम्बन्धित कुराहरूलाई जनाउँछ, जुन कुराहरू रहिरहँदैनन् र परमेश्वरको सामु कुनै मूल्यका छैनन्। हुन त काठले र पराल समेतले निर्मित भवनहरू ज्यादै विशाल हुन सक्छन् र यस संसारमा विशेष मान्यता पाउन सक्छन्, तर तिनलाई आगोले जाँच गर्दा ती जलेर नष्ट हुन्छन् र कुनै कुरा बाँकी रहँदैन। धेरै ख्रीष्टिय सेवकाइहरू काठ र परालले बनेका हुन्छन् र ज्यादै विशाल देखिन्छन् र मानिसको नजरमा ज्यादै विशेष देखिन्छन् तर जब ती सेवकाइहरू ख्रीष्टको न्यायआसनमा परमेश्वरको वचनको अपरिवर्तनीय मापदण्डले जाँचिदछन् तब त्यहाँ ठूलो दुःख र हानि हुनेछ।

“काठ, घाँस र पराल” खाले ख्रीष्टिय जीवनले निम्न कुराहरूलाई समेट्छ: आत्मिक जीवनको सट्टा शारीरिक जीवनमा हिँड्नु र पापका मोजमज्जामा आफूलाई सुम्पनु, व्यर्थका थोकहरूमा समय खेर फाल्नु र जीवन छोटो छ र जे ख्रीष्टको निम्ति गरिन्छ त्यो मात्र रहन्छ भन्ने कुरालाई बिर्सेर रित्तो कुरा गर्नु, र अनुचित मात्रामा समय पेशागत खेलकुद, भिडियो गेम र रोमान्स उपन्यासहरू जस्ता कुराहरूमा खर्चनु, परमेश्वरको इच्छाबमोजिम नभएर मूर्ख तरिकामा पैसा खर्च गर्नु, संसारलाई प्रेम गर्नु र आफ्‍नो जीवनलाई त्यसकै मार्गमा ढाल्नु, पवित्रशास्त्रमा बलियो बन्दै त्यसलाई ठीक-ठीक अर्थ लगाउन जान्दै, बढ्दै जानुको सट्टा बाइबलको ज्ञानमा बालकै रहनु, आफ्‍ना आत्मिक वरदानहरूलाई प्रयोग गर्नुको सट्टा तिनलाई लोभीले जस्तै साँचेर मात्र राख्नु, परमेश्वरको घरको बेवास्ता गर्नु, परमेश्वरको वचनको विपरितका कुराहरू सिकाउनु, पति वा पत्नी, बाबु वा आमा भएर पनि आफ्‍नो जिम्मेवारीमा हेल्चेक्र्याइँ गर्नु।

ख्रीष्टको न्यायआसनमा पाइने इनाम के हो?

मत्ती २५:२१-२३ सित दाँज्नुहोस्।

मुकुट: यसले अधिकार र सेवाको स्थानलाई जनाउँछ (प्रकाश २:२६:२७)।

सम्पत्तिहरू: हेर्नुहोस् मत्ती ६:१९-२१; १ तिमोथी ६:१९। यी धनसम्पत्तिहरू अन्तर्गत के‍‍-के पर्नेछन् भनेर हामीलाई बताइएको छैन तर यस संसारमा उहाँको सेवा गर्नेहरूका निम्ति धनसम्पत्तिहरू पर्खिरहेका छन् भन्ने कुरा प्रभु येशूले प्रतिज्ञा गर्नुभएको छ र हामी पक्का हुन सक्छौं कि उहाँका अनन्त धनसम्पत्तिहरूको तुलनामा वर्तमान संसारका सबैभन्दा अमूल्य थोकहरू र सबैभन्दा चाह गर्न सकिने सुखविलासका कुराहरू समेत सबैभन्दा कमसल कवाडी माल जस्तै देखा पर्नेछन्!

“स्याबास!” भन्ने वचन: मत्ती २५:२१ मा हेर्नुहोस्। पक्कै पनि विश्वासीले पाउन सक्ने सबैभन्दा ठूलो इनामचाहिँ प्रभुको स्याबासी हो। यो नपाउनु भनेको चाहिँ येशूलाई गिरफ्तार गरिएको रातमा पत्रुसले गरेको अनुभव जस्तै हुनेछ। पत्रुसले येशूलाई इन्कार गरेपछि उसले आफ्‍नो मुक्तिदाताको चेहरामा भएको आशाभङ्गको हेराइ र दुःखको हेराइलाई सहनुपर्‍यो अनि यही कुराले उसको हृदय चुरचुर भई तोडियो (लूका २२:६१-६२)।

ख्रीष्टको न्यायआसनको शिक्षाले विश्वासीलाई के सिकाउँछ?

१) यसले विश्वासीलाई आत्मिक हुन उत्प्रेरित गराउँछ (१ कोरिन्थी ३:९-१)। पावलद्वारा ख्रीष्टको न्यायआसनको बारेमा दिइएको शिक्षा कोरिन्थको मण्डलीलाई शारीरिकपनको विरुद्धमा चेतावनी दिने र त्यसलाई आत्मिक बन्नलाई चुनौती दिने सन्दर्भमा दिइएको थियो।

२) यसले विश्वासीलाई व्यस्त र विश्वासयोग्य रहनलाई उत्प्रेरित गराउँछ (१ कोरिन्थी ३:९-१०)। हामी ख्रीष्टको न्यायआसनका सामु उभिनुपर्नेछ र हामीले आफ्‍नो जीवनको लेखा बुझाउनुपर्नेछ भन्ने कुरालाई जब हामी सम्झना गर्दछौं तब हामी आफ्‍नो समयलाई उहाँको सेवामा बुद्धिमानीसाथ र विश्वासयोग्यताका साथ प्रयोग गर्न उत्प्रेरित हुन्छौं।

ख्रीष्टको न्यायआसनमा अनुग्रहको कस्तो स्थान हुनेछ?

हेर्नुहोस् १ कोरिन्थी ४:५।

१ कोरिन्थी ३ मा बयान गरिएको न्याय सम्पन्न भइसकेपछि, विश्वासीहरूको पार्थिव जीवन तथा सेवकाइहरूमाथि आगोले आफ्‍नो काम गरिसकेपछि, कसैकसैले सबै कुराको हानि भोगिसकेपछि र आगोबाट उम्केर बाँचेको जस्तै भइसकेपछि, अँ, हरेक मानिसले निःस्सन्देह उसले कमाउन सक्ने थुप्रै इनामहरू गुमाइसकेपछि — यी सब भइसकेपछि पनि हरेक मानिससँग परमेश्वरको प्रशंसा हुनेछ! यो कसरी हुन सक्छ?

१) मुक्तिको सुरक्षाको कारण त्यहाँ प्रशंसा हुनेछ (१ पत्रुस १:४; ३:९; भजनसङ्ग्रह ३४:२२ख)। अनाज्ञाकारी पवित्रजनले हानि भोगे तापनि, ऊ बाँच्नेछ र उसले अनन्त पुत्रत्व र ख्रीष्टले किनिदिनुभएको सम्पत्तिमा रमाहट गर्नेछ। ख्रीष्टमा भएको परमेश्वरको अनुग्रहले मात्र हो विश्वासी प्रकाश २० को ठूलो सेतो सिंहासनको सामु नभएर आफ्‍नो मुक्तिदाताको सामु उभिनेछ।

२) परमेश्वरको कृपाको महानताको कारण प्रशंसा हुनेछ (भजनसङ्ग्रह १०३:८-१४; यहूदा २४)। बाइबलले भन्दछ, जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन् प्रशस्त भयो (रोमी ५:२०)। परमेश्वर कृपा देखाउन र आशिष दिन रूचाउनुहुन्छ। येशूले भन्नुभयो, एकजना चेलाको नाममा दिइएको एक कचौरा चीसो पानीको निम्ति पनि इनाम दिइनेछ (मत्ती १०:४२)। विश्वासीले उसले पाउनुपर्ने भन्दा यति धेरै प्राप्त‍ गर्नेछ र गुमाउनुपर्ने भन्दा यति थोरै गुमाउनेछ कि ऊ परमेश्वरको कृपा देखेर रमाहट गर्नेछ। दाऊदले व्यभिचार र हत्या जस्ता जघन्य अपराधहरू गरे, तरैपनि नयाँ नियममा यी कुरा उल्लेख छैनन् र उसलाई विश्वासको वीरको रूपमा सूचीत गरिएको छ। अब्राहामले झूट बोले र एक पटक परमेश्वरलाई शङ्का गरे (उत्पत्ति १७:१७), अनि सारा हाँसे र परमेश्वरको प्रतिज्ञामाथि शङ्का गरे (उत्पत्ति १८:१२-१५)। हागारको सम्बन्धमा दुवैले पाप गरे। तर जब हामी हिब्रू ११ अध्यायमा आइपुग्छौं हामी ती कुनै कुराको उल्लेख पाउँदैनौं। हामी केवल उनीहरूको अडिग विश्वास र उनीहरूका आत्मिक विजयहरू मात्र उल्लेख भएको देख्छौं। उनीहरूको क्षणिक लोटाइको उल्लेखै छैन।

३) आफ्‍ना सन्तानहरूको जीवनहरूमा परमेश्वरको अनुशासनको प्रभावकारिताको कारण पनि त्यहाँ प्रशंसा हुनेछ (हिब्रू १२:५-१०; यूहन्ना १५:१-१६)। त्यस दिन हामी देख्‍नेछौं हाम्रा पार्थिव जीवनहरूमा हामीलाई काँटछाँट गर्न, अनुशासन गर्न र ढाल्न परमेश्वरले कसरी काम गर्नुभयो, त्यो देख्नेछौं र परमेश्वरले गर्नुभएको काम देखेर हामी रमाहट गर्नेछौं।

ख्रीष्टको न्यायआसन सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टको न्यायआसनमा कसको न्याय हुनेछ?
  2. विश्वास नगर्नेहरूको ठूलो सेतो सिंहासनको न्याय कुन पुस्तकको कुन अध्यायमा भेटिन्छ?
  3. १ कोरिन्थी ३:१३ मा उल्लेख गरिएको आगो के हो?
  4. हामी ख्रीष्टको न्यायआसनको निम्ति कसरी तयार हुन सक्छौं?
  5. प्रकाश २:१८-१९ मा येशूका आँखाहरूलाई किन आगोका ज्वालाको रूपमा बयान गरिएका छन्?
  6. ख्रीष्टको न्यायआसनको सरोकार __________________सित छैन तर ____________________सित छ।
  7. मुक्तिलाई नयाँ नियममा कति पटक वरदानको रूपमा बयान गरिएको छ?
  8. ख्रीष्टको न्यायआसन आफ्‍नो बाबुको निम्ति काम गर्ने एकजना छोराजस्तै हुनेछ। कसरी?
  9. १ कोरिन्थी ३:१५ ले कसरी मुक्तिको अनन्त सुरक्षाको शिक्षा सिकाउँछ?
  10. ख्रीष्टको न्यायआसन ____________________ दिनलाई होइन तर ____________________ पाउन वा गुमाउनलाई हो।
  11. १ कोरिन्थी ३:१२ मा उल्लेख गरिएको “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” के हुन्?
  12. “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” खालको ख्रीष्टिय जीवनका केही उदाहरणहरू के-के हुन्?
  13. “काठ, घाँस र पराल” के हुन्?
  14. “काठ, घाँस र पराल” खालको ख्रीष्टिय जीवनका केही उदाहरणहरू के-के हुन्?
  15. ख्रीष्टको न्यायआसनमा दिइने तीन किसिमका इनामहरू के‍‍-के हुन्?
  16. ख्रीष्टको न्यायआसनले विश्वासीलाई कुन दुई प्रकारले उत्प्रेरित गराउँछ?
  17. ख्रीष्टको न्यायअासनमा हरेक विश्वाससँग परमेश्वरको प्रशंसा हुन कसरी सम्भव छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






अलगपनता – नैतिक

Study Series

अलगपनता – नैतिक

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ थेस्सलोनिकी ५:२२; याकूब १:२७; १ पत्रुस १:१४-१५

संसारको माने के हो? (१ यूहन्ना २:१५-१७)

यस खण्डमा “संसार” भन्नाले परमेश्वरले सृष्टि गर्नुभएका कुराहरू (रूखबिरुवाहरू, चराचुरुङ्गीहरू, नदीनालाहरू, दयामाया आदि) भन्न खोजिएको होइन। साथै यसले मानव-निर्मित निर्दोष कुराहरूलाई पनि जनाउँदैन। मानव-निर्मित त्यस्ता धेरै कुराहरू छन् र मानव संस्कृतिका कतिपय पक्षहरू छन् जो परमेश्वरको व्यवस्थासित बाझ्दैनन्। यस्ता सबै कुराहरूलाई अपनाउन विश्वासी जन स्वतन्त्र छ।

हामीले प्रेम गर्न नहुने “संसार” भन्नाले मानिसको पतित हृदयसित आवद्ध सबै खराब कुराहरू भन्ने बुझिन्छ (१ यूहन्ना २:१६)। यहाँ हामी देख्छौं कि यी कुराहरूलाई सारांशमा खराब अभिलाषा र घमन्ड वर्गीकृत गर्न सकिन्छ।

माथिका दुई सिद्धान्तहरूलाई हामी जीवनका सबै क्षेत्रहरूमा लागु गर्न सक्छौं। जस्तै, उदाहरणको लागि लिऊँ: नाचलाई। लोक नृत्यका त्यस्ता रूपहरू हुन्छन् जो निर्दोष खालका हुन्छन् जसमा जीउलाई छाडा तरिकाले यता र उता फ्याँक्ने गरिँदैन र आधुनिक नाचको ढङ्ग अनुसार सुखविलासपूर्ण उद्देश्य (hedonism) का निम्ति समर्पित पनि हुँदैन। पहिलो किसिमको नाँच गलत होइन तर दोस्रो चाहिँ प्रतिबन्धित छ। सङ्गीतलाई विचार गरौं। त्यस्ता सङ्गीत हुन्छन् जो निर्दोष खालका हुन्छन् र ती विश्वास नगर्नेहरूद्वारा रचिएका भए तापनि परमेश्वरका छोराछोरीले त्यसलाई बिना आपत्ति सुन्न सक्छन्। तर अर्कोतिर त्यस्ता सङ्गीतहरू छन् जो शारीरिक अभिलाषा र सुखविलासका निम्ति समर्पित हुन्छन् जस्तै, आधुनिक पप सङ्गीत। कुनै पनि कुरा त्यो पापपूर्ण अभिलाषा र घमन्डको वर्गमा पर्छ कि पर्दैन भनेर परमेश्वरको वचनले नाप्नुपर्छ।

“संसार” भन्ने बाइबलको शब्दले त्यस सांसारिक प्रणालीलाई पनि जनाउँछ जुनचाहिँ सर्वशक्तिमान् परमेश्वर र उहाँको व्यवस्थाको विरुद्धमा पतित मानव जातिले सृजना गरेको छ (“कुनै मानिसले यस संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम उसमा हुँदैन”, १ यूहन्ना २:१५)। संसार परमेश्वरको खुल्लमखुल्ला विरोधमा छ र प्रत्येक व्यक्तिले आफ्‍नो लागि आफै रोज्नुपर्छ: संसार कि परमेश्वर (१ यूहन्ना ५:१९)। यो सांसारिक प्रणाली कयिनको समयमा शुरु भएको थियो जब कयिन परमेश्वरको उपस्थितिबाट निस्केर गयो र संसारकै पहिलो शहर र सभ्यताको स्थापना गर्‍यो (उत्पत्ति ४:१६-२२)। त्यो मनोरञ्जन र व्यापारले भरिएको एक भव्य सभ्यता थियो, तर त्यो परमेश्वर र उहाँको व्यवस्थालाई परित्याग गरेको संसार थियो जो परमेश्वरबिनै जिउन कटिबद्ध बनेको थियो। यो सांसारिक प्रणाली निम्रोदका दिनहरूमा र बाबेलको धरहरा निर्माणाधीन हुँदा (उत्पत्ति ११) अझ विकसित भयो। परमेश्वरले मानिसलाई पृथ्वीभरि फैलिएर जान आज्ञा गर्नुभएको थियो तर उनीहरू बाबेल इलाकामा जम्मा भए र परमेश्वरका नियमहरूको विपरितमा, मानव घमन्डमा र मूर्तिपूजाको धर्ममा आधारित एउटा समाजको स्थापना गरे। आजसम्म सांसारिक प्रणालीको सार यही नै रहिरहेको छ। शैतानलाई “यस संसारको ईश्वर” भनिएको छ किनकि ऊ नै सांसारिक प्रणालीको शिर हो (२ कोरिन्थी ४:४)।

विश्वासी जन यस संसारसित कस्तो खालको सम्बन्धमा रहनुपर्छ त?

बाइबलीय अलगपनता भनेको संसारबाट छुट्टिएर एक्लै बस्नु (isolation) होइन भन्ने कुरालाई हामी जोड दिन चाहन्छौं। प्रेरितको पुस्तकमा बयान गरिएका शुरुका मण्डलीहरू भागेर पहाडका गुफाहरूमा बस्न र समाजबाट छुट्टिएर एक्लै बस्न गएनन्। उनीहरू गाउँबस्ती र शहरहरूमै बसोबासो गरी त्यहीँ आफ्‍नो जीवन बिताए र एक अन्धकारपूर्ण संसारमा सुसमाचार प्रचार र पवित्र जीवनद्वारा आफ्‍ना ज्योतिहरू चम्कन दिए। बाइबलीय अलगपनता सन्यासीवाद (monasticism) होइन। विश्वासी यदि परमेश्वरको वचनअनुसार जिउँदछ भने ऊ त्यत्तिकै फरक बन्नेछ। उसले यूनिफर्मकै रूपमा अनौठो भेषभूषा धारण गर्नुपर्दैन, छुट्टै बस्ती (communalism) बसाल्नुपर्दैन, रहनसहनमा विगतको शैलीमा फर्की जानुपर्दैन जसरी संयुक्त राज्य अमेरिकाका आमीश (Aamish) हरूले अभ्यास गर्न खोजिरहेका छन्।

साथै, बाइबलीय अलगपनता भनेको स्वधर्मीपन (self-righteousness) पनि होइन। आफू एक विश्वास नगर्ने व्यक्ति भन्दा असल छैन र आफू विशेष भएकोले उसले मुक्ति पाएको होइन भन्ने कुरा एक विश्वासीले कहिल्यै बिर्सनुहुन्न। सबै मानिसहरू पापी छन् र परमेश्वरले सारा संसारलाई प्रेम गर्नुभएको हुनाले येशू संसारमा आउनुभएको हो (यूहन्ना ३:१६)। परमेश्वरको अनुग्रहको वरदानस्वरूप उसले प्राप्‍त गरेको धार्मिकता बाहेक एक विश्वासीसित अरू कुनै धार्मिकता छैन। हामीले संसारलाई हेपाहा दृष्टिकोणले संसारलाई हेर्नुहुँदैन। प्रेरित पावल यो कुरा जान्दथे र उनले आफूलाई पापीहरूमध्येमा “मुख्य” ठान्दथे (१ तिमोथी १:१५)।

१) संसारलाई प्रेम नगर (१ यूहन्ना २:१५)। विश्वासीले आफ्‍नो हृदयलाई, हृदयको प्रेमलाई र जोशलाई संसारको पकडमा पर्न दिनुहुँदैन भन्ने कुरा यहाँ हामी देख्दछौं। आफैलाई जाँच्ने एउटा राम्रो तरिका हो आफूलाई यो प्रश्न गर्नु: जीवनमा त्यस्तो कुन कुरा छ जसले वास्तवमै मेरो जोश-जाँगरलाई बिउँझाउँछ? म कुन कुराको लागि जोशिलो छु? मेरो जवाफको रूपरङ्ग यदि शरीरको अभिलाषा, आँखाको अभिलाषा वा जीवनको सेखीसित मेल खान्छ भने म परमेश्वरको वचनद्वारा दोषी ठहरिनेछु।

२) संसारसित एकनासे नहोओ (रोमी १२:२)। एकनासे हुनु भनेको ढालिनु, कुनै स्वरूपको आकार-प्रकारमा बनिनु। संसार बेजोडसँग अग्रसर छ, त्यसले भयङ्कर प्रचार गर्छ, प्रलोभनले फसाउन खोज्छ। हामीले आफ्‍ना जीवनहरू उसको मानदण्डबमोजिम, उसको फेशनबमोजिम, उसका रूपरङ्ग बमोजिम, उसको मनोरञ्जन बमोजिम, उसका सिद्धान्तबमोजिम, उसका दर्शन-विचार बमोजिम व्यतित गरोस् भन्ने चाहन्छ। हामीले यो याद राख्नुपर्छ कि संसारले हामीलाई प्रेम गर्दैन र संसारसित बुद्धि पनि छैन। संसारका मार्गहरूमा हिँड्नु एकदम मूर्खता हो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र परमेश्वर बुद्धि हुनुहुन्छ अनि उहाँका मार्गहरू ठीक छन्, असल र अनन्त छन्।

३) संसारको मित्र नबन (याकूब ४:४)। फेरि पनि बाइबलले हाम्रो हृदयको प्रेमको कुरा गर्दैछ। मित्र बन्नु भनेको कसैप्रति सकारात्मक, मित्रताको भावना राख्‍नु हो, उसको साथमा हुन रूचाउनु हो। याकूब जल्दाबल्दा शब्द प्रयोग गर्दछन्। संसारलाई मित्र बनाउनु आत्मिक व्यभिचार हो। परमेश्वर एक डाह गर्ने परमेश्वर हुनुहुन्छ। यस एउटै पदले इमर्जिङ्ग चर्च (emerging church) को र त्यसको “सांस्कृतिक उदारवाद” (cultural liberalism) को भूललाई नाङ्गो पार्दछ। इमर्जेन्टहरूका प्रवचन तथा लेखहरू आर-रेटेड फिलिमहरू र मद्यपान र फोहोर रक ब्याण्डहरू जस्ता संसारका खराब कुराहरूले भरपूर छन्। हिप्स्टर क्रिश्चियानिटी (Hipster Christianity) नामक पुस्तकबाट यो उद्दरणलाई हेर्नुहोस् त: “हिप्सटरहरू … फेशनमा रहेका सङ्गीतका ज्ञाताहरू हुन्। … उनीहरू एचबीओ, शो-टाईम, एफएक्स वा कमेडी सेन्ट्रलतर्फ आकर्षित हुने गर्छन्। … हिप्स्टरका लागि सङ्गीत सर्वोपरि कुरा हो त्यसैले उनीहरू कन्सर्ट धाउन रूचाउनु स्वभाविक हो। … ख्रीष्टिय हिप्स्टरहरू प्रतिबन्धनहरू उल्लङ्घन गर्न … अङ्गप्रत्यङ्गहरू छेड्न, कालो-कालो पहिरन लगाउन, थुप्रै ट्याट्टू हान्न, [रक्सीका] बोतलहरू बोक्न, ल्वाङ्को धुम्रपान गर्न रूचाउँछन्। … मद्यपान, नाच, आर-रेडेड फिलिम, यूएफसी कुस्ती जस्ता कुलतहरू जसबाट पुराना खाले ख्रीष्टियनहरूले भरमग्दुर पर बस्छन् — तिनै कुराहरूलाई मार्क ड्रिस्कोल (Mark Driscoll) उदारतासाथ आत्मसात गर्दछन्।” संसारसितको मित्रता भनेको यो होइन भने कस्तो कुरालाई हो भन्ने त?

हाम्रो अलगपनता कत्तिको सम्झौतारहित हुनुपर्दछ?

प्रायः धेरैको विचारमा हामी संसारबाट केही आधारभूत कुरामा अलगपनता अपनाउनु त पर्दछ तर यसबारे ज्यादै कट्टर र “व्यवस्थावादी” (“legalistic”) हुनुहुँदैन भन्ने छ। पवित्रशास्त्रका निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

एफेसी ५:११; १ थेस्सलोनिकी ५:२२; याकूब १:२७; १ पत्रुस १:१४-१५

के अलगपनताको सकारात्मक पाटा पनि छ?

२ तिमोथी २:२२ लाई विचार गर्नुहोस्। अलगपनता केवल एक “नकारात्मक” मामिला मात्र होइन भन्ने कुरा यसले सिकाउँछ।

१) अलगपनता आत्मिक र नैतिक सुरक्षाको मामिला हो। तिमोथीलाई “जवानीका अभिलाषाहरूदेखि भाग” भनी अर्ती दिइएको थियो। यसमा कुनै ठूलो खतरादेखि भाग्ने कामको चित्राङ्कन गरिएको छ। परमेश्वरले आफ्‍ना जनहरूलाई सुखदायी कुराहरूदेखि बञ्चित गर्न चाहनुहुन्न। उहाँ त हरेक असल दानका कर्ता हुनुहुन्छ (याकूब १:१७)। आदम र हव्वालाई सृष्टि गर्नुभएर उहाँले मान्छेको कल्पनाले सोच्न सकिने भन्दा सुन्दर बगैँचामा राख्‍नुभएको थियो। उहाँले सुन्दर र सुखदायी हरेक कुरा प्रदान गर्न सक्ने गरी उक्त बगानको रचना गर्नुभएको थियो। परमेश्वर मानिसलाई अर्थहीन नियमहरू लादेर नचाहिँदो दुःख दिन चाहने कुनै निर्दयी व्यक्ति हुनुहुन्न। संसारका खराब कुराहरूदेखि अलग रहनुपर्छ भन्ने उहाँको आज्ञाको पछाडि हामीलाई आत्मिक र नैतिक विनाशबाट सुरक्षा दिने उद्देश्य रहेको छ। हामीलाई शैतानको निर्दयी पञ्जाबाट पर राख्‍नु नै उहाँको यसमा योजना रहेको छ।

२) अलगपनता सङ्गतको मामिला हो। तिमोथीले “शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूको साथमा” पवित्रतालाई पछ्‍याउनुपर्थ्यो। कुनै पनि व्यक्तिको सङ्गतले नीजको जीवनमा भयङ्कर ठूलो प्रभाव पार्दछ। १ कोरिन्थी १५:३३ ले चेतावनी दिन्छ, “खराब सङ्गतहरूले असल चालचलन बिगार्दछ।” गलत समूहसित तपाईं लाग्दै हुनुहुन्छ भने तपाईं भक्तिमय जीवन जिउनुहुनेछैन। कुहिएका स्याउका बीचको एउटा राम्रो स्याउ बिग्रेर छाड्छ।

३) अलगपनता हृदयको मामिला हो। पावलले “शुद्ध हृदय” को उल्लेख गर्दछन्। हृदय यदि ठीक छ भने विश्वासीले खराबबाट अलग होऊ भन्ने प्रभुको आज्ञाप्रति सकारात्मक प्रतिक्रिया देखाउँछ। म बचाइनु अघि मैले आफ्‍नो केशलाई विद्रोह र घमन्डको झण्डास्वरूप लामो पाल्थेँ। प्रेम वा पैसाको लागि त्यो काट्न म मानिनँ तर म बचाइएपछि एकजना वृद्ध महिलाले लामो कपाल ख्रीष्टको चेलाको नाम लिने जवान मानिसको लागि उचित छैन भनेर मलाई चुनौती दिएपछि मैले आफ्‍नो कपाल काटेँ। मेरो हृदय परमेश्वरसित ठीक भएकोले मैले त्यो काटेँ किनकि म आफ्‍नो होइन उहाँको इच्छा पालन गर्न चाहन्थे र मानिसहरूलाई ठेस खुवाउन चाहदिनथेँ।

४) अलगपनता प्रतिस्थापनको मामिला हो। तिमोथीलाई केवल पापपूर्ण कुराहरूदेखि भाग्नलाई मात्र अर्ती दिइएको थिएन, उसलाई पवित्र कुराहरू “पछ्याउन” पनि अर्ती दिइएको थियो। शारीरिक सङ्गीत, सांसारिक फेशन र सांसारिक साथीहरूलाई परित्याग गरेर मात्र पुग्दैन। परमेश्वरको सन्तानले आत्मिक साथीहरू र पवित्र सङ्गीतहरू र उन्नती गर्ने पाठ्य सामग्रीहरू र असल क्रियाकलापहरू पनि जीवनमा थप्नुपर्छ र ख्रीष्टको सेवामा व्यस्त रहनुपर्छ।

केही अन्तिम बुँदाहरू

१) के अलगपनता व्यवस्थावाद (legalism) हो?

होइन, तीतस २:११-१५ ले प्रस्टै सिकाएको छ कि सकली ईश्वरीय अनुग्रहले मानिसलाई सम्झौता नगर्ने, पवित्र, अलगपनताको ख्रीष्टिय जीवनभित्र डोर्‍याउँदछ।

२) के अलगपनता स्वार्थपूर्ण कुरा हो?

होइन, अलगपनता बुद्धि हो (१ पत्रुस ५:८)। शरीरका अभिलाषा, आँखाका अभिलाषा र जीवनको सेखीबाट पर बस्नु शैतानबाट जोगिने उपाय हो र पापको दास हुनदेखि बच्ने उपाय हो।

३) के अलगपनता ख्रीष्टविपरित कुरा हो?

होइन, ख्रीष्ट पवित्र हुनुहुन्थ्यो र उहाँ पापबाट सधैँ अलग हुनुहुन्थ्यो (हिब्रू ७:२६)। उहाँ पापीका मित्र हुनुहुन्थ्यो तर उहाँ पापको मित्र कहिल्यै हुनुहुन्नथ्यो। इमर्जिङ्ग चर्चले येशूलाई त झण्डै-झण्डै मोजमस्ती गर्ने पार्टीहरूमा डुल्ने व्यक्तिको रूपमा बयान गर्ने गर्छ, तर उहाँ त्यस्तो हुनुहुन्नथ्यो। उहाँले व्यक्तिगत परिस्थितिहरूमा समेत न्यायको बारेमा चेतावनी दिनुभयो र नरकको बारेमा प्रचार गर्नुभयो जोचाहिँ सांसारिक पार्टीको विपरित कुरा हुन्। व्यभिचारमा पक्राउ परेकी स्त्रीलाई उहाँकहाँ ल्याइँदाखेरि उहाँले आफ्‍नो सुन्दर अनुग्रहले तिनलाई क्षमा गर्नुभयो तर तिनलाई “अबदेखि उसो पाप नगर” भनेर पनि सिकाउनुभयो। त्यो त ज्यादै कट्टर मानदण्ड हो र सांसारिक पार्टीसँग मेल खाने कुरै होइन!

४) अलगपनता किन एकदम अप्रिय मानिन्छ?

इसाईजगतमा यो यति साह्रै अप्रिय मानिनुको कारण यो हो कि हामी २ तिमोथी ४:३-४ मा अगमवाणी गरिएको समयमा जिउँदैछौं जब ख्रीष्टियन भनिनेहरू एउटा नयाँ खाले इसाईमत सृजना गर्नेछन् जसले तिनीहरूलाई उनीहरूको आफ्‍नै अभिलाषाहरू अनुसार जिउन छुट दिनेछ।

अलगपनता – नैतिक सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. यूहन्नाले हामीलाई “संसारलाई” प्रेम नगर भन्ने चेतावनी दिँदा उनले कुन दुई कुरा भन्न खोजेका होइनन्?
  2. मानव-निर्मित केही निर्दोष कुराको उदाहरण दिनुहोस् जसमा विश्वासी जन रमाउन सक्दछ।
  3. समाज र संस्कृतिका मानव-निर्मित केही निर्दोष कुराको उदाहरण दिनुहोस् जसमा विश्वासी जन रमाउन सक्छ।
  4. समाजका केही उदाहरणहरू दिनुहोस् जो खराब अभिलाषा र घमन्डको वर्गमा पर्दछन्।
  5. सांसारिक प्रणालीको शुरुआत कहिले भएको थियो?
  6. कयिनको शहरको सवालमा कुन कुरा गलत थियो?
  7. निम्रोदको समाजको सवालमा कुन कुरा गलत थियो?
  8. कुन पदमा शैतानलाई “यस संसारको ईश्वर” भनिएको छ?
  9. सन्यासीवाद र छुट्टै बस्ती बसाल्ने काम गलत हुन् भनेर हामी कसरी जान्दछौं?
  10. कुन पदमा पावलले आफूलाई “पापीहरूमध्यै मुख्य” भन्ने संज्ञा दिएका छन्?
  11. संसारलाई प्रेम गर्नु भनेको के हो?
  12. संसारसित एकनासे हुनु भनेको के हो?
  13. विश्वासी संसारको मित्र हुन नहुने कारण के हो?
  14. एफेसी ५:११ अनुसार विश्वासीले अन्धकारका निष्फल कामहरूसित कत्तिको सङ्गती गर्न मिल्छ?
  15. अन्धकारका निष्फल कामहरूको केही उदाहरणहरू के-के हुन्?
  16. १ थेस्सलोनिकी ५:२२ अनुसार विश्वासी कुन कुराबाट अलग बस्नुपर्छ?
  17. याकूब १:२७ अनुसार विश्वासीले आफूलाई संसारदेखि कत्तिको अलग राख्‍नुपर्छ?
  18. २ तिमोथी २:२२ मा अलगपनताको बारेमा उल्लेखित चारओटा सकारात्मक बयानहरू के-के हुन्?
  19. परमेश्वरको अनुग्रहले हामीलाई अभक्तिलाई इन्कार गर्न सिकाउँछ भनेर बताउने पद कुन पुस्तकको कुन अध्यायमा छ?
  20. अलगपनता बुद्धि हो। किन?
  21. मानिसहरूले आफ्‍ना निम्ति आफ्‍नै अभिलाषाहरू बमोजिमका शिक्षकहरू थुपार्ने समय आउनेछ भन्ने चेताउनी कुनचाहिँ अगमवाणीमा उल्लेख छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






ख्रीष्टको महान् आज्ञा

Study Series

ख्रीष्टको महान् आज्ञा

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: मत्ती २८:१८-२०; मर्कूस १६:१५; प्रेरित १:८

ख्रीष्ट बौरेर उठ्नुभएपछि उहाँले आफ्‍ना चेलाहरूलाई विश्वव्यापी रूपमा सुसमाचार प्रचार गर्नलाई सुम्पिनुभएको कामलाई महान् आज्ञा भन्ने संज्ञा दिइएको छ। यसलाई महान् आज्ञा भनिन्छ किनभने यो नयाँ नियममा पाँच-पाँच पटक दोहोर्‍याइएको छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; यूहन्ना २०:२१; प्रेरित १:८)। बाइबलमा कुनै पनि कुरा दुई उद्देश्यले दोहोर्‍याएर बताउने गरिन्छ। पहिलो, जोड दिने उद्देश्यले दोहोर्‍याइन्छ। धेरै पटक दोहोर्‍याउनुभएर उक्त आज्ञा महत्त्वपूर्ण छ भन्ने कुरा परमेश्वरले देखाउँदैहुनुहुन्छ। दोस्रो, शिक्षा दिने उद्देश्यले दोहोर्‍याइन्छ। प्रत्येक पटक महान् आज्ञा दोहोर्‍याइँदा थप शिक्षा दिइएको पाइन्छ। हामी यीमध्ये चारओटा खण्डहरूलाई अध्ययन गर्नेछौं:

मत्ती २८:१८-२०

१) यहाँ हामी महान् आज्ञाको अधिकार देख्दछौं (मत्ती २८:१८)। येशूसँग सारा अधिकार छ र जब हामी सुसमाचार प्रचार गर्दछौं त्यो उहाँकै अधिकारले गर्दछौं। तसर्थ कुनै पनि जाति वा राष्ट्रकहाँ जान र कुनै पनि व्यक्तिलाई उहाँको नाममा सुसमाचार सुनाउन हामीसँग अधिकार छ। “धर्म” भनेको व्यक्तिगत मामिला हो भन्ने सोंच धेरैको छ‍, तर येशूले त सुसमाचारको घोषणालाई हाम्रो जिम्मेवारी नै ठहराउनुभएको छ। बाइबलले बताउँछ कि नयाँ जन्म पाएको प्रत्येक व्यक्ति ख्रीष्टको राजदूत हो (२ कोरिन्थी ५:१७-२०)। हामी उहाँकै नाउँ र अधिकारमा जान्छौं।

२) साथै यहाँ हामी महान् आज्ञाको काममा कुन‍-कुन कुरा संलग्न हुनुपर्छ भन्ने कुरा पनि देख्दछौं (मत्ती २८:१९-२०)।

पहिलो, हामीले सुसमाचार प्रचार गर्नुपर्छ। “जाओ र … चेला बनाओ” लाई मर्कूस १६:१५ सित तुलना गर्दा यसले सुसमाचार प्रचार गर्ने कामलाई जनाउँदछ भन्ने कुरा हामी बुझ्दछौं। प्रत्येक मण्डलीले सुसमाचार प्रचारकहरू पठाउने काम गर्नुपर्छ र साथै मिसनरी (प्रचारक) हरूलाई सहायता गर्नुपर्छ।

दोस्रो, विश्वास गर्नेहरूलाई हामीले बप्‍तिस्मा दिनुपर्छ। बप्तिस्मा कुनै ऐच्छिक कुरा (अर्थात् लिए पनि हुने, नलिए पनि हुने कुरा) नभई आज्ञा नै हो। ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्नेहरूका लागि आज्ञापालनको पहिलो कदम बप्‍तिस्मा हो।

तेस्रो, विश्वास गर्नेहरूलाई हामीले चेला बनाउनुपर्छ। कसैले मुक्ति पाएर बप्‍तिस्मा लिएपछि हाम्रो काम समाप्‍त हुँदैन। वास्तवमा त्यो त शुरु मात्र हो। हामीले उनीहरूलाई ख्रीष्टले आज्ञा गर्नुभएका सबै कुराहरू सिकाउनुपर्छ। यी आज्ञाहरू पवित्र शास्त्रको नयाँ नियममा छन्। यसो गर्नाले विश्वासीहरू विश्वासमा सुदृढ पारिन्छन् र झूटा शिक्षाहरूबाट जोगाइन्छन्। कुनै-कुनै शिक्षाहरू मात्र “सारभूत” (essential) छन् र बाँकी सारभूत छैनन् (non-essential) भन्ने र विभाजन ल्याउन सक्ने भएकाले तिनलाई जोड दिइनुहुन्न भन्ने व्यापक भूललाई यस खण्डले काट्छ। परमेश्वरका जनहरूलाई हामीले उहाँको वचनको एक-एक भागलाई पालन गर्न र आदर गर्न सिकाउनुपर्छ भनेर येशूले सिकाउनुभयो!

यो काम गर्न सक्नलाई एउटा मण्डली चाहिन्छ। महान् आज्ञा पूरा गर्नेहरू प्रेरितको पुस्तकमा मण्डलीहरू नै थिए भन्ने कुरा हामी त्यस पुस्तकमा देख्छौं। पावल र बर्नबास एन्टिओकको मण्डलीबाट पठाइएका थिए र तिनीहरूले यूरोपभरि धेरैओटा मण्डलीहरू शुरु गरे (प्रेरित १३-१४)। महान् आज्ञा पूरा गर्नलाई प्रत्येक मण्डली गम्भीर भई बाइबल तालिम दिने पाठशालाको रूपमा सक्रिय हुनुपर्छ। महान् आज्ञा भनेको ठूलो काम हो।

३) साथै यहाँ हामी महान् आज्ञाको साथसाथै दिइएको प्रतिज्ञा पनि देख्दछौं (मत्ती २८:२०)। काम हामीले गर्ने हो तर सामर्थ्य ख्रीष्टको हो। उहाँ हाम्रो साथमा हुनुहुन्छ। मिसनरी काम गर्न तल्लीन ख्रीष्टियन र मण्डलीको निम्ति यो एक विशेष प्रतिज्ञा हो।

मर्कूस १६:१५-१६

१) सुसमाचार हरेक राष्ट्र (जाति) लाई मात्र नभएर हरेक व्यक्तिलाई प्रचारिनुपर्छ। यो ज्यादै ठूलो काम हो र हरेक मण्डलीको मुख्य काम हो। यसको मतलब यो काम पूरा गर्नलाई प्रत्येक विश्वासीको आवश्यकता पर्छ।

यसले हामीलाई यो बताउँछ कि परमेश्वरले हरेक प्राणलाई प्रेम गर्नुहुन्छ र हरेक प्राणलाई बचाउन चाहनुहुन्छ जुनचाहिँ “सार्वभौम चुनाउ” (sovereign election) भन्ने क्याल्भिनवादी शिक्षाको विपरित छ।

यसले हामीलाई यो पनि सम्झना गराउँछ कि ख्रीष्टमा विश्वास राखेर बाहेक मुक्ति पाउने अन्य उपाय छैन। यदि अन्य उपाय भएको भए परमेश्वरले हामीलाई सुसमाचार हरेक व्यक्तिलाई यति ठूलो मूल्य चुकाएर प्रचार गर्न लाउनुहुनेथिएन।

२) बप्तिस्मा भनेको विश्वासीहरूको लागि हो, शिशुहरूको लागि होइन। बप्‍तिस्माको लागि आवश्यक कुरा विश्वास हो र त्यसैले शिशुहरू बप्तिस्माका उचित उम्मेदवार हुन सक्दैनन्। शिशु-बप्तिस्मा (infant baptism) एक झूटा शिक्षा थियो जुनचाहिँ नयाँ नियम पूरा भइसकेपछि र प्रेरितहरूको मृत्यु भइसकेपछि रचिएको थियो।

३) बप्‍तिस्मा भनेको मुक्तिपश्चात् मुक्तिको गवाही र प्रमाणस्वरूप लिइने कुरा हो। बप्तिस्मा नलिएकोले प्राण नरकको दोषी हुने होइन तर विश्वास नगरेकोले हो। “जसले विश्वास गर्दैन, त्यो दोषी ठहरिनेछ”। पावलले सिकाए, सुसमाचारले त मुक्ति दिन्छ (रोमी १:१६), तर बप्तिस्मा भनेको सुसमाचार त होइन (१ कोरिन्थी १:१७; १५:१-४)।

लूका २४:४४-४८

१) येशूले दुःख भोग्नु आवश्यक थियो किनभने पापीहरूले मुक्ति पाउने अरू उपाय थिएन (लूका २४:४६)। इसाईमत भनेको मैले परमेश्वरको निम्ति के गर्न सक्छु भन्ने होइन तर ख्रीष्टमा परमेश्वरले मेरो निम्ति के गरिदिनुभएको छ भन्ने हो।

२) पश्चात्ताप महान् आज्ञाको एउटा भाग हो (लूका २४:४७)। पश्चात्तापबिना पापहरूको क्षमा छैन। पश्चात्तापको माने झूटा ईश्वरहरूलाई परित्याग गरी परमेश्वरको अधिकारमुनि आफूलाई समर्पण गर्नु हो।

३) यस काममा सहभागी हुनु प्रत्येक विश्वासीको जिम्मेवारी हो (लूका २४:४८)।

प्रेरित १:८

१) यो काम मण्डलीको प्रमुख काम हो। प्रेरितको पुस्तकमा हामी यही कुरा देख्दछौं। शुरुका मण्डलीहरूले रोमी साम्राज्यका सामाजिक-राजनैतिक समस्याहरू समाधान गर्न ठूलाठूला योजना-परियोजनाहरू अपनाएनन्। तिनीहरूले सुसमाचार प्रचार गरे, विश्वासीहरूलाई चेलापनमा हुर्काए र नयाँ मण्डलीहरू स्थापना गरे।

२) पवित्र आत्माबिना हामीले केही पनि गर्न सक्दैनौं। हामी उहाँको सङ्गतीमा हिँड्नुपर्छ र हामीले उहाँको सामर्थ्यको खोजी गर्नुपर्छ। प्रार्थना भनेको यस कुराकै बारेमा हो, अर्थात् हामीलाई उहाँको दरकार छ भन्ने कुरा स्वीकार गर्नु र उहाँको सहायताको खोजी गर्नु हो। पवित्र आत्मा शुरुका विश्वासीहरूमाथि पेन्टेकोस्टको दिनमा आउनुभयो अनि त्यसबेला‍देखि उहाँले प्रत्येक विश्वासीलाई उसले ख्रीष्टमाथि विश्वास राखेकै घडीदेखि छाप मार्नुहुन्छ (एफेसी १:१२-१४)।

३) हाम्रो काम भनेको येशू ख्रीष्टलाई उचाल्नु हो। हामी उहाँका साक्षीहरू हुनुपर्छ। जब हामी मानिसहरूसित परमेश्वरका कुराहरू गर्दछौं त्यसबेला हामीले ख्रीष्टको बारेमा कुरा गर्नुपर्छ, मण्डली वा “इसाईमत” को बारेमा होइन।

४) महान् आज्ञा आफ्‍नै स्थानबाट शुरु हुन्छ र साथसाथै सारा विश्वसम्म नै आफूलाई फिँजाउँछ। यो काम मण्डलीहरूद्वारा पूरा हुन्छ जब उनीहरू आफ्‍नै समाज-समुदायहरूलाई ख्रीष्टमा ल्याउन खोज्छन् र साथै अन्य स्थानहरूमा भएका मिसनरीहरूलाई सहयोग गर्दछन्।

एकजना विश्वासीले महान् आज्ञा कसरी पूरा गर्न सक्छ?

  1. आत्मसमर्पण गरेर – महान् आज्ञा शुरु हुने यहाँबाट हो: “म यहाँ छु; मलाई पठाउनुहोस्! हे प्रभु, म के गरूँ – तपाईं के चाहनुहुन्छ?” हेर्नुहोस् यशैया ६:८; प्रेरित ९:६; रोमी १२:१।
  2. रीष्टसित सङ्गती गरेर – हामी प्रभुसित हिँड्दैनौं भने हामीले उहाँको बुद्धि वा सामर्थ्य वा अगुवाइ पाउनेछैनौं। उहाँको इच्छा पूरा गर्ने हामीसित कुनै चासो पनि हुनेछैन।
  3. वचन सिकेर – हामी उहाँको वचनमा अशिक्षित छौं भने हामी परमेश्वरद्वारा राम्ररी प्रयोग गर्न सकिनेछैनौं। मानिसहरूको प्रश्नका जवाफ दिनलाई हामीले बाइबल सिक्नुपर्छ। प्रभावकारी ढङ्गले साक्षी हुन, प्रार्थना आदि गर्न हामीले सिक्नुपर्छ।
  4. विश्वासयोग्य भएर – मिसनको मुटु भनेको मण्डलीहरू हुन् र मण्डलीहरू बलियो हुन सक्नलाई समर्पित, विश्वासयोग्य सदस्यहरूको खाँचो पर्छ।
  5. प्रार्थना गरेर – महान् आज्ञाको निम्ति चाहिने बुद्धि र सामर्थ्यको स्रोत यही हो। परमेश्वरका जनहरू प्रार्थनामा भिड्ने योद्धाहरू हुनुपर्छ, आफ्‍नै मण्डलीको लागि प्रार्थना गर्ने, अरू मण्डलीहरूका लागि प्रार्थना गर्ने, मिसनरीहरू, मुक्ति नपाएका नातागोताहरू, मुक्ति नपाएका साथीभाइहरू, पर्चा र व्यक्तिगत साक्षीद्वारा सुसमाचार सुनिरहेकाहरूको निम्ति प्रार्थना गर्नेहरू हुनुपर्छ। प्रार्थनाले परिवर्तनहरू ल्याउँदछ। मेरा प्रार्थनाहरूद्वारा कति-कति कुराहरू परिवर्तन हुँदैछन् त?
  6. दिएर – प्रभुको महान् आज्ञा एक बृहत् र खर्चिलो काम हो। के म ख्रीष्टको कामको निम्ति यस्तो प्रकारले दिने गर्दछु कि त्यसले उहाँप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्दछ र सुसमाचारलाई संसारको अन्तसम्म फैलाउने काम गर्दैछ?
  7. गएर – नयाँ जन्म पाएको परमेश्वरको प्रत्येक सन्तान ख्रीष्टको राजदूत हो र ऊ प्रभुको बारेमा मानिसहरूलाई बताउन व्यस्त हुनुपर्छ, पर्चा बाँडिरहनुपर्छ र मण्डलीको प्रचार कार्यमा नियमित रूपमा सहभागी हुनुपर्छ।
  8. छोराछोरीलाई तालिम दिएर (हितोपदेश २२:६) – छोराछोरीहरू बुद्धिमानी बाबुआमाका ठोक्रोका काँडहरू हुन् जसलाई ख्रीष्टको सेवाको निम्ति तालिम दिइनुपर्छ (भजनसङ्ग्रह १२७:४-५)। ख्रीष्टिय बाबुआमाहरूले आफ्‍ना छोराछोरीहरूलाई यस्तो प्रकारले हुर्काउनुपर्छ ताकि यस जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ख्रीष्ट र उहाँको काम हो भनेर उनीहरूले जानेका हुनेछन्। छोराछोरीहरूले आफ्‍ना बाबुआमाको जीवनमा कस्तो खालको उदाहरण देख्दैछन् त? बाबुआमाले आफ्‍नो छोराछोरीहरूलाई मिसनरी बन्न नियुक्त गर्न त सक्दैनन् किनभने त्यो त परमेश्वरको विशेष बोलावट हो, तर बाबुआमाले गर्न सक्ने भनेको आफ्‍ना छोराछोरीहरूलाई मिसनरी‍-मन भएको हुनलाई तालिम दिन सक्छन्।
  9. संसारबाट अलग भएर – सांसारिकपनले आत्मिक दर्शन र सामर्थ्यलाई नष्ट गर्दछ (१ पत्रुस २:११)।

यस वर्तमान दुष्ट संसारमा परमेश्वरको अनन्त पुत्रको नामलाई बोक्ने भाँडो हुन पाउनु भनेको ठूलो सौभाग्य हो। जीवन छोटो छ र परमेश्वरले हामीलाई दिनुभएको यस सुअवसरलाई मौका हुँदै सदुपयोग गर्नुपर्छ।

महान् आज्ञा सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. महान् आज्ञा के हो?
  2. महान् आज्ञालाई बयान गर्ने पाँचओटा खण्डहरू कुन-कुन हुन्? (पुस्तक र अध्याय मात्र)
  3. विश्वभरि सुसमाचार प्रचार गर्ने अधिकार ख्रीष्टियनहरूलाई किन छ?
  4. कुन खण्डले विश्वासी ख्रीष्टको राजदूत हो भनेर बताउँछ?
  5. महान् आज्ञा पालन गर्दा त्यसमा कुन तीनओटा कामहरू संलग्न हुन्छन्?
  6. महान् आज्ञा पूरा गर्नेहरूलाई येशूको प्रतिज्ञा के छ?
  7. सुसमाचार हरेक ______________________ लाई मात्र नभएर हरेक ______________________ लाई प्रचारिनुपर्छ।
  8. मर्कूस १६:१५-१६ ले बप्तिस्मा शिशुहरूको लागि होइन भनेर कसरी सिकाउँछ?
  9. येशूलाई दुःख भोग्नु किन आवश्यक थियो?
  10. पश्चात्ताप र पापहरूको क्षमा प्रचार गरिनुपर्छ भनेर येशूले आफ्‍ना जनहरूलाई आज्ञा दिनुभएको बाइबलको खण्ड कुनचाहिँ हो?
  11. विश्वासीले ख्रीष्टमाथि विश्वास गर्दाखेरि नै ऊ पवित्र आत्माले छाप मारिन्छ भनेर सिकाउने खण्ड कुन हो?
  12. विश्वासीले महान् आज्ञा पूरा गर्न सक्ने ९ ओटा तरिका कुन-कुन हुन्?
  13. यीमध्ये कतिओटा तपाईं आफैले अभ्यास गर्दैहुनुहुन्छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।