येशूको ऐतिहासिक प्रमाण

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष)

न्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्। निम्न कारणहरूले गर्दा यो एउटा अशिक्षित अडान हो:

  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो।
  2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख ठहरिन्छ।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै अस्तित्वमा छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।
  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको एउटा नयाँ कुरा हो।

इन्साइक्लोपिडिया ब्रीटानिकाले भन्छ:

“यी अलग-अलग अभिलेखहरूले प्राचीन समयहरूमा इसाईमतका शत्रुहरूले समेत येशूको ऐतिहासिकतालाई कहिल्यै शङ्का गरेनन् भन्ने कुरा प्रमाणित गर्दछन्। यो विवाद पहिलो पटक केही लेखकहरूद्वारा १८ औं शताब्दिको अन्तमा, १९ औं शताब्दिको समयमा र २० औं शताब्दिको सुरुमा उठाइएको थियो, त्यो पनि अपर्याप्त आधारमा” (“Jesus Christ”, Encyclopedia Britannica, १९७४)।

जारोस्लाभ पेलिकन (Jaroslav Pelikan) ले अवलोकन गर्छन्:

“व्यक्तिगत रूपमा उहाँको विषयमा जोसुकैले जेजस्तो सोचे तापनि वा विश्वास गरे तापनि नासरतका येशू झण्डै बीस-बीस शताब्दिहरूसम्म पश्चिमी संस्कृतिको इतिहासमा प्रधान व्यक्ति रहनुभएको छ” (Jesus Through the Centuries, p.1)

डी. जेम्स केनेडी (James Kennedy) ले थप्नुहुन्छ:

“अहिलेसम्म युद्धमा उत्रेका सबै सेनाहरू, महासागर तरेका लडाकु जहाजहरू, बैठक बसेका सबै  सांसदीय सभाहरू, शासन गरेका सबै राजाहरू – ती सबैका संयुक्त प्रभावभन्दा पनि उहाँको एक्लो जीवनले यस पृथ्वीमा मानिसको जीवनलाई अझ बढी प्रभाव पारेको छ।”  (What if Jesus had Never Been Born? p.9)

  1. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख मानिन्छ।

नयाँ नियम ख्रीष्टको मृत्युको लगत्तै पछि लेखिएको थियो भन्ने कुराको प्रमाण अकाट्य छ। बाइबलको स्वरूप अध्ययन अन्तर्गत यस कुरालाई हामीले हेरिसक्यौं।

जोन ए टी रोबिन्सन (John A.T. Robinson) ले रिडेटिङ द न्यू टेस्टामेन्ट (Redating the New Testament) मा यो निष्कर्ष निकालेका छन् कि पूरै नयाँ नियम ७० एडीभन्दा अगाडि लेखिएको थियो।

पुरातत्त्व विज्ञानका सर्वोत्कृष्ट अग्रज विलियम राम्से (William Ramsay) ले यो लेखे:

“नयाँ नियमको कुनै पनि पुस्तकको मितिलाई एडी ८० भन्दा पछाडि राख्न अबउसो कुनै ठोस आधार छैन भनेर हामी अब जोडदारसित भन्न सक्दछौं। यो भनेको आजका नयाँ नियमका आलोचकहरूले तोकेको १३० एडी देखि १५० एडीको मितिभन्दा पूरै दुई पुस्ता अगाडिको मिति हो।” (William Ramsay, Recent Discoveries in Bible Lands, 1955, p.136).

“नयाँ नियमको प्रत्येक पुस्तक एक बप्तिस्मा गरिएको यहूदीद्वारा पहिलो शताब्दिको ४० देखि ८० एडीमा लेखिएको हुनुपर्छ भन्ने कुरा म ठान्दछु” (William Ramsay, “Christianity Today”, Jan 18, 1963).

विलियम अल्ब्राइट, अर्को प्रभावशाली पुरातत्त्वविदले लेखे:

“नयाँ नियम जस्तो हो भनेर पहिला विश्वास गरिन्थ्यो ठीक त्यस्तै रहेछ भनेर प्रमाणित भएको छ अर्थात् नयाँ नियम करिब २५ देखि ८० एडीका बीच लेखिएको ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू हुन्। कूमरानबाट पत्ता लागेका तथ्यहरूले यो प्रमाणित गर्दछ (William F. Albright, From Stone Age to Christianity, p.23).

जसरी हामीले हेरिसक्यौं, मौलिक लेखोटहरू लेखिएको केही थोरै दशक मात्र बितेपछिको मिति रहेको खण्डहरू हामीसित छन्, अर्थात् पहिलो शताब्दिको अन्तितिरको मिति रहेको र साथै दोस्रो शताब्दिको सुरुतिरको मिति रहेको नयाँ नियमका खण्डहरू अस्तित्वमा छन्। अनि थुप्रै-थुप्रै सङ्ख्यामा तिनका प्रतिलिपिहरू अस्तित्वमा हुनु भनेको इतिहासमै अद्वित्तीय कुरा रहेको छ। पाण्डुलिपिहरूको प्रमाण कतिको बलियो छ भन्ने कुराको सवालमा अर्को कुनै प्राचीन पुस्तक नयाँ नियमको तुलनामा अलिकित नजिक पनि आइपुग्दैन।

  1. येशूको अस्तित्वलाई प्रमाणित गर्ने बाइबलबाहेक अन्य त्यस्ता गैर-इसाई स्रोतहरू पहिलेदेखि नै छन्।

निम्न उदाहरणहरू जोश म्याक्डावेलको पुस्तक द न्यू एभिडेन्स द्‍याट डिमान्ड्स ए भर्डिक्ट (The New Evidence That Demands a Verdict) बाटका हुन्:

कोर्नेलियस ट्यासीटस् (Cornelius Tacitus), पहिलो शताब्दिका एक रोमी इतिहासकार:

“जसबाट [ख्रीष्टियमत भनिने] यो नामको सुरुआत भयो, ती ख्रीष्टसले तिबेरियासको शासनकालमा हाम्रा प्रशासकहरूमध्ये एकजना पोन्टियस पिलातसको अधिकारअन्तर्गत सबैभन्दा अधिकतम नापको सजाय भोगे…” (Annals XV, c. 115 AD).

स्वेतोनियस (Suetonius), हेड्रियन सम्राट (AD 117-138) का प्रमुख मन्त्री:

“ख्रेस्टसको सम्बन्धमा यहूदीहरूले बारम्बार दङ्गा मच्च्याइरहेका हुनाले उनले तिनीहरूलाई रोमबाट निष्कासन गरिदिए” (Life of Claudius, 25:4)

ओरोसियस (Orosius):

“लेखक ओरोसियसले यो निष्कासन कार्य क्लाउडियसको शासनकालको नवौं वर्षमा अर्थात् ४९ एडीमा भएको थियो भनेर उल्लेख गर्छन्। यसले यो गवाही दिइरहेको छ कि क्रूसीकरण भएको १५-२० वर्ष नबित्दै रोममा एउटा ख्रीष्टियन समुदाय थियो। प्रेरितको पुस्तकमा यो रोमी प्रमाणको एउटा अचम्मलाग्दो पुष्टिकरण भेटिन्छ। जब पावल एथेन्सबाट कोरिन्थमा आए उनले त्यहाँ “पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडयसले सबै यहूदीहरूलाई, रोमबाट निस्कनू भनी हुकुम गरेका थिए” (प्रेरित १८:२)। (Werner Keller, The Bible as History, pp. 390.391)

जोसीफस (Josephus) (AD 37-100)

जोसीफस रोमी सम्राटहरूको मातहतमा रहेर सेवा गर्ने एक यहूदी अगुवा थिए। उनले यहूदीहरूको बारेमा “यहूदी युद्धहरू” नाम गरेको र साथै “यहूदीहरूको इतिहास” नाम गरेको (Jewish Wars, Antiquities of the Jews) दुईटा इतिहासका पुस्तकहरू लेखे। निम्न खण्डहरूमा उनले येशूको अस्तित्वलाई मानिलिएका छन् साथै बप्तिस्मा दिने यूहन्नाको अस्तित्वलाई र उनको बप्तिस्मालाई र येशूका भाइ याकूब र उनी सहीदको रूपमा मारिएको कुरालाई मानिलिएका छन्।

“…उनले [महापूजाहारी हन्नासले] न्यायकर्ताहरूको सन्हेद्रीनलाई भेला गरे र ख्रीष्ट भनिएका येशूको भाइलाई उनीहरूका सामु ल्याए जसको नाम याकूब थियो अनि अरुलाई पनि, अनि उनीहरूको विरुद्धमा व्यवस्था भङ्ग गर्नेहरू भनी दोष फैसला निर्धारण गरेपछि उनीहरूलाई ढुङ्गाले हानेर मारिनका लागि सुम्पिदिए” (Antiquities, 20:9.1)

“अब कतिपय यहूदीहरूले यो सोचे कि हेरोदको सेनाको विनाश परमेश्वरबाटको थियो, अनि उसले यूहन्नाको विरुद्धमा गरेको कामको सजायस्वरूप त्यो न्यायोचित थियो पनि, ती यूहन्ना जसलाई बप्तिस्मा दिनेवाला भनिएको थियो; किनभने हेरोदले उनला‌ई मारे जो एक असल मानिस थिए जसले यहूदीहरूलाई सद्गुण अभ्यास गर्न, एकअर्काप्रति धार्मिकताको व्यवहार गर्न र परमेश्वरप्रति भक्ति गर्न र उनको बप्तिस्मामा आउनलाई आज्ञा गरे” (Antiquities, 28:5.2).

थालस (Thallus)

थालसले ५२ एडी ताका एउटा इतिहास लेखे जसमा उनले ख्रीष्टको मृत्यु र बौरिउठाइको बेलाको अन्धकार र भूकम्पको बयान गरे।

मारा बार-सेरापियोन (Mara Bar-Serapion)

सिरियाका एक दर्शनशास्त्रीले एडी ७० ताका आफ्‍नो छोरालाई एउटा पत्रमा यसरी लेखे:

“उनीहरूको बुद्धिमानी राजालाई मृत्युदण्ड दिएर यहूदीहरूलाई के फाइदा भयो र? त्यसकै पछि त हो उनीहरूको राज्य नै समाप्त भएको” (FF Bruce, The New Testament Documents: Are They Reliable, p.114).

प्लिनी द यङ्गर (Pliny the Younger)

उनी एक रोमी लेखक र प्रशासक थिए। सम्राट ट्राजन (Trajan) लाई एडी ११२ तिर लेख्दा उनले ख्रीष्टलाई उल्लेख गर्छन् र सुरुका ख्रीष्टियनहरूको उपासना गर्ने तरिकालाई बयान गर्छन्:

“एउटा निश्चित तोकिएको दिनमा उज्यालो खस्नु अघि उनीहरूको भेला हुने आदत थियो, जब उनीहरूले क्रमैसङ्ग एउटा भजन ख्रीष्टलाई गाउँथे, एक ईश्वरलाई, अनि आफूहरूलाई एउटा गम्भीर वाचाले बाँध्थे, कुनै दुष्ट कामहरू नगर्न, कहिल्यै झूटो काम नगर्न, चोरी वा व्यभिचार नगर्न, कहिल्यै झूटो वचन नबोल्न, आफूलाई सुम्पिएको भरोसालाई कहिल्यै धोका नदिन जब कसैले त्यो विषय खुलाउनलाई बल गर्ला; त्यसपछि उनीहरू विसर्जन हुने उनीहरूको आदत थियो र त्यसपछि फेरि खानेकुरा खानलाई जम्मा हुन्थे — तर त्यो साधारण र निर्दोष किसिमको खानेकुरा हुन्थ्यो।”

ताल्मूद (Talmud)

एडी ७० देखि २०० का बीच लेखिएका यहूदी ताल्मूदका लेखोटहरूले येशूलाई उल्लेख गर्छन्। यदि उनीहरूलाई येशूको अस्तित्वकै कुनै पनि शङ्का थियो भने ती यहूदी रब्बीहरूले त पक्कै पनि त्यो नभनी छोड्दैनथे!

“यस्तो सिकाइएको छ: निस्तार चाडको पूर्वसंध्यामा येशूलाई झुण्ड्याइयो … उनको पक्षमा कुनै पनि कुरा नभेटिएकोले उनीहरूले उनलाई निस्तारचाडको पूर्वसंध्यामा झुण्ड्याए” (Babylonian Talmud, Sanhedrin 43a).

सामोसाटाका लुसियन (Lucian of Samosata)

लुसियन दोस्रो शताब्दिका एक ग्रीक लेखक थिए जसले ख्रीष्टियनहरूको उपहास गर्थे।

“तपाईंहरूलाई थाहै छ, ख्रीष्टियनहरूले आजसम्म एकजना मान्छेलाई पूज्छन् — ती प्रसिद्ध व्यक्ति जसले उनीहरूका नयाँ रीतिहरू स्थापना गरे जसलाई फलस्वरूप क्रूसमा टाँगियो … उनीहरू क्रूसमा टाँगिएको सन्तलाई पूज्दछन् अनि उहाँका नियमहरूअनुसार हिँड्छन्।” 

नोर्मन गाइस्लर (Norman Geisler) ले यी गैर-इसाई प्रमाणहरूलाई संक्षेपमा यसरी सूचित गरेका छन्:

“ख्रीष्टको जीवनको सम्बन्धमा जानकारी दिने प्राथमिक स्रोतहरू चाहिँ सुसमाचारका चार पुस्तकहरू हुन्। तरैपनि त्यहाँ उल्लेखनीय गैर-ख्रीष्टिय स्रोतहरू पनि छन् जो यी सुसमाचारीय अभिलेखहरूसित मेल खान्छन् र थप जानकारी दिन्छन्। अधिकांश रूपमा यी स्रोतहरू पहिलो शताब्दिका ग्रीक, रोमन, यहूदी र सामरी स्रोतहरूबाट आउँछन्। संक्षेपमा ती गैर-इसाई स्रोतहरूले निम्न कुराका जानकारी दिन्छन्:

  • येशू नासरतबाटका एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो।
  • उहाँले एक बुद्धिमानी र सद्‍गुणले भरिएको जीवन बिताउनुभयो।
  • उहाँलाई प्यालेस्टाइनमा पोन्तियस पिलातसको प्रशासनले तिबेरियास सिजरको शासनकालमा निस्तारचाडको समयमा यहूदी राजा भनेर क्रूसमा टँगायो।
  • तीन दिनपछि उहाँ  मरेकाहरूबाट बौरनुभएको कुरा उहाँका चेलाहरूद्वारा विश्वास गरिएको थियो।
  • उहाँले असाधरण अद्‍भुत कामहरू गर्नुहुन्थ्यो भनेर शत्रुहरूले स्वीकार गरे र तिनलाई जादुगरीको संज्ञा दिए।
  • उहाँका चेलाहरूको सानो झुण्ड द्रुतगतिले वृद्धि भएर र रोम जति परसम्म पनि फैलियो।
  • उहाँका चेलाहरूले बहूईश्वरवादलाई इन्कार गर्थे, नैतिक जिवन जिउँथे र ख्रीष्टलाई परमेश्वरको रूपमा उपासना गर्थे।

नयाँ नियमका सुसमाचारीय पुस्तकहरूमा ख्रीष्टलाई जसरी दर्शाइएको छ, यो (गैर-इसाई अभिलेखहरूबाटको) तस्वीरले त्यसकै समर्थन गर्दछ” (Geisler, Baker Encyclopedia of Christian Apologetics).

मायामी विश्वविद्यालयका इतिहासका प्राध्यापक एडविन यामाउचीले यो भन्छन् कि अरू कुनै पनि धार्मिक संस्थापक (जोरोआस्तर, बुद्ध, महम्मद) को भन्दा येशूका धेरै र उत्तम ऐतिहासिक अभिलेखहरू छन् (“Jesus Outside the New Testament: What is the Evidence?” Jesus Under Fire, edited by Micahel Wilkins and J.P. Moreland, 1995).

यी सबै प्रमाणहरूलाई इन्कार गरी बस्ने त्यहाँ गिल्ला गर्नेहरू छन्, तर त्यो चाहिँ हठीपनको अन्धोपना हो। मानिसको हृदय यति भ्रष्ट छ र छली छ कि प्रमाणको थुप्रोको पहाडै भएपनि त्यो अविश्वासमा लागिरहन सक्छ। तर अर्कोतिर धेरैजना व्यक्तिहरू छन् जोहरूले बाइबललाई झूटो साबित गर्न र ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्न जमर्को गरेका थिए तर बरु अकाट्य प्रमाणहरूलाई स्वीकार गरे र ख्रीष्टका सामु उहाँलाई प्रभु र मुक्तिदाता मान्दै घुँडा टेके। (हेर्नुहोस्, wayoflife.org “Men Who Were Converted Trying to Disprove the Bible”)

 सारांशमा येशूको ऐतिहासिकताको प्रमाण अन्तर्गत प्रमुख बुँदाहरू

  1. येशूको ऐतिहासिकता सम्बन्धी विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो
  2. येशूको प्रमुख साक्षी नयाँ नियम, गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख हो।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।

येशुको ऐतिहासिक प्रमाण सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. येशूको ऐतिहासिकतालाई हामी किन शङ्का गर्दैनौ भन्ने कुराका तीन कारण के-के हुन्?
  2. येशूको ऐतिहासिक अस्तित्वको सम्बन्धमा सन्देहवादीहरूले शङ्का व्यक्त गर्न थालेको कुन समयदेखि हो?
  3. पहिलो शताब्दिको अन्त्य नहुँदै येशूलाई उल्लेख गर्ने चारजना गैर-इसाई लेखकहरूको नाम बताउनुहोस्।

 

साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

हल्लाउन नसकिने विश्वास

दर्शनका दाबीहरूदेखि होशियार

फूहरूले येशूलाई आमने सामने देखेको दाबी गर्नु पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूका निम्ति असामान्य कुरो होइन। दाबी गरिए अनुसार उहाँ निम्न व्यक्तिहरूद्वारा देखिनुभएको छः विलियम ब्रानहाम, केनेथ हेगिन, पावल कैन, पावल (डेविड) योङ्गि चो, केनेथ कोपल्याण्ड, बेनी हीन, चार्ल्स र फ्रान्सिस हन्टर, टी. एल. र डेजी ओस्बोर्न, मोरीस सेरूल्लो, जेस्सी डुप्लान्टिस् लगायत थुप्रै अरू।

Write Your Own Ticket with God शीर्षक गरेको आफ्नो पुस्तकमा केनेथ हेगिनले यो दाबी गर्दछ कि येशू उसकहाँ देखा पर्नुभयो र उसलाई चार खुड्किलाहरूको प्रकाश दिनुभयो जसद्वारा “जोकोहीले, जहाँसुकै, जुनसुकै कुरा मबाट वा परमेश्वर पिताबाट प्राप्त गर्न सक्छ।”

कोरियाको सोलस्थित विश्वकै सबभन्दा ठूलो मण्डलीको पास्टर डेविड योङ्गी चो (David Yonggi Cho) ले यो दाबी गर्दछ कि प्रचार गर्ने बोलावट उसले येशू ख्रीष्टबाटै व्यक्तिगत रूपमा प्राप्त गर्‍यो जो उसको दाबीअनुसार एक वारुणकर्मी (आगो निभाउने व्यक्ति) का रूपमा उसकहाँ देखा पर्नुभयो (Paul Yonggi Cho,” Dictionary of Pentecostal and Charismatic Movements).

टी. एल. र डेजी ओस्बोर्न (T.L. & Daisy Osborne) ले यो दाबी गर्छन् कि येशू ख्रीष्ट व्यक्तिगत रूपमा उनीहरूकै घरमा उनीहरूको प्रत्येक क्रूसेडको समय पारेर कम्तिमा पनि एक-एक पटक देखा पर्नुभएको थियो (Gospel According to T.L. & Daisy, pp. 19,20).

बेनी हीन (Benny Hinn) ले येशूलाई धेरै पटक देखेको दाबी गर्दछ। ट्रिनिटी ब्रोडकास्टिङ् नेटवर्कको “प्रेज द लोर्ड” कार्यक्रममा मई २, २००० मा हीनले यो दाबी गर्‍यो कि येशू चाँडै मुस्लिम र ख्रीष्टियन सभाहरूमा देखा पर्नुहुनेछ र धेरैले उहाँलाई देख्नेछन्। त्यही कार्यक्रममा रूथ हेफ्लीनले यो भविष्यवाणी गरी कि येशू चाँडै बेनी हीनसित मञ्चमा देखा पर्नुहुनेछ।

रोबर्टस् लेयरडन (Roberts Lairdon) को यो दाबी गरेको छ कि ऊ ११ वर्ष पुग्दासम्म उसले येशूलाई तीन-तीन पटक देखिसकेको थियो। तेस्रो पटक चाहिँ लेयरडनले टेलिभिजनमा “लाभरीन र शर्ली” नाम गरेको अमेरिकी हास्यव्यङ्ग कार्यक्रम हेर्दै गर्दा येशू घरभित्र छिर्नुभयो। छोटो कुराकानीपछि, लेयरडन भन्छ, “उहाँ उठ्नुभयो, ढोकाबाट बाहिर निस्कनुभयो, टेलिभिजन आफै फेरि चालु भयो, र म फेरि “लाभरीन र शर्ली” हेर्नतिर लागें” (Lairdon, I Saw Heaven, Tulsa: Harrison House, 1983, p.26)। लेयरडनको यो दाबी छ कि येशू हास्‍नुहुँदा उहाँले “जीउलाई पछाडिसम्म तन्काएर ठूलो आवाजले हाँस्नुहुन्छ, मानूँ यस्तो लाग्छ कि उहाँ त हाँस्दा हाँस्दै ढल्नुहुनेछ, उहाँ त्यसमा यतिसम्म लीन बन्नुहुन्छ” (Ibid, p.20)।

लेयरडनले सबैभन्दा धेरै हाँस्‍ने येशूलाई देखेको होला तर ओरल रबर्ट्स (Oral Roberts) ले जस्तो अल्गो येशूलाई त कसैले देखेको छैन। सन् १९८० मा रोबर्ट्सले यो दाबी गर्‍यो कि एक ९०० फूट अल्गो येशूले उसलाई यो भन्नुभयो कि उहाँले उसको आर्थिक समस्याहरूलाई हटाउनुहुनेछ र उसको सीटी अफ फेथ नामक मेडिकल सेन्टरलाई जातिजातिहरूको चङ्गाइको निम्ति प्रयोग गर्नुहुनेछ। (सन् १९८९ मा उक्त सेन्टरलाई पैसाको अभावले बन्द गर्न ओरल रोबर्ट्सलाई बाध्यो बनायो।)

बाइबलले के भन्दछ?

उपर्युक्त व्यक्तिहरूमध्ये कसैले पनि येशू ख्रीष्टलाई देखेको म विश्वास गर्दिनँ। बौरिउठ्नुभएको ख्रीष्टलाई देखेको हुनु भनेको प्रेरित हुनुको एउटा योग्यता थियो। पावलले भने, “के म प्रेरित होइनँ? के म स्वतन्त्र छैनँ? के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैनँ?” (१ कोरिन्थी ९:१)।

पावलले १ कोरिन्थी १५:५-७ मा ख्रीष्टलाई उहाँको बौरिउठाइपछि देखेका व्यक्तिहरूको सूची प्रस्तुत गर्दछन् अनि उनले आफूलाई सूचीको अन्तमा राख्छन्। “अनि सबैभन्दा पछि उहाँ मकहाँ पनि देखा पर्नुभयो — मानूँ समय पूरा नभई जन्मेको मान्छेकहाँ पनि देखा पर्नुभयो” (१ कोरिन्थी १५:८)। पावलले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेका समयदेखि कोरिन्थलाई यस पहिलो पत्र लेखेका समय आइपुग्दासम्म लगभग २५ वर्ष बितिसकेको थियो तर पावलले यो भन्दछन् कि ख्रीष्टलाई देख्‍ने अन्तिम व्यक्ति उनी नै थिए। निसन्देह ऊबेलाको समयमा समेत येशू नियमित रूपमा यहाँत्यहाँ देखा पर्ने गरिरहनुभएको थिएन।

९६ एडी ताका पाटमोस टापुमा यूहन्नाले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेका कुरा हामीलाई थाह छ (प्रकाश १) जोचाहिँ लगभग अरू ४० वर्षपछिको कुरा थियो, तर यूहन्ना एक प्रेरित थिए अनि हामी यो विश्वास गर्दछौं कि यो नै अन्तिम पटक थियो जब ख्रीष्ट यस यूगमा मानिसकहाँ देखा पर्नुभयो।

पत्रुसले त्यसबेलाका ख्रीष्टियनहरूलाई लेखे र भने, “उहाँलाई नदेखीकन तिमीहरू प्रेम गर्दछौ; अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै आनन्द मनाउँछौ” (१ पत्रुस १:८)।

प्रभु येशू ख्रीष्टले दृष्टिलाई भन्दा विश्वासलाई तारिफ गर्नुभयो। “येशूले तिनलाई भन्नुभयोः थोमा, तिमीले मलाई देखेका हुनाले तिमीले विश्वास गरेका छौ; उनीहरू धन्य हुन्, जसले देखेका छैनन् तापनि विश्वास गरेका छन्” (यूहन्ना २०:२९)।

साभारः David Cloud, Pentecostal-Charismatic Movement: Its History and Error.

मृतसागरका चर्मपत्रहरू

मृतसागरका चर्मपत्रहरू
(The Dead Sea Scrolls)

मृतसागरका चर्मपत्रहरू सम्बन्धी तथ्यहरू

मृतसागरको उतर-पश्चिमी किनारका गुफाहरूमा

मृतसागरका चर्मपत्रहरू सन् १९४७ देखि १९५६ को अवधिभित्र यरूशलेमको दक्षिण-पश्चिम दिशामा, २१ किलोमीटर दुरीमा रहेको मृतसागरको उतर-पश्चिमी किनारका ११ ओटा गुफाहरूमा भेट्टाइएका थिए। समुद्री सतहभन्दा १३०० फिटमनि अवस्थित ती गुफाका सुक्खा मौसमको कारणले ती चर्मपत्रहरू संरक्षित रहे।

चर्मपत्रहरूमध्ये पाँच भागको चार भाग जति हिब्रूमा लेखिएका थिए र २५% जति चाहिँ बाइबलका पुस्तकहरू थिए। त्यहाँ उत्पत्तिको १५ प्रति, प्रस्थानको १७ प्रति, लेवीको १३ प्रति, गन्तीको ८ प्रति, व्यवस्थाको २९ प्रति, यहोशूको २ प्रति, न्यायकर्ताको ३ प्रति, यशैयाको २१ प्रति, यर्मियाको ६ प्रति, इजिकिएलको ६ प्रति, भजनसङ्ग्रहको ३६ प्रति, हितोपदेशको २ प्रति र रूथको ४ प्रति छन्।

१९९० को दशकको सुरुतिर गरिएका आधुनिक परीक्षणहरूद्वारा ती बाइबलीय चर्मपत्रहरू ख्रीष्टको समयभन्दा दुई शताब्दी पुरानो भएको भेटिए (George Bonani, “Carbon-14 Tests Substantiate Scroll Dates,” Biblical Archaelogy Review, November/December 1991, p.72).

मृतसागरका चर्मपत्रहरूमध्ये सबभन्दा महत्त्वपूर्ण र पूरा पुरानो नियमको पुस्तकचाहिँ यशैयाको महान् चर्मपत्र (Great Isaiah Scroll) हो जसमा यशैयाका जम्मै ६६ पुस्तकहरू छन्। पहिलो गुफामा भेटिएको यो चर्मपत्र भेडाको छालाको १७ टुक्राहरूमा लेखिएको छ र तिनलाई सिलाएर २४ फिट लामो बेरुवा चर्मपत्र बनेको छ। यो कम्तिमा चार पटक कार्बन-१४ विधिले परीक्षण गरिएको छ र नतीजा अनुसार यो ३३५ देखि १०७ इसा पूर्व पुरानो सामग्री रहेको पाइएको छ। अन्य तरिकाको जाँच (जस्तै, सिक्का र अन्य मानव निर्मित सामग्री, लेखन सामग्री र शैली) ले यसलाई १५०-१०० इसा पूर्व मितिको भएको ठानिएको छ। तसर्थ यो ख्रीष्टभन्दा कम्तिमा एक शताब्दि अगाडि लेखिएको थियो।

यशैयाको महान् चर्मपत्र

ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरूको महत्त्व
(अपोलोजेटिक्स् = विश्वासको प्रतिवाद)

  1. यी चर्मपत्रहरूले पुरानो नियमको ३९ ओटा पुस्तक रहेको पारम्पारिक क्यानोनलाई पुष्टि गर्दछन्।
    एस्तरबाहेक पुरानो नियमको प्रत्येक पुस्तकका अंशहरू त्यहाँ छन् जसले गर्दा पवित्रशास्त्रको मानिँदै आएको क्यानोनलाई समर्थन गर्दछ।
  2. यी चर्मपत्रहरूले बाइबलका भविष्यवाणीहरू पहिले नै लेखिएका थिए भन्ने कुराको प्रमाण दिन्छन्।
    मृतसागरका चर्मपत्रहरूले यो प्रमाणित गर्दछन् कि पुरानो नियममा भएका मसीही भविष्यवाणीहरू येशूको जन्म हुनुभन्दा अगाडि नै लेखिएका थिए। फलस्वरूप यसबाट यो प्रमाणित हुन्छ कि ती भविष्यवाणीहरू परमेश्वरबाटै आएका थिए!
  3. यी चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू बाइबललाई प्रमाणिकृत गर्दछन्।
    मृतसागरका चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू लेखोट (Massoretic Hebrew text) लाई प्रमाणिकृत गर्ने बलियो गवाही प्रदान गर्दछ जुन हिब्रू लेखोटबाट नै रेफर्मेशनका महान् बाइबलहरू अनूदित भए जस्तै, जर्मनमा लूथर बाइबल, अङ्ग्रेजीमा किङ्ग् जेम्स बाइबल र स्पेनिशमा रिएना भालेरा बाइबल।म्यासोरेटिक हिब्रू लेखोट १५ औं शताब्दिमा छापाखाना (वियोज्य टाइप, movable type) को आविष्कार हुनुभन्दा अगाडिका हिब्रू शास्त्रीहरूको अतिसावधान परिश्रमद्वारा संरक्षित रहँदै आएको थियो। (प्रथम छापिएको हिब्रू बाइबल १४८८ मा छापिएको थियो)।“मासोरेत” भन्ने शब्दले बाइबलको विश्वासयोग्य प्रसारण (प्रेषण) लाई जनाउँछ। म्यासोरेटिक शास्त्रीहरूले हस्तलेखहरूका एक-एक शब्दको गन्ती गर्थे अनि गल्ती भेटिएको खण्डमा सम्बन्धित खण्डलाई नष्ट गरिनुपर्थ्यो। मृतसागरमा भेटिएका ६०-६५ प्रतिशत बाइबल चर्मपत्रहरू म्यासोरेटिक शास्त्रीहरूले प्रतिलिपि बनाउने लेखोट नै रहेका छन्। यो अचम्मको कुरा हो किनभने म्यासोरेटिक लेखोटको सबभन्दा पुरानो कोडेक्स (सङ्ग्रह) (जस्तै आलेप्पो) र मृतसागरका चर्मपत्रहरूका बीच १००० वर्ष भन्दा बढी समयको अन्तर छ। जस्तै, यशैयाको महान् चर्मपत्र १००-१५० इसा पूर्व मितिको हो भने आलेप्पो कोडेक्स ९२० एडी मितिको  हो।मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक लेखोटका बीच रहेका भिन्नताहरू ज्यादै न्यून छन्, धैरै हिसाबमा हिज्जे वा व्याकरणसित सम्बन्धित रहेको वा एक शब्द छुटेको वा थपिएको वा हिब्रू अक्षर अदलबदल भएको भेटिन्छ। जस्तै, गुफा #१ मा भेटिएका दुईटा यशैयाका चर्मपत्रहरूमध्ये एउटामा यशैया ६:३ बाट एउटा “पवित्र” छुटेको छ, जोचाहिँ शास्त्रीले प्रतिलिपि बनाउँदा छुटपुट हुन गएको भनेर स्पष्टै जान्न सकिन्छ।
  4. यशैयाको महान् चर्मपत्रको यशैया ५३ लाई आलेप्पो कोडेक्ससित तुलना गर्दा, त्यहाँ केवल तीनओटा अक्षर मात्र खास फरक छन्। डा० अर्न्सट वर्थवाइनले यशैयाको महान् चर्मपत्र र म्यासोरेटिक लेखोटका बीचको सहमतिलाई “असाधारण” (striking) को संज्ञा दिन्छन् अनि आडोल्फो रोइटमानले यसलाई “असामान्य ढङ्गले बराबर” (extraordinarily close) भनेर बयान गर्छन् (Wutherwein, The Text of the Old Testament, 1979, p. 144; Roitman, The Bible in the Shrine of the Book, 2006, p.43).

दि श्राइन् अफ दि बुक
(The Shrine of the Book)

रोमी ३:१-२ मा परमेश्वरले पवित्रशास्त्रको रखवाली गर्ने जिम्मेवारी यहूदीहरूल‍ाई सुम्पिनुभयो भन्ने पावलको अभिव्यक्तिको प्रकाशमा हेर्दा, म्यासोरेटिक हिब्रू बाइबलको आधिकारिकताको सबैभन्दा महान् दुई ऐतिहासिक गवाहीहरू इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुकमा संरक्षित रहेको तथ्य उल्लेखनीय छ। उनीहरू नै मृतसागरका गुफाहरूमा भेटिएको यशैयाको महान् चर्मपत्रका र साथै आलेप्पो कोडेक्सका संरक्षकहरू हुन् जुन आलेप्पो कोडेक्स सबैभन्दा पुरानो पूर्णरूपमा रहेको म्यासोरेटिक पुरानो नियम हो।

इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुक

आलेप्पो कोडेक्स (हिब्रूमा “हाक्काटेर” अर्थात् मुकुट भनेर चिनिन्छ) १० औं शताब्दि एडीमा तिबेरियासमा बनाइएको थियो जुन ठाउँ यरूशलेम ध्वस्त भएपछि यहूदी विद्वताको केन्द्र बन्यो। यो ठाउँ ताल्मूदको रचना-केन्द्र पनि थियो जुनचाहिँ यहूदी परम्पराहरूको सङ्ग्रह हो जुन परम्पराहरूलाई (अभ्यासमा) पवित्रशास्त्रकै बराबर अधिकारको स्थानमा उच्च पारियो जुन कुरालाई येशूले मत्ति १५ र २३ मा दोषी ठहराउनुभयो। आलेप्पोको हस्तलेख म्यासोरेटिक लेखोट हो। यसलाई सारेर उतार्ने श्लोमो बेन बोयाआ थिए अनि त्यसमाथि स्वरवर्णका चिन्हहरू थपिदिने काम प्रख्यात निपुण शास्त्री हारून बेन आशेर थिए। (म्यासोरेटिक लेखोटलाई बेन आशेर लेखोट पनि भनिन्छ)। झण्डै १००० वर्षसम्म यो नै “पुस्तकहरू सच्च्याउन प्रयोग गरिने मानदण्ड लेखोट थियो” जुन अवधिभित्र “शास्त्रीहरूका पुस्ता-पुस्ताले यससित दाँज्ने उद्देश्यले यात्रा गरे” (रोइटमान, p. 62)। यो १०९९ देखि १३७५ सम्म मिश्रदेशमा काइरोको सभाघरमा रहेको थियो र त्यसपछि सिरियाको आलेप्पोको सभाघरमा सारियो जहाँ यो दुई‍टा ताल्चाले बन्द गरिएको धातुले बनेको एउटा बाकसमा राखियो, “एलियाको गुफाभित्र” (उनीहरूको परम्पराअनुसार अगमवक्ता एलिया त्यहाँ निर्वासन गरिएका थिए)। त्यसका चाबीहरू दुई प्रमुख मानिसहरूको अधिकारमा हुन्थ्यो र त्यसलाई खोल्नुपर्दा सभाघरका अगुवाहरूको अधिकारले ती दुवैजनाको उपस्थितिमा मात्र खोल्न मिल्थ्यो। डिसेम्बर २, १९४७ मा संयुक्त राष्ट्र संघले एउटा यहूदी राष्ट्र स्थापना गर्नलाई समर्थन जनाएपछि अरब मुलुकहरूभरि हुलदङ्गा मच्चियो र हुलदङ्गा गर्दै आएका मुसलमानहरूद्वारा आलेप्पो सभाघर नाश गरियो। हुलदङ्गीहरूले त्यो फलामको बाकसलाई फुटाए र कोडेक्सको पन्नाहरूबाट च्यातिदिए र भुइँमा फ्याँकिदिए। पञ्चग्रन्थको अधिकांश भाग हरायो साथै अरू खण्डहरू पनि। कसैले उक्त क्षतिग्रस्त कोडेक्सलाई बचाए र केही वर्षसम्म लुकाएर राखे। १९५८ मा आलेप्पो कोडेक्सलाई एउटा वाशिङ् मिशिनभित्र लुकाएर टर्कीमा तस्करी गरियो अनि त्यहाँबाट त्यसलाई यरूशलेममा ल्याइयो (रोइटमान, p. 65)। छ वर्ष लगाएर धेरै मेहनतसित इस्राएल म्यूजियमले यसको पुनर्निर्माण गर्‍यो र आज यो श्राइन् अफ दि बुकमा प्रदर्शनीमा राखिएको छ।

आलेप्पो कोडेक्स

आलेप्पो कोडेक्स श्राइन् अफ दि बुकमा प्रदर्शनीमा

पुनरावलोकन प्रश्नहरू

  1. मृतसागरका चर्मपत्रहरू कहिले भेट्टाइए?
  2. मृतसागरका चर्मपत्रहरू कहाँ भेट्टाइए?
  3. अधिकांश चर्मपत्रहरू कुन भाषामा लेखिएका थिए?
  4. चर्मपत्रहरूमध्ये कति प्रतिशतचाहिँ बाइबलका पुस्तकहरू रहेका छन्?
  5. मृतसागरका चर्मपत्रहरूका बाइबलीय पुस्तकहरू कुन मितिका रहेका छन्?
  6. मृतसागरका चर्मपत्रहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पुस्तक कुन रहेको छ?
  7. उक्त चर्मपत्रको लम्बाइ कति छ?
  8. ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरू कुन तीनओटा
    हिसाबमा महत्त्वपूर्ण रहेका छन्?
  9. त्यसमा पुरानो नियमका कतिओटा पुस्तकहरूका खण्डहरू रहेका छन्?
  1. मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक हिब्रू लेखोटका बीच कति वर्षको
    अन्तर रहेको छ?
  2. महान् यशैया चर्मपत्रको यशैया ५३ र आलेप्पो कोडेक्सका बीच
    कतिओटा अक्षरको अन्तर रहेको छ?
  3. रोमी ३:१-२ मा पावलले यहूदीहरूलाई रहेको लाभको सम्बन्धमा के
    भनेका थिए?
  4. आलेप्पो कोडेक्स कुन शताब्दिमा बनाइयो?
  5. आलेप्पो कोडेक्स कुन शहरमा बनाइयो?
  6. उक्त कोडेक्सलाई किन “आलेप्पो” भनियो?
  7. हारून बेन आशेर को थिए?
  8. आलेप्पो कोडेक्सको हिब्रू नाम के रहेको छ र त्यसक माने के हो?
  9. आलेप्पो कोडेक्स आज कहाँ राखिएको छ?
 
साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

हल्लाउन नसकिने विश्वास

रङ्गभूमिमा

मानिसहरूले आज मनोरञ्‍जनको निम्ति धेरै कुराहरू गर्छन्। फुटबल, क्रिकेट र अन्य खेलकुदहरू हेर्न भीडका भीड मानिसहरू जान्छन्। केही मानिसहरू प्रत्यक्ष गायन कार्यक्रमहरूमा वा फिल्म हलहरूमा जान्छन्। केही मानिसहरू आफ्नै घरमा बसेर टिभी हेर्दै आफ्नै वैठक कोठाहरूलाई “घरेलु मनोरञ्‍जन” को स्थान बनाउँदै रमाइलो गर्छन्। थुप्रै मानिसहरूमा रमाइलो गर्ने, मनोरञ्‍जन गर्ने, भरपूर आनन्द लिने र मोजमज्जा गर्ने विषयमा कहिल्यै नअघाउने भोक हुन्छ। यस्तो भोक जुन कहिल्यै तृप्त हुँदैन तर बरू अझ धेरैको चाहना हुँदछ।

रमाइलो गर्नु वा मनोरञ्‍जन गर्नु आफैंमा पापपूर्ण होइन। डाँडामाथि चढेर सुर्योदय हेर्नु वा नदीको किनारमा घुम्न गएर सुर्यास्त हेर्दै रमाइलो गर्नुमा केही नराम्रो छैन। समस्या तब आउँछ जब हामी मोजमज्जालाई हाम्रो जीवनको ठूलो हिस्सा बन्न दिन्छौं र तीद्वारा वास्तविक महत्त्वपूर्ण कुराहरूलाई ओझेलमा पार्न दिन्छौं। यो समस्या २ तिमोथी ३:४ मा उल्लेखित छ, “(अन्तिम दिनहरूमा) परमेश्वरलाई भन्दा बरू ________________________ प्रेम गर्ने” हुनेछन्। उनीहरूले आफ्नो समय र शक्ति थोरै समयको मोजमज्जाको पछि लाग्नमा खर्च गर्नेछन् (हिब्रू ११:२५) र सदा-सर्वदा रहिरहने सुख-चैनहरूलाई पूर्ण रूपमा बेवास्ता गर्नेछन् (भजनसङ्ग्रह १६:११)।

प्राचीन समयका रोमीहरू मोजमज्जालाई प्रेम गर्ने र मोजमज्जाको पछि लाग्ने मानिसहरू थिए। उनीहरूको बीचमा मनोरञ्‍जन गर्न र रमाइलो गर्नको निम्ति जाने ठाउँहरू थियो। कलाकारहरूले नाटक खेलेको हेर्न थुप्रै मानिसहरू रङ्गमञ्‍चमा जाने गर्थे। त्यस्ता ठाउँहरूमा प्राय: जसो सांसारिक सङ्गितहरू बजाइन्थ्यो र कामुक नृत्यहरू देखाइन्थ्यो (यौन उत्तेजना बढाउने हेतुले स्त्रीहरू नाच्थे)। घोँडा र रथहरूको दौड प्रतियोगिता, जङ्गली पशुको शिकार र अन्य होडबाजीमुलक खेलहरू आयोजना हुने कार्यक्रमहरू (अर्थात्, सर्कस) हेर्न थुप्रै मानिसहरू जाने गर्थे। तर रोमीहरूका निम्ति ती सबैलाई पनि माथ गर्ने प्रख्यात मनोरञ्‍जनको केन्द्र थियो ग्ल्याडिएटर प्रतियोगिता (हतियारहरू लिएर एक-अर्कासँग लड्ने मल्ल योद्धाहरूको प्रतियोगिता)।

ग्ल्याडिएटरहरू

ग्ल्याडिएटर भनेको यस्तो व्यक्ति हो जसले सर्वसाधारणहरूको मनोरञ्‍जनको निम्ति मृत्युसम्म पनि कुस्ती लड्नुपर्थ्यो। यो शब्द ग्ल्याडियस भनिने लाटिन शब्दबाट आएको शब्द हो जसको अर्थ हुन्छ “तरवार”। थुप्रै ग्ल्याडिएटरहरूले आफ्नो सुरक्षाको मूल हतियारको रूपमा तरवार प्रयोग गर्दथे। ती मानिसहरू अर्को व्यक्तिलाई मार्नकै निम्ति कुस्ती लड्थे। आफ्नो प्रतिद्वन्दीलाई आफूले मार्न नसके उसले आफूलाई नै मार्नेछ भनी उनीहरूलाई थाह हुन्थ्यो। आज व्यवसायिक कुस्तीवाजले हार व्यहोरे पनि लाखौं रुपैंया कमाएर फर्किन सक्छ। कति पटक कुस्तीमा हारे पनि त्यसरी ऊ विजेता झैं हुन सक्छ। तर ग्ल्याडिएटरहरूको सवालमा भने त्यस्तो हुँदैनथ्यो। आफूहरूले जसरी पनि जित्नै पर्छ भनी उनीहरूलाई थाह हुन्थ्यो। उनीहरूको निम्ति हार्नु भनेको मृत्यु हुन्थ्यो! ग्ल्याडिएटरहरूको युद्ध जीवन लामो हुँदैनथ्यो। रोमी मानिसहरू रक्तपात र मृत्यु हेर्न आउँथे र उनीहरूलाई त्यही नै देखाइन्थ्यो।रक्तपात र हत्या हेर्न रुचाउने मानिसहरूको बारेमा तपाईंलाई कस्तो लाग्छ? आफैंजस्तो अर्को मानिसलाई आक्रमण गरिएको, उसलाई जितिएको र उसको हत्या गरिएको हेर्न उत्सुक हुने र रोमांचक महसुस गर्ने मानिसहरूको बारेमा तपाईं के सोच्नुहुन्छ? मानिसको दुष्ट र छली हृदयको बारेमा यसले हामीलाई के सिकाउँछ (तुलना गर्नुहोस् रोमी ३:१५-१७)? के आधुनिक नेपालीहरूले अन्य मानिसहरू काटिएको र हत्या गरिएको हेरेर मनोरञ्‍जन लिन्छन् होला? (यस प्रश्नको बारेमा थप कुराहरू हामी पछि मनन गर्नेछौं)। 

रोमी एम्फीथिएटर

एम्फीथिएटर भनेको अण्डाकार वा गोलाकार रङ्गशाला हो जहाँ बीचको खुला जमीनको वरिपरि खुड्किला-खुड्किला गरी मिलाएर बनाइएका बस्ने ठाउँहरू हुन्थे। प्राचीन एम्फीथिएटरहरू धेरै हिसाबमा आधुनिक फुटबल रङ्गशालाहरू जस्तै थिए। एम्फी शब्दको अर्थ हो “दुवै तर्फ”। रङ्गमञ्‍चमा प्राय: जसो दर्शकहरू एकातिर बस्ने गर्छन्। एम्फीथिएटरमाचाहिँ दर्शकहरू दुवै तर्फ (वा वरिपरि) बस्छन्। 

रङ्गभूमि भनेको एम्फीथिएटरको एउटा खुल्ला अखाड़ा थियो जहाँ ग्ल्याडिएटरहरूलाई युद्धहरू गराइन्थ्यो। रोमी जगतको सबै भन्दा प्रख्यात एम्फीथिएटर रोम अवस्थित कलस्सीयम थियो (यो अति अचम्मको संरचना थियो जसको भग्नावशेषहरू आज पनि देख्न सकिन्छ)। यो संरचनाको उद्‍घाटन ई.सं. ८० मा गरिएको थियो र यसमा ४५,००० दर्शकहरू अटाउँथे। यसलाई प्राय: जसो ग्ल्याडिएटर कुस्तीहरूको निम्ति प्रयोग गरिन्थ्यो तर यसभित्र पानी जमाएर समुद्री जहाजहरूको युद्ध अभ्यास पनि गर्न सकिन्थ्यो!

रोम अवस्थित उक्त कलस्सीयम एकमात्र एम्फीथिएटर भने थिएन। ब्रिटेनदेखि लिएर सिरियासम्म रोमी सम्राज्यको हरेक प्रमुख शहरहरूमा एम्फीथिएटरहरू थिए। एउटै अपवाद भनेको ग्रीसका शहरहरू थिए किनभने यस्ता निर्मम र क्रूर प्रतियोगिताहरू ग्रीक मानिसहरूको बीचमा कहिल्यै पनि सर्व-स्वीकार्योग्य भएनन्। तर इटाली, गउल, उत्तर अफ्रीका र स्पेनमा एम्फीथिएटरहरू निकै प्रख्यात थिए र हरेक ठूलो शहरमा ती भेट्टाइन्थे।

कोही स्वयंसेवक हुनुहुन्छ की?

हरेक वर्ष रोमी एम्फीथिएटरहरूमा लाखौंको संख्यामा मानिसहरू मर्थे। रोमीहरूले यी सबै ग्ल्याडिएटरहरूलाई कहाँ भेट्टाउँथे? कुनै पनि मानिसले यस्तो जागिर वा पेशाको निम्ति उत्कट चाहना गर्दै आवेदन त अवश्य पनि दिँदैनन्!

ग्ल्याडिएटरहरू कहाँबाट आउँथे? यसको पाँच ओटा जवाफहरू छन्:

१. युद्धमा बन्धक बनाइएकाहरू अकसर त्यस अखाडामा फ्याँकिन्थे। युद्धभूमिमा रोमीहरू विजयी भएको खण्डमा सिपाहीहरूले युद्धबाट कैदीहरूलाई लिएर आउँथे र ती कैदीहरू भीडको मनोरञ्‍जनको निम्ति ग्ल्याडिएटरहरूको रूपमा कुस्ती लड्थे। संसारको विभिन्न भागहरूबाट ल्याइएका विभिन्न मानिसहरू विभिन्न हतियारहरू (विभिन्न किसिमका तरवारहरू र कवचहरू इत्यादी) प्रयोग गरेर विभिन्न शैलीहरूमा कुस्ती लड्थे, र प्रतियोगिताहरूमा यसले विविधता ल्याउँथ्यो।

२. दासहरूलाई पनि अकसर ग्ल्याडिएटरहरूको रूपमा प्रयोग गरिन्थ्यो। रोमी सम्राज्यमा लगभग आधा जनसङ्ख्या बराबर दासहरू थिए। रोमी जगतमा दासहरूलाई मानिसहरूका रूपमा होइन तर सम्पत्तिको रूपमा हेर्ने गरिन्थ्यो। यी मानिसहरूलाई केवल एउटा सम्पत्तिको रूपमा मात्र हेरिएको हुनाले, मालिकहरूले दासहरू प्रति आफूलाई जस्तो मर्जी लाग्यो त्यस्तै गर्दथे। अखाडामा उनीहरूलाई एक-अर्कासँग कुस्ती लडाउन के गलत भयो र? मालिकहरूले दासहरूलाई अकसर ग्ल्याडिएटर हुनलाई बेचिदिन्थे। त्यो मुनाफामुलक व्यापार थियो।

३. अपराधीहरूलाई अकसर त्यस रक्ताम्मे अखाडामा पठाइन्थ्यो। त्यो भनेको उनीहरूलाई मृत्युदण्ड दिइए बराबर थियो किनभने ढिलो-चाँडो उनीहरूमध्ये थुप्रैजना मर्ने नै थिए।

४. सतावटमा परेका मानिसहरूलाई तरवार वा आगोका ज्वाला वा जङ्गली जनावरको दाँतहरूको सामना गर्न भनेर बलजफती अखाडामा लगिन्थ्यो। ख्रीष्टिय विश्वासीहरू र यहूदीहरूको सवालमा यही सत्य थियो। यसरी धेरै निर्दोष मानिसहरू मारिए। धेरै ख्रीष्टिय शहिदहरूले एम्फीथिएटरमा आफ्नो प्राण अर्पण गरेका छन्।

५. कोही-कोहीले स्वेच्छापूर्वक ग्ल्याडिएटरको रूपमा कुस्ती लड्थे! केही जवान मानिसहरूले आफ्नै रोजाइमा निश्चित समयको निम्ति ग्ल्याडिएटर हुन अघि बढ्थे र यसको निम्ति उनीहरूलाई ठूलो रकम तिरिन्थ्यो (यदि मारिएनन् भने)। ती पुरुषहरूले जीवित रहनको निम्ति उनीहरूको आफ्नै शक्तिबल (उनीहरूको साहस, सामर्थ्य र दक्षता) मा भर पर्थे। तसर्थ, उनीहरू “व्यवसायिक कुस्तीवाज” बन्थे र त्यसैबाट आफ्नो पेशा चलाउँथे। निश्चय पनि, हार्न बित्तिकै उनीहरूको पेशा सिद्धिन्थ्यो।

आज सेनामा वा प्रहरीमा भर्ना लिने उद्देश्यले भर्ना-केन्द्रहरू निर्धारण गरिएको हुन्छ। रोमीहरूको पनि ग्ल्याडिएटर भर्ना केन्द्रहरू थिए होला। के यस्तो जागिर खान तपाईंले निवेदन दिनुहुनेथियो? तलब राम्रै भए तापनि काम गर्ने सर्तहरू आफ्नो चाहना अनुसार हुने थिएन र पेन्सन योजना पनि यस संसारभन्दा बाहिरै हुने थियो (सायद स्वर्ग वा नरक)।

ग्ल्याडिएटर युद्धको भयावह इतिहास

दासहरूलाई उनीहरूको ज्यान बचाउनुपर्ने किसिमको कुस्ती लडाउनु एट्रुस्कान खेलकुद (Etruscan sport) थियो। (एट्रुरीया मध्य इटालीको एक प्राचीन देश थियो)। रोमीहरूले यो भयावह खेलकुदलाई तेस्रो शताब्दितामा पुन: सुचारू गरे। ऐतिहासिक रूपमा पहिलो पटक उल्लेख गरिएको ग्ल्याडिएटर कुस्ती २६४ ई. पू. मा रोमको एउटा मञ्‍चमा यो खेलाइएको थियो। यसमा केवल तीन जोडी ग्ल्याडिएटरहरू सहभागी भएका थिए। 

१७४ ई. पू. मा तीतस फ्लामीनिनसको आयोजनामा ७४ जना ग्ल्याडिएटरहरूले तीन दिने कुस्ती लडेका थिए। धेरै समय नबित्दै सयौं संख्यामा ग्ल्याडिएटरहरू यस्तो कुस्ती लड्न थाले। भीडहरूले केवल थोरै मानिसहरू मात्र एक-अर्कासँग लडिरहेको हेर्नमा सन्तुष्ट भएनन्। उनीहरू पूरै रङ्गभूमि मानिसहरूले भरिएको हेर्न चाहन्थे र को-को बाँच्छन् भनी अनुमान गर्न रुचाउँथे। उनीहरूले वास्तवमा आफ्नै युद्ध (लडाईं) को ढाँचा बनाइरहेका थिए र त्यहाँ बसेर ती लडाईंहरू हेर्थे। भौतिक युद्ध आफैंमा नै खराब हुन्छ। किन मानिसहरू युद्धलाई खेलकुदको रूपमा ढाल्छन्? किन मानिसहरू हिंसा हेरेर मनोरञ्‍जन गर्न रूचाउँछन्?

ई. पू. १०० ताका जुलियस सिजरले ३०० भन्दा बढी ग्ल्याडिएटर जोडीहरूको लडाईं प्रदर्शन गरे। सम्राट तीतसले १०० दिनसम्म चल्ने प्रदर्शनको आदेश दिएका थिए। ९० एडीमा सम्राट डोमिटियनले पुड्काहरू र महिलाहरूको बीचमा लडाईं गराएर उक्त खेललाई अझ अमर्यादित तुल्याए। सम्राट ट्राजनले ५,००० जोडा ग्ल्याडिएटरहरू सहभागी गराएर एउटा निकै ठूलो प्रदर्शनको आयोजना गरे।

एउटा रोमी सम्राट त आफैं सहभागी पनि भएका थिए। सम्राट कम्मूडस (दोस्रो शताब्दिको अन्त्यतिर) हर्क्यूलिसको पात्र निर्वाह गर्दै डण्डा र सिंहको छालासहित मञ्‍चमा कम्तीमा पनि ७३५ पटक उत्रिएका थिए, र तिनी (आफूलाई चोट नलागोस् भन्ने निश्चित हुन) एउटा सुरक्षित स्थानबाट युद्ध लड्दथे र त्यसरी तिनले असङ्ख्य पशु र मानिसहरूलाई मारे।

जङ्गली पशुहरूको पनि अकसर संहार गरिन्थ्यो। भीडहरूले मानिसहरू मारिएका हेर्न रूचाउँथे र पशुहरू मारिएका हेर्न रुचाउँथे। उनीहरू रगत बगिरहेको हेर्न रूचाउँथे, चाहे त्यो मानिसहरूबाट होस् वा चाहे पशुहरूबाट। उदाहरणको रूपमा भनौं, उनीहरू हात्तीलाई निर्ममता पूर्वक मारेको हेर्न रूचाउँथे।

फ्लाभियन एम्फीथिएटर (रङ्गशाला) को उद्‍घाटनमा, एकै दिनमा पाँच देखि नौ हजार जङ्गली पशुहरू (विभिन्न विवरणहरू अनुसार) मारिएका थिए। प्रोबसको नेतृत्वमा (२८१ एडी) एकै दिनमा करिब एक सय भाले सिंहहरू, एक सय पोथी सिंहहरू, २०० चितुवाहरू, ३०० भालुहरू र १००० जङ्गली बँदेलहरूको संहार गरिएको थियो। के यस्तो कार्यक्रम हेर्न तपाईंले रकम तिर्नुहुने थियो? के यस्तो कुरा तपाईंलाई मनोरञ्‍जनात्मक वा रमाइलो लाग्थ्यो?

रोमी सर्वसाधारणहरू यस्तो रक्ताम्मे खेलहरू रूचाउँथे। मानिसहरूको माझमा ती निकै प्रख्यात थिए। निकै कम रोमी शासकहरूले मात्र यसको विरोधमा आवाज उठाएका थिए।

ग्ल्याडिएटर प्रतियोगिताहरूको अन्त्य

धन्न यी खेलहरू ६०० वर्षसम्म मात्र चल्यो। कन्स्टान्टीनले धरी (जसको बारेमा हामी आगामी पाठहरूमा सिक्नेछौं) करिब ३१३ ए.डी. को अन्त्यतिर मानिसहरूको मनोरञ्‍जनका निम्ति युद्धमा पराजित भएका ठूलो सङ्ख्याका बार्बेरियनहरूलाई जङ्गली पशुहरूकहाँ सुम्पिदिएका थिए। तर पछि, ३२५ ए.डी. मा कन्स्टान्टीनले यस्तो रक्ताम्मे तमाशाहरूको पहिलो निषेधाज्ञा जारी गरेका थिए।

किन यस प्रकारका रक्ताम्मे प्रतियोगिताहरू विलय भएर बन्द भए? येशू ख्रीष्टको मण्डली नै ग्ल्याडिएटर खेलहरू अन्त हुनुको पछाडी पहिलो कारण थियो। विश्वासीहरूको प्रभावको कारणले र यस्ता प्रतियोगिताहरूको विपरति उनीहरूको कडा विरोधको कारणले, ग्ल्याडिएटर प्रतियोगिताहरू संसारबाट विलय भएर गए। यसको वर्तमान अपवाद भनेको स्पेन र दक्षीण अमेरिकी राष्ट्रहरू हुन् जहाँ आज पनि पशुहरूको संहार गरेर मानिसहरूको मनोरञ्‍जन गराइन्छ। जसलाई बुलफाइट (गोरू जुधाई) भनिन्छ।

ग्ल्याडिएटरको जीवन

धेरै ग्ल्याडिएटरहरूलाई पाठशालाहरूमा तालिम दिइन्थ्यो र जो यस काममा सफल हुन्थे, उनीहरूले केही रकम पनि कमाउँथे। ग्ल्याडिएटरहरूको मालिकहरूले र एम्फीथिएटर (वा रङ्गभूमि) चलाउने मानिसहरूले निकै मोटो फाइदा कमाउँथे! यो निकै फाइदाजनक व्यापार थियो। के आजको खेलहरू पनि यस्तै फाइदा मुलक हुन्छन्?

ग्ल्याडिएटरहरूको जीवन सजिलो जीवन थिएन। ती बाँच्ने अल्पसङ्ख्यामा पर्न सकिएन भने छिट्टै मृत्युको मुखमा हुने निश्‍चित छ भनी ती मानिसहरू जान्दथे। उनीहरूले आत्महत्या गर्ने पनि कोसिस गर्दथे। सफल हुनेहरूचाहिँ निकै प्रख्यात पनि हुन्थे। सफल ग्ल्याडिएटरहरूले आजका कुस्तीवाज वा खेलाडीहरूले कमाएको भन्दा पनि बढी नाम कमाउँथे भनेर भन्ने गरिन्छ। उनीहरूको निकै ठूलो ख्याती थियो।

प्रतियोगिताहरूकै बारेमा विचार गरौं

 प्रतियोगिताहरूको बारेमा केही दिन अगावै जानकारी गराइन्थ्यो। उक्त सुचना घरहरू र सार्वजनिक भवनहरूको भित्ताहरूमा टाँसिन्थ्यो। त्योचाहिँ विज्ञापन अभियान थियो। सबैले योद्धाहरूलाई राम्ररी हेर्न सकून् भनेर प्रतियोगिताको उत्सवलाई समारोहपूर्ण जुलुसद्वारा सुरू गरिन्थ्यो। त्यसपछि त्यहाँ बनावटी कुस्ती हुन्थ्यो (देखावटी कुस्ती)। सायद योद्धाहरूलाई तताउनको निम्ति!

वास्तविक युद्धको सन्देश तुरहीहरू फुकेर घोषणा गरिन्थ्यो। युद्ध गर्न इन्कार गर्ने ग्ल्याडिएटरहरूलाई उनीहरूले जे सुकै बहाना बनाए पनि कोर्राहरू र तातो फलामहरूले लगाउँदै हिँडाइन्थ्यो। घाइते मानिसले आफ्नो चोर-औंला उठाएर दयाको निम्ति विन्ती गर्थ्यो। कि त दर्शकहरूले आफ्ना रूमालहरू हल्लाएर दयाको चिन्ह प्रदर्शन गर्थे वा मुठ्ठी कसेर बुढी औंला तलतिर फर्काएर मृत्युको निम्ति दोषी घोषणा गर्दथे। शरीरमा काटिएकाहरू र मरणाशील अवस्थामा पुगेकाहरूलाई घिसारेर एउटा निश्‍चित ठाउँ (स्पोलिआरियम) मा लगिन्थ्यो जहाँ उनीहरूको हात-हतियारहरू खोसिन्थ्यो, र नमरेकाहरूलाई मारिन्थ्यो।

वास्तविक दोषी को थियो?

अघि उल्लेख गरिएझैं, दर्शकहरूले बुढी औंला तलतिर फर्काएर मानिसलाई दोषी घोषणा गर्दथे। वास्तवमा ती दर्शकहरूले आफैंलाई दोषी ठहराइरहेका थिए। उनीहरूले सारा मानिसहरूका सामु आफू कति भ्रष्ट र दुष्ट छौं भन्ने प्रमाण दिइरहेका थिए। उनीहरूले हत्यालाई एउटा खेलकुद बनाइरहेका थिए। उनीहरूले आफ्नो निर्दयी उत्सुकता र रगतको प्यासलाई सन्तुष्ट गराउने हेतुले हजारौं मानिसहरू र पशुहरू नष्ट गरिएको र संहार गरिएको अति व्यग्र भएर हेर्थे। ती रोमीहरूको न्यायकर्ता भएर हेर्नुहोस्। उनीहरू निर्दोष छन् कि दोषी छन्? उनीहरू धर्मी छन् र भ्रष्ट? के एउटा इमानदार र निष्ठावान मानिसले ती असाह्य मानिसहरूतर्फ आफ्नो बुढी औंला घोप्टाउथ्यो होला र?

के वर्तमान नेपालीहरू दोषी छन्?

हाम्रो विषयमा चाहिँ के नी? सभ्य नेपालमा जिइरहेकाहरूको विषयमाचाहिँ के नी? के आज हामी कुनै फुटबल रङ्गशालामा गएर सिपाहीहरूले एकअर्कालाई गोली हानीरहेको र मारिरहेको हेर्छौं? अवश्य पनि हेर्दैनौं! तर केही कुराहरू बिचार गरौं।

के आज हामीले हत्या जस्तो कुराहरूलाई खेलकुद बनाएका छौं? के आज हत्याद्वारा मानिसहरूले मनोरञ्‍जन लिन्छन्? के  आज हिंसाजनक कुराहरूमा मानिसहरू आनन्दित हुन्छन्? के रगत बगेको हेरेर मानिसहरू रमाइलो गर्छन्?

यो सत्य हो कि नेपालीहरू एम्फीथिएटरमा जाँदैनन्। तर, उनीहरू थिएटर (फिल्म हल) मा जान्छन्! अनि त्यहीँ नै उनीहरूले यस्तो हिंसात्मक कुराहरू हेर्छन् जुन कुराहरूले सायद प्राचीन रोमीहरूलाई समेत डर लाग्ने तुल्याउनेथियो! एउटा विशाल एम्फीथिएटरमा ४५,००० जना मानिसहरू मात्र आटाउन सकिन्थ्यो, तर हरेक हप्ता लाखौं नेपालीहरू सिनेमा हल जान्छन् वा घरमा बसेर चलचित्रहरू हेर्छन्। उनीहरूले इच्छा गरे भने रक्तपात, हत्या, हात वा कानहरू वा आँखाहरू काटिएका दृश्यहरू र निर्मम अनि क्रूर तरिकाहरूद्वारा मानिसहरूलाई मारिएका दृश्यहरूले भरिएका सिनेमाहरू हेर्न सक्छन्। अनि रोमीहरूले टाढाबाट त्यो क्रूरता हेर्नु पर्थ्यो, तर नेपालीहरूले ठूला-ठूला स्क्रीनमा एकदम नजिक बसेर सबै कुराहरू हेर्न सक्छन्। अहिले इन्टरनेटको माध्यमबाट नेपालीहरूले घरमै बसी-बसी चाहेको समयमा रक्तपातले पूर्ण चलचित्रहरू टेलिभिजन वा मोबाइलबाट हेर्न सक्छन्।

हो, त्यहाँ भिन्नता पनि छ। रोमीहरूले मानिसहरू र जनावरहरू वास्तविक रूपमा नै मारिएका र रगत बगाइएका हेर्दथे। चलचित्रहरूमा देखाइएका ती सब दृश्यहरू काल्पनिक हुन्। कलाकारहरू वास्तवमै मारिएका हुँदैनन् र उनीहरूलाई वास्तवमै रक्तपात गरिएको पनि हुँदैन। तरैपनि, ती सब कुराहरू साँच्चै भएझैं गरी देखाइएका हुन्छन्।  

के विश्वासी जन त्यस्ता हिंसापूर्ण कुराहरू हेर्ने काममा सहभागी हुनुहुन्छ? कसैले प्रतिजवाफ देला: “तर रोमीहरूले देखेका हत्याहरू वास्तिवक थिए। हामीले हेर्ने गरेका हत्याहरू वास्तविक होइनन्। ती मानिसहरू केवल हलिउड वा बलिउड कलाकारहरू मात्र हुन्। त्यो हेर्नुमा नै के खराबी होला र?” के हाम्रो मनहरूलाई त्यस्तै प्रकारका कुराहरूले भर्नु ठिक हुन्छ? के यसको बारेमा फिलिप्पी ४:८ ले हामीलाई केही कुराहरू निर्देशन गर्छ? के हाम्रो मनहरूलाई भर्न सकिने त्यहाँ उत्तम कुराहरू छन्?

के हाम्रो मनहरूलाई भर्ने र आँखाहरूलाई खुवाउने त्यहाँ अझ उत्तम कुराहरू छन्?

ख्रीष्टियन अडान

के ख्रीष्टियन विश्वासीले रक्तपात र हत्याले भरिएका हिंसापूर्ण चलचित्रहरूको बिरुद्धमा बलियो अडान लिनुपर्छ? तपाईंका मित्रहरूले (मानौं अति मनोरञ्‍जन पाएको झैं गरी) त्यस्ता चलचित्रहरूको बारेमा कुराकानी गर्दा के तपाईंले कुनै विरोध जनाउनुहुन्छ? त्यस्ता कुराहरूप्रति तपाईंको “नकारात्मक” मनोभाव छ भनेर के उनीहरूले देख्छन्? के त्यस्ता कुराहरूलाई तपाईं दोषी ठहराउनुहुन्छ?

ग्ल्याडिएटर प्रतियोगिताहरू प्रति सुरूका ख्रीष्टियनहरूको कस्तो आचरण थियो? ख्रीष्टियनहरूले आफ्नो बप्तिस्माको समयमा नै त्यस्ता कुराहरूलाई परित्याग गर्दथे। अर्को तरिकाले भन्ने हो भने, त्यस्ता कुराहरू उनीहरूको बिगतको पापले पू्र्ण जीवनको हिस्सा भए पनि अब उसो उनीहरूले ख्रीष्टमा पाएको नयाँ जीवनको हिस्सा होइनन् भनी स्वीकार गर्दथे। यस्ता रक्ताम्मे खेलहरूमा उपस्थित हुन विश्वाीहरूलाई निषेध गरिएको थियो र जो जान्थ्यो उसलाई मण्डलीले बहिष्कार गर्दथ्यो। टेर्टुलीयनले एक पटक यस्तो भने, “विश्वास र ख्रीष्टिय नियमहरूले संसारको अन्य पापहरूको साथसाथमा सार्वजनिक कार्यक्रमहरूको आनन्दहरूलाई पनि इन्कार गर्दछ।” सुरूका शताब्दीका विश्वासीहरू यो जान्दथे कि त्यस्ता कार्यक्रमहरूले रीस, क्रोध र अभिलाषा जस्ता हरेक प्रकारका जङ्ली र अशुद्ध जोशहरू जगाउँछ।

के वर्तमान समयका ख्रीष्टियनहरूले जस्ता कुराहरूको विरोधमा बलियो अडान लिन्छन्? सांसारिक र पापपूर्ण अभ्यासहरू, परमेश्वरको वचनको विरोधमा भएका कुराहरू र परमेश्वरको पुत्रलाई खुशी नतुल्याउने हरेक कुराहरूबाट अलग रहन परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्। 

उम्केको ग्ल्याडिएटर

ई.पू. ७३ मा स्पार्टाकसको नेतृत्वमा कापूआ अवस्थित ग्ल्याडिएटरहरूको “गोठ” बाट उम्केका ग्ल्याडिएटरहरूको झूण्डसँग इटाली थरथराएको थियो। स्पार्टाकसले दुई वर्षसम्म दक्षिणी इटालीमा कब्जा जमाएर बस्यो। ग्ल्याडिएटर प्रदर्शनहरूलाई प्रेम गर्ने रोमीहरूले जब पूरै देश नै एउटा अखडा बन्यो, तबचाहिँ यो खेल रूचाएनन। उनीहरूले यी प्रतियोगिताहरूलाई तबसम्म मात्र रूचाए जब सम्म उनीहरू आफै त्यस्तो कुरामा संलग्न भएनन् (“मलाई हिंसा गरेको हेर्न मन पर्छ तर मलाई चाहिँ कसैले पनि हिंसा नगरोस् भन्ने कामना गर्छु!”)। 

अन्त्यमा, जब स्पार्टाकसलाई पराजित गरियो, उसलाई पछ्याउनेहरूमध्ये छ हजार जनालाई एप्पीयन मार्गमा क्रूसमा टाँगियो।   केयौं किलोमिटर सम्म किल्ला ठोकिएका र झुन्ड्याइएका घाइतेहरू थिए। 

ख्रीष्टियन सतावट

विश्वासीहरूको विरोधमा रोमी सतावटको विषयमा हामीले पहिल्यै अध्ययन गरिसक्यौं, विशेषगरी उक्त पागल मानिस नेरोको समयमा (पाठ २ मा)। केही ख्रीष्टियन कैदीहरूलाई अखाडामा ल्याएर सिंह र भालुहरूको माझ फ्याँकिन्थ्यो। यहूदीहरू पनि सताइएका थिए। जनरल तीतसले यरूशलेमलाई कब्जा गरेपछि हजारौं यहूदीहरू कैदीहरूलाई रङ्गशालामा मारिनका निम्ति ल्याए (७० ए.डी.)। सुरूका ख्रीष्टियनहरूले त्यस सतावटलाई कसरी व्यवहार गरे? 

के उनीहरूले रोमीहरूको विरोधमा लड्न सकौं भनेर मिलेर सिपाहीँको दल बनाए? विश्वासी भएकोले त्यती ठूलो मूल्य चुकाउनु पर्दा के उनीहरू ख्रीष्टिय विश्वासबाट तर्किए? होइन, सुरूका ख्रीष्टियनहरूले उक्त हिंसालाई साहससाथ, घृणालाई विरतासाथ र डरलाई विश्वाससाथ सामना गरे।

त्यस्तो साहस र विरताको एउटा उदाहरण पोलिकार्पको जीवन र मृत्युमा देख्न सकिन्छ। पोलिकार्प त्यही मानिस थिए जसलाई प्रेरित यूहन्नाले व्यक्तिगत रूपमा सिकाएका थिए। पोलिकार्प दोस्रो सताब्दी ए.डी. का मानिस थिए। उनलाई पक्राऊ गरेर स्मर्नाको विशाल एम्फीथिएटरमा ल्याइएको थियो। हजारौं मानिसहरू के होला भनी हेर्न आएका थिए। त्यहाँका शासकले पोलिकार्पलाई तिनको वृद्ध उमेर सम्झना गराउँदै आफ्नो ख्रीष्टिय विश्वासलाई इन्कार गर्न प्रोत्साहन गरे: “ख्रीष्टलाई इन्कार गर, र म तिमीलाई छोडिदिनेछु।” तर पोलिकार्पले जवाफ दिँदै भने, “छयासी वर्ष मैले उहाँको सेवा गरेको छु, र उहाँले मलाई कहिल्यै कुनै खराबी गर्नुभएन; म कसरी उहाँलाई, मेरो राजालाई निन्दा गर्न सक्छु र? म एक ख्रीष्टियन हुँ।”

उक्त शासकले त्यसपछि भीडलाई भन्यो, “पोलिकार्पले आफैंलाई ख्रीष्टियन भनेर स्वीकार गरेको छ।” भीड आफ्नो बुढी औंला तलतिर फर्काउँदै चिच्याउन थाल्यो, “त्यसलाई जलाइदे!” काठहरू जम्मा गरेर चिता बनाइयो। पोलिकार्पले आफूलाई चितामा नबाँध्न आग्रह गरे। “मलाई यतिकै छोडिदिनुहोस्”, तिनले भने। “ज्वालाहरू सहन सामर्थ्य दिनुहुनेले नै मलाई चितामा नबाँधिइकन पनि स्थीर भइ उभिन सामर्थ्य दिनुहुनेछ।” काठको थुप्रोमा आगो जलाइएपछि पोलिकार्पले साहसपूर्वक आफ्ना परमेश्वरलाई अन्तिम प्रार्थना चढाए र अन्त्यमा आगोले तिनलाई निलिदियो। तिनको मृत्यु सन् १५६ मा भएको थियो।

पोलिकार्प जस्ता व्यक्तिहरूको निम्ति दुखित हुनथाल्नु भन्दा पहिले हामीले यो कुराको सम्झना गर्नुपर्छ कि ती मानिसले सहनु परेको आगो केवल एकैछिनको लागि मात्र थियो। ख्रीष्टलाई इन्कार नगरे पोलिकार्पलाई चितामा जलाउँछौं भन्दै धम्की दिने तिनको शत्रुहरूमध्ये एकजनाले यसो भन्यो, “तैंले तेरो मन बदलिनस् भने म तँलाई आगोले नाश गर्नेछु।” पोलिकार्पले जवाफ दिए, “तपाईंले मलाई त्यो आगोद्वारा धम्की दिँदै हुनुहुन्छ जुन एक घण्टा जल्छ र त्यसपछि निभिहाल्छ; तर तपाईं आउनेवाला इन्साफको आगोको बारेमा अनजान हुनुहुन्छ जुनचाहिँ दुष्टहरूको निम्ति अनन्त दण्डका लागि साँचिएको छ” (हेर्नुहोस् मत्ती २५:४१, ४६)। के पोलिकार्पले बोलेका यी शब्दहरूले वास्तवमा कोचाहिँ साँच्चै दुखित हुनुपर्ने हो भन्ने बुझ्न सहायता गर्छ? पोलिकार्पलाई दोषी ठहराउँदाहुँदी उनीहरूले वास्तवमा आफैंलाई दोषी ठहराइरहेका थिए।

सम्राट मार्कूस औरेलियस (१६१-१८० ए. डी.) को समयमा पनि विश्वासीहरूले ठूलो कष्ट सहनुपर्यो। यस मानिसले ख्रीष्टियनहरूका जायजेथा उनीहरूका अभियोक्ताहरूलाई दिइयोस भनेर उर्दी जारी गर्यो। थुप्रै मानिसहरू ख्रीष्टियनहरूका सम्पत्तिमाथि आफ्नो हात हाल्न कसरी तत्पर थिए भनी तपाईं कल्पना गर्न सक्नुहुन्छ। तिनीहरूले हरेक मौकालाई खाली जान दिएनन्। रोमी नागरिकहरू नै भए पनि ती विश्वासीहरूका शिर काटिए। अरूहरूचाहिँ एम्फीथिएटरका अखाडाहरूमा जङ्गली जनावरहरूको मुखमा फालिए।

अविश्वासीहरूले हेर्दाहुँदी उनीहरूले ख्रीष्टियनहरूलाई वयान गरेर नसकिने आनन्द र परमेश्वरले मात्र दिन सक्नुहुने साहसका साथ मृत्युको सामना गरिरहेका देखे। मृत्यु हुनेहरूमा अन्तिमचाहिँ ब्लान्डिना थिइन्। तिनले अन्य थुप्रै मानिसहरूको मृत्यु देखेकी थिइन् र उनीहरूलाई अन्तसम्म नै स्थिर रहन उत्साह र अर्ती दिएकी थिइन्। आफ्नो मुक्तिदातामाथि पूर्ण भरोसा गर्दै तिनी अखाडामा प्रवेश गरिन्। तिनीमाथि जालो फ्याँकियो। त्यसपछि तिनलाई जङ्गली साँढेको आवेगको सामना गर्न छोडियो। साँढेले कैयौं पटक तिनलाई आफ्नो सिङहरूले उचाल्यो र हावामा हुत्त्याइदियो। अन्तिममा तिनको मृत्यु भयो। 

ई. सं. २०५ मा अरू विश्वासीहरूलाई अखाडामा मारियो। सेटर, सेटरनिनस र रेभोकाटसहरू अखाडामा प्रवेश गरे र यी तीन विश्वासीहरूलाई जङ्गली पशुहरूको बीचबाट भएर शिकारीहरूको माझमा हतियार पुर्याउन हुकुम गरियो। शिकारीहरू दुई समुहमा थिए र यी तीन जना उनीहरूको बीचमा दगुर्दाहुँदी नर्दयी तरिकाले प्रहार गरिए। फेलिसिटास र पर्पेचुवाहरू पशुकहाँ फ्याँकिए। उक्त पशुले पर्पेचुवालाई पहिलो आक्रमण गरेर उसलाई पछारिदियो; त्यसपछि फेलिसिटासलाई आक्रमण गर्यो र गहिरो चोट पारिदियो; तर उनीहरू मरेनन्, सो काम तरवारधारी सिपाहीले पूरा गरिदियो। रेभोकाटस र सेटरहरू पनि उही शैलीमा मारिए; सेटरनीनसको शिर काटियो; र सेकुन्डूलस कैदखानामा मरे (फक्सेस बूक्स अफ मार्टर)।

अन्य थुप्रै मध्ये यी केवल थोरै उदाहरणहरू मात्र हुन्। यी विश्वासीहरूले ख्रीष्टको निम्ति अडान लिए र उक्त अडानको निम्ति मूल्य चुकाए। परमेश्वरले उनीहरूलाई उनीहरूको खाँचोको समयमा बल, साहस र आनन्द समेत दिनुभयो। तपाईंको जीवन यस्तै अवस्थामा पुगेको भए के हुन्थ्यो? यस्तो विषम परिस्थितीहरूमा पनि तपाईं ख्रीष्टियन भएकोमा गर्व गर्नुहुने थियो? मण्डलीमा उपस्थित हुँदा तपाईंको जीवन नै जोखिममा पर्छ भने, के तपाईं उपस्थित हुनुहुने थियो? मानौं कम्यूनिस्टहरूले हाम्रो देशलाई आफ्नो कब्जामा लिएर ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गर्ने हरेक व्यक्तिलाई मारिनुपर्छ भनेर हुकुम गर्यो रे। के तपाईं चुपै लाग्नुहुन्छ (मत्ती १०:३२-३३)? के तपाईंले कहिल्यै ख्रीष्टलाई तपाईंको प्रभुको रूपमा स्वीकार गर्नुभएको छ (रोमी १०:९)? विजयी समुहको पक्षमा आउनुहोस्! ख्रीष्टले कहिल्यै हार्नुहुन्न! उहाँ सँधै विजयी हुनुहुन्छ, र मृत्युमा समेत हामीहरू विजेताहरू हौं (१ कोरिन्थी १५:५५-५८)।

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

मण्डली इतिहासबाट केही पाठहरू

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

जीवन गवाही – दिपेन्द्र नेपाली

मेरा हजुरबुवाको निम्ति जेठो नातिको रूपमा र मेरा ड्याडी मम्मीको निम्ति एउटै छोरोको रूपमा मिति २०४९-४-९ गते मेरो जन्म भक्तपूर जिल्लामा भएको थियो । शायद मेरो परिवार सानो भएको हुनाले पनि होला परिवारमा हामी सबै एक-अर्कासँग एकदमै नजिक थियौं र प्रभुको अनुग्रहले अहिले पनि छौं । अहिले म प्रभुलाई धन्यवाद दिन्छु कि मेरा ड्याडि मम्मीले मलाई राम्रोसँग वास्ता गर्नुहुन्थ्यो र धेरै प्रेम गर्नुहुन्थ्यो र गर्नुहुन्छ पनि तर प्रभुलाई पाउनुभन्दा अगाडि मैले त्यस कुरालाई राम्ररी बुझ्न सकिरहेको थिइनँ

उमेर बढ्दै जाने क्रममा मेरो घुलमिल हुने ठाउँहरू पनि केही मात्रामा बढ्यो । सानैदेखि मेरा ड्याडिमम्मीले मलाई साथीहरूसँग धेरै घुलमिल भएर यताउता जान दिनुहुन्नथ्यो । समाजमा र स्कूलमा एउटा सोझो केटोको रूपमा म चिनिन्थेँ । अधिकांश मानिसहरूले मलाई असल र राम्रै केटोको रूपमा हेर्थे । सबै मानिसहरूबाटको त्यो गवाही पाएपछि आफूलाई पनि म त राम्रो मान्छे हुँ नि भन्‍ने महशुस हुन्थ्यो । मेरो हृदय भित्र भएका ती घृणित खराब कुराहरूलाई भने मैले बुझ्न सकिरहेको थिइनँ कारण म आफ्नै मार्गमा आफूले आफैलाई राम्रो ठान्दै अगाडि बढिरहेको थिएँ । 

म ठूलो हुँदै जाने क्रममा मभित्र भएका ती पापपूर्ण कुराहरूले अब आफ्नो असली रूप देखाउन थाले । मलाई प्रेम गर्ने मेरा अभिभावकहरूको प्रेम अब मेरो निम्ति त्यो त एउटा क्रूर शासन जस्तो लाग्न थाल्यो किनभने उहाँहरूले मलाई धेरैचोटी मैले इच्छा गरे अनुसारले साथीहरूसँग यताउति घुम्न जान पनि दिनुहुन्नथ्यो । अनि मैले उहाँहरूलाई मेरो हृदयमा घृणा गर्न थालेँ र म यसरी सोच्थेँ कि ‘एकदिन जब म ठूलो हुन्छु र आफै कमाउन थाल्छु, त्यसपछि म आफै आफ्नो इच्छाअनुसारले जीवन जिउँछु र यिनीहरूलाई एक पैसा पनि दिन्‍नँ अनि वास्ता पनि गर्दिनँ ।’ मैले उहाँहरूको साँचो मायालाई कत्तिचोटी घृणामा परिणत गरेँ र उहाँहरूका धेरै आज्ञाहरूलाई मैले उलङ्घन गरेँ र उहाँहरूसँग कतिचोटी धेरै रिसाएँ र मन भित्र-भित्रै उहाँहरूप्रति चिढिएँ । अनि कतिचोटी उहाँहरूको आँखा छलेर साथीसँग यताउता पनि गएँ । 

ख्रीष्टमा आउनुअघिको मेरो लवाइ यस्तो थियो

विद्यालयमा पनि बाहिरचाहिँ राम्रो बानीबेहोरा देखाएकोले शिक्षकहरू तथा कति साथीहरूको माझमा राम्रै व्यक्तिको रूपमा परिचित थिएँ । तर ती शिक्षकहरू र साथीहरूलाई के थाहा कि उहाँहरूसँग कतिचोटी मैले झूट बोलेको कुरा र उहाँहरूको कुरा अरूहरूसँग काटेको र उहाँहरूप्रति कतिचोटी खराब विचार गरेको थिएँ भनेर । जब म ८ कक्षामा पुगेँ मेरो मनपर्ने विषय भनेको गणित बन्यो र मैले आफूलाई नै त्यस विषयमा सबैभन्दा माथि ल्याउने खुबै प्रयत्न गरे । जब प्रथम र द्वितीय विद्यार्थीहरूले त्यस विषयमा बढी अङ्क ल्याउँथे तब म उनीहरूप्रति साह्रै चिढिन्थेँ र उनीहरूलाई मैले मेरो मनमा धेरै घृणा गर्थे । 

म सानैदेखि सङ्गीतमा रूची राख्ने व्यक्ति भएकोले केही बाजाहरू पनि बजाउन सिकेको थिएँ र एक सांसारिक सांगीतिक व्याण्डमा पनि आबद्ध भएँ र त्यहाँ अझै सांसारिक सङ्गीतहरू बजाउन सिक्दै गएँ र केही समय पछि क्लारिनेट बजाउन सिकेँ र त्यस व्याण्डमा क्लारिनेट बजाउँथेँ । सामान्यतया त्यो बाजा बजाउनेलाई धेरैले आदर गर्थे र मलाई पनि सानै उमेरमा बजाउन सिकेको भनेर कति मान्छेहरूले वा-वा गर्थे अनि त्यस्तो प्रशंसा सुनेपछि मेरो हृदयको घमण्ड मैयूरको मुजुरसरी फररर फिँजिन्थ्यो । 

खास म ईश्‍वरहरूप्रति त्यति धेरै लिप्‍त भएको व्यक्ति त थिइनँ तरै पनि आफ्ना स्वार्थपूर्ण विविध चाहनाहरू प्राप्‍ति र अरूहरूको देखावटीको लागि समय-समयमा मन्दिरहरूमा जाने गर्थेँ  अनि त्यहाँ भएका मूर्तीहरूलाई पूजा गर्थे र तिनीहरूलाई ढोग्थेँ  र बेला-बेलामा बर्त पनि बस्थेँ । यसरी मैले साँचो परमेश्‍वरको विरोधमा ती झूटा कथित ईश्‍वरहरू भनिने ढुङ्गाका मूर्तिहरूलाई पूजेर जीवित परमेश्‍वरको विरोधमा पाप गरिरहेथेँ । 

यसरी यस्ता यी हृदयभित्रका खराब कुराहरू रिस, घमण्ड, लोभ, मूर्तिपूजा, चोरी, हृदयमा गरिने हत्या र व्यभिचार, बुवाआमाप्रतिको अनाज्ञाकारिता, खराब बोलीहरू जस्ता कयौं पापपूर्ण कुराहरूमा म बढिरहेको थिएँ  र झन् यस शारीरिक जीवनमा जति बढ्दै थिएँ त्यति नै यस्ता कुराहरूमा म झन्-झन् बढ्दै गइरहेको थिएँ । 

मेरो जीवनको उद्देश्‍य भनेको म समाजमा मानिसहरूले आदर गर्ने स्थानमा रहेर जिउन चाहन्थे र आफू आर्थिक तथा सामाजिक दृष्‍टिकोणले समाजमा राम्रै स्तरमा रहेर बाँच्‍नु र केही आदरणीय नाम कमाउनु थियो । त्यो उद्देश्य प्राप्‍तिको लागि मैले जीवनमा केही अरू उद्देश्‍यहरू बनाएँ ।

मलाई सानैदेखि गाउन मनपर्ने भएकोले म गायक पनि बन्‍न चाहन्थेँ जसले गर्दा नाम र आर्थिक कुरा दुवै प्राप्‍ति हुन्थ्यो । 

कि त म आफ्नै व्यापार व्यवसाय शुरू गर्न चाहन्थे र मेरो उद्देश्‍य यसमार्फत पूरा गर्न चाहन्थे ।

मेरो गणित पढाउने शिक्षकको जीवनबाट मलाई ठूलो प्रभाव परेको थियो । उहाँले भन्‍नुहुन्थ्यो कि म यति बजे यो ठाउँमा पढाउँछु, फेरि यति बजे त्यहाँ पढाउँछु भन्ने जस्ता यस्तै विभिन्‍न कुराहरू कहिलेकाहीँ हाम्रो अतिरिक्त गणित कक्षामा गर्नुहुन्थ्यो र आफ्नो व्यस्त जीवनको बारेमा बताउनुहुन्थ्यो । अनि मलाई पनि त्यस्तै बन्‍ने ठूलो इच्छा भएर आउँथ्यो र त्यसरी नै गणित राम्ररी सिकेर विभिन्‍न ठाउँमा पढाउँदै नाम पनि र दाम पनि दुवै कमाउन चाहन्थेँ ।

यसरी मैले मेरो जीवनमा यस्ता लक्ष्यहरू राखेको थिएँ । सामान्य रूपमा हेर्दा यी कुराहरू ठिकै देखिन्थे तर मैले मेरो जीवनमा ठूलो पाप गरिरहेको थिएँ कि मैले मलाई बनाउनुहुने परमेश्‍वरको खोजी नगरेर सांसारिक र भौतिक कुराहरूको मात्र खोजी गरेर त्यसलाई नै मूर्ति बनाइरहेको थिएँ जबकि ती कुराहरू त एकदिन चाँडै नै नाश भएर जान्छन् !

यसरी जीवनमा अनेकौं सपनाहरू सङ्गाल्दै म मेरो पापपूर्ण इच्छाहरूतर्फ निष्‍फिक्रीका साथ अघि लम्किरहेको थिएँ । मैले मेरो जीवन सम्बन्धी गम्भीर प्रश्‍नहरूको बारेमा कहिल्यै सोचिनँ कि म यहाँ किन जन्मे ? कसले मलाई सृष्‍टि गर्नुभयो ? म एकदिन मर्दैछु अनि त्यसपछि के हुन्छ ? यस्ता कुराहरूको बारेमा मैले विचार नै गरेको थिइनँ ।

२०६३ सालको एक समय मेरो गाउँमा सुसमाचार प्रचार गर्न भनेर क्यारिजम्याटिक चर्चका मानिसहरूको प्रवेश भयो । उहाँहरूको प्रवेशको निरन्तरता बढ्दै गयो । त्यसबेलामा मेरो गाउँका धेरै मानिसहरू हामी पनि ख्रीष्‍टियान बन्ने भन्दै उहाँहरूको सभाहरूमा जान थाल्नुभएको थियो । अनि हामी पनि कहिलेकहीँ त्यहाँ जान थाल्यौं ।

हाम्रो सानो परिवार हाम्रो आफ्नै दृष्‍टिमा खुशी र सुखी थियो तर कहिलेकहीँ भने मेरी मम्मीलाई बेलाबेलामा दुष्‍ट आत्माले दु:ख दिन्थो र मेरी बहिनी पनि धेरैजसो समय बिरामी भइराख्थिन् धेरै उपचारहरू पनि गरियो तर त्यसले काम गरेन अनि झाक्रीहरूकोमा पनि धेरै धाइयो तर त्यसले पनि केही काम गरेन । त्यसकारणले गर्दा हाम्रो परिवारमा कहिलेकाहिँ दु:खद् परिस्थितिहरू पनि आउने गर्थ्यो । अनि हामीले सुन्यौं कि यदि चर्चमा गयो भने त यस्ता दुष्‍ट आत्माहरूदेखि पनि छुटकारा पाइन्छ र बिरामी पनि निको हुन्छ रे ! अनि त्यसबेलाको सोचाइअनुसार हाम्रो परिवारमा पनि हामीलाई चाहिएको एउटै कुरा भनेको त्यही नै थियो कि दुष्‍ट आत्माहरूबाट छुटकारा र बिरामीबाट निको ! त्यस पश्‍चात् हामीले विचार गर्यौं कि हामी त्यसोभए अब चर्चमा नै जानुपर्छ । एकदिन साँझ मेरा ड्याडीले भन्‍नुभयो: “ल हामी निर्णय गरौं, चर्चमा जाने हो भने सबै परिवार चर्चमा जाने यदि चर्चमा नजाने हो भने हामी कोही पनि चर्चमा नजाने ।” ड्याडिको यो कुरा सुनेपछि हामीले भन्यौँ, ड्याडि हामी सबैजना चर्चमा नै जानुपर्छ यस्ता मूर्तिहरूलाई पूजेर के नै पो हुने रहेछ र ? अनि ड्याडिले पनि त्यस कुरालाई समर्थन गर्नुभयो र भन्‍नुभयो, “ल ठिक छ त्यसोभए हामी सबैजना चर्चमा नै जाने ।” 

प्रभुलाई चिन्नको लागि हामीलाई यो एउटा राम्रो मौका बन्यो । यसरी हामी चर्चमा जान थाल्यौं र त्यहाँका भजनहरू र सभाका प्रणालीहरूमा परिचित हुन थाल्यौं । हामीले सुसमाचारको केही अंशहरू सुन्यौं तर त्यसलाई गहिरो गरी गम्भीर भएर हामीलाई सिकाइएन । पछि मैले यो कुरा बुझेँ कि हामीले त्यत्तिकैमा एउटा धर्म परिवर्तन गरेर ख्रीष्‍टियान भएका रहेछौँ र पाष्‍टरले भनेका शब्दहरू दोहोर्‍याउँदै हामीले केवल मुखले मात्र प्रभुलाई ग्रहण गरेका रहेछौँ । 

यसरी समय बित्दै गयो । त्यहाँको मण्डलीमा हुने व्यक्तिहरूको नराम्रो व्यवहार र गवाहीको कारणले हामीले अर्कै कुनै राम्रो चर्च खोज्नुपर्छ भनेर चर्चको खोजीमा भौतारियौं । कहिले यता चर्चमा गयौं त कहिले उता । यसरी खोज्ने क्रममा तीनचार ओटा चर्चहरूमा गयौं । 

म अहिले आएर बुझ्छु कि परमेश्‍वरले हाम्रो परिवारमा आफ्नो प्रेमिलो दृष्‍टि लगाइराख्नुभएको थियो । उहाँले हाम्रो परिवारको खोजी जान्‍नुहुन्थ्यो । त्यसै समयतिर मेरा ड्याडिले काम गर्नुहुने ठाउँमा एकजना विश्‍वासी हुनुहुँदो रहेछ अनि मेरा ड्याडि र उहाँको बीचमा परिचय भएछ अनि उहाँले नै मेरा ड्याडिलाई उहाँको चर्चमा आउन निमन्त्रणा दिनुभएछ । अनि त्यस हप्‍ता ड्याडि उहाँकै चर्चमा जानुभएछ र त्यहाँको चर्चको सभाको प्रणालीहरू देख्‍दा उहाँलाई साह्रै राम्रो लागेछ कि शान्त वातावरण थियो र प्रायजसो सबै विश्‍वासीहरूले प्रचारहरू राम्ररी सुनिरहेका र नोट पनि गरिरहेका थिए । 

अनि ड्याडि घरमा आउनुभयो र त्यो चर्चको बारेमा बताउनुभयो खासमा त्यो चर्च सङ्गति चर्च थियो । अनि ड्याडिले भन्‍नुभयो कि, सङ्गति चर्च राम्रो छ र त्यहाँ हामीले धेरै सिक्न सक्छौं । 

त्यसपछि सङ्गति चर्चमा २०६५ सालको असोजतिर ड्याडिले मलाई लिएर जानुभयो । त्यहाँ गएपिछ मैले त्यहाँको सभाको शैली र भजनहरू त सबै फरक पाएँ अनि कताकता यो त झूटो चर्च पो हो कि के हो ? भन्नेजस्तो भान मलाई पर्‍यो । तर सभा सकिएपछि हामीजस्ता नयाँ आगन्तुकहरूलाई राजेन्द्र दाइले छुट्टै कोठामा लगेर फेरि बाइबलबाट सिकाउनुभयो अनि उहाँले सिकाउनुभएपछि मैले विचार गरेँ कि यहाँ पो त साँच्चिकै बाइबलमा भएका कुराहरू राम्ररी सिकाइदो रहेछ ।  त्यसपछि हाम्रो परिवारले सङ्गति चर्चबाट नै परमेश्‍वरको विषयमा सिक्ने निर्णय गर्‍यो । 

शुरूका समयहरूमा हामी गाउँमा बस्ने हुँदा र अलिक टाढा भएको र विविध कारणले गर्दा पनि चर्चमा धेरै जाँदैन थियौं त्यसैले चर्चबाट नै दाइहरू हामीलाई सिकाउनको लागि समय-समयमा हाम्रै घरमा आउनुहुन्थ्यो । अनि उहाँहरूले हामीलाई साँचो सुसमाचारको बारेमा, मानिसले परमेश्‍वरलाई चिन्‍नु किन खाँचो छ भन्‍ने बारेमा, परमेश्‍वरको बारेमा, पापको बारेमा, आत्मिक मृत्युको बारेमा, परमेश्‍वरको दण्डको बारेमा, परमेश्‍वरको मुक्तिको प्रबन्धको बारेमा जस्ता आदि एकदमै महत्त्वपूर्ण कुराहरूका बारेमा स्पष्‍टसँग र गम्भीर भएर सिकाउनुभयो । 

अनि परमेश्‍वरले बिस्तारै मेरो समझ खोलिदिनुभयो र मैले त साँचोगरी उहाँलाई विश्‍वास गरेको छैन रहेछु केवल मैले त एउटा ख्रीष्‍टियान धर्म मात्र पो पछ्याइरहेको रहेछु र म परमेश्‍वरको दण्डको योग्य छु र मेरा पापहरूले मलाई नरक पुर्‍याउँदैछ भनेर विचार गर्न थालेँ । लामो समयसम्म दाइहरूले सिकाउनुभएपछि मैले ती सत्यताहरूलाई बिस्तारै बुझ्न थालेँ ।

अनि मेरो जीवनमा एक समय आयो, मेरो गाउँमा एकजना हजुरआमा ज्यादै बिरामी भएर मर्न लाग्दै हुनुहुन्थ्यो अनि म पनि त्यहाँ हेर्न गएको थिएँ र मैले त्यसबेला मृत्युको बारेमा गम्भीर भएर सोँचे र म ज्यादै डराएँ र परमेश्‍वरको पापप्रतिको पवित्र न्यायलाई सम्झेँ, त्यो नरक आगोको झील ! मैले गरेका पापहरू सम्झेँ अनि मैले परमेश्‍वरको प्रेम र उहाँको पुत्रको बलिदानलाई सम्झेँ त्यसपछि मैले मेरा विगतका पापहरू जो मैले परमेश्‍वरको विरोधमा गरेको थिएँ त्यसबाट पश्‍चात्ताप गरेँ र मेरा पापहरूदेखि मलाई बचाइदिनुहोस् भनेर परमेश्‍वरसँग पापहरूका क्षमा मागेँ अनि मेरा पापहरूका निम्ति येशू मेरो ठाउँमा रगत बगाइकन मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरेर उठ्नुभयो भनी उहाँमाथि पूर्ण रूपले हृदयदेखि विश्‍वास गरे यसरी उहाँलाई मात्र मेरा प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरेँ । अनि उहाँकै प्रतिज्ञाअनुसार मैले उहाँमा अनन्त जीवन पाएको छु र म मेरा प्रभु जो मेरो लागि बलिदान हुनुभयो उहाँको कारणले नाश हुनु पर्दैन (यूहन्ना ३:१६) । उहाँले मजस्तो पापीलाई पनि बचाउनुभयो र नयाँ जीवन दिनुभयो ।

हाम्रो परिवारले केवल शारीरिक रोगबिमारबाट निको हुन र परिवारमा सबै कुराहरू राम्रो हुनको निम्ति प्रभुलाई खोज्दै थियो तर उहाँको दया कति महान् छ कि उहाँले हामीलाई हाम्रो अनन्तसम्मको पापको कारणले लागेको आत्मिक रोग निको पार्नुभयो र अनन्तसम्मलाई शान्ति र विश्राम दिनुभयो । प्रभुलाई धन्यवाद होस् !

म पापी थिएँ बाँचे अनुग्रहले !!!!!

यसरी प्रभुलाई पाएपछि केही समयको अन्तरालपछि बहिनी र म सकेसम्‍म हरेक हप्‍ता नै चर्चमा जान थाल्यौं र प्रभुले हामीलाई उहाँका अद्‍भुत वचनहरू सिकाउँदै लैजानुभयो । अनि मेरो पहिलाको जीवनका उद्देश्‍यहरू र सोचाइ र विचारहरू परिवर्तन भए । मेरो जीवन परिवर्तन भयो ।

प्रभुलाई विश्‍वास गरेपछि कति परिक्षाहरू आए, संसारलाई चुन्‍ने कि प्रभुलाई चुन्‍ने भन्‍ने विषयमा । परमेश्‍वरको वचनले संसारदेखि अलग हुनु भनेको छ यो कुरा बुझेपछि मैले त्यो सांसारिक व्याण्डको काम पनि छोडेँ । तर कति मानिसहरू मेरो घरमा नै आएर त्यसबेला धेरै पैसाको प्रलोभन देखाएर मलाई त्यही काममा राख्न चाहन्थे तर प्रभुको अनुग्रहले म त्यसमाथि विजयी भएँ । 

अनि जब बाइबल कलेज स्थापना भयो त्यसबेलामा पनि मलाई ठूलो परिक्षा भयो । त्यसबेलामा म BBS 1st Year मा पढ्दै थिएँ । बाइबल कलेज पढ्ने कि सांसारिक कलेज पढ्ने, ठूलो रोजाइ र छनौटको विषय थियो । यदि म बाइबल कलेज गएँ भने मैले BBS को चार वर्षीय कोर्स पूरा गर्न मसँग पर्याप्‍त समय हुँदैन थियो कारण त्यो चार वर्षको कोर्स बढीमा सात वर्षभित्र सकिसक्नुपर्नेथ्यो । तर जब मेरो BBS 1st Year को Final Exam पनि सकियो ठीक त्यही बेला शरण स्मृति बाइबल कलेज पनि शुरू भयो । म बाइबल सिक्न चाहन्थेँ अझै परमेश्‍वरका कुराहरू जान्‍न चाहन्थेँ । म प्रभुको सेवा गर्न चाहन्थेँ तर कसरी गर्ने हो भनेर मलाई थाहा थिएन र एउटा कुराचाहिँ मलाई थाहा थियो कि मैले राम्ररी बाइबल सिक्नुपर्छ । अनि प्रभुको अनुग्रहले मैले BBS पढाइ छोडेँ र प्रभुको निम्ति एक सेवक बन्‍नको लागि बरू बाइबल कलेज नै पढ्ने निर्णय गरेँ । यसमा मेरा अभिभावकले पनि मलाई समर्थन गर्नुभयो । यसरी मैले प्रभुको निम्ति त्यागेका सांसारिक कुराहरूका निम्ति म कहिले पनि पछुताएको छैन र कहिले पनि पछुताउनु पर्ने पनि छैन । बाइबल कलेज मेरो लागि धेरै सहयोगी बन्यो कि मैले कति कुराहरू व्यवहारिक रूपमा नै सिक्न पाएँ । बाइबल कलेजको पढाइको अवधिमा परिक्षाहरू र गाह्रो अवस्थाहरू नआएका होइनन् र केही पटक त बाइबल कलेज छोड्नुपर्छ कि भन्‍ने सोच पनि नआएको होइन तर यी सबै कुराहरूमा प्रभुले मलाई अनुग्रह दिनुभयो र उहाँले नै शुरू गर्नुभएको यो काम उहाँले नै पूरा पनि गर्नुभयो ।

म प्रभुलाई अहिले धेरै धन्यवाद दिन्छु किनकि मैले अनन्त सम्म रहिरहने कुराहरू सिक्न पाएको छु र उहाँको काममा सेवा गर्नलाई केही भाग पाएको छु । जुन कुरा अनन्त सम्म रहिरहन्छ । हुन त म धेरै कुराहरूमा कमजोर छु तर उहाँको अनुग्रहले उहाँले मलाई उठाउनुहुन्छ र बल दिनुहुन्छ अनि सेवामा प्रयोग गर्नुहुन्छ ।

प्रभुको सहायताले उहाँले मलाई दिनुभएका कुराहरू प्रयोग गर्दै जीवनभर उहाँको निम्ति सेवा गर्ने इच्छा प्रभुले दिनुभएको छ । उहाँको सामु पुग्दा एकदिन उहाँबाट “स्याबास, असल र विश्‍वासयोग्य दास !” भन्ने उहाँको आवाज सुन्‍न ठूलो इच्छा छ !

धन्यवाद!

केटो कसरी बेइमानी बन्न सिक्यो

“धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्”

(१ कोरिन्थी १५:३३)

“सच्चाइसँग व्यवहार गर्नेहरू उहाँका आनन्द हुन्”

(हितोपदेश १२:२२)

“उत्तम, तिमीले बिलको हिसाब चेक गर्‍यौ?”

“हजुर, चेक गरें, सर।”

“हिसाबमा कुनै गल्ती छ?”

“मैले दुइटा गल्ती भेटें, सर।”

“ए हो? लेऊ त, म हेर्छु।”

केटोले आफ्‍नो मालिकको हातमा एउटा लामो हिसाब-किताबको कागत थमायो जुन चाहिँ जाँच्नको लागि उसको डेस्कमा छोडिएको थियो।

“यहाँ हिसाब चेक गर्दा उनीहरूले हामीसित लिनुपर्ने रकममा पाँच हजार रूपियाँ छुटेको छ। अनि तलतिर फेरि अर्को पाँच हजार रूपियाँको गल्ती छ।”

“त्यो पनि छुटेको?”

“हजुर, सर।”

त्यो व्यापारी मान्छे यसरी मुस्कुरायो कि त्यो देख्दा केटोलाई अनौठो लाग्यो।

“दस हजार रूपियाँ घाटा खाने भए तिनीहरू,” उसले आश्चर्य मान्दै र खुशी पनि हुँदै भन्यो। “खूब भरपर्दा अकाउन्टेटहरू रहेछन् तिनीहरूका!”

“म गल्तीलाई सच्च्याइदिऊँ, सर?” केटोले सोध्यो।

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन,” व्यापारीले जवाफ दियो। “जतिबेला पत्ता लाउँछन्, लाउँछन् उनीहरूले। अनि त्यतिबेलै सच्च्याऔंला। अहिलेलाई यो दस हजार हाम्रै आम्दानी गनिन्छ।”

सोच्दै नसोचेको यस्तो जवाफ सुन्दा, त्यो केटोको कमलो मन झसङ्ग झस्क्यो। ऊ एउटी गरीब विधवाको छोरो थियो जसले उसलाई यो सिकाउनुभएको थियो कि मान्छेको कर्तव्य भनेको सही काम गर्नु हो अनि सदा इमानदार रहनु नै सर्वोत्तम मार्ग हो।

उत्तम यहाँ काम गर्न आएको केही महिना मात्र भएको थियो। हरिकुमार साहु उत्तमको बुवाको पुरानो साथी थियो जसलाई बुवाले एकदम राम्रो मान्छे मान्नुहुन्थ्यो। त्यसैले उत्तमले साहुलाई एउटा आदर्श व्यक्तिको रूपमा हेर्ने गर्थ्यो। जब हरिकुमार साहुले उसलाई आफ्‍नो पसलमा काम गर्न राख्ने भयो, केटोलाई यस्तो लाग्यो कि अब उसको भविष्य बन्ने भयो।

“आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले।” उत्तमको मनमा यस कुराले बलियो छाप पार्‍यो। हरिकुमार साहुको यो भनाइ पहिलो पटक सुन्दा अनि त्यसको तात्पर्य बुझ्दा उत्तम यति झस्केको थियो कि उसलाई साहुको यस्तो विचार रहेछ भनेर विश्वासै गर्न गाह्रो परेको थियो। तर मनमनै त्यो भनाइलाई ओल्टाइपल्टाइ सोच्दै जाँदा अनि उसकी आमाले साहुलाई धेरै ठूलो मान गर्नुभएको हुनाले, उसले यो सोच्न थाल्यो कि सायद व्यापारमा त्यो सही नै होला। आफ्नो हेराइमा हरिकुमार साहु खराब काम गर्ने मान्छे जस्तो त लागेन उसलाई।

त्यो बिल चेक गरेको केही दिनपछि त्यो बिल पठाउने होलसेल पसलबाट पैसा उठाउनलाई एकजना कर्मचारी आयो। केटो त्यहीँ थियो र हरिकुमार साहुले हिसाबमा गल्ती भएको कुरालाई निकाल्छ कि भनेर ऊ एकदम चासो लिएर हेर्‍यो। तर साहुले त्यसको कुरै गरेन। बिल अनुसारको एउटा चेक लेखेर दिइयो र त्यसको भरपाई रसिद लिइयो।

“यो ठिक हो र?” उत्तमले आफैलाई प्रश्न गर्‍यो। उसको विवेकले भन्यो, “होइन।” उसको मालिकको त्यो व्यवहारले उसको मनलाई आश्चर्यचकित पार्‍यो।

“व्यापारको तरिका यस्तै हुन सक्छ” — उसले आफूलाई मनमनै भन्यो — “तर यो इमानदार  काम जस्तो त देखिँदैन। उहाँले यस्तो गर्नुहोला भनेर मैले सोचेकै थिइनँ।”

हरिकुमार साहुले ऊसित गर्ने व्यवहार यस्तो थियो कि केटोको मन साहुप्रति हुरुक्कै भएको थियो। त्यसैले साहुले गरेको जुनसुकै कामकुरालाई पनि स्वभावैले उसले सक्दो सकारात्मक ढङ्गमा लिने गर्थ्यो।

जतिखेर आफू हरिकुमार साहुको पसलमा जागिर खान पाएकोले आफूलाई भाग्यमानी सम्झन्थ्यो, त्यतिखेर उसको मनमा यो विचार पनि आउने गर्थ्यो — “साहुले त्यो गल्तीलाई सच्च्याएको भए हुन्थ्यो। त्यो ठिक त देखिँदैन, तर सायद व्यापारमा गर्नुपर्ने यस्तै होला।”

ऊ एक दिन बैंक गयो। एउटा चेक साटेर पैसा निकाल्नुपरेको थियो। पैसा गनेर हेर्दा त बैंकको मान्छेले उसलाई पन्ध्र हजार रूपियाँ बढी दिएको रहेछ। त्यसैले ऊ काउन्टरमा फेरि फर्केर गयो र बैंकको खजाञ्चीको गल्ती बताउँदै त्यो पैसा फिर्ता दियो। खजाञ्चीले उसलाई धन्यवाद दियो। ऊ आफ्‍नो मनमा ‘मैले ठिक गरें’ भन्ने असल विवेक लिएर आफू काम गर्ने पसलमा फर्क्यो

“बैंकको मान्छेले मलाई पन्ध्र हजार रूपियाँ बढी भुक्तानी गरेको थियो,” पैसा उहाँको हातमा थमाउँदै उसले हरिकुमार साहुलाई भन्यो।

“ए, हो?” साहुले भन्यो, अनुहार उज्यालो पार्दै अनि हतार‍-हतार बैंकका नोटहरू गन्यो।

औंलाले अन्तिम नोट गनिसक्दा साहुको अनुहारबाट त्यो क्षणिक उज्यालो हराइसकेको थियो। “छैन गल्ती यसमा।” साहुको स्वर अलिक निराश सुनिन्थ्यो।

“ए, त्यो पन्ध्र हजार त मैले फिर्ता दिएँ नि। त्यो ठिक थिएन र?”

“कस्तो मूर्ख!” हरिकुमार साहुँ जङ्गियो।

“तिमीलाई थाह छैन बैंकका गल्तीहरू कहिल्यै सच्च्याइँदैनन् भनेर? बैंकले तिमीलाई पन्ध्र हजार कम दिएको भए र तिमीले ख्याल नगरेको भए, उसले त्यो कहाँ सच्च्याउँथ्यो र?”

साहुको हप्कीले उत्तमको मुखै रातो भएर आयो। प्राय: अपराध गर्दा भन्दा भुलचुक गर्न पुग्दा बढी शर्म लाग्ने हुन्छ। उक्त घटनामा केटोलाई आफूले गरेको कामको निम्ति एक किसिमको पछुतो लाग्यो किनभने उक्त कामलाई हरिकुमार साहुले मूर्ख भन्यो अनि उसले यो अठोट गर्‍यो कि अबदेखि उसो बैंकले यदि उसलाई एक लाख रूपियाँ बढी भुक्तानी गरे पनि उसले त्यो पैसा थपक्क आफ्‍नो मालिकलाई बुझाउनुपर्छ अनि त्यो पैसा साहुले जे जस्तो गर्नुहुन्छ त्यो उहाँकै तजबिजमा छोडिदिनुपर्छ।

“आफ्‍ना गल्तीका लागि आफै होशियार होऊन्,” हरिकुमार साहुले भन्यो।

यी कुराहरूलाई उत्तमले आफ्‍नो हृदयमा निकै सोच्यो। यी कुराले उसलाई यति गहिरो छाप पार्‍यो कि त्यो नमेटिने गरी उसको हृदयमा बस्यो र उसले बिर्सनै नसिकने भयो। “यो ठिकै हुन सक्छ,” उसले भन्यो, तर उसलाई पूरै सन्तुष्ट त लागेन।

यो अन्तिम घटना घटेको एक-दुई महिनापछि, उत्तमले महिना मरेपछिको आफ्‍नो तलब थाप्यो र गन्यो जुनचाहिँ उसले हरिकुमार साहुको हातबाट भर्खेरै पाएको थियो। उसले यो देख्यो कि उसलाई पचास रूपियाँ बढी तिरिएको रहेछ।

उसको मनको पहिलो भावना त यो थियो कि उसले यो पचास रूपियाँ आफ्‍नो मालिकलाई फिर्ता दिनुपर्छ, अनि उसको मुखबाट, “तपाईंले मलाई पचास रूपियाँ बढी दिनुभयो, सर” भन्ने शब्दहरू निस्कनै लागेका थिए, जब उसले बिर्सन नसकेका ती शब्दहरू “आफ्‍ना गल्तीहरू आफैं सच्च्याऊन् मानिसहरूले,” भनेर उसलाई झल्याँस्स सम्झना आयो जसले गर्दा ऊ हिचकिचायो। खराब कुरासित सङ्गत गर्नु भनेको त्यसको वशमा पर्नु हो।

“यस बारेमा मैले सोच्नुपर्छ,” त्यो पैसालाई खल्तीमा हाल्दै उत्तमले मनमनै भन्यो। “यदि एउटा विषयमा त्यो ठिक हो भने अर्को विषयमा पनि त्यो ठिकै हुनुपर्छ। हरिकुमार साहुले अर्काको गल्तीले आफूलाई फाइदा हुँदा त्यसलाई सच्च्याउनुहुन्न भने यही नियमअनुसार अब उहाँको गल्तीले मलाई फाइदा हुँदा मैले नसच्च्याएकोमा उहाँले गुनासो गर्न त मिल्दैन।”

तर केटोलाई शान्ति त अलिकति पनि थिएन। उसलाई यो लाग्यो कि त्यो पचास रूपियाँ आफूले राख्नु भनेको बेइमानी काम हो। तर त्यो फिर्ता दिने निर्णय गर्न उसले सकिरहेकै थिएन। अहँ, त्यतिखेर निर्णय गर्नै सकेन।

आखिरमा उत्तमले त्यो पचास रूपियाँ फर्ता दिएन तर त्यसलाई आफ्‍नो इच्छाअनुसार खर्च गर्‍यो। उसले यो गरिसकेपछि एक्कासी उसलाई यस्तो लाग्यो कि सायद हरिकुमार साहुले उसलाई जाँच्नलाई भनेर त्यसो गरेको होला। तब उसलाई फिक्री लाग्न थाल्यो र ऊ अशान्ति र बेचैनीले भरियो।

यसको केही समय नबित्दै हरिकुमार साहुले त्यही गल्ती फेरि दोहोर्‍यायो। फेरि उत्तमले त्यो पचास रूपियाँ आफूसित राख्यो अनि यसपालि उसलाई अस्ति जस्तो गाह्रो लागेन। चरित्र बिग्रने बाटो ओरालो बाटो हो। एकचोटीको पापले फेरि पाप गर्न सजिलो बनाउँछ।

“आफ्‍नो गल्ती उहाँ आफैले सच्च्याउनुभएको होस्,” उसले दृढतापूर्वक भन्यो। “उहाँले अरूसित व्यवहार गर्ने सिद्धान्त यही हो, अनि उहाँले चलाउनुभएको नोट उहाँलाई नै फिर्ता आइपुग्दा उहाँले गुनासो गर्न त मिल्दैन। मैल मात्र पचास रूपियाँ चाहेको हुँ।”

त्यस समयदेखि उत्तमको असल नैतिक भावनाको धार बोधो भएर गयो अनि उसको विवेकले उसलाई अब पहिला जस्तो सताउन छोड्यो। उसले आफूभित्र एउटा लालची आत्मालाई पालनपोषण गर्न थाल्यो जुनचाहिँ सबैको हृदयमा हुन्छ जबसम्म त्यो ख्रीष्टको अनुग्रहले वशमा ल्याइँदैन। चाँडै नै उसले त्यस्ता कुराहरू आफूसित भइदिए हुन्थ्यो भनेर इच्छा गर्न थाल्यो जुन कुराहरू खरिद गर्न उसित क्षमता थिएन।

उत्तमसित व्यापार गर्ने खुबी थियो। यो देखेर हरिकुमार साहु खुशी थियो। उसले यो देख्यो कि यो जवानसित तीष्ण बुद्धि छ, ऊ मेहनती छ, र ग्राहकहरूसित व्यवहार गर्न सिपालु छ। त्यसैले साहुले छिटोछिटो उसको पद बढाइदियो अनि ऊ अठार वर्ष नपुग्दै त्यो पसलमा सबभन्दा जिम्मेवार पद उसकै भयो।

तर उत्तमले आफ्‍नो मालिकबाट व्यापार गर्ने सीप सिक्नु बाहेक अरू कुरा पनि सिकेको थियो। उसले बेइमानी गर्न सिकेको थियो। ऊ यो खराब मार्गमा हिँड्न थाल्दा उसले सुरुमा सिकेको पाठलाई कहिल्यै बिर्सेन। अनि यस खराब मार्गको दुष्ट तरिकालाई उसले आफैं अभ्यास गर्दै आएको थियो, केवल दुई पटक मात्र होइन तर सैयौं पटक अनि प्राय: जहिले पनि हरिकुमार साहुलाई निक्सान पर्ने गरीकन।

यो जवान व्यक्तिले आफूलाई फाइदा हुने खालको मालिकको गल्तीलाई पर्खेर बस्न छोडेको धेरै भइसकेको थियो। त्यस्ता गल्ती त उसले जानाजानी आफै बनाउने गर्थ्यो अब। कारोवार धेरै किसिमका हुन्थे र व्यापार ठूलो थियो अनि उसलाई बिनाशङ्का पूरै विश्वास गरिन्थ्यो।

अवश्य नै ऊ तीष्ण र धूर्त बन्न जान्यो, ऊ सधैं होशियार, सधैं चनाखो रहन्थ्यो। उसको मालिकले उसलाई उच्च सम्मानको दृष्टिले हेर्थ्यो अनि उसले गरेको बेइमान काम कतै पत्ता लाग्ला कि भनेर त्यसलाई निपुणतापूर्वक ढाकछोप गर्न ऊ सधैं चनाखो रहन्थ्यो।

कामकुरा यसरी नै अघि बढ्दै जाने क्रममा उत्तमको उमेर अब बीस वर्ष पूरा भयो। एक दिनको कुरा हो, व्यापारी हरिकुमार साहुकहाँ एउटा चिट्ठी आइपुग्यो जुन चिट्ठी पढेपछि साहुको मनमा भारी शङ्का उब्जियो। चिट्ठीले यो बतायो कि उत्तमको सङ्गत त्यति ठिक छैन अनि उसले एउटा क्लर्कको सामान्य तलबले धान्न सक्ने भन्दा ज्यादै निष्फिक्री रूपमा पैसा खर्च गर्दैछ।

हालसालै उत्तम र उसकी आमा एउटा सुन्दर घरमा सरेका थिए जहाँ महिनाको बाह्र हजार रूपियाँ भाडा तिर्नुपर्थ्यो जब की उसको मासिक तलब अठार हजार मात्र थियो तर उसले आफ्नी आमालाई आफ्‍नो तलब पैंतीस हजार छ भनेर झूट बोलेको थियो। उहाँलाई चाहिने सबै किसिमका सुविधाहरू पूरै जुटाइएका थिए अनि यसरी संसारमा लामो सङ्घर्षपछि बल्ल खुशीका दिनहरू आइपुगे भन्ने आमालाई लाग्दैथियो।

हरिकुमार साहुले त्यो चिट्ठी प्राप्त गर्दा उत्तम आफ्‍नै डेस्कमा बसेर काम गर्दैथ्यो। उसले आफ्‍नो मालिकलाई पुलुक्क हेर्‍यो। साहुको अनुहार एक्कासी बदलिएको उसले देख्यो। साहुले चिट्ठीलाई दोहोराएर दुई-दुई पटक पढ्यो अनि चिट्ठीका कुराले मालिकलाई विचलित पारेको कुरा उत्तमले स्पष्टै देख्न सक्थ्यो। हरिकुमार साहुले उत्तमको डेस्कतिर यस्सो नजर लगायो अनि त्यतिखेर उनीहरूका आँखाहरू ठ्याक्कै जुध्न पुगे। त्यो एकैछिनको लागि थियो, तर मालिकको हेराइ यस्तो थियो कि त्यसले उत्तमको मुटु नै छेड्यो।

दिनभरि व्यापारी साहुको हिँडाइचलाइ यस्तो थियो कि त्यो देख्दा त्यो जवानलाई डर र त्रास मात्र लागिरह्यो। उसलाई अब यो स्पष्टै थाहा भयो कि त्यो चिट्ठीले मालिकको हृदयमा शङ्का उब्जाइदिएको छ। अहो! उसलाई यति नमीठो पछुतो लाग्न थाल्यो अब! आफ्नो चोरी काम प्रकट होला र आफूले सजायँ भोग्नुपर्ला भन्ने कुराले ऊ यति भयभीत भयो! उसको पर्दाफास गरियो भने उसको बदनाम हुने र उसको जीवन बर्बाद हुने कुरा निश्चित थियो र उसकी विधवा आमा शोकले मर्नुहुने कुरा पनि निश्चित थियो।

त्यो साँझ उत्तमले खाना नखाएको कुरालाई र उसको मुख निकै अँध्यारो भएको कुरालाई उसकी आमाले ख्याल गर्नुभयो।

“तिमीलाई सञ्चो छैन जस्तो छ,” उहाँले भन्नुभयो। “आराम गर्‍यौ भने सुधार होला।”

“टाउको मात्र दुखेको हो। म एकछिन सोफामा पल्टिन्छु।”

आमा एकछिनपछि ऊ पल्टिरहेको सोफामा बस्न आउनुभयो अनि आफ्‍नो हात उसको निधारमाथि राख्नुभयो। तर के गर्नु, उसले त्यतिखेर अनुभव गरिरहेको पीडालाई आमाको हातको प्रेमिलो स्पर्षले हटाउन सक्नेवाला थिएन। त्यो पवित्र हातको स्पर्षले त उसको पीडालाई झनै असह्य बनाइदियो।

“अलिक आराम भयो कि?” आमाले सोध्नुभयो। उहाँ आफ्‍नो हात उसको निधारमाथि राखेर केही बेर त्यहीँ बसिरहनुभएको थियो।

“खासै छैन,” उसले जवाफ दियो। “एकछिन हावा खान निस्कन्छु। अनि सञ्चो हुन्छ,” भन्दै ऊ उठ्यो।

“बाहिर नजाऊ, उत्तम,” आमाले भन्नुभयो, उहाँको मनमा फिक्री लाग्न थालिसकेको थियो।।

“म नजीकै चक्कर मारेर आउँछु,” उसले भन्यो र हतारिँदै बाहिर निस्क्यो।

“टाउको मात्र दुखेको होइन उसलाई,” आमाले आफैलाई मनमनै भन्नुभयो।

ऊ केवल आमादेखि उम्कने उद्देश्यले मात्र आधा घण्टासम्म हिँडिरह्यो। यसरी हिँड्दै जाँदा अन्तमा ऊ हिरकुमार साहुको पसलनेर आइपुग्यो अनि त्यसलाई ऊ कटेर जानै लागेको थियो जब उसलाई आश्चर्य लाग्ने एउटा कुरा उसले देख्यो: पसलको भित्रपट्टी बत्ती बलिरहेको रहेछ।

“यसको माने के होला?” उसले आफैलाई सोध्यो र उसको ढुक-ढुक गरिरहेको मुटुभित्र अब एउटा नयाँ डर पस्यो।

ऊ ढोकानेर उभिएर सुन्न खोज्यो, त्यसपछि झ्यालबाहिर उभिएर भित्रपट्टिको आवाज सुन्न खोज्यो तर उसले भित्रबाट कुनै आवाज आएको सुनेन। 

“केही नराम्रो कुरा हुन लाग्दैछ,” उसले भन्यो। “त्यो के होला? यदि मेरो काम प्रकट भयो भने यसको अन्त के होला? खत्तम हुन्छु, खत्तम हुन्छु! बिचरी मेरी आमा!”

त्यो दयनीय जवान हतारिँदै हिँड्यो र सडकहरूमा ऊ दुई घण्टासम्म हिँडिरह्यो र अन्तमा घर फर्क्यो। ऊ घरभित्र पस्दै गर्दा उसलाई उसकी आमाले भेट्नुभयो र आफ्‍नो चिन्ता नलुकाईकन उसलाई सुधार भएको छ कि भनेर सोध्नुभयो। उसले “छ” भन्यो तर यस्तो तरिकाले कि त्यसले उहाँको चिन्तालाई झन् बढाइदियो। त्यसपछि ऊ हतारिँदै आफ्‍नो कोठाभित्र पस्यो।

बिहान नास्ता खान भान्सामा बस्दा आफ्नो छोराको अनुहार अनौठो प्रकारले बदलिएको देख्दा आमाको हृदय डरले भरियो। ऊ केही बोलेन, उहाँको एउटै प्रश्नको पनि सोझो उत्तर उसले दिएन। यसरी भान्सामा बस्दै गर्दा एक्कासी ढोकामा कसैले ढकढकायो। त्यो आवाज सुनेर उत्तम बेसरी अतालियो र ढोकातिर टाउको फनक्क फर्काएर डराउँदै अब के हुने हो भनेर हेर्‍यो।

“को हुनुहुन्छ बाहिर?” आमाले सोध्नुभयो।

“एकजना सर उत्तमजीलाई भेट्न चाहनुहुन्छ,” एउटी केटीको आवाज सुनियो।

उत्तम तुरुन्तै उठ्यो र भान्सा कोठाको ढोका आफ्‍नो पछाडि लगाउँदै घरको गल्लीमा निस्क्यो। आमाचाहिँ आफ्‍नो छोरा फर्केर आउला भनेर पर्खी बस्नुभयो। केही बेरपछि उसलाई फर्केर आएको सुन्नुभयो तर ऊ भान्सा कोठामा पसेन। बरु गल्लीबाट हिँड्दै हिँड्दै ऊ सडकतिर खुल्ने ढोकापट्टि गयो अनि त्यसपछि त्यो ढोका बन्द गरिएको आवाज सुनियो। घरभरि चकमन्न भयो। उहाँ जुरुक्क उठेर भान्साबाट गल्लीमा निस्कनुभयो तर उत्तम त्यहाँ थिएन। ऊ त उसलाई बोलाउन आएको मान्छेसित गइसकेको थियो।

उफ, कस्तो दु:खलाग्दो विदाइ थियो त्यो। हरिकुमार साहुले रातको बाह्र बजेसम्म उत्तमको हिसाब किताबका ठेलीहरू जाँचेर बिताएको थियो। उसले रू छ लाख भन्दा बढी रकम हिनामिना गरेको भेटियो। साहुजीले रिसले आँखा देख्न सकेन र बिहानै उसले उत्तमलाई पक्रन भनी प्रहरी चौकीमा रिपोर्ट गरेको थियो। अनि त्यहाँबाट खटाइएको एकजना प्रहरीसित उत्तम कहिल्यै नफर्कने गरी आफ्‍नी आमालाई छोडेर गएको थियो।

“यो बदमाश जवान, उसैले खनेको खाल्टामा ऊ बस्न जाओस् अब!” रिसले चुर हुँदै हरिकुमार साहु जङ्गियो। अनि उसले जवानको पूरा पर्दाफास गरिदियो। अदालतका सामु उत्तमलाई दोषी ठहराउन हरिकुमार साहु निकै उत्सुक देखिन्थ्यो र उसले यति धेरै प्रमाण जुटायो कि त्यहाँ सुनुवाइ गर्ने हरेकले उत्तमलाई दोषी देख्नु बाहेक उनीहरूसित अर्को विकल्प थिएन।

बिचरी आमा अदालतमा उपस्थित हुनुहन्थ्यो अनि आफ्‍नो छोराको दोषका प्रमाणहरू एक एक गरी सुनाइदा उहाँ आफूलाई थाम्नै नसक्ने गरी रूनुभयो। न्यायधीशले अपराधीलाई सम्बोधन गर्नुभयो। उसको विरुद्धमा फैसला सुनाउनु अघि उसलाई आफ्‍नो पक्षमा बोल्न मौका दिनुभयो। कैदी उठ्यो र भन्यो:

“श्रीमान्, हजुरले मेरो वादीलाई थोरै नजीक आउनलाई अनुरोध गरिदिनुहुन श्रीमानलाई विन्ती गर्न चाहन्छु किनभने म उहाँलाई र श्रीमानलाई मेरो आँखाले देख्ने गरी मेरो कुरा राख्न चाहन्छु।”

हरिकुमार साहुलाई अघिल्तिर अाउन निर्देशन दिइयो। उत्तमले साहुलाई एकछिन राम्ररी हेर्‍यो र त्यसपछि ऊ न्यायधीशतर्फ फर्क्यो।

“श्रीमानको सामु म एउटा कुरा राख्न चाहन्छु” (ऊ नहडबडाईकन, प्रस्टसित बोल्यो), “अनि यस कुराले मेरो अपराधलाई सही ठहराउन नसके तापनि सायद यसले मेरो निम्ति केही हदसम्म माफी दिलाउन सक्ला कि भनेर मैले सोचेको छु। म यो साहुको पसलमा एउटा निर्दोष केटोको रूपमा काम गर्न गएको थिएँ। यदि उहाँ एक इमानदार मान्छे हुनुभएको भए, म आज हजुरको सामु एउटा अपराधीको रूपमा उभिनुपर्ने थिएन!”

हरिकुमार साहुले उसको चरित्रमाथि यस्तो घोर आक्रमण हुनदेखि सुरक्षा प्रदान गरियोस् भन्दै अदालतसित विन्ती चढायो। तर उसलाई चूप रहन आदेश दिइयो। उत्तम अविचलित स्वरमा आफ्‍नो कुरा बताउन अगाडि बढ्यो: —

“उहाँको पसलमा मैले काम गर्न थालेको केही हप्ता मात्र भएको थियो। मैले एउटा हिसाबको बिल जाँचेको थिएँ, उहाँकै निर्देशनबमोजिम, अनि मैले त्यसमा दस हजार रूपियाँको गल्ती भेट्टाएको थिएँ।”

हरिकुमार साहुको मुख रातो भएर आयो।

“म यो देख्न सक्छु कि तपाईंलाई त्यो घटना याद रहेछ,” उत्तमले भन्यो, “अनि म बाचुञ्जेल मैले त्यो याद गर्नुपर्ने कुरा भएको छ। किनकि मैले तपाईंलाई ‘के म हिसाब सच्च्याऊँ’ भनेर सोधें तर तपाईंले जवाफ दिनुभयो —

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन।”

“मलाई बेइमानी बन्न सिकाउने पहिलो पाठ त्यही थियो, श्रीमान्। त्यो बिलको पैसा भुक्तानी गरिएको म आफैले देखें अनि हरिकुमार साहुले त्यो दस हजार रुपियाँ आफ्‍नो लागि लिनुभयो जुन उहाँको थिएन। यो देखेर सुरुमा म बेसरी झस्किएको थिएँ। त्यो एकदम गलत काम देखिन्थ्यो। तर यसको केही समयपछि उहाँले मलाई मूर्ख भन्नुभयो जब मैले बैंकको खजाञ्चीलाई पन्ध्र हजार रूपियाँ फिर्ता दिएँ जुनचाहिँ चेक साट्न जाँदा बैंकले मलाई बढी भुक्तानी गरेको थियो, अनि त्यसपछि” —

“के म यस अदालतबाट सुरक्षाको माग गर्न सक्छु?” हरिकुमार साहुले भन्यो।

“यो जवानले भनेको कुरा के साँचो हो?” न्यायधीशले प्रश्न गर्नुभयो।

हरिकुमार साहु अलमल्लमा परेको देखिन्थ्यो। त्यहाँ उपस्थित सबैजनालाई निश्चित रूपमा यो लाग्यो कि यो दु:खी जवानलाई कुबाटोमा डोर्‍याउने काम उसैले गरेको हुनुपर्छ।

“त्यसको केही समय नबित्दै,” जवानले कुरा अगाडि बढायो, “मेरो तलब थाप्दा, मैले यो थाह पाएँ कि हरिकुमार साहुले मलाई पचास रूपियाँ बढी दिनुभएको रहेछ। म त्यो उहाँलाई फिर्ता दिनै लागेको थिएँ, तर अर्काको गल्ती अर्काले नै सच्च्याऊन् भन्ने उहाँको भनाइलाई मैले सम्झें र आफूलाई भनें, ‘साहुको गल्ती साहुले नै पत्ता लगाऊन् र त्यसलाई साहुले नै सच्च्याऊन्।’ तब मैले बेइमानी काम गरें र त्यो पैसा आफूसित राखें।

“यो कुरा फेरि दोहोरियो अनि फेरि पनि मैले बढी आएको पैसा आफूसितै राखें जुन मेरो थिएन। खराबीको सुरु यही नै थियो र आज म यहाँसम्म आइपुगेको छु। उहाँले यदि मलाई थोरै दया देखाउनुभएको भए सायद म चूप बस्ने थिएँ र आफ्‍नो पक्षमा बोल्ने थिइनँ।”

दुइटै हातले आफ्‍नो मुख छोपेर, आफ्‍नो मन थाम्नै नसकेर जवान आफ्‍नो ठाउँमा थचक्क बस्यो। उसकै छेउमा बसिरहनुभएकी उसकी आमा ठूलो स्वरले रूनुभयो, छोरामाथि निहुरेर आफ्‍ना हातहरू उसको टाउकोमाथि राख्नुभयो। त्यसपछि “बाबु, मेरो बिचरा बाबु!” भन्दै उहाँ मन्द स्वरले रोइरहनुभयो।

अदालतमा उपस्थित करिब सबैजनाको आँखा रसाएको थियो। कोही नबोलेको त्यस बखतमा हरिकुमार साहु करायो:—

“के मेरो चरित्रलाई एउटा अपराधीको वचनको आधारमा यसरी दोष्याउन मिल्छ, श्रीमान्? के यो ठिक हो?”

न्यायधीशले भन्नुभयो, “तपाईंले यो झूटा आरोप हो भनेर गम्भीर शपथ खानुहुन्छ भने सबैका सामु तपाईंको इज्जत कलङ्कित हुनदेखि बच्नेछ।”

यो सुन्ने बित्तिकै उत्तम जुरुक्कै उठ्यो। त्यो दु:खी जवानको अन्तिम मौका यही थियो, अनि मानवताको आधारमा उसको कुरा सुन्न अदालतलाई करै लाग्यो।

आफ्‍नो आँखाले सोझै हरिकुमार साहुलाई हेर्दै उसले कराएर भन्यो:—

“यदि उहाँको हिम्मत छ भने उहाँले शपथ लिन सक्नुहुन्छ!”

हरिकुमार साहुले आफ्‍नो वकिलसित खासखुस सल्लाह गर्‍यो र शपथ खानदेखि पछि हट्यो।

त्यसपछि न्यायधीश उठ्नुभयो र उहाँले फैसला सुनाउनुभयो।

“तिम्री जवानीलाई अनि तिम्रो कलिलो उमेरमा तिमीमाथि आइपरेको परीक्षालाई मध्यनजर राखेर, अदालतले तिमीलाई सबैभन्दा हलुका सजायँको फैसला सुनाउने निर्णय गरेको छ अथवा एक वर्ष कैद। तर म तिमीलाई यो कडा चेतावनी दिन्छु कि तिमी यो खराब मार्गमा अरू अगाडि नबढ्नू। अपराधलाई कुनै पनि न्यायोचित बहाना छैन। परमेश्वर र मानिसको सामु त्यो खराब हो अनि त्यसले केवल दु:ख-कष्ट ल्याउँछ। जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!”

एक वर्ष बितेर उत्तम जेलबाट निस्कँदा उसको आमाको मृत्यु भइसकेको थियो। अदालतबाट जेल चलानी गरिएको दिनमा उसले उहाँको फिक्का अनुहारमाथि आँखा लगाएको त्यो दिनदेखि उसले आमालाई फेरि कहिल्यै देख्न पाएन।

यसको दस वर्षपछि एकजना मान्छेले सुदुर पश्चिमको कुनै शहरमा एउटा खबरपत्रिका पढेर बसिरहेको थियो। उसको अनुहार मलिन र शान्त देखिन्थ्यो तर उसले आफ्‍नो जीवनमा धेरै दु:ख-व्यथाहरू भोगेर आएको देखिन्थ्यो।

“बल्ल ऊ न्यायको हातमा परेछ!” भावनाले चुलिँदै उसले आफैलाई भन्यो। “ऋण चुक्ता गर्न नसकेको अभियोगमा सेन्ट्रल जेलमा चलानी गरिएछ। यही व्यक्तिले मलाई मेरो कलिलो उमेरमा मलाई खराबी गर्न पहिलो पाठहरू सिकाएको थियो। तर परमेश्वरलाई धन्यवाद होस्, यतिका वर्ष अगाडि बोलिएका न्यायधीशका वचनहरू आजसम्म मसित ताजै छन्। “जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!” अनि यो वचनलाई मैले पक्री राख्न सकें, फेरि अपराध गर्नु बाहेक अर्को विकल्प मैले नदेख्दा समेत। अनि परमेश्वरको सहायताले यो वचनलाई म सधैं पक्री राख्नेछु।”

 

Translated and adapted by Pradesh Shrestha from Tiger and Tom and Other Stories for Boys.