Entries by Pradesh Shrestha

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग ३)

Study Series

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग ३)

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: भजनसङ्ग्रह २७:१४; हितोपदेश २९:२५; लूका ९:५९-६०; प्रेरित ५:२९; १ कोरिन्थी १४:३३

हामीले अघिल्ला पाठहरूमा बुद्धिमानी निर्णयहरू गर्ने सम्बन्धमा पाँचओटा महत्त्वपूर्ण बाइबलीय सिद्धान्तहरूलाई अध्ययन गर्‍यौं: १) आफ्नै समझमा भर नपर्नुहोस्; प्रभुमा भरोसा गर्नुहोस् र बुद्धि पाउनलाई धेरै प्रार्थना गर्नुहोस् २) ज्योतिमा हिँड्नुहोस् ३) प्रभुमा मग्‍न रहनुहोस् ४) बाइबलको अवज्ञा गर्न लगाउने कुनै पनि निर्णय नगर्नुहोस् ५) असल सल्लाह खोज्नुहोस्

यस पाठमा हामी यस विषयमा चारओटा आखिरी सिद्धान्तहरूलाई विचार गर्नेछौं:

६) मान्छेको डर नमान्नुहोस् (हितोपदेश २९:२५)

हामीले आफ्ना सबैभन्दा प्रिय आफन्तहरूलाई भन्दा उहाँलाई बढी प्रेम गर्नुपर्छ भनेर येशूले चेताउनी दिनुभयो। हेर्नुहोस् लूका १४:२६। हामीले आफ्ना सबैभन्दा नजिक र प्रिय आफन्तहरूलाई “घृणा” गर्नुपर्छ भन्ने उहाँको मागको तात्पर्य के थियो? एउटा खण्डलाई अर्को खण्डसित तुलना गरेर यसको अर्थ बुझ्न सक्दछौं। यससित जाने एउटा खण्ड मत्ती १०:३७ लाई विचार गर्नुहोस्। हामीले आफ्ना बाबु, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनीलाई घृणा गर्नुपर्छ भन्ने उहाँको तात्पर्य यो थियो कि हामीले उहाँलाई अरूहरूलाई भन्दा ज्यादै बढी प्रेम गर्नुपर्छ। हाम्रो स्नेहहरूमा उहाँलाई एकदमै पहिलो स्थानमा राख्नैपर्छ र अरू सबै कुरा भन्दा उहाँलाई नै खुशी पार्न हामी जिउनुपर्दछ। पारिवारिक सम्बन्धहरू महत्त्वपूर्ण छन् र परमेश्वरको वचनले हामीलाई आफ्ना प्रियहरूको हेरविचार गर्नलाई निर्देशनहरू दिएको छ (१ तिमोथी ५:८; कलस्सी ३:१८-२१)। त्यसो भए तापनि परमेश्वरको इच्छा र कामले कुनै पनि मानवीय सम्बन्धले भन्दा अग्रस्थान लिन्छ।

यदि कसैले परमेश्वरको इच्छामा बुद्धिमानी निर्णयहरू गर्न चाहन्छ भने उसले मान्छेलाई भन्दा परमेश्वरकै डर मान्नुपर्छ र सेवा गर्नुपर्छ। एकातिर साथीहरू वा आफन्तहरूलाई खुशी पार्ने कि अर्कोतिर परमेश्वरको आज्ञापालन गर्ने र उहाँलाई खुशी पार्ने भनेर यदि रोज्नुपर्ने स्थिति आयो भने, उसले परमेश्वरलाई नै रोज्नुपर्छ। परमेश्वरको भन्दा आफन्तहरू र साथीहरूको डर मान्नु ठूलो पाप हो।

धेरैजना अविश्वासीहरूले यही पाप गर्दछन् र यसकै कारण नरकमा पर्दछन् (“डराउनेहरू”, प्रकाश २१:८)। नरकमा पुग्ने धेरैजनाले उनीहरू अरू मानिसहरूले के सोच्लान् भन्ने डरले त्यहाँ पुगेका हुन् भनेर भन्नेछन्।

धेरैजना विश्वासीहरूले पनि यो पाप गरेका छन्। शताब्दियौंदेखि धेरैजनाले पारिवारिक नातासम्बन्धको कारणले अबुद्धिमानी निर्णयहरू गरेका छन्। यहाँ शक्तिशाली बलजफ्तीहरूले काम गर्ने गर्दछन्। आफ्ना परिवारहरूका कारणले कतिले अविश्वासीहरूलाई विवाह गरेका छन् वा खुकुलो खाले बाइबल कलेजमा पढ्न गएका छन् अथवा कुनै पेशा अँगालेका छन्। परिवारका सदस्यहरूको विरोधले गर्दा कतिले परमेश्वरको इच्छालाई अस्वीकार गरेका छन्। मलाई ख्रीष्टमा डोर्‍याउने व्यक्तिको मलाई याद आउँछ। परमेश्वरको इच्छा थियो उसले प्रचार गरेको, तर उसको पत्‍नीले ऊ प्रचार गर्न छोड्दैन भने उसले घर छोडेर जाने चेताउनी दिई। उसले पत्नीलाई सँगै बस्न विन्ती गर्‍यो तर उसले प्रचार गर्न छोडेन। अन्तमा पत्नीचाहिँ घरबाट हिँडी छाड्यो र साथमा सानो छोरालाई पनि लग्यो। पतिको हृदय चुरचुर भयो तर उसले परमेश्वरको वचन प्रचार गर्नुपर्छ भन्ने परमेश्वरको आज्ञालाई मान्न छोडेन। कतिले, त्यस्तो रोजाइको घडीमा परमेश्वरकै इच्छालाई पिठ्यूँ फर्काएका छन्।

युवाहरूले धेरैपटक मान्छेको डर मान्ने पाप गर्दछन्। परमेश्वरले उनीहरूलाई पवित्रताको र सेवाको जीवनमा बोलाइरहनुभएको छ भनेर थाहा गरेर पनि तिनीहरू साथीभाईहरूको नजरमा छुट्टै देखिन चाहँदैनन् र यसले गर्दा उनीहरू परमेश्वरको इच्छा पालन गर्नदेखि पछि हट्दछन्। नयाँ ख्रीष्टियन हुँदा मैले यो कुराको सामना गर्नुपरेको थियो; मेरो लामो कपाल काट्नु परमेश्वरको इच्छा हो भनेर मलाई थाहा थियो तर मेरो “शान” घट्छ भनेर म ढिलासुस्ती गर्दैथिएँ। धेरैजना ख्रीष्टियन युवतीहरू भद्र र नारीलाई सुहाउने प्रकारले वस्त्र पहिरन इन्कार गर्दछन् किनकि तिनीहरू परमेश्वरको भन्दा मानिसको डर मान्छन्। यो ठूलो मूर्खता हो। हामी यस संसारमा उहाँदेखि शर्माउँदछौं भने उहाँ अर्को संसारमा हामीदेखि शर्माउनुहुन्छ भनेर येशूले चेताउनी दिनुभयो (मर्कूस ८:३८)।

७) अधिकारीहरूलाई आदर गर्नुहोस्

बुद्धिमानी निर्णयहरू गर्नलाई अर्को महत्त्वपूर्ण सिद्धान्त हो परमेश्वरबाटका अधिकारीहरूको आदर गर्नु। बाइबलले यसलाई ठूलो विषय बनाएको छ। हेर्नू: रोमी १३:१; १ कोरिन्थी ११:३; एफेसी ५:२२; ६:१-३; १ तिमोथी ५:१७; तीतस ३:१; हिब्रू १३:१७; १ पत्रुस २:१३-१५,१८।

परमेश्वरले उनीहरूमाथि राख्‍नुभएका अधिकारीहरूलाई आदर गर्न र उनीहरूको आज्ञापालन गर्नलाई जब असफल भए तब उनीहरू परमेश्वरको इच्छादेखि बाटो बिराएउने खालका अबुद्धिमानी निर्णयहरू गर्न पुगेका धेरैजना विश्वासीहरू मैले देखेको छु।

धेरैजना युवाहरूले यस्तो भूल गरेका छन् जब उनीहरूले आफ्ना बाबुआमालाई आदर गरेनन्, र फलस्वरूप उनीहरू अबुद्धिमानी विवाह गर्न पुगेका छन्, अबुद्धिमानी मित्रताहरू विकास गरेका छन्, गलत ठाउँमा पढ्न गएका छन्, गलत मण्डलीमा आवद्ध हुन गएका छन्, गलत ठाउँमा बसाइ सरेका छन्, र अरू धेरै अबुद्धिमानी निर्णयहरू गरेका छन् जुनचाहिँ उनीहरूले गर्दैनथे यदि उनीहरूले केवल आफ्ना बाबुआमालाई आदर गरेका भए।

उही भूल पत्‍नीहरूले गरेका छन् जोहरूले आफ्ना पतिहरूको आज्ञापालन गरेका छैनन् र उनीहरूलाई अनादर गरेका छन्। हाम्री आमा हव्वा यसको प्रथम उदाहरण हुन्!

यही भूल मण्डली सदस्यहरूले गरेका छन् जसले आफ्ना अगुवाहरूको आज्ञा मानेका छैनन् र उनीहरूलाई अनादर गरेका छन्। तपाईं आफ्ना अगुवाहरूसित रिसाउनुभयो र उनीहरूप्रति तीतो बन्नुभयो भने तपाईंले असल निर्णयहरू गर्नुहुनेछैन। अगुवाहरूलाई प्रश्न गर्नु बेठीक होइन, तर उनीहरूप्रति खराब धारण राख्‍नु गलत हो। मैले धेरैजनालाई देखेको छु जोहरूले असल मण्डलीहरू छोडे र पछि हटे किनकि तिनीहरू मण्डली अगुवाहरूसित तीतो बने र पश्चात्ताप गर्न अस्वीकार गरे। मण्डली अगुवाहरू केवल मानिस मात्र हुन् भन्ने कुरा सम्झनुपर्छ र उनीहरू सिद्ध त हुँदै हुँदैनन्। त्यो एउटा बाहना होइन; यो एउटा वास्तविकता हो! मण्डली अगुवाहरू परमेश्वरको वचनभन्दा माथि हुँदैनन् अनि यदि उनीहरूले पाप गर्छन् भने उनीहरूलाई बाइबली तरिकामा अनुशासन गरिनुपर्छ (१ तिमोथी ५:१९-२०), तर निश्चित प्रमाणको अभावमा अगुवाहरूलाई अपराध लगाएइको खण्डमा उनीहरूलाई हामीले निरपराध नै ठान्नुपर्छ। एउटा मण्डली छोड्नुपर्ने पनि समय हुन्छ जब त्यो परमेश्वरको वचनप्रति समर्पित हुँदैन, तर हामीले होशियारीसाथ त्यसलाई सही तरिकाले छोड्नुपर्छ, अर्थात् ठीक हृदयले अनि हामी सधैं अझ बलियो मण्डलीमा सर्नुपर्छ, अझ कमजोरमा होइन।

अधिकारीहरू परमेश्वरको वचनले जाँचिनुपर्छ। हामीले अधिकारमा रहेका व्यक्तित्वहरूको आज्ञापालन अन्धा रूपले गर्दैनौं किनकि हामी एक पतित संसारमा बाँचिरहेकाछौं अनि सर्वोच्च अधिकारी परमेश्वर हुनुहुन्छ। प्रत्येक अधिकारी त्यसैले परमेश्वरको वचनद्वारा जाँचिनुपर्छ। प्रेरित ५:२९; १७:११। मोशाले फारोको अधिकारलाई इन्कार गरे, उसको भन्दा उच्च अधिकारलाई पछ्याउन, अर्थात् परमेश्वरकै!

अधिकारीहरूलाई अपराध लगाइएमा निश्चित प्रमाणको अभावमा उनीहरूलाई निरपराध ठान्नुपर्छ। कतिपय व्यक्तिहरू जब अधिकारमा रहेकाहरूसँग असहमत हुन्छन् प्रायःजसो उनीहरू पवित्रशास्त्रको स्पष्ट आधारमा नभएर आफ्नै भावना तथा धारणाको आधारमा त्यसो हुने गर्दछन्। अधिकारमा रहेको कुनै व्यक्ति गलत छन् भन्ने मलाई लाग्दछ भने मैले आफूलाई यो प्रश्न सोध्नुपर्दछ: उक्त अगुवा गलत छन् भन्ने कुरा देखाउने मसँग बाइबलको स्पष्ट आधार छ त? अनि यस विषयमा के मेरो विचार सही छ त? हामीले आफूमाथिका अगुवाहरूको आज्ञापालन गर्नुपर्छ भन्ने पवित्रशास्त्रमा थुप्रै आज्ञाहरू दिइएका हुनाले पवित्रशास्त्रलाई ठीक-ठीकसँग छुट्ट्याउने काम नगरीकन अन्य कुनै पनि आधारमा अधिकारीहरूलाई इन्कार गर्नु खतरा हो।

८) भविष्यलाई हेर्नुहोस् (हिब्रू ११:२४-२७)

मोशाले आफ्नो युवावस्थाको एउटा घडीमा आइपुगेपछि (“उमेरदार भएपछि”) एउटा ठूलो निर्णय गरे। उनी फारोका छोरो कहलिएका थिए जो त्यसबेलाका सबैभन्दा धनी र शक्तिशाली राजा थिए। मोशाले आफ्नो सांसारिक भविष्यलाई हेर्दै धनी र शक्तिशालीहरू, मोजमज्जाको पछि लाग्नेहरूको भाग्यलाई रोज्न सक्दथे तर उनले तिरस्कृत, दासत्वमा रहेका यहूदीहरूको भाग्यलाई आफ्नो भाग्य बनाउने निर्णय गरे। उनले परमेश्वरको वचनद्वारा पछिसम्मको भविष्यलाई हेर्दै यो बुद्धिमानी निर्णय गरेका हुन्। उनले पछिको अर्को जीवनलाई हेरे अनि ख्रीष्टलाई अँगालेको खण्डमा यस जीवनमा दुःखकष्ट पाइने अनि ख्रीष्टको अनन्त राज्यमा धनसम्पत्ति पाइने, तर यदि फारोलाई अँगालेको खण्डमा उनले “थोरै समयसम्म पापको मोजमज्जा” भोग्न पाउने र त्यसपछि अनन्तसम्म उनलाई पछुतो हुने कुरा उनले देखे।

हरेक युवा विश्वासीले मोशाको बुद्धिमानी नमुनाको अनुसरण गर्नुपर्छ। उसले आफैलाई सोध्नुपर्छ, “मैले यो निर्णय गरें भने पछि गएर के हुनेछ? अनन्तसम्म यसले के कस्ता नतीजाहरू ल्याउनेछन्? यस व्यक्तिलाई विवाह गरें भने; त्यो पेशा अँगालें भने; फलानो शिक्षा हासिल गर्नपट्टि लागें भने; फलानो देश गएँ भने; त्यो पार्टीमा सहभागी भएँ भने; फलानोसित मित्रता बढाएँ भने; त्यो टी.भी. किनें भने; त्यो सङ्गीत सुनें भने; यदि इन्टरनेटमा देखिने कुराको विषयमा बेहोशियारी भएँ भने; यदि मैले आफ्नो हृदयलाई संसारको प्रेममा फसाएँ भने?

अविश्वासीहरू भविष्यलाई देख्‍न सक्दैनन् किनकि तिनीहरू अन्धकारमा हिँड्दछन् र बाइबललाई विश्वास गर्दैनन्। केवल आफ्ना आँखाले देखेका कुराहरूकै आधारमा तिनीहरू आफ्ना निर्णयहरू गर्दछन्। तिनीहरू केवल पैसा, मोजमज्जा र इज्जतको मात्र हिसाब गर्दछन्।

विश्वासीसँग यस्तो ज्योति छ जो अविश्वासीसँग छैन अनि उसले परमेश्वरको अनन्त वचनको आधारमा बुद्धिमानी निर्णयहरू गर्न सक्दछ।

विश्वासीले विशेष गरी ख्रीष्टको न्यायआसनलाई हेर्नु खाँचो छ र त्यस महत्त्वपूर्ण अवसरमा उसले के सुन्न पाउनेछ भन्ने कुराको आधारमा आफ्ना निर्णयहरू गर्नुपर्दछ।

९) थकित वा निराश हुँदा निर्णयहरू नगर्नुहोस् (अय्यूब ३:१-२; १७:११)

जुनबेला हामी थकित र निराश हुन्छौं र भारी परीक्षा भएर गइरहेका हुन्छौं त्यो कुनै महत्त्वपूर्ण निर्णयहरू गर्ने समय होइन अथवा हामीले पहिल्यै गरिसकेका निर्णयहरूलाई अदलबदल गर्ने समय पनि होइन। अय्यूबलाई विचार गर्नुहोस्। उनले आफ्नो परीक्षाको घडीमा परमेश्वरलाई सरापेनन्, तरैपनि उनले परमेश्वरलाई शङ्का गरे र भविष्यको सान्त्वना र आशिषको सम्बन्धमा उनले कतिपय घडीहरूमा आफ्नो विश्वास गुमाए। आत्मिकरूपमा र भावनात्मक रूपमा उनले आफ्नो बाटो गुमाए (अस्थायी रूपमा)। भनिएको छ, “अन्धकारमा त्यस कुरालाई शङ्का नगर्नुहोस् जुन कुरालाई परमेश्वरले तपाईंलाई ज्योतिमा देखाउनुभएको थियो” अनि मैले यो कुरा धेरैपटक बुद्धिमानी सल्लाहको रूपमा पाएको छु। धेरैजाना व्यक्तिहरूले निराशाका समयहरूमा मूर्ख निर्णयहरू गरेका छन्, आफ्नो शिक्षासमेत बदलेका छन्। जेम्स रबिन्सन एकताका साहसी ब्याप्टिष्ट प्रचारक थिए, तर एउटा क्यारिज्म्याटिकलाई उसका हातहरू उनीमाथि राखेर “दुष्टात्माहरू धपाउन” दिएको बेलामा उनले झूटा शिक्षालाई अँगाले। ज्योति चम्किलोसँग बलिरहेको समय नआएसम्म पर्खनु बेस हुन्छ जुनबेला हाम्रा विचारहरू निर्मल हुन्छन्।

१०) परमेश्वरलाई पर्खनुहोस् (भजनसङ्ग्रह २७:१४)

परमेश्वरको इच्छामा बुद्धिमानी निर्णय गर्न खोज्ने क्रममा, हतार नगर्नु ज्यादै महत्त्वपूर्ण हुन्छ। हतार गर्दाखेरि गलत निर्णय गर्न सजिलो छ। प्रभुको मन के छ भन्ने कुराको हामीलाई निश्चय नभएसम्म हामी पर्खनुपर्छ अनि तब उहाँले हामीलाई देखभाल गर्नुहुन्छ।

यहोशू र इस्राएल गिबियोनका मानिसहरूसित मैत्री सम्बन्ध गाँस्नलाई मञ्जुर गर्न हतार गरे; तिनीहरूले आफ्ना आँखामा भरोसा गरे र उक्त विषयमा परमेश्वरको मुहार खोजेनन् (यहोशू ९:१४-१५)।

प्रभुलाई पर्खने काममा हामीले ध्यान दिनुपर्ने त्यहाँ दुईटा बाइबलीय सिद्धान्तहरू छन्: स्थायी शान्तिको सिद्धान्त र गडबडरहितताको सिद्धान्त। यी दुई सिद्धान्तहरू १ कोरिन्थी १४:३३ मा पाइन्छन्। जब त्यहाँ शान्ति छैन र त्यहाँ गडबड छ, हामी होशियार हुनुपर्छ र उक्त निर्णयमा हामी हामफाल्नुहुँदैन। परमेश्वरबाटको बुद्धि सधैं शान्तिमय (“मिलनसार”, याकूब ३:१७) हुन्छ। परमेश्वरले सधैं हर प्रकारले शान्ति दिनुहुन्छ (२ थेस्सलोनिकी ३:१६)।

परमेश्वरको इच्छा खोज्ने क्रममा म यो शान्तिको प्रतिक्षा गर्छु। यदि मलाई कुनै कुरा गर्नलाई मलाई झुकाव हुन्छ, तब त्यहाँ बढ्दो शान्ति हुन्छ कि बढ्दो शङ्का हुन्छ सो म हेर्न चाहन्छु। कुनै कुरा परमेश्वरबाटको हो भने शान्ति बढ्दै जान्छ र विश्वास बढ्दै जान्छ, तर उक्त कुरा परमेश्वरको इच्छा होइन रहेछ भने त्यहाँ गडबड र शङ्का आउनेछ र शान्ति त्यहाँ हुनेछैन।

परमेश्वरको इच्छा पर्खेर प्राप्‍त गर्न लायकको कुरा हो! धेरैओटा निर्णयहरू जीवनभरलाई असर पार्ने खालका हुन्छन् अनि यदि एक व्यक्तिले ती निर्णयहरूमा गलती गरेमा उसलाई पछुता मात्र हुने होइन ऊ नमरूञ्जेल त्यसका असरहरूलाई भोगेर बाँच्नुपर्ने हुन्छ। विवाह त्यस्तो एउटा निर्णय हो, तर त्यहाँ अरू थुप्रै छन्।

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने भाग ३ सम्बन्धमा पुनरावलोकन प्रश्नहरू

  1. यस पाठमा हामीले चर्चा गरेका चार कुराहरू के-के हुन्?
  2. मान्छेको डर उसको लागि पासो हो भनेर कुन पदले बताउँछ?
  3. हामीले यदि आफ्‍ना बाबु, आमा, पत्‍नी, छोराछोरीहरू, दाजुभाइ, दिदीबहिनीहरूलाई घृणा गर्दैनौं भने हामी उहाँको योग्य छैनौ भनेर कुनचाहिँ खण्डमा बताइएको छ?
  4. यसको माने के हो?
  5. “डराउनेहरू” आगोको झीलभित्र जानेछन् भनेर कुन पदले बताउँछ?
  6. यदि हामी यस वर्तमान संसारमा येशूदेखि र उहाँका वचनहरूदेखि शर्माउँदछौं भने अर्को संसारमा उहाँ हामीदेखि शर्माउनुहुनेछ भनेर कुन पदमा येशूले भन्नुभयो?
  7. बप्तिस्माले कुन कुरालाई दर्शाउँछ?
  8. हरेक प्राणी उच्च अधिकारीहरूको अधीनमा बस्नुपर्छ भनेर कुन पदले सिकाउँछ?
  9. मण्डली अगुवाहरूलाई दुईगुणा आदर दिनुपर्छ भनेर कुन पदले सिकाउँछ?
  10. हामीले मान्छेको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भनेर पत्रुसले कुन पदमा भने?
  11. बेरियालीहरूले पवित्रशास्त्रहरूको खोजी गरेकाले पवित्रशास्त्रहरूद्वारा सबै कुराहरूको जाँच गरेकाले उनीहरूको तारिफ गरिएको कुरा कुन पदमा छ?
  12. अगुवाहरूलाई अपराध लगाइएमा, प्रमाण भेटिएको खण्डमा बाहेक, उनीहरूलाई __________________ ठान्नुपर्छ।
  13. मोशा कसरी “जो देखिनुहुन्न उहाँलाई देखेजस्तै गरी” हिँड्न सके?
  14. परमप्रभुको बाटो हेर र उहाँले तिम्रो हृदयलाई बलियो पार्नुहुनेछ भनेर कुन पदले भन्दछ?
  15. निर्णय गर्दा हतार गर्नदेखि बच्नु किन महत्त्वपू्र्ण छ?
  16. गिबोनका मानिसहरूको सम्बन्धमा यहोशू र इस्राएलको गलती के थियो?
  17. परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ भनेर कुन पदले बताउँछ?
  18. कुनै निर्णयको सम्बन्धमा शान्ति नभएको अवस्था छ भने विश्वासी जनले के गर्नुपर्छ?
  19. कुनै निर्णयको सम्बन्धमा गडबडी छ भने विश्वासी जनले के गर्नुपर्छ?
  20. परमेश्वरको बुद्धि सधैं शान्तिमय (“मिलनसार”) हुन्छ भनेर कुन पदले बताउँछ?
  21. परमेश्वरले सधैं हर प्रकारले शान्ति दिनुहुन्छ भनेर कुन पदले बताउँछ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग २)

Study Series

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग २)


डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: हितोपदेश १२:१५; २४:६; २९:२५

अघिल्लो पाठमा हामीले बुद्धिमानी निर्णयहरू गर्नका लागि बाइबलका चारओटा महत्त्वपूर्ण सिद्धान्तहरूलाई अध्ययन गर्‍यौं: १) आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस् २) ज्योतिमा हिँड्नुहोस् ३) प्रभुमा मग्‍न रहनुहोस् ४) बाइबलको अवज्ञा गर्न लाउने खालको कुनै पनि निर्णय नगर्नुहोस्।

यस पाठमा हामी यस विषयमा अर्को सिद्धान्तलाई हेर्नेछौं:

५) असल सल्लाह खोज्नुहोस् (हितोपदेश १२:१५; १९:२०)

परमेश्वरको इच्छामा बुद्धिमानी निर्णयहरू गर्नका लागि अर्को एकदम महत्त्वपूर्ण एउटा भाग यो छ: ईश्वरीय सर-सल्लाह खोज्नु। यस कुरालाई व्यावहारिक बुद्धिको पुस्तक हितोपदेशमा १३ पटक उल्लेख गरिएको पाइन्छ। विवाह, पढाइ, काम, बसाइ-सराइ जस्तो कुनै पनि ठूलो निर्णय गर्नु अघि आत्मिक सर-सल्लाह खोज्नुपर्छ। तर ठीक सल्लाह कहाँबाट पाउन सकिन्छ र पाएको सल्लाहलाई कसरी मूल्याङ्कन गर्ने, त्यो जान्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

बुद्धिहीन सल्लाह सुन्ने व्यक्तिको उल्लेखनीय उदाहरण सुलेमानका छोरा रहबाम हुन् (१ राजा १२:१-१६)। राजगद्दी ग्रहण गरेको लगत्तै उनका प्रजाले उनीसित हामीलाई दयालु व्यवहार गरियोस् भन्दै आग्रह गरे। आफ्नो निर्णय गर्नुपर्दा उनले पहिला बूढापाकाको सल्लाह सुने जसले उनका बाबुलाई सर-सल्लाह दिने गरेका थिए अनि उनीहरूले उनलाई प्रजाको कुरामा ध्यान दिनुपर्छ भन्ने बुद्धिमानी सल्लाह दिए। त्यसपछि उनले आफ्नै दौंतरीहरूको सल्लाह खोजे अनि तिनीहरूले उनलाई आफ्नो खुशीअनुसार व्यवहार गर्न र प्रजाको मनोभावनाको बेवास्ता गर्नलाई सल्लाह दिए। उनले यही बुद्धिहीन सल्लाह पछ्याउने निर्णय गरे र फलस्वरूप आफ्नो राज्यको अधिकांश भाग गुमाए। युवाले सधैं खराब सल्लाह र बूढापाकाले सधैं असल सल्लाह दिन्छन् भन्ने होइन। प्रभुसँग हिँड्ने र परमेश्वरको वचन जान्ने युवाले त्यसरी नजिउने बूढापाकाले भन्दा असल सल्लाह दिनेछ। १ राजा १३ मा एक परमेश्वरको जनले पछि हटेका, झूट बोल्ने वृद्ध अगमवक्ताको कुरा सुनेर परमेश्वरको इच्छाबाट तर्केर गए र उसको नराम्रो अन्त भयो।

बुद्धिमान् व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस् (“बुद्धिपूर्ण सल्लाहद्वारा” हितोपदेश २४:६)।

बुद्धिमान् सल्लाहकारहरूले परमेश्वरको वचन जानेका हुन्छन् – बाइबलीय तरिकामा बुद्धिमानी सल्लाह खोज्दा हामी मानवीय राय चाहन्नौं; हामी बाइबलीय जानकारीमा आधारित बुद्धि चाहन्छौं। हामी कुनै मान्छेको वचन खोजिरहेका छैनौं तर परमेश्वरबाटको वचन खोज्दैछौं। यसकारण हामीले बाइबललाई परिश्रमसाथ अध्ययन गरेका विश्वासीहरूबाट सल्लाह खोज्नुपर्छ। बुद्धिमान् सल्लाहकारहरू आत्मिक रूपमा पाको हुन्छन् र बाइबलमा जानकार हुन्छन्।

बुद्धिमान् सल्लाहकारहरू खाँटी शिक्षा जानेका र विचार मिल्ने खालका हुन्छन् नव-इभान्जेलिकलहरू वा क्यारिज्म्याटिकहरू वा क्याल्भिनवादीहरू वा अझै उदारवादी र रोमन क्याथोलिक वा शिक्षामा एकै मन नभएका अरूहरूसित सल्लाह खोजेर कतिपय बाइबलीय घरपरिवारकाहरूले गलत निर्णयहरू गर्न पुगेका छन्। अमेरिकामा गर्भपतनलाई वैधानिक तुल्याउने `रो विरुद्ध वेड’ (Roe vs. Wade) नामक अमेरिकाको राष्ट्रिय स्तरको मुद्दाको प्रतिपक्षी नोर्मा मक्कोर्भी (Norma McCorvey) को दुःखद उदाहरणलाई विचार गर्नुहोस्। तिनी गर्भपतनको विरुद्धमा उठीन् र कुनै एक “इभान्जेलिकल” अगुवाबाट बप्‍तिस्मा लिइन्; तर गर्भपतनको विरुद्धमा आवाज उठाउने सिलसिलामा क्याथोलिक पादरीहरूसितको उनको घनिष्टतामार्फत पछि गएर उनी रोमन क्याथोलिक चर्चलाई स्वीकार गर्न पुगिन्।

बुद्धिमान् सल्लाहकारहरूले आफ्नै जीवनमा असल निर्णय गरेका हुन्छन् र उनीहरूको चरित्र असल र स्थिर खालको हुन्छ। (“विश्वासघाती मान्छेमाथि भरोसा” हितोपदेश २५:१९) नगर्नलाई बाइबलले चेताउनी दिन्छ)। अल्छी गर्ने व्यक्तिहरू, तिर्नुपर्ने ठाउँमा नतिर्नेहरू, झूट बोल्नेहरू, ठग्नेहरू, अस्थिर स्वभाकाहरूले असल सल्लाह दिनेछैनन्। विशेष गरी युवाहरूले यसलाई ध्यानमा राख्‍नुपर्छ। वचनले युवालाई बाबुआमाको आदर गर्नुपर्छ भन्दछ, तर बाबुआमाहरू असल चरित्रका छैनन् भने तिनीहरू बुद्धिमान् सल्लाहकार होइनन्। मानसिक र आत्मिक रूपले अस्थिर मान्छेलाई पनि एक अर्थमा “विश्वासघाती मान्छे” को वर्गीकरणमा राख्‍न सकिन्छ। मेरा बाबु यस वर्गमा पर्नुहुन्थ्यो किनकि दोस्रो विश्व युद्धमा प्रशान्त महासागरका टापुहरू (प्यासिफिक आइल्याण्डस्) मा भिडन्तमा पर्नुहुँदा उहाँको मस्तिष्कमा दीर्घकालीन असर पुग्‍न गएको थियो। त्यसपछि उहाँलाई कहिल्यै ठीक भएन र बारम्बार उहाँलाई मानसिक अस्पतालमा भर्ना गर्नुपर्‍यो। उहाँले प्रभुलाई चिन्नुहुन्थ्यो तर कुनै पनि भार वहन गर्न वा महत्त्वपूर्ण निर्णय गर्न उहाँ असक्षम हुनुहुन्थ्यो र उहाँ ठीक सोच्न सक्‍नुहुन्नथ्यो। परिणामस्वरूप हाम्री आमा र हामी छोराछोरीहरूले कतिपय समयहरूमा उहाँको आशीर्वाद नखोजीकनै कामकुरा गर्न सिक्नुपर्‍यो। जस्तै, उहाँ कुनै पनि काममा स्थिर रहन सक्‍नुहुन्नथ्यो त्यसैले परिवारलाई धान्न आमा काममा जानुपर्ने भयो। अरू विकल्पै थिएन तर बाबुले यस कुराको ज्यादै विरोध गर्नुभयो। उहाँ काम गर्न सक्‍नुहुन्नथ्यो र उहाँले कमाउन सक्‍ने कुनै सम्भावनै थिएन, तर आमाले काम गरेको पनि उहाँ चाहनुहुन्नथ्यो। अन्तमा आमा आफै अघि सर्नुभयो अनि प्रभुले आशिष दिनुभयो र उहाँले विवाहअघि काम गर्नुभएको टेलिकम कम्पनीमा काम पाउन सक्‍नुभयो अनि विस्तारै बाबुलाई यसको बानी पर्न थाल्यो। सामान्य अवस्थामा पत्‍नीले त्यसो गर्नु त विद्रोह हुन्थ्यो तर यस अवस्थामा त्यो विद्रोह थिएन। २३ वर्षको उमेरमा मैले मुक्ति पाएपछि म बाइबल कलेज जान चाहेँ र सेवाकार्यको निम्ति तालिम लिन चाहेँ। बाबुले यसको विरोध गर्नुभयो। प्रभुले मलाई इसाई पुस्तकहरू लेख्‍न अगुवाइ गर्नुभयो। बाबुले यसको विरोध गर्नुभयो। बाबुको इच्छा थियो मैले आफ्नो घरतिरै बसेर कतै काम गरोस्। म एकदम खुशी छु कि मैले मानसिक गडबडीले ग्रस्त हुनुभएका मेरा घाइते बाबुलाई नभएर प्रभुलाई पछ्याएँ। बाबुआमाको सल्लाहको विरुद्धमा कहिलेकाहिँ निर्णय गर्नुपर्ने हुन्छ तर त्यस्तो निर्णय गर्नु नै छ भने त्यो हल्कारूपमा कहिल्यै गरिनुहुन्न।

बुद्धिमान् सल्लाहकारहरू बाइबल विश्वास गर्ने असल मण्डलीहरूमा पाइन्छन्। यस्तो सल्लाह पाइने पहिलो ठाउँ मेरो आफ्नै मण्डली हो (यदि म एक बाइबललाई साँच्चै विश्वास र आदर गर्ने असल मण्डलीमा छु भने)। मण्डली सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। आफ्ना जनहरूलाई सिकाउन र सुरक्षा दिन परमेश्वरले गोठालाहरू, शिक्षकहरू दिनुभएको छ (एफेसी ४:११-१२)। आत्मिक सल्लाह लिनुपर्दा उनीहरू नै हाम्रो सल्लाहकार-सूचीको माथितिर हुनुपर्छ।

बुद्धिमान् सल्लाहकारहरूसँग तपाईंको विशेष परिस्थितिको सम्बन्धमा बुद्धि हुन्छ। खेतीपातिको सल्लाह चाहिँदा तपाईं डाक्टरकहाँ जानुहुन्न। वैवाहिक जीवन सम्बन्धी सल्लाह चाहिँदा तपाईं सफल वैवाहिक जीवन भएको व्यक्तिकहाँ जानुहोस्। सुसमाचार प्रचारमा आफ्नो पूरै जीवन बिताउने बारेमा सल्लाह लिन चाहनुहुन्छ भने तपाईं एक अनुभवी मिसनरीकहाँ जानुहोस्। एउटी असल विश्वासी आमाले चार्ल्स स्पर्जनलाई प्रचारक नबन्नलाई सल्लाह दिएका रहेछन्। तर वास्तवमा एउटी स्त्रीले प्रचारक हुनु भनेको के हो खास बुझ्न सक्दैनन्, यद्यपि उनी एक ज्यादै आत्मिक स्त्री हुन सक्छिन्। स्पर्जन लेख्छन्, “मलाई राम्ररी याद छ, एउटी आत्मिक म्याडमले मलाई प्रचारकको काममा हात नहाल्नलाई भरमग्दुर प्रयास गरिन्; सक्दो इमानदारीता र धैर्यतामा मैले उहाँको रायको लेखाजोखा गर्ने प्रयास गरें — तर उहाँको भन्दा फराकिलो अनुभव भएकाहरूको फैसला नै बढी वजनदार ठहरियो” (सी एच स्पर्जन, लेक्चर्स् टु माइ स्टुडेन्ट्स्)।

बुद्धिमान् सल्लाहकारहरू सत्य कुरा बोल्न तयार हुन्छन् (हितोपदेश २७:६) – हामी जे सुन्न चाहन्छौं त्यो सुनाउनेहरूबाट मात्र सल्लाह लिन खोज्छौं, वा नरम-नरम मात्र बोल्ने, हामीलाई फुर्क्याउने, कठीन विषयहरूलाई एकातिर पन्छाएर कुरा गर्नेहरूबाट मात्र सल्लाह खोज्छौं भने, हामी समय खेर फाल्दैछौं। हामी त्यस्ता सल्लाहकारहरू खोजौं जोहरूले हामीलाई जे जस्तो भए पनि सत्य कुरा बताउँछन्। विश्वासीले आफूले सुन्न चाहेको कुरा सुनाउनेसँग मात्र सल्लाह लिनु भनेको ऊ परमेश्वरको इच्छाको बारेमा गम्भीर नभएको प्रमाण दिनु हो। हामीलाई अगमवक्ता मीकाया जस्तो सल्लाहकार चाहिन्छ (१ राजा २२:२७) जसले दु:खै भोग्‍नु परे तापनि सत्य कुरा बोल्न पछि हटेनन्। त्यसैले हो, दुष्ट राजा आहाबले गुनासो गरेका थिए, “म तिनलाई घृणा गर्दछु किनभने तिनले मेरो निम्ति असल अगमवचन कहँदैनन्, तर सधैं खराबी मात्र” (१ राजा २२:२७)। आहाबलाई चाहिने सल्लाहाकार मिकाया नै थिए तर त्यो जान्न सक्‍ने बुद्धि आहाबसित थिएन।

एकजनाभन्दा बढीसँग सल्लाह खोज्नुहोस् (“जहाँ धेरै सल्लाहकार हुन्छन्” हितोपदेश ११:१४; २४:६)।

यस कुरालाई जोड दिने हेतुले यसलाई हितोपदेशमा दुई-दुईपटक दोहोर्‍याइएको छ। आत्मिक सल्लाहकारहरूको एउटै मत हुनु भनेको परमेश्वरले आफ्नो इच्छालाई अनुसमर्थन गर्नुहुने उहाँको एउटा तरिका हो। जस्तै, कुनै युवाले यदि विवाह सम्बन्धी सल्लाह खोज्दैछ भने अनि उसले बाबुआमासँग, मण्डलीका गोठालाहरूसँग, शिक्षकहरूसँग, साथै अरू पाका आत्मिक व्यक्तिहरूसँग सल्लाह लिन्छ भने त्यहाँ एक मत भएको हुनुपर्छ।

फेरि, “धेरै सल्लाहकारहरू” पाइने सर्वोत्तम ठाउँ परमेश्वरको भय मान्ने, बाइबल विश्वास गर्ने मण्डली हो। बाइबल कलेजको बारेमा स्पर्जनले व्यक्त गरेको कुरा एउटा ईश्वरीय मण्डलीको सवालमा झनै सान्दर्भिक छ: “यहाँ हामी एकसाथ भेला हुन्छौं, प्रार्थनामा सँगै हुन्छौं, कुराकानीमा, विभिन्न माण्डलिक कामकाजको सिलसिलामा हामी एक आपससँग समय बिताउँछौं जसले गर्दा हामीले एक-अर्कालाई चिन्न सक्छौं, नापजोख गर्न सक्छौं, एकअर्काका कमजोर तथा बलियो पक्षहरू जान्न सक्दछौं। एउटा बुद्धिमान् मानिसले धेरैजनाको अर्थात् बहुमतको, सल्लाह, निष्कर्षलाई अस्वीकार गर्नलाई अलिक ढिला-सुस्ती नै गर्नेछ।” (सी एच स्पर्जन, लेक्चर्स् टु माइ स्टुडेन्ट्स्)।)

तर यसको मतलब, मभन्दा माथिका व्यक्तिहरूको सहमति बिना मैले कहिल्यै पनि निर्णय गर्नु हुँदैन भन्ने होइन, किनकि मानिस गलत हुन सक्छ; तर यसको मतलब यो हो कि यदि मैले त्यस्तो निर्णय गर्ने नै हो भने मलाई वचनले स्पष्टै समर्थन गरिरहेको हुनुपर्छ र आफूले लिन लागेको निर्णय परमेश्वरको इच्छा हो भन्ने कुरामा म पूरै निश्चित हुनुपर्छ।

विभिन्न व्यक्तिहरूबाट सल्लाह लिँदा हामी कुनै एउटै व्यक्तिको इच्छाको दास बन्नबाट जोगिन्छौं। सन् १९७० को दशकको “पेन्टेकोस्टल गोठाला अभियान” (Pentecostal Shepherding Movement ) को भूल यही थियो। उनीहरूको शिक्षा अनुसार हरेक विश्वासी जनले आफूलाई मण्डलीद्वारा नियुक्त गरिएको एउटा “गोठालो” को अधीनमा सुम्पिनुपर्छ। उक्त “गोठालो” सित सल्लाह नलिईकन कुनै पनि निर्णय गर्न मिल्दैनथ्यो। यसको परिणाममा त्यहाँ अधिकारको व्यापक दुरुपयोग भएको पाइयो। मण्डलीका गोठालाहरू, शिक्षकहरू र चेला बनाउनेहरू महत्त्वपूर्ण सहायकहरू हुन्, तर विश्वासीको एउटै मात्र मालिक हुनुपर्छ, जो ख्रीष्ट हुनुहुन्छ।

मैले एउटा चेतावनी दिनैपर्छ कि “धेरैजना सल्लाहकारहरू” ले गोलमाल पनि ल्याउन सक्छ यदि ती सल्लाहकारहरू परमेश्वरको भय मान्ने, बाइबलीय तरिकामा बुद्धिमान र शिक्षामा एकै मनका छैनन् भने!

नजिकका व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस् (हितोपदेश २७:१०)।

कतिपटक मानिसहरू नजिककाहरूलाई छोडेर टाढाकाहरूसित सल्लाह लिन खोज्छन्, हुन त यो सधैं गलत हुन्छ भन्ने होइन। तरैपनि कतिपटक त्यो गलत कारणले गरिन्छ। बेलाबखत मलाई अरू मण्डलीकाहरूले आफ्नो मण्डलीको अवस्थाबारे सल्लाह माग्न खोज्छन्। तर मलाई त्यहाँको वस्तुस्थिति राम्ररी थाह हुँदैन। कहिलेकाहिँ कोहीले वस्तुस्थिति राम्ररी थाहा नभएकैहरूसँग सल्लाह लिन खोज्छन्, तर यही कारणले हो हामीले सामान्यतयाः नजिककाहरूसँग सल्लाह खोज्नुपर्ने।

युवाहरूका लागि प्रथम सल्लाहकारहरू उनीहरूको आफ्नै बाबुआमा हुनुपर्छ, विशेष गरी बाबुआमा विश्वासी हुन् भने (एफेसी ६:१-३)। दोस्रो स्थानमा सल्लाह खोजिनुपर्ने मण्डली अगुवाहरूबाट हो। परमेश्वरले मण्डलीहरूलाई अगुवाहरू दिनुहुन्छ: उनीहरूको देखरेख गर्न, उनीहरूलाई सहायता गर्न, जसरी एउटा गोठालाले भेडाहरूसित व्यवहार गर्दछ। ईश्वरीय मण्डली अगुवाहरू “तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्” (हिब्रू १३:१७)। उनीहरूले मण्डलीका जनहरूको बारेमा विचार गरिरहन्छन्, उनीहरूको लागि प्रार्थना गरिरहन्छन्, हरेकको लागि सर्वोत्तम कुरा चाहन्छन्, र परमेश्वरले उनीहरूलाई विशेष बुद्धि दिनुहुन्छ।

हाम्रो मण्डलीमा विवाहको विचार गरिरहेका युवाहरूलाई आफ्ना बाबुआमासँग कुरा गर्न र त्यसपछि आफ्ना मण्डली अगुवाहरूसँग छलफल गर्नलाई आग्रह गर्ने गर्दछौं। कुनै भाइलाई कुनै बहिनीप्रति त्यस्तो चासो छ भने, अगुवाहरूसँग कुरा नगरीकन कुरा अगाडि नबढाउन हामी आग्रह गर्दछौं। उनीहरूलाई कति कुरा थाह हुन्छ जुन कुरा युवालाई थाह हुँदैन, अनि त्यसमा अगाडि बढ्नु बुद्धीमानी हुन्छ कि हुँदैन भन्ने बारेमा उनीहरूले असल सल्लाह दिन सक्छन्। यस प्रकृयालाई बेवास्ता गर्नेहरूले सधैं गडबडीलाई निम्त्याएका छन्!

वास्ता गर्ने व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस्

तपाईंलाई चिन्ने मात्र नभएर तपाईंको वास्ता समेत गर्ने, तपाईंको आत्मिक जीवनको शुभचिन्तकहरूसँग सल्लाह खोज्नु बुद्धिमानी हो। जस्तै, एक युवाले उसको आत्मिक भलाइको वास्ता नगर्ने र उसको जीवनमा त्यसप्रकारले लागिनरहने व्यक्तिबाट भन्दा उसको लागि प्रार्थना गरिरहने एउटा आत्मिक अगुवाबाट बढी असल सल्लाह पाउनेछ।

सल्लाह गम्भीरतापूर्वक (लगनशीलतापूर्वक) खोज्नुहोस् (हितोपदेश २०:५)

एकजना पास्टरको अवलोकनअनुसार “हरेक सल्लाहकार सल्लाह दिन छिटो हुँदैन। इमानदार भईकन, खोजी-खोजी एक बुद्धिमान व्यक्तिबाट सल्लाह उघाएर निकाल्नु सल्लाह खोज्ने व्यक्तिको जिम्मेवारी हो। प्रायः बुद्धिमान गनिने व्यक्तिहरू हतार-हतार सल्लाह प्रदान गर्ने गर्दैनन्।”

परमेश्वरसित सङ्गतिमा हिड्दै, उहाँको वचनको ज्योतिमा रहेर सल्लाह खोज्नुहोस्

परमेश्वरलाई छोडेर मान्छेमा भरोसा गर्नु वा मान्छलाई ऊ मानो परमेश्वर भएझैं अन्धो रूपमा उसलाई मान्नु मूर्तिपूजा हो (यर्मिया १७:५-८)। हो, परमेश्वरले हामीमाथि अधिकारीहरू दिनुहुन्छ, हामीलाई सहायता गर्न शिक्षकहरू दिनुहुन्छ र तिनीहरू महत्त्वपूर्ण छन्। तर अन्तमा हाम्रो भरोसा परमेश्वरमाथि हुनुपर्छ, र हामीले उहाँबाट नै बुद्धि प्राप्‍त गर्नुपर्छ। बिल गोथार्ड (Bill Gothard) को “अधिकार” (“chain of authority”) भनिने धारणाअनुसार जेसुकै कुरा किन नहोस्, अधिकारीले जे भन्छ त्यसलाई मान्नुपर्छ अरे, तर यो बाइबलसम्मत छैन। हामीले उहाँलाई भन्दा बाबुआमालाई समेत बढी प्रेम गर्दछौं भने हामी उहाँको चेला हुन अयोग्य हुन्छौं भनेर येशूले भन्नुभयो (मत्ती १०:३७)। यसकारण यो स्पष्ट छ, त्यस्तो बेला पनि आउँछ जब हामी अधिकारीको मागभन्दा बिपरितमा चल्नुपर्ने हुन्छ। कुन अवस्थामा? त्यो अवस्थामा जब उनीहरूले हामीलाई परमेश्वरको वचनले देखाएको उहाँको इच्छाबिपरित लैजान खोज्दछन्। हामीले मानिसको भन्दा परमेश्वरको आज्ञापालन गर्नुपर्छ भनेर प्रेरितहरूले सिकाए (प्रेरित ५:२९)। हाम्रो मण्डलीको पहिलो विश्वासीहरूमध्येमा एकजाना चाहिँ टीनएज केटी थिइन्। तिनका हिन्दू बाबुआमा र दिदीहरूले उनलाई मण्डली जान मनाही गरे, तर तिनले ख्रीष्टलाई पहिलो स्थान दिइन् र परमेश्वरको वचनलाई मानेर आफूले पाएका सबै अवसरहरूमा मण्डलीमा उपस्थित भइन्। फलस्वरूप उनको पूरै परिवार प्रभुमा आएका छन्। हामीले अधिकारीहरूलाई आदर गर्नुपर्छ तर ख्रीष्ट नै हाम्रो प्रथम र एकमात्र मालिक हुनुपर्छ। पहिल्यै हामीले भनिसक्यौं, मुख्य कुरा हामी बेरियालीहरू बन्नुपर्छ र सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ (प्रेरित १७:११)।

एउटा कुरालाई जोड दिन हामी भुल्न चाहन्नौं कि हामीले सल्लाहलाई हाम्रो आफ्नै व्यक्तिगत रायले जाँच्ने होइन, न ता समाज, हाम्रा दौंतरी, आधुनिक युगको विचारधारा, मनोविज्ञान, वा अन्य कुनै कुराले नै, तर केवल परमेश्वरको वचनले मात्र।

बुद्धिमानी निर्णयहरू कसरी गर्ने सम्बन्धी पुनरावलोकन प्रश्नहरू भाग २

  1. हामीले बुद्धिमानी सल्लाह खोज्नुपर्छ भनेर सिकाउने एउटा हितोपदेशको पद बताउनुहोस्।
  2. सल्लाह लिँदाहुँदी हामीलाई __________________ __________________ को आवश्यकता छैन।
  3. बगालको उन्नति गराउन र त्यसलाई रक्षा गर्न परमेश्वरले मण्डलीहरूलाई पास्टरहरू र शिक्षकहरू दिनुहुन्छ भनेर कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ?
  4. बुद्धिमानी सल्लाह पाउन सकिने पहिलो ठाउँ कुन हो?
  5. सोलोमनको छोराको गलती के थियो?
  6. खराब सल्लाह दिने पुरानो नियमको एकजना वृद्ध व्यक्तिको उदाहरण कुन हो?
  7. चार्ल्स स्पर्जनले उसलाई प्रचार नगर्नू भनेर सल्लाह दिने त्यस स्त्रीको सल्लाह नमान्नु किन बुद्धिमानी थियो?
  8. ईश्वरीय सल्लाहकारहरूको __________________________ हुनु परमेश्वरले आफ्‍नो इच्छालाई अनुसमर्थन गर्ने उहाँको एउटा तरिका हो।
  9. “धेरै सल्लाहकारहरू” पाइने सबभन्दा उत्तम स्थान कुन हो?
  10. किन हामीले टाढाकाहरूबाट भन्दा हाम्रै नजिककाहरूबाट सल्लाह लिनुपर्छ?
  11. बुद्धिमानी सल्लाहको निम्ति एकजना युवाले सर्वप्रथम कहाँ हेर्नुपर्छ?
  12. मान्छेमाथि भरोसा राख्‍नु गलत हो भनेर कुन पुस्तकको कुन अध्यायले चेताउनी दिन्छ?
  13. हामीले मान्छेको भन्दा परमेश्वरको आज्ञा मान्नुपर्छ भनेर कुन पदले बताउँछ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)

Study Series

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग १)

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: हितोपदेश ३:५-६; २८:२६; हिब्रू ११:६; १ पत्रुस २:११

परमेश्वरको इच्छा नखोजीकन गलत निर्णयहरू गरेर धेरैजनाले आफ्नो इसाई जीवनलाई भताभुङ्ग पारेका छन् (जस्तै, गलत पेशा वा काम, गलत मित्रहरू, गलत जीवन साथी, शिक्षा हासिल गर्दाका गलतीहरू, बसाइ सर्दाका गलतीहरू)। बुद्धिहीन निर्णय गर्नेहरू केवल युवा मात्र हुँदैनन्; धेरैजना वयस्कहरू र अझ वृद्धहरूले पनि यस्ता गम्भीर भूल गरेका छन्।

परमेश्वरको इच्छाभित्र बुद्धिमानी निर्णयहरू गर्नलाई केही आधारभूत बाइबलीय सिद्धान्तहरू निम्‍न प्रकारका छन्:

१) आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस्

हेर्नुहोस्: हितोपदेश ३:५; २८:२६; यर्मिया १७:९

आफ्नै समझमा भरोसा गर्ने व्यक्तिले आफ्नो पाप स्वभावको कारणले गलत निर्णयहरू गर्न पुग्‍छ। हाम्रा आँखा परमेश्वरमाथि लगाइरहनैपर्छ र हृदयदेखि उहाँमाथि नै भरोसा गर्नुपर्छ। यद्यपि विश्वासीभित्र एउटा “नयाँ मान्छे” अर्थात् नयाँ स्वभाव हुन्छ, उसभित्र “पुरानो मान्छे” पनि अझै हुन्छ जसले उसलाई बाटोदेखि भड्काउन सक्छ।

परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम प्रार्थनाद्वारा गरिन्छ। हरेक महत्त्वपूर्ण निर्णयमा हाम्रो आफ्नै समझमा भरोसा राख्‍नुको सट्टा हामी बुद्धि र अगुवाइको निम्ति प्रभुसित विन्ती गर्दछौं। उहाँले आफ्ना जनहरूलाई अगुवाइ गर्ने प्रतिज्ञा गर्नुभएको त छ तर हामीले उहाँको अगुवाइ खोज्नुपर्छ; अगुवाइ त्यत्तिकै पाइन्छ भनेर ठान्नुहुँदैन। हामीले आफ्ना सबै मार्गहरूमा “उहाँलाई मान्नुपर्छ”। यस्तो विचार आउन सजिलो छ, “मलाई उहाँको बुद्धि र सहायता चाहिन्छ भनेर प्रभुलाई त थाहै छ; अवश्य पनि उहाँले मलाई त्यो दिनुहुन्छ।” तर वास्तवमा, परमेश्वरले हामीलाई सबै कामकुरामा तोकेर, यत्‍नसित प्रार्थना गर्न भनी बाइबलमा सिकाउनुभएको छ। त्यसो गर्न विफल हुनु भनेको बुद्धिहीन निर्णय गर्न पुग्‍नु हो।

परमेश्वरलाई आफ्ना सबै मार्गमा मान्ने काम बाइबलको सल्लाह खोजेर गरिन्छ। हामी बुद्धिमानी निर्णयहरू गर्न चाहन्छौं भने हामी बाइबल अध्ययनमा लगनशील हुनुपर्छ किनकि बाइबलबाट नै हामी परमेश्वरको मन जान्न सक्‍छौं (१ कोरिन्थी २:१६), परमेश्वरको इच्छा जान्न सक्‍छौं (भजनसङ्ग्रह ११९:१०५) र विश्वास प्राप्‍त गर्न सक्‍छौं (रोमी १०:१७)। प्रभावकारी दैनिक बाइबल अध्ययन गर्नलाई हामीले सिकेको हुनैपर्छ। हामी एउटा बलियो बाइबलीय मण्डलीमा सुन्न पाइने प्रचारहरू तथा शिक्षाहरूमा लगातार सहभागी हुनैपर्छ। वचनको ज्ञानमा बढ्न हामीलाई उपलब्ध भएको हरेक मौकाको फाइदा लिनैपर्छ। तब हामी उहाँको ‍इच्छा जान्न सक्‍नेछौं र बुद्धिमानी निर्णयहरू गर्न सक्‍नेछौं।

२) ज्योतिमा हिँड्नुहोस् (१ यूहन्ना १:५-१०)

पापमा हिँड्नु भनेको अन्धकारमा हिँड्नु हो। यो भनेको आत्मिक जीवन र आत्मिक विचारको विपरित जाने कुरा हो (१ पत्रुस २:११)। पछि हट्ने व्यक्ति प्रभुको मार्गले होइन आफ्नै मार्गले भरिएको हुन्छ भनेर बाइबलले चेताउनी दिन्छ (हितोपदेश १४:१४)।

बाबुआमाप्रति अनाज्ञाकारी हुनु, मुख लाग्नु, अधिकारीसित आफ्नै जिद्दी गर्नु वा हठी र तीतो बन्नु, आफ्नी पत्नीलाई प्रेम नगर्नु, पतिलाई आदर नगर्नु, कुरौटे हुनु, झूट बोल्नु, चोर्नु, संसारका खराब कुरालाई प्रेम गर्नु जस्ता कुराहरू प्रार्थनालाई बाधा दिने कुरा हुन्। फलस्वरूप एक व्यक्तिसँग असल निर्णय गर्ने बुद्धिको अभाव हुन जान्छ।

आत्मिकरूपमा पछि हटेको अवस्थामा ठूला-ठूला निर्णय गर्नु भनेको बरबादीको सुत्र मात्र हो। त्यस्ता थुप्रै विश्वासीहरू छन् जोहरू हृदयमा प्रभुदेखि टाढा रहेका अवस्थामा विवाह गर्ने निर्णय गर्दा, कुनै पेशा वा काममा हात हाल्ने निर्णय गर्दा, कुनै शिक्षा हासिल गर्नपट्टि लाग्दा, कुनै बाइबल कलेज जान रोज्दा, कुनै मित्रतालाई अघि बढाउँदा, पछि गएर नराम्रोसँग पछुताएका छन्। त्यसैले, होसियार!

३) प्रभुमा मग्न रहनुहोस् (भजनसङ्ग्रह ३७:४)

परमेश्वरलाई आफ्नो माया-ममताहरूको केन्द्रबिन्दुमा राख्‍नु नै उहाँको इच्छा जान्ने उपाय हो। यो गर्न मिल्छ वा त्यो गर्न मिल्दैन जस्ता कुराका सूची अपनाएर इसाई जीवन जिउन खोज्नेहरूले परमेश्वरको इच्छा जान्न सक्दैनन्। ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्ने र उहाँमा मग्‍न हुनेहरूले हो परमेश्वरको इच्छा जान्न सक्‍ने। त्यसो गर्दा उहाँले मेरो हृदयलाई ठीक-ठीक इच्छा-आकांक्षाहरूले भरिदिनुहुन्छ अनि तिनलाई पूरा पनि गरिदिनुहुन्छ। तर अर्कोतिर, सांसारिक वा नामधारी ख्रीष्टियनहरू भने परमेश्वरको इच्छा विपरितका इच्छा-आकांक्षाहरूले भरिएका हुन्छन् अनि उसले दिकदारीको जीवन व्यतित गरिरहेको हुन्छ किनकि उसका इच्छा-आकांक्षाहरू पूरा भइरहेका हुँदैनन्।

४) बाइबलको अवज्ञा गर्ने स्थितिमा पुर्‍याउने खालको कुनै पनि निर्णय नगर्नुहोस् (यूहन्ना ८:३१-३२)

हामीले यस कुरालाई प्रत्येक बुँदामा छुँदै आएका छौं तर जोड दिने हेतुले यसलाई अब आफ्नै बुदाअन्तर्गत ध्यान दिएर विचार गर्न चाहन्छौं।

सरल भाषामा भन्ने हो भने बुद्धिमानी निर्णयहरू गर्नु भनेको बाइबलअनुसार निर्णय गर्नु हो। येशूले यसलाई “मेरो वचनमा लागिरहने” कामको रूपमा बयान गर्नुभयो। बाइबलको अवज्ञा गर्न लाउने कुनै पनि निर्णय परमेश्वरको इच्छाविपरित हुन्छ। यसमा अपवाद छैन।

विश्वासद्वारा जिउनु भनेको यही हो। उहाँलाई विश्वास गर्नु र उहाँको वचन मान्नु नै विश्वासद्वारा जिउनु हो। हेर्नुहोस्, रोमी १०:१७। यो भनेको निर्णयहरू आफ्ना भावनाअनुसार र मानवीय विचारअनुसार र परिस्थितिअनुसार नभएर बाइबलअनुसार गर्न सिक्‍नु हो र ठीक-ठीक ढोकाहरू खोलिइनका लागि र खाँचोहरू पूरा गरिनका लागि प्रभुमै भरोसा गर्नु हो। यो यति नै सरल छ।

यहाँ केही उदाहरणहरू प्रस्तुत गरिएका छन्; परमेश्वरको इच्छाभित्र रहेर बुद्धिमानी निर्णय गर्ने सवालमा यी उदाहरणहरू कसरी सम्बन्धित छन् भन्ने कुराको विचार गर्नुहोस्:

बाइबलले भन्छ खराबको वा मूर्तिपूजाको सङ्गत नगर्नू (१ कोरिन्थी १५:३३; रोमी १२:२; २ कोरिन्थी ६:१४-१८; एफेसी ५:११), त्यसैले म विश्वासद्वारा जिउँछु भने म तीबाट अलग हुनेछु। तसर्थ सांसारिक रमझमको पार्टी जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि, परमेश्वरका जनका लागि परमेश्वरको इच्छाभन्दा बाहिरका कुरा हुन्। एकजना युवाको मलाई सम्झना छ जसले फिलिम हलमा काम पाएका थिए। त्यहाँ देखाइने हानिकारक फिलिमहरूको बारेमा तिनलाई चिन्ता लागिरहेको थियो र काम छोड्ने विचार गर्दैथिए, तर उनको सांसारिक झुकावका युवा-पास्टरले तिनलाई काम नछोड्ने सल्लाह दिए! परिणामस्वरूप उनी नराम्रोसँग पछि हटे। मलाई अर्को व्यक्तिको सम्झना छ जसको जिम्मेवारी भनेको सांसारिक पार्टीहरूको सुपरिवेक्षण गर्नु थियो जसअन्तर्गत पिउने र नाँच्ने कुरा पनि पर्दथ्यो। उसले त्यो काम नछोडेसम्म ऊ आत्मिक रूपमा धेरै बढेन न ता आफ्नो जीवनमा बुद्धिमानी निर्णयहरू गर्न नै सिक्यो।

बाइबलले भन्छ मण्डलीको बेवास्ता नगर्नू (हिब्रू १०:२५)। मण्डली परमेश्वरको घर हो (१ तिमोथी ३:१५। तसर्थ मण्डलीलाई छोड्न लाउने खालको निर्णय गर्नु गलत हो, जस्तै नयाँ ठाउँमा बसाइ सर्नु जहाँ असल मण्डली छैन वा त्यस्तो काम अपनाउनु जसले मण्डली सभाहरूदेखि अलग पार्छ। हाम्रो मण्डलीमा एकजना युवा थियो जो नशालु पदार्थको बानी लागेको जीवनशैलीको पृष्ठभूमिबाट बचाइएका थियो। उसको जीवनमा राम्रा सङ्केतहरू देखिन्थे र ऊ प्रभुमा बढ्दैथियो। एक दिन गाउँबाट उसको बाबुले उसलाई घर फर्कन बोलायो। हाम्रो सल्लाहको बाबजुद ऊ गयो र त्यसबेलादेखि ऊ आफ्नो ख्रीष्टियन जीवनमा पछि हट्न थाल्यो। यस्तो कुरा धेरैपटक दोहोरिएको हामीले देखेका छौं।

विश्वासीहरूले मण्डली छोड्ने एउटा प्रमुख कारण यो हो कि उनीहरू मण्डली सभाहरूदेखि अलग गराउने काम रोज्छन् र फलस्वरूप पछि हट्छन्। निम्‍न दुईटा चेताउनीहरूलाई विचार गर्नुहोस्:

“सात कक्षा पार गरेको केही समयपछि हो, हाम्रा करिब २०% युवाहरू हराउँछन्। सङ्गतिको दिनमा छुट्टि नपाइने किसिमको काम अँगालेकाले तिनीहरू हराउँछन्। ती काममा लागेपछि उनीहरूलाई सङ्गति नआउनलाई बाहाना गर्नु सजिलो हुन्छ र उनीहरू प्रायः आउँदैनन् पनि।”

“मण्डली छोडेर जानेहरूमध्येमा धेरैजनाको यस्तो धारणा भएको पाइएको छ कि यदि परमेश्वरले उनीहरूलाई सङ्गतिको दिनमा छुट्टि नपाइने काम दिलाउनुभएको छ भने सङ्गति छुटाउनु गलत होइन। परमेश्वरले उनीहरूलाई अभद्र पोशाक पहिरनुपर्ने काम दिलाउनुभएको छ भने अभद्र पोशाक पहिरनु गलत होइन। परमेश्वरले उनीहरूलाई रक सङ्गीत सुन्नुपर्ने वातावरण भएको काम दिनुभयो भने त्यो गलत होइन। त्यस्ता कुराको सामना गर्नलाई आफूहरू बलियै भएको उनीहरू ठान्दछन् र उनीहरू त्यसबाट अलिकति पनि प्रभावित नभईकन मण्डली आइरहन सक्नेछन् भन्ने उनीहरू सोच्छन्। तर प्रायः त्यस्तो काम पाएको छ महिना जति पछि उनीहरू वर्षभरिमा ५०% वा त्यसभन्दा बढी सभाहरूमा गयल भएको पाइन्छ। अविवाहितहरूको निर्देशकको हैसियतले मैले एउटा कुरा जोड दिँदै आएको छु कि हाम्रो लागि ठ्याक्कै मिल्ने काम परमेश्वरले हाम्रो लागि रोज्नुभएको छ र शैतालने पनि हाम्रो लागि उसले रोजेको ठ्याक्कै मिल्ने काम पनि त्यहाँ छ। तर धेरैजसो युवाहरू परमेश्वरबाटको त्यो सिद्ध काम पाउनको लागि पर्खने गर्दैनन्।”

यदि कोही विश्वासद्वारा जिउँछ भने उसले आफूलाई मण्डलीबाट अलग पारेर वचनको अवज्ञा गराउने काम लिँदैन।

बाइबलले भन्छ, अविश्वासीसँग बेमेल जोडी नबन्नू (२ कोरिन्थी ६:१४)। त्यसैले अविश्वासीसित विवाह गर्नु वा अविश्वासीसित मिलेर व्यापारमा साझेदार बन्नु, अथवा त्यस्तो अन्य कुनै कुरा गर्नु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा कहिल्यै पनि हुन सक्दैन। एकजना व्यक्तिको मलाई सम्झना छ जो एउटा नयाँ मण्डलीको संस्थापक विश्वासीहरूमध्येमा गनिन्थ्यो। ऊ राम्रै गर्दैथियो, बढ्दैथियो, तर आखिरमा ऊ एकजना अविश्वासिसित काममा साझेदार बन्यो र उसको साझेदारको बेइमानी कामकुराले ऊ जेलमा पुग्यो र यसरी उसले आफ्नो साक्षी बिगार्‍यो।

बाइबलले भन्छ, झूटा शिक्षासित आवद्ध नहुनू (रोमी १६:१७; २ यूहन्ना १०-११)। यसको मतलब झूटा शिक्षा सिकाउने बाइबल तालीम वा मण्डली जानु, झूटा शिक्षकहरूका पुस्तक पढ्नु वा उनीहरूको प्रचार सुन्नु, वा झूटा शिक्षालाई अपनाएको व्यक्तिसँग घनिष्ट सम्बन्ध बढाउँदै लैजानु एकजना विश्वासीको निम्ति परमेश्वरको इच्छा होइन। मलाई दुईजना जवान पुरुषहरूको सम्झना छ जो हाम्रो मण्डलीमा आउँदैथिए र उनीहरूको जीवनमा असल कुराहरूको सङ्केत देखिन्थ्यो र उनीहरू प्रभु बढ्दै गरेको जस्तो देखिन्थ्यो, तर उनीहरू एउटा झूटा शिक्षकको बाइबल अध्ययनमा जान थाले र परिणामस्वरूप उनीहरू हाम्रो मण्डली छोडेर गए।

बुद्धिमानी निर्णय गर्नु भनेको यति हो कि एकजना परमेश्वरको सन्तानले उहाँको वचनबिपरित कुनै पनि काम गर्दैन।

हामी बाइबलको अवज्ञा गर्दछौं भने हामीले परमेश्वरको आशिषको आशा गर्न सक्दनौं। कति ख्रीष्टियनहरूले के गर्छन् भने पहिला आफ्नै योजनाहरू बनाउँछन् अनि त्यसपछि परमेश्वरसित त्यसका लागि उहाँको आशिष माग्छन् तर यो त उल्टो काम गर्नु हो। पहिला त हाम्रा योजनाहरू परमेश्वरको इच्छाअनुसार छन् कि छैनन् भनेर पक्का गर्नुपर्छ तब उहाँको आशिष माग्नु र आशा गर्नु मुनासिब हुन्छ।

बुद्धिमानी निर्णयहरू कसरी गर्ने सम्बन्धमा पुनरावलोकन प्रश्नहरू भाग १

  1. यस पाठमा हामीले चर्चा गरेका चार कुराहरू के-के हुन्?
  2. आफ्नै हृदयमाथि भरोसा गर्ने व्यक्ति मूर्ख हो भनेर कुन पदले बताउँछ?
  3. आफ्नै हृदयमाथि भरोसा गर्नु किन मूर्ख काम हो?
  4. हृदय छली र दुष्ट छ भनेर कुन पदले बताउँछ?
  5. परमेश्वरलाई आफ्ना सबै मार्गहरूमा मान भन्ने बाइबलको भनाइको माने के हो?
  6. ज्योतिमा हिँड्ने बारेमा कुन पुस्तकको कुन अध्यायले बयान गर्दछ?
  7. बुद्धिमानी निर्णयहरू गर्नलाई ज्योतिमा हिँड्नु किन आवश्यक छ?
  8. शारीरिक अभिलाषाहरू प्राणको विरुद्धमा युद्ध गर्दछन् भनेर कुन पदले चेताउनी दिन्छ?
  9. म यदि प्रभुमा मग्न भएँ भने उहाँले मेरा हृदयका चाहनाहरू दिनुहुन्छ भनेर कुन पदले बताउँछ?
  10. विश्वास परमेश्वरको वचन सुनेर आउँछ भन्ने कुरा कुन पदले बताउँछ?
  11. परमेश्वरका जनका निम्ति सांसारिक रमझम हुने पार्टीमा जानु, मूर्तिपूजा गर्नुपर्ने स्कूलमा पढ्नु, दुष्टतासित सहभागी हुनुपर्ने काम अपनाउनु (रक्सी बेच्ने काम, अभद्र पोशाक लगाउनुपर्ने काम, खराब फिलिम देखाउने काम, सांसारिक सङ्गीत बजाउनुपर्ने काम, अश्लिल नाँच देखाउने काम), अविश्वासीहरूको रीतिरिवाजमा भाग लिनु, सांसारिक सङ्गीत वा फेशनमा सहभागी हुनु, आदि परमेश्वरको इच्छाभन्दा बाहिरका कुराहरू हुन् भन्ने कुरा हामी कसरी जान्न सक्दछौं?
  12. मण्डली सभालाई बेवास्ता नगर्न कुन पदले विश्वासीहरूलाई निर्देशन दिन्छ?
  13. मण्डली परमेश्वरको घर हो भनेर कुन पदले बताउँछ?
  14. बाइबलको आज्ञा नमान्ने र मण्डली सभालाई बेवास्ता गर्ने विश्वासीहरूलाई प्रायः के हुन्छ?
  15. एकजना विश्वासी अविश्वासीहरूसित बेमेल जोडी बन्न सक्ने केही उदाहरणहरू के-के हुन्?
  16. झूटा शिक्षा सिकाइने बाइबल अध्ययन वा मण्डली वा सम्मेलनमा जानु एकजना विश्वासीको लागि परमेश्वरको इच्छा होइन भन्ने कुरा हामी कसरी जान्न सक्छौं?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?

Study Series

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?

रोमी १२

डेविड क्लाउड

‍कण्ठ गर्नुपर्ने पदहरू: रोमी १२:१-२

यस संसारमा परमेश्वरको एउटा ठूलो काम छ र यस काममा भाग लिन उहाँले आफ्‍ना जनहरूलाई बोलाउनुभएको छ भन्ने कुरा हामी रोमी १२ अध्यायमा देख्छौं। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा सिद्ध इच्छा छ। यदि तपाईंले मुक्ति पाउनुभएको छ भने तपाईं परमेश्वरको सेवामा बोलाइनुभएको छ।

परमेश्वरको इच्छा जाँचेर थाहा गरिनुपर्छ भन्ने कुरा हामी यहाँ देख्छौं। मुक्ति सित्तैंको दान हो तर परमेश्वरको इच्छा एउटा इनाम हो जसको निम्ति हामी लागिपर्नु आवश्यक छ।

मुक्ति पाइसकेपछि परमेश्वरको इच्छा जान्न चाहने व्यक्तिको लागि रोमी १२ मा पाँच खुड्किलाहरूलाई जोड दिइएको छ।

१) परमेश्वरको इच्छा जान्न हामीले आज नै परमेश्वरको इच्छा गर्नुपर्छ (रोमी १२:१‍-२)।

बाइबलअनुसार परमेश्वरको इच्छा भनेको आज नै गरिने कुरा हो, न कि भोलि म केही गरूँला भन्ने कुरा। विश्वासी वर्तमानको बारेमा गनगन गर्छ वा अल्छी बन्छ र भविष्यलाई मात्र हेरी बस्छ र बेग्लै खालको परिस्थितिको आशा गरी बस्छ र परिस्थिति बदलिए म परमेश्वरको इच्छा पूरा गरूँला भनेर सोची बस्छ भने उसले कहिल्यै परमेश्वरको इच्छा गर्नेछैन। भविष्यलाई हामीले परमेश्वरको हातमा छोडिदिनुपर्छ र आजका परिस्थितिहरू जतिसुकै कठिन भए तापनि हामीले आजकै अवसरहरूलाई काममा लगाउनुपर्छ‍।

हाम्रा जीवनका सबै परिस्थितिहरू परमेश्वरकै हातमा छन् (रोमी ८:२८, १ कोरिन्थी १७-२४)। परिस्थितिलाई हेरेर गनगन गर्नुचाहिँ परमेश्वरको इच्छाको विरुद्धमा गनगन गर्नु हो। यो एकदमै ठूलो पाप हो जुन पाप इस्राएलीहरूले ‍बारम्बार उजाडस्थानमा दोहोर्‍याएका थिए (१ कोरिन्थी १०:१०)।

यो कुरा नयाँ विश्वासीहरूलाई लागु हुन्छ। तपाईं जुन परिस्थितिमा हुनुहुन्छ त्यही परिस्थितिलाई स्वीकार गर्दै आत्मिक रूपमा बढ्नलाई र ख्रीष्टको सेवा गर्नलाई आफूले जे-जे जान्नुभएको छ तिनलाई गर्न थालेर नै परमेश्वरको इच्छा शुरू हुन्छ। मैले मुक्ति पाएको पहिलो सालमा मैले कस्तो सेवकाई गरेको परमेश्वर चाहनुहुन्थ्यो भन्ने कुरा मलाई थाह थिएन। मलाई यति मात्र थाह थियो कि मैले बाइबल सिक्न अनि मण्डलीमा विश्वासयोग्य हुन अनि बाइबलले जे-जे गर्न मलाई सिकाउँछ त्यही मैले गर्न थाल्नुपर्छ भन्ने कुरा मलाई थाह थियो र मैले त्यही गर्न थालेँ। मेरो जीविकोपार्जनको लागि त्यसबेला म एउटा छापाखानामा मेशिन चलाउने काम गर्थें तर त्यो पेशा नै मेरो जीवन त थिएन। मेरो जीवन परमेश्वरलाई खोज्नु र ख्रीष्टको सेवा गर्नु थियो र परमेश्वरको इच्छाको निम्ति आफैलाई तयारी पार्नु थियो। यसरी मैले उक्त अवसरद्वारा पूरा फाइदा लिन सकेँ र आउने दिनका लागि एउटा असल जग बसाल्न सकेँ।

यो कुरा अविवाहितहरूलाई लागु हुन्छ। बाइबल कलेजमा मेरो एकजना साथी थियो जो सधैं पत्‍नी पाउने बारेमा धेरै समय चिन्तामा बिताउँथ्यो, यतिसम्म कि पढाइमा ध्यान दिने उसको क्षमतामा ह्रास आयो। यदि मैले विवाह गरेको छैन भने यो कुरा वर्तमान समयको लागि फाइदाजनक छ भन्ने कुरा मैले महसुस गर्नुपर्छ किनकि म बढी समय प्रभुको निम्ति अलग गर्न सक्छु अनि मैले यो समयलाई काममा लगाउनुपर्छ र भविष्यको बारेमा प्रभुमा भरोसा गर्नुपर्छ (१ कोरिन्थी ७:३२-३४)। विवाहको शुरुआत परमेश्वरले गर्नुभएको हो र कसरी ठीक समयमा ठीक जोडीहरूलाई मिलाउनुपर्छ भन्ने कुरा उहाँ जान्नुहुन्छ।

यो कुरा विवाहितहरूलाई लागु हुन्छ। तपाईंको जीवनसाथीले मुक्ति पाएको होस् वा नहोस् सम्भव भएसम्म त्यही अवस्थामा नै आफ्नो जीवनसाथीलाई नछोडी परमेश्वरको सेवा गर्नु परमेश्वरको इच्छा हो (१ कोरिन्थी ७:१२-१७)। तपाईंसँग छोराछोरी भए पनि, नभए पनि परमेश्वरको सेवा गर्नुपर्छ। गर्भमाथि परमेश्वरको नियन्त्रण हुन्छ (उत्पत्ती २०:१८, २९:३१, ३०:२२)। यदि तपाईंसँग छोराछोरी छन् भने तिनीहरूलाई वाधकका रूपमा नहेर्नुहोस्। बरु तिनीहरूलाई परमेश्वरको महिमाको लागि हुर्काउन आफैलाई अर्पण गर्नुहोस्। यदि तपाईंसँग छोराछोरी छैनन् भने चिन्ता नगर्नुहोस्। तपाईंले परमेश्वरको सेवा गर्न पाउनुभएको अवसरलाई प्रयोग गर्नुहोस् र परमेश्वरले उहाँको आफ्नै समयमा र इच्छाअनुसार छोराछोरी प्रबन्ध गर्नुहुन्छ भनी जानेर उहाँको बाटो हेर्नुहोस्।

यो कुरा युवाहरूलाई लागु हुन्छ। युवा अवस्था फाइदाजनक छ र बेफाइदाजनक पनि छ। युवाले परमेश्वरलाई जान्न र उहाँको सेवा गर्न उसको युवा अवस्थामा नै आफूलाई समर्पण गर्नुपर्छ। पछि सेवा गर्छु अहिले गर्दिनँ भन्नु हुँदैन। धेरै युवाहरूले आफ्‍नो जीवनको बारेमा धेरै व्यर्थका कुरा, मूर्ख कुरा सोच्छन् तिनीहरू आफ्नो जीवनको बारेमा बूढो भएपछि मात्र गम्भीर हुन्छौं भन्ने विचार गर्छन्। तिनीहरूले यसरी युवा अवस्थाको सुन्दर अवसरलाई खेर फाल्दछन् र भविष्यको लागि युवा अवस्थामा नै तयार हुनुपर्ने कुरामा चुक्छन्।

२) परमेश्वरको इच्छा जान्न समर्पणता र लगनशीलता चाहिन्छ (रोमी १२:१)।

आफ्‍नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने आफ्‍नो शरीर र आफ्‍नो जीवनलाई ख्रीष्टको सेवामा लगाउनु हो।

यो एक स्वेच्छापूर्वक गरिने निर्णय हो। हामीले मुक्ति पाउनैपर्छ भनेर परमेश्वरले हामीसित जबरजस्ती गर्नुहुन्न र मुक्ति पाएपछि हाम्रो जीवन सम्पूर्ण रूपमा उहाँलाई समर्पण गर्नैपर्छ भनेर पनि उहाँले हामीसित जबरजस्ती गर्नुहुन्न। यो काम हामीले इच्छुक हृदयले गरेको उहाँ चाहनुहुन्छ। त्यसैले परमेश्वरको इच्छा जान्न चाहनेहरूले कठिन निर्णयहरू गर्नुपर्ने हुन्छ। मैले स्वार्थी इच्छाहरूको पछि लाग्नु भन्दा ख्रीष्टलाई आफनो जीवन समर्पण गर्न रोज्नुपर्छ। मैले शरीरलाई इन्कार गर्नुपर्छ र पवित्र आत्माको पछि लाग्नुपर्छ। धेरैजसो मानिसहरूले आफ्‍ना जीवनहरू पैसा, मोजमज्जा, ऐस-आराम, सुरक्षा, प्रतिष्ठा र अरू यस्ता कुराहरूका निम्ति समर्पित गर्दछन्। परमेश्वरको सन्तानलाई यीभन्दा उच्च बोलावटको पछि लाग्न सौभाग्य छ।

यो एक परमेश्वरको प्रेमको उत्प्रेरणाले गरिने निर्णय हो। हामी परमेश्वरलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो। हामी मुक्ति पाउन भनी परमेश्वरको इच्छालाई पछ्याउँदैनौं; तर मुक्ति पाएको हुनाले हामी परमेश्वरको इच्छालाई पछ्याउँछौं र हामी उहाँलाई खुसी पार्न चाहन्छौं जसले हामीलाई उहाँको अनुग्रहद्वारा कलवरीको क्रूसमा ठूलो मूल्य तिरीकन बचाउनुभयो।

यो एक उचित निर्णय हो। यो उचित हो किनभने परमेश्वरलाई चिन्नु र उहाँको सेवा गर्नु जीवनकै उद्देश्य हो (उपदेशक १२:१३)। यो उचित हो किनभने परमेश्वरको इच्छाबाट अलग भएर बिताइने जीवन व्यर्थ हो। उपदेशकको पुस्तकको मुख्य विषय यही हो। यदि म आफ्‍नो जीवन परमेश्वरको सेवाको निम्ति भन्दा अरू कुरा गर्न प्रयोग गर्छु भने मैले यो जीवन व्यर्थैमा फालिरहेको हुन्छु। साथै ख्रीष्टमा मेरो जीवन समर्पण गर्न एकदमै उचित छ किनभने यसले ठूलो इनाम ल्याउँदछ (हिब्रू ११:२४-२७)। पछिबाट शहीद बनेका एकजना मिसनरीले भने, “त्यो मूर्ख होइन जसले गुमाउन नसकिने कुरालाई प्राप्‍त गर्न जोगाउन नसकिने कुरालाई सुम्पिदिन्छ”।

यो एक व्यक्तिगत निर्णय हो। युवाहरू धेरै पटक आफ्‍ना साथीहरूले के सोचिरहेका छन् वा के गरिरहेका छन् भन्ने कुरामा एकदमै चासो राख्छन्। उनीहरू “समक्षकीहरूको दबाब” प्रति संवेदनशील बन्ने गर्छन्, तर म परमेश्वरको इच्छा जान्न चाहन्छु भने म त्यसभन्दा माथि उठ्नुपर्छ र ‍परमेश्वरलाई मात्र खुशी पार्नलाई ध्यानकेन्द्रित हुनुपर्छ।

यो एक दैनिक निर्णय पनि हो। प्रभुको इच्छामा आफैलाई सुम्पने कुरा केवल एकचोटि मात्र गरेर हुने कुरा होइन तर यो कुरा बारम्बार गरिनुपर्ने कुरा हो। कति पटक मानिसहरू मण्डलीमा वा बाइबल सम्मेलनमा सुनेको प्रवचनले जोशले भरिन्छन् र प्रभुको इच्छाको लागि आफूलाई सुम्पन्छन् तर जब जीवनका नानाथरीका कठिनाइ र आत्मिक लडाईंको सामना गर्नुपर्दा उनीहरूको त्यो समर्पणता सेलाएर जान सक्छ यदि दैनिक रूपमा त्यसलाई नवीकरण गरिएन भने।

३) परमेश्वरको इच्छा जान्न अलगपनता चाहिन्छ (रोमी १२:२)।

संसारका दुष्ट कुराहरूदेखि अलग हुनुपर्ने कुरा परमेश्वरको इच्छा जान्ने सम्बन्धमा मुख्य विषय हो। संसारको दुष्ट कुराबाट अलग हुने कुरा ऐच्छिक विषय होइन, यो हरेक विश्वासीलाई गर्नै पर्ने अनिवार्य कुरा हो किनभने परमेश्वर पवित्र हुनुहुन्छ र यो दुष्ट संसार परमेश्वरको विरोधमा छ।

“संसारसित एकनासे नहोओ” भन्ने आज्ञाले हामी स्वभावैले कमजोर छौं अनि संसारद्वारा हामी सजिलै ढालिन सक्छौं भन्ने कुरालाई इङ्गित गर्दैछ। संसार आफ्‍नो दृष्टिकोणको प्रचार-प्रसार गर्नमा जोशिलो छ। संसार चुप लागेर बस्दैन र त्यो आफ्‍नै सुरमा हिँड्न सन्तुष्ट छैन। संसारले विश्वासीलाई आफ्‍नो विचारधारा र जीवन शैलीमा ढाल्न खोज्छ। रक सङ्गीतकार कोर्टनी लवले भनेकी छन्,”म आफ्‍नो विचारधारालाई समाज-संस्कृतिमाथि लाद्‍न चाहन्छु” (स्पीन पत्रिका, Oct.1988, p.100)।

तसर्थ परमेश्वरको इच्छा जान्नलाई अलगपनताको नितान्त खाँचो छ। निम्नलिखित महत्त्वपूर्ण पदहरूलाई ध्यान दिनुहोस्: एफेसी ५:११, तीतस २:२, याकूब ४:४, १ यूहन्ना २:१५-१७।

संसार, ख्रीष्टिय परिवारहरू र मण्डलीहरूमा रक एण्ड रोल पप संस्कृति (rock & roll pop culture) को माध्यमद्वारा प्रचुर मात्रामा छिरेको छ तर परमेश्वरको सिद्ध इच्छा जान्न चाहने विश्वासीले त्यसलाई इन्कार गर्नुपर्छ र परमेश्वरको पवित्रता र धार्मीक्ताको पछि लाग्नुपर्छ।

४) परमेश्वरको इच्छा जान्नलाई बदली हुँदै जान खाँचो छ (रोमी १२:२)।

परमेश्वरको इच्छा जान्न समर्पणता र अलगपनताले मात्र पुग्दैन। परमेश्वरको इच्छा जान्न आत्मिक रूपमा बदली हुँदै जान खाँचो छ। यसले ख्रीष्टिय जीवनमा बढ्दै जाने प्रकृयालाई जनाउँछ र यो नै संसारमाथि विजयी हुने उपाय हो। बदली हुने प्रकृयाद्वारा विश्वासीमा ख्रीष्टको स्वरूप यति मजबुत गरी निर्माण हुँदै जान सक्छ कि संसारले उसलाई आफ्‍नो मूर्ख र भ्रष्ट स्वरूपमा ढाल्न सक्नेछैन।

आत्मिक बदली परमेश्वरको वचनद्वारा मनको नयाँ हुवाइद्वारा आउँछ। हामीले परमेश्वरका विचारहरू सोच्न सिक्नुपर्छ जसको फलस्वरूप जीवनको बदली हुन्छ। अनि परमेश्वरका विचारहरू सोच्न हामीले परमेश्वरको वचन पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ र मनन गर्नुपर्छ। परमेश्वरको वचन जानेर नै हामी परमेश्वरको इच्छा जान्नेछौं। परमेश्वरको वचनमा ख्रीष्टको मन अन्तर्निहित छ (१ कोरिन्थी २:१६) अनि उहाँले अगुवाइ गर्ने आफ्‍नो वचनद्वारा नै हो (भजनसङ्ग्रह १:१-३; ७३:२४; ११९:९; यूहन्ना ८:३१-३२)। धुलोले ढाकिएको बाइबल फोहोर हृदयको सङ्केत हो। कि त बाइबलले तपाईंलाई पापदेखि अलग राखेको हुन्छ, कि त पापले तपाईंलाई बाइबलदेखि अलग राखेको हुन्छ। परमेश्वरले बाइबलको विपरितमा कहिल्यै अगुवाइ गर्नुहुन्न। जस्तै, परमेश्वरले एक पत्नीलाई आफ्‍नो पतिलाई त्यागेर परपुरुषको पछि लाग्न वा एउटा पतिलाई आफ्‍‍नी पत्नीलाई त्यागेर परस्त्रीको पछि लाग्न अगुवाइ गर्नुहुन्न (मत्ती १९:९-१०; १ कोरिन्थी ७:१०-११)। परमेश्वरले एक स्त्रीलाई प्रचारक बन्न अगुवाइ गर्नुहुन्न (१ तिमोथी २:१२)। परमेश्वरले मानिसहरूलाई झूटा शिक्षा र अभ्यासभित्र अगुवाइ गर्नुहुन्न (रोमी १६:१७)। परमेश्वरले कुनै पुरुषलाई पास्टर बन्न अगुवाइ गर्नुहुन्न यदि ऊ त्यसको लागि दानप्रदत्त र योग्य छैन भने (१ तिमोथी ३:१-७)। उहाँले विश्वासीलाई अविश्वासीसँग विवाह गर्न वा व्यापारमा साझेदारी हुन अगुवाइ गर्नुहुन्न (२ कोरिन्थी ६:१४-१८)। उहाँले एक आमालाई आफ्‍नो घरको हेलचेक्र्याइँ हुने गरी पेशागत काममा हात हाल्न अगुवाइ गर्नुहुन्न (तीतस २)। उहाँले विश्वासीलाई मण्डलीदेखि टाढा रहनुपर्ने किसिमको पेशागत काम गर्नलाई अगुवाइ गर्नुहुन्न (हिब्रू १०:२५)।

आत्मिक बदली पवित्र आत्माको सामर्थ्यद्वारा आउँछ। हामीले आफूलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पनुपर्छ, उहाँलाई नै हाम्रो गाडीरूपी जीवनको चालक हुन दिनुपर्छ। “आत्माले भरिनु” भनेको यही हो। हेर्नोस् गलाती ५:१६-१७; एफेसी ४:३०,५:१८।

आत्मिक बदली एउटा प्रक्रिया हो। यो रातारात हुने कुरा होइन। बदली हुन समय लाग्छ, यसमा लागिरहनुपर्छ र समर्पणता चाहिन्छ। बदली हुँदै जाने हो भने बाइबल पढ्ने, गुप्तमा प्रार्थना गर्ने, मण्डली सभाहरूमा उपस्थित हुने जस्ता आत्मिक बानीहरू बसाल्नु आवश्यक छ।

५) परमेश्वरको इच्छा जान्न सेवारत हुनुपर्छ (रोमी १२:३-६)।

परमेश्वरको सिद्ध इच्छा जान्न ख्रीष्टमा समर्पित भएर, संसारबाट अलग भएर, र बाइबल पढेर मात्र पुग्दैन तर परमेश्वरको सेवामा व्यस्त हुनुपर्छ। यसले चेलापनलाई जनाउँछ।

परमेरश्वरको इच्छा थाहा पाउनु भनेको कुनै कुरा अकस्मात् नभएसम्म निष्क्रिय भई पर्खेर बस्नु होइन। बरु कुनै पनि घडीमा आफूले जे गर्नुपर्छ भनेर थाहा छ त्यो गर्नमा व्यस्त रहनु हो। अनि त्यसरी अगाडि बढ्ने क्रममा परमेश्वरले मलाई उहाँको सिद्ध इच्छामा पलपलमा, कदमकदममा, दिन प्रति दिन, हप्ता-हप्तामा, एक देखि अर्को वर्षमा डोर्‍‍याउँदै लानुहुन्छ। बाइबल पढ्दै जाँदा हामीले बाइबलको आज्ञापालन गर्दै जानुपर्छ अनि त्यसो गर्ने क्रममा हामी परमेश्वरको इच्छामा हिँडिरहेका हुन्छौं।

सेवकाइका दुई पक्षहरू छन् भन्ने कुरा रोमी १२ अध्यायले हामीलाई सम्झना गराउँछ। त्यहाँ साधारण सेवकाइ (रोमी १२:९-२१) छ र विशेष सेवकाइ (रोमी १२:६-८) पनि छ। हरेक विश्वासीको निम्ति परमेश्वरबाटको विशेष दान र सेवकाइ हुन्छ र उक्त विशेष दान र सेवकाइ थाहा पाउनलाई हामी परमेश्वरको साधारण बोलावटमा व्यस्त भइरहनुपर्छ जुनचाहिँ आज्ञाकारी र पवित्र जीवनमा हिँड्दै जानु हो। जब विश्वासीले बाबुआमाको आज्ञापलन गर्ने, आफ्‍नी पत्‍नीलाई प्रेम गर्ने, आफ्‍नो पतिलाई आदर गर्ने, मण्डलीप्रति विश्वासयोग्य हुने, सुसमाचार प्रचार गर्ने, दुष्ट कुराबाट अलग रहने, दशांसा दिने र प्रार्थना गर्ने जस्ता परमेश्वरले चाहनुभएका र उसले जानेकै कुराहरूमा अगाडि बढ्छ तब परमेश्वरले उसलाई अगुवाइ गर्दै जानुहुन्छ र उसको लागि उहाँबाटको विशेष सेवकाइ र दानलाई झन् झन् स्पष्टरूपले प्रकट गर्दै लानुहुन्छ।

रोमी १२ मा हामी देख्छौं कि परमेश्वरको इच्छा जान्नलाई सचेत भएर सोच्न खाँचो छ (रोमी १२:३)। यसको मतलब मैले मेरो खास बोलावटलाई जान्नुपर्छ र आफ्‍नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै बढी सोच्नुहुन्न। यहाँ नम्रताको आवश्यकता छ। परमेश्वरले मलाई जति दिनुभएको छ त्यो भन्दा पनि बढी मैले पाउनुपर्छ भनेर सोच्नु हुँदैन। उदाहरणको लागि, नेपालमा एकजना दुई फुट अग्लो मान्छे छ। ऊ संसारकै सबभन्दा पुड्को मान्छे हो। बाइबलअनुसार उसलाई परमेश्वरले नै बनाउनुभएको हो र उसले येशू ख्रीष्टमा विश्वास गरेको खण्डमा र उहाँको इच्छा खोजेको खण्डमा उसले आफ्‍नो विषेश दान र सेवकाइलाई थाह पाउन सक्नेछ तर उसले आफ्‍नो विशेष अवस्थाको पनि ख्याल राख्न आवश्यक पर्नेछ। यदि ऊ पेशागत बास्केटबल खेलाडी हुन चाहेमा ऊ अवश्य नै एकदम निराश बन्नेछ! कति मानिसहरू राम्ररी गीत गाउन सक्दैनन्, तर उनीहरू गायक हुन चाहन्छन्। कतिजना नानीहरूसँग काम गर्न सिपालु हुँदैनन्, तर तिनीहरू नानीहरूसित सम्बन्धित सेवकाइमा लाग्न चाहन्छन्। कति मानिसहरू प्रचार गर्नै सक्दैनन्, तर पनि प्रचारक हुन चाहन्छन्। कतिजनामा पास्टर हुन योग्य छैनन् तर पास्टर हुन चाहन्छन्। मैले कतिजना यस्ता मानिसहरू देखेको छु जोहरू परमेश्वरले उनीहरूलाई जुन व्यक्ति बन्नलाई बोलाउनुभएको थियो त्यसमा सन्तुष्ट नभएर उनीहरू अर्कै व्यक्ति बन्न चाहे र फलस्वरूप उनीहरू जीवनदेखि असन्तुष्ट र निराश बने र साथै मण्डलीमा गडबडी पनि ल्याए।

सचेत भएर सोच्नुको मतलब विश्वासीले आफ्‍नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै कम पनि सोच्नु हुँदैन। हरेक विश्वासीको विशेष बोलावट हुन्छ। वर्तमान संसारमा प्रभुले गरिरहनुभएको काममा उसको एउटा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । मानव शरीरमा धेरै अङ्गहरू हुन्छन् र सिङ्गो शरीरको कामकुरामा प्रत्येक अङ्गको महत्त्वपूर्ण भूमिका हुन्छ। मण्डलीमा पनि यस्तै हुन्छ।

रोमी १२ ले परमेश्वरको इच्छा जान्नलाई मण्डली अनिवार्य छ भन्ने कुरा हामीलाई सम्झना गराउँछ। पावलले ४ पदमा “शरीर” लाई उल्लेख गर्दछन्। यसले मण्डलीलाई जनाउँछ। मण्डली सत्यको खाँबो र जग हो र परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। चेला बनाउन र तालिम दिनलाई परमेश्वरले नियुक्त गर्नुभएको संस्था मण्डली हो। मण्डली आत्मिक सुरक्षाको ठाउँ हो। मण्डली विश्वव्यापी सुसमाचार प्रचारको केन्द्रिय कार्यालय हो। प्रथम मिसनरीहरू मण्डलीबाटै पठाइएका थिए (प्रेरित १३:१-४)।

परमेश्वरको इच्छा जान्ने काम जटिल काम होइन। केवल परमेश्वरमा आफूलाई समर्पण गर्नुपर्छ र तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गरेर प्रत्येक पाइला-पाइलामा उहाँको आज्ञापालन गर्नुपर्छ। हेर्नोस् भजनसङ्ग्रह ३७:२३।

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. परमेश्वरको इच्छा जान्नलाई आवश्यक पाँचओटा कुराहरू के-के हुन्?
  2. परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् भन्ने कुरा कुन पदले भन्दछ?
  3. इस्राएलीहरूले उजाडस्थानमा पटकपटक दोहोर्‍याएको पाप के थियो?
  4. यदि विश्वासीको अविश्वासी पति वा पत्नी छ भने के उसले आफ्‍ना पति वा पत्नीलाई छोड्न मिल्छ?
  5. धेरैजना युवाहरू आफ्‍नो युवावस्थालाई के गर्छन्?
  6. आफ्‍नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने के हो?
  7. ख्रीष्टको सेवा गर्नु किन उचित छ?
  8. मोशाले परमेश्वरको सेवा गर्न निर्णय गरेको कुरा कुन पुस्तकको कुन अध्यायमा बयान गरिएको छ?
  9. संसार कुन हिसाबले प्रचार‍-प्रसार गर्नमा तल्लीन छ?
  10. रोमी १२:२ को अतिरिक्त, संसारबाट अलग हुनुपर्छ भनेर सिकाउने अन्य चारओटा प्रमुख खण्डहरू कुन‍-कुन हुन्?
  11. आत्मिक बदली कसरी आउँछ?
  12. जवान मानिसले परमेश्वरको वचनलाई ध्यान दिएर नै आफ्‍नो चाल शुद्ध राख्‍न सक्छ भनेर बताउने पद कुन हो?
  13. सेवकाइका दुई पक्षहरू के‍-के हुन्?
  14. विश्वासीले आफ्‍नो बोलावटको बारेमा सचेत भएर सोच्ने कसरी हो?
  15. परदेशहरूमा प्रथमपटक मिसनरीहरू पठाउने संस्था कुन थियो?
  16. परमेश्वरको इच्छामा आफूलाई समर्पण गरेर पछुताएका कतिजनालाई तपाईंले भेट्नुभएको छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






आधारात्मक बाइबल शब्दावली भाग ४

Study Series

आधारात्मक बाइबल शब्दावली भाग ४

डेविड क्लाउड

आशा (HOPE)

ख्रीष्टिय जीवनको कुरा गर्दा “आशा” भन्ने शब्दको माने हो ख्रीष्टमा भएको निश्चित, पक्का, निर्धक्कतापूर्ण मुक्ति। आशालाई सुरक्षित र दृढ लङ्गर (हिब्रू ६:१९), एउटा “बलियो सान्त्वना” (हिब्रू ६:१८), एउटा “अनन्त सान्त्वना” भनिएको छ (२ थेस्सलोनिकी २:१६)।

दैनिक जीवनमा प्रयोग गरिने “आशा” को अर्थभन्दा यो अर्थ ठीक विपरित छ। सामान्यतया हामी कुनै अनिश्चित कुरा व्यक्त गर्नुपर्दा यो शब्द प्रयोग गर्दछौं। कसैले यदि “म विदामा पहाड जाने आशा गर्दछु” भन्यो भने यसको मतलब ऊ निश्चित छैन भन्ने बुझिन्छ। येशू ख्रीष्टमा भएको मुक्ति ठीक विपरित छ; विश्वासी जन आफूले अनन्त जीवन पाएको छु भन्ने कुरामा निश्चित हुन सक्दछ।

यदि विश्वासीको मुक्ति अनिश्चित छैन भने यसलाई किन “आशा” भनिएको छ त? हामीले ख्रीष्टमा पाएको मुक्ति अनिश्चित भएकोले होइन तर त्यसलाई हामीले पूर्ण रूपमा उपभोग गर्न अझ बाँकी भएकोले हो (रोमी ८:२४-२५)।

महिमा (GLORY)

बाइबलमा “महिमा” ६ ओटा तरिकाले प्रयोग भएको छ:

  1. यसले गर्व गर्ने कामलाई जनाउँदछ (१ कोरिन्थी १:२९,३१; ३:२१; ४:७; ५:६; २ कोरिन्थी ५:१२; गलाती ६:१३)।
  2. यसले प्रशंसालाई जनाउँदछ (लूका २:१४; १७:१८; प्रेरित १२:२३; एफेसी १:६)।
  3. यसले परमेश्वरको चरित्रलाई जनाउँदछ: उहाँको पवित्रता, उच्च श्रेष्ठता, र ईश्वरीय सिद्धतालाई जनाउँदछ (यूहन्ना १:१४; रोमी १:२३)।
  4. यसले कुनै राजाको र तिनको राज्यको भव्यता र ऐश्वर्यलाई जनाउँदछ (मत्ती ६:२९; १९:२८; २५:३१; यूहन्ना १२:४१; १७:५,२२,२४; रोमी ९:२३; कलस्सी ३:४)।
  5. यसले परमेश्वरको उपस्थितिको वरिपरि हुने चम्किलो ज्योतिलाई जनाउँदछ। हेर्नुहोस् प्रस्थान १६:१०; ४०:३४,३५; लेवी ९:६,२३; गन्ती १४:१०; १ राजा ८:११; २ इतिहास ७:१-३; इजिकिएल १०:४; मर्कूस ९:२-३ (यस घटनालाई २ पत्रुस १:१७ मा “महिमा” भनिएको छ); १३:२६; लूका २:९; प्रकाश १:१६; २१:११,२३।
  6. यसले सुन्दरतालाई जनाउँदछ (यशैया २८:१; ६३:१)।

बाइबलले विश्वासीहरू ख्रीष्टसँग महिमामा हुनेछन् भन्नुको माने यसले माथिका सबै कुरालाई जनाउँदछ, अर्थात् ख्रीष्टको उपस्थिति र राज्यमा भएको प्रशंसा, श्रेष्ठता, ऐश्वर्य, पवित्रता, ज्यति र सुन्दरता भन्ने बुझिन्छ।

रहस्य (MYSTERY)

  1. सामान्य प्रयोगमा “रहस्य” भन्नाले कुनै गोप्य कुरा, बुझ्न गाह्रो कुरा, असाधारण र अर्कै आयामको कुरा भन्ने बुझिन्छ। बाइबलले यस शब्दलाई यस अर्थमा पनि कुनै कुनै ठाउँमा प्रयोग गर्दछ (एफेसी ५:३२; प्रकाश १७:५)।
  2. तर नयाँ नियमको धेरैजसो ठाउँमा प्रयोग भएको “रहस्य” भन्ने शब्दले ती सत्यताहरूलाई जनाउँदछ जो परमेश्वरले पुरानो नियमका समयहरूमा गोप्‍य राख्‍नुभएको थियो तर अब नयाँमा प्रकट गर्नुभएको छ। अर्थात् यस शब्दले यसले नयाँ नियमको प्रकाशलाई जनाउँदछ। विशेष गरी यसले मण्डली सम्बन्धित सत्यतालाई जनाउँदछ जसअनुसार अन्यजातितहरू र यहूदीहरू ख्रीष्टद्वारा एउटै नयाँ आत्मिक शरीरमा ल्याइएका छन् (मत्ती १३:११; १ कोरिन्थी २:७-१२; रोमी ११:२५; १६:२५-२६; एफेसी १:९; ३:१-१२; ६:१९; कलस्सी १:२५-२७; २:२; ४:३)। इस्राएलमा भएको परमेश्वरको मन्दिरले “रहस्य” शब्दको मानेलाई दर्शाउन मदत गर्दछ। पुरानो नियममा मन्दिरको बाक्लो पर्दाले परमेश्वरको उपस्थितिलाई छेकेको थियो, तर अब त्यो च्यात्तिएको छ र विगतमा छिपाइएका कुराहरू प्रकट भएका छन्।

चुनाउ (ELECTION)

बाइबलमा “चुनिएको” भन्ने शब्दले कम्तिमा चार कुराहरूलाई जनाउँदछ

  1. येशू ख्रीष्ट (१ पत्रुस २:६)
  2. शैतानसँगै पतन नभएका स्वर्गदूतहरू (१ तिमोथी ५:२१)
  3. परमेश्वरबाट चुनिएको इस्राएल जाति (रोमी ९:९-१३)। संसारको बीचबाट अब्राहामलाई बोलाउनुभयो, त्यसपछि इशमएलको सट्टा इसाहकलाई चुन्नुभयो, र एसावको सट्टा याकूबलाई चुन्नुभयो।
  4. येशू ख्रीष्टमा मुक्ति पाउनेहरू (मत्ती २४:२२,२४,३१; लूका १८:७; रोमी ८:३३; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; २ तिमोथी २:१०; तीतस १:१; १ पत्रुस ५:१३; २ पत्रुस १:१०)। चुनाउलाई “पहिल्यै ठहर्‍याउनु” र “पहिल्यै ठहराएको” भनेर पनि बयान गरिएको छ (एफेसी १:५,११)।

मुक्तिका निम्ति चुनिएको भन्ने सम्बन्धमा केही पाठहरू

  1. चुनाउ परमेश्वरको पूर्वज्ञानमा आधारित कुरा हो (१ पत्रुस १:२)। परमेश्वरले यस युगमा मुक्तिको सुसमाचार सबै मानिसहरूलाई प्रदान गर्नुभएको छ र कस-कसले विश्वास गर्नेछन् र कस-कसले इन्कार गर्नेछन् भनेर उहाँ अगाडिबाटै जान्नुहुन्न।
  2. चुनाउको तात्पर्य यो हो कि परमेश्वरले मानिसको मुक्ति सृष्टिको शुरुआत हुनुभन्दा अगाडि नै योजना गर्नुभएको थियो (एफसी १:५,११)। यसको मतलब परमेश्वरले आफ्‍नो पूर्वज्ञानमा विश्वासीलाई एक महिमापूर्ण भविष्यको लागि पूर्वनिर्धारित गर्नुभएको छ (१ पत्रुस १:२-४); रोमी ८:२९-३०)। अर्थात् सवाल को-को पूर्वनिर्धारित भएका छन् भन्ने नभएर हामी केका लागि पूर्वनिर्धारित भएका छौं भन्ने हो।
  3. चुनाउको मतलब परमेश्वरले “सार्वभौम रूपले” कस-कसले मुक्ति पाउनेछन् र कसले पाउनेछैनन् भन्ने होइन। सबैले मुक्ति पाएको उहाँ चाहनुहुन्छ भनेर उहाँले प्रकट गरिसक्नुभएको छ (१ तिमोथी २:३-४; २ पत्रुस ३:९)। परमेश्वरको “सार्वभौम” इच्छा नै यो हो कि सबै मानिसहरूले मुक्ति पाऊन्! चुनिएकाहरू अर्थात् मुक्ति पाएकाहरू ती हुन् जस-जसले सुसमाचारलाई विश्वास गर्दछन् (यूहन्ना ३:१६)।

आधारात्मक बाइबल शब्दावली भाग ४ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टिय जीवनमा “आशा” को माने के हो?
  2. कुन पदले विश्वासीको आशालाई लङ्गरसित तुलना गरेको छ?
  3. कुन पदले विश्वासीको आशा सुरक्षित र दृढ छ भन्ने कुरा बताउँछ?
  4. कुन पदले विश्वासीको आशा “अनन्त सान्त्वना” हो भन्ने कुरा बताउँछ?
  5. विश्वासीको मुक्ति अनिश्चित छैन भने किन यसलाई आशाको संज्ञा दिइएको छ?
  6. बाइबलमा “महिमा” शब्दलाई कुन छ तरिकामा प्रयोग गरिएको छ?
  7. नयाँ नियममा “रहस्य” भन्ने शब्द प्रायः कुन अर्थमा प्रयोग भएको छ?
  8. “चुनिएको” भन्ने शब्दले कुन चार कुरालाई जनाउँछ?
  9. मुक्तिको निम्ति चुनाउ सम्बन्धी तीनओटा पाठहरू के के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






आधारात्मक बाइबल शब्दावली भाग ३

Study Series

आधारात्मक बाइबल शब्दावली भाग ३

डेविड क्लाउड

मिलाप (RECONCILIATION)

शत्रुताको सट्टा मित्रतामा परिवर्तित हुनु; सम्बन्ध पुनःस्थापित गर्नु (मत्ती ५:२४; १ कोरिन्थी ७:११)। मानिसले परमेश्वरको आज्ञा तोडेर उहाँलाई क्रोधित तुल्याएको थियो तर ख्रीष्टको बलिदानद्वारा पवित्र परमेश्वरसँग विश्वास गर्ने पापीहरू उहाँसित मिलाप गराइन्छन् (२ कोरिन्थी ५:१८-१९)। विश्वास गर्नु अघि हामी उहाँका शत्रु हुन्छौं; विश्वास गरेपछि उहाँसँग हाम्रो मिलाप हुन्छ।

गन्नु, ठहर्‍याउनु (IMPUTATION)

कसैको हिसाबमा राखिदिनु, ठान्नु, कसैलाई दोषारोपण गर्नु। योचाहिँ कसैको बैङ्क खातामा पैसा जम्मा गरिदिनु जस्तै हो। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका लागि परमेश्वरले यस्तै गरिदिनुहुन्छ। ख्रीष्टको धार्मिकता ख्रीष्टियनको हिसाबमा राखिन्छ (रोमी ४:६-९, २२-२५)।

धर्मपुत्र ग्रहण (ADOPTION)

यस नयाँ नियमको शब्दको माने पुत्रको रूपमा परिवारमा स्थापित गर्नु भन्ने हो। कुनै धनी मानिसले कुनै टुहुरालाई छनोट गरी उसलाई सम्पूर्ण अधिकारसहित आफ्‍नो वैधानिक पुत्र र हकवाला बनाउने कुरा हो यो। यो शब्द ख्रीष्टमा भएको मुक्तिको बयान गर्नलाई प्रयोग गरिएको छ (रोमी ८:१५; गलाती ४:५; एफेसी १:५)।

विश्वासीहरू परमेश्वरका धर्मपुत्र भइसकेका छन् तरैपनि हामीले आफ्‍नो पुत्रत्वका सबै आशिषहरू उपभोग गर्न अझै बाँकी छ (१ यूहन्ना ३:१-२)। बौरिउठाइपछि मात्र हामीले नयाँ शरीरहरू प्राप्‍त गर्नेछौं र पिताको अनन्त राज्यको धनको भरपूरिलाई उपभोग गर्नेछौं। हामी यस अर्थमा आशाको रूपमा हाम्रो धर्मपुत्र ग्रहणको बाटो हेर्दछौं (रोमी ८:२३)।

“नयाँ जन्म” / “नयाँ सृष्टि” (REGENERATION)

नयाँ जन्मको माने आत्मिक रूपमा नयाँ बनाइनु हो। नयाँ नियममा यो शब्दावली दुई पटक मात्र प्रयोग भएको छ।

  1. पापीहरूले जब येशू ख्रीष्टमा विश्वास गर्दछन् तब उनीहरू नयाँ बनाइन्छन् (तीतस ३:५)। यसले नयाँ जन्मलाई जनाउँदछ।
  2. ख्रीष्ट जब फेरि आउनुहुनेछ तब इस्राएल जाति नयाँ बनाइनेछन् (मत्ती १९:२८)।

पवित्र, पवित्र बनाउनु (HOLY, SANCTIFY)

“पवित्र” को माने के हो?

“पवित्र” को आधारभूत माने परमेश्वरको उद्देश्यका लागि अलग गरिएको भन्ने हो (लेवी २०:२६)।

मानिसहरू बाहेक अरू कुराहरूलाई पनि “पवित्र” भनेर उल्लेख छ: भूमि (प्रस्थान ३:५), विश्राम दिन (प्रस्थान १६:२३), हारूनका वस्त्रहरू (प्रस्थान २८:२), भेट हुने पालको वेदी (प्रस्थान २९:३७)। तसर्थ, पवित्र पार्नु भनेको शुद्ध पार्नु वा धर्मी बनाउनु नै भन्ने अर्थ सधैं नलाग्न सक्छ। हारूनका वस्त्रहरू आफैमा शुद्ध वा पापरहित थिएनन्। ती केवल परमेश्वरको सेवाका निम्ति अलग गरिएका थिए। पोथ्रामा परमेश्वरको उपस्थिति आउँदा र मोशाले आफ्‍ना जुत्ता फुकाल्दा, मोशा उभिएको पवित्र भूमि पाप हटाइएको अर्थमा शुद्ध पारिएको थियो भन्ने त होइन। उक्त भूमि परमेश्वरको उपस्थितिद्वारा उहाँको उद्देश्यका लागि अलग पारिएको थियो।

यसरी, पवित्र हुनुको मूल तात्पर्य परमेश्वरको निम्ति अलग गरिएको हुनु भन्ने हो। एक पवित्र व्यक्ति भनेको त्यो व्यक्ति हो जो परमेश्वरको निजी भएको छ।

साथै धार्मिकता र नैतिक शुद्धतासित पवित्रताको निकट सम्बन्ध छ (यर्मिया ३१:२३; लूका १:७५; रोमी ६:१९; एफेसी ४:२४)। पवित्रता अशुद्धताबाट भिन्न रहेको बताइएको छ (यशैया ३५:८; १ थेस्सलोनिकी ४:७) र पापबाट धोइएको भन्ने कुरासित सम्बन्धित छ (२ कोरिन्थी ७:१; १ थेस्सलोनिकी ४:३)।

ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?

ख्रीष्टिय जीवनमा पवित्रताका दुई पक्ष छन् — ओहोदाको (positional) र अवस्थाको अर्थात् व्यावहारिक(practical)। एकातिर त्यहाँ अनन्तताको पवित्रता छ, अर्कोतिर समयको; एकातिर सिद्ध, अर्कोतिर क्रमिक; एकातिर पूर्ण, अर्कोतिर प्रगतिशील। एक ख्रीष्टियन एकातिर ख्रीष्टमा भएको उसको अनन्त ओहोदाको कारण पवित्र छ, र अर्कोतिर व्यावहारिक अर्थमा दिन प्रति दिन ऊ पवित्र हुँदै जाँदैछ।

विश्वासी अनन्तसम्म परमेश्वरको परिवारभित्र अलग गरिएको कुराले उसको ओहोदीय पवित्रतालाई जनाउँदछ। यस अर्थमा ख्रीष्टमा हुनु भनेको पवित्र हुनु हो (एफेसी १:४; हिब्रू ३:१)। परमेश्वरको सामु ओहोदामा हरेक साँचो विश्वासी ऊ नयाँ गरी जन्मिएको दिनदेखि पवित्र हुन्छ। यसको कारण ऊ ख्रीष्टभित्र अवस्थित गराइएकोले हो जसको फलस्वरूप अबदेखि उसो परमेश्वरले उक्त व्यक्तिलाई एक दोषी पापीको रूपमा हेर्नुहुन्न। परमेश्वरले विश्वासीलाई आफ्‍नो पुत्रको रगतसितको सम्बन्धमा देख्‍नुहुन्छ। ख्रीष्टिय जन ऊ आफै असल भएको कारणले नभएर ख्रीष्टले प्रायश्चित गर्नुभएको आधारमा परमेश्वरले उसलाई धर्मी ठहराउनुभएको कारणले यस ओहोदीय अर्थमा ऊ पवित्र छ। परमेश्वरको हरेक सन्तान पवित्र छ; यस ओहोदीय अर्थमा परमेश्वरको हरेक सन्तान एक पवित्र जन हो।

व्यावहारिक पवित्रता भनेको दैनिक जीवनमा पवित्र हुनु हो। ख्रीष्टमा हरेक विश्वासी ओहोदीय अर्थमा पवित्र छ र साथै व्यवहारमा ऊ पवित्र हुनु परमेश्वरको इच्छा हो (१ पत्रुस १:१५-१६)।

पवित्रताका यी दुई पक्षलाई कलस्सी ३:१२ मा देख्‍न सकिन्छ। विश्वासीहरू ख्रीष्टमा भएको ओहोदामा पवित्र र प्रिय भएका हुनाले उनीहरू दैनिक जीवनमा पवित्र हुनुपर्छ। हामी पवित्र जनहरू भएकाले हामी पवित्र जनहरू जस्तै जिउनुपर्छ। हरेक साँचो ख्रीष्टियन ख्रीष्टको रगतमाथिको उसको भरोसाले परमेश्वरको सामु ऊ सिद्ध र पवित्र छ — येशू जत्तिकै पवित्र — तर हरेक ख्रीष्टियन दैनिक रूपमा पवित्र जीवन जिउने गर्दैन। ख्रीष्टियनले आफ्‍नो पवित्रतालाई सिद्ध बनाउँदै लैजानुपर्छ (२ कोरिन्थी ७:१)। यसले ख्रीष्टिय जीवनको आत्मिक वृद्धिको प्रक्रियालाई बयान गर्दछ।

येशू ख्रीष्टमा अोहोदामा पहिला पवित्र नबनाइएसम्म दैनिक जीवनमा पवित्र बन्नु असम्भव छ। नयाँ गरी जन्मिएपछि मात्र एक व्यक्तिले दैनिक पवित्रताको निम्ति गरेको प्रयासलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ। ख्रीष्टबाहिर कुनै साँचो पवित्रता छैन। केवल उहाँको रगतले मात्र एक व्यक्ति पापबाट शुद्ध पारिन सक्छ र परमेश्वरलाई धार्मिकता र सत्यतामा सेवा गर्न योग्य बनाइन सक्छ (गलाती २:२०; ६:१४-१६)।

पवित्रता र रगतको बीचको सम्बन्ध के हो?

बाइबलले पवित्रता र ख्रीष्टको रगतको बीच घनिष्ट सम्बन्ध भएको देखाउँछ (हिब्रू ९:१२,२०-२५)। भेट हुने पालका प्रतीकहरूले यस कुरालाई जोड दिन्थे। भेट हुने पालका सामग्रीहरू परमेश्वरको सामु रगतद्वारा पवित्र पारिन्थे (प्रस्थान ३०:१०)। पूजाहारीहरू रगतद्वारा समपर्ण गरिन्थे (लेवी १४:१४)। उपासकहरू रगतद्वारा शुद्ध पारिन्थे (लेवी ४:१५-१८,३०,३४)। महापूजाहारी पवित्र स्थानभित्र परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्नुको र मानिसहरूका निम्ति प्रायश्चित गर्न सक्नुको कारण रगत नै थियो (लेवी १६:१४-२०)। लेवीको पुस्तकमा “रगत” शब्द ६० पटक उल्लेख भएको छ जुन पुस्तक इस्राएलले गर्ने परमेश्वरको उपासनाको र बलिदानद्वारा हुने शुद्धिकरणको पुस्तक हो। हिब्रूको पुस्तकमा “रगत” शब्द २० पटक उल्लेख भएको छ जसले देखाउँछ कि पुरानो नियमका प्रतीकहरूले सङ्केत गरेको कुरा चाहिँ ख्रीष्टको रगत हो।

बाइबलका आधारात्मक शब्दहरू भाग ३ का पुनरावलोकन प्रश्नहरू

  1. “मिलाप” को माने के हो?
  2. पापीहरू परमेश्वरसित कसरी मिलाप गराइन्छन्?
  3. विश्वास गर्नु अगाडि हामी परमेश्वरका के थियौं?
  4. रोमी ४:६-९ मा “ठहराउनु” र ४:२२-२५ मा “गनियो” को माने के हो?
  5. येशूको खातिर परमेश्वरले ख्रीष्टियनलाई कुन कुरा उसको हिसाबमा गन्नुहुन्छ?
  6. “धर्मपुत्र ग्रहण” को माने के हो?
  7. विश्वासीले धर्मपुत्र ग्रहणको बाटो किन आशाको रूपमा हेर्दछ भनेर बाइबलले भन्दछ?
  8. “नयाँ जन्म” वा “नयाँ सृष्टि” के हो?
  9. ख्रीष्टिय जीवनको नयाँ जन्मले कुन कुरालाई जनाउँछ?
  10. “पवित्र” हुनुको आधारभूत माने के हो?
  11. पुरानो नियममा मानिसलाई बाहेक अन्य कस्ता कुरालाई पवित्र भनिएको छ? तीनओटा कुरा उल्लेख गर्नुहोस्।
  12. ख्रीष्टिय पवित्रताका दुई पक्षहरू के-के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।