Entries by Pradesh Shrestha

बाइबल २

Study Series

बाइबल २

डेविड क्लाउड

पद कण्ठ: १ कोरिन्थी १०:११; १ थेस्सलोनिकी २:१३; २ तिमोथी ३:१६-१७

बाइबलको ईश्वरीय प्रेरणा

बाइबल परमेश्वरबाट चुनिएका अगमवक्ताहरूद्वारा लेखिएको हो। तिनीहरूले परमेश्वरबाट दिइएका शब्दहरू लेखे। यसलाई “ईश्वरीय प्रेरणा” (divine inspiration) भनिन्छ। यो कुरा सिकाउने मुख्य दुईटा खण्डहरूलाई विचार गर्नुहोस्:

२ तिमोथी ३:१३-१७

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो चाबी खण्ड हो र यसले धेरैओटा महत्त्वपूर्ण सत्यताहरू सिकाउँछ।

  1. बाइबल अन्य सबै पुस्तकहरूभन्दा अलग छ (२ तिमोथी ३:१५)। यहाँ बाइबल-शास्त्रलाई “पवित्र” भनिएको छ। यसको माने हो “अलग, भिन्न”। बाइबल एक्लै मानिसलाई दिइएको परमेश्वरको दिव्य वचन हो।
  2. बाइबल परमेश्वरबाटको हो (“परमेश्वरको प्रेरणाद्वारा दिइएको हो”, २ तिमोथी ३:१६)। ग्रीकबाट अक्षरशः अनुवाद गर्दा, यस पदले पवित्रशास्त्र “परमेश्वरबाट निश्वासित भएको” (God-breathed) हो भन्दैछ। यद्यपि यो मानिसहरूद्वारा लेखियो, बाइबल परमेश्वरको सास निश्वासनबाट दिइएको हो। बाइबलले आफ्नै बारेमा गरेको दाबी हो यो। यदि यसमा त्रुटीहरू र काल्पनिक कथाहरू भेटिएका भए यो झूटो साबित हुनेथ्यो। आफ्नो प्रेरणाको चर्चा गर्नुपर्दा पवित्रशास्त्रले प्रेरणाको तरिकालाई नभएर त्यसद्वारा आएको तयारी सामग्रीलाई मुख्य विषय बनाउँदछ। परमेश्वरले विभिन्न तरिकाले बोल्नुभयो (सपनाहरूद्वारा, दर्शनहरूद्वारा, स्वर्गदूतहरूद्वारा, प्रत्यक्षरूपमा – जस्तै सिनै पर्वतमा, आदि) तर हरेक अवस्थाको सवालमा आखिरमा ती लेखोटहरू ईश्वर-प्रेरित थिए।
  3. बाइबल पूर्णरूपमा नै परमेश्वरबाटको हो (“सबै पवित्रशास्त्र”, २ तिमोथी ३:१६)। सबै पवित्रशास्त्र परमेश्वरबाट आएको हो भनिएको छ। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द “ग्राफे” हो र यसको माने “लेखोट” वा “पुस्तक” हो। यसले “पूर्ण प्रेरणा” (plenary inspiration) लाई जनाउँछ जसको माने पूर्णरूपमा, पूरै, सबै भन्ने हुन्छ।
  4. बाइबल, त्यसको सबभन्दा सुक्ष्म बुँदा समेत, परमेश्वरबाटको हो (२ तिमोथी ३:१५)। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द, “ग्राम्मा” हो र यसले एउटा अक्षरलाई जनाउँदछ। यसरी, बाइबलका सबैभन्दा मसिना विवरणहरू पनि परमेश्वरबाटका हुन्। यसलाई “शाब्दिक प्रेरणा” (verbal inspiration) भनिन्छ।
  5. बाइबल एउटै पुस्तक हो र यसको एउटा सर्वोपरि विषयवस्तु छ र त्यो हो येशू ख्रीष्टमा प्रबन्ध गरिएको मुक्ति (२ तिमोथी ३:१५)। बाइबल, नानाथरीका धार्मिक लेखोटहरूको सङ्ग्रह होइन। यो त परमेश्वरले आफूलाई प्रकट गर्नलाई, मुक्तिको मार्ग बताउनलाई, युग‍हरू सम्बन्धी उहाँको योजनालाई प्रकट गर्नलाई उहाँले रचना गर्नुभएको सिङ्गो पुस्तक हो। सिङ्गो बाइबलमा बाइबलको हरेक भागको महत्त्वपूर्ण भूमिका रहेको छ।
  6. बाइबलले विश्वासीहरूलाई भ्रमदेखि जोगाउन सक्छ (२ तिमोथी ३:१३-१५)। यदि बाइबलमा काल्पनिक कथाहरू, त्रुटीहरू, र लेखकका बारेमा, आश्चर्यकर्मका बारेमा र भविष्यवाणीहरूका बारेमा असत्य दाबीहरू भएका भए, यो पूर्णरूपमा आधिकारिक हुन सक्दैनथ्यो र यसले झूटा शिक्षाहरूदेखि सुरक्षा प्रदान गर्न सक्दैनथ्यो!
  7. बाइबल एक ख्रीष्टियनलाई पूर्ण र परिपक्क्व बनाउनलाई पर्याप्‍त छ (२ तिमोथी ३:१७)। एक असिद्ध, अपूरो पुस्तकले सिद्धता ल्याउन सक्दैनथ्यो, अनि बाइबलले परमेश्वरको जनलाई सिद्ध बनाउन सक्ने भएको हुनाले यो स्पष्ट छ कि उसलाई अन्य केही कुराको आवश्यकता पर्दैन। तसर्थ, एक विश्वासीको जीवनमा र मण्डलीमा बाइबल नै विश्वास र अभ्यासको एकमात्र अधिकार हो।

२ पत्रुस १:१९-२१

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो अर्को चाबी खण्ड हो।

  1. पवित्रशास्त्र अन्धकारमा बलिरहेको बत्ती हो (२ पत्रुस १:१९)। अन्धकारपूर्ण स्थान संसार हो। यद्यपि यहाँ केही सत्यता भ्रमसित मिश्रित रूपमा रहेको पाइन्छ, संसारलाई अन्धकारपूर्ण स्थानको रूपमा दर्शाइएको छ किनकि मानिसले परमेश्वरबाटको प्रकाशबिना आत्मिक सत्यता जान्न सक्दैन। बाइबल नै त्यो प्रकाश हो जो अन्धकारको बीचमा बलिरहेको छ।
  2. बाइबल मानिसको इच्छाबाट तयार भई आएको कुरा होइन (२ पत्रुस १:२१)। अन्य पुस्तकहरू मानव लेखकको इच्छाका परिणाम हुन्, तर बाइबलचाहिँ होइन। परमेश्वरले केही निश्चित व्यक्तिहरूलाई चुन्नुभयो र उहाँको सन्देश प्रकाशन गर्नलाई उनीहरूलाई चलाउनुभयो। पवित्र आत्माले जब काम गर्नुभयो तब ती चुनिएका मानिसहरूले परमेश्वरका शब्दहरू बोले र लेखे।
  3. यस खण्डले बाइबल कुन तरिकाले दिइएको थियो भनेर बयान गर्दछ। परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुभयो, तर उहाँले उनीहरूलाई यस्तो प्रकारले प्रयोग गर्नुभयो कि तिनीहरूले जे लेखे त्यो परमेश्वरको वचन थियो। प्रेरणा र प्रकाशको विषयलाई छुँदा बाइबलले परमेश्वरलाई मुख्य विषय बनाउँदछ। हामीलाई प्रक्रियाको सम्बन्धमा एकदमै थोरै कुरा बताइएको छ। प्रेरणाको प्रक्रिया एउटा नखुलाइएको रहस्य हो। यो काम पवित्र आत्माद्वारा रहस्यमय ढङ्गले पूरा भयो। प्रेरणाको प्रक्रियाको बारेमा हामीले चिन्ता गर्नुपर्दैन; उक्त कुरा सम्पन्न भएकै हो भन्ने परमेश्वरको गवाहीलाई हामीले विश्वास गर्नुपर्छ र तयारी सामग्री अर्थात् बाइबलमाथि आफ्नो विश्वासको अभ्यास गर्नुपर्छ। आधुनिक शास्त्रज्ञहरू प्रायः ठीक यसको उल्टो गर्ने गर्छन्। तिनीहरू ईश्वरीय पक्षलाई नभएर मानवीय पक्षलाई मुख्य विषय बनाउँछन्। यसको कारण यो हो, प्रायःजसो आधुनिक शास्त्रज्ञहरू विश्वासको सिद्धान्तअनुसार चल्दैनन्। उनीहरू आफ्नै समझ र मानवीय विद्वत्ताअनुसार चल्दछन्। यो तरिकाले कुनै पनि मानिसले परमेश्वरको सिद्ध वचनलाई जान्न सक्दैन, किनकि “बिनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ” (हिब्रू ११:६)।
  4. “आफ्नो निजी व्याख्या” भन्ने वाक्यांशले बाइबलका लेखकहरूलाई जनाउँछ (२ पत्रुस १:२०)। सन्दर्भमा, योचाहिँ प्रकाश प्रदान गर्ने कार्यलाई जनाउँदैछ, त्यसलाई बुझ्ने कार्यलाई होइन। बाइबलका लेखकहरूले मानिसलाई दिइएको परमेश्वरको प्रकाशलाई आफ्नै विचारअनुसार व्याख्या गरेनन्; उनीहरूलाई पवित्र आत्माद्वारा परमेश्वरको प्रकाश दिइयो। उनीहरूले कतिपटक आफूले लेखिरहेका कुराहरूलाई समेत बुझेनन् (१ पत्रुस १:१०-१२)।

बाइबलको क्यानन (The Canonization of the Bible)

बाइबलको क्यानन भन्नाले पुरानो र नयाँ नियमका ६६ पुस्तकहरूको आधिकारिक सूची भन्ने बुझिन्छ। “क्यानन” शब्दको माने “एक नर्कट”, एउटा नाप्ने छडी, हो। यसले कुनै पनि कुरालाई एउटा स्थापित नियम वा मानदण्डले जाँच्ने प्रक्रियालाई जनाउँछ। पवित्रशास्त्रको क्यानन विश्वासद्वारा स्वीकार गरिनुपर्ने कुरा हो, किनकि त्यो यथार्थतः कसरी सम्पन्न भयो भन्ने कुराको ऐतिहासिक अभिलेख अस्तित्वमा छैन। परमेश्वर जसले पवित्रशास्त्र प्रदान गर्नुभयो उहाँले नै आफ्ना जनहरूलाई कुन-कुन पुस्तकहरू समावेश गरिनुपर्छ भनी डोर्‍याउनुभयो।

पुरानो नियमलाई यहूदीहरूले सङ्कलन गरेका हुन्। यहूदीहरूलाई नै हो परमेश्वरले हिब्रू पवित्रशास्त्रहरूको संरक्षण गर्ने काम दिनुभएको (रोमी ३:१-२)। उनीहरूले पवित्रशास्त्रको पालना सधैँ त गरेनन्, तरैपनि उनीहरूले यसलाई आदर गरे र हरेक बिन्दु र मात्रा समेत परमेश्वरको प्रेरणाबाट दिइएको वचन हो भनी विश्वास गरे। ख्रीष्ट आउनुभन्दा कम्तिमा पनि १०० वर्ष अगाडिका मृत सागरका चर्मपत्रहरू (The Dead Sea Scrolls) मा पुरानो नियमका उही पुस्तकहरू नै थिए जो आज हाम्रा बाइबलहरूमा रहेका छन्। कुमरान (Qumran) गुफाहरूमा पुरानो नियमका ३९ ओटा पुस्तकहरूमध्येमा एस्तरको पुस्तक बाहेक अरू जम्मै पुस्तकहरू भेटिए, तरैपनि यहूदी क्याननमा एस्तरको पुस्तक समाविष्ट पुस्तक नै थियो भन्ने कुरा सर्वविदितै छ।

नयाँ नियमलाई शुरुका मण्डलीहरूले सङ्कलन गरेका हुन्। उक्त प्रक्रिया परमेश्वरका आत्माको अगुवाइमा भएको थियो। पवित्र आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्‍याउनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभएको थियो (यूहन्ना १६:१३; १ यूहन्ना २:२०)। शुरुका मण्डलीहरूले ती प्रेरितीय लेखोटहरूलाई परमेश्वरको वचन भनी ग्रहण गरे। १ थेस्सलोनिकी २:१३ मा हेर्नुहोस्।

क्यानन प्रक्रिया (canonization process) कुनै अस्तव्यस्त खाले प्रक्रिया थिएन, जस्तो बाइबल इतिहासका धेरजसो हिजोआजका पुस्तकहरूले बयान गर्ने गर्छन्। त्यसको यथार्थ इतिहास समयको हुस्सुभित्र छिपिएको भएता पनि हामी विश्वासैद्वारा जान्दछौं कि परमेश्वरको आत्माले विश्वासीहरूलाई यस विषयमा ठीक-ठीक गरी डोर्‍याउनुभएको थियो। दोस्रो शताब्दीमा आइपुग्दासम्म विश्वासीहरूले पूरै नयाँ नियमलाई पवित्रशास्त्रको रूपमा साधारणतया स्वीकार गरिसकेका थिए भन्ने कुराको प्रमाण छ। पाठ्यग्रन्थका कतिपय मडर्निस्टिक अर्थात् नवीन विचारधारा राख्‍ने समालोचकहरू (modernistic textual critics) ले समेत दोस्रो शताब्दीको बीचमा नआइपुग्दै ग्रीक नयाँ नियमको वर्तमान २७-पुस्तकीय क्यानन अस्तित्वमा रहेको निष्कर्ष निकालेका छन्। (हेर्नुहोस्, David Trobisch, The First Edition of the New Testament, Oxford/New York: Oxford University Press, 2000)। दोस्रो शताब्दीबाट हामीलाई प्रमाण मिलेको छ कि प्रत्येक मण्डलीसँग प्रेरितका लेखोटहरूका आ-आफ्नै प्रतिलिपि हुने गर्थ्यो ता कि उनीहरू त्यसलाई पढ्न र त्यसबाट प्रचार गर्न सकून्। त्यसबेलाका एक प्रचारक, जस्टिन मार्टर (Justin Martyr) ले लेखे, “अनि आइतबार भनिने दिनमा शहरहरूमा वा गाउँहरूमा बस्नेहरूको एउटै स्थानमा सभा हुने गर्छ, र समयले भ्याएसम्म त्यहाँ प्रेरितहरूका पत्रहरू वा भविष्यवक्ताहरूको लेखोटहरूबाट पढेर सुनाइने गरिन्छ। पाठकले भ्याइसकेपछि सभापतिले प्रवचनमा हामीलाई यी उत्तम कुराहरूको देखासिकी गर्नलाई आग्रह गर्छन् र निमन्त्रणा गर्छन् (Justin Martyr, Apology)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






बाइबल १

Study Series

बाइबल १

डेविड क्लाउड

पद कण्ठ: भजनसङ्ग्रह ११९:१०५; लूका २४:२७; रोमी १५:४

बाइबल के हो?

बाइबल, परमेश्वरले आफूलाई मानवजातिकहाँ प्रकट गर्नलाई दिनुभएको पुस्तक हो। यसले जीवनका सबै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ जस्तै, परमेश्वर को हुनुहुन्छ? मानिसको उत्पत्ति कहाँबाट भयो? जीवनको उद्देश्य के हो? यो संसार किन दुःखकष्टले भरिएको छ? मान्छे किन मर्छ? मृत्युपछि के हुन्छ? मान्छे कसरी परमेश्वरसित ठीक सम्बन्धमा गाँसिन सक्छ? येशू को हुनुहुन्छ? उहाँ किन मर्नुभयो? भविष्यमा के हुनेवाला छ?

बाइबल परमेश्वरले चुन्नुभएका करिब ४० जना अगमवक्ताहरूद्वारा लेखियो अनि तिनीहरूले परमेश्वरद्वारा उनीहरूलाई दिइएका शब्दहरू लेखे (२ पत्रुस १:२१)। यो करिब १६०० वर्षको, करिब १५०० ई. पू. देखि ९० एडीसम्मको, अवधिभित्र लेखियो।

“बाइबल” भन्ने शब्द ग्रीकको “बिब्लोस्” बाट आउँछ जसको माने “पुस्तक” हो। बाइबल एउटै पुस्तक हो र यसले एकै स्वरमा बोल्छ, तर यो मुख्य दुइटा खण्डमा विभाजित छ — पुरानो नियम र नयाँ नियम। अझ, ‍बाइबलमा ६६ ओटा छुट्टै पुस्तकहरू छन्: पुरानो नियममा ३९ पुस्तकहरू, नयाँ नियममा २७। पुस्तकहरू अध्यायहरूमा विभाजित छन् र हरेक अध्याय पदहरूमा विभाजित छन् ताकि खण्डहरूलाई खोज्न सहज होस्। जस्तै, यूहन्ना ३:१६ ले यूहन्नाको पुस्तक, त्यसको तेस्रो अध्यायको १६ औं पदलाई जनाउँछ।

“नियम” भन्नाले करार वा सम्झौतालाई जनाइन्छ।

पुरानो नियम (OLD TESTAMENT) मोशाको व्यवस्थाद्वारा मानिससितको परमेश्वरको करार हो। व्यवस्था, परमेश्वरको पवित्रता र मानिसको पापी अवस्था प्रकट गरी येशूको आगमनको लागि बाटो तयार पार्ने उद्देश्यमा दिइएको थियो (रोमी ३:१९-२०)।

पुरानो नियम मूलतः हिब्रू भाषामा लेखियो।

पुरानो नियम निम्‍न प्रमुख खण्डहरूमा विभाजित छ:

व्यवस्था (The Law) — उत्पत्तिदेखि व्यवस्था। यस खण्डलाई पञ्चग्रन्थ (Pentateuch, अर्थात् “पाँच पुस्तकहरू”) भनिन्छ। यसले आकाश र पृथ्वीको सृष्टि, अदनको बगैँचामा मानिसको पतन, नूहको समयको विश्वव्यापी जलप्रलय, बाबेलको धरहरा र भाषाहरूको उत्पत्ति, अब्राहामको बोलावट र उसका छोराहरूबाट यहूदी जातिको शुरुआत, मिस्रदेशमा इस्राएलको दासत्व र त्यसबाटको प्रस्थान र (दस आज्ञासहितको) परमेश्वरको व्यवस्था दिने कामको बयान गर्दछ।

इतिहास (The History) — यहोशूदेखि एस्तर। यस खण्डमा प्रतिज्ञाको देशलाई उनीहरूले कब्जा गरेदेखि बेबिलोनी कैदसम्मको इस्राएलको अर्थात् यहूदी राष्ट्रको इतिहास पाइन्छ।

पद्य पुस्तकहरू (The Poetic Books) — अय्यूबदेखि श्रेष्ठगीत। यो खण्ड परमेश्वरको उपासना, दुःखकष्टको उद्देश्य र सतहमा हेर्दाको पार्थिव अस्तित्वको व्यर्थता जस्ता जीवनका गहन प्रश्नसित सम्बन्धित छ।

अगमवक्ताहरू (The Prophets) — यशैयादेखि मलाकी। यस खण्डमा इस्राएल, समग्रमा मानवजाति, र येशू ख्रीष्टका बारेमा भविष्यवाणीहरू छन्।

नयाँ नियम (NEW TESTAMENT) ख्रीष्टद्वारा किनिएको मुक्तिद्वारा मानिससितको परमेश्वरको करार हो। नयाँ नियममा ख्रीष्टको अलौकिक जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहण, ख्रीष्टका प्रेरितका शिक्षाहरू र भविष्य सम्बन्धीका अगमवाणीहरू छन्।

नयाँ नियम ग्रीक भाषामा लेखियो।

नयाँ नियम निम्न प्रमुख खण्डहरूमा विभाजित छ:

सुसमाचारहरू (The Gospels) — मत्ती, मर्कूस, लूका र यूहन्ना। यी चार सुसमाचारहरूले येशू ख्रीष्टको जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहणको बयान गर्दछन्। साथै यिनीहरूमा उहाँको दोस्रो आगमनको भविष्यवाणीहरू पनि छन्।

प्रेरितका कामहरू (The Acts of the Apostles) — प्रेरितको पुस्तकमा प्रथम चर्चहरू (मण्डलीहरू) को स्थापना र विस्तारको इतिहास बताइएको छ।

पावलका पत्रहरू (Paul’s Epistles) — रोमीदेखि फिलेमोन। यी पत्रहरू विभिन्न मण्डलीहरू र व्यक्तिहरूलाई ख्रीष्टियन शिक्षा सिकाउनलाई पावल प्रेरितद्वारा लेखिएका हुन्।

साधारण पत्रहरू (The General Epistles) — हिब्रूदेखि यहूदा। यी पत्रहरूलाई “साधारण पत्रहरू” भनिन्छ किनकि यीचाहिँ मण्डलीहरूलाई नभएर सबै ख्रीष्टियहरूलाई साधारण हिसाबमा लेखिए। यीचाहिँ पावल, याकूब, पत्रुस, यहूदा र यूहन्नाद्वारा लेखिए।

भविष्यवाणी (Prophecy) — प्रकाश। यस पुस्तकमा वर्तमान संसारको अन्तको बारेमा भविष्यवाणीहरू छन्।

नयाँ र पुरानो नियमबीचको सम्बन्ध निम्न तुलनाबाट देख्‍न सकिन्छ:

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






मण्डली के हो?

Study Series

मण्डली के हो?

डेविड क्लाउड

पद कण्ठ: मत्ती १६:१८; प्रेरित २:४०-४२; १ तिमोथी ३:१५; हिब्रू १०:२५

मण्डलीको महत्त्व

  1. मण्डलीलाई स्थापना गर्नुभएको येशूले हो; यो नै वर्तमान युगका लागि उहाँबाटको संरचना हो, महान् आज्ञा पूरा गराउने उहाँको माध्यम हो (मत्ती १६:१८; २८:१८-२०)।
  2. मण्डली परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। यस अन्धकारपूर्ण संसारलाई चाहिएको कुरा नै सत्यता हो अनि संसारले सत्यलाई देख्‍न सकून् भनेर नै येशूले मण्डलीलाई सत्यको जग हुनलाई र सत्यलाई उचाल्नलाई त्यसको सृजना गर्नुभयो। सत्यको प्रतिरक्षा गर्नु, परमेश्वरका जनहरूलाई त्यसमा तालिम दिनु र विश्वभरि त्यसको घोषणा गर्नु मण्डलीको जिम्मेवारी हो।
  3. प्रेरितदेखि प्रकाशसम्म, मण्डली मुख्य विषयवस्तुको रूपमा भेटिन्छ। यो ११० पटक उल्लेख भएको छ। प्रेरितको पुस्तकमा प्रथम मण्डलीहरूको स्थापना भएको पाउँदछौं। नयाँ नियमको अधिकांश भाग मण्डलीहरूलाई सम्बोधन गरी लेखिएको छ, जस्तै रोमको मण्डलीलाई र कोरिन्थको मण्डलीलाई। प्रकाशको पुस्तक सातओटा निश्चित मण्डलीहरूलाई सम्बोधन गरी लेखिएको छ (प्रकाश १:४)। साथै कुनै निश्चित मण्डलीलाई सम्बोधन नगरिएका पत्रहरूमा पनि मण्डलीलाई नै दृष्टिगत गरिएको पाइन्छ। जस्तै, हिब्रूको पुस्तक मौलिक रूपमा यहूदी विश्वासीहरूलाई लक्षित गरेर लेखिएको भए तापनि त्यसमा माण्डलिक जीवन सम्बन्धित निकै जोडदार अर्तीहरू भेटिन्छन् (हिब्रू १०:२५; १३:७, १७)। याकूबको पत्रको सवालमा पनि उही कुरा भन्न सकिन्छ (जस्तै, याकूब ५:१४), साथै पत्रुसको पत्र (१ पत्रुस ५:१-४) र यूहन्नाका पत्रहरूको सवालमा पनि (३ यूहन्ना ९-११)।

पवित्रशास्त्रले ख्रीष्टियनहरूलाई दिएको नमुना भनेको मण्डलीप्रति समर्पित हुनु र त्यसका सेवाहरू र कार्यहरूमा विश्वासयोग्य बन्नु हो।

मण्डलीको स्वायत्तता (autonomy): मण्डली र मण्डलीहरू

कुनै इलाकामा भएका मण्डलीहरूको एउटा समूहलाई सम्बोधन गर्नुपर्दा बाइबलले मण्डली (एकवचन) भन्ने शब्दावली प्रयोग गर्दैन। त्यस्तो अवस्थामा, सधैँ मण्डलीहरू (बहूवचन) प्रयोग गर्दछ — गलातीयाका मण्डलीहरू (१ कोरिन्थी १६:१), म्यासिडोनियाका मण्डलीहरू (२ कोरिन्थी ८:१), यहूदीयाका मण्डलीहरू (गलाती १:२२), एशियाका मण्डलीहरू (प्रकाश १:४)। ‘नेपालको मण्डली’ वा ‘अमेरिकाको मण्डली’ जस्ता शब्दावली बाइबलीय होइनन्। ‘मण्डली’ शब्दावलीको यस्तो किसिमको प्रयोग रोमन क्याथोलिक चर्चबाट आएको हो र प्रोटेस्टेन्टहरूले रोमबाट निस्केपछि पनि यसलाई निरन्तरता दिएका हुन्।

प्रेरितहरूले मण्डलीलाई एउटै शिर, ख्रीष्टको अधीनतामा रहनुपर्ने एउटा स्वायत्त संस्थाको रूपमा स्थापित गरे। प्रत्येक मण्डलीको आफ्नै अगुवाहरू हुन्छन्, आफ्नै कार्ययोजना हुन्छन्। यो नमुना पावलको पहिलो मिसनरी यात्रादेखि शुरु भएको पाइन्छ (प्रेरित १४:२३)।

१ तिमोथी ३:१५ मा ‘परमेश्वरको घर’ भनेर उल्लेख गरिएको मण्डली एल्डर तथा डिकनहरू भएको मण्डली हो (१ तिमोथी ३:१-१४)।

यो कुरा प्रकाश १:४ मा देख्‍न सकिन्छ जहाँ प्रत्येक मण्डलीलाई छुट्टाछुट्टै गरी सम्बोधन गरिएको छ। प्रकाश १:१२-१३ मा येशू मण्डलीहरूको बीचमा उभिरहनुभएको छ, जो मण्डलीहरू सुनका सामदानहरूले जनाइएका छन्। पुरानो नियमको भेट हुने पालभित्र एउटा मात्र सामदान थियो, तर नयाँ नियमको प्रबन्धमा त्यहाँ धेरैओटा समादानहरू छन् किनकि प्रत्येक नै एउटा ज्योति हो। प्रत्येक मण्डली नै “सत्यको खाँबो र जग हो” (१ तिमोथी ३:१५)।

मण्डलीमा सदस्यता

मण्डली सदस्यताको सिद्धान्त प्रेरितको पुस्तकमा पाइन्छ जुन कुराको अभ्यास पहिलो मण्डलीदेखि नै शुरु भएको पाइन्छ। प्रेरित १:१५ मा सदस्यहरूको नामावली राखिएको देखिन्छ। प्रेरित २:४१ मा पेन्टेकोस्टका दिनमा बचाइएकाहरू “तिनीहरूमा थपिए” भन्ने कुरा पाउँछौं। यसको माने पन्ध्रौं पदमा पहिल्यै उल्लेख भएकाहरूको जमातमा थपिए भन्नु हो। बचाइएका र बप्‍तिस्मा गरिएकाहरू मण्डलीमा थपिएका थिए। मण्डली सदस्यताको अभ्यास थियो त्यो।

केंख्रेयामा भएको मण्डलीकी फिबी (रोमी १६:१) र कलस्सेका मण्डलीका ओनेसिमस र एपाफ्रास (कलस्सी ४:९, १२) का उदाहरणहरूले हामीलाई मण्डली सदस्याताको सिद्धान्त सिकाउँदछन्। यी विश्वासीहरू अन्य ठाउँहरूमा कामकाजले जानुपर्दा पनि उनीहरूको आ-आफ्ना स्थानीय मण्डलीसितको आवद्धतालाई कायम राखिएको छ।

मण्डली सदस्यता आवश्यक हुनुका चारओटा कारणहरू

मण्डलीका धेरै कुरा जस्तै मण्डली सदस्यता पनि एउटा व्यावहारिकताको विषय हो। मण्डलीमा सदस्यता भन्ने कुरा नै भएन भने, को-को मण्डलीभित्रका हुन् र को-को यसबाहिरका हुन् कसरी जान्ने?

    1. मण्डली सदस्यता आवश्यक पर्छ किनकि प्रत्येक मण्डली एउटा शरीर हो र एउटा परिवार हो।यद्यपि परमेश्वरको बृहत् परिवार पनि छ, प्रत्येक मण्डली आफैंमा पनि एउटा परिवार हो र त्यसको आफ्नै कार्ययोजनाहरू हुन्छन्। नयाँ नियममा प्रत्येक मण्डली आ‍-आफ्नै सदस्यहरूसहितको एक‍ आत्मिक शरीर पनि हो। पावलले कोरिन्थको मण्डलीलाई भने, “अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्; अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आनन्द मनाउँछन्। अब तिमीहरू ख्रीष्टको शरीर हौ, र एक‍-एक गरी चाहिँ अङ्गहरू हौ” (१ कोरिन्थी १२:२६-२७)। यस वर्तमान संसारमा “ख्रीष्टको शरीर” को सर्वोपरि व्यावहारिकता स्थानीय मण्डलीमा नै अभ्यास हुने कुरा हो।
    1. सत्यमा एकता कायम राख्‍नलाई मण्डली सदस्यता आवश्यक पर्छ।शिक्षा र अभ्यासमा विश्वासीहरूको एउटै मन हुनुपर्छ भनेर बाइबलले आवश्यक ठान्दछ (१ कोरिन्थी १:१०)। यसैकारणले हो हाम्रो मण्डलीको एउटा विश्वासको विस्तृत विवरण छ र हरेक सदस्य त्यसमा सहमत हुनुपर्छ भन्ने माग राख्‍दछौं। सदस्यताबिना परमेश्वरले माग राख्‍‍नुभएअनुसार झूटा शिक्षकहरूलाई मण्डलीभित्र छिर्नदेखि रोक्‍ने र सत्यतामा हाम्रो एकता कायम राख्‍ने उपाय हुँदैन।
    1. अनुशासन कायम राख्‍नलाई मण्डली सदस्यता आवश्यक पर्छ (१ कोरिन्थी ५:११-१३)।१ कोरिन्थी ५ मण्डली अनुशासन सम्बन्धी हो र पद १२ मा हामी देख्‍छौं त्यहाँ तिनीहरू छन् जो मण्डलीभित्रका हुन् र अरू जो मण्डलीबाहिरका हुन्। कुनै पनि एक माण्डलिक जमातले को भित्रका हुन् र को बाहिरका हुन् र को अनुशासनमा राखिएका छन् र को छैनन् भनेर कसरी जान्न सक्दछ यदि त्यहाँ कुनै न कुनै किसिमको सदस्यता प्रणाली छैन भने? हामीले अघि नै भनिसक्यौं, यो व्यावहारिकताको सवाल हो। बाबुआमाले अरू मानिसका छोराछोरीलाई अनुशासन गर्न सक्दैनन्, र त्यसरी नै एउटा मण्डलीले आफ्नै परिवारको सदस्य नभएकाहरूलाई अनुशासन गर्न सक्दैनन्। साथै पद ११ अनुसार अनुशासनमा राखिएकाहरूले अरू सदस्यहरूसित खान सक्दैनन् भनिएको छ; यसले व्यक्तिगत सङ्गति र प्रभु-भोज दुवैलाई समेट्दछ। आफ्ना सदस्यहरूको सवालमा अनुशासन कायम राख्‍नलाई मण्डली परमेश्वरका सामु जिम्मेवार हुन्छ र अनुशासनमा राखिएकाहरूले प्रभु-भोज लिन सक्दैनन्। त्यसैले को परिवारभित्रका हुन् र को बाहिरका हुन् भनेर मण्डलीले छुट्ट्याउन सक्ने उपाय हुनु आवश्यक देखिन्छ।
  1. अधिकारको निम्ति मण्डली सदस्यता आवश्यक छ।नयाँ नियममा तीन पटक मण्डलीमा हामीमाथिका “अगुवाहरू” को उल्लेख छ (१ थेस्सलोनिकी ५:१२; हिब्रू १३:७,१७)।यी पवित्रशास्त्रहरू अनुसार हरेक विश्वासी मण्डली अगुवाहरूको अधिकारमुनि रहनुपर्छ। यदि सदस्यता भन्ने कुरा छैन भने मण्डली अगुवाहरूले कसरी आफूहरूले अगुवाइ गर्नुपर्नेहरू को हुन् भनेर जान्न सक्नेछन् र? के मण्डलीमा आउने जोकोहीलाई अगुवाइ गर्ने अधिकार हुन्छ र पास्टरहरूसँग? अवश्य हुँदैन; त्यहाँ कुनै न कुनै सदस्यता प्रणाली हुनु जरुरत छ जसमा मण्डलीले नयाँ सदस्यहरूलाई स्वागत गर्ने एउटा मानदण्ड हुन्छ र सदस्यता चाहनेको हकमा एउटा समर्पणताको आवश्यकता पर्ने हुन्छ।

    बिगतदेखि केही विश्वासीहरू मण्डली सदस्यताको सम्बन्धमा मसित असहमत भएका छन्। उनीरूलाई मुक्तिद्वारा ख्रीष्टको अङ्ग हुनुबाहेक अन्य कुनै सदस्यताको खाँचो छैन भन्ने कुरामा उनीहरू विश्वस्त छन्, र कति पटक पास्टरीय अधिकारको सवालमा उनीहरूको नकारात्मक धारणा भएको पाइएको छ। मैले एक पटक एकजना मण्डली डुलुवालाई प्रश्‍न गरेँ, “तपाईंमाथि कसले शासन गर्छ?” तिनले भने, “ख्रीष्टले”। मैले भने, “तर हिब्रू १३:७ र १७ ले त ख्रीष्टकै बारेमा नभएर मण्डली अगुवाहरूको कुरा गरेको छ नि।” तिनी निरुत्तर भए।

    त्यस्ता गाउँ-शहर हुन्छन् जहाँ एउटा खाँटी नयाँ नियम मण्डली भेट्टाउनै सकिन्न। त्यस्तो परिस्थितिमा एक विश्वासीजनले परमेश्वरको अगुवाइ खोज्दै जे सर्वोत्तम छ त्यो नै गर्नुपर्छ, तर यो भनेको सामान्य नियमको कुरा नभएर अपवादको कुरा हो। म आफै त्यस्तो परिस्थितिमा पर्न गएँ भने, म कि त एउटा असल मण्डली शुरु गर्नलाई मैले गर्न सक्ने जे छ त्यो भ्याएसम्म गर्नलाई प्रयास गर्नेथिएँ, कि त म त्यस्तो मण्डलीको एक विश्वासयोग्य सदस्य बन्न सक्नलाई अर्को ठाउँमा बसाइ सर्नेथिएँ। साथै म त्यस्ता विश्वासीहरूलाई पनि चिन्छु जो एउटा असल मण्डलीमा उपस्थित हुनलाई एक वा बढी घण्टा गाडी चढेर जाने गर्छन्। भन्नुपर्दा, म एउटा जोडीलाई चिन्छु जो तीन घण्टा गाडी चढ्छन् (दुईतर्फी गर्दा ६ घण्टा) किनकि आफ्नो घरबाट त्यो भन्दा नजिकको कुनै असल मण्डली छैन र हालमा उनीहरूको बसाइ सर्न सक्ने स्थिति पनि छैन।

मण्डलीप्रतिको विश्वासयोग्यता

हरेक विश्वासी मण्डलीप्रति विश्वासयोग्य हुनुपर्छ। यो महत्त्वपूर्ण कुरा हो र यसका कारणहरू निम्न प्रकार छन्:

  1. विश्वासीलाई मण्डलीको शिक्षा र प्रचार चाहिन्छ (प्रेरित २:४२; कलस्सी १:२८)। विश्वासीहरूलाई तालिम दिनलाई र चेला बनाउनलाई परमेश्वरले नियुक्त गर्नुभएको बाइबल इन्स्टिट्युट भनेको नै मण्डली हो। मण्डलीहरूलाई बगालको वृद्धि र उन्नति गर्न अनि भ्रमहरूबाट त्यसको सुरक्षा गर्नका लागि परमेश्वरले सेवाकार्यमुखी दानयुक्त व्यक्तिहरू दिनुहुन्छ (एफेसी ४:१२-१५)।
  2. विश्वासीलाई अरू ख्रीष्टियनहरूको सङ्गति चाहिन्छ (प्रेरित २:४२)। प्रभुलाई प्रेम गर्ने उस्तै मन भएका दाजुभाई तथा दिदीबहिनीहरूसितको सङ्गति भनेको ख्रीष्टियन हुर्काइ र भ्रमहरूदेखिको सुरक्षाको आवश्यक भाग हो।
  3. विश्वासीलाई प्रभु-भोज चाहिन्छ (प्रेरित २:४२)। “रोटी भचाइ” भन्नाले प्रभु भोज भन्ने बुझिन्छ र साथै खानपानको साथमा हुने सङ्गति पनि बुझिन्छ। प्रभु-भोज एक मण्डलीले गर्ने प्रभुबाटको आज्ञा (ordinance) हो। नयाँ नियममा यो सधैं एक माण्डलिक कार्य हो (१ कोरिन्थी ११:२०-३४)। जे. भर्नन मक्गी (J. Vernon McGee) जस्ता कोही-कोही “रेडियो पास्टरहरू” ले आफ्ना रेडियो स्रोताका समूहहरूलाई प्रभु भोज कार्य गर्ने गराउँछन्, तर यो बाइबलसम्मत छैन। एउटा रेडियो कार्यक्रम मण्डली होइन, र रेडियो वा टेलिभिजन वा इन्टरनेटमार्फत सुनिने कुनै प्रचारकलाई आफ्नो पास्टर भन्न मिल्दैन।
  4. विश्वासीलाई प्रार्थनाहरू चाहिन्छ (प्रेरित २:४२)। पहिलो मण्डलीको प्रसङ्गमा उल्लेखित चारओटा अनिर्वार्य आत्मिक क्रियाकलापमध्येमा प्रार्थना एउटा हो। यसले माण्डलिक प्रार्थनालाई जनाउँदछ।
  5. विश्वासीलाई अन्य दाजुभाई तथा दिदीबहिनीबाटको अर्तीपूर्ण सेवा चाहिन्छ (हिब्रू १०:२४-२५)। माण्डलिक सभा भनेको खालि उपस्थित भई बसेर हेर्ने एउटा मुक दर्शक खेल जस्तो मात्र होइन। हरेक विश्वासी अरू दाजुभाई तथा दिदीबहिनीहरूलाई कसरी सहायता र आशिष बन्न सक्छु भन्दै परमेश्वरसित प्रार्थना गर्दै मण्डलीमा उपस्थित हुनुपर्छ। हामीले एक-अर्कालाई असल-असल कामहरूका निम्ति हौसला दिनुपर्छ र प्रभुमा एक-अर्कालाई अर्ती दिनुपर्छ।
  6. विश्वासीलाई आत्मिक सुरक्षा चाहिन्छ (“त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं”, हिब्रू १०:२५)। मण्डली एउटा परिवार जस्तो हो; परमेश्वरका सन्तानका लागि यो एउटा पालनपोषण र सुरक्षाको ठाउँ हो। ख्रीष्टको आगमन नजिकिँदै जाने क्रममा त्यहाँ थुप्रै शक्तिशाली आत्मिक शत्रुहरू हुनेछन् र झन्-झन् प्रबल बन्दै जानेछन् भनेर बाइबलले चेताउनी दिएको छ। मण्डलीमा उपस्थित हुनलाई जो हेलचेक्र्याइँ गर्छन् र जोहरू त्यति समर्पित हुँदैनन् तिनीहरू संसार, शरीर र शैतानद्वारा निलिने खतरामा छन् (१ पत्रुस ५:८)।
  7. विश्वासीलाई अनुशासनको सेवा चाहिन्छ (१ कोरिन्थी ५)। हामीले मण्डली अनुशासनलाई माथि नै उल्लेख गरिसकेका छौं तर हरेक विश्वासी मण्डलीको अधिकारप्रति जवाफदेही हुनुपर्छ। बच्चाले अनुशासन गर्दैन तर उसलाई अनुशासन चाहिन्छ; त्यस्तै गरी ख्रीष्टियनलाई पनि चाहिन्छ।
  8. विश्वासीले आफ्ना आत्मिक वरदान र सेवाबाट योगदान दिनुपर्छ (१ कोरिन्थी १२:१२-२७; १ पत्रुस ४:१०)। मण्डली भनेको धेरैजना अङ्ग मिलेर बनेको शरीर हो जसमा ती अङ्गहरूका परमेश्वरबाट पाएका फरक-फरक वरदानहरू र सेवाहरू हुन्छन्। यदि विश्वासीले मण्डलीको बेवास्ता गर्छ र ठीक तरिकाले ऊ सहभागी हुन मान्दैन भने मण्डली कमजोर तुल्याइँदछ र यस संसारमा त्यसबाट पूरा हुनुपर्ने परमेश्वरको योजना पूरा हुन पाउँदैन। हरेक विश्वासीले सोध्नुपर्छ, “म कुन सेवामा भाग लिन सक्छु? मण्डलीमा म कसरी प्रभुको सेवा गर्न सक्छु? मेरो भाग के हो?” ऊ परमेश्वरमा बलियो बन्न खोज्नुपर्छ, र परमेश्वरको वचनबाट झन्-झन् बुद्धि प्राप्‍त गर्न खोज्नुपर्छ ताकि उसले आफ्नो स्थान र सेवा जान्न सकोस्।
  9. विश्वासीले आफ्ना दसौं अंश र भेटीहरूबाट योगदान दिनुपर्छ (मलाकी ३:१०)। मोशाद्वारा दिइएको व्यवस्थाको प्रबन्धअन्तर्गत दसौं अंश र भेटीहरू मन्दिरमा ल्याइन्थे तर दसौं अंश दिने अभ्यास मोशाभन्दा पनि पहिलाको प्राचीन समयदेखिको हो। अब्राहामले त्यस बेलाका परमेश्वरका पूजाहारी मेल्किसेदेकलाई दसौं अंशहरू दिए (उत्पत्ति १४:१८-२०)। नयाँ नियमका विश्वासीहरूको सवालमा दसौं अंश दिने काम एउटा राम्रो शुरुआत हो भन्ने हामी विश्वास गर्छौं। परमेश्वरका जनहरूले विश्वासयोग्य भई दसौं अंश दिन्छन् भने मण्डलीका खाँचोहरू पूरा भइरहनेछन्। दसौं अंश दिने काम बुद्धिमानी, न्यायोचित योजना हो; जससँग धेरै छ उसले धेरै दिन्छ। तर हामीले परमेश्वरलाई दिने दसौं अंश मात्र हो भनेर सोच्नुहुँदैन। वास्तवमा मोशाको व्यवस्था अन्तर्गत “दसौं अंश” भनेको आफ्नो आम्दानीको कम्तीमा २०% हुन्थ्यो। इस्राएलीहरूले आफ्ना सबै आम्दानीको १०% दिनुपर्थ्यो (गन्ती १८:२४-२८; नहेम्याह १०:३८), र त्यसबाहेक उनीहरूले वार्षिक चाडहरूमा भेटीहरू ल्याउनुपर्थ्यो (जसलाई चाडको दसौं अंश वा दोस्रो दसौं अंश भनिन्थ्यो)। साथै उनीहरूले गरिबहरूलाई पनि दिनुपर्थ्यो। पहिलो मण्डलीको नमुना भनेको विश्वासीहरूले आफ्ना भेटीहरूलाई मण्डलीमा ल्याई अगुवाहरूको सामु राखिदिनुपर्थ्यो (प्रेरित ४:३४-३७); उक्त उदाहरणमा दसौं अंशको कुरा त थिएन, तर यसले के चाहिँ देखाउँछ भने विश्वासीहरूले दिने काम मण्डलीमा र मण्डलीद्वारा गर्थे र भेटीहरू मण्डलीका अगुवाहरूको जिम्मामा सुम्पिइन्थे।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






परमेश्वरका हतियारहरू

Study Series

परमेश्वरका हतियारहरू

डेविड क्लाउड

पद कण्ठ: एफेसी ६:१०-२०

परिचय

  1. हामी एउटा भयङ्कर युद्धमा छौं — संसार, शरीर र शैतानको विरुद्धमा। बारम्बार लडाइँ र समस्या देखेर हामी छक्क पर्नु पर्दैन। सिपाहीहरू युद्धको रहर गर्दैनन् तर काम उनीहरूको लडाइँ गर्नु हो। हामी स्वर्गमा पुगिसकेका छैनौं, हामी शत्रु-भूमिमै छौं। त्यसैले युद्ध नसक्किएसम्म हामी लडिरहनैपर्छ।
  2. हामी खडा हुने परमेश्वरको सामर्थ्यमा हो; विश्वासीका हतियारहरू परमेश्वरबाटका प्रबन्ध हुन् (“परमेश्वरका हतियारहरू”, एफेसी ६:११)। हामी आफ्नै सामर्थ्यमा खडा हुँदैनौं। विजय हाम्रै हो र हामीलाई शैतानको डर मान्नु छैन, तर उसको विरुद्धमा खडा हुनु र जागा रहनु आवश्यक छ।
  3. हामीलाई हतियारहरू प्रबन्ध गरिएका त छन्, तर तिनलाई हामीले पहिरनु आवश्यक छ र तिनलाई प्रयोग गर्न सिक्नु खाँचो छ।

सत्यताले कस्सिएको कम्मर (एफेसी ६:१४)

  1. युद्धमा कम्मर सुरक्षित राख्‍नुपर्छ किनकि कम्मरमै घाइते बनाइयो भने अरू लडाइँ गर्न सकिन्न।
  2. सुरक्षा दिने कुरा सत्यता हो। यसले सच्चाइ, इमानदारितालाई जनाउँछ। परमेश्वर सत्यका परमेश्वर हुनुहुन्छ र उहाँका जनहरू सत्यवादीहरू हुनु आवश्यक छ। तर क्रेटीहरू “सधैं झूट बोल्ने” हरू थिए (तीतस १:१२-१३)। उनीहरू यसमा कुख्यात थिए! तर परमेश्वरको सन्तान कहिल्यै त्यसरी चिनिनुहुँदैन।
  3. झूटो बोली शैतानबाटको हो (यूहन्ना ८:४४) र पुरानो पाप स्वभावबाटको हो (एफेसी ४:२२-२५)। झूट बोल्ने काम अन्धकारबाटको हो; यो संसारबाटको हो; यसलाई हामीले फाल्नुपर्छ र नयाँ मान्छेलाई अर्थात् ख्रीष्टलाई पहिरनुपर्छ।
  4. मानिसहरूले झूट बोल्ने विभिन्न कारण हुन्छन्।
    1. मानिसहरू कतिपटक डरले झूट बोल्छन्। मिस्रमा जाँदा अब्राहामले आफ्नी पत्‍नीका बारेमा डरकै कारण झूट बोलेका थिए (उत्पत्ति १२:११-१३)। पत्रुसले मान्छेको डरले आफ्नो प्रभुलाई इन्कार गरे (लूका २२:५५-६०)। बाइबलले बताउँछ, मान्छेको डरले पासोमा पार्छ (हितोपदेश २९:२५)।
    2. मानिसहरू कतिपटक घृणाले झूट बोल्छन् (हितोपदेश २६:२८)। मान्छेहरू अरूलाई चोट पुर्‍याउनलाई उनीहरूका बारेमा झूट बोल्छन्। शैतानले हव्वासित झूटा कुराहरू गर्नुको कारण यही थियो। झूटा हल्ला फैलाउने कामलाई यसैले प्रेरणा दिएको हुन्छ। १९८० को दशकमा नेपालको बाइबल सोसाइटीका प्रमुखले मलाई बाइबलहरू जलाएको आरोप लगाइएको एउटा पत्र लेखेर मण्डलीहरूलाई पठाए, तर त्यो पूरै झूट थियो। उनले त्यसो गरे किनकि उनले मलाई प्रचार गर्नदेखि रोक्न चाहन्थे र मैले देश छोडेर गएको उनी चाहन्थे। हिन्दूहरू ख्रीष्टको नाम र काममाथि आघात पुर्‍याउन ख्रीष्टियनहरूका बारेमा झूटहरू फैलाउँछन्। जस्तै, नेपालका कुनै-कुनै हिन्दूहरू यस्तो भन्छन् कि ख्रीष्टियनहरूले गाईको रगतमा नाङ्गै बप्‍तिस्मा लिनुपर्छ अरे!
    3. मानिसहरू लोभले झूट बोल्छन् (हितोपदेश २०:१४; २१:६)। किन्नुपर्दा वा बेच्नुपर्दा मान्छेहरू झूट बोल्छन्। साथै पद र अधिकारको लागि मान्छेहरू झूट बोल्छन्, जस्तै राजनीतिमा।
    4. मानिसहरू स्वार्थघमण्डले झूट बोल्छन्। यस संसारमा सत्य बोल्नु कतिपटक असुविधाजनक हुन सक्छ। प्रेरित ५ मा हनानिया र सफिराले यसै कारण झूट बोलेका हुन्। उनीहरू आफूलाई भएको भन्दा बढ्ता आत्मिक देखाउन चाहे अनि आफ्नो स्वार्थ लुकाउने प्रयासमा उनीहरूले झूट बोले।
    5. झूटा बोलीले विश्वासीको आत्मिक कवचलाई नष्ट पार्छ र शैतानलाई उसको जीवनभित्र छिरेर काम गर्ने खुला ढोका दिन्छ।

धार्मिकताको कवच (एफेसी ६:१४)

  1. कवचले मुटुलाई ढाक्छ र यो सिपाहीको हतियारको ज्यादै महत्त्वपूर्ण भाग हो।
  2. सुरक्षा दिने कुरा धार्मिकताको चालचलन हो। यसलाई एफेसी ४-६ मा बयान गरिएको छ: रिसलाई हटाउनु (४:२६), नचोर्नु (४:२८), काम गर्नु र अरूहरूलाई सहायतास्वरूप केही दिनु (४:२८), शुद्ध बोली (४:२९-३१; ५:४), दयालु हुनु, क्षमाशील हुनु (४:३२), व्यभिचार र अशुद्धतालाई फाल्नु (५:३), लोभलाई फाल्नु (५:३), अन्धकारका निष्फल कामहरूसँग कुनै सङ्गत नगर्नु (५:११), समयको सदुपयोग गर्नु (५:१६), अधीनतामा बस्ने पत्‍नी बन्नु (५:२२), प्रेमिलो पति बन्नु (५:२५), आज्ञाकारी छोरा वा छोरी बन्नु (६:१), लागिपर्ने, कृपालु र बुद्धिमानी बुबा बन्नु (६:४), मेहनती कामदार हुनु (६:५-८), न्यायी मालिक हुनु (६:९)।

शान्तिको सुसमाचारको तयारीका जुत्ता लगाइएका पाउहरू (एफेसी ६:१५)

  1. विश्वासी जन शत्रु-इलाकाभित्र छिर्दै अघि बढ्दै जानुपर्छ। हामी पर्खालपछाडि लुकेर स्वरक्षात्मक युद्ध लड्नेहरू हुनुहुँदैन।
  2. हामी सुसमाचार घोषणा गरेर नै शैतानको इलाकाभित्र छिर्दछौं। यो नै ठूलो ज्योति हो जसले अन्धकारलाई पछाडि धकेल्छ। येशूले दिनुभएको आज्ञा यही हो (मर्कूस १६:१५)। विश्वभरि सुसमाचार प्रचार गर्नू भन्ने आज्ञालाई नयाँ नियममा पाँच पटक दोहोर्‍याइएको छ (मत्ती २८; मर्कूस १६; लूका २८; यूहन्ना २०; प्रेरित १)।
  3. सुसमाचार प्रचार गर्नलाई तयारी चाहिन्छ। विभिन्न खालका व्यक्तिहरूलाई सुसमाचार कसरी प्रचार गर्ने भनेर विश्वासीले सिक्नुपर्छ। अविश्वासीका तर्कहरूको सामना गर्न उसले सिक्नुपर्छ। तसर्थ यसबाट हामी प्रत्येक मण्डली युद्धका लागि सिपाहीहरू तयार पार्ने तालिम केन्द्र बन्नुपर्छ भनेर बुझ्दछौं।
  4. जोहरू सुसमाचार फैलाउनलाई व्यस्त छैनन् उनीहरू शैतानबाट सुरक्षित छैनन् किनकि त्यस्ताहरू अनाज्ञाकारी भई जिइरहेका छन्।

विश्वासको ढाल (एफेसी ६:१७)

  1. उक्त ढाल विश्वासको ढाल हो।
    • शैतानले हाम्रो विश्वासमाथि अविश्वासका वाणहरू वर्षाउँछ। ती वाणहरू अग्निमय छन्, यसको मतलब ती निर्दयी छन्, घातक छन्, कडा छन्, अविरल छन्। शैतानले परमेश्वरमाथि राखिएको विश्वासीको विश्वासलाई आक्रमण गर्छ। उसले परमेश्वरको चरित्रमाथि आक्रमण गर्छ, जस्तो उसले हव्वासित गर्‍यो। उसलाई परमेश्वरले प्रेम गर्नुहुन्न, उसलाई परमेश्वरले परित्याग गर्नुहुनेछ, उसलाई परमेश्वरले क्षमा दिनुहुन्न, उसका प्रार्थनाहरूको जवाफ परमेश्वरले दिनुहुन्न, परमेश्वर विश्वासयोग्य हुनुहुन्न, परमेश्वरका प्रतिज्ञाहरू सत्य छैनन्, परमेश्वरलाई खुशी पार्नु र ख्रीष्टियन जीवन जिउनु सम्भव छैन, परमेश्वर अविवेकी (unreasonable) हुनुहुन्छ, उहाँ निर्दोलाई तर्साउने प्रवृत्तिको हुनुहुन्छ, परमेश्वर हामीलाई खालि दुःख दिन चाहनुहुन्छ भनेर शैतानले विश्वासीलाई पत्यार पार्न चाहन्छ। जन बन्यान (John Bunyan) ले आफ्नो पुस्तक “यात्रीको प्रगति” (Pilgrim’s Progress) मा आफू नयाँ विश्वासी हुँदा शैतानको अविश्वासका वाणहरूसितको उसको भयानक लडाइँलाई बयान गरेका छन्। शैतानले परमेश्वरको वचनमाथि पनि आक्रमण गर्छ जसरी अदनको बगैंचामा हव्वासित उसले गरे।
    • शैतानले परीक्षाको अग्निवाणहरूले आक्रमण गर्दछ (१ इतिहास २१:१; प्रेरित ५:३)।
    • शैतानले शङ्कारूपी अग्निवाणहरूद्वारा आक्रमण गर्दछ। हामीले अर्काप्रति नराम्रो सोँच राखोस् भन्ने हेतुले त्यसले शङ्का र लाञ्छनाद्वारा आक्रमण गर्छ; हामीलाई माया हाम्रा आफ्नै नातागोताहरू, सबभन्दा नजीकका मित्रहरू र अति योग्य मण्डली अगुवाहरूप्रति समेत हाम्रा मनमा यस्ता भावनाहरू उब्जाउन खोज्छ। हामीले बिर्सनुहुन्न, शैतान “भाइहरूलाई झूटा दोष लगाउने” दियाबलस हो (प्रकाश १२:९-१०)। शङ्कालाई सत्यद्वारा जाँच्नु नै विजयको उपाय हो। कुनै कुरा सत्य भएको प्रमाण नभेटिएसम्म त्यसलाई विश्वास नगर्नुहोस्, चाहे त्यो आफ्नै विचार होस् वा तपाईंले सुनेको वा पढेको कुरा होस्। साथै हामीले आफ्ना हृदयहरूलाई अरूहरूप्रति कोमल र कृपालु राखेर शैतानका शङ्कारूपी अग्निवाणहरूमाथि विजय बन्छौं (२ कोरिन्थी २:१०-११)।
    • विश्वास केवल परमेश्वरको वचनबाट आउँछ (रोमी १०:१७)। त्यसैले नै हो बाइबलसित विश्वासीको घनिष्ट सम्बन्ध हुनुपर्छ — त्यसलाई पढ्दै, अध्ययन गर्दै, सुन्दै, कण्ठ गर्दै, मनन गर्दै। तपाईंले जति राम्ररी बाइबल जान्नुहुन्छ त्यति नै राम्ररी तपाईं शैतानबाटका अविश्वासका वाणहरूसित लड्न सक्नुहुन्छ। येशूले यसरी नै शैतानमाथि विजय प्राप्‍त गर्नुभएको थियो (लूका ४:१-१२)।
  1. यो ढाल ज्यादै शक्तिशाली छ। विश्वासको ढालले शैतानका सबै अग्निवाणहरूलाई निभाउन सक्दछ। यो शक्तिशाली छ किनकि यो परमेश्वरकै अचूक वचनमाथि खडा रहेको छ (रोमी १०:१७)।
  2. यो ढाल प्रयोगमा ल्याइनुपर्छ। यसलाई “उठाऊ” भनिएको छ। हामी त्यत्तिकै उभिरहनुहुन्न, लुक्नुहुन्न; हामी शैतानको अखडाभित्र छिर्नुपर्छ र उसका फौजसित प्रत्यक्ष कुस्ती लड्नुपर्छ र ख्रीष्टका निम्ति विजयहरू हासिल गर्नुपर्छ।

मुक्तिको टोप (एफेसी ६:१७)

  1. यो टोप एकदम महत्त्वपूर्ण छ किनकि यसले टाउकाको अर्थात् विचारको रक्षा गर्छ। पेशागत बन्दुकधारीहरूलाई टाउकालाई ताकेर हान्न तालिम दिइन्छ किनकि त्यो नै सबभन्दा प्रभावकारी आक्रमणको निशाना हो।
  2. विश्वासी आफ्नो मुक्तिमा निश्चित हुनु नै यो टोप हो, र शैतानको सबभन्दा तीब्र आक्रमणको निशाना यही बिन्दुलाई बनाइएको हुन्छ। “परमेश्वरले तिमीलाई प्रेम गर्दैनन्; तिमी ख्रीष्टमा सुरक्षित छैनौ; तिमी मूल्यहीन छौ; तिंमी होशियार भएनौ भने परमेश्वरले तिमीलाई त्याग्न सक्छन्; तिम्रो पाप गराइले परमेश्वर थाकिसकेका छन्।” नयाँ जन्म पाएको विश्वासीले मुक्ति गुमाउन सक्छ भन्ने शिक्षाले यस टोपलाई कमजोर तुल्याउँछ। यस टोपलाई राम्ररी लगाउने हो भने विश्वासीले आफ्नो मुक्तिलाई बुझेको हुनुपर्छ। उसको मुक्ति पूर्ण र दामरहित होस् भन्ने हेतुले तिरिएको त्यो ठूलो मूल्यलाई उसले बुझेको हुनुपर्छ। उसको मुक्ति एउटा दान हो, अर्थात् परमेश्वरको अनुग्रहले दिलाएको हो, भन्ने कुरा उसले बुझेको हुनुपर्छ। नयाँ गरी जन्मनु भनेको के हो भनेको उसले बुझेको हुनुपर्छ र आफू नयाँ गरी जन्मेको छु भन्ने कुरामा ऊ निश्चित हुनुपर्छ। विश्वासीले अनुग्रह, विश्वास, दान, धर्मी ठहराइनु, प्रायश्चित, उद्धार, मिलाप, आशा जस्ता बाइबलीय सत्यताहरूलाई जति राम्ररी बुझ्दछ उत्तिकै उसको टोप बलियो हुन्छ। त्यसैले यस पाठ्यक्रममा हामीले यी कुराहरूको चर्चा गरेका हौं।

आत्माको तरवार (एफेसी ६:१७)

आत्माको तरवार परमेश्वरको वचन, बाइबल हो।

  1. तरवार एउटा हमला गर्ने हतियार हो। फेरि पनि यसले हामीलाई हामी शत्रुको विरुद्धमा अगाडि नै बढ्नुपर्छ भन्ने कुराको सम्झना गराउँछ न कि हामी केवल उभिरहौं र प्रतिरक्षाको स्थितिमा बसीरहौं।
  2. तरवार धारिलो हुनुपर्छ। परमेश्वरका आत्माले हामीलाई म्यासोरेटिक हिब्रू पुरानो नियम (Massoretic Hebrew Old Testament) र रिसिभ्ड ग्रीक नयाँ नियम (Received Greek New Testament) मा पूर्णरूपले धारिलो तरवार दिनुभएको छ। हामीसँग हाम्रा विभिन्न भाषाहरूमा सक्दो धारिला अनुवादहरू उपलब्ध छन्। बाइबलको कुनै फितलो अनुवाद तरवार त हो तर त्यो बोधो हुन्छ, हुनुपर्ने जति शक्तिशाली र प्रभावकारी हुँदैन। अङ्ग्रेजी भाषामा सबैभन्दा धारिलो तरवार किङ्ग जेम्स बाइबल (King James Bible) हो जुनचाहिँ सीधै हिब्रू र ग्रीक मूल लेखोटहरूबाट अनुवाद गरिएको हो र जुनचाहिँ अक्षरशः रूपमा, होशियारीपूर्वक र सुन्दर ढङ्गले अनुवाद गरिएको छ।
  3. तरवार निपुणतापूर्वक चलाइनु खाँचो छ। एकजना तालिमप्राप्‍त तरवारधारीसित तरवारै चलाउन नजान्ने व्यक्ति भिड्न गएको अनुमान गर्न सक्नुहुन्छ? ऊ त टुक्रा-टुक्रा पारिनेछ। हामीले परमेश्वरको वचनलाई निपुणतापूर्वक प्रयोग गर्न सिक्नुपर्छ (२ तिमोथी २:१५; हिब्रू ५:१२-१४)। तरवार पवित्र आत्माकै निजी हतियार हो भनेर हामीले बिर्सनुहुन्न। पवित्रशास्त्रलाई सठीक ब्याख्या गर्न हामीलाई सक्षम तुल्याउने पवित्र आत्मा नै हुनुहुन्छ। हामीले आफ्नै क्षमताको भरमा बाइबल अध्ययन गर्‍यौं भने हामीले यसलाई ठीकसँग व्याख्या गर्न सक्नेछैनौं। हामीले आत्मासितको सङ्गतिमा बाइबललाई अध्ययन गर्नुपर्छ र उहाँद्वारा डोर्‍याइनलाई उहाँको भर पर्नुपर्छ।

प्रार्थना (एफेसी ६:१८-२०)

प्रार्थना हाम्रा आत्मिक हतियारहरूको एउटा महत्त्वपूर्ण भाग हो; यो ढाक्ने सुरक्षा हो।

  1. हामीले सधैं प्रार्थना गर्नुपर्छ। यसको माने दिनभरि नै प्रार्थना गर्नु हो।
  2. हामीले आत्मामा प्रार्थना गर्नुपर्छ। यसको माने आत्माको नियन्त्रणमा हुनु हो, अर्थात् उहाँको अगुवाइलाई पछ्‍याउनु, उहाँलाई शोकित नपार्नु हो।
  3. हामी जागा रहेर अरूका निम्ति अन्तर्विन्ती गर्दै प्रार्थना गर्नुपर्छ। योचाहिँ हाम्रो आफ्नै लगायत अरूहरूको आत्मिक सुरक्षाको महत्त्वपूर्ण भाग हो।
  4. हामी प्रयत्‍नसाथ प्रार्थना गर्नुपर्छ, नथाकीकन, पछि नहटीकन। प्रभावकारी प्रार्थनाको सबभन्दा महत्त्वपूर्ण सिद्धान्तहरूमध्ये एउटा यही हो।
  5. हामीले प्रस्ट मागहरूसहित प्रार्थना गर्नुपर्छ (एफेसी ६:१९)। अन्तर्विन्तीका प्रार्थनाहरूले निश्चित कुराहरूको माग गर्दछ।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






विश्वास र ख्रीष्टियन जीवन

Study Series

विश्वास र ख्रीष्टियन जीवन

डेविड क्लाउड

पद कण्ठ: याकूब १:२२; २:२६; हिब्रू ११:१,३,६

एउटै विषयमा त्यस सम्बन्धित सबै मुख्य-मुख्य शिक्षाहरूलाई एउटै खण्डमा प्रस्तुत गरिएको त्यस्ता विशेष खण्डहरूमध्ये हिब्रू ११ एउटा हो। यसका अरू उदाहरणस्वरूप प्रेमको अध्याय १ कोरिन्थी १३ हो भने बौरिउठाइको अध्याय १ कोरिन्थी १५ हो।

विश्वासको सम्बन्धमा ८ ओटा मुख्य-मुख्य शिक्षाहरू यस प्रकार छन्:

१) विश्वास नभई नहुने कुरा हो (हिब्रू ११:६)

“विश्वास” [“faith” र “believe” अङ्ग्रेजी] बाइबलमा ७७१ पटक उल्लेख भएको छ। ख्रीष्टियन जीवन “विश्वासदेखि विश्वाससम्म” (रोमी १:१७) को कुरा हो। येशूले चेलाहरूमा विश्वासको कमी भेट्टाउनुहुँदा उनीहरूलाई पटकपटक हप्‍काउनुभयो (मत्ती ६:३०; ८:२६; १४:३१; १६:८)।

२) विश्वास परमेश्वरको वचनमा आधारित कुरा हो (हिब्रू ११:१)

रोमी १०:१७ सित तुलना गर्नुहोस्।

विश्वास भनेको परमेश्वरको वचनलाई केवल विश्वास गर्नु हो। विश्वासको सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण तथ्य यही हो। विचार गर्नुहोस्, नूहलाई (हिब्रू ११:७), अब्राहामलाई (हिब्रू ११:८), सारालाई (हिब्रू ११:११)।

बाइबलीय विश्वास अन्धो हुँदैन; यसको पछाडि प्रमाण हुन्छ, निश्चयता हुन्छ (हिब्रू ११:१), अनि त्यो निश्चयता परमेश्वरकै वचन हो, जुनचाहिँ “अनेकौं अचूक प्रमाणहरूमा आधारित छ” (प्रेरित १:३)। संसारको “विश्वास” फरक छ किनकि त्यो कुनै पनि निश्चित कुरामा आधारित छैन।

बाइबलीय विश्वास आश्चर्यकर्महरूबाट, भावनाहरूबाट वा गोप्य आध्यात्मिक शक्तिसम्बन्धीको (mystical) अनुभवहरूबाट आउँदैन। अब्राहामले नरकमा पुगेका धनी मानिसलाई भने, यदि कसैले परमेश्वरको वचनलाई विश्वास गर्दैन भने, कुनै मानिस मरेकाबाट बौरेर उठे तापनि विश्वास गर्नेछैन (लूका १६:३१)।

विश्वास परमेश्वरको वचनमा आधारित हुन्छ भन्ने कुराबाट बाइबल ख्रीष्टियन जीवनको लागि नभई नहुने कुरा हो भन्ने बुझ्न सकिन्छ। हाम्रो विश्वास बढेको चाहन्छौं भने, हामीले बाइबल पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ (प्रकाश १:३; २ तिमोथी २:१५) र बाइबल सुन्नुपर्छ (प्रचार, शिक्षा सुन्न विश्वासयोग्य हुनुपर्छ) र बाइबललाई कण्ठस्थ गर्नुपर्छ (भजनसङ्ग्रह ११९:११)।

३) विश्वासले आज्ञापलान गर्न कदम चाल्छ (हिब्रू ११:८)

हेर्नू: याकूब १:२२। साँचो विश्वास भनेको केवल दिमागमा र हृदयमा मात्र सीमित हुने कुरा होइन; यो यस्तो कुरा हो जसले परमेश्वरको वचनअनुसार पाइला चाल्ने काम गर्छ। याकूबले सिकाउँछन् कामबिनाको विश्वास मरेको हुन्छ (याकू‍ब २:२६)। त्यो साँचो विश्वास होइन।

विश्वासले ईश्वरीय बानीहरू बसाल्न कदम चाल्छ (जस्तै, मण्डलीमा उपस्थिति हुने बानी, हिब्रू १०:२५; बाइबल अध्ययन गर्ने बानी, २ तिमोथी २:१२; अन्तर्विन्तीको प्रार्थना गर्ने बानी, १ तिमोथी २:१-२)।

परमेश्वरले बोलाउनुहुँदा विश्वासले पाइला चाल्छ। परमेश्वरको बोलावटलाई “पछि, पछि” भन्नेहरूलाई येशूले चेताउनी दिनुभयो (लूका ९:५९-६२)।

४) विश्वासले यस जीवनभन्दा पर हेर्छ (हिब्रू ११:१०)

यसले स्वर्गमा साँचिएका धनहरूलाई हेर्छ (मत्ती ६:२०)। यसले ख्रीष्टको न्याय-आसनलाई हेर्छ (२ कोरिन्थी ५:१०)।

यसले मलाई अल्छी, स्वार्थी, शारीरिक, मनतातो हुनदेखि जोगाउँछ। जवानहरूले यसो गर्नुपर्छ। नयाँ विश्वासीहरूले यसो गर्नुपर्छ। व्यवसायीहरूले यसो गर्नुपर्छ। वृद्ध विश्वासीहरूले यसो गर्नुपर्छ। मेरी आमाले ७० वर्षको उमेरमा पुगेर दैनिक रूपमा बाइबल पढ्न थाल्नुभयो र त्यसबेलादेखि उहाँले वर्षमा दुईपटक बाइबल पूरै पढ्ने गर्नुभएको छ।

बाइबल टिप्पणीकार विलियम केली (William Kelly) का भान्जा विश्वविद्यालयमा पढ्न जाँदा तिनका मामाले उनलाई ग्रीक भाषा सिकाएका रहेछन् भन्ने कुरा त्यहाँका ग्रीक प्राध्यापकले जानेपछि तिनलाई ट्रिनिटी कलेज — एक रोमन क्याथोलिक कलेज — मा प्राध्यापकको पदको प्रस्ताव राखे। तिनलाई मान-इज्जत प्रदान गरियो र “प्रशस्त सम्पत्ति जोड्नुहुनेछ” भन्ने प्रतिज्ञा दिइयो। तिनको बुद्धिमानी जवाफ यस प्रकार थियो, “कुन संसारको निम्ति”?

५) विश्वास जाँचिन्छ (हिब्रू ११:१७)

विश्वासलाई सधैं जाँचिन्छ। त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई खार्नलाई विश्वास जाँचिन्छ। उजाडस्थानका यहूदीहरूको जीवनमा यसरी जाँच्ने काम भएको थियो (प्रस्थान ४:२९-३१; ५:४-२३)।

एकजनाले ख्रीष्टमा विश्वास गर्नेबित्तिकै उसको विश्वास जाँचिन्छ (मर्कूस ४:१८-१९) र ख्रीष्टियन जीवनभरी नै जाँचिने, बलियो बनाइने प्रकृया जारी रहन्छ (१ पत्रुस ५:१०)। जब विश्वासको कुनै नयाँ कदम लिइन्छ तब प्रत्येक पटक नै त्यो जाँचिन्छ, जस्तै मण्डली लगातार उपस्थित हुने निर्णय, बाइबल हरेक दिन पढ्ने निर्णय, निश्चित अंश प्रभुलाई नियमित दिने निर्णय, पत्‍नीलाई ख्रीष्टले मण्डलीलाई झैं प्रेम गर्ने निर्णय आदि। हाम्रो विश्वास साँचो हो कि सतही मात्र हो परमेश्वर हेर्न चाहनुहुन्छ।

६) विश्वासले हामीलाई साहस दिन्छ (हिब्रू ११:२३)

जीवन थुप्रै डरहरूले भरिएको हुन्छ तर ख्रीष्टमा राखिएको विश्वासले सबै डरहरूलाई माथ गर्दछ। हामी कुनै समस्या वा परिस्थीतिसँग डराउनुपर्दैन किनकि सबै कुरा उहाँको हातमा (रोमी ८:२८)। हामी खानेकुराको लागि, लुगाको लागि डराउनुपर्दैन (मत्ती ६:३३; हिब्रू १३:५-६)। हामी वृद्ध अवस्थाको डर मान्नुपर्दैन (भजनसङ्ग्रह ३७:२५)।

७) विश्वासले बुद्धिमानी निर्णयहरू गर्छ (हिब्रू ११:२४-२६)

मोशाले विश्वासैद्वारा एउटा बुद्धिमानी निर्णय गरे: फारोको छोरा भएर सजिलो जीवन बिताउनुको सट्टा उनले परमेश्वरका जनहरूसित थोरै दिनका लागि दुःख भोग्नु नै रोजे। जीवनमा यस्ता मुख्य-मुख्य निर्णयहरू गर्नलाई विश्वासले पनि हामीलाई उही बुद्धि दिन सक्दछ: जस्तै, समाजलाई पछ्‍याउने कि ख्रीष्टलाई; ख्रीष्टको लागि पूरै हृदय दिने कि नदिने (रोमी १२:१); संसारबाट अलग हुने कि नहुने (रोमी १२:२); परमेश्वरको सेवा गर्ने कि पैसाको (मत्ती ६:२४); अल्छी हुने कि मेहनती (हितोपदेश १३:४); परमेश्वरको कामको लागि प्रशस्त गरी दिने कि आफ्नै लागि राख्‍ने (२ कोरिन्थी ९:६)।

८) विश्वासले जित्छ र सहन्छ (हिब्रू ११:३२-३८)

जीवनका परीक्षाहरूमाथि कतिले जित्‍नका निम्ति विश्वास पाउँछन्, कतिले सहनका निम्ति। चाहे आगोलाई निभाइयोस्, चाहे हामीलाई जलाइयोस्, हामी विश्वास गर्न सक्छौं; चाहे सिंहको मुख बन्द गरियोस् चाहे त्यसले हामीलाई निलोस्; चाहे झ्यालखाना खोलियोस् चाहे हामी त्यहीँ मर्नुपरोस्; चाहे हामीलाई निको पारियोस् चाहे नपारियोस्, बेच्न खोजिएको कुरा चाहे बिक्री होस् वा नहोस्, चाहे गोली रोकियोस् चाहे नरोकियोस्, हामीले भरोस गर्नैपर्छ।

परमेश्वरले आफ्नो इच्छामुताविक विश्वास दिनुहुन्छ; हामीले उहाँको इच्छा स्वीकार्नुपर्छ। त्यसैले येशूले पवित्र शास्त्रलाई “मेरो धीरजको वचन” को संज्ञा दिनुभयो (प्रकाश ३:१०)।

निष्कर्ष

परमेश्वरलाई उहाँको अनुग्रहका निम्ति र यस दुष्ट पुस्ताको बीचमा रहेर विश्वास गर्ने मौकाको लागि धन्यवाद होस्। के ख्रीष्टमाथि मुक्तिका निम्ति तपाईंले विश्वास गर्नुभएको छ? आफ्नो जीवनलाई नै बदल्ने विश्वास तपाईंको छ (२ कोरिन्थी ५:१७)?

के बाइबलसित तपाईंको यस्तो घनिष्ट सम्बन्ध छ जसको फलस्वरूप तपाईंको विश्वास बढ्दै गइरहेको छ?

के तपाईंको विश्वास जाँचिदैछ? मात्र अघि बढ्दै जानुहोस्!

विश्वासको सवालमा मेरो जीवनकथा लेखियो भने त्यो कस्तो हुनेथ्यो? हरेक जीवन परमेश्वरका किताबहरूमा लेखिएको हुन्छ (हिब्रू ११:३९-४०)।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






प्रार्थना के हो?

Study Series

प्रार्थना के हो?

डेविड क्लाउड

पद कण्ठ: एफेसी ६:१८; कलस्सी ४:२; याकूब ५:१६; १ यूहन्ना ३:२०-२२

ख्रीष्टिय जीवनमा प्रार्थना जत्तिकै महत्त्वपूर्ण कुरा अर्को छैन। प्रार्थना बाइबलमा ५०० भन्दा बढी पटक उल्लेख भएको छ।

प्रार्थनाले परिवर्तन ल्याउँछ र प्रार्थनाबिना कुनै परिवर्तन आउँदैन: एउटै आत्मा बँचाइदैन, एउटै प्रचार आशिषित बन्दैन, एउटै दाम्पत्य जीवन विजयी बन्दैन, एउटै छोरा वा छोरी ठीकसँग हुर्काइँदैन, एउटै मण्डली परमेश्वरको इच्छामा खडा रहिरहन सक्दैन।

हामीले प्रार्थना गर्न सिक्नुपर्छ (लूका ११:१)

प्रार्थना भनेको आफ्नो असमर्थतालाई स्वीकार गर्नु हो र आफूलाई परमेश्वरको भरोसामा सुम्पनु हो। प्रार्थना भनेको कृपा प्राप्‍त गर्नु र खाँचो परेको घडीमा सहायता पाउनलाई अनुग्रह प्राप्‍त गर्नु हो (हिब्रू ४:१६)।

प्रार्थना प्रभावकारी हुनलाई त्यसमा निम्न सरल तर अनिवार्य तत्त्वहरू हुनु खाँचो छ:

१) प्रार्थना आराधनामय हुनुपर्छ (लूका ११:१-२)। येशूले आफूले सिकाउनुभएको “नमूना प्रार्थना” (model prayer) मा यस कुरालाई जोड दिनुभयो। यसको तात्पर्य हरेक प्रार्थनाको सुरुमा सधैं आराधनाको लामो भाग हुनुपर्छ भन्ने होइन, तर प्रार्थीले आफू अनन्तका सृष्टिकर्ता, सर्वोच्च महामहिमको नजिक जाँदैछु भन्ने कुरालाई सधैं ध्यानमा राख्‍नुपर्छ। प्रार्थना हल्का, आधा-मनको क्रियाकलाप हुनुहुँदैन।

२) प्रार्थना पाप-स्वीकारसहित हुनुपर्छ (भजनसङ्ग्रह ६६:१८; १ यूहन्ना ३:२०-२२)। हामी परमेश्वरकहाँ आउने तरिका आफ्ना पापहरू स्वीकार गर्दै हो। यसद्वारा हामी कृपा प्राप्‍त गर्छौं र हामी असल विवेकसित प्रार्थना गर्न सक्छौं र हाम्रा प्रार्थनालाई परमेश्वरसम्म पुग्ने बाटो खुल्दछ।

३) प्रार्थना उत्सुक हुनुपर्छ (याकूब ५:१७; कलस्सी ४:१२)। हतारिएको, आधा-मनको, ध्यान अन्तैतिर लागेको प्रार्थना धेरै प्रभावकारी हुँदैन।

४) प्रार्थना नियमित हुनुपर्छ (रोमी १:९)। विश्वासीले दैनिक प्रार्थनाको समय निकाल्ने बानी बसाल्नु आवश्यक छ जुनबेला ऊ प्रभुसित भेट गर्दछ र आफ्नो निम्ति र अरूका निम्ति प्रार्थना गर्दछ। अन्तर्विन्तीको माने अरूका लागि प्रार्थना गर्नु हो।

५) प्रार्थना जागरूक हुनुप्रछ (एफेसी ६:१८)। यसले अन्तर्विन्तीको प्रार्थनालाई जनाउँछ। प्रार्थनाद्वारा हामीले अरूहरूका आत्मिक जीवनलाई पहरा दिन सक्छौं वा देखरेख गर्न सक्छौं।

६) प्रार्थना अटल हुनुपर्छ (कलस्सी ४:२; १ थेस्सलोनिकी ५:१७)। पवित्र शास्त्रमा पटकपटक जोड दिइएको, प्रभावकारी प्रार्थनाको एउटा अति महत्त्वपूर्ण पक्ष यही हो। प्रार्थनामा हामी अटल हुनुपर्छ भन्ने कुराको महत्त्वमाथि जोड दिनलाई येशूले दुईटा दृष्टान्तहरू सिकाउनुभयो: अधर्मी न्यायकर्ताको दृष्टान्त (लूका १८:१-५) र रोटीको खाँचो परेको मान्छेको दृष्टान्त (लूका ११:५-१०)।

७) प्रार्थना सुमधुर दाम्पत्य जीवनसित सँगसँगै मिलेर जानुपर्छ (१ पत्रुस ३:७)। आफ्नो पत्‍नीसित ईश्वरीय ढङ्गले व्यवहार नगर्ने पतिको प्रार्थनाको जीवनमा परमेश्वरको सामर्थ्य हुँदैन।

८) प्रार्थना अरूहरूसँग आवद्ध भएर गरिनुपर् (रोमी १५:३०; २ कोरिन्थी १:११; कलस्सी ४:३; १ थेस्सलोनिकी ५:२५; २ थेस्सलोनिकी ३:१)। पावलले अरू विश्वासीहरूसँग बारम्बार आफ्नो निम्ति प्रार्थनाको माग गरेका छन्। प्रेरित भएर पनि, अझ प्रभुलाई आमने-सामने देखेर पनि उनले अन्तर्विन्तीको खाँचो देखे भने हामीलाई झन् कति बढ्ता गरी यसको खाँचो पर्छ! प्रार्थनाको सम्बन्धमा मसित कुराकानी गर्नुहुँदा मेरी बज्यूले आफ्ना विशेष खाँचोहरूमा अरूहरूसित सँगै प्रार्थना गर्नु प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिनुभयो।

९) प्रार्थना बेला बखत उपवाससहित गरिनुपर् (मत्ती ६:१७-१८; १७:२१)। त्ती १७:२१ को सन्दर्भमा येशूले एकजना दुष्टात्मा लागेको केटोको विषयमा कुरा गर्दै हुनुहुन्थ्यो। चेलाहरूलाले दुष्टात्मालाई हटाउन नसक्नुको कारण उपवास नबसेकोले हो भनी येशूले बताउनुभयो। विशेष गरी आत्मिक लडाइँमा दुष्टात्माहरूको किल्लाहरू भत्काउनका लागि उपवाससहितको प्रार्थना उपयोगी हुन्छ।

उपवासको बारेमा मलाई बताउने पहिलो व्यक्ति मेरी आमापट्टिकी बज्यू जुलिया पोलोक हुनुहुन्थ्यो। मत्ती ६:१७-१८ को कुरा गर्दै यस प्रतिज्ञालाई उहाँले आफ्नो जीवनमा पटकपटक प्रमाणित गर्नुभएको कुरा मलाई बताउनुभयो। उहाँका पति एउटा ब्याप्टिस्ट मण्डलीमा डिकन हुनुहुन्थ्यो। विवाह गर्नुभन्दा अगाडिदेखि नै उहाँले रक्सी पिउन पूरै छोडिसक्नुभएको थियो। एक दिनको कुरा थियो, उहाँ विगतमा आफूसँग पिउने एकजान पूरानो साथीसित एउटा घरको छानामाथि काममा सँगै पर्नुभएछ। कुराकानीको क्रममा आखिरमा “एक गिलास मात्र” पिउनलाई भनेर उहाँ राजी बन्नुभयो। एक गिलास भन्दाभन्दै दुवैले थुप्रै गिलास पिए र यति माते कि ठूलो स्वरले गाउन थाले र छानाबाट औजारहरू समेत जथाभाबी फ्याँक्न थाले। प्रहरी बोलाइएपछि उनीहरू जबरजस्ती थानामा लगिए। अब जुलियाले डिकन पोलोकलाई थानाबाट छुटाउनुपर्ने भयो! उहाँले एकदमै पछुतो मान्नुभयो र यस्तो कहिल्यै नदोहोर्‍याउने प्रतिज्ञा आफ्नी पत्‍नीसित गर्नुभयो र मण्डलीका सामु उभिएर बेसरी क्षमा याचना गर्नुभयो र मण्डलीले उहाँलाई क्षमा दियो। तर उक्त घटनाले जुलियालाई स्तब्ध पार्‍यो र फेरी पनि श्रीमान कतै परीक्षामा परेर लड्नुहोला कि भन्ने उहाँलाई डर भइरह्यो किनकि आफ्ना बुबा र ससुरा दुवैजना पियक्कड हुनुभएको कुराको उहाँलाई सम्झना आयो। त्यसैले यस खराबीमाथि श्रीमानले पूर्ण विजय पाएको कुराको निश्चयता आफूलाई नमिलेसम्म उहाँका लागि उपवाससहित प्रार्थना गरिरहने उहाँले अठोट गर्नुभयो। कति लामो समयसम्म भनेर बताउनुभएको जस्तो मलाई लाग्दैन तर धेरै दिनसम्म उहाँ उपवास बस्नुभयो। उहाँले मीठा-मीठा भोजनहरू तयार गर्नुहुन्थ्यो अनि विहान, दिउँसो र बुलुकीको खाने बेलामा श्रीमान मन्रोले भन्नुहुन्थ्यो, “आऊ न जुलिया, हामी बसेर अलिकति खाऊँ न,” तर उहाँले जवाफ दिनुहुन्थ्यो, “मेरो फिक्री नगर्नुहोस्, मन्रो।” अन्तमा, परमेश्वरले श्रीमानलाई विजय दिनुभयो भन्ने कुराको आफ्नो हृदयमा शान्ति मिलेपछि उहाँले उपवास बस्न छोड्नुभयो र श्रीमानले बाँकी जीवनभरि एक थोपा रक्सी पिउनुभएन।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।