Entries by Pradesh Shrestha

खण्ड १ – पवित्रशास्त्र

Doctrine

खण्ड १ – पवित्रशास्त्र

  1. प्रभु येशूले भन्नुभयो, परमेश्वरको वचन (बाइबल) _______ छ (यूहन्ना १७:१७)।
  2. प्रभु येशूले साथै यो पनि भन्नुभयो, पवित्रशास्त्र _______ हुन सक्दैन (यूहन्ना १०:३५), र पवित्रशास्त्र _______ हुनैपर्छ (मर्कूस १४:४९)।
  3. मोशा, यशैया, दाऊद, लूका र पावल जस्ता बाइबलका लेखकहरूलाई त्यसरी नचुक्ने गरी, परमेश्वरको इच्छाअनुसार उहाँका त्रुटिहीन वचनहरूलाई सिद्ध रूपमा लेख्‍नलाई कसले चलाउनुभएको थियो (२ पत्रुस १:२१ लाई २ शमूएल २३:;१-२ सित तुलना गर्नुहोस्)? ____________________।
  4. प्रभु येशूले भन्नुभयो, पवित्रशास्त्र ________ हुनैपर्छ (लूका २४:४४), हरेक ________ र ________ समेत (मत्ती ५:१८)।

टिप्पणी:“बिन्दु” र “मात्रा” भन्नाले देवनागरी लिपिमा “ङ” को थोप्लो वा “ग” को धर्सो भने जस्तै हो। परमेश्वरको वचनका प्रत्येक पुस्तक, प्रत्येक अध्याय, प्रत्येक अनुच्छे, प्रत्येक वाक्य, प्रत्येक शब्द र साथै प्रत्येक अक्षर समेत परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन्! यहाँ भएका “विचार” मात्र प्रेरित होइनन्, शब्द-शब्द र अक्षर समेत प्रेरित हुन्!

  1. जोडा मिलाउनुहोस्:

परमेश्वरको वचन

___ १) स्वर्गमा स्थिर छ (क) २ तिमोथी ३:१६
___ २) अनन्त (ख) भजनसङ्ग्रह १३८:२
___ ३) ख्रीष्टमा केन्द्रित छ (ग) यशैया ४०:८; मत्ती २४:३५
___ ४) प्रेरणाद्वारा दिइएको हो (घ) भजनसङ्ग्रह ११९:८९
___ ५) परमेश्वरको नामभन्दा उच्च तुल्याइएको छ (ङ) लूका २४:२७,४४
  1. बाइबलका पुस्तकहरू मानिसहरूका हातले लेखिएका हुन् भन्ने कुरा हामीलाई थाहा छ, तर के बाइबल केवल मानिसकै वचन हुन् कि त्योभन्दा बढी हुन्? थेस्सलोनिकाका विश्वासीहरूले के गरेकोमा पावल असाध्य धन्यवादी भएका थिए (१ थेस्सलोनिकी २:१३)? _________________________________
  2. भजनसङ्ग्रह १३८:२ – हामी विश्वासीहरू परमेश्वरको नाउँलाई आदर गर्न होशियार हुनुपर्छ भने (प्रस्थान २०:७), के हामी परमेश्वरको वचन लाई कसरी चलाउँछौं भन्ने कुरामा पनि धेरै होशियार हुनुपर्छ (दाँज्नुहोस्, २ कोरिन्थी ४:२) कि? पर्छ / पर्दैन
  3. २ तिमोथी ३:१६ – परमेश्वरको वचनको कति भाग परमेश्वरको प्रेरणाद्वारा दिइएको हो (अक्षरशः “प्रेरणा”=”परमेश्वर-निश्वासित”, अर्थात् परमेश्वरकै मुखको वाणी)?_______।परमेश्वरको वचन कहिलेसम्म स्थिर रहन्छ (यशैया ४०:८; भजनसङ्ग्रह ११९:८९)? _________।
  4. परमेश्वरको वचन सत्य छ र परमेश्वरले आफ्नो प्रतिज्ञाहरूलाई कहिल्यै तोड्नुहुनेछैन भनेर हामी कसरी जान्दछौं (तीतस १:२; हिब्रू ६:१८)? _____________________________________।
  5. धेरैजना मानिसहरू बाइबलका कुराहरूलाई, विशेष गरी पवित्रशास्त्रका पन्नाहरूमा उल्लेखित महान् आश्चर्यकर्महरूलाई, विश्वास गर्दैनन्। प्रभु येशू ख्रीष्टले ती आश्चर्यकर्महरूलाई विश्वास गर्नुभयो कि भएन भनेर हामी आफैं हेरौं:

(जोडा मिलाउनुहोस्)

______ सृष्टि (आदम र हव्वा)
______ जलप्रलय (नूह)
______ समुद्री प्राणीभित्र योना
______ सदोमको विनाश
(क) मत्ती ११:२३-२४
(ख) मत्ती १२:४०-४१
(ग) मत्ती १९:४-५
(घ) लूका १७:२७

 

  1. २ पत्रुस ३:१५-१६ – के येशू ख्रीष्टका प्रेरित पत्रुस पावलका लेखोटहरूसित परिचित थिए? ______। यी पत्रहरू लेख्नलाई पावललाई बुद्धि दिइएको थियो (पद १५) भनेर के पत्रुसले विश्वास गरेका थिए? _____। पावलले लेखेका सबै कुराहरू बुझ्नलाई के पत्रुसलाई सजिलो थियो (पद १६)? ______। के पत्रुसले पावलका लेखोटहरूलाई पवित्रशास्त्रको रूपमा स्वीकार गर्दथे (पद १६)? _______।
  2. ठीक कि बेठीक  एउटा आत्मिक व्यक्तिले पावलले लेखेका कुराहरूलाई यसरी लिन्छ —  “ती कुराहरू पावलका आफ्नै मानवीय विचारहरू हुन्, त्यसैले पावलका शिक्षाहरूलाई विश्वास गर्न वा पालन गर्न मलाई कुनै बाध्यता छैन।” हेर्नुहोस् १ कोरिन्थी १४:३७

बाइबल परमेश्वरकै वचन हो। परमेश्वरतिर फर्कने र परमेश्वरको व्यक्तित्व र वचनमाथि विश्वास गर्ने व्यक्तिले यो महसुस गर्न थाल्छ कि परमेश्वरले कुनै पनि कुरा ख्याल-ख्यालमा भन्नुभएको छैन!






परिचय

Doctrine

परिचय

बाइबलका आधारभूत शिक्षाहरू बुझ्न मदत मिलोस् भन्ने हेतुले यी अध्ययन कार्यपत्रहरू तयार गरिएका हुन्। यस वेबसाइटका मुख्य-मुख्य शिक्षाहरू के-के हुन् र यी शिक्षाहरू सीधै बाइबलकै शिक्षाहरू हुन् भनेर जान्ने उद्देश्यले यी कार्यपत्रहरू महत्त्वपूर्ण छन्।

यो अध्ययनमाला १७ ओटा खण्डहरूमा विभाजित छ र ती १७ ओटा खण्डहरू यस वेबसाइटको विश्वासको विवरणका १७ ओटा खण्डहरू अनुरूप छन्। विश्वासको विवरणलाई सरसरती पढ्दा कति पटक नबुझिन सक्छ। यी कार्यपत्रहरूले विश्वासको विवरणलाई रोचक ढङ्गमा अध्ययन गर्न र महत्त्वपूर्ण प्रश्नहरूको जवाफ सीधै बाइबलबाटै भेट्टाउन लगाउनेछ। “यस मण्डलीले यो-यो विश्वास गर्छ!” भनेर पुग्दैन। “मेरो पास्टरले यो-यो विश्वास गर्छ” भनेर पुग्दैन। यी कार्यपत्रहरू पूरा गरिसकेपछि एक व्यक्तिले यसरी भन्न सक्नुपर्छ, “यस मण्डलीले यो-यो विश्वास गर्छ मात्र होइन र मेरो पास्टरले यो-यो सिकाउँछ मात्र होइन, तर म आफैं यी शिक्षाहरूमा विश्वास गर्दछु किनकि बाइबलले नै यी कुराहरू सिकाएको छ भनेर म आफैले अध्ययन गरेको छु!” तुलना गर्नुहोस्, प्रेरित १७:११।

बाइबलका शिक्षाहरूको छलफल हुँदाखेरि मानिसहरूले कति पटक यसरी भन्ने गर्छन्, “…त्यो त तिम्रो आफ्नो व्याख्या हो” (मानौं सबैले फरक-फरक तरिकाले बाइबलको व्याख्या गरे हुने जस्तो)। बास्तविकता त्यो होइन भनेर यी कार्यपत्रहरू पूरा गर्नाले प्रमाणित हुनेछ। तपाईं आफैंले छिट्टै पत्ता लगाउनुहुनेछ कि तपाईंले अध्ययन गर्न लाग्नुभएको प्रत्येक प्रश्नको सही जवाफ एकभन्दा बढी छैन! यी कार्यपत्रहरूले एक व्यक्तिलाई परमेश्वरले आफ्नो वचनमा जे भन्नुभएको छ ठीक त्यसैलाई जवाफमा लेख्न बाध्य तुल्याउनेछ! परमेश्वरले आफ्नो कुरा मानिसलाई बताउनुभएको छैन वा उहाँले बताउनुभएको भए तापनि हामीले उहाँका कुरालाई दुरुस्तै जान्न सक्दैनौ भनी ठान्ने मानिसहरू धेरै छन्, यो खेदको कुरा हो। तर बास्तविकता त्यसो होइन। परमेश्वरको वचन बाइबल ज्यादै स्पष्ट छ।

बाइबलमा परमेश्वरले भन्नुभएको कुरालाई जान्न गाह्रो छैन भनेर यी कार्यपत्रहरूले प्रमाणित गर्नेछन् भन्ने आशा गरिन्छ। यसमा सोधिएका प्रायः सबै प्रश्नहरू ज्यादै सरल छन्, घुमाउरा छैनन्। जीवनै बदल्ने बाइबलको सन्देश बुझ्नलाई तपाईं एउटा विद्वान हुनुपर्दैन। यसलाई साना नानीहरूले समेत बुझ्न सक्छन्।

यी पन्नाहरूमा दिइएका प्रत्येक प्रश्नको जवाफचाहिँ दिइएको बाइबल पदमा गएर भेट्टाउन सकिन्छ (कृपया किङ्ग जेम्स भर्सनबाट अनुदित बाइबल प्रयोग गर्नुहोला)। जवाफ आफूलाई थाहा भएजस्तो लाग्दा पनि दिइएको बाइबलको पदमा गएर हेर्नु महत्त्वपूर्ण कुरा हो। बाइबलकै लेखोटमा जवाफलाई देख्नु तपाईंको लागि महत्त्वपूर्ण कुरा हो। विश्वासीहरूले यसरी भन्न सक्नुपर्छ, “मलाई यो थाहा छ, किनकि परमेश्वरले नै सो भन्नुभएको छ!” सबै प्रश्नहरूलाई पूरा गरिसक्नुभएपछि यी आधारभूत शिक्षाहरूको बारेमा बाइबलले के सिकाउँछ भन्ने कुराको तपाईंलाई आधारभूत ज्ञान मिलेको हुनुपर्छ।

यस अध्ययनमा प्रवेश गर्ने क्रममा पावलले तिमोथीलाई लेखेका शब्दहरूबाट तपाईंलाई हौसला मिलेको होस्:

“सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध होओस्” (२ तिमोथी ३:१६-१७)।






सपना? दर्शन? / झूटा एकता

Study Series

३२) के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?

क्यारिज्म्याटिक जवाफ:

“नव-पेन्टेकोस्टलहरू (Neo-Pentecostals) को मान्यतामा बाइबल (लिखित वचन) को अधिकार जहिले पनि आत्माको वर्तमान सक्रियताबाट प्रकट गरिएको परमेश्वरको जीवित, “गतिशील” वचनको अधिकारभन्दा निम्नस्थानमा हुन्छ भन्ने छ। क्यारिज्म्याटिक जागृति अन्तर्गत, माण्डलिक अभ्यासमा अगमवाणीको वरदानको आज पनि स्थान छ भन्ने मान्यतालाई पनि पवित्र शास्त्र अर्थात् लिखित वचनलाई पवित्र आत्माको अधिकारभन्दा निम्नस्थानमा राखिएको उदाहरणस्वरूप लिन सकिन्छ। नव-पेन्टकोस्टलवाद (साथै पुरानो पेन्टेकोस्टलवाद) को दृष्टिकोणमा, परमेश्वर बाइबलका लेखकहरूसित जुन प्रकारले आधिकारिक रूपमा बात गर्नुभयो ठीक त्यसरी नै आज पनि बात गर्नुहुन्छ। बाइबल लेखिने काम पूरा भए तापनि परमेश्वरबाटको प्रकाश भने अन्त भएको छैन (revelation did not cease with the closing of the canon) भन्ने हिसाबमा परमेश्वरको वचनलाई हेरिएको छ (existential understanding of the Word of God)। क्याथरिन मार्शल (Catherine Marshall) ले यसलाई अर्को शब्दमा यसरी व्यक्त गरेकी छिन्: “येशूले ‘थप सत्यता’ (further truth) को प्रतिज्ञा गर्नुभएकोबाट ख्रीष्टले हामीलाई दिन चाहनुभएको सबै सत्यता तथा निर्देशन पुरानो र नयाँ नियमभित्र सीमित छैन भन्ने कुरा विश्वास गर्न हामीलाई स्पष्ट आधार मिल्दछ।” त्यसैले नव-पेन्टेकोस्टलवादअनुसार आत्मिक अधिकार आखिरमा बाइबलमा निहित नभएर पवित्र आत्माको वर्तमान क्रियाकलाप र शिक्षणमा रहेको मानिन्छ… परमेश्वरले आफ्नो प्रकाशलाई केवल बाइबलमा सीमित गर्नुहुन्न (अर्थात् प्रकाश पूरा भएको छैन)। [रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ११०-११२]

उपर्युक्त भनाइअनुसार क्यारिज्म्याटिकहरू बाइबलीय प्रकाश पर्याप्‍त छैन भन्ने विश्वास राख्‍छन्; त्यसैले उनीहरूको दृष्टिकोणमा परमेश्वरको वचन नै अन्तिम अधिकार होइन। परमेश्वरले आज मण्डलीलाई अझै पनि थप प्रकाश दिने गर्नुहुन्छ जुन प्रकाश बाइबल जत्तिकै वा अझ बाइबलभन्दा पनि बढी आधिकारिक हुन्छ भनेर उनीहरू विश्वास गर्दछन्।

यसकारण परमेश्वरको वचनको पर्याप्‍तता (SUFFICIENCY of the Word of God) नै हाम्रो मुख्य मुद्दा हो भन्ने देखिन्छ। के बाइबल साँच्चै पर्याप्‍त छ त? हामीलाई जे जति आवश्यक छ के सबै बाइबलमै पाइन्छ कि हामीलाई अन्य थप कुरा पनि चाहिन्छ? मानिसलाई परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा केवल बाइबलमै पाइन्छ, कि हामी अन्यत्र पनि हेर्नुपर्छ? बाइबल पूर्ण छ, कि बाइबल विश्वासीहरूका निमित्त अत्यावश्यक सूचनामा घटी छ?

बाइबलीय जवाफ:

१) सत्यको आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ भनी ख्रीष्टले आफ्ना प्रेरितहहरूलाई प्रतिज्ञा गर्नुभयो (यूहन्ना १६:१३)। आत्माले उनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुभएकै हो, र यो सत्यताको सँगालो नयाँ नियम पवित्र शास्त्रहरूमा समाहित छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

२) परमेश्वरद्वारा निश्वासित यी लेखोटहरू शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकता सम्बन्धी तालिमका निम्ति लाभदायक छ जसद्वारा एउटा परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा सुसज्जित होऊन् भनेर पावलले हामीलाई बताएका छन् (२ तिमोथी ३:१६-१७)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

३) एउटा प्रेरितकै प्रत्यक्ष साक्षीभन्दा पनि अझ पक्का वचन, अर्थात् आत्माद्वारा प्रेरणा गरी दिइएको अचूक परमेश्वरको वचन, हामीसँग छ भनेर पत्रुसले बताएका छन् (२ पत्रुस १:१५-२१)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

४) हामीलाई एकैचोटी सदाका निम्ति सुम्पिएको “विश्वास” (सत्यताको सँगालो) का लागि हामीले यत्‍नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्दै यहूदाले हामीलाई अर्ती दिएका छन् (यहूदा ३)। उक्त सत्यताको सँगालो एकैचोटी सदाका निम्ति पहिलो शताब्दीका पवित्र जनहरूलाई सुम्पिएको थियो जुनचाहिँ लिखित रूपमा आज हाम्रो बाइबलमा पाइन्छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

५) पूर्णतामा आइपुगेको परमेश्वरको प्रकाशको पुछारमा अन्तिम “पूर्णविराम चिन्ह” ठड्याउँदै यूहन्नाले यस पुस्तकमा केही नथप्न, केही नघटाउन हामीलाई चेताउनी दिएका छन् (प्रकाश २२:१८-१९)। जुन घडी यूहन्नाले प्रकाशको पुस्तकको अन्तिम वाक्यलाई लेखी भ्याए, त्यही घडी बाइबल (६६ आधिकारिक पुस्तकहरू)  पूरा भयो। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र? पवित्र शास्त्रको आधिकारिक सँगालो (canon of Scripture)  बन्द भएको छ, र जुन कुरालाई परमेश्वरले बन्द गर्नुभयो, कुनै मानिसले नखोलोस्। “बाइबल नै पर्याप्‍त छ!” भनेर परमेश्वरले भन्नुभइसकेपछि, मानिसले “हामीलाई अझ अरू चाहियो!” भनी नभनोस्।

१ यूहन्ना ४:१-३, १ तिमोथी ४:१, २ तिमोथी ३:१३, ४:२-४, मत्ती ७:१५-२४ र २४:४-५ को चेताउनीहरूलाई विचार गर्दा, प्रभुबाट दर्शनहरू र प्रकाशहरू पाएको दाबी गर्ने त्यहाँ थुप्रैजना पाइनु अचम्मको कुरा होइन। प्रभु येशू आफ्नो मण्डलीलाई लिन (१ थेस्सलोनिकी ४:१३-१८) आउनुहुनुभन्दा ठीक अगाडिका यी अन्तिम दिनहरूमा आत्मगत, अनुभव-केन्द्रित धर्म प्रणालीको बिगबिगी हुने हामी प्रतीक्षा गर्न सक्छौं: “मैले यस्तो-यस्तो अनुभव गरें त्यसैले यो कुरा साँचो हुनुपर्छ!” तर हामीलाई वस्तुगत र असन्दिग्ध सत्यतामा आधारित प्रकाशपूर्ण धर्मको खाँचो छ: “यो साँचो हुनुपर्छ किनकि परमेश्वरले आफ्नो वचनमा सो कुरा भन्नुभएको छ।”

आज हामीलाई परमेश्वरको वचन सुनेर काँप्ने नम्र व्यक्तिहरूको खाँचो छ (यशैया ६६:१-२)। आजको हाम्रो खाँचो नयाँ प्रकाशको होइन। आजको हाम्रो खाँचो त हामीसित भएकै प्रकाशको आज्ञापालन गर्नु र त्यसलाई सुहाउँदो जीवन जिउनु हो। आज हामीलाई थप प्रकाश चाहिएको छैन। हामी एक दिन ख्रीष्टको सामु उभिएर हामीसित भएकै प्रकाशप्रति कस्तो कसिमको प्रतिक्रिया देखायौं भन्ने कुराको लेखा दिनेछौं।

एक अर्थमा मण्डलीलाई आज दर्शनको अनिवार्य जरुरत छ। हामीलाई परमेश्वरको ताजा दर्शनको खाँचो छ। हामीले प्रभुलाई सर्वोपरि उचाइमा देख्‍न खाँचो छ (यशैया ६:१-९)। परमेश्वर आफ्नो पूर्णतामा को हुनुहुन्छ भन्ने कुराको अर्थात् उहाँको सर्वश्रेष्ठताको झलकको हामीलाई खाँचो छ (यशैया ४३:१०-११)। ख्रीष्टलाई उहाँको वास्तविकतामा हामीले जति देख्‍न सक्छौं त्यति नै हामी उहाँजस्तै बनिनेछौं (१ यूहन्ना ३:२)। लिखित वचनमा दर्शाइनुभएको ख्रीष्टमाथि हाम्रा आँखाहरूलाई लगाइरहने क्रममा, र येशूलाई निश्चल हेराइले नियालिरहने क्रममा (हिब्रू १२:१-२), हाम्रो जीवन उहाँको रूपमा एउटा महिमादेखि अर्को महिमामा बदली हुँदै जानेछ र यसरी हाम्रो जीवनमा हामीले प्रभुको महिमालाई प्रतिबिम्बित गर्नेछौं (२ कोरिन्थी ३:१८)।

क्यारिज्म्याटिक दर्शनका केही उदाहरण

उदाहरण #१–ओरल रबर्टस् (Oral Roberts)

एक समय ओरल रबर्टस्‌ले आफूले ९००-फुट येशूसित बातचित गरेको दाबी गरे जुन “दर्शन” को कथाले गर्दा उनका अनुयायीहरूबाट लाखौं डलरको अनुदान सङ्कलन भयो जसबाट उनले आफ्नो ६०-तले रोग-अनुसन्धान क्लिनिक र ३०-तले अस्पताल निर्माण गरे। पछि गएर रबर्ट्‌सले आफूले परमेश्वरबाट अर्को सूचना प्राप्‍त गरेको दाबी गरे। यस पटक चाहिँ मानिसहरूले ओरल रबर्ट्‌सलाई उनको ८० लाख डलर अनुदान उठाउने दौडानलाई पूरा गर्न ४५ लाख डलर “शीघ्र रकम” उपलब्ध गरियोस् भन्ने परमेश्वरले चाहनुभएको छ भन्ने कुरा आयो। यति रकम उनले नउठाएको खण्डमा परमेश्वरले उनलाई स्वर्गे घरमा झिकाउनुहुने अरे। फ्लोरिडाको घोडे-दौड रङ्घशाला (एक किसिमको जुवाको खेल) का मालिक जेरी कलिन्स्‌ले बल्लतल्ल अन्तिम १३ लाख डलर बुझाएपछि, उनको छुटकाराको दामको मूल्य पूरा भयो, र भविष्यमा यस्तै नयाँ-नयाँ आकर्षक चालबाजीहरू आविष्कार गर्नलाई ओरलको जीवनमा म्याद थपियो।

सेन्ट पिटर्सबर्ग टाइम्स् अनुसार ओरल रबर्टस्‌सित व्यक्तिगत सम्पत्ति नभएको होइन। पाम स्प्रिङ्ग्स्‌मा २८५,००० डलरको घर, बेभर्ली हिल्स्‌मा २४ लाख डलरको घर, टुल्सामा आफ्नो विशिष्ट घर, र प्राय: धनाढ्यहरूसित मात्र हुने ३५,००० डलरको “कन्ट्री क्ल्ब सदस्यता” रबर्टस्‌सित भएको कुरा उक्त पत्रिकाले बताएका छन्।

उदाहरण #२–डा. पर्सी कोलेट (Dr. Percy Collet)

डाक्टर कोलेट, एक चिकित्सक, झण्डै ५० वर्षसम्म दक्षिण अमेरिकाको आमाजोन खाडी (Amazon River Basin) का बासिन्दाहरूका बीच काम गर्नुभयो। १९८२ मा आफू साँढे पाँच दिनसम्म स्वर्गमा लगिएको भन्ने उनको दाबी छ। उनले परमेश्वर पिता, पुत्र पवित्र आत्मा, एलिया, एलिशा, अब्राहाम, मोशा, पावल र अरूसित कुराकानी गरे अरे। उनले पवित्र जनहरूका दरवारहरू र हाल निर्माणाधीन भवनहरूको अवलोकन गरे अरे। उनी शहरको जगभन्दा ७०० माइल माथि रहेको “आफ्नो” दरवारमा लगिए अरे। उनले स्वर्गको प्रत्येक तहको सफर गरे र तिनका विभिन्न विभागहरू र क्रियाकलापहरूको अवलोकन गरे अरे। येशूले उनीसित पृथ्वीमा चाँडै हुन लागेको घटनाहरूको बारेमा कुरा गर्नुभयो अरे—अर्थात् इजकिएल ३८ को युद्ध, र्याप्‍चर र हार्मागेडोन (Armageddon) को बारेमा। आफ्नो सेवारत क्षेत्रबाट विदा लिई आफूले देखेका र सुनेका कुराहरूको घोषणा गर्नू भन्ने निर्देशनसहित आफू पृथ्वीमा फिर्ता पठाइए अरे।

एक सय डलरको अनुदान दिएबापत उक्त स्वर्ग-यात्राको भिडियो प्रस्तुति प्राप्‍त गर्न सकिन्छ। यस भिडियोको विज्ञापनमा यसरी लेखिएको पाइयो, “डाक्टर कोलेट पावलजस्तै तेश्रो स्वर्गमा उठाइनुभएको थियो। फरक यतिमा छ, पावललाई आफूले देखेका र सुनेका कुराहरू बताउन अनुमति दिइएन तर त्यसको झण्डै २००० वर्ष पछाडि डाक्टर कोलेटलाई भने सो गर्न आदेश दिइयो।” यसलाई २ कोरिन्थी १२:१-१० सित तुलना गर्नुहोस्। स्वर्गको यात्रा गरेको वा स्वर्गको दर्शनहरू देखेको दाबी अरू थुप्रैले गर्दै छन्। सिओल, कोरियाका “संसारको सबभन्दा ठूलो मण्डलीका पास्टर” डाक्टर पावल योङ्गि चो (Dr. Paul Yonggi Cho) ले समेत आफू तेस्रो स्वर्गमा ३ घण्टा बिताएको दाबी गरेका छन्।

३३) “क्यारिज्म्याटिक जागृति” (Charismatic Renewal) को सिद्धान्त (philosophy) के हो?

क्यारिज्म्याटिक नवीकरणको चरित्र पूर्णतयाः सुधारवादीको हो।

शुरुको पेन्टेकोस्टल पथ (Classical Pentecostalism) ले आफू परम्परागत माण्डलिक संरचनाहरूबाट अलग्गिएर नयाँ संरचनाको निर्माण गर्ने भनेर लिएको मार्ग-दर्शनप्रति क्यारिज्म्याटिक जागृतिले न्यूनतम वा शून्य अभिरुचि राखेको पाइन्छ। बरु, आत्मामा बप्‍तिस्मा भएकाहरू कुनै मण्डली वा अन्य समूहभित्र रहिरहेर त्यसका सदस्यहरूलाई प्रभावित पारेर नै वर्तमान संरचनाहरूलाई पवित्र आत्माको क्यारिज्म्याटिक क्रियाकलापद्वारा “जागृत” गराइनुपर्छ भन्ने यसको सिद्धान्त रेहको छ (रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ९)।

आफूहरू आबद्ध रहेको मण्डलीहरूबाट क्यारिज्म्याटिकहरू छुट्टिन चाहन्नन्। बरु, उनीहरू तिनैमा रहेर आफ्नो उपस्थितिद्वारा ती मण्डलीहरूलाई जागृत गराउन चाहन्छन्। उनीहरू, विगतमा औपचारिक र मृत-अवस्थामा रहेका मण्डलीहरूमा जीवन र जोश-जाँगर ल्याउन खोज्दछन्। दुःखको कुरा, बाइबलीय अलगपनता (Biblical Separation) का सिद्धान्तहरू अनुसार सत्यत्यागीहरू (apostates) देखि अलग रहनुपर्ने कुरालाई उनीहरूले बेवास्ता गर्दछन्।

३४) विश्वासीहरूलाई कुनचाहिँ आज्ञा दिइएको छ? — सत्यत्यागी (apostate) मण्डलीहरूलाई “जागृत” गराउन कि तिनीहरूदेखि अलग रहन?

२ कोरिन्थी ६:१४-७:१ — तिनीहरूका बीचबाट निस्केर आओ

२ तिमोथी ३:५ — यस्ताहरूबाट पर बस

रोमी १६:१७ — तिनीहरूबाट टाढा बस

तीतस ३:१० — रद्द गर

२ यूहन्ना १० — स्वागत नगर

थप अध्ययनका लागि अङ्ग्रेजीमा लिखित Biblical Doctrine of Separation मा क्लिक गर्नुहोस्।

३५) परमेश्वरका जनहरूलाई एकतामा ल्याउने कुरा के हो?

क्यारिज्म्याटिक जवाफ: “एउटै अनुभवले”

आधुनिक क्यारिज्म्याटिक अभियानले शिक्षागत सवालहरूलाई एकातिर पन्छाएर अनुभवहरूको एउटा सँगालोको वरिपरि ऐक्यवद्ध बन्न सकेको छ। शिक्षाले विभाजन ल्याउँछ। अनुभवले ऐक्यवद्ध बनाउँछ। (Stephen Board, “Are Catholic Charismatics ‘Evangelicals’?” Eternity, July 1978, page 13.)

 बाइबलीय जवाफ: “परमेश्वरका जनहरूलाई सत्यताशिक्षाले ऐक्यवद्ध बनाउनुपर्छ”

“अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे” (प्रेरित २:४२)।

“जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौं, एउटा पूरा बढेको मानिस बन्दैनौं, ख्रीष्टको परिपूर्णतारूपी कदको नापसम्म आइपुग्दैनौं” (एफेसी ४:१३)। हाम्रो एकता परमेश्वरको पुत्रको साझा (एउटै) पहिचान र बुझाइमा आधारित हुनुपर्छ।

शिक्षाले विभाजन ल्याउँछ भन्ने कुरा साँचो हो, तर शिक्षाले ऐक्यवद्ध पनि गराउँछ। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्दछु र तपाईंचाहिँ विश्वास गर्नुहुन्न भने हामी विभाजित छौं। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्छु र तपाईं पनि विश्वास गर्नुहुन्छ भने हामीले विश्वास गरेको र बुझेको यस महान् सत्यताको आधारशिलामा हामी एकतामा खडा हुन्छौं। साँचो बाइबलीय एकता परमेश्वरको सत्यताको साझा (एउटै) बुझाइ र अभ्यासमा आधारित हुन्छ। परमेश्वरको वचनका सत्यताहरूलाई जति बढी विश्वास गर्छौं र अभ्यास गर्छौं, त्यति नै बढी हामी ऐक्यवद्ध हुन्छौं।

परमेश्वरको सत्यतालाई बलि चढाएर “प्रेम” मा जोड दिने र खाँटी शिक्षालाई बलि चढाएर “एकता” मा जोड दिने आजको व्यापक सिद्धान्तदेखि होसियार हुनुहोस्। (प्रमिस किपर्स् अभियान जस्ता थुप्रै समूहहरू र “एकता” अभियानहरू (ecumenical movements) को सिद्धान्त यही नै छ। क्याम्पस क्रूसेडको आलोचनामा लेखिएको अङ्ग्रेजी लेख यहाँ पढ्न सक्नुहुन्छ: The Importance of Doctrine and the Biblical Concept of Love — A Campus Crusade Critique.

चङ्गाइ

Study Series

२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?

 

नयाँ नियममा बिरामी परेका चारओटा उदाहरणहरूलाई हेरौं:

१) २ कोरिन्थी १२:७-१०

पावल एउटा पीडादायी (“काँडा”) शारीरिक (“शरीरमा”) रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई तीन पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो अनुग्रह प्रशस्त छ भन्ने कुरा सिकाउनुभयो, परमेश्वरको अनुग्रहले उनलाई त्यस्तो शारीरिक कष्ट समेत सहन सक्ने क्षमता दिन्छ भन्ने कुराको बोध गराउनुभयो। आफ्नो सर्व-पर्याप्‍त अनुग्रहको बोध गराउन कहिलेकाहीँ परमेश्वरले दुःख-बिमार वा पीडा आउन दिनुहुन्छ।

२) फिलिप्पी २:२५-३०

एपाफ्रोडीटस बेसरी बिरामी परे, यहाँसम्म कि उनी मृत्युको मुखैमा पुगे। उल्लेखनीय कुरा के भने पावलले आफ्नो यस विश्वासयोग्य भाइलाई चङ्गाइ गरेनन्। बरु परमेश्वरले उनीमाथि कृपा गर्नुभयो र उठाउनुभयो।

३) १ तिमोथी ५:२३

“अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।” तिमोथीको पेटको कमजोरी थियो जसको कारण उनी बारम्बार बिरामी पर्ने गर्थे। पावलले उनलाई कुनै चङ्गाइकर्ताकहाँ जान सल्लाह दिएनन्, न ता उनलाई उनका शारीरिक कमजोरीहरू पाप वा विश्वासको कमीका कारण हुन् भने। पावलले केवल एउटा सामान्य औषधी उपचारको सल्लाह दिए। [पावलले तिमोथीलाई मात लाग्ने रक्सी नभएर अङ्गुरको रस पिउनलाई सल्लाह दिएको हुन सक्छ भन्ने यहाँ देखिन्छ। व्याकरणका विद्वान आथनेयस (Athenaeus, 280 AD) ले यसरी लेखेका छन्: “उसले गुलियो दाखरस लेओस्, पानीसँग मिसाएर वा गरम गराएर, विशेष गरी प्रोटोपोस भनिने खाले, त्यो गुलियो लेस्बियन गलुकस, पेटको लागि लाभदायक हुने भएकोले; किनकि गुलियो दाखरस [oinos] ले टाउकोलाई भारी बनाउँदैन” (Athenaeus, Banquet 2,24). प्राचीन लेखोटहरूमा पेटको समस्याहरूका लागि कण्वीकरण नभएको (unfermented) दाखरस प्रयोग गर्न सिफारिश गरिन्थ्यो भन्ने कुराको यो एउटा उदाहरण हो।]

४) २ तिमोथी ४:२०

“एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बिरामी अवस्थामा छोडेको छु।” ट्रोफिमसको आत्मिक समस्या (पाप, विश्वासको कमी) थियो भन्ने त्यहाँ कुनै सङ्केत छैन, तर उनको एउटा शारीरिक समस्या भने थियो, तर पावलले उनलाई चङ्गाइ गरेनन्। यस जीवनमा कहिलेकाहीँ आफ्ना सन्तानहरू बिरामी हुनु नै परमेश्वरको इच्छा हुन्छ, तर आउनेवाला जीवनमा भने कहिल्यै त्यसो हुन्न (प्रकाश २२:४)

विगतका कतिपय भक्तजनहरूलाई विचार गर्नुहोस् त, जोहरू रोगी थिए अथवा कुनै गम्भीर शारीरिक दुर्बलताले पीडित थिए। उदाहरणको लागि: जोन क्याल्भिन (John Calvin) वातरोगबाट ग्रस्त थिए, साथै उनलाई बेसरी टाउको दुख्‍ने समस्या थियो र उनको शरीर कमजोर थियो। फेनी क्रस्बी (Fanny Crosby) अन्धी थिइन्। रबर्ट मुरे मक्शेन (Robert Murray McCheyne) ज्यादै रोगी भएकाले ३० वर्षको उमेरमा मरे। जर्ज म्यूलर (George Müller) को विश्वास पक्कै पनि कमजोर थिएन, तर जीवनभर उनले शारीरिक दुर्बलताहरू र रोग-बिमारहरूको सामना गर्नुपर्‍यो। उनको टाउकोको समस्या थियो र एउटा सिपालु शल्य-चिकित्सकको हातबाट उनको शल्यक्रिया गरिनुपर्‍यो। भक्तिपूर्वक जिउने विगतका कुनै पनि विश्वासीको जीवनी पढ्नुहोस्, झण्डै प्रत्येककै सवालमा परमेश्वरले उनीहरूलाई कुनै निश्चित शारीरिक कष्टहरू भोग्न दिनुभएको पाउनुहुनेछ।

कतिपय क्यारिज्म्याटिक व्यक्तिहरूको धारणाअनुसार, यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईं परमेश्वरको इच्छाभन्दा बाहिर हुनुहुन्छ। उदाहरणका लागि, केनेथ हेगन जुनियर (Kenneth Hagan Jr.) लेख्‍छन्: “परमेश्वरको इच्छा नै आफ्ना सन्तानहरू पूर्ण स्वस्थतामा जिऊन् भन्ने हो भन्ने मेरो विश्वास हो…आफ्ना सन्तानहरूलाई चङ्गाइ गर्नु सधैं नै परमेश्वरको इच्छा हो।” [मलाई जुलाई १६, १९८७ मा केनेथ हेगनद्वारा लेखिएको पत्रबाट] यस्ता व्यक्तिहरूलाई केही प्रश्‍न गर्न हामीलाई कर लाग्छ: के तपाईंहरूमध्ये कसैकसैले चश्मा लगाउनुहुन्छ (केनेथ हेगनले त लगाउँछन्)? के तपाईंहरूमध्ये कसैकसैलाई रूघाखोखी लाग्ने गर्छ? के तपाईंहरूमध्ये कोहीले सिटामोल वा अन्य दुखाइ हटाउने ने ओषधी खाने गर्नुहुन्छ? सबभन्दा महत्त्वपूर्ण प्रश्‍न त, के तपाईंहरू मर्नुहुन्छ?

उदाहरणका लागि चङ्गाइकर्ता ओरल रबर्टस् (Oral Roberts) लाई विचार गरौं। उनले एक पटक आफ्नै खरबौं-डलरको सिटि अफ फेथ (City of Faith) अस्पताललाई छाडेर आफ्नो आँखाको शल्यक्रिया गराउन उनी क्यालिफर्निया गए। होइन, उनी किन एउटा चङ्गाइकर्ताकहाँ गएनन्, वा उनले किन आफैलाई चङ्गाइ गरेनन्? साथै, यदि विश्वासद्वाराको चङ्गाइ (faith healing) साँच्ची नै हुने हो भने खरबौं डलरको अस्पताल किन चाहियो? प्रभु येशू लगायत प्रेरितहरूले त सयौंलाई यस्ता कुनै अस्पताल बिना नै चङ्गाइ गरे।

२४) के नयाँ नियमले “सुख-समृद्धिको सुसमाचार” (PROSPERITY GOSPEL) को शिक्षा सिकाउँछ?

यो शिक्षा आज प्रायः सुनिने अति प्रचलित र आकर्षक सन्देश हो, अर्थात् यदि तपाईंले ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईंलाई स्वस्थलाभसम्पत्तिलाभहुनेछ। यसको मतलब तपाईंलाई शारीरिक स्वस्थलाभ र भौतिक उन्नति हुनेछ। तपाईंको शरीर रोगबिमारबाट स्वतन्त्र हुनेछ र तपाईंको बैंक खाता भरिभराउ हुनेछ। तर वास्तवमा यस प्रकारको शिक्षाबाट साँच्चै आर्थिकलाभ उठाउनेहरू चाहिँ ती झूटा शिक्षकहरू मात्र हुन्छन्, अर्थात् “सुख-समृद्धिको सुसमाचार” का प्रचारकहरू।

स्वस्थलाभ र सम्पत्तिलाभको सुसमाचार

“जति सुनेपनि फरक पर्दैन — हामी स्वस्थ हुनु र हामीले यस जीवनमा असल-असल कुराहरू पाउनु परमेश्वरको इच्छा हो भन्ने कुरा हामीलाई बारम्बार सम्झना गराइन आवश्यक छ” (केनेथ हेगन)।

येशूको सेवाकार्य गरीब थियो भन्ने विश्वासको बारेमा केनेथ कोपल्याण्ड (Kenneth Copeland) यसो भन्छन्: “त्यो त हास्यास्पद कुरा हो। येशू गरीब हुनु असम्भव कुरा हो! पुरानो नियमको समयदेखि नै परमेश्वरले, उहाँको साथमा सिद्ध र सीधा चालमा चल्नेहरूलाई भौतिक आशिषहरूको प्रतिज्ञा गर्नुभयो। यदि परमेश्वरले येशूलाई आर्थिक आशिष दिन विफल हुनुभएको भए परमेश्वरले स्वयम् आफ्नै वचनलाई तोड्नुहुनेथ्यो” (करिज्मा, सेप्टेम्बर १९९०)।

ख्रीष्टमा भरोसा गर्नेहरूको आत्मिक उन्नति हुन्छ भन्ने कुरा साँचो हो। उनीहरू आत्मिकमा सफल हुन सक्छन् र आफ्नो प्राणमा स्वस्थलाभ पाउन सक्छन्। उनीहरूले ख्रीष्टमा पाइने हरेक आत्मिक आशिषको उपभोग गर्न सक्छन् (एफेसी १:३)। उनीहरू उहाँमा धनवान हुन सक्छन् (२ कोरिन्थी ८:९)। तर परमेश्वरले आफ्नो सन्तानहरूलाई यस जीवनमा हट्टाकट्टा शारीरिक स्वास्थ्य र भौतिक, आर्थिक उन्नतिको कहिल्यै प्रतिज्ञा गर्नुभएन।

वास्तवमा पूरै नयाँ नियमको शिक्षाअनुसार परमेश्वरका जनहरू त दुःख र कष्ट भोग्नेहरू हुनेछन्, काटिन लगिइरहेका भेडाहरूझैं हुनेछन् (रोमी ८:१८,३५-३६) भन्ने छ। उनीहरूले संसारबाट घृणा र सतावट पाउनेछन् (यूहन्ना १५:१८-२०)। संसारमा उनीहरूलाई संकष्ट र थिचोमिचो हुनेछ (यूहन्ना १६:३३)। ख्रीष्टमा भक्तिपूर्वक जिउने सबै नै सतावटमा पर्नेछन् (२ तिमोथी ३:१२) र प्रत्येक ख्रीष्टियनले ख्रीष्टको असल सिपाहीलेझैं दुःख उठाउनुपर्छ (२ तिमोथी २:३)। सुख-समृद्धिको सुसमाचारको विरुद्धमा सबभन्दा राम्ररी छोटकरीमा व्यक्त गरिएको पावलको जवाफ सायद १ थेस्सलोनिकी ३:३-४ नै हो —

“यी कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति ठहराइएका छौं। किनकि साँच्चै तिमीहरूसँग रहँदा, ‘हामीले कष्ट भोग्नुपर्छ’ भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै भयो पनि, अनि तिमीहरूले पनि जान्दछौ।”

प्रेरित पत्रुस समृद्धिको सुसमाचारको बारेमा अनजान थिए जब उनले भने, “चाँदी र सुन त मसँग छैन” (प्रेरित ३:६)! पावल प्रेरित पनि यस शिक्षाको बारेमा अनजान थिए। उनले विश्वासीहरूलाई गरिबजस्ता र केहि नहुनेजस्ता भनी बयान गरेका छन् (२ कोरिन्थी ६:१०)!

२५) के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?

संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको एउटा विषम क्यारिज्म्याटिक समूह (“द ग्लोरी बार्न”) ले विश्वासीहरू कहिल्यै डाक्टरकहाँ जान हुन्न बरु चङ्गाइ पाउन परमेश्वरमा भरोसा राख्‍नुपर्छ भनेर सिकाए। बच्चा जन्माउने समयमा डाक्टर वा नर्सको मदत नपाएको हुनाले कोही गर्भवति महिलाहरूलाई साह्रो पर्‍यो र उनीहरूका बच्चाहरू मरे। समस्या अझ जटिल बन्यो जब यस समूहका सदस्यहरूले परमेश्वरसित यी मरेका बच्चाहरूका निम्ति प्रार्थना गर्न थाले। स्थानीय समाचार माध्यमले यी घटनाहरूलाई सार्वजनिक बनाइदिए। फलस्वरूप ख्रीष्टको नामलाई ठूलो शर्ममा पार्ने काम भयो। गलत शिक्षाको कारण गलत अभ्यास भएको थियो।

“तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो: “निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ” (मत्ती ९:१२)।

निरोगी र स्वस्थ व्यक्तिहरूलाई डाक्टर वा वैद्यको खाँचो पर्दैन। यसको तात्पर्य रोगीलाई डाक्टर चाहिन्छ नै भन्ने हो। भन्ने हो भने, सुसमाचारको एउटा पुस्तक समेत लेख्‍ने पावलका एक सहकर्मी एक डाक्टर थिए:

“प्रिय वैद्य लूका र डेमासले तिमीहरूलाई सलाम पठाउँदै छन्” (कलस्सी ४:१४)।

२६) के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?

प्रभु येशू ख्रीष्टले मानिसहरूका हरेक किसिमको बिमार र हरेक किसिमको रोगलाई निको पार्नुभयो:

“अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र किसिम-किसिमका रोग र पीडाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो” (मत्ती ३:२३-२४)।

प्रभुले आफ्ना चेलाहरू (प्रेरितहरू) लाई “हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो” (मत्ती १०:१)।

प्रेरित पावलले गजब प्रकारले निको पार्ने काम गर्न सके:

“अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूकहाँ लगिन्थे, र रोगहरूले तिनीहरूलाई छोड्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे” (प्रेरित १९:११-१२)।

२७) के आधुनिक “चङ्गाइकर्ताहरू” (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?

विलियम ए नोलेन (William A. Nolen) नाम गरेको एकजना नामुद डाक्टरले क्याथरिन कूलम्यान (Kathryn Kuhlman) नाम गरेकी एक चर्चित चङ्गाइकर्ताको अवलोकन गरे। शुरूमा उनलाई शंकै थियो तरैपनि प्रमाण भेटिएको खण्डमा विश्वास गर्न तयार पनि थिए। उनका केही टिप्पणीहरूलाई यहाँ उतारिएको छ:

सुश्री कूलम्यान कहिलेकाहीँ श्रोतागणतर्फ फर्केर हेर्थिन् र भन्थिन्, “यहाँ एकजना ब्रेस (brace, अड्याउने चीज) लगाउने व्यक्ति छ—खुट्टाको ब्रेस—तपाईंलाई अबदेखि उसो त्यो ब्रेस चाहिँदैन। त्यसलाई फुकालिदिनुस्। आउनुस् र आफ्नो चङ्गाइलाई दाबी गर्नुस्।” ब्रेसको नाम लिएर बोलाएको पहिलो पटकमा कोही अगाडि आएन। अन्तमा एउटी भर्खरकै राम्री युवती मञ्चमाथि आइन्। उनले आफ्नो खुट्टाको ब्रेसलाई हातले हल्लाउँदै देखाउँदैथिइन् र उभिरहेकीथिइन्। उनी यौटाचाहिँ सद्दे र अर्कोचाहिँ सुकेको खुट्टामा उभिरहँदा उनको पुट्ठाको हाड (pelvis) एकातिर नराम्ररी ढल्केको देखिन्थ्यो।

क्याथरिन कूलम्यानले उनलाई सोधिन्, “कति भयो यो ब्रेस लगाएकी?” “तेह्र वर्ष। सात वर्षमा पोलियो लागेदेखि।” “अब तिमी निको भयौ। अबदेखि उसो त्यो तिमीलाई चाहिँदैन। तिमीले त्यसलाई फुकालिसकेकी छौ।” “हो”, तिनले भनिन्। “मैले प्रभुमा विश्वास राखेकी छु। मैले प्रार्थना गरेकी छु, र उहाँले मलाई निको पार्दैहुनुहुन्छ।” सबैले ताली बजाए। युवती रोइन्।

उक्त दृश्य मेरो आँखामा पूर्णतया बीभत्स थियो। युवतीको खुट्टा दस मीनेट अगाडि जत्तिकै सुकेकै थियो। अहिले उनी दस हजार जनसमुदायसामु उभिएर प्रभुलाई—र अप्रत्यक्ष रूपमा क्याथरिन कूलम्यानलाई—प्रशंसा दिँदैथिइन्, एउटा चङगाइको निम्ति जुन चङ्गाइ भएकै थिएन न ता हुनेवाला नै थियो। उक्त घडीको भावोन्माद (hysteria, विकृत उत्तेजना) हराइसकेपछि, तेह्र वर्षदेखिको ब्रेसलाई फेरि—बाँकी जीवनभरिकै लागि भनेर—लगाउनै परेपछि त्यस युवतीको मनमा कस्तो लाग्ला, मैले अनुमान गर्न सक्थें।

अन्तमा एउटा भजन र अन्तिम आशीर्वादपछि प्रदर्शनी सकियो। पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ।

मञ्चबाट ओर्लँदै गरेका “चङ्गाइको दाबी” गर्नेहरूमध्येबाट अनुपरीक्षण (follow-up study) मा सहभागी हुन चाहने प्रत्येकको नाम, ठेगाना, फोन नम्बर र रोगको विवरण टिपोट गर्न मैले दुईजना कानूनी सहायकहरूलाई खटाएको थिएँ। ८२ जनाको नाम मिल्यो। कार्यक्रमको केही हप्‍तापछि, आइतवार जुलाई १४ का दिन मिनियापोलिस शहरमा आउन र आफ्नो अनुभव बताउन सूचीमा नाम भएको हरेकलाई पत्र पठाएर निमन्त्रणा दिइयो। २३ जना उपस्थित भए। मैले उनीहरू प्रत्येकसित त्यसपछिका महिनाहरूमा व्यक्तिगत अन्तर्वार्ता लिनका निमित्त बन्दोबस्त गरें।

निजहरूसित कुराकानी गर्दा, म यथासम्भव इमानदार, समझदार र निष्पक्ष रहने प्रयास गरें, तर मैले आफ्नो चिकित्सकीय ज्ञान र व्यावहारिक बुद्धि (common sense) लाई पन्छाउन सकिनँ। निजहरूले बताएका सबै कुरालाई मैले ध्यानपूर्वक सुनें, र त्यहाँ कुनै आश्चर्यकर्म भएको थियो कि भन्ने कुराको समर्थन गर्न सक्ने प्रत्येक सम्भावनालाई अनुसन्धान गरें। अध्ययनले मलाई एउटै निष्कर्षमा पुग्न बाध्य गरायो: चङ्गाइ कार्यक्रममा आफूहरूले चङ्गाइको दाबी गरी पछि मिनियापोलिसमा आई सो कुराको पुनः समर्थन जनाउने बिरामीहरूमध्ये एउटैले पनि वास्तवमै अलौकिक ढङ्गबाट (miraculously) कुनै कुराबाट चङ्गाइ पाएका थिएनन्। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974. डाक्टर नोलेनले आफ्नो खोजीका परिणामहरूलाई इन सर्च अफ अ मिराकल (“आश्चर्यकर्मको खोजीमा”) भन्ने पुस्तकमा पनि प्रकाशित गर्नुभएको छ।]

वर्षौंदेखि संसारकै सर्वोत्तम चङ्गाइकर्ता (faith healer)  मानिएका क्याथरिन कूलम्यानसम्बन्धी क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले यसरी लेख्‍छन्:

उनी रोगको नाम लिन्छिन्—निको हुन नसक्ने क्यान्सरदेखि लिएर एलर्जीहरू सम्म समेट्ने जुनसुकै रोग हुन सक्छ (यद्यपि अङ्गच्छेदित (amputated) हातखुट्टा कहिल्यै पुनः देखा पर्दैनन्; दाँतहरू अलौकिक ढङ्गमा सुनले भरिन्नन्)—अनि आफू चङ्गाइ भएको लाग्नेलाई मञ्चमा उभिएर गवाही दिन अगाडि बोलाउँछिन्। (तालिमप्राप्‍त कार्यकर्ताहरूले चङ्गाइको प्रमाणीकरण गर्न अघिबाटै यथासम्भव छानबिन गर्दछन्।) पुष्टिकरणका निमित्त अनुरोध गर्न सकियोस् भनेर मञ्चमा अक्सर डाक्टरहरू हुने गर्छन्; र चङ्गाइको पुष्टिकरणका निमित्त सबैलाई आ-आफ्नै डाक्टरकहाँ जान जोडसँग आग्रह गरिन्छ। कतिपय व्यक्तिहरूले गवाही ता दिन्छन् तर निको भएका भने हुँदैनन्; अरूहरूलाई चाहिँ केही सुधार भएको बुझिन्छ तर फेरि पछि त्यो बल्झिन्छ; सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्। [Richard Quebedeax, The New Charismatics, page 86.]

२८) आधुनिक “चङ्गाइकर्ताहरू” ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?

“चङ्गाइ गर्न हामीसित शक्ति नभएको होइन; बिरामी व्यक्तिको विश्वासको कमीले हो!” कुनै सिप नलागेपछि, बिरामीकै दोष!

२९) के ख्रीष्ट र प्रेरितहरूले पर्याप्‍त विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?

मत्ती १२:१५ मा ठूला-ठूला भीड प्रभु येशूका पछि लागे र, उनीहरूसँग विश्वास होस् या नहोस्, “उहाँले ती सबैलाई निको पार्नुभयो”। प्रेरित ५:१६ मा रोगीहरूको एउटा ठूलो जमातलाई प्रेरितहरूकहाँ ल्याइएको थियो, “अनि तिनीहरू सबै निको पारिए”। विश्वासको शर्तबिना नै यी चङ्गाइहरू सबैलाई प्राप्‍य थियो। एउटै बिरामी निराश भई फर्कनुपरेन।

प्रेरित ३:१-८ मा जन्मैदेखिको लङ्गडोको चङ्गाइको उल्लेख गरिएको पाउँछौं। त्यस माग्नेले पत्रुसको हातबाट केही पैसा पाउने आशा गरेको थियो। चङ्गाइ हुन्छु भन्ने कुरा त उसको कल्पनाभन्दा बाहिरको कुरा थियो। आफू निको पारिन्छु भन्ने विश्वास त उसँग पक्कै पनि थिएन। पत्रुसले केही पैसा देलान् भन्ने सम्म उनले विश्वास गरे होलान् (पद ५) तर पत्रुसले उनलाई निको पार्लान् भनेर उनले विश्वास गरेका थिएनन्। परमेश्वरबाटको उक्त अलौकिक चङ्गाइ कार्यको, त्यस व्यक्तिको विश्वास वा अविश्वाससित कुनै सरोकार थिएन। [यस आश्चर्यकर्मको सन्दर्भमा प्रेरित ३:१६ मा उल्लेख गरिएको विश्वासले पत्रुसको ख्रीष्टमाथिको विश्वासलाई जनाएको हुनुपर्छ, लङ्गडोको विश्वासलाई होइन।]

प्रेरित २०:९-१२ मा पावलले एउटा व्यक्तिलाई सबैभन्दा गम्भीर रोगबाट चङ्गाइ गरेको पाउँछौं, अर्थात् मृत्युबाटै। यहाँ एक युवा वास्तवमै मरिसकेका थिए। निश्चय नै मरिसकेको व्यक्तिले विश्वास गर्न सक्दैन! “उसको विश्वासको कमीले गर्दा मैले उसलाई मृत्युबाट बिउँताउन सकिनँ” भनी कुनै आधुनिक चङ्गाइकर्ताले भन्नु त हास्यास्पद हुन्छ। यसले एउटा रोचक प्रश्‍न उब्जाउँछ: यदि आधुनिक चङ्गाइकर्ताहरूसित ख्रीष्ट र प्रेरितहरूसितको जस्तै चङगाइ-शक्ति छ भने, किन उनीहरू मरेकालाई बिउँताउँदैनन्?

३०) ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?

१) तुरुन्तै चङ्गाइ

प्रभु येशूले एउटा कोरीलाई छुनुभयो, अनि तुरुन्तै उनी आफ्नो कोर रोगदेखि शुद्ध भए (मत्ती ८:३)। येशूले दुई अन्धाका आँखाहरू छुनुभयो, अनि तुरुन्तै ती आँखाहरू देख्‍ने भए (मत्ती २०:३४)। पत्रुसले एउटा लङ्गडोलाई उनको दाहिने हातलाई समातेर जुसुक्क उठाए, अनि तुरुन्तै उनका खुट्टा र गोलीगाँठाहरूले शक्ति पाए र उनी उफ्रँदै कुद्‍ने भए। पुनःस्वास्थ्य लाभ प्राप्‍तिको लागि लामो समयको वा अन्य उपचारको त्यहाँ कुनै आवश्यकता थिएन।

२) सिद्ध र पूर्ण चङ्गाइ

“अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए, र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिले छोए, ती एकदम निको भए” (मत्ती १४:३५-३६)।

“अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्‍नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ” (प्रेरित ३:१६)।

यसको तुलनामा क्याथरिन कूलम्यानको कार्यक्रममा चङ्गाइको दाबी गर्ने युवतीको सम्बन्धमा डाक्टर नोलेनको अवलोकनलाई विचार गर्नुहोस् त—एउटा सद्दे खुट्टामा र अर्को छोटो, सुकेको खुट्टामा उभिँदा पुठ्ठाको हाड नराम्री ढल्केको बयान छ। यसैलाई सिद्ध र पूर्ण चङ्गाइ त भनिँदैन होला!

३) सबका सब चङाइ

“तर यो कुरा थाह पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड उहाँका पछि लागे; अनि उहाँले ती सबैलाई निको पार्नुभयो” (मत्ती १२:१५)।

“अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू सबै निको पारिए” (प्रेरित ५:१६)।

४) नकार्न नसकिने चङ्गाइ

“तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिस बोल्यो र देख्‍यो पनि। अनि सबै मानिसहरू छक्क परे, र भने: “के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?” तर फरिसीहरूले यो सुनेर भने: “यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन” (मत्ती १२:२२-२४)।

प्रभुका शत्रुहरूले उक्त आश्चर्यकर्मलाई नकार्न सकेनन्। त्यसैले उनीहरूले उक्त महान् आश्चर्यकर्म परमेश्वरको शक्तिले नभएर शैतानको शक्तिले गरिएको हो भनेर उहाँलाई आरोप लगाए।

“अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्न सकेनन्… “यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सारा बासिन्दाकहाँ प्रकट भएको छ; र यो हामी इन्कार गर्न सक्दैनौं” (प्रेरित ४:१४,१६)।

यी मानिसहरू प्रेरितहरू र उनीहरूका सन्देशलाई घृणा गर्थे तर उनीहरूद्वारा गरिएको यस उल्लेखनीय आश्चर्यकर्मलाई उनीहरूले इन्कार गर्नै सकेनन्।

५) अतिदर्शनीय चङ्गाइ

लङ्गडा उफ्रँदै छन्, अन्धा देख्‍ने भएका छन्, कोरीहरू शुद्ध भएका छन्, दुष्टात्मा लागेकाहरू मुक्त भएका छन्, काटिएको कान तुरुन्तै जोडिएको छ र मरेका समेत बिउँताइएका छन्! मत्ती ११:५ अनुसार यस्ता अतिदर्शनीय चिन्हहरूले येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिए:

“अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मुर्दाहरू बिउँताइन्छन्, र गरिबहरूलाई सुसमाचार सुनाइन्छ” (मत्ती ११:५, सन्दर्भलाई हेर्नुहोस् र यशैया ३५:५-६ सित तुलना गर्नुहोस्)।

३१) आधुनिक “चङ्गाइकर्ताहरू” का “आश्चर्यजनक” उपचारहरू कस्ता छन्?

१) शङ्कास्पद “चङ्गाइ”

एक प्रतिष्ठित र परचित चङ्गाइकर्ताको चङ्गाइ कार्यक्रमको छानबिन गरी प्रस्तुत गरिएको डाक्टर नोलेनको लेखलाई हामीले माथि नै उल्लेख गरिसक्यौं (#२७ मा हेर्नुहोस्)। मानौं कुनै एउटा चिकित्सकले ख्रीष्ट र प्रेरितहरूद्वारा चङ्गाइ गरिएकाहरूको जाँचपड्ताल गरे। मानौं कुनै एउटा चिकित्सकले लाजरसलाई उसको मृत्युको चार दिन पछाडि जाँच गरे! मानौं कुनै एक नेत्र विशेषज्ञले बर्तिमैलाई उसको आँखाले देख्‍ने भएपछि जाँच गरे! मानौं एउटा हाडजोर्नी विशेषज्ञले जन्मैदेखिको लङ्गडो उफ्रँदै गरेको हेर्न पाए (प्रेरित ३)! मानौं एउटा कानको विशेषज्ञले मालखसलाई उसको च्वाट्टै काटिएको कानलाई निको पारिएपछि जाँच गरे (लूका २२:५०-५१)! के यी आश्चर्यकर्महरूलाई शङ्का गर्ने कुनै ठाउँ हुन्थ्यो होला?

२) नियन्त्रित वातावरणमा गरिएका “चङ्गाइ”

“तर अनौठो कुरो के छ भने, चङ्गाइको वरदान भएको दाबी गर्नेहरू आफ्नो पाल, तम्बु वा टीभी कक्षभन्दा बाहिर कहिल्यै निस्केका देखिन्नन्। आफ्ना वरदानलाई उनीहरूले सदैव नियन्त्रित वातावरणभित्र अर्थात् उनीहरूकै इच्छाअनुसारको व्यवस्थापित मञ्चमा, उनीहरूकै समयतालिकामा, अभ्यास गरेको देखिन्छ। हैन, अस्पतालकै ठूला-ठूला भीडहरूका बीचमा उक्त चङ्गाइको वरदान प्रयोग गरिएको किन सुनिँदैन? यी चङ्गाइकर्ताहरूले आफ्ना वरदानलाई भारत र बङ्गलादेश जस्ता देशहरूमा किन प्रयोग गरिरहेका छैनन्? बाहिर बाटो-बाटोमै रोग-बिमारले ग्रस्त भएका मानिसहरू भेटिने स्थानहरूमा किन उनीहरू देखा पर्दैनन्? [John MacArthur, Jr., The Charismatics, p.134.]

३) निराशाजनक “चङ्गाइ”

चङगाइका निमित्त ख्रीष्ट वा प्रेरितहरूकहाँ आउने कोही पनि निराश भई फर्केनन्। तर हामीसँग डाक्टर नोलेनको यो टिप्पणी छ:

पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ। [William A. Nolen, M.D., “In Search of a Miracle,” McCall’s Magazine, September 1974.]

एउटा प्रतिष्ठित चङ्गाइकर्ताको सेवाकार्यको मूल्याङ्कन गर्ने क्रममा क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले निष्कर्षमा भन्छन्,

“सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्।” [Richard Quebedeax, The New Charismatics, page 86.]

अलौकिक चङ्गाइको आशा गरिरहेकाहरूलाई यो त निश्चय पनि त्यति उत्साहपूर्ण मूल्याङ्कन होइन।

पवित्र आत्माको बप्‍तिस्मा

Study Series

१७) आत्माद्वारा हुने बप्‍तिस्मा भनेको के हो?

क्यारिज्म्याटिक जवाफ:

“पवित्र आत्मामा हुने बप्‍तिस्मा, मुक्तिपश्चात एउटा विश्वासीलाई ठोस रूपमा दिइने एउटा निश्चित, व्यक्तिगत अनुभव हो जुनचाहिँ पवित्र आत्माले अलौकिक रूपमा बोली दिनुभएअनुसारको एउटा नयाँ भाषामा बोल्ने प्रमाणसहित हुँदछ।” [From a Charismatic tract written by Dr. Hobart Freeman and published by Faith Ministries & Publications.]

“पवित्र आत्माको बप्‍तिस्मा अन्य भाषाहरूको बोलीसहितको मुक्तिपश्चातको एउटा बेग्लै, निश्चित अनुभव हो जसले निजलाई जीवन र सेवाकार्यका निम्ति सामर्थ्य प्रदान गर्दछ।” [From the doctrinal statement of the Rock Church (the name of certain charismatic churches in Connecticut and perhaps elsewhere)]

बाइबलीय जवाफ:

“किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्‍तिस्मा भयौं; र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो” (१ कोरिन्थी १२:१३)।

आत्माद्वारा हुने बप्‍तिस्मा परमेश्वरको एक अलौकिक कार्य हो जसद्वारा विश्वासी जन ख्रीष्टको शरीर अर्थात् मण्डलीभित्र गाभिन्छ। बप्‍तिस्मा दिने यूहन्नाले मत्ती ३:११ (मर्कूस १:८; लूका ३:१६) मा र प्रभु आफैले प्रेरित १:५ मा यस बप्‍तिस्माको पूर्वउल्लेख गर्नुभयो। यो सर्वप्रथम पेन्टेकोस्टको दिनमा सम्पन्न भयो जुन दिन मण्डलीको शुरु भयो (प्रेरित ११:१५-१७)। आज जब-जब एउटा व्यक्तिले प्रभु येशूमाथि विश्वास गर्दछ तब-तब उक्त बप्‍तिस्मा सम्पन्न हुने गर्दछ।

महत्त्वपूर्ण कुरा, १ कोरिन्थी १२:१३ पालन गरिनुपर्ने आज्ञा नभएर विश्वास गरिनुपर्ने तथ्य हो। परमेश्वरले सम्पन्न गर्नुभएको एउटा कार्य हो यो, विश्वासीले गर्ने कार्य होइन। परमेश्वरले कहिल्यै कतै आत्मामा बप्‍तिस्मा हुनलाई वा यसको खोजी गर्नलाई आज्ञा गर्नुभएको छैन।

उल्लेख गर्नुपर्ने कुरा, कतिपय उत्तम विश्वासीहरूले आत्माद्वाराको भरपूरीलाई आत्माद्वाराको बप्‍तिस्मासित अलमल्याएका छन् (थुप्रै उदाहरणहरूमध्ये आर ए टोरी (R. A. Torrey) एक हुन्)। यी दुईबीचको भिन्नता बुझ्न बप्‍तिस्मा र भरपूरी नामक तालिकालाई अध्ययन गर्नुहोस्।

१८) आत्माद्वारा हुने बप्‍तिस्मा कहिले हुने घटना हो?

क्यारिज्म्याटिक जवाफ: “मुक्ति पश्चात्”

(बुँदा १७ मुनिका उद्दरणहरूलाई हेर्नुहोस्)।

यदि यो बप्‍तिस्मा मुक्ति पश्चातको कुरो हो भने, कुनै एउटा व्यक्ति, मुक्ति पाएको तर आत्माद्वाराको बप्‍तिस्माको अनुभव नपाएको हुन सक्छ भन्ने बुझिन्छ।

बाइबलीय जवाफ: मुक्ति पाएकै घडीमा

पावलले कोरिन्थीहरूलाई उनीहरू सबै नै शरीरभित्र बप्‍तिस्मा भइसकेको कुरा बताउँछन्। यो बप्‍तिस्मा यस्तो कुरो हो जुनचाहिँ प्रत्येक विश्वासीको सवालमा साँचो छ, तसर्थ यो बप्‍तिस्मा, मुक्ति पाएकै घडीमा हुने घटना हो भन्ने बुझिन्छ।

चाखलाग्दो कुरा, परमेश्वरले “सबै होइन” (१ कोरिन्थी १२:३० – सबैले विभिन्न भाषा बोल्दैनन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले “सबै हो” भन्छ, र परमेश्वरले “सबै हो” (सबै विश्वासीहरू शरीरभित्र बप्‍तिस्मा भइसकेका छन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले “सबै होइन” भन्छ।

१९) क-कसले आत्माद्वाराको बप्‍तिस्मा पाएका हुन्छन्? के तपाईंले पाउनुभयो?

 क्यारिज्म्याटिक जवाफ:

अन्य भाषाहरूमा बोल्ने “पेन्टकोस्टल” अनुभव पाइसकेका ख्रीष्टियनहरूले मात्र

 बाइबलीय जवाफ:

“सबैले” (१ कोरिन्थी १२:१३)। यस बप्‍तिस्माबिना तपाईं ख्रीष्टको मण्डलीको अङ्ग बन्न सक्नुहुन्न! उहाँको देहभित्र प्रवेश पाउनलाई यो नै एउटै मात्र बाटो हो!

२०) के पवित्र आत्माको लागि पर्खनु (“ट्यारी गर्नु”) पर्छ?

क्यारिज्म्याटिक समूहहरूमा प्रायः अभ्यास गरिने ट्यारी गर्ने (tarry, पर्खने) अनुभवलाई यसरी बयान गरिएको छः

अन्य भाषा प्राप्‍त गर्नलाई “ट्यारी गर्ने” तरिका यस प्रकार हुन्छ: प्रवचन पछि प्रचारकले अन्य भाषाको अनुभव पाउन चाहनेहरूलाई अगाडि आउन र घुँडा टेक्न निमन्त्रणा दिन्छन्। त्यसपछि अनुभव-प्राप्‍त व्यक्तिहरू नयाँहरूसित प्रार्थना गर्न र मदत, सल्लाह दिन उनीहरूकहाँ जान्छन्। कतिपय नयाँहरूले थोरै बेरमै अन्य भाषामा बोल्न थाल्छन् भने अरूहरूको यात्राचाहिँ लामो र कठिन हुन सक्छ। साँझको सभा हो भने, मध्यरात पार गरिसक्दा पनि नयाँहरू प्रार्थना गरिरहेको भेटिनु असाधारण मानिँदैन यद्यपि “वेदीका सेवकहरू” भने प्राय: कमै बाँकी रहेका होलान्। अनि यदि कसैले उक्त रात सफलता हासिल नगरेको खण्डमा उसलाई प्रयास जारी राख्‍न हौसला दिइन्छ। मैले थुप्रै रात ट्यारी गरें। मैले वेदीमा घण्टौं प्रार्थना गर्नमा बिताएँ, तर मैले जति बेर प्रार्थना गरे पनि मैले सफलता प्राप्‍त गर्न सकिनँ। [Wayne A. Robinson, I Once Spoke in Tongues, pages 37-38.]

बाइबलअनुसारको “ट्यारी” गर्ने काम निकै फरक कुरो हो। यसलाई केवल दुइटा खण्डमा भेटिन्छ:

“अनि हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु; तर माथिबाटको सामर्थ्य नपाउञ्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो” [अङ्ग्रेजीमा “ट्यारी”] (लूका २४:४९)।

“अनि तिनीहरूसँग भेला भएर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो: “यरूशलेम छोडेर नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू, जसको विषयमा तिमीहरूले मबाट सुनेका छौ” (प्रेरति १:४)।

“ट्यारी” भन्ने शब्दको अर्थ केवल “पर्खनु” हो। पेन्टेकोस्ट आउनु अघि चेलाहरूलाई आत्माको प्रतिज्ञाको निम्ति पर्खिरहो भन्ने आज्ञा दिइएको थियो। उहाँ पेन्टेकोस्टको दिनमा (प्रेरित २) आनुभयो र पर्खाइको अवधि पनि सक्कियो। बाइबलमा पेन्टेकोस्टपछि यता पवित्र आत्माको लागि पर्खिरहन कुनै आज्ञा दिइएको पाइँदैन।

मानौं तपाईं एअरपोर्टमा जानुभई आफ्ना आफन्त प्रियजनहरूको आगमनको प्रतिक्षामा पर्खनुभयो। केही समय तपाईं एअरपोर्टमा पर्खनुहोला, तर हवाइजहाज आइपुगिसकेपछि, तपाईंको पर्खाइको अवधि सक्किन्छ। तपाईंका प्रियजनहरू अब आइसके, र अब त तपाईंले निजहरूको उपस्थितिको आनन्द लिने समय शुरू हुन्छ। त्यसरी नै शान्तिदाता पनि आइसक्नुभयो। उहाँ आइसक्नुभएपछि पनि उहाँको निम्ति पर्खिरहनु भनेको त हास्यास्पद कुरो हुन्छ! बरु आउनुहोस्, उहाँको आशिषमय उपस्थिति र सामर्थ्यमा रमाऔं हामी (प्रेरित १:८)।

२१) पवित्र आत्मा पाउन के गर्नुपर्छ?

क्यारिज्म्याटिक जवाफ:

पवित्र आत्मा पाउन एक व्यक्तिले ट्यारी गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ र कहिले काहीँ लामो पीडादायी अनुभव भएर जानुपर्छ, र सफल नभएको खण्डमा उसले घरीघरी प्रयास गरिनैरहनुपर्छ (बुँदा नम्बर २० मुनि उद्दरण गरिएको “ट्यारी” गर्ने तरिकालाई पढ्नुहोस्)।

बाइबलीय जवाफ: यूहन्ना ७:३८-३९

“जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्!” तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए…

प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नेहरू नै पवित्र आत्मा पाउनेहरू हुन्!

गलाती ३:२ — “तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु – तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरू (ट्यारी, प्रार्थना, कठिनाइ, प्रयास आदि) द्वारा पायौ कि विश्वासको समाचारद्वारा?” प्रत्यक्ष जवाफ यही हो, “विश्वासको समाचारद्वारा”। यो शारीरिक प्रयासको प्रतिफल होइन। यो त मुक्तिदातामा राखिएको सरल विश्वासको प्रतिफल हो।

२२) पवित्र आत्माको मुख्य सेवाकार्य र काम के हो?

“तर जब शान्तिदाता आहनुहुन्छ, जसलाई म पिताका तर्फबाट तिमीहरूकहाँ पठाउनेछु अर्थात् सत्यका आत्मा, जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ” (यूहन्ना १५:२६)।

पवित्र आत्माको सेवाकार्य ख्रीष्टको विषयमा गवाही दिनु अथवा ख्रीष्टलाई देखाउनु हो। पवित्र आत्माले आफैंतर्फ होइन तर प्रभु येशू ख्रीष्टतर्फ ध्यानाकर्षण गर्नुहुन्छ।

Turtle

 

माथिको चित्रमा के देख्‍नुहुन्छ? तपाईं भन्नुहोला, “कछुवा!” तर वास्तवमा जवाफ हो, “काँड र कछुवा”। काँड आफै देखिन चाहन्न। काँडले केवल कछुवाको गवाही दिइरहेछ, कछुवालाई देखाइरहेछ। काँड एउटा गवाही हो। यसले आफूदेखि अन्यत्र ध्यानाकर्षण गर्न चाहन्छ, दर्शकलाई कछुवामा ध्यानकेन्द्रित गराउन चाहन्छ।

परमेश्वरको आत्माले ख्रीष्टको विषयमा गवाही दिनुहुन्छ। हामीले ख्रीष्टलाई, केवल ख्रीष्टलाई मात्र हेरिरहेको चाहनुहुन्छ। विश्वासीहरूको कुनै सभामा पवित्र आत्माले काम गर्नुहुँदा, ख्रीष्ट उच्च पारिनुहुन्छ र महिमित बनिनुहुन्छ। यदि ध्यानाकर्षणको केन्द्र पवित्र आत्मा हुनुहुन्छ भने त्यहाँ केही घडबडी छ। पवित्र आत्माले आफैलाई प्रस्तुत गर्ने काम गर्नुहुन्न।

“उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्‍त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ” (यूहन्ना १६:१४)।

पवित्र आत्मा परमेश्वरको मुख्य सेवाकार्य नै पुत्रको महिमा गर्नु हो। पवित्र आत्मा मेरो जीवनमा सक्रिय हुनुहुँदा यसको प्रतिफल कस्तो हुनेछ? प्रभु येशू ख्रीष्ट मेरा निम्ति झनै बहुमूल्य बन्नुहुनेछ साथै उहाँको वचन बाइबल पनि त्यसरी नै बहुमूल्य बन्नेछ। आत्माले भरपूर व्यक्ति त्यो हो जो ख्रीष्टले भरिएको छ – उहाँमै ध्यानमग्न छ, उहाँमै आनन्दित छ, उहाँमै विश्राम लिइरहेछ, उहाँमै भरोसा गरिरहेछ। परमेश्वरको आत्माको सेवाकार्य विश्वासीलाई झन् झन् ख्रीष्टजस्तै बनाउनु हो:

“तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं” (२ कोरिन्थी ३:१८)।

अन्य भाषाको वरदान बन्द

Study Series

१४) अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?

क्यारिज्म्याटिक जवाफ:

१) “अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।”

वा,

२) “अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि यी अन्तिम दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।”

>> इभान्जेलिकलहरूको सम्झौतापूर्ण (compromising) जवाफहरू:

डा. बिल्ली ग्राहाम (Dr. Billy Graham) ले पवित्र आत्मा (The Holy Spirit, Word, १९७८) शीर्षक गरेको आफ्नो पुस्तकमा यसरी लेख्छन्:

“अन्य भाषाको वरदान नयाँ नियमका समयहरूका लागि मात्र सीमित थियो भन्ने कुराको बाइबलीय आधार त म आफैले कतै पाउन सक्दिनँ” (पृष्ठ १७२)।

अन्य भाषाहरूको वरदानको चर्चा गरिएको उनको “चिन्हरूपी वरदानहरू” (Sign Gifts) भन्ने अध्यायमा अन्य भाषाहरू बन्द हुनेछन् भन्ने पावलको भविष्यवाणी भएको १ कोरिन्थी १३:८ को उल्लेख समेत नहुनु अनौठो मान्नुपर्छ।

आज पनि परमेश्वरबाटको अन्य भाषाको सकली वरदान छ भनी चर्चित लेखक हाल लिन्ड्सी (Hal Lindsey) ले सिकाउँछन्। शैतान जगतमा जिँउदो र सक्रिय छन् (Satan is Alive and Well On Planet Earth) शीर्षक रहेको उनको अधिक मात्रमा बिक्री भएको पुस्तकको पृष्ठ १४७ मा उनले लेख्छन्,

“परमेश्वरले आज अन्य भाषाको सकली वरदान दिँदैहुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु।” अन्य भाषाहरू वास्तवमै बन्द भएका थिए भन्ने उनको मान्यता रहेको छ (जसरी इतिहासमा प्रमाणित छ) तर यी आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि देखा परेको छ भनी उनी सिकाउँछन् (पृष्ठ १४०-१४१)।

“च्यापल अफ दि एअर” (Chapel of the Air) का चर्चित रेडियो प्रचारक जोन डी जेस (John D. Jess) ले “अन्य भाषाहरूको वरदान मण्डलीलाई प्राप्‍य नभएको” भन्ने कुरालाई “अन्य भाषाहरूको वरदानलाई इन्कार गर्ने हास्यास्पद अतिवादी अडान” भनेर बताउँछन् (डिभाइड एण्ड कन्कर, पृष्ठ ४०)।

>> आधारभूतवादी बाइबल विश्वासीहरू (Fundamental Bible Believers) को जवाफ:

नयाँ नियम पवित्र शास्त्रहरू लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्य भाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्महरू गर्ने कामहरू बिस्तारै बन्द भए” (न्यू इङ्गल्याण्ड बाइबल कन्फरेन्सको विश्वासको विवरण)।

>> बाइबलीय जवाफ:

“प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ” (१ कोरिन्थी १३:८)।

अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई निरन्तरता दिनुहुनेछैन। एउटा समस्या यो छ कि पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले “अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्” भनेनन्। उनले “अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्” भनेनन् वा उनले “अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्” भनेनन्।

अन्य भाषाहरू वास्तवमा कहिले बन्द भए त भनी निर्धारण गर्नलाई तीनओटा आधारहरू छन्। हामी अब प्रत्येकलाई विचार गर्नेछौं।

१) इतिहासलाई हेर्दा (Historical Approach)

अन्य भाषाहरूको वरदान मण्डली इतिहासको शुरूतिरै बन्द भए भन्ने कुराको अत्यधिक ऐतिहासिक प्रमाण भेटिन्छ। क्यारिज्म्याटिक अभियानकै मित्र रिचार्ड कबीडोले यस तथ्यलाई स्वीकार गरेका छन्:

दोस्रो शताब्दीको आखिरीदेखि अठाह्रौं वा उन्नाइसौं शताब्दीसम्म नै अन्य भाषाहरू देखा परेको गवाही दुर्लभ र अस्पष्ट छ … तेस्रो शताब्दीका ओरिगेन, र चौथो शताब्दीका क्रिसोस्टोम, दुवैले अन्य भाषाका उल्लेखहरूलाई तिरस्कार गरेका छन्, र त्यसको निरन्तरताको समर्थनलाई इन्कार गरेका छन्। पाँचौं शताब्दीको शुरूतिरका अगस्टिनले अन्य भाषा केवल बाइबलकालीन समयहरूमा प्रकट हुने गरेको युगानुकूल चिन्ह थियो भनेर ठोकुवा दिएका छन्। [Richard Quebedeax, The New Charismatics, pp. 20-21]

महान् प्रचारक क्रिसोस्टोम (Chrysostom) को टिप्पणी उल्लेखनीय छ:

“यो पूरै खण्ड ज्यादै अस्पष्ट छ [१ कोरिन्थीमा उल्लेखित अन्य भाषाहरूको पदहरूको बारेमा टिप्पणी गर्दै] तर यो अस्पष्टताको कारण हाम्रो अज्ञानता हो। उल्लेखित तथ्यहरूका बारेमा हामी अनजान भएका हुनाले र ती कुराहरू अब बन्द भइसकेका हुनाले ती कुराहरू हामीलाई अस्पष्ट लागेका हुन् किनकि ती कुराहरू उहिलेको समयमा हुने गर्थे तर ती अब बन्द भइसकेका छन्।” [Homilies, XXIX, 1.]

अर्को शब्दमा भन्नुपर्दा, चौथो शताब्दीका लेखक क्रिसोस्टोमले पावलद्वारा वर्णित अन्य भाषाहरूको वरदानचाहिँ पावलको समयमा सक्रिय रहेको तर क्रिसोस्टोमको समयमा आएर निष्क्रिय भइसकेको भनी बयान गरेका छन्। उनले उक्त वरदान “बन्द” भइसकेको भनी टिप्पणी गर्दछन्।

क्लीओन रजर्सले यसरी लेखेका छन्:

“उल्लेखनीय कुरा यो छ कि प्रेरितहरूपछिका अग्रजहरूका कुनै पनि लेखोटमा अन्य भाषाहरूको वरदानलाई उल्लेख गरिएको छैन, कतै त्यसको अलिकति छनक समेत पाइँदैन।” [John MacArthur, Jr., The Charismatics, p. 169.]

अन्य भाषाहरूको वरदान, पावलका अघिल्ला पत्रहरूमध्येमा गनिने १ कोरिन्थीमा मात्र उल्लेख हुनु तर पावलका पछिल्ला पत्रहरूमा त्यसको कतै उल्लेख नहुनु एउटा उल्लेखनीय कुरा हो। यसले अन्य भाषाहरूको वरदान, बाइबलका लेखोटहरू पूर्ण हुनु अगावै बन्द भइसकेको हुन सक्छ भन्ने कुराको सङ्केत दिन्छ।

२) सन्दर्भलाई हेर्दा (Contextual Approach)

अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न यस प्रमाणिकरणमा १ कोरिन्थी १३:८ (“भाषाहरू…बन्द हुनेछन्”) को सन्दर्भलाई अध्ययन गरिनेछ। उक्त अध्यायको मूल सन्देशलाई सारांशमा निम्न बुँदाहरू मार्फत प्रस्तुत गर्न सकिन्छ:

  • टलेर जाने कुरा तीनओटा छन् (पद ८)
  • रहिरहने कुरा तीनओटा छन् (१३)
  • कहिल्यै नटल्ने कुरा एउटा छ (८); यो सदासर्वदा रहिरनेछ (पद १३)

यहाँ तीनओटा काल-खण्डहरूलाई सङ्केत गरिएको छ:

  1. अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान सक्रिय रहने काल-खण्ड – यी दानहरू मण्डलीको प्रारम्भिक चरणमा परमेश्वरबाट दिइएका विशिष्ट प्रकाशकीय दानहरू (revelatory gifts) हुन्।
  2. अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान अन्त भइसकेको, बन्द भइसकेको, बितेर गइसकेको (पद ८) समय, तर विश्वास, आशा र प्रेम भनिने सद्‍गुणहरू रहिरहने काल-खण्ड — यो काल-खण्ड चाहिँ वर्तमान युगको काल-खण्ड हो।
  3. प्रेम मात्र रहिरहने तर विश्वास र आशा रहिनरहने काल-खण्ड — यो अनन्तताको अवस्थिति (eternal state) हो, जब त्यहाँ विश्वासको सट्टामा दृष्टि हुनेछ (२ कोरिन्थी ५:७; हिब्रू ११:१) र आशाको सट्टामा अनुभूति हुनेछ (रोमी ८:२४-२५)।

तसर्थ, अनन्ताको अवस्थिति शुरु हुनु अगाडि एउटा काल-खण्ड त्यहाँ हुनैपर्छ जुन बेला अन्य भाषाहरूको र अगमवाणीको दानहरू निष्क्रिय बनेका हुन्छन् तर विश्वास र आशा सक्रिय रहिरहन्छन् भन्ने कुरा १ कोरिन्थी १३ अध्यायले स्पष्टै सिकाएको छ। अन्य भाषाहरूको वरदानलाई यस वर्तमान युगभरि दिइँदै आएको छ भन्ने शिक्षालाई यसले खण्डन गर्दछ।

३) उद्देश्यलाई हेर्दा (Purposive Approach)

अन्य भाषाहरूको वरदानको उद्देश्य के थियो? अन्य भाषाहरूको उद्देश्य जान्न सकियो भने अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न सम्भव हुन्छ। यस उद्देश्यसम्बद्ध तर्कलाई यसरी व्यक्त गर्न सकिन्छ: जुन उद्देश्यका लागि भनेर यस वरदान दिइयो उक्त उद्देश्यको निम्ति यसको कुनै काम नरहेपछि अन्य भाषाहरूको वरदान बन्द हुन गयो।

नयाँ नियममा एउटै मात्र खण्ड पाइन्छ जसमा अन्य भाषाहरूको उद्देश्य बताइएको छ। त्यहाँ पावल यसरी भन्छन्:

“यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्…” (१ कोरिन्थी १४:२२)।

“निम्ति” भनेर रूपान्तर गरिएको निपात शब्द (ग्रीकमा ऐस्, εις) ले उद्देश्यलाई जनाउँदछ। यस पद (२२) मा अन्य भाषाहरूको उद्देश्य बताउँदा पावलले वास्तवमा अघिल्लो पद (२१) को कुरालाई आधार बनाएर निर्क्योल गरेको कुरा त प्रस्टै देखिन्छ। पद २१ चाहिँ निम्न महत्त्वपूर्ण शब्दहरूबाट शुरु हुन्छ,

“व्यवस्थामा लेखिएको छ…” (१ कोरिन्थी १४:२१)

यस पदमा पावलले पुरानो नियमको एउटा खण्ड, यशैया २८:११-१२ लाई उद्दरण गर्दछन्। अन्य भाषाको बाइबलीय उद्देश्य खुलाउने चाबीचाहिँ “व्यवस्थामा” अर्थात् पुरानो नियममा छ भनी पावल जान्दथे। पुरानो नियमले अन्य भाषाको बारेमा के सिकाउँदछ त? पुरानो नियमका समयमा अन्य भाषाहरूको सार्थता (significance) र उद्देश्य के थियो? जब-जब विदेशी भाषाहरू सुनिन्थे, तब-तब तिनका मतलब के हुन्थे?

विदेशी भाषाहरूको सार्थता देखाउने पुरानो नियमको खण्ड यशैया २८ मात्र होइन। यस्ता अन्य खण्डहरू पनि छन्। ती खण्डहरूले समग्रमा एउटा एकदम गम्भीर बाइबलीय सिद्धान्तलाई प्रस्तुत गरिरहेको पाइन्छ — जुन सिद्धान्त इतिहासमा पटक-पटक प्रकट भएको छ। पुरानो नियममा विदेशी भाषाहरूको उल्लेखहरूलाई विचार गर्दा, एउटा ज्यादै गम्भीर र दुःखदपूर्ण श्रृङ्खला सहजै प्रकट हुन्छ:

उत्पत्ति ११
  • मानिसलाई परमेश्वरको एउटा सन्देश थियो (उत्पत्ति ९:१,७)
  • ती मानिसहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (उत्पत्ति ११:४)
  • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (उत्पत्ति ११:७)
  • ती मानिसहरू तितरबितर पारिन्छन् (उत्पत्ति ११:८)
व्यवस्था २८
  • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (व्यवस्था २८:१)
  • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (व्यवस्था २८:१५)
  • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (व्यवस्था २८:४९)
  • ती मानिसहरू तितरबितर पारिन्छन् (व्यवस्था २८:६४-६५)
यर्मिया ५
  • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यर्मिया ४:१)
  • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यर्मिया ५:३)
  • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यर्मिया ५:१५)
  • ती मानिसहरू तितरबितर पारिन्छन् (यर्मिया ५:१९)
यशैया २८
  • आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यशैया २८:१२क)
  • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यशैया २८:१२ख)
  • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यशैया २८:११)
  • ती मानिसहरू तितरबितर पारिन्छन् (यशैया २८:१३)
तुलना गर्नुहोस् — यशैया ३३ को ठीक विपरित परिस्थिति

सन्दर्भचाहिँ हजार वर्षको राज्य (मलेनियम) को हो। इस्राएलले परमेश्वरको आशिषको अनुभूति गर्नेछ भन्ने कुराको सङ्केतस्वरूप परमेश्वरले त्यहाँ भाषाहरू सुनिन दिनुहुन्न (पद १९)। उनीहरू अबदेखि उसो कहिल्यै तितरबितर पारिनेछैनन्!

नयाँ नियममा उक्त श्रृङ्खला फेरि दोहोरिएको
  • मानिसहरूलाई परमेश्वरको एउटा सन्देश थियो (मत्ती ११:२८; यर्मिया ४:१ र यशैया २८:१२ सित तुलना गर्नुहोस्)
  • उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (मत्ती २३:३७)
  • परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (प्रेरित २,१०,१९ आदि)
  • ती मानिसहरू तितरबितर पारिन्छन् (मत्ती २३:३८; २४:२)

**************

अन्य भाषाहरूको वरदानले अविश्वासी इस्राएलको विरूद्धमा उनीहरूमाथि आउन लागेको इन्साफको चिन्हस्वरूप काम गरेको थियो। इन्साफ पूरा भइसकेपछि इन्साफको चिन्हको कुनै आवश्यकता पर्दैन। ७० ए.डी.मा जनरल तीतसको मातहतमा आएको रोमी सेनाको तरवारले मसीहलाई अस्वीकार गर्ने इस्राएल राष्ट्रको पतन गरिदियो। ७० ए.डी.देखि यता राष्ट्रको हकमा इस्राएल परमेश्वरको इन्साफमुनि परेको छ भन्ने कुराको कुनै शंका छैन। तसर्थ, चिन्हरूपी वरदानको रूपमा ७० ए.डी.देखि यता अन्य भाषाहरूको कुनै आवश्यकता रहेन भन्ने निष्कर्षमा हामी आइपुग्दछौं। इतिहासमा अन्तिम पटक अन्य भाषाहरूको वरदानको उल्लेख १ कोरिन्थीमा पाइन्छ जुनचाहिँ लगभग ५५ ए.डी. मा लेखियो। ७० ए.डी. पछि अन्य भाषाहरूको सकली वरदान फेरि प्रकट भएको ऐतिहासिक प्रमाण कतै पाइँदैन। अन्य भाषाले आफ्नो उद्देश्य पूरा गर्‍यो, र अन्य भाषा बन्द भयो, ठीक जसरी परमेश्वरले प्रेरित पावलद्वारा पूर्वउल्लेख गर्नुभएको थियो (१ कोरिन्थी १३:८)।

उपर्युक्त बुँदाहरूको अझ विस्तृत प्रस्तुतिको खोजी गर्नुहुनेहरूले जर्ज जेलरद्वारा अङ्ग्रेजिमा रचित गड्स गिफ्ट अफ टङ्गस् नामक पुस्तकलाई यस लिङ्कमार्फत प्राप्‍त गर्न सक्नुहुनेछ:

God’s Gift of Tongues

१५) के मुक्ति नपाएकाहरूले अन्य भाषाहरूमा बोल्न सक्दछन्?

अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। मुक्ति नपाएको व्यक्तिसँग यस किसिमको ईश्वर-प्रदत्त क्षमता हुने कुरै भएन। आत्मिक वरदानहरू त विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएकै घडीमा दिइन्छन्, अविश्वासीहरूलाई होइन।

उत्तेजनात्मक उच्चारणहरू बोलिने (“ग्लोसोलेलिय”, glossolalia) हिजोआजको घटना भनेको एउटा बेग्लै कुरो हो। मुक्ति नपाएकाहरूले यस्ता अन्य भाषाहरूमा बोलेका असङ्ख्य उदाहरणहरू छन्। यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिन्छ:

१) दोस्रो शताब्दीमा मन्टानिस्टहरू (Montanists) ले अन्य भाषाहरूमा बोले। यो एउटा झूटा-शिक्षा (heretical) समूह थियो। उक्त समूह विशेष गरी पवित्र आत्मा सम्बन्धीका त्यसका झूटा शिक्षाहरूका खातिर परिचित थियो। मन्टानस (Montanus) र उनका अनुयायीहरूको निम्न बयान युसीबियसको मण्डली इतिहास (Eusebius’ History of the Church) मा उल्लेख भएको छ:

मन्टानसले, आफू शिखरमा पुग्ने अनियन्त्रित महत्त्वाकाङ्क्षामा, आफैमाथि शत्रुलाई खुल्ला मौका दिए, र आत्मिक उत्तेजनाले भरिएर एक्कासी उसलाई एक किसिमको झुम्म तान्द्रा र अप्राकृतिक हर्षोन्मादले छोप्यो। उनी बर्बराए, र बित्थामा कराउन र अर्थहीन कुरा बोल्न थाले, र शुरूदेखि पुस्ता-पुस्तामा हस्तान्तरण हुँदै आएको मण्डलीको अभ्याससित बाझ्ने तरिकाले अगमवाणी गर्न थाले। उसका स्वाङपूर्ण उच्चारणहरूलाई त्यस बखत सुन्नेहरूमध्येमा कतिजना चिढिए, र तिनीहरूले उनी दुष्टात्मा लागेको, भ्रमको आत्माको पकडमा परेको, र शान्ति भङ्ग गर्ने व्यक्ति रहेछन् भनी बुझे। प्रभुले कायम गर्नुभएको स्पष्ट भिन्नतालाई र झूटा अगमवक्ताहरूको बारेमा उहाँको चेताउनीहरूलाई सम्झना गर्दै तिनीहरूले उनलाई हप्काए र उसको बकबकलाई रोक्ने प्रयास गरे…। तब उनले गोप्य तवरले साँचो विश्वासप्रति अन्धा भएकाहरूको मनहरूलाई उत्तेजित गराई तातो बनाए, र यस मार्गमा दुईजना अरूलाई खडा गराए — अर्थात् स्त्रीहरूलाई जसलाई उनले त्यस स्वाङ पार्ने आत्माले भरिदिए, र फलस्वरूप उनीहरू मन्टानस जस्तै उन्मत्त भएर बित्थामा, अनुचित र अशिष्ट प्रकारले कराए।

युसीबियसका अनुसार अन्य भाषा बोल्ने यस अभ्यास मण्डलीको अभ्यास भन्दा बिलकुलै विपरित थियो। हुन पनि हो — मन्टानस र उनका अनुयायीहरूलाई मण्डलीबाट बहिष्कृत (excommunicated) गरियो।

२) दोस्रो शताब्दीका झूटा शिक्षक मार्कसका बारेमा इरेनेअस (Irenaeus) ले यसरी टिप्पणी गरेका छन्:

मार्कसले एउटी स्त्रीलाई [भन्छन्], “मबाट र मद्वारा कारिस (Charis) को दान प्राप्‍त गर…”

स्त्री: “मैले कहिल्यै अगमवाणी कहेको छैन, न ता म अगमवाणी कहन नै जान्दछु।”

मार्कस: “आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।”

यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दुःसाहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ। [Irenaeus Against Heresies]

शुरूका मण्डलीका बाइबलीय (orthodox, शास्त्रसम्मत) अगुवाहरूले अन्य भाषामा बोलिएका यस्ता भावनामय विस्फोटहरू परमेश्वरबाटका होइनन् भनी जानेका थिए। यसलाई प्रोत्साहन दिनेहरू त झूटा शिक्षकहरू थिए।

३) फ्रान्समा सत्रौं शताब्दीका सेभेनोल पादरीहरू (Cevenol priests) ले पनि अन्य भाषाहरूमा बोल्थे। तिनीहरू झूटा शिक्षकहरू (heretics) हुन् भनी चिनिएका थिए किनभने तिनीहरूका भविष्यवाणी पूरा भएनन्। [John MacArthur Jr., The Charismatics, p. 169.]

४) “शेकरहरू” (Shakers) भनिने समूह ई सं १७४७ मा एउटा स्त्रीद्वारा शुरू भएको हो। शिक्षामा उनी गञ्जागोल थिइन्, र उनले विशेष गरी ख्रीष्टको बारेमा झूटा धारणाहरू अपनाएकी थिइन्।

“भनिन्छ, शरीरलाई वशमा ल्याउनलाई, उनले अन्य भाषाहरूमा बोल्दै गरेका पुरूष र स्त्रीहरू नाङ्गै नचाउने अभ्यासको शुरूआत गरिन्।” [Charles Smith, Tongues in Biblical Perspective, pages 17-18.]

५) मर्मन (Mormon) चर्च नामक एउटा झूटा मण्डली (cult) भित्र अन्य भाषाहरूमा बोलिएका उदाहरणहरू भेटिन्छन्:

“जोसेफ स्मिथ (Joseph Smith) देखि लिएर, अर्थात् उनीहरूको शुरूआतदेखि नै मर्मनहरूले अन्य भाषा वर्तमान समयमा पनि दिइने वरदान हो भन्ने मान्दै आएका छन्। साल्ट लेक सीटी (Salt Lake City) मा उनीहरूको भवन (टेम्पल) समर्पण गरिँदा, सयौं एल्डरहरूले अन्य भाषाहरूमा बोले।” [Charles Smith, Tongues in Biblical Perspective, page 18.]

६) उन्नाइसौं शताब्दीमा एडवर्ड इर्भिङग (Edward Irving) का अनुयायीहरूले अन्य भाषामा बोले। यिनीहरूले पवित्र शास्त्रलाई खण्डन गर्ने प्रकाशहरूलाई, विफल भएका भविष्यवाणीहरूलाई र विविध गलत शिक्षाहरूलाई अँगालेका थिए। [See John MacArthur Jr., The Charismatics, p. 170 and see also Arnold Dallimore’s excellent biography, Forerunner of the Charismatic Movement–The Life of Edward Irving (Moody Press, 1983).]

७) आज, आफू ख्रीष्टियन हुँ भनी स्वीकार समेत नगर्नेहरूले अन्य भाषाहरूमा बोल्छन् भन्ने कुरा सर्वविदितै छ:

आज हैटी, ग्रीनल्याण्ड, माइक्रोनेसिया, एशिया, र उत्तर तथा दक्षिण अमेरिकाका झाँक्रीहरू अन्य भाषामा बोल्छन्। कतिपय समूहहरूले आफूहरूमा उन्मत्त अवस्था र उच्चारणहरू उत्पन्न गराउन लागू पद्धार्थको मदत लिन्छन्। भूडू अभ्यास गर्नेहरूले अन्य भाषामा बोल्छन्। बौद्धमार्गी र शिन्तो पूजाहारीहरूले अन्य भाषामा बोलेका सुनिएको छ। मुसलमानहरूले अन्य भाषामा बोलेका छन्, र एउटा प्राचीन हस्तान्तरित भनाइअनुसार महम्मद समेतले अन्य भाषामा बोले। [Charles Smith, Tongues in Biblical Perspective, pages 20-21. For further documentation of unsaved people speaking in tongues, look up the article on “glossolalia” in The Encyclopedia Britannica.]

८) खेदको कुरा, आज क्यारिज्म्याटिक लहरको लैलैमा लागेका थुप्रै व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेका छन् यद्यपि उनीहरूसित मुक्ति वा अनुग्रहको सुसमाचार वा नया जन्मको बारेमा कुनै सुस्पष्ट ज्ञान छैन। उनीहरूले कुनै एउटा अनुभव त पाए तर अनन्त जीवन भने पाएका छैनन् (१ यूहन्ना ५:११-१२)। [क्यारिज्म्याटिक अभियानमा हुनेहरूमा आफ्नो मुक्तिका लागि केवल ख्रीष्टलाई मात्र उहाँमाथि भरोसा राखेका हुनाले साँच्ची नै ख्रीष्टलाई मुक्तिदाता भनेर चिनेका व्यक्तिहरू हुन्छन् भन्ने कुरा हामी स्वीकार गर्दछौं। साँच्चै मुक्ति पाएको भएर पनि शिक्षामा अलमल हुनु सम्भव छ।]

१६) आजको अन्य भाषाको अभ्यासमा गलती के छ (एक सारांश)?

१) क्यारिज्म्याटिक समूहहरूमा अन्य भाषा भनेको सबैले चाह गर्नुपर्ने कुरा हो भन्ने मान्यता रहेको पाइन्छ, तर नयाँ नियममा भने अन्य भाषा प्रत्येक विश्वासीलाई दिइने आत्मिक वरदान थिएन (१ कोरिन्थी १२:८-११,३०)। १ कोरिन्थी १२:२८ मा वरदानहरूको सूचीको पुछारमा उल्लेख गरिएको अन्य भाषा तुलनात्मक हिसाबले कम महत्त्वको वरदान थियो, यद्यपि यसको सही प्रयोग र सही अनुवादले उन्नती गराउँथ्यो।

२) अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। आजको अन्य भाषाको कथित वरदानको अभ्यासलाई भने अनुवाद गर्न सकिन्न, त्यसमा कुनै वास्तविक भाषा-तत्त्व नै छैन, त्यो एउटा अर्थहीन बकबक बोलिने उन्मत्त, भावनात्मक अनुभव मात्र हो।

३) सम्पूर्ण बाइबलभरि हेर्दा विश्वासीलाई अन्य भाषामा बोल्न आज्ञा दिइएको कतै पाइन्न, र नयाँ नियमको २७ ओटामा २४ ओटा पुस्तकहरूमा अन्य भाषाको वरदान सम्बन्धी एउटै पनि उल्लेख छैन।

४) इतिहासका सत्य-तथ्यले अन्य भाषाको सकली वरदान मण्डली इतिहासको प्रारम्भतिर नै बन्द भएको देखाउँछ। साथै यो वरदान आखिरी दिनहरूमा फेरी प्रकट हुनेछ भन्ने सङ्केत दिने कुनै त्यस्तो पद बाइबलमा छैन।

५) अन्य भाषाको वरदान एउटा अस्थायी, चिन्हरूपी वरदान (sign gift) थियो जसले आफ्नो उद्देश्य पूरा गर्‍यो र त्यसपश्चात् त्यसको आवश्यकता नै रहेन, र त्यसैले त्यो दिइन बन्द भयो। अविश्वासी इस्राएललाई त्यो इन्साफको चिन्ह थियो, परमेश्वरले इस्राएल राष्ट्रलाई पन्छाएर उहाँको मण्डली भनिने नयाँ योजनाको शुरुआत गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत थियो त्यो। ए डी ७० पछि, अर्थात् रोमीहरूले यरूशलेमलाई ध्वस्त गरेदेखि यता, सकली अन्य भाषाको कतै उल्लेख पाइन्न, न ता बाइबलमा न ता बाह्य इतिहासको पन्नाहरूमा।

६) आज बोलिने कथित अन्य भाषा भने संसारलाई थाह भएकै विषय हो — यो एउटा यस्तो मानसिक अनुभव (psychological phenomenon) हो जसलाई शताब्दियौंदेखि झूटा-शिक्षाका समूहहरूले, मूर्तिपूजकहरूले, कल्टहरूले र अख्रीष्टियन समूहहरूले अभ्यास गर्दै आएका छन्।

७) अन्य भाषाहरू बोलिने आजको अधिकांश अभ्यास १ कोरिन्थी १४ अध्यायमा प्रतिपादित नियमहरूको विपरित भइरहेको पाइन्छ। तसर्थ आजको अन्य भाषा परमेश्वरबाटको हुन सक्दैन भन्ने यो अर्को लक्ष्यण हो। प्रेरित पावलले दिएका केही नियमहरू यस प्रकार छन्:

कुनै एउटा सभामा तीन भन्दा बढी व्यक्तिहरूले अन्य भाषाहरूमा  बोल्न नहुने (१ कोरिन्थी १४:२७)।

अन्य भाषामा बोल्नेहरूले एक्कैचोटि नभएर पालो-पालो गरी बोल्नुपर्ने (१ कोरिन्थी १४:२७)।

जब-जब अन्य भाषा बोलिन्थ्यो, तब-तब त्यसको अनुवाद पनि गरिनुपर्ने (१ कोरिन्थी १४:२८)।

स्त्रीहरूले सभामा अन्य भाषामा बोल्न नहुने (१ कोरिन्थी १४:३४-३५)।

तपाईं प्रायः जुनसुकै क्यारिज्म्याटिक सभामा जानुहोस्, त्यहाँ तपाईंले यी नियमहरूलाई उल्लङ्घन भइरहेको पाउनुहुनेछ।